अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (१३)

हाम्रो पछिल्‍लो भेलाको सङ्गति अगुवाहरू र कामदारहरूको एघारौँ जिम्मेवारीबारे थियो। हामीले अगुवाहरू र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारीबारे र भेटीहरू रक्षा गर्न तिनीहरूले गर्नुपर्ने कामबारे सङ्गति गर्‍यौँ। अगुवाहरू र कामदारहरूले भेटीहरू रक्षा गर्न के काम गर्नुपर्छ? (पहिलो काम भनेको तिनको रक्षा गर्नु हो; दोस्रो भनेको खाताहरू जाँच गर्नु हो; अनि तेस्रो भनेको विभिन्‍न खर्चहरू सिद्धान्तहरूअनुरूप छन् कि छैनन् भनेर अनुगमन गर्नु, अनुसन्धान गर्नु, र निरीक्षण गर्नु हो। कडा जाँचहरू गरिनुपर्छ, र अनुचित खर्चमा कडाइसाथ प्रतिबन्ध लगाइनुपर्छ। फजुल खर्च र अपव्यय हुनुभन्दा पहिले नै त्यसलाई रोकथाम गर्नु राम्रो हुन्छ। यदि पहिले नै त्यस्तो भइसकेको छ भने, जिम्मेवार व्यक्तिहरूलाई जबाफदेही बनाउनुपर्छ। चेतावनी दिने मात्र होइन, क्षतिपूर्ति पनि भराउनुपर्छ।) आधारभूत रूपमा कुराहरू यिनै हुन्। मुख्य कुरा भनेको तिनको रक्षा गर्नु, त्यसपछि खाताहरू जाँच गर्नु, र त्यसपछि, खर्चको अनुगमन र निरीक्षण गर्नु, र तिनलाई सही रूपमा प्रयोग र खर्च गर्नु हो। एघारौँ जिम्मेवारीबारे हामीले हाम्रो सङ्गति समाप्त गरेपछि, मानिसहरूले अहिले भेटीहरूबारे सही बुझाइ र ज्ञान प्राप्त गरेका छन्, र तिनीहरूले अहिले भेटी रक्षा गर्न अगुवाहरू र कामदारहरूले गर्नुपर्ने काम के हो, साथै झूटा अगुवाहरूले यो काम कसरी गर्छन्, र यो काम गर्दा तिनीहरूले देखाउने निश्‍चित व्यवहार के हो भनेर पनि जानेका छन्। हाम्रो सङ्गति अगुवाहरू र कामदारहरूको जिम्मेवारीबारे भए नि, वा झूटा अगुवाहरूको विभिन्‍न व्यवहारबारे भए नि, र यो सकारात्मक कुराबारे भए नि वा नकारात्मक कुराको खुलासाबारे भए नि, यसको मुख्य उद्देश्य भनेको मानिसहरूलाई भेटीहरू सुरक्षा गर्ने काम कसरी गर्ने, र भेटीहरूको सुरक्षा, खर्च, र वितरणमा कसरी अनुचित अभ्यासहरू हुन नदिने भन्‍ने कुरा बुझाउनु हो। परमेश्‍वरका चुनिएका सबै मानिसहरूले—तिनीहरू अगुवा वा कामदार भए नि नभए नि—तिनीहरूले भेटीहरू रक्षा गर्ने कार्यमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। त्यसोभए यो कस्तो जिम्मेवारी हो त? यो सुपरिवेक्षण गर्नु र पत्ता लागेको समस्याबारे तुरुन्तै रिपोर्ट गर्नु हो—अर्थात्, सुपरिवेक्षण र रिपोर्टिङका कामहरू गर्नु हो। “भेटीहरू रक्षा गर्नु त अगुवाहरू र कामदारहरूको कर्तव्य हो र हामी साधारण विश्‍वासीहरूसँग यसको कुनै सम्बन्ध हुँदैन” भन्‍ने नसोच। यो दृष्टिकोण गलत छ। मानिसहरूले यी सत्यताहरू बुझेका हुनाले, तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। अगुवाहरू र कामदारहरूले पहिचान गर्न नसक्‍ने समस्याहरूको हकमा, वा पहिचान गर्न सजिलो नभएका छुटफुट हुने ठाउँहरूको हकमा, यदि कसैले भेटीहरूको सुरक्षा, वितरण, र प्रयोगमा अनुचितता वा सिद्धान्तहरूको उल्लङ्घनका कुनै समस्याहरू भेट्टायो भने, तिनीहरूले उचित सुरक्षा, उचित प्रयोग, र उचित वितरणको लागि अगुवाहरू र कामदारहरूलाई यी कुराहरूबारे तुरुन्तै रिपोर्ट गर्नुपर्छ। यो परमेश्‍वरका चुनिएका हरेक मानिसहरूको जिम्मेवारी हो।

विषयवस्तु बाह्र: परमेश्‍वरको काम र मण्डलीहरूको सामान्य सुव्यवस्थालाई खलबल्याउने र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, कुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सही बनाउने। यसका अतिरिक्त, सत्यतामा सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका जनहरू यस्ता कुराहरूमा थप समझदार बनून् र ती कुराहरूबाट सिकून् (भाग एक)

अहिले एघारौँ जिम्मेवारीबारे सङ्गति गरिसकिएको हुनाले, अब हामी अगुवाहरू र कामदारहरूको बाह्रौँ जिम्मेवारीबारे सङ्गति गर्न अघि बढ्छौं: “परमेश्‍वरको काम र मण्डलीहरूको सामान्य सुव्यवस्थालाई खलबल्याउने र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, कुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सही बनाउने। यसका अतिरिक्त, सत्यतामा सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका जनहरू यस्ता कुराहरूमा थप समझदार बनून् र ती कुराहरूबाट सिकून्।” यो जिम्मेवारीको प्राथमिक विषयवस्तु के हो? यो मुख्य रूपमा अगुवाहरू र कामदारहरूलाई मण्डलीको सामान्य व्यवस्थामा बाधा, व्यवधान, र हानि ल्याउने मण्डलीका विभिन्‍न मानिस, घटना, र परिस्थितिहरू—साथै विभिन्‍न समस्याहरू—समाधान गर्न लगाउने कार्यसँग सम्बन्धित छ। अगुवाहरू र कामदारहरूले यी समस्याहरू प्रभावकारी रूपमा सम्बोधन गरेर समाधान गर्न, आफ्नो जिम्मेवारी पूरा गर्न, र यो काम राम्ररी गर्न सुरुमा के कुरा बुझ्नुपर्छ? यो जिम्मेवारी भनेको “परमेश्‍वरको काम र मण्डलीहरूको सामान्य सुव्यवस्थालाई खलबल्याउने र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, कुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने” कार्य हो; यो कार्यको दायरा यही हो। उद्देश्य र दायरा भइसकेपछि, कुनकुन समस्याहरू समाधान गर्नुपर्छ, र अगुवाहरू र कामदारहरूले कुनकुन काम र जिम्मेवारीहरू लिनुपर्छ भन्‍ने कुरा स्पष्ट हुन्छ। यो बाह्रौँ जिम्मेवारीभित्र, अगुवाहरू र कामदारहरूको लागि प्राथमिक मापदण्ड के हो? बाधा र व्यवधानहरू पैदा गर्ने विभिन्‍न मानिस, घटना, र परिस्थितिहरूलाई रोक्नु र प्रतिबन्धित गर्नु, र परिस्थितिहरूलाई सही बनाउनु, र साथसाथै परमेश्‍वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूबाट समझशक्ति विकास गर्न र यी कुराहरूबाट सिक्न सकून् भनेर सत्यता सङ्गति गर्नु हो। यसो गर्नको लागि केकस्ता पूर्वसर्तहरू पूरा गर्नुपर्ने हुन्छ? यदि तैँले मण्डलीको सामान्य सुव्यवस्थामा बाधा, व्यवधान, र हानि ल्याउने विभिन्‍न मानिस, घटना, र परिस्थितिहरू देख्छस्, र पनि यी समस्याहरू होइनन् भन्‍ने सोच्छस् भने, समस्या हुन्छ। यसले देखाउँछ कि तैँले समस्याको सार देख्‍न सक्दैनस्, अर्थात् मण्डली जीवनमा आएको बाधा र व्यवधानले मण्डलीको काममा ल्याउन सक्‍ने हानि, र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा यसले ल्याउन सक्‍ने परिणाम र पार्न सक्‍ने प्रभावहरू बुझ्दैनस्। के त्यस्ता अगुवाहरू र कामदारहरूले अझै पनि मण्डलीको काम राम्ररी गर्न सक्छन् त? के तिनीहरूले समस्याहरू समाधान गर्न र परिस्थितिहरू सुल्ट्याउन सक्छन् त? (सक्दैनन्।) त्यसोभए यहाँ सङ्गति गर्नुपर्ने मुख्य बुँदा के हो त? यो कि, अगुवाहरू र कामदारहरूले पहिले सत्यता सिद्धान्तहरू बुझेपछि मात्रै विभिन्‍न समस्याहरूको सार देख्‍न र प्रभावकारी रूपमा विभिन्‍न वास्तविक समस्याहरू समाधान गर्न सक्छन्। मण्डलीको काम राम्ररी गर्नको लागि, अगुवाहरू र कामदारहरूले सुरुमा मण्डलीको काममा सामान्य रूपमा केकस्ता समस्याहरू देखा पर्छन् भन्‍ने कुरा जान्नुपर्छ। त्यसपछि, तिनीहरूले पैदा हुने समस्याहरूले मण्डलीको काम र मण्डली जीवनको सामान्य सुव्यवस्थामा असर गर्छन् कि गर्दैनन्, र ती मण्डलीको काममा बाधा र व्यवधान ल्याउने प्रकृतिका हुन् कि होइनन् भनेर ती समस्याहरूको प्रकृति सही रूपमा बुझ्नु, चिन्‍नु, र मूल्याङ्कन गर्नुपर्छ। यो अगुवाहरू र कामदारहरूले सुरुमै बुझ्नुपर्ने अत्यन्तै महत्त्वपूर्ण विषय हो। यो कुरा बुझेपछि मात्रै प्रभावकारी रूपमा यी समस्याहरू समाधान गर्न, र बाह्रौँ जिम्मेवारीमा उल्लेख गरिएअनुसार “तिनलाई रोक्न र प्रतिबन्धित गर्न, र परिस्थितिलाई सही बनाउन” सकिन्छ। सारांशमा भन्दा, समस्या समाधान गर्नुभन्दा पहिले, तैँले सुरुमा समस्या कहाँ छ, सम्बन्धित स्थिति र परिस्थितिहरू के-के हुन्, समस्याको प्रकृति के हो, यो कति गम्भीर छ, यसलाई कसरी चिरफार गर्ने र चिन्‍ने, र कसरी सही रूपमा अभ्यास गर्ने भन्‍ने कुरा बुझ्नुपर्छ। अगुवाहरू र कामदारहरूले सुरुमा बुझ्नुपर्ने कुरा यही हो। अगुवाहरू र कामदारहरूले यी कुराहरू बुझ्नुपर्ने हुनाले, हामी यी कुराहरूबारे विशिष्टीकृत रूपमा धेरै पक्षहरूबाट सङ्गति गरौँ, ताकि अगुवाहरू र कामदारहरू र परमेश्‍वरका चुनिएका मानिसहरूले यी समस्याहरू देखा पर्दा, यी समस्याहरू कसरी सामना गर्ने, यी समस्याहरूलाई परमेश्‍वरका वचनहरूसँग कसरी जोड्ने, र यी समस्याहरू समाधान गर्न सत्यता सिद्धान्तहरू कसरी प्रयोग गर्ने भन्‍ने कुरा बुझ्न सकून्। यो तरिकाले, जब अगुवाहरू र कामदारहरूले आफूले समाधान गर्न नसक्‍ने कठिनाइहरू सामना गर्छन्, तब परमेश्‍वरका चुनिएका सबै मानिसहरूले मिलेर तिनलाई सामना गर्न र समाधानहरूको लागि सत्यता खोजी गर्न सक्छन्, र मण्डलीको काममा बाधा र व्यवधानका समस्याहरू सामना गर्दा, सबैले तिनलाई रोक्न र प्रतिबन्धित गर्न सक्छन्। साथसाथै, नकारात्मक मानिसहरू र मामलाहरूको हकमा, तिनीहरूले सार्वजनिक रूपमा चिरफार, खुट्याइ, र चरित्र चित्रण लागू गर्न सक्छन्, जसले गर्दा यी समस्याहरू जरैबाट रोक्न, सीमित गर्न, र हटाउन सकिन्छ। त्यसोभए अब हामी सबैभन्दा विशिष्ट समस्याहरूबाट सुरु गर्दै सङ्गति गरौँ।

मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिसहरू, घटनाहरू, र कुराहरू

परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने समस्याहरू पहिचान गर्नको लागि, अगुवाहरू र कामदारहरूले कुनकुन क्षेत्रहरूबाट काम सुरु गर्नुपर्छ? तिनीहरूले यी समस्याहरू पत्ता लगाउन मण्डली जीवनबारे अनुसन्धान गरेर काम सुरु गर्नुपर्छ। बाधा र व्यवधान ल्याउने प्रकृतिका केकस्ता समस्याहरू मण्डली जीवनमा सामान्यतया देखा पर्छन्, के तिमीहरूलाई थाहा छ? मण्डलीमा जति धेरै मानिसहरू हुन्छन्, त्यति नै मण्डलीको काममा बाधा दिने र व्यवधान ल्याउनेहरू पनि अवश्य नै केही न केही हुनेछन्। तिमीहरूले सिकेका बाधा र व्यवधानका कार्यहरू केके हुन्? (भेलाहरूमा सत्यता सङ्गति गर्दा, मुख्य समस्याहरूमा ध्यान नदिई सधैँ विषयभन्दा बाहिर जाने।) (अनि, शब्द र सिद्धान्तहरू बोल्ने बानी।) सत्यता सङ्गति गर्दा विषयभन्दा बाहिर जानु। उदाहरणको लागि, जब अरूले आफ्नो कर्तव्य निर्वाह गर्दा कसरी बफादार बन्‍ने भनेर सङ्गति गरिरहेका हुन्छन्, तब तिनीहरूले आफ्नो श्रीमान्‌ (वा श्रीमती) र छोराछोरीको हेरचाह कसरी गर्ने भन्‍ने कुरा गर्छन्। जब अरूले आफ्नो कर्तव्य निर्वाह गर्दा बफादार बन्‍नु भनेको परमेश्‍वरलाई सन्तुष्ट पार्नु र उहाँमा समर्पित हुनु हो भनेर सङ्गति गरिरहेका हुन्छन्, तब तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा बफादार बन्‍नु भनेको आफ्नो परिवार र प्रियजनहरूको लागि आशिष्‌हरू प्राप्त गर्नु हो भन्‍ने कुरा गर्छन्। के यो विषयभन्दा बाहिर जानु होइन र? (हो।) यदि तैँले तिनीहरूको कुरा रोकिनस् भने, तिनीहरू अटुट रूपमा बोलिरहनेछन्। यदि तैँले तिनीहरूलाई बोल्‍न दिइनस् भने, तिनीहरू रिसाउनेछन्, र सरमले गर्दा क्रोधित हुनेछन्, जसले गर्दा तिनीहरूको खराब व्यवहार अझै एक कदम अघि बढ्छ। तब, त्यो समस्या स्वाभाविक रूपमै बाधा र व्यवधानको स्तरमा पर्छ, जुन अत्यन्तै गम्भीर कुरा हो। सत्यता सङ्गति गर्दा विषयबाट बाहिर जानु सामान्य समस्या हो, तर वस्तुगत रूपमा भन्दा, यसले मण्डलीको जीवनमा बाधा र व्यवधान ल्याउन सक्छ। पहिलो समस्या यही हो। दोस्रो समस्या, “शब्द र सिद्धान्तहरू बोल्‍नु” को हकमा भन्दा, यसलाई बाधा र व्यवधानको रूपमा गन्‍न सकिन्छ कि सकिँदैन भन्‍ने कुरा यसको गम्भीरतामा निर्भर हुन्छ। कति मानिसहरूमा सत्यता वास्तविकता नहुने हुनाले तिनीहरूले शब्द र सिद्धान्तहरू बोल्छन्; तिनीहरूले मुख खोल्‍नेबित्तिकै, सबै शब्द र सिद्धान्तहरू आउँछन्, खोक्रा सिद्धान्तहरू मात्रै निस्कन्छन्। तैपनि, तिनीहरूको अभिप्रायचाहिँ अरूलाई बहकाउनु र अरूको आदर जित्नु भन्‍ने हुँदैन। प्रतिबन्ध र मनाहीमार्फत, तिनीहरूले आत्मचेतना प्राप्त गर्नेछन्, र पछि, तिनीहरूले शब्द र सिद्धान्तहरू बोल्न कम गर्नेछन्, र तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा बाधा दिन छोड्नेछन्। यो बाधा र व्यवधानको रूपमा गन्ती हुँदैन। तर अरूलाई बहकाउने अभिप्राय लिएर जानीजानी शब्द र सिद्धान्तहरू बोल्नेहरूले आफूले बोलेको कुरा शब्द र सिद्धान्तहरू हुन् भन्‍ने कुरा राम्ररी थाहा हुँदाहुँदै पनि बोल्छन्। यसो गर्नुपछाडिको तिनीहरूको उद्देश्य अरूको आदर जित्नु हो; तिनीहरूले मानिसहरूलाई आफूतिर तान्‍न र बहकाउन, अनि हैसियत हातमा लिन चाहन्छन्। यो निकै गम्भीर प्रकृतिको कुरा हो। यसको प्रकृति सत्यता नबुझेर शब्द र सिद्धान्तहरू बोल्नुको प्रकृतिभन्दा फरक छ। यस्तो व्यवहार बाधा र व्यवधान नै हुन्छ। मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने विभिन्‍न मानिसहरू, घटनाहरू, र परिस्थितिहरू व्यापक छन्। यी कुराहरू शब्द र सिद्धान्तहरू बोल्ने वा विषयभन्दा बाहिर जानेजस्ता समस्याहरू मात्रै होइनन्। अनि अरू केके छन्? (गुटबन्दी गर्ने, कलह ल्याउने, र अरूको सकारात्मकता दबाउने।) (नकारात्मकता फैलाउने, समस्या खडा गर्ने र मानिसहरूलाई निरन्तर कष्ट दिने कार्य पनि छन्।) (कति मानिसहरूले आफूमा परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूबारे धारणाहरू हुँदा, ती धारणाहरू फैलाउँछन् र आफ्नो नकारात्मकता पोखाउँछन्, जसले गर्दा अरूमा पनि ती कार्य बन्दोबस्तहरूबारे धारणाहरू पैदा हुन्छन्।) ती कुराहरू बाधा र व्यवधानहरूका रूपमा गन्ती हुन्छन्। गुटबन्दी गर्नु एउटा कुरा हो, कलह फैलाउनु अर्को कुरा हो, साथै मानिसहरूलाई सताउनु र आक्रमण गर्नु, धारणाहरू फैलाउनु, नकारात्मकता पोखाउनु, आधारहीन अफवाहहरू फैलाउनु, र हैसियतको लागि प्रतिस्पर्धा गर्नु—यी सबै बाधा र व्यवधानहरू हुन्। सत्यता सङ्गति गर्दा विषयभन्दा बाहिर जानुभन्दा यी समस्याहरू प्रकृतिमा निकै गम्भीर हुन्छन्। निर्वाचनसँग सम्बन्धित पनि एउटा समस्या छ। निर्वाचनको बेला पैदा हुने कुनकुन समस्याहरू बाधा र व्यवधानहरू पैदा गर्ने कार्यसँग सम्बन्धित हुन्छन्? उदाहरणको लागि, मतदानमा धाँधली गर्नु—आफ्‍नो लागि मत सुरक्षित गर्न फाइदाहरू दिने प्रतिज्ञा गर्नु। निर्वाचनलाई कमजोर पार्ने एउटा तरिका यही हो। अनि गुप्त व्यवहारहरू पनि छन्—पर्दापछाडि मानिसहरूको दिमाग भुटेर तिनीहरूलाई आफ्‍नो पक्षमा ल्याउनु, बहकाउनु, र आफूलाई मत दिन लगाउनु। यी सबै निर्वाचनको बेला पैदा हुने समस्याहरू हुन्। के यी कुराहरू बाधा र व्यवधानहरू होइनन् र? (हुन्।) यी समस्याहरूलाई समग्रमा निर्वाचनका सिद्धान्तहरू उल्लङ्घन गर्ने कार्य भन्‍न सकिन्छ। अर्को समस्या भनेको घरका मामलाहरूबारे कुरा गर्नु, व्यक्तिगत सम्पर्कहरू निर्माण गर्नु, र व्यक्तिगत मामलाहरू सम्हाल्नु हो। कति मानिसहरू त भेलाहरूमा यी कुराहरूकै लागि आउन सक्छन्—सत्यता बुझ्न वा परमेश्‍वरका वचनहरू सङ्गति गर्न नभई, व्यक्तिगत मामलाहरू सम्हाल्न आउन सक्छन्। के यस्तो समस्या गम्भीर किसिमको होइन र? (हो।) यो पनि बाधा र व्यवधान पैदा गर्नु नै हो।

