अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२४)

विषयवस्तु चौध: सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, र त्यसपछि निकाला वा निष्कासित गर्ने (भाग तीन)

विभिन्‍न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मानक र आधारहरू

अ. परमेश्‍वरमा विश्‍वास गर्नुपछाडि व्यक्तिको उद्देश्यका आधारमा

पछिल्लो भेलामा, हामीले अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीका बारेमा सङ्गति गर्‍यौँ: “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, र त्यसपछि निकाला गर्ने वा निष्कासित गर्ने।” यस जिम्मेवारीको विषयवस्तुका आधारमा, हामीले विविध परिस्थितिहरूमा विभिन्‍न मानिसहरूका विभिन्‍न प्रकटीकरणहरूलाई सारांश गर्‍यौँ, त्यसपछि यी विभिन्‍न व्यक्तिहरूलाई तिनीहरूको प्रकटीकरणका आधारमा खुट्ट्यायौँ। यी व्यक्तिहरूको खुट्ट्याइमार्फत, हामीले परमेश्‍वरको घरले खुट्ट्याउनुपर्ने र निकाल्नुपर्ने दुष्ट मानिसहरू—अर्थात्, परमेश्‍वरको घरमा रहने अनुमति नभएका र निकालिने कार्यका निसानाहरू को-को हुन् भन्‍ने कुरालाई स्पष्ट रूपमा पहिचान गर्ने उद्देश्य राख्यौँ। यसअघिका दुई पटक, हामीले तीन वटा पक्षहरूमार्फत विभिन्‍न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने र वर्गीकरण गर्ने बारे सङ्गति गर्‍यौँ। आज, हामी यी तीन वटा पक्षहरूमार्फत विभिन्‍न प्रकारका दुष्ट मानिसहरूको वर्गीकरणबारे विभिन्‍न विवरणहरूका सङ्गतिलाई जारी राख्‍नेछौँ। पहिलो, चौधौँ जिम्मेवारी र त्यसमा सूचीकृत गरिएका तीन वटा विशिष्ट वर्गहरू पढ। (अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारी: “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, र त्यसपछि निकाला वा निष्कासित गर्ने।” पहिलो: परमेश्‍वरमा विश्‍वास गर्नुको पछाडि व्यक्तिको उद्देश्य; दोस्रो: व्यक्तिको मानवता; तेस्रो: आफ्नो कर्तव्यप्रतिको व्यक्तिको मनोवृत्ति।) पढिसकेपछि, के तिमीहरूलाई यसअघिका दुई वटा सङ्गतिका केही आधारभूत विषयवस्तुहरू याद आयो? (आयो।) सुरुमा हाम्रो यसअघिको सङ्गतिको विषयवस्तुलाई पुनरावलोकन गरौँ। (यसअघि, परमेश्‍वरमा विश्‍वास गर्नुको पछाडि रहेको व्यक्तिको उद्देश्यबारे परमेश्‍वरले सङ्गति गर्नुभयो, र यस विषयका चौथोदेखि आठौँ बुँदासम्म समेट्नुभयो: चौथो, अवसरवादमा संलग्‍न हुनु; पाँचौँ, मण्डलीको भरमा बाँच्नु; छैटौँ, शरण खोज्नु; सातौँ, पृष्ठपोषक खोज्नु; आठौँ, राजनीतिक उद्देश्यहरू पछ्याउनु।) यसअघिको सङ्गतिमा यी पाँच बुँदाहरूबारे छलफल गरिएको थियो। यी पाँच प्रकारका मानिसहरूका आधारभूत प्रकटीकरणहरू र तिनीहरूले प्रकट गरेका भ्रष्ट सारहरूका सङ्गतिमार्फत, परमेश्‍वरमा विश्‍वास गर्नुपछाडिको तिनीहरूको व्यवहार अनि अभिप्राय र उद्देश्यहरू, साथै परमेश्‍वरबाट तिनीहरूले गर्ने निरन्तर मागहरूका आधारमा मूल्याङ्कन गर्दा, के यी मानिसहरू दाजुभाइ-दिदीबहिनी मानिनुपर्छ र मण्डलीमा नै रहनुपर्छ? (अहँ, त्यस्ता मानिसहरूलाई पखाल्नुपर्छ, किनभने परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास सत्यता पछ्याउनु वा मुक्ति पछ्याउनु हुँदैन। तिनीहरू सबैका व्यक्तिगत अभिप्राय र योजनाहरू हुन्छन्, तिनीहरूले आफ्ना लागि फाइदाहरू हत्याउने र परमेश्‍वरको घरमा लाभहरू प्राप्त गर्ने आशा गर्छन्। तिनीहरू परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरू होइनन्; तिनीहरू सबै अविश्‍वासीहरू हुन्।) यदि अविश्‍वासीहरूलाई मण्डलीबाट निकालिएन भने, तिनीहरूले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूलाई के-कस्तो हानि गर्न सक्छन्? (तिनीहरूले न त परमेश्‍वरको वचन खाने र पिउने गर्छन्, न त तिनीहरूले परमेश्‍वरको काम अनुभव नै गर्छन्; तिनीहरू सत्यता स्वीकार नगरी मण्डलीमा बस्छन्। त्यसमाथि, तिनीहरूले नकारात्मकता र धारणाहरू पोख्न सक्छन्, यसरी बाधा र अवरोधहरू दिन्छन्, र नकारात्मक भूमिका खेल्छन्।) यी प्रकटीकरणहरू मानिसहरूले मूलतः देख्‍न सक्‍ने कुरा नै हुन्।

यसअघिको सङ्गतिमा छलफल गरिएका पाँच प्रकारका मानिसहरूका प्रकटीकरणहरू मूल्याङ्कन गर्दा, के यी मानिसहरूमा कुनै साझा विशेषता हुन्छ? (हुन्छ।) तिनीहरूको साझा विशेषता के हो? (ती सबै मानिसहरू अविश्‍वासीहरू हुन्।) (तिनीहरू परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, सत्यतामा विश्‍वास गर्दैनन्, र सत्यतामा रुचि राख्दैनन्।) यसले तिनीहरूको सार छुन्छ। तिनीहरूले सत्यतामा विश्‍वास नगर्ने हुनाले, सत्यता स्वीकार गर्नेछैनन्। सत्यता पटक्‍कै स्वीकार नगर्ने मानिसहरूको सार अविश्‍वासीकै सार हो। अविश्‍वासीहरूको पहिचान चिन्हहरू केके हुन्? तिनीहरू अवसरवादमा संलग्न हुन, मण्डलीको भरमा बाँच्न, प्रकोपहरूबाट जोगिन, आड पाउन र खान पाइरहन परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूमध्ये कतिपय त राजनीतिक लक्ष्यहरूसमेत पछ्याउँछन्, अनि तिनीहरू निगाह र आधिकारिक नियुक्ति प्राप्त गर्नहेतु निश्‍चित मामलाहरूमार्फत सरकारसँग सम्पर्क स्थापित गर्न चाहन्छन्। त्यस्ता मानिसहरू अविश्‍वासीहरू हुन्, तिनीहरूमध्येका एकएक व्यक्ति अविश्‍वासीहरू हुन्। तिनीहरू परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा यी मनसाय र अभिप्रायहरू बोक्छन्, र तिनीहरूले हृदयमा, परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा पूर्ण निश्‍चिततासाथ विश्‍वास गर्दैनन्। तिनीहरूले उहाँलाई माने नै भने पनि, शङ्का गर्दै मान्छन्, किनभने तिनीहरूले पक्रिरहेका दृष्टिकोणहरू नास्तिक हुन्छन्। तिनीहरू भौतिक संसारमा तिनीहरूले देख्‍न सक्‍ने कुराहरूमा मात्रै विश्‍वास गर्छन्। तिनीहरूले परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्दैनन् भनेर हामी किन भन्छौँ? किनभने तिनीहरू परमेश्‍वरले स्वर्ग र पृथ्वी र यावत् थोक सृष्टि गर्नुभएको हो, र मानवजातिलाई सृष्टि गरेपछि परमेश्‍वरले तिनीहरूलाई अगुवाइ गरिरहनुभएको छ र तिनीहरूमाथि सार्वभौमिकता राखिरहनुभएको छ भन्‍ने तथ्यहरूमा एकनासले विश्‍वास गर्ने वा तिनलाई स्विकार्ने गर्दैनन्। त्यसकारण, तिनीहरूले परमेश्‍वर देह बन्‍न सक्नुहुन्छ भन्‍ने तथ्य विश्‍वास गर्न पटक्‍कै सक्दैनन्। यदि तिनीहरूले परमेश्‍वर देह बन्‍न सक्नुहुन्छ भनी विश्‍वास गर्दैनन् भने, के तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका सबै सत्यताहरू विश्‍वास गर्न र तिनलाई मान्न सक्छन् त? (सक्दैनन्।) यदि तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू विश्‍वास गर्दैनन् भने, के तिनीहरू परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन सक्‍नुहुन्छ भन्‍ने कुरामा र मानवजातिलाई मुक्ति दिने उहाँको व्यवस्थापनको योजनामा विश्‍वास गर्छन् त? (गर्दैनन्।) तिनीहरू यी कुनै कुरामा विश्‍वास गर्दैनन्। तिनीहरूको अविश्‍वासको जड के हो? त्यो जड के हो भने, तिनीहरू परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनेर विश्‍वास गर्दैनन्। तिनीहरू नास्तिक र भौतिकवादीहरू हुन्। तिनीहरूले भौतिक संसारमा देख्‍न सक्ने कुराहरू मात्रै वास्तविक हुन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले युक्ति र अनुचित माध्यमहरूद्वारा मात्रै ख्याति, प्राप्ति, र हैसियत हासिल गर्न सकिन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू समृद्ध हुने र सुखी जीवन जिउने एउटै मात्र तरिका शैतानी दर्शनहरूअनुसार जिउनु हो भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले आफ्नो भाग्य आफ्नै हातमा मात्र हुन्छ, र सुखी जीवन बनाउन र सुरक्षित गर्न आफूमै भर पर्नुपर्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू परमेश्‍वरको सार्वभौमिकता वा उहाँको सर्वशक्तिमान्‌तामा विश्‍वास गर्दैनन्। तिनीहरू परमेश्‍वरमा भर परे तिनीहरूले केही प्राप्त गर्नेछैनन् भन्‍ने सोच्छन्। अन्त्यमा, तिनीहरूले परमेश्‍वरका वचनहरूले सबै कुरा हासिल गर्न सक्छन् भन्‍ने कुरा विश्‍वास गर्दैनन्, र तिनीहरू परमेश्‍वरको सर्वशक्तिमान्‌तामा विश्‍वास गर्दैनन्। त्यसकारण परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा अवसरवादमा संलग्न हुने, मण्डलीको भरमा बाँच्ने, शरण खोज्ने, पृष्ठपोषक खोज्ने, विपरीतलिङ्गी साथीहरू बनाउने, र राजनीतिक लक्ष्यहरू पछ्याउने—आफ्ना लागि आधिकारिक पद र खानपिनको आधार सुरक्षित गर्ने—जस्ता मनसाय र उद्देश्यहरू देखा पर्छन्। ती मानिसहरूले परमेश्‍वरले यावत् कुरामाथि सार्वभौम शासन गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास नगर्ने हुनाले नै तिनीहरू आफ्ना अभिप्राय र उद्देश्यहरू लिएर दुस्‍साहसपूर्ण र अनैतिक रूपले मण्डलीमा घुसपैठ गर्न सक्छन्, मण्डलीमा आफ्ना प्रतिभा उपयोग गर्न वा आफ्ना चाहनाहरू साकार पार्न चाहन्छन्। यसको अर्थ तिनीहरू आशिष्‌हरू प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहना सन्तुष्ट पार्न मण्डलीमा घुसपैठ गरिरहेका हुन्छन्; तिनीहरू मण्डलीमा ख्याति, प्राप्ति, र हैसियत पाउन चाहन्छन्, र यसो गरेर तिनीहरूले खान पाइरहनेछन्। तिनीहरूको व्यवहार, साथै तिनीहरूको प्रकृति सारबाट, परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको उद्देश्य, मनसाय, र अभिप्रायहरू वैध छैनन्, र तिनीहरूमध्ये कसैले पनि सत्यता स्विकार्दैनन् वा निष्कपट रूपमा परमेश्‍वरमा विश्‍वास गर्दैनन् भनेर देख्‍न सकिन्छ—तिनीहरूले मण्डलीमा घुसपैठ गरे पनि ठाउँ मात्रै ओगट्ने गर्छन्, कहिँकतै कुनै सकारात्मक भूमिका खेल्दैनन्। त्यसकारण, मण्डलीले त्यस्ता मानिसहरूलाई स्विकार्नु हुँदैन। ती मानिसहरूले मण्डलीमा घुसपैठ गरेका भए पनि, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरू होइनन्, बरु तिनीहरू त अरूका असल अभिप्रायका कारण ल्याइएका थिए। “तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरू होइनन्”—यसलाई कसरी अर्थ लगाउनुपर्छ? यसको अर्थ के हो भने, परमेश्‍वरले तिनीहरूलाई पूर्वनिर्धारित र छनौट गर्नुभएको छैन; उहाँ तिनीहरूलाई आफ्नो कामका पात्रका रूपमा हेर्नुहुन्न; न त उहाँले तिनीहरूलाई उहाँद्वारा मुक्ति दिइने मानवका रूपमा पूर्वनिर्धारित नै गर्नुभएको छ। यी मानिसहरूले मण्डलीमा घुसपैठ गरेपछि, हामीले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूको रूपमा स्वतः व्यवहार गर्न सक्दैनौँ, किनभने तिनीहरू साँचो रूपमा सत्यता स्विकार्ने वा परमेश्‍वरको काममा समर्पित हुने मानिसहरू होइनन्। कतिपयले सोध्न सक्छन्, “तिनीहरू परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने दाजुभाइ-दिदीबहिनीहरू नभएकाले मण्डलीले किन तिनीहरूलाई निकाल्ने वा निष्कासन गर्ने गर्दैन?” परमेश्‍वरको अभिप्राय उहाँका चुनिएका मानिसहरूले यी मानिसहरूबाट सुझबुझ विकास गर्न सकून् र यसरी शैतानका युक्तिहरू छर्लङ्गै देख्‍न सकून् र शैतानलाई इन्कार्न सकून् भन्ने हो। परमेश्‍वरका चुनिएका मानिसहरूसँग सुझबुझ भएपछि, यी अविश्‍वासीहरू पखालिनुपर्छ। सुझबुझ विकास गर्नुको उद्देश्य भनेको परमेश्‍वरका घरमा आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू लिएर घुसपैठ गरेका यी अविश्‍वासीहरूलाई खुलासा गर्नु र तिनीहरूलाई मण्डलीबाट निकाल्नु हो, किनभने ती मानिसहरू परमेश्‍वरका साँचो विश्‍वासी होइनन्, र तिनीहरू सत्यता स्वीकार गर्ने र पछ्याउने मानिसहरू त झनै होइनन्। तिनीहरू मण्डलीमा रहेर केही फाइदा हुनेछैन—बरु ठूलो हानि मात्रै हुनेछ। सर्वप्रथम, मण्डलीमा घुसपैठ गरेपछि, ती अविश्‍वासीहरूले कहिल्यै परमेश्‍वरका वचनहरू खाने-पिउने गर्दैनन् र अलिकति पनि सत्यता स्विकार्दैनन्। तिनीहरू सधैँ परमेश्‍वरका वचनहरू र सत्यताबाहेकका कुराहरू छलफल गर्छन्, यसरी अरूको हृदयलाई बाधा दिन्छन्। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हानि गर्ने गरी मण्डलीको काममा बाधा र अवरोध मात्रै दिनेछन्। दोस्रो कुरा, यदि तिनीहरू मण्डलीमै रहे भने, तिनीहरूले गैरविश्‍वासीहरूले जस्तै दुष्कर्महरू गर्दै बेकाबु रूपमा दौडनेछन्, मण्डलीको काममा बाधा र अवरोध दिनेछन्, र मण्डलीलाई धेरै गुप्त खतराहरूमा पार्नेछन्। तेस्रो कुरा, तिनीहरू मण्डलीमै रहे पनि, तिनीहरूले स्वेच्छाले सेवाकर्ताका रूपमा काम गर्नेछैनन्, र तिनीहरूले अलिकति सेवा प्रदान गरे पनि, त्यो आशिष्‌हरू प्राप्त गर्नका लागि मात्रै हुनेछ। यदि तिनीहरूले आशिष् पाउन सक्दिनँ भनेर थाहा पाउने दिन आयो भने, तिनीहरू क्रोधित भएर मण्डलीका काममा बाधा र क्षति पुर्‍याउनेछन्। त्यसलाई समर्थन गर्नुभन्दा, जतिसक्दो चाँडो तिनीहरूलाई मण्डलीबाट निकाल्नु बेस हुन्छ। चौथो कुरा, ती अविश्‍वासीहरूले गुटबन्दी गर्ने, र ख्रीष्टविरोधीहरूलाई सहयोग गर्ने र पछ्याउने, मण्डलीभित्र मण्डलीका काममा ठूलो खतरा पैदा गर्ने दुष्ट शक्ति पैदा गर्ने सम्भावना हुन्छ। यी चार कुराहरू ख्याल गर्दा के देखिन्छ भने, परमेश्‍वरका घरमा घुसपैठ गर्ने यी अविश्‍वासीहरूलाई खुट्ट्याउनु र खुलासा गर्नु, र त्यसपछि तिनीहरूलाई निकाल्नु आवश्यक छ। यो नै मण्डलीको काममा सामान्य प्रगति कायम राख्‍ने, र परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरका वचनहरू खान-पिउन र सामान्य रूपमा मण्डली जीवन जिउन सक्‍ने, अनि त्यसकारण तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासको सही मार्ग प्रवेश गर्न सक्‍ने कुरा प्रभावकारी रूपमा सुरक्षित गर्ने एउटै तरिका हो। किनभने, यी अविश्‍वासीहरूले मण्डलीमा घुसपैठ गर्दा यसले परमेश्‍वरको चुनिएका मानिसहरूको जीवन प्रवेशमा ठूलो हानि गर्छ। यस्ता धेरै मानिसहरू छन् जो तिनीहरूलाई खुट्ट्याउन सक्दैनन्, बरु तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूका रूपमा व्यवहार गर्छन्। कतिपय मानिसहरूले त, तिनीहरूसँग केही वरदान वा सबल पक्षहरू छन् भन्‍ने देखेर, तिनीहरूलाई अगुवा र कामदारका रूपमा सेवा गर्न छनौट गर्छन्। मण्डलीमा झूटा अगुवा र ख्रीष्टविरोधीहरू यसरी नै उत्पन्न हुन्छन्। तिनीहरूको सार हेर्दा, तिनीहरू कसैले पनि परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ, वा उहाँका वचनहरू सत्यता हुन्, वा उहाँले सबैमाथि सार्वभौम शासन गर्नुहुन्छ भनी विश्‍वास गर्दैनन् भनेर देख्‍न सकिन्छ। परमेश्‍वरका नजरमा तिनीहरू गैरविश्‍वासीहरू हुन्। उहाँले तिनीहरूलाई कुनै ध्यान दिनुहुन्न, र पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुनेछैन। त्यसकारण, तिनीहरूको सारका आधारमा, तिनीहरू परमेश्‍वरको मुक्तिका पात्र होइनन्, र तिनीहरू निश्‍चय नै उहाँद्वारा पूर्वनिर्धारित वा चुनिएका होइनन्। परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिन किमार्थ सक्नुहुन्न। जे-जसरी हेरे पनि, यीमध्ये कुनै पनि अविश्‍वासीहरू परमेश्‍वरका चुनिएका मानिसहरू होइनन्। तिनीहरूलाई तुरुन्तै र सही रूपमा खुट्ट्याउनुपर्छ, र त्यसपछि निकालिनुपर्छ। तिनीहरूलाई अरूलाई बाधा दिँदै मण्डलीमा लुकेर बस्न दिनु हुँदैन। यी अविश्‍वासीहरू फरक-फरक उद्देश्य र मनसायहरूका साथ मण्डलीमा घुसपैठ गर्छन्, र तैँले तिनीहरूलाई सुरुमा छर्लङ्गै देख्‍न वा खुट्ट्याउन नसक्‍ने सम्भावना हुन्छ। तर, समय बित्दै जाँदा, तिनीहरूसँग बारम्बार अन्तरक्रिया गर्ने क्रममा र तिनीहरूसँग धेरै व्यवहार गरेसँगै, तैँले तिनीहरूलाई झन्झन् बढी बुझ्नेछस्, र तिनीहरू अविश्‍वासी हुन् भनेर सङ्केत गर्ने विभिन्‍न प्रकटीकरणहरू झन्झन् स्पष्ट रूपमा देख्‍नेछस्। त्यसपछि, के परमेश्‍वरका वचनहरूअनुसार तिनीहरूलाई खुट्ट्याउन सजिलो हुँदैन र? (हुन्छ।) यदि परमेश्‍वरका चुनिएका मानिसहरू सबैले अविश्‍वासीहरूलाई खुट्ट्याउन सक्छन् भने, तिनीहरूलाई प्रकाश गरेर निकाल्ने समय आएको हुन्छ। तिनीहरूको चरित्र, तिनीहरूको सामाजिक हैसियत जे भए पनि, वा मण्डलीमा तिनीहरूको वरिष्ठता जति नै ठूलो भए पनि, यदि तिनीहरूले धेरै वर्ष प्रवचन सुनेपछि पनि अझै सत्यता स्विकार्न सक्दैनन् र तिनीहरू परमेश्‍वरबारे धारणाहरूले भरिएका हुन्छन् भने, तिनीहरू पहिले नै अविश्‍वासीको रूपमा प्रकट भइसकेका हुन्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूका उद्देश्य र प्रकटीकरणहरूलाई ख्याल गर्दा, निस्सन्देह तिनीहरू निकालिनु वा निष्कासित गरिनुपर्ने मानिस हुन्। मण्डलीले हरेक अवधिमा गर्नैपर्ने सफाइको काम यही हो।

परमेश्‍वरमा विश्‍वास गर्ने उद्देश्यको विषयले आठ वटा बुँदाहरूलाई समेट्यो, जसको अर्थ आठ प्रकारका मानिसहरू छन्, जसका प्रकटीकरणहरू हामीले विभिन्‍न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउन र त्यसपछि सही चित्रण गर्न र तिनीहरूलाई सोहीअनुसार सम्हाल्नका लागि पर्याप्त हुन्छन्। छोटकरीमा भन्दा, यी आठ प्रकारका मानिसहरू मण्डलीमा रहन सक्दैनन्। कतिपयले यस्तो सोध्न सक्छन्, “के यी आठ प्रकारका मानिसहरूमध्ये प्रत्येकले एउटै किसिमको व्यवहार मात्रै प्रदर्शन गर्छ त?” त्यस्तै हुन्छ भन्‍ने छैन; परमेश्‍वरमा विश्‍वास गर्नुपछाडि कतिपय मानिसहरूको उद्देश्यमा चार-पाँच वटा बुँदाहरू समावेश हुन्छन्—तिनीहरूले शरण खोज्छन्, तिनीहरू मण्डलीको भरमा बाँच्छन्, अवसरवादमा संलग्‍न हुन्छन्, राजनीतिक उद्देश्यहरू पछ्याउँछन्, र विपरीतलिङ्गीलाई जथाभाबी खोजी गर्छन्, अन्धाधुन्ध अरूलाई फकाउन मण्डलीमा घुसपैठ गर्छन्। कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्यमा दुई वटा बुँदा समावेश हुन सक्छ—एउटा भनेको मण्डलीमा पदाधिकारी बन्‍ने प्रयास गर्नु हो, र अर्को भनेको अवसरवादमार्फत आशिष्‌हरू खोज्नु हो, वा कतिपयले विपरीत लिङ्गीलाई खोज्नुका साथै मण्डलीको भरमा बाँच्ने गर्न पनि सक्छन्। स्पष्ट रूपमा नै, यी मानिसहरू फाइदा उठाउनका लागि, परमेश्‍वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्‍नो काम पूरा गर्न, आफ्ना लागि मेहनत गराउनका लागि प्रयोग गर्ने अभिप्राय लिएर परमेश्‍वरको घरमा आउँछन्; आफ्नो उद्देश्य हासिल गर्न र आफ्ना चाहनाहरू पूरा गर्नका लागि, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्‍नो सेवा गर्न लगाउनका लागि सबै सम्भव माध्यमहरू प्रयोग गर्छन्। छोटकरीमा भन्दा, मण्डलीमा घुसपैठ गरेका र निकालिनु वा निष्कासित गरिनुपर्ने यी अविश्‍वासी र अवसरवादीहरू परमेश्‍वरको घरमा आउनुको स्पष्ट उद्देश्य भनेको सित्तैमा खानु र आफ्नो व्यक्तिगत फाइदाका लागि परिस्थितिको फाइदा उठाउनु हो। चाहे तिनीहरूको बोलीवचनमा होस् वा व्यवहारमा होस्, तिनीहरूको उद्देश्यलाई सधैँ अस्पष्ट रूपमा खुट्ट्याउन सकिन्छ। यी मानिसहरू सत्यतालाई पटक्‍कै स्वीकार गर्दैनन् र सत्यताप्रति तिनीहरूलाई कुनै रुचि हुँदैन; कहिलेकाहीँ तिनीहरूले विकर्षण वा प्रतिरोधको मुड र मनोवृत्तिसमेत देखाउँछन्। मण्डलीले तिनीहरूका लागि जुनसुकै कर्तव्यको प्रबन्ध गरे पनि, यसमा तिनीहरूलाई फाइदा भए मात्रै मन नलागी-नलागी सहकार्य गर्छन्। यदि तिनीहरूका लागि कुनै फाइदा छैन भने, तिनीहरू भित्री रूपमा प्रतिरोध गर्छन् र नकारात्मकता र निष्क्रियता, र विकर्षण वा इन्कारसमेत देखाउँछन्। केही फाइदा छ भने मात्रै तिनीहरू अलिकति काम गर्छन्; छैन भने, तिनीहरू कि त तर्किन्छन् अथवा निष्क्रिय रूपमा झारा टार्छन्। कामका निर्णायक क्षणहरूमा, तिनीहरू लुकामारी खेल्छन्, हराउँछन् र मण्डलीको कामलाई बेवास्ता गर्छन्। यी प्रकटीकरणहरूबाट, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास त सित्तैमा खानु मात्रै हो भन्ने स्पष्ट हुन्छ; तिनीहरूलाई सेवाका लागि प्रयोग गर्दा समेत यसले फाइदाभन्दा बढी हानि गर्छ।

