११. परमेश्‍वरको परीक्षा लिने समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वरको जाँच तब हुन्छ जब मानिसहरूलाई परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भन्‍ने थाहा हुँदैन, र तिनीहरूले उहाँलाई नचिनेर वा नबुझेर बारम्बार उहाँप्रति अनुचित मागहरू राख्छन्। उदाहरणको लागि, कोही बिरामी हुँदा, उसले परमेश्‍वरले नै उसलाई निको पार्नुपर्छ भनी प्रार्थना गर्न सक्छ। “म उपचारको खोजीमा लाग्दिनँ—परमेश्‍वरले मलाई निको पार्नुहुनेछ कि छैन हेरौँ।” त्यसैले, निकै समय प्रार्थना गरेपछि पनि परमेश्‍वरले केही नगर्नुहुँदा, उसले भन्छ, “परमेश्‍वरले केही पनि गर्नुभएन, त्यसैले म औषधि लिनेछु र उहाँले मलाई रोक्नुहुन्छ कि हुन्न हेर्नेछु। यदि उक्त औषधि मेरो घाँटीमा अड्कियो, वा यदि मैले पानी पोखाएँ भने, त्यो परमेश्‍वरले मलाई रोक्नुभएको र त्यो सेवन गर्न नदिन खोज्‍नुभएको हुन सक्छ।” जाँच भनेको त्यही हो। अथवा उदाहरणको लागि, तँलाई सुसमाचार प्रचार गर्न लगाइयो रे। सामान्य परिस्थितिहरूमा, तेरो कर्तव्यमा के-के पर्छन् र तैँले के गर्नुपर्छ भन्नेबारे सबैले सङ्गति र विचारविमर्शमार्फत निर्णय गर्छन्, र त्यसपछि सही समय आएपछि तैँले त्यो काम गर्छस्। यदि तैँले काम गरिरहेको बेलामा केही आइपर्‍यो भने, त्यो परमेश्‍वरको सार्वभौमिकता हो—यदि परमेश्‍वरले रोक्नुहुन्थ्यो भने, उहाँले सक्रिय रूपमै रोक्नुहुनेछ। तर मानौँ तैँले प्रार्थनामा यसो भन्छस् रे, “हे परमेश्‍वर, आज म सुसमाचार प्रचार गर्न बाहिर जाँदै छु। के म बाहिर जानु तपाईंको इच्छाबमोजिम हुन्छ? थाहा छैन, आजको सम्भावित सुसमाचार ग्रहणकर्ताले यसलाई स्विकार्न सक्छ सक्दैन, र तपाईंले यसलाई ठ्याक्कै कुन तरिकाले सञ्चालन गर्नुहुन्छ। मेरो अनुरोध छ, तपाईंका प्रबन्धहरू, र तपाईंका मार्गदर्शनहरू गरिपाऊँ, र तपाईंले मलाई यी कुराहरू देखाइदिनुहोस्।” प्रार्थना गरेपछि, तँ चलमल नगरी त्यहीँ बस्छस्, र भन्छस्, “परमेश्‍वरले त्यसबारे किन केही पनि भन्नुहुन्न? सायद मैले उहाँका वचनहरू पर्याप्त मात्रामा नपढ्ने हुनाले उहाँले मलाई ती कुराहरू देखाउन नसक्‍नुभएको हो कि। यदि त्यसो हो भने, म तुरन्तै त्यता बाहिर निस्‍कनेछु। यदि म अघि बढ्ने क्रममा घोप्टो लडेँ भने, सायद त्यो परमेश्‍वरले मलाई रोकिरहनुभएको हुन सक्छ, तर यदि सबथोक सहज रूपमा अघि बढ्यो र परमेश्‍वरले मलाई रोक्नुभएन भने, त्यो परमेश्‍वरले मलाई अघि बढ्न दिनुभएको हुन सक्छ।” त्यो एउटा जाँच हो। हामी किन त्यसलाई जाँच भनिरहेका छौँ? परमेश्‍वरको काम व्यावहारिक हुन्छ; मानिसहरूले आफूले गर्नुपर्ने कर्तव्यहरू गरे, आफ्ना दैनिक जीवन मिलाए, र सिद्धान्तहरूअनुसार हुनेगरी आफ्नो सामान्य मानवताको जीवन जिए पुग्छ। परमेश्‍वरले कसरी कार्य गर्नुहुनेछ वा उहाँले कस्तो मार्गदर्शन दिनुहुनेछ भनी अनुसन्धान गर्नु आवश्यक छैन। आफूले गर्नुपर्ने काम गर्नतिर मात्र ध्यान दे; सधैँ अन्य कुराहरू नसोच्, जस्तो कि, “के परमेश्‍वरले मलाई यसो गर्न दिनुहुन्छ, कि दिनुहुन्न? यदि मैले यसो गरेँ भने, परमेश्‍वरले मलाई कसरी सम्हाल्‍नुहुनेछ? के मैले यसलाई यो तरिकाले गर्नु ठिक हो?” यदि कुनै कुरा ठिक हो भन्ने प्रस्ट छ भने, त्यही काम गर्नतिर मात्र ध्यान दे; अनेकथरीका कुराहरूबारे सोच्नतिर नलाग्। परमेश्‍वरको मार्गदर्शनको लागि प्रार्थना गर्नुचाहिँ अवश्यै ठिकै हो, यस दिन उहाँले तेरो जीवनलाई मार्गदर्शन गरिदिनुहोस्, उहाँले आज तैँले निर्वाह गर्ने कर्तव्यलाई मार्गदर्शन गरिदिनुहोस् भनी प्रार्थना गर्नु ठिकै हो। व्यक्तिमा समर्पणको हृदय र मनोवृत्ति भए पुग्छ। उदाहरणको लागि, तँलाई थाहै छ, यदि तैँले हातले बिजुली छोइस् भने, तँलाई झट्का लाग्नेछ, र तैँले आफ्नो ज्यान गुमाउन पनि सक्छस्। तैपनि तैँले त्यसबारे यस्तो सोच्छस्: “केही छैन, परमेश्‍वरले मेरो रक्षा गरिरहनुभएको छ। परमेश्‍वरले मेरो रक्षा गर्नुहुनेछ कि छैन र परमेश्‍वरको सुरक्षाले कस्तो अनुभूति गराउँछ भनी हेर्न मैले कोसिस मात्र गर्नुपर्छ।” त्यसपछि तैँले हातले त्यसलाई छुन्छस्, र फलस्वरूप, तँलाई झट्का लाग्छ—त्यो एउटा जाँच हो। कतिपय कुराहरू प्रस्ट रूपले गलत हुन्छन् र ती गर्नु हुँदैन। तैपनि, परमेश्‍वरले कस्तो प्रतिक्रिया दिनुहुनेछ भनी हेर्न, यदि तैँले गरिछोड्छस् भने, त्यो एउटा जाँच हो। कतिपय मानिसहरू भन्छन्, “मानिसहरूले राम्रा-राम्रा कपडा लगाएर आफूलाई आकर्षक बनाएको र बाक्लो मेकअप घसेको परमेश्‍वरलाई मन पर्दैन। तर म त्यसै गर्छु र परमेश्‍वरले भित्री रूपमा धिक्कार्नुहुँदा कस्तो महसुस हुन्छ त्यो हेर्नेछु।” मेकअप गरिसकेपछि तिनीहरूले ऐनामा हेर्छन्: “अहो, म त भूतजस्तै देखिन्छु, तर मलाई यो अलि घिनलाग्दो देखिने र आफूलाई ऐनामा हेर्न नसकिने मात्र महसुस भयो। त्यसबाहेक अरू केही पनि महसुस भएन—मलाई परमेश्‍वरले घृणा गर्नुभएको महसुस भएन, र उहाँका वचनहरूले मलाई तत्काल प्रहार गरेको र निन्दा र न्याय गरेको पनि महसुस भएन।” यो कस्तो व्यवहार हो? (जाँच्ने व्यवहार।) यदि तैँले कहिलेकाहीँ आफ्नो कर्तव्यमा झारा टार्छस्, र त्यो कुरा तँलाई प्रस्ट रूपले थाहा छ भने, तैँले पश्‍चात्ताप गरेर आफूलाई परिवर्तन गरे पुग्छ। तर तँ त सधैँ प्रार्थना गरिरहेको हुन्छस्, “हे परमेश्‍वर, म झाराटारुवा भएँ—मेरो अनुरोध छ, तपाईं मलाई अनुशासनमा राख्नुहोस्!” तेरो अन्तस्करणले के उद्देश्यको काम गर्छ? यदि तँसित अन्तस्करण छ भने, तैँले आफ्नो व्यवहारको जिम्मेवारी लिनुपर्छ। तैँले त्यसमा लगाम लाउनुपर्छ। परमेश्‍वरलाई प्रार्थना नगर्—त्यो प्रार्थना एउटा जाँच बन्नेछ। एउटा गम्भीर कुरालाई लिएर त्यसबारे ठट्टा गर्नु एउटा जाँच हो र परमेश्‍वरले त्यसलाई घृणा