अध्याय ६२
मेरो इच्छालाई बुझ्नु भनेको तैँले यसलाई जान्न सक् भनेर मात्रै होइन, तर तैँले मेरा अभिप्रायहरूअनुरूप कार्य गर्न सक् भन्नको लागि पनि हो। मानिसहरू मेरो हृदयलाई बुझ्दैनन्। मैले दिशा पूर्व हो भन्दा, तिनीहरू विचार गर्नेबाहेक केही गर्न सक्दैनन्, र सोच्छन्: “के यो साँच्चिकै पूर्व हो? सायद यो होइन। म विश्वासै गर्न सक्दिनँ; म आफैले खोज्नुपर्छ।” तिमीहरूलाई सम्हाल्नु यति हदसम्म कठिन छ; वस्तविक समर्पण के हो तिमीहरूलाई थाहै छैन। तिमीहरूले मेरो अभिप्राय बुझेपछि त्यसलाई व्यवहारमा उतार्नमा मात्रै ध्यान केन्द्रित गर—नसोच। तिमीहरू सधैँ मैले भनेको कुरामा पूर्ण विश्वास गर्दैनौ र त्यसलाई मूर्ख तरिकाले स्विकार्छौ। यसले कसरी वास्तविक अन्तर्दृष्टि दिन्छ? तिमीहरू मेरा वचनहरूमा कहिल्यै प्रवेश गर्दैनौ। मैले पहिले भनेझैँ मलाई चाहिएको कुरा मानिसहरूको धेरै सङ्ख्या होइन तर तिनीहरूमा उत्कृष्टता होस् भन्ने हो। जो मेरा वचनहरूमा प्रवेश गर्नामा ध्यान केन्द्रित गर्दैन ऊ ख्रीष्टको असल सिपाही हुन अयोग्य हुन्छ; यसको सट्टा, तिनीहरू शैतानको नोकर बन्छन् र मेरो काममा अवरोध ल्याउँछन्। यसलाई सानो कुरा नठान। जसले मेरो कामलाई अवरोध गर्दछ उसले मेरा प्रशासनिक आदेशहरूलाई उल्लंघन गर्दछ, र यो निश्चित छ कि म त्यस्ता मानिसहरूलाई कडाइका साथ ताडना दिनेछु। यसको मतलब के हो भने, अबदेखि यदि तँ एक क्षणको लागि पनि मबाट टाढा भइस् भने, तँमाथि न्याय आइपर्नेछ। यदि तँ मेरा वचनहरूमा विश्वास गर्दैनस् भने, तँ स्वयम् हेर् कि मेरो मुहारको ज्योतिमा जिउनु र मलाई छोडेर जिउनुमा के फरक छ।
तँ आत्मामा जिउँछस् कि जिउँदैनस् भन्नेबारे मलाई चासो छैन। मेरो काम हालको चरणमा आइपुगेको छ, तैँले के गर्न सक्छस्? चिन्तित नबन्, किनकि मैले गर्ने सबै कामका चरणहरू हुन्छन् र म आफ्नो काम आफै नै गर्छु। मैले काम गर्नेबित्तिकै, सबै पूर्ण रूपमा विश्वस्त हुन्छन्; यदि हुँदैनन् भने, म तिनीहरूलाई गम्भीर रूपमा सजाय दिनेछु, यो मेरो प्रशासनिक आदेशहरू अन्तर्गत पर्दछ। मेरा प्रशासनिक आदेशहरू प्रचारित र लागू गरिसकिएका छन् र अब उप्रान्त लुकेका छैनन्। तिमीहरूले यसलाई स्पष्टसँग देख्नैपर्छ! सबै कुरा अब मेरो प्रशासनिक आदेशहरू भित्र पर्छ र जसले यसको उल्लंघन गर्छ उसले घाटा बेहोर्नैपर्छ। यो कुनै सानो कुरा होइन। के तिमीहरूसँग यसबारे केही अन्तर्दृष्टि छ? के तिमीहरू यसलाई स्पष्टसँग देख्न सक्छौ? म सङगति सुरु गर्नेछु: सबै राष्ट्र र संसारका सबै मानिस मेरो हातबाट प्रशासित छन्, र तिनीहरूको धर्म जे भए पनि उनीहरू सबै मेरो सिंहासनमा फर्कनैपर्छ। अवश्य नै, केहीलाई न्याय गरिएपछि अतल कुण्डमा फालिनेछन् (बरबादीका वस्तुहरू जस्तै जुन पूर्ण रूपमा जलाइनेछ र अस्तित्व नै रहनेछैनन्), जबकी केहीलाई न्याय गरिएपछि