७. जिद्‌ कस्‍ने र संयम नहुने समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

अहङ्कारी र हठी मानिसहरूलाई सत्यता स्विकार्न कठिन हुन्छ। तिनीहरू आफ्ना दृष्टिकोण, राय र सोचहरूसँग नमिल्ने केही कुरा सुन्दा त्यसलाई स्विकार्न सक्दैनन्। तिनीहरू अरूले भन्ने कुरा सही छ कि गलत, वा त्यो कसले भन्यो, त्यो कुन प्रसङ्गमा भनिएको थियो, वा त्यो तिनीहरूका आफ्नै जिम्मेवारी र कर्तव्यहरूसँग सम्बन्धित छ कि छैन भन्नेबारे वास्ता गर्दैनन्। तिनीहरू यी कुराहरूबारे वास्ता गर्दैनन्; तिनीहरू पहिलाआफ्नै भावनालाई सन्तुष्ट गर्ने हतारमा हुन्छन्। के यो हठी हुनु होइन र? हठी हुनुले मानिसहरूलाई अन्तत: कस्ता घाटाहरू पुर्याउँछ? तिनीहरूलाई सत्यता प्राप्त गर्न कठिन हुन्छ। सत्यताको अस्वीकृति मान्छेको भ्रष्ट स्वभावले निम्त्याउँछ, र त्यसको अन्तिम परिणामस्वरूप तिनीहरूले सजिलै सत्यता प्राप्त गर्न सक्दैनन्। मान्छेको प्रकृति सारबाट प्राकृतिक रूपमै जे प्रकट हुन्छ त्यो सत्यताविरुद्ध हुन्छ र सत्यतासँग त्यसको केही सरोकार हुँदैन; त्यस्तो कुनै पनि कुरा सत्यतासँग मिल्दैन वा सत्यताको नजिक हुँदैन। त्यसकारण, मुक्ति हासिल गर्न व्यक्तिले सत्यतालाई स्वीकार र अभ्यास गर्नैपर्छ। यदि व्यक्तिले सत्यता स्विकार्न सक्दैन र सधैँ आफ्नै रुचिहरूअनुसार कार्य गर्न चाहन्छ भने त्यस व्यक्तिले मुक्ति हासिल गर्न सक्दैन। यदि तँ परमेश्‍वरलाई पछ्याउन र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छस् भने, सुरुमा तैँले परिस्थितिहरू सोचेजस्तो नहुँदा आवेशमा आउने बानी छोड्नुपर्छ। पहिले शान्त बन् र परमेश्‍वरको अघि मौन बस्, र हृदयमा उहाँलाई प्रार्थना गर् र उहाँबाट खोजी गर्। हठ नगर्; पहिले समर्पित बन्। त्यस्तो मानसिकताद्वारा मात्रै तैँले समस्याहरूको अझ उत्तम समाधान निकाल्न सक्छस्। यदि तँ परमेश्‍वरको अघि जिउनमा दृढ़ रहन सकिस्, र तँमाथि जेसुकै आइपरे पनि, तैँले उहाँलाई प्रार्थना गर्न र उहाँबाट खोजी गर्न सक्छस्, र समर्पणको मानसिकताले त्यसलाई सामना गर्न सक्छस् भने, तेरो भ्रष्ट स्वभावका प्रकटीकरणहरू जति नै धेरै भए पनि, वा तैँले विगतमा जे-जस्ता अपराधहरू गरेको भए पनि—जबसम्म तैँले सत्यताको खोजी गर्छस्, तबसम्म ती कुरालाई समाधान गर्न सकिनेछ। तँमाथि जस्तोसुकै परीक्षा आइपरे पनि, तँ दह्रिलो गरी खडा हुन सक्‍नेछस्। जबसम्म तँसँग सही मानसिकता हुन्छ, जबसम्म तैँले सत्यतालाई स्वीकार गर्न, र परमेश्वरका मापदण्डहरूबमोजिम उहाँको आज्ञापालन गर्न सक्छस्, तबसम्म तँ सत्यतालाई अभ्यास गर्न पूर्ण रूपमा सक्षम हुन्छस्। तँ कहिलेकहीँ अलिक विद्रोही र प्रतिरोधी हुन सक्‍ने भए पनि, र कहिलेकहीँ प्रतिरक्षात्मक तर्क प्रस्तुत गर्ने र समर्पित हुन नसक्ने भए पनि, यदि तैँले परमेश्‍वरलाई प्रार्थना गर्न र आफ्‍नो विद्रोही स्थितिलाई परिवर्तन गर्न सक्छस् भने, तैँले सत्यता स्वीकार गर्न सक्छस्। त्यसो गरिसकेपछि, तँमा किन त्यस्तो विद्रोहीपन र प्रतिरोध पैदा भयो भन्‍नेबारेमा मनन गर्। कारण पत्ता लगा, त्यसपछि त्यसलाई समाधान गर्न सत्यता खोजी गर्, अनि तेरो भ्रष्ट स्वभावको त्यो पक्ष शुद्ध हुन सक्छ। त्यस्तो ठक्‍कर र लडाइबाट धेरैपटक उठेपछि, तैँले सत्यता अभ्यास गर्न नसकुन्जेलसम्म, तेरो भ्रष्ट स्वभाव क्रमिक रूपमा हट्दै जानेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

कतिपय मानिसहरूले आफ्‍नो कर्तव्य निभाउने क्रममा प्रायजसो स्वेच्‍छाचारी र लापरवाही ढङ्गले काम गर्छन्। तिनीहरू अत्यन्तै लहडबाज हुन्छन्: खुसी हुँदा, तिनीहरूले थोरथोरै कर्तव्य निभाउँछन्, र नहुँदा, तिनीहरूले घुर्की लगाउँदै भन्छन्, “म आज खराब मुडमा छु। म केही खान्‍नँ र आफ्‍नो कर्तव्य पनि निभाउदिनँ।” त्यसपछि अरूले तिनीहरूलाई फकाउँदै भन्‍नुपर्छ: “त्यसो गरेर हुँदैन। यसरी मुडअनुसार चल्‍ने गर्नु हुँदैन।” अनि तिनीहरूले यसप्रति के भन्छन्? “यसो गरेर हुँदैन भन्‍ने थाहा छ, तर म धनी र सुविधासम्पन्‍न परिवारमा हुर्केको हुँ। मेरा बाजेबजू र फुपूहरू सबैले मलाई बिगारे, र मेरा आमाबुबाले त झनै खराब गरे। म तिनीहरूको प्यारो, आँखाको नानी थिएँ, र तिनीहरूले मैले जे भन्यो त्यही गर्थे र मलाई बिगारे। त्यस्तो हुर्काइले ममा यस्तो लहडे मनोभाव आयो, त्यसकारण जब म परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य निभाउँछु, तब म अरूसँग छलफल गर्ने, वा सत्यता खोजी गर्ने, वा परमेश्‍वरमा समर्पित हुने गर्दिनँ। यसमा मेरो के दोष छ?” के तिनीहरूको बुझाइ सही छ? के तिनीहरूको मनोवृत्ति सत्यता पछ्याउने खालको छ? (छैन।) खाने टेबलबाट सबभन्दा राम्रो भाग रोज्‍ने, आफ्‍नो मात्रै वास्ता गर्ने, अनि अरूको बेवास्ता गर्नेजस्ता तिनीहरूका ससाना गल्तीहरू कसैले उठाउँदा पनि तिनीहरू भन्छन्, “म सानैदेखि यस्तै हुँ। मलाई यही बानी छ। मैले अरूको बारेमा कहिल्यै सोचेको छैनँ। मप्रति हुरुक्‍कै हुने आमाबुबा र मलाई लाडप्यार दिने बाजेबजूको साथमा मैले सधैँ सुखी जीवन जिएको छु। म मेरो सम्पूर्ण परिवारको आँखाको नानी हुँ।” यो त बकवास र भ्रम हो। के यो अलिक लाजमर्दो र बेसरम कुरा होइन र? तेरा आमाबुबाले तँलाई लाडप्यार दिए—के त्यसको अर्थ अरूले पनि तँलाई लाडप्यार दिनुपर्ने हो? तेरा आफन्तहरू