परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ
तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छस्। परमेश्वरको योजना र उहाँको निर्धारणका खातिर तैँले आफ्नो भूमिका खेल्छस् र तैँले आफ्नो जीवन यात्रा सुरु गर्छस्। तेरो पृष्ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ। सुरुमा मानिस अस्तित्वमा आएदेखि नै, ब्रह्माण्डलाई व्यवस्थापन गर्दै, अनि यावत् थोक परिवर्तन हुने व्यवस्थाहरू र तिनीहरूका चालहरूको मार्गचित्रलाई निर्देशन गर्दै परमेश्वरले यसरी नै आफ्नो काम गर्दै आउनुभएको छ। यावत् थोकहरूलाई जस्तै मानिसलाई पनि परमेश्वरबाट आएको मिठास, झरी र शीतले गुपचुप र अनजानमै पोषण दिइरहन्छन्; यावत् थोकहरू जस्तै, मानिस अन्जानमै परमेश्वरको बाहुलीको योजनाबद्ध कार्यअन्तर्गत जिउँछ। मानिसको हृदय र आत्मा परमेश्वरको पकडभित्र हुन्छन्, र उसको जीवनको सबै थोकमा परमेश्वरले नजर राख्नुहुन्छ। तैँले यो सब कुरामा विश्वास गरे वा नगरे पनि, कुनै पनि थोक र यावत् थोक, चाहे त्यो सजीव वा निर्जीव होस्, परमेश्वरका विचारअनुसार सर्नेछन्, परिवर्तन हुनेछन्, नवीकरण हुनेछन् र लोप हुनेछन्। परमेश्वरले यसरी यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ।
जसरी रात नजिकिँदै जाँदा मानिस बेखबर हुन्छ, किनभने मानिसको हृदयले रात कसरी नजिकिँदैछ भनी थाहा पाउन सक्दैन, न त यो कहाँबाट आउँछ भनी उसले जान्दछ। जसरी रात बिस्तारै बितेर जान्छ, मानिसले उज्यालोलाई स्वागत गर्छ, तर उज्यालो कहाँबाट आउँछ र यसले रातको अँध्यारोलाई कसरी हटायो भन्ने बारेमा मानिसले अति कम मात्र जान्दछ र यसप्रति अझै कम सचेत रहन्छ। यिनै दिन र रात भइरहने क्रमले नै मानिसलाई एउटा कालखण्डबाट अर्को कालखण्डमा, एउटा ऐतिहासिक सन्दर्भबाट अर्को ऐतिहासिक सन्दर्भमा पुर्याउँछ र यस क्रममा हरेक युगमा परमेश्वरको कार्य भएको छ र हरेक युगको निम्ति उहाँको योजना पूरा भएको छ भन्ने कुरालाई सुनिश्चित गर्छ। मानिस परमेश्वरलाई पछ्याउँदै यी सबै विभिन्न कालखण्डहरूमा हिँडेको छ, तैपनि परमेश्वर यावत् थोक र जीवित प्राणीहरूको नियतिमाथि सार्वभौम हुनुहुन्छ भनी उसले जान्दैन, न त परमेश्वरले यावत् थोकहरूलाई कसरी योजनाबद्ध र निर्देशन गर्नुहुन्छ भन्ने नै उसले जान्दछ। यसलाई वर्तमान समयको मानिस अनि अति प्राचीनकालको मानिसले समेत बुझेको छैन। यसो हुनुको कारण परमेश्वरका कार्यहरू अत्यन्त अदृश्य भएर होइन, न त परमेश्वरको योजना साकार हुन बाँकी रहेर नै हो, तर मानिसको हृदय र आत्मा परमेश्वरबाट अति टाढा भएको कारण हो, यो यति टाढा छ कि मानिसले परमेश्वरलाई