२३. देखावा गर्न र आफ्नै गवाही दिन मन पर्ने समस्या कसरी समाधान गर्ने
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने, आफ्नो सान देखाउने, मानिसहरूले आफूलाई उच्च ठानून् र आराधना गरून् भन्ने प्रयास गर्ने—भ्रष्ट मानवजाति यी कुराहरू गर्न सक्षम छ। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिले शासित हुन्छन् तिनीहरूले यसरी स्वतः प्रतिक्रिया दिन्छन्, र यो सबै भ्रष्ट मानवजातिको निम्ति सामान्य हो। मानिसहरूले सामान्यतया कसरी आफ्नै बढाइ गर्छन् र आफ्नै गवाही दिन्छन्? तिनीहरूले मानिसलाई आफूलाई उच्च ठान्न र आफ्नो आराधना गर्न लगाउने उद्देश्य कसरी प्राप्त गर्छन्? तिनीहरूले कति धेरै काम गरेका छन्, तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन्, र तिनीहरूले कति धेरै मूल्य चुकाएका छन् भनेर तिनीहरूले गवाही दिन्छन्। तिनीहरू आफ्ना पुँजीबारे कुरा गरेर आफूलाई उच्च पार्छन्, जसले तिनीहरूलाई मानिसहरूका मनमा अझ उच्च, बलियो र अधिक सुरक्षित स्थान दिन्छ, ताकि अझ धेरै मानिसहरूले तिनीहरूलाई कदर गरून्, उच्च ठानून्, प्रशंसा गरून्, साथै आराधना गरून् र आदरभावले हेरून् र अनुसरणसमेत गरून्। यो लक्ष्य प्राप्त गर्न मानिसहरूले हेर्दाखेरि परमेश्वरको गवाही दिएजस्तो देखिने तर आधारभूत रूपमा आफैँलाई उच्च पार्ने र आफैबारे गवाही दिने धेरै कुराहरू गर्छन्। के यसरी व्यवहार गर्नु उचित हो त? तिनीहरू चेतनाको दायराबाहिर छन् र तिनीहरूमा शरम छैन, अर्थात्, तिनीहरू तिनीहरूले परमेश्वरका निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्ने कुराको कुनै शरमविना गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव, विशेष सीपहरू, संसारसँग व्यवहार गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू, मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरू, आदि इत्यादिको तडकभडक पनि देखाउँछन्। आफूबारे बढाइ गर्ने र गवाही दिने तिनीहरूको तरिका भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। मानिसहरूले जहिले पनि तिनीहरूको विलक्षण प्रतिभा मात्र देखून् भनेर तिनीहरूले आफ्ना कमजोरी, कमीहरू र अपर्याप्तताहरू लुकाउँदै भेष बदल्छन् र आफूलाई प्रस्तुत गर्छन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्; तिनीहरूसँग खुल्ने र सङ्गति गर्ने हिम्मतको अभाव हुन्छ र तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा मण्डलीको काममा पुर्याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधारण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति असल छन् भन्ने कुरा सारा संसारलाई थाहा दिन कुनै प्रतीक्षा गर्दैनन्। के यो तिनीहरू आफैबारे बढाइ गर्ने र गवाही दिने तरिका होइन र? के आफूबारे बढाइ गर्ने र गवाही दिने कार्य विवेक र समझ भएको व्यक्तिले गर्ने कार्य हो? होइन। त्यसो भए, मानिसहरूले यसो गर्दा प्रायः कस्तो स्वभाव प्रकट हुन्छ त? अहङ्कार। यो यसरी प्रकट हुने एक मुख्य स्वभाव हो, त्यसपछि कपट आउँछ जसमा अरू मानिसहरूलाई आफूलाई उच्च सम्मान गर्ने तुल्याउनको निम्ति सम्भव भएसम्मका सबै कुरा गर्ने कुरा सामेल हुन्छ। तिनीहरूका शब्दहरू पूर्ण रूपमा निर्विवाद हुन्छन् र तिनमा अभिप्रेरणा र कपट-योजनाहरू प्रस्ट रूपले समावेश हुन्छन्, तिनीहरू आफूलाई प्रदर्शन गरिरहेका हुन्छन्, तैपनि तिनीहरू यो तथ्य लुकाउन चाहन्छन्। तिनीहरूले जे भन्छन् त्यसको परिणाम भनेको मानिसहरूलाई तिनीहरू अरूभन्दा असल छन्, तिनीहरूको बराबर कोही पनि छैन र सबै जना तिनीहरूभन्दा निकृष्ट छन् भन्ने अनुभव गराउनु हो। अनि के यो परिणाम गोप्य तरिकाबाट प्राप्त गर्न सकिन्न? यस्तो तरिकाको पछाडि कस्तो स्वभाव हुन्छ? अनि के त्यहाँ दुष्टताका कुनै तत्त्वहरू हुन्छन्? (छन्।) यो एक प्रकारको दुष्ट स्वभाव हो। तिनीहरूले प्रयोग गर्ने तरिकाहरू छलपूर्ण स्वभावद्वारा निर्देशित भएको देख्न सकिन्छ—त्यसो भए, यो दुष्ट छ भनेर म किन भन्छु त? दुष्टतासँग यसको के सम्बन्ध छ? तिमीहरूलाई के लाग्छ: आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने आफ्ना उद्देश्यहरूबारे तिनीहरू खुलस्त हुन सक्छन्? तिनीहरू खुलस्त हुन सक्दैनन्। तर तिनीहरूका हृदयको गहिराइमा सधैँ एउटा आकाङ्क्षा हुन्छ, अनि तिनीहरूले भन्ने र गर्ने कुरा त्यही आकाङ्क्षाको सघाउको निम्ति हो, र तिनीहरूले बोल्ने र गर्ने कुराहरूपछाडिको उद्देश्य र अभिप्रेरणाहरू गोप्य राखिन्छन्। उदाहरणको लागि, यी लक्ष्यहरू हासिल गर्नको निम्ति तिनीहरूले गलत निर्देशन वा केही अनुचित युक्तिहरूको प्रयोग गर्नेछन्। के यस्तो गोपनीयता धूर्त प्रकृतिको छैन र? अनि यस्तो धूर्तपनलाई दुष्ट भन्न सकिन्न र? सकिन्छ, यसलाई वास्तवमा दुष्ट भन्न सकिन्छ र यो छलभन्दा गहिरो हुन्छ। तिनीहरूले आफ्ना उद्देश्यहरू पूरा गर्न निश्चित तरिका वा विधि प्रयोग गर्छन्। यो स्वभाव छलीपन हो। तर तिनीहरूको हृदयको गहिराइमा भएको मानिसहरूले सधैँ आफूलाई पछ्याऊन्, आफूलाई आदर र आराधना गरून् भन्ने महत्त्वाकाङ्क्षा र चाहनाले तिनीहरूलाई आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिनेतर्फ, अनि अनैतिक र निर्जज्ज रूपमा यी कुराहरू गर्नेतर्फ डोर्याउँछ। यो कुन स्वभाव हो? यो दुष्टताको स्तरसम्म पुग्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्
मानिसहरूले आफूलाई उच्च पार्दा र आफ्नो गवाही दिँदा प्रायजसो कस्तो कुराका बारेमा कुरा गर्छन्? एउटा भनेको तिनीहरूले आफ्नो योग्यताका बारेमा कुरा गर्नु हो। उदाहरणका लागि, कतिपय मानिसहरूले तिनीहरूले माथिल्लो स्तरका निश्चित मण्डली अगुवाहरूलाई कसरी बास दिएका छन् भन्ने बारेमा कुरा गर्छन्। कतिपयले त यसो समेत भन्छन्, “मैले परमेश्वर स्वयम्लाई बास दिएको छु, र उहाँले मसँग निकै दयालु व्यवहार गर्नुभयो—म पक्कै पनि सिद्ध पारिनेछु।” तिनीहरूले यसो भन्नुको अर्थ के हो? (तिनीहरूले मानिसहरूलाई तिनीहरूलाई उच्च मान्न लगाउने प्रयास गरिरहेका हुन्छन्।) यी कुराहरू भन्नुको पछाडि तिनीहरूको उद्देश्य हुन्छ। अरूले भन्छन्, “म माथिको सम्पर्कमा आएको छु, तिनीहरूले मेरा बारेमा निकै उच्च विचार राख्छन्, र मलाई मेरो खोजीमा मेहनत गर्न आग्रह गरे।” वास्तवमा, माथिले तिनीहरूका बारेमा के सोच्छ भन्ने कसैलाई थाहा हुँदैन। कतिपय मानिसहरूले साँच्चै नै कुराहरू बढाइदिन्छन्, र कहिलेकहीँ कुराहरू समेत बनाउँछन्। यदि मानिसहरूको समूह भेला भएर तिनीहरूको कथालाई पुष्टि गर्न र जाँच गर्न आए भने के गर्ने भनेर तिनीहरूलाई थाहा हुनेथिएन। माथिले कसैलाई यसो पनि भन्न सक्छ, “तेरो क्षमता राम्रो छ र तँसँग बुझ्ने क्षमता छ। तैँले आफ्नो अनुभवात्मक गवाही लेख्ने अभ्यास गर्नुपर्छ। जीवन अनुभव प्राप्त गरेपछि तँ अगुवा बन्न सक्छस्।” यसको अर्थ के हो? यो व्यक्ति प्रतिभाशाली भए पनि, उसले अझै पनि केही समयसम्म तालिम लिनुपर्छ र अनुभव पाउनुपर्छ। जब त्यो व्यक्तिले तालिम वा अनुभव प्राप्त गर्नुभन्दा पहिले धाक लगाउँछ र देखावट गर्छ, तब यसको प्रकृति के हुन्छ? ऊ अहङ्कारी र घमण्डी भइरहेको हुन्छ, र उसले आफ्नो समझ गुमाएको हुन्छ, होइन र? यदि माथिका दाजु वा भाइले यो व्यक्तिमा क्षमता छ र ऊ प्रतिभाशाली छ भनेर भने पनि, यो त उसलाई प्रोत्साहन दिएको वा मूल्याङ्कन गरिएको मात्रै हुन्छ। त्यस व्यक्तिले यसरी धाक लगाउँदै हिँड्नुको उद्देश्य के हो? मानिसहरूलाई उसलाई उच्च मान्न लगाउनु, अरूलाई उसको आराधना गर्न लगाउनु हो। तिनीहरूले यसो भनिरहेका हुन्छन्, “हेर—माथिका दाजु वा भाइले मलाई निकै उच्च मान्छन्, र त्यसोभए तिमी किन मलाई उच्च मान्दैनौ? अब मैले तिमीलाई यो कुरा बताइसकेपछि, तिमीले पनि मलाई उच्च मान्नुपर्छ।” तिनीहरूले हासिल गर्न चाहने उद्देश्य यही हो। यसो भन्नेहरू पनि छन्, “म अगुवा थिएँ। म एउटा क्षेत्र, जिल्ला, मण्डलीको अगुवा थिएँ—म धेरै पटक तल झरेँ, र धेरै पटक माथि चढेँ—मलाई धेरै पटक बढुवा दिइयो र पदबाट तल झारियो। अन्तमा, मेरो इमानदारीताले स्वर्गको मन छोयो, र आज, म फेरि पनि माथिल्लो स्तरको अगुवा बनेको छु। अनि म कहिल्यै पनि नकारात्मक भएको छैनँ।” तैँले तिनीहरूलाई किन कहिल्यै नकारात्मक महसुस गरेका छैनौ भनेर सोध्दा, तिनीहरूले यसो भन्छन्, “सक्कली सुन अन्तमा चम्किन्छ भन्ने कुरामा विश्वास गर्छु।” तिनीहरू यही निष्कर्षमा पुगेका हुन्छन्। के यो सत्यता वास्तविकता हो? (होइन।) त्यसोभए त्यो सत्यता वास्तविकता होइन भने, के हो त? यो एउटा अनौठो सिद्धान्तवाद हो; यसलाई भ्रम पनि भन्न सकिन्छ। तिनीहरूले यसरी बोल्नुको परिणाम के हुन सक्छ? कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “यो व्यक्तिले साँच्चै