अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२५)

विषयवस्तु चौध: सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई चाँडै खुट्ट्याउने, अनि त्यसपछि निकाला वा निष्कासित गर्ने (भाग चार)

विभिन्‍न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मापदण्ड र आधारहरू

आज, हामी अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारी: “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई चाँडै खुट्ट्याउने, र त्यसपछि निकाला वा निष्कासित गर्ने” बारे सङ्गतिलाई जारी राख्छौँ। अघिल्ला केही पटक, हामीले यो काम गर्दा अगुवा र कामदारहरूले खुट्ट्याउनुपर्ने विभिन्‍न पक्षहरूका बारेमा, साथै तिनीहरूले बुझ्नुपर्ने मुख्य सत्यताहरूका बारेमा सङ्गति गरेका थियौँ; अर्थात्, हामीले सबै किसिमका दुष्ट मानिसहरूलाई कसरी खुट्ट्याउने भन्‍ने बारेमा सङ्गति गरेका थियौँ। सबै प्रकारका दुष्ट मानिसहरूलाई कसरी परिभाषित गरिन्छ? तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने भेषमा परमेश्‍वरको घरमा घुसपैठ गर्ने मानिसहरू हुन्, तैपनि तिनीहरूले सत्यतालाई स्वीकार गर्दैनन् र मण्डलीको काममा बाधा पनि दिन्छन्; त्यस्ता सबै मानिसहरू दुष्ट मानिसका वर्गमा पर्छन्। मण्डलीले निकाला वा निष्कासित गर्नुपर्ने मानिसहरू; अर्थात्, मण्डलीभित्र अस्तित्वमा रहने अनुमति नभएका मानिसहरू तिनै हुन्। हामी तीन वटा मुख्य मापदण्डहरूमार्फत सबै किसिमका दुष्ट मानिसहरूको भिन्नता छुट्याउँछौँ र चिरफार गर्छौँ। यी तीन वटा मापदण्ड के-के हुन्? पहिलो त व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य हो। दोस्रो भनेको व्यक्तिको मानवता—मण्डलीले निकाल्नुपर्ने मानिसहरूमा त्यो व्यक्ति पर्छ कि पर्दैन भनेर खुट्ट्याउन र स्पष्ट रूपमा देख्‍नका लागि उसको मानवतालाई चिरफार गर्नु हो। तेस्रो मापदण्ड के हो? (आफ्नो कर्तव्यप्रति व्यक्तिको मनोवृत्ति।) आफ्नो कर्तव्यप्रति व्यक्तिको मनोवृत्ति तेस्रो मापदण्ड हो। पहिलो मापदण्डका बारेमा पहिले सङ्गति गरिएको थियो। दोस्रो मापदण्ड—व्यक्तिको मानवता—को हकमा भन्नुपर्दा, दुई वटा बुँदाहरूका बारेमा सङ्गति गरिएको थियो। पहिलो बुँदा के थियो? (तथ्य र झूटहरूलाई गलत रूपमा प्रस्तुत गर्न मन पराउनु।) अनि दोस्रो? (फाइदा लिन मन पराउनु।) यी दुई बुँदाहरूको विषयवस्तुबाट हेर्दा, यी कुराहरूलाई दुष्ट मानिसहरूका प्रकटीकरणहरू ठान्नु अपर्याप्त देखिन्छ होला, तर मैले यसभन्दा पहिले सङ्गति गरेका विस्तृत प्रकटीकरणहरूका आधारमा भन्नुपर्दा, यी दुई प्रकारका मानिसहरूले साँचो पश्चात्ताप नगरी वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्; तिनीहरूका विभिन्‍न प्रकटीकरणहरूले मण्डली जीवनमा, परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा, र परमेश्‍वरका चुनिएका मानिसहरूबीचका सम्बन्धहरूमा बाधा र विनाश सिर्जना गरिसकेका हुन्छन्। यी दुई प्रकारका मानिसहरूका प्रकटीकरणहरू अनुसार र तिनीहरूको प्रकृति सारका आधारमा तिनीहरू दुष्ट मानिसको वर्गमा पर्नुपर्छ। मण्डली अगुवाहरू र परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूलाई खुट्ट्याउनुपर्छ र चित्रण गर्नुपर्छ, र तिनीहरूलाई समयमा नै निकाल्नुपर्छ। के यो उचित हो? (हो।) यो पूर्ण रूपमा उचित हो। मण्डलीका यी दुई प्रकारका मानिसहरूको व्यवहारले अत्यन्तै नकारात्मक असर पार्छ; तिनीहरूलाई सत्यतामा कुनै रुचि हुँदैन, र तिनीहरू परमेश्‍वरको काममा बिलकुलै समर्पित हुँदैनन्। दाजुभाइ-दिदीबहिनीहरूका बीचमा, तिनीहरूले जे जिउँछन् त्यो गैर-विश्‍वासीहरूको भन्दा कुनै फरक देखिँदैन; तिनीहरूले प्रायजसो झूट बोल्छन् र अरूलाई ठग्छन्, झाराटारुवा तरिकाले र अलिकति पनि जिम्मेवारीबोधविना आफ्नो कर्तव्य पूरा गर्छन्, र बारम्बार चेतावनी दिइँदा पनि तिनीहरू परिवर्तन हुँदैनन्। तिनीहरूले मण्डली जीवनमा असर गर्ने मात्र होइन, मण्डलीको काममा पनि गम्भीर रूपमा बाधा दिन्छन्। निस्सन्देह, तिनीहरू मण्डलीले निकाला वा निष्कासित गर्नुपर्ने मानिसहरूमा पर्छन्, र तिनीहरूलाई दुष्ट मानिस भनेर चित्रण गरेर त्यस्ता मानिसहरूको सूचीमा राख्‍नु पूर्ण रूपमा उचित हुन्छ—त्यसो गर्नु पटक्‍कै पनि अतिशयोक्ति होइन। पहिलो प्रकारका, अर्थात् तथ्य र झूटहरूलाई गलत रूपमा प्रस्तुत गर्न मन पराउने मानिसहरूका सम्बन्धमा भन्नुपर्दा, तिनीहरूको समस्या भनेको खासै उचित नभएका कुराहरू भन्‍ने, वा अरूसँगको कुराकानीमा अवरोधहरू हुने, आदि जस्ता मात्रै हुँदैनन्; बरु, तिनीहरूको स्वभावमा नै समस्या हुन्छ। अझ गहिराइमा, तिनीहरूको स्वभावको समस्या तिनीहरूको प्रकृति सारको समस्या हो। अलि सतही रूपमा, यो तिनीहरूको मानवताको समस्या हो; अर्थात्, तिनीहरूको मानवता अत्यन्तै नीच र घृणित हुन्छ, जसले गर्दा तिनीहरूले अरूसँग सामान्य रूपमा अन्तरक्रिया गर्न असम्भव हुन्छ। तिनीहरूमा अरूलाई भरणपोषण गर्ने, सहयोग गर्ने, वा प्रेम गर्ने जस्ता सकारात्मक प्रकटीकरणहरूको कमी हुने मात्र नभई, तिनीहरूका कार्य र व्यवहारले बाधा, विनाश, र विध्वंस ल्याउने काम मात्रै गर्छन्। यदि कतिपय मानिसहरूको तथ्य र झूटहरूलाई गलत रूपमा प्रस्तुत गर्ने बानी नै छ, र तिनीहरूले खुलेआम होस् वा गोप्य रूपमा होस्, सधैँ यसो गरिरहेका हुन्छन्, जसले गर्दा मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूमा गम्भीर रूपमा नकारात्मक असर पर्छ भने, तिनीहरू मण्डलीले निकाल्नुपर्ने मानिसहरूमा पर्छन्। अर्को प्रकारमा फाइदा लिन मन पराउने मानिसहरू पर्छन्। अवस्था जस्तोसुकै भए पनि, तिनीहरू सधैँ फाइदा प्राप्त गर्न खोज्छन्, र तिनीहरूको नजर सधैँ आफ्नै हितहरूमा हुन्छ। तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्नमा ध्यान दिँदैनन्, न त आफ्नो कर्तव्य राम्ररी पूरा गर्नमा वा आफ्नै जिम्मेवारीहरू पूरा गर्नमा नै ध्यान दिन्छन्। त्यसभन्दा बढी, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूसँग सामान्य रूपमा अन्तरक्रिया गर्ने, आफ्नै कमीकमजोरीहरूलाई पूर्ति गर्नका लागि अरूका सबल पक्षहरूबाट सिक्ने र सामान्य सम्बन्धहरू निर्माण गर्ने, वा सामान्य मण्डली जीवन जिउने कार्यमा ध्यान दिँदैनन्। तिनीहरू यीमध्ये कुनै कुरामा ध्यान दिँदैनन्—तिनीहरू फाइदा उठाउनका लागि मात्रै मण्डली र दाजुभाइ-दिदीबहिनीहरूका बीचमा आउँछन्। तिनीहरू मण्डलीमा उपस्थित हुन्जेल, र दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूसँग सम्पर्कमा रहुन्जेल, दाजुभाइ-दिदीबहिनीहरूलाई भित्री रूपमा असहज महसुस हुनेछ। दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूका कार्य र व्यवहारप्रति विकर्षण महसुस गर्ने मात्र नभई मुख्य रूपमा, तिनीहरूलाई प्रायजसो आफ्नो हृदयमा धेरै हदसम्‍म हस्तक्षेप भएको र बन्धनमा पारिएको महसुस हुन्छ। “धेरै हदसम्‍म” ले केलाई जनाउँछ? यसको अर्थ वास्तविक जीवनका परिस्थितिहरूमा, अविश्‍वासी वा दुष्ट मानिसहरूको दुर्व्यवहारको सामना गर्नुपर्दा, कतिपय व्यक्तिहरू आफ्ना भावनाहरूका बन्धनमा पर्छन् र त्यसबाट मुक्त हुन सक्दैनन्, जबकि अरूलाई यो कुरा मन नपरे पनि, तिनीहरूले खुलेर बोल्ने आँट गर्दैनन् बरु सधैँ भित्री रूपमा बन्धनमा परेको महसुस गर्छन् र तिनीहरूलाई शान्ति हुँदैन। के यो दाजुभाइ-दिदीबहिनीहरूका लागि गम्भीर बाधा होइन र? (हो।) त्यसकारण, परमेश्‍वरका चुनिएका मानिसहरूले यी दुई प्रकारका व्यक्तिहरूलाई खुट्ट्याउनुपर्छ; दुष्ट मानिसहरू भनेर वर्गीकरण गरिएका सबै मानिसहरू मण्डलीले निकाल्नुपर्ने मानिसमा पर्छन्। त्यस्ता व्यक्तिहरूलाई सम्हाल्ने सम्बन्धी निश्‍चित सिद्धान्तहरूका बारेमा पछिल्लो भेलामा सङ्गति गरिसकिएको छ, त्यसकारण अहिले तिनका बारेमा फेरि विस्तृत रूपमा सङ्गति गरिनेछैन। सारांशमा भन्दा, माथि सङ्गति गरिएका दुई प्रकारका मानिसहरूले दाजुभाइ-दिदीबहिनीहरूको मण्डली जीवनमा मात्रै होइन, तिनीहरूले व्यवस्थित कर्तव्य निर्वाहमा पनि बाधाहरू निम्त्याएका छन्; तिनीहरूमध्ये कतिपयको व्यवहारले जग नभएका कतिपय नयाँ विश्‍वासीहरूलाई ठेस पुर्‍याउने सम्भावनासमेत हुन्छ। त्यसकारण, तिनीहरूले कार्य गर्ने तरिका र उपायहरू, साथै तिनीहरूको मानवताका विभिन्‍न प्रकटीकरणहरू र यी प्रकटीकरणहरूले ल्याउने प्रतिकूल परिणामहरूका आधारमा, यी दुई प्रकारका मानिसहरू निकालिनुपर्ने मानिसहरूमा पर्छन्, र तिनीहरूलाई दुष्ट मानिसहरूको सूचीमा राख्‍नु अतिशयोक्ति हुँदै हुँदैन। तथ्य र झूटहरूलाई गलत रूपमा प्रस्तुत गर्न मन पराउने र फाइदा उठाउन मन पराउने मानिसहरूको व्यवहार मानव धारणाहरूमा परिभाषित गरिने दुष्ट मानिसहरूको जस्तो अनुचित रूपमा कच्चा वा क्रूर नदेखिए पनि—तिनीहरूमा त्यस्ता स्पष्ट प्रकटीकरणहरू नभए पनि—तिनीहरूको व्यवहार र तिनीहरूको मानवताका प्रतिकूल परिणामहरूले गर्दा तिनीहरूलाई मण्डलीबाट निकाल्नु आवश्यक पर्दछ। दुई प्रकारका मानिसहरूका प्रकटीकरणहरू, र तिनलाई सम्हाल्ने सिद्धान्तहरू यिनै थिए, जुन कुरामा पछिल्लो पटक सङ्गति गरिएको थियो।

आ. व्यक्तिको मानवताका आधारमा

ग. लम्पट र असंयमित हुनु

आज, हामी तेस्रो प्रकारका मानिसहरूबाट सुरु गरेर अरू धेरै प्रकारका मानिसहरूको मानवताका प्रकटीकरणहरूबारे सङ्गति गर्न जारी राख्छौँ। यी मानिसहरूको मानवताको प्राथमिक विशेषता के हो? यो लम्पटपन र संयमताको कमी हो। शाब्दिक दृष्टिकोणबाट लम्पटपन र संयमताको कमीलाई बुझ्न निकै सजिलो छ; यसको अर्थ यी व्यक्तिहरूको व्यवहार, आनीबानी, र बोलीवचन अनुचित देखिन्छ भन्‍ने हुन्छ—तिनीहरू इज्जतदार र सभ्य व्यक्ति होइनन्। यस्ता मानिसहरूका प्रकटीकरणहरूबारे यो एउटा आधारभूत बुझाइ हो। मण्डलीमा, परमेश्‍वरमा विश्‍वास गर्नेसम्बन्धी कतिपय मानिसहरूको दृष्टिकोण र तिनीहरूले पछ्याउने तरिकाहरूमा विचलन वा गल्तीहरू हुनु अपरिहार्य छ। तिनीहरूको बोलीवचन र आनीबानीमा कुनै भक्ति हुँदैन, तिनीहरूको जीवनका प्रकटीकरण र तिनीहरूको मानवताको गुणस्तर सन्तहरूको शिष्टता अनुरूप हुँदै हुँदैन, र तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदयको पूर्ण कमी हुन्छ। समग्रमा, तिनीहरूको बोलीवचन, व्यवहार, र आनीबानीलाई लम्पट र असंयमित भनेर मात्रै व्याख्या गर्न सकिन्छ। अवश्य नै, निश्‍चित प्रकटीकरणहरू धेरै छन्, ती सबैले देख्‍न सक्छन्, र तिनलाई खुट्ट्याउन सजिलो छ। यी व्यक्तिहरू अविश्‍वासी र गैरविश्‍वासीहरू जस्तै हुन्छन्; खास गरी, तिनीहरूले अत्यन्तै लम्पट व्यवहार देखाउँछन्। भेलाहरूमा, तिनीहरूको पहिरन र साजसज्जा अत्यन्तै साधारण हुन्छ। कतिपयले आफ्नो घरबाट निस्कनुभन्दा पहिले आफ्‍नो सरसफाइ गर्ने झन्झट गर्दैनन्, तिनीहरू कपाल नकोरी र मुख नधोई जिङ्ग्रिङ्ग भएर भेलाहरूमा आउँछन्। कतिपयले झुत्रेझाम्रे कपडा लगाउँछन्, तिनीहरू थोत्रा चप्पल वा पाइजा लगाएरै भेलाहरूमा आउँछन्। अरू चाहिँ व्यक्तिगत सरसफाइलाई ध्यान नदिई लथालिङ्ग जीवन जिउँछन्, र फोहोर लुगा लगाएरै भेलामा आउन हिचकिचाहट मान्दैनन्। यी सबै मानिसहरूले भेलाहरूलाई अत्यन्तै सामान्य रूपमा लिन्छन्, मानौँ तिनीहरू छिमेकीको घरमा गएका हुन्, र तिनीहरूले यसलाई गम्भीरतापूर्वक लिँदैनन्। भेलाहरूमा, तिनीहरूको बोलीवचन र व्यवहार पनि असंयमित हुन्छ, र तिनीहरू कुनै सङ्कोच नमानी चर्को स्वरमा बोल्छन्, खुसी हुँदा उत्साहित बन्ने र उन्मत्त इसारा गर्ने, र चरम लिप्तता देखाउने समेत गर्छन्। जति मानिसहरू उपस्थित भए पनि, तिनीहरू हाँस्छन्, ठट्टा गर्छन्, र हात हल्‍लाउँदै कुरा गर्छन्, उपरखुट्टी लगाउँछन्, र आफू अरू सबैभन्दा माथि भए जस्तो व्यवहार गर्छन्; तिनीहरू निकै भड्किला र घमण्डीसमेत हुन्छन्, अरूसँग कुरा गर्दा कहिल्यै सिधै कसैको आँखामा हेर्दैनन्, बरु तिनीहरूको नजर यताउता डुलिहन्छ। के यो लम्पट होइन र? (हो।) यो अत्यन्तै लिप्त हुनु र एकरत्ती संयमता नहुनु हो। अवश्य नै, गैरविश्‍वासीहरूले त्यस्ता व्यक्तिहरूको बोलीवचन र व्यवहारलाई राम्रो पालनपोषणको अभावसँग जोड्न सक्छन्, तर हामी यसलाई फरक रूपमा बुझ्छौँ; यो राम्रो पालनपोषणको अभावको कुरा मात्रै होइन। वयस्क भएको नाताले, व्यक्तिले अरूसँग बोल्ने, व्यवहार गर्ने, र अन्तरक्रिया गर्ने सही र उचित तरिकाहरू प्रस्ट रूपमा जान्‍नुपर्छ—विशेष गरी, व्यक्तिले सन्तहरूको शिष्टता अनुरूप हुने, दाजुभाइ-दिदीबहिनीहरूलाई शिक्षाप्रद हुने, र सामान्य मानवता हुने तरिकाले—कसैले भनिरहनु नपरी त्यसो गर्नुपर्छ। विशेष गरी मण्डली जीवन जिउने क्रममा, दाजुभाइ-दिदीबहिनीहरूको उपस्थितिमा, ढोँगको आवश्यकता नहुने भए पनि, व्यक्ति संयमित भने हुनैपर्छ। त्यसोभए, यो संयमताको मापक र आवश्यक मानक के हो? यो सन्तहरूको शिष्टता अनुरूप हुनु हो। व्यक्तिको लुगा र वस्त्र इज्जतदार र सभ्य हुनुपर्छ, र अनौठो लुगा लगाउनु हुँदैन। परमेश्‍वरको उपस्थितिमा, व्यक्ति भक्त हुनुपर्छ, र उसले उत्ताउलो हाउभाउ देखाउनु हुँदैन; अवश्य नै, अरू मानिसहरूको अगाडि तिनीहरूले भक्ति र मानव स्वरूपलाई पनि कायम राख्‍नुपर्छ, ताकि तिनीहरूले आफूलाई अरूका लागि उचित, फाइदाजनक, र शिक्षाप्रद तरिकाले प्रस्तुत गर्न सकून्। परमेश्‍वरलाई यही कुराले सन्तुष्ट पार्छ। जो लम्पट र असंयमित छन् तिनीहरूले मानवताका सबैभन्दा आधारभूत पक्षहरू जिउने कार्यलाई पटक्‍कै ध्यान दिँदैनन्, र तिनीहरूको उदासीनताको एउटा स्पष्ट कारण भनेको भक्त व्यक्ति वा आदर पाउने निष्ठा र गरिमा भएको व्यक्ति कसरी बन्‍ने भन्‍नेबारे तिनीहरूको पूर्ण अज्ञानता हो; तिनीहरूले यी कुराहरू बुझ्दै बुझ्दैनन्। त्यसकारण, भेलाहरूमा सफा, इज्जतदार, र सभ्य लुगा लगाउने, अनौठा लुगा नलगाउने बारेमा मण्डलीले बारम्बार प्रावधान र मागहरू तोके पनि, तिनीहरूले यी नियमहरूलाई गम्भीरतापूर्वक नलिन जारी राख्छन्, र प्रायजसो चप्‍पल लगाएर, जिङ्ग्रिङ्ग भएर, वा पाइजामा लगाएरै आइपुग्छन्। यो लम्पट र असंयमित मानिसहरूको एउटा प्रकटीकरण हो।

जो लम्पट र असंयमित हुन्छन् तिनीहरूले अर्को व्यवहार पनि प्रकट गर्छन्, जुन भेलाहरूमा फेसनेबल लुगा लगाउनु र गाढा र चहकिलो मेकअप घस्नु हो। हरेक भेलाभन्दा दुई दिन पहिले नै तिनीहरू के-कस्तो मेकअप गर्ने, कस्तो गहना लगाउने, कपाल कस्तो बनाउने, कुन लुगा लगाउने, कस्तो झोला बोक्‍ने, र कुन जुत्ता लगाउने भनेर मनन गर्दै सिँगारिन र सजिन थाल्छन्। कतिपय महिलाहरूले त आकर्षक लिपस्टिक र गाजल लगाउने, नाकको आकृति मिलाउने समेत गर्छन्, र झनै चरम अवस्थामा, कतिपयले काँध र ढाड देखिनेगरी अत्यन्तै कामुक पहिरन लगाउँछन् र सजिसजाउ गर्छन्, र अनौठा लुगा लगाउँछन्। भेलाहरूमा, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको सङ्गति ध्यान दिएर सुन्दैनन्, न त प्रार्थना नै गर्छन्; तिनीहरूले सङ्गतिमा सहभागिता जनाउने वा आफ्नो व्यक्तिगत बुझाइ र अनुभवात्मक गवाहीहरू बाँड्ने त झनै गर्दैनन्। बरु, तिनीहरूले आफूलाई अरू सबैसँग तुलना गर्छन्, आफूभन्दा राम्रो लुगा लगाउने को छ वा नराम्रो लुगा लगाउने को छ, कसले विशेष रूपमा प्रचलित ब्रान्डका लुगाहरू लगाइरहेको छ, कसले सडक बजारको सस्तो लुगा लगाइरहेको छ, कसैको चुराको मूल्य कति पर्छ, इत्यादि कुरामा चासो राख्छन्; तिनीहरूले यी कुराहरूमा मात्रै ध्यान दिन्छन्, र प्रायजसो खुलेआम रूपमै यस्ता टिप्पणी गर्छन्। यी व्यक्तिहरूको पहिरन, साथै बोलीवचन, व्यवहार, र आनीबानीबाट के कुरा स्पष्ट हुन्छ भने, मण्डली जीवनमा तिनीहरूको सहभागिता र दाजुभाइ-दिदीबहिनीहरूसँगको तिनीहरूको अन्तरक्रियाको उद्देश्य सत्यता बुझ्ने हुँदैन, र त्यसको उद्देश्य स्वभाव परिवर्तन हासिल गर्न जीवन प्रवेश पछ्याउने त झनै हुँदैन; बरु, तिनीहरूले भेलाहरूको समयलाई पैसा र भौतिक जीवनबाट आफूले लिएको आनन्दबारे देखावटी गर्न प्रयोग गर्छन्। कतिपय मानिसहरू धाक देखाउन नाम चलेका ब्रान्डका लुगा लगाएर भेला स्थलमा आउँछन्, दाजुभाइ-दिदीबहिनीहरूमाझ फेसन र सामाजिक प्रचलनहरूप्रतिका आफ्ना चाहनाहरूमा पूर्ण रूपमा लिप्त हुन्छन्, अरूलाई यी प्रचलनहरू पछ्याउन लोभ्याउँछन् र तिनीहरूप्रति डाहा र आदर गर्न लगाउँछन्। आफूप्रति कतिपय दाजुभाइ-दिदीबहिनीहरूको घृणास्पद हेराइ र मनोवृत्ति देख्दा देख्दै पनि, तिनीहरू बेवास्ता गरेर बस्छन्, आफ्नै तरिकाले कामकुरा गरिरहन्छन्, अल्‍गो हील लगाउँछन्, र डिजाइनर झोला बोक्छन्। कतिपयले त भेलाहरूमा कम गुणस्तरीय अत्तर लगाएर धनी र सम्पन्‍न व्यक्ति जस्तो देखिने प्रयाससमेत गर्छन्, जसले गर्दा तिनीहरू कोठामा प्रवेश गरेपछि अत्तर, टल्किने पाउडर र कपालमा लगाउने तेलको मिश्रित बास्नाले चर्को र नमिठो गन्ध फैलिन्छ। भेलामा सहभागी हुने अरू धेरै मानिसहरू रुष्ट हुन्छन्, तैपनि बोल्ने आँट गर्दैनन्, तिनीहरूलाई यी मानिसहरू देख्दै घृणा लाग्छ, र परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नेहरू तिनीहरूबाट टाढा बस्छन्। तिनीहरूको पहिरन र साजसज्जा चाहे धेरै उच्चस्तरीय होस् वा धेरै सामान्य होस्, त्यस्ता व्यक्तिहरूको पहिचान तिनीहरूको अत्यन्तै स्वतन्त्र र अनुशासनहीन बोलीवचन, व्यवहार, आनीबानी, र जीवनशैली हो, जुन भेलाहरूमा मात्र नभई दाजुभाइ-दिदीबहिनीहरूसँगको तिनीहरूको दैनिक अन्तरक्रियामा वा तिनीहरूको दैनिक जीवनमा पनि देखिन्छ। सटीक रूपमा भन्दा, तिनीहरू अत्यन्तै लिप्त हुन्छन्, र एकरत्ती पनि संयमताद्वारा चल्दैनन्। तिनीहरूको दैनिक जीवनका नियमित ढाँचाहरू हुँदैनन्; तिनीहरू जे मन लाग्यो त्यही भन्छन्, लापरवाही र स्वेच्छाचारी व्यवहार गर्छन्, व्यक्तिगत अनुभवहरूका बारेमा कहिल्यै छलफल गर्दैनन्, परमेश्‍वरका वचनहरूबारे आफ्नो बुझाइ बिरलै बाँड्छन्, र आफ्नो कर्तव्य पूरा गर्दा आइपरेका कठिनाइहरूका बारेमा खासै कुरै गदैनन्। तिनीहरूले कुन-कुन विषयमा मात्र छलफल गर्छन्? सामाजिक प्रचलनहरू, फेसन, उच्चस्तरीय खाना, समाजका चर्चित व्यक्तित्वहरू र प्रसिद्ध कलाकारहरू समेतको निजी जीवन, र समाजका असामान्य कथा र प्रसङ्गहरू। तिनीहरूका यी प्राकृतिक प्रकटीकरणहरूबाट, त्यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य जसोतसो जीवन जिउने मात्रै हो भन्‍ने कुरा देख्‍न गाह्रो हुँदैन। तिनीहरूको जीवन मण्डली जीवन जिउने, आफ्नो कर्तव्य पूरा गर्ने, वा सत्यता पछ्याउने जस्ता कुराहरूमा नभई खान, पिउन, र रमाइलो गर्नमै पूर्ण रूपमा केन्द्रित हुन्छ। “लम्पट र असंयमित” भन्‍नुको अर्थ के हो भने, यी व्यक्तिहरूको जीवनशैली, तिनीहरूले मानवतामा जिउने कुरा, साथै कामकुरालाई सम्हाल्ने, अरूसँग व्यवहार गर्ने, र अरूसँग अन्तरक्रिया गर्ने तिनीहरूको तरिका पनि सबै लम्पट र असंयमित हुन्छन्। तिनीहरूले प्रायजसो समाजका लोकप्रिय अभिव्यक्तिहरूको नक्कल गर्छन्; दाजुभाइ-दिदीबहिनीहरूले ती कुरा सुन्‍न मन पराऊन् या नपराऊन्, वा तिनीहरूले ती कुरा बुझ्न सकून् या नसकून्, यी व्यक्तिहरूले ती कुरा बोलिरहन्छन्। तिनीहरूले प्रायजसो समाजका केही प्रसिद्ध व्यक्तित्वहरू र सङ्गीत र चलचित्रका चर्चित व्यक्तित्वहरूका भनाइहरूको समेत नक्कल गर्छन्। परमेश्‍वरको घरमा र दाजुभाइ-दिदीबहिनीहरूमाझ प्रायजसो प्रयोग गरिने सकारात्मक शब्दहरूमा भने तिनीहरूले कहिल्यै कुनै चासो देखाउँदैनन्; तिनीहरूले आफ्नो दैनिक जीवनमा सत्यताबारे कहिल्यै सङ्गति गर्दैनन्। तिनीहरूले सांसारिक प्रचलनहरूलाई आदर्श मान्छन्; विभिन्‍न प्रसिद्ध व्यक्तित्व र चर्चित कलाकारहरूलाई तिनीहरूले आदर्शीकरण र अनुकरणका निसाना बनाउँछन्। उदाहरणका लागि, तिनीहरूले अनलाइनका लोकप्रिय शब्द र वाक्यांशहरू तुरुन्तै सिक्छन् र तिनलाई आफ्नो जीवनमा र दाजुभाइ-दिदीबहिनीहरूसँगको कुराकानीमा प्रयोग गर्छन्। अवश्य नै, यी शब्दहरू पक्‍कै पनि कुनै सकारात्मक वा शिक्षाप्रद कुरा हुँदैनन्; ती सबै नकारात्मक हुन्छन्, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूका लागि तिनको कुनै मूल्य हुँदैन, अर्थ त झनै हुँदैन। ती त भ्रष्ट र दुष्ट मानवजातिले सिर्जना गरेका लोकप्रिय अभिव्यक्तिहरू हुन्, जसले पूर्ण रूपमा दुष्ट शक्तिहरूका विचार र दृष्टिकोणहरूलाई प्रतिनिधित्व गर्छन्। त्यस्ता शब्दहरूलाई प्रायजसो मण्डलीका ती अविश्‍वासीहरूले ध्यान दिन्छन्, स्वीकार गर्छन्, र प्रयोग गर्छन् जो दुष्ट प्रचलनहरू मन पराउँछन्। तिनीहरू परमेश्‍वरको घरको आत्मिक शब्द र शब्दावलीदेखि पूर्ण रूपमा टाढा हुन्छन्, र ती इमानदारीका साथ सुन्दैनन् वा सिक्दैनन्। यसको विपरीत, तिनीहरूले गैरविश्‍वासी संसारका नकारात्मक कुराहरू र फोहोरी मानिसहरूले ध्यान दिने कुराहरूलाई तुरुन्तै टिपेर प्रयोग गर्छन्। तसर्थ, यी व्यक्तिहरूलाई तिनीहरूको बाहिरी पहिरन, बोलीवचन, र व्यवहारद्वारा मूल्याङ्कन गरिए पनि, वा तिनीहरूले प्रकट गर्ने विभिन्‍न विचार र दृष्टिकोण र कामकुराहरूप्रतिको मनोवृत्तिद्वारा मूल्याङ्कन गरिए पनि, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूमाझ अति नै फरक हुन्छन्। फरक हुनु भनेको के हो? यसको अर्थ तिनीहरूको बोलीवचन, व्यवहार, र आचरण गैरविश्‍वासीहरूको जस्तै हुन्छ, र तिनीहरूले कुनै किसिमको परिवर्तन देखाउँदैनन्; तिनीहरू सरासर अविश्‍वासी हुन्। उदाहरणका लागि, कतिपय मानिसहरूले परमेश्‍वरको घरको मञ्चमा दुई वटा भजन गाउँछन् र सबैको प्रशंसा पाउँछन्, त्यसकारण तिनीहरूले आफूलाई चर्चित कलाकार वा ठूला व्यक्ति सोच्न थाल्छन्, प्रस्तुति दिँदा सधैँ भारी मेकअप घस्ने माग गर्छन्, निश्‍चित सेलिब्रेटीको जस्तो कपाल बनाउन, र यसलाई अनौठा रङ्गले रङ्गाउन जिद्दी गर्छन्। जब अरूले “विश्‍वासीहरूले इज्जतिलो र शिष्ट लुगा लगाउनुपर्छ; तिम्रो शैलीले परमेश्‍वरको घरका मागहरू पूरा गर्दैन” भनेर भन्छन्, तब तिनीहरूले यसो भन्दै गुनासो गर्छन्, “परमेश्‍वरको घरका नियमहरू अत्यन्तै कडा छन्; यो साँच्‍चै नै कष्टदायी छ! चर्चित व्यक्ति बन्न किन यति गाह्रो भएको?” दुई वटा भजन गाउनेबित्तिकै, तिनीहरूले आफू चर्चित व्यक्ति भएको कल्पना गर्छन् र आफू उत्कृष्ट भएको सोच्छन्, र फुर्सद हुनेबित्तिकै तिनीहरू निरन्तर यस्तो सोच्छन्: “गैरविश्‍वासी संसारका चर्चित कलाकारहरूले माइक्रोफोन समाउन कति वटा औँला प्रयोग गर्छन्? तिनीहरूले मञ्चमा चढ्नका लागि कति पाइला टेक्छन्? मैले किन यति राम्रो गाउँदा पनि फूलहरू पाउँदिनँ? संसारका चर्चित व्यक्तिहरूका एजेन्ट र सहयोगीहरू हुन्छन्; तिनीहरूले धेरैजसो मामलाहरू आफै सम्हाल्नु वा समाधान गर्नु पर्दैन, त्यो सबै तिनीहरूका सहयोगीहरूले गर्छन्। तर परमेश्‍वरको घरको गायकका रूपमा, मैले खानेकुरा ल्याउने, लुगा लगाउने, र किनमेल गर्ने जस्ता अल्छीलाग्दा कामहरू आफैले गर्नुपर्छ। परमेश्‍वरको घर अत्यन्तै रूढिवादी छ!” परमेश्‍वरको घरमा बस्दा तिनीहरू हृदयमा सधैँ बेखुसी हुन्छन्; तिनीहरू निकै दुःखित महसुस गर्छन्, सधैँ असन्तुष्ट र गुनासाले भरिएका हुन्छन्। के त्यस्तो व्यक्तिले सत्यतालाई प्रेम गर्न सक्छ? के तिनीहरूले सत्यता अभ्यास गर्नेछन्? तिनीहरूले किन आत्मचिन्तन गर्दैनन्? कामकुराहरूप्रति तिनीहरूको दृष्टिकोण गैरविश्‍वासीहरूको जस्तै अत्यन्तै विकृत हुन्छ; तिनीहरूले कसरी यो कुरा महसुस गर्न सक्दैनन्? परमेश्‍वरको घरले तिनीहरूलाई चर्चित व्यक्ति बन्‍नबाट रोक्दैन, तर तिनीहरूका यी दृष्टिकोण र शैलीहरू—जुन अविश्‍वासीहरूका दृष्टिकोण हुन्—के ती परमेश्‍वरको घरमा व्यवहार्य हुन्छन्? ती आधारभूत रूपमै अमान्य हुन्छन्। तिनीहरूको सामान्य बोलीवचन र व्यवहार धेरैजसो मानिसहरूका लागि घृणायोग्य हुन्छन्। तिनीहरूको “खुला सोच” र चरम लिप्तताका कारण, त्यस्ता मानिसहरूले जे भने पनि वा जे गरे पनि त्यो लम्पट र असंयमित हुन्छ, जसले शैतानको स्वभावबाहेक केही पनि प्रकट गर्दैन।