गर्नुहुन्छ। मानिसहरूले कुनै समस्या सामना गरी परमेश्‍वरलाई प्रार्थना गर्दा र उहाँलाई खोज्दाको समयमा, अनि उनीहरूले देखाउने केही मनोवृत्ति, माग, र परमेश्‍वरप्रतिको व्यवहारमा, प्राय केही जाँचहरू देखा पर्ने गर्छन्। अनि, यी जाँचका मूलभूत पक्षहरू के हुन्? यो कि, तँ परमेश्‍वरले कस्तो व्यवहार गर्नुहुनेछ, वा परमेश्‍वरले कुनै कुरा गर्न सक्नुहुन्छ कि हुन्न भनी हेर्न चाहन्छस्। तँ परमेश्‍वरबारे अनुसन्धान गर्न चाहन्छस्; तँ यो मामलामार्फत परमेश्‍वर कस्तो हुनुहुन्छ, परमेश्‍वरले बोल्नुभएका कुन वचनहरू सही र सटीक छन्, कुन साँचो बन्न सक्छन्, र उहाँले कुन वचनहरू पूरा गर्न सक्नुहुन्छ भनी पुष्टि गर्न चाहन्छस्। यी सबै जाँचहरू हुन्। के यस्ता कार्यशैलीहरू तिमीहरूमा नियमित रूपमा देखा पर्छन्? मानौँ कि तैँले कुनै काम सही गरेको छस् छैनस्, वा त्यो सत्यता सिद्धान्तहरूसँग मिल्छ मिल्दैन भनी तँलाई थाहा छैन रे। यहाँ, तैँले यो मामलामा जे गरेको छस् त्यो जाँच हो होइन, वा त्यो सकारात्मक हो होइन भनी पुष्टि गर्न सक्ने दुइटा विधिहरू छन्। एउटा विधि भनेको विनम्र र सत्यता खोजी गर्ने हृदय धारण गर्नु, र यसो भन्नु हो, “मलाई आइपरेको कुरालाई मैले यसरी सम्हालेको र हेरेको छु, र मैले यसलाई यो तरिकाले सम्हालेकोले अहिले यो यस्तो भएको छ। मैले गर्नुपर्ने यही थियो कि थिएन भनेर मैले कुनै भेउ पाएको छुइनँ।” यस्तो मनोवृत्तिबारे तँलाई के लाग्छ? यो सत्यता खोज्ने मनोवृत्ति हो—यसमा कुनै जाँच छैन। मानौँ तैँले “सङ्गति गरेपछि यो कुराबारे सबैले सँगै निर्णय गर्नुपर्छ” भनेर भन्छस् रे। अनि, कसैले सोध्छ रे, “यसको प्रभारी को हो? मुख्य निर्णयकर्ता को हो?” अनि तैँले भन्छस् रे: “सबैजना।” अनि, यसमा तेरो अभिप्राय यस्तो हुन्छ रे: “यदि तिनीहरूले यो कुरालाई सिद्धान्तहरूबमोजिम सम्हालिएको रहेछ भनेर भनेमा, म यो मैले गरेको हुँ भन्नेछु। यदि तिनीहरूले यसलाई सिद्धान्तहरूबमोजिम सम्हालिएको रहेनछ भनेर भनेमा, म सुरुमा यो कसले गरेको हो र कसले निर्णय गरेको हो भनेर भन्दिनँ। यसो गरेमा, यदि तिनीहरूले दोषारोपण गर्न जिद्‌ नै कसे पनि, मलाई दोष लगाउनेछैनन्, र कोही अपमानित भयो नै भने पनि, म एक्लै अपमानित हुनेछैन।” यदि तैँले त्यस्तो अभिप्रायले बोल्छस् भने, त्यो एउटा जाँच हो। कसैले यसो भन्‍न सक्छ, “मान्छेले सांसारिक कुराहरू पछ्याउँदा परमेश्‍वरले घृणा गर्नुहुन्छ। उहाँले मानवजातिका स्मृति दिवस र चाडपर्वजस्ता कुराहरू घृणा गर्नुहुन्छ।” अब तँलाई यो कुरा थाहा भइसकेपछि, परिस्थितिहरूले साथ दिएसम्म तैँले यस्ता कुराहरू पन्छाउने सक्दो प्रयास गर्न सक्छस्। तर मानौँ कुनै चाडपर्वमा काम गर्ने क्रममा तैँले जानाजान सांसारिक मामलाहरू पछ्याउँछस्, र तैँले त्यसो गर्दा तेरो अभिप्राय यस्तो हुन्छ रे: “म त मैले यसो गर्दा परमेश्‍वरले मलाई अनुशासनमा राख्नुहुनेछ कि छैन, उहाँले मप्रति कुनै चासो राख्नुहुनेछ कि छैन भनेर मात्र हेरिरहेको छु। म त मप्रति उहाँको मनोवृत्ति कस्तो छ, र उहाँको घृणा कति हदसम्‍म जाँदो रहेछ भनेर मात्र हेरिरहेको छु। भन्छन्, परमेश्‍वर यसलाई घृणा गर्नुहुन्छ रे, उहाँ पवित्र र ईर्ष्यालु हुनुहुन्छ रे, त्यसैले म उहाँको ईर्ष्या कस्तो छ र उहाँले मलाई कसरी अनुशासनमा राख्नुहुनेछ त्यो हेर्नेछु। मैले यी काम गर्दा, यदि परमेश्‍वरले मलाई बान्ता गराउनुभयो, चक्कर लगाउनुभयो, र ओछ्यानबाट निस्कन नसक्ने तुल्याउनुभयो भने, परमेश्‍वरले यी कुराहरूलाई साँच्चै घृणा गर्नुहुन्छ भन्ने देखिनेछ। उहाँ बोलिरहनुभएको मात्र हुनेछैन—तथ्यहरू पनि आफै प्रस्ट बन्नेछन्।” यदि तँ सधैँ यस्तो दृश्य देख्ने आशामा हुन्छस् भने, तँसित कस्तो व्यवहार र अभिप्राय छन् त? ती जाँच्ने व्यवहार र अभिप्राय हुन्। मान्छेले परमेश्‍वरलाई कहिल्यै जाँच्नु हुँदैन। जब तैँले परमेश्‍वरलाई जाँच्छस्, तँबाट उहाँ लुक्‍नुहुनेछ र आफ्नो अनुहार छोप्नुहुनेछ, अनि तेरा प्रार्थनाहरू बेकार हुनेछन्। कतिपयले सोध्‍न सक्छन्, “म हृदयमा इमानदार भएर पनि हुँदैन र?” हो, तँ हृदयमा इमानदार भएर पनि हुँदैन। परमेश्‍वरले मानिसहरूलाई उहाँको जाँच गर्न दिनुहुन्न; उहाँ ईर्ष्यालु हुनुहुन्छ। जब तैँले यी दुष्ट विचार र सोचहरू मनमा खेलाउँछस्, परमेश्‍वर तँबाट लुक्नुहुनेछ। उहाँले तँलाई अन्तर्दृष्टि दिन छोड्नुहुनेछ, बरु तँलाई पाखा लगाउनुहुनेछ, अनि तेरो वास्तविकता खुलासा हुञ्जेल तैँले मूर्ख, उपद्रव, र बाधक कामहरू गर्दै जानेछस्। मानिसहरूले परमेश्‍वरलाई जाँज गर्दा आउने परिणाम यही हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग एक)

जाँचका प्रकटीकरणहरू के-के हुन्? कुन तौरतरिका वा सोचले जाँचको स्थिति वा सार प्रकट गर्छ? (यदि मैले कुनै अपराध वा कुनै दुष्टता गरेको छु भने, म सधैँ परमेश्‍वरलाई सोधखोज गर्न चाहन्छु, स्पष्ट जवाफ माग गर्छु, र र मैले असल परिणाम वा गन्तव्य पाउनेछु कि पाउनेछैनँ भनेर हेर्नेछु।) यो सोचहरूसँग सम्बन्धित कुरा हो; त्यसैले, सामान्यतया कसैले बोल्दा वा कार्य गर्दा, वा उसले कुनै कुरा सामना गर्दा उसको कुन प्रकटीकरणचाहिँ जाँच हो? यदि कसैले कुनै अपराध गरेको छ र परमेश्‍वरले उसको अपराध याद राख्नुहोला वा त्यसलाई निन्दा गर्नुहोला भनेर महसुस गर्छ, र ऊ आफै अनिश्चित छ, परमेश्‍वरले उसलाई वास्तवमै निन्दा गर्नुहुनेछ कि गर्नुहुनेछैन भनेर जान्दैन भने, उसले परमेश्‍वरको मनोवृत्ति साँच्चै कस्तो छ भनी हेर्नका लागि त्यसको जाँच गर्न एउटा उपाय निकाल्छ। उसले प्रार्थनाबाट सुरु गर्छ, र त्यसबाट कुनै ज्योति वा अन्तर्दृष्टि पाएन भने पछ्याइको अघिल्लो तौरतरिकालाई पूर्ण रूपमा त्याग्नेबारे सोच्छ। उसले यसभन्दा पहिले झाराटारुवा तरिकाले