३२. विश्‍वासघाती प्रकृतिको स्वभावलाई कसरी बुझ्ने र हटाउने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

मानिसको स्वभाव मेरो सारभन्दा धेरै फरक छ, किनकि मानिसको स्वभाव पूर्णतया शैतानबाट उत्पन्‍न हुन्छ; मानिसको स्वभाव शैतानद्वारा चलाइएको र भ्रष्ट पारिएको छ। यसर्थ, मानिस त्यसको दुष्टता र कुरूपताको प्रभावमा जिउँछ। मानिस सत्यताको संसारमा वा पवित्र वातावरणमा हुर्कँदैन, मानिस ज्योतिमा जिउने कुरा त परै जाओस्। यसैले, जन्मेदेखि नै स्वभावमा सत्यता हुनु कसैको निम्ति पनि सम्भव छैन, परमेश्‍वरको भय र उहाँप्रति समर्पण गर्ने सारको कुरा त गर्दै साथमा कोही जन्‍मन सक्‍ने-नगरौं। यसको विपरीत, मानिसहरूमा परमेश्‍वरको विरोध गर्ने, उहाँविरुद्ध विद्रोह गर्ने र सत्यतालाई प्रेम नगर्ने प्रकृति छ। मैले छलफल गर्न चाहेको समस्या यही प्रकृति—विश्‍वासघात—नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

मानिसको स्वभाव देहबाट नभई आत्माबाट आउँछ। हरेक व्यक्तिको आत्मालाई मात्रै तिनीहरूले कसरी शैतानका परीक्षा, कष्टहरू र भ्रष्टताको अनुभव गरेका छन् भन्‍ने कुरा थाहा हुन्छ। यी कुराहरू मानिसको देहको निम्ति अज्ञात छन्। यसैले, मानवजाति अनजानमा अझै अँध्यारो, अझै घिनलाग्दो र अझै बढी दुष्ट बन्छ, मानिस र मबीचको दूरी निरन्तर बढ्दै जान्छ र मानवजातिको निम्ति जीवन निरन्तर अँध्यारो बन्छ। शैतानले मानवजातिका आत्माहरूलाई आफ्नो पकडमा राख्छ, यसैले निश्‍चय नै मानिसको देहलाई पनि शैतानले ओगटेको छ। यस्तो देह र यस्तो मानवजातिले कसरी परमेश्‍वरको विरोध नगरोस्? तिनीहरू कसरी उहाँसँग अन्तर्निहित रूपले मिल्‍न सक्छन् र? मैले शैतानलाई मध्य आकाशमा फ्याँक्‍नुको कारण त्यसले मलाई विश्‍वासघात गरेकोले नै हो। त्यसो भए मानव कसरी तिनीहरूका संलग्‍नतादेखि स्वतन्त्र हुन सक्छन्? त्यसैले विश्‍वासघात मानव प्रकृति हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

“शैतानले मानिसलाई यति भ्रष्ट पारेको छ कि ऊसँग अब उप्रान्त मानिसको स्वरूप नै छैन।” बहुसङ्ख्यक मानिसहरू अहिले यस वाक्यांशलाई केही हदसम्म पहिचान गर्छन्। मैले यसो भनिरहेको छु, किनकि मैले उल्‍लेख गरेको “पहिचान” साँचो ज्ञान नभई सतही स्वीकार मात्र हो। तिमीहरूमध्ये कसैले पनि आफ्नो सही मूल्याङ्कन गर्न सक्दैनौ न त आफैलाई पूर्ण रूपले विश्‍लेषण नै गर्न सक्छौ, त्यसकारण तिमीहरू मेरा वचनप्रति अस्पष्ट नै छौ। तर यस पटक, म तिमीहरूभित्र अस्तित्वमा रहेको सबैभन्दा गम्भीर समस्याको वर्णन गर्न तथ्यहरूको प्रयोग गरिरहेको छु। त्यो समस्या विश्‍वासघात हो। तिमीहरू सबै “विश्‍वासघात” भन्‍ने शब्दसँग परिचित छौ, किनकि धेरैजसो मानिसहरूले अर्को व्यक्तिलाई विश्‍वासघात गर्ने केही गरेका हुन्छन्, उदाहरणको लागि श्रीमानले श्रीमतीप्रति गर्ने विश्‍वासघात, श्रीमतीले आफ्नो श्रीमानप्रति गर्ने विश्‍वासघात, छोराले आफ्नो बुबाप्रति गर्ने विश्‍वासघात, छोरीले आफ्नी आमाप्रति गर्ने विश्‍वासघात, नोकरले आफ्नो मालिकप्रति गर्ने विश्‍वासघात, मित्रहरूले एक-अर्काप्रति गर्ने विश्‍वासघात, नातेदारहरूले एक-अर्काप्रति गर्ने विश्‍वासघात, विक्रेताहरूले क्रेताहरूप्रति गर्ने विश्‍वासघात इत्यादि। यी सबै उदाहरणहरूमा विश्‍वासघातको सार सम्मिलित छन्। छोटकरीमा, विश्‍वासघात यस्तो व्यवहार हो जसले मानवताको हराएको कुरालाई प्रदर्शन गर्दै प्रतिज्ञा तोड्छ, नैतिक सिद्धान्तहरूको उल्लङ्‍घन गर्छ वा मानव नैतिकताको विरुद्धमा काम गर्छ। सामान्य रूपमा भन्‍दा, यस संसारमा जन्म लिएको एक मानवजातिको रूपमा तैँले सत्यतालाई उल्लङ्घन गर्ने केही कुरा गरेको हुनेछस्, तैँले अर्को व्यक्तिलाई धोका दिने केही कुरा गरेको तैँले सम्झे तापनि वा तैँले यस अघि धेरै पटक अरूप्रति विश्‍वासघात गरेको भए तापनि केही फरक पर्दैन। तैँले आफ्ना अभिभावकहरू वा मित्रहरूप्रति विश्‍वासघात गर्न सक्‍ने भएको कारण, तँ अरूप्रति पनि विश्‍वासघात गर्न सक्षम छस्, र यसका अलाबा तँ मलाई विश्‍वासघात गर्न र मैले घृणा गर्ने कुराहरू गर्न सक्षम छस्। अर्को शब्दमा, विश्‍वासघात सतही नैतिक व्यवहार मात्र होइन, तर सत्यसँग बाझिने कुरा हो। यथार्थमा यही नै मानवजातिको मप्रतिको प्रतिरोध र विद्रोहको स्रोत हो। यसैले देहायको अभिव्यक्तिमा मैले यसको सारांश दिएको छु: विश्‍वासघात गर्नु मानिसको स्वभाव हो र मसँगको हरेक व्यक्तिको मिलापको निम्ति यो स्वभाव सबैभन्दा ठूलो शत्रु हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)

