अध्याय १
के मेरा वचनहरू देख्नेहरूले ती साँचो रूपमा स्वीकार गर्छन्? के तिमीहरू मलाई साँच्चै चिन्छौ? के तिमीहरूले साँच्चै नै आज्ञापालन गर्न सिकेका छौ? के तिमीहरूले इमानदारीपूर्वक आफूलाई मेरो निम्ति समर्पित गर्छौ? के तिमीहरूले ठूलो रातो अजिङ्गरको सामुन्ने मेरो लागि साँच्चै नै दह्रिलो र दृढ गवाही दिएका छौ? के तिमीहरूको भक्तिले साँच्चै नै ठूलो रातो अजिङ्गरलाई सरममा पार्छ? म आफ्ना वचनहरूको परीक्षाद्वारा मात्रै मण्डलीलाई शुद्ध पार्ने र मलाई साँचो प्रेम गर्नेहरूलाई छनौट गर्ने मेरो उद्देश्य हासिल गर्न सक्छु। यदि मैले यसरी काम नगरेको भए, के कसैले मलाई चिन्न सक्नेथियो? मेरा वचनहरूमार्फत कसले मेरो प्रताप, क्रोध, र बुद्धिलाई जान्न सक्थ्यो? मैले मेरो कार्य सुरु गरिसकेको हुनाले, म यसलाई अवश्य नै पूरा गर्नेछु, तर मानिसको हृदयलाई गहिराइसम्म नाप्ने अझै पनि म नै हुँ। साँचो कुरा भन्ने हो भने, मानिसहरूको बीचमा मलाई साँचो रूपमा चिन्ने कोही पनि छैन, त्यसकारण सबै मानिसलाई अगुवाइ गर्न, तिनीहरू सबैलाई नयाँ युगमा डोर्याइल्याउन म वचनहरूको प्रयोग गर्छु। अन्त्यमा, म मेरा सबै कार्य पूरा गर्न वचनहरूको प्रयोग गर्नेछु, र यसरी मलाई साँचो रूपमा प्रेम गर्नेहरूलाई समर्पणको साथमा मेरो राज्यमा फर्काउनेछु, मेरो सिंहासनको अघि जिउन लगाउनेछु। अहिलेको परिस्थिति पहिलेको जस्तो छैन, र मेरो काम नयाँ सुरुवातको बिन्दुमा प्रवेश गरेको छ। त्यसो भएको हुनाले, शैली पनि नयाँ नै हुनेछ: जस-जसले मेरो वचन देख्छन् र त्यसलाई आफ्नै जीवनको रूपमा स्वीकार गर्छन्, तिनीहरू मेरो राज्यका मानिस हुन्, र मेरो राज्यमा भएकाले तिनीहरू मेरो राज्यका मानिस हुन्। तिनीहरूले मेरा वचनको मार्गदर्शनलाई स्वीकार गर्ने हुनाले, तिनीहरूलाई मेरा मानिस भनी सम्बोधन गरिए पनि, यो उपाधि मेरा “छोराहरू” कहलिनुभन्दा कम महत्त्वको होइन। परमेश्वरका मानिसहरू बनाइएपछि सबैले मेरो राज्यमा पूर्ण भक्तिका साथ सेवा गर्नुपर्नेछ र मेरो राज्यमा आफ्ना कर्तव्यहरू पूरा गर्नुपर्नेछ। यदि कसैले मेरो प्रशासनिक आदेशविरुद्ध अपराध गर्दछ भने, उसले मेरो दण्ड पाउनैपर्छ। सबैलाई मेरो सल्लाह यही हो।
एउटा नयाँ शैली प्रवेश गरिसकेको छ, र विगतबारे फेरि उल्लेख गर्नु आवश्यक छैन। तैपनि, मैले पहिले नै यो कुरा भनिसकेको छु: म जे भन्छु, त्यसैमा खडा हुन्छु र म जुन कुरामा खडा हुन्छु, त्यसलाई सधैँ पूरा गर्छु, र कसैले पनि त्यसलाई परिवर्तन गर्न सक्दैन—यो पूर्ण हुन्छ। चाहे ती मैले विगतमा भनेका वचन हुन् वा मैले भविष्यमा बोल्ने वचन, म ती सबैलाई एक-एक गरी पूरा गर्नेछु, र सबै मानिसलाई ती पूरा भएको देखाउनेछु। मेरो वचन र कामपछाडिको सिद्धान्त यही हो। मण्डली निर्माणको काम पहिले नै हासिल गरिसकिएको हुनाले, अब यो मण्डली निर्माणको युग होइन, तर सफलतापूर्वक राज्य निर्माण गर्ने युग हो। तैपनि, तिमीहरू अझै पनि पृथ्वीमा नै रहेका हुनाले, पृथ्वीका