दाजुभाइ-दिदीबहिनीहरूले पुरुष र महिलाबीच सीमा कायम राख्‍नुपर्छ, र विपरीत लिङ्गीसँग अल्झिन हुँदैन भनेर परमेश्‍वरको घरले बारम्बार जोड दिन्छ। तर, कतिपय मानिसहरू लम्पट र असंयमित हुन्छन्, तिनीहरूले यो सल्लाह पटक्‍कै मान्दैनन्, र गोप्य रूपमा अरूलाई यौनाकर्षित गर्ने वा डेट गर्ने प्रयाससमेत गर्छन्, जसले गर्दा मण्डली जीवनमा बाधा पुग्छ। तिनीहरू विपरीत लिङ्गीलाई सम्पर्क गर्न रमाइलो मान्छन्, र तिनीहरूले सम्पर्क गर्न र जिस्किँदै कुराकानी गर्नका लागि कारण र बहानाहरूसमेत खोज्छन्। आकर्षक देखिने वा आफूसँग मिल्ने कुनै विपरीत लिङ्गी व्यक्तिलाई देख्दा, तिनीहरू त्यस व्यक्तिसँग लट्ठारिन थाल्छन्, जिस्किन्छन् र ठट्टा गर्छन्, तिनीहरूको लुगा बिगारिदिन्छन् र कपाल फोहोर बनाइदिन्छन्, र हिउँदको बेला तिनीहरूको लुगामा हिउँको डल्लोसमेत फ्याँक्छन्; तिनीहरू कुनै सीमा वा आदरबोधविना, कुनै लाज नमानी एक-अर्कासँग पशुजस्तै गरी खेल्छन्। कतिपय मानिसहरूले भन्छन्, “त्यसलाई कसरी खेलेको भन्‍न मिल्छ? तिनीहरूले स्‍नेह देखाइरहेका छन्; त्यसलाई त प्रेमिल भएको, रोमान्टिक भएको भनिन्छ।” यदि तँ रोमान्सको खोजीमा छस् भने, तैँले गलत ठाउँ छनौट गरेका छस्। मण्डली त दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने ठाउँ हो; यो परमेश्‍वरको आराधना गर्ने ठाउँ हो, जिस्किने ठाउँ होइन। सबैको अगाडि सार्वजनिक रूपमा यस्तो व्यवहार प्रदर्शन गर्दा धेरैजसो मानिसहरूलाई घिन लाग्छ र विकर्षण हुन्छ। मुख्य कुरा के हो भने, यसले अरूमा नैतिक सुधार ल्याउँदैन, र तैँले आफ्नो निष्ठा र इज्जत पनि गुमाउँछस्। आखिर तँ कति वर्ष पुगिस्? के तैँले दाहिने हात र देब्रे हात छुट्याउन सक्दैनस्? के तैँले पुरुष र महिलाबीचको भिन्‍नता बुझ्दैनस्? तैपनि तँ जिस्किन्छस्! सात-आठ वर्षका केटाकेटीहरू खेल्नु सामान्य कुरा हो; यस्ता व्यवहार र रुचिहरू तिनीहरूको उमेरका लागि सामान्य हुन्। तर, यदि वयस्कहरूले यी व्यवहारहरू प्रदर्शन गर्छन् भने, के यो बचकाना होइन र? सरल रूपमा भन्दा, कुरा ठ्याक्कै त्यही हो। सारका हिसाबमा भन्दा, यो के हो? (लिप्तता, लम्पटपन।) यो सबै अत्यन्तै लम्पट कुरा हो! परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिले इज्जतको बोध राख्न जानेको हुनैपर्छ। गैरविश्‍वासीहरूमध्ये पनि, थोरैले मात्र यस्तो लम्पट व्यवहार गर्छन्। त्यस्ता लम्पट व्यक्तिहरू कति बेपरवाह र घृणित हुन्छन्! उत्साहका लागि विपरीत लिङ्गीको लुगामा हिउँका डल्‍लाहरू फाल्नु, उसलाई जिस्केर लखेट्ने मात्र नभई उसलाई पछाडिबाट लातसमेत हान्नु—जब कसैले यस्तो व्यवहार अत्यन्तै लम्पट छ र यसले पुरुष र महिलाबीचका सीमाहरूलाई धूमिल बनाउँछ भन्‍ने तथ्यलाई खुलासा गर्छ, तब तिनीहरूले “हामी यति नजिक भएकाले मात्रै यसरी खेल्छौँ; मानिसहरूले बुझ्नुपर्छ” भनेर प्रतिवाद गर्छन्। तिनीहरू यति हदसम्‍म लिप्त हुन्छन् कि, आफू मात्र लिप्त हुँदैनन् तर अरूलाई पनि तिनीहरूसँगै लिप्त हुन लोभ्याउँछन्। यो कस्तो नीच व्यक्ति हो? ल भन त, के त्यस्ता मानिसहरू मण्डलीमा रहनुपर्छ? (अहँ।) यस्तो व्यक्तिको छेउछाउ हुँदा सधैँ असहज र अप्ठ्यारो महसुस हुन्छ। कसैलाई भेट्दा, तिनीहरूले उसलाई सामान्य रूपमा अभिवादन गर्दैनन्; बरु, तिनीहरूले उसलाई एक मुक्‍का हानेर यसो भन्छन्, “तँ यतिका वर्ष कहाँ थिइस्, हँ? मैले तँ पृथ्वीबाट नै बिलाएर गइस् कि भन्‍ने सोचेको थिएँ! के छ खबर?” तिनीहरूको अभिवादनको शैली पनि अत्यन्तै असभ्य र घमण्डी हुन्छ; तिनीहरूले असभ्य तरिकाले बोल्ने मात्र नभई अरूलाई हातपात पनि गर्छन्। के यो बदमास र डाँकुहरूको व्यवहारसँग मिल्दैन र? के तिमीहरूलाई त्यस्ता मानिसहरू मन पर्छ? (मन पर्दैन।) के गिल्ला गरिनु र खेलौनाझैँ व्यवहार गरिनुको अनुभूति सहज हुन्छ? (हुँदैन।) यो असहज हुन्छ, र तैँले यसलाई व्यक्त समेत गर्न सक्दैनस्; तैँले यो कुरा सहनुको विकल्प छैन, र अर्को पटक तिनीहरूलाई देख्दा, तँ तिनीहरूबाट टाढै बस्छस्। सारांशमा भन्दा, यसले त्यस्ता मानिसहरूको मानवताको गुणस्तरबारे के भन्छ? (त्यो खराब हुन्छ।) तिनीहरूलाई जुनसुकै कोणबाट हेरिए पनि—चाहे त्यो तिनीहरूको बोलीवचन र व्यवहार, तिनीहरूको व्यक्तिगत आचरण, तिनीहरूले संसारसँग व्यवहार गर्ने तरिका, र तिनीहरूले अरूसँग गर्ने अन्तरक्रिया, गैरविश्‍वासी संसारका प्रचलनहरूप्रति तिनीहरूको दृष्टिकोण होऊन्, वा परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको तरिका र परमेश्‍वर र उहाँका वचनहरूप्रति तिनीहरूको मनोवृत्ति होऊन्—यी व्यक्तिहरूमा भक्ति वा परमेश्‍वरको डर मान्‍ने हृदय हुँदैन भन्‍ने कुरा देख्‍न गाह्रो हुँदैन। न त तिनीहरूमा सत्यताको खोजी गर्ने वा त्यसलाई स्वीकार गर्ने कुनै इमानदारी नै देख्‍न सकिन्छ। देखिने कुरा भनेको तिनीहरूको लम्पटपन र संयमताको कमी, तिनीहरूले निरन्तर चर्चित व्यक्तित्व र आदर्श व्यक्तिहरूको अनुकरण गर्ने कार्य, र सत्यता जति सङ्गति गर्दा पनि तिनीहरूमा मार्ग परिवर्तन गर्ने कुनै अभिप्राय नहुनु हो। तिनीहरूको मानवताका विशेषताहरूलाई के भनेर सारांशीकृत गर्न सकिन्छ? लम्पटपन र संयमताको कमी। त्यसकारण, तिनीहरू परमेश्‍वरको घरमा घुसपैठ गरेका गैरविश्‍वासी हुन् भनेर निश्‍चित रूपमा भन्न सकिन्छ; तिनीहरू अविश्‍वासी हुन्।

लम्पट र असंयमित मानिसहरूले अविश्‍वासी संसारका डाँकु र गुन्डाहरूले जस्तै शब्दहरू छानेर प्रयोग गर्छन्; तिनीहरू विशेषगरी चर्चित व्यक्तिहरू र समाजका नकारात्मक व्यक्तित्वहरूका बोली र शैली नक्कल गर्न मन पराउँछन्, र तिनीहरूको धेरैजसो भाषाले गुन्डा वा बदमासले फोहोरी भाव बोकेको हुन्छ। उदाहरणका लागि, जब एउटा गैरविश्‍वासी ढोका ढकढक्याएर केही अनौठा वाक्यांशहरू बोल्दै आइपुग्छ, तब दाजुभाइ-दिदीबहिनीहरूले यसो भन्छन्, “केही त गडबड छ; यो व्यक्ति किन स्काउट वा जासूसजस्तो देखिन्छ?” त्यही बेला तिनीहरू निश्‍चित हुन नसके पनि, यसले धेरैजसो मानिसहरूलाई असहज महसुस गराउँछ। तैपनि, त्यो लम्पट र असंयमित व्यक्तिले प्रभावकारी तरिकाले केही फाइँफुट्टी पनि गर्दै बोल्छ, र यसो भन्छ, “स्काउट? मलाई डर लाग्दैन! तिनीहरूसँग किन डराउने? यदि तिमीहरूलाई डर लाग्छ भने, तिमीहरू बाहिर जानु पर्दैन। तिनीहरूको कुरा के रहेछ, म गएर हेर्छु।” हेर त, तिनीहरू कति साहसी र निडर हुन्छन्। के तिमीहरू यसरी बोल्छौ? (अहँ, सामान्य मानिसहरू यसरी बोल्दैनन्; यो त डाँकुले बोल्‍नेजस्तो कुरा हो।) डाँकुहरू सामान्य मानिसहरूले भन्दा फरक तरिकाले बोल्छन्; तिनीहरू अत्यन्तै रबाफ जमाउँछन्। मानिसहरूलै आफ्नै किसिमका मानिसहरूको भाषा सिक्छन्; सहरिया मानिसहरूले समाजको लोकप्रिय बोलीचाली अपनाउँछन्, डाँकु र गुन्डाहरू आफ्नै प्रकारको भाषा बोल्न मन पराउँछन्, र अविश्‍वासीहरू गैरविश्‍वासीहरूजस्तै हुन्छन्, गैरविश्वासीहरूले भन्ने सबै कुरा भन्छन्। गैरविश्‍वासीहरूको बोलीवचन सुनेपछि असल, मर्यादित, र सभ्य मानिसहरूलाई घिन र घृणा लाग्छ; तिनीहरू कसैले पनि त्यस्तो बोलीवचन नक्कल गर्ने प्रयास गर्दैनन्। कतिपय अविश्‍वासीहरूले दश-बीस वर्ष विश्‍वास गरेपछि पनि गैरविश्‍वासीहरूकै भाषा प्रयोग गर्छन्, जानाजानी यस्तो बोली छनौट गर्छन्, र बोल्दा तिनीहरू गैरविश्‍वासीहरूको आनीबानी, अभिव्यक्ति र भाउभङ्गीका साथै आँखाको हेराइको समेत नक्कल गर्छन्। के त्यस्ता व्यक्तिहरू मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूका नजरमा प्रिय हुन सक्छन्? (सक्दैनन्।) धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरू अप्रिय र हेर्न असजिला लाग्छन्। तिमीहरूलाई के लाग्छ, परमेश्‍वरले तिनीहरूबारे कस्तो महसुस गर्नुहुन्छ? (तिरस्कार।) जबाफ स्पष्ट छ: तिरस्कार। तिनीहरूले जिउने कुरा, तिनीहरूको पछ्याइ, र तिनीहरूले हृदयमा आदर गर्ने मानिस, घटना, र कामकुराहरूबाट के स्पष्ट हुन्छ भने तिनीहरूको मानवतामा मर्यादा वा शिष्टता नै छैन र यसमा सन्तहरूको भक्ति र उचित शिष्टताको पनि कमी छ। तिनीहरूको मुखबाट विश्‍वासी वा सन्तहरूले बोल्‍ने वचनहरू, र अरूलाई सुधार गर्ने अनि मर्यादा र निष्ठा व्यक्त गर्ने वचनहरू सुन्‍न पाउनु दुर्लभ कुरा हो; तिनीहरूले यी कुराहरू भन्ने सम्भावना हुँदैन। तिनीहरूले आफ्नो हृदयमा आदर गर्ने, आकाङ्क्षा राख्‍ने, र पछ्याउने कुरा सन्तहरूले पछ्याउनुपर्ने र आकाङ्क्षा राख्‍नुपर्ने कुरासँग आधारभूत रूपमै मिल्दैन, जसले गर्दा तिनीहरूले बाहिरी रूपमा जिउने कुरा, तिनीहरूको बोलीवचन, र आनीबानी संयमित हुन गाह्रो हुन्छ। तिनीहरूलाई संयमित हुन, लम्पट वा भोगविलासी नबन्‍न, र मर्यादा र शिष्टता कायम राख्‍न लगाउनु एकदमै कठिन हुन्छ। सत्यता बुझ्ने र सत्यता वास्तविकतामा प्रवेश गर्ने मानवता र समझ भएको व्यक्तिको रूपमा जिउनु त कुरै छोडौँ, तिनीहरू त सन्तहरूको शिष्टताअनुरूप हुने, नियमहरू पालना गर्ने, र बाहिरी रूपमा तर्कसङ्गत देखिने निष्ठा र मर्यादा भएको सामान्य व्यक्तिजस्तो समेत बन्‍न सक्दैनन्। यस अघि, एउटा व्यक्ति गाउँमा सुसमाचार प्रचार गर्न गयो र उसले केही दाजुभाइ-दिदीबहिनीहरूको परिवार गरिब भएको र उनीहरू पुराना घरमा बस्ने गरेको देख्यो। उसले व्यङ्ग्यात्मक तरिकाले र गिल्ला गर्दै भन्यो, “यो घर त यति पुरानो रहेछ, यो मानिसहरू बस्‍न लायक छैन; यो त सुँगुरका लागि समेत मुस्किलले उपयुक्त छ। तपाईंहरू तुरुन्तै अन्त सर्नुपर्छ!” दाजुभाइ-दिदीबहिनीहरूले भने, “सर्नु त सजिलो छ नि, तर बस्नका लागि हामीलाई अर्को घर कसले दिन्छ र?” उसले लापरवाही र मनोमानी तरिकाले बोल्थ्यो, र अरूलाई पर्न सक्‍ने असरबारे विचार नगरी मनमा जे आयो त्यही भन्थ्यो। यो फोहोरी प्रकृति हुनु हो। दाजुभाइ-दिदीबहिनीहरूले सोधे, “यदि हामी सर्‍यौँ भने, हामीलाई बस्‍ने घर कसले दिन्छ? के तपाईंसँग घर छ?” ऊसँग कुनै जबाफ थिएन। मानिसहरूलाई कठिनाइ आइपरेको देख्दा उसले बोल्नुभन्दा पहिले नै उनीहरूको कठिनाइ समाधान गर्न सक्नुपर्थ्यो। उसले लापरवाही रूपमा बोल्नु तर तिनीहरूको कठिनाइ समाधान गर्न नसक्नुका परिणामहरू के-कस्ता थिए? के यो अत्यन्तै खुलस्त र मुखर हुने समस्या थियो? अवश्य नै थिएन। समस्या त उसको नीचता अत्यन्तै गम्भीर थियो; ऊ लम्पट र असंयमित थियो। त्यस्ता मानिसहरूमा निष्ठा, मर्यादा, सोचविचार, सहनशीलता, वास्ता, आदर, बुझाइ, सहानुभूति, करुणा, विचारशीलता, सहयोग इत्यादि कुराको कुनै बीजारोपण हुँदैन। मानिसहरूमा सामान्य मानवतालाई अत्यावश्यक हुने यिनै गुणहरू हुनुपर्छ। तिनीहरूसँग यी गुणहरूको कमी त हुन्छ नै, त्यसमाथि तिनीहरूले अरूसँग अन्तरक्रिया गर्दा, कसैलाई कठिनाइहरू आइपरेको देखेपछि, तिनीहरूले उसलाई उपहास गर्न, गिल्ला गर्न, गिज्याउन, र खिल्‍ली उडाउनसमेत सक्छन्; तिनीहरूले उसलाई बुझ्न वा सहयोग गर्न नसक्‍ने मात्र होइन, उसलाई दुःख, विवशता, पीडा, र समस्या समेत निम्त्याउँछन्। यस्तो गम्भीर नीचता भएका मानिसहरूका हकमा, धेरैजसो मानिसहरूले तिनीहरूलाई स्पष्ट रूपमा देख्न त देख्‍छन् तर बारम्बार तिनीहरूलाई सहन्छन्। के तिमीहरूलाई त्यस्ता मानिसहरूले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन् भन्‍ने लाग्छ? मलाई त यो सम्भव छ जस्तो लाग्दैन। तिनीहरूको प्रकृति सार हेर्दा, तिनीहरू सत्यताप्रेमी होइनन्, त्यसकारण तिनीहरूले काटछाँट र अनुशासनमा पर्नुलाई कसरी स्वीकार गर्न सक्छन् र? गैरविश्वासीहरू यी मानिसहरूलाई “आफ्नै बाटोमा लागिरहनु” वा “अरूले जे भने पनि आफ्नै मार्गमा हिँडिरहनु” भन्‍नेजस्ता शब्दावलीहरू प्रयोग गरेर व्याख्या गर्छन्—यो कस्तो हास्यास्पद तर्क हो? यी तथाकथित प्रसिद्ध भनाइ र टुक्काहरूलाई यस समाजमा प्राय सकारात्मक कुराका रूपमा लिइन्छ, जसले तथ्यहरू बङ्ग्याउँछ र सही र गलतबीच दुविधा ल्याउँछ। लम्पट र असंयमित मानिसहरूको मानवताका प्रकटीकरणहरूको कुरा गर्नुपर्दा, यसले आधारभूत रूपमा सबै कुरा समेट्छ।

लम्पट र असंयमित व्यक्तिहरूले मण्डली जीवनमा, दाजुभाइ-दिदीबहिनीहरूबीचका सामान्य सम्बन्धहरूमा, वा परमेश्‍वरका चुनिएका मानिसहरूको सामान्य रूपमा कर्तव्य निर्वाहमा असर गरे पनि वा नगरे पनि, तिनीहरूको मानवताका प्रकटीकरण र प्रकाशहरूले प्रतिकूल प्रभाव र परिणामहरू ल्याउँछन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिन्छन् भने, यी समस्याहरू समाधान गरिनुपर्छ, र त्यस्ता व्यक्तिहरूलाई बेरोकटोक काम गर्न दिनुको सट्टा, तिनीहरूविरुद्ध उचित कदमहरू चाल्नुपर्छ। सानातिना मामलाहरूका हकमा, सहयोग र साथ प्रदान गर्न सकिन्छ, वा तिनीहरूलाई काटछाँट र चेतावनी दिन सकिन्छ। गम्भीर मामलाहरूका हकमा, जहाँ तिनीहरूको व्यवहार र आचरण गैरविश्‍वासी वा अविश्‍वासीहरूको जस्तै विशेष रूपमा लम्पट हुन्छ, र तिनीहरूमा सन्तको जस्तो शिष्टता अलिकति पनि हुँदैन, त्यहाँ मण्डली अगुवा र कामदारहरूले यी व्यक्तिहरूलाई सम्हाल्न उचित समाधानहरू खोज्नुपर्छ। यदि बहुसङ्ख्यक दाजुभाइ-दिदीबहिनीहरू सहमत छन् र परिस्थितिहरूले साथ दिए भने, यी व्यक्तिहरूलाई निकाल्नुपर्छ; कम्तीमा पनि, तिनीहरूलाई पूर्णकालीन कर्तव्य मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्न दिनु हुँदैन। “सानातिना मामलाहरूका हकमा” भन्नाले के जनाउँछ? यसको अर्थ कतिपय मानिसहरू नयाँ विश्‍वासी हुन्छन्, जो मूल रूपमा गैरविश्‍वासी थिए, जसले कहिल्यै इसाई धर्ममा विश्‍वास गरेका हुँदैनन् र परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भन्ने कुरा बुझेका हुँदैनन्। तिनीहरूको बोलीवचन र आचरणले गैर-विश्‍वासीहरूका बानीबेहोराहरू प्रकट गर्छन्। तर, परमेश्‍वरको वचन पढेर, सत्यता सङ्गति गरेर, र मण्डली जीवन जिएर, तिनीहरू क्रमिक रूपमा पछाडि फर्किन्छन् र बदलिन्छन्, अनि विश्‍वासीहरू जस्तै हुन्छन्, र तिनीहरूले केही मानव स्वरूप देखाउँछन्। यी व्यक्तिहरूलाई दुष्ट मानिसहरूको दर्जामा वर्गीकरण गर्नु हुँदैन, बरु सहयोग गर्न सकिने मानिसहरूमा वर्गीकरण गर्नुपर्छ। अर्को वर्ग बीस वर्ष हाराहारीका जवान मानिसहरू हुन्, जो तीनदेखि पाँच परमेश्‍वरमा विश्‍वास गर्नुका बाबजुद, अझै पनि ख्यालठट्टामा लिप्त हुन्छन्, त्यति स्थिर हुँदैनन्, आफ्नो बाहिरी बोलीवचन र आनीबानीमा केही केटाकेटीपन देखाउने—केटाकेटी जस्तो बोल्ने, व्यवहार गर्ने, र कार्य गर्ने—इत्यादि गर्छन्, किनभने तिनीहरूको उमेर सानै हुन्छ। यी मानिसहरूलाई प्रेमपूर्वक सहयोग र साथ दिनुपर्छ; अत्यन्तै कडा मागहरू नलादी तिनीहरूलाई क्रमिक रूपमा परिवर्तन हुन पर्याप्त समय दिनुपर्छ। अवश्य नै, धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका तर अझै पनि गैरविश्‍वासीहरूले जस्तै लम्पट र असंयमित बोलीवचन, आनीबानी, व्यवहार, र कार्य प्रदर्शन गर्ने, र बारम्बार चेतावनी दिइँदा पनि परिवर्तन हुन नमान्ने वयस्कहरूका हकमा फरक शैली अपनाउनु उचित हुन्छ; तिनीहरूलाई परमेश्‍वरको घरका प्रावधानहरू अनुसार सम्हाल्नुपर्छ। यदि त्यस्ता व्यक्तिहरूको बोलीवचन, आनीबानी, र तिनीहरूको मानवताको प्रकटीकरणले बहुसङ्ख्यकलाई बाधा दिन्छ र मण्डलीमा प्रतिकूल प्रभाव पार्छ, जसले गर्दा धेरै जना तिनीहरूलाई देख्नेबित्तिकै दिगमिगाउँछन्, तिनीहरूले बोलेको सुन्न अनिच्छुक हुन्छन्, तिनीहरूले बोल्दा तिनीहरूको हाउभाउ हेर्न अनिच्छुक हुन्छन्, न त तिनीहरूको पहिरन हेर्न नै इच्छुक हुन्छन्, र त्यस्ता व्यक्तिहरू भेलाहरूमा सहभागी नहुँदा धेरैजसो मानिसहरू झनै खुसी हुन्छन् र झनै राम्रो अवस्थामा हुन्छन्—तिनीहरू बाधा सिर्जना गर्ने कीरा भएझैँ मण्डली जीवनमा तिनीहरूको सहभागिता र दाजुभाइ-दिदीबहिनीहरूका बीचमा तिनीहरूको उपस्थितिले नै असहज र दिगमिग महसुस गराउँछ भने—त्यस्ता व्यक्तिहरू अवश्य नै दुष्ट मानिस हुन्। अर्थात्, जब-जब तिनीहरूले मण्डली जीवन जिउँछन् र दाजुभाइ-दिदीबहिनीहरूसँग आफ्नो कर्तव्य पूरा गर्छन्, तब धेरैजसो मानिसहरूले बाधा महसुस गर्छन् र अत्यन्तै दिगमिगाउँछन्। त्यस्ता अवस्थामा, यी व्यक्तिहरूलाई जति सक्दो चाँडो तह लगाउनुपर्छ, तिनीहरूलाई मनपरी गर्न एकलै छोड्नु वा थप निगरानीमा राख्नु हुँदैन। कम्तीमा पनि, तिनीहरूलाई पूर्णकालीन कर्तव्य मण्डलीबाट पखालिनुपर्छ र पश्चात्ताप गर्न साधारण मण्डलीमा पठाइनुपर्छ। यसलाई किन यसरी सम्हाल्‍ने? (तिनीहरूले धेरैजसो मानिसहरूका लागि बाधा र प्रतिकूल परिणामहरू निम्त्याएका हुन्छन्, जसले गर्दा मण्डली जीवनमा बाधा पुग्छ।) किनभने तिनीहरूका प्रकटीकरणहरूका परिणाम र प्रभावहरू अत्यन्तै दुष्ट हुन्छन्! यस अनुसार, अगुवा र कामदारहरू, साथै परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूप्रति आँखा चिम्लिनु हुँदैन र अन्धाधुन्ध तिनीहरूको व्यवहारलाई प्रश्रय दिनु हुँदैन। त्यस्ता व्यक्तिहरूले बहुसङ्ख्यकका निम्ति बाधा उत्पन्न गर्दा पनि, अगुवा र कामदारहरू केही नगरी बस्‍नु अनुचित हो; त्यस्ता व्यक्तिहरूलाई परमेश्‍वरको घरका प्रावधानहरू अनुसार मण्डलीबाट पखालिनुपर्छ—यो नै सबैभन्दा बुद्धिमानी निर्णय हो।