कामकुरा गर्थ्यो, ५०% मेहनत लगाउन सक्ने ठाउँमा ३०%, वा ३०% को ठाँउमा १०% मात्र लगाउँथ्यो। अब, यदि उसले आफ्नो मेहनतको ५०% लगाउन सक्छ भने लगाउनेछ। ऊ अरूले गर्न नमान्ने फोहोरी वा थकाइलाग्दो काम गर्छ, सधैँ अरूलेभन्दा पहिले नै त्यो काम गर्छ, र अधिकांश दाजुभाइ-दिदीबहिनीहरूले त्यो देखून् भन्ने कुरा सुनिश्चित गर्छ। अझ महत्त्वपूर्ण कुरा त, ऊ परमेश्‍वरले यस मामिलालाई कसरी हेर्नुहुन्छ र उसका अपराधको परिपूर्ति गर्न सकिन्छ कि सकिन्न भनेर हेर्न चाहन्छ। अधिकांश मानिसहरूले, जित्न नसकिने कठिनाइ वा कामकुराको सामना गर्दा, तिनीहरू परमेश्‍वरले के गर्नुहुनेछ, उहाँले तिनीहरूलाई अन्तर्दृष्टि र मार्गदर्शन प्रदान गर्नुहुनेछ कि गर्नुहुनेछैन भनी हेर्न चाहन्छन्। यदि तिनीहरूले परमेश्‍वरको उपस्थिति र उहाँको विशेष निगाह महसुस गर्न सके भने, तिनीहरू परमेश्‍वरले तिनीहरूको अपराध याद राख्नुभएको वा त्यसलाई निन्दा गर्नुभएको छैन, जसले त्यो कुरा माफ हुन सक्छ भन्ने कुराको पुष्टि गर्छ भन्ने विश्‍वास गर्छन्। यदि तिनीहरूले आफूलाई यसरी समर्पित गरे र यस्तो मूल्य चुकाए, यदि तिनीहरूको मनोवृत्ति उल्लेखनीय रूपमा बदलिए पनि तिनीहरूले परमेश्‍वरको उपस्थिति महसुस गरेनन्, र पहिलेभन्दा खुट्ट्याउन सकिने फरक महसुस गरेनन् भने, यो सम्भव छ कि परमेश्‍वरले तिनीहरूको पहिलेको अपराधलाई निन्दा गर्नुभएको छ र अबउप्रान्त तिनीहरूलाई चाहनुहुन्न। परमेश्‍वरले तिनीहरूलाई नचाहने हुनाले, तिनीहरूले भविष्यमा आफ्नो कर्तव्य निर्वाह गर्दा पहिले जत्तिको मेहनत लगाउनेछैनन्। यदि परमेश्‍वरले तिनीहरूलाई अझै पनि चाहनुहुन्छ, तिनीहरूलाई निन्दा गर्नुहुन्न, तिनीहरूले आशिष्‌हरू पाउने आशा अझै पनि बाँकी छ भने, तिनीहरूले आफ्नो कर्तव्य निर्वाहमा अलि निष्ठाका साथ गर्छन्। के यी प्रकटीकरण र विचार एक प्रकारको जाँच हुन्? …

कतिपय मानिसमा सधैँ परमेश्‍वरको सर्वशक्तिमान्‌ता र उहाँले गर्नुहुने मानव हृदयको गहिराइको छानबिन सम्बन्धी ज्ञान वा अनुभवको कमी हुन्छ। तिनीहरूमा परमेश्‍वरले गर्नुहुने मानव हृदयको छानबिनबारे साँचो बोधको पनि कमी हुन्छ, त्यसैले तिनीहरू स्वतः यस मामिलाबारे शङ्काले भरिएका हुन्छन्। तिनीहरूले आफ्ना आत्मगत इच्छाहरूमा परमेश्‍वरले मानव हृदयको गहिराइलाई छानबिन गर्नुहुन्छ भन्ने विश्‍वास गर्न चाहे पनि, तिनीहरूसँग निर्णायक प्रमाण हुँदैन। फलस्वरूप, तिनीहरूले आफ्नो हृदयमा निश्चित कुराहरूको योजना बनाउँछन् र एकसाथै तिनलाई कार्यान्वयन र लागू गर्न थाल्छन्। लागू गर्दै गर्दा, तिनीहरूले, परमेश्‍वरलाई यीबारे साँच्चै थाहा छ कि छैन, यी मामिला खुलासा हुन्छन् कि हुन्नन्, र तिनीहरू चुपचाप बसे भने यो कुरा कसैले पत्ता लगाउन सक्छ कि सक्दैन, वा परमेश्‍वरले कुनै निश्चित वातावरणमार्फत यसलाई प्रकाश गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भनेर निरन्तर नियालिरहेका हुन्छन्। अवश्य नै, साधारण मानिसहरूमा परमेश्‍वरको सर्वशक्तिमान्‌ता र उहाँले गर्नुहुने मानव हृदयको गहिराइको छानबिनबारे धेरथोर अनिश्चितता हुन सक्छ, तर ख्रीष्टविरोधीहरू केवल अनिश्चित हुँदैनन्—साथसाथै, तिनीहरू शङ्काले भरिएका र परमेश्‍वरविरुद्ध पूर्ण सावधानी अपनाइरहेका हुन्छन्। त्यसकारण, तिनीहरूले परमेश्‍वरलाई जाँच्ने धेरै तौरतरिका विकास गर्छन्। तिनीहरूले परमेश्‍वरले गर्नुहुने मानव हृदयको छानबिनलाई शङ्का गर्ने, र अझ परमेश्‍वरले त्यसलाई छानबिन गर्नुहुन्छ भन्ने तथ्यलाई इन्कार्ने हुनाले, प्रायः निश्चित मामिलाहरूबारे सोच्ने गर्छन्। त्यसपछि, तिनीहरूले अलिकति डर वा त्रासको कुनै अवर्णनीय भावनासाथ, निजी रूपमा सुटुक्क यी विचारहरू फैलाएर निश्चित मानिसहरूलाई बहकाउँछन्। यसैबीच, तिनीहरूले अलिअलि गर्दै आफ्ना तर्क र विचारहरू लगातार खुलासा गर्छन्। तिनलाई खुलासा गरिरहँदा, तिनीहरू, परमेश्‍वरले तिनीहरूको यो व्यवहारलाई अवरोध पुऱ्याउनुहुन्छ वा खुलासा गर्नुहुन्छ कि भनी हेर्छन्। यदि उहाँले यसलाई खुलासा वा परिभाषा गर्नुभयो भने, तिनीहरू तुरुन्तै पछि हट्छन्, र तौरतरिका बदल्छन्। यदि कसैलाई पनि यसबारे थाहा नभएजस्तो प्रतीत भयो, र तिनीहरूलाई कसैले पनि छर्लङ्ग देख्न वा खोतल्न सकेन भने, तिनीहरू आफ्नो हृदयमा आफ्नो अन्तर्ज्ञान सही छ, र परमेश्‍वरबारे आफ्नो ज्ञान सही छ भनेर झनै पूर्ण रूपमा विश्‍वस्त हुन्छन्। तिनीहरूको दृष्टिकोणमा, परमेश्‍वरले गर्नुहुने मानव हृदयको छानबिन मूलतः अस्तित्वहीन छ। यो कस्तो खालको तौरतरिका हो? यो जाँचको तौरतरिका हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट छ: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग तीन)

विगतमा, परमेश्‍वरका घरमा एउटा प्रावधान थियो: निष्कासित गरिएका वा निकालिएका मानिसहरूले पछि साँचो पश्चात्ताप प्रकट गरे, र परमेश्‍वरका वचनहरू पढ्नमा, सुसमाचार प्रचार गर्नामा, र परमेश्‍वरको गवाही दिनमा दृढतापूर्वक लागिरहे, र साँच्चै पश्चात्ताप गरे भने, तिनीहरूलाई मण्डलीमा पुनः भित्र्याउन सकिन्छ। एउटा व्यक्ति थियो, जसले निकालिएपछि यी मापदण्ड पूरा गऱ्यो, र मण्डलीले उसलाई खोज्न, ऊसँग सङ्गति गर्न, उसलाई पुनः मण्डलीमा भित्र्याइएको छ भनी बताउन कसैलाई पठायो। यो सुनेपछि, ऊ निकै खुसी भयो, तर उसले गम खायो, “के यो स्वीकार साँचो हो, कि यसपछाडि कुनै विचार छ? के परमेश्‍वरले साँच्चै मेरो पश्चात्ताप देखेका हुन्? के उनले मलाई साँच्चै कृपा देखाएका र मलाई माफ गरेका हुन्? के मेरा विगतका कार्यहरूलाई साँच्चै भुलाइएको हो?” उसले त्यो विश्‍वास गरेन, र सोच्यो, “तिनीहरूले मलाई फेरि भित्र्याउन चाहे पनि, म संयमित हुनुपर्छ र तुरुन्तै सहमत हुनु हुँदैन, मैले