अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२७)

आज हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूको विषयमा सङ्गति गर्न जारी राख्नेछौँ। यसभन्दा पहिले, हामीले चौधौँ जिम्मेवारीसम्म सङ्गति गरेका थियौँ, र यो जिम्मेवारी अन्तर्गत अझै पनि केही उपविषयहरू छन्, जसका बारेमा सङ्गति गरिएको छैन। हामीले सङ्गति गर्नुभन्दा पहिले, सुरुमा, अगुवा र कामदारहरूका कति वटा जिम्मेवारीहरू छन् भनेर पुनरावलोकन गर। (पन्ध्र वटा छन्।) पढेर सुनाओ।

(अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू:

१. मानिसहरूलाई परमेश्‍वरको वचन खान र पिउन तथा बुझ्‍न अनि परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्ने।

२. हरेक किसिमका मानिसहरूको स्थितिबारे परिचित हुने र तिनीहरूले आफ्नो वास्तविक जीवनमा सामना गर्ने जीवन प्रवेशसम्बन्धी विविध कठिनाइहरू समाधान गर्ने।

३. हरेक कर्तव्य उचित तरिकाले निर्वाह गर्नका निम्ति बुझ्‍नुपर्ने सत्यता सिद्धान्तहरू सङ्‍गति गर्ने।

४. फरक-फरक कामका सुपरिवेक्षकहरू र विभिन्न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरूका बारेमा सुसूचित रहने, र आवश्यकताअनुसार तिनीहरूलाई अह्राइएका कर्तव्यहरू तुरुन्तै समायोजन गर्ने वा तिनीहरूलाई बरखास्त गर्ने, ताकि अनुपयुक्त मानिसहरूलाई प्रयोग गर्दा हुने क्षति रोक्‍न वा घटाउन सकियोस्, र कामको प्रभावकारीता र सहज प्रगति प्रत्याभूत गर्न सकियोस्।

५. प्रत्येक कामको स्थिति र प्रगतिको अद्यावधिक बोध र बुझाइ कायम राख्‍ने, र तुरुन्तै समस्याहरू समाधान गर्न, विचलनहरूलाई सच्याउन र काममा रहेका त्रुटिहरूलाई सच्याउन सक्षम हुने ताकि काम सहज रूपमा अघि बढोस्।

६. सबै किसिमका योग्य प्रतिभाको प्रवर्धन र संवर्धन गर्ने ताकि सत्यतालाई पछ्याउने सबैले तालिम लिने मौका प्राप्त गर्न सकून् र जति सक्दो चाँडो सत्यता वास्तविकतामा प्रवेश गरून्।

७. फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवता र सबल पक्षका आधारमा समझदारीपूर्वक खटनपटन र प्रयोग गर्ने, ताकि हरेकलाई सर्वोत्तम रूपमा प्रयोग गर्न सकियोस्।

८. काममा आइपर्ने अन्योल र कठिनाइहरूबारे तत्काल रिपोर्ट गर्ने र तिनलाई समाधान गर्ने उपायहरू खोजी गर्ने।

९. आवश्यकता बमोजिम परमेश्‍वरको घरका विभिन्‍न कार्य प्रबन्धहरू सही तरिकाले सञ्चार, जारी, र कार्यान्वयन गर्ने, मार्गनिर्देशन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्ने, र तिनको कार्यान्वयनको निरीक्षण र गर्ने।

१०. परमेश्‍वरका घरका विभिन्‍न सम्पत्तिहरूलाई (पुस्तकहरू, विभिन्‍न उपकरण, अन्‍नपात र यस्तै अन्य कुराहरू) उचित तरिकाले सुरक्षित गर्ने र विवेकपूर्वक परिचालन गर्ने, अनि क्षति र खेर जाने अवस्थालाई न्यूनीकरण गर्न नियमित निरीक्षण, मर्मत-सम्भार र सुधार गर्ने; साथै, दुष्ट मानिसहरूलाई ती कुराहरू स्वामित्वमा लिनबाट रोक्‍ने।

११. विशेषगरी भेटीलाई व्यवस्थित ढङ्‍गबाट दर्ता, मिलान र सुरक्षित गर्ने कार्यको निम्ति मानकअनुरूप मानवता भएका भरपर्दा मानिसहरू चयन गर्ने; नियमित रूपमा आय र व्ययको पुनरावलोकन र जाँच गर्ने ताकि फजुलमा उडाउने वा खेर फाल्‍ने घटनाहरू साथै अनुचित खर्चहरू तत्कालै पहिचान गर्न सकियोस्—यस्ता कुराहरूलाई रोक्‍ने र उचित क्षतिपूर्ति माग गर्ने; यसका साथै, कुनै पनि उपायद्वारा, भेटीलाई दुष्ट मानिसहरूका हातमा पर्न र तिनीहरूको स्वामित्वमा पर्नदेखि जोगाउने।

१२. परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थालाई बाधा र अवरोध पुर्‍याउने विभिन्‍न मानिस, घटना, कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्‍ने, सीमित गर्ने र परिस्थितिलाई सही बनाउने। यसका अतिरिक्त, सत्यता सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत समझशक्ति विकास गरून् र ती कुराहरूबाट सिकून्।

१३. परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीको बाधा, बहकाउ, नियन्त्रण र गम्भीर हानिदेखि जोगाउने र तिनीहरूलाई ख्रीष्टविरोधीलाई खुट्ट्याउन र हृदयबाट त्याग्‍न सक्‍ने बनाउने।

१४. सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई चाँडै खुट्ट्याउने, अनि निकाल्ने वा निष्कासित गर्ने।

१५. सबै किसिमका महत्त्वपूर्ण काम गर्ने व्यक्तिहरूलाई बाहिरी संसारको हस्तक्षेपदेखि रक्षा गर्दै तिनीहरूको सुरक्षा गर्ने, र विभिन्न महत्त्वपूर्ण कामहरू व्यवस्थित ढङ्‍गबाट अगाडि बढ्ने सुनिश्चित गर्नका लागि तिनीहरूलाई सुरक्षित राख्‍ने।

के सबैले यी सबै पन्ध्र वटा जिम्मेवारीहरू स्पष्ट रूपमा सुन्यौ? (सुन्यौँ।) अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारी “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई चाँडै खुट्ट्याउने, अनि निकाल्ने वा निष्कासित गर्ने” हो। त्यसोभए तैँले विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई कसरी खुट्ट्याउन सक्छस्? पहिलो मापदण्ड परमेश्‍वरमा विश्‍वास गर्नुको तिनीहरूको उद्देश्यमा आधारित छ। हामीले मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुका उद्देश्यहरूलाई कति वटा बुँदामा विभाजित गरेका थियौँ? हामीले तिनलाई नौ वटा बुँदामा विभाजित गरेका थियौँ: पहिलो बुँदा भनेको पदाधिकारी बन्ने आफ्नो चाहना पूरा गर्नु हो; दोस्रो, विपरीत लिङ्गीको खोजी गर्नु हो; तेस्रो, विपत्तिहरूबाट जोगिनु हो; चौथो, अवसरवादमा संलग्न हुनु हो; पाँचौँ, मण्डलीको भरमा जिउनु हो; छैटौँ, आश्रय खोज्नु हो; सातौँ, पृष्ठपोषक खोज्नु हो; आठौँ, राजनीतिक उद्देश्यहरू पछ्याउनु हो; र नवौँ, मण्डलीको निगरानी गर्नु हो। यो विभिन्न प्रकारका मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुका अभिप्राय र उद्देश्यहरूका आधारमा तिनीहरूको सारलाई खुट्ट्याउनु हो। निकालिनुपर्ने वा निष्कासित गरिनुपर्ने विभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउने दोस्रो मापदण्ड विभिन्न पक्षहरूमा तिनीहरूको मानवता सारका प्रकटीकरणहरूमा आधारित हुन्छ। यो मापदण्डमा कति वटा प्रकटीकरणहरू संलग्न हुन्छन्? पहिलो, तथ्य र झूटहरूलाई गलत रूपमा प्रस्तुत गर्न मन पराउनु; दोस्रो, फाइदा लिन मन पराउनु; तेस्रो, लम्पट र असंयमित हुनु; चौथो, बदला लिने प्रवृत्ति हुनु; पाँचौँ, आफ्नो जिब्रो काबुमा राख्‍न नसक्नु; छैटौँ, अनुचित हुनु र जानी-जानी कष्टदायी हुनु, जसले गर्दा कसैले पनि तिनीहरूलाई चिढ्याउने आँट गर्दैन; सातौँ, निरन्तर कामुक क्रियाकलापहरूमा संलग्‍न हुनु; आठौँ, कुनै पनि बेला धोकामा संलग्न हुन सक्नु; नवौँ, कुनै पनि बेला छोडेर जान सक्नु; दसौँ, डगमगाउनु; एघारौँ, कायर र शङ्कास्पद हुनु; बाह्रौँ, समस्या निम्त्याउन प्रवृत्त हुनु; तेह्रौँ, जटिल पृष्ठभूमि हुनु। कुल तेह्र वटा प्रकटीकरणहरू छन्। अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारी “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई चाँडै खुट्ट्याउने, अनि निकाल्ने वा निष्कासित गर्ने” हो। पहिलो मापदण्डसँग सम्बन्धित मामलाहरू—व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य—यसबारे सङ्गति गरिसकिएको छ। हामीले तिनीहरूको मानवताका पहिलो सात वटा समस्याहरूका बारेमा पनि सङ्गति गरिसकेका छौँ, जुन दोस्रो मापदण्ड हो। आज, हामी तिनीहरूको मानवताको आठौँ प्रकटीकरणबाट सङ्गति गर्न थाल्नेछौँ: त्यो हो, “कुनै पनि बेला धोकामा संलग्न हुन सक्नु।”

विषयवस्तु चौध: सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई चाँडै खुट्ट्याउने, अनि निकाल्ने वा निष्कासित गर्ने (भाग छ)

विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मानक र आधारहरू

आ. व्यक्तिको मानवताको आधारमा

८. कुनै पनि बेला धोकामा संलग्न हुन सक्नु

जसले स्पष्ट रूपमा मण्डलीलाई धोका दिने क्षमता प्रकट गर्छन्—तिमीहरू यस्ता मानिसहरूलाई चिन्न सक्छौ, होइन र? के यी मानिसहरूको समस्या अत्यन्तै गम्भीर हुन्छ? (हो।) कतिपय मानिस कायर भएकाले मण्डलीलाई धोका दिन्छन्, जबकि अरूले आफ्नो दुष्ट मानवता वा अरू समस्याका कारण त्यसो गर्छन्। कारण जेसुकै भए पनि, यस्ता मानिसहरूले कुनै पनि बेला दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिन र परमेश्‍वरलाई विश्‍वासघात गर्न सक्छन् भन्ने तथ्यले तिनीहरू भरपर्दा होइनन् भन्ने देखाउँछ। यदि तिनीहरूले मण्डलीका बारेमा केही महत्त्वपूर्ण जानकारी वा दाजुभाइ-दिदीबहिनीहरूको व्यक्तिगत जानकारी, जस्तै दाजुभाइ-दिदीबहिनीहरू कहाँ बस्छन्, मण्डली अगुवाहरू को हुन्, मण्डली कुन काममा संलग्न छ, वा कसले कुन महत्त्वपूर्ण काम र कर्तव्यहरू पूरा गर्छ भन्ने कुरा थाहा पाए भने, तिनीहरूले खतरा उत्पन्न हुँदा वा केही विशेष परिस्थितिहरूमा यो जानकारी खुलासा गर्न सक्छन्, र मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिन सक्छन्। तिनीहरूले यसो गर्नुको एउटा कारण भनेको आफूलाई सुरक्षा गर्न र आफ्नो सुरक्षा सुनिश्चित गर्नका लागि हो। अर्कोतर्फ, तिनीहरूले जानीजानी यस्तो व्यवहार गर्न सक्छन्, र यस जानकारीलाई गम्भीरतापूर्वक नलिन र व्यक्तिगत फाइदाको बदलामा कुनै पनि बेला यस्तो कुरा खुलासा गर्न र धोकामा संलग्न हुन सक्छन्। उदाहरणका लागि, कतिपय मानिसलाई ठूलो रातो अजिङ्गरद्वारा पक्राउ गरिन्छ, र सोधपुछको बेला, ठूलो रातो अजिङ्गरले तिनीहरूलाई जबरजस्ती कबुल गराउन धम्की दिन्छ, प्रलोभनमा पार्छ, वा यातनासमेत दिन्छ, र यदि तिनीहरूले बोले भने, तिनीहरूलाई रिहाइ गरिनेछ भनेर भन्छ, त्यसकारण तिनीहरूले आफ्नो स्वतन्त्रताका लागि दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीबारे थाहा भएको सबै जानकारी बताएर धोका दिन्छन्। यस्ता मानिसहरू खाँटी यहूदा हुन्। ल भन त, खाँटी यहूदा प्रकारका मानिसहरूलाई कसरी व्यवहार र निराकरण गर्नुपर्छ? (यस्ता मानिसहरूलाई तुरुन्तै निष्कासित गर्नुपर्छ र श्राप पनि दिनुपर्छ।) सामान्यतया, यी खाँटी यहुदाहरूले—जानाजान होस् वा अनजानमा—मण्डलीका निश्चित परिस्थितिहरूबारे सोधपुछ गर्छन् वा ज्ञान प्राप्त गर्छन् र त्यसलाई मनमा राख्छन्। पछि, तिनीहरूमाथि कुनै परिस्थिति आइपर्दा र तिनीहरू पक्राउ पर्दा, तिनीहरू यो जानकारी कबुल गर्छन्। झट्ट हेर्दा, तिनीहरूले यी कुराहरूबारे सोधपुछ गर्नु र सिक्नुको उद्देश्य ठूलो रातो अजिङ्गरलाई जानाजानी जानकारी कबुल गर्नुजस्तो देखिँदैन, तर जब तिनीहरू पक्राउ पर्छन्, तब तिनीहरू आफूलाई रोक्न सक्दैनन्। परिणामस्वरूप, तिनीहरूको कबुलले मण्डलीमा केही प्रतिकूल परिणामहरू ल्याउँछ। त्यसकारण, तिनीहरूले यी कुराहरूबारे गर्ने त्यतिकैको सोधपुछ र सिकाइ साधारण कुराकानी वा व्यर्थ गफगाफ प्रकृतिका हुँदैनन्; बरु, तिनीहरूले जानाजानी र उद्देश्यका साथ त्यसो गरिरहेका हुन्छन्। यसले तिनीहरूलाई पछि यहूदा बन्ने अवस्थाहरू तयार गर्छ। के अरूको जानकारी त्यतिकै खुलासा गरेर धोका दिने मानिसहरूको समस्यालाई सत्यता सङ्गति गर्ने वा तिनीहरूलाई चेतावनी दिनेजस्ता विधिहरूद्वारा समाधान गर्न सकिन्छ? (सकिँदैन।) किन सकिँदैन? (किनभने यस्ता मानिसहरूमा विवेक र समझको कमी हुन्छ, र तिनीहरूले सत्यतालाई स्वीकार गर्नेछैनन्, र तिनीहरूसँग सत्यता सङ्गति गर्नु बेकार हुन्छ।) अरूलाई त्यतिकै हानि गर्न सक्ने यस्तो दुष्ट व्यक्तिलाई कसरी निराकरण गर्नुपर्छ? एउटै मात्र समाधान छ, र त्यो तिनीहरूलाई निकाल्नु हो, किनभने तिनीहरूले गरेको कुराले दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्ने मात्र नभई मण्डलीको काममा बाधा पनि दिन्छ। यस्तो व्यवहारलाई दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीलाई धोका दिने कार्यका रूपमा चित्रण गर्न सकिन्छ, त्यसकारण यस्ता मानिसहरूलाई निकाल्नैपर्छ वा निष्कासित गर्नैपर्छ। यस्ता मानिसहरूलाई ख्रीष्टविरोधी भनेर चित्रण गर्न नसकिने भए पनि, तिनीहरूलाई मण्डलीको काममा बाधा र अवरोध ल्याउने दुष्ट मानिसहरू भनेर चित्रण गर्ने पर्याप्त आधारहरू छन्। त्यसकारण, यस्ता मानिसहरूलाई निकाल्नु पूर्ण रूपमा सिद्धान्तहरूअनुरूप हुन्छ। यी मानिसहरूलाई सत्यतामा रुचि हुँदैन; तिनीहरू जताततै अगुवा र कामदारहरूका, साथै निश्चित दाजुभाइ-दिदीबहिनीहरूका विवरणबारे सोधपुछ गर्न मात्रै मन पराउँछन्। तिनीहरूले धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन् तर धेरै सत्यताहरू बुझेका हुँदैनन्—तैपनि तिनीहरूले अगुवा र कामदारहरूका र दाजुभाइ-दिदीबहिनीहरूका परिवारहरूबारे धेरै जानकारी बटुलेका हुन्छन्। जुनसुकै दाजुभाइ-दिदीबहिनीबारे उल्लेख गरिए पनि, तिनीहरूले तिनीहरूका केही विवरण बाँड्न सक्छन्, जुन कुरा अरूलाई निकै आश्चर्यजनक लाग्छ। तिनीहरू अगुवा वा कामदार नभए पनि, तिनीहरू सधैँ प्रशासनिक काम, विभिन्न संरचनाका प्रमुखहरू, र बाहिरी मामलाहरूसँग सम्बन्धित केही जागिरजस्ता मण्डलीका निश्चित आन्तरिक मामलाहरूबारे सोधपुछ गर्न उत्सुक हुन्छन्। तिनीहरूले को कुन-कुन ठाउँमा आफ्नो कर्तव्य पूरा गर्न गएको छ र कहिले गएको हो, कसलाई बढुवा गरिएको छ, कसलाई बर्खास्त गरिएको छ, र मण्डलीको कामका निश्चित पक्षहरू कसरी अघि बढिरहेका छन् भनेर बारम्बार सोध्छन्। यी कुराहरूबारे सोधपुछ गरेपछि, तिनीहरूले यो जानकारी चारैतिर फैलाउँछन्। अझै घृणित कुरा त के हो भने, कतिपय मानिसले त्यसबारे सोधपुछ गरेपछि आफूले सङ्कलन गरेको जानकारी लेखेरसमेत राख्छन्। के यसले तिनीहरूमा गुप्त मनसायहरू छन् भन्ने देखाउँदैन र? (देखाउँछ।) ठूलो रातो अजिङ्गरको देशमा आफ्नै मामलाहरू रेकर्ड गर्दा, तिनीहरू कोड वा गुप्त भाषा प्रयोग गर्न जान्दछन्, तर अरूको जानकारी रेकर्ड गर्दा, तिनीहरूले अलिकति पनि बुद्धि देखिने विधि प्रयोग गर्दैनन्, बरु दाजुभाइ-दिदीबहिनीहरूको वास्तविक नाम, हुलिया, उमेर, फोन नम्बर, र अरू विवरणहरू नै लेख्छन्। के यो तिनीहरूले धोका दिन खोजिरहेको होइन र? तिनीहरूको अभिप्राय खराब हुन्छ, र तिनीहरूले साँच्चै नै धोका दिने अभिप्राय राख्छन्। केही खतरनाक घटना घटेपछि र प्रहरीले तिनीहरूले रेकर्ड गरेको जानकारी जफत गरेपछि, प्रहरीले तिनीहरूलाई यातनाको सहारासमेत नलिई धम्काउनु र तर्साउनु मात्रै पर्छ, अनि तिनीहरू केही कुरा नलुकाई तुरुन्तै सबै कुरा विस्तृत रूपमा कबुल गर्छन्। तिनीहरू बिर्सिएका कुराहरू याद गर्न आफ्नो दिमागसमेत खियाउँछन्, र तिनीहरूलाई कुनै कुरा याद आउनेबित्तिकै, तिनीहरू त्यो कुरा तुरुन्तै प्रहरीलाई बताउँछन्। तिनीहरूले प्रहरीलाई दाजुभाइ-दिदीबहिनीहरूको घरमा, अगुवा र कामदारहरूको घरमा, र महत्त्वपूर्ण कर्तव्य पूरा गर्नेहरूको आवासमा प्रहरीसमेत लिएर जान्छन् र तिनीहरूलाई गिरफ्तार गराउँछन्। के तिमीहरूलाई यस्ता मानिसहरू अत्यन्तै दुष्ट हुन्छन् भन्ने लाग्दैन? (लाग्छ।) तिनीहरूले अरूलाई धोका दिनुभन्दा पहिले, तिनीहरूको व्यवहार दुष्ट व्यक्तिको जस्तो देखिँदैन, ख्रीष्टविरोधीको जस्तो त झनै देखिँदैन—यी साधारण भ्रष्ट मानवका प्रकटीकरणहरू मात्रै हुन सक्छन्—तर तिनीहरू पक्राउ परेपछि, तिनीहरूले कुनै पनि दाजुभाइ-दिदीबहिनीलाई सजिलै धोका दिन सक्छन्। यो एउटा प्रकटीकरणले मात्रै पनि तिनीहरू दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूभन्दा दुष्ट हुन्छन्। तिनीहरूले आफ्नो देह अत्यन्तै कमजोर भएकाले र आफूले थप सहन नसकेकाले कठोर दबाब, यातना, र सतावटमा परेर थोरै महत्त्वहीन जानकारी नखुस्काई बस्‍न सकेनन् भन्ने होइन। बरु, तिनीहरू सक्रिय र लापरवाह रूपमा आफूलाई थाहा भएको सबै जानकारी खुलासा गर्छन्, दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षालाई कुनै वास्ता गर्दैनन्, मण्डलीको कामलाई कुनै वास्ता गर्नु त झन् परको कुरा हो। यो अत्यन्तै नीच कुरा हो! यो यहूदा प्रकारका मानिसहरूको एउटा प्रकटीकरण हो।

अर्को प्रकारका मानिसहरू पनि छन्, जसले अलिकति उत्तेजित हुनेबित्तिकै मण्डली र दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्न खोज्छन्। उदाहरणका लागि, जब तिनीहरूले प्राकृतिक प्रकोप, रोग, वा चोरीको सामना गर्छन्, तब तिनीहरू परमेश्‍वरबारे गुनासो गर्छन् अनि दाजुभाइ-दिदीबहिनीहरूमा प्रेमको कमी छ र उनीहरूले समस्याहरू समाधान गर्न सहयोग गर्दैनन् भनेर पनि गुनासो गर्छन्। यसले गर्दा तिनीहरूलाई मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिन मन लाग्छ। कतिपय मानिस जथाभावी दुष्कर्म गर्छन् र काटछाँटमा पर्छन्, र दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीहरूबाट टाढिन्छन्; यसले गर्दा तिनीहरूलाई परमेश्‍वरको घरमा प्रेमको कमी छ भन्ने महसुस हुन्छ, त्यसकारण तिनीहरू प्याच्च भन्छन्: “तिमीहरू सबैले मलाई मन पराउँदैनौ, होइन र? तिमीहरू सबैले मलाई हेयको नजरले हेर्छौ, होइन र? के म परमेश्‍वरमा विश्‍वास गरेर अझै पनि साँच्चै नै आशिष्‌हरू प्राप्त गर्न सक्छु? यदि मैले आशिष्‌हरू प्राप्त गरिनँ भने, म तिमीहरू सबैको रिपोर्ट गर्नेछु!” त्यस्ता मानिसहरूको सबैभन्दा “खाँटी” हरफ यही हो। “यदि मैले आशिष्‌हरू प्राप्त गरिनँ भने, म तिमीहरू सबैको रिपोर्ट गर्नेछु” भन्ने कथन तिनीहरूका लागि “खाँटी” हो भनेर म किन भन्छु? किनभने यस कथनले तिनीहरूको मानवतालाई प्रतिनिधित्व गर्छ। यो वाक्यांश तिनीहरूले धेरै असन्तोषजनक परिस्थितिहरूको सामना गरेपछि वा गहिरो जरा गाडेर बसेको रोषका कारण आफ्नो घृणा पोखाउनका लागि मात्रै भन्ने कुरा होइन, न त यो आवेगको विस्फोट नै हो। बरु, यो त्यस्तो कुरा हो, जसले तिनीहरूको हृदय भरेको छ र यो कुनै पनि बेला प्रकट हुन सक्छ। यो तिनीहरूको हृदयमा लामो समयदेखि रहेको कुरा हो र यो कुनै पनि बेला विस्फोट हुन सक्छ। यसले तिनीहरूको मानवतालाई प्रतिनिधित्व गर्छ। तिनीहरूको मानवता यति पतित हुन्छ—यदि कसैले तिनीहरूलाई उत्तेजित पार्‍यो वा चोट पुर्‍यायो भने, तिनीहरूले त्यस व्यक्तिलाई कुनै पनि बेला धोका दिन सक्छन्। आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, यदि तिनीहरूले कामका बन्दोबस्तहरू वा सिद्धान्तहरू उल्लङ्घन गरे, अनि अगुवा र कामदारहरू वा दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई अलि काटछाँट गरे भने, तिनीहरू रुष्ट हुन्छन्, रिसाउँछन्, र असन्तुष्ट हुन्छन्, त्यसपछि तिनीहरूले यस्ता कुराहरू भन्छन्, “म तिमीहरूको रिपोर्ट गर्नेछु! तिमी कहाँ बस्छौ मलाई थाहा छ, मलाई तिम्रो नाम-थर थाहा छ!” यदि तैँले यस्ता मानिसहरूलाई फकाइनस् भने, तिनीहरूले तँलाई साँच्चै धोका दिन सक्छन्। तिनीहरूले कसैलाई डर देखाउने प्रयास गरिरहेका हुँदैनन्, न त यो कुरा आवेगमा नै भनिरहेका हुन्छन्; यदि कसैले तिनीहरूलाई साँच्चै चिढ्यायो वा रिस उठायो भने, तिनीहरूले त्यो व्यक्तिलाई साँच्‍चै धोका दिन सक्छन्। कतिपय मानिस भन्छन्, “तिनीहरूसँग किन डराउनु?” हामीलाई तिनीहरूको डर लाग्छ भन्ने होइन। यदि यो कुरा कुनै प्रजातान्त्रिक र स्वतन्त्र देशमा भएको भए, हामी तिनीहरूको धोकाको डर मान्‍नेथिएनौँ। तर ठूलो रातो अजिङ्गरको देशमा, यदि तिनीहरू साँच्चै नै धोकामा संलग्न हुन्छन् भने, यसले दाजुभाइ-दिदीबहिनीहरूलाई समस्यामा पार्न र मण्डलीको कामलाई असर गर्न सक्छ। यदि दाजुभाइ-दिदीबहिनीहरू साँच्चै नै पक्राउ परे भने, ठूलो रातो अजिङ्गरले यसलाई ठूलो कुरा बनाउनेछ। कुनै कमजोरी पत्ता लगाएपछि, तिनीहरूले मानिसहरूलाई अनवरत रूपमा पक्राउ गरिरहनेछन्। त्यस्तो अवस्था आइपरेमा, जति पनि मानिसहरूको मण्डली जीवन प्रभावित हुनेछ, र जति पनि मानिसहरूको सामान्य कर्तव्य निर्वाहमा असर पर्नेछ। के यी निकै गम्भीर परिणाम होइनन् र? तैँले यी कुराहरूलाई ख्याल गर्नैपर्छ! यस्ता मानिसहरू अरूसँग अन्तरक्रिया गर्दा सधैँ झनक्क रिसाउने गर्छन्। यदि कसैले तिनीहरूलाई बेखुसी तुल्याउने कुरा भन्यो, वा तिनीहरूका समस्याहरू खुलासा गर्‍यो र तिनीहरूलाई रिस उठायो भने, तिनीहरू त्यो व्यक्तिसँग रिसाउँछन् र तिनीहरूले ऊसँग धेरै दिनसम्म कुरा गर्नसमेत इन्कार गर्न सक्छ, र जब तँ तिनीहरूलाई खोज्न र आफ्नो कर्तव्य पूरा गर्न अनुरोध गर्न जान्छस्, तब तिनीहरूले अनुरोधलाई बेवास्ता गर्छन्। यस्ता मानिसहरूसँग मिलेर बस्नु असम्भव हुन्छ। के तिनीहरू दुष्ट मानिस होइनन् र? मानिसहरूको कुनै समूहमा, तैँले प्रायजसो दुष्ट मानिसहरूले यस्ता कुराहरू भनेको सुन्छस्: “यदि कसैले मलाई धोका दियो भने, म छोड्दिनँ! मलाई तिमीहरू कहाँ बस्छौ भनेर ठ्याक्कै थाहा छ, मलाई तिमीहरूको झ्यालको पर्दाको रङसमेत थाहा छ। तिमीहरू कहाँ भेला हुन्छौ अनि अगुवा र कामदारहरू कहाँ बस्छन् भन्ने कुरा मलाई राम्ररी थाहा छ!” के तिमीहरूलाई यस्ता मानिसहरू खतरनाक व्यक्तिहरू हुन् भन्ने लाग्छ? (लाग्छ।) तिनीहरू खाँटी यहूदा हुन्। सबै कुरा सामान्य हुँदा पनि, तिनीहरूले धोकामा संलग्न हुन विशेष प्रयास गर्न सक्छन्। अनि यदि कुनै दुर्घटना भयो भने, तिनीहरू नै सबैभन्दा पहिले अघि सरेर यहूदा बन्नेछन्। त्यसकारण, यदि मण्डलीमा यस्ता मानिसहरू भेटिए भने, तिनीहरूलाई जति सक्दो चाँडो निकाल्नुपर्छ वा निष्कासित गर्नुपर्छ। यस्ता मानिसहरूमा अरू के-कस्ता प्रकटीकरणहरू हुन्छन्? उदाहरणका लागि, भेलाहरूमा, दाजुभाइ-दिदीबहिनीहरूले एकअर्कालाई नियमित रूपमा भेट्ने हुनाले एकअर्कालाई शिष्टाचार गरिरहनु पर्दैन। समय आएपछि, तिनीहरूले भेला सुरु गर्छन्, परमेश्‍वरका वचनहरू पढ्छन् र सत्यतामा सङ्गति गर्छन्। तर जो झनक्क रिसाउँछन् तिनीहरू कसैले पनि तिनीहरूलाई ध्यान दिँदैनन् वा अभिवादन गर्दैनन् भन्ने देख्दा क्रोधित हुन्छन्। तिनीहरूले प्याच्‍च भन्छन्, “के तिमीहरू सबैले मलाई हेयको नजरले हेर्छौ? हँ! तिमीहरूमध्ये कसैले पनि मलाई स्वागत गर्दैनौ—खैर, ठीक छ; मसँग तिमीहरूलाई निराकरण गर्ने एउटा उपाय छ। मलाई मण्डली अगुवाहरू कहाँ बस्छन् भन्ने थाहा छ, मलाई तिमीहरूमध्ये कसले कहाँ आफ्नो कर्तव्य पूरा गरिरहेका छौ र कुन काम गरिरहेका छौ भन्ने थाहा छ, मलाई अगुवा र कामदारहरूलाई कसले अतिथिसत्कार गरिरहेको छ, भेटीको रक्षा कसले गरिरहेको छ, पुस्तकहरू छाप्ने काम कसले सम्हाल्छ, र तिनलाई ढुवानी गर्ने जिम्मेवारी कसको हो भन्ने कुरा थाहा छ। म तिमीहरू सबैको रिपोर्ट गर्नेछु! म मण्डलीको बारेमा सबै कुरा प्रहरीलाई रिपोर्ट गर्नेछु!” यदि मानिसहरूले तिनीहरूलाई अत्यन्तै आदरका साथ व्यवहार गर्छन् भने, सबै कुरा ठीकठाक हुन्छ। तर कसैले तिनीहरूलाई उक्साउने वा उत्तेजित पार्नेबित्तिकै, यो समस्या बन्छ—तिनीहरूले बदला लिन र धोका दिन खोज्नेछन्। जब तिनीहरूले तिनीहरूलाई बेखुस वा असन्तुष्ट पार्ने कुनै कुरा सामना गर्छन्, तब तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू र मण्डली अगुवाहरूलाई कडा धम्की दिन्छन्। के तिमीहरूलाई यस्ता मानिसहरू डरलाग्दा र खतरनाक हुन्छन् भन्ने लाग्छ? (तिनीहरू खतरनाक हुन्छन्।) यस्ता मानिसहरू यहूदा हुन् जो कुनै पनि बेला धोकामा संलग्‍न हुन सक्छन्; तिनीहरू खतरनाक व्यक्ति हुन्।

