८. नीच हुने समस्या कसरी समाधान गर्ने
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
कनै पनि कुरालाई त्यति अमर्यादित र गैरजिम्मेवार ढङ्गले सम्हाल्नु भ्रष्ट स्वभावभित्र पर्ने कुरो हो: प्राय यसलाई मानिसहरू फोहोरीपन भन्छन्; आफूले गर्ने हरेक मामिलामा, तिनीहरू “त्यो लगभग सही छ” र “काफी नजिक छ” भन्ने हदसम्म काम गर्छन्; यो त “होला,” “सायद,” र “पाँचमा चार” भन्ने मनोवृत्ति हो; तिनीहरू कामचलाउ तवरले काम गर्छन्, न्यूनतम मात्रामा काम गर्नमा सन्तुष्ट छन्, र जालझेल गरेर माथि पुग्नमा सन्तुष्ट छन्; तिनीहरू कुनै पनि कुरालाई गम्भीर रूपमा लिनु वा ठ्याक्कै मिलाउनुको कुनै अर्थ देख्दैनन्, तिनीहरूले सत्यता सिद्धान्तहरूको खोजी गर्नुमा कुनै अर्थ देख्ने त कुरै नगरौँ। के यो भ्रष्ट स्वभावभित्र पर्ने कुरा होइन र? के यो सामान्य मानवताको प्रकटीकरण हो र? अहँ, होइन। यसलाई अहङ्कार भन्नु सही हुन्छ, र यसलाई दुराचारी भन्नु पनि सम्पूर्ण रूपमा उचित नै हुन्छ—तर यसलाई पूर्ण रूपमा बुझ्नको निम्ति मिल्ने शब्द “फोहोरी” हो। धेरैजसो मानिसहरूभित्र फोहोरीपन हुन्छ, त्यसको मात्रा मात्र फरक पर्ने हो। हरेक मामिलामा, तिनीहरू झाराटारुवा र लापर्बाही तरिकाले कामकुरा गर्ने इच्छा राख्छन्, र तिनीहरूले गर्ने हरेक कुरामा छलको गन्ध पाइन्छ। तिनीहरूले अरूलाई सकेसम्म धोका दिन्छन्, सकेसम्म चोर बाटो अपनाउँछन् र सम्भव भएसम्म समय बचाउँछन्। तिनीहरूले मनमनै विचार गर्छन्, “जबसम्म म खुलासा हुनबाट बच्न सक्छु र मैले कुनै समस्या खडा गर्दिन र मलाई जवाफदेही बनाइँदैन, तबसम्म म झारा टार्दै अघि बढ्न सक्छु। मैले निकै राम्रो काम गर्नुपर्दैन, त्यसो गर्दा ज्यादै दुःख हुन्छ।” यस्ता मानिसहरूले निपुण हुने गरी केही पनि सिक्दैनन्, अनि तिनीहरूले अध्ययन गर्नमा आफूलाई होम्ने वा कष्ट सहने र मूल्य चुकाउने काम गर्दैनन्। तिनीहरू कुनै विषयलाई सतही रूपमा मात्र बुझ्न चाहन्छन्, र त्यसपछि आफूले जान्नुपर्ने सबै कुरा जानिसकेको विश्वास गर्दै आफूलाई त्यस विषयको प्रवीण भन्छन्, र लटरपर गर्दै अगाडि बढ्नलाई त्यसैमा भर पर्छन्। अरू मानिसहरू, घटनाहरू र वस्तुहरूप्रति मानिसहरूको मनोवृत्ति यही हुन्छ होइन र? के यो असल मनोवृत्ति हो त? अहँ, यो असल होइन। सरल शब्दमा यसलाई “लटरपटर गर्दै अघि बढ्नु” भनिन्छ। यस्तो फोहोरीपन सबै भ्रष्ट मानवजातिमा विद्यमान छ। आफ्नो मानवतामा फोहोरीपन भएका मानिसहरू आफूले गर्ने जुनसुकै कुरामा “कामचलाउ तरिकाले लाग्ने” दृष्टिकोण र मनोवृत्ति राख्छन्। के यस्ता मानिसहरू आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम हुन्छन्? हुँदैनन्। के तिनीहरू सिद्धान्तअनुसार कामकुरा गर्न सक्षम हुन्छन् त? यो त झनै असम्भव छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई)
