अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२२)
यसअघि, हामीले अगुवा र कामदारहरूको तेह्रौँ जिम्मेवारी “परमेश्वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूको बाधा, बहकाउ, नियन्त्रण र हानिबाट जोगाउने र तिनीहरूलाई ख्रीष्टविरोधीलाई खुट्ट्याउन र आफ्नो हृदयबाट तिनीहरूलाई त्याग्न सक्ने बनाउने” बारे सङ्गति गर्यौँ। अब, यसको समीक्षा गरौँ: हामीले अगुवा र कामदारहरूको तेह्रौँ जिम्मेवारी सम्बन्धमा ठ्याक्कै कुनकुन विषयवस्तुबारे सङ्गति गर्यौँ? (हामीले पाँचवटा विषयवस्तुबारे सङ्गति गर्यौँ: खुलासा गर्ने, काटछाँट गर्ने, चिरफार गर्ने, प्रतिबन्ध लगाउने, र निगरानी गर्ने।) यी पाँचवटा विषयवस्तु नै अगुवा र कामदारहरूको यो जिम्मेवारीमा पर्ने निर्दिष्ट कार्यहरू हुन्; ख्रीष्टविरोधीहरू सम्बन्धमा अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने निर्दिष्ट कार्यहरू यिनै हुन्। त्यसोभए, यी कार्यहरू सम्बन्धमा झूटा अगुवाहरूमा केकस्ता प्रकटीकरणहरू हुन्छन्? के हामीले यसअघि केही विवरणबारे पनि सङ्गति गर्यौँ? (गर्यौँ।) झूटा अगुवाहरूका प्रकटीकरणहरू यसप्रकार छन्: पहिलो, तिनीहरू मानिसहरूलाई चिढ्याइएला कि भनेर डराउँछन् र ख्रीष्टविरोधीहरूलाई निकाल्ने वा निष्कासित गर्ने आँट गर्दैनन्। दोस्रो, तिनीहरू ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्दैनन्। तेस्रो, तिनीहरू ख्रीष्टविरोधीहरूका लागि सुरक्षा कवचका रूपमा काम गर्छन्। चौथो, तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूप्रति गैरजिम्मेवार हुन्छन्। गैरजिम्मेवारी भनेको कस्तो हुन्छ? ख्रीष्टविरोधीहरूबाट बाधा र बहकाउ सामना गर्दा, झूटा अगुवाहरूले दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्न सक्दैनन्, ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरू खुलासा गर्न सक्दैनन्, शैतानका षड्यन्त्रहरू खुलासा गर्न सक्दैनन्, र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन दाजुभाइ-दिदीबहिनीहरूलाई सत्यता सङ्गति गरेर मदत गर्न सक्दैनन्—तिनीहरू त्यस्तो काम गर्दै गर्दैनन्। यसका साथै, सानो कद भएका र सुझबुझको कमी भएका मानिसहरू जो ख्रीष्टविरोधीहरूको बहकाउमा पर्छन्, तिनीहरूले पुनः लाभका कुनै पनि काम गर्न नसक्ने मात्र नभई, “तिनीहरू त्यसकै लायक थिए।” भन्नेजस्ता अमानवीय कुराहरूसमेत बोल्ने गर्छन्। यो गैरजिम्मेवारीको एउटा ठेट प्रकटीकरण हो, जसले झूटा अगुवाहरूमा मण्डलीको कामप्रति कुनै बोझको बोध हुँदैन भन्ने जनाउँछ। यी प्रकटीकरणहरू ख्रीष्टविरोधीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई बहकाउँदा र बाधा दिँदा झूटा अगुवाहरूले अपनाउने निर्दिष्ट व्यवहार र शैलीहरू हुन्। यो कामप्रति तिनीहरूको निर्दिष्ट मनोवृत्ति भनेको गैरजिम्मेवारी र अबफादारी हो। तिनीहरू विभिन्न बहानाहरू बनाउँछन् र ख्रीष्टविरोधीहरूलाई हरियो झन्डा देखाउन विभिन्न विधिहरू प्रयोग गर्छन्, र ख्रीष्टविरोधीहरूको सुरक्षा कवच भएर काम गर्छन्, जबकि मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूका अधिकार र हितहरूको सुरक्षा गर्न सक्दैनन्। यदि झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई बाधा दिने, बहकाउने, नियन्त्रण गर्ने र गम्भीर हानि गर्नेजस्ता समस्याहरू तुरुन्तै समाधान गरेर, त्यसपछि ख्रीष्टविरोधीहरूलाई प्रतिबन्ध गर्न, अलग्याउन, र निकाल्न वा निष्कासित गर्न सक्थे भने, परमेश्वरका चुनिएका मानिसहरूले सबैभन्दा ठूलो सुरक्षा पाउनेथिए। तर अगुवाका रूपमा तिनीहरू यो कामका निम्ति अयोग्य हुन्छन्। एउटा निश्चित दृष्टिकोणबाट, के भन्न सकिन्छ भने तिनीहरूले अप्रत्यक्ष रूपमा ख्रीष्टविरोधीहरूको सुरक्षा गरिरहेका र तिनीहरूका लागि मार्ग निर्माण गरिरहेका हुन्छन्, ताकि तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई बहकाउन, नियन्त्रण गर्न, र हानि गर्न, साथै सामान्य मण्डली जीवन र परमेश्वरका चुनिएका मानिसहरूको कर्तव्यनिर्वाहमा बाधा दिन जारी राख्न सकून्। झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू यिनै हुन्।
विषयवस्तु चौध: सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै चिन्ने, अनि निकाल्ने वा निष्कासित गर्ने (भाग एक)
अगुवा र कामदारहरूको तेह्रौँ जिम्मेवारीबारे सङ्गति गरिसकेपछि, आज हामी चौधौँ विषयवस्तुबारे सङ्गति गर्नेछौँ। चौधौँ जिम्मेवारीको विषयसामग्री कतिपय हिसाबले तेह्रौँ जिम्मेवारीसँग मिल्दोजुल्दो छ। चौधौँ जिम्मेवारीमा अगुवा र कामदारहरूले गर्नुपर्ने विशिष्ट काम ख्रीष्टविरोधीहरूसँग सम्बन्धित मात्र नभई यसले विभिन्न दुष्ट मानिसहरूलाई पनि समेट्छ, जसले यसको दायरा तेह्रौँ जिम्मेवारीभन्दा झन् फराकिलो बनाउँछ। चौधौँ जिम्मेवारीबारे सङ्गति गर्नुअघि, पहिला यसको विषयवस्तु पढौँ। (अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारी: “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै चिन्ने, अनि निकाल्ने वा निष्कासित गर्ने।“) यो वाक्य लामो छैन, तर अगुवा र कामदारहरूले गर्नुपर्ने विशिष्ट कामबारे कुरा गर्नुपर्दा, यो बाहिरबाट देखिएजस्तो सरल छैन। यो वाक्यमा उल्लेखित अगुवा र कामदारहरूका जिम्मेवारीहरू ठ्याक्कै केके हुन्? अगुवा र कामदारहरूले निर्वाह गर्नुपर्ने कामका लक्षित पात्र को हुन्? (विभिन्न दुष्ट मानिस र ख्रीष्टविरोधीहरू।) यसमा गर्नुपर्ने विशिष्ट काम के हो? (तिनीहरूलाई तुरुन्तै खुट्ट्याउने। खुट्ट्याइसकेपछि तिनीहरूलाई निकाल्ने वा निष्कासित गर्ने।) विलम्ब नगरी तुरुन्तै चिन्ने; सङ्केतहरू पहिचान गरिएपछि, सही मूल्याङ्कन र चित्रण गर्नुपर्छ, र त्यसपछि यसमा संलग्न व्यक्तिहरूलाई निकालेर निराकरण गर्नुपर्छ। वास्तवमा, अगुवा र कामदारहरूले गर्नुपर्ने विशिष्ट काममा दुइटा कार्य पर्छन्: मानिसहरू खुट्ट्याउने र समस्याहरू समाधान गर्ने। सतहमा, यो यति सरल देखिन्छ: पहिला खुट्ट्याउने, र त्यसपछि परमेश्वरको घरले निकाला वा निष्कासन गर्न आवश्यक ठानेका दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई लक्षित गरेर, तुरुन्तै समाधान र उपायहरू पत्ता लगाउने। यो दृष्टिकोणबाट हेर्दा, अगुवा र कामदारहरूका लागि यो काम राम्रोसँग गर्न र यो जिम्मेवारी पूरा गर्न सजिलो देखिन्छ, र यसमा खासै कठिनाइ देखिँदैन, किनभने परमेश्वरको घरले यसअघि विभिन्न मानिसहरूलाई खुट्ट्याउने र निकाल्नेसम्बन्धी विस्तृत कुराहरूबारे बृहत् रूपमा सङ्गति गरेको छ, र यो मामलाबारे धेरै कुरा गरिएको छ। सतहमा, चौधौँ जिम्मेवारीमा संलग्न काम कतिपय हिसाबले यसअघि सङ्गति गरिएका बाह्रौँ र तेह्रौँ जिम्मेवारीहरूको विशिष्ट विषयवस्तुसँग मिल्दोजुल्दो नै देखिन्छ, तर चौधौँ जिम्मेवारीमा अगुवा र कामदारहरूले गर्ने कामका लक्षित पात्रहरू ख्रीष्टविरोधीहरूप्रति मात्र नभई विभिन्न दुष्ट मानिसहरू पनि हुन्। यसले विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई समेट्न दायरा फराकिलो बनाउँछ, र यसले व्यवस्थित र विशिष्ट सङ्गति आवश्यक गराउँछ। यो एकप्रकारको दुष्ट व्यक्तिका प्रकटीकरणहरूबारे नभई विभिन्न प्रकारका व्यक्तिका प्रकटीकरणहरूबारे भएकोले, अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीबारे सङ्गति गर्दा, हामी यो कामका लक्षित पात्रहरू किटान गर्न केन्द्रित हुनेछौँ। यो एउटा पक्ष हो। यसका साथै, यी मानिसहरूलाई थक्कै कस्तो व्यवहार गर्ने—प्रतिबन्ध लगाउने, अलग गर्ने, निकाल्ने, कि निष्कासित गर्ने—भन्नेबारे अब हामी विस्तारमा सङ्गति गर्नेछौँ।
मण्डली भनेको के हो
यो कामबारे विस्तारमा सङ्गति गर्नुअघि, पहिला यससँग सम्बन्धित एउटा अतिरिक्त विषयबारे सङ्गति गरौँ। यो अतिरिक्त विषय चिरपरिचित पनि हुन सक्छ, वा तिमीहरूले निर्दिष्ट रूपमा बुझ्न नसकेको विषय पनि हुन सक्छ। यो विषय के हो? यो हो, “मण्डली भनेको के हो?” यो विषय कस्तो सुनिन्छ? कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “तपाईं अगुवा र कामदारहरूका जिम्मेवारीहरूबारे सङ्गति गरिरहनुभएको छ, त्यसैले विशिष्ट रूपमा त्यसबारे मात्र सङ्गति गर्नुहोस्। मण्डली भनेको के हो भन्नेबारे किन सङ्गति गर्नुहुन्छ? के त्यो यो विषयसँग सम्बन्धित छ र?” सतहमा, त्यो असम्बन्धित देखिएला, र कतिपयले त यसोसमेत भन्न सक्छन्, “यो त पूर्ण रूपमा असम्बन्धित विषय हो। सङ्गतिका लागि किन यो कुरा उठाउने?” तिमीहरूले जसरी सोचे पनि, यी सोचहरू पन्छाउँदै पहिला मण्डली भनेको के हो भन्नेबारे मनन गर। यो “मण्डली” शब्द, यो पदवीनामको परिभाषाबारे प्रस्ट सङ्गति गरिएपछि, तिमीहरूले हामी किन यो विषयबारे सङ्गति गरिरहेका छौँ भनेर थाहा पाउनेछौ।
अ. मण्डलीबारे कैयौँ बुझाइहरू
मण्डली भनेको के हो भन्नेबारे सङ्गति गर्नुको मतलब “मण्डली” पदवीनामबारे स्पष्ट र सही व्याख्या प्रदान गर्नु हो; यसको अर्थ “मण्डली” शब्दको विशिष्ट र सही परिभाषा सम्प्रेषण गर्नु हो। सुरुमा, तिमीहरूले “मण्डली” शब्दलाई कसरी बुझ्छौ र बोध गर्छौ भन्ने कुरा छलफल गर्न सक्छौ। मण्डली भनेको के हो? सैद्धान्तिक व्याख्याबाटै सुरु गरौँ र त्यसपछि अझ विशिष्ट र तुलनात्मक रूपमा व्यावहारिक परिभाषामा प्रवेश गरौँ। (मेरा बुझाइमा निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीहरू परमेश्वरको आराधना गर्नका लागि भेला हुने ठाउँलाई नै मण्डली भनिन्छ।) यो परिभाषाले मण्डली भनेको कस्तो ठाउँ हो भन्ने कुरा जनाउँछ; यो मूलतः एक ठोस र भौतिक संस्था हो। यो एक सैद्धान्तिक परिभाषा हो। के यो परिभाषा सही छ? के यसमा केही त्रुटिहरू छन्? सिद्धान्तको हिसाबले, यो परिभाषा स्वीकार्य छ। अरू कसले थप केही भन्न सक्छ? (म अलिकति थप्छु। परमेश्वरको देखापराइ र काम, साथै उहाँले सत्यता व्यक्त गर्नुहुने हुनाले, परमेश्वरलाई पछ्याउने मानिसहरूको एउटा समूह छ; तिनीहरू मिलेर बनेको जमातलाई नै मण्डली भनिन्छ।) यो परिभाषाले मण्डली कस्तो जमात हो भन्ने वर्णन गर्छ। यो पनि एउटा औपचारिक, सैद्धान्तिक परिभाषा नै हो। (म पनि थप्छु, यो समूहका मानिसहरूसँग पवित्र आत्माको काम हुन्छ, र जब तिनीहरू परमेश्वरका वचनहरू पढ्नका लागि भेला हुन्छन्, त्यहाँ पवित्र आत्माको अन्तर्दृष्टि हुन्छ, र तिनीहरू सत्यता अभ्यास गर्न र जीवनमा वृद्धि हुन सक्षम हुन्छन्। मण्डली भनेको त्यस्तै मानिसहरूको भेला हो।) मण्डलीको परिभाषामा थपिएको यो कुराले यो कस्तो प्रकारको भेला हो भनेर वर्णन गर्छ—यो भेलाका मापदण्डहरू परमेश्वरका वचनहरू खानु र पिउनु, पवित्र आत्माको काम हुनु, र जीवनमा वृद्धि हुनु हो। यो पनि मूलतः मण्डलीको एउटा औपचारिक, सैद्धान्तिक परिभाषा नै हो। अरू केही थप कुराहरू छन्? (यो मानिसहरूको त्यस्तो समूह हो जसले परमेश्वरका वचनहरूलाई अभ्यासको सिद्धान्तका रूपमा लिन्छ, र जो सत्यता र ख्रीष्टद्वारा शासित हुन्छ। यो समूहले परमेश्वरको काम अनुभव गर्न, सत्यता स्विकार्न, जीवनमा वृद्धि हुन, र मुक्ति पाउन सक्छ। यस्तो समूहलाई नै मण्डली भनिन्छ।) यो “समूह” भर्खरै उल्लेखित “जमात” सँग मिल्दोजुल्दो छ। अरू केही थप्नु छ? यदि तिमीहरूले थप्नुपर्ने कुरा छैन भने, माथि उल्लेखित चारवटा बुझाइहरू पुनरुक्ति गर्न सक्छौ; र त्यो भनेको तैँले परमेश्वरमा विश्वास गर्न सुरु गरेदेखि अहिलेसम्म ठ्याक्कै जे कुरालाई मण्डलीको परिभाषा ठानेको छस्, त्यही कुरा हो। यसलाई सैद्धान्तिक रूपमा परिभाषित गर्न सजिलो हुनुपर्छ, होइन र? उदाहरणका लागि, निष्कपट रूपमा परमेश्वरलाई पछ्याउने र आराधना गर्ने मानिसहरूको जमातलाई मण्डली भन्न सकिन्छ; वा परमेश्वरको इच्छा पछ्याउने, परमेश्वरप्रतिको समर्पण पछ्याउने, वा परमेश्वरको आराधना गर्ने समूहलाई मण्डली भन्न सकिन्छ; वा पवित्र आत्माको काम, पवित्र आत्माको मार्गदर्शन, र परमेश्वरको उपस्थिति भएको, साथै परमेश्वरको आराधना गर्न सक्षम समूहलाई मण्डली भन्न सकिन्छ। के यी मण्डलीका सैद्धान्तिक परिभाषा होइनन् र? (हुन्।) तिमीहरू सबैले मण्डलीको परिभाषाका यी मापदण्डहरू बुझेका र जानेका छौ, होइन र? (हजुर।) त्यसोभए, त्यो कुरा दोहोर्याएर भन। (मण्डलीले निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्ने र ख्रीष्टलाई पछ्याउने मानिसहरूको जमातलाई जनाउँछ। एउटा साँचो मण्डलीसँग पवित्र आत्माको काम र परमेश्वरको मार्गदर्शन हुन्छ; यो ख्रीष्ट र सत्यताद्वारा शासित हुन्छ, यो त्यही ठाउँ हो जहाँ परमेश्वरका अनुयायीहरूले परमेश्वरका वचनहरू खाने र पिउने, परमेश्वरको काम अनुभव गर्ने, र जीवन प्रवेश गर्ने गर्छन्। यो एउटा साँचो मण्डली हो। मण्डली धार्मिक समुदायहरूभन्दा फरक हुन्छ। मण्डली धार्मिक कर्मकाण्ड वा परमेश्वरको आराधना गर्ने बाह्य तरिकाहरूमा संलग्न हुँदैन।) यो मूलतः मण्डलीको सैद्धान्तिक परिभाषा हो। उदाहरणका लागि, मण्डलीलाई परमेश्वरले बोलाउनुभएका मानिसहरू भेला हुने ठाउँ भनेर परिभाषित गर्नु, वा मण्डलीलाई निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्ने, उहाँप्रति समर्पित हुने, र उहाँको आराधना गर्ने मानिसहरूको जमात भनेर परिभाषित गर्नु, वा मण्डलीलाई परमेश्वरले बोलाउनुभएका मानिसहरूको भेला, आदि इत्यादि भनेर परिभाषित गर्नु—यी पदवीनामहरूले मण्डलीबारे विश्वासीहरूका विभिन्न समूहका आधारभूत बुझाइ र परिभाषाहरू प्रतिबिम्बित गर्छन्। फरक-फरक धर्म र सम्प्रदायहरूले मण्डलीलाई ठ्याक्कै कसरी परिभाषित गर्छन् भन्ने कुरामा नजाऔँ—परमेश्वरलाई पछ्याउने हामीजस्ताका लागि, मण्डलीको परिभाषा के हो? यो निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्ने, पवित्र आत्माको काम र परमेश्वरको मार्गदर्शन हुने, र परमेश्वरका वचनहरू खान र पिउन, सत्यता पछ्याउन, परमेश्वरप्रतिको समर्पण पछ्याउन, र परमेश्वरलाई आराधना गर्न सक्ने मानिसहरूको समूहभन्दा बढी अरू केही होइन। यसलाई चाहे कुनै स्थान, जमात, भेला, समूह, समुदाय, वा अरू नै केही भनेर परिभाषित गरिए पनि—जस्तोसुकै शब्द प्रयोग गरिए पनि—परिभाषाका मापदण्डहरू मूलतः यिनै हुन्। मण्डलीसम्बन्धी मानिसहरूको आधारभूत बुझाइ मूल्याङ्कन गर्दा, अर्थात् तिमीहरूले “मण्डली” पदवीनामलाई परिभाषित गर्न प्रयोग गर्ने मापदण्डहरूलाई मूल्याङ्कन गर्दा, के प्रस्ट हुन्छ भने, मानिसहरूले परमेश्वरलाई पछ्याएपछि र केही सत्यताहरू बुझेपछि, तिनीहरूको बुझाइमा त्यस उप्रान्त मण्डली कुनै साधारण समुदाय वा समूह हुँदैन। बरु, यो त परमेश्वरमाथिको निष्कपट विश्वाससँग सम्बन्धित हुन्छ, परमेश्वरका वचनहरू पढ्ने, पवित्र आत्माको काम हुने, साथै परमेश्वरमा समर्पित हुन वा उहाँको आराधना गर्न सक्षम हुने, वा जीवन प्रवेश, स्वभाव परिवर्तन, परमेश्वरको गवाही दिने, आदि इत्यादि पक्षहरूसँग सम्बन्धित हुन्छ। यसलाई यो तरिकाले हेर्दा, परमेश्वरले आफ्नो काम गर्न थाल्नुभएपछि, “मण्डली” पदवीनामले धेरैजसो मानिसहरूको हृदयमा अझ गहन, विशिष्ट बुझाइ र बोध हासिल गरेको छ, जुन मण्डलीसम्बन्धी परमेश्वरको विचारसँग अझ निकट रूपमा अनुरूप छ। यो उप्रान्त कुनै भवन, सामाजिक समुदाय, विभाग, संस्था, वा अरू कुनै कुरा मात्र हुँदैन; बरु, यो परमेश्वरमा विश्वास गर्ने, परमेश्वरका वचनहरू, सत्यता र परमेश्वरको आराधना गर्नेजस्ता कुराहरूसँग सम्बन्धित हुन्छ।
आ. मण्डलीको अस्तित्वको महत्त्व र यसले गर्ने काम