तँ भनेपछि हुरुक्‍कै हुन्छन् र तँलाई लाडप्यार दिन्छन्—के त्यसले तँलाई परमेश्‍वरको घरमा लापरवाही र स्वेच्‍छाचारी व्यवहार गर्ने आधार दिन्छ? के त्यो जायज कारण हो? के त्यो आफ्‍नो भ्रष्ट स्वभावप्रति हुनुपर्ने जायज मनोवृत्ति हो? के त्यो सत्यता पछ्याउने मनोवृत्ति हो? (होइन।) जब यी मानिसहरूको जीवनमा कुनै कुरा आइपर्छ, जब तिनीहरूको भ्रष्ट स्वभाव वा तिनीहरूको जीवनसँग सम्‍बन्धित कुनै समस्या आइपर्छ, तब तिनीहरूले यसको उत्तर दिन, यसलाई व्याख्या गर्न र यसलाई सही साबित गर्न वस्तुगत बहाना बनाउन खोज्छन्। तिनीहरूले सत्यता खोजी गर्ने वा परमेश्‍वरलाई प्रार्थना गर्ने कहिल्यै गर्दैनन्, र तिनीहरू आफ्नो बारेमा मनन गर्न परमेश्‍वरको अघि आउँदैनन्। के आत्मचिन्तनविना व्यक्तिले आफ्‍ना समस्याहरू र भ्रष्टता चिन्‍न सक्छ? (सक्दैन।) अनि तिनीहरूले आफ्‍नो भ्रष्टतालाई नचिनी पश्‍चात्ताप गर्न सक्छन्? (सक्दैनन्।) यदि कसैले पश्‍चात्ताप गर्न सक्दैन भने, तिनीहरू अपरिहार्य रूपमा कुन स्थितिमा जिइरहेका हुन्छन्? के आत्ममाफीको स्थिति होइन र? के यो आत्ममाफी तिनीहरूले भ्रष्टता प्रकट गरे पनि, तिनीहरूले कुनै दुष्कर्म गरेका वा प्रशासनिक आदेशहरू उल्‍लङ्घन गरेका छैनन्—त्यसो गर्नु सत्यता सिद्धान्तअनुरूप नभए पनि, यो जानीजानी गरिएको थिएन, र यो क्षमा दिन लायक छ भन्‍ने होइन र? (हो।) त्यसो भए, के सत्यता पछ्याउने व्यक्तिमा त्यस्तो अवस्था हुनुपर्छ? … विशेष रूपमा लहडबाज र प्राय लापरवाही र मनमौजी व्यवहार गर्ने मानिसहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्विकार्दैनन्, न त तिनीहरूले काटछाँट हुन नै स्विकार्छन्। तिनीहरूले सत्यता नपछ्याउनु र काटछाँट र निराकरण स्विकार्न नसक्‍नुको निम्ति प्राय बहानाहरू बनाउँछन्। त्यो कस्तो स्वभाव हो? अवश्य नै, त्यो सत्यताको प्रतिकूल स्वभाव हो—शैतानको स्वभाव। मानिसमा शैतानको प्रकृति र स्वभाव हुन्छ, त्यसकारण मानिसहरू शैतानका हुन् भन्‍नेमा कुनै शङ्का छैन। तिनीहरू दियाबलसहरू, शैतानका सन्तानहरू, र ठूलो रातो अजिङ्गरका बच्‍चाहरू हुन्। कतिपय मानिसहरूले आफू दियाबलस, शैतान, र ठूलो रातो अजिङ्गरको बच्चा भएको स्विकार्न सक्छन्, र आत्मज्ञानको बारेमा एकदम राम्ररी बोल्‍न सक्छन्। तर जब तिनीहरूले कुनै भ्रष्ट स्वभाव प्रकट गर्छन्, र कसैले तिनीहरूलाई खुलासा र काटछाँट गर्छ, तब तिनीहरूले आफूलाई सही साबित गर्न सक्दो प्रयास गर्छन् र सत्यता बिलकुलै स्वीकार गर्दैनन्। यहाँ समस्या के छ? यसमा, यी मानिसहरू पूर्ण रूपमा खुलासा भएका हुन्छन्। तिनीहरूले आफूलाई चिन्‍नेबारेमा कुरा गर्दा अत्यन्तै राम्रो कुरा गर्छन्, र पनि किन काटछाँट हुनुपर्दा तिनीहरूले सत्यता स्विकार्न सक्दैनन्? यसमा एउटा समस्या छ। के यस्तो कुरा आम होइन र? के यो देख्‍न सजिलो छ? छ, वास्तवमै। कैयौँ मानिसहरूले आफ्‍नो आत्मज्ञानबारे कुरा गर्दा आफू दियाबलस र शैतान हुँ भनेर स्विकार्छन्, तर पश्‍चात्ताप गर्ने वा आफूलाई बदल्ने गर्दैनन्। त्यसो भए, तिनीहरूले गर्ने आत्मज्ञानको कुरा सही हुन्छ कि गलत? के तिनीहरूमा आफ्नो बारेमा सच्‍चा ज्ञान हुन्छ, कि यो अरूलाई छल्ने चाल मात्र हो? उत्तर आफैमा स्पष्ट छ। त्यसकारण, कुनै व्यक्तिसित साँचो आत्मज्ञान छ, छैन भनेर जान्‍नको लागि, तैँले त्यस्तो ज्ञानबारे उसले बोलेको मात्रै सुन्‍नु हुँदैन—तैँले काटछाँटप्रति उसको मनोवृत्ति कस्तो छ र उसले सत्यता स्विकार्न सक्छ कि सक्दैन भन्‍ने कुरा हेर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही हो। जसले काटछाँट स्विकार्न सक्दैन, ऊसँग सत्यता नस्विकार्ने र स्विकार्न नमान्‍ने सार हुन्छ, र उसको स्वभाव सत्यताको प्रतिकूल हुन्छ। त्यसमा कुनै शङ्का छैन। कतिपय मानिसहरूले जति नै भ्रष्टता प्रकट गरे पनि, अरूलाई आफ्नो काँटछाँट गर्न दिँदैनन्—कसैले पनि तिनीहरूलाई काटछाँट गर्न सक्दैन। तिनीहरूले आफूलाई जसरी मन लाग्यो त्यसरी आफ्‍नो आत्मज्ञानबारे कुरा गर्न सक्छन्, तर कसैले तिनीहरूलाई खुलासा, आलोचना वा काँटछाँट गर्‍यो भने, त्यो जति नै वस्तुगत वा तथ्यमा आधारित भए पनि, तिनीहरूले त्यो स्विकार्दैनन्। तिनीहरूको भ्रष्ट स्वभावको जुनसुकै प्रकटीकरण कुनै अर्को व्यक्तिले खुलासा गर्दा पनि, तिनीहरू अत्यन्तै विरोधी हुन्छन् र थोरै पनि साँचो समर्पण नदेखाई जिद्दीपूर्वक आफूलाई सही साबित गर्न स्पष्टीकरण दिन्छन्। त्यस्ता मानिसहरूले सत्यता नपछ्याए, समस्यामा हुनेछ। मण्डलीमा, तिनीहरू छुन र दोष लगाउन नसकिने हुन्छन्। मानिसहरूले तिनीहरूको बारेमा राम्रो कुरा भन्दा, तिनीहरू खुसी हुन्छन्; मानिसहरूले तिनीहरूको खराब कुरा औँल्याउँदा, तिनीहरू रिसाउँछन्। कसैले तिनीहरूलाई: “तिमी असल व्यक्ति हौ, तर तिमी एकदमै लहडमा चल्छौ। तिमीले सधैँ स्वेच्छाचारी र लापरवाही रूपमा काम गरिरहेको हुन्छौ। तिमीले काटछाँट स्विकार्नुपर्छ। के तिमीले यी कमीहरू र भ्रष्ट स्वभाव हटाउनु राम्रो हुँदैन र?” भन्दै खुलासा गर्‍यो भने, तिनीहरूले यस्तो जबाफ दिन्छन्, “मैले कुनै दुष्ट काम गरेको छैनँ। मैले पाप गरेको छैनँ। किन तपाईं मलाई काँटछाँट गर्दै हुनुहुन्छ? मेरा आमाबुबा र बाजेबजूले मलाई सानैदेखि घरमा लाडप्यार दिनुभयो। म उहाँहरूको प्यारो, आँखाको नानी