अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२३)
विषयवस्तु चौध: सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने (भाग दुई)
यसअघिको भेलामा, हामीले अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीबारे सङ्गति गर्यौँ: त्यो हो, “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने।” उक्त सङ्गतिले मण्डली भनेको के हो भन्ने कुराको एउटा पक्ष समेटेको थियो। मण्डलीको परिभाषाबारे सङ्गति गरेपछि, के तिमीहरू यो र अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीबीचको सम्बन्धबारे प्रस्ट छौ? (परमेश्वरले मण्डलीको परिभाषाबारे सङ्गति गर्नुभएपछि, हामीले किन मण्डलीहरू अस्तित्वमा हुन्छन्, मण्डलीले खेल्ने भूमिका के हो, र मण्डलीले गर्ने काम के हो भन्ने बुझ्यौँ। यसका आधारमा, हामीले मण्डलीमा कुन मानिसहरूले बाधा र अवरोधहरू सिर्जना गरिरहेका छन्, र सकारात्मक भूमिका खेलिरहेका छैनन् भनेर खुट्ट्याउन, अनि त्यसपछि यी मानिसहरूलाई निकाल्न वा निष्कासित गर्न सक्छौँ।) मण्डली के हो भन्ने कुरा बुझेपछि, अगुवा र कामदारहरूले परमेश्वरले किन मण्डलीहरू स्थापना गर्नुहुन्छ, मण्डलीको गठनले मानिसहरूमाथि कस्तो प्रभाव पार्छ, मण्डलीहरूले गर्नुपर्ने काम के हो, कस्ता प्रकारका मानिसहरू मिलेर मण्डली बन्छ, र कस्ता मानिसहरू साँचो दाजुभाइ-दिदीबहिनीहरू हुन् भन्ने कुरा जान्नुपर्छ। यी कुराहरू बुझेपछि र जानेपछि, तिमीहरूसँग “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने” भन्ने चौधौँ जिम्मेवारीमा रेखाङ्कित कामका सिद्धान्तहरूको एउटा आधारभूत अवधारणा र परिभाषा, साथै एउटा जग हुन्छ। यो तिमीहरू सिद्धान्त र दर्शनको हिसाबले प्रस्ट हुनुपर्ने र तिमीहरूले बुझ्नुपर्ने कुरा हो। यो बुझेपछि, अगुवा र कामदारहरूले वहन गर्नुपर्ने पहिलो काम भनेको सबै किसिमका दुष्ट मानिसहरूलाई खुट्ट्याउनु हो। यसो गर्ने मानक र सिद्धान्तहरू के-के हुन्? सबै किसिमका दुष्ट मानिसहरूलाई खुट्ट्याउने काम मण्डलीको परिभाषा, मण्डलीको अस्तित्वको महत्त्व र मूल्य, र परमेश्वरले मण्डली स्थापना गरेर गर्न चाहनुभएको काममा आधारित हुनुपर्छ। यसअघि, विभिन्न किसिमका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मानक र आधारहरूलाई तीन मुख्य वर्गमा विभाजन गरिएको थियो। यी तीन वर्गहरू के-के हुन्? (व्यक्तिले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य, व्यक्तिको मानवता, र आफ्नो कर्तव्यप्रति व्यक्तिको मनोवृत्ति।) के यी तीन मुख्य वर्गहरू पर्याप्त रूपमा विशिष्ट र बृहत् छन्? कतिपय मानिसहरू भन्छन्, “सबै किसिमका दुष्ट मानिसहरूलाई खुट्ट्याउने काम उनीहरूले सत्यतालाई कुन हदसम्म प्रेम गर्छन्, अनि उनीहरू कुन हदसम्म परमेश्वरमा समर्पित हुन्छन् र परमेश्वरको डर मान्छन् भन्ने कुरामा आधारित नभएर, उनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य, उनीहरूको मानवता, र आफ्नो कर्तव्यप्रति उनीहरूको मनोवृत्तिमा किन आधारित हुन्छ? के यी मानकहरू अत्यन्तै न्यून छैनन् र? अर्को शब्दमा, यी तीन वर्गको विशिष्ट विषयवस्तुलाई मूल्याङ्कन गर्दा, किन परमेश्वर र सत्यताप्रति मानिसहरूको मनोवृत्तिबारे अझ गहन छलफल हुँदैन? मानिसहरू काटछाँट, न्याय, र सजाय स्विकार्न इच्छुक छन् कि छैनन्, उनीहरूमा परमेश्वरमा समर्पित हुने र उहाँको डर मान्ने हृदय छ कि छैन, र सत्यतासम्बन्धी अन्य अझ गहन कुराहरू किन उल्लेख नै गरिँदैन?” के तिमीहरूले कहिल्यै यस प्रश्नबारे सोचेका छौ? अहिलेका लागि यो विषयमा प्रवेश नगरौँ। पहिला तीनवटा मापदण्डहरू हेरौँ: मानिसहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य, उनीहरूको मानवता, र आफ्नो कर्तव्यप्रति उनीहरूको मनोवृत्ति। तिनका शीर्षकलाई मूल्याङ्कन गर्दा, यी तीनवटा मापदण्डहरू सतही छन् कि छैनन्? यदि कुनै व्यक्ति यी तीनवटा सबैभन्दा आधारभूत मापदण्डअनुरूप छैन भने, के उसलाई दाजुभाइ वा दिदीबहिनी भन्न मिल्छ? (मिल्दैन।) के उसलाई मण्डली सदस्य मान्न सकिन्छ? के उसले मण्डलीको हिस्साका रूपमा परमेश्वरको मान्यता पाउन सक्छ? (सक्दैन।) उसका लागि यी कुनै पनि कुरा सम्भव हुँदैन। त्यसकारण, यदि कुनै व्यक्ति यी तीनवटै मापदण्डहरूका सम्बन्धमा अपर्याप्त वा निम्नस्तरीय छ भने, त्यस्ता व्यक्तिहरू खुट्ट्याइनुपर्छ; उनीहरू विभिन्न किसिमका दुष्ट मानिसहरूका दर्जामा पर्छन्, र उनीहरूलाई निकाला वा निष्कासन गरिनुपर्छ। कुनै व्यक्ति दाजुभाइ वा दिदीबहिनी हो कि होइन, परमेश्वरद्वारा मान्यता प्राप्त छ कि छैन, वा मण्डलीले स्विकार्नुपर्ने सदस्य हो कि होइन भन्ने कुरा कम्तीमा पनि ऊ मानकअनुरूप छ कि छैन र ऊ ती तीन मापदण्डका सम्बन्धमा योग्य ठहरिन्छ कि ठहरिँदैन भन्ने कुरामा निर्भर हुन्छ। यदि उसले यी तीनवटा मापदण्डहरू समेत पूरा गर्दैन भने, ऊ निश्चित रूपमा नै दाजुभाइ वा दिदीबहिनी होइन। स्वतः, परमेश्वरले उसलाई मान्यता दिनुहुन्न, र मण्डलीले पनि उसलाई स्विकार्नु हुँदैन। त्यसोभए, मण्डलीले उसलाई कस्तो व्यवहार गर्नुपर्छ र कसरी सम्हाल्नुपर्छ? (उसलाई निकाला वा निष्कासन गर्नुपर्छ।) उसलाई खुट्ट्याइसकेपछि, निकाला वा निष्कासित गर्नुपर्छ। ठ्याक्कै त्यही नै हो।
विभिन्न किसिमका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मानक र आधारहरू
अ. व्यक्तिले परमेश्वरमा विश्वास गर्नुको उद्देश्यका आधारमा
घ. अवसरवादमा संलग्न हुनु
यसअघिको भेलामा, हामीले परमेश्वरमा विश्वास गर्नुका तीनवटा उद्देश्यहरूबारे सङ्गति गरेर तिनलाई सूचिकृत गर्यौँ। यदि हामीले तिनलाई शीर्षकका रूपमा सूचिकृत गर्ने हो भने, पहिलो शीर्षक अधिकारी बन्ने चाहना पूरा गर्नु हो; दोस्रो विपरीतलिङ्गी खोज्नु हो; र तेस्रो प्रकोपहरूबाट जोगिनु हो। हामीले यी तीनवटा उद्देश्यहरूबारे सङ्गति गरिसकेका छौँ। यसपछि, हामी चौथो उद्देश्यबारे सङ्गति गर्नेछौँ: कतिपय मानिसहरू विशुद्ध रूपमा अवसरवादी कारणहरूले परमेश्वरमा विश्वास गर्छन्, त्यसैले यस उद्देश्यको शीर्षक “अवसरवादमा संलग्न हुनु” भन्ने हो। कतिपय मानिसहरूले धार्मिक संसारका सबै धर्म र सम्प्रदायहरू उजाड छन् र तिनमा पवित्र आत्माको काम छैन भन्ने देख्छन्—मानिसहरूको आस्था र प्रेम कठोर बनेका छन्, मानिसहरू आफै झन्झन् पतित बनेका छन् र उनीहरूले मुक्तिको कुनै आशा देख्दैनन्, र मानिसहरूले धेरै वर्ष प्रभुमा विश्वास गरेपछि पनि केही पनि प्राप्त गरेका छैनन्। धार्मिक संसार पूर्ण रूपमा बन्जर जमिनमा परिणत भएको देखेर, उनीहरूले आफ्ना लागि अघि बढ्ने मार्ग खोज्छन्। उनीहरू मनन गर्छन्, “अहिले कुन मण्डलीमा धेरै मानिसहरू छन्, कुन मण्डली फस्टाइरहेको छ, र कुनमा विकासमा सम्भाव्यताहरू छन्?” उनीहरूले धार्मिक संसारद्वारा प्रतिरोध र निन्दा गरिएको सर्वशक्तिमान् परमेश्वरको मण्डली फस्टाइरहेको, त्यससँग पवित्र आत्माको काम भएको, र त्यो देशभित्र र वैदेशिक दुवै रूपमा राम्ररी विकास भइरहेको पाउँछन्। उनीहरू सोच्छन्, “मैले यस मण्डलीको सदस्यता बढिरहेको छ, यसको राम्रो विकास भइरहेको छ, र यससँग प्रचुर जनशक्ति, भौतिक स्रोत, र आर्थिक स्रोत छ, साथै योसँग विकासका सम्भाव्यताहरू छन् भन्ने सुनेको छु। यदि म यो मौका छोपेर उनीहरूको मण्डलीमा आबद्ध भएँ भने, के मैले केही फाइदाहरू प्राप्त गर्न सक्नेछैन र? के मैले आफ्ना लागि राम्रा सम्भाव्यताहरू सुनिश्चित गर्नेछैन र?” यस्तो अभिप्राय र उद्देश्य, अनि थोरै जिज्ञासा बोकेर, उनीहरू मण्डलीमा घुसपैठ गर्छन्। यी मानिसहरूले मण्डलीमा घुसपैठ गरेपछि, उनीहरूलाई सत्यतामा, परमेश्वरमा विश्वास गर्नमा, वा आफ्नो जीवन स्वभावको रूपान्तरणमा रुचि हुँदैन। उनीहरू मण्डलीमा आबद्ध हुनुको उद्देश्य एक जना समर्थक वा बस्ने ठाउँ फेला पार्नु र आफूले चाहेका सम्भाव्यताहरू प्राप्त गर्नु हो। वास्तवमा, हृदयमा उनीहरूलाई परमेश्वरमा विश्वास गर्नमा, परमेश्वरले व्यक्त गर्ने सत्यताहरूमा, वा परमेश्वरले गर्ने मुक्तिको काममा कुनै रुचि हुँदैन, र उनीहरू यी कुराहरूका बारेमा सुन्न वा खोजी गर्न चाहँदैनन्। विशेष गरी, उनीहरूलाई परमेश्वरको काम र पवित्र आत्माको काममा रुचि पटक्कै हुँदैन। यी मानिसहरू समाजका अवसरवादीहरू जस्तै हुन् जो, जुनसुकै उद्योगमा आबद्ध भए पनि, प्रसिद्धि, लाभ र हैसियत प्राप्त गर्ने अवसरहरू फेला पार्नका लागि मात्र त्यसो गर्छन्, र केवल आफ्ना सम्भाव्यताहरू र नियतिका खातिर लगानी गर्ने र मूल्य तिर्ने गर्छन्। उनीहरूले आफूले हाम फालेको क्षेत्र वा उद्योगमा अहिले कुनै प्रस्ट सम्भाव्यताहरू छैनन्, वा यो उद्योगले उनीहरूलाई आफ्ना सबल पक्षहरू देखाउन र संसारमा उठ्न दिँदैन भन्ने थाहा पाएपछि, उनीहरूले जागिर परिवर्तन गर्ने कि अर्कै उद्योगमा लाग्ने भनेर मनमा बारम्बार लेखाजोखा गर्छन्। उनीहरूले गर्ने जुनसुकै काममा, त्यस्ता मानिसहरू सधैँ कुनै चाल चाल्ने अवसर पर्खिरहेका हुन्छन्; उनीहरूसँग मण्डलीमा आबद्ध हुनुको एउटा अभिप्राय र उद्देश्य हुन्छ। जब मण्डली फस्टाइरहेको हुन्छ, जब त्यो अडिग भएर उभिन सक्छ र समाज वा कुनै पनि देशमा त्यसका विकासात्मक सम्भाव्यताहरू हुन्छन्, तब उनीहरू सक्रियता र उत्साहका साथ मण्डलीको काममा हाम फाल्छन्। तर जब मण्डली दबाब वा प्रतिबन्धमा पर्छ, वा त्यसले उनीहरूका व्यक्तिगत चाहना र मागहरू पूरा गर्न सक्दैन, तब उनीहरूले मण्डली छाडेर आफ्ना लागि अघि बढ्ने अर्को उपाय खोज्नुपर्छ कि भनी चिन्तन गर्छन्। प्रस्ट रूपमा, यी मानिसहरू मण्डलीमा आबद्ध हुनुको वास्तविक उद्देश्य उनीहरूलाई सत्यतामा रुचि भएका कारण होइन; उनीहरू परमेश्वरको अस्तित्व र मानिसहरूलाई मुक्ति दिने परमेश्वरको नयाँ काम मान्ने आधारमा मण्डलीमा आबद्ध भएका होइनन्। उनीहरूले कुनै मण्डली रोज्दासमेत, उनीहरू चर्चित, धेरै सदस्य भएका ठूलो स्तरको, विशेष गरी देश भित्र र वैदेशिक दुवै हिसाबले निश्चित स्तरको प्रतिष्ठा भएको मण्डली रोज्छन्। उनीहरूका लागि, यस्तो प्रकारको मण्डलीले मात्र उनीहरूका मानकहरू पूरा गर्छ र यस्तो मण्डली मात्र उनीहरूले आकाङ्क्षा गर्ने वा पछ्याउने लक्ष्यहरूसित पूर्ण रूपमा मिल्छ। तर जे भए पनि, उनीहरूले कहिल्यै साँच्चिकै सत्यतामा विश्वास गरेका हुँदैनन्, न त परमेश्वरको अस्तित्व वा परमेश्वरको कामलाई साँचो रूपमा मानेका हुन्छन्। उनीहरूले कहिलेकाहीँ मण्डलीका लागि केही काम गर्ने वा उनीहरू मण्डलीको कामको कुनै पक्षमा होम्मिने झैँ देखिए पनि, हृदयको गहिराइमा, सत्यताप्रति र परमेश्वरप्रति उनीहरूको मनोवृत्ति अपरिवर्तित रहन्छ। उनीहरूको मनोवृत्ति के हुन्छ? उनीहरूको स्थिर मनोवृत्ति भनेको अहिलेका लागि केवल पछ्याउने, यस मण्डलीबाट ठ्याक्कै के प्राप्त गर्न सकिन्छ भनेर हेर्ने, परमेश्वरका बोलिएका वचनहरू कतिवटा र कुन हदसम्म पूरा हुन सक्छन् भनेर हेर्ने, अनि परमेश्वरले मानिसलाई प्रतिज्ञा गर्नुभएका आशिष्हरू कहिले प्राप्त गर्न सकिन्छ, र यी आशिष्हरू अल्पकालीन रूपमा देखिन र पूरा हुन सक्छन् कि सक्दैनन् भनेर हेर्ने हुन्छ। उनीहरूको मनोवृत्ति सधैँ यस्तै हुन्छ। उनीहरू परमेश्वरको घरमा जिज्ञासा र प्रयास गरेर हेर्ने चाहना, अनि यदि परमेश्वरका वचनहरू पूरा भए र साकार भए भने उनीहरूले आशिष्हरू पाउनेछन् र उनीहरूले केही गुमाउनेछैनन् भन्ने मनोवृत्ति बोकेर आएका हुन्छन्। त्यस्ता मानिसहरू परमेश्वरको घरमा आउँछन् र, उनीहरू अरूसित मिलनसार भएको, उनीहरूले नियमहरू पालन गर्ने, बाधा वा अवरोधहरू सिर्जना नगर्ने, र उपद्रव नगर्ने झैँ देखिए पनि, परमेश्वर र सत्यताप्रति उनीहरूको मनोवृत्तिका आधारमा उनीहरूलाई स्पष्ट अविश्वासीका रूपमा पहिचान गर्न सकिन्छ।
अवसर छोपेर आशिष् पाउन मात्र परमेश्वरमा विश्वास गर्ने अविश्वासीहरूको प्रकारलाई हामी कसरी खुट्ट्याउन सक्छौँ? तिनीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूसँग जे-जसरी सत्यता सङ्गति गरिए पनि, मानिसहरू र विभिन्न कामकुराहरूप्रतिका तिनीहरूका सोच र विचारहरू, तिनीहरूका जीवनदृष्टि र मूल्यमान्यताहरू कहिल्यै परिवर्तन हुँदैनन्। किन यस्तो हुन्छ? किनभने तिनीहरूले परमेश्वरका वचनहरू गम्भीरतासाथ कहिल्यै मनन गर्दैनन् र परमेश्वरले व्यक्त गर्नुभएका सत्यताहरू वा विभिन्न समस्याहरूबारे परमेश्वरले भन्नुभएका कुराहरू पटक्कै स्वीकार गर्दैनन्। तिनीहरू आफ्नै दृष्टिकोण र शैतानका दर्शनहरूमा मात्रै टाँसिरहन्छन्। तिनीहरूको हृदयमा, तिनीहरू अझै पनि शैतानका दर्शन र तर्कहरू नै ठीक र सही छन् भन्ने विश्वास गर्छन्। उदाहरणका लागि, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ”, “जसले उपहार ल्यायो, उही हाकिमको प्यारो,” वा “असल व्यक्तिको जीवनमा शान्ति हुन्छ।” यसो भन्नेहरू पनि छन्, “जब मानिसहरूले परमेश्वरमा विश्वास गर्छन्, तब तिनीहरू असल हुनुपर्छ, र यसको अर्थ कहिल्यै ज्यान नलिनु हो; ज्यान लिनु पाप हो, र परमेश्वरका लागि यो अक्षम्य कुरा हो।” यो कस्तो दृष्टिकोण हो? यो बौद्ध दृष्टिकोण हो। बौद्ध दृष्टिकोण मानिसहरूका धारणा र कल्पनाहरूसँग मिल्ने भए पनि यसमा कुनै सत्यता छैन। परमेश्वरमाथिको आस्था परमेश्वरका वचनहरूमा आधारित हुनुपर्छ; परमेश्वरका वचनहरू मात्रै सत्यता हुन्। परमेश्वरमाथिको आफ्नो आस्थामा, कतिपय मानिसहरूले त गैरविश्वासीहरूका बेतुका दृष्टिकोणहरू र धार्मिक संसारका गलत सिद्धान्तहरूलाई समेत सत्यताका रूपमा स्वीकार गर्छन्, र ती कुरालाई प्रिय ठान्छन् र तिनीहरू ती कुरामै टाँसिन्छन्। के यी मानिसहरू सत्यता स्वीकार गर्नेहरू हुन् त? तिनीहरूले मानिसका शब्दहरू र परमेश्वरका वचनहरूबीच, वा दियाबलसहरू र शैतान अनि एक मात्र साँचो परमेश्वर, सृष्टिकर्ताबीच भिन्नता छुट्याउन सक्दैनन्। तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्ने वा सत्यता खोजी गर्ने गर्दैनन्, न त तिनीहरूले परमेश्वरले व्यक्त गर्नुभएका कुनै सत्यता नै स्वीकार गर्छन्। मानिसहरू, बाहिरी संसार, र अरू सबै मामलाहरूप्रतिको तिनीहरूको सोच र दृष्टिकोण कहिल्यै परिवर्तन हुँदैन। तिनीहरू आफूले सधैँ राख्दैआएका दृष्टिकोणहरूमै टाँसिन्छन्, जुन परम्परागत संस्कृतिबाट आउँछन्। ती दृष्टिकोणहरू जति नै बेतुका भए पनि, त्यो तिनीहरूले महसुस गर्न सक्दैनन्, र तिनीहरूले अझै ती गलत दृष्टिकोणहरूलाई दह्रिलो गरी समातिरहन्छन् र तिनलाई त्याग्दै त्याग्दैनन्। अविश्वासीको एउटा प्रकटीकरण यही हो। अर्कोचाहिँ के हो? मण्डलीको आकार बढ्दै जाँदा र समाजमा यसको हैसियत निरन्तर बढ्दै जाँदा, तिनीहरूको जोस, भावना, र आस्था परिवर्तन हुन्छ। उदाहरणका लागि, जब मण्डलीको काम विदेशमा फैलियो र यसको आकार बढ्यो, र जब सुसमाचार काम पूर्ण रूपमा फैलियो, तब तिनीहरूले यो देखे र तुरुन्तै उत्साहित भए। तिनीहरूलाई मण्डली झन्-झन् प्रभावशाली हुँदै गइरहेको छ र यसले अबदेखि सरकारको दमन र सतावट भोग्नेछैन भन्ने लाग्यो, तिनीहरूले परमेश्वरमाथिको तिनीहरूको आस्थामा आशा छ, तिनीहरूले आफ्नो शिर ठाडो पार्न सक्छन् भन्ने विश्वास गरे; र त्यसैकारण तिनीहरूले परमेश्वरमा विश्वास गरेर सही दाउ खेलेका, र तिनीहरूको दाउले अन्ततः फल फलाउनेछ भन्ने लाग्यो। तिनीहरूलाई आशिष्हरू प्राप्त गर्ने तिनीहरूको मौका झन्झन् ठूलो हुँदै गइरहेको छ भन्ने लाग्यो र तिनीहरू बल्ल हर्षित हुन थाले। पहिलेका वर्षहरूमा, तिनीहरूले प्रायजसो ठूलो रातो अजिङ्गरले इसाईहरूलाई पक्राउ र दमन गरेको देखेका हुनाले, तिनीहरूलाई दमन, पीडा, र वेदना महसुस हुन्थ्यो। तिनीहरूले किन वेदना महसुस गर्थे? किनभने मण्डली सङ्कटग्रस्त थियो, र तिनीहरूले परमेश्वरमा विश्वास गरेर सही निर्णय गरे कि गरेनन् भनेर तिनीहरू चिन्तित हुन्थे, र त्योभन्दा पनि बढी, तिनीहरू मण्डलीमा बस्नुपर्छ कि छोडेर जानुपर्छ भन्ने सोचेर पनि सुर्ता र चिन्ता गर्थे। ती वर्षहरूमा, मण्डलीले जस्तोसुकै प्रतिकूल परिस्थितिहरू सामना गरे पनि, यसले तिनीहरूको भावनामा असर पार्थ्यो; मण्डलीले जुनसुकै काम गरिरहेको भए पनि र समाजमा मण्डलीको प्रतिष्ठा र हैसियतमा चाहे जसरी उतारचढावभए पनि, यसले तिनीहरूको भावना र मुडमा असर पार्थ्यो। तिनीहरू बस्नुपर्छ कि जानुपर्छ भन्ने प्रश्न सधैँ तिनीहरूको मनमा रहिरहन्थ्यो। त्यस्ता मानिसहरू अविश्वासीहरू हुन्, होइनन् र? जब मण्डलीलाई राष्ट्रिय सरकारले निन्दा र दमन गर्छ, वा जब विश्वासीहरूलाई पक्राउ गरिन्छ वा तिनीहरूलाई धार्मिक संसारले आलोचना, निन्दा, बदनाम, र इन्कार गर्छ, तब तिनीहरूलाई मण्डलीमा आबद्ध भएकोमा गहन रूपमा अपमानित र असाध्यै लाज र बदनामी भएकोसमेत महसुस हुन्छ; तिनीहरूको हृदय काम्छ र तिनीहरूले परमेश्वरमा विश्वास गरेकोमा र मण्डलीमा आबद्ध भएकोमा पछुतो गर्छन्। तिनीहरूले कहिल्यै मण्डलीका हर्ष र कष्टहरू दुवैमा सहभागी हुने, वा ख्रीष्टसँगसँगै कष्ट भोग्ने कुनै अभिप्राय राख्दैनन्। बरु, जब मण्डली फस्टाइरहेको हुन्छ, तब आस्थाले भरिँदै तिनीहरू देखा पर्छन्, तर जब मण्डलीलाई सतावट, इन्कार, दमन, र निन्दा गरिन्छ, तब तिनीहरू भाग्न, र छोडेर जान चाहन्छन्। जब तिनीहरूले आशिष् प्राप्तिको कुनै आशा, वा राज्यको सुसमाचार फैलिने कुनै