नै सत्यता पछ्याउँछ। धेरै पटक बढुवा पाएर पदबाट तल झारिँदा पनि ऊ नकारात्मक भएन। अनि अहिले तिनीहरूलाई फेरि अगुवा बनाइएको छ—सक्कली सुन साँच्चै चम्किन्छ। तिनीहरू ढिलो-चाँडो सिद्ध तुल्याइन्छन्।” के त्यो व्यक्तिको लक्ष्य त्यही थिएन र? वास्तवमा, उसले यही उद्देश्य राखेको थियो। ख्रीष्टविरोधीहरूले चाहे जुन शैलीमा बोले पनि, त्यसको ध्येय सदैव मानिसहरूलाई तिनीहरूलाई उच्च मान्न लगाउन र तिनीहरूको आराधना गर्न लगाउन, मानिसहरूको हृदयमा कुनै स्थान ओगट्न, परमेश्वरको पद समेत लिनका लागि हो—यी सबै कुराहरू ख्रीष्टविरोधीहरूले आफ्नै गवाही दिँदा हासिल गर्न चाहने लक्ष्यहरू हुन्। जब पनि मानिसहरूले भन्ने, प्रचार गर्ने र सङ्गति गर्ने सबै कुरापछाडिको मनसाय भनेको अरूलाई तिनीहरूलाई उच्च मान्न लगाउनु र आराधना गर्न लगाउनु हुन्छ, तब यस्तो व्यवहार आफैलाई उच्च पार्नु र आफ्नो गवाही दिनु हो, र यो अरूको हृदयमा स्थान ओगट्न गरिन्छ। यी मानिसहरूले बोल्ने तरिकाहरू पूर्ण रूपमा एउटै नभए पनि, यसमा थोरै मात्रामा तिनीहरूले आफ्नै गवाही दिने र अरूलाई तिनीहरूको आराधना गर्न लगाउने प्रभाव हुन्छ। यस्ता व्यवहारहरू प्रायः सबै अगुवा र सेवकहरूमा फरक-फरक हदमा रहेका हुन्छन्। यदि तिनीहरू आफूलाई रोक्न नसक्ने निश्चित अवस्थामा पुग्छन् र आफूलाई नियन्त्रण गर्न तिनीहरूलाई गाह्रो हुन्छ, र तिनीहरूमा आफूलाई परमेश्वरको रूपमा वा कुनै आदर्श व्यक्तित्वको रूपमा मानिसहरूलाई व्यवहार गर्न लगाउने विशेष रूपमा बलियो र स्पष्ट अभिप्राय र लक्ष्य हुन्छ, यसरी तिनीहरूले मानिसहरूलाई बन्धनमा राख्ने र नियन्त्रण गर्ने र अरू मानिसहरूलाई तिनीहरूको पालना र आराधना गर्न लगाउने आफ्नो उद्देश्य हासिल गर्न चाहन्छन् भने, यी सबैको प्रकृति आफैलाई उच्च पार्ने र आफ्नै गवाही दिने प्रकृति हो, र यसमा ख्रीष्टविरोधीको एउटा गुण हुन्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्
मण्डली जीवनमा अवरोध र बाधा ल्याउने मानिस, घटना, र कामकुराहरूको दोस्रो प्रकटीकरण भनेको मानिसहरूले अरूलाई बहकाउन र आफ्नो प्रतिष्ठा बढाउनको लागि शब्द र धर्मसिद्धान्तहरू बोल्नु हो। सामान्यतया, धेरैजसो मानिसहरूले केही शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्छन्। धेरैजसो मानिसहरूले बोलेका हुन्छन्। हामीले कुनै व्यक्तिले शब्द र धर्मसिद्धान्तहरू बोल्ने सामान्य कार्यलाई त्यस व्यक्तिको कद सानो भएकोले र सत्यतालाई बुझ्ने क्षमताको कमी भएकोले घट्ने घटनाका रूपमा लिनुपर्छ। तिनीहरूले धेरै समय लिँदैनन्, जानी-जानी यसो गरिरहेका छैनन्, एकोहोरो कुराकानी गर्दैनन्, स्वेच्छाले बोल्नको लागि सबैलाई सहमत हुन माग गर्दैनन्, सबैलाई तिनीहरूको कुरा सुन्न लगाउँदैनन्, र अरूलाई बहकाएर तिनीहरूको आदर जित्ने प्रयास गर्दैनन् भने, यसमा बाधा वा अवरोध ल्याउने कार्य संग्लग्न हुँदैन। धेरैजसो मानिसहरूमा सत्यता वास्तविकताको कमी हुने भएकोले, शब्द र धर्मसिद्धान्तहरू बोल्ने कार्य आम रूपमा देखा पर्ने घटना हो। अलिक अनुचित रूपमा बोल्नु क्षमायोग्य हुन्छ; यसलाई माफी दिएर गम्भीर रूपमा नलिन सकिन्छ। तर, एउटा अपवाद छ, त्यो हो जब व्यक्तिले जानाजान शब्द र धर्मसिद्धान्तहरू बोलिरहेको हुन्छ। तिनीहरूले जानाजान के गर्छन्? शब्द र धर्मसिद्धान्तहरू बोल्नु तिनीहरूले जानाजान गर्ने कार्य होइन, किनभने तिनीहरूमा सत्यता वास्तविकताको पनि कमी हुन्छ। तिनीहरूका क्रियाकलापहरू, जस्तै शब्द र धर्मसिद्धान्तहरू बोल्ने, नाराहरू फलाक्ने, र सिद्धान्तहरूको बारेमा बोल्ने कार्यहरू अरू सबैको जस्तै हुन्छन्। तर, एउटा भिन्नता छ: जब तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू बोल्छन्, तब तिनीहरूले सधैँ अरूबाट उच्च सम्मान पाउन चाहन्छन् र आफूलाई अगुवाहरू र कामदारहरू, सत्यता पछ्याउने मानिसहरूसँग तुलना गर्न चाहन्छन्। अझै अव्यावहारिक कुरा त, तिनीहरूले जे भने पनि वा जसरी भने पनि, तिनीहरूको उद्देश्य भनेको मानिसहरूलाई आफ्नो पक्षमा ल्याउनु, मानिसहरूको हृदय भ्रमित पार्नु हो, र यो सब उच्च सम्मान पाउनको लागि गरिएको हुन्छ। उच्च सम्मान खोजी गर्नुको उद्देश्य के हो? तिनीहरूले मानिसहरूको हृदयमा हैसियत र प्रतिष्ठा प्राप्त गर्न, विशिष्ट व्यक्ति वा मानिसहरूका भीडमाझ अगुवा बन्न, असाधारण वा असामान्य व्यक्ति बन्न, विशेष व्यक्तित्व बन्न, अख्तियारपूर्ण बोली भएको व्यक्ति बन्ने चाहना राख्छन्। यो परिस्थिति मानिसहरूले शब्द र धर्मसिद्धान्तहरू बोल्ने सामान्य घटनाहरूभन्दा फरक छ र यो बाधा र व्यवधान ल्याउनु हो। यी मानिसहरूलाई सामान्य रूपमा देखिने शैलीमा शब्द र धर्मसिद्धान्तहरू बोल्नेहरूभन्दा के कुराले फरक तुल्याउँछ? तिनीहरूको निरन्तर बोल्ने इच्छाले; कुनै अवसर पाउनेबित्तिकै, तिनीहरू बोलिहाल्नेछन्। भेला छ भने वा मानिसहरूको समूह भेला भएको छ भने—तिनीहरूसँग श्रोता छ भने—तिनीहरू बोल्नेछन्, र तिनीहरूलाई बोल्ने साह्रै ठूलो इच्छा हुन्छ। तिनीहरूले बोल्नुको उद्देश्य दाजुभाइ-दिदीबहिनीहरूसँग आफ्ना भित्री सोच, प्राप्ति, अनुभव, बुझाइ, वा अन्तर्ज्ञानहरू बाँडेर सत्यताको बुझाइ वा त्यसको अभ्यास गर्ने मार्ग बढाउनु होइन। बरु, तिनीहरूको उद्देश्य भनेको धर्मसिद्धान्तहरू बोल्ने अवसरलाई प्रयोग गरेर आफ्नो प्रदर्शन गर्नु, तिनीहरू कति विद्वत् छन् भनेर अरूलाई थाहा दिनु, तिनीहरूसँग दिमाग, ज्ञान, र सिकाइ छ, र तिनीहरू औसत व्यक्तिभन्दा माथि छन् भन्ने देखाउनु हो। तिनीहरू केवल साधारण व्यक्तिहरूका रूपमा नभई सक्षम व्यक्तिहरूका रूपमा चिनिन चाहन्छन्। तिनीहरूले यो चाहन्छन्, ताकि कुनै पनि मामलाको हकमा, सबै जना तिनीहरूकहाँ गएर तिनीहरूबाट परामर्श लिऊन्। मण्डलीमा आउने कुनै पनि समस्या वा दाजुभाइ-दिदीबहिनीहरूले सामना गर्ने कुनै पनि कठिनाइको हकमा, तिनीहरू अरूले सम्झिने पहिलो व्यक्ति बन्न चाहन्छन्; तिनीहरूले त्यो चाहन्छन् किनभने तिनीहरू अरूले तिनीहरूविना केही गर्न नसकून्, तिनीहरू सबैले तिनीहरूविना कुनै पनि मामलालाई सम्हाल्ने आँट नगरून्, र सबैले तिनीहरूले आदेश पर्खून्। तिनीहरूले चाहने प्रभाव यही हो। शब्द र धर्मसिद्धान्तहरू बोल्नुको पछाडि तिनीहरूको उद्देश्य भनेको मानिसहरूलाई फन्दामा पार्नु र नियन्त्रण गर्नु हो। तिनीहरूको लागि, शब्द र धर्मसिद्धान्तहरू बोल्नु त एउटा विधि, एउटा शैली मात्रै हो; तिनीहरूले सत्यता नबुझ्ने हुनाले शब्द र धर्मसिद्धान्तहरू बोल्ने होइनन् बरु यसो गरेर, तिनीहरूले मानिसहरूलाई हृदयदेखि तिनीहरूको सम्मान गर्ने, तिनीहरूलाई उच्च ठान्ने, र तिनीहरूको डर समेत मान्ने, तिनीहरूको बन्धन र नियन्त्रणमा पर्ने तुल्याउने उद्देश्य राख्छन्। यसरी शब्द र धर्मसिद्धान्तहरू बोल्ने कार्य बाधा दिने र अवरोध ल्याउने कार्य हो। मण्डली जीवनमा, त्यस्ता व्यक्तिहरूलाई प्रतिबन्धित गर्नुपर्छ, र शब्द र धर्मसिद्धान्तहरू बोल्ने यो व्यवहारलाई पनि रोक्नुपर्छ, र जाँच नगरी जारी रहन दिनु हुँदैन।
—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू (१३)
कतिपय मानिसहरूले बोली प्रयोग गरी आफूबारे गवाही दिन्छन्, र आडम्बर देखाउने केही वचनहरू बोल्छन्, जबकि अरू मानिसहरूले व्यवहार प्रयोग गर्छन्। आफूबारे गवाही दिन व्यवहार प्रयोग गर्ने मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? बाहिरबाट हेर्दा, तिनीहरू मानिसहरूका धारणाहरूसँग मेल खाने, मानिसहरूको ध्यान आकर्षित गर्ने, र मानिसहरूले निकै भद्र र नैतिक मापदण्डहरूअनुरूप भन्ठानेका केही व्यवहारमा संलग्न हुन्छन्। यी व्यवहारले मानिसहरूलाई तिनीहरू सम्मानजनक, निष्ठायुक्त, परमेश्वरलाई प्रेम गर्ने, धर्मपरायण, र साँच्चै परमेश्वरको डर मान्ने हृदय भएका, र सत्यता पछ्याउने मानिसहरू हुन् भन्ने सोच्ने तुल्याउँछ। तिनीहरू मानिसहरूलाई बहकाउन प्रायः केही बाहिरी असल व्यवहार प्रदर्शन गर्छन्—के यसमा पनि आफूलाई उचाल्नु र आफूबारे गवाही दिनुको गन्ध आउँदैन र? मानिसहरूले प्रायः अरूलाई तिनीहरूबारे उच्च सोच्ने र तिनीहरूलाई सम्मानको दृष्टिले हेर्ने तुल्याउन शब्दहरूको माध्यमबाट, तिनीहरू कसरी जनमानसभन्दा भिन्न छन् र तिनीहरूसँग कसरी अरूभन्दा बुद्धिमानी विचारहरू छन् भनेर व्यक्त गर्न स्पष्ट बोली प्रयोग गर्दै आफूलाई उचाल्छन् र आफूबारे गवाही दिन्छन्। तर प्रत्यक्ष बोली संलग्न नभएका त्यस्ता केही विधिहरू छन्, जसमा मानिसहरूले तिनीहरू अरूभन्दा राम्रा छन् भनेर गवाही दिनुको सट्टा बाहिरी अभ्यासहरू प्रयोग गर्छन्। यसप्रकारका अभ्यासहरू राम्रोसित सोचविचार गरिएका हुन्छन्, तिनमा निश्चित अभिप्राय र मनसाय हुन्छन्, र ती निकै उद्देश्यपूर्ण हुन्छन्। तिनलाई राम्ररी बेरिएको र प्रशोधित