मप्रति पूर्ण रूपले समर्पित हुन नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति निष्ठावान् हुन नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति छल गर्ने र मलाई छल गर्नको निम्ति झूट बोल्‍नु विश्‍वासघात हो। विभिन्‍न धारणाहरू राखेर तिनलाई जहाँसुकै फैलाउनु पनि विश्‍वासघात नै हो। मेरा गवाही र चासोहरूलाई समर्थन गर्न नसक्नु विश्‍वासघात हो। हृदयमा मदेखि धेरै टाढा रहेर झूटा मुस्कानहरू प्रस्तुत गर्नु विश्‍वासघात हो। यी सबै विश्‍वासघातका कामहरू हुन् जसको निम्ति तिमीहरू सधैँ सक्षम छौ र ती तिमीहरूका बीचमा सामान्य रूपमा रहेका छन्। तिमीहरूमध्ये कसैले पनि यसलाई समस्याको रूपमा सोचेका थिएनौ होला तर म त्यस्तो सोच्दिनँ। कुनै व्यक्तिले मलाई गर्ने विश्‍वासघातलाई म महत्त्वहीन विषयको रूपमा व्यवहार गर्दिनँ र म निश्‍चय नै यसलाई बेवास्ता गर्न सक्दिनँ। अहिले, मैले तिमीहरूको माझमा काम गर्दा त तिमीहरूले यस्तो व्यवहार गर्छौ—तिमीहरूको निरीक्षण गर्ने कोही नहुने दिन आउँदा, के तिमीहरू आफैलाई आफ्‍ना स-साना पहाडहरूका राजा घोषणा गर्ने डाँकाहरूजस्तै हुने छैनौ र? जब त्यस्तो हुन्छ र तिमीहरूले घोर विपद् सृजना गर्छौ, तिमीहरू पछि सफा गर्ने को हुनेछ र? विश्‍वासघातका केही कार्यहरू बेलाबेलामा हुने घटनाहरू मात्र हुन्, तिमीहरूका दोहोरिरहने व्यवहार होइनन् भन्‍ने तिमीहरू सोच्छौ र तिमीहरूका घमण्डहरूलाई घायल बनाउने गरी यसरी गम्भीर रूपमा छलफल गर्नुपर्ने कुरा होइन भन्‍ने ठान्छौ। यदि तिमीहरूले साँच्चै यस्तो सोच्छौ भने तिमीहरूमा होसको अभाव छ। यस्तो सोच्‍नु विद्रोहको नमुना र आदर्श बन्‍नु हो। मानिसको प्रकृति नै उसको जीवन हो; यो ऊ जिउनको निम्ति भर पर्ने सिद्धान्त हो र उसले यसलाई बदल्न सक्दैन। विश्‍वासघातको प्रकृतिलाई उदाहरणको रूपमा लिऊँ। यदि तैँले कुनै एक नातेदार वा मित्रलाई विश्‍वासघात गरिस् भने त्यसले त्यो तेरो जीवनको भाग हो र तँ जन्मदा साथमा आएको प्रकृति हो भन्‍ने प्रमाणित गर्छ। यसलाई कसैले पनि इन्कार गर्न सक्दैन। उदाहरणको लागि, यदि कुनै व्यक्तिले अरूबाट चोर्दा आनन्द लिन्छ भने, यो चोरीको आनन्द तिनीहरूको जीवनको भाग हो, चाहे तिनीहरूले कहिलेकाहीँ चोर्ने र कहिलेकाहीँ नचोर्ने नै गरून्। तिनीहरूले चोरी गरे पनि नगरे पनि, तिनीहरूको चोरी काम एक प्रकारको व्यवहार मात्रै हो भन्‍ने यसले प्रमाणित गर्दैन। बरु, चोरी गर्नु तिनीहरूको जीवनको एक भाग हो अर्थात् तिनीहरूको प्रकृति नै हो भन्‍ने यसले प्रमाणित गर्छ। केहीले सोध्‍नेछन्: यो तिनीहरूको प्रकृति हो भने कहिलेकाहीँ तिनीहरूले राम्रा कुराहरू देखे तापनि किन तिनीहरूले ती कुराहरू चोर्दैनन्? जवाफ एकदमै साधारण छ। तिनीहरूले नचोर्नुका धेरै कारणहरू छन्। तिनीहरूले केही कुरा चोर्दैनन् किनकि त्यो एकदमै ठूलो भएको हुनाले सतर्क आँखाहरूका अगाडि चोर्न कठिन हुन्छ वा त्यो कार्य गर्नको निम्ति उचित समय हुँदैन वा केही कुरा अत्यन्तै महँगो भएको कारण त्यसलाई धेरै कडा पहरा दिइएको हुन्छ वा सायद तिनीहरूलाई त्यस कुराप्रति कुनै चासो हुँदैन वा तिनीहरूको निम्ति त्यसको के प्रयोग हुन्छ भन्‍ने कुरा देख्दैनन् इत्यादि। यी सबै कारणहरू सम्भव छन्। तर जेसुकै भए तापनि तिनीहरूले केही कुरा चोरून् वा नचोरून्, यो विचार क्षणभरको गुज्रेर जाने कुराको रूपमा अस्तित्वमा छ भन्‍ने कुरालाई यसले प्रमाणित गर्न सक्दैन। यसको विपरीत यो तिनीहरूको स्वभावको यस्तो भाग हो जसलाई परिवर्तन गरेर असल बनाउन कठिन हुन्छ। यस्तो व्यक्ति एक पटक चोरेर मात्र सन्तुष्ट हुँदैन; जब-जब कुनै राम्रो, वा उचित अवस्था आइपर्छ तब-तब तिनीहरूमा अर्काको धनसम्पत्तिलाई आफ्नै सम्पत्तिको रूपमा दाबी गर्ने यस्तो विचार उत्पन्‍न हुन्छ। यसैले म भन्छु, यस्तो विचारको उत्पत्ति कहिलेकाहीँ सामान्य रूपमा आउने कुरा होइन, तर यो उक्त व्यक्तिको आफ्नै प्रकृतिमा हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)

जोसुकैले पनि तिनीहरूको वास्तविक चेहराको प्रतिनिधित्व गर्नको निम्ति आफ्ना शब्द र कार्यहरूको प्रयोग गर्न सक्छन्। यो वास्तविक चेहरा नै तिनीहरूको प्रकृति हो। यदि तँ कुटिल तरिकाले बोल्छस् भने तेरो प्रकृति कुटिल नै हुन्छ। यदि तँ छली प्रकृतिको छस् भने तँ धूर्त तरिकाले नै कार्य गर्छस् र तैँले अरूलाई अत्यन्तै सहज रूपमा छल गर्छस्। यदि तेरो प्रकृति दुष्ट छ भने तेरा शब्दहरू सुन्‍नलाई मनोहर होलान्, तर तेरा कार्यहरूले तेरा दुष्ट चालबाजीहरूलाई लुकाउन सक्दैनन्। यदि तेरो प्रकृति नै अल्छे छ भने तैँले भन्‍ने सबै कुराहरूको अर्थ तेरो लापरवाही र अल्छेपनको निम्ति तेरो जिम्मेवारीलाई टार्नको लागि हुन्छ र तेरा कार्यहरू ढीला र आलटाले प्रवृत्तिका हुन्छन् अनि सत्यता लुकाउन निपुण हुन्छन्। यदि तेरो स्वभाव सबल छ भने तेरा शब्दहरू तर्कसंगत हुनेछन् र तेरा कार्यहरू पनि सत्यतासँग मेल खानेछन्। यदि तेरो प्रकृति निष्ठावान छ भने तेरा शब्दहरू निश्‍चय नै इमानदार हुन्छन् र तेरो कार्यशैली न्यायसंगत हुन्छ, तेरा मालिकलाई अप्ठ्यारो पार्ने किसिमका कुनै पनि कुराहरूबाट मुक्त हुन्छ। यदि तेरो प्रकृति अभिलाषापूर्ण वा पैसाको लोभ गर्ने छ भने अक्सर तेरो हृदय यी कुराहरूले भरिएको हुन्छ र तैँले अनजानमा पथभ्रष्ट र अनैतिक काम गर्छस् जसलाई मानिसहरूले सजिलै बिर्सनेछैनन् र त्यसलाई मानिसहरूले घृणा गर्नेछन्। मैले भने जसरी नै यदि तँसँग विश्‍वासघातको प्रकृति छ भने, तैँले सायद आफैलाई यसबाट मुक्त पार्न सक्नेछैनस्। तैँले कसैको हानी गरेको छैनस् त्यसैले तँसँग विश्‍वासघातको प्रकृति छैन भनेर आफैलाई भाग्यमानी नठान्। यदि तेरो सोच त्यो हो भने, साँच्चै नै, तैँले विद्रोह गर्दैछस्। मैले हरेक पटक बोलेका मेरा सबै वचनहरू कुनै एक व्यक्ति वा एक प्रकारको व्यक्तिप्रति मात्र होइन, सबै मानिसहरूप्रति लक्षित छन्। तैँले मलाई कुनै एउटा कुरामा विश्‍वासघात गरेको छैनस् भन्दैमा त्यसले तैँले कुनै कुरामा मलाई विश्‍वासघात गर्दैनस् भन्‍ने कुरा प्रमाणित गर्दैन। कतिपय मानिसहरूले आफ्ना विवाहमा अवरोध खडा हुँदाको अवधिमा सत्यताको खोजी गर्ने आफ्नो हिम्मत गुमाउँछन्। परिवार बिग्रँदा केही मानिसहरूले मप्रति वफादार हुनुपर्ने तिनीहरूको दायित्वलाई त्याग्छन्। केही मानिसहरूले क्षणभरको आनन्द र उत्तेजनाको खोजी गर्नका निम्ति मलाई त्याग्छन्। केही मानिसहरू ज्योतिमा बस्‍न र पवित्र आत्माको कामको आनन्द प्राप्त गर्नुको साटो अँध्यारो खाडलमा खस्‍न चाहन्छन्। केही मानिसहरूले सम्पत्तिप्रतिको आफ्नो अभिलाषालाई सन्तुष्ट पार्ने नाउँमा आफ्ना मित्रहरूको सल्लाहलाई बेवास्ता गर्छन् र अहिले पनि आफ्ना गल्तीहरूलाई स्वीकार गर्न र आफ्नो मार्ग परिवर्तन गर्न सक्दैनन्। केही मानिसहरू मेरो सुरक्षा प्राप्त गर्नको निम्ति अस्थायी रूपमा मात्र मेरो नामको अधीनमा बस्छन् भने अरू बाध्यताका कारण थोरै मात्र मप्रति समर्पित हुन्छन् किनकि तिनीहरू जीवनमा टाँसिन्छन् र मृत्युसँग डराउँछन्। के यी र अन्य अनैतिक कार्यहरू सत्यनिष्ठ विनाका कार्यहरू लामो समयदेखि तिनीहरूको हृदयको गहिराइबाट मलाई विश्‍वासघात गर्ने मानिसहरूका व्यवहारहरू होइनन्? अवश्य, मानिसहरूले मलाई विश्‍वासघात गर्ने अग्रिम योजना बनाउँदैनन्; तिनीहरूको विश्‍वासघात तिनीहरूको प्रकृतिको प्राकृतिक प्रकाश हो। कसैले पनि मलाई विश्‍वासघात गर्न चाहँदैन र मेरो विश्‍वासघात गर्ने केही कुरा गरेका कारण कोही पनि खुशी हुँदैनन्। यसको विपरीत, तिनीहरू भयले काँपिरहेका हुन्छन्, हुँदैनन् र? यसैले, के तिमीहरू यी विश्‍वासघातहरूबाट कसरी छुटकारा पाउने र वर्तमान परिस्थितिलाई कसरी परिवर्तन गर्ने भनेर सोचिरहेका छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)