अब, मण्डली जीवनमा पैदा हुने विभिन्‍न बाधा र व्यवधानका समस्याहरू सारांशित गरौँ: पहिलो, सत्यता सङ्गति गर्दा प्रायजसो विषयबाट बाहिर जानु; दोस्रो, मानिसहरूलाई बहकाउन र तिनीहरूको आदर जित्न शब्द र सिद्धान्तहरू बोल्नु; तेस्रो, घरका मामलाहरूबारे कुरा गर्नु, व्यक्तिगत सम्पर्कहरू निर्माण गर्नु, र व्यक्तिगत मामलाहरू सम्हाल्नु; चौथो, गुटबन्दी गर्नु; पाँचौं, हैसियतको लागि प्रतिस्पर्धा गर्नु; छैटौं, कलह पैदा गर्नु; सातौं, मानिसहरूलाई आक्रमण गर्नु र कष्ट दिनु; आठौं, धारणाहरू फैलाउनु; नवौं, नकारात्मकता पोखाउनु; दशौं, आधारहीन अफवाह फैलाउनु; अनि एघारौँ, निर्वाचन सिद्धान्तहरू उल्लङ्घन गर्नु। जम्‍मा ११ वटा। यी एघार प्रकटीकरणहरू मण्डली जीवनभित्र प्रायजसो देखा पर्ने बाधा र व्यवधानका समस्याहरू हुन्। मण्डली जीवन जिउने क्रममा, यदि यी समस्याहरू देखा परे भने, अगुवाहरू र कामदारहरूले खडा भएर यी समस्याहरूलाई रोक्नु, प्रतिबन्धित गर्नु, र अनियन्त्रित रूपमा विकास हुन नदिनु अत्यावश्यक हुन्छ। यदि अगुवाहरू र कामदारहरूले प्रतिबन्धित गर्न सकेनन् भने, सबै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूसँग मिलेर यी कुराहरू प्रतिबन्धित गर्नुपर्छ। यदि संलग्‍न व्यक्तिमा दुष्ट मानवता छैन, र उसले जानीजानी बाधा र व्यवधान पैदा गरिरहेको छैन, तर उसमा सत्यता बुझ्ने क्षमताको कमी छ भने, सत्यता सङ्गति गरेर उसलाई सहयोग र साथ दिन सकिन्छ। यदि बाधा र व्यवधानहरू ल्याउने व्यक्ति दुष्ट छ, र मामला सानो हो भने, सङ्गति र खुलासाद्वारा उसका बाधा र व्यवधानहरू रोक्नु र प्रतिबन्धित गर्नुपर्छ। यदि ऊ पश्‍चात्ताप गर्न इच्छुक छ, र उसले बाधा र व्यवधान पैदा गर्ने तरिकाले बोल्न वा व्यवहार गर्न छोड्छ, र ऊ मण्डलीको सबैभन्दा कम महत्त्वपूर्ण सदस्य बन्‍न, कर्तव्यनिष्ठ भई सुन्न र आज्ञाकारी हुन, र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तय गरेका प्रतिबन्धहरू स्विकार्दै मण्डलीले जे बन्दोबस्त मिलायो त्यही गर्न तयार हुन्छ भने, ऊ मण्डलीमा अस्थायी रूपमा रहन सक्छ। तर यदि उसले बहुमत स्वीकार गर्दैन, बरु विरोध गर्छ र तिनीहरूप्रति ऊ शत्रुवत्‌ बन्छ भने, दोस्रो चरणमा, उसलाई सफाइ गरी हटाइनुपर्छ। के यो शैली उचित छ? (छ।)

१. सत्यता सङ्गति गर्दा प्रायजसो विषयभन्दा बाहिर जानु

अब, हामी मण्डली जीवनमा देखा पर्ने विभिन्‍न मानिसहरू, घटनाहरू, र परिस्थितिहरूबारे सङ्गति गर्नेछौं, जुन प्रकृतिले नै बाधा र व्यवधानहरू हुन्। तीमध्ये पहिलो भनेको सत्यता सङ्गति गर्दा प्रायजसो विषयभन्दा बाहिर जानु हो। सत्यता सङ्गति गर्दा विषयभन्दा बाहिर गएको भनेर कसरी निर्धारित गर्ने? सङ्गतिका वचनहरू विषयभन्दा बाहिर गएका छन् भनेर हामीले कसरी स्पष्ट बुझ्‍न सक्छौं? के तिमीहरू सत्यता सङ्गति गर्दा प्रायजसो विषयभन्दा बाहिर जान्छौ? (जान्छौँ।) यसको प्रकृतिलाई बाधा र व्यवधानको रूपमा गणना गर्नको लागि यो समस्या कति हदसम्म जानुपर्छ? यदि सत्यता सङ्गति गर्दा विषयभन्दा बाहिर जाँदा हरेक पटक नै त्यसलाई बाधा र व्यवधानको रूपमा चित्रण गरियो भने, के भविष्यमा मानिसहरूलाई मण्डली जीवनबारे बोल्न वा सङ्गति गर्न पनि डर लाग्दैन र? अनि यदि मानिसहरूलाई सङ्गति गर्नै डर लाग्यो भने, के तिनीहरूले समस्यालाई स्पष्ट बुझेका छैनन् भन्‍ने हुँदैन र? (हुन्छ।) त्यसकारण, सत्यता सङ्गति गर्ने क्रममा केकस्तो रूपमा विषयबाट बाहिर जानु बाधा र व्यवधान हो भनेर जब सही रूपमा निर्धारित गरिन्छ, तब धेरैजसो मानिसहरू यी कुराको बन्धनबाट मुक्त हुनेछन्। तिमीहरू सामान्य कुराकानीमा पनि विषयबाट बाहिर जान्छौ भन्‍ने देख्दा, सत्यता सङ्गति गर्दा पनि त्यसो गर्नु झन् आम कुरा हो। त्यसकारण, तिमीहरूलाई बन्धनमा पर्नबाट रोक्‍नको लागि यो विषयमा ठूलो स्पष्टतासाथ सङ्गति गर्नु अत्यावश्यक हुन्छ। विषयभन्दा बाहिर जाने र बाधा र व्यवधान ल्याउने डरले तँलाई बोल्नबाट नरोकोस् र तँसँग ज्ञान भए पनि सङ्गति गर्ने आँट नगर्ने नतुल्याओस्, वा तैँले सङ्गति गर्न चाहँदा, यसले तँलाई सुरुमा यो कुरा विचार गर्न बाध्य नगरोस्: “के मैले भन्‍न चाहेको कुरा विषयवस्तुसँग सम्बन्धित छ? के यो विषयभन्दा बाहिर छ? बोल्नुभन्दा पहिले मैले मेरो विचारको खाका र रूपरेखा तयार गर्नुपर्छ, र त्यसपछि विषयबाट बाहिर नजानको लागि हरहालतमा त्यही रूपरेखामा अडिइरहनुपर्छ। यदि म विषयबाट बाहिर गएँ भने, यसले कसैलाई फाइदा पुर्‍याउँदैन र भेलाको बहुमूल्य समय बरबाद गर्छ, जसले सत्यताप्रतिको विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको बुझाइमा असर गर्छ। अनि यो गम्भीर भयो भने, यसले मण्डली जीवनमा बाधा र व्यवधानसमेत ल्याउन सक्छ।” त्यसोभए हामीले विषयभन्दा बाहिर जाने कार्यलाई कसरी हेर्नुपर्छ? सुरुमा, हामीले विषयबाट बाहिर जानु विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको लागि फाइदाजनक छ कि छैन भनेर विचार गर्नुपर्छ, र त्यसपछि हामीले विषयबाट बाहिर जाँदा यसले मण्डली जीवनमा केकस्ता परिणामहरू ल्याउँछ भनेर स्पष्ट रूपमा देख्‍नुपर्छ। यसरी, हामीले विषयबाट बाहिर जानु मामुली कुरा होइन भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्छौं; गम्भीर अवस्थामा, यसले मण्डली जीवन र मण्डलीको काममा बाधा र व्यवधानसमेत ल्याउन सक्छ। मानौँ, कुनै विषयबारे, तैँले आफ्नो ज्ञान र बुझाइ बाँड्न परमेश्‍वरका वचनहरूको एउटा खण्ड खोज्छस् रे; वा मानौँ, कुनै विषयबारे, तैँले आफूले प्राप्त गरेको ज्ञान, आफूले बुझेका सत्यताहरू, र आफूले अनुभव गरेको कुराबाट बुझेका परमेश्‍वरका अभिप्रायहरूबारे सङ्गति गर्छस् रे; वा कुनै निश्‍चित विषयबारे तैँले गरेको सङ्गति अलिक लामो हुन्छ, र तैँले यसबारे स्पष्ट कुरा व्यक्त गर्दैनस्, र आफ्‍नो कुरा धेरैपटक दोहोर्‍याइरहन्छस् रे—यस्ता परिस्थितिहरूमा, के तँ विषयबाट बाहिर गइरहेको हुन्छस्? यीमध्ये कुनै पनि अवस्था विषयभन्दा बाहिर गएको रूपमा गन्ती हुँदैन। त्यसोभए विषयभन्दा बाहिर जानु भनेको के हो त? विषयबाट बाहिर जानु भनेको सङ्गतिको विषयसँग तैँले भनेको कुराको थोरै मात्र सम्बन्ध नहुनु वा कुनै सम्बन्ध नै नहुनु, र यो बाहिरी मामलाहरूबारे फलाक्‍ने कार्य मात्रै हुनु, तर मानिसहरूलाई सुधार गर्ने कुरा हुँदै नहुनु हो। त्यो विषयभन्दा पूर्ण रूपमा बाहिर जानु हो। अब, बाधा र व्यवधान पैदा गर्नु भनेको के हो, छलफल गरौँ। सत्यता सङ्गति गर्दा विषयभन्दा बाहिर जाने मामलामा, कस्तो प्रकारका शब्द र व्यवहारले बाधा र व्यवधान ल्याउँछन्? यहाँ समस्याको सार के हो? विषयभन्दा बाहिर जाँदा यसले प्रकृतिको हिसाबमा कसरी बाधा र व्यवधान ल्याउँछ? के यो कुराबारे सङ्गति गर्नु सार्थक छैन र? यसबारे सङ्गति गरिसकेपछि, के विषयबाट बाहिर जानु भनेको के हो भनेर बुझ्नेछौ? (बुझ्‍नेछौँ।) त्यसोभए, तिमीहरूले जबाफ देओ त। (जब कसैको सङ्गति सत्यतासँग कुनै सम्बन्ध नभएका विषयहरूबारे हुन्छ—उदाहरणको लागि, व्यर्थको गफ र घरका मामलाहरूको कुराकानी, र मानिसहरूको हृदयमा बाधा दिने र तिनीहरूलाई परमेश्‍वरअघि शान्त हुन र उहाँका वचनहरू मनन गर्नबाट रोक्‍ने सामाजिक प्रचलनहरूसँग सम्बन्धित कुराहरूको छलफल—त्यस्तो सङ्गति विषयभन्दा बाहिर गएको हुन्छ।) यसले कति वटा मुख्य बुँदाहरू बताउँछ? (एउटाचाहिँ के हो भने, यी विषयहरू सत्यतासँग सम्बन्धित हुँदैनन्।) यो अत्यन्तै महत्त्वपूर्ण बुँदा हो: सत्यतासँग सम्बन्धित नहुनु। एउटा बुँदा घरका मामलाहरूबारे व्यर्थ गफ र कुराकानी गर्नु हो। अर्को भनेको परम्परागत संस्कृति, मानव नैतिक सोचाइ, र मानिसहरूले आदर्शमय ठानेका कुराहरूबारे सत्यताझैँ जसरी कुरा गर्नु हो। यो विकृत बुझाइको समस्या हो; यी सबै कुराहरू सत्यतासँग सम्बन्धित छैनन्। उदाहरणको लागि, परमेश्‍वरका वचनहरूले भन्छन्, “जवान मानिसहरू उत्साही चाहनाविहीन हुनुहुँदैन।” कसैले यसो भन्दै सङ्गति गर्छ, “प्राचीन समयदेखि नै, नायकहरू जवानीमा देखा पर्दै आएका छन्,” वा “महत्त्वाकाङ्क्षा उमेरले सीमित हुँदैन।” अथवा, जब तैँले परमेश्‍वरको डर कसरी मान्ने भनेर कुरा गर्छस्, तब तिनीहरूले यसो भनेर सङ्गति गर्छन्: “तपाईंभन्दा तीन फिटमाथि परमेश्‍वर हुनुहुन्छ”; “जब मानिसले काम गर्छ, तब स्वर्गले हेरिरहेको हुन्छ”; “यदि तिम्रो विवेक सफा छ भने, भूतले तिम्रो ढोका ढकढक्याउला भनेर डर मान्‍नु पर्दैन”; वा “मानिसको हृदयको झुकाव भलाइतर्फ हुनुपर्छ।” के यो विषयभन्दा बाहिर जानु होइन र? के यी शब्दहरू सत्यतासँग असम्बन्धित छैनन् र? यी शब्दहरू के हुन् त? (शैतानी दर्शनहरू।) यी शैतानी दर्शनहरू हुन्, र यी निश्‍चित जातिका परम्परागत संस्कृति पनि हुन्। विषयबाट बाहिर जानुको पहिलो प्रकटीकरण भनेको बोलिएको विषय सत्यतासँग सम्बन्धित नहुनु हो; जब व्यक्तिले गैरविश्‍वासीहरूले सही र उच्च ठानेका दर्शन र सिद्धान्तहरू बताउँछ, र जबरजस्ती तिनलाई सत्यतासँग जोड्छ, त्यो विषयभन्दा बाहिर जानु हो। विषय सत्यतासँग सम्बन्धित नहुनु—यो प्रकटीकरण बुझ्न सजिलो हुनुपर्छ। दोस्रो प्रकटीकरण भनेको छलफल गरिएका विषयहरूले मानिसहरूको मनमा बाधा दिनु हो। जब भेलामा सत्यताबारे सङ्गति गरिँदैन, बरु ज्ञान, विद्वता, दर्शन, र कानुन, वा सामाजिक घटनाहरू र विभिन्‍न जटिल अन्तरवैयक्तिक सम्बन्धहरूबारे सङ्गति गरिन्छ, तब यसले मानिसहरूको मनमा बाधा दिन्छ। यस्तो बाधा त्यो बेला हुन्छ, जुन बेला कसैले आधारभूत रूपमा सत्यतासँग सम्बन्धित नरहेका र यससँग कुनै सम्बन्ध नभएका समस्याहरूबारे सङ्गति गर्छ, मानौँ ती कुराहरू सत्यता नै हुन्। यसले अरूको मनमा अन्योल पैदा गर्छ, र सुन्‍ने क्रममा, तिनीहरूको सोचाइ सत्यताको सङ्गतिबाट बाहिरी मामलाहरूमा केन्द्रित हुन्छ। तब यी मानिसहरूले कस्तो व्यवहार गर्छन्? तिनीहरूले ज्ञान र विद्वतामा ध्यान दिन थाल्छन्। मानिसहरूको मनमा बाधा दिने कार्य प्रकृतिमा गम्भीर हुन्छ। तेस्रो प्रकटीकरण भनेको छलफल गरिएका विषयहरूले मानिसहरूलाई परमेश्‍वरबारे गलत बुझ्न लगाउनु हो, जसको परिणामस्वरूप दर्शनहरूबारे स्पष्टताको कमी हुन्छ। कति मानिसहरू आफैलाई सत्यताबारे स्पष्ट थाहा हुँदैन, तैपनि तिनीहरू आफूसँग स्पष्टता र बुझाइ छ भन्‍ने बहाना गर्न चाहन्छन्। त्यसैले, तिनीहरूले सत्यता सङ्गति गर्दा आफूले भनेको कुरामा केही गहन सिद्धान्तहरू हाल्छन्, आफूले सुनेका र बुझेका धार्मिक सिद्धान्तहरू मिसाउँछन्, र आधारहीन र लालची तरिकाले बोल्छन्। तिनीहरूको कुरा सुनेपछि, मानिसहरूले दर्शनहरूबारे स्पष्टता गुमाउँछन्; बोल्ने व्यक्तिले कुन सत्यताबारे छलफल गर्न चाहेको हो भन्‍ने तिनीहरूलाई थाहै हुँदैन। तिनीहरूले जति सुन्छन्, तिनीहरू त्यति नै अन्योल पर्छन् र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास त्यति नै घट्छ, र तिनीहरूले परमेश्‍वरबारे गलतबुझाइसमेत विकास गर्न सक्छन्। यो कुराबाट मानिसहरू सत्यता नबुझी बाहिर आउने मात्र होइन, तर तिनीहरूको मन अझै अन्योलसमेत हुन्छ। यसले नकारात्मक असर पार्छ। विषयभन्दा बाहिर जानुको परिणाम यही हो।