मानिसहरूका भेलाहरूलाई “मण्डली” को रूपमा नै चिनिनेछ। तैपनि, मण्डलीको सार पहिलेको जस्तो छैन—यो सफलतापूर्वक निर्माण गरिएको मण्डली हो। त्यसकारण, म मेरो राज्य पहिले नै पृथ्वीमा ओर्लिसकेको छ भनेर भन्छु। कसैले पनि मेरा वचनहरूको जड पत्ता लगाउन सक्दैन, न त मैले ती वचन बोल्नुको उद्देश्यलाई जान्न सक्छ। आज मैले बोल्ने शैलीबाट तिमीहरूले अचानक बोध प्राप्त गर्नेछौ। कतिपय मानिस चिच्याउँदै नराम्ररी बिलौना गर्न सक्छन्; कतिपय मानिस मैले बोल्ने तरिका यस्तो पो रहेछ भनेर डराउन सक्छन्; कतिपय मानिसले मेरा हरेक चाललाई नियाल्ने क्रममा आफ्ना परम्परागत दृष्टिकोणहरूलाई नै मानिरहन सक्छन्; कतिपय मानिसले त्यो बेला आफ्ना गुनासोहरू पोखाएकोमा वा मलाई विरोध गरेकोमा खेद प्रकट गर्न सक्छन्; कतिपय मानिस मेरो नामबाट कहिल्यै टाढा नगएकोले, तिनीहरूले आफूलाई पुनर्जीवित गरिएको छ भनेर गुप्त रूपमा आनन्द मनाउन सक्छन्। कतिपय मानिस यस्ता पनि हुन सक्छन्, जसलाई मेरा वचनहरूले धेरै पहिले नै अधमरो हुने गरी “कष्ट दिएका” अनि असहाय र निराश तुल्याएको हुनाले, मैले मेरो अभिव्यक्ति शैलीलाई परिवर्तन गरेको भए पनि तिनीहरूसँग मैले बोल्ने वचनहरू सुन्ने साहस छैन; वा अरू त्यस्ताहरू पनि हुन सक्छन्, जसले कहिल्यै गुनासो नगरीकन, कहिल्यै शङ्का नगरीकन, निश्चित बिन्दुसम्म भक्तिको साथ मेरो सेवा गरेका थिए, र आज स्वतन्त्रता हासिल गर्ने र आफ्नो हृदयमा मप्रति शब्दमा व्याख्या गर्न नसकिने गरी कृतज्ञता अनुभूति गर्ने सौभाग्य पाएका छन्। माथिका सबै परिस्थिति विभिन्न हदसम्म हरेक मानव प्राणीमा लागू हुन्छ। तर विगत त विगत नै भइसकेको र वर्तमान आइसकेको हुनाले, विगतको यादमा उदास हुँदै डुब्नुपर्ने वा भविष्यको लागि विचार गर्नुपर्ने कुनै आवश्यकता छैन। मानिस भएको हुनाले, जो-जो वास्तविकताविरुद्ध जान्छन् र ज-जसले मेरो निर्देशनअनुसार कामकुरा गर्दैनन्, तिनीहरूको अन्त्य राम्रो हुनेछैन, तर तिनीहरूले आफूमाथि समस्या मात्रै ल्याउनेछन्। ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन? जे म भन्छु त्यो गरिन्छ, र मानिसहरूमध्ये कसले मेरो मन परिवर्तन गर्न सक्छ? के यो पृथ्वीमा मैले गरेको करार हुन सक्छ? अगाडि बढ्ने मेरो योजनालाई कुनै पनि कुराले बाधा दिन सक्दैन; म मेरो कामका साथै मेरो व्यवस्थापन योजनामा सधैँ उपस्थित हुन्छु। मानिसहरूमाझ कसले हस्तक्षेप गर्न आफ्नो हात पसार्न सक्दछ? के व्यक्तिगत रूपले यी प्रबन्धहरू मिलाउने म नै होइन र? आज यस क्षेत्रमा प्रवेश गर्दा मेरो योजना वा मैले पहिले देखेको कुरा बाहिर भड्किएर जाने कुरा हुँदैन; यी सबैलाई मैले धेरै पहिले नै निर्धारित गरेको थिएँ। तिमीहरूमध्ये कसले मेरो योजनाको यो चरण बुझ्न सक्छौ? मेरा मानिसहरूले निश्चय मेरो सोर सुन्नेछन्, र मलाई इमानदारीपूर्वक प्रेम गर्ने प्रत्येक व्यक्ति निश्चय नै मेरो सिंहासनको अगाडि फर्केर आउनेछ।
फेब्रुवरी २०, १९९२