विश्वासघातको मूल कारण नै शैतान हो, शैतानको प्रकृति नै विश्वासघात हो, र मानिसहरूले कामकुराद्वारा प्रकट गर्ने स्वभावलाई परमेश्वर विश्वासघातको रूपमा हेर्नुहुन्छ। किन परमेश्वर यो कुरालाई त्यस्तो विस्तारमा छलफल गर्नुहुन्छ? किनभने मानव विश्वासघात जतिसुकै बेला जुनसुकै ठाउँमा निरन्तर हुन्छ, र व्यक्तिले जस्तो व्यवहार गरे पनि, मानव प्रकृतिमा गहिरो जरा गाढेको कुराले परमेश्वरको विरोध गर्छ। कतिपय मानिस यसो भन्छन्: “म परमेश्वरको विरोध वा प्रतिरोध गर्न चाहन्नँ!” तर तैँले त्यसै गर्नेछस्, किनकि तँभित्र विश्वासघाती प्रकृति छ, त्यसको मतलब तँ परमेश्वरको आज्ञापालन गर्न, उहाँलाई अन्त्यसम्म पछ्याउन, र परमेश्वरको वचनलाई आफ्नो जीवनको रूपमा पूर्णतया स्विकार्न सक्दैनस्। तैँले विश्वासघातको समस्यालाई कसरी बुझ्नुपर्छ? तैँले परमेश्वरमा विश्वास गरेको जति समय भए पनि, वा तैँले उहाँका जति धेरै वचनहरू खाएको र पिएको भए पनि, वा तँसँग उहाँबारे जति बुझाइ भए पनि—यदि तेरो प्रकृतिले परमेश्वरलाई विश्वासघात गर्छ, र तैँले उहाँको वचनलाई आफ्नो जीवनको रूपमा स्विकारेको छैनस्, अनि तँ उहाँका वचनहरूको सत्यताभित्र प्रवेश गरेको छैनस् भने, तेरो सारले सधैँभरि परमेश्वरलाई विश्वासघात गर्नेछ। भन्नुको मतलब, यदि तेरो स्वभाव परिवर्तन भएको छैन भने, तँ परमेश्वरलाई विश्वासघात गर्ने व्यक्ति होस्। कतिपय मानिस यसो भन्छन्: “म परमेश्वरको वचन र उहाँले भन्ने हरेक कुरा बुझ्न सक्छु। म ती स्विकार्न पनि इच्छुक छु भने मलाई कसरी परमेश्वरलाई विश्वासघात गर्ने व्यक्ति भन्न मिल्छ?” तँ स्विकार्न इच्छुक छस् भन्दैमा त्यसको अर्थ परमेश्वरको वचनअनुसार जिउन सक्छस् भन्ने होइन, झन् तँ तीद्वारा पूर्ण तुल्याइसकिएको हुनु त परको कुरा हो। मानवजातिको विश्वासघाती प्रकृतिको सत्यता गहन छ, र यदि तिमीहरू सत्यताको यो पक्ष बुझ्न चाहन्छौ भने, तिमीहरूलाई एक अवधिको अनुभव चाहिन सक्छ। परमेश्वरका नजरमा, उहाँलाई विश्वास गर्ने हर व्यक्तिले गर्ने हरेक कुरा सत्यताविपरीत हुन्छ, परमेश्वरको वचनसँग मिल्दैन, र उहाँविरोधी हुन्छ। तिमीहरू यो स्विकार्न नसकौला, र यसो भन्छौ: “हामी परमेश्वरको सेवा गर्छौँ, उहाँको आराधना गर्छौँ, परमेश्वरको घरमा आफ्नो कर्तव्य निभाउँछौँ। हामीले धेरै गरेका छौँ, सबै कुरा परमेश्वरको वचन र मापदण्डअनुसार अनि कार्य बन्दोबस्तबमोजिम नै गरेका छौँ। हामी परमेश्वरलाई प्रतिरोध र विश्वासघात गर्छौँ भनेर कसरी भन्न मिल्छ? तपाईं किन सधैँ हाम्रो उत्साहमा आघात पुऱ्याउनुहुन्छ? हामीले ठूलो कठिनाइका साथ आफ्नो परिवार र करियर त्याग्यौँ, र हामी परमेश्वरलाई पछ्याउन सङ्कल्पित थियौँ, तर तपाईं हाम्रो बारेमा कसरी यस्तो बोल्न सक्नुहुन्छ?” यसरी बोल्नुको उद्देश्य सबैले बुझेको सुनिश्चित गर्नलाई होः कसैले राम्रो व्यवहार गर्दैमा, वा कुनै कुरा त्याग्दैमा, वा केही कठिनाइ भोग्दैमा उसको विश्वासघाती प्रकृति परिवर्तन हुँदैन। त्यस्तो हुँदै हुँदैन! आफ्नो कर्तव्य निभाउनु जस्तै कष्ट भोग्नु पनि जरूरी छ, तर तैँले कष्ट भोग्न वा कर्तव्य निभाउन सक्छस् भन्दैमा अब तँमा भ्रष्ट स्वभाव नै छैन भन्ने अर्थ लाग्दैन। किनभने कसैभित्र पनि जीवन स्वभावमा वास्तविक परिवर्तन भएको छैन, र हरव्यक्ति अझै पनि परमेश्वरको इच्छा र उहाँको मापदण्ड पूरा गर्नबाट कोसौँ टाढा छ। मानिसहरूको परमेश्वरप्रतिको विश्वास अति दूषित छ, तिनीहरूको भ्रष्ट स्वभाव अति धेरै प्रकट भएको छ। थुप्रै अगुवा र सेवकले परमेश्वरको सेवा गर्ने भए पनि, परमेश्वरको प्रतिरोध पनि गर्छन्। यसको अर्थ के हो? त्यसको अर्थ तिनीहरू जानाजान परमेश्वरको वचनविरुद्ध जान्छन् र उहाँको इच्छाअनुसार अभ्यास गर्दैनन् भन्ने हो। तिनीहरू जानाजान सत्यता उल्लङ्घन् गर्छन्, आफ्नै इच्छाअनुसार कार्य गर्न, आफ्नै अभिप्राय र उद्देश्य पूरा गर्न, परमेश्वरलाई विश्वासघात गर्न र आफ्नो निर्णय चल्ने आफ्नै स्वतन्त्र राज्य खडा गर्न जिद्दी गर्छन्। परमेश्वरको सेवा पनि गर्नु उहाँको प्रतिरोध पनि गर्नु भनेको यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग

मानव प्रकृतिभित्र हुने साझा तत्व भनेको परमेश्‍वरप्रतिको विश्‍वासघात हो; हरेक व्यक्तिले परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छ। यो परमेश्‍वरप्रतिको विश्‍वासघात भनेको के हो? यसको प्रकटीकरण कस्तो हुन्छ? के परमेश्‍वरमा विश्‍वास गर्न छोड्नेहरूले मात्र उहाँप्रति विश्‍वासघात गर्ने हुन्? मानिसहरूले मान्छेको सार के हो भन्ने बुझ्‍नुपर्छ र यसको जड समात्नुपर्छ। तेरो रिसका आवेगहरू, खोटहरू, खराब बानीहरू र लालनपालनको कमी सबै सतही पक्षहरू हुन्। यदि तँ सधैँ यस्ता मामुली कुराहरूमा टाँसिइरहन्छस्, जथाभाबी नियमहरू लागू गर्छस् र आवश्यक कुराहरू बुझ्न असफल हुन्छस्, र आफ्नो प्रकृतिका अन्तर्निहित कुराहरू र तेरो भ्रष्ट स्वभाव समाधान नगरी छोड्छस् भने, तँ अन्ततः अझै पनि पथभ्रष्ट नै हुनेछस् र तैँले परमेश्‍वरको प्रतिरोध गरिछोड्नेछस्। मानिसहरूले कुनै पनि समय र कुनै पनि ठाउँमा परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्—यो एउटा गम्भीर समस्या हो। सायद केही समयको लागि तँसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुन सक्ला, तँ उत्साहित भएर आफूलाई अर्पित गर्न सक्लास् र केही भक्तिसाथ कर्तव्य निर्वाह गर्न सक्लास्; वा यो अवधिमा तँमा एकदमै सामान्य समझ र विवेक हुन सक्ला, तर मानिसहरू अस्थिर र चञ्चल नै हुन्छन्, र एउटै मात्रै घटनाले कुनै पनि क्षण कुनै पनि ठाउँमा तिनीहरूलाई परमेश्‍वरप्रति प्रतिरोध र विश्‍वासघात गराउन सक्छ। उदाहरणको लागि, कसैसँग एकदमै सामान्य समझ हुन सक्छ, पवित्र आत्माको काम हुन सक्छ, अनि व्यवहारिक अनुभव, बोझको बोध र कर्तव्यनिर्वाहप्रति भक्तिभाव हुन सक्छ, तर जब तिनीहरूको विश्‍वास एकदमै मजबुत भइरहेकको हुन्छ, ठीक त्यही बेला परमेश्‍वरको घरले तिनीहरूले आराधना गर्ने ख्रीष्टविरोधीलाई निष्कासित गर्छ, अनि तिनीहरूमा धारणाहरू पैदा हुन थाल्छन्। तिनीहरू तुरुन्तै नकारात्मक हुन्छन्, र तिनीहरूले आफ्नो कामप्रतिको उत्साह गुमाउँछन्, लापरवाही र झाराटारुवा किसिमले कर्तव्य निर्वाह गर्छन्, अबउप्रान्त प्रार्थना गर्न चाहँदैनन्, र यसो भन्दै गुनासो गर्छन्, "प्रार्थना किन गर्ने? यदि त्यस्तो असल व्यक्ति पनि निष्कासित हुन सक्छ भने, मुक्ति कसले पाउन सक्छ र? परमेश्‍वरले मानिसहरूप्रति यस्तो व्यवहार गर्न हुँदैन!" तिनीहरूका यी शब्दहरूको प्रकृति कस्तो छ? एउटा मात्र घटना तिनीहरूको चाहनासँग मेल नखाँदा, तिनीहरू परमेश्‍वबारे निष्कर्ष निकालिहाल्छन्। के यो परमेश्‍वरप्रतिको विश्‍वासघातको प्रकटीकरण होइन र? मानिसहरू पथभ्रष्ट भई कुनै पनि समय कुनै पनि ठाउँमा परमेश्‍वरबाट टाढा जान सक्छन्; केही परिस्थिति सामना गर्नेबित्तिकै परमेश्‍वरप्रति धारणाहरू बनाउने र परमेश्‍वरको आलोचना र निन्दा गर्ने हुन सक्छन्—के यो परमेश्‍वरप्रतिको विश्‍वासघातको प्रकटीकरण होइन र? यो निकै ठूलो कुरा हो। तँलाई अहिले लाग्‍न सक्छ कि तँसँग परमेश्‍वरबारे कुनै पनि धारणा छैन र तँ उहाँप्रति समर्पित हुन सक्छस्, तर यदि तैँले कुनै गल्ती गरिस् र तँ अकस्मात्‌ कठोर काटछाँट र निराकरणमा परिस् भने, के तँ अझै पनि समर्पित हुन सक्नेछस् त? समाधानको लागि सत्यता खोज्न सक्‍नेछस्? यदि तँ समर्पित हुन वा तेरो विद्रोही भावना समाधान गर्न सत्यता खोज्न सक्दैनस् भने, तैँले अझै पनि परमेश्‍वरप्रति विश्‍वासघात गर्ने सम्भावना छ। तैँले वास्तवमा "म परमेश्‍वरमा अबउप्रान्त विश्‍वास गर्दिनँ।" भनेर नभनेको हुन सक्छ, तर त्यो क्षण तेरो हृदयले पहिल्यै उहाँप्रति विश्‍वासघात गरिसकेको हुन्छ। तैँले मानव प्रकृति वास्तवमा के हो भनेर स्पष्ट बुझ्नुपर्छ। के यो प्रकृतिको सार विश्‍वासघात होइन र? अत्यन्तै थोरै मानिसहरूले मात्र मान्छेको प्रकृति सार स्पष्ट देख्न सक्छन्। निःसन्देह नै, कतिपय मानिसहरूमा थोरै विवेक र तुलनात्मक रूपमा अलि असल मानवता हुन्छ, जबकि अरूहरूमा कुनै मानवता हुँदैन, तर कसैको मानवता असल होस् वा खराब, वा तिनीहरूको क्षमता राम्रो होस् वा कमजोर, त्यसमा रहने साझा कुरा यो हो कि तिनीहरू सबैले परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्। मानव प्रकृति सारभूत रूपमा परमेश्‍वरप्रति विश्‍वासघात गर्ने खालको हुन्छ। तिमीहरूले विगतमा सोच्ने गर्थ्यौ, "शैतानद्वारा भ्रष्ट पारिएका मानवहरू प्रकृतिले नै परमेश्‍वरप्रति विश्‍वासघाती हुने भएकाले, यसमा मैले गर्नसक्ने केही छैन, बरु म क्रमिक रूपमा परिवर्तन हुन सक्छु।" के तिमीहरू अहिले पनि यसरी नै सोच्छौ? त्यसोभए मलाई भन त, भ्रष्ट नपारिईकन पनि कसैले परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छ? भ्रष्ट नपारिईकन पनि मानिसहरूले अझै परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्। जब परमेश्‍वरले मानवको सृष्टि गर्नुभयो, उहाँले तिनीहरूलाई स्वतन्त्र इच्छा दिनुभयो। मानवहरू विशेष रूपले कमजोर हुन्छन्; तिनीहरूमा परमेश्‍वरनजिक आउने र "परमेश्‍वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ, र हामी सृष्टि गरिएका प्राणी हौँ" भन्ने अन्तर्निहित चाहना हुँदैन। मानिसहरूमा यस्तो कुनै पनि अवधारणा हुँदैन। स्वाभाविक रूपमै तिनीहरूमा सत्यता हुँदैन, न त तिनीहरूभित्र परमेश्‍वरलाई आराधना गर्ने कुरासँग सम्बन्धित कुनै कुरा नै हुन्छ। परमेश्‍वरले मानिसहरूलाई स्वतन्त्र इच्छा दिनुभयो, तिनीहरूलाई सोच्‍न दिनुभयो, तर मानिसहरू सत्यता स्विकार्दैनन्, परमेश्‍वरलाई बिलकुलै चिन्दैनन्, र उहाँको आज्ञापालन र आराधना कसरी गर्ने भनेर बुझ्दैनन्। यी कुराहरू मानिसहरूमा पाइँदैन, त्यसैले भ्रष्ट नपारिईकन पनि तैँले अझै परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छस्। अनि, तैँले परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छस् भनेर किन भन्‍ने त? जब शैतान तँलाई लोभ्याउन आउँछ, तैँले शैतानलाई पछ्याउँछस् र परमेश्‍वरप्रति विश्‍वासघात गर्छस्। तै परमेश्‍वरबाट सृष्टि गरिएको होस् तर उहाँलाई नै पछ्याउँदैनस्, बरु शैतानलाई पछ्याउँछस्—के यसले तँलाई विश्‍वासघाती बनाउँदैन र? परिभाषाअनुसार विश्‍वासघाती भनेको विश्‍वासघात गर्ने व्यक्ति हो। के तैँले यसको सार पूर्ण रूपमा बुझ्छस्? तसर्थ, मानिसहरूले कुनै पनि समय कुनै पनि ठाउँमा परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्। मानिसहरूले तब मात्र परमेश्‍वरप्रति विश्‍वासघात गर्दैनन्, जब तिनीहरू पूर्ण रूपमा परमेश्‍वरको राज्य र उहाँको प्रकाशमा रहन्छन्, जब शैतानसँग सम्बन्धित सबै कुराहरू नष्ट गरिएको हुन्छ र जब तिनीहरूलाई पाप गर्न लोभ्याउने वा प्रेरित गर्ने कुनै कुरा बाँकी रहँदैन। यदि अझै पनि मानिसहरूलाई पाप गर्न प्रेरित गर्ने कुनै कुरा छ भने, तिनीहरूले अझै पनि परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्नेछन्। तसर्थ, मानव बेकारको वस्तु हो। तैँले केही शब्द र धर्मसिद्धान्त फलाक्न सक्ने भएकोले तँलाई लाग्‍न सक्छ कि तैँले केही सत्यता बुझ्छस् र परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्दैनस्, तँलाई कम्तीमा पनि—सुनचाँदी नभए पनि—माटाका भाँडाभन्दा अधिक मूल्यवान्‌, तामा वा फलाम मानिनुपर्छ, तर तैँले आफूलाई ज्यादा महत्त्व दिँदै छस्। के तँलाई थाहा छ, मानवहरू वास्तवमा के हुन्? मानिसहरूले कुनै पनि समय कुनै पनि ठाउँमा परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्, तिनीहरू एक पैसाका पनि छैनन्; ठ्याक्‍कै त्यस्तै, जस्तो परमेश्‍वरले भन्नुभएको छ: मानवहरू पशुहरू हुन्, बेकारका दुरात्माहरू हुन्। तर हृदयमा मानिसहरूले यसरी सोच्दैनन्। तिनीहरू यस्तो सोच्छन्, "मलाई लाग्दैन म बेकारको दुरात्मा हुँ! म यो मामिला किन स्पष्ट देख्न सक्दिनँ? मलाई कसरी यो अनुभव हुन नसकेको हो? परमेश्‍वरमाथिको मेरो विश्‍वास साँचो छ; मसँग आस्था छ, त्यसैले म परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्दिनँ। परमेश्‍वरका सबै वचनहरू सत्यता हुन्, तर मैले 'मानिसहरूले कुनै पनि समय कुनै पनि ठाउँमा परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्' भन्‍ने वाक्यांश बुझ्न सकिरहेको छैनँ। मैले पहिल्यै परमेश्‍वरको प्रेम देखेको छु; म उहाँप्रति कुनै पनि समय कहिल्यै विश्‍वासघात गर्न सक्दिनँ।" मानिसहरूले हृदयमा सोच्ने कुरा यही हो, तर परमेश्‍वरका वचनहरू तथ्य हुन्, ती हावामा बोलिएका होइनन्। तिमीहरूसामु हरकुरा स्पष्ट पारिन्छ, तिमीहरूलाई पूर्ण विश्‍वस्त तुल्याइन्छ; यसरी मात्र तैँले आफ्नो भ्रष्टता पहिचान गर्न र विश्‍वासघातको समस्या समाधान गर्न सक्छस्। राज्यमा कुनै पनि विश्‍वासघात हुनेछैन; जब मानिसहरू परमेश्‍वरको प्रभुत्वमा रहन्छन् र शैतानको नियन्त्रणमा हुँदैनन्, तब तिनीहरू साँचो रूपमा स्वतन्त्र हुन्छन्। त्यसपछि, परमेश्‍वरप्रति विश्‍वासघात हुनेबारे चिन्ता गर्नुपर्नेछैन; यस्तो चिन्ता अनावश्यक र सतही हुनेछ। भविष्यमा, तिमीहरूभित्र परमेश्‍वरप्रति विश्‍वासघात गर्ने केही छैन भनेर घोषित गरिन सक्छ, तर अहिले यस्तो अवस्था छैन। मानिसहरूमा भ्रष्ट स्वभाव भएकोले, तिनीहरूले कुनै पनि समय परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्। केही परिस्थितिहरूको उपस्थितिले विश्‍वासघाततर्फ डोर्‍याउने र केही परिस्थिति वा दबाबविना तैँले परमेश्‍वरप्रति विश्‍वासघात नगर्ने भन्ने होइन—दबाबविना पनि तैँले उहाँप्रति विश्‍वासघात गर्न सक्छस्। यो मान्छेको भ्रष्ट सारको समस्या हो, मान्छेको प्रकृतिको समस्या हो। तैँले अहिले केही पनि नसोचिरहेको वा नगरिरहेको भए पनि, तेरो प्रकृतिको वास्तविकता साँच्‍चै नै अस्तित्वमा रहेको हुन्छ, र यसलाई कसैले पनि मेटाउन सक्दैन। तँभित्र परमेश्‍वरप्रति विश्‍वासघात गर्ने प्रकृति भएकोले, उहाँ तेरो हृदयमा हुनुहुन्न; तेरो हृदयको गहिराइमा परमेश्‍वरको लागि कुनै ठाउँ छैन र त्यहाँ सत्यता पनि छैन; तसर्थ, तैले कुनै पनि समय कुनै पनि ठाउँमा परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छस्। स्वर्गदूतहरूचाहिँ फरक हुन्छन्, तिनीहरूमा परमेश्‍वरको स्वभाव वा सार नभए पनि तिनीहरूलाई परमेश्‍वरले उहाँकै सेवाको लागि, र उहाँका आदेशहरू सबैतिर पुर्‍याउनको लागि सृष्टि गर्नुभएको हुनाले, तिनीहरूले पूर्ण रूपमा उहाँको आज्ञपालन गर्न सक्छन्। तिनीहरू पूर्ण रूपमा परमेश्‍वरका हुन्। मानवको हकमा भने, परमेश्‍वरले तिनीहरूलाई पृथ्वीमा जिऊन् भनेर सृष्टि गर्नुभएको हो, तिनीहरूलाई उहाँको आराधना गर्ने क्षमता दिनुभएको छैन। तसर्थ, मानवले परमेश्‍वरप्रति विश्‍वासघात र प्रतिरोध गर्न सक्छ। यसले यो प्रमाणित गर्छ कि मानवलाई जोकसैले प्रयोग गर्न र लोभ्याउन सक्छ; तिनीहरूको आफ्नै सार्वभौमिकता हुँदैन। मानवहरू त्यस्तै प्राणीहरू हुन्, जो पूरै मर्यादाहीन र बेकारका छन्!