मण्डलीको विशिष्ट अवधारणा र परिभाषाका सन्दर्भमा, हामी हतारमा अहिले नै निष्कर्ष निकाल्नतिर लाग्नेछैनौँ। तिमीहरूले “मण्डली” पदवीनामको आधारभूत अवधारणा वा त्यसको परिभाषा बुझेपछि, के तिमीहरू मण्डलीको अस्तित्वको मूल्य, मण्डलीको अस्तित्वबाट उत्पन्न हुने काम, र मण्डलीले मानिसहरूमाझ खेल्ने भूमिकाबारे प्रस्ट भएका छौ? के यी पक्षहरूको विषयवस्तु पनि मण्डलीको परिभाषासँग सम्बन्धित हुन्छ? सामान्य रूपमा भन्नुपर्दा, कुनै पनि मण्डलीले जे गर्छ त्यो नै त्यसको अस्तित्वको महत्त्व हो। उदाहरणका लागि, एउटा घरलाई नै लिऊँ—यो घरको उद्देश्य के हो? यसमा बस्ने र यसलाई उपयोग गर्ने मानिसहरूका लागि यसको मूल्य र महत्त्व के हुन्छ? यसले कम्तीमा पनि, हावा र पानीमा आश्रय दिन्छ, जुन यसको एउटा महत्त्व हो; अर्को महत्त्व के हो भने, जब तँ साह्रै गलेको र थकित हुन्छस् र तँसित जाने कुनै ठाउँ हुँदैन, तब घर यस्तो स्थान हुन्छ जहाँ तँ विश्राम गर्न र शान्ति र सन्तुष्टिसाथ बस्न सक्छस्। यो घरलाई बस्ने निवास भनिन्छ, तर तेरा लागि यसको काम के हो? यसले तँलाई हावा र पानीमा आश्रय दिन्छ, आराम, विश्राम, स्वतन्त्रताको आनन्द उठाउने क्षमता, आदि इत्यादि कुराहरू प्रदान गर्छ; यी प्रकार्यहरू नै तेरा लागि यो घरको महत्त्व हुन्। अब, फेरि एकपटक भन् त, मण्डलीको भूमिका के हो? यसको निर्माण र अस्तित्वको मूल्य र महत्त्व के हो? सरल रूपमा भन्दा, मण्डलीले के गर्छ, यसले के भूमिका खेल्छ? के तिमीहरू यसबारे प्रस्ट छौ? मण्डलीले ठ्याक्कै के काम वा कस्तो प्रकारको काम गर्नुपर्छ, र यो मण्डली कहलिनका लागि र यो काम साँचो मण्डलीले गर्नुपर्ने काम हुनका लागि यसको कामको दायरामा के समावेश हुनुपर्छ? यो मण्डलीको परिभाषाका सन्दर्भमा सङ्गति गरिनुपर्ने केही विशिष्ट विषयवस्तु हो। सबभन्दा पहिला, मण्डलीले ठ्याक्कै के काम गर्छ? (मुख्यगरी, यसले परमेश्वरका वचनहरू प्रसार गर्छ, परमेश्वरको कामको गवाही दिन्छ, र सुसमाचार फैलाउँछ, र अझ धेरै मानिसहरूलाई परमेश्वरसामु आउने र उहाँको मुक्ति स्विकार्ने तुल्याउँछ।) के यो विशिष्ट कार्य हो? (हो।) यो मण्डलीको अस्तित्वको महत्त्व हो र यसले गर्नुपर्ने एउटा विशिष्ट कार्य हो, तर यो नै सबथोक होइन। परमेश्वरका वचनहरू परार गर्नु र परमेश्वरको कामको गवाही दिनु एउटा विशिष्ट काम हो। यो कामका लागि को जिम्मेवार हुन्छ? हालको सुसमाचार टोली। मण्डलीले अरू के काम गर्छ? (दाजुभाइ-दिदीबहिनीहरूलाई सँगै भेला हुन, परमेश्वरका वचनहरू खान र पिउन, र परमेश्वरका वचनहरू सङ्गति गर्न सङ्गठित पार्ने, उनीहरूलाई निरन्तर रूपमा सत्यता बुझ्न र सामान्य तवरले आफ्ना कर्तव्यहरू पूरा गर्न सक्षम तुल्याउने काम गर्छ।) यो विशिष्ट कामको उद्देश्य मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन, सत्यता बुझ्न, र आफ्ना कर्तव्यहरू सामान्य रूपमा पूरा गर्न अगुवाइ गर्नु हो। परमेश्वरका वचनहरू प्रसार गर्नु भनेको कुनै पनि मण्डलीको मुख्य र महत्त्वपूर्ण कार्य हो। मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन, सत्यता बुझ्न, र सामान्य रूपमा आफ्ना कर्तव्यहरू पूरा गर्न अगुवाइ गर्नु मण्डलीको अत्यावश्यक काम हो; यो भित्री रूपमै निर्देशित हुन्छ। यी दुइटा कार्यहरू—एउटा बाहिरी र एउटा भित्री—मण्डलीको अस्तित्वबाट उत्पन्न हुने काम हुन्। तिनलाई मण्डलीले निर्वाह गर्नुपर्ने दुई महत्त्वपूर्ण कार्य पनि भन्न सकिन्छ। अरू कुनै कार्य छन्? (अर्को कार्य भनेको मानिसहरूलाई परमेश्वरको न्याय अनुभव गर्न अगुवाइ गर्नु हो ताकि उनीहरूले स्वच्छ पारिएर स्वभाव परिवर्तन हासिल गरून्।) यो मण्डलीको एउटा विशिष्ट भित्री काम हो। तिमीहरूले उल्लेख गरेका यी सबै मूलतः प्रतिनिधिमूलक कार्यहरू हुन्। परमेश्वरको काम अनुभव गर्नु, जस्तै विभिन्न वातावरणहरू अनुभव गर्नु, न्याय, ताडना, काटछाँट, आदि इत्यादि अनुभव गर्नु, र अन्ततः स्वभाव परिवर्तन हासिल गर्नु र मुक्ति प्राप्त गर्नु एउटा विशिष्ट काम हो। मण्डलीको निर्माण र अस्तित्वले मानिसहरूमाथि पार्ने असर र प्रभाव नै यही हो। परमेश्वरका वचनहरू प्रसार गर्ने र परमेश्वरको गवाही दिने काम सुसमाचार टोलीले मात्र अघि बढाउने होइन; यो त विभिन्न अनुभवात्मक गवाही लेखहरू, भजनहरू, विभिन्न भिडियो र चलचित्रहरू, आदि इत्यादिमार्फत पनि पूरा हुन्छ, जुन परमेश्वरका वचनहरू प्रसार गर्ने काममा समाविष्ट हुने विशिष्ट सामग्री र परियोजना पनि हुन्। यसका साथै, मण्डली जीवनसँग सम्बन्धित कार्यहरू पनि छन्: सत्यता बुझ्नका लागि परमेश्वरका वचनहरू खानु र पिउनु, परमेश्वरमा समर्पित हुन र परमेश्वरलाई चिन्न सक्षम हुनु, साथै कर्तव्य पूरा गर्दा परमेश्वरको काम र परमेश्वरले खडा गर्नुभएका विभिन्न वातावरणहरू अनुभव गर्नु ताकि स्वभाव परिवर्तन र मुक्ति प्राप्त गर्न सकियोस्। मण्डली निर्माण भएपछि यसको अस्तित्वका आधारमा उत्पन्न हुने केही कार्यहरू यिनै हुन्। यी मुख्य कार्यहरूबाहेक, के अरू परिधिगत कार्यहरू पनि छन्? परिधिगत कार्यहरू भनेका के हुन्? तिनले महत्त्वरहित वा सामान्य मामलाका कामलाई जनाउँछन्, तर, परमेश्वरका चुनिएका मानिसहरूका लागि सत्यता पछ्याउन र आफ्ना कर्तव्यहरू पूरा गर्नमा यस्तो कामका केही फाइदाहरू पनि छन्; यो कामले मानिसहरूको जीवन वृद्धिमा र विभिन्न मामलाहरूबारे तिनीहरूको दृष्टिकोण रूपान्तरण गर्नमा सकारात्मक प्रभाव पार्न सक्छ। विशेष परिस्थितिहरूमा, के मण्डलीको कामबाट उत्पन्न हुने मानिसहरूको भौतिक जीवन अस्तित्वसँग सम्बन्धित सामान्य मामलाका कामलाई मण्डलीको जरुरी काम मानिन्छ? उदाहरणका लागि, खेती, पशुपालन, र आफ्नो कर्तव्य पूरा गर्नेहरूका लागि आवश्यक पर्ने खाद्यपदार्थ उपलब्ध गराउने अन्य गतिविधिहरू—के यिनलाई मण्डलीको अत्यावश्यक काम मानिन्छ? (मानिँदैन।) अनि आफ्नो कर्तव्य पूरा गर्नेहरूका लागि कम्प्युटर, उपकरण, र अन्य वस्तुहरू प्रदान गर्नुलाई के मानिन्छ—के यिनलाई मण्डलीको अत्यावश्यक काम मानिन्छ? (मानिँदैन।) त्यसोभए मण्डलीको अत्यावश्यक कामले के जनाउँछ? यसमा मण्डलीको परिभाषाको कुरा समेटिएको हुन्छ। यसअघि तिमीहरूले दिएका मण्डलीका परिभाषाहरू राम्रा थिए; म तीसँग निकै सन्तुष्ट थिएँ किनभने तिमीहरूका परिभाषामा प्रयोग भएका मापदण्डहरू उच्च सत्यताहरूसँग सम्बन्धित छन्, जस्तै मानिसहरूको जीवन प्रवेश, परमेश्वरमाथिको साँचो विश्वास र उहाँको पछ्याइ, परमेश्वरलाई चिन्नु, अनि स्वभाव परिवर्तन, परमेश्वरप्रतिको समर्पण, र परमेश्वरको आराधना। यो कुरालाई मध्यनजर गर्दा, मण्डलीको अस्तित्व मानिसहरूका दैहिक जीवन र स्वार्थहरूसँग सम्बन्धित कुराहरूका खातिर बिलकुलै होइन, जस्तै उनीहरूलाई न्यानोपन र खाना प्रदान गर्नु, उनीहरूलाई स्वस्थ राख्नु, वा उनीहरूको भविष्यको ख्याल राख्नु। मण्डली मानिसहरूको भौतिक अस्तित्व भरथेग गर्नका लागि वा मानिसहरूलाई दैहिक जीवनको आनन्द उठाउने तुल्याउनका लागि अस्तित्वमा रहँदैन। कतिपय मानिसहरू भन्छन्, “त्यो ठीक होइन। हाम्रो भौतिक जीवन र अस्तित्वबारे परमेश्वरका वचनहरूमा उल्लेख छ, जसले हामीलाई स्वस्थ रहनेबारे केही आधुनिक कला र ज्ञान सिक्न भन्छ। के यी हाम्रो अस्तित्वसँग सम्बन्धित छैनन् र?” के यिनलाई मण्डलीको अत्यावश्यक काम मानिन्छ? (मानिँदैन।) मण्डली परमेश्वरका विश्वासीहरूले बनेकोले र मानिसहरूको जीवनमा स्वतः गाँस, बास, कपास, यातायात, र दैनिक आवश्यकताहरू संलग्न हुने भएकाले, संयोगवश मण्डलीले मानिसहरूलाई यी समस्याहरू समाधान गर्न मदत गर्छ। यी कुराहरू समाधान हुने भएपछि, मानिसहरू सोच्छन्, “मण्डली हाम्रो दैनिक आवश्यकताहरूका लागि पनि जिम्मेवार हुन्छ। यो मण्डलीको नियमित र अत्यावश्यक काम हो।” के यो गलत बुझाइ होइन र? (हो।) के कुराले यस्तो गलत बुझाइ निम्त्याउँछ? (उनीहरू मण्डलीको अत्यावश्यक काम के हो भन्नेबारे प्रस्ट छैनन्।) उनीहरू अहिले पनि किन यसबारे अझै अस्पष्ट छन्? के उनीहरूको बुझाइमा समस्या छैन र? (छ।) उनीहरूको बुझाइमा किन समस्या छ? यो क्षमतासँग सम्बन्धित मामला हो। अन्ततः यो कमजोर क्षमताको कुरा हो।
मण्डलीको अत्यावश्यक काम सम्बन्धमा, भर्खरै तीन बुँदाहरू उल्लेख भएका छन्: एउटा, परमेश्वरका वचनहरूको गवाही दिनु र तिनलाई प्रसार गर्नु हो। अर्को, मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन, परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्नु, साथै मानिसहरूलाई सत्यता बुझ्न, परमेश्वरका वचन अभ्यास गर्न, र आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्न मदत गर्नु हो। अनि अर्को, मानिसहरूलाई परमेश्वरको काम अनुभव गर्न, परमेश्वरको सार्वभौमिकता अनुभव गर्न, र परमेश्वरका वचनहरूको बुझाइका आधारमा स्वभाव परिवर्तन हासिल गराउनका लागि तिनीहरूको भ्रष्ट स्वभाव फाल्न अगुवाइ गर्नु हो। यी सबैको उद्देश्य मानिसहरूले मुक्ति हासिल गरून् भन्ने हो। यी तीन बुँदाहरू राम्ररी सारांश गरिएका छन्; मण्डलीले गर्नुपर्ने काम तिनै हुन्, र मानवजातिका लागि, मण्डली सदस्यहरूका लागि, र परमेश्वरका चुनिएका मानिसहरूका लागि मण्डलीको अस्तित्वको मूल्य र महत्त्व तिनै हुन्। तर यो पर्याप्त रूपमा व्यापक छैन। यी अत्यावश्यक कार्यहरूबाहेक, मानिसहरूले मण्डलीले निर्वाह काम अनुभव गर्नेबाहेक अरू कस्ता अत्यावश्यक फाइदाहरू प्राप्त गर्छन् भन्नेबारे फेरि सोच। (मानिसहरूले विभिन्न मानिस, घटना, र कामकुराहरू खुट्ट्याउन सिक्छन्।) विभिन्न मानिस, घटना र कामकुराहरू खुट्ट्याउनु केही हदसम्म निकट छ; यो मण्डलीको अत्यावश्यक कामसँग सम्बन्धित छ। जब हामी अत्यावश्यक कामबारे कुरा गर्छौँ, हामी प्रतिनिधिमूलक कार्यहरूबारे कुरा गरिरहेका हुन्छौँ। हामीले भर्खरै जे कुराबारे सङ्गति गर्यौँ, ती मानिसहरूले हासिल गर्ने सकारात्मक उपलब्धिहरू, वा मण्डलीहरूले गर्ने केही कामहरू हुन् जसमा मानिसहरूले संलग्नता जनाउने वा अनुभव लिने गर्छन्। यी अत्यावश्यक कार्यहरूबाहेक, मण्डलीको अस्तित्वको अर्को महत्त्व भनेको मानिसहरूलाई मानवजातिबारे, संसारबारे, र अन्धकारको प्रभावबारे बुझ्न मदत गर्नु हो। के यो मण्डलीको, तिमीहरूले सङ्गति गरेका तीन कार्यहरूभन्दा बाहिरको अत्यावश्यक काम हो? के यो विशिष्ट काम हो? (हो।) पहिलो तीन कार्यहरूका तुलनामा, यसलाई परिधिगत कार्य मानिन्छ। यसलाई किन परिधिगत मानिन्छ? किनभने यो मानिसहरूले पहिलो तीनवटा कार्यहरू अनुभव गरेर हासिल हुने नतिजा हो—यो परमेश्वरको काम अनुभव गरेर, परमेश्वरका वचनहरू खाएर-पिएर, सत्यता बुझेर, आफ्नै भ्रष्ट स्वभाव बुझेर, साथै परमेश्वरलाई चिनेर हासिल हुने कुरा हो। त्यो नतिजा के हो भने, मानिसहरूले यो दुष्ट मानवजाति, यो अँध्यारो संसार, र अन्धकारको प्रभाव बुझ्न पुग्छन्। के अब आंशिक रूपमा यो नतिजा हासिल भएको छ? (छ।) के यो मण्डलीको अस्तित्वको महत्त्व होइन र? के यो परमेश्वर पछ्याउनेहरूमाथि मण्डलीको अस्तित्वबाट हुनुपर्ने प्रकार्य र प्रभाव होइन र? (हो।) एकातिर, यसले यस्तो वस्तुगत असर पार्छ; अनि अतिरिक्त रूपमा, मण्डलीहरूले पनि यो कामलाई सकारात्मक र सक्रिय रूपमा अघि बढाइरहेका हुन्छन्। यो काममा कस्ता विशिष्ट परियोजनाहरू पर्छन्? उदाहरणका लागि, परमेश्वरका चुनिएका मानिसहरूले पक्राउ र यातना अनुभव गर्नेसम्बन्धी चलचित्रहरू—एकातिर, यी चलचित्रहरू परमेश्वर पछ्याउनेहरूले शैतानको क्रूर सतावट भोग्दा दिएका गवाहीहरू हुन्; अर्कोतिर, ती चलचित्रहरूले यो दुष्ट मानवजाति, यो अँध्यारो संसार, र अँध्यारो प्रभावहरूले कसरी परमेश्वर र सत्यतालाई प्रतिरोध र निन्दा गर्छन् भन्ने कुराहरू, साथै तिनीहरूले परमेश्वर पछ्याउनेहरूलाई कसरी क्रूर रूपमा सताउँछन् भन्ने विभिन्न तरिकाहरू खुलासा गर्छन्। यी कुराहरू खुलासा गर्दै गर्दा, यी चलचित्रहरूले मानिसहरूलाई मानवजाति, संसार, र अन्धकारको प्रभावलाई यो दृष्टिकोणबाट बुझ्न मदत गर्छन्। कतिपय मानिसहरू भन्छन्, “तपाईंले ‘मानवजाति र संसारलाई बुझ्नु’ भन्नुको अर्थ के हो?” तिमीहरू सबैलाई यसको अर्थ के हो जस्तो लाग्छ? (मानवजाति र संसारको अन्धकार र दुष्टता बुझ्नु, साथै सारा मानवजाति परमेश्वरका शत्रु हुनुको सार बुझ्नु।) ठीक भनिस्। यसको अर्थ मानवजातिका दुष्टता र अन्धकार बुझ्नु, परमेश्वरका शत्रुका रूपमा सारा मानवजातिका कुरूप अनुहार र साँचो रङ्गहरू बुझ्नु हो। यातना र व्यक्तिगत अनुभवात्मक गवाहीका भिडियोहरू मण्डलीहरूले गर्ने यो कामका विशिष्ट उदाहरण हुन्। यसका साथै, परम्परागत संस्कृति, मानव नैतिक दृष्टिकोणहरू, निश्चित जातीय समूह वा वर्णहरूका सोचहरू, र चीनका दाओवाद र कन्फ्युसियसवादका परम्परागत धर्मसिद्धान्तहरू, केही झूटा सत्यताहरू, साथै मानिसहरूलाई बाँध्ने र उनीहरूका सोचहरू सङ्कुचित गर्ने पारिवारिक नियम र लालनपालनहरू खुलासा गर्नु—यी कुराहरू खुलासा गर्नुको उद्देश्य के हो? यो कुन वर्गको कामअन्तर्गत पर्छ? के मैले पहिले “आफैलाई पीडा दिएर विगतको तीतोपन पलपल मनमा गुन्नु” भन्ने कथामा चिरफार गरेको विषयवस्तु पनि संसार, मानवजाति, र अन्धकारको प्रभाव बुझ्नुकै पाटो होइन र? (हो।) यो यस कामको विशिष्ट विषयवस्तुको एउटा उदाहरण हो। त्यसकारण, यो काम पनि मण्डलीले निर्वाह गर्नुपर्ने एउटा विशिष्ट कार्य नै हो। सारांशमा भन्नुपर्दा, मण्डलीको काम भनेको, एक हिसाबले मानिसहरूलाई सकारात्मक रूपमा सत्यतामार्फत सत्यता वास्तविकतामा मार्गदर्शन गर्नु, र उनीहरूलाई परमेश्वरप्रतिको समर्पण हासिल गराउनु हो। अर्को हिसाबले, शैतानी, अँध्यारो संसारलाई खुलासा गर्नु, सत्यता र परमेश्वरप्रति शैतानका विभिन्न शत्रुवत् क्रियाकलापहरूको खुलासा गर्नु, र मानव समाजमा रहेका दुष्ट प्रचलनहरू, भ्रष्ट मानवजातिका विभिन्न विचार र धारणाहरू, साथै उनीहरूका विधर्म, भ्रम, आदि इत्यादि कुराहरूको खुलासा गर्नु हो, ताकि मानिसहरूले यो दुष्ट युगको साँचो प्रकृति र सार बुझ्न सकून्। के यो मण्डलीको अत्यावश्यक काम होइन र? (हो।) वास्तवमा, तिमीहरूले मण्डलीको कामबाट धेरै कुरा र पर्याप्त लाभहरू प्राप्त गरिसकेका छौ। जहाँसम्म मण्डलीमा रहेका मानिसहरूको कुरा छ, चाहे तिनीहरू सत्यतामा रुचि राख्नेहरू होऊन्, वा सत्यतामा रुचि नराख्नेहरू होऊन्, तीनदेखि पाँच वर्षसम्म परमेश्वरलाई पछ्याएपछि, सत्यता सङ्गति गर्ने भेलाहरू, परमेश्वरका वचनहरूको प्रार्थनार्थ पढाइ, गैरविश्वासीहरूको सतावट र अपमान भोगाइ, दुष्ट मानिस र ख्रीष्टविरोधीहरूका बाधाहरू, अनि हरप्रकारका अरू मानिस, घटना, र कामकुराहरूमार्फत, उनीहरूले अनजानमै, यो अँध्यारो संसार, दुष्ट मानवजाति, शासकीय अधिकारीहरू, र सारा संसारको अँध्यारो प्रभाव खुट्ट्याउन र बुझ्न पुग्नेछन्। उनीहरूले हासिल गर्ने लाभहरू यिनै हुन्। अनि यी लाभहरू कसरी पैदा हुन्छन्? के मण्डलीहरूको अस्तित्वले गर्दा हो? के मण्डलीहरूले गर्ने कामले गर्दा हो? (हो।) एकातिर, मानिसहरूले परमेश्वरका वचन, काम र स्वभावबारे केही बुझाइ प्राप्त गरेका हुन्छन्; अर्कोतिर, उनीहरूले संसार, मानवजाति, र अन्धकारको प्रभावसम्बन्धी त्यहीअनुरूपका केही सचेतना र सुझबुझ पनि प्राप्त गरेका हुन्छन्। यी दुई लाभहरूले मानिसहरूमा ल्याउने नतिजा र सकारात्मक प्रभावहरू नै उनीहरूले मुक्ति प्राप्त गर्नका लागि हासिल गर्नुपर्ने कुराहरू हुन्।
