अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (१९)

बुँदा बाह्र: विषयवस्तु बाह्र: परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिस, घटना, कुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई परिवर्तन गर्ने; यसका अतिरिक्त, सत्यतामा सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका जनहरूले यस्ता कुराहरूबाट समझशक्ति प्राप्त गरून् र ती कुराहरूबाट सिकून् (भाग सात)

मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिस, घटना, र कुराहरू

अनुचित सम्बन्धमा संलग्‍न हुनेहरूलाई सम्हाल्ने सिद्धान्तहरू

परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान दिने विभिन्‍न मानिस, घटना, र कुराहरूको हकमा, हामीले तिनलाई जम्‍मा एघार वटा समस्याहरूमा विभाजन गरेका छौं। यसभन्दा पहिले, हामीले छैटौं समस्याबारे सङ्गति गरेका थियौँ, र त्यो थियो—अनुचित सम्बन्धहरूमा संलग्‍न हुनु। यसले मुख्य रूपमा केलाई जनाउँछ? अरूलाई बेपर्वाहसित प्रलोभनमा पार्नु र यौनिच्छाका सम्बन्धहरूमा संलग्‍न हुनु। यो पक्षबारे के सङ्गति गरिएको थियो? जब त्यस्ता मानिसहरू मण्डलीमा देखा पर्छन्, तब तिनीहरूलाई कसरी निराकरण गरिनुपर्छ? के-कस्ता समाधानहरू छन्? हामीले आँखा चिम्लिएर यसलाई बेवास्ता गर्नुपर्छ कि हामीले सत्यता सिद्धान्तहरूअनुसार समस्या समाधान गर्नुपर्छ? हामी यसबाट टाढा बस्‍नुपर्छ कि संलग्‍न भएकाहरूलाई प्रेमसहित प्रभाव पार्नुपर्छ? हामीले तिनीहरूलाई सत्यता सङ्गति गर्नुपर्छ कि चेतावनी दिनु र हटाउनुपर्छ? यसलाई सम्हाल्ने सबैभन्दा उचित तरिका के हो? (संलग्‍न मानिसहरूलाई चेतावनी दिनुपर्छ र प्रतिबन्धित गर्नुपर्छ। यदि तिनीहरूलाई प्रतिबन्ध गर्न सकिँदैन भने, हटाउनुपर्छ।) तिनीहरूलाई कसरी प्रतिबन्धित गर्नुपर्छ? के यो गर्न सजिलो छ? जब यस्ता कुराहरू देखा पर्छन्, तब संलग्‍न व्यक्तिहरूलाई प्रतिबन्धित गर्नु सामान्यतया त्यति सजिलो हुँदैन। कति मानिसहरूले यस्तो परिस्थिति देख्छन् र यसलाई अनुचित ठान्छन्, तर बोल्न लाज मान्छन्। कति मानिसहरूले अप्रत्यक्ष रूपमा यसबारे सङ्केत दिन सक्छन्, तर संलग्‍न व्यक्तिहरूले सुन्छन् नै भन्‍ने जरुरी छैन। बेपर्वाहसित अरूलाई प्रलोभनमा पार्न सक्‍ने सबै मानिसहरूको मानवता कस्तो हुन्छ? के तिनीहरू इज्जतदार र सीधा मानिसहरू हुन्? के तिनीहरू सन्तहरूको शिष्टता भएका मानिसहरू हुन्? के तिनीहरू मर्यादा र लज्‍जाबोध भएका मानिसहरू हुन्? (होइनन्।) यदि कसैले तिनीहरूलाई शब्दहरूले मात्रै सम्झायो वा सामान्य रूपमा सत्यता सङ्गति गर्‍यो भने, के यसले समस्या समाधान गर्न सक्छ? सक्दैन। जब यस्तो मामला आउँछ, तब यसको अर्थ तिनीहरूको हृदयमा यो कुरा लामो समयदेखि उब्जिरहेको छ भन्‍ने हुन्छ। त्यो बेला, के यसलाई नियन्त्रण गर्न सजिलो हुन्छ? तिनीहरूलाई सहयोग गर्दै प्रेमपूर्ण रूपले प्रभाव पार्ने प्रयास गर्दा समस्या हल हुन सक्छ? (सक्दैन।) त्यसोभए, सर्वोत्तम समाधान के हो? यस्ता मानिसहरूलाई हटाउनु, र तिनीहरूलाई परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र कर्तव्य निभाउनेहरूबाट अलग्याउनु, र अरूमाथि बाधा पुर्‍याइरहन र हानि गरिरहन नदिनु हो।

अहिले, कतिपय मण्डलीहरूमा, पुरुष र महिलाले एकअर्कालाई प्रलोभनमा पार्ने घटनाहरू निरन्तर देखा परिरहेका छन्। यी मानिसहरूले, मौका पाए भने एकअर्कालाई प्रलोभनमा पारिहाल्छन्, निकै मनमौजी रूपमा र बिनाकुनै लज्जाबोध व्यवहार गर्छन्। मैले धेरै महिलाहरूलाई प्रलोभनमा पार्ने एउटा पुरुषबारे सुनेको थिएँ; ऊ गम्भीर प्रेममा संलग्‍न हुँदैनथ्यो, तर आफूले भेटेको कुनै पनि महिलालाई उसले बेपर्वाहसित प्रलोभनमा पार्थ्यो र पछिपछि लाग्थ्यो। कति मानिसहरू भन्छन्, “तिनीहरूले सामान्य अन्तरक्रिया मात्रै गरिरहेका हुन्छन्; तिनीहरूको अन्तरक्रिया गर्ने शैली नै त्यस्तै हो।” धेरैजसो मानिसहरूले अन्तरक्रिया गर्ने त्यो तरिकालाई असुधारकारी, बीभत्स, र घृणास्पद ठान्छन्। के यो समस्या होइन र? के यसले त्यस्ता सम्बन्धहरू अनुचित छन् भन्‍ने प्रमाणित गर्न सक्छ? यदि दुई जनाको डेटिङले तिनीहरूको आफ्नै कर्तव्यमा मात्र नभई, अरूको कर्तव्यमा पनि असर पार्छ भने, तिनीहरूलाई प्रतिबन्धित गरिनुपर्छ। तिनीहरूलाई, र विशेषगरी मण्डलीमा पूर्णकालीन कर्तव्य निर्वाह गर्नेहरूलाई मण्डली जीवनभित्र डेट गर्न दिइनु हुँदैन, किनभने यसले अरूको कर्तव्य निर्वाहमा असर पार्छ र मण्डलीको काममा हानि गर्छ। जब तिनीहरूले आफ्नो कर्तव्यमा ध्यान दिन सक्छन्, तब तिनीहरू कर्तव्य निर्वाह गर्न मण्डलीमा पूर्णकालीन कर्तव्यमा फर्केर आउन सक्छन्। कति मानिसहरू गम्भीर डेटिङमा संलग्‍न हुँदैनन्, केवल बेपर्वाहसित अरूलाई प्रलोभनमा पार्ने र पछिपछि लाग्‍ने गर्छन्, कामुक इच्छाहरूसँग खेल्छन्, मण्डली जीवनमा बाधा दिन्छन्, मानिसहरूको मुडमा असर पार्छन्, र यसरी अरूलाई बाधा दिन्छन्। यो परिस्थितिले मण्डलीको काममा बाधा दिन्छ र यसलाई सिद्धान्तहरूअनुसार सुल्झाउनुपर्छ र सम्हाल्नुपर्छ; यी मानिसहरूलाई समयमै अलग गर्नुपर्छ र हटाउनुपर्छ। के यो समस्या सम्हाल्न सजिलो छ? कसैलाई पनि मण्डली जीवन र मण्डलीको काममा बाधा र व्यवधान ल्याउन दिनु हुँदैन, र त्यस्ता समस्याहरू सिद्धान्तहरूअनुसार सुल्झाउनुपर्छ। कति मानिसहरू भन्छन्, “त्यस्ता परिस्थितिहरूमा तिनीहरूलाई निराकरण गरियो भने, तिनीहरूको कर्तव्य सम्हाल्ने कोही हुँदैन, र त्यसैले तिनीहरूलाई निराकरण गर्न सकिँदैन; तिनीहरूलाई चाहेअनुसार अघि बढ्न र अरूलाई प्रलोभनमा पार्न दिनुपर्छ। तिनीहरूले अरूलाई जे-जसरी प्रलोभनमा पारे पनि, यसलाई अनुमति दिनुपर्छ।” के परमेश्‍वरको घरमा त्यस्तो नियम छ? त्यस्ता मानिसहरूलाई कसरी निराकरण गर्ने भन्‍ने विषयमा गरिएको पछिल्‍लो भेलाको सङ्गतिमा त्यस्तो सिद्धान्त थियो? (थिएन।) त्यस्ता परिस्थितिहरू सामना गर्दा, मण्डली अगुवा र सुपरिवेक्षकहरू अन्योलमा पर्छन् र तिनलाई कसरी सम्हाल्ने भनेर जान्दैनन्, जसले गर्दा यी मानिसहरूले बेपर्वाहसित मण्डलीमा अरूलाई प्रलोभनमा पार्छन्, अनि धेरैजसो मानिसहरूलाई असहज महसुस हुन्छ र तिनीहरू हृदयमा असुधारित नै रहन्छन्, र तिनीहरूको हृदयमा घृणा त हुन्छ तर तिनीहरूले बोल्‍न सक्दैनन्, र त्यसकारण यसलाई सहन तिनीहरू बाध्य हुन्छन्। अगुवा र सुपरिवेक्षकहरूले के विश्‍वास गर्छन् भने, मण्डलीको काम र परमेश्‍वरको घर यी मानिसहरूविना अघि बढ्न सक्दैन, र यदि यी बेपर्बाह प्रलोभनकर्ताहरूलाई हटाइयो भने, काम गर्ने हातहरू थोरै हुनेछन्। के यो तर्क सही छ? (छैन।) यो कसरी गलत छ? (यी मानिसहरूले काम गर्न सक्दैनन्; तिनीहरूमा काम गर्ने दिमागै हुँदैन।) ठीक भन्यौ। तिमीहरूलाई के लाग्छ, अरूलाई बेपर्बाहसित प्रलोभनमा पार्न सक्‍ने मानिसहरू कस्ता हुन्छन्? तिनीहरूमा कुनै संयम हुँदैन; तिनीहरू अविश्‍वासी, गैरविश्‍वासीहरू हुन्। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने, सत्यताप्रति वितृष्ण रहने, तिनीहरूमा थोरै विश्‍वास हुने, तिनीहरू कलिला हुने, र तिनीहरूको जग सतही हुने मात्र होइन—यसमा अरू धेरै कुरा पनि हुन्छन्। के परमेश्‍वरमा विश्‍वास नगर्ने गैरविश्‍वासीहरू सबैले बेपर्बाहसित अरूलाई प्रलोभनमा पार्न सक्छन्? के तिनीहरू सबैले अनुचित क्रियाकलापहरूमा संलग्‍न हुन सक्छन्? तिनीहरूमध्ये केही मात्र त्यस्ता हुन्छन्; तिनीहरूको एउटा सानो जमातले त अझै पनि इज्जत र गरिमालाई महत्त्व दिन्छन्, आफ्नो प्रतिष्ठाबारे वास्ता गर्छन्, र आफ्नो आचरणमा एउटा आधारबिन्दु पालना गर्छन्। परमेश्‍वरका यी तथाकथित विश्‍वासीहरू गैरविश्‍वासीहरूभन्दा असल छैनन्, त्यसकारण के तिनीहरूलाई गैरविश्‍वासी र अविश्‍वासीहरू भन्‍नु अतिशयोक्ति हो त? (होइन।) यी मानिसहरूले परमेश्‍वरको घरमा केही श्रम गर्न सक्‍ने भए पनि, तिनीहरूको प्रकृतिको हिसाबमा, तिनीहरू अविश्‍वासी र गैरविश्‍वासीहरू हुन्। तिनीहरूले गर्ने कुनै पनि कुरामा तिनीहरूसँग सिद्धान्तहरू हुँदैनन्, र कुनै आधार, कुनै इज्जत, र कुनै लज्‍जाबोधविनै तिनीहरूले आफ्‍नो आनीबानी प्रस्तुत गर्छन्। गैरविश्‍वासीहरूसमेत “रूखलाई यसको बोक्रा चाहिएजस्तै मानिसहरूलाई आफ्नो अभिमान चाहिन्छ” भन्‍ने विचारमा चल्छन्; तर यी मानिसहरू भने आफ्नो अभिमानसमेत जोगाउन चाहँदैनन्, त्यसकारण के तिनीहरूले सत्यता चाहन सक्छन् त? के तिनीहरू परमेश्‍वरको लागि इमानदारीसाथ अर्पित हुन सक्छन् त? के तिनीहरूले आफ्नो कर्तव्यमा सिद्धान्तहरूअनुसार काम गर्न सक्छन् त? अवश्य नै सक्दैनन्! तिनीहरूले श्रम मात्रै गरिरहेका हुन्छन्। श्रम मात्रै गर्ने मानिसहरूमा कुनै सत्यता हुँदैन; तिनीहरूको श्रमले बाधा र व्यवधान दिन्छ, र कर्तव्य पूरा गर्ने मापदण्ड पूरा गर्दैन। बाहिरी रूपमा तिनीहरूले कर्तव्य निभाइरहेजस्तो देखिन्छ, तर तिनीहरूसँग सिद्धान्तहरूबारे जे-जसरी सङ्गति गरे नि तिनीहरूले सुन्दैनन्। तिनीहरूले जे मन लाग्छ त्यही गर्छन्, सिद्धान्तहरूअनुसार काम गर्दैनन्। जब यी मानिसहरूले प्रवचनहरू सुन्छन्, तब तिनीहरूको आनीबानी र अभिव्यक्तिले अविश्‍वासीको रूपमा तिनीहरूको सार खुलासा गर्छन्। अरू मानिसहरू सीधा बसेर, गम्भीरतापूर्वक र ध्यान दिएर सुन्छन्, तर यी मानिसहरूले कसरी सुन्छन्? कति मानिसहरू त टेबलमा अडेस लागेर बस्छन्, बारम्बार जिउ तन्काउँछन् र हाइ काड्छन्, र तिनीहरू राम्ररी बस्दैनन्, र मानवजस्तो देखिँदैनन्। मानवजस्तो नदेखिने मानिसहरू कस्ता मानिसहरू हुन्? तिनीहरू बिलकुलै मानव होइनन्; तिनीहरूले मानवको जस्तो वस्‍त्र मात्रै लगाउँछन्। यी “घस्रने जन्तुहरू” को समूह प्रवचन सुन्न आउँदा तिमीहरूलाई कस्तो लाग्छ? के तिमीहरूलाई यो कुराले असहज तुल्याउँदैन? (तुल्याउँछ।) यो समूह घृणित देखिन्छ, र तिनीहरूलाई देख्दा मलाई बोल्न पनि मन लाग्दैन। म मानवसँग बोल्छु, घस्रने जन्तुसँग होइन। के यसरी प्रवचन सुन्‍ने मानिसहरूले आफ्नो कर्तव्य निभाउने क्रममा तिनीहरूको स्थितिमा सुधार आउन सक्छ? के तिनीहरूले आफ्नो कर्तव्य जति धेरै निर्वाह गर्छन्, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास त्यति नै बढ्न सक्छ र के तिनीहरूले त्यति नै स्पष्ट रूपमा सत्यता बुझ्न सक्छन्? अवश्य नै सक्दैनन्! तिनीहरूले आफ्नो कर्तव्य जे-जसरी पूरा गरे नि, तिनीहरूको कद र विश्‍वास बढ्दैन। तिनीहरूले लापरवाही ढङ्गले र बिनाकुनै संयम सबै कुरा गर्छन्, र कुनै चेतना, आत्मनिन्दा, वा अनुशासनविना देहका वासना र भ्रष्ट स्वभावहरूमा जिउँछन्—तिनीहरू गैरमानवहरू हुन्! त्यस्ता मानिसहरूको हकमा त, तिनीहरूले गरेका अरू खराब कुराहरू वा तिनीहरूले गरेका सिद्धान्तहरू उल्लङ्घन गर्ने र परमेश्‍वरको घरका हितहरूमा हानि गर्ने कार्यहरूसमेत विचार गर्नुपर्दैन, तिनीहरूलाई हटाउनको लागि तिनीहरू अनुचित सम्बन्धहरूमा संलग्‍न हुनु नै पर्याप्त हुन्छ। यो अत्यन्तै सरल मामला हो, तैपनि यसलाई कसरी सम्हाल्ने भन्‍ने नजानेर मण्डली अगुवा र सुपरिवेक्षकहरू टाउको कन्याउँछन्। यो कुरा सम्हाल्न निकै सजिलो छ; यो विषयमा पहिल्यै सङ्गति गरिएको छ। यसलाई सिद्धान्तहरूअनुसार सम्हाल्नुपर्छ, र हटाइनुपर्नेहरूलाई हटाइनुपर्छ। यसबारेमा अनावश्यक विचार नगर्; तिनीहरू नहुँदा परमेश्‍वरको घरको काम राम्ररी अघि बढ्छ। मलाई भन् त, कसैले कहीँ कुकुरको दिसा वा मल भेट्टाए भने के गर्नुपर्छ? तिनीहरूले तुरुन्तै सफा गर्नुपर्छ; समयमै सफाइ गरिएन भने, तुरुन्तै झिँगा र लाम्खुट्टेहरू आउनेछन्, र यस्तो ठाउँमा मानिसहरूलाई शान्ति हुन सक्दैन। मैले यो सब भन्‍नुको अर्थ के हो? (मण्डलीमा अनुचित सम्बन्धमा संलग्‍न हुने समस्या सुल्झाउने पहिलो कदम भनेको ती दुष्ट अविश्‍वासीहरूलाई हटाउनु हो।) हो, मेरो मतलब ठीक त्यही हो। यदि मण्डलीमा “दुर्गन्धित कुकुरको दिसा” जस्ता मानिसहरू छन् भने, तिनीहरूले अवश्य नै केही “दुर्गन्धित झिँगाहरू” आकर्षित गर्नेछन्। कुकुरको दुर्गन्धित दिसा धोएपछि, यी झिँगाहरू आफै हराउनेछन्। के यो समाधान होइन र? के यो समाधान उचित छ? (छ।) त्यस्ता समस्या सुल्झाउने क्रममा, कति मण्डली अगुवाहरू सधैँ यस्तो चिन्ता गर्छन्, “यदि हामीले अरूलाई बेपर्वाहसित प्रलोभनमा पार्नेहरूलाई हटायौँ भने, के काम गर्ने मानिसहरू थोरै हुनेछैनन् र?” के यो समस्या हो? (होइन।) किन होइन? यो चिन्तालाई कसरी समाधान गर्नुपर्छ? मानिसहरूप्रतिका मापदण्डहरू अत्यन्तै कडा भएकाले, यदि काम गर्न सक्‍नेहरूलाई हटाइयो भने, कामको यो भाग पूरा गर्नको लागि कोही हुनेछैन भन्‍ने सोच्दै तिनीहरूले गरेको चिन्ता उचित नै भए नि, के तिनीहरूको स्थानमा अरू सक्षम मानिसहरू भेट्टाउनु सजिलो हुँदैन र? (हुन्छ।) अनि यदि तुरुन्तै प्रतिस्थापनको लागि मानिसहरू भेट्टाउन सकिएन भने, उपयुक्त मानिसहरू भेटिएपछि परमेश्‍वरको घरको काममा असर नपारी त्यो पछि पनि गर्न सकिन्छ। उचित काम नगर्ने यी मानिसहरूलाई परमेश्‍वरको घरले समर्थन गर्दैन। यदि तिनीहरूले पश्‍चात्ताप गर्न र उचित काममा ध्यान दिन सक्छन् भने, तिनीहरूले काम जारी राख्‍न सक्छन्, तर यदि तिनीहरूले पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरूलाई कर्तव्य निभाउनबाट अयोग्य तुल्याइनुपर्छ। के यो उचित र तर्कसङगत कुरा होइन र? परमेश्‍वरको घरले अविश्‍वासी र गैरविश्‍वासीहरूलाई समर्थन गर्नुभन्दा श्रमकर्ताहरूलाई समर्थन गर्छ। के यो सिद्धान्त सही छ? (छ।) यो कुन हिसाबमा सही छ? श्रमकर्ताले सत्यता नपछ्याए नि, ऊ अझै पनि श्रम गर्न तयार हुन्छ, र उसले परमेश्‍वरको घरमा राम्रो र आज्ञाकारी व्यवहार गर्दै मेहनत गर्न सक्छ। उसले मेहनत मात्रै गरिरहेको भए नि, ऊ बफादार हुन्छ, र कम्तीमा पनि ऊ खराब मानिस हुँदैन। परमेश्‍वरको घरले राख्‍ने मानिसहरू यिनीहरू नै हुन्। यदि कुनै व्यक्ति खराब र नीच छ, सधैँ कुटिल र दुष्ट अभ्यासहरूमा संलग्‍न हुन्छ भने, र यदि उसले राम्ररी काम गर्नसमेत सक्दैन र ऊ श्रमकर्ताको मापदण्डको स्तरमा पुगेको छैन भने, त्यस्ता मानिसहरू गैरविश्‍वासीहरू हुन्, र परमेश्‍वरको घरले तिनीहरूलाई राख्दैन। त्यसकारण, तिनीहरू श्रम गर्ने मानिसहरू भएर परमेश्‍वरको घरले तिनीहरूलाई नराख्‍ने होइन, बरु तिनीहरूको श्रम मापदण्डको स्तरमा नपुगेर, अनि तिनीहरूको श्रम लेनदेन समेत हुने भएर यस्तो हुन्छ। यस्तो किन हुन्छ भने, तिनीहरूले सधैँ दुष्कर्म गर्न र व्यवधानहरू पैदा गर्न चाहन्छन्, र सधैँ मण्डलीमा कुटिल र दुष्ट अभ्यासहरूमा संलग्‍न हुने प्रयास गर्छन्, मण्डलीको कामको सुव्यस्थामा बाधा दिन्छन् र धेरैजसो मानिसहरूको कर्तव्यमा असर पार्छन्। तिनीहरूले मण्डलीको वातावरण भ्रष्ट तुल्याउँछन् र परमेश्‍वरको बदनाम गर्छन्—तिनीहरूलाई सफाइ गरी हटाउनुभन्दा उपयुक्त कुरा अरू केही पनि हुन सक्दैन। जहाँ “कुकुरको दुर्गन्धित दिसा” जस्ता मानिसहरू हुन्छन्, तिनीहरूलाई तुरुन्तै हटाइनुपर्छ। कुरो बुझ्यौ? (बुझ्यौँ।)

११. निर्वाचनमा हेरफेर र धाँधली गर्नु

आज, हामी अगुवा र सेवकहरूको बाह्रौँ जिम्मेवारीबारे सङ्गति जारी राख्‍नेछौं: “परमेश्‍वरको काम र मण्डलीहरूको सामान्य सुव्यवस्थालाई खलबल्याउने र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, र कुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र परिस्थिति सही बनाउने। यसअतिरिक्त, सत्यता सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका जनहरूले यस्ता कुराहरूबाट थप समझशक्ति प्राप्त गरून् र केही सिकून्।” यो बाह्रौँ जिम्मेवारीको एघाह्रौँ समस्या के हो? (निर्वाचनमा हेरफेर र धाँधली गर्नु।) हामीले ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूबारे सङ्गति र खुलासा गर्दा पहिले पनि निर्वाचनमा हेरफेर र धाँधली गर्नेबारे केही सङ्गति गरेका छौं, होइन र? (हो।) परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूमा मण्डली निर्वाचनका नियमहरू समावेश छन्। वर्षमा एकपटक निर्वाचन गर्न सकिन्छ, र विशेष परिस्थितिहरूमा पनि निर्वाचन गर्न सकिन्छ। सबै मण्डलीहरूले परमेश्‍वरको घरले तय गरेका सिद्धान्तहरूअनुसार सबै स्तरका अगुवा र सेवकहरू छनौट गर्नुपर्छ। निर्वाचनका नियमहरूमा निर्वाचन सिद्धान्तहरू, मानिसहरूलाई छनौट गर्ने मापदण्डहरू, निर्वाचनका विधि र शैलीहरू, र निर्वाचनको बेला दाजुभाइ-दिदीबहिनीहरूले सचेत हुनुपर्ने र ध्यान दिनुपर्ने विभिन्‍न कुराहरू समावेश छन्। अवश्य नै, हरेक निर्वाचनभन्दा पहिले, सबै स्तरका अगुवा र सेवकहरूले परमेश्‍वरका चुनिएका मानिसहरूले स्पष्ट रूपमा यी सिद्धान्तहरू बुझ्न सक्छन् भन्‍ने सुनिश्‍चित गर्न निर्वाचन सिद्धान्तहरूका सबै पक्षहरूबारे सङ्गति गर्नुपर्छ। यो तरिकाले निर्वाचनका परिणामहरू अझै राम्रा हुनेछन्। आज हामी निर्वाचनका विस्तृत विवरणहरूबारे सङ्गति गर्नेछैनौँ; आजको सङ्गतिको मुख्य विषय निर्वाचनमा हेरफेर र धाँधली गर्ने कार्यका केही प्रकटीकरणहरू रहेको छ।