आशा देख्न सक्दैनन्, तब तिनीहरूलाई अझै बढी छोडेर जान मन लाग्छ। जब तिनीहरूले परमेश्वरका वचनहरू पूरा भएको देख्दैनन्, र तिनीहरूलाई महाविपत्तिहरू कहिले आइपर्नेछन् र कहिले समाप्त हुनेछन्, वा ख्रीष्टको राज्य कहिले साकार हुनेछ भन्ने थाहा हुँदैन, तब तिनीहरू अनिश्चित रूपमा डगमगाउँछन् र मनमा शान्तिका साथ आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्। जब पनि यस्तो हुन्छ, तब तिनीहरू परमेश्वरलाई छोडेर जान, मण्डली छोडेर जान र उम्कने बाटो खोज्न चाहन्छन्। त्यस्ता मानिसहरू अविश्वासीहरू हुन्, होइनन् र? तिनीहरूको हरेक चाल तिनीहरूका आफ्नै देहगत हितहरूका लागि हुन्छ। परमेश्वरको काम अनुभव गरेर, वा उहाँका वचनहरू पढेर, सत्यता सङ्गति गरेर, अनि मण्डली जीवन जिएर तिनीहरूको विचार र दृष्टिकोणहरू बिस्तारै परिवर्तन हुने कहिल्यै हुनेछैन। जब तिनीहरूमाथि कुनै कुरा आइपर्छ, तब तिनीहरूले कहिल्यै सत्यता खोजी गर्ने, वा यसबारे परमेश्वरका वचनहरूले के भन्छन्, परमेश्वरका अभिप्रायहरू केके हुन्, परमेश्वरले मानिसहरूलाई कसरी मार्गदर्शन गर्नुहुन्छ, वा उहाँले मानिसहरूबाट के माग गर्नुहुन्छ भनेर खोजी गर्ने गर्दैनन्। मण्डलीमा आबद्ध हुनुपछाडिको तिनीहरूको एउटै उद्देश्य भनेको मण्डलीले कहिले आफ्नो शिर “ठाडो पार्न सक्ने” दिन आउँछ ताकि तिनीहरूले सधैँ चाहना गरेका फाइदाहरू हत्याउन सक्छन् भनेर प्रतीक्षा गर्नु हो। अवश्य नै, तिनीहरूले परमेश्वरका वचनहरू सत्यता हुन् भन्ने देखेका हुनाले पनि तिनीहरू मण्डलीमा जोडिएका हुन्छन्—तर तिनीहरू सत्यता पटक्कै स्वीकार नगर्ने खालका हुन्छन्, र परमेश्वरका सबै वचन पूरा हुनेछन् भन्ने कुरा तिनीहरू विश्वास गर्दैनन्। त्यसोभए तिमीहरू के भन्छौ, के त्यस्ता मानिसहरू अविश्वासीहरू हुन्? (हुन्।) मण्डली वा बाहिरी संसारमा जेसुकै भए पनि, तिनीहरूले आफ्नो हितमा कति असर पर्नेछ, र यसले आफूले पछ्याउने उद्देश्यहरूमा कति ठूलो असर पार्नेछ भनेर मापन गर्छन्। समस्याको अलिकति लक्षण देख्नेबित्तिकै, तिनीहरूले तुरुन्तै आफ्ना सम्भाव्यता, हितहरू, र आफू मण्डलीमा बस्नुपर्छ कि छोडेर जानुपर्छ भन्नेबारे अत्यन्तै गम्भीरतासाथ विचार गर्छन्। कतिपय मानिसहरू त यस्तो कुरा पनि सोधिरहन्छन्, “परमेश्वरको काम समाप्त हुनेछ भनेर गएको वर्ष भनिएको थियो—त्यसोभए किन यो अझै जारी छ? परमेश्वरको काम ठ्याक्कै कुन वर्ष समाप्त हुने हो? के मैले जान्न पाउँदिनँ र? मैले पर्याप्त समय कष्ट सहेको छु, मेरो समय बहुमूल्य छ, मेरो जवानी बहुमूल्य छ—तपाईंले मलाई यसरी अल्झाएर राख्न मिल्छ र?” तिनीहरू परमेश्वरका वचनहरू पूरा भएका छन् कि छैनन् भन्ने कुराप्रति, मण्डलीको अवस्था, र यसको हैसियत र प्रतिष्ठाप्रति निकै संवेदनशील हुन्छन्। तिनीहरू आफू सत्यता प्राप्त गर्न सक्षम छु कि छैन वा आफूलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन भन्ने कुराको वास्ता गर्दैनन्, तर तिनीहरू आफू बाँच्न सक्छु कि सक्दिनँ, र परमेश्वरको घरमा बसेर आफूले फाइदा र आशिष्हरू प्राप्त गर्न सक्छु कि सक्दिनँ भन्ने कुराप्रति भने अत्यन्तै संवेदनशील हुन्छन्। त्यस्ता मानिसहरू आशिष् पाउने आफ्नो चाहनाका हिसाबमा अवसरवादी हुन्छन्। तिनीहरूले अन्त्यसम्मै विश्वास गरे पनि अझै सत्यता बुझ्नेछैनन्, र तिनीहरूसँग भन्नका लागि कुनै अनुभवात्मक गवाही हुनेछैन। के तिमीहरूले यस्ता मानिसहरू भेटेका छौ? वास्तवमा, त्यस्ता मानिसहरू हरेक मण्डलीमा हुन्छन्। तिमीहरूले तिनीहरूलाई खुट्ट्याउनका लागि ध्यान दिनुपर्छ। त्यस्ता मानिसहरू सबै अविश्वासीहरू हुन्, तिनीहरू परमेश्वरको घरका अभिशाप हुन्, तिनीहरूले मण्डलीलाई ठूलो हानि गर्नेछन् र कुनै फाइदा ल्याउनेछैनन्, र तिनीहरूलाई मण्डलीबाट सफाइ गरी हटाइनुपर्छ।
अवसरवादीहरूका विशेषताहरूलाई सारांश गरौँ। उनीहरूको पहिलो विशेषता भनेको उनीहरू परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने मामलालाई धेरै गम्भीर रूपमा लिँदैनन्। यदि तैँले उनीहरूलाई परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न भनेर सोधिस् भने, उनीहरू यसो भन्नेछन्, “सायद हुनुहुन्छ। तर नहुनुभए पनि ठिकै छ। म त परमेश्वरले गर्नुभएका अगमवाणीहरू साकार हुन्छन् कि हुँदैनन्, र महाविपत्तिहरू आउनेछन् कि आउनेछैनन् भनेर हेर्नकै लागि मात्र आएको हुँ।” उनीहरूका विचार र दृष्टिकोणभित्र, उनीहरूमा परमेश्वर हुनुभए पनि वा नहुनुभए पनि फरक पर्दैन भन्ने मनोवृत्ति हुन्छ। त्यसोभए के परमेश्वरमा विश्वास गरेर मण्डलीमा आबद्ध हुनु उनीहरूका लागि ठट्टा होइन र? (हो।) परमेश्वरमाथिको उनीहरूको आस्था एउटा सरल विश्वास हो, यो एउटा खेल जस्तै हो, र यो सत्यता वा उनीहरूको जीवन मार्गसित असम्बन्धित हुन्छ। उनीहरू वास्तवमा परमेश्वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको वास्ता गर्दैनन्; उहाँ हुनुभए पनि ठिकै छ, र नहुनुभए पनि ठिकै छ। कतिपय मानिसहरूले परमेश्वर अस्तित्वमा हुनुहुन्न भन्दै उनीहरूलाई खण्डन गर्छन्, र उनीहरू निराश हुने वा त्यस्ता मानिसहरूलाई घृणा गर्ने गर्दैनन्। यदि मानिसहरूले परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनेमा, उनीहरू यसो भन्छन्, “यदि उहाँ अस्तित्वमा हुनुहुन्छ भने हुनुहुन्छ। जे भए पनि, यदि तिमीलाई विश्वास लाग्छ भने, उहाँ अस्तित्वमा हुनुहुन्छ; यदि तिमीलाई विश्वास लाग्दैन भने, उहाँ हुनुहुन्न।” यो नै उनीहरूको दृष्टिकोण हो। के यस्ता मानिसहरू साँचो विश्वास हुन्? उनीहरू अविश्वासी हुन्, होइनन् र? (हुन्।) परमेश्वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा उनीहरूका लागि महत्त्वपूर्ण हुँदैन, त्यसोभए के परमेश्वरमाथि उनीहरूको विश्वासमा निष्कपटता हुन्छ? उनीहरू सम्भवतः निष्कपट हुन सक्दैनन्। अवसरवादी मानिसहरूको पहिलो विशेषता के हो? (उनीहरू परमेश्वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने मामलालाई गम्भीर रूपमा लिँदैनन्।) यो नै पहिलो विशेषता हो।
अवसरवादी मानिसहरूको दोस्रो विशेषता के हो? त्यो के हो भने, उनीहरू सकारात्मक र नकारात्मक कुराहरू छुट्याउनेबारे धेरै गम्भीर हुँदैनन्। उनीहरूले कुन भनाइ, मानिस, घटना, र कामकुराहरू सकारात्मक हुन् र कुन नकारात्मक हुन् भनेर खुट्ट्याउँदैनन्, र उनीहरूले यसलाई गम्भीर रूपमा लिँदैनन्। उनीहरू, असल कुरालाई खराब र खराब कुरालाई असल बनाइदिन सकिन्छ भन्ने मान्यता राख्छन्, ठ्याक्कै गैरविश्वासीहरूको भनाइ जस्तै, “एउटा झूट हजार पटक भनियो भने त्यो सत्य बन्छ”; उनीहरूका लागि यो भनाइ मान्य हुन्छ। यदि तैँले उनीहरूलाई सत्यता भनेको के हो भनेर सोधिस् भने, उनीहरूले परमेश्वरका वचनहरू सत्यता हुन् भनेर पक्कै पनि भन्नेछैनन्, किनभने उनीहरू यो कुरा मान्दैनन्। उनीहरूले के भन्नेछन्? उनीहरूको साँचो दृष्टिकोण एउटा झूट हजार वा दश हजार पटक भनियो भने त्यो सत्य बन्छ भन्ने हो, जसको अर्थ, यदि धेरै मानिसहरूले केही कुरा भन्छन् भने, उनीहरूले त्यो साँचो हो भनेर विश्वास गर्नेछन्। जसरी गैरविश्वासीहरूले भन्ने गर्छन् नि: “सुरुमा त संसारमा मार्ग नै थिएन, तर धेरै मानिसहरू हिँडेपछि एउटा मार्ग बन्यो।” उनीहरूले के सही के गलत, के न्यायोचित वा के दुष्ट छ भन्नेबारे वास्ता गर्दैनन्; उनीहरू जसमा ठूलो क्षमता छ ऊ नै सही हो, र जो बेकार र अदक्ष छ ऊ नकारात्मक हो भन्ने विश्वास गर्छन्। उनीहरूले परमेश्वरले भन्नुहुने र गर्नुहुने सबै सकारात्मक कुराहरू हुन् भनेर कदापि मान्नेछैनन्, न त उनीहरूले परमेश्वरले मानिसहरूबाट उनीहरू सकारात्मक कुराहरूका वास्तविकताहरू जिऊन् भनी माग गर्नुहुन्छ भन्ने कुरा नै मान्नेछन्। यी मानिसहरूले भ्रामक कुराहरू समेत भन्नेछन्, जस्तै, “तिमी परमेश्वर नै सत्यता हुनुहुन्छ, र परमेश्वरका वचनहरू सबै सकारात्मक कुराका वास्तविकता हुन् भन्छौ। के यसको अर्थ संसारमा सकारात्मक कुराहरू नै छैनन् भन्ने हो? के संसारमा पनि सकारात्मक कुराहरू र सत्यताहरू छैनन् र?” के यो वाहियात कुरा होइन र? के यो भ्रम होइन र? (हो।) यी मानिसहरूले परमेश्वरका वचनहरूलाई आफ्ना बोली वा कार्यका मापदण्डका रूपमा लिँदैनन्। उदाहरणका लागि, जब उनीहरूले कुनै भ्रामक कुरा व्यक्त गर्छन् र तैँले उनीहरूको खण्डन गर्छस्, तब उनीहरूले भन्नेछन्, “तिमीलाई तिमी नै सही छौ भन्ने लाग्छ, र मलाई म नै सही छु भन्ने लाग्छ, त्यसकारण असहमत हुन सहमत होऊँ। जसलाई जे असल लाग्छ, त्यो नै सही हो।” यो कस्तो दृष्टिकोण हो? के यो केवल कुरा लुकाउने प्रयास गर्नु होइन र? (हो।) यो मूर्खतापूर्ण र अलमल्ल दृष्टिकोण हो; यी मानिसहरू सकारात्मक र नकारात्मक कुराहरू छुट्याउनेबारे गम्भीर हुँदैनन्। यसबारे गम्भीर नहुनुको अर्थ के हो? यसको अर्थ उनीहरूले परमेश्वरले भन्नुहुने सबै सकारात्मक कुराहरू सत्यतासँग सम्बन्धित छन्, सत्यताअनुरूप छन्, र परमेश्वरबाट आउँछन्, र परमेश्वरले बताउनुहुने नकारात्मक कुराहरू सत्यता विपरीत छन् र ती शैतानबाट आउँछन् भनेर हृदयबाट मान्न सक्दैनन्। उनीहरूले यो तथ्यलाई स्विकार्दैनन् र सधैँ अवधारणाहरूलाई धमिल्याउन चाहन्छन्। अरूको खुट्ट्याइ र निन्दाबाट जोगिनका लागि उनीहरू सकारात्मक र नकारात्मक कुराहरू छुट्याउनेबारे कहिल्यै गम्भीर हुँदैनन्, उनीहरूले आफ्ना साँचो विचारहरू कहिल्यै खुलासा गर्दैनन्, र सधैँ अनेकार्थक तरिकाले बोल्छन्, आफूलाई साँच्चिकै के लाग्छ भनेर मानिसहरूलाई कहिल्यै भन्दैनन्। उनीहरू जोसँग कुरा गरिरहेका छन् त्यहीअनुसार फरक-फरक कुराहरू भन्छन्, र आवश्यकताअनुसार पूर्ण रूपमा परिस्थितिमा समायोजित हुन्छन्। यी मानिसहरू, सबै हिसाबले सत्यतामा वा परमेश्वरको अस्तित्वमा रुचि राख्दैनन्। यो नै अवसरवादी मानिसहरूको दोस्रो प्रकटीकरण हो: उनीहरू सकारात्मक र नकारात्मक कुराहरू छुट्याउनेबारे धेरै गम्भीर हुँदैनन्।
यी अवसरवादी मानिसहरूमा अरू के-कस्ता विशेषताहरू हुन्छन्? यी मानिसहरूले सधैँ, कामकुराहरू कसरी अघि बढ्दैछन् भन्ने आधारमा बस्ने कि छोडेर जाने भनेर निर्णय गर्छन्, तिनीहरू परिस्थितिहरू अनुकुल आफूलाई ढाल्न निकै सिपालु हुन्छन्। जब उनीहरू मण्डलीमा आबद्ध हुन्छन्, उनीहरूले आफ्नो बाहिरिने रणनीति र सम्भाव्यताहरूका लागि पर्याप्त तयारीहरू गरिसकेका हुन्छन्, प्रत्येक कदमको योजना बनाएका हुन्छन्। उनीहरूले हृदयमा, परमेश्वरका वचनहरू पूरा भएमा के गर्ने र निश्चित वर्षपछि ती पूरा नभएमा के गर्ने भन्नेबारे लेखाजोखा गर्छन् र योजनाहरू बनाउँछन्। यस प्रकारको व्यक्ति मण्डलीमा प्रवेश गरेपछि कहिल्यै पूर्ण रूपमा मण्डलीको काममा समर्पित हुँदैन। बरु, उसले उसका आगामी कदमहरूबारे निर्णय गर्न मण्डलीको विकासक्रम, ऊप्रति मण्डलीको मनोवृत्ति र त्यसले उसलाई गर्ने व्यवहार, र अन्य तत्त्वहरूलाई लगातार नियाल्छ। के यी मानिसहरूका सोच निकै जटिल हुँदैनन् र? (हुन्छन्।) उनीहरू मण्डलीमा आबद्ध भएका भए पनि, उनीहरू सधैँ अस्थायी दृष्टिकोण राख्छन्, एउटा करारका कामदारजस्तो जो सधैँभरि “ज्यान एकातिर, मन अर्कोतिर” भन्ने स्थितिमा हुन्छ, र उसको मन युक्ति र षड्यन्त्रहरूले भरिएको हुन्छ। परमेश्वरमा विश्वास गर्ने र मण्डलीमा आबद्ध हुने उनीहरूको निर्णय केवल अनिच्छापूर्वक गरिएको सम्झौता हो, आत्मिक जरुरत वा परमेश्वरको अस्तित्वलाई मानेका आधारमा परमेश्वरलाई पछ्याउने र मानव जीवनको सही मार्गमा हिँड्ने चाहना होइन। उनीहरूमा यसका लागि आस्थाको कमी हुन्छ। यी मानिसहरू पर्ख र हेरको मनोवृत्तिका साथ परमेश्वरमा विश्वास गर्छन्, हृदयमा लेखाजोखा गर्छन्: “यदि परमेश्वरमा विश्वास गर्दा मलाई यो जीवनमा सय गुणा, र आउँदो संसारमा अनन्त जीवन, अनि मुक्ति प्राप्त गर्ने र स्वर्गको राज्यमा प्रवेश गर्ने मौका मिल्छ भने, म पछ्याउनेछु र विश्वास गर्नेछु। यदि मैले यी कुराहरू पाउन सकिनँ भने, म जुनसुकै बेला र जस्तोसुकै परिस्थितिमा मण्डलीबाट निस्कनेछु र विश्वास गर्न छोड्नेछु।” उनीहरू पूर्णतया आशिष्हरू प्राप्त गर्ने अवसरवादी आशामा परमेश्वरमा विश्वास गर्न आउँछन्। यदि उनीहरूले आशिष्हरू पाउन सकेनन् भने, उनीहरूले जुनसुकै बेला र जस्तोसुकै परिस्थितिमा आफ्ना कर्तव्यहरू त्याग्न र आफ्ना लागि अर्को मार्ग रच्न सक्छन्, किनभने उनीहरूको हृदय कहिल्यै मण्डलीमा गढिएको हुँदैन, न त उनीहरूले साँच्चिकै परमेश्वरमा विश्वास गर्ने र परमेश्वरलाई पछ्याउने मार्ग रोजेका हुन्छन्।
यी अवसरवादी मानिसहरूका मुख्य विशेषताहरू यिनै तीनवटा हुन्: उनीहरू परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरालाई गम्भीर रूपमा लिँदैनन्, सकारात्मक र नकारात्मक कुराहरूलाई गम्भीर रूपमा छुट्टयाउँदैनन्, र जुनसुकै समयमा र जस्तोसुकै परिस्थितिमा मण्डली छाड्न सक्छन्। दाजुभाइ-दिदीबहिनीहरूले उनीहरूलाई जति राम्रो व्यवहार गरे पनि, कामकुराहरू उनीहरूका स्वार्थसँग नमिलेसम्म वा तिनले उनीहरूका वर्तमान आवश्यकताहरू पूरा नगरेसम्म, उनीहरू मण्डली छाडेर जान सक्छन्। तर उनीहरूसँग जाने ठाउँ कतै नहुँदा, उनीहरू फर्केर आउने निर्णय गर्छन्। फर्केर आएपछि, उनीहरू अझै पनि सत्यता पछ्याउँदैनन् र उनीहरू फेरि जुनसुकै बेला मण्डली छाडेर जान सक्छन्। उनीहरू कस्ता खालका दुराचारी चीजहरू हुन्? उनीहरू आउनु र जानु अत्यन्तै सामान्य देखिन्छ; उनीहरू निष्कपटताका साथ परमेश्वरमा विश्वास गर्दैनन्। अवसरवादी मानिसहरूका विशेषताहरू यिनै हुन्; सारका हिसाबले, उनीहरू अविश्वासी हुन्। कतिपय मानिसहरू तीनदेखि पाँच वर्षसम्म विश्वासमा टिक्न सक्छन्, कतिपय चाहिँ आठ-दस वर्ष टिक्न सक्छन्, तर उनीहरूको उद्देश्य अवसरवादी तरिकाले आशिष्हरू खोज्ने मात्र हुन्छ। त्यस्ता मानिसहरू सरल हुँदैनन्। उनीहरूले अहिलेसम्म पनि मुलभूमि चीनको कठोर, सतावटपूर्ण वातावरण सहेका छन्—के त्यो अलि “आफैलाई पीडा दिएर विगतको तीतोपन पलपल मनमा गुन्नु” जस्तो भएन र? कतिपय मानिसहरू दस वर्षसम्म विश्वास गरेपछि त्यसउप्रान्त टिक्नै सक्दैनन्, त्यसैले उनीहरू गुनासो गर्छन्: “दस वर्ष भइसक्यो। मेरो जवानी मण्डलीमै खेर गयो। यदि मैले यी दस वर्ष संसारमा मेहनत गरेको भए, मैले कति पैसा कमाउन सक्नेथिएँ? सायद म एक प्रबन्धक बनेको हुनेथिएँ, र मैले सम्भवतः धेरै धनसम्पत्ति जोडेको हुनथिएँ।” त्यसपछि उनीहरू बेचैन हुन्छन्। उनीहरूले आफ्नो झिनो जिज्ञासा र आशिष्हरूको चाहना पूरा गर्नकै लागि मात्र दस वर्षसम्म परमेश्वरमा विश्वास गरेका हुन्छन्, तर उनीहरूले कहिल्यै सत्यता पछ्याएका हुँदैनन्। फलस्वरूप, उनीहरूले केही पनि प्राप्त गरेका हुँदैनन्। उनीहरू परमेश्वरमा विश्वास गरेकोमा पछुताउँछन्, र यसो भन्दै आफैलाई गालीसमेत गर्छन्, “तँ मूर्ख, तँ बेकुफ! तैँले फराकिलो, सजिलो बाटोमा नहिँडेर यो कठिन बाटोमा हिँड्ने जिद कसिस्। कसैले पनि तँलाई जबरजस्ती गरेको थिएन; त्यो तेरो आफ्नै रोजाइ थियो!” कतिपय मानिसहरूले दस वर्षसम्म विश्वास गरेपछि पनि झटपट छोडेर जान सक्छन्। समाजमा दुई-तीन वर्ष मात्र जसोतसो गुजारा चलाएपछि, उनीहरूले समाज आफूले कल्पना गरे जस्तो सहज वा अनुगमनयोग्य नभएको, र गैरविश्वासी संसार देखिए जस्तो रङ्गीन र आदर्श नभएको पाउँछन्; बाहिरी संसारमा उनीहरूलाई गुजारा चलाउन कहीँ पनि सजिलो हुँदैन। त्यसबारे सोच-विचार गरेपछि, उनीहरूले अझै पनि मण्डली नै राम्रो भएको पाउँछन्, त्यसैले उनीहरू निर्लज्ज रूपमा फर्केर आउँछन्। फर्किँदा उनीहरू यसो भन्छन्, “परमेश्वरमा विश्वास गर्नु असल कुरा हो; गैरविश्वासीहरू खराब छन्, जो सधैँ मानिसहरूलाई हेप्छन्। संसारमा ज्यादै दुःख छ। परमेश्वरका वचनहरू नपढेका र मण्डली जीवन नजिएका यी वर्षहरूमा, म अन्धकारमा फसेँ, म हरेक दिन रुन्थेँ र दाह्रा किट्थेँ; मलाई यति गलाइएको छ कि अब म मानव जस्तो देखिन नै छोडेको छु। परमेश्वरमा विश्वास गर्नु नै राम्रो हो!” उनीहरूले परमेश्वरमा विश्वास गर्नु नै राम्रो हो भनेर उद्घोष गर्छन्, तर वास्तवमा उनीहरूले संसारमा अति धेरै प्रकोपहरू छन्, र मानवजातिले चाँडै नै एउटा महाविपत्ति अनुभव गर्न लागेको छ भन्ने सुनेकाले मात्र त्यसो गरेका हुन्छन्। पैसा, जग्गा, गाडी, र घरहरू हुनु बेकार हो; आस्था बोकेकाहरूलाई मात्र मुक्ति दिन सकिन्छ। त्यसैले, उनीहरू फेरि परमेश्वरमा विश्वास गर्न फर्किन्छन्। के यो एउटा अवसरवादी होइनन् र? (हो।) अवसरवादी मानिसहरूले जुनसुकै बेला मण्डली छाड्न सक्छन्। यदि उनीहरूले मण्डलीमा फर्केर आशिष्हरू प्राप्त गर्ने आशा देखेमा, उनीहरू जुनसुकै बेला फर्केर आउन पनि सक्छन्। फर्केर आएपछि, उनीहरूले पछुतोका केही शब्दहरू भन्न र फेरि कहिल्यै परमेश्वरलाई छोड्नेछैनन् भनी व्यक्त गर्न सक्छन्, तर संसारमा परिस्थितिहरू निश्चल र शान्तिपूर्ण छन् र उनीहरूले अझै पनि केही राम्रा दिनहरूको आनन्द उठाउन सक्छन् भन्ने देखेपछि, उनीहरूले फेरि जुनसुकै बेला मण्डली छाड्न सक्छन्। उनीहरूले परमेश्वरको घर र मण्डलीलाई के ठान्छन्? उनीहरूले त्यसलाई खुला बजार ठान्छन्, र मन लागेअनुसार आउने र जाने गर्छन्। ल भन्, यदि त्यस्ता मानिसहरूलाई निकालिएको वा उनीहरू आफै निस्केर गएको खण्डमा, यदि उनीहरू फर्केर आउन चाहन्छन् भने, के