अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१८)

विषयवस्तु बाह्र: परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा दिने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सुल्टाउने; यसअतिरिक्त, सत्यता सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूबाट सुझबुझ विकास गरून् र ती कुराहरूबाट सिकून् (भाग छ)

मण्डली जीवनमा बाधा र अवरोध ल्याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरू

औ. आधारहीन अफवाह फैलाउनु

पछिल्‍लो भेलामा, हामीले अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारीका बारेमा सङ्गति गर्‍यौँ: “परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा दिने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सुल्टाउने; यसअतिरिक्त, सत्यता सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूबाट सुझबुझ विकास गरून् र ती कुराहरूबाट सिकून्।” परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र अवरोध ल्याउने विभिन्‍न मानिस, घटना, कामकुराहरू जुन मण्डली जीवनमा देखा पर्छन्, हामीले यी कुराहरूलाई एघार वटा समस्यामा विभाजित गरेका छौँ। तिनलाई फेरि पढ। (पहिलो, सत्यतामा सङ्गति गर्दा बारम्बार विषयभन्दा बाहिर जानु; दोस्रो, मानिसहरूलाई बहकाउन र तिनीहरूको सम्मान जित्नका लागि शब्द र धर्मसिद्धान्तहरू बोल्नु; तेस्रो, घरायसी मामलाहरूका बारेमा बकबक गर्नु, व्यक्तिगत सम्पर्कहरू निर्माण गर्नु, र व्यक्तिगत मामलाहरू सम्हाल्नु; चौथो, गुटबन्दी गर्नु; पाँचौँ, हैसियतका लागि प्रतिस्पर्धा गर्नु; छैटौँ, अनुचित सम्बन्धहरूमा संलग्‍न हुनु; सातौँ, एक-अर्कालाई आक्रमण र गालीगलौज गर्नु; आठौँ, धारणाहरू फैलाउनु; नवौँ, नकारात्मकता पोखाउनु; दशौँ, आधारहीन अफवाह फैलाउनु; र एघारौँ, निर्वाचनमा धाँधली र अवरोध गर्नु।) पछिल्‍लो पटक, हामीले नवौँ समस्याबारे सङ्गति गर्‍यौँ। आज, हामी दशौँ समस्या—आधारहीन अफवाह फैलाउनु—बारे सङ्गति गर्नेछौँ।

क. आधारहीन अफवाह फैलाउनुका प्रकटीकरणहरू

मण्डलीमा आधारहीन अफवाह फैलाउने घटनाहरू भएका छन्। कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन् र आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता अभ्यास गर्नमा ध्यान दिँदैनन्; चाहे सत्यता सिद्धान्तहरूसँग सम्बन्धित मामलाहरूमा होस् वा आफ्‍नो व्यक्तिगत पछ्याइमा होस्, तिनीहरू सत्यताको खोजी गर्नमा ध्यान दिँदैनन्—यी कुराले तिनीहरूका हृदयमा कुनै स्थान पाउँदैनन्। परमेश्‍वरमाथि विश्‍वास गर्दा, तिनीहरू गफगाफ र व्यक्तिगत जानकारीका बारेमा सोधपुछ गर्न, र अनौठा र असामान्य कथाहरू सङ्कलन गर्न मात्र मन पराउँछन्। अवश्य नै, तिनीहरू परमेश्‍वर र परमेश्‍वरको कामसँग सम्बन्धित मामिलाहरूका बारेमा, साथै परमेश्‍वरको घरसँग र मण्डलीका अगुवा र कामदारहरूसँग सम्बन्धित मामिलाहरूका बारेमा चियोचर्चो गर्नमा बढी उत्साहित हुन्छन्। यसका साथै, तिनीहरू आधारहीन रूपमा हल्ला फैलाउन, आफूले सुनेका वा कल्पना गरेका त्यस्ता कुराहरू फैलाउन मन पराउँछन्, जुन पटक्‍कै साँचो हुँदैनन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरका वचनहरू पढ्न मन पर्दैन, तिनीहरू बिरलै प्रार्थना गर्छन्, र भेलाहरूमा बिरलै सत्यतामा सङ्गति गर्छन् र आफ्नो स्थिति, व्यक्तिगत पछ्याइ र प्रवेश, वा परमेश्‍वरको कामबारे आफ्‍नो बुझाइ, इत्यादिबारे बिरलै कुरा गर्छन्। अवश्य नै, तिनीहरूलाई सत्यतामा सङ्गति गर्ने वा आफ्नो अनुभवात्मक गवाहीमा सङ्गति गर्ने मानिसहरूमा रुचि हुँदैन, न त यी मामलाहरूमा नै रुचि हुन्छ। तर, तिनीहरूले कसैले परमेश्‍वरको काम कुन विन्दुमा पुगेको छ भन्नेबारे बोलेको सुन्नेबित्तिकै, वा परमेश्‍वरका वचनहरूमा विपत्तिहरू, मानिसहरूको गन्तव्य, परमेश्‍वरले आफ्नो स्वरूप परिवर्तन गर्नु, इत्यादि कुराहरूबारे विषयवस्तु देख्‍नेबित्तिकै, तिनीहरूको आँखा अचानक धपक्क बल्छ, र तिनीहरूले विशेष रूपमा ध्यान केन्द्रित गर्छन्। तिनीहरूले यी वचनहरू पढ्ने वा सुन्‍नेबित्तिकै, तिनीहरूको रुचि तुरुन्तै जाग्छ। यी मानिसहरूका प्रकटीकरणहरूलाई मूल्याङ्कन गर्दा, तिनीहरूले सत्यता पछ्याउन, वा आफ्नो कर्तव्य पूरा गर्न र परमेश्‍वरलाई पछ्याउन, र अवश्य नै परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्नका लागि परमेश्‍वरमा विश्‍वास गर्दैनन् भन्‍ने कुरा स्पष्ट हुन्छ। तिनीहरू परमेश्‍वरका घरमा आउँछन् र कुनै कर्तव्य पूरा गर्नेबारे बिलकुलै सोच्दैनन्। तिनीहरू चियोचर्चो गर्न र अरूका बारेमा गफ बटुल्न वा अफवाह फैलाउन मात्रै चाहन्छन्। तिनीहरू यी क्रियाकलापहरूमा आनन्द लिन्छन् र परमेश्‍वरको घरका अनुभवात्मक गवाही, भजन, वा चलचित्रहरूमा कुनै किसिमको रुचि राख्दैनन्। तिनीहरू अनलाइन गएर परमेश्‍वरको घर, मण्डलीको काम, र देहधारी परमेश्‍वरबारे धार्मिक संसारका ख्रीष्टविरोधी शक्तिहरूले दिने अभिव्यक्ति र गर्ने मूल्याङ्कनहरू सङ्कलन गर्न मात्रै मन पराउँछन्। तिनीहरूले कहिलेकाहीँ परमेश्‍वरको घरका भिडियोहरू हेरे पनि, यो आफ्ना समस्याहरू समाधान गर्न सत्यता पछ्याउने आन्तरिक तृष्णाबाट आएको हुँदैन। त्यसोभए, तिनीहरूले के हेर्छन्? तिनीहरूले भिडियोमा गरिएका टिप्पणीहरू हेर्छन्, र तीमध्ये छानीछानी पढ्छन्। तिनीहरूले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूका टिप्पणीलाई छोडिदिन्छन् तर धार्मिक संसार र गैरविश्‍वासीहरूका टिप्पणीप्रति विशेष रुचि राख्छन्। तिनीहरूले विशेष गरी ठूलो रातो अजिङ्गरका टिप्पणी र अभिव्यक्तिहरू समेत हेर्छन्, र तीबाट केही कुरा पत्ता लगाउने प्रयास गर्छन्। जब तिनीहरूले यी नकारात्मक प्रचारबाजी, अभिव्यक्ति, र बनावटी अफवाहहरू देख्छन्, तब तिनीहरूले सत्यताको खोजी गर्दैनन् र तिनलाई खुट्ट्याउँदैनन्; बरु, तिनीहरूले यीमध्ये केही नकारात्मक टिप्पणी र अभिव्यक्तिहरूलाई स्विकार्न, र तिनलाई तथ्यका रूपमा मान्न पनि सक्छन्। चाहे त्यहाँ जति नै सकारात्मक टिप्पणीहरू भए पनि, तिनीहरू ती पढ्न अनिच्छुक हुन्छन् र ती साँचो हुन् भनेर विश्‍वास गर्दैनन्; ती नकारात्मक टिप्पणी वा अफवाहहरूले मात्रै तिनीहरूको ध्यान आकर्षित गर्छन् र तिनीहरूको भोक बढाउँछन्। हरेक पटक यी नकारात्मक टिप्पणीहरू देख्दा, तिनीहरूलाई भित्री रूपमा निकै खुसी र सान्त्वना महसुस हुन्छ। तिनीहरू संसारमा, धार्मिक संसारमा, वा अनलाइनमा फैलिरहेका पूर्ण रूपमा झूटा अफवाह र मूल्याङ्कनहरू, र परमेश्‍वरविरुद्धका आक्रमण र निन्दाहरूप्रति समेत विशेष रुचि राख्छन्, र तिनीहरूले सधैँ यी कुराहरू लगनशीलताका साथ अध्ययन र सङ्कलन गर्छन्। यसको विपरीत, तिनीहरूलाई परमेश्‍वरका वचनहरू, प्रवचन र सङ्गतिहरू, दाजुभाइ-दिदीबहिनीहरूका अनुभवात्मक गवाहीहरू, र यस्तै अन्य कुराहरूमा पटक्‍कै रुचि हुँदैन। त्यसकारण, अरूले भेलाहरूमा परमेश्‍वरका वचनहरू पढ्दा, सत्यतामा सङ्गति गर्दा, र अनुभवात्मक गवाही बाँड्दा, तिनीहरूलाई वितृष्ण महसुस हुन्छ, र यी कुराहरू झर्कोलाग्दो र वाहियात लाग्छ। हृदयमा तिनीहरू सत्यतामा सङ्गति गर्नेप्रति र आफूलाई चिन्‍नेबारेमा कुरा गर्नेप्रति विशेष रूपमा वितृष्ण हुन्छन्। त्यसोभए, तिनीहरू के सुन्न चाहन्छन्? तिनीहरू अनौठा र विचित्र कुराहरू मात्र सुन्न चाहन्छन्, चाहे ती आत्मिक क्षेत्रका रहस्यहरू होऊन् वा धार्मिक संसारले फैलाउने अफवाह र गफ होऊन्—तिनीहरू यी कुराहरू मात्रै सुन्न इच्छुक हुन्छन्। तिनीहरूको हृदय यी नकारात्मक कुराहरूले भरिएको र ओगटिएको हुन्छ, र कसैले पनि तिनीहरूबाट यी नकारात्मक कुराहरू लिन वा खोस्न सक्दैन। किन यस्तो हुन्छ? किनभने तिनीहरूले ती कुराप्रति अत्यन्तै रुचि राख्छन् र तिनलाई प्रिय ठान्छन्। त्यसकारण, जब तिनीहरू विशेष गरी भेलाहरूको दौरान दाजुभाइ-दिदीबहिनीहरूमाझ हुन्छन्, तिनीहरू केही आधारहीन गफबारे कुरा गर्न, र परमेश्‍वरको घर र मण्डलीबारे आफूले अनलाइनमा भेट्टाएका केही नकारात्मक टिप्पणीहरू फैलाउनसमेत मन पराउँछन्। यी मानिसहरू यी अफवाहहरूमा अत्यन्तै रुचि राख्छन्। यी कुराहरू फैलाउनु अरूका लागि फाइदाजनक छैन भन्‍ने कुरा तिनीहरूलाई स्पष्ट रूपमा थाहा भए पनि, तिनीहरूले आफूलाई नियन्त्रण गर्न सक्दैनन् र ती फैलाउन अड्डी कस्छन्। तिनीहरूले यी अफवाह र नकारात्मक प्रचारबाजी फैलाउनका लागि अवसरहरू खोज्नु परे पनि, वा त्यस्ता कुराहरू सङ्कलन गर्न समय खर्चनु परे पनि, वा त्यस्ता कुराहरू रच्न आफ्नो दिमाग प्रयोग गर्नुपरे पनि, तिनीहरू यसप्रति अथक रूपमा उत्साहित नै हुन्छन्। यदि कुनै मण्डलीमा, मण्डली अगुवाहरूको क्षमता कमजोर छ र तिनीहरूले वास्तविक काम गर्न वा मानिसहरूलाई खुट्ट्याउन सक्दैनन् भने, अफवाह र भ्रमहरू फैलाउने मानिसहरू भएपछि, मण्डली जीवनमा बाधा र असर पर्छ, र कतिपय मानिसहरू त यी व्यक्तिहरूको बहकाउ र नियन्त्रणमा समेत पर्नेछन्। किन धेरै मानिसहरूलाई प्रायजसो अरूले बाधा दिन र बहकाउन सक्छन्? एउटा कारण के हो भने, तिनीहरूले सत्यता बुझेका हुँदैनन् र परमेश्‍वरको घरको निन्दा गर्ने अफवाहहरू खुट्ट्याउन सक्दैनन्। अर्को के हो भने, थोरै समय मात्रै विश्‍वास गरेका कतिपय दाजुभाइ-दिदीबहिनीहरूको कद अपरिपक्‍व हुन्छ, तिनीहरूले दर्शनहरू सम्बन्धी सत्यता बुझ्दैनन्, र तिनीहरू परमेश्‍वरको देहधारण, परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम, र मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायबारे अस्पष्ट हुन्छन्, तिनीहरूले यी कुराहरू स्पष्ट रूपमा देख्‍न सक्दैनन्, र तिनीहरू कामको यो चरण परमेश्‍वरको देखापराइ र काम हो कि होइन भन्‍ने कुरामा पक्का हुँदैनन्। परिणामस्वरूप, तिनीहरूमा साँचो आस्था हुँदैन र तिनीहरूलाई आफूले कति लामो समयसम्म परमेश्‍वरलाई पछ्याउन सक्छु भन्‍ने समेत थाहा हुँदैन। स्वाभाविक रूपमा, तिनीहरूलाई अफवाह फैलाउने मानिसहरूले सजिलै भ्रममा पार्न, बहकाउन, र नियन्त्रण गर्न पनि सक्छन्।

ख. आधारहीन अफवाह फैलाउनुको सार भनेको शैतानको सेवकका रूपमा काम गर्नु हो

आधारहीन अफवाह फैलाउने यी मानिसहरूले सत्यता र परमेश्‍वरका वचनहरूमा विश्‍वास नगर्ने मात्र होइन, तिनीहरूले सही र गलत खुट्ट्याउन पनि सक्दैनन्। तिनीहरू सधैँ सकारात्मक कुराहरूलाई शङ्का गर्छन् अनि अफवाह र दुष्ट शब्दहरूद्वारा सजिलै विश्‍वस्त हुन्छन्। यी मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छु र परमेश्‍वरलाई पछ्याउँछु भनेर दाबी गर्छन्, तर अझै पनि परमेश्‍वर र मण्डलीको मानहानि हुने अफवाहहरू फैलाउँछन्, र तिनीहरू आफूले सङ्कलन गरेका विभिन्‍न अफवाहहरू दाजुभाइ-दिदीबहिनीहरूमाझ फैलाउँछन्, यहाँसम्म कि स्वेच्छाचारी रूपमा र बारम्बार ती फैलाउँछन् र जताततै प्रचार गर्छन्। यसबाट के स्पष्ट हुन्छ भने, यी मानिसहरू सत्यतालाई प्रेम गर्दैनन् र गैरविश्‍वासीहरूका दुष्ट शब्दहरूमा मात्रै विश्‍वास गर्छन्। ठ्याक्कै भन्नुपर्दा, तिनीहरू परमेश्‍वरका चुनिएका मानिस हुँदै होइनन् र परमेश्‍वरको घरका सदस्य पनि होइनन्। त्यसोभए, तिनीहरू के हुन्? किटेरै भन्दा, यी मानिसहरू अविश्‍वासी हुन्, तिनीहरू शैतानका सेवक हुन्। कतिपय मानिसहरूले भन्छन्, “के शैतानका सेवकहरू चिनियाँ कम्युनिस्ट पार्टीले पठाएका जासूस हुन्? के तिनीहरू परमेश्‍वरका घरमा घुसपैठ गर्ने एजेन्ट हुन्?” हुन् नै भन्‍ने छैन। ती एजेन्ट र जासूसहरूलाई खुट्ट्याउन सजिलो हुन्छ, तर अफवाह फैलाउने यी मानिसहरू झट्ट हेर्दा साँचो विश्‍वासी जस्ता देखिन्छन्। तर, तिनीहरू सत्यता पछ्याउँदैनन् र प्रायजसो शैतानका मुखपात्रका रूपमा काम गर्छन्, र शैतानको सट्टा तिनीहरूले परमेश्‍वरलाई मानहानि र आक्रमण गर्ने शब्दहरू फैलाउँछन्, र मण्डली र परमेश्‍वरको घरबारे त्यसले रचेका अफवाहहरू फैलाउँछन्। यसका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूलाई जसले पठाएका भए पनि, के यी मानिसहरू शैतानका सेवक होइनन् र? (हुन्।) यी अफवाहहरू चाहे तिनीहरूले सक्रिय रूपमा सङ्कलन गरेका होऊन् वा निष्क्रिय रूपमा सुनेका होऊन्, यी मानिसहरू सत्यताको खोजी गर्ने र यी कुराहरूलाई खुट्ट्याउने बारेमा सोच्दैनन्, बरु तिनलाई नै तथ्य मान्छन्। तिनीहरूले ती कुराहरू नैतिकहीन र अनियन्त्रित रूपमा मानिसहरूका बीचमा फैलाउन र प्रसार गर्न पनि सक्छन्, र त्यो पनि एउटा ठाउँमा वा एक प्रकारको अवसरमा मात्र होइन। यी अफवाहहरू फैलाउनु पछाडिको तिनीहरूको उद्देश्य भनेको धेरै मानिसहरूलाई ती कुराबारे सचेत गराउनु, कमजोरहरूलाई अझै कमजोर बनाउनु, र जो बलिया छन् र परमेश्‍वरमा आस्था राख्छन् तिनीहरूलाई अफवाहहरूका कारण उहाँ र उहाँको काममा शङ्का गर्न लगाउनु हो—यो सबैलाई सत्यता, परमेश्‍वरका वचनहरू, परमेश्‍वरको काम, र मुक्तिमा रुचि नराख्ने बनाउनु हो, बरु तिनीहरूलाई यी व्यक्तिहरू जस्तै विभिन्‍न अफवाह र नकारात्मक प्रचारबाजीमा रुचि राख्न लगाउनु हो, ताकि त्यसपछि मानिसहरू भेला हुँदैपिच्छे, तिनीहरूले यी नकारात्मक कामकुराका बारेमा कुरा गरून्। के सामान्य मानिसहरू र मानवता र समझ भएका मानिसहरूले यस्ता कामकुरा गर्लान्? जब धेरैजसो मानिसहरूले अफवाह वा विभिन्‍न नकारात्मक प्रचारबाजी सुन्छन्, तब तिनीहरूलाई ती अफवाहहरू साँचो हुन् कि झूटा हुन् भन्‍ने थाहा नभए पनि, परमेश्‍वरमाथिको आस्था र परमेश्‍वरको थोरै डर मान्‍ने तिनीहरूको हृदयका कारण, तिनीहरू प्रार्थना गर्न र सत्यताको खोजी गर्न परमेश्‍वरसामु आउँछन्। तिनीहरू अफवाहहरूद्वारा प्रभावित भए पनि र अलिक कमजोर र शङ्का महसुस भए पनि, यसले तिनीहरूको कर्तव्य निर्वाहलाई वा परमेश्‍वरलाई पछ्याउने कार्यलाई असर गर्नेछैन। तिनीहरूले आफ्नो जिब्रोलाई काबुमा राख्‍न र परमेश्‍वरलाई विरोध गर्ने वा चिढ्याउने कामकुरा गर्नबाट जोगिन आफूलाई चेतावनी समेत दिनेछन्। यस्तो शैली धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूले हासिल गर्न सक्‍ने कुरा हो। मानिसहरूसँग केही मानवता, थोरै साँचो आस्था, र थोरै परमेश्‍वरको डर मान्ने हृदय हुन्जेल, तिनीहरूले यो हासिल गर्न सक्छन्। मानिसहरूले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्ने हुनाले, तिनीहरूले परमेश्‍वरले गर्नुहुने सबै कुरा सही छन् भन्‍ने कुरामा विश्‍वास गर्नुपर्छ। यो परमेश्‍वरले गर्नुभएको कुरा हो, त्यसकारण मानिसहरूले यसबारे कुनै मूल्याङ्कन गर्नु हुँदैन। तिनीहरू निश्‍चित हुनुपर्छ कि: “मण्डली बाहिरका अफवाहहरूले जे भने पनि, म ती कुरामा विश्‍वास गर्न सक्दिनँ, र म पक्कै पनि ती फैलाउन सक्दिनँ। यदि मलाई हृदयमा अलिक कमजोर र खलबलिएको महसुस भयो भने पनि, मैले परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्नु हुँदैन!” यदि कसैले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छ भने, उसले परमेश्‍वरले गर्नुहुने सबै कुरा सही छन् भन्‍ने कुरामा विश्‍वास गर्नुपर्छ; यदि उसले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छ भने, उसमा परमेश्‍वरदेखि भयभीत हुने र उहाँको डर मान्ने हृदय हुनुपर्छ—यो पूर्ण रूपमा सही कुरा हो। तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय भएको हुनाले, तिनीहरूले जेसुकै अफवाह सुने पनि, तिनीहरूले आफ्नो जिब्रोलाई काबुमा राख्‍नेछन्, अफवाह फैलाउनेछैनन्, शैतानका चालहरूमा पर्नेछैनन्, र शैतानका षड्यन्त्रहरूमा फस्नेछैनन्। के यो धेरैजसो मानिसहरूले सजिलै हासिल गर्न सक्‍ने कुरा होइन र? (हो।) तँसँग सामान्य सोचाइ र समझ छ, त्यसकारण जब तैँले अफवाहहरू सुन्छस्, तब तैँले ती फैलाउँछस् कि फैलाउँदैनस् भन्ने कुरा पूर्ण रूपमा तँद्वारा नै निर्धारित हुन्छ। के अरू कसैले तँलाई नियन्त्रण गरिरहेको छ? (छैन।) त्यसकारण, यी अफवाहहरू सुनेपछि, के मानिसहरू तिनलाई कसरी सम्हाल्‍ने, र तिनलाई कसरी व्यवहार गर्दा र अभ्यास गर्दा सिद्धान्तहरूअनुरूप, र मानवता र समझअनुरूप हुन्छ भन्‍ने बारेमा स्पष्ट हुनु पर्दैन र? हरेक व्यक्तिमा यो सानो मूल्याङ्कन क्षमता हुनुपर्छ र अरूले नसिकाई तिनीहरूले अभ्यासको यो विधि र मार्ग बुझ्नुपर्छ। हल्‍ला फैलाउनु हुँदैन, र यो अनादरणीय, अनैतिक कुरा हो, र यसले मतभेद पैदा गर्छ, र कोही पनि यस्तो खालको व्यक्ति हुनु हुँदैन भन्‍ने कुरा बालबालिकालाई समेत थाहा हुन्छ; सामान्य समझ भएका मानिसहरूमा हुनुपर्ने सोच र व्यवहार यिनै हुन्। तर, एक प्रकारको व्यक्तिमा यस्तो समझको कमी हुन्छ र यस्तो मानवताको झनै कमी हुन्छ। यसले गर्दा तिनीहरूले यी कुराहरू सुनेपछि सक्दो चाँडो आफ्ना नजिकका मानिसहरूलाई अफवाह र नकारात्मक प्रचारबाजी फैलाउन चाहन्छन्, ताकि सबैले तिनलाई सँगै विश्लेषण, मूल्याङ्कन, र सुशोभित गर्न, र त्यसपछि यी अफवाहहरू व्यापक श्रोतामाझ फैलाउन सकून्। तिनीहरूले सोच्छन्, “के यो गजबको कुरा होइन र? के यो जीवन्त छैन र? यदि मण्डली जीवन यो विषयवस्तुले भरिएको हुन्थ्यो भने, यो कति सम्‍पन्‍न हुनेथियो! मानिसहरूले कति धेरै ज्ञान प्राप्त गर्नेथिए!” यी कस्ता प्रकारका विचार र दृष्टिकोणहरू हुन्? के यी खराब व्यक्तिका विचार र दृष्टिकोणहरू होइनन् र? यो कस्तो तर्क हो? के तिनीहरू अराजकता भनेपछि हुरुक्‍कै हुने मानिस होइनन् र? के तिनीहरूले अरूले राम्रो गरेको देख्‍न नसक्‍ने होइन र? हृदयमा, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई गिल्ला समेत गर्छन्: “तिमी मूर्खहरू, मण्डलीबाहिर सबैतिर अफवाहहरू फैलिइरहेका छन्; परमेश्‍वरको घरविरुद्ध, विशेष गरी ख्रीष्ट र परमेश्‍वरको कामविरुद्ध नकारात्मक मूल्याङ्कन, आक्रमण, र मानहानि जताततै भइरहेका छन्। धार्मिक संसारका मण्डलीहरूमा, सबै किसिमका नकारात्मक प्रचार सामग्रीहरू झुन्ड्याइएका हुन्छन्। त्यहाँका मानिसहरूले ‘पूर्वीय ज्योति’ सुन्नेबित्तिकै, तिनीहरूले निन्दा गर्न र आफूलाई टाढा राख्‍न थाल्छन्। सबैले तिमीहरूलाई आलोचना र निन्दा गरिरहेका छन्, तैपनि तिमी मूर्खहरू अझै पनि यहीँ परमेश्‍वरमा विश्‍वास गरेर सत्यता पछ्याइरहेका छौ!” यी मानिसहरूले परमेश्‍वरलाई यस्तो दृढ विश्‍वासका साथ पछ्याएको देख्दा तिनीहरूलाई असहज हुन्छ र निकै खिन्न पनि लाग्छ। विशेष गरी, जब तिनीहरूले सत्यतामा गरिएको कसैको सङ्गतिले साँचो बुझाइ र स्वभावमा आएको परिवर्तन देखाएको, र सबैले त्यस व्यक्तिलाई आदर गरेको देख्छन्, तब तिनीहरूले त्यो व्यक्तिलाई घृणा गर्छन्। यदि तिनीहरूले परमेश्‍वरका घरमा कसैले आफ्नो कर्तव्य निर्वाह गर्दा सिद्धान्तहरू पालना गरेको, नतिजा निकालेको, र बफादारी देखाएको देखे भने, तिनीहरू रिसाउँछन् र भन्छन्, “तिमी किन मण्डली बाहिरका अफवाह वा प्रचारबाजी सुन्दैनौ? तिमी किन यति मूर्ख र इमानदार हुन्छौ? म कति चलाख छु, हेर त—मैले दुवै डुङ्गामा खुट्टा टेकेको छु। म परमेश्‍वरको घरको मण्डली जीवनमा सहभागी हुन्छु र म परमेश्‍वरमा विश्‍वास गर्दिनँ भनेर भन्दिनँ, र मलाई कर्तव्य पूरा गर्न अनुमति दिइएको थिएन भने, म त्यस कुरामा सहमति हुनेथिइनँ, तर म मण्डली बाहिरका समाचारहरूको पनि चियोचर्चो गर्छु। म धार्मिक संसार, गैरविश्‍वासी संसार, र इन्टरनेटका नकारात्मक प्रचारबाजी र टिप्पणीहरूलाई ध्यान दिइरहन्छु।” तिनीहरूसँग सधैँ अनुचित दृष्टिकोण हुन्छ। दाजुभाइ-दिदीबहिनीहरूले सत्यता पछ्याइरहेका र आफ्नो कर्तव्य पूरा गरिरहेका देख्दा तिनीहरूलाई भित्री रूपमा असन्तुष्ट महसुस हुन्छ। तिनीहरू सधैँ तीमध्ये एक-दुई जनालाई बहकाउन र त्यहाँबाट निकाल्न चाहन्छन्, र तिनीहरूमध्ये केहीलाई निरन्तर बाधा दिन र प्रभाव पार्न समेत चाहन्छन्। तिनीहरू कतिपय मानिसहरूलाई अफवाह फैलाएर “जगाउन” निरन्तर कामना पनि गर्छन्, ताकि तिनीहरू अफवाहहरूमा विश्‍वास गरेर बहकिऊन्। ल भन्, यो ठ्याक्कै कस्तो व्यक्ति हो? के त्यस्ता मानिसहरूलाई परमेश्‍वरको घरको हिस्सा र दाजुभाइ-दिदीबहिनी ठान्नु उचित हुन्छ? (हुँदैन।) त्यसोभए तिनीहरूलाई के ठान्दा सबैभन्दा उचित हुन्छ? तिनीहरूलाई अविश्‍वासी, शैतानका सेवक ठान्नु नै सबैभन्दा उचित हुन्छ। यो आधारहीन निन्दा वा तिनीहरूलाई अन्याय गर्नु होइन; यो तथ्य हो।