क. निर्वाचनमा हेरफेर र धाँधली गर्ने कार्यका प्रकटीकरणहरू

मण्डलीको निर्वाचनमा अगुवा र सेवकहरू हुन सबैभन्दा उपयुक्त उम्मेदवारहरू छनौट गर्नको लागि परमेश्‍वरको घरले तय गरेका निर्वाचन सिद्धान्तहरू कडाइसाथ पालना गरिनुपर्छ। यदि निर्वाचन सिद्धान्तहरू उल्लङ्घन गरियो र अरू निर्वाचन विधिहरू प्रयोग गरियो भने, यो झूटा अगुवा र ख्रीष्टविरोधीहरूले गरेको काम हुन्छ। परमेश्‍वरको घरले यस्ता उल्लङ्घनहरूलाई निषेध गर्नुपर्छ र निर्वाचनमा धाँधली गर्ने मुख्य व्यक्तिहरूलाई अनुसन्धान गरी निराकरण गर्नुपर्छ। मण्डली निर्वाचनको बेला, विभिन्‍न मानिसहरू प्रकट हुनेछन्, र मानिसहरूका विभिन्‍न मानसिकताहरू खुलासा हुनेछन्। कति मानिसहरूले आफूलाई अगुवाको रूपमा निर्वाचित गराउन वा आफ्नो लागि फाइदाका मानिसहरूलाई निर्वाचित गराउन पर्दापछाडि धेरै काला चालहरू चाल्छन्। उदाहरणको लागि, कति मानिसहरू सत्यता पछ्याउनेहरूलाई अगुवा निर्वाचित गरिनेछ र तिनीहरूको हैसियत खतरामा पर्नेछ भन्‍ने डर मान्छन्, र त्यसैले तिनीहरूले यी मानिसहरूले देखाएका कमजोरी र गरेका गल्तीहरूबारे आलोचना गर्न हरप्रयास गर्छन्, र यसरी तिनीहरूलाई ख्रीष्टविरोधीहरूको स्वभाव भएका घमन्डी र आत्मधर्मी भनेर दोष दिने, र आदि इत्यादि गर्ने प्रयास गर्छन्, र यो सबै कार्य तिनीहरूलाई निर्वाचनमा हराउने प्रयासमा गरिएको हुन्छ। अरूहरूले चाहिँ अगुवाको रूपमा निर्वाचित हुनको लागि, निर्वाचन अवधिमा मानिसहरूलाई घुस दिन राम्राराम्रा कुराहरू किनेर दिन्छन् वा मीठामीठा शब्दहरूद्वारा प्रतिज्ञाहरू गर्छन्, र विभिन्‍न माध्यमहरू प्रयोग गरेर कसको पक्ष वा विपक्षमा मतदान गर्ने भनेर अरूलाई उक्साउने र बहकाउने पनि गर्छन्। तिनीहरूले जुनसुकै माध्यम र विधिहरू प्रयोग गरे पनि, ती सबै निर्वाचनमा धाँधली गर्न र निर्वाचन परिणामहरू प्रभावित पार्नलाई गरिएका हुन्छन्। मण्डलीले बारम्बार निर्वाचन सिद्धान्तहरू—जस्तै असल मानवता भएका, सत्यता पछ्याउने, र दाजुभाइ-दिदीबहिनीहरूलाई सामान्य रूपमा कर्तव्य पूरा गर्न, परमेश्‍वरका वचनहरू सामान्य रूपमा पढ्न, र सत्यता वास्तविकतामा प्रवेश गर्न डोर्‍याउन सक्‍ने मानिसहरूलाई निर्वाचित गर्नेसम्बन्धी, र अरू यस्तै सिद्धान्तहरू—सङ्गति गरे नि यी मानिसहरूले सुन्दैनन् र काला चालहरू चाल्न चाहन्छन्। काला चालहरू चाल्नु भनेको के हो? यसको अर्थ तिनीहरूले सधैँ धोका दिन चाहन्छन् भन्‍ने हो। तिनीहरूले कहिल्यै पनि को असल छ र को खराब छ भनेर खुलेर मूल्याङ्कन गर्दैनन्, र पर्दापछाडि सधैँ काला चालहरू चाल्न र धूर्त युक्ति एवं कपटहरूमा संलग्‍न हुन चाहन्छन्। तिनीहरूले कसलाई निर्वाचित गर्ने र कसलाई निर्वाचित नगर्ने भनेर पर्दापछाडि षड्यन्त्रसमेत गर्छन्, र यसरी सबैलाई सहमतिमा ल्याउने प्रयास गर्छन्। के यी काला चालहरू होइनन् र? के यो धोका दिनु होइन र? (हो।) के यो सत्यता सिद्धान्तहरूअनुसार खुल्‍ला र स्पष्ट रूपमा निर्वाचनको रक्षा गर्नु हो? अहँ, होइन—तिनीहरूले त निर्वाचनमा धाँधली गर्न दुस्साहसी प्रयासमा मानव युक्ति र विधिहरू प्रयोग गरिरहेका छन्। निर्वाचनमा धाँधली गर्नुपछाडिको तिनीहरूको उद्देश्य के हो? तिनीहरूले निर्वाचन परिणामहरू नियन्त्रण गर्न, र आफैलाई निर्वाचित गर्न चाहन्छन्, र आफू निर्वाचित हुन नसक्‍ने भएमा कसलाई निर्वाचित गर्ने भनेर निर्णय गर्न चाहन्छन्, र त्यसकारण तिनीहरूले पर्दापछाडि काला चालहरू चाल्छन्। तिनीहरूले मण्डलीको काम वा दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशबारे विचार गर्दैनन्। तिनीहरूले परमेश्‍वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूका हितहरूबारे विचार गर्दैनन्; तिनीहरूले आफ्नो व्यक्तिगत हितहरूबारे मात्रै विचार गर्छन्। जब निर्वाचन हुन्छ, तब तिनीहरूका आफ्नै अभिप्राय र इच्छाहरू नै तिनीहरूको सर्वोच्च प्राथमिकता बन्छन्। त्यसोभए तिनीहरूले किन निर्वाचनमा धाँधली गर्न चाहन्छन्? यदि कसैले साँचो रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरअघि र सत्यता वास्तविकतामा ल्याउन चाहन्छ भने, के उसले यसरी व्यवहार गर्छ र? के तिनीहरूसँग त्यस्ता महत्त्वाकाङ्क्षाहरू हुन्छ र? के तिनीहरूले त्यस्तो व्यवहार देखाउँछन् र? अहँ, देखाउँदैनन्। मण्डली निर्वाचनमा धाँधली गर्न चाहने गुप्त मनसाय, महत्त्वाकाङ्क्षा र इच्छा भएकाहरूले मात्रै यसरी व्यवहार गर्छन्। मण्डलीभित्र, तिनीहरूले आफूसँग मित्रता गर्ने, आफूसँग दृष्टिकोण मिल्‍ने, र आफ्‍नो जस्तै मनसाय र उद्देश्य भएका कतिपय मानिसहरूलाई आकर्षित गर्छन्, र सामान्यतया कमजोर रहने, त्यति धेरै सत्यता नपछ्याउने, र भ्रमित, अज्ञानी, र सहजै बहकाउ र चालबाजीमा पर्ने कतिपय मानिसहरूलाई पनि फन्दामा पार्छन् र मण्डली निर्वाचनको काममा बाधा दिने शक्ति निर्माण गर्छन्। तिनीहरूले मण्डलीको विरोध गर्नुको उद्देश्य भनेको आफैलाई निर्वाचित गराउनु, निर्वाचन परिणामहरूमा आफैलाई अन्तिम निर्णय गर्ने बनाउनु हो। तिनीहरू आफूले पूर्वनिर्धारित गरेका मानिसहरू, र आफ्नो लागि फाइदाजनक मानिसहरू नै निर्वाचित गर्न चाहन्छन्। यी मानिसहरू निर्वाचित भए भने, तिनीहरूको षड्यन्त्र सफल भएको हुन्छ। त्यस्तो निर्वाचनको परिणाम सही हुन्छ कि गलत? (गलत।) यो अवश्य नै गलत हुन्छ। दुष्ट मानिसहरूले धाँधली गरेको निर्वाचनबाट निर्वाचित हुनेहरू अवश्य नै दुष्ट मानिसहरूकै लागि फाइदाजनक हुन्छन्। ती दुष्ट मानिसहरूकै लागि किन फाइदाजनक हुन्छन्? किनभने त्यसपछि ती दुष्ट मानिसहरू स्वेच्छाचारी र लापरवाही रूपमा व्यवहार गर्न, र मण्डलीमा उन्मत्त हुन सक्छन्, र कसैले पनि तिनीहरूलाई खुलासा वा प्रतिबन्ध गर्ने आँट गर्दैनन्। तिनीहरूलाई हटाइँदैन, जबकि सत्यता पछ्याउनेहरूलाई तिनीहरूले निष्कासन र दमन गर्छन्, र मण्डली दुष्टहरूको क्षेत्र बन्‍छ। स्पष्ट रूपमै, दुष्ट मानिसहरूले धाँधली गरेको निर्वाचनको अन्तिम परिणाम अवश्य नै गलत हुन्छ; यो अवश्य नै जनमतविरुद्ध जान्छ र यसले सिद्धान्तहरू उल्लङ्घन गर्छ। निर्वाचनको बेला, मण्डली अगुवाहरू र दाजुभाइ-दिदीबहिनीहरू यी मानिसहरूको सबै व्यवहार र कार्यप्रति सचेत र सतर्क हुनुपर्छ। तिनीहरू यसबारे अन्योलमा रहनु हुँदैन। निर्वाचनमा हेरफेर र धाँधलीको सङ्केत पत्ता लागेपछि, संलग्‍न व्यक्तिहरूलाई प्रतिबन्धित गर्न तुरुन्तै कदमहरू चालिनुपर्छ, र प्रतिबन्धित गर्न सकिँदैन भने, यी मानिसहरूलाई अलग्‍गै राख्‍नुपर्छ। यी मानिसहरू विशेष रूपमा दुस्साहसी र बेलगाम हुन्छन्, र तिनीहरूलाई नियन्त्रण गर्न गाह्रो हुन्छ। निर्वाचनमा धाँधली गर्न र परिणामहरू हेरफेर गर्न, तिनीहरूले अवश्य नै पर्दापछाडि काला चालहरू चाल्छन्, र धेरै कुरा बोल्छन् र गर्छन्। यसबारे के गरिनुपर्छ? यो कुरा सम्हाल्न सजिलो छ। यदि मण्डली अगुवाहरूले समस्या पत्ता लगाए भने, तिनीहरूले यसलाई खुलासा गरेर सार्वजनिक गर्नुपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूलाई यो मामलाको गम्भीरता र परिणामहरूबारे, र त्यस्ता कार्यहरूको प्रकृति के हो भन्‍नेबारे सङ्गति गर्न लगाउनुपर्छ। अन्त्यमा, तिनीहरूले निश्‍चित कारबाहीहरू चाल्नुपर्छ। के-कस्ता कारबाहीहरू चाल्नुपर्छ? पर्दापछाडि सधैँ काला चालहरू चाल्ने र निर्वाचनमा हेरफेर र धाँधली गर्ने प्रयास गरिरहेकाहरूलाई तुकोतु निराकरण गर्नुपर्छ र निर्वाचनमा भाग लिनबाट रोक्नुपर्छ। यसको अर्थ के हो? यसको अर्थ तिनीहरूको भोट गन्ती हुँदैन। निर्वाचनमा हेरफेर र धाँधली गर्ने कार्यमा जति धेरै मानिसहरू संलग्‍न भए नि, तिनीहरू सबैको भोट खारेज गरिनुपर्छ, र तिनीहरूलाई निर्वाचनमा भाग लिन दिइनु हुँदैन। बहकाउ र व्यवधानमा पारिएको व्यक्ति जो भए नि, जबसम्‍म तिनीहरूले निर्वाचनमा धाँधली गर्ने र जानीजानी निर्वाचनमा हानि गर्न दुष्ट मानिसहरूसँग साँठगाँठ गर्ने मानिसहरूको मार्ग पछ्याउँछन्, तबसम्‍म परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूलाई खुलासा गर्नुपर्छ र निर्वाचनमा भाग लिने तिनीहरूको अधिकार खारेज गर्नुपर्छ। के यो राम्रो तरिका हो? (हो।) यो पूर्णतया मण्डलीको काम रक्षा गर्नको लागि गरिन्छ। के यी मानिसहरूले प्रतिबन्धहरू स्विकार्न इन्कार गर्दैनन् र? के तिनीहरूले परमेश्‍वरको घरका निर्वाचनका सिद्धान्तहरू स्विकार्न इन्कार गर्दैनन् र? के तिनीहरूले अन्तिम निर्णय आफै गर्न चाहँदैनन् र? यदि अन्तिम निर्णय तिनीहरूकै हुन्छ भने, त्यो अन्तिम निर्णय शैतानले गरिरहेको हुन्छ। परमेश्‍वरको घर र मण्डली सत्यताले शासन गर्ने ठाउँहरू हुन्; शैतानलाई निर्णय गर्न दिइनु हुँदैन। यी मानिसहरूले काला चालहरू चाल्‍न र जानीजानी निर्वाचनमा हेरफेर र धाँधली गर्न चाहने हुनाले, कुरा सरल छ—तिनीहरूको भोट खारेज हुन्छ। तिनीहरूले जसको लागि भोट दिए नि, त्यसको कुनै काम हुँदैन; तिनीहरूका कुनै पनि विचारहरू मान्य हुँदैनन्, र तिनीहरूले निर्वाचनमा उम्मेदवारी दिन जिद्दी गरे नि, त्यसले काम गर्दैन। परमेश्‍वरको घरमा प्रशासनिक आदेश र नियमहरू छन्, र यो निर्वाचनमा भाग लिने तिनीहरूको अधिकार खोसिएको र रद्द गरिएको हुन्छ। यदि तिनीहरूले अझै पनि अर्को निर्वाचनमा बाधा दिए भने, निर्वाचनमा भाग लिने तिनीहरूको अधिकार पूर्ण रूपमा खारेज हुनेछ, र तिनीहरूलाई सहभागी हुन किमार्थ दिइनेछैन। निर्वाचनमा हेरफेर र धाँधली गर्न सधैँ काला चालहरू चाल्‍नेहरूलाई यसरी नै तह लगाइनुपर्छ।

जब मण्डली निर्वाचन हुन्छ, तब सधैँ केही न केही दुष्ट मानिसहरू पक्‍कै हुन्छन्, जसलाई खटपट हुन थाल्छ: कतिले निर्वाचनमा हेरफेर र धाँधली गर्ने प्रयासमा पर्दापछाडि काला चालहरू चाल्चन्, जबकि कतिले नेतृत्वको पदको लागि अरूसँग खुल्‍लमखुल्ला प्रतिस्पर्धा गर्ने इच्छा गर्छन्, अनुहार रातो नभएसम्म तर्क गर्छन्, अनि आवेशमा आएर काम गर्ने, हिंसाको सहारा लिने, र हानाहान गर्ने अवस्थामा समेत पुग्छन्, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूलाई कसको कुरा सुन्‍ने वा कसलाई छनौट गर्ने भन्‍ने नै थाहा हुँदैन। निर्वाचनको बेला, तिनीहरूले सत्यता सङ्गति गर्दैनन्, न त मण्डलीको काम कसरी अघि बढाउने, काममा के-कस्ता मार्गहरू हुनेछन्, वा अगुवाको रूपमा निर्वाचित भए तिनीहरूले के-कस्ता कामका विचार र योजनाहरू प्रस्तावित गर्नेछन् भनेर नै छलफल गर्छन्। बरु, तिनीहरूले अरू उम्मेदवारहरूका कमीकमजोरीहरू खुलासा गर्ने र तिनीहरूमाथि आक्रमण गर्ने सुनिश्‍चित गर्छन्, र सँगसँगै अर्को समूहविरुद्ध विरोध खडा गर्न मानिसहरूको एउटा समूहलाई आकर्षित गर्छन्, र यसरी मण्डलीमा विभाजनको स्थिति पैदा गराउँछन्। अनि त्यस्तो निर्वाचन के बन्छ? त्यो मण्डली विभाजित गर्ने कुरा बन्छ। निर्वाचनका परिणामहरू आउनुभन्दा पहिले नै मण्डली विभाजित भइसकेको हुन्छ। के यो मण्डली निर्वाचनको बेला देखा पर्नुपर्ने घटना हो? के यो सामान्य घटना हो? अहँ, होइन। यदि तँ अगुवा बन्‍न चाहन्छस् र तँलाई आफूसँग केही क्षमताहरू र बोझको बोध छ र आफू यो कामको लागि योग्य छु भन्‍ने विश्‍वास लाग्छ भने, तैँले परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार निर्वाचनमा भाग लिन सक्छस्। अनि अवश्य नै, तैँले आफ्ना सबल पक्ष र योग्यताहरू पनि व्यक्त गर्न र आफ्ना बुझाइ र अनुभवहरू सङ्गति गर्न सक्छस्, ताकि दाजुभाइ-दिदीबहिनीहरू विश्‍वस्त हुन सकून् र मण्डली नेतृत्वको काम लिनको लागि तँलाई भरोसा गर्न सकून्। तर तैँले निर्वाचित हुने तेरो उद्देश्य अरूलाई आक्रमण गरेर हासिल गर्नु हुँदैन, किनभने यसले सजिलै मानिसहरू बहकाउन र नकारात्मक परिणामहरू ल्याउन सक्छ। सानो कद भएका र समझशक्ति नभएका दाजुभाइ-दिदीबहिनीहरू सजिलै तेरो बहकाउमा पर्न सक्छन् र कसलाई छनौट गर्ने भनेर तिनीहरूलाई थाहै हुँदैन, र मण्डली अराजकता र विभाजनको चपेटामा पर्न पनि सक्छन्। के त्यो शैतानलाई फाइदा उठाउने मौका दिनु होइन र? छोटकरीमा भन्दा, सिद्धान्तहरू नपछ्याई निर्वाचनमा भाग लिनु, र सधैँ महत्त्वाकाङ्क्षा र इच्छाहरू राख्‍नु र निर्वाचित हुने आफ्नो उद्देश्य हासिल गर्न घृणित माध्यमहरू प्रयोग गर्नु सबै नै निर्वाचनमा हेरफेर र धाँधली गर्ने प्रकृतिका हुन्छन् र यी निर्वाचनसम्‍बन्धी अनुचित व्यवहारहरू हुन्। अवश्य नै, कतिपय मानिसहरूसँग उचित व्यवहारहरू हुन्छन् र तिनलाई यसबाट छुट्याइनुपर्छ। उदाहरणको लागि, यदि कुनै उम्मेदवारले सुसमाचारको काम, लेख-रचनामा आधारित काम, र सामान्य मामलाहरूको काम, वा मण्डली जीवनलाई कसरी सुधार्ने, परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका कठिनाइहरू कसरी समाधान गर्ने, र आदि इत्यादि कुराहरूबारे सङ्गति गर्छ भने, यो सबै उचित नै हुन्छ। आफ्ना दृष्टिकोण र बुझाइहरू उचित रूपमा व्यक्त गर्नु, मण्डलीको कामबारे आफ्ना विचार र योजनाहरू बाँड्नु, र यस्तै अन्य कुराहरू बताउनु—यी सबै सामान्य भाषण र व्यवहारका भाग हुन्, र यी मण्डलीले तय गरेका निर्वाचन सिद्धान्तहरूअनुरूप हुन्छन्। यीबाहेक, निर्वाचन अवधिमा देखा पर्ने निकै स्पष्ट रूपमा अनुचित व्यवहारहरू पनि हुन्छन्, र यस्ता हरकुनै व्यवहारहरूले मानिसहरूको ध्यान खिच्छन्। यी कुराहरूप्रति मानिसहरू सतर्क हुनुपर्छ र तिनलाई खुट्याउनुपर्छ—यसमा लापरवाही नबन।

कतिपय मानिसहरूले प्रायजसो काममा व्यस्त हुनु, आफ्नो परिवारमा धेरै समस्याहरू हुनु, वा अनुचित वातावरण हुनुलाई आफ्नो कर्तव्य पूरा नगर्ने र मण्डली जीवनमा सहभागी नहुने बहानाको रूपमा उल्लेख गर्छन्। तैपनि, मण्डली अगुवाहरू निर्वाचित गर्ने बेलामा, यी कठिनाइहरू अचानक अस्तित्वमा रहन छोड्छन्, र तिनीहरू यो अवसरको लागि मिहिनतासाथ ध्यान दिइएका वस्‍त्रमा सजिएर निर्वाचनमा सहभागी हुन आउँछन्। तिनीहरू धेरै समयदेखि देखा परेका हुँदैनन्, तर मण्डली निर्वाचनको ठूलो खबर सुनेपछि, तिनीहरू उत्सुकतासाथ हतारहतार आउँछन्। तिनीहरू केको लागि आएका हुन्छन्? तिनीहरू निर्वाचनको लागि, मण्डली अगुवा पदको लागि, यो “आधिकारिक पद” को लागि आएका हुन्छन्। त्यस्ता मानिसहरू आफ्नो व्यवहारमा विशेष रूपमा चतुर हुन्छन्। अरूले तिनीहरू मण्डली अगुवा बन्‍न चाहन्छन् भन्‍ने शङ्का गर्लान् भनेर, तिनीहरू निर्वाचनबारे उल्लेख गर्नबाट टाढै बस्‍छन् र मानिसहरूको आदर पाउन आफ्नो बुझाइ र अनुभवहरू बाँड्नमा मात्रै ध्यान दिन्छन्। तिनीहरूले सार्वजनिक रूपमा परमेश्‍वरका वचनहरू खानेपिउने पनि गर्छन्, सबैलाई परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्न अगुवाइ गर्छन्, र आफ्नो अनुभव गवाही बाँड्छन्। वास्तवमा, तिनीहरूले साधारणतया मण्डली जीवनमा बिरलै सहभागिता जनाउँछन् र बिरलै सत्यतामा सङ्गति गर्छन्, न त तिनीहरूले कुनै अनुभवात्मक बुझाइबारे नै कुरा गर्न सक्छन्। तैपनि, निर्वाचन नजिकिँदै जाँदा, तिनीहरू निकै फरक बन्छन्। तिनीहरू मण्डली जीवनमा सक्रिय रूपमा सहभागी हुन्छन् र प्रार्थना गर्न, भजन गाउन, र सङ्गति गर्न इच्छुक हुन्छन्, र विशेष रूपमा उत्साहित र सक्रिय अनि भीडभन्दा एकदमै अलग देखिन्छन्। भेलाहरूपछि, तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग पारिवारिक मामलाहरूबारे कुराकानी गर्ने र सम्बन्ध बढाउने अवसरहरू खोजिहिँड्छन्। जब तिनीहरूले मण्डली अगुवालाई भेट्छन्, तब तिनीहरूले भन्छन्, “आजभोलि तपाईं राम्रो देखिनुहुन्‍न। मेरो घरमा केही खजुर छन्; म ल्याइदिन्छु है।” जब तिनीहरूले कुनै निश्‍चित दिदीबहिनीलाई भेट्छन्, तब तिनीहरूले भन्छन्, “तपाईंको परिवारमा आर्थिक समस्या भइरहेको छ भन्‍ने सुनेको छु। तपाईंलाई कुनै सहयोग चाहिन्छ? म तपाईंलाई केही लुगा दिन सक्छु।” तिनीहरू हरेक भेलामा विशेष सक्रिय हुन्छन्, जुन पहिलेको भन्दा निकै फरक हुन्छ। विगतमा, तिनीहरू कहिलेकहीँ जाँच गर्न मात्रै देखा पर्थे, र भेलामा जोसुकैले बोलाए नि, तिनीहरू व्यस्त छु भनेर बहाना गर्थे। तर निर्वाचनको अवधिमा, तिनीहरू अचानक देखा पर्छन् र एउटा पनि नछुटाई हरेक भेलामा सहभागी हुन्छन्। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले हरेक भेलामा निर्वाचनसँग सम्बन्धित विषय र सिद्धान्तहरूबारे सङ्गति गर्छन्, र अवश्य नै, तिनीहरू पनि सहभागी हुन्छन्। यो अवधिमा, तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग राम्रो सम्बन्ध निर्माण गर्न, तिनीहरूमध्ये केहीलाई आकर्षित गर्न सक्दो प्रयास गर्छन्। तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको अगाडि धेरै भेटीसमेत चढाउँछन्, जसले गर्दा धेरैजसो मानिसहरू छक्क पर्छन् र यस्तो सोच्छन्, “तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको यति लामो समय भयो, तर तिनीहरूले पहिले भेटी चढाएको हामीले कहिल्यै देखेका छैनौँ। यसपटक तिनीहरू किन यति उदार भएका हुन्? के तिनीहरू साँच्‍चै नै परिवर्तन भएर राम्रा भएका र सच्‍चिएका हुन्?” परिस्थितिहरू मूल्याङ्कन गर्न नसक्‍ने कति मूर्ख र अज्ञानी मानिसहरूले त यी व्यक्तिहरू वास्तवमै असल भएका छन्, र यी व्यक्तिहरूलाई पहिले गलत रूपमा मूल्याङ्कन गरिएको हो भन्‍ने सोच्छन्, र तिनीहरूले अनजानमा तिनीहरूप्रति हृदयमा सकारात्मक विचार बनाउँछन्, र यस्तो सोच्छन्, “यो व्यक्तिको परिवार धनी छ; ऊसँग कामहरू पूरा गर्ने चिनजान र पहुँच छ। यदि ऊ मण्डली अगुवा बन्यो भने, उसले मण्डलीको लागि धेरै काम पूरा गर्न सक्छ। के यसले हाम्रो मण्डलीलाई खेदो र कठिनाइमा परेका हाम्रा केही विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई सुसमाचार प्रचार गर्न र खानबस्‍न दिन मद्दत गर्दैन र? यदि ऊ यति सक्रिय रहन सक्यो भने, यो राम्रो हुनेछ, तर उसले यो काम जारी राख्‍न सक्छ कि सक्दैन वा ऊ हाम्रो मण्डली अगुवा बन्‍न तयार हुन्छ कि हुँदैन भन्‍नेमा म निश्‍चित छैनँ।” के कतिपय मानिसहरू बहकाउमा परेका र मूर्ख बनेका छैनन् र? यो व्यक्तिले गरिरहेको सबै कुराले फल दिन थालेको छ, होइन र? सबै कुराहरू मिलिरहेका छन् र परिणामहरू चाँडै आउन लागेका छन्। के तिनीहरूले चाहेको यही होइन र? (हो।) यसअलावा, तिनीहरूले एउटालाई दुइटा लुगा, अर्कोलाई एक डालो सागसब्जी, र अर्को व्यक्तिलाई केही स्वास्थ्य सामग्री दिन्छन्, र यसरी सबैलाई हेरचाह गरिएको देखिने सुनिश्‍चित गर्छन्। यसले मानिसहरूलाई यस्तो सोचाउँछ, “यदि यो व्यक्ति मण्डली अगुवा बन्यो भने, के ऊ राम्रो गोठालो बन्‍नेछैन र? के ऊ धेरैजसो मानिसहरूले भरोसा गर्न चाहने व्यक्ति होइन र?” के अहिले ठ्याक्‍कै समय मिलेको छैन र? के विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले सहजै यस्तो व्यक्तिलाई छनौट गर्दैनन् र? यो व्यक्ति शिक्षित, र स्पष्टवक्ता छ, र समाजमा उसले निश्‍चित स्थान पाएको छ। यदि मण्डलीले पक्राउ सामना गर्‍यो भने, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई जोगाउन सक्छन्। यदि कुनै पनि दाजुभाइ-दिदीबहिनीहरूको परिवारमा कठिनाइहरू छन् भने, तिनीहरूले सहयोगको हात बढाउन सक्छन्, र काम गर्ने थप हात चाहिँदा तिनीहरूले मण्डलीको काममा पनि सहयोग गर्न सक्छन्। तैपनि, धेरैजसो मानिसहरूलाई एउटा कुराबारे अनिश्‍चितता हुन्छ: “तिनीहरूले पहिले सत्यता खोजी गर्ने गर्दैनथे, र लामो समयसम्म बिरलै मात्र भेलाहरूमा सहभागी हुन्थे। तर अहिले, निर्वाचनको समय आएपछि, तिनीहरू हतारहतार केही भेलाहरूमा सहभागी भइरहेका छन्। यदि तिनीहरू अगुवाको रूपमा निर्वाचित भए भने, के तिनीहरूले सत्यता बुझ्नेछन्? यदि तिनीहरूले सत्यता बुझ्दैनन् र यी मानिसहरूलाई जोगाउन वा केही फाइदाहरू प्रदान गर्न मात्रै सक्छन् भने, के तिनीहरूले मानिसहरूलाई सत्यता बुझ्न मद्दत गर्न सक्छन्? के तिनीहरूले मानिसहरूलाई परमेश्‍वरअघि ल्याउन सक्छन्? यो कुरा शङ्कास्पद छ।” कतिले हृदयमा शङ्का गर्छन्, जबकि कति अरूलाई त यो व्यक्तिका फाइदाहरूले पहिले नै प्रभावित र विश्‍वस्त पारिसकेका हुन्छन्। के यो अवस्था अत्यन्तै खतरनाक छैन र? एउटै मात्र भोटले पनि तिनीहरू निर्वाचित हुन सक्छन्। अन्तिम निर्वाचन परिणाम जेसुकै भए नि, के त्यस्ता मानिसहरूको कार्य र व्यवहार उचित हुन्छ त? (हुँदैन।) सबैभन्दा उचित समय पारेर, तिनीहरूले दान दिन्छन्, भेटी चढाउँछन्, र केही वास्तविक कठिनाइहरू समाधान गर्न दाजुभाइ-दिदीबहिनीहरूलाई मद्दत गर्छन्। जब कति दाजुभाइ-दिदीबहिनीहरू घर सर्छन्, तब तिनीहरूले यातायात व्यवस्था गर्छन्, र जब कति दाजुभाइ-दिदीबहिनीहरूको परिवारमा पैसाको कमी हुन्छ, तब तिनीहरूलाई केही ऋण दिन्छन्। कसैसँग फोन छैन भने, तिनीहरूले फोन किनिदिन्छन्, र कसैसँग कम्प्युटर छैन भने, तिनीहरूले आफ्नै कम्प्युटर दिन्छन्। … तिनीहरूले यी कुराहरू सबैभन्दा उचित समय, र सबैभन्दा महत्त्वपूर्ण अवस्था पारेर गर्छन्। यो कस्तो व्यवहार हो? के यो उल्लेख गर्न नसकिने रहस्य र उद्देश्यसाथ नेतृत्वको लागि प्रतिस्पर्धा गर्ने अभिप्रायले यी कुराहरू गर्नु निर्वाचनमा हेरफेर र धाँधली गर्नु होइन र? (हो।) तिनीहरू ढिलो वा चाँडो नभई, ठ्याक्‍कै नेतृत्व निर्वाचनको समयमै देखा पर्छन्। के तिनीहरूले उल्लेख गर्न नसकिने रहस्यहरू लुकाएर राखेका हुँदैनन् र? यो कुरा योभन्दा अझै स्पष्ट हुन सक्दैन; तिनीहरूले अवश्य नै उल्लेख गर्न नसकिने रहस्यहरू लुकाएर राखेका हुन्छन्। तिनीहरूले अचानक विवेकले घोचेकोले र केही असल कार्य गर्न चाहेकोले यस्तो गरेका हुँदैनन्; तिनीहरूको उद्देश्य भनेको मण्डली नेतृत्वको लागि उम्मेदवारी दिनु, मण्डलीको इन्चार्ज बन्‍नु, मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूलाई चालबाजीमा पार्नु हो। के तिनीहरूले यी मानिसहरूको लागि साँच्‍चै नै काम गर्न भनेर तिनीहरूलाई चालबाजीमा पार्न चाहन्छन् त? (होइन।) त्यसोभए तिनीहरूले के गर्न चाहन्छन् त? तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न, मण्डलीलाई नियन्त्रण गर्न, र मण्डलीमा अधिकारीको रूपमा काम गर्न र निर्णय गर्न सकिने पद हात पार्न चाहन्छन्। के यी असामान्य विधि र अभ्यासहरू निर्वाचनमा हेरफेर र धाँधली गर्ने कार्यका रूपमा गनिँदैनन् र? (गनिन्छन्।)