सत्यता सङ्गति गर्दा विषयबाट बाहिर जाने कार्य विभिन्‍न तरिकाले प्रकट हुन्छ, र ती प्रत्येकले आफ्नो प्रकृतिको हिसाबले नै मानिसहरूको जीवन प्रवेशमा बाधा दिन्छन्। जब मानिसहरूले यस्तो सङ्गति सुनेका हुन्छन्, तब तिनीहरूमा सत्यता र अभ्यास मार्गबारे स्पष्ट बुझाइको कमी मात्रै हुँदैन। बरु, तिनीहरूको दिमाग पनि अलमल्‍ल हुन्छ, तिनीहरू सत्यताप्रति झन् अस्पष्ट हुन्छन्, र तिनीहरूले केही गलत अर्थ्याइ र गलत धारणाहरूसमेत विकास गर्छन्। सत्यता सङ्गति गर्दा विषयबाट बाहिर जाँदा यसले मानिसहरूमा पार्ने प्रभाव र ल्याउने प्रतिकूल परिणाम यही हो। यी तीन वटा प्रकटीकरणहरू प्रत्येक नै प्रकृतिको हिसाबमा निकै गम्भीर हुन्छन्। उदाहरणको लागि, पहिलो प्रकटीकरण “बोलिएको विषय सत्यतासँग सम्बन्धित हुँदैन” भन्‍ने हो। सहीजस्तो देखिने तर सही नरहेका कुराहरू बोल्‍नु, र मानव ज्ञान, दर्शन, सिद्धान्तहरू, परम्परागत संस्कृति, र प्रसिद्ध व्यक्तित्वहरूका प्रख्यात भनाइहरूजस्ता शैतानी कुराहरूलाई प्रचार र विश्‍लेषण गर्न मण्डलीमा ल्याउनु, र सत्यता सङ्गति गर्ने मौकालाई मानिसहरू बहकाउन प्रयोग गर्नु भनेको तिनीहरूलाई बाधा दिनु हो। प्रकृतिमा यो अत्यन्तै गम्भीर कुरा हो। यदि समझशक्ति भएको व्यक्तिले यस्तो सङ्गति सुन्यो भने, उसले यसो भन्‍नेछ, “तपाईंले भन्‍नुभएको कुरा सही छैन; यो सत्यता होइन। तपाईंले त गैरविश्‍वासीहरूले असल ठानेका नैतिक व्यवहार र भनाइहरूबारे कुरा गरिरहनुभएको छ। ती गैरविश्‍वासीहरूले आफ्नो आनीबानी कसरी प्रस्तुत गर्ने र आफ्नो सांसारिक व्यवहार कसरी अघि बढाउने भन्‍नेबारे राख्‍ने सिद्धान्तहरू हुन्, जुन आधारभूत रूपमा सत्यतासँग सम्बन्धित हुँदैनन्।” तैपनि, कतिपय मानिसहरूमा समझको कमी हुन्छ, र जब तिनीहरूले यी भ्रमहरू सुन्छन्, तब तिनीहरूले ती कुराहरू मान्छन्, र तिनलाई सत्यताको रूपमा पालनासमेत गर्छन्। यस्तो समयमा, यदि अगुवाहरू र कामदारहरूले यसलाई रोकेनन् र प्रतिबन्धित गरेनन् भने, यदि तिनीहरूले मानिसहरूले समझ प्राप्त गरून् भनेर यसबारे सङ्गति र चिरफार गरेनन् भने, परमेश्‍वरका चुनिएका कतिपय मानिसहरू बहकाउमा पर्न सक्‍नेछन्। बहकाउमा पर्नुका परिणामहरू के-के हुन्? तिनीहरूले मानिसहरूले सही, असल, र गहन ठानेका प्रसिद्ध गैरविश्‍वासीहरूको प्रचारहरू, जस्तै व्यक्तिको रूपमा जिउनेसम्बन्धी लोक भनाइहरू र प्रसिद्ध मानिसहरूको नीतिवचन र सिद्धान्तहरू सबै सही छन् र ती सबै परमेश्‍वरका वचनहरूजस्तै सत्यता हुन् भन्‍ने विश्‍वास गर्नेछन्। के तिनीहरू बहकाउमा परिसकेका हुँदैनन् र? झट्ट हेर्दा, तिनीहरूले सत्यता सङ्गति गरिरहेजस्तो देखिन्छ, तर वास्तवमा यसमा केही मानव विचारहरू र शैतानका केही भ्रामक दर्शनहरू मिसिएको हुन्छ, र यसले स्पष्ट रूपमै मानिसहरूलाई बाधा दिन्छ। यदि कसैले शैतानको दर्शन र मानव ज्ञानलाई सत्यताको रूपमा प्रस्तुत गरेर मानिसहरूलाई बहकाउँछ भने, अगुवाहरू र कामदारहरूले यो कुरा खुलासा र चिरफार गर्नुपर्छ, ताकि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू समझशक्तिमा वृद्धि होऊन् र सत्यता वास्तवमा के हो भनेर बुझून्। यो अगुवाहरू र कामदारहरूले गर्नुपर्ने काम हो। दोस्रो प्रकटीकरण “मानिसहरूको मनमा बाधा दिनु” हो। कतिपय मानिसहरूले सत्यता सङ्गति गर्ने मौका दुरुपयोग गर्दै, सधैँ सही देखिने तर सही नरहेका कुराहरूबारे बोल्‍छन्, र यसरी मानव ज्ञान, विद्वत्ता, वरदान र प्रतिभाहरूलाई उच्‍च पार्छन्। तिनीहरूले नैतिक नियमहरू, परम्परागत संस्कृति, आदि इत्यादिबारे पनि कुरा गर्छन्। तिनीहरूले शैतानबाट आउने यी कुराहरूलाई सकारात्मक कुराहरूको रूपमा, सत्यताको रूपमा प्रस्तुत गर्छन्, जसले मानिसहरूलाई यी कुराहरू त वकालत गरिनुपर्ने, मण्डलीमा प्रचार गरिनु र उच्‍च पारिनुपर्ने, र सबैद्वारा पालना गरिनुपर्ने कुराहरू हुन् भन्‍ने गलत विश्‍वास गराउँछ; मानिसहरूको मनमा सही देखिने तर सही नभएका भ्रम र विधर्महरू बढाउँछ; र मानिसहरूको मनमस्तिष्क अक्‍कबक्‍क बनाउँछ र तिनीहरूलाई सत्यता वास्तवमा के हो, वा समस्याहरू सामना गर्दा कसरी सही तरिकाले अभ्यास गर्ने, वा कुन मार्ग सही हो भन्‍ने थाहै नहुने दिग्भ्रमित तुल्याउँछ। यसले तिनीहरूको हृदय अन्धकारमा डुबाउँछ। मानिसहरूलाई बहकाउन विधर्म र भ्रमहरू फैलाउनुको परिणाम यही हो। तेस्रो प्रकटीकरणको हकमा भन्दा, हामी यसबारे विस्तृत रूपमा सङ्गति गर्नेछैनौँ। सारांशमा भन्दा, कतिपय विषयभन्दा बाहिरका छलफलहरूमा ज्ञान, कतिपयमा मानव धारणाहरू, र कतिपयमा नैतिक रूपमा असल मानिने व्यवहारहरू, र अरू यस्तै कुराहरू पर्छन्। तर यीमध्ये कुनै पनि कुरा सत्यतासँग सम्बन्धित हुँदैनन्—ती सबै यसको विपरीत हुन्छन्। त्यसकारण, जब यी समस्याहरू देखा पर्छन्, तब अगुवाहरू र कामदारहरूले यी समस्याहरूलाई रोक्नु र प्रतिबन्धित गर्नुपर्छ। यदि कसैले सङ्गति गरेको सुनेपछि, मानिसहरूले सत्यताबारे हृदयमा स्पष्टता प्राप्त नगर्ने मात्र नभई, तिनीहरू विचलित हुन्छन् भने, र तिनीहरूको पहिलेको स्पष्ट मन अलमल्‍ल पर्छ, र तिनीहरूलाई उचित रूपमा कसरी अभ्यास गर्ने भन्‍ने नै थाहा हुँदैन भने, त्यस्तो व्यक्तिको सङ्गति रोक्‍नु र प्रतिबन्धित गर्नुपर्छ। उदाहरणको लागि, सामान्य मानवतासँग सम्बन्धित सत्यताहरूबारे सङ्गति गर्ने क्रममा, कति मानिसहरूले भन्छन्: “परमेश्‍वरलाई सामान्य मानवताको सबैभन्दा बढी मनपर्ने कुरा भनेको कष्ट भोग्‍ने, देहगत आनन्द वा सहजताको लोभ नगर्ने, स्वादिष्ट खाना त्याग्‍ने, आनन्द लिनुपर्ने वा परमेश्‍वरले तयार गर्नुभएको कुराको आनन्द नलिने, यी देहगत इच्छाहरूविरुद्ध विद्रोह गर्न सक्‍ने, देहका सबै इच्छाहरू नियन्त्रण गर्न सक्‍ने, आफ्नो शरीर काबुमा राख्‍न सक्‍ने, र आफूलाई देहको नियन्त्रणमा पर्न नदिने क्षमता हो। त्यसैले, जब तिमीलाई राती सुत्‍न मन लाग्छ, तब तिमीले देहविरुद्ध विद्रोह गर्नुपर्छ। यसो गर्न सक्दैनौ भने, यसलाई नियन्त्रण गर्ने उपायहरू खोज्नुपर्छ। देहविरुद्ध विद्रोह गर्ने तिम्रो इच्छा जति ठूलो हुन्छ, र तिमीले देहविरुद्ध जति विद्रोह गर्छौ, तिमीमा त्यति नै धेरै सत्यता अभ्यास गर्ने प्रकटीकरण हुन्छ र तिमीमा त्यति नै धेरै परमेश्‍वरप्रतिको बफादारिता भएको प्रमाणित हुन्छ। मलाई लाग्छ सामान्य मानवताको सबैभन्दा प्रमुख प्रकटीकरण—जसको लागि सबैभन्दा बढी वकालत गरिनुपर्छ—त्यो, आफ्नो शरीर काबुमा राख्‍नु, देहका इच्छाहरूविरुद्ध विद्रोह गर्नु, देहको सहजताको लोभ नगर्नु, र भौतिक आनन्दमा मितव्ययी हुनु हो। तिमी जति मितव्ययी हुन्छौ, तिमीले स्वर्गको राज्यमा त्यति नै धेरै आशिष्‌हरू जम्मा गर्नेछौ।” के यी शब्दहरू निकै सकारात्मक सुनिँदैनन् र? के यिनमा कुनै गल्ती छ? मानव तर्क, सिद्धान्त, र धारणाहरूद्वारा मापन गर्दा त, यी शब्दहरू कुनै पनि धार्मिक वा सामाजिक समूहमा स्वीकार्य हुन्छन्; सबैले आफ्‍नो अनुमोदन व्यक्त गर्न र यी मानिसहरूले भनेको कुरा सही छ, यिनीहरूको विश्‍वास असल र शुद्ध छ भनेर बताउन सहमति सङ्केत दिन्छन्। के मण्डलीमा पनि कतिपय मानिसहरूले यही कुरा विश्‍वास गर्दैनन् र? मानव धारणाहरूद्वारा मापन गर्दा, यी सबै शब्दहरू सही हुन्छन्—यिनमा के कुरा सही छ? कतिले यसो भन्‍न सक्छन्, “परमेश्‍वरले त्यस्ता मानिसहरू मन पराउनुहुन्छ। उहाँ पनि त्यस्तै मितव्ययी जीवन जिउनुहुन्छ।” के यो मानव धारणा होइन र? मानिसहरूले यस्तो धारणा बोकेका हुन्छन्, त्यसकारण यदि कुनै व्यक्तिले साँच्‍चै यस्तो सङ्गति दियो भने, के यो बहुमतका धारणाहरू पुष्टि गर्ने कार्य हुँदैन र? (हुन्छ।) जब मानिसहरूले यस्तो धारणा अनुमोदन गर्छन्, तब के तिनीहरूले त्यो व्यक्तिको दृष्टिकोणमा सहमति जनाइरहेका हुँदैनन् र? अनि जब मानिसहरूले त्यो व्यक्तिको दृष्टिकोणमा सहमति र स्वीकृति जनाएका हुन्छन्, तब के तिनीहरूले उसको कार्यमा सहमति जनाइरहेका हुँदैनन् र? अनि के त्यसपछि तिनीहरूले उसको अनुकरण गर्ने प्रयास गर्नेछैनन् र? अनि जब तिनीहरूले त्यसो गर्न सक्छन्, तब के तिनीहरूले पछ्याउने बाटो, तिनीहरूको अभ्यासको मार्ग निश्‍चित हुनेछैन र? निश्‍चित हुनु भनेको के हो? यसको अर्थ तिनीहरूले यस्तो तरिकाले व्यवहार र अभ्यास गर्ने निर्णय गरेका छन् भन्‍ने हो। अनि जब तिनीहरूले यस्ता मानिसहरूलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ र तिनीहरूले यसरी व्यवहार गरेको उहाँलाई मन पर्छ, त्यसो गरेर मात्रै तिनीहरू परमेश्‍वरले स्विकार्ने, स्वर्गको राज्यमा प्रवेश गर्न र स्वर्गमा आशिष् पाउन सक्‍ने, राम्रो गन्तव्य भएको व्यक्ति बन्‍न सक्छन् भन्‍ने कुरामा विश्‍वास गर्छन्, तब तिनीहरूले यसरी नै व्यवहार गर्ने सङ्कल्प गर्छन्। जब तिनीहरूले यस्तो संकल्प गर्छन्, तब के यस्तो सोचाइ र दृष्टिकोणले पहिले नै तिनीहरूको मन बिथोलेको र बहकाएको हुँदैन र? यो तथ्य हो; र यो परिणाम हो। तिनीहरूको मन बिथोलिएको हुन्छ, तर तिनीहरूले यो कुरा महसुससमेत गर्दैनन्। यहाँ अर्को पनि समस्या छ: त्यस्ता विचार र दृष्टिकोणहरूले तिनीहरूको मन नियन्त्रित र विचलित पारेपछि, के तिनीहरूले परमेश्‍वरका अभिप्राय र मापदण्डहरूबारे स्पष्टता गुमाउँदैनन् र? के तिनीहरूले परमेश्‍वरबारे गलतबुझाइहरू विकास गर्ने र उहाँबाट टाढिने गर्दैनन् र? के यसले तिनीहरू दर्शनहरूबारे अस्पष्ट छन् भन्‍ने कुरा देखाउँदैन र? यसबारे राम्ररी विचार गर: जब तँलाई मानिसहरूले सही ठानेका तर गलत रहेका विचार वा दृष्टिकोणले बहकाउँछ, तब के तेरो मनमा बाधा पुगेको हुँदैन र? के तेरो हृदयमा दर्शनहरू अझै पनि स्पष्ट हुन सक्छन् र? (सक्दैनन्।) त्यसोभए, के परमेश्‍वरबारेमा रहेको तेरो ज्ञान सही हुन्छ, कि गलतफहमी हुन्छ? स्पष्ट रूपमै, यो गलतफहमी हुन्छ। त्यसोभए, के तैँले बुझेको र तैँले सही ठानेको कुरा वास्तवमा सत्यता हुन्छ त? अहँ, हुँदैन—यो परमेश्‍वरका वचनहरू, र सत्यतासँग बाझिन्छ र तिनको विपरीत जान्छ। त्यसकारण, सत्यता सङ्गति गर्दा यसरी विषयभन्दा बाहिर जानु साँच्‍चै नै मानिसहरूको विचारमा बाधा दिनु हो। यसरी विषयभन्दा बाहिर जाँदा यसले मानिसहरूको विचारमा ठूलो बाधा दिने भएकोले, के यसलाई परमेश्‍वरको काममा बाधा दिनु हो भनेर भन्‍न सकिन्छ? यसले मानिसहरूलाई धारणाहरूतर्फ र शैतानको दर्शन र तर्कतर्फ डोर्‍याउँछ, त्यसकारण के यसले मानिसहरूलाई परमेश्‍वरको उपस्थितिबाट टाढा लैजाँदैन र? जब मानिसहरूले परमेश्‍वरलाई गलत बुझ्छन्, जब तिनीहरूले उहाँका अभिप्रायहरू बुझ्दैनन् र उहाँका अभिप्राय र मापदण्डहरूअनुसार अभ्यास गर्न सक्दैनन्, बरु शैतानको तर्क र मानव धारणाहरूअनुसार अभ्यास गर्छन्, तब तिनीहरू परमेश्‍वरको नजिक हुन्छन् कि उहाँबाट टाढा हुन्छन्? (तिनीहरू उहाँबाट टाढा हुन्छन्।) तिनीहरू उहाँबाट टाढा हुन्छन्। त्यसोभए, के भेलाहरूमा यस्तो विषयमा सङ्गति गर्ने कार्य प्रतिबन्धित गर्नुपर्दैन र? (पर्छ।) यसप्रकारको विषयबाट बाहिर जाने कार्यको प्रकृति मानिसहरूलाई बाधा दिने खालको हुन्छ, त्यसकारण यसलाई साँच्‍चै नै प्रतिबन्धित गरिनुपर्छ। यदि यसलाई रोक्‍ने र प्रतिबन्धित गर्ने कार्य गरिएन भने, यहाँ कैयौँ यस्ता कमजोर क्षमता भएका र चेतनाहीन भ्रष्ट मानिसहरू—विशेषगरी, आत्मिक बुझाइ नभएकाहरू—हुनेछन्, जसले विषयभन्दा बाहिर जाने व्यक्तिलाई अनुकरण गर्ने र पछ्याउनेछन्। यही नै अगुवाहरू र कामदारहरू यसलाई रोक्न तुरुन्तै खडा हुनुपर्ने बेला हो। तिनीहरूले त्यो व्यक्तिलाई विषयभन्दा बाहिर जान दिनु हुँदैन; तिनीहरूले उसको सङ्गतिको विषयले अझै धेरै मानिसहरूलाई बहकाउन र अझै धेरै मानिसहरूको मनमा बाधा दिन दिनु हुँदैन। यो अगुवाहरू र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो, यो तिनीहरूले पूरा गर्नुपर्ने काम हो।

सत्यता सङ्गति गर्दा विषयबाट बाहिर जाने विषयको हाम्रो सङ्गति यही हो। यसपछि, हामी कुनै व्यक्तिले सत्यता सङ्गति गर्दा त्यसको प्रकृति बाधा र व्यवधान कहलिनको लागि उक्त व्यक्ति कति हदसम्‍म टाढा जानुपर्छ र उसले कुनकुन विषयहरू सङ्गति गर्नुपर्छ भनेर सारांशित गर्नेछौं। विषयबाट बाहिर जानुका केही तरिकाहरू स्पष्ट छन्: जब कुनै व्यक्ति विषयबाट पूर्ण रूपमा बाहिर जान्छ, जब उसले व्यर्थका कुराकानी गर्छ वा घरायसी मामलाहरूबारे छलफल गर्न थाल्छ, तब त्यो कुरा पत्ता लगाउन सजिलै हुन्छ। उदाहरणको लागि, जब सबैले आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर सङ्गति गरिरहेका हुन्छन्, तब कसैले आफ्नो “महिमित” विगतबारे सङ्गति गर्न सक्छ, र उसले आफूले गरेका असल कार्यहरू वा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई यसरी-उसरी गरेका मदतहरू, र आदि इत्यादि कुराहरू बताउन सक्छ। कसैले पनि यो कुरा सुन्न चाहँदैन, र त्यो व्यक्तिले जति धेरै बोल्छ, तिनीहरूलाई त्यो कुराप्रति त्यति नै धेरै वितृष्णा लाग्छ र अन्त्यमा तिनीहरूले त्यो व्यक्तिलाई बेवास्ता गर्छन्। त्यसपछि त्यो व्यक्तिलाई सरम लाग्छ। जबसम्म अधिकांश मानिसहरूले त्यो व्यक्तिलाई चिन्‍न सक्छन्, तबसम्म उसले निरन्तरता दिन सक्दैन। यस किसिमको विषयबाट बाहिर जाने कार्य पत्ता लगाउनलाई सत्यताबारे त्यति धेरै बुझाइ चाहिँदैन। व्यर्थको गफ गर्नु, घरायसी मामलाहरूबारे कुरा गर्नु, आफूलाई उचाल्नु, आफ्‍नो बारे धाक लगाउनु, र सङ्गतिको विषयबाट फाइदा लिँदै आफ्‍नो “महिमित” विगतबारे कुरा गर्नु—यस किसिमको विषयबाट बाहिर जाने कार्य सहजै पत्ता लगाउन सकिन्छ। यसले आधारभूत रूपमा धेरै बाधा ल्याउँदैन, किनभने धेरैजसो मानिसहरूलाई यस्ता कुराहरूप्रति घृणा लाग्छ र तिनीहरू त्यस्ता कुरा सुन्न चाहँदैनन्, र तिनीहरूलाई यस्तो व्यक्तिले धाक लगाइरहेको छ, सत्यता सङ्गति गरिरहेको छैन, ऊ विषयभन्दा बाहिर गएको छ भन्‍ने थाहा हुन्छ। समूहले उसलाई बोल्न थाल्दा नै लज्‍जित नपार्ने प्रयास गर्न सक्छ, तर ऊ लामो समयसम्‍म बोलिरह्यो भने, मानिसहरूलाई घृणा लाग्छ र थप कुरा सुन्न मन लाग्दैन, र योभन्दा त परमेश्‍वरका वचनहरू आफै पढ्नु नै राम्रो हुन्छ भन्‍ने लाग्छ। यदि त्यो व्यक्तिले आफ्‍नो कुरा जारी राखिरह्यो भने, तिनीहरू उठेर जान्छन्। जब त्यो व्यक्तिले परिस्थिति परिवर्तन भएको छ र उसले आफैलाई लज्‍जित पारेको छ भन्‍ने देख्छ, तब उसले बोल्न छोड्छ। कस्तो किसिमको विषयभन्दा बाहिर जाने कार्यले मानिसहरूमा पहिले नै प्रतिकूल प्रभाव पारिसकेको हुन्छ, तैपनि मानिसहरूले यसलाई नकारात्मक कुराको रूपमा देख्‍न सक्दैनन्, बरु विषयभन्दा बाहिरको कुरालाई सत्यता मानेर ध्यानपूर्वक सुन्छन्? यस्तो किसिमको विषयबाट बाहिर जाने कार्यले मानिसहरूलाई बाधा दिन सक्छ, र व्यक्तिले त्यस्ता घटनाहरू पहिचान गर्नुपर्छ। यस्तो किसिमको विषयभन्दा बाहिर जाने कार्यको उदाहरण देओ त। (जब कसैले काटछाँटमा परेपछि आफ्नो बारे मनन गर्दैन, र आफ्नो कुरालाई समस्याको सहीपन र गलतपनमा मात्रै केन्द्रित गर्छ, तब यसले सबैको दिमाग अन्योलमा पार्छ। यसले मानिसहरूलाई समझशक्ति विकास गर्न नसक्‍ने मात्र बनाउँदैन; बरु, मानिसहरूले यो व्यक्तिले भनेको कुरा सत्यताअनुरूप छ, र ऊ सही छ भन्‍ने महसुससमेत गर्छन्। यसले सबैलाई उसको पक्षमा ल्याउँछ।) काटछाँटलाई कसरी स्विकार्ने भनेर सङ्गति गर्ने बहानामा, तिनीहरूले आफूलाई रक्षा गर्छन् र निर्दोष ठहर्‍याउँछन्, र मानिसहरूलाई आफूलाई गलत रूपमा काटछाँट गरिएको छ भन्‍ने सोचाउँछन्, मानिसहरूलाई आफ्नो पक्षमा ल्याउँछन् र आफ्नो सहानुभूति गराउने बनाउँछन्, र थप रूपमा, तिनीहरूले मानिसहरूलाई यस्ता परिस्थितिहरूमा समर्पित हुने र काटछाँट स्विकार्ने आफ्नो क्षमताको आदर गर्ने बनाउँछन्। यसले मानिसहरूलाई बहकाउँछ; यो उद्देश्‍यपूर्ण रूपमा जानीजानी विषयबाट बाहिर जानु हो, जसले गर्दा सुन्‍ने मानिसहरूलाई काटछाँट सामना गर्दा समर्पित हुन नसक्‍ने, काटछाँट स्विकार्न नसक्‍ने र आफ्‍नो बारे मनन गरेर आफूलाई चिन्‍न नसक्‍ने मात्र होइन, काटछाँटविरुद्ध सतर्क र प्रतिरोधीसमेत बनाउँछ। यस्तो सङ्गतिले मानिसहरूलाई काटछाँट हुनुको महत्त्व बझ्न मद्दत गर्न सक्दैन, र काटछाँट सामना गर्दा मानिसहरूले कसरी सही मनोवृत्ति अपनाउनुपर्छ, यसलाई कसरी स्विकार्ने, र कसरी अभ्यास गर्ने गर्नुपर्छ भनेर बुझ्न मद्दत गर्न सक्दैन। बरु, यसले मानिसहरूलाई काटछाँट सामना गर्ने अर्को तरिका रोज्‍न लगाउँछ, एक यस्तो तरिका जुन सत्यता अभ्यास होइन र सत्यता सिद्धान्तहरूअनुसार काम गर्नु पनि होइन, बरु मानिसहरूलाई अझै धूर्त बनाउने तरिका हो। यस्तो सङ्गतिले मानिसहरूलाई बहकाउँछ। सत्यता सङ्गति गर्दा विषयबाट बाहिर जानु भनेको मण्डली जीवनमा पैदा हुने एकप्रकारको समस्या हो। यदि यो समस्या बाधा र व्यवधानको स्तरमा पुग्यो भने, अगुवाहरू र कामदारहरूले यसलाई रोक्न र प्रतिबन्धित गर्न सङ्गति र चिरफार गर्दै कदम उठाउनुपर्छ, ताकि धेरैजसो मानिसहरूले समझशक्ति वृद्धि गरून्, अनुभवबाट केही जानून्, र पाठहरू सिकून्।

२. मानिसहरूलाई बहकाउन र तिनीहरूको आदर जित्नको लागि शब्द र धर्मसिद्धान्तहरू बोल्नु

