अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२६)

विषयवस्तु चौध: सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, अनि निकाला वा निष्कासित गर्ने (भाग पाँच)

मण्डलीको सफाइको कामप्रति अगुवा र कामदारहरूमा हुनुपर्ने मनोवृत्ति

यस वर्ष, हामीले अगुवा र कामदारहरूका जिम्मेवारीहरू, र संलग्न सबै प्रकारका मानिसहरूका प्रकटीकरणहरूका बारेमा निरन्तर सङ्गति गर्दै आएका छौँ। सङ्गतिका विषयहरू झन्-झन् विस्तृत र विशिष्ट बनेका छन्, जसमा सबै प्रकारका मानिसहरूका विभिन्‍न समस्याहरू समावेश छन्, र यी मानिसहरूका विशिष्ट प्रकटीकरणहरू र तिनीहरूलाई विभाजन गर्नुपर्ने वर्गहरूका बारेमा गरिएको सङ्गति पनि अत्यन्तै विशिष्ट र स्पष्ट रहेको छ। यी विस्तृत समस्याहरूका बारेमा जति विशिष्ट र स्पष्ट रूपमा सङ्गति गरिन्छ, यसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका लागि त्यति नै सकारात्मक सहयोग र मार्गदर्शन प्रदान गर्नुपर्छ, र अगुवा र कामदारहरूलाई काम गर्न र आफ्नो कर्तव्य पूरा गर्नका लागि त्यति नै बढी मार्गदर्शन र सहयोग प्रदान गर्नुपर्छ। तर, सङ्गति जसरी गरिए पनि, सङ्गति जति नै विशिष्ट भए पनि, कतिपय अगुवा र कामदारहरू मण्डलीका विभिन्‍न प्रकारका मानिस र समस्यालाई कसरी सम्हाल्ने र हटाउने भन्‍ने बारेमा अझै अस्पष्ट हुन्छन्। सबै प्रकारका मानिसहरूका समस्याहरूका बारेमा स्पष्ट रूपमा सङ्गति गरिन्छ, तैपनि कतिपय अगुवा र कामदारहरूले विभिन्‍न प्रकारका मानिसहरूलाई कसरी खुट्ट्याउने र व्यवहार गर्ने भन्‍ने कुरा अझै बुझ्न सक्दैनन्। तिनीहरूले अझै पनि सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्दैनन्, न त तिनीहरूले मण्डलीका विभिन्‍न प्रकारका मानिस र समस्यालाई सम्हाल्न सत्यताको प्रयोग नै गर्न सक्छन्। यसको कारण के हो? त्यस्ता मानिसहरूमा सत्यता वास्तविकताको कमी हुन्छ। सबै प्रकारका मानिसहरूका प्रकटीकरणहरूका बारेमा सङ्गति गरेर, व्यक्तिले मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्ने र नगर्ने, सत्यता पछ्याउने र नपछ्याउने, आज्ञाकारी र समर्पित हुने, र बाधा र अवरोध ल्याउनेहरूलाई आधारभूत रूपमा खुट्ट्याउनुपर्छ र तिनीहरूका लागि उचित बन्दोबस्तहरू गर्नुपर्छ। तर, मण्डलीका सबै प्रकारका मानिसहरूको अवस्थालाई हेर्दा, प्रस्ट रूपले दुष्ट मानिसहरू मात्रै निकालिएका छन्; धेरै अविश्‍वासीहरूलाई पूर्ण रूपमा निकालिएको छैन। मण्डलीलाई पखाल्ने काममा, अगुवा र कामदारहरूले यसलाई निष्क्रिय रूपमा लिनु, मान्छे खुसी पारिहिँड्ने व्यक्ति जस्तो व्यवहार गर्नु, वा स्पष्ट रूपले दुष्ट मानिसहरूलाई पखालेपछि सबै कुरा साम्य र ठीक भएको छ भनी सोच्नुको सट्टा दुष्ट मानिसहरू र अविश्‍वासीहरूलाई जति सक्दो चाँडो पखाल्ने परमेश्‍वरको काममा सहकार्य गर्नुपर्छ। अगुवा र कामदारहरूले हरेक समूहको कामलाई सक्रिय रूपमा निरीक्षण गर्नुपर्छ, हरेक समूहका सदस्यहरूको अवस्था कस्तो छ, त्यहाँ सङ्ख्या पुर्‍याउनलाई मात्रै कुनै अविश्‍वासीहरू छन् कि छैनन् वा मण्डलीको काममा बाधा दिन नकारात्मकता र धारणाहरू फैलाउने अविश्‍वासीहरू छन् कि छैनन् भनेर पुष्टि गर्नुपर्छ, र पत्ता लगाएपछि, यी मानिसहरूलाई पूर्ण रूपमा खुलासा गर्नुपर्छ र निकाल्नुपर्छ। अगुवा र कामदारहरूले गर्नुपर्ने काम यही हो; तिनीहरू निष्क्रिय हुनु हुँदैन, तिनीहरूले कार्य गर्न माथिका आदेश र अनुरोध पर्खिरहनु हुँदैन, र तिनीहरूले सबै दाजुभाइ-दिदीबहिनीहरूले भनेपछि केही थोरै मात्र काम गर्ने गर्नु हुँदैन। अगुवा र कामदारहरू आफ्‍नो काममा परमेश्‍वरका अभिप्रायहरूप्रति विचारशील हुनुपर्छ र उहाँप्रति बफादार हुनुपर्छ। तिनीहरूका लागि व्यवहार गर्ने सबभन्दा राम्रो उपाय भनेको सक्रिय भई समस्याहरू पहिचान र समाधान गर्नु हो। तिनीहरू, विशेषगरी आफूसँग आधारका रूपमा अहिलेका यी वचनहरू र सङ्गति हुँदा, निष्क्रिय रहनु हुँदै हुँदैन। तिनीहरूले सत्यतामाथि सङ्गति गरेर वास्तविक समस्या र कठिनाइहरू पूर्ण रूपमा समाधान गर्न पहल गर्नुपर्छ, र आफ्‍नो काम जसरी गर्नुपर्ने हो ठ्याक्कै त्यसरी नै गर्नुपर्छ। तिनीहरूले कार्यप्रगतिबारे तुरुन्तै र पूर्वसक्रिय रूपमा अनुगमन गर्नुपर्छ; तिनीहरूले सधैँ माथिको आदेश र अनुरोध पर्खेर मात्र अनिच्छापूर्वक कदम चाल्न मिल्दैन। यदि अगुवा र कामदारहरू सधैँ नकारात्मक र निष्क्रिय रहन्छन् र वास्तविक काम गर्दैनन् भने, तिनीहरू अगुवा र कामदारका रूपमा सेवा गर्न लायक हुँदैनन्, र तिनीहरूलाई बर्खास्त गरेर तिनीहरूको कर्तव्य हेरफेर गरिनुपर्छ। अहिले आफ्‍नो काममा निष्क्रिय बन्‍ने अगुवा र कामदारहरू धेरै छन्। तिनीहरू माथिबाट आदेश र दबाब आएपछि मात्र थोरै काम गर्छन्; नत्र, तिनीहरू सुस्ताउँछन् र बिलम्ब गर्छन्। कतिपय मण्डलीको काम निकै अव्यवस्थित हुन्छ, त्यहाँ कर्तव्य निभाउने कतिपय मानिसहरू अत्यन्तै सुस्त र झाराटारुवा हुन्छन्, र तिनीहरूले कुनै परिणाम दिँदैनन्। यी समस्याहरू पहिल्यै अत्यन्तै गम्‍भीर र भयानक प्रकृतिका हुन्छन्, तर ती मण्डलीका अगुवा र कामदारहरूले अधिकारी र अधिपतिझैँ व्यवहार गर्छन्। तिनीहरूले कुनै व्यावहारिक काम गर्न मात्र होइन, समस्याहरू पहिचान वा समाधान गर्नसमेत सक्दैनन्। यसले मण्डलीको काम ठप्‍प पार्छ र त्यसलाई गतिरोधमा पुर्‍याउँछ। जहाँ मण्डलीको काम भयानक रूपमा अस्तव्यस्त हुन्छ र व्यवस्थितपनको कुनै छनक हुँदैन, त्यहाँ अवश्य नै झूटो अगुवा वा ख्रीष्टविरोधीले शक्ति हातमा लिएको हुन्छ। झूटो अगुवाले शक्ति हातमा लिएको हरेक मण्डलीमा, मण्डलीको सबै काम भताभुङ्ग र पूर्ण भद्रगोल अवस्थामा हुन्छ—त्यसमा कुनै शङ्का छैन। उदाहरणका लागि, अमेरिकी मण्डलीहरूका धेरै समस्याहरू मैले आफ्नै कान वा आँखाले पत्ता लगाएँ। मैले देखेका धेरैजसो समस्याहरू ठाउँको-ठाउँ समाधान गरिए; अरू केही समस्याहरू मैले अमेरिकी मण्डलीका अगुवाहरूलाई समाधान गर्न लगाएँ। तर, अगुवा र कामदारहरूले अधिकांश काम निकै निष्क्रिय रूपमा गर्छन्, पुनः जाँचको कार्य ज्यादै सुस्त र त्यसको प्रभावकारिता अत्यन्तै न्यून हुन्छ, तिनीहरूका अधिकांश दैनिक कार्यहरू माथिको आदेश र आग्रहपछि मात्र अघि बढ्छन्। माथिले कामको प्रबन्ध गरेपछि, तिनीहरू केही समय व्यस्त हुनेछन्, तर त्यो काम सम्पन्न भएपछि, अब के गर्ने भनेर तिनीहरूलाई थाहै हुँदैन किनकि तिनीहरू आफूले कस्ता कर्तव्यहरू पूरा गर्नुपर्छ भन्‍ने नै बुझ्दैनन्। अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै तिनीहरूले निर्वाह गर्नुपर्ने कामका बारेमा तिनीहरू कहिल्यै स्पष्ट हुँदैनन्; तिनीहरूका नजरमा, गरिनुपर्ने काम केही पनि हुँदैन। यदि मानिसहरूलाई पूरा गरिनुपर्ने कुनै काम छ भन्‍ने लाग्दैन भने, त्यहाँ के भइरहेको हुन्छ? (तिनीहरूले बोझ वहन गर्दैनन्।) सटीक रूपमा भन्दा, तिनीहरूले बोझ वहन गर्दैनन्; तिनीहरू निकै अल्छी पनि हुन्छन् र चैन-आरामको लोभ गर्छन्, सम्भव भएसम्म धेरै पटक विश्राम लिन्छन्, र कुनै पनि अतिरिक्त कामहरू पन्छाउने कोसिस गर्छन्। यी अल्छी मानिसहरूले प्राय यस्तो सोच्‍ने गर्छन्, “मैले किन यति धेरै चिन्ता गर्ने? धेरै चिन्ता गर्दा छिटो बूढो मात्र भइन्छ। त्यस्तो काम गरेर, यति धेरै भौँतारिएर, अनि आफूलाई त्यति थकाएर मलाई कसरी फाइदा हुन्छ? अत्यधिक थकानले म बिरामी भएँ भने के हुन्छ? मसँग उपचार गर्ने पैसा छैन। अनि म बूढो भएपछि मेरो हेरचाह कसले गर्छ?” यी अल्छी मानिसहरू यति निष्क्रिय र पछौटे हुन्छन्। तिनीहरूमा एकरत्ती सत्यता हुँदैन, र तिनीहरूले केही पनि स्पष्ट देख्‍न सक्दैनन्। तिनीहरू प्रस्ट रूपले अन्योलमा परेका मानिस हुन्, होइनन् र? तिनीहरू सबै अन्योलमा छन्, तिनीहरू सत्यताप्रति बेखबर छन् र तिनीहरूलाई यसमा कुनै चासो हुँदैन, अनि तिनीहरूलाई कसरी मुक्ति दिन सकिन्छ र? मानिसहरू किन जिउँदो लासझैँ सधैँ अनुशासनहीन र अल्छी हुन्छन्? यो तिनीहरूको प्रकृतिको मामिलासँग जोडिएको छ। मानव प्रकृतिमा एक प्रकारको आलस्य हुन्छ। मानिसहरूले जुनसुकै काम गरिरहेका भए पनि, तिनीहरूलाई निरीक्षण र प्रोत्साहन गर्ने कोही न कोही व्यक्ति सधैँ चाहिन्छ। कहिलेकाहीँ मानिसहरूले देहको ख्याल गर्छन्, भौतिक सहजताको तृष्णा गर्छन्, र सधैँ आफ्‍ना लागि केही कुरा जोगाइराख्छन्—यी मानिसहरू दुष्ट अभिप्राय र धूर्त योजनाहरूले भरिपूर्ण हुन्छन्; यिनीहरू साँच्‍चै पटक्कै काम लाग्दैनन्। तिनीहरूले जुनै महत्त्वपूर्ण कर्तव्य निभाइरहेका भए पनि, सधैँ आफूले सक्‍नेभन्दा कम नै गर्छन्। यो गैरजिम्‍मेवारी र अबफादारी हो। आज मैले तिमीहरूलाई काममा निष्क्रिय नहुन यी कुराहरू बताएको छु। म जे भन्छु तिमीहरूले त्यसलाई पालना गर्न सक्नैपर्छ। यदि म विभिन्‍न मण्डलीहरूमा गएको र मैले तिमीहरूले धेरै काम गरेका छौ, तिमीहरूले अत्यन्तै प्रभावकारी रूपमा काम गरेका छौ, र काम अत्यन्तै द्रुत गतिमा अघि बढिरहेको छ, यो सन्तोषजनक स्तरमा पुगेको छ, र सबैले आफ्नो सक्दो प्रयास गरेका छन् भन्‍ने थाहा पाएको वा देखेको भए, म निकै खुसी हुनेथिएँ। यदि म विभिन्‍न मण्डलीहरूमा गएँ र मैले सबै पक्षहरूमा कामको प्रगति सुस्त भइरहेको छ भन्‍ने देखेँ, र यसले तिमीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गरेका छैनौ र सुसमाचार प्रचारको सामान्य गतिसँग आफ्नो गति मिलाएका छैनौ भन्‍ने कुरालाई प्रमाणित गर्ने हो भने, तिमीहरूलाई मेरो मुड कस्तो हुनेथ्यो भन्‍ने लाग्छ? के म अझै पनि तिमीहरूलाई देख्दा खुसी हुनेथिएँ? (अहँ।) हुनेथिइनँ। यो काम तिमीहरूलाई सुम्पिएको छ, र मैले भन्‍नुपर्ने सबै कुरा भनिसकेको छु; तिमीहरूलाई अभ्यासका विशिष्ट सिद्धान्तहरू र मार्ग पनि बताइएको छ। तैपनि, तिमीहरू कुनै कदम चाल्दैनौ, काम गर्दैनौ, र मैले व्यक्तिगत रूपमा तिमीहरूको सुपरिवेक्षण र तिमीहरूलाई प्रेरित गर्न, तिमीहरूलाई काटछाँट गर्न वा काम गर्न आदेश समेत दिन पर्खिरहेका हुन्छौ। यहाँ समस्या के हो? के यसलाई चिरफार गर्नु पर्दैन र? जब तिमीहरूले स्पष्ट रूपमा नै गर्नुपर्ने काम गरिरहेका हुँदैनौ र यसलाई वहन गर्न सक्दैनौ—के म तिमीहरूप्रति राम्रो मनोवृत्ति राख्न सक्छु? (सक्‍नुहुन्‍न।) म किन तिमीहरूप्रति राम्रो मनोवृत्ति राख्न सक्दिनँ? (हामी आफ्नो कर्तव्य पूरा गर्नमा अत्यन्तै गैरजिम्मेवार हुन्छौँ।) किनभने तिमीहरूले आफ्नो सारा हृदय र बलले आफ्नो कर्तव्य पूरा गरिरहेका हुँदैनौ, बरु झाराटारुवा तरिकाले मात्रै पूरा गरिरहेका हुन्छौ। आफ्नो कर्तव्यमा बफादार व्यक्तिले कम्तीमा पनि आफ्नो सबै सामर्थ्य लगाउनुपर्छ, तर तिमीहरूले यत्तिसमेत पूरा गर्न सक्दैनौ; तिमीहरू धेरै पछाडि पर्छौ! तिमीहरूको क्षमता अपर्याप्त छ भन्‍ने होइन; तिमीहरूको मानसिकता गलत छ र तिमीहरू गैरजिम्मेवार छौ। तिमीहरूका हृदयमा केही बेतुक कुराहरू छन्, जसले तिमीहरूलाई आफ्नो कर्तव्य पूरा गर्नबाट रोक्छन्। यसका साथै, मान्छे खुसी पारिहिँड्ने मानसिकताले तिमीहरूलाई मण्डलीलाई पखाल्ने काम गर्नमा बाधा दिन्छ। के तिमीहरूलाई मण्डलीलाई पखाल्नुको महत्त्व के हो भन्‍ने थाहा छ? परमेश्‍वरले किन मण्डलीलाई पखाल्न चाहनुहुन्छ? मण्डलीलाई नपखाल्नुका परिणामहरू के-के हुन्? तिमीहरू सबै यी कुराहरूका बारेमा अस्पष्ट छौ र तिमीहरूले सत्यताको खोजी गर्दैनौ, जसले तिमीहरूले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्दैनौ भन्‍ने कुरालाई प्रमाणित गर्छ। तिमीहरू आफ्नो पदको सामान्य र नियमित काम गर्न मात्रै इच्छुक हुन्छौ र विशेष कामहरू, विशेष गरी अरूलाई चिढ्याउन सक्ने कामहरूबाट टाढा बस्छौ। तिमीहरू सबै यी कामहरू अरू कसैलाई सुम्पन रुचाउँछौ। के तिमीहरू यसरी नै सोच्दैनौ र? के यो सम्बोधन गर्नुपर्ने समस्या होइन र? तिमीहरू सधैँ यसो भन्छौ, “मेरो क्षमता कमजोर छ, सत्यतासम्बन्धी मेरो बुझाइ सीमित छ, र मसँग कामको पर्याप्त अनुभव छैन। म कहिल्यै मण्डली अगुवा भएको छैनँ, न त मैले मण्डलीलाई पखाल्ने काम नै गरेको छु।” के यो बहाना बनाउनु होइन र? मण्डलीलाई पखाल्ने कामबारे अत्यन्तै स्पष्ट रूपमा सङ्गति गरिएको छ। ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, र अविश्‍वासीहरूलाई पखाल्नु अत्यन्तै सरल कुरा हो। के ती केही सिद्धान्तहरू बुझ्न साँच्चिकै त्यति गाह्रो छ? यदि त्यस्ता सरल समस्याहरूलाई स्पष्ट रूपमा व्याख्या गरियो र मानिसहरूले अझै पनि बुझेनन् भने, त्यसले के सङ्केत गर्छ? यसले के सङ्केत गर्छ भने, कि त मानव भाषा बुझ्नका लागि तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ, कि त तिनीहरू उचित कामहरूमा ध्यान नदिने बदमास मात्रै हुन्। अगुवा र कामदारहरूमध्ये, पक्कै पनि कमजोर क्षमता भएका कतिपय मानिसहरू हुन्छन्, र पक्कै पनि वास्तविक काममा संलग्न नहुने तर मान्छे खुसी पारिहिँड्ने केही व्यक्तिहरू हुन्छन्; उचित कामहरूलाई बेवास्ता गर्ने र लापरवाह रूपमा दुष्कर्म गर्ने केही बदमासहरू पनि अवश्य नै हुन्छन्—यी सबै अवस्थाहरू अस्तित्वमा हुन्छन्। सुरुमा, उचित कामहरूलाई बेवास्ता गर्ने यी बदमासहरूलाई पखाल्नुपर्छ। वास्तविक काम गर्न सक्ने जोकोहीलाई प्रयोग गर्नुपर्छ, अगुवाका रूपमा रहेर मान्छे खुसी पारिहिँड्ने व्यक्तिहरूलाई अवश्य नै बर्खास्त गर्नुपर्छ, र मानव भाषा बुझ्न र केही वास्तविक काम गर्न सक्ने कमजोर क्षमता भएका मानिसहरूलाई राख्नुपर्छ। यी समस्याहरूलाई यस तरिकाले समाधान गर्नुपर्छ। यदि परमेश्‍वरले सङ्गति गर्नुभएपछि, तैँले अगुवा र कामदारहरूले समाधान गर्नुपर्ने मण्डलीको कामका समस्याहरू स्पष्ट रूपमा देख्न सक्छस् भने, तैँले थप ढिलाइ नगरी तिनलाई तुरुन्तै समाधान गर्नुपर्छ। तैँले माथिले व्यक्तिगत रूपमा कामहरू सुम्पने वा आदेशहरू जारी गर्ने कुराको प्रतीक्षा नगरी कार्य गर्नका लागि अग्रसरता लिन सक्नुपर्छ। जस्तोसुकै समस्याहरू पैदा भए पनि, तिनले काममा असर गर्नुभन्दा पहिले नै तिनलाई समाधान गर्नुपर्छ। माथिले समस्याहरूको अनुसन्धान गर्न थाल्नुभन्दा पहिले नै, तैँले समस्याहरूबारे तेरो बुझाइ र तिनका समाधानहरू, तिनलाई सम्हाल्ने सिद्धान्तहरू, र तिनलाई सम्हाल्नुका परिणामहरूका बारेमा रिपोर्ट गरिसकेको हुनुपर्छ। त्यो कति राम्रो कुरा हुनेथ्यो! के त्यसपछि पनि माथि तँप्रति असन्तुष्ट हुन सक्छन्? अगुवा वा कामदारका रूपमा, यदि तैँले निरन्तर आफ्नो जिम्मेवारीको दायराभित्रको काम देख्न सक्दैनस्, वा तँमा केही सचेतना वा विचारहरू भए पनि तैँले बिलम्ब गरिरहन्छस् र कुनै कदम चाल्दैनस्, सधैँ माथिले तेरा लागि कामहरूको प्रबन्ध गरिदिऊन् भनी प्रतीक्षा गर्छस् भने, के यो जिम्मेवारीमा चुक्नु होइन र? (हो।) यो गम्‍भीर रूपले जिम्मेवारीमा चुक्नु हो! कर्तव्यलाई कसरी लिने भनेर अगुवा र कामदारको भूमिकासँगै आउने मनोवृत्ति र जिम्‍मेवारीलाई तैँले गुमाइसकेको हुन्छस्। अगुवा र कामदारहरूले आफ्नो काममा माथिका मागहरूलाई नजिकबाट पालन गर्नुपर्छ; माथिले जे कुरा सङ्गति गरेका छन्, तैँले त्यसैलाई कार्यान्वयन गर्नुपर्छ, त्यो कुरा बुझिसकेपछि तुरुन्तै काम गर्नुपर्छ र कार्यान्वयन गर्नुपर्छ। सत्यताद्वारा समस्याहरू समाधान गर्नु अगुवा र कामदारहरूको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी हो, र तैँले कुनै पनि काम गर्नुभन्दा पहिले माथिले कामको प्रबन्ध गर्ने कुराको निष्क्रिय रूपमा प्रतीक्षा गर्नु हुँदैन। यदि तँ सधैँ निष्क्रिय रूपमा प्रतीक्षा गरिरहेको हुन्छस् भने, तँ अगुवा वा कामदार बन्‍न योग्य छैनस्, तैँले यो कामको बोझ उठाउन सक्दैनस्, र जिम्मेवारी स्वीकार गर्नु र राजीनामा दिनु नै एक मात्र उचित कुरा हुनेछ।

परमेश्‍वरमा विश्‍वास गर्ने तीन प्रकारका मानिसहरूका प्रकटीकरण र परिणामहरू

१. श्रमिकहरू

अगुवा र कामदारहरूका जम्मा पन्ध्र वटा जिम्मेवारीहरू छन्, र हामीले चौधौँ जिम्मेवारीसम्म सङ्गति गरिसकेका छौँ। अगुवा र कामदारहरूले समाधान गर्नुपर्ने मण्डलीभित्रका समस्याहरू, साथै यी समस्याहरूमा संलग्न सबै प्रकारका मानिसहरूका समस्याहरूका बारेमा लगभग ८० देखि ९० प्रतिशतसम्म सङ्गति गरिएको छ। यी सबै अगुवा र कामदारहरूले लिनुपर्ने कामहरू र तिनीहरूले समाधान गर्नुपर्ने समस्याहरू हुन्। यसमा धेरै समस्याहरू समावेश हुन्छन्। एक हिसाबमा, यसले अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरूलाई छुन्छ; अर्को हिसाबमा, यो मण्डलीका सबै प्रकारका मानिसहरूका विभिन्न समस्याहरूसँग पनि सम्बन्धित हुन्छ। यस अवधिमा हाम्रो सङ्गतिको विषयवस्तु अगुवा र कामदारहरूका जिम्मेवारीहरू र झूटा अगुवाहरूको खुलासा भए पनि, हामीले यस विषयवस्तुले छुने विभिन्न प्रकारका मानिसहरूका समस्याहरू—र विभिन्न प्रकारका मानिसहरूको स्थिति र सारका बारेमा पनि धेरै सङ्गति गरेका छौँ। अवश्य नै, मण्डलीमा परमेश्‍वरलाई पछ्याउने सबै प्रकारका मानिसहरूमा यो विशिष्ट विषयवस्तुले फरक-फरक प्रभाव पार्छ। तिनीहरूमध्ये, यस्तो व्यक्ति पनि हुन्छ, जसले यो सबै सङ्गति सुनेपछि पनि, अझै “मसँग असल मानवता छ, म परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्छु, म परमेश्‍वरमाथिको आस्थामा कुराहरू त्याग्न तयार छु, र म आफ्नो कर्तव्य पूरा गर्नका लागि मूल्य चुकाउन र कष्ट सहन तयार छु।” तिनीहरूले सबै प्रकारका मानिसहरूका विभिन्न स्थितिहरू, विभिन्न स्थितिहरूमा संलग्न सत्यता, वा यस अवधिमा सङ्गति गरिएका मानिसहरूले बुझ्नुपर्ने सत्यता सिद्धान्तहरूका बारेमा चासो राख्दैनन्। के यो पनि एक प्रकारको व्यक्ति होइन र? के यस्तो व्यक्ति निकै प्रतिनिधिमूलक हुँदैन र? (हुन्छ।) यस्तो व्यक्तिले सधैँ एउटा निश्चित दृष्टिकोण बोकेको हुन्छ। यो दृष्टिकोण मुख्य रूपमा केबाट बनेको हुन्छ? मैले भर्खरै उल्लेख गरेका तीन वटा बुँदाहरू: पहिलो, तिनीहरू आफ्‍नो मानवता खराब छैन, र यो असल छ भन्ने समेत विश्‍वास गर्छन्। दोस्रो, तिनीहरू आफूले साँच्चै नै परमेश्‍वरमा विश्‍वास गर्छु भन्ने सोच्छन्, जसको अर्थ तिनीहरू साँच्चै नै परमेश्‍वरको अस्तित्व र यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छन्, मानव नियति परमेश्‍वरको नियन्त्रणमा छ, यो परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत पर्छ भन्ने विश्‍वास गर्छन् भन्ने हुन्छ, जुन “परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नु” भन्ने कुराको फराकिलो व्याख्या हो। तेस्रो, तिनीहरू आफूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा कुराहरू त्याग्न र आफ्नो कर्तव्य पूरा गर्नका लागि कष्ट सहन र मूल्य चुकाउन सक्छु भन्ने विश्‍वास गर्छन्। यी तीन बुँदाहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा यी मानिसहरूले पालन गर्ने सबैभन्दा आधारभूत, प्राथमिक, र केन्द्रीय तत्त्वहरू हुन् भनेर भन्न सकिन्छ। अवश्य नै, यी कुराहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको पूँजी, साथै तिनीहरूले पछ्याउने उद्देश्यहरू, र कार्य गर्ने तिनीहरूको उत्प्रेरणा र दिशाका रूपमा पनि लिन सकिन्छ। तिनीहरू के विश्‍वास गर्छन् भने, यी तीन वटा बुँदाहरू प्राप्त गर्दा तिनीहरूले मुक्ति पाउनुका तीन वटा आधारभूत सर्तहरू पूरा गर्न सक्छन्, जसले तिनीहरूलाई परमेश्‍वरले प्रेम गर्नुहुने र स्वीकार गर्नुहुने मानिस बनाउँछ। यो एउटा गम्भीर गल्ती हो; यी तीन बुँदाहरू आफूसँग हुनुले थोरै मानवतालाई मात्रै सङ्केत गर्छ। के थोरै मानवता हुँदैमा परमेश्‍वरको अनुमोदन पाउन सकिन्छ? बिलकुलै सकिँदैन; परमेश्‍वरले उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्नेहरूलाई अनुमोदन गर्नुहुन्छ। यी तीन बुँदाहरूले सत्यता वास्तविकताको मानक पूरा गर्दैनन्; ती त श्रमिक बन्ने तीन वटा मानक मात्रै हुन्। यसपछि, म तिमीहरूलाई स्पष्ट रूपमा बुझाउनका लागि यी तीन बुँदाका विवरणहरूमा सङ्गति गर्नेछु। पहिलो बुँदा भनेको असल मानवता हुनु हो। तिनीहरू दुष्टता नगर्नु, बाधा र अवरोध सिर्जना नगर्नु, र परमेश्‍वरको घरका हितहरूलाई हानि नगर्नु नै पर्याप्त हुन्छ, र यसको अर्थ तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्न र सिद्धान्तहरू अनुसार काम गर्न सक्छन् भन्ने हो भन्ने विश्‍वास गर्छन्। दोस्रो बुँदा “परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नु” हो। तिनीहरूका लागि, तिनीहरूले “परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नु” भनेर जुन कुरालाई भन्छन्, त्यसको अर्थ परमेश्‍वरको अस्तित्व वा यावत् थोकमाथि उहाँको सार्वभौमिकताको तथ्यलाई कहिल्यै शङ्का नगर्नु, र मानव नियति परमेश्‍वरको हातमा छ, र यसले तिनीहरूलाई परमेश्‍वरलाई अन्त्यसम्म पछ्याउन सहयोग गर्नेछ भन्ने हो। तिनीहरू आफूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गरेसम्म उहाँको अनुमोदन प्राप्त गरिन्छ भन्‍ने विश्‍वास गर्छन्। त्यसकारण, परमेश्‍वरले जसरी अगुवाइ गर्नुभए पनि वा व्यवहार गर्नुभए पनि, वा तिनीहरूले जुनसुकै समस्याहरूको सामना गरे पनि, तिनीहरूले “बस परमेश्‍वरलाई प्रेम गर, परमेश्‍वरलाई पछ्याऊ, परमेश्‍वरमा समर्पित होऊ” भन्छन्। समस्याहरू समाधान गर्ने तिनीहरूको विधि अत्यन्तै सरल छ; के त्यस्ता सामान्यीकृत शब्दहरूले कुनै समस्याहरू समाधान गर्न सक्छन्? तेस्रो बुँदा भनेको परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा कुराहरू त्याग्न सक्नु, र आफ्नो कर्तव्य पूरा गर्नका लागि कष्ट सहन र मूल्य चुकाउन सक्नु हो। तिनीहरूले यसलाई कसरी अभ्यास गर्छन्? तिनीहरूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने हुनाले, जब मण्डलीको काममा आवश्यकता हुन्छ वा जब तिनीहरूले परमेश्‍वरका जरुरी अभिप्रायहरू महसुस गर्छन्, तब तिनीहरूले सक्रिय रूपमा आफ्नो परिवार, वैवाहिक जीवन, र करियरलाई त्याग्न, आफ्ना सांसारिक सम्भाव्यताहरूलाई पन्छाउन, र कहिल्यै पछुतो नमानी दृढसङ्कल्पसाथ परमेश्‍वरलाई पछ्याउन र आफ्नो कर्तव्य पूरा गर्न सक्छन्। परमेश्‍वरको घरले तिनीहरूका लागि जुनसुकै कर्तव्यको प्रबन्ध गरे पनि, त्यसका लागि तिनीहरूले कष्ट सहन र मूल्य चुकाउन सक्छन्, चाहे त्यसका लागि थोरै खानु र थोरै सुत्नु नै किन नपरोस्। जिउने अवस्था जति नै कठिन भए पनि, वा केही प्रतिकूल वातावरणमा पनि, तिनीहरू अझै पनि आफ्नो कर्तव्य पूरा गर्नमा लागिरहन सक्छन्। यी तीन बुँदाहरू बाहेक, सत्यतासँग सम्बन्धित अरू सबै पक्षहरूको अभ्यास तिनीहरूका लागि तिनीहरूसँग सम्बन्धित छैन जस्तो देखिन्छ। तिनीहरू आफूलाई जे राम्रो वा ठीक लाग्छ त्यही गर्छन्। परमेश्‍वरले मानिसलाई बताउनुभएका विभिन्न अभ्यासका सिद्धान्तहरू, साथै परमेश्‍वरले खुलासा गर्नुभएका मानिसहरूका विभिन्न भ्रष्ट स्वभावहरूका स्थिति, प्रकटीकरण, र सारका हकमा, तिनीहरूलाई थोरै कुरा थाहा भए पनि वा पटक्कै थाहा नभए पनि ठीकै हो भन्ने लाग्छ; तिनीहरूलाई आफ्नो भ्रष्टता जाँच्न र आफ्ना कमीकमजोरीहरूलाई पूर्ति गर्नका लागि विभिन्न सिद्धान्तहरू विशिष्ट रूपमा र सावधानीपूर्वक खोजी गर्नु आवश्यक छैन, वा अरूले आफ्ना विभिन्न अनुभवात्मक गवाहीबारे गरेको सङ्गति सुन्‍न, त्यसपछि आत्म-रूपान्तरण हासिल गर्नका लागि प्रायः भेलाहरूमा सहभागी हुनु, आदि इत्यादि आवश्यक छैन भन्ने लाग्छ। तिनीहरूले परमेश्‍वरमा यसरी विश्‍वास गर्नु अत्यन्तै समस्याजनक हो, र यो अनावश्यक हो भन्ने महसुस गर्छन्। तिनीहरूले परमेश्‍वरमाथिको आस्था र स्वभाव परिवर्तनबारे सतही बुझाइ, साथै परमेश्‍वरको कामबारे विभिन्न धारणा र कल्पनाहरू बोकेर परमेश्‍वरलाई पछ्याउँछन् र आफ्नो कर्तव्य पूरा गर्छन्। के यस्तो व्यक्ति अत्यन्तै प्रतिनिधिमूलक हुँदैन र? (हुन्छ।) तिनीहरूले आफ्ना लागि सबैभन्दा आधारभूत मापदण्ड तय गर्छन्, र परमेश्‍वरमा विश्‍वास गर्ने कार्यप्रति तिनीहरूमा सबैभन्दा आधारभूत मनोवृत्ति हुन्छ। यसबाहेक, तिनीहरू सत्यता, परमेश्‍वरको न्याय र खुलासा, काटछाँट, साथै मानिसहरूका विभिन्न भ्रष्ट स्वभाव र विभिन्न स्थिति, प्रकटीकरण, इत्यादि कुराहरूलाई बेवास्ता गर्छन्। तिनीहरूले यी समस्याहरूका बारेमा कहिल्यै चिन्तन-मनन गर्दैनन्। अर्थात्, यी मानिसहरू आफूलाई असल मानवता भएको, असल मानिस, र परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिस ठान्छन्; अनि मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन् भनेर स्वीकार गरिरहँदा, तिनीहरू परमेश्‍वरले खुलासा गर्नुभएका मानिसहरूका विभिन्न भ्रष्ट स्वभावका विशिष्ट स्थिति र प्रकटीकरणहरूलाई बेवास्ता गर्छन्, र यी कुराहरूको अनुसन्धान गर्न कुनै प्रयास गर्दैनन्। के यो एक प्रकारको व्यक्ति होइन र? के परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा यस्तो व्यक्तिका दृष्टिकोण र विशिष्ट प्रकटीकरणहरू अत्यन्तै प्रतिनिधिमूलक हुँदैनन् र? (हुन्छन्।) परमेश्‍वरमा विश्‍वास गर्नेबारे यी मानिसहरूका दृष्टिकोणहरू, मुक्ति पाउनेबारे तिनीहरूको बुझाइ, र मानिसहरूका विभिन्न भ्रष्ट स्वभावलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्तिलाई विचार गर्दा, यी मानिसहरूलाई कुन वर्गमा राख्नुपर्छ? (अन्योलग्रस्त विश्‍वास भएका, सत्यता नपछ्याउने मानिसहरू।) यो त सतही रूप मात्रै हो; यी मानिसहरूलाई साँच्चै कसरी वर्गीकृत गर्नुपर्छ? के मण्डलीमा त्यस्ता मानिसहरू धेरै हुन्छन्? (हुन्छन्।) जब निश्चित समस्याहरूका बारेमा छलफल गरिन्छ र सम्बन्धित सत्यताहरूमा सङ्गति गरिन्छ, तब तिनीहरूलाई निद्रा लाग्न थाल्छ, तिनीहरू झुल्न थाल्छन्, वा तिनीहरू अन्योलमा पर्छन्, र कुनै चासो देखाउँदैनन्। यदि तिनीहरूलाई कुनै काम वा कार्य अह्राइएको छ भने, तिनीहरू कष्ट वा थकाइको परवाह नगरी पाखुरा सुर्केर काममा लागिपर्छन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्नु यस्तो काम गर्नु जस्तै हुने भएको भए गजब हुनेथ्यो—त्यसपछि तिनीहरू उत्प्रेरित हुनेथिए भन्‍ने सोच्छन्। जब कष्ट सहने, मूल्य चुकाउने, र काममा मेहनत लगाउने समय आउँछ, तब तिनीहरूले साँचो तत्परता देखाउँछन्। तर के यो साँचो तत्परता र जोश बफादार हुनु सरह हो? के सत्यता सिद्धान्तहरू बुझेपछि व्यक्तिमा हुनुपर्ने प्रकटीकरण यही हो? (होइन।) मेरो सङ्गतिबाट, के तिमीहरू यी मानिसहरूलाई कुन वर्गमा वर्गीकृत गर्नुपर्छ भन्ने कुरा देख्न सक्छौ? (श्रमिकहरू।) ठीक भन्यौ। यी मानिसहरू श्रमिक हुन्, र श्रमिकहरूले परमेश्‍वरमा यसरी नै विश्‍वास गर्छन्।