पछ्याउँदा पनि ऊ शैतानको सेवामा रहन्छ र उसलाई यो कुरा अझै थाहा छैन। परमेश्वरका कदमहरू र परमेश्वरको देखापराइलाई कसैले पनि सक्रियतापूर्वक खोज्दैन, अनि कोही पनि परमेश्वरको हेरचाह र सुरक्षामा बाँच्न इच्छुक छैन। बरु, यस संसारसँग र यो दुष्ट मानवजातिले पछ्याउने अस्तित्वका नियमहरूसँग समायोजित हुनका लागि तिनीहरू शैतान र दियाबलसहरूको क्षय स्विकार्न इच्छुक हुन्छन्। यस अवस्थामा, मानिसको हृदय र आत्मा मानिसले शैतानलाई चढाउने भेटी र शैतानको खाद्य पदार्थ बन्छ। अझ बढी, मानव हृदय र आत्मा शैतान बस्ने ठाउँ, साथै त्यसको यथोचित खेल मैदान बनेको छ। यसरी मानिसले आफ्ना मानव आचरणका सिद्धान्तहरूका साथै मानव अस्तित्वको मूल्य र अर्थको बुझाइ थाहा नै नपाइकन गुमाउँछ। मानिसको हृदयमा परमेश्वरका व्यवस्थाहरू अनि परमेश्वर र मानिस बीचको करार क्रमिक रूपमा धुमिल्लिँदै जान्छ र उसले परमेश्वरलाई खोज्न वा उहाँको ख्याल गर्न छोड्छ। समय बित्दै जाँदा, मानिसले परमेश्वरले उसलाई सृष्टि गर्नुको महत्त्वको बुझाइ गुमाउँछ, न त उसले परमेश्वरको मुखबाट निस्केको वचन र परमेश्वरबाट आएका सबै कुरा नै बुझ्छ। त्यसपछि मानिसले परमेश्वरका व्यवस्थाहरू र कानूनहरूको प्रतिरोध गर्न थाल्छ, अनि उसको हृदय र आत्मा भावशून्य बन्छ…। परमेश्वरले सुरुमा सृष्टि गर्नुभएको मानिसलाई गुमाउनुहुन्छ, अनि मानिसले उसको मौलिक मूललाई गुमाउँछ: मानवजातिको दुःखान्त यही नै हो। वास्तवमा, प्रारम्भदेखि अहिलेसम्म नै परमेश्वरले मानवजातिको निम्ति दुःखद घटनाहरूलाई प्रस्तुत गर्नुभएको छ, जसमा मानिस नै नायक र पीडित दुवै बन्छ। अनि यो दुःखद घटनाको निर्देशक को हो भनी कसैले जवाफ दिन सक्दैन।
संसारको व्यापक फैलावटमा, महासागरहरू भरिएर मैदानमा परिणत हुन्छन्, र जमिनहरू बगेर महासागरहरूमा परिवर्तन हुन्छन् र यो प्रक्रिया अनगिन्ती पटक दोहोरिन्छ। यावत् थोकमाझ, सबै कुरामाथि सार्वभौमिकता राख्नुहुने उहाँबाहेक, अरू कोही पनि यस मानवजातिलाई अगुवाइ गर्न र मार्गनिर्देशन गर्न सक्षम छैन। मानवजातिका निम्ति परिश्रम गर्ने वा तयारी गर्ने “शक्तिशाली जन” कोही पनि छैन, मानवजातिलाई ज्योतिको गन्तव्यतिर अगुवाइ गर्ने र मानिसको संसारका अन्यायहरूबाट मुक्त गर्न सक्ने जन त झनै छैन। मानवजातिको भविष्यप्रति परमेश्वर विलाप गर्नुहुन्छ, उहाँ मानिसको पतनप्रति शोक गर्नुहुन्छ, अनि मानिस पाइला दर पाइला पतन र फर्कन नसक्ने मार्गतिर हिँडिरहेको कुराले उहाँलाई पीडा दिन्छ। यो कुरा कसैले कहिल्यै विचार गरेको छैन: परमेश्वरको हृदयलाई पूर्ण रूपमा छियाछिया बनाउने र दुष्टलाई खोज्न उहाँलाई