के मण्डलीले यसभन्दा पहिले लम्पट र असंयमित मानिसहरूलाई तह लगाएको छ? (छ।) त्यस्ता मानिसहरूलाई तह लगाउँदा, कतिपय यसो भन्दै रोएका छन्, “यो जानी-जानी गरिएको थिएन। यो त मैले कहिलेकहीँ मात्र देखाउने व्यवहार हो; म त्यस्तो व्यक्ति होइनँ। कृपया मलाई अर्को मौका दिनुहोस्! यदि मलाई आफ्नो कर्तव्य पूरा गर्न दिइएन भने, घर फर्केपछि, मैले परमेश्‍वरमा विश्‍वास गर्न सक्नेछैन, जहाँ सबै गैरविश्‍वासी छन्।” तिनीहरू अत्यन्तै मन छुने तरिकाले बोल्छन् र साँच्‍चै व्यथित देखिन्छन्, र परमेश्‍वरलाई छोडेर जाने अनिच्छा व्यक्त गर्छन् र पश्चात्ताप गर्नका लागि परमेश्‍वरको घरसँग अर्को मौका माग्छन्। तिनीहरूलाई अर्को मौका दिनु सम्भव छ, तर मुख्य कुरा तिनीहरू परिवर्तन हुन सक्छन् कि सक्दैनन् भन्ने हो। यदि यो व्यक्तिमा अलिकति पनि मानवता छैन, उसमा कुनै विवेक वा समझ छैन, आधारभूत रूपमा ऊ कुनै हृदय र आत्मा नभएको प्राणी हो भनेर राम्ररी बुझिएको छ भने, उसलाई अर्को मौका दिनु हुँदैन; त्यो व्यर्थ हुनेछ। तर, यदि उक्त व्यक्तिको सारतत्त्व राम्रो छ, र उसको उमेर सानो भएकाले उसको मानवता अपरिपक्व भएको मात्रै हो, र ऊ केही वर्षभित्र पक्कै परिवर्तन हुनेछ भने, उसलाई पश्चात्ताप गर्ने अवसर दिनैपर्छ। उसलाई मण्डलीबाट बिलकुलै निकाल्नु हुँदैन; कुनै पनि असल व्यक्ति कहिल्यै बरबाद हुनु हुँदैन। कतिपय मानिसहरू अन्तर्निहित रूपमै अविश्‍वासी हुन्छन्; तिनीहरू अन्तर्निहित रूपमा लम्पट, अज्ञानी, र मूर्ख हुन्छन्, र तिनीहरूको मानवतामा अन्तर्निहित रूपमा नै सम्मानको बुझाइको कमी हुन्छ, र तिनीहरूलाई लज्जाबोध के हो भन्ने थाहा हुँदैन। सार्वजनिक रूपमा अपरिष्कृत व्यवहार गरेपछि, धेरैजसो मानिसहरूलाई पछुतो हुन्छ र अरूको सामना गर्न लाज लाग्छ। यसका साथै, जब तिनीहरूले त्यस्ता कुराहरू गर्न चाहन्छन्, तब तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका भावना र विचारहरूलाई ख्याल गर्न, र आफ्नै निष्ठा र इज्जतबारे सचेत रहन सक्छन्, र तिनीहरूले त्यस्तो व्यवहार गर्दैनन्; तिनीहरूले बढीमा सायद घरमा आफ्ना छोराछोरी वा दाजुभाइ-दिदीबहिनीहरूसँग झगडा गर्ने मात्र हो। सामान्यतया अपरिचित मानिसहरूसँग अन्तरक्रिया गर्दा, मानिसहरूले आदरबोध, शिष्टता, नियम, र इज्जतको अर्थ के हो भन्ने कुरा बुझ्नुपर्छ। के यी अवधारणाहरूका बारेमा बुझाइ नभएको व्यक्ति तेरो सहयोगले पनि परिवर्तन हुन सक्छ र? अहिले तिनीहरूलाई नियन्त्रणमा राखिए पनि, तिनीहरूले कति समयसम्म सहन सक्छन्? तिनीहरूलाई आफ्नो पुरानो शैलीमा फर्केर जान धेरै समय लाग्दैन। त्यस्ता मानिसहरूको मानवतामा इज्जत र लज्जाबोध नहुने हुनाले, तिनीहरूलाई नियम, शिष्टता, वा सन्तहरूको शालीनता के हो भन्ने थाहा नहुने हुनाले, र तिनीहरूको मानवतामा अन्तर्निहित रूपमै यी गुणहरू नहुने हुनाले, तैँले तिनीहरूलाई सहयोग गर्न सक्दैनस्। जुन मानिसहरूलाई सहयोग गर्न सकिँदैन तिनीहरू परिवर्तन हुन नसक्ने, निर्देशन दिन वा प्रभाव पार्न नसकिने मानिसहरू हुन्। त्यस्ता व्यक्तिहरूलाई दाजुभाइ-दिदीबहिनीहरूमाझ बाधाहरू सिर्जना गर्नबाट, लाज निम्त्याउनबाट रोक्नका लागि जति सक्दो तुरुन्तै र चाँडो पखाल्नुपर्छ। परमेश्‍वरको घरलाई सङ्ख्या बढाउनका लागि मात्रै कोही चाहिएको छैन। यदि परमेश्‍वरले कुनै व्यक्तिलाई मुक्ति दिनुहुनेछैन भने, जतिसुकै सङ्ख्या बढाए पनि त्यस व्यक्तिका लागि कुनै फाइदा हुनेछैन। जसलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्न तिनीहरूलाई निकाल्नुपर्छ—परमेश्‍वरको घरमा रहिरहन नहुनेहरूलाई पखाल, नत्र भने यो एक जना व्यक्तिको उपस्थितिले अरू धेरैलाई प्रतिकूल असर गर्नेछ, जुन बहुसङ्ख्यकका लागि अन्यायपूर्ण हुन्छ। यदि तिमीहरूले लम्पट र असंयमित मानिसहरूको सारलाई छर्लङ्ग देख्यौ भने, तिमीहरूले तिनीहरूलाई अनिश्चितकालसम्म सहनुको सट्टा जति सक्दो चाँडो तह लगाउनुपर्छ र निकाल्नुपर्छ। कतिपयले भन्छन्, “तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा कहिलेकाहीँ केही परिणामहरू निकाल्छन्। तिनीहरू अझै पनि कामको त्यो पक्षका लागि चाहिन्छ। तिनीहरूमा निकै प्रेमिलो हृदय पनि हुन्छ र तिनीहरूले थोरै भए पनि मूल्य चुकाउन सक्छन्।” तर परमेश्‍वरको घरमा रहनेमध्ये कसले थोरै मूल्य चुकाउन सक्दैन र? आफ्नो कर्तव्य पूरा गर्दा केही परिणामहरू हासिल गर्न कसले सक्दैन? यदि सबैले केही परिणामहरू निकाल्न सक्छन् भने, जो कर्तव्य पूरा गर्नका लागि इज्जतदार र सभ्य छन् त्यस्ता असल मानिसहरूलाई किन छनौट नगर्ने? फोहोरी मानिसहरू, बदमास, र मूर्ख मानिसहरूलाई पूर्णकालीन कर्तव्य मण्डलीमा राखेर बाधा निम्त्याउन किन जिद्दी गर्ने? गैरविश्‍वासीहरू जस्तै जिउने ती अविश्‍वासीहरूलाई परमेश्‍वरको घरमा राखेर श्रम गर्न लगाउन किन जिद्दी गर्ने? परमेश्‍वरको घरमा श्रमिकहरूको कमी छैन; परमेश्‍वरको घरले सत्यतालाई प्रेम गर्ने इमानदार मानिसहरू, सिधा मानिसहरू, र सत्यता पछ्याउन सक्ने मानिसहरू मात्रै चाहन्छ, जो परमेश्‍वरप्रति आफूलाई समर्पित गर्छन्।

अहिले कर्तव्य पूरा गरिरहेकामध्ये धेरैजसो मानिसहरू पाँच-छ वर्षभन्दा धेरै समयदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आइरहेकाहरू छन्, र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा सबै प्रकारका मानिसहरूको पूर्ण रूपमा प्रकाश भएको छ—अविश्‍वासी, अन्योलमा परेका मानिस, झूटा अगुवा, दुष्ट मानिस, र ख्रीष्टविरोधीहरू सबै प्रकाश गरिएका छन्। परमेश्‍वरका चुनिएका धेरै मानिसहरूले यीमध्ये धेरैजसो मानिसहरूले बारम्बार चेतावनी पाउँदा पनि परिवर्तन हुन मान्दैनन्, र तिनीहरूले परमेश्‍वरको घरको काममा गम्भीर बाधा र अवरोधहरू ल्याइसकेका छन् भन्ने कुरा प्रस्ट रूपमा देखेका छन्। यी अविश्‍वासी, दुष्ट मानिस, र ख्रीष्टविरोधीहरूलाई पखाल्नैपर्ने समय आएको छ। तिनीहरूलाई पखालिएन भने, यसले मण्डलीको कामको सञ्चालन र परमेश्‍वरको राज्यको सुसमाचार फैलाउने काममा असर गर्नेछ। तिनीहरूलाई पखालिएन भने, यसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा प्रभाव पार्नेछ; मण्डली जीवनमा बाधा आइरहनेछ र यसले कहिल्यै शान्ति पाउनेछैन। त्यसकारण, सबै तहका मण्डली अगुवा र कामदारहरूले परमेश्‍वरका अभिप्रायहरू अनुसार र परमेश्‍वरका वचनहरूमा आधारित भएर मण्डलीलाई सफा गर्न थाल्नुपर्छ। म अति धेरै मानिसहरूमा मानवताको कमी छ भन्ने देख्छु। भेलाहरूमा, कतिपयले सबै किसिमका अनुचित व्यवहार देखाउँछन्, र बस्दा होस् वा उठ्दा, तिनीहरूले उचित चालढाल अपनाउँदैनन्, तिनीहरू आफ्‍नो छेउमा चिया, मोबाइल फोन, अनुहारमा लगाउने क्रिम, र अत्तर तयार गरेर बसेका हुन्छन्। सुन्दर देखिन मन पराउने कतिपय मानिसहरू निरन्तर ऐनामा आफ्नो रूप जाँचिरहेका हुन्छन् र मेकअप मिलाइरहेका हुन्छन्, र अरू चाहिँ सधैँ पानी पिइरहेका हुन्छन्, समाचार पढ्न वा गैरविश्‍वासी संसारका भिडियोहरू हेर्नका लागि आफ्नो फोनमा स्क्रोल गरिरहेका हुन्छन्, उपरखुट्टी लगाएर बोलिरहेका र कुराकानी गरिरहेका हुन्छन्, र शरीरलाई दुईपट्टि मोडेर सर्पझैँ बनाउँछन् र उचित शारीरिक मुद्रा समेत मिलाउँदैनन्। मैले कतिपय मानिसहरू राती आफ्नो शयनकक्षमा जान्छन् र जुत्तासमेत नखोली ओछ्यानमा सुत्छन्, र उषाकालसम्म निदाउँछन् भन्ने पनि सुनेको छु। बिहान, तिनीहरूले प्रार्थना गर्न वा आत्मिक भक्तिमा संलग्‍न हुनका लागि नभई सुरुमा आफ्नो मोबाइलमा समाचार हेर्नका लागि आँखा खोल्छन्। खाना खाने बेला, जब तिनीहरूले स्वादिष्ट खाना, वा मासु देख्छन्, तब तिनीहरू हत्तपत्त गर्दै खान थाल्छन्—आफू नअघाउञ्जेल अरूले खान पाउँछन् कि पाउँदैनन् भन्ने कुराको वास्ता गर्दैनन्—त्यसपछि तिनीहरू फेरि सिधै सुत्न जान्छन्। तिनीहरूले जे गर्दा पनि त्यसमा मानव रूपको कमी हुन्छ, तिनीहरूले गैरविश्‍वासीहरूले जस्तै लम्पट र असंयमित व्यवहार गर्छन्, कुनै नियमहरू बिलकुलै पालना गर्दैनन्, र तिनीहरूमा पशुहरूमा जस्तै अलिकति पनि आज्ञाकारिता वा समर्पण हुँदैन। ल भन त, के यस्तो गम्भीर रूपमा फोहोरी प्रकृति भएका मानिसहरूले मुक्ति पाउन सक्छन्? (सक्दैनन्।) त्यसोभए के तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छ? सत्यताको स्तरसम्म पुग्नै नसक्ने कमजोर क्षमता भएपछि, के तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दा ती बुझ्न सक्छन्? आफूलाई आचरणमा ढाल्नुका कुनै नियमहरू साथमा नभई, के तिनीहरूको श्रम मानकअनुरूप हुन सक्छ? विवेक वा समझविना, के तिनीहरूले प्रवचनहरू र सत्यताबारे गरिएको सङ्गति सुन्दा स्वीकार गर्न सक्छन्? (सक्दैनन्।) यी व्यवहारहरू प्रदर्शन गर्नेहरूमा आधारभूत रूपमा कुनै मानवता हुँदैन, त्यसकारण तिनीहरूले कसरी सत्यता प्राप्त गर्न सक्छन् त? जोसँग मानवता छैन तिनीहरू पशु, दियाबलस, आत्मा नभएका मृत मानिस हुन्, जसले सत्यता सुन्दा त्यो बुझ्न सक्दैनन् र तिनीहरू सत्यता सुन्नलायक हुँदैनन्। तिनीहरूलाई सत्यता बुझ्न र प्राप्त गर्न दिनु भनेको माछालाई जबरजस्ती जमिनमा जिउन लगाउनु वा सुँगुरलाई जबरजस्ती उड्न लगाउनु जस्तै हो—जुन असम्भव छ! यसभन्दा पहिले, कस्ता प्रकारका मानिसहरू पशु हुन् भन्नेबारे कुरा गर्दा, “पशुहरू” भन्ने शब्दमा प्रायजसो “कुकुर” भन्ने उपसर्ग जोडिन्थ्यो, त्यसकारण तिनीहरूलाई “कुकुर जस्ता पशुहरू” भनेर भनिन्थ्यो। तर, कुकुर पालेपछि र तिनीहरूसँग नजिकबाट हेलमेल गरेपछि, मैले कुकुरहरूमा मानिसहरूमा नभएका सबैभन्दा राम्रा कुराहरू हुन्छन् भन्ने पत्ता लगाएको छु: तिनीहरू नियमहरू अनुसार व्यवहार गर्छन्, आज्ञाकारी हुन्छन्, र तिनीहरूमा आत्म-सम्मानको बोध हुन्छ। तैँले तिनहरूलाई अभ्यास गर्नका लागि सीमा तय गरिस् भने तिनले यसभित्र मात्रै अभ्यास गर्छन्, र तैँले तिनलाई जान निषेध गरेका स्थानहरूमा विना कुनै अपवाद ती पटक्कै जाँदैनन्। यदि तिनले संयोगवश सीमा पार गरे भने, ती तुरुन्तै पछि हट्छन्, निरन्तर आफ्नो पुच्छर हल्‍लाउँछन्, माफी माग्छन् र आफ्नो गल्ती स्वीकार गर्छन्। के मानिसहरूले यो कुरा हासिल गर्न सक्छन्? (सक्दैनन्।) मानिसहरूमा यस्तो कुराको कमी हुन्छ। कुकुरहरूले मानिसहरूले जति नबुझ्ने भए पनि, तिनले एउटा कुरा बोध गर्छन्: “यो मालिकको क्षेत्र हो, मालिकको घर हो। म मालिकले जहाँ जान दिनुहुन्छ त्यहाँ जान्छु र मलाई जान निषेध गरिएका ठाउँहरूमा म जाँदिनँ।” पिटाइ नखाए पनि, ती त्यहाँ जाँदैनन्; तिनमा आत्म-सम्मानको बोध हुन्छ। लाज भनेको के हो भन्ने कुरा कुकुरलाई समेत थाहा हुन्छ भने मानिसहरूलाई किन थाहा हुँदैन? के लाज नभएकाहरूलाई पशुका रूपमा वर्गीकरण गर्नु अतियुक्ति हुन्छ? (हुँदैन।) यो पटक्कै अतियुक्ति हुँदैन; धेरैजसो मानिसहरूमा कुकुरको जस्तो सद्गुणसमेत हुँदैन। भविष्यमा, जब हामी कतिपय मानिसहरूलाई पशु भन्छौँ, तब हामीले तिनीहरूलाई “कुकुर जस्ता पशु” भनेर भन्न छोड्नुपर्छ; त्यसो भनेमा कुकुरहरूको अपमान हुनेछ, किनभने यी मानिसहरू, यी पशुहरू कुकुरभन्दा पनि खराब हुन्छन्। त्यसकारण, त्यस्ता मानिसहरूले एकपटक मण्डली जीवनमा वा दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य निर्वाहमा बाधा दिएपछि, तिनीहरूलाई तुरुन्तै निकाल्नैपर्छ—यो उचित, न्यायसङ्गत मात्रै हुन्छ, र अतियुक्ति हुँदै हुँदैन। यो प्रेमहीन हुनु होइन; यो त सिद्धान्त अनुसार व्यवहार गर्नु हो। लम्पट र असंयमित मानिसहरूले आफ्नो कर्तव्यमा केही परिणामहरू देखाए पनि, के तिनीहरूले मुक्ति पाउन सक्छन्? के तिनीहरू सत्यता स्वीकार गर्ने मानिस हुन्? तिनीहरूले आफ्नो व्यवहारलाई समेत नियन्त्रण गर्न सक्दैनन्, त्यसकारण के तिनीहरूले सत्यता स्वीकार गर्न सक्छन्? तिनीहरूले आफ्नै इज्जत र गरिमा कायम राख्न सक्दैनन्, त्यसकारण के तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? त्यो असम्भव छ। त्यसकारण, यी व्यक्तिहरूलाई यसरी सम्हाल्नु पटक्कै अतियुक्ति हुँदैन; यो पूर्ण रूपमा सिद्धान्तमा आधारित छ, र यो पूर्ण रूपमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई शैतानका बाधाहरूबाट रक्षा गर्ने उद्देश्यका लागि हो। सारांशमा, त्यस्ता व्यक्तिहरू पत्ता लगाएपछि, तिनीहरूलाई मैले भर्खरै उल्लेख गरेका विभिन्न सिद्धान्तहरूका आधारमा सोही अनुसार तह लगाइनुपर्छ। के साँच्चै नै लम्पट र असंयमित, र सन्तको शिष्टताविना साँच्चै नै देहमा लिप्त हुने यी मानिसहरूलाई गैरविश्‍वासी र अविश्‍वासी भनेर वर्गीकरण गर्नु अतियुक्ति हुन्छ? (हुँदैन।) तिनीहरूलाई गैरविश्‍वासी र अविश्‍वासीहरूका रूपमा वर्गीकरण गरिने हुनाले, तिनीहरूलाई मण्डलीले निकाल्नुपर्ने विभिन्न प्रकारका दुष्ट मानिसहरूको दर्जामा राख्नु अतियुक्ति हुँदैन। आफ्नो व्यवहार र आनीबानीलाई समेत नियन्त्रण गर्न नसक्ने मानिसहरूले निश्चय नै सत्यता स्वीकार गर्न सक्दैनन्। के सत्यता स्वीकार गर्न नसक्नेहरू सत्यताका शत्रु होइनन् र? (हजुर, हुन्।) के सत्यताका शत्रुहरूलाई दुष्ट मानिसहरूका रूपमा चित्रण गर्नु अतियुक्ति हुन्छ? (हुँदैन।) यो पटक्कै अतियुक्ति हुँदैन। त्यसकारण, तिनीहरूलाई सम्हाल्ने सिद्धान्तहरू पूर्ण रूपमा उचित छन्।

घ. प्रतिशोधप्रति प्रवृत्त हुनु

तेस्रो प्रकारका मानिसहरू—जो लम्पट र असंयमित छन्—तिनीहरूबारे हाम्रो सङ्गति समाप्त भएको छ। यस प्रकारका मानिसहरूबाहेक, दुष्ट मानिसहरूका वर्गमा पर्ने अरू धेरै मानिसहरू छन्, र मण्डलीले यी सबै प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउनु र निकाल्नु पर्छ। अब यसपछि, हामी चौथो प्रकारबारे छलफल गर्नेछौँ। मण्डलीले खुट्ट्याउनु र निकाल्नुपर्ने विभिन्‍न दुष्ट मानिसहरूमध्ये चौथो प्रकारका मानिसहरूले ठूलो चुनौती र समस्या निम्त्याउँछन्। तिनीहरू को हुन सक्छन्? तिनीहरू प्रतिशोधप्रति प्रवृत्त मानिसहरू हुन्। “प्रतिशोधप्रति प्रवृत्त” भन्‍ने वाक्यांशबाटै थाहा हुन्छ कि ती मानिसहरू राम्रा हुँदै होइनन्; बोलीचालीको भाषामा भन्नुपर्दा, तिनीहरू कुहिएका आलु हुन्। तिनीहरूको मानवताको नियमित प्रकटीकरण र खुलासाहरू, साथै तिनीहरूको कार्यका सिद्धान्तहरूबाट मूल्याङ्कन गर्दा, तिनीहरूको हृदय दयालु हुँदैन। प्रचलित भनाइअनुसार, तिनीहरू “अप्रिय मानिस” हुन्। हामी भन्छौँ, तिनीहरू दयालु प्रकारका होइनन्; अझै किटेर भन्दा, ती व्यक्तिहरू दयालु हृदयका हुँदैनन् बरु तिनीहरूले क्रूरता, दुर्भावना, र निर्दयता बोकेका हुन्छन्। जब कसैले ती व्यक्तिहरूका हित, इज्जत, वा हैसियतलाई छुने वा तिनीहरूलाई चिढ्याउने केही कुरा भन्छ वा गर्छ, तब, एकातिर, तिनीहरूले हृदयमा शत्रुता पाल्छन्। अर्कोतिर, तिनीहरूले यही शत्रुताका आधारमा काम गर्छन्; तिनीहरूले आफ्नो घृणा पोखाउने र आफ्नो रिस मार्ने उद्देश्य र आशयले काम गर्छन्, जसलाई प्रतिशोध लिन खोज्ने व्यवहारका रूपमा चिनिन्छ। मानिसहरूमाझ सधैँ यस्ता व्यक्तिहरूको एउटा झुण्ड हुन्छ। मानिसहरूले तिनीहरूको मानवतालाई तुच्छ, हठी, वा अति संवेदनशील जे शब्दले व्याख्या वा सारांशीकृत गरे पनि, अरूसँगको तिनीहरूको अन्तरक्रियाको साझा प्रकटीकरण भनेको तिनीहरूलाई जसले झुक्किएर वा जानीजानी चोट पुर्‍याउँछ वा चिढ्याउँछ, उसले अवश्यै दुःख पाउँछ र सोही अनुसारका परिणामहरू सामना गर्नैपर्ने हुन्छ। कतिपय मानिसहरूले भन्छन् नि: “तिनीहरूलाई चिढ्या न, अनि तैँले अपेक्षा गरेकोभन्दा बढी पाउनेछस्। यदि तैँले तिनीहरूलाई रिस उठाइस् वा चोट पुर्‍याइस् भने, सजिलै उम्कन्छु भन्‍ने नसोच्।” के मानिसहरूमाझ त्यस्ता व्यक्तिहरू हुन्छन्? (हुन्छन्।) अवश्यै हुन्छन्। चाहे जेसुकै होस्, यो रिसाउन वा सानो मन बनाउन लायक होस् कि नहोस्, प्रतिशोधप्रति प्रवृत्त मानिसहरू यसलाई आफ्नो दैनिक कार्यसूचीमा राख्छन्, र यसैलाई अत्यन्तै महत्त्वपूर्ण मामलाझैँ मान्छन्। तिनीहरूलाई जोसुकैले चिढ्याए पनि त्यो अस्वीकार्य हुन्छ, र तिनीहरू उसले पनि सोहीअनुसारको मूल्य चुकाउनुपर्छ भन्‍ने माग गर्छन्, र यही नै तिनीहरूले मानिसहरूसित, र शत्रु हुन् भन्‍ने लागेका जोकोहीसित व्यवहार गर्ने सिद्धान्त हो। उदाहरणका लागि, मण्डली जीवनमा कतिपय मानिस आफ्नो स्थितिबारे सङ्गति गर्छन् वा सामान्य रूपमा सङ्गति गर्छन् र आफ्ना अनुभवहरू बाँड्छन्, आफ्ना स्थिति र भ्रष्टताबारे छलफल गर्छन्। त्यसो गर्ने क्रममा, तिनीहरूले अनजानमै अरूको स्थिति र भ्रष्टता पनि समेट्छन्। बोल्ने व्यक्तिले अनजानमा बोलेको हुन सक्छ, तर सुन्‍ने व्यक्तिले यसलाई मनमा लिन्छ। सुनेपछि, त्यो व्यक्तिले त्यसलाई सही रूपमा बुझ्न वा लिन सक्दैन, र उसले प्रतिशोध लिने मानसिकता विकास गर्ने सम्भावना हुन्छ। यदि उसले त्यो कुरालाई छोड्दैन र आक्रमण गर्न र प्रतिशोध लिन जिद्दी गर्छ भने, यसले मण्डलीको काममा समस्या ल्याउनेछ, त्यसकारण यो मामलालाई तुरुन्तै सम्हालिनुपर्छ। जबसम्‍म मण्डलीमा दुष्ट मानिसहरू हुन्छन्, तबसम्‍म अवरोधहरू अपरिहार्य रूपमै उत्पन्न हुनेछन्, त्यसकारण दुष्ट मानिसहरूले मण्डलीमा बाधा पुर्‍याउने घटनाहरूलाई हल्का रूपमा लिनै हुँदैन। चाहे जानीजानी होस् वा नहोस्, तैँले तिनीहरूलाई रिस उठाउने वा चोट पुर्‍याउने गरिस् भने, तिनीहरूले यो कुरालाई सजिलै छोड्‍दैनन्। तिनीहरूले मनमनै सोच्छन्: “तिमी आफ्‍नै भ्रष्टताबारे बोल न, किन मेरो कुरा निकाल्छौ? तिमी आफ्नो आत्मज्ञानबारे कुरा गर न, किन मेरो खुलासा गर्छौ? मेरो भ्रष्टता खुलासा गर्दा, मैले मेरो इज्जत र मर्यादा गुमाउँछु, म दाजुभाइ-दिदीबहिनीहरूमाझ अफ्ठ्यारोमा पर्छु, मैले प्रतिष्ठा गुमाउँछु, र मेरो ख्यातिमा हानि हुन्छ। ठिकै छ त्यसोभए, म तिमीविरुद्ध प्रतिशोध साँध्नेछु; तिमीले अपेक्षा गरेको भन्दा बढ्ता पाउनेछौ! मलाई हेप्न सजिलो छ भन्‍ने नसोच, मेरो पारिवारिक अवस्था कमजोर छ र मेरो सामाजिक हैसियत उच्च छैन भन्दैमा मलाई पेलपाल गर्छु भन्‍ने नसोच। मलाई सहजै मूर्ख बनाउन सकिने व्यक्ति नसोच्; म कसैले खेलाँची गर्ने व्यक्ति होइनँ!” तिनीहरूले कसरी प्रतिशोध लिन्छन् भन्‍ने कुरा यहीँ छोडिदिऔँ; यी मानिसहरू आफैमा कस्ता हुन्छन् भन्‍नेबारे मात्र विचार गरौँ: जब तिनीहरूले यी सानातिना कुराहरू—मण्डली जीवनमा आम रूपमा हुने कुराहरू—सामना गर्छन्, तब तिनीहरूले यी कुराहरूलाई सही रूपमा लिन वा बुझ्न नसक्‍ने मात्र होइन, तिनीहरूमा त घृणासमेत पैदा हुन्छ र तिनीहरूले प्रतिशोध लिने अवसरहरू कुर्छन्, र प्रतिशोध लिन अनैतिक उपायहरूसमेत अपनाउँछन्। यसले तिनीहरूको मानवताबारे के भन्छ? (त्यो दुर्भावपूर्ण छ।) के तिनीहरू दयालु मानिस हुन्? (होइनन्।) सबैभन्दा असल मानिसहरू तिनै हुन् जसले सत्यतालाई स्विकार्न सक्छन्। जब तिनीहरूले अरूले सङ्गति गरेको र आफ्नो अनुभव बाँडेको सुन्छन्, तब तिनीहरू यसरी मनन गर्छन्: “ममा पनि यो भ्रष्टता छ। तिनीहरूले जे व्याख्या गर्छन् त्यो मेरै स्थिति जस्तो देखिन्छ। तिनीहरूले मलाई जानीजानी खुलासा गरिरहेका छन् कि मेरो स्थितिसँग मिल्दोजुल्दो कुराबारे अनजानमै बताइरहेका छन्, म यसलाई सही रूपमा बुझ्नेछु—म तिनीहरूले यसलाई कसरी अनुभव गरेका छन्, तिनीहरूले यो स्थिति समाधान गर्न कसरी सत्यता खोजी गर्छन्, साथै कसरी अभ्यास र प्रवेश गर्छन् भन्‍ने कुरा सुन्‍नेछु।” यो साँचो रूपमा सत्यता स्विकार्ने व्यक्ति हो। अलिक तल्लो स्तरको व्यक्तिले यो सुनेपछि यस्तो सोच्न सक्छ, “तिनीहरूले चिनेको भ्रष्ट स्वभाव कसरी मेरो स्थितिजस्तै भयो? के तिनीहरू मेरो बारेमा कुरा गरिरहेका छन्? ठिकै छ, तिनीहरूलाई बोल्न दिऊँ। आखिर, मैले कुनै क्षति बेहोरेको छैनँ, र धेरैजसो मानिसलाई सायद यसबारे थाहा पनि छैन। सायद तिनीहरू आफ्‍नै बारेमा कुरा गरिरहेका छन्, र यो संयोगवश मेरो स्थितिसँग मिल्न गएको हो; हामी सबैको एउटै स्थिति छ।” तिनीहरूले यसलाई गम्भीरतापूर्वक लिँदैनन्, हृदयमा कुनै घृणा पाल्दैनन्, र प्रतिशोध लिने मानसिकता विकास गर्दैनन्। तर, दयाहीन, दुष्ट मानिसहरूका हकमा भने यो फरक हुन्छ। अरूले त्यही मामलालाई सामान्य कुराका रूपमा हेर्छन्, र त्यहीअनुसार त्यसलाई सम्हाल्छन् र त्यसप्रति व्यवहार गर्छन्। अवश्य नै, सत्यतालाई स्विकार्ने असल मानिसहरूले यसलाई सक्रिय र सकारात्मक रूपमा समाधान गर्छन्। साधारण मानिसहरूले यसलाई सकारात्मक रूपमा समाधान नगरे पनि घृणा पनि पाल्दैनन्, झन् प्रतिशोध लिन खोज्नु त परको कुरा हो। तर ती दयाहीन मानिसहरूका हकमा भने, यस्तो सामान्य र अत्यन्तै साधारण कुराले पनि तिनीहरूमा भित्री रूपमा अशान्ति पैदा गर्न सक्छ, जसले गर्दा तिनीहरू शान्त हुन सक्दैनन्। तिनीहरूले पैदा गर्ने कुराहरू सकारात्मक वा साधारण हुँदैनन्, बरु क्रूर र दुष्ट हुन्छन्; तिनीहरू प्रतिशोधको खोजीमा हुन्छन्। तिनीहरूको प्रतिशोधको कारण के हो? तिनीहरू मानिसहरूले दुर्भावपूर्ण टिप्पणी गरेर जानीजानी नै तिनीहरूको अपमान गर्ने, तिनीहरूका वास्तविक अवस्था, साथै तिनीहरूका कुरूप पक्ष र भ्रष्टता खुलासा गर्ने विश्‍वास गर्छन्। तिनीहरू मानिसहरूले भनेका कुरालाई जानीजानी भनिएको कुराका रूपमा लिन्छन्, र यसरी ती मानिसहरूलाई शत्रु ठान्छन्। त्यसपछि, तिनीहरूले यस मामलालाई टुङ्ग्याउन बदला प्रयोग गर्नु उचित ठान्छन्, र प्रतिशोध लिने उद्देश्य हासिल गर्नका लागि विभिन्‍न उपायहरू अपनाउँछन्। के यो क्रूर स्वभाव होइन र? (हो।) मण्डली जीवनमा, जब दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो स्थितिबारे कुरा गर्छन्, तब धेरैजसो श्रोताहरूले यसलाई आफूसँग जोड्न र परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्छन्। जो सत्यताप्रति वितृष्ण छन् र जोसँग दुष्ट स्वभाव छ तिनीहरूले मात्रै यो सुनेपछि शत्रुता र प्रतिशोधी मानसिकतासमेत पैदा गर्छन्, जसले गर्दा तिनीहरूको प्रकृति सार पूर्ण रूपमा खुलासा हुन्छ। प्रतिशोधी मानसिकता पैदा भएपछि, प्रतिशोधी व्यवहार र कार्यहरू श्रृङ्खलाबद्ध रूपमा देखा पर्छन्। जब प्रतिशोध लिने कार्यहरू देखा पर्छन्, तब मानिसहरूबीचका सम्बन्धहरूको के हाल हुन्छ? ती उचित रहँदैनन्। अनि यसमा वास्तवकि पीडित चाहिँ को हुन्छ? (तिनीहरूले प्रतिशोध लिन खोजेको व्यक्ति।) ठिक भन्यौ। वास्तविक पीडितहरू ती हुन् जसले आफ्नो अनुभवात्मक गवाहीबारे सङ्गति गर्छन्। त्यसपछि प्रतिशोधप्रति प्रवृत्त मानिसहरूले आफ्‍नो खुलासा गर्ने वा आफूप्रति शत्रुता राख्‍ने ठानेका मानिसहरूलाई विभिन्‍न परिस्थितिमा बोली वा व्यवहार प्रयोग गरेर आलोचना गर्ने, आक्रमण गर्ने, र फसाउने वा निन्दा गर्ने समेत गर्छन्। प्रतिशोधप्रति प्रवृत्त मानिसहरूले हृदयमा अस्थायी घृणा बोकेर त्यसलाई त्यसैमा सीमित राख्‍ने गर्दैनन्; तिनीहरू आफ्नो प्रतिशोधका निशानामा रहेका मानिस, आफूले शत्रु ठानेका, र आफूलाई मन नपर्ने मानिसहरूविरुद्ध प्रतिशोध लिन हरकिसिमका अवसरहरू खोज्‍ने र सिर्जना गर्नेसमेत गर्छन्। उदाहरणका लागि, अगुवाहरूको चुनावको दौरान, यदि तिनीहरूले शत्रु ठानेको व्यक्ति परमेश्‍वरको घरका मानिसहरूलाई प्रयोग गर्ने सिद्धान्तहरूअनुसार छ र ऊ अगुवाका रूपमा निर्वाचित हुन योग्य छ भने, तिनीहरूको शत्रुताले गर्दा तिनीहरूले त्यस व्यक्तिलाई आलोचना, निन्दा, र आक्रमण गर्छन्। तिनीहरूले बदला लिनका लागि पर्दापछाडि रहेरसमेत कार्य गर्न सक्छन् वा त्यस व्यक्तिलाई हानि गर्ने कार्यहरू समेत गर्न सक्छन्। सारांशमा भन्‍नुपर्दा, प्रतिशोध लिने तिनीहरूका उपायहरू विविध हुन्छन्। उदाहरणका लागि, तिनीहरूले कसैविरुद्ध प्रयोग गर्न गलचेपहरू खोजेर उसको कुरा काट्न सक्छन्, बढाइचढाइ र आधारहीन हल्लाहमार्फत त्यस व्यक्तिबारे अफवाह रच्न, वा त्यो व्यक्ति र अरूबीच मतभेद फैलाउन सक्छन्। तिनीहरूले त्यो व्यक्ति कर्तव्य निर्वाहमा अबफादार छ, र उसले नकारात्मकतामार्फत प्रतिरोध गर्छ भनेर दाबी गर्दै अगुवाहरूसामु उसलाई झूटो आरोपसमेत लगाउन सक्छन्। वास्तवमा यी सबै जानीजानी रचिएका झूट हुन्, र आधारहीन कुरा मात्र हुन्। हेर त, त्यो व्यक्तिबारे तिनीहरूले गर्ने शङ्का र गलतफहमीहरूबाट कसरी यति धेरै अनुचित व्यवहार र कार्यहरू उत्पन्न हुन्छन्; यी सबै शैलीहरू तिनीहरूको प्रतिशोधी प्रकृतिबाट आएका हुन्छन्। वास्तवमा, जब त्यो व्यक्तिले आफ्ना अनुभवात्मक गवाहीहरू बाँडेको थियो, त्यो बिलकुलै तिनीहरूप्रति लक्षित थिएन; तिनीहरूप्रति कुनै दुर्भावनाको अभिप्राय थिएन। तिनीहरू सत्यताप्रति वितृष्ण रहेकाले र तिनीहरूमा प्रतिशोधप्रति प्रवृत्त क्रूर स्वभाव भएको हुनाले नै अरूलाई तिनीहरूले आफ्‍नो खुलासा गर्न दिँदैनन्, न त तिनीहरूले आफूलाई चिन्‍नेबारे छलफल गर्न, भ्रष्ट स्वभावबारे छलफल गर्न, वा आफ्नो शैतानी प्रकृतिबारे कुरा गर्न नै दिन्छन्। जब त्यस्ता विषयहरूबारे छलफल गरिन्छ, तब तिनीहरू आफूलाई नै लक्षित र खुलासा गरिएको हो भन्‍ने अनुमान गर्दै रिसाउँछन्, र यसरी तिनीहरूले प्रतिशोधी मानसिकता विकास र निर्माण गर्छन्। प्रतिशोध बोक्ने यस्तो व्यक्तिका प्रकटीकरणहरू बिलकुलै कुनै एउटा परिस्थितिमा मात्र सीमित हुँदैन। म किन यसो भन्दै छु? किनभने त्यस्ता व्यक्तिहरूमा क्रूर प्रकृति हुन्छ; कसैले पनि तिनीहरूलाई उक्साउन वा उत्तेजित पार्न मिल्दैन। तिनीहरूमा बिच्छी वा खजुरोमा जस्तै अन्तर्निहित रूपमै कुनै पनि व्यक्ति र कुनै पनि कुराप्रति आक्रामकता रहेको हुन्छ। त्यसकारण, कसैले चाहे जानीजानी होस् वा अनजानमा बोलेर तिनीहरूलाई चिढ्यायो वा चोट पुर्‍यायो भने, तिनीहरूलाई आफ्नो गौरव वा प्रतिष्ठा गुमेको छ भन्‍ने लागेमा, तिनीहरूले आफ्नो गौरव र प्रतिष्ठा जोगाउने उपायहरू सोच्नेछन्, जसले गर्दा तिनीहरू श्रृङ्खलाबद्ध प्रतिशोधी कार्यहरूमा संलग्‍न हुनेछन्।