थिएँ। अहिले, यहाँ परमेश्‍वरको घरमा, कसैले पनि मलाई लाडप्यार दिँदैन—यहाँ बस्‍नुको कुनै मजा छैन! तपाईंहरूले सधैँ मेरो केही गल्ती औँल्याउँदै मलाई काँटछाँट गर्न खोजिरहनुहुन्छ। यसरी त मैले कसरी जिउने?” यहाँ समस्या के हो? समझदारले तुरुन्तै बुझिहाल्छ कि यी मानिसहरूलाई तिनीहरूका आमाबुबा र परिवारले बिगारेका हुन्, र अहिले पनि तिनीहरूलाई कस्तो व्यवहार गर्ने वा कसरी आत्मनिर्भर हुने भन्‍ने नै थाहा छैन। तेरो परिवारले तँलाई आदर्श व्यक्तिलाई जस्तो लाडप्यार दियो, र तँलाई ब्रह्माण्डमा तेरो स्थान के हो भन्‍ने थाहा छैन। तैँले अहङ्कार, आत्मधार्मिक, र चरम लहडबाज चरित्र विकास गरेको छस्, र तँलाई यसबारेमा चेतना छैन र कसरी मनन गर्ने त्यो पनि थाहा छैन। तैँले परमेश्‍वरमा विश्‍वास त गर्छस् तर उहाँका वचनहरू सुन्‍ने वा सत्यता अभ्यास गर्ने गर्दैनस्। के परमेश्‍वरमाथिको त्यस्तो विश्‍वासद्वारा तैँले सत्यता प्राप्त गर्न सक्छस्? के तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस्? के तँ मानवजातिको साँचो स्वरूपमा जिउन सक्छस्? अवश्य सक्दैनस्।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (१)

मानिसहरूको अर्को समूह पनि छ जो शारीरिक सहजताको पछि लाग्दैनन्। तिनीहरू आफ्‍नै लहडअनुसार काम गर्न र आफ्‍नै मनस्थितिअनुसार चल्न खोज्छन्। खुसी हुँदा, तिनीहरूले अझै बढी कष्ट भोग्‍न सक्छन्, दिनभरि निरन्तर काम गर्न सक्छन्, र तिमीहरूले तिनीहरूलाई थाक्यौ कि भनेर सोध्यौ भने, तिनीहरूले यसो भन्‍नेछन्, “म थाकेको छैनँ, आफ्‍नो कर्तव्य पूरा गर्ने कुराले पनि कसरी मलाई थकित पार्न सक्छ र!” तर यदि कुनै दिन तिनीहरू बेखुसी छन् भने, तैँले तिनीहरूलाई कुनै कुरामा थप एक मिनेट बिताउन लगाइस् भने पनि, तिनीहरू असन्तुष्ट हुनेछन्, र तैँले तिनीहरूलाई अलिकति सम्झाइस् भने पनि, तिनीहरूले यसो भन्‍नेछन्, “कराउन छोड्नुहोस्! मलाई दबाब महसुस भइरहेको छ। तपाईं कराइरहनुभयो भने, म आफ्‍नो कर्तव्य पूरा गर्नेछैनँ, र त्यो तपाईंको गल्ती हुनेछ। भविष्यमा मैले आशिष्‌हरू प्राप्त गरिनँ भने त्यो तपाईंको दोष हुनेछ र तपाईंले यसको लागि सबै जिम्‍मेवारी लिनुपर्नेछ!” मानिसहरू अस्वाभाविक स्थितिमा हुँदा अस्थिर हुन्छन्। कहिलेकहीँ तिनीहरूले कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छन्, तर अरू बेला तिनीहरूले थोरै कष्ट भोग्दा पनि गुनासो गर्नेछन् र सानो कुराले पनि तिनीहरूलाई रिस उठाउनेछ। तिनीहरू खराब मनस्थितिमा हुँदा, तिनीहरूलाई आफ्‍नो कर्तव्य पूरा गर्न, परमेश्‍वरका वचनहरू पढ्न, भजन गाउन, वा भेलामा सहभागी हुन र प्रवचन सुन्‍न मन लाग्‍न छोड्छ। तिनीहरू बस केही समयसम्‍म एकलै बस्‍न चाहन्छन्, र जोकसैले पनि तिनीहरूलाई सहयोग गर्नु वा साथ दिनु असम्‍भव हुन्छ। केही दिनपछि, तिनीहरूले यो कुराबाट पार पाएर सामान्य महसुस गर्न सक्छन्। तिनीहरूलाई सन्तुष्ट नपार्ने कुनै पनि कुराले तिनीहरूलाई दबाबमा पर्छ। के यस्तो प्रकारको व्यक्ति अत्यन्तै स्वेच्‍छाचारी हुँदैन र? (हुन्छ।) तिनीहरू अत्यन्तै स्वेच्‍छाचारी हुन्छन्। उदाहरणको लागि, यदि तिनीहरूलाई तुरुन्तै सुत्‍न मन लाग्यो भने, तिनीहरू सुत्‍न जिद्दी गर्छन्। तिनीहरूले यसो भन्‍नेछन्, “मलाई थकाइ लाग्यो, र म अहिले नै सुत्‍न चाहन्छु। ममा कुनै ऊर्जा छैन भने मलाई त सुत्‍नैपर्छ!” यदि कसैले, “थप दश मिनेट बस्‍न सक्‍नुहुन्‍न र? यो काम चाँडै सकिनेछ, त्यसपछि हामी सबै जना आराम गर्न सकिहाल्छौँ नि, त्यसो गरे कसो होला?” भनेर भन्यो भने, तिनीहरूले जबाफ दिनेछन्, “हुँदैन, मलाई त अहिल्यै सुत्‍नुपर्छ!” यदि कसैले तिनीहरूलाई जसोतसो मनायो भने, तिनीहरू मन नलागीनलागी केही समयसम्‍म काम गर्छन्, तर तिनीहरूमा दबाब पर्छ र तिनीहरूलाई झर्को लाग्छ। यी कुराहरूबारे प्राय तिनीहरूलाई दबाब महसुस भइरहन्छ र तिनीहरू आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूबाट सहयोग स्विकार्न वा अगुवाहरूको सुपरिवेक्षण स्विकार्न अनिच्‍छुक हुन्छन्। तिनीहरूले गल्ती गरे भने पनि, तिनीहरूको निराकरण वा काटछाँट गर्न अरूलाई अनुमति दिँदैनन्। कुनै पनि हिसाबमा तिनीहरू नियन्त्रणमा पर्न चाहँदैनन्। तिनीहरू सोच्छन्, “खुसी मिल्छ भनेर मैले परमेश्‍वरमा विश्‍वास गरेको हुँ, त्यसकारण मैले किन आफै आफ्‍नो लागि कठिनाइ ल्याउने? किन मेरो जीवन त्यति थकाइलाग्दो हुनुपर्ने? मानिसहरू खुसीसाथ जिउनुपर्छ। तिनीहरूले यी नियम र ती प्रणालीहरूलाई त्यति धेरै ध्यान दिनु हुँदैन। सधैँ ती कुराहरू पालन गर्नुको के काम? अहिले, यो क्षण, म जे मन लाग्छ त्यही गर्छु। तपाईंहरू कसैले त्यसबारेमा केही भन्‍न पाउनुहुन्‍न।” यस्तो व्यक्ति एकदमै स्वेच्‍छाचारी र भोगविलासी हुन्छ: तिनीहरू कुनै पनि बन्धन भोग्‍न चाहँदैनन्, न त तिनीहरूले कुनै पनि काम गर्ने वातावरणमा बाँधिएको महसुस गर्न नै चाहन्छन्। तिनीहरू परमेश्‍वरको घरका नियम र सिद्धान्तहरू पालना गर्न चाहँदैनन्, आफ्‍नो व्यवहारमा मानिसहरूले लागू गर्नुपर्ने सिद्धान्तहरू लागू गर्न चाहँदैनन्, अनि विवेक र समझले तिनीहरूलाई गर्न लगाउने कुरासमेत तिनीहरू पालना गर्न चाहँदैनन्। तिनीहरू आफूलाई जे मन लाग्यो त्यही गर्न, जुन कुराले आफूलाई खुसी मिल्छ त्यही गर्न, र जुन कुराबाट