मण्डलीले उनीहरूलाई फिर्ता लिनुपर्छ? (पर्दैन।) उनीहरूलाई फिर्ता लिनु हुँदैन। उनीहरूलाई फिर्ता लिनु भूल हो र त्यसले सिद्धान्तहरू उल्लङ्घन गर्छ। यी मानिसहरूले मण्डलीका सदस्यका मानकहरू पूरा गर्दैनन्। उनीहरूले जुनसुकै बेला मण्डली छाड्न सक्छन्, अनि आशिष्हरू प्राप्त गर्नका निम्ति उनीहरू जुनसुकै बेला लुसुक्क मण्डलीमा पुनः प्रवेश गर्न सक्छन्, तर यस अवधिभर उनीहरूले कहिल्यै सत्यता स्विकार्दैनन्। यसले उनीहरू साँचो विश्वासी होइनन् भन्ने प्रमाणित गर्छ। त्यस्ता मानिसहरू सदैव निकाला र निष्कासनको निसाना हुनेछन्। मण्डलीले उनीहरूलाई निकाल्नुपर्छ र यसो भन्नुपर्छ: “नपछुताउनू। एक पटक गइसकेपछि, तिमी फर्केर आउन मिल्दैन। मण्डलीले तिम्रा लागि दोस्रो पटक ढोका खोल्नेछैन। सिद्धान्त नै यही हो।” कतिपय मानिसहरू भन्छन्: “त्यसबेला उनीहरू मूर्ख थिए, तर अहिले उनीहरू निकै असल व्यवहार गर्छन्। उनीहरू सानो थुमा जत्तिकै आज्ञाकारी, घरबारविहीन घुमन्ते जस्तै दयनीय छन्। जब पनि उनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई देख्छन्, तब पछुतो र आभार व्यक्त गर्छन्, पछुतोले रोएर उनीहरूका आँखा राता भएका छन्। उनीहरू निकै दयनीय देखिन्छन्, र उनीहरूको गल्ती स्विकार्ने मनोवृत्ति अत्यन्तै असल छ। उनीहरूलाई फर्केर आउन दिऊँ न।” के यसमा सिद्धान्तहरूसँग मिल्ने कुनै वाक्य छ? (छैन।) तीन वर्ष वा दस वर्षसम्म विश्वास गरेपछि पनि उनीहरूले दृढताका साथ हिचकिचाहटविना मण्डली छाड्न सक्छन्। उनीहरू कस्ता खालका दुराचारी चीज हुन्? के उनीहरू साँचो विश्वासी हुन्? (होइनन्।) उनीहरूले सुरुमा परमेश्वरलाई पछ्याउने छनोट गर्दा के उनीहरूमा कुनै निष्कपटता थियो? थिएन। यदि उनीहरूमा अलिकति पनि निष्कपटता भएको भए, उनीहरू मण्डली छाड्न यति दृढ हुने थिएनन्। सामान्यतया, मानिसहरूलाई बढीमा उनीहरू कमजोर र हतोत्साहित हुँदा, वा उनीहरूका लागि कामकुराहरू असल नहुँदा, यस्ता सोचहरू आउन सक्छन्, तर उनीहरूले अर्को मार्ग खोज्न तीन, पाँच वा दस वर्षसम्म समेत परमेश्वरमा विश्वास गरेपछि मण्डली छाड्ने दृढ निर्णय कहिल्यै गर्नेथिएनन्। यदि उनीहरूले इच्छाअनुसार मण्डली छाड्न सक्छन् भने, यसले सुरुमा उनीहरूले साँचो मार्ग स्विकारेर मण्डलीमा सामेल हुँदा उनीहरू निष्कपट थिएनन् भन्ने देखाउँछ; उनीहरूसँग गोप्य मनसाय र उद्देश्यहरू थिए—यसलाई भन्ने अरू कुनै तरिका छैन। यस्ता मानिसहरूलाई प्रस्ट रूपमा खुट्ट्याउनैपर्छ। उनीहरू साँचो विश्वासी होइनन्। उनीहरूले परमेश्वरमा विश्वास गर्नु र परमेश्वरलाई पछ्याउनु भनेको आशिष्हरू प्राप्त गर्ने अवसरवादी आशाका लागि हो। यस्ता मानिसहरूलाई अवसरवादी भनेर चित्रण गरिन्छ र, उनीहरूलाई खुट्ट्याइसकेपछि मण्डलीबाट बाहिर निकाल्नुपर्छ। यदि उनीहरूले मण्डली छाड्दैनन् र मण्डलीभित्र आफ्नो व्यक्तिगत लाभका लागि परिस्थितिको फाइदा उठाइरहन्छन् भने, त्यो उनीहरू के हुन् भनेर कसैले खुट्ट्याउन नसक्ने भएकाले हो। तर, यी अवसरवादीहरूका विभिन्न प्रकटीकरणहरूबारे आज गरिएको सङ्गतिमार्फत, अगुवा र कामदारहरूका अनि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता मानिसहरूलाई प्रस्ट रूपमा बुझ्नुपर्छ र खुट्ट्याउनुपर्छ। उनीहरूले कहिल्यै परमेश्वरका वचनहरू पढ्ने वा परमेश्वरलाई प्रार्थना गर्ने गर्दैनन्, उनीहरूले परमेश्वरको काम वा परमेश्वरले व्यक्त गर्नुहुने सत्यतामा रुचि राख्दैनन्, सकारात्मक कुराहरूमा रुचि राख्दैनन्, र तिनलाई गम्भीर रूपमा लिँदैनन् भन्ने पत्ता लगाएपछि, उनीहरूप्रति अत्यन्तै सावधानी अपनाउनुपर्छ। उनीहरूले परमेश्वरमा विश्वास गर्नुका मनसाय र उद्देश्य नियाल्न, र मण्डलीप्रति, सत्यताप्रति र परमेश्वरप्रति उनीहरूको मनोवृत्ति निश्चित गर्न जरुरी हुन्छ। यदि उनीहरूमा सही मनोवृत्ति छैन, उनीहरू सत्यता पछ्याउने र कर्तव्य पूरा गर्नेप्रति निकै उदासीन छन्, उनीहरूले अलिकति पनि रुचि देखाउँदैनन्, र परमेश्वरका वचनहरूप्रति सधैँ शङ्कालु मनोवृत्ति राख्छन् भनी स्पष्ट भयो भने, यी मानिसहरू अवसरवादी र अविश्वासी हुन् भनेर पुष्टि गर्न सकिन्छ। त्यस अवस्थामा, उनीहरूलाई दाजुभाइ-दिदीबहिनी मान्नु हुँदैन; उनीहरू मण्डलीका हिस्सा होइनन्। बरु, उनीहरूलाई मण्डलीबाट निकाल्नुपर्छ। उनीहरूले वर्षौँ विश्वास गरेका छन् र अझै पनि सत्यता स्विकार्दैनन्; के उनीहरूसँग सत्यता सङ्गति गर्न जारी राख्नु उपयोगी हुन सक्छ? के उनीहरूले पश्चात्ताप गर्लान् भनेर पर्खिरहनु व्यावहारिक हुनेछ? उप्रान्त त्यस्ता मानिसहरूमाथि काम नगर्नू, र उनीहरूले पश्चात्ताप गर्लान् भनेर नपर्खनू। यदि उनीहरू आफ्नो कर्तव्य पूरा गर्न इच्छुक छैनन् र अझै पनि ननिस्की मण्डलीमा आफ्नो बसाइँ लम्ब्याउन चाहन्छन् भने, मण्डली अगुवाहरूले बुद्धिमानीपूर्वक उनीहरूलाई एक्ल्याउने उपाय खोज्नुपर्छ। के यो उचित हो? (हो।) यी मानिसहरूलाई अवसरवादीका रूपमा खुट्ट्याइसकेपछि, उनीहरू विभिन्न दुष्ट मानिसहरू र अविश्वासीहरूका दर्जामा वर्गीकृत भइसकेका हुन्छन्। उनीहरू दुष्ट मानिस र अविश्वासीहरू भएकाले, उनीहरूले मण्डलीबाट निकाला वा निष्कासित गरिने सिद्धान्त र सर्तहरू पूरा गर्छन्। उनीहरूलाई चाँडो निकाल्नु पक्कै पनि ढिलो निकाल्नुभन्दा राम्रो हो। उनीहरूलाई चाँडो निकाल्दा धेरै समस्याहरूबाट जोगिइन्छ, र उनीहरूले उप्रान्त आहत महसुस गर्नु पर्दैन। तैँले यस्ता मानिसहरूलाई प्रस्ट रूपमा यसो भन्नुपर्छ: “तिमीले कहिले छाड्ने वा कसरी छाड्ने भनेर हृदयमा लेखाजोखा गरिरहनु पर्दैन, र बस्ने कि जाने भनेर लेखाजोखा गरिरहनु पर्दैन। परमेश्वरको घर र परमेश्वरले मानिसहरूलाई जबरजस्ती गर्दैनन्; यदि तिमी छोडेर जान चाहन्छौ भने, मण्डलीले तिमीलाई बस्न आग्रह गर्ने कोसिस गर्नेछैन। तर तिमीलाई एउटै कुरा प्रस्ट पार्नैपर्छ। यदि तिमी आफू परमेश्वरको घरको व्यक्ति नभएको र मण्डलीको सदस्य हुन इच्छुक नभएको व्यक्ति हौ भनी निश्चित छौ भने, चाँडोभन्दा चाँडो गइहाल; ढिलाइ नगर। यो सबैको भलाइका लागि हो। यदि तिमी परमेश्वरको अस्तित्वमा विश्वास गर्छौ, परमेश्वरका वचनहरूलाई सत्यताका रूपमा स्विकार्न सक्छौ, र साँच्चिकै मण्डलीमा आबद्ध हुन इच्छुक छौ भने, तिमी न्यायसङ्गत रूपमा मण्डलीका सदस्य हौ। तर अहिले होइनौ। तिमी अवसरवादका लागि आयौ, र सायद तिमी आफैलाई यो कुरा थाहा छैन, तर हामीले परमेश्वरका वचनहरू, सत्यता, र सबै किसिमका मानिसहरूलाई व्यवहार गर्ने मण्डलीका सिद्धान्तहरूअनुसार तिमी एक अवसरवादी हौ भनेर खुट्ट्याएका छौँ। तिमी मण्डली छाड्ने सही समयको लेखाजोखा गरिरहन्छौ; यो अत्यन्तै झन्झटिलो कुरा हो। तिमीले सही समय खोज्नै पर्दैन; तिमी अहिले नै जान सक्छौ। यदि तिमी परमेश्वरको देखापराइ र कामबारे सधैँ अनिश्चित हुन्छौ भने, म अहिले नै तिमीलाई स्पष्ट रूपमा भन्छु: तिमीले उप्रान्त कामकुराबारे मनन वा छानबिन गर्न आवश्यक छैन, तिमीले कामकुराहरू आफ्ना लागि कठिन पारिरहनु पर्दैन—तिमीले अहिले नै मण्डली छोड्न सक्छौ, परमेश्वरको घरको ढोका खुला छ, र परमेश्वरको घरले तिमीलाई राख्नेछैन, त्यसले मानिसहरूलाई जबरजस्ती गर्दैन।” के यसो गर्नु उचित हो? (हो।) उनीहरूलाई “बाहिर निस्कने बाटो” दे; उनीहरूलाई यहाँ प्रत्येक दिन तातो तावामाथिका कमिलाझैँ यातना भोग्न नदे, जसलाई उनीहरूका भावना, देह, सम्भाव्यताहरू, साथै बस्ने कि जाने भन्ने विषयले लगातार यातना दिइरहेको हुन्छ। यी कुराहरूले उनीहरूलाई जति नै यातना दिए पनि, यसले कहीँ पुऱ्याउँदैन। उनीहरू हृदयमा अझै पनि कहिले जाने, कसरी जाने, चाँडै गएमा उनीहरूले घाटा र दुर्भाग्य बेहोर्नुपर्छ कि पर्दैन, र यदि उनीहरूले बसाइ लम्ब्याएमा आशिष्हरू प्राप्त गर्न सक्छन् कि सक्दैनन् भनेर मनन गरिरहेका हुन्छन्। यदि उनीहरू निस्केर गए अनि परमेश्वरका वचनहरू पूरा भए भने के हुन्छ? यदि उनीहरू निस्केर गएनन् र परमेश्वरका वचनहरू पूरा भएनन् भने के हुन्छ? उनीहरूले यी कुराहरूबारे लगातार चिन्ता गर्नुपर्ने र बेचैन हुनुपर्ने आवश्यकता छैन। उनीहरूले साँचो इच्छुकताका साथ परमेश्वरमा विश्वास नगरिरहेको हुनाले, उनीहरू सकेसम्म चाँडो निस्केर जानुपर्छ। उनीहरू यहाँ आफ्नो व्यक्तिगत लाभका लागि परिस्थितिको फाइदा उठाउने कोसिस गर्दै, आफू जे होइन त्यो भएको नाटक गर्दै बस्नु हुँदैन। ल भन्, के उनीहरूलाई यस्तो सल्लाह दिनु र यसलाई यसरी सम्हाल्नु राम्रो हो? (हो।) के अवसरवादीहरूलाई निकाला वा निष्कासन गरिनुपर्ने विभिन्न किसिमका दुष्ट मानिसहरूमा वर्गीकरण गर्नु अतिशयोक्ति हुन्छ? (हुँदैन।) कतिपय मानिसहरू भन्छन्: “यस्ता मानिसहरूलाई कसरी दुष्ट मानिस मान्न मिल्छ?” अविश्वासीहरूमध्ये कति जना चाहिँ राम्रा हुन्छन्? परमेश्वरका नजरमा, परमेश्वरमा विश्वास गर्ने र परमेश्वरको अस्तित्वलाई मान्नेहरूको स्वभाव सारलाई त दुष्ट मानिन्छ, झन् परमेश्वरमा पटक्कै विश्वास नगर्ने र परमेश्वरको अस्तित्वलाई मान्दै नमान्नेहरूको त कुरै छाडौँ। त्यसकारण के उनीहरूलाई दुष्ट मानिसहरूमा वर्गीकृत गर्नु अतिशयोक्ति हुन्छ? (हुँदैन।) जे भए पनि, उनीहरूलाई कम्तीमा अझै पनि मानिस—दुष्ट मानिस—भनेर बोलाइन्छ। उनीहरू दुष्ट पिशाचहरूमा वर्गीकृत नहुनु नै पर्याप्त हो। उनीहरूलाई दुष्ट मानिसहरूमा वर्गीकरण गर्नु पूर्ण रूपमा उचित र सुहाउँदो हुन्छ; त्यो बिलकुलै अतिशयोक्ति हुँदैन। त्यस्ता दुष्ट मानिसहरू पनि परमेश्वरको घरद्वारा निकाला वा निष्कासन गरिनुपर्ने विभिन्न प्रकारका मानिसहरूमध्ये एक हुन्। यो चौथो प्रकारको अविश्वासी हो, जसको परमेश्वरमा विश्वास गर्नुको उद्देश्य अवसरवादी हुन्छ।
अवसरवादीहरूका मुख्य विशेषताहरू के-के हुन्? तिमीहरूले यी मानिसहरूसँग गरेको अन्तरक्रियामार्फत र उनीहरूले प्रकट गर्ने स्वभाव, दृष्टिकोण, मनोवृत्ति, वा मानवता हेर्दा, तिमीहरूले के-के मुख्य विशेषताहरू पायौ? तिनलाई सारांशमा भन। (अवसरवादीहरू सुरुमा सत्यता पछ्याउनका लागि परमेश्वरमा विश्वास गर्न आउँदैनन्। उनीहरूले सर्वशक्तिमान् परमेश्वरको मण्डली फस्टाइरहेको छ भन्ने कुरा सुन्छन्, त्यसैले उनीहरू केवल परमेश्वरको घरबाट केही फाइदा र आशिष् पाउने आशा बोकेर परमेश्वरमा विश्वास गर्न आउँछन्, नाफा खोज्छन्। अनि यदि केही समयपछि उनीहरूले यी कुराहरू पाएनन् भने, उनीहरू निस्केर जान चाहन्छन्। यी मानिसहरूले निष्कपटतासाथ परमेश्वरमा विश्वास गर्दैनन् र परमेश्वरमा विश्वास गर्नमा बिलकुलै रुचि राख्दैनन्।) अवसरवादीहरूमा भएको सबैभन्दा ठूलो समस्या के हो? मुख्य समस्या के हो भने, उनीहरूलाई सत्यतामा रुचि हुँदैन तर आशिष्हरू प्राप्त गर्नमा सबैभन्दा बढी रुचि हुन्छ, त्यसकारण उनीहरूका लागि सत्यतालाई स्विकार्नु सबैभन्दा कठिन हुन्छ। कतिपय मानिसहरू भन्छन्: “उनीहरूले सत्यतामा रुचि नराखेकै कारण तपाईँले उनीहरूलाई निकाल्न वा निष्कासित गर्न त मिल्दैन नि, होइन र?” यी मानिसहरूलाई सत्यतामा रुचि नहुने कुरा मुख्य गरी उनीहरूले परमेश्वरका वचनहरू कहिल्यै नपढ्नु वा सत्यताबारे सङ्गति नगर्नुमा देखिन्छ। यदि उनीहरूले कसैले सत्यताबारे सङ्गति गरिरहेको र आफूलाई चिन्नेबारे कुरा गरिरहेको, वा समस्याहरू समाधान गर्नका लागि सत्यता खोजिरहेको सुनेमा, उनीहरूलाई हृदयमा विशेष प्रकारको वितृष्णा हुन्छ र पूर्ण रूपमा अरुचि हुन्छ, अनि उनीहरू उँघ्न थाल्छन्। उनीहरू यी कुराहरूप्रति अत्यन्तै वितृष्ण हुन्छन्, र बेकारका कुरासमेत गर्छन्, प्रकोपहरूबारे कुरा गर्छन्, र अरूको सत्यता सङ्गतिमा बाधा दिनका लागि परमेश्वरले चिन्ह र चमत्कारहरू देखाउनेबारे छलफल गर्छन्। फलस्वरूप, यी विषयहरू सुन्दा सत्यता नपछ्याउने कतिपय मानिसहरू उत्साहित हुन्छन् र छलफलमा जोडिन्छन्। के यो खुल्लमखुल्ला मण्डली जीवनमा बाधा दिनु होइन र? उनीहरू दैनिक जीवनमा परमेश्वरका वचनहरू बिरलै पढ्छन्, र कहिलेकाहीँ पढ्दा पनि, सायद उनीहरूलाई भित्र केही कुराले सताइरहेकाले उनीहरू त्यसो गर्छन्। उनीहरू भेलाहरूमा, परमेश्वरका वचनहरू खान र पिउनमा, वा परमेश्वरका वचनहरूबारे सङ्गति गर्नमा रुचि राख्दैनन्। उनीहरू यस्ता कुरामा मात्र ध्यान दिन्छन्: “परमेश्वरको दिन कहिले आउला? महाविपत्तिहरू कहिले सक्किएलान्? हामीले कहिले स्वर्गको राज्यका आशिष्हरूको आनन्द उठाउन पाउँछौँ होला?” उनीहरू सधैँ यी कुराहरूबारे सोचिरहेका हुन्छन्। यदि कसैले पनि यी विषयहरूबारे छलफल गरेन भने, उनीहरू अनलाइनमा गएर खोज्छन्, र खोजेपछि, उनीहरूले भेलाहरू दौरान यी कुराहरू फैलाउन थाल्छन्। उनीहरूको हृदय यी कुराहरूले भरिएको हुन्छ। उनीहरूले अरूले आफूलाई रुचि भएका विषयहरूमा सङ्गति गरेको सुनुन्जेल, उनीहरू बीचमा बोल्न र सङ्गतिमा सामेल हुन सक्छन्। तर उनीहरूले सत्यता वा परमेश्वरका वचनहरूसँग सम्बन्धित विषयवस्तु सुन्नेबित्तिकै उनीहरू सुन्नै चाहँदैनन्। उनीहरू उँघ्न थाल्छन्, र कति त निस्केर जाने पनि गर्छन्, जबकि अरू चाहिँ छटपटाउन थाल्छन्—उनीहरूले हरप्रकारका कुरूप मुखाकृतिहरू देखाउँछन्। तँ भन्छस्, “परमेश्वरका वचनहरूबारे सङ्गति गरौँ”। उनीहरू भन्छन्, “मलाई तिर्खा लागेको छ, मैले अलिकति पानी पिउनु पर्छ”। तँ भन्छस्, “आफूलाई चिन्ने बारेमा सङ्गति गरौँ” वा “कर्तव्य पूरा गर्नुका विवरणहरूबारे सङ्गति गरौँ; यसका बारेमा परमेश्वरका वचनहरूले के भन्छन्, र सत्यता सिद्धान्तहरू के हुन् भनेर हेरौँ”। उनीहरू भन्छन्, “मेरो केही काम छ। म निस्किन लागेको। तिमीहरू राम्रोसँग गफगाफ गर।” उनीहरूले परमेश्वरका वचनहरू र सत्यताबारे सङ्गति गर्न अस्वीकार र इन्कार गर्नका लागि अनेक प्रकारका बहानाहरू भेट्टाउँछन्। यसले उनीहरूले सत्यतालाई प्रेम नगर्ने मात्र नभई, उनीहरू हृदयको गहिराइबाट नै सत्यताप्रति वितृष्ण छन् र त्यसको प्रतिरोध गर्छन् भन्ने तथ्य प्रस्ट रूपमा खुलासा गर्छ। जब पनि परमेश्वरका वचनहरू, सत्यता उल्लेख हुन्छ, उनीहरूले खुलेआम विरोध वा बहस गर्दैनन्, तर तिनलाई अस्वीकार गर्ने र पन्छाउने विभिन्न बहानाहरू भेट्टाउँछन्। के यी व्यवहारहरूले उनीहरू अवसरवादी हुन् भन्ने कुरा प्रस्ट रूपमा देखाउन सक्दैनन् र? के यसले उनीहरू कुनै निश्चित उद्देश्यका लागि, अवसरवादका लागि परमेश्वरमा विश्वास गरिरहेका अविश्वासीहरू हुन् भनेर प्रस्ट रूपमा जनाउँदैन र? (जनाउँछ।) कतिपय मानिसहरू भन्छन्: “तपाईँले उनीहरू अविश्वासी हुन् र उनीहरूले निष्कपटताका साथ परमेश्वरलाई पछ्याइरहेका छैनन् भनेर भन्नुहुन्छ, त्यसोभए उनीहरू किन अहिलेसम्म विश्वास गर्न सक्षम छन् र मण्डलीको कामका लागि परिश्रम गर्छन् र कठिनाइ सहन्छन् त?” के यस प्रश्नको जवाफ दिनका लागि हामीले भर्खरै उल्लेख गरेका व्यवहारहरू नै काफी छैनन् र? हामीले उनीहरूलाई सही रूपमा खुट्ट्याएका र चित्रण गरेका छौँ भनेर प्रमाणित गर्न यी व्यवहारहरू नै काफी छन्। त्यसकारण, कुनै व्यक्तिले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य अवसरवादी छ कि छैन भनी मापन गर्नका लागि, तैँले त्यो कुरालाई परमेश्वर, परमेश्वरको काम, सत्यताप्रति, साथै सकारात्मक र नकारात्मक कुराहरूप्रति उसको मनोवृत्तिका आधारमा मापन गर्नुपर्छ र खुट्ट्याउनुपर्छ। यो सबैभन्दा सही हुन्छ। उनीहरूका बाहिरी व्यवहार र क्रियाकलापका आधारमा मापन गर्नु सही र वस्तुगत हुँदैन। उनीहरूका साँचो भित्री सोचहरू, साथै परमेश्वर र सत्यताप्रति उनीहरूको मनोवृत्तिले मात्र समस्याहरू प्रकाश गर्छन्; उनीहरू कस्ता प्रकारका व्यक्ति हुन् भनी चित्रण गर्नका लागि यी मात्र सबैभन्दा सही मानकहरू हुन्। अब, के तिमीहरू अवसरवादी उद्देश्यले परमेश्वरमा विश्वास गर्नेहरूको सारबारे मूलतः प्रस्ट भयौ? के तिमीहरू सबैले यस्ता केही मानिसहरू सामना गरेका छौ? (गरेका छौँ।) यस्ता मानिसहरू चाँडोभन्दा चाँडो निस्केर जानु नै राम्रो हुन्छ। यदि उनीहरू साँच्चिकै सेवा प्रदान गर्न इच्छुक छन् भने, उनीहरूलाई मन नलाग-नलागी राख्न सकिन्छ। तर, यदि उनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दैनन् र कुनै सेवा प्रदान गर्न सक्दैनन्, तर मण्डलीको काम र मण्डली जीवनमा बाधा सिर्जना गर्छन् र नकारात्मक असर पार्छन् भने, उनीहरूलाई चाँडोभन्दा चाँडो निस्केर जान लगाउनुपर्छ। अविश्वासीहरूलाई निकाल्ने सिद्धान्त यही हो। परमेश्वरको घरलाई निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्ने र सत्यतालाई प्रेम गर्ने मानिसहरू चाहिन्छ; त्यसलाई वफादार सेवाकर्ताहरू चाहिन्छ। त्यसलाई सङ्ख्या पुर्याउनका लागि मात्र अविश्वासीहरू वा आनाकानी गर्दै पालन गर्नेहरू बिलकुलै चाहिँदैन। मण्डलीलाई सङ्ख्या पुर्याउनका लागि पनि कोही पनि चाहिँदैन। हामी यो विषयको सङ्गतिलाई यहीँ टुङ्ग्याउँछौँ।
ङ. मण्डलीको भरमा बाँच्नु