आधारहीन अफवाह फैलाउने यी मानिसहरूको घिनलाग्दो कुरा के हो? तिनीहरूले जुनसुकै माध्यमबाट नकारात्मक प्रचारबाजी सुने पनि, तिनीहरूलाई यो कुनै तथ्यगत आधारविनाका अफवाह र दुष्ट शब्दहरू हुन् भन्‍ने स्पष्ट रूपमा थाहा हुँदा पनि, तिनीहरूले ती कुरा अथक जोसका साथ अरूमाझ फैलाउँछन्। यसको प्रकृति के हो? परमेश्‍वरको डर मान्ने हृदय भएको व्यक्तिलाई अफवाह सुनेपछि खिन्न महसुस हुनेछ। विशेष गरी परमेश्‍वरलाई आक्रमण र अपमान गर्ने शब्दहरूको कुरा आउँदा, तिनीहरूले आफ्नो मुख अपवित्र नहोस् भनेर तिनको पटक्कै उल्लेख गर्दैनन्, जसले तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय छ भन्‍ने प्रमाणित गर्छ। तिनीहरूले भन्छन्, “अरूले परमेश्‍वरलाई आलोचना र मानहानि गर्नु, र मण्डलीलाई आक्रमण र अपमान गर्नु, त्यो तिनीहरूको चासोको कुरा हो। म तिनीहरूको पापमा सामेल हुनु हुँदैन। तिनीहरूले गरेको परमेश्‍वरको मानहानि पहिले नै एउटा भयानक विद्रोह र जघन्य पाप हो—म आफ्नो मुखले यी शब्दहरू बोल्न सक्दिनँ। तिनीहरूले जे भन्छन् मैले तिनै कुराहरू भन्नु हुँदैन। म बिलकुलै यसो गर्नेछैनँ!” तर, जो शैतानका सेवकहरू हुन्, तिनीहरूले आफूले सुनेका नकारात्मक प्रचारबाजी र अफवाहहरू हुबहु भन्न सक्छन्, र तिनीहरूले बारम्बार र कुनै सन्देहविना त्यसो गर्छन्, र ती कुराहरू जताततै फैलाउने कामसमेत गर्छन्। के यी मानिसहरूमा अलिकति पनि परमेश्‍वरको डर मान्ने हृदय हुन्छ? के तिनीहरूलाई परमेश्‍वरको डर लाग्छ? अहँ, लाग्दैन। झट्ट हेर्दा, तिनीहरूले पनि परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छन्, तर विश्‍वास गर्नु भनेको परमेश्‍वर यावत् थोकमाथि सार्वभौमिकता राख्‍ने सृष्टिकर्ता हुनुहुन्छ भनेर स्वीकार गर्नु बराबर होइन। शैतानले पनि संसारमा र ब्रह्माण्डमा र यावत् थोकमाझ परमेश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छ, तर परमेश्‍वरले त्योसँग बोल्दा त्यसले उहाँलाई कस्तो व्यवहार गर्छ? त्यसले परमेश्‍वरसँग कसरी कुराकानी गर्छ? के त्यससँग परमेश्‍वरको डर मान्ने हृदय छ? के त्यसले परमेश्‍वरलाई परमेश्‍वरका रूपमा व्यवहार गर्छ? गर्दैन। परमेश्‍वरसँग कुराकानी गर्न यसले कस्तो विधि प्रयोग गर्छ? त्यसले उहाँलाई जाँच्छ, छल गर्छ, र गिल्ला गर्छ, मानौँ त्यसले ठट्टा गरिरहेको छ। जब परमेश्‍वरले “तँ कहाँबाट आइस्?” भनेर सोध्‍नुभयो, तब शैतानले कस्तो जवाफ दियो? (“पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” (अय्यूब १:७)।) के यी मानव शब्दहरू हुन्? (होइनन्।) त्यसोभए, यी शब्दहरूको अर्थ के हो? शैतानले किन यसरी बोल्यो? कस्तो मनोवृत्तिले त्यस्ता शब्दहरू पैदा गर्छ? गिल्‍लाको मनोवृत्तिले होइन र? (हो।) गिल्ला गर्नु भनेको के हो? यो कसैलाई जिस्काउनु हो, होइन र? “म तिमीलाई म कहाँबाट आएको हुँ भनेर भन्‍नेछैनँ। तिमीले यसमा के गर्न सक्छौ?” यी शब्दहरू तँलाई नै भनिएका हुन्, तर त्यसले वास्तवमा के भइरहेको छ भनेर तँलाई थाहा दिने अभिप्राय राखेको हुँदैन—वक्ताले तँलाई त्यो कुरा बताउन इन्कार गर्छ, बरु त्यो तँसित केवल जिस्किरहन्छ। यो गिल्‍ला गर्नु हो। के यो मनोवृत्तिले परमेश्‍वरलाई परमेश्‍वरका रूपमा व्यवहार गर्ने कुनै आभास देखाउँछ? के यसमा परमेश्‍वरलाई आदर गर्ने वा उहाँको डर मान्ने कुनै आभास छ? पटक्‍कै छैन—यो शैतानको अनुहार हो। जो अफवाह फैलाउँछन् तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका बीचमा यी कुराहरू यत्तिकै प्रसार गर्न सक्छन्। यी अफवाहहरू तथ्यगत होइनन् भन्‍ने कुरा तिनीहरूलाई राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरूले ती फैलाउन सक्दो प्रयास गर्छन्, र त्यसो गर्ने हरेक अवसर र मौका खोज्छन्। के यो शैतानको व्यवहार र शैली होइन र? शैतानले यसरी नै काम गर्छ। त्यसले परमेश्‍वरको अस्तित्वलाई स्वीकार गर्छ र परमेश्‍वरले यावत् थोकमाथि सार्वभौमिकता राख्‍नुहुन्छ भन्‍ने कुरा जानेको हुन्छ, तर त्यसलाई उहाँको अलिकति पनि डर हुँदैन। यो शैतानको अनुहार हो, यो शैतानको प्रकृति सार हो। कतिपय दाजुभाइ वा दिदीबहिनीहरूले यसो भन्लान्, “यो व्यक्तिले सत्यता नपछ्याए पनि, परमेश्‍वरमाथिको उसको विश्‍वास निष्कपट छ। मण्डलीले उसलाई एकल्याउन वा निकाल्‍न लागेको छ भन्‍ने सुन्दा, ऊ यति व्याकुल भयो कि ऊ रुन थाल्यो र निकै चिन्तित भयो; उसको मुखमा घाउसमेत आयो! ऊ परमेश्‍वरको घर छोडेर जान इच्छुक छैन; उसले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छ। त्यसकारण, उसले जे गरे पनि, हामीले उसलाई एक जना दाजुभाइका रूपमा व्यवहार गर्नुपर्छ, प्रेम र सहिष्णुता दिनुपर्छ, र उसले अफवाह फैलाउँदा पनि, उसलाई सहयोग गर्न र साथ दिन हामीले उसलाई प्रेमपूर्वक व्यवहार गर्नुपर्छ।” के यी शब्दहरू सही छन्? के ती सत्यता हुन्? (होइनन्।) परमेश्‍वरले धेरै वचनहरू बोल्नुभएको छ, तर यी मानिसहरूले अझै पनि तिनमा विश्‍वास गर्दैनन्। तैपनि, दियाबलस र शैतानहरूले जति धेरै अफवाहहरू फैलाए पनि, यी मानिसहरूले ती सबैमा विश्‍वास गर्छन्, र यहाँसम्म कि परमेश्‍वरलाई आक्रमण र मानहानि गर्नका लागि नैतिकहीन रूपमा यी अफवाहहरू फैलाउने गर्छन्। यसका आधारमा मात्रै पनि, तिनीहरू दाजुभाइ-दिदीबहिनी कहलिन लायक छैनन्। के यो सही हो? (हो।) तिनीहरूले नैतिकहीन रूपमा अफवाह फैलाउन, परमेश्‍वरको मानहानि गर्न, परमेश्‍वरलाई आक्रमण गर्न, र परमेश्‍वरको घर र मण्डलीको मानहानि गर्न सक्‍ने हुनाले, हामीसँग तिनीहरूलाई शैतानका सेवक, शैतान मान्ने जायज कारण छ। तिनीहरू परमेश्‍वरका शत्रु र परमेश्‍वरका चुनिएका सबै मानिसहरूका शत्रु हुन्। त्यसोभए, हामीले हाम्रा शत्रुहरूसँग कस्तो व्यवहार गर्नुपर्छ? (तिनीहरूलाई इन्कार गर्नुपर्छ।) ठीक भन्यौ, हामीले तिनीहरूलाई इन्कार गर्नुपर्छ।

कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्। अफवाहहरू सुनेपछि, तिनीहरूले मण्डलीमा खुल्लमखुल्ला ती नफैलाए पनि, पर्दापछाडि आफ्ना नजिकका मानिसहरूमाझ फैलाउँछन्। यी अफवाहहरू सुनेपछि कतिपय सुझबुझविहीन मानिसहरू नकारात्मक र कमजोर बन्छन्; कतिले भेलाहरूमा सहभागिता जनाउन छोड्छन्, र कति मण्डलीबाट अलग हुन्छन्—तैपनि अफवाह फैलाउनेले उसले अफवाह फैलाएका कारण यसो भएको हो भनेर अझै स्वीकार गर्दैन। बारम्बारको चेतावनी र सङ्गतिका बाबजुद, तिनीहरूले यस्ता कुराहरू सामना गर्दा यसै गरिरहन्छन्, आफ्नै खुलासा होला, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको इन्कारमा परिएला, वा मण्डलीद्वारा निकाला गरिएला भन्‍ने डरले मात्र भेलाहरूमा वा सार्वजनिक रूपमा खुल्लमखुल्ला र निर्लज्ज रूपमा अफवाह फैलाउनबाट आफूलाई रोक्छन्, बरु अरूलाई खबर पठाएर वा मानिसहरूसँग सम्पर्क गरेर गुप्त रूपमा केही अफवाहहरू फैलाउने निर्णय गर्छन्। त्यसोभए के त्यस्ता मानिसहरू दुष्ट होइनन् र? वास्तवमा, तिनीहरू झनै घातक हुन्छन्। तिनीहरूले जति नै गुप्त रूपमा कार्य गरे पनि, तिनीहरूको मनसाय र तिनीहरूको कार्यको प्रकृति शैतानका सेवकहरूको जस्तै हुन्छ। अफवाह फैलाउनुमा तिनीहरूको उद्देश्य भनेको मानिसहरूको कर्तव्य निर्वाहमा बाधा दिनु, मानिसहरूलाई नकारात्मक र कमजोर बनाउनु, मानिसहरूलाई परमेश्‍वरलाई इन्कार गर्न, आफूलाई परमेश्‍वरबाट टाढा राख्‍न, र आफ्नो कर्तव्य त्याग्‍न लगाउनु हो। “अफवाह फैलाउनुमा मेरो उद्देश्य भनेको मानिसहरूको कर्तव्य निर्वाहमा बाधा दिनु वा तिनीहरूको अग्रसरतालाई कमजोर पार्नु होइन, बरु तिनीहरूलाई समझशक्ति विकास गर्न र तिनीहरूको प्रतिरक्षा क्षमता बढाउन सहयोग गर्नु हो, ताकि तिनीहरूले अफवाह सुन्दा, तिनीहरू त्यसबाट प्रभावित नहोऊन्, तिनीहरूले त्यसलाई विश्‍वास नगरून्, तिनीहरूले उचित रूपमा सत्यता पछ्याउन सकून्, र शान्तिसाथ आफ्नो कर्तव्य पूरा गर्न सकून्” भनेर कसैले कहिल्यै भनेको छ? के कसैले कहिल्यै यस्तो अभिप्राय लिएर अफवाह फैलाएको छ? (छैन।) के यो दाबी टिक्छ? वास्तवमा, यो टिक्दैन। तिनीहरूले जबसम्म अफवाह फैलाउन सक्छन्, विशेष गरी त्यस्ता अफवाह, जसले परमेश्‍वरलाई आक्रमण, मानहानि, र ईश्‍वरनिन्दा गर्छन्—आफ्नो मुख खोलेपिच्छे यत्तिकै यी कुराहरू बोल्छन् र कुनै हिचकिचाहटविना चारैतिर यी कुरा फैलाउँछन्—तिनीहरूले जतिसुकै अफवाहहरू फैलाए पनि, अफवाहहरू खुल्लमखुल्ला फैलाइए पनि वा पर्दा पछाडि फैलाइए पनि, र मानिसहरूमा यसले जस्तोसुकै असर पारे पनि, छोटकरीमा भन्दा, अफवाह फैलाउनुमा तिनीहरूको उद्देश्य मानिसहरूलाई सत्यता बुझ्न र समझशक्ति विकास गर्न सहयोग गर्नु नभई मानिसहरूलाई बाधा दिनु र बहकाउनु, र परमेश्‍वरलाई शङ्का गर्न र उहाँबाट टाढा हुन लगाउनु हो—तिनीहरूले मण्डलीको काममा बाधा दिइरहेका र यसलाई भताभुङ्ग पारिरहेका हुन्छन्। यस दृष्टिकोणबाट हेर्दा, जुनसुकै कारण वा प्रसङ्गमा अफवाह फैलाइएको भए पनि, अफवाह फैलाउने मानिसहरूको सार निस्सन्देह नै शैतानका सेवकहरूको सार हो। परमेश्‍वरलाई मानहानि, आक्रमण, र ईश्‍वरनिन्दा गर्ने अफवाह फैलाउने जोकोहीले परमेश्‍वरको प्रतिरोध गरिरहेको हुन्छ र ऊ परमेश्‍वरको शत्रु हो। के यो सही कुरा हो? (हो।) अफवाहहरू तैँले सुरु गरेको नभए पनि, तैँले ती फैलाउन सक्‍ने तथ्यले तँलाई ती अफवाहहरू साँचो हुन् भन्‍ने विश्‍वास छ वा भित्री रूपमा तँ ती कुरामा विश्‍वास गर्न अत्यन्तै इच्छुक छस् भन्‍ने कुरा प्रमाणित गर्छ। “यदि अफवाहहरू साँचो मात्रै भएका भए, मैले परमेश्‍वरमा विश्‍वास गर्नुपर्थेन, परमेश्‍वर परमेश्‍वर हुनुहुनेथिएन, र परमेश्‍वरको देहधारणको तथ्य अस्तित्वमा हुनेथिएन। उहाँ त व्यक्ति मात्रै हुनुहुनेथियो, र मैले उहाँका बारेमा स्वतन्त्र रूपमा अफवाहहरू रच्न, उहाँलाई बदनाम गर्न, र उहाँलाई आक्रमण र मानहानि गर्न सक्नेथिएँ।” उद्देश्य त्यही होइन र? यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् तर सधैँ स्वेच्छाचारी ढङ्गले बोल्न र व्यवहार गर्न चाहन्छस् भने, के यो परमेश्‍वरको विरोध गर्न चाहनु होइन र? (हो।) कतिपय मानिसहरू भन्छन्, “के यो परमेश्‍वरविरुद्ध विद्रोह गर्नु हो? के यो परमेश्‍वरमाथि कुनै आस्था नहुनु हो?” यसको प्रकृति झनै गम्भीर छ। यो परमेश्‍वरको प्रतिरोध र विरोध गर्नु हो। परमेश्‍वरका शत्रुहरूले मात्रै यसरी परमेश्‍वरको प्रतिरोध र विरोध गर्छन्। शैतानको भ्रष्ट स्वभाव भएको र सत्यता र परमेश्‍वरबारे ज्ञानको बुझाइ नभएका कारण भ्रष्ट मानवजातिले परमेश्‍वरविरुद्ध विद्रोह गर्न सक्छ। तर, शैतानले परमेश्‍वरविरुद्ध विद्रोहबाहेक अरू धेरै कुरा गर्छ; यसले परमेश्‍वरलाई विश्वासघात गर्छ, परमेश्‍वरको प्रतिरोध र विरोध गर्छ। यसले गर्दा त्यो परमेश्‍वरको शत्रु हो। परमेश्‍वरका शत्रुहरू र परमेश्‍वरबीच विरोधी सम्बन्ध हुन्छ। विरोध भनेको के हो? यसको अर्थ मिल्‍न नसक्ने हुनु हो। परिस्थिति वा वातावरण जस्तोसुकै भए पनि, समय वा भूगोलसँगै परमेश्‍वरप्रतिको शैतानको विरोध परिवर्तन हुँदैन। शैतानको सार भनेको परमेश्‍वरको विरोध गर्नु हो, र यो अपरिवर्तनशील हुन्छ; शैतान बस परमेश्‍वरको शत्रु हो। परमेश्‍वरप्रतिको शैतानको प्रतिरोध र उहाँसँगको यसको बेमेल एक दिन वा केही वर्ष वा दशकसम्‍म मात्रै रहेन; त्यसले परमेश्‍वरलाई विश्वासघात गरेदेखि नै उहाँको विरोध गर्न थालेको हो। त्यसोभए यो विरोध कहिले समाप्त हुनेछ? के शैतान कहिल्यै परमेश्‍वरद्वारा प्रभावित हुनेछ र सुधारिनेछ? के समय बित्दै जाँदा परमेश्‍वरप्रतिको यसको विरोध बिस्तारै घट्नेछ? घट्नेछैन। यसले परमेश्‍वरको विरोध गर्न जारी राख्‍नेछ। यो विरोध कहिले अस्तित्वमा रहन छोड्नेछ? जब परमेश्‍वरको काम समाप्त भएको हुन्छ, र शैतानले सेवा प्रदान गर्ने आफ्नो काम पूरा गरिसकेको हुन्छ र यसको कुनै काम हुँदैन, र परमेश्‍वरले यसलाई नष्ट गर्नुभएको हुन्छ—त्यो बेला विरोध समाप्त हुनेछ। अनि शैतानका सेवकहरूका हकमा चाहिँ के हुन्छ? तिनीहरू मण्डलीमा रहुञ्जेल, तिनीहरूले मण्डली, परमेश्‍वरको घर, र परमेश्‍वरको विरोध गर्न जारी राख्‍नेछन्। कतिपय मानिसहरू भन्छन्, “तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन्, कहिलेकाहीँ भेटी चढाउँछन्, दान दिन्छन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई बाससमेत दिन्छन्। तिनीहरूले कसरी परमेश्‍वरको विरोध गरिरहेका छन्? तिनीहरूले उहाँको विरोध गरिरहेका छैनन्; तिनीहरूले केही असल कार्यहरूसमेत गर्छन्।” के यी शब्दहरू सही छन्? के दाजुभाइ-दिदीबहिनीहरूलाई बास दिने र गरिब दाजुभाइ-दिदीबहिनीहरूलाई थोरै पैसा दिने कार्यले परमेश्‍वरप्रतिको तिनीहरूको विरोधलाई खारेज गर्न सक्छ? के यसले तिनीहरू परमेश्‍वरसँग मिल्ने किसिमका छन् भन्‍ने कुरा प्रमाणित गर्न सक्छ? (सक्दैन।) त्यसोभए, यो विरोध कसरी पैदा हुन्छ? (यो तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ।) ठीक भन्यौ, तिनीहरूको प्रकृति सार भनेको परमेश्‍वरको प्रतिरोध गर्नु र उहाँसँग वैरभाव राख्नु हो। तिमीहरूले त्यस्ता मानिसहरूलाई परमेश्‍वरका वचनहरूमा आधारित भएर खुट्ट्याउनुपर्छ: विभिन्‍न माध्यमहरूबाट परमेश्‍वरको घर र मण्डलीलाई आक्रमण र मानहानि गर्ने नकारात्मक प्रचारबाजी वा अफवाहहरू सङ्कलन गर्न कसलाई मन पर्छ, र यी नकारात्मक कुराहरूमा कसले रुचि राख्छ र यी अफवाह र दुष्ट शब्दहरू विश्‍वास गर्न को इच्छुक छ, हेर। यसो गरेर तैँले यी अविश्‍वासीहरूको साँचो अनुहार देख्‍न सक्‍नेछस्। यी मानिसहरू सामान्यतया परमेश्‍वरका वचनहरू पढ्दैनन्, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले सत्यता सङ्गति गरेको सुन्दा उत्साहित हुँदैनन्, र आफ्नो कर्तव्य पूरा गर्नमा उदासीन हुन्छन्। तिनीहरूलाई सधैँ परमेश्‍वरमा विश्‍वास गर्नु चाखलाग्दो कुरा होइन भन्‍ने लाग्छ। परमेश्‍वरको घरका भिडियो र कार्यक्रमहरू हेर्दा तिनीहरूले के कुरामा ध्यान दिन्छन्? जब तिनीहरूले धार्मिक मानिसहरूले छोडेका सकारात्मक टिप्पणीहरू देख्छन्, तब तिनीहरूलाई असहज लाग्छ र तिनीहरूले ती कुरालाई बेवास्ता गर्छन्। तर जब तिनीहरूले धार्मिक मानिसहरू र गैरविश्‍वासीहरू ठूलो रातो अजिङ्गरको साथ उभिइरहेको, मण्डलीको अपमान गरेको, परमेश्‍वरको घरको अपमान गरेको, र आफ्ना दुष्ट शब्दहरूद्वारा दाजुभाइ-दिदीबहिनीहरूको अपमान गरेको देख्छन्, तब तिनीहरूलाई अत्यन्तै खुसी र उत्साहित महसुस हुन्छ। जब तिनीहरूले यी नकारात्मक प्रचार र अफवाहहरू सुन्छन्, तब तिनीहरू यति उत्साहित हुन्छन् मानौँ तिनीहरूलाई कसैले एड्रेनालिनको सुइ लगाइदिएको छ, तिनीहरू बुरुकबुरुक उफ्रँदै हिँड्छन् निद्राबाट समेत खुसी हुँदै उठ्छन्। के यो दुष्ट कुरा होइन र? यस्तो व्यक्तिमा को पर्छ भनेर हेर्नका लागि तेरो वरिपरिका मानिसहरूलाई नियालेर हेर्; तिनीहरूसँग सत्यतालाई घृणा गर्ने र परमेश्‍वरलाई घृणा गर्ने स्वभाव छ कि छैन भनी हेर्। यदि तैँले वास्तवमै त्यस्तो व्यक्ति भेट्टाइस् भने, तँ विशेष रूपमा सतर्क हुनुपर्छ र तैँले उसलाई खुट्ट्याउनुपर्छ; उसको बोलीवचन, व्यवहार, र चालढाललाई नियालेर हेर्। ऊ दुष्ट व्यक्ति, शैतानको सेवक हो भन्‍ने कुरा पुष्टि गरेपछि, तैँले उसलाई इन्कार गर्नुपर्छ र उसलाई दाजुभाइ वा दिदीबहिनीका रूपमा व्यवहार गर्नु हुँदैन। त्यस्ता मानिसहरू जति सक्दो चाँडो मण्डलीबाट निकालिनुपर्छ। कतिपय मानिसहरू भन्छन्, “हामीले किन यी मानिसहरूलाई निकाल्ने हो र? परमेश्‍वरका घरमा थप एक जना व्यक्ति हुनु भनेको काम गर्न बलको एउटा थप स्रोत हुनु हो; थप एक जना व्यक्ति हुँदा यसले परमेश्‍वरको घरलाई अलिक जीवन्त पनि बनाउँछ। तिनीहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका छन्, र तिनीहरूले सत्यतालाई प्रेम वा अभ्यास नगरे पनि, तिनीहरूले बाल्यकालदेखि नै परमेश्‍वरका अस्तित्वमा विश्‍वास गरेका छन्, र आकाशका वृद्ध मानिसमा विश्‍वास गरेका छन्। तिनीहरूले आफूभन्दा तीन फिटमाथि परमेश्‍वर हुनुहुन्छ भन्‍ने पनि विश्‍वास गर्छन्, र त्योभन्दा बढी, तिनीहरूले असल र दुष्टको प्रतिफल हुन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू सामान्यतया स्पष्ट रूपमा खराब कार्यहरू गर्ने आँट गर्दैनन् र अरूलाई सहयोग गर्न इच्छुक हुन्छन्। यति मात्र हो कि तिनीहरूमा यो सानो सोख हुन्छ; तिनीहरूलाई अफवाह र हल्ला फैलाउन मन पर्छ। विशेष गरी, तिनीहरूले परमेश्‍वरलाई बदनाम गर्ने ठूलो रातो अजिङ्गरबाट आउने अफवाहहरू फैलाउँछन्, र सायद तिनीहरू अज्ञानी र अबोध भएकाले यी कुराहरूका बारेमा धेरै विचारसमेत नगरी यी कुराहरू दोहोर्‍याउँछन्।” झट्ट हेर्दा, तिनीहरू दुष्ट मानिस जस्ता देखिँदैनन् र तिनीहरूले मण्डलीका काममा बाधा वा अवरोध ल्याएका हुँदैनन्, तर तिनीहरू अफवाह फैलाउने कार्यमा विशेष रूपमा सक्रिय हुन्छन् र सधैँ ती कुराहरू फैलाउने पहिलो व्यक्ति बन्‍न चाहन्छन्। के मानिसहरू त्यस्ता व्यक्तिहरूप्रति सतर्क हुनु पर्दैन र? के तिनीहरू शैतानका सेवक होइनन् र? त्यस्ता मानिसहरूको सार अत्यन्तै स्पष्ट हुन्छ! तिनीहरूलाई परमेश्‍वरका वचनहरू वा सत्यताप्रति कहिल्यै रुचि हुँदैन, र तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा कहिल्यै सत्यता सिद्धान्तहरूको खोजी गर्दैनन्। तिनीहरूले गर्ने कुनै पनि कुरामा, तिनीहरू इमानदारी देखाउँदैनन्, आफ्नो हृदय लगाउँदैनन्, र कष्ट सहन अनिच्छुक हुन्छन्। तिनीहरूले केवल लापरवाह रूपमा काम गर्छन् र झारा टार्छन्, निरन्तर ठट्टा गरिहिँड्छन्। तिनीहरूले आफ्नो बोलीवचन र व्यवहारमा कसैलाई चिढ्याउँदैनन् र तिनीहरू सबैसँग मिलेर बस्‍न सक्छन्, अरूप्रति मिलनसार देखिन्छन्—यति मात्र हो कि, तिनीहरू अफवाह बटुल्न र फैलाउन मन पराउँछन्। यी कार्यहरूबाट, के हामी यी मानिसहरूलाई शैतानका सेवकका रूपमा चित्रण गर्न सक्छौँ? (सक्छौँ।) किन सक्छौँ? के यो कुरालाई बढाइचढाइ गर्नु हो? (होइन।) सत्यता पछ्याउने कार्यमा तिनीहरूलाई कुनै रुचि हुँदैन। तिनीहरू प्रवचन सुन्नेबित्तिकै निन्द्राले लट्ठ हुन्छन्; परमेश्‍वरका वचनहरूमा सङ्गति हुनेबित्तिकै, तिनीहरूलाई खिन्न र बेचैन महसुस हुन्छ, तिनीहरू पानी पिउन वा शौचालय जान बारम्बार उठ्छन्, तिनीहरूले भित्री रूपमा सधैँ असहज महसुस गर्छन्—सङ्गति सुन्नु तिनीहरूलाई यातना भोग्‍नुजत्तिकै अत्यन्तै गाह्रो लाग्छ। तर, तिनीहरूले शैतानका अफवाहहरू वा गैरविश्‍वासीहरूका दुष्ट शब्दहरू सुन्‍नेबित्तिकै, तिनीहरूको रुचि जाग्छ, तिनीहरू उत्साहित हुन्छन्, र तिनीहरूले ठूलो अग्रसरताका साथ यी अफवाह र दुष्ट शब्दहरू फैलाउन थाल्छन्। के त्यस्ता मानिसहरू दाजुभाइ-दिदीबहिनी हुन्? होइनन्। तिनीहरू अन्तस्करणबाट नै सत्यताप्रति वितृष्ण हुन्छन् र सत्यतालाई तिरस्कार गर्छन्। परमेश्‍वर र उहाँको कामसँग सम्बन्धित कुराहरूका सन्दर्भमा, चाहे त्यो परमेश्‍वरको पहिचान र सार होस्, परमेश्‍वरको हैसियत होस्, परमेश्‍वरको इज्जत होस्, वा परमेश्‍वर देहधारी हुनुभएको देह होस्, तिनीहरूले यी कुराहरूलाई हृदयमा अवहेलना गर्छन्। तिनीहरूसँग परमेश्‍वरको डर मान्ने हृदय पटक्‍कै हुँदैन। त्यसकारण, तिनीहरूले सधैँ परमेश्‍वर र उहाँको कामबारे धारणाहरू बोकेका हुन्छन्। तिनीहरूले सजिलै शैतानका यावत् प्रकारका अफवाह र दुष्ट शब्दहरू दोहोर्‍याउन सक्छन्, यसरी तिनीहरूले विवेकहीन रूपमा यस्तो कुरा फैलाउने आफ्नो उद्देश्य हासिल गर्न सक्छन्। यो कस्तो नीच व्यक्ति हो? के तिनीहरू परमेश्‍वरका विश्‍वासी हुन्? (होइनन्।) यी तिनै मानिसहरूका कार्यहरू हुन् जो मौखिक रूपमा परमेश्‍वरलाई स्वीकार गर्छन् र परमेश्‍वरलाई पछ्याउने दाबी गर्छन्, जो आकासमा एक वृद्ध मानिस छन्, र आफूभन्दा तीन फिट माथि परमेश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छन्, र असल र दुष्टको आफ्‍नै प्रतिफल हुन्छ भन्‍ने विश्‍वास गर्छन्। परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्ति यही हो। यदि कसैले तिनीहरूका आमाबुबालाई अपमान गरेका वा पिठ्युँ पछाडि तिनीहरूका आमाबुबाका बारेमा अफवाह फैलाएका भए, तिनीहरूले अवश्य नै मरुञ्‍जेल लडाइँ गर्नेथिए। तर, कसैले परमेश्‍वरलाई अपमान गर्दा, परमेश्‍वरलाई आक्रमण गर्दा, वा परमेश्‍वरको मानहानि गर्दा, तिनीहरू दुःखी हुँदैनन्, बरु तिनीहरूले यसलाई एउटा मजाकका रूपमा दोहोर्‍याएर जताततै फैलाउन पनि सक्छन्। के यो परमेश्‍वरको अनुयायीले गर्नुपर्ने कुरा हो? (होइन।) त्यसोभए, के धेरै मानिसहरूले यी अविश्‍वासीहरूलाई दाजुभाइ-दिदीबहिनीझैँ व्यवहार गर्नु उचित हुन्छ? (हुँदैन।) त्यसकारण, जब त्यस्ता मानिसहरू शैतानका सेवक भएको शङ्का गरिन्छ, तब अरू सतर्क हुनुपर्छ। अगुवा र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई यी मानिसहरूप्रति सावधान हुन तुरुन्तै जानकारी दिनुपर्छ, ताकि सबैले तिनीहरूलाई खुट्ट्याउन सकून्। तिनीहरू शैतानका सेवक, दियाबलस भएको पुष्टि भएपछि, सबैले तिनीहरूलाई सामूहिक रूपमा इन्कार गर्नुपर्छ र मण्डलीबाट निकाल्नुपर्छ। के यसो गर्नु सिद्धान्तहरूअनुरूप हुन्छ? (हुन्छ।) त्यसोभए यसै गर्नुपर्छ।

ग. परमेश्‍वरलाई मानहानि र आक्रमण गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको सरकारका र धार्मिक संसारका आधारहीन अफवाहहरूलाई कसरी लिने