हामीले ख्रीष्टविरोधीहरूको प्रकृति, सार, र विभिन्न प्रकटीकरणहरूका बारेमा, साथै ख्रीष्टविरोधीहरूको स्वभाव भएका तर वास्तवमा ख्रीष्टविरोधी नभएका मानिसहरूका विभिन्न प्रकटीकरणहरूका बारेमा सङ्गति गरेर सुरु गर्‍यौँ। अहिले, हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूले छुने विभिन्न प्रकारका मानिसहरूका प्रकटीकरणहरूका बारेमा सङ्गति गरिरहेका छौँ। सङ्गति गरिएका विषयहरू ख्रीष्टविरोधीहरू र झूटा अगुवाहरूका बारेमा रहेका भए पनि, हरेक विषयले छुने विशिष्ट समस्या र प्रकटीकरणहरू भ्रष्ट मानवजातिका भ्रष्ट स्वभावहरू, साथै भ्रष्ट स्वभावहरूको प्रभुत्वमा पैदा हुने विभिन्न स्थिति र प्रकटीकरणहरूसँग सम्बन्धित छन्। झूटा अगुवा र ख्रीष्टविरोधीहरू अल्पसङ्ख्यक मात्रै भए पनि, झूटा अगुवा र ख्रीष्टविरोधीहरूका स्वभावहरू, साथै तिनीहरूका विभिन्न स्थिति र प्रकटीकरणहरू हरेक व्यक्तिमा फरक-फरक मात्रामा हुन्छन्। अब यी समस्याहरूमा यति विस्तृत रूपमा सङ्गति गरिएको हुनाले, सत्यता पछ्याउनेहरूसँग सत्यता पछ्याउने, सत्यता अभ्यास गर्ने, सत्यता सिद्धान्तहरू बुझ्ने, र सत्यता वास्तविकतामा प्रवेश गर्ने थप मार्ग र दिशा, र अझै स्पष्ट उद्देश्यहरू हुनेछन्। यो तिनीहरूका लागि राम्रो कुरा हो र हर्षको कारण हो। अर्को शब्दमा भन्दा, तिनीहरू परमेश्‍वरमाथिको आफ्नो आस्थामा नयाँ कोसेढुङ्गोतर्फ अघि बढिरहेका छन्। तिनीहरू प्रावधान, धार्मिक कर्मकाण्डहरू, वा शब्द र धर्मसिद्धान्तहरू, र नाराहरूअन्तर्गत जिउन छाडेका छन्। बरु, तिनीहरूसँग अभ्यासका लागि अझै ठोस दिशा र उद्देश्यहरू रहेका छन्, र अवश्य नै पछ्याउनुपर्ने अझै विशिष्ट सिद्धान्तहरू रहेका छन्। निश्चित परिस्थितिहरूमा कसरी अभ्यास गर्ने र संलग्न सत्यता सिद्धान्तहरू के-के हुन्, वा मानिसहरूमा के-कस्ता स्थिति र भ्रष्टताहरू रहेका छन् र तिनलाई कसरी व्यवहार गर्नुपर्छ, साथै तिनलाई समाधान गर्न कसरी सत्यताको खोजी गर्ने भन्ने कुरा—ख्रीष्टविरोधीहरू र झूटा अगुवाहरूका बारेमा सङ्गति गरिएका मुख्य दुई वटा विषयहरूले प्रायजसो यी विषयवस्तुहरूलाई छुन्छन्। सत्यता पछ्याउनेहरूका हकमा भन्दा, सत्यता जति विशिष्ट रूपमा सङ्गति गरिन्छ, त्यति नै बढी तिनीहरूसँग अभ्यासको मार्ग हुन्छ। सत्यता जति विशिष्ट रूपमा सङ्गति गरिन्छ, मानिसहरूको हृदय त्यति नै बढी उज्यालो र स्पष्ट बन्छ, तिनीहरूले आफूलाई त्यति नै बढी चिन्न र बुझ्न सक्छन्, र तिनीहरू अब केमा प्रवेश गर्नुपर्छ र तिनीहरूले अब के-कस्ता समस्याहरू समाधान गर्नुपर्छ भन्ने बारेमा त्यति नै बढी सचेत हुन्छन्। भर्खरै श्रमिकहरू भनेर उल्लेख गरिएका मानिसहरूका हकमा भन्दा, हामीले मानवजातिको भ्रष्ट स्वभावले पैदा गर्ने विभिन्न स्थितिहरू र समाधान गरिनुपर्ने भ्रष्टताका विभिन्न समस्याहरूका बारेमा व्यापक रूपमा सङ्गति गरेपछि, तिनीहरू अझै पनि अचल नै रहन्छन्। अचल रहनु भनेको के हो? यसको अर्थ तिनीहरू अझै पनि सत्यताको पछ्याइ र परमेश्‍वरले बताउनुभएको मुक्तिको मार्गबारे स्पष्ट हुँदैनन् र तिनीहरूले ती बुझ्न सक्दैनन् भन्ने हुन्छ। अझै गम्भीर रूपमा भन्दा, यति धेरै अत्यावश्यक प्रकटीकरण र समस्याहरू सङ्गति गरिसकेपछि पनि, तिनीहरू अझै यस्तो सोच्छन्, “मसँग असल मानवता छ, म परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्छु, म परमेश्‍वरमाथिको आस्थामा कुराहरू त्याग्न तयार छु, र म आफ्नो कर्तव्य पूरा गर्नका लागि मूल्य चुकाउन र कष्ट सहन तयार छु; यति गरे पुग्छ।” अवस्थाहरूको सामना गर्दा, तिनीहरू न त आफूलाई जाँच्छन् न त परमेश्‍वरका वचनहरूसँग आफूलाई तुलना गर्छन्, बरु आफ्नो मानव भलाइ वा आफूसँग भएको थोरै विवेक र समझका आधारमा मात्रै समस्याहरू समाधान गर्ने प्रयास गर्छन्। अवश्य नै, कतिपय मानिसहरू संयम र धैर्यतामा भर पर्छन्, र बारम्बार कष्ट सहन्छन्, जबकि अरू चाहिँ संसारसँग व्यवहार गर्ने दर्शनहरूमा भर पर्छन्, जसले गर्दा ठूला समस्याहरू सानातिना देखिन्छन्, अनि त्यसपछि सानातिना समस्याहरू समस्यारहित देखिन्छन्। तिनीहरूले पछ्याउने लक्ष्य यस्तो हुन्छ: “परमेश्‍वरको काम समाप्त हुने दिनसम्म, यदि म अझै पनि मण्डलीमा आफ्नो कर्तव्य पूरा गरिरहेको हुन्छु, र मलाई निकालिएको हुँदैन भने, त्यो नै पर्याप्त हुन्छ। मसँग आफूबारे साँचो बुझाइ हुनु वा नहुनु, मेरा भ्रष्ट स्वभाव समाधान भएको हुनु वा नहुनु, मसँग परमेश्‍वरप्रति साँचो समर्पण हुनु वा नहुनु, म परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति हुनु वा नहुनु—ती सानातिना समस्या हुन्, जुन उल्लेख गर्न लायक छैनन्। तपाईँ सबै कुरालाई ठूलो बनाउनुहुन्छ, यति विस्तृत रूपमा सत्यता सङ्गति गर्नुहुन्छ, सङ्गतिका लागि स-साना समस्याहरूसमेत निरन्तर उठाउनुहुन्छ, हामीलाई सधैँ खुट्ट्याउन लगाउनुहुन्छ; म सत्यताबारे यी सङ्गतिहरू सुन्न इच्छुक छँदै छैन, मलाई पटक्कै रुचि छैन। जब परमेश्‍वरको दिन आउँछ, तब हामी सिधै राज्यमा प्रवेश गर्न सक्यौँ भने कति राम्रो हुनेथियो!” हरेकको धैर्यका सीमाहरू हुन्छन् भन्ने कुरा साँचो भए पनि, त्यस्ता मानिसहरूको धैर्य असीमित हुन्छ। किन? किनभने तिनीहरू आफूसँग असल मानवता छ, आफूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्छु, परमेश्‍वरका विश्‍वासीका नाताले आफूसँग कुराहरू त्याग्ने क्षमता छ, र आफ्नो कर्तव्य पूरा गर्न मूल्य चुकाउने र कष्ट सहने इच्छा छ भन्ने विश्‍वास गर्छन्; कुनै पनि कुराको सामना गर्दा, तिनीहरूसँग आफ्नै समाधान हुन्छ, र अन्ततः तिनीहरू अझै पनि आफ्नो कर्तव्य दृढतापूर्वक पूरा गर्न र दह्रिलो रूपमा खडा हुन सक्छन्। तर, तिनीहरू आफ्नो कर्तव्य पूरा गर्नमा जसरी लागिपरे पनि, वा तिनीहरू जुनसुकै उपाय लगाएर अन्त्यसम्म लागिपरे पनि, तिनीहरूको उत्प्रेरणा जेसुकै भए पनि, एउटा कुरा निश्चित छ: तिनीहरूसँग परमेश्‍वरप्रति साँचो समर्पण हुँदैन, र तिनीहरूले कहिल्यै आफ्नो भ्रष्ट स्वभाव बुझ्दैनन्। अझै सटीक रूपमा भन्दा, यी मानिसहरू आफूसँग भ्रष्टता छ भन्ने कुरालाई स्वीकार गर्दैनन्, न त तिनीहरू परमेश्‍वरले खुलासा गर्नुभएका मानिसहरूका भ्रष्ट स्वभावबाट पैदा हुने विभिन्न स्थिति र समस्याहरूलाई नै स्वीकार गर्छन्। तिनीहरूले कहिलेकाहीँ यी स्थिति र समस्याहरूसँग आफूलाई तुलना गरे पनि, तिनीहरूले यसलाई रूखो तरिकाले लिन्छन् र भन्छन्, “सबै जना समान रूपमा भ्रष्ट हुन्छन्। सबैमा दियाबलसहरू र शैतानको प्रकृति सार हुन्छ; हामी सबै परमेश्‍वरका शत्रु हौँ। यो कसैले पनि परिवर्तन गर्न नसक्ने तथ्य हो। तर व्यक्ति आफ्नो कर्तव्य पूरा गर्नमा लागिरहेसम्म, परमेश्‍वरले उसलाई अवश्य नै अनुमोदन गर्नुहुनेछ, र अन्त्यसम्म लागिरहनेहरू नै विजेता हुनेछन्।” तिनीहरूको दृष्टिकोणलाई हेर्दा, तिनीहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा निकै दह्रिला हुन्छन्, तर अनुभवात्मक गवाही बाँड्ने कुरामा, तिनीहरू चुपचाप बस्छन्, र एक शब्द पनि बोल्न सक्दैनन्। जब भेलाहरूमा सत्यता सङ्गति गर्ने समय आउँछ, तब तिनीहरू झुल्छन् र तिनीहरूले यो कुरा ग्रहण गर्न सक्दैनन्। यदि तैँले तिनीहरूलाई “तपाईँ हरेक दिन आफ्नो कर्तव्यमा परमेश्‍वरका वचनहरू कसरी अनुभव गर्नुहुन्छ?” भनेर सोधिस् भने, तिनीहरूले भन्छन्, “मण्डलीले मेरा लागि जे गर्न प्रबन्ध गर्छ, म त्यही गर्छु। के यसका लागि अनुभव गर्नु आवश्यक हुन्छ र?” तिनीहरूले बुझ्दैनन् जस्तो देखिन्छ। त्यसपछि यदि तैँले तिनीहरूलाई “के तपाईँको कुनै भ्रष्टता प्रकट भइरहेको छ? तपाईँ आफूलाई कसरी बुझ्‍नुहुन्छ?” भनेर सोधिस् भने तिनीहरूले भन्छन्, “म त केवल परमेश्‍वरमा समर्पित हुन्छु र परमेश्‍वरलाई प्रेम गर्छु; यसमा के-कस्ता समस्याहरू हुन सक्छन् र?” तिनीहरूको सोचाइ त्यति सरल हुन्छ। तिनीहरूको दृष्टिकोण यस्तो हुन्छ: “परमेश्‍वरमा विश्‍वास गर्ने कार्य यस्तै हुनुपर्छ। किन यति धेरै सानातिना समस्याहरूको झन्झट गर्नु? तिमीहरू परिस्थितिलाई अत्यन्तै जटिल बनाइरहेका छौ!” त्यसकारण, तिनीहरूले सत्यता सिद्धान्तहरू कहिल्यै नखोजी, बरु असल अभिप्राय र जोशका साथ काम गर्दै आफ्नो कर्तव्य पूरा गर्छन् र कामहरू सम्पन्न गर्छन्। अझै सटीक रूपमा भन्दा, तिनीहरूले विवेक र समझको प्रभुत्वमा रहेर कार्य गर्छन्, र सोच्छन्: “मैले धेरै हदसम्म कष्ट भोगिसकेको र मूल्य चुकाइसकेको छु; मैले धेरै हदसम्म सत्यता अभ्यास गरिसकेको र परमेश्‍वरलाई सन्तुष्ट पारिसकेको छु; मबाट योभन्दा बढी नमाग। म जस्तो छु, ठीकै छु, म असल व्यक्ति हुँ, र म परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्छु।” अवश्य नै, कहिलेकाहीँ यी मानिसहरूले मनको कुरा नपोखाई बस्नै सक्दैनन्, त्यसपछि तिनीहरूको असली रूप खुलासा हुन्छ। तिनीहरूले धेरै शब्द र धर्मसिद्धान्तहरू फलाक्न सक्छन्, तर तिनीहरूमा कुनै वास्तविक कद हुँदैन; अर्को शब्दमा भन्दा, तिनीहरूमा कुनै जीवन हुँदैन। जीवन नहुनुले विशेष गरी केलाई जनाउँछ? (तिनीहरूसँग कुनै सत्यता हुँदैन।) सत्यता नहुने अवस्था कसरी आउँछ? (तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, न त यसलाई पछ्याउँछन् नै।) कुरा तिनीहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन् भन्ने नै होइन; ठ्याक्कै भन्नुपर्दा, तिनीहरूले सत्यतालाई स्वीकार नै गर्दैनन्। कतिपयले यसो भन्न सक्छन्, “तिनीहरूले सत्यतालाई स्वीकार गर्दैनन् भनेर तपाईँले कसरी भन्न सक्‍नुहुन्छ? तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न धेरै कष्ट सहन्छन् र ठूलो मूल्य चुकाउँछन्, बिहानदेखि साँझसम्म हरेक दिन परिश्रम गर्छन्; तिनीहरूसँग कुनै सत्यता छैन भनेर तपाईँले कसरी भन्न सक्नुहुन्छ?” के यसो भन्नु तिनीहरूलाई अन्याय गर्नु हो? तर यदि तैँले यी मानिसहरूलाई हेरिस् भने, तिनीहरूको कष्ट भोग्नु र मूल्य चुकाउनुको पछाडि, के तिनीहरूले गर्ने सबै कुरा सत्यता सिद्धान्तहरूको दायराभित्र पर्छ? के तिनीहरूले आफूले गर्ने सबै कुरामा सिद्धान्तहरू खोज्छन्? के तिनीहरू परमेश्‍वरको डर मान्ने हृदय लिएर परमेश्‍वरसामु आउँछन्, र परमेश्‍वरका वचनहरू र परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरू अनुसार कामकुरा गर्छन्? गर्दैनन्; तिनीहरू केवल मानव कार्य, मानव संयम अनुसार चल्छन्। तिनीहरूले सत्यतालाई नस्विकार्नुको मुख्य प्रकटीकरण के हो? त्यो के हो भने, कुनै काम गर्नुभन्दा पहिले, तिनीहरूले कहिल्यै सक्रिय रूपमा सत्यताको खोजी गर्दैनन्, न त तिनीहरूले कहिल्यै सत्यताका सिद्धान्तहरू के हुन् भनेर गम्भीरताका साथ मनन गर्छन् र त्यसपछि परमेश्‍वरका वचनहरू अनुसार कडाइका साथ अभ्यास नै गर्छन्। के तिनीहरूले त्यस्ता विचार र मनोवृत्तिहरू बोकेका हुन्छन्? परमेश्‍वरले खुलासा गर्नुभएका मानवजातिको भ्रष्ट स्वभावका विभिन्न प्रकटीकरणहरूप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? के तिनीहरूले यी वचनहरूलाई स्विकार्छन्? के तिनीहरूले यी वचनहरू तथ्यगत छन् भनेर स्वीकार गर्छन्? के तिनीहरूले यी विशिष्ट प्रकटीकरणहरू भ्रष्टताका प्रकटीकरण हुन् भन्ने कुरा मान्छन्? तिनीहरूले सहमतिमा शिर हल्लाउन वा बाहिरी रूपमा यसलाई स्वीकार गर्न सक्छन्, तर हृदयमा, तिनीहरूले यसलाई स्वीकार गर्दैनन्; तिनीहरूले यसलाई बेवास्ता गर्छन्। यसलाई बेवास्ता गर्नु भनेको के हो? किटेरै भन्दा, यसको अर्थ स्वीकार नगर्नु, कुनै स्पष्ट मनोवृत्ति नहुनु, र कुनै स्पष्ट प्रतिरोध वा विरोध नहुनु, बरु परमेश्‍वरले बोल्नुभएका यी वचनहरूप्रति रूखो व्यवहार गर्ने मनोवृत्ति अपनाउनु हो। “रूखो व्यवहार” भन्नु अलिक अमूर्त हुन्छ; किटेरै भन्नुपर्दा, यसको अर्थ तिनीहरूले यस्तो सोच्छन् भन्ने हो, “तपाईँ मानिसहरू अहङ्कारी र छली हुन्छन् भनेर भन्नुहुन्छ, तर कोचाहिँ छली हुँदैन र? कोसँग अलिकति चलाकी हुँदैन र? अलिकति अहङ्कार वा घमण्ड कसले देखाउँदैन र? यो कुन ठूलो कुरा भयो र? व्यक्तिले कष्ट सहन र मूल्य चुकाउन सकेसम्म, त्यो नै पर्याप्त हुन्छ।” के यो अस्वीकारको मनोवृत्ति र विशिष्ट प्रकटीकरण होइन र? (हो।) यो सत्यतालाई नस्विकार्नु हो। परमेश्‍वरको न्याय र खुलासाका वचनहरूप्रति तिनीहरूमा बेवास्ता र अस्वीकारको मनोवृत्ति हुन्छ। त्यसकारण, जब दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई दिने मूल्याङ्कन र सम्झौटोको, र तिनीहरूका भ्रष्ट स्वभावका बारेमा दाजुभाइ-दिदीबहिनीहरूले प्रदान गर्ने सङ्केत र सहयोगको समेत कुरा आउँछ, के तिनीहरूले यी कुराहरूलाई स्वीकार गर्न सक्छन्? (सक्दैनन्।) त्यसोभए मलाई भन्, तिनीहरूका विशिष्ट प्रकटीकरणहरू के-के हुन्? तिनीहरूले यी कुराहरूलाई किन स्विकार्न सक्दैनन्? यसो भन्नलाई तेरो प्रमाण कहाँ छ? उदाहरणका लागि, जब तैँले तिनीहरूलाई “तिमीले यस्तो लापरवाह तरिकाले आफ्नो कर्तव्य पूरा गर्नु हुँदैन; यो झाराटारुवा तरिका हो” भनेर भन्छस्, तब तिनीहरूका कुन-कुन प्रकटीकरणहरूले तिनीहरूले सत्यतालाई स्वीकार गर्दैनन् भन्ने प्रमाणित गर्छन्? (तिनीहरूले यसो भन्‍नेथिए, “मैले यसमा आफ्नो हृदय लगाइसकेको छु। मैले कष्ट भोगिसकेको छु र मूल्य चुकाइसकेको छु। म झाराटारुवा भइरहेको छु भनेर तपाईँले कसरी भन्न सक्‍नुहुन्छ?”) यो त तिनीहरूले आफूलाई सही ठहर्‍याउनु हो। के तिनीहरूले कहिलेकाहीँ बहानाहरू खोज्छन्? तिनीहरूले हृदयमा यसलाई स्वीकार गरे पनि, तिनीहरूले अझै यस्तो सोच्छन्, “म झाराटारुवा भएँ त के भो? कसको चाहिँ खराब दिन हुँदैन र? कसले सामान्य भावनाहरू अनुभव गर्दैन र? तर म झाराटारुवा भएको कुरा स्वीकार गर्न सक्दिनँ; मैले यसलाई ढाकछोप गर्ने बहाना खोज्नुपर्छ। मैले इज्जत गुमाउनु हुँदैन।” यसरी, तिनीहरूले चतुर्‍याइँसाथ आफ्नो बचाउ गर्न धेरै कारण र बहानाहरू खोज्छन्, आफूले झारा टारिरहेको तथ्य स्वीकार गर्दैनन्, यस सम्बन्धमा आफ्ना समस्याहरू स्वीकार गर्दैनन्, न त अरू मानिसबाट आएका सङ्केतहरू नै स्वीकार गर्छन्। यो सत्यतालाई स्वीकार नगर्नुको एउटा विशिष्ट प्रकटीकरण हो। वास्तविक अवस्थाहरूको सामना नगर्दा, तिनीहरू आफूलाई “परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने, असल व्यक्ति” ठान्छन्। अवस्थाहरूको सामना गर्दा, तिनीहरूले अब यस कुरालाई ढालका रूपमा प्रयोग गर्न नसके पनि, तिनीहरूले अझै पनि आफूलाई सही साबित गर्ने र आफ्नो बचाउ गर्ने, समस्यालाई लिपपोत गर्ने, यसलाई अन्त्य गर्ने पर्याप्त कारणहरू भेट्टाउँछन्, त्यसपछि आफूलाई “असल मानवता भएको, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने, र त्याग्ने क्षमता भएको, र आफ्नो कर्तव्य पूरा गर्न कष्ट सहने र मूल्य चुकाउने क्षमता भएको असल व्यक्ति” का रूपमा हेरिरहन्छन्। सटीक रूपमा भन्दा, त्यस्ता मानिसहरूमा श्रमिकहरूको प्रकटीकरण, र सार हुन्छन्। मण्डलीमा यो समूहले ठूलो अनुपात ओगटेको हुन्छ। यी व्यक्तिहरूको अनुपात जति भए पनि, अन्तिममा, यदि तिनीहरूले कुनै पनि ठूलो अपराध नगरी, परमेश्‍वरका प्रशासनिक आदेशहरू उल्लङ्घन नगरी वा उहाँको स्वभावलाई नचिढ्याई साँच्चै कष्ट भोग्न र मूल्य चुकाउन सक्छन्, र अन्त्यसम्म सहन र लागिरहन सक्छन् भने, तिनीहरू बफादार श्रमिकहरू हुन्, जो रहन सक्छन्। यो निकै ठूलो आशिष् हो! तिनीहरू सत्यता पछ्याउँदैनन्, न त तिनीहरूले परमेश्‍वरको इच्छालाई पछ्याउन, परमेश्‍वरको गवाही दिन, वा परमेश्‍वरका वचन र कामको गवाहीका रूपमा कार्य गर्न नै सक्छन्—यो आशिष् प्राप्त गर्नु आफैमा निकै राम्रो कुरा हो। सत्यता नपछ्याई के प्राप्त गर्ने आशा गर्न सकिन्छ? बफादार श्रमिक हुनु नै खराब कुरा होइन। कतिपय मानिसहरूले सोध्छन्, “के यी व्यक्तिहरू परमेश्‍वरका मानिस बन्न सम्भव छ?” सम्भव छ। एक मात्र सम्भावना भनेको, यदि यी व्यक्तिहरूले त्याग्न र कष्ट भोग्न सक्ने आधारमा सत्यतालाई स्वीकार गर्न, आफ्नो भ्रष्टतालाई स्वीकार गर्न र सही रूपमा सामना गर्न सक्छन्, त्यसपछि त्यसलाई समाधान गर्न सत्यताको खोजी गर्न सक्छन्, मानव भलाइ वा मानव संयम, सहनशक्ति, र दृढताका आधारमा कार्य गर्दैनन्, तर सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्छन्, जसले गर्दा अन्तमा, तिनीहरूको स्वभाव केही मात्रामा परिवर्तन हुन सक्छ भने, तिनीहरूसँग परमेश्‍वरका मानिस बन्ने केही मौका हुन्छ। तर, यदि तिनीहरूको कार्य र व्यवहार स्वभाव परिवर्तनसँग सम्बन्धित छैन, सत्यतालाई स्वीकार गर्नु र मुक्ति पाउनुसँग सम्बन्धित छैन भने, परमेश्‍वरका मानिसहरू बन्ने तिनीहरूको सम्भावना शून्य हुन्छ; यो तथ्य हो। बफादार श्रमिकहरूसँग व्यवहार गर्ने सिद्धान्त के हो? यो भनेको यी मानिसहरूलाई स्पष्ट सोच राख्ने बनाउन सक्दो प्रयास गर्नु हो। तिनीहरूलाई स्पष्ट सोच राख्ने बनाउनुको उद्देश्य के हो? तिनीहरूलाई अव्यावहारिक सपना देख्नबाट रोक्नु हो। कतिपयले यस्तो सोध्न सक्छन्, “‘अव्यावहारिक सपना देख्नु’ को अर्थ के हो?” यसको अर्थ मानिसहरूले आफूलाई “असल मानवता भएको, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने, र त्याग्ने क्षमता र मूल्य चुकाउने इच्छा भएको” ठान्नु, अनि त्यसपछि परमेश्‍वरले मुक्ति दिनुहुनेछ भन्ने अपेक्षा गर्नु हो, जुन असम्भव छ। “असल मानवता हुनु, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नु, र त्याग्ने क्षमता र मूल्य चुकाउने इच्छा हुनुले परमेश्‍वरको मुक्ति प्राप्त गर्नतर्फ डोर्‍याउन सक्छ” भन्ने दृष्टिकोण राख्नु गलत र मूर्खतापूर्ण कुरा हो भन्ने कुरा तिनीहरूलाई स्पष्ट पार्नैपर्छ। यी गुणहरू हुनुको अर्थ व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव त्यागेको छ भन्ने हुँदैन, न त थोरै असल व्यवहारको अर्थ व्यक्तिले मुक्ति पाउन सक्छ भन्ने नै हुन्छ, व्यक्तिले सत्यता प्राप्त गरेको छ भन्ने अर्थ त झनै हुँदैन भन्ने कुरा, र तिनीहरूका दृष्टिकोणहरू बेतुक, हास्यास्पद, र परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यतासँग असङ्गत र पूर्ण रूपमा अमिल्दो छन् भन्ने कुरा तिनीहरूलाई स्पष्ट पार्नैपर्छ। जिद्दी भएर धार्मिक धारणाहरूमा अडिरहने यी मानिसहरूलाई सहयोग गर्नुपर्छ; परमेश्‍वरका वचनहरू पढेर तिनीहरूलाई सत्यतामा सङ्गति दे। यदि तिनीहरूले अझै पनि सत्यतालाई स्वीकार गर्न सक्दैनन्, र तैँले सत्यता जसरी सङ्गति गरे पनि, तिनीहरूले अन्तर्दृष्टि प्राप्त गर्दैनन् र खोजी गर्ने कुनै अभिप्राय देखाउँदैनन् भने, तिनीहरूलाई जबरजस्ती गर्नु पर्दैन। तिनीहरूले अन्तसम्मै श्रमिकका रूपमा मात्रै सेवा गर्न सक्छन्।