निष्कासित भएपछिका यी वर्षहरूमा ठूलो कष्ट भोगेझैँ र निकै दयनीय भएझैँ व्यवहार गर्नु हुँदैन। मैले अलिक संयमित व्यवहार गर्नुपर्छ र पुनः भित्र्याइनेबित्तिकै मण्डली जीवनमा कहाँ सहभागी हुन सक्छु वा कुन कर्तव्य निर्वाह गर्न सक्छु भनेर सोध्नुहुँदैन। म धेरै उत्साहित देखिनु हुँदैन। भित्र निकै खुसी महसुस गरे पनि पनि, म शान्त रहनुपर्छ र परमेश्‍वरको घरले मलाई साँच्चै फेरि भित्र्याउन चाहेको हो कि मलाई निश्चित कार्यहरूका लागि प्रयोग गर्न कपट गरेको मात्र हो भनी हेर्नुपर्छ।” मनमा यो कुरा राख्दै उसले भन्यो, “निष्कासित गरिएपछिको समयमा मैले चिन्तन गरेँ र आफूले गरेका गल्ती निकै ठूला भएको महसुस गरेँ। मैले परमेश्‍वरको घरका हितमा पुऱ्याएका नोक्सानी ठूला थिए, र म कहिल्यै तिनको परिपूर्ति गर्न सक्दिनँ। म साँच्चै परमेश्‍वरद्वारा श्रापित दियाबलस र शैतान हुँ। तर, मेरो आत्मचिन्तन अझै अपूरो छ। परमेश्‍वरको घरले मलाई फिर्ता ल्याउन चाहेकाले, मैले अझ बढी परमेश्‍वरका वचन खानु र पिउनुपर्छ र चिन्तन गर्नुपर्छ र आफूलाई अझ बढी चिन्नुपर्छ। अहिले, म परमेश्‍वरका घरमा फिर्ता जान, परमेश्‍वरका घरमा आफ्नो कर्तव्य निर्वाह गर्न, आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्न योग्य छैनँ, र म निश्चय नै परमेश्‍वरको सामना गर्न निकै लज्जित छु। म मेरो आत्मज्ञान र चिन्तन पर्याप्त भएको महसुस गरेपछि मात्रै मण्डलीमा फर्कनेछु, ताकि सबैले मलाई मान्यता दिऊन्।” यो भनिरहँदा, ऊ यो सोच्दै अलिक चिन्तित पनि थियो, “मैले यो भनेर ढोँगमात्रै गरिरहेको छु। मलाई मण्डलीमा फिर्ता नलैजान अगुवाहरू सहमत भए भने के गर्ने? के म खतम हुदिनँ र?” वास्तवमा, ऊ निकै व्यग्र थियो, तैपनि उसले यसरी बोल्नुपऱ्यो र मण्डलीमा फिर्ता जान त्यति आतुर नभएको नाटक गर्नुपऱ्यो। उसले यी कुराहरू भन्नुको अर्थ के थियो? (ऊ मण्डलीले उसलाई साँच्चै पुनः स्विकार्छ कि स्विकार्दैन भन्ने कुरा जाँच्दै थियो।) के यो आवश्यक छ? के यो शैतान र दियाबलसहरूले गर्ने काम होइन र? के साधारण व्यक्तिले यस्तो व्यवहार गर्नेथियो? (अहँ, गर्नेथिएन।) साधारण व्यक्तिले त्यसो गर्नेथिएन। त्यस्तो सुनौलो अवसर पाउँदा पनि उसले त्यस्तो कदम उठाउन सक्नु दुष्ट कुरा हो। मण्डलीमा पुनः भित्र्याइनु परमेश्‍वरको प्रेम र कृपाको अभिव्यक्ति हो, र उसले आफ्ना भ्रष्टता र कमीकमजोरीमाथि चिन्तन गर्नुपर्छ र तिनलाई चिन्नुपर्छ, र विगतका ऋण चुक्ता गर्ने तरिकाहरू खोज्नुपर्छ। यदि कसैले अझै पनि यसरी परमेश्‍वरलाई जाँच्न र परमेश्‍वरको कृपालाई यस तरिकाले व्यवहार गर्न सक्छ भने, ऊ साँच्चै उहाँको दया अनुभूति गर्न असफल हुन्छ! मानिसहरूले आफ्नो दुष्ट सारका कारण नै त्यस्ता सोच र तौरतरिका विकास गर्छन्। सारगत रूपमा, मानिसहरूले परमेश्‍वरलाई जाँच्दा, तिनीहरूले प्रकट र प्रकाश गर्ने कुरा सैद्धान्तिक रूपमा सधैँ परमेश्‍वरका सोचका साथै अन्य कुरामाझ, मानिसहरूबारे उहाँका दृष्टिकोण र परिभाषासँग सम्बन्धित हुन्छन्। मानिसहरूले सत्यता खोजी गरे भने, तिनीहरूले त्यस्ता अभ्यासविरुद्ध विद्रोह गर्नेछन् र तिनलाई त्याग्नेछन्, र सत्यता सिद्धान्तहरूअनुरूप कार्य गर्नेछन् र आफूलाई आचरणमा ढाल्नेछन्। तर, ख्रीष्टविरोधीको स्वभाव सार भएका व्यक्तिहरूले त्यस्ता अभ्यास त्याग्न नसक्ने र तिनीहरूलाई ती घृणित नलाग्ने मात्र होइन, बरु तिनीहरू प्रायः आफूसँग त्यस्ता माध्यम र विधि भएकोमा आफैलाई सराहना गर्छन्। तिनीहरूले सोच्लान्, “हेर त, म कति चलाख छु। म तिमीहरूजस्तो मूर्ख होइन, जसलाई केवल परमेश्‍वर र सत्यतामा समर्पित हुन र तिनलाई पालन गर्न आउँछ—म तिमीहरूजस्तो बिलकुलै छैनँ! म यी कुराहरू पत्ता लगाउन माध्यम र विधिहरू प्रयोग गर्ने प्रयास गर्छु। समर्पित हुनुपऱ्यो र पालन गर्नुपऱ्यो भने पनि, म कुरोको चुरोमा पुग्ने नै छु। मबाट केही लुकाउन वा मलाई छल्न वा मूर्ख बनाउन सक्छौ भन्ने नसोच।” तिनीहरूको सोच र दृष्टिकोण यही नै हो। ख्रीष्टविरोधीहरूले कहिल्यै समर्पण, डर, वा निष्ठा देखाउँदैनन्, र देहधारी परमेश्‍वरलाई गर्ने व्यवहारमा बफादारी त झनै देखाउँदैनन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट छ: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग तीन)

मानिसहरूले परमेश्वरसामु प्रकाश गर्ने सबैभन्दा दुष्ट स्वभाव के हो? परमेश्वरको परीक्षा लिनु हो। कतिपय मानिसहरू आफूले राम्रो गन्तव्य नपाइएला, र परमेश्वरमा विश्वास गर्न थालेपछि आफूले बाटो बिराएको, कुनै दुष्टता गरेको, र धेरै अपराध गरेको हुनाले आफ्नो नतिजा निश्चित नहोला भनेर चिन्ता गर्छन्। तिनीहरू आफू नरकमा पुगिने चिन्ता गर्छन्, र आफ्नो परिणाम र गन्तव्यका बारेमा निरन्तर त्रासमा रहन्छन्। तिनीहरू लगातार चिन्तित हुन्छन्, र तिनीहरूले सधैँ यसो सोच्ने गर्छन्, “मेरो भविष्यको परिणाम र गन्तव्य असल हुनेछ कि खराब? म नरकमा जानेछु कि स्वर्गमा? के म परमेश्वरका जनहरूमध्येको एक हुँ कि सेवाकर्ता? म नष्ट हुनेछु कि मैले मुक्ति पाउनेछु? परमेश्वरका कुन वचनले यसबारे बोलेका छन्, मैले त्यो पत्ता लगाउनुपर्छ।” तिनीहरू परमेश्वरका सबै वचनहरू सत्यता हुन्, र ती सबैले मानिसहरूका भ्रष्ट स्वभावको खुलासा गर्छन् भन्ने देख्छन्, र तिनीहरूले आफूले खोजेका जवाफहरू भेट्टाउँदैनन्, त्यसैले तिनीहरू अन्यत्र कता सोधखोज गर्ने भनेर चिन्तन गरिरहन्छन्। पछि, बढुवा हुने र महत्त्वपूर्ण भूमिकामा खटाइने अवसर पाएपछि तिनीहरू माथिलाई यस्तो सोच्दै सोध्न चाहन्छन्: “मेरोबारे माथिको राय के छ? यदि तिनको राय अनुकूल छ भने, त्यसले परमेश्वरले मैले विगतमा गरेका दुष्टता र अपराध सम्झेका छैनन् भन्ने प्रमाणित गर्छ। त्यसले परमेश्वरले