कुनै पनि मण्डलीको कामलाई सारांशमा परमेश्वरका वचनहरू र काम प्रसार गर्नु र तिनको गवाही दिनु, र मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन अगुवाइ गर्नु ताकि उनीहरूले सत्यता बुझ्न, परमेश्वरका वचनहरू अभ्यास गर्न, र आफ्ना कर्तव्यहरू अझ राम्ररी गर्न सकून्। यसका साथै, सत्यताको बुझाइका जगमा, उनीहरूले परमेश्वरको काम अनुभव गर्न, आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र स्वभाव परिवर्तन हासिल गर्न सक्छन्। यी तीन पक्षहरूबाहेक, यसमा मानिसहरूलाई दुष्ट मानवजाति, अँध्यारो संसार, र अन्धकारको प्रभाव बुझ्न मदत गर्ने कुरा पनि पर्छ। मण्डलीका कामका परियोजनाहरू धेरै नभए पनि, यसको विशिष्ट विषयवस्तुचाहिँ विशाल छ। यी सबै विषयवस्तु परमेश्वरका वचनहरू, सत्यता, भ्रष्ट स्वभावहरू फाल्ने, र परमेश्वरप्रति समर्पित हुने कुरासँग सम्बन्धित हुन्छ; अनि अवश्य नै, यो मुक्ति प्राप्त गर्नुसँग अझ बढी सम्बन्धित हुन्छ। यो नै मण्डलीको प्रकार्य र मण्डलीको अस्तित्वको महत्त्व हो। मण्डलीको कामको हरेक पक्ष परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशसँग घनिष्ठ रूपमा सम्बन्धित हुन्छ, किनभने यसमा परमेश्वरका वचनहरूप्रति मानिसहरूले गर्ने व्यवहार, परमेश्वरप्रति उनीहरूले देखाउने मनोवृत्ति, उनीहरूको मुक्ति, साथै संसार, मानवजाति, र अन्धकारको प्रभावप्रति उनीहरूका दृष्टिकोण र मनोवृत्तिहरू समावेश हुन्छन्। छोटकरीमा भन्नुपर्दा, मण्डलीको अस्तित्व सबैसँग घनिष्ठ रूपमा सम्बन्धित हुन्छ, र मण्डलीले गर्ने काम, साथै त्यसको अस्तित्वको मूल्य र महत्त्वलाई, परमेश्वरको मुक्ति स्विकार्ने कुनै पनि व्यक्तिसँग अविभाज्य हुन्छ।
मण्डलीले गर्नुपर्ने विशिष्ट कामबारे सङ्गति गरिसकेपछि, अब हामी “मण्डली” पदवीनाम र मण्डलीको अस्तित्वको महत्त्वबारे मानिसहरूमा रहेका अनुचित परिभाषा र दृष्टिकोणहरूबारे छलफल गरौँ। सर्वप्रथम त, मानिसहरू मण्डलीलाई तुलनात्मक रूपमा सुखदायी ठाउँ, न्यानोपन र चमकले भरिएको ठाउँ, द्वन्द्व, युद्ध, हत्या, वा रक्तपात नहुने तुलनात्मक रूपमा मैत्रीपूर्ण ठाउँ—मानिसहरूको हृदयले अभिलाषा राख्ने,खुसीले भरिएको आदर्श ठाउँका रूपमा सोच्छन्। यहाँ, कुनै ईर्ष्या वा मनमुटाउ हुँदैन, कुनै षड्यन्त्र रच्ने काम हुँदैन, कुनै दुष्ट प्रचलनहरू वा गैर-विश्वासी संसारमा भेटिने अन्य कुनै पनि घटना हुँदैनन्। यसलाई मानिसहरूले हृदय टेको लगाउने आदर्श ठाउँका रूपमा हेरिन्छ। “मण्डली” पदवीनामबारे मानिसहरूले जतिसुकै सुन्दर कल्पनाहरू गरे पनि, समग्रमा मानिसहरूले मण्डलीमा निश्चित मात्राको आत्मिक भरणपोषण पाउँछन्। मानिसहरूका लागि यो आत्मिक भरणपोषणको बढी ठोस उपयोगिता हुन्छ: उनीहरूले कठिनाइहरू सामना गर्दा, उनीहरू आफ्ना समस्या व्यक्त गर्न मण्डली आउन सक्छन्, र मण्डलीले उनीहरूलाई आफ्ना चिन्ताहरू हटाउन र कठिनाइहरू समाधान गर्न मदत गर्न सक्छ। उदाहरणका लागि, उनीहरूलाई काममा वा जीवनमा कठिनाइहरू आइपरेमा, उनीहरूका छोराछोरी अनाज्ञाकारी भएमा, उनीहरूको श्रीमान् वा श्रीमतीले परसम्बन्ध राखेको भएमा, सासू-बुहारीबीच द्वन्द्व भएमा, सहकर्मी वा छिमेकीहरूसँग विवाद भएमा, उनीहरूका छोराछोरी हेपिएमा, उनीहरूको जग्गा कुनै स्थानीय निरङ्कुश शासकले खोसेमा, र यस्तै अरू केही भएमा—जब यी कुराहरू आइपर्छन्, तब मानिसहरू के आशा गर्छन् भने मण्डलीको कोही व्यक्तिले उनीहरूको पक्षमा उभिएर यी मामलाहरू समाधान गर्न र सल्टाउन उनीहरूलाई मदत गरिदियोस्। मानिसहरूको मनमा, मण्डली भनेको त्यस्तो ठाउँ हो। निस्सन्देह नै, मानिसहरूको मनमा मण्डली भनेको एउटा शरण, आदर्श स्वर्ग, चिन्ता हटाउने र कठिनाइहरू समाधान गर्ने, हिंसा अन्त्य गर्ने र दयालु मानिसहरूलाई शान्तिमा जिउन दिने, र न्याय कायम राख्ने ठाउँ हो। जीवन कठिन बनेमा, मण्डलीले राहत दिलाउनुपर्छ; खाने सागपात र पकाउने चामल नभएमा, ती कुराहरू मण्डलीले वितरण गर्नुपर्छ; लत्ताकपडा छैन भने मण्डलीले ती किनिदिनुपर्छ; कोही बिरामी परेमा, मण्डलीले उपचारको खर्च बेहोरिदिनुपर्छ। कसैले काममा कठिनाइहरू सामना गर्दा, मण्डलीमा रहेका दाजुभाइ-दिदीबहिनीहरूले मदत गर्ने, भनसुन गर्ने, चिनजानबाट लाभ उठाउने, वा मार्गदर्शन दिने गर्नुपर्छ। कसैका छोराछोरीहरूले कलेजको प्रवेश परीक्षा दिइरहेका छन् भने, उसले अझ धेरै मानिसहरूलाई उनीहरूका लागि प्रार्थना गराउन मण्डली तर्फ फर्कन्छ, आफ्ना छोराछोरीहरू सफलतापूर्वक कलेजमा प्रवेश सुनिश्चित गर्ने प्रयास गर्छ। जेजस्ता कठिनाइहरू आइपरे पनि, व्यक्ति मण्डलीमा आएसम्म, यी सबै कठिनाइहरू समाधान गर्न र टुङ्गो लाउन सकिन्छ। यदि कसैले दुष्ट मानिसहरूको हातबाट अभद्र व्यवहार नै भोगे पनि, मण्डलीले त्यसका धेरै मानिसहरू र ठूलो प्रभावका कारण परिस्थिति साम्य पार्न सक्छ। धेरैको हौसला र समर्थन पाएपछि, व्यक्तिले उप्रान्त कायर हुनु वा गुण्डाहरूको थिचोमिचोमा परिने डर मान्नेछैन। समाजमा दमन, बहिष्कार, र निरन्तर सङ्घर्ष गरिरहँदा र आफ्नो जीविकोपार्जन गर्ने कुनै उपाय नहुँदा पनि, व्यक्तिले मण्डलीबाट मदत र असल सल्लाह लिन, र उचित काम खोज्न सक्छ। मानिसहरूले यी सबै, र थप कुराहरू मण्डलीले खेल्नुपर्ने भूमिका र निर्वाह गर्नुपर्ने काम हो भनी विश्वास गर्छन्। मानिसहरूका सोच र धारणाहरू, वा उनीहरूले मण्डलीबाट गरे मागलाई मूल्याङ्कन गर्दा, उनीहरूले निस्सन्देह नै मण्डलीलाई एउटा कल्याणकारी संस्था, परोपकारी सङ्गठन, जोडी मिलाइदिने वा काम खोजिदिने एजेन्सी, वा रेड क्रस सोसाइटीका रूपमा हेर्छन् भन्ने कुरा स्पष्ट हुन्छ। कतिपयले त के पनि सोच्छन् भने उनीहरू चाहे जति नै सक्षम भए पनि वा समाजमा र मानवजातिमाझ उनीहरूको हैसियत जे भए पनि उनीहरूलाई भर पार्नका लागि सधैँ कुनै शक्तिशाली संस्थाको खाँचो पर्छ। उनीहरूले समाजमा कठिनाइहरू सामना गर्दा वा सत्तासीन शक्तिहरूसँग आमनेसामने हुँदा, उनीहरूलाई एउटा बलियो शक्तिको आवश्यकता पर्छ, जसले उनीहरूलाई साथ दिइदिन, उनीहरूका लागि बोलिदिन, उनीहरूका लागि नेतृत्व सम्हालिदिन, र उनीहरूका अधिकार र हितहरूका लागि लडिदिन सकून्। उनीहरूका विचारमा, मण्डलीले यो भूमिका पूरा गर्न र उनीहरूले आशा गरेको उद्देश्य हासिल गर्न सक्छ, त्यसकारण मण्डली नै उनीहरूको एउटै रोजाइ बन्छ। प्रस्ट रूपमै, उनीहरूले मण्डलीलाई एउटा सामाजिक सङ्गठन वा सङ्घका रूपमा हेर्छन्, जस्तै शिक्षक सङ्गठन, यातायात सङ्गठन, किसान सङ्गठन, महिला सङ्गठन, प्रौढ सङ्गठन, आदि इत्यादि—यस्तै प्रकारका सामाजिक समूह र सङ्गठनहरू ठान्छन्। मानिसहरूले वास्तवमा मण्डलीलाई जस्तोसुकै परिभाषाहरू दिए पनि, मण्डलीले गर्ने काम र मण्डलीको सही परिभाषा मूल्याङ्कन गर्दा के प्रस्ट हुन्छ बहने मण्डलीप्रति मानिसहरूका मनोवृत्ति र मागहरू गलत र अमान्य छन्, र मानिसहरूमा ती हुनु हुँदैन। मण्डली भनेको “धनीलाई लुटेर गरिबलाई खुवाउने,” हिंसा हटाउने र दयालु मानिसहरूलाई शान्तिमा जिउन दिने, वा इन्साफ कायम राख्ने ठाउँ होइन, यो दुनियाँलाई मद्दत गर्ने र मानिसहरूलाई बचाउने वा मानिसहरूका चिन्ता कम गर्ने वा उनीहरूका कठिनाइहरू समाधान गर्ने ठाउँ त झन् हुँदै होइन। मण्डली कुनै परोपकारी सङ्गठन होइन, यो कुनै कल्याणकारी संस्था होइन, र यो कुनै सामाजिक जमघट होइन। मण्डलीको स्थापना वा उपस्थितिले कुनै सामाजिक समूह वा सङ्गठनका रूपमा कार्य गर्नुपर्ने होइन। परमेश्वरका वचनहरूको गवाही दिने र तिनको प्रसार गर्ने, र मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन, परमेश्वरको काम अनुभव गर्न, साथै उनीहरूका भ्रष्ट स्वभावहरू फालेर मुक्ति हासिल गर्न अगुवाइ गर्नेजस्ता मण्डलीले गर्नुपर्ने थोरै आधारभूत कामहरूबाहेक, मण्डलीसँग समाज वा कुनै जातीय समूहलाई कुनै सेवा वा सहयोग प्रदान गर्नुपर्ने दायित्व हुँदैन। यसका साथै, मण्डली भनेको मानिसहरूका अधिकार र हितहरूका लागि लड्ने ठाउँ पनि होइन र मण्डलीसँग मानिसहरूका भौतिक जीवन, सामाजिक हैसियत, कार्यपद, तलब, सामाजिक कल्याण, आदि इत्यादि कुराहरू सुनिश्चित गर्ने कुनै दायित्व पनि हुँदैन। मानिसहरूका धारणामा, तिनीहरू मण्डलीले गर्ने कार्यहरू हिंसा हटाउनु र दयालु मानिसहरूलाई शान्तिपूर्वक जिउन दिनु, इन्साफ कायम राख्नु, मानिसहरूका चिन्ताहरू हल गर्नु र उनीहरूका कठिनाइहरू समाधान गर्नु, संसारलाई सहयोग गर्नु र मानिसहरूलाई बचाउनु, साथै मानिसहरूका अधिकार र हितका लागि लड्नु—मूलतः यिनै कार्यहरू हुन् भन्ने विश्वास गर्छन्। त्यसकारण, मानिसहरूले मण्डली भनेको उनीहरूले तत्काल मदत पाउने ठाउँ हो र जस्तोसुकै कठिनाइ पनि मण्डलीद्वारा समाधान गर्न र टुङ्गो लाउन सकिन्छ भन्ने विश्वास गर्छन्। प्रस्ट रूपमै, मानिसहरूले मण्डलीलाई एउटा सामाजिक संस्था, सङ्गठन, वा समूहका रूपमा लिन्छन्। तर के मण्डली त्यस्तो संस्था हो त? (होइन।) यदि मानिसहरूले विश्वास गरेझैँ मण्डलीको प्रकार्य र भूमिका हिंसा हटाउने र दयालु मानिसहरूलाई शान्तिपूर्वक जिउन दिने, इन्साफ कायम राख्ने, मानिसहरूका चिन्ता हाल गर्ने र उनीहरूका कठिनाइहरू समाधान गर्ने, संसारलाई मदत गर्ने र मानिसहरूलाई बचाउने, मानिसहरूका अधिकार र हितका लागि लड्ने, आदि इत्यादि हुन्थ्यो भने, यस्तो मण्डलीलाई मण्डली नै भन्न मिल्दैन, किनभने परमेश्वरका वचनहरू, पवित्र आत्माको काम, वा मानिसहरूलाई मुक्ति दिने परमेश्वरको कामसँग यसको कुनै सम्बन्ध हुँदैन। त्यस्तो समूह वा सङ्गठनलाई त केवल समूह वा सङ्गठन मात्र भनिनुपर्छ, जसको मण्डलीसँग कुनै सम्बन्ध हुँदैन, न त मण्डलीको कामसँग नै कुनै सम्बन्ध हुन्छ। यदि कुनै सङ्गठन, परमेश्वरमा विश्वास गर्ने नाममा कार्यक्रमहरूमा भाग लिने, परमेश्वरको आराधना गर्ने, बाइबल पढ्ने, प्रार्थना गर्ने, भजनहरू गाउने, र प्रशंसा गर्नेजस्ता गतिविधिहरूमा संलग्न हुन्छ भने पनि, वा त्यसले औपचारिक भेलाहरू र आराधना, साथै तथाकथित बाइबल अध्ययन भेला, प्रार्थना भेला, सहकर्मी भेला, आदानप्रदान भेला, आदि इत्यादि गर्छ भने पनि, वा त्यसका सदस्यहरू वा त्यसको संरचना जस्तोसुकै प्रकारका भए पनि, साँचो मण्डलीसँग तिनको कुनै सम्बन्ध हुँदैन। त्यसोभए, साँचो मण्डली भनेको ठ्याक्कै के हो त? त्यो कसरी अस्तित्वमा आउँछ? साँचो मण्डली परमेश्वरको देखापराइ, उहाँको काम, र मानवजातिलाई मुक्ति दिने उहाँको सत्यता अभिव्यक्तिका कारण बनेको हुन्छ। यो मानिसहरूले परमेश्वरको आवाज सुन्दा, परमेश्वरतर्फ फर्कँदा, र परमेश्वरप्रति समर्पित हुँदा उत्पन्न हुन्छ। यो साँचो मण्डली हो। मण्डली मानवहरूद्वारा सङ्गठित र स्थापित हुँदैन बरु परमेश्वरद्वारा व्यक्तिगत रूपमै खडा गरिएको र परमेश्वरद्वारा व्यक्तिगत रूपमै अगुवाइ र रखवारी गरिएको हुन्छ। त्यसैले, परमेश्वरसँग आफ्ना मण्डलीहरूका लागि आज्ञाहरू हुन्छ। मण्डलीको मिसन भनेको परमेश्वरका वचनहरू प्रसार गर्नु, परमेश्वरको कामको गवाही दिनु, र मानिसहरूलाई परमेश्वरको आवाज सुन्न, परमेश्वरको उपस्थितिमा फर्कन, परमेश्वरको मुक्ति स्विकार्न, परमेश्वरको मुक्ति प्राप्त गर्नहेतु परमेश्वरको काम अनुभव गर्न, र परमेश्वरको गवाही दिन मदत गर्नु हो—यो बस यति सरल छ। यो नै मण्डलीको अस्तित्वको मूल्य र महत्त्व हो।
इ. मण्डलीको परिभाषा
मण्डली के हो भन्ने विषयबारे सङ्गति गरेपछि, अब तिमीहरूसित मण्डलीको गठन, मण्डलीले गर्ने काम, र यसले हासिल गर्ने नतिजाहरूबारे केही बुझाइ छ। तिमीहरू मण्डलीको अस्तित्वको केही मूल्य र महत्त्व पनि बुझ्न सक्छौ। त्यसकारण, के अब हामी मण्डलीको ठ्याक्कै के हो भनी सही परिभाषा दिन सक्छौँ? सर्वप्रथम त, मण्डली भनेको मानिसहरूलाई भावनात्मक सान्त्वना प्रदान गर्ने ठाउँ हुँदै होइन, न त त्यो मानिसहरूले राम्ररी खान र लाउन पाउने कुरा सुनिश्चित गर्ने वा मानिसहरूलाई आश्रय दिने ठाउँ नै हो। मण्डली भनेको मानिसहरूका भौतिक अधिकार र हितहरू सुनिश्चित गर्ने वा उनीहरूले जीवनमा सामना गर्ने कठिनाइहरू समाधान गर्ने ठाउँ होइन। यो मानिसहरूका आत्मिक रित्तोपनहरू भर्ने र आत्मिक भरणपोषण प्रदान गर्ने ठाउँ होइन। मण्डलीहरू मानिसहरूले आफ्ना धारणा र कल्पनाहरूअनुसार अनुमान गरेका कुरा होइनन्, त्यसैले मण्डलीको निर्दिष्ट परिभाषा केचाहिँ हो त? मण्डली भनेको ठ्याक्कै के हो? बाइबलमा, प्रभु येशूले मण्डली पदवीनामको आधारभूत व्याख्या दिनुभएको छ। उहाँले ठ्याक्कै के भन्नुभयो? (“किनभने जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्छन्, म त्यहाँ तिनीहरूको बीचमा हुन्छु” (मत्ती १८:२०)।) यी वचनहरूको अर्थ के हो भने जति जना मानिसहरू सँगै भेला भए पनि, उनीहरूसँग पवित्र आत्माको काम भएसम्म र परमेश्वर उनीहरूसँगै हुनुभएको अनुभूति गरेसम्म, त्यो ठाउँ मण्डली हो—ठ्याक्कै त्यही हो। आखिरी दिनहरूमा, परमेश्वर काम गर्न र सत्यता व्यक्त गर्न देखा पर्नुभएको छ। जब मानिसहरू परमेश्वरका वचनहरू खान र पिउन, प्रार्थनार्थ पढ्न र सङ्गति गर्न भेला हुन्छन्, तब त्यहाँ परमेश्वरको उपस्थिति, र पवित्र आत्माको अन्तर्दृष्टि पनि हुन्छ, त्यसको मतलब के हो भने परमेश्वरले त्यसलाई मण्डलीका रूपमा अनुमोदन गर्नुहुन्छ। यदि मानिसहरू भेला हुन्छन् तर उनीहरूले परमेश्वरका वचनहरू खाने-पिउने गर्दैनन्, खोक्रा आत्मिक धर्मसिद्धान्तहरू मात्र भट्ट्याउँछन्, र पवित्र आत्माको काम अनुभूत गर्न सक्दैनन् भने, त्यो मण्डली होइन, किनभने त्यो परमेश्वरद्वारा अनुमोदन गरिएको हुँदैन, त्यसकारण त्योसँग पवित्र आत्माको काम हुँदैन। जुन भेलाहरूमा परमेश्वर उपस्थित हुनुहुन्छ तिनमा उहाँको आशिष् र मार्गदर्शन हुन्छ, र जब मानिसहरू त्यस्ता भेलाहरूमा एकत्रित हुन्छन्, तिनीहरूले परमेश्वरका वचनहरू खाइरहेका र पिइरहेका भए पनि, सत्यता सङ्गति गरिरहेका भए पनि, वा समस्याहरू समाधान गर्न सत्यता प्रयोग गरिरहेका भए पनि, यी सबै कुरा परमेश्वरका माग र अगुवाइसँग जोडिएका हुन्छन्, र त्यसैले यी सबै कुरा परमेश्वरद्वारा आशिषित् हुन्छन्। त्यसकारण, कुनै प्रकारको भेलामा परमेश्वरको मार्गदर्शन, अगुवाइ, र उपस्थिति भएसम्म, त्यसलाई मण्डली भन्न सकिन्छ। यो नै मण्डलीको सबैभन्दा सरल, सबैभन्दा आधारभूत परिभाषा हो, र अनुग्रहको युगमा मण्डलीको परिभाषा त्यही थियो। यो त्यो बेलाको परमेश्वरको कामको प्रसङ्गबाट उत्पन्न भएको थियो, र त्यसैले यो सही र साँचो हो। तर आखिरी दिनहरूको न्यायको कामको यो चरण दौरान, परमेश्वरले अझ बढी वचनहरू बोल्नुभएको र झन् महान् कामहरू गर्नुभएको हुनाले, मण्डलीको परिभाषा अनुग्रहको युगको त्यो आधारभूत परिभाषाभन्दा अझ गहिरो हुनुपर्छ। परमेश्वरको काम अघि बढेको छ। मण्डलीको विशेषता उप्रान्त पवित्र आत्माको काम र परमेश्वरको उपस्थितिमा मात्र सीमित छैन। अहिले परमेश्वरले व्यक्तिगत रूपमै उहाँका मण्डलीहरूमा काम गरिरहनुभएको, तिनीहरूलाई मार्गदर्शन र रखवारी गरिरहनुभएको छ; परमेश्वरका चुनिएका मानिसहरू उहाँका वर्तमान वचनहरू खान र पिउन, साथै ख्रीष्टलाई पछ्याउन र उहाँको गवाही दिन सक्षम छन्। त्यसकारण, आखिरी दिनहरूमा मण्डलीको परिभाषा अनुग्रहको युगमा भन्दा अझ विकसित भएको छ; यसको वर्णन पहिलेभन्दा अझ गहन, सही र विशिष्ट छ, र यो अवश्यै सत्यता र परमेश्वरका वचनहरूबाट अविभाज्य भएको छ। त्यसोभए, मण्डलीलाई परिभाषित गर्ने सबैभन्दा सही र उचित तरिका के हो? पहिला त, यसको आधारभूत परिभाषा भनेको निष्कपट रूपमा परमेश्वरलाई पछ्याउने मानिसहरूको समूह हुनुपर्छ। अझ विशिष्ट रूपमा भन्दा, मण्डली भनेको निष्कपट रूपमा परमेश्वरलाई पछ्याउने, उहाँका वचनहरूद्वारा शासित हुने, सत्यता पछ्याउने, उहाँका वचनहरू अभ्यास र अनुभव गर्ने, र