कुनै पनि बेला धोकामा संलग्‍न हुन सक्ने मानिसहरूको अर्को प्रकटीकरण पनि छ। उदाहरणका लागि, ठूलो रातो अजिङ्गरको देशमा, विभिन्न प्रान्त र सहरहरूमा स्थापित मण्डलीहरूको सङ्ख्या, हरेक मण्डलीमा कति जना मानिसहरू छन्, अगुवाहरू को हुन्, र मण्डली कुन काममा संलग्न छ—यी कुराहरूलाई कडाइका साथ गोप्य राख्नुपर्छ। गैरविश्‍वासी पारिवारिक सदस्य र आफन्तहरूदेखि पनि सावधान हुनुपर्छ, र मण्डलीमा भविष्यमा आउने समस्याहरूबाट जोगिनका लागि यो जानकारी कहिल्यै चुहाउनु हुँदैन। तर, गोप्य मनसाय राख्ने यी खतरनाक व्यक्तिहरूले सधैँ त्यस्ता कुराहरूका बारेमा सोधपुछ गर्ने प्रयास गरिरहेका हुन्छन्। यदि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई बताउन मानेनन् भने, तिनीहरूले यस्तो महसुस गर्छन्: “किन यी कुराहरू तिमीहरू सबैलाई थाहा छ, तर मलाई भने अन्धकारमा राखिएको छ? किन मलाई भन्दैनौ? के तिमीहरू मलाई एक दाजुभाइ-दिदीबहिनीका रूपमा नभई बाहिरी व्यक्तिका रूपमा व्यवहार गरिरहेका छौ? ठीक छ, म तिमीहरूको रिपोर्ट गर्नेछु!” हेर् त, कुनै पनि अवस्थामा, तिनीहरूले मण्डली र दाजुभाइ-दिदीबहिनीहरूको रिपोर्ट गर्न सक्छन्। कसैले पनि तिनीहरूलाई चिढ्याएको हुँदैन, तर अलिकति असन्तुष्टिले पनि तिनीहरूलाई मण्डलीबारे रिपोर्ट गर्न प्रेरित गर्छ। उदाहरणका लागि, जब दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरको वचनका पुस्तकहरू वितरण गरिन्छ, तब सबैले पुस्तकमा परमेश्‍वरको वचनका कति वटा अध्याय छन्, कति वटा पृष्ठ छन्, र मुद्रणको गुणस्तर कस्तो छ भनेर उत्सुकताका साथ हेर्न थाल्छन्। तिनीहरू सबै जना हातमा पुस्तक लिन पाउँदा खुसी र उत्साहित हुन्छन्। तर अर्कोतर्फ, यहूदा किसिमका मानिसहरूले यस्तो सोचिरहेका हुन्छन्: “यो पुस्तक कहाँ छापिएको थियो? एउटा प्रति छाप्न कति खर्च लाग्छ? मुद्रणको प्रभारी को हो? मुद्रण गरेपछि, ढुवानीको काम कसले सम्हाल्छ? यी पुस्तकहरू हाम्रो मण्डलीमा कसरी ढुवानी गरियो? पुस्तकहरू कहाँ भण्डारण गरिएका छन्? तिनको सुरक्षाको प्रभारी को हो? यी विषयहरू अन्तर्निहित रूपमा नै संवेदनशील हुन्छन्। सामान्यतया, चेतना र मानवता भएका मानिसहरूले त्यस्ता मामलाहरूबारे सोधपुछ गर्दैनन्, तर धोका दिन सक्ने यी खतरनाक व्यक्तिहरू तिनका बारेमा सोधपुछ गर्न उत्सुक हुन्छन्। त्यसोभए, तँलाई के लाग्छ—तिनीहरूले यी कुराहरूका बारेमा सोधिरहँदा तैँले तिनीहरूलाई भन्नु हुन्छ कि हुँदैन? (हामीले तिनीहरूलाई भन्नु हुँदैन।) यदि तैँले तिनीहरूलाई भनिस् भने, तिनीहरूले यो जानकारी खुलासा गर्न र धोका दिन सक्छन्। अनि यदि तैँले तिनीहरूलाई भनिस् भने, तिनीहरूले यसो भन्नेछन्: “मैले किन यसबारे जान्न नपाएको? परमेश्‍वरको घर निष्पक्ष छैन! म परमेश्‍वरको घरको हिस्सा हुँ, र ममा जुनसुकै र सबै मामलाहरूका बारेमा जानकारी पाउने अधिकार छ! तिमीहरूले मलाई बाहिरी व्यक्ति जस्तो व्यवहार गरिरहेका छौ। ठीक छ, म तिमीहरूको रिपोर्ट गर्नेछु!” फेरि पनि, तिनीहरू मण्डलीका बारेमा रिपोर्ट गर्न चाहन्छन्। के तिनीहरू दुष्ट मानिस होइनन् र? यदि तिनीहरूले साँच्चै नै मण्डलीका बारेमा प्रहरीलाई रिपोर्ट गरे भने, यसले के-कस्ता परिणामहरू ल्याउँछन्? यदि दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परे भने, के तिनीहरूलाई ज्यान जोखिममा पर्ने खतरा आइपर्दैन र? यसका साथै, प्रहरीले पक्राउ गरेपछि, यसले दाजुभाइ-दिदीबहिनीहरूलाई र मण्डलीको काममा धेरै कठिनाइ सिर्जना गर्नेछ। यसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पनि विभिन्न हदसम्म असर पार्नेछ—सत्यता खोजी गर्न नजान्ने मानिसहरू नकारात्मक बन्न सक्छन्, र तिनीहरूले पूर्ण रूपमा भेलाहरूमा सहभागिता जनाउनसमेत छोड्न सक्छन्। तिनीहरूले यस्तो कुनै कुरालाई पटक्कै ख्याल गर्दैनन्। त्यसोभए, के तिनीहरूमा विवेक र समझ हुन्छ? मण्डलीले जुनसुकै काम गरिरहेको भए पनि, तिनीहरू सधैँ सुरुमा यसबारे जान्न चाहन्छन्। तिनीहरू मण्डलीमा भइरहेका सबै कुरा आफूलाई थाहा हुँदा मात्रै खुसी हुन्छन्। यदि तिनीहरूलाई नबताइएको एउटा मात्रै कुरा छ भने, तिनीहरूले त्यो कुरालाई यतिकै छोड्न सक्दैनन् र तिनीहरू गएर मण्डलीबारे रिपोर्ट गर्न चाहन्छन्, जसले ठूलो समस्या निम्त्याउन सक्छ। यस्तो व्यक्ति कस्तो खालको नीच हो? तिनीहरू दियाबलस हुन्! यदि दियाबलसलाई मण्डलीको कुनै न कुनै कुराबारे सधैँ चासो हुन्छ भने, यसले अवश्य नै समस्या ल्याउँछ। उदाहरणका लागि, यदि केही दाजुभाइ-दिदीबहिनीहरू धनी छन् र उनीहरूले धेरै भेटी चढाउँछन् भने, तिनीहरूले यसबारे कहिल्यै सोच्न छोड्दैनन् र उनीहरूलाई सोध्छन्, “तपाईँले कति चढाउनुभयो?” अर्को पक्षले जवाफ दिन्छ, “मैले तपाईँलाई यो कुरा कसरी भन्‍न सक्छु? बायाँ हातले जे गर्छ, दाहिने हातलाई थाहा हुनु हुँदैन। म तपाईँलाई यो कुरा भन्न सक्दिनँ—यो गोप्य कुरा हो!” तिनीहरूले जवाफ दिन्छन्, “त्यो पनि गोप्य कुरा हो र? तपाईँ मलाई भरोसा गर्नुहुन्न। तपाईँले मलाई दाजुभाइ-दिदीबहिनीका रूपमा व्यवहार गरिरहनुभएको छैन!” तिनीहरू हृदयमा अर्को पक्षप्रति रुष्ट हुन्छन् र सोच्छन्, “अहो, तैँले धेरै भेटी दिएकोमा आफूलाई अत्यन्तै महान् ठान्छस्! तैँले कति चढाइस् भनेर मलाई भन्दैनस्। मलाई तेरो परिवारले व्यापार चलाउँछ भन्ने थाहा छ। यदि तैँले मलाई निहुँ खोजिस् भने, परमेश्‍वरमा विश्‍वास गरेकोमा म तेरो रिपोर्ट गर्नेछु, अनि तेरो व्यवसाय असफल हुनेछ! त्यसपछि तैँले एक पैसा पनि चढाउन सक्नेछैनस्!” हेर् त, तिनीहरू फेरि पनि गएर मानिसहरूको रिपोर्ट गर्न चाहन्छन्। जब तिनीहरूलाई कुनै सानो कुराबारे भनिएको हुँदैन, तब तिनीहरू मण्डली र दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्न चाहन्छन्। महत्त्वपूर्ण कर्तव्य पूरा गर्ने निश्चित व्यक्तिहरूको निवास थोरै मानिसलाई मात्रै थाहा हुन्छ। यो कसैबाट जानी-जानी कुनै कुरा लुकाउनु वा अरूको पिठ्यूँपछाडि कुनै शङ्कास्पद काम गर्नु होइन; वातावरण अत्यन्तै खतरनाक भएकाले, र सुरक्षाका कारणहरूले गर्दा, त्यस्ता प्रबन्धहरू आवश्यक हुन्छन्। जब यो विश्वासघाती, यो यहूदाले कुनै निश्चित परिवारले केही यात्री दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथिसत्कार गरिरहेको छ भन्ने सुन्छ, तब उसले यो रिपोर्ट गर्न लायक कुरा हो भन्ने सोच्छ—सायद प्रहरीले उसलाई इनाम समेत दिनेछ! तिनीहरू कान थापेर ढोका पछाडि लुकेर बस्छन्, र केही कुरा सुनेपछि, तिनीहरू रिसाउँछन्: “तिमीहरू मलाई नभनी मेरो पिठ्यूँपछाडि मण्डलीका मामलाहरूबारे छलफल गरिरहेका छौ। तिमीहरू मैले विश्वासघात गर्छु भनेर डराउँछौ, त्यसकारण तिमीहरूले मबाट सावधानी अपनाइरहेका छौ र मबाट कुराहरू लुकाइरहेका छौ, मलाई परमेश्‍वरको घरको हिस्साका रूपमा लिइरहेका छैनौ। ठीक छ, म तिमीहरूको रिपोर्ट गर्नेछु!” फेरि पनि, हेर् त, तिनीहरू अरूको रिपोर्ट गर्न चाहन्छन्। के तँलाई यो व्यक्ति ठूलो समस्या हो भन्ने लाग्छ? (लाग्छ।) तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीसँग सम्बन्धित सबै परिस्थितिहरूका बारेमा सबैलाई थाहा दिनुपर्छ, र जानकारी पाउने अधिकार सबैलाई हुन्छ—विशेष गरी तिनीहरू आफैलाई हुन्छ भन्ने विश्‍वास गर्छन्। यदि तिनीहरूलाई एउटा मात्रै कुराबारे बताएको छैन भने, तिनीहरूले मानिसहरूबारे रिपोर्ट गर्ने धम्की दिन्छन्। तिनीहरूले निरन्तर दाजुभाइ-दिदीबहिनीहरू र मण्डली अगुवाहरूलाई धम्की दिन रिपोर्ट गर्ने कार्य प्रयोग गर्छन्, र सधैँ यसलाई आफ्नै उद्देश्यहरू हासिल गर्न प्रयोग गर्छन्। यस्ता मानिसहरू मण्डलीका ठूला गोप्य खतरा हुन्, र विस्फोट हुनै लागेका टाइमबम्ब हुन्। कुनै पनि बेला, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीको काममा हानि र विपत्ति ल्याउन सक्छन्। त्यस्ता व्यक्तिहरू पत्ता लागेपछि, तिनीहरूलाई निकाल्नुपर्छ—तिनीहरूलाई आड दिनु हुँदै हुँदैन।

मण्डलीमा, त्यस्ता पनि केही मानिसहरू हुन्छन्, जो यहूदा हुन्छन्, र तिनीहरूले सधैँ परमेश्‍वरको घरसँग कति पैसा छ र मण्डलीमा कसले सबैभन्दा बढी भेटी चढाउँछ भन्नेबारे सोधपुछ गर्ने प्रयास गरिरहेका हुन्छन्। अरूले तिनीहरूलाई भन्छन्, “यो कुरा तिमीलाई बताउन मिल्दैन। यो कुरा थाहा पाएर तिमीलाई फाइदा हुनेछैन, यसबाहेक, यो तिमीले सोधपुछ गरिरहनुपर्ने कुरा होइन।” यो सुनेपछि, तिनीहरू शत्रुवत् बन्छन् र यसो भन्छन्, “तिमीहरू सबै मेरो विरुद्धमा सतर्क भइरहेका छौ, मलाई हेयको नजरले हेरिरहेका छौ, मलाई एक दाजुभाइ-दिदीबहिनीका रूपमा व्यवहार गरिरहेका छैनौ; तिमीहरूले मलाई बाहिरी व्यक्तिझैँ व्यवहार गरिरहेका छौ। मलाई मण्डलीको पैसा कसको घरमा सुरक्षा गरेर राखिएको छ भन्ने थाहा छ। म तिमीहरूबारे रिपोर्ट गर्नेछु, र प्रहरीलाई त्यो सबै जफत गर्न दिनेछु—त्यसपछि म कति पैसा रहेछ भन्ने कुरा पत्ता लगाउनेछु!” जब-जब केही हुन्छ, तब तिनीहरू अरूलाई विश्वासघात गर्न वा रिपोर्ट गर्न चाहन्छन्; मण्डलीका झूटा अगुवा, ख्रीष्टविरोधी, र दुष्ट मानिसहरूले उत्पन्न गर्ने बाधाहरूका हकमा मात्रै तिनीहरूले कहिल्यै केही रिपोर्ट गर्दैनन्। वा, झूटा अगुवा र ख्रीष्टविरोधीहरूले भेटीहरू चोरेका वा हडपेका देख्दा पनि तिनीहरूले यी कार्यहरूको कहिल्यै खुलासा वा रिपोर्ट गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरको घरलाई नै जानकारी दिन्छन्। तिनीहरूलाई त्यस्ता मामिलाहरूमा चासो हुँदैन। तर यदि कुनै दाजुभाइ-दिदीबहिनीले तिनीहरूलाई उत्तेजित पार्‍यो, चिढ्यायो, वा अपमानित गर्‍यो भने, तिनीहरूले गएर यसबारे रिपोर्ट गर्नेछन्। वा यदि परमेश्‍वरको घरको कुनै कामको प्रबन्ध तिनीहरूका धारणाहरूसँग मिल्दैन, जसले गर्दा तिनीहरूलाई लाज लाग्छ वा तिनीहरू कठिन परिस्थितिमा पर्छन् भने, तिनीहरूले यस्तो सोच्न थाल्छन्: “म तेरो बारेमा रिपोर्ट गर्नेछु! म तैँले तेरो मण्डली अगुवाको पद गुमाउने कुरा सुनिश्‍चित गर्नेछु, म मण्डलीको काम असफल हुने कुरा सुनिश्चित गर्नेछु, म मण्डली तहसनहस हुने कुरा सुनिश्चित गर्नेछु!” देखिस् त? यसको कारणले समेत तिनीहरू मण्डली अगुवाबारे रिपोर्ट गर्न चाहन्छन्। कतिपय मण्डलीहरूमा, विदेशमा कर्तव्य पूरा गर्नका लागि उपयुक्त रहेका केही मानिसहरूलाई छनौट गरिन्छ—तिनीहरूको परिवार र व्यक्तिगत परिस्थितिले यसमा साथ दिन्छ, तिनीहरूले परमेश्‍वरको घरका मागहरू पूरा गर्छन्, र दाजुभाइ-दिदीबहिनीहरू सबै सहमत हुन्छन्। जब ती यहूदा मानिसहरूले यो कुरा देख्छन्, तब तिनीहरूले सोच्छन्, “मलाई यस्ता राम्रा कुराहरू कहिल्यै आइपर्दैनन्। मैले तिमीहरूका बारेमा रिपोर्ट गर्नुपर्छ! म प्रहरीलाई हाम्रो मण्डलीका निश्चित मानिसहरू आफ्नो कर्तव्य पूरा गर्न विदेश जाँदैछन् भनेर भन्नेछु। म तिमीहरू देश छोडेर जान नपाउने कुरा सुनिश्चित गर्नेछु। म ठूलो रातो अजिङ्गरलाई तिमीहरूलाई पक्राउ गर्न लगाउनेछु, वा सरकारलाई तिमीहरूलाई निगरानीमा राख्न लगाउनेछु, ताकि तिमीहरू आफ्नो घरमा समेत फर्केर जान पाउँदैनौ! दाजुभाइ-दिदीबहिनीहरूले विदेश जान नपाउन्जेल, तिनीहरू सन्तुष्ट हुन्छन्। तिमीहरूलाई के लाग्छ—के त्यस्ता मानिसहरूको कार्यको प्रकृति कहिलेकाहीँ बाधा र अवरोध ल्याउने मानिसहरूको भन्दा गम्भीर हुँदैन र? (हुन्छ।) यस्तो व्यक्ति ठूलो समस्या हो। तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन, र तिनीहरूले परमेश्‍वरको डर पटक्कै मान्दैनन्। चाहे जस्तोसुकै परिस्थिति वा कारण भए पनि, कामकुराहरू तिनीहरूले भने अनुसार भएनन् भने, तिनीहरूले मण्डलीबारे रिपोर्ट गर्न र दाजुभाइ-दिदीबहिनीहरूलाई विश्वासघात गर्न चाहन्छन्—तिनीहरू दियाबलस हुन्! जब मण्डलीले त्यस्ता मानिसहरू पत्ता लगाउँछ, तब भविष्यमा समस्या नहोस् भन्नका लागि तिनीहरूलाई जति सक्दो चाँडो निकाला वा निष्कासन गर्नुपर्छ। यदि हालको वातावरणले यसो गर्न दिँदैन वा उचित अवस्थाहरू आइसकेका छैनन् भने, तिनीहरूलाई कडाइका साथ निगरानी गर्नुपर्छ, सुपरिवेक्षण गर्नुपर्छ, र तिनीहरूप्रति सावधानी अपनाउनुपर्छ। जब अवस्थाहरूले साथ दिन्छन्, तब यस्ता खतरनाक व्यक्तिहरूलाई पटक्कै सहनु हुँदैन—तिनीहरूलाई जति सक्दो चाँडो र छिटो निकाला वा निष्कासन गर्। तिनीहरूले मण्डलीलाई विश्वासघात गरेर परिणामहरू निम्त्याउन्जेल पर्खेर बस्ने अनि मात्र कदम चाल्ने नगर्। तिनीहरूले त्यसो गरेपछि र त्यसले वास्तविक परिणामहरू ल्याएपछि, क्षतिहरू ठूला हुनेछन्। कति जना दाजुभाइ-दिदीबहिनीहरू फर्कनका लागि घर नहुने अवस्थामा पुग्नेछन्, वा पक्राउ पर्नेछन् र जेलमा समेत हालिनेछन् भन्ने कुरा कसलाई के थाहा। धेरै दाजुभाइ-दिदीबहिनीहरूले उपरान्त आफ्नो कर्तव्य पूरा गर्न वा मण्डली जीवन जिउन नसक्ने हुन सक्छ। परिणामहरू अकल्‍पनीय हुनेछन्। त्यसकारण, यदि अगुवा र कामदारहरूका रूपमा, मण्डलीमा तिमीहरूले त्यस्ता मानिसहरू भेट्टायौ जो यहूदा हुन् भने, तिनीहरूलाई समयमा नै निकाल्नुपर्छ वा निष्कासित गर्नुपर्छ। यदि, एक दाजुभाइ-दिदीबहिनी भएको नाताले, तैँले त्यस्ता मानिसहरू पत्ता लगाइस् भने, तिनीहरूका बारेमा जति सक्दो चाँडो मण्डलीका अगुवा र कामदारहरूलाई रिपोर्ट गर्नुपर्छ। यो मामला मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूका साथै तेरो आफ्नै सुरक्षासँग सम्बन्धित छ। यस्तो नसोच्, “तिनीहरू वास्तवमा अहिलेसम्म कुनै धोकामा संलग्न भइसकेका छैनन्, त्यसकारण यो ठूलो कुरा होइन; तिनीहरूले क्षणिक रिसले गर्दा मात्रै यस्तो बोलेका हुन्।” सबै जनालाई रिस उठ्छ—कतिपय मानिसहरूले रिस उठ्दा बढीमा केही रुखो शब्दहरू बोल्न, एकछिन झनक्क रिसाउन, वा केही दिनसम्म नकारात्मक बन्न सक्छन्, तर यदि तिनीहरूसँग परमेश्‍वरको डर मान्ने हृदय छ, हृदयमा परमेश्‍वरको डर छ, र तिनीहरूमा केही विवेक र समझ, साथै आत्म-आचरणका आधारभूत सीमाहरू छन् भने, जेसुकै भए पनि, तिनीहरूले अरूलाई हानि हुने कामकुराहरू कहिल्यै गर्दैनन्। तर, जो प्राकृतिक रूपमै यहूदा हुन् ती मानिसहरूका हकमा कुरा फरक हुन्छ। तिनीहरूले छुसुक्क केही हुने बित्तिकै मण्डली र दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्न सक्छन्, र आफ्ना उद्देश्यहरू हासिल गर्नका लागि दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीलाई धम्की दिन सधैँ शैतानका शक्तिहरू प्रयोग गर्न चाहन्छन्। यी मानिसहरू दुष्ट पिशाचहरूसँग मिलेका हुन्छन्—आत्म-आचरणका सम्बन्धमा तिनीहरूमा कुनै आधारभूत सीमा हुँदैन। त्यसकारण, छुसुक्क केही हुनेबित्तिकै मण्डलीबारे रिपोर्ट गर्न सक्ने मानिसहरूका सम्बन्धमा मण्डली अगुवाहरू र दाजुभाइ-दिदीबहिनीहरू दुवै विशेष रूपमा सतर्क हुनुपर्छ। यदि कसैले त्यस्ता अव्यावहारिक, जानाजान झमेला गर्ने, र समझ नछिर्ने मानिसहरू पत्ता लगाए भने, तिनीहरूले तुरुन्तै अगुवा र कामदारहरूलाई तिनीहरूबारे रिपोर्ट गर्नुपर्छ, र त्यसपछि तिनीहरूलाई अनुगमन र सुपरिवेक्षण गर्नुपर्छ। यदि मण्डली अगुवाहरूले त्यस्ता मानिसहरू पत्ता लगाए भने, तिनीहरूले जति सक्दो चाँडो अवस्थालाई सम्हाल्ने र समाधान गर्ने योजना बनाउनुपर्छ। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्नैपर्छ, र मण्डली जीवन र मण्डलीको कामलाई त्यस्ता व्यक्तिहरूबाट हानि र बाधा हुनबाट रक्षा गर्नैपर्छ। जब त्यस्ता मानिसहरूले मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्नेछु भनेर भन्छन्, तब त्यो क्षणिक रिसका कारण बोलेको कुरा मात्रै हो भन्‍ने सोचेर सावधान रहन छोड्ने नगर्। वास्तवमा, तिनीहरूले बारम्बार यस्ता कुराहरू भन्नुले यो विचार तिनीहरूको मनमा पहिले नै छ भन्ने कुरा प्रमाणित गर्छ। यदि तिनीहरूले यसरी सोच्छन् भने, तिनीहरूले त्यस अनुसार कदम चाल्न सक्छन्। कहिलेकाहीँ, “म तिम्रो बारेमा रिपोर्ट गर्नेछु” भनेर भनेपछि, तिनीहरूले त्यसलाई व्यवहारमा लागू नगर्न सक्छन्, तर तिनीहरूले कहिले वास्तवमै त्यो काम गर्लान् कसलाई के थाहा। तिनीहरूले रिपोर्ट गरेपछि, परिणामहरू अकल्‍पनीय हुनेछन्। त्यसकारण, यदि तैँले सधैँ “म तिम्रो बारेमा रिपोर्ट गर्नेछु” भन्ने तिनीहरूका शब्दलाई रिसमा बोलेको कुरा मात्रै ठान्छस् भने, तँ अज्ञानी र मूर्ख भइरहेको हुन्छस्। तँ यी शब्दहरूमार्फत तिनीहरूको मानवताको सारतत्त्वलाई छर्लङ्ग देख्न असफल भएको छस्, र यो गल्ती हो। तिनीहरूले सानो कुरामा पनि अरूलाई धम्की दिन “म तिम्रो बारेमा रिपोर्ट गर्नेछु” भनेर भन्न सक्छन्—यो रिसले बोलिएको सरल टिप्पणी हुँदै होइन; यसले तिनीहरूमा यहूदाको प्रकृति छ र आत्म-आचरणका आधारभूत सीमाहरू छैनन् भन्ने देखाउँछ। आचरणको सम्बन्धमा कुनै आधारभूत सीमा नभएको व्यक्ति कस्तो प्रकारको नीच हो? विवेक र चेतना नभएको प्रकारको। विवेकविना, तिनीहरूले कुनै पनि दुष्ट कार्य गर्न सक्छन्, र चेतनाविना, तिनीहरूले चेतनाको सीमाभन्दा बाहिरको काम गर्न सक्छन्, र यावत् किसिमका मूर्ख कामकुरा गर्न सक्छन्। सम्भवतः मण्डलीबारे रिपोर्ट गरेपछि र दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परेका र मण्डलीको काममा क्षति पुगेको देखेपछि, तिनीहरूले आँसु झार्न र पछुतो व्यक्त गर्न सक्छन्। तर यी अव्यावहारिक र जानीजानी झन्झटिलो हुने मानिसहरूले चेतनारहित व्यवहार गर्छन्; भविष्यमा कुनै यस्तै अवस्था सामना गर्दा, तिनीहरूले अझै पनि मण्डलीबारे रिपोर्ट गर्नेछन्। के यसले तिनीहरूको प्रकृतिमा समस्या छ भन्ने सङ्केत गर्दैन र? तिनीहरूको प्रकृति सार ठ्याक्कै यही हो। कतिपय मण्डली अगुवाहरूले अझै पनि तिनीहरूले जे भने त्यो रिसको झोँकमा भनिएको मात्रै हो, र तिनीहरूको प्रकृति खराब छैन भन्ने विश्वास गर्छन्। तिनीहरूले यो तिनीहरूको मानवताको प्राकृतिक प्रकटीकरण होइन र यसले तिनीहरूको मानवतालाई प्रतिनिधित्व गर्दैन भन्ने सोच्छन्। के यो दृष्टिकोण गलत छ? (हो।) तिनीहरूले सामान्यतया नीच चरित्र देखाउने व्यवहार प्रदर्शन नगरे पनि, तिनीहरूले प्रायजसो दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्नेछु भनेर भन्नु, र तिनीहरूलाई असन्तुष्ट पार्ने सानोभन्दा सानो कुराले पनि तिनीहरूलाई उनीहरूबारे रिपोर्ट गर्नेतर्फ डोर्‍याउन सक्नु नै तिनीहरूको चरित्र तुच्छ र नीच छ, र तिनीहरू भरोसायोग्य छैनन् भन्ने कुरा प्रमाणित गर्न पर्याप्त हुन्छ। त्यस्ता मानिसहरूसँग कुनै विवेक वा समझ हुँदैन। तिनीहरूले आफूलाई जस्तो मन लाग्यो त्यस्तै आचरणमा ढाल्छन्, विवेकको कुनै सीमाविना आफ्ना हित र रुचिहरूका आधारमा आफूले चाहे अनुसार कामकुरा गर्छन्। त्यस्ता मानिसहरूलाई निकालेर निराकरण गर्नुपर्छ, र तिनीहरूप्रति उदारता देखाउनु पर्दैन, किनभने तिनीहरू केटाकेटी होइनन्; तिनीहरू वयस्क हुन् र तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीबारे रिपोर्ट गर्नुका परिणामहरू थाहा हुनुपर्छ। यो सबैभन्दा निर्दयी, र सबैभन्दा प्रभावकारी कदम हो भन्ने कुरा तिनीहरूलाई पूर्ण रूपमा थाहा हुन्छ। तिनीहरूले यसलाई आफ्नो तुरुपको पत्ताका रूपमा, दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीसँग बदला लिने अन्तिम उपायका रूपमा लिन्छन्। ल भन्, के त्यस्ता मानिसहरू दुष्ट दियाबलस होइनन् र? (हुन्।) त्यसोभए दुष्ट दियाबलसहरूप्रति किन उदारता देखाउने? के तैँले तिनीहरू यहूदा हुन् भनेर स्वीकार गर्नुभन्दा पहिले तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू र अतिथिसत्कार गर्ने परिवारहरूलाई ठूलो रातो अजिङ्गरसामु खुलेआम औँल्याइरहेको देख्नुपर्छ? तैँले यी तथ्यहरू देख्ने र तिनीहरूको चरित्र चित्रण गर्ने बेलासम्‍म त ज्यादै ढिला भइसकेको हुनेछ। वास्तवमा, तिनीहरूले कुनै समस्याको सामना गर्दा मण्डलीबारे रिपोर्ट गर्ने बारेमा चिच्याउन थाल्नेबित्तिकै तिनीहरूको प्रकृति सार खुलासा भइसकेको हुन्छ। तिनीहरूलाई खुट्टयाउन र निकाल्नका लागि तिनीहरूले कुनै कदम नचालेसम्‍म पर्खेर नबस्—त्यसो गर्दा ज्यादै ढिला भइसकेको हुनेछ। यदि कसैले पनि—चाहे त्यो मण्डली अगुवा होस् वा दाजुभाइ वा दिदीबहिनी होस्—दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्ने बारेमा कुरा गरेको सुनेको छैन र कसैले पनि तिनीहरूलाई राम्ररी चिनेको छैन, र तिनीहरूलाई कसैले उत्तेजित पार्दा वा चिढ्याउँदा तिनीहरूले ऊबारे रिपोर्ट गर्छन्, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूसँग लुक्‍ने र खतराबाट जोगिने बाहेक अरू कुनै विकल्प हुँदैन, र आफ्नो कर्तव्य पूरा गरिरहेका कतिपय मानिसहरूले तुरुन्तै स्थानान्तरण गर्नुपर्छ भने, यस्तो परिदृश्यमा, तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई मूर्ख भएकोमा र तिनीहरूलाई छर्लङ्ग देख्न नसकेकोमा दोष दिन मिल्दैन। तर यदि तिनीहरूले बारम्बार दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्नेछु भनेर भन्छन् र पनि मानिसहरूले त्यसलाई गम्भीरतापूर्वक लिँदैनन् भने, त्यो साँच्चै मूर्खतापूर्ण कुरा हुनेछ। यति धेरै सत्यता सुनेपछि पनि, तिनीहरूले मानिसहरूलाई खुट्ट्याउन सक्दैनन्—के तिनीहरू अन्योलमा परेका होइनन् र? (हुन्।) कुनै पनि बेला यहूदा बन्न सक्नेहरूका हकमा भन्दा, तिनीहरूले सत्यता थोरै मात्र बुझेका कारण, वा तिनीहरूले छोटो समय मात्र परमेश्‍वरमा विश्वास गरेका कारण, वा अरू कुनै कारणले गर्दा धोका दिएका हुन् भन्ने नसोच्। यीमध्ये कुनै पनि कुरा यसको कारण होइन। जडमा, यो तिनीहरूको चरित्र दुष्ट भएकाले गर्दा हो; मूल रूपमा, तिनीहरूको सार दुष्ट मानिसहरूको सार हो। यसरी तिनीहरूलाई खुट्ट्याउनु र तिनीहरूको चरित्र चित्रण गर्नु, त्यसपछि तिनीहरूलाई दुष्ट मानिसहरू भनेर निकाल्नु वा निष्कासित गर्नु पूर्ण रूपमा सही कुरा हो। यसो गर्दा यसले दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्छ, र साथ साथै यसले मण्डलीको कामलाई हानि हुनबाट पनि रक्षा गर्छ। यो मण्डलीका अगुवा र कामदारहरूको जिम्मेवारी हो। त्यसकारण, अगुवा र कामदारहरूले तुरुन्तै त्यस्ता मानिसहरूका विरुद्धमा सावधानी अपनाउनुपर्छ र तिनीहरूको सुपरिवेक्षण गर्नुपर्छ, त्यसपछि तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्नुपर्छ ताकि सबैले तिनीहरूलाई खुट्ट्याउन सकून्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीलाई कुनै पनि समस्या पर्नबाट जोगाउनका लागि, त्यस्ता मानिसहरूका युक्ति सफल हुनुभन्दा पहिले नै तिनीहरूलाई पखाल्न लागिपर्नैपर्छ। त्यस्ता मानिसहरूको सामना गर्दा अगुवा र कामदारहरूमा हुनुपर्ने समझशक्ति र मामलाहरू सम्हाल्ने सिद्धान्तहरू यिनै हुन्, र त्यस्ता अवस्थाहरूमा तिनीहरूले अभ्यास गर्नुपर्ने तरिका यही हो। कुरा प्रस्ट भयो? (भयो।) अवश्य नै, त्यस्ता मानिसहरूलाई निकाल्दा भविष्यमा मण्डलीमा समस्या नआउने सुनिश्चित गर्दै तिनीहरूलाई बुद्धिमानी ढङ्गले निराकरण गर्नु नै उत्तम हुन्छ। यदि एउटा गुप्त खतरालाई सम्हाल्दा पछि यसले अझै बढी खतरा ल्याउँछ भने, यसो गर्ने मण्डली अगुवा अत्यन्तै अयोग्य हुन्छ र ऊ मानकभन्दा निकै तल हुन्छ; उसलाई काम कसरी गर्ने भन्ने थाहा हुँदैन, र उसमा बुद्धिको कमी हुन्छ। अर्कोतर्फ, यदि मण्डली अगुवाले प्रतिकूल परिणामहरूबाट जोगिने, मण्डलीको काममा फाइदा हुने, र दाजुभाइ-दिदीबहिनीहरूलाई समझशक्ति बढाउन पनि सहयोग गर्ने गरी गुप्त खतरालाई सम्हाल्न सक्छ भने, त्यो काम कसरी गर्ने भनेर साँच्चिकै जान्नु हो। यस्तो अगुवा वा कामदार मात्रै मानकअनुरूप हुन्छ।