त्याग्ने त्यस्तो मानवजाति कतातिर लागेको हुन सक्छ? यसैकारणले गर्दा नै कसैले पनि परमेश्वरको क्रोध महसुस गर्न खोज्दैन, कसैले पनि परमेश्वरलाई प्रसन्न पार्ने मार्ग खोज्दैन वा परमेश्वरको नजिक जाने कोसिस गर्दैन, अझ भन्नुपर्दा, कसैले पनि परमेश्वरको शोक र पीडालाई बुझ्न खोज्दैन। परमेश्वरको आवाज सुनेपछि पनि, मानिस आफ्नै मार्गमा हिँड्न जारी राख्छ, परमेश्वरबाट टाढा जान जिद कस्छ, परमेश्वरको अनुग्रह र हेरचाहबाट तर्कन्छ, उहाँको सत्यताबाट अलग बस्छ, परमेश्वरको शत्रु शैतानका हातमा आफूलाई बेच्न रुचाउँछ। र कसले सोचेको छ कि, यदि मानिस आफ्नो जिदमा लागिरह्यो भने, परमेश्वरलाई अत्यन्तै अवहेलना गर्ने यस मानवजातिप्रति उहाँले कस्तो व्यवहार गर्नुहुनेछ? कसैलाई थाहा छैन कि परमेश्वरले मानिसलाई बारम्बार सम्झौटो र अर्ती दिनुहुने कारण के हो भने उहाँले आफ्नो हातमा एउटा अभूतपूर्व विपत्ति तयार पार्नुभएको छ, जुन मानिसको देह र प्राणलाई असह्य हुनेछ, यो विपत्ति देहका निम्ति दण्ड मात्र होइन, तर प्राणप्रति लक्षित हुन्छ। तैँले यो कुरा थाहा पाउनुपर्छ: जब परमेश्वरको योजना विफल हुन्छ, र उहाँका सम्झौटो र अर्तीहरूको कुनै प्रतिक्रिया दिइँदैन, तब उहाँले कस्तो क्रोध पोखाउनुहुनेछ? यो कुनै पनि सृजित प्राणीले कहिल्यै अनुभव नगरेको र थाहा नपाएको किसिमको हुनेछ। त्यसैले म भन्छु, यो विपत्ति अभूतपूर्व छ, र कहिल्यै दोहोरिनेछैन। किनकि परमेश्वरको योजना भनेको, मानवजातिलाई यो एक पटक मात्रै सृष्टि गर्नु र मानवजातिलाई यो एक पटक मात्रै मुक्ति दिनु हो। यो पहिलो पटक र अन्तिम पटक पनि हो। त्यसकारण, परमेश्वरले मानवजातिलाई यस पटक मुक्ति दिनुपछाडिका विचारशील अभिप्रायहरू र उत्कट प्रत्याशालाई कसैले बुझ्न सक्दैन।
परमेश्वरले यो संसार सृष्टि गर्नुभयो र यसमा उहाँले जीवन दिनुभएको जीवित प्राणी, मानिसलाई ल्याउनुभयो। त्यसपछि, मानिसले आमाबुबा र नातेदारहरू पायो, अनि ऊ उप्रान्त एकलो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै, उसको भाग्यमा परमेश्वरको निर्धारणभित्र बाँच्न लेखिएको थियो। परमेश्वरबाट आएको जीवनको सास नै प्रत्येक जीवित प्राणीलाई हुर्काएर वयस्कतासम्म अड्याउँछ। यस प्रक्रियाका अवधिमा, मानिस परमेश्वरको हेरचाहअन्तर्गत नै बाँचिरहेको र हुर्किरहेको छ भन्ने कसैले महसुस गर्दैन; बरु, तिनीहरू मानिस आफ्ना आमाबुबाको लालनपालनको अनुग्रहमा हुर्किरहेको हुन्छ र उसको हुर्काइलाई उसैको जीवनको जन्मजात प्रवृत्तिले निर्देशन गर्छ भन्ने विश्वास गर्छन्। यस्तो किन हुन्छ भने, मानिसले उसको जीवन उसलाई कसले दिएको हो वा यो