चिनियाँ कम्युनिस्ट सरकार र धार्मिक संसारले परमेश्‍वरको घरका बारेमा धेरै आधारहीन अफवाहहरू सृजना गरेका छन्, दाजुभाइ-दिदीबहिनीहरूले मानिसहरूलाई सुसमाचार स्वीकार गर्न जबरजस्ती गर्छन् भन्ने जस्ता झूटो दाबी गरेका छन्। यी अफवाहहरू सुनेपछि तिमीहरूलाई कस्तो महसुस हुन्छ? (रिस उठ्छ, क्रोध जाग्छ।) यी तिमीहरू बारेका अफवाहहरू हुन्, र तिमीहरूमा क्रोध जाग्छ। तिमीहरू कुन हदसम्‍म क्रोधित हुन्छौ? के तिमीहरू अफवाहहरू सृजना गर्ने मानिसहरूलाई खोजेर तिनीहरूसँग तर्क गर्न, तिनीहरूलाई पाठसमेत सिकाउन चाहन्छौ? (चाहन्छौँ।) यी अफवाहहरूले सतही रूपमा मण्डलीलाई निशाना बनाउँछन्, तर वास्तवमा, ती मण्डलीका हरेक सदस्य र उसको प्रतिष्ठा र निष्ठासँग सम्बन्धित हुन्छन्। ती सुनेपछि तिमीहरू क्रोधित हुन्छौ, र यसो भन्छौ, “हामीले त्यसो गरेका छैनौँ! हामी सत्यता सिद्धान्तहरूअनुसार सुसमाचार प्रचार गर्छौँ। परमेश्‍वरमा विश्‍वास गर्न नचाहनेहरूलाई हामी कहिल्यै जबरजस्ती गर्दैनौँ। विश्वास भनेको स्वैच्छिक कुरा हो। हामी कसैलाई कहिल्यै जबरजस्ती गर्दैनौँ, हामीले मानिसहरूलाई हानि वा प्रतिकार गर्नु त झन् परको कुरा हो। बरु उल्टै, सुसमाचार प्रचार गर्ने हामीलाई धार्मिक मानिसहरूले निर्घात कुटपिट गरेका छन् र पुलिसलाई रिपोर्ट गरेका छन्, यातना भोगाउन ठूलो रातो अजिङ्गरको हातमा सुम्पेका छन्; हामीमध्ये धेरैलाई जेल हालिएको छ, र धेरैलाई धार्मिक मानिसहरूले स्थापना गरेका निजी जेलहरूमा समेत थुनामा राखिएको छ। अन्यायमा पर्ने त हामी हौँ!” यी अफवाहहरू सुनेपछि, तिमीहरू क्रोधित हुन्छौ र सधैँ तिनीहरूसँग तर्क गर्न चाहन्छौ। यी अफवाहहरूले मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूलाई सिधै आक्रमण र बदनाम गर्ने हुनाले तिमीहरूले यस्तो प्रतिक्रिया दिन्छौ। परमेश्‍वरको बदनाम र आलोचना गर्ने अफवाहहरू सुन्दा तिमीहरूलाई कस्तो लाग्छ? यी कुराहरू तिमीहरूका व्यक्तिगत स्वार्थ वा तिमीहरूको निष्ठा र इज्जतसँग सम्बन्धित हुँदैनन्; ती त परमेश्‍वरसँग सम्बन्धित अफवाहहरू हुन्। उदाहरणका लागि, जब तैँले पहिले येशूमा विश्‍वास गरेको थिइस्, तब कतिपय मानिसहरूले येशू कन्याबाट जन्मनुभएको हो र उहाँको बुबा हुनुहुन्न भनेर भन्थे। त्यो सुन्दा तँलाई कस्तो लाग्थ्यो? के तँ तिनीहरूसँग तर्क गर्न चाहन्थिस्? “हामीले त परमेश्‍वरमा विश्‍वास गर्ने हो!” त्यसपछि तैँले यसबारे विचार गरिस्: “मरियम एउटी कन्या थिइन्, र येशू पवित्र आत्माद्वारा गर्भधारण गराइएर एउटी कन्याबाट जन्मनुभयो। यो तथ्य हो, तर गैरविश्‍वासीहरूले यसबारे अशिष्ट रूपमा बोल्छन्, र मलाई त्यो सुन्न मन लाग्दैन!” बढीमा तँमा त्यस्ता भावनाहरू आए होलान्, तर तैँले हृदयमा अझै पनि पवित्र आत्माद्वारा गराइने गर्भधारण मानव धारणाहरूको ठूलो विरोधाभास हो भन्‍ने महसुस गरिस्। तैँले विज्ञानमा विश्‍वास गर्ने हुनाले यस कुरामा विश्‍वास गर्न सकिनस्; तँ हृदयदेखि नै परमेश्‍वरको सर्वशक्तिमान्‌तामा विश्‍वास गर्दैनस्, न त तँ परमेश्‍वरले भन्‍नुहुने र गर्नुहुने सबै कुरा सत्यता हो भनेर नै विश्‍वास गर्छस्, अनि त्यसपछि तँ अविश्‍वासीहरूका दुष्ट शब्दहरूलाई खण्डन गर्न जाँदैनस्। तँसँग सत्यता नभएकाले र तैँले सत्यता नबुझ्ने हुनाले, बढीमा, तँलाई मानिसहरूले कुरा गर्ने अफवाहहरू सुन्न अप्रिय लाग्छ, र तँलाई यी अफवाहहरू तेरो प्रतिष्ठासँग सम्बन्धित भएकाले मानिसहरूले त्यसरी बोल्नु हुँदैन भन्‍ने लाग्छ; तैँले सोच्छस्, “गैरविश्‍वासीहरू कति घिनलाग्दा र नीच हुन्छन्! तिनीहरू कुनै पनि फोहोरी शब्दहरू प्रयोग गर्ने दुस्साहस गर्छन्; तिनीहरू साँच्‍चै नै अविश्‍वासी हुन्! तिनीहरू साँच्‍चै नै दियाबलस हुन्!” यति मात्र हो, र बढीमा तैँले हासिल गर्न सक्‍ने कुरा यति नै हो। गैरविश्‍वासीहरूले यस्ता अफवाहहरू बोलेको सुन्दा तँ किन उद्वेलित हुन्छस् र तँलाई तिनीहरू किन नीच र घिनलाग्दा लाग्छ? किनभने ती कुराहरू तेरो प्रतिष्ठासँग सम्बन्धित छन्; यी अफवाहहरूले तेरो हृदयलाई उक्साउँछन्, तँलाई लज्जित महसुस गराउँछन्, त्यसकारण तिनले तेरो रिसलाई भड्काउँछन्, र तैँले खण्डन गर्न उठेर केही सकारात्मक शब्दहरू बोल्छस्। के त्यसरी खण्डन गर्नु पूर्ण रूपमा परमेश्‍वरको पक्षमा खडा हुनु हो? के यो परमेश्‍वरको गवाहीको रक्षा गर्नका लागि हो? होइन, यो पूर्ण रूपमा तेरो आफ्नै इज्जत र गरिमाको रक्षा गर्नका लागि हो। किन यसो भन्ने? किनभने तैँले समस्याको सार छर्लङ्गै देखेको छैनस्; त्योभन्दा बढी, तैँले परमेश्‍वरका अभिप्रायहरू के हुन् वा परमेश्‍वरले तँबाट के माग गर्नुहुन्छ भन्‍ने कुरा बुझेको छैनस्। तैँले बुझेको र अनुभव गरेको कुरा परमेश्‍वरका अभिप्रायहरूसँग मिल्दैन; यो त मानवको आवेशीपन र मानवको असल व्यवहार मात्रै हो। मानवको असल व्यवहारले परमेश्‍वरका लागि तैँले दिने गवाहीलाई प्रतिनिधित्व गर्दैन। तँ आफ्नो गवाहीमा दह्रिलो गरी खडा भएको छैनस्; तैँले केवल आफ्नो इज्जत र गरिमाको रक्षा गरिरहेको छस्, तैँले आफ्नो विवेकलाई अलिक शान्त पार्नका लागि अफवाहहरूलाई खण्डन गरिरहेको छस्—तँ परमेश्‍वरका लागि बोल्‍न उहाँको पक्षमा खडा भइरहेको छैनस्, न त तँ अफवाहहरूलाई खण्डन गर्न र परमेश्‍वरको गवाही दिन सत्यता वा तथ्यहरूको प्रयोग नै गरिरहेको छस्। तँ परमेश्‍वरका लागि बोलिरहेको छैनस्, र तैँले भन्ने कुरा पक्कै पनि सत्यतासँग मिल्दैन; यो तेरो दैहिक स्वार्थहरूसँग मात्रै मिल्छ—यो तेरो हृदयलाई कम दुःखी तुल्याउनका लागि मात्रै हो, र तँलाई प्रभु येशूमा विश्‍वास गर्नु लाजमर्दो कुरा हो भन्‍ने नलागोस् भनेर मात्रै हो। त्यति नै हो। त्यसकारण, जब तिमीहरूले कसैले परमेश्‍वरलाई आक्रमण र निन्दा गरेको, परमेश्‍वरको मण्डलीको मानहानि र आलोचना गरेको, वा तिमीहरूलाई समेत निन्दा गरेको सुन्छौ, तब तिमीहरू निकै क्रोधित हुन्छौ र तिनीहरूसँग तर्क र बहस गर्न, आफ्नो प्रतिष्ठालाई पुनर्स्थापित गर्न र यी मामलाहरू प्रस्ट्याउन चाहन्छौ। तर के यसको अर्थ तिमीहरू आफ्नो गवाहीमा दह्रिलो गरी खडा भएका छौ भन्‍ने हुन्छ? कुरा त्यहाँसम्म पुग्दैन; सत्यता नबुझी, कुनै गवाही हुँदैन!

जब तिमीहरूले बाहिरी संसारमा परमेश्‍वरको मानहानि गर्ने र उहाँलाई आक्रमण गर्ने अफवाहहरू सुन्छौ, चाहे तिनीहरूले स्वर्गका परमेश्‍वरलाई आक्रमण गरेका होऊन् वा पृथ्वीका देहधारी परमेश्‍वरलाई, तिमीहरूलाई कस्तो लाग्छ? तिमीहरू उदासीन हुन्छौ कि तिमीहरूलाई अलिक पीडा हुन्छ? के तिमीहरू यसलाई सहन सक्दैनौ र स्वीकार गर्दैनौ, कि तिमीहरू लाचार हुन्छौ? यी अफवाहहरू सुनेपछि कतिपय मानिसहरूले सोच्छन्, “परमेश्‍वर निर्दोष हुनुहुन्छ; परमेश्‍वरले ती कुराहरू गर्नुभएको छैन। उहाँलाई किन संसार र धार्मिक संसारद्वारा यसरी आक्रमण र मानहानि गरिँदै छ? हामीले लगनशीलताका साथ आफूलाई समर्पित गर्नुपर्छ र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र परमेश्‍वरको नामको रक्षा गर्नुपर्छ। जब परमेश्‍वरको महान् काम पूरा हुन्छ, तब सबै कुराको सत्यता प्रकाशमा आउनेछ, र हामीले विश्‍वास गर्ने देहधारी परमेश्‍वर एक मात्र साँचो परमेश्‍वर, स्वर्गका परमेश्‍वर हुनुहुन्छ, र यो पटक्‍कै गलत होइन भन्‍ने कुरा संसारका सबै मानिसहरूले देख्‍नेछन्!” अरूले सोच्छन्, “परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, र यी गैरविश्‍वासी दुष्ट मानिसहरू र दियाबलसहरूलाई परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने कुरा राम्ररी थाहा छ, तैपनि तिनीहरू अझै पनि परमेश्‍वरलाई मानहानि र आक्रमण गर्छन्। परमेश्‍वरले कहिलेसम्म कष्ट भोग्‍नुपर्ने हो?” अझै अरूले भन्छन्, “मानिसहरूले आफूलाई जे मन लाग्यो त्यही भन्‍न सक्छन्; हामी तिनीहरूको कुरामा ध्यान दिँदैनौँ। परमेश्‍वरले उहाँको मानहानि गर्ने अफवाहहरूलाई कहिल्यै खण्डन गर्नुभएको छैन; उहाँले ती कुराको जवाफ दिनुहुन्न। त्यसोभए, हामी जस्तो यति सानो मानवजातिले के गर्न सक्छौँ र? के मानवजातिले परमेश्‍वरलाई सधैँ यसरी नै गलत रूपमा बुझ्ने, आक्रमण गर्ने, ईश्‍वरनिन्दा गर्ने, र इन्कार गर्ने गरेको छैन र? परमेश्‍वरले बिलकुलै गुनासो गर्नुहुन्न, र उहाँ अझै पनि मानिसहरूलाई मुक्ति दिनुहुन्छ। समयले सबै कुरा प्रकाश गरोस्; परमेश्‍वरले आफ्‍नो गवाही आफै दिनुहुनेछ!” तिमीहरूको दृष्टिकोण के हो? भर्खरै मैले नडगमगाउने, क्रोधित हुने, यस्तो कुरा स्वीकार नगर्ने, लाचार हुनेबारे कुरा गरेँ—तिमीहरूलाई कुन महसुस हुन्छ? कुन भावना सबैभन्दा सही छ? यी मामलाहरूलाई सत्यता सिद्धान्तहरूअनुसार कसरी लिइनुपर्छ? यी अफवाहहरू सुन्दा तिमीहरूलाई कस्तो लाग्छ? (क्रोधित।) क्रोधित, अनि त्यसपछि तँ यी अफवाह सृजना गर्नेहरू, यी धार्मिक ठगहरू र धर्मका दुष्ट मानिसहरूका विरुद्धमा निन्दा लेख्‍न चाहन्छस्। के तँमा यस्ता विचारहरू आउँछन्? तँलाई रिसले मुट्ठी कसेर बसे पुग्छ भन्‍ने लाग्‍नेछैन, होइन र? के तँलाई यसबारे केही गर्ने हुटहुटी हुन्छ? कि यो खोक्रो क्रोध मात्रै हो? (घृणा र इन्कार पनि हुन्छ।) क्रोध, घृणा, इन्कार—यी निश्चित शब्द, व्यवहार, वा कार्यहरूविना मानसिक क्रियाकलापहरूबाट पैदा हुने भावनाहरू हुन्; ती भावना मात्रै हुन्, र तिनले अवश्यै निश्चित मनोवृत्तिहरूलाई पनि प्रतिनिधित्व गर्छन्। (क्रोधित हुनुबाहेक, कहिलेकाहीँ हामी तथ्यहरूलाई स्पष्ट पार्न र तिनीहरूको कार्यको सार सत्यता र परमेश्‍वरप्रति घृणाको सार हो भनेर खुलासा गर्नका लागि लेखहरू लेख्छौँ वा कार्यक्रमहरू बनाउँछौँ, ताकि मानिसहरूले साँचो तथ्यहरू देख्न सकून्।) के ती मानिसहरूले साँचो तथ्यहरू देखेपछि यसलाई स्वीकार गर्नेछन्? यदि तिनीहरूले तिमीहरूले भनेको कुरा सही छ भनेर स्वीकार गरे र त्यसपछि “तिमीहरूको विश्‍वास सही छ; विश्‍वास गरिराख, हामी तिमीहरूलाई साथ दिन्छौँ!” भनेर निष्पक्ष टिप्पणी गरे अनि धार्मिक ठगहरूलाई लाज लाग्यो र तिनीहरूले “माफ गर, हामी गलत थियौँ, हामीले भनेको कुरा तथ्यगत थिएन; अबदेखि, तिमीहरू आफ्नै तरिकाले विश्‍वास गर, र हामी हाम्रै तरिकाले विश्‍वास गर्नेछौँ” भनेर भने पनि, के त्यस कुराले तिमीहरूलाई ढुक्क बनाउँछ? के तिमीहरूले पूरा गर्न खोजेको उद्देश्य यही मात्रै हो? (हामी परमेश्‍वरसामु गवाही दिन पनि चाहन्छौँ ताकि साँचो मार्गको अनुसन्धान गरिरहेका र सत्यताको तृष्णा गर्नेहरूले सही र गलतबीच स्पष्ट रूपमा भिन्‍नता खुट्टयाउन र साँचो मार्गलाई स्विकार्न सकून्।) यो एउटा मार्ग हो; यो अभ्यासको सकारात्मक तरिका हो। के रिस र घृणा मात्र गरेर काम लाग्छ? तिमीहरूको रिस र घृणाको कारण के हो? किन रिसाउने र घृणा गर्ने? (परमेश्‍वर मानिसहरूलाई मुक्ति दिन देह बन्‍नुभएको छ, जुन सबैभन्दा न्यायवान् कुरा हो, तर तिनीहरू परमेश्‍वरलाई आलोचना र बदनाम गर्न अफवाहहरू फैलाउँछन्। तिनीहरूले साँच्‍चै नै सही र गलतलाई उल्ट्याइरहेका र बकवास गरिरहेका छन् भन्‍ने सोचेर हामी निकै क्रोधित हुन्छौँ।) के तिमीहरूलाई मानवजाति र संसारले परमेश्‍वरलाई गरेको इन्कार र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्ति परमेश्‍वरको यो देहधारणको अवधिमा मात्रै यस्तो हुन्छ भन्‍ने लाग्छ? परमेश्‍वरप्रतिको मानवजाति र संसारको मनोवृत्ति सुरुदेखि अन्त्यसम्मै सधैँ उस्तै निन्दा गर्ने, मानहानि गर्ने, आक्रमण गर्ने, र ईश्‍वरनिन्दा गर्ने किसिमको रहिआएको छ। परमेश्‍वरले आफ्नो काम सुरु गर्नुभएदेखि अहिलेसम्म, परमेश्‍वरले गर्नुभएका सबै कुराप्रति, र देहधारी परमेश्‍वरप्रति मानवजातिको मनोवृत्ति परिवर्तन भएको छैन। परमेश्‍वरको पहिलो देहधारणपछि मात्रै मानवजातिले परमेश्‍वरलाई आक्रमण गर्न र उहाँको ईश्‍वरनिन्दा गर्न र देहधारी परमेश्‍वरबारे विभिन्‍न अफवाहहरू सृजना गर्न थालेको होइन—परमेश्‍वरले आफ्नो काम सुरु गर्नुभएको र मानवजाति परमेश्‍वर र उहाँको कामको सम्पर्कमा आएको समयदेखि नै यो सब हुँदै आइरहेको छ, र अहिलेसम्म जारी रहेको छ। अनि परमेश्‍वरलाई पछ्याउने मानिसहरूले सधैँ परमेश्‍वर र मण्डलीका विरुद्धमा रहेका शैतानका शासन र धार्मिक ख्रीष्टविरोधी शक्तिहरूबाट बदनाम, आक्रमण, आलोचना, ईश्‍वरनिन्दा, विभिन्‍न अफवाह, र अरू धेरै कुरा सहनु परेको छ। के परमेश्‍वरका अनुयायीहरूले यी कुराहरू सहनैपर्छ भन्‍ने हुन सक्छ? कतिपयले भन्छन्, “यी अफवाहहरूदेखि हामीलाई अत्यन्तै घिन लागेको छ किनभने तिनले तथ्यहरूलाई पूर्ण रूपमा बङ्ग्याउँछन् र सही र गलतलाई उल्ट्याउँछन्। ती कुरा सुन्‍नेबित्तिकै हाम्रो पारो तात्छ, र अफवाहहरू सृजना गर्ने र फैलाउनेहरूलाई हामी हृदयको गहिराइदेखि घृणा गर्छौँ। यी अफवाहहरू चाहे धार्मिक संसारबाट आएका होऊन् वा चिनियाँ कम्युनिस्ट पार्टीको दुष्ट सरकारबाट आएका होऊन्, हामीसँग एउटै मनोवृत्ति हुन्छ, र त्यो घृणा र रिसको मनोवृत्ति हो; अनि त्यसपछि हामी तिनलाई खण्डन गर्न र सबै कुरा स्पष्ट पार्न चाहन्छौँ।” कतिपयले यसो समेत भन्छन्, “हामी यी दुष्ट दियाबलसहरू, ख्रीष्टविरोधीहरूसँग बहस गर्न चाहन्छौँ, ताकि हामी शैतानलाई लज्जित पार्न र अपमानित गर्न सकौँ!” के धेरैजसो मानिसहरूको दृष्टिकोण यही हो? के यो दृष्टिकोण सही छ? सामान्य मानवताको दृष्टिकोणबाट हेर्दा, यो उचित छ। मानिसहरूमा केही सिधापन र भावनाहरूको सामान्य दायरा हुनुपर्छ; तिनीहरूले स्पष्ट रूपमा प्रेम र घृणा गर्नुपर्छ, प्रेम गर्नुपर्ने कुरालाई प्रेम गर्नुपर्छ र घृणा गर्नुपर्ने कुरालाई घृणा गर्नुपर्छ। सामान्य मानवता भएका मानिसहरूमा यी गुणहरू हुनुपर्छ। तर, के सत्यता सिद्धान्तहरूअनुरूप हुनका लागि सामान्य मानवताको दृष्टिकोणबाट खडा हुनु मात्रै पर्याप्त हुन्छ? यसलाई अझै स्पष्ट रूपमा भन्दा, के यो शैली परमेश्‍वरका अभिप्रायहरू अनुरूप छ? वा अझ भन्नुपर्दा, कि यो त्यस्तो मनोवृत्ति र शैली हो जसमा परमेश्‍वर प्रसन्न हुनुहुन्छ? मैले यसो भन्दा, धेरैजसो मानिसहरूले केही कुरा बुझेर यस्तो सोच्न सक्छन्, “तपाईँले यो सामान्य मानवताको दृष्टिकोणबाट हेर्नु मात्रै हो भनेर भन्‍नुभयो। तपाईँले भन्‍नुभएका कुराहरूको आशयलाई हेर्दा, यो आवेशीपनको शैली हो, यो सत्यता सिद्धान्तहरूअनुरूप छैन, र परमेश्‍वरका अभिप्रायहरूअनुरूप छैन भन्‍ने कुरा प्रस्टै छ।” परमेश्‍वरका अभिप्रायहरूअनुरूप नहुनु भनेको के हो? यसको अर्थ परमेश्‍वर मानिसहरूले यसरी व्यवहार गरेको चाहनुहुन्न भन्‍ने हुन्छ; परमेश्‍वरका कामनाहरू र मानिसहरूप्रति उहाँले माग गर्नुभएका मानकहरू यस्ता हुँदैनन्। यदि तैँले यसरी व्यवहार गरिस् भने, परमेश्‍वरले यसलाई निन्दा नगर्नुहुने भए पनि, उहाँको दृष्टिकोणबाट हेर्दा, यसको अर्थ तैँले उहाँको इच्छालाई पछ्याइरहेको छस् भन्‍ने हुँदैन, र उहाँले यो स्वीकार गर्नुहुन्न। झट्ट हेर्दा, तैँले यी कुराहरू गर्दा समझका साथ व्यवहार गरिरहेको छस्, तँसँग घृणा र प्रेम दुवै छ, तँ परमेश्‍वरका लागि यी तथ्यहरू स्पष्ट पार्न चाहन्छस्, ताकि परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, परमेश्‍वर सम्पूर्ण मानवजातिको परमेश्‍वर हुनुहुन्छ, र सबैले परमेश्‍वरको आराधना गर्नुपर्छ र परमेश्‍वरको मुक्ति स्वीकार गर्नुपर्छ भनेर सारा संसारले थाहा पाऊन्। झट्ट हेर्दा, तैँले गरिरहेको काम खोटरहित, उचित, कानुनअनुरूप, मानवताअनुरूप, नैतिकताअनुरूप, र अझै बढी, सबै मानिसहरूको स्वादअनुरूप छ जस्तो देखिन्छ। तर के तैँले यसबारे परमेश्‍वरलाई सोधेको छस्? के तैँले परमेश्‍वरलाई खोजेको छस्? के तैँले परमेश्‍वरका वचनहरूमा उहाँले मानिसहरूबाट माग गर्नुहुने कार्यका सिद्धान्तहरू भेट्टाएको छस्? परमेश्‍वरका अभिप्रायहरू ठ्याक्कै के-के हुन्? कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरका वचनहरू धेरै छन्; हरेक मामलामा मानिसहरूप्रति परमेश्‍वरका निश्चित मागहरू भेट्टाउन सजिलो छैन।” तैँले परमेश्‍वरका स्पष्ट वचनहरू भेट्टाएको छैनस्, त्यसकारण तैँले यस्ता अफवाहहरूप्रति परमेश्‍वरको मनोवृत्तिबाट सुरागहरू खोज्न सक्छस्। त्यसपछि के तिमीहरूले यस मामलाप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ र तिनीहरूले अभ्यास गर्नुपर्ने सिद्धान्तहरू के-के हुन् भन्‍ने कुरालाई यस मामलाप्रति परमेश्‍वरको मनोवृत्तिका आधारमा निर्धारित गर्न सक्दैनौ र? (सक्छौँ।) त्यसोभए, यस मामलाप्रति परमेश्‍वरको मनोवृत्ति ठ्याक्कै कस्तो छ, हेरौँ।