यसपछि, म प्रतिशोधप्रति प्रवृत्त मानिसहरूका अरू प्रकटीकरणहरू सङ्गति गर्नेछु। कतिपय मानिसहरू झाराटारुवा रूपमा आफ्नो कर्तव्य पूरा गरेका हुनाले अगुवाहरूबाट काटछाँटमा पर्छन्, जसले गर्दा तिनीहरूले असन्तुष्टि पाल्छन्। ल भन त, के तिनीहरूलाई काटछाँट गर्नु न्यायोचित हो? (हो।) यो पूर्ण रूपमा न्यायोचित र सामान्य कुरा हो। यदि तैँले झाराटारुवा रूपमा आफ्नो कर्तव्य पूरा गर्छस्, र मण्डलीको काममा हानि गर्छस्, साथै तैँले सिद्धान्तहरू अनुसार कार्य गर्दैनस्, र कुनै व्यक्ति तँलाई खुलासा र काटछाँट गर्न खडा हुन्छ भने, त्यो न्यायोचित हो, र तैँले यसलाई स्वीकार गर्नुपर्छ। तर, प्रतिशोधप्रति प्रवृत्त मानिसहरूले यसलाई स्वीकार गर्न नमान्ने मात्र नभई असन्तुष्टि पनि पाल्छन्। अगुवाहरू गएपछि, तिनीहरू गालीगलौज बर्साउन थाल्छन्: “तैँले केको धाक लगाइरहेको छस्? तँसँग एउटा आधिकारिक पद भएको मात्रै होइन र? यदि मसँग त्यस्तो पद भएको भए, मैले तैँलेभन्दा राम्रो गर्नेथिएँ! मलाई काटछाँट गर्ने रे, तैँले आफूलाई को ठानेको छस्? मलाई काटछाँट गर्ने तँलाई म घृणा गर्छु। तँलाई कारले किचोस्, तँ पानी पिउँदा सर्केर मर्, तँ खाना खाँदा सर्केर मर्, यो मेरो तँलाई सराप भयो। तँ बिजोग तरिकाले मर्! तैँले मलाई काटछाँट गर्ने आँट गर्ने? पृथ्वीमा मलाई काटछाँट गर्न आँट गर्ने कोही छैन!” जब ती अगुवाहरूलाई केही मामलाहरूका कारण माथिल्लो तहका अगुवाहरूले काटछाँट गर्छन्, तब तिनीहरू ती अगुवाहरूको दुर्भाग्य देखेर रमाउँछन् र अत्यन्तै खुसी हुन्छन्, र गीत गुनगुनाउँदै मनमनै सोच्छन्: “कस्तो लाग्यो त? तैँले धाक लगाइस्, र अहिले तैँले बदला पाइरहेको छस्! जसले मलाई काटछाँट गर्छ, म उसको जीवन दुःखी बनाइदिनेछु!” त्यस्ता मानिसहरूका बारेमा तिमीहरूलाई के लाग्छ? (तिनीहरू दुर्भावपूर्ण हुन्छन्।) तिनीहरू काटछाँटमा पर्नु जति नै न्यायोचित भए पनि, तिनीहरूले त्यसलाई स्वीकार गर्न सक्दैनन्। तिनीहरूले निरन्तर तर्क गर्छन् र आफ्नो बचाव गर्छन्, र पछि तिनीहरूले अझै पनि झाराटारुवा तरिकाले नै आफ्नो कर्तव्य पूरा गरिरहन्छन्, बारम्बार चेतावनी दिइँदा पनि तिनीहरू सुध्रनै सक्दैनन्। यदि तैँले सधैँ झाराटारुवा तरिकाले कार्य गर्छस् भने, परमेश्‍वरको घरमा तँलाई काटछाँट मात्र गरिनेछ; यदि तँ बाहिरी संसारमा जागिर खाँदै छस् र झाराटारुवा तरिकाले कार्य गर्छस् भने, तँ बर्खास्त हुन सक्छस् र तैँले आफ्नो रोजीरोटी गुमाउन सक्छस्। प्रायजसो परमेश्‍वरको घरको सिद्धान्त भनेको सत्यता सङ्गति गर्नु र प्रेमका साथ सहयोग गर्नु हो, ताकि धेरैजसो मानिसहरूले सत्यता पछ्याउन र सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सकून्। वास्तवमा, अगुवा र कामदारहरूमध्ये, थोरैले मात्रै कठोर काटछाँटको सामना गर्न सक्छन्। धेरैजसो मानिसहरूले आस्था, सचेतना, विवेक, र समझका आधारमा काम गर्छन्, परमेश्‍वरको छानबिनलाई स्वीकार गर्छन्, र गम्भीर गल्तीहरू गर्दैनन्, त्यसकारण तिनीहरूले कठोर काटछाँटको सामना गर्दैनन्। तर, काटछाँटमा पर्नु राम्रो कुरा हो; कति जना मानिसहरूले, विशेषगरी माथिले गर्ने, काटछाँटको सामना गर्न पाउँछन्? यसले आत्मज्ञान र जीवन वृद्धिका लागि ठूलो अवसर प्रस्तुत गर्छ। विश्‍वासीहरूले कम्तीमा पनि काटछाँट गरिनुको महत्त्व बुझ्नुपर्छ, र यसलाई असल कुराका रूपमा चिन्नुपर्छ। निश्चित व्यक्तिहरूबाट गरिने काटछाँट पूर्णतया सिद्धान्तहरू अनुरूप नहुने, त्यसमा व्यक्तिगत झुकाव र आवेग मिसिएको हुने भए पनि, तैँले आफ्ना कार्यहरूका कुन-कुन पक्षहरू सिद्धान्तहरू अनुरूप छैनन् भनेर हेर्न आफूलाई जाँच्नुपर्छ र त्यसलाई सकारात्मक रूपमा स्वीकार गर्नुपर्छ; यसो गर्दा तँलाई फाइदा हुन्छ। तर, यी दुष्ट मानिसहरूले न्यायोचित काटछाँटलाई समेत स्वीकार गर्न सक्दैनन्। तिनीहरूले प्रतिशोध साँध्न कुनै कदम नउठाए पनि, तिनीहरूको हृदय ठूलो असन्तुष्टिले भरिएको हुन्छ, र तिनीहरूले सराप्छन् र अपशब्द बोल्छन्। जब तिनीहरूलाई काटछाँट गर्नेहरूले आफै काटछाँटको सामना गर्छन् वा तिनीहरूलाई प्रतिकूलता आइपर्छ, तब तिनीहरू नयाँ वर्ष मनाइरहेको बच्चाभन्दा बेसी खुसी हुन्छन्। यो नै दुष्ट मानिसहरूको प्रकटीकरण हो। कतिपय मानिसहरू यस्ता पनि हुन्छन्, जो आफ्नो कर्तव्य पूरा गर्दा प्रतिस्पर्धात्मक हुन्छन्; प्रायजसो, तिनीहरूले सिद्धान्तहरू पालना गर्दैनन् र झाराटारुवा तरिकाले कार्य गर्छन्, जसले गर्दा तिनीहरूको कर्तव्य निर्वाह निष्फल हुन्छ। जब अगुवाहरूले तिनीहरूका समस्याहरूबारे सङ्गति गर्छन् र तिनीहरूलाई काटछाँट गर्छन्, तब प्रतिशोधप्रति प्रवृत्त मानिसहरूले यस कुरालाई सही तरिकाले लिन सक्दैनन्। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा देखाएको आफ्नो झाराटारुवापन र सिद्धान्तको कमीलाई भित्री रूपमा स्वीकार गरे पनि, काटछाँट गरिनुको प्रत्युत्तरमा तिनीहरूले प्रतिशोध साँध्ने विचार र कार्यहरूको विकास गर्छन्। त्यसपछि, तिनीहरूले अगुवाहरूलाई झूटो आरोप लगाउँदै पत्रहरू लेख्छन्, अगुवाहरूलाई बर्खास्त गर्ने प्रयासमा तिनीहरूका केही अभ्यास र भ्रष्टताका प्रकटीकरणहरूको फाइदा उठाउँदै बढाइचढाइ गर्छन् र माथिल्लो तहमा रिपोर्ट गर्छन्। यदि तिनीहरूको उद्देश्य हासिल भएन भने, तिनीहरूले पर्दा पछाडि अन्तर्ध्वंस गर्छन् र बाधा निम्त्याउँछन्, र जिद्धीपूर्वक अगुवाहरूका बन्दोबस्तहरूलाई प्रतिरोध गर्छन्। तिनीहरूले मण्डलीको काम, परमेश्‍वरको घरले माग गर्ने सिद्धान्तहरू, वा आफ्नो कर्तव्य पूरा गर्नुको प्रभावकारितालाई ख्याल गर्दैनन्; तिनीहरू आफ्नो रिस पोखाउनमा मात्रै ध्यान दिन्छन्। तिनीहरूले कसैको कुरा सुन्न मान्दैनन्, अगुवा र कामदारहरूको चेतावनीलाई समेत इन्कार गर्छन्। तिनीहरूले आमनेसामने भएरै मुख नलागे पनि वा सिधै प्रतिरोध नगरे पनि, पर्दा पछाडि, तिनीहरूले नकारात्मकता पोखाउन, विरोधमा आफ्नो काम नगर्न, र परमेश्‍वरको घरका कामका बन्दोबस्तहरूका विरुद्धमा वा अगुवा र कामदारहरूका विरुद्धमा प्रयोग गर्न कुनै पनि कमजोरीको फाइदा उठाउन सक्छन्। तिनीहरूले धारणाहरूसमेत फैलाउँछन्; तिनीहरू आफै नकारात्मक हुन्छन् र आफ्नो कर्तव्य पूरा गर्न अनिच्छुक हुन्छन्, तर तिनीहरूले अझै धेरै मानिसहरूलाई नकारात्मक र सुस्त हुन र आफ्नो कर्तव्यलाई बेवास्ता गर्न लगाउने प्रयास पनि गर्छन्। तिनीहरूको सिद्धान्त के हो? “मलाई मर्न डर लाग्दैन; मैले आफूसँगै घिसारेर लग्नका लागि कसैलाई खोज्नुपर्छ। अगुवाहरूले मेरो कर्तव्य निर्वाह मानकअनुरूप भएन भनेर मलाई काटछाँट गर्छन्—त्यसोभए म सबैजना आफ्नो कर्तव्य राम्ररी पूरा असफल हुने सुनिश्चित गर्नेछु। यदि मैले राम्ररी गरिरहेको छैनँ भने, तिमीहरू कसैले पनि गर्नेछैनौ! अगुवाहरूले मलाई काटछाँट गर्छन्, र तिमीहरू सबै मलाई हेरेर हाँस्छौ; म तिमीहरू सबैको जीवन कठिन बनाउनेछु!” जब तिनीहरूले झाराटारुवा तरिकाले वा सिद्धान्तहरूविरुद्ध गएर आफ्नो कर्तव्य पूरा गर्छन्, र कसैले अगुवाहरूलाई यस कुराको रिपोर्ट गर्छ, तब तिनीहरूले यस विषयमा अनुसन्धान गर्छन्: “मेरो रिपोर्ट कसले गर्‍यो? अगुवाहरूलाई मेरो बारेमा कसले भन्यो? अगुवाहरूसँग निकट सम्पर्कमा को छ? यदि मैले मेरो बारेमा माथिल्लो तहका अगुवाहरूलाई कसले रिपोर्ट गरेको हो भन्ने थाहा पाएँ भने, म त्यो व्यक्तिलाई कुनै दयामाया देखाउनेछैनँ! म त्यसलाई कहिल्यै छोड्नेछैनँ!” तिनीहरूले कठोर अभिव्यक्तिहरू दिन सक्ने मात्र नभई, अवश्य नै, तिनीहरूले यस्ता धम्कीहरू पनि दिन सक्छन्। यी व्यक्तिहरूसँग प्रतिशोध साँध्ने धेरै खराब र गोप्य रणनीतिहरू हुन्छन्, तिनीहरूले अरूको आलोचना र निन्दा गर्न कमजोरीको फाइदा मात्रै उठाउँदैनन्; कतिपयले जानीजानी आफूले प्रतिशोध साँध्न चाहेको व्यक्तिको ल्यापटप चार्जर चोर्छन्, जसले गर्दा उसले आफ्नो ल्यापटप चार्ज गर्न सक्दैन र उसलाई कर्तव्य निर्वाहमा बाधा पुग्छ। अरूले चाहिँ जानीजानी कसैको खानामा खानै नमिल्ने गरी धेरै नुन हाल्दिन्छन्। गैरविश्‍वासीहरूले आम रूपमा प्रयोग गर्ने बदलाका यी निकृष्ट उपायहरू मण्डलीभित्रकै दुष्ट मानिसहरूले पनि प्रयोग गर्छन्। प्रतिशोध साँध्ने तिनीहरूका विधिहरू यीभन्दा धेरै व्यापक हुन्छन्, जसमा हामीले पहिले कहिल्यै नदेखेका केही अनैतिक रणनीतिहरू पनि पर्छन्; हामी त केवल केही सरल उदाहरणहरू मात्रै उद्धृत गरिरहेका छौँ। तीमध्ये, कतिपय व्यक्तिहरूले जानीजानी अरूका लागि समस्या, अवरोध, र कठिनाइहरू सिर्जना गर्छन्; यो भइरहने घटना हो। हरेक समूहमा, विभिन्न परिस्थिति र वातावरणहरूमा, प्रतिशोधप्रति प्रवृत्त मानिसहरूको क्रूर स्वभाव निरन्तर खुलासा हुन्छ। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूका प्रतिशोधी प्रकटीकरणहरू झनै स्पष्ट हुन्छन्। मण्डलीभित्र दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू रहुन्जेल, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने र सत्यता पछ्याउने उहाँका चुनिएका मानिसहरूलाई बाधा परिरहनेछ। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू उपस्थित भएको हरेक दिन मण्डलीलाई कुनै शान्ति हुँदैन—असल मानिसहरूलाई आक्रमण र बहिष्कार गरिनेछ; विशेष गरी, सत्यता पछ्याउनेहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको शत्रुता र प्रतिशोधको सामना गर्नेछन्। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले कसरी अरूलाई सास्ती दिन्छन् र अरूविरुद्ध प्रतिशोध लिन्छन्? सुरुमा, तिनीहरूले सत्यता पछ्याउने र सिद्धान्तहरू पालना गर्नेहरूलाई निसाना बनाउँछन्। यी दुष्ट व्यक्तिहरूले सत्यता पछ्याउनेहरू मात्रै तिनीहरूका लागि सबैभन्दा हानिकारक हुन्छन् भन्ने कुरा स्पष्ट रूपमा बुझ्छन्। सर्वप्रथम, सत्यता बुझ्ने मानिसहरूले तिनीहरूलाई खुट्ट्याउन सक्छन्; यदि तिनीहरूले कुनै खराब काम गरेमा, सत्यता बुझ्ने मानिसहरूले तिनीहरूलाई छर्लङ्गै देख्नेछन्। दोस्रो, सत्यता बुझ्ने मानिसहरू उपस्थित हुँदा, तिनीहरूका दुष्ट कार्यहरू केही हदसम्म सीमित हुनेछन्, जसले गर्दा तिनीहरूलाई आफ्नो उद्देश्य हासिल गर्न गाह्रो हुनेछ। यस दृष्टिकोणबाट हेर्दा, सत्यता पछ्याउनेहरू मात्रै मण्डलीको कामका रक्षक हुन्। सत्यता पछ्याउने मानिसहरू उपस्थित हुँदा, ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले तानासाही रूपमा काम गर्ने आँट गर्दैनन् र तिनीहरूले केही संयमता अभ्यास गर्नैपर्छ। त्यसकारण, सत्यता पछ्याउनेहरू ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूका लागि आँखाका कसिङ्गर हुन्, तिनीहरूका टाउको दुखाइ हुन्, त्यसकारण तिनीहरूले प्रतिशोध लिने उपायहरू खोज्छन्।

जब दुष्ट मानिसहरूले प्रतिशोध लिन्छन्, तब तिनीहरूले क्रूर स्वभाव देखाउँछन्, तिनीहरू अव्यावहारिक हुन्छन् र तिनीहरूमा चेतनाको कमी हुन्छ। केही समय तिनीहरूसँगै बिताएका र तिनीहरूलाई बुझेका मानिसहरू केही हदसम्म तिनीहरूदेखि डराउँछन्। तिनीहरूसँग कुराकानी गर्नका लागि अत्यन्तै होसियारी र शिष्टता चाहिन्छ, र यसमा अत्यधिक मात्रामा आदर आवश्यक हुन्छ। तिनीहरूले त्यस्ता मानिसहरूलाई निरन्तर सन्तुष्ट पार्नुपर्छ र तिनीहरूका आवश्यकताहरूको ख्याल गर्नुपर्छ, र तिनीहरूमा रहेका कुनै पनि समस्या वा त्रुटिहरूलाई सिधै औँल्याउन मिल्दैन। बरु, तिनीहरूले यी समस्याहरूका बारेमा घुमाउरो तरिकाले, फकाइफुल्याइ गरेर छलफल गर्नुपर्छ, र कुरा गरेपछि, यसो भन्दै तिनीहरूको प्रशंसा पनि गर्नुपर्छ, “तपाईँमा यो त्रुटि वा कमीकमजोरी भए पनि, तपाईँले हामीभन्दा छिटो सीप सिक्नुहुन्छ, तपाईँको व्यावसायिक सामर्थ्य अरूको भन्दा बलियो छ, र तपाईँको कार्यकुशलता हाम्रोभन्दा उच्च छ। म तपाईँका गल्तीहरूलाई सबल पक्षका रूपमा हेर्छु।” तिनीहरूले यस्ताहरूको चापलुसीसमेत गर्नुपर्छ। तिनीहरूले किन यसो गर्छन्? तिनीहरूको प्रतिशोधको डरले। यसरी, यी दुष्ट व्यक्तिहरू खुसी हुन्छन्, र तिनीहरूलाई हृदयमा शान्त महसुस हुन्छ। तिनीहरूको प्रतिशोधबाट जोगिनका लागि, धेरैजसो मानिसहरू आफूले पत्ता लगाएका कुनै पनि समस्याहरू तिनीहरूसँग आमने-सामने भएर उठाउन डराउँछन्, न त तिनीहरूले यी समस्याहरूको रिपोर्ट गर्ने आँट नै गर्छन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूमा हानि गरिरहेका छन्, र तिनीहरूको जिद्दीपन र लापरवाही स्वेच्छाचारिताका कारण मण्डलीको काममा ढिलाइ भइरहेको छ भन्ने कुरा स्पष्ट हुँदा पनि, वा तिनीहरूको निर्देशन र सिद्धान्तहरूमा केही विकृतिहरू देखिएका भए पनि, कसैले पनि आपत्ति जनाउने वा माथिल्लो तहमा तिनीहरूको रिपोर्ट गर्ने आँट गर्दैन। तिनीहरूको क्रूर स्वभाव र प्रतिशोधप्रति प्रवृत्त तिनीहरूको मानवताका कारण, अरू तिनीहरूदेखि अलिक डर मान्छन्, तिनीहरूलाई रिस उठ्छ तर यसबारे बोल्न साह्रै डर लाग्छ। तिनीहरूसँगको कुराकानी अत्यन्तै शिष्ट र चलाखीपूर्ण हुनुपर्छ, र तिनीहरूप्रति अत्यन्तै दयालु, कोमल, र शिष्ट मनोवृत्ति देखाइनुपर्छ। जब मानिसहरूले तिनीहरूसँग आदर र शिष्टताका साथ बोल्छन्, तिनीहरूसामु झुक्छन्, तब तिनीहरू भित्री रूपमा सहज महसुस गर्छन्। तर, यदि कसैले सिधा कुरा गर्छ, तिनीहरूका समस्याहरूको खुलासा गर्छ र सुझावहरू दिन्छ भने, तिनीहरू खिन्न हुन्छन्, र तिनीहरूले यसलाई अनादरका रूपमा, अरूले तिनीहरूप्रति आपत्ति जनाएको वा शत्रुता देखाएको रूपमा लिन्छन्। यस कुराले तिनीहरूलाई त्यस व्यक्तिप्रति प्रतिशोध साँध्न र उसलाई सास्ती दिन प्रेरित गर्छ; तिनीहरूले उसलाई ढाल्नुपर्छ र उसको नामलाई बदनाम गर्नुपर्छ। यदि त्यो व्यक्ति तिनीहरूको हातमा पर्‍यो भने, उसको अन्त्य राम्रो हुनेछैन। के त्यस्ता मानिसहरू डरलाग्दा हुन्छन्? (हुन्छन्।) यदि तैँले तिनीहरूलाई बुझिनस् र तिनीहरूलाई चिढ्याइस् भने, तिनीहरूले तँविरुद्ध द्वेष पाल्नेछन्, खाने र सुत्ने बेलामा समेत तँसँग बदला लिने बारेमा मनन गर्नेछन्। तँ तिनीहरूको निसाना बनेपछि, जसरी पनि समस्या आउँछ, किनभने तिनीहरूले प्रतिशोध लिने दृढता लिएका हुन्छन्। बाहिरी रूपमा तिनीहरूले तँसँग पहिले जस्तै कुरा गर्लान्, तर तिनीहरूले प्रतिशोध लिने बारेमा मनन गर्नेबित्तिकै, तैँले तिनीहरूलाई यसभन्दा पहिले जे गरेको छस् वा भनेको छस्, त्यो सबै तिनीहरूका लागि हतियार बनिदिन्छ। तिनीहरूले तँलाई शत्रुका रूपमा लिनेछन्, र तिनीहरूले पर्याप्त रूपमा बदला लिएको महसुस नभएसम्म र तिनीहरू पूर्ण रूपमा सन्तुष्ट नभएसम्म अलिअलि गर्दै प्रतिशोध लिनेछन्। दुष्ट मानिसहरूसँग सङ्गत गर्नुको परिणाम यही हो।