आफूलाई फाइदा र सहज हुन्छ त्यही कुरा गर्न चाहन्छन्। तिनीहरूलाई लाग्छ कि यी बन्धनहरूमा जिउँदा यसले तिनीहरूको इच्छा उल्‍लङ्घन गर्छ, यो आफैलाई दुर्व्यवहार गर्नु हो, आफैप्रति कठोर हुनु हो, र मानिसहरूले त्यसरी जिउनु हुँदैन। तिनीहरू सोच्छन्, मानिसहरू देहमा लिप्त हुँदै र आफ्ना इच्छाहरू पूरा गर्दै, अनि आफ्‍ना आदर्श सोच र कामनाहरू पूरा गर्दै स्वतन्त्र र मुक्त भएर जिउनुपर्छ। तिनीहरूलाई लाग्छ, तिनीहरूले आफ्‍ना सबै विचारहरू पूरा गर्नुपर्छ, मन लागेको कुरा बोल्‍नुपर्छ, चाहेको कामकुरा गर्नुपर्छ, र मन लागेको ठाउँमा जानुपर्छ, परिणामहरूबारे वा अरूको भावनाबारे विचार गरिरहनु पर्दैन, र विशेष गरी आफ्‍ना जिम्‍मेवारी र दायित्वहरूबारे, वा विश्‍वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य, वा तिनीहरूले पालना गर्नुपर्ने र जिउनुपर्ने सत्यताका वास्तविकताहरू, वा तिनीहरूले पछ्याउनुपर्ने जीवन मार्गबारे विचार गरिरहनु पर्दैन। यो समूहका मानिसहरूले समाजमा र अरू मानिसहरूमाझ सधैँ आफूलाई जे मन लाग्यो त्यही गर्न चाहन्छन्, तर तिनीहरू जहाँ गए पनि, तिनीहरूले त्यो उद्देश्य पूरा गर्न सक्दैनन्। तिनीहरूलाई यो विश्‍वास हुन्छ कि परमेश्‍वरको घरले मानव अधिकारप्रति जोड दिन्छ, मानिसहरूलाई पूर्ण स्वतन्त्रता दिन्छ, र यसले मानवजातिको वास्ता गर्छ, र मानिसहरूप्रति सहिष्णु र धैर्य हुन ध्यान दिन्छ। परमेश्‍वरको घरमा आएपछि तिनीहरूले स्वतन्त्र रूपमा आफ्‍नो देह र इच्छाहरूमा लिप्त हुन पाउनुपर्छ भन्‍ने तिनीहरूले विचार गरेका हुन्छन्, तर परमेश्‍वरको घरका प्रशासनिक आदेशहरू र नियमहरूको कारण, तिनीहरूले जे मन लाग्यो त्यही गर्न सक्दैनन्। त्यसकारण, तिनीहरू परमेश्‍वरको घरमा आइसकेपछि तिनीहरूको यो दबाबपूर्ण नकारात्मक भावना समाधान हुन सक्दैन। तिनीहरू कुनै पनि प्रकारको जिम्‍मेवारी निभाउन वा कुनै मिसन पूरा गर्न, वा साँचो व्यक्ति बन्‍नको लागि जिउँदैनन्। तिनीहरूले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नको लागि, आफ्‍नो मिसन पूरा गर्न, र मुक्ति पाउनको लागि परमेश्‍वरमा विश्‍वास गरेका हुँदैनन्। तिनीहरू जोसुकै मानिसहरूमाझ भए पनि, जुनसुकै वातावरणमा भए पनि, वा जुन पेसामा संलग्‍न भए पनि, तिनीहरूको अन्तिम उद्देश्य भनेको आफूलाई सन्तुष्ट तुल्याउनु नै हुन्छ। तिनीहरूले गर्ने सबै कुराको उद्देश्य यसैमा केन्द्रित हुन्छ, र आत्मसन्तुष्टि नै तिनीहरूको आजीवन इच्छा र खोजको उद्देश्य हुन्छ।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (५)

परमेश्‍वरमा विश्‍वास गर्दा एकखाले व्यक्ति हृदयमा उत्साहित हुन्छ। उसलाई जस्तोसुकै कर्तव्य पनि स्वीकार्य हुन्छ, र अलिअलि कठिनाइ पनि स्वीकार्य हुन्छ, तर उसको चित्तप्रकृति अस्थिर हुन्छ—ऊ भावुक र लहडबाज, र सामञ्जस्यहीन हुन्छ। यस्ता व्यक्तिहरू आफ्नो मुडद्वारा मात्र काम गर्छन्। खुसी हुँदा, तिनीहरू आफूलाई अह्राइएको काम राम्ररी गर्छन्, र जोसँग सहकार्य वा सङ्गत गरे पनि तिनीहरूसित एकदमै मिलेर बस्छन्। तिनीहरू थप कर्तव्य सम्हाल्न पनि इच्छुक हुन्छन्—तिनीहरू जुनसुकै कर्तव्य निर्वाह गरिरहेका भए पनि, तिनीहरूमा जिम्मेवारीको भावना हुन्छ। राम्रो स्थितिमा हुँदा तिनीहरू यसरी कार्य गर्छन्। अनि, तिनीहरू राम्रो स्थितिमा हुनुको पनि एउटा कारण हुन सक्छ: कर्तव्यमा राम्रो गरेकोले, सायद तिनीहरूले प्रशंसा अनि समूहको सम्मान र अनुमोदन पाएका थिए होला। अथवा, तिनीहरूले गरेको कामलाई सायद धेरै मानिसहरूले कदर गर्छन् होला, त्यसैले तिनीहरू जति फुक्यो त्यति फुल्ने बेलुनझैँ गर्वले फुल्ने गर्छन्। अनि त्यही कारणले गर्दा, तिनीहरू हरदिन एउटै कर्तव्य निर्वाह गरिरहन्छन्, तर यस क्रममा तिनीहरू परमेश्‍वरको इच्छा बुझ्ने वा सत्यता सिद्धान्तहरू खोज्‍ने कहिल्यै गर्दैनन्। तिनीहरू सधैँ आफ्नै अनुभवको भरमा कार्य गरिरहेका हुन्छन्। के अनुभव नै सत्यता हो त? के अनुभवको आधारमा कार्य गर्नु भरपर्दो हुन्छ? के यो सत्यता सिद्धान्तहरूसँग मिल्छ? अनुभवको आधारमा कार्य गर्नु सिद्धान्तहरूसँग मिल्दैन; त्यो कुनै न कुनै बेला जरूर असफल हुनेछ। त्यसैले, तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह नगर्ने दिन पनि आउने नै छ। धेरै कुराहरू बिग्रनेछन्, र तिनीहरूलाई काटछाँट गरिनेछ। टोली तिनीहरूसित असन्तुष्ट हुनेछ। त्यसपछि तिनीहरू नकारात्मकतामा डुब्नेछन्: “अबउप्रान्त म यो कर्तव्य निर्वाह गर्नेछैन। म यो कर्तव्य राम्ररी गर्न सक्दिनँ। तिमीहरू सबैजना मभन्दा राम्रा छौ। नराम्रो त मै हुँ। त्यसैले, जसले यो गर्न चाहन्छ, गरे हुन्छ!” अनि, कसैले तिनीहरूसित सत्यता सङ्गति गर्छ, तर त्यसले तिनीहरूलाई छुँदैन, र तिनीहरूले बुझ्दै नबुझेर यसो भन्छन्: “यसमा सङ्गति गर्नुपर्ने के नै छ र? यो सत्यता हो होइन, मलाई मतलब छैन—खुसी हुँदा म आफ्नो कर्तव्य गर्नेछु र खुसी नहुँदा गर्नेछैन। त्यसलाई किन त्यति धेरै जटिल बनाउने? अब म त्यो काम गर्दिनँ; म खुसी हुने दिनको प्रतीक्षा गर्नेछु।” तिनीहरू निरन्तर यस्तै रहन्छन्। चाहे कर्तव्य निर्वाह गर्नमा होस्; चाहे परमेश्‍वरका वचनहरू पढ्नमा, वा प्रवचनहरू सुन्न र भेलाहरूमा सहभागी हुनमा होस्; वा चाहे अरूसँगका अन्तरक्रियाहरूमा होस्—तिनीहरूले