१. मण्डलीको निगरानी गर्नु

आज, हामी परमेश्‍वरमा विश्‍वास गर्नुपछाडि व्यक्तिको उद्देश्यसम्‍बन्धी शीर्षकको अन्तिम बुँदाबारे सङ्गति गर्नेछौँ। यसभन्दा पहिले उल्लेख गरिएका आठ बुँदाहरूबाहेक, अर्को प्रकारको व्यक्ति पनि छ जसको परमेश्‍वरमा विश्‍वास गर्नुपछाडिको उद्देश्य र अभिप्राय वैध हुँदैन। फाइदाहरूद्वारा मात्रै उत्प्रेरित हुने, ख्याति, प्राप्ति, र हैसियत पछ्याउन सक्दो गर्ने माथि उल्लेख गरिएका मानिसहरूबाट तिनीहरूलाई के कुराले छुट्याउँछ? यस प्रकारको व्यक्ति हैसियत वा खान पाइरहनका खातिर, वा आफ्नो जीवनलाई अझै सहज बनाउनका खातिर, र आदि-इत्यादि कुराका लागि पदाधिकारी बन्‍न मण्डलीमा प्रवेश गर्दैन; तिनीहरूसँग साधारण मानिसहरूलाई पत्ता लगाउन गाह्रो हुने उद्देश्य हुन्छ। यो उद्देश्य के हो? मण्डलीलाई निगरानी र नियन्त्रण गर्नु हो। मण्डलीको निगरानी गर्नु परमेश्‍वरमा विश्‍वास गर्नुपछाडि व्यक्तिको उद्देश्यसम्‍बन्धी शीर्षकको नवौँ बुँदा हो। यी मानिसहरू मण्डलीको विकासक्रमलाई नियन्त्रण गर्ने उद्देश्यले, यसलाई निगरानी गर्ने कार्यका साथ मण्डलीमा प्रवेश गर्छन्। तिनीहरूलाई पठाउने मानिसहरू, तिनीहरूका वरिष्ठ वा मालिकहरूले सरकार, निश्‍चित धार्मिक समूह, वा समाजको कुनै सङ्गठनलाई प्रतिनिधित्व गर्न सक्छन्। तिनीहरू मण्डलीसँग अपरिचित हुने हुनाले, यसप्रति जिज्ञासाले भरिएका हुने हुनाले, र तिनीहरूलाई मण्डलीको उत्पत्ति, गठन, र अस्तित्वबारे समेत असहज समेत लाग्‍ने हुनाले, तिनीहरूसँग मण्डलीलाई गहन रूपमा बुझ्ने, मण्डलीको संरचना, यसको काम, र विभिन्‍न परिस्थितिहरूका बारेमा जान्‍ने अभिप्राय हुन्छ। त्यसकारण, कतिपय मानिसहरूलाई निगरानीको कार्य गर्न मण्डलीमा पठाइन्छ। मण्डलीको निगरानी गर्ने कार्य वहन गर्ने मानिसहरू, चाहे तिनीहरू सरकारबाट आएका मानिसहरू हुन्, धार्मिक समूहहरूबाट आएका मानिसहरू हुन्, वा कुनै पनि सामाजिक सङ्गठनबाट आएका मानिसहरू हुन्, परमेश्‍वरमा विश्‍वास गर्नुपछाडि तिनीहरूको उद्देश्य साँचो दाजुभाइ-दिदीबहिनीहरूको भन्दा पूर्ण रूपमा फरक हुन्छ। तिनीहरू परमेश्‍वरको मुक्ति स्वीकार गर्न यहाँ आएका होइनन्; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई मान्ने आधारमा परमेश्‍वरका वचनहरू, सत्यता, र परमेश्‍वरको मुक्ति स्वीकार गर्न यहाँ आएका होइनन्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वाससँग राजनीतिक उद्देश्यहरू वा कुनै पनि सङ्गठनले दिएको कार्य जोडिएको हुन्छ। त्यसकारण, मण्डलीको निगरानी गर्नु मण्डलीमा घुसपैठ गर्ने र परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको उद्देश्य, र तिनीहरूका वरिष्ठहरूले खटाएको कार्य दुवै हो; यो तिनीहरूले आफ्नो ज्याला कमाउनका लागि गर्ने कार्य हो।

मण्डलीलाई निगरानी गर्न मण्डलीमा घुसपैठ गर्नेहरूका हकमा भन्दा, तिनीहरूले के निगरानी गर्छन्? तिनीहरूले मण्डलीका शिक्षाहरू, यसका उद्देश्यहरू, यसले वकालत गर्ने कुरा, यसले गर्ने काम, र यसका सदस्यहरूका विचार र दृष्टिकोणहरू जस्ता धेरै पक्षको निगरानी गर्छन्, यसले सरकार, धर्म, वा समाजमा कुनै हानि गर्न सक्छ कि सक्दैन भनेर मूल्याङ्कन गर्छन्। तिनीहरूले बोलिने कुराहरूमा कुनै पनि समाज-विरोधी, सरकार-विरोधी, वा राज्य-विरोधी अभिव्यक्तिहरू छन् कि छैनन् भनेर जाँच गर्छन्। शिक्षाका सन्दर्भमा, तिनीहरूले मण्डलीले वकालत गर्ने विचारहरू ठ्याक्कै के-के हुन् भनेर निगरानी गर्छन्। यी मानिसहरूले मण्डलीमा घुसपैठ गर्दा तँलाई तिनीहरू पत्ता लगाउन सजिलो नहुन सक्छ किनभने तिनीहरूले भेलाहरूमा ध्यान दिएर सुन्न सक्छन् र नउमिकन गम्भीर नोटहरू लिन सक्छन्। तिनीहरूले हरेक भेलामा विभिन्‍न व्यक्तिहरूका भाषणहरूलाई गम्भीरताका साथ सारांश समेत गर्न सक्छन्, अन्तमा कुन-कुन विचार र दृष्टिकोण राष्ट्रिय सरकारका हित र मागहरूअनुरूप छन्, र कुन-कुन राज्यको शासनका लागि हानिकारक छन्, कुन-कुन सरकारसँग बाझिन्छन्, र आदि-इत्यादि कुराहरू हेर्नका लागि विभिन्‍न मानिसहरूका फरक-फरक विचार र दृष्टिकोणहरूको सारांश गर्न र तिनलाई वर्गीकरण गर्न सक्छन्। तिनीहरूले मिहिन ढङ्गले मण्डली सदस्यहरूका यी गहन दृष्टिकोणहरूको अभिलेख राख्दै सारांश निकाल्न र तिनलाई वर्गीकरण गर्न सक्छन्। तिनीहरू किन यसो गर्छन्? किनभने यो तिनीहरूको जागिर, तिनीहरूको कार्य हो; तिनीहरूले आफ्ना वरिष्ठहरूलाई रिपोर्ट गर्नैपर्छ। तिनीहरूको कार्यको पहिलो भाग यही हो: मण्डलीका शिक्षा र यसका सबै सदस्यहरूका वैचारिक प्रवृत्तिहरू बोध गर्नु। तिनीहरूले यी प्रवृत्तिहरूमा समाज वा राज्यका लागि हानिकारक तत्त्वहरू समावेश छन् भन्‍ने विश्‍वास गरेपछि, वा यदि तिनीहरूले केही कट्टरपन्थी विचार र दृष्टिकोणहरू देखा पर्छन् भन्‍ने विश्‍वास गरे भने, तिनीहरूले तुरुन्तै यसबारे रिपोर्ट गर्नेछन् र आफ्ना वरिष्ठहरूलाई जानकारी दिनेछन् ताकि उचित उपायहरू अपनाउन सकियोस्। तिनीहरूले सुरुमा मण्डलीका शिक्षा बुझ्ने उद्देश्य राख्छन्—मण्डलीको निगरानी गर्दा तिनीहरूले गर्ने मुख्य कार्यहरूमध्ये एउटा यही हो—यसपछि तिनीहरूले मण्डलीका कर्मचारीहरूका बारेमा जानकारी लिन्छन्। उदाहरणका लागि, तिनीहरूले मण्डलीका वरिष्ठ अगुवाहरू को हुन् भन्‍ने बारेमा जानकारी सङ्कलन गर्छन्, जसमा तिनीहरूका आवासीय ठेगाना, उमेर, रूप, शैक्षिक स्तर, चासो र रुचिहरू, स्वास्थ्य अवस्था, तिनीहरू दैनिक जीवनमा केबारे कुराकानी गर्छन्, तिनीहरू कहाँ जान्छन्, तिनीहरू के काम गर्छन्, साथै तिनीहरूको दैनिक काम गर्ने समय र कामका विषयवस्तु समावेश हुन्छ। तिनीहरू यी अगुवाहरूले सरकार, धर्महरू, वा सामाजिक प्रचलनहरूविरुद्ध कुनै अभिव्यक्ति दिएका वा कुनै कार्यहरू गरेका छन् कि छैनन्, साथै राष्ट्रको शासन प्रणाली र वर्तमान राजनीतिक घटनाक्रमहरूप्रति यी अगुवाहरूले दिने प्रतिक्रियाहरू, र अरू कुराहरू हेर्छन्। मण्डलीको निगरानी गर्नेहरूले बोध गर्ने उद्देश्य राख्‍ने पक्षहरू यी सबै नै हुन्। यसको साथै, तिनीहरूले मण्डलीको संरचना र प्रशासनिक संरचनाहरूप्रति पनि निरन्तर रूपमा ध्यान दिन्छन्। उदाहरणका लागि, तिनीहरू मण्डलीका अगुवा र कामदारहरू को-को हुन्, कुन तहका अगुवाहरूलाई बर्खास्त गरिएको छ, बर्खास्त गरिएपछि तिनीहरूका लागि के-के प्रबन्ध गरियो, कुन-कुन अगुवाहरूलाई पक्राउ गरिएको छ, र पछि कसले तिनीहरूको काम लियो भन्‍ने कुराका विषयमा जानकारी राखिरहन्छन्। तिनीहरू उत्तराधिकारीको उमेर, लिङ्ग, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको वर्ष-अवधि, तिनीहरूको शैक्षिक स्तर, र तिनीहरू प्रतिभाशाली विश्‍वविद्यालय स्नातकहरू हुन् कि होइनन्—तिनीहरूले देश वा समाजमा कुनै नकारात्मक असर पार्छन् कि पार्दैनन्, र तिनीहरूलाई सरकारी विभागहरूमा काम गर्न नियुक्त सकिन्छ कि सकिँदैन भन्‍ने बारेमा जानकारी, र अरू विशिष्ट जानकारीहरू सङ्कलन गर्छन्। तिनीहरू आफ्नो पदभार ग्रहण गरिरहेका वा बर्खास्त भएका निश्‍चित मण्डली अगुवाहरूसमेत पत्ता लगाउन चाहन्छन्। अर्थात्, कर्मचारीहरूको हैसियत, निश्‍चित प्रशासनिक काम, र मण्डलीको संरचना जस्ता यी सबै कुरा तिनीहरूले आफूलाई परिचित गराउने उद्देश्य राख्‍ने पक्षहरू हुन्। यसको साथै, तिनीहरू मण्डलीमा कामका कति वटा विषयवस्तुहरू छन्, कति वटा समूहहरू छन्, र हरेक समूहका सुपरिवेक्षकका विवरणहरू, र अरू जानकारीहरू पूर्ण रूपमा बुझ्ने लक्ष्य राख्छन्। तिनीहरू सोधपुछ गर्दै, अवलोकन गर्दै, र सिक्दै यताउता गर्छन्, विस्तृत रूपमा आफ्नो काम सञ्चालन गर्छन्। मण्डलीमा घुसपैठ गर्ने यस्ता प्रकारका मानिसहरूले गर्नुपर्ने काम र पूरा गर्नुपर्ने कार्य भनेको मण्डलीको निगरानी गर्ने उद्देश्य पूरा गर्न मण्डलीको परिस्थिति र यसका विभिन्‍न घटनाक्रमहरूका सबै पक्षहरू तुरुन्तै बोध गर्नु हो। उदाहरणका लागि, यसमा, विदेशमा मण्डली कसरी विकास भइरहेको छ, सुसमाचार कति वटा देशमा फैलिएको छ, र कुन-कुन देशमा मण्डलीहरू स्थापना भएका छन्—तिनीहरूले यी सबै विवरणहरू बुझ्नुपर्छ। मण्डलीको निगरानी गर्ने क्रममा तिनीहरूले निर्वाह गर्ने मुख्य कार्यहरू यिनै हुन्: पहिलो, मण्डलीको शिक्षा बोध गर्नु; दोस्रो, मण्डलीका कर्मचारीहरूको परिस्थिति बोध गर्नु; अनि तेस्रो, मण्डलीको कामको अवस्था र यसका हालैका मुख्य गतिशीलताहरू बोध गर्नु। तिनीहरू पूर्ण रूपमा शैतान, अर्थात् ठूलो रातो अजिङ्गरका मतियार र अनुचरहरूका रूपमा काम गर्छन्; तिनीहरू शैतानका साँचो नोकरहरू हुन्।

मण्डलीको निगरानी गर्ने यस्ता प्रकारका मानिसहरूले मण्डलीका शिक्षा, कर्मचारी, कामका प्रचलनहरू, मण्डलीको आयाम, र अरू पक्षहरूसँग सम्बन्धित जानकारी बोध गर्नका लागि मण्डलीमा घुसपैठ गर्छन्। तिनीहरू यी प्रत्येक पक्ष बुझ्ने र त्यसपछि आफ्ना वरिष्ठहरूलाई तीबारे रिपोर्ट गर्ने लक्ष्य राख्छन्, जसले, कुनै पनि बेला परिस्थितिका आधारमा मण्डलीलाई सम्बोधन गर्न सम्बन्धित नीति योजना वा उपायहरू विकास गर्न सक्छन्। छोटकरीमा भन्दा, मण्डलीको निगरानी गर्नुपछाडिको तिनीहरूको उद्देश्यको अभिप्राय पटक्‍कै राम्रो हुँदैन। नत्र भने, यसले तिनीहरूलाई सम्पत्ति वा फाइदा नदिने भए पनि किन तिनीहरूले मण्डलीको निगरानी गर्नेथिए त? तिनीहरूलाई मण्डलीको अस्तित्वप्रति असहज महसुस भएकाले होइन र? तिनीहरू परमेश्‍वरले स्थापना र अगुवाइ गर्नुभएको मण्डलीमा विशुद्ध रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने, राज्य, समाज, वा राजनीतिक समूह र सङ्घसंस्थाहरूसँग कुनै सम्बन्ध नभएका मानिसहरू हुन्छन् भन्‍ने विश्‍वास गर्दैनन्। तर तिनीहरूले मण्डलीको खोजनिती जसरी गरे पनि, तिनीहरूलाई असहज नै लाग्छ। किन? किनभने तिनीहरू नास्तिक हुन्, तिनीहरूले परमेश्‍वरलाई मान्दैनन्, र सत्यतालाई घृणा पनि गर्छन्। त्यसकारण, तिनीहरू विश्‍वासीहरूलाई दमन र पक्राउ गर्ने, साथै मण्डलीको निगरानी गर्ने जस्ता मूर्ख र बेतुका कार्यहरू गर्न सक्षम हुन्छन्। तिनीहरू किन मण्डलीविरुद्ध निगरानी र प्रतिरोधका उपायहरू अपनाउँछन्? किनभने तिनीहरूको सबैभन्दा ठूलो चिन्ता के हो भने, मण्डली अत्यन्तै ठूलो भयो र यसका सदस्यहरू अत्यन्तै धेरै भए भने यसले देश, सरकार, र समाजमा ठूलो असर पार्नेछ, र परम्परागत संस्कृति र परम्परागत धार्मिक समूहहरूलाई समेत खतरामा पार्नेछ र प्रभाव पार्नेछ। मण्डलीविरुद्ध तिनीहरूको निगरानी र प्रतिरोधको पछाडि रहेको वास्तविक कारण यही हो। त्यसकारण, तिनीहरूले मण्डलीको निगरानी र प्रतिरोधलाई कार्यान्वयन गर्नुपर्ने राजनीतिक कार्यका रूपमा लिन्छन्।

मण्डलीको निगरानी गर्ने यस्ता प्रकारका मानिसहरूलाई मण्डलीभित्र खुट्ट्याउन सजिलो नहुन सक्छ किनभने तिनीहरूसँग गुप्त मनसायहरू हुन्छन् र अरूले तिनीहरूलाई पत्ता लगाउन नसकून् भनेर तिनीहरू आफूलाई गहन रूपमा लुकाउँछन्। त्यसकारण, तिनीहरूले मण्डलीका अधिकांश मानिसहरूले जे गर्‍यो त्यही गर्न सक्छन्, कुनै असामान्य काम गर्दैनन्, निकै शिष्ट देखिन्छन्, र मण्डलीले गरेको कामका बारेमा कहिल्यै कुनै असहमतिपूर्ण दृष्टिकोण व्यक्त गर्दैनन्। तर, यी व्यक्तिहरूमा एउटा विशेषता हुन्छ: तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने कार्यप्रति मनतातो हुन्छन्, यस विषयमा न त तिनीहरू त्यति सक्रिय हुन्छन्, न त त्यति निष्क्रिय नै हुन्छन्। तिनीहरूले आफूलाई खटाइएका अलिकति कर्तव्यहरू गर्न सक्छन्, तर तिनीहरू कहिल्यै आफूले काम गर्ने ठाउँ, आफ्नो पारिवारिक परिस्थिति, वा आफूले पहिले परमेश्‍वरमा विश्‍वास गरेको वा नगरेको जस्ता आफ्ना व्यक्तिगत विवरणहरू प्रकट गर्दैनन्। यदि कसैले सरकारी विभागमा काम गर्ने बारेमा उल्लेख गर्‍यो भने, तिनीहरू निकै पन्छिन्छन्, सरकार, राजनीति, नीति, वा धर्मका बारेमा कुनै पनि राय दिनबाट जोगिन्छन्। तिनीहरूको व्यवहार कुनै पनि संवेदनशील विषयहरूबाट पन्छिने कार्यले चित्रण गर्छ; तिनीहरूले सरकारलाई न त आलोचना गर्छन्, न त प्रशंसा नै, न त तिनीहरूले त्यसका नीतिका बारेमा, न त शासन प्रणालीका बारेमा नै छलफल गर्छन्। जब कसैले निश्‍चित व्यक्ति जासुस हो भनेर औँल्याउँछ, तब तिनीहरू निकै नर्भस हुन्छन् र आफ्नो प्रतिरक्षा गर्न तुरुन्तै खडा समेत हुन सक्छन्। नर्भस हुनुको साथै, तैँले तिनीहरूको हेराइबाट त्यस्ता संवेदनशील विषयहरूबाट पन्छिने प्रवृत्ति पनि देख्‍न सक्छस्; तिनीहरू आफूलाई छर्लङ्ग देख्‍न सक्‍ने जोकोहीबाट टाढा बस्छन्। यसको साथै, तिनीहरूलाई प्रायजसो अज्ञात स्रोतहरूबाट फोन आउँछ, वा मण्डलीसँग आबद्ध नभएका रहस्यमय व्यक्तिहरूले तिनीहरूलाई सम्पर्क गर्छन् र तिनीहरूसँग अन्तरक्रिया गर्छन्, र तिनीहरूले यी कलहरूमध्ये एउटा उठाउनेबित्तिकै, तिनीहरू अरूबाट टाढा जान्छन्। यदि कसैले तिनीहरूलाई यस्ता क्षणमा देखे भने, तिनीहरू देखिने गरी नै व्याकुल हुन्छन्, रातो-पिरो हुन्छन्, र तिनीहरूको पहिचान पत्ता लाग्न सक्छ भन्‍ने डरले अत्यन्तै असहज देखिन्छन्। मण्डलीका बारेमा गुप्त रूपमा जानकारी सङ्कलन गर्नेबाहेक, तिनीहरू बेला-बेलामा दाजुभाइ-दिदीबहिनीहरूको अवस्थाका बारेमा सोधपुछ पनि गर्छन्, र यस्ता प्रश्‍नहरू गर्छन्, “तिमीले परमेश्‍वरमा विश्‍वास गरेको कति वर्ष भयो? के तिम्रा आमाबुबाले विश्‍वास गर्छन्? के तिम्रा परिवारका सदस्यहरू मुख्य भूमिमा बस्छन्? मुख्य भूमिमा बस्‍ने तिम्रा परिवारका सदस्यहरूमध्ये, क-कसले परमेश्‍वरमा विश्‍वास गर्छन्, र उनीहरूले विश्वास गरेको कति वर्ष भयो? उनीहरूको उमेर कति भयो? तिमीहरूको स्थानीय मण्डलीमा कति जना मानिसहरू छन्? अहिले तिनीहरूको अवस्था कस्तो छ?” बेला-बेलामा, तिनीहरूले मानिसहरू खुलासा गर्न इच्छुक नभएका संवेदनशील र व्यक्तिगत जानकारी खोज्छन्। दाजुभाइ-दिदीबहिनीहरूबीचको सामान्य अन्तरक्रियामा, यदि कसैले संवेदनशील व्यक्तिगत जानकारी साझा गर्न नचाहेमा, कसैले पनि जानी-जानी वा सक्रिय रूपमा त्यसबारे सोध्दैन। तर, यो व्यक्तिले त्यस्ता कुराहरूलाई विशेष ध्यान दिन्छ, यहाँसम्म कि केही अगुवा र कामदारहरू वा महत्त्वपूर्ण कामका प्रभारीहरूका चालचलनहरूलाई पनि निगरानी गर्छ, यी मानिसहरूको कम्प्युटर र मोबाइल फोनको डाटासम्म पहुँच वा तिनीहरूको ठेगानासम्बन्धी जानकारी प्राप्त गर्ने प्रयास गर्छ, र यी विवरणहरूलाई राम्ररी अनुसन्धान गर्न जिद कस्छ। यदि उसले निश्‍चित अगुवा भेलामा सहभागी भएको छैन भन्‍ने याद गऱ्यो भने, उसले सोध्छ, “आज फलानो व्यक्ति भेलामा आएको छैन। उसले के गरिरहेको छ?” यदि कसैले ऊ व्यस्त छ भनेर उल्लेख गर्‍यो भने, उसले थप सोधपुछ गर्नेछ: “के कुरामा व्यस्त भयो? के उसले फेरि ती नयाँ विश्‍वासीहरूलाई मलजल गरिरहेको छ? ती नयाँ विश्‍वासीहरू को हुन्? तिनीहरूले कहिलेदेखि विश्‍वास गर्न थाले? मलाई यसबारे कसरी थाहा भएन?” तिनीहरूले अझै गहन रूपमा खोतलिरहन्छन्। दाजुभाइ-दिदीबहिनीहरूले भन्छन्, “यदि हामीलाई थाहा हुनु हुँदैन भने, नसोधौँ। किन सोधिरहने? यो जीवन प्रवेशसँग सम्बन्धित छैन, यसमा सत्यतासँग सम्बन्धित छैन; यो कुरा जान्‍नु आवश्यक छैन।” यसमा घुसपैठ गर्नेले जबाफ दिन्छ, “तर यी परमेश्‍वरको घर, मण्डलीको कामका मामलाहरू हुन्; हामीले यसबारे किन थाहा पाउन मिल्दैन? हामी सबै परमेश्‍वरमा विश्‍वास गर्छौँ, र अलि-अलि थाहा पाउँदा फरक पर्दैन। यदि तिमीहरू जान्‍न चाहँदैनौ भने, यसको अर्थ तिमीहरूलाई मण्डलीको काम वा मण्डली अगुवाहरूको वास्ता छैन भन्‍ने हुन्छ। अगुवा ठ्याक्कै कसलाई भेट्न गयो? त्यहाँ कति जना नयाँ विश्‍वासीहरू छन्? तिनीहरू कहाँ छन्? म पनि तिनीहरूलाई भेट्न चाहन्छु।” तिनीहरूले सधैँ यी मामलाहरूका बारेमा सोधपुछ गरिरहेका हुन्छन्।

मण्डलीको निगरानी गर्नेहरूले सबैभन्दा बढी ध्यान दिने अर्को कार्य पनि छ, जुन मण्डलीको आर्थिक अवस्था बोध गर्नु हो। एक हिसाबमा, तिनीहरू मण्डलीका आर्थिक स्रोतहरू बुझ्न खोज्छन्। तिनीहरू मण्डलीले कारखाना वा उद्यमहरू स्थापना गरेको छ कि छैन, यसको स्वामित्वमा श्रम-कारखानाहरू छन् कि छैनन्, यसले बालश्रम प्रयोग गर्छ कि गर्दैन, र मण्डलीका कामका विभिन्न विषयवस्तुहरूमा नाफा कमाउने उद्यमहरू समावेश छन् कि छैनन् भनेर जान्‍न चाहन्छन्। उदाहरणका लागि, मण्डलीले परमेश्‍वरका वचनहरूका भिडियोहरू, चलचित्रहरू, भजनहरूको निर्माणले, र पुस्तकहरूको छपाइले नाफा कमाउँछ कि कमाउँदैन वा अत्यधिक नाफा उत्पन्न गर्छ कि गर्दैन; मण्डलीका आर्थिक स्रोतहरू के-के हुन्; मण्डलीलाई सहयोग गर्न कुनै समृद्ध व्यक्तिले दान दिन्छ कि दिँदैन; यी व्यक्तिहरूमा राजनीतिक कुलीन वर्ग वा करोडपति र अरबपतिहरू समावेश छन् कि छैनन्—तिनीहरूले बोध गर्न चाहने विवरणहरू यिनै हुन्। मण्डलीका प्रशासनिक संरचना र आर्थिक स्रोतहरू पत्ता लगाउने बाहेक, तिनीहरू मण्डलीको अर्थव्यवस्थाको अभिरक्षाबारे बोध गर्ने लक्ष्य पनि राख्छन्, र तिनीहरूको उद्देश्य भनेको यी रकम कतातिर जान्छन् भन्‍ने कुरा पत्ता लगाउनु हो। मण्डलीले त्यसको पैसा कसरी खर्च गर्छ, यो कुनै गैरकानुनी क्रियाकलापहरूमा संलग्‍न छ कि छैन, यसले संयुक्त रूपमा तानासाही सरकारहरूको विरोध गर्न र मानव अधिकारहरू कायम राख्न, र आदि इत्यादिका लागि सामाजिक कुलीन वर्गलाई सङ्गठित गर्छ कि गर्दैन वा विभिन्‍न सामाजिक सङ्घ-संस्था र समूहहरूसँग सहकार्य गर्छ कि गर्दैन—तिनीहरूले बोध गर्ने लक्ष्य राख्‍ने केही महत्त्वपूर्ण परिस्थितिहरू यी पनि हुन्। कतिपय मानिसहरू प्रश्‍न गर्छन्: “के मण्डलीको निगरानी गर्ने काम ठूलो रातो अजिङ्गरको राष्ट्रले मात्रै वहन गर्छ?” के यो अभिव्यक्ति सही छ? वास्तवमा, सम्पूर्ण संसार र सम्पूर्ण मानव समाजले परमेश्‍वरको प्रतिरोध गर्छन्। तानासाही शासनमा रहेका राष्ट्रहरूले मात्रै परमेश्‍वरको प्रतिरोध गर्ने होइनन्; तथाकथित इसाई देशहरूमा समेत, शक्तिमा रहेका अधिकांश मानिसहरू नास्तिक र गैरविश्‍वासीहरू हुन्छन्, र आस्था भएका वा इसाई धर्म मान्‍ने शक्तिमा रहेका मानिसहरूका बीचमा समेत, सत्यतालाई स्वीकार गर्न सक्‍ने मानिसहरू अल्पसङ्ख्यामा हुन्छन्। धेरैजसो मानिसहरूले सत्यतालाई मान्दैनन्, स्वीकार गर्नु त परको कुरा हो। त्यसोभए, के यिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने, तैपनि उहाँको प्रतिरोध गर्ने मानिसहरू होइनन् र? उदाहरणका लागि, इसाई धर्म, क्याथोलिक धर्म, र इस्राएलको यहूदी धर्म जस्ता धर्महरूको माथिल्ला तह सत्यता स्वीकार गर्ने मानिसहरूले बनेका हुन्छन्? पटक्‍कै हुँदैनन्। तिनीहरूमध्ये कोही पनि परमेश्‍वरको काम अनुसन्धान गर्न आउँदैनन्; एक जनाले पनि सत्यता स्वीकार गर्न सक्दैन। ठ्याक्कै भन्दा, तिनीहरू सबै अविश्‍वासीहरू हुन्; तिनीहरू सबैले परमेश्‍वरको प्रतिरोध गर्छन् र तिनीहरू सबै ख्रीष्ट-विरोधीहरू हुन्। तिनीहरू परमेश्‍वरको काममा बाधा दिन्छन् र अन्तर्ध्वंस गर्छन् र परमेश्‍वरलाई पछ्याउनेहरूलाई निर्दयी रूपमा दमन गर्छन् र सताउँछन्, जुन कुरा तिनीहरूले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई गर्ने व्यवहारबाट प्रमाणित हुन्छ। कुन सम्प्रदायले आफ्ना विश्‍वासीहरूलाई स्वतन्त्र रूपमा साँचो मार्ग अनुसन्धान गर्न, बाहिरका प्रचारकहरूको कुरा सुन्‍न, वा अपरिचित मानिसहरूलाई स्वागत गर्न दिन्छ? एउटाले पनि यसो गर्न सक्दैन। कुन जाति वा राष्ट्र मण्डलीसँग मैत्रीपूर्ण छ? (कुनै पनि छैन।) यदि तिनले तँलाई अलिकति धार्मिक स्वतन्त्रता र अलिकति सास फेर्ने ठाउँ दिए भने, त्यो नै सराहनीय कुरा हो। के तँ यसमाथि तिनीहरूले तँलाई साथ दिनेछन् भन्‍ने अझै पनि अपेक्षा गर्छस्? जब परमेश्‍वरको मण्डली देखा पर्छ वा जब मण्डलीले सुसमाचार प्रचार गर्न थाल्छ, तब परमेश्‍वरको अस्तित्वमा पटक्‍कै विश्‍वास नगर्ने र परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरूप्रति निश्‍चित विकर्षण र तिरस्कार महसुस गर्ने यी मानिसहरूले एउटा विशेष कार्य वहन गर्छन्, र त्यो कार्य भनेको मण्डलीलाई नजिकबाट निगरानी गर्नका लागि व्यक्तिहरू खटाउनु हो। यहाँ “निगरानी” को अर्थ अनुगमन गर्नु, पकडमा राख्‍नु र नियन्त्रण गर्नु भन्‍ने हुन्छ; अर्थात्, हरेक अवधिमा मण्डलीका सबै पक्षहरूलाई कडाइका साथ अनुगमन गर्नु, पकडमा राख्‍नु, र नियन्त्रण गर्नु। कतिपय मानिसहरू भन्छन्: “तिनीहरूले परमेश्‍वरको कामलाई सार्वजनिक रूपमा निन्दा वा विरोध गरेका छैनन्, न त हामीले हाम्रो स्थानीय जीवनमा सतावट वा उत्पीडन भोगेका छौँ। हामीलाई के लाग्छ भने, विदेशमा परमेश्‍वरमा विश्‍वास गर्नु, भेला हुनु, आफ्नो कर्तव्य पूरा गर्नु, र सुसमाचार प्रचार गर्नु ठूलो रातो अजिङ्गरको देशमा भन्दा धेरै राम्रो र सुरक्षित छ। हामीले कुनै हस्तक्षेप अनुभव गरेका छैनौँ।” कुनै हस्तक्षेप भएको छैन र तँलाई केही स्वतन्त्रता दिइएको छ भन्दैमा, तैँले तिनीहरूले मण्डलीको निगरानी गर्ने कामलाई नकार्नु हुँदैन। तँलाई दिइएको थोरै धार्मिक स्वतन्त्रता आधारभूत सामाजिक संस्था हो; तैँले आफू जिउने देशको कुनै पनि नागरिकले पाउने आधारभूत अधिकारहरूको मात्रै आनन्द उठाइरहेको छस्। यी आधारभूत अधिकारहरूको आनन्द उठाउनुको अर्थ राष्ट्रिय सरकारले, सामाजिक समूहहरूले, वा धार्मिक संसारले परमेश्‍वरको काम र मण्डलीको कामलाई स्वीकार गरेका छन् र मानेका छन्, तिनीहरू मित्रवत् बनेका छन्, वा अबउप्रान्त कुनै शत्रुता र निगरानी छैन भन्‍ने हुँदैन। के कुरा त्यही होइन र? (हो।) यो मामला अमूर्त छैन, छ त? (अहँ, छैन।)