“घिनलाग्दो” मा धेरै अर्थहरू समावेश हुन्छन्—नीच हुनु, भाँड हुनु, पतित हुनु, स्वार्थी हुनु, अनैतिक हुनु, अनुशासित नहुनु, आफ्ना कार्यहरूमा खुला वा इमानदार नहुनु, र यसको सट्टा चलाखीपूर्ण तरिकाले कार्य गर्नु, र अनुचित कार्यहरू मात्र गर्नु। घिनलाग्दा मानिसहरूका विभिन्न व्यवहार र प्रकटीकरणहरू यिनै हुन्। उदाहरणका लागि, यदि एक सामान्य व्यक्तिले केही गर्न चाहन्छ भने, जबसम्म त्यो उचित छ, तिनीहरू यसलाई खुला तरिकाले गर्छन्, र यदि यसले कानुन उल्लङ्घन गर्छ भने, तिनीहरूले छोड्छन् र त्यसो गर्दैनन्। घिनलाग्दा मानिसहरू उस्तै हुँदैनन्; तिनीहरूले आफ्नो लक्ष्य हासिल गर्न जुन-सुकै उपाय अपनाउँछन् र कानुनका सीमितताहरूको प्रतिवाद गर्नका निम्ति रणनीतिहरू बनाउँछन्। तिनीहरूले कानुनलाई छलेर आफ्नो लक्ष्य पूरा गर्ने तरिकाहरूको खोजी गर्छन्, चाहे यसो गर्नु नैतिकता, सदाचार वा मानवताको अनुरूप किन नहोस्, अनि परिणाम जेसुकै होस्। तिनीहरू यी कुनै पनि कुराको वास्ता गर्दैनन्, र हरसम्भव तरिकाले आफ्नो लक्ष्यहरू प्राप्त गर्न मात्र खोज्छन्। यो नै “घिनलाग्दो” हुनु हो। के घिनलाग्दा मानिसहरूमा कुनै निष्ठा वा मर्यादा हुन्छ? (हुँदैन।) तिनीहरू कुलीन हुन् कि नीच मानिसहरू हुन्? (नीच।) तिनीहरू कसरी नीच हुन्? (तिनीहरूको आचरणको कुनै पनि नैतिक आधार हुँदैन।) त्यो सही हो, यस प्रकारको व्यक्तिको आचरणमा कुनै आधार वा सिद्धान्तहरू हुँदैनन्; तिनीहरूले परिणामहरूबारे विचार गर्दैनन्, र आफूले चाहेको कुरा मात्र गर्छन्। तिनीहरूलाई कानुन, नैतिकता, तिनीहरूको विवेकले तिनीहरूका कार्यहरू स्वीकार गर्न सक्छ कि सक्दैन, वा तिनीहरूलाई कसैले भर्त्सना, मूल्याङ्कन वा निन्दा गर्छ भन्ने कुराको वास्ता हुँदैन। तिनीहरू यी सबैप्रति उदासीन हुन्छन्, र जबसम्म तिनीहरूले लाभ उठाइरहेका र आनन्द लिइरहेका हुन्छन्, तबसम्म तिनीहरूलाई कुनै मतलब हुँदैन। तिनीहरूको काम गर्ने तरिका पतित छ, तिनीहरूको विचार घृणित छ, र यी दुवै लज्जास्पद कुरा हुन्। घिनलाग्दो हुनुको अर्थ यही हो। … त्यसोभए, घिनलाग्दो हुनुले वास्तवमा केलाई जनाउँछ? यसका प्राथमिक लक्षण र प्रकटीकरणहरू के हुन्? मेरो सारांश सही छ कि छैन, हेर। घिनलाग्दा मानिसहरू के बराबर छन्? तिनीहरू अनियन्त्रित, खराब तरिकाले हुर्काइएका, जङ्गली जनावरहरू जस्तै छन्, र यसका प्राथमिक प्रकटीकरणहरू अहङ्कार, पाशविकता, संयमको कमी, जथाभाबी कार्य गर्नु, सत्यतालाई थोरै मात्र पनि स्वीकार नगर्नु, साथै आफूलाई जे मन लाग्यो त्यही गर्नु, कसैलाई पनि नसुन्नु, वा