प्रतिशोधप्रति प्रवृत्त मानिसहरूले आफ्नो विभिन्न व्यवहारका आधारमा र तिनीहरूले कार्य गर्ने र आफूलाई आचरणमा ढाल्ने सिद्धान्त र विधिहरूका आधारमा, दयालु हृदय भएका र सबैप्रति मिलनसार र कसैसँग व्यवहार गर्दा सिद्धान्तहरूको कमी हुने मानिसहरूलाई बाहेक लगभग सबैलाई खतरामा पार्छन्—त्यस्ता व्यक्तिहरू क्रूर मानिसहरूका वरिपरि सुरक्षित हुन्छन्। तर, विवेक वा इन्साफको अलिकति पनि बोध भएका मानिसहरूले प्रतिशोधप्रति प्रवृत्त मानिसहरूको उपस्थितिमा फरक-फरक हदसम्म र धेरथोर मात्रामा खतराको महसुस गर्छन्। गम्भीर अवस्थामा, तिनीहरूले शारीरिक हानि वा ज्यानको धम्कीसमेत सामना गर्न सक्छन्, जबकि अलि हल्का परिदृश्यमा, तिनीहरू गालीगलौज, बदनामी, वा षड्यन्त्रको सिकार हुन सक्छन्। यी प्रतिशोधप्रति प्रवृत्त मानिसहरूको क्रूर स्वभावका समग्र प्रकाश र प्रकटीकरणहरूमा पर्छन्। त्यस्ता मानिसहरूका समग्र प्रकटीकरणहरूका आधारमा भन्दा, तिनीहरूले पनि दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीभित्रै बाधाहरू निम्त्याउँछन्। यी प्रतिशोधी मानिसहरूसँग अन्तरक्रिया गर्ने लगभग सबै जना तिनीहरूको प्रतिशोधका निसाना बन्छन् र लगभग सधैँ नै पीडित बन्छन्। प्रतिशोधप्रति प्रवृत्त मानिसहरूमा क्रूर स्वभाव हुन्छ, र तिनीहरू कुनै पनि बेला विस्फोट हुन सक्ने टाइमबम हुन्। तिनीहरूले भीडको पछि लागेर आफ्नो कर्तव्य पूरा गर्न र सामान्य मण्डली जीवन जिउन सक्ने भए पनि, तिनीहरूको मानवताका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूले कुनै पनि बेला प्रतिशोध साँध्न र अरूलाई खतरामा पार्न, साथै मानिसहरूलाई तिनीहरूदेखि डर मान्न र सावधान हुन लगाउन सक्छन्। के यो नै अधिकांशका लागि बाधा बन्दैन र? (बन्छ।) तिनीहरूलाई नचिढ्याउन, तिनीहरूलाई खुसी पार्न, र तिनीहरूको द्वेष र प्रतिशोधबाट जोगिनका लागि, मानिसहरूले सधैँ तिनीहरूको अभिव्यक्तिलाई ध्यान दिनुपर्छ र तिनीहरूको बोलीवचनको अन्तर्निहित अर्थ सुन्नुपर्छ, र तिनीहरूले बोल्दा तिनीहरूका अभिप्राय, उद्देश्य, र दिशाहरू पत्ता लगाउने प्रयास गर्नुपर्छ। यस दृष्टिकोणबाट हेर्दा, के धेरैजसो मानिसहरू तिनीहरूद्वारा बाधित मात्र नभई नियन्त्रित पनि हुँदैनन् र? (हुन्छन्।) त्यसकारण, यस मामलाको प्रकृतिलाई हेर्दा, के त्यस्ता प्रतिशोधी व्यक्तिहरू दुष्ट मानिस होइनन् र? (हुन्।) तिनीहरूलाई दुष्ट मानिस भनेर चित्रण गरिनुपर्छ भन्ने कुरा अत्यन्तै प्रस्ट छ। यदि त्यस्ता व्यक्तिहरूको अवस्था बुझ्ने प्रयास गरियो भने, धेरैजसो मानिसहरू तिनीहरूबारे सत्यता बोल्न डराउँछन्, र तिनीहरूका बारेमा सोधिएको हरेक प्रश्नलाई “ठीकै छ” भन्ने जस्ता अप्रतिबद्ध जबाफ दिएर पन्छाउँछन्, तिनीहरूका समस्याहरूको रिपोर्ट गर्ने र तिनीहरूबारे कुरा गर्ने वा तिनीहरूको मूल्याङ्कन गर्ने आँट गर्दैनन्। के यो कष्टदायी अवस्था होइन र? कतिपयले भन्छन्, “यस्ता दुष्ट मानिसहरूले कुनै पनि बेला र कुनै पनि ठाउँमा प्रतिशोध साँध्न सक्छन्; तिनीहरूलाई उत्तेजित पार्ने आँट कसले गर्छ र? यसका साथै, तिनीहरूले सधैँ आपराधिक तथा वैध वृत्त दुवैसँग आफ्नो सम्बन्ध रहेको दाबी गर्छन्, र यदि कसैले तिनीहरूलाई चिढ्यायो भने, त्यस व्यक्तिलाई राम्रो हुनेछैन, तिनीहरूले उसलाई पाठ सिकाउनेछन्, र उसको परिवारको दुःखद मृत्यु हुनेछ भनेर धम्की दिन्छन्। त्यसकारण, कसैले पनि तिनीहरूलाई उत्तेजित पार्ने आँट गर्दैन। तिनीहरूलाई त्यत्तिकै छोडिदिऊँ, र हामी आफ्नो भलाइको आशा मात्रै गरौँ।” हेर् त, मण्डलीमा यस्तो परिस्थिति निर्माण हुन्छ, जसको अर्थ तिनीहरूले यी मानिसहरूलाई नियन्त्रण गरिसकेका छन् भन्ने हुन्छ। प्रतिशोध साँध्नुमा तिनीहरूको क्रूर स्वभाव देखेपछि, मानिसहरूले तिनीहरूलाई आरोप लगाउने वा काटछाँट गर्ने आँट गर्दैनन्, न त तिनीहरूबारे आफ्नो साँचो मूल्याङ्कन बताउने आँट नै गर्छन्। तिनीहरूलाई चिढ्याउने डरले तिनीहरूका वरिपरि कुराकानी गर्दा एकदमै ध्यान पुर्‍याउनुपर्छ, र तिनीहरूको पिठ्युँपछाडि तिनीहरूका साँचो प्रकटीकरणहरूका बारेमा किटेर कुरा गर्नु समेत साह्रै डरलाग्दो हुन्छ। मानिसहरू केको डर मान्छन्? तिनीहरू आफ्नो कुरा प्रतिशोधी व्यक्तिको कानमा पुग्छ, र उसले तिनीहरूविरुद्ध प्रतिशोध साँध्नेछ भनेर डर मान्छन्। बोलेपछि, तिनीहरूले निधारमा प्याट्ट हान्दै भन्छन्, “अहो, होइन, आज मैले जथाभाबी बोलेँ। हेर है त, मैले यसका लागि कष्ट भोग्‍नुपर्छ। म किन मुख बन्द गर्न सक्दिनँ?” त्यसपश्चात, तिनीहरू निरन्तर डर र तनावमा जिउँछन्, जीवनमा सधैँ सतर्क रहन्छन्, त्यो व्यक्तिको वरिपरि हुँदा सधैँ नियाल्छन्, र सोच्छन्, “के उसलाई मैले भनेको कुरा थाहा छ? के यो कुरा उसको कानमा पुगेको छ? के मप्रति उसको मनोवृत्ति पहिलेको जस्तै छ?” तिनीहरूले जति बढी, तिनीहरू त्यति नै व्याकुल हुन्छन्, र यो कुरा जति लामो समयसम्म चलिरहन्छ, तिनीहरूको डर त्यति नै बढ्छ, त्यसकारण तिनीहरूले उसलाई पूरै टार्नु नै राम्रो हुन्छ भन्ने निर्णय गर्छन्, र सोच्छन्, “म उसलाई उत्तेजित पार्ने जोखिम लिन सक्दिनँ, तर कम्तीमा म ऊबाट टाढा बस्न त सक्छु। मैले भनेको कुरा उसलाई थाहा भए पनि वा नभए पनि, के म ऊबाट टाढा बस्न सक्दिनँ र?” यो डर यति ठूलो बन्छ कि तिनीहरू भेलाहरूमा सहभागी हुने आँटसमेत गर्दैनन्, र यो क्रूर व्यक्ति हुन सक्ने कुनै पनि ठाउँमा जाँदैनन्, चाहे त्यो तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने ठाउँ नै किन नहोस्, किनकि तिनीहरूको सातोपुत्लो उडेको हुन्छ।

प्रतिशोधप्रति प्रवृत्त ती दुष्ट मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? (तिनीहरूलाई निकाल्नुपर्छ।) यो निकै सरल छ: केवल दुई वटा शब्द—तिनीहरूलाई निकाल्नुपर्छ—अनि काम पूरा हुन्छ। यदि तिनीहरूलाई निकालियो र बहुसङ्ख्यक मानिसहरूले गहिरो सन्तुष्टि अनुभूति गर्दै उत्सव मनाउँछन् भने, तिनीहरूलाई निकाल्नु सही निर्णय थियो। यसभन्दा पहिले, भेलाहरूमा, दुष्ट मानिसहरूको उपस्थितिले गर्दा धेरैजसो मानिसहरू सङ्गति गर्दा बन्धनमा पर्थे; तिनीहरू एउटा गलत शब्दले दुष्टहरूलाई चिढ्याउला भनेर डर मान्थे, त्यसकारण तिनीहरूले बोल्दा तिनीहरूप्रति सावधानी अपनाउँथे र तिनीहरूलाई पन्छाउँथे। भेलाहरूमा एउटा अलिखित नियम देखा पर्‍यो: यदि कसैले आँखाले सङ्केत दिएमा, विषय तुरुन्तै परिवर्तन हुन्थ्यो। यस्तो अवस्था उत्पन्न भएको थियो। प्रतिशोधप्रति प्रवृत्त हुनेहरूलाई निकालिएपछि, मण्डलीमा शान्ति छायो, मण्डली जीवन सामान्य बन्यो, र मानिसहरूबीचका सम्बन्धहरू पनि सामान्य अवस्थामा फर्के। अब दाजुभाइ-दिदीबहिनीहरूले कसैको नियन्त्रणमा नपरी, कसैको डर नमानी, र कसैको हाउभाउलाई ध्यान नदिई स्वतन्त्र रूपमा परमेश्‍वरका वचनहरू बाँड्न र प्रार्थनार्थ पढ्न, र स्वतन्त्र रूपमा आफ्ना अनुभवात्मक गवाहीहरू बाँड्न सक्ने भए। यस परिणामका आधारमा हेर्दा, के त्यस्ता दुष्ट मानिसहरूलाई निकाल्नु सही थियो? (थियो।) अवश्य नै। तिनीहरूलाई निकाल्नुपर्छ। तिनीहरूलाई निकालिएन भने, जीवन सबैका लागि असह्य बन्नेछ, र धेरै जना भेलाहरूमा सहभागी हुन अत्यन्तै डराउनेछन्। कतिपय डरपोक व्यक्तिहरू सधैँ दुष्ट पिशाचहरूद्वारा घाँटी निमोठिएको सपना देखेर दुस्वप्नको सिकार समेत बन्न सक्छन्। तिनीहरू भेलाहरूमा सधैँ बढी नै सतर्क हुनेछन्, तिनीहरूले कहिल्यै बोल्ने आँट गर्नेछैनन्, स्वतन्त्र र मुक्त महसुस गर्न सक्नेछैनन्। दुष्ट मानिसहरूलाई निकालिएदेखि, तिनीहरू पूर्ण रूपमा परिवर्तन भएका छन्: अहिले तिनीहरू भेलाहरूमा बोल्ने आँट गर्छन्, सङ्गति गर्दा तिनीहरू अझै सक्रिय बनेका छन्, र तिनीहरू स्वतन्त्र र मुक्त महसुस गर्छन्। के यो राम्रो कुरा होइन र? (हो।) क्रूर स्वभाव भएका त्यस्ता प्रतिशोधी व्यक्तिहरूलाई खुट्ट्याउन सजिलो छ। सामान्यतया, कसैसँग छ महिनाभन्दा बढी समयसम्म अन्तरक्रिया गरेपछि, सबैले ऊ त्यस्तो व्यक्ति हो कि होइन भनेर अनुभूति गर्न र स्पष्ट रूपमा देख्न सक्नुपर्छ; तिनीहरूसँग केही समय बिताएपछि यो कुरा स्पष्ट हुन्छ। मण्डलीका अगुवा र कामदारहरू त्यस्ता दुष्ट मानिसहरूलाई तह लगाउँदा निष्क्रिय हुनु हुँदैन। निष्क्रिय नहुनु भन्नुको अर्थ के हो? यसको अर्थ तिनीहरूलाई निराकरण गर्नुअघि तिनीहरूले कतिपय मानिसहरूलाई बहकाएर र खराब कार्यहरू गरेर सबैलाई क्रोधित नबनाएसम्‍म पर्खिनु हुँदैन भन्‍ने हो—त्यसो गर्नु अत्यन्तै निष्क्रिय हुनेछ। त्यसोभए, दुष्ट मानिसहरूलाई तह लगाउने सबैभन्दा राम्रो समय कहिले हो? राम्रो समय त्यतिबेला हो, जब थोरै मानिसहरूलाई हानि गरिसकिएको हुन्छ र तिनीहरूले तिनीहरूप्रति निकै वितृष्णा र सावधानी महसुस गर्छन्, र जब तिनीहरूलाई दुष्ट मानिस भनेर राम्ररी चित्रण गरिएको हुन्छ। यस विन्दुमा, अझै धेरै मानिसहरूलाई हानि हुन नदिन, र डरपोकहरूलाई तिनीहरूका कारण सातोपुत्लो उड्न वा ठेस पर्नबाट जोगाउनका लागि तिनीहरूलाई तुरुन्तै तह लगाउनुपर्छ र निकाल्नुपर्छ। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? यदि दुष्ट मानिसहरूलाई मण्डलीभित्र धेरै समयसम्म बाधाहरू निम्त्याउन दिइयो भने, अन्तिम परिणाम के हुन्छ भने, तिनीहरूले मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्छन्। कुरा यो हदसम्म पुग्यो भने, सबैले दुःख पाउँछन्। सबैलाई हानिबाट जोगाउनका लागि, जब मानिसहरूको एउटा हिस्सालाई हानि पुगेको हुन्छ, वा जब कतिपयले त्यस्ता व्यक्तिहरूप्रति तीव्र अरुचि विकास गरेका हुन्छन् र त्यस्ता व्यक्तिहरूलाई छर्लङ्ग देखेका हुन्छन्, अनि तिनीहरूलाई प्रतिशोधप्रति प्रवृत्त दुष्ट मानिसहरूका रूपमा पहिचान गरेका हुन्छन्, तब मण्डली अगुवाहरूले तिनीहरूलाई तुरुन्तै निकाल्नुपर्छ। तिनीहरूले कुनै कदम चाल्ने निर्णय गर्नुभन्दा पहिले दुष्ट मानिसहरूले धेरै दुष्टता गरुन्जेल र सार्वजनिक आक्रोश सिर्जना गरुन्जेल प्रतीक्षा गर्नु हुँदैन—त्यो अत्यन्तै निष्क्रिय हुनेछ; अनि के त्यस्ता मण्डली अगुवाहरू केही न कामका हुँदैनन् र? (हुन्छन्।) यस्तो काम गर्ने क्रममा, मण्डली अगुवाहरू त्यस्ता व्यक्तिका स्थिति, प्रकटीकरण, र प्रकाशहरूप्रति विशेष रूपमा संवेदनशील हुनुपर्छ, उनीहरूले तिनीहरूको स्वभावलाई तुरुन्तै छर्लङ्ग देख्नुपर्छ, त्यसपछि तिनीहरू निकालिनुपर्ने दुष्ट मानिस हुन् भनेर निर्धारित गर्नुपर्छ, र तिनीहरूलाई जति सक्दो चाँडो तह लगाउनुपर्छ। यदि सुरुमा निर्धारित गर्न सम्भव हुँदैन भने, निगरानीमा ध्यान दिन जरुरी हुन्छ, तिनीहरूको बोलीवचन, व्यवहार, र चालढालमा ध्यान दिनुपर्छ, तिनीहरूका विचारहरू र तिनीहरूका कार्य प्रवृत्तिहरू बुझ्नुपर्छ। तिनीहरूले प्रतिशोध लिने अभिप्राय राखेका छन् भन्ने पत्ता लागेपछि, अझै धेरै मानिसहरूलाई हानि हुन र प्रतिशोधका कार्यहरू भोग्‍नबाट जोगाउनका लागि तिनीहरूलाई निकाल्ने तात्कालिक उपायहरू अपनाउनुपर्छ।

कतिपय मण्डली अगुवाहरूले भन्छन्, “हामी दुष्ट मानिसहरूदेखि डराउँदैनौँ; परमेश्‍वरको डर मान्ने बाहेक, हामी कसैको डर मान्दैनौँ। दुष्ट मानिसहरू हाम्रा लागि के हुन् र? हामी शैतानदेखि समेत डराउँदैनौँ, न त हामी ठूलो रातो अजिङ्गरले गर्ने पक्राउ र सतावटदेखि नै डराउँछौँ, त्यसकारण हामीले किन दुष्ट मानिसहरूको डर मान्‍ने? दुष्ट व्यक्ति भनेको त सानोतिनो पिशाच मात्रै हो, किन उसको डर मान्ने? हामी तिनीहरूलाई मण्डलीमै राख्नेछौँ र बहुसङ्ख्यक दाजुभाइ-दिदीबहिनीहरूलाई हानि भोग्न दिनेछौँ। हानि भोगेपछि, तिनीहरूको समझशक्ति बढ्नेछ, र समझशक्ति प्राप्त भएसँगै तिनीहरू त्यस्ता दुष्ट मानिसहरूद्वारा बाँधिन र बन्धन पारिन छोड्नेछन्। त्यो एकदम राम्रो हुनेछ!” के बहुसङ्ख्यकले यो कद हासिल गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले सक्दैनन्। तिनीहरूको आस्था अत्यन्तै कमजोर हुन्छ, तिनीहरूले बुझ्ने सत्यताहरू अत्यन्तै थोरै हुन्छन्, र तिनीहरूको कद अत्यन्तै सानो हुन्छ। तिनीहरू दुष्ट मानिसहरूलाई देख्नेबित्तिकै पन्छिन्छन्, र तिनीहरूलाई चिढ्याउने आँट गर्दैनन्। मृत्युको डर मान्ने र आफ्नै जीवनलाई महत्त्व दिने बाहेक, धेरैजसो मानिसहरूले आफ्ना विभिन्न देहगत स्वार्थहरूको पनि रक्षा गर्छन्; तिनीहरूले दुष्ट मानिसहरूले गर्ने विभिन्न कुराहरूबाट समझशक्ति प्राप्त गर्न वा पाठहरू सिक्न सक्दैनन्। तसर्थ, यो विचार आधारभूत रूपमै अव्यावहारिक छ र यसले कुनै पनि परिणाम दिन सक्दैन। यदि कुनै दुष्ट व्यक्ति मण्डलीमा देखा पर्‍यो भने, जब धेरैजसो मानिसहरूले त्यो व्यक्तिलाई दुष्ट भनेर चिनेका र निर्धारित गरेका हुन्छन्, तब कति जना मानिसहरूमा खडा हुनुपर्छ, दुष्ट व्यक्तिसँग सम्बन्ध तोड्नुपर्छ, ऊविरुद्ध लड्नुपर्छ, र परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नुपर्छ भन्ने इन्साफको बोध हुन्छ? त्यस्तो कति प्रतिशत हुन्छ? के त्यो१०% हुन्छ? यदि १०% होइन भने, ५% हुन्छ? (लगभग त्यति हुन्छ।) यसको अर्थ बीस जनाको समूहमा, दुष्ट व्यक्तिविरुद्ध लड्न, उसलाई परमेश्‍वरका वचनहरूद्वारा खुलासा गर्न र चुनौती दिन, बहसमा संलग्न हुन, र उसलाई मण्डलीबाट निकाल्न खडा हुने व्यक्ति एक जना हुन सक्छ। त्यस्ता व्यक्तिहरू परमेश्‍वरका चुनिएका मानिसहरूमध्येका नायक, मण्डलीका योग्य व्यक्ति हुन्। कतिपय अगुवा र कामदारहरू दुष्ट मानिसहरूलाई तह लगाउन डराउँछन्। के त्यस्ता मानिसहरू आफ्नो भूमिकाका लागि उपयुक्त हुन्छन्? के तिनीहरू परमेश्‍वरको गवाही दिन योग्य हुन्छन्? मण्डलीबाट निकालिनुपर्ने कुनै दुष्ट व्यक्तिका बारेमा सुन्दा, तिनीहरूले यसो भन्छन्, “तिनीहरूलाई निकाल्न अलि कष्टदायी हुन्छ। म तिनीहरूसँग निकै परिचित थिएँ। तिनीहरूलाई म कहाँ बस्छु र मेरो परिवारमा कसले परमेश्‍वरमा विश्‍वास गर्छ भन्‍ने कुरा थाहा छ। यदि मैले तिनीहरूलाई निष्कासित गरेँ भने, तिनीहरूले अवश्य नै मविरुद्ध प्रतिशोध साँध्नेछन्।” तिमीहरूलाई के लाग्छ, के त्यस्ता मानिसहरू अगुवा र कामदार बन्न लायक हुन्छन्? (हुँदैनन्।) निकालिनुपर्ने दुष्ट व्यक्ति पत्ता लगाएपछि, तिनीहरू त्यस दुष्ट व्यक्तिको प्रतिशोधको डरले सुरुमा आफ्नै हितहरूका बारेमा सोच्छन्। तिनीहरू दुष्ट व्यक्तिलाई भेला हुने ठाउँहरू र दाजुभाइ-दिदीबहिनीहरूको सम्पर्कसम्बन्धी जानकारी थाहा भएको हुनाले, उसलाई निकालिएपछि उसले मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिन सक्छ कि सक्दैन, साथै यसलाई कसरी रोक्नुपर्छ भन्ने कुरालाई ख्याल गर्न सक्दैनन्। तिनीहरूको प्रमुख चिन्ता परमेश्‍वरको घरका हितहरू नभई दुष्ट व्यक्तिले तिनीहरूको पारिवारिक अवस्था थाहा पाएर धोका दिने र तिनीहरूका परिवारमा नकारात्मक असर पार्ने हो कि भन्ने डर हो। के त्यस्ता अगुवा र कामदारहरूले गवाही दिन्छन्? (दिँदैनन्।) कतिपय अगुवा र कामदारहरूले दुष्ट मानिसहरूले तानासाही व्यवहार गरिरहेका र मण्डलीलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका देख्छन्, तैपनि तिनीहरूले बोल्ने आँट गर्दैनन्। बरु, तिनीहरूले सम्झौता गर्छन् र टार्छन्, र दुष्ट मानिसहरूलाई निराकरण गर्ने आँट गर्दैनन्। जब तिनीहरूले दुष्ट मानिसहरूलाई देख्छन्, तब तिनीहरू तीन-टाउके र छ-हाते दुष्ट पिशाच देखेझैँ गरी भयभीत हुन्छन्, र तिनीहरू परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न असफल हुन्छन्। यस बीच, कतिपय साधारण दाजुभाइ-दिदीबहिनीहरूमा केही इन्साफको बोध हुन्छ, दुष्ट मानिसहरूलाई पत्ता लगाएपछि, खडा भएर तिनीहरूको खुलासा गर्ने साहस र विश्‍वास हुन्छ, र तिनीहरू दुष्ट मानिसहरूले तिनीहरूविरुद्ध प्रतिशोध साँध्नेछन् भनेर डर मान्दैनन्। तर, मण्डलीमा त्यस्ता व्यक्तिहरू अत्यन्तै थोरै हुन्छन्। तिमीहरूले यसभन्दा पहिले उल्लेख गरेको ५% त सतर्क अनुमान नभई बढाएर भनिएको हुन सक्छ। यस दृष्टिकोणबाट हेर्दा, प्रतिशोधप्रति प्रवृत्त हुने क्रूर स्वभाव भएका व्यक्तिहरूप्रति बहुसङ्ख्यकको मनोवृत्ति कस्तो हुन्छ? (धेरैजसो मानिसहरू आत्म-सुरक्षात्मक हुन्छन्।) तिनीहरूको पहिलो सोच भनेको परमेश्‍वरको घर र दाजुभाइ-दिदीबहिनीहरूका हितहरूको रक्षा गर्न कसरी खडा हुने र दुष्टहरूविरुद्ध कसरी लड्ने भन्ने कुरालाई ख्याल नगरी आफ्नै सुरक्षा गर्ने, र आत्म-सुरक्षामा मात्रै ध्यान दिने हुन्छ। यो आत्म-सुरक्षाले कस्तो समस्या इङ्गित गर्छ? (यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्।) एक हिसाबमा, यसले गहन रूपमा स्वार्थी मानवतालाई प्रतिविम्बित गर्छ, र अर्को हिसाबमा, यसले परमेश्‍वरमाथिको धेरैजसो मानिसहरूको आस्था अत्यन्तै कमजोर छ भन्ने देखाउँछ। तिनीहरूले “परमेश्‍वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ; परमेश्‍वर हाम्रो आड हुनुहुन्छ” भनेर मौखिक दाबी गर्छन्, तर वास्तविकताको सामना गर्दा, तिनीहरूलाई परमेश्‍वरमा भर पर्न सकिँदैन र आफूमा नै निर्भर हुनुपर्छ भन्ने महसुस हुन्छ, र तिनीहरूले आफ्नो आत्म-सुरक्षालाई नै प्राथमिकता दिन्छन्, जुन तिनीहरूले सबैभन्दा उच्च बुद्धिका रूपमा हेर्ने कुरा हो। यसको निहितार्थ यो हो: “कसैले पनि मेरो सुरक्षा गर्न सक्दैन, परमेश्‍वरसमेत भरपर्दो हुनुहुन्न। परमेश्‍वर कहाँ हुनुहुन्छ? हामीले उहाँलाई देख्न सक्दैनौँ! त्यति मात्र नभएर, मलाई परमेश्‍वरले मेरो सुरक्षा गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने थाहा छैन। यदि उहाँले मेरो सुरक्षा गर्नुभएन भने के गर्ने?” मानिसहरूको आस्था अत्यन्तै दयनीय छ। तिनीहरूले निरन्तर “परमेश्‍वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ; परमेश्‍वर हाम्रो आड हुनुहुन्छ” भनेर उद्घोष गर्छन्, तर जब अवस्थाहरू उत्पन्न हुन्छन्, तब तिनीहरूले आत्म-सुरक्षा मात्रै खोज्छन्, तिनीहरू शैतानविरुद्ध लड्नका लागि खडा हुन र आफ्नो गवाहीमा दह्रिलो रूपमा अडिग रहन सक्दैनन्, र तिनीहरूमा यति पनि आस्था हुँदैन। मानिसहरूको आस्था अत्यन्तै दयनीय छ; यो कुराले यसलाई पनि पूर्ण रूपमा खुलासा गरेको छ। तिनीहरूको कद त्यति सानो हुन्छ। प्रतिशोधप्रति प्रवृत्त ती दुष्ट मानिसहरूका सम्बन्धमा भन्नुपर्दा, यदि केही व्यक्तिहरूले तिनीहरूको खुलासा गर्न चाहन्छन् तर तिनीहरू एक्ल्याइएको र शक्तिहीन भएको महसुस गर्छन् र दुष्टहरूले दमन गर्नेछन् भन्ने डर मान्छन् भने, तिनीहरू धेरै अगुवा र कामदारहरू वा समझशक्ति भएका दाजुभाइ-दिदीबहिनीहरूसँग एकजुट हुनुपर्छ। तिनीहरू एकजुट भएपछि, तिनीहरूसँग विजय प्राप्त गर्ने पूर्ण आत्मविश्‍वास हुनेछ। त्यसपछि, तिनीहरूले त्यस्ता दुष्ट मानिसहरूका कार्य र व्यवहारहरूलाई खुलासा र चिरफार गर्न सक्छन्, जसले गर्दा धेरैजसो मानिसहरूले दुष्ट मानिसहरूको साँचो अनुहार खुट्ट्याउन र स्पष्ट रूपमा देख्न सक्छन्, ताकि सबै जना हृदय र मनमा एक भई दुष्ट मानिसहरूलाई संयुक्त रूपमा निकाल्न सक्षम होऊन्। यसभन्दा पहिले, तिमीहरूले जब दुष्ट व्यक्तिहरू देखा पर्छन्, तब परमेश्‍वरका चुनिएका मानिसहरूमा बीस जनामध्ये लगभग एक जनामा न्यायसङ्गत रूपमा बोल्‍नका लागि इन्साफको बोध हुन सक्छ, र तिनीहरूले त्यस्ता दुष्ट मानिसहरूलाई निकाल्नका लागि खडा हुने आँट गर्न सक्छन् भनेर भनेका थियौ। बीस जनामा एक त ज्यादै नै कम भयो; यदि कुनै मण्डलीमा दश जना मानिसहरू मात्रै छन् भने, तिनीहरूले कसरी दुष्ट व्यक्तिहरूलाई पखालेर फाल्छन्? तिनीहरूले त्यसो गर्न सक्दैनन्; ती दश जना मानिसहरू दुष्टहरूका नियन्त्रणमा हुन्छन्, र तिनीहरूले ती मानिसहरूबाट दुर्व्यवहार भोग्छन्, जुन अस्वीकार्य हुन्छ। दश जनामध्ये एक जना वा पाँच जनामध्ये एक जना मानिसमा समेत दुष्ट मानिसहरूविरुद्ध खडा भएर लड्ने साहस होस् भन्ने लक्ष्य राख्नु राम्रो हुनेछ! निरन्तर आफ्नै सुरक्षा गर्ने प्रयास गर्नाले शैतानको अगाडि गवाही गुम्ने मात्र होइन, अझै खराब कुरा त, परमेश्‍वरको अगाडि सत्यता प्राप्त गर्ने अवसर गुम्छ। एउटा दुष्ट व्यक्ति भएको मण्डलीमा, कम्तीमा पनि केही मानिसहरूलाई हानि हुनेछ; यदि दुई जना दुष्ट व्यक्तिहरू छन् भने, बहुसङ्ख्यकलाई हानि हुनेछ; अनि यदि कुनै ख्रीष्टविरोधीको हातमा शक्ति छ, र उसको मातहतमा धेरै जना मतियार र अनुचर छन् भने, मण्डलीमा रहेका परमेश्‍वरका चुनिएका सबै मानिसहरूलाई हानि हुनेछ। कुरा यही हो? (हो।) दुष्टहरूविरुद्ध खडा हुने एक जना व्यक्तिले एक एकाइ शक्तिको प्रतिनिधित्व गर्छ, जबकि दुष्टहरूविरुद्ध खडा हुने दश जना मानिसहरूले दश एकाइ शक्तिको प्रतिनिधित्व गर्छन्। त्यसोभए, के तिमीहरूलाई दुष्ट मानिसहरूले एक जना व्यक्तिको बढी डर मान्छन् कि दश जना मानिसहरूको बढी डर मान्छन् भन्ने लाग्छ? (दश जना मानिसको।) त्यसोभए, यदि बीस, तीस, वा पचास जना मानिसहरू सबै जना दुष्टहरूविरुद्ध खडा भए भने, अन्तिममा कसले जित्छ? (दाजुभाइ-दिदीबहिनीहरूले।) अन्तमा, दाजुभाइ-दिदीबहिनीहरूले जित्नेछन्। के त्यसले दुष्ट मानिसहरूलाई निकाल्ने कार्यलाई अझ सजिलो बनाउँदैन र? सङ्ख्यामा शक्ति हुन्छ—यो सरल अवधारणाबारे तिमीहरू सबै स्पष्ट हुनुपर्छ। त्यसकारण, दुष्ट मानिसहरूलाई खुट्ट्याउनु र निकाल्नु निश्चित अगुवा वा कामदारको मात्रै जिम्मेवारी होइन नभई मण्डली भित्रका परमेश्‍वरका चुनिएका सबै मानिसहरूको सामूहिक जिम्मेवारी हो। दुष्ट मानिसहरूलाई निकाल्नका लागि अगुवा र कामदारहरूको प्रयास, साथै परमेश्‍वरका चुनिएका मानिसहरूको सहकार्य भयो भने, सबैले राम्रा दिनहरू आनन्दले जिउन सक्छन्। यदि दुष्ट मानिसहरूलाई निकालिएन र तिनीहरूले पश्चात्ताप गर्छन् भन्‍ने आशामा तिनीहरूलाई मण्डलीमै छोडियो, तर छ महिना वा एक वर्षपछि कुनै सुधार देखिएन, र तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई असहनीय रूपमा बाधा दिइरहे भने, यो दुष्टताप्रति कृपा देखाउनुको परिणाम हो। दुष्ट मानिसहरूलाई तानासाही व्यवहार गर्न र मण्डलीलाई नियन्त्रण गर्न दिनु भनेको आफूलाई दुष्टहरूका हातमा सुम्पनु, साथै दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूका हातमा सुम्पनु, र तिनीहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूलाई स्वतन्त्र रूपमा नियन्त्रण गर्न र गम्भीर रूपमा हानि गर्न दिनु सरह हो। के दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले शक्ति हातमा लिएको वातावरणमा सत्यता बुझ्न र प्राप्त गर्न सजिलो हुन्छ? (हुँदैन।) समय बहुमूल्य छ। दुष्ट मानिसहरूलाई जति सक्दो चाँडो निकालेर, तैँले जति सक्दो चाँडो शान्ति पुनर्स्थापित गर्न र उचित मण्डली जीवनको आनन्द लिन, र अझ धेरै सत्यता बुझ्न सक्छस्। यदि तैँले दुष्ट मानिसहरूलाई निकालिनस् भने, तिनीहरूले बौलाहा कुकुरले जस्तै मानिसहरूका बीचमा बाधा र विनाश निम्त्याउनेछन्, र जे इच्छा लाग्यो त्यही बोल्नेछन् र गर्नेछन्। यसले तँलाई सत्यता प्राप्त गर्ने समयबाट वञ्चित गर्छ, जसको अर्थ तेरो समय र कर्तव्य निर्वाहलाई दुष्टहरूले नियन्त्रण गर्छन्। के यो राम्रो कुरा हो कि खराब कुरा हो? (खराब कुरा।) सिद्धान्तगत रूपमा, यो खराब कुरा हो भन्ने सबैलाई थाहा हुन्छ, तर मण्डलीमा दुष्ट मानिसहरूले बाधा दिइरहेको अवस्थाको सामना गर्नुपर्दा, तिनीहरूले यसरी सोच्नै छाड्छन्, र दुष्ट मानिसहरूको षड्यन्त्रमा वा तिनीहरूको गम्भीर हानिमा नपर्नमा मात्रै ध्यान दिन्छन्। यदि कुनै मण्डलीका परमेश्‍वरका चुनिएका सबै मानिसहरूले यसरी दुष्ट मानिसहरूको डर मान्छन् भने, मण्डली सजिलै दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको नियन्त्रणमा पर्नेछ, र परमेश्‍वरका चुनिएका मानिसहरू पनि तिनीहरूको नियन्त्रणमा पर्नेछन्। के त्यसपछि परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिन सक्नुहुन्छ? त्यो भन्न गाह्रो छ। यदि कुनै मण्डलीमा सत्यता बुझ्ने र परमेश्‍वरको गवाही दिन र उहाँको सेवा गर्नमा एउटै हृदय र मन भएका दुई-तीन जना मानिस छैनन् भने, यो आशाहीन मण्डली हो, र त्यो एउटा दुःखद अवस्था हो।