मण्डली जीवनमा अवरोध र बाधा ल्याउने मानिस, घटना, र कामकुराहरूको दोस्रो प्रकटीकरण भनेको मानिसहरूले अरूलाई बहकाउन र आफ्‍नो प्रतिष्ठा बढाउनको लागि शब्द र धर्मसिद्धान्तहरू बोल्‍नु हो। सामान्यतया, धेरैजसो मानिसहरूले केही शब्द र धर्मसिद्धान्तहरू बोल्‍न सक्छन्। धेरैजसो मानिसहरूले बोलेका हुन्छन्। हामीले कुनै व्यक्तिले शब्द र धर्मसिद्धान्तहरू बोल्‍ने सामान्य कार्यलाई त्यस व्यक्तिको कद सानो भएकोले र सत्यतालाई बुझ्ने क्षमताको कमी भएकोले घट्ने घटनाका रूपमा लिनुपर्छ। तिनीहरूले धेरै समय लिँदैनन्, जानी-जानी यसो गरिरहेका छैनन्, एकोहोरो कुराकानी गर्दैनन्, स्वेच्छाले बोल्‍नको लागि सबैलाई सहमत हुन माग गर्दैनन्, सबैलाई तिनीहरूको कुरा सुन्न लगाउँदैनन्, र अरूलाई बहकाएर तिनीहरूको आदर जित्‍ने प्रयास गर्दैनन् भने, यसमा बाधा वा अवरोध ल्याउने कार्य संग्लग्न हुँदैन। धेरैजसो मानिसहरूमा सत्यता वास्तविकताको कमी हुने भएकोले, शब्द र धर्मसिद्धान्तहरू बोल्‍ने कार्य आम रूपमा देखा पर्ने घटना हो। अलिक अनुचित रूपमा बोल्नु क्षमायोग्य हुन्छ; यसलाई माफी दिएर गम्भीर रूपमा नलिन सकिन्छ। तर, एउटा अपवाद छ, त्यो हो जब व्यक्तिले जानाजान शब्द र धर्मसिद्धान्तहरू बोलिरहेको हुन्छ। तिनीहरूले जानाजान के गर्छन्? शब्द र धर्मसिद्धान्तहरू बोल्‍नु तिनीहरूले जानाजान गर्ने कार्य होइन, किनभने तिनीहरूमा सत्यता वास्तविकताको पनि कमी हुन्छ। तिनीहरूका क्रियाकलापहरू, जस्तै शब्द र धर्मसिद्धान्तहरू बोल्‍ने, नाराहरू फलाक्‍ने, र सिद्धान्तहरूको बारेमा बोल्ने कार्यहरू अरू सबैको जस्तै हुन्छन्। तर, एउटा भिन्‍नता छ: जब तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू बोल्छन्, तब तिनीहरूले सधैँ अरूबाट उच्च सम्मान पाउन चाहन्छन् र आफूलाई अगुवाहरू र कामदारहरू, सत्यता पछ्याउने मानिसहरूसँग तुलना गर्न चाहन्छन्। अझै अव्यावहारिक कुरा त, तिनीहरूले जे भने पनि वा जसरी भने पनि, तिनीहरूको उद्देश्य भनेको मानिसहरूलाई आफ्‍नो पक्षमा ल्याउनु, मानिसहरूको हृदय भ्रमित पार्नु हो, र यो सब उच्च सम्मान पाउनको लागि गरिएको हुन्छ। उच्च सम्मान खोजी गर्नुको उद्देश्य के हो? तिनीहरूले मानिसहरूको हृदयमा हैसियत र प्रतिष्ठा प्राप्त गर्न, विशिष्ट व्यक्ति वा मानिसहरूका भीडमाझ अगुवा बन्‍न, असाधारण वा असामान्य व्यक्ति बन्‍न, विशेष व्यक्तित्व बन्‍न, अख्तियारपूर्ण बोली भएको व्यक्ति बन्ने चाहना राख्छन्। यो परिस्थिति मानिसहरूले शब्द र धर्मसिद्धान्तहरू बोल्ने सामान्य घटनाहरूभन्दा फरक छ र यो बाधा र व्यवधान ल्याउनु हो। यी मानिसहरूलाई सामान्य रूपमा देखिने शैलीमा शब्द र धर्मसिद्धान्तहरू बोल्नेहरूभन्दा के कुराले फरक तुल्याउँछ? तिनीहरूको निरन्तर बोल्ने इच्छाले; कुनै अवसर पाउनेबित्तिकै, तिनीहरू बोलिहाल्नेछन्। भेला छ भने वा मानिसहरूको समूह भेला भएको छ भने—तिनीहरूसँग श्रोता छ भने—तिनीहरू बोल्नेछन्, र तिनीहरूलाई बोल्‍ने साह्रै ठूलो इच्छा हुन्छ। तिनीहरूले बोल्नुको उद्देश्य दाजुभाइ-दिदीबहिनीहरूसँग आफ्ना भित्री सोच, प्राप्ति, अनुभव, बुझाइ, वा अन्तर्ज्ञानहरू बाँडेर सत्यताको बुझाइ वा त्यसको अभ्यास गर्ने मार्ग बढाउनु होइन। बरु, तिनीहरूको उद्देश्य भनेको धर्मसिद्धान्तहरू बोल्ने अवसरलाई प्रयोग गरेर आफ्नो प्रदर्शन गर्नु, तिनीहरू कति विद्वत् छन् भनेर अरूलाई थाहा दिनु, तिनीहरूसँग दिमाग, ज्ञान, र सिकाइ छ, र तिनीहरू औसत व्यक्तिभन्दा माथि छन् भन्‍ने देखाउनु हो। तिनीहरू केवल साधारण व्यक्तिहरूका रूपमा नभई सक्षम व्यक्तिहरूका रूपमा चिनिन चाहन्छन्। तिनीहरूले यो चाहन्छन्, ताकि कुनै पनि मामलाको हकमा, सबै जना तिनीहरूकहाँ गएर तिनीहरूबाट परामर्श लिऊन्। मण्डलीमा आउने कुनै पनि समस्या वा दाजुभाइ-दिदीबहिनीहरूले सामना गर्ने कुनै पनि कठिनाइको हकमा, तिनीहरू अरूले सम्झिने पहिलो व्यक्ति बन्‍न चाहन्छन्; तिनीहरूले त्यो चाहन्छन् किनभने तिनीहरू अरूले तिनीहरूविना केही गर्न नसकून्, तिनीहरू सबैले तिनीहरूविना कुनै पनि मामलालाई सम्हाल्ने आँट नगरून्, र सबैले तिनीहरूले आदेश पर्खून्। तिनीहरूले चाहने प्रभाव यही हो। शब्द र धर्मसिद्धान्तहरू बोल्‍नुको पछाडि तिनीहरूको उद्देश्य भनेको मानिसहरूलाई फन्दामा पार्नु र नियन्त्रण गर्नु हो। तिनीहरूको लागि, शब्द र धर्मसिद्धान्तहरू बोल्नु त एउटा विधि, एउटा शैली मात्रै हो; तिनीहरूले सत्यता नबुझ्ने हुनाले शब्द र धर्मसिद्धान्तहरू बोल्ने होइनन् बरु यसो गरेर, तिनीहरूले मानिसहरूलाई हृदयदेखि तिनीहरूको सम्मान गर्ने, तिनीहरूलाई उच्च ठान्ने, र तिनीहरूको डर समेत मान्ने, तिनीहरूको बन्धन र नियन्त्रणमा पर्ने तुल्याउने उद्देश्य राख्छन्। यसरी शब्द र धर्मसिद्धान्तहरू बोल्‍ने कार्य बाधा दिने र अवरोध ल्याउने कार्य हो। मण्डली जीवनमा, त्यस्ता व्यक्तिहरूलाई प्रतिबन्धित गर्नुपर्छ, र शब्द र धर्मसिद्धान्तहरू बोल्ने यो व्यवहारलाई पनि रोक्‍नुपर्छ, र जाँच नगरी जारी रहन दिनु हुँदैन। कतिले यसो भन्‍न सक्छन्, “यस्ता मानिसहरूलाई प्रतिबन्धित गरिनुपर्छ; त्यसपछि पनि के तिनीहरूलाई बोल्ने मौका दिनुपर्छ?” निष्पक्षताको हिसाबमा भन्दा, तिनीहरूलाई बोल्ने मौका दिन सकिन्छ, तर तिनीहरू फेरि आफ्नो प्रदर्शन गर्ने र धाक लगाउने आफ्‍नो पुरानै शैलीमा फर्केर जानेबित्तिकै, र तिनीहरूको महत्त्वाकाङ्क्षा फेरि देखा पर्न लाग्‍नेबित्तिकै, तिनीहरूलाई स्पष्ट र शान्त पार्न तिनीहरूको कुरा तुरुन्तै रोक्‍नुपर्छ। यदि तिनीहरूले प्रायजसो यसरी धाक लगाउँछन्, र तिनीहरूको महत्त्वाकाङ्क्षा अझै प्रायजसो प्रकट भइरहन्छ, र तिनीहरूका इच्छाहरू नियन्त्रण गर्न गाह्रो हुन्छ भने के गर्नुपर्छ? तिनीहरूलाई सीधै प्रतिबन्धित गर्नुपर्छ र बोल्नबाट रोक्नुपर्छ। यदि तिनीहरू बोल्दा कसैले पनि सुन्‍न मन पराउँदैन, र तिनीहरूको बोलीको भाव र व्यवहार, र तिनीहरूको आँखाको हेराइ, र तिनीहरूको हाउभाउ हेर्दा र सुन्दा सबैलाई घृणा लाग्छ भने, यो गम्भीर समस्या हो। यो त सबैलाई वितृष्णा गराउने अवस्थामा पुग्छ। मण्डलीमा प्रतिभारको भूमिका खेल्ने त्यस्ता मानिसहरू स्टेजबाट निस्किनुपर्दैन र? यतिखेर तिनीहरू आफ्‍नो भूमिकाबाट बाहिर निस्कने समय आएको हुन्छ। के यसले तिनीहरूले आफ्नो सेवा पूरा गरिसकेका छन् भन्‍ने अर्थ दिँदैन र? तिनीहरूले आफ्नो अन्तिम सेवा पूरा गरिसकेपछि के गर्नुपर्छ? तिनीहरूलाई सफाइ गरी हटाउनुपर्छ। तिनीहरूले बोल्न थाल्नेबित्तिकै, यो तिनीहरूको पुरानै गफ हुन्छ, जुन कुरालाई प्रतिबन्धले समेत रोक्न सक्दैन। यो कुरा सुनेर सबै थकित भइसकेका हुन्छन्। तिनीहरूको घृणित अनुहार, त्यो शैतानको, त्यो दियाबलसको अनुहार स्पष्ट हुन्छ। तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। यदि तिनीहरूलाई निकै चाँडै सफाइ गरी हटाइयो भने, धेरैजसो मानिसहरूले धारणाहरू राख्छन् र हृदयमा विश्‍वस्त नभएर यसो भन्छन्, “परमेश्‍वरको घरमा प्रेमको कमी छ, कसैलाई केही समय अवलोकन नै नगरी हटाउनु भनेको तिनीहरूलाई पश्‍चात्ताप गर्ने कुनै मौका नदिनु हो। तिनीहरूले बाहिरी मानिसहरूका केही शब्दहरू मात्रै बोले, अलिअलि भ्रष्ट स्वभाव प्रकट गरे, र अलिक अहङ्कारी भए, तर तिनीहरूको अभिप्राय खराब थिएन। तिनीहरूलाई यसरी व्यवहार गर्नु अनुचित हुन्छ।” तर जब धेरैजसोले दुष्ट मानिसहरूको सार चिन्‍न र देख्‍न सक्छन्, तब के त्यस्ता दुष्ट मानिसहरूलाई मण्डलीमा लापरवाह रूपमा दुष्कर्म, बाधा र व्यवधानहरू जारी राख्‍न दिनु उचित हुन्छ? (हुँदैन।) सबै दाजुभाइ-दिदीबहिनीहरूप्रति यो अनुचित हुन्छ। त्यस्ता परिस्थितिहरूमा, तिनीहरूलाई हटाउँदा समस्या समाधान हुन्छ। तिनीहरूले आफ्नो अन्तिम सेवा दिएपछि र धेरैजसो मानिसहरूले तिनीहरूलाई चिनेपछि, तैँले तिनीहरूलाई सफाइ गरी हटाउँदा धेरैजसो मानिसहरूले आपत्ति जनाउनेछैनन्—तिनीहरूले परमेश्‍वरलाई गुनासो गर्ने वा गलत बुझ्नेछैनन्। यदि अझै पनि तिनीहरूलाई प्रतिरक्षा गर्ने मानिसहरू छन् भने, तैँले यसो भन्‍न सक्छस्: “त्यो व्यक्तिले मण्डलीमा धेरै दुष्कर्महरू गर्‍यो। उसलाई ख्रीष्टविरोधीको रूपमा खुट्ट्याएर हटाइएको हो। तैपनि तिमी अझै त्यो व्यक्तिप्रति धेरै सहानुभूति देखाउँछौ; तिमी अझै उसले तिमीलाई देखाएको दयाबारे विचार गर्छौ, र उसको प्रतिरक्षा गर्छौ। तिमी अत्यन्तै भावनात्मक भइरहेको छौ, र तिमीमा सिद्धान्तहरूको पूर्ण कमी छ। यसका परिणामहरू के हुन्छन्? उसले थोरै सहयोग गरेको थियो, र पनि त्यो तिमी बिर्सन सक्दैनौ; उसले जे भने नि, तिमी इमानदारीपूर्वक पालना गर्छौ, र सधैँ उसको दयाको ऋण तिर्न चाहन्छौ। अहिले उसलाई हटाइएको छ। के तिमी पनि ऊसँगै जान चाहन्छौ? यदि तिमी पनि हटाइन चाहन्छौ भने, त्यस्तै हुनेछ।” के यो परिस्थिति सम्हाल्ने उचित तरिका हो? यस विन्दुमा, यो उचित तरिका हो। यदि त्यस्ता मानिसहरूले अरूलाई बहकाउन निरन्तर शब्द र सिद्धान्तहरू बोल्छन्, मानिसहरूलाई अबदेखि भेलाहरूमा आउनै नचाहने गरी, असहनीय रूपमा बाधा दिन्छन् भने, के यो अगुवाहरू र कामदारहरू स्तब्ध र मूर्ख भएकाले, र तिनीहरूमा समझशक्ति र यी मानिसहरूलाई समयमै सम्हाल्‍ने सक्षमता नभएकोले होइन र? यो तिनीहरूले काम गर्न र जिम्मेवारी पूरा गर्न नसक्नु हो।

अहिले, धेरैजसो मानिसहरूले शब्द र सिद्धान्तहरू बोल्ने ख्रीष्टविरोधीहरूबारे केही हदसम्म समझ प्राप्त गरेका छन्। तिनीहरूले टाउको नउठाए त ठीकै छ, तर तिनीहरूले टाउको उठाउनेबित्तिकै, विभिन्‍न तरिकाले ठेट रूपमा पर्याप्त हुने गरी काम गर्नेबित्तिकै, र मानिसहरूले तिनीहरूलाई ख्रीष्टविरोधी भनेर पहिचान गर्नलाई तिनीहरूका विभिन्‍न प्रकटीकरणहरू पर्याप्त हुनेबित्तिकै, थप ढिलाइ वा हिचकिचाहट गरिनु हुँदैन। तिनीहरूलाई तुरुन्तै प्रतिबन्धित र अलग गरिनुपर्छ। यदि तिनीहरूको सेवाको अब कुनै मूल्य छैन भने, तिनीहरूलाई तुरुन्तै सफाइ गरी हटाइनुपर्छ। शब्द र धर्मसिद्धान्तहरू बोल्ने त्यस्ता ढोँगी ख्रीष्टविरोधीहरूलाई खुट्टयाउन सजिलो हुन्छ, किनभने त्यस्ता मानिसहरू स्पष्ट रूपमै ख्रीष्टविरोधीहरू हुन्। यति हो, त्यस्तो ख्रीष्टविरोधीले शक्ति हातमा लिने आफ्नो उद्देश्य हासिल गर्न सधैँ शब्द र सिद्धान्तहरू बोल्ने मौका दुरुपयोग गरेर मानिसहरूलाई बहकाउन चाहन्छ। ख्रीष्टविरोधीहरू प्रकट हुने एउटा तरिका यही हो, र यसलाई खुट्याउन सजिलो छ। यो विषयमा पहिले नै पर्याप्त छलफल भइसकेको छ, त्यसकारण यसलाई यहाँ विस्तृत रूपमा व्याख्या गरिनेछैन। सारांशमा भन्दा, अगुवाहरू र कामदारहरूले त्यस्ता मानिसहरूलाई निकै ध्यान दिनुपर्छ, तुरुन्तै र सही रूपले तिनीहरूका चालचलन, विचार, र दृष्टिकोण, साथै तिनीहरूका योजना र कार्य, र तिनीहरूले फैलाउने गलत टिप्पणीहरूलाई बुझ्‍नु र बोध गर्नुपर्छ, र त्यसैअनुसार तिनीहरूलाई तुरुन्तै तह लगाउनुपर्छ। यो अगुवाहरू र सेवकहरूको जिम्मेवारी हो। त्यसकारण, कम्तीमा पनि, अगुवहरू र कामदारहरू यो काममा आत्मिक रूपमा उत्साहित र मानसिक रूपमा होशियार हुनुपर्छ, स्तब्ध र सुस्त हुनु हुँदैन। यदि ख्रीष्टविरोधीले भेलाहरूमा शब्द र सिद्धान्तहरू बोलेर धेरै मानिसहरूलाई बहकाउँछ, र मण्डली अगुवाहरूले अझै पनि तिनीहरूलाई ख्रीष्टविरोधीको रूपमा पहिचान गरेर तुरुन्तै खुलासा गर्न र सम्हाल्न सक्दैनन् भने, यो तिनीहरू आफ्‍नो जिम्मेवारी पूरा गर्न असफल हुनु हो। यदि धेरै मानिसहरूलाई ख्रीष्टविरोधीहरूले पहिले नै बहकाएका छन्, र ख्रीष्टविरोधीहरूले शब्द र धर्मसिद्धान्तहरू बोलेको सुन्‍न नपाउँदा तिनीहरूलाई भेलाहरू अर्थहीन लाग्छ, र त्यसैले तिनीहरू भेलाहरूमा सहभागी हुन वा परमेश्‍वरका वचनहरू खान-पिउन र प्रवचनहरू सुन्नसमेत अनिच्छुक हुन्छन्, बरु ख्रीष्टविरोधीहरूकै प्रचार सुन्न मन पराउँछन् भने—यदि मानिसहरूलाई ख्रीष्टविरोधीहरूले यति हदसम्‍म बहकाएर नियन्त्रण गरिसकेपछि मात्रै मण्डली अगुवाहरूले परिस्थितिको गम्भीरता महसुस गरेर कार्य गर्न र परिस्थिति सही बनाउन सुरु गर्छन् भने—यसले निकै ढिलाइ ल्याउनेछ! यस्ता झूटा अगुवाहरूको सुस्तता र मूर्खताको कारण परमेश्‍वरका चुनिएका धेरै मानिसहरूको जीवन प्रवेशमा समस्या हुनेछ। जब ख्रीष्टविरोधीहरूलाई चिरफार गरिन्छ, खुट्ट्याइन्छ, र हटाइन्छ, तब कतिपय मानिसहरू बहकिएर तिनीहरूको पछि लाग्‍न सक्छन्। कतिले यसोसमेत भन्‍न सक्छन्, “तपाईंले तिनीहरूलाई हटाउनुभयो भने, हामी परमेश्‍वरमा विश्‍वास गर्न छोड्नेछौँ। यदि तपाईंले तिनीहरूलाई जान दिनुभयो भने, हामी सबै जानेछौँ!” यस विन्दुमा, मण्डली अगुवाहरूले कुनै पनि वास्तविक काम गरिरहेका छैनन् भन्‍ने कुरा पूर्ण रूपमा स्पष्ट हुन्छ, र त्यो तिनीहरू आफ्‍नो जिम्मेवारी पूरा गर्न गम्भीर रूपमा असफल हुनु हो।