जोकोहीलाई आफ्नो व्यवस्थापन गर्न अनुमति दिनु, जोसुकैको विरुद्धमा पनि जाने साहस गर्नु, र अरू कसैको ख्याल नगर्नु हो। मलाई भन, के घिनलाग्दो हुनुका विभिन्न प्रकटीकरणहरू गम्भीर छन्? (छन्।) कम्तीमा पनि, अहङ्कार, समझविहीनता र जथाभाबी कार्य गर्ने स्वभाव निकै गम्भीर छ। यदि यस्तो व्यक्तिले परमेश्वरको मूल्याङ्कन वा विरोध गर्ने कुराहरू नगरेको देखिए तापनि, आफ्नो अहङ्कारी स्वभावको कारणले उसले दुष्टता गर्ने र उहाँको प्रतिरोध गर्ने ठूलो सम्भावना हुन्छ। उसका सबै कार्यहरू उसको भ्रष्ट स्वभावका प्रकटीकरण हुन्। जब एक व्यक्ति एक निश्चित बिन्दुसम्म घिनलाग्दो बन्छ, ऊ एक डाँकु र दियाबलस बन्छ, र डाँकु र दियाबलसहरूले सत्यतालाई कहिल्यै स्वीकार गर्दैनन्—तिनीहरूलाई केवल नष्ट गर्न मात्र सकिन्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्
कसैले भद्र र नीच मानिसहरूबीचको भिन्नता कसरी बताउन सक्छ? खालि कर्तव्यप्रति तिनीहरूको मनोवृत्ति र व्यवहारलाई हेर्, र समस्याहरू उत्पन्न हुँदा तिनीहरूले कुराहरूलाई कुन रूपमा लिन्छन् र कस्तो व्यवहार गर्छन् भनेर हेर्। निष्ठा र मर्यादा भएका मानिसहरू आफ्ना कार्यमा सावधान, कर्तव्यपरायण र मेहनती हुन्छन् र तिनीहरू मूल्य तिर्न तयार हुन्छन्। निष्ठा र मर्यादा नभएका मानिसहरू आफ्ना कार्यमा लापरवाही र असावधान हुन्छन्, तिनीहरू सधैँ कुनै न कुनै छल गर्ने र सधैँ लटरपटर गर्दै अघि बढ्ने हुन्छन्। तिनीहरूले जुनै कार्यविधि अध्ययन गरे पनि, त्यो लगनशील भई सिक्दैनन्, र त्यो सिक्न सक्दैनन्, अनि तिनीहरूले त्यो अध्ययन गर्न जति समय खर्चे पनि, तिनीहरू पूर्णतया अज्ञानी नै रहन्छन्। यिनीहरू खराब चरित्र भएका मानिस हुन्। धेरैजसो मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा झारा टार्छन्। त्यसमा कस्तो स्वभावले काम गरिरहेको हुन्छ? (फोहोरीपन।) फोहोरी मानिसहरूले आफ्नो कर्तव्यलाई कसरी लिन्छन्? अवश्य नै, तिनीहरूमा त्यसप्रति सही मनोवृत्ति हुँदैन, र तिनीहरू अवश्य नै त्यसप्रति झाराटारुवा हुन्छन्। यसको अर्थ तिनीहरूमा सामान्य मानवता हुँदैन। अत्यन्तै फोहोरी मानिसहरू पशु जस्तै हुन्छन्। यो त कुकुर पाल्नु जस्तै हो: यदि तैँले रेखदेख गरिनस् भने, त्यसले सामानहरू चपाउनेछ र तेरा सबै फर्निचर र सामानहरू नष्ट गर्नेछ। त्यो त घाटा हुन्छ। कुकुरहरू पशु हुन्; तिनीहरूले वस्तुहरूलाई प्रेमपूर्वक स्याहार्ने सोच्दैनन्, र तैँले तिनीहरूसँग तर्क गर्न मिल्दैन—तैँले तिनीहरूलाई सम्हाल्नु मात्रै पर्छ। यदि तैँले त्यसो नगरेर एउटा पशुलाई दङ्गा मच्चाउन र तेरो जीवनमा बाधा दिन दिन्छस् भने, त्यसले तेरो मानवतामा केही कुराको कमी छ भन्ने