प्रतिशोधप्रति प्रवृत्त हुनु दुष्ट आचरणको प्रकटीकरण हो, र यो क्रूर स्वभावले पैदा गर्ने व्यवहार र प्रकटीकरणहरूमध्येको एक हो। त्यस्ता व्यक्तिहरूले यो निश्चित व्यवहार प्रदर्शन गर्दा, तिनीहरूलाई दुष्ट मानिसहरू भनेर चित्रण गर्नुपर्छ। अवश्य नै, कतिपय मानिसहरू तुच्छ भएकाले, तिनीहरूमा अन्तर्ज्ञानको कमी भएकाले, वा तिनीहरू सत्यता नबुझ्ने नयाँ विश्‍वासी भएकाले, तिनीहरू सधैँ अरूसँग झगडा गर्थे, आफूलाई प्रतिकूल भएका वा हानि पुर्‍याएका, वा कुनै बेला निश्चित व्यक्तिहरूप्रति प्रतिशोध साँध्नका लागि केही उपायहरू प्रयोग गरेका मानिसहरूप्रति घृणा पाल्थे—तर प्रतिशोधप्रति प्रवृत्त मानिसहरू दुष्ट मानिस हुन् र तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ भन्ने सुनेपछि, तिनीहरूले आफ्नो सोच परिवर्तन गर्छन्, गोप्य रूपमा आफूलाई भित्री रूपमा बदल्छन्, र आफ्नो व्यवहारमा केही सन्तुलन र संयमता देखाउँछन्। ल भन त, के त्यस्ता मानिसहरूलाई दुष्टको दर्जामा परेको मानिन्छ? (मानिँदैन।) यसलाई के कुराले सङ्केत गर्छ? (आफूलाई परिवर्तन गर्ने तिनीहरूको क्षमताले।) आफूलाई परिवर्तन गर्ने तिनीहरूको क्षमताले के कुरालाई देखाउँछ? यसले तिनीहरूले सत्यता स्वीकार गर्न सक्छन् भन्ने कुरालाई देखाउँछ; यो राम्रो कुरा हो। तिनीहरूले सत्यता स्वीकार गर्न सक्छन् भनेर हामी किन भन्छौँ? किनभने, यस विषयमा सत्यता सुनेपछि र प्रतिशोध साँध्नु भनेको दुष्ट मानिसहरूको प्रकटीकरण हो भनेर बुझेपछि, तिनीहरूले आफ्नै भ्रष्ट स्थितिबारे चिन्तन गर्छन्, आफ्नो भ्रष्ट सारलाई स्विकार्छन्, त्यसपछि परमेश्‍वरसामु पश्चात्ताप गर्छन्, परमेश्‍वरका वचनहरू अनुसार कार्य गर्छन्, र आफ्नो व्यवहारलाई नियन्त्रण गर्छन्। यो सत्यतालाई स्विकार्नुको एउटा प्रकटीकरण हो। हामीले यहाँ कुरा गरेका दुष्ट मानिसहरूले सत्यतालाई स्विर्दैनन्। तैँले तिनीहरूलाई सत्यतामा जति स्पष्ट सङ्गति दिए पनि, तिनीहरूले यसलाई स्वीकार गर्दैनन्; तिनीहरू हठी नै रहिरहन्छन्, र कसैको कुरा सुन्न मान्दैनन्। तैँले तिनीहरूलाई “तपाईँका कार्यहरूले गर्दा तपाईँलाई निकालिनेछ” भनेर चेतावनी दिइस् भने पनि, तिनीहरूले वास्ता गर्दैनन् र तिनीहरू आफ्नै मार्गमा हिँडिरहन्छन्, तिनीहरूलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। जब तैँले तिनीहरूको खुलासा गर्छस्, तब तिनीहरूले आफ्ना गल्तीहरू स्वीकार गर्दैनन्। जब तैँले तिनीहरूलाई तिनीहरू प्रतिशोधप्रति प्रवृत्त व्यक्ति हुन्, तिनीहरू दुष्ट हुन्, र तिनीहरूलाई निकाल्नुपर्छ भनेर भन्छस्, तब पनि तिनीहरूले आफ्नो दुष्कर्मलाई त्याग्नेछैनन् र अवश्य नै बाटो बदल्नेछैनन्। तिनीहरू कस्ता प्रकारका मानिस हुन्? तिनीहरू सत्यताप्रति वितृष्ण हुने मानिस हुन्। तिनीहरूले सत्यतालाई पटक्कै स्वीकार गर्दैनन्—तिनीहरूको स्वभाव सारलाई जसरी चित्रण गरिए पनि, तिनीहरूका दुष्ट कार्यहरूलाई जसरी खुलासा गरिए पनि, वा तिनीहरूलाई जसरी तह लगाइए पनि, तिनीहरू जस्ताका तस्तै रहन्छन्, तिनीहरूले बिलकुलै आफ्नो शिर झुकाउँदैनन् र आफ्ना गल्तीहरूलाई स्वीकार गर्दैनन्, र अवश्य नै यस कुरालाई छाड्दैनन्। यो आफ्नो बाटो बदल्न नसक्नु हो। आफ्नो बाटो नबदल्नुको सार के हो? यो सत्यता स्वीकार गर्न नमान्नु हो। यदि तिनीहरूले सत्यताको एउटा पनि सही अभिव्यक्ति वा एउटा पक्ष स्वीकार गर्न सक्ने भए, तिनीहरू पछाडि नफर्की गलत मार्गमा अघि बढिरहनेथिएनन्। तिनीहरूले आफ्नो मार्ग परिवर्तन गर्नेथिए, आफ्ना गल्तीहरू स्वीकार गर्नेथिए, र तिनीहरूले आफू पहिले लागिपरेका कुरालाई केही हदसम्म त्याग्नेथिए। तिनीहरू दुष्ट मानिस भएकाले, क्रूर स्वभाव भएका दुष्ट व्यक्ति भएकाले, प्रतिशोध साँध्ने तिनीहरूको व्यवहार यस्तो स्वभावबाट पैदा भएपछि, तिनीहरूले परमेश्‍वरका वचनहरूले खुलासा गरेको कुरा, काटछाँट गरिने कुरा, वा यस्तो चित्रणलाई स्वीकार गर्न नमान्ने मात्र होइन, यसको विपरीत तिनीहरू अन्त्यसम्मै आफ्नो मार्गमा लागिरहन जिद कस्छन्। तिनीहरू चरित्रचित्रण वा खुलासा गरिनुलाई स्वीकार गर्ने योजनामा हुँदैनन्, न त तिनीहरूले आफ्नो भ्रष्टता स्वीकार गर्ने अभिप्राय नै राख्छन्। अवश्य नै, आफ्नो भ्रष्टता स्वीकार नगरी, तिनीहरू प्रतिशोध साँध्ने आफ्नो व्यवहार र कार्यहरू त्याग्ने योजनामा हुँदैनन्, न त तिनीहरूको आत्म-आचरणका सिद्धान्तहरू त्याग्ने योजनामा नै हुन्छन्। तिनीहरू सरासर र पूर्ण रूपमा दुष्ट हुन्छन्। के त्यस्ता दुष्ट मानिसहरू दियाबलस होइनन् र? (हुन्।) तिनीहरू पूर्ण रूपमा शैतानको सार भएका दियाबलस हुन्। तैँले तिनीहरूलाई परिवर्तन गर्न सक्दैनस्। तिनीहरूलाई किन परिवर्तन गर्न सकिँदैन? यसको मूल कारण तिनीहरूले सत्यता स्वीकार गर्न पटक्‍कै नमान्‍नु हो। तिनीहरूले थोरै सत्यता, कुनै पनि सही अभिव्यक्ति, सकारात्मक शब्द, वा सकारात्मक कुरालाई समेत इन्कार गर्छन्। तिनीहरूले मौखिक रूपमा परमेश्‍वरका वचनहरूलाई सत्यता र सकारात्मक कुरा माने पनि, तिनीहरूको हृदयले सत्यतालाई पटक्कै स्वीकार गर्दैन, न त तिनीहरू आफूलाई आचरणमा ढाल्ने र काम गर्ने तिनीहरूको तरिकालाई परिवर्तन गर्नका लागि परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्ने योजनामा नै हुन्छन्। कहिलेकाहीँ, तिनीहरूले आफ्नो कार्य पूर्ण रूपमा शैतानको दर्शनमा आधारित छ भनेर मौखिक रूपमा स्वीकार गर्लान्, तर तिनीहरूले अझै पनि सत्यतालाई पटक्कै स्वीकार गर्नेछैनन्। तिनीहरूसँग सत्यता सङ्गति गर्ने जोकोहीलाई तिनीहरूले दिगमिगाउँछन्, र घृणा र आलोचना समेत गर्छन्, साथै तिनीहरूलाई खुलासा गर्ने र खुट्ट्याउने जोकोही तिनीहरूको घृणा र प्रतिशोधको निसाना बन्छन्, चाहे त्यो जोसुकै होस्—तिनीहरूले आफ्नै आमाबुबालाई समेत बाँकी राख्दैनन्। के तिनीहरू छुटकारा पाउन नसक्‍ने मानिस होइनन् र? (हुन्।) तिनीहरूले छुटकारा पाउन सक्दैनन्। के तिनीहरूलाई निकाल्नु दुःखको कुरा हो? (होइन।) त्यस्ता व्यक्तिहरूलाई अनिवार्य रूपमा निकाल्नुपर्छ वा निष्कासित गर्नुपर्छ। प्रतिशोधप्रति प्रवृत्त मानिसहरूका सबै प्रकटीकरणहरू मूलतः यिनै हुन्; तिनीहरूका विशेषता, स्वभाव, काम गर्ने तरिका र विधिहरू र तिनीहरूको सोचाइका प्रक्रियाहरू, साथै सत्यताप्रति तिनीहरूको मनोवृत्ति यिनै हुन्—आधारभूत रूपमा कुरा यही हो। मण्डली र दाजुभाइ-दिदीबहिनीहरूमा तिनीहरूले पार्ने प्रभावका बारेमा पहिल्यै छलफल गरिसकिएको छ, त्यसकारण यो फेरि सङ्गति गर्नु आवश्यक छैन। चौथो प्रकारका मानिसहरू—जो प्रतिशोधप्रति प्रवृत्त छन् तिनीहरूका प्रकटीकरणहरूका बारेमा गरिएको सङ्गति यहीँ समाप्त हुन्छ।

५. आफ्नो जिब्रो काबुमा राख्‍न नसक्नु

यसपछि, हामी पाँचौँ प्रकारका मानिसहरू, अर्थात् आफ्नो जिब्रो काबुमा राख्न नसक्ने मानिसहरूका बारेमा सङ्गति गर्नेछौँ। के यो गम्भीर समस्या हो? यसलाई शाब्दिक दृष्टिकोणले हेर्दा, आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्नु ठूलो समस्या जस्तो देखिँदैन। कतिपयमा यी व्यक्तिहरूलाई दुष्ट मानिस भनेर चित्रण गर्नेबारे निश्चित विचारहरू हुन सक्छन्: “मानिसहरूको मुख हुने हुनाले, तिनीहरूले कुनै पनि बेला र कुनै पनि ठाउँमा बोल्न सक्छन्; तिनीहरूले कुनै पनि बेला र कुनै पनि ठाउँमा मामलाहरूका बारेमा छलफल गर्न सक्छन्। के आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्नेहरूलाई निकालिनुपर्ने दुष्ट मानिसहरूमा वर्गीकरण गर्नु अलिक बढी भएन र?” तिमीहरूलाई यसबारे के लाग्छ? (यदि तिनीहरूले मण्डली जीवन वा मण्डलीको काममा बाधा र अवरोध सिर्जना गर्छन्, जसले गर्दा प्रतिकूल परिणामहरू निम्तिन्छन् भने, तिनीहरूलाई पनि निकाल्नुपर्छ।) त्यस्ता मानिसहरूको समस्या भनेको आफ्‍नो जिब्रो काबुमा नराख्‍नु होइन; यो तिनीहरूको मानवताको समस्या हो। यदि तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई, मण्डली जीवनमा, र मण्डलीको काममा बाधा दिन्छन्, वा तिनीहरूका शब्दहरू धोका र मण्डलीलाई विश्‍वासघात गर्नु बराबर छन्, र तिनले परमेश्‍वरको घर र परमेश्‍वरको नामलाई समेत लज्जित पार्छन् भने, त्यस्ता व्यक्तिहरूलाई तह लगाउनैपर्छ। सुरुमा हामी आफ्नो जिब्रोलाई काबुमा राख्न नसक्ने मानिसहरूका प्रकटीकरणहरूका बारेमा, अनि त्यसपछि तिनीहरूलाई कसरी तह लगाउने भन्ने बारेमा छलफल गरौँ। के आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्ने मानिसहरूलाई “मुखाले” भन्न सकिन्छ? (सकिन्छ।) हो त? के यो यस्ता मानिसहरूको विशेषता हो? के मुखाले हुनु भनेको मूर्ख हुनु र के भन्न हुन्छ वा के भन्न हुँदैन भन्ने कुरा थाहा नहुनु, र परिणामहरूबारे नसोची मनमा जे आउँछ त्यही बोल्‍नु हो? के आफ्‍नो जिब्रो काबुमा नराख्‍नु भनेको यही हो? (होइन।) कतिपय मानिसहरू बोल्न र कुराकानी गर्न सिपालु हुन्छन्; तिनीहरू सिधा बोल्छन्, र तुलनात्मक रूपमा सरल र इमानदार हुन्छन्। तिनीहरूले प्रायजसो अरूसँग आफ्ना भित्री सोच र विचारहरू, आफ्नै भ्रष्टताका प्रकटीकरणहरू, आफूले अनुभव गरेका कुराहरू, र आफ्ना गल्तीहरूसमेत बाँड्ने गर्छन्। तर, यी व्यक्तिहरू मूर्ख नै हुन्छन् वा तिनीहरूले आफ्नो जिब्रो काबुमा राख्नै सक्दैनन् भन्ने हुँदैन। यस्तो लाग्छ कि तिनीहरूले सब थोकबारे कुरा गर्छन् र तिनीहरू निकै सरल र इमानदार हुन्छन्; तर जब महत्त्वपूर्ण सवालहरू, परमेश्‍वर वा परमेश्‍वरको घरलाई लज्जित तुल्याउन सक्ने सवालहरू, वा तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीलाई धोका दिन सक्ने सवालहरू आउँछन्, जसले गर्दा तिनीहरू यहूदा ठहरिन्छन्, तब तिनीहरूले एक शब्द पनि बोल्दैनन्। आफ्‍नो जिब्रो काबुमा राख्‍नु भनेको यही हो। त्यसकारण, सिधा कुरा गर्ने मानिसहरू, मुखाले मानिसहरू, वा बोल्न सिपालु मानिसहरूले आफ्‍नो जिब्रो काबुमा राख्‍न सक्दैनन् भन्ने होइन। यहाँ आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्नु भनेको के हो? आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्नु भनेको सिद्धान्तहरूविना बोल्नु, र श्रोता, अवसर, वा प्रसङ्गबारे नसोची लापरवाहीपूर्वक बोल्नु हो। यसका साथै, यसमा मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न पटक्कै नजान्नु, वा यसले दाजुभाइ-दिदीबहिनीहरूलाई वा मण्डली जीवनलाई फाइदा गर्छ कि गर्दैन भन्ने कुरालाई पटक्कै वास्ता नगर्नु, र यतिकै जे पनि बोल्नु जस्ता कुरा समावेश हुन्छन्। “यतिकै जे पनि बोल्‍नुको” परिणाम के हुन्छ? यसको परिणामस्वरूप परमेश्‍वरको घरका हितहरू र दाजुभाइ-दिदीबहिनीहरूका हितहरूले अनजानमा धोका पाउँछन्। अनजानमै, तिनीहरूको लापरवाहीपूर्ण बोलीवचन र तिनीहरूले आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्‍नुका कारण, तिनीहरूले गैरविश्‍वासीहरूलाई परमेश्‍वरको घरविरुद्ध फाइदा हुने कुरा दिन्छन्, गैरविश्‍वासीहरूलाई निश्चित दाजुभाइ-दिदीबहिनीहरूको गिल्ला गर्न दिन्छन्, र गैरविश्‍वासी र परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूलाई तिनीहरूले थाहा पाउन नहुने धेरै कुराहरू थाहा दिन्छन्। परिणामस्वरूप, यी मानिसहरूले परमेश्‍वरको घरका मामलाहरू र मण्डलीका आन्तरिक मामलाहरूका बारेमा स्वतन्त्र रूपमा कमेन्ट गर्छन् र अनादरपूर्ण टिप्पणीहरू गर्छन्, र परमेश्‍वरलाई बदनाम र निन्दा गर्ने कुराहरू भन्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू, मण्डली, र परमेश्‍वरको घरको कामका बारेमा अफवाहहरूसमेत रच्न सक्छन्, जसले प्रतिकूल परिणामहरू ल्याउँछन्। यो भनेको परमेश्‍वरको घरको काममा बाधा दिनु हो र यो दुष्कर्म सरह हो। कतिपय व्यक्तिहरूले मण्डलीका अगुवा र कामदारहरू को हुन्, तिनीहरूको पारिवारिक ठेगाना, दाजुभाइ-दिदीबहिनीहरूको व्यक्तिगत जानकारी, मण्डलीको आर्थिक र लेखाको काम, लेखाका कर्मचारी, र मण्डलीबाट निकालिएका वा निष्कासित गरिएका मानिसहरूको सूचीबारे जान्न र अनुसन्धान गर्नमा विशेष ध्यान दिन्छन्। तिनीहरूले मण्डलीको कामका बन्दोबस्तहरूका बारेमा जान्नमा पनि विशेष ध्यान दिन्छन्। यस्तो व्यवहार अत्यन्तै शङ्कास्पद हुन्छ र यसले तिनीहरू ठूलो रातो अजिङ्गरका गुप्तचर वा जासूस हुन् भन्ने कुरा इङ्गित गर्न सक्छ। यदि यी विवरणहरू गैरविश्‍वासी दियाबलसहरूलाई थाहा दिइयो, जसले गर्दा ठूलो रातो अजिङ्गरलाई तिनका बारेमा थाहा भयो भने, परिणामहरू अशोचनीय हुनेछन्। कतिपयले मूर्खता र अज्ञानताका कारण यो जानकारी वा यसको अंश आफ्नो गैरविश्‍वासी पारिवारिक सदस्यहरूसँग बाँड्न सक्छन्, त्यसपछि तिनीहरूले यो कुरा फैलाउँछन् वा ठूलो रातो अजिङ्गरका एजेन्टहरूलाई प्रदान गर्छन्। यसले मण्डलीको काममा सम्भावित जोखिमहरू सिर्जना गर्न र धेरै समस्याहरू ल्याउन सक्छ, जसले अकल्पनीय परिणामहरू निम्त्याउन सक्छ। कतिपय मानिसहरूले मण्डलीका यी आन्तरिक मामलाहरूलाई प्रायजसो अनजानमै गैरविश्‍वासी पारिवारिक सदस्यहरूसँग बाँड्छन्, जसले विना कुनै हिचकिचाहट सबै कुरा खोलिदिन्छन्। अनि ती कुराहरू तिनीहरूका गैरविश्‍वासी आफन्त र साथीहरूसँग समेत बाँडिन्छन्। यसले गर्दा मण्डलीका आन्तरिक मामलाहरू तिनीहरूका शब्दमार्फत बाहिरी संसारमा निरन्तर चुहावट हुन्छन्। यी चुहावटका परिणामहरू के-कस्ता हुन्छन्? तिनीहरूका धेरै गैरविश्‍वासी पारिवारिक सदस्यहरू, आफन्तहरू, र साथीहरूले सायद दाजुभाइ-दिदीबहिनीहरूलाई समेत थाहा नभएका मण्डलीका धेरै आन्तरिक मामलाहरू, वा दाजुभाइ-दिदीबहिनीहरूको घरको ठेगाना, तिनीहरूको वास्तविक नाम, र व्यक्तिगत वैवाहिक मामलाहरूका बारेमा थाहा पाउँछन्। यी मण्डलीका मामलाहरूको चुहावट कसरी हुन्छ? गैरविश्‍वासीहरूले कसरी तिनका बारेमा थाहा पाउँछन्? मण्डलीभित्रै “संवाददाताहरू” हुन्छन्! त्यस्ता मानिसहरूलाई के भनिन्छ? (आफ्नो जिब्रोलाई काबुमा राख्न नसक्ने।) ठ्याक्कै हो। तिनीहरूले मण्डली जीवनमा दैनिक रूपमा हुने सबै कुरा वा दाजुभाइ-दिदीबहिनीहरूसँग सम्बन्धित कुराहरू आफ्ना गैरविश्‍वासी पारिवारिक सदस्यहरूलाई सुनाउँछन्, जस्तै कुनै एउटी बहिनीको पारपाचुके भएको, अर्की बहिनीको श्रीमानले व्यापारमा पैसा गुमाएको वा उसको एक अनाज्ञाकारी छोरा भएको, वा कुनै एक जना दाजुभाइ वा दिदीबहिनीले घर किनेको, इत्यादि। तिनीहरूले ठूलो रातो अजिङ्गरले पक्राउ गरेका र यहूदा बनेका, वा आफ्नो गवाहीमा अडिग भएका दाजुभाइ-दिदीबहिनीहरूका बारेमा पनि कुरा गर्छन्, र मण्डली अगुवाहरूले तिनीहरूलाई काटछाँट गरेको समेत उल्लेख गर्छन्। घरमा तिनीहरूको कुराकानी पूर्ण रूपमा यिनै विषयहरूमा केन्द्रित हुन्छ। तिनीहरूका परिवारका सदस्यहरूले तिनीहरूलाई अगुवाहरू, दाजुभाइ-दिदीबहिनीहरू, वा तिनीहरूसँग मिलेर बस्न नसक्ने, तिनीहरूलाई चुनौती दिने, वा खुलासा गर्ने मण्डलीका अरू जोकोहीका विरुद्धमा कदम चाल्न सहयोग गर्नका लागि सल्लाह र रणनीतिहरूसमेत प्रदान गर्छन्। दाजुभाइ-दिदीबहिनीहरूसँगका भेलाहरूमा, त्यस्ता व्यक्तिहरू अत्यन्तै आज्ञाकारी र शिष्ट देखिन्छन्, थोरै बोल्छन्, कुराकानी गर्न सिपालु हुँदैनन्, आफ्ना भ्रष्ट स्वभावहरूका बारेमा कहिल्यै कुरा गर्दैनन्, आफ्नो अनुभवात्मक बुझाइ कहिल्यै सङ्गति गर्दैनन्, र प्रार्थना पनि बिरलै गर्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग सावधानीका साथ व्यवहार गर्छन्, जबकि आफ्ना गैरविश्‍वासी पारिवारिक सदस्यहरूसँग तिनीहरू परमेश्‍वरको घरका सदस्य भएजस्तो व्यवहार गर्छन्। तिनीहरूले मण्डलीका कुनै पनि विवरणहरू नछुटाई आफ्नो परिवारका सदस्यहरूलाई सुनाउँछन्, तिनीहरूसँग सबै कुरा बाँड्छन्, जसमा मण्डलीले परमेश्‍वरको वचनका पुस्तकहरू छापेको कुरा, मण्डलीमा कोसँग के प्रतिभा छ भन्ने कुरा, र अझ धेरै कुरा पर्छन्—यी सबै कुरा तिनीहरूका परिवारका सदस्यहरू र परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूसँग छलफल गरिन्छ। त्यसो गर्नुमा तिनीहरूको उद्देश्य जेसुकै भए पनि, अन्तिम परिणाम भनेको तिनीहरूले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिन्छन्। तिनीहरू मण्डलीका हरेक प्रमुख सदस्यको अवस्थाबारे धेरै जानकार हुन्छन्। अवश्य नै, यी मानिसहरू तिनीहरूले पिठ्यूँपछाडि गर्ने छलफल र मूल्याङ्कनका विषय पनि बन्छन्, र तिनीहरूले गोप्य रूपमा धोका दिने मानिससमेत बन्न सक्छन्। यदि तिनीहरूसँग कसैको राम्रो सम्बन्ध छ भने, तिनीहरूले आफ्नो परिवारको अगाडि अनवरत रूपमा त्यस व्यक्तिको प्रशंसा गर्छन्। यसको विपरीत, यदि तिनीहरूसँग कसैको नराम्रो सम्बन्ध छ भने, तिनीहरूले आफ्नो परिवारको अगाडि त्यस व्यक्तिप्रति अनवरत रूपमा गालीगलौज बर्साउँछन्, र आफ्नो परिवारलाई समेत त्यस व्यक्तिप्रति गलीगालौज गर्न बाध्य तुल्याउँछन्, दाजुभाइ-दिदीबहिनीहरूलाई मूर्ख भन्छन् वा तिनीहरूको कामै छैन भनेर भन्छन्। यी व्यक्तिहरूले गैरविश्‍वासीहरूले प्रयोग गर्ने जस्तोसुकै अपमानजनक शब्दहरूमार्फत दाजुभाइ-दिदीबहिनीहरूलाई अपमान गर्छन्। तिनीहरू गैरविश्‍वासीहरू जस्तै हुन्छन्; तिनीहरू विशुद्ध रूपमा अविश्‍वासी हुन्; तिनीहरू असल मानिस हुँदै होइनन्, र त्यस्ता व्यक्तिहरूलाई तुरुन्तै निकाल्नुपर्छ।