परमेश्वरमा समर्पित हुन र उहाँको आराधना गर्न सक्ने, उहाँको इच्छा पछ्याउन, र उहाँको मुक्ति प्राप्त गर्न सक्ने मानिसहरूको एउटा समूह हो। यो परिभाषाको मुख्य पाटो “मानिसहरूको एउटा समूह” हो। मण्डली भनेको कुनै ठाउँ, वा हुल, वा समुदाय होइन, आस्था भएका मानिसहरूको भेला मात्र त झनै होइन। उक्त “समूह” करिब एक दर्जन, वा तीसदेखि पचास जना, वा पक्कै पनि त्योभन्दा ठूलो सङ्ख्याका मानिसहरूले बनेको हुन सक्छ। उनीहरू सँगै भेला हुन, वा स-साना समूहमा बाँडिएर भेला हुन सक्छन्; यो लचकदार र परिवर्तनशील हुन्छ। छोटकरीमा भन्नुपर्दा, जब परमेश्वरका यी अनुयायीहरूले उहाँलाई उच्च पार्छन्, उहाँको गवाही दिन्छन्, र उहाँलाई आराधना गर्छन्, र उहाँको इच्छा पछ्याउँछन्, तब उनीहरू एउटा मण्डली हुन्छन्। जति जना भेला भए पनि उनीहरू मण्डली नै हुन्छन्। उदाहरणका लागि, ५० जना मानिसहरूलाई सानो मण्डली भनिन्छ, र १०० जना मानिसहरूलाई ठूलो मण्डली भनिन्छ—मण्डलीको आकार सदस्यहरूको सङ्ख्याद्वारा निर्धारित हुन्छ। मण्डलीहरू ठूला, मध्यम, र साना आकारका हुन्छन्, मण्डलीमा मानिसहरूको सङ्ख्या निश्चित हुँदैन। हामी फेरि पनि मण्डलीको परिभाषा हेरौँ: निष्कपट रूपमा परमेश्वरलाई पछ्याउने, उहाँका वचनहरूद्वारा शासित हुने, सत्यता पछ्याउने, उहाँका वचनहरू अभ्यास र अनुभव गर्ने, परमेश्वरमा समर्पित हुन र उहाँको आराधना गर्न सक्ने, उहाँको इच्छा पछ्याउन, र उहाँको मुक्ति प्राप्त गर्न सक्ने मानिसहरूको एउटा समूह। किन मण्डलीलाई यसरी परिभाषित गरिन्छ? किनभने परमेश्वर मण्डलीहरूमा काम गर्न चाहनुहुन्छ, र परमेश्वर मानिसहरूको त्यो समूहलाई मुक्ति दिन चाहनुहुन्छ। यस प्रकारका मानिसहरूको समूहलाई मात्रै मण्डली भन्न सकिन्छ। अनि यस्ता मानिसहरू एकसाथ भेला हुँदा मात्रै तिनीहरूले सामान्य रूपमा परमेश्वरका वचनहरू खान र पिउन र तिनको अभ्यास गर्न, साथै साँचो रूपमा परमेश्वरलाई प्रार्थना गर्न, उहाँमा समर्पित हुन र उहाँको आराधना गर्न सक्छन्। मानिसहरूको यो समूह परमेश्वरका वचनहरूद्वारा शासित र मार्गनिर्देशित हुन्छ; त्यसकारण त्यस्ता मानिसहरूको समूहमार्फत नै मण्डलीको परिभाषा उत्पन्न हुन्छ। धर्मका मानिसहरूले सत्यता र परमेश्वरको काम नस्विकार्ने, अनि परमेश्वरले उनीहरूलाई मुक्ति नदिनुहुने हुनाले, उनीहरू मण्डली होइनन्, उनीहरू एउटा धार्मिक समुदाय हुन्। मण्डली र धर्मबीचको सबैभन्दा प्रस्ट भिन्नता यही हो। मण्डली मात्र परमेश्वरका वचनहरूद्वारा शासित हुन्छ, र ख्रीष्टद्वारा व्यक्तिगत रूपमै रखवारी गरिएको मण्डली मात्र परमेश्वरका वचनहरूद्वारा शासित हुन्छ। परमेश्वरका वचनहरूद्वारा शासित हुनुको अर्थ के हो? के हामीले यहाँ पवित्र आत्माको काम, वा पवित्र आत्माको मार्गदर्शन, अन्तर्दृष्टि, र ज्योति उल्लेख गर्नु आवश्यक छ? (छैन।) मलाई भन, कुन बढी व्यावहारिक हुन्छ: परमेश्वरका वचनहरूद्वारा शासित हुनु, कि पवित्र आत्माको काम हुनु? (परमेश्वरका वचनहरूद्वारा शासित हुनु।) परमेश्वरका वचनहरूद्वारा शासित हुनु बढी व्यावहारिक र ठोस हुन्छ। पवित्र आत्माको कामले मानिसहरूलाई सत्यता बुझ्नमा मदत गर्न र परमेश्वरका वचनहरूमा अभ्यासका सिद्धान्तहरू पत्ता लगाउन अगुवाइ गर्नका लागि मानिसहरूलाई केही अन्तर्दृष्टि र ज्योति प्रदान मात्र गर्छ। । यसको नतिजास्वरूप उनीहरू परमेश्वरका वचनहरूद्वारा शासित हुन्छन्। के पवित्र आत्माले काम नगर्नुभए पनि मानिसहरूले परमेश्वरका वचनहरू बुझेर अनि सिद्धान्तहरू बोध गरेर उनीहरूका कर्तव्य पूरा गर्न सक्थे? (सक्थे।) अब त परमेश्वरका वचनहरू धेरै बोलिएका छन्; मानिसहरूले प्रायः प्रवचनहरू सुन्छन् र परमेश्वरका वचनहरू बुझ्न सक्छन्। पवित्र आत्माको कामविना पनि, मानिसहरूलाई के गर्ने भनेर थाहा हुन्छ। जो सत्यतालाई प्रेम गर्छन् उनीहरूले सत्यता बुझ्न सकेसम्म परमेश्वरका वचनहरू अभ्यास गर्न परमेश्वरको काममा समर्पित हुन सक्छन्। जो सत्यतालाई प्रेम गर्दैनन् उनीहरूले परमेश्वरका वचनहरू सुने पनि बुझ्नेछैनन्, र थोरथोरै बुझे नै भने पनि उनीहरू ती वचन अभ्यास गर्न अनिच्छुक हुन्छन्, र यसरी हटाइन मात्र सक्छन्। आखिरी दिनहरूमा, परमेश्वरले मानिसहरूलाई व्यक्तिगत रूपमै अगुवाइ र रखवारी गर्न प्रत्यक्ष रूपमा सत्यता व्यक्त गर्नुहुन्छ। पवित्र आत्माको काम त सहायक मात्र हुन्छ। यो त बच्चा भर्खरै हिँड्न सिकिरहेको जस्तै हो; कहिलेकाहीँ वयस्क व्यक्तिले मद्दत गर्न हात अगाडि बढाउनेछ। उक्त बच्चा राम्रोसँग हिँड्न र दगुर्न सक्ने भएपछि, उसलाई अरू कसैको सहयोग चाहिँदैन। त्यसकारण, पवित्र आत्माको काम पूर्ण हुँदैन, न त त्यो अत्यावश्यक नै हुन्छ। जब मानिसहरू परमेश्वरका वचनहरूद्वारा शासित हुन्छन्, यसको मतलब यो हो कि उनीहरूले परमेश्वरका वचनहरू बुझ्छन्, सत्यता बुझ्छन्, र उनीहरूलाई परमेश्वरका वचनहरूको अर्थ के हो र परमेश्वरले मानिसहरूबाट माग गर्नुहुने सिद्धान्त र मानकहरू के-के हुन् भन्ने कुरा थाहा छ, र उनीहरूले यी सिद्धान्त र मानकहरू बुझ्न र लागु गर्न सक्छन्। मानिसहरूको हृदय परमेश्वरका वचनहरूद्वारा शासित हुनुको अर्थ यही हो। परमेश्वरले यी कुराहरूबारे पर्याप्त स्पष्टता र प्रस्टतासाथ बोलिसक्नुभएको छ, त्यसकारण यहाँ पवित्र आत्माको काम उल्लेख गर्नु आवश्यक छैन। आखिरी दिनहरूमा, परमेश्वरले अत्यन्तै यति धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, प्रत्येक सत्यता मानिसहरूका लागि प्रस्ट र बुझ्न सकिने तुल्याउनुभएको छ। त्यसकारण, पवित्र आत्माको काम त्यति महत्त्वपूर्ण छैन र सहायक मात्र हो। मानिसहरूले सत्यता नबुझ्दा वा परमेश्वरले यति पूर्णता र प्रस्टतासाथ अत्यन्तै धेरै वचनहरू नबोल्नुभएको हुँदा मात्र पवित्र आत्माले सहायक, प्रेरक प्रकृतिको केही काम गर्नुहुन्छ, जसले मानिसहरूलाई केही सरल ज्योति प्रदान गर्छ र उनीहरूलाई अलिअलि उत्प्रेरित गर्ने कार्य गर्छ, उनीहरूलाई सही निर्णय गर्न र जीवन एवं विभिन्न वातावरणहरूमा सही मार्ग हिँड्न मदत गर्छ। अहिले भनेको परमेश्वरका वचनहरूको युग हो, जहाँ परमेश्वरले मानवजातिलाई अगुवाइ गर्नका लागि व्यक्तिगत रूपमै बोल्नुहुन्छ, र सबै कुरामा परमेश्वरका वचनहरू नै हाबी हुन्छन्। पवित्र आत्माको काम सहायक मात्र हो। जब मानिसहरूले सत्यता बुझ्छन्, परमेश्वरका वचनहरू अभ्यास गर्न सक्छन्, र परमेश्वरका वचनहरूअनुसार जिउँछन्, तब परमेश्वरका अभिप्रायहरू पूरा हुन्छन्।
मण्डलीको आधारभूत परिभाषामा रहेको पहिलो वाक्यांश हेरौँ: “निष्कपट रूपमा परमेश्वरलाई पछ्याउने।” यो “निष्कपट रूपमा” भन्ने शब्दको विशिष्ट अर्थ छ। यसले ती समय मात्र कटाइरहेका, नामको मात्र ठाउँ भरिरहेका, अघाउन्जेल खाने, मुक्तिका लागि अनुग्रहमा भर पर्ने, वा गोप्य मनसाय र उद्देश्यहरू बोकेकाहरूलाई जनाउँदैन। त्यसोभए, “निष्कपट रूपमा” भन्नुको अर्थ के हो त? सबैभन्दा आधारभूत र सरल व्याख्या यस्तो हुन्छ: जबसम्म व्यक्तिले परमेश्वर, सत्यता, वा सृष्टिकर्ताबारे सुनिरहन्छ, तबसम्म उसले हृदयमा एउटा अभिलाषा महसुस गरिरहन्छ, स्वेच्छापूर्वक त्याग गरिरहन्छ, स्वेच्छापूर्वक आफूलाई अर्पण गरिरहन्छ, स्वेच्छापूर्वक कष्ट सहिरहन्छ, र ऊ परमेश्वरको बोलावट स्विकार्नका लागि परमेश्वरसामु आउन, र परमेश्वरलाई पछ्याउनका लागि सबथोक त्याग्न इच्छुक भइरहन्छ। जबसम्म ऊसँग निष्कपट हृदय हुन्छ, तबसम्म त्यो नै पर्याप्त हुन्छ। कतिपय मानिसहरू भन्छन्: “तपाईं किन यो आस्थाले भरिपूर्ण परमेश्वरलाई पछ्याउने मानिसहरूको समूह हो भन्नुहुन्न?” मानिसहरू त्यो स्तरमा पुग्नै सक्दैनन्। अहिले आफ्नो कर्तव्य पूरा गरिरहेकाहरूमध्ये, केहीले करिब दस वर्षदेखि विश्वास गरेका छन्, र केहीले बिस वा तीस वर्षदेखि विश्वास गरेका छन्; मूलतः यो निष्कपटता हुनु आधारभूत रूपमा पर्याप्त छ। यसलाई आस्थाले भरिपूर्ण हुनु भनी परिभाषित गर्नु सही हुँदैन। हामीले गर्ने मण्डलीको परिभाषा एउटा आधारभूत र विशिष्ट परिस्थितिमा आधारित हुन्छ, जसमा शब्दहरूभित्र स-साना खोटहरू खोज्ने वा परिभाषा र मानक अत्यन्तै उच्च पार्ने काम गर्नु हुँदैन, किनभने त्यो अव्यावहारिक हुनेथियो। कतिपय मानिसहरू भन्छन्, “‘निष्कपट रूपमा’ र ‘आस्थाले भरिपूर्ण’ भनेर मात्र पुग्दैन। यसलाई परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने धर्मी मानिसहरूको समूह भन्नुपर्छ—त्यसो भन्दा उत्तम हुनेथियो!” यदि हामीले मानक यति उच्च बनायौँ भने, त्यसपछिका “सत्यता पछ्याउने, उहाँका वचनहरू अभ्यास र अनुभव गर्ने” भन्ने वाक्यांशहरू सबै अनावश्यक हुनेथिए। मुख्य कुरा के हो भने मण्डलीका सदस्यहरू ती सबै हुन् जसलाई परमेश्वरले मुक्ति दिन चाहनुहुन्छ। मानिसहरूको यो समूह शैतानका भ्रष्ट स्वभाव र परमेश्वरबारे धारणा र कल्पनाहरूले भरिएको हुन्छ। अझ यथार्थ रूपमा भन्नुपर्दा, उनीहरू विद्रोहले भरिपूर्ण, समर्पण नभएका, सत्यता नबुझ्ने, र परमेश्वरबारे बिलकुलै ज्ञान नभएकाहरू हुन्छन्—यो नै सबैभन्दा यथार्थ परिस्थिति हो। त्यसकारण, परमेश्वरका नजरमा, मण्डलीका सदस्यहरू त्यस्तो यथार्थ परिस्थिति र वास्तविक हैसियतमा हुन्छन्। परमेश्वरले यही आधारभूत सर्तमा आधारित भएर, अर्थात् उनीहरूले निष्कपट रूपमा परमेश्वरलाई पछ्याउन सक्छन् कि सक्दैनन्, र साँच्चिकै आफूलाई समर्पित गर्न र त्याग गर्न सक्छन् कि सक्दैनन् भन्ने आधारमा मानिसहरू छनोट गर्नुहुन्छ। कतिपय मानिसहरू भन्छन्, “यदि उनीहरू निष्कपट छन् भने, किन उनीहरूसँग अझै पनि विलासी कामनाहरू हुन्छन्? यदि उनीहरू निष्कपट छन् भने, किन अझै आशिष्हरू प्राप्त गर्न चाहन्छन्?” मानिसहरूले परमेश्वरको काम अनुभव गर्दै गर्दा यी बिस्तारै परिवर्तन हुँदै जानेछन्। यतिखेर, हामी मण्डलीको मूलभूत अवधारणा परिभाषित गरिरहेका छौँ। यो मूलभूत अवधारणा परमेश्वरले मानिसहरू छनोट गर्नुका सबैभन्दा न्यूनतम माग र सबैभन्दा तल्लो मानक हो। यी मानकहरू बिलकुलै खोक्रा र बढाइचढाइ गरिएका होइनन्; यी त तिमीहरूको वास्तविक परिस्थितिसँग अत्यन्तै मिल्छन्। अर्को शब्दमा भन्नुपर्दा, तिमीहरूलाई छनोट गर्दा र तिमीहरूमध्ये कसैलाई मुक्ति दिने निर्णय गर्दा, परमेश्वरले हेर्नुहुने मापदण्डहरू यिनै हुन्। यदि तैँले यी मागहरू पूरा गर्छस् भने, तँलाई परमेश्वरद्वारा परमेश्वरको घरमा ल्याइन्छ र तँ मण्डलीको सदस्य बन्छस्। वास्तविक परिस्थिति यही हो। त्यसकारण, मण्डलीको परिभाषाको पहिलो वाक्यांश नै “निष्कपट रूपमा परमेश्वरलाई पछ्याउने” भन्ने छ; यो तुलनात्मक रूपमा सही छ। मानिसहरूको यो समूहले परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने, अन्धकारको प्रभावबाट उम्किने, अनि संसार र ठूलो रातो अजिङ्गरविरुद्ध पूर्ण रूपमा विद्रोह गर्ने मापदण्डहरू पूरा गर्न सक्दैनन्। उनीहरूले यी सबै कुराहरू पूरा गर्न सक्दैनन्। किन? किनभने उक्त परिभाषाले परमेश्वरका वचनहरूको अभ्यास पछ्याउन सक्नु भन्ने पनि उल्लेख गर्छ। मानिसहरूसँग सत्यतालाई प्रेम गर्ने र सत्यताको अभिलाषा राख्ने हृदय हुने हुनाले, पछ्याउने क्रममा, उनीहरूले परमेश्वरका वचनहरू अनुभव र अभ्यास गर्न सक्छन्, र अन्ततः उनीहरूले परमेश्वरको आराधना गर्न सक्छन्। परमेश्वरको आराधना गर्नुमा परमेश्वरमा समर्पित हुने, परमेश्वरका वचनहरू सुन्ने, परमेश्वरका योजनाबद्ध कार्यहरू स्विकार्ने, र परमेश्वरका सार्वभौमिकता र प्रबन्धहरू स्विकार्ने कुराहरू पर्छन्। अन्ततः मानिसहरूको यो समूहले मुक्ति प्राप्त गर्न सक्छ। परमेश्वरका नजरमा मण्डलीका सदस्यहरूको खास हैसियत यही हो। के यो सबैभन्दा आधारभूत सर्त होइन र? (हो।) कतिपय मानिसहरू भन्छन्, “तपाईंले शैतानका भ्रष्ट स्वभावहरू फाल्ने र शुद्धीकरण प्राप्त गर्ने कुरा उल्लेख गर्नुभएन। यो परिभाषाले यी कुराहरू समेट्दैन।” के ती कुराहरू यो परिभाषामा समावेश छन्? (छन्।) ती कुन भागमा समावेश छन्? परमेश्वरका वचनहरूको अभ्यास पछ्याउनुमा। यदि तैँले परमेश्वरका वचनहरूको अभ्यास पछ्याउन सक्छस् भने, के तेरा भ्रष्ट स्वभावहरू बिस्तारै हल हुँदैनन् र? के तँ शैतानका भ्रष्ट स्वभावहरू फाल्न र स्वभाव परिवर्तन हासिल गर्न सक्षम हुँदैनस् र? (हुन्छु।) स्वभाव परिवर्तन हासिल गर्ने अवधिमा, तैँले बिस्तारै परमेश्वरका वचनहरू बुझ्छस् र तेरा आफ्नै भ्रष्ट स्वभावहरू हल गर्छस्। तैँले तेरा केही भ्रष्ट स्वभावहरू हल गर्दै गर्दा, के तेरो परमेश्वरमाथिको आस्था र परमेश्वरप्रतिको समर्पण बढ्छ? के यी कुराहरूबीच कुनै सम्बन्ध हुन्छ? (हुन्छ।) तैँले परमेश्वरको जति बढी आराधना गर्छस्, त्यति बढी तँमा परमेश्वरप्रतिको समर्पण हुनेछ। परमेश्वरप्रतिको तेरो समर्पण बढ्दै जाँदा, के तँ मुक्ति प्राप्त गर्ने नजिक पुगिरहेको हुँदैनस् र? (हुन्छु।) त्यसोभए, यो समूहका मानिसहरू कस्ता प्रकारका हुन्छन्? उनीहरू मुक्ति प्राप्त गर्न सक्नेहरू हुन्। मण्डलीका सदस्यहरूको खास परिस्थिति यही हो। कतिपयले भन्छन्, “मण्डलीको यो परिभाषाले त मण्डली संलग्न हुने काम उल्लेख नै गर्दैन।” के यसमा मण्डली संलग्न हुने आधारभूत कामसँग सम्बन्धित कुनै भाग छ? (मुक्ति प्राप्ति पछ्याउनु।) यो भाग निकट रूपमा सम्बन्धित छ। मण्डलीले गर्ने काम, चाहे त्यो परमेश्वरका वचनहरूको प्रसार होस् वा मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन अगुवाइ गर्ने होस्, वा मानिसहरूलाई आफैलाई चिन्न र शैतानका भ्रष्ट स्वभावहरू फाल्न मदत गर्ने होस्, त्यसको अन्तिम उद्देश्य भनेकै मानिसहरूलाई मुक्ति प्राप्त गर्न मदत गर्नु हो। त्यसकारण, के अब तिमीहरूले मण्डलीको यो सबैभन्दा आधारभूत र सरल अवधारणा स्विकार्न सक्छौ? (सक्छौँ।) यो परिभाषा बढाइचढाइ गरिएको वा खोक्रो छैन, र यसमा उच्च सुनिने शब्दावली र वाक्यांशहरू प्रयोग भएका छैनन्, बरु यसले त मण्डलीको निर्माण वा परिभाषाका लागि चाहिने सबैभन्दा आधारभूत आवश्यकताहरू समावेश गरेको छ।