मण्डली निर्वाचनको बेला, पर्याप्त भोटहरू पाउँदिनँ भन्‍ने डरले कतिपय मानिसहरूले आफ्नै लागि भोट हाल्छन्। के यो हास्यास्पद र अनौठो कुरा होइन र? कसैले आफ्नै लागि भोट हाल्नुको प्रकृति के हुन्छ? के यो आत्मविश्‍वासको कमी, निर्लज्‍जता, वा अति महत्त्वाकाङ्क्षाको प्रकटीकरण होइन र? यो यी सबै हो। तिनीहरूलाई निर्वाचित हुँदिनँ कि भन्‍ने डर हुन्छ, त्यसकारण तिनीहरूसँग आफूलाई नै भोट दिनेबाहेक अरू कुनै विकल्प हुँदैन—यो आत्मविश्‍वासको कमी हो। तिनीहरूसँग चाहिने कुरा हुँदैन तैपनि तिनीहरू अगुवा बन्‍न चाहन्छन्; अरूले तिनीहरूलाई भोट नदेलान् भन्‍ने डरले, तिनीहरूले आफैलाई भोट दिन्छन्। के यो निर्लज्‍जता होइन र? अझ भन्‍ने हो भने, तिनीहरूको चरम महत्त्वाकाङ्क्षाले तिनीहरूको निर्णय क्षमता यति धूमिल बनाइदिन्छ कि तिनीहरू आफ्नो स्वाभिमानलाई एकातिर पन्छाएर सत्यनिष्ठा र इज्जतविहीन बन्छन्: “यदि तिमीले मलाई भोट दिएनौ भने, मैले भोट पाउँदिनँ; मैले मण्डली अगुवा बन्‍नैपर्छ। यदि म अगुवा बन्‍न सकिनँ भने, म अबदेखि परमेश्‍वरमा विश्‍वास गर्नेछैनँ!” तिनीहरूले अगुवा बन्‍न, र अधिकारीको रूपमा काम गर्न जिद्दी गर्छन्, र तिनीहरूले हैसियत हुँदा मात्रै जीवनमा सहजता र सन्तुष्टि अनुभव गर्छन्—तिनीहरूमा कति ठूलो महत्त्वाकाङ्क्षा र इच्छाहरू हुन्छन्! तिनीहरूले हैसियतलाई मनमुटुमा सजाउँछन्, र अगुवा बन्‍नको लागि मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्। अगुवा बन्‍नुमा त्यस्तो ठूलो कुरा के छ र? यदि तिनीहरूले हैसियतका फाइदाहरूलाई महत्त्व दिँदैनथे र यसले दिलाउने सबै फाइदाजनक व्यवहारको आनन्द लिँदैनथे भने, के तिनीहरूले अझै पनि यो पदको लोभ गर्थे होला र? के तिनीहरूले अझै पनि आफ्‍नै लागि भोट हाल्थे होला र? के तिनीहरूका महत्त्वाकाङ्क्षा र इच्छाहरू अझै पनि यति ठूला हुन्थे होला र? के तिनीहरूले अझै पनि हैसियतलाई यति धेरै मनमुटुमा सजाउँथे होला र? अहँ, तिनीहरूले त्यसो गर्नेथिएनन्। त्यस्ता मानिसहरूले सधैँ चुनावमा हस्तक्षेप गर्न र जोडबल लगाउन कुनै पनि धूर्त कार्यहरूको सहारा लिन चाहन्छन्। तिनीहरूलाई त्यस्तो व्यवहार गर्नु लाजमर्दो कुरा हो, खुलस्त वा निष्कपट हुनु होइन, र त्यो अलिक अपमानजनक कुरा हो भन्‍नेसमेत लाग्छ, तैपनि केही विचार गरेपछि, तिनीहरूले सोच्छन्, “जेसुकै होस्, महत्त्वपूर्ण कुरा त अगुवाको रूपमा निर्वाचित हुनु नै हो!” यो निर्लज्‍जता हो। तिनीहरूले लोकतान्त्रिक देशहरूका निर्वाचनहरूमा प्रयोग गरिने बहस विधिहरूसमेत अनुकरण गर्न चाहन्छन्, जहाँ उम्मेदवारहरूले एकअर्काका गल्तीहरू पर्दाफास गर्छन्, एकअर्कालाई आलोचना र आक्रमण गर्छन्, र यसरी मण्डली निर्वाचनमा यी रणनीतिहरू लागू गर्दै, तिनीहरू मौखिक वादविवादमा समेत संलग्‍न हुन्छन्—के यो गम्भीर गल्ती होइन र? के यस्ता रणनीतिहरूको लागि यो गलत क्षेत्र होइन र? यदि तँ यी कुटिल र नीच कार्यहरूमा संलग्‍न हुन र निर्वाचनमा हेरफेर र धाँधली गर्ने प्रयास गर्न मण्डली आउँछस् भने, म तँलाई भन्छु, तैँले त्यसो गर्नको लागि गलत ठाउँ छनौट गरेको छस्! यो परमेश्‍वरको घर हो, समाज होइन; निर्वाचनमा हेरफेर र धाँधली गर्ने हरकसैलाई, हरव्यक्तिलाई दोषी ठहराइनेछ। मण्डलीभित्र, निर्वाचनमा हेरफेर र धाँधली गर्ने प्रयासमा जुनसुकै कारण, बहाना, वा विधिहरू प्रयोग गरिए नि, यो सब असमर्थनीय हुन्छ, र यो एक दुष्कर्म हो—यो सधैँ दुष्कर्म नै रहन्छ! निर्वाचनमा हेरफेर र धाँधली गर्ने प्रयास गर्ने सबैलाई दोषी ठहराइन्छ। त्यस्ता मानिसहरूलाई परमेश्‍वरको घरका सदस्यहरू वा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको रूपमा मान्यता दिइँदैन, बरु शैतानका सेवकहरू भनेर नाम दिइन्छ। शैतानका सेवकहरूले के-कस्ता कुराहरू गर्छन्? तिनीहरूले परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने हरकिसिमका कामहरूमा विशेषज्ञता हासिल गरेका हुन्छन्। निर्वाचनमा हेरफेर र धाँधली गर्नेहरूले शैतानका सेवकहरूले गर्ने कुराहरू गर्दै यी नकारात्मक भूमिकाहरू खेलिरहेका हुन्छन्। मण्डलीले जुनसुकै काम अघि बढाए नि, यी मानिसहरू यसलाई तोड्न र नष्ट गर्न खडा हुन्छन्, र तिनीहरूले परमेश्‍वरको घरका कार्य बन्दोबस्त र नियमहरूलाई बेवास्ता गर्छन्, परमेश्‍वरका प्रशासनिक आदेशहरूलाई बेवास्ता गर्छन्, र परमेश्‍वरलाई अझै बढी बेवास्ता गर्छन्। तिनीहरूले परमेश्‍वरको घरमा आफूले चाहेको हरकाम गर्ने प्रयास गर्छन्, मण्डलीका विभिन्‍न मामलाहरूमा चालबाजी गर्छन्, र मण्डली सदस्यहरूप्रति चालबाजी गर्ने कार्य त अझै बढी गर्छन्, र मण्डलीको निर्वाचनमा हेरफेर र धाँधलीसमेत गर्छन्। तिनीहरूले कुन माध्यमद्वारा मण्डलीका कर्मचारीहरूप्रति चालबाजी गर्ने प्रयास गर्छन्? तिनीहरूले मण्डलीको निर्वाचनमा हेरफेर र धाँधली गर्ने अवसरहरू खोज्छन्। शैतानका यी सेवकहरूले निर्वाचनमा हेरफेर र धाँधली गरेपछि, निर्वाचन असफल हुन्छ। अनि, शैतानका यी सेवकहरूले भनेजस्तो भयो र तिनीहरू मण्डली अगुवा बने भने, निर्वाचन परिणाम सही हुन्छ कि गलत? अवश्य नै यो गलत हुन्छ। यस्तोमा सत्यता सङ्गति गरेर अनि सिकेका पाठहरू सारांशित गरेर पुनः निर्वाचन गरिनुपर्छ।

ख. मण्डली निर्वाचनमा धाँधली गर्ने दुष्ट मानिसहरूलाई सम्हाल्ने सिद्धान्तहरू

जब दुष्ट मानिसहरूले निर्वाचनमा धाँधली गर्ने घटना घट्छन्, तब अर्को निर्वाचन गर्नु अत्यावश्यक हुन्छ। यसलाई कसरी अभ्यास गर्नुपर्छ? (चुनाव परिणामहरू खारेज गरिनुपर्छ र अर्को निर्वाचन गरिनुपर्छ।) यो एउटा तरिका हो। दुष्ट मानिसहरूले यो निर्वाचनमा कसरी धाँधली गरेका थिए भन्‍नेबारे भित्री जानकारी खुला र सार्वजनिक गरिनुपर्छ ताकि निर्वाचन प्रक्रिया कस्तो थियो र परिणामहरू कसरी प्रस्तुत भएका थिए भनेर सबैलाई थाहा होस्। यो भित्री जानकारी थाहा भएपछि, निर्वाचन परिणामहरू रद्द गरेर फेरि निर्वाचन गरिनुपर्छ। त्यस्तो निर्वाचनलाई परमेश्‍वरका चुनिएका मानिसहरूको बहुमतले अनुमोदन गरिनु हुँदैन; अनि जोकोही निर्वाचित भएको भए नि त्यसले केही फरक पार्दैन—त्यो परिणाम स्विकार्न सकिँदैन। सामान्य परिस्थितिहरूमा, सत्यता सङ्गति गरेर अनि भित्री कुरा खुलासा गरेर, निर्वाचन परिणामहरू इन्कार्न, र अर्को निर्वाचन गर्न सकिन्छ। तर कहिलेकहीँ, निश्‍चित विशेष परिस्थितिहरूमा, यदि मानिसहरूको सानो वर्गले निर्वाचन परिणामहरू शैतानका सेवकहरूद्वारा धाँधली गरिएका हुन् र निर्वाचित व्यक्तिले काम गर्न सक्दैन र ऊ कठपुतली मात्रै हो भनेर थाहा पाए पनि, मण्डलीका धेरैजसो मानिसहरू दुष्ट मानिसहरूद्वारा बहकिएका हुन्छन् र अझै पनि शैतानका सेवकहरूकै पक्षमा उभिन्छन्, जबकि एउटा सानो समूहमा मात्रै केही समझशक्ति हुन्छ र तिनीहरूलाई मात्रै भित्री जानकारी थाहा हुन्छ—र यो सानो समूह बोल्दा कसैले पनि विश्‍वास गर्दैन वा कसैले तिनीहरूको कुरा सुन्दैन—तिनीहरू अलग पारिएका र शक्तिहीन हुन्छन्, र तिनीहरूसँग आधारभूत रूपमा परिस्थिति उल्ट्याउने शक्ति नै हुँदैन। त्यस्ता परिस्थितिहरूमा, तिमीहरूले निर्वाचन धाँधलीको भित्री कथा खुलासा गर्न सक्छौ, तर परिस्थिति स्पष्ट रूपमा बुझ्न सजिलो हुँदैन। त्यस्तो अवस्थामा, माथिल्लो तहका अगुवा र सेवकहरूलाई यसबारे रिपोर्ट गर्नेबाहेक, तिमीहरूले अरू के-के गर्न सक्छौ? यदि तिमीहरूले मण्डली जीवन जिउन जारी राख्यौ भने, तिमीहरू एक्ल्याइपारिनेछौ। अर्को मण्डलीका भेलाहरूमा सहभागी हुनु पनि उचित लाग्दैन, किनभने त्यहाँका मानिसहरूले जथाभाबी रूपमा अपरिचितहरूलाई स्वागत गर्न सक्दैनन्। यसले तँलाई साँच्‍चै नै धर्मसङ्कटमा पार्छ! तैँले निर्वाचित मण्डली अगुवाको मानवता खराब छ, ऊ दियाबलस हो, र ऊ निर्वाचित हुनुपर्ने व्यक्ति होइन भन्‍ने देख्छस्, त्यसैले उसलाई देख्दा मात्रै पनि तँलाई रिस उठ्छ। भेलाहरूमा जाँदा तँलाई असहज लाग्छ, तर नजानुको विकल्प हुँदैन। यदि तँ नगएर मण्डलीसँगको तेरो सम्बन्ध तोड्छस् भने, तैँले आफ्नो मण्डली जीवन गुमाउनेछस्, जुन तैँले गर्न सक्‍ने कुरा होइन। त्यसोभए के यो समस्याको कुनै राम्रो समाधान छ? यसको लागि बुद्धि चाहिन्छ। यदि तैँले हतारहतार तिनीहरूलाई खुलासा गरिस् भने परिणाम के हुनेछ? ती मानिसहरू एकजुट भएर तँलाई दमन गर्न र लखेट्न सक्छन्, वा यदि परिस्थिति साँच्‍चै राम्ररी अघि बढ्न सकेन भने, तिनीहरूले तँलाई हटाएर तँलाई अन्यायको सिकारसमेत बनाउन सक्छन्। सबैभन्दा सम्भावित परिणाम यही हो। त्यसोभए सबैभन्दा राम्रो समाधान के हो त? (समझशक्ति भएका केही विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर यी मानिसहरूले गुप्त रूपले निर्वाचनमा धाँधली गरेको दुष्कर्मका सबै प्रमाणहरू सङ्कलन गर्ने। यसलाई माथिल्लो स्तरका अगुवा र सेवकहरूलाई रिपोर्ट गर्ने, र बहकाउमा परेका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई फर्काइल्याउन तुरुन्तै सत्यता सङ्गति गर्ने।) के यसलाई राम्रो समाधान मानिन्छ? के हतारमा त्यस्ता कुराहरू गर्नु ठीक हुन्छ? हतारमा काम गर्नुको परिणाम के हुन्छ? (यसले अनजानमा सजिलै शत्रुलाई सचेत गराउँछ।) जब तिमीहरूले यस्ता कुराहरू सामना गर्छौ, तब के तिमीहरू डराउँछौ वा अत्तालिन्छौ? के तिमीहरू डराउनु वा अत्तालिनुपर्छ? (पर्दैन।) सिद्धान्तगत हिसाबमा, तँ डराउनु हुँदैन—तेरो समझशक्तिले तँलाई यही भन्छ। तर वास्तविकतामा मानिसहरूको अवस्था कस्तो हुन्छ? सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानिसहरूले सत्यता बुझेका छन् कि छैनन् भन्‍ने हो। यदि मानिसहरूले सत्यता बुझेका छैनन् र तिनीहरूमा आफ्नो सङ्कल्प मात्रै छ भने, तिनीहरू अझै पनि भित्री रूपमा डराउनेछन्। जब तँ डराउँछस्, तब के तैँले जे गरे नि वा जसरी गरे नि के परिणामहरू हासिल गर्न सजिलो हुन्छ त? (हुँदैन।) जब तँ डराउँछस्, तब तँ कस्तो स्थितिमा हुन्छस्? तँलाई यी मानिसहरूको शक्तिको डर लाग्छ, र तँलाई तैँले तिनीहरूलाई खुट्याउनेछस् र तँ तिनीहरूबाट सतर्क छस् भनेर तिनीहरूले थाहा पाउलान् भन्‍ने डर लाग्छ, र तँ तिनीहरूको पक्षमा छैनस् भन्‍ने देख्दा तिनीहरूले तँलाई दमन र बहिष्कार गर्लान्, र अन्त्यमा तँलाई मण्डलीबाट हटाउलान् भन्‍ने डर लाग्छ। तेरो हृदयमा यी चिन्ताहरू हुन्छन्। जब तँसँग यस्ता चिन्ताहरू हुन्छन्, तब के तँसँग यी मानिसहरूसँग अन्तरक्रिया गर्ने, तिनीहरूले पैदा गरेका समस्याहरू समाधान गर्ने, वा हाम्रा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमा समझशक्ति आओस् र तिनीहरू भ्रममा नपरून् भनेर तिनीहरूको दुष्कर्म खुलासा गर्न बुद्धि, साहस, र माध्यमहरू हुन सक्छन्? व्यवहार गर्ने सबैभन्दा उचित तरिका के हो? जब तँ डराउँछस्, तब के तँ कमजोर स्थितिमा हुँदैनस् र? सर्वप्रथम त, तँ कमजोर र निष्क्रिय हुन्छस्। एकातिर, तँमा परमेश्‍वरमाथिको दृढ विश्‍वासको कमी हुन्छ, र अर्कोतिर, तैँले यस्तो सोच्छस्, “यसरी, यी दुष्ट मानिसहरू सफल भएका छन्। अहिले यो कुरा बुझ्ने म मात्रै कसरी भएँ? के अरूसँग कुनै समझशक्ति छ? यदि मैले अरूलाई साँचो परिस्थितिबारे बताएँ भने, के तिनीहरूले मलाई विश्‍वास गर्नेछन्? यदि तिनीहरूले मलाई विश्‍वास गरेनन् भने, के तिनीहरूले मलाई खुलासा गर्नेछन्? यदि तिनीहरू सबै मेरो निराकरण गर्न एकजुट भए, र म एकलै र शक्तिहीन भएँ भने, के ती दुष्ट मानिसहरूले मलाई हटाउन हरकिसिमका बहानाहरू बनाउनेछन्?” के तँमा त्यस्ता चिन्ताहरू हुनेछैनन् र? जब तँसँग त्यस्ता चिन्ताहरू हुन्छन्, तब तैँले ती मानिसहरूलाई कसरी निराकरण गर्न सक्छस्? तैँले तिनीहरूसँग सबैभन्दा उचित र बुद्धिमानी तरिकाले कसरी अन्तरक्रिया गर्न सक्छस्? त्यो बेला, के तँसँग पछ्याउने कुनै पनि दिशा वा मार्ग नहुने हुँदैन र? यसलाई ठ्याक्‍कै भन्दा, जब तँ सबैभन्दा बढी डराएको र सबैभन्दा कमजोर हुन्छस्, तब तैँले तिनीहरूसँग प्रतिस्पर्धा गर्न वा तिनीहरूसँग अन्तरक्रिया गर्न र तिनीहरूले पैदा गरेका समस्याहरू सम्हाल्न सक्दैनस्। त्यसोभए त्यो बेला तेरो लागि सबैभन्दा राम्रो शैली के हुन्छ? के यो आफूलाई रक्षा गर्नकै लागि अग्रसरता जनाएर पहिले आक्रमण गर्नु, तिनीहरूसित भिड्नु र तिनीहरूका दुष्कर्महरू खुलासा गर्नु हो? के यो विधि उचित छ? (छैन।) किन यो उचित छैन? किनभने तैँले कसरी व्यवहार गर्ने भनेर राम्ररी विचार गरेको हुँदैनस्, र त्यसैले तैँले तिनीहरूको सार देख्‍न सक्दैनस्, र तिनलाई कसरी खुलासा गर्ने तँलाई थाहा हुँदैन, झन् बहकाउमा परेकाहरूले सत्यता स्विकार्न र आफ्‍नो बाटो सुल्ट्याउन सक्छन् कि सक्दैनन् भनेर थाहा हुनु त परै जाओस्। तँलाई यी विभिन्‍न कुराहरूमध्ये कुनै पनि कुरा थाहा हुँदैन, र तेरो लागि सबैभन्दा फाइदाजनक र प्रभावकारी समाधान के हो भन्‍नेबारे तँ स्पष्ट हुँदैनस्। तँ अझै निश्‍चित स्तरको नकारात्मकतामा पुग्‍नु बाँकी नै भए नि, कम्तीमा तेरो वर्तमान स्थिति कमजोरी र डरको स्थिति हुन्छ, र तँभित्र धेरै चिन्ताहरू हुन्छन्। यी चिन्ताहरू उचित भए नि नभए नि वा तेरो कमजोरी र डरले गर्दा आएका भए नि नभए नि, छोटकरीमा भन्दा, यी तथ्यहरू हुन्। जब यी तथ्यहरू देखा पर्छन्, तब सबैभन्दा राम्रो समाधान भनेको प्रतीक्षा गर्न सिक्नु र केही नगरी बस्‍नु हो। केही नगर्नु भनेको के हो? यसको अर्थ भ्रममा परेका मानिसहरूलाई निर्वाचनको साँचो परिस्थिति खुलासा गर्न हतार नगर्नु, र नयाँ निर्वाचित मण्डली अगुवाहरू वा निर्वाचनमा हेरफेर र धाँधली गर्ने मानिसहरूको समूहको विरोध गर्न हतार नगर्नु हो। तिनीहरूलाई खुलासा नगर्; यो बेला, तैँले प्रतीक्षा गर्न सिक्‍नुपर्छ। कति मानिसहरू भन्छन्, “प्रतीक्षा गर्नु अत्यन्तै निष्क्रिय कार्य हो; मैले कति लामो समय प्रतीक्षा गर्नुपर्छ?” यसको लागि धेरै प्रतीक्षा गर्नुपर्दैन। प्रतीक्षा गर्ने क्रममा, प्रार्थना गर्न, परमेश्‍वरका वचनहरू पढ्न, र सत्यता खोजी गर्न परमेश्‍वरअघि आउने गर्। त्यस्ता परिस्थितिहरूमा, जब तँ सबैभन्दा बढी डराउँछस् र कमजोर हुन्छस्, तब तेरा प्रार्थनाहरू सबैभन्दा सच्चा र इमानदार हुन्छन्। तँलाई अगुवाइ र सुरक्षा गर्न परमेश्‍वरको आवश्यकता हुन्छ; तैँले परमेश्‍वरमा भरोसा गर्नुपर्छ। तैँले प्रार्थना गर्ने क्रममा, तेरो डर बिस्तारै घटेर जान्छ। जब तेरो डर हराउँछ, तब के तेरो कमजोरी पनि कम हुनेछैन र? (हुनेछ।) तेरा चिन्ताहरू पनि झन्झन् कम हुँदै जानेछन्। यी डर, कमजोरी, र चिन्ताहरू त्यतिकै हराउँदैनन्; बरु, परिवर्तनको यो प्रक्रिया अवधिमा, तैँले बिस्तारै निश्‍चित कुराहरू बुझ्‍न थाल्नेछस्। तैँले के-कस्ता कुराहरू बुझ्‍न थाल्नेछस्? एकातिर, तँलाई यी मानिसहरूको निराकरण कसरी गर्ने, कसलाई पहिले खुलासा गर्ने, र परमेश्‍वरको घरको काममा फाइदा हुने किसिमले कसरी बोल्ने र व्यवहार गर्ने भन्‍ने कुरा थाहा हुनेछ। यसको साथै, तैँले यी मानिसहरूको व्यवहारको प्रकृति पनि जान्नेछस्। तैँले अन्ततः यी कुराहरू कसरी बुझ्छस्? तैँले प्रतीक्षा गर्ने प्रक्रियाको अवधिमा सत्यता खोजी गरेर मात्रै तिनलाई क्रमिक रूपमा बुझ्न सक्छस्। जब तैँले यो कुरा स्पष्ट रूपमा देख्‍छस्, तब तैँले स्वाभाविक रूपमै कसरी बुद्धि प्रयोग गर्नुपर्छ, कोसँग कुरा गर्नु उचित हुन्छ, र तिनीहरूलाई प्रभावित पार्ने तरिकाले, दुष्ट मानिसहरूले निर्वाचनमा धाँधली गरेका छन् भन्‍ने तथ्यहरू तिनीहरूलाई थाहा दिलाउने तरिकाले, र तिनीहरूलाई आफ्नो मार्ग सुल्ट्याउन, निर्वाचनमा हेरफेर र धाँधली गर्नेहरूको साँचो अनुहार चिन्‍न, र ती तथाकथित निर्वाचित अगुवाहरू वास्तवमा कस्ता मानिसहरू हुन् भनेर चिन्‍न मद्दत गर्ने तरिकाले कसरी बोल्ने भनेर मनन गर्नेछस्। तँसँग यस्तो बुद्धि हुनेछ, र तेरो व्यवहार पनि विधिवत् हुनेछ। त्यसोभए यी सकारात्मक लाभहरू कसरी प्राप्त हुन्छन् त? यी सबै कुरा तैँले प्रतीक्षा गर्ने प्रक्रियाको अवधिमा परमेश्‍वरले तँलाई दिनुभएको हुन्छ। तीमध्ये कतिपय पवित्र आत्माको काम र अन्तर्दृष्टिको कारण आएका हुन्छन्, र कतिपयचाहिँ परमेश्‍वरले तँलाई आफ्ना वचनहरूमा देखाउनु र बुझाउनुहुने कुराहरू हुन्। परमेश्‍वरका वचनहरूले तयार नभई युद्ध नलड्नू भन्छन्। यसको अर्थ के हो? यसको अर्थ तैँले शैतानसँग लडाइँ गरिरहेको भए नि वा शैतानका सेवकहरूका दुष्ट कार्यहरू खुलासा गरिरहेको भए नि, तैँले शैतानसँग जे-जसरी युद्ध गरे नि, तँ आफै दह्रिलो हुनुपर्छ, तैँले सत्यता सिद्धान्तहरू बुझेको हुनुपर्छ, र तँ शैतान र दुष्ट मानिसहरूको सार र दुष्ट कार्यहरू देख्‍न सक्‍ने र त्यसपछि तिनलाई खुलासा गर्न सक्‍ने हुनुपर्छ। त्यसो गरेर मात्रै तैँले अन्त्यमा असल परिणामहरू हासिल गर्नेछस्। तैँले यी कुराहरू बुझेपछि, के तेरा डर, कमजोरी, र चिन्ताहरू कम तीव्र र कम देखिँदो हुन छोड्दैनन् र? तँलाई अब डर लाग्‍न छोड्नेछ। तैँले अनुभव गर्ने यी कुराहरू क्रमिक रूपमा परिवर्तन हुनेछन्; तैँले परिस्थिति सुरुमा देखा परेको बेलामा जत्ति आफू कमजोर छैन भन्‍ने कुरा पत्ता लगाउनेछस्। बरु, तँलाई पहिलेको भन्दा अलिक दह्रिलो भएको र आत्मविश्‍वास आएको महसुस हुनेछ, र तँलाई आफूले के गर्ने भन्‍ने थाहा हुनेछ। यो विन्दुमा, फेरि परमेश्‍वरलाई प्रार्थना गर् र सही अवसर तयार गर्न उहाँलाई अनुरोध गर्, र त्यसपछि काम गर्। माथिल्लो तहका अगुवा र सेवकहरूलाई परिस्थितिबारे रिपोर्ट गर् र सँगसँगै असल मानवता भएका र परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने तर सत्यता नबुझेको कारण भ्रम र बहकाउमा पारिएका मानिसहरूसँग सङ्गति गर्, अनि दुष्ट मानिसहरूले निर्वाचनमा धाँधली गरेका छन् भन्‍नेबारे तिनीहरूलाई भित्री जानकारी खुलासा गर्। तैँले यीमध्ये एकदुई जनालाई आफ्नो पक्षमा पारिसकेपछि, तेरो डर आफै हराउनेछ। तैँले यो सबै कुरा मानव शक्तिमा भरोसा गरेर गर्न सकिँदैन, र आवेशमा भरोसा गरेर त झनै गर्न सकिँदैन भन्‍ने महसुस गर्नेछस्; तैँले क्षणिक आवेग वा रिसमा, वा अस्थायी, तथाकथित न्यायबोधमा पनि भरोसा गर्न सक्दैनस्—यी सबै व्यर्थ छन्। परमेश्‍वरले तेरो लागि सही समय तयार गर्नुहुनेछ र के भन्‍ने भनेर तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, र तैँले बुझेको कुराको आधारमा, उहाँले तँलाई चरणबद्ध रूपमा मार्गदर्शन गर्नुहुनेछ, र यसरी तँलाई पछ्याउने मार्ग दिनुहुनेछ। सुरुमा कमजोर रहेको र डराएको अवस्थादेखि सिद्धान्तहरू र मार्ग खोजी गरेको र बुझेको अवस्थासम्‍मको—यो अवधिमा, तैँले अझै पनि यी दुष्ट मानिसहरूसँग सामान्य रूपमा अन्तरक्रिया गर्न सक्छस्। सामान्य अन्तरक्रियाको बेला, मानिसहरूको मन खाली हुँदैन; तिनीहरूको आफ्नै विचार हुन्छ। तैँले खोजी र प्रार्थना गरिरहेको बेला, यी मानिसहरूलाई अवलोकन गर्‌। तैँले के अवलोकन गर्छस्? तैँले तिनीहरूले कस्तो बाटो लिइरहेका छन् र तिनीहरूको सार साँच्‍चै के हो भन्‍ने कुरा हेर्। यदि तिनीहरूले भनेको कुरा सही छ र मण्डलीको कामका सिद्धान्तहरूअनुरूप छ भने, तैँले तिनीहरूको कुरा सुन्न सक्छस्; यदि तिनीहरूले भनेको कुराले मण्डलीको काममा बाधा र व्यवधान दिन्छ भने, तैँले तिनीहरूलाई सतर्क नपारी “मित्रवत् रूपमा” तिनीहरूसँग अन्तरक्रिया गर्ने बुद्धिमानी तरिका प्रयोग गर्दै त्यो कुरा नसुन्‍ने वा तत्कालको लागि रोक्‍ने कुनै बहाना बनाउन सक्छस्। तिनीहरूसँग “मित्रवत् रूपमा” अन्तरक्रिया गर्दा, तैँले तिनीहरूका दुष्कर्महरूको प्रमाण सङ्कलन गर्, र सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने तिनीहरूका विभिन्‍न व्यवहार र भ्रमहरूको आधारमा तिनीहरूलाई खुट्या र यी मानिसहरू शैतानका सेवकहरू हुन् भनेर थप पुष्टि गर्‌। यसरी अभ्यास गर्दा, तँ तिनीहरूको बन्धनमा पर्न छोड्छस् र तैँले आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्छस्—बुद्धिमान् व्यक्तिले यही गर्छ। मानवता, बुद्धि, र सत्यताप्रति प्रेम भएका मानिसहरू मात्रै सही मार्ग हिँड्न सक्छन्। लापरवाही र कच्‍चापनसाथ काम गर्ने, जे गरे नि वा आफूले सामना गरिरहेका परिस्थितिहरू जे भए नि सधैँ हतार र आवेगमा भर पर्ने बुद्धिहीन मानिसहरूको हकमा भन्‍नुपर्दा, तिनीहरूको कार्यले प्रायजसो खराब परिणामहरू नै निम्त्याउँछ। त्यस्ता मानिसहरूले मण्डलीको काममा बाधा र व्यवधान मात्रै ल्याउने नभई, आफैमाथि पनि अनेकौँ अनावश्यक समस्या र झमेलाहरू निम्त्याउँछन्। यसैबीच, बुद्धिमानी मानिसहरू भने फरक हुन्छन्। तिनीहरूले जे गरे नि, तिनीहरूले परमेश्‍वरका बन्दोबस्तहरू र योजनाबद्ध कार्यहरूको सही समय कुर्दै प्रतीक्षा गर्छन्, अवलोकन गर्छन्, र खोजी गर्छन्। यो प्रतीक्षा अवधिमा, तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू खोजी गर्न, उद्देश्यपूर्ण तरिकाले परमेश्‍वरका वचनहरू खानपिउन, सत्यता सिद्धान्तहरू अझै सही रूपमा बुझ्न, र परमेश्‍वरका अभिप्रायहरूअनुसार काम गर्न सक्छन्। तिनीहरूले आवेशमा आएर मानिसहरूसँग लडाइँ गर्नु वा मौखिक वादविवाद गर्नुको सट्टा, परमेश्‍वरका वचनहरू र सत्यताको पक्षमा राम्रो लडाइँ लड्छन् र परमेश्‍वरको लागि गवाही दिन्छन्।