शैतानी शासनहरूको शत्रुता र निगरानीप्रति हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ? हामीले त्यसलाई इन्कार गर्नुपर्छ र त्यसबाट जोगिनुपर्छ कि बस त्यसलाई बेवास्ता गर्नुपर्छ? सुरुमा, यसबारे विचार गर: के मण्डलीलाई त्यसले गर्ने कुनै पनि कामको तिनीहरूले गर्ने निगरानीको हुने डर हुन्छ? (हुँदैन।) के हामीले कुनै गुप्त क्रियाकलापहरू गर्छौँ? के हामी कुनै राज्य-विरोधी वा सरकार-विरोधी राजनीतिक अभिव्यक्तिहरू दिन्छौँ? (दिँदैनौँ।) यो कुरालाई पुष्टि गर्न सकिन्छ। परमेश्‍वरमा विश्‍वास गर्नुमा राजनीतिक सहभागिता कहिल्यै समावेश हुँदैन। तिमीहरूमध्ये धेरैजसोले परमेश्‍वरमा विश्‍वास गरेको तीन वर्षभन्दा बढी भएको छ, कतिपयले विश्‍वास गरेको त बीस-तीस वर्ष समेत भइसकेको छ। प्रवचन सुनेका यति वर्षमा, के कसैले मण्डलीले राज्य-विरोधी वा समाज-विरोधी अभिव्यक्तिहरू दिएको भेट्टाएका छौ? (छैनौँ।) अलिकति पनि छैनौ; परमेश्‍वरको घरले कहिल्यै राजनीतिका बारेमा छलफल गर्दैन। त्यसमाथि, सर्वशक्तिमान् परमेश्‍वरको मण्डली परमेश्‍वरले स्थापना गर्नुभएको हो, यो पृथ्वीमा परमेश्‍वरको राज्यको पूर्वस्वाद हो, यो कुनै पनि व्यक्तिले बनाएको, कुनै पनि व्यक्तिले स्थापना गरेको संस्था होइन। त्यसोभए, परमेश्‍वरले मण्डलीलाई के काम गर्नका लागि स्थापित गर्नुभएको हो? यो समाज-विरोधी, धर्म-विरोधी, वा राजनीति-विरोधी काममा संलग्‍न हुनका लागि होइन। त्यसोभए मण्डलीको काम के हो त? पहिलो, यसको मुख्य काम भनेको परमेश्‍वर आखिरी दिनहरूमा मानवजातिलाई मुक्ति दिन देह बन्नुभएको छ भन्‍ने असल समाचार फैलाउनु, मानवजाति परमेश्‍वरतिर फर्केर उहाँको आराधना गरून् भनेर परमेश्‍वरले व्यक्त गर्नुभएका सबै सत्यताहरू स्वीकार गर्ने तुल्याउनु हो। दोस्रो, यसमा सत्यताको तृष्णा गर्नेहरूलाई परमेश्‍वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गर्न र शुद्ध पारिन, र अन्ततः मुक्ति हासिल गर्नका लागि परमेश्‍वरको अघि ल्याउने कार्य समावेश हुन्छ। परमेश्‍वरले स्थापित गर्नुभएको मण्डलीले वहन गर्ने काम यही हो, र मण्डलीको अस्तित्वको महत्त्व र मूल्य यही हो। यो राजनीति, व्यापार, उद्योग, प्रविधि, वा समाजको अरू कुनै पनि क्षेत्रसँग सम्बन्धित छैन र तीसँग आबद्ध छैन; यो यी कुराहरूसँग पूर्णतः असम्बन्धित छ। त्यसोभए मण्डलीभित्र परमेश्‍वरले गर्नुहुने मुक्तिको कामको सार के हो? सबैभन्दा सरल र स्पष्ट हिसाबमा भन्दा, यो मानवजातिको व्यवस्थापन हो। मानवजातिलाई व्यवस्थापन गर्नुको निश्‍चित विषयवस्तु भनेको मानिसहरूलाई परमेश्‍वरको अघि, परमेश्‍वरका वचनहरूको वास्तविकतामा ल्याउनु, तिनीहरूलाई शुद्ध पारिन र मुक्ति हासिल गर्नका लागि परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्ने तुल्याउनु हो। मानवजातिलाई व्यवस्थापन गर्ने निर्दिष्ट काम यही हो। मण्डली संलग्‍न हुने कुनै पनि काम परमेश्‍वरको व्यवस्थापन, परमेश्‍वरको योजनासँग सम्बन्धित हुन्छ, र अवश्य नै, यसमा परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू समावेश हुन्छन्; सांसारिक मानिसहरूले गर्ने विभिन्‍न कार्यहरूसँग यसको कहीँ कुनै सम्बन्ध हुँदैन। त्यसकारण, मण्डलीबारे कुनै पनि जानकारी, चाहे त्यो यसको शिक्षा, कर्मचारी, प्रशासनिक संरचना, यसको कामको अवस्थासँग सम्बन्धित होस्, वा मण्डलीको आर्थिक अवस्थासँग सम्बन्धित नै किन नहोस्, यसको कुनै पनि देश, समाज, जाति, धर्म, वा मानव समूहसँग बिलकुलै कुनै सम्बन्ध हुँदैन—अलिकति पनि सम्बन्धित हुँदैन। त्यसकारण, यी कुराहरूलाई ध्यानमा राख्दै, चाहे त्यो सत्तासीन पार्टी होस्, धार्मिक समूहहरू होस्, वा सामाजिक समूह होस्, मण्डलीको निगरानी गर्न मानिसहरू पठाउने तिनीहरूको कार्य विशुद्ध रूपमा के बराबर हुन्छ? (अनावश्यक कार्य।) “अनावश्यक कार्य” भनेको औपचारिक अभिव्यक्ति हो। आम भनाइ के हो? गर्नका लागि कुनै काम नहुनु होइन र? मेरा दृष्टिकोणमा, यो कार्य ठ्याक्कै त्यही हो; तिनीहरूका दिन अत्यन्तै धेरै सुखले र सहजताले भरिएका हुन्छन्, त्यसकारण तिनीहरूले यी केही निष्क्रिय व्यक्तिहरूलाई मण्डलीको निगरानी गर्न पठाउँछन्, र यसलाई राजनीतिक कार्य, गम्भीर कार्यका रूपमा समेत लिन्छन्—यो अत्यन्तै वाहियात कुरा हो! त्यस्तो मेहनत गरेर त, शैक्षिक वा परोपकारी संस्थाहरू खोल्दा निकै राम्रो हुनेथ्यो। यो त अत्यन्तै धेरै देहगत सहजताले गर्दा निष्क्रिय हुने, र उचित कार्यहरूमा ध्यान नदिने कुरा मात्रै हो! यदि सम्पूर्ण मानवजाति परमेश्‍वरको मण्डली जस्तै भएको भए, त्यसलाई परमेश्‍वरले व्यक्तिगत रूपमा रेखदेख र अगुवाइ गर्नुभएको भए, यो संसार, यो मानवजाति धेरै अनावश्यक संस्था, खर्च, र समस्याहरूबाट जोगिनेथियो। कम्तीमा पनि, जासुस संस्था र पुलिस विभाग जस्ता एजेन्सीहरू, यी सुरक्षा क्षेत्रहरूको कुनै काम हुनेथिएन र तिनीहरूलाई भङ्ग गरेर अर्को काममा खटाउनुपर्नेथियो।

मण्डलीको निगरानी गर्न खटाइएका व्यक्तिहरू मिसनमा हुन्छन्। मण्डलीमा घुसपैठ गरेपछि तिनीहरूको प्राथमिक कार्य हामीले सङ्गति गरेका यी केही पक्षहरू नै हुन्; तिनीहरूले मण्डलीभित्रका केही आधारभूत र महत्त्वपूर्ण परिस्थितिहरू बोध गरेपछि, आफ्ना वरिष्ठहरूलाई रिपोर्ट गर्छन्। तिनीहरूका विचार, राय, वा तिनीहरूको कामपछाडिको उद्देश्य जेसुकै भए पनि, मण्डलीभित्र यी निगरानीकर्ताहरूको उपस्थितिले दाजुभाइ-दिदीबहिनीहरूलाई सतर्क रहन र तिनीहरूलाई बुद्धिमानीका साथ सम्हाल्न प्रोत्साहित गर्नुपर्छ। के यो शैली सही हो? (हो।) त्यसोभए, के अति सतर्क हुनु आवश्यक हुन्छ? (हुँदैन।) त्यस्ता मानिसहरू देखा परे भने, हामीले त्यसलाई कसरी लिनुपर्छ? दुई वटा सिद्धान्त छन्, यो अत्यन्तै सरल छ। यदि तिनीहरू सोधपुछ गर्दै र जानकारी खोज्दै हिँड्छन् भने, यसले स्पष्ट रूपमा तिनीहरू जासुस वा गुप्तचर भएको सङ्केत गर्छ। त्यस्ता व्यक्तिहरू अत्यन्तै दुष्ट र अभिमानी मानवता भएका हुन्छन्; तिनीहरूले मण्डलीमा गम्भीर बाधाहरू पुर्‍याउँछन्। तिनीहरूको उपस्थितिले मात्रै मानिसहरूका बीचमा अशान्ति पैदा गर्छ, जसले उनीहरूलाई परमेश्‍वरसामु आउनबाट रोक्छ। भेलाहरू र कर्तव्य निर्वाहमा पनि बाधा र असर पर्छन्, र सुरक्षामा पनि खतरा पैदा हुन्छ। त्यस्तो व्यक्तिलाई कसरी सम्हाल्नुपर्छ? (उसलाई मण्डलीबाट निकाल्नुपर्छ।) ठीक भन्यौ; यदि उसले मण्डली जीवन वा मण्डलीको काममा बाधा दिन्छ भने, उसलाई सीधै सफाइ गरिनुपर्छ। त्यसोभए, के ऊबाट लुक्‍नु वा डराउनुपर्ने कुनै आवश्यकता छ? (छैन।) कतिपय मानिसहरू विदेशमा जासुसहरू सामना गर्दा, मुख्य भूमिमा पुलिस देखेझैँ गरी आत्तिएर जताततै लुक्छन्। जब कतिपय दाजुभाइ-दिदीबहिनीहरू नियमित काममा जान्छन् र तिनीहरूलाई प्रश्‍नहरू सोध्ने जासुसहरूको सामना गर्छन्, र उनीहरूको प्रश्न सोध्ने लबज पुलिसको सोधपुछ जस्तै डरलाग्दो सुनिन्छ, तब तिनीहरू यति डराउँछन् कि ती काम पूरा नगरी भाग्छन्। म भन्छु, “तँ कसरी यस्तो कमजोर हुन सक्छस्? किन भाग्‍नु? डर मान्‍नुपर्ने कुरा के छ र? ठूलो रातो अजिङ्गरको देशमा, धेरै दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परे तर तिनीहरू भयभीत भएनन्; तिनीहरू यहूदा बनेनन्, तिनीहरू आफ्नो गवाहीमा दृढ रहे। त्यसोभए, विदेशमा आइसकेपछि पनि, किन तँ अझै पनि यति डराउन सकेको? तैँले कुनै पनि कानुन तोडेको छैनस्; के कुराको डर मान्‍ने?” कतिपय मानिसहरू भन्छन्: “तिनीहरू सधैँ मसँग नजिक हुने प्रयास गर्छन्, र तिनीहरूले सधैँ मलाई सोधपुछ गरिरहेका हुन्छन्।” के तैँले तिनीहरूलाई प्रतिप्रश्‍न गर्न सक्दैनस् र? तँ यसो भन्‍न सक्छस्, “तिमीसँग मलाई सोधपुछ गर्ने के अधिकार छ? के मैले तिमीलाई चिनेको छु? के तिमी परिचय पत्र जाँचिरहेको ठूलो रातो अजिङ्गरका अधिकारी हौ? तिमीले कसलाई प्रतिनिधित्व गर्छौ? मलाई प्रश्‍नहरू गरिरह्‍यौ भने म तिमीलाई मुद्दा हाल्नेछु!” के तिनीहरूसँग डराउनुपर्ने कुनै कारण छ? (छैन।) कतिपय मानिसहरू, त्यस्ता जासुसहरूको सामना गर्दा बोल्ने आँट गर्दैनन् र डरले तुरुन्तै भाग्छन्। कतिपय अन्योलमा परेका मानिसहरू यी शैतानी जासुस र पाल्तु कुकुरहरूलाई पटक्‍कै खुट्ट्याउन सक्दैनन् र तिनीहरूलाई सुसमाचार प्रचार गर्ने प्रयास समेत गर्छन्। केही पटक प्रयास गरेपछि, तिनीहरूले यस्तो महसुस गर्छन्, “यो परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनेर विश्‍वास गर्ने व्यक्ति होइन। ऊ किन ठूलो रातो अजिङ्गरको अधिकारी जस्तो देखिन्छ?” केही त गलत छ भन्‍ने महसुस गरेपछि, तिनीहरूले हरेस खान्छन्। पछि, तिनीहरूले यसबारे चिन्तन गर्छन्: “परमेश्‍वरले मलाई सुरक्षा दिइरहनुभएको छ; धन्न मैले उसलाई कुनै व्यक्तिगत जानकारी खुलासा गरिनँ। कस्तो झूटो चेतावनी!” तिनीहरू यति डराउँछन् कि तिनीहरूले त्यस उप्रान्त आफूले भेटेको जोकोहीलाई जथाभाबी सुसमाचार प्रचार गर्ने आँट गर्दैनन्। वास्तवमा, प्रचारद्वारा मण्डलीमा ल्याइएका मानिसहरूमध्ये केही साँच्‍चै जासुसहरू पनि छन्। तिनीहरू ठूलो रातो अजिङ्गरले मण्डलीमा प्रतिरोपण गरेका गुप्तचरहरू हुन्, र तिनीहरूलाई जानी-जानी शैतानले प्रबन्ध गरेको हुन्छ। तिनीहरू भेडाको भेषमा ब्वाँसाहरू जस्तै हुन्, जसले परमेश्‍वरका वचनहरू खाने-पिउने नगरी वा सत्यता सङ्गति नगरी मण्डलीमा घुसपैठ गर्छन्, सधैँ मण्डलीबारे जानकारीको खोजीनिधो गर्छन् र व्यक्तिगत विवरणहरूबारे चियोचर्चो गर्छन्। तिनीहरूको व्यवहार शङ्कास्पद छ वा तिनीहरूले मण्डलीभित्र बाधाहरू दिइसकेका छन् भन्‍ने पत्ता लागेपछि, तिनीहरूलाई तुरुन्तै पखाल्नुपर्छ—ठूलो रातो अजिङ्गरका गुप्तचरहरूलाई, शैतानका सेवकहरूलाई मण्डलीमा बाधा दिन पटक्‍कै दिनु हुँदैन। तिमीहरूले भेट्टाउने हरेकलाई पखालिदेओ; तिनीहरूलाई कुनै दया-माया नदेखाओ! यदि कुनै व्यक्ति जासुससँग घुलमिल हुन्छ, सधैँ जासुसलाई मायाको भावले दयालु व्यवहार गर्न, सोधिएका कुनै पनि प्रश्‍नहरूको उत्तर दिन, जासुसका लागि पाल्तु कुकुरको भूमिका खेल्न इच्छुक हुन्छ भने, त्यस्तो बदमासलाई सीधै निष्कासित गर्नैपर्छ! शङ्कास्पद व्यक्तिहरूलाई नजिकबाट निगरानी र अवलोकन गर्नुपर्छ; मण्डलीका बारेमा एउटा पनि विवरण तिनीहरूलाई खुलासा गर्नु हुँदैन, विशेष गरी अगुवा र कामदारहरू को हुन् भन्‍ने कुरा खुलासा गर्नु हुँदैन। यदि जासुसलाई कुनै पनि जानकारी प्राप्त गर्न दिइयो भने, यसले कुनै पनि बेला मण्डली र दाजुभाइ-दिदीबहिनीहरूका लागि गुप्त खतरा वा प्रकोप ल्याउन सक्छ। त्यसकारण, जब कुनै व्यक्ति शङ्कास्पद देखिन्छ, तब उसले कहिल्यै परमेश्‍वरका वचनहरू खाने-पिउने नगरुन्जेल वा सत्यता सङ्गति नगरुन्जेल, ऊ निश्चय नै अविश्‍वासी हो, र उसलाई तुरुन्तै निकाल्नु नै सही हुन्छ। त्यस्तो व्यक्ति जासुस नभए पनि, ऊ असल व्यक्ति होइन, र उसलाई निकाल्नु कुनै पनि हालतमा अन्यायपूर्ण हुँदैन। यदि कुनै व्यक्ति जासुससँग नजिकको सम्बन्धमा छ र उसले मण्डलीलाई घात गर्न सक्छ भन्‍ने पत्ता लाग्यो भने, उसलाई हरहालतमा तुरुन्तै निकाल्नुपर्छ। त्यस्तो नीच र बदमासले मण्डली र दाजुभाइ-दिदीबहिनीहरूका लागि प्रकोप मात्रै ल्याउन सक्छ। ऊ पाल्तु कुकुरहरूभन्दा पनि खराब हुन्छ; उसले दुष्ट कार्यहरू नगरे पनि, उसलाई अझै पनि निकाल्नैपर्छ। अहिले, ठूलो रातो अजिङ्गर पतनको सङ्घारमा छ, तर ऊ आफ्नो हार र विनाशलाई स्वीकार गर्न अनिच्छुक छ। उसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई पक्राउ गर्ने र सताउने कार्यलाई जारी राख्छ र परमेश्‍वरको घरमा घुसपैठ गर्न जासुस अभियानहरू सञ्चालन गर्छ। उसको मण्डलीको काममा बाधा दिने र अन्तर्ध्वंस गर्ने कार्य कहिल्यै रोकिएको छैन। अहिले, केही स्पष्टतः शङ्कास्पद व्यक्तिहरू खुलासा भएका छन्। जानकारी सङ्कलन गर्ने तिनीहरूका प्रयासहरूले खैलाबैला मच्‍चाएको छ, जसले गर्दा अरूले सजिलै तिनीहरूलाई छर्लङ्ग देख्न सक्छन्। तिनीहरूले आफूलाई खुलासा गरेपछि, तिनीहरूलाई मण्डलीले निकाल्छ। तर के सबै धूर्त जासुसहरू खुलासा गरिएका छन्? बिलकुलै छैनन्। ठूलो रातो अजिङ्गरका एजेन्टहरूले सबै ठाउँका मण्डलीहरूमा घुसपैठ गर्ने सम्भावना हुन सक्छ। कतिपय व्यक्तिहरूलाई, ठूलो रातो अजिङ्गरले पक्रेपछि, शैतानले त्यसको तर्फबाट काम गर्न लगाउन अनि मण्डलीमा घुसपैठ गर्न लगाउनका लागि तिनीहरूलाई धम्की, परीक्षा, र विभिन्‍न अरू माध्यमहरूमार्फत करकाप गर्छ। यी गुप्त जासुसहरू हुन्। त्यस्ता गुप्तचरहरू धोकेबाज र धूर्त हुन्छन्, र तिनीहरूसँग केही चलाकी र बुद्धि हुन्छ। गैरविश्‍वासीहरूका शब्दहरूमा भन्दा, तिनीहरूमा केही क्षमता हुन्छ। मण्डलीको निगरानी गर्दा, तिनीहरूले थाहा नपाइने गरी त्यसो गर्छन्, चुपचाप र गुप्त रूपमा कार्य गर्छन्, र आफ्नो अन्तरक्रियामा कहिल्यै आफ्ना वास्तविक अभिप्रायहरू प्रकट गर्दैनन्। तिनीहरूसँग अन्तरक्रिया गर्दा धेरैजसो मानिसहरूले केही महसुस गर्दैनन्; तिनीहरू जासुसले जानकारी सङ्कलन गरिरहेको छ भनेर सचेत हुँदैनन्, न त तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने कार्यप्रति जासुसको विकर्षण नै महसुस हुन्छ। धेरैजसो मानिसहरूले जासुसहरू मण्डलीको निगरानी गर्न आएका हुन् भनेर महसुस गर्नुभन्दा पहिले नै तिनीहरूले मण्डलीको आधारभूत परिस्थिति बोध गरिसकेका हुन सक्छन्। बाहिरबाट हेर्दा, त्यस्ता व्यक्तिहरूले मण्डली वा धेरैजसो मानिसहरूलाई कुनै बाधा दिँदैनन्, त्यसोभए = तिनीहरूलाई कसरी सम्हाल्नुपर्छ? के हामीले तिनीहरूले मण्डलीलाई निगरानी गर्ने कार्यलाई सम्बोधन गर्न कुनै उपाय वा समाधानहरू अपनाउनुपर्छ? पहिले उल्लेख गरिएझैँ, के मण्डली कुनै पनि हिसाबमा तिनीहरूको निगरानीबाट डराउँछ? (डराउँदैन।) हाम्रो मण्डलीको अस्तित्व र यो संलग्‍न हुने विभिन्‍न कामका विषयवस्तुहरू खुल्ला र स्पष्ट छन्; कामका यी विषयवस्तुहरू मानवजातिमाझका सबैभन्दा न्यायोचित अभियानहरू हुन्। यदि कुनै पनि सङ्गठनले मण्डलीको कुनै पनि पक्षलाई बुझ्न चाहन्छ भने, मण्डलीका अनुभवात्मक गवाहीहरू अनलाइनमा सार्वजनिक रूपमा प्रसारण गरिएका छन्—हरेकले आफूलाई मन लागे अनुसार तिनलाई हेर्न सक्छन्। कुनै रहस्यहरू, कुनै गैरकानुनी क्रियाकलापहरू छैनन्, र सामाजिक सुव्यवस्थाप्रतिको अवरोधहरू वा विरोधाभासी बोली वा व्यवहारहरू त निश्चय नै छैनन्। त्यसकारण, यदि तिनीहरू गुप्त रूपमा मण्डलीको परिस्थितिको अनुसन्धान र निगरानी गर्छन् भने, तिनीहरूलाई छोडिदेओ। मैले किन यसो भनेँ? एजेन्टका रूपमा काम गर्ने यी व्यक्तिहरूसँग निश्‍चित पेसागत मानक हुन्छ, र साधारण मानिसहरूले पर्दापछाडि तिनीहरूले निर्वाह गर्ने कार्यहरू के-के हुन् भनेर पत्ता लगाउन सक्दैनन्। त्यसकारण, तिनीहरूले बाधाहरू पैदा नगरुन्जेल, तिनीहरूसँग झमेला गर्नु पर्दैन; तिनीहरूलाई त्यतिकै छोडिदेओ। त्यसमाथि, यी अविश्‍वासी, नास्तिकहरू, र राजनीतिक रूपमा संलग्‍न व्यक्तिहरू मण्डली जीवनप्रति न त अभ्यस्त नै हुन्छन्, न त तिनीहरूलाई यसमा रुचि नै हुन्छ। हरेक दिन मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्ने, न्याय र सजाय स्वीकार गर्ने, र आफूलाई चिन्‍ने, परमेश्‍वरलाई चिन्‍ने, र स्वभाव परिवर्तनका बारेमा छलफल गर्ने गरेको ठाउँ, अर्थात् मण्डलीमा, तिनीहरूलाई कसरी काँडा र सियोले घोचेको वा सास्ती भोगेको जस्तो महसुस हुन सक्दैन र? हरेक भेलामा, तिनीहरू तातो कराइमा राखिएका कमिला जस्तै बेचैन हुन्छन्; तिनीहरूलाई आफूलाई जबरजस्ती मण्डलीमा राख्न इच्छुक हुँदैनन्। तिनीहरूले मण्डली एउटा मण्डली मात्रै हो, र राजनीतिक रूपमा संलग्‍न सङ्गठन बिलकुलै होइन भन्‍ने कुरा हृदयमा बुझेका हुन्छन्। मण्डलीको निगरानी गरेर र त्यसबारे जानेर, अनि यसले ठ्याक्कै के गर्छ भन्‍ने कुरा थाहा पाएर, तिनीहरूले परमेश्‍वरले यावत् थोकमाथि र मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने तथ्यका बारेमा शिक्षित हुन्छन्, जसले गर्दा तिनीहरूले यति अज्ञानी रूपमा नजिउने गरी आफ्नो दृष्टिकोणलाई फराकिलो बनाउँछन्। तिनीहरू पनि सृजित प्राणीहरू हुन्, तैपनि मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो भन्‍ने समेत तिनीहरूलाई थाहा हुँदैन, जसले तिनीहरू कति मूर्ख र नगण्य छन् भन्‍ने कुरा देखाउँछ! के तिनीहरूलाई मण्डलीमा बस्‍न दिँदा कुनै जोखिम हुन्छ? यदि तिनीहरूले मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूलाई खतरामा पार्दैनन् वा बाधा पुर्‍याउँदैनन् भने, तिनीहरूलाई त्यतिकै छोडिदेओ। तिनीहरूले बाधा पैदा गर्ने कुनै कुरा गरेपछि, त्यो तिनीहरूको खुलासाको क्षण हो, र तिनीहरूलाई सम्हाल्ने सही समय त्यही हुन्छ। तथ्य र प्रमाणहरूका आधारमा, तिनीहरूलाई तुरुन्तै खुट्ट्याओ र चित्रण गर—तिनीहरूको मिसन समाप्त हुन्छ, र मण्डलीले स्वतः नै तिनीहरूलाई निष्कासित गर्छ। के यो शैली राम्रो छ? (छ।) कतिपय मानिसहरू सोध्छन्, “के मण्डलीको काम खुला र स्पष्ट छैन र? किन मानिसहरूले गर्ने निगरानीमा प्रतिबन्ध लगाउने?” यो कुरा मुख्य रूपमा ठूलो रातो अजिङ्गर, अर्थात् शैतानको शासनप्रति लक्षित छ। यसले गर्ने मण्डलीको निगरानी परमेश्‍वरका चुनिएका मानिसहरूलाई दमन, पक्राउ, र हानि गर्ने उद्देश्यका लागि गरिएको हुन्छ; त्यसकारण, परमेश्‍वरका चुनिएका मानिसहरूलाई सतावट र नरसंहार भोग्नबाट रोक्नका लागि परमेश्‍वरको घरले त्यसले गर्ने निगरानीलाई अनुमति दिँदैन। यदि लोकतान्त्रिक देशहरूका वा धार्मिक समूहहरूका व्यक्तिहरू साँचो मार्गको अनुसन्धान गर्न आए भने, तिनीहरूले यसलाई अनलाइनमा खोजी गर्न वा मण्डलीलाई सम्पर्क गर्न सक्छन्। मण्डलीले निष्कपटताका साथ सत्यता खोजी गर्ने जोकोहीलाई स्वीकार गर्छ। तर यदि अर्को पक्षले खराब अभिप्रायहरू राख्छ र सही र गलतलाई विकृत गर्ने र मण्डलीको बदनामी गर्ने प्रयास गर्छ भने, परमेश्‍वरको घरले कसरी उसले गर्ने निगरानीलाई अनुमति दिन सक्छ? के उसले गर्ने निगरानीलाई अनुमति दिनु अत्यन्तै मूर्खतापूर्ण हुनेथिएन र? के यो मूर्खतापूर्ण र अज्ञानी कार्य हुनेथिएन र? (हुनेथियो।) परमेश्‍वरको घरले सधैँ सत्यताको खोजी गर्नेहरूलाई स्वागत गरेको छ र न्यानो तरिकाले स्विकारेको गरेको छ, जुन पूर्णतया परमेश्‍वरका अभिप्रायहरू अनुरूप छ। यदि मानिसहरूले यो कुरा बुझ्दैनन् भने, यो तिनीहरूको मूर्खता र अज्ञानताका कारण हो। मण्डलीको बाह्य नीति खुला र स्पष्ट छ, यो पूर्ण रूपमा सत्यता सिद्धान्तहरू अनुरूप छ, र यो बौद्धिकता र बुद्धिले भरिएको छ। यदि कसैले यी सकारात्मक कुराहरू बुझ्न सक्दैन भने, ऊ बेतुक्का व्यक्ति, अलमल्ल व्यक्ति हो। कतिपय मानिसहरू भन्छन्, “यदि गुप्तचर वा शैतानका नोकरहरू मण्डलीका बारेमा जान्न आउँछन् भने, के हामी इमानदार मानिसहरू बन्‍नुपर्छ र हामीले सत्यनिष्ठ भई तिनीहरूका प्रश्‍नहरूको उत्तर दिनुपर्छ?” दियाबलसहरू र शैतानहरूलाई सत्य बताउनु मूर्खता हो; यसले व्यक्तिलाई इमानदार व्यक्ति बनाउँदैन, बरु शैतानको पाल्तु कुकुरमा परिणत गर्छ। जब शैतानको खालले मण्डलीका परिस्थितिहरू जान्ने र बोध गर्ने चाहना गर्छ, तब परमेश्‍वरका चुनिएका मानिसहरूसँग तिनीहरूलाई बताउने कुनै जिम्मेवारी हुँदैन। तिनीहरूले सत्यता स्वीकार गर्न सक्दैनन् र तिनीहरूसँग कुनै सद्भावना हुँदैन, त्यसकारण हामीसँग तिनीहरूलाई भन्‍ने केही कुरा छैन! यसो गर्नु उग्र हुनु होइन, बरु बुद्धिमानी हुनु हो। कतिपय मानिसहरू सोध्छन्, “यदि तिनीहरूले मलाई “तिमीहरूको मण्डलीलाई कसले अगुवाइ गर्छ? तिनीहरूले विश्‍वास गरेको कति वर्ष भयो?” भनेर सोधे भने, के मैले तिनीहरूलाई बताउन मिल्छ?” तैँले तिनीहरूलाई यस्तो सोध्नुपर्छ, “हाम्रो अगुवाका बारेमा जान्‍नुको पछाडि तिम्रो उद्देश्य के हो? सुरुमा मलाई यो कुरा भन, म यसबारे विचार गर्नेछु, त्यसपछि तिमीलाई जानकारी दिने कि नदिने भनेर निर्णय गर्नेछु।” के यो उत्तर बुद्धिमानी छ? (छ।) सिद्धान्तहरू अनुसार कार्य गर्नु भनेको यही हो। बुझ्यौ? सुसमाचारको काम फैलिँदै जाँदा र मण्डलीका मानिसहरूको सङ्ख्या बिस्तारै बढ्दै जाँदा, बेला-बेलामा फरक-फरक देश र क्षेत्रका मण्डलीहरूमा गुप्तचरहरू र एजेन्टहरू देखा पर्न सक्छन्। त्यस्ता व्यक्तिहरूका हकमा, तिनीहरूलाई बुद्धिमानीपूर्वक सम्हाल्नका लागि बस परमेश्‍वरका चुनिएका मानिसहरूलाई जानकारी दिनु नै पर्याप्त हुन्छ। यदि तिनीहरूले बाधा वा अवरोधहरू दिन्छन् भन्‍ने पत्ता लाग्यो भने, तिनीहरूलाई तुरुन्तै निकाल्नुपर्छ। धेरैजसो मानिसहरूमा यी एजेन्टहरूले बोल्ने र व्यवहार गर्ने तरिका, वा तिनीहरूको आचरणका बारेमा केही बुझाइ र सुझबुझ हुनुपर्छ, र तिनीहरूसँग अन्तरक्रिया गर्दा उनीहरूसँग निश्चय नै केही सचेतना वा बोध हुनेछ। यदि मण्डलीका केही दाजुभाइ-दिदीबहिनीहरूले मात्रै त्यस्ता व्यक्तिहरूलाई ख्याल गरे, तर तिनीहरू जासुस वा गुप्तचर हुन् कि होइनन् भन्‍ने कुराबारे पक्का भएनन् भने, तिनीहरूलाई सतर्कताको साथ र बुद्धिमानी तरिकाले व्यवहार गर्नुपर्छ। यदि धेरैजसो मानिसहरूले ख्याल गरेका छन् भने, तिनीहरूले एक-अर्कालाई जानकारी दिन र सतर्कताका उपायहरू अपनाउन सक्छन्। यदि शङ्कास्पद जासुसहरूले मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूप्रति कुनै मित्रता देखाउँदैनन्, निरन्तर दाजुभाइ-दिदीबहिनीहरूलाई फन्दामा पार्ने र मण्डलीलाई बाधा दिने प्रयास गर्छन्, र सधैँ मण्डलीलाई बदनाम गर्ने प्रमाण खोज्छन्, यहाँसम्म कि दाजुभाइ-दिदीबहिनीहरूको फोटो वा रेकर्डिङ समेत लिन्छन्, वा आफूले जान्‍न चाहेको जानकारी निकाल्न प्रलोभन र परीक्षाको प्रयोग समेत गर्छन् भने, त्यस्ता व्यक्तिहरू पत्ता लागेपछि, तिनीहरूलाई जाँच नगरिकन छोड्नु सकिँदैन—तिनीहरूलाई तुरुन्तै मण्डलीबाट निकाल्नुपर्छ। तिमीहरूले यी परिस्थितिहरू पहिले सामना गरेका छैनौ होला, त्यसकारण म तिमीहरूलाई अग्रिम रूपमा चेतावनी दिइरहेको छु। यो त तिमीहरूको बुझाइलाई फराकिलो बनाउनु हो, मानवजाति, समाज, राजनीति, र संसारलाई चिन्नु हो—यो यति अन्धकारमय र दुष्ट छ।