अब मैले तिमीहरूलाई व्याख्या गरिसके पछि, के तिमीहरू मण्डलीको अवधारणाको परिभाषाको पृष्ठभूमि बुझ्छौ? (बुझ्छौँ।) यदि मैले यो तरिकाले व्याख्या नगरेको भए, तिमीहरूले मण्डलीको आधारभूत काम र मण्डलीको परिभाषा निकै गहन छन् भन्ठान्नेथ्यौ। अब तिमीहरूले मण्डलीको परिभाषा बुझ्नेहुनाले, तिमीहरूलाई मण्डलीबारे आफ्नो बुझाइ अत्यन्तै सतही छ भन्ने लाग्छ। मण्डलीको परिभाषा प्रस्ट पारिएको छ—यो यति व्यावहारिक छ। कुराहरू जति बढी व्यावहारिक हुन्छन्, त्यति नै मानिसहरूलाई प्रायः आफू सतही रहेछु भन्ने लाग्छ। वास्तवमा, नजिकबाट हेर्ने हो भने, यो परिभाषाको हरेक शब्द व्यावहारिक र विशिष्ट परिस्थितिहरूसँग जोडिएको र निकट रूपमा सम्बन्धित रहेको छ, र बिलकुलै सतही छैन। मण्डलीको परिभाषाको पहिलो वाक्यांश “निष्कपट रूपमा परमेश्वरलाई पछ्याउने” भन्ने हो। परमेश्वरले चाहनुहुने भनेकै यो “निष्कपट रूपमा” भन्ने हो। कति मानिसहरूमा यस्तो निष्कपटता हुन्छ? के मानिसहरूलाई यस्तो निष्कपटता धारण गर्न सजिलो छ? सजिलो छैन। “उहाँका वचनहरूद्वारा शासित हुने” बारे कुरा गर्दा, के तैँले त्यो कुरा अहिलेसम्म हासिल गरेको छस्? तँ यो वाक्यांश सतही र हासिल गर्न सजिलो छ भन्ठान्छस्। यदि परमेश्वरले “उठ्, मलाई पछ्या, अनि आफ्नो कर्तव्य पूरा गर्” भनेर भन्नुभयो, र मानिसहरूले पालन गरे भने, के यसको अर्थ तिनीहरू परमेश्वरका वचनहरूद्वारा शासित छन् भन्ने हुन्छ? यसको अर्थ मानिसहरू परमेश्वरमा विश्वास गर्न र परमेश्वर पछ्याउन इच्छुक छन् भन्ने मात्र हुन्छ, तर उनीहरू परमेश्वरका वचनहरूद्वारा शासित हुने अवस्थामा पुगिसकेका हुँदैनन्—उनीहरू अझै त्यसबाट धेरै टाढा छन्! परमेश्वरका वचनहरूद्वारा शासित हुन तँसँग के हुनु आवश्यक छ? न्यूनतम माग भनेको तैँले परमेश्वरका वचनहरू बुझ्नुपर्छ; तैँले परमेश्वरका वचनहरूका मागहरूले के जनाइरहेका छन्, परमेश्वरका वचनहरूले कस्ता सिद्धान्तहरू माग गर्छन्, र विभिन्न मानिस, घटना र कामकुराहरू सामना गर्दा, परमेश्वरका वचनहरू कसरी लागु गर्ने, र परमेश्वरलाई सन्तुष्ट पार्न परमेश्वरका वचनहरूलाई कसरी आफ्नो अभ्यासमा बदल्ने भनेर जान्नुपर्छ। यो सजिलो छैन। बिस्तारै केही हदसम्म परमेश्वरका वचनहरूद्वारा शासित गरिएको बन्नका निम्ति, लामो अवधिसम्म परमेश्वरका वचनहरू खानु र पिउनु, प्रार्थनार्थ पढ्नु, अनुभव गर्नु, र तिनलाई बुझ्नु, साथै परमेश्वरका अभिप्रायहरू र परमेश्वरको स्वभावको बुझाइ प्राप्त गर्नु आवश्यक हुन्छ। त्यसकारण, “उहाँका वचनहरूद्वारा शासित हुनु” भन्ने वाक्यांश त्यो सतहमा सरल देखिन्छ, मानौँ धेरैजसो मानिसहरू परमेश्वरका वचनहरूद्वारा नै शासित छन्, तर वास्तवमा कुरा त्यस्तो हुँदैन। मानिसहरूका वास्तविक परिस्थितिहरू मूल्याङ्कन गर्दा प्रस्ट हुन्छ कि यो वाक्यांश केवल मानिसहरूबाट परमेश्वरले गर्नुहुने माग मात्र हो, जुन उनीहरूले अहिलेसम्म बिलकुलै हासिल गरेकै छैनन्। “उहाँका वचनहरूको अभ्यास पछ्याउने” भन्ने त्यसपछिको वाक्यांश पनि मानिसहरूबाट परमेश्वरले गर्नुभएको माग हो। तैँले अझै पनि परमेश्वरका वचनहरूको अभ्यास हासिल गरेको छैनस्; तँ केवल परमेश्वरका वचनहरूको अभ्यास पछ्याइरहेको छस्। तैँले यो पछ्याइ कसरी गर्नुपर्छ? तँलाई परिस्थितिहरू सामना गर्दा, परमेश्वरका मागहरूअनुसार अभ्यास गर्। ढाँट्ने काम नगर्; इमानदार व्यक्ति बन्। के तँ त्यति गर्न सक्छस्? त्यसो गर्न सजिलो छैन। जब तँलाई काटछाँट गरिन्छ, तैँले समर्पित हुन र आत्मचिन्तन गरेर आफूलाई चिन्न, साथै सत्यताअनुसार अभ्यास गर्न सक्नुपर्छ। के तैँले यो हासिल गर्न सक्छस्? यदि यो मुस्किल लाग्यो वा यदि तेरो आफ्नै इच्छा अत्यन्तै बलियो छ, र तँ सधैँ आफ्नो उग्रतालाई विस्फोट हुन दिन चाहन्छस् भने, तँ मामलाहरूलाई सिद्धान्तहरूअनुसार सम्हाल्ने, र आफ्नो उग्रता खुलासा नगर्ने वा मनोमानी र स्वेच्छाचारी तरिकाले कार्य नगर्ने पछ्याइमा लाग्नुपर्छ; तैँले परमेश्वरका वचनहरूले भनेअनुसार गर्नैपर्छ, र काटछाँट स्विकार्नेपर्छ, आफ्ना अपराधहरू चिन्नैपर्छ, र आफू कहाँ चुकेँ भनेर बुझ्नैपर्छ। यसलाई परमेश्वरका वचनहरूको अभ्यास पछ्याउनु भनिन्छ। के परमेश्वरका वचनहरू अभ्यास गर्न थाल्नुको अर्थ व्यक्ति परिवर्तन भएको छ भन्ने हो? यो त्यति सरल छैन। यदि तँलाई अगुवा वा कामदारका रूपमा चुनियो भने, के तैँले मनोमानी र स्वेच्छाचारी रूपमा कार्य गर्नबाट आफूलाई रोक्न सक्छस्? यो सजिलो छैन; यसका लागि तैँले सत्यता बुझ्न जरुरी छ, परमेश्वरका वचनहरू अभ्यास गर्न सक्ने हुन जरुरी छ, र एक अवधिसम्म अनुभव गर्न जरुरी छ; त्यसपछि मात्र तैँले यो हासिल गर्न सक्छस्। यदि तँ परमेश्वरका वचनहरू अभ्यास गर्न चाहन्छु भन्छस्, तर तँसित यो मौखिक इच्छा मात्र छ र तेरो हृदयमा कुनै प्रेरणा छैन भने, त्यसले पुग्नेछैन। जब तेरो हृदय इच्छुक हुन्छ, र तँ साँच्चिकै सत्यता अभ्यास गर्न चाहन्छस्, तब तैँले सत्यता अभ्यास गर्न सक्छस्। जब तँ सत्यता अभ्यास गर्न हृदयमा अनिच्छुक हुन्छस्, तैँले कसम नै खाए पनि वा अरूले तँलाई साथ दिए पनि, त्यो काम लाग्नेछैन। तँसित सङ्कल्प हुनुपर्छ, अर्थात्, तँसित परमेश्वरको अत्यन्तै ठूलो कामना गर्ने हृदय हुनुपर्छ। तैँले परमेश्वरले कुनै मामलालाई कसरी परिभाषित गर्नुहुन्छ र त्यस सन्दर्भमा के माग गर्नुहुन्छ भनेर जान्नुपर्छ, अनि त्यो पक्षसँग सम्बन्धित परमेश्वरका सबै वचनहरू खोजेर सङ्कलन गर्नुपर्छ, र तिनलाई प्रार्थनार्थ पढ्नुपर्छ अनि बुझ्नुपर्छ। तिनलाई एउटा नोटबुकमा लेखेर वा सजिलै देखिने ठाउँमा राख्। कामको विश्राम समयमा, तिनलाई हेर् र पढ्, समयसँगै तँलाई परमेश्वरका यी वचनहरू याद हुनेछन् र तैँले तिनलाई हृदयमा राख्नेछस्। हरदिन परमेश्वरका वचनहरूको साँचो अर्थबारे मनन गर्, अनि कस्तो तरिकाले बोल्नु र कार्य गर्नुलाई परमेश्वरका वचनहरू अभ्यास गरेको मानिन्छ भनेर चिन्तन गर्। यसलाई परमेश्वरका वचनहरूको अभ्यास पछ्याउनु भनिन्छ। के यो हासिल गर्न सजिलो छ? यो सजिलो छैन; यो रातारात वा एकै पटकमा धेरै बल लगाएर हासिल गर्न सकिने कुरा होइन। कतिपय मानिसहरू “म रगतको कसम खान्छु” भन्छन्, तर त्यो बेकार हो। तँ “म निराहार र निर्जला व्रत बसेर प्रार्थना गर्नेछु” भन्छस्, तर त्यो बेकार हो। तँ “म रातभरि जागा बसेर कष्ट भोग्नेछु” भन्छस्, तर त्यो पनि बेकार हो। तैँले सत्यता पछ्याउनैपर्छ; तँसित सत्यता पछ्याउने प्रकटीकरणहरू हुनैपर्छ, र सत्यता पछ्याउने मार्ग हुनैपर्छ; तँसित सही माध्यम र विधिहरू हुनैपर्छ। तँसित जस्तो प्रकारका माध्यम वा विधिहरू भए पनि, तँ परमेश्वरका वचनहरूबाट बाहिर जान मिल्दैन; तैँले परमेश्वरका वचनहरूमा मेहनत लगाउन, हरेक कुरालाई परमेश्वरका वचनहरूसँग तुलना गर्न, हरेक परिस्थितिमा समस्याहरू समाधान गर्नका लागि परमेश्वरका वचनहरू प्रयोग गर्न, र परमेश्वरका वचनहरूलाई आफ्नो प्रमुख प्राथमिकता बनाउनैपर्छ। यसलाई सत्यता पछ्याउनु भनिन्छ। उदाहरणका लागि, अरूसँग अन्तरक्रिया गर्ने सम्बन्धमा, तैँले परमेश्वरका वचनहरूले यसबारे के भन्छन् भनेर हेर्न र अरूसँग अन्तरक्रिया गर्नुसँग सम्बन्धित परमेश्वरका वचनहरू खोज्न आवश्यक हुन्छ। सामञ्जस्यपूर्ण सहकार्यका लागि, यस पक्षसँग सम्बन्धित परमेश्वरका वचनहरू पनि खोज्। वफादारीका साथ कर्तव्य निर्वाह गर्ने सम्बन्धमा, मानक पूरा गर्ने तरिकाले कर्तव्य निर्वाह कसरी गर्ने भन्नेबारे परमेश्वरका वचनहरू खोज् र परमेश्वरका अत्यावश्यक वचनहरू कण्ठ गर्, र तिनलाई हृदयमा राख्। झूटो अगुवा भनेको के हो, झूटा अगुवाहरूमा कस्ता प्रकटीकरणहरू हुन्छन्, तिनीहरूमा विवेक र समझ हुन्छ कि हुँदैन, र परमेश्वरले झूटा अगुवाहरूलाई कसरी चित्रण गर्नुहुन्छ भन्ने सम्बन्धमा, परमेश्वरका यी प्रमुख वचनहरू खोज्ने र तिनलाई नोटबुकमा लेख्ने, सजिलै देख्न सकिने ठाउँमा राख्ने, अनि समय मिल्नेबित्तिकै तिनलाई प्रार्थनार्थ पढ्ने गर्। आफ्नो जीवन प्रवेश र स्वभाव परिवर्तनसँग सम्बन्धित हरेक मामलामा, यसरी नै अभ्यास गर्ने र मेहनत लगाउने गर्। यसलाई सत्यता पछ्याउनु भनिन्छ। यदि तेरो मेहनत यो स्तरसम्म पुग्दैन भने, त्यसलाई सत्यता पछ्याउनु भनिँदैन; त्यसलाई झारा टार्नु, सतही कार्य गर्नु, र अल्याङटल्याङ गरेर दिन कटाउनु भनिन्छ।
अब “परमेश्वरको आराधना गर्ने” भन्ने वाक्यांश हेरौँ। परमेश्वरको आराधना गर्नुमा वास्तविक भय, डर, आदर, र निष्कपटता, साथै परमेश्वरलाई परमेश्वरका रूपमा व्यवहार गर्ने, आफ्नो हृदयमा परमेश्वरका लागि ठाउँ राख्ने, परमेश्वरले खडा गर्नुभएका वातावरणहरू र उहाँले दिनुभएका आज्ञाहरूप्रति विवेकी रूपमा व्यवहार गर्ने, र परमेश्वरले भन्नुभएको हरेक वचनलाई गम्भीरता र जिम्मेवारीपूर्वक व्यवहार गर्ने, आदि इत्यादि कुराहरू पर्छन्। यी सबै प्रकटीकरणहरूलाई आराधना भनिन्छ। चाहे परमेश्वरले तेरै आमने-सामने बोल्नुभएका वचनहरू होऊन् वा उहाँले व्यक्त गर्नुभएका सारा वचनहरू होऊन्, तैँले ती वचनहरू जानेसम्म र सम्झेसम्म, र तैँले हृदयमा तिनलाई बुझेसम्म र तँ तीबारे पक्का भएसम्म, तैँले तिनलाई आफूलाई आचरणमा ढाल्ने, र जिउने, र आदि इत्यादि गर्ने मापदण्डहरूका रूपमा लिनुपर्छ—यो नै परमेश्वरको आराधना गर्नुको प्रकटीकरण हो। मामलाहरू सामना गर्दा, ती तेरा रुचि, चाहना, वा धारणाहरूअनुरूप भए वा नभए पनि, तैँले अझै पनि आफ्नो हृदय शान्त पारेर यो कुरा ख्याल गर्न सक्नुपर्छ, “के यो परमेश्वरले गर्नुभएको हो? के यो परमेश्वरबाट उत्पत्ति भएको हो? परमेश्वरले किन यसो गर्नुभयो? परमेश्वरले ममा के कुरा शोधन गर्न चाहनुहुन्छ, र उहाँले ममा के कुरा रूपान्तरण गर्न चाहनुहुन्छ? परमेश्वरको अभिप्राय ठ्याक्कै के हो? म कसरी परमेश्वरका प्रबन्धहरूमा समर्पित हुनुपर्छ? मैले परमेश्वरको अभिप्राय कसरी पूरा गर्नुपर्छ? एक मानवका रूपमा मैले आफ्नो जिम्मेवारी कसरी पूरा गर्नुपर्छ?” यी सबै र यस्तै अन्य प्रकटीकरणहरू परमेश्वरको आराधना गर्नुका प्रकटीकरणहरू हुन्। तैँले बढी सत्यता नबुझे पनि, एक सामान्य व्यक्तिका रूपमा, परमेश्वरको अस्तित्वमा विश्वास गर्ने, निष्कपट रूपमा परमेश्वरलाई पछ्याउने व्यक्तिका रूपमा, तँमा कम्तीमा परमेश्वरप्रति हुनुपर्ने मनोवृत्ति यही हो। परमेश्वरसँग सम्बन्ध राख्ने सबै कुरा, परमेश्वरका वचनहरूसँग सम्बन्धित सबै कुरा, अनि तँलाई दिइएको परमेश्वरको आज्ञा, तेरो कर्तव्य र तेरो जिम्मेवारीबारेका सबै कुरालाई तैँले लापरवाही, असावधानी र अपमानजनक रूपमा नभई होसियारी र सतर्कतासाथ व्यवहार गर्नुपर्छ—यसलाई परमेश्वरको आराधना गर्नु भनिन्छ। परमेश्वरसँग सम्बन्धित सबै कुरालाई सतर्क, होसियार, अनि परमेश्वरको डर र भय मान्ने हृदयले सम्हाल्नु—यसलाई परमेश्वरको आराधना गर्नु भनिन्छ। के यो हासिल गर्न सजिलो छ? यो सजिलो छैन। वास्तविक अनुभवविना, “परमेश्वरको आराधना गर्ने” भन्ने तीनवटा शब्द बुझ्नसमेत गाह्रो हुन्छ, वास्तवमै परमेश्वरको आराधना अभ्यास गर्ने कुरा त झनै गाह्रो हुन्छ। मण्डलीको परिभाषाको अन्तिम वाक्यांश “उहाँको मुक्ति प्राप्त गर्ने” भन्ने हो। यसलाई कसरी बुझ्नुपर्छ? मुक्ति प्राप्त गर्ने मार्ग लामो छ, र यसमा अझ धेरै कुरा माग गरिन्छ। सबभन्दा पहिला तँ हिँड्ने मार्ग सही हुनुपर्छ; तँ परमेश्वरका वचनहरूमा भएका सबै सत्यताहरू स्विकार्न सक्षम हुनुपर्छ, र तँ परमेश्वरका वचनहरूको अभ्यास पछ्याउने र परमेश्वरमा समर्पित हुने व्यक्ति हुनुपर्छ। तेरो जीवन परमेश्वरका वचनहरूद्वारा शासित हुनैपर्छ। तैँले परमेश्वरको अस्तित्व अनुमोदन गर्ने मात्र नभई, सत्यतालाई प्रेम गर्ने र सत्यताअनुसार कार्य गर्ने पनि गर्नुपर्छ; तँमा परमेश्वरप्रति साँचो डर र साँचो समर्पण हुनुपर्छ, तैँले हृदयमा परमेश्वरलाई प्रायः प्रार्थना गर्नुपर्छ, र तँ बिस्तारै परमेश्वरको आराधना गर्नतर्फ लाग्नुपर्छ। त्यसपछि तँ सत्यतालाई प्रेम गर्ने र परमेश्वरमा समर्पित हुने व्यक्ति हुन्छस्; तँ ठ्याक्कै परमेश्वरले मुक्ति दिन चाहनुहुने खालको व्यक्ति हुन्छस्। निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्ने व्यक्ति सही व्यक्ति हुनुपर्छ। सही व्यक्ति हुनुको फाइदा के हो? के हो भने, तँलाई मुक्ति प्राप्त गर्न अत्यन्तै गाह्रो हुनेछैन; तँसँग मुक्ति प्राप्त गर्ने आशा रहनेछ। मण्डलीको परिभाषासम्बन्धी विशिष्ट विवरणहरूबारेको हाम्रो सङ्गति यति नै हो।
ई. मण्डलीप्रति मानिसहरूले बोक्ने धारणा र विचारहरू
भर्खरै, हामीले मण्डली भनेको के हो, मण्डलीले गर्ने मूलभूत काम के हो, र मानिसहरूले आफ्ना धारणाहरूमा मण्डलीबारे के कल्पना गर्छन् र मण्डलीबाट के माग गर्छन् भन्नेबारे सङ्गति गर्यौँ। अन्ततः, हामीले मण्डलीको अवधारणाको एउटा परिभाषा दियौँ। यसलाई परिभाषित गरिसकिएकोले, अब तिमीहरूसँग “मण्डली” पदवीनामको सही बुझाइ हुनुपर्छ; तिमीहरूले मण्डलीले गर्नुपर्ने काम, मानिसहरूलाई सत्यता र मुक्ति प्राप्त गर्नका लागि मदत गर्न मण्डलीले खेल्ने भूमिका, र परमेश्वर पछ्याउने सबैका लागि मण्डलीको महत्त्वबारे आधारभूत बुझाइ प्राप्त गरेको हुनुपर्छ। हामीले मानिसहरूले आफ्ना धारणाहरूमा मण्डलीको अस्तित्वको मूल्य र मण्डलीले गर्नुपर्ने काम के हो भन्ने विश्वास गर्छन् भन्नेबारे सङ्क्षेपमा प्रतिनिधिमूलक चिरफार र खुलासा पनि गर्यौँ। मानिसहरूका धारणाहरूमा मण्डलीबारे उनीहरूका बुझाइ र व्याख्याहरूबारे तिमीहरूले छर्लङ्गै देख्न वा बुझ्न नसकेको केही छ त? कतिपय मानिसहरू के सोच्छन् भने मण्डली समाजको कुनै न कुनै प्रकारको काममा संलग्न हुनुपर्छ वा समाजमा इन्साफ कायम राख्नेजस्ता कुनै न कुनै भूमिका मण्डलीले खेल्नुपर्छ। मानिसहरूका धारणाअनुसार, मण्डलीले एउटा सकारात्मक छवि प्रतिनिधित्व गर्छ, त्यसोभए यसले किन इन्साफ कायम राख्न सक्दैन? के मण्डलीको काम वा परमेश्वरका मागहरूसँग इन्साफ कायम राख्नुको कुनै सम्बन्ध छ? (छैन।) मानिसहरूले चर्चा गर्ने “इन्साफ कायम राख्नु” ले के जनाउँछ? (मानिसहरूले जे कुरालाई इन्साफ कायम राख्नु भन्छन् त्यो साँचो इन्साफ होइन। त्यो त केवल देहका स्वार्थहरू संरक्षण गर्नु हो र त्यो सत्यतासँग मिल्दैन।) के सत्यतासँग यस इन्साफको कुनै सम्बन्ध छ? (छैन।) मानवजातिले यसैलाई इन्साफ भन्छ। उदाहरणका लागि, केही दुष्ट शक्तिहरूलाई धपाउनु, केही अन्यायहरू र मानिसहरूले गलत व्यवहार वा अपमान भोगेका घटनाहरू सच्याउनु, वा दुष्ट मानिसहरूलाई तिनीहरूले पाउनुपर्ने दण्ड दिनु, र निरीह समूहहरूका हितहरूलाई पुनर्स्थापना र सुरक्षा गर्नु, आदि इत्यादि—मानिसहरूले यिनै कुराहरूलाई इन्साफ कायम राख्नु भन्छन्। यस्तो इन्साफ कायम राख्नुको मुख्य उद्देश्य के हो? के मानिसहरूले सत्यता पछ्याउनुसँग यसको कुनै सम्बन्ध छ? के मानिसहरूले मुक्ति पाउनुसँग यसको कुनै सम्बन्ध छ? (छैन।) यो त मानव नैतिक इन्साफ र नैतिकताका आधारमा उब्जिने एउटा भनाइ मात्र हो; सत्यतासँग यसको बिलकुलै कुनै सम्बन्ध छैन। के हामीले यो सत्यताको स्तरमा पुग्दैन भन्न मिल्छ? (मिल्छ।) मिल्छ र? (मिल्दैन; यी दुई असम्बन्धित कुरा हुन्।) ठीक भनिस्, यी पूर्ण रूपमा असम्बन्धित छन्; यी दुई फरक कुराहरू हुन्। मानवजातिले कस्तो प्रकारको इन्साफ कायम राख्छ? त्यस्तो प्रकारको इन्साफ, जहाँ अलि तल्लो सामाजिक हैसियतको आम व्यक्तिलाई दुष्ट मानिसहरूले उत्पीडन दिँदा वा कुनै अधिकार वा हितहरूबाट वञ्चित गर्दा, ती दुष्ट मानिसहरूलाई विधिपूर्वक दण्डित गरिन्छ, अनि आम वा साधारण व्यक्तिले उप्रान्त दुर्व्यवहार भोग्नुपर्दैन। यो मानिसहरूका देहगत हितहरू पुनर्स्थापित र प्रत्याभूत गर्ने, मानिसहरूबीच सापेक्ष समानता हासिल गर्ने, सामाजिक स्तरहरूबीचका खाडलहरू हटाउने, र दुष्ट मानिसहरू आफ्ना दुष्कर्महरूमा सफल नहोऊन्, र अन्यायमा परेकाहरूका गुनासाहरू निवारण होऊन् भनी सुनिश्चित गर्ने कुरा हो। मानवजातिले यसैलाई इन्साफ कायम राख्नु भन्छन्, र सत्यतासँग यसको बिलकुलै कुनै सम्बन्ध छैन। तिमीहरूले अझै पनि यो सत्यताको स्तरमा पुग्दैन भनेर कसरी भन्न सक्छौ? के यो सत्यतासँग सम्बन्धित छ त? अहँ, छैन। ल भन् त, के कष्ट भोगेका ती आम र साधारण मानिसहरू असल मानिस नै हुन्छन् भन्ने छ? (त्यो जरुरी छैन।) उनीहरूलाई कष्ट भोग्नबाट रोक्नु—के त्यो इन्साफ हो? के त्यो सत्यतासँग मेल खान्छ? के त्यसपछि ती मानिसहरूलाई मुक्ति दिन सकिन्छ? यी प्रस्ट रूपमा दुई भिन्न मामलाहरू हुन्—यी दुई कुरालाई कसरी एकै ठाउँमा राख्न सकिन्छ? त्यसैले यो सत्यताको स्तरमा पुग्न सक्ने प्रश्नै उठ्दैन; यो सत्यतासरह कुरा हुँदै होइन। यदि तिमीहरूमा यो विषयबारे केही असहमतिहरू छन् भने, सम्भवतः तिमीहरूमध्ये अधिकांशले इन्साफ कायम राख्ने मामला छर्लङ्गै बुझ्नै सक्दैनौ र तिमीहरू अझै पनि यसमा धेरथोर आसक्त छौ, र यस्तो सोच्छौ, “यो कसरी गलत हुन सक्छ? यो कसरी मण्डलीले गर्नुपर्ने काम नहुन सक्छ?” खासमा, मण्डलीको कामसँग यसको कुनै सम्बन्ध छैन। कतिपय यस्ता मानिसहरू पनि छन्, जो के सोच्छन् भने मण्डली भनेको त यस्तो ठाउँ हुनुपर्छ, जहाँ दुष्टलाई दण्ड दिइन्छ र असललाई बढावा दिइन्छ, र यसले दुष्कर्महरू र दुष्ट, अँध्यारा शक्तिहरूलाई दण्डित गर्ने, अनि असल र सद्गुणीहरूलाई बढावा दिने कार्य गर्नुपर्छ। के हुनुपर्ने यही हो त? के दुष्टलाई दण्ड दिने र असललाई बढावा दिने कार्य सत्यताको स्तरमा पुग्न सक्छ? दुष्ट के हो र असल के हो भन्ने कुरा आउँदा, मानिसहरूले यी कुराहरूबीच प्रस्टसँग भिन्नता छुट्याउन सक्दैनन्। मानिसहरूले दुष्टलाई दण्डित गर्नु र असललाई बढावा दिनु भन्नुको अर्थ के हो? के यो परमेश्वरले भन्नुहुने, दुष्टलाई दण्ड दिने, असललाई इनाम दिने, र सबैलाई आआफ्नो प्रकारअनुसार वर्गीकरण गर्नेसँग सम्बन्धित छ? (छैन।) यो असम्बन्धित छ। दुष्ट र असललाई परिभाषित गर्ने मानवजातिको मानक के हो? चिनियाँ मानिसहरूको परिभाषाअनुसार, दुष्ट भनेको के हो र असल भनेको के हो? तिनीहरूले केका आधारमा दुष्ट र असललाई परिभाषित गर्छन्? यो बौद्ध संस्कृति हो। बौद्ध धर्मले संसारलाई मदत गर्ने र मानिसहरूलाई मुक्ति दिने, हत्या नगर्ने, आदि इत्यादि अवधारणाहरूबारे कुरा गर्छ—यिनलाई असल मानिन्छ, जबकि कुखुरा, माछा, गाई, वा भेडाको मासु खानुलाई दुष्ट मानिन्छ र त्यसो गर्ने मानिसहरूलाई दण्ड दिइनुपर्छ। कुनै पनि मासु खानु हुँदैन, र कुनै पनि जिउँदो प्राणीलाई मार्नु हुँदैन। हत्यालाई दुष्ट मानिन्छ, अनि हत्या गर्नेहरूले बुद्धसामु पाप स्विकारेर क्षमा याचना गर्नुपर्छ। बौद्धमार्गीहरूले दिने दुष्टको परिभाषा यही हो; के परमेश्वरले भन्नुभएको दुष्टता र यो एउटै हो? (होइन।) यी दुई अलग कुराहरू हुन्, त्यसैले दुष्टताको त्यो परिभाषासँग सत्यताको बिलकुलै कुनै सम्बन्ध छैन र त्यो निश्चय नै सत्यताको स्तरमा पुग्न सक्दैन। त्यसोभए, बौद्ध धर्मले असल भन्नुको अर्थ के हो? यो त झनै बेतुका, सतही, र पाखण्डी कुरा हो। बौद्धमार्गीहरूले कुनै पनि प्राणीहरूको हत्या नगर्नु असल हो र बन्दी जनावरलाई आजाद गर्नु असल हो भन्ने विश्वास गर्छन्। कुनै दुष्ट व्यक्तिले जतिसुकै मानिसहरूको हत्या गरेको वा जतिसुकै पापहरू गरेको भए पनि, यदि उसले हतियार त्यागेमा, ऊ तत्काल बुद्ध बन्न सक्छ—यसलाई असल मानिन्छ। “साततले मन्दिर बनाउनुभन्दा एउटा जीवन बचाउनु ठूलो हो” भन्ने भनाइ पनि छ, जसको अर्थ निसर्त रूपमा र सिद्धान्तहरूविना मानिसहरूलाई अन्धाधुन्ध रूपले बचाउनु हो—यहाँसम्म कि दियाबलस, दुष्ट मानिसहरू, ठगहरू, गुन्डाहरू, र अरू जोसुकैलाई बचाउनुलाई पनि असल मानिन्छ। यो कस्तो खालको असल हो? त्यस्ता मानिसहरू कुनै सुझबुझ, अडान, वा सिद्धान्तहरू नभएका मूर्ख मानिसहरू हुन्। जोसुकैलाई बचाउने र माफी दिने—के यसलाई असल मान्न मिल्छ? यो त असल शब्दको लायकसमेत छैन; यो त शैतान र दियाबलसहरूको ढोँग हो। तिनीहरूले पशु हत्या गर्दैनन् तर अनगिन्ती आत्माहरू निलेका छन्। यो तिनीहरूको तथाकथित असल हो, जुन वास्तवमा एउटा ढोँग मात्र हो। त्यसोभए, के मण्डलीले दुष्टलाई दण्डित गर्ने र असललाई बढावा दिने भूमिका खेल्नुपर्छ भन्ने मानव धारणाको कुनै तुक छ? (छैन।) कुनै पनि जाति वा धर्मको सांस्कृतिक पृष्ठभूमि जेसुकै भए पनि, मण्डलीको काम वा मण्डलीको गवाहीसँग दुष्टलाई दण्डित गर्नु र असललाई बढावा दिनुको कुनै सम्बन्ध हुँदैन। यी शब्दहरू न्यायोचित र प्रशंसापूर्ण देखिन्छन् भन्दैमा यी मण्डलीको कामसँग सम्बन्धित हुनुपर्छ वा मण्डलीले समाजमा खेल्नुपर्ने भूमिका यही हो भन्ने नसोच्। यो त मानव धारणा र कल्पना हो। “इन्साफ कायम राख्नु” र “दुष्टलाई दण्डित गर्नु र असललाई बढावा दिनु” बाहेक, “मानिसहरूका अधिकार र हितका लागि लड्नु” र “चिन्ता कम गर्नु र कठिनाइहरू समाधान गर्नु” भन्नेजस्ता मानव धारणाहरूअनुसारका अन्य असल वाक्यांशहरूको पनि मण्डलीको काम वा मण्डलीको गवाहीसँग कुनै सम्बन्ध हुँदैन। तिमीहरू सबैले यो कुरा बुझ्न सक्नुपर्छ। मण्डलीको परिभाषा, मण्डलीले गर्नुपर्ने काम, अनि मण्डलीको अस्तित्वको मूल्य र महत्त्वबारे अब धेरथोर रूपमा प्रस्टसित सङ्गति गरिसकिएको छ।
विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मानक र आधारहरू
अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीमा फर्कौँ: सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, अनि सफाइ गर्ने वा निष्कासित गर्ने। अगुवा र कामदारहरूले गर्नैपर्ने यो काम मैले भर्खरै सङ्गति गरेको मण्डलीहरूबारेको हरेक विवरणसँग सम्बन्धित छ कि छैन, हेरौँ। हामीले किन यी विशिष्ट विवरणहरूबारे सङ्गति गर्नु आवश्यक छ? यी विवरणहरू अनि अगुवा र कामदारहरूले गर्नैपर्ने यो कामबीचको सम्बन्ध के हो? (यी दुष्ट मानिस र ख्रीष्टविरोधीहरू मण्डलीका सदस्य होइनन् र तिनीहरूलाई पखालेर हटाउनुपर्छ। यसको साथै, तिनीहरूको अस्तित्वले मण्डलीहरूले गर्ने काममा अवरोध र बाधा पनि दिन्छ।) त्यसकारण, यसमा एउटा सम्बन्ध छ; यो सङ्गति व्यर्थ भएको छैन। मण्डलीको पदवीनाम वा परिभाषाबारे हरेक विवरण बुझेपछि, अगुवा र कामदारहरूले मण्डलीका सदस्यहरूलाई कस्तो व्यवहार गर्नुपर्छ, उनीहरूले मण्डलीबाट निकाला वा निष्कासन गर्नुपर्ने विभिन्न मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ, उनीहरूले कसरी यो काम राम्रोसँग गर्न सक्छन्, र उनीहरूले कसरी आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र कसरी मण्डलीको काम कायम राख्नुपर्छ भन्ने कुरा जाँचौँ। सबभन्दा पहिला, अगुवा र कामदारहरूले मण्डलीको परिभाषा के हो, मण्डली किन हुनुपर्छ, र मण्डलीले के काम गरिरहेको हुनुपर्छ भनेर बुझ्नैपर्छ। यी कुराहरू बुझेपछि, उनीहरूले मण्डलीको अस्तित्वको मूल्य वा मण्डलीले गर्ने कामबारे मण्डलीका कुनकुन वर्तमान सदस्यहरूले सकारात्मक भूमिका खेल्दैनन्, वा कसले मण्डलीको मुलभूत काममा बाधा, अवरोध र नकारात्मक असरहरू पार्न सक्छ, वा मण्डलीको छविमा गम्भीर असर पार्न र परमेश्वरको नाउँको अपदोष ल्याउनसमेत सक्छ भन्ने कुरा हेर्नुपर्छ। यी मानिसहरूलाई प्रस्ट रूपमा खुट्ट्याउनु र तुरुन्तै निकाल्नु वा निष्कासित गर्नु—के यो नै अगुवा र कामदारहरूले गर्नुपर्ने काम होइन र? (हो।) त्यसोभए, यो काम राम्रोसँग पूरा गर्नुमा के कुरा संलग्न हुन्छ? सबै प्रकारका दुष्ट मानिसहरूलाई पखाल्न वा निष्कासित गर्न र मण्डलीलाई शुद्ध गर्न, अनि मण्डलीको अस्तित्वको मूल्य प्रकट हुन दिन र मण्डलीलाई यसले पूरा गर्नुपर्ने भूमिका पूरा गर्न दिन, र सँगसँगै मण्डलीको कामलाई सहज रूपमा अघि बढ्न दिनका निम्ति, अगुवा र कामदारहरूले सबभन्दा पहिला मण्डलीका कुनकुन मानिसहरूचाहिँ दुष्ट मानिस र ख्रीष्टविरोधी हुन् भनेर खुट्ट्याउनैपर्छ। यो काम अघि बढाउँदा अगुवा र कामदारहरूले सुरुमा बोध गर्नुपर्ने जानकारी वा वास्तविक परिस्थिति यही हो। विभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउनु नै यो काममा अगुवा र कामदारहरूले सामना गर्ने पहिलो मामला हो। विभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउनुको उद्देश्य के हो? यसको उद्देश्य तिनीहरूलाई आ-आफ्नै प्रकारअनुसार वर्गीकरण गर्नु र मण्डलीका साँचो सदस्यहरूको सुरक्षा गर्नु हो। तर, यी मानिसहरूको सुरक्षा गर्नु मात्रले चौधौँ जिम्मेवारीमा उल्लेखित काम सफलतापूर्वक अघि बढाइँदै छ भन्ने अर्थ्याउँदैन। त्यसोभए, यो कामलाई सफलतापूर्वक अघि बढाउने सबैभन्दा महत्त्वपूर्ण पक्षचाहिँ के हो त? त्यो पक्ष मण्डलीको अनुकूल नहुने सबै प्रकारका अविश्वासी र दुष्ट मानिसहरूलाई निकाल्ने वा निष्कासित गर्ने काम हो। यी मानिसहरू दुष्ट मानिस वा ख्रीष्टविरोधीहरू भनेर चित्रण गरिएका भए वा नभए पनि, यदि तिनीहरू निकाला वा निष्कासित हुने सर्तहरू पूरा गर्छन् भने, यो कामको आवश्यकता उत्पन्न हुन्छ, र त्यसपछि अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गर्ने समय आएको हुन्छ। अब पहिला हामी विभिन्न प्रकारका मानिसहरूलाई कसरी खुट्ट्याउने भन्नेबारे सङ्गति गरौँ।
अ. व्यक्तिले परमेश्वरमा विश्वास गर्नुको उद्देश्यका आधारमा
हामीले विभिन्न प्रकारका मानिसहरूलाई कसरी खुट्ट्याउनुपर्छ? पहिलो मापदण्ड भनेको तिनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्यका आधारमा तिनीहरूलाई खुट्ट्याउनु हो। दोस्रो मापदण्ड तिनीहरूको मानवताअनुसार खुट्ट्याउनु हो। अनि तेस्रो मापदण्ड आफ्नो कर्तव्यप्रति तिनीहरूको मनोवृत्तिअनुसार खुट्ट्याउनु हो। यदि हामीले सरल, छोटा शीर्षकहरू प्रयोग गर्ने हो भने, ती यस्ता हुनेछन्: पहिलो, तिनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य; दोस्रो, तिनीहरूको मानवता; र तेस्रो, आफ्नो कर्तव्यप्रति तिनीहरूको मनोवृत्ति। अब हामीसँग यी तीन शीर्षकहरू भइकाले, यी प्रत्येकबारे तिमीहरूको बुझाइ के छ? हामीले यसअघि मानिसहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्यबारे धेरै छलफल गरेका छैनौँ। हामीले मानिसहरूको मानवता र आफ्नो कर्तव्यप्रतिको उनीहरूको मनोवृत्तिबारे बढी कुरा गरेका छौँ, त्यसकारण तिमीहरू यी कुराहरूसँग बढी परिचित छौ। मानिसहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य के हुन्छ भन्ने कुरा पनि तिमीहरूको लागि वास्तवमा धेरै नौलो होइन, किनभने तिमीहरू आफै एउटा उद्देश्यसाथ परमेश्वरमा विश्वास गर्न पुगेका हौ। कतिपय मानिसहरू नरक जान नचाहने हुनाले परमेश्वरमा विश्वास गर्छन्, त्यस्तै कतिपया स्वर्ग जान चाहेर अनि कतिपय चाहिँ मर्न नचाहेर, कतिपय विपत्तिहरूबाट जोगिन, अनि कतिपय चाहिँ असल मानिस हुने चाहनाका कारण, र कतिपय मानिसहरू दुर्व्यवहारबाट जोगिन, अनि आदि इत्यादि कारणहरूले परमेश्वरमा विश्वास गर्छन्। यो विषय तिमीहरूका लागि नौलो नहुनुपर्ने हो; यति मात्र हो कि मैले चर्चा गर्न लागेका विवरणहरू अलि नौला हुन सक्छन्—मैले तीबारे के भनुँला वा मैले कहाँबाट सुरु गरुँला भन्ने थाहा नभएर तिमीहरू तीबारे अलि अनिश्चित हुन सक्छौ। त्यसकारण, यसबारे संक्षिप्त रूपमा कुरा गरौँ। ल भन त, परमेश्वरमा विश्वास गर्दा कस्ता प्रकारका अभिप्राय र उद्देश्यहरू राख्ने मानिसहरूलाई निकाल्नु वा निष्कासित गर्नुपर्छ? (प्रसिद्धि र हैसियत मात्र पछ्याउने अनि शक्ति मात्र हातमा लिन चाहने, साथै आफ्नो हैसियतका खातिर नैतिकहीन रूपमा मण्डलीलाई बाधा दिनेहरूलाई।) यो एक प्रकारको व्यक्ति हो। अरू पनि छन्? (आशिष्हरू मात्र पछ्याउने अनि अघाउन्जेल खान खोज्ने अविश्वासीहरू।) अविश्वासीहरू, यो अर्को प्रकारको व्यक्ति हो। अझै छन्? तिमीहरू केही मानिसहरूका प्रकटीकरणहरूबारे सोचिरहेका हुन सक्छौ, तर तिमीहरूले यी मानिसहरूले भ्रष्ट स्वभावहरू मात्र प्रकट गरिरहेका हुन् कि तिनीहरू वास्तवमै अशुद्ध उद्देश्यहरू बोकेर परमेश्वरमा विश्वास गर्नेहरू हुन् जसलाई निकाल्नु वा निष्कासित गर्नुपर्छ भनेर प्रस्ट रूपमा खुट्ट्याउन सक्दैनौ। तिमीहरूले यो पत्ता लगाउन सक्दैनौ र यो अलि अस्पष्ट छ भन्ने ठान्छौ, त्यसैले तिमीहरूले यो प्रस्टसित भन्न सक्दैनौ। मानिसहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य भन्ने विषय निकै फराकिलो छ। परमेश्वरमा विश्वास गर्नुमा सबैका केही न केही अभिप्राय र उद्देश्यहरू हुन्छन्। तर, हामीले यहाँ कुरा गरिरहेका परमेश्वरमा विश्वास गर्न अशुद्ध उद्देश्यहरू बोक्ने प्रकारका मानिसहरूले परमेश्वरको मुक्ति प्राप्त गर्ने सर्तहरू पूरा गर्दैनन्। तिनीहरूले मुक्ति हासिल गर्न सक्दैनन् र तिनीहरू श्रमिक हुने न्यूनतम मानकमा समेत पुग्न सक्दैनन्। यी मानिसहरूको परमेश्वरमा विश्वास गर्ने उद्देश्य चाहे जे भए पनि, उद्देश्य बोकेर परमेश्वरमा विश्वास गर्न आउने यी मानिसहरूले, अवसर पाउँदा आफ्ना लक्ष्यहरू हासिल गर्ने प्रयास गर्नेछन्, र यदि तिनीहरूले अवसर पाएनन् भने दुष्टता गर्नेछन् र बाधाहरू सिर्जना गर्नेछन्। यसले मण्डलीको काममा वा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा अकल्पनीय परिणामहरू ल्याउनेछ, र यी मानिसहरू निकाला वा निष्कासन गरिने पात्रहरू हुनुपर्छ। अहिलेका लागि यी मानिसहरूको मानवता वा आफ्नो कर्तव्यहरूप्रति तिनीहरूले राख्ने मनोवृत्तिहरूलाई पन्छाएर, तिनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्यका सन्दर्भमा मात्र कुरा गर्दा, यो उद्देश्य सत्यता स्विकार्न र मुक्ति हासिल गर्नलाई कदापि हुँदैन, झन् परमेश्वरमा समर्पित हुन र उहाँको आराधना गर्नलाई हुन्छ भनेर त कुरै नगरे हुन्छ। त्यसकारण, तिनीहरूको परमेश्वरमाथिको विश्वासले स्वतः मुक्तिको नतिजामा लाँदैन। यी मानिसहरूलाई मण्डलीमा रहन दिएर परमेश्वरका चुनिएका मानिसहरू—साँचो दाजुभाइ-दिदीबहिनी—लाई बाधा दिन दिनुभन्दा तिनीहरूलाई सकेसम्म चाँडो सही रूपमा खुट्ट्याएर चित्रण गर्नु, त्यसपछि तुरुन्तै मण्डलीबाट निकाल्नु नै उचित हुन्छ। तिनीहरूलाई मण्डलीका सदस्य वा दाजुभाइ-दिदीबहिनीहरूझैँ व्यवहार गरिनु हुँदैन। त्यसैले, यसप्रकारका मानिसहरू को हुन् त? भर्खरै, तिमीहरूले केही अवधारणाहरूबारे फराकिलो रूपमा कुरा गर्यौ। म केही ठोस उदाहरणहरू दिनेछु, अनि तिमीहरूले ती सुनेपछि बुझ्नेछौ।
क. अधिकारी हुने चाहना पूरा गर्नु
पहिला, मण्डलीबाट निकाल्नु पर्ने वा निष्कासित गर्नुपर्ने पहिलो प्रकारको व्यक्तिबारे कुरा गरौँ। कतिपय मानिसहरू सधैँ समाजमा अधिकारी बन्न र आफ्ना पुर्खाहरूको नाम महिमित तुल्याउन चाहन्छन्, तर उनीहरूका करियर मार्गहरू असफल हुन्छन्। तर, अधिकारी बन्ने उनीहरूको चाहना बिलकुलै घट्दैन। तर उनीहरूको परिवारको सामाजिक हैसियत उच्च हुँदैन, त्यसकारण उनीहरूले यति सानो चाहनासमेत हासिल गर्न नसकेर, जीवन आशारहित भएको महसुस गर्छन् र संसार अत्यन्तै अन्यायपूर्ण रहेको देख्छन्। उनीहरू आफूसँग केही ज्ञान र दक्षता छ भन्ने महसुस गर्छन्, तर कसैले पनि उनीहरूको कदर गर्दैन। उनीहरूले कुनै समर्थक भेट्टाउन सक्दैनन्, र अधिकारी बन्ने सम्भावना उनीहरूका लागि निकै टाढा देखिन्छ। यस्तो व्याकुल परिस्थितिमा, उनीहरूले मण्डली फेला पारे। उनीहरूलाई के लाग्छ भने यदि उनीहरू मण्डलीमा अगुवा बन्न सके, त्यो पनि अधिकारी हुनुजस्तै हो, अनि उनीहरूको चाहना पूरा हुन सक्छ। त्यसकारण, उनीहरू महानता हासिल गर्न चाहँदै परमेश्वरको घरमा आउँछन्। उनीहरू आफ्नो दक्षता र सक्षमताहरू ठ्याक्कै परमेश्वरको घरमा उपयोग गर्न ठ्याक्कै सही भएको, र यसरी अधिकारी र विशिष्ट व्यक्ति बन्ने आफ्नो आशा साकार गर्न सकिने, र जीवनभरको चाहना पूरा हुने सोच्छन्। परमेश्वरमा विश्वास गर्नेबारे उनीहरूको विचारलाई यस्ता भनाइहरूमा सारांश गर्न सकिन्छ, जस्तै “गुनको बदला गुनले तिर्नुपर्छ,” “सक्कली सुन अन्ततः चम्किन्छ,” र “बाठो चरोले बलियो हाँगा रोज्छ”—उनीहरू यस्तै प्रकारको पृष्ठभूमिबाट परमेश्वरमा विश्वास गर्ने मार्ग हिँड्न रोज्छन्। यो व्यक्तिको सार मूल्याङ्कन गर्दा के प्रस्ट हुन्छ भने उसले संसारमा सत्यता छ भनेर विश्वास गर्दैन, मुक्तिदाता हुनुहुन्छ भनेर त झनै विश्वास गर्दैन। छोटकरीमा भन्दा, उसले एउटै साँचो परमेश्वरमा विश्वास गर्दैन र सृष्टिकर्ताको अस्तित्वमा त झनै विश्वास गर्दैन। बाइबलमा लेखिएको भए पनि अथवा धार्मिक संसारमा प्रचार गरिने भए पनि—कि परमेश्वरले संसार र मानवजातिको सृष्टि गर्नुभयो, परमेश्वरले मानवजातिमाथि सार्वभौम हुनुहुन्छ र मानवजातिलाई अगुवाइ गर्नुहुन्छ—यी सबै भनाइहरू उनीहरूका लागि ऐतिहासिक अभिलेख मात्र हुन्। कसैले तिनको अनुसन्धान गर्दैन, र कसैले तिनलाई पुष्टि गर्न सक्दैन; ती