ठूलो रातो अजिङ्गरको देशमा, परमेश्‍वरमा विश्‍वास गर्ने सबैको जानकारी गोप्य राखिनुपर्छ, र परमेश्‍वरका चुनिएका मानिसहरू विदेशमा बसाइँसराइ गर्दा समेत तिनीहरूको जानकारी गोप्य नै रहनुपर्छ। किनभने ठूलो रातो अजिङ्गरका जासूसहरू संसारका हरेक देशमा फैलिएका छन्, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूका बारेमा जानकारी सङ्कलन गर्ने निश्चित उद्देश्य लिएर तिनीहरू जताततै घुसपैठ गर्छन्। मुख्यभूमि चीनमा, परमेश्‍वरलाई पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूका लागि अवस्था निकै कठिन र खतरनाक छ। तिनीहरू विदेश जाँदा पनि, तिनीहरूलाई एक स्तरको खतरा हुन्छ। यदि ठूलो रातो अजिङ्गरका जासूसहरूले तिनीहरूको जानकारी बटुले भने, एकातिर, तिनीहरूलाई सुपुर्दगी गरिने खतरा हुन्छ, र अर्कोतिर, कम्तीमा पनि, मुख्यभूमि चीनमा रहेका तिनीहरूका परिवारका सदस्य र आफन्तहरू फस्न सक्छन्। सुरक्षाका कारणले र व्यक्तिप्रतिको आदरका लागि, सबैले दाजुभाइ-दिदीबहिनीहरूको व्यक्तिगत जानकारी गोप्य राख्नुपर्छ र परमेश्‍वरमा विश्‍वास नगर्नेहरूलाई सुनाउनु हुँदैन। परमेश्‍वरमा विश्‍वास गर्नेहरूका बीचमा समेत, व्यक्तिको सहमतिविना यतिकै अरूलाई व्यक्तिगत जानकारी खुलासा गर्नु हुँदैन। दाजुभाइ-दिदीबहिनीहरू, मण्डलीको काम, व्यक्तिले निर्वाह गर्ने कर्तव्यहरू, सङ्गतिमा बाँडिएका अनुभवहरू, वा अरू विवरणहरूबारे कुनै पनि जानकारीलाई आफ्नो फुर्सदको समयमा गैरविश्‍वासीहरूसँग बाँड्ने कुराकानीको विषयका रूपमा लिनु कदापि स्वीकार्य हुँदैन। तिनीहरूसँग यी मामलाहरूका बारेमा छलफल गर्नुका परिणामहरू के-कस्ता हुन्छन्? के त्यसबाट कुनै सकारात्मक परिणाम आउँछ? (आउँदैन।) त्यस्ता छलफलहरूको परिणाम के हुन्छ भने, यी गैरविश्‍वासी दियाबलसहरूले अवसरको फाइदा उठाउँछन्, गिल्ला गर्छन्, आलोचना गर्छन्, र सराप्ने र बदनाम गर्ने कामसमेत गर्छन्। के यो राम्रो हो? (होइन।) मण्डलीको काम र मण्डली जीवनका वास्तविक परिस्थितिहरू जस्ता विवरणहरूबारे छलफल गर्ने, साथै कसले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्छ, कसले सत्यता पछ्याउँछ, कसले आफ्नो कर्तव्य पूरा गर्छ, कसले आफ्नो कर्तव्य पूरा गर्दैन, को प्रायजसो नकारात्मक हुन्छ, कसको आस्था अन्योलमा छ भन्ने जस्ता कुराका बारेमा, र दाजुभाइ-दिदीबहिनीहरूबारे व्यक्तिगत जानकारी र परिस्थितिहरू समेत गैरविश्‍वासीहरू र अविश्‍वासी पारिवारिक सदस्यहरूसँग विना कुनै हिचकिचाहट छलफल गर्ने गोप्य मनसाय बोकेका मानिसहरू मण्डलीभित्र छन् कि छैनन् भनेर तिमीहरूले जाँच्‍नुपर्छ। त्यस्ता व्यक्तिहरू छन् कि छैनन्, जाँच गर। केही यस्ता कुरा छन् जुन मण्डलीभित्रकै मानिसहरूले समेत थाहा पाउन आवश्यक छैन, तैपनि त्यस्ता व्यक्तिहरूका गैरविश्‍वासी पारिवारिक सदस्यहरूलाई यी मामलाहरूका बारेमा मण्डलीभित्रकै मानिसहरूलाई भन्दा बढी थाहा हुन्छ—र तिनीहरूलाई झनै स्पष्ट रूपमा पनि थाहा हुन्छ। यस्तो कसरी हुन्छ? यो भित्रकै गुप्तचरको “योगदान” हो। यो गुप्तचरले आफ्ना परिवारका सदस्यहरूलाई तिनीहरू मण्डली अगुवा भएझैँ व्यवहार गर्छ, र आफ्नो परिवारको चापलुसी गर्न तिनीहरूसँगको भावनात्मक सम्बन्धलाई गहन बनाउने प्रयासमा मण्डलीमा आफूले देखेको कुनै पनि कुराबारे घरका आफ्ना “अगुवाहरूलाई” रिपोर्ट गर्छ। मण्डलीका यी सबै मामलाहरू आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्ने ती गुप्तचरहरूले चुहाएका छन् भन्ने कुरा प्रस्टै छ। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आदर गर्दैनन्, न त परमेश्‍वरको घरका काम र हितहरूको रक्षा नै गर्छन्। तिनीहरूले परमेश्‍वरको घर र मण्डलीलाई समाज वा सार्वजनिक स्थलझैँ मान्छन्, दाजुभाइ-दिदीबहिनीहरू गैरविश्‍वासी भएझैँ गरी लापरवाह रूपमा उनीहरूबारे टिप्पणी र आलोचना गर्छन्, यहाँसम्म कि दाजुभाइ-दिदीबहिनीहरूलाई स्वतन्त्र रूपमा आलोचना गर्न अविश्‍वासी र गैरविश्‍वासीहरूसँग नै जोडिन्छन्। यसका साथै, कतिपय व्यक्तिहरू अगुवाहरूद्वारा काटछाँट गरिएपछि वा दाजुभाइ-दिदीबहिनीहरूसँग द्वन्द्व, विवाद, र बेमेल भएपछि, घर गएर ताण्डव मच्चाउँछन्, र आफ्नो परिवारलाई यसबारे सबै थाहा होस् भन्ने कुरा सुनिश्चित गर्छन्। परिणामस्वरूप, तिनीहरूको परिवारले मण्डलीलाई धोका दिने र ढाल्ने उद्देश्यले अगुवाहरू वा दाजुभाइ-दिदीबहिनीहरूसँग प्रतिशोध लिन खोज्छन्। के यो राम्रो घटना हो? (होइन।) मण्डलीका आन्तरिक मामलाहरू, र कति जना दाजुभाइ-दिदीबहिनीहरूले मण्डली जीवन जिउँछन्, र सबैले के-कस्ता कर्तव्यहरू पूरा गर्छन् भन्ने जस्ता कुराहरू विना सङ्कोच परिवारका सदस्य, आफन्त, र साथीहरूसँग बाँड्नु—तिनीहरू कस्ता अलच्छिना हुन्? के तिनीहरू साँचो विश्‍वासी हुन्? (होइनन्।) के तिनीहरू परमेश्‍वरको घरका सदस्य हुन्? के तिनीहरूलाई दाजुभाइ वा दिदीबहिनी भन्न मिल्छ? (मिल्दैन।) विगत, वर्तमान, वा भविष्य जहिलेसुकै होस्, त्यस्ता गुप्तचर र छद्म विश्‍वासघातीहरूलाई मण्डलीभित्र राख्दा त्यसले परमेश्‍वरको घर र दाजुभाइ-दिदीबहिनीहरूलाई ठूलो समस्या ल्याउनेछ। तिनीहरूले मण्डली जीवनमा धेरै दुष्ट कार्यहरू नगर्ने जस्तो देखिए पनि, तिनीहरूले गैरविश्‍वासी, शैतान, र दियाबलसहरूलाई परमेश्‍वरको घरका बारेमा विभिन्न विवरणहरू गोप्य रूपमा बताउनुका परिणामहरू र प्रभाव अत्यन्तै हानिकारक हुन्छन्! के त्यस्ता बदमासहरूलाई मण्डलीमा रहन दिनु हुन्छ? (हुँदैन।) के तिनीहरू परमेश्‍वरको घरका सदस्य भनेर बोलाइन लायक हुन्छन्? के तिनीहरू दाजुभाइ-दिदीबहिनीका रूपमा व्यवहार गर्न लायक हुन्छन्? (हुँदैनन्।) त्यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? (तिनीहरूलाई जति सक्दो चाँडो निकाल्नुपर्छ।) तिनीहरूलाई जति सक्दो चाँडो निकाल्नैपर्छ! तिनीहरूलाई निकाल! तिनीहरूलाई निकाल्नुको कारण यही हो: “तैँले आफ्‍नो जिब्रो काबुमा राख्‍न सक्दैनस्, तैँले आफ्नो लागि के राम्रो हो भनेर चिन्न सक्दैनस्, जुन थालमा खायो त्यही थालमा चुठ्छस्। तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र तैँले उहाँको अनुग्रह, साथै दाजुभाइ-दिदीबहिनीहरूको सहयोग, प्रेम, धैर्य, र हेरचाह प्राप्त गर्छस्, तैपनि तँ दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीलाई यसरी धोका दिन्छस्। तँ खराब रहेछस्; गइहाल्!” दाजुभाइ-दिदीबहिनीहरूका मामलाहरू, मण्डलीका मामलाहरू, र परमेश्‍वरको घरको कुनै पनि काम गैरविश्‍वासीहरूसामु खुलासा गर्नु हुँदैन, न त तिनलाई फाल्तु कुराकानीका विषयका रूपमा नै प्रयोग गर्न मिल्छ। तिनीहरू यस्ता कुरा सुन्‍न लायक हुँदैनन्! जसले यस्तो जानकारी फैलाउँछ, ऊ श्रापित व्यक्ति बन्छ, मण्डलीले निकाल्नुपर्ने व्यक्ति बन्छ, र दाजुभाइ-दिदीबहिनीहरूले उसलाई इन्कार गर्नुपर्छ। दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीलाई धोका दिने, मण्डलीका आन्तरिक मामलाहरू अनौपचारिक कुराकानीका क्रममा गैरविश्‍वासीहरूसँग बाँड्ने तिनीहरूको कार्यका आधारमा मात्रै पनि, तिनीहरू निस्सन्देह धोकेबाज, गुप्तचर, र दुष्ट मानिस हुन् जसलाई मण्डलीबाट निकालिनुपर्छ। दाजुभाइ-दिदीबहिनीहरूले मण्डलीभित्र गरिने जुनसुकै कामका बारेमा—जस्तै कसलाई निकाल्नुपर्छ वा निश्चित घटनाहरू घटेका छन् भन्ने बारेमा—आवश्यकता अनुसार सङ्गति र बहस गर्न पाउँछन्—तर यसलाई गैरविश्‍वासीहरूसँग बाँड्नु हुँदैन, र यसबारे गैरविश्‍वासी पारिवारिक सदस्यहरूसँग कुरा गर्नु हुँदैन। विशेष गरी, सानो कदका नयाँ दाजुभाइ-दिदीबहिनीहरूको व्यक्तिगत र पारिवारिक अवस्थाका बारेमा बाहिरी मानिसहरूलाई खुलासा गर्नु हुँदैन। यदि तँलाई यो कुरा नखुलाई राख्न गाह्रो हुन्छ भने, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र आत्म-संयमता सिक्नका लागि उहाँमा भर पर्नुपर्छ, र तँ केही अर्थपूर्ण क्रियाकलापहरूमा संलग्न हुनुपर्छ। यदि तैँले साँच्चै आफूलाई नियन्त्रण गर्न सक्दैनस् भने, तैँले सुरुमा समाधान खोज्न, प्रतिकूल परिणामहरू रोक्न मण्डलीमा रिपोर्ट गर्नुपर्छ, किनभने यस्तो जानकारी फैलाउँदा त्यसले समस्याहरू पैदा गर्ने सबैभन्दा बढी जोखिम हुन्छ। उदाहरणका लागि, व्यक्तिगत फोन नम्बर, घरको ठेगाना, कसैले परमेश्‍वरमा कति वर्ष विश्‍वास गरेको छ, व्यक्तिको परिवारिक र वैवाहिक स्थिति, इत्यादि संवेदनशील विषयहरू हुन्। सत्यता वा जीवन प्रवेशसँग यी कुराहरूको कुनै सम्बन्ध छैन; ती व्यक्तिगत गोपनीयतासँग सम्बन्धित कुरा हुन्। एजेन्ट र गुप्तचरहरूले मात्रै विशेष गरी यी कुराहरूको अनुसन्धान गर्छन्। यदि तँलाई त्यस्ता कुराहरूका बारेमा जान्न र तिनलाई फैलाउन मन पर्छ भने, त्यसले कस्तो किसिमको स्वभावलाई इङ्गित गर्छ? यो अलिक नीच स्वभाव हो! सत्यता नपछ्याउनु तर गफमा जोड दिनु, गुप्तचर वा जासुसका रूपमा काम गर्नु र ठूलो रातो अजिङ्गरका लागि सेवा प्रदान गर्नु—के त्यो दुष्ट र आपराधिक कुरा होइन र? संवेदनशील विषयहरू र अरूका व्यक्तिगत मामलाहरूका बारेमा विशेष रूपमा सोधपुछ गर्ने, अनुसन्धान गर्ने, र लापरवाही ढङ्गले तिनलाई फैलाउने जोकोहीले गोप्य मनसाय बोकेको हुन्छ र ऊ अविश्‍वासी हो। परमेश्‍वरका चुनिएका मानिसहरू त्यस्ता व्यक्तिहरूप्रति विशेष रूपमा सावधान हुनैपर्छ। यदि त्यस्ता मानिसहरूले पश्चात्ताप गरेनन् भने, तिनीहरूको मण्डली जीवनलाई रोक्नुपर्छ, किनभने दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिनु सबैभन्दा अनैतिक, घृणित, र लाजमर्दो कार्य हो। परमेश्‍वरका चुनिएका मानिसहरू यी व्यक्तिहरूबाट टाढा बस्नुपर्छ। मण्डली जीवनमा, मानिसहरूलाई यी कुराहरूका बारेमा सोधपुछ र छलफल गर्नबाट रोक्नुपर्छ, किनभने सत्यताको सङ्गति गर्ने कार्यसँग तिनीहरूको कुनै सम्बन्ध हुँदैन, र तिनीहरूका बारेमा कुरा गर्दा अरूलाई कुनै फाइदा हुँदैन।

परमेश्‍वरको घरका विभिन्न प्रशासनिक आदेश र प्रावधानहरू छन्, जसलाई परमेश्‍वरका चुनिएका मानिसहरूले पालना गर्नैपर्छ। मण्डलीका आन्तरिक मामलाहरू, अगुवा र कामदारहरूमा हुने कर्मचारी समायोजन, मण्डलीको सफाइको काम, र माथिबाट आएका बन्दोबस्तहरू लगायतका कुराहरू अविश्‍वासी र दुष्ट मानिसहरूले चुहाएर शैतानकहाँ पुर्‍याउन नदिनका लागि मण्डलीभित्र लापरवाह रूपमा फैलाउनु हुँदैन। यसको कारण के हो भने, परमेश्‍वरको घर समाजभन्दा फरक हो; परमेश्‍वरले मानिसहरूलाई सत्यता पछ्याऊन, परमेश्‍वरको वचन अझ धेरै पढ्न, अझ बढी मनन गर्न र सङ्गति गर्न माग गर्नुहुन्छ। परमेश्‍वरका वचनहरू प्रसार गरेर र परमेश्‍वरको गवाही दिएर मात्रै उचित वातावरण निर्माण हुन सक्छ; अझ धेरै अनुभवात्मक गवाहीहरू बाँडेर मात्रै यस्तो वातावरण निर्माण हुन सक्छ। यसका साथै, परमेश्‍वरको घरमा धेरै नयाँ विश्‍वासीहरू रहेका हुन्छन्, जसले छोटो समय मात्र परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्। यो अपरिहार्य छ कि कतिपय अविश्‍वासीहरू अझै प्रकाश भएका छैनन्। विशेष गरी, विश्‍वास गर्दाका पहिलो पाँच-दश वर्ष मानिसहरूको साँचो सत्त्व प्रकट गर्ने समय हो; यस अवधिमा, को अडिग रहन सक्छ र को सक्दैन भन्ने कुरा अनिश्चित हुन्छ, न त मण्डलीलाई बाधा दिन सक्ने कति जना दुष्ट मानिसहरू अझै अस्तित्वमा छन् भन्ने नै निश्चित हुन्छ। सधैँ असावधानीपूर्वक व्यक्तिगत जानकारी र त्यस्ता बाहिरी मामलाहरू, साथै सत्यता सङ्गति गर्ने कार्यसँग असम्बन्धित मामलाहरू फैलाउँदा, धेरै प्रतिकूल परिणामहरू आउन सक्छन्। उदाहरणका लागि, कसैले सोध्न सक्छ, “फलानो अगुवा कहाँको हो? ऊ कहाँ बस्छ?” यो संवेदनशील जानकारी परमेश्‍वरका चुनिएका मानिसहरूले जान्नुपर्ने कुरा होइन। अरू कसैले सोध्न सक्छ, “परमेश्‍वरका वचनहरूको एउटा पुस्तक छाप्नका लागि परमेश्‍वरको घरलाई कति खर्च लाग्छ?” के यो कुरा जानेर केही फाइदा हुन्छ? (हुँदैन।) के मुद्रणको मूल्य तेरो चासोको विषय हो? के तँलाई यसको पैसा तिर्न लगाइएको छ? यो तँसँग असम्बन्धित देखिन्छ, होइन र? कतिपयले यस्तो सोध्लान्, “अहिले परमेश्‍वरको घरका माथिल्लो तहका अगुवाहरू को हुन्?” यदि उनीहरूले तँलाई प्रत्यक्ष अगुवाइ गरिरहेका छैनन् भने, के यो कुरा नजान्दा तँलाई असर पर्छ? (पर्दैन।) मुख्यभूमि चीनमा, यी कुराहरू जान्नु एउटा समस्या हुन सक्छ। यदि तँलाई ठूलो रातो अजिङ्गरले पक्र्यो र कठोर यातना दियो, र तँलाई यी कुराहरू थाहा छैन भने, तिनीहरूले तँलाई जति कुटपिट गरे पनि, तैँले केही पनि खुलासा गर्न सक्दैनस्, त्यसकारण तँ यहूदा बन्नेछैनस्। तर यदि तँलाई थाहा छ र तैँले तिनीहरूले गर्ने भयङ्कर कुटपिट सहन सक्दैनस् भने, तैँले अन्त्यमा मुख खोल्‍न सक्छस् र तँ यहूदा बन्न सक्छस्। त्यो बेला, तैँले यस्तो सोच्न सक्छस्, “त्यो बेला मैले किन असावधानीपूर्वक ती प्रश्नहरू सोधेँ? थाहा नभएको भए धेरै राम्रो हुनेथियो। कुटपिट गरेर मारिए पनि, म ती कुराहरूका बारेमा अनजान नै हुनेथिएँ; मैले बनावटी उत्तरहरू दिन चाहेको थिएँ भने पनि, कुनै उत्तर दिन सक्नेथिइनँ। त्यस्तो अवस्थामा, म यहूदा बन्नेथिइनँ। अब मैले आफ्नो पाठ सिकेको छु; सत्यतासँग असम्बन्धित यी कुराहरूका बारेमा धेरै नजान्नु नै उत्तम हुन्छ। त्यस्ता कुराहरूका बारेमा सोधपुछ गर्नुको कुनै फाइदा छैन; थाहा नहुनु नै राम्रो हो।” अनि अरू कतिपयले यस्तो सोध्न सक्छन्, “परमेश्‍वरको घरमा कति वटा समूहले विशिष्टीकृत काम गरिरहेका छन्?” यससँग तेरो के सरोकार छ? आफ्नो समूहलाई जुन काम अह्राइएको छ, त्यही मात्र गर्। यो कुरा थाहा नहुनुले सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्ने, आफ्नो आस्थामा सत्यता पछ्याउने, वा मण्डली जीवन जिउने तेरो क्षमतामा असर गर्दैन; यसले कुनै पनि कुरामा असर गर्दैन। यो कुरा थाहा नहुनुले तँलाई विश्‍वासीका रूपमा सत्यता पछ्याउन वा मुक्ति प्राप्त गर्नबाट रोक्दैन, त्यसकारण किन सोध्नुपर्यो? “धेरैजसो दाजुभाइ-दिदीबहिनीहरू सहरी क्षेत्रका छन् कि ग्रामीण क्षेत्रका? तिनीहरू शिक्षित छन् कि अशिक्षित?” के यी कुराहरू जानेर काम लाग्छ? (लाग्दैन।) तिनीहरू सबै ग्रामीण क्षेत्रका हुन् भने के हुन्छ? अनि तिनीहरू सबै सहरका हुन् भने के हुन्छ? सत्यतासँग यसको कुनै सम्बन्ध छैन। कतिपयले सोध्न सक्छन्, “अहिले सुसमाचारको काम कसरी फैलिरहेको छ?” यसबारे थोरै सोध्नु ठीकै हो, तर कतिपय मानिसहरूले जिज्ञासाको कारण सुसमाचारको काम ठ्याक्कै कतिवटा देशमा फैलिएको छ भनेर विस्तृत रूपमा सोध्छन्, जुन अनावश्यक हो। तिनीहरूले यो कुरा थाहा पाए पनि, त्यसले तिनीहरूमाथि के असर पार्छ? त्यस्ता विवरणहरू थाहा पाउँदा के फाइदा हुन्छ? यदि तँसँग सत्यता वास्तविकता छैन भने, तँलाई थाहा भए पनि तँसँग यो कुरा हुनेछैन; यो ज्ञानले तँलाई आफ्नो कर्तव्य राम्ररी पूरा गर्न बिलकुलै मदत गर्नेछैन वा तेरो जीवन प्रवेशमा कुनै सहायता प्रदान गर्नेछैन। केही सामान्य मामलाहरूका बारेमा सोधपुछ नगर्नु नै ठिक हुन्छ; वास्तवमा, यो थाहा नहुनु नै राम्रो हुन्छ। धेरै कुरा थाहा पाउनु भनेको बोझ हो। त्यस्तो जानकारीको चुहावट भएपछि, यो समस्या र अपराध बन्छ। यी कुराहरू जान्नु राम्रो होइन: तँलाई जति बढी थाहा छ, यसले त्यति नै धेरै समस्या ल्याउन सक्छ। सत्यता बुझ्ने मानिसहरूलाई के भन्नुपर्छ र के भन्नु हुँदैन भन्ने थाहा हुन्छ। आत्मिक बुझाइ नभएका भ्रमित मानिसहरूले बोल्दा भित्री र बाहिरी व्यक्तिहरूबीचको भिन्नता छुट्याउन सक्दैनन्, र बकवास कुरा मात्रै बोल्छन्। त्यसकारण, सत्यता नबुझ्ने मण्डलीका मानिसहरूलाई यी कुराहरूका बारेमा रिपोर्ट गर्नु हुँदैन। यी कुराहरू जानेर कुनै किसिमको फाइदा हुँदैन। पहिलो कुरा, यी मानिसहरूले समस्याहरू समाधान गर्नमा सहयोग गर्न सक्दैनन्। दोस्रो कुरा, तिनीहरूले मण्डलीको कामको रक्षा गर्न सक्दैनन्। अनि तेस्रो कुरा, तिनीहरूले परमेश्‍वरको घरबारे राम्रो कुरा गरिरहनु पर्दैन। परमेश्‍वरका सबै वचनहरू सत्यता हुन्, र परमेश्‍वरका सबै कार्यहरू धर्मी छन्—के आत्मिक बुझाइ नभएका ती अविश्‍वासी र गैरविश्‍वासीहरूको खुसामदी र चापलुसीको कुनै आवश्यकता छ र? छैन। यदि संसारभरिको कुनै पनि प्राणीले परमेश्‍वरलाई पछ्याएन वा उहाँको आराधना गरेन भने पनि, परमेश्‍वरको हैसियत र सार अपरिवर्तित नै रहनेछ। परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, जो सधैँ अपरिवर्तनीय हुनुहुन्छ, जो परिस्थितिहरूमा तलमाथि हुँदा पनि परिवर्तन हुनुहुन्न। परमेश्‍वरको पहिचान र हैसियत अनन्तकालसम्म अपरिवर्तनीय हुन्छ। यी सत्यताहरू परमेश्‍वरमा विश्‍वास गर्नेहरूले बुझ्नुपर्ने कुरा हुन्। ती अविश्‍वासी र गैरविश्‍वासीहरूले भित्री र बाहिरी व्यक्तिहरूबीचको भिन्नता नछुटाई बोल्छन् र व्यवहार गर्छन्—के तिनीहरूलाई धेरै कुरा थाहा हुनु परमेश्‍वरको घरको कामका लागि फाइदाजनक हुन्छ? के तिनीहरूले परमेश्‍वरको घरको कामबारे जान्न जरुरी छ? तिनीहरू यो ज्ञान पाउन लायक हुँदैनन्! कतिपयले सोध्न सक्छन्, “के यी सबै कुरा गोप्य हुन् र त्यसैले थाहा पाउन सकिँदैन?” यस विन्दुसम्म परमेश्‍वरमा विश्‍वास गरिसकेपछि, के तिमीहरूलाई यी मामलाहरूमा गोप्य कुराहरू छन् भन्ने लाग्छ? (लाग्दैन।) तर परमेश्‍वरका चुनिएका मानिसहरूसँग निष्ठा र इज्जत हुन्छ; तिनीहरू गैरविश्‍वासीहरूको छलफल वा उपहासको पात्र बन्नै हुँदैन। परमेश्‍वरको घर, मण्डली, र दाजुभाइ-दिदीबहिनीहरू, चाहे समूहका रूपमा होऊन् वा व्यक्तिका रूपमा, ती सबैसँग इज्जत हुन्छ; ती सबै सकारात्मक हुन्छन्, र कसैले पनि तिनलाई अशुद्ध पार्ने प्रयास गर्नु हुँदैन। शैतान र दियाबलसहरूलाई परमेश्‍वरको घरको प्रतिष्ठालाई मनोमानी रूपमा अशुद्ध पार्न र लापरवाही रूपमा बदनाम वा हानि गर्न, वा दाजुभाइ-दिदीबहिनीहरूको प्रतिष्ठालाई हानि गर्न दिने तरिकाले काम गर्ने जोकोही व्यक्ति श्रापित हुन्छ! त्यसकारण, मण्डलीले आफ्नो जिब्रोलाई काबुमा राख्न नसक्ने मानिसहरूलाई अस्तित्वमा रहन पटक्कै अनुमति दिँदैन। पहिचान भएपछि, तिनीहरूलाई निकाल्नैपर्छ! के यो तरिका सिद्धान्तहरू अनुरूप छ? (छ।)

कतिपय मानिसहरू दाजुभाइ-दिदीबहिनीहरूसँग बोल्दा, कुराकानी गर्दा, अन्तरक्रिया गर्दा, वा सङ्गत गर्दा विशेष रूपमा होसियार र सतर्क हुन्छन्, तर जब तिनीहरू घर पुग्छन्, तब तिनीहरू मुखाले बन्छन्, तिनीहरूले सबै कुरा ओकल्छन्, दाजुभाइ-दिदीबहिनीहरूको व्यक्तिगत जानकारीसमेत बताउँछन्, यतिसम्म कि तिनीहरूका परिवारका सदस्यहरू, कुनै आस्था नबोक्ने गैरविश्‍वासीहरू, र नाममा मात्र विश्‍वास गर्नेहरूलाई मण्डलीका मामलाहरूका बारेमा धेरै कुरा थाहा हुन्छ। त्यस्तो व्यक्ति त जासुस, विश्‍वासघाती—यहूदा हो—र ठ्याक्कै मण्डलीले निकाल्नुपर्ने प्रकारको व्यक्ति हो। तिनीहरू मण्डलीमा जति लामो समय रहन्छन्, तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूका बारेमा त्यति नै धेरै जानकारी थाहा हुन्छ, तिनीहरू त्यति नै धोकामा संलग्न हुनेछन्, र गैरविश्‍वासीहरूले फाइदा उठाउन प्रयोग गर्नका लागि र मानहानि गर्नका लागि प्रयोग गर्ने त्यति नै धेरै मामलाहरू हुनेछन्। यदि तँलाई तिनीहरूले गैरविश्‍वासीहरूलाई यो जानकारी चुहाउँछन् भन्ने डर लाग्दैन भने, तिनीहरूलाई राख्; यदि तँ आफ्नो व्यक्तिगत जानकारी र मण्डलीका आन्तरिक मामलाहरू तिनीहरूको मुखबाट फैलियोस् भन्ने चाहँदैनस् भने, तैँले यी जासुसहरूलाई जति सक्दो चाँडो निकाल्नुपर्छ। के यो उचित हो? (हो।) त्यस्ता व्यक्तिहरूप्रति कुनै उदारता देखाउनु हुँदैन; तिनीहरूले कुनै असल अभिप्राय बोकेका हुँदैनन् र तिनीहरू आफै पनि असल हुँदैनन्। पहिले उल्लेख गरिएका ती दुई प्रकारका मानिसहरू, जो प्रतिशोधप्रति प्रवृत्त छन् र जो लम्पट र असंयमित छन्, तिनीहरूका तुलनामा यस्ता मानिसहरू कस्ता हुन्छन्? ती झन् असल हुन्छन् कि झन् खराब? (झन् खराब।) यी व्यक्तिहरूले आफ्नो कर्तव्य पूरा गर्ने, केही मेहनत गर्ने, र केही कठिनाइ भोग्ने काम पनि गर्लान्; तिनीहरूले परमेश्‍वरको घरले जे गर्न लगाउँछ त्यही गर्लान् र इन्कार नगर्लान्, तर एउटा समस्या छ: तिनीहरूले परमेश्‍वरको घरबारे सबै कुरा गैरविश्‍वासीहरूलाई खुलाउँछन्। तिनीहरूले हरेक दिन धोकेबाज, र जासुसको भूमिका खेल्छन्। यही कारणले गर्दा, मण्डलीले तिनीहरूलाई सहन सक्दैन र तिनीहरूलाई निकाल्नैपर्छ। बुझ्यौ? (बुझ्यौँ।) तिनीहरू मण्डलीभित्र खुसी भए पनि वा बेखुसी भए पनि, तिनीहरूलाई जसले भड्काए पनि, तिनीहरूसँग जोसुकै मिलेर बसे पनि, तिनीहरूलाई मण्डली अगुवाका रूपमा निर्वाचित गरिए पनि वा बर्खास्त गरिए पनि—चाहे जेसुकै होस्, तिनीहरूले सधैँ आफ्ना गैरविश्‍वासी पारिवारका सदस्यहरूलाई हरेक विवरण बताउनुपर्छ। तिनीहरूले आफ्ना गैरविश्‍वासी पारिवारका सदस्यहरू र गैरविश्‍वासीहरूले तुरुन्तै जानकारी पाउने र मण्डलीको आन्तरिक अवस्था तुरुन्तै बुझ्ने कुरा सुनिश्चित गर्छन्। त्यस्ता व्यक्तिहरूका हकमा, तैँले तिनीहरूलाई कुनै उदारता वा कृपा बिलकुलै देखाउनु हुँदैन; कुनै यस्तो व्यक्ति पत्ता लागेपछि, उसलाई निकालिहाल्। यो तरिका कस्तो छ? (उचित छ।) के यसरी काम गर्नु निर्दयी हुनु हो? (होइन।) यो निर्दयी हुनु होइन। तैँले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीका रूपमा व्यवहार गर्छस्, तर तिनीहरूले परमेश्‍वरको घरका हितहरू वा दाजुभाइ-दिदीबहिनीहरूका हितहरूको रक्षा पटक्कै गर्दैनन्। बरु, तिनीहरूले हरेक मोडमा परमेश्‍वरको घर र दाजुभाइ-दिदीबहिनीहरूका हितहरूलाई विश्वासघात गर्छन्। तैँले तिनीहरूलाई परिवारका रूपमा लिन्छस्, तर के तिनीहरूले तँलाई परिवार ठान्छन्? (ठान्दैनन्।) त्यसोभए तिनीहरूप्रति उदारता नदेखा; यदि तिनीहरूलाई निकाल्नुपर्छ भने, निकाल्। यस विन्दुसम्म, के तिमीहरूले त्यस्ता व्यक्तिहरूलाई भेटेका छौ? (छौँ। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका बारेमा सबै कुरा आफ्नो परिवारका सदस्यहरूसँग बाँड्थे, र कहिलेकाहीँ तिनीहरूले मौका मण्डलीभित्रका निश्चित मामलाहरू र निश्चित बन्दोबस्तहरूका बारेमा पनि मौका पाउनेबित्तिकै आफ्ना परिवारका सदस्यहरूलाई जानकारी दिन्थे। त्यसपछि तिनीहरूका परिवारका सदस्यहरूले मण्डलीको पिठ्यूँपछाडि त्यसबारे कुरा काट्नका लागि जानकारी बटुल्थे।) के यी व्यक्तिहरू निकालिएका छन्? (निकालिएका छन्।) निकालिएपछि, के तिनीहरूले गुनासो गरे? तिनीहरूलाई यो अन्यायपूर्ण लाग्ला र तिनीहरूले सोच्लान्, “मैले केही पनि गरेको छैनँ; यो प्रशासनिक आदेशहरूको उल्लङ्घन होइन, न त मैले बाधा वा अवरोधहरू नै सिर्जना गरेको छु, तर पनि मलाई किन निकालियो?” के तिमीहरूलाई तिनीहरूका कार्यहरूको प्रकृति बाधा र अवरोधहरू सिर्जना गर्नुभन्दा गम्भीर छ भन्ने लाग्छ? (लाग्छ।) के त्यस्ता मानिसहरूलाई छुटकारा दिन सकिन्छ? के तिनीहरूलाई परिवर्तन हुन सजिलो छ? (छैन।) तँ किन यो सजिलो हुनेछैन भन्छस्? कुन पक्षले तिनीहरूलाई परिवर्तन हुन गाह्रो छ भन्ने देखाउँछ? (तिनीहरू परमेश्‍वरको घरका हिस्सा होइनन्, तिनीहरू दाजुभाइ वा दिदीबहिनी होइनन्; तिनीहरूमा अविश्‍वासी र गैरविश्‍वासीहरूको सार हुन्छ।) तिनीहरूको सार यही हो। त्यसोभए, तिनीहरू गैरविश्‍वासी र अविश्‍वासी हुन् भनेर तिमीहरूले कसरी भन्न सक्छौ? (मण्डलीमा तिनीहरूसँग जस्तोसुकै भावनाहरू भए पनि, तिनीहरूले ती आफ्नो परिवारलाई पोखाउँछन्, जसले के सङ्केत गर्छ भने, चाहे जेसुकै भएको होस्, तिनीहरूले यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्दैनन्, तिनीहरूले कुनै पाठ सिक्नु त झन् परको कुरा हो। त्यस्ता मानिसहरूले परमेश्‍वरको काम अनुभव गर्दैनन् र सत्यतालाई स्वीकार गर्दैनन्, त्यसकारण तिनीहरूको सार अविश्‍वासीहरूको सार हो।) तिनीहरूको यो सारलाई स्पष्ट पारिएको छ। तिनीहरूले आफ्नो परिवारलाई आफ्ना भावनाहरू पोखाउँछन् र सबै कुरालाई आफ्ना भावनाहरूका आधारमा व्यवहार गर्छन्। तिनीहरू परमेश्‍वरको घरका हिस्सा होइनन्, परमेश्‍वरको घरमा घुसपैठ गरेका गैरविश्‍वासी हुन् भनेर तिमीहरूले कसरी भन्न सक्छौ? (किनभने तिनीहरूले परमेश्‍वरको घरका हितहरूलाई विश्‍वासघात गर्न सक्छन्, विश्‍वासघाती र जासुसका रूपमा काम गर्न सक्छन्, र तिनीहरू आधारभूत रूपमा परमेश्‍वरको घरको काम र हितहरूको रक्षा गर्ने मानिस होइनन्। तसर्थ, यी व्यक्तिहरू परमेश्‍वरको घरसँग एउटै हृदयका हुँदैनन्।) यो व्याख्या त्यति प्रभावकारी भएन। म व्याख्या गर्छु। यी व्यक्तिहरूले मण्डली जीवनमा सहभागिता जनाउने र आफ्नो कर्तव्य पूरा गर्ने भए पनि, के तिनीहरूले कहिल्यै दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो परिवारका रूपमा लिएका छन्? सरल रूपमा भन्दा, के तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो ठानेका छन्? (छैनन्।) त्यसोभए तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई के ठान्छन्? (बाहिरका मानिस।) ठीक भन्यौ, बाहिरका मानिस ठान्छन्, प्रतिद्वन्द्वी ठान्छन्। त्यसोभए तिनीहरूले परमेश्‍वरको घर र मण्डलीलाई के ठान्छन्? के तिनीहरूका लागि यो एउटा कार्यस्थल मात्रै होइन र? (हो।) तिनीहरूले परमेश्‍वरको घर र मण्डली गैरविश्‍वासी संसारका कम्पनी वा संस्था भएझैँ ठान्छन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई बाहिरी मानिस, सावधानी अपनाउनुपर्ने मानिस, र प्रतिद्वन्द्वीका रूपमा हेर्छन्। तसर्थ, तिनीहरूले आधारभूत रूपमा परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूलाई दाजुभाइ-दिदीबहिनीहरूबारे विभिन्न प्रकारका जानकारी र विभिन्न वास्तविक अवस्थाहरू सजिलै खुलाउन सक्छन्। तिनीहरूलाई यी गैरविश्‍वासी मानिसहरूले भन्ने कुनै असल कुराहरू हुँदैनन्, र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई निन्दासमेत गर्न सक्छन्, र परमेश्‍वरको घरको बदनामसमेत गर्न सक्छन् भन्ने थाहा हुन्छ—तिनीहरूलाई यो सबै थाहा हुन्छ, तैपनि तिनीहरूले अलिकति पनि नहिचकिचाई यी गैरविश्‍वासीहरूलाई दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीका अवस्थाहरूबारे असावधानीपूर्वक खुलासा गर्छन्। स्पष्ट रूपमा नै, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई बाहिरी मानिसका रूपमा, प्रतिद्वन्द्वीका रूपमा हेर्छन्, र जब कुनै अप्रिय घटना घट्छ, तब तिनीहरू तुरुन्तै गैरविश्‍वासीहरूसँग मिलेर पिठ्यूँ पछाडि दाजुभाइ-दिदीबहिनीहरूलाई गिल्ला गर्छन्, बदनाम गर्छन्, र तिनीहरूका विरुद्धमा काम गर्छन्, यसरी तिनीहरूका आफ्नै चाहनाहरू पूरा गर्छन्। तिनीहरूलाई मण्डलीमा कुनै पनि दाजुभाइ-दिदीबहिनीको आलोचना गर्नु व्यवहार्य हुँदैन भन्ने लाग्छ, किनभने यदि तिनीहरूले मण्डलीका मामलाहरूबारे वा दाजुभाइ-दिदीबहिनीहरूबारे दाजुभाइ-दिदीबहिनीहरूकै अगाडि छलफल गरे भने, तिनीहरूलाई परिणामहरू भोग्नुपर्छ भन्ने लाग्छ, जुन तिनीहरूका लागि प्रतिकूल हुनेछ। तर आफ्नो परिवारसँग यी मामलाहरूबारे छलफल गर्दा, यसले तिनीहरूको व्यक्तिगत आवेशीपन, चाहना, र भावनाहरूलाई पूर्ण रूपमा सन्तुष्ट पार्छ, जसका लागि तिनीहरूले कुनै परिणाम भोग्नु पर्दैन, किनभने आखिर परिवार त परिवार नै हो, जसले तिनीहरूलाई धोका दिँदैन। तर, दाजुभाइ-दिदीबहिनीहरूका हकमा त्यस्तो हुँदैन, जसले कुनै पनि बेला वा स्थानमा तिनीहरूको रिपोर्ट गर्न, खुलासा गर्न, र काटछाँट गर्न, र तिनीहरूलाई आफ्नो कर्तव्य र पदसमेत गुमाउने अवस्थामा पुर्‍याउन सक्छन्। त्यसकारण, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना प्रतिद्वन्द्वीका रूपमा हेर्छन् भनेर भन्दा त्यो पटक्कै झूटो हुँदैन। प्रतिद्वन्द्वी भनेको त्यो व्यक्ति हो जसबाट सावधान हुनुपर्छ। त्यसकारण, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग बोल्दैनन्, न त उनीहरूसँग सङ्गति नै गर्छन्, न त उनीहरूलाई कुनै कुरा खुलासा नै गर्छन्। बरु, तिनीहरूले घरमा आफ्ना गैरविश्‍वासी पारिवारका सदस्यहरूसँग “मण्डली जीवन जिउँछन्,” जहाँ तिनीहरूले सबै कुरा बाँड्छन् र आफ्नो हृदयको कुरा पोखाउँछन्। तिनीहरूले कुनै पनि हिचकिचाहटविना आफ्ना सोच, विचार, कुण्ठा, असन्तुष्टि, र सबै विकृत दृष्टिकोणहरू व्यक्त गर्छन्, र त्यसो गर्दा हल्का र आनन्द महसुस गर्छन्। तिनीहरूको परिवारका सदस्यहरूले तिनीहरूलाई तिरस्कार गर्दैनन्, बरु सहयोग र सहकार्य गर्छन्। यदि तिनीहरूले मण्डलीमा यसरी बोल्ने हो भने, अविश्‍वासीका रूपमा रहेको तिनीहरूको साँचो प्रकृति पूर्ण रूपमा खुलासा हुनेथियो, र मण्डलीले तिनीहरूलाई निकाल्नुपर्ने हुन्थ्यो। त्यसकारण, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई परिवारका रूपमा नभई प्रतिद्वन्द्वीका रूपमा हेर्छन्। यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने, तिनीहरूले आफूलाई कहिल्यै मण्डलीको हिस्सा ठान्दैनन्, त्यसकारण मण्डलीलाई आइपर्ने कुनै पनि कुरा, चाहे त्यो धार्मिक संसारले गर्ने बदनाम र ईश्‍वरनिन्दा होस्, गैरविश्‍वासीहरूबाट आएका आधारहीन अफवाह र गिल्ला होस्, वा राष्ट्रिय सरकारले गरेको षड्यन्त्र र सतावट होस्, त्यो तिनीहरूका लागि व्यक्तिगत रूपमा असान्दर्भिक र महत्त्वहीन हुन्छ। मानौँ तिनीहरूले साँच्चिकै यस्तो महसुस गरे: “यदि मण्डलीको छविमा क्षति भयो, र परमेश्‍वरको नामलाई अपमान गरियो भने, विश्‍वासीका रूपमा हाम्रो इज्जतमाथि गम्भीर चुनौती आइपर्छ। यस कारणले गर्दा, म गैरविश्‍वासीहरूसँग कहिल्यै मण्डलीका मामलाहरू वा परमेश्‍वरको घरका मामलाहरूका बारेमा छलफल गर्दिनँ, र तिनीहरूलाई यसबारे कुरा काट्न र हाँस्न दिँदिनँ। आफूलाई रक्षा गर्नका लागि समेत म मेरा गैरविश्‍वासी पारिवारका सदस्यहरूसँग परमेश्‍वरको घरका मामलाहरूका बारेमा लापरवाह रूपमा कुरा गर्दिनँ”—यदि तिनीहरूसँग त्यस्तो सचेतना भएको भए, के तिनीहरूले आफ्नो जिब्रो काबुमा राख्न सक्नेथिएनन् र? त्यसोभए तिनीहरूले किन यसो गर्न सक्दैनन्? तिनीहरूले आफूलाई आधारभूत रूपमा परमेश्‍वरको घरको हिस्सा ठान्दैनन्, न त आफूलाई विश्‍वासी नै ठान्छन् भन्ने कुरा स्पष्ट छ। कतिपय मानिसहरूले भन्छन्, “तपाईँका शब्दहरू गलत छन्। यदि तिनीहरूले आफूलाई परमेश्‍वरको घरको हिस्सा ठान्दैनन् भने, तिनीहरू किन अझै पनि भेलाहरूमा आउँछन्?” परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये सबै प्रकारका मानिसहरू हुन्छन्। के हामीले यसका बारेमा पहिले सङ्गति गरेका छैनौँ र? विभिन्न अनुचित मनसाय र उद्देश्यहरू लिएर परमेश्‍वरमा विश्‍वास गर्न आउनेहरू धेरै हुन्छन्, र यो यस्तै एउटा प्रकार हो। मनोरञ्जनका लागि, न्यास्रो हटाउनका लागि, वा आत्मिक भरणपोषण पाउनका लागि परमेश्‍वरमा विश्‍वास गर्नु—के त्यस्ता अविश्‍वासीहरू आम रूपमा हुँदैनन् र? के त्यस्ता मानिसहरू पर्याप्त सङ्ख्यामा भेट्टाउन सकिँदैन र? (सकिन्छ।) तिनीहरूले आफैलाई समेत परमेश्‍वरका विश्‍वासीका रूपमा स्वीकार गर्दैनन्। अवश्य नै, मण्डलीका सबै काम र परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्ना कर्तव्य पूरा गर्नुप्रति तिनीहरूलाई कुनै चासो हुँदैन, र तिनीहरूले तिनलाई ध्यान दिँदैनन्। तसर्थ, तिनीहरूले गैरविश्‍वासीहरूसँग मण्डलीको कामको अवस्था, मण्डलीका आन्तरिक मामलाहरू, र दाजुभाइ-दिदीबहिनीहरूमाझ देखा पर्ने कुनै पनि समस्याहरूका बारेमा यतिकै र हल्का रूपमा छलफल गर्न सक्छन्। तिनीहरूले बोलिसकेपछि, गैरविश्‍वासीहरू गफ, निन्दा, र व्यङ्ग्य गर्नतिर लाग्छन्, तर यसले तिनीहरूलाई अलिकति पनि झिज्याउँदैन। तिनीहरूले गैरविश्‍वासीहरूसँग मिलेर दाजुभाइ-दिदीबहिनीहरूमाथि गालीगलौज बर्साउन, परमेश्‍वरको घरको आलोचना गर्न, र परमेश्‍वरको घरको काम र कामका बन्दोबस्तहरूका बारेमा टिप्पणी गर्न पनि सक्छन्। के तिनीहरू परमेश्‍वरका विश्‍वासी हुन्? (होइनन्।) एउटा साँचो विश्‍वासीले कहिल्यै यस्तो व्यवहार गर्दैन। तिनीहरूले आफ्नै इज्जत र हितहरूको रक्षा गर्नका लागि पनि कहिल्यै खाएकै थालमा चुठ्दैनन् र मण्डलीभन्दा बाहिरका मानिसहरूको पक्ष लिँदैनन्। होइन र? (हो।) त्यसकारण, त्यस्ता व्यक्तिहरू दुष्ट मानिस र अविश्‍वासी हुन्, जसलाई निकाल्नैपर्छ। तिनीहरूलाई जति चाँडै निकालिन्छ, मण्डलीमा त्यति चाँडै शान्ति हुनेछ।