यदि कुनै अगुवा वा कामदारले मण्डलीलाई धोका दिन सक्ने मानिसहरू भेट्छ तर तिनीहरूलाई खुट्ट्याउन सक्दैन वा तिनीहरूमा कस्तो मानवता छ वा तिनीहरूले मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई कस्तो समस्या ल्याउन सक्छन् भनेर महसुस गर्न सक्दैन, ऊ हृदयमा यी सबै कुराहरूका बारेमा अस्पष्ट छ, र त्यस्ता मानिसहरूलाई कसरी व्यवहार गर्ने वा सम्हाल्ने, यो काम कसरी गर्ने, वा यो अगुवा र कामदारहरूले गर्नैपर्ने काम हो भन्ने समेत उसलाई थाहा छैन भने—वा, उसलाई थाहा छ तर पनि ऊ त्यस्ता मानिसहरूलाई चिढ्याउन चाहँदैन र तिनीहरूलाई ननिकाली वा निष्कासन नगरी यस विषयमा आँखा चिम्लिदिन्छ भने—त्यो कस्तो अगुवा वा कामदार हो? (झूटो।) तिनीहरू अगुवा वा कामदारका रूपमा मानकअनुरूप हुँदैनन्। एक हिसाबमा, तिनीहरूले मूर्ख तरिकाले सबैलाई सहयोग गर्ने प्रयास गर्छन्, सबैलाई प्रेम र धैर्य देखाउँछन्, र सबैलाई दाजुभाइ-दिदीबहिनीहरूका रूपमा व्यवहार गर्छन्। यो त अन्योलमा परेको, झूटो अगुवा वा झूटो कामदार हो। यसको साथै, जब तिनीहरूले मण्डलीमा यहूदा मानिसहरू पत्ता लगाउँछन्, तब तिनीहरूले तुरुन्तै समस्यालाई सम्हाल्न वा समाधान गर्न केही गर्दैनन्। बरु, तिनीहरूले केही पनि थाहा नभएको ढोँग गर्दै आँखा चिम्लिदिन्छन्। तिनीहरूले हृदयमा सोच्छन्, “मेरो आफ्नै हैसियत खतरामा नहुन्जेल, ठीकै छ। मण्डलीको काम, दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा, वा परमेश्‍वरको घरका हितहरूका बारेमा मलाई मतलब छैन। यदि म यो पदमा हुन्छु र मैले हरेक दिन आनन्दको अनुभव गर्न पाउँछु भने, मलाई चाहिएको त्यति नै हो।” तिनीहरूले कुनै वास्तविक काम गर्दैनन्, र तिनीहरूले समस्याहरू देख्दा तिनलाई समाधान गर्दैनन्; तिनीहरूले आफ्नो हैसियतका फाइदाहरू मात्रै लिन्छन्। के यो झूटो अगुवा हो? (हो।) उदाहरणका लागि, मानौँ कुनै पनि बेला धोकामा संलग्‍न हुन सक्ने व्यक्तिले लामो समयदेखि मण्डलीमा अत्याचारी व्यवहार गर्दै आएको छ, निरन्तर मण्डली र दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्ने धम्की दिँदै आएको छ। कतिपय झूटा अगुवाहरूले यो कुरा देख्छन् तर केही गर्दैनन्। जब कसैले यो व्यक्तिका बारेमा रिपोर्ट गर्छ र माथिल्लो तहका अगुवाहरूले उसलाई निकालेर निराकरण गर्छ, तब पनि झूटा अगुवाहरूले यसलाई गम्भीरतापूर्वक लिँदैनन् वा यसबारे केही पनि सोच्दैनन्। तिनीहरूले सोच्छन्, “तिनीहरूले जसबारे रिपोर्ट गर्न चाहन्छन्, गरून्। तिनीहरूले मेरो बारेमा रिपोर्ट नगरुञ्जेल वा मण्डली अगुवाका रूपमा मेरो भूमिकामा असर नगरुञ्जेल, ठीकै छ।” के यस्तो अगुवा वा कामदार झूटो अगुवा वा कामदार हो? (हो।) तिनीहरू कुनै वास्तविक काम नगरी त्यसका फाइदाहरू लिनका लागि मात्रै आफ्नो पदमा रहन्छन्, कुनै पनि बेला दाजुभाइ-दिदीबहिनीहरूलाई विश्वासघात गर्न सक्ने व्यक्तिलाई देख्छन् तर उसलाई निकाल्न वा निष्कासन गर्न सक्दैनन्—तिनीहरू झूटा अगुवा हुन्, र तिनीहरूलाई तुरुन्तै पदबाट बर्खास्त गर्नुपर्छ। कतिपय झूटा अगुवाहरू बर्खास्त भएपछि पनि अवज्ञाकारी नै रहन्छन्। तिनीहरूले भन्छन्, “मलाई बर्खास्त गर्ने तिमीसँग के अधिकार छ? के मैले त्यो व्यक्तिलाई ननिकालेकै कारण त्यसो गरिएको हो? तिमीहरू आफैले उसलाई हटाएका भए, समस्या समाधान हुनेथिएन र? त्यसबाहेक, उसले दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्नेछु भनेर भनेको मात्र हो, वास्तवमा त्यसो गरेको होइन। अनि उसले मण्डलीका लागि कुनै समस्या सिर्जना गरेको थिएन। उसलाई किन निराकरण गर्ने?” तिनीहरूले निकै अन्यायमा परेको समेत महसुस गर्छन्। तिनीहरूले कुनै वास्तविक काम गर्दैनन्; तिनीहरूले आफ्नो हैसियतका फाइदाहरू मात्रै लिन्छन्, र मण्डलीमा यस्तो स्पष्ट यहूदा देखा पर्दा, तिनीहरूले उसलाई न त तह लगाउँछन् न त निकाल्छन्। कतिपय दाजुभाइ-दिदीबहिनीहरू निरन्तर डरमा हुन्छन् र यसो भन्छन्, “हामीमाझ एक जना यहूदा छ, जसले सधैँ दाजुभाइ-दिदीबहिनीहरूबारे रिपोर्ट गर्ने धम्की दिइरहन्छ—यो निकै खतरनाक कुरा हो! यो व्यक्तिलाई कहिले निकालिनेछ?” तिनीहरूले मण्डली अगुवालाई यस विषयबारे धेरै पटक बताउँछन्, तर अगुवाले यस कुरालाई सम्बोधन गर्दैन, बरु यसो भन्छ, “यो केही पनि होइन। यो त व्यक्तिगत विवाद मात्रै हो, र यो मण्डलीको काम वा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षासँग सम्बन्धित छैन।” तिनीहरूले उक्त मामला सम्हाल्दैनन्। तिनीहरूले गर्ने एउटै मात्र काम के हो? एक प्रकारको काम माथिल्लो तहका अगुवाहरूद्वारा तिनीहरूलाई अह्राइएको काम हो, जुन काम गर्ने बाहेक तिनीहरूसँग कुनै विकल्प हुँदैन। अर्को प्रकारको काम भनेको यस्तो हो, जुन काम नगर्दा त्यसले तिनीहरूको हैसियतलाई असर गर्छ वा खतरामा पार्छ, र त्यस्तो अवस्थामा तिनीहरूले आफू राम्रा देखौँ भन्नका लागि मन नलागी-नलागी केही काम गर्छन्। तर यदि तिनीहरूको हैसियतलाई असर पर्दैन भने, तिनीहरू सकेसम्म कामबाट पन्छिन्छन्। के यो झूटो अगुवा हो? (हो।) कुनै निश्चित वातावरण वा पक्राउको सामना गर्दा, लुक्‍नका लागि भाग्‍ने पहिलो व्यक्ति तिनीहरू नै हुन्छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू सुरक्षित छन् कि छैनन् भन्ने बारेमा कुनै चिन्ता नगरी आफ्नै सुरक्षाका बारेमा मात्रै वास्ता गर्छन्, र तिनीहरूले मण्डलीको काम वा परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनन्। तिनीहरूले जे गरे पनि, यो सबै आफ्नै हैसियतलाई जोगाउनका लागि हुन्छ। माथिले तिनीहरूलाई बर्खास्त गरेनन्, र अर्को निर्वाचनमा दाजुभाइ-दिदीबहिनीहरूले अझै पनि तिनीहरूलाई भोट दिन्छन् र तिनीहरू अगुवा नै रहिरहन पाउँछन् भने, तिनीहरूले मन नलागी-नलागी केही काम गर्नेछन्। यदि तिनीहरूले गर्ने कुनै कुराले तिनीहरूप्रति माथिको हेराइमा असर पार्न सक्छ, जसले गर्दा माथिले तिनीहरूलाई बर्खास्त गर्न पनि सक्छन्, वा यदि तिनीहरूका कार्य र प्रकटीकरणहरूका कारण दाजुभाइ-दिदीबहिनीहरूमा तिनीहरूबारे नराम्रो छाप पर्न सक्छ र उनीहरूले तिनीहरूलाई फेरि निर्वाचित गर्दैनन् भने, तिनीहरूले कम्तीमा पनि उनीहरूका अगाडि केही काम गरेर आफ्नो छविलाई जोगाउने प्रयास गर्नेछन्। यसरी, तिनीहरूले आफूभन्दा माथि र आफूभन्दा तलका मानिसहरूलाई जवाफ दिन सक्छन्—तिनीहरूले परमेश्‍वरलाई मात्रै जवाफ दिन सक्दैनन्। तिनीहरूले गर्ने सबै कुरा देखाउनका लागि मात्रै हुन्छ। माथिल्लो तहका अगुवाहरूले तिनीहरूलाई बर्खास्त नगरुञ्जेल, र दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई सहयोग गरिरहुञ्जेल, तिनीहरू सन्तुष्ट महसुस गर्छन्। मण्डली अगुवाका रूपमा आफ्नो कार्यकालमा, तिनीहरूले ठूलो दुष्टता गर्दैनन्, र बाहिरी रूपमा तिनीहरू सधैँ काममा व्यस्त देखिन्छन्, तर तिनीहरूले कुनै वास्तविक काम गर्दैनन्। विशेष गरी दुष्ट मानिसहरूले मण्डलीमा बाधा दिइरहेका देख्दा, तिनीहरूले केही गर्दैनन्। तिनीहरूलाई यी दुष्ट मानिसहरू चिढिन्छन् कि भन्ने डर हुन्छ, त्यसकारण तिनीहरूले सम्भव भएसम्म तिनीहरूलाई शान्त पार्ने र तिनीहरूसँग सम्झौता गर्ने प्रयास गर्छन्, र सद्भाव कायम राख्न मात्र खोज्छन्। तिनीहरू कसैलाई चिढ्याउन इच्छुक हुँदैनन्; यी मानिसहरूले मण्डलीको काममा बाधा दिए पनि वा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षालाई खतरामा पारे पनि, तिनीहरूले केही गर्दैनन्। सबैभन्दा साँचो अर्थमा यो झूटो अगुवा हो।

वास्तविक काम नगर्ने झूटा अगुवाहरूका हकमा भन्दा, यदि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई बारम्बार याद दिलाउँछन्, समस्याहरू समाधान गर्न लगाउँछन्, तर तिनीहरूले अझै पनि वास्तविक काम गर्दैनन्, वास्तविक समस्याहरू समाधान गर्दैनन्, र गल्तीहरू सच्याउँदैनन् भने, तिमीहरूले यसबारे माथितिर रिपोर्ट गर्नुपर्छ। यदि माथिल्लो तहका अगुवा र कामदारहरूले समस्यालाई सम्बोधन गरेनन् भने, तिमीहरूले यी झूटा अगुवाहरूलाई हटाउने कुनै पनि सम्भव उपाय सोच्नुपर्छ। मैले वास्तवमा यी वचनहरू धेरै वर्षदेखि भन्दै आएको छु, तर तलका बहुसङ्ख्यक मानिसहरू अरूलाई चिढ्याउनुभन्दा व्यक्तिगत नोक्सानी र केही हानि भोग्न रुचाउने दासहरू हुन्। परिस्थिति जस्तोसुकै भए पनि, तिनीहरूले सधैँ मध्यमार्ग अपनाउँछन् र मान्छे खुसी पारिहिँड्ने व्यक्तिका रूपमा काम गर्छन्, र कसैलाई कहिल्यै चिढ्याउँदैनन्। मानिसहरूलाई नचिढ्याउनुको मूल्य के हो? त्यो भनेको परमेश्‍वरको घरको काम र हितहरूको बलि चढाउनु, परमेश्‍वरको घरका हितहरूमा हानि गर्नु र दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिनु हो। यदि दुष्ट मानिसहरूलाई निराकरण गरिएन भने, आफ्नो कर्तव्य पूरा गरिरहेका धेरै मानिसहरू प्रभावित हुनेछन्। के यो परमेश्‍वरको घरको काममा असर पर्नु सरह होइन र? (हो।) जब परमेश्‍वरको घरको काममा असर पर्छ, तब कसैलाई पनि तनाव वा चिन्ता महसुस हुँदैन, त्यसकारण म के भन्छु भने, धेरैजसो मानिसहरूले अरूसँग सद्भाव र मित्रता कायम राख्नका लागि परमेश्‍वरको घरका काम र हितहरूलाई बलि चढाइरहेका हुन्छन्। तिनीहरूले अगुवा र दाजुभाइ-दिदीबहिनीहरूलाई चिढ्याउँदैनन्; तिनीहरूले कसैलाई पनि चिढ्याउँदैनन्। सबैले मान्छे खुसी पारिहिँड्ने व्यक्तिका रूपमा काम गर्छन्। तिनीहरूको मानसिकता यस्तो हुन्छ: “तपाईँ असल हुनुहुन्छ, म असल छु, सबै जना असल छन्—आखिर, हामी सधैँ एक-अर्कालाई भेट्छौँ।” अनि परिणाम के हुन्छ? यसले गर्दा दुष्ट मानिसहरूले परिस्थितिको फाइदा उठाउन पाउँछन्; तिनीहरूले बारम्बार अत्याचारी रूपमा कार्य गर्छन्, र आफूलाई जे मन लाग्यो त्यही गर्छन्। त्यसकारण, यदि मण्डली अगुवाहरू भरपर्दा छैनन् र तिनीहरूले दुष्ट मानिसहरूलाई पखालेर फाल्दैनन्न् भने, दाजुभाइ-दिदीबहिनीहरूले आफूलाई रक्षा गर्ने हरसम्भव उपाय सोच्नैपर्छ; तिनीहरूले दुष्ट मानिसहरूलाई देख्दा तिनीहरूबाट जोगिनुपर्छ, तिनीहरूबाट टाढा बस्नुपर्छ, र तिनीहरूलाई अलग राख्नुपर्छ। कतिपय मानिसहरूले भन्छन्, “यदि हामीले तिनीहरूलाई अलग गर्‍यौँ र तिनीहरू रिसाए भने, के तिनीहरूले फेरि हाम्रो बारेमा रिपोर्ट गर्नेछैनन् र?” यदि तिनीहरूले साँच्चै नै तेरो बारेमा रिपोर्ट गरे भने, के तँ डराउनेछस्? (डराउनेछैनँ। यसले तिनीहरूलाई दुष्ट मानिसका रूपमा प्रकाश गर्नेछ।) यदि तिनीहरूले फेरि तेरो बारेमा रिपोर्ट गरे भने, यसले तिनीहरू प्राकृतिक यहूदा, दुष्ट दियाबलस हुन् भन्ने कुरालाई थप प्रमाणित गर्छ। तँ तिनीहरूदेखि डराउनै हुँदैन। यदि अगुवा र कामदारहरू अन्धा छन् र तिनीहरूले कामकुरालाई छर्लङ्ग देख्न सक्दैनन्, तिनीहरू अलमल्ल, र काम नलाग्ने छन्, वा यदि तिनीहरू अनिर्णित छन्, तिनीहरूले कहिल्यै कसैलाई चिढ्याउँदैनन्, वास्तविक काम नगरी आफ्नो हैसियतका फाइदाहरूमा मात्रै लिप्त हुन्छन् भने, दाजुभाइ-दिदीबहिनीहरूले त्यस उप्रान्त तिनीहरूमा कुनै आशा राख्नु हुँदैन। तिनीहरू सिद्धान्तहरूअनुसार दुष्ट मानिसहरूलाई निराकरण गर्न र यहूदाहरूलाई हटाउन एकजुट हुनैपर्छ। यी मानिसहरूद्वारा हतोत्साहित पारिनबाट जोगिनका लागि तिनीहरूले भेला हुने ठाउँ परिवर्तन गर्नुपर्ने वा यी मानिसहरूलाई पखाल्न बुद्धिमानी विधि प्रयोग गर्नुपर्ने हुन सक्छ। मण्डली जीवनको सामान्य सञ्चालन र सबै मण्डलीको कामको सामान्य प्रगति सुनिश्चित गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि कुनै मण्डली अगुवाले वास्तविक काम गर्छ, ऊसँग पर्याप्त क्षमता छ, र उसको मानवता पनि निकै राम्रो छ भने, उसले कामका बन्दोबस्तहरू अनुसार आफ्नो काम अघि बढाऊन्जेल, सबैले उसको पालन गर्नुपर्छ। यदि उसले वास्तविक काम गर्दैन भने, उसको सङ्गत गर्नु हुँदैन वा उसमा भर पर्नु हुँदैन। त्यो बेला, समस्याहरूलाई परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरू अनुसार समाधान गरिनुपर्छ। यदि अगुवालाई बर्खास्त गरिनुपर्छ भने, उसलाई बर्खास्त गरिनुपर्छ; यदि पुनः निर्वाचन आवश्यक पर्छ भने, फेरि गर। यदि यो झूटा अगुवाले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैन, दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने वातावरणलाई सुरक्षित बनाउँदैन, र दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाबारे वास्ता गर्दैन भने, ऊ मानक अनुरूप छैन; ऊ अयोग्य छ, र ऊ कुनै वास्तविक काम नगर्ने रद्दीको भारी मात्रै हो—दाजुभाइ-दिदीबहिनीहरूले उसको कुरा सुन्नु हुँदैन वा उसको बन्धनमा पर्नु हुँदैन। आवश्यक परेको बेला यहूदालाई पखाल्न नसक्ने कुनै पनि अगुवा र कामदारहरू झूटा अगुवा र झूटा कामदार हुन्; त्यस्ता झूटा अगुवा र झूटा कामदारहरूलाई माथि व्याख्या गरिएको तरिकाले निराकरण गरिनुपर्छ। यदि तिनीहरूलाई तुरुन्तै निराकरण गरिएन भने, दाजुभाइ-दिदीबहिनीहरूलाई यहूदाहरूले विश्वासघात गर्नेछन्, र मण्डली अस्तित्वमा रहनेछैन। आठौँ प्रकटीकरण, अर्थात् “कुनै पनि बेला धोकामा संलग्न हुन सक्नु” बारे हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।