देखाउँछ। त्यसोभए तँ पशुभन्दा त्यति फरक छैनस्। तेरो बौद्धिक क्षमता अत्यन्तै न्यून छ—तँ केही काम नलाग्ने व्यक्ति होस्। त्यसोभए, तैँले कसरी त्यसलाई राम्ररी सम्हाल्छस्? तैँले त्यसलाई निश्चित परिधिभित्र सीमित राख्ने उपाय सोच्नुपर्छ, वा त्यसलाई हरेक दिन दुई-तीन पटक छोड्ने गरी खोरमा राख्नुपर्छ, ताकि त्यसले पर्याप्त गतिविधि गर्न पाओस्। त्यसले जे पायो त्यही टोक्ने त्यसको बानीलाई नियन्त्रण गर्नेछ, र त्यसलाई स्वस्थ राख्नका लागि कसरत पनि प्रदान गर्नेछ। त्यसरी, कुकुरलाई राम्ररी सम्हाल्न सकिन्छ, र तेरो वातावरणको पनि सुरक्षा हुन्छ। यदि कुनै व्यक्तिले आफूले सामना गर्ने कुराहरूलाई सम्हाल्न सक्दैन र उसमा सही मनोवृत्ति छैन भने, उसको मानवतामा केही कुराको कमी हुन्छ। यसले सामान्य मानवताको मापदण्ड पूरा गर्न सक्दैन।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई)
मनमौजी र बेलगाम मानिसहरूले अविश्वासी संसारका डाँकू र गुन्डाहरूले जस्तै शब्दहरू छनौट गर्छन्; तिनीहरूलाई विशेषगरी चर्चित व्यक्तिहरू र समाजका नकारात्मक व्यक्तित्वहरूका बोली र शैली अनुकरण गर्न मन पर्छ, र तिनीहरूले आफ्नो भाषामा धेरैजसो गुन्डा वा बदमास मानिसहरूले बोल्नेजस्तो गन्दे शैली अपनाउँछन्। उदाहरणको लागि, जब एउटा गैरविश्वासी केही अनौठा वाक्यांशहरू बोल्दै ढोका ढकढक्याउन आइपुग्छ, तब विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले यसो भन्छन्, “केही त गडबड छ; यो व्यक्ति किन चियो गर्ने वा जासूसजस्तो देखिन्छ?” त्यही बेला तिनीहरू निश्चित हुन नसक्ने भए पनि, यसले गर्दा धेरैजसो मानिसहरूलाई असहज महसुस हुन्छ। तैपनि, त्यो मनमौजी र बेलगाम व्यक्तिले प्रभावकारी ढङ्गमा यसो भन्छ, “चियो गर्ने? मलाई डर लाग्दैन! किन तिनीहरूसँग डराउने? यदि तिमीहरूलाई डर लाग्छ भने, तिमीहरू बाहिर जानु पर्दैन। तिनीहरूको मामला के हो म हेर्न जान्छु।” हेर त, तिनीहरू कति साहसी र हिम्मतवाला हुन्छन्। के तिमीहरू यसरी बोल्छौ? (अहँ, सामान्य मानिसहरू यसरी बोल्दैनन्; यो त डाँकूले बोल्नेजस्तो भाषा हो।) डाँकूहरू सामान्य मानिसहरूले भन्दा फरक तरिकाले बोल्छन्; तिनीहरू विशेषगरी रबाफ जमाउने हुन्छन्। मानिसहरू आफ्नो प्रकारअनुसारको भाषा सिक्छन्; विशेषगरी टोलअनुसार मानिसहरूले समाजको लोकप्रिय बोलीवचन अपनाउँछन्, डाँकू र गुन्डाहरू आफ्नैजस्तो बोल्ने शैली अपनाउँछन्, र अविश्वासीहरू गैरविश्वासीहरूजस्तै हुन्छन्, गैरविश्वासीहरूले भन्ने सबै कुरा भन्छन्। असल, मर्यादित, र शिष्ट मानिसहरूलाई घिन र घृणा लाग्छ; तिनीहरू कसैले पनि त्यस्तो बोलीवचन नक्कल गर्ने प्रयास गर्दैनन्। कतिपय अविश्वासीहरूले विश्वास गरेको