यसपछि हामी पाँचौँ उद्देश्य, मण्डलीको भरमा बाँच्नका निम्ति परमेश्वरमा विश्वास गर्नेबारे सङ्गति गर्नेछौँ। तिमीहरू सबै मण्डलीको भरमा बाँच्नु भन्ने यस विषयसँग परिचित छौ, होइन र? (हो।) मण्डलीको भरमा बाँच्ने मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? हामीले के-कस्ता प्रकटीकरणहरूमार्फत उनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य अशुद्ध छ, उनीहरू निष्कपट रूपमा परमेश्वरलाई पछ्याइरहेका छैनन्, वा मुक्ति हासिल गर्ने कोसिस गरिरहेका छैनन्, र उनीहरू मुक्ति प्राप्त गर्ने लक्ष्य हासिल गरौँ भनेर परमेश्वरको अस्तित्वमा विश्वास गर्ने र परमेश्वरको मुक्ति स्विकार्ने तत्परताका आधारमा सत्यता पछ्याउन र स्विकार्न अनि परमेश्वरका वचनहरू अभ्यास गर्न आएका होइनन्, बरु मण्डलीको भरमा बाँच्न आएका हुन् भनेर निर्धारण गर्न सक्छौँ? मण्डलीको भरमा बाँच्नुको अर्थ के हो? सतही अर्थ निकै प्रस्ट छ। यसको अर्थ आफ्नो दैनिक जीवनसँग सम्बन्धित समस्याहरू र भोजन सुनिश्चित गर्ने समस्या समाधान गर्नका निम्ति धार्मिक विश्वासमार्फत कुनै सम्प्रदायमा आबद्ध हुनु हो। यो नै मण्डलीको भरमा बाँच्नुको सबैभन्दा सङ्क्षिप्त, र सटीक परिभाषा हो, र यो सबैभन्दा स्पष्ट परिभाषा पनि हो। त्यसोभए यी मानिसहरू साँचो विश्वासी होइनन्, बरु उनीहरू मण्डलीको भरमा बाँच्न आएका हुन् भन्ने कुरा पुष्टि गर्ने यी मानिसहरू के-कस्ता प्रकटीकरणहरू देखाउँछन्? कतिपय मानिसहरूसँग कुनै निश्चित सीपमा दक्षता र सामान्य व्यक्तिले जस्तै काम गर्ने क्षमता हुन्छ, तर उनीहरूले यो समाज अन्यायपूर्ण छ र त्यहाँ काम गरेर जीविका चलाउन सजिलो छैन भन्ने देख्छन्। आफ्नो परिवारका सबै सदस्यलाई पाल्नका निम्ति काम गरेर पैसा कमाउनका लागि सबेरै उठ्न र अबेरसम्म नसुत्न, धेरै कष्टहरू सहन, र धेरै गुनासाहरू सहन आवश्यक हुन्छ—ऊ चतुर र लचिलो पनि हुनुपर्छ, तर पर्याप्त मात्रामा कठोर र खराब पनि हुनुपर्छ, साथै उसमा युक्ति र क्षमताहरू हुनैपर्छ—त्यसपछि मात्र उसले स्थिर जीविकोपार्जन सुनिश्चित गर्न र आफूलाई समाजमा स्थापित गर्न सक्छ। जुन उद्योगमा भए पनि र आफू माथिल्लो, मध्यम वा तल्लो सामाजिक वर्गहरूमा पर्ने भए पनि, काम गर्नेहरूलाई हेर्दा, जीविका चलाउनु सजिलो छैन। प्रशासनिक कामदारहरूले आकर्षक रूप, उच्च नामपदवी, उच्च शैक्षिक योग्यता, साथै ठूला तलब र फाइदाहरू देखाएर मानव स्वरूपको खोल ओढ्छन्, र सबैले उनीहरूको ईर्ष्या गर्छन्, तर उनीहरूले कार्यस्थलमा सामना गर्ने प्रत्येक बाधा एउटा कठिन परीक्षा हुन्छ। कुनै पनि क्षेत्रमा काम गर्न सजिलो छैन। किसान भएर खेती गर्नु झनै गाह्रो छ। किसानहरूले निकै कठिन परिश्रम गर्छन् र तैपनि उनीहरूले आफ्ना परिवार पाल्न पुग्ने खाना मात्र पाउँछन्, उनीहरूसँग लत्ताकपडा र अन्य आवश्यक सामग्री किन्न, वा घर मर्मत गर्नका लागि पैसा हुँदैन, र जब उनीहरू केही पैसा खर्च गर्न चाहन्छन्, उनीहरू तरकारी बिक्री वा पशुपालनमा भर पर्नुपर्छ—किसान हुनु झन् दयनीय छ! गैरविश्वासीहरूले भन्ने गरे जस्तै, “पैसा कमाउन गाह्रो छ—जन्मिनु सजिलो छ, तर जिउन गाह्रो छ”—जीविका चलाउन निकै गाह्रो छ। कतिपय मानिसहरूसँग जीविकोपार्जनको कुनै माध्यम हुँदैन, अनि उनीहरूले गैरविश्वासीहरू अत्यन्तै खराब हुन्छन् भन्ने देख्छन्, र धार्मिक आस्था भएकाहरू निष्कपट हुन्छन्, साथै मण्डलीमा जीविका चलाउन अलि सजिलो हुन सक्छ भन्ने सोच्छन्, त्यसैले उनीहरू मण्डलीमा घुसपैठ गर्न परमेश्वरको घरले सुसमाचार प्रचार गरिरहेको अवसरलाई उपयोग गर्छन्। अनि कर्तव्य पूरा गर्नेहरूलाई खाना दिइन्छ भन्ने सुनेपछि, उनीहरू कर्तव्य पूरा गर्न आउँछन्। कर्तव्य पूरा गर्न चाहने कतिपय मानिसहरू यसो सोच्छन्, “मेरो परिवारको कमाउने मान्छे म नै हुँ। जबसम्म घरको खेतमा खेती गर्ने मानिसहरू हुन्छन्, र मेरो परिवारको जीविकोपार्जनका खर्चहरू आपूर्ति हुन्छन्, म आफ्नो कर्तव्य पूरा गर्नेछु।” उनीहरूले परमेश्वरमा विश्वास गर्नु र कर्तव्य पूरा गर्नुको मुख्य उद्देश्य भनेको उनीहरूको जीविका सुनिश्चित गर्नका लागि पर्याप्त मात्रामा खाना र न्याना कपडाहरू प्राप्त गर्नका लागि—दैनिक तीन छाक खानका लागि, र उपरान्त जिउनका लागि काम गरेर पैसा कमाउनमा भर पर्नु नपर्नका लागि हो; जबसम्म उनीहरूलाई मण्डली र दाजुभाइ-दिदीबहिनीहरूको सहायता मिल्छ, तबसम्म उनीहरूका लागि सबै कुरा ठिकै हुन्छ। यो लक्ष्य हासिल गर्न, उनीहरू मण्डलीले उनीहरूका लागि प्रबन्ध गरेको जस्तोसुकै काम गर्छन्। कतिपय त्यस्ता मानिसहरू पनि हुन्छन्, जो मण्डलीमा प्रवेश गरेपछि, कसरी अगुवा बन्ने र प्रवचनहरू प्रचार गर्ने भनेर सिक्न थाल्छन्। उनीहरूले परमेश्वरका वचनहरू धेरै पढ्छन्, तिनलाई कापीमा सारेर धेरै घोक्छन्, अनि घोकिसकेपछि, उनीहरू अरूलाई प्रचार गर्न र मानिसहरूलाई समस्याहरू समाधान गर्न मदत गर्न सिक्छन्। उनीहरूले सबैलाई सहयोग गर्न हरसम्भव उपाय लगाउँछन्, र उनीहरूको सहयोग पाएपछि मानिसहरूले उनीहरूलाई सहयोगको हात फैलाउनेछन्, र उनीहरूले प्रचार गरेका प्रवचन र परमेश्वरका वचनहरू सुनेपछि मानिसहरू उनीहरूप्रति कृतज्ञ हुनेछन्, र यसरी मानिसहरूले उनीहरूलाई दान र सहायता प्रदान गर्नेछन् भन्ने आशा गर्छन्। उदाहरणका लागि, यदि उनीहरूसँग घरमा पानी र बत्तीको बिल तिर्ने पैसा छैन भने, दाजुभाइ-दिदीबहिनीहरूले उनीहरूलाई तिर्न सहयोग गर्न सक्छन्, अनि यदि उनीहरूसँग आफ्ना छोराछोरीको शिक्षा शुल्क तिर्ने वा आफ्ना बिरामी आमाबुबाको उपचार खर्च बेहोर्ने पैसा छैन भने, मण्डली अथवा दाजुभाइ-दिदीबहिनीहरूले यी पैसाहरू जुटाइदिन सक्छन्, किनभने उनीहरू कर्तव्य पूरा गरिरहेका हुन्छन्। यसरी, उनीहरूले परमेश्वरमा विश्वास गर्न सहज महसुस गर्छन् र परमेश्वरमाथिको उनीहरूको विश्वास सार्थक छ, यसले उनीहरूलाई कुनै घाटा पुर्याएको छैन, र उनीहरूले आफ्नो लक्ष्य हासिल गरेका छन् भन्ने महसुस गर्छन्। उनीहरूले हृदयमा यसो भन्दै निरन्तर परमेश्वरलाई धन्यवाद दिन्छन्, “यो सबै परमेश्वरको अनुग्रह हो, परमेश्वरको निगाह हो। परमेश्वरलाई धन्यवाद!” परमेश्वरको प्रेम “चुक्ता” गर्नका निम्ति, उनीहरू मण्डलीका प्रबन्धहरू “पालना” गर्छन्, र जबसम्म उनीहरूलाई खाना र जीविकोपार्जनका खर्चहरू प्रदान गरिन्छ, उनीहरूले जस्तोसुकै कार्य पनि गर्नेछन्—उनीहरूको उद्देश्य त्यसको बदलामा स्थिर जीविकोपार्जन सुनिश्चित गर्ने मात्र हो। मण्डलीले उनीहरूका जीवनयापनका आवश्यकताहरूलाई बेवास्ता गरेर सामयिक रूपमै उनीहरूका कठिनाइहरू समाधान नगरेपछि, उनीहरू बेखुस हुन्छन्। मण्डलीको काम र परमेश्वरको घरले उनीहरूलाई खटाएकाa कर्तव्यहरूप्रति उनीहरूको मनोवृत्ति तुरुन्तै बदलिन्छ। उनीहरू भन्छन्, “यसरी हुँदैन, म बाहिर गएर पैसा कमाउनैपर्छ। विगतमा, मसँग पैसा कमाउने अवसर नै थिएन, किनभने म मण्डलीको काम गरिरहेको थिएँ। मैले व्यक्तिगत रूपमा त्यो काम गर्न देखा परेर बारम्बार ठूलो रातो अजिङ्गरद्वारा पक्राउ गरिने जोखिम पनि लिएँ, र मलाई मानिसहरूले सबैतिर चिन्छन्। अब मलाई पैसा कमाउन सहज छैन। म के गरूँ?” यस्तो परिस्थितिमा, उनीहरूले दाजुभाइ-दिदीबहिनीहरूसामु सक्रिय रूपमा आफ्ना कठिनाइ र मागहरू प्रस्तुत गर्नेछन्, परमेश्वरको घरलाई समेत सम्पर्क गरेर मागहरू राख्छन्। कतिपय मानिसहरूसँग आफ्नो जीवनयापन खर्च वा बुढेसकालका लागि पैसा हुँदैन, तर उनीहरू आफैले यी समस्याहरू समाधान गर्दैनन्। त्यसको साटो, उनीहरू आफ्नो जीवनयापन खर्च कमाउनका लागि परमेश्वरको घरमा मेहनत लगाउनमा भर पर्न चाहन्छन्। कतिपय मानिसहरूले यसलाई अघि लिएर जान्छन्—उनीहरू परमेश्वरको घरसँग उनीहरूको जीवनयापन खर्च, छोराछोरीलाई हुर्काउने खर्च र आमाबुबालाई पाल्ने खर्च प्रदान गर्न माग गर्ने मात्र नभई आफ्नो स्वास्थ्योपचार खर्चका लागि समेत पैसा माग्छन्। कतिपय मानिसहरूले त आफ्नो ऋण तिर्नका लागि समेत परमेश्वरको घरबाट पैसा माग्छन्—उनीहरूका मागहरू झन्-झन् अतिशय हुँदै जान्छन्, र उनीहरू साँच्चिकै निर्लज्ज भएर त्यस्ता कुराहरू माग्छन्। केही मानिसहरू परमेश्वरमा विश्वास गर्न आएपछि र मण्डलीमा आबद्ध भएपछि उनीहरूको खर्चका लागि परमेश्वरको घरले तिरेको पैसा, र उनीहरूले सक्रिय रूपमा माग गर्ने थप रकम, उनीहरूले काम गरेर कमाउने पैसाभन्दा बढी हुन पुग्छ। यी सर्तहरू पूरा भएका आधारमा, उनीहरूले परमेश्वरको घरले खटाएको काम बाहिरी रूपमा लगनशीलता र ठूलो बफादारीका साथ गरेको झैँ देखिन्छ। तर, जब यी फाइदाहरू घट्छन् वा हराउँछन्, उनीहरूको मनोवृत्ति बदलिन्छ। मण्डलीले खटाएको कामप्रति उनीहरूको मनोवृत्ति, उनीहरूप्रति दाजुभाइ-दिदीबहिनीहरूको मनोवृत्तिका आधारमा र उनीहरूलाई परमेश्वरको घरले प्रदान गरेको आर्थिक सहयोगको मात्राका आधारमा फरक हुन्छ। जब उनीहरूले उपभोग गरेको अनुग्रह फिर्ता लिइन्छ वा समाप्त हुन्छ, त्यसउप्रान्त उनीहरूले आफ्ना कर्तव्यहरू पूरा गरिरहेको देखिँदैन। यी मानिसहरूले परमेश्वरमा विश्वास गर्न थालेदेखि नै, कसरी छलकपट गरेर परमेश्वरको घरमा स्थानमा पुग्न, र यहाँ जरा गाडेपछि “अधिकारपूर्वक” दाजुभाइ-दिदीबहिनीहरूको दान र सहयोग, साथै आफ्नो दैनिक जीवनका लागि परमेश्वरको घरको सहयोग र त्यसका आपूर्तिहरूको आनन्द उठाउन सकिन्छ भनी लेखाजोखा गर्न थाल्छन्। उनीहरू निष्कपट रूपमा परमेश्वरप्रति आफूलाई समर्पित गरिरहेका पटक्कै हुँदैनन्, उनीहरू निःसर्त रूपमा आफूलाई समर्पित गर्न बिलकुलै आउँदैनन्—बरु उनीहरू एउटा मात्र उद्देश्य लिएर मण्डलीमा आबद्ध हुन्छन्, जुन त्यसमा भर परेर बाँच्नु र जीवनयापन सुरक्षित गर्नु हो। उनीहरूले चाहेअनुसार यो उद्देश्य हासिल हुन नसक्ने भएपछि, उनीहरू तुरुन्तै शत्रुवत् बन्छन्, र तुरुन्तै आफ्नो असली अनुहार प्रकाश गर्छन्, जुन अविश्वासीको मुहार हुन्छ। उनीहरूले परमेश्वरमा विश्वास गर्न थालेदेखि नै, उनीहरू निष्कपट रूपमा आउँदैनन्; उनीहरू इनाम नमागी, र बदलामा केही पनि माग नराखी निष्कपट रूपमा परमेश्वरलाई पछ्याउने, वा स्वेच्छाले परमेश्वरका निम्ति कामकुरा त्याग्ने र आफूलाई परमेश्वरप्रति समर्पित गर्ने गर्दैनन्। बरु, उनीहरू आफ्नै माग, अभिप्रायहरू, र उद्देश्य लिएर परमेश्वरमा विश्वास गर्न आउँछन्—उनीहरूले परमेश्वरमा विश्वास गर्ने भएकाले उनीहरूको उद्देश्य दृढतापूर्वक मण्डलीको भरमा बाँच्ने र जीवनयापन गर्नका लागि मण्डली र दाजुभाइ दिदीबहिनीहरूमा भर पर्ने हुन्छ। यो उद्देश्य आफूले चाहेअनुसार हासिल वा पूरा गर्न नसकिने भएपछि, उनीहरूले काम गर्न गएर वा व्यापार गरेर, अघि बढ्ने अर्को मार्ग खोज्छन्। के यस्ता मानिसहरू हुँदैनन् र? (हुन्छन्।) मण्डलीमा यस प्रकारका केही मानिसहरू हुन्छन्। सुरुमा, जब परमेश्वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूले उनीहरूलाई दानमा कपडा, दैनिक आवश्यकताका सामानहरू, वा पैसा जस्ता केही कुराहरू दिन्छन्, उनीहरूले बाहिरी रूपमा लाज मानेका जस्ता देखिन्छन् तर वास्तवमा भित्री रूपमा हर्षले गद-गद भइरहेका हुन्छन्। उदाहरणका लागि, मानौँ उनीहरूले एक-दुई जना दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथि सत्कार गर्छन् वा पूर्णकालीन रूपमा कर्तव्य पूरा गर्छन्, त्यसैले परमेश्वरको घरले वा दाजुभाइ-दिदीबहिनीहरूले उनीहरूका परिवारलाई केही दान र आर्थिक सहायता दिन्छन्। उनीहरू परमेश्वरमा विश्वास गर्नु सार्थक र लाभदायक भएको, र उनीहरूलाई घाटा नभएको सोचेर यसबारे निकै खुसी र सन्तुष्ट हुन्छन्। समय बित्दै जाँदा, उनीहरूको हृदय झन्-झन् लोभी हुँदै जान्छ, उनीहरूका हातहरू झन्-झन् फैलिन्छन्, र उनीहरू झन्-झन् निर्लज्ज बन्दै जान्छन्—जति दिए पनि, उनीहरू कहिल्यै सन्तुष्ट हुँदैनन्। प्रारम्भिक रूपमा, उनीहरूलाई चीजहरू स्विकार्न लाज लाग्छ, तर समयसँगै, उनीहरूले त्यसलाई केही हदसम्म न्यायसङ्गत ठान्छन्, र त्यसपछि उनीहरू त्यो पर्याप्त भएन भनेर वैमनस्य राख्न थाल्छन्। पछि, उनीहरू परमेश्वरको घरले निश्चित रकम दिनैपर्छ; नत्र, उनीहरू बाँच्न सक्नेछैनन्, र उनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्न सक्नेछैनन् भनेर सिधै माग राख्छन्। के उनीहरूको लोभ झन्-झन् बढिरहेको हुँदैन र? (हुन्छ।) त्यति धेरै अनुग्रहको आनन्द उठाएका भए पनि, उनीहरूले त्यो चुक्ता गर्नेबारे नसोच्ने मात्र नभई परमेश्वरको घरसँग झन्-झन् बढी माग राख्ने समेत गर्छन्। उनीहरू परमेश्वरको घर उनीहरूप्रति ऋणी छ, दाजुभाइ-दिदीबहिनीहरू उनीहरूप्रति ऋणी छन्, र उनीहरूलाई दान र आर्थिक सहयोग दिनु नै ठीक हो भन्ने विश्वास गर्छन्। यदि उनीहरूलाई कम दिइयो वा उनीहरूले ढिलो प्राप्त गरेमा, उनीहरू खुसी हुँदैनन्। उनीहरूलाई जतिसुकै पैसा र जस्तोसुकै चीजहरू दिइए पनि उनीहरू स्विकार्छन्, र त्यो नै ठीक हो भन्ने ठान्छन्। जब उनीहरूले लामो समयसम्म आफ्नो कर्तव्य पूरा गर्न जारी राख्छन्, तब उनीहरू आफू अझ बढी हकदार भएको महसुस गर्छन् र परमेश्वरको घरले उनीहरूलाई महँगा मोबाइल फोन र कम्प्युटरहरू उपलब्ध गराउनुपर्ने माग गर्न थाल्छन्। उनीहरूले परमेश्वरको घरले उनीहरूका घरमा एयर कन्डिसनर जडान गरिदिनुपर्ने र माइक्रोवेभ र भाँडा धुने मेसिन जस्ता घरायसी उपकरणहरू उपलब्ध गराइदिनुपर्ने माग पनि राख्छन्। उनीहरू परमेश्वरको घरले उनीहरूलाई घर किनिदिनुपर्ने र गाडी उपलब्ध गराउनुपर्ने मागसमेत राख्छन्, र कतिपयले नोकर्नी माग गर्छन्। उनीहरूका मागहरू ठूला बन्दै जान्छन् र उनीहरूको लोभ बढ्दै जान्छ, अनि अन्ततः उनीहरू बेतुका अत्यधिक मागहरू राख्छन्, र जे पनि माग्ने दुस्साहस गर्छन्। उनीहरू यस्तो विश्वास गर्छन्, “परमेश्वरमाथिको मेरो विश्वासमा परमेश्वरको घरका लागि मैले आफूलाई समर्पित गरेको छु र मेहनत लगाएको छु। म परमेश्वरको घरको हिस्सा हुँ। तिमी मानिसहरू परमेश्वरलाई अति धेरै भेटीहरू दिन्छौ—एक भाग मलाई दिँदा के हानि हुन्छ? त्यसमाथि, यदि तिमीहरूले मलाई एक भाग दियौ भने, त्यो व्यर्थ हुनेछैन; म पनि परमेश्वरको घरमा मेहनत लगाउँछु र जोखिमहरू लिन्छु, म पनि कष्ट सहन्छु र मूल्य चुकाउँछु। के मैले यी चीजहरूको आनन्द उठाउन पाउनु नै ठीक होइन र? त्यसकारण, परमेश्वरको घरले निःसर्त रूपमा मेरा मागहरू पूरा गर्नैपर्छ, मलाई जे चाहिए पनि दिनुपर्छ, र त्यो लोभी हुनु हुँदैन।” ल भन्, के यी मण्डलीको भरमा बाँच्नुका प्रकटीकरणहरू होइनन् र? के यस्ता मानिसहरू अविश्वासी होइनन् र? (हुन्।) यी व्यवहारहरूको सही चित्रण भनेको मण्डलीको भरमा बाँच्नु हो। मण्डलीको भरमा बाँच्नुको अर्थ के हो? यसको अर्थ परमेश्वरमा विश्वास गर्ने नाममा परमेश्वरको घरबाट जबरजस्ती पैसा र सरसामानहरू असुल्नु, र परमेश्वरको घरका लागि मेहनत लगाएको र कर्तव्य पूरा गरेको नाममा परमेश्वरको घरबाट मुआब्जा माग गर्नु हो। मण्डलीको भरमा बाँच्नुको अर्थ यही हो। के त्यस्ता मानिसहरूले सत्यता पछ्याउन सक्छन्? (सक्दैनन्।) उनीहरू किन चीजहरू त्याग्ने, मेहनत लगाउने, र कष्ट सहने गर्छन्? के तिनीहरू कर्तव्य पूरा गर्नका लागि त्यसो गर्छन्? के उनीहरू सत्यता अभ्यास गरिरहेका हुन्छन्? (हुँदैनन्।) उनीहरूले मेहनत गर्नु र कष्टहरू सहनुको उद्देश्य आफ्नो कर्तव्य पूरा गर्नु बिलकुलै होइन, बरु पूर्णतया जीवनयापन सुनिश्चित गर्नु हो, र उनीहरूले कसैलाई पनि आफ्नो आलोचना गर्न दिँदै दिँदैनन्—उनीहरू त केवल जायज रूपमा मण्डलीको भरमा बाँच्न चाहन्छन्। यिनीहरू मण्डलीको भरमा बाँच्ने मानिसहरू हुन्।