१. कुनै पनि बेला छोडेर जान सक्नु

नवौँ प्रकटीकरण हो: “कुनै पनि बेला छोडेर जान सक्नु।” कुनै पनि बेला परमेश्‍वरको घर छोडेर जान सक्ने यस्तो व्यक्ति विशेष परिस्थितिको सामना गर्दा, वा औसत व्यक्तिले सहन नसक्ने र उसको सहने शक्तिको सीमा नाघ्ने ठूलो विपत्तिको सामना गर्दा मात्रै छोडेर जाने व्यक्ति होइन। बरु, तिनीहरू कुनै पनि बेला छोडेर जान सक्छन्—एउटा सानो कुराले गर्दा पनि तिनीहरू छोडेर जान सक्छन्; एउटा सानो कुराले पनि तिनीहरूलाई उपरान्त आफ्नो कर्तव्य पूरा गर्न नचाहने, परमेश्‍वरमा विश्‍वास गर्न नचाहने, र परमेश्‍वरको घर छोडेर जान चाहने तुल्याउन सक्छ। यस्तो व्यक्ति अत्यन्तै पीडादायी पनि हुन्छ। झट्ट हेर्दा, तिनीहरू यहूदाहरूभन्दा अलिक असल देखिएलान्, तर तिनीहरू कुनै पनि समय र स्थानमा परमेश्‍वरको घर छोडेर जान सक्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिन सक्छन् कि सक्दैनन् भन्ने कुरा अनिश्चित हुन्छ। के तिमीहरूलाई यस्तो व्यक्ति भरपर्दो हुन्छ भन्ने लाग्छ? (लाग्दैन।) त्यसोभए, के तिनीहरूसँग आफूलाई कसरी आचरणमा ढाल्ने भन्ने कुराका सिद्धान्तहरू हुन्छन्? के तिनीहरूसँग परमेश्‍वरमा विश्‍वास गर्नुको जग हुन्छ? (हुँदैन।) के तिनीहरूले साँचो रूपमा विश्‍वास गरेको कुनै लक्षण देखाउँछन्? (देखाउँदैनन्।) त्यसोभए तिनीहरू कस्ता व्यक्ति हुन्? (अविश्‍वासी।) तिनीहरूले यो सबै एउटा मजाक हो जस्तै गरी परमेश्‍वरमा विश्‍वास गर्छन् र आफ्नो कर्तव्य पूरा गर्छन्। तिनीहरू आफ्नो उचित काममा ध्यान नदिई सोया सस किन्न गएको बेला बाटोमा शारीरिक कला देखाउने मानिसहरू वा कलाकारहरूले जीवन्त दृश्य देखाइरहेका देखेर उत्साहित हुने र सोया सस किन्न बिर्सने, र फलस्वरूप उचित मामलाहरूमा ढिलाइ गर्ने व्यक्ति जस्तै हुन्। यस्ता मानिसहरू लामो समयसम्म कुनै पनि कुरामा अडिग रहँदैनन्; तिनीहरू अनुत्साही र अस्थिर हुन्छन्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास पनि तिनीहरूको रुचिमा आधारित हुन्छ—तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु निकै रमाइलो हुन्छ भन्ने लाग्छ, तर कुनै न कुनै बेला जब यसप्रति तिनीहरूको रुचि हराउँछ, तब तिनीहरू कुनै हिचकिचाहटविना तुरुन्तै छोडेर जान्छन्। छोडेर जाने कतिपय मानिसहरू तुरुन्तै व्यापारमा लाग्छन्, कतिपयले पदाधिकारी बन्‍ने करियरको मार्ग पछ्याउँछन्, कतिपय प्रणयी सम्बन्धमा लाग्छन् र विवाहको तयारी गर्छन्, र चाँडो धनी हुन चाहने कतिपय मानिसहरू सिधै क्यासिनो जान्छन्। मानिसहरूले कसैलाई तीन दिनसम्म कसैलाई भेटिएन भने, उसलाई ताजा नजरले हेर्नुपर्छ भन्छन्। यदि तैँले कुनै पनि बेला परमेश्‍वरको घर छोडेर जान सक्ने व्यक्तिलाई एक दिन मात्रै भेटिनस् भने, उसलाई फेरि भेट्दा, ऊ पूर्ण रूपमा फरक व्यक्ति जस्तै हुन्छ। हिजो, तिनीहरूले सभ्य र उचित लुगा नै लगाउँथे, र तिनीहरू शिष्ट र हेर्न लायक देखिन्थे। यहाँसम्म कि तिनीहरू परमेश्‍वरका लागि आफ्नो जवानी अर्पण गर्न र आफ्नो रगत बगाउन, परमेश्‍वरका लागि मर्न, मृत्युपर्यन्त बफादार रहन, र राज्यमा प्रवेश गर्न चाहन्छु भनेर आँसु झार्दै परमेश्‍वरलाई प्रार्थना गर्थे। तिनीहरूले यस्ता उच्च नाराहरू फलाक्थे, तर त्यसको केही समयपछि नै, तिनीहरू क्यासिनो जान्थे। हिजो, तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न खुसी थिए, र भेलाको समयमा, तिनीहरूले उत्साहका साथ चहकिलो अनुहारले र जोसले उम्लिएर परमेश्‍वरका वचनहरू पढ्थे, र तिनीहरू यति भावुक हुन्थे कि आँसु झार्दै बिलौना गर्थे। त्यसोभए तिनीहरू आज कसरी क्यासिनोतिर कुदे त? तिनीहरूले प्रशस्त रमाइलो गर्दै र उत्साहले उम्लिँदै राती अबेरसम्म जुवा खेले र घर जान चाहेनन्। हिजोसम्म, तिनीहरू भेलाहरूमा सहभागी भइरहेका हुन्थे, तर आज तिनीहरू भागेर क्यासिनोतिर गएका छन्—त्यसोभए, कुन प्रकटीकरणचाहिँ तिनीहरूको वास्तविकता हो त? (पछिल्लोचाहिँ तिनीहरूको वास्तविकता हो।) यदि कसैले सत्यता बुझ्दैन भने, उसले यो व्यक्ति के हो भन्ने कुरा साँच्चिकै छर्लङ्ग देख्न सक्दैन। पहिले र पछिका दुवै प्रकटीकरणहरू वास्तवमा एउटै व्यक्तिले प्रदर्शन गर्छ—त्यसोभए तिनलाई दुई फरक मानिसहरूले प्रदर्शन गरेका हुन् जस्तो कसरी देखिन्छ? यस्तो व्यक्तिलाई धेरैजसो मानिसहरूले छर्लङ्ग देख्न सक्दैनन्। तैँले के देख्छस् भने, परमेश्‍वरको विश्‍वासीका रूपमा तिनीहरू प्रायजसो भेलाहरूमा सहभागी हुन्छन्, तिनीहरूले दुष्टता गर्दैनन्, र तिनीहरू आफ्नो कर्तव्य पूरा गर्दा कठिनाइ भोग्न र मूल्य चुकाउन निकै सक्षम हुन्छन्। कम्प्युटरको अगाडि बस्दा, तिनीहरू एकाग्र र लगनशील हुन्छन्, कठोर परिश्रम गर्छन् र आफ्नो हृदय त्यसैमा लगाउँछन्। तँलाई लाग्छ कि परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिका रूपमा, उसले महजोङ खेल्नु हुँदैन, होइन र? तर एक दिन मात्र तिनीहरूलाई नदेख्दा, तिनीहरू जुवातास खेल्न भागेर महजोङ हल वा क्यासिनोमा पुगिसकेका हुन्छन्। हुन पनि तिनीहरू पहिलो दर्जाका महजोङ खेलाडी हुन्छन्—तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति जस्ता पटक्कै देखिँदैनन्! तिनीहरूले तँलाई पूर्ण रूपमा चकित पार्छन्—के तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति हुन् कि महजोङ खेल्ने गैरविश्‍वासी? तिनीहरूले कसरी यति चाँडै भूमिका बदल्न सक्छन्? त्यसोभए जब तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, तब के तिनीहरूको हृदयमा परमेश्‍वर हुन्छ? (हुँदैन।) तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो र यसले तिनीहरूको जीवनमा खुसी ल्याउन सक्छ कि सक्दैन भन्ने कुरा हेर्नका लागि रमाइलो गर्न र समय बिताउन मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्। यदि तिनीहरू खुसी छैनन् भने, तिनीहरूले कुनै पनि बेला छोडेर जान सक्छन्। तिनीहरूले सम्पूर्ण जीवनभरि विश्‍वास गर्ने योजना कहिल्यै बनाएका हुँदैनन्, र तिनीहरूले निश्चय नै सम्पूर्ण जीवनभरि आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्‍वरलाई पछ्याउने योजना कहिल्यै बनाएका हुँदैनन्। त्यसोभए तिनीहरूले के योजना बनाएका हुन्छन्? तिनीहरूको मनमा, यदि तिनीहरूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने हो भने, कम्तीमा पनि यसले रमाइलो गर्ने तिनीहरूको क्षमतामा बाधा पुर्‍याउनु हुँदैन, यसमा कुनै काम गराइ समावेश हुनु हुँदैन, र यसले अझै पनि तिनीहरूले सुखी जीवन जिउन सक्छन् भन्ने कुराको प्रत्याभूति गर्नुपर्छ। यदि तिनीहरूले हरेक दिन परमेश्‍वरका वचनहरू पढ्नुपर्ने र सत्यताबारे सङ्गति गर्नुपर्ने भयो भने, तिनीहरूलाई रुचि हुनेछैन वा तिनीहरू खुसी हुनेछैनन्। त्यसबाट थाकेपछि, तिनीहरू मण्डली छोडेर फेरि संसारतर्फ फर्कन्छन्। तिनीहरूले सोच्छन्, “जीवन सजिलो छैन, त्यसकारण मानिसहरूले आफूलाई दुर्व्यवहार गर्नु हुँदैन। हामी आफ्नै भाग्यका मालिक हुनुपर्छ र हामीले आफ्नो देहलाई दुर्व्यवहार गर्नु हुँदैन। हामीले आफू हरेक दिन खुसी हुने कुरा सुनिश्चित गर्नुपर्छ—स्वतन्त्र रूपमा जिउने एउटै मात्र तरिका त्यही हो। परमेश्‍वरमा विश्‍वास गर्दा हठपूर्वक गर्नु हुँदैन। म कति सहज स्वभावको छु, हेर त—जहाँ खुसी पाइन्छ, म त्यहीँ जान्छु। यदि म खुसी छैनँ भने, म छोडेर जान्छु। मैले आफ्नै लागि कामकुरालाई किन असहज बनाउने? कुनै पनि बेला छोडेर जान सक्नु नै आफूलाई कसरी आचरणमा ढाल्ने भन्नेसम्बन्धी मेरो उच्चतम सिद्धान्त हो, ‘स्वच्छन्द विश्‍वासी’ बन्‍नु—यसरी जिउनु कति आरामदायी र चिन्तामुक्त हुन्छ!” यस्ता मानिसहरूले प्रायजसो कस्तो प्रकारका गीतहरू गाउँछन्? “म कहाँबाट आएको हुँ भनेर नसोध, मेरो गाउँ टाढा छ।” होइन भने, तिनीहरूले अरू के गाउँछन्? “एक पटक भए पनि किन स्वतन्त्र रूपमा नबाँच्‍ने?” जब तिनीहरूलाई पट्यारलाग्दो लाग्छ वा रमाइलो लाग्‍न छोड्छ, तब तिनीहरू तुरुन्तै छाडेर जान्छन्, र सोच्छन्, “संसारमा हेर्नका लागि यति धेरै कुरा हुँदाहुँदै किन एउटै ठाउँमा अड्केर बस्‍ने?” तिनीहरूले प्रयोग गर्ने अर्को प्रसिद्ध भनाइ के हो? “एउटा रूखका लागि पूरै वन किन त्याग्नु?” तिमीहरूलाई के लाग्छ—के यस्ता मानिसहरूमा साँचो विश्‍वास हुन्छ? (अहँ, तिनीहरू अविश्‍वासी हुन्।) जब अविश्‍वासीहरूको कुरा आउँछ, तब हामीले तिनीहरूका सबै समस्याहरू मानवजातिका समस्या हुन् भन्ने बारेमा कुरा गरिरहेका हुने हुनाले, त्यस्ता मानिसहरूको मानवतामा वास्तवमा के गलत हुन्छ र? के तिमीहरूलाई यस्ता मानिसहरूले कहिल्यै मानिसहरूले कसरी आफूलाई आचरणमा ढाल्नुपर्छ, मानिसहरू कुन मार्गमा हिँड्नुपर्छ, वा मानिसहरूले जिउने क्रममा जीवनसम्बन्धी कस्ता दृष्टिकोण र मूल्य-मान्यताहरू राख्नुपर्छ भन्ने जस्ता प्रश्नहरूलाई ख्याल गरेका हुन्छन् जस्तो लाग्छ? (लाग्दैन।) त्यसोभए, यस्तो व्यक्तिको मानवतामा के समस्या हुन्छ? (यस्तो व्यक्तिमा सामान्य मानवताको विवेक र समझको कमी हुन्छ; तिनीहरूले त्यस्ता प्रश्नहरूलाई ख्याल गर्दैनन्।) त्यो त अवश्य नै हो। यसको साथै, सटीक रूपमा भन्दा, यस्तो व्यक्तिको प्राण हुँदैन; ऊ त जिउँदो लास मात्रै हुन्छ। आफूलाई कसरी आचरणमा ढाल्ने वा कुन मार्गमा हिँड्ने भन्ने बारेमा तिनीहरूका कुनै मापदण्डहरू हुँदैनन्, न त तिनीहरूले यी कुराहरूलाई ख्याल गर्छन्। तिनीहरूले यी कुराहरूलाई ख्याल नगर्नुको कारण के हो भने, बाहिर, तिनीहरूको रूप मानवको जस्तो भए पनि, तिनीहरूको सार वास्तवमा जिउँदो लास, खोक्रो खोलको मात्र हुन्छ। यस्तो व्यक्तिमा मानव जीवन र अस्तित्वका मामलाहरूमा जीवनभरि भौतारिएर हिँड्ने मनोवृत्ति हुन्छ। किटेरै भन्दा, “जीवनभरि भौतारिएर हिँड्नु” को अर्थ अल्याङटल्याङ गर्नु र मृत्युको प्रतीक्षा गर्नु हो, नसिक्नु र अज्ञानी रहनु हो, र खाँदै, पिउँदै, र रमाइलो गर्दै दिन बिताउनु हो। जहाँ खुसी हुन्छ तिनीहरू त्यहीँ जान्छन्, र तिनीहरूलाई जे कुराले खुसी र आनन्दित, र देहमा सहज महसुस गराउँछ, तिनीहरूले त्यही गर्छन्। तर तिनीहरू आफ्नो देहलाई कष्ट हुने वा भित्री पीडा ल्याउने कुनै पनि कुराबाट पन्छिनेछन् र त्यसबाट टाढा बस्नेछन्; तिनीहरू आफ्नो देहले कष्ट सहेको पटक्‍कै चाहँदैनन्। तर, कतिपय मानिसहरूले कष्ट भोगेर नै जीवन अनुभव गर्छन्। वा, विभिन्न कुराहरूबाट गुज्रेर र ती अनुभव गरेर, तिनीहरूले आफ्नो जीवन खोक्रो नहुने र त्यसबाट केही कुरा प्राप्त गर्न सक्ने कुरा सुनिश्चित गर्छन्। अन्त्यमा, तिनीहरू व्यक्ति कुन मार्गमा हिँड्नुपर्छ र ऊ कस्तो व्यक्ति हुनुपर्छ भन्ने कुराको निष्कर्षमा पुग्छन्। जीवन अनुभवहरूमार्फत, तिनीहरूले धेरै कुरा प्राप्त गर्छन्। एक हिसाबमा, तिनीहरूले निश्चित मानिसहरूलाई छर्लङ्ग देख्न सक्छन्; यसको साथै, तिनीहरूले विभिन्न मानिस, घटना, र कामकुराहरूलाई व्यवहार गर्नका लागि व्यक्तिले के-कस्ता सिद्धान्त र विधिहरू प्रयोग गर्नुपर्छ, र व्यक्तिले आफ्नो सम्पूर्ण जीवन कसरी जिउनुपर्छ भन्ने कुराको निष्कर्ष निकाल्न सक्छन्। तिनीहरूले अन्तिममा निकालेको निष्कर्ष सत्यतासँग मिले पनि वा त्यसविरुद्ध भए पनि, तिनीहरूले कम्तीमा यसबारे सोचेका त हुन्छन्। अर्कोतर्फ, कुनै पनि बेला परमेश्‍वरको घर छोडेर जान सक्नेहरूलाई सत्यता पछ्याउन वा परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा आफ्नो कर्तव्य पूरा गर्नमा कुनै रुचि हुँदैन। तिनीहरू सधैँ आफ्ना वासना र रुचिहरूलाई सन्तुष्ट पार्ने अवसरहरू खोजिरहेका हुन्छन्, र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा कहिल्यै लगनशीलताका साथ व्यावसायिक सीप सिक्न, आफ्नो कर्तव्य राम्ररी पूरा गर्न, वा अर्थपूर्ण जीवन जिउन चाहँदैनन्। तिनीहरू गैरविश्‍वासीहरू जस्तै हरेक दिन खुसी र आनन्दित हुन मात्रै चाहन्छन्। त्यसकारण, तिनीहरू जहाँ गए पनि, तिनीहरूले आफ्नो हित र जिज्ञासालाई सन्तुष्ट पार्न मात्रै रमाइलो र मनोरञ्जन खोज्छन्। यदि तिनीहरूले एउटा कर्तव्य पूरा गरिरहनुपर्‍यो भने, तिनीहरूको रुचि हराउँछ र त्यस उप्रान्त तिनीहरूसँग यो कर्तव्यलाई जारी राख्ने उत्प्रेरणा हुँदैन। यस्ता मानिसहरूको जीवनप्रतिको मनोवृत्ति भनेको जसोतसो जिउने मात्रै हुन्छ। झट्ट हेर्दा, तिनीहरू अत्यन्तै स्वतन्त्र र बेफिक्र रूपमा जिउँछन्, र तिनीहरूले अरूसँग सानातिना कुरामा बखेडा गर्दैनन् जस्तो देखिन्छ। तिनीहरू हरेक दिन प्रफुल्ल र बेफिक्र देखिन्छन्, र जहाँ गए पनि परिस्थितिहरूमा घुल्न सक्छन्। कतिपय त सांसारिक रीतिरिवाज वा मानव सम्बन्धहरूका परम्पराहरूद्वारा प्रभावित नभएका र तिनका बन्धनमा नपरेका समेत देखिन्छन्, जसले तिनीहरू असाधारण छन् र साधारण भीडभन्दा माथि छन् भन्ने बाहिरी छाप छाड्छ। तर वास्तवमा, तिनीहरूको सार जिउँदो लास, र आत्मा नभएको प्राणीको सार हो। जसले परमेश्‍वरमा विश्‍वास गर्छन् तर कुनै पनि बेला मण्डली छोडेर जान सक्छन् तिनीहरू कहिल्यै आफूले गर्ने कुनै पनि कुरामा लामो समयसम्म अडिग रहँदैनन्—तिनीहरूले अस्थायी जोश मात्रै कायम राख्न सक्छन्। तर विवेक र समझ भएका मानिसहरू फरक हुन्छन्। तिनीहरूले जुनसुकै कर्तव्य पूरा गरिरहेका भए पनि, त्यसलाई गम्भीरताका साथ सिक्छन् र राम्ररी पूरा गर्न लागिपर्छन्। तिनीहरूले कुनै कुरा हासिल गर्न र केही मूल्य सिर्जना गर्न सक्छन्। एक हिसाबमा, तिनीहरूले आफ्नो वरिपरिका मानिसहरूबाट पहिचान प्राप्त गर्न सक्छन्, र साथ साथै, तिनीहरूले केही गर्न सक्छन् र तिनीहरू उपयोगी मानिस हुन्, व्यर्थका मानिस होइनन् भन्ने देखेर तिनीहरूले भित्री रूपमा आत्मविश्‍वास महसुस गर्न सक्छन्। सामान्य मानवताको विवेक र समझ भएको व्यक्तिले हासिल गर्न सक्ने न्यूनतम कुरा यही हो। तर जसोतसो जीवन जिउने मानिसहरूले यी कुराहरूका बारेमा कहिल्यै सोच्दैनन्। तिनीहरू जहाँ गए पनि, तिनीहरूको काम खाने, पिउने, र रमाइलो गर्ने मात्र हुन्छ। बाहिरी रूपमा, तिनीहरू अत्यन्तै स्वतन्त्र र सहज रूपमा जिउँछन् जस्तो देखिएला, तर वास्तवमा त्यस्ता मानिसहरूको दिमागमा कुनै विचार हुँदैन। तिनीहरूले गर्ने सबै कुरामा, तिनीहरू कहिल्यै गम्भीर हुँदैनन्; तिनीहरू सधैँ सतही हुन्छन् र अल्पकालीन जोशद्वारा उत्प्रेरित हुन्छन्, र तिनीहरूले कहिल्यै केही हासिल गर्दैनन्। तिनीहरू आफ्नो सम्पूर्ण जीवन कामचलाउ तरिकाले जिउन चाहन्छन्, र तिनीहरू जहाँ गए पनि यही मनोवृत्ति बोकेर हिँड्छन्—परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वाससमेत यसको अपवाद हुँदैन। तैँले के देख्न सक्छस् भने, कुनै निश्चित अवधिमा, तिनीहरू आफ्नो कर्तव्य पूरा गर्नमा निकै गम्भीर छन् र तिनीहरूले कष्ट सहन र मूल्य चुकाउन सक्छन् जस्तो देखिन्छ, तर जसले तिनीहरूका समस्याहरू औँल्याए पनि वा तिनीहरूलाई कामकुरा कसरी गर्ने भनेर बताए पनि, तिनीहरू यसलाई कहिल्यै गम्भीरतापूर्वक लिँदैनन् र सत्यतालाई पटक्कै स्वीकार गर्दैनन्। तिनीहरू केवल आफूले चाहे अनुसार काम गर्छन्—तिनीहरूलाई त तिनीहरू खुसी भए पुग्छ। अनि यदि तिनीहरू खुसी छैनन् भने, तिनीहरू कसैको सल्लाह नसुनी रमाइलो गर्न जान्छन्। तिनीहरूले हृदयमा सोच्छन्, “मैले यसै पनि लामो समयसम्म परमेश्‍वरमा विश्‍वास गर्ने योजना कहिल्यै बनाएको थिइनँ।” यदि कसैले तिनीहरूलाई काटछाँट गर्‍यो भने, तिनीहरूले तुरुन्तै छाडेर जान सक्छन्। कुनै पनि बेला मण्डली छाडेर जान सक्ने मानिसहरूको एउटा प्रकटीकरण यही हो।

जसले कुनै पनि बेला मण्डली छोडेर जान सक्छन् तिनीहरूमा अर्को प्रकारको प्रकटीकरण पनि हुन्छ। कतिपय मानिसहरूले जतिसुकै वर्ष परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, तिनीहरूको जग भएजस्तो देखिए पनि वा नदेखिए पनि, र तिनीहरूले पहिले जुनसुकै कर्तव्य निर्वाह गरेका भए पनि, तिनीहरूले आफ्नै व्यक्तिगत हितहरूसँग सम्बन्धित विशेष परिस्थितिको सामना गरेपछि, तिनीहरू अचानक हराउन सक्छन्। कुनै पनि बेला, अरूले तिनीहरूसँगको सम्पर्क गुमाउने, र तिनीहरूलाई मण्डलीमा देख्न छोड्ने, तर तिनीहरूलाई के भइरहेको छ भन्ने थाहा नपाउने सम्भावना हुन्छ। कतिपय मानिसहरूले विपरीत लिङ्गीले आफूलाई वासनाको प्रलोभनमा पार्ने प्रयास गरेपछि, आफ्नो कर्तव्य पूरा गर्न छोड्छन् र डेटिङ गर्न जान्छन्, र तिनीहरू पूर्ण रूपमा सम्पर्कहीन रहन्छन्। अरू यस्ता पनि हुन्छन् जसका छोराछोरी विवाह गर्ने उमेरमा पुगेका हुन्छन्, र तिनीहरू आफ्ना छोराछोरीको विवाहको चाँजोपाँजो मिलाउनमा व्यस्त हुन्छन्, आफ्नो कर्तव्य पूरा गर्न र भेलाहरूमा सहभागी हुन छोड्छन्। जसले तिनीहरूलाई खोज्दै आए पनि, उसलाई ढोकाबाटै फर्काइन्छ। कतिपय मानिसहरूले आफ्ना आमाबुबा वा श्रीमान वा श्रीमती बिरामी भएर अस्पताल भर्ना हुँदा, वा घरमा कुनै ठूलो घटना घट्दा वा अनपेक्षित विपत्ति आइपर्दा—यदि तिनीहरू परमेश्‍वरका साँचो विश्‍वासी हुन् भने—यसो भन्दै स्पष्टीकरण दिन्छन्, “अहिले घरमा केही मामलाहरू छन् जसलाई मैले सम्हाल्‍नुपर्छ, त्यसकारण म भेलाहरूमा सहभागी हुन सक्दिनँ। मैले अनुपस्थितिको बिदा माग्‍नुपर्छ, र यदि तपाईँहरूले उपयुक्त व्यक्ति भेट्टाउन सक्‍नुहुन्छ भने, कृपया ढिलाइ नगरी उहाँलाई अस्थायी रूपमा मेरो कर्तव्य सम्हाल्न लगाउनुहोस्।” कम्तीमा पनि, तिनीहरूले केही सूचना र स्पष्टीकरण दिनेछन्। तर कुनै पनि बेला मण्डली छोडेर जान सक्‍नेहरूले एक शब्द नबोली मण्डलीसँगको सम्पर्क तोड्छन्, र दाजुभाइ-दिदीबहिनीहरूले जति प्रयास गरे पनि, तिनीहरूसँग सम्पर्कमा आउन सक्दैनन्। तिनीहरूसँग सम्पर्क गरिने माध्यमहरू हुँदैनन् भन्‍ने होइन—कुनै पनि विधिद्वारा तिनीहरूको सम्पर्कमा पुग्न सकिन्छ—तर तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई सम्पर्क गर्न वा जवाफ दिन चाहँदै चाहँदैनन्। तिनीहरूले भन्छन्, “मैले किन तपाईँलाई सम्पर्क गर्ने? म स्वेच्छाले आफ्नो कर्तव्य पूरा गर्छु; मलाई यसका लागि तलब दिइँदैन। यदि मलाई छोडेर जान मन लाग्यो भने, म जान्छु! यदि घरमा केही भइरहेको छ भने, त्यो मेरो व्यक्तिगत मामला हो। म तपाईँलाई जानकारी दिन बाध्य छैनँ, र तपाईँलाई थाहा पाउने कुनै अधिकार छैन!” कतिपय मानिसहरू एक-दुई महिनासम्म जान्छन्, अनि त्यसपछि केही नभएको जस्तो गर्दै लाज समेत नमानी रिपोर्ट गर्न आउँछन्। अरू चाहिँ दुई-तीन वर्षसम्म जान्छन् र तिनीहरू पूर्ण रूपमा सम्पर्कबाहिर हुन्छन्। मण्डलीका मानिसहरूलाई परिस्थिति थाहा नहुने हुनाले, तिनीहरू यो व्यक्तिले धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेको हुनाले, उसले मण्डली छोड्न असम्भव छ भन्ने सोच्छन्। तिनीहरूले कुनै अनपेक्षित घटना घटेको हुनुपर्छ भन्ने अनुमान गर्छन् र उक्त व्यक्ति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा पक्राउ पो गरियो कि भन्ने चिन्ता गर्छन्। वास्तवमा, त्यो व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्नै नचाहेको र ऊ दाजुभाइ-दिदीबहिनीहरूलाई जानकारी नदिई गएको मात्र हुन्छ। कतिपय मानिसहरू दश दिनसम्म जान्छन् अनि त्यसपछि फर्केर आउँछन्; यसको अर्थ तिनीहरूले विश्‍वास गर्न छाडेका छन् भन्ने होइन। कतिपय मानिसहरू जान्छन् अनि त्यसपछि दुई-तीन वर्षसम्म हराउँछन्—के तिमीहरू तिनीहरूले विश्‍वास गर्न छाडेका छन् भनेर भन्छौ? (भन्छौँ।) तिनीहरूले वास्तवमै विश्‍वास गर्न छाडेका हुन्छन्, र तिनीहरूलाई हटाउनुपर्छ। यो कुनै साधारण प्रस्थान होइन; तिनीहरूले विश्‍वास गर्न छाडेका हुन्छन्। मानव दृष्टिकोणबाट हेर्दा, यसलाई विश्‍वास गर्न छाडेको भनिन्छ। परमेश्‍वरले यसलाई कसरी हेर्नुहुन्छ? परमेश्‍वरको नजरमा, यसलाई परमेश्‍वरलाई नकार्नु, परमेश्‍वरलाई नपछ्याउनु भनेर भनिन्छ, र यो परमेश्‍वरलाई इन्कार गर्नु हो। तर तिनीहरूको दृष्टिकोणबाट, तिनीहरूले सोच्छन्, “मैले परमेश्‍वरलाई इन्कार गरेको छैनँ; म अझै पनि हृदयमा परमेश्‍वरमा विश्‍वास गर्छु!” देख्यौ त? तिनीहरूले यसलाई हल्का रूपमा पन्छाउँछन्। अरू पनि हुन्छन्, जो खराब मुडमा भएकाले वा भित्री रूपमा दुःखी भएकाले, तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न अत्यन्तै गाह्रो र थकाइलाग्दो लाग्ने हुनाले, वा तिनीहरूलाई अलिक काटछाँट गरिएको हुनाले मात्रै पनि भेलाहरूमा सहभागी हुन र आफ्नो कर्तव्य पूरा गर्न छाड्छन्। तिनीहरू आफूले गरिरहेको कामका बारेमा केही पनि व्याख्या नगरी यसो भन्दै जान्छन्, “कसैले पनि मलाई सम्पर्क नगर। म खुसी छैनँ, र म अब उप्रान्त विश्‍वास गर्न चाहन्नँ!” जब तिनीहरू दुःखी हुन्छन्, तब त्यो करिब एक वर्षसम्म रहन सक्छ। तिनीहरूको रिस साँच्चै नै यति ठूलो हुन्छ—एक वर्ष जति त तिनीहरू त्यसबाट बाहिर निस्कनै सक्दैनन्! कतिपय मानिसहरूले मण्डलीका अगुवा र कामदारहरूको काम हातमा लिन्छन्, तर तिनीहरू काम राम्ररी गर्न असफल हुने मात्र नभई तिनीहरूले लापरवाह रूपमा दुष्कर्म पनि गर्छन्, जसले गर्दा मण्डलीको काममा बाधा र अवरोधहरू आइपर्छन्। पछि, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई निर्वाचित गर्दैनन्, र सङ्गतिमा तिनीहरूलाई खुट्ट्याउने र खुलासा गर्ने पनि गर्छन्। त्यसकारण तिनीहरूले यस्तो सोच्न थाल्छन्, “के यो मविरुद्धको आलोचना सत्र हो? मैले काम राम्ररी नगरेको मात्रै त हो, के यो साँच्चै यति ठूलो कुरा हो र? तिनीहरूले किन यसरी सङ्गति गरिरहेका र मलाई खुलासा गरिरहेका छन्? म बसुन्जेलका वर्षहरूमा, मैले यस्तो गुनासो कहिल्यै भोगेको छैनँ! मैले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले, सधैँ अरूलाई हप्काउने व्यक्ति म नै हुन्थेँ; कसैले पनि मलाई कहिल्यै हप्काएन। मैले पहिले यस्तो कष्ट कहिले सहेको छु र? तिमीहरू सबैले ममाथि औँला ठड्याइरहेका छौ, मलाई अपमानित महसुस गराइरहेका छौ। म अबदेखि विश्‍वास गर्नेछैनँ!” त्यतिकै, तिनीहरूले विश्‍वास गर्न छाड्छन्। यसो भन्नेहरू जवान मानिसहरू मात्रै हुँदैनन्—कतिपय त आठ-दश वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका र उमेरमा चालीस-पचासको दशकमा पुगेका मानिसहरू हुन्छन्, तैपनि तिनीहरू दुःखी हुँदा तिनीहरूले पनि त्यस्ता कुराहरू भन्न सक्छन्। के त्यस्ता मानिसहरूको हृदयमा परमेश्‍वरका लागि ठाउँ हुन्छ? के तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण कुराका रूपमा लिन्छन्? काटछाँटमा पर्दा वा विपत्ति वा व्यवधानहरूको सामना गर्दा अलिक नकारात्मक र कमजोर महसुस गर्नु सामान्य कुरा हो, तर यी कुराहरूले गर्दा व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्न छोड्नु हुँदैन। त्यस्ता मानिसहरू परमेश्‍वरका इमानदार विश्‍वासी होइनन्। परमेश्‍वरका इमानदार विश्‍वासीहरू पक्राउ र सतावटमा पर्दा पनि आफ्नो विश्‍वासमा लागिरहन सक्छन्—यिनीहरू मात्रै गवाही भएका मानिस हुन्। कतिपय मानिसहरूले केही प्राकृतिक विपत्तिको सामना गर्दा, यदि दाजुभाइ-दिदीबहिनीहरूलाई त्यसबारे थाहा छैन वा अलिक ढिलो थाहा भयो र उनीहरूले समयमा नै ती मानिसहरूलाई सहयोग गरेनन् भने, तिनीहरूले यस्तो सोच्न थाल्छन्, “म कठिनाइहरू सामना गरिरहेको छु तर कसैले पनि मलाई ध्यान दिइरहेको छैन। त्यसकारण, तिनीहरू मलाई हेयको नजरले हेर्छन्! परमेश्‍वरमा विश्‍वास गर्नु व्यर्थ छ। म अबदेखि विश्‍वास गर्नेछैनँ!” यति सानो कुराकै कारण तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न छोड्न सक्छन्। कुनै पनि बेला मण्डली छोडेर जान सक्ने मानिसहरूको एउटा प्रकटीकरण यही हो।

कुनै पनि बेला मण्डली छोडेर जान सक्‍नेहरूको अर्को अवस्था पनि हुन्छ। चिनियाँ कम्युनिस्ट पार्टीले तिनीहरूलाई आफ्नो पक्षमा ल्याउनका लागि, तिनीहरूलाई राम्रो जागिर प्रस्ताव गर्छ, र भन्छ, “परमेश्‍वरमा विश्‍वास गरेर तिमीले केही पनि कमाउँदैनौ। तिमीसँग के-कस्ता सम्भाव्यताहरू हुन सक्छन्? हामीले तिम्रो लागि उच्च मासिक तलब, राम्रा सुविधा, र श्रम बीमासहितको विदेशी कम्पनीमा एउटा पद भेट्टाएका छौँ। परमेश्‍वरमा विश्‍वास गर्नुमा तिम्रो कुनै भविष्य छैन; काम गर्नु, पैसा कमाउनु, र सुखी जीवन जिउनु नै राम्रो हुन्छ।” अन्तमा, तिनीहरू मण्डली छोडेर काम गर्न जान्छन्। कसैले भन्छ, “हिजोसम्म यो व्यक्तिले मण्डलीमा आफ्नो कर्तव्य पूरा गरिरहेको थियो। ऊ किन आज आफ्ना सामानहरू पोको पारेर गयो?” तिनीहरू काम गर्न र पैसा कमाउन जाँदैछन्; तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न छाडेका छन्। तिनीहरू एक शब्द पनि नबोली जान्छन्, र त्यसपश्चात, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूभन्दा अलग बाटोमा लाग्छन्, र फरक मार्गका मानिस बन्छन्। तिनीहरू ख्याति र प्राप्ति पछ्याउन, उच्च स्थानमा पुग्‍न र पृथक बन्न चाहन्छन्, र तिनीहरूले उप्रान्त परमेश्‍वरमा विश्‍वास गर्दैनन्। कतिपय मानिसहरू यस्ता पनि छन्, जसले सुसमाचार प्रचार गर्दा आफूलाई मन पर्ने व्यक्तिलाई भेट्छन्, ऊसँग जोडिन्छन्, र तिनीहरूले सँगै दिन बिताउन थाल्छन्। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न छोड्ने मात्र नभई परमेश्‍वरमा विश्‍वास गर्न समेत छोड्छन्। घरमा रहेका तिनीहरूका आमाबुबा अझै पनि अनजान हुन्छन्, र तिनीहरूले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गरिरहेका छन् भन्ने सोच्छन्। वास्तवमा, तिनीहरू धेरै पहिले हराएका हुन्छन्—के थाहा, अब त तिनीहरूको बच्‍चाबच्ची समेत भइसकेको हुन सक्छ। आफ्नो कर्तव्य पूरा गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ, तैपनि तिनीहरूले सुसमाचार प्रचार गर्ने जस्तो महत्त्वपूर्ण काम समेत त्याग्न सक्छन्। जब तिनीहरूले आफूलाई मन पर्ने व्यक्ति, वा आफूलाई मन पराउने व्यक्तिलाई भेट्छन्, तब तिनीहरूलाई बहकाउनका लागि त्यो व्यक्तिका केही सरल प्रलोभनपूर्ण र लोभ्याउने शब्दहरू नै पर्याप्त हुन सक्छन्। तिनीहरू अत्यन्तै चुलबुले र लापरवाह हुन्छन्, जसले गर्दा तिनीहरूले कुनै पनि समय र स्थानमा परमेश्‍वरलाई त्याग्न र धोका दिन सक्छन्। त्यस्ता मानिसहरूले जति वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए पनि वा तिनीहरूले जति धेरै प्रवचनहरू सुनेका भए पनि, तिनीहरूले अझै पनि अलिकति पनि सत्यता बुझ्दैनन्। तिनीहरूका लागि, परमेश्‍वरमा विश्‍वास गर्नु महत्त्वपूर्ण हुँदै हुँदैन, र आफ्नो कर्तव्य पूरा गर्नुले पनि अर्थ राख्दैन—आशिष्‌हरू प्राप्त गर्नका लागि, तिनीहरूलाई यी कुराहरू गर्नुको विकल्प छैन भन्ने लाग्छ। कुनै व्यक्तिगत मामला वा पारिवारिक समस्या आउनेबित्तिकै, तिनीहरूले त्यतिकै छोडेर जान सक्छन्। जब तिनीहरूले थोरै प्राकृतिक विपत्तिको सामना गर्छन्, तब तिनीहरूले त्यतिकै विश्‍वास गर्न छोड्न सक्छन्। कुनै पनि कुराले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा हस्तक्षेप गर्न सक्छ; कुनै पनि मामलाले तिनीहरूलाई नकारात्मक बनाउन र आफ्नो कर्तव्य त्याग्ने तुल्याउन सक्छ। तिनीहरू कस्ता किसिमका मानिस हुन्? यो प्रश्न साँच्चै नै गहन रूपमा मनन गर्न लायक छ!