दश-बीस वर्ष भएपछि पनि, अझै गैरविश्वासीहरूको भाषा प्रयोग गर्छन्, जानाजानी यस्तो बोली छनौट गर्छन्, र बोल्दा तिनीहरू गैरविश्वासीहरूको बर्ताव, अभिव्यक्ति र भाउभङ्गी नक्कलसमेत गर्छन्। के त्यस्ता व्यक्तिहरू मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको नजरमा प्रिय हुन सक्छन् र? (सक्दैनन्।) ती मानिसहरू धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूलाई मननपर्ने र हेर्नै अप्ठ्यारो लाग्ने लाग्छन्। तिमीहरूलाई के लाग्छ, परमेश्वरले तिनीहरूप्रति कस्तो महसुस गर्नुहुन्छ? (घृणा।) यसको उत्तर स्पष्ट छ: घृणा। तिनीहरू जिउने कुरा, तिनीहरूको पछ्याइ, र तिनीहरूले हृदयमा आदर गर्ने मानिस, घटना, र परिस्थितिहरूबाट के स्पष्ट हुन्छ भने तिनीहरू मानवतामा मर्यादा वा शिष्टता नै छैन र यसमा सन्तहरूको भक्ति र उचित शिष्टताको पनि कमी छ। तिनीहरूको मुखबाट विश्वासी वा सन्तहरूले बोल्ने वचनहरू, र अरूलाई सुधार गर्ने अनि मर्यादा र निष्ठा व्यक्त गर्ने वचनहरू सुन्न पाउनु एकदमै दुर्लभ हुन्छ; तिनीहरूले यी कुराहरू बोल्ने सम्भावनै हुँदैन। तिनीहरूले आफ्नो हृदयमा आदर गर्ने, आकाङ्क्षा राख्ने, र पछ्याउने कुराहरू सन्तहरूले पछ्याउनुपर्ने र खोजी गर्नुपर्ने कुराहरूसँग आधारभूत रूपमा मिल्दै नमिल्ने हुन्छन्, जसले गर्दा तिनीहरूले बाहिरी रूपमा जिउने कुरा, तिनीहरूको बोलीवचन, र बर्ताव नियन्त्रण गर्न गाह्रो हुन्छ। तिनीहरूलाई संयमित हुन, मनमौजी वा भोगविलासी नबन्न, र मर्यादा र शिष्टता कायम राख्न लगाउनु एकदमै कठिन हुन्छ। सत्यता बुझ्ने र सत्यता वास्तविकतामा प्रवेश गर्ने मानवता र समझ भएको व्यक्तिको रूपमा जिउनु त कुरै छोडौँ, तिनीहरू त सन्तहरूको शिष्टताअनुरूप, नियमहरू पालना गर्ने, र बाहिरी रूपमा तर्कसङ्गत देखिने अनि निष्ठा र मर्यादा भएको सामान्य व्यक्तिजस्तो बन्नसमेत सक्दैनन्। केही पहिले, एउटा व्यक्ति गाउँमा सुसमाचार प्रचार गर्न गयो र उसले केही विश्वासी दाजुभाइ-दिदीबहिनीहरू गरिब परिवारमा र भत्केको घरमा बस्छन् भन्ने देख्यो। उसले व्यङ्ग्यात्मक तरिकाले र गिल्ला गर्दै भन्यो, “यो घर त पूरै पत्रु भइसकेको छ, यो मानिसहरू बस्न लायकसमेत छैन; यो त सुँगुरहरूको लागि समेत मुस्किलले उपयुक्त छ। तपाईंहरू तुरुन्तै अन्त सर्नुपर्छ!” विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले भने, “सर्नु त सजिलो छ नि, तर हामीलाई बस्ने अर्को घर कसले दिन्छ र?” ऊ लापरवाही रूपमा र जानाजानी बोल्थ्यो, र यसले अरूलाई पार्न सक्ने असरबारे विचार नगरी मनमा जे आयो त्यही बोल्थ्यो। यो त आफूमा नीच प्रकृति हुनु हो। विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले सोधे, “हामी सर्यौँ भने, हामीलाई बस्ने घर कसले दिन्छ? के तपाईंसँग घर छ?” उसले केही बोल्न सकेन। उसले मानिसहरूलाई कठिनाइ आइपरेको देख्दा बोल्नुभन्दा पहिले नै उनीहरूको कठिनाइ समाधान गर्न सक्नुपर्थ्यो। उसले तिनीहरूको कठिनाइ समाधान गर्न सक्षम नभई लापरवाह रूपमा बोल्नुका परिणाम के थिए? के यो अत्यन्तै खुलस्त रूपमा र स्पष्ट बोल्ने समस्या थियो? अवश्य नै थिएन। त्यो समस्या त उसको नीचता अत्यन्तै गम्भीर भएकाले गर्दा थियो; ऊ मनमौजी र असंयम व्यक्ति थियो। त्यस्ता मानिसहरूसँग सत्यनिष्ठा, मर्यादा, बुझकीपन, सहनशीलता, वास्ता, आदर, बुझाइ, सहानुभूति, करुणा, विचारशीलता, सहयोग इत्यादि कुराको कुनै अवधारणा हुँदैन। सामान्य मानवतालाई अत्यावश्यक हुने यी गुणहरू मानिसहरूमा हुनुपर्छ। तिनीहरूसँग यी गुणहरूको कमी त हुन्छ नै, त्यसमाथि तिनीहरूले अरूसँग अन्तरक्रिया गर्दा, कसैलाई कठिनाइहरू आइपरेको देख्दा उपहास गर्न, गिल्ला गर्न, निन्दा गर्न, र खिल्ली उडाउनसमेत सक्छन्; तिनीहरूले उनीहरूलाई बुझ्न वा सहयोग गर्न नसक्ने मात्र होइन, बरु उल्टै उनीहरूको जीवनमा दुःख, विवशता, पीडा, र समस्यासमेत ल्याउँछन्। यस्तो गम्भीर नीचता भएका मानिसहरूको हकमा, धेरैजसो मानिसहरूले तिनीहरूलाई स्पष्ट रूपमा देख्न त देख्छन् तर बारम्बार तिनीहरूलाई सहने गर्छन्। के त्यस्ता मानिसहरूले साँचो रूपमा पश्चात्ताप गर्न सक्छन् भन्ने तिमीहरूलाई लाग्छ? मलाई त यस्तो हुने सम्भावना छ जस्तो लाग्दैन। तिनीहरूको प्रकृति सार हेर्दा, तिनीहरू सत्यतालाई प्रेम गर्नेहरू होइनन्, त्यसकारण तिनीहरू काटछाँट र अनुशासनमा पर्नुलाई कसरी स्वीकार गर्न सक्छन् र? गैरविश्वासीहरू यी मानिसहरूलाई गैरविश्वासीहरू “आफ्नै बाटोमा लागिरहनु” वा “अरूले जे भने नि आफ्नै बाटो हिँडिरहनु” भन्नेजस्ता शब्दवालीहरू प्रयोग गरेर व्याख्या गर्छन्—यो कस्तो हास्यास्पद तर्क हो? प्रायजसो यो समाजमा तथ्यहरू बङ्ग्याउने र सही र गलतबीच अलमलमा पार्ने यी तथाकथित प्रसिद्ध भनाइ र भाषिक टुक्काहरूलाई सकारात्मक कुराहरूको रूपमा लिइन्छ।
—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू (२५)
धेरै मानिसहरू झारटारुवा तरिकाले कर्तव्य निभाउँछन्, तिनीहरू कहिल्यै त्यसलाई गम्भीरतापूर्वक लिँदैनन्, यस्तो लाग्छ मानौँ तिनीहरू गैरविश्वासीहरूको लागि काम गरिरहेका छन्। सबैथोक एक मजाक हो जस्तो गर्दै, तिनीहरू कच्चा, सतही, उदासीन र लापरवाही ढङ्गले काम गर्छन्। यस्तो किन हुन्छ? तिनीहरू श्रम गरिरहेका गैरविश्वासीहरू हुन्; तिनीहरू कर्तव्य निभाइरहेका अविश्वासीहरू हुन्। यस्ता मानिसहरू अत्यन्तै फटाहा हुन्छन्; तिनीहरू छाडा र अनियन्त्रित हुन्छन्, र तिनीहरू