कहाँबाट आउँछ भन्ने जान्दैन, जीवनको जन्मजात प्रवृत्तिले कसरी चमत्कारहरू सृजना गर्छ भन्ने कुरा जान्नु त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो, दृढता नै उसको जीवनको अस्तित्वको स्रोत हो, अनि उसको मनमा भएका विश्वासहरू नै पुँजी हुन् जसमाथि उसको अस्तित्व निर्भर हुन्छ भन्ने मात्र ऊ जान्दछ। मानिस परमेश्वरको अनुग्रह र उहाँको आपूर्तिबारे पूर्णतः अनजान हुन्छ र परमेश्वरले उसलाई दिनुभएको जीवन ऊ यसरी नै खेर फाल्छ…। परमेश्वरले दिनरात हेरचाह गर्नुहुने एउटा व्यक्तिले पनि उहाँको आराधना गर्ने पहलकदमी लिँदैन। परमेश्वर आफूले योजना बनाएअनुसार, मानिसमा काम गर्न मात्र जारी राख्नुहुन्छ, जसबाट कुनै पनि अपेक्षा गर्न सकिँदैन। कुनै दिन मानिस उसको सपनाबाट ब्युँझनेछ अनि उसले अचानक जीवनको मूल्य र अर्थलाई, परमेश्वरले उसलाई दिनुभएको सबै कुराका निम्ति उहाँले चुकाउनुभएको मूल्यलाई, र जुन उत्कटताका साथ परमेश्वर मानिस उहाँतर्फ फर्कियोस् भनी व्यग्र तृष्णा गर्नुहुन्छ, त्यसलाई महसुस गर्नेछ भन्ने आशाका साथ परमेश्वर यसो गर्नुहुन्छ। मानव जीवनको उद्गम र निरन्तरतासँग सम्बन्धित रहस्यहरूभित्र कसैले नियालेको छैन। यी सबै कुरालाई बुझ्नुहुने परमेश्वरले मात्र चोट र प्रहारलाई चूपचाप सहनुहुन्छ, जुन प्रहार परमेश्वरबाट प्राप्त गरेको हरेक थोकको निम्ति धन्यवादी समेत नहुने मानिसले उहाँलाई दिन्छ। जीवनले सामान्य रूपमा ल्याउने सबै कुराहरूको आनन्द मानिसले लिन्छ, र परमेश्वरलाई मानिसले विश्वासघात गर्छ, बिर्सन्छ र उहाँबाट खोस्छ भन्ने कुरा त “सामान्य नै हो”। के परमेश्वरको योजना यति धेरै महत्त्वको हुन सक्छ? के परमेश्वरको बाहुलीबाट आएको यो जीवित प्राणी अर्थात् मानिस साँच्चै यति धेरै महत्त्वपूर्ण हुन सक्छ? निश्चित रूपमा नै, परमेश्वरको योजना महत्त्वपूर्ण छ; यद्यपि, परमेश्वरको बाहुलीद्वारा सृष्टि गरिएको यो जीवित प्राणी उहाँको योजनाको खातिर मात्र अस्तित्वमा छ। यसकारण, परमेश्वरले यस मनावजातिप्रतिको घृणाको खातिर आफ्नो योजनालाई बर्बाद पार्न सक्नुहुन्न। मानिसको देहको निम्ति होइन तर मानिसको जीवनको निम्ति, उहाँको योजना र उहाँले फुक्नुभएको सासको निम्ति परमेश्वरले सारा कष्टहरू सहनुहुन्छ। मानिसको देहलाई फिर्ता लिनको निम्ति होइन, तर उहाँले फुक्नुभएको जीवनको सासको निम्ति उहाँले यसो गर्नुहुन्छ। यो नै उहाँको योजना हो।