कुनै पनि बेला मण्डली छोडेर जान सक्‍ने मानिसहरू कस्ता प्रकारका मानिस हुन्? एक प्रकारका मानिसहरू दिमाग नभएका, विचारहीन, अलमल्ल हुन्छन्, जसलाई आफूले परमेश्‍वरमा किन विश्‍वास गर्छु भन्ने नै थाहा हुँदैन, चाहे तिनीहरूले जतिसुकै वर्ष विश्‍वास गरेको किन नहोस्। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भन्ने तिनीहरूलाई थाहै हुँदैन। अर्को प्रकारका मानिसहरू अविश्‍वासीहरू हुन्, जसले परमेश्‍वरको अस्तित्वमा पटक्कै विश्‍वास गर्दैनन् र परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ वा मूल्य बुझ्दैनन्। तिनीहरूका लागि प्रवचनहरू सुन्नु र परमेश्‍वरका वचनहरू पढ्नु भनेको ईश्‍वरशास्त्र अध्ययन गर्नु वा केही व्यावसायिक ज्ञान सिक्नु जस्तै हो—तिनीहरूले यसलाई बुझेपछि र तिनीहरू यसबारे कुरा गर्न सक्ने भएपछि, तिनीहरूले यो काम पूरा भयो भन्ठान्छन्। तिनीहरूले यसलाई कहिल्यै अभ्यास गर्दैनन्। तिनीहरूका लागि, परमेश्‍वरका वचनहरू एक प्रकारको सिद्धान्त, एउटा नारा मात्रै हुन्, र ती कहिल्यै तिनीहरूको जीवन बन्न सक्दैनन्। त्यसकारण, परमेश्‍वरमा विश्‍वास गर्नेसँग सम्बन्धित कुनै पनि कुराप्रति तिनीहरूलाई रुचि हुँदैन। आफ्नो कर्तव्य पूरा गर्नु, सत्यता पछ्याउनु, परमेश्‍वरका वचनहरू अभ्यास गर्नु, दाजुभाइ-दिदीबहिनीहरूसँग भेला हुनु र सँगै मण्डली जीवन जिउनु, इत्यादि जस्ता कुराहरूले तिनीहरूलाई कुनै पनि हिसाबमा आकर्षित गर्दैनन्, र यीमध्ये कुनै पनि कुराले तिनीहरूलाई खाँदा, पिउँदा, र रमाइलो गर्दा पाइने खुसी र उत्साह दिँदैन। अर्कोतर्फ, परमेश्‍वरका इमानदार विश्‍वासीहरूलाई सत्यता सङ्गति गर्न वा मण्डली जीवन जिउनका लागि दाजुभाइ-दिदीबहिनीहरूसँगै रहनुले सधैँ तिनीहरूलाई फाइदा र प्राप्तिहरू ल्याउन सक्छ भन्ने लाग्छ। कहिलेकाहीँ तिनीहरूले खतरा र सतावट सामना गर्ने भए पनि, वा सुसमाचार प्रचार गर्दा जोखिम उठाउने र आफ्नो कर्तव्य पूरा गर्दा केही कष्ट भोग्ने भए पनि, चाहे जेसुकै होस्, तिनीहरूले कष्ट सहेर र मूल्य चुकाएर सत्यताको बुझाइ प्राप्त गर्छन् र परमेश्‍वरलाई चिन्ने परिणाम हासिल गर्छन्, र यो कष्ट र मूल्यले तिनीहरूको जीवन स्वभावमा रुपान्तरण ल्याउँछ। यो सबै कुरालाई तौलेपछि र मूल्याङ्कन गरेपछि, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो कुरा हो, र सत्यता बुझ्न सक्नु अत्यन्तै बहुमूल्य कुरा हो भन्ने महसुस गर्छन्। तिनीहरूको हृदय विशेष रूपमा मण्डलीसँग जोडिन्छ, र तिनीहरूले मण्डली जीवन त्याग्ने कुरा कहिल्यै सोच्दैनन्। यदि परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नेहरूले केही व्यक्तिहरूलाई मण्डलीको काममा बाधा दिएकोमा मण्डलीद्वारा ‘ख’ समूहहरूमा पठाइएको वा एकल्याइएको वा निकालिएको देखे भने, तिनीहरूले हृदयमा थोरै सन्ताप महसुस गर्छन्। तिनीहरूले सोच्छन्, “मैले लगनशीलताका साथ आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। म बिलकुलै निकालिन मिल्दैन। निकालिनु भनेको दण्ड पाउनुसरह हो, जसको अर्थ नरक जाने परिणाम हो! त्यसपछि त जिउनुको के अर्थ हुन्छ र?” धेरैजसो मानिसहरू मण्डली छोडेर जान डराउँछन्; तिनीहरूलाई आफूले मण्डली र परमेश्‍वरलाई छोडेपछि, जिइरहन सकिँदैन र सबै कुरा समाप्त हुनेछ भन्ने लाग्छ। तर कुनै पनि बेला मण्डली छोडेर जान सक्‍ने मानिसहरूले मण्डली छोड्नुलाई एउटा जागिर छोडेर अर्को खोज्नु जस्तै सामान्य कुराका रूपमा लिन्छन्। तिनीहरूलाई कहिल्यै व्यथित महसुस हुँदैन वा भित्र कुनै पीडा हुँदैन। तिमीहरूलाई के लाग्छ—कुनै पनि बेला मण्डली छोडेर जान सक्‍ने मानिसहरूमा कुनै विवेक वा समझ हुन्छ? त्यस्ता मानिसहरू साँच्चै नै उदेकलाग्दा हुन्छन्! कतिपय मानिसहरूको कर्तव्य निर्वाह मानकअनुरूप हुँदैन, र तिनीहरूले सधैँ लापरवाह रूपमा दुष्कर्म गर्छन्, जसले गर्दा मण्डलीको काममा बाधा र अवरोधहरू आइपर्छन्। त्यसपछि मण्डलीले तिनीहरूलाई कर्तव्य पूरा गर्नबाट रोक्छ र कुनै साधारण मण्डलीमा पठाउँछ। त्यसोभए, परिणामस्वरूप के हुन्छ? भोलिपल्ट नै, तिनीहरूले पूर्णतया फरक व्यक्तिझैँ व्यवहार गर्छन्, र पूर्ण रूपमा नयाँ जीवन सुरु गर्छन्। कतिले डेटिङ गर्न थाल्छन् र विवाह गर्छन्, कतिले जागिर खोज्न थाल्छन्, अरू कलेज जान्छन्, र अन्यले फेरि पुराना साथीहरूसँग जोडिन्छन्, सम्पर्कहरू बढाउँछन्, र धनी बन्ने अवसरहरू खोज्छन्। यी मानिसहरू तुरुन्तै विशाल संसारमा मिसिन्छन्, र मानवताको समुद्रमा हराउँछन्—यो कुरा त्यत्ति चाँडै हुन्छ। कतिपय दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्दा खराब परिणामहरू प्राप्त गरेका कारण साधारण मण्डलीमा पठाइएपछि, तिनीहरू केही समयसम्म वेदनामा पर्छन् तर तिनीहरूले आत्मचिन्तन गर्न र आफ्ना समस्याहरू पहिचान गर्न सक्छन्, र सुध्रिने केही मनोवृत्ति देखाउँछन्। तर, कुनै पनि बेला मण्डली छोडेर जान सक्‍ने मानिसहरूले केही कठिनाइहरू सामना गर्नेबित्तिकै, उप्रान्त आफ्नो कर्तव्य पूरा गर्न चाहँदैनन् र भोलिपल्ट नै मण्डली छोडेर गैरविश्‍वासीको जीवनमा फर्केर जान्छन्। तिनीहरूलाई पटक्कै पीडा महसुस हुँदैन र तिनीहरूले यस्तो समेत सोच्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नुमा यति राम्रो कुरा के छ र? तिमीहरूलाई अरूले निरन्तर गिल्ला र अपमान गर्छन्, र तिमीहरू पक्राउ पर्ने र जेल पर्ने समेत सम्भावना हुन्छ। यदि ठूलो रातो अजिङ्गरले मलाई कुटेर मार्‍यो भने, के मेरो जीवन व्यर्थ हुनेछैन र? मैले परमेश्‍वरमा यतिका वर्ष विश्‍वास गर्दा धेरै कष्ट भोगेको छु, तर मैले के पाएँ? यदि मैले परमेश्‍वरमा विश्‍वास नगरेको भए, अहिलेसम्म त म पदाधिकारी बनेको हुनेथिएँ, मैले पैसा कमाएको, र प्रतिष्ठित जीवन जिइरहेको हुनेथिएँ! अहिलेसम्म परमेश्‍वरमा विश्‍वास गरेकोमा, मलाई पछुतो समेत हुन्छ—यदि मलाई यस्तो हुन्छ भन्ने थाहा भएको भए, म धेरै पहिले नै गइसक्थेँ! सत्यता बुझ्नुको के फाइदा? के त्यो बुझाइले तिमीलाई खान दिन्छ वा तिम्रो खर्च जुटाइदिन्छ?” देख्यौ त? तिनीहरूलाई कुनै पछुतो नहुने मात्र नभई तिनीहरूले मण्डली छोडेर जान सकेकोमा आफूलाई भाग्यमानी समेत ठान्छन्। के यो अविश्‍वासीका रूपमा तिनीहरूको साँचो मुहार खुलासा भएको होइन र? (हो।)

कतिपय मानिसहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्दा झाराटारुवा हुने र लापरवाह दुष्कर्म गर्ने बानी परेको हुन्छ। मण्डलीले निकालेपछि, जब तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्छन्, तब तिनीहरूले उनीहरूलाई शत्रुझैँ हेर्छन्। दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूसँग नम्र भएर कुरा गर्ने प्रयास गर्दा पनि, तिनीहरूले उनीहरूलाई बेवास्ता गर्छन् र यसो भन्दै घृणाको नजरले हेर्छन्, “मलाई मण्डलीबाट निकाल्ने तिमीहरू नै हौ। अहिले मलाई हेर त! म तिमीहरूभन्दा धनी छु! अहिले म सुन र चाँदीले सजिएको छु, म महत्त्वपूर्ण व्यक्ति हुँ! म यति सहज रूपमा संसार घुमिरहेको छु, तर परमेश्‍वरमा विश्‍वास गर्नमा तिमीहरू कति जर्जर र थकित छौ, हेर त! तिमीहरू सबैले निरन्तर सत्यता प्राप्त गर्न पछ्याइरहेका छौ, तर मलाई तिमीहरू मभन्दा चलाख छौ जस्तो लाग्दैन! सत्यता प्राप्त गर्नुमा यति राम्रो के छ र? के यसलाई खानेकुरा जस्तै खान वा पैसा जस्तै खर्च गर्न सकिन्छ? सत्यता नपछ्याए पनि, म निकै राम्ररी जिइरहेको छु, होइन र? तिमीहरूले मलाई निकाल्नु मेरो सौभाग्य थियो—मैले यसका लागि तिमीहरूलाई धन्यवाद दिनुपर्छ!” तिनीहरू अविश्‍वासी हुन्, र आफ्नो कर्तव्य पूरा गर्दा त्यसले तिनीहरूलाई खुलासा गरेको छ भन्ने कुरा तिनीहरूको बोलीवचनबाट स्पष्ट हुन्छ। के परमेश्‍वरमा मौखिक रूपमा मात्रै विश्‍वास गर्ने गैरविश्‍वासीले स्वेच्छाले आफ्नो कर्तव्य पूरा गर्न सक्छ? आफ्नो कर्तव्य पूरा गर्नु भनेको ज्याला नलिई वा पैसा नकमाई जिम्मेवारी र दायित्वहरू पूरा गर्नु हो। तिनीहरूले यसलाई घाटाका रूपमा हेर्छन्, त्यसकारण तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न अनिच्छुक हुन्छन्। यसरी अविश्‍वासीका रूपमा तिनीहरूको साँचो रङ्ग खुलासा हुन्छ; परमेश्‍वरको कामले अविश्‍वासीहरूलाई यसरी नै प्रकाश गर्छ र हटाउँछ। कतिपय मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा सधैँ झाराटारुवा मनोवृत्ति अपनाउँछन्, र दिनप्रतिदिन बरालिएर हिँड्ने काम मात्रै गर्छन्। संसारमा पैसा कमाउने वा बढुवा पाउने मौका पाउने बित्तिकै, तिनीहरूले कुनै पनि बेला मण्डली छोड्छन्—तिनीहरूको मनमा सधैँ यही अभिप्राय रहिआएको हुन्छ। यदि आफ्नो कर्तव्य पूरा गर्ने क्रममा तिनीहरूलाई झाराटारुवा हुने र लापरवाह दुष्कर्म गर्ने बानी परेकाले तिनीहरूलाई साधारण मण्डलीमा स्थानान्तर गरियो भने, तिनीहरूले आत्मचिन्तन नगर्ने मात्र नभई यस्तो पनि सोच्नेछन्, “तिमीले मलाई पूर्णकालीन कर्तव्य मण्डलीबाट पखाल्नु भनेको तिम्रा लागि घाटा हो र मेरा लागि फाइदा हो।” तिनीहरूलाई आफूदेखि निकै खुसी समेत लाग्छ। के त्यस्ता मानिसहरू अविश्‍वासी होइनन् र? ल भन त, लापरवाह दुष्कर्ममार्फत मण्डलीको काममा गम्भीर बाधा र अवरोध ल्याएका कारण पखालिएका ती अविश्‍वासीहरूका हकमा भन्दा, के परमेश्‍वरको घरले तिनीहरूलाई यसरी पखालेर फाल्नु सिद्धान्तहरू अनुरूप हुन्छ? (हुन्छ।) यो पूर्णतया सिद्धान्तहरू अनुरूप छ; यो तिनीहरूलाई अलिकति पनि अन्याय गर्नु होइन। परमेश्‍वरप्रति र आफ्नो कर्तव्य पूरा गर्नेप्रति तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ कि तिनीहरूले कुनै पनि बेला तिनलाई त्याग्न र धोका दिन सक्छन्। तिनीहरूको हृदयमा सकारात्मक कुराहरूप्रति कुनै रुचि हुँदैन भन्ने कुरा प्रमाणित गर्न यो नै पर्याप्त हुन्छ। तिनीहरूले धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन् र धेरै प्रवचनहरू सुनेका हुन्छन्, तैपनि परमेश्‍वरमा विश्‍वास गर्नेसम्बन्धी कुनै पनि सत्यताहरू वा परमेश्‍वरका चुनिएका मानिसहरूका अनुभवात्मक गवाहीहरूले तिनीहरूको हृदयलाई टिकाइराख्न सक्दैनन्। यीमध्ये कुनै पनि कुराले तिनीहरूको चासो जगाउँदैन, तिनीहरूलाई छुँदैन, वा लगाव महसुस गराउँदैन। तिनीहरूको मानवताको सार यही हो, जुन तिनीहरूलाई सकारात्मक कुराहरूप्रति कुनै चासो नहुनु हो। त्यसोभए, तिनीहरूलाई के कुरामा चासो हुन्छ? तिनीहरूलाई खाने, पिउने, र रमाइलो गर्ने, देहसुखहरू, दुष्ट प्रचलनहरू, र शैतानका दर्शनहरूमा चासो हुन्छ। तिनीहरूलाई समाजका सबै नकारात्मक कुराहरूमा विशेष चासो हुन्छ; तिनीहरूलाई सत्यता र परमेश्‍वरका वचनहरूमा मात्र चासो हुँदैन। त्यसकारण त तिनीहरू कुनै पनि बेला परमेश्‍वरको घर छोडेर जान सक्छन्। परमेश्‍वरको घरका भेलाहरूमा बारम्बार परमेश्‍वरका वचनहरू पढ्ने वा बारम्बार सत्यता सङ्गति गर्ने कार्यप्रति तिनीहरूलाई कुनै चासो हुँदैन। तिनीहरू कर्तव्य पूरा गर्नुप्रति विशेष रूपमा विकर्षित हुन्छन् र आफ्नो कर्तव्य पूरा गर्नेहरू सबै मूर्ख हुन् भन्ने समेत सोच्छन्। यो कस्तो प्रकारको मानसिकता र कस्तो प्रकारको मानवता हो? तिनीहरूलाई सत्यता वा मानिसहरूलाई परमेश्‍वरले दिनुहुने मुक्तिप्रति कुनै चासो हुँदैन, र तिनीहरूलाई मण्डली जीवनप्रति कुनै लगाव महसुस हुँदैन। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई खुलेर आलोचना वा निन्दा नगरेका भए पनि, तिनीहरूले अलिकति पनि सत्यता नबुझी धेरै वर्षदेखि प्रवचनहरू सुनेका हुन्छन्—यसले स्पष्ट रूपमा समस्याको सङ्केत गर्छ। सकारात्मक कुरा र नकारात्मक कुरा दुवैलाई एकै पटक घृणा गर्ने कोही पनि हुँदैन। तँलाई सकारात्मक कुराहरू मन नपरुञ्जेल, नकारात्मक कुराहरूमा विशेष चासो हुनेछ। यदि तँलाई नकारात्मक कुराहरूमा विशेष चासो छ भने, तँलाई सकारात्मक कुराहरूमा निश्चय नै चासो हुनेछैन। यस्तो व्यक्तिलाई सकारात्मक कुराहरूमा पटक्कै चासो हुँदैन, त्यसकारण परमेश्‍वरको घरमा उसलाई लगाव महसुस हुने, उसलाई मन पर्ने वा तृष्णा हुने कुरा केही पनि हुँदैन। संसारका दुष्ट प्रचलनहरू, पैसा, ख्याति र लाभ, सरकारी पद, धनी बन्नु, र विभिन्न लोकप्रिय विधर्म र भ्रमहरूमा नै तिनीहरूलाई सबैभन्दा बढी चासो हुन्छ। तिनीहरूको हृदय परमेश्‍वरको घरमा नभई संसारमा केन्द्रित हुन्छ, त्यसकारण तिनीहरू कुनै पनि बेला छोडेर जान सक्छन्। परमेश्‍वरको घर र मण्डली जीवन छोडेर जाँदा तिनीहरूलाई कुनै पछुतो, वेदना वा पीडा हुँदैन, बरु पूर्ण राहत हुन्छ। तिनीहरूले मनमनै सोच्छन्: “मैले अबदेखि बल्ल हरेक दिन प्रवचनहरू सुन्नु वा सत्यताबारे सङ्गति गर्नु पर्दैन, म अब यी कुराहरूका बन्धनमा पर्नु पर्दैन। अब म साहसका साथ ख्याति र लाभ पछ्याउन, पैसा पछ्याउन, सुन्दर महिलाहरूलाई पछ्याउन, र मेरा व्यक्तिगत सम्भाव्यताहरूलाई पछ्याउन सक्छु। अन्ततः, म चिन्ता नगरी निर्भिकतापूर्वक झूट बोल्न र अरूलाई ठग्न, षड्यन्त्र र युक्तिहरू कार्यान्वयन गर्न, र सबै किसिमका दुष्ट रणनीतिहरू अभ्यास गर्न सक्छु। म मानिसहरूसँग अन्तरक्रिया गर्न कुनै पनि माध्यम प्रयोग गर्न सक्छु!” परमेश्‍वरको घरमा प्रवचनहरू सुन्नु र सत्यता सङ्गति गर्नु तिनीहरूका लागि पीडादायी हुन्छ, र परमेश्‍वरको घर छोडेर जाँदा तिनीहरूलाई राहत महसुस हुन्छ। यसको अर्थ यी सकारात्मक कुराहरू तिनीहरूको हृदयलाई चाहिने कुरा होइनन् भन्ने हुन्छ। तिनीहरूलाई चाहिने त संसारका र समाजका सबै कुराहरू हुन्। यसबाट, तिनीहरूले मण्डली छोडेर जानुको कारण तिनीहरूका पछ्याइ र अभिरुचिहरूसँग सिधै सम्बन्धित छन् भन्ने कुरा स्पष्ट हुन्छ।

कुनै पनि बेला परमेश्‍वरको घर छोडेर जान सक्ने यी मानिसहरूको प्रकृति सार के हो? के अहिले तिमीहरूले यो के हो भन्ने देख्यौ? (देख्यौँ। तिनीहरू त्यस्ता मानिस हुन् जो अविश्‍वासी हुन्। यीमध्ये धेरैजसो मानिसहरू पुनर्जन्म भएका पशु हुन्, तिनीहरू सबै दिमाग वा विचार नभएका अन्योलमा परेका व्यक्ति हुन्।) ठीक भन्यौ। तिनीहरूले आस्थासम्बन्धी मामलाहरू बुझ्दैनन्। तिनीहरूले मानव जीवन वास्तवमा के हो, मानिसहरूले कुन मार्ग लिनुपर्छ, के-कस्ता कुराहरू गर्नु सबैभन्दा अर्थपूर्ण हुन्छ, आत्म-आचरणका सम्बन्धमा अभ्यासका के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ, इत्यादि कुरा बुझ्दैनन्, र तिनीहरू ती कुरा पत्ता लगाउनका लागि सत्यताको खोजी गर्न पनि चाहँदैनन्। तिनीहरू के कुरा पछ्याउन मन पराउँछन्? दिनभरि तिनीहरूको दिमाग फाइदाहरू प्राप्त गर्न र अरूभन्दा माथिल्लो स्तरको जीवनको आनन्द लिनका लागि के गर्न सकिन्छ भन्ने कुरामा घुमिरहेको हुन्छ। कतिपय मानिसहरूले संसारमा जागिर खाँदा नै परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्। तर तिनीहरूलाई सुपरिवेक्षक वा प्रबन्धकमा बढुवा गरिनेबित्तिकै, वा तिनीहरू मालिक बन्नेबित्तिकै, तिनीहरूले विश्‍वास गर्न छोड्छन्। जब दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई सम्पर्क गर्छन्, तब तिनीहरूले भन्छन्, “अब म हैसियत र ख्याति भएको, सामाजिक प्रतिष्ठा भएको व्यक्ति हुँ। तिमीहरूसँग परमेश्‍वरमा विश्‍वास गर्नु अत्यन्तै अपमानजनक कुरा हो। तिमीहरू सबै मबाट टाढा बस्नुपर्छ, र मलाई फेरि खोज्न नआओ! तिमीहरू चाहन्छौ भने मलाई हटाउन वा निष्कासित गर्न सक्छौ। जे भए पनि, परमेश्‍वरमा विश्‍वास गर्ने मेरो अध्याय समाप्त भएको छ, र अबदेखि मसँग तिमीहरूको कुनै सम्बन्ध छैन!” तिनीहरू के भन्छन्, देख्यौ त? तिनीहरू कस्ता व्यक्ति हुन्? के तिमीहरूले अझै पनि तिनीहरूलाई सम्पर्क गर्नेछौ? (गर्नेछैनौँ।) तिनीहरूले यो कुरा स्पष्ट रूपमा भनेका छन्, तैपनि कतिपय मण्डली अगुवाहरू तिनीहरूले छोडेर जाँदा पछुतो मान्छन् र तिनीहरूलाई मनाउनका लागि धेरै पटक तिनीहरूलाई सम्पर्क गर्छन्: “तपाईँसँग यति राम्रो क्षमता छ, र तपाईँ अगुवा र कामदारसमेत हुनुहुन्थ्यो। तपाईँले सत्यता नपछ्याउनुभएकाले मात्रै तपाईँलाई बर्खास्त गरिएको हो। यदि तपाईँले लगनशीलताका साथ सत्यता पछ्याउनुभयो भने, अवश्य नै मुक्ति पाउनुहुनेछ, र भविष्यमा, तपाईँ अवश्य नै परमेश्‍वरको घरको खम्बा, र आधारस्तम्भ बन्‍नुहुनेछ!” अगुवाहरूले जति बढी यी कुराहरू भन्छन्, यसले अर्को पक्षलाई त्यति नै विकर्षित गर्छ। कतिपय मण्डली अगुवाहरू अन्योलमा परेका हुन्छन् र तिनीहरूमा समझशक्तिको कमी हुन्छ; यो व्यक्तिलाई संसारमा बढुवा गरिएको थियो, तैपनि यी अगुवाहरूले अझै पनि उसको डाहा गर्छन् र ऊसँग सम्बन्ध स्थापित गर्न चाहन्छन्—के यसले आत्म-सम्मानको कमी देखाउँदैन र? सत्यता बुझ्ने मानिसहरूले यो कुरालाई स्पष्ट रूपमा देख्न सक्छन्: समाजमा बढुवा पाउनु राम्रो सङ्केत होइन; यो व्यक्तिले हिँड्ने सही मार्ग होइन! कतिपय मानिसहरूले समाजमा थोरै हैसियत प्राप्त गर्ने बित्तिकै परमेश्‍वरमा विश्‍वास गर्न छोड्छन्—यसले तिनीहरूलाई प्रकाश गर्छ र तिनीहरू परमेश्‍वरमा इमानदारीपूर्वक विश्‍वास गर्ने वा सत्यतालाई प्रेम गर्ने मानिस होइनन् भन्ने कुरालाई प्रमाणित गर्छ। यदि तिनीहरू इमानदार विश्‍वासी भएका भए, तिनीहरूलाई बढुवा गरिए पनि र समाजमा तिनीहरूको आशाजनक भविष्य भए पनि, तिनीहरूले परमेश्‍वरलाई छोडेर जानेथिएनन्। तिनीहरूले परमेश्‍वरलाई धोका दिएका हुनाले, के अब मण्डलीले तिनीहरूलाई सम्पर्क गर्नुपर्ने र तिनीहरूमाथि काम गर्नुपर्ने कुनै आवश्यकता छ? यसको कुनै आवश्यकता छैन, किनभने तिनीहरूलाई अविश्‍वासीका रूपमा प्रकाश गरिसकिएको छ। परमेश्‍वरमा विश्‍वास नगरेर, हार बेहोर्ने तिनीहरूले नै हो—तिनीहरूसँग आशिष् हुँदै हुँदैन। तिनीहरू केवल दीनहीन प्राणी हुन्; यदि तँ अझै पनि तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नतिर तान्न जिद्दी गर्छस् भने, के त्यो मूर्खता होइन र? तैँले तिनीहरूलाई यसरी जति तान्ने प्रयास गर्छस्, तिनीहरूले तँलाई त्यति नै हेयको नजरले हेर्छन्। तिनीहरू के सोच्छन् भने, परमेश्‍वरमा विश्‍वास गर्ने सबै निम्न सामाजिक हैसियत भएका र क्षमता नभएका मानिस हुन्। त्यसकारण तिनीहरू विशेष रूपमा अहङ्कारी र आत्म-धर्मी हुन्छन्, र सबैलाई अवहेलनाको नजरले हेर्छन्। यदि कसैले तिनीहरूप्रति चासो देखायो वा तिनीहरूलाई वास्ता गर्‍यो भने, तिनीहरूले यसलाई तिनीहरूको चापलुसी गर्ने प्रयासका रूपमा हेर्छन्। यो कस्तो मानसिकता हो? यो दाजुभाइ-दिदीबहिनीहरूलाई सही रूपमा हेर्न नसक्नु हो। के तिनीहरू इमानदारीका साथ परमेश्‍वरमा विश्‍वास गर्ने मानिस हुन्? यस्तो व्यक्तिको सामना गर्दा, तैँले उसलाई इन्कार गर्नुपर्छ। तिनीहरूले “अब म वरिष्ठ सुपरिवेक्षक बनेको छु। मलाई फेरि खोज्दै नआओ। यदि तिमीहरूले मलाई सम्पर्क गरिरह्यौ भने, म तिमीहरूको विरुद्धमा उठ्नेछु! विशेष गरी मेरो कम्पनीमा आएर मलाई लज्जित नबनाऊ—परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूसँग मेरो कुनै सम्बन्ध छैन!” भनेर भन्‍ने बित्तिकै—तिनीहरूले यी शब्दहरू बोलेपछि, तिमीहरू तुरुन्तै त्यहाँबाट जानुपर्छ, उसलाई हटाउनुपर्छ, र फेरि कहिल्यै त्यस्तो व्यक्तिको सङ्गत गर्नु हुँदैन। तिनीहरूलाई हामीले तिनीहरूको सफलताको फाइदा लिनेछौँ भन्ने डर हुन्छ; त्यसकारण हामीमा केही आत्म-सचेतना हुनुपर्छ। तिनीहरू फस्टाइरहेका र माथिल्लो स्तरमा उक्लिरहेका छन्; तिनीहरू हाम्रो स्तरभन्दा ज्यादै माथि छन्। हामी त साधारण मानिस मात्रै हौँ, समाजको तल्लो स्तरका मानिस हौँ। हामीले तिनीहरूसँग सम्बन्ध स्थापित गर्ने प्रयास गर्नु हुँदैन—त्यसरी आफूलाई तल नझार! कतिपय त्यस्ता मानिसहरू पनि हुन्छन् जो वृद्ध हुन्छन् र तिनीहरूका छोराछोरीले सहरमा विलासी घर किन्छन्। घरमा सरेपछि, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भनेर अचानक हराउँछन्: “मलाई खोज्दै फेरि नआउनू। तिमीहरू सबै गाउँका हौ। यदि तिमीहरू मलाई खोज्दै आयौ भने, मानिसहरूले म पनि गाउँबाट आएको हुँ, मेरा आफन्तहरू ग्रामीण भेगका हुन् भन्ने सोच्नेछन्। त्यो कति लाजमर्दो कुरा हुनेछ! मेरो छोरा कस्तो व्यक्ति हो, तिमीहरूलाई थाहा छ? ऊ पैसावाला व्यक्ति हो, ऊ धनी मान्छे हो, र सार्वजनिक रूपमा चिनिएको मान्छे हो! यदि तिमीहरू मसँग सम्पर्कमा रह्यौ भने, के त्यो मेरो छोराका लागि अपमानजनक हुनेछैन र? त्यसैले भविष्यमा मलाई फेरि खोज्दै नआओ!” तिनीहरूले यी शब्दहरू भन्ने बित्तिकै, यति मात्र जवाफ देओ: “तपाईँको मनोवृत्ति यस्तै हो भने, हामी बुझ्छौँ। त्यसोभए हामी तपाईँलाई खुसी र आनन्दको कामना गर्छौँ!” त्यो क्षणमा, यदि तैँले थप एउटा शब्द पनि बोलिस् भने, तँ मूर्ख र नीच देखिनेछस्। तुरुन्तै छोडेर जानु नै सही कुरा हो। अविश्‍वासीहरूलाई जबरजस्ती मनाउने प्रयास कहिल्यै नगर्—त्यो त मूर्ख व्यवहार मात्रै हो। के तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।) कतिपय मानिसहरू कति मूर्ख हुन सक्छन्? तिनीहरू भन्छन्, “त्यो व्यक्तिको छोरा धनी मान्छे हो, समाजमा हैसियत भएको पैसावाला व्यक्ति हो। उसको त सरकारी अधिकारीहरूसँग समेत सम्पर्क छ। यदि हामीले तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गरिरहन मनायौँ भने, तिनीहरूको परिवारले दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथिसत्कार समेत गर्न सक्छ!” यो विचार कस्तो लाग्छ? यदि तैँले यसबारे मण्डलीको कामको ख्याल गर्ने, दाजुभाइ-दिदीबहिनीहरूको ख्याल गर्ने, र सुरक्षाको ख्याल गर्ने दृष्टिकोणबाट विचार गरिस् भने, यो पूर्ण रूपमा उचित हुन्छ। तर तिनीहरूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्छन् कि गर्दैनन् भन्ने कुरा तैँले हेर्नुपर्छ। यदि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्न इच्छुक छैनन् र दाजुभाइ-दिदीबहिनीहरूको सम्पर्कमा रहन मन पराउँदैनन्, तैपनि तँ तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नका लागि मनाउन चाहन्छस् भने, के त्यो मूर्खता होइन र? आत्म-सम्मानको कमी देखाउने कुराहरू नगर्। परमेश्‍वरमा विश्‍वास गर्नमा हामीसँग परमेश्‍वरको सुरक्षा र परमेश्‍वरको मार्गदर्शन छ। हामी जुनसुकै वातावरणमा जिउने भए पनि, यो सबै परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूअन्तर्गत हुन्छ। हामीले जस्तोसुकै कष्ट भोगे पनि, हामीले इज्जतका साथ जिउनुपर्छ। कतिपय मानिसहरू त परमेश्‍वरको घर छोडेर जाने यो व्यक्ति सक्षम छ भन्दै उसको डाहासमेत गर्छन्—के यो दृष्टिकोण सही हो? हामीले यस मामिलालाई कसरी हेर्नुपर्छ? तिनीहरू ठूलो घरमा सरेपछि, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न छाडे। समाजमा, तिनीहरूको हैसियत र प्रतिष्ठा हुन्छ, र हृदयमा, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई हेयको नजरले हेर्छन्, र तिनीहरूलाई आफूसँग अन्तरक्रिया गर्न लायक नभएका समाजको तल्लो स्तरका मानिसका रूपमा हेर्छन्। त्यसकारण, हामीले आत्म-सचेतना अपनाउनुपर्छ र त्यस्ता मानिसहरूसँग सम्बन्ध स्थापित गर्ने वा तिनीहरूसँग लुटपुटिने प्रयास गर्नु हुँदैन, होइन र? (हो।)