गैरविश्वासीहरूभन्दा कति पनि फरक हुँदैनन्। तिनीहरू आफ्नै लागि काम गर्दाचाहिँ, निश्चय नै झाराटारूवा हुँदैनन्, तर कर्तव्य पालना गर्ने कुरामा चाहिँ तिनीहरू किन अलिकति पनि उत्साही वा परिश्रमी हुँदैनन्? तिनीहरूले जे गरे पनि, तिनीहरूले जुनसुकै कर्तव्य निभाए पनि, त्यसमा खेलाँचीपन र बदमासी हुन्छ। यस्ता मानिसहरू सधैँ झाराटारुवा हुन्छन् र तिनीहरूभित्र कपट लुकेको हुन्छ। के यस्ता मानिसहरूसँग मानवता हुन्छ? तिनीहरूसँग निश्चय नै कुनै मानवता हुँदैन; न त तिनीहरूसँग अलिकति पनि विवेक वा समझ नै हुन्छ। छाडा गधा वा छाडा घोडाजस्तै तिनीहरूलाई पनि निरन्तरको व्यवस्थापन र रेखदेख चाहिन्छ। तिनीहरू परमेश्वरको घरमाथि छल र कपट गर्छन्। के यसको मतलब तिनीहरूमा उहाँप्रति साँचो विश्वास छ भन्ने हो त? के तिनीहरू उहाँको लागि आफैलाई खर्चिरहेका छन् त? तिनीहरू निश्चय नै मापदण्डभन्दा तल हुन्छन् र तिनीहरू श्रम गर्न पनि योग्य हुँदैनन्। यस्ता मानिसहरूलाई अरू कसैले काममा लगाएको भए, तिनीहरू केही दिनमै निकालिनेथिए। परमेश्वरको घरमा तिनीहरूलाई श्रमिक र भाडाका कामदार भन्नु पूर्णतः सही हुन्छ, र तिनीहरूलाई हटाउन मात्र सकिन्छ। धेरै मानिसहरू प्राय आफ्नो कर्तव्य पालना गर्ने क्रममा झाराटारूवा हुन्छन्। काँटछाँट र काटछाँट गरिने अवस्था आइपर्दा, तिनीहरू अझै पनि सत्यता स्विकार्न इन्कार गर्छन्, र जिद्दी गर्दै आफ्नो कुरा राख्छन् र परमेश्वरको घरले उनीहरूप्रति अन्याय गरेको अनि दया र सहिष्णुता नदेखाएको गुनासो पनि गर्छन्। के यो अनुचित होइन र? अझ वस्तुगत रूपमा भन्नुपर्दा, यो अहङ्कारी स्वभाव हो, र तिनीहरूसँग थोरै पनि विवेक र समझ हुँदैन। परमेश्वरमा साँच्चै विश्वास गर्नेहरूले कम्तीमा पनि सत्यता स्विकार्न अनि विवेक र समझ उल्लङ्घन नगरी काम गर्न सक्नुपर्छ। काँटछाँट स्विकार्न र त्यसमा समर्पित हुन नसक्ने मानिसहरू अति अहङ्कारी, आत्मधर्मी र केवल अविवेकी हुन्छन्। तिनीहरूलाई पशु भन्दा अत्युक्ति हुँदैन किनभने तिनीहरू आफूले गर्ने सबै काममा अत्यन्तै बेपरवाह हुन्छन्। तिनीहरू आफूलाई मन लागेअनुसार र परिणामको वास्तै नगरी काम गर्छन्; समस्याहरू आइपरे पनि तिनीहरू मतलब गर्दैनन्। यस्ता मानिसहरू श्रम गर्न योग्य हुँदैनन्। तिनीहरूले आफ्नो कर्तव्य यसरी गर्ने हुनाले अन्य मानिसहरू तिनीहरूलाई देखिसहँदैनन् र भरोसा पनि गर्दैनन्। के त्यसोभए परमेश्वरले तिनीहरूलाई विश्वास गर्न सक्नुहुन्छ त? यो न्यूनतम मापदण्ड पनि पूरा नगर्नाले तिनीहरू श्रम गर्न पनि अयोग्य हुन्छन् र तिनीहरूलाई हटाउन मात्र सकिन्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