जब दुष्ट मानिसहरूले निर्वाचनमा हेरफेर र धाँधली गर्ने कुरा आउँछ, तब सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तैँले यी मानिसहरूलाई भित्रैसम्‍म चिन्‍न सक्छस् कि सक्दैनस् वा तैँले तिनीहरूलाई कसरी खुलासा गर्ने योजना बनाउँछस् भन्‍ने होइन; महत्त्वपूर्ण भनेको त परिस्थितिबारे समयमै रिपोर्ट गर्नु हो। तैँले आफ्नो कर्तव्यमा बाधा हुन नदिई, तिनीहरूसित जुध्‍न बुद्धि प्रयोग गर्नुपर्छ, परमेश्‍वरको समयको प्रतीक्षा गर्नुपर्छ, परमेश्‍वरका अभिप्रायहरू खोजी गर्नुपर्छ, अनि सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ। यसो गर्नुको अन्तिम परिणाम के हुन्छ? तैँले आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्छस्। परिस्थितिबारे माथि रिपोर्ट गरेर अनि समाधान खोजी गरेर, समस्या समाधान हुने मात्र होइन, तैँले अन्तर्ज्ञान पनि प्राप्त गर्छस्, आफ्नो समझशक्ति र बुद्धि पनि बढाउँछस्, कदमा वृद्धि पनि हुन्छस्, र परमेश्‍वरमाथिको तेरो विश्‍वासलाई दह्रिलो पनि बनाउँछस्। शैतानसँगको भिडन्तबाट मानिसहरूले धेरै कुरा प्राप्त गर्छन् र यो तिनीहरूको लागि निकै फाइदाजनक हुन्छ। यसविपरीत, मानौँ रे कसैले आवेश र आवेगको कारण यस्तो काम गर्छ, यी मानिसहरूसँग तीव्र लडाइँ लड्छ र तिनीहरूसँग आमनेसामने तर्क गर्छ, र यसो भन्छ, “तिमीहरूले निर्वाचनमा हेरफेर र धाँधली गरिरहेका छौ। तिमीहरूसँग ठूलो शक्ति भए नि, म तिमीहरूको अघि झुक्‍नेछैनँ, र मलाई तिमीहरूको डर लाग्दैन!” यो शैलीको परिणामस्वरूप तिनीहरू मण्डलीबाट निकालिन्छन्, र महिनौँसम्म घरमा रुन र कष्ट भोग्‍न बाध्य हुन्छन्; तैपनि अझै तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनन्: “म किन यो बरबादीमा परेँ? परमेश्‍वर, के तपाईं मलाई चाहनुहुन्‍न? के तपाईंले मेरो वास्ता गर्नुहुन्‍न?” महिनौँसम्म, तिनीहरूले नयाँ प्रवचन र भजनहरू छुटाउँछन्, मण्डलीले के काम गरिरहेको छ भन्‍ने पत्तै पाउँदैनन्, र तिनीहरूले कर्तव्य निर्वाह गर्न सक्दैनन्, र तिनीहरू पूर्ण रूपमा अलग हुन्छन्, र पूर्ण रूपमा अन्धकारमा पर्छन्। हरदिन, तिनीहरूले रुनेबाहेक, चिन्ता मात्रै गर्छन्। तिनीहरूले यो वातावरणमा परमेश्‍वरलाई प्रार्थना गर्न वा उहाँका उपयुक्त वचनहरू खान-पिउन सिक्दैनन्, झन् जटिल परिस्थितिहरूमा सत्यता सिद्धान्तहरू खोजी गर्न सिक्‍नु त धेरै परको कुरा हो; तिनीहरू बुद्धिमा फिटिक्‍कै वृद्धि हुँदैनन्। केही महिनासम्म रोएपछि, बल्ल एकदिन, कसैले तिनीहरूलाई मण्डलीमा ल्याउँछ र यो अवधिमा तिनीहरूले गरेको अनुभव बताउन लगाउँछ, तर तिनीहरूले आँसु झार्दै गुनासो मात्रै गर्छन्: “मलाई कति अन्याय गरिएको छ! मैले मण्डलीमा बाधा दिएको थिइनँ। म दुष्ट व्यक्ति होइनँ; मलाई दुष्ट मानिसहरूले षड्यन्त्रमा पारेका हुन्।” अनि “यो अवधिमा तिमीले के-कस्ता पाठहरू सिक्यौ? के तिमीले केही प्राप्त गर्‍यौ?” भनेर सोधियो भने तिनीहरूले जवाफ दिन्छन्, “मैले के प्राप्त गर्न सक्छु र? तिनीहरूले मलाई अलग राखे, परमेश्‍वरका वचनहरूका पुस्तक र भजनहरू खोसे, र मैले कुनै प्रवचन सुन्‍न सकिनँ। मैले विश्‍वासबारे कुरा गर्न र याद भएका केही भजनहरू कहिलेकहीँ गाउन मात्रै सक्थेँ। मैले केही प्राप्त गरिनँ। धन्‍न, परमेश्‍वरले मलाई फर्काउने समय तय गर्नुभयो; नत्र त म पैसा कमाउन बाहिर गएर व्यापार गर्ने योजना बनाइरहेको थिएँ, किनभने मुक्ति पाउने कुनै आशा थिएन। परमेश्‍वरले मलाई अबदेखि चाहनुहुन्नथ्यो, र मैले विश्‍वास गरिरहन सक्दिनथेँ। मेरो हृदय पूर्ण रूपमा अन्धकारमा परेको थियो।” अनि अन्त्यमा, तिनीहरूले कुरा थप्दै यस्तो निष्कर्ष निकाल्छन्, “परमेश्‍वरको भेडालाई परमेश्‍वरले कहिल्यै त्याग्‍नुहुन्‍न।” यस्तो महत्त्वपूर्ण र विशेष घटनाको अनुभव गरेर पनि यति थोरै कुरा प्राप्त गर्नु—के यो अलिक दयनीय कुरा होइन र? के यो अनुचित कुरा होइन र? यस्तो ठूलो परिस्थिति सामना गर्दा, तिनीहरूले कुनै पाठहरू सिकेनन् र आफ्नो बुद्धि वा विश्‍वास बढाएनन्; तिनीहरूले अझै हृदयमा परमेश्‍वरमा विश्‍वास गर्थे, तर तिनीहरूलाई शैतान, दियाबलसहरू, र ख्रीष्टविरोधीहरूले कष्ट दिएका थिए, र तिनीहरूले झन्डैझन्डै विश्‍वास गर्नै छोडेका थिए। के तिनीहरूले अझै परमेश्‍वरको गवाही दिन सक्छन् र? के यस्तो व्यक्ति व्यर्थको कायर होइन र? घरमा रुनुको के फाइदा? तिनीहरू अन्धो भइन्जेल रोए नि, के यसले मद्दत गर्नेछ र? के यसले ख्रीष्टविरोधीहरूको समस्या समाधान गर्न सक्छ र? दुष्ट मानिसहरू सफल भएका छन्, र अन्त्यमा, यस्तो व्यक्तिसँग “परमेश्‍वरको भेडालाई परमेश्‍वरले कहिल्यै त्याग्‍नुहुन्न” भन्‍ने भनाइ मात्रै हुन्छ, र तिनीहरूले अरू केही प्राप्त गरेका हुँदैनन्। तिनीहरूसँग बुद्धि हुँदैन, तिनीहरूसँग कुनै कार्यदिशा हुँदैन, र तिनीहरू परमेश्‍वरले दिनुभएको मार्गअनुसार परमेश्‍वरको खोजी गर्न, शैतानविरुद्ध लड्न परमेश्‍वरका वचनहरू र सत्यता लिन परमेश्‍वरअघि आउनुपर्छ भन्‍ने जान्दैनन्। तिनीहरूले प्राय बोलिरहने त्यो थोरै धर्मसिद्धान्तले तिनीहरूलाई कुनै फाइदा गर्दैन; यस्ता मामलाहरू सामना गर्ने क्रममा, तिनीहरूले रुने बाहेक, अन्यायमा परेको महसुस गर्ने र गुनासो गर्ने मात्रै गर्छन्—यस्तो त व्यर्थको कायर व्यक्ति हो। व्यर्थका कायरहरूमा प्रायजसो धेरै प्रकटीकरणहरू हुन्छन्, जुन तिनीहरूका मुख्य विशेषता पनि हुन्। पहिलो विशेषता, तिनीहरू रुन्छन्। दोस्रो विशेषता, तिनीहरूलाई अन्यायमा परेको छु भन्‍ने लाग्छ। तेस्रो विशेषता, तिनीहरूले हृदयमा गुनासो गर्छन्। तिनीहरूले हृदयमा यसो पनि भन्छन्, “हे परमेश्‍वर तपाईं कहाँ हुनुहुन्छ? तपाईंले किन मेरो वास्ता गर्नुहुन्‍न? मलाई शैतानले भयानक रूपमा हानि गरेको छ, र म जिइरहन सक्दिनँ। बिन्ती छ, मलाई तुरुन्तै बचाउनुहोस्!” परमेश्‍वरले भन्‍नुहुन्छ, “तँ व्यर्थको कायर होस्, मानव खाल ओडेको कसिङ्गर होस्। यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तँ केको डर मान्छस्? शैतानको डर मान्‍नुपर्ने कुरा के छ र?” शैतानले काम गर्दा जुनसुकै षड्यन्त्र र युक्तिहरू प्रयोग गरे नि हामी डराउँदैनौं। हामीसँग परमेश्‍वर हुनुहुन्छ, हामीसँग सत्यता छ। परमेश्‍वरले हामीलाई बुद्धि दिनुहुनेछ। परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ; सबै कुरा परमेश्‍वरको योजनाबद्ध कार्यअन्तर्गत पर्छ। तँलाई केको डर हो? रुँदा त के मात्र देखिन्छ भने, तँ कायर र अयोग्य छस्; तँ कसिङ्गर र धर्तीको बोझ मात्रै होस्! रुनुको अर्थ तैँले शैतानसँग सम्झौता गरिरहेको छस् र शैतानबाट कृपा मागिरहेको छस् भन्‍ने हुन्छ। के परमेश्‍वर त्यस्ता व्यर्थका कायरहरूलाई मन पराउनुहुन्छ? (मन पराउनुहुन्‍न।) परमेश्‍वरले तँलाई कुनै गवाही र कुनै बुद्धि नभएको व्यर्थको कायर, मूर्ख, कसिङ्गरको रूपमा हेर्नुहुन्छ। तैँले बुझेको सत्यता के भयो? के तैँले परमेश्‍वरले खुलासा गर्नुभएका ख्रीष्टविरोधी र शैतानका प्रकटीकरणहरूबारे पर्याप्त सुनेको छैनस् र? तैँले यी कुराहरू बुझ्दैनस् वा देख्दैनस् र? के तँलाई तिनीहरू शैतान हुन् भन्‍ने थाहा छैन र? यदि तँलाई तिनीहरू शैतान हुन् भन्‍ने थाहा छ भने, तँलाई केको डर हो? तैँले किन परमेश्‍वरको डर र भय मान्दैनस्? के तँलाई शैतानको डर मानेर परमेश्‍वरलाई चिढ्याउँछु भन्‍ने डर लाग्दैन? के त्यो दुष्टताको कार्य होइन र? जब त्यस्ता परिस्थितिहरू देखा पर्छन्, तब तँ डराउँछस् र तँसँग कुनै समाधान, कुनै बुद्धि वा प्रतिरक्षाको उपाय हुँदैन। यति वर्ष प्रवचन सुनेर तैँले के प्राप्त गरेको छस्? के यो सबै व्यर्थ भएको हो? के त्यस्ता व्यर्थका कायरहरू आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्छन्? (सक्दैनन्।) जब शैतान र दुष्ट मानिसहरूले निर्वाचनमा हेरफेर र धाँधली गर्ने परिस्थितिहरूको कुरा आउँछ, तब तँ एकलै र शक्तिहीन भए नि वा तेरो साथमा एउटै मन भएका केही दाजुभाइ-दिदीबहिनीहरू भए नि, हतारहतार कारबाही नचाल्। पहिलो कुरा, प्रतीक्षा गर्न सिक्। दोस्रो कुरा, खोजी गर्न सिक्। अनि प्रतीक्षा र खोजीको अवधिमा, कर्तव्य नत्याग्। प्रतीक्षा गर्नु भनेको के हो? यसको अर्थ परमेश्‍वरले तयार गर्नुहुने सही समय र अवसर प्रतीक्षा गर्नु हो। अनि तैँले के कुरा खोजी गर्नुपर्छ? परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने क्रममा, तैँले अभ्यास गर्नुपर्ने सिद्धान्त र मार्गहरू खोज्‍नुपर्छ; परमेश्‍वरका अभिप्रायहरूअनुरूप कसरी व्यवहार गर्ने, र शैतान र ख्रीष्टविरोधीहरूका शक्तिहरूसँग कसरी लड्ने, र अन्त्यमा विजेता बन्‍नको लागि शैतानका शक्तिहरूलाई कसरी जित्‍ने भनेर खोजी गर्नुपर्छ। यदि तँ एकलै छस् भने, तैँले परमेश्‍वरलाई अझै धेरै प्रार्थना गर्नुपर्छ, पर्खनुपर्छ, र खोजी गर्नुपर्छ। यदि अरू दुईतीन जना मानिसहरू तँसँग एउटै विचारका छन् भने, तैँले सँगै सङ्गति, प्रार्थना, प्रतीक्षा, र खोजी गर्न सक्छस्। जब परमेश्‍वरले उपयुक्त समय तयार गर्नुहुन्छ, तब परमेश्‍वरसित शक्ति र बुद्धि माग्, ताकि तैँले गर्ने सबै कुरा र तैँले बोल्ने हरेक शब्द उचित होस्। त्यसो गरेर, एउटा हिसाबमा, तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्छस्, र अर्को हिसाबमा, तैँले शैतानलाई दृढ र प्रभावकारी रूपमा खुलासा गर्न सक्छस्, जसले गर्दा शैतानका सेवकहरू र ख्रीष्टविरोधीहरूका षड्यन्त्रहरू पूर्ण रूपमा खुलासा र असफल हुन्छन्। के यो उचित छ? यी विधि, तरिका, मार्ग, र सिद्धान्तहरू तिमीहरूलाई बताइएको छ, त्यसैले तिनलाई तिमीहरू कसरी लागू गर्छौ त्यो तिमीहरूमै निर्भर हुन्छ। के यो मार्ग पर्याप्त रूपमा स्पष्ट छ? (छ।) त्यसोभए, जब तिमीहरूले त्यस्ता कुराहरू सामना गर्छौ, तब यो सिद्धान्तअनुसार अभ्यास गर। यो हासिल गर्न सजिलो छ।