गरिएको हुन्छ, त्यसैले मानिसहरूले देख्ने भनेका केही व्यवहार र अभ्यास मात्र हुन्, जुन मानिसहरूका धारणासँग मिल्ने, भद्र, धर्मपरायण, र सन्तको शिष्टतासँग मिल्ने, र परमेश्वरलाई प्रेम गर्ने, परमेश्वरको डर मान्ने, र सत्यतासँग मिल्नेसमेत हुन्छन्। यसले आफूलाई उचाल्ने र आफूबारे गवाही दिने र मानिसहरूलाई आफूबारे उच्च सोच्ने र आफूलाई आराधना गर्ने तुल्याउने उही उद्देश्य पूरा गर्छ। के तिमीहरूले कहिल्यै त्यस्तो कुरा सामना गरेका वा देखेका छौ? के तिमीहरूमा यी प्रकटीकरणहरू छन्? के मैले छलफल गरिरहेका यी कुरा र यो विषय वास्तविक जीवनभन्दा अलग छन्? वास्तवमा, ती अलग छैनन्। म तिनीहरूलाई एउटा सामान्य उदाहरण दिन्छु। कतिपय मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा बाहिरबाट तिनीहरू अत्यन्तै व्यस्त देखिन्छन्; तिनीहरू जानीजानी अरूले खानपिन गरिरहेको वा सुतिरहेको बेला काम गर्न जारी राख्छन्, र अरूले आफ्नो कर्तव्य निर्वाह गर्न सुरु गर्दा तिनीहरू खानपिन गर्न वा सुत्न जान्छन्। तिनीहरूले यसो गर्नुको उद्देश्य के हो? तिनीहरू ध्यान आकर्षित गर्न र सबैलाई तिनीहरू कर्तव्य निर्वाह गर्नमा अति व्यस्त रहेको र तिनीहरूसँग खानपिन गर्ने वा सुत्ने समयसमेत नभएको देखाउन चाहन्छन्। तिनीहरू सोच्छन्: “तिमीहरू साँच्चै कुनै बोझ उठाउँदैनौ। तिमीहरू कसरी खानपिन गर्ने र सुत्नेबारे यति सक्रिय हुन्छौ? तिमीहरू केही न कामका हौ! मलाई हेर, म काम गरिरहेको छु, जबकि तिमीहरू सबै खानपिन गरिरहेका छौ, र तिमीहरू राती सुतिरहेको बेलासमेत म काम गरिरहेको छु। के तिमीहरूले यसरी कष्ट भोग्न सक्नेथ्यौ? म यो कष्ट सहन सक्छु; मैले त आफ्नो व्यवहारमार्फत एउटा उदाहरण स्थापित गरिरहेको छु।” तिमीहरू यस्तो व्यवहार र प्रकटीकरणबारे के सोच्छौ? के यी मानिसहरूले जानीजानी यस्तो गरिरहेका छैनन् र? केही मानिसहरूले जानीजानी यी कुराहरू गरिरहेका हुन्छन्, र यो कस्तो खालको व्यवहार हो? यी मानिसहरू गैरअनुरूपतावादी बन्न चाहन्छन्; तिनीहरू जनमानसभन्दा अलग हुन र मानिसहरूलाई आफू रातभर कर्तव्य निर्वाह गर्नमा व्यस्त रहेको, र कष्ट सहन विशेष सक्षम रहेको देखाउन चाहन्छन्। यसरी सबैजनाले तिनीहरूको काँधमा यति बोझ रहेको छ कि तिनीहरू काममा व्यस्त रहेर खानपिन गर्न वा सुत्नसमेत नपाएको भन्ने सोच्दै तिनीहरूको लागि दुःखी हुनेछन् र तिनीहरूप्रति सहानुभूति देखाउनेछन्। अनि, यदि तिनीहरूलाई मुक्ति दिन सकिन्न भने, सबैले तिनीहरूको लागि परमेश्वरसँग याचना गर्नेछन्, तिनीहरूको तर्फबाट अनुनय विनय गर्नेछन्, र तिनीहरूको लागि प्रार्थना गर्नेछन्। यसो गर्दा, ती मानिसहरूले अरूलाई छल्न र जालझेलपूर्ण तरिकाले तिनीहरूको सहानुभूति र प्रशंसा पाउन कष्ट सहने र मूल्य चुकाउनेजस्ता मान्छेका धारणाहरूसँग मेल खाने असल व्यवहार र अभ्यासहरू प्रयोग गरिरहेका हुन्छन्। अनि यसको अन्तिम नतिजा के हुन्छ? तिनीहरूको सम्पर्कमा आएका र तिनीहरूले मूल्य चुकाएको देखेका सबैले एकै स्वरमा यसो भन्ने छन्: “हाम्रो अगुवा नै सबैभन्दा योग्य, अनि कष्ट भोग्न र मूल्य चुकाउन सबैभन्दा सक्षम छन्!” त्यसपछि, के तिनीहरूले मानिसहरूलाई बहकाउने आफ्नो उद्देश्य पूरा गरेका हुँदैनन् र? अनि, एकदिन परमेश्वरको घरले यसो भन्छ: “तिमीहरूको अगुवाले वास्तविक काम गर्दैन। उसले बिनाकुनै उद्देश्य आफूलाई व्यस्त राख्छ र काम गर्छ; उसले लापरवाहीपूर्वक कार्य गर्छ र ऊ स्वेच्छाचारी र तानाशाही प्रकृतिको छ। उसले मण्डलीको काम अस्तव्यस्त पारेको छ, आफूले गर्नुपर्ने काम गरेको छैन, सुसमाचार कार्य वा चलचित्र निर्माण कार्य गरेको छैन, र मण्डली जीवन पनि गञ्जागोल भएको छ। ब्रदर-सिस्टरहरूले सत्यता बुझ्दैनन्, तिनीहरूसँग जीवन प्रवेश छैन, र तिनीहरूले गवाही लेखहरू लेख्न सक्दैनन्। सबैभन्दा दयनीय कुरा त, तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरू खुट्ट्याउनसमेत सक्दैनन्। यस्तो खालको अगुवा अत्यन्तै असक्षम हुन्छ; ऊ बर्खास्त गरिनुपर्ने झूटो अगुवा हो!” के यी परिस्थितिहरूमा उसलाई बर्खास्त गर्न सजिलो हुन्छ? यो एकदमै गाह्रो हुन सक्छ। ब्रदर-सिस्टरहरू सबैले उसलाई अनुमोदन र समर्थन गर्ने हुनाले, यदि कसैले त्यो अगुवालाई बर्खास्त गर्न खोज्यो भने, ती ब्रदर-सिस्टरहरूले विरोध दर्ज गर्नेछन् र उसलाई राखिराख्न माथिलाई अनुरोध गर्नेछन्। किन त्यस्तो परिणाम हुन्छ त? किनकि त्यो झूटो अगुवाले मानिसहरूलाई प्रभावित गर्न, आफ्नो पक्षमा पार्न, र बहकाउन कष्ट भोग्ने र मूल्य चुकाउने, साथै राम्रो सुनिने शब्दहरूजस्ता बाहिरी असल व्यवहारहरू प्रयोग गर्छ। मानिसहरूलाई बहकाउन उसले यी झूटा रूप प्रयोग गरेपछि सबैले उसको लागि बोल्नेछन् र उसलाई छोड्न असमर्थ हुनेछन्। तिनीहरूलाई त्यो अगुवाले धेरै वास्तविक काम गरेको छैन, र परमेश्वरका चुनिएका जनलाई सत्यता बुझ्न र जीवन प्रवेश प्राप्त गर्न मार्गदर्शन गरेको छैन भन्ने स्पष्ट थाहा हुन्छ, तैपनि ती मानिसहरूले अझै उसलाई समर्थन गर्छन्, अनुमोदन गर्छन्, र पछ्याउँछन्, यसको अर्थ तिनीहरूले सत्यता र जीवन पाउनेछैनन् भन्ने कुरासमेत ख्याल गर्दैनन्। यसअलावा, त्यो अगुवाको बहकाउमा परेर ती मानिसहरू सबैले उसको आराधना गर्छन्, ऊबाहेक अरू कुनै अगुवा स्विकार्दैनन्, र अबउप्रान्त परमेश्वरलाई समेत चाहँदैनन्। के तिनीहरूले त्यो अगुवालाई परमेश्वरको रूपमा व्यवहार गरिरहेका छैनन् र? यदि परमेश्वरको घरले त्यो व्यक्तिले वास्तविक काम गर्दैन र ऊ झूटो अगुवा र ख्रीष्टविरोधी हो भनेर भन्छ भने, उसको मण्डलीका मानिसहरूले विरोध र विद्रोह गर्नेछन्। मलाई भन त, त्यो ख्रीष्टविरोधीले कुन हदसम्म ती मानिसहरूलाई बहकाएको छ? यदि यो पवित्र आत्माको काम हो भने, मानिसहरूको अवस्था केवल सुध्रिरहने छ, अनि तिनीहरूले अझ बढी सत्यता बुझ्नेछन, परमेश्वरप्रति अझ बढी समर्पित हुनेछन्, हृदयमा परमेश्वरको लागि अझ बढी ठाउँ बनाउनेछन्, र झूटा अगुवा र ख्रीष्टविरोधीहरू खुट्ट्याउन अझ बढी सक्षम हुनेछन्। यो दृष्टिकोणबाट हेर्दा, हामीले भर्खरै छलफल गरेको परिस्थिति बिलकुलै पवित्र आत्माको काम होइन—केही समयसम्म काम गरेपछि केवल ख्रीष्टविरोधी र दुष्टात्माहरूले मानिसहरूलाई यो हदसम्म बहकाउन सक्छन्। यी ख्रीष्टविरोधीहरूले धेरै मानिसहरूलाई बहकाएका र नियन्त्रण गरेका छन्, र तिनीहरूको हृदयमा ख्रीष्टविरोधीहरूको लागि मात्र ठाउँ हुन्छ र परमेश्वरको लागि कुनै ठाउँ हुँदैन। बाहिरी असल व्यवहारमार्फत आफूलाई उचाल्ने र आफूबारे गवाही दिने गरेर ख्रीष्टविरोधीहरूले प्राप्त गर्ने अन्तिम परिणाम यही हो।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्
के आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने मानिसहरू आफ्ना सबै असल गुणहरूबारे मात्र कुरा गर्छन्? कहिलेकाहीँ तिनीहरू आफ्ना खराब पक्षहरूबारे पनि कुरा गर्छन्, तर त्यसो गर्दा के तिनीहरू साँच्चै आफ्नो बारे चिरफार र जान्ने प्रयास गरिरहेका हुन्छन्? (हुँदैनन्।) त्यसोभए व्यक्तिले आफ्नो आत्मज्ञान साँचो होइन, त्यो दूषित छ र त्यसको पछाडि उद्देश्य छ भनी कसरी पत्ता लगाउँछ? व्यक्तिले कसरी यो मामिला राम्ररी बुझ्न सक्छ? यहाँ मुख्य कुरा के हो भने, तिनीहरूले आफूलाई जान्ने र आफ्ना कमजोरी, खोट, कमी, र भ्रष्ट स्वभावहरू खुलासा गर्ने प्रयास गरिरहँदा आफूलाई दोषमुक्त गर्ने बहाना र कारणहरू पनि खोजिरहेका हुन्छन्। तिनीहरूले मानिसहरूलाई लुकीछिपी यसो भनिरहेका हुन्छन्, “मैले मात्रै होइन, सबैले गल्ती गर्न सक्छन्। तिमीहरू सबैले पनि गल्ती गर्न सक्छौ। मैले गरेको गल्ती क्षमायोग्य छ; यो सानो गल्ती हो। यदि तिमीहरूले यही गल्ती गरेका भए, मामिला मेरो भन्दा गम्भीर हुनेथ्यो, किनकि तिमीहरूले आत्मचिन्तन र आफूलाई चिरफार गर्नेथिएनौ। मैले केही गल्ती गरे पनि, म तिमीहरूभन्दा उत्तम छु र ममा बढी चेतना र सत्यनिष्ठा छ।” जब सबैले यो कुरा सुन्छन्, तिनीहरूले सोच्छन्, “तपाईँ ठ्याक्कै सही भन्नुभो। तपाईँले सत्यता यति धेरै बुझ्नुभएको छ, र तपाईँसँग साँच्चै कद छ। गल्ती गर्दा तपाईँ आत्मचिन्तन गर्न आफूलाई चिरफार गर्न सक्नुहुन्छ; तपाईँ हामीभन्दा धेरै राम्रो हुनुहुन्छ। हामीले गल्ती गर्यौँ भने हामी आत्मचिन्तन गर्दैनौँ र आफूलाई जान्ने प्रयास गर्दैनौँ, र लाजको डरले हामी आफूलाई चिरफार गर्ने आँट पनि गर्दैनौँ। तपाईँसँग हाम्रोभन्दा ठूलो कद र धेरै साहस छ।” यी मानिसहरूले गल्ती गरेर पनि अरूको सम्मान जिते र आफ्नै प्रशंसाका गीत गाए—यो कुन स्वभाव हो? कतिपय ख्रीष्टविरोधीहरू बहाना गर्न, मानिसहरूलाई ठग्न र नाटक गर्नमा निकै पोख्त हुन्छन्। सत्यता बुझ्ने मानिसहरू भेट्दा तिनीहरू आफ्नो आत्मज्ञानबारे कुरा गर्न थाल्छन्, र आफू