मलाई अझै पनि मुक्ति दिनेछन्, र ममा अझै आशा बाँकी छ भन्ने प्रमाणित गर्छ।” त्यसपछि, आफ्नो विचारलाई अगाडि बढाउँदै तिनीहरूले ठाडै भन्छन्, “हामी जहाँ छौँ, त्यहाँ अधिकांश ब्रदर-सिस्टरहरू आफ्नो काममा त्यति दक्ष छैनन्, र तिनीहरूले निकै कम समयदेखि मात्र परमेश्वरमा विश्वास गरेका छन्। मैले नै सबैभन्दा लामो समयसम्म परमेश्वरमा विश्वास गरेको छु। म लडेको र असफल भएको छु, मैले केही अनुभव बटुलेको र केही पाठ सिकेको छु। मौका पाएँ भएँ, म भारी बोझ बोक्न र परमेश्वरका अभिप्रायलाई ख्याल गर्न इच्छुक छु।” तिनीहरू यी वचनलाई माथिले तिनीहरूलाई बढुवा गर्ने अभिप्राय राख्छ कि राख्दैन, वा तिनीहरूलाई त्यागेको छ कि छैन हेर्नका लागि परीक्षाका रूपमा प्रयोग गर्छन्। वास्तवमा, तिनीहरू साँचो रूपमा यो जिम्मेवारी वा बोझ उठाउन चाहँदैनन्; तिनीहरूले यी वचन बोल्नुको उद्देश्य केवल परिस्थितिलाई जाँच्न, र तिनीहरूसँग अझै पनि मुक्ति पाउने आशा छ कि छैन भनेर हेर्नका लागि हो। यो जाँच गर्नु हो। जाँच गर्ने यो तरिकापछाडिको स्वभाव के हो? यो दुष्ट स्वभाव हो। यो तरिका चाहे जति समयसम्म प्रकाश भए पनि, तिनीहरूले यो कुरा चाहे जसरी गरे पनि, वा यो जति कार्यान्वयन भए पनि, तिनीहरूले प्रकाश गर्ने स्वभाव निश्चय नै दुष्ट हुन्छ, किनभने त्यो गर्ने क्रममा तिनीहरूमा धेरै सोच, आशङ्का, र चिन्ताहरू हुन्छन्। जब तिनीहरूले यो दुष्ट स्वभाव प्रकाश गर्छन्, तब तिनीहरूले गर्ने कुन कार्यले तिनीहरू मानवता भएका र सत्यता अभ्यास गर्न सक्ने मानिस हुन् भन्ने देखाउँछ, र तिनीहरूमा दुष्ट सार नभई यो दुष्ट स्वभाव मात्र छ भन्ने कुराको पुष्टि गर्छ? यस्ता कुराहरू गरे र बोलेपश्चात्, विवेक, समझ, निष्ठा, र मर्यादा हुनेहरूले हृदयमा असहजता र पीडा महसुस गर्छन्। तिनीहरू वेदनामा पर्छन् र यसो सोच्छन्, “मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएको छु; मैले कसरी परमेश्वरलाई जाँच्न सक्छु? म कसरी अझै पनि आफ्नै गन्तव्यका बारेमा मग्न रहन, र परमेश्वरबाट केही कुरा निकाल्न र परमेश्वरलाई मलाई एउटा ठोस जवाफ दिन लगाउन त्यस्तो विधि प्रयोग गर्न सक्छु? यो अत्यन्तै नीच कुरा हो।” तिनीहरू हृदयमा असहज महसुस गर्छन्, तर कार्य त भइसकेको छ, र वचनहरू त बोलिसकिएका छन्—तिनलाई फिर्ता लिन मिल्दैन। त्यसपछि तिनीहरूले बुझ्छन्, “ममा अलिकति सद्भावना र इन्साफको बोध भए पनि, म अझै पनि त्यस्ता नीच कार्यहरू गर्न सक्छु; यो त नीच व्यक्तिको व्यवहार हो! के यो परमेश्वरको परीक्षा लिने प्रयास होइन र? के यो परमेश्वरको शोषण गर्नु होइन र? यो अत्यन्तै नीच र निर्लज्ज कुरा हो!” यस्तो परिस्थितिमा कस्तो कार्य व्यावहारिक हुन्छ? के परमेश्वरसामु आएर प्राथना गर्दै आफ्नो पाप स्विकार्नु व्यावहारिक हुन्छ, कि आफ्नै तरिकाहरूमा अड्डी कस्दै टाँसिनु? (प्रार्थना गर्नु र पाप स्विकार्नु।) त्यसोभए, पूरै प्रक्रियाको दौरान, त्यो विचार फुराएको क्षणदेखि त्यसलाई व्यवहारमा उतार्ने, अनि तिनीहरूले प्रार्थना र स्वीकार गर्ने बिन्दुसम्म, कुन चरणचाहिँ भ्रष्ट स्वभाव सामान्य रूपमा प्रकट हुनु हो, कुन चरण विवेकले काम गर्न सुरु गर्नु हो, अनि कुन चरणमा सत्यता अभ्यासमा लागु हुनु हो? विचार फुर्नुदेखि कार्यान्वयन हुने चरण दुष्ट स्वभावद्वारा शासित हुन्छ। त्यसोभए, के आत्मनिरीक्षणको चरण तिनीहरूको विवेकको प्रभावद्वारा नियन्त्रित हुँदैन र? तिनीहरू आफूले गरेको कुरा गलत थियो भन्ने महसुस गर्दै आफैलाइ जाँच्न थाल्छन्—यो कुरा तिनीहरूको विवेकको प्रभावद्वारा नियन्त्रित हुन्छ। यसको पछाडि प्रार्थना र स्वीकारोक्ति हुन्छन्, जुन पनि तिनीहरूको निष्ठा, विवेक, र चरित्रद्वारा शासित हुन्छन्; तिनीहरूले ग्लानि महसुस गर्न, पश्चात्ताप गर्न, र परमेश्वरप्रति ऋणी महसुस गर्न सक्छन्, अनि तिनीहरू आफ्नै मानवता र भ्रष्ट स्वभावबारे चिन्तन गर्न र तिनलाई बुझ्न, र सत्यता अभ्यास गर्ने बिन्दुसम्म पुग्न पनि सक्छन्। के यसका तीन चरणहरू छैनन् र? भ्रष्ट स्वभावको प्रकटीकरणदेखि तिनीहरूको विवेको प्रभावसम्म, अनि त्यसपछि आफूले गरिरहेको दुष्टता त्याग्न, पश्चात्ताप गर्न, आफ्ना दैहिक चाहना र सोचहरू त्याग्न, आफ्नै भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्न, र सत्यता अभ्यास गर्न सक्नुसम्म—यी तीन चरणहरू मानवता र भ्रष्ट स्वभावहरू भएका साधारण मानिसहरूले हासिल गर्नुपर्ने कुरा हुन्। तिनीहरूको विवेकको चेतना, र तुलनात्मक रूपमा असल मानवताले गर्दा यी मानिसहरूले सत्यता अभ्यास गर्न सक्छन्। सत्यता अभ्यास गर्न सक्षम हुनुको अर्थ यस्ता मानिसहरूसँग मुक्ति पाउने आशा हुनु हो। अर्को शब्दमा भन्नुपर्दा, असल मानवता भएकाहरूमा मुक्ति पाउने सम्भावना तुलनात्मक रूपमा बढी हुन्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट पाँच: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग दुई)