हरेक मण्डली निर्वाचनको बेला, अगुवा र सेवकहरू, साथै परमेश्‍वरका चुनिएका मानिसहरू दुवैसँग निर्वाचन रक्षा गर्ने जिम्मेवारी र दायित्व हुन्छ। अगुवा र सेवकहरूले सत्यता र निर्वाचन सिद्धान्तहरू सङ्गति गर्ने जिम्‍मा लिनुपर्छ; परमेश्‍वरका चुनिएका मानिसहरूले आफूसँग रहेका कुनै पनि समस्याहरू उठाउनुपर्छ, र त्यसपछि ती समस्याहरू समाधान गर्न सत्यता सङ्गति गर्नुपर्छ। यसरी मात्रै निर्वाचन सहज रूपमा अघि बढ्ने सुनिश्‍चित गर्न सकिन्छ। एकतर्फ, अगुवा र सेवकहरूले परमेश्‍वरको घरका निर्वाचन सिद्धान्तहरू कडाइसाथ पालना गर्नुपर्छ र यिनै सिद्धान्तहरूको आधारमा परमेश्‍वरको घरका हरेक निर्वाचन अघि बढाउनुपर्छ। अर्कोतर्फ, तिनीहरू निर्वाचनमा हेरफेर र धाँधली गर्ने दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूप्रति पनि सतर्क हुनुपर्छ। ती व्यक्तिहरू शैतानका सेवकहरू हुन्, तिनीहरू शैतानका हूल हुन्। अगुवा र सेवकहरू कडाइसाथ तिनीहरूविरुद्ध रक्षात्मक बन्‍नुपर्छ र तिनीहरूसँग होसियार हुनुपर्छ, निर्वाचनको बेला पर्दापछाडि परिस्थितिहरू चालबाजी रूपमा हेरफेर गर्ने र गुप्त रूपमा प्रक्रियामै धाँधली गर्न केही काला र धूर्त कार्यहरूमा संलग्‍न हुने तिनीहरूको प्रयासहरूप्रति सतर्क हुनुपर्छ। यदि निर्वाचनमा साँच्‍चै नै दुष्ट मानिसहरूले धाँधली गरेका छन्, र आधिकारिक रूपमा निर्वाचित हुनुपर्ने व्यक्तिलाई बहिष्कार गरियो र धेरैजसो मानिसहरूलाई बहकाइयो र गलत व्यक्ति—पदको लागि योग्य नरहेको व्यक्तिलाई—अगुवाको रूपमा निर्वाचित गरियो भने, यदि त्यस्तो परिस्थिति पैदा भयो भने, अझै पनि त्यसको समाधान हुन्छ। त्यस्तो निर्वाचित व्यक्तिको साँचो परिस्थिति खुलासा गरिनुपर्छ। यदि धेरैजसो मानिसहरू सहमत भए भने, अर्को निर्वाचन गर्न सकिन्छ। शैतान र दुष्ट मानिसहरूले धाँधली गरेको निर्वाचन सत्यता सिद्धान्तहरूको आधारमा मण्डलीले सामान्य रूपमा गरेको निर्वाचनको परिणाम होइन। यो सकारात्मक कुरा होइन, र ढिलोचाँडो, यो उदाङ्गो, खुलासा, र खारेज हुनेछ। यसमा विश्‍वास गरेपछि, यदि तैँले यस्ता परिस्थितिहरू सामना गरिस् भने, तैँले कस्तो व्यवहार गर्नुपर्छ? तँ कुनै पनि बेला र कुनै पनि ठाउँमा शैतानसँग लड्न तयार हुनुपर्छ, र हात बाँधेर बस्नु हुँदैन। यदि तँ एक कमजोर, भ्रमित, वा व्यर्थको कायर व्यक्ति होस् भने, तैँले तिनीहरूसँग सम्झौता गरेर तिनीहरूसँग साँठगाँठ गर्न सक्छस्, वा तँ तिनीहरूद्वारा हदैसम्‍म पिटिएर नकारात्मक बन्‍न र त्यसपछि ठीक नहुन सक्छस्। कति मानिसहरू त यसो भन्दै चुपचाप बस्छन्, “म त मण्डली अगुवा बन्‍न सक्दिनँ। जसले सेवा गरे नि, सबै उस्तै त हो। क्षमता भएको व्यक्तिले नै अघि बढेर सेवा गरोस्! यदि ख्रीष्टविरोधीले सेवा गर्न चाहन्छ भने, मसँग यसको कुनै सम्बन्ध हुँदैन, र उसले मलाई निकालेन भने, ठीकै हुन्छ।” यसो भन्‍नेहरू पटक्‍कै असल हुँदैनन्। यदि ख्रीष्टविरोधीले अगुवाको रूपमा काम गर्‍यो भने परिणामहरू के हुनेछन् भनेर तिनीहरूले कल्पनै गर्न सक्दैनन्, न त यसले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा र तिनीहरूको मुक्तिमा पार्ने असर के हुनेछ भनेर नै कल्पना गर्न सक्छन्। सत्यता बुझेका मानिसहरूले मात्रै वास्तविक रूपमा यो के हो भनेर देख्‍न सक्छन्। तिनीहरूले यसो भन्‍नेछन्: “यदि ख्रीष्टविरोधी मण्डली अगुवा बन्यो भने, परमेश्‍वरका चुनिएका मानिसहरूले कष्ट भोग्‍नेछन्। खासगरी, सत्यता पछ्याउनेहरू, न्यायबोध भएकाहरू, र तत्पर रूपमा कर्तव्य निर्वाह गर्नेहरू सबै दमन र बहिष्कारमा पर्नेछन्। ती भ्रमित मानिसहरू र अरूलाई खुशी पार्नेहरू मात्रै तिनीहरूको निगाहमा हुनेछन्, र तिनीहरू ख्रीष्टविरोधी शक्तिको पिँजडामा राखिएका र नियन्त्रणमा पारिएका हुनेछन्।” तर सत्यता नपछ्याउनेहरूले यी कुराहरू कहिल्यै विचार गर्दैनन्। तिनीहरूले सोच्छन्: “मानिसहरूले मुक्ति पाउनको लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। हरेक व्यक्ति आफ्नै बाटो हिँड्छ। ख्रीष्टविरोधी अगुवा बने नि, यसले मलाई असर गर्नेछैन। मैले खराब कुराहरू गरिनँ भने, तिनीहरूले मलाई दबाउन वा एक्ल्याउन, वा मण्डलीबाट निकाल्न सक्दैनन्।” के यो सही दृष्टिकोण हो? (होइन।) यदि परमेश्‍वरका चुनिएका मानिसहरूले मण्डली निर्वाचनबारे कुनै चिन्ता गर्दैनन् भने, तिनीहरूले ख्रीष्टविरोधीलाई शक्ति लिन दिएपछि, परिणामहरू के हुनेछन्? के यो साँच्‍चै नै मानिसहरूले कल्पना गरेजस्तो सरल हुनेछ र? मण्डली जीवनमा के-कस्ता परिवर्तनहरू आउँछन्? यो कुरा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशसँग सीधै सम्बन्धित छ। यदि ख्रीष्ट-विरोधीले मण्डलीमा शक्ति लियो भने, के हुनेछ? त्यो मण्डलीमा अबदेखि सत्यताको हातमा शक्ति हुनेछैन, न त परमेश्‍वरका वचनहरूमा नै शक्ति हुनेछ—त्यहाँ त अविश्‍वासीहरू र शैतानको हातमा शक्ति हुनेछ। अनि भेलाहरूमा परमेश्‍वरका वचनहरू अझै पढिने भए नि, बोल्ने अधिकार ख्रीष्टविरोधीद्वारा नियन्त्रित हुन्छ। के ख्रीष्टविरोधीले स्पष्ट रूपमा सत्यता सङ्गति गर्न सक्छ? के ख्रीष्टविरोधीले परमेश्‍वरका चुनिएका मानिसहरूलाई स्वतन्त्र रूपमा र कुनै बन्धनविना सत्यता सङ्गति गर्न दिन सक्छ? त्यो असम्भव छ। ख्रीष्टविरोधीले शक्ति लिएपछि, झन्झन् धेरै बाधा र व्यवधानहरू हुनेछन्, मण्डली जीवनका परिणामहरू झन्झन् घट्नेछन्, र परमेश्‍वरका चुनिएका मानिसहरू भेला हुँदा तिनीहरूले त्यति धेरै प्रतिफल प्राप्त गर्नेछैनन्, जसले गर्दा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कठिनाइहरू हुनेछन्। परमेश्‍वरका चुनिएका मानिसहरूका समस्याहरू वृद्धि पनि हुनेछन् र ती समाधान हुनेछैनन्, र सत्यता अभ्यास गर्न सक्‍ने कतिपय मानिसहरू पनि व्याकुल हुनेछन्; मण्डली जीवनको वातावरण पूर्ण रूपमा परिवर्तन हुनेछ, यस्तो लाग्छ मानौँ अँध्यारो बादलले घामलाई ढाकेको छ। के त्यसपछि पनि मण्डली जीवनमा आनन्द हुनेछ र? यो कुरामा निश्‍चय नै सम्झौता भएको हुनेछ, र यो सानोतिनो रूपमा हुनेछैन। मण्डलीमा, सत्यता पछ्याउनेहरू सुरुमै अल्पसंख्यक हुन्छन्। यदि यो अल्पसंख्यक दमन र निष्कासनमा पर्‍यो भने, यो भन्‍न सकिन्छ कि अब उप्रान्त मण्डली जीवन नै रहनेछैन। यदि मानिसहरूले यो परिणाम देख्‍न सक्दैनन् भने, तिनीहरूले निर्वाचनलाई ध्यान दिने वा वास्तै गर्नेछैनन्। यदि धेरैजसो मानिसहरूले निर्वाचनलाई गम्भीरतासाथ लिँदैनन्, सिद्धान्तहरू पालना गर्दैनन्, निर्वाचनलाई यति नकारात्मक रूपमा लिन्छन्, अनि झूटा अगुवा र ख्रीष्टविरोधीहरूको इशारामा चल्छन् भने, दुष्ट मानिसहरू वा सत्यतालाई प्रेम नगर्ने मानिसहरू मण्डली अगुवा बनेपछि, परमेश्‍वरका चुनिएका धेरैजसो मानिसहरूले आफ्नो जीवन प्रवेशमा घाटा भोग्‍नेछन्। त्यसकारण, मण्डली निर्वाचनका परिणामहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन वृद्धि र मण्डलीको भविष्यमा सीधै असर पार्छन्। यो कुरा परमेश्‍वरका चुनिएका मानिसहरूले स्पष्ट रूपमा बुझ्नुपर्छ र नकारात्मक मनोवृत्ति पटक्‍कै अपनाउनु हुँदैन। कतिपय भ्रमित मानिसहरूले यो कुरा देख्‍न सक्दैनन्; तिनीहरू सधैँ आफ्नै कल्पनाहरूमा भर पर्छन्, र यस्तो सोच्छन्, “मण्डलीको हरेक व्यक्ति इमानदार विश्‍वासी हो, त्यसकारण जोसुकै व्यक्ति निर्वाचित हुन सक्छ; दाजुभाइ वा दिदीबहिनी जोसुकै अगुवा हुन सक्छ।” तिनीहरूले मण्डली निर्वाचनलाई अत्यन्तै सरल रूपमा हेर्छन्, जसले गर्दा धेरै नकारात्मक र गलत विचार र दृष्टिकोणहरू पैदा हुन्छन्। झूटा अगुवा र ख्रीष्टविरोधीहरू साँच्‍चै नै अगुवा र सेवकहरूको रूपमा निर्वाचित भए भने, मण्डलीको काममा हानि हुनेछ, र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा अपरिहार्य रूपमै हानि हुनेछ। त्यो बेला, मानिसहरूले सिद्धान्तहरूअनुसार निर्वाचन गरिनु कति महत्त्वपूर्ण छ भनेर महसुस गर्नेछन्।

हरेक मण्डलीमा कोही न कोही न कोही खुसामदी गर्ने मानिसहरू हुन्छन्। यी खुसामदी गर्ने मानिसहरूलाई निर्वाचनमा धाँधली गर्ने र अवरोध ल्याउने दुष्ट मानिसहरूबारे कुनै समझ हुँदैन। तिनीहरूमा थोरै समझ भए पनि, तिनीहरूले यसलाई बेवास्ता गर्छन्। मण्डली निर्वाचनमा देखा पर्ने कुनै पनि समस्याहरूप्रतिको तिनीहरूको मनोवृत्ति “यदि यी कुराहरूले व्यक्तिगत रूपमा कसैलाई असर गर्दैनन् भने तिनलाई त्यस्तै हुन दिऊँ” भन्‍ने हुन्छ। तिनीहरूले अगुवा को बन्छ त्यसले फरक पार्दैन र त्यस कुरासँग तिनीहरूको कुनै सम्बन्ध छैन भन्‍ने सोच्छन्। खुशीसाथ आफ्नो दैनिक जीवन बिताउन पाउन्जेलसम्‍म, तिनीहरूलाई ठिकै लाग्छ। यस्ता मानिसहरू तिमीहरूलाई कस्तो लाग्छ? के तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन्? (होइनन्।) तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? तिनीहरू खुसामदी गर्ने मानिसहरू हुन्, र तिनीहरूलाई अविश्‍वासी पनि भन्‍न सकिन्छ। यी मानिसहरू सत्यता पछ्याउँदैनन्; तिनीहरूले देहसुखको लालसा गर्दै सहज जीवन जिउने प्रयास मात्रै गर्छन्। तिनीहरू अत्यन्तै स्वार्थी र अत्यन्तै धूर्त हुन्छन्। के समाजमा त्यस्ता मानिसहरू धेरै छन्? जुनसुकै राजनीतिक पार्टी सत्तामा भए पनि, तिनीहरू एकदमै प्यारा हुन्छन्, तिनीहरू आफ्ना सामाजिक सम्बन्धहरूलाई एकदम राम्ररी सम्हाल्न सक्छन्, र तिनीहरू आरामपूर्वक जिउँछन्; जुनसुकै राजनीतिक अभियान उत्पन्न भए पनि, तिनीहरू त्यसमा फस्दैनन्। यिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? यिनीहरू सबैभन्दा छली, सबैभन्दा धूर्त मानिस हुन्, यिनीहरू “पकडमा नआउने” र “बूढो सर्पहरू” भनेर चिनिन्छन्। तिनीहरू अलिकति पनि सिद्धान्त नपछ्याई शैतानका दर्शनहरूअनुसार जिउँछन्। तिनीहरू जोसँग शक्ति छ, त्यसैलाई ध्यान दिन्छन्, त्यसैको चापलुसी गर्छन्, र त्यसैको गुनगान गाउँछन्। तिनीहरू आफूभन्दा माथिकाहरूलाई बचाव गर्नेबाहेक अरू केही गर्दैनन्, र तिनीहरूलाई कहिल्यै चिढ्याउँदैनन्। तिनीहरूका वरिष्ठहरूले जति धेरै दुष्कर्म गरे पनि, तिनीहरूले विरोध पनि गर्दैनन् वा समर्थन पनि गर्दैनन्, बरु आफ्ना विचारहरू भित्री रूपमा लुकाएर राख्छन्। शक्तिमा जो भए पनि तिनीहरू एकदमै प्यारा हुन्छन्। शैतान र दियाबलस राजाहरूले यस्ता व्यक्तिहरू मन पराउँछन्। किन दियाबलस राजाहरूले यस्ता व्यक्तिहरू मन पराउँछन्? किनभने तिनीहरूले दियाबलस राजाहरूका मामलाहरू बरबाद पार्दैनन् र तिनीहरूको लागि कुनै खतरा पैदा गर्दैनन्। यस्तो व्यक्ति सिद्धान्तअनुसार चल्दैन, उसको आचरणको कुनै आधार हुँदैन, र तिनीहरूमा निष्ठा र मर्यादाको कमी हुन्छ; तिनीहरूले समाजका प्रचलनहरू पछ्याउँछन् र तिनीहरू शैतानका राजाहरूसामु झुक्छन्, र आफूलाई तिनीहरूको रुचिअनुसार समायोजित गर्छन्। के मण्डलीमा त्यस्ता मानिसहरू पनि हुँदैनन् र? के त्यस्ता मानिसहरू विजेता हुन सक्छन्? के तिनीहरू ख्रीष्टका असल सिपाहीहरू हुन्? के तिनीहरू परमेश्‍वरका साक्षी हुन्? जब दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले टाउको उठाउँछन् र मण्डलीको काम बिथोल्छन्, तब के त्यस्ता मानिसहरूले खडा भएर यिनीहरूविरुद्ध युद्ध गर्न, यिनीहरूलाई खुलासा गर्न, चिन्‍न, र त्याग्‍न, र यिनीहरूका दुष्कर्महरू रोक्न र परमेश्‍वरको गवाही दिन सक्छन्? अवश्य नै सक्दैनन्। पकडमा नआउने यी मानिसहरू परमेश्‍वरले सिद्ध पार्नुहुने वा मुक्ति दिनुहुने मानिसहरू होइनन्। तिनीहरूले परमेश्‍वरको गवाही दिने वा उहाँको घरका हितहरू कायम गर्ने कहिल्यै गर्दैनन्। परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, ती मानिसहरू उहाँलाई पछ्याउने वा उहाँमा समर्पित हुने मानिस होइनन्, बरु अन्धाधुन्ध समस्या खडा गर्ने मानिस, शैतानको गिरोहका सदस्यहरू हुन्—उहाँले आफ्नो काम पूरा गरेपछि हटाउने मानिसहरू ती नै हुन्। परमेश्‍वर यस्ता नीचहरूलाई कदर गर्नुहुन्‍न। तिनीहरूसँग न त सत्यता हुन्छ न त जीवन नै; तिनीहरू पशु र दियाबलसहरू हुन्; तिनीहरू परमेश्‍वरको मुक्ति पाउन र उहाँको प्रेमको आनन्द लिन लायक हुँदैनन्। त्यसकारण, परमेश्‍वर त्यस्ता मानिसहरूलाई सहजै त्याग्‍नुहुन्छ र हटाउनुहुन्छ, अनि र मण्डलीले तिनीहरूलाई अविश्‍वासी मानेर तुरुन्तै हटाउनुपर्छ। तिनीहरूसँग परमेश्‍वरको लागि साँचो हृदय हुँदैन, त्यसैले के परमेश्‍वरले तिनीहरूलाई वास्तविक भरणपोषण दिनुहुनेछ? के उहाँले तिनीहरूलाई अन्तर्दृष्टि र मद्दत दिनुहुनेछ? दिनुहुनेछैन। जब मण्डली निर्वाचनको बेला हस्तक्षेप र बाधाहरू आउँछन्, र दुष्ट मानिसहरूले निर्वाचनको नतिजा नियन्त्रित र प्रभावित पार्छन्, तब ती मानिसहरू परमेश्‍वरको घरका हितहरू रक्षा गर्न परमेश्‍वरको पक्षमा खडा हुँदै हुँदैनन्। तिनीहरू दुष्ट मानिस र ख्रीष्टविरोधीहरूसँग अन्त्यसम्म लड्न, र शैतानका शक्तिहरूसँग भिड्न सत्यता सिद्धान्तहरू पटक्‍कै पालना गर्दैनन्। तिनीहरूले अवश्यै यसो गर्दैनन्, तिनीहरूमा साहसको कमी हुन्छ। त्यसैले, परमेश्‍वरको गवाही दिन सक्‍नेहरूले ती मानिसहरू चिन्‍नुपर्छ र आफूले बुझेका सत्यताहरू वा शैतानबारे आफूले प्राप्त गरेका समझहरूबारे ती मानिसहरूसँग सङ्गति गर्नु हुँदैन। यदि तैँले तिनीहरूसँग यी कुराहरूबारे सङ्गति गरिस् नै भने पनि, यो व्यर्थ हुन्छ; तिनीहरू सत्यताको पक्षमा खडा हुँदैनन्। सहकर्मी र साझेदारहरू छनौट गर्दा, तैँले त्यस्ता मानिसहरूलाई बहिष्कार गर्नुपर्छ र छनौट गर्नु हुँदैन। तैँले किन तिनीहरूलाई छनौट गर्नु हुँदैन? किनभने तिनीहरू पकडमा नआउनेहरू हुन्; तिनीहरू परमेश्‍वरको पक्षमा खडा हुँदैनन्, सत्यताको पक्षमा खडा हुँदैनन्, र शैतानविरुद्ध लड्‍न तँसँग हृदय र मनमा एक हुँदैनन्। यदि तैँले तिनीहरूलाई आफ्नो हृदयदेखि आएका शब्‍दहरू भनिस् भने, तँ मूर्ख र शैतानको हाँसोको पात्र बन्‍छस्। त्यस्ता मानिसहरूसँग सत्यता सङ्गति गर्ने वा अर्ती दिने नगर्, र तिनीहरूप्रति कुनै आशा नराख्, किनभने परमेश्‍वरले ती मानिसहरूलाई पटक्‍कै मुक्ति दिनुहुन्न। तिनीहरू परमेश्‍वरसँग एउटै हृदय र मन भएका मानिसहरू होइनन्; तिनीहरू टाढैबाट युद्ध मच्चिएको हेर्ने रमितेहरू हुन्, तिनीहरू पकडमा नआउनेहरू हुन्। यस्ता मानिसहरू जोसाजोस हेर्न र अन्धाधुन्ध समस्या खडा गर्न मात्रै परमेश्‍वरका घरमा घुसपैठ हुन्छन्। तिनीहरूसँग कुनै न्यायबोध हुँदैन र कुनै जिम्मेवारीबोध हुँदैन; तिनीहरूमा दुष्ट मानिसहरूले हानि गरेका असल मानिसहरूप्रति सहानुभूतिसमेत हुँदैन। त्यस्ता मानिसहरूलाई दियाबलस र शैतानहरू भन्‍नु सबैभन्दा उचित कुरा हो। यदि न्यायबोध भएको कसैले दुष्ट मानिसहरूलाई खुलासा गर्‍यो भने, तिनीहरू उसलाई हौसला वा साथसमेत दिँदैनन्। त्यसकारण, यी मानिसहरूलाई कहिल्यै भरोसा नगर्; तिनीहरू पकडमा नआउने, छेपारो, बूढो स्याल हुन्। तिनीहरू परमेश्‍वरका इमानदार विश्‍वासी होइनन् बरु शैतानका सेवकहरू हुन्। यी मानिसहरूलाई कहिल्यै मुक्ति दिन सकिँदैन, र परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्न; यो परमेश्‍वरको स्पष्ट इच्छा हो। सम्भवतः धेरैजसो मण्डलीहरूमा त्यस्ता मानिसहरू पक्‍कै हुन्छन्। तिनीहरू को हुन् भनेर देख्‍नको लागि आफ्नो मण्डलीको वरपर हेर्। जब परिस्थितिहरू आइपर्छन्, तब तिनीहरूसँग सत्यतामा कहिल्यै सङ्गति नगर्, र तँलाई वास्तवमा के भइरहेको छ भनेर तिनीहरूलाई नदेखा। त्यस्ता मानिसहरूप्रति सावधान बन् र तिनीहरूसँग संलग्‍न नहो। परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने र न्यायबोध भएका मानिसहरू खोज्—जब तिनीहरूले परमेश्‍वरको घरका हितहरूमा हानि भइरहेको, मण्डलीको काम र मण्डली जीवनको सुव्यवस्थामा बाधा वा चालबाजी भइरहेको देख्छन्, तब तिनीहरू चिन्तित र क्रोधित हुन्छन्; मण्डलीमा बाधा दिने यी दुष्ट मानिसहरूलाई तिनीहरूले गहन रूपमा घृणा गर्छन्; तिनीहरू खडा भएर दुष्ट मानिसहरूलाई खुलासा गर्न चाहन्छन् र सत्यता बुझेका मानिसहरूसँग मिलेर दुष्ट पिशाचहरूसँग लड्ने उत्कट इच्छा गर्छन्। त्यस्ता मानिसहरूसँग सङ्गति गर् र शैतानविरुद्ध लड्न तिनीहरूसँग हातेमालो गर्। यी मानिसहरू विजेताहरू हुन्, ख्रीष्टका असल सिपाहीहरू हुन्; यी मानिसहरूले मात्रै ख्रीष्टको राज्यमा भागीदारी पाउँछन्। अरूलाई खुसी पार्नेहरू, वृद्ध सर्पहरू, छेपाराहरू, र भावशून्य र मूर्ख मानिसहरू सबै खुलासा भएका छन्; तिनीहरू हटाइनुपर्ने पात्रहरू हुन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू होइनन्, तिनीहरू परमेश्‍वरको घरका मानिसहरू होइनन्, तर भरोसा गर्न लायक नरहेका अविश्‍वासी र अवसरवादीहरू हुन्। यी मानिसहरूलाई व्यवहार गर्ने तरिका यही हो: यदि तिनीहरूले दुष्कर्म गर्न सक्छन् भने, तिनीहरूलाई पखालेर फालिदे; यदि तिनीहरू दुष्ट मानिसहरू होइनन् र मण्डलीमा बाधा दिन दुष्ट मानिसहरूलाई पछ्याउँदैनन् भने, तिनीहरू मण्डलीमा अस्थायी रूपमा रहन सक्छन्, र यसबीच तिमीहरूले तिनीहरूको पश्‍चात्ताप कुर्नुपर्छ। एक हिसाबमा, यी मानिसहरूको स्वभाव, मानवता, र विभिन्‍न मामलाहरूप्रतिको दृष्टिकोण र मनोवृत्ति अवलोकन गर्ने र बुझ्ने गर, र त्यस्ता मानिसहरूको सार पत्ता लगाउँदै समझशक्तिको अभ्यास गर। यसको साथै, जब दुष्ट मानिसहरूले निर्वाचनमा हेरफेर र धाँधली गर्छन्, तब अरूलाई खुसी पार्ने यी मानिसहरूले दुष्ट मानिसहरूको पक्षमा खडा भएर, तिनीहरूको सेवक र मतियारको रूपमा काम गर्दा सतर्क होओ। छोटकरीमा भन्दा, दुष्ट मानिसहरूले निर्वाचनमा हेरफेर र धाँधली गर्ने सबै अनुचित व्यवहारहरूको हकमा, परमेश्‍वरका वचनहरूअनुसार समझशक्ति प्रयोग गर्नु अत्यावश्यक छ; जब तैँले तिनीहरूको सार स्पष्ट रूपमा देख्‍नेछस्, तब सिद्धान्तहरूअनुसार तिनीहरूलाई कसरी उचित रूपमा सम्हाल्ने भन्‍ने तँलाई थाहा हुनेछ।