ज-जसले कुनै पनि बेला परमेश्‍वरको घर छाडेर जान सक्छन्, चाहे तिनीहरू अविश्‍वासी हुन् वा कामचोर मात्रै हुन्, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य आशिष्‌हरू प्राप्त गर्ने होस् वा विपत्तिहरूबाट जोगिने होस्—अवस्था जस्तोसुकै भए पनि—यदि तिनीहरूले कुनै पनि बेला परमेश्‍वरको घर छोड्न सक्छन्, र छोडेर गएपछि, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई सम्पर्क गर्दा तिनीहरू विकर्षित हुन्छन्, दाजुभाइ-दिदीबहिनीहरूको सहयोग र साथदेखि त झन् बढी विकर्षित हुन्छन्, र तिनीहरूसँग सत्यता सङ्गति गर्ने जोकोहीप्रति शत्रुता देखाउँछन् भने, त्यस्ता मानिसहरूलाई कुनै ध्यान दिनु आवश्यक छैन। यदि यस्ता अविश्‍वासीहरू पत्ता लागेमा, तिनीहरूलाई समयमा नै खुलासा गरेर निकाल्नुपर्छ। कतिपय मानिसहरूले सत्यतालाई प्रेम नगर्न सक्छन्, तर तिनीहरू असल मानिस बन्न मन पराउँछन् र दाजुभाइ-दिदीबहिनीहरूसँग बस्न रमाउँछन्; यसले तिनीहरूको मुडलाई खुसी तुल्याउँछ, त्यसमाथि तिनीहरू दुर्व्यवहारमा पर्नबाट जोगिन्छन्। हृदयमा, तिनीहरूलाई आफूले साँचो परमेश्‍वरमा विश्‍वास गर्छु भन्ने थाहा हुन्छ र तिनीहरू लगनशीलताका साथ श्रम गर्न इच्छुक हुन्छन्। यदि तिनीहरूमा साँच्चै नै यस्तो मनोवृत्ति छ भने, के तिमीहरूलाई लाग्छ कि तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गरिरहन दिनुपर्छ? (पर्छ।) यदि तिनीहरू श्रम गर्न इच्छुक छन्, र तिनीहरूले बाधा वा अवरोध पुर्‍याउँदैनन् भने, तिनीहरूले श्रमलाई निरन्तरता दिन सक्छन्। तर यदि कुनै दिन तिनीहरू श्रम गर्न इच्छुक भएनन् र तिनीहरूले “म संसारमा सफल हुने प्रयास गर्न जाँदैछु। म अबदेखि तपाईँहरूसँग परमेश्‍वरमा विश्‍वास गर्नेछैनँ। यहाँ रमाइलो लाग्दैन, र कहिलेकाहीँ म आफ्नो कर्तव्य पूरा गर्ने क्रममा झाराटारुवा हुँदा, मलाई काटछाँट गरिन्छ। यहाँ बस्न निकै गाह्रो छ; म जान चाहन्छु” भनेर परमेश्‍वरको घर छाड्न चाहे भने—के त्यस्तो व्यक्तिलाई बस्नका लागि मनाउनुपर्छ? (पर्दैन।) हामीले तिनीहरूलाई एउटा मात्र प्रश्न सोधे हुन्छ: “के तपाईँले यसबारे राम्ररी विचार गर्नुभयो?” यदि तिनीहरूले “मैले यसबारे लामो समय विचार गरेको छु” भनेर बताए भने, तैँले यसो भन्न सक्छस्, “त्यसोभए हामी तपाईँलाई शुभकामना दिन्छौँ। आफ्‍नो ख्याल राख्‍नुहोस्, र अलबिदा!” के यो तरिका ठीक छ? (ठीक छ।) तिमीहरूलाई यिनीहरू कस्ता मानिस हुन् भन्ने लाग्छ? तिनीहरू आफूलाई साधारणभन्दा माथि सोच्ने, र संसार र यसका तौरतरिकाहरूलाई तिरस्कार गर्ने, प्रायजसो प्रसिद्ध मानिसहरूका पदहरू वाचन गर्ने मानिसहरू हुन्, जस्तै, “म आफ्नो बाहुला हल्लाउँछु, तर बादलको एउटा टुक्रासमेत लान्नँ।” तिनीहरू आफूले आफूलाई शुद्ध राख्ने गरेको र आफू यो संसारसँग नमिल्ने सोच्छन्, र तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेर केही सान्त्वना पाउन चाहन्छन्। तिनीहरू सधैँ आफूलाई असाधारण व्यक्तिका रूपमा हेर्छन्, तर वास्तवमा, तिनीहरू सबैभन्दा सांसारिक मानिस हुन्, जो खान, पिउन, र रमाइलो गर्नका मात्रै लागि जिउँछन्। तिनीहरूमा कुनै वास्तविक विचार र वास्तविक पछ्याइ हुँदैन। तिनीहरू आफूलाई उच्च व्यक्तिका रूपमा हेर्छन्, मानौँ कसैले पनि तिनीहरूको विचार बुझ्न सक्दैन वा कोही पनि तिनीहरूको सोच्ने तरिकाको स्तरसम्म पुग्न सक्दैन। तिनीहरूले आफ्नो मानसिक क्षितिजलाई औसत व्यक्तिको भन्दा माथि ठान्छन्, र यस्ता कुराहरू भन्छन्: “तिमीहरू सबै साधारण मानिस हौ, तर मलाई हेर त—म फरक छु। यदि तिमीले मलाई म कहाँको हुँ भनेर सोध्यौ भने, म तिमीलाई मेरो गृहनगर टाढा छ भनेर भन्नेछु।” के तिनीहरूले तँलाई तिनीहरू कहाँका हुन् भनेर बताए? के तँलाई यो तथाकथित “टाढाको” ठाउँ कहाँ छ भनेर थाहा छ? कुनै पनि बेला मण्डली छोडेर जान सक्‍ने मानिसहरू ठीक यस्तै प्रकारका हुन्छन्। तिनीहरू आफूलाई कुनै ठाउँले पनि सन्तुष्ट पार्न सक्दैन भन्ने महसुस गर्छन् र तिनीहरू सधैँ केही अवास्तविक, अस्पष्ट, र भ्रामक कुराहरूका बारेमा सोचिरहेका हुन्छन्। तिनीहरूले वास्तविकतामा ध्यान दिँदैनन् र मानव जीवन केका लागि हो वा मानिसहरूले कुन मार्ग छनौट गर्नुपर्छ भन्ने कुरा बुझ्दैनन्। तिनीहरूले यी कुराहरू बुझ्दैनन्—तिनीहरू केवल अनौठा मानिस हुन्। यदि यस्तो व्यक्तिले मण्डली छोड्ने सोच बनाएको छ र आफूले यसबारे लामो समय विचार गरेको छु भनेर भन्छ भने, उसलाई बस्नका लागि मनाउनु आवश्यक छैन। थप एक शब्द पनि नबोल—तिनीहरूलाई फ्याट्टै हटाऊ, त्यति हो। त्यस्ता मानिसहरूलाई यसरी नै सम्हाल्नुपर्छ; यो मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्ने सिद्धान्तहरू अनुरूप छ। कुनै पनि बेला मण्डली छोडेर जान सक्‍ने मानिसहरूबारे सङ्गति यहीँ समाप्त हुन्छ।

ञ. डगमगाउनु

दशौँ प्रकटीकरण हो: “डगमगाउनु”। डगमगाउने मानिसहरूले के-कस्ता विशिष्ट प्रकटीकरणहरू प्रदर्शन गर्छन्? सर्वप्रथम, परमेश्‍वरमा विश्‍वास गर्नेबारे यी मानिसहरूमा रहेका सबैभन्दा ठूला शङ्काहरू यस्ता हुन्छन्: “के परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ? के आत्मिक क्षेत्र भन्ने हुन्छ? के नरक भन्ने हुन्छ? के परमेश्‍वरले बोल्नुभएका यी वचनहरू सत्यता हुन्? मानिसहरू यो व्यक्ति देहधारी परमेश्‍वर हो भनेर भन्छन्, तर मैले उहाँलाई देहधारी परमेश्‍वर जस्तो देखाउने कुनै पक्ष देखेको छैनँ! त्यसोभए, परमेश्‍वरको आत्मा ठ्याक्‍कै कहाँ हुनुहुन्छ? परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न?” तिनीहरूले यी प्रश्नहरू कहिल्यै स्पष्ट रूपमा बुझ्न सक्दैनन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू धेरै छन् भन्ने देख्छन् र सोच्छन्, “परमेश्‍वर अस्तित्वमा हुनैपर्छ। उहाँ सायद अस्तित्वमा हुनुहुन्छ। उहाँ अस्तित्वमा हुनुहुन्छ भन्ने आशा गर्छु। परमेश्‍वरमा विश्‍वास गर्दा त्यसै पनि मैले कुनै नोक्सानी बेहोरेको छैनँ; कसैले पनि मलाई दुर्व्यवहार गरेको छैन। मैले सुनेको छु कि कर्तव्य पूरा गर्दा त्यसले आशिष्‌हरू र राम्रो गन्तव्य ल्याउन सक्छ, र भविष्यमा म नमर्ने कुरा सुनिश्चित गर्छ। त्यसकारण सायद म पनि सँगसँगै पछ्याउँछु र विश्‍वास गर्छु।” केही समयसम्म विश्‍वास गरेपछि, तिनीहरूले कतिपय मानिसहरूले परीक्षा र विषमताहरू सामना गर्छन् भन्ने देख्छन्, र तिनीहरूले यस्तो मनन गर्न थाल्छन्: “परमेश्‍वरमा विश्‍वास गर्दा आशिष्‌हरू प्राप्त हुनुपर्ने होइन र? कतिपय मानिसहरू गम्भीर रूपमा बिरामी परे र मरे, कतिलाई ठूलो रातो अजिङ्गरले पक्राउ गर्‍यो र सताएर मार्‍यो, र अरू चाहिँ कर्तव्य पूरा गर्ने क्रममा बिरामी परे वा तिनीहरूको परिवारमाथि विपत्तिहरू आइपरे। परमेश्‍वरले किन तिनीहरूलाई रक्षा गर्नुभएन? त्यसैले, परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न? यदि उहाँ अस्तित्वमा हुनुहुन्छ भने, यी कुराहरू हुनु हुँदैनथियो!” शुभेच्छा राख्ने कतिपय मानिसहरूले तिनीहरूसँग यसो भन्दै सत्यता सङ्गति गर्छन्: “परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ, र मानिसहरूको नियति परमेश्‍वरको हातले योजनाबद्ध गरेको हुन्छ। मानिसहरूले यी कुराहरूलाई परमेश्‍वरबाट आएका हुन् भनेर स्वीकार गर्नुपर्छ र आफूलाई परमेश्‍वरको योजनाबद्ध कार्यमा समर्पित गर्नुपर्छ। परमेश्‍वरले गर्नुहुने सबथोक राम्रो हुन्छ।” यसको जवाफमा यी डगमगाउने व्यक्तिहरूले भन्छन्: “म त यसमा राम्रो कुरा नै देख्दिनँ! विपत्तिहरू भोग्नु—के त्यो राम्रो कुरा हो? गम्भीर रूपमा बिरामी पर्नु वा निको नहुने रोग लाग्नु—के त्यो राम्रो कुरा हो? मर्नु त झनै खराब कुरा हो। परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न? मलाई थाहा छैन।” तिनीहरू सधैँ परमेश्‍वरबारे शङ्काले भरिएका हुन्छन्। जब तिनीहरूले धेरै मानिसहरूले कर्तव्य पूरा गरिरहेका, परमेश्‍वरको घरको काम झन्-झन् विस्तार भइरहेको, र मण्डली दिनप्रति दिन फस्टाइरहेको देख्छन्, तब तिनीहरूलाई परमेश्‍वर अवश्य नै अस्तित्वमा हुनुहुन्छ भन्ने लाग्छ। विशेष गरी जब तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरले देखाउनुभएका चिन्ह र आश्चर्यकर्महरू र परमेश्‍वरबाट तिनीहरूले प्राप्त गरेको अनुग्रहको गवाही दिएको सुन्छन्, तब यी डगमगाउने व्यक्तिहरूलाई झनै बढी यस्तो महसुस हुन्छ: “परमेश्‍वर अवश्य नै अस्तित्वमा हुनुहुन्छ! मानिसहरूले परमेश्‍वरको आत्मालाई देख्न नसक्ने भए पनि, देहधारी परमेश्‍वरले बोल्नुभएका वचनहरू मानिसहरूले सुनेका छन्, र मैले धेरै मानिसहरूले परमेश्‍वरका वचनहरू सङ्गति गरेको र परमेश्‍वरका वचनहरू अनुभव गरेको पनि सुनेको छु। त्यसकारण, परमेश्‍वर अवश्य नै अस्तित्वमा हुनैपर्छ!” जब मण्डली फस्टाइरहेको हुन्छ, यसका सबै कुरा सहज रूपमा अघि बढिरहेका हुन्छन्, यो मौलाइरहेको हुन्छ, र मण्डलीको काम झन्-झन् विस्तार हुँदै गइरहेको हुन्छ, र विशेष गरी जब दाजुभाइ-दिदीबहिनीहरूले केही विशेष परिस्थिति र विशेष मामलाहरू अनुभव गर्छन् र यी कुराहरूमार्फत परमेश्‍वरको सुरक्षा, सार्वभौमिकता, र अगुवाइ देख्छन्, तब तिनीहरूलाई परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र परमेश्‍वर साँच्चै नै असल हुनुहुन्छ भन्ने महसुस हुन्छ। तर, केही समयपछि, तिनीहरूले निराशा र कठिनाइहरू अनुभव गर्न सक्छन्, कतिपयले असफलता र व्यवधानहरू अनुभव गर्न सक्छन्, वा परमेश्‍वरको घरले केही मानिसहरूलाई हटाउन सक्छ; यी कुराहरू, विशेष गरी अन्तिम कुरा, तिनीहरूका धारणाहरूसँग निकै बाझिन्छन् र ती तिनीहरूका अपेक्षाहरूभन्दा बाहिर हुन्छन्। तिनीहरूलाई यस्तो लाग्छ, “यदि परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भने, यी कुराहरू कसरी हुन सक्छन्? ती कुराहरू हुनु हुँदैन! गैरविश्‍वासीहरूका बीचमा यी कुराहरू हुनु सामान्य हो, तर परमेश्‍वरको घरमा पनि यी कुराहरू कसरी हुन सक्छन्? यदि परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भने, उहाँले यी कुराहरूलाई समाधान गर्नुपर्छ र यी कुराहरू हुनबाट रोक्नुपर्छ, किनभने उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, उहाँसँग अख्तियार छ, र उहाँसँग शक्ति छ! परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न? मानिसहरूले परमेश्‍वरको आत्मालाई देख्न सक्दैनन्। जहाँसम्म देहधारी परमेश्‍वरले बोल्नुभएका वचनहरूको कुरा छ, सबै मानिसहरूले ती नै सत्यता हुन्, मार्ग हुन्, र ती मानिसहरूको जीवन हुन सक्छन् भनेर भन्छन्। तर मलाई किन ती सत्यता हुन् भन्ने महसुस हुँदैन? मैले प्रवचनहरू सुनेको यति लामो समय भयो, तर मेरो जीवन पटक्कै रूपान्तरण भएको छैन! मैले धेरै कष्ट भोगेको छु—मैले के प्राप्त गरेको छु र?” तिनीहरूले परमेश्‍वरबारे शङ्का गर्न थाल्छन्, र आफ्नो कर्तव्य पूरा गर्ने तिनीहरूको जोश घट्छ र सेलाउँछ। त्यसपछि तिनीहरूले जागिर खान र राम्रो जीवन जिउनका लागि पैसा कमाउन परमेश्‍वरको घर छोडेर जाने सोच्छन्—यी सक्रिय विचारहरू उत्पन्न हुन थाल्छन्। तिनीहरूले मनमनै सोच्छन्: “यदि मैले विश्‍वास गर्ने परमेश्‍वर साँचो परमेश्‍वर हुनुहुन्न भने, परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा मैले यतिका वर्ष काम नगरेर वा पैसा नकमाएर निकै ठूलो घाटा भएको हुनेछ! अहँ, यसरी सोच्नु गलत हो। मैले अझै पनि उचित तरिकाले विश्‍वास गर्नुपर्छ। मैले मानिसहरूले परमेश्‍वरका धेरै वचनहरू पढ्दा यसले व्यक्तिलाई सत्यता बुझ्न, सबै समस्याहरू समाधान गर्न, र उपरान्त कमजोर नहुन सक्षम बनाउनेछ भनेर भनेको सुनेको छु। तर मैले परमेश्‍वरका वचनहरू पढेको छु, तैपनि सत्यता बुझेको छैनँ। मलाई किन अझै पनि नकारात्मक महसुस हुन्छ? मलाई किन सधैँ आफूमा आफ्नो कर्तव्य पूरा गर्ने ऊर्जा नभएको महसुस हुन्छ? परमेश्‍वरले ममा काम गरिरहनुभएको छैन! मसँग धेरै कठिनाइहरू छन्, तर परमेश्‍वरले मेरो लागि बाहिर निस्कने बाटो खोलिदिनुभएको छैन। त्यसैले, परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न? यदि यो नै साँचो मार्ग हो भने, परमेश्‍वरले आफ्नो कर्तव्य पूरा गर्ने मानिसहरूलाई शान्ति, सहजता, र सामान्यताको आशिष् दिनुपर्छ। त्यसोभए सुसमाचार प्रचार गर्ने र कर्तव्य पूरा गर्ने कार्यमा किन अझै पनि यस्ता ठूला कठिनाइहरू छन्? मलाई धार्मिक संसार पछि परेको छ, र सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नु राज्यको युगमा प्रवेश गर्नु हो भन्ने थाहा भए पनि, मैले किन पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्ने देखेको छैनँ?” यिनीहरू कस्तो प्रकारका मानिस हुन्? तिनीहरू कुनै आत्मिक बुझाइ नभएका मानिस हुन्। तिनीहरूले परमेश्‍वरका वचनहरू त पढ्छन् तर सत्यता बुझ्दैनन्। सत्यता जति धेरै सङ्गति गरिए पनि, तिनीहरूले त्यसको अर्थ बुझ्न सक्दैनन्। तिनीहरूले कामकुरालाई सधैँ आफ्ना धारणा र कल्पनाहरूका आधारमा हेर्छन्, र तिनीहरू निरन्तर परमेश्‍वरबारे शङ्काले भरिएका हुन्छन्। त्यस्तो व्यक्तिले कसरी सत्यता बुझ्न सक्छ र? कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्नु निकै गाह्रो छ भन्ने देख्छन्, त्यसकारण तिनीहरूले सोच्छन्: “यदि यो साँचो मार्ग हुन्थ्यो भने, पवित्र आत्माले ठूलो काम गरिरहनुभएको हुनेथियो। दाजुभाइ-दिदीबहिनीहरू सुसमाचार प्रचार गर्न जहाँ गए पनि, त्यो सहज र निर्बाध हुनेथियो। त्यसभन्दा बढी, सरकारी अधिकारीहरूले पनि विश्‍वास गर्न थाल्नेथिए र सबै कुरालाई अनुमोदन गर्नेथिए। यो साँच्चै नै साँचो परमेश्‍वरको काम हुनेथियो। तर अहिले, तथ्यहरूलाई हेर्दा, त्यस्तो पटक्कै भएको छैन। संसारभरिका विभिन्न देशका राष्ट्रपति र अधिकारीहरूले परमेश्‍वरमा विश्‍वास नगर्ने मात्र नभई, तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासलाई समर्थन पनि गर्दैनन्। कतिपय देशमा त सरकारले विश्‍वासीहरूलाई सताउने र मानिसहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्ने काम समेत गर्छ। त्यसोभए, के हामीले विश्‍वास गर्ने परमेश्‍वर वास्तवमै साँचो परमेश्‍वर हुनुहुन्छ? मलाई थाहा छैन; यो कुरा भन्न गाह्रो छ।” तिनीहरूको हृदयमा सधैँ ठूलो प्रश्न चिन्ह हुन्छ। हरेक पटक तिनीहरूले कुनै खबर सुन्दा, तिनीहरूलाई त्यो “भूकम्प” जस्तै लाग्छ, जसको प्रभाव न त ठूलो हुन्छ, न त थाहा नपाइने किसिमको नै हुन्छ, जसले गर्दा तिनीहरू डगमगाउँछन्। कतिपय मानिसहरूले भन्छन्: “के तिनीहरूले छोटो समय मात्र परमेश्‍वरमा विश्‍वास गरेकाले नै तिनीहरू सधैँ डगमगाउँछन्?” त्यस्तो होइन—कतिपय मानिसहरूले तीन वर्ष, पाँच वर्ष, वा दश वर्षभन्दा बढी नै विश्‍वास गरेका हुन्छन्। के त्यसलाई छोटो समय मानिन्छ? यदि कसैले अनुग्रहको युगको कामको अवधिमा तीनदेखि पाँच वर्ष विश्‍वास गरेको भए, यसलाई लामो समय मानिने थिएन, किनभने उसले परमेश्‍वरका आखिरी दिनहरूका वाणी र वचनहरू सुनेको थिएन; उसले बाइबल र मानिसहरूका प्रवचनहरूबाट थोरै बाइबलीय ज्ञान र आत्मिक सिद्धान्तहरू मात्रै बुझेको थियो। प्राप्त गर्नका लागि त्यो अत्यन्तै थोरै कुरा हो। कसैले यो वर्तमान चरणको कामलाई स्वीकार गर्दा भने यो फरक हुन्छ—तिनीहरूले तीन वर्षसम्म आफ्नो कर्तव्य पूरा गर्छन् र परमेश्‍वरलाई पछ्याउँछन् भने, तिनीहरूले अनुभव गर्ने, बुझ्ने, र प्राप्त गर्ने कुराले अनुग्रहको युगमा बीस-तीस वर्ष, वा आफ्नो जीवनकालभरि प्रभुमा विश्‍वास गरेर प्राप्त गर्न सक्ने कुरालाई समेत नाघ्छ। तर तीन, पाँच, वा दश वर्षभन्दा बढी विश्‍वास गरेपछि पनि डगमगाउने यी मानिसहरूले अझै पनि यो चरणको काम परमेश्‍वरले गर्नुभएको हो कि होइन भनेर निर्धारित गर्न सक्दैनन्, र तिनीहरूमा परमेश्‍वरको अस्तित्वबारे शङ्का समेत हुन्छ। के तँ त्यस्ता मानिसहरू अत्यन्तै कष्टदायी हुन्छन् भनेर भन्छस्? के तिनीहरूसँग सत्यता बुझ्ने क्षमता हुन्छ? (हुँदैन।) के तिनीहरूमा सामान्य मानवताको सोच्ने तरिका हुन्छ? (हुँदैन।) तिनीहरूले सत्यता बुझ्न सक्दैनन्। मण्डलीमा जस्तोसुकै अवस्था उत्पन्न भए पनि, यसले सधैँ तिनीहरूलाई डगमगाउने तुल्याउन सक्छ—तिनीहरूको हृदयभित्रको प्रश्नचिन्हले तिनीहरूका लागि निरन्तर “भूकम्पहरू” पैदा गर्छ। यदि ख्रीष्टविरोधीहरूले मण्डलीमा बाधाहरू निम्त्याउँछन् र केही मानिसहरू बहकाउमा पर्छन्, वा यदि तिनीहरूले आदर्श ठानेको कसैले तिनीहरूले अपेक्षा नगरेको कुरा—जस्तै भेटी चोर्ने वा लम्पट क्रियाकलापहरूमा संलग्न हुने कार्य गर्छ—र उसलाई निकालिन्छ भने, यसले गर्दा तिनीहरूको हृदय डगमगाउँछ, र तिनीहरूले परमेश्‍वरलाई शङ्का गर्न थाल्छन्: “के यो परमेश्‍वरको कामको प्रवाह होइन र? त्यसोभए मण्डलीमा कसरी यस्ता छाडा कुराहरू हुन सक्छन्? परमेश्‍वरले कसरी ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूलाई देखा पर्न दिन सक्नुहुन्छ? के यो साँच्चै नै साँचो मार्ग हो?” मण्डलीमा तिनीहरूका धारणाहरूविरुद्ध हुने सबै कुराले गर्दा तिनीहरूमा शङ्काहरू पैदा हुन्छन् र तिनीहरूले यो साँचो मार्ग हो कि होइन, यो परमेश्‍वरको काम हो कि होइन, र परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्न गर्न थाल्छन्। तिनीहरूले मामलालाई सही रूपमा हेर्नका लागि सत्यताको खोजी गर्दै गर्दैनन्। सुरुदेखि अन्त्यसम्मै तिनीहरूले यो चरणको काम परमेश्‍वरले गर्नुभएको हो भन्ने कुरालाई आधारभूत रूपमा कहिल्यै विश्‍वास गरेका हुँदैनन् भन्ने कुरा प्रमाणित गर्न यो एउटै कुरा पर्याप्त हुन्छ। सुरुदेखि अन्त्यसम्मै, तिनीहरूले सत्यता के हो भनेर कहिल्यै थाहा पाएका हुँदैनन्, न त परमेश्‍वरले किन सत्यता व्यक्त गर्नुहुन्छ भन्ने कुरा नै थाहा पाएका हुन्छन्। परमेश्‍वरले धेरै वचनहरू बोल्नुभएको छ र धेरै काम गर्नुभएको छ—यो सबै परमेश्‍वरको काम हो। धेरै मानिसहरूले यसलाई पुष्टि गरेका छन् र तिनीहरू यसबारे निश्चित भएका छन्, तर तिनीहरूले यी कुराहरूका आधारमा मामिलाहरूलाई हेर्न इन्कार गर्छन्। तिनीहरूले मूल्याङ्कन गर्न सधैँ मानव दृष्टिकोण र मानव सोचाइ प्रयोग गर्छन्—तिनीहरूले आफूलाई ज्यादै भरोसा गर्छन्। जब मण्डलीको काम वा मण्डली जीवनमा केही कमजोरी वा विचलनहरू हुन्छन्, वा जब मण्डलीलाई सरकारले दमन गर्छ र सताउँछ, तब तिनीहरूले फेरि प्रश्न गर्न थाल्छन्: “के यो साँच्चै नै साँचो मार्ग हो त?” जब मण्डलीमा ख्रीष्टविरोधीहरू र झूटा अगुवाहरू देखा पर्छन्, तब तिनीहरूले पनि प्रश्न गर्न थाल्छन्। तिनीहरूले भन्छन्: “धार्मिक मण्डलीहरूका ती पाष्टर र एल्डरहरूलाई हेर त—तिनीहरूले प्रभुलाई साँचो रूपमा प्रेम गर्छन्, र तिनीहरूको मण्डलीमा कुनै ख्रीष्टविरोधी घटनाहरू घट्दैनन्। साँचो मार्ग त त्यो पो हो त। यदि तिमीहरूसँग यहाँ भएको कुरा नै साँचो मार्ग हो भने, किन यी कुराहरू अझै पनि भइरहेका छन् त?” तिनीहरूले यसरी तुलना गर्छन्। अनि अरू केही मूर्ख व्यक्तिहरूले कसरी तुलना गर्छन्? तिनीहरूले भन्छन्: “थ्री-सेल्फ मण्डलीमा परमेश्‍वरमा विश्‍वास गर्ने ती मानिसहरूलाई हेर त—तिनीहरूलाई राज्यले अनुमोदन गरेको छ, र राज्यले तिनीहरूलाई प्रमाणपत्र जारी गरिदिने र मण्डलीहरू निर्माण गर्नका लागि जग्गा प्रदान गर्ने काम समेत गर्छ। यो सबै वैध र कानुनी छ। के तिमीहरूसँग सार्वजनिक मण्डली छ? के तिमीहरूका मण्डलीहरू दर्ता भएका छन्? राज्यले थ्री-सेल्फ मण्डलीहरूमा पाष्टरहरू समेत खटाउँछ, र ती पाष्टरहरूसँग इजाजतपत्र हुन्छ। के तिमीहरूका अगुवा र कामदारहरूको इजाजतपत्र छ? राज्यले तिमीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न दिँदैन; यसले तिमीहरूलाई पक्राउ गर्छ र सताउँछ। तिमीहरूको त भेला हुने निश्‍चित ठाउँ समेत छैन; तिमीहरू सधैँ गुप्त रूपमा भेला हुन्छौ। के यो साँच्चै नै साँचो मार्ग हो? यदि यो साँचो मार्ग भएको भए, तिमीहरू किन सधैँ यसरी गुप्त रूपमा भेला हुन्छौ र आफ्नो कर्तव्य पूरा गर्छौ?” तिनीहरूले यो कुरालाई समेत छर्लङ्ग देख्न सक्दैनन्। कुनै पनि अवस्थाका कारण तिनीहरू डगमगाउन सक्छन् र तिनीहरूमा परमेश्‍वरबारे शङ्का उब्जिन सक्छ। ल भन् त, के यस्तो व्यक्ति दह्रिलो रूपमा खडा हुन सक्छ? (सक्दैन।) तिनीहरूले बाहिरी रूपमा मण्डली नछोडेका भए पनि, तिनीहरू हृदयमा खतराको मुखमा हुन्छन्। तिनीहरू परमेश्‍वरको काम र परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरूका बारेमा कहिल्यै निश्चित हुन सक्दैनन्, र तिनीहरू सधैँ आधा विश्‍वास र आधा शङ्का गर्छन्; यसले गर्दा तिनीहरूमा साँचो आस्था हुनु असम्भव हुन्छ। परमेश्‍वरको कामका यतिका वर्षहरूमा भएका सबै सतावट, दमन, र पक्राउहरू परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत भएका हुन्, र ती सबै परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा पर्छन् भन्ने कुरा तिनीहरूले देख्न सक्दैनन्। त्यसकारण, तिनीहरूमा धारणाहरू हुन्छन् र तिनीहरूले परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुन सक्नुहुन्छ कि सक्नुहुन्न भनेर प्रश्न गर्न सक्छन्। तिनीहरूले सधैँ परमेश्‍वरको घरको सबै काम मानिसहरूले गर्छन् भन्ने विश्‍वास गर्छन्, र परमेश्‍वरका कार्यहरूको सानो सङ्केत पनि देख्न सक्दैनन्। के तिनीहरू अविश्‍वासी होइनन् र? यदि त्यस्तो व्यक्तिले विश्‍वास गर्न थालेको भर्खर छ महिना वा एक वर्ष मात्रै भएको छ र उसले विभिन्न सत्यताहरू स्पष्ट रूपमा बुझेको छैन भने, उसले आफ्ना धारणाहरू विपरीतका कुराहरू देख्दा उसलाई शङ्का हुनु र ऊ डगमगाउनु स्वाभाविकै हो। तर कतिपय मानिसहरूले धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्, धेरै प्रवचनहरू सुनेका हुन्छन्, र कठिनाइहरूको सामना गर्दा तिनीहरूलाई सत्यता सङ्गति गरिएको हुन्छ। त्यो बेला, तिनीहरूले आफूले सुनेको कुरालाई धर्मसैद्धान्तिक रूपमा बुझेका हुन्छन्। तर पछि, फेरि मामलाहरू सामना गर्दा, तिनीहरूले अझै पनि परमेश्‍वर र परमेश्‍वरको कामलाई प्रश्न गर्छन्। यसले त्यस्ता मानिसहरूमा सत्यता बुझ्ने क्षमता हुँदैन, सामान्य मानवताको सोचाइको कमी हुन्छ, र तिनीहरूले मानव बन्ने मानक पूरा गर्दैनन् भन्ने देखाउँछ।