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

शैतानले मानिसलाई भ्रष्ट तुल्याएपछि, मानिस शैतानको मूर्त रूप, र परमेश्वरको प्रतिरोध गर्ने र उहाँलाई धोका दिन पूर्णरूपमा सक्षम शैतानी वस्तुको प्रकार भन्यो। किन परमेश्वर मानिसहरूले आफ्नो स्वभाव परिवर्तन गरेको माग गर्नुहुन्छ? किनकि परमेश्वर मानिसहरूलाई सिद्ध बनाई प्राप्त गर्न चाहनुहुछन्छ, अनि अन्ततः पूर्ण बनाइएका मानिसहरूमा परमेश्वरलाई चिन्ने थप वास्तविकता र सत्यताका सबै पक्षहरूको वास्तविकता हुन्छ। यस्ता मानिसहरू पूर्णतया परमेश्वरका अभिप्रायअनुसारका हुन्छन्। विगतमा, मानिसहरूमा भ्रष्ट स्वभाव थियो, र कुनै कुरा गर्दा गल्ती गर्ने वा प्रतिरोध देखाउने गर्थे, तर अहिले मानिसहरू केही सत्यता बुझ्छन्, र परमेश्वरका अभिप्रायअनुरूप धेरै कुरा गर्न सक्छन्। तर, यसको अर्थ मानिसहरूले परमेश्वरलाई धोका दिँदैनन् भन्ने होइन। मानिसहरू अझै पनि यसो गर्न सक्छन्। तिनीहरूको प्रकृतिबाट प्रकट हुने कुराको हिस्सालाई परिवर्तन गर्न सकिन्छ, र परिवर्तन हुन सक्ने त्यो हिस्सामा मानिसहरूले सत्यताअनुसार अभ्यास गर्न सक्छन्। तर तैँले अहिले सत्यता अभ्यास गर्न सक्छस् भन्दैमा तेरो प्रकृति परिवर्तन भएको छ भन्ने होइन। यो त मानिसहरूले सधैँ परमेश्वरबारे धारणा राख्ने र उहाँसँग मागहरू गर्ने गरेजस्तै हो, र अहिले तिनीहरू धेरै सन्दर्भमा त्यसो गर्दैनन्—तर तिनीहरू अझै पनि केही मामिलामा धारणाहरू राख्लान् वा मागहरू गर्लान्, र अझै पनि परमेश्वरलाई धोका दिन सक्छन्। तँ भन्लास्, “परमेश्वरले जे गर्नुहुन्छ म त्यो मान्न सक्छु र धेरै मामिलामा गुनासो र माग नगरी समर्पित हुन सक्छु,” तर तँ अझै पनि केही मामिलामा परमेश्वरलाई धोका दिन सक्छस्। तैँले जानाजानी परमेश्वरको प्रतिरोध नगरे पनि, उहाँ काअभिप्रायलाई नबुझ्दा, तँ अझै पनि उहाँका चाहनाविरुद्ध जान सक्छस्। त्यसोभए, परिवर्तन हुन सक्ने भागको अर्थ के हो? यसको अर्थ, जब तैँले परमेश्वरका अभिप्राय बुझ्छस्, तब समर्पित हुन सक्छस्, र जब सत्यता बुझ्छस्, तब यो अभ्यास गर्न सक्छस् भन्ने हो। यदि तँ सत्यता वा परमेश्वरका अभिप्रायलाई केही मामिलामा बुझ्दैनस् भने, तैँले अझै पनि भ्रष्टता प्रकट गर्ने सम्भावना हुन्छ। यदि तँ सत्यता बुझ्छस्, तर केही कुराको बन्धनमा परेकोले अभ्यास गर्दैनस् भने, यो विश्वासघात हो र यो तेरो प्रकृतिमा हुने कुरा हो। अवश्य नै, तेरो स्वभाव कति परिवर्तन हुन सक्छ भन्ने कुनै सीमा छैन। तैँले जति धेरै सत्यता प्राप्त गर्छस् अर्थात् परमेश्वरबारे तेरो ज्ञान जति गहिरिन्छ, तैँले उहाँलाई त्यति नै कम प्रतिरोध गर्छस् र कम धोका दिन्छस्। व्यक्तिको स्वभाव परिवर्तन मुख्यतया सत्यता पछ्याएर मात्र गर्न सकिन्छ, अनि सत्यता बुझेर मात्र आफ्नो प्रकृति सारलाई बुझ्न सकिन्छ। जब व्यक्तिले साँचो रूपमा सत्यता प्राप्त गर्दछ, तब उसका सबै समस्या समाधान हुनेछन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्