भर्खरै, हामीले निर्वाचन हेरफेर र धाँधली गर्ने केही घटनाहरू र कतिपय मानिसहरूका कार्यव्यवहारहरूबारे सङ्गति गर्‍यौँ। हरेक पक्ष त समेटिएन, तर यी समस्याहरू समाधान गर्ने सिद्धान्तहरूबारे आधारभूत रूपमा सङ्गति गरियो। मण्डलीभित्र निर्वाचनमा हेरफेर र धाँधली गरिरहेका मानिसहरू पत्ता लगाएपछि, तिमीहरूले खडा भएर तिनीहरूलाई प्रतिबन्धित गर्नुपर्छ। सुशिल बन्‍ने वा मान्छे खुशी पार्ने मानिसहरूजस्तो व्यवहार गर्ने नगर। यदि कसैले सधैँ निर्वाचनमा हेरफेर र धाँधली गर्ने प्रयास गर्छ भने, यो प्रवृत्ति देखा पर्नेबित्तिकै, दाजुभाइ-दिदीबहिनीहरूले सामूहिक रूपमा खडा भएर तिनीहरूलाई रोक्‍नुपर्छ र खुलासा गर्नुपर्छ। यदि तिनीहरूले अन्योलतामा यसो गरिरहेका छन्, र यो निर्वाचन हेरफेर र धाँधलीको रूपमा गनिन्छ भन्‍ने थाहा नपाएर गरेका हुन् भने, तिमीहरूले तिनीहरूलाई यसो भनेर व्याख्या गरिदिन सक्छौ: “तिमीले निर्वाचनमा हेरफेर र धाँधली गरिरहेको छौ। शैतानको सेवकको भूमिका नखेल। यो मण्डली अगुवाहरूको निर्वाचन हो, मेयर वा नगरप्रमुखहरूको निर्वाचन होइन। यो कामको लागि परमेश्‍वरको घरका आफ्नै नियमहरू र आफ्नै सिद्धान्तहरू छन्। मानव अभिप्रायहरू यसमा मिसिनु हुँदैन; हामीले यो कामको लागि सत्यता सिद्धान्तहरू कडाइसाथ पालना गर्नुपर्छ। यदि तिम्रो क्षमता कमजोर छ र तिमीले सत्यता सिद्धान्तहरू बुझ्न सक्दैनौ, वा यदि तिमी वृद्ध र भ्रमित छौ, र तिमीसँग निर्वाचनमा सहभागी हुनको लागि चाहिने बुद्धिको कमी छ भने, तिमी यसबाट अलग बस्न र परिणाम कुरेर बस्‍न सक्छौ, तर तिमीले कुनै पनि हालतमा निर्वाचनमा हेरफेर वा धाँधली गर्नु, वा बाधा र व्यवधानहरू ल्याउनु हुँदैन; यी दुष्कर्महरू हुन्, र परमेश्‍वरले यी कुरा घिनाउनुहुन्छ। यस्ता दुष्कर्महरूलाई सधैँको लागि दोषी ठहराइन्छ; कहिल्यै यस्तो व्यक्ति नबन वा यो मार्ग नपछ्याऊ। यदि तिमी साँच्‍चै नै मानव हौ भने, निर्वाचन हेरफेर र धाँधलीमा संलग्‍न नबन, किनभने यो तथ्य बनेपछि, तिमीलाई शैतानको सेवक भनिनेछ र मण्डलीबाट हटाइनेछ।” यदि निर्वाचनमा हेरफेर र धाँधली गर्ने मानिसहरू पत्ता लागे भने, तिनीहरूमध्ये के भयो भन्‍ने कुरा नबुझ्ने कमजोर क्षमता भएका मानिसहरूलाई प्रेमसाथ सङ्गति, साथ, भरणपोषण र मद्दत प्रदान गर्न सकिन्छ। तर सत्यता सिद्धान्तहरू पूर्ण रूपमा थाहा पाए नि, जानीजानी निर्वाचनमा हेरफेर र धाँधली गर्ने, र यसविरुद्ध दिइएका चेतावनीहरूसमेत बेवास्ता गर्नेहरूबारे के भन्‍न सकिन्छ? तिनीहरूको लागि पनि एउटा समाधान छ: तिनीहरूलाई अबदेखि निर्वाचनमा सहभागी हुन दिनु हुँदैन; तिनीहरूको निर्वाचन अधिकार खोस्‍नुपर्छ। छोटकरीमा भन्‍नुपर्दा, परिस्थिति सुल्ट्याउन निर्वाचनमा हेरफेर र धाँधली गर्ने सबै कार्यहरूलाई समान रूपमा खुट्याउनु, रोक्नु, र प्रतिबन्धित गर्नुपर्छ। निर्वाचनमा गलत परिणामहरू आउन नदिन र मण्डलीको काममा बाधा र हानि हुन नदिनको लागि मण्डलीमा त्यस्ता व्यवहार र कार्यहरूलाई अस्तित्वमा रहन दिनु हुँदैन।

बाधा र व्यवधानहरू ल्याउने विभिन्‍न मानिस, घटना, र कुराहरूको सारांश

अगुवा र सेवकहरूको बाह्रौँ जिम्मेवारी परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिस, घटना, र कुराहरूसँग सम्बन्धित छ। हामीले सङ्गतिको लागि यी कुराहरू एघार वटा समस्याहरूमा विभाजित गरेका छौं। हरेक समस्या अन्तर्गत सूचीमा राखिएका बाधा र व्यवधानहरूका समस्या वा घटनाहरू मानिसहरूले कर्तव्य निर्वाह गर्ने कार्य र परमेश्‍वरमाथिको तिनीहरूको साँचो विश्‍वाससँग सम्बन्धित छन्। तिनीहरूलाई किन यति मिहिनतासाथ विभाजित गरिएको छ? मैले हरेक मामिलालाई किन सङ्गति र चिरफारको लागि उठाउँदै छु? हरेक समस्याको शीर्षकबाट हेर्दा, यी कामकुराहरू गर्ने मानिसहरूको मानवता राम्रो हुँदैन। पहिलो समस्याबाहेक—सत्यता सङ्गति गर्दा प्रायजसो विषयभन्दा बाहिर जानु, जुन कुरा त्यति गम्भीर मानिँदैन—त्यो बाहेक, अरू सबै कुराको प्रकृति निकै गम्भीर छन्। यी सबै प्रकटीकरणहरूको प्रकृतिमा बाधा र व्यवधान ल्याउने कार्य समावेश छन्, र ती सबैले मण्डलीको काममा बाधा र व्यवधानहरू ल्याउँछन्, र त्यसकारण हामीले ती सबैलाई एकएक गरी सङ्गति र चिरफारको लागि उठायौँ। जब मण्डली जीवनमा वा आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियामा यी समस्याहरू देखा पर्छन्, तब मानिसहरू विशेष रूपमा सतर्क हुनुपर्छ र तिनलाई खुट्याउनुपर्छ र तिनको भित्री रूप छर्लङ्गै देख्‍नुपर्छ। जब मानिसहरूले बाधा र व्यवधान ल्याउने यस्ता घटनाहरू घटेको देख्छन्, तब तिनीहरू तिनलाई रोक्न र प्रतिबन्धित गर्न खडा हुनुपर्छ। “सत्यता सङ्गति गर्दा प्रायजसो विषयभन्दा बाहिर जानु” भन्‍ने पहिलो समस्याको हकमा, मानिसहरूले कहिलेकहीँ अनजानमै यसो गर्छन्, र संलग्‍न परिस्थिति र यसको प्रकृति त्यति गम्भीर हुँदैन; तर यदि तिनीहरू बारम्बार विषयभन्दा बाहिर जान्छन् र अमिल्दो रूपमा बोल्छन्, जसले गर्दा सुन्‍नेहरूलाई झिजो लाग्छ, र यसरी मण्डली जीवनमा कुनै असल परिणामहरू हासिल हुँदैनन् भने, यसले मण्डलीको काममा बाधा र व्यवधान ल्याउने दुष्परिणामहरू ल्याउँछ। बाँकी समस्याहरूबारे त उल्लेखसमेत गर्नुपर्दैन; तीमध्ये जुनसुकै कुराले पनि मण्डलीको काम र मण्डली जीवनको सुव्यवस्थामा बाधा र व्यवधानहरू ल्याउन सक्छन्। त्यसकारण, ती प्रत्येक समस्याहरूबारे विस्तृत रूपमा सङ्गति, समालोचना, र चिरफार गर्नु अत्यावश्यक हुन्छ। जब दुर्भावपूर्ण घटनाहरू देखा पर्छन्, तब यदि तँसँग मण्डलीमा बाधा दिने दुष्ट कार्यहरूबारे समझ र ज्ञान छ भने, तँ तिनलाई रोक्न र प्रतिबन्धित गर्न खडा हुनुपर्छ। व्यापक अर्थमा भन्दा, यो सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्नु हो; संकुचित अर्थमा भन्दा, कम्तीमा पनि, यो मण्डली सदस्यको कर्तव्य र जिम्मेवारी पूरा गर्नु हो। के यो तैँले गर्न सक्‍नुपर्ने कुरा होइन र? (हो।) यदि तैँले यसो गर्न सक्दैनस् भने, परिणामहरू के हुन्छन्? त्यसो गर्न नसक्‍नुलाई हामीले कसरी परिभाषित गर्नुपर्छ? कम्तीमा पनि, यसको अर्थ हुन्छ तँ एक भ्रमित व्यक्ति होस्; साथै, तँ शैतानको डर मान्‍ने व्यर्थको कायर व्यक्ति होस्। यसअलावा, जब शैतान र दियाबलसहरू परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा दिन देखा पर्छन्, तब तँ उदासीन र शक्तिहीन हुन्छस्, कुनै प्रतिक्रिया दिँदैनस्, र शैतानविरुद्ध लड्न र परमेश्‍वरको गवाही दिन तँमा विश्‍वास र साहसको कमी हुन्छ। त्यस्तो अवस्थामा, तँ व्यर्थको व्यक्ति होस्, तँ परमेश्‍वरको अनुयायी बन्‍न लायक होइनस्।

अगुवा र सेवकहरूको बाह्रौँ जिम्मेवारीमा परमेश्‍वरको काममा बाधा र व्यवधान ल्याउने मण्डलीका विभिन्‍न प्रकारका घटनाहरू सूचीबद्ध गरिएको छ। हरेक घटनामा अगुवा र सेवकहरू, साथै साधारण दाजुभाइ-दिदीबहिनीहरूको परमेश्‍वरप्रतिको मनोवृत्ति संलग्‍न हुन्छ। यसमा हरेक व्यक्तिको कर्तव्य र जिम्मेवारीहरूप्रतिको मनोवृत्ति, साथै परमेश्‍वरको घरको काममा बाधा दिने यी नकारात्मक घटना र परिस्थितिहरूप्रतिको तिनीहरूको अडान र दृष्टिकोण पनि संलग्‍न हुन्छ। अवश्य नै, यो कुरा धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको र प्रवचन सुनेको व्यक्तिमा शैतानसँग लड्ने र यी नकारात्मक घटना र परिस्थितिहरू देखा पर्दा परमेश्‍वरको गवाही दिनको लागि पर्याप्त कद र विश्‍वास छ कि छैन भन्‍ने कुरासँग पनि सम्बन्धित हुन्छ। के यसले प्रमुख समस्याहरू छुन्छ? यसले व्यक्तिको अडान र उसले हिँड्ने मार्ग, साथै परमेश्‍वर, सत्यता, र आफ्नो कर्तव्यप्रतिको उसको मनोवृत्ति छुन्छ। त्यसकारण, यी वचनहरू सुनेपछि, तिमीहरूले यी कुराहरू मानिसहरूको लागि परमेश्‍वरले दिनुभएका मापदण्डहरू हुन् भन्‍ने कुरा बुझ्नुपर्छ। तिनलाई केवल लागू र कार्यान्वयन गर्नुपर्ने धर्मसिद्धान्त, नियम, वा प्रावधानहरूको रूपमा नहेर, तर सत्यता बुझ्नको लागि तिनको बारेमा अझै बढी मनन गर, र त्यसपछि तिनमा अभ्यास र प्रवेश गर, अनि परमेश्‍वरका मापदण्डहरू पूरा गर। जब दुष्ट मानिसहरूले मण्डलीको काममा बाधा र व्यवधान ल्याउँछन्, तब चुपचाप नबस्‍नू, तैँले परमेश्‍वरमा विश्‍वास गरेको छोटो समय मात्र भएको छ, तेरो कद सानो छ, वा तँ अझै जवान छस्, आदि इत्यादि भनेर बहानाहरू बनाउँदै आफ्ना जिम्मेवारीहरूबाट पछि नहट्नू। जब परमेश्‍वरले कामको जाँच गर्नुहुन्छ, जब उहाँले तेरो मनोवृत्ति हेर्न वातावरणहरू योजनाबद्ध गर्नुहुन्छ, तब उहाँले तेरो उमेर, तैँले उहाँमा विश्‍वास गरेको कति वर्ष भयो, वा तैँले कुनै बेला के मूल्य चुकाएको छस् र के-कस्ता योग्यताहरू हासिल गरेको छस् भन्‍ने कुरा हेर्नुहुन्‍न; परमेश्‍वरले तैँले त्यो क्षणमा देखाउने तेरो मनोवृत्ति हेर्न चाहनुहुन्छ। यदि तैँले प्रायजसो यी कुराहरूबारे कहिल्यै मनन वा खोजी गरेको छैनस्, र तैँले कुनै कुरालाई मनमा नलिई, सत्यता खोजी नगरी, आफ्नो पाठ नसिकी, वा परमेश्‍वरले योजनाबद्ध गर्नुभएका विभिन्‍न वातावरणहरूलाई गम्भीरतापूर्वक नलिई, भ्रमित स्थितिमा तँ हरेक मामला पार गर्छस् भने, यदि दुष्ट मानिसहरूले बाधा र व्यवधानहरू ल्याइरहेको देख्दा तँ भाग्छस्, र यसबारेमा परमेश्‍वरको घरलाई कहिल्यै रिपोर्ट गर्दैनस् वा आफ्नो मनोवृत्ति देखाउँदैनस् भने, तैँले दुष्कर्ममा सहभागिता नजनाएको भए नि, यो मामलाप्रतिको तेरो व्यवहारले पहिले नै तेरो अडान र दृष्टिकोणलाई प्रकट गरिसकेको हुन्छ—तँ शैतानको पक्षमा खडा हुने रमिते व्यक्ति होस्। परमेश्‍वरले सबै कुरा सूक्ष्मजाँच गर्नुहुन्छ, र तैँले उहाँलाई छल्न सक्दैनस्। त्यसकारण, जब यी नकारात्मक कुराहरू घटित हुन्छन्, जब तैँले मण्डलीको काम र मण्डली जीवनको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिस, घटना, र कुराहरू पत्ता लगाउँछस्, तब यसले परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति स्पष्ट रूपमा प्रकट गर्छ। सायद तैँले परमेश्‍वरमा विश्‍वास गरेको थोरै समय मात्रै भएको होला, तँ अझै जवान होलास्, र तेरो कद सानो छ होला, तर यदि यी कुराहरू आइपर्दा, तैँले सिद्धान्तहरूअनुसार काम गर्छस् भने, र तैँले दुष्ट मानिसहरूलाई रोक्‍ने, प्रतिबन्धित गर्ने, वा खुलासा गर्ने प्रयास गर्छस्, र खडा भएर परमेश्‍वरको घरका हितहरू रक्षा गर्न आफ्नै सुरक्षा जोखिममा पार्छस् र बेवास्ता गर्छस् भने—यदि तँसँग यस्तो हृदय छ भने, परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति, साथै परमेश्‍वरको गवाही दिने र शैतानविरुद्ध लड्ने तेरो सङ्कल्प मानिसहरू र परमेश्‍वरले देख्‍ने गवाही बन्छ। मानिसहरूका दुष्ट कार्यहरू, परमेश्‍वरप्रति तिनीहरूले अपनाउने मूर्खता र गुप्तता, तिनीहरूको जिम्मेवारीबाट पछि हट्ने कार्य, दुष्टता गर्दा शैतानप्रति समर्पित हुने र त्यससँग तिनीहरूले गर्ने सम्झौता—परमेश्‍वरले यी सबै कुरा देख्‍नुहुनेछ, र यी दुष्ट कार्यहरूलाई एक दिन राफसाफ गरिनेछ र तिनको बारेमा फैसला दिइनेछ। तर त्यसरी नै, जब मानिसहरू परमेश्‍वरको घर र दाजुभाइ-दिदीबहिनीहरूको लागि बोल्न शैतानका बाधा र व्यवधानहरूको विरुद्ध खडा हुन्छन्, र परमेश्‍वरको घरका हितहरू रक्षा गर्न शैतानको विरुद्ध लडाइँ लड्छन्, परमेश्‍वरको गवाही दिने आकाङ्क्षा लिएर सत्यता खोजी गर्छन्, तब तिनीहरूले कहिलेकहीँ शक्तिहीन र एकलो महसुस गरे नि, तिनीहरूमा बुद्धिको कमी भए नि, सत्यताबारे सतही बुझाइ मात्रै भए नि, र सत्यताबारे सङ्गति गर्न चाहँदा आफ्‍नो कुरा स्पष्ट रूपमा व्यक्त गर्न नसके नि, र यसले गर्दा कतिपयले तिनीहरूलाई गिल्ला र हेला गरे नि, परमेश्‍वरको नजरमा उहाँले तिनीहरूको इमानदारिता देख्‍नुहुन्छ, र यी कार्य र व्यवहारहरूलाई असल कार्यहरू ठान्नुहुन्छ। जसरी दुष्ट कार्यहरूले परमेश्‍वरअघि एकदिन फैसला र निष्कर्ष प्राप्त गर्नेछन्, त्यसरी नै असल कार्यहरूले पनि फैसला र निष्कर्ष प्राप्त गर्नेछन्—तर यी दुई प्रकारका व्यवहारहरूको अन्तिम निष्कर्ष पूर्ण रूपमा फरक हुनेछ। दुष्ट कार्यहरूले उचित दण्ड प्राप्त गर्नेछन्, जबकि असल कार्यहरूलाई असल व्यवहारद्वारा प्रतिफल दिइनेछ। परमेश्‍वरले हरेक व्यक्तिको लागि यो कुरा धेरै पहिले नै निर्धारित गर्नुभएको हुन्छ, तर असललाई इनाम र दुष्टलाई दण्ड दिनुभन्दा पहिले परमेश्‍वरको कामको अवधिमा मानिसहरूले देखाउने विभिन्‍न प्रकटीकरणहरू स्थापित तथ्यहरू बनुन्जेलसम्‍म उहाँले प्रतीक्षा गरिरहनुहुन्छ।

अगुवा र सेवकहरूको बाह्रौँ जिम्मेवारीमा मण्डलीको काममा बाधा र व्यवधान ल्याउने मानिस, घटना, र कुराहरूसँग सम्बन्धित एघार वटा समस्याहरू सूचीबद्ध गरिएको छ। के यी एघार वटा समस्याहरू महत्त्वपूर्ण छन्? के तिनले मानिसहरूलाई स्पष्ट रूपमा खुलासा गर्छन्? जब तिमीहरू हरेक समस्याबारे सङ्गति गर्छौ, तब तिमीहरूले स्पष्ट रूपमा सत्यता बुझ्नको लागि यसमा अझै धेरै मेहनत लाउनुपर्छ। यसमा मानिसहरूले कसरी न्याय र सकारात्मक कुराहरू परिपालन गर्छन्, र तिनीहरूले कसरी परमेश्‍वरको गवाही परिपालन गर्छन् भन्‍ने कुरा संलग्‍न हुन्छ; यसमा मानिसहरू कसरी शैतानसँग लडाइँ लड्न, शैतानको रूप खुलासा र पर्दाफास गर्न, र शैतानका दुष्ट कार्यहरू रोक्न र प्रतिबन्धित गर्न खडा हुन्छन् भन्‍ने कुरा पनि संलग्‍न हुन्छ—यसमा संलग्‍न दुई पक्षहरू यिनै हुन्। जब शैतानले मण्डलीको काममा बाधा र व्यवधान ल्याउँछ, तब के तैँले कुनै भूमिका खेल्छस्? तैँले कस्तो भूमिका खेल्छस्? के तैँले परमेश्‍वरले तेरो लागि तोक्‍नुभएको कुरा गरेको छस्? के तैँले परमेश्‍वरको अनुयायीले पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारीहरू पूरा गरेको छस्? जब यी समस्याहरू देखा पर्छन्, तब के तैँले मान्छे खुशी पार्नेहरूले जसरी नै सम्झौता गर्छस्, सबै कुरालाई सानो बनाउँछस्, र मान्छे खुशी पारिहिँड्ने मध्यमार्गी बाटो लिन्छस्, कि परमेश्‍वरको घरका हितहरू रक्षा गर्न अझै धेरै साँचो दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर काम गर्दै शैतानका दुष्ट कार्यहरू रोक्न र प्रतिबन्धित गर्न खडा हुन्छस्? तैँले के रक्षा गर्छस्? तैँले दुष्ट मानिसहरूका हितहरू, शैतानका हितहरू रक्षा गर्छस् कि परमेश्‍वरको घरका हितहरू रक्षा गर्छस्? यदि मण्डलीको काममा बाधा वा व्यवधान ल्याउने कुनै कुरा भयो, र तँ केही गर्दैनस्, केवल मान्छे खुशी पार्ने र आफ्‍नो रक्षा गर्ने व्यक्तिको रूपमा मात्रै काम गर्छस्, आफ्ना अन्तरव्यैयत्तिक सम्बन्धहरू सफलतापूर्वक सम्हाल्न र हानिरहित रहने सुनिश्‍चित गर्छस्, र मण्डलीको काममा बाधा आएको छ भन्‍नेबारे कहिल्यै चिन्ता वा तनाव नलिई, दुष्ट मानिसहरूको दुष्ट कार्यहरूप्रति कुनै घृणा वा रिस नमानी, परमेश्‍वरको घर र सबै दाजुभाइ-दिदीबहिनीहरूका हितहरूको लागि कुनै बोझ नलिई, परमेश्‍वरप्रति ऋणी भएको कुनै अनुभूति नलिई, र कुनै आत्मधिक्‍कार महसुस नगरी बस्छस् भनेँ, तँ खतरामा हुन्छस्। यदि परमेश्‍वरको नजरमा तँ पूर्ण रूपमा मान्छे खुशी पार्ने व्यक्ति होस्, र तँ जेसुकै भए नि निष्क्रिय रूपमा हात बाँधेर अवलोकन गर्छस् र यसबाट टाढै बस्छस्, र आफ्नो कुनै पनि जिम्मेवारी वा दायित्वहरू पूरा गर्दैनस् भने, तँ साँच्‍चै नै खतरामा छस् र तँलाई परमेश्‍वरले हटाउनुहुने सम्भावना अधिक हुनेछ। यदि परमेश्‍वरले तँलाई श्रमसमेत गर्न नदिने अभिप्राय राख्‍नुभयो भने, र उहाँ तँप्रति दिक्क हुनुभयो भने, यो विन्दुमा, तँलाई हटाइने पक्‍का हुन्छ, जुन अत्यन्तै खतरनाक कुरा हो! जब परमेश्‍वरले उहाँले अबदेखि तँजस्ता मानिसहरूलाई हेर्न चाहन्‍नँ, र तँजस्ता मानिसहरूले परमेश्‍वरको घरमा कुनै कर्तव्य निभाउँदा वा परिश्रम गर्दा त्यसलाई महत्त्व दिन्‍नँ भनेर भन्‍नुहुन्छ, तब लामो समय कुर्नै नपरी भविष्यमा कुनै दिन र कुनै क्षण तँलाई मण्डलीले हटाउन सक्छ, जसले तेरो नियति परिवर्तन गरिदिनेछ। यस्तो किन हुन्छ भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छैन वा तैँले आफूलाई परमेश्‍वरबाट टाढा राखेर उहाँलाई धोका दिएको छस् र यसले त्यो परिणाम ल्याएको छ। के तैँले यो तथ्य देख्‍न सक्छस्? जब तैँले यो तथ्य महसुस गर्छस्, तब तैँले यसलाई स्विकार गरे पनि नगरे पनि, तेरो हृदयका सबै सुन्दर आशाहरू क्षणभरमै बिलाइजानेछन्।