डगमगाउने मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? मानवताको हिसाबमा, यी मानिसहरू दुष्ट मानिस सरह त हुँदैनन्, तर तिनीहरू साँच्चै नै कष्टदायी प्रकारका मानिस हुन्, किनभने तिनीहरूमा सत्यता बुझ्ने क्षमताको कमी हुन्छ र सामान्य मानवताको सोचाइ हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका धेरै सत्यताहरूलाई समेत पुष्टि गर्न सक्दैनन्, न त तिनीहरूलाई यी वचनहरू सत्यता हुन् कि होइनन्, वा ती परमेश्‍वरको अभिव्यक्ति र परमेश्‍वरको काम हुन् कि होइनन् भन्ने नै थाहा हुन्छ। तिनीहरूको बुझ्ने क्षमताका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरू कस्ता प्रकारका मानिस हुन्? तिनीहरू अविश्‍वासी हुन् भनेर भन्दा सही हुन्छ, र तिनीहरू अन्योलमा परेका मानिस हुन् भनेर भन्दा पनि सही हुन्छ। यस किसिमका मानिसहरूले कुनै स्पष्ट दुष्टता नगरेका भए पनि र तिनीहरू दुष्ट मानिस कहलिन योग्य नभए पनि, तिनीहरू यति हदसम्म अन्योलमा परेका हुनाले र तिनीहरूले बाधा र अवरोध सिर्जना गर्ने धेरै कुरा गर्न सक्ने हुनाले, के तिनीहरू केही न कामका होइनन् र? (हुन्।) तिनीहरूले जति लामो समय परमेश्‍वरमा विश्‍वास गरेका भए पनि वा जति धेरै प्रवचनहरू सुनेका भए पनि, तिनीहरूले कहिल्यै सत्यता बुझ्न सक्दैनन्। तिनीहरूले परमेश्‍वरको अस्तित्व वा परमेश्‍वरको सार्वभौमिकतालाई समेत पुष्टि गर्न सक्दैनन्। यो कस्तो प्रकारको क्षमता हो? यी मानिसहरूसँग सत्यता बुझ्ने क्षमता पटक्कै हुँदैन। तिनीहरू अत्यन्तै कमजोर क्षमता भएका मानिस हुन्; वा तिनीहरूमा कुनै क्षमता नै छैन भनेर पनि भन्न सकिन्छ—तिनीहरू दिमाग नभएका केही न कामका मानिस हुन्। ल भन् त, केही न कामका मानिसहरूले कस्तो कर्तव्य पूरा गर्न सक्छन्? (तिनीहरूले कुनै कर्तव्य पूरा गर्न सक्दैनन्।) तिनीहरूले कुनै कर्तव्य पूरा गर्न सक्दैनन् र तिनीहरू सधैँ शङ्का गर्छन् र डगमगाउँछन्। त्यसोभए, यस्ता मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ र सम्हाल्नुपर्छ? त्यस्ता मानिसहरूलाई सम्हाल्ने सबैभन्दा उचित तरिका भनेको तिनीहरूलाई कुनै कर्तव्य पूरा गर्न नदिनु हो। तिनीहरूले कर्तव्य पूरा गर्न पाऊँ भनी अनुरोध गरे भने पनि, तिनीहरूलाई अनुमति दिनु हुँदैन। किन दिनु हुँदैन? किनभने यस्ता मानिसहरूले कर्तव्य पूरा गर्न थालेपछि, विशेष गरी तिनीहरूले कष्ट भोगेपछि र केही मूल्य चुकाएपछि, ढिलो-चाँडो तिनीहरूले परमेश्‍वरको घरसँग हिसाब-किताब गर्न चाहनेछन्। यदि तिनीहरूलाई पक्राउ गरियो वा तिनीहरूले प्राकृतिक प्रकोप वा मानव-सृजित विपत्तिहरूको सामना गरे भने, तिनीहरूले परमेश्‍वरका लागि आफूलाई समर्पित गरेकोमा पछुतो मान्नेछन्; तिनीहरूले तीतो गुनासो गर्नेछन्, र यस्ता टिप्पणीहरू फैलाउन थाल्नेछन्: “मैले मण्डलीको कामका लागि र आफ्नो कर्तव्य पूरा गर्नका लागि धेरै कष्ट भोगेको छु। मैले धेरै कम खाना खाएको छु, धेरै कम सुतेको छु, र धेरै कम पैसा कमाएको छु। यदि मैले कर्तव्य पूरा नगरेको भए, मैले आफूले कमाएको पैसा बैङ्कमा राख्न सक्थेँ, र त्यसको ब्याज आउनेथियो! मैले धेरै जोखिमहरू मोलेको छु—हरेक घण्टाको जोखिमको मूल्य कति हो? श्रम शुल्क कति हो?” तिनीहरूले परमेश्‍वरको घरसँग आर्थिक हिसाब-किताब मिलाउने प्रयास गर्नेछन् र परमेश्‍वरको घरले तिनीहरूलाई क्षतिपूर्ति दिएन भने तिनीहरूले परमेश्‍वरको घरबारे रिपोर्ट गर्ने भनेर धम्की समेत दिनेछन्। के यस्ता मानिसहरूलाई कर्तव्य पूरा गर्न दिनुले अनन्त समस्या ल्याउँदैन र? त्यस्ता नीच व्यक्तिहरूसँग व्यवहार गर्दा यसले समाधान गर्नै नसकिने उल्झन ल्याउनेछ। तिनीहरूले मण्डलीका लागि जति धेरै कुरा सम्हाले पनि, तिनीहरूले हृदयमा सानो खाता राख्छन्, र हरेक विवरणको स्पष्ट अभिलेख राख्छन्। तिनीहरूले मण्डलीका लागि जे गर्छन्, त्यो कहिल्यै स्वेच्छाले गर्दैनन्। तिनीहरू अनिच्छुक हुने हुनाले हिसाब-किताब मिलाउन चाहन्छन्। किन यस्तो हुन्छ? किनभने, तिनीहरूले हृदयमा परमेश्‍वरको अस्तित्वलाई मान्दैनन् वा परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् वा परमेश्‍वरको कामले मानिसहरूलाई मुक्ति दिन सक्छ भन्ने कुरालाई मान्दैनन्। त्यसोभए, तिनीहरूले आफ्नो मनमा कल्पना गर्ने तथाकथित परमेश्‍वरका लागि थोरै मूल्य चुकाएकोमा, थोरै कष्ट भोगेकोमा, केही कर्तव्य पूरा गरेकोमा, र केही मानव र भौतिक स्रोत-साधनहरू खर्च गरेकोमा तिनीहरू सन्तुष्ट हुनका लागि तिनीहरूलाई कस्तो इनाम चाहिन्छ? यदि तिनीहरूले बदलामा केही प्राप्त गरेनन् भने, के तिनीहरू सन्तुष्ट हुन्छन्? यदि कुनै दिन तिनीहरूले सत्यता नपछ्याएकोमा तिनीहरूलाई हटाइएको हो भन्ने बुझे भने, परिणामहरू के हुनेछन्? तिनीहरूले परमेश्‍वरको घरले तिनीहरूलाई झुक्यायो, अगुवा र कामदारहरूले तिनीहरूलाई झुक्याए, र तिनीहरूलाई अन्धकारमा राखियो र तिनीहरू ठगीको सिकार बने भन्ने सोच्नेछन्। त्यसपछि, तिनीहरूले परमेश्‍वरको घरसँग असहमत हुने निहुँ पाउनेछन् र क्षतिपूर्ति माग गर्नेछन्, र कुरालाई अन्तहीन रूपमा लम्ब्याउनेछन्। के तँलाई परमेश्‍वरको घर त्यस्तो व्यक्तिसँग अल्झिन चाहन्छ भन्ने लाग्छ? परमेश्‍वरको घरले त्यस्तो मूर्खतापूर्ण काम पटक्कै गर्नेछैन! परमेश्‍वरका चुनिएका मानिसहरूले सृजित प्राणीहरूको जिम्मेवारी पूरा गर्न आफ्नो कर्तव्य पूरा गर्छन्—यो पूर्ण रूपमा तिनीहरूको आफ्नै रोजाइ हो, र तिनीहरू गर्न इच्छुक हुने कुरा हो। परमेश्‍वरको घरले कसैलाई कहिल्यै जबरजस्ती गर्दैन वा बाध्य पार्दैन। तर अविश्‍वासीहरूले कर्तव्य पूरा गर्न थालेपछि, समस्या आइपर्नु केवल समयको कुरा हो। जब तिनीहरू खराब मुडमा हुन्छन्, तब तिनीहरू अवश्य नै अरूलाई यसो भन्दै गनगन गर्न र गुनासो गर्न थाल्नेछन्: “तिमीहरू सबैले मलाई परमेश्‍वरमा विश्‍वास गरेर मैले सत्यता र अनन्त जीवन प्राप्त गर्नेछु भनेर भन्दै यति राम्ररी बोल्यौ र झुक्यायौ। तर मण्डलीमा मानिसहरूलाई बहकाउने ख्रीष्टविरोधीहरू हुनेछन्, मण्डलीको काममा बाधा र अवरोध गर्ने दुष्ट मानिसहरू हुनेछन्, वा मण्डलीले मानिसहरूलाई निकाल्नेछ वा निष्कासित गर्नेछ भनेर तिमीहरू कसैले पनि भनेनौ। तिमीहरूले मलाई मण्डलीमा यस्ता कुनै पनि कुरा हुनेछ भनेर कहिल्यै भनेनौ!” तिनीहरूले पछाडि फर्केर यसो भन्दै तँमाथि आरोप समेत लगाउन सक्छन्: “तिमीले मलाई यी कुराहरू स्पष्ट रूपमा कहिल्यै बुझाएनौ। मैले त तिमीहरूको पछि लागेर परमेश्‍वरमा विश्‍वास गरेको र आफ्नो कर्तव्य पूरा गरेको मात्र हो। परिणामस्वरूप, अब संसारमा मेरो कुनै सम्भाव्यता छैन; तिमीहरूले मलाई धेरै पैसा कमाउनबाट रोकेका छौ। तिमीहरूले मेरो घाटाको क्षतिपूर्ति दिनुपर्छ!” तिनीहरूले तँसँग हिसाब-किताब गर्न थाल्दा तँलाई घिन लाग्दैन र? के तँ तिनीहरूसँग अल्झिन इच्छुक हुन्छस्? (हुँदिनँ।) यस्ता मानिसहरूलाई कसले कुराहरू स्पष्ट पार्न सक्छ र? तिनीहरूले सत्यतालाई स्वीकार गर्दैनन्, तिनीहरूले परमेश्‍वरको अस्तित्वलाई देख्न सक्दैनन्, र तिनीहरूले आफ्ना अनुभवहरूमार्फत परमेश्‍वरको अस्तित्व अनुभूति गर्न सक्दैनन्। ल भन् त, तिनीहरूको दिमागमा यो कुरा कसले हालिदिन सक्छ? कसैले पनि सक्दैन। तिनीहरूसँग सत्यतालाई स्वीकार गर्ने क्षमता हुँदैन, त्यसकारण तिनीहरूलाई सत्यता पछ्याउन लगाउनु भनेको तिनीहरूका लागि कामकुरा निकै गाह्रो बनाउनु हो, त्यसो गर्नु तिनीहरूलाई कठिन परिस्थितिमा पार्नु हो—त्यसो गर्नु बिलकुलै अव्यावहारिक हुन्छ। तिनीहरू आशिष्‌हरू प्राप्त गर्नका लागि मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूले थोरै कर्तव्य पूरा गरेसम्म, इनाम माग गरिहाल्छन्। यदि तिनीहरूले चाहेको कुरा प्राप्त गरेनन् भने, तिनीहरूले अपशब्द बोल्‍न थाल्छन्: “मलाई झुक्याइएको र ठगिएको छ! तिमीहरू सबै ठगहरू हौ!” ल भन, के तिमीहरू त्यस्तो अपमान सहन चाहन्छौ? (चाहँदैनौँ।) तिनीहरूलाई कसले झुक्यायो? तिनीहरूका आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू छन् र तिनीहरू आशिष्‌हरू प्राप्त गर्न चाहन्छन्, होइन र? के तिनीहरूले आशिष्‌हरू प्राप्त गर्नकै लागि परमेश्‍वरमा विश्‍वास गरेका थिएनन् र? तिनीहरूले अहिले आशिष्‌हरू प्राप्त गरेका छैनन्, तर के तिनीहरूले सत्यता नपछ्याएकाले त्यसो भएको होइन र? के त्यो तिनीहरूको आफ्नै समस्या होइन र? तिनीहरू परमेश्‍वरमा विश्‍वास पनि गर्दैनन्, तैपनि तिनीहरू परमेश्‍वरबाट आशिष्‌हरू प्राप्त गर्न चाहन्छन्—आशिष्‌हरू प्राप्त गर्न कसरी यति सजिलो हुन सक्छ? के तिनीहरूले कर्तव्य पूरा गर्न थाल्नुभन्दा धेरै पहिले नै यी कुराहरू स्पष्ट रूपमा बुझाइएको थिएन र? (थियो।) तर के तैँले तिनीहरूसँग तर्क गर्न सक्छस्? सक्दैनस्—तिनीहरूले त तैँले तिनीहरूलाई झुक्याइस् भनेर भनिहाल्छन्। भन त, परमेश्‍वरको घरमा, दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति नै लामो समय भएको भए पनि, तिनीहरूमध्ये कसले स्वेच्छाले कर्तव्य पूरा गरिरहेको हुँदैन र? विरलै अवस्थामा छोराछोरीले परमेश्‍वरमा विश्‍वास नगर्ने र तिनीहरूका आमाबुबा वा आफन्तहरूले तिनीहरूलाई घिसारेर विश्‍वास गर्न र कर्तव्य पूरा गर्न लगाउने भए पनि, यी निकै थोरै नै हुन्छन्। तेरा आमाबुबाले तँलाई यसमा घिसारेर ल्याए भने पनि, यो तेरो आफ्नै हितका लागि हो—तैँले त्यो कुरा बुझ्नुपर्छ। तर तँलाई तेरो परिवारले घिसारेर ल्याएको हो—परमेश्‍वरको घरका दाजुभाइ-दिदीबहिनीहरूले तँलाई घिसारेर ल्याउँदैनन् वा जबरजस्ती गर्दैनन्। परमेश्‍वरमा विश्‍वास गर्नु र कर्तव्य पूरा गर्नु पूर्ण रूपमा स्वेच्छिक कुरा हुन्। अहिले, जसलाई जाने चाहना छ ऊ गए हुन्छ; परमेश्‍वरको घरका ढोकाहरू सधैँ खुला हुन्छन्। तर, तँ गइसकेपछि, फर्केर आउनु त्यति सजिलो हुनेछैन। परमेश्‍वरको घरमा पूर्णकालीन रूपमा कर्तव्य पूरा गर्नेहरू ध्यानपूर्वक छानिन्छन्—जोकोहीलाई स्वीकार गरिँदैन। त्यसका आवश्यक मानक र सिद्धान्तहरू हुन्छन्, र ज-जसले योग्यताहरू पूरा गर्छन् तिनीहरू मात्रै पूर्णकालीन कर्तव्य मण्डलीमा रहन पाउँछन्। डगमगाउने मानिसहरू सोच्छन्, “तिमीहरूले मलाई यस्तो महत्त्वपूर्ण कुरा स्पष्ट रूपमा बुझाएनौ। त्यो बेला, म अन्योलमा परेकाले मात्रै मैले कर्तव्य पूरा गरेको हुँ।” के कुरा स्पष्ट रूपमा बुझाइएको थिएन? दाजुभाइ-दिदीबहिनीहरूले कर्तव्य पूरा गर्ने क्रममा हरेक दिन एक साथ सत्यता सङ्गति गर्छन्—यदि यी मानिसहरूले बुझेनन् भने, तिनीहरू अन्योलमा परेका र अन्धो भएकाले त्यसो भएको हो। तिनीहरूले त्यसका लागि अरू कसैलाई दोष दिन मिल्दैन। तर तिनीहरूले तँसँग यसबारे तर्क गर्दैनन्; तिनीहरू आफूलाई ठूलो घाटा भएको छ भन्ने मात्रै ठान्छन् र परमेश्‍वरको घरसँग हिसाब-किताब मिलाउन र तर्क गर्न चाहन्छन्। के त्यस्ता मानिसहरू अविवेकी र अत्यन्तै घृणित हुँदैनन् र? त्यसकारण, तिमीहरूले त्यस्ता मानिसहरूको असली रूप थाहा पाएपछि र तिनीहरू अन्योलमा परेका छन्, पूर्ण रूपमा काम नलाग्ने छन्, तिनीहरूले कुनै कर्तव्य पूरा गर्न सक्दैनन्, र तिनीहरू निरन्तर आशिष्‌हरू प्राप्त गर्नमा ध्यान दिन्छन्, तिनीहरूको हृदय आशिष्‌हरू प्राप्त गर्ने विचारले भरिएको हुन्छ, र तिनीहरूलाई कर्तव्य पूरा गर्दा आशिष्‌, मुक्ति, राज्यमा प्रवेश, र अमरत्व प्राप्त हुन्छ भन्ने मात्रै थाहा हुन्छ, र तिनीहरूलाई अरू केही नबुझी यी केही वाक्यांशहरू मात्रै थाहा हुन्छ—सत्यता के हो, सत्यताको अभ्यास कसरी गर्ने, वा परमेश्‍वरमा कसरी समर्पित हुने भन्ने थाहा हुँदैन—भन्‍ने कुरा स्पष्ट रूपमा देखेपछि, तिनीहरूले कर्तव्य पूरा गर्न चाहे पनि वा कर्तव्य पूरा गर्न पाऊँ भनेर अनुरोध गरे पनि, के तिनीहरूलाई यो काम गर्ने बन्दोबस्त मिलाउन सकिन्छ? (सकिँदैन।)

वास्तवमा, डगमगाउने मानिसहरूले आफू सुरक्षित र स्वस्थ हुँदा पनि शङ्का पाल्छन्, र सधैँ अवलोकन गरिरहेका हुन्छन्। तिनीहरूले सतावट र पक्राउको सामना गरेपछि, तिनीहरू डगमगाउन थाल्छन्। यसले के देखाउँछ भने, परमेश्‍वरमाथिको तिनीहरूको सामान्य विश्‍वासमा, तिनीहरूमा साँचो आस्था हुँदैन। जब परिस्थितिहरू उत्पन्न हुन्छन्, तब तिनीहरू प्रकट हुन्छन्। यसले के देखाउँछ भने, तिनीहरू कहिल्यै परमेश्‍वरको कामका बारेमा निश्चित भएका हुँदैनन् र तिनीहरूले सधैँ प्रश्न र अवलोकन गरिरहेका हुन्छन्। तिनीहरू किन मण्डली छोडेर गएका हुँदैनन्? तिनीहरूले सोच्छन्, “मैले धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेको छु र धेरै कष्ट भोगेको छु। यदि म कुनै फाइदा प्राप्त नगरी अहिले नै गएँ भने, के त्यो घाटा हुनेछैन र? के त्यो सबै कष्ट व्यर्थ हुनेछैन र?” तिनीहरूले यही सोच्छन्। तैँले तिनीहरू निश्चित छन्, तिनीहरूसँग आस्था छ, तिनीहरूले सत्यता बुझ्छन् भन्ने सोच्लास्, तर वास्तवमा, तिनीहरूले बुझ्दैनन्। तिनीहरू अझै पनि शङ्का गर्छन्, अझै पनि अवलोकन गरिरहेका हुन्छन्। हृदयमा, तिनीहरू परमेश्‍वरको घरको काम साँच्चै नै फस्टाउँछ कि फस्टाउँदैन, हरेक कामले फल दिन्छ कि दिँदैन, र यसले संसारमा ठूलो प्रभाव पारेको छ कि छैन भनेर हेर्न मात्रै चाहन्छन्। तिनीहरूले विशेष रूपमा जान्न चाहने कुराहरू यी हुन्: विभिन्न देशहरूमा मण्डलीहरूले सुसमाचार फैलाउने काम कस्तो भइरहेको छ? के यसले ठूलो प्रभाव पारेको छ? के यो बहावले अन्तर्राष्ट्रिय मान्यता पाएको छ? के कुनै प्रसिद्ध मानिसहरू वा प्रभावशाली व्यक्तिहरूले कामको यो चरणलाई स्वीकार गरेका छन्? के सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई संयुक्त राष्ट्र सङ्घले स्वीकार वा अनुमोदन गरेको छ? के यसले विभिन्न देशका सरकारहरूको समर्थन पाएको छ? के विभिन्न देशका दाजुभाइ-दिदीबहिनीहरूले राजनीतिक शरणका लागि दिएका आवेदनहरू स्वीकृत भएका छन्? त्यस्ता मानिसहरूलाई सधैँ चिन्ता लाग्ने कुराहरू यिनै हुन्, र यो तिनीहरू डगमगाउनुको स्पष्ट प्रकटीकरण हो। तिनीहरूले परमेश्‍वरको घरले शक्ति प्राप्त गरेको छ र सुसमाचारको काम फैलिएको छ भन्ने देखेपछि, तिनीहरू आफूले परमेश्‍वरको घर नछोडेकोमा भाग्यमानी महसुस गर्छन्, र तिनीहरूले परमेश्‍वरमा शङ्का गर्न छोड्छन्। तर तिनीहरूले परमेश्‍वरको घरको काममा बाधा, अवरोध, वा क्षति भइरहेको छ, दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य निर्वाहमा पनि असर परिरहेको छ, र मण्डलीलाई संसारद्वारा बहिष्कार र इन्कार गरिँदै छ भन्ने देख्ने बित्तिकै, तिनीहरूले परमेश्‍वरको घर छोड्ने बारेमा सोच्न थाल्छन्। तिनीहरूले सधैँ प्रश्न गरिरहेका हुन्छन्: “के यो सबै कुरामाथि परमेश्‍वर साँच्चै नै सार्वभौम हुनुहुन्छ? म किन परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई देख्न सक्दिनँ? के परमेश्‍वरका वचनहरू साँच्चै नै सत्यता हुन्? के तिनले साँच्चै नै मानिसहरूलाई पखाल्न र मुक्ति दिन सक्छन्?” तिनीहरूसँग आत्मिक बुझाइ नभएकाले र तिनीहरूले परमेश्‍वरका वचनहरू बुझ्न नसक्ने हुनाले तिनीहरूले यी कुराहरूलाई कहिल्यै छर्लङ्ग देख्न सक्दैनन् र तिनलाई प्रश्न गरिरहन्छन्। तिनीहरूले जति धेरै प्रवचनहरू सुने पनि, तिनीहरू यी कुनै पनि कुराको निष्कर्षमा पुग्न सक्दैनन्। परिणामस्वरूप, तिनीहरू सधैँ यताउति सोधिरहेका हुन्छन्, र अत्यन्तै टाढाका कुराहरू सुन्न सक्ने कान र हजार माइल टाढाको कुरा देख्न सक्ने आँखा विकास गर्न सकूँ भनेर कामना गर्छन्, ताकि तिनीहरूले धेरै टाढा के भइरहेको छ भन्ने बारेमा जान्न र खबर प्राप्त गर्न सकून्। त्यसपछि, तिनीहरूले त्यहीँ रहनुपर्छ कि छोडेर जानुपर्छ भनेर चाँडै नै निर्णय गर्न सक्छन्। के त्यस्ता मानिसहरू मूर्ख होइनन् र? (हुन्।) के यस्ता मानिसहरूले थकाइलाग्दो जीवन जिइरहेका हुँदैनन् र? (हुन्छन्।) तिनीहरूमा सामान्य मानवताको सोचाइ हुँदैन, न त तिनीहरूले सत्यता नै बुझ्छन्। जति धेरै घटना घट्छन्, तिनीहरू त्यति नै अत्तालिन्छन् र अन्योलमा पर्छन्। तिनीहरूलाई यी मामिलाहरूलाई कसरी खुट्ट्याउने वा तिनलाई कसरी चित्रण गर्ने भन्ने थाहा हुँदैन; अनि तिनीहरूलाई यी मामलाहरूमा सही र गलतलाई कसरी छुट्टयाउने वा ती कुराहरूबाट कसरी पाठहरू सिक्ने, त्यसपछि परमेश्‍वरको वचनभित्र अभ्यासका सिद्धान्तहरू कसरी भेट्टाउने भन्ने अवश्य नै थाहा हुँदैन। तिनीहरूलाई यी कुराहरू कसरी गर्ने भन्ने थाहा हुँदैन। त्यसोभए तिनीहरूले के गर्छन्? उदाहरणका लागि, जब ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरू मण्डलीमा देखा पर्छन् र मानिसहरूलाई बहकाउँछन्, तब तिनीहरूले यस्तो सोच्न थाल्छन्: “आखिर को सही र को गलत हो त? के यो मार्ग साँच्चै साँचो हो? के मैले अन्तसम्म विश्‍वास गरिरहेँ भने आशिष् पाउनेछु? म धेरै वर्षदेखि आफ्नो कर्तव्य पूरा गर्दै आइरहेको छु—के यो कष्ट भोग्नु सार्थक बनेको छ? के मैले आफ्नो कर्तव्य पूरा गरिरहनुपर्छ?” तिनीहरूले सबै कुरालाई आफ्नै हितहरूको दृष्टिकोणबाट विचार गर्छन् र आफू अगाडिका कुनै पनि मानिस, घटना, र कामकुराहरूलाई बुझ्न सक्दैनन्, र तिनीहरू अत्यन्तै बेढङ्गका देखिन्छन्। तिनीहरूमा सही विचार र दृष्टिकोणहरूको कमी हुन्छ, र तिनीहरू छेउमा बसेर अवलोकन गर्न, र घटनाक्रम कसरी अघि बढ्छन् भनेर हेर्न चाहन्छन्। तिनीहरूलाई हेर्दा, तँलाई तिनीहरू दयनीय र हास्यास्पद दुवै भएको महसुस हुन्छ। केही पनि नभइरहेको अवस्थामा, तिनीहरूले अत्यन्तै सामान्य व्यवहार गर्छन्, तर कुनै ठूलो घटना घट्ने बित्तिकै, यस मामिलालाई कुन दृष्टिकोणबाट हेर्नुपर्छ भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन, र तिनीहरूले भन्ने कुराहरूले गैरविश्‍वासीहरूका विचार र दृष्टिकोणहरूलाई प्रतिविम्बित गर्छन्। सबै कुरा सकिएपछि, यसबाट तिनीहरूले के प्राप्त गरेका छन् भन्ने कुरा देख्न सकिँदैन। के त्यस्ता मानिसहरू अत्यन्तै मूर्ख होइनन् र? (हुन्।) मूर्ख मानिसहरू ठ्याक्कै यसरी नै व्यवहार गर्छन्। त्यसोभए, यस्ता मानिसहरूलाई सम्हाल्ने सिद्धान्तहरू के-के हुन्? तिनीहरूका प्रकटीकरणहरूका आधारमा, तिनीहरूलाई अत्यन्तै धोकेबाज र दुष्ट मानिस मान्न मिल्दैन। तर, तिनीहरूमा एउटा घातक कमजोरी हुन्छ, जुन के हो भने, यी मानिसहरूमा विचार हुँदैन, प्राण हुँदैन, र तिनीहरूले कुनै पनि कुरालाई छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरूको वरिपरि जे हुन्छ त्यसले तिनीहरूलाई अन्योलमा पार्छ, र तिनीहरूलाई कसलाई विश्‍वास गर्ने, कोमाथि भर पर्ने, वा समस्यालाई कसरी हेर्ने वा त्यसलाई समाधान गर्न कहाँबाट सुरु गर्ने भन्ने थाहा हुँदैन—तिनीहरू आत्तिएका स्थितिमा हुन्छन्। आत्तिएपछि, तिनीहरूलाई शङ्का लाग्न सक्छ, वा तिनीहरू अस्थायी रूपमा शान्त हुन सक्छन्, तर तिनीहरूको डगमगाउने बानी अपरिवर्तित नै रहन्छ। तिनीहरूका प्रकटीकरणहरूबाट हेर्दा, तिनीहरूलाई दुष्ट मानिस भनेर वर्गीकरण गर्न नमिल्ने हुनाले, यदि तिनीहरू अहिले थोरै कर्तव्य पूरा गर्न र स्वेच्छाले श्रम गर्न सक्षम छन् भने, तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न जारी राख्न दिन सकिन्छ। तर, यो कुरा तिनीहरूको कर्तव्यले कम्तीमा पनि केही परिणामहरू ल्याउँछ भन्ने आधारमा आधारित हुन्छ। यदि तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्छन् तर सत्यतालाई बिलकुलै स्विकार्दैनन् र तिनीहरू सधैँ झाराटारुवा भइरहेका हुन्छन् भने, तिनीहरूलाई घर पठाइनुपर्छ। तर यदि तिनीहरू आफ्ना गल्तीहरू सच्याउन तयार छन् भने, तिनीहरूलाई परमेश्‍वरको घरमा रहन र आफ्नो कर्तव्य पूरा गर्न जारी राख्न दिनुपर्छ। तिनीहरूलाई जुन कर्तव्य सुहाउँछ त्यसैमा खटाउनुपर्छ। यदि तिनीहरू कुनै कर्तव्य पूरा गर्न सक्षम छैनन्, र काम नलाग्‍ने छन् भने, तिनीहरूलाई सुहाउँदो ठाउँमा पठाउनुपर्छ। यस्तो अवस्थामा, अब यो कुरा तिनीहरू श्रम गर्न तयार र इच्छुक छन् कि छैनन् भन्ने कुरामा निर्भर हुन सक्दैन। कामकुरा सम्हाल्ने यो तरिका सरल छैन र? (छ।)