केवल किंवदन्ती र कथा हुन्, एकप्रकारको धार्मिक संस्कार हुन्। आस्थाबारे उनीहरूको सबैभन्दा आधारभूत बुझाइ नै यही हो। उनीहरू यो बुझाइका साथ परमेश्वरमा विश्वास गर्न आउँछन्, आफू सही मार्ग हिँडिरहेको, ज्योतिका लागि अन्धकार त्यागेको, र आफू बलियो हाँगा रोज्ने “बाठो चरो” भएको सोच्छन्। अवश्य पनि, उनीहरूले अधिकारी र विशिष्ट व्यक्ति बन्ने आफ्नो रोजाइ र चाहना त्यागेका हुँदैनन्। उनीहरूले यति धेरै मानिसहरू भएको यो विशाल संसारमा, उनीहरूका लागि कुनै ठाउँ छैन र परमेश्वरको घरले मात्र उनीहरूलाई आशा दिन सक्छ भन्ने विश्वास गर्छन्। मण्डलीमा जिउनाले मात्र उनीहरूलाई आफ्ना प्रतिभाहरू सदुपयोग गर्ने र विशिष्ट व्यक्ति बन्ने उनीहरूको चाहना साकार गर्ने मौका दिन सक्छ। किनभने, उनीहरूको अहिलेको परिस्थितिको दृष्टिकोणमा , बाहिरी संसार झन्झन् दुष्ट र अँध्यारो बनिरहेको छ —यो संसारमा मण्डली मात्र शुद्धताको भूमि हो;संसारमा मण्डली मात्र त्यस्तो ठाउँ हो जसले मानिसहरूलाई आत्मिक भरणपोषण प्रदान गर्न सक्छ, र मण्डली मात्र झन्झन् फस्टाइरहेको छ। उनीहरू त्यस्ता चाहना र उद्देश्यहरू बोकेर परमेश्वरमा विश्वास गर्न आउँछन्। आस्था राख्न थालेपछि, उनीहरूले परमेश्वरमा विश्वास गर्नेबारे, सत्यता पछ्याउनेबारे, वा सत्यता, परमेश्वरको स्वभाव, र परमेश्वरको कामसम्बन्धी मामलाहरूबारे केही पनि बुझ्दैनन्। उनीहरूले यी मामलाहरू पछ्याउने वा ध्यान दिने गर्दैनन्। उनीहरूले हृदयमा, हैसियत र अधिकारी पदको चाहना बिलकुलै त्यागेका हुँदैनन्; बरु, उनीहरू मण्डलीमा समय बिताउँदै गर्दा यी धारणा र दृष्टिकोणहरू पक्रिरहेका हुन्छन्। उनीहरू मण्डलीलाई एउटा सामाजिक सङ्गठन, वा धार्मिक समुदायका रूपमा हेर्छन्, अनि परमेश्वरको काम र परमेश्वरका वचनहरूलाई विश्वासीहरूले आफ्नो अन्धविश्वासका कारण सिर्जना गरेका भ्रमका रूपमा हेर्छन्। त्यसकारण, जब सत्यता पछ्याउने कुरा आउँछ, जब परमेश्वरका वचनहरू र परमेश्वरको कामको कुरा आउँछ, तब उनीहरूलाई घिन र प्रतिरोध महसुस हुन्छ। यदि कसैले कुनै कुरा परमेश्वरले गर्नुभएको हो, परमेश्वरको सार्वभौमिकता हो, वा परमेश्वरको योजनाबद्ध कार्य हो भनेर भन्छ भने, उनीहरूले घिन मान्छन्। तर, उनीहरूलाई जतिसुकै घिन लागे पनि, र उनीहरूले सत्यतालाई मान्ने वा स्विकार्ने गरे वा नगरे पनि, अख्तियारको लालसा पूरा गर्न मण्डलीमा हैसियतको पद प्राप्त गर्ने उनीहरूको चाहना कहिल्यै घटेको वा त्यागिएको हुँदैन। उनीहरूमा यस्तो महत्त्वाकाङ्क्षा र चाहना हुने हुनाले, उनीहरूले स्वतः विभिन्न प्रकटीकरणहरू प्रकट गर्छन्। उदाहरणका लागि, उनीहरूले यस्ता कुराहरू भनेर मानिसहरूलाई उक्साउँछन्, जस्तै: “हरेक कुरालाई परमेश्वरका वचनहरूमा आधारित बनाउने वा परमेश्वरका वचनहरू र परमेश्वरसित जोड्ने काम नगर। वास्तवमा, मानिसहरूका धेरै विचार र भनाइहरू सही हुन्छन्; मानिसहरूमा आफ्नै दृष्टिकोण र अडानहरू हुनुपर्छ।” उनीहरू मानिसहरूलाई बहकाउन यी भनाइहरू फैलाउँछन्। त्यो सँगसँगै, उनीहरूले आफ्ना प्रतिभा, वरदान, साथै उनीहरूले संसारमा खेल्न सक्ने विभिन्न रणनीति र चालहरू पनि जोसका साथ प्रस्तुत गर्छन्, मानिसहरूको नजरमा पर्न र तिनीहरूको ध्यान र उच्च सम्मान प्राप्त गर्ने कोसिस गर्छन्। उनीहरूले जोसका साथ प्रदर्शन गर्नुको उनीहरूको उद्देश्य के हो? यसको उद्देश्य मानिसहरूलाई तिनीहरूलाई उच्च ठान्ने र आदर-भावले हेर्ने तुल्याउनु हो; मानिसहरूमाझ हैसियत राख्ने र यसरी आधिकारिक करियर पछ्याउने इच्छा पूरा गर्नु र आफ्ना पुर्खाहरूको नाम महिमित तुल्याउनु हो। मानिसहरूले उनीहरूलाई आदर र प्रशंसा गर्दा, पछ्याउँदा, प्रवर्द्धन गर्दा, पुज्दा, र आदर-भावले हेर्दा, साथै चापलुसी गर्दासमेत उनीहरू सन्तुष्ट हुन्छन्। यति मात्र नभई, उनीहरूले अथक रूपमा यी कुराहरू पछ्याउने र यी कुराहरूमै आनन्द लिनेसमेत गर्छन्। परमेश्वरको घरले लगातार रूपमा ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, र मानिसहरूका विभिन्न भ्रष्ट स्वभावहरूको खुलासा गर्ने भए पनि, उनीहरूले हृदयमा यी कुराहरू तिनीहरूको निन्दाको लायक नरहेको झैँ गरी तिनलाई हेला गर्छन् र यी कुराहरूप्रति अत्यन्तै घिनाउँछन्। उनीहरू आफूले संसारमा र समाजमा हासिल गर्न नसकेका चाहनाहरू पूरा गर्न एकोहोरो रूपमा हैसियत र अरूले उनीहरूलाई गर्ने आदर र सम्मान पछ्याउँछन्। त्यसैले, उनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य के हो? उनीहरूको उद्देश्य यो जीवनमा सय गुणा प्राप्त गर्ने र आउँदो संसारमा अनन्त जीवन प्राप्त गर्ने होइन, र निश्चय नै सत्यता स्विकार्ने अनि मुक्ति प्राप्त गर्ने पनि होइन। उनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य सृजित प्राणीका रूपमा काम गर्ने होइन, बरु अधिकारी र मालिक बन्ने, हैसियतका लाभहरूको आनन्द उठाउने हो। मण्डलीमा त्यस्ता मानिसहरू निश्चय नै हुन्छन्; मण्डलीमा अवैध रूपमा प्रवेश गर्ने दुष्कर्मीहरू यिनै हुन्। मण्डलीले यस्ता मानिसहरूलाई परमेश्वरका चुनिएका मानिसहरूसँग मिसिन कदापि दिँदैन, त्यसकारण निकालिनुपर्ने मानिसहरू यिनै हुन्। के उनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य खुट्ट्याउन सजिलो छ? (छ।) उनीहरूले परमेश्वरमा विश्वास गर्नुका अभिप्राय र उद्देश्यहरू, साथै मण्डलीमा उनीहरूका विभिन्न प्रकटीकरणहरूबारे विचार गर्दा, उनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? (अविश्वासीहरू।) हो, उनीहरू अविश्वासीहरू हुन्। अविश्वासी हुनु बाहेक, उनीहरू आफ्नो अख्तियारको लालसा पूरा गर्न परमेश्वरको घरमा हैसियत र सम्भाव्यताहरू पछ्याउन पनि चाहन्छन्। उनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य अधिकारी बन्नु हो। त्यसोभए, यी मानिसहरूलाई पखालेर फाल्नुपर्ने कारण के हो? कसैले यसो भन्न सक्छ, “यदि अविश्वासीहरूले परमेश्वरको घरमा श्रम गर्छन्, र मण्डलीका साथीका रूपमा अलिक मदत गर्न सक्छन् भने, के उनीहरूलाई राखिरहनु ठीक होइन र?” के यो भनाइ मान्य छ? (छैन।) यो किन मान्य छैन? (अधिकारी बन्ने उनीहरूको चाहनाले निश्चय नै त्यस्ता कामकुरा गर्नतिर डोर्याउँछ, जसले अरूलाई बाधा दिन्छ, परमेश्वरको घरको कामलाई कुनै फाइदा पुऱ्याउँदैन, अनि दाजुभाइ-दिदीबहिनीहरूको सत्यताको पछ्याइमा असर पार्छ।) तैँले त्यसलाई चाहे जसरी हेरे पनि, अविश्वासीहरूले सत्यताको प्रतिरोध गर्छन् र परमेश्वरलाई इन्कार्छन्, त्यसकारण परमेश्वरको घरले उनीहरूलाई राख्न सक्दैन। उनीहरूले सकारात्मक भूमिका खेल्नेछैनन्। उनीहरू अधिकारी बन्न खोजे पनि वा नखोजे पनि, अविश्वासीहरूका रूपमा उनीहरूका टिप्पणी, प्रकटीकरण, र कार्यहरू मात्रले पनि बाधाहरू दिन सक्छन् तर कुनै पनि सकारात्मक प्रभाव पार्नेछैनन्। कतिपय दाजुभाइ-दिदीबहिनीहरूले निश्चित वातावरणहरू अनुभव गर्दा यसो भन्छन्, “यो परमेश्वरको सार्वभौमिकता हो, र हामी समर्पित हुनैपर्छ।” के अविश्वासीहरू समर्पित हुन सक्छन्? उनीहरू बाधा दिन र विरोध गर्न खडा भएनन् भने, त्यो नै काफी हुन्छ। उनीहरूले हृदयमा यस्तोसम्म भन्छन्, “सबथोक परमेश्वरको सार्वभौमिकता हो नभन। मानिसहरूसँग पनि आफ्नै केही रायहरू हुनुपर्छ र केही स्वतन्त्रता हुनुपर्छ; सबै कुराको श्रेय परमेश्वरको सार्वभौमिकतालाई नदेऊ!” उनीहरूले अरूलाई पछाडि तान्ने मात्र नभई मानिसहरूलाई बहकाउन केही अस्पष्ट, झूटा भ्रमहरू पनि छर्छन्। के यो निर्लज्ज कुरा होइन र? उनीहरूले गैरविश्वासीहरूमाझ केही चतुर चालबाजी र चालहरू चल्न सक्लान्, तर यी चालबाजी र चालहरू चाल्नका लागि परमेश्वरको घर गलत ठाउँ हो! कतिपय मानिसहरूले क्लिनिक सञ्चालन गर्छन्, जहाँ सबै जान मन पराउँछन्, किनभने उनीहरू भन्छन्, त्यहाँको सुईले दुख्दैन। सुईले किन दुख्दैन? सुईको टुप्पो एनेस्थेटिकमा डुबाइन्छ, त्यसकारण त्यसले अवश्यै दुखाउँदैन। के यो बुद्धिमानी विधि हो? (होइन, यो दुष्प्रभावी विधि हो।) तैपनि उनीहरूले यसलाई बुद्धिमानी विधिका रूपमा लिन्छन् र यसले उनीहरूको क्षमता र सीप देखाउँछ भन्ने सोचेर यसबारे घमन्ड गर्छन्, र भन्छन्, “तिमी परमेश्वरप्रति समर्पित हुनेबारे मात्र, परमेश्वरको योजनाबद्ध कार्य, र परमेश्वरको सार्वभौमिकताबारे मात्र कुरा गर्छौ। के तिमीसँग ममा भएका सीपहरू छन्?” के यो निर्लज्ज कुरा होइन र? (हो।) उनीहरूले त्यस्ता दुष्प्रभावी चालहरूबारे समेत धाक लगाउँछन्! मण्डलीमा घुसपैठ गर्ने अविश्वासीहरूको मनसाय बोकेका मानिसहरू नै मण्डलीबाट निकालिनुपर्ने मानिसहरू हुन्। किन? यी मानिसहरूले हृदयमा सत्यताको प्रतिरोध गर्छन् र सत्यताप्रति वितृष्ण हुन्छन्। उनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य चाहे जेसुकै होस्, त्यो चाहे उनीहरूले खुलस्त रूपमा स्विकार्न सक्ने कुरा भए वा नभए पनि, अविश्वासीहरूका रूपमा उनीहरूको सारका आधारमा भन्नुपर्दा, मण्डलीले उनीहरूलाई निकाला वा निष्कासन नै गर्नुपर्छ। यी अविश्वासीहरू निश्चित उद्देश्यसहित मण्डलीमा घुसपैठ गर्छन्, मण्डलीभित्र आफ्ना प्रतिभाहरू देखाउन, आफ्ना महत्त्वाकाङ्क्षाहरू पूरा गर्न, र आफ्ना चाहनाहरू सन्तुष्ट पार्न चाहन्छन्। उनीहरू मण्डलीजस्तो अमूल्य ठाउँलाई शक्ति हातमा लिने, आफ्नो प्रदर्शन गर्ने, र मानिसहरूलाई भ्रममा र नियन्त्रणमा पार्ने माध्यमका रूपमा प्रयोग गर्न चाहन्छन्। उनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्यलाई ख्याल गर्दा, उनीहरू परमेश्वरका चुनिएका मानिसहरू र मण्डलीको कामलाई बाधा र अवरोध दिन सक्षम छन्। त्यसकारण, यी मानिसहरूलाई परमेश्वरको घरबाट निकाला वा निष्कासन गर्नैपर्छ। अगुवा र कामदारहरूले उनीहरूको अविश्वासी सार छर्लङ्ग देख्नैपर्छ। उनीहरूका प्रकटीकरणहरूमा आधारित भएर होस् वा परमेश्वरमा विश्वास गर्नेबारे उनीहरूका नियमित भनाइहरूमा आधारित भएर होस्, तैँले परिस्थिति बोध गरेर उनीहरू अविश्वासी हुन् भन्ने खुट्ट्याइसकेपछि नहिचकिचाई निर्णायक रूपमा उनीहरूलाई इन्कार्नुपर्छ। तैँले जुनसुकै विधि वा बुद्धि प्रयोग गरेर भए पनि, उनीहरूलाई निकाल्ने कुनै न कुनै उपाय खोज्—यो नै अगुवा र कामदारहरूले गर्नुपर्ने काम हो; यो नै उनीहरूले वहन गर्नुपर्ने काम हो। यो निकाला वा निष्कासन गरिनुपर्ने व्यक्तिको एउटा प्रकार हो।
ख. विपरीत लिङ्गीहरू खोज्नु
अब, निकाला वा निष्कासन गरिनुपर्ने दोस्रो प्रकारका मानिसहरूका प्रकटीकरणहरू केके हुन्? कतिपय मानिसहरू परमेश्वरमा विश्वास गर्नमा कहिल्यै संलग्न भएका हुँदैनन्; उनीहरूमा यसबारे राम्रो छाप मात्र हुन्छ। उनीहरूलाई परमेश्वरमा विश्वास गरेर व्यक्तिले के पछ्याउनु वा प्राप्त गर्नुपर्छ भन्ने कुरा जान्ने रुचि हुँदैन। उनीहरूले के सुनेका हुन्छन् भने परमेश्वरमा विश्वास गर्ने मानिसहरू निकै कर्तव्यनिष्ठ र सोझा हुन्छन्, त्यसैले उनीहरू मण्डलीमै प्रेमजोडी खोज्न र त्यसपछि विवाह गरेर स्थिर जीवन जिउन चाहन्छन्। यो नै उनीहरूको अभिप्राय र उद्देश्य हो, त्यसकारण उनीहरू मण्डलीमा आफ्नो आदर्श जोडी भेट्टाउन आउँछन्। यी अविश्वासीहरूलाई परमेश्वरमा विश्वास गर्ने कहीँकतै कुनै रुचि हुँदैन; उनीहरूलाई सृष्टिकर्ताबारे, सत्यताबारे, अनि मुक्ति पाउने, परमेश्वरलाई चिन्ने, कर्तव्य पूरा गर्ने, वा त्यस्ता कुनै पनि मामलाहरूबारे कुनै वास्ता हुँदैन। उनीहरूले परमेश्वरका वचन र प्रवचनहरू सुनेर कुरा बुझ्न सके पनि, त्यसलाई हृदयमा लिन चाहँदैनन्। उनीहरू केवल एउटा आदर्श जोडी मात्र भेट्टाउन चाहन्छन्, र अवश्य नै, धेरै मानिसहरू भेटेर आफ्नो सञ्जाल फराकिलो पार्ने आशा राख्छन्। उनीहरू एउटा आदर्श जोडी भेट्टाउने उद्देश्यले परमेश्वरमा विश्वास गर्न आउँछन्। कतिपय मानिसहरूले भन्लान्, “उनीहरूको उद्देश्य यो हो भनेर तपाईंलाई कसरी थाहा भयो? उनीहरूले केही पनि भनेका वा त्यो तपाईंलाई सुनाएका छैनन्!” उनीहरूले त्यो आफ्नो व्यवहारमार्फत देखाउँछन्। उनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा वा कसैसँग सम्पर्क राख्दा कसरी सधैँ विपरीत लिङ्गीहरू खोज्ने गर्छन् भनी हेर्। कुनै व्यक्ति मन पराएपछि, उनीहरू त्यो व्यक्तिसँग सङ्गति गरिरहन्छन् र उसैको नजिक गइरहन्छन्, सधैँ उसकै बारे सोधपुछ गर्छन् र उसकै बारे जान्ने प्रयास गरिरहन्छन्। यी असामान्य व्यवहार र प्रकटीकरणहरूले अगुवा र कामदारहरूको पर्याप्त ध्यान तान्नुपर्छ, जसले उनीहरूका अभिप्रायहरू के हुन् र उनीहरू के उद्देश्य हासिल गर्ने लक्ष्य राखेका छन् भनेर नियाल्नुपर्छ; उनीहरूलाई कसले सुसमाचार सुनाए, किन उनीहरू विशेष रूपले विपरीतलिङ्गीहरूसँग सम्पर्क गर्न खोज्छन्, किन उनीहरूसँग विपरीतलिङ्गीहरूलाई भन्नका लागि सधैँ केही न केही हुन्छ, र किन उनीहरू विपरीतलिङ्गीहरूप्रति विशेष झुकाव राख्ने, र विशेष गरी किन आफूलाई मन पर्ने मानिसहरूप्रति विशेष जिज्ञासा र चासो राख्ने गर्छन् भनेर निश्चित गर्नुपर्छ। यस्ता व्यक्तिहरूमा परमेश्वरमा विश्वास गर्नेहरूबारे सकारात्मक छाप हुन्छन्। उनीहरूले भेलाहरूमा, प्रवचनहरू सुन्न, परमेश्वरका वचनहरू सङ्गति गर्न, भजनहरू गाउन, व्यक्तिगत अनुभवहरू सङ्गति गर्न, र अन्य यस्तै मामलाहरूमा कुनै रुचि नराखे पनि, सामान्यतया बाधा र अवरोधहरू सिर्जना गर्ने कुनै कुरा बोल्दैनन्। उनीहरू प्रेमजोडी खोजेर असल जीवन जिउनमा मात्रै केन्द्रित हुन्छन्। यदि उनीहरूले जोडी भेट्टाएमा, सो जोडीसँगै परमेश्वरमा विश्वास गर्न सक्छन्; उनीहरू आफैले नपछ्याए पनि आफ्नो जोडीलाई परमेश्वरमा विश्वास गर्न साथ दिन सक्छन्। कतिपय मानिसहरू तुलनात्मक रूपमा स्वीकार्य मानवता भएका, र सहयोगी हुन्छन्, साथै तिनीहरू मिलनसार र दयालु बन्न सक्दो प्रयास गर्छन्। उदाहरणका लागि, उनीहरू अरूलाई सहन सक्छन्, कठिनाइमा परेकाहरूलाई ती कठिनाइ हल गर्न मदत गर्ने सबै उपाय सोच्ने, केही सल्लाह दिने, आदि इत्यादि गर्न सक्छन्। उनीहरू अरूप्रति तुलनात्मक रूपमा दयालु हुन्छन् र कुनै द्वेषभाव राख्दैनन्, तर उनीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य र लक्ष्य खासै सम्माननीय हुँदैन। उनीहरू सत्यता पछ्याउँदैनन्, र जोसुकैले उनीहरूसँग सत्यता सङ्गति गरे पनि त्यो स्विकार्दैनन्। आधा वर्ष वा एक-दुई वर्ष पछ्याएपछि पनि उनीहरूमा कुनै बदलाव आउँदैन। उनीहरूले विश्वास नगर्नेबारे केही नभन्ने भए पनि र कुनै बाधा वा अवरोधहरू सिर्जना नगर्ने भए पनि, उनीहरूले परमेश्वरमा विश्वास गर्ने मामलाहरूमा पनि कुनै रुचि विकास गर्दैनन्। के त्यस्ता मानिसहरू मण्डलीमा रहनु उचित हुन्छ? (हुँदैन।) के त्यस्ता मानिसहरूलाई पखालेर फाल्नुपर्छ? (उनीहरूलाई पनि पखालेर फाल्नुपर्छ।) यसको कारण के हो? (किनभने उनीहरू सत्यतामा रुचि राख्दैनन्, र उनीहरू मुक्तिका पात्र होइनन्। यदि उनीहरू मण्डलीमा रहेर सधैँ जोडी खोजिरहन्छन् भने, त्यसबाट अरूलाई बाधा पुग्नेछ र उनीहरूलाई परीक्षामा डोऱ्याउनेछ; उनीहरूले सकारात्मक भूमिका खेल्नेछैनन्।) कुरा ठ्याक्कै त्यही हो। उदाहरणका लागि, कतिपय मानिसहरू मासु खान निकै मन पराउँछन्। उनीहरूले मासु खाँदा आफ्नो कामै बिर्सन्छन्। यदि मासु छैन भने उनीहरू अझै पनि गर्नुपर्ने केही काम गर्न त सक्छन्, तर मासु हुँदा उनीहरूको काममा ढिलाइ हुन्छ। उनीहरूका लागि मासु के हो? (परीक्षा।) ठ्याक्कै मिलाइस्, त्यो परीक्षा हो। त्यसोभए, के सधैँ जोडीको खोजीमा हुनेहरूलाई परीक्षाको स्रोत मान्न मिल्छ? (मिल्छ।) उनीहरू वास्तवमै परीक्षाका