दियाबलस र शैतान हुँ, आफ्नो मानवता खराब छ, र आफू श्राप पाउन योग्य छु भनेरसमेत भन्छन्। मानौँ तैँले तिनीहरूलाई यस्तो सोधिस् रे, “तपाईँ आफू दियाबलस र शैतान हुँ भनेर भन्नुहुन्छ, त्यसोभए तपाईँले के-कस्ता दुष्ट कार्य गर्नुभयो त?” तिनीहरूले भन्छन्: “मैले केही पनि गरिनँ, तर म दियाबलस हुँ। अनि म दियाबलस मात्र होइन; म त शैतान पनि हुँ।” तैँले त्यसपछि तिनीहरूलाई सोध्छस्, “तपाईँ आफू दियाबलस र शैतान हुँ भनेर भन्नुहुन्छ, त्यसोभए तपाईँले दियाबलस र शैतानका कुन दुष्ट कार्य गर्नुभयो, अनि तपाईँले कसरी परमेश्वरलाई प्रतिरोध गर्नुभयो? के तपाईँ आफूले गरेका दुष्ट कार्यहरूबारे बताउन सक्नुहुन्छ?” तिनीहरूले भन्नेछन्: “मैले केही पनि दुष्टता गरिनँ!” त्यसपछि तँ झनै जोड गर्छस् र सोध्छस्, “यदि तपाईँले केही पनि दुष्टता गर्नुभएको छैन भने, तपाईँ किन आफू दियाबलस र शैतान हुँ भनेर भन्नुहुन्छ। यसो भनेर तपाईँले के हासिल गर्न खोजिरहेको हो?” जब तँ तिनीहरूसँग यसरी गम्भीर बन्छस्, तब तिनीहरूसँग भन्नको लागि केही पनि हुनेछैन। वास्तवमा तिनीहरूले धेरै खराब कार्यहरू गरेका हुन्छन्, तर तिनीहरूले तँसँग त्यसका तथ्यहरू बिलकुलै बताउनेछैनन्। तिनीहरूले आफ्नो आत्मज्ञानबारे खोक्रो रूपमा बताउन केही ठूल्ठूला कुरा मात्र गर्नेछन् र केही धर्मसिद्धान्तहरू फलाक्नेछन्। विशेषगरी तिनीहरूले मानिसहरूलाई कसरी आफूतिर ताने, कसरी छल गरे, मानिसहरूलाई भावनाको आधारमा कसरी प्रयोग गरे, परमेश्वरको घरका हितहरूलाई कसरी गम्भीर रूपमा लिएनन्, कसरी कार्य प्रबन्धहरूविरुद्ध गए, कसरी माथिलाई छल गरे, ब्रदर-सिस्टरहरूबाट कसरी कुराहरू लुकाए, र परमेश्वरको घरको हितलाई कति क्षति पुर्याए भन्ने तथ्यहरूबारे तिनीहरूले एक शब्द पनि बोल्नेछैनन। के यो आफूबारेको साँचो ज्ञान हो र? (होइन।) तिनीहरूले आफू दियाबलस र शैतान हुँ भनेर भनिरहँदा, के तिनीहरूले आफूलाई उचाल्न र आफूबारे गवाही दिन आत्मज्ञानको नाटक गरिरहेका हुँदैनन् र? के यो तिनीहरूले प्रयोग गर्ने एउटा विधि होइन र? (हो।) एउटा औसत व्यक्तिले यो विधिलाई छर्लङ्ग देख्न सक्दैन। कतिपय अगुवाहरू बर्खास्त गरिएपछि पनि केही समयलगत्तै पुनः चुनिन्छन्, र यसको कारण सोध्दा कतिपय मानिसहरूले यसो भन्छन्: “त्यो अगुवा राम्रो क्षमताको छ। उसलाई ऊ दियाबलस र शैतान हो भनेर थाहा छ। अरू कसमा यो स्तरको ज्ञान छ र? साँच्चै सत्यता पछ्याउने मानिसहरूमा मात्रै यस्तो ज्ञान हुन्छ। हामीमध्ये कसैले पनि आफूबारे यो ज्ञान प्राप्त गर्न सक्दैनौँ; औसत व्यक्तिमा यस्तो कद हुँदैन। यसैकारण सबैले उसैलाई चुने।” यहाँ के भइरहेको छ? यी मानिसहरू बहकिएका छन्। यो अगुवालाई ऊ दियाबलस र शैतान हो भनेर थाहा थियो, तर ऊ सबैद्वारा चुनिएको थियो, त्यसैले उसले ऊ दियाबलस र शैतान हो भनेर भन्नुले मानिसहरूमाथि के-कस्तो प्रभाव र परिणाम निम्त्याउँछ? (यसले मानिसहरूलाई तिनीहरूबारे उच्च विचार राख्ने तुल्याउँछ।) त्यो सही हो, यसले मानिसहरूलाई तिनीहरूबारे अझ बढी उच्च विचार राख्ने तुल्याउँछ। गैरविश्वासीहरूले यो विधिलाई “अघि बढ्नको लागि पछि हट्नु” भन्छन्। यसको मतलब, मानिसहरूलाई तिनीहरूबारे अझ बढी उच्च सोच्ने तुल्याउन तिनीहरूले पहिला आफूबारे खराब कुराहरू बताउँछन्, ताकि अरूले तिनीहरू आफूलाई उदाङ्गो पार्न र आफूलाई चिन्न सक्छन्, र तिनीहरूसँग गहिराइ र अन्तर्दृष्टि, र गहन बुझाइ छ भनेर विश्वास गरून्, र यही कारणले गर्दा सबैले तिनीहरूलाई अझ धेरै आराधना गर्छन्। अनि सबैले तिनीहरूलाई अझ धेरै आराधना गर्नुको परिणाम के हुन्छ? फेरि अगुवाहरू चुन्ने समय आउँदा तिनीहरूलाई अझै पनि त्यो भूमिकाको लागि सर्वश्रेष्ठ मानिन्छ। के यो निकै चलाख विधि होइन र? यदि तिनीहरूले आफ्नो आत्मज्ञानबारे यसरी कुरा नगरेका भए र आफू दियाबलस र शैतान हुँ भनेर नभनेका भए, बरु नकारात्मक मात्र भएका भए, अरूले तिनीहरूलाई देख्दा यसो भन्नेथिए, “तैँले बर्खास्त भएर आफ्नो हैसियत गुमाउनेबित्तिकै तँ नकारात्मक भइस्। तँ हामीलाई नकारात्मक नहुनू भनेर सिकाउने गर्थिस्, तर अहिले तेरो नकारात्मकता हाम्रो भन्दा गम्भीर छ। हामी तँलाई चुन्नेछैनौँ।” यस्तो अगुवालाई कसैले पनि उच्च सोच्नेछैनन्। अरूमा अझै पनि ऊबारे समझ नहुने भए पनि, तिनीहरूले कम्तीमा उसलाई फेरि आफ्नो अगुवा चुन्नेछैनन्, र यो व्यक्तिले अरूलाई आफूबारे उच्च सोच्ने तुल्याउने उद्देश्य पूरा गर्न सक्नेछैन। तर यो अगुवाले अग्रसरता लिँदै यसो भन्छ: “म दियाबलस र शैतान हुँ; परमेश्वरले मलाई श्राप देलान् र नरकको अठारौँ तहमा पठाउलान् र सारा अनन्तकालसम्म मलाई पुनर्जन्म लिने अनुमति नदेलान्!” यो सुनेर केही मानिसहरू उसको लागि दुःखी हुन्छन् र भन्छन्: “हाम्रा अगुवाले धेरै कष्ट भोगेका छन्। ओह, उनीमाथि कति ठूलो अन्याय भएको छ! यदि परमेश्वरले उनलाई अगुवा बन्ने अनुमति दिनुभएन भने, हामी नै उनलाई चुन्नेछौँ।” सबैले यो अगुवालाई त्यो हदसम्म समर्थन गर्छन्, त्यसैले के तिनीहरू बहकिएका छैनन् र? तिनीहरूका वचनहरूको मूल उद्देश्यको पुष्टि भएको छ, जसले तिनीहरूले साँच्चै मानिसहरूलाई यसरी बहकाइरहेका छन् भनेर प्रमाणित गर्छ। शैतानले कहिलेकाहीँ आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने काम गरेर मानिसहरूलाई बहकाउँछ, र अरू कुनै विकल्प नहुँदा त्यसले कहिलेकाहीँ घुमाउरो पाराले आफ्ना गल्तीहरू स्विकार्न सक्छ, तर यो सब ढोँग हो, र त्यसको उद्देश्य मानिसहरूको सहानुभूति र बुझाइ प्राप्त गर्नु मात्र हुन्छ। त्यसले यस्तोसमेत भन्नेछ, “कोही पनि सिद्ध हुँदैन। सबैमा भ्रष्ट स्वभावहरू हुन्छन् र सबैले गल्ती गर्न सक्छन्। जबसम्म व्यक्तिले आफ्ना गल्तीहरू सच्याउन सक्छ, तबसम्म ऊ असल मानिस नै हुन्छ।” मानिसहरूले यो सुनेपछि तिनीहरूलाई यो सही हो भन्ने लाग्छ, र तिनीहरूले शैतानलाई आराधना गर्न र पछ्याउन जारी राख्छन्। शैतानको विधि भनेको सक्रिय रूपमा आफ्ना गल्तीहरू स्विकार्नु, र गोप्य रूपमा आफूलाई उचाल्नु र मानिसहरूको हृदयमा आफ्नो स्थानलाई माथि सार्नु हो, ताकि मानिसहरूले त्यसका सबथोक—त्यसका त्रुटिहरूसमेत—स्विकारून् र त्यसपछि ती त्रुटिहरूलाई माफ गरून्, तिनलाई बिस्तारै बिर्सिऊन्, र अन्ततः शैतानलाई पूर्ण रूपमा स्विकारून्, मृत्युसम्मै त्यसप्रति बफादार रहून्, त्यसलाई कहिल्यै नछोडून् वा नत्यागून्, र त्यसलाई अन्त्यसम्मै पछ्याऊन्। के यो शैतानको काम गर्ने तरिका होइन र? शैतानले यसरी नै काम गर्छ, र ख्रीष्टविरोधीहरूले पनि मानिसहरूलाई आफूलाई आराधना गर्ने र पछ्याउने तुल्याउने आफ्नो महत्त्वाकाङ्क्षा र उद्देश्य पूरा गर्न यसप्रकारको विधि प्रयोग गर्छ। यसका परिणामहरू पनि उस्तै हुन्छन्, र शैतानले मानिसहरूलाई बहकाउने र भ्रष्ट तुल्याउने परिणामभन्दा कति पनि फरक हुँदैनन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्
कतिपय मानिसहरू अन्य व्यक्तिहरूलाई आफू बुद्धिजीवी र ज्ञानी हुँ, र आफ्नो कार्य निकै गहन छन् भनी सोच्ने तुल्याउन, र त्यसरी मानिसहरूलाई आफ्नो आराधना गर्ने तुल्याउने आफ्नो उद्देश्य पूरा गर्न केही बेतुकका सिद्धान्त र अमूर्त तर्कहरूबारे कुरा गर्छन्। अर्थात्, तिनीहरू हरेक मामिलामा सहभागी हुन र आफ्नो राय व्यक्त गर्न चाहन्छन्, र सबैले अन्तिम निर्णय गरिसकेका छन् भने पनि, यदि तिनीहरू त्यसदेखि सहमत छैनन् भने, तिनीहरूले आफ्नो प्रदर्शन गर्न केही उच्च सुनिने विचारहरू फलाक्छन्। के यो आफूलाई उचाल्ने र आफूबारे गवाही दिने एउटा माध्यम होइन र? कुनैकुनै मामिलामा सबैले एकअर्कासँग छलफल र विचार-विमर्श गरी सिद्धान्तहरू फेला पारिसकेका र कार्य योजनाहरूबारे निर्णय गरिसकेका हुन्छन्, तर तिनीहरूले त्यो निर्णय स्विकार्दैनन् र अनुचित ढङ्गले कामकुरा अवरोध पार्छन्, र यसो भन्छन्, “त्यसरी हुँदैन। तिमीहरूले यसबारे विस्तारमा सोचविचार गरेका छैनौ। हामीले कुरा गरेका यी पक्षहरूबाहेक, मैले एउटा अर्कोबारे पनि सोचेको छु।” वास्तवमा, तिनीहरूले सोचेको पक्ष कुनै बेतुकको सिद्धान्त मात्र हुन्छ; तिनीहरूले ससानो कुरामा बखेडा झिकिरहेका हुन्छन्। तिनीहरू आफूले ससानो कुरामा बखेडा झिकिरहेको र अरू मानिसहरूको लागि परिस्थिति गाह्रो बनाइरहेको कुराबारे पूर्ण रूपमा सचेत हुन्छन्, तैपनि तिनीहरूले त्यसो गरिछोड्छन्। त्यसो गर्नुमा तिनीहरूको के उद्देश्य हुन्छ? त्यसको उद्देश्य मानिसहरूलाई तिनीहरू फरक छन्, र अरूभन्दा चलाख छन् भनेर देखाउनु हो। तिनीहरूको अर्थ यस्तो हुन्छ, “त्यसोभए तिमीहरू सबै यो स्तरमा पो छौ? मैले आफू माथिल्लो स्तरमा भएको कुरा तिमीहरूलाई देखाउनैपर्ने भो।” तिनीहरू प्रायः अरू कसैले भनेको कुनै पनि कुरा वास्ता गर्दैनन्, तर कुनै महत्त्वपूर्ण कुरा आइपर्नेबित्तिकै