परमेश्‍वरमा विश्‍वास गर्नुपछाडिको नवौँ उद्देश्यका हकमा भन्दा—मण्डलीको निगरानी गर्नु—आधारभूत विषयवस्तुका बारे सङ्गति यहीँ समाप्त हुन्छ। के सबै कुरा स्पष्ट रूपमा सङ्गति गरिएको छ? (छ।) मण्डलीको निगरानी गर्नेहरूले निगरानी गर्ने लक्ष्य राखेका विषयवस्तुहरू के-के हुन् त? (मण्डलीका शिक्षाहरू, कर्मचारीसम्बन्धी परिस्थितिहरू, कामका अवस्थाहरू, र आर्थिक अवस्था।) आधारभूत रूपमा, तिनीहरूलाई सबैभन्दा बढी चासो हुने कुराहरू यी चार वटा क्षेत्रहरू नै हुन्। यी चार पक्षहरूमा के-के पर्छन्? तिनमा तिनीहरूले सबैभन्दा बढी चिन्ता गर्ने कुराहरू पर्छन्: मण्डलीको उपस्थितिले समाज, राष्ट्र, र धार्मिक संसारमा पार्ने असर। तिनीहरूलाई मण्डलीले धर्मको आवरणमा राजनीतिमा संलग्न हुने र सरकारलाई सत्ताच्यूत गर्न सक्छ भन्‍ने पनि चिन्ता हुन्छ, तिनीहरूले यसलाई सबैभन्दा ठूलो गुप्त खतराका रूपमा हेर्छन्। त्यसकारण, तिनीहरू मण्डलीलाई दमन गर्छन्, सताउँछन्, र निषेध गर्छन्, र यसका सदस्यहरूलाई पक्राउ गर्छन्। ठूलो रातो अजिङ्गरको राष्ट्रले सबै धार्मिक विश्वासहरूमाथि प्रतिबन्ध लगाउँछ, कतिपय देशहरूले निश्‍चित विश्वासहरूलाई निषेध गर्छन्, र धेरैजसो देशहरूले सत्यता सत्तासीन हुन्छ, र मानिसहरूले सत्यता स्वीकार गर्छन्, जसले तिनीहरूको शासनलाई खतरामा पार्छ भनी डर मान्छन्। छोटकरीमा भन्दा, कुनै ठाउँमा परमेश्‍वरले जति धेरै काम गरिरहनुभएको हुन्छ र सत्यता व्यक्त गरिरहनुभएको हुन्छ, र मण्डलीमा पवित्र आत्माको काम जति धेरै हुन्छ, तिनीहरूलाई विभिन्‍न सरकारले त्यति नै निगरानी गर्ने र शत्रुताको नजरले हेर्ने सम्भावना हुन्छ। त्यसकारण, मण्डलीका सबै गतिविधिहरू निगरानी गर्न, सरकारले प्रायजसो मण्डलीको परिस्थिति जान्‍न र बोध गर्नका लागि साँचो मार्गको अनुसन्धान गर्ने मानिसहरूको भेषमा एजेन्टहरू पठाउँछन्। यसको साथै, तिनीहरूले मण्डलीको कामका प्रचलनहरू बुझ्ने, मण्डली राजनीतिमा संलग्‍न छ कि छैन, मण्डलीको काम सञ्चालान गर्ने भेषमा यसले कुनै राजनीतिक क्रियाकलापमा सहभागिता जनाइरहेको छ कि छैन, वा यसको वैदेशिक धार्मिक शक्तिहरूसँग कुनै सम्बन्ध छ कि छैन जस्ता विभिन्न कुरा हेर्ने प्रयास गर्छन्। तिनीहरूले बोध गर्न चाहने र चिन्ता लिने कुराहरू यिनै हुन्। यसको साथै, तिनीहरू मण्डलीको आर्थिक अवस्था पनि बोध गर्न चाहन्छन्। तिनीहरू मनन गर्छन्: “यो मण्डलीको सङ्ख्या बढेको छ र यसको विकास तीव्र रूपमा भइरहेको छ—तिनीहरूको पैसा कहाँबाट आउँछ? कुन-कुन सङ्घसंस्था वा धनी व्यक्तिहरूले तिनीहरूलाई दान दिइरहेका छन्?” छोटकरीमा भन्दा, हामीले सोच्न सक्ने कुनै कुरा छैन जुन तिनीहरूले विचार नगरेका होऊन्। किन? किनभने तिनीहरू दुष्ट हुन्छन्; तिनीहरू दुष्ट मानिसहरू हुन्। मण्डलीको परिस्थिति बोध गर्ने तिनीहरूको प्रयास मण्डलीको अस्तित्वका बारेमा रहेको तिनीहरूको ठूलो चिन्ताले गर्दा, मण्डलीले अझै धेरै मानिसहरूलाई प्रभाव पार्ला, जसले तिनीहरूको शासनलाई खतरामा पार्ला भन्‍ने डरबाट आएको हुन्छ; मण्डलीका बारेमा तिनीहरूलाई ठ्याक्कै यही कुराको चिन्ता हुन्छ। मण्डलीले वहन गरेको काम जति नै न्यायसङ्गत वा वैधानिक भए पनि, तिनीहरू अझै विश्‍वास गर्दैनन्। किन? किनभने तिनीहरू अविश्‍वासी, नास्तिक, र भौतिकवादीहरू हुन्—भौतिकवादीहरूले गर्न सक्‍ने कुरा यही हो। तिनीहरूले चिन्ता गर्ने चार वटा परिस्थितिहरू यिनै हुन्। हामीले यी चार परिस्थितिहरूका बारेमा त्यस्ता व्यक्तिहरूले गर्ने चिन्ताका कारण र उद्देश्यहरू बुझेपछि तिनीहरूलाई उचित तरिकाले कसरी सम्हाल्ने भन्‍ने बारे दुई वटा सिद्धान्तहरूका बारेमा भर्खरै सङ्गति गर्‍यौँ। यी सिद्धान्तहरूको सरल सारांश प्रस्तुत गर र तिनका बारेमा बोल। (यदि तिनीहरूले मण्डलीमा बाधाहरू दिएमा, तिनीहरूलाई पखालिदेऊ; यदि तिनीहरूले बाधाहरू नदिएमा, तिनीहरूसँग झमेला गर्नु पर्दैन।) यदि तिनीहरू बाधाहरू दिन्छन्, जताततै चियोचर्चो गर्छन् र अरूलाई अत्त्याउँछन् भने, तिनीहरूलाई दयामाया नगरी पखालिदेऊ; यदि तिनीहरूले बाधाहरू दिँदैनन् र धेरैजसो मानिसहरूले तिनीहरूलाई याद गर्दैनन् वा खुट्ट्याउन सक्दैनन् भने, तिनीहरूलाई बेवास्ता गर। तिनीहरूले यो साँच्‍चै नै मण्डलीको काम हो, सबै धार्मिक क्रियाकलापहरू हुन्, र यो राजनीतिमा पटक्‍कै संलग्‍न छैन भन्‍ने कुरा तिनीहरूले स्पष्ट रूपमा देखेपछि, यो कुरालाई पुष्टि गर्नेबित्तिकै तिनीहरू आफै जान्छन्। धार्मिक परिस्थितिहरू बुझ्नका लागि प्रजातान्त्रिक देशहरूले प्रयोग गर्ने शैली यही हो। मानवजाति अत्यन्तै जटिल छ भन्‍ने कुरा यसभन्दा पहिले पनि उल्लेख गरिएको थियो। मानवजातिको जटिलताको कारण के हो? के यो मानवजातिको दुष्टताबाट उद्धृत होइन र? (हो।) मानवजातिको दुष्टता कसरी उत्पन्न भयो? मानवजाति दुष्ट छ भनेर किन भन्‍ने? किनभने शैतानले मानवजातिलाई अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको छ। यसलाई सरल भाषामा कसरी भनिन्छ? शैतानले मानिसहरूलाई पिशाचहरूमा परिणत गरेको छ; सारा मानवजाति दियाबलसहरूको शासनअन्तर्गत छ, ठूला-साना दियाबलसहरू धेरै छन्, त्यसकारण मानिसहरू भेला हुने ठाउँहरू पिशाचहरूका सहर बनेका छन्। जब धेरै पिशाचहरू सँगै भेला हुन्छन्, तब अवस्था जटिल हुन्छ; तिनीहरू हर प्रकारका दुष्ट कार्यहरू गर्न र हर प्रकारका दुष्ट क्रियाकलापहरूमा संलग्‍न हुन सक्षम हुन्छन्। सबै दियाबलसहरू दुष्ट हुने हुनाले, र तिनीहरूका बीचमा सधैँ कलह हुने हुनाले, र तिनीहरू कहिल्यै एक-अर्कासँग अनुकूल हुन नसक्‍ने हुनाले, यसले मामलालाई जटिल बनाउँछ। जब परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरू एक साथ भेला हुन्छन्, तब कुरा निकै सरल हुन्छ; तिनीहरू सबै परमेश्‍वरका वचनहरू पढ्न र मण्डली जीवन जिउन इच्छुक हुन्छन्, र तिनीहरू सबै आफ्नो कर्तव्य पूरा गर्न र उचित कामहरूमा संलग्‍न हुन रमाउँछन्। तिनीहरू कुटिल र दुष्ट क्रियाकलापहरूमा सहभागी हुँदैनन्—बढीमा, तिनीहरूले केही भ्रष्टता प्रकट गर्न सक्छन्। त्यस्ता मानिसहरूले मात्रै परमेश्‍वरमाथिको आस्थामार्फत मुक्ति हासिल गर्न सक्छन्। परमेश्‍वरमाथिको आस्थामार्फत दियाबलसहरूले कहिल्यै मुक्ति पाउन सक्दैनन्, किनभने नानीदेखि लागेको बानी बदल्न सकिँदैन। दियाबलसहरूले दशकौँ वा शताब्दीऔँदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, तिनीहरू परिवर्तन हुनेथिएनन्, जुन कुरा सबैले देख्‍न सक्‍ने तथ्य हो। अहिले, धेरै मण्डलीहरूले दियाबलसहरूलाई पखालेका छन्, जुन राम्रो कुरा हो र यो परमेश्‍वरका अभिप्रायहरूसँग पूर्ण रूपमा मिल्छ। कतिपय मण्डलीहरूमा, आधा मानिसहरू दियाबलसहरू हुन्छन्, जबकि अरूमा, अल्पसङ्ख्यक मानिसहरू दियाबलसहरू हुन्छन्। के त्यस्ता मण्डलीहरूमा मण्डलीको काम अघि बढाउन सजिलो हुन्छ? निश्चय नै हुँदैन। यदि दियाबलसहरूलाई पखालियो, भ्रष्ट मानवजातिलाई मात्रै बाँकी राखियो भने, मण्डलीको काम गर्न निकै सजिलो हुन्छ। सबैभन्दा दयनीय परिस्थिति के हो भने, जब कतिपय मण्डलीहरूमा झूटा अगुवा वा ख्रीष्टविरोधीहरूले शक्ति हातमा लिन्छन्, र दियाबलसहरूले अगुवाइको भूमिका लिन्छन्; तब ती मण्डलीहरूका परमेश्‍वरका चुनिएका मानिसहरूले साँच्‍चै नै कष्ट भोग्छन्। मलाई भन, के झूटा अगुवा वा ख्रीष्ट-विरोधीहरूले शक्ति हातमा लिने कार्यले परमेश्‍वरका चुनिएका मानिसहरूलाई शान्ति र हर्ष दिन सक्छ? झूटा अगुवा र ख्रीष्टविरोधीहरूका विचार र दृष्टिकोणहरू पूर्ण रूपमा दुष्ट र सत्यता विपरीत हुन्छन्। यदि तिनीहरूलाई साथ दिने दश-बीस जना जीवित पिशाचहरू छन् भने, त्यस्तो मण्डलीमा जिउनु भनेको पिशाचहरू भेला हुने ठाउँमा, दियाबलस राजाले नियन्त्रण गरेको पिशाचहरूको गुफामा जिउनु जस्तै हो; यो त मासु पेल्‍ने मेसिनभित्र बस्‍नु जस्तै हो, जसले तेरो मन र आत्मालाई अशान्त तुल्याउँछ। हरेक दिन, तेरा विचारहरूलाई कोसँग लडाइँ वा सङ्घर्ष गर्ने, कोसँग मित्रता गर्ने र नजिक हुने, कोबाट जोगिने र सतर्क हुने, र आदि-इत्यादि कुराहरूले ओगटेका हुन्छन्; तँसँग शान्तिको वातावरण समेत हुँदैन, तँ बिना कुनै शान्ति निरन्तर डर र त्रासमा जिउँछस्। के यो मासु पेल्‍ने मेसिनभित्र हुनु जस्तो होइन र? (हो।) यो दुष्ट समाज, यो दुष्ट मानवजातिले सबैलाई र हरेक समूह वा सङ्गठनलाई एउटै तरिकाले व्यवहार गर्छ, र सबैमा एउटै राय र दृष्टिकोणहरू लागू गर्छ। त्यसै गरी, तुलनात्मक रूपमा सकारात्मक रहेको मण्डलीप्रति समेत तिनीहरू असहज मान्छन्, यसलाई छोड्दैनन्। जेसुकै भए पनि, हामीले तिनीहरूलाई व्यवहार गर्ने तरिका सिद्धान्तनिष्ठ हुन्छ, होइन र?

व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्नुपछाडिको नवौँ उद्देश्य—मण्डलीको निगरानी गर्ने बारे—अब पूर्ण रूपमा सङ्गति गरिएको छ, र अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीको पहिलो वर्गका सबै विषयवस्तुहरूबारे पनि आधारभूत रूपमा सङ्गति गरिएको छ। परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासपछाडि रहेका यी अविश्‍वासी र नास्तिकहरूका उद्देश्यहरूको सारांशमा मूलतः यी बुँदाहरू समावेश हुन्छन्। सङ्गति गरिएको अन्तिम उद्देश्य विषयवस्तुका हिसाबले अघिल्लो उद्देश्यभन्दा अलिक फरक छ। जब मण्डलीको निगरानी गर्ने मानिसहरूले मण्डलीमा घुसपैठ गर्छन्, तब तिनीहरू खान-पानको बन्दोबस्त, हैसियत, वा जीवन र कामका सुविधाहरूको पछि लागिरहेका हुँदैनन्, तर राजनीतिक उद्देश्यका साथ आएका हुन्छन्। तिनीहरूको उद्देश्य जेसुकै भए पनि, हामीले तिनीहरूलाई छर्लङ्ग देखेपछि र खुट्ट्याएपछि, तुरुन्तै उचित कारबाही गर्नुपर्छ, यी व्यक्तिहरूलाई निकाल्नुपर्छ वा निष्कासित गर्नुपर्छ, र तिनीहरूलाई मण्डलीमा लामो समयसम्म लुक्न दिनु हुँदैन। यो अगुवा र कामदारहरूको महत्त्वपूर्ण कार्य हो। परमेश्‍वरमा विश्‍वास गर्नुपछाडिको तिनीहरूको उद्देश्यका आधारमा, साँचो दाजुभाइ-दिदीबहिनीहरू—परमेश्‍वरका चुनिएका मानिसहरू—र मण्डलीले निकाल्नुपर्ने वा निष्कासित गर्नुपर्ने विभिन्‍न प्रकारका दुष्ट मानिसहरू को हुन् भनेर खुट्ट्याओ र निर्धारित गर; यी दुष्ट मानिसहरूलाई तुरुन्तै पहिचान गर र त्यसपछि तिनीहरूलाई निकाल्न वा निष्कासित गर्न तुरुन्तै सम्बन्धित शैली अपनाऊ। विभिन्‍न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने र वर्गीकरण गर्ने कार्यको पहिलो वर्ग यही हो: व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य। हामीले यस विषयमा हाम्रो सङ्गति समाप्त गरेका छौँ।

आ. व्यक्तिको मानवताका आधारमा

अब हामी दोस्रो वर्ग, तिनीहरूको मानवताका बारेमा कुरा गर्छौँ। व्यक्तिको मानवताका प्रकटीकरणहरूमार्फत, हामीले यो व्यक्तिले साँच्‍चै नै परमेश्‍वरमा विश्‍वास गर्छ कि गर्दैन र ऊ मण्डलीमा रहन उपयुक्त छ कि छैन भनेर खुट्ट्याउँछौँ र निर्धारित गर्छौँ। यदि, तिनीहरूको मानवताका प्रकटीकरण र प्रकाश र तिनीहरूको मानवताको सारका आधारमा, तिनीहरू साँचो दाजुभाइ-दिदीबहिनीहरू होइनन्, तिनीहरू मण्डलीमा रहन उपयुक्त छैनन्, तिनीहरूको उपस्थितिले दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिन्छ, र—तिनीहरूको व्यवहार अनुसार—तिनीहरू मण्डलीबाट निकालिनुपर्ने वा निष्कासित गरिनुपर्ने मानिसहरूको वर्गमा पर्छन् भने, मण्डलीले यी व्यक्तिहरूलाई निकाल्न वा निष्कासित गर्न तुरुन्तै तदनुरूप योजनाहरू निर्माण गर्नुपर्छ। अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीबारे सङ्गति सबै किसिमका दुष्ट मानिसहरूलाई निकाला वा निष्कासनसँग सम्बन्धित छ। मानवताको दृष्टिकोणबाट हेर्दा, यी व्यक्तिहरूको मानवता निश्चित रूपमा नै खराब र दुष्ट हुन्छ; सरल भाषामा भन्दा, तिनीहरू बस असल हुँदैनन्। तिनीहरूको मानवताका प्रकटीकरणहरूका आधारमा, तिनीहरूलाई मण्डलीमा बाधाहरू दिन र परमेश्‍वरका चुनिएका मानिसहरूको मण्डली जीवन र तिनीहरूको कर्तव्य निर्वाहमा असर गर्न जारी राख्नबाट रोक्नका लागि मण्डलीबाट निकाल्नुपर्छ वा निष्कासित गरिनुपर्छ। त्यसकारण, कुन-कुन प्रकटीकरणहरूमार्फत हामीले व्यक्तिको मानवतालाई असल वा दुष्ट भनी मूल्याङ्कन गर्छौँ र त्यसमार्फत मण्डलीले उसलाई निकाला वा निष्कासित गर्नुपर्छ कि पर्दैन भनेर निर्णय गर्छौँ? संक्षेपमा भन्दा, दोस्रो वर्गमा—मानवजातिमा—धेरै बुँदाहरू समेटिएका पनि छन्, तर सुरुमा हामी पहिलो बुँदा सङ्गति गरौँ।

क. तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउनु

पहिलो बुँदा तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने मानिसहरूका बारेमा हो। तिमीहरू सबैले पक्कै पनि यस्तो प्रकारको व्यक्ति प्रायजसो देखेका छौ। तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउनुको प्राथमिक प्रकटीकरण के हो? सिद्धान्तहरूविना बोल्नु, अभिप्राय र उद्देश्यहरूका साथ सधैँ विवाद भडकाउनु, प्रतिकूल प्रभावहरू उत्पन्न गराउनु हो। स्पष्ट रूपमा नै, त्यस्ता मानिसहरूको बोलीवचनमा गम्भीर समस्याहरू हुन्छन्, जसको जड खराब स्वभाव र मानवताको कमी हुन्छ, जसले गर्दा तिनीहरू तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउँछन्। यसलाई यस शब्दको दृष्टिकोणबाट हेर्दा, “तथ्य र झूटहरूलाई उल्ट्याउनु” को अर्थ प्रायजसो तथ्यलाई झूट, र झूटलाई तथ्य भनेर दाबी गर्नु हो; यो कालो-सेतोलाई उल्ट्याउनु र तथ्यहरूलाई असत्य विवरणहरूद्वारा झकिझकाउ पार्नु, आधारहीन आरोपहरू लगाउनु, आधारहीन मूल्याङ्कनहरू गर्नु, र आफूलाई जसरी मन लाग्छ त्यसरी बोल्नु समेत हो। त्यस्ता मानिसहरूले कहिले पनि कामकुराहरूलाई सकारात्मक दृष्टिकोणले हेर्दैनन्; तिनीहरूले भन्‍ने कुराले मानिसहरूको आत्मोन्नति गर्दैन, र यसले मानिसहरूलाई कहिँकतै फाइदा वा सहयोग गर्दैन। तिनीहरूसँग अन्तरक्रिया गर्ने, संलग्‍न हुने, र कुराकानी गर्ने क्रममा, तिनीहरू बोलेको सुन्दा त्यसले प्रायजसो मानिसहरूको हृदयलाई अन्धकार र धमिलोपनमा डुबाउँछ, जसले तिनीहरूले आफ्नो विश्‍वासमा आस्थासमेत गुमाउने तुल्याउँछ, फलस्वरूप तिनीहरूसँग परमेश्‍वरमा विश्‍वास गर्ने कुनै झुकाव हुँदैन, र तिनीहरूले आत्मिक भक्ति र भेलाहरूका समयमा आफ्नो मन शान्त पार्न सक्दैनन्। तिनीहरू के सही र के गलत हो भन्‍ने बारेमा गरिने दाबीहरू र त्यस्ता व्यक्तिहरूले फैलाउने गफहरूद्वारा प्रायजसो मन र आत्मामा अशान्त हुन्छन्, र तिनीहरू सबैलाई प्रतिकूल रूपमा हेर्न थाल्छन् र अरूमा गल्तीहरू बाहेक केही पनि देख्दैनन्। प्रायजसो, तथ्य र झूटहरूलाई उल्ट्याएको सुनेपछि, मानिसहरूको सामान्य सोचाइमा बाधा पुग्छ, र मामलाहरूप्रतिको तिनीहरूका सही दृष्टिकोणसमेत खलबलिन्छन्, जसले तिनीहरूलाई के सही हो र के होइन भनेर खुट्ट्याउन गाह्रो बनाउँछ। तथ्य र झूटहरूलाई उल्ट्याउने मानिसहरूले भन्‍ने केही कुराहरूका कारण सुझबुझको कमी भएका मानिसहरू थाहै नपाई प्रायजसो प्रलोभित हुन्छन् र परीक्षामा पर्छन्। तिनीहरू सोच्छन्, “यी मानिसहरूले कसैलाई हानि गरेका छैनन्, तिनीहरू सामान्य रूपमा नै भेलाहरूमा सहभागी हुन्छन्, कहिलेकाहीँ तिनीहरू दान र अरूलाई सहयोग समेत गर्छन्, र तिनीहरूले कुनै नराम्रो काम गरेका छैनन्।” तर, त्यस्ता व्यक्तिहरूसँगको तिनीहरूको अन्तरक्रियाका परिणामहरू प्रायजसो के हुन्छन् भने, तिनीहरू सही र गलतका मामिलाहरू र परीक्षामा डुब्छन्, र मानिसहरूबीचका भावनात्मक उल्झनहरू, र अनुचित अन्तरवैयत्तिक सम्बन्धहरूमा डुब्छन्। तथ्य र झूटहरूलाई उल्ट्याउने यी मानिसहरू मानिसहरूबीचका उचित सम्बन्धहरूलाई खलबल्याउने र मानिसहरूको मनभित्र रहेका केही शुद्ध बुझाइहरूलाई अन्तर्ध्वंस गर्ने कार्यमा निपुण हुन्छन्। तिनीहरूका दृष्टिकोणमा, असल सम्बन्ध भएका र एक-अर्कालाई साथ र सहयोग दिन सक्‍ने जुनसुकै व्यक्तिहरू तिनीहरूको गुप्त आक्रमण र आलोचनाको निसाना बन्छन्। त्यसै गरी, केही बफादारीसाथ आफ्नो कर्तव्य पूरा गर्ने र आफूलाई धेरथोर समर्पित गर्ने जोकोही पनि तिनीहरूका आक्रमणको निसाना बन्छन्। कुनै कुरा जति नै असल वा सकारात्मक भए पनि, तिनीहरूले त्यसलाई बदनाम गर्ने उपायहरू पत्ता लगाउँछन्। तिनीहरू सबै कुराको अप्रत्यक्ष आलोचना गर्छन्, हरेक मामलामा टिप्पणी गर्छन्, र सबै मुद्दाहरूमा आफ्नै दृष्टिकोण राख्छन्। यी दृष्टिकोणहरू पटक्‍कै सच्‍चा दृष्टिकोणहरू हुँदैनन्; बरु, तिनीहरू बकवास गर्छन्, साँचो तथ्य र झूटहरूलाई अलमल्याउँछन्, र कालो-सेतोलाई उल्ट्याउँछन्; कुनै उद्देश्य हासिल गर्न, वा मानिसहरूका बीचमा कलह पैदा गर्न, वा निश्‍चित व्यक्तिहरूलाई बदनाम गर्नका लागि, तिनीहरू तथ्यहरूलाई झूटा विवरणहरूले झकिझकाउ गरेर र आधारहीन आरोपहरू लगाएर, तिललाई पहाड बनाएर जानी-जानी र जथाभाबी कुराहरू गढ्छन्। तथ्यहरू थाहा नभएका मानिसहरूले तिनीहरूको कुरा सुन्छन् र तिनीहरूका दाबी उचित देखिन्छन् र ती झूटा हुन सक्दैनन् भन्‍ने सोच्छन्, र यसरी तिनीहरू बहकाउमा पर्छन्। तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने यस्तो प्रकारको व्यक्तिले कुनै पनि सकारात्मक मामलाको अप्रत्यक्ष आलोचना गर्छ। के तिनीहरूमा इन्साफको बोध भएकाले तिनीहरूले यस्तो गर्छन्? (होइन।) तिनीहरू सक्रिय रूपमा आफ्नो कर्तव्य पूरा गर्ने, बफादार हुने, उत्साहका साथ आफूलाई समर्पित गर्ने, र विवेक र समझ भएका मानिसहरूप्रति अवज्ञाकारी हुन्छन् र तिनीहरूलाई सम्मान गर्दैनन्। त्यसोभए, यी व्यक्तिहरूले जथाभावी बोल्‍नुको कारण के हो? यसको जड कहाँ हुन्छ? तिनीहरूले किन सधैँ तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउँछन्? (किनभने तिनीहरूको मानवता खराब हुन्छ।) ठीक भन्यौ; यो खराब मानवताका कारण हुन्छ। यदि तिनीहरूको मानवता असल भएको भए, तिनीहरूले तथ्य र झूटहरूलाई उल्ट्याउनेथिएनन्। बोलचाल विवेक र चेतनामा आधारित हुनुपर्छ; हरेक मोडमा विकृत सिद्धान्त र विधर्महरू बोल्न मिल्दैन। तथ्य र झूटहरूलाई उल्ट्याउनुको जड खराब मानवता हो। त्यस्ता मानिसहरूले जे भने पनि त्यसको स्वाद अमिलो नै हुन्छ; हल्का रूपमा भन्दा, तिनीहरूले अरूलाई मूल्याङ्कन गरिरहेका हुन्छन्, तर वास्तवमा, तिनीहरूका शब्दहरूमा निन्दा गर्ने र श्राप दिने दुर्भावनापूर्ण अभिप्रायका केही तत्त्वहरू, र उक्साहट, डाहा, अवज्ञा, घृणाका सङ्केतहरू, र मानिसहरूले दुर्भाग्य सामना गर्दा उसलाई पेलेर खुसी लिने सङ्केत समेत हुन्छन्। सारांशमा भन्दा, तिनीहरूले तथ्य र झूटहरूलाई उल्ट्याउनुका मुख्य विशेषताहरू यिनै हुन्। यी विशेषताहरूबाहेक, त्यस्ता व्यक्तिहरूमा अर्को आम विशेषता हुन्छ: तिनीहरूले आफूसँग जे छैन, त्यो कुरा भएका मानिसहरूलाई घृणा गर्छन्, र तिनीहरूसँग जे कुरा छ, त्यो नभएका मानिसहरूलाई हाँसोमा उडाउँछन्। के तिनीहरूको मानवता असल हुन्छ? (हुँदैन।) आफूसँग जे छैन, त्यो भएका मानिसहरूलाई घृणा गर्ने, र आफूसँग जे छ, त्यो नभएका मानिसहरूलाई हाँसोमा उडाउने यस्ता प्रकारका व्यक्तिहरूलाई आफूभन्दा राम्रो जोसुकै व्यक्तिप्रति डाहा लाग्छ र तिनीहरूले उसको पिठ्यूँपछाडि उसको कुरा काट्छन्, उसलाई आलोचना र निन्दा गर्छन्; जबकि, यदि कुनै व्यक्ति तिनीहरूभन्दा कमसल छ भने, तिनीहरूले उसलाई गिल्ला गर्न, व्यङ्ग्य गर्न, र होच्याउन तयार हुँदै नाक खुम्चाएर हाँस्छन्। तिनीहरूले कुनै पनि मामिलालाई सही तरिकाले बुझ्न सक्दैनन्, वा सबैभन्दा आधारभूत मानव नैतिकताहरूका आधारमा त्यसलाई लिन सक्दैनन्। तिनीहरूले कसैका लागि आशिष्‌हरूको कामना गर्नु पर्दैन, न त तिनीहरूले कसैको भलाइ चाहनु वा सबै कुरा उसले चाहे अनुसार अघि बढोस् भन्‍ने कामना गर्नु, वा ऊ सही मार्गमा हिँडोस् भन्‍ने कामना गर्नु नै पर्छ; तर कम्तीमा पनि, तिनीहरूले कुनै दुर्भावना नपाली अरूलाई सही तरिकाले मूल्याङ्कन त गर्नुपर्छ—तिनीहरू यसमा समेत असफल हुन्छन्। तिनीहरूले तथ्य र झूटहरूलाई उल्ट्याउनुको मुख्य कारण के हो? स्पष्ट रूपमा नै, तिनीहरूको बोलीवचनबाट, र अरूप्रतिको तिनीहरूको मनोवृत्तिबाट, र तिनीहरूले आफ्नो हृदयको गहिराइमा के सोच्छन् र अरूसँग कसरी व्यवहार गर्छन् भन्‍ने कुराबाट, यस्तो प्रकारका मानिसहरूको मानवता दुर्भावनापूर्ण छ भन्‍ने कुरा प्रस्ट हुन्छ। यस्ता प्रकारका मानिसहरूले तथ्य र झूटहरूलाई उल्ट्याउन आफ्नो मुख मात्रै प्रयोग गर्ने भए पनि, यी कार्यहरूका पछाडि तिनीहरूको हृदयभित्र तिनीहरूले हासिल गर्न चाहने उपलब्धि र उद्देश्यहरू, साथै मानिसहरू र कामकुराहरूप्रतिको तिनीहरूका साँचो दृष्टिकोण र मनोवृत्तिहरू हुन्छन्। तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउनेहरूले सत्यतालाई राम्ररी बुझ्छन् कि बुझ्दैनन्, र तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन् कि होइनन् भन्‍ने कुरालाई अहिलेका लागि पन्छाएर हेर्दा, तिनीहरूको मानवताको यो विशेषता—तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउनुका आधारमा—के तिनीहरूले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूमा कुनै असल, वा सकारात्मक प्रभाव पार्न सक्छन्? (सक्दैनन्।) बिलकुलै सक्दैनन्!

तथ्य र झूटहरूलाई उल्ट्याउनेहरूमा के-कस्ता प्रकटीकरणहरू हुन्छन् भन्‍ने कुरा हेर्नका लागि हामी केही निश्‍चित उदाहरणहरू हेरौँ। उदाहरणका लागि, मानौँ, एक जना बहिनी छिन् जसको परिवार निकै समृद्ध छ, तर सुसमाचार प्रचार गर्न र परमेश्‍वरको गवाही दिनका खातिर, उनले देहसुख त्यागेकी छिन् र आफ्नो कर्तव्य पूरा गर्न घर छोडेकी छिन्। मलाई भन, सामान्य मानिसहरूले यो परिस्थितिलाई कसरी हेर्नेथिए? के तिनीहरूले उनको प्रशंसा र डाहा गर्नेथिएनन् र? कम्तीमा पनि, तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न देहसुख त्याग गर्न सक्‍ने यी बहिनी सराहनीय र अनुकरण गर्न लायक छिन् भन्‍ने सोच्नेथिए। तर तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउनेहरूले उनीबारे कस्तो टिप्पणी गर्छन्? तिनीहरू भन्छन्, “उनले दिनभरि बाहिर गएर सुसमाचार प्रचार गर्नका लागि धनी व्यक्तिको जीवन त्यागिरहेकी छिन्; यदि उनी यसरी नै चलिरहिन् भने, ढिलो-चाँडो उनको श्रीमानले उनलाई घरबाट निकाल्नेछ! के परमेश्‍वरमा विश्‍वास गर्नु भनेको आशिष्‌हरू प्राप्त गर्नु र आनन्द लिनुसँग सम्‍बन्धित छैन र? उनलाई हेर त, उनीसँग आशिष्‌हरू त छन् तर उनले तिनको आनन्द लिन जान्दिनन्, सारा हृदयले आफ्नो कर्तव्य पूरा गर्न आफ्नो परिवार र करियरलाई त्यागेकी छिन्; के त्यो मूर्खता होइन र? मेरो परिवार त्यति धनी भएको भए, म त घरमै रमाइलो गरेर बस्नेथिएँ।” मलाई भन, के ती शब्दहरूमा मानवता अनुरूप, अरूको आत्मोन्नति गर्ने एउटा पनि वाक्य एउटा छ? (छैन।) केही सुझबुझ भएका मानिसहरूले यो सुनेपछि सोच्नेथिए, “के यो तथ्यहरूलाई बङ्ग्याउनु होइन र? विश्‍वासीले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नका लागि सबै कुरा त्याग्‍नु, र भौतिक सुखहरूको पछि नलाग्‍नु अन्तर्निहित रूपमा नै सकारात्मक कुरा हो, तर तिनीहरूले यसलाई निन्दा गरिरहेका छन्।” यदि कुनै सुझबुझ नभएको व्यक्तिले यो कुरा सुन्यो भने, ऊ बहकाउ र बाधामा पर्नेथियो; परमेश्‍वरमा विश्‍वास गर्ने उसको जोस, र आफ्नो कर्तव्य पूरा गर्नका लागि कामकुरा त्याग्‍ने र आफूलाई समर्पित गर्ने उसको उत्साह तुरुन्तै गम्भीर रूपमा क्षय हुनेथियो। तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने मानिसहरूका शब्दहरू थोरै भए पनि, तिनले अरूमा पार्ने नकारात्मक प्रभाव ठूलो हुन्छ, त्यो कसैलाई केही समयसम्म नकारात्मक महसुस गराउन र पहिलेको अवस्थामा फर्कन नसक्ने तुल्याउन पर्याप्त हुन्छ। के कुरा यही होइन र? (हो।) विश्वसनीय लाग्ने केही शब्दहरू सुन्दा मात्रै पनि कतिपय मानिसहरू विषाक्त हुन सक्छन्। त्यस्ता विषालु शब्दहरू बोल्न सक्‍ने मानिसहरूको मानवताका बारेमा यसले के भन्छ? (यो खराब हुन्छ।) के तिनीहरूका शब्दहरूमाझ यस्तो कुनै वाक्य छ, जुन सुनेपछि त्यसले कसैको आस्थालाई बढाउन सक्छ? (छैन।) यी सबै शब्दहरू के हुन्? विस्तारमा भन्दा, ती सबै अविश्‍वासीहरूका शब्दहरू हुन्; परमेश्‍वरलाई पछ्याउनेहरूले तीमध्ये एउटा वाक्य पनि बोल्नु हुँदैन। अझै विशिष्ट रूपमा भन्दा, यी मानिसहरूले बोलेको एउटा वाक्यले पनि कुनै मानवतालाई प्रतिबिम्बित गर्दैन। मानवताको कमी हुनु भनेको के हो? यसको अर्थ नैतिकता समेत नहुनु हो। नैतिकताको कमी हुनु भनेको के हो? त्यस बहिनीको जीवन अवस्था राम्रो छ र उसको परिवार समृद्ध छ, अनि यी मानिसहरूको मनोवृत्ति कस्तो हुन्छ? के यो बस डाहा गर्ने, त्यसपछि राम्रो कामना गरेर अघि बढ्ने खालको हुन्छ? (हुँदैन।) त्यसोभए, तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? डाहा, रिस, द्वेष, र हृदयमा गुनासाहरू पाल्नु: “के ऊ यति धेरै पैसा राख्न लायक छे? मसँग किन त्यति धेरै पैसा छैन? परमेश्‍वरले किन उसलाई आशिष् दिन्छन् तर मलाई दिँदैनन्?” त्यो बहिनी धनी र समृद्ध छे, त्यसकारण तिनीहरूले साँचो आदर वा शुभकामनाको एउटा शब्द पनि नबोली मनमा डाहा र घृणा अनुभूति गर्छन्। यसले सबैभन्दा आधारभूत नैतिकता समेत पूर्ण रूपमा नभएको सङ्केत गर्छ। त्यो बहिनी धनी छे, त्यसकारण तिनीहरूले लगभग उसलाई लुट्ने वा उनको सम्पत्ति ठग्‍ने प्रयास गर्ने हदसम्म पुग्ने गरी घृणा पाल्छन्। यसको साथै, यो बहिनी समृद्ध परिवारमा बस्छे, तैपनि उसले गएर आफ्नो कर्तव्य पूरा गर्नका लागि राम्रो जीवन अवस्था र भौतिक सुखसयलहरू त्याग्‍न सक्छे; परमेश्‍वरका विश्‍वासीका लागि, यो बधाई दिन लायक कुरा हो, यो आदर र डाहा गर्न लायक कुरा हो। मानिसहरूले उसको भलाइको कामना, र ऊसँग नजिक हुने र उसलाई अनुकरण गर्ने प्रयास गर्नुपर्ने हो। तर तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने यी मानिसहरूसँग भन्‍नलाई यस्तो कुनै कुरा हुन्छ? (हुँदैन।) तिनीहरू कसरी बोल्छन्? हरेक वाक्यमा कठोर शब्दहरू र घृणाको सङ्केत हुन्छ। तिनीहरू किन यसरी बोल्न सक्छन्? किनभने तिनीहरूलाई आफ्नै परिस्थितिप्रति चित्त बुझेको हुँदैन र तिनीहरू त्योदेखि असन्तुष्ट हुन्छन्, तिनीहरूले घृणा पालेका हुन्छन्, र त्यसकारण तिनीहरू यो धनी बहिनीमाथि आफ्नो रिस पोख्छन्। परमेश्‍वरका विश्‍वासीका रूपमा, व्यक्तिले आफ्नो कर्तव्य सक्रिय रूपमा पूरा गर्न र सत्यता पछ्याउन सक्‍नेहरूलाई विशेष रूपमा कदर गर्नुपर्छ, आदर गर्नुपर्छ, तिनीहरूबाट सिक्‍नुपर्छ, र तिनीहरूलाई अनुकरण गर्नुपर्छ। यी मानिसहरूले आफ्ना कमजोरीहरूलाई पूर्ति गर्नका लागि त्यो बहिनीका सबल पक्षहरूबाट सिक्‍नुको सट्टा, उसलाई मूर्ख भन्दै उसको गिल्ला गर्छन् र उसको श्रीमानले ऊसँग सम्बन्धविच्छेद गरोस् भन्‍ने समेत आशा गर्छन्; तिनीहरू उसको पतन हेर्न प्रतीक्षा गरिरहेका हुन्छन्। यदि त्यो बहिनीसँग साँच्‍चै नै उसको श्रीमानले सम्बन्धविच्छेद गऱ्यो भने, के तिनीहरू प्रसन्न महसुस गर्नेथिएनन् र? के तिनीहरूको चाहना पूरा हुनेथिएन र? यसले तिनीहरूका साँचो भावनाहरू, साथै तिनीहरूको अभिप्राय र उद्देश्यलाई पनि प्रतिबिम्बित गर्छ। तिनीहरू अरूको भलाइ सोच्दैनन्; कसैले राम्रो गरिरहेको वा तिनीहरूभन्दा राम्रो भएको देख्दा, तिनीहरू डाहा र घृणाले भरिन्छन्। परमेश्‍वरमाथिको अरू कसैको आस्था जति नै दह्रिलो भए पनि, यदि त्यो व्यक्ति तिनीहरूभन्दा असल छ भने, तिनीहरू त्यो कुरा पटक्‍कै मान्दैनन्। तिनीहरूमा पूर्ण रूपमा मानवताको कमी हुन्छ, र तिनीहरू आशिष् वा आत्मोन्नतिको एउटा शब्द समेत बोल्न असमर्थ हुन्छन्। तिनीहरू किन त्यस्ता शब्दहरू बोल्न सक्दैनन्? किनभने तिनीहरूको मानवता अत्यन्तै दुष्ट हुन्छ! तिनीहरूले बोल्न नचाहने, वा तिनीहरूसँग सही शब्दहरूको कमी हुने होइन; बरु, तिनीहरूको हृदय डाहा, घृणा, र आक्रोशले भरिएको हुन्छ, जसले तिनीहरूलाई आशिष्‌का शब्दहरू बोल्न असम्भव बनाउँछ। त्यसोभए, के तिनीहरूको हृदय त्यस्ता भ्रष्ट कुराहरूले भरिएको छ भन्ने तथ्यले तिनीहरूको मानवता द्वेषपूर्ण छ भन्‍ने कुराको सङ्केत गर्न सक्छ? (सक्छ।) सक्छ। तिनीहरूले त्यस्ता भ्रष्ट स्वभावहरू प्रकट गर्ने हुनाले, अरूलाई यो कुरा खुट्ट्याउन सजिलो हुन्छ, र अरूले तिनीहरूको भ्रष्ट सारलाई छर्लङ्ग देख्‍न सक्छन्।