परमेश्‍वरले मान्छेको विश्‍वासघाती प्रकृति खुलासा गर्नुहुन्छ ताकि मानिसहरूले यो विषय र आफूबारे साँचो बुझाइ हासिल गर्न सकून्, र ताकि मानिसहरू बदलिन सुरु गर्न सकून् र यस पक्षबाट अभ्यासका मार्गहरू खोज्ने प्रयास गर्न सकून्, र कुन कुरामा तिनीहरूले परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन् र परमेश्‍वरप्रति विश्‍वासघात गराउने आफूमा कस्ता भ्रष्ट स्वभावहरू छन् भनेर बुझ्न सकून्। जब तँ आफूले विभिन्न पक्षहरूमा परमेश्‍वरविरुद्ध विद्रोह नगर्ने र अधिकांश पक्षहरूमा उहाँप्रति विश्‍वासघात नगर्ने बिन्दुमा पुग्छस्, अनि जब तँ आफ्नो जीवनको यात्राको अन्त्यमा आइपुग्छस्, अर्थात् परमेश्‍वरको काम समाप्त हुने क्षणसम्‍म आइपुग्छस्, तब भविष्यमा परमेश्‍वरप्रति विश्‍वासघात गर्छु गर्दिनँ भन्नेबारे तैँले चिन्ता गर्नुपर्ने आवश्यकता हुँदैन। म किन यो भन्दै छु? मानिसहरू शैतानद्धारा भ्रष्ट पारिनुअघि, शैतानले लोभ्याउँदा तिनीहरूले परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्थे। जब शैतान नै नष्ट भएको हुन्छ, के मानिसहरूले परमेश्‍वरप्रति विश्‍वासघात गर्न बन्द गर्नेछैनन् र? त्यो समय अझै पनि आइसकेको छैन। मानिसहरूभित्र अझै पनि शैतानको भ्रष्ट स्वभाव छ, जसले गर्दा तिनीहरूले कुनै पनि समय कुनै पनि ठाउँमा परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्। जब तैँले जीवनलाई निश्‍चित चरणसम्म अनुभव गरिसकेको हुन्छस्, र जहाँ तैँले परमेश्‍वरप्रति प्रतिरोध र विश्‍वासघात गर्ने सबै विचार, धारणा र कल्पना त्यागिसकेको हुन्छस्; जब तैँले सत्यता बुझेको हुन्छस्, जब तेरो हृदयमा धेरै सकारात्मक कुराहरू हुनेछन्; जब तैँले आफूलाई नियन्त्रण गर्न र आफ्ना कार्यहरूको मालिक बन्न सक्नेछस्; र जब तैँले अबउप्रान्त अधिकांश परिस्थितिहरूमा परमेश्‍वरप्रति कुनै विश्‍वासघात गर्नेछैनस्, तब शैतान नष्ट भएपछि तँ पूर्ण रूपमा परिवर्तन हुनेछस्। वर्तमान कामको चरण भनेको मान्छेको विश्‍वासघात र विद्रोहको भावना हल गर्नलाई हो। भविष्यका मानवजातिले परमेश्‍वरप्रति विश्‍वासघात गर्नेछैनन्, किनभने शैतानलाई तह लगाइसकिएको हुनेछ। त्यसउप्रान्त शैतानले मानवजातिलाई छल गर्ने र भ्रष्ट तुल्याउने मामला रहनेछैन; र त्यसपछि यो कुरा त्यसपछि मानवजातिसँग असम्बद्ध हुनेछ। अहिले, मानिसहरूलाई मान्छेको विश्‍वासघाती प्रकृति बुझ्न भनिएको छ, किनभने यो अत्यन्तै महत्त्वपूर्ण विषय हो। तिमीहरूले यहीँबाट सुरु गर्नुपर्छ। परमेश्‍वरप्रति विश्‍वासघात गर्ने प्रकृतिमा के हुन्छ? अनि, के-कस्ता कुराहरू विश्‍वासघातका प्रकटीकरणहरू हुन्छन्? मानिसहरूले कसरी चिन्तन गर्नु र बुझ्नुपर्छ? तिनीहरूले कसरी अभ्यास र प्रवेश गर्नुपर्छ? यी सबै कुरा स्पष्ट बुझ्नु र देख्नुपर्छ। जबसम्म कसैभित्र विश्‍वासघातको प्रकृति रहिरहन्छ, तिनीहरूले कुनै पनि समय कुनै पनि ठाउँमा परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्। तिनीहरूले परमेश्‍वरलाई खुल्लमखुल्ला नइन्कारे पनि वा नबेचे पनि तिनीहरूले अझै पनि त्यस्ता धेरै कुराहरू गर्न सक्छन् जसलाई मानिसहरू विश्‍वासघात मान्दैनन्, तर सारमा ती कुराहरू विश्‍वासघात नै हुन्छन्। यसको अर्थ, मानिसहरूसँग कुनै स्वायत्तता हुँदैन; तिनीहरूलाई शैतानले सुरुमै वशमा पारिसकेको छ। यदि तँ भ्रष्ट नपारिईकनै पनि परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छस् भने, अहिले तँभित्र शैतानको भ्रष्ट स्वभाव भरिएको अवस्थामा त झन् तैँले कति धेरै विश्‍वासघात गर्न सक्छस् होला? के तँ जुनसुकै समय र जुनसुकै ठाउँमा परमेश्‍वरप्रति विश्‍वासघात गर्न झन् बढी सक्षम भएको छैनस् र? वर्तमान काम ती भ्रष्ट स्वभावहरूबाट छुटकारा दिलाउनको लागि हो, र तँलाई परमेश्‍वरप्रति विश्‍वासघात गर्ने बनाउने कुराहरू कम गर्नको लागि हो, र यसरी तँलाई सिद्ध पारिने र परमेश्‍वरको उपस्थितिमा उहाँबाट तँलाई स्विकारिने अधिक मौका प्रदान गर्नको लागि हो। जब तैँले विभिन्न मामिलाहरूमा परमेश्‍वरको धेरैभन्दा धेरै कार्य अनुभव गर्दै जान्छस्, तब तैँले केही सत्यताहरू प्राप्त गर्न र केही हदसम्म सिद्ध पारिन सक्नेछस्। यदि अझै पनि शैतान र पिशाचहरू तेरो परीक्षा लिन आए भने वा दुष्टात्माहरू तँलाई छल वा बाधाअवरोध गर्न आए भने, तैँले केही समझ प्रयोग गर्न सक्नेछस् र परमेश्‍वरप्रति विश्‍वासघात गर्ने खालका थोरैभन्दा थोरै काम गर्नेछस्। यो मानिसभित्र समयसँगै विकास हुने कुरा हो। जब पहिलोपटक मानव सृष्टि गरियो, तिनीहरूलाई परमेश्‍वरको आराधना वा आज्ञापालन गर्नुपर्छ भन्ने थाहा थिएन, न त तिनीहरूलाई परमेश्‍वरप्रति विश्‍वासघात गर्नु के हो भन्ने नै थाहा थियो। जब शैतान तिनीहरूलाई लोभ्याउन आयो, तिनीहरूले शैतानलाई पछ्याए र परमेश्‍वरप्रति विश्‍वासघात गरे, तिनीहरू विश्‍वासघाती बने, किनभने तिनीहरूलाई असल र खराब छुट्याउन आउँदैनथ्यो, र परमेश्‍वरलाई आराधना गर्ने क्षमता तिनीहरूमा थिएन—तिनीहरूलाई मानवजातिको सृष्टिकर्ता परमेश्‍वर हुनुहुन्छ र तिनीहरूले कसरी उहाँलाई आराधना गर्नुपर्छ भन्ने पनि थाहा थिएन। अहिले, परमेश्‍वरले उहाँबारेका सत्यता, अर्थात् उहाँको सार, स्वभाव, सर्वशक्तिमान्‌ता, व्यावहारिकता, आदि इत्यादि कुराहरूबारे ज्ञान प्रदान गरेर मानिसहरूलाई मुक्ति दिनुहुन्छ, ताकि यी सत्यताहरू तिनीहरूको जीवन बनोस्, र यसरी तिनीहरूलाई स्वायत्तता प्राप्त होस् र तिनीहरू सत्यताअनुसार जीउन सक्षम होऊन्। तैँले जति गहिरोसित परमेश्‍वरका वचनहरू, र ती वचनहरूको न्याय र सजाय अनुभव गर्छस्, त्यति नै गहिरोसित आफ्नो भ्रष्ट स्वभाव बुझ्न सक्नेछस् र यसले तँलाई परमेश्‍वरको आज्ञापालन गर्ने, उहाँलाई प्रेम गर्ने र सन्तुष्ट तुल्याउने संकल्प प्रदान गर्नेछ। तैँले जति धेरै परमेश्‍वरलाई चिन्छस्, त्यति नै धेरै तेरो भ्रष्ट स्वभाव त्याग्न सक्नेछस्, अनि तँभित्र परमेश्‍वरप्रति विश्‍वासघात गर्ने कुराहरू त्यति नै थोरै हुनेछन् र परमेश्‍वरसँग मिल्ने कुराहरू त्यति नै धेरै हुनेछन्, र यसरी तैँले शैतानमाथि पूर्ण काबु र विजय प्राप्त गर्नेछस्। सत्यता साथमा हुँदा, मानिसहरूले स्वायत्तता पाउँछन्, अनि त्यसउप्रान्त तिनीहरू शैतानबाट छलिने वा विवश पारिनेछैनन्, र तिनीहरूले अति साँचो मानव जीवन जिउनेछन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