आ. परमेश्‍वरका मानिसहरू

बफादार श्रमिकहरूका प्रकटीकरणहरूका बारेमा सङ्गति गरिसकेपछि, हामी अर्को प्रकारका मानिसहरूका प्रकटीकरणहरूका बारेमा कुरा गरौँ। सबै प्रकारका मानिसहरूका भ्रष्ट स्वभावबारे परमेश्‍वरले गर्नुभएका विभिन्न खुलासा र मूल्याङ्कनहरू सुनेपछि, यी व्यक्तिहरूले तुलनात्मक रूपमा विगतका आफ्नै भ्रष्ट स्वभावका विभिन्न प्रकटीकरणहरू र तिनीहरूको भ्रष्ट स्वभावको प्रभुत्वमा पैदा हुने परमेश्‍वर र सत्यताप्रतिको तिनीहरूका विभिन्‍न मनोवृत्तिहरूबारे बढी सोच्छन्—तिनीहरूले आफ्ना विभिन्‍न प्रकटीकरणहरूका बारेमा मनन गर्न र तिनलाई चिन्न, आफूलाई परमेश्‍वरका वचनहरूसँग भिडाएर हेर्न, आफ्नो कर्तव्यप्रतिको आफ्नो मनोवृत्ति जाँच्न, र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा र परमेश्‍वरले खडा गर्नुभएका विभिन्न मानिस, घटना, र कामकुराहरूका बीचमा तिनीहरूले प्रकट गर्ने विभिन्न भ्रष्टताहरू जाँच्न थाल्छन्। तिनीहरूले परमेश्‍वरको न्याय, खुलासा, र अनुशासनलाई स्वीकार गर्न प्रयास गर्ने क्रममा आफूलाई हरेक विवरणबाट जाँच्छन् र चिन्छन्। यी व्यक्तिहरू कुन-कुन हिसाबमा श्रमिकहरूभन्दा असल हुन्छन्? तिनीहरूले सत्यता, परमेश्‍वरका वचनहरू, र परमेश्‍वरले खुलासा गर्नुभएको हरेक भ्रष्ट स्वभावलाई सक्रिय र सकारात्मक रूपमा स्वीकार गर्न सक्छन्। कहिलेकाहीँ तिनीहरू नकारात्मक बन्ने, पन्छिने, वा तिनीहरूले हरेस खाने विचारसमेत गर्ने भए पनि, जेसुकै भए पनि, तिनीहरूसँग अझै पनि आफूलाई सत्यता स्वीकार गर्न लगाउने हुटहुटी हुन्छ। यो हुटहुटी के हो? यो यस्तो हो: “परमेश्‍वरका वचनहरूले मानिसहरूलाई बदल्न सक्छन्। व्यक्तिले सत्यतालाई स्वीकार गरेसम्म, यी सबै समस्या र भ्रष्ट स्वभावहरूलाई समाधान गर्न सकिन्छ, अनि त्यसपछि व्यक्तिले मुक्ति पाउन सक्छ। यदि म मुक्ति पाउन चाहन्छु भने, मैले परमेश्‍वरको काममा सहकार्य गर्नैपर्छ र सत्यतालाई स्वीकार गर्नैपर्छ।” उदाहरणका लागि, इमानदार व्यक्ति बन्‍नेबारे सत्यता सुनेपछि, कतिपयले आत्मचिन्तन गर्न थाल्छन् र तिनीहरू संलग्न हुने छलीपन र चलाकी, साथै तिनीहरूका कपटी र दुष्ट पक्षहरू अझै स्पष्ट रूपमा देख्न थाल्छन्। तिनीहरूले आफ्ना हृदय वा छापमा बाँकी रहेका विगतका आफ्ना झूट र छलकपटका तरिकाहरू सम्झन्छन्, जुन चलचित्रका दृश्यझैँ तिनीहरूका मनमा घुमिरहन्छन्, जसले गर्दा तिनीहरूलाई झन्-झन् लाज, पीडा, र दुःख महसुस हुन्छ। निरन्तर आत्म-जाँच र आत्म-चिन्तन गरेपछि, तिनीहरूलाई अपराधीझैँ महसुस हुन्छ, तिनीहरू तुरुन्तै पूर्ण रूपमा लत्रिन्छन् र खडा हुन सक्दैनन्। तिनीहरूलाई आफू असल मानिस नभई दुष्ट मानिस हौँ भन्‍ने लाग्छ, र तिनीहरू आफूले परमेश्‍वरलाई प्रत्यक्ष रूपमा विरोध नगर्नु भाग्यमानी कुरा हो भन्‍ने सोच्छन्, जुन साँच्चै नै धन्‍नले बाँच्नु हो! त्यसपछि तिनीहरू होसमा आउन थाल्छन्, व्यक्तिका रूपमा यसरी असफल हुन चाहँदैनन्, र यस्तो सङ्कल्प गर्छन्: “मैले नयाँ सुरुवात गर्नैपर्छ र म इमानदार व्यक्ति हुनैपर्छ, नत्र, मैले परमेश्‍वरको मुक्ति पाउन सक्दिनँ। मुक्ति पाउनका लागि, म इमानदार व्यक्ति हुनैपर्छ। अहिले मैले हरेस खानै मिल्दैन!” यी मानिसहरूले सत्यतालाई ढिलो-चाँडो जहिले स्वीकार गरे पनि, र परमेश्‍वरका वचनहरूबारे तिनीहरूको बुझाइ गहन भए पनि वा सतही भए पनि, परमेश्‍वरका वचनहरूप्रति तिनीहरूमा तिरस्कारको मनोवृत्ति हुँदैन, वितृष्णा वा प्रतिरोधको मनोवृत्ति त झनै हुँदैन। बरु, तिनीहरूले सक्रिय रूपमा परमेश्‍वरका वचनहरूलाई मान्छन् र स्वीकार गर्छन्, अनि त्यसपछि तिनीहरू ती अभ्यास गर्न सधैँ तयार हुन्छन्। कार्य गर्दा वा आफ्नो कर्तव्य पूरा गर्दा, तिनीहरूले परमेश्‍वरका वचनहरूमा सिद्धान्तहरूको खोजी गर्न सक्दो कोसिस गर्छन् अनि त्यसपछि यी सिद्धान्तहरू अनुसार सचेत रूपमा कार्य गर्छन्। कहिलेकाहीँ तिनीहरूले निश्चित सिद्धान्तहरू भेट्टाउन वा दिशा बुझ्न नसके पनि, तिनीहरूको आशय भनेको आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने, परमेश्‍वरका अभिप्रायहरू अनुसार र सत्यता सिद्धान्तहरूसँग मिल्दो तरिकाले गर्ने हुन्छ। यी मानिसहरूको मानवता र श्रमिकहरूको मानवता प्रायः उस्तै हुन्छ; उच्च र निम्न, वा आदर्शमय र तुच्छका बीचमा कुनै भिन्नता हुँदैन। अवश्य नै, यस्ता मानिसहरूमध्ये धेरैले आफूलाई “असल मानवता भएको, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने, र परमेश्‍वरको विश्‍वासीका रूपमा त्याग्ने क्षमता भएको, र आफ्नो कर्तव्य पूरा गर्न मूल्य चुकाउने र कष्ट सहने इच्छा भएको” व्यक्तिका रूपमा हेर्छन्। तर यी मानिसहरू र श्रमिकहरूका बीचमा के भिन्नता छ? तिनीहरूले मानिसहरूलाई न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरू सुनेपछि, तिनीहरूको मनोवृत्ति भनेको बेवास्ता गर्ने, तर्किने हुँदैन, बरु सक्रिय रूपमा र इमानदारीसाथ स्वीकार गर्ने हुन्छ। यी वचनहरू सुनेपछि तिनीहरू व्याकुल र हताश भए पनि, तिनीहरूले प्रकट भएको आफ्नो भ्रष्टताप्रति रिससमेत पोखाए पनि, अन्तमा, तिनीहरूले अझै पनि तिनलाई सही ढङ्गले सामना गर्न, सक्रिय रूपमा स्वीकार गर्न, र सक्रिय रूपमा अभ्यास गर्न र तिनमा प्रवेश गर्न सक्छन्। के यो पनि एक प्रकारको व्यक्ति होइन र? (हो।) के यी मानिसहरू निश्चित हदसम्म प्रतिनिधिमूलक होइनन् र? (हुन्।) के यस्ता मानिसहरू धेरै छन्? (त्यति धेरै छैनन्।) अहिले धेरै नभए पनि, तिनीहरूको सङ्ख्या बढ्ने आशा छ। त्यसोभए, यी मानिसहरूलाई कुन वर्गमा वर्गीकरण गर्नुपर्छ? के यी निश्चित प्रकटीकरणहरूले यी मानिसहरूले सत्यतालाई प्रेम गर्छन् र सत्यतालाई स्वीकार गर्न सक्छन् भन्‍ने कुराको सङ्केत गर्न सक्छन्? (सक्छन्।) तिनले सक्छन्। बुझ्ने क्षमता कम भएका कतिपय मानिसहरूले सत्यतालाई अलिक ढिलो पनि, हृदयको गहिराइमा, तिनीहरूले सत्यतालाई स्वीकार गर्छन् र तिनीहरूसँग त्यसमा सक्रिय रूपमा प्रवेश गर्ने मानसिकता हुन्छ। जब कसैले सत्यता सिद्धान्तहरू अनुरूप रहेका नयाँ ज्योति वा अभ्यासका मार्गहरू सङ्गति गर्छ, तब तिनीहरूको आँखा धपक्क बल्छ, तिनीहरूको हृदय छर्लङ्ग हुन्छ, र तिनीहरू यस्तो सोच्दै हर्षित हुन्छन्, “बल्ल कसैले यो ज्योति सङ्गति गरेको छ। ममा यही कुराको कमी छ।” तिनीहरू सधैँ आफूमा के कुराको कमी छ भन्‍ने कुरा बुझ्न, आफूलाई झट्टै चाहिने तर आफूमा नभएको ज्योति र अन्तर्दृष्टि प्राप्त गर्न, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गरेको साँचो अनुभवात्मक बुझाइबाट आफूलाई चाहिने सत्यता सिद्धान्तहरू पत्ता लगाउन सक्षम हुन्छन्। यी निश्चित प्रकटीकरणहरूका आधारमा हेर्दा, के तिनीहरूको हृदयले सत्यताको तृष्णा गर्दैन र? (गर्छ।) यदि हामीले यी मानिसहरूले सत्यतालाई प्रेम गर्छन् भनेर भन्यौँ भने, यो अभिव्यक्ति त्यति वस्तुगत वा सटीक हुँदैन। तर, यी मानिसहरूका निश्चित प्रकटीकरणका आधारमा हेर्दा, तिनीहरूले सत्यताको तृष्णा गर्छन्। यो तृष्णा कहाँबाट आउँछ? यो आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्ने, आफ्नो जीवन प्रवेशमा तिनीहरूले सामना गर्ने विभिन्न समस्या र कठिनाइहरू समाधान गर्ने, र सत्यतामा प्रगति गर्ने, अझै गहिराइमा जाने तिनीहरूको आशा, साथै साँचो रूपमा सिद्धान्तहरू अनुसार काम गर्ने, एउटा मार्गका साथ अभ्यास गर्ने, आफ्ना भ्रष्ट स्वभावका प्रकटीकरणबाट आफ्नो भ्रष्ट स्वभावको सार के हो, र तिनलाई कसरी समाधान गर्ने र फाल्ने भन्‍ने कुरालाई अझै सटीक रूपमा पहिचान गर्ने तिनीहरूको आशाबाट आउँछ। यी मानिसहरू प्रायजसो हैसियतका लागि प्रतिस्पर्धा गर्ने, जिद्दी भएर आफ्नै मार्गमा लागिरहने, र आत्म-धर्मी, अहङ्कारी, छली, वा हठीसमेत हुने जस्ता भ्रष्ट स्वभावहरूभित्र जिउने भए पनि, निरन्तर परमेश्‍वरका वचनहरू खाएर-पिएर र परमेश्‍वरको काम अनुभव गरेर, यी स्पष्ट समस्याहरूलाई क्रमिक रूपमा जाँचिनेछ र पहिचान गरिनेछ। त्यसपछि, तिनीहरूले यी कुराहरूलाई समस्याहरू, सत्यता अनुरूप नभएका र परमेश्‍वरले घृणा गर्नुहुने भ्रष्ट स्वभावका प्रकटीकरणहरूका रूपमा चिन्न सक्छन्। आफ्ना भ्रष्ट स्वभावहरूबारे थाहा पाएपछि, तिनीहरूले तिनलाई समाधान गर्न र फाल्न अझै बढी तृष्णा गर्छन्। यो सत्यताप्रतिको तिनीहरूको तृष्णाको एउटा स्रोत हो। अर्को शब्दमा भन्दा, तिनीहरूमा आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्ने आवश्यकता, र आफ्नो भ्रष्ट स्वभावलाई फाल्ने आतुर मानसिकता हुन्छ। साथ साथै, आफूले कस्तो भ्रष्ट स्वभाव प्रकट गरेको छु भनेर तिनीहरूले पत्ता लगाए पनि, वा तिनीहरूलाई जस्तोसुकै समस्या वा कठिनाइहरू आइपरे पनि, तिनीहरू परमेश्‍वरका वचनहरूमा सही जबाफहरू खोज्न, र परमेश्‍वरले मानिसबाट के माग गर्नुहुन्छ, र तिनलाई समाधान गर्न कस्ता सत्यता र परमेश्‍वरका वचनहरू प्रयोग गर्नुपर्छ भनी बुझ्न झनै उत्सुक हुन्छन्। सत्यताप्रतिको तिनीहरूको तृष्णाका निश्चित प्रकटीकरण र स्रोतहरू यिनै हुन्। के यो वस्तुगत अभिव्यक्ति हो? (हो।) यी मानिसहरूले सत्यतालाई प्रेम गर्छन् भनेर भन्न सकिँदैन। यदि तिनीहरूले सत्यतालाई प्रेम गर्थे भने, तिनीहरू अत्यन्तै सक्रिय हुनेथिए, र तिनीहरूका विभिन्न प्रकटीकरणहरू झनै सकारात्मक हुनेथिए। तर, यी मानिसहरूका विभिन्न प्रकटीकरणहरू र तिनीहरूको वास्तविक कदका आधारमा हेर्दा, तिनीहरू सत्यतालाई प्रेम गर्ने बिन्दुमा पुगेका हुँदैनन्, तिनीहरूले यसको तृष्णा मात्रै गर्छन्। यो अभिव्यक्ति पहिले नै निकै वस्तुगत छ। त्यसोभए, यी मानिसहरूका विभिन्न प्रकटीकरणहरूलाई हेर्दा, तिनीहरूलाई कुन वर्गमा वर्गीकरण गर्नुपर्छ? सटीक रूपमा भन्दा, यी मानिसहरू परमेश्‍वरका मानिसहरूको वर्गमा पर्छन्। यो दाबीको एउटा आधार छ। कस्तो आधार? यी मानिसहरूका भ्रष्ट स्वभावहरू अरूका जस्तै हुन्छन्। मानवताको हिसाबमा भन्दा, तिनीहरूको मानवता असल छ भनेर भन्न मिल्दैन, न त परमेश्‍वरको नजरमा तिनीहरू सिद्ध छन् भनेर नै भन्न मिल्छ; तिनीहरूमध्ये धेरैजसोमा औसत मानवता हुन्छ। यहाँ “औसत” भन्नुको अर्थ के हो? यसको अर्थ निश्चित स्तरको विवेक र समझ राख्नु हो। तर यो सबैभन्दा महत्त्वपूर्ण पक्ष होइन। सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो? यो के हो भने, परमेश्‍वरका वचनहरू र परमेश्‍वरका मागहरू सुनेपछि, परमेश्‍वरका वचनहरूले खुलासा गरेका सबै प्रकारका मानिसहरूका भ्रष्ट स्वभावहरूबारे सुनेपछि, तिनीहरू उदासीन हुँदैनन्, बरु उत्तेजित हुन्छन् र तिनीहरूले कदम चाल्नेछन्। कदम चाल्नु भनेको के हो? यसको अर्थ परमेश्‍वरका यी वचनहरू र यी सत्यताहरू सुनेपछि, तिनीहरू अब भ्रष्ट स्वभावभित्र जिउन र आफ्नो पहिलेकै जिउने तरिका जारी राख्न अनिच्छुक हुन्छन्। बरु, तिनीहरू आफू पहिले भर परेका विभिन्न विचार, दृष्टिकोण, र अस्तित्वका तरिका र जीवनशैलीलाई परिवर्तन गर्न लागिपर्छन्। साथसाथै, तिनीहरूले लापरवाह र मनोमानी हुनुको सट्टा आफ्नो कर्तव्य पूरा गर्दा र परमेश्‍वरले खडा गर्नुभएका विभिन्न परिस्थितिहरूमा सक्रिय रूपमा सत्यताको खोजी गर्छन्, र परमेश्‍वरका वचनहरूलाई अभ्यासका आधार र सिद्धान्तहरूका रूपमा प्रयोग गर्छन्। तिनीहरूको मानवता, क्षमता, र परमेश्‍वरका वचनहरू, परमेश्‍वरको काम, र परमेश्‍वरका मागहरू, इत्यादिप्रतिको तिनीहरूको मनोवृत्ति र दृष्टिकोणलाई हेर्दा, यी ठ्याक्कै तिनै मानिसहरू हुन् जसलाई परमेश्‍वरले मुक्ति दिने अभिप्राय राख्नुहुन्छ। आफ्नो भ्रष्ट स्वभाव फाल्ने र मुक्ति पाउने तिनीहरूको आशा श्रमिकहरूको भन्दा बढी हुन्छ। सत्यतालाई स्वीकार गर्ने र मुक्ति पाउनका लागि आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्नेहरूलाई मात्रै परमेश्‍वरका मानिस मानिन्छ। के यो परिभाषा निकै उपयुक्त छैन र? (छ।) यो सबैभन्दा उपयुक्त छ। मुक्ति पाउनु भनेको रहन सक्नका लागि थोरै मेहनत लगाउनु र थोरै मूल्य चुकाउनु, अनि त्यसपछि सबै कुरा ठीक हुनु मात्र होइन। जसले मुक्ति पाउन सक्छन् तिनीहरूको हैसियत कस्तो हुन्छ? यो यस्तो हैसियत हो, जसद्वारा परमेश्‍वरका वचनहरू र कामलाई स्वीकार र अनुभव गरेर, तिनीहरूका भ्रष्ट स्वभावहरू समाधान हुन्छन्। यस प्रक्रियामा, तिनीहरूले परमेश्‍वरलाई चिन्न, आफ्नो भ्रष्ट स्वभाव बुझ्न, र परमेश्‍वरका वचनहरूको वास्तविक र ठोस अनुभवहरू प्राप्त गर्न सक्छन्, यसरी तिनीहरू परमेश्‍वरको गवाही दिन सक्षम हुन्छन्—तिनीहरूले परमेश्‍वरको गवाही दिन सक्छन्। तिनीहरूले परमेश्‍वरका कुन-कुन पक्षहरूका बारेमा गवाही दिन्छन्? तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरको स्वभाव, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, परमेश्‍वरको पहिचान, र परमेश्‍वर नै सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुराको गवाही दिन्छन्। मुक्ति प्राप्त गरेपछि व्यक्तिमा प्रकट हुन सक्ने कुरा यही हो। मानिसहरूले मुक्ति पाएपछि किन यी परिणामहरू हासिल गर्न सक्छन्? तिनीहरूले आफूलाई “असल मानवता भएको, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने, र परमेश्‍वरको विश्‍वासीका रूपमा त्याग्ने क्षमता भएको, र आफ्नो कर्तव्य पूरा गर्न मूल्य चुकाउने र कष्ट सहने इच्छा भएको” व्यक्ति ठान्‍ने हुनाले यो हासिल गर्ने होइन। यसको एउटै मात्र कारण—र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने—तिनीहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनका रूपमा स्वीकार गर्न सक्छन्, आफ्नो भ्रष्ट स्वभाव फाल्नका लागि सत्यता अभ्यास गर्न सक्छन्, आफ्नो मूल, र पुरानो जिउने तरिका र जीवनसम्बन्धी दृष्टिकोणहरूलाई पन्छाउन सक्छन्, र परमेश्‍वरका वचनहरूलाई आफ्नो नयाँ जीवनका रूपमा लिन सक्छन्। तिनीहरूले आफूलाई आचरणमा ढाल्न, कामकुरा गर्न, परमेश्‍वरलाई पछ्याउन, परमेश्‍वरमा समर्पित हुन, र परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि परमेश्‍वरका वचनहरूलाई आधारका रूपमा प्रयोग गर्छन्। त्यस्ता मानिसहरूमा हासिल गर्न सकिने परिणाम यही हो। मुक्ति हासिल गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो? (सत्यतालाई स्वीकार गर्न सक्नु।) ठीक भनिस्। सत्यतालाई स्वीकार गर्न सक्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

कतिपय मानिसहरू भन्छन्, “यदि मैले परमेश्‍वरका लागि आफूलाई अन्त्यसम्म समर्पित गरेँ भने, के परमेश्‍वरले मलाई धेरै आशिष् दिनुहुनेछ?” यदि तँ सत्यतालाई स्वीकार गर्दैनस्, तर अझै पनि परमेश्‍वरलाई अन्त्यसम्म पछ्याउन लागिपर्न सक्छस्, अन्तिमसम्म परिश्रम गर्न सक्छस्, जुन अवधिमा कुनै ठूलो अपराध हुँदैन र तैँले परमेश्‍वरको स्वभावलाई चिढ्याउँदैनस् भने, त्यस्ता परिस्थितिहरूमा, परमेश्‍वरले तँलाई रहन पाउने बफादार श्रमिक भन्‍ने ठान्‍नुहुनेछ। कतिपय मानिसहरू सोध्छन्, “रहन पाउनु कस्तो किसिमको आशिष् हो?” यो सानोतिनो आशिष् होइन! यदि मौका र सम्भावना छ भने, तैँले परमेश्‍वरको वास्तविक व्यक्तिलाई देख्न सक्छस्, र यो कुरा परमेश्‍वरले अर्को युगमा के गर्नुहुन्छ भन्ने कुरामा निर्भर हुन्छ। यदि अझै धेरै दशकसम्म रहने र जिउने मौका मिल्यो भने, त्यो आशिष् निकै महत्त्वपूर्ण हुन्छ। यो आशिष् कसरी आउँछ? यो “मसँग असल मानवता छ, म परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्छु, म त्याग्न सक्छु, र म आफ्नो कर्तव्य पूरा गर्नका लागि मूल्य चुकाउन र कष्ट सहन इच्छुक छु” भन्‍ने दृष्टिकोणलाई समातेर बफादारीपूर्वक श्रम गर्दा हासिल हुन्छ। के श्रमिकहरूले सन्तुष्ट हुन जान्‍नु पर्दैन र? (पर्छ।) तिनीहरू यो आशिष् प्राप्त गर्नमा नै सन्तुष्ट हुनुपर्छ। तैँले परमेश्‍वरका वचनहरूसमेत स्वीकार गर्दैनस्, तैपनि यस अवधिमा तँ पछि नहटी, परमेश्‍वरको स्वभावलाई नचिढ्याई वा उहाँका प्रशासनिक आदेशहरू उल्लङ्घन नगरी, ठूला अपराध नगरी परमेश्‍वरले तेरो बफादारी र अन्तसम्मै श्रम गर्ने क्षमता देख्नुहुने हुनाले, उहाँले तँलाई यो आशिष् र अनुग्रह प्रदान गर्नुहुन्छ—मानवजातिको सृष्टि भएदेखि नै, बफादारीपूर्वक श्रम मात्रै गरेका तर मुक्ति प्राप्त नगरेका भ्रष्ट मानिसहरूलाई परमेश्‍वरले दिनुहुने सबैभन्दा ठूलो उपहार यही हो। तैँले केवल थोरै मेहनत गरेको छस्, र तँ परमेश्‍वरका वचनहरूसमेत स्विकार्दैनस्—यस्तो ठूलो आशिष् प्राप्त गर्न सक्नु नै निकै राम्रो कुरा हो; यो परमेश्‍वरको असीम अनुग्रह हो। अर्को वर्गमा परमेश्‍वरका मानिसहरू पर्छन्, जसका बारेमा हामीले भर्खरै कुरा गरेका थियौँ। परमेश्‍वरका मानिसहरूले प्राप्त गर्ने आशिष्‌हरू अवश्य नै श्रमिकहरूले प्राप्त गर्ने आशिष्‌हरूभन्दा ठूला हुन्छन्। त्यसोभए परमेश्‍वरका मानिसहरूको आशिष् के हो? अवश्य नै, यो केवल रहन पाउनु वा परमेश्‍वरको वास्तविक व्यक्तिलाई देख्ने मौका पाउनुजत्तिको सरल कुरा होइन। अरू धेरै आशिष्‌हरू छन्, तर हामी तिनका बारेमा यहाँ छलफल गर्नेछैनौँ। यसबारे कुरा गर्नु यथार्थपरक हुँदैन, र यसबाहेक, मैले तिमीहरूलाई बताएँ भने पनि, तिमीहरूले अहिले ती कुरा बुझ्नेछैनौ वा प्राप्त गर्नेछैनौ। परमेश्‍वरका मानिसहरू तिनै हुन् जसलाई परमेश्‍वरले मुक्ति दिने अभिप्राय राख्नुहुन्छ, र सारा मानवजातिमाझ, तिनीहरूले सबैभन्दा ठूला आशिष्‌हरू प्राप्त गर्छन्; यो कुनै पनि हालतमा अतिशयोक्ति होइन। किन? किनभने, परमेश्‍वरको काममा, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनाको कामभित्र, परमेश्‍वरका मानिसहरूले परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्न सकेर, परमेश्‍वरका वचनहरूलाई सत्यता र आफ्नो अस्तित्वका सिद्धान्तहरूका रूपमा लिन सकेर, र परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवन बनाएर, शैतानको भ्रष्ट स्वभावलाई फालेका हुन्छन् र परमेश्‍वरका वचनहरू अनुसार जिएका हुन्छन्, र परमेश्‍वरका लागि दह्रिलो र जोडदार गवाही दिएका हुन्छन्। तिनीहरूले आफूले जिउने कुरा, अर्थात् आफ्नो जीवनलाई शैतानलाई जवाफी प्रहार गर्न र लज्जित पार्नमा प्रयोग गर्न, र मानवजातिका बीचमा परमेश्‍वरको गवाही दिन सक्छन्, यसरी परमेश्‍वरलाई महिमित पार्न सक्छन्। त्यसकारण, परमेश्‍वरले जसलाई मुक्ति दिने अभिप्राय राख्नुहुन्छ, र जसले मुक्ति प्राप्त गर्छन् तिनीहरू नै परमेश्‍वरका मानिस हुन्। कतिपय मानिसहरू भन्छन्, “यी व्यक्तिहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवन बनाउन, परमेश्‍वरका वचनहरू अनुसार जिउन, र परमेश्‍वरको गवाही दिन सक्ने हुनाले, के त्यसको अर्थ तिनीहरू परमेश्‍वरका प्रिय पुत्रहरू हुन्, परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने मानिसहरू हुन् भन्ने हो?” तैँले धेरै सोचिरहेको छस्; परमेश्‍वरका मानिसहरूमध्येको एक हुनु नै पर्याप्त कुरा हो। यदि परमेश्‍वरले तँलाई आफ्नो पुत्र, आफ्नो सन्तान, वा आफ्नो प्रिय पुत्र भन्‍नुभयो भने, त्यो परमेश्‍वरको मामला हो, तर जुनै पनि बेला होस्, तैँले कहिल्यै परमेश्‍वरको प्रिय पुत्र, परमेश्‍वरको पुत्र, वा परमेश्‍वरको प्रिय भनेर आफैले दाबी गर्नु हुँदैन। आफ्नो बारेमा त्यस्ता दाबीहरू नगर्, र आफूलाई त्यस्तो नठान्; तँ सृजित प्राणी होस्—यो सही कुरा हो। यदि कुनै दिन तँलाई परमेश्‍वरका मानिसहरूमध्येको एक भनेर भनियो, वा तँ मुक्ति पाउने मार्गमा लागिसकेको छस् भने पनि, तँ अझै पनि सृजित प्राणी मात्रै होस्। यदि तैँले यसरी सोच्छस् भने, यसले तैँले समातेको मार्ग सही मार्ग हो भन्‍ने प्रमाणित गर्छ। यदि तँ सधैँ परमेश्‍वरको प्रिय पुत्र बन्न, परमेश्‍वरको प्रेम पाउन, परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने व्यक्ति बन्‍न खोज्छस् भने, तैँले समातेको मार्ग गलत हो; यो मार्गले कहीँ पनि पुर्‍याउँदैन, र तँ त्यस्तो मनोकामनामा लाग्नु हुँदैन। परमेश्‍वरले कहिल्यै यस्ता शब्दहरू बोल्नुभएको, वा मानिसहरूलाई यस्तो प्रतिज्ञा गर्नुभएको भए पनि वा नभए पनि, तैँले आफूलाई यसरी लिनु हुँदैन; तैँले हासिल गर्न प्रयास गर्नुपर्ने कुरा यो होइन। परमेश्‍वरका मानिसहरूमध्येको एक बन्‍नु नै पर्याप्त हो; परमेश्‍वरका मानिसहरू सृजित प्राणीका रूपमा मानकअनुरूप भइसकेका हुन्छन्—तँ अझै पनि त्यस्तो व्यक्ति नहुनु दुःखको कुरा हो। त्यसकारण, ती अस्पष्ट, भ्रामक, र खोक्रा कुराहरूको पछि नलाग्। मुक्ति प्राप्त गर्ने पछ्याइमा लाग्न सक्नु भनेको, केही हदसम्म, मुक्ति पाउने मार्गमा हिँड्न थालिसकेको हुनु हो। परमेश्‍वरका मानिसहरूका प्राथमिक विशेषताहरू के हुन् भने, तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्छन् र सत्यताप्रति प्रेम देखाउँछन्। परमेश्‍वरको काम अनुभव गर्ने र मुक्ति पछ्याउने क्रममा, तिनीहरूका भ्रष्ट स्वभाव, पुराना विचारहरू, र तिनीहरूका भ्रष्ट स्वभावसँग सम्बन्धित विभिन्न नकारात्मक स्थिति र प्रकटीकरणहरूलाई फरक-फरक हदसम्म समाधान गर्न, फाल्न, र परिवर्तन गर्न सकिन्छ। त्यसपछि, तिनीहरू इमानदार व्यक्ति, सत्यता सिद्धान्तहरू बुझ्ने व्यक्ति, बफादारी र समर्पण भएको व्यक्ति, र परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्ने व्यक्ति बन्‍ने परमेश्‍वरका मागहरू अनुसार जिउन सक्छन्। जहाँसम्म मानक अनुरूपको परमेश्‍वरका मानिसहरूमध्ये एक हुने र मानक पूरा गर्ने व्यक्ति कसरी बन्‍ने भन्‍ने कुरा छ, हामी यहाँ त्यसबारे विस्तृत रूपमा व्याख्या गर्नेछैनौँ; आजको हाम्रो सङ्गतिको विषय त्यो होइन।