अर्को उदाहरण हेरौँ। एक जना बहिनी थिइ, जसले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले, सधैँ आफ्नो देउरानीसँग विवाद गर्थी। पछि, तिनीहरू दुवैले परमेश्‍वरमा विश्‍वास गर्न थाले, र परमेश्‍वरका वचनहरू खाएर-पिएर केही सत्यताहरू बुझ्न पुगे। तिनीहरूले आफूलाई कसरी आचरणमा ढाल्नुपर्छ र अरूसँग कसरी मिलेर बस्नुपर्छ भन्‍ने कुरा बुझे, र तिनीहरूको भ्रष्टता प्रकट हुँदै जाँदा तिनीहरूले एक-अर्कासँग खुलस्त हुन र आफूलाई चिन्‍ने प्रयास गर्न सके, जसले तिनीहरूको सम्बन्धलाई झन्-झन् सौहार्दपूर्ण हुँदै जाने बनायो। कतिपय मानिसहरू तिनीहरूलाई डाहा गर्थे र भन्थे, “तिनीहरूलाई हेर त, सारा परिवारले परमेश्‍वरमा विश्‍वास गर्छ र नन्द-भाउजूहरू त आफ्नै दिदीबहिनी जस्तै छन्। के यो सबै परमेश्‍वरमाथिको तिनीहरूको आस्थाका कारण भएको होइन र? गैरविश्‍वासीहरूका परिवारहरू पटक्‍कै मिलेर बस्न सक्दैनन्, एउटै आमाका दाजुभाइ-दिदीबहिनीहरूका बीचमा समेत सधैँ एक-अर्कासँग झगडा र प्रतिस्पर्धा हुन्छ। विश्‍वासीहरू निकै राम्रा हुन्छन्; नन्द-भाउजूहरू आफ्नै दिदीबहिनी नभए पनि, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेसम्म, तिनीहरूका पछ्याउने उद्देश्यहरू साझा भएसम्म, तिनीहरू एउटै मार्गमा हिँडेसम्म, र एउटै भाषा बोलेसम्म, तिनीहरू आत्मामा अनुकूल हुन्छन्, जुन अद्भुत कुरा हो!” यसले के देखाउँछ भने, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरू गैरविश्‍वासीहरूभन्दा फरक हुन्छन्। फरक-फरक परिवारका मानिसहरू परमेश्‍वरको घरमा र परमेश्‍वरको अघि अनुकूल हुने समान उद्देश्य र पछ्याइहरू लिएर भेला हुन्छन्। यसो भन्‍नुको उद्देश्य भनेको यो परमेश्‍वरका वचनहरू र कामको प्रभाव, परमेश्‍वरले मानिसहरूलाई दिनुभएको अनुग्रह हो भन्‍ने कुरा मानिसहरूलाई थाहा दिनु हो। यो गैरविश्‍वासीहरूसँग नभएको र तिनीहरूले आनन्द लिन नसक्‍ने कुरा हो। कम्तीमा पनि, यो सुनेपछि परमेश्‍वरमा विश्‍वास गर्नु र परमेश्‍वरमाथिको आस्थाप्रति सकारात्मक दृष्टिकोण हुनु राम्रो कुरा हो भन्‍ने लाग्‍नुपर्ने हो। तर तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने व्यक्तिले यसबारे के भन्छ, सुन: “हत्तेरी! बाहिरबाट हेर्दा ती नन्द-भाउजू मिलेर बस्‍ने, भेलाहरूको दौरान सामञ्जस्यपूर्ण भए जस्तो देख्छौ होला— तर के तिनीहरू बेला-बेलामा एक-अर्कासँग बाझ्ने पनि गर्दैनन् र? तिमीलाई थाहा छैन, तिनीहरूबीच साह्रै भनाभन हुन्थ्यो!” अरूले भन्छन्, “तिनीहरूले परमेश्‍वरमा विश्‍वास नगरेकाले र सत्यता नबुझेकाले विगतमा विवाद र बहसहरू गर्थे। अहिले तिनीहरू एकदमै मिलेर बस्छन्! किनभने अहिले तिनीहरू दुवैले परमेश्‍वरमा विश्‍वास गर्छन्, केही सत्यताहरू बुझ्छन्, र सङ्गतिमा एक-अर्कासँग खुलस्त हुन र आफ्नै भ्रष्टताहरू चिन्‍न सक्छन्, र प्रायजसो सँगै आफ्नो कर्तव्य पूरा गर्छन्। तिनीहरूका बीचमा अझै पनि केही खटपट भए पनि, तिनीहरूले सामान्यतया एक-अर्कासँग आफ्ना गल्तीहरू स्वीकार गर्न, र आफूले गर्ने सबै कुरामा एक-अर्काको परामर्श लिन सक्छन्। यो कुनै पनि गैरविश्‍वासीले हासिल गर्न सक्‍ने कुरा होइन, रगतको नाता भएका आफन्तहरूले समेत यो हासिल गर्न सक्दैनन्।” तैपनि, तथ्य र झूटहरूलाई उल्ट्याउने व्यक्तिले भन्छ, “कुन परिवारमा झगडा हुँदैन र? नन्द-भाउजूको त कुरै छोडौँ, आफ्‍नै दिदीबहिनीको बीचमा समेत झगडा हुन्छ, होइन र? अहिले तिनीहरूबीच भएजस्तो लाग्न सामञ्जस्यता अरूलाई देखाउनका लागि मात्रै हो। तिनीहरूको ससुरा मरेपछि, तिनीहरूले सम्पत्तिको उत्तराधिकारका लागि लडाइँ गर्दैनन् भन्‍ने कुरामा म विश्‍वास गर्न मान्दिनँ! के परमेश्‍वरमा विश्‍वास गर्नु त चाहना, एक प्रकारको आत्मिक सान्त्वना मात्रै होइन र? के तिनीहरूले यसका लागि साँच्‍चै नै यति धेरै सम्पत्ति त्याग्‍न सक्छन्? हुनै सक्दैन!” के यी शब्दहरूमा तथ्यहरू अनुरूप एउटा पनि अभिव्यक्ति छ? के तिनमा मानिसहरूको भलाइको कुनै कामना, कुनै आशिष् छ? (छैन।) अरूले पनि आफूले जस्तै परमेश्‍वरको अनुग्रहको आनन्द लिइरहेका देखेर, के परमेश्‍वरमा विश्‍वास गर्नु वास्तवमै असल कुरा हो भन्‍ने व्यक्तिगत भावना व्यक्त गर्ने कुनै कुरा छ? (छैन।) तथ्य र झूटहरूलाई उल्ट्याउने मानिसहरूका दृष्टिकोणमा, दाजुभाइ-दिदीबहिनीहरूमाझ घट्ने यी व्यक्तिगत रूपान्तरणहरू सबै छलपूर्ण हुन्छन्; परमेश्‍वरमा विश्‍वास गरेर हुने सत्यता प्राप्ति र स्वभावमा आउने परिवर्तनहरू सबै झूटा हुन्छन्; परमेश्‍वरले मानिसहरूलाई शुद्ध गर्न सक्‍नुहुन्छ, परमेश्‍वरले मानिसहरूलाई परिवर्तन गर्न सक्‍नुहुन्छ भन्‍ने कुरा तिनीहरू विश्‍वास गर्दैनन्। तिनीहरूका शब्दहरूबाट, मानिसहरूलाई तिनीहरूले गर्ने स्वेच्छाचारी आलोचना, घृणा, र श्राप मात्रै होइन, तर परमेश्‍वरको काम र उहाँका वचनहरूले मानिसहरूमा हासिल गरेको प्रभावप्रति तिनीहरूको अविश्‍वास र इन्कार पनि देख्‍न सकिन्छ। नन्द-भाउजूको सम्बन्ध राम्रो छ, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासका कारण, तिनीहरू सँगै हुँदा एक-अर्काप्रति सहनशीलता र धैर्यता देखाउँछन्। तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने यो व्यक्तिलाई हृदयमा असहज र असन्तुष्ट महसुस हुन्छ, त्यसकारण उसले दिदीबहिनीहरूका बीचमा कलह पैदा गर्नका लागि हरसम्भव प्रयास गर्छ, उसले नन्द-भाउजूको भेट हुँदा उनीहरूलाई बहस गर्न र झगडा गर्न लगाउन सक्यो भने, ऊ खुसी हुन्छ। यो कस्तो खालको व्यवहार हो? यो कस्तो खालको मानसिकता हो? तिनीहरूको मानसिकतालाई मूल्याङ्कन गर्दा, के यो अलिक अनैतिक कुरा होइन र? (हो।) तिनीहरूको व्यवहारका हिसाबमा भन्दा, के यो घृणित छैन र? (छ।) तैपनि, यस प्रकारका मानिसहरू अझै पनि मण्डली जीवनमा सहभागी हुन्छन्, र कर्तव्य पूरा गर्नेहरूका बीचमा, तिनीहरू जस्ता मानिसहरूको कुनै कमी हुँदैन। यी मानिसहरूलाई सामान्यतया “विषालु जिब्रो” भएका मानिस भनेर भनिन्छ। वास्तवमा, तिनीहरूको जिब्रो मात्र विषालु हुँदैन; तिनीहरूको भित्री संसार पनि अत्यन्तै अँध्यारो र विषालु हुन्छ! दाजुभाइ-दिदीबहिनीहरूले जस्तोसुकै असल अनुभवात्मक गवाही सुनाए पनि, तिनीहरूका नजरमा, यी सबै कृत्रिम र काल्पनिक हुन्छन्, र तिनमा कुनै विशेष कुरा हुँदैन। परमेश्‍वरले जसमा न्याय र सजायको काम गर्नुभए पनि, र फलस्वरूप तिनीहरूले उल्लेखनीय लाभहरू प्राप्त गरेर तिनीहरू खडा हुन र आफ्नो अनुभव साझा गर्न र परमेश्‍वरको गवाही दिन सक्‍ने भए पनि—भित्र गहिराइमा, यी व्यक्तिहरू यस कुरालाई घृणा गर्छन्, र सोच्छन्, “त्यसमा यति ठूलो के कुरा छ र? यति धेरै प्रवचन सुनेपछि, के जोसुकैले केही बुझाइ प्राप्त गर्दैन र? तिमी अनुभवात्मक गवाही लेख लेखेरै सन्तुष्ट हुन्छौ, आफूलाई विजेता ठान्छौ? भविष्यमा कामकुराहरू खराब भएर जाँदा तिमीले अझै परमेश्‍वरका बारेमा गुनासो गर्छौ कि गर्दैनौ, हेरौँला। यदि परमेश्‍वरले तिम्रो सन्तान खोसिदिनुभयो भने, तिमी रुन्छौ कि रुँदैनौ, र तिमीले अझै पनि परमेश्‍वरमा विश्‍वास गर्न सक्छौ कि सक्दैनौ भनेर हेरौँला!” तिमीहरूलाई तिनीहरूको हृदय के कुराले भरिएको हुन्छ भन्‍ने लाग्छ? पूरै संसार अराजकतामा होओस् भन्‍ने चाहना गर्नु, मानिसहरू सही मार्गमा हिँड्छन् भन्‍ने डर मान्‍नुले भरिएको हुँदैन र? सारांशमा भन्दा, कसैको परिवारमा जेसुकै भए पनि, तिनीहरूलाई त्यसबारे केही टिप्पणी गर्नैपर्छ, तर तिनीहरूले जे भने पनि, यी सबै मानिसहरूको एउटै विशेषता हुन्छ, जुन के हो भने, तिनीहरूले कसैको राम्रो होस् भन्‍ने सोच्दैनन्—तिनीहरू सबैसँग कुनै सद्गुण नभए जस्तो गरी उनीहरूका बारेमा कुरा गर्छन्; तिनीहरू अरूलाई रद्दी ठानेर उनीहरूका बारेमा कुरा गर्दा खुसी हुन्छन्, र तिनीहरूले सधैँ अरूको दुर्भाग्यमा हर्षित भइरहेका हुन्छन्। यदि कसैको परिवार समृद्ध छ भने, तिनीहरू डाहा, रिस, र घृणा गर्छन्, हृदयमा निरन्तर गुनासो गर्छन्, र परमेश्‍वरले त्यो व्यक्तिले आनन्द उठाउने सम्पत्ति र अनुग्रह खोस्नुहोओस्, र तिनीहरूलाई दिनुहोओस् भन्ने चाहना गर्छन्। यी व्यक्तिहरूले मानिसहरूको पिठ्यूँपछाडि बोल्ने गुनासाहरू सुन्नै असहनीय हुन्छन्। के तिनीहरू कुनै पनि हिसाबमा परमेश्‍वरका विश्‍वासीहरू जस्ता हुन्छन्? अवश्य नै, यस्ता प्रकारका मानिसहरू आफ्नो भेष बदल्न पनि सिपालु हुन्छन्। तिनीहरूको हृदय जति नै दुर्भावनापूर्ण वा अँध्यारो भए पनि, भेलाहरूका दौरान दाजुभाइ-दिदीबहिनीहरूको उपस्थितिमा, तिनीहरूले पनि आफ्ना बुझाइ र अन्तर्ज्ञानहरूबारे सङ्गति गर्छन्, आफ्नो भेष बदल्न भव्य धर्मसिद्धान्तहरू फलाक्छन्, र आफ्ना लागि “महिमित” र असल छवि निर्माण गर्छन्। तर पर्दापछाडि, तिनीहरू मानवझैँ बोल्ने वा व्यवहार गर्ने गर्दैनन्। धेरैजसो मानिसहरूले यी व्यक्तिहरूसँग अन्तरक्रिया गरेका छैनन् र तिनीहरूको साँचो प्रकटीकरण वा तिनीहरूको हृदयको गहिराइमा के लुकेको छ भनी थाहा पाएका छैनन्, भेलाहरूका दौरान तिनीहरूले सही तरिकाले बोलेको मात्रै सुनेका छन् भने, तिनीहरूको मानवता कति दुष्ट वा क्रूर छ, वा तिनीहरूको चरित्र कति नीच छ भन्‍ने पत्ता लगाएका हुँदैनन्, बरु तिनीहरूका बारेमा राम्रो समेत सोच्नेछन्। तिनीहरूसँग अझै धेरै समय बिताएपछि र पर्दापछाडिको जीवनमा तिनीहरूको कार्य र व्यवहारलाई बुझेपछि मात्रै, मानिसहरूले बिस्तारै तिनीहरूलाई खुट्ट्याउन र घिन महसुस गर्न थाल्छन्। त्यसकारण, कुनै व्यक्तिलाई भेलाहरूका दौरान बोल्ने मीठा शब्दहरूका आधारमा मात्रै उसलाई खुट्ट्याउनु हुँदैन; उसको सार र साँचो रूप छर्लङ्ग देख्‍नका लागि पर्दापछाडि उसको जीवनका व्यवहार र शब्दहरूलाई पनि नियाल्नुपर्छ।

मानिसहरूले जस्तै नबोल्नु बाहेक, तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने मानिसहरूको अर्को विशेषता पनि हुन्छ: तिनीहरू सबैका बारेमा र सबै कुराका बारेमा, आफू अपरिचित रहेको वा आफूले कहिल्यै अन्तरक्रिया नगरेका मानिसहरूबारे समेत टिप्पणी गर्न चाहन्छन्, र अरूको जीवनका सबैभन्दा साना मामलाहरूलाई समेत छोड्दैनन्। तिनीहरूले टिप्पणी गर्नुको परिणाम के हुन्छ भने, कुनै कुरा जति नै सकारात्मक भए पनि, यसलाई तिनीहरूको बोलीवचनले नकारात्मकमा बङ्ग्याइदिन्छ; कुनै कुरा जति नै उचित भए पनि, यो तिनीहरूको दुष्ट ओठबाट गुज्रेपछि नकारात्मकमा विकृत हुन्छ। यसले तिनीहरूलाई खुसी बनाउँछ, जसले गर्दा तिनीहरू राम्ररी खान र सुत्न सक्छन्। मलाई भन, यो कस्तो प्रकारको प्राणी हो? उदाहरणका लागि, यदि कतिपय दाजुभाइ-दिदीबहिनीहरूले यस वर्ष राम्रो आम्दानी गरेका छन् र आर्थिक रूपमा तिनीहरू राम्रो अवस्थामा छन्—अझै बढी, दशौँ भागभन्दा बढी भेटी चढाउँछन् भने—तिनीहरूलाई डाहा लाग्छ र तिनीहरू भन्छन्, “तिमीले यस वर्ष किन यति धेरै भेटी चढाइरहेका छौ? तिमीले कति धेरै चढाउँछौ भन्‍ने आधारमा परमेश्‍वरले कुनै व्यक्ति असल छ कि दुष्ट छ भनेर निर्धारित गर्नुहुन्‍न। तिम्रो उत्सुकताको के अर्थ? परमेश्‍वरको घरमा पैसाको कमी छैन।” अप्रिय शब्दहरू फेरि बाहिर आउँछन्, होइन र? जोसुकैले कुनै उचित कार्य गरे पनि, वा सत्यता अनुरूप कार्य गरे पनि, तिनीहरूलाई त्यसप्रति आपत्ति हुन्छ, र हृदयमा चरम घृणा महसुस गर्छन्। तिनीहरूले तँलाई नियन्त्रण गर्नका लागि हर सम्भव माध्यमहरू प्रयोग गर्छन्, तँलाई प्रहार गरेर नढालुञ्जेल र तँबाट सकारात्मकता नहटाऊञ्जेल तँलाई आक्रमण गर्न, दोष लगाउन, र निन्दा गर्न बहानाहरू खोज्छन्, र तँलाई पूर्ण रूपमा अन्योलग्रस्त बनाउँछन्, र सही के हो र के होइन भनेर छुट्टयाउन नसक्‍ने तुल्याउँछन्। त्यसपछि तिनीहरू मजाले हाँस्छन्, तँलाई भित्री रूपमा गिल्ला गर्छन् र मनमनै भन्छन्, “तेरो हैसियत यही हो, तैपनि तँ अनुभवात्मक गवाहीका बारेमा कुरा गर्छस्!” यो त दियाबलसले त्यसको साँचो रङ्ग देखाउनु हो, होइन र? के यी शैतानको नोकर, ख्रीष्टविरोधीका शब्दहरू होइनन् र? (हुन्।) मैले यस्तो प्रकारको व्यक्तिका बारेमा जति कुरा गर्छु, मलाई त्यति नै रिस उठ्छ र त्यति नै विकर्षण हुन्छ। के तिमीहरूले कहिल्यै त्यस्ता व्यक्तिहरू सामना गरेका छौ? तिनीहरूको रूप वा अनुहारको बनावट जस्तोसुकै भए पनि, जब तिनीहरूले तथ्य र झूटहरूलाई उल्ट्याउन लागेका हुन्छन्, तब तिनीहरूको हाउभाउ अनौठो बन्छ: ओठहरू बटारिन्छन्, आँखाहरू दोब्रिन्छन्, तिनीहरूले उप्रान्त अरूलाई सीधा हेर्दैनन्, र कतिपय मानिसहरूको हुलिया त आफ्नो ठाउँबाट सरे जस्तो समेत देखिन्छ। यो तिनीहरूले मानवले जस्तो बोल्न लागेका छैनन् भनेर तँलाई सङ्केत प्रवाहित गरिएको हो। त्यो बेला तँ के गर्छस्? तैँले यस सङ्केतलाई लिन्छस् कि छेक्छस्? (छेक्छु।) तैँले तिनीहरूलाई यसो भन्दै टाढा बस्‍नुपर्छ: “नबोल; म यो कुरा सुन्‍न चाहन्‍नँ। तिमी अरूको कुरा साह्रै काट्छौ। यदि तिमी मानवलेझैँ बोल्दैनौ भने, मबाट टाढा बस। म तिम्रो बाधामा पर्न चाहन्‍नँ; म यी अनुचित अन्तरवैयत्तिक सम्बन्धहरूमा फस्न चाहन्‍नँ, र म तिमी जस्तो व्यक्तिलाई ध्यान दिनेछैनँ।” तिमीहरूमध्ये कसलाई तथ्य र झूटहरूलाई उल्ट्याउन मन पर्छ, कसको आचरण त्यस्तो छ भनेर नियाल अनि हेर, त्यसपछि तुरुन्तै तिनीहरूबाट टाढा बस। यी व्यक्तिहरूको मानवताको विशेषता के हो? विषालु तरिकाले बोल्नु, वा अझै बोलीचालीको भाषामा भन्दा, “विषालु जिब्रो” हुनु हो। तिनीहरूका विषालु शब्दहरू खुलासा गरेर, तैँले तिनीहरूले जारी गर्ने विभिन्‍न अभिव्यक्तिहरू देख्‍न सक्छस्; तिनीहरूका अभिव्यक्तिहरूबाट, तैँले तिनीहरूको भित्री संसार देख्‍न सक्छस्, र तिनीहरूको मानवता सार के हो, र तिनीहरू दुष्ट मानिसहरू हुन् कि होइनन् भनेर ठ्याक्कै निर्धारित गर्न सक्छस्। तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने यस्ता मानिसहरूले आफूले जारी गर्ने विभिन्‍न सङ्केत र अभिव्यक्तिहरूद्वारा अरूलाई तिनीहरू दुष्ट मानिसहरू भनेर स्पष्ट रूपमा तोक्ने तुल्याउँछन्। यस्ता प्रकारका मानिसहरूले निकाला वा निष्कासित हुने मानकलाई पूर्ण रूपमा पूरा गर्छन्; तिनीहरूलाई कुनै दया देखाउन सकिँदैन। तिनीहरूलाई निकाल्नैपर्छ, र मण्डलीभित्र बाधाहरू पैदा गर्न दिनु हुँदैन।

हामीले भर्खरै तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने मानिसहरूका विशेषताहरूका बारेमा सङ्गति गर्‍यौँ, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको अवस्था र तिनीहरूको मानवताका प्रकटीकरणहरूबाट के स्पष्ट हुनुपर्छ भने, तिनीहरू सत्यताप्रति वितृष्ण हुने, र सत्यतालाई प्रेम नगर्ने प्रकारका मानिसहरू हुन्। तिनीहरूको मानवता यति कमजोर हुन्छ कि तिनीहरू समझप्रति बोधो हुन्छन्, र तिनीहरूमा सबैभन्दा आधारभूत मानव नैतिकताको समेत कमी हुन्छ; यति मात्र हो कि विशेष गरी तिनीहरूको मामलामा, तिनीहरूको कमजोर मानवताको विशेषता के हो भने तिनीहरूलाई तथ्य र झूटहरूलाई उल्ट्याउन निकै मन पर्छ। तिनीहरूले बोल्ने वचनहरूबाट, तिनीहरूको मानवताको विशेषता, र तिनीहरूको मानवता सारलाई देख्न सकिन्छ; स्पष्ट रूपमा नै, यस्ता प्रकारका मानिसहरू कमजोर मानवता भएका व्यक्तिहरू हुन्। तिनीहरूको मानवता कुन हदसम्‍म कमजोर हुन्छ? यो दुष्ट हुने हदसम्‍म कमजोर हुन्छ, जसले तिनीहरूलाई दुष्ट मानिसहरूको वर्गमा पर्ने तुल्याउँछ। किनभने तिनीहरूले प्रायजसो बोल्ने शब्दहरू प्रायः गुनासो गर्ने, र थोरै डाहा व्यक्त गर्ने, वा प्रायः थोरै मानव कमजोरी देखाउने हुँदैन; तिनीहरूका प्रकटीकरणहरू साधारण, सामान्य भ्रष्ट स्वभावका हुँदैनन्, तर तिनीहरूलाई दुष्ट मानिसहरू भनेर वर्गीकरण गर्न सकिन्छ भन्‍ने कुरालाई प्रमाणित गर्नका लागि पर्याप्त हुन्छन्। पहिलो प्रकारको व्यक्ति यही हो: तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने मानिसहरू।

ख. फाइदा उठाउन मन पराउनु

दोस्रो प्रकारका मानिसहरू फाइदा उठाउन मन पराउनेहरू हुन्। फाइदा उठाउन मन पराउने बारेमा सङ्गति गर्ने कुरा आउँदा कतिपय मानिसहरूमा निश्चय नै धारणाहरू हुन्छन्, तिनीहरू सोच्छन्, “कुन चाहिँ भ्रष्ट मानवले फाइदा उठाउन मन पराउँदैन र? यो मानव प्रकृति हो; यसो गर्नु दुष्टता नभएसम्म, अलिकति फाइदा लिनुमा यति गम्भीर कुरा के हुन्छ र?” हामीले यहाँ सङ्गति गरिरहेका फाइदा उठाउन मन पराउनु सामान्य मानिसहरूले फाइदा उठाउन मन पराउनुको दायराभन्दा बाहिर जान्छ—यो दुष्टताको हदसम्‍म पुग्छ। मण्डलीमा यस्ता मानिसहरू धेरै नै हुनुपर्छ, वा कम्तीमा पनि केही अंश त हुनुपर्छ। “हामी सबै दाजुभाइ-दिदीबहिनीहरू हौँ” भन्‍ने बहानामा, तिनीहरूले जताततै फाइदा उठाउँछन्, दाजुभाइ-दिदीबहिनीहरूका बीचमा, परमेश्‍वरको घरमा, र मण्डलीमा फाइदा उठाउँछन्। तिनीहरूले के-के फाइदाहरू लिन्छन्? उदाहरणका लागि, यदि तिनीहरूको परिवारले घर किन्‍नुपर्‍यो तर तिनीहरूसँग पर्याप्त पैसा छैन भने, तिनीहरू सापटी लिन आफन्त वा साथीहरूकहाँ फर्कँदैनन्, न त तिनीहरू ऋण लिन बैङ्क नै जान्छन्; तिनीहरू ब्याज उल्लेख नै नगरी, वा ऋण कहिले तिर्ने भनेर नबताई दाजुभाइ-दिदीबहिनीहरूबाट सापटी लिन्छन्—तिनीहरूले सापटी मात्रै लिन्छन्। तिनीहरूले “सापटी लिन्छन्” भनेर भन्‍नु यसलाई राम्ररी भन्‍नु हो; तथ्य के हो भने तिनीहरूले यो पैसा लिइरहेका मात्रै हुन्छन्, किनभने तिनीहरूले पैसा फिर्ता गर्ने वा ब्याज तिर्ने अभिप्राय कहिल्यै राख्दैनन्। तिनीहरू किन दाजुभाइ-दिदीबहिनीहरूलाई निसाना बनाउँछन्? तिनीहरू के सोच्छन् भने, तिनीहरू सबै दाजुभाइ-दिदीबहिनीहरू भएका हुनाले, तिनीहरूले कठिनाइको बेला सहयोग गर्नुपर्छ, र कसैले सहयोग गर्दैन भने, ऊ दाजुभाइ वा दिदीबहिनी होइन। त्यसकारण, तिनीहरू पैसा सापटी लिनका लागि दाजुभाइ-दिदीबहिनीहरूकहाँ जान्छन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूलाई पैसा ऋण दिनु सही र उचित कुरा नै हो भन्‍ने महसुस गराउनका लागि कारणहरू निकाल्छन्। अरू मानिसहरूले कुनै दाजुभाइ वा दिदीबहिनीको परिवारसँग गाडी छ भन्‍ने देख्छन् र यसबारे सोचिरहन्छन्, र करिब-करिब हरेक केही दिनपछि जसो सापटी मागिरहन्छन्। तिनीहरूले सापटी त लग्छन् तर फर्काउँदैनन्, र तेल भर्दैनन्, र कहिलेकाहीँ गाडी कुच्याइदिन्छन् वा ठोक्‍काइदिन्छन्। तिनीहरूले अरूका घरमा देख्‍ने कुनै पनि मीठो खाना, उपयोगी सामान, वा कुनै पनि मूल्यवान् कुराप्रति लालायित हुन्छन् र ती पाउन षड्यन्त्र गर्छन्, र ती आफैले पाउने लालसा गर्छन्। तिनीहरू जोसुकैका घरमा गए पनि, तिनीहरूले प्राप्त गर्न सक्ने कुनै पनि फाइदा वा आफूले लिन सक्‍ने कुनै पनि सामान खोज्दै जताततै तलास गर्छन् र हेर्छन्, र यसो गरिरहँदा तिनीहरूको आँखा चोरको जस्तै लोभले चम्किन्छ—गमलामा रोपिएको सानो बिरुवासमेत तिनीहरूको हातबाट उम्कनेछैन। अरूसँग बाहिर जाँदा वा खाना खाँदा, तिनीहरूले कहिल्यै यातायात वा खानाको पैसा तिर्ने प्रस्ताव गर्दैनन्। तिनीहरूले कुनै राम्रो समान देख्दा त्यो किन्‍न चाहन्छन्, तर जब पैसा तिर्ने समय आउँछ, तब तिनीहरू अरूलाई तिनीहरूको बिल तिर्न लगाउँछन् र पछि तिनीहरू त्यो पैसा फिर्ता गर्ने कुरै गर्दैनन्; तिनीहरू बस फाइदा उठाउन चाहन्छन्, चाहे त्यो एक पैसा वा चार आना नै किन होस्। यदि तँ राम्रा सामानहरू प्राप्त गर्न चाहन्छस् भने, तँ ती कुराहरूको पैसा आफै तिर्न सक्छस्; यदि तँ आफैले पैसा तिर्न चाहँदैनस् भने, अरूबाट फाइदा उठाउन पनि नखोज्, र यति लोभी नबन्; अरूबाट सम्मान पाउनका लागि तँसँग केही निष्ठा हुनुपर्छ। तर यस्तो व्यक्तिमा निष्ठाको कमी हुन्छ, उसले फाइदा उठाउन मात्रै चाहन्छ, र उसले जति धेरै फाइदा उठाउँछ ऊ त्यति नै बढी हर्षित महसुस गर्छ। मण्डलीमा त्यस्ता मानिसहरूको उदय हुनु लाजको कुरा हो कि महिमाको कुरा हो? (लाजको कुरा हो।) यो लाजको कुरा हो। के तिमीहरू तिनीहरूले यसरी फाइदा उठाउनु आवश्यक हुन्छ भनेर भन्छौ? के तिनीहरूले खाने कुरा किन्‍न नसक्‍ने वा आफ्नो परिवारको हातमुख जोड्न नसक्‍ने हुनाले यस्तो गर्छन्? त्यस्तो पटक्‍कै होइन। वास्तवमा, तिनीहरूसँग खर्च गर्नका लागि पर्याप्त पैसा र खानका लागि पर्याप्त खाना हुन्छ; यति मात्र हो कि तिनीहरूको लोभ यति ठूलो हुन्छ कि यसले तिनीहरूको निष्ठा खोस्छ, र अरूमा तिनीहरूप्रति घृणा र विकर्षण पैदा गर्ने हदसम्म पुग्छ। के त्यस्तो व्यक्ति असल हुन्छ? (हुँदैन।) कतिपय मानिसहरूले आफ्ना कर्तव्य पूरा गर्दा सधैँ फाइदा उठाउने प्रयास गर्छन्, अलिकति पनि घाटा भयो भने तिनीहरू उद्विग्न हुन्छन्, र तिनीहरूलाई यसबारे बोल्नुपर्छ भन्‍ने लाग्छ। कुनै काम खटाउँदा, तिनीहरूले सधैँ पैसाको विषय उठाउँछन्: “एउटा यात्राको यात्रा खर्च यति-यति हुनेछ, बसोबासको खर्च यति-यति हुनेछ, खानाको खर्च यति-यति हुनेछ, र आदि इत्यादि।” तिनीहरूलाई यसो भनिन्छ, “पैसाबारे चिन्ता नगर्नुहोस्, मण्डलीले नै आपूर्ति गरिदिनेछ।” तर पैसा प्राप्त गरेपछि, तिनीहरूले यसो भन्दै यसबारे चिन्तित हुन्छन्: “यतिले पुग्दैन। मैले त्यहाँ २०० युआन लिएर के गर्न सक्छु? एउटा भनाइ छ, ‘घरमा मितव्ययी बन्नू तर यात्रा गर्दा धेरै पैसा बोक्‍नू।’ मैले थप केही पैसा बोक्‍नुपर्छ; मैले सबै प्रयोग गरिनँ भने, बाँकी रकम मण्डलीलाई नै फर्काउनेछु।” तिनीहरू फर्केर आउँदा, तिनीहरूले कुनै पैसा बाँकी छ भन्‍ने बारेमा केही उल्लेख गर्दैनन्, न त आफ्नो खर्चका बारेमा नै रिपोर्ट गर्छन्। तिनीहरूले मण्डलीबाट फाइदा उठाउने आँट समेत गर्छन्; के तिनीहरूले परमेश्‍वरका भेटीहरू हिनामिना गर्ने आँट गर्नेथिए? (गर्नेथिए।) तिनीहरू कस्ता प्रकारका प्राणी हुन्? तिनीहरूमा निष्ठा, साथै विवेक र समझको कमी हुन्छ। के परमेश्‍वरले त्यस्ता मानिसहरूलाई अनुमोदन गर्नुहुनेथियो? अन्य केही मानिसहरू मण्डलीको लुगा धुने मेसिन, पानी तताउने मेसिन, श्याम्पु, लुगा धुने पाउडर, आदि इत्यादि प्रयोग गरेर नुहाउन, कपाल धुन, र लुगा धुनका लागि भेला हुने ठाउँ वा अतिथिसत्कार गरिने स्थानहरूमा जान्छन्; तिनीहरूले यी सुविधाहरूको फाइदा समेत उठाउँछन्, र आफ्नै सामान बचत गर्न मण्डलीका सामानहरू प्रयोग गर्छन्। तिनीहरूले के सोच्छन् भने, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, तिनीहरू परमेश्‍वरको घरका भाग हुन्, र त्यसकारण परमेश्‍वरको घरको कुनै पनि वस्तु तिनीहरूले स्वतन्त्र रूपमा प्रयोग गर्नका लागि हो, र यसलाई प्रयोग नगर्नु, वा नलिनु, वा यसबाट केही फाइदा नउठाउनु भनेको खेर फ्याँक्नु हुनेछ; अनि तिनीहरूले तिनलाई बिगारे पनि, त्यसको क्षतिपूर्ति दिने कुनै अभिप्राय राख्दैनन्। जब तिनीहरूको आफ्नै सामानको कुरा आउँछ, तब तिनीहरू संयमित रूपमा तिनको प्रयोग गर्न र सावधानीपूर्वक तिनको हेरचाह गर्न जान्दछन्, तर तिनीहरूले परमेश्‍वरको घरका उपकरण र सामानहरू मनपरी प्रयोग गर्छन्, ती बिगारे भने क्षतिपूर्ति दिँदैनन्। के यी असल मानिसहरू हुन्? तिनीहरू निश्चय नै असल मानिसहरू होइनन्। विशेष गरी मण्डलीले केही सामान किन्‍नुपर्ने निश्‍चित परिस्थितिहरूमा, तिनीहरू सक्रिय रूपमा स्वयम् सेवा गर्छन्, र त्यस्ता कार्यहरू सम्हाल्न विशेष रूपमा इच्छुक हुन्छन्। तिनीहरू किन यति आतुर हुन्छन्? तिनीहरू त्यसबाट नाफा प्राप्त गर्न, र फाइदाहरू उठाउन सकिन्छ भन्‍ने विश्‍वास गर्छन्; सामान किनेपछि, तिनीहरूले बाँकी रहेको पैसा आफ्नै खल्तीमा हाल्छन्। तिनीहरूले आफूले सक्‍ने जुनसुकै कुराको फाइदा उठाउन चाहन्छन्, त्यसो नगर्नु भनेको खेर फाल्नु हुनेछ भन्‍ने सोच्छन्; तिनीहरूले पालना गर्ने तर्क यही हो। यदि तिनीहरूले फाइदा उठाउन पाएनन् भने, दाजुभाइ-दिदीबहिनीहरूलाई र परमेश्‍वरको घरलाई सराप्छन्—तिनीहरू सबैलाई सराप्छन्; तिनीहरू बस दुष्ट पिशाचहरू, दुर्गन्धित भिखारीहरू, पर्चा बोक्ने मगन्तेहरू हुन्, जसले नाफा हत्याउन र फाइदा उठाउनका लागि आफ्नो माग्‍ने भाँडो जताततै थाप्छन्। मानिसहरू भन्छन्, “तिमी त सधैँ केही न केही मागिरहेका हुन्छौ; के तिमी दुर्गन्धित भिखारी होइनौ र?” तिनीहरू जवाफ दिन्छन्, “ठीक छ, मलाई जेसुकै भन—कन्जुस, लोभी व्यक्ति, दुर्गन्धित भिखारी, मगन्ते, दरिद्र भन—मैले फाइदा लिन सकेसम्म, ठीकै छ।” के यस्ता मानिसहरूसँग कुनै निष्ठा हुन्छ? (हुँदैन।) के त्यस्ता मानिसहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई केही मात्रामा बाधा पुर्‍याउँदैनन् र? विशेष गरी कठिन परिस्थितिहरू र कमजोर आर्थिक स्थितिमा रहेका ती परिवारहरूका लागि, के तिनीहरूले केही मात्रामा बाधा र हानि पुर्‍याउँदैनन् र? (पुर्‍याउँछन्।) के तिनीहरूले कदमा कान्छो र निकै कमजोर मानिसहरूलाई नकारात्मक रूपमा असर गर्न सक्छन्? (सक्छन्।) तिनीहरूलाई देख्दा मात्रै मानिसहरूलाई घिन लाग्छ; तिनीहरूलाई देख्‍ने हरेक व्यक्तिलाई झिजो लाग्छ, तैपनि तिनीहरूलाई इन्कार गर्न लाज मान्छन्, यसरी उनीहरू आफूलाई तिनीहरूद्वारा यसरी खुल्लमखुल्ला शोषित हुन दिन्छन्। तिनीहरूसँग खराब मानवता र नीच चरित्र छ भन्‍ने सबैलाई थाहा हुन्छ, तर, तिनीहरू सबै दाजुभाइ-दिदीबहिनीहरू हुन् भन्ने ख्याल गर्दा, र तिनीहरूले कहिलेकाहीँ केही कर्तव्य पूरा गर्न सक्छन्, र तिनीहरूसँग थोरै विश्‍वास छ, र कहिलेकहीँ तिनीहरूले आफ्नो घरमा अतिथिसत्कार गरेर थोरै मेहनत लगाउन सक्छन् भन्‍ने कुरालाई हेर्दा—यी कुराहरूका खातिर, धेरैजसो मानिसहरूले जहाँ गए पनि फाइदा उठाउने तिनीहरूको व्यवहारप्रति आँखा चिम्लिन्छन्, र यसलाई गम्भीरतापूर्वक लिँदैनन्। तर, तिनीहरूले मण्डलीभित्र दिने बाधाहरू झन्-झन् ठूला हुँदै जान्छन्, जुन धेरैजसो मानिसहरूलाई असहज महसुस गराउन पर्याप्त हुन्छ; के यो समस्या होइन र? (हो।) यी व्यक्तिहरू मानिसहरूलाई जहाँसुकै टोक्ने र तिनीहरूलाई टोकेर मार्न सक्‍ने बौलाहा कुकुर नभए पनि, तिनीहरू मानिसहरूलाई सताएर आनन्दले बस्‍न नदिने कष्टदायी भुसुनाहरू जस्तै हुन्छन्। यदि तिनीहरूलाई निकालिएन भने, तिनीहरूले अनन्त बाधाहरू दिनेछन्। तिनीहरू मण्डलीमा नै रहे भने यसले निरन्तर प्रकोप ल्याउनेछ, जसले मानिसहरूलाई शान्तिबाट वञ्चित गर्नेछ। बाधा पुगेपछि, मानिसहरूलाई निकै झिजो लाग्छ, तिनीहरूले प्रायजसो त्यस्ता व्यक्तिहरूप्रति वितृष्ण पाल्छन्; तैपनि कुनै समाधान नभएकाले, तिनीहरू बारम्बार यो कुरा सहन्छन्। तिनीहरू कस्तो प्रकारका व्यक्तिहरू हुन्? मानिसहरूका बीचमा यस्ता घृणास्पद बदमासहरूसमेत हुन्छन्; त्यस्ता व्यक्तिहरूले परमेश्‍वरमा विश्‍वास समेत किन गर्छन्? तिनीहरू जिउन समेत लायक हुँदैनन्! आफूले सक्‍ने जुनसुकै कुरामा फाइदा उठाउनु—कस्तो लाजमर्दो कुरा! बस आफ्नो क्षमताले भ्याएअनुसार जति सक्दो धेरै भौतिक कुराहरूको आनन्द लिई; यदि तँसँग क्षमताको कमी छ भने, तैँले अरूको स्वामित्वको कुराको आनन्द नलिई, वा यसलाई हिनामिना नगर्। यदि अरूले बेला-बेलामा परोपकारी रूपमा केही कुरा निःशुल्क दिने हुनाले, वा तँलाई कुनै कुराप्रति विशेष रुचि भएको हुनाले, वा तँलाई कुनै कुरा मन पर्ने हुनाले तैँले कुनै सानो र महत्त्वहीन तरिकाले फाइदा उठाइस् भने, सबैले त्यो कुरा माफ गर्न सक्छन्। भनाइ नै छ, “गरिबीले महत्त्वाकाङ्क्षालाई सीमित गर्छ”; यो ठूलो समस्या होइन। तर यदि तैँले सधैँ यसरी फाइदाहरू खोजिरहेको हुन्छस्, यहाँसम्म कि तँ यसप्रति निर्लज्ज हुन्छस् र लाज पचाउँछस्, र तँ दुर्गन्धित भिखारीमा परिणत हुन्छस्, वा बौलाहा कुकुर वा सबैको आँखामा भुसुना बन्छस् भने, तँलाई तुरुन्तै निकाल्नुपर्छ। यी सबै समस्याहरूलाई अन्त्य गर्नका लागि, यस्ता प्रकारका मानिसहरूलाई एकै पटकमा र सधैँका लागि तह लगाउनुपर्छ।

फाइदा उठाउन मन पराउनेहरूका हकमा भन्दा, तिमीहरू तिनीहरूलाई कति सहन सक्छौ? यदि तिमीहरू साँच्‍चै नै तिनीहरूलाई सहन सक्दैनौ, र तिनीहरूले तिमीहरूबाट फाइदा उठाएपछि मरेको भुसुनो निलेको जस्तो अनुभव गर्छौ—तिमीहरूमध्ये धेरैजसो सँगै हुँदा तिनीहरूप्रति अनियन्त्रित रूपमा रिसाउँछौ र तिमीहरू तिनीहरूका बारेमा निरन्तर गुनासो गर्छौ भने—त्यो बेला, के तिनीहरूलाई निकालिसकिएको हुनु पर्दैन र? (पर्छ।) जब यो असहनीय हुन्छ, जब यो चरम हदमा पुग्छ, तब तिनीहरूलाई निकाल्न सबैले हातेमालो गर्नुपर्छ। यो परमेश्‍वरको घरबाट अभिशाप हटाउनु हो, र यो मानिसहरूलाई निकै प्रसन्न पार्ने कुरा हो। त्यस्तो व्यक्ति बस नीच हो, जसले गर्दा धेरैजसो मानिसहरूमाझ खलबली हुन्छ। यो मण्डली जीवनमा बाधा र अवरोध ल्याउने एउटा घातक घटना हो, जसले मानिसहरूलाई यो व्यक्तिसँग सम्बन्धित समस्याका बारेमा सङ्गति गर्न र त्यसलाई समाधान गर्न भेला हुन बाध्य बनाउँछ। यो अभ्यास न्यायसङ्गत छ, किनभने दुष्ट व्यक्तिले पैदा गरेको बाधाले कतिपय मानिसहरूलाई हानि गरिसकेको हुन्छ। दुष्ट व्यक्तिलाई दुष्टता गरिरहनबाट रोक्‍न, मण्डली जीवनको सामान्य सुव्यवस्था कायम राख्‍न, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई थप हानि हुनबाट रोक्नका लागि, दुष्ट व्यक्तिलाई तुरुन्तै तह लगाउनुपर्छ र पखाल्नुपर्छ। यदि तिनीहरूले निकालिएपछि मण्डलीलाई रिपोर्ट गर्न सक्छन् भने, बुद्धिमानीपूर्वक तिनीहरूलाई यो जानकारी दिइनुपर्छ: “तिमीलाई निकालिएको वा निष्कासित गरिएको होइन। घर गएर एकान्तमा बस र आत्मचिन्तन गर। तिमीले उचित रूपमा चिन्तन गरेपछि, पश्चात्तापको पत्र लेख, अनि त्यसपछि हामी तिमीलाई मण्डलीमा पुनः स्वागत गर्न सक्छौँ। अहिलेका लागि, तिमीले अझै धेरै पैसा कमाउने र जीवनको आनन्द लिने प्रयास गर्नुपर्छ; यसका साथै, परमेश्‍वरमा विश्‍वास गर्ने विषयमा मनन गर। यसरी, तिमीले दुईमध्ये कुनै पनि पक्षलाई बेवास्ता गरिरहेका हुनेछैनौ।” यो कस्तो लाग्यो? (राम्रो लाग्यो।) हामी उसलाई निकालिएको छ वा निष्कासित गरिएको छ भनेर भन्‍नेछैनौँ; यति मात्र हो कि, आजको दिनदेखि, उप्रान्त यो व्यक्ति मण्डलीमा रहनेछैन। यसलाई यसरी सम्हाल्दा कस्तो होला? (राम्रो हुन्छ।) एकदम राम्रो! बहस गर्नु वा हिसाब-किताबहरू मिलाउनु आवश्यक छैन, सरल र स्पष्ट समाधान मात्रै छ, तिनीहरूलाई काम गर्न, पैसा कमाउन, र आफ्नै जीवन जिउन संसारमा फर्केर जान दिनुपर्छ। सारांशमा भन्दा, फाइदा उठाउन मन पराउने मानिसहरूको मानवता त्यति राम्रो हुँदैन। यसलाई दुष्ट भन्‍न नसकिने भए पनि, फाइदा उठाउन मन पराउने तिनीहरूको चरित्रले तिनीहरूलाई निकै झिजोलाग्दो र तिरस्कार योग्य बनाउँछ। तिनीहरूले हरेक सम्भावित अवसरको दुरुपयोग गर्छन्! त्यस्ता मानिसहरू गैरकानुनी वा आपराधिक क्रियाकलापहरूमा संलग्‍न नहुने भए पनि, तिनीहरूका कार्य र व्यवहारले मण्डली जीवनमा ल्याउने दीर्घकालीन बाधा र अवरोधहरू—यी परिणामहरू—कुनै पनि दुष्ट कार्यभन्दा गम्भीर हुन्छन्; ती कुराहरू तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्ने अविश्‍वासी वा दुष्ट मानिसहरूका रूपमा चित्रण गर्नका लागि पर्याप्त हुन्छन्। यसो गर्दा यसले अविश्‍वासीहरूले मण्डलीमा पुर्‍याउने बाधा र दाजुभाइ-दिदीबहिनीहरूलाई गर्ने दुर्व्यवहारलाई पूर्ण रूपमा रोक्छ।

यसभन्दा पहिले हामीले फाइदा उठाउन मन पराउनेहरूलाई सम्हाल्ने विशेष तरिकाका बारेमा सङ्गति गर्‍यौँ, जुन मुख्य भूमिमा भइरहेको सतावटका विशेष परिस्थितिहरूका आधारमा विकास गरिएको विधि हो। विदेशका मण्डलीहरूमा, तिनीहरूलाई बस सीधै निकाल्नु ठीकै हुन्छ। तर, कुनै पनि सम्हाल्‍ने विधि जुनसुकै प्रकारका मानिसहरूप्रति लक्षित भए पनि, यो सिद्धान्तनिष्ठ र बुद्धिमानी दुवै छ भन्‍ने कुरा सुनिश्‍चित गर्नु अत्यावश्यक हुन्छ। मण्डलीसँग प्रशासनिक आदेश र नियमहरू छन्, जुन सबै दाजुभाइ-दिदीबहिनीहरूको सामान्य मण्डली जीवन र कर्तव्य पूरा गर्ने सामान्य सुव्यवस्थाको रक्षा गर्नप्रति लक्षित हुन्छ। यदि कसैले दाजुभाइ-दिदीबहिनीहरूको मण्डली जीवनमा वा तिनीहरूले कर्तव्य पूरा गर्ने कार्यमा बाधा दिन्छ भने, यसो गर्न दिइँदैन; त्यो व्यक्तिलाई परमेश्‍वरले तिरस्कार गर्नुहुनेछ। निश्चित रूपमै, दाजुभाइ-दिदीबहिनीहरूको दैनिक जीवनमा कुनै पनि प्रकारको दुर्व्यवहार वा हस्तक्षेप गर्न अनुमति हुँदैन। यो अगुवा र कामदारहरूले समाधान गर्ने जिम्मेवारी लिनुपर्ने समस्या हो। दाजुभाइ-दिदीबहिनीहरूका आफन्त, इष्टमित्र, वा चिनजानका मानिसहरू हुन सक्छन्, जसले “दाजुभाइ-दिदीबहिनीहरू” को भेषमा दाजुभाइ-दिदीबहिनीहरूलाई आकर्षित गर्ने र बहकाउने प्रयास गर्छन्, र तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्नबाट रोक्छन्। यस्ता व्यक्तिहरूलाई सम्हाल्ने दायित्व र जिम्मेवारी अगुवा र कामदारहरू, वा दाजुभाइ-दिदीबहिनीहरूको हुन्छ। तिनीहरूका व्यवहार र कार्यहरूले अरूलाई आफ्ना कर्तव्य पूरा गर्न र परमेश्‍वरलाई पछ्याउनबाट रोक्छन्, र मण्डलीको काममा बाधा पनि पुर्‍याउँछन्, त्यसकारण अगुवा र कामदारहरू परिस्थितिलाई समाधान गर्न र प्रतिबन्धहरू लागू गर्न अघि आउनुपर्छ। निश्चय नै, त्यस्ता व्यक्तिहरूलाई निराकरण गर्न र सम्हाल्‍नका लागि हामीसँग उचित विधिहरू छन्। कुटपिट वा हप्कीको सहारा लिनु आवश्यक छैन; हामीले बस तिनीहरूलाई तिनीहरूको समस्याको सार र परमेश्‍वरका चुनिएका अधिकांश मानिसहरूले तिनीहरूविरुद्ध लगाएका अभियोग र आरोपहरू स्पष्ट पार्छौँ, अन्ततः तिनीहरूलाई यसो भन्छौँ: “तिमीलाई निकाल्नु भनेको बहुमतले लिएको र हस्ताक्षर गरेको निर्णय हो। तिमी सहमत भए पनि वा नभए पनि, मण्डलीसँग यो निर्णय गर्ने र तिमीलाई सोही अनुसार सम्हाल्ने अख्तियार छ। तिमीले पालन गर्नुपर्छ।” यसरी यो समस्या समाधान हुन्छ, र सम्हाल्‍ने यस्तो तरिका पूर्ण रूपमा सिद्धान्तनिष्ठ हुन्छ। फाइदा उठाउन मन पराउनेहरूका हकमा भन्दा, तिनीहरूलाई सिद्धान्तहरू अनुसार व्यवहार गर्नुपर्छ र सम्हाल्नुपर्छ। यदि तिनीहरू तँबाट फाइदा उठाउन केही कुरा सापट लिन चाहन्छन् भने, तैँले चाहेमा तिनीहरूलाई त्यो कुरा सापट दिन सक्छस्, वा नचाहेमा इन्कार गर्न सक्छस्; निर्णय तेरो हो। तिनीहरूलाई सापटी दिनु दयाको कार्य हो; दिन इन्कार गर्नु तेरो अधिकार हो। यदि तिनीहरूले “के हामी सबै दाजुभाइ-दिदीबहिनीहरू होइनौँ र? कति लोभी, केही कुरा सापटीसमेत दिन इच्छुक नहुने!” भनेर भन्छन् भने, तैँले यस्तो जवाफ दिन सक्छस्: “यो मेरो सम्पत्ति हो, र यो सापटी नदिने अधिकार मसँग छ। यो सिद्धान्तहरू अनुरूप छ। ‘हामी सबै दाजुभाइ-दिदीबहिनीहरू हौँ’ भनेर मलाई दबाब नदेऊ; तिमीले जे भनिरहेका छौ त्यो सत्यता होइन। परमेश्‍वरले ‘तैँले तिनीहरूलाई यो कुरा सापटी दिनैपर्छ’ भनेर भन्‍नुभयो भने मात्र, म तिमीलाई यो कुरा सापटी दिनेछु।” मण्डलीको वा “हामी सबै विश्‍वासीहरू र सबै दाजुभाइ-दिदीबहिनीहरू हौँ” भन्‍ने विचारको ढोँगका आधारमा कसैसँग पनि व्यक्तिगत सम्पत्तिको शोषण गर्ने वा सापटी लिने अधिकार हुँदैन। के यो सत्यता हो? (हो।) सत्यता यही हो। यो सत्यता पालन गरेर मात्रै सबैका लागि निष्पक्षता सुनिश्‍चित गर्न सकिन्छ, र सबैले आफ्ना साँचो अधिकारहरूको आनन्द उठाउन सक्छन्। तर यदि कसैले व्यक्तिगत सामानहरूको शोषण गर्न गर्न वा सापटी लिनका लागि “परमेश्‍वरको घरको कामका आवश्यकताहरू,” “मण्डलीको कामका आवश्यकताहरू,” वा “दाजुभाइ-दिदीबहिनीहरूका आवश्यकताहरू” जस्ता बहानाहरू प्रयोग गर्छ भने, के यो सत्यता अनुरूप हुन्छ? (हुँदैन।) के तँ सत्यता अनुरूप नरहेका अनुरोधहरूलाई इन्कार गर्न हकदार हुन्छस्? (हुन्छु।) अनि यदि तैँले यसरी दिन इन्कार गरेकोमा, कसैले तँलाई कन्जुस वा लोभी भनेर संज्ञा दियो भने, के तँ डराउनेथिइस्? (अहँ।) यदि कसैले यसलाई ठूलो कुरा बनाएमा, तैँले मण्डलीको कामलाई समर्थन गर्दैनस् वा तँमा दाजुभाइ-दिदीबहिनीहरूप्रति प्रेमको कमी छ भनेर दाबी गरेमा, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई इन्कार गरे र एकल्याए भने, के तँ डराउनेथिइस्? तँ पछि हट्नेथिइस्। त्यो बेला, तैँले सोच्नेथिइस्, “गाडी चलाउन दिनु कुन ठूलो कुरा हो र? चाहे मण्डली, परमेश्‍वरको घर, वा दाजुभाइ-दिदीबहिनीहरूले चलाउन मागे भने पनि, त्यो ठीकै हुन्छ। दाजुभाइ-दिदीबहिनीहरूलाई नचिढ्याउनु नै राम्रो हो। एउटा व्यक्तिलाई चिढ्याउनु डरलाग्दो कुरा होइन, तर यदि सबै दाजुभाइ-दिदीबहिनीहरू चिढिए, र मप्रति तिनीहरूको हृदय कठोर भयो, जसले गर्दा म अलग्गिएँ भने, मैले के गर्ने?” तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, डराउनुपर्ने के छ र? तिनीहरूले तँलाई अलग्याएको अर्थ तिनीहरूसँग सत्यता छ वा तिनीहरूका कार्य सत्यता अनुरूप छन् भन्‍ने हुँदैन। सत्यता सधैँ सत्यता नै हुन्छ। यसमा अल्पसङ्ख्यक मानिसहरू सहमत भए पनि वा अधिकांश मानिसहरू सहमत भए पनि, यो सत्यता नै हो। सत्यताविना, यदि अल्पसङ्ख्यक बहुसङ्ख्यकमा समर्पित भए भने पनि, यो सत्यता हुँदैन। यो कसैले पनि इन्कार गर्न नसक्‍ने तथ्य हो। कसैसँग सत्यता वास्तविकता छ कि छैन भन्‍ने कुरा उसले कति राम्ररी बोल्छ भन्‍ने कुरामा निर्भर हुँदैन, बरु उसले सत्यता अभ्यास गर्न र सिद्धान्तहरू अनुसार कार्य गर्न सक्छ कि सक्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। उदाहरणका लागि, तैँले आफ्नो कर्तव्य पूरा गर्ने उद्देश्यले नयाँ कम्प्युटर किनिस्, र कसैले यो मण्डलीको कामका लागि हो भनेर दाबी गर्दै चलाउनका लागि सापटी लिन चाहन्छ। तैँले उसलाई सापटी दिन इन्कार गर्छस्, र उसले भन्छ: “तिमीमा प्रेमको कमी छ, तिमी परमेश्‍वरलाई प्रेम गर्दैनौ, तिमी आफूलाई त्याग गर्दैनौ। तिमी यति थोरै त्यागसमेत गर्न सक्दैनौ।” के यी शब्दहरू सही छन्? के ती सत्यता अनुरूप छन्? (छैनन्।) तैँले यस्तो प्रतिक्रिया दिनुपर्छ: “कम्प्युटर मेरो कर्तव्य पूरा गर्नका लागि हो। मैले हाल आफ्नो कर्तव्य पूरा गरिरहेको छु, त्यसकारण म कम्प्युटरविना बस्न सक्दिनँ। यदि तिमीले मेरो कम्प्युटर सापटी लग्यौ भने, के त्यसले मेरो कर्तव्य निर्वाहमा असर गर्नेछैन र? के त्यो सत्यता अनुरूप हुनेछ? तिमीलाई ठ्याक्कै केका लागि कम्प्युटर आवश्यक पर्‍यो? तिमी यो मण्डलीको कामका लागि हो भनेर भन्छौ; यदि त्यसो हो भने, तिमीले यसलाई प्रमाणित गर्न कसैलाई खोज्नुपर्छ। त्यसमाथि, मण्डलीको कामका लागि भए पनि, तिमीले मसँग मागेर लग्नु हुँदैन। यदि तिमीले मेरो कम्प्युटर लग्यौ भने, मैले आफ्नो कर्तव्य पूरा गर्न के प्रयोग गर्ने? त्यो तिम्रो अत्यन्तै स्वार्थी व्यवहार हो! मण्डलीको कामका आवश्यकताहरूलाई फाइदा उठाउने बहानाका रूपमा दुरुपयोग नगर, म त्यस्तो कुराको फन्दामा पर्नेछैनँ। मलाई सुझबुझको कमी भएको अलमल्ल व्यक्ति नठान; तिमीले फाइदा उठाउन खोजिरहेका छौ, तर त्यस्तो हुनेछैन!” शैतानको पासोमा पर्नबाट जोगिनका लागि, त्यस्ता मानिसहरूसँग यसरी बोल्नु आवश्यक हुन्छ। के यो समस्या समाधान गर्न सजिलो छ? तैँले सत्यता बुझेपछि र सिद्धान्तहरू अनुसार कार्य गरेपछि, तैँले अरूले के भन्छन् भन्ने कुराको डर मान्नु पर्नेछैन। तिनीहरूले तँलाई झूटो संज्ञा दिए पनि ध्यान नदे; तिनीहरूले फलाक्ने त्यो थोरै धर्मसिद्धान्तले कसैलाई पटक्‍कै विश्‍वस्त बनाउनेछैन। यसरी फाइदा उठाउन मन पराउने मानिसहरूको मानवताका प्रकटीकरणहरू र तिनीहरूलाई सम्हाल्ने सिद्धान्तहरूका बारेमा यसरी सरल रूपमा सङ्गति गरिएको छ।