मण्डली जीवनमा, अगुवाहरू र कामदारहरूले गर्नुपर्ने पहिलो कुरा भनेको विभिन्‍न व्यक्तिको स्थिति बुझ्नु हो। तिनीहरूले मण्डलीका हरेक सदस्यले कुन मार्ग लिएका छन् भनेर अवलोकन गरी बुझ्‍नुपर्छ र अन्तरक्रियाद्वारा तिनीहरूको प्रकृति सार के हो, र को ख्रीष्टविरोधीको बाटो हिँडिरहेको छ र कोसँग ख्रीष्टविरोधीको सार छ भनेर तुरुन्तै र सही रूपमा पत्ता लगाउनु र पहिचान गर्नुपर्छ। त्यसपछि, तिनीहरूले ती व्यक्तिहरूमा ध्यान दिनुपर्छ, तिनीहरूलाई नियाल्‍नुपर्छ, र तिनीहरूले फैलाउने दृष्टिकोण र अभिव्यक्तिहरू, र तिनीहरूले हाल के-कस्ता कार्यहरू अघि बढाउने तयारी गरिरहेका छन् भनेर तुरुन्तै बुझ्नु र बोध गर्नुपर्छ। जब तिनीहरूले मानिसहरूलाई बहकाउन, र फन्दामा पार्न र नियन्त्रण गर्न चाहन्छन्, तब अगुवाहरू र कामदारहरूले निष्क्रिय रूपमा पर्खेर बस्‍नुको सट्टा तिनीहरूलाई रोक्न तुरुन्तै खडा हुनुपर्छ। यदि तैँले परमेश्‍वरले तिनीहरूलाई खुलासा गर्नुहुन्जेलसम्‍म, वा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू बहकाउमा परुन्जेलसम्‍म वा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले ख्रीष्टविरोधीहरूबारे बुझ्‍ने र समझशक्ति प्राप्त गरुन्जेलसम्‍म पर्खिबस्छस्, र त्यसपछि मात्रै ख्रीष्टविरोधीलाई खुलासा गर्छस् भने, त्यसले मामलामा ढिलाइ गरिसकेको हुन्छ। त्यसकारण, ख्रीष्टविरोधीहरूविरुद्ध सतर्क हुँदा, अगुवाहरू र कामदारहरूले पहिले प्रहार गर्न अग्रसरता देखाउनुपर्छ र अग्रिम रूपमा तयारी गर्नुपर्छ। पहिलो कदम भनेको तुलनात्मक रूपमा सीधा र सत्यता खोजी गर्न सक्‍ने मानिसहरूलाई बढुवा गर्नु र तालिम दिनु हो; अर्थात्, विभिन्‍न कामहरूमा अगुवाको भूमिका लिने मानिसहरूलाई उचित रूपमा मलजल र आपूर्ति गर्नु, र तिनीहरूलाई मण्डलीका खम्बाहरू बन्‍न तालिम दिनु हो। यसरी मात्रै मण्डलीको कामका विभिन्‍न क्षेत्रहरू सहजसाथ र बिनाबाधा अघि बढ्न सक्छन्, र सुसमाचारको काम निरन्तर फैलिन सक्छ। यो जुनसुकै काम भए नि, यदि काममा असल अगुवाको कमी छ भने, यसलाई पूरा गर्न निकै गाह्रो हुन्छ। परमेश्‍वरविरुद्ध ख्रीष्टविरोधीहरूको अवज्ञाको मुख्य प्रकटीकरण भनेको परमेश्‍वरको घरको कामको हरेक पक्षमा बाधा र व्यवधान ल्याउन परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाएर तिनीहरूको पछि लाग्‍ने बनाउनु हो। मण्डलीमा, ख्रीष्टविरोधीहरूले राख्‍ने पहिलो उद्देश्य भनेको न्यायबोध भएका र कामका विभिन्‍न क्षेत्रहरूमा अगुवाको भूमिका लिनेहरूलाई हानि गर्नु हो। तिनीहरूले बहकाउन र नियन्त्रण गर्न सक्‍ने मानिसहरूलाई आफ्नो पक्षमा ल्याउँछन्, र बहकाउन वा नियन्त्रण गर्न नसक्‍ने मानिसहरूलाई षड्यन्त्रमा पार्छन्, फन्दामा पार्छन्, र ढाल्छन्, र अन्ततः तिनीहरूलाई सफाइ गरी हटाउँछन्। यसले ख्रीष्टविरोधीहरूको लागि मण्डली नियन्त्रण गर्न बाटो खोल्छ। तिनीहरूले सुरुमा सत्यता पछ्याउन सक्‍ने केही मुख्य व्यक्तिहरूलाई ढाल्छन्; बाँकी धेरैजसो मानिसहरू त परिस्थिति जता बग्छ त्यतै बग्‍ने मानिसहरू हुन्छन्। त्यसपछि, तिनीहरूलाई निर्दिष्ट रूपमै अगुवाहरू र कामदारहरू तह लगाउन निकै सजिलो हुन्छ। सत्यता पछ्याउनेहरूको सहकार्य र सहयोगविना, अगुवाहरू र कामदारहरूले आधारभूत रूपमा बिनाकुनै सहयोग एकलै लडिरहेका हुन्छन्। तिनीहरू बाहिर ज्योतिमा हुन्छन्, जबकि ख्रीष्टविरोधीहरू अन्धकारमा लुकेर बस्छन्, र तिनीहरूलाई कुनै पनि बेला धूर्त आक्रमण गर्न, षड्यन्त्र र फन्दामा पार्न, र निन्दा गर्न, तिनीहरूलाई खडा हुन नसक्‍ने गरी प्रहार गरेर लडाउन तम्तयार हुन्छन्। त्यसपछि ती ख्रीष्टविरोधीहरूले तिनीहरू लडिरहेको बेला लात हान्‍ने मानिसहरू खोज्छन्, जसले गर्दा तिनीहरू पूर्ण रूपमा निरुत्साहित र हताश बन्‍न पुग्छन्। त्यसकारण, यदि सत्यता पछ्याउनेहरू तिनीहरूविरुद्ध एकजुट भएर लागेनन् भने, ख्रीष्टविरोधीहरूको समस्या पूर्ण रूपमा समाधान गर्न निकै गाह्रो हुन्छ। मण्डली जीवनमा, अगुवाहरू र कामदारहरूले गर्नुपर्ने पहिलो कुरा भनेको मण्डलीको सामान्य सुव्यवस्था कायम राख्‍नु हो। ख्रीष्टविरोधीहरूको मार्ग हिँड्ने यी दुष्ट मानिसहरू उपस्थित हुँदा, मण्डली जीवनबाट कुनै पनि असल परिणामहरू आउँदैनन्, मण्डली जीवन सजिलै सही मार्गमा जाँदैन, र धेरैजसो मानिसहरू बाधा र प्रभावमा पर्छन्। त्यसकारण, दुष्ट मानिसहरू, ख्रीष्टविरोधीहरू, र ख्रीष्टविरोधीहरूको बाटो हिँड्नेहरूलाई पत्ता लगाउनु, बुझ्नु, बोध गर्नु र औँल्याउनु नै अगुवाहरू र कामदारहरूले मण्डली जीवनको सन्दर्भमा गर्नुपर्ने पहिलो र सबैभन्दा महत्त्वपूर्ण काम हो। यी मानिसहरूलाई प्रतिबन्धित वा सफाइ गरेर मात्रै मण्डली जीवनको सामान्य सुव्यवस्था कायम राख्‍न सकिन्छ। यदि तिनीहरूलाई प्रतिबन्धित गरिएन र जानीजानी लापरवाही व्यवहार गर्न र व्यवधानहरू पैदा गर्न दिइयो भने, मण्डलीको कामका विभिन्‍न कुराहरू ठप्प हुनेछन्। धेरैजसो मानिसहरू तिनीहरूलाई खुट्याउने समझशक्ति नभएका र तिनीहरूको सार देख्‍न नसक्‍ने, र तिनीहरूका विभिन्‍न भ्रमपूर्ण विचार र दृष्टिकोणहरूद्वारा बाधामा पारिएका र बहकाइएका समेत हुने हुनाले, परमेश्‍वरका चुनिएका मानिसहरूलाई मण्डली जीवनमा सही मार्ग हिँड्न र सत्यता वास्तविकतामा प्रवेश गर्न गाह्रो हुन्छ। यदि यो अवधिमा मण्डली जीवन अत्यन्तै सामान्य छ, र परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरका वचनहरू खाने-पिउने र सत्यता सङ्गति गर्ने कार्यमा उन्‍नति र प्रगति गर्छन्, र तिनीहरूले अन्ततः केही जीवन प्रवेश र थोरथोरै सत्यता वास्तविकता प्राप्त गर्छन्, तर ख्रीष्टविरोधीहरूले बोल्ने शब्द र धर्मसिद्धान्तहरूद्वारा बहकाउ र बाधामा पर्छन् भने, तिनीहरूले भर्खरै प्राप्त गरेको त्यो थोरै शुद्ध बोध र साँचो बुझाइ गुमाउने मात्र नभई, तिनीहरूले धेरै किसिमका विधर्म र भ्रमहरू पनि धारण गर्छन्—माझीलाई नाउ खियाउन छोड्नेबित्तिकै छालले किनारमा पुर्‍याएजस्तै तिनीहरू तुरुन्तै फेरि अलमल्‍ल पर्छन्, र त्यो समस्याको कुरा हो। मानिसहरूलाई जीवन वृद्धि प्राप्त गर्न सजिलो छैन; थोरथोरै प्रगति देख्‍न पनि वर्षौँ लाग्‍न सक्छ, त्यो अत्यन्तै ढिलो कुरा हो। मानिसहरूले पाएको सानो कद प्राप्त गर्न पनि गाह्रो हुन्छ—त्यो सहजै प्राप्त हुँदैन। ख्रीष्टविरोधीहरूको बहकाउ र बाधाद्वारा मानिसहरूमा भएको थोरै शुद्ध बुझाइ पनि हराएको हुन्छ। अझै गम्भीर कुरा त, शैतान र ख्रीष्टविरोधीहरूको बाधापछि, मानिसहरू एकदमै धेरै रूपमा शैतानको दर्शन, शैतानका युक्ति र चलाकीहरू, र शैतानले तिनीहरूमा हालिदिएको विषद्वारा भरिएका हुन्छन्। यी कुराहरूले मानिसहरूलाई परमेश्‍वरलाई चिन्‍न र उहाँमा समर्पित हुन नदिने मात्र होइन, बरु उल्टै मानिसहरूलाई परमेश्‍वरबारे धारणा र गलतफहमीहरू विकास गर्न, र उहाँबाट टाढा जान लगाउँछन्, जसले गर्दा मानिसहरूको भ्रष्ट स्वभाव अझै गम्भीर हुन्छ, र परमेश्‍वरप्रति तिनीहरूको धोका अझै सबल बन्छ। यसका परिणामहरू अत्यन्तै गम्भीर हुन्छन्। मलाई भन् त, यस्ता गम्भीर परिणामहरू सामना गर्दा, के मानिसहरूलाई शब्द र सिद्धान्तहरूद्वारा बहकाउनेहरूलाई रोक्नु र प्रतिबन्धित गर्नु अत्यावश्यक हुन्‍न र? के यो मण्डली अगुवाहरूले लिनुपर्ने महत्त्वपूर्ण काम होइन र? (हो।) त्यसकारण, दुष्ट मानिसहरू र अविश्‍वासीहरूलाई प्रतिबन्धित गर्नु मण्डलीको महत्त्वपूर्ण काम हो। कतिपय मानिसहरूले भन्छन्, “ममा समझशक्ति छैन। यो काम कसरी गर्ने मलाई थाहा छैन।” वास्तवमा, जबसम्‍म तँसँग इच्छा हुन्छ, र जबसम्‍म तैँले ध्यान दिएर अवलोकन गर्छस्, र सधैँ मानिसहरूका अभिप्राय र मनसायहरू जाँच्छस्, तबसम्‍म तैँले क्रमिक रूपमा समझशक्ति विकास गर्नेछस्। यी अविश्‍वासी र दुष्ट मानिसहरू देखा पर्नेबित्तिकै, तिनीहरूका आफ्नै अभिप्राय र मनसायहरू हुन्छन्, र त्यो सबै मानिसहरूलाई तिनीहरूलाई आदर गर्न र आदर्श ठान्‍न लगाउने, र तिनीहरूका कुरा सुन्न लगाउने उद्देश्यमा केन्द्रित हुन्छन्। यदि तैँले तिनीहरूको अभिप्राय र मनसाय थाहा पाउन सक्छस् भने, यो पहिले नै केही समझशक्ति प्राप्त गरेको अवस्था हो। यदि तँ पक्का छैनस् भने, तैँले यो विषयमा तुलनात्मक रूपमा अलिक बढी सत्यता बुझ्‍ने केही मानिसहरूसँग सङ्गति गर्न सक्छस्। सङ्गतिको अवधिमा, एकतर्फ, तैँले सबैले बुझेको सत्यता र बोध गरेका विभिन्‍न तथ्यहरूको आधारमा यो कुरा निर्धारित गर्न सक्छस्। अर्कोतर्फ, तैँले सङ्गतिको बेला परमेश्‍वरले दिनुभएको अन्तर्दृष्टि र अगुवाइ र ज्योतिद्वारा यो मामलाबारे सुनिश्‍चितता प्राप्त गर्न सक्छस्, र यसरी तैँले सम्बन्धित व्यक्ति साँच्‍चै ख्रीष्टविरोधी र साँच्‍चै प्रतिबन्धित गरिनुपर्ने व्यक्ति हो कि होइन भनेर निश्‍चित गर्न सक्छस्। सङ्गतिद्वारा, यदि सबैले सुनिश्‍चितता प्राप्त गर्छन् र यो व्यक्ति साँच्‍चै नै प्रतिबन्धित गरिनुपर्ने ख्रीष्टविरोधी हो भनेर सर्वसम्मतिले सहमति जनाउँछन् भने—विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग सहमतिमा पुगेपछि र सबै जना साझा दृष्टिकोणमा पुगेपछि—अगुवाहरू र कामदारहरूले लिनुपर्ने अर्को कदम भनेको यो व्यक्तिलाई सत्यता सिद्धान्तहरूअनुसार तुरुन्तै तह लगाउनु र सफाइ गरी हटाउनु हो। सिद्धान्त यही हो। मानिसहरूले यो सिद्धान्त बुझेपछि, तिनीहरूले वास्तविक काम गर्नुपर्छ, जसको अर्थ आफ्नो जिम्मेवारी पूरा गर्नु र बफादार हुनु हो। सिद्धान्तहरू बुझ्नु भनेको प्रचार गर्न वा मस्तिष्क भर्नको लागि होइन, बरु आफ्नो कर्तव्यको वास्तविक काममा लागू गर्नको लागि हो। वास्तविक काममा, सिद्धान्तहरू बुझ्‍नाले तैँले आफ्नो जिम्मेवारी र दायित्वहरू अझै राम्ररी र अझै पूर्ण रूपमा पूरा गर्न सक्छस्। त्यसकारण, यो पनि अगुवाहरू र कामदारहरूको कामको भाग हो। मण्डली जीवनको सामान्य सुव्यवस्था कायम राख्‍नको लागि र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई मण्डली जीवन सामान्य रूपमा जिउन र परमेश्‍वरले तोक्नुभएका सबै सत्यताहरूमा प्रवेश गर्न दिनको लागि, जब शब्द र सिद्धान्तहरू बोल्ने ख्रीष्टविरोधीहरू देखा पर्छन्, तब अगुवाहरू कामदारहरूले नै पहिले खडा भएर तिनीहरूलाई रोक्नु र प्रतिबन्धित गर्नुपर्छ। शब्द र सिद्धान्तहरू बोल्ने ख्रीष्टविरोधीहरूको हकमा, यो कुरा तिनीहरूले केही गलत कुराहरू भनेको कारण तिनीहरूलाई प्रतिबन्धित गर्नु मात्र होइन। यदि तिनीहरू साँच्‍चै नै ख्रीष्टविरोधी प्रकारका मानिसहरू हुन् भनेर निर्धारित गर्नको लागि दीर्घकालीन अवलोकन वा बहुसंख्यकको प्रतिक्रिया र तिनीहरूको विशिष्ट प्रकटीकरणहरू पर्याप्त छन् भने, अगुवाहरू र कामदारहरूले तिनीहरूलाई रोक्न र प्रतिबन्धित गर्न अग्रसरता जनाउनुपर्छ, र तिनीहरूलाई बिनानियन्त्रण रहन दिनु हुँदैन। तिनीहरूलाई मस्त रहन दिनु भनेको मण्डलीमा दियाबलसहरू, शैतानहरू, फोहोरी पिशाचहरू, र दुष्ट आत्माहरूलाई उन्मत्त हुन दिनुसरह हो, जसको अर्थ त्यस्ता अगुवाहरू र कामदारहरूले आफ्नो जिम्मेवारी बेवास्ता गरिरहेका हुन्छन्, र आधारभूत रूपमा शैतानको लागि काम गरिरहेका हुन्छन्। मण्डली जीवनका बाधा र व्यवधानहरूबारे दोस्रो प्रकारको समस्या सम्बन्धमा गरिएको सङ्गति अहिले यही समाप्त हुन्छ।

३. घरायसी मामलाहरूबारे कुरा गर्नु, व्यक्तिगत सम्पर्कहरू निर्माण गर्नु, र व्यक्तिगत मामलाहरू सम्हाल्नु

यसपछि, तेस्रो समस्याबारे सङ्गति गरौँ: घरायसी मामलाहरूबारे कुरा गर्नु, व्यक्तिगत सम्पर्कहरू निर्माण गर्नु, र व्यक्तिगत मामलाहरू सम्हाल्नु। हाम्रो सङ्गतिमा हामीले सम्बोधन गर्ने तेस्रो मामलाका यी समस्याहरू मण्डली जीवनमा अवश्य नै प्रकट हुनु हुँदैन। मण्डली जीवन जिउने क्रममा, मानिसहरू परमेश्‍वरका वचनहरू खान-पिउन, परमेश्‍वरका वचनहरू आदानप्रदान गर्न, सत्यता सङ्गति गर्न, र आफ्नो व्यक्तिगत अनुभवका गवाहीहरूमा सङ्गति गर्न आउँछन्, र यस क्रममा तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू र सत्यताको बुझाइ खोजी गर्छन्। त्यसोभए, के मण्डली जीवनमा घरायसी मामलाहरूबारे कुरा गर्नु, व्यक्तिगत सम्पर्कहरू निर्माण गर्नु, र व्यक्तिगत मामलाहरू सम्हाल्नुजस्ता समस्याहरूलाई रोक्नु र प्रतिबन्धित गर्नुपर्छ? (पर्छ।) कति मानिसहरू भन्छन्, “के एकअर्कालाई अभिवादन गर्नु ठीक होइन र? यदि दुई मानिसहरू तुलनात्मक रूपमा नजिक छन् र पहिले नै परिचित भइसकेका छन्, र तिनीहरूले मण्डली जीवनको अवधिमा भेटेर अलिअलि कुराकानी गर्छन् भने, के त्यो घरायसी मामलाहरूबारे कुराकानी गर्नु हो? के यसलाई पनि प्रतिबन्धित गर्नुपर्छ?” के तेस्रो मामलाले यस्ता समस्याहरू जनाउँछ? (जनाउँदैन।) स्पष्ट रूपमै, जनाउँदैन। यदि सरल र शिष्ट अभिवादनमा पनि प्रतिबन्ध लगाइयो भने, भविष्यमा मानिसहरूले भेला हुँदा बोल्नसमेत डराउनेछन्। तेस्रो समस्या, अर्थात् घरायसी मामलाहरूबारे कुरा गर्नु, व्यक्तिगत सम्पर्कहरू निर्माण गर्नु, र व्यक्तिगत मामलाहरू सम्हाल्नुमा यी तीन वाक्यांशहरू मात्रै समावेश हुन सक्छन्, तर यी वाक्यांशहरूले प्रतिनिधित्व गर्ने समस्याहरू सरल, शिष्ट अभिवादन वा कुराकानीहरू होइनन्। ती त मण्डली जीवनमा बाधा, व्यवधान, र हानि ल्याउन सक्‍ने दुष्ट कार्यहरू हुन्। ती बाधा र व्यवधानहरू हुन्, त्यसकारण तिनको बारेमा सङ्गति गर्न सार्थक हुन्छ। अनि के कुरा सङ्गति गर्नुपर्छ? मानिसहरूले कुनकुन समस्याहरू, कुनकुन शब्दहरू बोल्छन्, तिनीहरूले केकस्ता कामकुराहरू गर्छन्, र मानिसहरूका कुनकुन बोलीवचन, व्यवहार, र अपमानजनक कुराहरू मण्डलीको काममा बाधा र व्यवधान ल्याउने स्तरमा पुग्‍न सक्छन्। ती समस्याहरू गम्भीर छन् कि छैनन्, ती बाधा र व्यवधानहरू हुन् कि होइनन्, र तिनलाई रोक्‍नु र प्रतिबन्धित गर्नुपर्छ कि पर्दैन भन्‍ने कुरा हेर्न, अब हामी केही खास उदाहरणहरूबारे छलफल गरौँ।

मण्डली जीवनमा, कतिपय मानिसहरूले प्रायजसो परिवारका सानातिना मामलाहरू र आफ्ना धारणा र विचारहरूबारे यसरी कुरा गर्छन्, मानौँ ती छलफलका मुख्य विषयहरू हुन्। उसले भन्छे: “अहिले समाज अत्यन्तै अन्धकारमय छ; गैरविश्‍वासीहरूसँग अन्तरक्रिया गर्नु र तिनीहरूसँग बस्नु अत्यन्तै थकाइलाग्दो कुरा हो। गैरविश्‍वासीहरूले कुनै पनि कुरा गर्न सक्छन्; यो साँच्‍चै असहनीय कुरा हो!” त्यसपछि केही विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले भन्छन्, “हामी परमेश्‍वरमा विश्‍वास गर्छौं; हामीले जस्तोसुकै परिस्थितिहरू सामना गरे पनि, हामीले समझशक्ति प्रयोग गर्न र सत्यता र अभ्यासका मार्गहरू खोजी गर्न सक्नुपर्छ। यदि तपाईँ यसरी जिउनुभयो भने, तपाईँलाई थकाइ लाग्‍नेछैन।” तैपनि उसले भन्छे, “परमेश्‍वरको वचन सत्यता हो, तर यो औषधी होइन। मलाई मेरो श्रीमान्‌को अफेयर भइरहेको छ भन्‍ने चिन्ता लाग्थ्यो, र यो कुरा साँचो हुन पुग्यो—उसले मभन्दा जवान र सुन्दर व्यक्ति भेट्टाएछ। मैले कसरी आफ्‍ना दिनहरू बिताउने?” यसरी कुरा गर्दै जाँदा, ऊ दुःख मान्दै रुन पनि थाल्छे। उसले यसरी बोल्दा अरू केही मानिसहरूलाई पनि दुःख लाग्छ। उसको जस्तै दुर्दशा भोग्‍ने केही मानिसहरू पनि उसको पक्षमा उभिएर तुरुन्तै ऊसँग कुरा गर्न थाल्छन्। दुई घण्टाको भेलामा, उसले आफ्‍नो श्रीमान्‌को अफेयर भएपछि कसरी ऊ र श्रीमान्‌बीच विवाद भयो, कसरी उसले तिनीहरूको साझा सम्पत्ति स्थानान्तर गर्ने उपायहरू सोच्ने प्रयास गरी, डिभोर्सपछि घाटामा पर्नबाट बच्न वकिलसँग कसरी परामर्श गरी, र आदि इत्यादि कुरा गरी भनेर विस्तारमा छलफल गरी। के यो मण्डली जीवनमा छलफल गर्नुपर्ने विषय हो त? (होइन।) यदि तेरो पारिवारिक मामलाहरू समाधान भएका छैनन् र तँ भेलाहरूमा सहभागी हुँदा तेरो मन बाहिर जान्छ भने, नआउनु नै बेस हुन्छ। मण्डली भेला हुने ठाउँ तैँले आफ्नो व्यक्तिगत गुनासो प्रकट गर्ने ठाउँ होइन, न त यो घरायसी मामलाहरूबारे कुरा गर्ने ठाउँ नै हो। यदि तैँले घरमा कठिनाइहरू सामना गरिरहेको छस् र तँ यी समस्याहरूको उल्झन र बाध्यतामा पर्न, वा प्रतिबन्धित हुन चाहँदैनस्, र तँ परमेश्‍वरको अभिप्राय बुझ्न सत्यता खोजी गर्न चाहन्छस्, र यी सबै कुरा त्याग्‍न चाहन्छस् भने, तैँले भेलाको बेला आफ्ना समस्याहरूबारे छोटकरीमा सङ्गति गर्न सक्छस् ताकि दाजुभाइ-दिदीबहिनीहरूले तँलाई सहयोग गर्न सत्यता सङ्गति गर्न सकून्। यसले तँलाई परमेश्‍वरको अभिप्राय बुझ्न र तँलाई दह्रिलो बन्‍न, यी समस्याहरूको बन्धनमा नपर्न, नकारात्मकता र कमजोरीबाट बाहिर निस्कन, र तेरो लागि सही र सबैभन्दा उपयुक्त मार्ग छनौट गर्न मद्दत गर्न सक्छ। तैँले सङ्गति गर्नुपर्ने कुरा यही हो। तर यदि तैँले यी झिजोलाग्दा सानातिना कुराहरू आफ्नो घरबाट मण्डली जीवनमा ल्याएर प्रचार गर्छस्, र धेरैजसो मानिसहरूले सरमले तँलाई रोक्दैनन् वा तेरो कुरा बीचैमा काट्दैनन्, बरु धैर्यता कायम राखेर यी झिजोलाग्दा सानातिना कुराहरू बाध्य भएर सुनिरहन्छन् भने, के यो उचित हुन्छ? के यो प्रेम देखाउनु हो? के यो सहनशील र धैर्य हुनु हो? तेरो यो व्यवहारले मण्डली जीवनमा पहिल्यै व्यवधान ल्याइसकेको छ। यसबाट को पीडित हुन्छ? परमेश्‍वरका चुनिएका मानिसहरू। विशेषगरी मूलभूमि चीनको वातावरणमा, जहाँ भेला हुन सजिलो छैन र विश्‍वासीहरू सबै ठाउँमा लुक्‍नुपर्छ, त्यहाँ अग्रिम रूपमा विभिन्‍न कुराहरूको समयतालिका बनाउनुपर्छ—यदि कसैले भेला हुने ठाउँमा हरेकलाई यी सबै झिजोलाग्दा पारिवारिक मामलाहरू सुनाउँछ र यसबारे टिप्पणी गर्न लाउँछ भने, के यो उचित हुन्छ? धेरैजसो मानिसहरू सत्यता र परमेश्‍वरका अभिप्रायहरू बुझ्न भेलाहरूमा आउँछन्, यी झिजोलाग्दा सानातिना कुराहरू सुन्न, घरायसी मामलाहरूबारे तेरो गफ सुन्न होइन। कति मानिसहरू भन्छन्, “मसँग नजिकको अरू कोही छैन, त्यसकारण विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग यस्ता कुराहरूबारे गफ गर्नुमा के गल्ती हुन्छ र?” तैँले ती कुराबारे गफ गर्न सक्छस्, तर समय महत्त्वपूर्ण छ। भेलाको समयभन्दा बाहिर, अर्को पक्ष सुन्न तयार छ भने, तैँले ती कुराबारे कुरा गर्न सक्छस्; त्यो तेरो स्वतन्त्रता हो, र परमेश्‍वरको घरले तँलाई प्रतिबन्धित गर्नेछैन। तर तैँले अहिले त्यस्ता विषय कुरा गर्न छनौट गरेको ठाउँ र समय सही छैन। यो मण्डली जीवनको समय हो, भेलाको समय हो, र परिवारका मामलाहरूबारे तेरो अन्त्यहीन कुराकानीले निरन्तर विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिन्छ र यसलाई प्रतिबन्धित गरिनुपर्छ। के यो नियम होइन र? यो वास्तवमै एउटा नियम हो। नियमहरू नबुझ्नु स्वीकार्य हुँदैन, किनभने यसले गर्दा तर्कहीन व्यवहार गर्ने र अरूलाई बाधा दिने अवस्था ल्याउन सक्छ। बाधाहरू पैदा गर्ने व्यवहार, बोलीवचन, र आचरणलाई प्रतिबन्धित गरिनुपर्छ; यो अगुवाहरू र कामदारहरूको, साथै सबै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको जिम्मेवारी हो। कति मानिसहरूसँग भेलाहरूमा सङ्गति गर्ने कुरा सामान्यतया थोरै हुन्छ, तर जब तिनीहरूको पारिवारिक जीवनमा समस्याहरू देखा पर्छन्, तब तिनीहरूले अरूलाई यी झमेलापूर्ण सानातिना कुराहरू सुनाउँछन्। के अरूले सुन्नैपर्छ भन्‍ने हुन्छ र? के तिनीहरूसँग ती मानिसहरूको लागि सही र गलत मूल्याङ्कन गर्ने दायित्व हुन्छ र? तिनीहरूसँग त्यस्तो कुनै दायित्व हुँदैन। ती कुराहरू ती मानिसहरूका व्यक्तिगत मामला हुन्, र तिनीहरूले ती कुराहरू आफै सम्हाल्नुपर्छ; तिनीहरूले भेलाको समयमा आफ्नो व्यक्तिगत मामलाहरूबारे कुरा गर्नु हुँदैन। यो नियमविपरीत र तर्कहीन हुन्छ, र यस्तो व्यवहारलाई प्रतिबन्धित गरिनुपर्छ।