कामकुरा बिगार्न थालिहाल्छन्। यस्तो व्यक्तिलाई के भनिन्छ? बोलचालको भाषामा तिनीहरूलाई गनगने र बिग्रेको अण्डा भनिन्छ। यस्तो गनगनेका आम तौरतरिकाहरू के-के हुन्? तिनीहरू उच्च-सुनिने विचारहरू भट्याउन र कुनै नीच र कुटिल अभ्यासमा संलग्न हुन मन पराउँछन्। यदि तैँले तिनीहरूलाई एउटा सही कार्य योजना प्रस्तुत गर्न भनिस् भने, तिनीहरूले एउटा पनि प्रस्तुत गर्न सक्नेछैनन्, र तिनीहरूलाई कुनै गम्भीर कुरा सम्हाल्न लगाइस् भने तिनीहरूले त्यो पनि गर्न सक्नेछैनन्। तिनीहरूले नीच कुराहरू मात्र गर्छन्, र सधैँ मानिसहरूलाई “चकित” पार्न र आफ्नो क्षमताको धाक लगाउन चाहन्छन्। त्यो एउटा भनाइ के हो रे? “बुढी आइमाईले लाली लाई—तिमीहरूलाई देखाउनलाई”। यसको अर्थ तिनीहरू सधैँ आफ्ना क्षमताको धाक लाउँछन्, र तिनीहरूले राम्रोसित त्यसो गर्न सके पनि वा नसके पनि मानिसहरूलाई यस्तो कुरा थाहा दिन चाहन्छन्, “म तिमीहरूभन्दा बढी असाधारण छु। तिमीहरू कोही पनि कुनै कामका छैनौ, तिमीहरू केवल नश्वर, साधारण मानिसहरू हौ। म असाधारण र परलौकिक छु। म तिमीहरूलाई चकित पार्न आफ्ना विचारहरू बाँड्नेछु र त्यसपछि तिमीहरूले म श्रेष्ठतर छु कि छैन भनेर देख्न सक्नेछौ।” के यो कामकुरा बिगार्नु होइन र? तिनीहरूले जानीजानी कामकुरा बिगारिरहेका हुन्छन्। यो कस्तो खालको व्यवहार हो? तिनीहरूले बाधा र अवरोधहरू उत्पन्न गरिरहेका छन्। तिनीहरूको अर्थ यस्तो हुन्छ: मैले यो मामिलामा म कति चलाख छु भनेर देखाएको छैन, त्यसैले चाहे जोसुकैको हितमाथि हानि पुगे पनि र जोसुकैको मेहनत खेर गए पनि, सबैले म श्रेष्ठतर, सक्षम, र सामर्थ्यवान् छु भनेर विश्वास नगरुन्जेल मैले यसलाई ध्वंस गर्नेछु। त्यसपछि मात्र यो मामिलालाई बिनारोकटोक अगाडि बढ्न दिनेछु। के यस्ता खराब मानिसहरू हुन्छन्? (हुन्छन्। कहिलेकाहीँ अरूले कुनै मामिलाबारे छलफल गरिसकेका र एउटा उपयुक्त योजना पत्ता लगाइसकेका हुन्थे, तर तिनीहरूले निर्णय प्रक्रियादौरान मलाई जानकारी नदिएकाले मैले जानीजानी त्यसमा केही त्रुटिहरू औल्याएँ।) जब तैँले यसो गरिस्, के तँलाई आफ्नो हृदयमा यो सही हो कि गलत हो भन्ने थाहा थियो? के तँलाई यो समस्याको प्रकृति गम्भीर छ, यसले बाधा र अवरोधहरू उत्पन्न गरिरहेको छ भन्ने थाहा थियो? (त्यसबेला म यसबारे सचेत थिइनँ, तर ब्रदर-सिस्टहरूको काटछाँट, र परमेश्वरका न्याय र सजायका वचनहरूको खानपानमार्फत मैले यो समस्या गम्भीर प्रकृतिको छ, यसले मण्डलीको काममा बाधा र अवरोध उत्पन्न गरिरहेको छ, र यो एक खालको शैतानी व्यवहार हो भन्ने देखेँ।) तैँले यो कति गम्भीर छ भनेर देखेकोले, त्यसपछि तँमाथि त्यस्तै कुराहरू आइपर्दा, के तँ अलि बदलिन र आफ्नो तौरतरिकाको सवालमा केही प्रवेश पाउन सक्षम भइस् त? (भएँ। जब मैले यस्ता सोच र विचारहरू प्रकट गरेँ, म यो शैतानी स्वभाव हो, मैले त्यसरी काम गर्न मिल्दैन भनेर सचेत भएँ, र मैले सचेत रूपमै परमेश्वरलाई आराधना गर्न र ती गलत सोच र विचारहरूविरुद्ध विद्रोह गर्न सकेँ।) तँ धेरथोर रूपमा बदलिन सकिस्। तँलाई भ्रष्टताका त्यस्ता समस्याहरू आइपर्दा, तैँले तिनलाई समाधान गर्न सत्यता खोज्नुपर्छ, आफूलाई संयमित राख्नुपर्छ, र परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। जब तैँले मानिसहरूले तँलाई घृणाको नजरले हेर्छन्, तँबारे उच्च सोच्दैनन् वा तँलाई गम्भीरतापूर्वक लिँदैनन् भनेर सोच्छस्, र फलस्वरूप अवरोध निम्त्याउन चाहन्छस् भने, यस्तो सोच आउँदा तँ यो कुरा सामान्य मानवताबाट नभई शैतानी स्वभावबाट आएको हो, र तँ यसरी नै चलिरहिस् भने यसले समस्या खडा गर्नेछ, र तैँले सम्भवतः परमेश्वरको स्वभाव चिढ्याउनेछ्स् भनेर सचेत हुनुपर्छ। तैँले पहिला आफूलाई संयमित राख्न जान्नुपर्छ, र त्यसपछि परमेश्वरलाई प्रार्थना गर्न उहाँसामु आउनुपर्छ र आफ्नो दिशा परिवर्तन गर्नुपर्छ। जब मानिसहरू आफ्नै विचारहरू, आफ्नै भ्रष्ट स्वभावहरूभित्र जिउँछन्, तब तिनीहरूले गर्ने कुनै पनि कुरा सत्यताअनुरूप हुँदैन र ती कुनैले पनि परमेश्वरलाई सन्तुष्ट पार्न सक्दैनन्; तिनीहरूले गर्ने जुनसुकै कुरा पनि उहाँप्रति शत्रुतापूर्ण हुन्छन्। तिमीहरूले अब यो तथ्य चिन्न सक्छौ, सक्दैनौ र? सधैँ ख्याति र लाभको निम्ति लड्नु, र प्रतिष्ठा र हैसियत पाउनको लागि मण्डलीको काममा बाधा र अवरोध उत्पन्न गर्न नहिचकिचाउनु ख्रीष्टविरोधीहरूका सबैभन्दा प्रस्ट प्रकटीकरणहरू हुन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्
ख्रीष्टविरोधीले आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु एक औसत व्यक्तिले त्यस्तै गर्नुभन्दा कसरी फरक छ? औसत व्यक्तिले मानिसहरूलाई आफूलाई सम्मान गर्ने तुल्याउन प्रायः धाक देखाउने र आफूलाई प्रदर्शन गर्ने गर्छ, र उसमा यी स्वभाव र स्थितिहरूका प्रकटीकरणहरू पनि हुन्छन्, त्यसोभए ख्रीष्टविरोधीले आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु साधारण व्यक्तिहरूले त्यही गर्नुभन्दा कसरी फरक छ त? फरक कहाँ छ? … जब भ्रष्ट स्वभावहरू भएको कुनै औसत व्यक्तिले आफूलाई उचाल्छ र तडकभडक देखाउँछ, त्यो आफूलाई प्रदर्शन गर्नको लागि मात्र हुन्छ। आफूलाई प्रदर्शन गरिसकेपछि, त्यो कुरा त्यहीँ सकिन्छ, र तिनीहरूले अरू मानिसहरूले तिनीहरूलाई राम्रो सोच्छन् कि नराम्रो भन्नेबारे वास्ता गर्दैनन्। तिनीहरूको मनसाय त्यति स्पष्ट हुँदैन, यो तिनीहरूमाथि एउटा स्वभाव हाबी भएको, एउटा स्वभाव प्रकट भएको कुरा हो। कुरा त्यति नै हो। के यस्तो स्वभाव बदल्न सजिलो हुन्छ? यदि यो व्यक्तिले सत्यता पछ्याउँछ भने, जब उसले काटछाँट, न्याय र सजाय अनुभव गर्छ, तब ऊ बिस्तारै बदलिन सक्नेछ। उसले बिस्तारै लज्जा र चेतना बोध प्राप्त गर्नेछ, र उसले यस्तो व्यवहार झन्झन् कम देखाउनेछ। उसले यस्तो व्यवहारको निन्दा गर्नेछ, र उसले संयम अपनाउनेछ र आफूमाथि लगाम लगाउनेछ। यो अचेतन रूपमा आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु हो। सचेतन रूपमा आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु र अचेतन रूपमा सोही गर्नुभित्र उही स्वभावहरू रहने भए पनि, ती दुईका प्रकृति फरक हुन्छन्? ती कसरी प्रकृतिमा फरक हुन्छन्? सचेतन रूपमा आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने काम कुनै मनसाय राखेर गरिन्छ। यस्तो गर्ने मानिसहरूले यत्तिकै बोलिरहेका हुँदैनन्—तिनीहरूले हरेकपटक आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने गरिरहँदा निश्चित अभिप्रायहरू र गुप्त उद्देश्यहरू बोकिरहेका हुन्छन्, र तिनीहरूले यस्तो कार्य शैतानी महत्त्वाकाङ्क्षा र चाहनाहरूसाथ गर्ने गर्छन्। सतही रूपमा उस्तै खालका प्रकटीकरणहरू देखिन्छन्। दुवै अवस्थामा मानिसहरूले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने गरिरहेका हुन्छन्, तर परमेश्वरले अचेतन रूपमा आफूलाई उचाल्नु र आफूबारे गवाही दिनुलाई कसरी परिभाषित गर्नुहुन्छ? भ्रष्ट स्वभावको प्रकटीकरणको रूपमा। अनि परमेश्वरले सचेतन रूपमा आफूलाई उचाल्नु र आफूबारे गवाही दिनुलाई कसरी परिभाषित गर्नुहुन्छ? कुनै व्यक्तिले मानिसहरूलाई ऊबारे राम्रो सोच्ने, र उसलाई आराधना र आदर गर्ने, र त्यसपछि उसलाई पछ्याउने तुल्याउने उद्देश्यसाथ मानिसहरूलाई बहकाउन चाहनुको रूपमा। उसका कार्यहरू प्रकृतिले नै बहकाउने किसिमका हुन्छन्। त्यसैले, उसमा मानिसहरूलाई बहकाउने, र मानिसहरूले उसलाई पछ्याऊन् र आराधना गरून् भनेर तिनीहरूलाई स्वामित्वमा पार्ने मनसाय हुनेबित्तिकै, उसले बोल्दा र व्यवहार गर्दा सत्यता नबुझ्ने र गहिरो जग नभएकाहरूलाई सजिलै बहकाउन र बराल्न सक्ने केही माध्यम र विधिहरू प्रयोग गर्नेछ। त्यस्ता मानिसहरूमा सुझबुझ नहुने मात्र नभई बरु उल्टै तिनीहरूले यो व्यक्तिले भन्ने कुरा सही हुन् भन्ने सोच्छन्, र तिनीहरूले उसलाई सम्मानको नजरले हेर्न र ऊबारे राम्रो सोच्न सक्छन्, र समय बित्दै जाँदा तिनीहरूले उसलाई आराधना गर्ने र पछ्याउनेसमेत गर्छन्। दैनिक जीवनमा घट्ने सबैभन्दा आम घटना के हो भने, कुनै व्यक्तिले प्रवचन सुनेपछि उसले त्यसलाई निकै राम्रोसँग बुझेजस्तो देखिन्छ, तर पछि उसमाथि केही आइपर्दा, उसले त्यसलाई सुल्झाउन जान्दै जान्दैन। ऊ खोजी गर्न परमेश्वरसामु जान्छ, तर यसबाट कुनै नतिजा निस्कँदैन, र अन्त्यमा ऊ यो मामिलाबारे सोधखोज गर्न अगुवाकहाँ जानैपर्छ र ऊसँग समाधान माग्नैपर्छ। हरेकपटक उसमाथि केही आइपर्दा, उसले आफ्नो अगुवालाई नै त्यो समाधान गरिमाग्न चाहन्छ। यो त केही मानिसहरूको लागि अफिम सेवन एउटा लत र दोहोरिने व्यवहार बन्नु, र समयसँगै तिनीहरू त्यो सेवन नगरी बस्नै नसक्नुजस्तै हो। त्यसैले, ख्रीष्टविरोधहरूले आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु सानो कद भएका, समझ नभएका, मूर्ख र अज्ञानीहरूको लागि थाहै नपाई एकप्रकारको लागुपदार्थ बन्छ। तिनीहरूमाथि केही आइपर्दा, तिनीहरू त्यसबारे सोध्न ख्रीष्टविरोधीकहाँ जान्छन्, र त्यो ख्रीष्टविरोधीले कुनै आदेश दिएन भने, सबै जना त्यो मामिलाबारे छलफल गरेर सहमतिमा पुगिसकेका भए पनि, तिनीहरूले केही गर्ने आँट गर्दैनन्। तिनीहरूमा ख्रीष्टविरोधीको इच्छाविरुद्ध गएर दमनमा पर्ने डर हुन्छ, त्यसैले तिनीहरूले हरेक मामिलामा ख्रीष्टविरोधीले बोलिसकेपछि मात्रै कुनै कदम चाल्ने आँट गर्छन्। सत्यता सिद्धान्तहरू स्पष्ट रूपमा बुझिसकेपछि पनि, तिनीहरूले कुनै निर्णय लिने वा मामिला सम्हाल्ने आँट गर्दैनन्, बरु अन्तिम फैसला र निर्णयको लागि तिनीहरूले आदरसाथ हेर्ने “मालिक” लाई नै पर्खन्छन्। यदि मालिकले केही भनेन भने, त्यो मामिला सम्हाल्ने जुनसुकै व्यक्तिले पनि आफूले गर्नुपर्ने के हो भन्नेबारे अनिश्चित महसुस गर्छ। के यी मानिसहरूलाई विष लागेको छैन र? (छ।) विष लाग्नुको अर्थ यही हो। तिनीहरूलाई यति गहिरो गरी विष लाग्नको लागि ख्रीष्टविरोधीले कति काम गर्नुपर्छ, र तिनीहरूलाई कति विष दिनुपर्छ? यदि ख्रीष्टविरोधीले आफूलाई बारम्बार चिरफार गर्यो र आफूलाई चिन्यो, अनि मानिसहरूले देखून् भनी आफ्ना कमीकमजोरी, गल्ती, र अपराधहरू खुला रूपमा पेश गर्यो भने, के उसलाई सबैले अझै पनि यसैगरी आराधना गर्नेथिए त? बिलकुलै गर्नेथिएनन्। यस्तो देखिन्छ कि ख्रीष्टविरोधीले आफूलाई उचाल्न र आफूबारे गवाही दिनमा धेरै नै मेहनत लगाउँछ, त्यसैकारण उसले यस्तो “सफलता” प्राप्त गरेको हो। उसले चाहने परिणाम नै यही हो। ऊबिना त कसैले पनि कसरी उचित तरिकाले कर्तव्य निर्वाह गर्ने भनेरजान्नेछैन, र हरेक व्यक्ति अन्योलमा पर्नेछ। यो स्पष्ट छ कि ख्रीष्टविरोधीले यी मानिसहरूलाई नियन्त्रण गर्दा सुटुक्क धेरै विष खुवाउँछ र धेरै मेहनत लगाउँछ! यदि उसले थोरै शब्दहरू मात्र बोलेको भए, के यी मानिसहरू अझै पनि ऊद्वारा यसरी बाँधिनेथिए त? बिलकुलै बाँधिनेथिएनन्। जब ख्रीष्टविरोधीले मानिसहरूलाई उसलाई आराधना गर्ने, र सम्मानको नजरले हेर्ने र हरेक मामिलामा उसको कुरा सुन्ने तुल्याउने लक्ष्य हासिल गर्न सफलता पाएको हुन्छ, तब के उसले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने धेरै कुरा गरेको र धेरै वचन बोलेको हुँदैन र? यसो गरेर उसले के-कस्तो परिणाम हासिल गर्छ? यो कस्तो हुन्छ भने, मानिसहरूसँग मार्ग हुँदैन र तिनीहरू ऊबिना जिइरहन सक्दै सक्दैनन्—ऊबिना आकासै खस्ला र पृथ्वी घुम्न छोड्ला, र परमेश्वरमा विश्वास गर्नुको कुनै मूल्य वा अर्थ नहोला, र प्रवचनहरू सुन्नु व्यर्थ होला भनेजस्तै हुन्छ। यो कस्तो पनि हुन्छ भने, ख्रीष्टविरोधी वरपर हुँदा मानिसहरूले आफ्नो जीवनमा केही आशा छ भन्ने महसुस गर्छन्, तर यदि ख्रीष्टविरोधी मर्यो भने तिनीहरूले आफ्नो सबै आशा गुमेजस्तो महसुस गर्नेछन्। के यी मानिसहरूलाई शैतानले बन्दी बनाएको छैन र? (छ।) अनि के यस्ता मानिसहरू त्यसैको योग्य हुँदैनन् र? (हुन्छन्।) हामी किन तिनीहरू त्यसैको योग्य हुन्छन् भनेर भन्दै छौँ? परमेश्वर तैँले विश्वास गर्नुपर्ने एउटै उहाँ हुनुहुन्छ, त्यसैले तँ किन ख्रीष्टविरोधीहरूलाई आराधना गर्छस् र पछ्याउँछस्, र त्यसलाई किन हरमोडमा तँलाई बाँध्न र नियन्त्रण गर्न दिन्छस्? यसबाहेक, व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए, परमेश्वरको घरले मानिसहरूलाई स्पष्ट सिद्धान्त र नियमहरू उपलब्ध गराएको छ। यदि कुनै व्यक्तिले आफैँ हल गर्न नसक्ने कुनै कठिनाइ आइपर्यो भने, उसले सत्यता बुझ्ने कुनै मानिसबाट खोजी गर्नुपर्छ, र अझ गम्भीर मामिलाहरूमा माथिबाट खोजी गर्नुपर्छ। तर तैँले सत्यता खोजी नगर्ने मात्र नभई, उल्टै मानिसहरूलाई आराधना र आदर गर्छस्, यी ख्रीष्टविरोधीहरूले भनेको कुरा पत्याउँछस्। त्यसकारण तँ शैतानको नोकर बनेको छस्, र यसको दोषी तँ आफै होइनस् र? के तँ यसकै योग्य छैनस् र? आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु ख्रीष्टविरोधहरूमाझको साझा व्यवहार र प्रकटीकरण हो, र यो सबैभन्दा आम प्रकटीकरणहरूमध्येको एक हो। ख्रीष्टविरोधीहरूले कसरी आफूलाई उचाल्छन् र आफूबारे गवाही दिन्छन् भन्ने कुराको मुख्य विशेषता के हो? औसत व्यक्तिले कसरी आफूलाई उचाल्छ र आफूबारे गवाही दिन्छ भन्ने कुराभन्दा यो कसरी फरक छ? यसरी कि, यो कदमपछाडि ख्रीष्टविरोधीहरूका आफ्नै उद्देश्यहरू हुन्छन्, र तिनीहरूले यो अचेतन रूपमा बिलकुलै गरिरहेका हुँदैनन्। बरु, तिनीहरूले उद्देश्य, चाहना र महत्त्वाकाङ्क्षा पालिरहेका हुन्छन्, र तिनीहरूले यसरी आफूलाई उचाल्नु र आफूबारे गवाही दिनुका परिणामहरू यति भयानक छन् कि तीबारे मनन गर्न पनि गाह्रो छ—तिनीहरूले मानिसहरूलाई बहकाउन र नियन्त्रण गर्न सक्छन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्
कति मानिसहरूले यसो भन्छन्: “आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु सत्यतासँग मेल नखाने, अनि शैतान र ख्रीष्टविरोधीहरूको तौरतरिका भएकोले, यदि मैले केही बोलिनँ वा गरिनँ भने, के त्यसको अर्थ मैले आफूलाई उचालिरहेको र आफूबारे गवाही दिइरहेको छैन भन्ने हुँदैन र?” यो सही होइन। त्यसोभए, कसरी कार्य गर्नुचाहिँ आफ्नो बढाइ नगर्नु र गवाही नदिनु हो। यदि तैँले कुनै मामलाको सम्बन्धमा रवाफ देखाउँछस् र आफूबारे गवाही दिन्छस् भने, तैँले केही मानिसहरूलाई तँलाई राम्रो ठान्न र तेरो आराधना गर्न लगाउने परिणाम प्राप्त गर्नेछस्। तर यदि तैँले त्यही मामलाका सम्बन्धमा आफूलाई उदाङ्गो पार्छस् र आफ्नो आत्मज्ञान बाँड्छस् भने, यसको प्रकृति फरक हुन्छ। के यो साँचो होइन र? आफ्नो आत्मज्ञानबारे कुरा गर्नका लागि आफूलाई उदाङ्गो पार्नु भनेको सामान्य मानवतामा हुनुपर्ने कुरा हो। यो एउटा सकारात्मक कुरा हो। यदि तँ आफूलाई साँच्चिकै जान्दछस् र आफ्नो स्थितिबारे सही, साँचो र प्रस्ट रूपले बोल्छस् भने; यदि तँ पूर्णतया परमेश्वरका वचनहरूमा आधारित ज्ञानबारे बोल्छस् भने; यदि तेरो कुरासुन्नेहरूलाई त्यसबाट शिक्षा र लाभ मिल्छ भने; अनि यदि तँ परमेश्वरको कामको गवाही दिन्छस् र उहाँको महिमा गाउँछस् भने, त्यो नै परमेश्वरबारे गवाही दिनु हो। यदि, आफूलाई उदाङ्गो पारेर, तैँले आफ्ना सबल पक्षहरू, तैँले कति कष्ट भोगेको छस् र मूल्य तिरेको छस्, अनि आफ्नो गवाहीमा दृढ रहेको छस् भन्नेबारे धेरै कुरा गर्छस्, र फलस्वरूप, मानिसहरूले तँलाई राम्रो ठान्छन् र तेरो आराधना गर्छन् भने, यो आफूबारे गवाही दिनु हो। तैँले यी दुई व्यवहारहरूबीचको भिन्नता बताउन सक्नुपर्छ। उदाहरणका लागि, परीक्षाहरू सामना गर्दा तँ कति कमजोर र नकारात्मक थिइस्, र प्रार्थना गर्नुका साथै सत्यता खोजेपछि कसरी तैँले अन्ततः परमेश्वरको अभिप्राय बुझिस्, आस्था प्राप्त गरिस्, र आफ्नो गवाहीमा दृढ रहिस् भनी व्याख्या गर्नुचाहिँ परमेश्वरबारे बढाइ गर्नु र गवाही दिनु हो। यो रवाफ देखाउनु र आफूबारे गवाही दिनु कदापि होइन। त्यसकारण, तँ रवाफ देखाइरहेको र आफूबारे गवाही दिइरहेको छस् कि छैनस् भन्ने कुरा प्रमुख रूपमा तँ आफ्ना वास्तविक अनुभवहरूबारे कुरा गरिरहेको छस् कि छैनस्, र तैँले परमेश्वरबारे गवाही दिने परिणाम हासिल गर्छस् कि गर्दैनस् भन्नेमा भर पर्छ; तैँले आफ्नो अनुभवात्मक गवाहीबारे बोल्दा तेरा अभिप्राय र उद्देश्यहरू के हुन् भन्ने कुरा हेर्न पनि जरुरी छ। त्यसो गर्दा तँ कस्तो व्यवहारमा लागिरहेको छस् भनी खुट्ट्याउन सजिलो हुनेछ। तैँले गवाही दिँदा तेरो अभिप्राय सही छ भने, मानिसहरूले तँलाई राम्रो ठानेर तेरो आराधना गरे पनि, त्यो खासै समस्या होइन। यदि तेरो अभिप्राय गलत छ भने, कसैले पनि तँलाई राम्रो नठाने पनि र तेरो आराधना नगरे पनि, त्यो समस्या नै हो—अनि यदि मानिसहरूले तँलाई राम्रो ठान्छन् र तेरो आराधना गर्छन् भने, त्यो झनै समस्या हो। त्यसकारण, कुनै व्यक्तिले आफूबारे बढाइ गरिरहेको र गवाही दिइरहेको छ कि छैन भनी निर्धारण गर्न तैँले नतिजाहरू मात्र हेर्न मिल्दैन। तैँले मूल रूपमा उसको अभिप्राय हेर्नैपर्छ; यी दुई व्यवहारहरूबीच भिन्नता छुट्ट्याउने सही उपाय अभिप्रायहरूमा आधारित हुन्छ। यदि तैँले यसलाई नतिजाहरूका आधारमा मात्र खुट्ट्याउने कोसिस गर्छस् भने, तैँले असल मानिसहरूलाई झूटो आरोप लगाउने सम्भावना हुनेछ। कतिपय मानिसहरूले अत्यन्तै साँचो गवाही दिन्छन्, र अरू केही मानिसहरूले फलस्वरूप उनीहरूलाई राम्रो मान्छन् र उनीहरूको आराधना गर्छन्—के तैँले ती मानिसहरू आफूबारे गवाही दिइरहेका छन् भन्न मिल्छ? अहँ, मिल्दैन। ती मानिसहरूमा समस्या छैन, तिनीहरूले दिने गवाही र गर्ने