३. भाडाका कामदारहरू

श्रमिक र परमेश्‍वरका मानिसहरूबाहेक, एउटा अर्को वर्गका व्यक्तिहरू पनि छन्, जो परमेश्‍वरद्वारा चुनिएका मानिसहरूमध्ये सबैभन्दा दयनीय हुन्छन्। परमेश्‍वरले व्यक्त गर्नुभएका विभिन्न सत्यताहरू र उहाँले मानवजातिलाई दिनुभएका खुलासाका विभिन्न वचनहरू सुनेपछि, तिनीहरूको व्यवहार, तिनीहरूले जिउने कुरा, र तिनीहरूका पछ्याइहरूमा पटक्कै परिवर्तन देखिँदैनन्। तैँले तिनीहरूसँग सत्यताबारे जसरी सङ्गति गरे पनि, तिनीहरू उदासीन नै रहन्छन्: “म परिवर्तन हुन चाहन्नँ। म आफूले चाहे अनुसार जिउनेछु, र कसैले पनि मलाई नियन्त्रण गर्न सक्दैन। तपाईँ जे गर्न चाहनुहुन्छ, गर्नुहोस्, मलाई मतलब छैन! अहिले मेरो मुड राम्रो छैन, त्यसकारण तिमीहरू कसैले पनि मलाई चिढ्याउनु हुँदैन। यदि त्यसो गर्‍यौ भने, म नम्र हुनेछैनँ!” तिनीहरूले आफूलाई “मसँग असल मानवता छ, म परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्छु, म त्याग्न सक्छु, र म कष्ट सहन र मूल्य चुकाउन इच्छुक छु” भन्‍ने स्पष्ट मनोवृत्ति वा दृष्टिकोणले हेर्दैनन्, तर तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका बीचमा बढी स्पष्ट मनोवृत्ति देखाउँछन्। यो मनोवृत्ति के हो? यो यस्तो हो, “म जस्तो चाहन्छु त्यस्तै व्यवहार गर्नेछु, जे गर्न मन लाग्छ त्यही गर्नेछु। कसैले पनि मलाई सत्यता स्विकार्न आग्रह गर्नुपर्दैन, कसैले पनि मलाई परिवर्तन गर्ने प्रयास गर्नुपर्दैन। मलाई सत्यता स्वीकार गर्न आग्रह गर्ने जोकोहीले समस्या मात्रै खोजिरहेको हुन्छ, र यदि कसैले मलाई काटछाँट गर्ने प्रयास गर्‍यो भने, म आफ्नो ज्यान दिएर लड्नेछु!” तिनीहरूलाई परमेश्‍वरले बोल्नुभएका कुनै पनि वाक्यप्रति अलिकति पनि चासो हुँदैन, न त परमेश्‍वरले गर्नुहुने कामप्रति नै चासो हुन्छ। अवश्य नै, मानिसहरूका भ्रष्ट स्वभावहरू र कामकुरा गर्ने सिद्धान्तहरू, साथै परमेश्‍वरप्रति मानिसहरूमा हुनुपर्ने मनोवृत्ति र तिनीहरूले अन्तरवैयक्तिक अन्तरक्रियाहरूमा पालना गर्नुपर्ने सिद्धान्तहरू—जसलाई दाजुभाइ-दिदीबहिनीहरूले भेलाहरूमा वा आफ्नो कर्तव्य पूरा गर्दा उल्लेख गर्छन्—तिनीहरूले तिनलाई तिरस्कारको मनोवृत्तिले लिन्छन्। कतिपय व्यक्तिहरू एउटा कर्तव्य पूरा गर्छन्, तर तिनीहरू परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूलाई पूर्ण रूपमा बेवास्ता गर्छन्, र आफूले योजना बनाए अनुसार नै कामकुरा गर्छन्। तैँले तिनीहरूसँग सिद्धान्तहरू सङ्गति गर्नेबित्तिकै, तिनीहरू तेरो अगाडि सहमत त हुन्छन् तर पछाडि फर्केर लापरवाह र स्वेच्छाचारी व्यवहार गर्न थाल्छन्, र आफ्नो दानवीय पक्ष देखाउँछन्। त्यस्ता व्यक्तिहरू पनि हुन्छन् जो बाहिरी रूपमा ठीकठाक मानिसझैँ देखिन्छन्, तर जब तैँले तिनीहरूसँग कुराकानी वा गफ गर्छस्, तब तिनीहरूको दृष्टिकोण गलत हुन्छ, तिनीहरूको लबज गलत हुन्छ, र अझै महत्त्वपूर्ण कुरा त के हो भने, तिनीहरूको स्वभाव गलत हुन्छ, जसले गर्दा तिनीहरूसँग कुराकानी गर्नु असम्भव हुन्छ। तैँले तिनीहरूलाई “के संसारमा परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ?” भनेर सोध्दा, तिनीहरूले “मलाई थाहा छैन” भन्छन्। तैँले भन्छस्, “यो त यसरी गर्नुपर्छ, यो परमेश्‍वरको अभिप्राय हो।” तिनीहरूले जवाफ दिन्छन्, “के तपाईँलाई म अप्रिय लाग्छ? के तपाईँ मलाई समस्यामा पार्न खोजिरहनुभएको छ? के तपाईँ मलाई निष्कासित गर्ने प्रयास गरिरहनुभएको छ?” तैँले भन्छस्, “यसरी व्यवहार गर्नु भनेको धारणाहरू फैलाउनु र नकारात्मकता पोखाउनु हो, जसले गर्दा कतिपय नयाँ विश्‍वासीहरूलाई ठेस लाग्न सक्छ। हामीले परमेश्‍वरको घरका नियमहरू पालना गर्नैपर्छ, र मानिसहरूबीच अन्तरक्रिया र उठबस गर्दा पालना गर्नुपर्ने सिद्धान्तहरूका बारेमा हामी स्पष्ट हुनैपर्छ। यदि जे भनिन्छ र गरिन्छ त्यसले अरूलाई सुधार्न वा सहयोग गर्न सक्दैन भने, केही नभए पनि, यसले अरूलाई नकारात्मक रूपमा चाहिँ असर गर्नु हुँदैन। सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने समझ यही हो।” तिनीहरूले भन्छन्, “मसँग सामान्य मानवताबारे कुरा गर्ने, मलाई नियमहरूबारे भाषण दिने, तपाईँ आफूलाई को ठान्‍नुहुन्छ? मैले नकारात्मकता पोखाउनुमा के गलत छ र? हरेक नयाँ विश्‍वासी जसले ठेस खान्छ भने, त्यसको अर्थ एक जना नयाँ विश्‍वासी घट्नु हो—जसले गर्दा म तिनीहरूलाई भेट्नुपर्ने झन्झटबाट बच्छु!” तिनीहरूसँग नियमहरूको कुरा गर्नु व्यर्थ हुन्छ, र मानवताबारे छलफल गर्नु पनि व्यर्थ हुन्छ। सत्यता सङ्गति गर्दा, परमेश्‍वरका वचनहरू सङ्गति गर्दा के हुन्छ? तिनीहरूले परमेश्‍वरका वचनहरूको सङ्गति पनि सुन्दैनन्। तिनीहरूको आलोचना गर्ने आँट कसैले गर्दैन, तिनीहरूलाई झिँज्याउने वा भड्काउने आँट कसैले गर्दैन। के मण्डलीमा त्यस्ता मानिसहरू हुन्छन्? (हुन्छन्।) निकालिएकाहरूमध्ये, पक्कै पनि त्यस्ता व्यक्तिहरू हुन्छन्। के यी मानिसहरू श्रमिक हुन्, परमेश्‍वरका मानिस हुन् कि के हुन्? (तिनीहरू हटाइएका मानिस हुन्।) तिनीहरूलाई किन हटाइयो? (सत्यतालाई स्वीकार नगरेकोमा; सत्यताप्रति वितृष्ण भएकोमा।) समस्याको सार यही हो। त्यसोभए तिनीहरू किन सत्यतालाई स्वीकार गर्दैनन्? तिनीहरू किन सत्यताप्रति वितृष्ण हुन्छन्? यसको मूल कारण के हो? (यी मानिसहरूको सार अविश्‍वासीहरूको सार हो।) ठीक भनिस्, तिनीहरूको सार अविश्‍वासीहरूको सार हो। मण्डलीमा धेरै अविश्‍वासीहरू हुन्छन्, तर के सबै अविश्‍वासीहरू यस्तै हुन्छन्? (हुँदैनन्।) सबैभन्दा आधारभूत मानव नैतिकता र संस्कार समेत नभएका यी मानिसहरू—के तिनीहरू अविश्‍वासी भएकाले मात्रै हटाइन्छन् त? तिनीहरूलाई किन हटाइन्छ? यसको जडमा, यो मानवताको समस्या हो; यी मानिसहरूमा खराब र दुर्भावनापूर्ण मानवता हुन्छ। यसलाई सटीक रूपमा भन्दा, तिनीहरूमा मानवताको कमी हुन्छ। तिनीहरूमा मानवताको कमी हुने हुनाले, तिनीहरू के हुन्? तिनीहरू दुष्ट प्रकृतिका मानिस हुन्। दुष्ट प्रकृतिका मानिसहरू पशुहरूका तुलनामा कस्ता हुन्छन्? मलाई लाग्छ, तिनीहरू पशुभन्दा पनि खराब हुन्छन्; कतिपय पशुहरू आज्ञाकारी हुन सक्छन् र तिनले दुष्कर्म नगर्न सक्छन्। उदाहरणका लागि, कुकुरहरू निकै राम्रा हुन सक्छन्; कतिपय कुकुरहरू साँच्चै नै उत्कृष्ट घरपालुवा जनावर बन्छन्, र मानिसहरूसँग अति राम्ररी मिल्छन्! तिनीहरू विशेष रूपमा आज्ञाकारी र समझदार हुन्छन्, मानिसहरूले भन्‍ने सबै कुरा बुझ्छन्, र तिनीहरू घरभित्र राख्न उपयुक्त हुन्छन्। त्यस्ता कुकुरहरू अनाज्ञाकारी मानिसहरूभन्दा निकै असल हुन्छन्। धेरै मानिसहरू असल कुकुरहरूभन्दा पनि खराब हुन्छन्। त्यसोभए, के तिनीहरू अझै पनि मानव हुन् त? अहँ, तिनीहरू मानव होइनन्; तिनीहरू गैर-मानव हुन्। धेरै मानिसहरूले मानव भाषा बुझ्दैनन्; तिनीहरूसँग कुराकानी गर्नु असम्भव हुन्छ। सत्यता जसरी सङ्गति गरिए पनि तिनीहरूले त्यसलाई स्वीकार गर्दैनन्, तिनीहरू काटछाँटमा पर्दा गुनासो गर्छन्, र हटाइँदा रिसाएर अपशब्द बोल्छन्, र तिनीहरूले जतिसुकै वर्ष विश्‍वास गरेका भए पनि, तिनीहरूमा पटक्कै परिवर्तन देखिँदैन। के त्यस्ता मानिसहरूलाई अझै पनि परमेश्‍वरको घरमा बस्न दिन मिल्छ? (मिल्दैन।) तिनीहरूलाई बस्न दिन मिल्दैन। त्यस्ता व्यक्तिहरूलाई कुन वर्गमा वर्गीकरण गर्नुपर्छ? सर्वप्रथम, के यी व्यक्तिहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूमा वर्गीकरण गर्नुपर्छ? (गर्नु हुँदैन।) यदि तिनीहरू परमेश्‍वरका चुनिएका जनहरूमा पर्दैनन् भने, तिनीहरूलाई कुन वर्गमा राख्नुपर्छ? परमेश्‍वरका चुनिएका जनहरूमा नपर्नु—यसलाई कसरी अर्थ्याइनुपर्छ? यसको अर्थ तिनीहरूले प्रदर्शन गर्ने र जिउने मानवताको दृष्टिकोणबाट हेर्दा, यो अविश्‍वासी हुने सरल मामला होइन; तिनीहरूको सार मानव हुँदैन। धेरै मानिसहरू अविश्‍वासी हुन्छन्—के तिनीहरू सबै यी व्यक्तिहरूजत्तिकै खराब र दुर्भावनापूर्ण हुन्छन्? हुँदैनन्। गैरविश्‍वासीहरूमध्ये पनि सबै जना त्यति खराब हुँदैनन्; कतिपय मानिसहरूमा सबैभन्दा आधारभूत नैतिक मानकहरू हुन्छन्। त्यसोभए यी व्यक्तिहरूमा हुन्छ कि हुँदैन? तिनीहरूमा गैरविश्‍वासीहरूमा हुने सबैभन्दा आधारभूत नैतिकता र संस्कारको समेत कमी हुन्छ; सटीक रूपमा भन्दा, तिनीहरूको प्रकटीकरण र तिनीहरूले जिउने कुराले मानव नैतिकताका मानकहरू पूरा गर्दैनन्। यी मानिसहरूको सार भनेको दुष्टपन हो। त्यसोभए तिनीहरूको सारको दृष्टिकोणबाट हेर्दा, के परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्छ? (दिनुहुन्‍न।) परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्न। किन? किनभने तिनीहरूको मानवता खराब र दुर्भावनापूर्ण हुन्छ, त्यो दानवीय प्रकृतिको हुन्छ, र यसरी तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र यसको प्रतिरोध गर्छन्। वास्तवमा, यसलाई यसरी भन्नु भनेको तिनीहरूलाई उचाल्नु हो; सटीक रूपमा भन्दा, यी व्यक्तिहरू सकारात्मक कुराहरूप्रति वितृष्ण हुन्छन् र तिनलाई घृणा गर्छन्, तर सत्यताप्रति वितृष्ण हुने र यसलाई स्वीकार नगर्ने स्तरमा पुगेका हुँदैनन्। तिनीहरू सबैभन्दा आधारभूत सकारात्मक कुराहरूप्रति समेत वितृष्ण हुन्छन्, तिनलाई घृणा गर्छन्, र प्रतिरोध गर्छन्; सामान्य मानवता भएको व्यक्तिले पालना गर्नुपर्ने नियमहरू र उसमा हुनुपर्ने संस्कार सबै तिनीहरूलाई घिन लाग्ने कुराहरू हुन्। के तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्छन्? (तिनीहरू त्यो स्तरसम्म पुग्दैनन्।) हो, तिनीहरू त्यो स्तरसम्म पुग्दैनन्; तिनीहरू श्रमिक समेत होइनन्। कतिपय मानिसहरू भन्छन्, “तिनीहरू श्रमिक समेत होइनन् भने, तिनीहरूलाई परमेश्‍वरको घरभित्र के मानिन्छ? तिनीहरू कसरी परमेश्‍वरको घरमा प्रवेश गरे?” यदि हामीले तिनीहरूलाई व्याख्या गर्ने, र वर्गीकरण गर्ने हो भने, सटीक रूपमा भन्दा, यी व्यक्तिहरू गैरविश्‍वासीहरूमध्येबाट ल्याइएका भाडाका कामदारहरू वा अस्थायी कामदारहरू जस्तै हुन्। के यसको अर्थ स्पष्ट छ? तिनीहरूको वर्ग यही हो, साथै परमेश्‍वरको घरमा तिनीहरूले खेल्ने भूमिका पनि यही हो। तिनीहरू श्रमिकसमेत होइनन्; म तिनीहरूलाई श्रमिकका रूपमा लिँदिनँ, तिनीहरू त्यसका लायक हुँदैनन्! श्रमिकहरूमा असल मानवता हुनु, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नु, र मूल्य चुकाउने इच्छा, र कष्ट सहने क्षमता हुनु जस्ता विशेषताहरू हुन्छन्, र तिनीहरूले यी कुराहरू जिउँछन्। यी व्यक्तिहरूमा यी गुणहरूसमेत हुँदैनन्, त्यसकारण तिनीहरूलाई भाडाका कामदारका रूपमा वर्गीकरण गर्नु नै तिनीहरूलाई अत्यधिक दया देखाउनु हो र यो धेरै शिष्ट कुरा हो। भाडाका कामदार वा अस्थायी कामदार हुनु भनेको के हो? यसको अर्थ के हो भने, निश्चित समयहरूमा विशेष आवश्यकताहरूका कारण, परमेश्‍वरको घरले निश्चित कामहरू पूरा गर्नका लागि मुक्ति पाउनुसँग असम्बन्धित केही व्यक्तिहरूलाई भर्ती गर्छ। यी कामहरू पूरा भएपछि, यी व्यक्तिहरूको असली रूप प्रकट हुन्छ। परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूसँग अन्तरक्रिया गरेर पर्याप्त रूपमा कष्ट भोगेका हुन्छन्, उनीहरू तिनीहरूप्रति असहनीय हदसम्म दिक्क भएका हुन्छन्, र उनीहरूले तिनीहरूलाई पर्याप्त रूपमा खुट्ट्याएका पनि हुन्छन्। त्यस्ता परिस्थितिहरूमा, यी व्यक्तिहरूलाई निकाल्नुपर्छ; त्यस्ता कार्यहरूका लागि सबैभन्दा उचित समय यही हो। के यी व्यक्तिहरू कसरी पैदा हुन्छन् भन्‍ने कुरालाई भर्खरै स्पष्ट रूपमा व्याख्या गरिएको थियो? (थियो।) तिनीहरू मुक्ति पाउनुसँग असम्बन्धित भाडाका कामदार हुन्, जो मण्डलीको कामका विशेष अवधिहरूमा ल्याइन्छन्। केही समयसम्म सानातिना काम गरेपछि र सेवा प्रदान गरेपछि, यी व्यक्तिहरूले परमेश्‍वरको घरभित्र लापरवाह दुष्कर्महरू गर्छन्, जसले गर्दा धेरै बाधा र अवरोधहरू सिर्जना हुन्छन्। तिनीहरूले नकारात्मक चरित्रहरूको भूमिका खेल्छन्। तिनीहरूले शैतान र दियाबलसहरूको साँचो अनुहारलाई पूर्ण रूपमा प्रतिबिम्बित गर्छन्, मण्डलीको काममा बाधा दिन्छन्, र मण्डली जीवनको सुव्यवस्थालाई नष्ट गर्छन्। अझै ठोस रूपमा भन्दा, यी व्यक्तिहरूले परमेश्‍वरको घरका हितहरूमा ठूलो हानि गर्छन्, जस्तै परमेश्‍वरको घरका धेरैजसो उपकरण, मेसिन, बहुमूल्य वस्तुहरू, इत्यादि कुराहरूमा क्षति पुर्‍याउँछन् भनेर भन्न सकिन्छ। यी व्यक्तिहरूका कार्य र व्यवहारले व्यापक रिस पैदा गरेको छ भनेर भन्न सकिन्छ। अवश्य नै, तिनीहरूले अझै धेरै मानिसहरूलाई पाठहरू सिक्न र समझशक्ति प्राप्त गर्न, दियाबलस भनेको के हो र मानवताको कमी हुनु भनेको के हो भनेर जान्न, र अविश्‍वासीहरूको साँचो अनुहार स्पष्ट रूपमा देख्न सक्षम तुल्याएका छन्; तिनीहरूले मानिसहरूलाई अविश्‍वासीहरूका विचार र दृष्टिकोणहरू के-के हुन्, तिनीहरूले के कुरा पछ्याउँछन्, तिनीहरूले हृदयको गहिराइमा के कुराको आकाङ्क्षा गर्छन्, परमेश्‍वर र सत्यताप्रति तिनीहरूले कस्तो मनोवृत्ति राख्छन्, र आफ्नो कर्तव्यप्रति र सकारात्मक कुराहरूप्रति तिनीहरूले कस्तो मनोवृत्ति राख्छन्, साथै परमेश्‍वरको घरले बनाएका निश्चित प्रावधानहरूप्रति यी व्यक्तिहरूले राख्ने मनोवृत्तिहरूसमेत के-के हुन्, इत्यादि जस्ता कुरा स्पष्ट र अझै ठोस तरिकाले हेर्न सक्षम तुल्याएका छन्। जब यो कुरा यति विशिष्ट बन्छ, तब यी व्यक्तिहरूले आफ्नो मानवता कसरी जिउँछन्, तिनीहरूको मानवताको सार के हो, र तिनीहरूले के पछ्याउँछन् भन्‍ने कुराहरू पूर्ण रूपमा खुलासा हुन्छन्। त्यसपछि यी व्यक्तिहरूलाई मण्डलीमा राख्नु अनावश्यक देखिन्छ; यसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई ठूलो हानि गर्नेछ र तिनीहरूलाई पटक्कै फाइदा हुनेछैन। तिनीहरू निस्केर जाने समय यही हो। त्यसोभए, यदि हामीले परमेश्‍वरको घरले तिनीहरूलाई सत्यता स्वीकार गर्न र परमेश्‍वरको आराधना गर्नका लागि पर्याप्त समय र अवसरहरू दिएको छ भनेर भन्छौँ भने, के यो अभिव्यक्ति सही हुन्छ? (हुँदैन।) त्यसोभए यो कुरा कसरी भन्नुपर्छ? परमेश्‍वरको घरले तिनीहरूलाई सुध्रिनका लागि प्रशस्त अवसर र पर्याप्त समय दिएको छ, तर अन्तिम परिणामले एउटा तथ्य खुलाउँछ: दियाबलस जुनसुकै बेला जहिले पनि दियाबलस नै हुन्छ र ऊ कहिल्यै परिवर्तन हुन सक्दैन। तथ्य यही हो। के ठूलो रातो अजिङ्गरलाई परमेश्‍वरको हैसियत र पहिचान स्वीकार गर्न लगाउन सकिन्छ? दानवीय प्रकृतिका यी मानिसहरूलाई परिवर्तन हुन र केही नियमहरू पालना गर्न लगाउनु—के यो कुरा हासिल गर्न सकिन्छ? (सकिँदैन।) तिनीहरूले यो कुरा हासिल गर्न सक्दैनन्। तिनीहरूलाई अवसरहरू दिनु भनेको तिनीहरूले सत्यतालाई स्वीकार गर्न, परमेश्‍वरले गर्नुभएको कामलाई चिन्न, वा सत्यता सिद्धान्तहरू अनुसार काम गर्नका लागि नभई तिनीहरूलाई सुध्रिने मौका दिनका लागि हो। यदि तिनीहरू सुध्रिएका छन् भन्‍ने अलिकति पनि सङ्केत देखियो भने, तिनीहरूको अन्तिम परिणाम परिवर्तन हुन सक्छ। तर, यी मानिसहरूलाई तिनीहरूका लागि के राम्रो हो भन्‍ने थाहा हुँदैन; तिनीहरूको दानवीय प्रकृति सधैँ त्यही नै हुनेछ। तिनीहरूलाई जति धेरै समय वा जति धेरै अवसरहरू दिइए पनि, तिनीहरूले जिउने कुरा र तिनीहरूको सार परिवर्तन हुँदैन; यो तथ्य हो। त्यसकारण, यी मानिसहरूलाई तह लगाउने अन्तिम तरिका भनेको तिनीहरूलाई तिनीहरूको कर्तव्यबाट मुक्त गर्नु, तिनीहरूलाई मण्डली छोड्न लगाउनु, र अब परमेश्‍वरको घरसँग तिनीहरूको कुनै नाता वा सम्बन्ध छैन भन्‍ने कुरा सुनिश्चित गर्नु हो। के तिनीहरू गएको हेर्न नचाहने र “यी मानिसहरू अझै पनि निकै कम उमेरका छन्; समय दिइयो भने तिनीहरू उत्कृष्ट बन्‍नेथिए। तिनीहरूको क्षमता यति राम्रो छ, तिनीहरू अत्यन्तै वरदानप्राप्त र प्रतिभाशाली छन्—तिनीहरूले सत्यतालाई स्वीकार गर्न सकेका भए कति राम्रो हुनेथियो! यदि परमेश्‍वरको घर अझै प्रेमिलो र सहनशील हुन सक्यो, र त्यसले तिनीहरूलाई पश्चात्ताप गर्ने अझै धेरै मौका दियो भने, तिनीहरू ठूलो भएपछि, सायद परिस्थिति फरक हुनेछ” भनेर दया देखाउने व्यक्तिहरू छन्? कस्ता मानिसहरूले यसरी सोच्छन्? (भ्रमित मानिसहरू, अन्योलमा परेका मानिसहरू।) ठीक भन्यौ। तिनीहरू सबै भ्रमित, अन्योलमा परेका मानिसहरू हुन्—बदमासहरू हुन्! परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न, र परमेश्‍वरको घरले तिनीहरूलाई रहन दिँदैन—तिनीहरूलाई दया गर्नुपर्ने कुरा के छ र? परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मुक्ति नदिने भनेर भन्‍नुहुन्छ, तैपनि तँ तिनीहरूलाई पश्चात्ताप गर्ने मौका दिने सुझाव दिन्छस्। के तँ मानिसहरूलाई मुक्ति दिन सक्छस्? के यो परमेश्‍वरको विरुद्धमा जानु होइन र? के तैँले अरूलाई तँ परमेश्‍वरभन्दा प्रेमिलो छस् भनेर सोच्न लगाउने प्रयास गरिरहेको छस्? के तँसँग सत्यता वास्तविकता छ? के तैँले व्यक्तिको सारलाई छर्लङ्ग देख्न सक्छस्? मानिसहरूलाई मुक्ति दिन सक्ने कसले हो, परमेश्‍वरले कि तैँले? परमेश्‍वरको विरुद्धमा जाने आँट गर्नु—यो अत्यन्तै अहङ्कारी, आत्म-धर्मी, र समझहीन हुनु हो, होइन र? के यो ठूलो विद्रोह होइन र? के यो सधैँ परमेश्‍वरको विरोध गर्नमै रमाउने शैतान र दुष्ट आत्माहरूको पुनर्जन्म हुनु होइन र? भर्खरै उल्लेख गरिएका अविश्‍वासीहरू पशुहरूभन्दा कम हुन्छन्। तिनीहरूलाई सत्यता जतिसुकै सङ्गति गरिए पनि, यसको कुनै काम हुँदैन; तिनीहरूलाई काटछाँट गर्नु पनि व्यर्थ हुन्छ। तिनीहरूमा शैतानको प्रकृति हुन्छ र तिनीहरू कहिल्यै परिवर्तन हुनेछैनन् भनेर भन्न सकिन्छ। यदि कसैले यी शैतानी प्रकारका मानिसहरूलाई पश्चात्ताप गर्ने मौका दिन चाहन्छ भने, तिनीहरूलाई त्यस्ता मानिसहरूको भरणपोषण गर्न देऊ; तिनीहरूमा साँच्चै प्रेम छ कि छैन भन्‍ने कुरा हामी हेरौँला। सत्यतालाई पटक्कै स्वीकार नगर्ने ती अविश्‍वासीहरू मण्डलीका सबैभन्दा खराब मानिसहरू हुन्; तिनीहरू सबै पशु जस्तै हुन्छन्, जो समझभन्दा बाहिर र मुक्ति पाउन नसक्ने हुन्छन्। चाहे विगतमा होस् वा वर्तमानमा, मण्डलीले तिनीहरूसँग गरेको व्यवहार सबैभन्दा उचित रहिआएको छ; मण्डलीले तिनीहरूप्रति ठूलो धैर्य र सहनशीलता देखाएको छ, र तिनीहरूलाई पर्याप्त अवसरहरू दिएको छ। तर अहिलेसम्म, तिनीहरू पटक्कै परिवर्तन भएका छैनन्, र तिनीहरूको तौर-तरिका झनै तीव्र हुँदै गइरहेको छ। सुरुमा, यी मानिसहरूले आफ्ना धारणा, कल्पना, र आशिष्‌हरूप्रतिको चाहना बोकेर परमेश्‍वरमा विश्‍वास गर्दा, तिनीहरूले अलिक संयमित भएर केही उत्साह र जोशका साथ आफ्नो कर्तव्य पूरा गर्न सक्छन्। तर, अन्तमा, जब तिनीहरूले “परमेश्‍वरमा विश्‍वास गर्नु भनेको सत्यता पछ्याउनु, परमेश्‍वरको काम चिन्‍नु, र परमेश्‍वरमा समर्पित हुनु हो, र यति मात्रै हो” भन्‍ने देख्छन्, तब परमेश्‍वर र सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति, साथै तिनीहरूको असली रूप पूर्ण रूपमा खुलासा हुन्छन्। खुलासा हुने कुरा के हो? तिनीहरूमा मानवता, विवेक, र समझको कमी हुने मात्रै नभई तिनीहरू अत्यन्तै क्रूर, दुष्ट, र पाशविक पनि हुन्छन्। तिनीहरू परमेश्‍वर र सत्यतालाई तिरस्कार गर्छन्, र परमेश्‍वरको घरका माग र नियमहरू—र परमेश्‍वरका प्रशासनिक आदेशहरूलाई समेत—शत्रुता र अवज्ञासाथ व्यवहार गर्छन्। तिनीहरूका यी प्रकटीकरणहरूले परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूप्रति महसुस गर्ने घिन र विकर्षणलाई तीव्र बनाएको छ, र परमेश्‍वरको घरले तिनीहरूलाई पखाल्ने गतिलाई पनि बढाएको छ, अन्त्यमा यसैले तिनीहरू रहन्छन् कि जान्छन् भनेर तीव्र रूपमा तय गर्छ, र तिनीहरूका परिणाम र नियतिको निर्धारण गर्छ। तिनीहरूका परिणाम र नियति तिनीहरूले नै कमाएका हुन्, ती कसैको उक्साहट वा प्रोत्साहनका कारण, वा कसैले यी मानिसहरूलाई जबरजस्ती गरेको वा परीक्षामा पारेका कारण पैदा भएका होइनन्, र ती निश्चय नै वस्तुगत परिस्थितिहरूका कारण पैदा भएका होइनन्; तिनीहरूका परिणाम र नियतिहरू तिनीहरू आफैले आफैमाथि ल्याएका हुन्, ती तिनीहरूका आफ्नै निर्णयका कारण आएका हुन्, र ती तिनीहरूको प्रकृति सार र तिनीहरूले लिएका मार्गहरूद्वारा निर्धारित गरिएका हुन्। यी मानिसहरूका परिणाम र नियतिहरू तय भएका छन्; तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्नेहरूको सूचीबाट निकालिएपछि, तिनीहरू श्रमिकसमेत रहँदैनन्। तिनीहरूले कस्तो नियति पाउनेछन् भन्‍ने कुरा तैँले राम्ररी कल्पना गर्न सक्छस्—त्यो यहाँ उल्लेख गर्न लायक छैन, किनभने तिनीहरू यसका लायक छैनन्।