कतिपय मानिसहरूका छोराछोरी विश्‍वविद्यालय जान्छन्, र तिनीहरूले आफ्ना छोराछोरीका सम्भाव्यताहरूबारे चिन्ता गर्न, र तिनीहरूको लागि चिनजान-सम्पर्कहरू बढाउन, निरन्तर यस्तो सोच्न थाल्छन्, “हाम्रो परिवारमा कुनै सरकारी अधिकारीहरू छैनन्; मेरो छोराले विश्‍वविद्यालयबाट स्नातक गरेपछि कस्तो जागिर पाउन सक्छ? उसको भविष्य कस्तो हुनेछ? के मेरो वृद्ध अवस्थामा उसले मलाई साथ दिन सक्‍नेछ? उसले स्नातक गरेपछि राम्रो जागिर पाउँछ भन्‍ने कुरा सुनिश्‍चित गर्ने उपाय मैले खोज्नुपर्छ।” भेलाहरूमा सहभागी हुँदा, तिनीहरूले भन्छन्, “मेरो छोरा अत्यन्तै आज्ञाकारी छ। उसले परमेश्‍वरमाथिको मेरो विश्‍वासलाई समर्थन गर्ने मात्र होइन, उसले त विश्‍वविद्यालय पूरा गरेपछि विश्‍वास पनि गर्न चाहन्छ। तैपनि, एउटा कुरा के हो भने, हामीले परमेश्‍वरमा विश्‍वास गरे पनि, हामीले अझै पनि जीविकोपार्जन गर्नुपर्छ, होइन र? स्नातक गरेपछि उसले कस्तो जागिर पाउन सक्छ मलाई थाहा छैन। अहिले कुनकुन जागिरमा राम्रो तलब पाउँछ? सिस्टर फलानी, तपाईँको श्रीमान्‌ म्यानेजर हुनुहुन्छ भन्‍ने सुनेको छु। के उहाँले सहयोग गर्ने कुनै उपाय थियो कि? मेरो छोरा शिक्षित छ, उसले संसार देखेको छ, उसको क्षमता मेरो भन्दा राम्रो छ, र ऊ कम्प्युटरमा सिपालु छ; उसले भविष्यमा परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्न सक्छ। तर अहिले, सुरुमा जागिर खोज्ने कुरा हल गर्नुपर्छ; उसले जागिर पाउन सकेन भने उसलाई गाह्रो हुनेछ।” तिनीहरू भेलामा आउँदा, हरेकपटक नै यी कुराहरू उठाउँछन्, र कुरा कहिल्यै सकिँदैन। तिनीहरूले आफूलाई कसले सहानुभूति दिन सक्छ भनेर हेर्छन्, र त्यसपछि ती मानिसहरूसँग सम्बन्ध निर्माण गर्ने प्रयास गर्छन्। भेलाहरूको बेला तिनीहरूले ती मानिसहरूसँग नजिकिन र तिनीहरूलाई मनपर्ने कुराहरू र उपहारसमेत दिने प्रयास गर्छन्, र कहिलेकहीँ त तिनीहरूको लागि स्वादिष्ट खानेकुरा ल्याइदिने वा सानातिना सरसामान किनिदिनेसमेत गर्छन्। के यो व्यक्तिगत सम्पर्क निर्माण गर्नु र जग तयार गर्नु होइन र? जग तयार गर्नुको उद्देश्य के हो? यो आफ्नो व्यक्तिगत मामलाहरू सम्हाल्न, आफ्नै उद्देश्यहरू हासिल गर्न अरूलाई प्रयोग गर्नु हो। भेलाहरूमा तिनीहरू अनुभवात्मक गवाही सुनाउने विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको कुरा सुन्न चाहँदैनन्, परमेश्‍वरको घरले तिनीहरूको लागि मिलाएको हरकुनै काम तिनीहरूले बेवास्ता गर्छन्, र तिनीहरूको स्थितिबारे तिनीहरूलाई सहयोग र सल्लाह दिने दाजुभाइ-दिदीबहिनीहरूको कुरा सुन्न तिनीहरू चाहँदैनन्। तिनीहरू आफ्नो छोराले जागिर पाउने कुरामा मात्रै अत्यन्तै उत्साहित हुन्छन्, र यसबारेमै निरन्तर कुरा गर्छन्। तिनीहरूले आफूले भेट्ने जोकोहीसँग मात्रै होइन भेलाहरूमा पनि यसबारेमै कुरा गर्छन्। छोटकरीमा भन्दा, तिनीहरूले यो मामलामा विशेष ध्यान दिन्छन् र यसैमा धेरै मेहनत लाउँछन्। हरेक भेलामा, तिनीहरूले यो मामलामा कुरा गर्न दाजुभाइ-दिदीबहिनीहरूबाट केही समय लिनैपर्ने हुन्छ। आफ्‍नै अनुभवहरूबारे सङ्गति गर्दा पनि, तिनीहरूले यसबारे उल्लेख गर्न बिर्सँदैनन्, र हरेकलाई दिक्‍क र वाक्‍क नलागेसम्म कुरा गरिरहन्छन्, र तिनीहरूलाई रोक्न धेरैजसो मानिसहरूलाई अप्ठ्यारो लाग्छ। यो क्षण, अगुवाहरू र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र यसो भन्दै तिनीहरूलाई प्रतिबन्धित गर्नुपर्छ, “तपाईँको परिस्थिति सबैलाई थाहा छ। यदि कोही दाजुभाइ-दिदीबहिनीहरू सहयोग गर्न तयार छन् भने, त्यो तपाईँहरूको व्यक्तिगत सम्बन्ध हो। यदि अरूले सहयोग गर्न चाहँदैनन् भने, तपाईँले उहाँहरूलाई जबरजस्ती गर्नु हुँदैन। तपाईँको छोरालाई जागिर खोज्‍न सहयोग गर्नु विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको दायित्व वा जिम्मेवारी होइन; यो तपाईँको व्यक्तिगत मामला हो र तपाईँले दाजुभाइ-दिदीबहिनीहरूको परमेश्‍वरका वचनहरू खाने-पिउने र सत्यता सङ्गति गर्ने बहुमूल्य समय लिनु हुँदैन। व्यक्तिगत मामलाहरूबारे सङ्गति गरेर अरूले परमेश्‍वरका वचनहरू खाने-पिउने कार्यमा हस्तक्षेप नगर्नुहोस्। भेलापछि, तपाईँले आफूले चाहेको व्यक्तिसँग कुरा गर्न सक्‍नुहुन्छ, आफूले चाहेको व्यक्तिबाट मद्दत माग्‍न सक्‍नुहुन्छ, तर यसबारे कुरा गर्न भेलाको समय प्रयोग नगर्नुहोस्। व्यक्तिगत मामलाहरू सम्हाल्न भेलाको समय प्रयोग गर्नु तर्कहीन र लाजमर्दो कुरा हो; यो मण्डली जीवनमा बाधा दिने कार्यको प्रकटीकरण हो। यो मामला यहीँ नै समाप्त हुनुपर्छ।” अगुवाहरू र कामदारहरूले गर्नुपर्ने कुरा यही हो।

भेलाहरूमा, कतिपय वृद्ध महिलाहरूले आश्रयदाता परिवारका जवान बहिनीहरू सुन्दर, इमानदार, र परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने र सत्यता पछ्याउने व्यक्तिहरू हुन् भन्‍ने पत्ता लगाउँछन्, त्यसकारण तिनीहरूलाई मन पराउँछन् र ती जवान बहिनीहरूलाई आफ्नो बुहारी बनाउन चाहन्छन्। तिनीहरूले भेलाहरूमा यो कुरा सधैँ उठाउने मात्र होइन, भेलाहरूमा आउँदा ती जवान बहिनीहरूलाई थोरथोरै कृपा र थप हेरचाह पनि प्रदान गर्छन्। ती जवान बहिनीहरू असहमत हुँदा पनि, तिनीहरूले तिनीहरूलाई निरन्तर झिज्याउँछन् र सताउँछन्, र छोड्दै छोड्दैनन्। तिनीहरू कस्ता मानिसहरू हुन्? के तिनीहरू नीच चरित्रका होइनन् र? तिनीहरू सबै विश्‍वासी दिदीबहिनीहरू भएकाले, धेरैजसोले यी समस्याहरू हल गर्न परमेश्‍वरका अभिप्रायहरू र उहाँका वचनहरू मात्रै सङ्गति गर्न सक्छन्। तैपनि, कति मानिसहरूमा विवेक, समझ, र आत्मचेतना हुँदैन, तिनीहरूमा ठूलो व्यक्तिगत इच्छा हुन्छ, र तिनीहरूले कुनै सरमबोध नगरी आफ्‍नो हरकुनै स्वार्थी इच्छा पूरा गर्न चाहन्छन्। त्यसकारण, कति मानिसहरू त भेलाहरूमा यस्तो कुराको सिकार बन्छन् र असहज महसुस गर्छन्। के यो अरूलाई बाधा दिनु होइन र? त्यस्ता परिस्थितिहरूमा के गर्नुपर्छ? मण्डली जीवन र दाजुभाइ-दिदीबहिनीहरूमाझ यस्ता कुराहरू प्रतिबन्धित गर्न र हटाउन मण्डली अगुवाहरू खडा हुनुपर्छ। यसको साथै, कति मानिसहरूले भेलाहरूमा हरकिसिमका मुडहरू लिएर आउँछन्—तिनीहरूको छोराले सन्तानीय प्रेम गर्दैन, बुहारीले सधैँ माइतमा सामानहरू लैजान्छ, सासू र बुहारीबीच झगडा भइरहन्छ…। तिनीहरूले हरेक भेलामा यी झिजोलाग्दा सानातिना कुराहरूबारे गफ गर्छन्, र यसो भन्दै आफ्ना गुनासाहरू प्रस्तुत गर्छन्: “परमेश्‍वरले भन्‍नुहुने सबै कुरा साँचो हो; अहिले मानवजाति अत्यन्तै भ्रष्ट भएको छ। मेरो छोरा र बुहारीलाई हेर, तिनीहरूमा विवेकको कमी छ, समझको कमी छ—परमेश्‍वरले मानवताको कमी हुनु भनेर भन्‍नुभएको यही हो, र तिनीहरू पशुहरूभन्दा पनि खराब छन्। दूध पिउँदा भेडाको पाठालाई समेत निहुरिन आउँछ, तर मेरो छोराले श्रीमती पाएपछि आफ्‍नी आमालाई नै बिर्स्यो!” तिनीहरूले भेलाहरूमा सहभागिता जनाउँदा हरेकपटक, यी गुनासाहरू व्यक्त गर्छन्। भेलाहरूमा सहभागी हुँदा आफ्नो कम्पनीका कुराहरू बताउने मानिसहरू पनि छन्—कसले धेरै काम गर्छ र धेरै बोनस पाउँछ; अर्को महिना कसले बढुवा पाउँछ, जबकि तिनीहरूको आफ्नो चाहिँ बढुवाको कुनै आशै हुँदैन; अनि कसले सबैभन्दा राम्रो लुगा लगाउँछ र सबैभन्दा राम्रो ब्रान्डको सामान किन्छ; कसले धनी श्रीमान्‌सँग विवाह गरेको छ…। लामो समय परमेश्‍वरमा विश्‍वास गरेका र केही जग बसालेका मानिसहरूको हकमा भन्दा, तिनीहरूले त्यस्तो कुरा सुन्न चाहँदैनन् र त्यसप्रति वाक्‍क मान्छन्। तैपनि, अझै जग बसाल्‍न वा परमेश्‍वरका वचनहरूमा रुचि विकास गर्न बाँकी रहेका कतिपय नयाँ विश्‍वासीहरूले यस्ता विषयहरूलाई उत्साहजनक ठान्छन्, र तिनीहरूले कुराकानी गर्ने र व्यक्तिगत सम्पर्कहरू निर्माण गर्ने ठाउँ भेट्टाइयो भन्‍ने सोच्छन्। भेलाहरूमा, तिनीहरू अघिपछि गर्दै कुराकानी गर्छन्, र बिस्तारै ती दुई मानिसहरूले एकअर्कालाई मन पराउँछन् र तिनीहरूको सम्पर्क विकास हुन्छ, र यसरी व्यक्तिगत सम्बन्ध निर्माण हुन्छ। भेला हुने ठाउँ लेनदेनको स्थल, मानिसहरूले व्यर्थको गफ गर्ने, व्यक्तिगत सम्पर्कहरू बनाउने, व्यापारिक लेनदेन गर्ने, र व्यावसायिक काममा संलग्‍न हुने ठाउँ बनेको हुन्छ। यी समस्याहरू अगुवाहरू र कामदारहरूले तुरुन्तै पहिचान गरेर रोक्नुपर्ने कुराहरू हुन्।

कति मानिसहरू त आफ्नो लागि राम्रो जागिर खोज्ने उद्देश्यले भेलाहरूमा सहभागी हुन्छन्, कतिले आफ्नो श्रीमान्‌लाई बढुवा पाउन मद्दत गर्न, कतिले आफ्ना छोराछोरीको लागि राम्रो जागिर खोज्न, र कतिले छुटमा सामान किन्न सहभागिता जनाउँछन्। कति अरूचाहिँ आफ्नो परिवारका बिरामीहरूको लागि धेरै उपहार दिनुनपरी राम्रो मुख्य डाक्टर खोज्‍न भेलाहरूमा आउँछन्। छोटकरीमा भन्दा, सत्यता नपछ्याउने र गुप्त मनसाय बोक्‍ने ती अविश्‍वासीहरूले व्यक्तिगत सम्पर्कहरू निर्माण गर्ने र व्यक्तिगत मामलाहरू सम्हाल्ने सबैभन्दा राम्रो समय मण्डली भेलाहरूको समयलाई ठान्छन्। प्रायजसो, परमेश्‍वरका वचनहरू सङ्गति गर्ने वा यो दुष्ट संसार र यो भ्रष्ट मानवजातिको सार चिन्‍ने बहानामा, तिनीहरूले आफ्ना कठिनाइहरू र आफूले छलफल गर्न चाहेका विषयहरू उठाउँछन्, र अन्ततः आफ्ना लुकेका स्वार्थी मनसायहरू र तिनीहरूले पूरा गर्ने उद्देश्य राखेका व्यक्तिगत मामलाहरू बिस्तारै खुलासा गर्छन्। तिनीहरूले आफ्नै अभिप्रायहरू खुलासा गर्छन्, र अरूलाई तिनीहरूले कठिनाइहरू सामना गरिरहेका छन् भन्‍ने गलत विश्‍वास गराउँछन्, र सबैले तिनीहरूलाई विनासर्त प्रेम देखाउनु र सहयोग गर्नुपर्छ र सट्टामा केही अपेक्षा गर्नु हुँदैन भन्‍ने इङ्गित गर्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने नाममा विभिन्‍न कमीकमजोरीबाट फाइदा उठाउँछन्, भेला हुने स्थानहरूमा आफूले साथी बनाउन चाहेकाहरू र तिनीहरूको काम पूरा गरिदिन सक्‍ने मानिसहरू खोजी गर्छन्। कतिले त भित्री गोप्य मूल्यमा कार किन्‍न खोज्दै, दाजुभाइ-दिदीबहिनीहरूमाझ कार डिलरमा काम गर्ने वा कार डिलरको मालिकसँग सम्पर्क भएको कुनै पनि व्यक्ति छ कि भनेर खोज्छन्। तिनीहरूले आफ्नो निसाना पहिचान गरेपछि, तिनीहरू त्यो व्यक्तिसँग मिलनसार भएर सम्पर्क निर्माण गर्न थाल्छन्। यदि त्यो व्यक्तिलाई परमेश्‍वरका वचनहरू पढ्न मन पर्छ भने, तिनीहरू सँगै परमेश्‍वरका वचनहरू पढ्न प्रायजसो त्यो व्यक्तिको घर जान्छन्, र भेलाहरूमा तिनीहरू त्यो व्यक्तिको छेउ बसेर सम्पर्क जानकारी साट्छन्। त्यसपछि, तिनीहरूले आफ्नो उद्देश्य पूरा नभएसम्म हरेस नखाने सङ्कल्प गर्दै आफ्नो चाल सुरु गर्छन्। यी सबै मण्डलीभित्र र मानिसहरूमाझ बारम्बार देखा पर्ने समस्याहरू हुन्। यदि भेलाका स्थानहरूमा र भेलाको समयमा यी समस्याहरू देखा परे भने, यी कुराले वास्तवमै मण्डली जीवनमा बाधा र व्यवधान ल्याउँछन्, र मण्डली जीवनमा असर पार्छन्। यदि लामो समयसम्म मण्डलीमा मण्डली जीवन भएन भने, त्यो मण्डली सामाजिक समूह, लेनदेन गर्ने ठाउँ, व्यक्तिगत सम्पर्क निर्माण गर्ने, चोर बाटोबाट निगाह खोज्ने, र व्यक्तिगत मामलाहरू सम्हाल्ने ठाउँ बन्छ। यो ठाउँको प्रकृति परिवर्तन हुन्छ, र यसका परिणामहरू के हुन्छन्? कम्तीमा पनि, यसले गर्दा मण्डली जीवन गुम्छ, अर्थात् विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग प्रार्थना गरेर परमेश्‍वरका वचनहरू पढ्न र सत्यता बुझ्‍न बिताइने बहुमूल्य समय खेर जान्छ। अझ भन्‍ने हो भने, र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले गर्दा पवित्र आत्माले काम गर्ने, र मानिसहरूलाई सत्यता बुझ्न अन्तर्दृष्टि प्रदान गर्ने बहुमूल्य अवसर खेर जान्छ। यो सबैले मानिसहरूको जीवन प्रवेशमा हानि गर्छ। त्यसकारण, परमेश्‍वरका चुनिएका मानिसहरूको फाइदा र जीवन प्रवेशको लागि, र सबैको जीवनप्रति जिम्मेवार हुनको लागि, त्यस्ता व्यक्तिहरूलाई रोक्नु र प्रतिबन्धित गर्नु अत्यावश्यक हुन्छ; अगुवाहरू र कामदारहरूले गर्नुपर्ने काम यही हो। अवश्य नै, यदि साधारण विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले यी मानिसहरू र तिनीहरूका व्यवहारहरूको वास्तविकता छर्लङ्गै देख्‍न सक्छन् भने, तिनीहरूले पनि इन्कार गर्न खडा भई “हुँदैन” भनेर भन्‍नुपर्छ। विशेषगरी मण्डली जीवन जिउने क्रममा, मानिसहरूको लागि मण्डली जीवन सबैभन्दा महत्त्वपूर्ण समय हो, र त्यस क्रममा यदि कसैले यी कुराहरूबारे गफ गर्न र यी कुराहरू सम्हाल्न भेलाहरूको समय लिन्छ भने, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग यी कुराहरू बेवास्ता गर्ने अधिकार हुन्छ, र अझै बढी रूपमा, यस्ता कुराहरू रोक्‍ने र इन्कार्ने अधिकार हुन्छ। के यसो गर्नु सही कुरा हो? (हो।) कति मानिसहरूले के सोच्छन् भने परमेश्‍वरको घरले यसो गर्दा यसले मानवीय न्यानोपनको कमी देखाउँछ। के मानवीय न्यानोपन सामान्य मानवता हो? के मानवीय न्यानोपन सत्यताअनुरूप हुन्छ? यदि तँसँग मानवीय न्यानोपन छ र तैँले आफ्नो व्यक्तिगत मामलाहरूको लागि भेलाको समय लिन्छस्, र धेरैजसो मानिसहरूलाई तँलाई साथ र सहयोग दिन लगाउँछस्, आफ्‍ना व्यक्तिगत मामलाहरू सम्हाल्ने आफ्‍नो उद्देश्य हासिल गर्छस्, र परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्ने र सत्यता सङ्गति गर्ने सामान्य क्रम बिथोल्छस्, र तिनीहरूलाई यो बहुमूल्य समय गुमाउन लगाउँछस् भने, के यो तिनीहरूको लागि निष्पक्ष हुन्छ? के यो मानवीय न्यानोपन हुनुसँग मिल्छ? यो त सबैभन्दा अमानवीय र अनैतिक शैली हो, र मानिसहरूले खडा भएर यसको निन्दा गर्नुपर्छ। यदि अगुवाहरू र कामदारहरू प्रभावकारी छैनन् भने, तिनीहरू काम नलाग्‍ने, र त्यस्ता व्यवहारहरू तुरुन्तै रोक्न र प्रतिबन्धित गर्न नसक्‍ने, र वास्तविक काममा संलग्‍न नहुने मानिसहरू हुन् भने, न्यायबोध भएका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू यस्तो व्यवहार र यस्तो वातावरण मण्डलीमा फैलिनबाट रोक्न एकजुट हुनुपर्छ। यदि तँ परमेश्‍वरका वचनहरू पढ्ने र सत्यता सङ्गति गर्ने बहुमूल्य समय गुमाउन चाहँदैनस्, र तेरो जीवन प्रवेशमा बाधा र हानि होस्, र मुक्ति पाउने आफ्‍नो मौका बरबाद होस् भन्‍ने चाहँदैनस् भने, तँ यस्ता घटनाहरू इन्कार्न, रोक्न, र प्रतिबन्धित गर्न खडा हुनुपर्छ। त्यसो गर्नु उचित र परमेश्‍वरका अभिप्रायअनुरूप हुन्छ। तिमीहरूमध्ये कतिलाई त यसो गर्न अप्ठेरो लाग्छ; तँलाई लज्जित महसुस हुन सक्छ, तर दुष्टहरू लज्जित हुँदैनन्। तिनीहरूले तेरो भेलाको बहुमूल्य समय, अर्थात् पवित्र आत्माले काम गर्ने र परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुने तेरो समय लिने दुस्साहस गर्छन्। यदि तँलाई ती कुराहरू इन्कार्न अप्ठेरो लाग्छ भने, तँ आफ्नो जीवन गुमाउन लायक छस्! यदि तँ शैतान, दियाबलस, र अविश्‍वासीहरूलाई प्रेम देखाउन, तिनीहरूलाई सहयोग दिन, अरूको लागि आफूलाई त्याग गर्न र सिद्धान्तहरू बेवास्ता गर्न तयार हुन्छस् भने, तैँले आफ्नो जीवनको घाटाको दोष कसलाई दिन सक्छस्? त्यसकारण, व्यक्तिगत सम्पर्क निर्माण गर्ने र व्यक्तिगत मामलाहरू सम्हाल्ने सबै घटनाहरूलाई मण्डली जीवनबाट पूर्ण रूपमा हटाइनुपर्छ। यदि कसैले भेलाको समयमा आफ्नै तरिकाले कुरा गर्न जिद्दी गर्छ, र आफ्नो घरका मामलाहरूबारे कुरा गर्न, व्यर्थका गफहरू गर्न, व्यक्तिगत मामलाहरू सम्हाल्न, वा अरूको लागि जागिर र रोमान्टिक साथी खोज्न जिद्दी गर्छ, र यसरी समय बिताउने विभिन्‍न बहाना बनाउँछ भने, त्यस्तो व्यक्तिलाई कसरी सम्हाल्नुपर्छ? सर्वप्रथम, तिनीहरूलाई रोक्नुपर्छ; यदि तिनीहरूले अझै पनि मानेनन् भने, अलग गर्ने र प्रतिबन्धहरू लगाउने कारबाही गर्नुपर्छ। यदि तिनीहरूले पर्दापछाडि बाधाहरू पैदा गरिरहन्छन्, जोसँग सक्छन् त्योसँग नजिक हुन्छन् र जहाँसुकै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको सामान्य जीवन पिरोल्छन् भने, तिनीहरूलाई सफाइ गरी हटाइनुपर्छ र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको रूपमा लिनु हुँदैन। तिनीहरू मण्डली जीवन जिउन योग्य हुँदैनन् र तिनीहरू भेलाहरूमा सहभागी हुन लायक हुँदैनन्। त्यस्ता मानिसहरूलाई प्रतिबन्धित र इन्कार गरिनुपर्छ। अवश्य नै, यो काम पनि सबै स्तरका अगुवाहरू र कामदारहरूले गर्नुपर्ने महत्त्वपूर्ण काम हो। जब त्यस्ता मामला र परिस्थितिहरू देखा पर्छन्, तब पहिले खडा भएर तिनीहरूलाई रोक्‍ने मानिसहरू अगुवाहरू र कामदारहरू नै हुनुपर्छ। तिनीहरूले कसरी रोक्नुपर्छ? तिनीहरूले तिनीहरूलाई यसो भन्‍नुपर्छ, “के तपाईँलाई तपाईँको यो व्यवहारले मण्डली जीवनमा पहिले नै बाधा र व्यवधानहरू ल्याइसकेको छ भन्‍ने थाहा छ? यो सबै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले घृणा गर्ने र घिनाउने कुरा हो, र परमेश्‍वरले पनि यसलाई निन्दा गर्नुहुन्छ। तपाईँले यो व्यवहार रोक्नुपर्छ। यदि तपाईँ कुरा सुन्‍नुहुन्‍न र आफ्नो बाटोमा जिद्दी भएर लागिरहनुहुन्छ भने, तपाईँको मण्डली जीवन रोकिनेछ, तपाईँसँग भएका परमेश्‍वरका वचनहरूका पुस्तकहरू खोसिनेछ, र मण्डलीले तपाईँलाई अबउप्रान्त स्वीकार गर्नेछैन!” अवश्य नै, कतिपय मानिसहरूको कद सानो भएकोले र तिनीहरूले सत्यता नबुझ्‍ने हुनाले, कहिलेकहीँ घरका मामलाहरूबारे कुराकानी गर्न, कसैसँग सम्पर्क बनाउन, वा केही सानातिना मामला सम्हाल्न सक्छन्, र त्यस्तो परिस्थिति त्यति गम्भीर हुँदैन। के यो ठीकै हुन्छ? (हुन्छ।) सबैलाई कुनै बाधा नदिने परिस्थितिहरूमा, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले एकअर्कालाई सहयोग गर्नु र एकअर्कालाई थोरथोरै प्रेम देखाउनु स्वीकार्य नै हुन्छ। तर हामीले जे कुरा सङ्गति गरिरहेका छौँ, त्यो के हो? यो त यस्तो व्यवहार र कार्यहरूले पहिले नै सामान्य मण्डली जीवनमा बाधा र व्यवधानहरू ल्याइसकेको अवस्था हो; त्यस्तो अवस्थामा, संलग्‍न व्यक्तिहरूलाई रोक्‍नु र प्रतिबिन्धित गरिनुपर्छ। हामीले तिनीहरूलाई मण्डली जीवनमा बाधा र व्यवधान ल्याउन दिइरहनु हुँदैन। यी कारबाहीहरू गर्नु विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशको लागि फाइदाजनक हुन्छ। कतिपय मानिसहरूले यस्तै व्यवहार देखाउँछन्, तर परिस्थिति गम्भीर हुँदैन र यसले बाधा र व्यवधानहरू ल्याउँदैन; यो विश्‍वासी दिदीबहिनीहरूबीचको सामान्य अन्तरक्रिया, सामान्य रूपमा एकअर्कालाई सहयोग गर्ने र जानकारीको लागि सल्लाह गर्ने, वा आफूले नबुझेको सामान्य ज्ञानबारे सोधपुछ गर्ने कार्य मात्रै हुन्छ। जबसम्‍म यसले भेलाहरूको समय लिँदैन र दुवै पक्षले एकअर्कालाई जबरजस्ती नगरी सहमति जनाउँछन् र यसमा दुबै पक्ष इच्छुक रहन्छन्, र यो सामान्य मानवताको क्षेत्रभित्र पर्ने अन्तरक्रिया हुन्छ, तबसम्‍म यस्तो कार्यलाई अनुमति दिन सकिन्छ र मण्डलीले यसलाई प्रतिबन्धित गर्नेछैन। तैपनि यसमा एउटा कुरा छ: यदि मण्डली जीवनमा कसैको लापरवाही बोलीवचन र व्यवहारले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई हैरानी दिन्छ वा उनीहरूको जीवनमा व्यवधान ल्याएको छ, र कतिपय मानिसहरूलाई यसप्रति घृणा लागेको छ र तिनीहरूले आफ्नो आपत्ति व्यक्त गरेका छन् भने, अगुवाहरू र कामदारहरूले यो समस्या समाधान गर्न अघि बढ्नुपर्छ। अथवा, यदि अरूले पहिले नै कुनै व्यक्तिबारे रिपोर्ट गरिसकेका छन्, र यो व्यक्ति भेलाको बेला परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्दैन, बरु यसको सट्टा आफ्नो घरायसी मामलाहरूबारे कुरा गर्छ र व्यक्तिगत सम्पर्कहरू बनाउँछ, भेला हुने स्थानलाई व्यक्तिगत सम्पर्कहरू निर्माण गर्ने र व्यक्तिगत मामलाहरू सम्हाल्ने ठाउँको रूपमा लिन्छ, अरूबाट कृपा माग्छ र आफूले सक्‍नेजति हरकसैलाई शोषण गर्छ भनेर रिपोर्ट गरेका छन्; अनि यो व्यक्ति नीच चरित्रको, स्वार्थी, घृणित, र खराब छ, ऊ सत्यता पछ्याउँदैन, बरु सबै ठाउँमा फाइदाहरू खोज्छ, र आफ्नो फाइदाको लागि विभिन्‍न अवसरहरू हेर्छ भनेर बताएका छन् भने, त्यस्तो व्यक्तिलाई अलग गरिनुपर्छ।