के तिमीहरू डगमगाउने मानिसहरूलाई खुट्ट्याउन सक्छौ? के तिमीहरूका वरिपरि त्यस्ता मानिसहरू छन्? विगतमा कतिपय मानिसहरू मण्डलीबाट पखालिए। मानौँ तिनीहरूमध्ये एक जनाले यसो भन्छ: “म परिवर्तन भएर राम्रो भएको छु। म अब डगमगाउँदिनँ। साँचो मार्गको हकमा म सधैँ डगमगाउँथेँ किनभने, जब परमेश्‍वरको घरले विदेशमा भर्खरै आफ्नो काम सुरु गरिरहेको थियो, त्यसबेला परिस्थितिहरू निकै कठिन थिए। त्यो बेला, मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई सुसमाचार प्रचार गर्न निकै गाह्रो हुन्थ्यो, र विदेशमा साँचो मार्गलाई स्वीकार गर्ने मानिसहरू थोरै थिए। यसका साथै, सुसमाचारको काम फैलाउनुका कुनै सम्भाव्यताहरू नभए जस्तो देखिन्थ्यो। त्यसकारण, मलाई त्यो बेला परमेश्‍वरको कामका बारेमा सधैँ शङ्का लाग्थ्यो। अहिले परमेश्‍वरको घरको सुसमाचारको काम फैलिरहेको छ, विभिन्न कामहरू सुधार हुँदै गइरहेका छन् र तिनले परिणामहरू ल्याइरहेका छन्, र विभिन्न देशका मण्डलीहरू झन्-झन् फस्टाइरहेका छन् भन्ने देखेर, अब ममा कुनै शङ्का छैन वा म डगमगाउँदिनँ। कृपया मलाई आफ्नो कर्तव्य पूरा गर्न दिनुहोस्। मलाई निकालिएका वा निष्कासित गरिएका मानिसहरूको श्रेणीमा नराख्‍नुहोस्!” के त्यस्तो व्यक्तिलाई मौका दिनु ठीक हुन्छ? (हुँदैन।) किन हुँदैन? (तिनीहरूका शब्दहरू झूटा हुन्छन्। तिनीहरूले परमेश्‍वरको घरको काम फैलिन थालेको छ र यसले शक्ति प्राप्त गरेको छ भन्ने देखेर मात्रै फेरि आफूलाई मण्डलीसँग जोड्न चाहन्छन्। तर जब तिनीहरूका धारणाहरू विपरीत केही भइदिन्छ, तब तिनीहरू फेरि पनि डगमगाउँनेछन्।) के तिमीहरूले यस कुरालाई छर्लङ्ग देखेका छौ? (छौँ।) कतिपय मानिसहरू जन्मिँदै डगमगाउने हुन्छन्। आज बतास एउटा दिशातिर चल्छ र तिनीहरूले त्यही दिशा पछ्याउँछन्; भोलि त्यो अर्को दिशातिर चल्छ र तिनीहरूले त्यही दिशा पछ्याउँछन्—बतास नचल्दा पनि, तिनीहरू आफै डगमगाउँछन्। त्यस्ता मानिसहरूसँग सामान्य मानवमा हुनुपर्ने सोच्ने क्षमता हुँदैन, त्यसकारण तिनीहरूले मानव बन्ने मानक पूरा गर्दैनन्। के यो सही हो? (हो।) यदि कुनै व्यक्तिमा सामान्य मानवको सोच्ने क्षमता छ र उसमा मानवमा हुनुपर्ने बुझ्ने क्षमता छ भने, उसले परमेश्‍वरले धेरै वटा सत्यता व्यक्त गर्नुभएको छ भन्ने देख्छ र यो परमेश्‍वरको काम हो भनेर पुष्टि गर्न सक्छ। यति मात्र होइन, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू धेरै छन्—तिनीहरूले हरेक दिन परमेश्‍वरको काम र पवित्र आत्माको काम, साथै परमेश्‍वरका अद्भुत कार्यहरू देख्छन्; तिनीहरूको आस्था दह्रिलो बन्दै जान्छ र आफ्नो कर्तव्य पूरा गर्ने तिनीहरूको ऊर्जा बढ्छ। के यी मानिसको कामद्वारा हासिल गर्न सकिने कुरा हुन्? मानवको सोच्ने क्षमता नभएका मानिसहरूका हकमा, तैँले तिनीहरूलाई यी कुराहरू जति नै स्पष्ट रूपमा बुझाए पनि, तिनीहरूले यो परमेश्‍वरको काम हो भनेर पुष्टि गर्न सक्दैनन्। तिनीहरूमा त्यस्तो मूल्याङ्कन गर्ने क्षमताको कमी हुन्छ। परमेश्‍वरले अहिले जति नै ठूलो काम गरिरहनुभएको भए पनि, उहाँले जतिसुकै बोल्नुभए पनि, जति नै धेरै मानिसहरूले उहाँलाई पछ्याए पनि, यो परमेश्‍वरको काम हो भन्ने कुरामा जति जना मानिसहरू निश्चित भए पनि, वा मानवजातिको नियति परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरू अन्तर्गत पर्छ, र परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरामा जति जना मानिसहरू निश्चित भए पनि, तिनीहरूका लागि यी कुनै पनि कुरा महत्त्वपूर्ण हुँदैनन्। त्यसोभए, तिनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? तिनीहरूले स्वर्गबाट आउनुभएका परमेश्‍वर तिनीहरूसामु देखा पर्नुभएको व्यक्तिगत रूपमा देख्नुपर्छ, र तिनीहरूले परमेश्‍वरले आफ्नो मुख खोलेर बोल्नुभएको पनि देख्‍नुपर्छ, उहाँले स्वर्ग, पृथ्वी, र यावत् थोक सृष्टि गर्नुभएको, र सङ्केत र आश्चर्यकर्महरू गर्नुभएको कुरा व्यक्तिगत रूपमा देख्नुपर्छ, र उहाँ बोल्नुहुँदा उहाँका वचनहरू गर्जन जस्तै सुनिनुपर्छ। त्यसपछि मात्रै तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेछन्। तिनीहरू ठ्याक्कै थोमा जस्तै हुन्—प्रभु येशूले जति धेरै वचन बोल्नुभए पनि, उहाँले जति धेरै सत्यता व्यक्त गर्नुभए पनि, वा पृथ्वीमा रहनुभएको समयमा उहाँले जति धेरै सङ्केत र आश्चर्यकर्महरू गर्नुभए पनि, थोमाका लागि त्यो कुनै पनि कुरा महत्त्वपूर्ण थिएन। प्रभु येशूको मृत्युपछि उहाँ बौरी उठ्नुभएको वास्तविक हो कि होइन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण थियो। उसले यो कुरा कसरी पुष्टि गर्‍यो? उसले प्रभु येशूसामु यस्तो माग राख्यो: “तपाईँको हात फैलाउनुहोस् र मलाई किला ठोकिएको दाग देखाउनुहोस्। यदि तपाईँ साँच्चै नै बौरी उठ्नुभएको प्रभु येशू हुनुहुन्छ भने, तपाईँको हातमा किला ठोकिएको दाग हुनेछ, त्यसपछि म तपाईँलाई प्रभु येशूका रूपमा स्वीकार गर्नेछु। यदि मैले तपाईँको हातमा किलाको दाग महसुस गर्न सकिनँ भने, म तपाईँलाई प्रभु येशूका रूपमा स्वीकार गर्नेछैनँ, न त म तपाईँलाई परमेश्‍वरका रूपमा नै स्वीकार गर्नेछु।” के ऊ मूर्ख थिएन र? (थियो।) यस्ता मानिसहरू आफ्नै आँखाले देख्न सक्ने तथ्यहरूमा र आफ्नै कल्पना र तर्कमा मात्रै विश्‍वास गर्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू सुने पनि, परमेश्‍वरको काम अनुभव गरे पनि, र परमेश्‍वरको कामको उदय, वृद्धि, र समृद्धि देखे पनि, तिनीहरूले यो परमेश्‍वरको काम हो भनेर अझै विश्‍वास गर्दैनन्। तिनीहरूले परमेश्‍वरको महान् शक्ति देख्न सक्दैनन्, तिनीहरूले परमेश्‍वरको अख्तियार देख्न सक्दैनन्, र तिनीहरूले परमेश्‍वरका वचनहरूको शक्ति वा तिनले मानिसहरूमा हासिल गर्न सक्ने परिणामहरूलाई खुट्ट्याउन सक्दैनन्। तिनीहरूले यीमध्ये कुनै पनि कुरा देख्न वा खुट्ट्याउन सक्दैनन्। तिनीहरूले एउटा कुराको मात्रै आशा गर्छन्: “तपाईँले स्वर्गबाट गर्जनको आवाजमा बोल्नुपर्छ, र आफू सृष्टिकर्ता भएको घोषणा गर्नुपर्छ। तपाईँले आफ्नो महान् शक्ति देखाउनका लागि सङ्केत र आश्चर्यकर्महरू पनि गर्नुपर्छ, र व्यक्तिगत रूपमा स्वर्ग, पृथ्वी, र यावत् थोक सृष्टि गर्नुपर्छ। त्यसपछि म तपाईँ परमेश्‍वर हुनुहुन्छ भन्ने कुरामा विश्‍वास गर्नेछु, म तपाईँलाई परमेश्‍वरका रूपमा स्वीकार गर्नेछु।” के परमेश्‍वरले त्यस्तो स्वीकारलाई महत्त्व दिनुहुन्छ? के उहाँले त्यस्तो विश्‍वासलाई महत्त्व दिनुहुन्छ? (दिनुहुन्‍न।) के परमेश्‍वरलाई परमेश्‍वर बन्नका लागि तेरो स्वीकार आवश्यक छ? के उहाँलाई तेरो अनुमोदन चाहिन्छ? परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ, धेरै मानिसहरूले परमेश्‍वरको कामलाई स्विकारेका छन्, र धेरै अनुभवात्मक गवाहीहरू छन्—पहिलेका कुनै पनि पुस्ताका गवाहीलाई उछिन्ने गवाहीहरू छन्—तैपनि यो परमेश्‍वरको देखापराइ र काम हो कि होइन भनेर तैँले अझै पुष्टि गर्न सक्दैनस्। तैँले परमेश्‍वरले हासिल गरिसक्नुभएका तथ्यहरूमा र परमेश्‍वरका प्रतिज्ञाहरूको पूर्तिमा विश्‍वास गर्दैनस् वा तिनलाई स्विकार्दैनस्। त्यसोभए, तँ कस्तो कुरा होस्? तँ त मानव समेत होइनस्—तँ मूर्ख होस्! तैपनि तँ अझै परमेश्‍वरबाट आशिष्‌हरू प्राप्त गर्न चाहन्छस्—असम्भव! तैँले त सपना मात्रै देखिरहेको छस्! तँ हरेक मोडमा परमेश्‍वरलाई शङ्का र इन्कार गर्छस्, र परमेश्‍वरको घरको दुर्भाग्यप्रति सधैँ हाँस्न चाहन्छस्। तैँले कहिल्यै परमेश्‍वरको अस्तित्वलाई स्वीकार गरेको वा त्यसमा विश्‍वास गरेको छैनस्, न त तैँले कहिल्यै परमेश्‍वरका वचन र कामलाई नै मानेको, विश्‍वास गरेको, वा स्वीकार गरेको छस्। त्यसकारण, तँसँग परमेश्‍वरका प्रतिज्ञाहरूको बिलकुलै सम्बन्ध छैन, र तैँले केही पनि प्राप्त गर्नेछैनस्। कतिपय मानिसहरूले भन्छन्, “तर तिनीहरूले अझै पनि आफ्नो कर्तव्य पूरा गरिरहेका छन्। तिनीहरूले कसरी केही पनि प्राप्त गर्न सक्दैनन् र?” त्यसो भए हामी तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्नुको उद्देश्य के हो, तिनीहरूले कसका लागि यसो गरिरहेका छन्, र आफ्नो कर्तव्य पूरा गर्दा तिनीहरूले के-कस्ता सिद्धान्तहरू पालना गर्छन् भन्ने बारेमा स्पष्ट हुनुपर्छ। यदि तैँले परमेश्‍वरका वचनहरू स्वीकार गर्दैनस् भने, तैँले आफ्नो कर्तव्य पूरा गरे पनि, तैँले श्रम मात्रै गरिरहेको हुन्छस्—यो साँचो समर्पण होइन। तैँले जे गर्छस् परमेश्‍वरले त्यसलाई कर्तव्य पूरा गरेको रूपमा मान्यता दिनुहुन्न। परमेश्‍वरको नजरमा, तँ आत्मा नभएको मृत व्यक्ति बाहेक केही पनि होइनस्। मृत व्यक्तिले अझै पनि आशिष्‌हरू प्राप्त गर्ने आशा गर्छ—के त्यो त मनोकामना मात्रै होइन र? तँ आशिष्‌हरू प्राप्त गर्ने तेरो अभिप्रायले उत्प्रेरित भएकाले मात्रै तैँले थोरै भए पनि कर्तव्य पूरा गर्न सक्छस्। अनि तँ निरन्तर शङ्का गर्छस्, सधैँ भित्री रूपमा परमेश्‍वरको आलोचना गर्छस्, उहाँलाई निन्दा र इन्कार गर्छस्, साथै परमेश्‍वरका वचनहरू र कामलाई पनि आलोचना र इन्कार गर्छस्। यसले तँलाई परमेश्‍वरको शत्रु बनाउँछ। जुन व्यक्ति परमेश्‍वरको शत्रु हो, के ऊ मानकअनुरूपको सृजित प्राणी हुन सक्छ? (सक्दैन।) तैँले आफूलाई हरेक मोडमा परमेश्‍वरको शत्रुका रूपमा उभ्याउँछस्, गुप्त रूपमा उहाँलाई र उहाँको कामलाई लुकेर अवलोकन गर्छस्, आफ्नो हृदयमा परमेश्‍वरविरुद्ध गोप्य रूपमा कोलाहल मच्चाउँछस्, उहाँलाई आलोचना र निन्दा गर्छस्, र उहाँका वचन र कामलाई आलोचना र निन्दा गर्छस्। यदि यो परमेश्‍वरको शत्रु बन्नु होइन भने, यो के हो त? यो खुलेआम परमेश्‍वरको शत्रु बन्‍नु हो। अनि तँ गैरविश्‍वासी संसारभित्र परमेश्‍वरको शत्रु बनिरहेको हुँदैनस्—तैँले त परमेश्‍वरको घरभित्रै त्यसो गरिरहेको हुन्छस्। यो अझै अक्षम्य कुरा हो!

चाहे हामीले डगमगाउने यी मानिसहरूको मानवता सारलाई हेरौँ वा तिनीहरूका प्रकटीकरणहरूलाई हेरौँ, तिनीहरूले सत्यतालाई स्वीकार गर्दैनन् र परमेश्‍वरका वचनहरू र कामलाई स्वीकार गर्दैनन्। तिनीहरू आफूले आशिष्‌हरू प्राप्त गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुराको मात्रै वास्ता गर्छन्। तिनीहरू परमेश्‍वर वा उहाँको कामबारे कहिल्यै निश्चित हुँदैनन्, सधैँ पर्दा पछाडि अवलोकन गर्छन्, निरन्तर डगमगाउँछन् र शङ्का गर्छन्। तिनीहरू परमेश्‍वरको पछि लाग्छन् तर अवलोकन गर्छन्, हिँड्छन् र रोक्छन्, रोक्छन् र फेरि हिँड्छन्। यी मानिसहरू निकै कष्टदायी हुन्छन्! विशेष गरी अहिले, मण्डलीले मानिसहरूलाई बारम्बार पखाल्ने हुनाले, तिनीहरू सधैँ बेचैन हुन्छन्, र सोच्छन्, “म सधैँ डगमगाइरहेको हुन्छु। सायद एक दिन कसैले थाहा पाउनेछ, र मलाई मण्डलीबाट निकालिनेछ। मैले परमेश्‍वरबारे मेरा भित्री शङ्काहरूलाई बाहिर निस्कन दिनु हुँदैन। मैले यो कुरा कसैलाई पनि सुनाउनु हुँदैन।” त्यसकारण, तिनीहरूले पर्दा पछाडि गुप्त रूपमा अवलोकन गर्छन्; अनि तिनीहरू परमेश्‍वरले प्रकाश गर्नुहुनेछ भनेर डर मान्दैनन्, किनभने तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, परमेश्‍वरको छानबिनमा विश्‍वास गर्नु त झन् परको कुरा हो। यी मानिसहरूले प्रायजसो परमेश्‍वरले दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी मार्गदर्शन गर्नुभएको छ, उहाँले उनीहरूलाई कसरी अनुशासनमा राख्नुभएको छ, उहाँले मानिसहरूलाई कसरी प्रकाश गर्नुभएको छ, उहाँले मानिसहरूलाई कसरी मुक्ति दिनुभएको छ, परमेश्‍वरले उनीहरूलाई कसरी अनुग्रह र आशिष् प्रदान गर्नुभएको छ, र परमेश्‍वरलाई पछ्याउने क्रममा, उनीहरूले कसरी उहाँको काम अनुभव गरेका छन्, र उनीहरूले के कुरा अनुभव गरेका, देखेका, वा कदर गरेका छन्, इत्यादि कुराहरूका बारेमा दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गरेको सुन्छन्। जब तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले यी अनुभवात्मक बुझाइहरूका बारेमा सङ्गति गरेको सुन्छन्, तब तिनीहरूले मनमनै सोच्छन्: “के तिमीहरूले बताइरहेका ती अनुभवहरू तिमीहरूका कल्पना मात्रै हुन्? के यी मानव भावनाहरू मात्रै हुन्? मैले किन ती कुराहरू महसुस गरेको छैनँ? विशेष गरी अनुभवात्मक गवाही लेख लेख्नेहरू—म तिनीहरूलाई चिन्दिनँ, र तिनीहरूले यी अनुभवहरूमार्फत यी कुराहरू कसरी हासिल गरे भन्ने कुरा मैले देखेको छैनँ। तिनीहरूसँग साँच्चै नै सत्यता वास्तविकता छ कि छैन भन्ने कुरा अझै पनि अनिश्चित छ!” कतिपय मूर्खहरूले अझै पनि परमेश्‍वरको घरको कामलाई अवलोकन र प्रश्न गर्छन्, परमेश्‍वरका चुनिएका मानिसहरूले लेखेका अनुभवात्मक गवाही लेखहरूमा कुन-कुन सत्यता वास्तविकताहरू समावेश छन् भन्ने कुरा देख्न सक्दैनन्, र आफै डगमगाउनु र आफूमा आस्थाको कमी हुनुका बहाना र आधारहरू खोज्ने प्रयास गर्छन्। तिनीहरू आफू डगमगाइरहेका हुनाले, अरू पनि डगमगाइरहेको हुनुपर्छ भन्ने सोच्छन्। यदि कोही व्यक्ति कहिल्यै डगमगाउँदैन, उसमा कुनै शङ्का हुँदैन, र सत्यताबारे उसले प्रायजसो गर्ने सङ्गति सधैँ निकै व्यावहारिक हुन्छ, र उसलाई जस्तोसुकै समस्याहरू आइपरे पनि, उसले तिनलाई समाधान गर्न सत्यताको खोजी गर्न सक्छ भने, यी मूर्खहरूले हृदयमा असमानता र असहजता अनुभूति गर्छन्। जब तिनीहरूलाई असहज महसुस हुन्छ, तब तिनीहरूले कसरी राहत खोज्छन्? तिनीहरूले आफू जस्तै व्यक्ति खोज्छन्, र मन मिल्ने आत्मा खोज्ने प्रयास गर्छन्। जब तिनीहरूले कसैलाई नकारात्मक र कमजोर महसुस भएको देख्छन्, तब तिनीहरूले उसको मन जाँच्नका लागि आफ्ना विचारहरूतर्फ सङ्केत गर्दै भन्छन्: “कहिलेकहीँ मलाई पनि नकारात्मक महसुस हुन्छ। जब मलाई नकारात्मक महसुस हुन्छ, तब म त्यस्तो हुनु हुँदैन भन्ने मलाई थाहा हुन्छ, तर कहिलेकाहीँ मलाई परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरामा शङ्का लाग्छ।” यदि अर्को व्यक्तिले तिनीहरूलाई जवाफ दिँदैन र तिनीहरूले त्यो व्यक्ति नकारात्मक र कमजोर मात्रै भएको हो तर परमेश्‍वरप्रति उसमा कुनै शङ्का छैन भन्ने देखे भने, तिनीहरूले अरू कसैलाई जाँच्नका लागि अरू कुनै झूटो कुरा भन्छन्: “मलाई के भएको होला, तपाईँलाई के लाग्छ? म परमेश्‍वरमा राम्ररी नै विश्‍वास गर्छु, तर पनि म किन सधैँ उहाँबारे शङ्का गर्छु? के त्यो विद्रोही कार्य होइन र? यस्तो हुनु हुँदैन!” तिनीहरूले अर्को व्यक्तिको चापलुसी गर्न र उसलाई जाँच्नका लागि मात्रै यसो भन्छन्। तिनीहरू अरूले पनि परमेश्‍वरलाई तिनीहरूले जस्तै प्रश्न गरून् भन्ने उत्कट आशा गर्छन्—त्यसले तिनीहरूलाई खुसी बनाउँछ! यदि तिनीहरूले परमेश्‍वरबारे सधैँ शङ्का गर्ने र उहाँका बारेमा निरन्तर धारणाहरू राख्ने अरू कोही पत्ता लगाए भने, तिनीहरू मन मिल्ने आत्मा भेटिएकोमा भाग्यमानी महसुस गर्छन्। उस्तै फोहोरी मानसिकता भएका यी दुई जनाले प्रायजसो एक-अर्कालाई विश्‍वास गरेर कुरा साटासाट गर्छन्। तिनीहरूले जति कुरा गर्छन्, तिनीहरू परमेश्‍वरबाट त्यति नै टाढिन्छन्। तिनीहरूले जति कुराकानी गर्छन्, त्यति नै कम आफ्नो कर्तव्य पूरा गर्न चाहन्छन्, र परमेश्‍वरका वचनहरू त्यति नै कम पढ्न चाहन्छन्, साथै तिनीहरू मण्डली जीवनमा सहभागिता जनाउन समेत छोड्न चाहन्छन्। क्रमिक रूपमा, तिनीहरू दुई जना काम गर्न संसारमा जान्छन्, छुट्नै नसक्ने जोडी जस्तै एक-अर्कासँग टाँसिन्छन्, र एक-अर्कालाई अँगालोमा बेरेर सँगै बाहिर जान्छन्। जाने बेलामा, तिनीहरूले परमेश्‍वरका वचनहरूको एउटा पनि पुस्तक आफूसँग लाँदैनन्। कसैले तिनीहरूलाई “के तपाईँले परमेश्‍वरमा विश्‍वास गर्न छोड्नुभएको हो?” भनेर सोध्छ, र तिनीहरूले जवाफ दिन्छन्, “होइन, म विश्‍वास गर्छु।” तिनीहरूले अझै पनि जिद्दी भएर यस कुरालाई नकार्छन्। अर्को व्यक्तिले सोध्छ, “त्यसोभए तपाईँले किन परमेश्‍वरका वचनहरूको कुनै पनि पुस्तक ल्याउनुभएन?” अनि तिनीहरूले जवाफ दिन्छन्, “ती अत्यन्तै गह्रौँ छन्, र मसँग ती राख्ने ठाउँ कतै पनि छैन।” तिनीहरूले भन्ने सबै कुरा अर्को व्यक्तिलाई टार्नका लागि मात्रै भनिएको हुन्छ। वास्तवमा, तिनीहरू संसारमा फर्केर जान, जागिर खोज्न, र आफ्नो जीवन जिउनका लागि तयार मात्रै भइरहेका हुन्छन्। म तिमीहरूलाई सत्य कुरा भन्छु: यस्ता मानिसहरू अविश्‍वासी हुन्, र तिनीहरूको अन्तिम परिणाम यही हुनेछ—तिनीहरू वास्तवमा यस्तै हुन्छन्। परमेश्‍वरमाथिको तिनीहरूको आस्था लामो समयसम्म रहनेछैन। आफूलाई मन पर्ने, आफ्ना सबैभन्दा भित्री विचारहरू बाँड्न मिल्ने व्यक्ति भेटिने बित्तिकै, तिनीहरूले सोच्छन्, “बल्‍ल, मैले मलाई साथ दिने कोही पाएको छु, भर पर्न सकिने व्यक्ति भेट्टाएको छु। जाऔँ! परमेश्‍वरमा विश्‍वास गर्नु अत्यन्तै पट्यारलाग्दो कुरा हो। यसै पनि यस संसारमा कुनै परमेश्‍वर छैन। अस्तित्वमै नभएको कुरालाई वास्तविक ठान्नु साह्रै गाह्रो कुरा हो। विगतका वर्षहरू अत्यन्तै कठिन थिए!” तिनीहरू आफै छोडेर जान्छन् र विश्‍वास गर्न छोड्छन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्दै तिनीहरूलाई नखोज्न समेत भन्छन्, “हामी काम गर्न गएका छौँ। अबदेखि हामीलाई फोन नगर्नुहोस्, नत्र हामी प्रहरीलाई खबर गर्नेछौँ!” यी दुई जना मूर्ख, मूर्ख गधाहरूको जोडी यसरी नै जान्छन्। म त भन्छु, तिनीहरूबाट छुटकारा पाइयो—यसले परमेश्‍वरको घरलाई तिनीहरूलाई निष्कासित गर्ने वा निकाल्ने झन्झटबाट मुक्त गर्छ। ल भन त, के यस्ता मानिसहरूलाई साथ दिन र सहयोग गर्नका लागि तिनीहरूसँग सत्यता सङ्गति गर्नु पर्ने कुनै आवश्यकता छ? के तिनीहरूसँग तर्क गर्ने र तिनीहरूलाई मनाउने प्रयास गर्नु पर्ने कुनै आवश्यकता छ? (छैन।) यदि तिमीहरूले तिनीहरूलाई मनाउने प्रयास गर्‍यौ भने, तिमीहरू अत्यन्तै मूर्ख भइरहेका हुन्छौ। यस्ता मानिसहरू भित्रैदेखि अविश्‍वासी हुन्छन्—तिनीहरू जिउँदा लास र दिमाग नभएका मूर्खहरू हुन्। यदि तँ तिनीहरूलाई मनाउने प्रयास गर्छस् भने, तँ पनि मूर्ख होस्। तैँले यस्ता मानिसहरूलाई तुरुन्तै हाँसीखुसी बिदा गर्नुपर्छ—अनि पछि तिनीहरूलाई खोज्नु पर्दैन। तिनीहरूले अबदेखि परमेश्‍वरमा विश्‍वास नगर्ने, र यदि तैँले तिनीहरूलाई फेरि फोन गरिस् भने, तिनीहरूले प्रहरीलाई तेरो बारेमा रिपोर्ट गर्ने भनेर आफैले स्पष्ट पारेका छन्। यदि तैँले अझै पनि तिनीहरूलाई सम्पर्क गर्ने प्रयास गरिस् भने, के तैँले समस्या मात्र निम्त्याइरहेको हुँदैनस् र? यदि तिनीहरूले साँच्चै नै प्रहरीलाई फोन गरे र तँलाई दुर्व्यवहार गरेको आरोप लगाए, र यो कुरा फैलियो भने के त्यसले राम्रो छवि निर्माण गर्छ? (गर्दैन।) तैँले त्यस्तो मूर्ख काम बिलकुलै गर्नु हुँदैन! तिनीहरूले आफ्नो हेरचाह आफै गरून् र तिनीहरू चुपचाप जाऊन्—यो झनै राम्रो तरिका हो! हरेक व्यक्तिले आफ्नै मार्ग पछ्याउँछ; हरेक व्यक्तिको मार्ग ऊ को हो भन्ने कुराले निर्धारित गर्छ। तिनीहरू आशिषित हुँदैनन्, तिनीहरूको जीवन कुहिएको र व्यर्थको मात्रै हुन्छ। यस्तो ठूलो आशिष् तिनीहरूको विरासतले प्राप्त गर्ने वा लिने क्षमताभन्दा बाहिरको कुरा हो—तिनीहरूसँग यसलाई ग्रहण गर्ने सौभाग्य नै हुँदैन। परमेश्‍वरका वचनहरूको प्रबन्धलाई स्वीकार गर्नु र सत्यतालाई जीवनका रूपमा स्वीकार गर्नु सम्पूर्ण ब्रह्माण्डमा र सारा मानवजातिमाझ सबैभन्दा ठूलो आशिष् हो। जसले सत्यतालाई स्वीकार गर्न सक्छ, ऊ आशिषित व्यक्ति हो, र जसले सत्यतालाई स्वीकार गर्न सक्दैन, उसले यो आशिष् पाउँदै पाउँदैन। एक दिन, जसले सत्यतालाई स्वीकार गरेका छन् तिनीहरू महाविपत्तिहरूबाट बच्नेछन् र तिनीहरूले धेरै आशिष् प्राप्त गर्नेछन्, जबकि जसले सत्यतालाई स्वीकार गरेका छैनन् तिनीहरू विपत्तिमा नष्ट हुनेछन् र तिनीहरूले प्रकोप भोग्नेछन्, त्यस बेला, पछुतो गर्नका लागि ज्यादै ढिला भइसकेको हुनेछ। तैँले अहिले परमेश्‍वरका वचनहरू सत्यता हुन् र परमेश्‍वरको काम परमेश्‍वर स्वयम्‌ले नै गर्नुहुन्छ भनेर स्वीकार गरे पनि, यदि तैँले सत्यता पछ्याउँदैनस्, सत्यतालाई स्वीकार गर्दैनस्, र तँ सत्यतामा प्रवेश गर्दैनस् भने, तैँले अझै पनि त्यस्तो आशिष् प्राप्त गर्नेछैनस्! के तँलाई यो आशिष् यति सजिलै प्राप्त गर्न सकिन्छ जस्तो लाग्छ? यो त समयको सुरुदेखि अस्तित्वमा नभएको आशिष् हो र फेरि कहिल्यै अस्तित्वमा हुनेछैन—तँलाई कसरी यति सजिलै यो प्राप्त गर्न दिन सकिन्छ र? परमेश्‍वरले मानवजातिलाई यस्तो आशिष् दिने प्रतिज्ञा गर्नुभएको छ, तर यो साधारण मानिसहरूले प्राप्त गर्न सक्ने कुरा होइन। यो आशिष् परमेश्‍वरले चुन्नुभएका मानिसहरूका लागि हो, र कुनै मूर्ख गधा, जिउँदो लास, बदमास, वा फटाहाहरू चुनिनु असम्भव छ। परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन तीन चरणको काम गर्नुहुन्छ, र अन्त्यमा, उहाँले विजेताहरूको एउटा समूह बनाउनुहुनेछ, र यी मानिसहरूलाई यावत् थोकका मालिक बन्न र नयाँ मानवजाति बन्न सक्षम बनाउनुहुन्छ। मानवजातिका लागि यो कति ठूलो आशिष् हो! आखिरी दिनहरूको न्यायको कामको यो चरण कति वर्षदेखि चलिरहेको छ? (तीस वर्षभन्दा बढी समयदेखि।) यो तीस वर्षभन्दा बढीको समयलाई नै हेर्दा, परमेश्‍वरले कति धेरै मूल्य चुकाउनुभएको छ र उहाँले कति धेरै काम गर्नुभएको छ भन्ने कुरा देख्न सकिन्छ, त्यसकारण परमेश्‍वरले अन्तमा प्राप्त गर्नुहुने मानवजाति कति बहुमूल्य र कति महान् हुनेछ, र परमेश्‍वरको नजरमा यो बहुमूल्य र अत्यन्तै महत्त्वपूर्ण छ भन्ने कुरा स्पष्ट हुन्छ! त्यसोभए तिमीहरू कति भाग्यमानी छौ; तिमीहरूका लागि यो अति ठूलो आशिष् हो! त्यसकारण, कतिपय मानिसहरू जो यस विन्दुमा अझै पनि डगमगाइरहेका छन्, तिनीहरू साँच्चै नै आशिषित हुँदैनन्! तिनीहरू नडगमगाएका र पछ्याउन पूर्ण रूपमा प्रतिबद्ध भएका भए पनि, यदि तिनीहरूले सत्यता नपछ्याएका भए, तिनीहरूले अझै पनि यो आशिष् प्राप्त गर्नेथिएनन्। त्यसकारण अन्तमा जसले यो आशिष् प्राप्त गर्छन् तिनीहरू साधारण मानिस होइनन्—तिनीहरू त परमेश्‍वरले कडाइका साथ र बारम्बार जाँच्नुभएका र सावधानीपूर्वक छनौट गर्नुभएका मानिस हुन्; परमेश्‍वरले अन्तिममा प्राप्त गर्न सक्नुहुने मानिसहरू तिनीहरू नै हुन्।

जो डगमगाउँछन् तिनीहरूका मुख्य प्रकटीकरणहरू ठीक यिनै मामिलाहरू हुन्। तिनीहरूको अन्तिम परिणाम जेसुकै भए पनि, त्यस्ता मानिसहरू मण्डलीभित्र पहिचान भएपछि, कुनै पनि हालतमा, तिनीहरूलाई सिद्धान्तहरू अनुसार सम्हाल्नुपर्छ। तिनीहरूलाई दाजुभाइ वा दिदीबहिनीका रूपमा व्यवहार गर्नु हुँदैन। यदि तिनीहरूसँग परमेश्‍वरमा विश्‍वास गर्नेप्रति सकारात्मक भावनाहरू छन् वा तिनीहरूले केही मेहनत लगाउन सक्छन् र तिनीहरू केही श्रम प्रदान गर्न इच्छुक छन् भने, तिनीहरू बढीमा मण्डलीका साथी हुन्, र तिनीहरूलाई दाजुभाइ वा दिदीबहिनी मान्‍न सकिँदैन। त्यसकारण तिनीहरूले “समर्पण” वा “इमानदारी” जस्ता नयाँ नाम लिए पनि, तैँले तिनीहरूलाई दाजुभाइ वा दिदीबहिनी भनेर बोलाउनु हुँदैन—तिनीहरूलाई तिनीहरूको नयाँ नामले बोलाए पुग्छ। किन? किनभने त्यस्ता मानिसहरूले दाजुभाइ वा दिदीबहिनी बन्ने मानक पूरा गर्दैनन्। अब तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।) त्यसोभए, अब तिमीहरूसँग यस्ता मानिसहरूलाई सम्हाल्ने सिद्धान्तहरू छन्, होइन र? (हो।) आजको सङ्गति यति नै। फेरि भेटौँला।

जुन २९, २०२४

अघिल्लो: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२६)

अर्को: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२८)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्