जाँच भनेको दुष्ट स्वभाव सारको तुलनात्मक रूपमा सुस्पष्ट प्रकटीकरण हो। मानिसहरूले आफूले चाहेको जानकारी प्राप्त गर्न, निश्चित हुन, र त्यसपछि मनको शान्ति हासिल गर्न विभिन्न माध्यम प्रयोग गर्छन्। जाँच गर्ने अनेकौँ तरिका छन्, जस्तै परमेश्‍वरबाट कुराहरू निकाल्न शब्दहरू प्रयोग गर्ने, उहाँलाई जाँच्न कामकुराहरू प्रयोग गर्ने, मनमनै सोच्ने र चिन्तन-मनन गर्ने। … मानिसहरूले परमेश्‍वरलाई व्यवहार गर्न जुनसुकै विधि प्रयोग गरे पनि, यदि तिनीहरूलाई त्यसबारे आत्म-ग्लानि भयो, र त्यसपछि तिनीहरूले यी कार्य र स्वभावबारे ज्ञान पाए र तिनलाई तुरुन्तै उल्ट्याउन सके भने, समस्या त्यति ठूलो होइन—यो एउटा सामान्य भ्रष्ट स्वभाव हो। तर, यदि कसैले निरन्तर र हठपूर्वक यसो गरिरहन सक्छ, यो गलत हो र परमेश्‍वरले यसलाई तिरस्कार गर्नुहुन्छ भन्ने थाहा पाएर पनि त्यसैमा अडिग रहन्छन्, त्यसविरुद्ध कहिल्यै विद्रोह गर्दैनन् वा त्यसलाई त्याग्दैनन् भने, यो ख्रीष्टविरोधीको सार हो। ख्रीष्टविरोधीहरूको स्वभाव सार साधारण मानिसहरूकोभन्दा कुन हिसाबले फरक हुन्छ भने, ख्रीष्टविरोधीहरूले कहिल्यै आत्म-चिन्तन गर्दैनन् वा सत्यता खोज्दैनन्, बरु परमेश्‍वर, मानिसहरूप्रति उहाँको मनोवृत्ति, कुनै व्यक्तिसम्बन्धी उहाँको निष्कर्ष, र व्यक्तिको विगत, वर्तमान र भविष्यबारे उहाँका सोच र विचार के छन् भनी जाँच्न निरन्तर र हठपूर्वक विभिन्न विधि प्रयोग गर्छन्। तिनीहरूले परमेश्‍वरका अभिप्राय, सत्यता, र विशेष गरी आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सत्यताप्रति समर्पित हुने तरिका कहिल्यै खोज्दैनन्। तिनीहरूका सबै कार्यपछाडिको उद्देश्य परमेश्‍वरका सोच र विचारलाई सोधखोज गर्नु हो—यो एक ख्रीष्टविरोधी हो। ख्रीष्टविरोधीहरूको यो स्वभाव स्पष्ट रूपमा दुष्ट हुन्छ। तिनीहरू यी कार्यहरूमा संलग्न हुँदा र तिनीहरूले यी प्रकटीकरणहरू प्रदर्शन गर्दा, तिनीहरूमा अलिकति पनि ग्लानि वा पछुतोको सुराक हुँदैन। तिनीहरूले आफूलाई यी कुराहरूसँग जोडे पनि, तिनीहरूले कुनै पश्चात्ताप वा रोकिने अभिप्राय देखाउँदैनन्, बरु आफ्ना तरिकामै अडिग रहन्छन्। परमेश्‍वरप्रतिको तिनीहरूको व्यवहार, तिनीहरूको मनोवृत्ति, र तिनीहरूको तौरतरिकालाई हेर्दा, यो कुरा स्पष्ट हुन्छ कि तिनीहरूले परमेश्‍वरलाई आफ्नो प्रतिद्वन्द्वी मान्छन्। तिनीहरूका सोच र दृष्टिकोणमा परमेश्‍वरलाई जान्ने, परमेश्‍वरलाई प्रेम गर्ने, परमेश्‍वरमा समर्पित हुने, वा परमेश्‍वरको डर मान्ने कुनै विचार वा मनोवृत्ति हुँदैन; तिनीहरू केवल परमेश्‍वरबाट आफूले चाहने जानकारी प्राप्त गर्न, र तिनीहरूप्रति परमेश्‍वरको यथार्थ मनोवृत्ति र परिभाषा निश्चित गर्न आफ्नै विधि र माध्यमहरू प्रयोग गर्न चाहन्छन्। झनै गम्भीर कुरा त के हो भने, तिनीहरूले आफ्ना तौरतरिकालाई परमेश्‍वरका प्रकाशका वचनहरूसँग मिलाए पनि, यो व्यवहारलाई परमेश्‍वरले तिरस्कार गर्नुहुन्छ र यो मानिसले गर्नुपर्ने कुरा होइन भन्ने कुराको अलिकति सचेतना भए पनि, तिनीहरूले कहिल्यै त्यसलाई त्याग्नेछैनन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट छ: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग तीन)

येशूले त्यसलाई भन्‍नुभयो: “यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू।” के येशूले भन्‍नुभएका यी वचनहरूमा सत्यता छ? तिनमा अवश्य नै सत्यता छ। झट्ट हेर्दा, यी वचनहरू मानिसहरूले पछ्याउनुपर्ने आज्ञा, सरल वाक्य मात्रै हुन्, तैपनि, मानिस र शैतान दुवैले प्रायजसो यी वचनहरूलाई उल्‍लङ्घन गरेका छन्। त्यसैले, प्रभु येशूले शैतानलाई भन्‍नुभयो, “तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू,” किनभने शैतानले ठूलो प्रयत्नका साथ प्रायजसो यसै गर्थ्यो। शैतानले निर्धक्‍कसाथ र कुनै लाज विना यसो गर्यो भनेर भन्‍न सकिन्छ। परमेश्‍वरदेखि नडराउनु अनि परमेश्‍वरको डर मान्‍ने हृदय नहुनु शैतानको प्रकृति सारमै भएको कुरा हो। शैतानले परमेश्‍वरको छेउमा खडा भएर उहाँलाई देख्‍न सक्दा समेत, त्यसले परमेश्‍वरलाई परीक्षा नगरीकन बस्‍न सकेन। त्यसकारण, येशूले शैतानलाई भन्‍नुभयो, “तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू।” परमेश्‍वरले धेरै पटक शैतानलाई भन्‍नुभएका वचनहरू यिनै हुन्। त्यसकारण, के यो वाक्यलाई वर्तमान दिनमा लागू गर्नु उचित हुन्छ? (हुन्छ, किनभने हामीले पनि बारम्बार परमेश्‍वरको परीक्षा गर्छौं।) किन मानिसहरूले बारम्बार परमेश्‍वरको परीक्षा गर्छन्? के मानिसहरू भ्रष्ट शैतानिक स्वभावले भरिएकाले यस्तो भएको हो? (हो।) के शैतानका वचनहरू मानिसहरूले प्रायजसो भन्‍ने कुराभन्दा माथि छन्? अनि कस्ता परिस्थितिहरूमा मानिसहरूले यी वचनहरू बोल्छन्? मानिसहरूले यस्ता कुराहरू जुनसुकै समय र स्थानमा भन्दै आइरहेका छन् भनेर भन्‍न सकिन्छ। यसले मानिसहरूको स्वभाव शैतानको भ्रष्ट स्वभावभन्दा फरक छैन भन्‍ने कुरा प्रमाणित गर्छ। प्रभु येशूले एक-दुई वटा सरल वचनहरू, अर्थात् सत्यतालाई प्रतिनिधित्व गर्ने वचनहरू, मानिसहरूलाई चाहिने वचनहरू बोल्‍नुभयो। तैपनि, यस परिस्थितिमा, के शैतानसँग तर्क गर्नको लागि प्रभु येशूले त्यसरी बोलिरहनुभएको थियो? उहाँले शैतानलाई जे भन्‍नुभयो के त्यसमा कुनै आक्रामक कुरा थियो? (थिएन।) प्रभु येशूले आफ्‍नो हृदयमा शैतानको परीक्षाको बारेमा कस्तो महसुस गर्नुभयो? के उहाँले एकदमै मन नपर्ने र घृणाको अनुभव गर्नुभयो? प्रभु येशूले एकदमै मन नपर्ने र घृणाको अनुभव गर्नुभयो, तैपनि उहाँले शैतानसँग तर्क गर्नुभएन, उहाँले कुनै पनि ठूलो सिद्धान्तहरूको बारेमा बोल्‍ने कुरा त परै जाओस्। किन त्यसो भयो? (किनभने शैतान सधैँ यस्तै हो; त्यो कहिल्यै परिवर्तन हुन सक्दैन।) के शैतानले तर्क गर्न सक्दैन भनेर भन्‍न सकिन्छ? (सकिन्छ।) के परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर शैतानले पहिचान गर्नसक्छ? परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर शैतानले कहिल्यै पहिचान गर्नेछैन अनि परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर त्यसले कहिल्यै स्वीकार गर्नेछैन; यो त्यसको प्रकृति हो। शैतानको प्रकृतिको अझै अर्को पक्ष पनि छ, जुन घृणित छ। यो के हो? प्रभु येशूलाई परीक्षा गर्ने प्रयासको क्रममा, शैतानले आफू सफल नभए पनि, त्यसो गर्ने प्रयास गर्नेछु भनी विचार गर्‍यो। त्यसलाई दण्ड हुने भए पनि, त्यसले परीक्षा गर्ने निर्णय गर्‍यो। त्यसो गरेर त्यसले कुनै पनि फाइदा प्राप्त नगरे पनि आखिरसम्‍मै आफ्‍नो प्रयासमा दृढ रहँदै र परमेश्‍वरको विरुद्धमा खडा हुँदै त्यसले परीक्षा गर्‍यो। यो कस्तो प्रकारको प्रकृति हो? के यो दुष्ट होइन र?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