जीवनको हरेक पक्षमा, छिनमै बदली र छिनमै घमाइलो, छिनमै खुसी र छिनमै उदास, छिनमै चिसो र छिनमै तातो, छिनमै नकारात्मक र छिनमै सकारात्मक कुरा प्रकट गर्छन्। संक्षेपमा भन्नुपर्दा, तिनीहरूको स्थिति राम्रो होस् वा नराम्रो, त्यो सधैँ सजिलै देखिने हुन्छ। तैँले त्यो एकै नजरमा देख्न सक्छस्। तिनीहरू हरेक काममा अस्थिर हुन्छन्, र तिनीहरू आफ्नो चित्तप्रकृतिअनुसार नै चल्छन्। खुसी हुँदा तिनीहरू राम्रो काम गर्छन्, र खुसी नहुँदा कम गुणस्तरको काम गर्छन्—तिनीहरूले त्यो काम गर्न रोक्न र त्यो काम त्याग्नसमेत सक्छन्। तिनीहरूले जे गरिरहेका भए पनि, तिनीहरूलाई त्यो आफ्नै मुडअनुसार, परिवेशअनुसार, र आफ्नै मागहरूअनुसार नै गर्नुपर्छ। कठिनाइ भोग्न तिनीहरूमा कुनै इच्छा हुँदैन; तिनीहरू पुल्पुलिएका र बिग्रिएका, उन्मत्त, समझहीन हुन्छन्, तर तिनीहरू यस्ता कुराहरू हटाउन कुनै प्रयास गर्दैनन्। तिनीहरूलाई कसैले पनि चिढ्याउन मिल्दैन; जसले चिढ्याउँछ ऊ तिनीहरूको रिसको निशाना बन्छ, जुन आँधीझैँ भएर आउँछ—रिस साम्य हुनेबित्तिकै, तिनीहरू नकारात्मक र भावनात्मक रूपले आशाहीन हुन्छन्। यतिमात्र होइन, तिनीहरू आफ्नै रूचिको आधारमा सबथोक गर्नेसमेत गर्छन्। “यदि मलाई यो काम मन पर्‍यो भने, म गर्छु; मन परेन भने, गर्दिनँ, र कहिल्यै गर्नेछैन। तिमीहरूमध्ये जो इच्छुक छौ उसले गर्दा हुन्छ। मसँग त्यसको केही सरोकार छैन।” यिनीहरू कस्ता व्यक्ति हुन्? तिनीहरू खुसी र राम्रो स्थितिमा हुँदा, हृदयमा उत्साहित हुन्छन् र परमेश्‍वरलाई प्रेम गर्न चाहन्छु भन्छन्। अनि, अति उत्साहित हुँदै, तिनीहरू रुन्छन्, मुहारबाट तातो आँशु बगाउँछन्, र चर्को रूपमा सुँकसुँकाउछन्। के तिनीहरूको हृदयले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्छ त? हृदयमा परमेश्‍वरलाई प्रेम गर्नु सामान्य स्थिति हो, तर तिनीहरूका स्वभाव, व्यवहार, र प्रकटीकरणहरू हेर्दा, तँलाई तिनीहरू दश वर्ष हाराहारीका बच्चा हुन् भन्ने लाग्छ। तिनीहरूको यो स्वभाव, तिनीहरूको यो जियाइ, लहडे खालको हुन्छ। तिनीहरू हरेक काममा अस्थिर, बेइमान, गैरजिम्मेवार, र बेकामे हुन्छन्। तिनीहरू कहिल्यै कठिनाइ भोग्दैनन् र जिम्मेवारी लिन अनिच्छुक हुन्छन्। खुसी हुँदा तिनीहरू जे गर्न पनि तयार हुन्छन्; अलिअलि कठिनाइ पनि सहन्छन्, अनि तिनीहरूको हितमा धक्का लागेमा त्यो पनि सहन्छन्। तर यदि तिनीहरू बेखुसी छन् भने, तिनीहरूले केही पनि गर्नेछैनन्। तिनीहरू कस्ता व्यक्ति हुन्? के त्यस्तो स्थिति सामान्य हो? (होइन।) यो समस्या असाधारण स्थितिभन्दा पनि परको हो—यो चरम लहडेपन, चरम मूर्ख्याइँ र अज्ञानता, र चरम बचकनाको प्रकटीकरण हो। अनि, लहडेपनमा के समस्या हुन्छ? कतिपयले भन्छन्, “यो चित्तप्रकृतिको अस्थिरता हो। तिनीहरू उमेरले ज्यादै कलिला छन् र तिनीहरूले ज्यादै कम कठिनाइ भोगेका छन्, र तिनीहरूको व्यक्तित्व अझै स्थिर भइसकेको छैन, त्यसैले तिनीहरूको व्यवहारमा प्राय: लहडेपन आइरहन्छ।” तर तथ्य के हो भने, लहडलाई उमेरले फरक पार्दैन: चालिसतिरका र सत्तरीतिरका मानिसहरू पनि कहिलेकाहीँ लहडे हुन्छन्। यसलाई कसरी व्याख्या गर्ने? लहडेपन वास्तवमा व्यक्तिको स्वभावमा हुने समस्या हो, र यो अत्यन्तै गम्भीर समस्या हो! यदि तिनीहरू कुनै महत्त्वपूर्ण कर्तव्य निभाइरहेका छन् भने, त्यसले त्यो कर्तव्य र कामको प्रगतिमा ढिलाइ गराउन सक्छ, र यसले परमेश्‍वरको घरका हितहरूमा घाटा पुर्‍याउँछ; साधारण कर्तव्यहरूको हकमा पनि, त्यसले ती कर्तव्यहरूमा बेलाबेलामा असर पार्छ, र प्रगतिमा बाधा पुर्‍याउँछ। त्यसबाट अरूलाई, तिनीहरू आफैलाई, वा मण्डलीको कामलाई पनि केही फाइदा पुग्‍दैन। तिनीहरूले गर्ने ससाना कामहरू र तिनीहरूले चुकाउने मूल्यहरूले समग्रमा घाटा नै पुर्‍याउँछन्। खासमा लहडे मानिसहरू परमेश्‍वरको घरमा कर्तव्य निभाउन अयोग्य हुन्छन्, र त्यस्ता मानिसहरू धेरै छन्। लहडेपन भ्रष्ट स्वभावहरूमध्येको सबैभन्दा आम प्रकटीकरण हो। व्यावहारिक रूपले हरव्यक्तिमा यस्तो स्वभाव हुन्छ। त्यो स्वभाव के हो? हरेक भ्रष्ट स्वभाव स्वत: एकप्रकारको शैतानी स्वभाव हो, र लहडेपन एउटा भ्रष्ट स्वभाव हो। हल्का रूपमा भन्नुपर्दा, यो सत्यतालाई प्रेम नगर्नु वा नस्विकार्नु हो; गहन रूपमा भन्नुपर्दा, यो सत्यताप्रति वितृष्ण हुनु र घृणा गर्नु हो। के लहडे मानिसहरू परमेश्‍वरप्रति समर्पित हुन सक्छन्? निश्‍चय नै सक्दैनन्। खुसी र फाइदा मिल्दा तिनीहरू क्षणिक रूपमा समर्पित हुन सक्छन्, तर बेखुसी हुँदा र फाइदा नमिल्दा, तिनीहरू क्रोधित बन्छन् र उहाँलाई प्रतिरोध र विश्‍वासघात गर्ने दुस्‍साहस गर्छन्। अनि, तिनीहरूले मनमनै यसो भन्नेछन्, “चाहे त्यो सत्यता होस् वा नहोस्, मलाई मतलब छैन—म खुसी र सन्तुष्टचाहिँ हुनुपर्छ। यदि म बेखुसी छु भने, जसले जे भने पनि काम लाग्नेछैन! सत्यताको के काम? परमेश्‍वरको के काम? म नै मालिक हुँ!” यो कस्तो प्रकारको भ्रष्ट स्वभाव हो? (सत्यतालाई घृणा गर्ने।) यो सत्यतालाई घृणा गर्ने, अर्थात् त्यसप्रति वितृष्ण स्वभाव हो। के यसमा अहङ्कार र अभिमानको तत्व छ? हठीपनको तत्व छ? (छ।) यसमा अर्को एउटा गम्भीर स्थिति पनि छ। तिनीहरू राम्रो मुडमा हुँदा सबैलाई राम्रो व्यवहार गर्छन् र जिम्मेवार भएर कर्तव्य