मानवजातिले परमेश्‍वरको कामसँग साक्षात्कार गर्न थालेदेखि नै मानिसहरूले परमेश्‍वरप्रति गुनासो गरेका छन् र तिनीहरू उहाँसँग असन्तुष्ट भएका छन्, र यहाँसम्म कि तिनीहरूले परमेश्‍वरप्रति शङ्का, अविश्‍वास, र इन्कार गर्ने धेरै घृणित शब्दहरूका साथै अन्य कुराहरू गुप्त रूपमा बोल्दै आएका छन्। सत्ताधारी दल र धार्मिक संसारबाट विभिन्‍न अफवाहहरू पनि आउने गरेका छन्, जो तथ्यहरूसँग पटक्‍कै मेल खाँदैनन् न त सत्यतासँग नै मिल्छन्। परमेश्‍वरका लागि यी शब्दहरू के हुन्? ती शङ्का, गलतफहमी हुन्, वा गुनासा जे भए पनि, ती सबै परमेश्‍वरविरुद्धका आक्रमण, मानहानि, र ईश्‍वरनिन्दाहरूले भरिएका हुन्छन्, र तिनले अलिकति पनि परमेश्‍वरको डर मान्ने हृदयलाई प्रतिबिम्बित गर्दैनन्; यो सुरुदेखि नै यस्तै रहिआएको छ। मण्डलीमा सधैँ सत्यतालाई प्रेम नगर्ने कोही न कोही हुन्छन्। यिनीहरू परमेश्‍वरका वचनहरू र सत्यतामाथि शङ्का गर्ने, परमेश्‍वरप्रति यस्तो मनोवृत्ति देखाउने अविश्‍वासीहरू हुन्। अझै बढी त, ती गैरविश्‍वासी र नास्तिक शासक दलहरू, सत्यताप्रति वितृष्ण हुने ती मानिसहरू—परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्ति व्याख्या गरिरहनु पर्दैन; तिनीहरू जे मन लाग्यो त्यो भन्दै नैतिकहीन तरिकाले आक्रमण र आलोचना गर्छन्। विशेष गरी, धार्मिक संसारका ती फरिसीहरूले अझै बढी यो अवसरलाई प्रयोग गरेर स्वेच्छाचारी रूपमा आलोचना र निन्दा गर्छन्। यी सबै टिप्पणीहरू सकारात्मक हुँदैनन्, र ती अवश्य नै वस्तुगत र सटीक हुँदैनन्। त्यसोभए यी टिप्पणीहरूको सार के हो त? परमेश्‍वरका लागि, यी शब्दहरू केवल अभिव्यक्ति वा दृष्टिकोण होइनन्, बरु उहाँविरुद्ध गरिएका बदनाम, आक्रमण, मानहानि, र ईश्‍वरनिन्दा हुन्। म किन “परमेश्‍वरका लागि” भनेर भन्छु? किनभने परमेश्‍वरले यी सबै कुरालाई सबैभन्दा सटीक रूपमा मापन गर्नुहुन्छ, हामी त एउटा उपसर्ग मात्रै थप्न सक्छौँ। इतिहासभरि, परमेश्‍वरप्रति मानवजातिको मनोवृत्ति यस्तै रहिआएको छ; परमेश्‍वरलाई आक्रमण र अपमान गर्ने मानिसहरूका शब्दहरू अति धेरै छन्, र एउटा शब्दले पनि राम्रो अभिप्राय बोकेको हुँदैन। आज पनि, तिमीहरूको कानले सुन्ने र तिमीहरूको आँखाले देख्ने कुरा उही हो। सुरुदेखि नै, परमेश्‍वरप्रति समस्त मानवजातिको मनोवृत्ति परिवर्तन भएको छैन। परमेश्‍वरले यी मामलाहरूलाई कसरी सम्हाल्नुहुन्छ? के परमेश्‍वरसँग आफूलाई रक्षा गर्न, आफ्नो कामका वास्तविक तथ्यहरू स्पष्ट पार्न, मानवजातिसामु आफूलाई सही साबित गर्नका लागि एउटा विश्‍वव्यापी धार्मिक महाधिवेशन आयोजना गर्ने अवस्था वा सामर्थ्य छ? के परमेश्‍वरले यसो गर्नुभएको छ? छैन, परमेश्‍वर मौन रहनुहुन्छ, उहाँले सम्पूर्ण अवस्था स्पष्ट पार्नुहुन्न, न त उहाँले कहिल्यै आफूलाई रक्षा गर्नुहुन्छ वा सही साबित गराउनुहुन्छ। तर, परमेश्‍वरलाई निकै दुष्ट तरिकाले आक्रमण गर्नेहरूलाई परमेश्‍वरले केही दण्ड दिनुभएको छ, र तिनीहरूमाथि केही वास्तविक घटनाहरू घट्न दिनुभएको छ। जहाँसम्‍म सर्वसाधारणको आक्रमण, मानहानि, र ईश्‍वरनिन्दाको कुरा आउँछ, त्यसप्रति परमेश्‍वरको मनोवृत्ति के हो? परमेश्‍वरले यसलाई कसरी सम्हाल्नुहुन्छ? उहाँले यसलाई बेवास्ता गर्नुहुन्छ; उहाँले जे गर्नुपर्ने हो त्यही गर्नुहुन्छ, जसरी गर्नुपर्ने हो त्यसरी गर्नुहुन्छ, जसलाई छनौट गर्नुपर्ने हो उसैलाई छनौट गर्नुहुन्छ, जसलाई मार्गदर्शन गर्नुपर्ने हो उसलाई मार्गदर्शन गर्नुहुन्छ। सारा संसार परमेश्‍वरको हातमा व्यवस्थित छ; उहाँले मानव आक्रमण, मानहानि, वा ईश्‍वरनिन्दाका कारण कहिल्यै आफ्ना योजनाहरू बिथोल्नुभएको वा बदल्नुभएको छैन। शैतानका दुष्ट शक्तिहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई दमन र पक्राउ गर्दा, तिनीहरू जति नै उन्मत्त भए पनि, परमेश्‍वरले आफ्ना योजना वा आफ्नो मन कहिल्यै परिवर्तन गर्नुभएको छैन। उहाँका सोचविचारहरू पूर्णतया अपरिवर्तित रहन्छन्; उहाँ सधैँझैँ आफूले गर्न चाहेको काम गर्न जारी राख्नुहुन्छ, र आफ्नो मानवजातिलाई व्यवस्थापन गर्नुहुन्छ। परमेश्‍वरका लागि, यी आक्रमण, मानहानि, र ईश्‍वरनिन्दाहरूले कहिल्यै कुनै हस्तक्षेप गरेका छैनन्; परमेश्‍वरले तिनलाई ध्यान नै दिनुहुन्न। परमेश्‍वरले किन आफूलाई सही साबित गराउनुहुन्न वा आफ्नो रक्षा गर्नुहुन्न? परमेश्‍वरका लागि, यी कुराहरू पूर्ण रूपमा सामान्य हुन्। मानवजाति भनेको मानवजाति नै हो, र शैतान भनेको शैतान नै हो। सत्यता वा वास्तविक तथ्यहरू नबुझ्ने मानिसहरूले यस्ता कामकुरा गर्नु निकै सामान्य हो। के यसले परमेश्‍वरको कामका चरणहरूमा असर गर्छ? गर्दैन। परमेश्‍वरसँग ठूलो शक्ति छ; उहाँले सबैमाथि सार्वभौमिकता राख्नुहुन्छ। यावत् थोक र सब थोक परमेश्‍वरका वचनहरूभित्र, परमेश्‍वरका विचारहरूभित्र, र परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत विधिवत् रूपमा सञ्चालित हुन्छन्; मानवजातिले जेसुकै भनून् वा गरून्, यसले परमेश्‍वरको काममा कुनै पनि रूपमा प्रभाव पार्न सक्दैन—दिव्य सार भएको परमेश्‍वरले गर्न सक्‍ने कुरा यही हो। परमेश्‍वरले समय आएपछि काम गर्नुहुन्छ, र अलिकति पनि तलमाथि नगरीकन आफ्ना योजनाहरू पूरा गर्नुहुन्छ, र कसैले पनि यीमध्ये केहीलाई परिवर्तन गर्न सक्दैन। चाहे त्यो परमेश्‍वरको काम बिथोल्न र त्यसलाई नष्ट गर्नका लागि जानी-जानी गरिएको प्रयास होस् वा परमेश्‍वरको काममा अनजानमा बाधा दिने र त्यसलाई तोड्ने अभिप्रायले त्यो गरिएको होस्, मानव टिप्पणी र मानवले गर्ने परमेश्‍वरमाथिको कुनै पनि आक्रमण वा उहाँको मानहानिले कहिल्यै आफ्नो उद्देश्य पूरा गरेका छैनन्। किन? यो परमेश्‍वरको अख्तियार हो; यसले परमेश्‍वरको अख्तियार अद्वितीय छ, यसलाई कुनै पनि शक्तिले प्रतिस्थापन गर्न सक्दैन, र कुनै पनि शक्तिले जित्न सक्दैन भन्‍ने कुरा पुष्टि गर्छ। यो तथ्य हो। परमेश्‍वरसँग यो अख्तियार र शक्ति छ, परमेश्‍वरसँग उहाँको साँचो पहिचान छ, र कुनै पनि शक्तिले केही पनि परिवर्तन गर्न सक्दैन, त्यसकारण मानिसहरूले गर्ने सानातिना आक्रमण र मानहानिलाई परमेश्‍वरले किन वास्ता गर्नुपर्‍यो र? परमेश्‍वरका लागि, मानवजातिबीच रहेका जति महत्त्वपूर्ण व्यक्तिहरू वा जति शक्तिशाली तागतहरूले उहाँलाई हस्तक्षेप गर्ने, उहाँको मानहानि गर्ने, उहाँलाई आक्रमण गर्ने, वा ईश्‍वरनिन्दा गर्ने प्रयास गरे पनि, यसले परमेश्‍वरका काममा अलिकति पनि बाधा दिन सक्दैन। बरु, यी कार्यहरूले परमेश्‍वरको धर्मी स्वभाव र सर्वशक्तिमान्‌तालाई अझ प्रस्ट रूपमा देखाउने काम मात्र गर्छन्। शैतानका दुष्ट शक्तिहरूले दिने बाधाहरू मानव इतिहासको क्रममा आइपर्ने एउटा सानो घटना मात्रै हो। सारा मानवजातिमाथि सार्वभौमिकता राख्‍न, सारा मानवजातिलाई प्रभाव पार्न, र सारा मानवजातिलाई रूपान्तरण गर्न सक्‍ने भनेको परमेश्‍वरको काम, परमेश्‍वरको योजना, र परमेश्‍वरको महान् शक्ति र अख्तियारले नै हो। तथ्य यही हो। यसविपरीत, के परमेश्‍वरले उहाँविरुद्ध मानिसहरूले गर्ने बदनाम, आक्रमण, मानहानि, र ईश्‍वरनिन्दाको वास्ता गर्नु आवश्यक छ? छैन। परमेश्‍वरसँग अख्तियार भएको हुनाले, परमेश्‍वरका लागि, “म जे भन्छु मेरो तात्पर्य त्यही हुन्छ, म जे भन्छु त्यो पूरा हुनेछ, र मैले जे गर्छु त्यो सदासर्वदा रहिरहनेछ” भन्‍ने उहाँको अभिव्यक्ति सधैँ साकार हुनेछ; यो हरेक दिन साकार भइरहेको र पूरा भइरहेको हुन्छ। यो परमेश्‍वरको अख्तियार हो। कतिपय मानिसहरूले सोध्छन्, “के यो परमेश्‍वरको आत्मविश्‍वास हो, उहाँको आस्था हो?” तँ गलत छस्! मानिसहरूमा आत्मविश्‍वास हुन्छ, मानिसहरूलाई आस्था चाहिन्छ, तर परमेश्‍वरलाई चाहिँदैन। किन? किनभने परमेश्‍वरसँग अख्तियार र शक्ति छ, र मानवजातिले उहाँको जति मानहानि वा निन्दा गरे पनि, शैतानका शत्रुवत् शक्तिहरूले जति बाधा दिए पनि र अन्तरध्वंस गरे पनि, केही पनि परिवर्तन हुनेछैन। त्यसकारण, परमेश्‍वरले आफ्नो काम अघि बढाउनुभन्दा पहिले उहाँलाई आक्रमण गर्ने, उहाँको मानहानि, र ईश्वरनिन्दा गर्ने भ्रष्ट मानवजातिबीच रहेका शत्रुवत् शक्तिहरूलाई हटाउनु पर्दैन। परमेश्‍वरले कस्ता परिस्थितिहरूमा काम गर्नुहुन्छ? उहाँले कस्ता परिस्थितिहरूमा विजय हासिल गर्नुहुन्छ? उहाँले कस्ता परिस्थितिहरूमा आफ्नो काम पूरा गर्नुहुन्छ? यसलाई सारा मानवजाति र सबै शत्रुवत् शक्तिहरूको आक्रमण, मानहानि, र ईश्‍वरनिन्दाको कोलाहलबीच पूरा गरिन्छ; उहाँले यस्तो वातावरण र पृष्ठभूमिमा आफ्नो काम पूरा गर्नुहुन्छ। के यो परमेश्‍वरको महान् शक्तिको प्रदर्शन होइन र? के यो परमेश्‍वरको अख्तियार होइन र? (हो।) यो तथ्यलाई कसले इन्कार गर्न सक्छ? के तँसँग यो तथ्य हो भनेर नस्विकार्ने आँट छ?

इतिहासभरि, मानवजातिले निरन्तर परमेश्‍वरको मानहानि र ईश्वरनिन्दा गरेको छ, र आखिरी दिनहरूमा, परमेश्‍वरको प्रतिरोध गर्ने सारा मानवजातिमाझका शक्तिहरू अझै बलिया हुँदै गएका छन्, र परमेश्‍वरको मानहानि र निन्दा गर्ने आवाजहरू झन्-झन् बढिरहेका छन्। मानवजातिले परमेश्‍वरलाई मानहानि र आक्रमण गर्नका लागि पत्रपत्रिका, टेलिभिजन, इन्टरनेट, र अन्य मिडियामार्फत विभिन्‍न विधिहरू प्रयोग गर्छ। तर के हामीले हाम्रा सबै भेलाहरूमा यी अफवाहहरू कहिल्यै चिरफार गरेका छौँ? (छैनौँ।) किन छैनौँ? कतिपय मानिसहरू भन्छन्, “के निर्दोषहरू निर्दोष नै रहने, र अफवाहहरू बुद्धिमानी मानिसहरूकहाँ पुगेपछि मर्ने हुनाले हो?” के त्यही कारणले हो? (यी अफवाहहरूले आधारभूत रूपमा परमेश्‍वरको काममा असर गर्न सक्दैनन्। शैतानले जति बाधा दिए पनि, यसले परमेश्‍वरको काम र योजनाको प्रगतिलाई खल्बल्याउन वा बिथोल्न सक्दैन।) शैतान त्यस्तै कुरा हो; जबसम्म परमेश्‍वरले कार्य गर्नुहुन्छ, जबसम्म परमेश्‍वरले काम गर्नुहुन्छ, तबसम्म यो बाधा दिन आइरहन्छ। यसले खेल्ने भूमिका ठीक यही हो। के तैँले यसलाई यो भूमिका खेल्नबाट रोक्नु ठीक हुन्छ? तैँले यसलाई भूमिका निर्वाह गर्ने पर्याप्त ठाउँ, पर्याप्त मञ्च, पर्याप्त अवसर दिनुपर्छ। जब यसले पर्याप्त रूपमा भूमिका निर्वाह गरेको हुन्छ, त्यो आफूले ल्याएको उथलपुथलबाट थकित भएको हुन्छ, र त्यसले पर्याप्त दुष्टता गरेको हुन्छ, तब यसका दिनहरू समाप्त हुन्छन्। हामीले यी अफवाहहरू भन्डाफोर गर्नका लागि यसका विभिन्‍न अफवाह र दुष्कर्महरूको चिरफार र विश्लेषण गरेर बहुमूल्य समय खेर फाल्नु पर्दैन; त्यसो गर्नु व्यर्थ र बेकार हो। ती कुराहरू चिरफार गरेर के फाइदा हुन्छ र? के यसले मानिसहरूले सत्यता बुझ्नुलाई प्रतिनिधित्व गर्न सक्छ? मानिसहरूले बुझ्नुपर्ने सत्यताहरू अति धेरै छन्; तिनीहरूले यी सबै सत्यता सुन्नसमेत सक्दैनन्, यी अफवाहहरूलाई भन्डाफोर गर्नु त परको कुरा हो। के मानिसहरूसँग त्यस्तो खाली समय हुन्छ? इमानदारीपूर्वक भन्दा, मलाई ती कुराहरूमा साँच्‍चै रुचि छैन, न त म तिनलाई उल्लेख गर्न वा तीप्रति ध्यान दिन नै इच्छुक छु। कतिपय मानिसहरू भन्छन्, “यी वर्षहरूमा, के तपाईँले कहीँ जाने आँट नगर्नुभएको हो र? के यति धेरै अफवाहहरू फैलिरहेका हुनाले तपाईँ जहाँ गए पनि सधैँ चिन्तित हुनुभएको र डराउनुभएको हो र?” म आफूलाई बिलकुलै केही महसुस हुँदैन भनेर भन्छु। कतिपय मानिसहरू भन्छन्, “के तपाईँ आफूले नगरेका कामकुराविरुद्ध आफ्नो बचाउ गर्न चाहनुहुन्‍न र?” बचाउ गर्नुपर्ने के नै छ र? म आफूले गर्नुपर्ने काम गर्न त भ्याउँदिनँ! म दियाबलसहरूसँग नभई मानिसहरूसँग, सृजित प्राणीहरूसँग कुरा गर्छु। कतिपय मानिसहरूले सोध्छन्, “यी अफवाहहरू सुन्दा तपाईँलाई रिस उठ्दैन?” म आफूलाई तिनीहरूप्रति केही महसुस हुँदैन, तिनीहरूले मलाई केही महसुस गराउँदैनन्; म यी मामलालाई वास्ता गर्दिनँ भनेर भन्छु। कतिपय मानिसहरूले सोध्छन्, “के तपाईँलाई अन्यायमा परेको महसुस हुँदैन?” म भन्छु, मलाई आफू अन्यायमा परेको छु जस्तो लाग्दैन, अन्यायमा परेको जस्तो महसुस गर्नुपर्ने के नै छ र? जे गर्न सकिन्छ त्यो गर्छु, आफूले गर्नुपर्ने काम गर्छु, आफूले गर्न सक्‍ने र गर्नुपर्ने काम राम्ररी गर्छु, आफ्‍ना जिम्मेवारीहरू पूरा गर्छु—त्यो नै सबैभन्दा राम्रो कुरा हो, त्यो अर्थपूर्ण कुरा हो। म ती अर्थहीन र बेकारका कुराहरूद्वारा विचलित हुँदिनँ वा ती कुरामा समय खर्च गर्दिनँ। मसँग ती कुरालाई वास्ता गर्ने समय छैन। कतिपय मानिसहरूले भन्छन्, “तपाईँसँग खाली समय हुँदा चाहिँ, के तपाईँ ती कुरालाई वास्ता गर्नुहुन्छ?” अहँ, खाली समय हुँदा पनि गर्दिनँ। म दियाबलसहरूसँग कुरा गर्नुभन्दा मेरो कुकुरसँग कुरा गर्छु। यदि तँलाई यो दियाबलसले आफ्नो दुष्ट कुरा फलाकिरहेको हो भन्‍ने स्पष्ट रूपमा थाहा छ भने, यसलाई किन वास्ता गर्ने त? तैँले बिलकुलै वास्ता गर्नु हुँदैन; दियाबलसलाई पूर्ण रूपमा लज्जित हुन दिनु नै सही कुरा हो। छोटकरीमा भन्दा, यी अफवाहहरूप्रति परमेश्‍वरको मनोवृत्ति यस प्रकार छ: कुनै पनि काम गर्दा वा हरेक वाक्य बोल्दा, परमेश्‍वरले आफूलाई सही साबित गरिरहनुभएको हुँदैन, मानवजातिसामु आफूलाई प्रमाणित गरिरहनुभएको हुँदैन, र अवश्य नै उहाँको शत्रु शैतानसामु उहाँ शुद्ध र निर्दोष हुनुहुन्छ, र उहाँमा कुनै दोष छैन भनेर आफूलाई सही साबित गरिरहनुभएको हुँदैन। परमेश्‍वरले गर्नुहुने सबै कुरा उहाँको व्यवस्थापनका लागि, उहाँले मुक्ति दिन चाहनुभएका मानिसहरूलाई मुक्ति दिनका लागि हो। उहाँले आफ्नो व्यवस्थापन योजनालाई चरणबद्ध रूपमा पालना गर्नुहुन्छ; उहाँले यसो गर्नुको उद्देश्य कसैलाई केही देखाउनु होइन, न त आफ्नो पहिचान पुष्टि गर्नु नै हो। मानव भाषामा भन्दा, परमेश्‍वरले गर्नुहुने सबै कुरा कुनै पनि निष्ठाहीनता वा निष्क्रियताविना स्वस्फूर्त रूपमै गरिएको हुन्छ। परमेश्‍वरले स्वस्फूर्त रूपमा यी सबै कामहरू अघि बढाउनुले उहाँको पहिचान र सारलाई पुष्टि गर्छ। मानवजातिले परमेश्‍वरको योजना परिवर्तन गर्न सक्दैन, न त तिनीहरूले परमेश्‍वरको अख्तियार र शक्तिलाई उछिन्न सक्छन्; यो तथ्य हो। त्यसकारण, परमेश्‍वरले मानवजातिको कुनै पनि पक्षबाट आएका उहाँलाई आक्रमण र मानहानि गर्ने अफवाह र दुष्ट शब्दहरूलाई बेवास्ता गर्नुहुन्छ। भन त, के परमेश्‍वरलाई परमेश्‍वरविरुद्ध संसारका नास्तिक शासक दलहरू र धार्मिक संसारले गरेका आक्रमण र प्रतिरोधविरुद्ध प्रतिकार गर्नका लागि एउटा अध्याय बोल्न वा निन्दा लेख्‍न निकै सजिलो छैन र? तर परमेश्‍वरले शैतानप्रति यसरी व्यवहार गर्नुहुन्न। परमेश्‍वर सिद्धान्तहरूअनुसार चल्नुहुन्छ; परमेश्‍वरले शैतानका दुष्ट शक्तिहरूलाई नष्ट गर्नलाई, उहाँको आफ्नै समय हुन्छ। परमेश्‍वरका लागि, कार्य गर्नु अत्यन्तै सजिलो कुरा हो। परमेश्‍वरले स्वर्गमा केही अद्भुत कामहरू गर्न सक्नुहुन्छ, र अचानक स्वर्ग चिरिएर यस्तो आवाज आउँछ, “तिमीहरूले मानहानि, आक्रमण, र ईश्‍वरनिन्दा गर्ने एउटै साँचो परमेश्‍वर म नै हुँ; तिमीहरूले अहिले मानहानि र ईश्‍वरनिन्दा गरिरहेका सर्वशक्तिमान् म नै हुँ!” यो सुनेपछि, मानवजाति तुरुन्तै स्तब्ध र अलमल्ल हुनेथिए, र तिनीहरूले रुँदै र दाह्रा किट्दै भुईँमा लम्पसार पर्न मात्र सक्‍नेथिए। यो एउटा वाक्यले सबै कुरा समाधान गर्नेथ्यो, सबै कुरा प्रमाणित गर्नेथ्यो; के त्यतिबेला कसैले परमेश्‍वरलाई अपमान गर्ने आँट गर्नेथ्यो? के धार्मिक संसारका ती दियाबलसहरूलाई नामनिसाना नरहने गरी हराउने डर हुनेथिएन र? शैतानले परमेश्‍वरबारे अफवाहहरू सृजना गर्छ, यसले परमेश्‍वरलाई मानहानि र आक्रमण गर्छ, जसले गर्दा परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई रिस उठ्छ र घृणा लाग्छ, तिनीहरू खान वा सुत्न सक्दैनन्, त्यसलाई खण्डन गर्नका लागि लेखहरू लेख्‍न र कार्यक्रमहरू बनाउन चाहन्छन्, जबकि परमेश्‍वरले सरल रूपमा कार्य गर्नुहुन्छ—उहाँले केही वाक्य मात्र बोल्न सक्नुभयो भने सारा मानवजाति पूर्ण रूपमा झुक्छन्, र उहाँलाई उप्रान्त आक्रमण वा ईश्वरनिन्दा गर्ने आँट गर्दैनन्। पावललाई कसरी आज्ञाकारी बनाइयो? (दमस्कस जाने बाटोमा परमेश्‍वर ऊकहाँ देखा पर्नुभयो।) परमेश्‍वर ऊकहाँ देखा पर्नुभयो। वास्तवमा उसले केही पनि देखेन; त्यहाँ एउटा ज्योति मात्रै थियो, जसले पावललाई यति त्रसित बनायो कि ऊ भुइँमा लम्पसार परेर लड्यो, र त्यसउप्रान्त उसले येशूलाई सताउने आँट गरेन। शैतानलाई सम्हाल्न त्यति सजिलो छ; वास्तवमा, परमेश्‍वरका लागि यो अत्यन्तै सजिलो छ। परमेश्‍वरले यसलाई एउटै शब्दमा समाधान गर्न सक्नुहुन्छ। दशकौँसम्म तिमीहरूसँग कुरा गर्नु र तिमीहरूमा यो सब मेहनत लगाउनुभन्दा यो काम गर्नु निकै सजिलो हुनेथ्यो, तर परमेश्‍वरले यसरी कार्य गर्नुहुन्न। किन? मैले तिमीहरूलाई एउटा रहस्य बताउनै पर्छ: परमेश्‍वरले मानव, अर्थात्, आफूले चुनेका मानिसहरूलाई नै मुक्ति दिनुहुन्छ; बाँकी, परमेश्‍वरद्वारा नचुनिएकाहरूलाई मानव नभई पशु, दियाबलस मानिन्छ, र तिनीहरू परमेश्‍वरको आवाज सुन्न, परमेश्‍वरको अनुहार देख्‍न लायक हुँदैनन्, वा परमेश्‍वरबारे कुनै जानकारी थाहा पाउन लायक त झनै हुँदैनन्। त्यसकारण, परमेश्‍वरले यसरी कार्य गर्नुहुन्न। परमेश्‍वरको पहिचान आदरणीय छ; उहाँलाई हेर्न चाहने जोकोहीले हेर्न पाउँदैनन्, र कसैले सधैँ ध्यान दिएर, उत्सुकतापूर्वक, र पूर्ण हृदयले आकाशको निश्‍चित स्थानमा हेर्ने गरेको छ भन्दैमा उहाँ ऊसामु देखा पर्नुहुनेछैन। के तँलाई परमेश्‍वरलाई हेर्न चाहने जोकोहीले उहाँलाई देख्‍न सक्छ भन्‍ने लाग्छ? परमेश्‍वरसँग इज्जत छ; परमेश्‍वर उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने मानिसहरूसामु देखा पर्नुहुन्छ, पवित्र स्थानहरूमा देखा पर्नुहुन्छ र फोहोरी स्थानहरूबाट लुक्‍नुहुन्छ। समस्त मानवजाति फोहोरी छ कि पवित्र छ भन्‍नेबारे छलफल गरिरहनु आवश्यक छैन। यो मानवजाति परमेश्‍वरलाई हेर्न लायक छैन; तिनीहरू एउटा परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्दैनन्, त्यसकारण परमेश्‍वर किन तिनीहरूसामु देखा पर्नुहुन्थ्यो र? तिनीहरू त्यसका लायक छैनन्! परमेश्‍वरले कामकुरा गर्न सक्नुहुन्छ तर गर्नुहुन्न; यसले परमेश्‍वरको विनम्रता र गुप्तता, साथै उहाँको पहिचान सम्मानयोग्य भएको पुष्टि गर्छ। मलाई भन, यदि शैतानले ती कुराहरू गर्न सक्थ्यो भने, यसले दिनमा कति पटक ती कुराहरू गर्थ्यो होला, कति पटक धाक लगाउँथ्यो होला? जब शैतानले भ्रष्ट तुल्याएका मानिसहरू कुनै सानो पदमा पुग्छन् र थोरै शक्ति हात पार्छन्, तब तिनीहरूले कुन हदसम्म यो शक्तिको धाक लगाउनेछन्, कसलाई थाहा हुन्छ—शैतानको कुरा त परै जाओस्, जसले आफूसँग भएको थोरै मात्र शक्तिलाई पनि अकल्पनीय तरिकाले दुरुपयोग गर्नेछ र धाक लगाउनेछ। परमेश्‍वर यसरी कार्य गर्नुहुन्न; शैतानको तर्कले परमेश्‍वरको मापन नगर, त्यो ठूलो गल्ती हुनेछ। परमेश्‍वरले के गर्न सक्नुहुन्छ, त्यो उहाँले त्यो गर्न चाहनुहुन्छ कि चाहनुहुन्‍न भन्‍ने कुरामा भर पर्छ; यदि परमेश्‍वरले चाहनुभयो भने, यो एकै क्षणमा गर्न सकिन्छ, र उहाँले चाहनुभएन भने, कसैले पनि उहाँलाई जबरजस्ती गर्न सक्दैन। अफवाहहरूप्रति परमेश्‍वरको मनोवृत्ति यही हो—उहाँले तिनलाई बेवास्ता गर्नुहुन्छ। परमेश्‍वर अझै पनि आफूले जे गर्नुपर्ने हो, आफ्नो अभिप्राय जे हो, त्यो गर्नुहुन्छ; कुनै पनि व्यक्तिले, कुनै पनि शक्तिले उहाँको योजनालाई बिथोल्न वा परिवर्तन गर्न सक्दैन। परमेश्‍वरलाई आक्रमण गर्ने, उहाँको मानहानि गर्ने, र उहाँलाई बदनाम गर्ने यी अफवाहहरूले केही पनि परिवर्तन गर्दैनन्। आखिर अफवाहहरू अफवाह मात्रै हुन् र ती कहिल्यै तथ्य बन्‍न सक्दैनन्। ती मानव दर्शन, विज्ञान, नैतिकता, सिद्धान्त, आदि इत्यादि कुरासँग मिले पनि, सबै मानवजाति परमेश्‍वरलाई आक्रमण गर्न खडा भए भने पनि, सत्यता मानवजातिको पक्षमा खडा हुनेछैन, न त मानवजाति सत्यताको वाहक नै बन्‍नेछ। परमेश्‍वर सदासर्वदा परमेश्‍वर नै हुनुहुन्छ; उहाँको पहिचान र हैसियत कहिल्यै परिवर्तन हुँदैन। त्यसकारण, शैतानले जति बाधा दिए पनि, परमेश्‍वरको काम अझै पनि व्यवस्थित रूपमा अघि बढ्छ, किनभने यो परमेश्‍वरको काम हो। यदि यो मानवको काम भएको भए, शैतानको शासनले खडा गर्ने यस्तो व्यवधान र विभिन्‍न सामाजिक शक्तिहरूको यस्ता आक्रमण र मानहानिले यसलाई ढालिसक्नेथ्यो र यो अस्तित्वमा रहनेथिएन। जब परमेश्‍वरले बोल्नुहुन्छ र काम गर्नुहुन्छ, जब पवित्र आत्माले काम गर्नुहुन्छ, तब मात्रै मण्डली झन्-झन् समृद्ध बन्छ। के यो तथ्य होइन र? के तिमीहरूले यो तथ्य देखेका छौ? (हजुर, देखेका छौँ।) के देखेका छौ? (राज्यको सुसमाचार दर्जनौँ देशमा फैलिसकेको छ, र शैतानले सृजना गरेका र फैलाएका ती अफवाहहरूले सत्यतालाई प्रेम गर्नेहरूलाई परमेश्‍वरतर्फ फर्कनबाट रोकेका छैनन्।) यो परमेश्‍वरको काम हो; परमेश्‍वरको कामले यो नतिजा हासिल गर्न सक्छ, परमेश्‍वरका वचनहरूले यो नतिजा हासिल गर्न सक्छन्—यो शैतानका अपेक्षाहरूभन्दा बाहिरको कुरा हो। परमेश्‍वरका वचनहरूमा यस्तो असीम शक्ति हुन्छ; सुसमाचार राम्रो दिशातिर फैलिँदैछ र सबै कुरा परमेश्‍वरको योजनाअनुसार, कुनै गडबडीविना व्यवस्थित रूपमा अघि बढिरहेको छ। परमेश्‍वरको काम र परमेश्‍वरका वचनहरू परमेश्‍वरका चुनिएका मानिसहरूमाझ फैलिरहेका छन्, जुन कुरा धेरै पहिले नै पूर्वनिर्धारित गरिएको थियो। सुसमाचार प्रचार गरेर प्राप्त भएका मानिसहरूको सङ्ख्या र साँचो मार्गको अनुसन्धान गर्ने मानिसहरूको सङ्ख्या महिनैपिच्छे वृद्धि भइरहेका छन्। के यसले सुसमाचारको काम कसरी फैलिएको छ भन्‍ने कुरा देखाउँदैन र? यदि त्यो परमेश्‍वरको काम नभएको भए, जति धेरै मानिसहरूले जति नै ठूलो मूल्य चुकाए पनि, तिनीहरूले यो नतिजा हासिल गर्न सक्नेथिएनन्। यो परमेश्‍वरको तागत हो, परमेश्‍वरका वचनहरूको शक्तिले हासिल गरेको नतिजा हो।