अन्त्यमा, म तिमीहरूलाई तीनवटा सल्लाहहरू दिन चाहन्छु: पहिलो, परमेश्‍वरलाई जाँच नगर्। तैँले परमेश्‍वरलाई जति धेरै बुझे पनि, तैँले परमेश्‍वरको स्वभावबारे जति नै धेरै जाने पनि, उहाँलाई कदापि जाँच नगर्। दोस्रो, परमेश्‍वरसित हैसियतको निम्ति नलड्। परमेश्‍वरले तँलाई जस्तो प्रकारको हैसियत दिनुभए पनि वा तँलाई जस्तो प्रकारको काम सुम्पिनुभए पनि, तँलाई जस्तो प्रकारको कर्तव्य पूरा गर्न खडा गर्नुभए पनि, र परमेश्‍वरको निम्ति तैँले आफैलाई जति नै समर्पित र बलिदान गरेको भए पनि, हैसियतको निम्ति उहाँसित कदापि प्रतिस्पर्धा नगर्। तेस्रो, परमेश्‍वरसित प्रतिस्पर्धा नगर्। उहाँले तँसित जे गर्नुहुन्छ, तेरो निम्ति जे बन्दोबस्त गर्नुहुन्छ र जुन कुराहरू तँकहाँ ल्याउनुहुन्छ, चाहे ती कुराहरूलाई तैँले बुझे पनि, नबुझे पनि वा त्यसप्रति तैँले आफैलाई समर्पण गर्न सके पनि, नसके पनि, परमेश्‍वरसित कदापि प्रतिस्पर्धा नगर्। यदि यी तीन सल्लाहहरूलाई तैँले पालना गर्न सक्छस् भने, तँ लगभग सुरक्षित नै हुनेछस्, र उहाँलाई क्रोधित तुल्याउनेतर्फ तँ उन्मुख हुनेछैनस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

परमेश्‍वरको सारमा प्रेमको एक अंश हुने भए तापनि अनि उहाँ प्रत्येक व्यक्तिप्रति कृपालु हुनुभए तापनि, मानिसहरूले उहाँको सार मान-मर्यादाको सार पनि हो भन्‍ने तथ्यलाई बेवास्ता गरेका र बिर्सेका छन्। उहाँमा प्रेम छ भन्नुको अर्थ मानिसहरूले उहाँमा कुनै भावना वा प्रतिक्रिया जागृत नगराईकनै उहाँलाई स्वतन्त्रतापूर्वक ठेस पुर्‍याउन सक्छन् भन्‍ने होइन, न त उहाँमा कृपा छ भन्‍ने तथ्यले नै उहाँले मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्‍ने बारेमा उहाँसँग कुनै सिद्धान्त नै छैन भन्‍ने जनाउँछ। परमेश्‍वर जीवित हुनुहुन्छ; उहाँ वास्तविक रूपमा अस्तित्वमा हुनुहुन्छ। उहाँ न त कल्पना गरिएको कठपुतली हुनुहुन्छ न त कुनै वस्तु नै हुनुहुन्छ। उहाँ अस्तित्वमा हुनुभएको हुनाले हामीले सधैँ उहाँको हृदयको आवाजलाई सावधानीपूर्वक सुन्नुपर्छ, उहाँको मनोवृत्तिप्रति एकदमै राम्ररी ध्यान दिनुपर्छ, र उहाँका भावनाहरूलाई बुझ्न थाल्नुपर्छ। हामीले परमेश्‍वरलाई परिभाषित गर्न मानवीय कल्पनाहरूको प्रयोग गर्नु हुँदैन, न त हामीले परमेश्‍वरलाई मानिसहरूप्रति मानवीय कल्पनाहरूको आधारमा मानवीय रूपले व्यवहार गराउन उहाँमा मानवीय सोचहरू र इच्छाहरू नै लाद्नु हुन्छ। यदि तैँले यसो गरिस् भने, तैँले परमेश्‍वरलाई क्रोधित पार्दैछस्, उहाँको आक्रोशको परीक्षा लिँदैछस् र उहाँको मान-मर्यादालाई चुनौती दिँदैछस्! यसरी, तिमीहरूले यो कुराको गम्भीरतालाई बुझिसकेपछि, म तिमीहरू प्रत्येकलाई तिमीहरूको आफ्नो कार्यमा सावधान र विवेकी हुन आग्रह गर्छु। बोलीमा पनि सावधान र विवेकी होऊ—तिमीहरूले परमेश्‍वरप्रति कसरी व्यवहार गर्ने भन्‍ने बारेमा, तिमीहरू जति धेरै सावधान र विवेकी हुन्छौ त्यति नै धेरै राम्रो हुन्छ! जब तैँले परमेश्‍वरको मनोवृत्ति के-कस्तो छ भन्‍ने बुझ्दैनस्, तब तैँले जथाभाबी रूपमा बोल्ने नगर्नू, आफ्ना कार्यहरूमा लापरवाह नहुनू, अनि त्यतिकै नाम-वर्ग झुन्ड्याइदिने नगर्नू। अझै महत्त्वपूर्ण रूपमा, मनोमानी ढङ्गले कुनै पनि निष्कर्षहरू ननिकाल्नू। बरु, तैँले पर्खनुपर्छ र खोजी गर्नुपर्छ; यी कार्यहरू पनि परमेश्‍वरको डर मान्नु अनि दुष्टताबाट अलग रहनुको एक अभिव्यक्ति हुन्। सबैभन्दा मुख्य रूपमा, यदि तैँले यो कुरा हासिल गर्न सकिस् भने, अनि सबैभन्दा मुख्य रूपमा, यदि तँसँग यो मनोवृत्ति छ भने, परमेश्‍वरले तँलाई तेरो मूर्खता, अज्ञानता र वस्तु वा घटनापछाडिका कारणहरूको बुझाइको अभावको लागि तँलाई दोष लगाउनुहुन्न। बरु, परमेश्‍वरलाई ठेस पुर्‍याउन डराउने तेरो मनोवृत्तिको कारण, उहाँको इच्छाहरूको सम्मान अनि उहाँप्रति समर्पित हुने इच्छुकताको कारण, परमेश्‍वरले तँलाई सम्झनुहुनेछ, तँलाई मार्गनिर्देशन र अन्तर्ज्ञान प्रदान गर्नुहुनेछ, वा तेरो अपरिपक्वता र अज्ञानतालाई सहन गर्नुहुनेछ। यसको विपरीत, यदि तेरो मनोवृत्ति चाहिँ अनादरकारी छ भने—आफूलाई मनलाग्दो रूपमा उहाँको मूल्याङ्कन गर्ने वा मनोमानी ढङ्गले उहाँका विचारहरू अनुमान वा परिभाषित गर्ने गरेमा—परमेश्‍वरले तँलाई दोषी ठहराउनुहुनेछ, तँलाई अनुशासनमा राख्‍नुहुनेछ अनि तँलाई सजाय समेत दिनुहुनेछ; वा उहाँले तेरो बारेमा टीकाटिप्पणी गर्न सक्नुहुनेछ। शायद यो टीकाटिप्पणी तेरो परिणामसँग सम्‍बन्धित हुनेछ। त्यसकारण, म एक पटक फेरि जोड दिन चाहन्छु: परमेश्‍वरबाट आउने कुराहरूको बारेमा तिमीहरू प्रत्येक सावधान र विवेकी हुनुपर्छ। जथाभाबी रूपमा बोल्ने नगर्नू अनि आफ्ना कार्यहरूमा लापरवाह नहुनू। केही कुरा बोल्नुभन्दा अगाडि, तैँले रोकिएर सोच्नुपर्छ: के यो मेरो कार्यले परमेश्‍वरलाई क्रोधित पार्छ? के यो कार्य गर्दा मैले परमेश्‍वरको डर मानिरहेको हुन्छु? सामान्य कुराहरूमा पनि, तैँले यी प्रश्नहरूलाई हल गर्नुपर्छ र थप समय दिई तिनीहरूको बारेमा सोच्नुपर्छ। यदि तैँले सबै पक्षहरूमा, सबै कुराहरूमा, सबै समयहरूमा यी सिद्धान्तहरू अनुसार सच्चा रूपमा अभ्यास गर्छस् भने र खास गरी तैँले कुनै कुरा नबुझ्दा त्यस्तो मनोवृत्ति अँगाल्छस् भने, परमेश्‍वरले सधैँ तँलाई मार्गनिर्देशन दिनुहुनेछ र तँलाई पछ्याउने मार्ग प्रदान गर्नुहुनेछ। मानिसहरूले जुनसुकै प्रकारको प्रदर्शन गरे तापनि परमेश्‍वरले तिनीहरूलाई स्पष्ट र सरल रूपमा हेर्नुहुन्छ, र उहाँले तेरा यी प्रदर्शनहरूको सही र उपयुक्त मूल्याङ्कन गरिदिनुहुनेछ। तैँले अन्तिम परीक्षाबाट गुज्रिसकेपछि परमेश्‍वरले तेरा सबै व्यवहारहरूलाई लिनुहुनेछ र तेरो परिणाम निर्क्योल गर्नको लागि तिनीहरूलाई सारांशित गर्नुहुनेछ। यो नतिजाले शङ्काको छाँयासम्म पनि नहुने गरी प्रत्येक व्यक्तिलाई विश्‍वास दिलाउँछ। म तिमीहरूलाई यहाँ यो कुरा बताउन चाहन्छु: तिमीहरूको प्रत्येक कर्म, तिमीहरूको प्रत्येक कार्य अनि तिमीहरूको प्रत्येक सोचले तिमीहरूको नियति निर्धारण गर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