निभाउँछन्; मानिसहरूले सोच्छन् कि तिनीहरू असल र समर्पित, मूल्य चुकाउन इच्छुक, र सत्यतालाई साँच्चिकै प्रेम गर्ने व्यक्ति हुन्। तर नकारात्मक बन्नेबित्तिकै, तिनीहरूले काम गर्न छोड्नेछन्, गुनासो गर्नेछन्, र समझहीन बन्नेछन्। यहाँ, तिनीहरूको दुष्ट पाटो उत्पन्न हुन्छ। तिनीहरूलाई कसैले पनि धिक्‍कार्न पाउँदैन। तिनीहरूले यस्तोसमेत भन्नेछन्, “म हरेक सत्यता बुझ्छु, मैले त्यो अभ्यास नगरेको मात्र हो। मलाई त म आफूप्रति सन्तुष्ट भए पुग्छ!” यो कस्तो स्वभाव हो? (क्रूरता।) यी दुष्ट मानिसहरू आफूलाई काटछाँट गर्नेविरुद्ध जाइलाग्न मात्र होइन्, कुनै दुष्ट राक्षसले झैँ उनीहरूलाई चोट र हानि पुर्‍याउनसमेत तयार हुन्छन्। तिनीहरूलाई हस्तक्षेप गर्ने आँट कसै गर्न सक्दैन। के यो तिनीहरू अत्यन्तै लहडबाज र क्रूर हुनु होइन र? के यो युवासँग सम्बन्धित समस्या हो र? यदि तिनीहरू पाका भएका भए, लहडबाज हुन्थेनन् र? यदि तिनीहरू पाका भएका भए, बढी विचारशील र चेतनशील हुन्थे र? हुन्थेनन्। यो तिनीहरूको व्यक्तित्व वा उमेरको मामला होइन। यसमा गहिरोसित गाडिएको भ्रष्ट स्वभाव लुकेको हुन्छ। तिनीहरू त्यही भ्रष्ट स्वभावद्वारा सञ्‍चालित हुन्छन्, र त्यही भ्रष्ट स्वभावद्वारा जिउँछन्। के भ्रष्ट स्वभावले जिउने व्यक्तिमा समर्पण हुन्छ? के उसले सत्यता खोज्न सक्छ? के उसमा सत्यतालाई प्रेम गर्ने पाटो हुन्छ? (हुँदैन।) अहँ, यी केही पनि हुँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले जिउनको लागि वास्तवमा केमा भरोसा गर्छन्?

यदि मानिसहरूले कुनै मामला सामना गर्दा, धेरै आफुखुसी गर्छन् र सत्यता नखोजी आफ्नै विचारहरू लाद्न खोज्छन् भने, यो निकै खतरनाक हुन्छ। परमेश्वरले यी मानिसहरूलाई घृणा र इन्कार गर्नुहुनेछ र पन्छ्याइदिनुहुनेछ। यसको परिणाम के हुनेछ? तिनीहरूलाई हटाइने खतरा छ भनेर निश्चित रूपमा भन्न सकिन्छ। तर, सत्यताको खोजी गर्नेहरूले पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न सक्छन्, र फलस्वरूप, परमेश्वरको आशिष् प्राप्त गर्न सक्छन्। सत्यता खोज्ने र सत्यता नखोज्ने दुई फरक मनोवृतिहरूले तँमा दुई फरक स्थितिहरू र दुई फरक परिणामहरू निम्त्याउन सक्छन्। तिमीहरू कस्तो खालको परिणाम रोज्छौ? (म परमेश्वरको अन्तर्दृष्टि प्राप्त गर्न रुचाउँछु।) यदि मानिसहरूले परमेश्‍वरको अन्तर्दृष्टि र अगुवाइ पाउन, अनि परमेश्‍वरको अनुग्रह प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूमा कस्तो मनोवृत्ति हुनुपर्छ? तिनीहरूमा प्राय परमेश्‍वरको अघि खोजी गर्ने र आज्ञाकारी मनोवृत्ति हुनुपर्छ। तैँले आफ्‍नो कर्तव्य निर्वाह गरिरहेको, अरूसँग अन्तरक्रिया गरिरहेको, वा तँमाथि आइपरेको कुनै खास समस्या सम्हालिरहेको भए पनि वा नभए पनि, तँसँग खोजी गर्ने र आज्ञाकारी मनोवृत्ति हुनुपर्छ। यस प्रकारको मनोवृत्ति छ भने, तँसँग परमेश्‍वरको डर मान्ने हृदय छ भन्न सकिन्छ। सत्यताको खोजी र पालना गर्न सक्नु नै परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्ग हो। यदि तँमा खोजी र आज्ञापालनको मनोवृत्तिको कमी छ, र बरु तँ आफ्नै कुरामा लागिपर्छस् जिद्दी तरिकाले विरोधी छस्, र तँ सत्यतालाई स्विकार्न मान्दैनस् र सत्यतादेखि दिक्क भएको छस् भने, तैँले प्राकृतिक रूपमा नै निकै धेरै दुष्ट काम गर्नेछस्। तैँले यस कार्यलाई रोक्‍न सक्‍नेछैनस्! यदि मानिसहरूले यसलाई समाधान गर्न कहिल्यै पनि सत्यताको खोजी गर्दैनन् भने, अन्तिम परिणाम के हुनेछ भने, तिनीहरूले जति नै धेरै अनुभव गरेको भए पनि, तिनीहरू जति नै धेरै परिस्थितिहरूमा परे पनि, परमेश्‍वरले तिनीहरूलाई जति नै पाठहरू दिनुभए पनि, तिनीहरूले अझै पनि सत्यतालाई बुझ्‍नेछैनन्, र अन्तिममा तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न नसक्‍ने अवस्थामा नै रहनेछन्। यदि मानिसहरूमा सत्यता वास्तविकता छैन भने, तिनीहरूले परमेश्‍वरको मार्गलाई पछ्याउन सक्‍नेछैनन्, र यदि तिनीहरूले परमेश्‍वरको मार्गलाई कहिल्यै पछ्याउन सक्दैनन् भने, तिनीहरू परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मानिसहरू होइनन्। मानिसहरू आफ्‍नो कर्तव्य निभाउने र परमेश्वरलाई पछ्याउने चाहनाको बारेमा कुरा गरेको गर्‍यै गर्छन्। के यी कुराहरू सरल छन् त? अवश्य नै छैनन्। यी कुराहरू मानिसहरूको जीवनमा अत्यन्तै महत्त्वपूर्ण छन्! व्यक्तिले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन र परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने कार्य हासिल गर्नको निम्ति आफ्नो कर्तव्य राम्ररी निभाउन सजिलो छैन। तर म तिमीहरूलाई एउटा अभ्यासको सिद्धान्तभन्नेछु: जब तँमाथि कुनै कुरा आइपर्छ तब तँसँग खोजी र आज्ञापालन गर्ने मनोवृत्ति छ भने, यसले तँलाई रक्षा गर्नेछ। अन्तिम लक्ष्य भनेको तेरो सुरक्षा गर्नु होइन। त्यो त तँलाई सत्यता बुझ्‍न लगाउनु र सत्यता वास्तविकतामा प्रवेश गर्नु, अनि परमेश्वरको मुक्ति प्राप्त गर्नु हो—अन्तिम लक्ष्य यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरू सबै नै आफूले गर्नुपर्ने उचित काम पूरा गर्ने, आफ्‍नो कर्तव्य पूरा गर्न इच्छुक रहने, र कामको बोझ लिने अनि आफ्‍नो क्षमता र परमेश्‍वरको घरका नियमहरूअनुसार त्यो काम राम्ररी गर्न सक्‍ने