मानिसहरूले विभिन्‍न अफवाहहरूलाई कसरी लिन्छन् भन्‍नेबारे फेरि फर्केर कुराकानी गरौँ। मानिसहरूले विभिन्‍न अफवाहहरूप्रति परमेश्‍वरको जस्तो मनोवृत्ति अपनाउन सक्दैनन्। तिनीहरू परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनन्, र अफवाह सुनेपछि, तिनीहरू सधैँ यस्तो महसुस गर्छन्: “यदि मैले केही गरिनँ भने, मैले मेरो विवेक खेर फालिरहेको हुन्छु। यदि अफवाहहरू बनाउने मानिसहरू हाबी भए भने, मलाई असहज, असन्तुष्ट, र आक्रोशित महसुस हुनेछ, अनि मलाई असन्तुलित महसुस हुनेछ, त्यसकारण तिनको खण्डन गर्नैपर्छ। मैले अफवाहहरूलाई स्पष्ट पार्न भिडियो बनाउनुपर्छ, वा लेख लेख्‍नुपर्छ।” यस्तो मानसिकता बोकेर काम गर्नु परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ कि हुँदैन, यो सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ कि हुँदैन भनेर मनन गर्नु सार्थक हुन्छ। यदि तिमीहरूले मण्डलीको काम र आफ्‍नो कर्तव्य पूरा गर्नुको उद्देश्य र उत्प्रेरणा भनेको अफवाहहरू स्पष्ट पार्नु र तिमीहरू साँचो परमेश्‍वरमै विश्वास गर्छौ, तिमीहरू जीवनमा सही बाटोमा छौ, र सुसमाचार प्रचार गर्न र परमेश्‍वरको गवाही दिन तिमीहरूले गरेको सबै कुरा न्यायसङ्गत छन्—अनि संसारले यी सबै तथ्यहरूको सत्यता नजानेकाले वा नबुझेकाले मात्रै तिनीहरूले तिमीहरूलाई धेरै आधारहीन अपराधहरूको आरोप लगाएका छन्भन्‍ने कुरा स्पष्ट रूपमा व्याख्या गर्नु हो—र सबै कुरा स्पष्ट पारिएपछि, संसारले तिमीहरूलाई निर्दोष मान्नेछ, संसारका सबै पक्षहरूले “तिमीहरू साँचो परमेश्‍वरमै विश्वास गर्छौ, तिमीहरू जीवनको सही बाटोमा छौ, र परमेश्‍वरले तिमीहरूलाई गर्न लगाउनुभएका सबै कुरा सही छन् र न्यायपूर्ण हुन्” भनेर विश्‍वव्यापी रूपमा स्विकार्छन् भने, त्यसपछि के त? के त्यसपछि तिमीहरूलाई आफ्नो विश्‍वासमा सहजता र न्यायसङ्गतता महसुस हुनेछ? के तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा हिँडेका हुनेछौ? के तिमीहरू कुनै बाहिरी हस्तक्षेपविना मुक्तिको मार्गमा अघि बढेका हुनेछौ? के तिमीहरूले परमेश्‍वरको डर मान्ने हृदय विकास गरेका हुनेछौ? के तिमीहरूले त्यसपछि परमेश्‍वरप्रति समर्पण हासिल गर्न सक्छौ? के तिमीहरूले त्यसपछि परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छौ? (सक्दैनौँ।) के मानिसहरूले तँप्रति कुनै गलतफहमी नराखी तँलाई प्रशंसा र आदर मात्रै गर्न थालेपछि तैँले शुद्ध विवेकको साथ परमेश्‍वरमा विश्‍वास गर्न सक्छस् भन्‍ने कुरा सम्भव छ? बिलकुलै छैन! अवश्य नै, अफवाहहरूप्रति परमेश्‍वरको जस्तो मनोवृत्तिमा पुग्न सक्दैनन्, तर व्यक्तिमा सही दृष्टिकोण, सही मनोवृत्ति र अडान हुनुपर्छ, र उसले यसो भन्‍नुपर्छ: “यी अफवाहहरू वास्तवमै घृणास्पद र घिनलाग्दा छन्। यी अफवाहहरूबाट, यो भ्रष्ट मानवजाति वास्तवमै परमेश्‍वरको शत्रु हो भन्‍ने कुरा देख्‍न सकिन्छ; यो पूर्ण रूपमा सही हो! मैले शैतानका अफवाहहरूका आधारमा परमेश्‍वरको काम साँचो हो कि झूटो हो भनेर मूल्याङ्कन गर्नु हुँदैन। परमेश्‍वरका वचनहरू पढेको आधारमा र आफ्नो कर्तव्य पूरा गर्दाका अनुभवहरूमार्फत म परमेश्‍वरका सबै वचन सत्यता हुन्, र उहाँले गर्नुहुने सबै कुराले मानिसहरूलाई मुक्ति पाउन सक्षम बनाउँछन् भन्‍ने कुरा पुष्टि गर्छु। आज परमेश्‍वरको मुक्ति स्वीकार गर्न उहाँको अघि आएको हुनाले, मैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र परमेश्‍वरका वचनहरू प्रचार गर्न, उहाँको नाम उद्घोष गर्न, र परमेश्‍वरको काम र उहाँका अभिप्रायहरूको गवाही दिनका लागि मैले मेरा दायित्व र जिम्मेवारीहरू पूरा गर्नुपर्छ, ताकि परमेश्‍वरले चुन्नुभएका मानिसहरू परमेश्‍वरका घरमा फर्केर आउन सकून्, तिनीहरूले उहाँको आवाज सुन्न सकून्, र उहाँबाट वचन र जीवनको आपूर्ति जति सक्दो चाँडो र छिटो प्राप्त गर्न सकून्। यो मेरो दायित्व हो, मेरो जिम्मेवारी हो। म परमेश्‍वरका काममा सहकार्य गरिरहेको छु, तर मैले पछ्याउने मार्ग सही छ वा मैले सुरु गरेको अभियान न्यायसङ्गत छ भनेर पुष्टि गर्नका लागि होइन—यी कुराका लागि होइन। मैले परमेश्‍वरविरुद्ध शैतानका आक्रमण र मानहानिको प्रतिकार गर्नका लागि आफ्नो कर्तव्य पूरा गरिरहेको छैनँ। बरु, म परमेश्‍वरको प्रेमको ऋण तिर्न, परमेश्‍वरको आज्ञा स्वीकार गर्न, र परमेश्‍वरका काममा सहकार्य गर्नका लागि मेरा आफ्नै दायित्व र जिम्मेवारीहरू, र अवश्य नै, मेरो आफ्नै बफादारी पूरा गरिरहेको छु।” के यो सही दृष्टिकोण हो? के मानिसहरूमा हुनुपर्ने दृष्टिकोण यही हो? (हो।) यो कोणबाट हेर्दा, विभिन्‍न कार्यक्रमहरू बनाउने क्रममा, चाहे त्यो भजन गाउने, नाच्ने, चलचित्र बनाउने, वा अनुभवात्मक गवाहीहरूका बारेमा नाटकहरू बनाउने कार्य होस्, के मानिसहरूको अडान, तिनीहरू खडा हुने कोण, र तिनीहरूले निकाल्ने केही निश्‍चित अभिव्यक्तिहरूमा केही परिवर्तन आउनु पर्दैन र? (पर्छ।) तर, धेरैजसो मानिसहरूले यी सबै कामहरू गर्दा, ती काम आवेशमा र घृणाका साथ गरेका हुन्छन्, र जसमा मानव भावनाहरू मिश्रित हुन्छन्। त्यसकारण, तिनीहरूले गैरविश्‍वासीहरू, सत्ताधारी दल, र धार्मिक संसारका कार्य र व्यवहारहरूका बारेमा अति धेरै कुरा खुलासा गरेका छन्, र तिनीहरूका शब्दहरू अत्यन्तै कठोर रहिआएका छन्, जसले गर्दा त्यस्ता कार्यक्रमहरू हेरेपछि तिनीहरूले अरूमा अलिक नकारात्मक प्रभाव पारेका छन्। कारण सामान्य छ: मानिसहरू यी सबै क्रियाकलापहरूमा निश्‍चित भावनाका साथ लाग्छन्, सही दृष्टिकोण बोकेर लागेका हुँदैनन्। अनि मानिसहरूले अझै पनि यसो भन्दै यो कुरालाई निकै उचित ठान्छन्: “तिनीहरूले हामीलाई आक्रमण गर्छन्, बदनाम गर्छन्, र हाम्रा बारेमा अफवाहहरू सृजना गर्छन्; तिनीहरूलाई खुलासा गर्दा के बिग्रिन्छ र? यो वैधानिक आत्मरक्षा हो! वैधानिक रूपमा आत्मरक्षा गर्नु गैरकानुनी होइन, न त हामीले नभएको कुरा नै गरिरहेका छौँ; हामी सबैले तथ्यहरूका आधारमा कुराहरू चिरफार गरिरहेका छौँ। तिनीहरूले हाम्रा बारेमा बिनाआधार अफवाहहरू सृजना गर्छन्; के हामीले तिनीहरूको खुलासा र चिरफार गर्नु गलत हो? के हामीले प्रतिकार गर्न मिल्दैन?” प्रतिकार गरेर के फाइदा हुन्छ? दियाबलसहरू झूटले भरिएका हुन्छन् र तिनीहरूले कहिल्यै एउटा पनि सत्य अभिव्यक्ति बोल्दैनन्; तिनीहरूले भन्ने कुरा झूट हो भनेर तिनीहरूलाई पहिचान गर्न लगाउनका लागि, र तिनीहरूले झूट बोलेको कुरालाई स्वीकार गरेपछि तिनीहरूले फेरि कहिल्यै झूट नबोलून् भन्नका लागि निरन्तर तिनीहरूका झूटहरूको चिरफार गर्नु—के त्यसमा कुनै मूल्य छ? के तिनीहरूले यो कुरा हासिल गर्न सक्छन्? (सक्दैनन्।) के त्यो शैली मूर्ख र अज्ञानी छैन र? हाम्रो मुख्य काम भनेको परमेश्‍वरको काम, उहाँको कामले हासिल गरेका परिणामहरू, उहाँका वचनहरू, र उहाँका वचनहरूले मानिसहरूमा पार्ने प्रभावहरूको गवाही दिनु हो, र सत्ताधारी दलले गरेको दमन र सतावट, र धार्मिक संसारले गरेको प्रतिरोध र निन्दाका सन्दर्भमा, तिनमा संलग्‍न केही पृष्ठभूमिलाई संक्षिप्त रूपमा उल्लेख गर्दा पर्याप्त हुन्छ भनेर मैले धेरै पहिले नै भनेको छु। तर मानिसहरूले यसलाई जति सुने पनि बुझ्न सक्दैनन्। तिनीहरूले सधैँ यी समस्याहरूलाई आवेशका साथ सम्हाल्छन् र तर्क गर्न चाहन्छन्। अनि नतिजा के हुन्छ? यसले पटक्‍कै कुनै नतिजा दिँदैन, किनभने शैतानका दुष्ट शक्तिहरूसँग तर्क गर्न सकिँदैन। के यो मानिसहरूको मूर्खता र अज्ञानता होइन र?

कतिपय मानिसहरू मानिसहरूलाई अफवाहहरू स्पष्ट पारिदिने र साँचो कुरा के हो भनेर बुझाउने, अँध्यारो संसारसँग र परमेश्‍वरको विरोध गर्ने दुष्ट मानिसहरूसँग युद्ध घोषणा गर्ने उत्प्रेरणाले मात्र सुसमाचार प्रचार गर्छन्, केही प्राविधिक पेसा सिक्छन्, वा निश्‍चित प्रकारको कर्तव्य पूरा गर्छन्। के यो इन्साफको काम हो? तैँले यसो गर्नु सही भए पनि वा गलत भए पनि, तैँले यो कुरा बुझ्नुपर्छ: के परमेश्‍वरले उहाँसँग शत्रुता राख्‍ने ती दुष्ट मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ? के तैँले यसो गर्नुको कुनै मूल्य हुन्छ? यदि तैँले परमेश्‍वरले कस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्छ भन्‍ने कुरा बुझेको छैनस् र सधैँ सही जस्तो देखिने तर वास्तवमा गलत रहेका केही दृष्टिकोणहरू व्यक्त गर्छस् भने, के यो तेरो आफ्नै मुक्तिमा रोकावट ल्याउनु होइन र? कतिपय मानिसहरूले परमेश्‍वरको प्रतिरोध गर्ने दुष्ट शक्तिहरूसँग लड्न र सांसारिक प्रचलनहरूको विरोध गर्नका लागि मात्रै आफ्नो कर्तव्य पूरा गर्छन्। “तिनीहरू हामीले आफ्नो परिवारलाई बेवास्ता गरेको र सामान्य जीवन नजिएको भनेर भन्छन्, त्यसकारण म आफ्नो कर्तव्य राम्ररी पूरा गरेर आफूलाई प्रमाणित गर्न चाहन्छु। भविष्यमा, जब म स्वर्ग जान्छु र राज्यमा प्रवेश गर्छु र तिनीहरूलाई न्याय गरिन्छ, तब तिनीहरूले म सही भएको देख्‍नेछन्!” त्यसरी आफूलाई प्रमाणित गरेर के फाइदा हुन्छ र? तैँले आफूलाई प्रमाणित गरिस् भने पनि, यसले के फाइदा गर्न सक्छ र? यसले के कुरालाई प्रतिनिधित्व गर्छ? त्यसको मूल्य के हो? यदि यसले तँलाई साँच्‍चै नै राज्यमा प्रवेश गर्न र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न दिन सक्ने भए, यो सार्थक हुनेथ्यो, र तेरो मार्ग सही हुनेथ्यो। तर दुर्भाग्यवश, यो मार्ग व्यवहार्य छैन। यो परमेश्‍वरले मानिसहरूका लागि पूर्वनिर्धारित गर्नुभएको मार्ग होइन, र परमेश्‍वरले मानिसहरूबाट यस्तो व्यवहारको माग गर्नुहुन्न। मानिसहरू सधैँ मूर्ख हुन्छन्, र तिनीहरू सत्यताका पक्षमा उभिएका र तिनीहरूसँग सत्यता भएका हुनाले, तिनीहरूले न्यायसङ्गत अभियानहरूमा लाग्नुपर्छ, र यो दुष्ट संसार र अफवाहहरू सृजना गर्ने सबैमाथि युद्ध घोषणा गर्नुपर्छ भन्‍ने सोच्छन्: “हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ र परमेश्‍वरलाई पछ्याउँछौँ, हामी आफ्‍नो कर्तव्य पूरा गर्छौँ—हामी तिमीहरूलाई को चाहिँ सही मार्गमा छ भनेर देखाउनेछौँ!” के यो आवेशीपन होइन र? के यी कुराका बारेमा तर्क गर्नुको कुनै फाइदा छ? यसको कुनै मूल्य छँदै छैन। यदि तँसँग साँच्‍चै समय र ऊर्जा छ भने, कुनै पेसाबारे अझै धेरै सिक्‍नु, कुनै पेसासँग सम्बन्धित थप ज्ञान र सामान्य ज्ञान अध्ययन गर्नु नै राम्रो हुन्छ। यो तँलाई आफ्‍नो कर्तव्य पूरा गर्नका लागि फाइदाजनक र सहयोगी हुन्छ। तँ सधैँ संसारका दुष्ट शक्तिहरूसँग किन सङ्घर्ष गरिरहेको हुन्छस्? किन सधैँ अफवाहहरूसँग सङ्घर्ष गरिरहन्छस्? के यो नचाहिने काममा मेहनत लगाउनु होइन र? अरूले तँलाई जति आक्रमण गरे पनि, तैँले तिनीहरूलाई ध्यान दिनु पर्दैन। तिनीहरू दुष्ट प्रकृतिका हुन्छन्, र तिनीहरू पशुहरू हुन्, तिनीहरू त्यस्तै किसिमका चिज हुन्; परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्न, परिवर्तन गर्नुहुन्न, र तिनीहरूसँग बोल्नुहुन्न। परमेश्‍वरले तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ, त्यसकारण के तैँले तिनीहरूलाई ध्यान दिनुपर्छ? यदि मानिसहरू परमेश्‍वरले नगर्ने कुरा जिद्दीपूर्वक गर्न अड्डी कस्छन् भने, के यो अलिक मूर्खतापूर्ण र बुद्धिहीन हुनु होइन र? कम्तीमा पनि, तँ परमेश्‍वरप्रति समर्पित हृदय नभएको व्यक्ति होस्, र तँ परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्दैनस्, वा परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्दैनस्। तैँले यी कुराहरूप्रति परमेश्‍वरको मनोवृत्ति के हो भन्‍ने देख्दैनस्—परमेश्‍वरले तिनलाई बेवास्ता गर्नुहुन्छ; तैँले किन त्यस्तो हो भन्‍ने कुरासमेत बुझ्दैनस्। परमेश्‍वरको कामका तीनवटै चरणमा, परमेश्‍वरले धेरै वचनहरू बोल्नुभएको छ। परमेश्‍वर र मानवजातिका बीचमा धेरै संवादहरू भएका छन्, र यी संवादहरूबाट परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरको स्वभाव, र सार देख्‍न सकिन्छ। तर, परमेश्‍वरले केही निश्‍चित मामलाहरूमा शैतानसँग कसरी संवाद गर्नुहुन्छ भन्‍ने बारेमा उहाँले कहिल्यै कुरा गर्नुहुन्न, र यसरी उहाँले शैतानको खुलासा गर्नुहुन्छ, जसले गर्दा मानवजातिले शैतानको साँचो अनुहार स्पष्ट रूपमा देख्न, र शैतानले परमेश्‍वरसँग कसरी व्यवहार गर्छ भन्‍ने कुरा स्पष्ट रूपमा देख्न सक्छ। त्यस्ता धेरै मामलाहरू छन्, तर परमेश्‍वरले ती उल्लेख गर्नुहुन्न। परमेश्‍वरले किन ती उल्लेख गर्नुहुन्न? किनभने ती कुराहरूका बारेमा कुरा गरेर तँलाई कुनै फाइदा हुँदैन। तेरा लागि सबैभन्दा फाइदाजनक कुरा परमेश्‍वरको जीवनका वचनहरू हुन्; तँलाई परमेश्‍वरसामु आउन र परमेश्‍वरमा समर्पित हुने, परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति बन्‍न सक्षम बनाउने यी वचनहरू नै तेरा लागि सबैभन्दा फाइदाजनक छन्। परमेश्‍वरले तँलाई कसरी जिउने र कसरी बोल्ने भनेर बताउनुहुन्छ, साथै कसरी मानिस र मामलाहरूलाई खुट्ट्याउने र सत्यता अभ्यास गर्न सिक्ने र विभिन्‍न वातावरण र अवस्थाहरूमा बुद्धिमानी हुने भनेर बताउनुहुन्छ—यी सबै तेरा लागि फाइदाजनक छन्। परमेश्‍वरले तँलाई जे कुराले फाइदा गर्छ त्यही भन्‍नुहुन्छ र गर्नुहुन्छ। परमेश्‍वरले तँलाई कुनै फाइदा नगर्ने एउटा पनि वचन बोल्नुहुन्न। के परमेश्‍वरलाई ती वचनहरू बोल्नु अत्यन्तै सजिलो हुँदैन होला र? त्यसोभए उहाँले किन ती वचन बोल्‍नुहुन्‍न? किनभने भ्रष्ट मानवजातिलाई ती वचनहरूको आवश्यकता पर्दैन। यी अफवाहहरू दियाबलस र शैतानका वचनहरू बराबर हुन्, र परमेश्‍वरले तिनलाई बेवास्ता गर्नुहुन्छ, त्यसकारण तैँले पनि तिनीहरूसँग सङ्घर्ष गर्नु हुँदैन। बुझिस्? (बुझेँ।) बुझिसकेपछि, कसरी अभ्यास गर्ने भनेर तँलाई थाहा भयो, होइन र? अफवाहहरू चिरफार गर्न, अफवाहहरूलाई खण्डन गर्न, अफवाहहरूको स्रोत खोज्न, आदि इत्यादिमा मेहनत नगर्। यदि तँसँग साँच्‍चै नै परमेश्‍वरको गवाही दिने हृदय छ र तँ आफ्नो गवाहीमा दह्रिलो खडा हुन र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न चाहन्छस् भने, तैँले भन्‍न सक्‍ने धेरै शब्दहरू छन् र तैँले गर्न सक्‍ने धेरै कुराहरू छन्। परमेश्‍वरले मानिसहरूलाई आपूर्ति गर्नुहुने वचन र सत्यताहरू तैँले मनन र अनुभव गर्नुपर्ने हुन्छ, ताकि ती तेरा आफ्नै सिद्धान्त र अभ्यासका मार्ग बनून्, र अन्तिममा तेरो आफ्नै जीवन बनून्। तैँले यसलाई लागू गर्न समय र ऊर्जा लगाउनु जरुरी हुन्छ। यदि तँ मूर्ख र अबुझ छस्, सधैँ अफवाहहरूमा मेहनत लगाउँछस्, सधैँ आफ्नो नाम सफा राख्‍न र आफूलाई संसारको अगाडि प्रस्ट पार्न चाहन्छस् भने, त्यसले समस्या निम्त्याउँछ; तैँले सत्यता प्राप्त गर्नेछैनस्, र यी सांसारिक अफवाहहरूले तँलाई पूर्ण रूपमा अल्झाउनेछन् र थकित बनाउनेछन्। अन्तमा, तैँले कुराहरू स्पष्ट रूपमा बुझाउन सक्‍नेछैनस्। तैँले किन ती कुरा स्पष्ट रूपमा बुझाउन सक्‍नेछैनस्? किनभने तैँले दियाबलसको सामना गरिरहेको छस्, र यसले खुलेआम झूट बोल्छ। अहिले दियाबलसले के भन्छ? ठूलो रातो अजिङ्गरले भन्छ, “चीन विश्‍व व्यवस्थाको रक्षक, विश्‍व शान्तिको रक्षक हो, र विश्‍व शान्ति र सुव्यवस्था कायम राख्‍नमा यसको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ।” यसले भन्‍ने कुन-कुन शब्दहरू तथ्य हुन्? के यी शब्दहरू तथ्य हुन्? यी शब्दहरू सुन्दा तँलाई रिस उठ्दैन? यो सुनेपछि, तैँले शैतानलाई यस्तो कुरा बोल्न लाज पनि लाग्दैन भन्‍ने सोच्छस्। तैँले त्योसँग किन तर्क गर्ने? के तँ मूर्ख भइरहेको छैनस् र? यो यस्तै कुरा हो—परमेश्‍वरले यसलाई सेवा प्रदान गराउनका लागि मात्रै प्रयोग गर्नुहुन्छ, र उहाँले यसलाई मुक्ति दिने वा परिवर्तन गर्ने अभिप्राय बिलकुलै राख्‍नुहुन्न। के योसँग तर्क गर्नु मूर्खता होइन र? त्यस्तो मूर्ख काम नगर्। बुद्धिमानी मानिसहरूले यी अफवाहहरू सुन्दैनन्, न त तिनीहरू तिनको बन्धनमा नै पर्छन्। कतिपय मानिसहरूले भन्छन्, “अफवाह सुनेपछि, मलाई बाधा पुग्छ!” त्यसो हो भने तैँले हृदयमा प्रार्थना गर्नुपर्छ, ती दियाबलस र शैतानलाई खुट्ट्याउन, अनि त्यसपछि तिनीहरूलाई श्राप दिन सत्यता प्रयोग गर्नुपर्छ, अनि यी अफवाहहरूले तेरो हृदयमा कुनै असर पार्नेछैनन्। अर्को उपाय पनि छ: तैँले सारलाई छर्लङ्गै देख्‍नुपर्छ। तैँले यसो भन्, “परमेश्‍वरका कार्यहरू मेरा धारणाहरू अनुरूप नभए पनि र भ्रष्ट मानवजातिले तिनलाई निन्दा र इन्कार गरे पनि, म उहाँ सत्यता हुनुहुन्छ, र दियाबलसहरू र शैतानसँग कुनै सत्यता हुँदैन भन्‍ने देख्छु। म परमेश्‍वरमा विश्‍वास गर्न दृढ छु! परमेश्‍वरले मात्रै मलाई मुक्ति दिन सक्नुहुन्छ। उहाँमा परमेश्‍वरको सार छ, उहाँ परमेश्‍वर हुनुहुन्छ, र उहाँको सार कहिल्यै परिवर्तन हुँदैन। दियाबलसहरू र शैतानले परमेश्‍वरलाई जति प्रतिरोध गरे पनि, तिनीहरूसँग कुनै सत्यता हुँदैन, र म दियाबलस र शैतानका शब्दहरूमा विश्‍वास गर्दिनँ!” के तँसँग यो विश्‍वास छ? (छ।) यदि तँसँग यो विश्‍वास छ भने, तँ कुनै पनि मानिस, घटना, वा कामकुराहरूद्वारा विचलित हुनु हुँदैन, शैतानको बहकाउ वा आक्रमणमा पर्नु त झनै हुँदैन। त्यसोभए तैँले के गर्नुपर्छ? त्यसलाई बेवास्ता गर्नुपर्छ; बस सत्यता पछ्याउने र आफ्नो गवाहीमा खरो उत्रिने कार्यमा ध्यान दे, अनि शैतान लज्जित हुनेछ।

भर्खरै, हामीले मण्डलीभित्र अफवाह फैलाउने कार्यसँग सम्बन्धित केही समस्याहरूका बारेमा सङ्गति गर्‍यौँ। धेरैजसो मानिसहरूले चिनियाँ कम्युनिस्ट सरकार र धार्मिक संसारबाट केही अफवाहहरू सुनेका छन्; हामीले भर्खरै यी अफवाहहरूलाई कसरी लिने र सम्हाल्ने भन्‍ने बारेमा पनि सङ्गति गर्‍यौँ। मानिसहरूले सत्यता सिद्धान्तहरू बुझेपछि, तिनीहरू त्यसउप्रान्त अफवाहहरूको बहकाउमा वा बाधामा पर्नेछैनन्। मण्डलीमा अफवाह फैलाउने व्यक्ति देखा पर्दा, उसले जुनसुकै शैली वा लबजले जस्तोसुकै किसिमका अफवाह फैलाए पनि, हामीले यसलाई कसरी लिनुपर्छ? हामीले हस्तक्षेप नगरी यसलाई हुन दिनुपर्छ, कि त्यो व्यक्तिलाई खुलासा र चिरफार गर्नुपर्छ, र तह लगाउनुपर्छ? कुन विधि सिद्धान्तहरू अनुरूप छ? कतिपयले यसो भन्छन्, “के अभिव्यक्तिको स्वतन्त्रता छैन र? त्यो व्यक्तिलाई किन बोल्‍न नदिने? उसलाई खुरुक्क बोल्न दिनुहोस्। अफवाहहरू सुनेपछि, जब सबैले ती के हुन् भनेर खुट्ट्याउन सक्छन्, तब तिनीहरूले यी दुष्ट शब्दहरूको विश्‍वास गर्न छोड्नेछन्, र अफवाहहरू स्वतः धरमराएर ढल्नेछन्।” अरूले भन्छन्, “तिनीहरूले अफवाहहरू फैलाउनु र परमेश्‍वरको मानहानि गर्नु स्वीकार्य छैन। हामीले तिनीहरूलाई परमेश्‍वरको मानहानि गर्ने कामकुरा गर्न दिनु हुँदैन। हामीले तिनीहरूलाई बिउँझाउनका लागि पाठ सिकाउनुपर्छ। परमेश्‍वरले हामीलाई मुक्ति दिनका लागि बोल्न र काम गर्न धेरै कष्ट सहनुभएको छ, तैपनि तिनीहरूले अफवाह फैलाइरहेका छन्। तिनीहरूसँग कुनै विवेक छैन! तिनीहरूलाई श्राप दिएर मात्रै हामी हाम्रो घृणालाई कम गर्न सक्छौँ; यदि हामीले तिनीहरूलाई तह लगाएनौँ भने, हामीले परमेश्‍वरलाई निराश तुल्याइरहेका हुनेछौँ।” कुन तरिका राम्रो हो? यी सबै शैलीहरू राम्रा छैनन्। हामीले यसभन्दा पहिले सङ्गति गरेझैँ, अफवाह फैलाउनेहरू पक्कै पनि असल हुँदै हुँदैनन्, र त्यस्ता व्यक्तिहरूलाई खुट्ट्याउनु आवश्यक छ। यदि तिनीहरूले कहिलेकाहीँ मात्रै अफवाह फैलाउँछन् भने, तिनीहरूलाई चेतावनी दिनुपर्छ। यदि तिनीहरूले निरन्तर अफवाह फैलाउँछन् भने, तिनीहरूको खुलासा, चिरफार गर्नुपर्छ, र त्यसपछि तिनीहरूलाई मण्डलीबाट निकाल्नुपर्छ, ताकि तिनीहरूले अबदेखि मानिसहरूलाई भ्रममा पार्न वा हानि गर्न नसकून्। के यो कुरालाई सम्हाल्न सजिलो छ? के तिमीहरूले यसलाई यसरी सम्हाल्ने थियौ, कि मण्डली अगुवाहरूले आदेश दिऊन् भनेर पर्खने थियौ? कसैले निरन्तर अफवाह फैलाइरहेको छ, र तिनीहरू भेलामा आउँदा हरेक पटक यी कामकुराका बारेमा कुरा गर्छन्, परमेश्‍वरका वचनहरू कहिल्यै पढ्दैनन्, कहिल्यै प्रार्थना गर्दैनन्, भजनहरू सिक्दैनन्, र अझ बढी, तिनीहरूले परमेश्‍वरका वचनहरूबारे आफ्नो अनुभवात्मक बुझाइ बाँड्दैनन्, र जब कसैले परमेश्‍वरका वचनहरूमा सङ्गति गर्छ र अनुभवात्मक गवाही बाँड्छ, तब तिनीहरूलाई यसदेखि घिन लाग्छ र वितृष्णा हुन्छ, तर गैरविश्‍वासीहरूको अफवाहप्रति त्यस्तो वितृष्णा महसुस हुँदैन, र तिनीहरू ती कुराप्रति निकै उत्साहित हुन्छन्—यी सबै कुरा पत्ता लागेपछि, त्यस्तो व्यक्तिलाई किन कुनै शिष्टता देखाउनु? तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरलाई पछ्याउनबाट रोक्न मण्डलीमा घुसपैठ गरेका शैतानका सेवकहरू हुन् भन्‍ने कुरा स्पष्ट छ। के तँ तिनीहरूले दिएको बाधा सहन्छस्? (सहँदिनँ।) यदि तँ यसलाई सहँदैनस् भने, खडा भएर यसो भन्, “फलानो व्यक्ति मण्डलीमा आउँछ र सधैँ अफवाह फैलाउँछ, परमेश्‍वरका वचनहरू पढ्दैन, र परमेश्‍वरका वचनहरूबारे आफ्नो अनुभवात्मक बुझाइ बाँड्दैन। ऊ अविश्‍वासी हो र उसलाई मण्डलीबाट निकाल्नुपर्छ। कसैलाई कुनै आपत्ति छ?” यदि सबैले कुनै आपत्ति छैन भनेर भन्छन्, र हात उठाएर सहमति जनाउँछन् भने, त्यो व्यक्तिलाई निकाल्नुपर्छ। के अफवाह फैलाउनेलाई यसरी तह लगाउनु सन्तोषजनक हुँदैन र? (हुन्छ।) त्यस्ता मानिसहरूलाई यसरी नै तह लगाउनुपर्छ।

घ. परमेश्‍वरका वचनहरूको गलत अर्थ लगाउने र परमेश्‍वरको कामको आलोचना गर्ने विभिन्‍न प्रकारका आधारहीन अफवाहहरूलाई खुट्ट्याउनु