जब मानिसहरूले सुरुमा परमेश्‍वरमा विश्‍वास गर्छन्, तब तिनीहरू सबैमा उत्साही हृदय हुन्छ। तिनीहरूले आफ्नो भावी गन्तव्य वा सम्भाव्यताहरू देख्‍न नसक्‍ने भए नि, तिनीहरूलाई सधैँ परमेश्‍वरमाथि एकप्रकारको भरोसा हुन्छ। तिनीहरूले सधैँ सुन्दर र सकारात्मक कुराहरूको आकाङ्क्षा राख्छन्। यो शक्ति कहाँबाट आउँछ? मानिसहरूलाई थाहा हुँदैन; तिनीहरूले पत्ता लगाउन सक्दैनन्: “मानिसहरू सबै उस्तै हुन्छन्, सबैजना एउटै हावामा र एउटै घाममुनि जिउँछन्। त्यसोभए, हामीसँग यी कुराहरू हुँदा गैगैर-विश्‍वासी किन यी कुराहरूको कमी हुन्छ?” के यो रहस्य होइन र? यो शक्ति परमेश्‍वरबाट आउँछ। यो अत्यन्तै बहुमूल्य कुरा हो; यो मानिसहरूले जन्मजातै लिएर आउने कुरा होइन। यदि हरेक व्यक्तिमा जन्मैदेखि यो कुरा हुने हो भने, तिनीहरू उस्तै हुन्छन्; मानवजातिमाझ उचो वा निचो, कुलीन वा निमुखाको कुनै भिन्‍नता हुँदैन, र परमेश्‍वरमा विश्‍वास गर्ने र नगर्ने मानिसहरूबीच पनि कुनै भिन्‍नता हुँदैन। तिनीहरूसँग नभएको कुरा, तँसँग हुन सक्छ; तँसँग मानवजातिमाझ अस्तित्वमा रहेको सबैभन्दा बहुमूल्य कुरा हुन सक्छ। यसलाई किन सबैभन्दा बहुमूल्य कुरा भनिन्छ? यही आशा र अपेक्षाको कारण, तैँले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यमा ध्यान दिन सक्छस्। व्यक्तिले मुक्ति प्राप्त गर्न सक्‍नको लागि सबैभन्दा आधारभूत सर्त यही हो। यही अपेक्षाको कारण नै, तँसँग परमेश्‍वरमा समर्पित हुने, सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्ने र एक असल व्यक्ति, एक मुक्ति पाएको व्यक्ति बन्‍ने अवसर, र अलिअलि सङ्कल्प हुन्छ। यसले ल्याउने फाइदाहरू अत्यन्तै ठूला छन्। त्यसोभए, यो कुरा कहाँबाट आउँछ? यो परमेश्‍वरबाट आउँछ; यो परमेश्‍वरले दिनुहुने कुरा हो। तैपनि, जब परमेश्‍वरले कसैलाई चाहनुहुन्‍न, तब यो कुरा उसबाट खोसेर लगिन्छ। तिनीहरूले अबउप्रान्त सुन्दर कुराहरूको तृष्णा वा आशा गर्दैनन्; तिनीहरूले अबदेखि ती कुराहरूमा आशा राख्दैनन्। तिनीहरूको हृदय अन्धकारमा पर्छ र डुब्न थाल्छ। तिनीहरूले कुनै पनि सुन्दर वा सकारात्मक कुरा, साथै परमेश्‍वरका प्रतिज्ञाहरू पछ्याउने उत्साह गुमाउँछन्। तिनीहरू गैरविश्‍वासीजस्तै बनेका हुन्छन्। यो कुरा गुमेपछि, के तिनीहरूले परमेश्‍वरको घरमा रहन र परमेश्‍वरमा विश्‍वास गर्न र उहाँलाई पछ्याउन सक्छन् त? के परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको मार्ग समाप्त भएको हुँदैन र? जब तैँले पछ्याउने सङ्कल्प हुनुपर्ने यो पूर्वसर्त गुमाउँछस्, तब तँ जिउँदो लास बन्छस्। “जिउँदो लास” हुनु भनेको के हो? यसको अर्थ तैँले अब परमेश्‍वरका वचनहरू बुझ्न सक्दैनस् भन्‍ने हुन्छ। जब तँसँग यो पूर्वसर्त हुन्छ, तब तैँले परमेश्‍वरका वचनहरू बुझ्न सक्छस्, तँसँग आशा हुन सक्छ, तेरो विश्‍वास उत्प्रेरित हुन सक्छ, र यो पूर्वसर्तले तँलाई सत्यता पछ्याउने उत्प्रेरणा दिन सक्छ। तैपनि, जब तैँले यो आधारभूत पूर्वसर्त गुमाउँछस्, तब यो उत्प्रेरणा हराउँछ। तँसँग परमेश्‍वरका वचनहरू सुन्‍ने कुनै जोश वा चासो हुँदैन। प्रतिज्ञा र अपेक्षाहरूले अबउप्रान्त तेरो चासो जगाउने वा तँलाई उत्प्रेरित गर्ने गर्दैनन्। तेरो हकमा, परमेश्‍वरका वचनहरू उच्च स्तरका सिद्धान्त बनेका हुन्छन्। तँ ती कुराहरूप्रति लागिपर्दैनस्, र परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुन्‍न। तैँले परमेश्‍वरका वचनहरूबाट कुनै सत्यता प्राप्त गर्न सक्दैनस्। के परमेश्‍वरमाथिको विश्‍वासको यो मार्ग तेरो लागि समाप्त भएको हुँदैन र? जब यो कुरा यस विन्दुमा पुग्छ, तब परमेश्‍वरले तँलाई पहिले नै तिरस्कार गरिसक्नुभएको हुन्छ; के तैँले अझै पनि परमेश्‍वरलाई उहाँको विचार परिवर्तन गर्न लगाउन सक्छस् र? यो कुरा सजिलो हुनेछैन। जब परमेश्‍वरले कुनै निश्‍चित व्यक्तिलाई अबदेखि चाहँदिनँ भनेर निर्धारित गरिसक्‍नुभएको हुन्छ, तब त्यो व्यक्तिले भित्री रूपमा यही महसुस गर्छ। जब यो कुरा खोसिन्छ, तब परमेश्‍वरमा विश्‍वास गर्ने, आफ्नो कर्तव्य निर्वाह गर्ने, र मुक्ति पाउने जस्ता विभिन्‍न कुराहरूप्रति तेरो मनोवृत्ति पहिलेको भन्दा पूर्ण रूपमा फरक हुनेछ। तेरो पहिलेको जोशिलो पछ्याइबारे मनन गर्दा, तँलाई त्यो व्याख्या गर्न नसकिने, बुझ्न नसकिने, र अविश्‍वसनीय लाग्‍नेछ। जब तँलाई यो अविश्‍वसनीय लाग्छ, तब तँ अहिले जुन अवस्थामा छस् त्यसलाई तेरो पहिलेको अवस्थासँग तुलना गर्दा, तेरो भित्री स्थितिमा गुणात्मक परिवर्तन आएको हुनेछ; तँ पूर्ण रूपमा फरक व्यक्ति हुनेछस्, तँ पहिलेको जस्तो व्यक्ति हुनेछैनस्। किन यस्तो हुनेछ? वातावरण परिवर्तन भएकोले यस्तो भएको हुँदैन; तँ वृद्ध भएकोले र तँ अझै षड्यन्त्रकारी भएकोले पनि यस्तो भएको हुँदैन; तैँले अझै धेरै अनुभव र जीवनको अन्तर्ज्ञान प्राप्त गरेकोले, र आफ्ना विचार र दृष्टिकोणहरू परिवर्तन गरेकोले पनि यस्तो भएको हुँदैन। बरु, यो त परमेश्‍वरले आफ्नो सोचाइ परिवर्तन गर्नुभएकोले, उहाँका विचारहरू परिवर्तन भएकाले, र तँप्रतिको उहाँको मनोवृत्ति र अपेक्षाहरू परिवर्तन भएकाले यस्तो भएको हुनेछ। त्यसकारण, तँ आफ्‍नो इच्छाको बाबजुद पनि फरक व्यक्ति बनेको हुनेछस्। अहिले यसलाई हेर्दा, यदि कुनै व्यक्तिले परमेश्‍वरले उसलाई दिनुभएको तर उसले सबैभन्दा सानो र महत्त्वहीन ठानेको कुरा गुमायो भने, त्यो व्यक्ति यस विन्दुमा, कुनै खुशी नभएको कष्टको पासोमा पर्छ। त्यसकारण, कहिल्यै पनि यस्तो विन्दुमा नपुग्। यदि तैँले यसो गरिस् भने, तँलाई लाग्‍न सक्छ कि तेरो काँधबाट बोझ उठाइएको छ, तँलाई मुक्त गरिएको छ, तँलाई आराम मिलेको छ, र तैँले अबदेखि परमेश्‍वरमा विश्‍वास गर्नु वा आफ्नो कर्तव्य निभाउनुपर्दैन, र तँ गैरविश्‍वासीहरू जस्तै, र पिँजडाबाट निस्केको चरो जस्तै स्वतन्त्र र मनमौजी रूपमा जिउन सक्छस्। तर त्यो त क्षणिक सहजता, आनन्द, र आत्मसन्तुष्टि मात्रै हो। अघि बढ्ने क्रममा, अगाडिको बाटो हेर्ने गर्—के तँ अझै पनि यतिकै खुशी रहनेछस् त? अहँ, रहनेछैनस्। कठिन समयहरूले तँलाई पर्खिरहेको हुन्छ! जब तँ सृष्टिकर्ताको प्रभुत्वमा जिउँछस्, तब सृष्टिकर्ताले तेरो लागि परिस्थितिहरू जे-जसरी योजनाबद्ध गर्नुभए नि, उहाँले तँलाई जे गर्नुभए नि र जसरी गर्नुभए नि, उहाँले जति नै धेरै परीक्षा र संकष्टहरू ल्याउनुभए नि, तैँले जति नै धेरै कष्टहरू भोग्‍नुपरे नि, वा बुझाइहीनता, गलतफहमी, र अरू कुराहरू देखा परे नि, कम्तीमा तैँले आफू परमेश्‍वरको हातमा छु, परमेश्‍वर तेरो भर हुनुहुन्छ, र तेरो हृदय शान्तिमा छ भन्‍ने महसुस गर्नेछस्। तर जब परमेश्‍वरले तँलाई अब उप्रान्त चाहनुहुन्‍न, र जब तैँले परमेश्‍वरले तँसँग कसरी व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा महसुस गर्न छोड्छस्, र तैँले यो भरोसा गुमाउँछस्, तब तेरो वरिपरिको संसार तहसनहस भएको जस्तै हुनेछ। यो त तँ सानो हुँदाको बेला तैँले यस्तो मात्रै सोचिरहेजस्तो हुन्छ, “आमा सबैभन्दा प्रिय हुनुहुन्छ, आमाले मलाई सबैभन्दा बढी वास्ता गर्नुहुन्छ र सबैभन्दा बढी प्रेम गर्नुहुन्छ, आमा मर्न सक्‍नुहुन्‍न।” तेरो आमा बिरामी छे भन्‍ने सुनेपछि तैँले यो कुरा सहन पनि सक्दैनथिस्। तँलाई यदि तेरो आमा साँच्‍चै नै मर्नुभयो भने, आकाश खस्नेछ, र तँसित बाँच्ने कुनै उपाय हुनेछैन भन्‍ने लाग्थ्यो। परमेश्‍वरमा विश्‍वास गर्ने कार्यमा पनि यही तर्क लागू हुन्छ। परमेश्‍वरमाथिको व्यक्तिको विश्‍वासमा सबैभन्दा ठूलो शान्ति र आनन्द परमेश्‍वरमा भरोसा गर्ने कार्यबाट, र आफ्नो नियति सृष्टिकर्ताको हातमा छ भन्‍ने विश्‍वास गर्ने कार्यबाट आउँछ। व्यक्तिमा स्थिरताको बोध यो साँचो भरोसा र निर्भरताबाट आउँछ। जब तँलाई यो भरोसा र निर्भरता गुमेको छ भन्‍ने लाग्छ, र तेरो हृदय भर्खरै खनिएको खाल्डोजस्तै खोक्रो भएको महसुस हुन्छ, तब के त्यो तेरो आकाश खसेसरह हुँदैन र? के तैँले आफ्नो निर्भरता गुमाएपछि तँसँग जिउने शक्ति हुन्छ र? त्यस्ता मानिसहरू त जिउँदा लासहरूजस्तै हुन्, जो आफ्नो अन्त्यको प्रतीक्षा गर्दा पेट भर्दै बसिरहेका हुन्छन्।

अहिले, कतिपय मानिसहरूले निरन्तर खराब व्यवहार प्रदर्शन गर्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा निरन्तर दुष्कर्म गर्छन् र मण्डलीको काममा बाधा, व्यवधान, र हानि गर्छन्, यहाँसम्म कि परमेश्‍वरको घरका हितहरूमा ठूलो घाटासमेत पुर्‍याउँछन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरप्रति इमानदारिता वा बफादारिता देखाएका हुँदैनन्, झन् समर्पणता देखाउने त कुरै नगरौँ। त्यसकारण, परमेश्‍वरले तिनीहरूलाई कहिल्यै पनि स्वीकार गर्नुभएको हुँदैन। तिनीहरू आशिष्‌हरू पाउने अभिप्राय लिएर परमेश्‍वरको घरमा घुसपैठ भएका दुष्ट मानिसहरू हुन्। परमेश्‍वरका चुनिएका मानिसहरूले पाठहरू सिकून् र तिनीहरू समझशक्तिमा वृद्धि होऊन् भनेर परमेश्‍वरले तिनीहरूलाई प्रवेश गर्न दिनुहुन्छ। तिनीहरू बोलाइएका मानिसहरू नै भए नि, तिनीहरूले निरन्तर देखाउने व्यवहारको कारण तिनीहरूलाई छनौट गरिएको हुँदैन। तिनीहरूको स्थिति कस्तो हुन्छ? तिमीहरूले सोधपुछ गर्न सक्छौ; तिनीहरूमध्ये कसैको जीवन पनि राम्ररी अघि बढिरहेको हुँदैन। परमेश्‍वरमा भरोसा गर्ने र कुनै पनि बेला, कुनै पनि ठाउँमा उहाँको भरणपोषण प्राप्त गर्ने मानिसहरूको जीवनको गुणस्तर परमेश्‍वरको भरणपोषण र सहयोग नपाउने र परिस्थितिहरू आइपर्दा सधैँ अन्त्यहीन खाडलमा पर्ने मानिसहरूको भन्दा निकै फरक हुन्छ। परमेश्‍वरको भरणपोषण प्राप्त नगर्ने मानिसहरूसँग कुनै शान्ति वा आनन्द हुँदैन, तिनीहरूले दिनभर डर, असहजता, बेचैनी, र चिन्ता अनुभव गर्छन्। तिनीहरूले कस्तो दिन बिताउँछन्? के आफ्नो दिन अन्त्यहीन खाडलमा बिताउनु सजिलो हुन्छ? अहँ, यो सजिलो हुँदैन। यो अन्त्यहीन खाडलको त कुरा छोडौँ, तैँले यदि एकपछि अर्को नकारात्मकतामा केही दिन बिताइस् नै भने पनि, तँलाई धेरै नै कष्ट हुनेछ। त्यसकारण, वर्तमान समयलाई बहुमूल्य ठान्, र यो महान् अवसरलाई नगुमा। परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापनको काममा आफ्नो कर्तव्य निर्वाह गर्नु सम्मानको कुरा हो। यो हरेक व्यक्तिको लागि सम्मानको कुरा हो। यो अपमानको कुरा होइन; मुख्य कुरा भनेको तैँले परमेश्‍वरबाट प्राप्त गरेको यो सम्मानलाई कसरी लिन्छस् र यसको ऋण कसरी चुकाउँछस् भन्‍ने हो। परमेश्‍वरले तँलाई उत्थान गर्नुभएको छ; उहाँको दयाप्रति आभारी हुन नचुक्। परमेश्‍वरको अनुग्रहको ऋण कसरी तिर्ने त्यो तैँले जान्‍नुपर्छ। तैँले यो ऋण कसरी तिर्नुपर्छ? परमेश्‍वरले तेरो पैसा वा जीवन चाहनुहुन्‍न, र उहाँले तेरो परिवारबाट प्राप्त भएका कुनै पनि सरसम्पत्ति चाहनुहुन्‍न। परमेश्‍वरले के चाहनुहुन्छ? परमेश्‍वरले तेरो इमानदारिता र बफादारिता चाहनुहुन्छ। यो इमानदारिता र बफादारिता कसरी प्रकट हुन्छ? यो परमेश्‍वरले जे भन्‍नुभए पनि, इमानदार हृदय प्रस्तुत गर्न र उहाँका वचनहरूअनुसार काम गर्न सक्दो प्रयास गर्ने तेरो प्रतिबद्धतामा प्रकट हुन्छ। परमेश्‍वरका वचनहरू के हुन्? ती सत्यता हुन्। तैँले सत्यतालाई सत्यता मानेपछि र स्वीकार गरेपछि, तैँले यसलाई कसरी लागू गर्नुपर्छ? तैँले सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ। परमेश्‍वरले जे भन्‍नुहुन्छ, ठ्याक्‍कै त्यही गर्। सत्यता अभ्यास गर्ने कार्यलाई मुखले मात्रै बोल्‍ने र त्यसपछि परिस्थितिहरू सामना गर्दा आफ्नो इच्छाअनुसार काम गर्ने, पछि बहाना बनाउने र देखावटी र छली शब्दहरू बोल्‍ने, र यसरी इमानदारिता र बफादारिताको कमी देखाउने नगर्—परमेश्‍वरले यस्तो कुरा हेर्न चाहनुहुन्‍न। व्यक्तिको सबैभन्दा बहुमूल्य कुरा इमानदारिता हो। इमानदार व्यक्तिले कसरी व्यवहार गर्नुपर्छ? तिनीहरूले कामकुराहरू ठ्याक्‍कै परमेश्‍वरले तोक्‍नुभए जसरी गर्नुपर्छ, र निरन्तर परमेश्‍वरका वचनहरू पालना गर्नुपर्छ। तिनीहरूले नियमहरू पालना गरे जसरी हदभन्दा बढी गरिरहे भने पनि, र अरूले तिनीहरूलाई अलि मूर्ख ठाने भने पनि, तिनीहरूले वास्ता गर्नु हुँदैन। तिनीहरूले अझै पनि परमेश्‍वरका वचनहरू पालना गरिरहनुपर्छ। परमेश्‍वरले मानिसहरूको यो इमानदारिता चाहनुहुन्छ। यदि तँ सधैँ षड्यन्त्र गरिरहन्छस् र धूर्त हुन्छस्, र अरूको नजरमा मूर्खजस्तो देखिन र आफ्ना हितहरूमा अलिकति पनि घाटा भोग्‍न कहिल्यै इच्छुक हुँदैनस् भने, तैँले सत्यता अभ्यास गर्न सक्दैनस् किनभने तँमा इमानदारिताको कमी छ। इमानदारिताको कमी भएका र अझै पनि छली हुन प्रयास गर्ने मानिसहरू अत्यन्तै धृर्त हुन्छन्, र परमेश्‍वरले तिनीहरूलाई मन पराउनुहुन्‍न। जब तिनीहरूले परमेश्‍वरका वचनहरू अभ्यास गर्छन्, तब तिनीहरूले रोज्‍ने र छान्‍ने गर्छन्, र आफूलाई फाइदा हुने कुरा मात्रै अभ्यास गर्छन् र फाइदा नहुने कुराबाट टाढै बस्छन्। तिनीहरूले प्रायजसो मिठो बोल्छन्, भव्य सुनिने विचारहरूबाहेक अरू केही बोल्दैनन्, तर जब समस्याहरू देखा पर्छन्, तब तिनीहरू लुक्छन्, नामनिशानै नरहने गरी हराउँछन्, र ती समस्याहरू अरूले नै समाधान गरेपछि मात्रै तिनीहरू फेरि देखा पर्छन्। त्यस्तो व्यक्ति कस्तो दुष्ट हो? जब कुनै कुरा तिनीहरूको लागि फाइदाजनक हुन्छ, तब तिनीहरूले अग्रसरता जनाउँछन् र अघि बढ्छन्, तिनीहरू अरूभन्दा बढी सक्रिय हुन्छन्। तैपनि, जब तिनीहरूको व्यक्तिगत हितहरूमा खतरा पर्छ, तब तिनीहरू पछि हट्छन् र नकारात्मक बन्छन्। तिनीहरूले आफ्ना सबै मिठा शब्दहरू, आफ्ना अडान, र दृष्टिकोणहरू गुमाउँछन्। परमेश्‍वरले यस्ता व्यक्ति मन पराउनुहुन्‍न। उहाँले यस्ता धूर्त व्यक्तिभन्दा अरूको नजरमा मूर्ख देखिने व्यक्ति मन पराउनुहुन्छ।

१२. राजनीतिबारे छलफल गर्नु

हामीले अगुवा र सेवकहरूको बाह्रौँ जिम्मेवारीभित्र समावेश रहेका एघार वटा समस्याहरूबारे सङ्गति गरिसकेका छौं। एघार वटा समस्याबाहेक, यसमा एउटा अर्को समस्या थपौँ। मण्डली जीवनमा यो कुरा सामान्य रूपमा नदेखिने भए नि, यसलाई यहाँ उठाउनुपर्छ, र यसलाई बाह्रौं समस्या बनाउनुपर्छ—राजनीतिबारे छलफल गर्नु। के राजनीतिक विषयहरूबारे छलफल गर्नु मण्डली जीवनमा उचित हुन्छ? (हुँदैन।) मण्डली जीवन भनेको परमेश्‍वरको वचन पढ्नको लागि, परमेश्‍वरको आराधना गर्नको लागि, र परमेश्‍वरबारेको आफ्नो बुझाइ र परमेश्‍वरका वचनहरूको अनुभवात्मक ज्ञान बाँड्नको लागि हो। तैपनि, यो अवधिमा कति मानिसहरूले त राजनीतिक परिस्थितिहरू, राजनीतिक व्यक्तित्वहरू, राजनीतिक परिदृश्य, राजनीतिक दृष्टिकोणहरू, र राजनीतिक अडानहरूजस्ता राजनीतिका कुराहरूबारे विस्तृत रूपमा बोल्छन्। के यो उचित छ? परमेश्‍वरले सबैथोक र मानवजातिमाथि सार्वभौमिकता राख्‍नुभएको विषयबारे छलफल गर्दा, कति मानिसहरूले राजनीतिक व्यक्तिहरू पनि परमेश्‍वरको हातमा छन् भन्‍ने विचार स्वतः रूपमा लागू गर्छन्, र यस क्रममा तिनीहरूले निश्‍चित राजनीतिक व्यक्तिहरूले पनि परमेश्‍वरमा विश्‍वास गर्छन्, उहाँलाई पछ्याउँछन्, र आत्मिक नोटहरू लेख्छन् र यस्तै अरू के-के हो के-के गर्छन् भनेरसमेत बताउँछन्। के यो अरूलाई अन्योलमा पार्नु होइन र? कति मानिसहरूले त यसोसमेत भन्छन्, “हामी इसाईहरूले यो राजनीतिज्ञलाई साथ दिनुपर्छ किनभने ऊ विश्‍वासी मात्र होइन, उसले त विश्‍वासीहरूका हितहरूको रक्षासमेत गर्छ। ऊ हाम्रै पक्षमा छ, र हामीले उसलाई साथ दिनु र निर्वाचित गर्नुपर्छ।” मण्डली जीवनमा, तिनीहरूले त्यो राजनीतिक व्यक्तित्वबारे व्यापक रूपमा प्रचारसमेत गर्छन्। के यो उचित छ? के इसाईहरू राजनीतिमा सहभागी हुन्छन्? (हुँदैनन्।) सहभागी हुनबाट जोगिन तैँले के गर्न सक्छस्? पहिलो कुरा, तैँले जुनसुकै पार्टीलाई समर्थन गरे नि, वा तेरा राजनीतिक दृष्टिकोणहरू जे भए नि, ती कुरालाई छलफलको लागि मण्डली जीवनमा नले। अनि अवश्य नै, अझै महत्त्वपूर्ण कुराचाहिँ के हो भने, फरकफरक राजनीतिक दृष्टिकोण भएका मानिसहरूबीच हुने बहसहरू मण्डली जीवनमा कदापि देखा पर्नु हुँदैन। उदाहरणको लागि, यदि तेरो र अरू कसैको दृष्टिकोण फरक छ र तिमीहरूले फरकफरक राजनीतिक व्यक्तित्वहरूलाई समर्थन गर्छौ भने, तिमीहरूले एकअर्कालाई भेट्दा यसबारे छलफल गर्न चाहन सक्छौ; यो अनुमतियोग्य छ, तर भेलाहरूमा भने तिमीहरूले कहिल्यै कदापि त्यसो गर्न सक्नेछैनौ। तिमीहरू दुई जनाले व्यक्तिगत मेसेज पठाउन सक्छौ, भेटेर कुरा गर्न सक्छौ, वा तिमीहरूको अनुहार रातो नभएसम्म तर्कसमेत गर्न सक्छौ, र कसैले पनि हस्तक्षेप गर्नेछैन; यो लोकतान्त्रिक प्रणालीमा रहेको नागरिक अधिकार हो। तर मण्डली जीवनको अवधिमा, तँ देशको नागरिक मात्रै हुँदैनस्; तर त्योभन्दा महत्त्वपूर्ण रूपमा, तँ सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको सदस्य हुन्छस्। यो परिवेशमा, तेरो पहिचान त्यही हो। राजनीतिक विषय वा राजनीतिक व्यक्तित्वहरूसँग सम्बन्धित विषयहरू मण्डलीमा नल्याओ। तैँले छलफल गर्ने कुराले मण्डलीको नभई, तेरो व्यक्तिगत अडान र दृष्टिकोण मात्रै प्रतिनिधित्व गर्छ। मण्डलीलाई न त राजनीतिप्रति, न त कुनै पनि राजनीतिक प्रणाली, व्यक्तित्व, नेता, वा समूहप्रति नै चासो हुन्छ, किनभने यी कुराहरू सत्यतासँग सम्बन्धित हुँदैनन् र ती परमेश्‍वरमा विश्‍वास गर्ने कार्यसँग सम्बन्धित हुँदैनन्। राजनीतिसँग सम्बन्धित कुनै पनि विषय मण्डली जीवनमा उठाइनु हुँदैन। कतिले सोध्छन्, “त्यसोभए मण्डली जीवनभन्दा बाहिर सबैले भेला भएर यसबारे छलफल गर्नु ठीक हुन्छ?” त्यसो नगर्नु नै बेस हुन्छ। यदि तँ फरक-फरक राजनीतिक दृष्टिकोण भएका गैर-विश्‍वासीहरूबीच हुने छलफलमा सहभागी हुन चाहन्छस् भने, त्यो तेरै हातमा छ; त्यो तेरो स्वतन्त्रता हो, र परमेश्‍वरको घरले हस्तक्षेप गर्नेछैन। तर मण्डली सदस्यहरू भेला हुँदा, वा औपचारिक भेलाको समयमा, यी राजनीतिक दृष्टिकोण वा तर्कहरूलाई मुख्य विषयहरूको रूपमा नउठा, र तेरा राजनीतिक दृष्टिकोणहरू परमेश्‍वरका वचनहरू, सत्यता, वा परमेश्‍वरको सार्वभौमिकतासँग सम्बन्धित छन् भन्‍ने झूटो नाटक नगर्। तेरा राजनीतिक दृष्टिकोणहरू सत्यतासँग पूरै असम्बन्धित हुन्छन्, तिनको सत्यतासित थोरैसमेत सम्बन्ध हुँदैन, त्यसकारण सम्बन्ध हुन्छ भन्‍ने नाटक नगर्!