प्रकाश गरिने र हटाइने मानिसहरूका हकमा भन्दा, तिनीहरूका विभिन्न दुष्ट कार्यहरूका प्रकटीकरणहरू, साथै तिनीहरूले आफ्नो दैनिक जीवनमा प्रकट गर्ने दुर्भावनापूर्ण शब्द र वाणीहरू स्पष्ट रूपमा नै देखिन्छन्। तैपनि, कतिपय अगुवा र कामदारहरूले यी दुष्ट मानिसहरूलाई तिनीहरू वास्तवमा के हुन् भनेर खुट्ट्याउन, वा तिनीहरूको प्रकृति सारलाई छर्लङ्ग देख्न सक्दैनन्। यी अगुवा र कामदारहरूलाई तिनीहरू दुष्ट मानिस र अवि‍श्‍वासी हुन् भन्ने थाहा हुँदैन जस्तो देखिन्छ, त्यसकारण उनीहरूसँग तिनीहरूलाई मण्डलीबाट पखाल्ने, वा तिनीहरूलाई उचित रूपमा निराकरण गर्ने कुनै योजना हुँदैन। यो अगुवा र कामदारका रूपमा उनीहरूले जिम्मेवारीलाई गम्भीर रूपमा बेवास्ता गर्नु हो। दानवीय प्रकृतिका यी मानिसहरूले परमेश्‍वरको घरका कुनै पनि नियमहरू पालना नगर्दा, तिनीहरू उन्मत्त हुँदा र तिनीहरूले जथाभावी मण्डलीको काम र मण्डली जीवनको सुव्यवस्थामा बाधा दिँदा र त्यसलाई बिथोल्दा, उनीहरू ट्वाल्‍ल परेर हेर्छन्; उनीहरू यी मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने नाममा निर्भिक र बेपरवाह रूपमा काम गर्दा, स्वच्छन्द व्यवहार गर्दा, र परमेश्‍वरको घरका हितहरूमा हानि गर्दासमेत तिनीहरूलाई आड दिने गर्छन्। परमेश्‍वरको घरका हितहरूमा हानि गर्नुमा धेरै कुराहरू समावेश हुन्छन्: परमेश्‍वरको घरका मेसिन र विभिन्न उपकरणहरूमा क्षति पुर्‍याउनु, यसका कार्यालयका विभिन्न यन्त्र र आपूर्तिहरूमा क्षति पुर्‍याउनु, परमेश्‍वरका भेटीहरूलाई समेत आफूखुसी उडाउनु, इत्यादि। अझै गम्भीर कुरा के हो भने, तिनीहरूले जथाभावी विभिन्न विधर्म र भ्रमहरू फैलाउँछन्, जसबाट यस्तो बाधा सिर्जना हुन्छ कि परमेश्‍वरका चुनिएका मानिसहरूले शान्तिपूर्वक आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्, र यो बाधा यस्तो हुन्छ कि कमजोर र नकारात्मक मानिसहरूले आफ्नो कर्तव्य त्याग्छन् र परमेश्‍वरलाई पछ्याउनुमा वि‍श्‍वास गुमाउँछन्। यी दुष्ट मानिसहरूले यी सबै खराब कामकुराहरू गर्छन्, तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउने र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्ने यी सबै दुष्ट कार्यहरू गर्छन्, तैपनि अगुवा र कामदारहरूले आँखा चिम्लिन्छन्, सुने पनि नसुनेको जस्तो गर्छन्; उनीहरूमध्ये कतिले यसोसमेत भन्छन्, “मलाई थाहा थिएन, कसैले पनि मलाई कहिल्यै बताएन!” त्यो पशु र दियाबलसहरूको गिरोहले मण्डलीमा ध्वंस मच्चाएको हुन्छ, र अस्तव्यस्तता पैदा गरेको हुन्छ, तैपनि अगुवा र कामदारहरू यसबारे पूर्ण रूपमा अनभिज्ञ र अनजान हुन्छन्! के उनीहरू नीच मानिस होइनन् र? उनीहरूको हृदय कहाँ छ? उनीहरू के गरिरहेका छन्? के तिनीहरू व्यर्थको गफ मात्रै गरिरहेका छैनन् र? के उनीहरूले आफ्नो उचित कामलाई बेवास्ता गरिरहेका छैनन् र? त्यस्ता झूटा अगुवाहरू काममा रहने हरेक दिन भनेको सबै किसिमका दुष्ट मानिसहरूले बेपरवाह भएर मण्डलीमा बाधा दिन र परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्न पाउने थप एक दिन हो। झूटा अगुवाहरूले आफ्नो जिम्मेवारी पूरा नगर्ने हुनाले नै त्यो पशुहरूको गिरोह दिनभरि केही नगरी समय बिताउँछन्, तिनीहरूले कुनै कर्तव्य पूरा गर्दैनन् वा कुनै नियमहरू पालना गर्दैनन्, परमेश्‍वरको घरको भरमा पेट पाल्छन्, परमेश्‍वरको घरका विभिन्न भौतिक लाभ र कल्याण सित्तैमा उपभोग गर्छन्—तिनीहरूले जानी-जानी मण्डलीको काममा बाधासमेत दिन्छन्, र परमेश्‍वरको घरका मेसिन र उपकरणहरूमा क्षति पुर्‍याउँछन्। तिनीहरू यस्तै व्यवहार गर्छन्, तैपनि परमेश्‍वरको घरमा आरामदायी जीवन जिउने र आफूलाई जे मन लाग्यो त्यही गर्ने अपेक्षा गर्छन्, र तिनीहरूलाई झिज्याउने वा चिढ्याउने अनुमति कसैलाई हुँदैन। यो निकै गम्भीर समस्या हो, तैपनि अगुवा र कामदारहरूले यसलाई पन्छाउँछन्, अरूले रिपोर्ट गरे पनि यसलाई समाधान गर्दैनन्—उनीहरू वास्तविक काम नगर्ने कसिङ्गर होइनन् र? के यो जिम्मेवारीलाई गम्भीर बेवास्ता गर्नु होइन र? (हो।) कतिपयले भन्छन्, “म अरू काममा व्यस्त भएकाले मैले समस्या समाधान गरिनँ। मैले यो गर्नै सकिनँ!” के यी शब्दहरू औचित्यपूर्ण छन्? यदि तैँले त्यस्तो गम्भीर समस्या समाधान गर्दैनस् भने, तँ केमा चाहिँ यति व्यस्त हुन्छस्? के तँ जे कुरामा व्यस्त हुन्छस् त्यसको मूल्य छ? के तैँले आफ्नो कामलाई प्राथमिकता दिन सक्छस्? तँ काममा जति नै व्यस्त भए पनि, के समस्याहरू समाधान गर्नुलाई प्राथमिकता दिनु पर्दैन र? मण्डलीको काममा बाधा र अवरोध ल्याउने विभिन्न प्रकारका मानिसहरूलाई तुरुन्तै बुझ्नु र निराकरण गर्नु अगुवा र कामदारहरूको जिम्मेवारी हो। यदि तँ वास्तविक समस्याहरूलाई पन्छाएर अरू मामलाहरूमा व्यस्त हुन्छस् भने, के तैँले वास्तविक काम गरिरहेको हुन्छस्? यदि तैँले कुनै समस्या पत्ता लगाइस् वा कसैले तँलाई कुनै समस्याको रिपोर्ट गर्‍यो भने, तैँले गरिरहेको कामलाई थाती राखेर तुरुन्तै स्थलमै गएर समस्याको स्रोत के हो भनेर हेर्नुपर्छ। यदि कुनै दुष्ट व्यक्तिले मण्डलीको काममा बाधा र अवरोध ल्याएको हो भने, तैँले सुरुमा यो दुष्ट व्यक्तिलाई पखाल्नुपर्छ। त्यसपछि, अरू समस्याहरू समाधान गर्न सजिलो हुनेछ। यदि तैँले कुनै समस्या पत्ता लगाइस् र आफू निकै व्यस्त रहेको दाबी गर्दै त्यसलाई समाधान गरिनस् भने, के तँ वास्तवमा पिँजडामा रहेको लोखर्के जस्तै यता-उता दौडिरहेको मात्रै हुँदैनस् र? आखिर तँ के कुरामा यति व्यस्त हुन्छस्? के यो वास्तविक काम हो? के तँ यसलाई प्रस्टसँग व्याख्या गर्न सक्छस्? के तेरा कारण र बहानाहरू औचित्यपूर्ण छन्? तँ समस्याहरू समाधान गर्नुलाई किन महत्त्वहीन ठान्छस्? तँ किन समयमा नै समस्याहरू समाधान गर्दैनस्? तँ किन आफू व्यस्त भएकाले कामकुरा सम्हाल्न नसक्ने भन्दै बहाना खोज्छस् र तिनलाई पन्छाउँछस्? के यो गैरजिम्मेवार हुनु होइन र? मण्डलीको अगुवाका रूपमा, समस्या समाधानलाई प्राथमिकता नदिनु, विभिन्न सानातिना मामलाहरूमा आफूलाई व्यस्त राख्नु, गम्भीर समस्याहरू छन् भनी बुझ्न नसक्नु, काममा महत्त्व र तात्कालिकतालाई छुट्याउन र महत्त्वपूर्ण बुँदाहरू बुझ्न नसक्नु—यी कुराहरू असाधारण रूपमा कमजोर क्षमताका प्रकटीकरणहरू हुन्, र त्यस्तो व्यक्ति अन्योलमा परेको व्यक्ति हो। तँ जति वर्षदेखि अगुवा रहिआएको भए पनि, तैँले मण्डलीको काम राम्ररी गर्न सक्दैनस्। तैँले जिम्मेवारी स्वीकार गर्नुपर्छ र राजीनामा दिनुपर्छ। यदि कुनै अगुवाको क्षमता अत्यन्तै कमजोर छ भने, कुनै पनि तालिम व्यर्थ हुन्छ; उसले निश्चय नै कुनै पनि काम पूरा गर्न सक्दैन—ऊ झूटो अगुवा हो, जसलाई बर्खास्त गर्नुपर्छ र उसको कर्तव्य हेरफेर गर्नुपर्छ। जब झूटा अगुवाहरू काम गरिरहेका हुन्छन्, तब परिणामहरू के-कस्ता आउँछन्? वस्तुगत रूपमा भन्दा, झूटा अगुवाहरूले गर्ने सबै कुराले मण्डलीलाई बहुपक्षीय घाटा हुन्छ। एकातर्फ, मण्डलीको अत्यावश्यक काम राम्ररी पूरा हुँदैन, जसले गर्दा मण्डलीको कामका विभिन्न पक्षहरूको प्रभावकारितामा प्रत्यक्ष रूपमा व्यवधान आउँछ। साथसाथै, यसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पनि हानि र असर गर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले राज्यको सुसमाचारको फैलावटमा असर गर्छ। यी सबै परिणामहरू झूटा अगुवाहरूले वास्तविक काम नगर्नुसँग सिधै सम्बन्धित हुन्छन्। यसलाई अझै प्रस्टसँग भन्दा, झूटा अगुवाहरू वास्तविक काममा नलाग्दाले नै यी सबै कुरा उत्पन्न हुन्छन्। यदि अरू अगुवा र कामदारहरू सक्रिय रूपमा कुनै वास्तविक काममा लाग्न सक्छन्, जसले गर्दा समस्या समाधानको गति द्रुत हुन्छ र लाग्‍ने समय छोट्टिन्छ भने, के झूटा अगुवाहरूले परमेश्‍वरको घरमा पुर्‍याएका विभिन्न क्षतिहरू केही हदसम्म कम हुनेथिएन र? तिनलाई कम्तीमा पनि घटाउन सकिनेथ्यो। समस्याहरू उत्पन्न हुँदा, परमेश्‍वरको घरले तँलाई तिनलाई तुरुन्तै सम्हाल्न लगाएन भने पनि, कम्तीमा पनि, समस्याहरू रिपोर्ट भएपछि, तैँले तिनलाई तुरुन्तै सम्बोधन गर्न थाल्नुपर्छ: अवस्थाबारे दाजुभाइ-दिदीबहिनीहरूसँग सोधपुछ गर्, र समस्याहरू कसरी समाधान गर्ने भन्ने बारेमा अरू अगुवा र कामदारहरूसँग छलफल र सङ्गति गर्। यदि समस्या गम्भीर छ र तँ यो समाधान गर्न जान्दैनस् भने, तैँले तुरुन्तै यसबारे माथिल्लो तहमा रिपोर्ट गर्नुपर्छ र समाधानहरू खोज्नुपर्छ। सबै अगुवा र कामदारहरूले हासिल गर्नुपर्ने कुरा यही हो। तर वर्तमान समस्या के हो भने, यी अगुवा र कामदारहरूले समस्याहरू समाधान गर्न नसके पनि, माथिल्लो तहमा रिपोर्ट गर्दैनन्। उनीहरू आफ्नो अयोग्यता, अत्यन्तै कमजोर क्षमता, र वास्तविक काम गर्ने असक्षमता खुलासा होला भनेर माथिल्लो तहलाई रिपोर्ट गर्न निकै डर मान्छन्; उनीहरूलाई बर्खास्त भइन्छ कि भन्ने चिन्ता हुन्छ। तैपनि, उनीहरूले काम गर्न अग्रसरता लिँदैनन्; उनीहरू मन्दबुद्धि भएका र चेतनाशून्य हुन्छन्, र कदम चाल्न ढिलाइ गर्छन्। समस्याहरू समाधान गर्ने बाटो नहुँदा, उनीहरू झारा मात्रै टार्छन्, जसले गर्दा समाधान नभएका अति धेरै समस्याहरू थुप्रिँदै जान्छन्, र यसरी उनीहरूले दुष्ट मानिसहरूलाई अवसरहरू प्रदान गर्छन्। यस बेला, झूटा अगुवाहरू केही कामका छैनन् भन्ने देखेर, ती दुष्ट मानिस र महत्त्वाकाङ्क्षा भएका मानिसहरूले त्यो अवसरलाई जथाभावी दुष्ट कार्यहरू गर्ने मौकाका रूपमा प्रयोग गर्छन्, जसले गर्दा मण्डली अराजकता र अस्तव्यस्ततामा डुब्छ, र कामका सबै पक्षहरू अवरुद्ध हुन्छन्। झूटा अगुवाहरूले प्राथमिक जिम्मेवारी लिनुपर्ने भए पनि, अरू अगुवा र कामदारहरूले पनि आफ्नो जिम्मेवारी पूरा गरेका हुँदैनन्। के यो अगुवा र कामदारहरूले जिम्मेवारीलाई गम्भीर रूपमा बेवास्ता गर्नु होइन र? वास्तवमा, मण्डलीमा पैदा हुने धेरैजसो समस्याहरू दुष्ट मानिस र अवि‍श्‍वासीहरूले सिर्जना गर्ने बाधाहरूसँग सिधै सम्बन्धित हुन्छन्। यदि अगुवा र कामदारहरूले तुरुन्तै समस्याहरूको जड पहिचान गर्न सक्दैनन्, समस्याहरू सिर्जना गर्ने मुख्य दोषीहरूलाई भेट्टाउन सक्दैनन्, र सधैँ अरू ठाउँमा कारणहरू खोज्छन् भने, उनीहरूले आधारभूत रूपमा समस्याहरू समाधान गर्न सक्नेछैनन्, र भविष्यमा पनि समस्याहरू उत्पन्न भइरहनेछन्। यदि उपद्रवी वा पर्दा पछाडि समस्याहरू सिर्जना गर्नेहरूलाई पक्राउ गरियो र सिधै जवाफदेही ठहर्‍याइयो भने, समस्याहरूलाई सम्हाल्ने यो तरिका सबैभन्दा प्रभावकारी हुन्छ। कम्तीमा पनि, यसले ती अवि‍श्‍वासी र दुष्ट मानिसहरूले उन्मत्त भइरहने र बाधा र अवरोधहरू सिर्जना गरिरहने आँट नगर्ने कुरा सुनिश्चित गर्छ। के अगुवा र कामदारहरूले हासिल गर्नुपर्ने कुरा यही होइन र? (हो।) मण्डलीका समस्याहरूको सङ्ख्या बढ्नु र ती समयमा नै समाधान नहुनुको मुख्य कारण भनेको अगुवा र कामदारहरूको गैरजिम्मेवारी, वा झूटा अगुवाहरूमा सत्यता वास्तविकताको कमी हुनु र तिनीहरूले वास्तविक काम गर्न नसक्नु हो भनेर निश्चित रूपमा भन्न सकिन्छ। यदि अगुवा र कामदारहरूले मण्डलीमा सिर्जना हुने विभिन्न समस्याहरू समाधान गर्न सक्दैनन् भने, उनीहरूले अवश्य नै आफ्नो पदमा निहित रहेको काम गर्न सक्दैनन्। यहाँ स्पष्ट रूपमा बुझ्नैपर्ने विभिन्न अवस्था र कारणहरू छन्: यदि अगुवा र कामदारहरू अनुभवहीन सिकारु हुन् भने, उनीहरूलाई धैर्यका साथ मदत गर्नुपर्छ, समस्याहरू समाधान गर्न अगुवाइ गर्नुपर्छ, र उनीहरूले समस्याहरू समाधान गर्ने क्रममा केही कुराहरू सिक्नुपर्छ र सत्यता सिद्धान्तहरू बुझ्नुपर्छ। यसरी, उनीहरूले बिस्तारै समस्याहरू समाधान गर्न सिक्नेछन्। यदि अगुवा र कामदारहरू सही मानिस होइनन्, सत्यता स्वीकार गर्न पूर्ण रूपमा इन्कार गर्छन् र त्यसको साटो समस्याहरू समाधान गर्न गैरवि‍श्‍वासीहरूका दृष्टिकोण र विधिहरू प्रयोग गर्छन् भने, यो सत्यता सिद्धान्तहरू अनुरूप हुँदैन। त्यस्ता मानिसहरू अगुवा र कामदार हुन लायक हुँदैनन् र तिनीहरूलाई समयमा नै बर्खास्त गर्नुपर्छ र हटाउनुपर्छ; त्यसपछि, उपयुक्त अगुवा र कामदारहरू छनौट गर्न फेरि एक पटक चुनाव गर्नुपर्छ। यो शैलीले मात्रै समस्यालाई पूर्ण रूपमा समाधान गर्न सक्छ। मण्डली अगुवा बन्नु सजिलो काम होइन, र अवश्य नै कतिपय समस्याहरू सम्हाल्न सकिँदैन। तर, यदि व्यक्तिमा समझ छ भने, समाधान गर्न नसकिने समस्याहरू आइपर्दा, उसले समस्याहरूलाई लुकाउनु वा दबाउनु हुँदैन र त्यसलाई बेवास्ता गर्नु हुँदैन। बरु, सत्यता बुझेका धेरै मानिसहरूको परामर्श लिएर सामूहिक रूपमा समाधान खोज्नुपर्छ, जसले सत्तरीदेखि अस्सी प्रतिशत समस्याहरू समाधान गर्न सक्छ, र कम्तीमा पनि गम्भीर समस्याहरू पैदा हुनबाट अस्थायी रूपमा रोक्न सक्छ। यो व्यवहार्य मार्ग हो। यदि समस्याहरू साँच्चै समाधान गर्न सकिँदैन भने, व्यक्तिले माथिबाट समाधानहरू खोज्नुपर्छ, जुन बुद्धिमानी निर्णय हो। यदि, इज्जत गुम्ने डरले वा तेरो अयोग्यताका कारण माथिले तँलाई काटछाँट गर्नेछ भन्ने डरले तैँले समस्याहरू लुकाउँछस् र रिपोर्ट गर्दैनस् भने, यो पूर्ण रूपमा निष्क्रिय हुनु हो। यदि तैँले के गर्ने भन्ने थाहा नभएको चेतनाशून्य र मन्दबुद्धि भएको व्यक्तिले जस्तो व्यवहार गरिस् भने, यसले मामलाहरूमा ढिलाइ गर्नेछ। त्यस्ता अवस्थाहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई सजिलै अवसरहरू प्रदान गर्छन्, जसले गर्दा तिनीहरूले अराजकताको फाइदा उठाएर कुनै कदम चाल्न पाउँछन्। तिनीहरूले अराजकताको फाइदा उठाएर कुनै कदम चाल्छन् भनेर किन भन्‍ने? किनभने तिनीहरूले यही अवसरको प्रतीक्षा गरिरहेका हुन्छन्। जब अगुवा र कामदारहरूले कुनै पनि समस्याहरू सम्हाल्न सक्दैनन्, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई चिन्ता र असहज महसुस भइरहेको हुन्छ र तिनीहरूले अगुवा र कामदारहरूमाथिको भरोसा गुमाइसकेका हुन्छन्, तब दुष्ट मानिस र ख्रीष्टविरोधीहरूले यो अन्तरबाट फाइदा उठाउने प्रयास गरिरहेका हुन्छन्। तिनीहरूले मण्डली कुनै नेतृत्व वा व्यवस्थापन नभएको स्थितिमा छ भन्ने सोच्छन्। तिनीहरू यो मौकामा आफ्ना सक्षमताहरू प्रदर्शन गर्न चाहन्छन्, ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूलाई आदरभावले हेरून्, तिनीहरूलाई साथ दिऊन्, र अगुवा र कामदारहरूका तुलनामा तिनीहरूको क्षमता राम्रो छ, तिनीहरू समस्याहरू समाधान गर्न र निकासको अगुवाइ गर्न बढी सक्षम छन्, र अराजकताबीच तिनीहरूले परिस्थितिलाई उल्टाउन सक्छन् भन्ने वि‍श्‍वास गरून्। के दुष्ट मानिस र ख्रीष्टविरोधीहरूले सबैभन्दा बढी गर्न चाहने कुरा यही होइन र? यस बेला, जब अगुवा र कामदारहरू शक्तिहीन हुन्छन्, र दुष्ट मानिस र ख्रीष्टविरोधीहरू खडा भएर समस्याहरू समाधान गर्छन्, यहाँसम्म कि निकासको अगुवाइसमेत गर्छन्, तब परमेश्‍वरका चुनिएका मानिसहरूले कसलाई वि‍श्‍वास गर्नेछन्? स्वाभाविक रूपमा, उनीहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूका शक्तिहरूलाई वि‍श्‍वास गर्नेछन्। यसले के देखाउँछ? यसले अगुवा र कामदारहरू केही न कामका छन् र उनीहरूले केही पनि हासिल गर्दैनन्, र तिनीहरू महत्त्वपूर्ण क्षणहरूमा असफल हुन्छन् भन्ने देखाउँछ। के त्यस्ता मानिसहरू अझै पनि अगुवा र कामदार बन्न लायक हुन्छन्? ख्रीष्टविरोधीहरूमा सत्यता वास्तविकताको कमी हुने र तिनीहरूले वास्तविक काम गर्न नसक्ने भए पनि, तिनीहरू सबैसँग फरक-फरक मात्रामा केही वरदानहरू हुन्छन् र तिनीहरू बाहिरी मामलाहरूबारे तुलनात्मक रूपमा बढी चलाख हुन्छन्, त्यो नै तिनीहरूको फाइदाको कुरा हो, र तिनीहरूले यसरी नै मानिसहरूलाई बहकाउन सक्छन्। तर यदि तिनीहरू अगुवा र कामदार बन्ने हो भने, के तिनीहरूले साँच्चै नै परमेश्‍वरका चुनिएका मानिसहरूका समस्याहरू समाधान गर्न सत्यताको प्रयोग गर्न सक्नेथिए? के तिनीहरूले साँच्चै नै परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान-पिउन, सत्यता बुझ्न, र सत्यता वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्न सक्नेथिए? बिलकुलै सक्नेथिएनन्। तिनीहरूसँग केही वरदान भए पनि र तिनीहरू बोल्न सिपालु भए पनि, तिनीहरूमा कुनै पनि सत्यता वास्तविकता हुँदैन। के तिनीहरू मण्डलीका अगुवा र कामदार हुन योग्य हुन्छन्? पटक्कै हुँदैनन्! यो परमेश्‍वरका चुनिएका मानिसहरूले छर्लङ्गै देख्नुपर्ने कुरा हो; तिनीहरू दुष्ट मानिस र ख्रीष्टविरोधीहरूको बहकाउ र फुस्ल्याइमा कहिल्यै पर्नु हुँदैन। अवि‍श्‍वासी, दुष्ट मानिस, र ख्रीष्टविरोधीहरूले पटक्कै सत्यता पछ्याउँदैनन् र तिनीहरूमा अलिकति पनि सत्यता वास्तविकता हुँदैन। त्यसोभए ल भन्, के तिनीहरूले “अहिले मण्डलीमा कोही पनि प्रभारी नभए पनि, हामीले आफ्नै पहलमा काम गर्नुपर्छ। परमेश्‍वरको घरका प्रावधानहरू तोड्न मिल्दैन, परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरू परिवर्तन गर्न मिल्दैन। हामीले जे गर्नुपर्ने हो त्यही गर्नुपर्छ; सबै जना आफूले पूरा गर्नुपर्ने कर्तव्यमा लागिरहनुपर्छ, सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ, र व्यवस्थालाई बिथोल्नु हुँदैन” भन्ने जस्तो विवेक र समझ भएको कुरा भन्न सक्छन्? के तिनीहरूले यस्तो कुरा भन्न सक्छन्? (सक्दैनन्।) बिलकुलै सक्दैनन्! यी अवि‍श्‍वासी र दुष्ट मानिसहरूले के-कस्ता कदमहरू चाल्नेछन्? निगरानी र सुपरिवेक्षणविना, तिनीहरूले आफ्नो कर्तव्यसमेत पूरा गर्दैनन्, तिनीहरू खाने-पिउने, खेल्ने, र रमाइलो गर्ने, व्यर्थको कुराकानी गर्ने, ठट्टा गर्ने, र जिस्किनेसमेत गर्छन्। कतिपयले गैरवि‍श्‍वासी संसारका भिडियोहरू हेरेरै रात बिताउँछन्, त्यसपछि ढिलासुस्ती गर्न र अत्यधिक मात्रामा सुत्नका लागि आफू आफ्नो कर्तव्य पूरा गर्न राती अबेरसम्म बसेको भनेर बताउँछन्। दुष्ट मानिसहरूका कार्यहरू यीनै हुन्, जो दियाबलसका मानिस हुन्। जब तिनीहरूले यी खराब कार्यहरू गर्छन्, तब के तिनीहरूलाई कुनै ग्लानि हुन्छ? के तिनीहरूले अचानक विवेक प्राप्त गर्छन् र केही मानव जिम्मेवारीहरू पूरा गर्न र परमेश्‍वरको घर, मण्डली, र दाजुभाइ-दिदीबहिनीहरूका लागि फाइदाजनक हुने कुरा गर्न पहल गर्छन्? बिलकुलै गर्दैनन्। कसैले हेरिरहेको बेलामा, तिनीहरूले खानाको जोहो गर्नका लागि मात्रै भए पनि मन नलागी-नलागी आफू राम्रो देखिने कुनै काम गर्छन्। तिनीहरूले गर्न सक्ने भनेकै यही मात्र हो; यसबाहेक, यी मानिसहरूसँग एउटा पनि परिपूरक विशेषता हुँदैन। त्यसकारण, के यी मानिसहरू परमेश्‍वरको घरमा बस्नुको कुनै अर्थ छ? यसको कुनै अर्थ छैन। त्यस्ता मानिसहरू वाहियात हुन् र तिनीहरूलाई पखाल्नुपर्छ।

कसैले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भनेर तैँले कसरी मापन गर्छस्? बुझ्नका लागि म तिमीहरूलाई एउटा उदाहरण दिन्छु। कतिपय मानिसहरू कुनै पेसामा संलग्न हुन्छन्, र तिनीहरूले जति धेरै सिक्छन्, आफ्नो अध्ययनलाई जति अघि बढाउँछन्, जति धेरै बुझ्छन्, तिनीहरू यसमा संलग्न हुन त्यति नै इच्छुक हुन्छन् र तिनीहरू पेसा छोड्न त्यति नै कम इच्छुक हुन्छन्। यो कस्तो प्रकटीकरण हो? के यसको अर्थ तिनीहरूलाई यो पेसा साँच्चै मन पर्छ भन्ने हो? (हो।) तिनीहरूले जति नै धेरै कष्ट सहे पनि, जति नै मूल्य चुकाए पनि, तिनीहरूले यसमा जति नै धेरै प्रयास लगाए पनि, तिनीहरू पछुतो नमानी, र हताश नबनी आफ्नो पेसामा लागिरहन्छन्। यो साँचो स्नेह हो, गहिरो र हृदयस्पर्शी अनुराग हो। मानौँ कुनै व्यक्तिले निश्चित काम मन पराउने दाबी गर्छ तर ऊ व्यावसायिक सीपहरू सिक्ने क्रममा कष्ट सहन वा मूल्य चुकाउन अनिच्छुक हुन्छ, र काममा धेरै समस्याहरू उत्पन्न हुँदा उसले समस्यामा परिने डरले समाधानहरू खोज्दैन, र प्रायजसो यो पेसामा संलग्न हुनु झमेला वा बोझ हो भन्ने समेत महसुस गर्छ। तर, पेसा परिवर्तन गर्न सजिलो हुँदैन, र यो पेसाले ल्याउन सक्ने भौतिक फाइदाहरूलाई ध्यानमा राख्दै, यो व्यक्ति मन नलागी-नलागी यसमा संलग्न हुन्छ, तर ऊ यो पेसामा कहिल्यै उत्कृष्ट बन्नेछैन। त्यसोभए, के उसलाई साँच्चै नै यो पेसा मन पर्छ? (पर्दैन।) स्पष्ट रूपमै मन पर्दैन। अर्को प्रकारको व्यक्ति पनि छ, त्यस्तो व्यक्ति जसले निश्चित पेसाप्रति आफ्नो अनुराग मौखिक रूपमा व्यक्त गर्छ र ऊ यसमा संलग्न हुन्छ, तर उसले व्यावसायिक सीपहरू राम्ररी सिक्नका लागि कहिल्यै कष्ट सहने वा मूल्य चुकाउने गर्दैन। सिकाइको क्रममा उसमा उक्त पेसाप्रति दिगमिग वा तिरस्कारसमेत उब्जिन सक्छ, र ऊ सिक्न झन्-झन् अनिच्छुक हुँदै जान सक्छ। जब उसको दिगमिग एउटा निश्चित स्तरमा पुग्छ, तब उसले करियर परिवर्तन गर्छ, र पछि ऊ त्यो पेसामा संलग्न हुँदाको कुनै पनि प्रक्रिया, कथा, वा अरू कुनै कुरा उल्लेख गर्न अनिच्छुक हुन्छ। के त्यस्ता मानिसहरूलाई साँच्चै नै उक्त पेसा मन परेको हुन्छ? (हुँदैन।) तिनीहरूलाई यो मन परेको हुँदैन। तिनीहरूले सजिलै उक्त पेसा त्याग्न सक्छन्, र तिनीहरूलाई घिन लाग्छ र तिनीहरूले करियरसमेत परिवर्तन गर्न सक्छन्, जसले तिनीहरूलाई त्यो पेसा साँचो रूपमा मन पर्दैन भन्ने कुरा प्रमाणित गर्छ। तिनीहरूले त्यो पेसा त्याग्न सक्नुको कारण के हो भने, धेरै समय, ऊर्जा, र मूल्य लगाएपछि, उक्त पेसाले तिनीहरूलाई आफूले चाहेको धनी जीवन जिउन वा राम्रो भौतिक व्यवहार प्राप्त गर्न दिएको हुँदैन। तिनीहरू हृदयमा यस पेसाप्रति वितृष्ण हुन्छन् र यसलाई श्राप दिन्छन्, अरूलाई यसबारे कुरा गर्न समेत बन्देज लगाउँछन्, आफैले यसबारे कुरा गर्नै छोड्छन्, र यसभन्दा पहिले यो पेसामा संलग्न भएकोमा र यसलाई आफ्नो आकाङ्क्षा र जीवनमा पछ्याउने सबैभन्दा उच्च लक्ष्यका रूपमा लिएकोमा लाजसमेत मान्छन्। तिनीहरू उक्त पेसाप्रति जुन हदसम्म वितृष्ण हुन सक्छन् त्यसलाई हेर्दा, के उक्त पेसाप्रति तिनीहरूले सुरुमा देखाएको अनुराग साँचो थियो? (थिएन।) एक प्रकारको व्यक्तिले मात्रै उक्त पेसालाई साँचो रूपमा मन पराउँछ—त्यो पेसाले उसलाई राम्रो भौतिक जीवन वा ठूला फाइदाहरू दिए पनि वा नदिए पनि, र उसले यस पेसामा जतिसुकै कठिनाइहरू सामना गरे पनि वा जति नै धेरै कष्ट भोगे पनि, ऊ यसमा अन्त्यसम्मै हताश नभई लागिपर्न सक्छ। यो साँचो अनुराग हो। व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्ने कुरामा पनि यही कुरा लागू हुन्छ। यदि तँ साँच्चै नै सकारात्मक कुराहरूलाई प्रेम गर्छस्, सकारात्मक कुराहरूलाई प्रेम गर्नेदेखि सत्यतालाई प्रेम गर्ने अवस्थासम्म पुगेको छस् भने, तैँले जस्तोसुकै अवस्थाहरू सामना गरे पनि, तँ आफ्नो जीवनको उद्देश्य परिवर्तन नगरी सत्यताको खोजी र पछ्याइमा लागिरहनेछस्। यदि तैँले यत्तिकै परमेश्‍वरमा वि‍श्‍वास गर्न छोड्न र मुक्तिको मार्ग त्याग्न सक्छस् भने, यो साँचो रूपमा सत्यतालाई प्रेम गर्नु होइन। सत्यता पनि नपछ्याउने तर छोड्न पनि नछोड्नेहरूका हकमा भन्दा, तिनीहरू लागिपर्नुको एउटै मात्र कारण छ: तिनीहरूले के सोच्छन् भने, राम्रो परिणाम र गन्तव्य, राम्रो भविष्यको थोरै पनि आशा हुन्जेल, यसका लागि जोखिम उठाउनु सार्थक हुन्छ, र तिनीहरू अन्त्यसम्मै लागिपर्नुपर्छ। तिनीहरूले यो दृढता आवश्यक छ भन्ने वि‍श्‍वास गर्छन्; संयोगवश विपत्तिहरू बढिरहेका हुन्छन् र जाने अरू कुनै ठाउँ हुँदैन, त्यसकारण तिनीहरू यहीँ टिकेर बस्न र भाग्य भरोसा गर्न पनि सक्छन्। के त्यस्ता मानिसहरूको हृदयमा सत्यताप्रति अलिकति पनि प्रेम हुन्छ? (हुँदैन।) तिनीहरूसँग प्रेम हुँदैन। सुरुमा परमेश्‍वरमा वि‍श्‍वास गर्न थाल्दा, यी मानिसहरूले संसारलाई घृणा गर्ने, शैतानलाई घृणा गर्ने, नकारात्मक कुराहरूलाई घृणा गर्ने, सकारात्मक कुराहरूलाई प्रेम गर्ने, र ज्योतिको तृष्णा गर्ने बारेमा पनि कुरा गर्छन्। तर तिनीहरू परमेश्‍वरको घरमा, मण्डलीमा प्रवेश गरेपछि तिनीहरूको व्यवहार कस्तो हुन्छ? तिनीहरूले आफू श्रमिक भएको पत्ता लगाउँदा, तिनीहरूको कार्य, व्यवहार, र प्रकृति परमेश्‍वरका लागि अप्रिय छन् भन्ने महसुस हुँदा, तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरूले कस्तो व्यवहार देखाउँछन्? जब तिनीहरूले परमेश्‍वरको घरमा अबदेखि तिनीहरूलाई निगाह दिइँदैन, तिनीहरूलाई हटाइनेछ भन्ने अनुभूति गर्छन्, महसुस गर्छन्, वा सोच्छन्, तब कतिपयले छोडेर जाने निर्णय गर्छन्। अरू चाहिँ मन नलागी-नलागी मण्डलीमै बसे पनि, तिनीहरू निराश हुन्छन्, र अन्तमा तिनीहरू जान बाध्य हुन्छन्। त्यस्ता मानिसहरूले सत्यतालाई पटक्कै प्रेम गर्दैनन्; जब आशिष्‌हरू पाउने तिनीहरूको चाहना चकनाचुर हुन्छ, तब तिनीहरूले परमेश्‍वरलाई धोका दिन र उहाँबाट मोडिन सक्छन्। यी विभिन्न प्रकटीकरणहरूले सत्यताप्रतिको फरक-फरक मानिसहरूको मनोवृत्तिलाई देखाउँछन्।