हामीले भर्खरै कुरा गरेका यस्ता अफवाहहरू कहाँबाट आउँछन्? ती ठूलो रातो अजिङ्गर, धार्मिक संसार, र गैरविश्‍वासीहरूबाट आउँछन्। बाहिरी संसारका अफवाहहरूबाहेक, मण्डलीको भित्री कुराका बारेमा केही भनाइ र हल्‍लाहरू पनि छन्। परमेश्‍वर, परमेश्‍वरको काम, परमेश्‍वरको दिन, र परमेश्‍वरका केही वचनहरूका बारेमा पूर्ण रूपमा झूटा दाबीहरूसमेत छन्, साथै परमेश्‍वर र उहाँको कामसँग सम्बन्धित केही रहस्यहरू पनि छन्, जुन मानिसहरूले आफ्ना कल्पना र धारणाहरूका आधारमा, वा गलत जानकारी र आधारहीन अनुमानहरू फैलाइएको आधारमा सृजना गर्छन्। अनि मानिसहरूले त्यस्ता भनाइहरू, हल्‍ला, र दाबीहरूलाई झकिझकाउ पार्ने हुनाले, यी अफवाहहरू निर्माण हुन्छन्। अफवाहहरू निर्माण भएपछि, अफवाहप्रति अभिरुचि भएका कतिपय मानिसहरू ती फैलाउने कामप्रति उत्साहित हुन्छन्, ती अफवाहहरूलाई वास्तविक मान्छन् र जताततै फैलाउँछन्, तिनलाई यति स्पष्ट र विस्तृत रूपमा वर्णन गर्छन् कि वास्तविक परिस्थितिका बारेमा अनजान, र सत्यता नबुझ्ने र मूर्ख र अज्ञानी कतिपय मानिसहरू साँच्‍चै नै यी अफवाहहरूको बहकाउमा पर्छन्। बहकाउमा परेपछि, के तिनीहरू प्रभावित र बाधित हुन्छन्? (हुन्छन्।) यी पनि मण्डलीमा देखा पर्ने आम समस्याहरू हुन्। परमेश्‍वर र परमेश्‍वरको घरको मानहानि गर्ने र तिनलाई आक्रमण गर्नेहरूको तुलनामा यी अफवाहहरू झिनोमसिनो भए पनि—तिनले परमेश्‍वरको मानहानि वा ईश्‍वरनिन्दा गर्दैनन्—अनि तिनले परमेश्‍वरका काममा कुनै बाधा वा क्षति नपुर्‍याए पनि, तिनले कतिपय मानिसहरूको जीवन प्रवेशमा असर गर्छन् र तिनलाई रोक्‍नुपर्छ। उदाहरणका लागि, जब कतिपय मानिसहरूले केही भ्रामक टिप्पणीहरू सुन्छन्, तब तिनीहरूले हृदयमा ती कुरालाई विश्‍वास गर्छन् र तुरुन्तै ती कुराहरू आफ्‍ना नजिकका मानिसहरूमाझ फैलाउँछन्। अफवाहहरू फैलिएपछि, विवरणहरू झनै बढ्छन् र पूर्ण हुन्छन्, र अन्तमा, अफवाहहरू वास्तविक घटनाहरू जस्तै देखिन थाल्छन्। समय, स्थान, र पात्रहरू जस्ता तत्त्वहरू सबै स्थापित हुन्छन्—त्यस्ता अफवाहहरूले सार्वजनिक रूपमा फैलिन सक्नका लागि चाहिने सर्तहरू पूरा गर्छन्, होइन र? के-कस्ता जानकारीहरू फैलाइँदैछन्? अफवाह फैलाउनेले भन्छ, “आज मैले तिमीलाई एउटा महत्त्वपूर्ण कुरा बताउनैपर्ने छ। बताइनँ भने मलाई भित्री रूपमा असहज महसुस हुनेछ; मैले परमेश्‍वरका वचनहरू पढ्नमा समेत ध्यान दिन सक्नेछैन। म यस मामलाबारे अत्यन्तै उत्साहित छु। अब परमेश्‍वरमा विश्‍वास गर्ने हामीमा बल्ल आशा पलाएको छ!” जब सबैले आशा छ भन्‍ने सुन्छन्, तब तिनीहरूलाई चासो लाग्छ र तिनीहरू उत्साहित बन्छन्; यो विषय निकै सशक्त हुन्छ। तिनीहरूले भन्छन्, “परमेश्‍वरको काम चाँडै समाप्त हुँदैछ। परमेश्‍वरले पहिले आफ्नो कामको अन्त्यका बारेमा अगमवाणी गर्नुभएका धेरै वटा चिन्हहरू देखा परिसकेका छन्। उदाहरणका लागि, चन्द्रमा र सूर्यको स्थिति, पूर्व र पश्चिमको अवस्था, हरेक देशमा परमेश्‍वरका चुनिएका मानिसहरूको सङ्ख्या, कति जना मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्न सक्छन्, आदि इत्यादि—परमेश्‍वरको कामको समाप्तिका यी चिन्हहरू अहिले हामीसामु छन्। हामीले शीघ्र रूपमा तयारी गर्नुपर्छ!” कसैले सोध्छ, “हामीले के तयारी गर्नुपर्छ?” अफवाह फैलाउनेले भन्छ, “हामीले असल कार्यहरू र खाना तयार गर्नुपर्छ, र हाम्रो सबै बचत तुरुन्तै परमेश्‍वरलाई भेटीका रूपमा चढाउनुपर्छ, त्यसपछि हामीले राम्रो गन्तव्य सुरक्षित गर्न सक्छौँ।” तिनीहरूले यसो पनि भन्छन्, “फलानो वर्ष र महिनामा, फलानो मितिमा, र फलानो समयमा, हामी एउटा निश्‍चित ठाउँमा भेला हुनुपर्छ, जहाँ परमेश्‍वर हामीलाई लैजान पर्खिरहनुभएको हुनेछ। परमेश्‍वरले ‘यदि तैँले सबै कुरा त्याग्दैनस् भने, तँ मेरो चेला हुन लायक छैनस्, र मेरो अनुयायी हुन लायक छैनस्’ भन्‍नुभएको छ। अहिले परमेश्‍वरको दिन बल्ल आएको छ, र परमेश्‍वरका वचनहरू पूरा भएका छन्। हामीले हाम्रा सम्भाव्यता र करियरहरू मात्र नभई, हाम्रा परिवार, आफन्त, र देहगत सम्बन्धहरू जस्ता सबै सांसारिक कुराहरू पनि त्याग्‍नुपर्छ। हामीले सबै सांसारिक बन्धनहरू त्याग्‍नुपर्छ; हामी परमेश्‍वरलाई भेट्न जाँदैछौँ!” धेरैजसो मानिसहरूले सोध्छन्, “के यो साँचो हो?” अफवाह फैलाउनेले भन्छ, “हो, मैले मेरो घर र गाडी बेचेको छु र आफूले बचत गरेको पैसा निकालेको छु। यदि तिमीलाई मेरो विश्‍वास लाग्दैन भने, परमेश्‍वरका वचनहरूलाई हेर त। एउटा अध्यायमा, निश्‍चित वाक्यलाई उल्था गर्दा ठेगाना प्रकाश हुन्छ, र अर्को अध्यायमा निश्‍चित खण्डलाई उल्था गर्दा वर्ष र महिना प्रकाश हुन्छ…।” यो सुनेपछि, उत्साहित नहुने कोही हुन्छ? के यी शब्दहरूलाई खुट्ट्याउन सक्‍ने कोही छ? के मानिसहरूले अत्यन्तै चिन्ता गर्ने कुराहरू यिनै होइनन् र? के मानिसहरूले लामो समयदेखि आशा गरेका कुराहरू यिनै होइनन् र? कतिपय मानिसहरूले यो सुनेपछि र त्यसपछि परमेश्‍वरका वचनहरूलाई हेरेर त्यो साँच्‍चै नै मिल्‍ने रहेछ भन्‍ने सोचेपछि, वैकल्पिक योजनाका बारेमा विचार गर्न थाल्छन्। कतिपय मानिसहरूले भित्री रूपमा शङ्का गर्ने भए पनि, तिनीहरूले अझै पनि यो साँचो होस् भन्‍ने आशा गर्छन्, र सोच्छन्, “तोकिएको वर्ष र दिन अलिक टाढा भए पनि, कम्तीमा पनि सटीक मिति र समय त तोकिएको छ, त्यसकारण हामीसँग आशा छ।” तिनीहरूले यसलाई साँच्चिकै विश्‍वास नगरे पनि यसमा केही मात्रामा ध्यान दिन्छन्। यो ध्यानले के कुरालाई जनाउँछ? यसले के देखाउँछ भने, मानिसहरू यी कुराहरूद्वारा सजिलै प्रभावित र विचलित हुन्छन्। मण्डलीमा यस्तो अफवाह व्यापक रूपमा फैलिन थालेपछि, ८० देखि ९० प्रतिशत मानिसहरू अत्यन्तै उत्साहित हुनेछन्, र तिनीहरूमा भावनाहरू उर्लेर आउनेछन्, र तिनीहरूले यसो सोच्नेछन्, “हामीले आशा गरेको दिन बल्ल आउँदैछ! परमेश्‍वरले हाम्रा प्रार्थनाहरू सुन्नुभएको छ! परमेश्‍वरले हामीलाई प्रेम गर्नुहुन्छ र हामीलाई त्याग्‍नुभएको छैन!” भेलाहरूमा त्यस्ता विषयहरू फैलाउनुका परिणामहरू के हुनेछन्? के यसले सबैको भावनामा असर गर्नेछ? मानिसहरूले चाहेर पनि यसलाई इन्कार गर्न सक्नेछैनन्; अफवाहको हरेक वाक्यले तिनीहरूको हृदयमा प्रहार गर्नेछ, जसले गर्दा विश्‍वास नगर्नु त असम्भव नै हुनेछ। मानिसहरूले यी शब्दहरूमा विश्‍वास गर्ने सम्भावना धेरै हुन्छ; तिनीहरू शतप्रतिशत पक्का नभए पनि, तिनीहरू यो कुरा साँचो भएको भए हुन्थ्यो भन्‍ने चाहन्छन्, र यस्तो सोच्छन्, “संसारद्वारा इन्कार गरिनु, सरकारद्वारा खेदाइनु, धार्मिक संसारद्वारा सताइनु, जसोतसो सास फेर्न मात्र सक्नु, निरन्तर डरमा जिउनु—परमेश्‍वरलाई पछ्याएर हामीले भोगेका यत्तिका कठिनाइहरूका बारेमा मनन गर्दा लाग्छ, यी दिनहरू कहिले अन्त्य हुनेछन्? अब परमेश्‍वरको दिन बल्ल आइपुगेको छ!” यी विचारहरूले तेरो हृदयभित्र भावना उर्लाउँछ: “हामीले परमेश्‍वरका लागि आफूलाई धेरै समर्पित गरेका छौँ, परमेश्‍वरलाई पछ्याउनुमा हाम्रो आस्था अत्यन्तै दृढ छ; हामीले जे सुनिरहेका छौँ त्यो पक्‍कै साँचो हुनुपर्छ। हामीले अबदेखि यस संसारमा भौँतारिनु र कष्ट भोग्‍नु हुँदैन—हामी त्यस्तो नगर्न लायक छौँ!” जब तँमा यस्तो सोच आउँछ, र तँ यो अफवाहप्रति यति विश्‍वस्त र उत्साही हुन्छस्, तब के तँ अझै पनि परमेश्‍वरका वचनहरू पढ्न चाहन्छस्? यस विन्दुमा, के परमेश्‍वरका वचनहरूको कुनै खण्ड पढ्नु वाहियात देखिँदैन र? तँलाई यस्तो लाग्छ: “अहिले परमेश्‍वरका वचनहरूको अनुभवात्मक बुझाइ बाँड्नु किन यति अनावश्यक देखिन्छ? अबदेखि परमेश्‍वरलाई प्रार्थना गर्नु आवश्यक छैन, होइन र? परमेश्‍वरको दिन आएको छ, र हामी चाँडै नै परमेश्‍वरलाई आमनेसामने भेट्नेछौँ, त्यसकारण के अहिले परमेश्‍वरलाई प्रार्थना गर्नुको अर्थ हामीले परमेश्‍वरलाई आदर गर्दैनौँ भन्‍ने हुँदैन र? परमेश्‍वरबाट टाढा रहेको देहमा जिउने क्रममा पो हामीले हाम्रो तृष्णालाई कम गर्न परमेश्‍वरका वचनहरू पढ्नुपर्थ्यो। अहिले त, हामीले यो संसारलाई पार गर्नै लागेका छौँ र चाँडै नै परमेश्‍वरलाई व्यक्तिगत रूपमा भेट्नेछौँ, त्यसकारण परमेश्‍वरका वचनहरू पढ्नु आवश्यक छैन। हामीले अहिले गर्ने कुनै पनि कुरा त्यो निश्‍चित वर्ष, महिना, दिन, र समयमा परमेश्‍वरलाई भेट्नु जत्तिको महत्त्वपूर्ण छैन। यो कति अद्भुत कुरा हुनेछ! त्यो दिन त्यस ठाउँमा परमेश्‍वरलाई भेट्नुको तुलनामा परमेश्‍वरका वचनहरू पढ्नु अत्यन्तै महत्त्वहीन देखिन्छ।” तैँले त्यस उप्रान्त परमेश्‍वरका वचनहरू पढ्ने कार्यमा ध्यान दिन सक्दैनस्। तेरो हृदय बेचैन भएको हुन्छ, र त्यसले तुरुन्तै त्यो दिन आओस् भन्‍ने तृष्णा गरिरहेको हुन्छ! के यो मनोदशा व्यक्त गर्न गाह्रो छैन र? त्यस्ता अफवाहहरूले आम मानिसको ध्यान आकर्षित गर्छन् र मण्डलीभित्र ती सजिलै फैलिन सक्छन्। एक जनाले दुई जनामा, दुई जनाले दश जनामा फैलाउँछन्, र एउटा मण्डलीबाट दुई वटा मण्डलीमा, दुई वटा मण्डलीबाट पाँच वटा मण्डलीमा गर्दै अफवाहहरू झन्-झन् फैलिन्छन्, र झन्-झन् व्यापक हुँदै जान्छन्। परिणामहरू के-कस्ता हुन्छन्? यी अफवाहहरूले गर्दा मानिसहरूले परमेश्‍वरमाथि शङ्का गर्छन्, परमेश्‍वरबाट आफूलाई टाढा राख्छन्, मानवजातिलाई मुक्ति दिनुपछाडिको परमेश्‍वरको साँचो प्रेम बिर्सन्छन्, आफूले पूरा गर्नुपर्ने कर्तव्य बिर्सन्छन्, र आफूले पछ्याउनुपर्ने मार्ग बिर्सन्छन्। बरु, तिनीहरू एकोहोरो रूपमा परमेश्‍वरको दिन आएको र आफूले आशिष्‌हरू प्राप्त गर्न सक्छौँ कि सक्दैनौँ भनेर हेर्नुको पछ्याइमा लाग्छन्। जब त्यो दिन वास्तवमै आउँछ र केही पनि हुँदैन, तब मात्रै मानिसहरूले अफवाहहरूमा विश्‍वास गर्दा त्यसले आफ्‍नो जीवनमा हानि गरेको छ भन्‍ने महसुस गर्छन्। त्यसपछि के तँ पहिलेको जस्तो शिष्ट तरिकाले आफूलाई आचरणमा ढाल्ने, आफ्नो कर्तव्यमा लागिरहने, आफ्नो धरातलमा बसेर सत्यता पछ्याउने, सबै कुरामा सत्यता सिद्धान्तहरूको खोजी गर्ने, र परमेश्‍वरका वचनहरूअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्य पूरा गर्ने अवस्थामा फर्केर जान सक्छस्? समय बितिसकेको हुनेछ र यसलाई फिर्ता लिन सकिनेछैन। यसका लागि को दोषी हुन्छ? सत्यता पछ्याउने व्यक्ति कहिल्यै नभएकोमा आफूलाई नै दोष दे। तँ फुरुक्क भएको थिइस् र, परिणामस्वरूप, अफवाहको सिकार बनेको छस्।

जो परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यता बुझ्दैनन् तिनीहरूलाई एउटै अफवाहले अथाह रसातलमा पुर्‍याएर बरबाद गर्न सक्छ। अथाह रसातल भनेको के हो? सुरुमा, तँसँग परमेश्‍वरमाथि सामान्य विश्‍वास थियो र मुक्ति पाउने आशा थियो, तर एउटै अफवाहले तँलाई बहकाएको छ। थाहै नपाई, तँलाई शैतानले बहकाएको छ, तैँले शैतानले बोलेका दुष्ट शब्दहरूलाई विश्‍वास गरेको र त्यसलाई पछ्याएको छस्। तँ शैतानले तेरा लागि तय गरेको मार्गअनुसार हिँड्छस् र पछ्याउँछस्, र तँ जति टाढा जान्छस्, तेरो हृदय त्यति नै अन्धकारमय हुन्छ, र तँ परमेश्‍वरबाट त्यति नै टाढा जान्छस्। जब तैँले परमेश्‍वरलाई पूर्ण रूपमा त्यागेर इन्कार गरेको हुन्छस्, तब तँसँग हृदयमा परमेश्‍वरका बारेमा शङ्का मात्र हुँदैन, अझै गम्भीर रूपमा, तँभित्र परमेश्‍वरका बारेमा गुनासो र परमेश्‍वरको इन्कार बढ्छ। जब तँ यो विन्दुमा पुग्छस्, तब यो तेरा लागि बाटोको अन्त्य हुँदैन र? के यो अथाह रसातल होइन र? के यो तैँले हेर्न चाहने कुरा हो? जब तँ यो विन्दुमा पुग्छस्, तब के तैँले अझै पनि मुक्ति प्राप्त गर्न सक्छस्? सक्दैनस्, र फर्केर आउनु निकै गाह्रो हुन्छ। किन? किनभने परमेश्‍वरले काम गर्न छोड्नुभएको हुन्छ, पवित्र आत्माले काम गर्न छोड्नुभएको हुन्छ, र तँ अन्धकारले भरिएको हुन्छस्। तँ र परमेश्‍वरका बीचमा एउटा अल्गो पर्खाल ठड्याइएको हुन्छ। यो पर्खाल के हो? यो शैतानले तँमा हालिदिएका धारणा, कल्पना, र अफवाहहरू, र व्यक्तिगत चाहनाहरू हुन्। परमेश्‍वरको पहिचान, सार, हैसियत, इत्यादि जस्ता सकारात्मक कुराहरूबारे तेरो ज्ञान अचानक अस्पष्ट हुन्छ र त्यो बिस्तारै हराउन समेत पुग्छ। यो अत्यन्तै डरलाग्दो कुरा हो। के यो अथाह रसातलमा खस्‍नु होइन र? (हो।) जब तँ यस्तो परिस्थितिमा फस्छस्, तब के तैँले अझै पनि आफ्नो कर्तव्य पूरा गर्नका लागि कठिनाइ भोग्‍न र मूल्य चुकाउन सक्छस्? के तँ अझै पनि मुक्ति पाउनका लागि सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छस्? म तँलाई भन्छु, फर्केर आउनु निकै गाह्रो हुन्छ। बहकाउमा पर्नु भनेको यही हो! यदि तँ एक क्षणका लागि सावधान भइनस् र बहकाउमा परिस् भने, एउटा मात्र अफवाहले पनि अकल्पनीय परिणामहरू ल्याउन सक्छ। त्यसकारण, जब मण्डलीमा परमेश्‍वरको कामका बारेमा यस्ता अफवाहहरू देखा पर्छन्, तब तिनलाई तुरुन्तै रोक र प्रतिबन्ध लगाउनुपर्छ। मानिसहरूलाई भ्रममा पार्न र लोभ्याएर सही मार्गबाट टाढा लैजानका लागि कसैले पनि हावाका कुराहरू बनाउनु हुँदैन, र मानिसहरूले सुन्न मन पराउने यावत् किसिमका झूटहरू सिर्जना गर्नु हुँदैन। मानिसहरूलाई यी विषयहरू मन परे पनि, तिनलाई हृदयदेखि नै ध्यान दिएर फैलाउनुको के फाइदा हुन्छ र? यसबाट के फाइदा प्राप्त गर्न सकिन्छ? कतिपय मानिसहरूले भन्छन्, “त्यो व्यक्तिले आफूले चाहेको कुरा बोल्न सक्छ, किनभने त्यो उसको मुख हो। त्यसकारण, उसले आफ्नो इच्छाअनुसार बोलोस्।” त्यो के कुरा भनिँदै छ त्यसमा निर्भर हुन्छ। यदि यो मानिसहरूलाई सुधार्ने कुरा हो भने, यो भन्न सकिन्छ र फैलाउन सकिन्छ—यसलाई जसरी फैलाए पनि हुन्छ। तर यी अफवाहहरूले मानिसहरूलाई अलिकति पनि सुधार्दैनन्; तिनले मानिसहरूलाई बहकाउने र तिनीहरूको ध्यान भड्काउने, तिनीहरूको पछ्याइमा बाधा दिने र तिनीहरूलाई सही मार्गबाट टाढा लैजाने, परमेश्‍वरसँगको तिनीहरूको सम्बन्धमा असर गर्ने, तिनीहरूको सामान्य कर्तव्य निर्वाहमा असर गर्ने, र मण्डलीको कामको सामान्य सुव्यवस्थामा असर गर्ने काम मात्र गर्छन्। मानिसहरूले यी अफवाहहरूलाई स्वीकार गरेपछि, त्यो तिनीहरू उम्कन नसकिने एउटा भुलभुलैयामा पर्नु जस्तै हो। त्यसकारण, जब तैँले यी अफवाहहरू सुन्छस्, तब यदि कसैले तँ एकलैलाई ती कुरा बतायो भने, तैँले तिनलाई इन्कार गर्नुपर्छ। यदि उसले अरूका माझमा ती कुरा बोल्यो भने, तैँले तिनलाई इन्कार गर्ने मात्र होइन, तिनको खुलासा र चिरफार पनि गर्नुपर्छ—अझ धेरै मानिसहरूलाई बहकाउमा पर्न नदे। विशेष गरी एक-दुई वर्ष, वा दुई-तीन वर्ष मात्र विश्‍वास गरेका मानिसहरूका हकमा भन्दा, तिनीहरूले अझै पनि गन्तव्य, परमेश्‍वरसँगको भेट, र माथि उचालिनु जस्ता मामिलाहरूलाई छर्लङ्ग देख्‍न सक्दैनन्, तिनीहरूमा सत्यताप्रति रुचि विकास भइसकेको हुँदैन, र तिनीहरूका आस्थामा सत्यता पछ्याउने र स्वभाव परिवर्तन पछ्याउने कुनै मार्ग हुँदैन। त्यस्ता अवस्थामा, तिनीहरू सबैभन्दा सजिलै यी अफवाहहरूको बहकाउ र प्रभावमा पर्छन्, र तिनीहरू बहकाउमा परेपछि, परिणामहरू अकल्पनीय हुन्छन्। यो विष सेवन गर्नु जस्तै हो; यदि प्रत्यौषध छ भने पनि, के तेरो शरीरमा क्षति भइसकेको हुँदैन र? तँ बाँचिस् भने पनि, के तेरो शरीरमा हुने कष्ट र क्षतिलाई बेवास्ता गर्न सकिन्छ? त्यसकारण, यी अफवाहहरूको सामना गर्दा, तैँले तिनलाई खुट्ट्याउन र इन्कार गर्न जरुरी छ, तिनलाई कथाका रूपमा लिनुपर्छ, वा वास्तविक घटनाका रूपमा लिनु हुँदैन। कतिपय मानिसहरू यी अफवाहहरूमा विशेष रुचि राख्छन् र तिनलाई जताततै प्रसार गर्छन् र फैलाउँछन्, र ती सत्यता हुन् जस्तो गरी अरूलाई बाँड्छन्। यसको प्रकृति के हो? के यो शैतानका सेवकहरूका रूपमा कार्य गर्नु होइन र? त्यस्ता मानिसहरूलाई काटछाँट गर्नुपर्छ र चेतावनी दिनुपर्छ। यदि तिनीहरूले पश्चात्ताप गरेनन् भने, तिनीहरूलाई निकाल्नुपर्छ। यदि कुनै बिन्दुमा तिनीहरूको होस खुल्यो, र तिनीहरूले “अफवाह फैलाउनु गलत थियो; मैले त शैतानको सेवकका रूपमा काम गरिरहेको थिएँ, र म फेरि कहिल्यै पनि ती कुरा फैलाउनेछैन” भनेमा, तिनीहरूलाई निगरानीमा राख्‍न सकिन्छ: यदि तिनीहरूले पश्चात्ताप गरे र असल व्यवहार देखाए भने, तिनीहरूलाई मण्डलीमा अस्थायी रूपमा फेरि स्वीकार गर्न सकिन्छ। यदि तिनीहरू फेरि पहिलेकै बानीमा फर्के भने, तिनीहरूलाई पखाल्नुपर्छ।

परमेश्‍वरको कामबारे अफवाहहरू यतिमा मात्रै सीमित छैनन्। मानिसहरूले विश्लेषण र छानबिन गर्नका लागि आफ्ना कल्पना र धारणाहरूको, साथै आफ्नो दिमागको प्रयोग गर्छन्; तिनीहरूले परमेश्‍वरका वचनहरू र विभिन्‍न अगमवाणीहरू, साथै समाज र संसारका विभिन्‍न विपत्ति, चिन्ह, र घटनाहरूलाई छानबिन गर्छन्, र तिनीहरू आफ्ना सपनाहरूका भरमा परमेश्‍वरको कामका बारेमा स्वतन्त्र रूपमा टिप्पणी समेत गर्छन्—तिनीहरूले धेरै अफवाहहरू सिर्जना गर्छन्। धेरै मानिसहरूले नियमित रूपमा परमेश्‍वरका वचनहरू पढ्दैनन्, वा नियमित रूपमा सत्यतामा मेहनत लगाउँदैनन्, तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा सिद्धान्तहरू खोजी गर्नमा नियमित रूपमा मेहनत लगाउनु त झन् परको कुरा हो। बरु, तिनीहरूले यस्ता प्रश्नहरूमा मनन गर्छन्, “परमेश्‍वरको देखापराइ र काम कसरी सुरु भयो? यो सबको सुरुवात कसले गर्यो? मानिसहरूले कस्तो भूमिका खेले? के-कस्ता घटनाहरू घटे?” तिनीहरूले यी बाहिरी घटनाहरू, र मण्डलीको प्रशासनिक संरचना, कर्मचारी, आदि इत्यादिको छानबिन गर्छन्। यो सब छानबिन गरेपछि, तिनीहरूले यो सबै कुराको सारांश निकाल्छन् र केही तथाकथित नियम वा घटनाहरू अघि सार्छन् र ती सत्यता हुन् जस्तो गरी तिनलाई मण्डलीमा फैलाउँछन्। तिनलाई फैलाउँदा, तिनीहरूले तिनलाई स्पष्ट र विस्तृत रूपमा वर्णन गर्छन्, र समझशक्ति नभएकाहरूले त तिनीहरूले परमेश्‍वरको कामका बारेमा छलफल गरिरहेका छन् भन्‍ने समेत सोच्न सक्छन्। तर, समझशक्ति भएका मानिसहरूले यस्तो सोच्छन्, “के तिमीले वाहियात कुराहरू फलाकिरहेका र विधर्म र भ्रमहरू फैलाइरहेका छैनौ र? के तिमीले परमेश्‍वरको कामको आलोचना गरिरहेको छैनौ र? यो बुझाइ र अनुभवहरू बाँड्नु होइन—यो सत्यतासँग सम्बन्धित छैन। यो त अफवाहहरू सिर्जना गर्नु हो र यसलाई तुरुन्तै रोक्नुपर्छ; नत्र, कतिपय मानिसहरू बहकाउमा पर्नेछन्!” अफवाह मान्न मिल्ने यी भ्रम र विधर्महरू सत्यतासँग मिल्दैनन् र तिनले सत्यताप्रतिको मानिसहरूको बुझाइमा बाधा दिन्छन्। जब मण्डलीमा अफवाह फैलाउने कार्य देखा पर्छ, तब यसलाई तुरुन्तै रोक्नुपर्छ।