कति व्यक्तिहरूले त आफ्‍नो लागि काम गराउन केही धनी र प्रभावशाली विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई दुरुपयोग गर्छन्, र यदि तिनीहरूको अनुरोध पूरा भएन भने, तिनीहरूले प्रायजसो यी मानिसहरूमा प्रेम छैन र तिनीहरू साँचो विश्‍वासीहरू होइनन् भनेर दाबी गर्दै तिनीहरूको पिठ्यूँपछाडि आलोचना गर्छन्, र तिनीहरूबारे रिपोर्ट गर्नसमेत चाहन्छन्। के तिमीहरूले त्यस्ता व्यक्तिहरूलाई भेटेका छौ? के त्यस्ता मानिसहरूलाई सम्बोधन गरिनुपर्दैन र? त्यस्ता परिस्थितिहरू सामना गर्दा, के गर्नुपर्छ? विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा भएको छैन भन्‍ने सुनिश्‍चित गर्न अगुवाहरू र कामदारहरूले सिद्धान्तहरूअनुसार व्यवहार गर्दै समस्या समाधान गर्न कदम अघि बढाउनुपर्छ। के कसैले तिनीहरूको लागि कुनै काम गर्न नमान्‍नु गलत हो? के तिनीहरूलाई सहयोग गर्न नमान्नु भनेको सत्यताको अभ्यास नगर्नु वा परमेश्‍वरप्रति प्रेम नहुनुसरह हुन्छ? (हुँदैन।) कसैलाई सहयोग गर्ने कि नगर्ने त्यो तिनीहरूको आफ्नै स्वतन्त्रता हो; तिनीहरूसँग निर्णय गर्ने अधिकार हुन्छ। परमेश्‍वरको घरले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले मण्डली जीवनमा एकअर्काको पारिवारिक कठिनाइहरू समाधान गर्न सहयोग गर्नुपर्छ भनेर निर्धारित गरेको छैन। मण्डली जीवन पारिवारिक समस्याहरू समाधान गर्ने ठाउँ होइन, यो त परमेश्‍वरका वचनहरू खाने-पिउने र जीवनमा वृद्धि हुन भेला हुने ठाउँ हो। कति मानिसहरूले आफ्‍ना समस्याहरू समाधान गर्न मण्डली जीवन प्रयोग गर्छन्—यसले के-कस्ता परिणामहरू ल्याउन सक्छ? के यसले परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरको वचन खाने-पिउने र आफूलाई सत्यताले सुसज्जित गर्ने कार्यमा असर गर्दैन र? व्यक्तिगत जीवनका समस्याहरू विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग व्यक्तिगत रूपमा समाधान गर्न सकिन्छ; तिनलाई समाधान गर्न मण्डली जीवनमा ल्याउनुपर्दैन। व्यक्तिगत मामलाहरू सम्हाल्‍ने कार्यले परमेश्‍वरका चुनिएका मानिसहरूले मण्डली जीवन जिउने कार्यमा हस्तक्षेप गर्दा केकस्ता परिणामहरू देखा पर्छन् भन्‍ने कुरा सबैलाई थाहा हुनुपर्छ। अगुवाहरू र कामदारहरूले त्यस्ता मामलाहरू पत्ता लगाएपछि तिनलाई समाधान गर्न कदम चाल्नुपर्छ। तिनीहरूले मण्डलीमा सामान्य रूपमा कर्तव्य पूरा गर्न सक्‍नेहरूलाई रक्षा गर्नुपर्छ, साँचो रूपमा सत्यता पछ्याउनेहरूलाई रक्षा गर्नुपर्छ, र दुष्ट मानिसहरूलाई प्रतिबन्धित गर्नुपर्छ, र तिनीहरूलाई आफ्नो उद्देश्य हासिल गर्नबाट रोक्‍नुपर्छ। यो अगुवाहरू र कामदारहरूको जिम्मेवारी हो। यो तेस्रो समस्याका सामान्य मामलाहरूलाई कसरी लिने, कुनकुन प्रकटीकरणहरू गम्भीर प्रकृति वा परिस्थितिका हुन्छन्, र कुनकुन प्रकारका र प्रकटीकरणहरू बाधा र व्यवधानहरू हुन् भनेर स्पष्ट रूपमा छुट्याउनुपर्छ। परिस्थितिको गम्भीरता स्पष्ट रूपमा चिनेपछि, यसलाई यसको प्रकृतिअनुसार सम्हाल्नुपर्छ। यो अगुवाहरू र कामदारहरूले बुझ्नुपर्ने कुरा हो, र यो सबैले बुझ्नुपर्ने कुरा पनि हो।

४. गुटबन्दी गर्नु

मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने चौथो प्रकटीकरण गुटबन्दी गर्नु हो, जुन अत्यन्तै गम्भीर प्रकृतिको कुरा हो। गुटबन्दी गर्ने कार्यमा कुनकुन व्यवहार समावेश हुन्छन्? यदि परमेश्‍वरमा विश्‍वास गर्ने दुई जना मानिसहरू विश्‍वासी भएको पनि उतिकै समय भएको छ, तिनीहरूको उमेर, पारिवारिक परिस्थिति, चासो, व्यक्तित्व, आदि इत्यादि कुराहरू उस्तै छन्, र तिनीहरू मिलेर राम्ररी बस्छन्, भेलाहरूमा सँगै बस्छन्, र एकअर्कालाई नजिकबाट चिन्छन् भने, के यो गुटबन्दी गर्नुको रूपमा गन्ती हुन्छ? (हुँदैन।) यो सामान्य अन्तरवैयक्तिक अन्तरक्रियाको सामान्य घटना हो, जसले अरूलाई कुनै बाधा दिँदैन; त्यसकारण, यसलाई गुटबन्दी गर्नुको रूपमा लिइँदैन। त्यसोभए, यहाँ उल्लेख गरिएअनुसार गुटबन्दी गर्नुले केलाई जनाउँछ? उदाहरणको लागि, भेलामा सहभागी हुने पाँच जना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमध्ये तीन जना सहरका कामदारहरू हुन् र दुई जना गाउँका किसानहरू हुन् रे। ती तीन जना सहरी कर्मचारीहरू प्रायजसो सँगै बस्छन्, र गाउँका मानिसहरूमा शिक्षा, फराकिलो दृष्टिकोण, र शिष्टाचारको कमी हुने हुनाले गाउँमा सहरको भन्दा जीवन खराब हुन्छ भनेर कुरा गर्छन्। तिनीहरूले ग्रामीण मानिसहरूलाई हेला गर्छन्, र सधैँ ती दुई जना ग्रामीण व्यक्तिहरूलाई हेप्छन्, र त्यसपछि गाउँका ती मानिसहरूले पीडित भएको महसुस गर्छन् र तिनीहरूको विरोध गर्न चाहन्छन्, र सहरका मानिसहरू सानो सोचका हुन्छन् र हरेक कुरा हिसाबकिताब गर्छन्, तर ग्रामीण मानिसहरू उदार हुन्छन् भनेर भन्छन्। भेलाहरूमा, तिनीहरू कहिल्यै पनि सहमत हुँदैनन्, जसले गर्दा प्रायजसो अनावश्यक विवाद र बहस भइरहन्छ। के यी पाँच जना सद्‌भावसाथ मिलेर बस्छन्? के तिनीहरू परमेश्‍वरको वचनमा एकजुट हुन्छन्? के तिनीहरू एक-अर्कासँग मिल्छन्? (मिल्दैनन्।) जब सहरका मानिसहरूले सधैँ “हामी सहरका मानिसहरू” र गाउँका मानिसहरूले सधैँ “हामी गाउँका मानिसहरू” भनेर भन्छन्, तब तिनीहरूले के गरिरहेका हुन्छन्? (गुटबन्दी गरिरहेका हुन्छन्।) हामीले सङ्गति गर्ने चौथो विषय यही हो: गुटबन्दी गर्नु। यो गुटगत व्यवहारको अर्थ समूह र गुटहरू बनाउनु हो। क्षेत्र, आर्थिक अवस्था, र सामाजिक वर्ग, साथै फरकफरक दृष्टिकोणहरूको आधारमा विभिन्‍न गिरोह, गुट, र अन्य भित्री समूहहरू गठन गर्नु भनेको गुटबन्दी गर्नु हो। यी गुटहरूलाई जसले नेतृत्व गरे पनि, मण्डलीभित्र, फरकफरक गिरोह र गुटहरूको गठन, र बेमेल समूहहरूको गठन गर्नु सबै गुटबन्दी बनाउने कार्यहरू हुन्। कति ठाउँमा त एउटा पूरै विस्तारित परिवारले परमेश्‍वरमा विश्‍वास गर्छ, र भेला हुने स्थानमा, फरक थर भएका दुई जना व्यक्तिबाहेक, बाँकी सबै तिनीहरूको आफ्नै परिवारका हुन्छन्। त्यसपछि त्यो परिवारले एउटा गुट वा गिरोह बनाउँछ, जसले गर्दा ती फरक थर भएका दुई जना मानिसहरू बाहिरी मानिसहरू बन्छन्। त्यो परिवारको जोसुकै व्यक्तिले समस्या सामना गरे पनि वा काटछाँटमा परे पनि, यदि कुनै व्यक्तिले गुनासो व्यक्त गर्‍यो भने, अरू सबैजना उही भावना व्यक्त गर्न सहभागी हुन्छन्। यदि कसैले सिद्धान्तहरूविरुद्ध काम गर्‍यो भने, अरूले तिनीहरूबारे ढाकछोप गर्छन् र तिनका कार्यहरू लुकाउँछन्, र तिनको खुलासा गर्न कसैलाई दिँदैनन्; त्यो समस्याबारे त उल्लेख गर्नुसमेत स्वीकार्य हुँदैन, काटछाँट स्वीकार्य हुनु त धेरै परको कुरा हो। यहाँ समस्या के हो? के तिमीहरूले यो कुरा खुट्ट्याउन सक्छौ? जब यी परिवारका सदस्यहरू भेला हुन्छन्, तब तिनीहरू सबै एउटै स्वरमा र समान रूपमा गाइरहेका जस्तै हुन्छन्, र तिनीहरूले परिस्थिति कता गइरहेको छ भनेर हेरिरहन्छन् र बोल्नुभन्दा पहिले सङ्केतहरू सुन्छन्। यदि तिनीहरूको नाइकेले कुनै खास अडान लियो भने, अरू सबैले पनि त्यस्तै गर्छन्, र अरूले उसलाई चिढ्याउने वा विरोध गर्ने आँट गर्दैनन्। के मण्डली जीवनमा यस्तो घटना देखा पर्दा यसले मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधानहरू ल्याउँदैन र? यही गिरोहका मानिसहरूले नै भेलाहरूमा परमेश्‍वरका वचनहरूका कुनकुन खण्डहरू खाने र पिउने भनेर तय गर्छन्, अनि सबैले तिनै कुरा सुन्‍नुपर्छ; मण्डली अगुवाहरूले समेत तिनीहरूलाई इज्जत गर्नुपर्छ र विरोध गर्नु हुँदैन। तिनीहरूले अगुवाहरू र कामदारहरूको रूपमा को निर्वाचित हुनुपर्छ भनेर घोषणा गर्छन्, र मण्डली अगुवाहरूले तिनीहरूको रायलाई सबैभन्दा महत्त्वपूर्ण कुराको रूपमा लिनुपर्छ र यसलाई लापरवाही रूपमा लिनु हुँदैन। यसको साथै, तिनीहरूले निरन्तर “प्रतिभाहरू” भर्ना गर्छन्, र आफ्‍नो कुरा सुन्‍ने, आफूले भरोसा गर्न सक्‍ने, आफूलाई उपयोगी हुने मानिसहरूलाई समूहको प्रयोजनमा प्रयोग गर्न समूहमा ल्याउँछन्, र यसरी तिनीहरूले निरन्तर आफ्नो प्रभाव बढाउँछन्। यो गुटले मण्डली जीवन नियन्त्रण गर्ने उद्देश्य राख्छ; तिनीहरूको नाइकेले मण्डली नियन्त्रण गर्न चाहन्छ। यो समूहको शक्ति ठूलो हुन्छ; तिनीहरू मण्डलीभित्र काम गर्न एकजुट हुन्छन्। मण्डलीमा जेसुकै आइपर्दा पनि, तिनीहरू सहभागी हुन चाहन्छन्। अरूले बोल्नुभन्दा पहिले वा कुनै कुरा व्यवस्थापन गर्नुभन्दा पहिले तिनीहरूको अभिव्यक्ति बुझ्‍नुपर्छ, यहाँसम्‍म कि हरेक भेलाको खाने-पिउने विषयवस्तु पनि तिनीहरूको बन्दोबस्त र इच्छाअनुरूप नै हुनुपर्छ। मण्डली अगुवाहरूले केही गर्न चाहे पनि, सुरुमा तिनीहरूको रायबारे परामर्श लिनुपर्छ र तिनीहरूको विचार सुन्नुपर्छ। धेरैजसो दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूकै नियन्त्रणमा हुन्छन्, र मण्डलीको कामका धेरै मामलाहरू पनि तिनीहरूकै नियन्त्रणमा हुन्छन्। गुटबन्दी गर्ने यी मानिसहरूले मण्डली जीवन र मण्डलीको काममा गम्भीर बाधा र व्यवधान ल्याउँछन्। के यो समस्या गम्भीर छैन र? के यी कार्यहरू प्रतिबन्धित गरिनुपर्दैन र? के यी कुरालाई सम्बोधन गरिनुपर्दैन र? यी गुटका नाइकेहरूलाई प्रतिबन्धित गरिनु र हटाइनुपर्छ वा निष्कासित गरिनुपर्छ, र अन्धाधुन्ध रूपमा तिनीहरूलाई पछ्याउने भ्रष्ट व्यक्तिहरूलाई सुरुमा सङ्गति र सहयोग गरिनुपर्छ। यदि तिनीहरूले पश्‍चात्ताप गरेनन् वा आफ्नो मार्ग परिवर्तन गरेनन् भने, तिनीहरूलाई प्रतिबन्धित गरिनुपर्छ। तिनीहरूप्रति कुनै शिष्टता देखाउनु हुँदैन!