४. यी तीन प्रकारका मानिसहरूका फरक-फरक परिणामहरू

भर्खरै, हामीले तीन प्रकारका मानिसहरूका विशेषताहरूका बारेमा सङ्गति गरेका थियौँ: श्रमिकहरू, भाडाका कामदारहरू, र परमेश्‍वरका मानिसहरू। तिनीहरूका विशेषताहरूबाट, तिनीहरूको अन्तिम परिणाम वस्तुगत वातावरण वा अवस्थाहरूद्वारा निर्धारित नभई तिनीहरूको आफ्नै पछ्याइ र तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छन् भन्ने कुरा स्पष्ट हुन्छ। अवश्य नै, वस्तुगत रूपमा भन्दा, मानिसहरूको नियति निर्धारित गर्ने परमेश्‍वर नै हुनुहुन्छ, तर मानिसहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन् र तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्छन् कि सक्दैनन् भन्ने आधारमा परमेश्‍वरले यी कुराहरू निर्धारित गर्नुहुन्छ। श्रमिकहरूले पनि सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्ने दाबी गर्छन्, तर अन्त्यमा, परमेश्‍वरको काम समाप्त हुँदा पनि, परमेश्‍वरबारे तिनीहरूका धारणा र कल्पनाहरू, परमेश्‍वरसँग तिनीहरूले राख्ने अतिशय मागहरू, र परमेश्‍वरप्रतिको तिनीहरूको धोका अपरिवर्तित नै रहन्छन्। किनभने, परमेश्‍वरको कामको अवधिमा, परमेश्‍वरलाई पछ्याउने र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, तिनीहरूले कहिल्यै आफ्नो भ्रष्ट स्वभावलाई समाधान गरेका हुँदैनन्। तिनीहरूले आफ्नो भ्रष्ट स्वभावलाई समाधान नगर्नुको मूल कारण भनेको तिनीहरूले आधारभूत रूपमा सत्यतालाई स्वीकार नगर्नु हो। तिनीहरूसँग परमेश्‍वरमा समर्पित हुने चाहना भए पनि, तिनीहरूले साँचो रूपमा प्रकट गर्ने कुरा भनेको त्याग गर्ने क्षमता र मूल्य चुकाउने तत्परता मात्रै हो, तर तिनीहरूले सत्यता सिद्धान्तहरू वा परमेश्‍वरप्रतिको समर्पणको मार्ग कहिल्यै खोज्दैनन्। अन्तिम परिणाम के हुन्छ भने, धेरै मेहनत लगाउनुका बाबजुद, तिनीहरूसँग परमेश्‍वरबारे अलिकति पनि ज्ञान हुँदैन। तिनीहरूले अझै पनि परमेश्‍वरलाई धोका दिन र अरू मानिसहरू र शैतानको अगाडि उहाँबारे आफ्ना धारणा र कल्पनाहरू र उहाँप्रतिका आफ्ना अनुचित मागहरू व्यक्त गर्न सक्छन्। जब परमेश्‍वरको काम समाप्त हुन्छ, तब तिनीहरूले अझै पनि आफूलाई “असल मानवता भएको, परमेश्‍वरमा साँचो रूपमा वि‍श्‍वास गर्ने, त्याग्न र कष्ट सहन सक्ने, र अवश्य नै मुक्ति पाउन सक्ने व्यक्ति” ठान्छन्, र यसले गर्दा, तिनीहरूलाई शान्ति महसुस हुन्छ। वास्तवमा, तिनीहरू सधैँ सत्यता बिलकुलै नपछ्याई श्रमिकको मार्गमा हिँडेका हुन्छन्; त्यसकारण, तिनीहरूले सधैँ श्रमिकको पहिचान कायम राख्छन्। अर्को वर्गका मानिसहरू, अर्थात् भाडाका कामदारहरूका बारेमा हामी छलफल गर्नेछैनौँ। अझै अर्को चाहिँ परमेश्‍वरका मानिसहरूको वर्ग हो, जसलाई हामीले भर्खरै उल्लेख गर्‍यौँ। परमेश्‍वरलाई पछ्याउने क्रममा, तिनीहरूले श्रमिकहरूले जस्तै उहाँप्रति आफूलाई समर्पित गर्छन्, आफ्नो समय र ऊर्जा, र आफ्नो जवानी समेत समर्पित गर्छन्, र धेरै कष्ट भोग्छन् र धेरै मूल्य चुकाउँछन्। यो त श्रमिकहरू जस्तै हो। त्यसोभए, फरक के छ त? फरक के हो भने, जब परमेश्‍वरको काम समाप्त हुन्छ, तब परमेश्‍वरप्रतिका तिनीहरूका कैयौँ धारणा, कल्पना, र अतिशय मागहरू सम्बोधन गरिएका हुनेछन्। तिनीहरूको भ्रष्ट स्वभावभित्र रहेका परमेश्‍वरलाई स्पष्ट रूपमै प्रतिरोध गर्ने भ्रष्टताका प्रकटीकरण, स्थिति, र प्रकाशहरू फालिएका हुनेछन्। अझै समाधान नभएका कुराहरू तिनीहरूले अनुभवमार्फत क्रमिक रूपमा सत्यता बुझ्ने क्रममा बिलाएर जानेछन्। तिनीहरूका भ्रष्ट स्वभावहरू पूर्ण रूपमा फालिएका त हुनेछैनन्, तर तिनीहरूको जीवन स्वभावहरूमा केही परिवर्तनहरू आएका हुनेछन्। बढीजसो, तिनीहरूले आफूले बुझेका सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्न सक्नेछन्, र तिनीहरूको भ्रष्ट स्वभावका प्रकटीकरणहरू निकै घटेका हुनेछन्। तिनीहरूले कुनै पनि वातावरणमा ती कुरा प्रकट गर्दैनन् भन्ने नभए पनि, यी मानिसहरूले एउटा आधारभूत माग पूरा गरेका हुनेछन्: तिनीहरूले इमानदार हुनुपर्ने परमेश्‍वरको माग पूरा गरेका हुनेछन्; तिनीहरू आधारभूत रूपमा इमानदार मानिस हुनेछन्। यसका साथै, जब यी मानिसहरूले भ्रष्ट स्वभावहरू प्रकट गर्छन्, वा अपराधहरू गर्छन्, वा परमेश्‍वरविरुद्ध धारणा र विद्रोहहरू पाल्छन्, तब तिनीहरूले जुनसुकै वातावरणमा त्यसो गरे पनि, तिनीहरूमा पश्चात्ताप गर्ने मनोवृत्ति हुनेछ। अनि अर्को कुरा पनि छ, जुन सबैभन्दा महत्त्वपूर्ण छ: परमेश्‍वरले आखिरी दिनहरूको न्यायको काममा जुनसुकै निश्चित कदमहरू चाल्नुभए पनि र उहाँले जसरी व्यवहार गर्नुभए पनि, उहाँले भविष्यमा जेसुकै गर्ने अभिप्राय राख्नुभए पनि, उहाँले मानवजातिको नियति जसरी प्रबन्ध गर्नुभए पनि, र तिनीहरू उहाँले प्रबन्ध गर्नुभएको वातावरणमा जसरी जिए पनि, तिनीहरू सबैमा समर्पणकारी हृदय र समर्पणको मनोवृत्ति हुनेछ, तिनीहरू व्यक्तिगत छनौटहरूबाट र व्यक्तिगत योजना र परिकल्पनाहरूबाट मुक्त हुनेछन्। यी विभिन्न सकारात्मक प्रकटीकरणहरूका कारण, तिनीहरू परमेश्‍वरलाई चाहिने किसिमका, परमेश्‍वरको मार्ग पछ्याउने, अर्थात् उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति बनिसकेका हुनेछन्। तिनीहरू अझै पनि परमेश्‍वरले भन्नुभएको “परमेश्‍वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु, र सिद्ध मानिस बन्नु” भन्ने मानकबाट टाढा हुने भए पनि, जब परमेश्‍वरका परीक्षाहरू तिनीहरूमाथि आइपर्छन्, तब तिनीहरूले खोजी गर्न र तिनीहरू समर्पित हुन सक्छन्, जुन पर्याप्त हुन्छ। तिनीहरूमा कुनै गुनासो हुनेछैन; तिनीहरूले प्रतीक्षा र समर्पण मात्रै गर्नेछन्। तिमीहरूको वर्तमान परिस्थिति अझै पनि त्यस्तो परिणामबाट निकै टाढा हुन सक्ने भए पनि, र कतिपयका लागि, यो अत्यन्तै टाढा र पुग्न नसकिने जस्तो देखिए पनि, यदि तिमीहरूले सत्यतालाई स्वीकार गर्न र परमेश्‍वरका वचनहरूलाई अस्तित्वका लागि आफ्नो सिद्धान्त र जगका रूपमा लिन सक्छौ भने, वि‍श्‍वास गर कि कुनै दिन, तँ, वा तिमीहरू सबै परमेश्‍वरका साँचो मानिस बन्नबाट टाढा हुनेछैनौ—त्यो दिन नजिकै छ भनी वि‍श्‍वास गर। अहिले चाहे यो अगमवाणी गरिएको होस् वा नजिकै आइसकेको होस्, दुवै अवस्थामा अन्तिम परिणाम कल्पना नभई साकार हुन र पूरा हुन लागेको तथ्य हो। यो तथ्य वास्तवमा कसमा पूरा हुनेछ, यो कुन-कुन मानिसहरूमा पूरा हुनेछ भन्ने कुरा तिमीहरूले वास्तवमा कसरी सत्यता पछ्याउँछौ भन्ने कुरामा निर्भर हुन्छ। अर्को शब्दमा भन्दा, तैँले सत्यतालाई पछ्याउन र अभ्यास गर्न सक्ने हदसम्म यसलाई साँचो रूपमा प्रेम गरे पनि, वा तँसँग सत्यताप्रति थोरै मात्र प्रेम भएको, तर तैँले यसलाई पूर्ण रूपमा स्विकार्न र अभ्यास गर्न नसक्ने भए पनि, अन्तिम परिणामले तँलाई जबाफ दिनेछ। हुन्छ, हामी यस विषयको हाम्रो सङ्गतिलाई यहीँ टुङ्ग्याउनेछौँ।

विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मानक र आधारहरू

२. व्यक्तिको मानवताको आधारमा

यसपछि, हामी अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीको बारेमा सङ्गति गर्न जारी राख्छौँ: “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, अनि निकाला वा निष्कासित गर्ने।” सबै प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मानकहरूलाई तीन वटा मुख्य वर्गमा विभाजित गरिएको छ। हामीले यसभन्दा पहिले व्यक्तिले परमेश्‍वरमा वि‍श्‍वास गर्नुको उद्देश्यबारे सङ्गति गरेका छौँ, अनि त्यसपछि हामी उसको मानवताबारे सङ्गति गर्नतिर लाग्यौँ। व्यक्तिको मानवताको हिसाबमा भन्दा, हामीले धेरै वटा फरक-फरक प्रकटीकरणहरूलाई पनि वर्गीकरण गर्‍यौँ। हामीले सङ्गति गरिसकेका विभिन्न प्रकटीकरणहरू के-के हुन्? ती पढ। (सबै प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउनेसम्‍बन्धी दोस्रो बुँदा व्यक्तिको मानवतासँग सम्बन्धित छ। पहिलो, तथ्य र झूटहरूलाई गलत रूपमा प्रस्तुत गर्न मन पराउनु; दोस्रो, फाइदा उठाउन मन पराउनु; तेस्रो, लम्पट र असंयमित हुनु; चौथो, प्रतिशोधप्रति झुकाव राख्नु; पाँचौ, आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्‍नु।) हामीले तिनीहरूले आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्ने बारेमा रहेको पाँचौँ बुँदासम्म सङ्गति गरेका छौँ। चाहे हामी मानवताका निश्चित प्रकटीकरणहरूका बारेमा सङ्गति गरिरहेका होऊँ वा अरू कुराहरूका बारेमा सङ्गति गरिरहेका होऊँ, मैले भने जस्तै, यसले फरक-फरक प्रकारका मानिसहरूमा फरक-फरक असर पार्नेछ। सत्यता पछ्याउनेहरू सत्यता सुनेपछि आफूलाई जाँच्नमा केन्द्रित हुनेछन्; तिनीहरूले आफूलाई मेरो सङ्गतिसँग मापन गर्नेछन् र तिनीहरूको सक्रिय र सकारात्मक प्रवेश हुनेछ। तर, श्रमिकहरू जस्ता सत्यता नपछ्याउनेहरूले केवल सुन्छन्, र त्योबाहेक केही गर्दैनन्। तिनीहरूले यसलाई हृदयमा लिँदैनन् वा सुन्नमा आफ्नो हृदय लगाउँदैनन्। कहिलेकाहीँ, तिनीहरू प्रवचन सुन्दा निदाउन पनि सक्छन्। तिनीहरूले यसलाई आत्मसात् गर्न सक्दैनन्, र यस्तो समेत सोच्छन्, “यी सानातिना कुराहरू सुन्नुको के फाइदा? यो समयको बरबादी हो—मैले गर्दै गरेको काम समेत अझै सकाएको छैनँ!” परिश्रम आवश्यक पर्ने कामहरूका बारेमा तिनीहरूलाई सधैँ चिन्ता हुन्छ। तिनीहरू परिश्रम गर्न र बफादारी देखाउनमा विशेष रूपमा उत्साहित र समर्पित हुन्छन्, तर तिनीहरूले सत्यतासँग सम्बन्धित मामलाहरूका लागि ऊर्जा जुटाउनै सक्दैनन्। यसले त्यस्ता मानिसहरूलाई सत्यताप्रति चासो हुँदैन भन्ने कुरा स्पष्ट रूपमा प्रकट गर्छ; तिनीहरू केवल परिश्रम गर्नमै सन्तुष्ट हुन्छन्। मानिसहरूको अर्को समूह छ, जसले परमेश्‍वरको घरले सत्यतामा जसरी सङ्गति गरे पनि त्यही मनोवृत्ति कायम राख्छन्: “म प्रतिरोधी र विरोधी मात्रै हुँ। तपाईँले मेरा समस्याहरू औँल्याउनुभयो र मेरा प्रकटीकरण, प्रकाश, र स्वभावहरू खुलासा गर्नुभयो भने पनि, म यस कुरालाई ध्यान दिनेछैनँ वा गम्भीरतापूर्वक लिनेछैनँ। त्यसकारण अरूलाई मेरो खुलासा भइरहेको छ भन्ने थाहा भए के भयो त?” तिनीहरूले निर्लज्ज रूपमा अवज्ञा र विरोध गरिरहन्छन्, जुन कुरालाई सच्याउन सकिँदैन। जेसुकै भए पनि, फरक-फरक प्रकारका मानिसहरूका प्रकटीकरणहरूलाई छुट्याउन सकिन्छ। सत्यता—यसलाई पछ्याउनेहरूका हकमा होस्, परिश्रम गर्न इच्छुक हुने तर यसलाई प्रेम नगर्नेहरूका हकमा होस्, वा सत्यताप्रति विकर्षित र वितृष्ण हुनेहरूका हकमा होस्—यसले दुईधारे तरबार, अर्थात् कसौटीका रूपमा काम गर्छ। यसले सत्यताप्रति मानिसहरूको मनोवृत्तिलाई र तिनीहरू हिँडिरहेको मार्गलाई पनि मापन गर्न सक्छ।

च. अव्यावहारिक र जानी-जानी कष्टदायी हुनु, र तिनीहरूलाई उत्तेजित पार्ने आँट गर्ने कोही नहुनु

यसभन्दा पहिले, हामीले विभिन्न दुष्ट मानिसहरूका पाँच वटा प्रकटीकरणहरूलाई खुट्ट्याउने बारेमा सङ्गति गरेका थियौँ। आज, हामी छैटौँका बारेमा सङ्गति गर्न जारी राख्छौँ। छैटौँ पनि एक प्रकारको दुष्ट व्यक्तिको प्रकटीकरण हो, वा अझै राम्ररी भन्दा, मानिसहरूले यो प्रकारलाई दुष्ट नठाने पनि, सबैले उसलाई मन पराउँदैनन्। किन? किनभने यी मानिसहरूमा विवेक र समझको कमी हुन्छ, सामान्य मानवताको कमी हुन्छ, र तिनीहरूसँगको अन्तरक्रिया निकै कष्टदायी र गाह्रो हुन्छ, जसले गर्दा विकर्षण पैदा हुन्छ। यी मानिसहरूका निश्चित प्रकटीकरणहरू के-के हुन्? अव्यावहारिक र जानीजानी कष्टदायी हुनु, र तिनीहरूलाई उत्तेजित पार्ने आँट गर्ने कोही नहुनु। के मण्डलीमा त्यस्ता मानिसहरू हुन्छन्? धेरै नभए पनि, निश्चय नै हुन्छन्। अनि तिनीहरूका निश्चित प्रकटीकरणहरू के-के हुन्? सामान्य परिस्थितिहरूमा, यी मानिसहरूले आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न र अरूसँग अत्यन्तै सामान्य रूपमा अन्तरक्रिया गर्न सक्छन्; तैँले तिनीहरूबाट क्रूर स्वभाव देख्नेछैनस्। तर, जब तिनीहरूका कार्यहरू सत्यता सिद्धान्तहरू विपरीत हुन जान्छन् र तिनीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरू रिसले चूर हुन्छन्, र तिनीहरूले आफ्ना लागि मिथ्या बहानाहरू बनाउँदै सत्यतालाई पूर्ण रूपमा इन्कार गर्छन्। अचानक, तैँले तिनीहरू काँडाले ढाकिएको दुम्सी, छुन नसकिने बाघ जस्तै हुन् भन्ने महसुस गर्छस्। तैँले सोच्छस्, “मैले यो व्यक्तिसँग यति लामो समयदेखि अन्तरक्रिया गरेको छु, र ऊ असल मानवता भएको, बुझ्ने, र बोल्न सजिलो व्यक्ति हो भन्ने सोचेको थिएँ, उसले सत्यतालाई स्वीकार गर्न सक्छ भन्ने वि‍श्‍वास गरेको थिएँ। मैले त ऊ अव्यावहारिक र जानीजानी कष्टदायी हुने व्यक्ति होला भन्ने अपेक्षा नै गरेको थिइनँ। भविष्यमा ऊसँगको अन्तरक्रियामा म अझै होसियार हुनुपर्छ, आवश्यक नपरेसम्म सम्पर्कलाई न्यूनीकरण गर्नुपर्छ, र उसलाई उत्तेजित पार्नबाट जोगिनका लागि आफूलाई टाढा राख्नुपर्छ।” के तिमीहरूले त्यस्तो अव्यावहारिक र जानीजानी कष्टदायी हुने मानिसहरू देखेका छौ? सामान्यतया, तिनीहरूलाई बुझेका मानिसहरूलाई तिनीहरू कति भयानक छन् भन्ने थाहा हुन्छ र तिनीहरूले विशेष शिष्टता र सतर्कताका साथ तिनीहरूसँग कुरा गर्छन्। विशेष गरी, तिनीहरूसँग कुरा गर्दा, तैँले तिनीहरूलाई पटक्कै चोट पुर्‍याउन मिल्दैन, नत्र यसले तिनीहरूसँग अटुट समस्या ल्याउनेछ। कतिपय मानिसहरू भन्छन्, “यी अशिष्ट मानिसहरू वास्तवमा को हुन्? हामीले तिनीहरूलाई अझै भेटेका छैनौँ।” त्यस्तो अवस्थामा, हामीले साँच्चै नै यसबारे कुरा गर्नुपर्छ। उदाहरणका लागि, दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो अनुभवबारे सङ्गति गरिरहेका बेला, जब केहीले आफ्ना भ्रष्ट स्थिति वा व्यक्तिगत कठिनाइहरू उल्लेख गर्छन्, तब अरूले पनि यस्तै अनुभव वा भावनाहरू भोगेका हुनाले सहानुभूति दिनु अवश्यम्भावी हुन्छ। यो अत्यन्तै सामान्य हो। सुनेपछि, कसैले यस्तो सोच्न सक्छ, “मैले पनि त्यस्ता अनुभवहरू भोगेको छु, त्यसकारण हामी सँगै यो विषयमा सङ्गति गरौँ। म तपाईँले कसरी यो कुरा भोग्नुभयो भन्नेबारे सुन्न चाहन्छु। यदि तपाईँको सङ्गतिमा ज्योति छ, र त्यो मेरो समस्यासँग सम्बन्धित छ भने, म यसलाई स्वीकार गर्नेछु र परिणामहरू के हुनेछन् भनेर हेर्नका लागि तपाईँको अनुभव र मार्ग अनुसार अभ्यास गर्नेछु।” यस्तो केवल एउटै प्रकारको व्यक्ति हुन्छ, जो अरूले आफूलाई चिन्ने बारेमा सङ्गति गरेको र आफ्नो भ्रष्टता र कुरूपता उदाङ्गो पारेको सुनेपछि, यो अप्रत्यक्ष रूपमा आफूलाई खुलासा र न्याय गर्नु हो भनेर वि‍श्‍वास गर्छ, र ऊ रिसले चुर भएर टेबुल नठटाई बस्‍न सक्दैन: “भ्रष्टता कसमा हुँदैन र? को चाहिँ शून्यतामा जिउँछ? मैले देखेअनुसार, तिमीहरूको भ्रष्टता त मेरोभन्दा पनि खराब छ! मलाई निसाना बनाउन, मेरो खुलासा गर्नका लागि तिमीहरूसँग के-कस्ता योग्यताहरू छन्? मैले देखे अनुसार त, तिमीहरू मलाई कठिनाइमा पार्न, र बहिष्कार गर्न मात्रै चाहन्छौ! म गाउँबाट आएकाले र मैले तिमीहरूको चापलुसी गर्नका लागि मीठा शब्दहरू बोल्न नसक्ने हुनाले मात्रै यसो भएको होइन र? मेरो शिक्षा तिमीहरूको जस्तो उच्च नभएकाले यसो भएको होइन र? परमेश्‍वरले मलाई हेयको नजरले समेत हेर्नुहुन्न, त्यसकारण मलाई हेयको नजरले हेर्ने अधिकार तिमीहरूलाई केले दिन्छ!” अरूले भन्छन्, “यो सामान्य सङ्गति हो, जुन तपाईँप्रति लक्षित छैन। के सबैका भ्रष्ट स्वभावहरू उस्तै हुँदैनन् र? जब कसैले कुनै विषयबारे सङ्गति गरिरहेको हुन्छ र आफ्नो भ्रष्ट स्थितिबारे उल्लेख गर्छ, तब अरूले पनि आफूलाई यस्तै स्थितिमा पाउनु अवश्यम्भावी हुन्छ। यदि तपाईँलाई आफू पनि उस्तै स्थितिमा छु भन्ने लाग्छ भने, तपाईँले पनि आफ्ना अनुभवहरूका बारेमा सङ्गति गर्न सक्‍नुहुन्छ।” यसबारे उसले यस्तो जवाफ दिन्छ, “त्यसो हो त? एउटा व्यक्तिले गरेको भए यस्तो सङ्गति सहन सक्थेँ, तर तिमीहरू किन मलाई हेप्न दुई-तीन जना मिलिरहेका छौ? के तिमीहरू मलाई हेप्न सजिलो छ भन्ठान्छौ?” उसले जति बोल्छ, उसको बोलीवचन त्यति नै उद्दण्ड हुँदै गइरहेको हुँदैन र? (हुन्छ।) के त्यस्ता मानिसहरूले यी कुराहरू भन्दा तिनीहरूमा समझ हुन्छ त? (हुँदैन।) यदि तँलाई साँच्चै अरूको सङ्गतिको विषय तँप्रति लक्षित छ भन्ने लाग्छ भने, तैँले यस विषयमा छलफल वा सङ्गति गर्न सक्छस्; तेरो किसानको पृष्ठभूमि, तेरो न्यून स्तरको शिक्षा, वा मानिसहरूले तँलाई हेयको नजरले हेर्ने बारेमा कुरा गर्नुको सट्टा, यो तँप्रति लक्षित छ कि छैन भनेर सिधै सोध्। ती कुराहरू भनेर के काम? के त्यो सही र गलतबारे बकबक गर्नु होइन र? के यो अव्यावहारिक र जानीजानी कष्टदायी हुनु होइन र? (हो।) के तिमीहरूलाई त्यस्ता मानिसहरू भयानक हुन्छन् भन्ने लाग्दैन? (लाग्छ।) उसले यस्तो तमासा देखाएपछि, ऊ कस्तो व्यक्ति हो भन्ने कुरा सबैलाई थाहा हुन्छ, र भविष्यका भेलाहरूमा सङ्गति गर्दा, तिनीहरूले सधैँ होसियार भएर बोल्नुपर्छ र उसको हाउभाउ अध्ययन गर्नुपर्छ। यदि उसको हाउभाउ निराशाजनक बन्छ भने, अरू बोल्न हिचकिचाउँछन्, र भेलाहरूमा सङ्गति गर्दा सबैलाई दबिएको महसुस हुन्छ। के यो ऊ अव्यावहारिक र जानीजानी कष्टदायी हुनुले ल्याउने बन्धन र बाधा होइन र? (हो।) अव्यावहारिक र जानीजानी कष्टदायी हुनेहरू सबै तर्क गर्न नसकिने मानिस हुन्; त्यस्ता व्यक्तिहरूले सत्यतालाई स्वीकार गर्दैनन् र सम्भवतः मुक्ति पाउन सक्दैनन्।

अव्यावहारिक र जानीजानी कष्टदायी हुने यस्तो व्यक्तिको अर्को प्रकटीकरण हुन्छ। कतिपय मानिसहरूले भेलाहरूमा सधैँ यसो भन्छन्, “मैले अबदेखि झाराटारुवा व्यवहार गर्नु हुँदैन। मैले सत्यता अभ्यास गर्नमा ध्यान दिनुपर्छ; मैले सिद्धता पछ्याउनुपर्छ। म स्वाभाविक रूपमा नै उत्कृष्ट हुन लागिपर्छु। मैले जे गरे पनि, त्यो राम्ररी गर्नैपर्छ।” तिनीहरूले कुरा त गर्छन्, तर वास्तवमा, तिनीहरूले अझै पनि आफ्नो कर्तव्य पूरा गर्दा झाराटारुवा व्यवहार गर्छन्, र तिनीहरूले पूरा गर्ने कर्तव्यमा धेरै समस्याहरू हुन्छन्, र तिनीहरू परमेश्‍वरको गवाही दिने परिणाम हासिल गर्नबाट निकै टाढा हुन्छन्। अगुवाहरूले तिनीहरूको कर्तव्य निर्वाहमा देखा पर्ने समस्याहरूलाई औँल्याउँदा र तिनीहरूलाई काटछाँट गर्दा, तिनीहरू तुरुन्तै रिसाउँछन्, र भन्छन्, “मलाई थाहा थियो। तिमीहरू सबै मेरो व्यावसायिक सीप कमजोर छ भनेर मेरो पिठ्युँपछाडि मेरो आलोचना गर्छौ। के यो तिमीहरू सबैले मलाई हेयको नजरले हेरेको होइन र? यो त सानो गल्ती मात्रै थियो। के मलाई यसरी काटछाँट गर्नु आवश्यक छ? यसबाहेक, गल्ती कसले गर्दैन र? म झाराटारुवा काम गर्छु भनेर भन्छौ—के तिमी पनि पहिले आफ्नो काममा झाराटारुवा थिएनौ र? के तिमी मेरो आलोचना गर्न योग्य छौ? मेरो सहयोगविना, तिमीहरूमध्ये कसले यो कामको बोझ बोक्न सक्थ्यौ र?” त्यस्ता मानिसहरूबारे तिमीहरूलाई के लाग्छ? तिनीहरूले जे गर्दा पनि त्यसमा अरूलाई आफ्ना कमीकमजोरीहरू औँल्याउन वा सुझावहरू दिन अनुमति दिँदैनन्; तिनीहरूले न्यायोचित काटछाँट समेत स्वीकार गर्दैनन्। जसले बोल्छ, तिनीहरू उसको विरुद्धमा जान्छन् र उसको विरोध गर्छन्, अनुचित शब्दहरू बोल्छन्, यहाँसम्म कि आफूलाई हेयको नजरले हेरिएको छ भनेर भन्छन्, वा आफू एकलो र शक्तिहीन भएकोमा दुर्व्यवहार गरिएको छ भन्नेजस्ता कुरा पनि गर्छन्। के यो अनियन्त्रित, अव्यावहारिक र जानीजानी कष्टदायी हुनु होइन र? कतिपय मानिसहरू यस्ता पनि हुन्छन्, जसले काटछाँटमा परेपछि आफ्नो कर्तव्य त्याग्ने गर्छन्: “म अबदेखि यो काम गर्नेछैनँ। यदि तिमीहरू गर्न सक्छौ भने, ठीक छ, गर। त्यसपछि तिमीहरूले अझै पनि मविना काम अघि बढाउन सक्छौ कि सक्दैनौ, हेरौँला!” दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई मनाउने प्रयास गर्छन्, तर तिनीहरूले सुन्दैनन्। अगुवा र कामदारहरूले तिनीहरूलाई सत्यता सङ्गति गर्दा पनि, तिनीहरूले स्वीकार गर्न मान्दैनन्; तिनीहरूले स्वाङ पार्न र आफ्नो कर्तव्य त्याग्न थाल्छन्। भेलाहरूमा, तिनीहरू लुसुक्क पर्छन्, न त परमेश्‍वरका वचनहरू पढ्छन् न त सङ्गति नै गर्छन्, र सधैँ अन्तिममा आउने र सबैभन्दा चाँडो जाने गर्छन्। जाने बेलामा, तिनीहरूले खुट्टा बजार्छन् र ढोका ड्याम्‍म लगाउँछन्, र तिनीहरूलाई कसरी निराकरण गर्ने भन्ने बारेमा धेरैजसो मानिसहरू अन्योलमा पर्छन्। जब त्यस्ता मानिसहरूलाई परिस्थितिहरू आइपर्छन्, तब तिनीहरूले उटपटाङ तर्क र बकवास फलाक्छन्; तिनीहरू अराजक बन्छन् र सामानहरू समेत फ्याँक्छन् र तिनीहरूमा समझ छिराउनै सकिँदैन। कतिपयमा त झनै गम्भीर प्रकटीकरणहरू हुन्छन्—यदि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई अभिवादन गरेनन् भने, तिनीहरू अप्रसन्न हुन्छन् र भेलाहरूमा मौका छोपेर रुन्छन्: “मलाई थाहा छ, तिमीहरू सबैले मलाई हेयको नजरले हेर्छौ। भेलाहरूमा, तिमीहरू सबैले परमेश्‍वरका वचनहरू सङ्गति गर्न र आफ्नै अनुभवात्मक बुझाइहरूका बारेमा छलफल गर्नमा मात्रै ध्यान दिन्छौ। कसैले पनि मेरो वास्ता गर्दैन, कसैले मलाई मुस्कुराएर हेर्दैन, र जाने बेलामा कसैले पनि मलाई बिदा गर्दैन। तिमीहरू कस्ता वि‍श्‍वासी हौ? तिमीहरूसँग साँच्चै नै मानवताको कमी छ!” तिनीहरू मण्डलीमा यसरी नै झनक्क रिसाउँछन्। तिनीहरू सानातिना कुराहरूमा समेत क्रोधित हुन्छन्, र जम्मा भएका आफ्ना सबै गुनासाहरू पोखाउँछन्। स्पष्ट रूपमा, तिनीहरूले आफ्‍नै भ्रष्ट स्वभाव प्रकट गरिरहेका हुन्छन्, तर तिनीहरूले न त आत्मचिन्तन गर्छन्, न त आफूलाई नै चिन्छन्, र तिनीहरूमा परिवर्तन वा सत्यता पछ्याउने कुनै चाहना हुँदैन। बरु, तिनीहरू अरूमा समस्या खोज्छन्, आफ्नो मानसिक सन्तुलन कायम राख्न विभिन्न बहानाहरू खोज्छन्—अनि यसो गर्दा, तिनीहरूले आफ्नो गुनासो पोखाउने अवसरहरू खोज्छन्। अझै महत्त्वपूर्ण कुरा, तिनीहरूको उद्देश्य अझ धेरै मानिसहरूले तिनीहरूलाई देखून् र तिनीहरूको डर मानून् भन्ने हुन्छ, ताकि मानिसहरूमाझ केही प्रतिष्ठा र ध्यान पाइयोस्। यस्ता मानिसहरू अति झन्झटिला हुन्छन्! तिनीहरूले जे भने पनि, कसैले “नाइँ” भन्ने आँट गर्दैन; कसैले पनि तिनीहरूलाई हल्का रूपमा मूल्याङ्कन गर्ने आँट गर्दैन; र कसैले पनि तिनीहरूसँग खुलस्त कुरा गर्ने र सङ्गति गर्ने आँट गर्दैन। तिनीहरूमा केही कमीकमजोरी र भ्रष्ट स्वभावहरू देखिए पनि, कसैले पनि तिनलाई औँल्याउने आँट गर्दैन। भेलाहरूमा, सबैले आफ्ना व्यक्तिगत अनुभवहरू र परमेश्‍वरका वचनहरूसम्बन्धी बुझाइबारे सङ्गति गर्दा, तिनीहरू त्यस व्यक्तिलाई चिढ्याइने र समस्या निम्तिने डरले “अरिङ्गालको गोला”, अर्थात् त्यो व्यक्तिबाट टाढा बस्छन्। कतिपय मानिसहरू घरमा वा काममा आफूमाथि दुर्व्यवहार भएको महसुस भएपछि वा असन्तुष्टि सामना गरेपछि भेलाहरूमा आफ्‍नो मनको कुरा पोखाउँछन्। स्पष्ट रूपमा, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो निकास र मुक्का हान्ने झोला बनाइरहेका हुन्छन्। तिनीहरू उदास हुँदा, उटपटाङ तर्कहरू गर्छन्, रुन्छन्, र झनक्क रिसाउँछन्। त्यसपछि तिनीहरूसँग सत्यता सङ्गति गर्ने आँट कसले गर्थ्यो र? यदि तिनीहरूसँग सङ्गति गरियो, र कुनै शब्दले तिनीहरूको संवेदनालाई छोयो भने, तिनीहरूले आत्महत्या गर्ने धम्की दिन्छन्। त्यो झनै कष्टदायी हुनेछ। त्यस्ता मानिसहरूका हकमा, सामान्य सङ्गतिले काम गर्दैन; सामान्य कुराकानीले काम गर्दैन; अत्यन्तै नम्र वा अत्यन्तै कठोर हुनु दुवैले काम गर्दैन; तिनीहरूबाट टाढा बस्नुले काम गर्दैन; अत्यन्तै नजिक हुनुले काम गर्दैन; अनि यदि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको खुसीसँग मिल्ने गरी खुसी व्यक्त गरेनन् भने, त्यसले काम गर्दैन; अनि जब यी मानिसहरूले केही कठिनाइ सामना गर्छन्, तब यदि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको हैरानी बुझ्न सकेनन् भने, त्यसले पनि हुँदैन। तिनीहरूलाई जे गरे पनि हुँदैन। जे गरे पनि त्यसले तिनीहरूलाई झिँज्याउन र क्रोधित बनाउन सक्छ। तिनीहरूलाई जस्तो व्यवहार गर्दा पनि, तिनीहरू कहिल्यै सन्तुष्ट हुँदैनन्। निश्चित मानिसहरूको स्थितिबारे मेरा प्रवचन र सङ्गतिले समेत तिनीहरूलाई उत्तेजित पार्न सक्छ। त्यसले तिनीहरूलाई कसरी उत्तेजित पार्छ? तिनीहरूले सोच्छन्, “के यो मेरो खुलासा गर्नु होइन र? तपाईँले मसँग अन्तरक्रियासमेत गर्नुभएको छैन, र मैले गोप्य रूपमा के गरेको छु भन्ने बारेमा मैले तपाईँलाई केही पनि बताएको छैनँ। तपाईँलाई कसरी थाहा भयो? पक्‍कै पनि कसैले पोल लगाएको हुनुपर्छ। मैले तपाईँसँग को सम्पर्कमा आएको छ, कसले पोल लगाएको छ, कसले मेरो बारेमा रिपोर्ट गरेको छ भनेर पत्ता लगाउनुपर्छ; म यसलाई त्यतिकै छोड्नेछैनँ!” अव्यावहारिक र जानीजानी कष्टदायी हुने यस्तो व्यक्तिले जुनसुकै कुराका बारेमा विकृत विचारहरू राख्न सक्छ, र उसले कुनै पनि कुरालाई सही रूपमा लिन सक्दैन। तिनीहरू समझभन्दा बाहिर हुन्छन्! चेतना तिनीहरूको पहुँचभन्दा निकै टाढा हुन्छ, र तिनीहरूले सत्यतालाई त झनै स्विकार्न सक्दैनन्। तिनीहरू मण्डलीमा बस्दा त्यसबाट कुनै फाइदा हुँदैन, त्यसले हानि मात्र गर्छ। तिनीहरू त बोझ मात्रै हुन्, जसलाई तुरुन्तै हटाउनुपर्छ; तिनलाई झट्टै पखाल्नुपर्छ!