केही अफवाहहरू यस्ता पनि हुन्छन्, जुन परमेश्‍वरको कामको आलोचना गर्ने दुष्ट शब्दहरू हुन्। उदाहरणका लागि, परमेश्‍वरले कसलाई प्रेम गर्नुहुन्छ, उहाँले कसलाई मुक्ति दिनुहुन्छ, र कसलाई सिद्ध पार्नुहुन्छ भन्‍ने सम्बन्धमा, कतिपय मानिसहरूले आफ्नै तुच्छ चलाकी प्रयोग गरेर यसो भन्दै टिप्पणी गर्छन् र सारांश प्रस्तुत गर्छन्, “जब संसारका सक्षम मानिसहरू, र पदाधिकारीका रूपमा सेवा गरेका मानिसहरू, र उद्यमहरूमा विभागीय प्रमुख वा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्ने मानिसहरू परमेश्‍वरका घरमा आउँछन्, तब तिनीहरू सिधै अगुवा बन्छन् वा तिनीहरूले तुरुन्तै साधारण मामला र वित्तको कमान सम्हाल्छन्। परमेश्‍वरले सिद्ध पार्नुहुने मानिसहरू यिनीहरू नै हुन्।” के यो अफवाहहरू सिर्जना गर्नु होइन र? यो वास्तवमै अफवाहहरू सिर्जना गर्नु हो। अफवाह भनेको के हो? यो तथ्यहरूसँग नमिल्ने तरिकाले गैरजिम्मेवार रूपमा बोल्नु, अन्धाधुन्ध आलोचना गर्नु, र आधारहीन निष्कर्षहरू निकाल्नु हो; यी सबै शब्दहरू अफवाह हुन्। अरू मानिसहरूले भन्छन्, “फलानोले दशौँ हजार युआन भेटी चढायो। उसको आस्था महान् छ, ऊ राज्यमा प्रवेश गर्न सक्छ।” यसले गर्दा पैसा नभएका मानिसहरू नकारात्मक बन्छन् र आत्तिन्छन्; तिनीहरूले भन्छन्, “मैले धेरै भेटीहरू चढाएको भए पनि, त्यो उसले एकै पटकमा चढाएको जति पनि हुँदैन। के यसको अर्थ मैले मुक्ति पाउन र म सिद्ध पारिन सक्दिनँ भन्‍ने हुन्छ? के परमेश्‍वरले म जस्तो व्यक्ति चाहनुहुन्न र?” त्यसपछि अफवाहहरू सिर्जना गर्ने अरू मानिसहरूले भन्छन्, “धनी मानिस राज्यमा प्रवेश गर्न सक्दैन; परमेश्‍वरले त गरिबलाई पो चाहनुहुन्छ।” त्यसपछि ती गरिब मानिसहरू खुसी हुन्छन्: “मैले धेरै पैसा नचढाएको भए पनि, म राज्यमा प्रवेश गर्न पाउँछु, तर धनीहरूले भने पाउनेछैनन्।” अफवाहहरू सिर्जना गर्नेहरूले जे भने पनि, यसले कुनै न कुनै रूपमा गरिब मानिसहरूलाई प्रभाव पार्छ; यो सबै अफवाह र शैतानी शब्दहरू मात्रै हुन् भन्‍ने तथ्यलाई तिनीहरूले छर्लङ्ग देख्‍न सक्दैनन्। किन यस्तो हुन्छ? किनभने तिनीहरूले सत्यता बुझ्दैनन् र तिनीहरूमा समझशक्तिको कमी हुन्छ, त्यसकारण तिनीहरू निरन्तर बहकाउमा पर्छन्। अफवाहहरू सिर्जना गर्नेहरू र तिनलाई फैलाउनेहरू सबै दियाबलस हुन्। तिनीहरूले जति नै बोले पनि, कुन शब्दहरू साँचो हुन् र कुन झूटा हुन्, यी शब्दहरू ठ्याक्कै कहाँबाट आउँछन्, यी शब्दहरू फैलाउनुमा तिनीहरूको मनसाय ठ्याक्कै के हो, र तिनीहरूले के-कस्ता उद्देश्यहरू हासिल गर्ने आशा गर्छन् भन्‍ने कुरा तँलाई थाहा हुँदैन। यदि कसैले यी कुराहरूलाई छर्लङ्ग देख्‍न सक्दैन र अन्धाधुन्ध यी अफवाहहरूलाई स्विकार्छ र फैलाउँछ भने, के ऊ मूर्ख होइन र? के मूर्खलाई बदमास पनि भनिँदैन र? यो शब्द असभ्य सुनिए पनि, मलाई यो निकै उचित लाग्छ। यो किन उचित छ? किनभने त्यस्ता मानिसहरूले गैरजिम्मेवार रूपमा बोल्छन्। तिनीहरूले यतिकै अफवाह फैलाउँछन्, निश्‍चित घटनाहरूका आधारमा लापरवाह रूपमा निष्कर्ष निकाल्छन् र अफवाहहरू सिर्जना गर्छन्, त्यसपछि यी अफवाहहरू वास्तविक घटना हुन् जस्तो गरी तिनलाई यतिकै फैलाउँछन् र मनासिब ढङ्गले वर्णन गर्छन्—परिणामस्वरूप यसले कतिपय मानिसहरूलाई असर गर्छ र बाधा दिन्छ। तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दैनन् वा सत्यता बुझ्दैनन्; तिनीहरूले मण्डलीमा अफवाह फैलाउँदै र बकवास गर्दै आफ्नो दिन बिताउँछन्। आज, तिनीहरूले कसैले धेरै भेटीहरू चढाउँदै गरेको देख्छन् र त्यो व्यक्तिले मुक्ति पाउन सक्छ भनेर भन्छन्। भोलि, तिनीहरूले जेल परेर पनि यहूदा नबनेको एउटा व्यक्तिलाई देख्छन्, र भन्छन्, “त्यो व्यक्ति परमेश्‍वरसँग एउटै हृदयको छ। ऊ राज्यमा प्रवेश गर्न सक्छ र उसले राम्रो गन्तव्य प्राप्त गर्न सक्छ। भविष्यमा, उसले परमेश्‍वरको घरका बीस सहरहरूमा शासन गर्नेछ; हामी जाबो पैदल सेनाको ऊसँग तुलना हुन सक्दैन।” के यो दुष्ट कुरा होइन र? के यी कुराहरू अफवाह होइनन् र? (हुन्।) यी शब्दहरू बोल्ने मानिसहरूको मनसाय र उद्देश्य जेसुकै भए पनि, के त्यस्ता शब्दहरूले कतिपय मानिसहरूलाई असर गर्ने र बाधा दिनेछैन र? कतिपय मानिसहरूमा थोरै आस्था हुन्छ, र जब तिनीहरूले यी अफवाह र दुष्ट शब्दहरू सुन्छन्, तब तिनीहरूले यस्तो मनन गर्न थाल्छन्: “के मैले मुक्ति पाउन सक्छु? के परमेश्‍वर मदेखि प्रसन्न हुनुहुन्छ?” तिनीहरू हृदयमा दिनभरि यिनै कुरा सोचिरहन्छन्, तीबारे दोधारमा पर्छन् र चिन्ता गर्छन्। अफवाहहरू सिर्जना गर्नेहरूको यो आधारहीन बकवासका कारण, तिनीहरूलाई आफूसँग मुक्ति पाउने आशा छैन भन्‍ने लाग्छ, त्यसैले तिनीहरू परमेश्‍वरसामु आएर प्रार्थना गर्छन्: “हे परमेश्‍वर, के तपाईँ मलाई प्रेम गर्नुहुन्न र? मैले तपाईँका लागि धेरै त्याग गरेको छु। मैले तपाईँलाई कहिले सन्तुष्ट पार्न सक्ने होला?” तिनीहरू गुनासाले भरिएका हुन्छन्। केही भएको छैन, र पनि यी गुनासाहरू कहाँबाट आउँछन्? ती गुनासाहरू ती अफवाहहरूले निम्त्याएका हुन्—यी व्यक्तिहरूलाई विष दिइएको छ र यिनीहरू पतन भएका छन्। तिनीहरूले प्रकट गर्ने जस्तोसुकै भ्रष्ट स्वभाव वा तिनीहरूले गरेका जस्तोसुकै अपराधहरूप्रति तिनीहरूलाई कुनै पछुतो वा ग्लानि महसुस हुँदैन, यसलाई लिएर तिनीहरू कहिल्यै रुँदैनन्—एक थोपा आँसु पनि झार्दैनन्—तर जब तिनीहरूले यस्ता अफवाहहरू सिर्जना गर्नेहरूले तिनीहरू जस्तो मानिसहरूसँग मुक्ति पाउने कुनै आशा छैन भनेर भनेको सुन्छन्, तब तिनीहरू तुरुन्तै आत्तिन्छन्। के तिनीहरूलाई असर परेन त? तिनीहरूलाई असर र बाधा परेको हुन्छ। यी मानिसहरू कदमा अपरिपक्‍व हुन्छन्, तिनीहरूले सत्यता बुझ्दैनन्, र तिनीहरू अत्यन्तै मूर्ख हुन्छन्। अफवाहहरू सिर्जना गर्नेहरूले त्यस्ता मानिसहरूलाई खेलौना बनाउन सजिलो ठान्छन् र त्यसैले तिनीहरूलाई फसाउन केही अफवाहहरू सिर्जना गर्छन्। आज, तिनीहरूले तँसँग मुक्ति पाउने आशा छ भनेर भन्छन्, र तँ खुसी हुन्छस्; भोलि, तिनीहरूले तँसँग मुक्ति पाउने कुनै आशा छैन भनेर भन्छन्, अनि तँ रुन्छस् र आत्तिन्छस्। तैँले किन तिनीहरूको कुरा सुन्छस्? तँ किन सधैँ तिनीहरूको बन्धनमा पर्छस्? के तिनीहरूले अन्तिम निर्णय गर्छन्? बढीमा, तिनीहरू जोकर मात्रै हुन्। तिनीहरूको नियतिसमेत परमेश्‍वरकै हातमा हुन्छ, त्यसकारण अरूलाई मूल्याङ्कन गर्नका लागि तिनीहरूसँग के योग्यता हुन्छ र? कसले मुक्ति पाउन सक्छ र कसले पाउन सक्दैन, वा कस्तो प्रकारका मानिसहरूलाई सिद्ध पार्न सकिन्छ र कस्तालाई सकिँदैन भनेर भन्‍नका लागि तिनीहरूसँग के-कस्ता योग्यताहरू हुन्छन् र? के तिनीहरूले सत्यता बुझ्छन्? तिनीहरूका कुन-कुन शब्दहरू परमेश्‍वरका अभिप्रायहरू र परमेश्‍वरका वचनहरूसँग मिल्छन्? तिनीहरूको एउटा शब्द पनि परमेश्‍वरका वचनहरूसँग मिल्दैन, तर पनि तैँले किन तिनीहरूलाई विश्‍वास गर्छस्? तँलाई किन तिनीहरूबाट बाधा हुन्छ? के यो मूर्खताले निम्त्याएको होइन र? (हो।) चाहे यो मूर्खता र अज्ञानताका कारण होस् वा तेरो कद अत्यन्तै सानो भएकाले र तैँले सत्यता नबुझ्ने हुनाले होस्, जे भए पनि, मण्डलीमा अफवाह फैलाउनेहरू सबैभन्दा घृणित हुन्छन्। तिनीहरूलाई खुट्ट्याउनुपर्छ, खुलासा गर्नुपर्छ, र त्यसपछि प्रतिबन्ध गर्नुपर्छ वा निकाल्नुपर्छ।

कतिपय मानिसहरूले भन्छन्, “यस्तो मिलेको जीउडाल भएको फलानोलाई हेर त; उसलाई मण्डली अगुवाका रूपमा चुनिएको थियो। फलानो व्यक्तिले समाजमा उन्‍नति गर्छ, उसलाई देख्ने सबैले उसलाई मन पराउँछन्; उसले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, दाजुभाइ-दिदीबहिनीहरूले पनि उसलाई मन पराउँछन्, र परमेश्‍वरले पनि उसलाई मन पराउनुहुन्छ।” के यी शब्दहरूमा एउटा पनि सही अभिव्यक्ति छ? (छैन।) किन? (ती सत्यताअनुरूप छैनन्।) ठीक भन्यौ, यी शब्दहरू सत्यताअनुरूप छैनन्, ती सबै दुष्ट कुरा हुन्। कतिपयले भन्छन्, “फलानोको परिवार धनी छ, उसको जियाइ अवस्था राम्रो छ, र ऊ ज्ञानवान् छ। त्यसकारण, परमेश्‍वरका घरमा, उसले आर्थिक पक्ष र साधारण मामलाहरू सम्हाल्छ। ऊ उपयोगी छ र उसले यो कर्तव्यको जिम्मेवारी लिन सक्छ। यो परमेश्‍वरले गर्नुभएको नियुक्ति हो।” के “परमेश्‍वरले गर्नुभएको नियुक्ति” थपेपछि यो अभिव्यक्ति सत्यताअनुरूप बन्छ? के यो दुष्ट कुरा होइन र? यस्तो दुष्ट कुरालाई नै सामूहिक रूपमा अफवाह भनिन्छ। तथ्यहरूसँग नमिल्ने, परमेश्‍वरले तोक्नुभएका तथ्यहरूसँग बाझिने कुनै पनि गैरजिम्मेवार अभिव्यक्तिहरू लापरवाह शब्द र स्वेच्छाचारी निष्कर्ष हुन्; त्यस्ता अभिव्यक्तिहरू सबै अफवाह हुन्। किन तिनलाई अफवाहका रूपमा चित्रण गरिन्छ? यी अभिव्यक्तिहरू जारी भएपछि, तिनले कतिपय मानिसहरूको सामान्य मानसिकता र उद्देश्यहरूको पछ्याइमा बाधा दिन्छन् र हानि गर्छन्, त्यसकारण तिनलाई अफवाहका रूपमा चित्रण गरिन्छ। परमेश्‍वरका वचनहरूअनुसार, परमेश्‍वरले यति मात्र भन्‍नुहुन्छ कि मानिसहरूको जन्मस्थल, पारिवारिक पृष्ठभूमि, रूप, शैक्षिक स्तर, आदि इत्यादि कुरा परमेश्‍वरले तोक्नुभएको हो; उहाँले कुनै पनि वर्गका मानिसहरूको रूप, सामाजिक पृष्ठभूमि, वा अन्तर्निहित अवस्थाहरू आशिष् पाउनका लागि पूरा गर्नुपर्ने सर्तहरू हुन् भनेर मानिसहरूलाई कहिल्यै बताउनुभएको छैन। परमेश्‍वरले मानिसहरूबाट माग गर्नुहुने एउटै मात्र मानक भनेको तिनीहरूले सत्यता पछ्याउन र तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्नुपर्छ भन्‍ने हो। सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। यदि परमेश्‍वरका वचनहरूले केही कुरा खुलस्त रूपमा व्यक्त गरेको छैन, र यो मानिसहरूको आत्मगत कल्पना वा तिनीहरूको अनुमानको परिणाम मात्रै हो भने, त्यस्ता अभिव्यक्तिहरूलाई पनि अफवाह मानिन्छ। मानिसहरू कुनै व्यक्ति आशिषित् हुन सक्छ कि सक्दैन भन्‍ने कुरा सधैँ आफ्नो अवलोकन र बुझाइमार्फत, साथै आफ्‍ना धारणा र कल्पनाहरूका आधारमा मूल्याङ्कन गर्न चाहन्छन्। त्यसपछि, तिनीहरूले अरूको सत्यता पछ्याइमा प्रभाव पार्न, र कसले मुक्ति पाउन सक्छ र कसले सक्दैन, परमेश्‍वरका मानिसहरू को हुन्, र कामदार को हुन् भनेर स्वेच्छाचारी ढङ्गले निर्णय गर्नका लागि यी भ्रमहरू फैलाउँछन्। यी सबै अफवाह हुन्। अफवाहहरूकै कुरा गर्नुपर्दा, हामी तिनलाई दुष्ट शब्द पनि भन्‍न सक्छौँ। चाहे जस्तोसुकै अफवाह वा शैतानी शब्दहरू देखा परे पनि, मण्डली अगुवाहरू तिनलाई रोक्न र प्रतिबन्धित गर्न तुरुन्तै अघि सर्नुपर्छ; अवश्य नै, यदि कुनै दाजुभाइ-दिदीबहिनीहरूसँग समझशक्ति छ भने, तिनीहरू पनि यी अफवाहहरू कहाँबाट आउँछन् र तिनको प्रकृति के हो भनेर चिरफार गर्न र खुट्ट्याउन अघि सर्नुपर्छ। जब यी दाजुभाइ-दिदीबहिनीहरूले यी कुराहरूबारे बुझाइ प्राप्त गर्छन्, तब तिनीहरू यी अफवाहहरूलाई खण्डन गर्न र विवाद गर्न खडा हुन सक्छन्, र ती अफवाह फैलाउनेहरूलाई प्रतिबन्धित गर्न, र तिनीहरूका विरुद्धमा एकजुट भएर लागिपर्न पनि सक्छन्। तिनीहरूले कसरी यसो गर्नुपर्छ? ती मानिसहरूलाई सबैको अगाडि खुलस्त रूपमा निन्दा गरेर: “तिमीले भनेको सबै कुरा अफवाह र दुष्ट कुरा हुन्, यो परमेश्‍वरका वचनहरू अनुरूप छैन, न त यो हाम्रा आवश्यकताहरू अनुरूप नै छ। यदि चेतावनीहरू पाएर पनि तिमीले अफवाह फैलाइरहन्छौ भने, हामी तिमीलाई निकाल्नेछौँ, र तिमीलाई अफवाहहरू सिर्जना गर्ने र मण्डलीमा अवरोध पुर्‍याउने कुनै अवसर दिनेछैनौँ!” यो अभ्यास कस्तो छ? (राम्रो।) यो काम यसरी गर्नु सत्यता सिद्धान्तहरू अनुरूप हुन्छ। यदि तैँले मानिसहरूलाई सुधार गर्ने कुराहरू बोल्दै आफ्नो व्यक्तिगत अनुभवात्मक बुझाइहरूमा सङ्गति गर्छस् भने, तैँले जसरी बोले पनि त्यो ठीकै हुन्छ। तैँले आफूलाई मन पर्ने कुनै पनि शब्दहरू प्रयोग गर्न सक्छस्, चाहे त्यो औपचारिक भाषा होस् वा बोलीचालीको भाषा होस्; यो सबै स्वीकार्य हुन्छ। तैँले गर्न नहुने एउटै मात्र कुरा भनेको अफवाह फैलाउनु हो।

ई. आधारहीन अफवाहहरूले ल्याउने हानि

मण्डलीभित्र फैलिने अफवाहहरू परमेश्‍वरलाई इन्कार्ने वा परमेश्‍वरको कामको आलोचना गर्नेबारे मात्रै हुँदैनन्; अरू प्रकारका अफवाहहरू पनि हुन्छन्। यी अफवाहहरूलाई खुट्ट्याउनु र चिरफार गर्नु आवश्यक छ, र तिनलाई रोक्नु र सीमित गर्नु पनि आवश्यक छ। छोटकरीमा भन्दा, अफवाहहरू अवश्य नै राम्रा कुरा होइनन्; तिनले मानिसहरूलाई कुनै फाइदा दिँदैनन्। कति मानिसहरू भन्छन्, “म तिनीहरू के भनिरहेका छन् भनेर हेर्न, र ती कुराबाट समझशक्ति र बुद्धि प्राप्त गर्नका लागि अफवाहहरू सुन्न चाहन्छु।” यदि तँमा साँच्‍चै नै केही खुट्ट्याउने क्षमता छ र तँलाई अफवाहहरूको बाधामा पर्ने डर छैन भने, तैँले सुन्दा हुन्छ, तर परिणामहरू के हुनेछन्? यदि तैँले अन्योलमा परेर परमेश्‍वर र परमेश्‍वरको कामबारे शङ्का गर्न थालिस् भने, त्यो खतरनाक कुरा हो; यसको अर्थ तँ बहकिएको छस् भन्‍ने हुन्छ। यदि तैँले यो कुरा खुट्ट्याउन सकिनस् बरु तँ बहकाउमा परिस् भने, के त्यो समस्याजनक कुरा होइन र? के तँसँग त्यस्तो कद छ? तँ आफूमा आस्था छ भन्‍ने सोच्छस्, तर के तैँले सत्यता बुझ्छस्? यदि तैँले सत्यता बुझ्दैनस् भने, तेरो आस्था साँचो हुँदैन, र तँ अझै पनि बहकाउमा पर्नेछस्। यदि तैँले केही सत्यता बुझ्छस्, परमेश्‍वरबारे केही साँचो ज्ञान पाएको छस्, र यी अफवाहहरूलाई खुट्ट्याउन र प्रतिरोध गर्न सक्छस् भने, तैँले तिनलाई सुनेर बुद्धि प्राप्त गर्न सक्छस्। यदि तैँले आफूमा आस्था मात्रै छ भन्‍ने सोच्छस्, तर वास्तवमा यो आस्था अझै पनि साँचो कद बनेको छैन, र तैँले अझै सत्यता बुझ्दैनस् भने, म त भन्छु, अफवाहहरूबाट साँच्‍चिकै समझशक्ति र बुद्धि प्राप्त गर्न तँलाई निकै गाह्रो हुनेछ। अफवाहहरू कहाँबाट आउँछन्? ती शैतानबाट आउँछन्। शैतानले हरेक कमजोरीको फाइदा लिन्छ र परमेश्‍वरका वचनहरूमा प्रयोग गरिएका वाक्यांशहरूलाई छानीछानी लिने र परमेश्‍वरका वचनहरूलाई प्रसङ्गबाहिर लगेर परमेश्‍वरका वचनहरूमा आफूले गलचेपका रूपमा प्रयोग गर्न सकिने कुरा खोज्ने हरेक अवसरको फाइदा लिन्छ। यसमा आधार भएजस्तो देखिन्छ, तर वास्तवमा यो कुरा प्रसङ्गबाहिर ल्याएर मानिसहरूलाई भ्रममा पार्नका लागि गरिन्छ। यी अफवाहहरू सुनेपछि, सत्यता नबुझ्नेहरूले मनमनै सोच्छन्: “तिनीहरूले भनेको कुरा परमेश्‍वरका वचनहरूमा आधारित छ। यो सही हुनुपर्छ। यो अफवाह हुन सक्दैन, होइन र?” परिणामस्वरूप, तिनीहरू बहकाउमा पर्छन्। कति अफवाहहरू त स्पष्ट हुन्छन् र तिनलाई खुट्ट्याउन सजिलो हुन्छ। तर, कति अफवाहहरू खुट्ट्याउन गाह्रो हुन्छ; झट्ट हेर्दा, ती तथ्यहरूसँग मिलेजस्तो देखिन्छ, तर तिनको सार त्यस्तो हुँदैन। यी अफवाहहरू सतही रूपमा परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थसँग मिल्दैमा ती सही छन् भन्‍ने नसोच्। वास्तवमा, यस्ता धेरै अभिव्यक्तिहरू खोक्रा सिद्धान्त हुन्, ती त पासो हुन्, र तिनले मानिसहरूलाई कुनै सुधार वा फाइदा प्रदान गर्दैनन्। यी सबै अभिव्यक्तिहरूलाई इन्कार गर्नुपर्छ। मानिसहरूले फरक-फरक मात्रामा परमेश्‍वरका वचनहरू बुझ्ने, र परमेश्‍वरले बोल्नुहुने प्रसङ्गहरू पनि फरकफरक हुने हुनाले, परमेश्‍वरका वचनहरूलाई अन्धाधुन्ध लागू गर्ने र अर्थ्याउने गर्दा त्यसले गल्तीहरू निम्त्याउने सबैभन्दा बढी सम्भावना हुन्छ। शैतानले प्रायजसो परमेश्‍वरका वचनहरूलाई प्रसङ्गबाहिर लगेर अनि गलत रूपमा अर्थ्याएर मानिसहरूलाई बहकाउँछ। बाइबल वा परमेश्‍वरका वचनहरूका आधारमा गरिएको परमेश्‍वरको कामको कुनै पनि निन्दा शैतानको चलाकी हो, त्यो मानिसहरूलाई बहकाउने त्यसको माध्यम हो; ती पासो हुन्, र त्यस्ता सबै अभिव्यक्तिहरूलाई इन्कार्नुपर्छ। झट्ट हेर्दा, अफवाहहरू एकदुई वटा टिप्पणी, वा केही टिप्पणी मात्रै हुन्; तीबाट डराइरहनु पर्दैन, र ती डर मान्नुपर्ने कुरा होइनन्। डर मान्नुपर्ने भनेको त्यस्ता अफवाहहरूको हो जसले बाइबल वा सत्यतालाई प्रसङ्गबाहिर लगेर त्यसका आधारमा निष्कर्ष निकाल्छन्। मानिसहरूलाई सबैभन्दा बढी बहकाउन सक्‍ने यसैले हो; यो नै मानिसहरूको मनमा सबैभन्दा बढी बाधा दिने कुरा हो। यसले गर्दा समझशक्ति नभएका मानिसहरूले ठेस खान्छन्। सत्यता बुझ्ने मानिसहरूले मात्रै यस्तो भ्रामक दुष्ट कुरा खुट्ट्याउन सक्छन्। उदाहरणका लागि, कति मानिसहरूले परमेश्‍वरले यस्ता मानिसहरूलाई प्रेम गर्नुहुन्छ र त्यस्ता मानिसहरूलाई प्रेम गर्नुहुन्न, परमेश्‍वरले यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्छ र त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न, यस्ता मानिसहरूलाई परमेश्‍वरले हटाउनुहुन्छ, र त्यस्ता मानिसहरूले परमेश्‍वरका लागि केही अर्थ राख्दैनन्, आदि इत्यादि भन्ने आधारका रूपमा परमेश्‍वरका केही वचनहरू प्रयोग गर्छन्। के यी अभिव्यक्तिहरू निष्कर्ष होइनन् र? यी निष्कर्षहरू वास्तवमा परमेश्‍वरका वचनहरूअनुरूप हुँदैनन्। तिनीहरूले भेट्टाएका आधारहरू वास्तवमा प्रसङ्गबाहिर लगिएका हुन्छन्; ती फरक प्रसङ्गबाट आएका हुन्छन् र ती फरक अभिव्यक्तिहरू हुन्। यो पूर्ण रूपमा गलत अर्थ लगाउनु हो। तिनीहरूले छर्लङ्गैसित सार देख्दैनन्, र स्वेच्छाचारी ढङ्गले प्रावधानहरू लागू गर्छन्। तर समझशक्ति नभएका मानिसहरू यी भ्रमहरू सुनेपछि विषाक्त हुन्छन् र बहकिन्छन्, हृदयमा नकारात्मक बन्छन्, र यसरी भनिएको कुरा परमेश्‍वरका वचनहरूमा आधारित भएकाले, यो पक्‍कै सही हुनुपर्छ भन्‍ने सोच्छन्। तिनीहरूले पछि यी भ्रमहरूमा रहेका त्रुटिहरू पत्ता लगाउन परमेश्‍वरका वचनहरू ध्यान दिएर पढ्दैनन्, बरु ती सत्य हुन् भनेर पूर्ण रूपमा विश्‍वास गर्छन्। के तिनीहरू बहकाउमा परिरहेका हुँदैनन् र? यदि सत्यता बुझ्‍ने कसैले पनि तिनीहरूसँग सङ्गति गरेन भने, त्यो अत्यन्तै खतरनाक हुन्छ। कम्तीमा पनि, यी मानिसहरू छ महिनादेखि एक वर्षसम्म नकारात्मक बन्‍न सक्छन्; यसले तिनीहरूको जीवन प्रवेशमा ढिलाइ मात्र गर्दैन, यदि तिनीहरूले पछि हटेर विश्‍वास गर्न छोडे भने, तिनीहरू पूर्ण रूपमा बरबाद हुनेछन् र तिनीहरूले परमेश्‍वरको मुक्ति पूर्ण रूपमा गुमाउनेछन्। त्यसकारण, सत्यता नबुझ्ने सानो कद भएका मानिसहरू शैतानद्वारा बहकाइने ठूलो जोखिममा हुन्छन्! जसले सत्यता बुझ्छन् तिनीहरू मात्रै सुरक्षित र स्थिर हुन्छन्। यदि कुनै दिन तैँले मानिसहरूलाई बहकाउन कसैले अफवाह फैलाइरहेको साँच्‍चै भेट्टाइस् भने, सबैभन्दा प्रभावकारी तरिका भनेको तुरुन्तै सत्यता बुझ्ने व्यक्तिलाई भेटेर ऊसँग सङ्गति गर्नु हो; त्यसपछि मात्रै तँलाई यो अवस्थाबाट उद्धार गर्न सकिन्छ। अन्धाधुन्ध प्रावधानहरू लागू गर्ने आत्मिक बुझाइ नभएका मानिसहरूबाट सहयोग खोज्दा, त्यसले समस्या समाधान गर्न नसक्‍ने मात्र होइन, तँलाई थप भ्रममा समेत पार्नेछ। त्यसकारण, बहकाउमा पर्नु धर्ममा मात्रै हुने कुरा होइन—तैँले परमेश्‍वरमा विश्‍वास गरे पनि र मण्डली जीवन जिए पनि, यदि तैँले सत्यता पछ्याउँदैनस् भने, तँ अझै पनि सजिलै बहकाउमा पर्न सक्छस्। तैँले तीनदेखि पाँच वर्ष, वा सातदेखि आठ वर्ष विश्‍वास गरेको भए पनि, यदि तैँले सत्यता प्राप्त गरेको छैनस् भने, तँ अझै पनि बहकाउमा पर्ने जोखिममा हुन्छस्; खासगरी, प्रायजसो धारणाहरू बोक्ने र प्रायजसो नकारात्मक बन्‍ने मानिसहरू बहकाउमा पर्ने खतरा बढी हुन्छ र तिनीहरूले कुनै पनि बेला परमेश्‍वरलाई धोका दिन सक्छन्। किनभने शैतान गर्जने सिंहझैँ कसलाई निल्न सकिन्छ भनेर मानिसहरू खोज्दै पृथ्वीभरि डुल्छ; यो तथ्य हो। यो शैतान को हो? यो सत्यताप्रति वितृष्ण हुने र सत्यतालाई घृणा गर्ने सबै हुन्, जसमा ख्रीष्टविरोधीहरू, झूटा अगुवाहरू, मूर्ख मानिसहरू, र अरूलाई बहकाउने मानिसहरू समेत पर्छन्—ती सबै शैतान हुन्। यी मानिसहरू जताततै डुल्छन्, र जता गए पनि परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउँछन् र बाधा दिन्छन्, त्यसकारण तिनीहरू सबै परमेश्‍वरको प्रतिरोध गर्ने दियाबलस हुन्। परमेश्‍वरका चुनिएका मानिसहरू आफू बहकाउमा नपर्ने र दह्रिलो गरी खडा हुने कुरा सुनिश्‍चित गर्न विशेष सतर्क हुनुपर्छ।