शैतानद्वारा भ्रष्ट पारिएका सबै आत्माहरू शैतानका सत्तामा गुलाम बनाइएका छन्। ख्रीष्टमा विश्‍वास गर्नेहरूलाई मात्र छुट्याइएका, शैतानको शिविरबाट बचाइएका र आजको राज्यमा ल्याइएका छन्। यी मानिसहरू शैतानको प्रभावमा बस्‍न छोडिसके। यति हुँदाहुँदै पनि, मानिसको प्रकृतिले अझ पनि मानिसको देहमा नै जरा गाडेको छ, यसको अर्थ तिमीहरूका आत्मा बचाइएको भए तापनि तिमीहरूको स्वभाव अझ पनि पहिलेको जस्तै छ र तिमीहरूले मलाई विश्‍वासघात गर्ने शतप्रतिशत सम्भावना छ। यसैले मेरो काम लामो समयसम्म रहन्छ किनकि तिमीहरूको प्रकृति जिद्दी छ। अहिले तिमीहरू आफ्ना कर्तव्य गर्ने क्रममा आफ्नो क्षमताले भ्याएसम्मका कठिनाइहरूबाट गुज्रिरहेका छौ, तैपनि तिमीहरू हरेक मलाई विश्‍वासघात गर्न र शैतानको सत्तामा, उसको शिविरमा, तिमीहरूका पुराना जीवनमा फर्कन सक्षम छौ—यो निर्विवाद तथ्य हो। त्यस बेला, तिमीहरूले अहिले गरेजस्तै मानवताको भाग वा मानवको जस्तै स्वरूपलाई प्रस्तुत गर्न तिमीहरूको निम्ति सम्भव हुनेछैन। गम्भीर अवस्थाहरूमा, तिमीहरू नष्ट पारिनेछौ र योभन्दा बढी कहिले पनि देहधारण गर्न नपाउने गरी अनन्तका लागि नष्ट पारिनेछौ, हदैसम्मको दण्ड पाउनेछौ। तिमीहरूका अगाडि रहेको समस्या यही हो। म तिमीहरूलाई यस तरिकाले सम्झाउँदै छु, ताकि, पहिलो कुरा, मेरो काम व्यर्थमा नजाओस् र दोस्रो कुरा, ताकि तिमीहरू सबै ज्योतिको दिनहरूमा जिउन सक। वास्तवमा, मेरो काम व्यर्थमा छ कि छैन भन्‍ने कुरा सबैभन्दा महत्त्वपूर्ण समस्या होइन। तिमीहरूले सुखी जीवन र अद्भुत भविष्य प्राप्त गर्न सक्षम हुनुचाहिँ महत्त्वपूर्ण छ। मानिसहरूको आत्मा बचाउनु मेरो काम हो। यदि तेरो आत्मा शैतानको हातमा पर्‍यो भने तेरो शरीर शान्तिमा जिउनेछैन। यदि मैले तेरो शरीरको रक्षा गरिरहेको छु भने तेरो आत्मा पनि अवश्य नै मेरो हेरचाहमा रहनेछ। यदि मैले तँलाई साँच्चै घृणा गर्छु भने तेरो शरीर र आत्मा एकै चोटि शैतानको हातमा पर्नेछन्। त्यस बेलाको तेरो अवस्थाको कल्पना गर्न सक्छस्? यदि एक दिन तिमीहरूमा मेरा वचनहरू हराए भने, कि त म तिमीहरूलाई शैतानको हातमा सुम्पिदिनेछु, जसले तिमीहरूलाई मेरो रिस पूर्ण रूपमा गायब नहुञ्‍जेलसम्म कष्टदायी यातनामा पार्नेछ, कि त तिमीहरू छुटकारा दिन नसकिने मानवहरूलाई म आफै दण्ड दिनेछु किनकि मलाई विश्‍वासघात गर्ने तिमीहरूका हृदय कहिले पनि परिवर्तन हुनेछैनन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

तिमीहरूभित्र मप्रतिको विश्‍वासघात कति रहेको छ भन्‍ने कुरा हेर्नको निम्ति अब तिमीहरू सबैले सकेसम्म छिटो आफैभित्र हेर्नुपर्छ। म उत्कटताको साथ तिमीहरूको जबाफको प्रतीक्षा गरिरहेको छु। मसँग लापरवाही भएर व्यवहार नगर। म मानिसहरूसँग कहिल्यै खेलबाड गर्दिनँ। म केही गर्नेछु भनेर म भन्छु भने म त्यो निश्‍चय नै गर्नेछु। म आशा गर्छु तिमीहरू हरेकले मेरा वचनहरू गम्भीरता पूर्वक लिनेछौ र तिनीहरूलाई विज्ञान उपन्यासको रूपमा सोच्‍नेछैनौ। म तिमीहरूबाट ठोस कार्य भएको चाहन्छु, तिमीहरूका कल्पनाहरू होइन। अब, तिमीहरूले मेरा देहायबमोजिमका प्रश्‍नहरूको जवाफ दिनुपर्छ:

१. यदि तँ साँच्चै नै सेवाकर्ता होस् भने के तैँले झाटाटारुवापन वा नकारात्मकताको कुनै छनकबिना निष्ठावान् भएर मेरो सेवा गर्न सक्छस्?

२. मैले तेरो कहिले पनि सराहना नगरेको कुरा यदि तैँले पत्ता लगाइस् भने के तैँले अझ पनि अडिग भएर आजीवन मलाई सेवा पुर्‍याउनेछस्?