चीनमा, परमेश्‍वरमा वि‍श्‍वास गर्दा ठूलो रातो अजिङ्गरको गर्ने दमन र सतावटमा परिन्छ, र धेरै मानिसहरू खेदोमा पर्छन् र घर जान सक्दैनन्। तर, कतिपय मानिसहरूले सतावट भोगेपछि र घर फर्केर जान नसकेपछि, तिनीहरूले खुबी वा योग्यता प्राप्त गरेका छन् भन्ने वि‍श्‍वास गर्छन्। तिनीहरू अतिथि सत्कारक परिवारसँग बस्छन्, र तिनीहरूले मानिसहरूलाई आफ्नो खातिरदारी गर्न मात्रै लगाउँदैनन्—यदि कुनै कुरा थोरै तिनीहरूको इच्छा विपरीत भयो वा तिनीहरूलाई घरको याद आउन थाल्यो भने, तिनीहरूले हङ्गामा मच्चाउन थाल्छन्, र अरूले तिनीहरूलाई फकाउनु र सहनुपर्छ। के त्यस्ता मानिसहरू अव्यावहारिक र जानीजानी कष्टदायी हुँदैनन् र? धेरै मानिसहरूलाई सताइएको हुन्छ, र अतिथि सत्कारक परिवारहरू धेरै हुँदैनन्। दाजुभाइ-दिदीबहिनीहरूले घर फर्कन नसक्नेहरूलाई आश्रय दिनु भनेको प्रेमले गर्दा हो। तिनीहरूले ती मानिसहरूलाई सडकमा पुग्‍नबाट जोगाउँछन् र आफ्नो घरमा बस्न दिन्छन्। के यो परमेश्‍वरको अनुग्रह होइन र? तैपनि, कतिपयले परमेश्‍वरको अनुग्रहलाई कदर गर्न नसक्ने मात्र नभई दाजुभाइ-दिदीबहिनीहरूको प्रेमलाई पनि देख्न सक्दैनन्। बरु, तिनीहरूले आफू पीडित भएको महसुस गर्छन्, र गुनासो समेत गर्छन् र तिनीहरू अराजक बन्छन्। दाजुभाइ-दिदीबहिनीहरूको घरको बस्ने अवस्था वास्तवमा तिनीहरूको आफ्नै घरको भन्दा अलिक राम्रो हुन्छ। विशेष गरी परमेश्‍वरमा वि‍श्‍वास गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने सम्बन्धमा, दाजुभाइ-दिदीबहिनीहरूको घरमा बस्नु आफ्नै घरमा बस्नुभन्दा पनि राम्रो हुन्छ, र दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर सहकार्य गर्नु भनेको जहिले पनि एकलै बस्नुभन्दा निकै राम्रो हुन्छ। कतिपय क्षेत्रहरूमा जिउने अवस्थाहरू अलिक नराम्रो भए पनि, ती अझै पनि औसत जियाइको स्तरका हुन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग बस्न, बारम्बार भेला हुन र परमेश्‍वरका वचनहरू खान-पिउन, अझै धेरै सत्यताहरू बुझ्न, र आफ्नो पछ्याइका उद्देश्यहरू के-के हुन् भनेर जान्न पाउँछन्। त्यसकारण, सत्यता पछ्याउनेहरूले त्यो मूल्य चुकाउन र त्यो कष्ट भोग्न सक्छन्। यसप्रति धेरैजसो मानिसहरूमा सही मनोवृत्ति हुन्छ; तिनीहरूले यो कष्ट भोग्नु जायज छ, र यो कष्ट तिनीहरूले नै भोग्नुपर्ने हो भन्ने थाहा पाएर यसलाई परमेश्‍वरबाट आएको हो भनी स्वीकार गर्न सक्छन्। तिनीहरूले यसलाई सही रूपमा लिन सक्छन्। तर कतिपय अव्यावहारिक र जानीजानी कष्टदायी हुने अराजक मानिसहरूले यसरी कुराहरू बुझ्न सक्दैनन्। तिनीहरूले एक हप्तासम्म घर फर्कन नपाउनुलाई बल्‍लतल्‍ल सहन सक्छन् होला, तर दुई हप्तापछि, तिनीहरूको मुड परिवर्तन हुन्छ, र एक-दुई महिनाभित्र, तिनीहरू अराजक हुन्छन्, र भन्छन्, “किन तपाईँहरूको परिवार खुसीसाथ सँगै रहन पाउँछ, तर म आफ्नो घर फर्कन पाउँदिनँ? किन मसँग कुनै स्वतन्त्रता छैन, तपाईँहरू सबै आफूले चाहे अनुसार आउन र जान सक्नुहुन्छ?” अरूले यस्तो जवाफ दिन्छन्: “के यो ठूलो रातो अजिङ्गरको सतावटले गर्दा भएको होइन र? के हामीले परमेश्‍वरका अनुयायीका रूपमा यस्तो कष्ट भोग्नु सही होइन र? यो थोरै कष्ट भोग्नु कुन ठूलो कुरा हो र? परिस्थितिहरूलाई हेर्दा, यो भएन, त्यो भएन भन्‍नुपर्ने कुरा के छ र? यदि अरूले यो कष्ट सहन सक्छन् भने, तिमीले किन सक्दैनौ?” जो अव्यावहारिक र जानीजानी कष्टदायी छन् तिनीहरू कष्ट भोग्नै चाहँदैनन्। यदि तिनीहरूलाई पक्राउ गरेर जेल हालियो भने, तिनीहरू अवश्य नै यहूदा बन्नेथिए। अतिथि सत्कारक परिवारसँग बस्दा आखिर कति नै कष्ट हुन्छ र? पहिलो, खानेकुरा मानवले खाने नै हुन्छ; दोस्रो, कसैले पनि तँलाई कठिनाइमा पार्दैन; अनि तेस्रो, कसैले पनि तँलाई हेप्दैन। यति मात्र हो कि, तँ घर फर्कन सक्दैनस् र आफ्नो परिवारसँग तेरो पुनर्मिलन हुन सक्दैन—अनि अव्यावहारिक र जानीजानी कष्टदायी हुने मानिसहरूका लागि त्यो थोरै कष्ट स्वीकार्य हुँदैन। अरूले तिनीहरूलाई सत्यता सङ्गति गर्दा, तिनीहरूले त्यसलाई ग्रहण गर्न मान्दैनन्, बरु यस्ता कुराहरू भन्छन्, “मलाई ती ठूल्ठूला धर्मसिद्धान्तहरूका बारेमा भाषण नदेऊ। मैले तिमीले भन्दा कम बुझेको छैनँ; मलाई यो सबै थाहा छ! मलाई यति मात्र भन, म कहिले घर जान पाउँछु? ठूलो रातो अजिङ्गरले मेरो घरको निगरानी गर्न कहिले रोक्छ? ठूलो रातो अजिङ्गरले मलाई पक्राउ नगर्ने गरी म कहिले घर जान पाउँछु? यदि मलाई आफू कहिले घर जान पाइन्छ भन्‍ने थाहा छैन भने, म नबाँच्नु नै राम्रो हुन्छ!” तिनीहरूले फेरि हङ्गामा मच्चाउँछन्, र यसो गर्ने क्रममा, तिनीहरू भुइँमा बसेर खुट्टा बजार्छन्—अनि तिनीहरूले जति खुट्टा बजार्छन्, तिनीहरू त्यति नै रिसाउँछन्, र तिनीहरू चिच्याउँदै र रुँदै अराजक रूपमा विस्फोट हुन्छन्। अरूले भन्छन्, “अलिक बिस्तारै बोल न। यदि तिमीले यसो गरिरह्यौ र छिमेकीहरूले यहाँ बाहिरी मानिसहरू बस्छन् भन्ने थाहा पाए भने, त्यसले हामीलाई खुलासा गर्नेछ, होइन र?” तिनीहरूले जवाफ दिन्छन्, “मलाई मतलब छैन, म हङ्गामा मच्चाउन मात्रै चाहन्छु! तिमीहरू सबै घर जान पाउँछौ, तर म जान पाउँदिनँ। यो न्यायोचित भएन! म यस्तो हङ्गामा मच्चाउनेछु कि तिमीहरू पनि म जस्तै घर जान पाउनेछैनौ!” तिनीहरूको रिसको झोँक थामिदैन, र तिनीहरूको द्वेष देखा पर्छ; कसैले पनि तिनीहरूलाई सम्झाउन सक्दैन, कसैले पनि तिनीहरूलाई मनाउन सक्दैन। जब तिनीहरूको मुड अलिक सुधार हुन्छ, तब तिनीहरू शान्त हुन्छन् र तिनीहरूले हङ्गामा मच्चाउन छोड्छन्। तर कसलाई थाहा—कुनै पनि दिन, तिनीहरू फेरि अराजक हुन र हङ्गामा मच्चाउन सक्छन्: तिनीहरूले बाहिर हिँड्डुल गर्नु र स्वतन्त्र हुनु मात्र पर्छ, र घरभित्र ठूलो आवाजमा बोल्नुपर्छ; तिनीहरूले घर जानका लागि निरन्तर षड्यन्त्र गर्नेछन्। दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई यस्तो चेतावनी दिन्छन्: “घर जानु अत्यन्तै जोखिमपूर्ण कुरा हो; त्यहाँ प्रहरीले ठाउँको घेराबन्दी र निगरानी गरिरहेको छ।” तिनीहरूले जवाफ दिन्छन्, “मलाई मतलब छैन, म फर्केर जान चाहन्छु! तिनीहरूले मलाई पक्रे भने, पक्रून्! कुन ठूलो कुरा भो र? बढीमा, म यहूदा त हुनेछु!” के यो पागलपन होइन र? (हो।) तिनीहरूले आफू यहूदा बन्‍न तयार भएको भनेर खुलस्त भन्छन्। तिनीहरूलाई अतिथि सत्कार गर्ने आँट कसले गर्थ्यो? के कसैले यहूदालाई अतिथि सत्कार गर्न चाहन्छ? (चाहँदैन।) के त्यस्तो व्यक्ति परमेश्‍वरको वि‍श्‍वासी हो? दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई परमेश्‍वरका वि‍श्‍वासीका रूपमा अतिथि सत्कार गर्छन्। यदि तिनीहरूमा केही हदसम्म मानवताको कमी छ भने, त्यसलाई सहन सकिन्थ्यो; सत्यता नपछ्याउनुलाई पनि सहन सकिन्थ्यो। तर तिनीहरूले मण्डलीलाई धोका दिन र यहूदा बनेर दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्न सक्छन्, र यसरी धेरै मानिसहरूलाई आफ्नो घर फर्कन वा सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न नसक्ने अवस्थामा पुर्‍याउन सक्छन्—यी परिणामहरूका लागि कसले जिम्मेवारी लिन सक्छ? के तैँले यस्तो शत्रुलाई अतिथि सत्कार गर्ने आँट गर्नेथिइस्? के तिनीहरूलाई अतिथि सत्कार गर्नु आफैलाई समस्यामा पार्नु मात्रै होइन र?

अव्यावहारिक र जानीजानी कष्टदायी हुने मानिसहरूले कार्य गर्दा आफ्नै स्वार्थहरूबारे मात्र सोच्छन्, र आफूलाई जे कुराले खुसी दिन्छ त्यही गर्छन्। तिनीहरूका शब्दहरू समझहीन तर्क र विधर्म बाहेक केही होइनन्, र तिनीहरूमा समझ छिर्दैन। तिनीहरूको क्रूर स्वभाव भरिभराउ हुन्छ। तिनीहरूसँग उठबस गर्न कसैले आँट गर्दैन, र आफूमाथि विपत्ति आउने डरले तिनीहरूसित सत्यता सङ्गति गर्न कोही इच्छुक हुँदैन। तिनीहरूलाई मन नपर्ने वा तिनीहरूको इच्‍छासँग नमिल्‍ने एउटा शब्द बोले पनि तिनीहरूले यसैलाई आधार मानेर आफूमाथि घोर आरोपहरू लगाउनेछन् भन्‍ने डरले अरू मानिसहरू तिनीहरूलाई मनको कुरा बताउँदा आकुलव्याकुल हुन्छन्। के त्यस्ता मानिसहरू दुष्ट होइनन् र? के तिनीहरू जीवित पिशाच होइनन् र? क्रूर स्वभाव र खराब समझ भएका मानिसहरू सबै जीवित पिशाच हुन्। अनि जब कसैले जीवित पिशाचसँग अन्तरक्रिया गर्छ, उसले क्षणिक लापरवाही गर्दा नै आफैमाथि विपत्ति ल्याउन सक्छ। के त्यस्ता जीवित पिशाचहरू मण्डलीमा भए भने यसले ठूलो समस्या ल्याउँदैन र? (ल्याउँछ।) यी जीवित पिशाचहरूले आवेग र रिस पोखाएपछि, केही समयसम्‍म मानवजस्तै बोलेर माफी माग्‍न सक्छन्, तर पछि तिनीहरू परिवर्तन हुनेछैनन्। कुन बेला मुड खराब भएर तिनीहरूले फेरि रिसको झोँक देखाउँछन् र समझहीन तर्कहरू फलाक्छन्, कसलाई के थाहा। तिनीहरूको रिस र आक्रोशको निसाना हरेकपटक फरक हुन्छ, तिनीहरूको अभिव्यक्तिको स्रोत र पृष्ठभूमि पनि फरक नै हुन्छ। भन्‍नुको मतलब, कुनै पनि कुराले तिनीहरूलाई निराश तुल्याउन सक्छ, कुनै पनि कुराले तिनीहरूलाई असन्तुष्ट तुल्याउन सक्छ, र कुनै पनि कुराले तिनीहरूलाई रिसको झोँक र अराजक व्यवहारद्वारा प्रतिक्रिया दिने तुल्याउन सक्छ। कस्तो भयानक कुरो! कस्तो कष्टदायी कुरो! यी पागल दुष्ट मानिसहरूले कुनै पनि बेला आफ्नो होस गुमाउन सक्छन्, तिनीहरूले के गर्न सक्छन् कसैलाई थाहा हुँदैन। मलाई त्यस्ता मानिसहरूप्रति सबैभन्दा बढी घृणा लाग्छ। तिनीहरू प्रत्येकलाई सफाइ गर्नुपर्छ—तिनीहरू सबैलाई निकाल्नैपर्छ। म तिनीहरूसँग उठबस गर्न चाहन्‍नँ। तिनीहरूको सोच अलमल्ल र स्वभाव पाश्विक हुन्छन्, तिनीहरू समझहीन तर्क र दुष्ट शब्दहरूले भरिएका हुन्छन्, र आफ्नो जीवनमा कुनै परिस्थिति आइपर्दा, तिनीहरूले आवेगपूर्ण गुनासो पोख्छन्। गुनासो पोख्दा तिनीहरूमध्ये कतिपय रुन्छन्, अरू चिच्याउँछन्, र कसैले खुट्टा बजार्छन्, साथै कतिपयले त टाउको हल्लाउँछन् र हातखुट्टा फर्फराउँछन्। तिनीहरू पशु नै हुन्, मानव होइनन्। कतिपय भान्सेहरूले रिस उठ्दा भाँडाकुँडाहरू फाल्छन्; अरू, सुँगुर वा कुकुर पाल्नेहरूले, रिस उठ्दा ती जनावरहरूलाई लात हान्छन् र कुट्छन्, आफ्नो सारा रिस तिनीहरूमाथि पोख्छन्। यी व्यक्तिहरू, चाहे जे भए पनि, सधैँ रिसाएर प्रतिक्रिया जनाउँछन्; तिनीहरू न त चिन्तन गर्न आफूलाई शान्त पार्छन् न त परमेश्‍वरबाट आएको भनेर त्यसलाई स्वीकार नै गर्छन्। तिनीहरूले प्रार्थना वा सत्यताको खोजी गर्दैनन्, न त अरूसित सङ्गति गर्न खोज्छन्। तिनीहरूसित विकल्प नहुँदा, तिनीहरूले सहन्छन्; तिनीहरू सहन अनिच्छुक हुँदा बौलाउँछन्, तिनीहरूले समझहीन तर्कहरू ओकल्छन्, अरूलाई दोषारोपण र निन्दा गर्छन्। तिनीहरूले प्राय: यस्ता कुराहरू भन्छन्, “मलाई थाहा छ, तिमीहरू सबै शिक्षित छौ र मलाई हेयको दृष्टिले हेर्छौ”; “मलाई थाहा छ, तिमीहरूका परिवार समृद्ध छन्, र तिमीहरूले मलाई गरिब भएकोमा तिरस्कार गर्छौ”; वा “मलाई थाहा छ, मेरो आस्थामा जग नभएका कारण तिमीहरूले मलाई तिरस्कार गर्छौ, र मैले सत्यता नपछ्याउने भएकाले तिमीहरूले मलाई तिरस्कार गर्छौ।” आफ्ना अनेकौँ समस्याहरूबारे प्रस्ट रूपले सचेत हुँदाहुँदै पनि, तिनीहरूले तिनलाई समाधान गर्न कहिल्यै सत्यता खोज्दैनन्, न त अरूसँगको सङ्गतिमा आफूलाई चिन्‍नेबारे छलफल नै गर्छन्। तिनीहरूका आफ्नै समस्याहरू उल्लेख हुँदा, तिनीहरू पन्छिन्छन्, र झूटो प्रत्यारोप लगाउँछन्, सारा समस्या र जिम्मेवारीहरूलाई अरूमाथि थोपर्छन्, साथै अरूले तिनीहरूलाई दुर्व्यवहार गरेकाले नै आफ्नो व्यवहार यस्तो भएको भनेर गुनासो समेत गर्छन्। यस्तो लाग्छ, मानौँ तिनीहरूका झर्कोफर्को र निरर्थक झमेलाको कारण अरू नै हुन्, मानौँ अरू सबै जना दोषी छन्, तिनीहरूसित यस्तो व्यवहार गर्नुको विकल्प नै छैन, र तिनीहरूले वैधानिक रूपमा आफ्नो प्रतिरक्षा गरिरहेका छन्। जबजब तिनीहरू असन्तुष्ट हुन्छन्, तब तिनीहरूले आफ्नो रिसईबी पोख्न र बकवाद ओकल्न थाल्छन्, अरू सबै गलत भएझैँ गरी आफ्ना समझहीन तर्कहरूमा जिद कस्छन्, मानौँ तिनीहरू मात्रै राम्रा मानिस हुन् र अरू सबै खलपात्र हुन्। तिनीहरूले जतिसुकै झर्कोफर्को गरे पनि वा समझहीन तर्कहरू ओकले पनि, आफूबारे राम्रो बोलियोस् भन्‍ने माग गर्छन्। तिनीहरूले गल्ती गर्दा समेत, अरूलाई तिनीहरूको खुलासा वा आलोचना गर्नबाट निषेध गर्छन्। यदि तैँले तिनीहरूको सानो समस्या औँल्याइस् भने, तिनीहरूले तँलाई अनन्त विवादहरूमा अल्झाउनेछन्, अनि त्यसपछि तैँले शान्तिपूर्वक जिउने कुरा बिर्से हुन्छ। यो कस्तो प्रकारको व्यक्ति हो? यो अव्यावहारिक र जानीजानी कष्टदायी हुने व्यक्ति हो, र यसो गर्नेहरू दुष्ट मानिस हुन्।

अव्यावहारिक र जानीजानी कष्टदायी हुने मानिसहरूले सामान्यतया कुनै पनि ठूलो विश्वासघाती वा दुष्ट कार्यहरू नगर्न सक्छन्, तर तिनीहरूको हित, प्रतिष्ठा, वा इज्जतको कुरा उठ्नेबित्तिकै, तिनीहरू रिसले चुर हुन्छन्, तिनीहरूले हङ्गामा मच्चाउँछन्, अनियन्त्रित व्यवहार गर्छन्, र आत्महत्या गर्ने धम्की समेत दिन्छन्। ल भन् त, यदि परिवारमा यस्तो बेतुक र अनुचित रूपमा असभ्य व्यक्ति देखा पर्‍यो भने, के सिङ्गो परिवारले दुःख पाउँदैन र? त्यसपछि घर अशान्तिमा डुब्छ, रुवाबासी र चिच्च्याहटले भरिन्छ, जसले गर्दा बाँच्न असहनीय हुन्छ। कतिपय मण्डलीहरूमा त्यस्ता मानिसहरू हुन्छन्; सबै कुरा सामान्य हुँदा यो प्रस्ट नदेखिने भए पनि, तिनीहरू कहिले विस्फोट भएर प्रकट हुन सक्छन् भन्ने कुरा तँलाई कहिल्यै थाहा हुँदैन। त्यस्ता मानिसहरूका प्राथमिक प्रकटीकरणहरूमा हङ्गामा मच्चाउने, उटपटाङ तर्कहरू गर्ने, सार्वजनिक रूपमा अपशब्द बोल्‍ने, आदि पर्छन्। यी व्यवहारहरू महिनामा एक पटक वा हरेक छ महिनामा एक पटक मात्रै देखा परे पनि, तिनले ठूलो हैरानी र कठिनाइ सिर्जना गर्छन्, र धेरैजसो मानिसहरूको मण्डली जीवनमा विभिन्न मात्रामा बाधा ल्याउँछन्। यदि कुनै व्यक्ति साँच्चै नै यो वर्गमा पर्छ भन्ने कुरा पुष्टि भयो भने, उसलाई तुरुन्तै तह लगाएर मण्डलीबाट निकाल्नुपर्छ। कतिपयले यसो भन्न सक्छन्, “यी मानिसहरूले कुनै दुष्टता गर्दैनन्। तिनीहरूलाई दुष्ट मानिस मान्न सकिँदैन; हामी तिनीहरूप्रति सहनशील र धैर्यवान् हुनुपर्छ।” ल भन् त, के त्यस्ता मानिसहरूलाई तह नलगाउनु ठीक हुन्छ? (अहँ, ठीक हुँदैन।) किन हुँदैन? (किनभने तिनीहरूका कार्यले धेरैजसो मानिसहरूलाई ठूलो समस्यामा पार्छ र हैरान गर्छ, र मण्डली जीवनमा पनि बाधाहरू ल्याउँछ।) यो परिणामका आधारमा हेर्दा, मण्डली जीवनमा बाधा दिनेहरू दुष्ट मानिस वा ख्रीष्टविरोधी नभए पनि, तिनीहरू मण्डलीमा बस्नु हुँदैन भन्ने कुरा स्पष्ट हुन्छ। किनभने त्यस्ता मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन्, बरु तिनीहरू यसप्रति वितृष्ण हुन्छन्, र तिनीहरूले जतिसुकै वर्ष परमेश्‍वरमा वि‍श्‍वास गरे पनि वा तिनीहरूले जति नै प्रवचनहरू सुने पनि, तिनीहरू सत्यतालाई स्वीकार गर्दैनन्। तिनीहरू कुनै खराब काम गरेर काटछाँटमा परेपछि, तिनीहरूले हङ्गामा मच्चाउँछन् र वाहियात कुराहरू बोल्छन्। कसैले तिनीहरूलाई सत्यता सङ्गति गर्दा पनि, तिनीहरूले त्यसलाई स्वीकार गर्दैनन्। तिनीहरूसँग कसैले तर्क गर्न सक्दैन। मैले तिनीहरूलाई सत्यता सङ्गति गर्दा पनि तिनीहरू बाहिर चुप लागेर बस्लान् तर भित्री रूपमा यसलाई स्वीकार गर्दैनन्। वास्तविक अवस्थाहरू सामना गर्दा, तिनीहरूले सधैँ जस्तै व्यवहार गर्छन्। तिनीहरूले मेरा वचनहरू सुन्दैनन्, त्यसकारण तिनीहरूले तिमीहरूको सल्लाहलाई अझै कम स्वीकार गर्नेछन्। यी मानिसहरूले ठूलो दुष्कर्म नगर्लान्, तर तिनीहरूले सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनन्। तिनीहरूको प्रकृति सारलाई हेर्दा, तिनीहरूमा विवेक र समझको कमी हुने मात्र नभई तिनीहरू अव्यावहारिक, जानीजानी कष्टदायी हुने, र समझ नछिर्ने पनि हुन्छन्। के त्यस्ता मानिसहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छन्? बिलकुलै सक्दैनन्! जसले सत्यतालाई पटक्कै स्वीकार गर्दैनन् तिनीहरू अवि‍श्‍वासी हुन्, तिनीहरू शैतानका नोकर हुन्। जब कामकुराहरू तिनीहरूको हिसाबले चल्दैनन्, तब तिनीहरूले हङ्गामा मच्चाउँछन्, निरन्तर उटपटाङ तर्कहरू गर्छन्, र सत्यता जति सङ्गति गर्दा पनि तिनीहरूले सुन्दैनन्। त्यस्ता मानिसहरू अव्यावहारिक र जानीजानी कष्टदायी हुन्छन्, र तिनीहरू खाँटी दियाबलस र दुष्ट आत्मा हुन्; तिनीहरू पशुभन्दा खराब हुन्छन्! ती खराब समझ भएका मानसिक रोगीहरू हुन्, र तिनीहरूले कहिल्यै साँचो पश्चात्ताप गर्न सक्दैनन्। तिनीहरू जति लामो समय मण्डलीमा बस्छन्, तिनीहरूसँग परमेश्‍वरबारे त्यति नै धेरै धारणाहरू हुन्छन्, तिनीहरूले परमेश्‍वरको घरसँग त्यति नै अनुचित मागहरू गर्छन्, र तिनीहरूले मण्डली जीवनलाई त्यति नै ठूलो बाधा र हानि पुर्‍याउँछन्। यसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेश र मण्डलीको कामको सामान्य प्रगतिलाई असर गर्छ। मण्डलीको काममा तिनीहरूले गर्ने हानि दुष्ट मानिसहरूको भन्दा कम हुँदैन; तिनीहरूलाई मण्डलीबाट सुरुमै निकाल्नुपर्छ। कतिपय मानिसहरूले भन्छन्, “के तिनीहरू अलिक अराजक मात्रै भइरहेका होइनन् र? तिनीहरू दुष्ट हुने हदसम्म पुग्दैनन्, त्यसकारण के तिनीहरूलाई प्रेमका साथ व्यवहार गर्दा राम्रो हुँदैन र? यदि हामीले तिनीहरूलाई राख्यौँ भने, सायद तिनीहरूले परिवर्तन भएर मुक्ति पाउन सक्छन्।” म तँलाई भन्छु, यो असम्भव छ! यसमा “सायद” भन्ने कुरै आउँदैन—यी मानिसहरूलाई बिलकुलै मुक्ति दिन सकिँदैन। किनभने तिनीहरूले सत्यता बुझ्न सक्दैनन्, यसलाई स्वीकार गर्न त झनै सक्दैनन्; तिनीहरूमा विवेक र समझको कमी हुन्छ, तिनीहरूको सोचाइको प्रक्रिया असामान्य हुन्छ, र तिनीहरूमा आफूलाई आचरणमा ढाल्नका लागि चाहिने सबैभन्दा आधारभूत आम सुझबुझको समेत कमी हुन्छ। तिनीहरू खराब समझ भएका मानिस हुन्। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई बिलकुलै मुक्ति दिनुहुन्न। अलिक बढी सामान्य सोचाइ भएका र अलिक राम्रो क्षमता भएका मानिसहरूले पनि सत्यतालाई पटक्कै स्वीकार गर्दैनन् भने, तिनीहरूले मुक्ति पाउन सक्दैनन्, खराब समझ भएका मानिसहरूले मुक्ति पाउनु त झन् परको कुरा हो। अझै पनि त्यस्ता मानिसहरूलाई प्रेमका साथ व्यवहार गर्नु र तिनीहरूका लागि आशा राख्नु, के त्यो अत्यन्तै मूर्ख र अज्ञानी कार्य होइन र? अहिले म तिमीहरूलाई यो कुरा भनिरहेको छु: अव्यावहारिक, जानीजानी कष्टदायी हुने, र समझ ग्रहण गर्न नसक्ने मानिसहरूलाई मण्डलीबाट पखालेर निकाल्नु पूर्ण रूपमा सही कुरा हो। यसले मूलतः मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूप्रतिको तिनीहरूको दुर्व्यवहारलाई पूर्ण रूपमा रोक्छ। यो अगुवा र कामदारहरूको जिम्मेवारी हो। यदि कुनै मण्डलीमा त्यस्ता अनुचित मानिसहरू छन् भने, परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूबारे रिपोर्ट गर्नुपर्छ, र अगुवा र कामदारहरूले त्यस्ता रिपोर्टहरू प्राप्त गरेपछि तिनीहरूलाई तुरुन्तै तह लगाउनुपर्छ। छैटौँ प्रकारका मानिसहरू—जो अव्यावहारिक र जानीजानी कष्टदायी छन् तिनीहरूलाई सम्हाल्ने सिद्धान्त यही हो।