मानिसहरू हुन्। अवश्य नै, सुरुमा यस्तो जीवन अपनाउन गाह्रो हुनसक्छ। तँलाई शारीरिक र मानसिक रूपमा थकान महसुस हुनसक्छ। तैपनि, यदि तँसँग साँच्‍चै सहकार्य गर्ने सङ्कल्प र सामान्य र असल व्यक्ति बन्‍ने, र मुक्ति हासिल गर्ने इच्छा छ भने, तैँले थोरै भए पनि मूल्य चुकाएर परमेश्‍वरको अनुशासन स्विकार्नुपर्ने हुन्छ। जब तँसँग स्वेच्‍छाचारी हुने इच्छा हुन्छ, तब त्यस्तो इच्छा त्याग्‍नुपर्छ, र तैँले आफ्ना स्वेच्‍छाचारी सोच र स्वार्थी इच्छाहरू क्रमिक रूपमा घटाउँदै जानुपर्छ। महत्त्वपूर्ण मामला, महत्त्वपूर्ण समय, र महत्त्वपूर्ण काममा, तैँले परमेश्‍वरको सहयोग लिनुपर्छ। यदि तँमा सङ्कल्प छ भने, तैँले सत्यता बुझ्‍न सकूँ भनेर परमेश्‍वरबाट ताडना र अनुशासन, र अन्तर्दृष्टि माग्‍नुपर्छ, र त्यस तरिकाले तैँले अझै राम्रा परिणामहरू प्राप्त गर्नेछस्। यदि तँमा साँच्‍चै सङ्कल्प छ, र तैँले परमेश्‍वरको उपस्थितिमा प्रार्थना गरेर उहाँलाई अन्तर्बिन्ती गर्छस् भने, परमेश्‍वरले काम गर्नुहुनेछ। उहाँले तेरो स्थिति र तेरा विचारहरू परिवर्तन गर्नुहुनेछ। यदि पवित्र आत्माले अलिअलि काम गरेर तँलाई थोरै भए नि स्पर्शित गर्नुभयो, र अन्तर्दृष्टि दिनुभयो भने, तेरो हृदय परिवर्तन हुनेछ, र तेरो स्थिति रूपान्तरित हुनेछ। यो रूपान्तरण आएपछि, यसरी जिउनु दबाबपूर्ण छैन भन्‍ने कुरा तँलाई महसुस हुनेछ। तेरा दमित स्थिति र संवेगहरू रूपान्तरित भई कम हुनेछन्, र त्यो पहिलेको भन्दा फरक हुनेछ। यसरी जिउनु थकाइलाग्दो छैन भन्‍ने तँलाई महसुस हुनेछ। परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्दा तँलाई आनन्द हुनेछ। यस्तो व्यवहारमा आफूलाई ढाल्नु, अनि कर्तव्य पूरा गर्नु, कठिनाइ भोग्‍नु र मूल्य चुकाउनु, नियमहरू पालना गर्नु, र सिद्धान्तहरूअनुसार काम गर्नु भनेको जिउने असल तरिका हो भन्‍ने तँलाई महसुस हुनेछ। सामान्य मानिसहरूको जीवन यस्तै हुनुपर्छ भन्‍ने तँलाई महसुस हुनेछ। जब तँ सत्यताअनुसार जिउँछस् र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्छस्, तब तेरो हृदय स्थिर र शान्तिमा रहेको, र तेरो जीवन अर्थपूर्ण बनेको तँलाई महसुस हुनेछ। अनि, तैँले सोच्‍नेछस्: “मलाई किन पहिले यसबारेमा थाहा भएन? म किन यति स्वेच्‍छाचारी थिएँ? पहिले, म शैतानको दर्शन र स्वभावअनुसार जिउँथेँ, र यस क्रममा न त मानवको रूपमा न त भूतको रूपमा जिउन सकेँ, अनि म जति जिउँथेँ, मलाई त्यति नै पीडा हुन्थ्यो। अहिले मैले सत्यता बुझेको छु, मैले आफ्‍नो भ्रष्ट स्वभाव केही मात्रामा त्यागेको छु, र कर्तव्य पूरा गर्दै र सत्यता अभ्यास गर्दै बिताएको मेरो जीवनप्रति मलाई साँचो शान्ति र आनन्द हुन्छ!” के तब तेरो मनस्थिति परिवर्तन भएको हुनेछैन र? (हुनेछ।) पहिले तेरो जीवन दबाब र हैरानीले भरिएको थियो भन्‍ने महसुस गरेपछि, अनि तैँले तेरो कष्टको मूल कारण पत्ता लगाएर समस्या समाधान गरेपछि, तँसँग परिवर्तनको आशा हुनेछ। … सर्वप्रथम, तिनीहरूले आफूले गर्नुपर्ने उचित काम गर्न, अनि वयस्क र सामान्य व्यक्तिका जिम्‍मेवारी र दायित्वहरूको बोझ लिन सिक्‍नुपर्छ, र त्यसपछि तिनीहरूले नियमहरू पालना गर्न, र परमेश्‍वरको घरका व्यवस्थापन, रेखदेख, र काटछाँट अनि निराकरण स्विकार्न, र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सिक्‍नुपर्छ। विवेक र समझ भएको व्यक्तिले अपनाउनुपर्ने सही मनोवृत्ति यही हो। दोस्रो, तिनीहरूसँग सामान्य मानवतामा हुनुपर्ने विवेक र समझसँग सम्‍बन्धित जिम्‍मेवारी, दायित्व, र विचार र दृष्टिकोणहरूबारे सही बुझाइ र ज्ञान हुनुपर्छ। तैँले आफ्‍नो नकारात्मक भावना र दबाबबाट मुक्त हुनुपर्छ र आफ्‍नो जीवनमा पैदा हुने विभिन्‍न कठिनाइहरूलाई सहीसित सामना गर्नुपर्छ। तेरो लागि, यी कुराहरू वैकल्पिक कुरा, वा बोझ, वा बन्धनहरू होइनन्, बरु सामान्य वयस्कको रूपमा तैँले अवलम्‍बन गर्नुपर्ने कुरा हुन्। यसको अर्थ के हो भने, तँ पुरुष भए नि महिला भए नि, तेरो क्षमता जस्तो भए नि, तँ जति सक्षम भए नि, वा तँसँग जति सीप भए नि, एक वयस्कले लिनुपर्ने सबै कुराहरूको बोझ तैँले लिनैपर्छ, जस्तै: वयस्कहरूले अवलम्‍बन गर्नुपर्ने जिउने वातावरण, तैँले लिनुपर्ने जिम्‍मेवारी, दायित्व, र मिसन, र तैँले सम्‍हाल्‍नुपर्ने काम। सर्वप्रथम, अरूले तँलाई लाउन र खान दिन्छन् भनेर अपेक्षा गर्नुको सट्टा, वा जसोतसो अघि बढ्न अरूको मेहनतको फलमा भर पर्नुको सट्टा, तैँले यी कुराहरूलाई सकारात्मक रूपमा स्विकार्नुपर्छ। यसको साथै, तैँले विभिन्‍न प्रकारका नियम, प्रावधान र व्यवस्थापन अपनाउन र स्विकार्न सिक्‍नुपर्छ, तैँले परमेश्‍वरको घरका प्रशासनिक आदेशहरू स्विकार्नुपर्छ, र अरू मानिसहरूमाझ एउटा अस्तित्व र जीवन अपनाउन सिक्‍नुपर्छ। तँमा सामान्य मानवताको विवेक र समझ हुनुपर्छ, आफ्‍नो वरिपरिका मानिसहरू, घटना, र परिस्थितिहरूलाई सही रूपमा लिनुपर्छ, र आफूले सामना गर्ने विभिन्‍न समस्याहरूलाई सही तरिकाले सम्‍हाल्‍नु र समाधान गर्नुपर्छ। यी सबै कुराहरू सामान्य मानवता भएको व्यक्तिले सम्‍हाल्‍नुपर्ने कुराहरू हुन्, र यसलाई वयस्कले सामना गर्नुपर्ने जीवन र जिउने वातावरण हो भनेर पनि भन्‍न सकिन्छ। उदाहरणको लागि, वयस्कको रूपमा, तेरो जीवन जति कठिन भए पनि