स्रोत हुन्। त्यस्ता मानिसहरूलाई, यो कुरा प्रस्ट पारिनुपर्छ: “तिमीसँग परमेश्वरमा विश्वास गर्ने वा आफ्नो कर्तव्य पूरा गर्ने कुराप्रति कुनै निष्कपटता छैन। तिमी कहिल्यै मण्डलीमा समाहित हुन सकेका छैनौ र तिमीलाई कहिल्यै साँचो विश्वासी मानिएको छैन। यी दुई वर्षको सङ्गतमा, हामीले तिम्रो उद्देश्य देखिसकेका छौँ: तिमी केवल मण्डलीमा एउटा जोडी खोज्न चाहन्छौ। के यसले असल मानिसहरूलाई हानि गरिरहेको छैन र? तिम्रा लागि मण्डलीका मानिसहरू उचित छैनन्। तिम्रा लागि त गैरविश्वासीहरूमाझ नै धेरै जना उचित छन्। गएर गैरविश्वासीहरूमाझ नै कोही खोज।” यसको आशय उनीहरूलाई यसो भन्नु हो, “हामीले तिमीलाई छर्लङ्गै देखेका छौँ। तिमी परमेश्वरका चुनिएका मानिसहरूमा पर्दैनौ। तिमी परमेश्वरको घरको व्यक्ति होइनौ। तिमीलाई हाम्रो दाजुभाइ वा दिदीबहिनी मान्न सकिँदैन।” त्यस्ता मानिसहरूलाई परमेश्वरको घरका सिद्धान्तहरूअनुसार मण्डलीबाट निकाल्नुपर्छ। यसरी, जथाभाबी रूपमा जोडी खोजिहिँड्ने र अरूलाई फकाउने यी मानिसहरू पखालेर निकालिनेछन्। के त्यस्ता मानिसहरूलाई खुट्ट्याउन सजिलो छैन र? (छ।) यी मानिसहरू अविश्वासी पनि हुन्। उनीहरूमा मण्डलीप्रति, धार्मिक आस्थाप्रति, र परमेश्वरमा विश्वास गर्नेहरूप्रति थोरै झुकाव हुन्छ। उनीहरू विश्वासीहरूमध्येबाट जोडी खोज्न, ऊसँग बस्न र अर्पित भएर उसको सेवा गर्न परमेश्वरमा विश्वास गर्ने अवसर प्रयोग गर्न मात्र चाहन्छन्। ल भन् त, के यस्तो कुरा सम्भव हुन्छ? के हामीले उनीहरूलाई सन्तुष्ट पार्नुपर्छ? के मण्डलीले यस्ता मामलाहरू प्रबन्ध गर्नुपर्छ? (पर्दैन।) मण्डलीसँग उनीहरूका व्यक्तिगत प्राथमिकताहरू पूरा गर्ने कुनै दायित्व हुँदैन। उनीहरूले विश्वासीहरू असल मानिस हुन् भनेर जति नै सोचे पनि, उनीहरूले यी विश्वासीहरूसँग उचित तरिकाले जीवन जिउन सकिन्छ, वा विश्वासीहरू सही मार्ग हिँड्न सक्छन् भनेर जति नै सोचे नि, त्यो बेकार छ—उनीहरूको रायले कुनै अर्थ राख्दैन। यस्ता अविश्वासीहरू धेरैजसो मण्डलीहरूमा भेट्न सकिन्छ। यी मानिसहरूलाई निराकरण गर्ने उपाय भनेकै भर्खरै हामीले सङ्गति गरेको विधि प्रयोग गर्नु हो, वा उनीहरूलाई सिद्धान्तहरूअनुसार सम्हालिएसम्म, तिमीहरूसँग योभन्दा राम्रा विधिहरू छन् भने त्यो पनि प्रयोग गर्न सक्छौ। यी अविश्वासीहरूलाई विभिन्न प्रकारका दुष्ट मानिसहरूमा वर्गीकृत गरिन्छ—के त्यो अति हुन्छ र? (हुँदैन।) हामी अविश्वासीहरूलाई ठ्याक्कै यसरी नै व्यवहार गर्छौँ।
ग. प्रकोपहरूबाट जोगिनु
अरू कस्ता प्रकारका मानिसहरूलाई मण्डलीबाट निकाला वा निष्कासन गरिनुपर्छ? (अर्को प्रकार भनेको प्रकोपहरूबाट जोगिनकै लागि परमेश्वरमा विश्वास गर्नेहरू हुन्।) प्रकोपहरूबाट जोगिनकै लागि परमेश्वरमा विश्वास गर्नु पनि मानिसहरूले विश्वास गर्नुको एउटा उद्देश्य हो। के परमेश्वरमा विश्वास गर्ने धेरैजसो मानिसहरूमा पनि यसप्रकारको दूषण हुँदैन र? (हुन्छ।) त्यसोभए, यसका कारण कुन मानिसहरूलाई निकाल्नु वा निष्कासन गर्नुपर्छ, र कुन मानिसहरूले भ्रष्टताको सामान्य प्रकटीकरण मात्र देखाइरहेका हुन्छन् र उनीहरूलाई निकाल्नु वा निष्कासन गर्नु हुँदैन भनेर हामीले कसरी छुट्याउनुपर्छ? अधिकांश मानिसहरूका आस्थामा, प्रकोपहरूबाट जोगिनकै लागि परमेश्वरमा विश्वास गर्ने मनसाय मिसिएको हुन्छ—यो तथ्य हो। प्रकोपहरूबाट जोगिनका लागि परमेश्वरमा विश्वास गर्नेहरूमध्येबाट, तिमीहरूले निकाला वा निष्कासन गर्नका लागि मापदण्डहरू पुग्ने अविश्वासीहरू छुट्याउनुपर्छ। उदाहरणका लागि, प्रकोपहरू झन्-झन् खराब हुन थालेका छन् भन्ने देखेपछि, त्यस्ता मानिसहरू अझ बारम्बार भेलाहरूमा सहभागी हुन थाल्छन् र पहिले परमेश्वरको घरमै फिर्ता गरेका परमेश्वरको वचनका पुस्तकहरू चाँ-चाँडो फिर्ता लान्छन्, र अब गम्भीर रूपमा परमेश्वरमा विश्वास गर्न चाहन्छु भनेर भन्छन्। तर प्रकोपहरू हराएर गएपछि वा साम्य भएपछि, उनीहरू व्यापार गरेर पैसा कमाउनतिरै फर्किन्छन्, र दाजुभाइ-दिदीबहिनीहरूले भेलाका लागि उनीहरूलाई फेला पार्न वा सम्पर्क गर्न नसकून् भनेर सबै सम्पर्क माध्यमहरू बन्द गर्छन्। जब प्रकोपहरू आउँछन्, तब उनीहरू सक्रिय रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई खोज्छन्, तर जब प्रकोपहरू समाप्त हुन्छन्, तब उनीहरूलाई भेट्टाउन दाजुभाइ-दिदीबहिनीहरूलाई निकै गाह्रो पर्छ, र जोकसैले पनि उनीहरूलाई विरलै मात्र सम्पर्क गर्न सक्छन्। के यी प्रकटीकरणहरू निकै प्रस्ट छैनन् र? (छन्।) प्रकोप आएको छैन भने उनीहरू यसो भन्छन्, “मानिसहरूले सामान्य जीवन जिउनुपर्छ। हामी दैनिक गतिविधिहरूमा लाग्नुपर्छ। मैले हरदिन घरमा खाना बनाउनुपर्छ, र बच्चाहरूलाई विद्यालय लैजाने-ल्याउने गर्नुपर्छ, त्यसैले कहिलेकाहीँ म भेलाहरूमा आइपुग्न सक्दिनँ। यसबाहेक, जिउनका लागि पैसा चाहिन्छ; सबै जियाइ खर्चहरू बेहोर्नैपर्छ। हामी पैसा नकमाई बाँच्न सक्दैनौँ। यो संसारमा, पैसाविना कसैले जीवन धान्न सक्दैन। परमेश्वरमा विश्वास गर्ने कुरा व्यावहारिक हुनुपर्छ!” उनीहरू पैसा कमाउने र दैनिक गतिविधिहरू गर्ने कुरामा पूरै केन्द्रित भएर, विश्वसनीय रूपमा बोल्छन् र पर्याप्त कारणहरू दिन्छन्, कहिलेकाहीँ मात्र भेलामा सहभागिता जनाउँछन् र परमेश्वरका वचनहरू विरलै पढ्छन्। परमेश्वरमा विश्वास गर्ने कुराप्रति उनीहरूको मनोवृत्ति न चिसो न तातो, मनतातो हुन्छ। प्रकोप आउँदा उनीहरू यसो भन्छन्, “अहो, म त परमेश्वरविना रहनै सक्दिनँ; मलाई इश्वर चाहिन्छ! मैले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र हरदिन उनलाई पुकार्नुपर्छ! म प्रकोपहरूबाट जोगिन खोजिरहेको होइन; मुख्य कुरा म परमेश्वरलाई हृदयमा नराखी बस्नै सक्दिनँ। परमेश्वरलाई हृदयमा नराखी जीवन जिउनु अझै खोक्रो नै लाग्छ!” उनीहरूले परमेश्वरबारेको ज्ञान देखाउने एउटा शब्द पनि बोल्न सक्दैनन्; उनीहरूले त आफ्ना क्रियाकलाप र व्यवहारलाई जायज ठहराउने शब्दहरू मात्र बोल्छन्। उनीहरूलाई परमेश्वरको घरले हरेक व्यक्तिलाई कतिवटा पुस्तकहरू वितरण गर्छ भनेर थाहा हुँदैन; उनीहरूलाई प्रवचनहरू कुन विषयमा पुगेका छन् भनेर थाहा हुँदैन; उनीहरूलाई मण्डली-जीवनमा अहिले कुन सत्यताहरूबारे सङ्गति भइरहेको छ भनेर थाहा हुँदैन। उनीहरू हरेक छ महिनामा एकचोटि वा वर्षको एकपटक भेलामा सहभागी हुन्छन्। सहभागी हुँदा उनीहरू यसो भन्छन्, “गैरविश्वासीहरू अति खराब हुन्छन्। समाज अन्यायपूर्ण छ। यो संसार दुष्ट छ। पैसा कमाउन मेहनत गर्नु अत्यन्तै गाह्रो छ! मानिसहरूमा परमेश्वरको बोझ हलुका छ…।” उनीहरू यी बेकारका कुराहरू बोलिरहन्छन् जसको भेलाको सङ्गतिका विषय र विषयवस्तुसँग कुनै सम्बन्ध हुँदैन। उनीहरू प्रार्थनामा केही खोक्रा शब्दहरू बोल्छन्, परमेश्वरमा विश्वास गर्नेबारे थोरै सतही शब्दहरू बोल्छन् र त्यसपछि आफूलाई विश्वासी ठान्छन्, अनि हृदयमा ढुक्क र शान्त महसुस गर्छन्। के यो परमेश्वरमा विश्वास गर्नु हो? यस्ता मानिसहरू कस्ता खालका दुष्ट चिजहरू हुन्? यदि तैँले उनीहरूलाई “तिमी किन नियमित रूपमा भेलाहरूमा सहभागी हुँदैनौ?” भनेर सोधिस् भने, उनीहरू यसो भन्छन्, “मलाई अवस्थाहरूले साथै दिँदैनन्। परमेश्वरले मेरा लागि यही वातावरण खडा गर्नुभएको छ, र म समर्पित हुनैपर्छ।” यी शब्दहरू कति मीठा सुनिन्छन्! उनीहरू यस्तो पनि भन्छन्, “हेर, परमेश्वरले मेरा लागि यो वातावरण खडा गर्नुभएको छ। मेरो पूरै परिवार खानाका लागि ममा निर्भर छ, त्यसैले जीवन धान्नका लागि मैले पैसा कमाउनुपर्छ! यतिखेर, पैसा कमाउनु नै परमेश्वरले मलाई दिनुभएको कार्य हो।” उनीहरू आफ्नो कर्तव्य पूरा गर्ने कुरा, साथै सृजित प्राणीका रूपमा आफ्ना जिम्मेवारी र दायित्वहरूबारे चर्चा गर्न पूर्ण रूपमा चुक्छन्, परमेश्वरका वचनहरू कसरी अभ्यास गर्ने भनेर त झन् उल्लेख नै गर्दैनन्; उनीहरू कहिलेकाहीँ मात्र भेलामा सहभागी हुन्छन् र केही युआन पैसा चढाउँछन्, अनि परमेश्वरको घरलाई योगदान गरेको छु भन्ठान्छन्। अरू पनि छन्, जो आफ्ना छोराछोरीहरू बिरामी पर्दा परमेश्वरलाई प्रार्थना गर्छन्, अनि केही दिनपछि, जब छोराछोरीको स्वास्थ्यमा सुधार आउँछ, तब उनीहरूले तुरुन्त मण्डलीलाई भेटीस्वरूप केही पैसा चढाउँछन् र त्यसपछि फेरि गायब हुन्छन्। उनीहरूले हरेकपटक दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दा सत्यताबारे कहिल्यै सङ्गति गर्दैनन्, न त परमेश्वरका वचनहरू नै पढ्छन्। प्रकोप वा विपद्हरू नहुँदा, उनीहरूले कहिल्यै परमेश्वरलाई प्रार्थना गर्दैनन्। उनीहरूका दैनिक कुराकानीका विषय सधैँ स-साना घरायसी कुराहरू, सही र गलतमाथिका विवादहरू, दैहिक जीवन, विभिन्न सामाजिक घटना, र देखे-सुनेका विभिन्न कुराहरू हुन्छन्; उनीहरू परमेश्वरका वचनहरूबारे विरलै सङ्गति गर्छन् र परमेश्वरमा विश्वास गर्नेबारे मर्मस्पर्शी शब्द कहिल्यै उच्चारण गर्दैनन्। उनीहरू परमेश्वरको हेरचाह र संरक्षण खोज्न मात्र मण्डलीमा आफ्नो स्थान कायम राख्छन्। परमेश्वरमा विश्वास गर्ने उनीहरूको तरिका नै यही हो; उनीहरू सत्यता बिलकुलै नपछ्याई केवल शान्ति र आशिष्हरू खोज्छन्। उनीहरूलाई सत्यतामा कहीँकतै कुनै रुचि हुँदैन। उनीहरू परमेश्वरमा विश्वास गरेर लाभ, अनुग्रह र आशिष् प्राप्त गर्न मात्र चाहन्छन्। उनीहरू अर्को जुनीबारे वास्ता गर्दैनन्, किनभने उनीहरू त्यो देख्न सक्दैनन् र त्यसमा बिलकुलै विश्वास गर्दैनन्। उनीहरू यही जुनीमा परमेश्वरको अनुग्रहको आनन्द लिन र सबै प्रकोपहरूबाट जोगिन मात्र चाहन्छन्। परमेश्वर र मण्डली नै उनीहरूको शरण भएकाले, उनीहरू निश्चय नै कठिनाइ वा प्रकोपहरू सामना गर्दा मात्र भेलाहरूमा सहभागी हुन्छन्। के त्यस्ता मानिसहरू परमेश्वरका निष्कपट विश्वासी हुन्? (होइनन्।) उनीहरू कस्ता प्रकारका मानिस हुन्? (अवसरवादी र अविश्वासीहरू।) यिनीहरू प्रकोपहरूबाट जोगिन मण्डलीलाई प्रयोग गर्न चाहने अविश्वासीहरू हुन्। के यस्ता मानिसहरूलाई मण्डलीमा रहन दिनहुन्छ? (हुँदैन।) जब उनीहरू भेलाहरूमा आउँछन्, उनीहरू अरूलाई बाधा दिन्छन् र भित्री रूपमा निराश पार्छन्। धेरैजसो मानिसहरू अत्यन्तै नम्र हुन्छन् र उनीहरूलाई रोक्ने प्रयास गर्न अप्ठ्यारो मान्छन्, त्यसैले उनीहरूलाई बकबक गर्न र परमेश्वरका वचनहरू खान र पिउनमा सबैलाई बाधा पार्न दिन्छन्। यो अवस्थामा अगुवा र कामदारहरूले के गर्नुपर्छ? के उनीहरूले यस्ता मानिसहरूलाई निषेध गर्ने, बहुसङ्ख्यकका हितहरूको सुरक्षा गर्ने, र सामान्य मण्डली जीवन कायम राख्ने जिम्मेवारी लिनुपर्दैन र? (पर्छ।) तैँले उनीहरूसँग भएका परमेश्वरका वचनका पुस्तकहरू फिर्ता लिएर उनीहरूलाई मण्डलीबाट निस्केर जाने सल्लाह दिँदा हुन्छ। कसैलाई मनाएर मण्डलीबाट निस्केर जान लगाउने विभिन्न तरिकाहरू छन्—तिमीहरूले आफ्नै उपायहरू सोच्न सक्छौ। बस यो सुनिश्चित गर कि उप्रान्त उनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई सम्पर्क गर्दै नगरून्। मानौँ कसैले यसो भन्यो रे, “यो व्यक्ति असल छ। उसले मण्डलीमा स-साना घरायसी कुराहरूबारे बोल्ने मात्र हो, तर मण्डलीको काममा बाधा दिने वा हाम्रो कर्तव्य निर्वाहमा असर पार्ने काम गर्दैन, त्यसकारण हामी सहनशील हुनुपर्छ! परमेश्वरमा विश्वास गर्दा, के हामीले हरप्रकारका मानिसहरू सहनु र झेल्नुपर्दैन र? परमेश्वरले हरेक व्यक्तिले मुक्ति पाओस् भन्ने चाहनुहुन्छ र उहाँ कसैले पनि विनाश भोग्न परोस् भन्ने चाहनुहुन्न!” त्यसोभए तैँले ऊ मुक्तिको पात्र हो कि होइन भनेर विचार गर्नुपर्छ। यदि होइन भने, के हामीले उसलाई खुट्ट्याएर निकाल्नुपर्दैन र? (पर्छ।) कतिपय मानिसहरू भन्छन्, “म अत्यन्तै नम्र छु; उनीहरूलाई मनाएर मण्डलीबाट निस्केर जान लाउन मलाई अप्ठ्यारो लाग्नेछ।” यो समस्या हल गर्न सजिलो छ। यदि तैँले बस उसलाई सम्पर्क गर्दै गरिनस् भने, उसले तँलाई बाधा दिने वा बन्धनमा पार्नेछैनन्। ऊसित भेट भए पनि तँ ऊसित बोल्नुपर्दैन। परमेश्वरमा विश्वास गर्ने मामलाहरूबारे ऊसित कुरा गर्नुपर्ने कुनै आवश्यकता नै छैन; उसलाई बस गैरविश्वासीजस्तै व्यवहार गर्। कतिपय मानिसहरू भन्छन्, “के हामीले उसलाई प्रेमपूर्वक मदत गर्न र आफूले बुझेको सत्यता ऊसँग सङ्गति गर्न मिल्दैन र?” यस्ता अविश्वासीहरूका लागि, यदि तँमा साँच्चिकै प्रेम छ भने, तैँले प्रयास गरे हुन्छ। यदि तैँले उनीहरूलाई साँच्चिकै बदल्न सकिस् भने, उनीहरूलाई निकाल्न वा निष्कासन गर्न आवश्यक हुँदैन। कतिपय मानिसहरू भन्छन्, “म आफ्नो प्रयास खेर फाल्नेछैनँ। उनीहरूलाई मदत गर्नु भनेको सुँगुरलाई नुहाइदिनुजस्तै बेकार हो; त्यसलाई धोएर जति सफा पारे पनि त्यो गएर हिलोमै लडीबुडी गर्छ। त्यो ठ्याक्कै त्यस्तै प्राणी हो; त्यो बदलिनेछैन!” यदि तैँले यो कुरा बुझ्न सक्छस् भने, तँ सही छस्। के तैँले अझै पनि त्यस्ता अविश्वासीहरूलाई मदत गर्न उनीहरूसित सत्यता सङ्गति गर्नेछस्? के तिमीहरूले अझै पनि यो अर्थहीन काम गर्नेछौ? (गर्नेछैनौँ।) यो अवस्थामा, तिमीहरूले आफू मूर्ख भएको र मानिसहरूलाई छर्लङ्गै देख्न नसकेको थाहा पाउनेछौ। अविश्वासीहरू बदलिन सक्दैनन्। यी मानिसहरूलाई के पनि थाहा हुन्छ भने परमेश्वरमा विश्वास गर्नेहरूले असल कार्यहरू गर्छन् र खराब कार्यहरू गर्नबाट जोगिन्छन्, उनीहरूले अरूलाई हेप्ने वा ठग्ने काम गर्दैनन्। परमेश्वरमा विश्वास गर्नेहरूको उनीहरूमा राम्रै छाप परेको हुन्छ, त्यसकारण उनीहरूले आफूलाई “परमेश्वर हुनुहुन्छ” र “परमेश्वरमा विश्वास गर्नु राम्रो हो” भन्ने ध्वजामुनि आफूलाई लुकाउँछन् र मण्डली घुसपैठ गर्छन्, अनि मानिसहरूलाई उनीहरू दाजुभाइ वा दिदीबहिनी हुन् भन्ने सोच्ने तुल्याउँछन्। कतिपय मानिसहरू त यस कुराले वास्तवमै छलिन्छन् , र साँच्चिकै उनीहरूलाई दाजुभाइ वा दिदीबहिनी ठान्छन्, अनि बारम्बार उनीहरूलाई भेट्न जान्छन् र मदत गर्छन्। लामो समयपछि मात्र उनीहरूले महसुस गर्छन्: “यो व्यक्ति आफूले प्रकोप वा कठिनाइहरू सामना गर्दा मात्र मण्डलीमा आउँछ, र काम नलाग्ने, अर्थहीन कुराहरू बोल्छ। जब उसका लागि परिस्थितिहरू सहज र सबै कुरा ठिकै हुन्छ, र उसको जीवन राम्रैसँग चलिरहन्छ, तब उसले सबैलाई बेवास्ता गर्छ। यदि पहिल्यै ऊ दुर्जन हो भन्ने थाहा भएको भए, हामीले उसलाई मदत वा यति मेहनत गर्ने नै थिएनौँ!” अब पछुताएर केही फाइदा छ र? पछुताउन ज्यादै ढिलो भइसकेको छ—तैँले व्यर्थमा धेरै कुरा बोलिसकेको छस्! छोटकरीमा भन्नुपर्दा, यस्ता अविश्वासीहरूलाई चाँडोभन्दा चाँडो खुट्ट्याउन, निराकरण गर्न, र मण्डलीबाट निकाल्न आवश्यक छ। उनीहरूलाई दाजुभाइ-दिदीबहिनी नठान्; उनीहरू दाजुभाइ-दिदीबहिनी होइनन्। परमेश्वरद्वारा चुनिएका मानिसहरू मात्र दाजुभाइ-दिदीबहिनीहरू हुन्; मुक्ति दिन सकिने र परमेश्वरको आराधना गर्ने पछ्याइमा लागेकाहरू मात्र दाजुभाइ-दिदीबहिनीहरू हुन्। प्रकोपहरूबाट जोगिनका लागि परमेश्वरको घरमा घुमिरहने र सत्यता नस्विकारी लोभी तरिकाले परमेश्वरको अनुग्रहको आनन्द उठाउनेहरू अविश्वासीहरू हुन्। उनीहरू दाजुभाइ-दिदीबहिनी होइनन्, र उनीहरू निश्चय नै परमेश्वरका चुनिएका मानिसहरू होइनन्। कुरो बुझिस्? यस्ता अविश्वासीहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्छ; उनीहरूलाई जसरी निमिट्यान्न पार्नुपर्ने हो त्यसरी निमिट्यान्न पार्नुपर्छ। यो अगुवा र कामदारहरूको जिम्मेवारी हो, र यो परमेश्वरका चुनिएका मानिसहरू सबै स्पष्ट हुनुपर्ने सिद्धान्त पनि हो।
अक्टोबर २३, २०२१