ग. निरन्तर लम्पट क्रियाकलापहरूमा संलग्न हुनु

सातौँ प्रकार भनेको तिनीहरू हो जो लम्पट क्रियाकलापहरूमा संलग्न हुन्छन्, जुन प्रायजसो उल्लेख गरिने समूह हो। तिनीहरूको मानवताका प्रकटीकरणहरू त्यति दुष्ट नहुने—तिनीहरूले कलह पैदा गर्ने, वा दुष्ट कार्यहरू गर्ने र अवरोध ल्याउने जस्ता कुराहरू नगर्ने—भए पनि, तिनीहरूमा एउटा साझा विशेषता हुन्छ, जुन के हो भने, विपरीत लिङ्गीसँगको तिनीहरूको सम्बन्धमा सधैँ समस्या र घटनाहरू आइपर्छन्। अवसरहरू उपलब्ध भए पनि वा नभए पनि, तिनीहरूका लागि सधैँ त्यस्ता समस्याहरू देखा पर्छन्, र यदि अवसरहरू छैनन् भने, तिनीहरूले नै सिर्जना गर्छन्, ताकि त्यस्ता “कथाहरू” जसरी भए पनि देखा परून्। परिस्थिति जस्तोसुकै भए पनि, अर्को व्यक्ति जो भए पनि, वा त्यो व्यक्ति तिनीहरूबाट जति टाढा भए पनि, तिनीहरूका जीवनमा बारम्बार यस्ता घटनाहरू घटिरहेका हुन्छन्। कस्तो प्रकारका घटनाहरू? तिनीहरूले कसैलाई डेट गर्छन्, वा सधैँ कसैको नजिक हुन चाहन्छन्, वा तिनीहरूमा कसैप्रति भावना पलाउँछ, वा तिनीहरूले कसैलाई आँखा लगाउँछन्, र यस्तै अरू कुराहरू गर्छन्। तिनीहरू सधैँ सामान्य रूपमा जिउन र आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न असफल हुन्छन्, र तिनीहरू निरन्तर कामवासनापूर्ण चाहनाहरूको प्रभावमा हुन्छन्। अर्थात्, साधारण परिस्थितिहरूमा जहाँ सामान्य मानिसहरू त्यस्ता समस्याहरूमा संलग्न हुँदैनन्, तिनीहरू बारम्बार संलग्न हुन्छन्। तिनीहरूलाई आफ्ना लागि अवसरहरू सिर्जना गर्नलाई कुनै विशेष परिस्थिति वा कसैको आवश्यकता पर्दैन; यी घटनाहरू स्वाभाविक रूपमा नै घट्छन्। त्यस्ता घटनाहरू घटेपछि, परिणामहरू जे-जस्तो भए पनि, एउटा समूहका मानिसहरू वा निश्चित व्यक्तिलाई सधैँ यसको मूल्य चुकाउन लगाइन्छ। तिनीहरूले के-कस्ता मूल्य चुकाउँछन्? तिनीहरूको कर्तव्य निर्वाहमा असर पर्छ; मण्डलीको काममा ढिलाइ र व्यवधान हुन्छ; कतिपय जवान मानिसहरू हतोत्साहित हुन्छन् र परीक्षामा फस्छन्, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने रुचि गुमाउँछन्; अनि कतिपय मानिसहरूले त आफ्नो कर्तव्य समेत गुमाउँछन् वा त्याग्छन्। लम्पट क्रियाकलापहरूमा संलग्न हुने मानिसहरू अत्यन्तै कष्टदायी हुन्छन्। हरेक मोडमा, विपरीत लिङ्गका मानिसहरू तिनीहरूका वरिपरि झुम्मिन्छन्, तिनीहरूसँग नजिक हुन्छन्, तिनीहरूसँग जिस्किन्छन्, र ख्यालठट्टा समेत गर्छन्। अत्यावश्यक प्रकृतिका कुनै गम्भीर समस्याहरू उत्पन्न हुन नसक्ने भए पनि, तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा उनीहरूको सामान्य स्थितिमा गम्भीर रूपमा बाधा दिन्छन्। तिनीहरू जहाँ जान्छन्, तिनीहरूले अरूको जीवनमा, काममा, र मण्डलीमा समस्या र बाधा ल्याउँछन्, र अवसर पाउनेबित्तिकै आफूलाई आकर्षक लागेका विपरीत लिङ्गका सदस्यहरूलाई लोभ्याउने काम समेत गर्छन्, र तिनीहरूसँग सम्बन्ध गाँस्छन्। यो ठूलो झन्झट हो। तिनीहरू कसैको प्रेममा परेपछि, त्यो व्यक्ति दुर्भाग्यको सिकार हुन्छै हुन्छ, र उसले त्यस उप्रान्त सामान्य रूपमा परमेश्‍वरमा विश्‍वास गर्न वा आफ्नो कर्तव्य पूरा गर्न सक्दैन। परिणामहरू अकल्पनीय हुन्छन्। त्यो व्यक्ति कामवासनाको प्रलोभनमा पार्ने व्यक्तिलाई सम्पर्क नगरी वा नदेखी बस्नै सक्दैन, र तिनीहरू आफ्नो कर्तव्य पूरा गर्नमा व्यस्त हुँदा, तिनीहरूले विवाह गर्न वा घरजम गर्न सक्दैनन्, र सम्बन्ध अटुट रहन्छ। अन्त्यमा के हुन्छ? तिनीहरूले भयानक कष्ट भोग्न थाल्छन्, र तिनीहरू ठूलो पीडामा पर्छन्! यदि तिनीहरूले विपत्तिहरूमा दण्ड नपाएसम्म सहे भने, तिनीहरूका लागि त्यो सब खत्तम हुन्छ, र मुक्ति पाउने तिनीहरूको आशा नष्ट हुन्छ। कतिपयले एक पटक चिढ्याउँछन् र आफू काटछाँटमा पर्दा पश्चात्ताप गर्दैनन्, तर दोस्रो वा तेस्रो पटक चिढ्याउँछन्, दुई-तीन वर्षमा तीन-चार वटा सम्बन्धमा संलग्न हुन्छन्, जसले गर्दा परमेश्‍वरका चुनिएका मानिसहरू र मण्डली जीवनमा बाधा हुन्छ भने, यसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई तिनीहरूलाई घृणा गर्ने तुल्याउँछ। यसले तिनीहरूमा एउटा दाग लगाइदिन्छ, जसका लागि तिनीहरूले आफ्नो बाँकी जीवनभरि पछुतो गर्छन्।

कतिपय मानिसहरू अलिक सुन्दर देखिने, र तिनीहरूमा निश्चित मात्रामा कोमलता साथै केही वरदान र प्रतिभाहरू हुने भएकाले, वा तिनीहरूले कुनै महत्त्वपूर्ण काम सम्हालेका हुनाले, विपरीत लिङ्गका सदस्यहरू तिनीहरूसँग सधैँ भुसुना जस्तै टाँसिइरहेका हुन्छन्, र तिनीहरूलाई घेरिरहेका हुन्छन्। कतिले तिनीहरूलाई खाना खुवाउँछन्, कतिले तिनीहरूको ओछ्यान मिलाइदिन्छन्, कतिले लुगा धोइदिन्छन्, कतिले तिनीहरूलाई स्वास्थ्य सामग्री र सौन्दर्य सामग्री किनिदिने र स-साना उपहार दिने, इत्यादि गर्छन्। तिनीहरूले आउने सबैलाई स्वागत गर्छन्, अरूको यस्तो व्यवहार अनुचित छ भन्ने थाहा पाए पनि त्यसलाई कहिल्यै इन्कार गर्दैनन्, यसरी विपरीत लिङ्गका धेरै सदस्यहरूलाई एकै पटक कामवासनाको प्रलोभनमा पार्छन्। ती मानिसहरू तिनीहरूको सेवा गर्ने मौकाका लागि एक-अर्कासँग होड गर्छन्, यसरी एक-अर्कासँग प्रतिस्पर्धा गर्छन् र एक-अर्काको डाहा गर्छन्, जबकि लम्पट व्यक्ति आफूलाई अत्यन्तै आकर्षक ठान्दै यो अनुभूतिमा रमाउँछ। वास्तवमा, पुरुष र महिलाका मामलाहरू वयस्कहरूले राम्ररी बुझ्छन्, र कतिपय नाबालिगहरूले समेत ती कुरा बुझ्छन्; मूर्ख, बौद्धिक रूपमा अशक्त, वा मानसिक रोगीहरूले मात्रै ती कुरा बुझ्दैनन्। यी मानिसहरू किन एउटा विपरीत लिङ्गीको सेवा गर्न र उसलाई खुसी पार्न यति जोडदार रूपमा प्रतिस्पर्धा गर्छन्? यो त सबै कामवासनाको प्रलोभनमा पार्न चाहनु मात्र हो, होइन र? यसलाई खुलस्त भन्नु आवश्यक छैन; के भइरहेको छ भन्ने कुरा सबैलाई थाहा छ। यो मानिसहरूलाई राम्ररी थाहा भएको, स्पष्ट रूपमा अनुचित कुरा हो, तैपनि त्यो व्यक्तिले यसलाई इन्कार गर्दैन, बरु चुपचाप सहमति जनाउँछ—त्यसलाई के भनिन्छ? यसलाई जिस्किनु भनिन्छ। तिनीहरूलाई यो पुरुष र महिला बीचमा हुने कामवासनाको प्रलोभन हो भन्ने थाहा छ, तर देहका वासनाहरूलाई सन्तुष्ट पार्दा आउने उत्साहका हकमा, तिनीहरू इन्कार गर्न चाहँदैनन्। तिनीहरूलाई यो अनुभूति एक प्रकारको आनन्द हो, संसारको कुनै पनि स्वादिष्ट खानाभन्दा पनि राम्रो हो भन्ने लाग्छ, त्यसकारण तिनीहरूले इन्कार गर्दैनन्। जब सम्बन्धित व्यक्तिले इन्कार गर्दैन, तब उसलाई कामवासनाको प्रलोभनमा पार्नेहरू झनै खुसी हुन्छन्, र आफूलाई त्यो व्यक्तिले मन पराएको व्यक्ति ठान्छन्, र भित्रभित्रै परिस्थितिको आनन्द लिन्छन्। अनि त्यो व्यक्तिले के सोच्छ भने, कुनै दह्रिलो सम्बन्ध विकास नभएसम्म, यसलाई कुनै गम्भीर कुरा मानिँदैन, गैरविश्‍वासीहरूका बीचमा हुने लम्पटता अझ खराब हुन्छ, र यसलाई बढीमा सामान्य डेटिङ जस्तै कामवासनाको प्रलोभनका रूपमा लिइन्छ। तर के डेटिङ यस्तै हुनुपर्ने हो? आज एउटा व्यक्तिसँग, भोलि अर्कोसँग, जोसुकैसँग डेटिङ र कामवासनाको प्रलोभनमा लापरवाह रूपमा बारम्बार संलग्न हुनु। त्यस्ता लम्पट मानिसहरू जहाँ जान्छन्, तिनीहरूले आफ्ना कामवासनापूर्ण चाहनाहरू पोख्नु, आफ्नो प्रदर्शन गर्नु, र कामवासनाको प्रलोभनमा संलग्‍न हुनुलाई नै प्राथमिकता दिन्छन्। तिनीहरूले जति धेरै मानिसहरूलाई प्रलोभनमा पार्छन्, तिनीहरूलाई त्यति नै खुसी लाग्छ। आखिरमा के हुन्छ? तिनीहरूले बारम्बार आफ्नो प्रदर्शन गरेपछि, केही दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको व्यवहारलाई खुट्ट्याउँछन् र सामूहिक रूपमा माथिल्लो तहका अगुवाहरूलाई पत्र लेख्छन्। अनुसन्धानले तिनीहरूको दाबीलाई पुष्टि गर्छ, र त्यो लम्पट व्यक्तिलाई मण्डलीबाट पखालिन्छ। देख्यौ त, के हुन्छ? के परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको मार्ग त्यहीँ समाप्त हुँदैन र? तिनीहरूको नतिजा खुलासा हुन्छ। मानिसहरूलाई असहनीय लाग्ने तिनीहरूका कार्य र व्यवहार परमेश्‍वरका लागि झनै घृणित हुन्छन्। यी मानिसहरूले प्रदर्शन गर्ने व्यवहारले मानिसहरूबीचका उचित सम्बन्धहरूलाई प्रतिनिधित्व गर्दैन, न त यसले सामान्य मानवका आवश्यकताहरूलाई नै प्रतिबिम्बित गर्छ। तिनीहरूका कार्यलाई एउटै शब्दले व्याख्या गर्न सकिन्छ: “लम्पटता।” लम्पटताले केलाई जनाउँछ? यसको अर्थ विपरीत लिङ्गीसँग लापरवाह रूपमा सम्बन्धमा लाग्नु, गैरजिम्मेवार रूपमा अरूलाई मनोमानी ढङ्गले कामवासनाको प्रलोभनमा पार्नु, र विपरीत लिङ्गका मानिसहरूलाई लोभ्याउनु र सताउनु हो। यो त त्यसको मूल्य वा परिणामहरूबारे नसोची कामवासनासँग खेल्नु हो। यदि अन्तमा कुनै व्यक्ति तिनीहरूको पासोमा पर्छ र प्रणयी रूपमा तिनीहरूसँग जिस्किन्छ भने, तिनीहरूले यसो भन्दै यस कुरालाई स्वीकार गर्न मान्दैनन्, “मैले त ठट्टा मात्रै गरिरहेको थिएँ। के तिमीले यसलाई गम्भीर रूपमा लियौ? मैले वास्तवमा यसो भन्न खोजेको थिइनँ; तिमी यसलाई गम्भीर रूपमा लिइरहेका छौ।” के यो दियाबलसले मानिसहरूलाई परीक्षामा पार्नु होइन र? एक जना व्यक्तिलाई परीक्षामा पारेपछि, तिनीहरूले अर्को निसाना खोज्छन्, र अरूलाई कामवासनाको प्रलोभनमा पार्छन्। तिनीहरू कति भयानक र दुष्ट हुन्छन्! कसैलाई कामवासनाको प्रलोभनमा पारेपछि, तिनीहरूले त्यसलाई स्वीकार गर्न मान्दैनन्। यदि कुनै व्यक्ति त्यस्तो व्यक्तिको बहकाउमा परेर फस्छ भने, के त्यो घिनलाग्दो कुरा होइन र? (हो।) के लापरवाह ढङ्गले अरूलाई कामवासनाको प्रलोभनमा पार्ने मानिसहरू घृणास्पद हुन्छन्? (हुन्छन्।) परमेश्‍वरको घरले सुरुदेखि नै भनेको छ कि यदि कुनै व्यक्ति विवाह गर्ने उमेरमा पुगेको छ र ऊ वयस्क हो भने, उसले सामान्य डेटिङ गर्नु वा विवाह गरेर सामान्य रूपमा दिनहरू सँगै बिताउनुलाई परमेश्‍वरको घरले विरोध गर्दैन, र उसलाई त्यस कार्यमा संलग्न हुन अनुमति र स्वतन्त्रता दिन्छ। तर, केही सर्तहरू छन्: लम्पट क्रियाकलापहरूमा संलग्न हुन पाइँदैन; लापरवाह ढङ्गले विपरीत लिङ्गको व्यक्तिलाई कामवासनाको प्रलोभनमा पार्न र जिस्किन, र यत्तिकै उसलाई सताउन पाइँदैन। परमेश्‍वरको घरले डेटिङमा रोकटोक गर्दैन, तर यसले लापरवाह कामवासनाको प्रलोभनलाई अनुमति दिँदैन। लापरवाह कामवासनाको प्रलोभन भनेको के हो? यसको अर्थ विपरीत लिङ्गको कुनै पनि सदस्यलाई दुर्व्यवहार गर्नु, र त्यसो गरेपछि, दुर्व्यवहार गरेको छु भनेर स्वीकार नगर्नु हो। तिनीहरूले दुर्व्यवहार गर्ने मानिसहरू तिनीहरूका साँचो प्रेमी-प्रेमिका हुँदैनन्; तिनीहरूले दीर्घकालीन सम्बन्धमा रहने वा विवाह गर्ने अभिप्राय राख्दैनन् बरु अर्को व्यक्तिलाई कामवासनाको प्रलोभनमा पार्न, खेलौना बनाउन, तिनीहरूसँग रमाइलो गर्न, रोमाञ्चकता खोज्न, धेरै जनासँग लसपस गर्न, र व्यभिचारीले जस्तो व्यवहार गर्न मात्रै चाहन्छन्—यसलाई लम्पटता भनिन्छ। मण्डलीमा, लम्पट हुन पाइँदैन, र यदि यस्तो देखियो भने, संलग्न व्यक्तिहरूलाई मानिसहरूलाई निकाल्ने सिद्धान्तहरू अनुसार तह लगाउनुपर्छ। अवश्य नै, सुसमाचार समूहभित्र, सुसमाचार प्रचार गर्ने मानिसहरूका हकमा यस्ता परिस्थितिहरू देखा पर्न अनुमति दिइँदैन, चाहे तिनीहरू पूर्णकालीन कर्तव्य मण्डलीहरूबाट आएका हुन् वा साधारण मण्डलीहरूबाट आएका हुन्। यदि कसैले सुसमाचार प्रचार गर्ने भेषमा लापरवाह ढङ्गले अरूलाई कामवासनाको प्रलोभनमा पार्छ, सहकार्य गर्न विपरीत लिङ्गका सदस्यहरूलाई मात्रै छनौट गर्छ, वा विपरीत लिङ्गका सदस्यहरूलाई मात्रै सुसमाचार प्रचार गर्छ, र यसरी अनुचित सम्बन्धहरूमा संलग्न हुने अवसर लिन्छ भने, यसले परमेश्‍वरको सुसमाचारको काममा बाधा र अवरोध ल्याउँछ। अगुवा र कामदारहरूले त्यस्ता मानिसहरूलाई तुरुन्तै पखाल्नुपर्छ।

विपरीत लिङ्गका सदस्यहरूलाई भेट्न र लम्पट क्रियाकलापहरूमा संलग्न हुनका लागि, कतिपय मानिसहरूले उमेरलाई ध्यान दिँदैनन् र तिनीहरूका लागि उमेरको कुनै सीमा हुँदैन। तिनीहरू अलिकति पनि लाज नमानी सके जति धेरैलाई कामवासनाको प्रलोभनमा पार्ने प्रयास गर्छन्। कतिपयले विपरीत लिङ्गका सदस्यहरूलाई कामवासनाको प्रलोभनमा पार्दै आफ्नो देहका वासनापूर्ण चाहनाहरूलाई सन्तुष्ट पार्ने मात्र गर्दैनन्—तिनीहरूले अर्को पक्षलाई आफ्नो जीविकोपार्जनको खर्च तिर्न, तिनीहरूलाई सामान किन्न, आदि इत्यादि गर्न समेत लगाउँछन्। यदि तिमीहरूले त्यस्ता मानिसहरू पत्ता लगायौ वा कसैले त्यस्ता घटनाहरूका बारेमा रिपोर्ट गर्‍यो भने, तिनीहरूलाई तुरुन्तै सम्हाल्नुपर्छ। एउटै मात्र समाधान भनेको यी मानिसहरूलाई निकाल्नु, तिनीहरूलाई सधैँका लागि निकाल्नु हो। किनभने यस्ता समस्या भएका मानिसहरूका हकमा, यो अस्थायी समस्या मात्रै हुँदैन। यो कुरा विशेष गरी विवाह भएका मानिसहरूका हकमा लागू हुन्छ—घरमा श्रीमान-श्रीमती हुँदाहुँदै, तिनीहरूले सुसमाचार प्रचार गर्ने निहुँमा विपरीत लिङ्गीहरूलाई विशेष रूपमा निसाना बनाउँछन्। तिनीहरूले धनी होस् वा गरिब होस्, कुनै पनि प्रकारको व्यक्तिको खोजी गर्छन्, र यदि तिनीहरूले मन पर्ने व्यक्ति भेट्टाए भने, तिनीहरू ऊसँगै भाग्न पनि सक्छन्, र तिनीहरूले सुसमाचार प्रचार गर्न समेत छोड्छन्—परमेश्‍वरमा विश्‍वास नै गर्न छोड्छन्। यदि त्यस्ता मानिसहरूलाई चाँडै पत्ता लगाउन सकियो भने, तिनीहरूलाई अर्को मौका नदिई, र थप निगरानीमा नराखी सुसमाचार प्रचार गर्नेहरूको वर्गबाट तुरुन्तै र स्थायी रूपमा निकाल्नुपर्छ। बुझ्यौ? कतिपयले भन्छन्, “कतिपयका लागि, जीवन कठिन हुन्छ। यदि तिनीहरूले विपरीत लिङ्गको कसैलाई परिवार बनाउन कामवासनाको प्रलोभनमा पार्छन्, र अर्को व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्न र उसलाई साथ दिन सक्छ भने, के त्यो दुवै जनाका लागि फाइदाजनक हुनेछैन र?” म तँलाई भन्छु, त्यस्ता मानिसहरूलाई जति सक्दो चाँडो निकाल्नुपर्छ; तिनीहरूलाई पारिवारिक जीवनमा बिलकुलै रुचि हुँदैन बरु लम्पट क्रियाकलापहरूमा संलग्न हुने रुचि हुन्छ। म किन यति निश्चित छु? यदि तिनीहरू लम्पट क्रियाकलापहरूमा संलग्न हुने किसिमका नभएका भए, परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, विशेष गरी यदि तिनीहरू विवाहित छन् भने, तिनीहरूले त्यस्तो व्यवहारलाई पटक्कै जारी राख्नेथिएनन्। अहिले सारा संसारभरिका प्रचलनहरू लम्पट र दुष्ट छन्; मानिसहरू आफ्नो वासनामा डुब्छन् र कुनै पनि संयमताविना कसले विपरीत लिङ्गका धेरै सदस्यहरूलाई कामवासनाको प्रलोभनमा पार्न सक्छ भनेर प्रतिस्पर्धा गर्छन्, किनभने यो समाज र यो मानवजातिले यी कार्यहरूलाई निन्दा वा गिल्ला गर्दैनन्। त्यसकारण, मानिसहरू आफूले लम्पट क्रियाकलापहरूमा संलग्न भएर र आफ्नो देह बेचेर पैसा कमाउन सकेमा, त्यो सीप वा क्षमताको चिन्ह हो भन्ने सोच्छन्। तिनीहरूले यसलाई गर्व गर्नुपर्ने कुराका रूपमा लिन्छन्। तर, परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, यी कुराहरूप्रति मानिसहरूको दृष्टिकोण पूर्ण रूपमा परिवर्तन हुन्छ। तिनीहरूले देहका वासनाहरूलाई सम्हाल्ने सही तरिका खोज्छन्, जसमा सबैभन्दा पहिला संयमता आउँछ। व्यक्तिले कसरी संयमता अभ्यास गर्न सक्छ? मानिसहरूले लाजलाई थाहा पाउनुपर्छ र तिनीहरूमा लाजको बोध हुनुपर्छ। सामान्य मानवता भनेको त्यही हो। हरेक व्यक्तिमा कामवासना हुन्छ, तर मानिसहरूले आफूलाई नियन्त्रण गर्न र लाजको बोध राख्न जान्नुपर्छ। तिनीहरूसँग यस्ता केही विचारहरू भए पनि, तिनीहरूले आफूलाई रोक्नुपर्छ किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् र तिनीहरूसँग विवेक र समझ हुन्छ। तिनीहरू आफ्नो मनका अनुचित विचारहरूको पछाडि पटक्कै लाग्नु हुँदैन, तिनमा लिप्त हुनु त झनै हुँदैन। तिनीहरूले यी समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्नुपर्छ। तिनीहरू सत्यता नबुझ्ने नयाँ विश्‍वासी भए पनि, तिनीहरूले आफूलाई मानव नैतिकताका सबैभन्दा आधारभूत मानकहरूद्वारा मापन गर्नुपर्छ। यदि तँमा यो स्तरको संयमता समेत छैन भने, तँमा सामान्य मानवता र सामान्य मानवताको विवेक र समझको कमी छ। सबै प्रकारका जनावरले यस सम्बन्धमा निश्चित व्यवस्था र नियमहरू पालना गर्छन्, लापरवाह व्यवहार गर्दैनन्; मानवका रूपमा, मानिसहरूमा लापरवाह व्यवहार गर्ने सम्भावना अझै कम हुनुपर्छ, र तिनीहरूमा अझै ठूलो संयमता हुनुपर्छ। यदि तँमा यो स्तरको संयमता र आत्म-नियन्त्रण समेत छैन भने, तैँले कसरी सत्यताको खोजी गर्ने र अभ्यास गर्ने आशा गर्न सक्छस्? यदि तैँले आफ्नो दुष्ट कामवासनालाई समेत समाधान गर्न सक्दैनस् भने, आफ्ना भ्रष्ट स्वभावहरूलाई कसरी समाधान गर्न सक्छस्? परमेश्‍वरलाई प्रतिरोध गर्ने र धोका दिने तेरो प्रकृतिलाई समाधान गर्न झनै असम्भव हुनेछ, होइन र? (हो।) यदि तैँले देहका कामवासनाहरूलाई समेत सम्हाल्न सक्दैनस् भने, तैँले आफ्ना भ्रष्ट स्वभावहरूलाई समाधान गर्ने आशा कसरी गर्न सक्छस्? त्यो सोच्दा पनि नसोच्। तैँले यो हासिल गर्न सक्नेछैनस्।

कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्दा सधैँ डेटिङ गर्ने अवसरहरू खोज्छन्, र यस्ता घटनाहरू बारम्बार घटिरहन्छन्। प्रणयी सम्बन्धमा लाग्ने बानी परेको तर आफ्नो उचित कामलाई बेवास्ता गर्नेहरूलाई निकालिएको र तह लगाइएको छ, जबकि कहिलेकाहीँ अपराध गर्नेहरूलाई चेतावनी दिइन्छ। दुष्ट स्वभाव भएका यी व्यक्तिहरूले सही परिस्थितिहरू भेट्टाएपछि र आफूले प्रेमी मान्ने व्यक्तिलाई भेटेपछि, तिनीहरू परीक्षामा पर्छन्। यसरी परमेश्‍वरमा विश्‍वास गरेर आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको अभिप्राय तिनीहरूको दुष्ट कामवासनाका बीचमा हराउँछ। तिनीहरू प्रणयी सम्बन्धमा प्रवेश गर्ने बित्तिकै, तिनीहरूले अरू सबै कुरालाई बेवास्ता गर्छन्, आशिष् पाउने आफ्नो अभिप्रायलाई समेत त्याग्छन्, र देहको खुसीलाई मात्रै पछ्याउँछन्। एक-दुई पटक अपराध गरेपछि, तिनीहरूलाई अलिक ग्लानि र व्यथित महसुस हुन सक्छ, तर तीन-चार पटक गरेपछि, यो लम्पटता बन्छ। एकपटक लम्पटता सुरु भएपछि, तिनीहरूमा आत्म-आरोप वा व्यथाको अनुभूति रहँदैन, किनभने व्यक्तिको मानवताको आधाररेखा मानिने लाजको तह पहिले नै भङ्ग भइसकेको हुन्छ। तिनीहरूले लम्पटतालाई लाजमर्दो ठान्न छाडेका हुन्छन् र यसरी तिनीहरू यसमा संलग्न भइरहन्छन्। जो लम्पटतामा निरन्तर संलग्न हुन सक्छन् तिनीहरू विशेष गरी आफ्नो कामवासनामा लिप्त हुन्छन्, र तिनीहरूले कुनै संयम देखाउँदैनन्। त्यस्ता व्यक्तिहरूलाई मण्डलीमा आउने अनुमति हुँदैन, र तिनीहरूलाई पखाल्नैपर्छ; तिनीहरूलाई बढावा दिने वा तिनीहरूलाई राख्नका लागि कुनै बहाना बनाउने काम नगर्। परमेश्‍वरको घरमा सुसमाचार प्रचार गर्ने मानिसहरूको कमी छैन; यसलाई ठाउँ मात्रै ओगट्न यस्ता व्यभिचारीहरू चाहिँदैन, किनभने यसले परमेश्‍वरको नाउँको गम्भीर रूपमा अपमान गर्छ। त्यसकारण, यदि कसैले रिपोर्ट गर्‍यो वा तैँले सुसमाचार प्रचार गर्ने समूहभित्र त्यस्ता व्यक्तिहरूलाई व्यक्तिगत रूपमा भेट्टाइस् भने, के गर्ने भनेर तँलाई थाहा हुनुपर्छ। यदि केही नयाँ विश्‍वासीहरूमा यो समस्या छ भने, तिमीहरूले सुरुमा यस समस्यासम्बन्धी सत्यता सङ्गति गर्नुपर्छ, र लम्पट कार्यहरू गर्नेहरूप्रति मण्डलीका सिद्धान्त र मनोवृत्तिहरू के-के हुन् भनेर सबैलाई थाहा दिनुपर्छ। कम्तीमा पनि, तिनीहरूलाई त्यसमा फस्नबाट र सुसमाचारको प्रचारलाई त्यस्ता व्यवहारहरूमा संलग्न हुने अवसरका रूपमा प्रयोग गर्नबाट रोक्नका लागि प्रारम्भिक चेतावनी दिइनुपर्छ, र अन्तिममा अग्रिम रूपमा सान्दर्भिक सत्यता सिद्धान्तहरू सङ्गति नगरेकोमा प्रभारी वा अगुवा र कामदारहरूलाई दोष दिनुपर्छ। त्यसकारण, त्यस्ता घटनाहरू घट्नुभन्दा पहिले, कतिपय मानिसहरूलाई त्यस्ता व्यक्ति र मामलाहरूप्रति परमेश्‍वरको घरको मनोवृत्तिबारे थाहा हुनुभन्दा पहिले, मानिसहरू यी समस्याहरूका बारेमा प्रस्ट नहुँदा, अगुवा र कामदारहरूले तिनीहरूलाई खुलस्त र स्पष्ट रूपमा यी सिद्धान्तहरू सङ्गति गर्नुपर्छ, ताकि तिनीहरूले यी मामलाहरू कस्तो व्यवहार र प्रकृतिमा पर्छन्, र त्यस्ता मामला र व्यक्तिहरूप्रति परमेश्‍वरको घरको मनोवृत्ति कस्तो छ भन्ने कुरा जानून्। यी सिद्धान्तहरू राम्ररी सङ्गति गरिसकेपछि, यदि यी सिद्धान्तहरू थाहा हुनुका बाबजुद तिनीहरू अझै पनि आफ्नै मार्गमा टाँसिइरहन्छन् र आफ्नो मार्गमा लागिरहन्छन् भने, तिनीहरूलाई तह लगाउन र नष्ट गर्न जरुरी हुन्छ, तिनीहरूलाई हटाइनुपर्छ। यदि त्यस्ता व्यक्तिहरू मण्डलीमा देखा पर्छन्, र अरूलाई कामवासनाको प्रलोभनमा पारेर वा विपरीत लिङ्गका मानिसहरूलाई बारम्बार दुर्व्यवहार गरेर प्रायः घटनाहरू घटाउँछन् भने, तिनीहरूमा अवश्य नै समस्याहरू हुन्छन्। कुनै महत्त्वपूर्ण समस्याहरू देखा परेका छैनन् भने पनि, अगुवा र कामदारहरूले यी व्यक्तिहरूलाई चेतावनी दिनुपर्छ र तह लगाउनुपर्छ, वा तिनीहरूलाई मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने ठाउँहरूबाट हटाउनुपर्छ; गम्भीर अवस्थामा, तिनीहरूलाई सिधै निकाल्नुपर्छ। मानिसहरूको मानवताका प्रकटीकरणहरूको सातौँ पक्षबारे हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।

डिसेम्बर १८, २०२१

अघिल्लो: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२५)

अर्को: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२७)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्