तिनीहरूले मेरो नाम ग्रहण गर्नेछन् र मेरो राज्यका प्रजा हुनेछन् (जसमा तिनीहरूले केवल एक हजार वर्षको लागि आनन्द गर्नेछन्)। तैपनि, तिमीहरू सदाको लागि मेरो साथ मेरो राज्यमा रहनेछौ र तिमीहरूले पहिले मेरो लागि कष्ट भोगेका हुनाले, म तिमीहरूको कष्टहरूलाई अनन्त आशिषमा बदल्नेछु। जो मेरा मानिसहरू हुन् तिनीहरूले निरन्तर ख्रीष्टको सेवा मात्रै गर्नेछन्। यहाँ जे कुरालाई आनन्द भनिएको छ त्यो केवल आनन्द मात्र होइन, तर ती मानिसहरूलाई प्रकोपहरूको कष्टबाट बचाइनेछ भन्ने पनि हो। मैले तिमीहरूबाट माग गरेका कुरा त्यति कठोर हुनु, र सबै कुरालाई अहिले मेरा प्रशासनिक आदेशहरूले छोइरहेका छन् भन्ने कुराको भित्री अर्थ यही नै हो। यसको कारण के हो भने, यदि मेरो प्रशिक्षण स्वीकार गर्दैनौ भने, म तिमीहरूले उत्तराधिकार पाउने कुरा तिमीहरूलाई कुनै पनि हालतमा दिन सक्दिनँ। त्यसोभए तापनि, तिमीहरू सधैँ शरीरको लागि सोच्छौ र सधैँ आफ्नो लागि मात्रै प्रबन्ध र योजनाहरू बनाउँदै, पीडादेखि भयभीत हुन्छौ र तिमीहरूका आत्मालाई चोट लाग्नेछ भनेर डराउँछौ। के मैले तिमीहरूको लागि गरेका प्रबन्धहरू अनुपयुक्त छन्? त्यसो भए तँ किन आफै निरन्तर प्रबन्धहरू गर्छस्? मलाई बदनाम गर्छस्! त्यही होइन र? म तेरो लागि केही व्यवस्था गर्छु, तर तँ त्यसलाई पूर्ण रूपमा खण्डन गर्छस् र आफ्नै योजनाहरू बनाउँछस्।
तिमीहरू बोल्नमा सिपालु हुन सक्छौ, तर वास्तवमा तिमीहरूले कुनै पनि हालतमा मेरो इच्छाको पालन गर्दैनौ। मेरो कुरा सुन! म निश्चित रूपमा भन्दिनँ कि तिमीहरूमध्ये एक जना मेरो इच्छालाई विचार गर्न सक्षम छौ। तेरा कार्यहरू मेरो इच्छाअनुरूप भए पनि म तँलाई निश्चित रूपमा प्रशंसा गर्नेछैनँ। यो मुक्तिसम्बन्धी मेरो विधि हो। यद्यपि, तिमीहरू अझै पनि कहिलेकाहीँ आत्मसन्तुष्ट हुन्छौ, आफूलाई सर्वोत्तम ठान्दै अरूलाई तुच्छ ठान्छौ। यो मानिसको भ्रष्ट स्वभावको एउटा पक्ष हो। तिमीहरू सबैले यो कुरा सतही हो भनेर स्विकार्छौ। साँच्चै परिवर्तन हुनको लागि तिमीहरू मेरो नजिक आउनैपर्छ। मसँग सङ्गत गर् र म तँलाई अनुग्रह दिन्छु। केही अल्छी मानिसहरू केवल अरूले गरेको परिश्रमको फल प्राप्त गर्न चाहन्छन्, लुगा लगाउन आफ्ना पाखुराहरू तन्काए पुग्छ, र खानको लागि केवल आफ्नो मुख खोले पुग्छ, अझ निल्न अघि उनीहरूको मुखमा अरूले खानेकुरा चपाएर राखिदिए हुन्थ्यो भनी सोच्छन्। त्यस्ता मानिसहरू महामूर्ख हुन्, जो अरूले चपाएको खानेकुरा खान मन पराउँछन्। यो, मानिसको सबैभन्दा आलस्यपनको अभिव्यक्ति हो। मेरा यी वचनहरू सुनेपछि तिमीहरूले यसलाई पटक्कै नाग्घुहुँदैन। तैँले तब मात्रै सही गर्नेछस्, जब ममा दोबर ध्यान केन्द्रित गर्नेछस् र त्यसपछि मात्रै तैँले मेरो इच्छालाई सन्तुष्ट पार्नेछस्। यो सबैभन्दा राम्रो समर्पण र आज्ञाकारीता हो।