परमेश्‍वरका विश्‍वासीहरूले सत्यतालाई बुझ्नुपर्छ, परमेश्‍वरका वचन अझ धेरै पढ्नुपर्छ, र परमेश्‍वरको खुलासामार्फत मानिसको प्रकृतिबारे थाहा पाउनुपर्छ र मानिसको सार स्पष्ट रूपमा देख्नुपर्छ। परमेश्‍वरको वचनको खुलासाले मानिसको प्रकृति खुलासा गर्छ, यसले मानिसहरूलाई तिनीहरूको सार के हो भनेर सिकाउँछ र आफ्नो भ्रष्टताको सार स्पष्ट रूपमा देख्न सघाउँछ। यो एकदमै महत्त्वपूर्ण कुरा हो। शैतान एउटा अराजक कुरा हो र त्यसले बोल्ने सैतानी बोलीहरू बुझ्न कठिन हुन्छ। परमेश्‍वरले त्यसलाई सोध्नुभयो, “तँ कहाँबाट आइस्?” र सैतानले यसरी जवाफ दियो, “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” (अय्यूब १:७)। त्यसले दिएको उत्तरलाई ध्यानपूर्वक विचार गर त। यो आइरहेको हो वा गइरहेको हो? यसको अर्थ बुझ्न कठिन छ, त्यसैले मैले यी वचनहरू अराजक हुन् भनेको हुँ। यी वचनहरूका आधारमा शैतान अराजक हो भन्‍ने देख्न सकिन्छ। जब मानिसहरूलाई सैतानले भ्रष्ट बनाउँछ, तब तिनीहरू पनि अराजक बन्नेछन्। तिनीहरूले गर्ने कुनै पनि काममा तिनीहरूसँग कुनै मानक हुँदैन, कुनै मापदण्ड हुँदैन र कुनै सिद्धान्त हुँदैन। त्यसैले, कुनै पनि व्यक्ति सजिलै बरालिन सक्छ। सैतानले हव्वालाई यसो भन्दै लोभ्यायो, “तिमी त्यो रुखको फल किन खाँदैनौ?” र हव्वाले यसो भनेर उत्तर दिई, “हामीले त्यो रुखको फल खायौँ भने हामी मर्नेछौँ भनेर परमेश्‍वरले भन्नुभएको छ।” त्यसपछि सैतानले भन्यो, “तिमीले त्यो रुखको फल खायौ भने तिमी मर्नेछौ नै भन्‍ने छैन।” यी वचनहरूभित्र हव्वालाई लोभ्याउने इरादा थियो। तिनले त्यो रुखबाट फल खाएमा तिनी मर्नेछैनन् भनेर निश्चितता साथ भन्नुको सट्टा, त्यसले तिनलाई मर्नेछौ नै भन्‍ने छैन भनेर मात्र भन्यो, जसले गर्दा तिनले यसरी सोचिन्, “यदि म मर्नेछु नै भन्‍ने छैन भने, म यो फल खान सक्छु।” लोभलाई थाम्न नसकेर तिनले त्यो फल खाइन्। यसरी सैतानले हव्वालाई पाप गर्नका लागि फुस्ल्याउने आफ्नो लक्ष्य प्राप्त गर्‍यो। यसका लागि त्यसले जिम्मेवारी लिएन, किनभने त्यसले उनीलाई यो फल खान जबरजस्ती गरेको थिएन। हरेक व्यक्तिभित्र सैतानी स्वभाव हुन्छ; प्रत्येकको हृदयमा असङ्ख्य विषहरू हुन्छन्, जसको प्रयोग गरेर शैतानले परमेश्‍वरको परीक्षा लिन्छ र मानिसलाई फुस्ल्याउँछ। कहिलेकाहीँ तिनीहरूको वाणीमा सैतानको आवाज र लवज मिसिएको हुन्छ, र लोभ्याउने र परीक्षा लिने इरादा भएको हुन्छ। मानिसको विचार र सोच सैतानका विषहरूले भरिएका हुन्छन् र तिनीहरूले यसको कडा दुर्गन्ध छोड्छन्। कहिलेकाहीँ, मानिसहरूको हेराइ वा गराइबाट पनि लोभ्याउने र परीक्षा लिने खालको यस्तै दुर्गन्ध आउँछ। कतिपय मानिस भन्छन्, “यदि मैले यसरी नै पछ्याइरहेँ भने पक्कै पनि केही प्राप्त गर्नेछु। मैले सत्यतालाई नपछ्याए पनि परमेश्‍वरलाई अन्तसम्म नै पछ्याउन सक्छु। म सब थोक त्याग गर्छु र इमानदार भएर आफूलाई परमेश्‍वरका लागि समर्पित गर्दछु। ममा अन्तिमसम्मै डटिरहने शक्ति छ। मबाट केही अपराध भयो भने पनि परमेश्‍वरले ममाथि कृपा गर्नुहुनेछ र मलाई त्याग्नुहुनेछैन।” तिनीहरूलाई आफूले यो के भनिरहेको छु भन्‍ने पनि थाहा हुँदैन। मानिसभित्र धेरै भ्रष्ट कुरा हुन्छन्—यदि तिनीहरू सत्यतालाई पछ्याउँदैनन् भने कसरी परिवर्तन हुन सक्छन्? यदि परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको भ्रष्टताको स्तरका आधारमा सुरक्षा गर्न छोड्नुभयो भने, तिनीहरू कुनै पनि क्षण पतन हुन र परमेश्‍वरलाई धोका दिन सक्छन्। के तँ यो कुरामा विश्‍वास गर्छस्? तैँले आफूमाथि जतिसुकै जोड लगाए पनि यो काम पूरा गर्न सक्दैनस्, किनभने परमेश्‍वरको कामको यो अन्तिम चरण भनेको विजेताहरूको समूह बनाउनु हो। के यसो गर्नु तैँले सोचेजस्तै सजिलो छ? यो अन्तिम रूपान्तरणका लागि कुनै पनि व्यक्ति शतप्रतिशत वा ८० प्रतिशतसम्म पनि परिवर्तन हुनुपर्दैन, तर कम्तीमा पनि ३० देखि ४० प्रतिशत परिवर्तन हुनुपर्छ। कम्तीमा पनि, तैँले आफूभित्र रहेका परमेश्‍वरलाई प्रतिरोध गर्ने ती कुराहरू खोतलेर बाहिर निकाली, धोइपखाली गरी रूपान्तरण गर्नुपर्छ, जो तेरो हृदयको गहिराइभित्र गडिएर रहेका छन्। त्यसपछि मात्र तैँले मुक्ति पाउनेछस्। जब तँ परमेश्‍वरको मापदण्डअनुसार ३० देखि ४० वा त्योभन्दा बढी ६० देखि ७० प्रतिशत रूपान्तरण हुन्छस्, तब यसले तैँले सत्यता प्राप्त गरेको र तँ सारभूत रूपमा परमेश्‍वरसँग अनुकूल भएको छस् भन्‍ने देखाउँछ। अर्को पटक तँमाथि कुनै विपत्ति आयो भने पनि, परमेश्‍वरलाई प्रतिरोध गर्न वा उहाँको स्वभावलाई चिढ्याउन तँलाई गाह्रो हुनेछ। यसरी मात्रै तँ सिद्ध हुन र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सही मार्ग चुन्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो

सम्बन्धित भजनहरू

मानिसलाई परमेश्‍वरका तीन चेतावनीहरू

अघिल्लो: १०. परमेश्‍वरदेखि सावधान रहने र उहाँलाई गलत बुझ्ने समस्या कसरी समाधान गर्ने

अर्को: १२. परमेश्‍वरलाई सीमित पार्ने र मूल्याङ्कन गर्ने समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्