मण्डलीको भरमा बाँच्नेहरू अरू कुनै कारणले नभई आफ्नो जीविका सुनिश्चित गर्न, जीविकोपार्जन प्राप्त गर्नका लागि परमेश्वरमा विश्वास गर्छन्। के तिमीहरू वरपर मण्डलीको भरमा बाँच्ने मानिसहरू छन्? उनीहरूका प्रकटीकरणहरूबारे कुरा गर। (मैले यस्तो प्रकारको मानिस भेटेको छु। सुरुमा, ऊ अलि तीक्ष्ण बुद्धिको र उत्साही देखिन्थ्यो, त्यसकारण मण्डलीले उसलाई सुसमाचार प्रचार गर्ने प्रबन्ध गर्यो। त्यतिबेला उसको परिवारको जीवन कठिन थियो, त्यसैले मण्डलीले उसलाई केही सहयोग प्रदान गर्यो। तर, पछि उसले सिद्धान्तविना उक्त पैसा खर्च गरेको, खर्च नगर्नुपर्ने ठाउँमा खर्च गरेको र बचत गर्न सकिने ठाउँमा बचत नगरेको पाइयो। दाजुभाइ-दिदीबहिनीहरूले ऊसित सत्यता सिद्धान्तहरू सङ्गति गर्दा, ऊ भित्री रूपमा बेखुस र निकै प्रतिरोधी भयो। उसले परमेश्वरको घरको पैसा दुरुपयोग गरेको हुनाले, मण्डलीले परमेश्वरको घरका प्रबन्ध र सर्तहरूअनुसार उचित परिमार्जनहरू गर्यो, र उसलाई दिइने आर्थिक सहयोग घटायो। फलस्वरूप, आफ्नो कर्तव्य पूरा गर्नेप्रति उसमा रहेको पहिलेको ऊर्जा घुम्यो, र ऊ बढ्दो रूपमा झाराटारुवा बन्यो। पछि, मण्डलीले उसलाई सहयोग गर्न छोड्यो, अनि त्यस उप्रान्त उसको हृदय कर्तव्य पूरा गर्नमा रहेन। उसले भएभरको समय कसरी काम गर्ने र पैसा कमाउने भनेर सोच्नमै बितायो। उसले गाडी किन्नुपर्ने र कम्पनी खोल्नमा लगानी गर्नुपर्ने, अनि यसले सुसमाचार प्रचार गर्ने काम अझ सहज बनाउने र अझ धेरै मानिसहरू प्राप्त हुने दाबी गर्दै दाजुभाइ-दिदीबहिनीहरूबाट पैसा सापटीसमेत लियो। उसले यी शब्दहरूद्वारा प्रस्ट रूपमा मानिसहरूलाई छलिरहेको र बहकाइरहेको थियो; उसले दाजुभाइ-दिदीबहिनीहरूबाट पैसा धुत्न सुसमाचार प्रचार गर्ने ढोँग गरिरहेको थियो।) यस व्यक्तिलाई कसरी तह लगाइयो? (उसलाई सिधै निष्कासित गरियो।) त्यसो गर्नु नै सही थियो। यो मण्डलीको भरमा बाँच्नु हो। जब मण्डलीको भरमा बाँच्ने मानिसहरू पहिलो पटक परमेश्वरमा विश्वास गर्न आउँछन्, उनीहरू केही हदसम्म जोसिला देखिन्छन् र उनीहरूले आफूलाई थोरै समर्पित गर्छन्, र यो समयमा उनीहरूका मागहरू ठूला हुँदैनन्—उनीहरूलाई खान पाए पुग्छ। तर समय बित्दै जाँदा, उप्रान्त उनीहरू आफूलाई दिइएको कुरामा सन्तुष्ट हुँदैनन् र उनीहरूले झन्-झन् ठूला मागहरू राख्दै जान्छन्, अनि यदि उनीहरूका मागहरू पूरा भएनन् भने, उनीहरू धूर्त तरिकाले व्यवहार गर्न थाल्छन् र उनीहरू सेवा प्रदान गर्न अनिच्छुक बन्छन्। उनीहरूले आफ्ना कर्तव्यहरू अलिकति पूरा गर्दा उनीहरूको निगरानीसमेत गर्नुपर्छ, नत्र उनीहरूले झाराटारुवा तरिकाले कर्तव्य गर्छन्। अन्ततः जब उनीहरूले प्रदान गर्ने सेवाले फाइदाभन्दा बढी हानि गर्ने गरेको पाइन्छ, तब उनीहरूलाई हटाइन्छ। कतिपयले भन्छन्, “परमेश्वरको घरले उनीहरूलाई किन प्रेम देखाउँदैन?” प्रेम देखाउनुका पनि सिद्धान्तहरू छन्। ती मानिसहरू अविश्वासी हुन्, उनीहरू परमेश्वरका वचनहरू पढ्ने, वा सत्यता स्विकार्ने गर्दैनन्, उनीहरू आफ्ना कर्तव्यहरू पूरा गर्दा निरन्तर रूपमा धूर्त र झाराटारुवा शैलीमा कार्य गर्छन्, अनि सत्यता सङ्गति गरिँदा उनीहरू सुन्दैनन्, अथवा कुनै पनि प्रकारको काटछाँट स्विकार्दैनन्, साथै उनीहरूलाई सुधार्न सकिँदैन भनेर भन्न सकिन्छ। परिणामस्वरूप, उनीहरूलाई निकालेर वा हटाएर मात्र तह लगाउन सकिन्छ। यदि अगुवा र कामदारहरूले यस प्रकारको व्यक्ति पत्ता लगाएमा, उनीहरूले उसलाई तत्काल तह लगाउनुपर्छ, र यदि दाजुभाइ-दिदीबहिनीहरूले यस्तो व्यक्ति पत्ता लगाएमा, उनीहरूले तत्कालै यो कुरा अगुवा र कामदारहरूकहाँ रिपोर्ट गर्नुपर्छ। यो परमेश्वरका चुनिएका मानिसहरूमध्ये हरेकको जिम्मेवारी हो। यो व्यक्ति मण्डलीको भरमा बाँचिरहेको छ, ऊ जीविका सुनिश्चित गर्न मात्र खोजिरहेको छ, र ऊ अविश्वासी हो, साथै उसलाई पैसा दिइएन भने उसले काम गर्न अस्वीकार गर्छ, उसलाई पर्याप्त पैसा नदिइएको महसुस हुँदा ऊ अनिच्छुक र शत्रुवत् बन्छ, र पर्याप्त पैसा दिँदा मात्र थोरै काम पूरा गर्छ भन्ने कुरा पुष्टि भएपछि, ऊप्रति कुनै उदारता देखाइनु हुँदैन—उसलाई निकाल्नैपर्छ! ठ्याक्कै भन्नुपर्दा, यस्ता मानिसहरू परमेश्वरको घरमा सेवा प्रदान गर्न पनि उपयुक्त नै हुँदैनन्। यदि तैँले उनीहरूलाई पैसा दिइनस् भने, उनीहरू सेवा प्रदान गर्न इच्छुक हुनेछैनन्; तर तैँले उनीहरूलाई पैसा दिएसम्म, उनीहरूलाई आफूले सेवा प्रदान मात्र गरिरहेको भन्ने थाहा भए पनि, उनीहरू अझै सेवा गर्न इच्छुक हुनेछन्। तर यी अविश्वासीहरूले कस्तो प्रकारको सेवा प्रदान गर्न सक्छन्? उनीहरूले राम्रोसँग सेवा प्रदान गर्न समेत सक्दैनन्, र उनीहरूको सेवा मानकअनुरूप हुँदैन, त्यसैले उनीहरूलाई हटाउनुपर्छ। त्यसकारण, उनीहरू मण्डलीको भरमा बाँच्ने प्रकारका मानिसहरू हुन् भनेर खुट्ट्याइएपछि सबैभन्दा पहिले उनीहरूलाई तह लगाउनुपर्छ र दुष्ट मानिस भनेर मण्डलीबाट निष्कासित गर्नुपर्छ। यसो गर्नु अतिशयोक्ति हुँदै होइन; यो परमेश्वरको घरले मानिसहरूलाई निकाल्ने र निष्कासित गर्ने सिद्धान्तहरूसित पूर्ण रूपमा मिल्छ। के यस प्रकारको व्यक्तिलाई पश्चात्ताप गर्ने मौका दिइनुपर्छ? के उनीहरूलाई निरीक्षणका लागि राख्न आवश्यक छ? (छैन।) के उनीहरू पश्चात्ताप गर्न सक्षम हुन्छन्? (हुँदैनन्।) उनीहरूको प्रकृति ठ्याक्कै यही हो; उनीहरूले कहिल्यै पश्चात्ताप गर्नेछैनन्। उनीहरू शैतान जस्ता मानिसहरू हुन्। शैतान जस्ता मानिसहरूमध्ये, दुष्ट दुर्जन प्रकृतिको एक प्रकारको व्यक्ति हुन्छ, जो जहाँ पनि अरूबाट मुफ्तमा लाभ उठाउन चाहन्छ, र जता गए पनि आफूले गर्नुपर्ने कुनै पनि काममा लाग्दैन, र मानिसहरूको पैसा धुत्न र उनीहरूलाई ठग्न मात्र खोज्छ। उसले परमेश्वरमा विश्वास गर्ने मानिसहरूमा मानवता हुन्छ भन्ने देख्छ र यी मानिसहरूलाई सजिलो निशाना ठान्छन्, त्यसैले ऊ मण्डलीको भरमा बाँच्नका लागि परमेश्वरको घरमा आउँछ। तर परमेश्वरको घरले उसलाई धेरै पहिले खुट्ट्याएको छ र ऊप्रति सावधानी अपनाएको छ, र ऊ जस्ता मानिसहरूलाई निराकरण गर्नका लागि सिद्धान्तहरू बनाएको छ भन्ने कुरा उसलाई थाहा हुँदैन। जब मण्डलीको भरमा बाँच्ने उसका प्रयासहरू असफल हुन्छन्, तब ऊ लज्जित रिसले आगो हुन्छ, र आफ्नो साँचो रङ्ग देखाउँछ। त्यस अवस्थामा, तैँले परमेश्वरको घरले त्यस्ता मानिसहरूलाई किन पश्चात्ताप गर्ने मौका दिँदैन भनेर थाहा पाउनेछस्—किनभने उनीहरूमा मानवता हुँदैन र उनीहरू बदलिन सक्दैनन्। गैरविश्वासीहरूले भन्ने गरेका दुष्ट दुर्जनहरू उनीहरू नै हुन्। त्यसकारण, परमेश्वरको घरले यी मानिसहरूलाई सिधै निकालेर वा निष्कासित गरेर, अनि मण्डलीमा फेरि कहिल्यै फिर्ता नस्विकारेर उनीहरूलाई निराकरण गर्छ। के उनीहरूलाई दुष्ट मानिसका रूपमा तह लगाउनु उचित हो? (हो।) यस विषयमा हाम्रो सङ्गति यहीँ टुङ्गिन्छ।
च. शरण खोज्नु
यसपछि, हामी छैठौँ उद्देश्य, मण्डलीबाट निकालिनुपर्ने वा निष्कासित गरिनुपर्ने छैठौँ प्रकारको अविश्वासी: शरण खोज्ने उद्देश्यले परमेश्वरमा विश्वास गर्ने मानिसहरूबारे सङ्गति गर्नेछौँ। कतिपय मानिसहरू भन्छन्, “शरण खोज्नुका प्रकटीकरणहरू के-के हुन्? के शरण खोज्नका लागि परमेश्वरमा विश्वास गर्नेहरू हुन्छन्? के यस्ता मानिसहरू साँच्चिकै अस्तित्वमा हुन्छन्?” के तिमीहरूले कहिल्यै कसैले “मण्डली एउटा शरणस्थल हो; मानिसहरू शरण खोज्न सकौँ भनेर परमेश्वरमा विश्वास गर्छन्” भनेको सुनेका छौ? धर्ममा रहेका धेरै मानिसहरूले यसो भन्छन्। यो भनाइको सारका हिसाबमा कुरा गर्नुपर्दा, के यो भनाइ र हामीले विश्लेषण गर्न गइरहेको “शरण खोज्नका निम्ति परमेश्वरमा विश्वास गर्नु” भन्ने उद्देश्यबीच कुनै भिन्नता छ? (छ।) भिन्नता के हो? उनीहरूले केबाट शरण खोज्छन्? (निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्नेहरूमा पनि सत्यता पछ्याउने क्रममा केही अशुद्धताहरू हुन्छन्; उनीहरू पनि प्रकोपहरू वा कठिनाइहरूबाट जोगिने र केही शान्ति प्राप्त गर्ने आशा राख्छन्। तर, छैठौँ उद्देश्यमा पर्ने खालको व्यक्तिले विशुद्ध रूपमा शरण खोज्नकै लागि परमेश्वरमा विश्वास गर्छ, र उसमा परमेश्वरमाथिको साँचो आस्था अलिकति पनि हुँदैन। भिन्नता यही नै हो।) यसमा रहेको भिन्नता भनेको परमेश्वरमा विश्वास गर्नुपछाडि व्यक्तिको उद्देश्यमा अशुद्धताहरू हुनु र शरण खोज्ने उद्देश्यले मात्र परमेश्वरमा विश्वास गर्नुबीचको हो। यो भिन्नता बाहेक, उनीहरूले के कुराबाट शरण खोजिरहेका छन् भन्ने हिसाबमा पनि भिन्नता छ। परमेश्वरमा विश्वास गर्नुपछाडि कतिपय मानिसहरूको उद्देश्यमा अशुद्धताहरू मिसिएका हुन्छन्; उनीहरू प्रकोपहरूबाट जोगिन, प्रकोपहरूबाट उम्किन, वा परमेश्वरले सुरक्षा र रेखदेख गर्नुहोस्, र त्यसपछि उनीहरू वस्तुगत रूपमा केही खतरा र प्रकोपहरूबाट जोगिन सकून् भन्नका लागि परमेश्वरमा विश्वास गर्छन्। उनीहरू यिनै विपत्तिहरूबाट जोगिन चाहन्छन्। हामीले सङ्गति गरिरहेको छैठौँ उद्देश्यमा पर्ने खालको व्यक्ति—शरण खोज्ने उद्देश्यले परमेश्वरमा विश्वास गर्नेहरू—विभिन्न कामकुराहरूबाट शरण खोज्छन्। उनीहरूका लागि, सबैभन्दा वास्तविक कुरा भनेको अहिलेसम्म आइनपरेका महाविपत्तिहरूबाट जोगिनुभन्दा धेरै परको कुरा हो। त्यसोभए उनीहरूका लागि सबैभन्दा वास्तविक समस्याहरू के-के हुन्? समाजमा भयानक शत्रुहरूको सामना गर्नु, मुद्दाहरू खेप्नु, सरकारी अधिकारी वा प्रभावशाली मानिसहरूलाई चिढ्याउनु, कानुन उल्लङ्घन गर्नु, आफ्नो देशमा युद्ध वा विभिन्न विपत्तिहरू देखा पर्नु, अथवा आफ्नो जीवन वा आफ्नो पारिवारिक सुरक्षालाई खतरामा पार्ने केही मानिस वा घटनाहरू सामना गर्नु, आदि जस्ता कुराहरू हुन्। यी परिस्थितिहरू सामना गरेपछि उनीहरू शरण खोज्नका लागि आफूलाई भरोसायोग्य र भरपर्दो हो भनी विश्वास लागेको मण्डली भेट्टाउँछन्; यो नै छैठौँ उद्देश्यमा चर्चा गरिएको शरण खोज्नु हो। भन्नुको मतलब, जब उनीहरूले दैनिक जीवनमा आफ्नो जीवन, परिवार, काम, करियर, आदि इत्यादि कुराहरूलाई जोखिममा पार्ने कठिनाइहरू सामना गर्छन्, उनीहरू मानिसहरूको ठूलो सङ्ख्याले बनेको शक्तिको सहयोग खोज्दै मण्डलीमा शरण खोज्न आउँछन्। छैठौँ उद्देश्यमा उल्लेख गरिए झैँ शरण खोज्ने उद्देश्यले परमेश्वरमा विश्वास गर्नु यही हो। के यो साँचो विश्वासीहरूका अशुद्धताहरूभन्दा फरक छैन र? (छ।) यस प्रकारको व्यक्तिले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य शरण खोज्नु हो, मण्डलीबाट सहयोग खोज्नु हो। अर्थात्, ऊ मण्डलीले आफूलाई सहयोगी हात फैलाउनेछ र, आर्थिक सहयोग बाहेक, ऊ मण्डलीले उसको सुरक्षा, समर्थन, र सहायता प्रदान गर्नुपर्ने माग पनि गर्छ। कतिपय यस्तै मानिसहरू समाजमा मण्डलीको प्रभाव, हैसियत, र प्रतिष्ठा प्रयोग गरेर परमेश्वरमा विश्वास गर्नेहरूलाई दमन गर्ने र हानि पुर्याउने दुष्ट शासन वा दुष्ट शक्तिहरूसँग प्रतिस्पर्धा गर्न पनि चाहन्छन्, ताकि उनीहरूका जीवन वा जीविकोपार्जनको सुरक्षा गर्न सकियोस्। उनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य यही हो। के यस्ता मानिसहरू छन्? उनीहरू मण्डली भनेको राजनीति र समाजबाट अलग्याउन सकिने एउटा राम्रो शरणस्थल हो भन्ने विश्वास गर्छन्, र उनीहरूले आफूलाई सहयोगको आवश्यकता पर्दा, मण्डलीले निष्कपट रूपमा र दयाका साथ सहयोगी हात फैलाएर उनीहरूलाई कुनै पनि आर्थिक सहायता प्रदान गर्न, उनीहरूका लागि उभिन, उनीहरूको प्रतिरक्षा गर्न, मुद्दाहरूमा उनीहरूको प्रतिनिधित्व गर्न, साथै उनीहरूका अधिकार र हितका लागि लड्न सक्छ भन्ने सोच्छन्। यी मानिसहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य यही नै हो। आजको दिनसम्म, के मण्डलीमा त्यस्ता मानिसहरू छन्? के तिमीहरूले त्यहाँ त्यस्ता मानिसहरू छन् भन्ने सुनेका छौ? विदेशका मण्डलीहरूमा निश्चय नै त्यस्ता मानिसहरू छन्। यी मानिसहरू शरण खोज्ने उद्देश्यकै लागि परमेश्वरमा विश्वास गर्छन् र मण्डलीमा आबद्ध हुन्छन्। उनीहरू आस्था भनेको के हो भन्ने कुरा बुझ्दैनन्, उनीहरू सत्यतामा त झनै रुचि राख्दैनन्। तर, जब उनीहरूले कठिनाइहरू सामना गर्छन् र समाजमा कुनै मदत भेटाउन सक्दैनन्, तब उनीहरू मण्डलीबारे सोच्छन्, र मण्डली नै उनीहरूले सुरक्षित रूपमा शरण लिन सक्ने ठाउँ, उम्किने सबैभन्दा उत्तम बाटो, र सबैभन्दा सुरक्षित ठाउँ हो भन्ने विश्वास गर्छन्, त्यसैले उनीहरू प्रकोपहरूबाट जोगिने आफ्नो उद्देश्य हासिल गर्नका लागि परमेश्वरमा विश्वास गर्ने र मण्डलीमा प्रवेश गर्न रोज्छन्।
अहिले प्रकोपहरू झन्झन् ठूला भइरहेका छन्, र मानिससँग बाँच्ने कुनै उपाय छैन। कतिपय मानिसहरूले पूर्णतः प्रकोपहरूबाट जोगिनकै लागि परमेश्वरमा विश्वास गर्न रोज्छन्। तिनीहरू परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनेर विश्वास त गर्छन्, तर तिनीहरूमा सत्यताप्रति अलिकति पनि प्रेम हुँदैन। यदि त्यस्ता मानिसहरू परमेश्वरमा विश्वास गर्न आए भने, के मण्डलीले तिनीहरूलाई स्वीकार गर्नुपर्छ? धेरै मानिसहरूले यो मामलालाई प्रस्ट रूपमा बुझ्दैनन्, र परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनेर विश्वास गर्ने जोकोही व्यक्तिलाई मण्डलीमा स्वीकार गरिनुपर्छ भन्ने सोच्छन्। यो भयानक गल्ती हो। कुनै पनि व्यक्तिलाई स्वीकार गर्ने मण्डलीको निर्णय ऊ परमेश्वरमा विश्वास गर्न इच्छुक छ कि छैन भन्ने आधारमा नभई उसले सत्यता स्वीकार गर्न सक्छ कि सक्दैन र ऊ परमेश्वरको मुक्तिको पात्र हो कि होइन भन्ने आधारमा हुनुपर्छ। यस्ता धेरै दियाबलसहरू छन् जो परमेश्वरमाथिको विश्वासमार्फत आशिष्हरू पाउन र अगाडि बढ्ने बाटो भेट्टाउन चाहन्छन्—के मण्डलीले त्यस्ता मानिसहरूलाई पनि स्वीकार गर्नुपर्छ? यो अनुग्रहको युगमा सुसमाचार प्रचार गरेजस्तो होइन, जुन बेला विश्वास गरेसम्म, जोकोहीलाई स्वीकार गरिन्थ्यो; राज्यको युगमा मण्डलीले कसलाई स्वीकार गर्छ भन्ने सम्बन्धमा सिद्धान्तहरू र परमेश्वरको प्रशासनिक आदेशहरूले लगाएका प्रतिबन्धहरू छन्। व्यक्ति जोसुकै भए पनि, यदि उसले सत्यतालाई प्रेम वा स्वीकार गर्दैन भने, उसलाई स्वीकार गर्न सकिँदैन। किन त्यस्ता मानिसहरूलाई स्वीकार गरिँदैन? यस्ता मानिसहरूलाई स्वीकार नगर्नुको मुख्य कारण के हो भने, हामीले तिनीहरूको पृष्ठभूमि वा तिनीहरू कस्ता खालका मानिसहरू हुन् भनी स्पष्ट रूपमा देख्न सक्दैनौँ। यदि मण्डलीले दियाबलस, जघन्य दुष्टता बोकेको दुष्ट व्यक्तिलाई स्वीकार गर्यो भने, यसले मण्डलीमा कस्ता दुष्परिणामहरू ल्याउनेछ भन्ने जोकोहीलाई थाहा छ। त्यसमाथि, परमेश्वरमा विश्वास गरेर, हामीले उहाँका अभिप्रायहरू, उहाँले कसलाई मुक्ति दिनुहुन्छ र कसलाई हटाउनुहुन्छ भन्ने कुरा बुझ्नुपर्छ। मण्डली कस्ता मानिसहरूले निर्मित हुन्छ? यो परमेश्वरको मुक्ति स्वीकार गर्ने, सत्यतालाई प्रेम गर्ने, परमेश्वरद्वारा स्वीकार गरिने मानिसहरूद्वारा निर्मित हुन्छ। परमेश्वरमा साँचो रूपमा विश्वास नगर्ने र सत्यता स्वीकार नगर्नेहरूलाई उहाँले मुक्ति दिनुहुन्न, किनभने सत्यता स्वीकार नगर्नु भनेको व्यक्तिको प्रकृतिको समस्या हो, र यस्तो खालको व्यक्ति शैतानको हुन्छ र कहिल्यै परिवर्तन हुनेछैन। त्यसकारण, त्यस्ता मानिसहरूलाई कहिल्यै मण्डलीमा प्रवेश गर्न दिनु हुँदैन। यदि कसैले कुनै दुष्ट व्यक्ति, दियाबलसलाई मण्डलीमा प्रवेश गर्न दियो भने, त्यो व्यक्ति शैतानको नोकर हो। ऊ जानीजानी मण्डलीको काम ध्वस्त पार्न र नष्ट गर्न आएको हुन्छ, र ऊ परमेश्वरको शत्रु हो। मण्डलीमा त्यस्तो दियाबलस, त्यस्तो परमेश्वरको शत्रुलाई प्रवेश स्वीकार गर्नु भनेको परमेश्वरको स्वभावलाई चिढ्याउनु र उहाँका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्नु हो, र परमेश्वरको घरले यस्तो कुरा कदापि सहनेछैन। दुष्ट मानिस, अर्थात् दियाबलसहरूलाई मण्डलीमा प्रवेश गर्न दिनु हुँदैन—यो सुसमाचार प्रचार गर्ने कामको विषयमा मण्डलीको एउटा स्पष्ट अडान र माग हो। मण्डलीसँग प्रकोपबाट जोगिनका लागि मात्रै परमेश्वरमा विश्वास गर्न रोज्नेहरूलाई स्वीकार गर्ने जिम्मेवारी बिलकुलै हुँदैन, न त यसले सत्यता अलिकति पनि नस्विकार्ने मानिसहरूलाई नै प्रवेश गर्न दिनु हुन्छ, किनभने परमेश्वरले त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। सर्वशक्तिमान् परमेश्वरका वचनहरूलाई सत्यता नमान्ने, सत्यताको प्रतिरोध गर्ने र यसप्रति वितृष्ण हुने व्यक्ति दुष्ट व्यक्ति हो, र परमेश्वरले उसलाई मुक्ति दिनुहुन्न। परमेश्वरलाई हृदयमा मान्ने, तैपनि सत्यतालाई प्रेम नगर्ने, अनि अघाइन्जेल खाने अविश्वासीहरूका वर्गमा राखिनेहरूका हकमा भन्नुपर्दा, मण्डलीले तिनीहरू कसैलाई कहिल्यै स्वीकार गर्नुहुँदैन। मण्डलीमा शरण खोज्न आउन चाहने समाजका बेइमान मानिसहरूमा पनि यही कुरा लागू हुन्छ—तिनीहरूलाई त झनै स्विकार्नु हुँदैन। किनभने मण्डली कुनै परोपकारी संस्था होइन, बरु यो त परमेश्वरले मानिसलाई मुक्ति दिने काम गर्नुहुने ठाउँ हो। राष्ट्रको सरकारसँग मण्डलीको कामको कुनै सम्बन्ध हुँदैन। सामाजिक संस्थाहरूले मानिसहरूलाई असल कार्यहरू गर्न, र हतियार त्याग्न फकाउँछन्—यो राष्ट्रका खातिर हो, र मण्डलीसँग यसको बिलकुलै सम्बन्ध हुँदैन। यदि कसैले मण्डलीमा गैरविश्वासी दुष्ट व्यक्ति, दियाबलस, वा अविश्वासीलाई ल्याउने आँट गर्छ भने, त्यस व्यक्तिले परमेश्वरको स्वभावलाई चिढ्याएको र उहाँका प्रशासनिक आदेशहरू उल्लङ्घन गरेको हुनेछ। दुष्ट व्यक्ति, दियाबलसलाई मण्डलीमा ल्याउने जोकोही व्यक्तिलाई परमेश्वरको घरले निकाला वा निष्कासन गर्नुपर्छ। सुसमाचार प्रचार गर्ने कामको विषयमा मण्डलीले लिने यो एउटा स्पष्ट अडान हो। जब यी दुष्ट मानिस, दियाबलसहरू परमेश्वरको घरमा आएर शरण खोज्न चाहन्छन्, तब तिनीहरू गलत ढोकामा आइपुगेका छन्, तिनीहरूले गलत ठाउँ रोजेका छन् भनेर तिनीहरूलाई भन्नुपर्छ। मण्डलीले निश्चय नै तिनीहरूलाई स्वीकार गर्नेछैन। यो शरण खोज्न चाहने गैरविश्वासीहरूप्रति मण्डलीको एउटा स्पष्ट अडान हो। के यो कुरा प्रस्ट भयो? (भयो।) त्यसोभए हामीले त्यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? तिनीहरूलाई कसरी भन्दा उचित हुन्छ? तँ भन्छस्: “जुनसुकै देशमा पनि रेड क्रस सोसाइटी, कल्याणकारी संस्था, आश्रयस्थल, र बौद्ध गुम्बाहरू हुन्छन्, साथै समाजमा केही स्वयम्सेवी समूहहरू पनि हुन्छन्। यदि तिमीलाई समस्याहरू आइपरे र तिमीसित सम्बोधन गर्नैपर्ने गुनासाहरू छन् भन्ने लाग्यो भने, तिमीहरूले यी सङ्गठनहरूबाट सहयोग खोज्न सक्छौ। यसका साथै, तिमीले सरकारबाट राजनीतिक शरण वा शरणार्थी शरण खोज्न सक्छौ, र यदि तिम्रो आर्थिक अवस्थाले साथ दिन्छ भने, तिमीले आफ्नो मुद्दामा सहयोग गर्नका लागि वकिल राख्न सक्छौ। तर यो त मण्डली हो; यो त्यस्तो ठाउँ हो, जहाँ परमेश्वरले काम गर्नुहुन्छ, जहाँ परमेश्वरले मानिसहरूलाई मुक्ति दिनुहुन्छ, यो तिमीले शरण खोज्ने ठाउँ होइन। यसर्थ, तिम्रो मण्डली प्रवेश अनुचित छ, र तिमी यहाँ बस्नु व्यर्थ छ। परमेश्वरले त्यस्ता मानिसहरूलाई स्विकार्नुहुन्न, र मण्डलीले पनि यस्ता मानिसहरूलाई लिँदैन। गैरविश्वासीहरूसँग जस्तोसुकै कठिनाइहरू भए पनि, उनीहरूले समाजका परोपकारी संस्था, राहत संस्था, वा नागरिक मामिला ब्यूरोहरूबाट सहयोग खोज्नुपर्छ—यी संस्थाहरू मानिसहरूको सेवा गर्न, उनीहरूलाई दान दिन र अरूलाई मदत गर्नमा चासो राख्छन्। तिमीसित जस्तोसुकै गुनासा वा मागहरू भए पनि, तिमीले उनीहरूलाई भन्न वा सरकारलाई निवेदन दिन सक्छौ। तिम्रा लागि ती नै सबैभन्दा उचित ठाउँहरू हुन्।” मण्डलीले कुनै पनि अविश्वासी र गैरविश्वासीहरू स्विकार्दैन। यदि कोही अत्यन्तै “प्रेमिलो” छ भने, उनीहरूलाई यस्ता मानिसहरू व्यक्तिगत रूपमा स्विकार्न दे र यो कुरालाई त्यतिमै सक्का; उनीहरू आफैले यस्ता मानिसहरूको रखवारी गर्न सक्छन्, र परमेश्वरको घरले यसमा हस्तक्षेप गर्नेछैन। कतिपय मानिसहरूले सोध्लान्, “त्यसोभए मण्डलीले किन सुसमाचार प्रचार गर्छ? सुसमाचार प्रचार गर्नुको उद्देश्य के हो?” सुसमाचार प्रचार गर्नु परमेश्वरको आज्ञा हो। सुसमाचार स्विकार्ने सम्भावना भएकाहरू तिनै हुन्, जो परमेश्वर र साँचो मार्गको खोजी गर्छन्, जो परमेश्वरको देखापराइको तृष्णा गर्छन्, जो सत्यतालाई प्रेम गर्छन् र सत्यता स्विकार्न सक्छन्, र जो साँचो रूपमा परमेश्वरमा विश्वास गर्छन्—यी मानिसहरूलाई मात्र सुसमाचार प्रचार गर्न सकिन्छ। परमेश्वरको खोजी नगर्ने, सत्यता स्विकार्नका लागि नभएर शरण खोज्न आउनेहरूलाई सुसमाचार प्रचार गरिँदैन। कतिपय अलमल्ल मानिसहरूले यो कुरा छर्लङ्गै देख्न सक्दैनन् र परिस्थितिहरू आइपर्दा उनीहरू अन्योलग्रस्त हुन्छन्—यिनीहरू अलमलमा परेकाहरू हुन्, जसले परमेश्वरका अभिप्रायहरू कहिल्यै बुझ्नेछैनन्।