कर्तव्यले अरूलाई फाइदा गर्छ, र विकृत बुझाइ भएका मूर्ख र अज्ञानी मानिसहरूले मात्र अरू मानिसहरूको आराधना गर्छन्। मानिसहरूले आफूबारे बढाइ गरिरहेका र गवाही दिइरहेका छन् कि छैनन् भनी खुट्ट्याउने कडी नै वक्ताको अभिप्रायलाई हेर्नु हो। यदि तेरो भ्रष्टता कसरी खुलासा भयो, र तँ कसरी बदलिएको छस् भनी सबैलाई देखाउनु, र अरूलाई यसबाट लाभ लिन सक्षम पार्नु नै तेरो अभिप्राय हो भने, तेरा शब्दहरू गम्भीर र साँचो हुन्, र ती तथ्यहरूसँग मिल्दो छन्। यस्ता अभिप्रायहरू सही हुन्, र तैँले रवाफ देखाइरहेको वा आफूबारे गवाही दिइरहेको छैनस्। यदि तेरो अभिप्राय नै तिनीहरूले तँलाई राम्रो मानून् र तेरो आराधना गरून् भन्नका लागि तँसित वास्तविक अनुभवहरू छन्, तँ बदलिएको छस् र तँसित सत्यता वास्तविकता छ भनेर सबैलाई देखाउनु हो भने, यी अभिप्रायहरू गलत छन्। त्यो रवाफ देखाउनु र आफूबारे गवाही दिनु हो। यदि तैँले भन्ने गरेको अनुभवात्मक गवाही झूटो, दूषित छ, र त्यसको उद्देश्य मानिसहरूलाई छल्ने, तिनीहरूलाई तेरो साँचो स्थिति हेर्नबाट रोक्ने, र तेरा अभिप्रायहरू, भ्रष्टता, कमजोरी, वा नकारात्मकता अरूसामु खुलासा हुनबाट रोक्ने हो भने, यस्ता शब्दहरू छली र भ्रामक हुन्छन्। यो झूटो गवाही हो, यो परमेश्वरलाई झुक्याउनु र परमेश्वरको अपमान गर्नु हो, र परमेश्वरले सबैभन्दा बढी घृणा गर्ने कुरा यही हो। यी स्थितिहरूबीच प्रस्ट भिन्नताहरू छन्, र ती सबैलाई अभिप्रायका आधारमा खुट्ट्याउन सकिन्छ। यदि तँ अरूलाई खुट्ट्याउन सक्छस् भने, तैँले तिनीहरूको स्थिति छर्लङ्ग देख्न सक्नेछस्, र त्यसपछि तैँले आफूलाई खुट्ट्याउन, र आफ्नो स्थिति छर्लङ्ग देख्न सक्नेछस्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्
परमेश्वरको परिवारमा, दाजुभाइ-दिदीबहिनीहरूमाझ तेरो हैसियत वा प्रतिष्ठा जति नै उच्च भए पनि वा तेरो कर्तव्य जति नै महत्त्वपूर्ण भए पनि, अनि तेरो प्रतिभा र योगदान जति नै ठूलो भए पनि वा तैँले परमेश्वरमा जति नै लामो समयदेखि विश्वास गरेको भए पनि, परमेश्वरको दृष्टिमा तँ सृष्टि गरिएको प्राणी, एक सामान्य सृष्टि गरिएको प्राणी होस्, अनि तैँले आफूलाई दिएको उच्च उपाधि र पदवीको कुनै अस्तित्व छैन। यदि तँ सधैँ यी कुरालाई मुकुट वा विशेष समूहको हुन वा विशेष व्यक्ति बन्न सक्षम पार्ने पूँजी ठान्छस् भने, तैँले यसो गरेर परमेश्वरको दृष्टिकोणको प्रतिरोध र विरोध गर्छस्, र तँ परमेश्वरसँग अमिल्दो हुन्छस्। … यदि तँ आफूलाई सृष्टि गरिएको प्राणी ठान्दैनस्, बरु आफूसँग उपाधि र शीरमा तेजस्वी चक्र छ भन्ठान्छस्, र आफूलाई परमेश्वरको परिवारमा हैसियत भएको व्यक्ति, महान् अगुवा, सञ्चालक, सम्पादक वा निर्देशक अनि परमेश्वरको परिवारमा मूल्यवान् योगदान दिने व्यक्ति मान्छस् भने—यदि तँ यस्तो सोच्छस् भने, तँ सबैभन्दा अनुचित र निर्लज्ज व्यक्ति होस्। के तिमीहरू हैसियत, प्रतिष्ठा र मूल्य भएका मानिसहरू हौ? (होइनौँ।) त्यसोभए तँ के होस् त? (म सृष्टि गरिएको प्राणी हुँ।) सही भनिस्, तँ केवल सृष्टि गरिएको एक सामान्य प्राणी होस्। मानिसहरूमाझ, तँ आफ्नो योग्यताको धाक लगाउन सक्छस्, आफ्नो वरिष्ठताको कुरा उठाउन सक्छस्, आफ्नो योगदानबारे घमण्ड गर्न सक्छस् वा आफ्नो साहसिक कार्यको गुनगान गाउन सक्छस्। तर परमेश्वरसामु, यी कुराको कुनै अस्तित्व छैन र तैँले तीबारे कुरा गर्नु वा तिनलाई प्रदर्शन गर्नु वा अनुभवी भएको ढोँग रच्नु कहिल्यै हुँदैन। यदि तैँले आफ्नो योग्यताको धाक लगाइस् भने, परिस्थिति बिग्रनेछ। परमेश्वरले तँलाई एकदमै अनुचित र हदै अहङ्कारी ठान्नुहुनेछ। उहाँले तँलाई तिरस्कार र घृणा गर्नुहुनेछ, र पन्छाउनुहुनेछ, र त्यसपछि तँ समस्यामा पर्नेछस्। तैँले पहिले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो पहिचान र स्थिति स्विकार्नुपर्छ। मानिसहरूमाझ तेरो हैसियत छ नै भने पनि वा तेरो स्थिति जति नै उत्कृष्ट भए पनि, वा तेरो सुविधाजनक अवस्था भए पनि वा परमेश्वरले तँलाई मानिसहरूमाझ श्रेष्ठताको प्रचुर अनुभूति गर् सक् भनेर विशेष खालको केही प्रतिभा दिनुभएको भए पनि—जब तँ परमेश्वरसामु आउँछस्, तब यी कुराको कुनै मूल्य वा महत्त्व हुँदैन। तसर्थ, तैँले आफ्नो प्रदर्शन गर्नु हुँदैन, बरु तँ नम्रतापूर्वक परमेश्वरसामु सृष्टि गरिएको प्राणी बन्नुपर्छ।
—वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता पछ्याउनु भनेको के हो (११)
परमेश्वरको बारेमा गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, र मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले के-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्नेबारेमा नै कुरा गर्नुपर्छ। तिमीहरूले तिमीहरूका अनुभवमा कति धेरै भ्रष्टता प्रकट गरिएको छ, तिमीहरूले कति धेरै कष्ट सहेका छौ, परमेश्वरको प्रतिरोध गर्न तिमीहरूले कति धेरै कुराहरू गरेका छौ र अन्त्यमा तिमीहरू परमेश्वरद्वारा कसरी जितियौ भन्ने कुराहरू पनि गर्नुपर्छ। तिमीहरूसँग परमेश्वरको कामको कतिसम्म वास्तविक ज्ञान छ, र तिमीहरूले कसरी परमेश्वरका लागि साक्षी दिनुपर्दछ र उहाँको प्रेमको ऋण तिर्नुपर्छ भन्ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यस प्रकारको भाषामा ठोसता प्रदान गर्नुपर्छ, साथै यसलाई सरल तरिकाले प्रस्तुत गर्नुपर्छ। खोक्रा सिद्धान्तहरूको बारेमा कुरा नगर। धेरै व्यावहारिक भएर बोल; हृदयबाट बोल। तिमीहरूले विभिन्न कुराहरूको अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउन आफैलाई गम्भीर देखिने, खोक्रा सिद्धान्तहरूले सुसज्जित नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र मूर्ख देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूका बारेमा बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूका लागि निकै उपयुक्त देखिन्छ। तिमीहरू विगतमा परमेश्वरलाई सबैभन्दा धेरै विरोध गर्ने र उहाँप्रति समर्पित हुन सबैभन्दा कम झुकाव राख्ने मानिसहरू थियौ, तर अब तिमीहरू जितिएका छौ—त्यो कुरा कहिल्यै नबिर्स। तिमीहरूले यी विषयहरूमा धेरै चिन्तन र मनन गर्नुपर्छ। जब मानिसहरूले ती कुराहरू स्पष्ट बुझ्छन्, तब तिनीहरूलाई गवाही कसरी दिनुपर्छ भन्ने थाहा हुनेछ, अन्यथा, तिनीहरूले लाजमर्दो र मूर्ख कामहरू गर्न सक्नेछन्, जुन परमेश्वरको लागि गवाही दिनु होइन, बरु परमेश्वरलाई लज्जित तुल्याउनु हो। सच्चा अनुभवहरू र सत्यताको बुझाइविना परमेश्वरको लागि गवाही दिन सम्भव हुँदैन। परमेश्वरमाथिको भ्रमित र अन्योलपूर्ण विश्वास भएका मानिसहरूले परमेश्वरको लागि कहिल्यै गवाही दिन सक्दैनन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ
परमेश्वरले मानिसहरूमा धेरै काम गर्नुभएको छ, तर के उहाँले यसको बारेमा कहिल्यै बोल्नुभएको छ? के उहाँले कहिल्यै यसको व्याख्या गर्नुभएको छ? के उहाँले कहिल्यै यो कुराको घोषणा गर्नुभएको छ? अहँ, उहाँले त्यसो गर्नुभएको छैन। मानिसहरूले परमेश्वरलाई जसरी गलत रूपमा बुझे पनि, उहाँले व्याख्या गर्नुहुन्न। परमेश्वरको दृष्टिकोणबाट हेर्दा, तँ साठी वर्षको भए पनि वा असी वर्षको भए पनि, परमेश्वरबारे तेरो बुझाइ अत्यन्तै सीमित हुन्छ, र तँलाई कति थोरै थाहा छ भन्ने आधारमा, तँ अझै पनि बच्चा होस्। परमेश्वरले यसलाई तेरो विरुद्धमा प्रयोग गर्नुहुन्न; तँ अझै पनि अपरिपक्व बच्चा होस्। कतिपय मानिसहरू धेरै वर्ष बाँचेका भए पनि र तिनीहरूको शरीरले वृद्ध अवस्थाका लक्षणहरू देखाए पनि, त्यसले केही फरक पार्दैन; परमेश्वरको बारेमा तिनीहरूको बुझाइ अझै पनि अत्यन्तै अपरिपक्व र सतही छ। परमेश्वरले यसमा तँलाई दोषी मान्नुहुन्न—यदि तैँले बुझिनस् भने, बुझिनस्। त्यो तेरो क्षमता र सामर्थ्य हो, र यसलाई परिवर्तन गर्न सकिँदैन। परमेश्वर तँलाई कुनै कुरामा जबरजस्ती गर्नुहुन्न। परमेश्वरले मानिसहरूलाई उहाँको गवाही दिनुपर्छ भनेर माग गर्नुहुन्छ, तर के उहाँले आफ्नो गवाही दिनुभएको छ? (छैन।) अर्कोतर्फ, शैतानलाई यसले गरेको सानो कुराको बारेमा समेत मानिसहरूले थाहा पाउनेछैनन् भन्ने डर लाग्छ। ख्रीष्ट-विरोधीहरू पनि त्यस्तै हुन्छन्: तिनीहरूले गर्ने हरेक सानो कामको बारेमा सबैका अगाडि घमण्ड गर्छन्। तिनीहरूको कुरा सुनेपछि, तिनीहरूले परमेश्वरको गवाही दिइरहेका छन् जस्तो लाग्छ—तर यदि तैँले ध्यान दिएर सुनिस् भने तिनीहरूले परमेश्वरको गवाही दिइरहेका छैनन्, तर तिनीहरूले धाक लगाइरहेका छन्, आफूलाई निर्माण गरिरहेका छन् भन्ने कुरा पत्ता लगाउनेछस्। तिनीहरूले भनेको कुराको पछाडि रहेको अभिप्राय र सार भनेको परमेश्वरसँग उहाँका चुनिएका मानिसहरू, र हैसियतका लागि प्रतिस्पर्धा गर्नु हो। परमेश्वर नम्र र गुप्त हुनुहुन्छ, र