यस संसारमा आउने सबैले जीवन र मृत्युबाट भएर जानुपर्छ, र तीमध्ये धेरै जना मृत्यु र पुनर्जन्मको चक्रबाट भएर गएका छन्। जो जीवित छन् तिनीहरू चाँडै मर्नेछन्, र मरेकाहरू चाँडै फर्कनेछन्। यी सबै कुरा जीवनको मार्ग हो जुन परमेश्वर आफैले प्रत्येक जीवित प्राणीहरूका लागि प्रबन्ध गर्नुभएको छ। यद्यपि यो मार्ग र चक्र त्यो खास तथ्य हो जुन मानिसले हेरोस् भन्ने परमेश्वर चाहनुहुन्छ: परमेश्वरले मानिसलाई दिनुभएको जीवन अन्तहीन छ, भौतिकता, समय वा स्थानद्वारा बाधा नपुग्ने किसिमको छ। परमेश्वरले मानिसलाई प्रदान गर्नुभएको जीवनको रहस्य यस्तो छ र यो जीवन उहाँबाट नै आएको हो भन्ने कुराको प्रमाण हो। धेरैले मानिसको जीवन परमेश्वरबाट आएको हो भनी विश्वास नगरे पनि र तिनीहरूले परमेश्वरको अस्तित्वलाई चाहे स्वीकार गरे पनि वा इन्कार गरे पनि मानिसले अनिवार्य रूपमा परमेश्वरबाट आएका कुराहरूको उपभोग गर्दछ। यदि परमेश्वरले एक दिन अचानक हृदय परिवर्तन गर्नुभयो र संसारमा भएका सबै फेरि प्राप्त गर्ने र उहाँले दिनुभएको जीवन फिर्ता लिने इच्छा गर्नुभयो भने कोही पनि रहनेछैन। परमेश्वरले जीवित र निर्जीव सबै कुराहरूको लागि आपूर्ति गर्न आफ्नो जीवन प्रयोग गर्नुहुन्छ, र उहाँको शक्ति र अधिकारको सद्गुणद्वारा सबै थोकलाई असल क्रममा राख्नुहुन्छ। यो त्यस्तो तथ्य हो जुन कसैले पनि कल्पना गर्न वा बुझ्न सक्दैन, र यी बुझ्न नसकिने तथ्यहरू नै परमेश्वरको जीवनशक्तिको प्रकटीकरण र साक्षी हो। अब म तँलाई एउटा रहस्य बताउँछु: परमेश्वरको जीवनको महानता र उहाँको जीवनको शक्ति कुनै पनि सिर्जित प्राणीका लागि बुझ्न नसकिने छ। विगतमा जस्तो थियो अहिले पनि यो त्यस्तै छ, आउने समयमा पनि यो त्यस्तै रहनेछ। मैले बताउने दोस्रो रहस्य यो हो: सारा प्राणीहरूको जीवनको स्रोत परमेश्वरबाट आउँदछ, चाहे ती रूप वा ढाँचामा जतिसुकै फरक होऊन्, र तँ जस्तो प्रकारको जीवित प्राणी भए पनि, कुनै प्राणी परमेश्वरद्वारा तोकिएको जीवन मार्गविरुद्ध जान सक्दैन। जसरी भए पनि, मानिसले यो बुझोस् भन्ने म चाहन्छु: परमेश्वरको वास्ता, सुरक्षा र प्रबन्धविना मानिसले जति नै कोसिस गरे पनि वा जति नै कठिन संघर्ष गरे पनि उसले प्राप्त गर्नुपर्ने ती सबै कुराहरू प्राप्त गर्न सक्दैन। परमेश्वरबाट जीवनको आपूर्ति भएन भने, मानिसले जिउनुको मूल्य र जीवनको अर्थलाई गुमाउँछ। आफ्नो जीवनको मोललाई व्यर्थमा खेर फाल्ने मानिसलाई परमेश्वरले कसरी यस्तो लापरवाह हुने अनुमति दिन सक्नुहुन्छ? मैले पहिले भनेझैँ: परमेश्वर तेरो जीवनको स्रोत हुनुहुन्छ भन्ने कुरालाई नबिर्सी। यदि परमेश्वरले दिनुभएका सबै कुराको कदर गर्न मानिसले सकेन भने, परमेश्वरले सुरुमा जे दिनुभयो त्यो मात्र फिर्ता लिनुहुन्न, तर उहाँले मानिसलाई दिनुभएको भन्दा दोबर मूल्य उसलाई तिर्न लगाउनुहुन्छ।
मे २६, २००३