छ. पृष्ठपोषक खोज्नु
मानिसहरूले परमेश्वरमा विश्वास गर्नुको सातौँ उद्देश्य पृष्ठपोषक खोज्नु हो। के तिमीहरूले कहिल्यै त्यस्ता मानिसहरू देखेका छौ? यो अलि विशेष परिस्थिति हो; तिनीहरूको सङ्ख्या धेरै नभए पनि, तिनीहरू निश्चय नै अस्तित्वमा छन्। परमेश्वरका मण्डलीहरू चीनमा मात्र नभएर एसिया, युरोप, अमेरिका, साथै अफ्रिकाका विभिन्न देशहरूमा पनि देखा परेका छन्, त्यसैले ती सँगसँगै यी अवसरवादी र अविश्वासीहरू देखा पर्नेछन्। यी मानिसहरू देखा पर्ने सम्भावना जति भए पनि, कुनै पनि अवस्थामा, तिनीहरू देखा परेपछि, तिमीहरूले तिनीहरूको सामना गर्नुपर्छ र तिनीहरूलाई खुट्ट्याउनैपर्छ, अनि यी अविश्वासीहरूलाई मण्डलीमा कुनै हैसियत प्राप्त गर्न र बाधाहरू सिर्जना गर्न दिनु हुँदैन। यदि तिमीहरूले तिनीहरू देखा नपरेकाले वा तिमीहरूले तिनीहरूको सामना नगरेकाले यी समस्याहरू अस्तित्वमा छैनन् भन्ठान्छौ भने, यो मूर्खतापूर्ण विचार हो। यी समस्याहरू उत्पन्न भएपछि, यदि तँसँग सुझबुझ छैन र तैँले समाधान गर्न जानिनस् भने, तिनले मण्डलीलाई, परमेश्वरको घरलाई, दाजुभाइ-दिदीबहिनीहरूलाई, र मण्डलीको कामलाई ठूला अप्रकट खतराहरू ल्याउनेछन्। त्यसैले, केही हुनुअघि नै, तैँले कस्ता समस्याहरूको सामना गर्नुपर्छ र तिनलाई कसरी समाधान गर्ने भनेर थाहा पाउनुपर्छ। यो नै सर्वोत्तम उपाय हो; यसले तेरा लागि एउटा अदृश्य सुरक्षाका रूपमा काम गर्छ। परमेश्वरमा विश्वास गर्नुको सातौँ उद्देश्यमा उल्लिखित मानिसहरू; पृष्ठपोषक खोज्नका लागि परमेश्वरमा विश्वास गर्नेहरूको सङ्ख्या कम छैन। यो समाज जताततै अन्याय, भेदभाव, र दमनले भरिएको छ। समाजका सबै तहमा जिइरहेका मानिसहरू समाजका विभिन्न अन्यायहरूप्रति तिरस्कार र घृणाले भरिएका छन्। तर, तँ मानव संसारबाट नबिलाएसम्म, त्यसका अन्यायहरूबाट उम्कन सजिलो हुँदैन। कुनै व्यक्ति यो संसारमा जिउँदासम्म, ऊ यी मानिसहरूमाझ जिउँदासम्म, ऊ—केही हदसम्म, र धेरथोर—हेपाइ र अपमानमा पर्नेछ, र ऊ केही बलिया शक्तिहरूको खेदो र सतावटमा समेत पर्न सक्छ। यी विभिन्न अन्याय र असमानताहरूले मानिसहरूका मानसपटललाई ठूलो तनाव दिएका छन्, र उनीहरूलाई ठूलो मनोवैज्ञानिक दबाब दिएका छन् र, अवश्य नै, मानिसहरूको सामान्य जीवनमा धेरै असहजताहरू ल्याएका छन्। फलस्वरूप, कतिपय मानिसहरू यो निश्चित विचार विकास नगरी रहन सक्दैनन्: “कुनै व्यक्तिले आफूलाई समाजमा स्थापित गर्नका निम्ति, उसको पछाडि भर पर्न मिल्ने एउटा शक्ति हुनैपर्छ। जब उसले कठिनाइहरू सामना गर्छ र उसलाई मदत चाहिएको हुन्छ, वा जब ऊ एकलो र असहाय हुन्छ, तब उसलाई पृष्ठपोषण गर्ने र निर्णयहरू लिइदिने, उसले सामना गर्ने कठिनाइ र समस्याहरू समाधान गर्ने, वा उसको जीविकोपार्जनका आधारभूत आवश्यकताहरू सुनिश्चित गर्ने एक समूह मानिसहरू हुनेछन्।” त्यसकारण, तिनीहरू त्यस्तो साथ खोज्न लागिपर्छन्। पक्कै पनि, यी मानिसहरूमध्ये कतिपयले अन्त्यमा मण्डली भेट्टाउँछन्। तिनीहरूले मण्डलीका मानिसहरू हृदयमा एक हुन्छन् र एउटै लक्ष्यका लागि काम गरिरहेका हुन्छन्, हरेकसँग आस्था हुन्छ, हरेकसँग असल अभिप्रायहरू हुन्छ र हरेकले अरूप्रति दयालु व्यवहार गर्छ, हरेक व्यक्ति सामाजिक द्वन्द्वहरूबाट टाढा रहन्छ, र आफूलाई समाजका दुष्ट प्रचलनहरूबाट टाढा राख्छ भन्ने विश्वास गर्छन्। परमेश्वरमा विश्वास गर्नेहरूका लागि, मण्डली निस्सन्देह रूपमा नै यस समाज र संसारको महान् न्यायको प्रतीक हो; मण्डलीका मानिसहरूले जनमानसको मनमा सकारात्मक, असल, र दयालु छवि पनि बनाएका हुन्छन्। कतिपयले आफू समाजको तल्लो तहमा भएको, समाजमा कहिँकतै आफ्नो कुनै शक्ति नभएको र आफूसँग राम्रो पारिवारिक पृष्ठभूमि हुँदै नभएका कारण परमेश्वरमा विश्वास गर्न रोज्छन्। तिनीहरूले शिक्षा प्राप्त गर्न, साथी बनाउन, जागिर पाउन, वा विभिन्न कामकुरा गर्नमा विभिन्न कठिनाइहरू सामना गर्छन्, त्यसकारण तिनीहरूले यो समाजमा बाँच्न र आफूलाई स्थापित गर्नका लागि, तिनीहरूलाई सहयोग गर्ने केही मानिसहरू हुनैपर्ने विश्वास गर्छन्। उदाहरणका लागि, जागिर खोज्दा, यदि तिनीहरू आफैमा भर पर्छन्, र विना उद्देश्य एकपछि अर्को जागिरको अवसर खोज्छन् भने, तिनीहरूले उपयुक्त जागिर नै नपाई लगभग आफ्नो बचत सिध्याउन सक्छन्। तर यदि तिनीहरूको खोजीमा तिनीहरूलाई केही भरपर्दा मानिसहरूको सहायता मिल्छ, जसले तिनीहरूलाई निष्कपट रूपमा सहयोग गर्न सक्छन् भने, तिनीहरूले भोग्नुपर्ने झन्झट निकै कम हुन्छ, र जागिर खोज्नमा बित्ने समय पनि धेरै घट्छ। त्यसकारण, तिनीहरू आफूले त्यस्तो पृष्ठपोषक खोज्न सकेमा, समाजमा सामना गर्नुपर्ने सबै कुराका हकमा—शिक्षा प्राप्त गर्ने, जागिर खोज्ने कुरामा, यहाँसम्म कि तिनीहरूको दैनिक जीवन र बाँच्ने कार्यमा समेत—तिनीहरूका लागि भनसुन गरिदिने र तिनीहरूलाई सहयोग गर्ने केही मानिसहरू, पर्दापछाडि तिनीहरूलाई मदत गर्ने जोसिला मानिसहरूको एक समूह हुनेछन् भन्ने विश्वास गर्छन्। यसर्थ, जब तिनीहरूले मण्डली भेट्टाउँछन्, तब तिनीहरूलाई सही ठाउँ भेट्टाएको महसुस हुन्छ। मण्डली तिनीहरूका लागि आफूलाई समाजमा स्थापित गर्ने र शान्तिपूर्ण जीवन हासिल गर्ने निकै राम्रो रोजाइ बन्छ। उदाहरणका लागि, चाहे त्यो चिकित्सकलाई भेट्ने कुरा होस्, किनमेल गर्ने कुरा होस्, बिमा खरिद गर्ने कुरा होस्, घर किन्दा होस्, छोराछोरीलाई विद्यालय छान्न मदत गर्दा होस्, वा कुनै पनि मामला सम्हाल्दा नै किन नहोस्, तिनीहरूले सधैँ मण्डलीमा तिनीहरूलाई सहयोगको हात बढाउने र यी समस्याहरू समाधान गर्न मदत गर्ने प्रेमिला मानिसहरू भेट्टाउन सक्छन्। यसरी, तिनीहरूको जीवन अझ बढी सहज बन्छ, त्यस उपरान्त तिनीहरू समाजमा त्यति एकला हुँदैनन्, र मामलाहरू सम्हाल्दाका कठिनाइहरू ठूलो मात्रामा घट्छन्। त्यसकारण, तिनीहरूका लागि, परमेश्वरमा विश्वास गर्न मण्डलीमा आउनुले साँच्चिकै ठोस लाभहरू प्रदान गर्छ। तिनीहरू चिकित्सककहाँ जाँदा समेत, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई मदत गर्न अस्पतालमा चिनजानका मानिसहरू खोजिदिनेछन्; तिनीहरूले किनमेलमा उत्कृष्ट मूल्य पाउन उनीहरूलाई प्रयोग गर्न सक्छन्, र छूट मूल्यमा घरहरूसमेत किन्न सक्छन्। मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको सहयोगले, यी सारा समस्याहरू समाधान हुन्छन्। तिनीहरूलाई लाग्छ, “परमेश्वरमा विश्वास गर्नु अति गजब कुरा हो! अब जागिर खोज्नु, मामलाहरू सम्हाल्नु, र किनमेल गर्नु सबै सहज भएका छन्! मलाई केही चाहिनेबित्तिकै, मैले केवल एक पटक समूहलाई फोन लगाएँ वा सन्देश पठाउनुपर्छ, अनि सबै जना मलाई सहयोगको हात बढाउन एककृत हुन्छन्। मण्डलीमा धेरै दयालु मानिसहरू छन्; मामलाहरू सम्हाल्न निकै सहज छ! पृष्ठपोषक खोज्न सजिलो थिएन, त्यसैले जे परे पनि मैले मण्डली छाड्नेछैन। तर परमेश्वरको घरका भेलाहरूमा सधैँ परमेश्वरका वचनहरू पढ्ने र सत्यताबारे सङ्गति गर्ने कुराहरू संलग्न हुन्छन्, जसले मलाई अप्ठ्यारो र दुबिधामा पार्छन्। म परमेश्वरका वचनहरू खान र पिउन अनिच्छुक छु, र जब पनि म सत्यताबारे सङ्गति गरिएको सुन्छु, मलाई वितृष्णा महसुस भइहाल्छ। तर मैले नसुनी हुँदैन—मैले तिनलाई छोड्नै मिल्दैन। तिनले मलाई अति धेरै मदत गर्छन्। यदि मैले सुन्न अस्वीकार गरेँ भने, मलाई लज्जित महसुस हुनेछ, साथै अब उप्रान्त म विश्वास गर्दिनँ भन्न पनि अप्ठ्यारो हुनेछ, त्यसैले म बस अघि बढ्नुपर्छ र मैले राम्रा कुराहरू भन्नुपर्छ।” हृदयमा, तिनीहरू वास्तवमा विश्वास गर्न चाहँदैनन्, तर तिनीहरूले यो भावनालाई दबाउन मात्र सक्छन्। कतिपय मानिसहरू भन्छन्, “तपाईँ त तिनीहरूले सधैँ दाजुभाइ-दिदीबहिनीहरूलाई मामलाहरू सम्हाल्न लगाएको, र दाजुभाइ-दिदीबहिनीहरूले मदत गर्दा तिनीहरू निकै खुसी भएको मात्र देख्नुहुन्छ—के तपाईँ यसैका आधारमै तिनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य पृष्ठपोषक खोज्नु हो भनेर खुट्ट्याउन सक्नुहुन्छ?” यी प्रकटीकरणहरू बाहेक, तिनीहरूले आम रूपमा परमेश्वरका वचनहरू पढ्ने र सत्यता सङ्गति गर्ने गर्छन् कि गर्दैनन्, तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न र साँच्चै परिवर्तित हुन सक्छन् कि सक्दैनन् भन्ने कुरा हेर्; यसले तँलाई तिनीहरूले निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्छन् कि गर्दैनन् भनेर थाहा दिनेछ। पृष्ठपोषक खोज्नेहरू तिनीहरूका लागि मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई मामलाहरू सम्हाल्न र तिनीहरूका जीवनका कठिनाइहरू समाधान गर्नमा प्रयोग गर्नका लागि मात्र परमेश्वरमा विश्वास गर्छन्। तर तिनीहरू आफ्नो कर्तव्य पूरा गर्नेबारे कहिल्यै उल्लेख गर्दैनन्, न त तिनीहरूले परमेश्वरका वचनहरू खाने र पिउने वा सङ्गति गर्ने गर्छन्। कामहरू फत्ते गर्ने कुनै चतुर उपायबारे सुन्नेबित्तिकै, तिनीहरू अत्यन्तै उत्साहित बन्छन्; तिनीहरू निरन्तर बकबक गर्न थाल्छन् र तिनीहरूलाई हस्तक्षेप गर्न पनि सकिँदैन। तर जब कर्तव्य पूरा गर्ने वा इमानदार हुने र झूट नबोल्ने वा अरूलाई ठगी नगर्ने कुरा आउँछ, तब तिनीहरूको बोली बन्द हुन्छ। तिनीहरूले हृदयमा यी कुराहरूमा रुचि राख्दैनन्—तैँले जति जोसका साथ बोले पनि, तिनीहरूले प्रतिक्रिया नै दिँदैनन् र तिनीहरू संलग्न नै हुँदैनन्; तिनीहरूले निरन्तर तँलाई हस्तक्षेप गर्ने र विषयलाई आफूलाई रुचि भएको कुरातिर मोड्ने कोसिससमेत गर्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो लागि काम र मेहनत गराउने उपायहरूबारे सोच्दै दिमाग खियाउँछन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई कर्तव्य पूरा गर्ने वा आफूलाई परमेश्वरप्रति समर्पित गर्ने कुरा उल्लेख गर्ने अवसर दिन नै चाहँदैनन्। यदि कसैले तिनीहरूलाई तिनीहरूको कर्तव्य पूरा गर्न र परमेश्वरका लागि आफूलाई समर्पित गर्न सुझाव दियो भने, बदलामा प्रस्ताव गर्न तिनीहरूले तुरुन्तै आफ्नै कुनै जरुरी मामला भेट्टाउँछन्; दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको यो मामला सम्हाल्दै गर्दा, तिनीहरूले परमेश्वरको घरका लागि मन नलागी-नलागी केही मेहनत लगाउँछन्, र दाजुभाइ-दिदीबहिनीहरूको अनुरोधलाई जसोतसो पूरा गर्छन्, अनि तिनीहरूको व्यक्तिगत मामला सुल्झिएपछि, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूप्रति उदासीन बन्छन्। मण्डलीसँग सम्पर्क कायम राख्न, यो पृष्ठपोषक अर्थात् मण्डली र यी सहयोगीहरू अर्थात् दाजुभाइ-दिदीबहिनीहरू नगुमाउन, तिनीहरूले आफ्ना लागि उपयोगी सबैसित निकट सम्पर्क राख्छन्, प्रायः चासोका साथ तिनीहरूबारे सोधपुछ गर्छन्, र सम्बन्धहरू कायम राख्नका लागि हेरचाहपूर्वक तर झूटा कुराहरू भन्छन्। तिनीहरू तिनीहरूले परमेश्वरको अस्तित्वमा कति विश्वास गर्छन्, परमेश्वरले तिनीहरूलाई कति आशिष् दिनुहुन्छ, परमेश्वरले तिनीहरूलाई कति अनुग्रह प्रदान गर्नुहुन्छ, र तिनीहरूले परमेश्वरप्रति ऋणी महसुस गर्दै परमेश्वरको प्रेम चुक्ता गर्न इच्छुक भएर, बारम्बार कति आँसु झार्छन् भन्नेबारे कुरा गर्छन्—यो दाजुभाइ-दिदीबहिनीहरूलाई छल्न र उनीहरूको सहयोग प्राप्त गर्नलाई हो। जब कुनै व्यक्ति उप्रान्त शोषण गर्न लायक रहँदैन, तब तिनीहरूले तुरुन्तै उसलाई ब्लक गर्छन् र उसको सम्पर्क विवरण मेटिदिन्छन्। तिनीहरू आफ्ना लागि सबैभन्दा फाइदाजनक, सबैभन्दा बढी शोषण गर्न लायकहरूको जोसका साथ चापलुसी गर्छन्, चाकरी गर्छन्, र उनीहरूसँग नजिकिन्छन्। जो शोषण गर्न लायक छैनन्, जो, तिनीहरू जस्तै, समाजमा कुनै प्रभाव वा हैसियत नभएका र समाजको तल्लो तहमा रहेका र भर पर्न कोही नभएका हुन्छन्, उनीहरूलाई तिनीहरू झलक्क समेत हेर्दैनन्। तिनीहरू शोषण गर्न लायक र समाजमा सम्पर्कहरू बनाएका, तिनीहरूलाई सक्षम लागेकाहरूसँग अनन्य रूपमा सङ्गत गर्छन्। तिनीहरू आफूलाई मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूबाट केही कुरा चाहिँदा मात्र मेहनत लगाउन र कष्ट सहन सक्छन्। वास्तवमा, त्यस्ता मानिसहरूमा अविश्वासीका प्रकटीकरणहरू निकै प्रस्ट हुन्छन्। तिनीहरू घरमा, परमेश्वरका वचनहरू कहिल्यै पढ्दैनन्, कठिनाइहरू नहुँदा परमेश्वरलाई कहिल्यै प्रार्थना गर्दैनन्, र ठूलो हिचकिचाहटका साथ मण्डली जीवनमा सहभागी हुन्छन्। तिनीहरू कर्तव्यहरू पूरा गर्न आग्रह गर्दैनन् र मण्डलीको काममा आफूलाई संलग्न गराउन पहल गर्दैनन्; तिनीहरू विशेष गरी खतरनाक काममा कहिल्यै सहभागी हुँदैनन्। तिनीहरू त्यो गर्न सहमत भए पनि, तिनीहरूले निकै अधैर्य देखाउँछन्, र बोलाइँदा वा आमन्त्रित गरिँदा मात्र हिचकिचाहटका साथ अलिकति मेहनत लगाउँछन्। अविश्वासीहरूका प्रकटीकरणहरू यिनै हुन्। परमेश्वरका वचनहरू नपढ्नु, कर्तव्य पूरा नगर्नु—तिनीहरू हिचकिचाहटका साथ मण्डली जीवनमा सहभागी हुने भए पनि, यो मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको समुदाय नगुमाउनका लागि हो, जुन तिनीहरूका लागि ठूलो पृष्ठपोषक हो। तिनीहरूले आफूलाई भविष्यमा मामलाहरू सम्हाल्न अझ सहज बनाउनका लागि मात्र यी मानिसहरूसँग सम्बन्ध कायम राख्छन्। यस्ता मानिसहरूले समाजमा पकड जमाएर जिउन र जीवन सुरु गर्न ठाउँ पाएपछि, अनि तिनीहरूले संसारमा सफलता अनि प्रभाव र चम्किलो भविष्यका सम्भावनाहरू हासिल गरेपछि, तिनीहरूले तुरुन्तै र हिचकिचाहटविना मण्डली छाड्नेछन्, दाजुभाइ-दिदीबहिनीहरूसँगको नाता तोड्नेछन्, र सम्पर्कबाट हराउनेछन्। यदि तिनीहरूको राम्रो सम्बन्ध भएको सुसमाचार स्विकार्ने सम्भावना भएको कुनै व्यक्ति छ र तैँले त्यस व्यक्तिलाई सुसमाचार प्रचार गर्नका लागि तिनीहरूलाई सम्पर्क गर्न चाहिस् भने, तैँले तिनीहरूलाई सम्पर्क गर्न सक्नेछैनस्। तिनीहरूले मण्डलीसँग नाता तोड्ने मात्र नभई निश्चित व्यक्तिहरूसँगको मित्रता पनि अन्त्य गर्छन्। के तिनीहरूले आफूलाई अविश्वासी साबित गरिसकेका हुँदैनन् र? (हुन्छन्।) त्यसोभए मण्डलीले त्यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? (तिनीहरूलाई निकाल्नुपर्छ।) के हामीले तिनीहरूलाई एउटा मौका दिनुपर्छ, तिनीहरूको कमजोरी र तिनीहरूका जीवनका कठिनाइहरू बुझ्नुपर्छ, र तिनीहरूले परमेश्वरको अस्तित्वमा विश्वास गर्न पुगून्, सत्यतामा रुचि राखून्, र निष्कपट रूपमा आफूलाई परमेश्वरप्रति समर्पित गरून् भनेर तिनीहरूलाई अझ धेरै साथ र सहयोग दिनुपर्छ? के यो काम गर्न आवश्यक छ? (छैन।) किन छैन? (किनभने यी मानिसहरू परमेश्वरमा विश्वास गर्न बिलकुलै आएका होइनन्।) ठीक भनिस्, तिनीहरू परमेश्वरमा विश्वास गर्न आएका होइनन्; तिनीहरूको लक्ष्य निकै प्रस्ट छ—तिनीहरू यहाँ पृष्ठपोषक खोज्न आएका हुन्। त्यसोभए, के त्यस्ता मानिसहरूसँग सत्यता सङ्गति गर्नाले कुनै नतिजा हासिल हुन सक्छ? (सक्दैन।) तिनीहरूले यसलाई ग्रहण गर्नेछैनन्; तिनीहरूले यसलाई मूल्यवान् ठान्दैनन्, तिनीहरूलाई यो चाहिँदैन, र तिनीहरू यसमा रुचि राख्दैनन्।