३. तैँले धेरै प्रयत्‍नहरू गर्दागर्दै पनि यदि म अझ तँप्रति उदासीन नै छु भने, के तैँले यस अस्पष्टताका बीच मेरो निम्ति निरन्तर काम गरिरहन सक्‍नेछस्?

४. तैँले मेरो लागि खर्च गरेपछि यदि मैले तेरा स-साना मागहरू पूरा गरिनँ भने, के तँ मसँग निरुत्साहित र निराश हुनेछस् वा अझ क्रोधित भएर गाली गर्नेछस्?

५. यदि तँ मप्रति धेरै प्रेम राख्दै सधैँ निष्ठावान् रहिआएको छस्, तथापि तैँले बिरामी, गरिबी र तेरा मित्र तथा आफन्तहरूबाट त्यागिएको पीडाको कष्ट भोग्छस् वा तैँले जीवनमा अन्य दुर्गतिहरू सहिस् भने, के मप्रतिको तेरो निष्ठा र प्रेम अझ पनि निरन्तर रहनेछ?

६. यदि मैले गरेको कुरा तैँले तेरो हृदयमा कल्पना गरेका कुरासँग मेल खाएन भने, तेरो भावी मार्गमा तँ कसरी हिँड्नेछस्?

७. यदि तैँले प्राप्त गर्ने आशा गरेका थोकहरू प्राप्त गरिनस् भने के तँ निरन्तर रूपमा मेरो अनुयायी हुन सक्छस्?

८. यदि तैँले मेरो कार्यको उद्देश्य र महत्त्वलाई कहिल्यै बुझेको छैनस् भने, के तँ मनोमानी तवरले निर्णयहरू नगर्ने र निष्कर्षहरू ननिकाल्ने समर्पित व्यक्ति बन्‍न सक्छस्?

९. के तैँले म मानवजातिमाझ सँगै रहँदा मैले बोलेका सबै वचनहरू र मैले गरेका सबै कामहरूलाई कदर गर्न सक्छस्?

१०. के तैँले केही प्राप्त नगरे तापनि मेरो निम्ति आजीवन पिडा सहन राजी भई मेरो वफादार अनुयायी बन्‍न सक्छस्?

११. के तैँले तेरो भावी अस्तित्वको मार्गको लागि विचार, योजना वा तयारी गर्ने कार्यलाई मेरो खातिर त्याग्‍न सक्छस्?

यी प्रश्‍नहरूले तिमीहरूको निम्ति मेरा अन्तिम आवश्यकताहरूलाई प्रतिनिधित्व गर्छन् र तिमीहरू सबैले मलाई जवाफ दिन सक्नेछौ भन्‍ने मेरो आशा छ। यदि तँलाई सोधिएका एक वा दुई प्रश्‍नहरूलाई तैँले पूरा गरेको छस् भने तैँले प्रयास जारी राख्‍नुपर्छ। यदि तैँले यी आवश्यकताहरूमध्ये एउटैलाई पनि पूरा गरेको छैनस् भने तँ निश्‍चय नै नरकमा फालिने किसिमको व्यक्ति होस्। यस्ता मानिसहरूलाई मैले केही भन्‍ने आवश्यकता छैन, किनकि तिनीहरू निश्‍चय नै मसँग मिल्‍ने मानिसहरू होइनन्। कुनै पनि परिस्थितिहरूमा मलाई विश्‍वासघात गर्नेलाई म कसरी मेरो घरमा राख्‍न सकुँला र? धेरैजसो परिस्थितिहरूमा मलाई धोका दिनेहरूको हकमा, अन्य बन्दोबस्तहरू गर्नु अगाडि म तिनीहरूको कामको अवलोकन गर्नेछु। यद्यपि, मलाई जुनसुकै परिस्थितिहरूमा विश्‍वासघात गर्न सक्‍ने सबैलाई म कहिले पनि बिर्सनेछैनँ; मेरो हृदयमा म तिनीहरूलाई सम्झनेछु र तिनीहरूका दुष्ट कामहरूको बदला लिने मौका पर्खनेछु। मैले उठाएका आवश्यकताहरू तिमीहरूले आफैमा जाँच गर्नुपर्ने समस्याहरू हुन्। मलाई आशा छ तिमीहरू सबैले तिनीहरूलाई गम्भीरता पूर्वक लिन सक्छौ र मसँग लापरवाही तरिकाले व्यवहार गर्दैनौ। निकट भविष्यमा, म मेरा आवश्यकताहरू विरुद्ध तिमीहरूले दिएका जबाफहरूको जाँच गर्नेछु। त्यस बेलासम्म, म तिमीहरूबाट ज्यादा केही माग गर्नेछैनँ र तिमीहरूलाई थप गम्भीर चेतावनी दिनेछैनँ। बरु, म मेरो अधिकारको प्रयोग गर्नेछु। सुरक्षित राखिनुपर्नेहरू सुरक्षित राखिनेछन्, इनाम दिइनुपर्नेहरूलाई इनाम दिइनेछ, शैतानकहाँ सुम्पिइनुपर्नेहरूलाई शैतानकहाँ सुम्पिइनेछ, कठोर दण्ड दिइनुपर्नेहरूलाई कठोर दण्ड दिइनेछ र नष्ट गरिनुपर्नेहरूलाई नष्ट गरिनेछ। यसैले मेरा दिनहरूमा मलाई विचलित पर्नेहरू कोही पनि हुनेछैनन्। के तँ मेरा वचनहरूमा विश्‍वास गर्छस्? के तँ प्रतिशोधमा विश्‍वास गर्छस्? मलाई ठग्‍नेहरू र मलाई विश्‍वासघात गर्नेहरूलाई म दण्ड दिने छु भन्‍ने कुरामा तँ विश्‍वास गर्छस्? त्यो दिन चाँडो आओस् भन्‍ने आशा गर्छस् कि ढिलो आओस् भन्‍ने आशा गर्छस्? तँ दण्डदेखि आतङ्कित हुनेमा पर्छस् कि दण्ड सहनै पर्ने भए तापनि मेरो विरोध गर्नेहरूमा पर्छस्? जब त्यो दिन आउँछ, तँ हर्ष र हाँसोमा बस्‍नेछस् कि तँ रुने वा दाह्रा किट्नेछस् के तँ त्यो कुराको कल्पना गर्न सक्छस्? तेरो अन्त्य कस्तो हुनेछ भन्‍ने तैँले आशा गरेको छस्? तैँले ममाथि सय प्रतिशत विश्‍वास गर्छस् कि सय प्रतिशत शङ्का गर्छस् भन्‍ने कुरालाई तैँले कहिल्यै गम्भीर भएर विचार गरेको छस्? तेरा कार्य र व्यवहारहरूले तँमाथि कस्ता परिणाम र प्रतिफलहरू ल्याउनेछन् भनेर के तैँले कहिल्यै ध्यान दिएर विचार गरेको छस्? के तँ मेरा वचनहरू पूरा हुनेछन् भन्‍ने साँच्चै आशा गर्छस् कि मेरा वचनहरू पूरा हुनेछन् भनेर आतङ्कित हुन्छस्? यदि मेरा वचनहरू पूरा गर्नलाई म चाँडै नै जानेछु भन्‍ने तँ आशा गर्छस् भने तेरा आफ्नै शब्दहरू र कार्यहरूलाई तैँले कसरी लिनुपर्छ? यदि तँ मेरो प्रस्थानको आशा गर्दैनस् र मेरा सबै वचनहरू तत्कालै पूरा हुनेछन् भन्‍ने आशा गर्दैनस् भने तैँले आखिर ममाथि किन विश्‍वास गर्छस्? तँ किन मलाई पछ्याइरहेको छस् भन्‍ने तँलाई साँच्चै थाहा छ? यदि तेरो कारण तेरो क्षितिजलाई विस्तार गर्ने मात्र हो भने, तैँले त्यसको लागि आफैँलाई कष्ट दिनु आवश्यक छैन। यदि आशिषित हुनु र आसन्‍न विपत्तिलाई टार्नलाई हो भने तेरा आफ्नै व्यवहारप्रति तेरो किन चासो छैन? तैँले मेरा मागहरू पूरा गर्न सक्छस् कि सक्दैनस् भनेर तँ किन आफैँलाई सोध्‍दैनस्? आउनेवाला आशिष्‌हरू प्राप्त गर्नको निम्ति तँ योग्यको छस् कि छैनस् भनेर तँ किन आफैँलाई सोध्दैनस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

अघिल्लो: ३०. मानिसहरूले परमेश्‍वरको अवाज्ञा र प्रतिरोध गर्ने समस्या कसरी समाधान गर्ने

अर्को: १. परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो, परमेश्‍वरलाई पछ्याउनु भनेको के हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्