आफ्‍नो परिवारको हेरचाह र पालनपोषण गर्न तैँले आफ्‍नै क्षमतामा भरोसा गर्नुपर्छ। यो तैँले भोग्‍नुपर्ने कठिनाइ, वहन गर्नुपर्ने जिम्‍मेवारी, र पूरा गर्नुपर्ने दायित्व हो। तैँले एउटा वयस्कले काँध लिनुपर्ने जिम्‍मेवारीहरूको बोझ लिनुपर्छ। तैँले जति धेरै कष्ट भोगे पनि वा जति धेरै मूल्य चुकाए पनि, तँलाई जति दुःख लागे पनि, तैँले आफ्‍ना गुनासाहरू आफैभित्र लुकाउनुपर्छ र कसैको बारेमा कुनै नकारात्मक संवेग वा गुनासो पैदा गर्नु हुँदैन, किनभने वयस्क भएर लिनुपर्ने बोझ नै यही हो। वयस्कको रूपमा तैँले यी कुराहरूको बोझ लिनैपर्छ—गुनासो वा विरोध नगरी, अनि विशेष गरी तिनीहरूबाट टाढा नबसी वा तिनीहरूलाई इन्कार नगरी त्यसो गर्नुपर्छ। जीवनमा यताउता भौँतारिनु, बेकार बस्‍नु, आफूलाई जे मन लाग्यो त्यही गर्नु, स्वेच्‍छाचारी बन्‍नु वा मनोमानी गर्नु, आफूले चाहेको गर्ने र नचाहेको नगर्ने गर्नु—यो वयस्कले जीवनमा अपनाउनुपर्ने मनोवृत्ति होइन। हरेक व्यक्तिले कठिनाइ, रोग र विभिन्‍न अप्ठ्याराहरूजस्ता तनावहरू सामना जति धेरै गरे पनि वयस्कका जिम्‍मेवारीहरू पूरा गर्नैपर्छ—यी कुराहरू हरेक व्यक्तिले अनुभव गर्नुपर्ने र भोग्‍नुपर्ने कुराहरू हुन्। यी कुराहरू सामान्य व्यक्तिको जीवनका भाग हुन्। यदि तैँले तनाव सहन वा कष्ट भोग्‍न सक्दैनस् भने, यसको अर्थ तँ अत्यन्तै नाजुक र काम नलाग्‍ने छस् भन्‍ने हुन्छ। जो जिउँछ उसले यो कष्ट भोग्‍नैपर्छ, र कोही पनि यसबाट उम्कन सक्दैन। चाहे समाजमा होस् वा परमेश्‍वरको घरमा होस्, यो कुरा सबैमा लागू हुन्छ। यो तैँले लिनुपर्ने जिम्‍मेवारी, वयस्कले लिनुपर्ने गह्रौँ बोझ, र तिनीहरूले बोक्‍नुपर्ने कुरा हो, र तँ यसबाट पन्छिनु हुँदैन। यदि तँ सधैँ यो सब कुराबाट उम्कने वा पन्छिने प्रयास गर्छस् भने, तेरा दबाबपूर्ण संवेगहरू प्रकट हुनेछन्, र तँ सधैँ तिनको बन्धनमा पर्नेछस्। तैपनि, यदि तैँले उचित रूपमा यी सब कुरा बुझ्‍न र स्विकार्न सक्छस्, र आफ्‍नो जीवन र अस्तित्वको अत्यावश्यक भागको रूपमा यसलाई लिन सक्छस् भने, यी समस्याहरू तँमा नकारात्मक संवेगहरू पैदा हुने कारण नहुनुपर्ने हो। एक हिसाबमा, तैँले वयस्कले बोक्‍नुपर्ने र लिनुपर्ने जिम्‍मेवारी र दायित्वहरू स्विकार्न सिक्‍नुपर्छ। अर्को हिसाबमा, तैँले जिउने र काम गर्ने वातावरणमा सामान्य मानवतामा रही अरूसँग मिलेर सहकार्य गर्न सिक्‍नुपर्छ। जे मन लाग्छ त्यही मात्रै गर्ने नगर्। अनि, मिलेर सहअस्तित्वमा रहनुको उद्देश्‍य के हो? यो तैँले आफ्‍नो काममा सामना गर्ने समस्याहरूबाट आउने घाटाहरू कम गर्न, र तेरो कामको परिणाम र प्रभावकारिता बढाउनको लागि तैँले काम पूरा गर्नु र एउटा वयस्कले पूरा गर्नुपर्ने र लागू गर्नुपर्ने दायित्व र जिम्‍मेवारीहरू राम्रोसित पूरा गर्नलाई हो। तैँले हासिल गर्नुपर्ने कुरा यही हो। यदि तँमा सामान्य मानवता छ भने, मानिसहरूमाझ काम गर्दा तैँले यो कुरा हासिल गर्नुपर्छ। जहाँसम्‍म कामको दबाबको कुरा छ, चाहे यो माथिबाट आएको होस् वा परमेश्‍वरको घरबाट आएको होस्, वा यो तेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तँलाई दिएको दबाब होस्, यो तैँले सहनुपर्ने कुरा हो। तैँले यसो भन्‍न मिल्दैन, “यो त अति धेरै दबाब भयो, त्यसकारण म यो काम गर्नेछैनँ। आफ्‍नो कर्तव्य पूरा गर्दा र परमेश्‍वरको घरमा काम गर्दा म फुर्सतको समय, सहजता, खुसी र आराम मात्रै खोजिरहेको छु।” यसरी हुँदैन; यो सामान्य वयस्कमा हुनुपर्ने सोच होइन, र परमेश्‍वरको घर तँ आराममा मस्त हुने ठाउँ होइन। हरेक व्यक्तिले आफ्‍नो जीवन र काममा निश्‍चित मात्रामा तनाव र खतरा लिन्छ। कुनै पनि काममा, विशेष गरी परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्दा, तैँले अधिकतम परिणामहरू प्राप्त गर्ने प्रयास गर्नुपर्छ। अहिले माथिल्‍लो तहबाट हेर्दा, यो परमेश्‍वरको शिक्षा र मापदण्ड हो। सामान्य तहबाट हेर्दा, यो हरेक व्यक्तिले आफ्‍नो व्यवहार र कार्यमा अपनाउनुपर्ने मनोवृत्ति, दृष्टिकोण, मानक र सिद्धान्त हो। जब तँ परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्छस्, तब तैँले परमेश्‍वरको घरका नियमहरू र प्रणालीहरू पालना गर्न सिक्‍नुपर्छ, तैँले अनुपालन गर्न सिक्‍नुपर्छ, नियमहरू सिक्‍नुपर्छ, र सही तरिकाले व्यवहार गर्न सिक्‍नुपर्छ। यो व्यक्तिको आनीबानीको महत्त्वपूर्ण भाग हो। अविश्‍वासीहरूजस्तै तैँले काम गर्नुको सट्टा आफूमा लिप्त हुँदै, कुनै कुराबारे गम्भीर विचार नगरी, अनि दिनहरू फोकटमा बिताउँदै, वा गलत कार्यहरूमा संलग्‍न हुँदै, र आफ्‍नै शैलीमा जिउँदै आफ्‍नो समय बिताउनु हुँदैन। अरूलाई तँप्रति घिनाउने नपार्, तिनीहरूको आँखाको कसिङ्गर वा बिझाउने काँढा नबन्, सबैलाई तँबाट टाढा हुने वा तँलाई इन्कार्ने नतुल्या, र कुनै पनि कामको निम्ति बाधा वा ठेस लाग्‍ने ढुङ्गा नबन्। यही नै सामान्य वयस्कमा हुनुपर्ने विवेक र समझ हो, र यही नै सामान्य वयस्कले लिनुपर्ने जिम्‍मेवारी पनि हो।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (५)

अघिल्लो: ५. परिवारको देहगत सुखचैनको समस्या कसरी समाधान गर्ने

अर्को: १०. परमेश्‍वरदेखि सावधान रहने र उहाँलाई गलत बुझ्ने समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्