मण्डलीमा रहेका फाइदा उठाउन मन पराउने मानिसहरूका हकमा भन्दा, एक हिसाबमा, मानिसहरूले तिनीहरूलाई अझै सही र व्यावहारिक रूपमा खुट्ट्याउनुपर्छ, र अर्को हिसाबमा, मानिसहरूले सत्यता बुझ्नैपर्छ; तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने बारेमा लिनुपर्ने अडान, तिनीहरूले गर्नुपर्ने काम, तिनीहरूले कायम राख्नुपर्ने सिद्धान्तहरू, र मानिसहरू, घटनाहरू, र कामकुराहरूप्रति तिनीहरूमा हुनुपर्ने मनोवृत्तिका बारेमा तिनीहरू हृदयमा स्पष्ट हुनैपर्छ। भीडलाई नपछ्या, न त मानिसहरूलाई चिढ्याउँछु भन्‍ने डर नै मान्, र विशेष गरी निश्‍चित व्यक्तिहरूलाई खुसी पार्नका लागि तैँले पालना गर्नुपर्ने सिद्धान्त र राख्नुपर्ने अडान त्यागेर मानिसहरूलाई खुसी पार्ने, तर परमेश्‍वरको हृदयमा चोट पुर्‍याउने, परमेश्‍वरलाई तँलाई तिरस्कार गर्न नलगा। यदि यो सिद्धान्तहरू अनुरूपको कार्य हो भने, तैँले यसो गर्दा मानिसहरू चिढिए भने पनि वा पिठ्युँपछाडि तँ आलोचित हुने भए पनि, त्यसको कुनै असर हुँदैन; तर, यदि यो सिद्धान्तहरू अनुरूपको कार्य होइन भने, यसो गरेर तैँले सबैको अनुमोदन र साथ प्राप्त गरे पनि, र तँ सबैसँग मिले पनि—एउटा कुरा के हो भने, तैँले परमेश्‍वरसामु यसको हिसाबकिताब दिन सक्दैनस्—तैँले घाटा भोगेको हुन्छस्। यदि तैँले बहुसङ्ख्यकसँग सम्बन्धहरू कायम राख्छस्, तिनीहरूलाई खुसी र सन्तुष्ट पार्छस् र तिनीहरूको प्रशंसा कमाउँछस्, तर परमेश्‍वरलाई, सृष्टिकर्तालाई चिढ्याउँछस् भने, तँ महामूर्ख होस्। त्यसकारण, तैँले जे गरे पनि, त्यो सिद्धान्तहरू अनुरूप छ कि छैन, त्यसले परमेश्‍वरलाई प्रसन्न पार्छ कि पार्दैन, त्यसप्रति परमेश्‍वरको मनोवृत्ति के हो, मानिसहरूले कस्तो अडान लिनुपर्छ, मानिसहरूले के-के सिद्धान्तहरू कायम राख्नुपर्छ, परमेश्‍वरले कसरी निर्देशन दिनुभएको छ, र तैँले त्यो कार्य कसरी गर्नुपर्छ भन्‍ने कुरा तैँले स्पष्ट रूपमा बुझ्नैपर्छ—तँ सुरुमा यसबारे स्पष्ट हुनुपर्छ। अरूसँगका तेरा सङ्गतहरू र अरूसँगका तेरा भौतिक आदानप्रदान र व्यवहारहरू—के यी कुराहरू सिद्धान्तहरू अनुरूप जगमा निर्मित छन् त? के ती परमेश्‍वरलाई प्रसन्न पार्ने जगमा निर्मित छन्? छैनन् भने, तैँले गर्ने सबैकुरा, तैँले त्यसलाई जति नै राम्ररी सम्हाले पनि, तैँले त्यो जति सिद्ध रूपमा गरे पनि, वा तैँले अरूबाट जति धेरै प्रशंसा प्राप्त गरे पनि, परमेश्‍वरले ती कुरालाई याद गर्नुहुनेछैन। त्यसकारण, कसैसँगको तेरो सङ्गत र अन्तरक्रियाका सिद्धान्तहरू तिनीहरूले तँबाट फाइदा उठाउँछन् कि उठाउँदैनन् वा तैँले तिनीहरूबाट फाइदा उठाउँछस् कि उठाउँदैनस् भन्‍ने कुरासँग सम्बन्धित हुनु हुँदैन—ती कुराहरू यो जगमा निर्माण हुनु हुँदैन। बरु, यी सिद्धान्तहरू तिमीहरूले गर्ने कार्य सत्यता सिद्धान्तहरू अनुरूप छ कि छैन भन्‍ने कुरासँग सम्बन्धित हुनुपर्छ। त्यसपछि मात्रै यसलाई “परमेश्‍वरमाथिको हाम्रो विश्‍वासका आधारमा” भनेर साँचो रूपमा मान्‍न सकिन्छ; त्यसपछि मात्रै तैँले “हामी सबै विश्‍वासीहरू, सबै दाजुभाइ-दिदीबहिनीहरू हौँ” भनेर भन्‍न सक्छस्; त्यसपछि मात्रै तैँले यसलाई पूर्वधारणा रूपमा लिन सक्छस्। जीवन प्रवेश, कर्तव्य, र मण्डलीको कामसँग सम्बन्धित मामलाहरू बाहेक, अरू कुनै पनि अन्तरक्रिया “दाजुभाइ-दिदीबहिनीहरू” भन्‍ने पूर्वधारणामा आधारित हुनु हुँदैन। यदि यसमा कर्तव्य, जीवन प्रवेश, वा मानिसहरूबीचका सामान्य अन्तरक्रियाहरू समावेश हुँदैनन्, तर कसैले सधैँ निश्‍चित उद्देश्य हासिल गर्नका लागि “दाजुभाइ-दिदीबहिनीहरू” भन्ने ढोँगलाई बहानाका रूपमा प्रयोग गर्छ भने, उसले निःसन्देह रूपमा नै त्यस्ता अभिव्यक्ति, विधि, र फाइदाजनक अवस्थाहरूलाई आफ्नो व्यक्तिगत लाभका लागि फाइदा उठाउने र षड्यन्त्र रच्ने बहानाका रूपमा प्रयोग गर्न खोजिरहेको हुन्छ। परमेश्‍वरका चुनिएका मानिसहरू यसबारे सतर्क हुनुपर्छ, र धोकामा पर्नबाट जोगिनका लागि त्यस्ता समस्याहरूलाई बुद्धिले सम्बोधन गर्नुपर्छ। किनभने मण्डलीका धेरैजसो मानिसहरूले सत्यता बुझ्दैनन्, र कति जना त सिद्धान्तहरूविना काम गर्ने र लापरवाह दुष्कर्म गर्ने अविश्‍वासीहरूसमेत हुन्छन्। तिनीहरूले “दाजुभाइ-दिदीबहिनीहरू” को भेषमा कामकुरा गर्दा यसले मण्डलीको काममा सबैभन्दा सजिलै असर गर्छ र बाधा दिन्छ। आज यो सब भन्‍नुको उद्देश्य के हो? यो अरूसँगको कुराकानीमा होस् वा अन्तरक्रियामा होस्, जग सत्यता सिद्धान्तहरूमा आधारित हुनुपर्छ भन्‍ने कुरा स्पष्ट पार्नका लागि हो। यसले मानिसहरूका बीचमा अनुचित व्यवहारहरू हुनबाट रोक्छ; अवश्य नै, यसले फाइदा उठाउन मन पराउनेहरूलाई शोषण गर्नका लागि छिद्रहरू खोज्नबाट पनि रोक्छ, र सँग-सँगै आफ्नो इज्जतप्रति अत्यन्तै चिन्तित वा कमजोर मानवता रहेकाहरूलाई सधैँ फाइदा उठाइनबाट, सधैँ ठगिनबाट, र सधैँ नोक्सानी भोग्‍नबाट पनि रोक्छ। कतिपय मानिसहरूले—तिनीहरूको परिवारका परिस्थितिहरूको स्पष्ट कठिनाइका बाबजुद पनि—फाइदा उठाउन मन पराउने व्यक्तिले सापटी माग्दा, आफूले ती मानिसहरूलाई उच्च मान्ने हुनाले तिनीहरूलाई नै रोजेको दाबी गर्दै, आफ्नो मेहनतले कमाएको पैसा सापटी दिन्छन्, र आफ्नै नोक्सान गरेर “बहादुरी” देखाउँछन्। पैसा सापटी दिइएपछि के हुन्छ? सापटी लिने व्यक्ति हराउँछ। त्यसपछि, सापटी दिने व्यक्तिले आफूलाई सुरक्षा नदिनुभएकोमा परमेश्‍वरबारे गुनासो गर्छ। के यो समझ हुनु हो? के तैँले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ तैँले कुनै काम गर्दा सोच्नु पर्दैन, परमेश्‍वरले सबै कुरा सम्हाल्नुहुनेछ भन्‍ने सोच्थिस्? के त्यसले तँलाई काम नलाग्ने व्यक्ति बनाउँदैन र? परमेश्‍वरले मानिसहरूबाट तिनीहरू इमानदार, बुद्धिमानी होऊन्, र तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार काम गरून् भन्ने माग गर्नुहुन्छ। के तँ यो बुझ्न सक्दैनस्? यदि तँ यी सत्यता सिद्धान्तहरू अनुसार काम गर्दैनस् भने, तँ सधैँ घाटा भोग्‍न र धोकामा पर्न नै लायक हुन्छस्। अन्त्यमा, जब तेरो जीवनमा कुनै उम्कने बाटो हुँदैन, तब तैँले कसलाई दोष दिन सक्छस्? तैँले आफै आफूमाथि त्यो कुरा ल्याएको होस्। तेरा कार्यहरू प्रेमका कारण थिएनन्; ती मूर्खतापूर्ण थिए! तैँले ठगलाई प्रसन्न पार्न पैसा सापटी दिइस्, तर जब तँलाई पैसा चाहिन्छ, तब के तैँले परमेश्‍वरको घरबाट पैसा माग्‍न सक्छस्? के परमेश्‍वरको घरले तेरा लागि यो जिम्मेवारी वहन गरिदिनुपर्छ? परमेश्‍वरको घरले यो खर्च बेहोरिदियोस् भन्‍ने अपेक्षा गरेर, के तँ परमेश्‍वरप्रति ऋणी भइरहेको हुँदैनस् र? जीवनमा कुनै उम्कने बाटो नहुँदा, तैँले कसरी आफ्नो कर्तव्य पूरा गर्न सक्छस्? यदि तैँले परमेश्‍वरलाई प्रार्थना गरिस् भने, परमेश्‍वरले तँलाई सन्तुष्ट नपार्नुहोला; यो त तैँले आफ्नो कर्मको फल पाएको हुनेछ, र यो तैँले पाउन लायक कुरा हुनेछ। तँलाई यति मूर्ख बन्‍न कसले भन्यो! के परमेश्‍वरले तँलाई त्यो व्यक्तिलाई भरोसा गर्न भन्नुभएको थियो? के उहाँले तँलाई त्यस व्यक्तिलाई पैसा सापटी दिन भन्नुभएको थियो? उहाँले भन्नुभएको थिएन; यो तेरो व्यक्तिगत कार्य थियो, यसले परमेश्‍वरको अभिप्रायलाई प्रतिनिधित्व गर्दैनथ्यो। यदि तेरा व्यक्तिगत कार्यहरू त्रुटिपूर्ण छन् र तिनले प्रतिकूल परिणामहरू ल्याउँछन् भने, तैँले आफै मात्रै जिम्मेवारी वहन गर्न सक्छस्। तैँले किन परमेश्‍वरको घरलाई जिम्मेवार बनाउनुपर्छ, वा परमेश्‍वरलाई तेरा लागि उत्तरदायी बनाउनुपर्छ र? परमेश्‍वरले तँलाई सुरक्षा नदिनुभएकोमा किन गुनासो गर्ने? तँ वयस्क होस्; तँमा किन अपेक्षा गरिएको मूल्याङ्कन क्षमताको कमी छ? के तैँले तँसँग पैसा माग्‍ने समाजका जोकोहीलाई पैसा सापटी दिनेथिइस्? तैँले यसबारे सोच्नुपर्छ, होइन र? कसैले अनुरोध गर्दा “दाजुभाइ-दिदीबहिनीहरू” भन्ने शीर्षक उल्लेख गर्‍यो भन्दैमा तैँले किन उसलाई पैसा सापटी दिनेथिइस् र के यसले तँ बुद्धू छस् भन्‍ने देखाउँदैन र? तँ बुद्धू मात्रै होइनस्, तँ मूर्ख होस्; महामूर्ख! के तँलाई सबै दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गरिरहेका छन्, तिनीहरू सबैले सत्यता बुझ्छन् भन्‍ने लाग्छ? तिनीहरूमध्ये कम्तीमा पनि एक तिहाइले सत्यतालाई प्रेम गर्दैनन्, र तिनीहरू अविश्‍वासीहरू हुन्। के तैँले यो कुरा खुट्ट्याउन सक्दैनस् र? के तँलाई सबै दाजुभाइ-दिदीबहिनीहरू परमेश्‍वरको मुक्तिका पात्रहरू हुन्, तिनीहरू साँच्‍चै नै परमेश्‍वरद्वारा चुनिएका हुन् भन्‍ने लाग्छ? के तँलाई “धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ” भन्‍ने थाहा छैन र? दाजुभाइ-दिदीबहिनीहरूले कसलाई प्रतिनिधित्व गर्छन्? तिनीहरूले भ्रष्ट मानवजातिलाई प्रतिनिधित्व गर्छन्! यदि तैँले तिनीहरूलाई भरोसा गरिस् भने, के तँ मूर्ख भइरहेको हुँदैनस् र? तेरा व्यक्तिगत कार्यहरूले जे-जस्ता प्रतिकूल परिणामहरू ल्याए पनि, परमेश्‍वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूलाई खोज्दै नजा; तँलाई कसैले पनि जोगाउन सक्दैन, न त कसैसँग तेरा लागि जिम्मेवारी वह गरिदिने दायित्व नै हुन्छ। तैँले तीतोपन पैदा गरिस्, तैँले नै यसलाई वहन गर्नुपर्छ; जवाफदेहिता तेरो नै हुन्छ। यसका साथै, यी मामलाहरूलाई सङ्गति र छलफलका लागि मण्डली जीवनमा ल्याउने नगर्; कसैले पनि यो कुरा सुन्‍न चाहँदैन, र तेरा भद्रगोल मामलाहरू सम्हाल्ने दायित्व अरूको हुँदैन। यदि कसैले साँच्‍चै नै तँलाई सहयोग गर्न चाहन्छ भने, तिमीहरू दुवै जनाले यसलाई निजी रूपमा समाधान गर्न सक्छौ। बुझ्यौ?

यी मामलाहरूबारे सङ्गति गर्दा यसले मानिसहरूका लागि सम्झौटोका रूपमा काम गर्छ, तिनीहरूको ज्ञानलाई फराकिलो बनाउँछ, र तिनीहरूका लागि चेतावनीको घण्टी बजाउँछ, जसले परमेश्‍वरमा विश्‍वास गर्नेहरूका बीचमा सबै प्रकारका मानिसहरू हुन्छन् भन्‍ने कुरा स्पष्ट गर्छ। तिमीहरूले एउटा महत्त्वपूर्ण कुरा याद गर्नैपर्छ, जुन कुरा मैले पहिले पनि धेरै पटक उल्लेख गरेको छु: परमेश्‍वरमा विश्‍वास गर्नेहरू भ्रष्ट मानवजातिबाट चुनिएका हुन्छन्। यसले के जनाउँछ? यसले हरेक व्यक्तिलाई शैतानले भ्रष्ट तुल्याएको छ, हरेक व्यक्तिमा भ्रष्ट स्वभाव हुन्छ र उसले विभिन्‍न हदसम्‍म दुष्कर्म गर्न सक्छ, र सही प्रसङ्गभित्र, उसले परमेश्‍वरको प्रतिरोध गर्ने कामकुराहरू गर्न सक्छ भन्ने जनाउँछ। हामीले भर्खरै सङ्गति गरेका, तथ्य र झूटहरूलाई उल्ट्याउने र फाइदा उठाउन मन पराउने कार्य विश्‍वासीहरूले नै गर्छन्; गैर-विश्‍वासीहरू हाम्रा लागि असान्दर्भिक छन्, त्यसकारण हामी यहाँ तिनीहरूलाई उल्लेख गर्नेछैनौँ। हामीले सङ्गति गरेका मानवताका यी प्रकटीकरणहरू ठ्याक्कै परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूका प्रकटीकरणहरू नै हुन्। त्यसकारण, “दाजुभाइ-दिदीबहिनीहरू” को पदलाई भव्य, कुलीन, वा पवित्र र उल्लङ्घन गर्न नसकिने कुराका रूपमा नहेर्। यदि तैँले त्यसो गरिस् भने, त्यो तेरो मूर्खता हो। परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभएको छैन, “दाजुभाइ-दिदीबहिनीहरू बहुमूल्य छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनी बनेपछि, तिनीहरू पवित्र पारिएका हुन्छन्, तिनीहरू परमेश्‍वरका विश्‍वासपात्र, पूर्ण रूपमा भरपर्दा बन्छन्; तैँले तिनीहरूलाई पूर्ण रूपमा भरोसा गर्न सक्छस्, र तिनीहरूले भन्ने वा गर्ने जुनै पनि कुरा सत्यता हुन्छ।” यस्तो कहिल्यै भएको छैन; यी तेरा धारणा र कल्पनाहरू हुन्। यदि तँ अझै पनि पनि “दाजुभाइ-दिदीबहिनीहरू” भन्‍ने पदको पछाडि रहेको वास्तविक अर्थ देख्‍न सक्दैनस् भने, तँ साँच्‍चै नै मूर्ख छस्; तैँले व्यर्थैमा यतिका वर्ष प्रवचनहरू सुनिस्। तैँले आफू कस्तो प्रकारको व्यक्ति हुँ भन्‍ने समेत पत्ता लगाएको छैनस्, तैपनि तँ अरूलाई यति विश्‍वास गर्छस्, तिनीहरूलाई—दाजुभाइ-दिदीबहिनीहरूलाई—त्यस्तो पवित्र र भव्य ठान्छस्, “दाजुभाइ-दिदीबहिनीहरूलाई यो कुरा मन पर्दैन,” “दाजुभाइ-दिदीबहिनीहरू रिसाएका छन्”, “दाजुभाइ-दिदीबहिनीहरूलाई कष्ट भइरहेको छ”, “दाजुभाइ-दिदीबहिनीहरू यो र त्यो” भन्दै बकबक गरिरहन्छस्, स्‍नेहका साथ दाजुभाइ-दिदीबहिनीहरूका बारेमा कुरा गर्छस्। के तैँले परमेश्‍वरका वचनहरूमा कहीँकतै पनि दाजुभाइ-दिदीबहिनीहरू अत्यन्तै कुलीन र पवित्र, र भरपर्दा हुन्छन् भनेर लेखिएको देखेको छस्? त्यस्तो एउटा वाक्य पनि छैन, होइन र? त्यसोभए तँ किन तिनीहरूलाई त्यसरी हेर्छस्? त्यसले तँलाई सीधै मूर्ख बनाउँछ। त्यसकारण, तैँले दाजुभाइ-दिदीबहिनीहरूबाट जति नै धेरै हानि वा घाटा भोगे पनि, यो पूर्ण रूपमा तेरो आफ्नै गल्ती हो। अन्त्यमा, तैँले भोग्‍ने घाटा र बेफाइदाहरूलाई शिक्षण शुल्क ठान्। यो तैँले सिक्‍नुपर्ने पाठ हो। तिमीहरूले सधैँ यो कुरा याद गर्नैपर्छ: दाजुभाइ-दिदीबहिनीहरूले सत्यतालाई प्रतिनिधित्व गर्दैनन्, तिनीहरूले परमेश्‍वरलाई प्रतिनिधित्व गर्नु त परको कुरा हो; तिनीहरू परमेश्‍वरका घनिष्ठहरू, परमेश्‍वरका साक्षीहरू, वा परमेश्‍वरका प्रिय छोराछोरीहरू सरह होइनन्। दाजुभाइ-दिदीबहिनीहरू को हुन्? तिनीहरू पनि तँ जस्तै भ्रष्ट मानिसहरू हुन्; तिनीहरूसँग परमेश्‍वरका बारेमा धारणाहरू हुन्छन्, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, सत्यताप्रति वितृष्ण हुन्छन्, तिनीहरूसँग अहङ्कारी स्वभाव हुन्छ, क्रूर र दुष्ट स्वभाव हुन्छ, तिनीहरूले आफूलाई हरहिसाबमा परमेश्‍वरका शत्रुका रूपमा खडा गर्न, झाराटारुवा तरिकाले आफ्नो कर्तव्य पूरा गर्न, र परमेश्‍वरमा विश्‍वास गर्ने भेषमा अरू दाजुभाइ-दिदीबहिनीहरूबाट फाइदा समेत उठाउन सक्षम हुन्छन्। यो सब भन्‍नुको उद्देश्य के हो? यो तँ र दाजुभाइ-दिदीबहिनीहरूका बीचमा कलह रोप्नका लागि होइन, बरु तँलाई सबैको साँचो रङ्ग स्पष्ट रूपमा देख्‍न, “दाजुभाइ-दिदीबहिनीहरू” भन्‍ने पदलाई सही रूपमा लिन, तेरो वरिपरिका मानिसहरूलाई सही रूपमा लिन, र सबैसँग उचित अन्तरवैयक्तिक सम्बन्धहरू स्थापना गर्न सहयोग गर्नका लागि हो। दाजुभाइ-दिदीबहिनीहरूमाझ आफूलाई एक बनाउने उद्देश्यले व्यक्तिगत निगाहहरू, भौतिक आदानप्रदान, चापलुसी, चाटुकारिता, सहुलियत दिने, वा अरू त्यस्ता माध्यमहरूद्वारा अरूसँग असल सम्बन्धहरू स्थापना गर्ने वा कायम राख्‍ने प्रयास नगर्। यो अनावश्यक कुरा हो, र तैँले यस सन्दर्भमा गर्ने सबै कुरा परमेश्‍वरका लागि घृणित र तिरस्कार योग्य हुन्छ। त्यसोभए, मानिसहरूका बीचमा, जिउने सर्वोत्तम तरिका, जिउनका लागि हुनुपर्ने सबैभन्दा राम्रो मनोवृत्ति र सिद्धान्त के हो? यो परमेश्‍वरको वचन हो। परमेश्‍वरका वचनहरूले के भन्छन्? तिनले उचित र सामान्य अन्तरवैयक्तिक सम्बन्धहरू स्थापना गर्नू भनेर भन्छन्। यी सम्बन्धहरू कसरी स्थापित हुन्छन्? परमेश्‍वरका वचनहरूमा आधारित भएर अरूसँग अन्तरक्रिया गर्, बोल्, र सङ्गत गर्। उदाहरणका लागि, यदि कुनै व्यक्ति डेरा सरिरहेको छ र उसले तँसँग सहयोग गर्ने समय छ कि छैन भनेर तँलाई सोध्छ भने, यदि तँ इच्छुक छस् भने, तँ जान सक्छस्; यदि यसले तेरो कर्तव्यमा असर गर्नेछ भन्‍ने डरले तँ अनिच्छुक छस् भने, तैँले इन्कार गर्न सक्छस्। यो तेरो अधिकार हो र अवश्य नै, तैँले पालन गर्नुपर्ने सिद्धान्त पनि हो। तैँले तिनीहरूलाई चिढ्याउने वा दाजुभाइ-दिदीबहिनीहरूका बीचमा रहेको सद्भाव बिथोल्ने डरले मन नलागी-नलागी र दोधारमा परी सहमति जनाएर, पछि हृदयमा अनिच्छा महसुस गर्दै, त्यसको फलस्वरूप तेरो कर्तव्य निर्वाहमा असर गर्नेगरी कुनै सहुलियत दिनु आवश्यक छैन। त्यसो गर्नु सिद्धान्तहरू विपरीत हुन्छ भन्‍ने तँलाई राम्ररी थाहा छ, तैपनि तँ अरूलाई सन्तुष्ट पार्न र असल सम्बन्ध कायम राख्‍नका खातिर दासले जस्तै तिनीहरूलाई शोषण गर्न र हैकम चलाउन दिन्छस्। तैँले अरू मानिसलाई सन्तुष्ट पार्नु असल कार्य होइन, र परमेश्‍वरले यो कुरा याद गर्नुहुनेछैन। तैँले अन्तरवैयक्तिक सम्बन्धहरू कायम राख्‍न मात्रै यसो गरिरहेको हुन्छस्; तैँले मण्डलीको कामका खातिर वा आफ्नो कर्तव्य पूरा गर्नका खातिर कार्य गरिरहेको हुँदैनस्, यो तेरो जिम्मेवारी वा दायित्व हुनु त परको कुरा हो। परमेश्‍वरले कहिल्यै त्यस्ता कार्यहरू याद गर्नुहुनेछैन, र तैँले ती कार्यहरू गरे पनि, तँ ती व्यर्थमा गर्छस्। त्यसकारण, त्यस्ता कुराहरू सामना गर्दा, के तैँले कसरी छनौट गर्ने भनेर गम्भीरतापूर्वक र होसियारीसाथ ख्याल गर्नु पर्दैन र? कतिपय मानिसहरूसँग सहयोग माग्‍ने गरिन्छ, तर तिनीहरूको कर्तव्यले वास्तवमा तिनीहरूलाई निकै व्यस्त राख्छ, र तिनीहरूले बस भेलामा सहभागी हुन वा केही आत्मिक भक्तिका लागि समय मिलाउन सकेका हुन्छन्। तिनीहरू स्पष्ट रूपमा नै जान चाहँदैनन्, र सिद्धान्तहरू अनुसार, तिनीहरू जानु पनि हुँदैन। तर, तिनीहरूले आफ्नो इज्जतको धेरै वास्ता गर्ने हुनाले, तिनीहरू इन्कार गर्न सक्दैनन्। अन्त्यमा, के हुन्छ? तिनीहरू ती नीच र फाइदा खोज्ने व्यक्तिहरूलाई आफ्‍नो शोषण गर्न दिन्छन्, र आफ्नो जीवन प्रवेशमा अर्पण गर्नुपर्ने समय बरबाद गर्छन्। के त्यो घाटा होइन र? यो तिनीहरूले बेहोर्न लायक घाटा हो! यस्तो घाटा भोग्‍ने कार्य अरूको सहानुभूति वा दयाको हकदार पटक्‍कै हुँदैन। यो बेहोर्नुपर्ने घाटा हो भनेर किन भनिन्छ? कसले तँलाई परमेश्‍वरका वचनहरूलाई बेवास्ता गर्न लगायो? तँलाई मानिसहरूलाई चिढ्याउँछु कि भन्‍ने डर मान्‍न कसले लगायो? यदि तँलाई परमेश्‍वरका वचनहरू सुन्‍नुभन्दा मानिसहरूलाई नचिढ्याउन ठीक लाग्छ भने, तँ यो घाटाको हकदार छस्! कतिपय भन्छन्, “मानिसहरू शून्यतामा जिउँदैनन्; मानिसहरूका बीचमा अन्तरक्रिया हुनैपर्छ।” तैँले कसरी अन्तरक्रिया गर्छस् भन्‍ने कुरा महत्त्वपूर्ण हुन्छ। कुन सत्यता सिद्धान्तहरू अनुरूप छ, परमेश्‍वरका अभिप्रायहरू अनुरूप छ, र कुनले तेरो जीवन प्रवेशमा बढी फाइदा गर्छ: सिद्धान्तहरूमा आधारित अन्तरक्रिया, कि सिद्धान्तहरूविनाको अन्तरक्रिया, सबै कुरालाई सहज बनाउन प्रयास गर्ने अनि मानिसहरूलाई खुसी पारिहिँड्ने व्यक्ति बन्‍नु? तँलाई कुन छनौट गर्ने भन्ने थाहा छ, होइन र? यदि तँलाई कसरी छनौट गर्ने भन्‍ने थाहा छ, तैपनि तँ दलदलमा फस्छस् भने, अन्तिम परिणाम तैँले मात्रै वचन गर्नुपर्छ। के त्यो स्पष्ट छैन र? (छ।)

दुष्ट मानिसहरूको मानवताका अझै धेरै प्रकटीकरणहरू छन्, र आजको सङ्गति सीमित थियो, यो तथ्य र झूटहरूलाई उल्ट्याउन र अरूबाट फाइदा उठाउन मन पराउने पक्षहरूमा मात्रै केन्द्रित थियो। यी दुई पक्षहरूका बारेमा सुनेपछि मात्रै धेरैजसो मानिसहरूसँग केही भावना र सुझबुझ पैदा हुन्छ, र तिनीहरू यसो भन्‍न थाल्छन्, “त्यसोभए खराब मानवता त यस्तो पो हुने रहेछ!” तर मण्डलीमा यस्ता मानिसहरू वास्तवमै हुन्छन्, त्यसकारण के गर्नुपर्छ? तिनीहरूको उपस्थिति ठूलो समस्या होइन, किनभने मण्डलीमा सिद्धान्तहरू र प्रावधानहरू छन्; यसले त्यस्ता व्यक्तिहरूलाई सम्हाल्न उचित उपायहरू अपनाउन सक्छ। यी मामलाहरूका बारेमा गरिएको आजको सङ्गतिको उद्देश्य भनेको धेरैजसो मानिसहरूलाई यी दुई प्रकारका दुष्ट मानिसहरूका बारेमा स्पष्ट बुझाइ र सुझबुझ प्राप्त गर्न, अनि त्यसपछि तिनीहरूलाई निकाल्नका लागि सँगै काम गर्न सक्षम बनाउनु हो।

नोभेम्बर २०, २०२१

अघिल्लो: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२३)

अर्को: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२५)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्