मण्डलीमा कतिपय नयाँ विश्‍वासीहरू वा अत्यन्तै कमजोर क्षमता भएका, परमेश्‍वरका वचनहरू बुझ्ने क्षमता नभएका मानिसहरू प्रायजसो विभिन्‍न अफवाहहरूद्वारा बहकाउ, प्रभाव, र बाधामा पर्छन् भन्‍ने कुरा नकार्न सकिँदैन। अफवाह सिर्जना गर्नेहरूले एउटा सामान्य निष्कर्षका भरमा सजिलै एक समूह मानिसहरूलाई पतन गराउन सक्छन्। तिनीहरूले लापरवाही ढङ्गले फ्याट्टै भन्ने शब्द र अभिव्यक्तिहरूले कतिपय मानिसहरूलाई नकारात्मक, कमजोर, र कर्तव्य निभाउन अनिच्छुक बनाउन सक्छन्। जब परमेश्‍वरको घरले बोलाउँछ, तब यी मानिसहरू डरले भरिन्छन्, र इन्कार्ने र भाग्‍ने विभिन्‍न कारण र बहानाहरू खोज्छन्। प्रस्ट रूपमा भन्नुपर्दा, अफवाह सिर्जना गर्नेहरूले मण्डलीमा कस्तो भूमिका खेल्छन्? तिनीहरूले शैतानका सेवकका रूपमा काम गर्छन्, यसमा कुनै शङ्का छैन। उदाहरणका लागि, कति मानिसहरू भन्छन्, “आफ्नो कर्तव्य निभाउँदा तिमीसँग जगेडा योजना पनि हुनुपर्छ। परमेश्‍वरको घरले तिमीलाई कर्तव्य निभाउन बोलाउँछ, र तिमीले यो काम राम्ररी गरेनौ भने, परमेश्‍वरको घरले कुनै पनि बेला तिमीलाई प्रयोग गर्न छोड्न सक्छ। त्यो बेला, यदि तिमी घर गयौ भने, तिमीलाई जीवन धान्न गाह्रो हुनेछ। त्यो बेला कसैले पनि तिमीलाई साथ दिनेछैन!” के यो “हृदयस्पर्शी” सुनिन्छ? यो मानव भावनाअनुरूप छ र निकै प्रेमपूर्ण र विचारशील सुनिन्छ, तर के तैँले यी शब्दहरूमा परमेश्‍वरको हृदयलाई कुनै ख्याल गरिएको पाउँछस्? के यी शब्दहरूले मानिसहरूलाई कुनै साथ, आपूर्ति, सहयोग, वा प्रोत्साहन दिन्छन्? (दिँदैनन्।) मानिसहरूलाई जगेडा योजना तयार गर्न भन्नु—के यो तिनीहरूलाई पछाडि तान्‍नु होइन र? तिनीहरूले यसो भन्‍नुको अर्थ के हो? “तिमी सावधान हुनुपर्छ; परमेश्‍वर तिमीविरुद्ध खडा हुन सक्छन्!” तिनीहरूले मानिसहरूमा छर्ने विष यही हो। यो सुनेपछि, मानिसहरूले सोच्छन्, “त्यो ठीक हो, म कसरी यति मूर्ख हुन सकेँ? मैले झण्डै आफ्नो घर नै बेचेको थिएँ—यदि मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरिनँ र मलाई बर्खास्त गरियो भने, मसँग फर्केर जाने घरसमेत हुनेथिएन। धन्‍न, तिनीहरूले मलाई याद दिलाए, नत्र मैले मूर्खतापूर्ण काम गरिसकेको हुन्थेँ।” कस्तो “दयालु” ताकेता, तर यसमा धेरै विष छ, र यो भित्रैसम्‍म पुग्छ! के तिमीहरूले यस्ता अफवाहहरू सुनेका छौ? सुन्दा त, तिनीहरूले मानिसहरूप्रति यति राम्रो व्यवहार गरिरहेका छन्, यति विचारशील भएर, यस्तो ठूलो “प्रेम” देखाइरहेका छन् जस्तो लाग्छ। यी मानिसहरू जोसँग कुरा गर्छन् तिनीहरू न त आफन्त हुन्छन् न त साथी नै, तिनीहरूबीच रगतको कुनै नाता हुँदैन—यी मानिसहरूले आफूसित कुराकानी गर्ने मानिसहरूप्रति यस्तो ठूलो “प्रेम” देखाउन सकेको त तिनीहरू सबै परमेश्‍वरमा विश्‍वास गर्नेहरू भएर मात्र हो। मानिसहरूले सोच्छन्, “यो साँच्‍चै नै परमेश्‍वरको सुरक्षा हो! त्यसोभए, मैले पहिले राम्ररी विचार गर्नु नै राम्रो हुन्छ। यदि म आफ्नो कर्तव्य निभाउन जाँदा सधैँ झाराटारुवा भएँ, र मलाई घर पठाइयो भने के गर्ने? त्यसकारण, मैले कर्तव्य निभाउँदा, म सजग हुनुपर्छ; मैले मलाई राम्रो देखाउने काम धेरै गर्नुपर्छ, गल्तीहरू गर्नबाट जोगिनुपर्छ, र मैले गल्ती गरिहाले पनि, अरूलाई थाहा दिनु हुँदैन। त्यसो गरिएमा, मलाई घर पठाइनेछैन, होइन र? मलाई घर पठाइयो भने पनि, ठीकै हुन्छ; मसँग जगेडा योजना हुन्छ, मेरो बचत हुन्छ, र मेरो घर अझै पनि त्यहीँ हुन्छ। के यो परमेश्‍वरले मानिसहरूका भावनाहरूको ख्याल नगर्नुभएको र देहगत भावनाअनुसार नचल्‍नुभएको मात्रै होइन र? चाहे जेसुकै भए पनि, डर मान्नुपर्ने के छ र? मानिसहरू आफ्नो भावनाअनुसार नै चल्छन्, र मानव संसारमा जताततै प्रेम छ!” यो एउटा “हृदयस्पर्शी” अभिव्यक्तिले मानिसहरूमाझ “मित्रता” सिर्जना गर्छ, तर यसले परमेश्‍वरलाई कहाँ राख्छ? यसले परमेश्‍वरलाई तेस्रो वा चौथो प्राथमिकतामा राख्छ, उहाँलाई बाहिरी व्यक्ति बनाउँछ, मानौँ परमेश्‍वर भरोसायोग्य नै हुनुहुन्न र मानिसहरू मात्रै भरोसा गर्न लायक छन्, मानिसहरूले मात्रै अरूको ख्याल गर्छन्। यो एउटा अभिव्यक्तिले यति महत्त्वपूर्ण प्रभाव पार्छ, यो अत्यन्तै “सामयिक” छ! के तिमीहरूलाई यस्ता शब्दहरू सुन्न मन लाग्छ? तँलाई तिनीहरूका शब्दहरूमा द्वेष लुकेको छ भन्ने थाहा भए पनि, तैँले अझै कसैले तँलाई सङ्केत दिन सक्छ, तँलाई मद्दत गर्न सक्छ, अगाडि के छ भनेर थाहा नहुँदा त्यो बाटो हिँडिसकेको व्यक्तिले चेतावनी दिन सक्छ, र तँलाई हार्दिक शब्द बोलिदिन सक्छ भन्‍ने आशा गर्छस्। यो अभिव्यक्ति अत्यन्तै “निर्णायक,” अत्यन्तै “महत्त्वपूर्ण” छ! के यो तिनीहरूको कुरा पूर्ण रूपमा पत्याउनु होइन र? यो अफवाह सिर्जना गर्ने व्यक्तिका “विचारहीन” शब्दहरूले मानिसहरूलाई किनेको र परमेश्‍वरलाई विश्‍वासघात गरेको हुन्छ। यो कदम कस्तो छ? के यो ठिकै छ? (छैन।) तिमीहरूले यो कस्तो व्यक्ति हो भन्छौ? मानिसहरूका नजरमा, ऊ एक असल व्यक्ति, एक दयालु व्यक्ति हो, तर सत्यता बुझ्नेहरूका नजरमा, यो अन्योलमा परेको व्यक्ति हो। उसको कार्य र व्यवहारलाई हेर्दा, उसले पूर्ण रूपमा शैतानको सेवकका रूपमा काम गर्छ, ऊ साँचो दियाबलस हो! के यसो भन्‍नु सही हुन्छ? (हुन्छ।) यो अत्यन्तै सही छ! यो अलिकति पनि गलत छैन। तिनीहरूले सबैलाई परमेश्‍वरविरुद्ध सतर्क हुन, र परमेश्‍वरको विरोध गर्न लगाउँछन्, र तिनीहरूले मानिसहरूलाई सुधार गर्न सक्‍ने एउटा पनि शब्द बोल्दैनन्। किन बोल्दैनन्? किनभने तिनीहरूको हृदय परमेश्‍वरप्रति शत्रुता र घृणाले भरिएको हुन्छ, तिनीहरूमा शैतानी प्रकृति सार हुन्छ, र तिनीहरू अन्तर्निहित रूपमा परमेश्‍वरको प्रतिरोध गर्छन् र उहाँको विरोधमा खडा हुन्छन्। कति मानिसहरू भन्छन्, “तिनीहरू अन्तर्निहित रूपमै परमेश्‍वरको विरोधमा उभिन्छन्, तैपनि तिनीहरू किन अझै परमेश्‍वरलाई पछ्याउँछन्?” आशिष्‌हरू प्राप्त गर्न! तिनीहरू परमेश्‍वरको घरबाट आशिष् पाउने परिणाम ठगेर लिन चाहन्छन्, तर कुनै पनि मूल्य चुकाउन वा सत्यता पछ्याउन चाहँदैनन्। तिनीहरू परमेश्‍वरलाई कमजोर पार्न, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई बाधा दिन, र तिनीहरूलाई परमेश्‍वरबाट टाढा जाने र परमेश्‍वरलाई धोका दिने तुल्याउन पनि चाहन्छन्। यस्तो व्यक्ति पक्कै पनि साँचो दियाबलस नै हो। तर कतिपय मूर्ख मानिसहरू सधैँ यस्ता मानिसहरूको दुष्ट अनुहार छर्लङ्गै देख्‍न र चिन्न असफल हुन्छन्। तिनीहरूले यी मानिसहरूले भन्ने मानव धारणाहरूसित र देहगत भावनाहरूको आवश्यकतासित मिल्ने सबै दुष्ट शब्दहरू स्विकार्न सक्छन्। तिनीहरूले यी मानिसहरूको बहकाउमा परेर कुनै पनि बेला परमेश्‍वरलाई धोका दिन र इन्कार्न सक्छन्—तिनीहरूले उहाँलाई इन्कार्न नचाहे पनि, त्यो तिनीहरूको नियन्त्रणभन्दा बाहिर हुन्छ। शैतान, दियाबलसहरू, र शैतानका सेवकहरू अत्यन्तै घातक र छली हुन्छन्! तिनीहरू आफै परमेश्‍वरको प्रतिरोध गर्छन् र उहाँको विरोधमा खडा हुन्छन्, तिनीहरू सत्यतालाई घृणा गर्छन् र यसलाई स्वीकार गर्दैनन्, साथै तिनीहरू अझ धेरै मानिसहरूलाई परमेश्‍वरलाई पछ्याउन र सत्यता पछ्याउनबाट रोक्नसमेत चाहन्छन्। परमेश्‍वरका घरमा, यी मानिसहरूले शैतानको माध्यम बनेर शैतानका लागि बोल्ने र काम गर्ने भूमिका खेल्छन्। तिनीहरूले मानिसहरूको समझशक्ति वृद्धि गर्नका लागि विशेष रूपमा प्रयोग गरिने प्रतिभारको काम गर्छन्। त्यसैले, तिनीहरूले बोल्ने धेरै कुराहरू झट्ट हेर्दा त्यति समस्याजनक नदेखिन सक्छन्। यहाँसम्म कि तिनीहरूले प्रायः परमेश्‍वरका वचनहरू उद्धृत गर्छन्, परमेश्‍वरका वचनहरूमा केही प्रमाण र भनाइहरू भेट्टाउँछन्, र त्यसपछि तिनमा केही अलङ्कार थप्छन्, जसले गर्दा तिनीहरूको कुरा परमेश्‍वरका वचनहरूसँग धेरै नै मिलेजस्तो देखिन्छ। तर एउटा कुरा निश्‍चित छ: तिनीहरूले जे भन्छन् त्यो सत्यताविपरीत हुन्छ। तिनीहरूको कुरा सुन्दा, त्यो सही लाग्‍न सक्छ, तर यदि तैँले ध्यानपूर्वक त्यसलाई परमेश्‍वरका वचनहरूसँग तुलना गरिस् भने, तैँले त्यो आधारभूत रूपमा सत्यताअनुरूप छैन भनेर खुट्ट्याउन सक्‍नेछस्। तिनीहरूले बोल्ने ती सबै भ्रमपूर्ण शब्दहरू शैतानबाट आएका हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई जाँचिरहेका हुन्छन्, परमेश्‍वरका वचनहरूभित्रै गलचेप खोज्ने कोसिस गरिरहेका हुन्छन्, परमेश्‍वरलाई निन्दा गर्न र परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउनका लागि परमेश्‍वरका वचनहरूलाई गलत अर्थ्याइरहेका हुन्छन्, र यसरी तिनीहरूलाई परमेश्‍वरबारे अनुमान गर्ने, उहाँलाई गलत बुझ्ने, धोका दिने, इन्कार्ने, आदि इत्यादि गर्ने तुल्याइरहेका हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधी र दुष्ट मानिसहरूबाहेक, अरूलाई बहकाउन अफवाह सिर्जना गर्नेहरू पनि मण्डलीमा खुट्ट्याइनुपर्ने, सतर्कता अपनाउनुपर्ने, र हटाइनुपर्ने श्रेणीका मानिसहरू हुन्।

च. आधारहीन अफवाह फैलाउने मानिसहरूलाई खुट्ट्याउने काम र तिनीहरूलाई तह लगाउने सिद्धान्तहरू

मण्डलीमा अरूलाई बहकाउन अफवाह सिर्जना गर्ने मानिसहरूलाई हामीले कसरी खुट्ट्याउनुपर्छ? पहिलो कुरा, जसले अफवाह सिर्जना गर्छन् तिनीहरूले सत्यता पटक्‍कै पछ्याउँदैनन्; तिनीहरू त्यसप्रति वितृष्ण हुन्छन्। यसका साथै, तिनीहरूले प्रायजसो यावत् किसिमका दुष्ट शब्दहरू र हास्यास्पद अभिव्यक्तिहरू सिर्जना गर्छन् र तिनलाई सानो कदका, सतही जग भएका, र सत्यता नबुझ्ने कतिपय दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन र आकर्षित गर्नमा प्रयोग गर्छन्। तिनीहरूले हासिल गर्ने नतिजा मण्डली जीवनको सामान्य सुव्यवस्थामा बाधा र हानि गर्ने, मानिसहरूको सामान्य पछ्याइमा बाधा दिने र तिनीहरूलाई सही मार्गबाट टाढा लैजाने, मानिसहरूलाई नकारात्मक र कमजोर बनाउने, र तिनीहरूलाई आफ्नो कर्तव्य त्याग्‍न र परमेश्‍वरमा विश्‍वास गर्न छोड्न लगाउनेसमेत हुन्छ—यसले तिनीहरूलाई झनै खुसी बनाउँछ। त्यसकारण, अफवाह सिर्जना गर्नेहरूलाई शैतानका सेवकहरू भन्‍नु पूर्ण रूपमा सही व्याख्या हो; त्यस्ता मानिसहरूको साँचो अनुहार र सार यही हो, र यो खुट्ट्याउन सजिलो छ। कतिपय मानिसहरूमा थोरथोरै समझ हुन्छ; तिनीहरू आफैले सत्यतालाई प्रेम नगरे पनि, अरूले कसरी सत्यता पछ्याउँछन् भन्‍नेबारेमा तिनीहरूले राय व्यक्त गर्ने वा हस्तक्षेप गर्ने गर्दैनन्। यी मानिसहरूलाई बेवास्ता गर्न सकिन्छ। तर कति मानिसहरूले भने सत्यता पछ्याउनेहरूलाई डाहा र घृणा गर्छन्; तिनीहरूले निश्‍चित अभिप्रायहरू बोकेर सधैँ तिनीहरूलाई आलोचना र आक्रमण गर्छन्, र तिनीहरूलाई दोष्याउन प्रयोग गर्न सकिने आधारसमेत समात्छन्। त्यस्ता मानिसहरूबाट सावधान रहनुपर्छ। यी मानिसहरूले बोल्ने कुरा एकदम सही, तर्कसङ्गत, र परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थअनुरूप सुनिन सक्ने भए पनि, ध्यानपूर्वक खुट्ट्याउँदा, यो प्रायजसो झूट र अफवाहहरू हुन्छ, विशुद्ध बकवास हुन्छ। यी भ्रमपूर्ण अफवाह र झूटहरूलाई खुट्ट्याइनुपर्छ। कति मानिसहरू भन्छन्, “मैले छोटो समय मात्र परमेश्‍वरमा विश्‍वास गरेको छु, परमेश्‍वरका थोरै मात्र वचनहरू पढेको छु, र सत्यता बुझेको छैनँ। मैले कसरी अफवाह र झूटहरू खुट्ट्याउन सक्छु?” यसको एउटै उपाय भनेको आजदेखि परमेश्‍वरका वचनहरू पढ्नमा थप ध्यान दिनु र परमेश्‍वरका वचनहरूमा बढी सत्यता खोजी गर्नु, र परमेश्‍वरका वचनहरूलाई तेरो हृदयमा जरा गाड्न दिनु हो। परमेश्‍वरका वचनहरूको मार्गदर्शन पाएपछि र सत्यताअनुसार मामलाहरू हेरेपछि, तँमा समझशक्ति आउनेछ। यी मानिसहरूले फैलाउने अफवाहहरूले तँलाई कुनै असर गर्नेछैनन् र तेरो सामान्य पछ्याइमा बाधा दिनेछैनन्। तिनीहरूले जुनसुकै अफवाहबारे छलफल गरे पनि वा जस्तोसुकै बकवास बोले पनि, त्यो सुनेपछि तँ डगमगाउने छैनस्, न त तँ नकारात्मक र कमजोर नै हुनेछस्, वा तँसँग परमेश्‍वरबारे कुनै गलतफहमी झनै हुनेछैन; तैँले सही दिशा पछ्याउनमा मात्रै ध्यान दिनेछस्। यसको अर्थ तँसँग प्रतिरोध क्षमता छ—शैतानका त्यस्ता सेवकहरूले मण्डलीमा अब कुनै प्रभाव पार्नेछैनन्। अफवाहहरूलाई खुट्ट्याउन सिक्‍ने कुनै छोटो विधि छैन। एउटै मात्र तरिका भनेको प्रवचनहरू अझ बढी सुन्नु, परमेश्‍वरका वचनहरू अझ बढी पढ्नु, र अझ बढी सत्यता सङ्गति गर्नु हो। जब तैँले सत्यताको बुझाइ प्राप्त गर्छस्, तब तँसँग स्वाभाविक रूपमा समझशक्ति हुनेछ। परमेश्‍वरका वचनहरू पढ्नु र सत्यता सङ्गति गर्नुको उद्देश्य के हो? यो सत्यतालाई बुझ्नु र परमेश्‍वरका वचनहरू पढेर ती अफवाह र भ्रमहरूलाई खुट्ट्याउनु हो। यदि तैँले ती अफवाहहरू परमेश्‍वरका वचनहरूसँग बाझिन्छन् र तीविरुद्ध जान्छन्, सत्यताको उल्टो छन् भनेर देख्छस् भने, ती अफवाहहरू आफै ढल्नेछन्। अवश्य नै, कतिपय मानिसहरू यसो भन्छन्, “मैले परमेश्‍वरका वचनहरू पढ्नमा मेहनत गरेको छैनँ र परमेश्‍वरका वचनहरूमा भएको सत्यता के हो भनेर बुझेको छैनँ। मलाई एउटा कुरा मात्रै याद छ: आफूलाई आचरणमा ढाल्ने कुरामा, मैले भीडलाई पछ्याउनुपर्छ। धेरैजसो मानिसहरूले जे कुरा इन्कार्छन्, म पनि त्यो इन्कार्छु; धेरैजसो मानिसहरूले जे कुरा स्विकार्छन्, म पनि त्यो स्विकार्छु। म बस भीडलाई पछ्याउँछु।” के यो सही हो त? (होइन।) कहिलेकाहीँ भीड पनि गलत हुन्छ, र भीडलाई पछ्याउनु भनेको तिनीहरूसँगै गल्ती गर्नु हो। तैँले सत्यता बुझेका मानिसहरूलाई पछ्याउन सिक्‍नैपर्छ; यो मात्रै राम्रो तरिका हो।

आधारहीन अफवाहहरू फैलाउनु भनेको मण्डलीमा प्रायजसो भइरहने कुरा हो। यो सवाल ठूलो समस्या नभए पनि, परमेश्‍वरका चुनिएका मानिसहरूलाई यसले पुर्‍याउने बाधा र हानि सानो हुँदैन। कम्तीमा पनि, यसले मानिसहरूलाई नकारात्मक र कमजोर बनाउन सक्छ; सबैभन्दा खराब अवस्थामा, यसले मानिसहरूलाई परमेश्‍वरबाट टाढा जाने र उहाँलाई धोका दिनेसमेत बनाउन सक्छ। त्यसकारण, अफवाह फैलाउने कार्यलाई बेवास्ता गर्न सकिँदैन। यस्तो घटना मण्डलीमा घटेपछि, यसलाई तुरुन्तै रोक्नु र सीमित गर्नुपर्छ। यदि मण्डली अगुवाहरू बोधो र मोटो बुद्धिका छन्, वास्तविक काम गर्न सक्दैनन्, र यो समस्या पत्ता लगाउन सक्दैनन्, तर सत्यता पछ्याउने र बुझ्ने कतिपय राम्रो क्षमताका मानिसहरूले यो पत्ता लगाउँछन् भने, पछिल्ला मानिसहरू नै यो समस्या समाधान गर्न अघि सर्नुपर्छ। सहमतिमा पुग्‍न र पुष्टि प्राप्त गर्न धेरै मानिसहरूसँग खोजी र सङ्गति गरेर, अफवाहहरू फैलाइँदै छ भन्‍ने कुरा निर्धारित भएपछि, मानिसहरूले यो समस्या समाधान गर्न सत्यताको खोजी गर्नुपर्छ। यदि कुनै निश्‍चित टिप्पणी भ्रम हो भन्‍ने स्पष्ट छैन भने, यसलाई अन्धाधुन्ध चित्रण नगर्। प्रस्ट र नझुक्‍किने, अनि अफवाह र भ्रमहरू भनेर सजिलै खुट्ट्याउन सकिने टिप्पणीहरूका हकमा, तिनलाई सबैले खुट्ट्याउन सकून् भनेर तुरुन्तै तिनको खुलासा र चिरफार गरिनुपर्छ। यदि कसैले बोलेको एकदुई वाक्य सुनेपछि तैँले त्यो अफवाह वा भ्रम हो कि होइन भनेर खुट्ट्याउन सक्दैनस् भने, तैँले यसलाई होसियारीसाथ सम्हाल्नुपर्छ र अन्धाधुन्ध निष्कर्ष निकाल्नु हुँदैन। स्पष्ट रूपमा खुट्ट्याउनका लागि उसलाई बोलिसक्‍न दे। यो अफवाह वा भ्रम हो भन्‍ने पुष्टि भएपछि, यो व्यक्तिलाई तुरुन्तै रोक र प्रतिबन्ध लगाउनुपर्छ। यदि बारम्बार दिइएका चेतावनी र प्रतिबन्धहरूले पनि उसलाई प्रतिबन्धित गर्न सकिएन, र उसले निरन्तर अफवाह फैलाइरह्यो भने, उसलाई मण्डलीबाट निकालिनुपर्छ। के मण्डलीमा कसैले अफवाह फैलाउँदै गरेको पत्ता लाग्दा के गर्ने र कसरी अभ्यास गर्ने भन्‍नेबारे सिद्धान्त र मार्ग स्पष्ट भयो? (भयो।)

अफवाहहरूको विषयवस्तुमा मैले उल्लेख गरेका मुख्य समस्याहरू मात्रै समावेश हुँदैनन्; केही अफवाहहरू सानातिना टुक्राटाक्री मात्रै पनि हुन्छन्, जस्तै काटछाँटबारे, वा परमेश्‍वरको घरले कसलाई प्रयोग गर्छ र कसलाई हटाउँछ भन्‍नेबारे गरिएका टिप्पणीहरू, र अन्य झूटा अभिव्यक्तिहरू। मण्डलीलाई पूर्ण रूपमा पखाल्नुभन्दा पहिले, त्यहाँ झूटा अगुवाहरू, ख्रीष्टविरोधीहरू, विभिन्‍न दुष्ट मानिसहरू, अलमल्ल मानिसहरू, र आत्मिक बुझाइ नभएका मूर्खहरू हुन्छन्—त्यसमा सबै किसिमका मानिसहरू हुन्छन्। झूट बोल्‍नेहरू र अफवाह सिर्जना गर्नेहरू आम रूपमै देखिन्छन्, र मानिसहरूमाझ यावत् किसिमका अफवाह र दुष्ट कुरा हुने गर्छन्। यी अफवाहहरूका सन्दर्भमा, एकातर्फ मानिसहरूमा तिनलाई मूल्याङ्कन गर्ने सामान्य समझ हुनुपर्छ; अर्कोतर्फ, परमेश्‍वरको काम, परमेश्‍वरको व्यवस्थापन योजना, परमेश्‍वर स्वयम्‌सँग सम्बन्धित अझै गम्भीर अफवाहहरू, र परमेश्‍वरको घरका प्रशासनिक आदेशहरू र अरू मामलाहरू समेतका हकमा, यी कुराहरू खुट्ट्याउनका लागि मानिसहरूमा सत्यता हुनुपर्छ। बाहिरी मामलाहरूका हकमा, तिनलाई मूल्याङ्कन गर्नका लागि मानिसहरूमा सामान्य मानवताको समझ हुनुपर्छ। परमेश्‍वरको काम र सत्यतासँग सम्बन्धित मामलाहरूका हकमा, ती कुराहरू खुट्ट्याउनका लागि मानिसहरूमा सत्यता वास्तविकता र कद हुनुपर्छ। छोटकरीमा भन्दा, अफवाहहरू जुनसुकै किसिमका भए पनि, मानिसहरूले तिनलाई खुट्ट्याउनु र इन्कार्नुपर्छ, तिनलाई स्विकार्नु हुँदैन। अवश्य नै, कति मानिसहरू सत्यता पछ्याउँदैनन् र तिनीहरू बस यी अफवाहहरूअनुसार नै जिउँछन्। आज, कसैले एउटा भनाइ फैलाउँछ र यसले एकातिर हावा बहाउँछ, र यी मानिसहरू यसकै पछि लाग्छन्। भोलि, अर्को भनाइले हावालाई अर्कै दिशामा बहाउँछ, त्यसपछि तिनीहरू त्यसकै पछि लाग्छन्। उदाहरणका लागि, कुनै अगुवा वा कामदारले गवाही लेखहरू लेख्‍न सक्‍नेहरूलाई सिद्ध पार्न सकिन्छ भनेर भन्छ, त्यसैले तिनीहरूले लेख लेख्‍ने अभ्यास गर्छन्, लेखनबारे अध्ययन गर्छन्, र स्रोतसामग्रीहरू खोज्छन्। भोलिपल्ट, अर्को अगुवा वा कामदारले आफ्नो कर्तव्य निर्वाह गर्नेहरूले मुक्ति पाउन सक्छन् भनेर भन्छ, त्यसैले तिनीहरूले आफूलाई कर्तव्य निभाउने कार्यमा व्यस्त राख्न थाल्छन्। तर जति नै व्यस्त भए पनि, तिनीहरू सबैभन्दा महत्त्वपूर्ण कुरा, अर्थात् सत्यता र जीवन प्रवेशको पछ्याइप्रति कहिल्यै चिन्तित हुने वा चासो लिने गर्दैनन्। मण्डलीका फरक-फरक समूहहरूबीच निर्माण भएका विभिन्‍न दुष्ट प्रचलनहरूले कतिपय मानिसहरूलाई सधैँ बहकाउँछन्। मण्डली सदस्यहरूमाझ पैदा हुने विभिन्‍न अफवाहहरूले कतिपय मानिसहरूलाई सधैँ बहकाउँछन् र प्रभाव पार्छन्। तर, कतिपय मानिसहरू यस्ता पनि हुन्छन् जो उदासीन रहन्छन् र तिनीहरूले सुन्‍ने यी अफवाहहरूप्रति ध्यान दिँदैनन्। परमेश्‍वरको घरले जुनसुकै काम गरिरहेको भए पनि तिनीहरूले कुनै ध्यान दिँदैनन्; तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेबारे चासो राख्दैनन् र तिनीहरू साँचो विश्‍वासी होइनन्। यी मानिसहरू नाममात्रका विश्‍वासी हुन्। मानिसहरूको अर्को समूह पनि हुन्छ, जो अलिक राम्रा हुन्छन्; तिनीहरूले सत्यता खोजी गर्न र सत्यता स्विकार्न सक्छन्, त्यसैले तिनीहरूलाई यी नकारात्मक कुराहरू र नकारात्मक मानिसहरूले असर गर्दैन। सानो कद भएका, जग नभएका, र सत्यता पटक्‍कै नपछ्याउने मानिसहरू मात्रै सधैँ फरक-फरक भनाइ र टिप्पणीहरूद्वारा प्रभावित हुने गर्छन्। यी मानिसहरू सधैँ पछिपछि लाग्ने हुनाले, विभिन्‍न अफवाहहरू सिर्जना गरेर परिस्थितिलाई भड्काउनेहरू सधैँ नै हुन्छन्। तिनीहरूलाई लाग्छ, यसले मात्र परमेश्‍वरमा विश्‍वास गर्ने कार्यलाई जीवन्त र रमाइलो बनाउँछ, र न्यास्रोलाग्दो बनाउँदैन, र यो नै आफूलाई महत्त्वपूर्ण महसुस गराउने एउटै मात्र तरिका हो। यी कुराहरू नयाँ विश्‍वासीहरूमाझ प्रायजसो देखा पर्छन्। यदि कुनै मण्डली अफवाह फैलाउने कार्य र त्यसद्वारा मानिसहरू बहकिने कुराले ग्रस्त छ भने, यसको अर्थ त्यो मण्डलीमा सत्यता बुझ्ने मानिसहरू अवश्य नै अत्यन्तै थोरै छन् भन्‍ने हुन्छ। मण्डलीमा, गोप्य मनसाय भएका मानिसहरूले जे-जस्ता अफवाहहरू र जे-जस्ता उक्साहटहरू सिर्जना गरे पनि माथि उल्लिखित मानिसहरू त्यसैको पछि लाग्छन्, जुन निकै समस्याजनक कुरा हो। यो आंशिक रूपमा कमजोर क्षमताले गर्दा हुने कुरा हो र यो सत्यता नबुझेको साँचो प्रकटीकरण पनि हो। सत्यता नबुझ्ने जोकोहीले भनेको धेरैजसो कुरा व्यावहारिक हुँदैन र त्यसमा अशुद्धताहरू मिसिएको हुन्छ; कडाइका साथ भन्दा, यी सबै झूटसरह हुन्। यदि यसमा मनसाय र उद्देश्यहरू छन् भने, यो झूट मात्र होइन, यो त अझ बढी शैतानको युक्ति र दुष्ट मानिसहरूको षड्यन्त्र हो। त्यसकारण, सत्यता नभएका मानिसहरूले जे भन्छन् त्यो धेरैजसो दुष्ट कुरा हो र त्यसमा विश्‍वास गर्नु हुँदैन।

आधारहीन अफवाह फैलाउने विषयको सङ्गति यहीँ समाप्त हुन्छ। अफवाह फैलाउने यो मामलाले मानिसहरूलाई सबैभन्दा बढी प्रकाश गर्छ, र यसले फरक-फरक मानिसहरूको व्यवहारलाई स्पष्ट रूपमा देखिने तुल्याउँछ। अब तिमीहरूले अफवाहहरू र तिनलाई फैलाउनेहरूप्रति कस्तो मनोवृत्ति राख्‍नुपर्छ, र तिनलाई सम्हाल्न के-कस्ता विधिहरू प्रयोग गर्नुपर्छ भन्‍ने कुरा बुझेको हुनुपर्छ, होइन त? (हो।) यो कुरा बुझेपछि, जब तिमीहरूले फेरि त्यस्ता कुराहरू सामना गर्छौ, तब तिमीहरूले तिनलाई हाम्रो सङ्गतिसँग तुलना गर्नुपर्छ, र यी समस्याहरूलाई सम्बोधन गर्न सबैभन्दा सही विधिहरू प्रयोग गर्नुपर्छ। यो सिद्धान्तहरूअनुरूप हुन्छ।

जुलाई १७, २०२१

अघिल्लो: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१७)

अर्को: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१९)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्