पृष्ठपोषक खोज्नका लागि मात्र परमेश्वरमा विश्वास गर्नेहरूलाई हामीले कसरी व्याख्या गर्नुपर्छ? तिनीहरूलाई आफ्नो स्वार्थलाई अरू कुनै पनि कुराभन्दा अगाडि राख्ने मानिसहरूको रूपमा व्याख्या गर्दा निकै उचित हुन्छ। तिनीहरूलाई कोही उपयोगी र लाभदायक लागेसम्म, तिनीहरूले त्यस व्यक्तिले भनेको जे पनि गर्नेछन्; तिनीहरूले उसले दिएको कुनै पनि र हरेक आदेशसमेत पालना गर्नेछन्। तिनीहरूले आफ्नो स्वार्थलाई अरू सबै कुराहरूभन्दा माथि राख्छन्; कुनै कुरा तिनीहरूको हितमा भएसम्म, तिनीहरूले त्यसलाई ठीक मान्छन्। यदि तैँले तिनीहरूलाई परमेश्वरमा विश्वास गर्दा आशिष् र लाभहरू मिल्नेछ भनेर भनिस् भने, तिनीहरूले निश्चय नै उहाँमा विश्वास गर्नेछन् र तैँले जे गर्न भन्छस् त्यही गर्नेछन्। समाजमा मामलाहरू सम्हाल्ने तेरो क्षमताले तिनीहरूका आवश्यकताहरू पूरा गरेसम्म र तिनीहरूलाई फाइदा लिन दिएसम्म, तिनीहरूले निश्चय नै तँसित सम्बन्ध राख्नेछन्। तर, तिनीहरूले तँसित सम्बन्ध राख्नुको अर्थ तिनीहरूले साँच्चै परमेश्वरमा विश्वास गर्न सक्छन् भन्ने होइन, न त यसको अर्थ तिनीहरूले तैँले गरे जस्तै निष्कपट रूपमा आफूलाई परमेश्वरप्रति समर्पित गर्नेछन् भन्ने नै हो। तिनीहरू तँसित मिले पनि र तिमीहरूको सम्बन्ध अत्यन्तै राम्रो छ भने पनि, यसको अर्थ तिमीहरू एउटै भाषा बोल्छौ, एउटै मार्ग पछ्याउँछौ, वा तिमीहरूमा उस्तै पछ्याइहरू छन् भन्ने नै नहुन सक्छ। त्यसकारण, तँ त्यस्ता मानिसहरूको बहकाउमा पर्नु हुँदैन। यस्ता मानिसहरू चतुर हुन्छन् र अरू मानिसहरूसँग अन्तरक्रिया गर्न तिनीहरूसँग दाउपेचहरू हुन्छन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य भनेको पृष्ठपोषक खोज्नु हो, सत्यता पछ्याउनु र मुक्ति हासिल गर्नु होइन। यसले तिनीहरूको चरित्र कति नीच र कालो छ भन्ने देखाउँछ! तिनीहरू मण्डलीमा शोषण गर्न सकिने मानिसहरू खोज्न आउँछन्, आफ्ना लागि विभिन्न लाभहरू प्राप्त गर्न षड्यन्त्र गर्छन्। के यसको अर्थ त्यस्ता मानिसहरू कुनै हिचकिचाहटबिना कार्य गर्न र सबै प्रकारका निर्लज्ज कामकुरा गर्न सक्षम हुन्छन् भन्ने होइन र? (हो।) तिनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य पृष्ठपोषक खोज्नु र जीविका सुनिश्चित गर्नु हो भन्ने तथ्यबाट मात्रै नै यी मानिसहरू असल होइनन्, र तिनीहरू नीच चरित्रका, स्वार्थी, घृणास्पद र घिनलाग्दा छन्, ठूलो अन्धकारमा जिइरहेका छन् भन्ने प्रस्ट हुन्छ। त्यसकारण, तिनीहरूलाई निराकरण गर्ने मण्डलीको सिद्धान्त पनि त्यसैगरी तिनीहरूलाई खुट्ट्याउने र त्यसपछि निकाल्ने वा निष्कासित गर्ने हो। तैँले तिनीहरू साँचो विश्वासी होइनन्, तिनीहरू उम्किने उपाय खोज्न र फाइदा उठाउन मण्डलीमा आएका हुन्, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई शोषण गर्न र आफ्ना लागि मामलाहरू सम्हाल्न र सेवा प्रदान गराउन चाहन्छन् भनेर खुट्ट्याएपछि, त्यस्ता अवस्थाहरूमा, अगुवा र कामदारहरू अनि दाजुभाइ-दिदीबहिनीहरूले तुरुन्तै र सही रूपमा परिस्थितिलाई सम्हाल्नुपर्छ। मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षालाई खतरामा नपारी, तिनीहरूलाई सकेसम्म चाँडो निकाल् वा निष्कासित गर्। तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूमाझ लुकेर बस्न दिइरहनु हुँदैन। तिनीहरू परमेश्वरको मुक्तिका पात्र होइनन्। जब त्यस्ता मानिसहरू तिमीहरूका बीचमा लुकिरहेका हुन्छन्, तिनीहरूले शोषण गर्न लायक को छ भनेर हेर्नका लागि निरन्तर सबैमाथि लालची र सतर्क नजर राख्छन्। तिनीहरू सधैँ मण्डलीमा तिनीहरूले प्रयोग गर्न सक्ने मानिसहरू छन् कि भनेर लेखाजोखा गरिरहेका हुन्छन्—अस्पतालमा काम गर्ने आफन्तहरू कसका छन्, कसले रोगहरूको उपचार गर्न वा गोप्य उपचार विधिहरू जानेको छ, कसले पसलहरूमा थोक मूल्य पाउन सक्छ, कुन दाजुभाइको परिवारले गाडी -खरिद-बिक्री गर्छ, कसले घरहरू किन्दा छूट मूल्य दिलाउन सक्छ—तिनीहरूले विशेषगरी यी मामलाहरूबारे अनुसन्धान गर्छन्। यस्ता मानिसहरू आफ्ना लेखाजोखामा अति लगनशील हुन्छन्! तिनीहरूले स-साना मामलाहरूको समेत लेखाजोखा गर्छन्, र तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूविरुद्ध षड्यन्त्र गर्न, र उनीहरूबाट फाइदा उठाउन चालबाजी गर्ने पनि चाहना राख्छन्। तिनीहरूले सबैको पारिवारिक पृष्ठभूमि अनुसन्धान गर्छन् र सबैलाई आफ्ना योजना र षड्यन्त्रहरूको घेराभित्र राख्छन्। के त्यस्ता मानिसहरूसँग अन्तरक्रिया गर्दा तिमीहरूको हृदयले शान्ति महसुस गर्न सक्छ? (सक्दैन।) शान्ति भएन भने के गरिनुपर्छ? तँ त्यस्ता मानिसहरूदेखि सावधान रहनुपर्छ। यी मानिसहरू गुप्त मनसायका साथ परमेश्वरमा विश्वास गर्छन्; तिनीहरू यहाँ सत्यता वा मुक्ति पछ्याउन नभई पृष्ठपोषक, जीविका, र आफ्ना लागि उम्कने उपाय खोज्न आएका हुन्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी, घृणास्पद र अन्तर्घाती हुन्छन्। तिनीहरू कुनै कर्तव्य पूरा गर्ने वा आफूलाई परमेश्वरप्रति समर्पित गर्ने गर्दैनन्। मण्डलीलाई केही कामका लागि तिनीहरूको आवश्यकता पर्दा, तिनीहरू कतै भेटिँदैनन्, तर त्यो मामला सकिएपछि तिनीहरू फेरि देखा पर्छन्। यी मानिसहरू फाइदा उठाउन मात्र जान्दछन्, र तिनीहरूलाई मण्डलीमा रहन दिनु बेकार हो; तिनीहरूलाई सकेसम्म चाँडो पखाल्न विभिन्न विधिहरू अपनाइनैपर्छ। कतिपय मानिसहरू भन्छन्, “के एक जना व्यक्तिलाई निराकरण गर्न साँच्चिकै विभिन्न विधिहरू जरुरी हुन्छ?” मण्डलीमा अनेक थरीका मानिसहरू हुन्छन्; तीमध्ये धेरैले पृष्ठपोषक र उम्कने उपाय खोज्न, आशिष्हरू प्राप्त गर्न, वा प्रकोपहरूबाट जोगिनका लागि मात्रै परमेश्वरमा विश्वास गर्छन्। यी मनसायहरूको गम्भीरता मात्र फरक हुन्छ; कतिपय मानिसहरूले एक प्रकारको व्यवहार देखाउँछन्, जबकि अरूले अर्कै प्रकारको व्यवहार देखाउँछन्। त्यसकारण, फरक मानिसहरूलाई फरक तरिकाले नै व्यवहार गर्नुपर्छ; यो मात्र सिद्धान्तहरूसँग मिल्छ। जहाँसम्म पृष्ठपोषकको खोजीमा रहेका यी अविश्वासीहरूको कुरा छ, तिनीहरूलाई तुरुन्तै पखाल्नुपर्छ। तिनीहरूलाई मण्डलीमा सित्तैमा खान नदे। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना मामलाहरू सम्हाल्न भन्छन्—वास्तवमा तिनीहरूलाई मामलाहरू सम्हाल्न मदत गर्न अलिकति मात्र मेहनत लाग्ने हुनाले, तिनीहरूलाई किन यति सानो सहयोग पनि गर्नु हुँदैन त? पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुरा, यी मानिसहरू साँचो विश्वासी होइनन्; तिनीहरू पूर्णतः अविश्वासी हुन्। दोस्रो कुरा, यी मानिसहरू विश्वास नगर्नेबाट साँचो विश्वासीमा परिवर्तित हुन सक्दैनन्। तिनीहरू परमेश्वरले पूर्वनिर्धारित गर्नुभएका र चुन्नुभएका जनहरू होइनन्; तिनीहरू उहाँको मुक्तिका पात्र होइनन्—बरु, तिनीहरू मण्डलीमा घुसपैठ गरेका दुष्कर्मीहरू हुन्। तेस्रो कुरा, यी मानिसहरू मण्डलीभित्र जताततै दौडधुप गर्छन्, र आफूले सामना गर्ने समस्या जति ठूलो भए पनि सधैँ दाजुभाइ-दिदीबहिनीहरूबाट मदत खोज्छन्, जसले अदृश्य रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई झिँजो लगाउँछ र त्यो सँगसँगै मण्डलीमा सबैका लागि हानिकारक हुने अत्यन्तै नकारात्मक वातावरण सिर्जना गर्छ। त्यसकारण, पृष्ठपोषक खोज्नलाई मात्र परमेश्वरमा विश्वास गर्ने यी दियाबलसहरूलाई सकेसम्म चाँडो पखाल्नु नै सर्वोत्तम हुन्छ। यदि तैँले अझै पनि तिनीहरूलाई पहिचान गरेको छैनस् वा तिनीहरू यस प्रकारका व्यक्ति हुन् भनेर बुझेको छैनस् भने, तैँले तिनीहरूलाई निगरानीका लागि राख्न सक्छस्। तैँले तिनीहरू परमेश्वरको घरले निकाल्नुपर्ने विभिन्न दुष्ट मानिसहरूमा पर्छन् भनेर खुट्ट्याएपछि र छर्लङ्गै देखेपछि, हिचकिचाउने वा तिनीहरूलाई कुनै शिष्टाचार देखाउने नगर्। सबैसँग छलफल गरेर सहमतिमा पुगेपछि, तँ तिनीहरूलाई निकाल्न सक्छस्। यदि मण्डलीका अगुवा र कामदारहरूले यो मामलालाई बेवास्ता गर्छन् भने, अधिकांश दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरू पृष्ठपोषक र उम्कने उपाय खोज्न मात्र परमेश्वरमा विश्वास गर्ने प्रकारका मानिस हुन् भनेर पुष्टि गरेसम्म, तँसित झूटा अगुवाहरूलाई नसोधी तिनीहरूलाई सिधै निकाल्ने अधिकार हुन्छ। त्यसो गर्नु सही हो र त्यो पूर्ण रूपमा सत्यता सिद्धान्तहरूसँग मिल्छ। यो तिमीहरूको अधिकार हो, तिमीहरूको दायित्व हो, तिमीहरूको जिम्मेवारी हो; यो तिमीहरूको आफ्नै सुरक्षाका लागि हो। अवश्य नै, साँचो विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले कठिनाइहरू सामना गर्दा, हामीसँग आफ्नो क्षमताले भ्याएसम्म उनीहरूलाई सक्दो सहयोग गर्ने जिम्मेवारी र दायित्व हुन्छ, चाहे त्यो प्रेमपूर्ण सहयोग र समर्थन होस्, वा भौतिक सहायतामार्फत होस्। यो नै दाजुभाइ-दिदीबहिनीहरूबीचको प्रेम; परमेश्वरमा विश्वास गर्नेहरूको प्रेम हो। तर, अविश्वासीहरूलाई सहयोग गर्ने अभ्यास गर्ने हाम्रो दायित्व हुँदैन, किनभने तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू होइनन् र यो अनुग्रह वा यस्तो सहयोग पाउन योग्य हुँदैनन्। यो मानिसहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्नु हो। परमेश्वरमा विश्वास गर्नुको सातौँ उद्देश्यबारे हाम्रो सङ्गति यहीँ टुङ्गिन्छ। यस प्रकारका मानिसहरूबारे थप विशिष्ट उदाहरणहरू दिनु आवश्यक छैन। छोटकरीमा, पृष्ठपोषक खोज्ने उद्देश्यले परमेश्वरमा विश्वास गर्ने जोकोहीलाई मण्डलीबाट निकाला वा निष्कासन गरिनुपर्छ। अगुवा र कामदारहरूले मण्डलीमा त्यस्ता मानिसहरू छन् भनेर खुट्ट्याएपछि, तिनीहरूले ती मानिसहरूलाई तुरुन्तै निकाल्नुपर्छ। तिमीहरूले भेटे जति सबैलाई निकाल, कसैलाई पनि नछोड। यदि अधिकांश दाजुभाइ-दिदीबहिनीहरू पहिल्यै असहाय महसुस हुने र उप्रान्त सहनै नसक्ने गरी झिँजोलिएका छन्, र अगुवा र कामदारहरूले अझै पनि “तिनीहरूका कठिनाइहरू छन्; हामीले तिनीहरूलाई सहयोग गर्नुपर्छ” भनेर तिनीहरूको प्रतिरक्षा गर्छन् भने, त्यस्ता अगुवाहरूलाई यसो भन्नुपर्छ: “तिनीहरू परमेश्वरका साँचो विश्वासी पटक्कै होइनन्। तिनीहरू आफूसँग परमेश्वरका वचनहरू सङ्गति गर्ने जोकोहीलाई बेवास्ता गर्छन् र कर्तव्य पूरा गर्न लगाउँदा मान्दैनन्। तिनीहरूमा आफूलाई परमेश्वरप्रति समर्पित गर्ने कुनै अभिप्राय कहिल्यै थिएन, र तिनीहरू आफ्ना मामलाहरू सम्हाल्नका लागि दाजुभाइ-दिदीबहिनीहरूलाई प्रयोग गर्न मात्र चाहन्छन्। हामीसँग त्यस्ता अविश्वासीहरूलाई सहयोग गर्ने कुनै जिम्मेवारी वा दायित्व छैन!” मण्डली अगुवाले अनुमोदन नगरे पनि, तिमीहरूलाई बहुमतसँग मिलेर तिनीहरूलाई मण्डलीबाट निकाल्ने अधिकार हुन्छ। यदि मण्डली अगुवा यो अवस्थामा समेत सहमत भएन भने, उक्त मामलाबारे माथि रिपोर्ट गर; अगुवालाई एकलो पारेर चिन्तन गर्न देऊ। ऊ सहमत भएपछि तिमीहरूले फेरि उसको अगुवाइ स्विकार्न सक्छौ। यदि उसले असहमति जनाइरह्यो भने, तिमीहरूले उसलाई हटाएर फेरि नयाँ अगुवा चयन गर्न सक्छौ। यो नै परमेश्वरमा विश्वास गर्नुको सातौँ उद्देश्य हो: पृष्ठपोषक खोज्नु।
ज. राजनीतिक लक्ष्यहरू पछ्याउनु
यसपछि, हामी आठौँ उद्देश्य: राजनीतिक उद्देश्य र राजनीतिक लक्ष्यहरूका साथ परमेश्वरमा विश्वास गर्नुबारे सङ्गति गर्नेछौँ। त्यस्ता व्यक्तिहरू देखा पर्ने खासै उच्च सम्भावना हुँदैन, तर त्यसको सम्भावना जति भए पनि, यी मानिसहरू देखा पर्ने सम्भावना भएसम्म, हामीले तिनीहरूका उदाहरणहरूको सूचि बनाउनुपर्छ, र तिनीहरूको खुलासा गर्नुपर्छ, तिनीहरूबारे सङ्गति गर्नुपर्छ, र तिनीहरूलाई चित्रण गर्नुपर्छ। हामीले यो गर्नैपर्छ ताकि सबैले उनीहरूलाई खुट्ट्याऊन्, र त्यसपछि तिनीहरूलाई सकेसम्म चाँडो निकाल्न सकिन्छ, यसरी मण्डली र दाजुभाइ-दिदीबहिनीहरूमाथि समस्या र खतरा निम्त्याइनबाट रोक्न सकिन्छ। यो मण्डली र दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाका लागि गरिन्छ। त्यसकारण, राजनीतिक लक्ष्यहरूका साथ परमेश्वरमा विश्वास गर्नेहरू हामीले खुट्ट्याउनुपर्ने र सावधानी अपनाउनुपर्ने मानिसहरू हुन्, र तिनीहरू मण्डलीले सकेसम्म चाँडो निकाल्नुपर्ने दुष्ट मानिसहरू पनि हुन्। राजनीतिक लक्ष्यहरू भएकाहरूका प्रकटीकरणहरू के-के हुन्? तिनीहरूले तँलाई आफ्ना साँचो विचारहरू भन्नेछैनन्। तिनीहरू प्रस्ट रूपमा यसो भन्नेछैनन्, “मलाई बस राजनीतिमा रुचि छ, मलाई राजनीतिमा भाग लिन मन पर्छ, त्यसैले म अरू कुनै कारणले नभई राजनीतिक लक्ष्यहरू र राजनीतिक उद्देश्यहरूका साथ परमेश्वरमा विश्वास गर्छु। तपाईँहरूले मलाई जसरी सम्हाल्नुपर्छ त्यसरी नै सम्हाल्न सक्नुहुन्छ।” के तिनीहरू यसो भन्नेछन्? (भन्नेछैनन्।) त्यसोभए, तिनीहरूमा कस्ता प्रकटीकरणहरू हुन्छन्, जसले तँलाई तिनीहरूसँग राजनीतिक लक्ष्यहरू छन् भनेर खुट्ट्याउने तुल्याउँछन्? अर्थात्, तिनीहरूले कस्ता शब्दहरू बोल्छन्, कस्ता कामकुराहरू गर्छन्, कस्ता हाउभाउ, आँखाको भाव, र बोलीको लबज तँलाई तिनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य शुद्ध छैन भनी पुष्टि गर्न काफी हुन्छ? तिनीहरूले जे भने वा गरे पनि, तिनीहरूले मनमा कुरा लुकाउँछन्, र कसैले पनि तिनीहरूलाई बुझ्न सक्दैन। तिनीहरूको विशेष पहिचान र पृष्ठभूमि हुन्छ; तिनीहरूको बोली र व्यवहारबाट, तिनीहरूसँग योजना र षड्यन्त्रहरू छन्, साथै तिनीहरूको बोल्ने र काम गर्ने तरिका रणनीतिक हुन्छ भन्ने देख्न सकिन्छ। तिनीहरूले बोल्दा, औसत व्यक्तिले तिनीहरूका साँचो मनसाय वा विचारहरू बुझ्न सक्दैन, र तिनीहरूले बोल्ने कुराहरू किन बोल्छन् भनेर थाहा पाउँदैन। यस्ता मानिसहरूले बाहिरी रूपमा परमेश्वरमा विश्वास गर्नु वा सत्यताबारे सङ्गति गर्नुप्रति कुनै शत्रुता वा आलोचना नदेखाए पनि, र यी कुराहरूप्रति केही लगावसमेत देखाए पनि, तँलाई बस तिनीहरू अनौठा लाग्छन्—तिनीहरू अन्य दाजुभाइ-दिदीबहिनीहरूभन्दा फरक र अलिकति बुझ्न नसकिने हुन्छन्। अलिकति बुझ्न नसकिने मानिसहरूलाई तैँले आम रूपमा के गर्छस्? के तैँले तिनीहरूविरुद्ध केवल सरल रूपमा सावधानी मात्र अपनाउँछस्? कि तिनीहरूको अनुसन्धान गर्ने र साँच्चिकै के भइरहेको छ भनेर पत्ता लगाउने पहल गर्छस्? (हामीले तिनीहरूलाई नियाल्नुपर्छ।) कुनै व्यक्तिले जे गरिरहेको भए पनि, सामान्यतया उसका उद्देश्य र लक्ष्यहरू छोटो समयमा सजिलै खुलासा हुँदैनन्। तर अझ बढी समय बित्दै जाँदा—उसले बिलकुलै केही पनि नगरेको खण्डमा बाहेक—जब उसले कार्य गर्छ, तब उसले निश्चय नै अनजानमा वास्तविक कुरा खुलासा गर्नेछ। नियाल् र साना विवरणहरूमा सुराकहरू खोज्ने गर्—तैँले उनीहरूको बोली र व्यवहारबाट, तिनीहरूका कार्यहरूको आशय र दिशाबाट, अनि तिनीहरूले बोल्दा प्रयोग गर्ने शब्द र लबजबाट केही जानकारी र सुराकहरू पत्ता लगाउन सक्छस्। यसो गर्न सक्नु तँ अति सावधान छस् कि छैनस् र तँसँग निश्चित स्तरको बौद्धिकता र क्षमता छ कि छैन भन्नेमा निर्भर हुन्छ। कतिपय मूर्खहरू मानव समाजमा अवस्थित खतरा र क्रूरता पहिचान गर्न सक्षम हुँदैनन्; तिनीहरूले जो सामना गरे पनि, अन्तरक्रिया गर्न सधैँ एउटै विधि प्रयोग गर्छन्। फलस्वरूप, जब तिनीहरूले राजनीतिक लक्ष्यहरू भएका चतुर र धूर्त राजनीतिज्ञहरू भेट्छन्, तब तिनीहरू सजिलै यहूदा र मण्डलीलाई घात गर्ने औजार बन्छन्, र तिनीहरूले अनजानमा मण्डलीलाई फन्दामा पार्ने मूर्खतापूर्ण कामकुराहरू गर्छन्।
राजनीतिक लक्ष्यहरू भएका यी मानिसहरूमा वास्तवमा के-के प्रकटीकरणहरू हुन्छन्? यी मानिसहरूको निश्चित सामाजिक पृष्ठभूमि हुन्छ; तिनीहरू राजनीतिक वृत्तमा घुलमिल हुने व्यक्तिहरू हुन्। राजनीतिक वृत्तमा तिनीहरूको हैसियत जेसुकै भए पनि, तिनीहरू अधिकारी भए पनि, सानातिना कार्यहरू गर्ने, वा राजनीतिक वृत्तमा जरा गाड्ने तयारीमा रहेका मानिस भए पनि, छोटकरीमा भन्नुपर्दा, समाजमा यी मानिसहरूको राजनीतिक पृष्ठभूमि हुन्छ; यो एउटा जटिल र विशेष परिस्थिति हो। यी मानिसहरूले परमेश्वरको अस्तित्वमा विश्वास गरे पनि वा नगरे पनि, तिनीहरूका पछ्याइहरू, तिनीहरूले लिने मार्गहरू, र तिनीहरूको प्रकृति सार मूल्याङ्कन गर्दा, के यी मानिसहरू निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्ने मानिस बन्न सक्छन्? के तिनीहरू अविश्वासीबाट, राजनीतिबारे जोसिला राजनीतिज्ञबाट निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्ने मानिसमा रूपान्तरित हुन सक्छन्? (सक्दैनन्।) पक्का हो? कि कुनै सम्भावना छ? (बिलकुलै छैन।) यो निश्चय नै असम्भव छ। परमेश्वरमा विश्वास गर्नु र राजनीति दुई अलग मार्गहरू हुन्; यी दुई मार्गहरू विपरीत दिशामा विकसित हुन्छन्, तिनमा कुनै समानता हुँदैन, र ती एक आपसमा जोडिन बिलकुलै सक्दैनन्। ती पूर्णतया विपरीत मार्गहरू हुन्। त्यसकारण, राजनीतिक लक्ष्यहरू वा प्रेम भएका अनि राजनीतिबारे जोसिला हुनेहरूले, कुनै प्रस्ट राजनीतिक उद्देश्यहरूबिना परमेश्वरमा विश्वास गरे भने पनि, तिनीहरूले अझै अन्य उद्देश्यहरू पाल्छन्; र तिनीहरूको उद्देश्य सत्यता प्राप्त गर्नु वा मुक्ति पाउनु होइन भन्ने निश्चित छ। कम्तीमा पनि, तिनीहरूले निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्दैनन् भन्ने कुरा निर्धारित गर्न सकिन्छ। तिनीहरूले परमेश्वर हुनुहुन्छ भन्ने किंवदन्ती मात्र मान्छन् तर परमेश्वरको अस्तित्व वा परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने तथ्य मान्दैनन्। यसर्थ, यी मानिसहरू कहिल्यै राजनीतिबारे जोसिला हुने अविश्वासीहरूबाट परमेश्वरको अस्तित्वमा विश्वास गर्ने, परमेश्वरको काम स्विकार्न सक्ने, र परमेश्वरको न्याय र सजाय स्विकार्न सक्ने साँचो विश्वासीमा रूपान्तरित हुनेछैनन्।