हामी तिमीहरूकै बारेमा कुरा गरौँ। उदाहरणका लागि, यदि तेरा आमाबुबाले परमेश्‍वरमा विश्‍वास गर्दैनन्, वा यदि तेरा दाजुभाइ-दिदीबहिनी वा सबैभन्दा मिल्ने साथीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन्, तर तिनीहरूले तेरो विश्‍वासको विरोध गर्दैनन् र वास्तवमा यसलाई निकै समर्थन गर्छन् भने, के तैँले तिनीहरूसँग मण्डलीमा हुने सबै कुराका बारेमा कुरा गर्छस्? मानौँ तेरो एक जना महिला साथीले सोधी, “के तिमीहरूको मण्डलीमा जीवनसाथी खोजिरहेका कुनै पुरुषहरू छन्? के अत्यन्तै निष्कपट, र अग्लो, धनी, र सुन्दर कुनै पुरुषहरू छन्?” गैरविश्‍वासीहरूमध्ये केही सभ्य मानिसहरूले पनि सँगै दिन बिताउनका लागि सभ्य जीवनसाथी खोज्न चाहन्छन्। तेरो महिला साथीले परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति खोज्न चाहन्छे, त्यसकारण के तँ उसलाई बताउन इच्छुक हुनेछस्? (हुनेछैनँ।) तैँले उसलाई यसो भन्नुपर्छ, “विश्‍वासीहरूप्रतिको तिम्रो अनुराग बेकार छ। तिमी एक गैरविश्‍वासी हौ र विश्‍वासीहरूसँग आधारभूत रूपमा मिल्दैनौ। तिमीहरूको मिल्ने भाषा छैन; तिमीहरू फरक-फरक मार्गमा हिँड्छौ! तिमीलाई हेरौँ त, तिमीले यति भड्किलो लुगा लगाएकी छौ—हाम्रो मण्डलीका कुन चाहिँ दाजुभाइले तिमीलाई मन पराउला?” तैँले उसलाई त्यति राम्रो ठान्दैनस्, त्यसकारण के तैँले ऊसँग मण्डलीका मामलाहरूका बारेमा कुरा गर्न सक्छस्? (अहँ।) केही शब्द बोल्नेबित्तिकै कुराकानी बिग्रिनेथियो, किनकि दृष्टिकोणहरू पूर्ण रूपमा फरक हुनेथिए। कतिपय गैरविश्‍वासीहरूले विश्‍वासीहरूका बारेमा राम्रो धारणा राख्ने भए पनि, र तँ विश्‍वासी बनेपछि तिनीहरूले तँसँग मित्रता कायम राख्ने भए पनि, के तँ मण्डलीका आन्तरिक मामलाहरू वा आफ्नो कर्तव्य पूरा गर्दा तैँले सामना गर्ने कठिनाइहरूबारे तिनीहरूलाई बताउन तयार हुनेथिइस्? (हुनेथिइनँ।) तैँले परमेश्‍वरमाथि विश्‍वास गरेकोमा तिनीहरूले साथ दिए पनि, तिनीहरूसँग मण्डलीका मामलाहरूका बारेमा छलफल गर्नुको के फाइदा? उदाहरणका लागि, कतिपय दाजुभाइ-दिदीबहिनीहरूले यहूदा नबनी ठूलो रातो अजिङ्गरको यातना र सोधपुछ सहेका छन्। यो गैरविश्‍वासीहरूले समेत प्रशंसा गर्ने गवाही हो—के तँ तिनीहरूसँग यो कुरा बाँड्न इच्छुक हुनेथिइस्? (हुनेथिइनँ।) तँ किन यसबारे छलफल गर्न इच्छुक हुनेथिइनस्? (तिनीहरूका लागि त्यस्ता कुराहरू असान्दर्भिक हुन्, र तिनीहरूले यी अनुभवात्मक गवाहीहरू बुझ्न सक्नेथिएनन्।) तिनीहरूले बुझ्न सक्नेथिएनन्। यी मामलाहरूबारे छलफल गर्दा के-कस्ता नकारात्मक असरहरू पर्न सक्छन्? (तिनीहरूले बरु मण्डलीकै आलोचना गर्न सक्छन्।) तिनीहरूले यस्तो आलोचना गर्नेथिए: “तिमीहरू आफै किन यस्तो कुराबाट गुज्रन्छौ? राष्ट्रिय सरकारको विरुद्धमा किन जानु?” हेर त, एउटा टिप्पणीले नै तिनीहरूको प्रकृतिलाई खुलासा गर्न सक्छ। यसलाई कसरी राष्ट्रिय सरकारको विरुद्धमा गएको मान्न सकिन्छ? देशको शासन गर्ने दियाबलस राजाहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई गम्भीर रूपमा हानि गरिरहेका छन्, र तिनीहरूलाई जिउने बाटोबाट वञ्चित गरेका छन् भन्ने कुरा स्पष्ट छ। तिनीहरूले यो कुरा देख्दा पनि, थाहा नभएको नाटक गर्छन्। तिनीहरूले सत्यतालाई उल्ट्याउने र तथ्यहरूलाई बङ्ग्याउने तरिकाले बोल्छन् भन्ने कुरा स्पष्ट छ। तैँले तिनीहरूसँग सम्भवतः अरू के कुराबारे छलफल गर्न सक्छस्? तैँले तिनीहरूसँग परमेश्‍वरमाथिको आस्थासँग सम्बन्धित कुनै पनि कुराबारे बोल्नु हुँदैन; तैँले तिनीहरूलाई यसबारे केही पनि थाहा दिनु हुँदैन। आफ्नो जिब्रो काबुमा राख्न नसक्‍ने मानिसहरूले गैरविश्‍वासीहरूलाई मण्डलीबारे सबै कुरा बताउन सक्छन्। तिनीहरू स्पष्ट रूपमा नै अविश्‍वासी हुन्; तिनीहरू परमेश्‍वरको घरमा झारा टार्न आएका दियाबलस हुन्, जुन थालमा खायो त्यही थालमा चुठ्ने पशु हुन् जोसँग एकरत्ती विवेक वा समझ हुँदैन। परमेश्‍वरको घर वा मण्डलीका हित वा प्रतिष्ठामा हुने कुनै पनि हानिले तिनीहरूलाई पटक्कै असर गर्दैन, तिनीहरूको कुनै पनि हितमा असर गर्दैन, र तिनीहरूले अलिकति पनि दुःख महसुस गर्दैनन्; त्यसकारण, तिनीहरूले अलिकति पनि सङ्कोच नमानी गैरविश्‍वासीहरू र परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूलाई लापरवाहीपूर्वक मण्डलीका आन्तरिक मामलाहरूका बारेमा बताउन सक्छन्। के त्यस्ता मानिसहरू घृणास्पद हुन्छन्? (हुन्छन्!) दाजुभाइ-दिदीबहिनीहरूलाई परिवारका रूपमा नहेर्ने तर गैरविश्‍वासीहरूलाई आफ्नो परिवारका रूपमा हेर्ने अविश्‍वासीले सत्यतालाई स्वीकार गर्न सक्छ? (सक्दैन।) के तिनीहरूले परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर मान्न सक्छन्? (सक्दैनन्।) के आफूलाई मण्डलीको सदस्य नमान्ने व्यक्तिले परमेश्‍वरले मानिसलाई दिने मुक्तिका वचनहरू सुन्दा आफ्ना हितहरूलाई पाखा लगाएर सत्यता पछ्याउन र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ? (सक्दैन।) तिनीहरूका दैनिक क्रियाकलापहरू भनेका मण्डलीका हितहरूलाई धोका दिने, बाहिरी मानिसहरूको पक्ष लिने, र जासुस, यहूदा, र विश्‍वासघातीका रूपमा काम गर्ने मात्र हुन्छन्, मानौँ यो तिनीहरूको मिसन नै हो। तिनीहरू उचित मार्गमा हिँड्दैनन् बरु दुष्टता गर्न जिउँछन्; तिनीहरू मर्न र श्रापित हुन लायक हुन्छन्! जुन थालमा खायो त्यही थालमा चुठ्ने यी यहूदा, विश्‍वासघाती, र शैतानका सेवकहरू नकारात्मक अलच्छिना हुन्, तिनीहरू मानवजातिका लागि हानिकारक हुन्छन्, र तिनीहरूलाई सबैले तिरस्कार गर्छन्। त्यसोभए, के मण्डलीले तिनीहरूलाई तह लगाएर निकाल्नु पूर्ण रूपमा उचित होइन र? (हो।) यो पूर्ण रूपमा उचित कुरा हो! तिमीहरू धोकामा पर्न मन पराउँदैनौ नि, होइन र? यदि मण्डली वा परमेश्‍वरको घरलाई धोका दिइयो भने, धेरैजसोले गहन रूपमा सहानुभूति नजनाउलान् वा अत्यन्तै व्यथित महसुस नगर्लान्; तिनीहरूलाई भित्री रूपमा अलिक असहज मात्रै लाग्ला, किनभने आखिर तिनीहरू यसकै सदस्य त हुन्। तर यदि मण्डलीको कसैले गैरविश्‍वासीहरूलाई फाइदा पुग्ने गरी तँलाई धोका दियो, र उसले तँलाई धोका दिएका कारण, गैरविश्‍वासीहरूले तथ्यहरूलाई बङ्ग्याए, तँलाई बदनाम गरे, गिल्ला गरे, आलोचना गरे, र निन्दा गरे भने के गर्ने? त्यो बेला तैँले कस्तो महसुस गर्नेथिइस्? के तैँले त्यतिबेला मण्डली र परमेश्‍वरको घरले भोगेको अपमान र लाज अनुभव गर्नेथिइनस् र? (गर्नेथिएँ।) यस दृष्टिकोणबाट हेर्दा, के त्यस्ता व्यक्तिहरूलाई निकाल्नु उचित हो? (हो।) तिनीहरूलाई निकाल्नुपर्छ; तिनीहरूलाई उदारता देखाउनु पर्दैन। आफ्नो जिब्रोलाई काबुमा राख्न नसक्ने मानिसहरूको कुरा गर्नुपर्दा, तिनीहरूलाई आफूलाई कसरी आचरणमा ढाल्छन् र तिनीहरूले कस्तो जीवन जिउँछन् भन्ने कुराका विभिन्न प्रकटीकरणहरूका आधारमा भन्दा, तिनीहरू मण्डलीभित्रका अविश्‍वासीहरू हुन्, र तिनीहरू निकालिनुपर्ने एक प्रकारको दुष्ट व्यक्ति हुन्। तिनीहरूका कार्यहरू चाहे गोप्य रूपमा गरिएका होऊन् वा खुलेआम गरिएका होऊन्, जब कसैले आफ्नो जिब्रो काबुमा राख्न सक्दैन र उसको मानवता सार पूर्ण अविश्‍वासीको जस्तो छ भन्ने पत्ता लाग्छ, तब तुरुन्तै अगुवा र कामदारहरूलाई उसको रिपोर्ट गर्, अनि दाजुभाइ-दिदीबहिनीहरूलाई जानकारी दे। त्यस्ता व्यक्तिहरूलाई समयमा नै र सही रूपमा खुट्ट्याउनुपर्छ, र त्यसपछि तिनीहरूलाई जति सक्दो चाँडो मण्डलीबाट निकाल्नुपर्छ। तिनीहरूलाई मण्डली, यसको काम, वा दाजुभाइ-दिदीबहिनीहरूसँग संलग्न हुन दिँदै नदे; तिनीहरूलाई पूर्ण रूपमा निकाल्नु नै सही कार्य हो। मानवताको यो प्रकटीकरण—आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्‍नु—बारे सङ्गति यहीँ समाप्त हुन्छ।

के आज सङ्गति गरिएका तीन प्रकारका मानिसहरूको मामला पहिले सङ्गति गरिएका दुई प्रकारका मानिसहरूको भन्दा गम्भीर छ? (हजुर।) तिनीहरूको परिस्थिति झनै खराब हुन्छ, तिनीहरूको मानवता झनै नीच र घृणित हुन्छ, साथै मण्डली र सबै दाजुभाइ-दिदीबहिनीहरूका हितहरूमा तिनीहरूले गर्ने हानि र असर झनै ठूलो हुन्छ। त्यसकारण, यी तीन प्रकारका मानिसहरूलाई हल्का रूपमा नलेऊ; तिनीहरूदेखि सतर्क हुनुपर्छ र तिनीहरूलाई छूट दिनु हुँदैन। यदि कुनै व्यक्ति यी तीन प्रकारमध्ये एउटाका रूपमा पहिचान भयो भने, उसलाई तुरुन्तै खुलासा गर्नुपर्छ र खुट्ट्याउनुपर्छ, त्यसपछि जति सक्दो चाँडो बाहिर फाल्नुपर्छ। यदि उसले महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेको छ भने, उसको कर्तव्यको जिम्मेवारी लिनलाई तुरुन्तै कोही खोज, त्यसपछि उसलाई त्यो कर्तव्यबाट हटाएर निकालिदेऊ। बुझ्यौ? (बुझ्यौँ।) मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूका विभिन्न स्थितिहरू, फरक-फरक अवधिमा तिनीहरूका विभिन्न प्रकटीकरणहरू, मण्डलीको काम, र यसका केही आन्तरिक मामलाहरूका बारेमा दाजुभाइ-दिदीबहिनीहरूका बीचमा मात्रै छलफल र सङ्गति गर्न पाइन्छ। यसको उद्देश्य परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूका बारेमा झनै स्पष्ट बुझाइ र अन्तर्ज्ञान दिनु हो, र जसद्वारा तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार काम गर्ने क्षमता हासिल गर्न सकून्। तर, एउटा सिद्धान्त चाहिँ स्पष्ट हुनैपर्छ: चाहे यो परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशसँग सम्बन्धित सत्यताहरू वा सिद्धान्तहरू हुन्, वा चाहे यो सामान्य मामलाहरूका प्रावधानहरू हुन्, तिनका बारेमा गैरविश्‍वासीहरूलाई पटक्कै बताउन पाइँदैन, जसले गर्दा गैरविश्‍वासीहरूले टिप्पणी गर्छन् र औँला उठाउँछन्। यो पूर्ण रूपमा निषेधित गरिएको छ। कतिपयले भन्लान्, “यदि यो पूर्ण रूपमा निषेधित गरिएको छ भने, के यसको अर्थ यो प्रशासनिक आदेश हो भन्ने हुन्छ?” यसलाई यसरी भन्न सकिन्छ; जसले जानकारी चुहाउँछ, उसले सोहीबमोजिमका परिणामहरू भोग्नेछ। उसले किन परिणामहरू भोग्नुपर्छ? किनभने मण्डलीका आन्तरिक मामलाहरू चुहाउनेहरूले मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्दैनन्, र तिनीहरूले सजिलै मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिन सक्छन्। तिनीहरूले विश्वासघाती र यहूदाको काम गर्ने हुनाले, तिनीहरूलाई उप्रान्त उदारता देखाउनु हुँदैन वा दाजुभाइ-दिदीबहिनी वा परिवारका रूपमा लिनु हुँदैन। तिनीहरूलाई विश्‍वासघाती र यहूदाका रूपमा फाल्नुपर्छ र मण्डलीबाट सिधै निकाल्नुपर्छ। कतिपय मानिसहरूले भन्छन्, “मेरो मुखाले हुने खराब बानी थियो, र ममा लापरवाह रूपमा बोल्ने प्रवृत्ति थियो। अहिले त्यस्ता कार्यहरूका परिणामहरू देखेपछि, मैले लापरवाह रूपमा बोल्ने आँट गर्न छोडेको छु।” राम्रो। तैँले यसो भनेको हुनाले, तेरो व्यवहारमाथि निगरानी राखिनेछ। यदि तैँले साँचो रूपमा पश्चात्ताप गरिस् र आफूलाई परिवर्तन गरिस्, लापरवाह रूपमा जानकारी दिन वा दाजुभाइ-दिदीबहिनीहरूका हितहरूमाथि विश्वासघात गर्न छोडिस्, र आफ्‍नो जिब्रो काबुमा राख्‍न सकिस् भने, परमेश्‍वरको घरले तँलाई एउटा मौका दिनेछ। यदि तैँले यसो गरेको छस्, जानकारी फैलाउने व्यक्ति तँ नै रहेछस् भन्ने कुरा फेरि पत्ता लाग्यो भने, तँलाई कुनै उदारता देखाइनेछैन—मण्डलीका दाजुभाइ-दिदीबहिनीहरू तँलाई निकाल्न एकजुट हुनेछन्। त्यस्तो हुँदा, रुने वा तँलाई अग्रिम चेतावनी दिइएन भनेर गुनासो गर्ने नगर्। अब यी कुराहरू स्पष्ट रूपमा बुझाइएका हुनाले, यदि फेरि यस्तो भयो भने, परमेश्‍वरको घर पटक्कै उदार हुनेछैन। बुझ्यौ? (बुझ्यौँ।) यदि तिमीहरूले यो कुरा नबुझेको कसैलाई देख्यौ भने, उसलाई बुझाइदेओ; आज हामीले सङ्गति गरेको कुरा प्रयोग गरेर तिनीहरूलाई सङ्केतकहरू देओ। यदि तिमीहरूले यो व्यवहारका लक्षणहरू देखिने वा पहिले यसरी व्यवहार गरेको कोही देख्यौ भने, तिनीहरूसँग कुराकानी गर, तिनीहरूलाई चेतावनी देओ, र त्यस्ता कार्यहरूका प्रकृति र परिणामहरू, साथै यी मामला र मानिसहरूप्रति परमेश्‍वरको घरको मनोवृत्तिका बारेमा तिनीहरूलाई जानकारी देओ। कुराहरू स्पष्ट पारेपछि, तिनीहरूले पश्चात्ताप गर्न सक्छन् कि सक्दैनन् र भविष्यमा तिनीहरूले के गर्नेछन् भनेर हेर्न तिनीहरूलाई निगरानी गर। यदि तिनीहरू परिवर्तन भए र तिनीहरूले यस तरिकाले व्यवहार गर्न छोडे भने, तिनीहरूलाई फिर्ता लिन र दाजुभाइ-दिदीबहिनीका रूपमा व्यवहार गर्न सकिन्छ। तर यदि तिनीहरूले जिद्दी भएर पश्चात्ताप गर्दैनन् र गुप्त रूपमा यसरी व्यवहार गरिरहन्छन् भने, त्यस्तो व्यक्ति भेटिनेबित्तिकै उसलाई निकाल। यदि तिमीहरूले दुई जनालाई भेट्टायौ भने, ती दुई जनालाई नै निकाल; यदि तिमीहरूले एउटा समूह भेट्टायौ भने, सबैलाई निकाल। कुनै उदारता नदेखाओ। कतिपय मानिसहरूले सोध्छन्, “के मैले मेरो परिवारका ती मानिसहरूसँग कुरा गर्न सक्छु, जसले कुनै बेला विश्‍वास गरेका थिए, तर जसलाई पछि निकालिएको थियो?” मुख चलाउन र कुरा काट्न मन पराउनेहरूलाई आफूलाई नियन्त्रण गर्न सजिलो हुँदैन जस्तो देखिन्छ, र तिनीहरूले त्यसो गर्न मिल्छ कि मिल्दैन भनेर सधैँ सोध्ने गर्छन्। तिमीहरूलाई के लाग्छ, के यसो गर्न मिल्छ? (मिल्दैन।) कसैसँग कुरा गर्न मिल्दैन, किनभने यसले सजिलै परिणामहरू ल्याउँछ। त्यस्ता मानिसहरू सबैलाई यहूदाका रूपमा फाल्नुपर्छ। जो गैरविश्‍वासी हुन्, जो निकालिएका छन्, जो तेरा निकट छन्, जो भरोसायोग्य छन्, जसले परमेश्‍वरमाथिको तेरो विश्‍वासलाई समर्थन गर्छन्, जसले परमेश्‍वरमा विश्‍वास गर्नेबारे सकारात्मक धारणा राख्छन्, र जो नाममा मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्, जसले बल्लतल्ल मण्डली जीवन जिउँछन् र परमेश्‍वरका केही वचनहरू पढ्छन् तर आफ्नो कर्तव्य पटक्कै पूरा गर्दैनन् तिनीहरूसँग कुरा गर्नै हुँदैन—यदि कसैले गर्‍यो भने, उसलाई यहूदा भनेर फालिनेछ। बुझ्यौ? (बुझ्यौँ।) आफ्नो कर्तव्य पूरा नगर्नेहरूमा अरू को पर्छ? के साधारण मण्डली सदस्यहरू पर्छन्? (पर्छन्।) यो कुरा नबिर्स; मूर्ख नबन। तिमीहरूले सिद्धान्तहरू राम्ररी बुझ्नुपर्छ। अन्त्यमा यहूदा बनेर परमेश्‍वरको घरलाई धोका दिने, थाहै नपाई दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिने, र यसप्रति गर्वसमेत गर्ने तरिकाले मात्र विश्‍वास नगर। आफ्नो जिब्रो काबुमा राख्‍न नसक्‍नु र मण्डली र दाजुभाइ-दिदीबहिनीहरूको कामलाई समेत धोका दिनु गम्भीर अपराध हो। परमेश्‍वरले यस्तो दुष्टता गर्ने जोकसैको अभिलेख राख्नुहुन्छ। अब तँलाई यो कुरा प्रस्ट रूपमा बुझाइएको छ, र तैँले बुझेको छस्, त्यसकारण यदि तैँले फेरि यसो गरिस् भने, यो अब साधारण अपराध हुनेछैन; यो प्रशासनिक आदेशको उल्लङ्घन हुनेछ, जसले गर्दा तँ निकालाको निसाना बन्नेछस्, र तँ मुक्ति पाउने अधिकारबाट वञ्चित हुनेछस्। बुझिस्? (बुझेँ।)

डिसेम्बर ११, २०२१

अघिल्लो: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२४)

अर्को: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२६)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्