गुटबन्दी गर्नु भनेको के हो—के यो कुरा बुझ्न सजिलो छ? यदि एउटा व्यक्तिले कुनै समस्याको कुरा उठाउँछ र अरू धेरैले पनि त्यो विचारमा सहमति जनाउँछन् भने, के त्यो गुटबन्दी गर्नु हो? (होइन।) यदि तुलनात्मक रूपमा ठूलो बोझ लिने र न्यायबोध भएका केही विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले अरूलाई कुनै महत्त्वपूर्ण काम पूरा गर्न सहभागी हुन आग्रह गरे भने, वा यदि भेलामा परिणामहरू हासिल गर्ने र महत्त्वपूर्ण विषयमा सत्यता र परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्‍ने उद्देश्यले, तिनीहरूले सबैलाई सङ्गतिमा अगुवाइ गरे भने, र सङ्गति गर्ने र परमेश्‍वरका वचनहरू प्रार्थना-वाचन गर्ने क्रममा सबैले तिनीहरूकै सोच पछ्याए भने, के त्यो गुटबन्दी गर्नु हो? (होइन।) मण्डलीमा, कस्ता मानिसहरूले गुटबन्दी गर्ने सम्भावना हुन्छ? गुटबन्दी गर्नु कस्तो व्यवहार हो? (धेरै मानिसहरूले एकअर्काको ढाकछोप गर्नु र एकअर्कालाई मनलाग्दी गर्न दिनु, वा डाहा र कलहमा संलग्‍न हुनु, र यी सबै कुराले गर्दा मण्डलीको काममा बाधा र व्यवधान आउनु—यो गुटबन्दी गर्नु हो।) यो एउटा पक्ष हो। यहाँको मुख्य बुँदा के हो? आपसी ढाकछोप र मनलाग्दी गर्न दिने कार्यले बाधा र व्यवधानहरू ल्याउँछ; कुनै काम गर्नु गलत छ र यो सत्यता सिद्धान्तहरूअनुरूप छैन भन्‍ने थाहा पाएर पनि, जानीजानी यसलाई लुकाउनु, परिष्कृत तर्कहरू गर्नु, र सत्य नबोल्नु, कसैको इज्‍जत र हैसियत रक्षा गर्न मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूलाई हानि गर्न रुचाउनु, र परमेश्‍वरको घरका हितहरूप्रति धोका हुने गरी दुष्कर्म गर्ने र बाधा र व्यवधान ल्याउनेहरूको ढाकछोप गर्नु—यो गुटबन्दी गर्नु हो। एउटा अर्को परिदृश्य पनि छ, जसमा मानिसहरूलाई परमेश्‍वरको घरका बन्दोबस्तहरूप्रति सामूहिक रूपमा विरोध गर्न लगाउने र तिनीहरूलाई बहकाउने कार्य संलग्‍न हुन्छ। यसको प्रकृति गम्भीर छ, यो परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने कार्य पनि हो। गुटबन्दी गर्नुको मुख्य उद्देश्य के हो? यो मण्डली नियन्त्रण गर्नु र परमेश्‍वरका चुनिएका मानिसहरू नियन्त्रण गर्नु हो।

मानिसहरूसँग चिप्ले कुरा बोल्दै विभिन्‍न प्रकारका व्यक्तिहरूलाई आफ्‍नो पक्षमा ल्याउने किसिमको गुटबन्दी पनि हुन्छ। झट्ट हेर्दा, यस्तो गिरोहका सबैले स्वतन्त्र रूपमा बोल्न र आफ्नो विचार व्यक्त गर्न सक्छन् जस्तो देखिन्छ। तैपनि, अन्तिम परिणामहरू हेर्दा, यो देख्‍न सकिन्छ कि तिनीहरूले वास्तवमा एउटा व्यक्तिले भनेको कुरा मात्र पछ्याइरहेका हुन्छन्—त्यो व्यक्ति तिनीहरूको पथप्रदर्शक हुन्छ। त्यसोभए, त्यो व्यक्तिले कसरी अरूलाई आफ्नो पक्षमा ल्याउँछ त? उसले कसलाई आकर्षित गर्न सकिन्छ र कसलाई आकर्षित गर्न सजिलो छ भन्‍ने कुरा देख्छ, र उसले तिनीहरूलाई थोरथोरै दयालु सहयोग गर्दै ससाना कृपा गरिदिन्छ। त्यसपछि उसले घुमाउरो पाराले तिनीहरूबारे जानकारी बटुल्छ, र तिनीहरूलाई के मनपर्छ, तिनीहरूलाई कसरी बोल्न मन पर्छ, तिनीहरूको व्यक्तित्व, र तिनीहरूका रुचिहरू के हुन् भनेर पत्ता लगाउँछ। यसको साथै, उसले प्रायजसो तिनीहरूको हृदय जित्नको लागि कुराकानीमा तिनीहरूसँग सहमति पनि जनाउँछ, र अन्त्यमा, उसले बिस्तारै तिनीहरूलाई आफूतिर “सार्छ”, जसले गर्दा तिनीहरू थाहै नभई उसको गुटमा प्रवेश गरेर उसको समूहमा सामेल हुन्छन्। समग्रमा भन्दा, मानिसहरूलाई आफ्‍नो पक्षमा ल्याउनको लागि चिप्लो घसेर बोल्नु अत्यन्तै नरम विधि हो, यो “मानवीय न्यानोपन” ले भरिएको हुन्छ, र यो अत्यन्तै प्रभावकारी हुन्छ। उदाहरणको लागि, यदि कसैले नियमित रूपमा अर्को व्यक्तिलाई प्रेम देखाउँछ, कुराकानीमा ऊसँग सहमत हुन्छ, र ऊप्रति समझदारी र सहनशीलता देखाउँछ भने, त्यो अर्को व्यक्ति अचेतन रूपमै उसको सकारात्मक प्रभावमा पर्नेछ र उसको नजिक हुनेछ, र त्यसपछि उसको शक्तिमा सामेल हुनेछ। कस्ता परिस्थितिहरूमा त्यस्ता गिरोह र गुटहरूले काम गर्छन्? तिनीहरूको कट्टर समर्थकहरूमध्ये एउटा खुलासा हुनेबित्तिकै, र उसले अन्यायमा परेको महसुस गर्नेबित्तिकै, वा तिनीहरूको गुटभन्दा बाहिरको कुनै कुरा वा कसैले तिनीहरूको हित, हैसियत, वा प्रतिष्ठामा बाधा वा क्षति पुर्‍याउनेबित्तिकै, यस्तो व्यक्ति तिनीहरूको पक्षमा बोल्न, तिनीहरूको हित र अधिकारको लागि लड्न खडा हुन्छ—यो तिनीहरूले गुटबन्दी गरेको हो। मानिसहरूको लागि ढाकछोप गर्नु र तिनीहरूलाई मनलाग्दी गर्न दिनु, अनि सामूहिक रूपमा विरोध गर्नु दुई स्पष्ट प्रकारका गुटबन्दी गर्ने कार्यहरू हुन्। तैपनि, चिप्लो घसेर गुटबन्दी गर्ने कार्य अहिले भनेका दुई प्रकारका कार्यजत्ति जोरदार देखिँदैन, र त्यस्तो गुटका सदस्यहरू मण्डलीभित्र प्रायजसो नजरमा पनि आउँदैनन्। तर जब मानिसहरूले विकल्प रोज्‍ने, र स्पष्ट अडान लिने समय आउँछ, तब त्यस्ता गुटहरू स्पष्ट रूपमा देखा पर्छन्। उदाहरणको लागि, यदि एउटा गुटको नाइकेले कुनै निश्‍चित मण्डली अगुवासँग क्षमता छ भनेर भन्छ भने, उसलाई पछ्याउनेहरूले तुरुन्तै त्यो अगुवाले यो क्षमता कसरी प्रदर्शन गर्छ भन्‍नेबारे केही उदाहरणहरू दिनेछन्। यदि गुटको नाइकेले मण्डली अगुवामा काम गर्ने क्षमता छैन, उसको क्षमता कमजोर छ, र मानवता खराब छ भनेर भन्छ भने, अरू सदस्यहरूले पनि त्यो मण्डली अगुवा कसरी अयोग्य छ, कसरी सत्यता सङ्गति गर्न सक्दैन, कसरी शब्द र सिद्धान्तहरू बोल्छ भनेर बताउँदै सहमति जनाउँछन्, र सबैले उसको सट्टा सही व्यक्ति छनौट गर्नुपर्छ भनेर भन्छन्। यो एकप्रकारको अदृश्य गुट हो। तिनीहरू मण्डलीमा शक्ति हत्याउन र मानिसहरू नियन्त्रण गर्न सार्वजनिक रूपमा अघि नआए पनि, त्यस्ता गुट र गिरोहहरूमा एउटा अदृश्य शक्ति हुन्छ जसले मण्डली जीवन र मण्डलीको सुव्यवस्था नियन्त्रण गर्छ। यो गुटबन्दी निर्माणको अझै भयानक र गुप्त रूप हो। यसभन्दा पहिले उल्लेख गरिएका गुटबन्दीका दुइटा सहजै देख्‍न सकिने परिस्थितिहरू मण्डली अगुवाहरूले समाधान गर्नुपर्ने समस्याहरू हुन्, र यसबाहेक यो गुप्त गुटबन्दीको समस्या पनि मण्डली अगुवाहरूले अझै बढी रूपमा समाधान गर्नु र सम्हाल्‍नुपर्छ। तिनीहरूले यो कार्य कसरी गर्नुपर्छ? तिनीहरूले यस्तो गिरोहको नाइकेलाई सङ्गतिमार्फत सीधै सम्बोधन गर्नुपर्छ। किन सुरुमै यो नाइकेसँग सङ्गति गर्नमा ध्यान केन्द्रित गर्ने? झट्ट हेर्दा, यस्तो गुटका सदस्यहरू कसैको पनि नियन्त्रणमा हुँदैनन् जस्तो देखिन्छ, तर वास्तवमा भित्री अन्तस्करणमा तिनीहरू सबैलाई कसको आज्ञापालन गर्ने भन्‍ने कुरा थाहा हुन्छ, र तिनीहरू त्यही व्यक्तिको आज्ञापालन गर्न चाहन्छन्। त्यसकारण, तिनीहरूले आदर्श ठान्‍ने र तिनीहरूलाई नियन्त्रण गर्ने व्यक्तिलाई नै सम्हाल्नु र सम्बोधन गर्नुपर्छ, र उसैलाई सत्यता सङ्गति दिनुपर्छ, ताकि उसलाई आफ्नो कार्यको प्रकृतिबारे बुझाइ होस्। त्यो गुटको नाइकेले परमेश्‍वरको घरको खुल्‍लमखुल्ला विरोध नगरे पनि वा अगुवाहरूविरुद्ध होहल्ला नगरे पनि, उसले यी मानिसहरूको बोल्ने अधिकार, तिनीहरूको विचार, दृष्टिकोण, र तिनीहरूले पछ्याउने मार्ग नियन्त्रण गर्छ। तिनीहरू गुप्त ख्रीष्टविरोधीहरू हुन्। त्यस्ता व्यक्तिहरूलाई पहिचान गर्नुपर्छ, र त्यसपछि खुट्ट्याउनु र चिरफार गर्नुपर्छ। यदि तिनीहरूले पश्‍चात्ताप गरेनन् भने, तिनीहरूलाई प्रतिबन्धित गरी अलग राख्‍नुपर्छ। त्यसपछि, तिनीहरूमध्ये कोको यस्तै प्रकारका छन् भनेर हेर्न तिनीहरूका हरेक सदस्यबारे अनुसन्धान गर्नुपर्छ। सुरुमा, यी व्यक्तिहरूलाई अलग गर, त्यसपछि डरपोक, कायर, र बहकाउमा परेका भ्रमित मानिसहरूसँग सङ्गति गर। यदि तिनीहरूले पश्‍चात्ताप गर्न र ख्रीष्टविरोधीलाई पछ्याउन छोड्न सक्छन् भने, तिनीहरू मण्डलीमा रहन सक्छन्; सक्दैनन् भने, तिनीहरूलाई अलग राख्‍नुपर्छ। के यो उचित शैली हो? (हो।) के मण्डलीभित्र यस्तो अवस्था आउँछ? के यस्तो समस्या समाधान गरिनुपर्छ? (यसलाई समाधान गरिनुपर्छ।) किन यसलाई समाधान गरिनुपर्छ? परमेश्‍वरको घरले सुसमाचार प्रचार गर्न थालेपछि, मण्डली जीवनमा ख्रीष्टविरोधी शक्तिहरू व्यापक रूपमा देखा परेका छन्, र परमेश्‍वरका चुनिएका धेरै मानिसहरू फरकफरक हदमा यी शक्तिहरूद्वारा प्रभावित, बाधित, वा नियन्त्रित भएका छन्। जब यी मानिसहरू बोल्छन् वा व्यवहार गर्छन्, तब तिनीहरू स्वतन्त्र र मुक्त स्थितिमा हुँदैनन्, बरु केही व्यक्तिका विचार र दृष्टिकोणहरूको बहकाउ, प्रभाव, नियन्त्रण, र कैदमा परेका हुन्छन्। यी मानिसहरू निश्‍चित तरिकाले बोल्न र व्यवहार गर्न बाध्य हुन्छन्; र त्यसो नगरे, त्यसका परिणामहरू भोग्‍नुपर्ने चिन्ता र डर तिनीहरूलाई हुन्छ। के यसले मण्डली जीवनमा असर र बाधा पुर्‍याएको हुँदैन र? के यो सामान्य मण्डली जीवनको प्रकटीकरण हो र? (होइन।) यस्तो मण्डली जीवन सामान्य सुव्यवस्था होइन, बरु दुष्ट मानिसहरूले नियन्त्रण गरेको अवस्था हो। जबसम्‍म दुष्ट मानिसहरूले मण्डलीमा शक्ति जमाउँछन्, तबसम्‍म त्यहाँ परमेश्‍वरको वचन वा सत्यताले शासन गर्दैन। सत्यता बुझ्‍ने अगुवा, कामदार, र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू दमनमा पर्नेछन्। यस्तो मण्डली ख्रीष्टविरोधी शक्तिहरूद्वारा नियन्त्रित मण्डली हो। यो परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान आएको समस्या र घटना पनि हो, जुन कुरा अगुवाहरू र कामदारहरूले सम्बोधन र समाधान गर्नुपर्छ। ख्रीष्टविरोधी समूहमा रहेका केही मानिसहरूले आफ्नो गिरोहको भरोसा गुमाउने, आफ्ना समर्थकहरू गुमाउने, साथीहरू गुमाउने, आवश्यक पर्दा कुनै सहयोग नपाउने, आदि इत्यादि कुराको डर मान्छन्। त्यसकारण, तिनीहरूले गिरोहमै रहन सक्दो प्रयास गर्छन्। के यो अवस्था गम्भीर छैन र? के यसलाई समाधान गरिनुपर्दैन र? (पर्छ।) जब मण्डलीभित्र यस्तो परिस्थिति पैदा हुन्छ, तब यसबारे के धेरैजसो मानिसहरूले महसुस गर्छन्? यो कुरालाई के धेरैजसो मानिसहरूले खुट्याउँछन्? कति मानिसहरू त थाहै नभई कसैको नियन्त्रणमा परेका हुन्छन्, अनि तिनीहरूलाई सधैँ त्यही व्यक्तिका विचार र दृष्टिकोणहरू, त्यही व्यक्तिका अभिव्यक्ति र व्यवहारहरू, त्यही व्यक्तिका शिक्षाहरू पछ्याउनुपर्छ, र तिनीहरूलाई त्यो व्यक्तिसित “नाइँ” भन्‍न, त्यो व्यक्तिविरुद्ध जान पनि डर लाग्छ, र त्यो व्यक्तिले बोल्दा उसलाई चिढ्याइएला भन्‍ने डरले मन नलागीनलागी सहमतिमा शिर हल्‍लाउँदै मुस्कुराउनुसमेत पर्छ। के यस्ता परिस्थितिहरू आउँछन्? यहाँ समाधान गर्नुपर्ने समस्या के हो? अरूलाई बहकाउन र नियन्त्रण गर्न सक्‍ने ख्रीष्टविरोधी गुटको नाइकेलाई मण्डली अगुवाहरूले सम्बोधन गर्नु र सम्हाल्नुपर्छ। सर्वप्रथम त, तिनीहरूले यो ख्रीष्टविरोधीलाई खुट्याउन धेरैजसो मानिसहरूलाई मद्दत गर्न सत्यता सङ्गति गर्नुपर्छ, र त्यसपछि त्यो ख्रीष्टविरोधीलाई प्रतिबन्धित गर्नुपर्छ। यदि त्यो ख्रीष्टविरोधीले पश्‍चात्ताप गरेन भने, त्यसलाई मण्डलीको सामान्य सुव्यवस्थामा बाधा दिनबाट रोक्न तुरुन्तै सफाइ गरी हटाउनुपर्छ।

सारांशमा भन्दा, सामान्य मण्डली जीवनमा, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरका वचनहरूबारे, साथै तिनीहरूको व्यक्तिगत अन्तर्ज्ञान, बुझाइ, अनुभव र कठिनाइहरूबारे स्वतन्त्र र निर्धक्क रूपमा सङ्गति गर्न सक्नुपर्छ। अनि अवश्य नै, तिनीहरूसँग सिद्धान्तहरू उल्लङ्घन गर्ने अगुवाहरू र कामदारहरूको कुनै पनि कार्यबारे सुझाव दिने, आलोचना गर्ने, र खुलासा गर्ने अधिकार पनि हुनुपर्छ, र साथै सहयोग र सल्लाह प्रदान गर्ने अधिकार पनि हुनुपर्छ। यो सबै कुरा स्वतन्त्र हुनुपर्छ, र यी सबै पक्षहरू सामान्य हुनुपर्छ; तिनीहरू कुनै पनि व्यक्तिद्वारा नियन्त्रित भएर परमेश्‍वरका चुनिएका मानिसहरू बन्धनमा पर्नु हुँदैन—त्यस्तो त सामान्य मण्डली जीवन नै हुनेछैन। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले कसरी बोल्नुपर्छ, कसरी व्यवहार गर्नुपर्छ, आफूलाई केकस्तो व्यवहारमा ढाल्नुपर्छ र मण्डली जीवनमा कसरी सामान्य अन्तरवैयक्तिक सम्बन्धहरू स्थापना गर्नुपर्छ, र यस्तै अन्य कुराहरूबारे परमेश्‍वरको घरका मापदण्ड, नियम, र सिद्धान्तहरू छन्, र यी कुराहरू कुनै पनि व्यक्तिले निर्धारित गर्दैन। जब विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले कुनै काम गर्छन्, तब तिनीहरूले कुनै पनि व्यक्तिको भाव जाँच गर्नुपर्दैन, र तिनीहरूले कुनै पनि व्यक्तिको आदेश पालना गर्नु वा कुनै पनि व्यक्तिको बन्धनमा पर्नु जरुरी पर्दैन। कोही पनि पथप्रदर्शक वा कप्तान हुनु हुँदैन; दिशा प्रदान गर्न सक्‍ने एउटै कुरा भनेको परमेश्‍वरको वचन, अर्थात् सत्यता हो। त्यसकारण, परमेश्‍वरका चुनिएका मानिसहरूले पालना गर्नैपर्ने कुरा भनेको परमेश्‍वरको वचन, सत्यता, र भेलाहरूमा सत्यता सङ्गति गर्ने सिद्धान्तहरू हो। यदि तँ सधैँ अर्को व्यक्तिको बन्धनमा हुन्छस्, सधैँ उसको सङ्केत लिन्छस्, र उसको असन्तुष्ट रूप वा रिसाएको अनुहार देख्दा बोल्ने आँट गर्दैनस् भने, यदि तँ परमेश्‍वरका वचनहरू र आफ्ना व्यक्तिगत अनुभवात्मक बुझाइहरूबारे सङ्गति गर्दा सधैँ त्यो व्यक्तिको नियन्त्रणमा हुन्छस्, सधैँ विवश पारिएको महसुस गर्छस्, र सत्यता सिद्धान्तहरूअनुसार काम गर्न सक्दैनस् भने, र यदि त्यो व्यक्तिको शब्द, रूपरङ्ग, अनुहारको भाव, आवाजको शैली, र उसको बोलीवचनमा भएका अप्रत्यक्ष धम्कीहरूले तँलाई निरन्तर बन्धनमा राख्छन् भने, तँ त्यही व्यक्तिको नेतृत्वमा रहेको गुटको नियन्त्रणमा छस्। यो समस्याग्रस्त कुरा हो; यो मण्डली जीवन होइन, यो त ख्रीष्टविरोधीले शासन गरेको गुटको जीवन हो। यस्तो समस्याको हकमा, अगुवाहरू र कामदारहरू यसलाई समाधान गर्न अघि आउनुपर्छ, र मण्डलीको सामान्य सुव्यवस्था रक्षा गर्ने दायित्व र अधिकार विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको पनि हुन्छ। मण्डली जीवनमा बाधा र व्यवधान ल्याउनेहरू, विशेषगरी गुटबन्दी गर्ने र मण्डली नियन्त्रण गर्न चाहनेहरूलाई रोक्नुपर्छ, र खुलासा र चिरफार गर्नुपर्छ, र यसरी सबैलाई यो समस्याको सार, अर्थात् स्वतन्त्र राज्य स्थापना गर्ने प्रयासबारे बुझ्न र छर्लङ्गै देख्‍न सक्षम तुल्याउनुपर्छ। मण्डलीले कुनै पनि कारणले गुटबन्दी गर्न र मण्डली विभाजन गर्न अनुमति दिँदैन। उदाहरणको लागि, सामाजिक पहिचान र हैसियत, गाउँ-टोल, क्षेत्र, वा धार्मिक सम्प्रदायको आधारमा समूहमा विभाजित हुनु, वा शिक्षाको स्तर, सम्पत्ति, जात र छालाको रङ्ग, र आदि इत्यादि कुराहरूको आधारमा समूहमा विभाजित हुनु—यी सबै सत्यता सिद्धान्तहरूविपरीत छन् र यस्ता कार्य मण्डलीमा हुनु हुँदैन। मानिसहरूलाई यी स्तर, दर्जा, गिरोह, र गुटहरूमा विभाजन गर्नको लागि जुनसुकै बहाना प्रयोग गरिए पनि, यसले मण्डलीको काम र मण्डली जीवनको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउँछ, र यो अगुवाहरू र कामदारहरूले तुरुन्तै समाधान गर्नुपर्ने समस्या हो। छोटकरीमा भन्दा, मानिसहरू गुट, गिरोह, वा समूहमा विभाजित हुनुको कारण जेसुकै भए पनि, यदि तिनीहरूले निश्‍चित शक्ति जमाएका छन्, र ती कुराहरूले मण्डलीको काम र मण्डली जीवनको सुव्यवस्थामा बाधा ल्याउँछन् भने, तिनीहरूलाई रोक्‍नु र प्रतिबन्धित गर्नुपर्छ। यदि त्यस्ता गुटहरूका सदस्यहरूलाई मनाउन सकिएन भने, यी दुष्कर्मीहरूलाई अलग गर्न र सफाइ गरी हटाउन सकिन्छ। यी समस्याहरू सम्हाल्नु पनि अगुवाहरू र कामदारहरूले पूरा गर्नुपर्ने काम र जिम्मेवारीहरूको भाग हो। त्यसोभए, यहाँ के कुरा बुझ्नुपर्छ? यो कि, जब कतिपय मानिसहरूले मण्डलीमा शक्तिहरू निर्माण गरेका हुन्छन्, र जब तिनीहरू मण्डली अगुवाहरू, मण्डलीको काम, र परमेश्‍वरका वचनहरूविरुद्ध सङ्घर्ष र विरोध गर्न, र मण्डली जीवनको सामान्य सुव्यवस्थामा बाधा दिन र हानि गर्न सक्षम भएका हुन्छन्, तब त्यस्ता व्यवहार, प्रकटीकरण, र परिस्थितिहरूलाई तुरुन्तै प्रतिबन्धित गर्नु र सम्हाल्नुपर्छ। गुटबन्दी गर्ने कुरा आउँदा, यसमा संलग्‍न मानिसहरूको सङ्ख्याको आधारमा कुनै भिन्‍नता छुट्याउनुपर्दैन। यदि दुई जना मानिसहरू मिलेर बस्छन् र मण्डलीमा कुनै व्यवधान ल्याउँदैनन् भने, हस्तक्षेप गर्नुपर्दैन। तर जब तिनीहरूले मण्डली नियन्त्रण गर्नको लागि बाधाहरू पैदा गर्न र शक्ति निर्माण गर्न थाल्छन् भने, यी व्यक्तिहरूलाई रोक्‍नु र प्रतिबन्धित गर्नुपर्छ। यदि तिनीहरूले पश्‍चात्ताप गरेनन् भने, तिनीहरूलाई तुरुन्तै सफाइ गरी हटाइनु वा निष्कासित गरिनुपर्छ। यही नै सिद्धान्त हो।

मे २२, २०२१

अर्को: अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (१४)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्