राजनीतिक लक्ष्यहरू भएका यी अविश्वासीहरूसँग वास्तवमा परमेश्वरमा विश्वास गर्नुपछाडि के-के उद्देश्यहरू हुन्छन् त? यो तिनीहरूका पछ्याइहरू र तिनीहरू संलग्न हुने पेसाहरूसँग सम्बन्धित हुन्छ। उदाहरणका लागि, कतिपय मानिसहरूले कुनै राजनीतिक वृत्तमा सधैँ निश्चित व्यक्तिगत मागहरू राख्ने गर्छन्, र ठूला राजनीतिक लक्ष्य र आकाङ्क्षाहरू, आदि राख्छन्, जुन—ती जेसुकै भए पनि—सबै राजनीतिसँग सम्बन्धित हुन्छन्। “राजनीति” भन्नुको अर्थ के हो? सरल रूपमा भन्नुपर्दा, यो सत्ता, शक्ति र शासनसँग सम्बन्धित हुन्छ। त्यसकारण, तिनीहरूले राजनीतिक लक्ष्यहरूका साथ परमेश्वरमा विश्वास गर्नु अवश्य नै तिनीहरूका राजनीतिक पछ्याइहरूसँग सम्बन्धित हुन्छ। त्यसोभए तिनीहरूका उद्देश्यहरू के-के हुन्? तिनीहरू किन मण्डलीका मानिसहरूप्रति आकर्षित हुन्छन्? तिनीहरू आफ्ना उद्देश्यहरू हासिल गर्न उक्त संस्था अर्थात् मण्डली, मण्डलीमा रहेका ठूलो सङ्ख्याका मानिसहरू, र विभिन्न पेसा र सामाजिक तप्कामा भएका मण्डलीका यी मानिसहरूको प्रभावलाई प्रयोग गर्न चाहन्छन्। मण्डलीले दिने शिक्षा, मण्डलीका कामका विभिन्न कुराहरूको सञ्चालन, परमेश्वरका चुनिएका मानिसहरूले मण्डली जीवन जिउने तरिका, उनीहरूको कर्तव्य अभ्यास, आदि-इत्यादिबारे थाहा पाएपछि, तिनीहरू आफैलाई मण्डलीमा समाहित गर्ने जमर्को गर्छन्। तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूद्वारा सङ्गतिमा बारम्बार प्रयोग गरिने आत्मिक शब्दावली र विभिन्न अभिव्यक्तिहरू जस्ता कुराहरूलाई दृढ रूपमा मनमा राख्छन्, सबैलाई आफ्नो कुरा सुन्न तुल्याउन आफ्नो पछाडि लगाउन, र प्रयोग गर्न लगाउन, यसरी आफ्ना राजनीतिक उद्देश्यहरू हासिल गर्न कुनै दिन तिनीहरूले यी कुराहरू प्रयोग गर्न सक्छन् भन्ने आशा गर्छन्। ठ्याक्कै गैरविश्वासीहरूले भने जस्तै, केही समय कामकुराहरू तयार हुँदै गएपछि, जब तिनीहरूले झन्डा उठाउन र मानिसहरूलाई विद्रोहमा उतार्न सक्छन्, तब अझ धेरै मानिसहरूले तिनीहरूको आह्वान सुन्नेछन् र तिनीहरूलाई पछ्याउनेछन्, ताकि तिनीहरूले मण्डलीका केही मानिसहरूलाई आफ्ना प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्ने शक्ति बनाउन प्राप्त गर्न सकून्। त्यस्ता घटनाहरू आधुनिक चिनियाँ इतिहासमा धेरै पटक घटेका छन्। उदाहरणका लागि, चिङ राजवंशको पालामा भएका श्वेत कमल विद्रोह र ताइपिङ विद्रोह त्यस्ता घटनाहरू थिए, जहाँ राजनीतिक लक्ष्यहरू भएका मानिसहरूले सरकारविरुद्ध लड्न धर्म प्रयोग गरेका थिए। तिनीहरूका धर्मका शिक्षाहरू साँचो मार्गबाट विचलित थिए र तिनमा सत्यतासँग बिलकुलै नमिल्ने धेरै बेतुका र हास्यास्पद पक्षहरू थिए। राजनीतिक लक्ष्यहरू भएकाहरूले त्यस्ता शिक्षालाई मानिसहरूको मनलाई एककृत गर्न, उनीहरूको मनलाई बाँध्न, अनि उनीहरूको मनलाई प्रभावित पार्न र आफ्ना सिद्धान्तमा ढाल्न प्रयोग गर्थे। अन्ततः तिनीहरूले यी सिद्धान्तमा ढालिएका मानिसहरूलाई आफ्ना राजनीतिक उद्देश्यहरू हासिल गर्नमा दुरुपयोग गरे। सुरुदेखि नै, जब राजनीतिक लक्ष्यहरू भएका यी मानिसहरू परमेश्वरमा विश्वास गर्न पुग्छन्, तिनीहरू आकर्षित हुने भनेको मण्डलीको नामप्रति हो। भन्नुको मतलब, तिनीहरूले आफ्ना पहिचान र लक्ष्यहरूलाई उक्त संस्था अर्थात् मण्डलीको शीर्षकअन्तर्गत लुकाउन सक्छन्—यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने, तिनीहरूले आफूले परमेश्वरमा विश्वास गर्ने ध्वजा बोकेर आफ्ना राजनीतिक विचारहरू फैलाएसम्म, मण्डलीमा रहेका मानिसहरूलाई सिद्धान्तमा ढाल्न निकै सजिलो हुनेछ, र यी मानिसहरूले चर्चित मानिसहरूलाई आराधना गर्ने र उनीहरूको कुरा सुन्ने सम्भावना हुनेछ भन्ने सोच्छन्। परिणामस्वरूप, राजनीतिक लक्ष्यहरू भएका यी व्यक्तिहरूले मण्डलीमा रहेका मानिसहरूलाई उपयोग गर्नुपर्ने वस्तुका रूपमा हेर्ने सम्भावना हुन्छ। तिनीहरू मण्डली तिनीहरूको पहिचान लुकाउन सकिने ठाउँ बन्न निकै सहज छ, र मण्डलीका सदस्यहरू तिनीहरूले सजिलै उपयोग गर्न सक्ने वस्तुहरू हुन् भन्ठान्छन्—सरल रूपमा भन्नुपर्दा, तिनीहरूले कामकुरालाई यसरी नै हेर्छन्। त्यसकारण, तिनीहरूको मण्डलीमा आबद्ध हुनुको उद्देश्य कुनै दिन, तिनीहरू उदयमान भएपछि, तिनीहरूले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्न र शक्ति प्राप्त गर्न सक्छन् भनी आशा गर्नु हो—यो तिनीहरूको राजनीतिक लक्ष्य हो। तिनीहरूलाई आदर्श मान्ने र पछ्याउने मानिसहरूलाई आफ्नो राजनीतिक प्रभाव क्षेत्रमा विस्तार गर्न तिनीहरू नामले मात्र परमेश्वरमा विश्वास गर्ने बहानालाई प्रयोग गर्न चाहन्छन्। कतिपय मानिसहरू भन्छन्, “तिनीहरूले यो उद्देश्य राखेका होलान्, तर यदि तिनीहरूले कुनै चाल चालेनन् भने, बढीमा हामीले तिनीहरू अविश्वासी वा झूटा विश्वासी हुन् भनेर मात्र देख्न सक्छौँ। हामीले तिनीहरूसँग प्रस्ट राजनीतिक उद्देश्यहरू छन् भनेर कसरी देख्न सक्छौँ?” यो गाह्रो छैन। बस नियाल्नका लागि समय निकाल्। तिनीहरूसँग राजनीतिक लक्ष्यहरू भएसम्म, तिनीहरूले पक्कै पनि कदम उठाउनेछन्। यदि तिनीहरू कदम उठाउन चाहँदैनन् भने, तिनीहरूले किन मण्डलीमा घुसपैठ गरेका हुनेथिए? यदि तिनीहरूले अहिलेसम्म कदम उठाएका छैनन् भने, त्यो तिनीहरूले अवसर नपाएका कारण हो। तिनीहरूले अवसर पाउनेबित्तिकै, सोही बमोजिम कदम चाल्नेछन्। उदाहरणका लागि, यदि सरकारले गलत नीति लागु गर्यो वा परमेश्वरका चुनिएका मानिसहरूलाई दमन र पक्राउ गर्यो भने, दाजुभाइ-दिदीबहिनीहरूले बढीमा यस मामलाबारे छलफल गर्ने थिए र यसलाई खुट्ट्याउने थिए, अनि कुरा त्यतिमा नै सकिनेथियो। जेसुकै भए पनि, परमेश्वरमा विश्वास गर्नु, आफ्ना कर्तव्यहरू पूरा गर्नु, र परमेश्वरको इच्छा पछ्याउनु नै महत्त्वपूर्ण कुराहरू हुन्। तिनीहरूले सानातिना मामलाहरूका लागि ठूलो परिदृश्य गुमाउन चाहनेथिएनन्; तिनीहरूले सधैँझैँ आफूले गर्नुपर्ने शैलीमा परमेश्वरमा विश्वास गर्न र आफ्ना कर्तव्यहरू पूरा गर्न जारी राख्नेथिए। तर, राजनीतिक लक्ष्यहरू भएका मानिसहरू फरक हुन्छन्। तिनीहरूले त्यस मामलालाई ठूलो मुद्दा बनाउनेथिए, बेकाबू रूपमा खुलासा र व्यापक रूपमा प्रसार गर्नेथिए, अनि आफ्नै राजनीतिक लक्ष्यहरूलाई टेवा दिन सबैलाई सरकारविरुद्ध उठ्न दिलोज्यानले उक्साउने चाहना राख्नेथिए, अनि तिनीहरू आफ्ना लक्ष्यहरू प्राप्त नभएसम्म रोकिने थिएनन्। राजनीतिमा संलग्न हुनका खातिर, तिनीहरूले परमेश्वरमा विश्वास गर्ने र आफ्ना कर्तव्यहरू पूरा गर्ने मामलाहरूलाई पूर्ण रूपमा पन्छाउँछन्, साथै परमेश्वरले मानिसहरूबाट गर्नुहुने मागहरू र परमेश्वरका अभिप्रायहरूलाई बेवास्ता गर्छन्। तिनीहरू यति पागल हुन्छन्—के मानिसहरूले अझै पनि तिनीहरूलाई खुट्ट्याउन सक्दैनन् र? त्यस्ता व्यक्तिहरूले परमेश्वरलाई पछ्याइरहेका हुन्छन् कि राजनीतिलाई? सुझबुझ नभएका कतिपय मानिसहरू सजिलै बहकिन्छन्। राजनीतिमा संलग्न हुने यी मानिसहरूलाई सत्यता के हो भन्ने थाहा हुँदैन, तिनीहरूले परमेश्वरको काम भनेको मानिसहरूका भ्रष्ट स्वभावहरू पखाल्नु र उनीहरूलाई शैतानको प्रभावबाट मुक्ति दिनु हो भन्ने कुरा त झनै बुझ्दैनन्। तिनीहरूले मानव अधिकार र राजनीतिमा संलग्न हुनुको अर्थ इन्साफको बोध हुनु र परमेश्वरमा समर्पित हुनु हो भन्ने सोच्छन्। के राजनीति र मानव अधिकारमा संलग्न हुनुले व्यक्तिमा सत्यता वास्तविकता छ भन्ने जनाउँछ? के त्यसले व्यक्ति परमेश्वरमा समर्पित हुन्छ भन्ने जनाउँछ? तैँले मानव अधिकार र राजनीतिलाई जतिसुकै राम्ररी सम्हाले पनि, के त्यसले तेरो भ्रष्ट स्वभाव पखालिएको छ भन्ने जनाउँछ? के त्यसले तेरो शक्ति हातमा लिने महत्त्वाकाङ्क्षा र चाहना पखालिएका छन् भन्ने जनाउँछ? धेरै मानिसहरूले यी मामलाहरू छर्लङ्गै देख्न सक्दैनन्। सन यात सेन पनि इसाई नै थियो अरे। जब ऊ खतरामा हुन्थ्यो, ऊ आफूलाई बचाउनुहोस् भनी परमेश्वरलाई प्रार्थना गर्थ्यो। उसले आफ्नो पूरै जीवन क्रान्तिमा संलग्न भएर बितायो—के उसले परमेश्वरको अनुमोदन पायो त? के ऊ सत्यता अभ्यास गर्ने र परमेश्वरमा समर्पित हुने व्यक्ति थियो? के ऊसँग परमेश्वरका वचनहरू अभ्यास गरेको अनुभवात्मक गवाही थियो? ऊसँग यीमध्ये केही पनि थिएन। पावललाई बोलाइपछि, उसले निरन्तर सुसमाचार प्रचार गर्यो र धेरै कष्ट भोग्यो, तर उसले साँचो रूपमा पश्चात्ताप नगरेको, ऊसँग जीवन प्रवेश नभएको, उसले बारम्बार उही पुरानै पापहरू गरेको, अनि हरेक अवसरमा आफैलाई उच्च पारेको र आफ्नै गवाही दिएको हुनाले, ऊ ख्रीष्टविरोधी बन्यो र दण्डित भयो। जेसुकै भए पनि, सत्यतालाई स्वीकार नगरी परमेश्वरमा विश्वास गर्नु, सधैँ ख्याति र हैसियत पछ्याउनु, र सधैँ अतिमानव वा महान् व्यक्ति हुन चाहनु निकै खतरनाक कुरा हो। राजनीतिक लक्ष्यहरू बोकेका सबै ख्रीष्टविरोधी हुन्। यी मानिसहरूले आफ्ना राजनीतिक आकाङ्क्षाहरू साकार गर्न सजिलै हार मान्नेछैनन् र सधैँ विश्वासीहरूलाई उक्साउन र आफ्नो राजनीतिक शक्तिका रूपमा जित्न अवसरहरू खोजिरहनेछन्। यदि कुनै दिन तिनीहरूले विश्वासीहरू सजिलै शोषित हुँदैनन्, विश्वासीहरूले सत्यतालाई मात्र प्रेम गर्छन् र पछ्याउँछन्, र उनीहरूले मानिसहरूलाई नभई ख्रीष्टलाई मात्र पछ्याउँछन् भन्ने देखेमा, तब मात्र तिनीहरूले यी विश्वासीहरूलाई पूर्ण रूपमा त्याग्नेछन्।
जरामा, राजनीतिक लक्ष्यहरू भएका मानिसहरूको मनलाई पूर्ण रूपमा राजनीतिसँग सम्बन्धित विचारहरूले ओगटेको हुन्छ—जस्तै, शक्ति र प्रभाव, शासन, षड्यन्त्रहरू, राजनीतिक उपायहरू, आदि। तिनीहरूले परमेश्वरमा विश्वास गर्नुको अर्थ के हो, आस्था भनेको के हो, सत्यता भनेको के हो भनेर बुझ्दैनन्, वा कसरी परमेश्वरमा समर्पित हुने भनेर त झनै बुझ्दैनन्। तिनीहरूले स्वर्गको इच्छा के हो भन्ने कुरा पनि बुझ्दैनन्। तिनीहरूका बाँच्ने सिद्धान्तहरू “मानिसले प्रकृतिलाई जित्छ” र “आफ्नो नियति आफ्नै हातमा हुन्छ” भन्ने हुन्। त्यसकारण, त्यस्ता मानिसहरूलाई बदल्ने कोसिस गर्नु असम्भव छ र यो मूर्खतापूर्ण विचार हो। यी मानिसहरूले मण्डलीमा दाजुभाइ-दिदीबहिनीहरूमाझ प्रायः राजनीतिक दृष्टिकोणहरू फैलाउँछन्, उनीहरूलाई राजनीतिक गतिविधिहरूमा संलग्न हुन र राजनीतिमा भाग लिन उक्साउँछन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य राजनीतिक लक्ष्यहरूद्वारा निर्देशित हुन्छ भन्ने कुरा निकै प्रस्ट छ। यो सार अरूले तुरुन्तै र सजिलै खुट्ट्याउन सक्छन्। यस्ता मानिसहरू आस्था, सही मार्गमा हिँड्ने, र स्वर्गको इच्छामा समर्पित हुनेबारे पूर्णतया अनजान हुन्छन्—तिनीहरू कुनै पनि व्यक्तिका सोच र मार्गहरूलाई राजनीतिक तिकडमहरू प्रयोग गरेर परिवर्तन गर्न सकिन्छ भन्ने विश्वास गर्छन्, र तिनीहरूले विशेषगरी व्यक्तिको नियतिलाई मानव माध्यम र विधिहरूमार्फत परिवर्तन गर्न सकिन्छ भन्ने विश्वास गर्छन्। त्यसकारण, तिनीहरू परमेश्वरद्वारा सृष्टि गरिएको प्रकृतिको व्यवस्था र मानिसको नियतिमाथि परमेश्वरको सार्वभौमिकतासँग सम्बन्धित गहन तर प्रस्ट मामलाहरूबारे पूर्ण रूपमा अनजान हुन्छन्; तिनीहरू यी मामलाहरूमा आम मानिस हुन् र तिनीहरूले ती कुराहरू बस बुझ्न नै सक्दैनन्। मैले यसो भन्नुको अर्थ के हो? यदि तैँले त्यस्तो कोही भेटिस्, जसको परमेश्वरमा विश्वास गर्नुको उद्देश्य राजनीतिक लक्ष्यहरूद्वारा निर्देशित छ भने, तैँले उसलाई कदापि परिवर्तन गर्ने वा फकाउने कोसिस गर्नु हुँदैन, र ऊसित त्यति धेरै सत्यताहरू सङ्गति गर्नु आवश्यक छैन। ऊदेखि सावधान हुनु बाहेक, तैँले विभिन्न तहका मण्डली अगुवाहरू वा भरपर्दा दाजुभाइ-दिदीबहिनीहरूलाई उसबारे सकेसम्म चाँडो जानकारी दिनुपर्छ, र त्यसपछि उसलाई मण्डलीबाट निष्कासित गर्ने उपाय खोज्नुपर्छ। तैँले अरूलाई अन्धकारमा रहन दिएर आफूचाहिँ सुटुक्क र चुपचाप तिनीहरूविरुद्ध सावधान रहनुहुँदैन। त्यसोभए, राजनीतिबारे कुरा गर्न मन पराउने र राजनीतिक लक्ष्यहरू हुनेहरूलाई कस्ता प्रकारका मानिसहरूले अलिकति खुट्ट्याउन सक्छन्? पाको उमेरका मानिसहरूले कि कम उमेरका मानिसहरूले? दाजुभाइहरूले कि दिदीबहिनीहरूले? (पाको उमेरका दाजुभाइहरूले।) ठीक भनिस्; पाको उमेरका दाजुभाइहरू, अर्थात्, जोसँग सामाजिक अनुभव छ, जसको राजनीतिसँग सम्पर्क रहेको छ, वा जो राजनीतिक सतावटमा परेका छन्—यी मामलाहरूबारे अन्तर्ज्ञान भएका मानिसहरू—उनीहरूले तुलनात्मक रूपमा प्रस्टताका साथ राजनीतिक मामलाहरू बोध गर्न सक्छन्। स्वतः, उनीहरूले राजनीतिमा संलग्न हुनेहरूप्रति अलिकति सुझबुझ अभ्यास गर्न सक्छन्, र विशेषगरी, उनीहरूले तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू, साथै तिनीहरूका विचार, दृष्टिकोण, सपना, र आकाङ्क्षाहरूलाई तुलनात्मक रूपमा प्रस्टताका साथ बुझ्न सक्छन्। त्यसकारण, उनीहरूले यस्ता मानिसहरूलाई तुलनात्मक रूपमा अरूले भन्दा छिटो खुट्ट्याउन सक्छन्। कसैले यी मानिसहरूसँग राजनीतिक लक्ष्यहरू छन् र तिनीहरू अविश्वासी हुन् भनेर खुट्ट्याएपछि, उनीहरूले तिनीहरूविरुद्ध सावधानी अपनाउनुपर्छ र यी अविश्वासीहरूको खुलासा गर्नुपर्छ। त्यो सँगसँगै, उनीहरूले सत्यता नबुझ्ने मूर्ख र अज्ञानी जनहरूको पनि सुरक्षा गर्नैपर्छ, र तिनीहरूलाई बहकाउ र शोषणमा पर्नबाट, अनि अनजानमा मण्डलीको केही आन्तरिक सूचना चुहाउनबाट जोगाउनैपर्छ। मण्डली अगुवाहरूलाई यो मामलाबारे सूचना दिन र उनीहरूसँग यसबारे छलफल गर्न, अनि राजनीतिक लक्ष्यहरू बोकेका यी मानिसहरूविरुद्ध सावधान रहनका लागि पाको उमेरका अझ धेरै मानिसहरूलाई वा केही सत्यता बुझ्ने र केही कद भएकाहरूलाई सकेसम्म चाँडो जानकारी गराउन आवश्यक हुन्छ। अरूलाई यी मानिसहरूको सार अविश्वासी हो भनी प्रस्ट रूपमा बुझ्न मदत गर्नु, यसरी मूर्ख र अज्ञानी दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूको शोषणमा पर्नबाट सुरक्षा दिनु महत्त्वपूर्ण हुन्छ। यदि तँ यी मामलाहरू छर्लङ्गै देख्न सक्दैनस् र तँमा कुनै सुझबुझ छैन भने, केही अनिष्टकर, चतुर, धूर्त मानिसहरूले तँसित कुराकानी र गफगाफ गर्दा, तँलाई सोध्दै नसोध्दा समेत तैँले आफ्नो साँचो परिस्थितिका विवरणहरू र आफूलाई थाहा भएको सबथोकका बारेमा स्वेच्छाले सबै कुरा खुलाउनेछस्, र तँ अनजानमै यहूदा बन्नेछस्। के त्यस्ता मानिसहरू छन्? (छन्।) जब तँ बोल्छस्, तँलाई अर्को व्यक्तिले के उद्देश्य बोकेको छ भन्ने थाहा हुँदैन र तँ उसलाई दाजुभाइ वा दिदीबहिनीका रूपमा व्यवहार गर्छस्, थाहै नपाई उसलाई आफ्नो मनको सबै कुरा बताउँछस्—तैँले बोलिसकेपछि तँलाई के-के परिणामहरू आउनेछन् भनेर थाहा हुँदैन। अरू मानिसहरू तिनीहरूविरुद्ध सावधान भएको देखेर, तँ यसो भन्छस्, “तिमी अति सतर्क छौ। दाजुभाइ-दिदीबहिनीहरूबीच लुकाउनुपर्ने के छ र?” तैँले अरूले किन बोल्दैनन् भन्ने कुरा बुझ्दैनस्—यसलाई मूर्ख हुनु भनिन्छ।
राजनीतिक लक्ष्यहरू भएका मानिसहरू पनि निश्चय नै अविश्वासी हुन्, किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् र तिनीहरूले सत्यता स्विकार्नेछैनन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्ने भए पनि, तिनीहरू पूर्णतया दुष्ट मानिसहरूको वर्गमा पर्छन् जो ख्रीष्टविरोधी हुन्। त्यस्ता मानिसहरूविरुद्ध सावधान रहनु भनेको वास्तवमा सबैभन्दा निष्क्रिय तरिका हो। सक्रिय तरिका भनेको तिनीहरूलाई सुरुमै पत्ता लगाउनु, र सकेसम्म चाँडो निराकरण र निष्कासन गर्नु हो, ताकि मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै समस्यामा पर्नबाट जोगाउन सकियोस्। यस्ता मानिसहरूले अरूलाई जुनसुकै बेला र मण्डलीभित्र जहाँसुकै प्रभावित गर्न सक्ने र मण्डलीको सामान्य व्यवस्थालाई जुनसुकै बेला र जस्तोसुकै परिस्थितिमा ध्वस्त पार्न सक्ने हुनाले, त्यस्ता अविश्वासीहरूलाई सहिरहने वा तिनीहरूप्रति धैर्य भइरहने नगर्। तिनीहरूलाई पश्चात्ताप गर्ने अर्को मौका नदे; मूर्ख नबन्। पटक पत्ता लागेपछि, भविष्यमा दुर्भाग्य हुनबाट जोगिनका लागि तिनीहरूलाई सकेसम्म चाँडो निष्कासित गरिनुपर्छ। यसो गर्नुको उद्देश्य सत्यता नपछ्याउनेहरूलाई बहकिन र प्रयोग हुनबाट, शैतान र दुष्ट पिशाचका कठपुतली बन्नबाट जोगाउनु हो। अवश्य नै, तैँले यस क्षण सबैभन्दा गर्नैपर्ने कुरा भनेको राजनीतिक लक्ष्यहरू भएकाहरूलाई मण्डलीबारे कुनै पनि महत्त्वपूर्ण सूचना थाहा पाउनबाट रोक्नु हो। तैँले जति चाँडो तिनीहरूलाई खुट्ट्याउँछस् र निष्कासित गर्छस्, तिनीहरूसँग दाजुभाइ-दिदीबहिनीहरूको सम्पर्क त्यति नै कम हुनेछ, र उनीहरू तिनीहरूको बहकाउ र प्रभावमा त्यति नै कम पर्नेछन्। त्यसकारण, समयको हिसाबले, त्यस्ता मानिसहरूलाई ढिलाइ नगरी सकेसम्म चाँडो निराकरण र निष्कासन गर्नु नै उत्तम हुन्छ—जति चाँडो, त्यति राम्रो। सक्रिय हुनु निष्क्रिय हुनुभन्दा राम्रो हो। राजनीतिक लक्ष्यहरू भएका मानिसहरूसँग खराब अभिप्राय हुन्छ; तिनीहरूले मण्डली र परमेश्वरको घरका लागि कुनै पनि काम गर्दा तिनीहरूसँग कुनै निष्कपटता हुनै सक्दैन। यदि तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन वा प्रयोग गर्न सकेनन् भने, तिनीहरू पूर्ण रूपमा अपमानित हुनेछन् र बिदा समेत नलिई स्वेच्छाले मण्डली छाड्नेछन्। परमेश्वरमा विश्वास गर्नुको आठौँ उद्देश्य: “राजनीतिक लक्ष्यहरू पछ्याउनु” बारे, हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।
अक्टोबर ३०, २०२१