शैतानले आफ्नो धाक देखाउँछ। के भिन्नता छ? आफ्नो प्रदर्शन गर्नु र नम्रता र गुप्तता: सकारात्मक कुराहरू के-के हुन्? (नम्रता र गुप्तता।) के शैतानलाई नम्र भनेर व्याख्या गर्न सकिन्छ? (सकिँदैन।) किन? यसको दुष्ट प्रकृति सारको आधारमा हेर्दा, यो केही न कामको फोहोर हो भन्ने देखिन्छ; शैतानले आफ्नो धाक नलगाउनु त असामान्य हुन्छ। शैतानलाई कसरी “नम्र” भनेर भन्न सकिन्छ? “नम्रता” त परमेश्वरको बारेमा मात्रै भन्न सकिन्छ। परमेश्वरको पहिचान, सार, र स्वभाव उच्च र आदरणीय छन्, तर उहाँले कहिल्यै पनि धाक लगाउनुहुन्न। परमेश्वर नम्र र गुप्त हुनुहुन्छ, त्यसकारण मानिसहरूले उहाँले के गर्नुभएको छ भन्ने देख्दैनन्, तर उहाँले यस्तो अज्ञात रूपमा काम गर्ने हुनाले, मानवजातिलाई निरन्तर भरणपोषण, पालनपोषण गरिन्छ र मार्गदर्शन दिइन्छ—र यो सबै परमेश्वरले नै मिलाउनुभएको हो। के परमेश्वरले यी कुराहरू कहिल्यै घोषणा गर्नुहुन्न, कहिल्यै उल्लेख गर्नुहुन्न भन्ने कुरा गुप्तता र नम्रता होइन र? परमेश्वरले यी कुराहरू गर्न सक्नुहुन्छ तर उहाँले कहिल्यै पनि तिनको बारेमा उल्लेख गर्नुहुन्न वा घोषणा गर्नुहुन्न, र तिनको बारेमा मानिसहरूसँग तर्क गर्नुहुन्न, त्यसैले त उहाँ नम्र हुनुहुन्छ। तँ त्यस्ता कुराहरू गर्न सक्दैनस् भने तँसँग नम्रताको बारेमा कुरा गर्ने के अधिकार हुन्छ र? तैँले तीमध्ये कुनै पनि काम गरिनस्, तैपनि त्यसका लागि श्रेय लिने जिद्दी गर्छस्—लाजमर्दो व्यवहार गर्नु भनेको यही हो। मानवजातिलाई अगुवाइ गर्दै, परमेश्वरले यस्तो ठूलो काम गर्नुहुन्छ, र उहाँले सम्पूर्ण ब्रह्माण्डको नेतृत्व गर्नुहुन्छ। उहाँको अख्तियार र शक्ति अत्यन्तै विशाल छ, तैपनि उहाँले कहिल्यै पनि “मेरो शक्ति असाधारण छ” भनेर भन्नुभएको छैन। उहाँ सबै थोकको बीचमा लुकेर बस्नुहुन्छ, सबै कुराको अगुवाइ गर्नुहुन्छ, मानवजातिलाई खुवाउनुहुन्छ र भरणपोषण गर्नुहुन्छ, र सबै मानवजातिलाई पुस्तादेखि पुस्तासम्म निरन्तरता अघि बढ्न दिनुहुन्छ। उदाहरणको लागि, हावा र घामलाई वा पृथ्वीमा मानव अस्तित्वका लागि आवश्यक रहेका सबै भौतिक कुराहरूलाई लिऊँ—ती सबै निरन्तर रूपमा बगिरहन्छन्। परमेश्वरले मानिसका लागि प्रदान गर्नुहुने कुरामा कुनै प्रश्न छैन। यदि शैतानले कुनै असल काम गर्यो भने, के यसले चुपचाप काम गर्नेथियो, र अज्ञात नायक बन्नेथियो? कहिल्यै पनि त्यसो गर्नेथिएन। यो त मण्डलीमा रहेका कतिपय ख्रीष्ट-विरोधीहरू जस्तै हो, जसले पहिले खतरनाक काम गरेका थिए, विभिन्न कुराहरूलाई त्यागेका थिए र कष्ट भोगेका थिए, सायद जेल समेत गएका थिए; कति जनाले परमेश्वरको घरको कामको एउटा पक्षमा योगदान दिएका पनि हुन सक्छन्। तिनीहरूले यी कुराहरूलाई कहिल्यै बिर्सँदैनन्, तिनीहरूले ती कुराहरूका लागि जीवनभरको श्रेय पाउनुपर्छ भन्ने सोच्छन्, तिनीहरूले यी कुराहरूलाई आफ्नो जीवनकालको पूँजी ठान्छन्—यसले मानिसहरू कति सानो छन् भन्ने कुरा देखाउँछ! मानिसहरू साँच्चै नै सानो हुन्छन्, र शैतान लाजमर्दो हुन्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई)
परमेश्वरले काम गर्न र मानिसहरूलाई मुक्ति दिन अत्यन्तै धैर्यसाथ हरकिसिमका पीडाहरू सहनुहुन्छ, तर मानिसहरू अझै पनि परमेश्वरलाई गलत बुझ्छन्, निरन्तर उहाँविरुद्ध खडा हुन्छन्, परमेश्वरको घरका हितहरूबारे कुनै वास्ता नगरी निरन्तर आफ्नै हितहरू रक्षा गर्छन्, र सधैँ भव्य जीवन जिउन चाहन्छन्, तर परमेश्वरको महिमामा योगदान दिन चाहँदैनन्—यी सबै कुरामा, के कुनै मानवता छ त? मानिसहरूले परमेश्वरको गवाही ठूलो स्वरमा घोषणा गरे पनि, तिनीहरूले हृदयमा यसो भन्छन्: “यो मैले गरेको काम हो, यसले परिणामहरू हासिल गरेको छ। मैले नि मेहनत गरेको छु, मैले नि मूल्य चुकाएको छु। मेरो गवाहीचाहिँ किन नदिने नि?” तिनीहरू सधैँ परमेश्वरको महिमा र गवाहीमा भागीदार हुन चाहन्छन्। के मानिसहरू यी कुराहरू पाउन योग्य छन् त? “महिमा” भन्ने शब्द मानिसहरूको होइन। यो परमेश्वर, सृष्टिकर्ताको मात्रै हुन सक्छ, र सृष्टि गरिएको मानवसँग यसको कुनै सम्बन्ध छैन। मानिसहरूले मेहनत र सहकार्य गरे नि, तिनीहरू अझै पनि पवित्र आत्माको अगुवाइमै हुन्छन्। यदि पवित्र आत्माको कुनै काम नहुने हो भने, मानिसहरूले के नै गर्न सक्छन् र? “गवाही” भन्ने शब्द पनि मानिसहरूसँग सम्बन्धित छैन। चाहे यो “गवाही” भन्ने नाम शब्द होस् वा “गवाही दिनु” भन्ने क्रियापद होस्, सृष्टि गरिएको मानवसँग यी दुवै शब्दहरूको कुनै सम्बन्ध छैन। सृष्टिकर्ता मात्रै गवाही दिइन र मानिसहरूको गवाही पाउन लायक हुनुहुन्छ। यो कुरा परमेश्वरको पहिचान, हैसियत र सारले निर्धारित गर्छ, र परमेश्वरले गर्नुहुने हरेक कुरा परमेश्वरको प्रयासबाट आउने, र त्यो प्राप्त गर्न परमेश्वर लायक हुनुहुने हुनाले पनि यस्तो हुन्छ। मानिसहरूले गर्न सक्ने कुराहरू निश्चय नै सीमित छन्, र यो सबै पवित्र आत्माको अन्तर्दृष्टि, नेतृत्व, र अगुवाइको परिणाम हो। मानव प्रकृतिको कुरा गर्दा, मानिसहरू केही सत्यता बुझेपछि र थोरै काम गरेपछि अहङ्कारी बन्छन्। यदि तिनीहरूको साथमा परमेश्वरबाट आउने न्याय र सजाय छैन भने, कसैले पनि परमेश्वरमा समर्पित भएर उहाँको गवाही दिन सक्दैनन्। परमेश्वरको पूर्वनिर्धारणको फलस्वरूप, मानिसहरूमा केही वरदान वा विशेष प्रतिभा हुन सक्छ, तिनीहरूले केही पेसा वा सीप सिकेका हुन सक्छन्, वा तिनीहरूमा अलिअलि चलाकी हुन सक्छ, त्यसैले तिनीहरू अत्यन्तै अहङ्कारी बन्छन्, र निरन्तर परमेश्वरले तिनीहरूसँग उहाँको महिमा र उहाँको गवाही बाँड्नुभएको चाहन्छन्। के यो अनुचित छैन र? यो अत्यन्तै अनुचित छ। यसले तिनीहरू गलत स्थानमा उभिएका छन् भन्ने देखाउँछ। तिनीहरूले आफूलाई मानवको रूपमा नभई, अरूभन्दा पृथक्, महामानवको रूपमा लिन्छन्। आफ्नो पहिचान र सार के हो, र आफू कुन स्थानमा उभिनुपर्छ भन्ने कुरा थाहा नहुने मानिसहरूमा कुनै आत्मसचेतना हुँदैन। मानिसहरूको नीचोपन हैसियत घटाएर आउने कुरा होइन—मानिसहरू सुरुदेखि नै नीचा र तल्लो स्तरका हुन्छन्। परमेश्वरको नम्रताचाहिँ हैसियत घटाएर आउने कुरा हो। मानिसहरूलाई नम्र भन्नु त तिनीहरूलाई उचाल्नु हो—वास्तवमा तिनीहरू नीचा हुन्छन्। मानिसहरू सधैँ ख्याति, लाभ र हैसियतको लागि लड्न, र परमेश्वरका चुनिएका मानिसहरूको लागि उहाँसित प्रतिस्पर्धा गर्न चाहन्छन्। यसरी, तिनीहरू शैतानको भूमिका खेल्छन्, र यही नै शैतानको प्रकृति हो। तिनीहरू साँच्चै नै शैतानका सन्तान हुन्, र त्यसमा अलिकति पनि भिन्नता छैन। मानौँ परमेश्वरले मानिसहरूलाई थोरै अधिकार र शक्ति दिनुहुन्छ रे, र तिनीहरूले चमत्कारी चिन्ह र अचम्मका कुराहरू देखाउन र केही असाधारण कामहरू गर्न सक्छन् रे, र तिनीहरू सबै कुरा परमेश्वरका मापदण्डहरूअनुसार र अक्षरशः गर्छन् रे। तर के तिनीहरूले परमेश्वरलाई उछिन्न सक्छन् र? अहँ, कहिल्यै सक्दैनन्। के शैतान, अर्थात् प्रधान स्वर्गदूतका क्षमताहरू मानिसहरूका भन्दा ठूला हुँदैनन् र? त्यसले सधैँ परमेश्वरलाई उछिन्न चाहन्छ, तर अन्तिम परिणाम के हुन्छ? अन्त्यमा, त्यसले अतल कुण्डमा फालिनुपर्छ। परमेश्वर सधैँ न्यायको मूर्तरूप हुनुहुनेछ, जबकि शैतान, दियाबलस र प्रधान स्वर्गदूत सधैँ दुष्टताको मूर्तरूप, र दुष्ट शक्तिहरूको प्रतिनिधि हुनेछ। परमेश्वर सधैँ न्यायी हुनुहुनेछ, र यो तथ्य बदल्न सकिँदैन। यो परमेश्वरको अपवादपूर्ण र असाधारण पक्ष हो। तर मानवजातिले परमेश्वरबाट उहाँका सबै सत्यताहरू प्राप्त गरे पनि, तिनीहरू सृष्टि गरिएका साना प्राणीहरू मात्रै हुन् र तिनीहरूले परमेश्वरलाई उछिन्न सक्दैनन्। मानवजाति र परमेश्वरबीचको भिन्नता यही हो। मानिसहरू परमेश्वरले बनाउनुभएका सबै नियम र व्यवस्थाहरूभित्र व्यवस्थित रूपमा अस्तित्वमा रहन मात्र सक्छन्, र परमेश्वरले सृष्टि गर्नुभएका सबै कुरालाई यी नियम र व्यवस्थाहरूभित्र व्यवस्थापन गर्न मात्र सक्छन्। मानिसहरूले कुनै जीवित प्राणीहरू सृष्टि गर्न सक्दैनन्, न त मानवजातिको भाग्य बदल्न नै सक्छन्—यो तथ्य हो। यो तथ्यले के जनाउँछ? यो कि, परमेश्वरले मानवजातिलाई जति धेरै अख्तियार र क्षमता दिनुभए नि, अन्तिममा कसैले पनि परमेश्वरको अख्तियार नाघ्न सक्दैन। जति वर्ष, वा जति पुस्ता, वा जति धेरै मानिसहरू भए नि, मानिसहरू परमेश्वरको अख्तियार र सार्वभौमिकताभित्र अस्तित्वमा रहन मात्र सक्छन्। यो सदा अपरिवर्तनीय रहने, र कहिल्यै कदापि नबदलिने तथ्य हो!
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक)
सम्बन्धित चलचित्र उद्धरणहरू
परमेश्वरको न्याय र सजायमार्फत ख्याति र हैसियत त्याग्नु
सम्बन्धित अनुभवात्मक गवाहीहरू
देखावटी गर्दा भएको हानि
देखावटी गर्ने र फुइँ लगाउने प्रकृति