कति मानिसहरू राजनीतिबारे कुरा गर्न चाहन्छन् तर घरमा यो विषयमा छलफल गर्ने कोही हुँदैन, त्यसकारण कुराकानी कहिल्यै हुन सक्दैन। दाजुभाइ-दिदीबहिनीहरू सबै वयस्क छन् भन्‍ने देखेर, तिनीहरूले राजनीतिबारे छलफल गर्ने र आफ्नो राजनीतिक दृष्टिकोणहरू पोखाउने माध्यम भेटेको विश्‍वास गर्छन्। तिनीहरूले यो राम्रो अवसर भेटेकोमा उत्साहित हुन्छन्, अनि राजनीतिक दृष्टिकोण, वर्तमान घटनाहरू, र अन्तर्राष्ट्रिय परिस्थितिबारे कुरा गर्न चाहन्छन्। यी कुराहरूबारे छलफल गर्दा, तिनीहरूले यसो भन्दै सुरु गर्छन्, “यी सबै कुरा परमेश्‍वरको सार्वभौमिकतामा छन्। मानवजातिको राजनीति र यी राजनीतिज्ञहरू पनि परमेश्‍वरको सार्वभौमिकतामा छन्। तिनीहरूलाई परमेश्‍वरले नै तय गर्नुभएको हो।” यो प्रस्तावनापछि, तिनीहरूले राजनीति र वर्तमान घटनाहरूबारे विस्तृत रूपमा छलफल गर्न थाल्छन्, र “राजनीति परमेश्‍वरको सार्वभौमिकताबाट उम्कन सक्दैन; यो सबैमा परमेश्‍वरको असल अभिप्राय हुन्छ” भनेर निष्कर्ष निकाल्छन्। यदि मानिसहरूले छर्लङ्गैसित यी कुराहरू देख्‍न सक्दैनन् भने, तिनीहरूले यी कुराहरूबारे लापरवाह रूपमा बोल्नु हुँदैन। सत्यता सङ्गति गर्नु भनेको सत्यता सङ्गति गर्नु नै हो; राजनीति वा राजनीतिक व्यक्तित्वहरूबारे छलफल नगर्। राजनीतिबारे छलफल गर्नु भनेको सत्यता सङ्गति गर्नु होइन, बरु यो त मानिसहरूलाई बहकाउनु हो। यदि तँ राजनीतिबारे कुरा गर्न चाहन्छस् भने, राजनीतिलाई प्रेम गर्ने मानिसहरूको समूह खोज्, अनि गएर तिनीहरूसँग आफै कुरा गर्; तैँले आफ्नो धीत मर्ने गरी कुरा गर्न सक्‍नेछस्। मण्डलीमा सधैँ यी विषयहरूबारे कुरा गरेर तैँले के लक्ष्य राखिरहेको हुन्छस्? के तैँले जानीजानी मानिसहरूलाई तँप्रति आदर गर्न लगाउने र तँलाई अगुवाको रूपमा छनौट गर्न लगाउने प्रयास त गरिरहेको छैनस्? यो त गुप्त मनसाय राख्‍नु हो! राजनीतिबारे बोल्न मन पराउने मानिसहरू आफ्ना उचित कामहरूमा संलग्‍न नहुने र अवश्य नै सत्यता नपछ्याउने मानिसहरू हुन्। मण्डली भेलाहरूमा कहिल्यै पनि राजनीतिक विषयहरूबारे छलफल नगर्। कति मानिसहरू भन्छन्, “यदि हामीले स्वतन्त्र देशका लोकतान्त्रिक निर्वाचन, राजनीतिक प्रणाली, र नीतिहरूबारे कुरा गर्न सक्दैनौँ भने, के त्यसोभए ठूलो रातो अजिङ्गरको देशमा रहेका माथिल्ला अधिकारीहरूका राजनीति र घोटालाहरू, जस्तै कुनै भ्रष्ट अधिकारीले कति धेरै सुन लिएको छ, र उसले कति प्रेमिका राखेको छ भन्‍नेबारे पनि कुरा गर्न सकिँदैन, हो? के हामीले यी कुराहरूबारे छलफल गर्न सक्छौँ?” के यी विषयहरूप्रति तँलाई घिन लाग्दैन र? तँलाई किन यी घृणित कुराहरूप्रति यति धेरै चासो हुन्छ? मलाई किन यी कुराहरूबारे वास्ता गर्नु र पढ्नु घृणित लाग्छ? कति मानिसहरूलाई त यी कुराहरूप्रति नै विशेष चासो हुन्छ, र यी कुराहरूलाई घृणित ठान्दैनन्। तिनीहरू यी कुराहरूबारे अनलाइन पढ्न तयार हुन्छन्, र तिनीहरूले जब-जब समय हुन्छ तब-तब पढ्ने गर्छन्। यी कुराहरूबारे पढ्दा तिनीहरूलाई हृदय सहज, सुरक्षित, र पूर्ण भएको महसुस हुन्छ। तिनीहरूले कसरी परमेश्‍वरको वचन पढ्दाचाहिँ यस्तो पूर्ण भएको महसुस नभएको हो? के यो अलिक नीच कुरा होइन र? के यो उचित कामहरू बेवास्ता गर्नु होइन र? त्यस्ता महान् समयहरूमा त आँगनमा हिँड्दा, केही ताजा हावा लिँदा, र दृश्यावलोकन गर्दासमेत तेरो मुड उज्यालो हुनेथ्यो। तर कतिले त यी कुराहरू गर्नै मान्दैनन्; बरु, जब-जब तिनीहरूसँग केही खाली समय हुन्छ, तब-तब तिनीहरूले कम्प्युटर हेर्छन्, समाचारहरू हेर्छन्, र अफवाहहरू सङ्कलन गर्छन्, जस्तै कुन भ्रष्ट अधिकारीको कति प्रेमिका छन्, कुन भ्रष्ट अधिकारीको कति सम्पत्ति खोसियो, ठूलो रातो अजिङ्गरको कुन ठूलो नेताले कसलाई ढलायो, वा कसले कसको हत्या गर्‍यो। तिनीहरूले प्रायजसो ध्यान दिने कुराहरू यिनै हुन्। तिनीहरूले यो जानकारी सङ्कलन गरेपछि ज्ञानले भरिएको महसुस गर्छन्, र त्यसपछि तिनीहरूले भेलाहरूमा सबैलाई जानकारी दिन्छन्। के यो विष फैलाउनु होइन र? के यी दियाबलसहरूले दुष्कर्म गर्नु अत्यन्तै सामान्य कुरा होइन र? कति मानिसहरूले भन्छन्, “तिनीहरूले दुष्कर्म गर्नु सामान्य कुरा हो, तर तिनीहरूले गर्ने केही भयानक कुराहरू त तिमीले कल्पनासमेत गर्न सक्दैनौ।” ती कुराहरू कल्पना गर्नुको के फाइदा? के तिनीहरूले के-कस्ता दुष्ट कुराहरू गर्छन् भनेर कल्पना गर्न भनेर तँलाई दिमाग दिइएको हो? के यो आफ्नो उचित कामहरू बेवास्ता गर्नु होइन र? के तँलाई केही कल्पना गर्न नसकिने दुष्टताबारे जानेर तँ श्रेष्ठ हुन्छस् भन्‍ने लाग्छ? यसबाट तैँले के प्राप्त गर्न सक्छस्? के यसले तँलाई अझै घिन महसुस गराउँदैन र? आफ्नो उचित काम बेवास्ता गर्ने यी मानिसहरूले सधैँ राजनीतिक दृश्यका यी फोहोरी र नीच कुराहरूबारे वास्ता गर्छन्। के तिनीहरू सरल-मनका छैनन् र? आफ्नो जीवन जिउनुको सट्टा किन सधैँ तिनीहरूका मामलाहरूबारे चिन्ता गर्ने? के यो मूर्खता होइन र? के यो त गर्नलाई अरू कुनै राम्रो कुरा नभएजस्तो भएन र? कति मानिसहरू भन्छन्, “विश्‍वासीहरूलाई ठूलो रातो अजिङ्गरले सताउँछ। तिनीहरूले ठूलो रातो अजिङ्गरलाई घृणा गर्नैपर्छ। अवश्य नै विश्‍वासीहरूलाई ठूलो रातो अजिङ्गरका माथिल्ला अधिकारीहरूका घोटाला, भ्रष्टता, दुर्व्यवहार, र धूर्तता, साथै तिनीहरूले गर्ने काला कर्तुतहरूप्रति चासो हुनेछ। के यी घोटालाहरू पर्दाफास हुँदा विश्‍वासीहरूले आनन्दसाथ ताली बजाउनुपर्दैन र?” के तैँले यी कुराहरू प्राप्त गर्नलाई परमेश्‍वरमा विश्‍वास गर्छस् र उहाँलाई पछ्याउँछस्? मण्डलीमा राजनीतिक मामलाहरूबारे कुरा गर्नु, विशेष गरी ठूलो रातो अजिङ्गरका माथिल्ला अधिकारीहरूका खुलासा गरिएका घोटालाहरूबारे कुरा गर्नु अत्यन्तै घृणित कुरा हो। तैँले यी कुराबारे पटक्‍कै छलफल गर्नु हुँदैन! अनि यी कुराबारे मसँग पनि कुरा नगर्; मलाई यस्ता कुरा घिन लाग्छ! म तँलाई भन्छु, यी कुराबारे कुरा नगर्‌ र यी कुराबारे नपढ्, नत्र ढिलोचाँडो तैँले यी कुराहरू पढेकोमा एकदिन पछुतो गर्नेछस्। जब तँलाई पछुतो हुन्छ, तब कस्तो महसुस हुन्छ भनेर तैँले थाहा पाउनेछस्; यी कुराहरू कति घृणित हुन सक्छन् भन्‍ने कुराको कुनै अन्तिम बिन्दु हुँदैन। यी कुराहरूबारे धेरै सुन्दा र पढ्दा कुनै फाइदा हुँदैन। यसले कुनै फाइदा हुँदैन भनेर मैले किन भनेँ? किनभने यी घृणित कुराहरूले आफ्नो मन भर्दा तँलाई परमेश्‍वरका वचनहरू सुन्‍न कुनै इच्छा हुँदैन। यी विषयहरू राजनीतिसँगै सम्बन्धित भए नि, यी कुराहरू झनै घृणित हुन्छन्। यदि तँ यी कुराहरूबारे कुरा गर्न चाहन्छस् भने, केही गैर-विश्‍वासीहरूसँग गएर धीत मर्ने गरी कुरा गर्, तिनीहरूलाई जे मन लाग्यो त्यही भन्, तर मण्डली जीवनमा वा दाजुभाइ-दिदीबहिनीहरूमाझ यी कुराहरूबारे पटक्‍कै कुरा नगर्। कति मानिसहरू भन्छन्, “ठूलो रातो अजिङ्गरका माथिल्ला अधिकारीहरूका फोहोरी र दुष्ट कार्यहरूबारे कुरा गर्दा, यसले दाजुभाइ-दिदीबहिनीहरूलाई समझशक्तिमा वृद्धि हुन र आफ्नो रिस पोखाउन मद्दत गर्छ।” रिस पोखाउनुको के फाइदा छ? के रिस पोखाउनु गवाही दिनु हो? के यो तेरो दायित्व वा कर्तव्य हो? यी कुराहरूबारे कुरा गर्नु व्यर्थ छ, र यसको कुनै मूल्य छैन। तैँले ठूलो रातो अजिङ्गरका दुष्ट कार्यहरूलाई जति नै पर्दाफास गरे नि, परमेश्‍वरले यसलाई याद गर्नुहुनेछैन। बरु यसविपरीत, यदि तैँले ठूलो रातो अजिङ्गरको सतावट कसरी अनुभव गरिस्, तँ यसको त्रास र धम्कीहरूबाट कसरी मुक्त भइस् र कसरी यसमाथि विजय प्राप्त गरिस्, र तैँले यस्तो वातावरणमा कसरी परमेश्‍वरमा भरोसा गरिस् र आफ्नो गवाहीमा दह्रिलो गरी खडा भइस् भन्‍नेबारे कुरा गरिस् भने, परमेश्‍वरले यो कुरा स्वीकार गर्नुहुन्छ। तर राजनीतिबारे कुरा गर्ने कार्यसँग जीवन प्रवेशको कुनै सम्बन्ध हुँदैन, र परमेश्‍वरले यसलाई स्वीकार गर्नुहुन्‍न। कति मानिसहरू भन्छन्, “मैले ठूलो रातो अजिङ्गरका अधिकारीहरूको भ्रष्टता, तिनीहरूले कसरी एक छाक खानाको लागि दशौँ हजार युआन खर्च गर्छन्, वा तिनीहरूले विलासी होटलहरूमा कति पैसा खर्च गर्छन् भन्‍ने कुरा पर्दाफास गर्छु; के यो ठीक हुन्छ?” यीमध्ये कुनै पनि कुरासँग तेरो के सम्बन्ध छ र? के यो संसार र यो समाज यस्तै छैन र? तँ कसको पक्षमा खडा भइरहेको छस्? यो परमेश्‍वरको गवाही दिनु होइन, न त यो ठूलो रातो अजिङ्गरको सार खुलासा गर्नु नै हो, अनि न त यो ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर्नुको प्रकटीकरण नै हो। मानिसहरूलाई अन्योलमा नपार् वा ढोँगी नबन्; यीमध्ये कुनै पनि कुरा सत्यता अभ्यास गर्नु होइन। भ्रष्ट अधिकारी र राजनीतिज्ञहरूको घुसखोरीपनसँग हाम्रो कुनै सम्बन्ध हुँदैन, न त यो हामीले पर्दाफास गर्नुपर्ने कुरा नै हो। यी कुराहरूबारे चिन्ता नगर्। यी कुराहरू त शैतानको शासनमा इतिहासभरि नै अस्तित्वमा रहँदै आएका छन्, र तिनीहरूले गर्ने कुराहरूसँग हामीले परमेश्‍वरको काम अनुभव गर्ने वा परमेश्‍वरको गवाही दिने कार्यको कुनै सम्बन्ध हुँदैन। त्यसकारण, चाहे जेसुकै भए नि, ती विषयहरूलाई “परमेश्‍वरको गवाही दिनको लागि ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर्नु र त्यसको पर्दाफास गर्नु” भन्‍ने विषयमा नमिसा, र यी अनौठा, घृणित, र दुष्ट कुराहरूलाई मण्डली जीवनमा वा दाजुभाइ-दिदीबहिनीहरूमाझ छलफलको लागि नले। यदि तँ साँच्‍चै नै राजनीतिबारे छलफल गर्न चाहन्छस् भने, गैर-विश्‍वासीहरूसँग छलफल गर्। तैँले त्यस्ता रुचि र चासोहरू भएका मानिसहरूसँग यसबारे जे-जसरी व्यक्तिगत रूपमा छलफल गरे नि त्यो ठीकै हुन्छ। त्यो तेरो व्यक्तिगत रुचि र चासो हो; त्यो तेरो स्वतन्त्रता र अधिकार हो, र त्यसमा कसैले पनि हस्तक्षेप गर्दैन। तर भेलाको बेला र दाजुभाइ-दिदीबहिनीहरूको अघि, यी कुराहरूबारे छलफल नगर्। कोही सुन्‍न तयार भए नि, यसबारे नबोल्, किनभने यसले मण्डली जीवनमा असर पार्छ र परमेश्‍वरका चुनिएका मानिसहरूको सत्यताप्रतिको बुझाइमा असर पार्छ।

चाहे यी कुराहरू राजनीतिसँग सम्बन्धित होऊन् वा राजनीतिज्ञहरूका व्यक्तिगत जीवनका घोटालाहरूसँग सम्बन्धित होऊन्, यी विषयहरूलाई छलफलको लागि मण्डली जीवनमा नले। यदि कसैलाई मण्डली जीवनका भेलाहरूको विषयवस्तुप्रति चासो छैन र उसलाई सधैँ यी कुराहरूबारे छलफल गर्न, हरेक भेलामा यिनैबारे कुरा गर्न मन पर्छ भने, दाजुभाइ-दिदीबहिनीहरूले के गर्नुपर्छ? तिनीहरूले त्यस्ता मानिसहरूलाई यसो भन्दै प्रतिबन्धित गर्नुपर्छ, “यो भेलाको समय हो, ती फोहोरी कुराहरूबारे नबोल। यदि तिमी ती कुराहरूबारे कुरा गर्न चाहन्छौ भने, घर गएर त्यहीँ नै कुरा गर!” यदि तिनीहरूलाई प्रतिबन्धित गर्न सकिँदैन र पनि तिनीहरूले यसबारे कुरा गर्छन् भने के गर्ने? तिनीहरूलाई बाहिर निकालिदे, र यस्तो कुरा गर्न छोडेपछि आउनू भनेर भन्। अझै प्रभावकारी अर्को तरिका पनि छ: तिनीहरूले राजनीतिबारे कुरा गर्न मुख खोल्नेबित्तिकै, दाजुभाइ-दिदीबहिनीहरू उठेर अर्को कोठामा जानुपर्छ, र तिनीहरूलाई एकलै बोल्न छोडिराख्‍नुपर्छ। छोटकरीमा भन्दा, राजनीतिबारे कुरा गर्न मन पराउने मानिसहरू अवश्य नै अस्तित्वमा हुन्छन्। त्यस्ता मानिसहरूले उचित कामहरू बेवास्ता गर्छन्, सत्यता पछ्याउँदैनन्, आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने भनेर मनन गर्दैनन्, मण्डलीको काममा के-कस्ता कठिनाइहरू छन् वा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले के-कस्ता कठिनाइहरू सामना गर्छन् भनेर मनन गर्दैनन्, र तिनीहरूले आफ्नै बारेका के-कस्ता वास्तविक समस्याहरू समाधान गर्नुपर्छ भनेर मनन गर्दैनन्—तिनीहरूले यी उचित मामलाहरूबारे मनन गर्दै गर्दैनन्। बरु यसको साटो, तिनीहरूले ती दुष्ट र कुटिल कुराहरूबारे मात्रै मनन गर्छन्, र ती कुराहरूप्रति विशेष उत्साहित हुन्छन्। खासगरी अहिले, हरप्रकारका माध्यमहरूबाट जानकारी व्यापक रूपमा फैलिने र पहुँचयोग्य हुने हुनाले—यसले यी मानिसहरूलाई आफ्ना रुचि र चासोहरू सन्तुष्ट पार्न मद्दत गर्छ। हामी तिनीहरूको रुचि र चासोहरूमा हस्तक्षेप गर्दैनौँ, तर परमेश्‍वरको घरको एउटा नियम छ, जसले भेलाहरूमा राजनीतिक विषयहरूबारे छलफल गर्नुलाई मण्डलीको काममा बाधा र व्यवधान ल्याउने समस्याको रूपमा सूचीकृत गर्छ। त्यसकारण, मण्डली जीवनमा र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको भेलामा यी विषयहरूलाई कडाइसाथ निषेध गरिएको छ। कत्ति मानिसहरू भन्छन्, “यी विषयहरू निषेधित छन्, तर हाम्रा विभिन्‍न राजनीतिक दृष्टिकोणहरू, हामीलाई कुन पार्टी मन पर्छ वा कुन मन पर्दैन, कसलाई भोट दिन्छौं वा कसलाई दिँदैनौँ भन्‍नेबारेमा के हुन्छ—के मण्डलीले यी कुराहरूमा हस्तक्षेप गर्छ?” यसलाई स्पष्ट पारौँ: तँ जसलाई चाहन्छस्, त्यसैलाई भोट दे, र जसलाई चाहन्छस्, त्यसैलाई मन परा—मण्डलीले यी मामलाहरूमा हस्तक्षेप गर्दैन, यो तेरो स्वतन्त्रता हो। के यो हस्तक्षेप नगर्नु पनि आफैमा उदारता होइन र? तैँले नागरिकको रूपमा आफ्ना दायित्व र मानव अधिकारहरू पूर्ण रूपमा उपभोग गरेको छस्; के त्यो आदर नै पर्याप्त हुँदैन र? यो पहिले नै पर्याप्त रूपमा राम्रो कुरा हो; तैपनि के तँ अझै मण्डलीमा स्वतन्त्र रूपमा र धीत मर्ने गरी बोल्न चाहन्छस्? त्यो नियमविपरीत हुन्छ। यदि तैँले त्यस्ता मानिसहरूलाई भेटिस् भने, तिनीहरूलाई प्रतिबन्धित गर्ने कुनै उपाय खोज्। पहिला, तिनीहरूसँग स्पष्ट रूपमा यसो भन्दै सङ्गति गर्, “के तिमी विश्‍वासमा नयाँ छौ? के तिमी भेलामा आएको यो पहिलोपटक हो, र तिमीलाई परमेश्‍वरको घरका नियमहरू थाहा छैन? त्यसोभए मैले तिमीलाई यो कुरा भन्‍नैपर्छ: यो ठाउँ भेला हुने ठाउँ हो, र यो भेला हुने समय हो। तिमीसँग जे-जस्ता राजनीतिक दृष्टिकोण वा विचारहरू भए नि, तिमीले ती कुरा मण्डलीमा फैलाउनु हुँदैन, र तीबारे भेलाहरूमा छलफल गर्नु हुँदैन। हामी यस्तो कुरा सुन्‍न चाहँदैनौँ, न त हामी तिमीले यी कुराहरूबारे बोलेको सुन्‍न नै बाध्य छौं। तिमीले गलत ठाउँ छनौट गर्‍यौ। भेलापछि, जब तिमी यो ठाउँबाट बाहिर जान्छौ, तब तिमीले आफूलाई जे मन लाग्यो त्यही भन्‍न सक्छौ; कसैले पनि हस्तक्षेप गर्दैन। त्यो तिम्रो स्वतन्त्रता हो।” यदि तिनीहरूले तैँले भनेको कुरा बुझे, अनि त्यो याद गरेर अर्कोपटक यसबारे कुरा गरेनन् भने, त्यो ठीकै हुन्छ, र यसरी तिनीहरूले आफैलाई केही समझशक्ति दिलाएका हुन्छन्। तर यदि सङ्गति गरेपछि पनि तिनीहरूले त्यसरी नै कुरा गरिरहन्छन्, हरेक भेलामा सधैँ राजनीतिक दृष्टिकोणहरू बताइरहन्छन् भने, के तिनीहरूलाई बोल्नबाट प्रतिबन्धित गर्नुपर्छ? (हो।) कुनै व्यक्ति राजनीतिमा संलग्‍न भए नि नभए नि, यदि उसले राजनीतिक विषयहरूबारे कुरा गर्छ भने, यसलाई गुटबन्दी गर्ने, हैसियतको लागि प्रतिस्पर्धा गर्ने, नकारात्मकता पोखाउने, र यस्तै अन्य व्यवहारहरूसँगै परमेश्‍वरको घरको काममा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिस, घटना, र कुराहरूको रूपमा वर्गीकरण गर्नुपर्छ। त्यस्ता मानिसहरूप्रति कुनै शिष्टता देखाउन सकिँदैन; तिनीहरूलाई रोक्‍नुपर्छ र प्रतिबन्धित गर्नुपर्छ। अवश्य नै, राजनीतिबारे कुरा गर्ने मानिसहरू दुष्ट वा असल नै हुन्छन् भन्‍ने हुँदैन; तिनीहरूलाई यी समस्या र विषयहरू मन परेको हुन सक्छ। तर यी मानिसहरूले साँच्‍चै सत्यता पछ्याउँदैनन् भन्‍ने कुरामा चाहिँ हामी निश्‍चित हुन सक्छौँ। छोटकरीमा भन्दा, यी मानिसहरूलाई निराकरण गर्ने सिद्धान्तबारे स्पष्ट रूपमा सङ्गति गरिसकिएको छ: तिनीहरूलाई परमेश्‍वरको घरका नियमहरू बताओ। यदि तिनीहरूलाई स्पष्ट रूपमा व्याख्या गरेपछि तिनीहरूले राजनीतिक विषयहरूबारे कुरा गरिरहन्छन् र चेतावनीहरू मान्दैनन् भने, तिनीहरूलाई अलग राख्‍नुपर्छ। तिनीहरूले पश्‍चात्ताप गरेपछि मात्रै मण्डली जीवन जिउन सक्छन्। यदि तिनीहरूले कहिल्यै पश्‍चात्ताप गरेनन् भने, तिनीहरूलाई भेलाहरूमा आउन नदेओ। यो मामला सम्हाल्नु त्यति सरल हुनुपर्छ। सरल कुरालाई जटिल नबनाओ, यसले कसैलाई फाइदा गर्दैन।

जुलाई २४, २०२१

अघिल्लो: अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (१७)

अर्को: अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (२०)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्