मानवजातिलाई प्रभावित पार्ने कुराहरू—अरू मानिसहरू, घटनाहरू अनि कामकुराहरूसित व्यवहार गर्दा मानिसहरूले प्रकट गर्ने आचरणहरू, सोचहरू, र दृष्टिकोणहरू—ती ज्यादै अर्थपूर्ण छन्। त्यसले के को बारेमा बताउँछन् त? त्यसले व्यक्तिको चरित्र, ऊ भद्र र सीधा छ कि छैन भन्ने कुरालाई कसरी देख्न सकिन्छ भन्ने कुरा बताउँछ। शालीन र सीधा हुनु भनेको के हो? के परम्परागत हुनु शालीन र सीधा हुनु हो? के सभ्य र सुशील बन्नु शालीन र सीधा हुनु हो? (होइन।) के नियमहरू अक्षरशः पालना गर्नु शालीन र सीधा हुनु हो? (होइन।) यीमध्ये कुनै पनि होइन। त्यसोभए, शालीन र सीधा हुनु भनेको के हो? यदि कुनै व्यक्ति वास्तवमै भद्र र सीधा छ भने, उसले जेसुकै गरे पनि, उसले एउटा निश्चित मानसिकताले त्यो काम गर्छ: “मलाई यो कुरा गर्न मन परे पनि, मन नपरे पनि, यो मेरो अभिरुचिहरूको क्षेत्रभित्र परे पनि, नपरे पनि वा यसमा मेरो थोरै अभिरुचि भए पनि, नभए पनि—यो मलाई गर्नको निम्ति दिइएको हो, त्यसैले म यसलाई राम्रोसित गर्नेछु। म यसलाई सुरुदेखि नै अध्ययन गर्न थाल्नेछु अनि समझदार र व्यवहारिक भएर म एकपल्टमा एउटा गरी यसको दायित्व वहन गर्नेछु। अन्त्यमा, म यस काममा जति टाढा पुगे पनि मैले मेरो सक्दो गरेको हुन्छु।” कम्तीमा, तँसित यथार्थवादी आचरण र मानसिकता हुनुपर्छ। यदि, कामको जिम्मा लिएको क्षणदेखि तैँले यसलाई अव्यवस्थित तरिकाले गर्छस् र यसको बारेमा अलिकति पनि वास्ता गर्दैनस्—यदि तैँले यसलाई गम्भीरतापूर्वक लिँदैनस् अनि सान्दर्भिक श्रोतहरूलाई हेर्दैनस्, विस्तारपूर्वक तयारीहरू गर्दैनस् अथवा अरूलाई खोज्दैनस् र तिनीहरूसित परामर्श लिँदैनस् भने; अनि यदि, त्यसभन्दा पर, तैँले त्यसलाई निरन्तर सुधार गर्न सकूँ, यो सीप वा पेसामा प्रवीणता हासिल गर्न सकूँ भनेर यस कुरालाई अध्ययन गर्न समय बढाउँदैनस्, तर यसप्रति अभिमानीपूर्ण लापरवाही आचरण तथा यससित व्यवहार गर्दा पलायनवादी आचरण कायम राख्छस् भने यो तेरो मानवताकै समस्या हो। के यो झारा टार्ने काम मात्रै होइन र? कतिले भन्छन्, “तपाईंले मलाई यस्तो काम दिनुभएको, मलाई यो मन पर्दैन।” यदि तँलाई मन पर्दैन भने यसलाई स्वीकार नगर्—अनि तैँले स्वीकार गरिस् भने तैँले यसलाई गम्भीर र जिम्मेवारपूर्ण आचरणसहित सुल्झाउनुपर्छ। तँसित हुनुपर्ने आचरण यही हो। के यो सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने कुरा होइन र? भद्र र सीधा हुनु भनेको यही नै हो। सामान्य मानवताको यस पक्षमा, तँमा कम्तीमा पनि सावधानी, सचेतना र मूल्य चुकाउने इच्छा, साथमा यथार्थवादी, इमानदार र जिम्मेवार मनोवृत्ति आवश्यक हुन्छ। यी कुराहरू हुनु पर्याप्त छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई)