१२. परमेश्‍वरलाई सीमित पार्ने र निन्दा गर्ने समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वर र मानिसको बारेमा उही शब्दहरू प्रयोग गरी बताउन सकिँदैन। उहाँको सार र उहाँको कार्य मानिसका लागि अति नै अथाह र बुझ्नै नसकिने हुन्छन्। यदि परमेश्‍वरले व्यक्तिगत रूपले आफ्नो कार्य नगर्नुभएको भए र मानिसको संसारमा उहाँका वचनहरू नबोल्‍नुभएको भए, मानिसले कहिल्यै पनि परमेश्‍वरको इच्छा बुझ्न सक्‍नेथिएन। त्यसैले, आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा समर्पण गर्नेहरूले पनि उहाँको अनुमोदन प्राप्त गर्न सक्‍नेथिएनन्। यदि परमेश्‍वरले कामको योजना बनाउनुभएन भने, मानिसले त्यो काम जति नै राम्रो गरे पनि त्यो सब व्यर्थको हुनेछ, किनकि परमेश्‍वरका विचारहरू सधैँ मानिसका विचारहरूभन्दा उच्च हुन्छन्, र परमेश्‍वरको बुद्धि मानिसको समझभन्दा धेरै हुन्छ। यसैले म भन्छु कि जसले परमेश्‍वर र उहाँको कार्यलाई “पूर्ण रूपमा बुझेको” दाबी गर्छन्, तिनीहरू धेरै अयोग्य छन्; तिनीहरू सबै आफैमा अति विश्‍वस्त र अनभिज्ञ छन्। मानिसले परमेश्‍वरको कार्यलाई परिभाषित गर्नु हुँदैन; अझ भन्‍ने हो भने, मानिसले परमेश्‍वरको कार्यलाई परिभाषित गर्न सक्दैन। परमेश्‍वरको नजरमा, मानिस कमिलाजस्तै महत्त्वहीन छ; त्यसैले मानिसले कसरी परमेश्‍वरको कार्यलाई बुझ्न सक्छ र? जसले गर्वसाथ “परमेश्‍वरले यसरी वा त्यसरी कार्य गर्नुहुन्न” वा “परमेश्‍वर यस्तो वा त्यस्तो हुनुहुन्छ” भन्छन्—के उनीहरू अहङ्कारसाथ बोलिरहेका हुँदैनन् र? हामी सबैले जान्नुपर्छ कि देहबाट आएको मानिस शैतानद्वारा भ्रष्ट पारिएको छ। मानवजातिको स्वभाव नै परमेश्‍वरको विरोध गर्ने हुन्छ। मानवजाति परमेश्‍वरको बराबरी हुनै सक्दैन, परमेश्‍वरको कार्यमा मानवजातिले सल्लाह दिने कुरा त परै जाओस्। जहाँसम्‍म परमेश्‍वरले मानिसलाई कसरी डोऱ्याउनुहुन्छ भन्‍ने सवाल छ, यो परमेश्‍वर आफैले गर्नुहुने कार्य हो। मानिसले यो वा त्यो विचार व्यक्त नगरी अधीनमा बस्नु नै उचित हुन्छ, किनकि मानिस धुलो मात्र हो। परमेश्‍वरको खोजी गर्नु नै हाम्रो अभिप्राय भएकोले, हामीले हाम्रा धारणाहरूलाई परमेश्‍वरको ध्यान जाओस् भनी उहाँको कार्यमा थप्‍नु हुँदैन, हामीले जानीजानी परमेश्‍वरको कार्यको विरोध गर्न आफ्नो भ्रष्ट स्वभावलाई जानी-जानी र जोडदार रूपमा प्रयोग गर्ने कुरा त परै जाओस्। के त्यसले हामीलाई ख्रीष्ट-विरोधीहरू बनाउँदैन र? त्यस्ता मानिसहरूले कसरी परमेश्‍वरमा विश्‍वास गर्न सक्छन्? हामी परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छौं, र हामी उहाँलाई सन्तुष्ट पार्न र उहाँलाई हेर्न चाहन्छौं, त्यसैले हामीले सत्यताको बाटो खोज्नुपर्दछ, र परमेश्‍वर अनुरूप हुने उपायको खोजी गर्नुपर्छ। हामी उहाँप्रतिको हठपूर्ण विरोधमा खडा हुनु हुँदैन। त्यस्तो कार्यबाट के भलाइ हुन सक्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

के मानिसहरूले परमेश्‍वरको विविध र विभिन्न काम नजानेकाले, तिनीहरूले पवित्र आत्माको कार्यलाई ज्ञान र सिद्धान्तको अत्यन्त सानो कणले मापन गर्ने हुँदा परमेश्‍वरको विरोध गरेका र पवित्र आत्माको कामलाई अवरोध गरेका होइनन् र? यस्ता मानिसहरूको अनुभव सतही भए पनि, तिनीहरू अहङ्कारी र भोगी प्रकृतिका हुन्छन् र तिनीहरूले पवित्र आत्माको कार्यलाई घृणा गर्छन्, पवित्र आत्माको अनुशासनलाई बेवास्ता गर्छन्, यसको अलाबा पवित्र आत्माको कामलाई “पुष्टि गर्न” तिनीहरूको नगण्य पुरानो तर्कलाई प्रयोग गर्छन्। तिनीहरूले एउटा कार्यलाई धारण गर्छन् र तिनीहरूको आफ्नै शिक्षा र बुद्धिमा विश्‍वस्त हुन्छन् अनि तिनीहरू सारा संसारभरि यात्रा गर्न सक्षम छन् भनी विश्‍वस्त हुन्छन्। के यस्ता मानिसहरू पवित्र आत्माद्वारा तिरस्कृत मानिसहरू होइनन्, र के तिनीहरूलाई नयाँ युगद्वारा हटाइने छैनन् र? के परमेश्‍वरको सामु आएर खुल्‍लमखुल्‍ला उहाँको विरोध गर्नेहरू अज्ञानी र अबुझ घृणितहरू होइनन् र, जसले तिनीहरू कति प्रखर छन् भनी देखाउने प्रयास गरिरहेका हुन्छन्? बाइबलको नगण्य ज्ञानमा तिनीहरूले संसारको “शैक्षिक समुदाय” मा दङ्गा गर्ने गर्छन्, मानिसहरूलाई सिकाउने सतही सिद्धान्तद्वारा तिनीहरूले पवित्र आत्माको कार्यलाई उल्टाउन खोज्छन् र यसलाई तिनीहरूको आफ्नै वैचारिक प्रक्रियाको सेरोफेरोमा घुमाउने प्रयास गर्छन्। तिनीहरू अदूरदर्शी भए पनि, परमेश्‍वरको छ हजार वर्षको कामलाई एकै झलकमा हेर्ने प्रयास गर्छन्। यी मानिसहरूमा उल्लेख गर्न लायक कुनै अनुभूति हुँदैन। वास्तवमा, मानिसहरूमा जति धेरै परमेश्‍वर सम्‍बन्धी ज्ञान हुन्छ उत्ति नै तिनीहरू उहाँको न्याय गर्नमा सुस्त हुन्छन्। यसको अलाबा, तिनीहरू परमेश्‍वरको आजको काम सम्‍बन्धी तिनीहरूको नगण्य ज्ञानको मात्र कुरा गर्छन्, तर तिनीहरू तिनीहरूका न्यायहरूमा हतार गर्दैनन्। मानिसहरूले परमेश्‍वरलाई जति थोरै चिन्छन् तिनीहरू उत्ति नै अहङ्कारी र अति दृढ हुन्छन् र अझ धेरै ढिठ भएर परमेश्‍वरको अस्तित्वको घोषणा गर्छन्—तैपनि तिनीहरूले सिद्धान्तको मात्र कुरा गर्छन् र कुनै वास्तविक प्रमाण पेश गर्दैनन्। यस्ता मानिसहरू कुनै मूल्यका हुँदैनन्! पवित्र आत्माको कामलाई खेलको रूपमा हेर्नेहरू खेलबाड गर्नेहरू हुन्! पवित्र आत्माको नयाँ कामलाई अनुभव गर्दा होसियारी नहुनेहरू, बढी बोल्‍नेहरू न्याय गर्नुमा छिटो हुन्छन्, आफ्नो मनस्थितिलाई अनियन्त्रित छोड्नेहरूले पवित्र आत्माको कामको धार्मिकतालाई इन्कार गर्छन्, जसले यसको अपमान गर्छन् र ईश्‍वर-निन्दा पनि गर्छन्—के यस्ता अनादरणीय मानिसहरू पवित्र आत्माको कामप्रति अनजान हुँदैनन् र? यसको अलाबा के तिनीहरू महाघमण्डका मानिसहरू होइनन्, जो अन्तर्निहित रूपमा घमण्डी र अनियन्त्रित हुन्छन्? यस्ता मानिसहरूले पवित्र आत्माको काम स्वीकार गर्ने कुनै दिन नै आए पनि, परमेश्‍वरले यस्ता मानिसलाई अझै सहनुहुनेछैन। तिनीहरूले परमेश्‍वरको निम्ति काम गर्नेहरूलाई नीच रूपमा हेर्ने मात्र होइन, तर तिनीहरू परमेश्‍वर स्वयम्‌को ईश्‍वर-निन्दा पनि गर्छन्। यस्ता दुस्साहसी मानिसहरूलाई यो युगमा वा आउने युगमा क्षमा गरिनेछैन, र तिनीहरू नरकमा सदाको निम्ति नष्ट हुनेछन्! यस्ता अनादरणीय र भोगी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गरिरहन्छन्, र मानिसहरू जति धेरै यस्ता हुन्छन् उत्ति नै तिनीहरू परमेश्‍वरको प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने हुन्छन्। सबै अहङ्कारीहरू जन्‍मजातै अनियन्त्रित हुने, र कहिल्यै कसैको आज्ञापालन नगर्ने, के तिनीहरू सबै यही मार्गमा हिँड्दैनन् र? सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वरलाई तिनीहरूले दिनदिनै विरोध गर्दैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

यो जान, कि तिमीहरू परमेश्‍वरको कार्यलाई विरोध गर्छौ, वा आजको कामलाई नाप्‍नको लागि तिमीहरूका आफ्‍नै धारणाहरूको प्रयोग गर्छौ, किनभने तिमीहरूलाई परमेश्‍वरको कार्यका सिद्धान्तहरू थाहा छैन, र किनभने तिमीहरूले पवित्र आत्माको कार्यलाई रूखो तरिकाले व्यवहार गरेका हुनाले। परमेश्‍वरप्रतिको तिमीहरूको विरोध र पवित्र आत्माको कामप्रतिको अवरोध तिमीहरूका धारणा र अन्तर्निहित अहङ्कारले पैदा गरेको हो। परमेश्‍वरको कार्य गलत भएर होइन, बरु तिमीहरू प्राकृतिक रूपमै अत्यन्तै विद्रोही भएकोले यसो भएको हो। परमेश्‍वरमाथिको आफ्‍नो आस्थालाई भेटिसकेपछि, कतिपय मानिसहरूले मानिस कहाँबाट आएको हो भनेर समेत निश्‍चयताको साथ भन्‍न सक्दैनन्, तैपनि तिनीहरू पवित्र आत्माको कामका सही र गलत कुराहरूलाई मूल्याङ्कन गर्दै सार्वजनिक भाषणहरू दिने आँट गर्छन्। तिनीहरू टिप्‍पणीहरू गर्दै र अनुचित गफ लडाउँदै पवित्र आत्माको नयाँ काम भएका प्रेरितहरूलाई समेत भाषण दिन्छन्; तिनीहरूको मानवता अत्यन्तै नीच छ, र तिनीहरूमा अलिकति पनि चेतना छैन। के त्यस्ता मानिसहरूलाई पवित्र आत्माले तिरस्कार गरेर नरकको आगोद्वारा जलाउने दिन आउनेछैन र? तिनीहरूलाई परमेश्‍वरको कामको बारेमा थाहा छैन, तैपनि उहाँको कामको आलोचना गर्छन्, र कसरी काम गर्ने भनेर परमेश्‍वरलाई समेत निर्देशन दिने प्रयास गर्छन्। त्यस्ता अनुचित मानिसहरूले कसरी परमेश्‍वरलाई चिन्‍न सक्छन् र? खोजी गर्ने र अनुभव गर्ने प्रक्रियामा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ; आवेगमा आलोचना गरेर होइन तर पवित्र आत्‍माको अन्तर्दृष्टिद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ। परमेश्‍वर सम्‍बन्धी मानिसहरूको ज्ञान जति यथार्थ हुन्छ, तिनीहरूले त्यति नै कम विरोध गर्छन्। यसको विपरीत, मानिसहरूले परमेश्‍वरलाई जति कम चिन्छन्, तिनीहरूले उहाँको विरोध गर्ने सम्‍भावना त्यति नै बढी हुन्छ। तेरा धारणाहरू, तेरो पुरानो प्रकृति, र तेरो मानवता, चरित्र र नैतिक दृष्टिकोण तैँले परमेश्‍वरलाई प्रतिरोध गर्ने पूँजी हो, र तेरा नैतिकताहरू जति भ्रष्ट, तेरा गुणहरू जति घिन लाग्दो, र तेरो मानवता जति नीच बन्छ, तँ त्यति नै बढी परमेश्‍वरको शत्रु बन्छस्। जोसँग दह्रिला धारणाहरू हुन्छन् र जोसँग आत्म-धर्मी स्वभाव हुन्छ तिनीहरू देहधारी परमेश्‍वरको अझै बढी शत्रुतामा हुन्छन्; त्यस्ता मानिसहरू ख्रीष्ट विरोधीहरू हुन्। यदि तेरा धारणाहरूलाई सुधार गरिएन भने, ती सधैँ नै परमेश्‍वरको विरुद्ध हुनेछन्; तँ कहिल्यै पनि परमेश्‍वरसँग मिल्‍ने बन्‍नेछैनस्, र तँ उहाँबाट सधैँ अलग हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

यदि तिमीहरूले परमेश्‍वरलाई माटोबाट बनाइएको एउटा मूर्ति जस्तै मापन गर्न र सीमित गर्न आफ्नै धारणाको प्रयोग गर्छौ भने, र यदि तिमीहरूले परमेश्‍वरलाई बाइबलको सीमाभित्र मात्र सीमित राख्यौ र उहाँलाई कामको सीमित क्षेत्रभित्र मात्र राख्यौ भने तिमीहरूले परमेश्‍वरलाई दोष लगाएका छौ भनी यसले प्रमाणित गर्छ। पुरानो करारको युगका यहूदीहरूले परमेश्‍वरलाई मसीह भन्न सक्थे, र मसीह भनिने व्यक्ति मात्र परमेश्‍वर हुन सक्‍नुहुन्छ झैँ गरी परमेश्‍वरलाई तिनीहरूको हृदयमा राखिएको एक स्थिर मूर्तिको रूपमा लिएका हुनाले, र परमेश्‍वर (जीवनरहित) माटोको एउटा मूर्ति हुनुहुन्छ झैँ गरी मानवजातिले सेवा गरेको र आराधना गरेको हुनाले, तिनीहरूले त्यस बेलाको येशूलाई क्रूसमा झुन्ड्याएर मृत्युदण्ड दिए—यसरी दोषरहित येशूलाई मृत्युदण्ड दिइयो। परमेश्‍वर कुनै पनि अपराधबाट दोषरहित हुनुहुन्थ्यो, तैपनि मानिसले उहाँलाई छोड्न इन्कार गर्‍यो, अनि उहाँलाई मृत्युदण्ड दिन माग गरिरह्यो, त्यसैले येशूलाई क्रूसमा झुन्ड्याइयो। मानिससँग परमेश्‍वरको व्यवस्थापनको सिद्ध बुझाइ छ जस्तै गरी, परमेश्‍वरले गर्नुभएका सबै थोक मानिसले आफ्नो हतकेलामा राखेको छ जस्तै गरी परमेश्‍वर अपरिवर्तनशील हुनुहुन्छ भनी उसले सधैँ विश्‍वास गर्छ, र उहाँलाई एउटा पुस्तक अर्थात् बाइबलको आधारमा परिभाषित गर्छ। मानिसहरू चरम रूपमा हास्यास्पद, चरम रूपमा अहङ्कारी छन्, तिनीहरू सबैसँग बढाइचढाइ कुरा गर्ने अन्तर्निहित क्षमता हुन्छ। परमेश्‍वरको बारेमा तेरो ज्ञान जतिसुकै ठूलो भए तापनि तैँले परमेश्‍वरलाई चिनेको छैनस्, परमेश्‍वरको सबैभन्दा बढी विरोध गर्ने तँ नै होस्, र तैँले परमेश्‍वरलाई दोष लगाएको छस् भनी म अझै पनि भन्‍छु, किनकि तिमीहरू परमेश्‍वरको कामप्रति समर्पित हुन र परमेश्‍वरले सिद्ध तुल्याउनुहुने मार्गमा हिँड्न पूर्णतया असक्षम छौ। परमेश्‍वर मानिसका कार्यहरूदेखि किन कहिल्यै सन्‍तुष्‍ट हुनुभएको छैन? किनकि मानिसले परमेश्‍वरलाई चिन्दैन, किनकि उसँग थुप्रै धारणाहरू छन्, किनकि परमेश्‍वर सम्‍बन्धी उसको ज्ञान वास्तविकता अनुरूप हुँदैन, बरु कुनै भिन्‍नताविना एउटै विषयवस्तु एकोहोरो दोहोर्याइरहन्छ र हरेक परिस्थितिको निम्ति एउटै तरिका प्रयोग गर्छ। त्यसैले, परमेश्‍वर आज पृथ्‍वीमा आउनुभए पनि मानिसले फेरि उहाँलाई क्रूसमा टाँगेको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुष्‍टहरूलाई निश्‍चय नै दण्ड दिइनेछ

अहिले, धेरै मानिस यस्तो सोच्छन्, “परमेश्वरले आखिरी दिनहरूमा भनेका सबै कुरा वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तकमा छन्, परमेश्वरका थप वचनहरू छैनन्; परमेश्वरले भनेका कुरा त्यति नै हुन्,” होइन र? यस्तो सोच्नु ठूलो भुल हो! वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तकका वचनहरू त परमेश्वरका आखिरी दिनहरूको कामका सुरुवाती वचन, यो कामका वचनका एउटा अंश मात्र हुन्, यी वचनहरू मूलत: दर्शनका सत्यताहरूसँग सम्बन्धित छन्। पछि, अभ्यासका थुप्रै वृत्तान्तबारे पनि वचनहरू बोलिनेछ। त्यसैले, वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तक सार्वजनिक हुनुले परमेश्वरको काम एउटा चरणको अन्त्यमा पुगेको छ भन्ने अर्थ दिँदैन, झन् परमेश्वरका आखिरी दिनहरूको न्यायको काम अन्तिम निष्कर्षमा पुग्नु त परको कुरा हो। परमेश्वरले अझै पनि धेरै वचनहरू व्यक्त गर्नुहुनेछ, र यी वचनहरू व्यक्त गरिसकिएपछि पनि, कुनै व्यक्तिले परमेश्वरका सबै व्यवस्थापन कार्य समाप्त भएको छ भन्न मिल्दैन। जब सम्पूर्ण ब्रह्माण्डको काम समाप्त हुन्छ, तब मात्र व्यक्तिले छ हजार वर्षे व्यवस्थापन योजना सकिएको छ भन्न मिल्छ; तर त्यो बेला, के ब्रह्माण्डमा अझै पनि मानिसहरू अस्तित्वमा हुनेछन् र? जीवन वा मानवजाति रहेसम्म, परमेश्वरको व्यवस्थापन पनि जारी रहनैपर्छ। जब छ हजार वर्षे व्यवस्थापन योजना पूरा हुन्छ, यदि मानवजाति, जीवन र यो ब्रह्माण्ड रहन्छ भने, परमेश्वरले अझै पनि यी सब व्यवस्थापन गरिरहनु हुनेछ, तर त्यसलाई उप्रान्त छ हजार वर्षे व्यवस्थापन योजना भनिनेछैन। अहिले यसलाई परमेश्वरको व्यवस्थापन भनिन्छ। सायद भविष्यमा यसलाई अर्कै नाम दिइनेछ; त्यो मानवजाति र परमेश्वरका लागि अर्कै जीवन हुनेछ; त्यतिबेला पनि परमेश्वरले आजकै वचनहरू प्रयोग गरी मानिसहरूलाई अगुवाइ गर्नुहुनेछ भनेर भन्न मिल्दैन, किनकि यी वचन अहिलेको समयावधिका लागि मात्र उपयुक्त छन्। त्यसैले, परमेश्वरको कामलाई कहिल्यै परिभाषित नगर्। केही मानिस भन्छन्, “परमेश्वर मानिसहरूलाई यी वचनहरू मात्र दिनुहुन्छ, अरू केही दिनुहुन्न; उहाँ यी वचन मात्र भन्न सक्नुहुन्छ।” यो पनि त परमेश्वरलाई एउटा निश्चित दायराभित्र सीमित पार्नु हो। यो, अहिले राज्यको युगमा येशूको युगमा बोलिएका वचनहरू लागू गर्नुजस्तै हो—के त्यो उचित हुन्छ? कतिपय वचन लागु हुनेछन्, कतिपय हटाइनुपर्ने हुन्छ, त्यसैले तैँले परमेश्वरका वचनहरूलाई कहिल्यै हटाउन सकिँदैन भनेर भन्न मिल्दैन। के मानिसहरू कामकुरालाई सजिलै परिभाषित गर्छन्? केही क्षेत्रमा, तिनीहरू परमेश्वरलाई परिभाषित गर्छै गर्छन्। आज मानिसहरूले बाइबल पढेझैँ, सायद कुनै दिन तैँले वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तक पढ्नेछस्, र परमेश्वरको पाइला पछ्याउनेछैनस्। वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तक पढ्ने सही समय अहिले नै हो; कति वर्षपछि यो पुस्तक पढ्नु पुरानो भित्तेपात्रो पढ्नुजस्तै हुनेछ भन्ने कुरा निश्चित छैन, किनभने त्यो समयमा पुरानो कुराको ठाउँमा कुनै नयाँ कुरा आउनेछ। मानिसका आवश्यकताहरू परमेश्वरको कामअनुसार पैदा र विकास हुन्छ। त्यो बेला, मानव प्रकृति, र मानिसमा हुनुपर्ने नैसर्गिक क्षमता र गुणहरू अलि परिवर्तित भइसकेका हुनेछन्; यो संसार परिवर्तन भएपछि, मानवजातिका आवश्यकताहरू फरक हुनेछन्। कतिपय सोध्छन्: “के पछि परमेश्वर बोल्नुहुनेछ?” कतिपयले “परमेश्वर बोल्न सक्नुहुनेछैन, किनभने वचनको युगको काम सकिएपछि, अरू केही बोल्नै मिल्दैन, र अरू कुनै पनि वचनहरू झुटो हुनेछन्” भन्ने निष्कर्ष निकाल्नेछन्। के यो पनि गलत होइन? मानवजातिले परमेश्वरलाई परिभाषित गर्ने गल्ती सजिलै गर्छन्; मानिसहरू विगतमा टाँसिरहने र परमेश्वरलाई परिभाषित गर्ने झुकाव राख्छन्। तिनीहरू उहाँलाई प्रस्टसँग चिन्दैनन्, तर अझै पनि मनपरी उहाँको कामलाई परिभाषित गर्छन्। मानिसहरूमा यस्तो अहङ्कारी प्रकृति हुन्छ! तिनीहरू जहिले पनि विगतका पुराना धारणाहरूमा अडिरहने र बितेका दिनका कुराहरू आफ्नो हृदयमा राख्ने चाहना गर्छन्। तिनीहरू त्यसलाई आफ्नो पूँजीको रूपमा प्रयोग गर्छन्, अहङ्कारी र घमण्डी बन्छन्, आफूले सबै कुरा बुझेको सोच्छन्, र परमेश्वरको कामलाई परिभाषित गर्ने दुस्साहस गर्छन्। यसो गर्दा, के तिनीहरूले परमेश्वरको आलोचना गरिरहेका हुँदैनन् र? त्यसबाहेक, मानिसहरू परमेश्वरको नयाँ कामलाई कुनै चासो दिँदैनन्; यसले तिनीहरूलाई नयाँ कुरा स्वीकार गर्न कठिन हुन्छ भन्ने देखाउँछ, तैपनि तिनीहरू अन्धाधुन्ध परमेश्वरको कामलाई परिभाषित गर्छन्। मानिसहरू यति अहङ्कारी छन् कि तिनीहरूमा समझ नै छैन, तिनीहरू कसैको कुरा सुन्दैनन्, र परमेश्वरकोका वचनसमेत स्विकार्दैनन्। मानिसको प्रकृति नै यस्तो छ: पूर्णत: अहङ्कारी, आत्मधर्मी, र अलिकति पनि आज्ञापालन नगर्ने। जब फरिसीहरूले येशूलाई दोषी ठहराए, तिनीहरू यस्तै थिए। तिनीहरू यस्तो सोच्थे “तपाईं सही भए पनि, म तपाईंलाई पछ्याउनेछैनँ—यहोवा मात्र साँचो परमेश्वर हुनुहुन्छ।” आज, कतिपय यसो भन्छन्: “के उहाँ ख्रीष्ट हुनुहुन्छ र? उहाँ साँच्चै ख्रीष्ट हुनुभए पनि म उहाँलाई पछ्याउँदिनँ!” के यस्ता मानिसहरू छन्? धर्मका धेरै मानिस यस्तै छन्। यसले मानिसको स्वभाव अति भ्रष्ट छ, मानिसहरू मुक्ति पाउन योग्य छैनन् भन्ने कुरा देखाउँछ।

युगौँदेखिका सन्तहरूमध्ये मोशा र पत्रुसले मात्रै परमेश्वरलाई साँच्चै चिनेका थिए, र परमेश्वरबाट प्रशंसा पाएका थिए; तर, के तिनीहरूले परमेश्वरलाई बुझ्न सके? तिनीहरूले जे बुझे, त्यो पनि एकदम सीमित छ। तिनीहरू आफैले म परमेश्वरलाई चिन्छु भन्ने आँट गरेनन्। परमेश्वरलाई साँच्चै चिन्नेहरूले उहाँलाई परिभाषित गर्दैनन्, किनभने तिनीहरूलाई परमेश्वर असीमित र अमाप्य हुनुहुन्छ भनेर थाहा छ। परमेश्वरलाई नचिन्नेहरू नै उहाँलाई अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, त्यसलाई परिभाषित गर्ने झुकाव राख्छन्। तिनीहरू परमेश्वरबारे कल्पनामा चुर्लुम्मै डुबेका हुन्छन्, परमेश्वरले गरेका सबथोकबारे सजिलै धारणाहरू बनाउँछन्। त्यसैले, परमेश्वरलाई चिन्छु भनेर विश्वास गर्नेहरू परमेश्वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्, र ती मानिसहरू सबैभन्दा बढी खतरामा हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

मानवजातिलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ भन्‍ने कुरा थाहा पाएपछि, तिनीहरूले उहाँलाई प्रेमको प्रतीकको रूपमा परिभाषित गरे; तिनीहरूले के विश्‍वास गर्छन् भने, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरूले जे-जस्तो व्यवहार गरे तापनि, तिनीहरूले परमेश्‍वरलाई जे-जस्तो व्यवहार गरे तापनि र तिनीहरू जति नै विद्रोही भए तापनि, यी कुनै पनि कुराले केही फरक पर्दैन किनकि परमेश्‍वरसँग प्रेम छ र उहाँको प्रेम असीमित र अपरिमेय छ; परमेश्‍वरसँग प्रेम छ, त्यसैले उहाँ मानिसहरूप्रति सहनशील हुन सक्नुहुन्छ; र परमेश्‍वरसँग प्रेम छ त्यसैले उहाँ मानिसहरूप्रति कृपालु हुन सक्नुहुन्छ, तिनीहरूको अपरिपक्वताप्रति कृपालु हुन सक्नुहुन्छ, तिनीहरूको अज्ञानताप्रति कृपालु हुन सक्नुहुन्छ, र तिनीहरूको विद्रोहीपनप्रति कृपालु हुन सक्नुहुन्छ। के वास्तवमै हुने भनेको यस्तै होइन त? केही मानिसहरूको हकमा, तिनीहरूले एक पटक वा धेरै पटक परमेश्‍वरको धैर्यता अनुभव गरिसकेपछि, तिनीहरूले यी अनुभवहरूलाई परमेश्‍वरबारे तिनीहरूको आफ्नै बुझाइको महत्त्वपूर्ण कडीको रूपमा लिन्छन् र तिनीहरूले तिनीहरूप्रति उहाँ सधैँ धैर्य र कृपालु रहनुहुनेछ भन्‍ने विश्‍वास गर्छन् र त्यसपछि तिनीहरूले आफ्‍नो जीवनको सिलसिलामा, परमेश्‍वरको यो धैर्यतालाई उहाँले तिनीहरूप्रति गर्ने व्यवहारको मापदण्डको रूपमा लिन्छन्। अन्य यस्ता व्यक्तिहरू पनि छन् जसले एकपल्ट परमेश्‍वरको सहनशीलताको अनुभव गरिसकेपछि सधैँभरि परमेश्‍वरलाई सहनशील भनेर परिभाषित गर्छन्—र तिनीहरूको मस्तिष्कमा, यो सहनशीलता अनिश्चितकालीन, निसर्त र पूर्णतया असैद्धान्तिक समेत हुन्छ। के यस्ता विश्‍वासहरू सही छन् त? परमेश्‍वरको सार वा परमेश्‍वरको स्वभावको मामला छलफल गरिने हरेक समय तिमीहरू चकित भएजस्तो देखिन्छौ। तिमीहरूलाई यस्तो अवस्थामा देख्दा म धेरै बेचैन हुन्छु। तिमीहरूले परमेश्‍वरको सारसम्बन्धी धेरै सत्यताहरू सुनेका छौ; तिमीहरूले उहाँको स्वभावको बारेमा पनि धेरै छलफलहरू सुनेका छौ। तथापि, तिमीहरूको मस्तिष्कमा, यी मामलाहरू र यी पक्षहरूको सत्यता केवल सिद्धान्त र लिखित शब्दहरूमा आधारित सम्झनाहरूका रूपमा मात्रै हुन्छन्; तिमीहरूको दैनिक जीवनमा, तिमीहरूमध्ये कसैले पनि परमेश्‍वरको स्वभावलाई यो जे हो सोही रूपमा कहिल्यै अनुभव गर्न वा देख्न सकेको छैन। यसर्थ, तिमीहरू सबै तिमीहरूको विश्‍वासमा बेवकुफ दिमागवाला छौ; तिमीहरू सबैले अन्धो भई विश्‍वास गरिरहेका छौ, यो हदसम्म कि तिमीहरूले परमेश्‍वरप्रति अनादरकारी मनोवृत्ति राख्छौ र उहाँलाई बढारेर समेत पन्छाउँछौ। तिमीहरूले परमेश्‍वरप्रति यस प्रकारको मनोवृत्ति राख्दा यसले कतातर्फ डोर्‍याउँछ? यसले तिमीहरूलाई सधैँ परमेश्‍वरको बारेमा निष्कर्ष निकाल्ने बाटोतर्फ डोर्‍याउँछ। तिमीहरूले एकपल्ट केही ज्ञान हासिल गरिसकेपछि, तिमीहरूले सन्तुष्टि महसुस गर्छौ, मानौँ तिमीहरूले परमेश्‍वरलाई उहाँको सम्पूर्णतामा नै प्राप्त गरिसक्यौ। त्यसपछि, तिमीहरूले परमेश्‍वर यस्तै हुनुहुन्छ भनेर निष्कर्ष निकाल्छौ र तिमीहरूले उहाँलाई स्वतन्त्रतापूर्वक चलायमान हुन दिँदैनौ। यस बाहेक, जब परमेश्‍वरले कुनै नयाँ कार्य गर्नुहुन्छ, तिमीहरूले उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरालाई सजिलै अस्वीकार गर्छौ। एक दिन जब परमेश्‍वरले “म मानवजातिलाई अब फेरि कहिल्यै प्रेम गर्दिनँ; म अब फेरि कहिल्यै मानिसलाई कृपा प्रदान गर्नेछैनँ; तिनीहरूप्रति मसँग थप कुनै सहनशीलता वा धैर्यता छैन। म तिनीहरूप्रतिको चरम घृणा र द्वेषले घाँटीसम्म भरिएको छु” भनेर भन्नुहुन्छ, तब त्यस्ता भनाइहरूले मानिसहरूको हृदयको अन्तस्करणमा द्वन्द्व गराउनेछ। तिनीहरूमध्ये केहीले यसो समेत भन्‍नेछन्, “तपाईं अब उप्रान्त मेरो परमेश्‍वर हुनुहुन्न; तपाईं अब उप्रान्त मैले पछ्याउन चाहेको परमेश्‍वर हुनुहुन्न। यदि तपाईंले भन्‍ने कुरा यही हो भने तपाईं अब उप्रान्त मेरो परमेश्‍वर हुन लायक हुनुहुन्न र मैले तपाईंलाई पछ्याइराख्न जरुरी छैन। यदि तपाईं मलाई अब उप्रान्त कृपा, प्रेम र सहनशीलता प्रदान गर्नुहुन्न भने म तपाईंलाई पछ्याउन छोड्नेछु। यदि तपाईं मप्रति अनिश्चितकालीन रूपमा सहनशील हुनुहुन्छ भने, सधैँ मप्रति धैर्य हुनुहुन्छ भने, र तपाईंले मलाई तपाईं प्रेम हो, तपाईं धैर्यता हो र तपाईं सहनशीलता हो भनी हेर्न दिनुहुन्छ भने मात्रै म तपाईंलाई पछ्याउन सक्छु र तब मात्रै तपाईंलाई अन्त्यसम्म पछ्याउनको लागि मसँग आत्मविश्‍वास हुनेछ। मसँग तपाईंको धैर्यता र कृपा भएको हुँदा मेरो विद्रोह र मेरा अपराधहरूलाई अनिश्चितकालीन रूपमा माफ र क्षमा गर्न सकिनेछ, र मैले जुनसुकै समय र जुनसुकै ठाउँमा पाप गर्न सक्छु अनि मैले जुनसुकै समय र जुनसुकै ठाउँमा कबुल गरेर माफ पाउन सक्छु, र मैले तपाईंलाई जुनसुकै समय र जुनसुकै ठाउँमा रिस उठाउन सक्छु। तपाईंले मेरो बारेमा कुनै पनि रायहरू राख्नु वा निष्कर्षहरू निकाल्नु हुँदैन।” तिमीहरूमध्ये हरेकले यस प्रकारको मामलाको बारेमा आत्मपरक तवरले वा सचेत रूपले नसोच्ने भए तापनि, जब तिमीहरूले परमेश्‍वरलाई तिमीहरूको पाप क्षमा गर्न प्रयोग गरिने औजार वा सुन्दर गन्तव्य प्राप्त गर्न प्रयोग गरिने वस्तुको रूपमा लिन्छौ, तब तिमीहरूले जीवित परमेश्‍वरलाई सूक्ष्म रूपले आफ्नो विपक्षमा, तिमीहरूको शत्रुको रूपमा राखेका हुन्छौ। मैले देख्न सक्ने कुरा यही हो। तैँले “म परमेश्‍वरमा विश्‍वास गर्छु,” “म सत्यताको खोजी गर्छु,” “म मेरो स्वभावलाई परिवर्तन गर्न चाहन्छु,” “म अन्धकारको प्रभावबाट स्वतन्त्र हुन चाहन्छु,” “म परमेश्‍वरलाई सन्तुष्ट पार्न चाहन्छु,” “म परमेश्‍वरप्रति समर्पित हुन चाहन्छु,” “म परमेश्‍वरप्रति बफादार हुन चाहन्छु, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न चाहन्छु,” आदि इत्यादि कुरा निरन्तर भनिरहन सक्छस्। तथापि, तेरा शब्दहरू जतिसुकै नै मीठा लाग्ने भए तापनि, तैँले जति नै धेरै सिद्धान्तहरू जाने तापनि, र उक्त सिद्धान्त जति नै प्रभावशाली वा प्रतिष्ठित भए तापनि, यो मामलाको तथ्य कुरा के हो भने अहिले तिमीहरूमध्ये धेरै यस्ता छौ जसले आफूले ज्ञान हासिल गरेका नियमहरू, धर्मसिद्धान्तहरू, सिद्धान्तहरूलाई परमेश्‍वरको बारेमा निष्कर्ष निकाल्न कसरी प्रयोग गर्ने यसअघि नै जानिसकेका छौ र यसरी तिमीहरूले प्राकृतिक रूपमै उहाँलाई आफ्नो विपक्षमा उभ्याएका छौ। तैँले शब्द र धर्मसिद्धान्तहरूको ज्ञान हासिल गरेको हुनसक्‍ने भए तापनि तँ साँचो रूपले सत्यताको वास्तविकतामा प्रवेश गरेको छैनस्, त्यसैले, तैँले परमेश्‍वरको नजिक हुन, उहाँलाई चिन्न र उहाँलाई बुझ्न एकदमै कठिन छ। यो एकदमै खेदपूर्ण छ!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

मानिसहरू त्यसरी नै कठोर रूपमा नियमहरू लागू गर्न अनि त्यस्ता नियमहरू परमेश्‍वरलाई सीमांकित र परिभाषित गर्न प्रयोग गर्न चाहन्छन्, जसरी तिनीहरू परमेश्‍वरको स्वभाव बुझ्‍ने प्रयास गर्न सूत्रहरू प्रयोग गर्न चाहन्छन्। त्यसकारण, जहाँसम्म मानव सोचको कुरो छ, तिनीहरूलाई लाग्छ कि परमेश्‍वरले सोच्नुहुन्न, न त उहाँसँग कुनै अत्यावश्यक विचारहरू नै हुन्छन्। तर वास्तवमा, वस्तु र वातावरणमा आउने परिवर्तनअनुसार परमेश्‍वरका विचारहरू अटुट रूपान्तरणको अवस्थामा हुन्छन्। यी विचार रूपान्तरण हुँदै गर्दा, परमेश्‍वरको सारका फरक-फरक पक्षहरू प्रकट हुन्छन्। रूपान्तरणको यो प्रक्रियाको अवधिमा, परमेश्‍वरमा परिवर्तित हृदय भएकै क्षणमा, उहाँले मानवजातिलाई जे देखाउनुहुन्छ त्यो उहाँको जीवनको यथार्थ अस्तित्व हो, र उहाँको धर्मी स्वभाव गतिशील जीवनशक्तिले भरिपूर्ण छ। यसको साथै, परमेश्‍वरले आफ्नो क्रोध, कृपा, प्रेमिलो दयालुपन, र सहनशीलताको अस्तित्वको सत्यता मानवजातिसामु प्रमाणित गर्नको लागि आफ्‍नै साँचो प्रकाशहरू प्रयोग गर्नुहुन्छ। अवस्था जे-जसरी विकसित हुन्छन्, त्यसैअनुसार कुनै पनि समय र कुनै पनि स्थानमा उहाँको सारलाई प्रकट गरिनेछ। उहाँमा सिंहको क्रोध अनि आमाको कृपा र सहनशीलता छ। उहाँको धर्मी स्वभावले कुनै पनि व्यक्तिलाई कुनै पनि सवाल उठाउन, उल्लंघन गर्न, परिवर्तन गर्न, वा बिगार्न दिँदैन। सबै मामिला र सबै थोकमध्ये परमेश्‍वरको धर्मी स्वभावलाई—अर्थात्, उहाँको क्रोध र कृपालाई—कुनै पनि समय र कुनै पनि स्थानमा प्रकट गर्न सकिन्छ। उहाँले सारा सृष्टिको हरेक कुनामा यी पक्षको अत्यावश्यक प्रकटीकरण गर्नुहुन्छ, र बितेर जाने हरेक क्षणमा उहाँले तिनलाई जीवन्त शक्तिको साथ कार्यान्वयन गर्नुहुन्छ। परमेश्‍वरको धर्मी स्वभाव समय वा स्थानद्वारा सीमित छैन; अर्को शब्‍दमा भन्दा, उहाँको धर्मी स्वभाव समय वा स्थानका पाबन्दीअनुसार यान्त्रिक रूपमा होइन, बरु पूर्ण सहजताको साथ र सबै समय र स्थानमा व्यक्त वा प्रकट गरिन्छ। जब तैँले परमेश्‍वरको हृदय परिवर्तन भएको र उहाँले आफ्‍नो क्रोध व्यक्त गर्न छोड्नुभई निनवे सहरलाई नष्ट गर्नबाट पछि हट्नुभएको देख्छस्, के तँ परमेश्‍वर कृपालु र प्रेमिलो मात्र हुनुहुन्छ भनेर भन्‍न सक्छस्? के परमेश्‍वरको क्रोध खोक्रो शब्‍दहरूले बनेको छ भनेर भन्‍न सक्छस्? जब परमेश्‍वर भीषण क्रोधले चूर बन्‍नुहुन्छ र उहाँले आफ्‍नो कृपा फिर्ता लिनुहुन्छ, तब के तँ उहाँले मानवजातिप्रति कुनै साँचो प्रेमको अनुभूति गर्नुहुन्‍न भनेर भन्‍न सक्छस्? यो भीषण क्रोध मानिसहरूका दुष्ट कार्यहरूको प्रतिक्रिया स्वरूप परमेश्‍वरले व्यक्त गर्नुहुन्छ; उहाँको क्रोध त्रुटिपूर्ण छैन। मानिसहरूले गरेको पश्‍चात्तापको प्रतिक्रिया स्वरूप परमेश्‍वरको हृदय उत्प्रेरित हुन्छ, र यही पश्‍चात्तापले नै उहाँको हृदयमा परिवर्तन ल्याउँछ। जब उहाँ उत्प्रेरित हुनुहुन्छ, जब उहाँको हृदय परिवर्तन हुन्छ, र जब उहाँले मानिसप्रति आफ्‍नो कृपा र सहनशीलता देखाउनुहुन्छ, यी सबै पूर्ण रूपमा त्रुटिविहीन हुन्छन्; ती चोखो, विशुद्ध, निष्खोट र मिश्रणरहित हुन्छन्। जसरी उहाँको कृपा, कृपाभन्दा अरू केही पनि होइन, त्यसरी नै परमेश्‍वरको सहनशीलता ठ्याक्‍कै त्यही हो: सहनशीलता। उहाँको स्वभावले मानिसको पश्‍चात्ताप र उसको चालचलनमा आउने अन्तरहरूअनुसार क्रोध वा कृपा र सहनशीलतालाई प्रकट गर्छ। उहाँले जे प्रकट गर्नुभए पनि र जे व्यक्त गर्नुभए पनि, यी सबै विशुद्ध र प्रत्यक्ष हुन्छन्; यसको सार जुनसुकै सिर्जित प्राणीको सारभन्दा पृथक हुन्छ। जब परमेश्‍वरले आफ्ना कार्यहरूका अन्तर्निहित सिद्धान्तहरू व्यक्त गर्नुहुन्छ, ती कुनै पनि त्रुटि वा दागमुक्त हुन्छन्, अनि उहाँका सोच, विचार र उहाँले गर्नुहुने हरेक निर्णय र हरेक कार्य पनि त्यस्तै हुन्छन्। परमेश्‍वरले त्यसरी निर्णय गर्नुभएको हुनाले र त्यसरी कार्य गर्नुभएको हुनाले, आफ्‍ना काम-कार्यवाहीहरूलाई पनि त्यसरी नै पूरा गर्नुहुन्छ। उहाँका काम-कार्यवाहीहरूको स्रोत त्रुटिविहीन र निष्खोट भएकै कारणले ती सही र त्रुटिविहीन छन्। परमेश्‍वरको क्रोध त्रुटिविहीन छ। त्यसरी नै, परमेश्‍वरको कृपा र सहनशीलता—जुन कुनै पनि सिर्जित प्राणीसँग हुँदैन—पवित्र र त्रुटिविहीन छन्, र तिनले ध्यानपूर्वक गरिने सोचविचार र अनुभवलाई सामना गर्न सक्छन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

केही मानिसहरू परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू वास्तवमै सत्यता हुन् भन्‍ने देखेपछि उहाँमा विश्वास गर्न थाल्छन्। तर जब तिनीहरू परमेश्‍वरको घरमा पुग्छन् र परमेश्‍वर एक सामान्य व्यक्ति हुनुभएको कुरा देख्छन्, तब तिनीहरू मनमा धारणाहरू बनाउँछन्। तिनीहरूका वचन र कार्यहरू अनियन्त्रित हुन्छन्, तिनीहरू विशृङ्खल बन्छन्, र मनपरी मूल्याङ्कन र निन्दा गर्दै गैरजिम्मेवारीपूर्वक बोल्छन्। त्यस्ता दुष्ट मानिसहरूको प्रकाश यसरी नै हुन्छ। यी मानवताविहीन प्राणीहरू अक्सर दुष्ट कार्य गर्ने गर्छन् र मण्डलीको काममा बाधा पुर्‍याउँछन्, र तिनीहरूको कहिल्यै भलो हुनेछैन! तिनीहरू खुलेआम परमेश्‍वरलाई प्रतिरोध, निन्दा, मूल्याङ्कन र अपमान गर्छन्, र खुल्लमखुल्ला उहाँको ईशनिन्दा गर्दै आफूलाई उहाँविरुद्ध खडा गर्छन्। त्यस्ता मानिसहरू कठोर सजायको भागीदार हुनेछन्। केही मानिसहरू झूटा अगुवाको श्रेणीमा पर्छन्, र तिनीहरू आफूलाई हटाइएपछि निरन्तर रूपमा परमेश्‍वरप्रति आक्रोशित हुन्छन्। तिनीहरू भेलाहरूको फाइदा उठाउँदै तिनलाई आफ्ना धारणा फैलाइरहने र गुनासाहरू पोखिरहने अवसरका रूपमा प्रयोग गर्छन्; तिनीहरूले कठोर वा आफ्नो घृणा पोख्ने शब्दहरू पनि ओकल्न सक्छन्। के त्यस्ता मानिसहरू भूतप्रेत होइनन् र? परमेश्‍वरको घरबाट निकालिएपछि तिनीहरू पछुताउँछन् र आफूले क्षणिक मूर्खतामा गलत कुरा बोलेको दाबी गर्छन्। केही मानिसहरू तिनीहरूलाई खुट्टयाउन सक्दैनन् र “तिनीहरू निकै दयनीय छन्, र तिनीहरू हृदयदेखि नै पछुताइरहेका छन्। तिनीहरू आफू परमेश्‍वरप्रति ऋणी भएको र उहाँलाई नचिनेको भन्छन्, त्यसैले तिनीहरूलाई क्षमा गरिदिऔँ।” भन्‍ने गर्छन्। के त्यति सजिलै क्षमा दिन सकिन्छ र? मानिसहरूको त आफ्नै इज्जत हुन्छ, परमेश्‍वरको त झन् कुरै छोडौँ! यी मानिसहरूले ईशनिन्दा र उपहास गरेपश्चात् कतिपयलाई यिनीहरू पछुताइरहेका जस्तो लाग्न सक्छ, अनि यिनीहरूलाई माफ गरिदिन्छन् र यिनीहरूले क्षणिक मूर्खतामा कार्य गरेका हुन् भन्छन्—तर के यो क्षणिक मूर्खता थियो त? तिनीहरूका बोलीमा सधैँ कुनै न कुनै अभिप्राय हुने गर्छ, र तिनीहरू परमेश्‍वरको मूल्याङ्कन गर्ने आँट समेत गर्छन्। परमेश्‍वरको घरले तिनीहरूलाई प्रतिस्थापन गर्‍यो, अनि तिनीहरूले हैसियतका फाइदाहरू गुमाए र त्यसपछि, तिनीहरू हटाइने डरले कैयौँ गुनासो गर्छन् र नरमाइलो र पछुतो मान्दै धुरुधुरु रुन्छन्। के यसले केही राम्रो गर्छ? तेरा मुखबाट वचनहरू निस्किसकेपछि ती भुईँमा पोखिएको पानीजस्तै हुन्, जसलाई फिर्ता ल्याउन सकिँदैन। के परमेश्‍वरले मानिसहरूले आफूखुसी उहाँलाई प्रतिरोध, मूल्याङ्कन र ईशनिन्दा गरेको सहनुहुन्छ र? के उहाँले यसलाई त्यत्तिकै बेवास्ता गर्नुहुन्छ र? यदि त्यसो गर्नुहुन्छ भने परमेश्‍वरको कुनै इज्जत हुनेछैन। केही मानिसहरू आफ्नो प्रतिरोधपश्चात् भन्‍ने गर्छन्, “परमेश्‍वर, तपाईँको अमूल्य रगतले मलाई छुटकारा दियो। तपाईं हामीलाई मानिसहरूलाई सत्तरी गुणा सात पटक क्षमा गर्न लगाउनुहुन्छ—तपाईँले पनि मलाई क्षमा गर्नुपर्छ!” कस्तो लाजमर्दो! केही मानिसहरू परमेश्‍वरबारे अफवाह फैलाउँछन् र उहाँको निन्दा गरेपश्चात् भयभीत हुन थाल्छन्। दण्डित हुने डरले तिनीहरू तुरुन्तै घुँडा टेकेर “परमेश्‍वर! मलाई नत्याग्नुहोस्, मलाई दण्ड नदिनुहोस्। म कबुल गर्छु, म प्रायश्चित गर्छु, म तपाईँप्रति ऋणी छु, मैले गल्ती गरेँ।” भन्दै प्रार्थना गर्छन्। ल भन्, के त्यस्ता मानिसहरूलाई क्षमा गर्न सकिन्छ? सकिँदैन! किन सकिँदैन? तिनीहरूले गरेका कामले पवित्र आत्मालाई चिढ्याउँछ र पवित्र आत्मालाई ईशनिन्दा गर्ने पाप कहिल्यै माफ हुँदैन, चाहे त्यो यो जन्ममा होस् वा अर्को जन्ममा! परमेश्‍वरले उहाँका वचनहरू पूरा गरेरै छाड्नुहुन्छ। उहाँसँग इज्जत, क्रोध र धर्मी स्वभाव छ। के तँलाई परमेश्‍वर मानवसमान हुनुहुन्छ र कसैले उहाँप्रति अलिकति राम्रो व्यवहार गर्‍यो भने उहाँले उसले पहिले गरेका अपराधहरूलाई बेवास्ता गरिदिनुहुन्छ भन्‍ने लाग्छ? त्यस्तो हुँदैन! यदि तैँले परमेश्‍वरको प्रतिरोध गरिस् भने, के तेरो लागि ठीक हुनेछ त? यदि तैँले क्षणिक मूर्खताको कारण केही गलत कार्य गर्छस् वा कहिलेकाहीँ अलिकति भ्रष्ट स्वभाव प्रकट गर्छस् भने, त्यो कुरा बुझ्न सकिन्छ। तर यदि तैँले सिधै परमेश्‍वरको प्रतिरोध गर्छस्, उहाँविरुद्ध विद्रोह गर्छस् र आफूलाई उहाँविरुद्ध खडा गर्छस्, र तैँले उहाँलाई गाली र ईशनिन्दा गर्छस् र उहाँबारे अफवाह फैलाउँछस् भने तँ पूर्ण रूपमा नष्ट हुनेछस्। त्यस्ता मानिसहरूले अबउप्रान्त प्रार्थना गरिरहनुपर्दैन; तिनीहरूले दण्डित हुन प्रतीक्षा मात्र गरे हुन्छ। तिनीहरू अक्षम्य छन्! जब त्यो समय आउँछ, तब लाज पचाएर “परमेश्‍वर, कृपया मलाई माफ गर्नुहोस्!” भनेर नभन्। मलाई भन्‍नमा खेद छ, तर तैँले जसरी बिन्ती गरे पनि त्यो व्यर्थ हुनेछ। मानिसहरूले केही सत्यता बुझेपछि पनि, जानीजानी अपराध गर्छन् भने, तिनीहरूलाई क्षमा गर्न सकिँदैन। परमेश्‍वरले व्यक्तिका अपराधहरू सम्झनुहुन्‍न भनेर विगतमा भनिएको छ। त्यो कुराले परमेश्‍वरका प्रशासनिक आदेशहरूसँग कुनै सरोकार नराख्ने र परमेश्‍वरको स्वभावलाई नचिढ्याउने सानातिना अपराधहरूलाई जनाउँछ। तिनमा परमेश्‍वरको ईशनिन्दा र उपहास पर्दैनन्। तर यदि तैँले एकपटक पनि परमेश्‍वरको ईशनिन्दा, मूल्याङ्कन वा उपहास गरिस् भने, त्यो मेटाउनै नसकिने दाग हुनेछ। मानिसहरू आफूखुसी परमेश्‍वरको ईशनिन्दा र दुरुपयोग गर्ने, र त्यसपछि आशिष् पाउन उहाँबाट फाइदा उठाउने चाहना राख्छन्। दुनियाँमा कुनै पनि कुरा त्यति सस्तो छैन! मानिसहरू सधैँ परमेश्‍वर कृपालु र दयालु हुनुहुन्छ, उहाँ हितकारी हुनुहुन्छ, उहाँसँग विशाल र अमापनीय हृदय छ, उहाँ मानिसका अपराधहरू सम्झनुहुन्‍न र तिनीहरूका पहिलेका अपराध र कार्यहरूलाई कोट्याउनुहुन्‍न भनी सोच्ने गर्छन्। बितेका कुरालाई नकोट्याउने काम सानातिना कुराहरूमा मात्र लागु हुन्छ। परमेश्‍वरले उहाँलाई खुलेआम प्रतिरोध र ईशनिन्दा गर्नेहरूलाई कहिल्यै क्षमा गर्नुहुनेछैन।

मण्डलीका धेरैजसो मानिसहरूले परमेश्‍वरमा साँच्चै विश्वास गर्ने भए पनि तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुँदैन। यसले धेरैजसो मानिसहरूसँग परमेश्‍वरको स्वभावबारे साँचो ज्ञान छैन, त्यसैले तिनीहरूलाई परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न गाह्रो हुन्छ भन्‍ने देखाउँछ। यदि मानिसहरू परमेश्‍वरप्रतिको आफ्नो विश्वासमा उहाँको डर मान्दैनन् र उहाँदेखि भयभीत हुँदैनन्, र परमेश्‍वरको कामले तिनीहरूको स्वार्थलाई छुनेबित्तिकै मनपरी बोल्छन् भने, तिनीहरूले बोलिसकेपछि त्यतिमै कुरा सकिनेछ त? तिनीहरूले त्यसपछि आफूले बोलेका कुराहरूको मूल्य चुकाउनैपर्छ, र यो सामान्य कुरा होइन। केही मानिसहरूले परमेश्‍वरको ईशनिन्दा र मूल्याङ्कन गर्दा, के तिनीहरूलाई हृदयमा आफूले के बोलिरहेको छु भन्‍ने कुरा थाहा हुन्छ? यस्ता कुरा बोल्ने सबैलाई हृदयमा, आफूले के बोलिरहेको छु भनेर थाहा हुन्छ। दुष्टात्माको नियन्त्रणमा रहेका र असामान्य समझ भएकाहरूबाहेक साधारण मानिसहरूलाई हृदयमा, आफूले के बोलिरहेको छु भन्‍ने कुरा थाहा हुन्छ। यदि तिनीहरू थाहा छैन भनेर भन्छन् भने तिनीहरू झूट बोलिरहेका हुन्छन्। तिनीहरूले बोल्दा यस्तो सोच्छन्: “मलाई थाहा छ कि तपाईँ परमेश्‍वर हुनुहुन्छ। म तपाईँले सही गरिरहनुभएको छैन भन्दैछु, तपाईँ मलाई के गर्न सक्नुहुन्छ? मैले बोलेर सकेपछि तपाईँले के गर्नुहुनेछ?” तिनीहरू अरूलाई बाधा दिन, अरूलाई आफ्नो पक्षमा ल्याउन र अरूलाई पनि त्यस्तै कुरा भन्‍न लगाउन र त्यस्तै काम गर्न लगाउन जानीजानी यसो गर्ने गर्छन्। तिनीहरूलाई आफूले बोलेका कुराहरूले परमेश्‍वरको ठाडो अवज्ञा गर्छन्, ती परमेश्‍वरको विरुद्ध छन् र तिनले परमेश्‍वरको ईशनिन्दा गर्छन् भन्‍ने कुरा थाहा छ। त्यसबारे विचार गरिसकेपछि तिनीहरूलाई आफूले गरेका कार्य गलत लाग्छ: “म के बोलिरहेको थिएँ? त्यसबेला म आवेगमा आएको थिएँ र मलाई त्यसबारे साँच्चै पछुतो छ।” तिनीहरूको पछुतोले प्रमाणित गर्छ कि तिनीहरूले त्यो बेला ठ्याक्कै के गरिरहेका थिए भन्‍ने कुरा तिनीहरूलाई थाहा थियो; तिनीहरूलाई थाहै नभएको होइन। यदि तँलाई तिनीहरू क्षणभरका लागि अज्ञानी र भ्रमित भएका थिए र तिनीहरूले राम्रोसँग बुझेका थिएनन् भन्‍ने लाग्छ भने, त्यो पूर्णतः सही होइन। मानिसहरूले राम्रोसँग नबुझेका हुन सक्छन्, तर यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने तँसँग कम्तीमा सामान्य समझ हुनैपर्छ। परमेश्‍वरमा विश्‍वास गर्न तैँले परमेश्‍वरको डर मान्‍नु पर्छ र उहाँदेखि भयभीत हुनुपर्छ। तैँले आफ्नो इच्छाअनुसार परमेश्‍वरविरुद्ध ईशनिन्दा गर्न, वा उहाँलाई मूल्याङ्कन वा उपहास गर्न मिल्दैन। के तँलाई थाहा छ, “मूल्याङ्कन गर्नु”, “ईशनिन्दा गर्नु” र “उपहास गर्नु” भनेको के हो? तैँले केही कुरा बोल्दा, के तँलाई तैँले परमेश्‍वरको मूल्याङ्कन गरिरहेको छस् कि छैनस् भनेर थाहा हुँदैन र? केही मानिसहरू सधैँ, परमेश्‍वरको आतिथ्य गरेको र प्राय: परमेश्‍वरलाई देख्ने गरेको र परमेश्‍वरकै अगाडि उहाँको सङ्गति सुनेको तथ्यबारे कुरा गर्ने गर्छन्। तिनीहरू जसलाई भेटे पनि यी कुराहरूबारे विस्तारमा बात मार्छन्, तर त्यसमा बाहिरी तत्त्वहरूलाई मात्र जोड दिन्छन्; तिनीहरूसँग साँचो ज्ञान त छँदै छैन। तिनीहरूले यी कुराहरू बोल्दा कुनै गलत अभिप्राय राख्दैनन् होला। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूको भलो चिताई सबैलाई प्रोत्साहित गर्न चाहन्छन् होला। तर तिनीहरू बोल्नका लागि किन यी कुराहरू नै चुन्छन्? यदि तिनीहरू सक्रिय रूपमा यो मामिलालाई अगाडि सार्छन् भने तिनीहरूसँग पक्कै पनि कुनै न कुनै आशय हुन्छ: मुख्यतः देखावट गर्ने र मानिसहरूमा आफूप्रति आदरभाव जगाउने। यदि तिनीहरूलाई मानिसहरूमा आत्मविश्‍वास जगाउनु र परमेश्‍वरप्रतिको तिनीहरूको आस्थालाई प्रोत्साहन गर्नुथ्यो भने, तिनीहरूले उनीहरूलाई उहाँका थप वचनहरू सुनाउने थिए, जुन सत्यता हुन्। त्यसोभए किन तिनीहरू त्यस्ता बाह्य कुराहरूबारे मात्र बोल्ने अड्डी कस्छन्? तिनीहरूले त्यस्ता कुराहरू गर्नुको मुख्य कारण के हो भने तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय छँदै छैन। तिनीहरू परमेश्‍वरदेखि डराउँदैनन्। तिनीहरू कसरी परमेश्‍वरसामु नाटक गर्न र मुख फोर्न सक्छन्? परमेश्‍वरको इज्जत छ! यदि मानिसहरूले यो कुरा बुझेको भए के तिनीहरूले अझै पनि त्यस्ता मूर्खतापूर्ण काम गर्नेथिए त? मानिसहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय छैन। तिनीहरू आफ्नै मनसाय पूरा गर्न, आफ्नै व्यक्तिगत लक्ष्यहरू हासिल गर्न र अरूमा आफूप्रति आदरभाव जगाउनका लागि जथाभावी रूपमा परमेश्‍वर कस्तो हुनुहुन्छ र परमेश्‍वर केजस्तो हुनुहुन्छ भनी भन्‍ने गर्छन्। यो भनेको केवल परमेश्‍वरको मूल्याङ्कन र ईशनिन्दा गर्नु हो। त्यस्ता मानिसहरूको हृदयमा परमेश्‍वरको अलिकति पनि डर हुँदैन। ती सबै परमेश्‍वरलाई प्रतिरोध र ईशनिन्दा गर्ने मानिसहरू हुन्। तिनीहरू सबै दुष्टात्मा र भूतप्रेतहरू हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

यदि तैँले परमरेश्‍वरको काम र मानिसहरूलाई आइपर्ने परिस्थितिहरूलाई सही र गलत, र ठिक र बेठिकको दृष्टिकोणबाट मूल्याङ्कन् गर्न खोज्छस् भने, तैँले तिनलाई इन्कार गर्नेछस्। तँलाई ती परमेश्‍वरको कामजस्ता लाग्‍नेछैनन् र ती तेरा धारणा र कल्पनाहरूसँग नमिलेजस्तो लाग्नेछ र तैँले तिनलाई इन्कार गर्नेछस्। यदि तैँले तिनलाई इन्कार गर्छस् भने, तैँले कसरी तिनलाई सत्यताको रूपमा पालना गर्न सक्छस्? त्यो असम्भव हुनेछ। मानिसहरू किन तिनलाई इन्कार गर्छन्? यो मानव धारणाहरूले गर्दा भएको हो, यसको अर्थ के हो भने मानव मस्तिष्कले के चिन्न सक्छ, र मानिसहरूले परमेश्‍वरका कार्यहरूमा के देख्न सक्छन् भन्ने कुराहरूको सीमा हुन्छ, र मानिसहरूले बुझ्न सक्ने सत्यताहरूको पनि सीमा हुन्छ। तैँले कसरी यी सीमाहरू पार गरेर साँचो रूपमा परमेश्‍वरलाई चिन्न सक्छस्? तैँले परमेश्‍वरबाट आएका कुराहरू ग्रहण गर्नुपर्छ, र आफूले सामना गर्ने र बुझ्न नसक्ने कुराहरूलाई हल्का रूपमा व्याख्या गर्नु हुँदैन, र यदि तैँले कुनै समस्या हल गर्न सक्दैनस् भने आँखा चिम्लेर त्यसको आलोचना गर्नु हुँदैन। मानिसहरूमा सबैभन्दा बढी हुनुपर्ने समझ नै यही हो। यदि तँ “यो परमेश्‍वरले गर्ने काम होइन, परमेश्‍वरले कहिल्यै यसो गर्नुहुन्न!” भनेर भन्छस् भने, तँसँग समझ छैन। तैँले साँच्चै केचाहिँ बुझ्न सक्छस्? यदि तैँले परमेश्‍वरको तर्फबाट निर्णय गर्ने आँट गर्छस् भने, तँमा साँच्चिकै समझ छैन। परमेश्‍वरले ठ्याक्कै तैँले सोचेजस्तो वा तेरो कल्पनाको दायराभित्र रहेर नै कार्य गर्नुहुन्छ भन्ने छैन। परमेश्‍वर अत्यन्तै महान्, अत्यन्तै अथाह, अत्यन्तै गहन, अत्यन्तै अद्‌भुत, र अत्यन्तै बुद्धिमान् हुनुहुन्छ! मैले किन “अत्यन्तै” भन्ने शब्द जोडेको हुँ? किनभने मानिसहरूले परमेश्‍वरलाई बुझ्न सक्दैनन्। तँ एक सृष्टि गरिएको प्राणी होस्, त्यसैले परमेश्‍वरलाई बुझ्ने प्रयास नगर्। जब तँसित यस्तो सोच बिलकुलै हुँदैन, तब तँमा केही समझ हुनेछ। परमेश्‍वरको लागि नियमहरू तोक्‍ने प्रयास नगर्, र यदि तैँले त्यस्तो काम गर्नबाट आफूलाई रोक्‍न सकिस् भने, तँसित समझ हुनेछ। त्यस्ता धेरै मानिसहरू छन् जो परमेश्‍वरको लागि नियमहरू तोक्‍ने गर्छन् र परमेश्‍वरले निश्‍चित तरिकाले कार्य गर्नुपर्छ, परमेश्‍वरले यो कार्य बिलकुलै यही तरिकाले गर्नुहुन्छ वा बिलकुलै त्यो तरिकाले गर्नुहुन्न, यो बिलकुलै परमेश्‍वरकै कार्य हो, र अरू कुनै कुरा बिलकुलै परमेश्‍वरको कार्य होइन भनेर भन्छन्। अनि यो “बिलकुलै” भन्ने शब्द थप्नुको अर्थचाहिँ के हो नि? (त्यसमा समझ छँदै छैन भन्ने हो।) तँ परमेश्‍वर अत्यन्तै अद्‌भुत र अत्यन्तै बुद्धिमान् हुनुहुन्छ भनेर भन्छस् तर त्यसपछि तैँले परमेश्‍वरले कहिल्यै कुनै निश्‍चित तरिकाले कार्य गर्नुहुन्न भनेर भन्छस्। के त्यो विरोधाभास होइन र? त्यो परमेश्‍वरबारे साँचो ज्ञान होइन। सधैँ आफ्नै विचारहरूमा जिद्दी गर्नु र सधैँ परमेश्‍वरको लागि नियमहरू तोक्‍नु भनेको पूर्णतया समझको अभाव हुनु हो।

परमेश्‍वर यो अन्तिम चरणको काम गर्दै हुनुहुन्छ, र उहाँ चीनमा देखा परेर काम गर्न सक्नुहुन्छ भनेर कसैले सोचेको थिएन। के तैँले त्यसरी सोच्‍न नसक्नु तेरो हृदयमा भएका धारणा र कल्पनाहरू, अनि तेरा सोचका सीमितताहरूले गर्दा भएको होइन र? तँलाई अमेरिका, संयुक्त अधिराज्य, वा इस्राएल सबैमा यो सम्भव हुन्थ्यो भन्‍ने लाग्थ्यो होला, तर परमेश्‍वरले चीनमा काम गर्नुहुनेछ भनेर तैँले कदापि कल्पना गर्न सक्दैनस्। तैँले त्यो सोच्नै सक्दैनस्। त्यो मान्छेका धारणा र कल्पनाहरूभन्दा निकै टाढा छ, तर परमेश्‍वरले चीनमा भर्खरै उहाँको काम थाल्नुभएको छ, र उहाँ आफ्नो अन्तिम र सबैभन्दा महत्त्वपूर्ण काम गरिरहनुभएको छ। यो मानव धारणाहरूसँग अत्यन्तै अमिल्दो छ। त्यसैले यसबाट तैँले के सिकेको छस्? (परमेश्‍वरको काम मानव धारणाहरूसँग मेल खाँदैन, र त्यो अद्‌भुत र अथाह हुन्छ भन्ने सिकेको छु।) परमेश्‍वरको काम मानव कल्पनाभन्दा निकै टाढा, अद्‌भुत र अथाह, बुद्धिमान्, अनि गहन छ—यी परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो, अनि उहाँको स्वभाव र सार वर्णन गर्न प्रयोग गरिने मानव शब्‍दहरू हुन्, र यिनलाई मनासिब नै मानिन्छ। परमेश्‍वरले मानव धारणाहरूविपरीतका कामकुराहरू गर्नुभएबाट मानिसहरू यो निर्क्यौलमा पुग्छन्—परमेश्‍वरको काम अद्‌भुत, अथाह, र मानव धारणाहरूविपरीत छ। मानिसहरूले यसबाट अरू के सिक्न सक्छन्? यो कि मानवजातिका पहिलेका धारणा र कल्पनाहरू सबै उल्टिएका छन्। त्यसोभए यी धारणाहरू कहाँबाट आएका हुन्? तैँले के देख्छस् भने, चीन गरिब र पिछडिएको छ, त्यहाँ कम्युनिष्ट पार्टीको शक्ति चल्छ, इसाईहरू सताइन्छन्, त्यहाँ स्वतन्त्रता र मानव अधिकार छैन, र चिनियाँहरू कम शिक्षित छन्, संसारमा तिनीहरूको हैसियत कम छ, र तिनीहरूलाई पूर्वी एसियाका दयनीय बिरामी मानिसहरूको रूपमा हेरिन्छ। परमेश्‍वर उहाँको काम गर्न कसरी चीनमा देहधारी हुन सक्नुभयो? के यो धारणा होइन र? अब, यो धारणा सही वा गलत के हो भनेर हेर्। (यो पूरै गलत हो।) पहिला हामी परमेश्‍वरले किन यो तरिकाले काम गर्नुहुन्छ भन्नेबारे कुरा नगरौँ, चाहे उहाँले विनम्र र गुप्त हुन चाहनुभएर होस्, वा यस तरिकाले काम गर्नुको गहन महत्त्व र मूल्य भएर यस्तो चाहनुभएको होस्। यो तहमा छलफल नगरौँ, बरु परमेश्‍वरले यो तरिकाले काम गर्दा मानव धारणाहरूसँग कति धेरै बाझिन्छ या बाझिदैन भन्नेबारे कुरा गरौँ। त्यो त धेरै नै बाझिन्छ! मानिसहरू कल्पना गर्नै सक्दैनन्। यो स्वर्गको रहस्य हो, र यो कसैलाई थाहा छैन। खगोलविद्‌, भूगोलविद्‌, इतिहासकार, र अगमवक्ताहरू नै बोलाइए पनि, के यो कुरा कसैले पत्ता लगाउन सक्थ्यो र? कसैले सक्थेन, जीवित वा मृत सबै सक्षम मानिसहरूलाई बोलाएर विश्‍लेषण र छानबिन गर्न लगाइए पनि, वा खगोलीय टेलिस्कोपद्वारा अवलोकन र अध्ययन गर्न लगाइए पनि—त्यसको कुनै अर्थ हुन्थेन। यसको अर्थ के हो? यसको अर्थ मानवजाति अत्यन्तै महत्त्वहीन र अत्यन्तै अज्ञानी छ, र उसमा परमेश्‍वरका मामलाहरू बुझ्ने अन्तर्ज्ञानको अत्यन्तै कमी छ भन्ने हो। यदि तैँले बुझ्न सक्दैनस् भने चिन्ता नली। यदि तैँले बुझ्ने कोसिस गरिस् भने त्यसको अन्तिम नतिजा के होला? तेरा धारणाहरू सत्यताबराबर होइनन्, र ती वास्तवमा परमेश्‍वर जे गर्न चाहनुहुन्छ त्यसबाट निकै टाढा छन्। ती दुई एउटै कुरा हुँदै होइनन्। मानिसहरूसित भएको थोरै ज्ञान बेकार छ, त्यसले कुनै पनि कुरा पत्ता लगाउन वा कुनै पनि समस्या हल गर्न सक्दैन। अब तिमीहरू परमेश्‍वरका वचनहरू पढ्ने, र प्रवचन र सङ्गतिहरू सुन्ने भएकाले के तिमीहरू हृदयमा अलि बढी कुरा बुझ्छौ? के तिमीहरूसँग परमेश्‍वरबारे केही ज्ञान छ? कसैले भन्‍न सक्छ: “परमेश्‍वरले उहाँ के गर्नुहुन्छ भन्‍नेबारे हामीसँग छलफल गर्नुहुन्न, उहाँले हामीलाई उहाँको अभिप्राय बुझ्न सकौँ भनेर कुनै दैवी सङ्केत मात्र दिनुभए पनि त हुन्थ्यो, वा उहाँले भविष्यवाणी गर्न कुनै अगमवक्तालाई उत्प्रेरित गर्नुभए पनि त हुन्थ्यो।” तैँले दैवी सङ्केतमार्फत समेत त्यो देख्न सक्थिनस्, र अगमवक्ताले पनि त्यो देख्‍न सक्थेन। परमेश्‍वरले आत्मिक संसारमा गर्नुहुने काम प्राचिन समयदेखि अहिलेसम्‍मै गोप्य रहँदै आएको छ, यति गोप्य कि त्यो एउटै मान्छेले पनि थाहा पाउन सक्दैन। कुनै अगमवक्ता वा खगोलविद्, विद्वान, विज्ञ, वा वैज्ञानिक कुनै पनि विधामा जतिसुकै प्रतिभावान् भए पनि, तिनीहरूले जतिसुकै अध्ययन गरून् तर परमेश्‍वरका मामलाहरू कहिल्यै बुझ्नेछैनन्। मानिसहरूले परमेश्‍वरको विगतको काम अध्ययन गर्न सक्छन्, र तिनीहरूले परमेश्‍वरले त्यसो गर्नुको कारणसम्बन्धी केही गोप्य कुराहरू वा अर्थ थाहा पाउन सक्लान, तर परमेश्‍वरले भविष्यमा के गर्नुहुनेछ भन्ने कुरा वा उहाँका योजनाहरू कसैले थाहा पाउन सक्दैन। त्यसकारण, मानिसहरूले परमेश्‍वरलाई वा उहाँको काम गर्ने तौरतरिकालाई अवलोकन र अध्ययन, दीर्घकालीन छानबिन र अनुभव, बहुमुखी विश्‍लेषण, वा ज्यादै लगन र मेहनतमार्फत अन्त्यमा बुझ्छु भनेर सोच्नु हुँदैन। यो असम्भव छ, र यो कहिल्यै पूरा हुनेछैन। त्यसोभए, यदि मानिसहरूले परमेश्‍वरलाई बुझ्न सकेनन् भने के गर्नुपर्छ? (तिनीहरूले आज्ञापालन गर्नुपर्छ।) मानिसहरूले आज्ञापालन गर्नु नै सबैभन्दा समझदारीपूर्ण र परमेश्‍वरको इच्छासँग सबैभन्दा मिल्दो कुरा हो; आज्ञापालन नै आधारशीला हो। यसको उद्देश्य के हो? यसको उद्देश्य परमेश्‍वरको काम अनुभव गरेको आधारमा, अझै बढी उहाँलाई चिन्नु, सत्यता हासिल गर्नु र जीवन प्राप्त गर्नु हो। तैँले प्राप्त गर्नुपर्ने कुरा र तैँले चाहनुपर्ने खजाना यही हो। अन्तर्राष्ट्रिय मामिलाजस्ता बाह्य घट्नाहरूको सम्बन्धमा परमेश्‍वरले कसरी काम गर्नुहुन्छ र उहाँले यो मानवजातिलाई कसरी डोर्‍याउनुहुन्छ भन्‍ने कुरा गर्दा—यदि तैँले यी कुराहरू बुझ्न सकिस् भने त्यो झनै राम्रो हो। यदि तैँले “मलाई ती कुराहरूबारे खासै चासो छैन। त्यसको लागि मसँग क्षमता वा दिमाग छैन; मलाई त परमेश्‍वरले मलाई कसरी सत्यता प्रदान गर्नुहुन्छ र मेरो स्वभाव परिवर्तन गर्नुहुन्छ भन्ने मात्र चासो छ” भनेर भनिस् भने पनि ठिकै छ। जबसम्म तँसँग आज्ञाकारी र परमेश्‍वरको डर मान्ने हृदय हुन्छ, तबसम्म तैँले अन्त्यमा परमेश्‍वरबाट सत्यताको साथसाथै ज्ञान-बुद्धिसमेत प्राप्त गर्न सक्नेछस्। सत्यताले मान्छेका स्वभावहरू परिवर्तन गर्छ; यो नै मानिसहरूले प्राप्त गर्न खोज्नुपर्ने जीवन र तिनीहरूले हिँड्नुपर्ने मार्ग हो। अनि, मानिसहरूले के ज्ञान पाउँछन्? तैँले थाहै नपाई परमेश्‍वरले कैयौँ काम के-कसरी गर्नुहुन्छ, उहाँले किन त्यसो गर्नुहुन्छ, उहाँका अभिप्राय र लक्ष्यहरू के हुन्, र केही निश्‍चित कामकुराहरू गर्नेबारे उहाँका सिद्धान्तहरू के-कस्ता छन् भन्ने कुरा बुझ्नेछस्। यो कुरा तैँले परमेश्‍वरका वचनहरूको सत्यता अनुभव गर्ने प्रक्रियामार्फत अचेतन रूपमै महसुस गर्न सक्नेछस्। सायद यी वचन र मामलाहरू अत्यन्तै गहन हुन सक्छन्, र तैँले तिनलाई शब्दहरूमार्फत व्यक्त गर्न नसक्लास्, तर यो कुरा तँलाई हृदयमा अनुभूत हुनेछ र तैँले थाहै नपाई साँचो बुझाइ प्राप्त गर्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको सार्वभौमिकताबारे कसरी जान्‍ने

परमेश्वरले जेसुकै गर्नुभए पनि, मानिसले आज्ञापालन गर्नैपर्छ; मानिस माटोले बनेको सृजित प्राणी हो, र उसले परमेश्वरको आज्ञापालन गर्नैपर्छ। यो मानिसको कर्तव्य, दायित्त्व र जिम्मेवारी हो। मानिसहरूमा हुनुपर्ने मनोवृत्ति यही नै हो। मानिसहरूमा यो मनोवृत्ति भएपछि, तिनीहरूले परमेश्वर र उहाँले गर्नुहुने कार्यहरूलाई कसरी व्यवहार गर्नुपर्छ? कहिल्यै निन्दा गर्नु हुँदैन, नत्र तैँले परमेश्वरको स्वभावलाई चिढ्याउनेछस्। यदि तँमा धारणाहरू छन् भने, तिनलाई सच्च्या, तर परमेश्वर वा उहाँले गर्नुहुने कार्यलाई निन्दा नगर्। तैँले तिनलाई निन्दा गर्नेबित्तिकै तँ सक्किइस्: यो मुक्ति प्राप्त गर्ने मौकाविना परमेश्वरको विपक्षमा उभिनु जस्तै हो। तैँले भन्लास्, “म अहिले परमेश्वरको विपक्षमा उभिरहेको छैनँ, तर ममा परमेश्वरबारे गलत बुझाइ छ,” वा “मेरो हृदयमा परमेश्वरबारे अलिक शङ्का छ; मेरो आस्था झिनो छ, र ममा कमजोरी र नकारात्मकताहरू छन्।” यी सबलाई सम्हाल्न सकिन्छ; तिनलाई सत्यता खोजेर ठिक गर्न सकिन्छ—तर परमेश्वरको निन्दाचाहिँ नगर्। यदि तँ “परमेश्वरले जे गर्नुभयो, त्यो सही होइन। त्यो सत्यतासँग मेल खाँदैन, त्यसैले मैले शङ्का गर्ने, प्रश्न गर्ने र दोष लगाउने ठाउँ छ। म यो जताततै फैलाइदिनेछु र उहाँमाथि प्रश्न उठाउन मानिसहरू एकजुट गगर्नेछु,” भन्छस् भने, यो समस्याजनक हुनेछ। परमेश्वरको तँप्रतिको मनोवृत्ति परिवर्तन हुनेछ, र यदि तँ परमेश्वरको निन्दा गर्छस् भने, तँ पूर्णतः खतम हुनेछस्; परमेश्वरले अत्यन्तै धेरै तरिकाले तँसँग बदला लिन सक्नुहुन्छ। तसर्थ, मानिसहरूले जानाजानी परमेश्वरको विरोध गर्नुहुन्न। यदि तँ अनजानमा उहाँलाई प्रतिरोध गर्ने कुनै कुरा गर्छस् भने यो ठूलो समस्या होइन, किनभने त्यो मनसायसाथ वा जानीजानी गरिएको हुँदैन, र परमेश्वरले तँलाई पश्चात्ताप गर्ने मौका दिनुहुन्छ। यदि तँ कुनै कार्य परमेश्वरले नै गर्नुभएको हो भनेर थाहा पाएर पनि त्यसलाई निन्दा गर्छस्, र सबैलाई एकजुट भएर विद्रोह गर्न उक्साउँछस् भने, यो समस्याजनक हुन्छ। अनि परिणाम के हुनेछ? तिमीहरूको नियति मोशालाई प्रतिरोध गर्ने ती दुई सय पचास जना मुखियाहरूको जस्तै हुनेछ। उहाँ परमेश्वर नै हुनुहुन्छ भनेर थाहा पाउँदा-पाउँदै पनि तँ उहाँसँग कलह गर्ने आँट गर्छस्। परमेश्वर तँसँग बहस गर्नुहुन्न: अख्तियार उहाँकै हो; उहाँले पृथ्वी चिरेर त्यसले तँलाई सिधै निल्ने तुल्याउनुहुन्छ, र कुरो त्यत्ति मात्र हो। उहाँले कहिल्यै तँमा दृष्टि लगाउने वा तेरा तर्कहरू सुन्ने गर्नुहुनेछैन। परमेश्वरको स्वभाव यही हो। त्यतिबेला परमेश्वरको स्वभावले के प्रकट गरिरहेको हुन्छ? क्रोध प्रकट गरिरहेको हुन्छ! तसर्थ, मानिसहरूले कुनै पनि हालतमा परमेश्वरसँग कलह गर्ने र उहाँको क्रोध भड्काउने गर्नुहुन्न; परमेश्वरलाई कसैले चिढ्यायो भने, त्यसको परिणाम विनाश हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

प्रत्येक व्यक्तिले परमेश्‍वरप्रतिको विश्‍वासमा आफ्नो जीवन जिउने क्रममा परमेश्‍वरलाई धोका दिने र प्रतिरोध गर्ने खालका कामहरू गरेको छ। केही दुष्कर्महरूलाई कसूरको रूपमा उल्लेख गरिरहनु आवश्यक छैन, तर केही भने अक्षम्य छन्; किनभने त्यसमा धेरै कर्महरू छन् जसले प्रशासनिक विधि उल्लंघन गर्छन् जसले परमेश्‍वरको स्वभावलाई नै अपमान गर्छन्। आफ्नै अन्तको गतिबारेमा चिन्ता गर्ने धेरै व्यक्तिहरूले यी कर्महरू के-के हुन् भनी सोध्न सक्छन्। तिमीहरू स्वभावैले घमण्डी र अहङ्कारी छौ र तथ्यहरूमा समर्पित हुन अनिच्छुक छौ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। यसकारण, तिमीहरूले आफ्नै बारेमा चिन्तन गरेपछि अलिअलि गरेर म तिमीहरूलाई बताउनेछु। म तिमीहरूलाई प्रशासनिक आदेशका विषयवस्तुहरूको बारेमा अझ राम्रो बुझाइ हासिल गर्न र परमेश्‍वरको स्वभावको बारेमा जान्ने प्रयास गर्न आग्रह गर्दछु। होइन भने, तिमीहरूले आफ्ना ओठहरू बन्द राख्न गाह्रो महसुस गर्नेछौ र तिमीहरूका जिब्राहरू ठूलठूला लाग्ने कुराहरूसँगै स्वतन्त्र रूपले चल्न थाल्नेछ र तिमीहरूले अविवेकपूर्ण तवरले परमेश्‍वरको स्वभावलाई अपमान गर्नेछौ र अँध्यारोमा खस्नेछौ, र पवित्र आत्मा र प्रकाशको उपस्थिति गुमाउनेछौ। तिमीहरू आफ्ना कार्यहरूमा सिद्धान्तहीन भएको कारण, तिमीहरूले आफूले गर्न र भन्न नहुने कुराहरू गर्ने र भन्‍ने गरेको कारण, तिमीहरूले सुहाउँदो दण्ड पाउनेछौ। तँ वचन र कर्ममा सिद्धान्तहीन छस् तर पनि परमेश्‍वर यी दुवै कुरामा सिद्धान्तयुक्त हुनुहुन्छ भन्‍ने कुरा तैँले बुझ्नुपर्छ। तैँले दण्ड पाउने भनेको तैँले परमेश्‍वरको अपमान गरेको कारण हो, मानिसको अपमान गरेको कारण होइन। यदि तैँले तेरो जीवनमा परमेश्‍वरको स्वभाव विरुद्ध धेरै कसूरहरू गर्छस् भने तँ नर्कको सन्तान बन्ने पक्का छ। मानिसलाई तैँले सत्यसँग मेल नखाने केही कार्यहरू मात्र गरेको छस् र त्योभन्दा अरू कुनै कुरा गरेको छैनस् जस्तो लाग्न सक्छ। के तँलाई थाहा छ, परमेश्‍वरको आँखामा तँ यस्तो व्यक्ति होस् जसका निम्ति अब कुनै पापबलि छैन? तैँले परमेश्‍वरको प्रशासनिक आदेशहरू धेरै पल्ट उल्लंघन गरिसकेको हुनाले, र तैँले पश्चात्तापको कुनै पनि सङ्केत नदेखाएको हुनाले, तेरो लागि नर्कभन्दा अन्य कुनै पनि सहारा छैन जहाँ परमेश्‍वरले मानिसलाई दण्डित गर्नुहुन्छ। केही मानिसहरूले परमेश्‍वरको अनुसरण गर्ने क्रममा केही यस्ता कार्यहरू गरे जसले सिद्धान्तहरू उल्लंघन गर्‍यो, तर काँटछाँट गरिएपछि र मार्गदर्शन दिइएपछि, उनीहरूले क्रमशः आफ्नो भ्रष्ट आचरणहरू पत्ता लगाए र त्यसपछि वास्तविकताको सही बाटोमा प्रवेश गरे र उनीहरू आज व्यावहारिक भएका छन्। यस्ता मानिसहरू नै ती व्यक्तिहरू हुन् जो अन्त्यसम्म रहन्छन्। तथापि, मैले खोज्ने भनेका इमानदार व्यक्तिहरू हुन्; यदि तँ इमानदार व्यक्ति होस् र नियमहरू अनुरूप कार्य गर्ने व्यक्ति होस् भने तँ परमेश्‍वरमा दृढ हुन सक्छस्। यदि आफ्ना कार्यहरूमा तैँले परमेश्‍वरको स्वभावलाई अपमान गर्दैनस्, र परमेश्‍वरका अभिप्राय खोज्छस्, र तँमा परमेश्‍वरको डर मान्ने हृदय छ भने तेरो विश्‍वास मापदण्ड अनुरूप छ। जसले परमेश्‍वरको डर मान्दैन र जोसँग त्रासमा काँप्ने हृदय छैन, उनीहरूले परमेश्‍वरको प्रशासनिक विधि उल्लंघन गर्ने सम्भावना धेरै हुन्छ। धेरैले आफ्नो जोशको दममा परमेश्‍वरको सेवा गर्छन् तर उनीहरूमा परमेश्‍वरको प्रशासनिक व्यवस्थाको कुनै बुझाइ नै हुँदैन र उहाँको वचनका आशयहरूको आभास त परै जाओस्। तसर्थ, उनीहरूको असल नियत हुँदाहुँदै पनि, उनीहरू परमेश्‍वरको व्यवस्थापनमा बाधा पुऱ्याउने कुराहरू गर्न पुग्छन्। गम्भीर अवस्थाहरूमा, उनीहरूलाई बाहिर फ्याँकिन्छ, उहाँलाई अनुसरण गर्ने थप अवसरबाट वञ्चित गरिन्छ र नरकमा फ्याँकिन्छ, र परमेश्‍वरको भवनसँगको सबै सम्बन्ध अन्त्य हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

मैले बोलेका हरेक वाक्यमा परमेश्‍वरको स्वभाव समावेश छन्। तिमीहरूले मेरा वचनहरू होशियारसाथ मनन गर्नेछौ, र तिमीहरूले त्यसबाट निश्‍चय नै ठूलो फाइदा पाउनेछौ। परमेश्‍वरको सारतत्त्वका विषयमा बुझ्‍न अति गाह्रो हुन्छ, तर तिमीहरू सबै जनासँग परमेश्‍वरको स्वभावका विषयमा केही हदसम्म ज्ञान रहेको छ भनी म विश्‍वास गर्छु। परमेश्‍वरको स्वभावलाई नचिढ्याउने अनि तैँले गरेका कुराहरूका बारेमा मलाई देखाउनको लागि तँसँग धेरै कुराहरू हुनेछन् भन्‍ने मेरो आशा छ। त्यसपछि म सुनिश्‍चित हुनेछु। उदाहरणको लागि, तिमीहरूका हृदयमा परमेश्‍वरलाई सधैँभरि राख्‍नू। जब तैँले काम गर्छस्, तब उहाँका वचनहरू अनुसार काम गर्नू। सबै कुराहरूमा उहाँको इच्छा खोज्‍नू, र परमेश्‍वरलाई अपमान र अनादर गर्ने सबै कुराहरूबाट आफूलाई अलग राख्‍नू। भविष्यमा तेरो हृदयको खालीपन भर्नका लागि मात्र परमेश्‍वरलाई आफ्नो मनको कुनै कुनामा लुकाई राखिस् भने तैँले परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गरेको हुनेछस्। मानौं, तिमीहरूले आफ्नो जीवनकालभरि कहिल्यै पनि परमेश्‍वरको निन्दा गरेनौ वा परमेश्‍वरको विरुद्धमा गुनासो गरेनौ भने, उहाँले तिमीहरूका जिम्मामा सुम्पिदिनुभएका सबै कुराहरू उपयुक्त तरिकाले सदुपयोग गर्नेछौ, साथै तिमीहरूका जीवनभरि आफैलाई उहाँको वचनमा समर्पण गर्नेछौ, त्यसपछि तिमीहरूले प्रशासनिक आदेशहरूका विरुद्ध अपराध गर्न छोड्नेछौं। उदाहरणको लागि, यदि तिमीहरूले कहिल्यै यसो भनेका छौ भने, “उहाँ परमेश्‍वर हुनुहुन्छ भनी किन मैले विचार गर्नुपर्छ?” “मेरो विचारमा यी वचनहरू पवित्र आत्माका केही अन्तर्दृष्टिहरूभन्दा केही पनि होइनन्,” “मेरो विचारमा परमेश्‍वरले गर्नुभएका सबै कुराहरू सही हुनुपर्छ भन्‍ने कुनै आवश्यकता छैन,” “परमेश्‍वरको मानवता मेरोभन्दा उच्‍चकोटीको छैन,” “परमेश्‍वरका वचनहरू विश्‍वास गर्न लायकका छैनन्,” वा यस्तै किसिमका न्यायपूर्ण भनाइहरू व्यक्त गरेका छौ भने आफ्ना पापहरू स्वीकार गर्न र त्यसबाट पश्‍चात्ताप गर्न म तिमीहरूलाई उत्साह दिन्छु। अन्यथा, तिमीहरूले कहिल्यै पनि क्षमादानको अवसर प्राप्‍त गर्नेछैनौ, किनकि तिमीहरूले मानिसलाई होइन, तर परमेश्‍वरलाई चिढ्याएका छौ। तिमीहरूले मानिसको न्याय गरिरहेको छु भनी विश्‍वास गरेका हुन सक्छौ, तर परमेश्‍वरका आत्माले त्यसरी हेर्नुहुन्‍न। तिमीहरूले उहाँको देहलाई अनादर गर्नुचाहिँ उहाँ स्वयमलाई अनादर गर्नु बराबर हो। यसरी के तिमीहरूले परमेश्‍वरको स्वभावको उल्‍लङ्घन गरेका छैनौ र? परमेश्‍वरका आत्माले गर्नुभएका सबै काम उहाँका देहका कामलाई सुरक्षित राख्‍न र यी कामहरू अझ राम्ररी सम्‍पन्‍न गर्नका निम्‍ति हो भन्‍ने कुरा तिमीहरूले याद राख्‍नुपर्छ। यदि तिमीहरूले यसलाई बेवास्ता गर्‍यौ भने तिमीहरू कहिल्यै पनि परमेश्‍वरमा विश्‍वास गर्न सफल हुन सक्‍नेछैनौ भनी म तिमीहरूलाई बताउन चाहन्छु। तिमीहरूले परमेश्‍वरको क्रोधलाई भड्काएको कारण उहाँले तिमीहरूलाई शिक्षा सिकाउन उपयुक्त दण्ड दिनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ

परमेश्‍वरको सारमा प्रेमको एक अंश हुने भए तापनि अनि उहाँ प्रत्येक व्यक्तिप्रति कृपालु हुनुभए तापनि, मानिसहरूले उहाँको सार मान-मर्यादाको सार पनि हो भन्‍ने तथ्यलाई बेवास्ता गरेका र बिर्सेका छन्। उहाँमा प्रेम छ भन्नुको अर्थ मानिसहरूले उहाँमा कुनै भावना वा प्रतिक्रिया जागृत नगराईकनै उहाँलाई स्वतन्त्रतापूर्वक ठेस पुर्‍याउन सक्छन् भन्‍ने होइन, न त उहाँमा कृपा छ भन्‍ने तथ्यले नै उहाँले मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्‍ने बारेमा उहाँसँग कुनै सिद्धान्त नै छैन भन्‍ने जनाउँछ। परमेश्‍वर जीवित हुनुहुन्छ; उहाँ वास्तविक रूपमा अस्तित्वमा हुनुहुन्छ। उहाँ न त कल्पना गरिएको कठपुतली हुनुहुन्छ न त कुनै वस्तु नै हुनुहुन्छ। उहाँ अस्तित्वमा हुनुभएको हुनाले हामीले सधैँ उहाँको हृदयको आवाजलाई सावधानीपूर्वक सुन्नुपर्छ, उहाँको मनोवृत्तिप्रति एकदमै राम्ररी ध्यान दिनुपर्छ, र उहाँका भावनाहरूलाई बुझ्न थाल्नुपर्छ। हामीले परमेश्‍वरलाई परिभाषित गर्न मानवीय कल्पनाहरूको प्रयोग गर्नु हुँदैन, न त हामीले परमेश्‍वरलाई मानिसहरूप्रति मानवीय कल्पनाहरूको आधारमा मानवीय रूपले व्यवहार गराउन उहाँमा मानवीय सोचहरू र इच्छाहरू नै लाद्नु हुन्छ। यदि तैँले यसो गरिस् भने, तैँले परमेश्‍वरलाई क्रोधित पार्दैछस्, उहाँको आक्रोशको परीक्षा लिँदैछस् र उहाँको मान-मर्यादालाई चुनौती दिँदैछस्! यसरी, तिमीहरूले यो कुराको गम्भीरतालाई बुझिसकेपछि, म तिमीहरू प्रत्येकलाई तिमीहरूको आफ्नो कार्यमा सावधान र विवेकी हुन आग्रह गर्छु। बोलीमा पनि सावधान र विवेकी होऊ—तिमीहरूले परमेश्‍वरप्रति कसरी व्यवहार गर्ने भन्‍ने बारेमा, तिमीहरू जति धेरै सावधान र विवेकी हुन्छौ त्यति नै धेरै राम्रो हुन्छ! जब तैँले परमेश्‍वरको मनोवृत्ति के-कस्तो छ भन्‍ने बुझ्दैनस्, तब तैँले जथाभाबी रूपमा बोल्ने नगर्नू, आफ्ना कार्यहरूमा लापरवाह नहुनू, अनि त्यतिकै नाम-वर्ग झुन्ड्याइदिने नगर्नू। अझै महत्त्वपूर्ण रूपमा, मनोमानी ढङ्गले कुनै पनि निष्कर्षहरू ननिकाल्नू। बरु, तैँले पर्खनुपर्छ र खोजी गर्नुपर्छ; यी कार्यहरू पनि परमेश्‍वरको डर मान्नु अनि दुष्टताबाट अलग रहनुको एक अभिव्यक्ति हुन्। सबैभन्दा मुख्य रूपमा, यदि तैँले यो कुरा हासिल गर्न सकिस् भने, अनि सबैभन्दा मुख्य रूपमा, यदि तँसँग यो मनोवृत्ति छ भने, परमेश्‍वरले तँलाई तेरो मूर्खता, अज्ञानता र वस्तु वा घटनापछाडिका कारणहरूको बुझाइको अभावको लागि तँलाई दोष लगाउनुहुन्न। बरु, परमेश्‍वरलाई ठेस पुर्‍याउन डराउने तेरो मनोवृत्तिको कारण, उहाँको इच्छाहरूको सम्मान अनि उहाँप्रति समर्पित हुने इच्छुकताको कारण, परमेश्‍वरले तँलाई सम्झनुहुनेछ, तँलाई मार्गनिर्देशन र अन्तर्ज्ञान प्रदान गर्नुहुनेछ, वा तेरो अपरिपक्वता र अज्ञानतालाई सहन गर्नुहुनेछ। यसको विपरीत, यदि तेरो मनोवृत्ति चाहिँ अनादरकारी छ भने—आफूलाई मनलाग्दो रूपमा उहाँको मूल्याङ्कन गर्ने वा मनोमानी ढङ्गले उहाँका विचारहरू अनुमान वा परिभाषित गर्ने गरेमा—परमेश्‍वरले तँलाई दोषी ठहराउनुहुनेछ, तँलाई अनुशासनमा राख्‍नुहुनेछ अनि तँलाई सजाय समेत दिनुहुनेछ; वा उहाँले तेरो बारेमा टीकाटिप्पणी गर्न सक्नुहुनेछ। शायद यो टीकाटिप्पणी तेरो परिणामसँग सम्‍बन्धित हुनेछ। त्यसकारण, म एक पटक फेरि जोड दिन चाहन्छु: परमेश्‍वरबाट आउने कुराहरूको बारेमा तिमीहरू प्रत्येक सावधान र विवेकी हुनुपर्छ। जथाभाबी रूपमा बोल्ने नगर्नू अनि आफ्ना कार्यहरूमा लापरवाह नहुनू। केही कुरा बोल्नुभन्दा अगाडि, तैँले रोकिएर सोच्नुपर्छ: के यो मेरो कार्यले परमेश्‍वरलाई क्रोधित पार्छ? के यो कार्य गर्दा मैले परमेश्‍वरको डर मानिरहेको हुन्छु? सामान्य कुराहरूमा पनि, तैँले यी प्रश्नहरूलाई हल गर्नुपर्छ र थप समय दिई तिनीहरूको बारेमा सोच्नुपर्छ। यदि तैँले सबै पक्षहरूमा, सबै कुराहरूमा, सबै समयहरूमा यी सिद्धान्तहरू अनुसार सच्चा रूपमा अभ्यास गर्छस् भने र खास गरी तैँले कुनै कुरा नबुझ्दा त्यस्तो मनोवृत्ति अँगाल्छस् भने, परमेश्‍वरले सधैँ तँलाई मार्गनिर्देशन दिनुहुनेछ र तँलाई पछ्याउने मार्ग प्रदान गर्नुहुनेछ। मानिसहरूले जुनसुकै प्रकारको प्रदर्शन गरे तापनि परमेश्‍वरले तिनीहरूलाई स्पष्ट र सरल रूपमा हेर्नुहुन्छ, र उहाँले तेरा यी प्रदर्शनहरूको सही र उपयुक्त मूल्याङ्कन गरिदिनुहुनेछ। तैँले अन्तिम परीक्षाबाट गुज्रिसकेपछि परमेश्‍वरले तेरा सबै व्यवहारहरूलाई लिनुहुनेछ र तेरो परिणाम निर्क्योल गर्नको लागि तिनीहरूलाई सारांशित गर्नुहुनेछ। यो नतिजाले शङ्काको छाँयासम्म पनि नहुने गरी प्रत्येक व्यक्तिलाई विश्‍वास दिलाउँछ। म तिमीहरूलाई यहाँ यो कुरा बताउन चाहन्छु: तिमीहरूको प्रत्येक कर्म, तिमीहरूको प्रत्येक कार्य अनि तिमीहरूको प्रत्येक सोचले तिमीहरूको नियति निर्धारण गर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

परमेश्‍वर जीवित परमेश्‍वर हुनुहुन्छ, र मानिसहरूले फरक-फरक परिस्थितिहरूमा फरक-फरक व्यवहार गर्दा ती व्यवहारहरूप्रति उहाँको मनोवृत्ति पनि फरक-फरक नै हुन्छ किनभने न त उहाँ कठपुतली नै हुनुहुन्छ न त उहाँ रित्तो हावाको झोक्का नै हुनुहुन्छ। परमेश्‍वरको मनोवृत्तिको बारेमा जान्नु मानवजातिको लागि मूल्यवान् खोजी हो। मानिसहरूले परमेश्‍वरको मनोवृत्तिको बारेमा जानेर कसरी अलिअलि गर्दै परमेश्‍वरको स्वभावको ज्ञान प्राप्त गर्न र उहाँको हृदयलाई बुझ्न सक्छन् भन्‍ने कुरा सिक्नुपर्छ। जब तैँले क्रमिक रूपमा परमेश्‍वरको हृदयलाई बुझ्न थाल्छस् तब तैँले उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्ने उपलब्धि प्राप्त गर्नु धेरै गाह्रो कुरा हो भन्‍ने महसुस गर्नेछैनस्। अझ भन्‍ने हो भने, जब तैँले परमेश्‍वरलाई बुझ्छस् तब तैँले उहाँको बारेमा निष्कर्ष निकालिहाल्ने सम्भावना कम हुनेछ। जब तैँले उहाँको बारेमा निष्कर्ष निकालिहाल्ने काम बन्द गर्नेछस्, तब तैँले उहाँलाई ठेस पुर्‍याउने सम्भावना कम हुनेछ, अनि तैँले महसुस नै नगरीकन उहाँले तँलाई उहाँको बारेमा ज्ञान प्राप्त गर्नेतर्फ डोर्‍याउनुहुनेछ; यसले तेरो हृदयलाई उहाँप्रतिको डरले भरिदिनेछ। त्यसपछि तैँले आफूले ज्ञान हासिल गरेका धर्ममत, शब्द र सिद्धान्तहरूद्वारा परमेश्‍वरलाई परिभाषित गर्न छाड्नेछस्। यसको सट्टा, निरन्तर रूपमा सबै थोकमा परमेश्‍वरका चाहनाहरूको खोजी गर्दै, तँ अचेतन रूपमै परमेश्‍वरका अभिप्रायहरूअनुरूपको व्यक्ति बन्नेछस्।

परमेश्‍वरको कामलाई मानिसहरूद्वारा देख्न र छुन सकिँदैन, तर जहाँसम्म उहाँको सवाल छ, हरेक व्यक्तिका कार्यहरूलाई—साथै उहाँप्रतिको तिनीहरूको मनोवृत्तिलाई—परमेश्‍वरले महसुस मात्र गर्न सक्नुहुन्न बरु उहाँले तिनलाई देख्न समेत सक्नुहुन्छ। यो हरेकले पहिचान गर्नुपर्ने र स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। तैँले आफूलाई सधैँ सोधिराखेको हुन सक्छस्, “के यहाँ मैले जे गरिरहेको छु सो परमेश्‍वरलाई थाहा छ? के मैले अहिले जे सोचिरहेको छु सो उहाँलाई थाहा छ? शायद उहाँलाई थाहा छ, शायद उहाँलाई थाहा छैन।” यदि तैँले परमेश्‍वरलाई पछ्याउँदै र परमेश्‍वरमा विश्‍वास गर्दै तर उहाँको काम र उहाँको अस्तित्वको बारेमा शङ्का गर्दै यस प्रकारको दृष्टिकोण अपनाउँछस् भने ढिलो-चाँडो यस्तो दिन आउनेछ जुन दिन तैँले उहाँलाई रिस उठाउनेछस्, किनकि तँ अघिदेखि नै डरलाग्दो भीरको छेउमा हिँडिरहेको हुन्छस्। मैले धेरैलाई देखेको छु जो वर्षौंदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छन् तैपनि तिनीहरूले सत्यता वास्तविकतालाई हासिल गरेका छैनन्, तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्ने कुरा त परै जाओस्। यस्ता मानिसहरूले आफ्नो जीवन र कदमा कुनै प्रगति गर्दैनन् र तिनीहरूले केवल सबैभन्दा सतही धार्मिक सिद्धान्तहरूलाई मात्र पालन गर्छन्। यस्तो हुन्छ किनभने त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरू आफै जीवन हुन् भनेर कहिल्यै पनि मानेका हुँदैनन् र तिनीहरूले उहाँको अस्तित्वलाई कहिल्यै पनि सामना गरेका र स्वीकार गरेका हुँदैनन्। के तँ ठान्छस् त्यस्ता मानिसहरूलाई देख्दा परमेश्‍वर खुशीले गद-गद बन्‍नुहुन्छ? के तिनीहरूले उहाँलाई सान्त्वना दिन्छन्? यसरी मानिसहरूले परमेश्‍वरमा जे-जसरी विश्‍वास गर्छन् त्यसले तिनीहरूको नियतिलाई निर्धारण गर्छ। मानिसहरूले कसरी परमेश्‍वरको खोजी गर्छन् र तिनीहरू कसरी परमेश्‍वरकहाँ जान्छन् भन्‍ने विषयमा, मानिसहरूका मनोवृत्ति प्राथमिक महत्त्वका हुन्छन्। परमेश्‍वरलाई उहाँ केवल तेरो टाउकोको पछाडि उडिरहने रित्तो हावाको पोको हो जस्तै गरेर बेवास्ता नगर्नू; तैँले विश्‍वास गर्ने परमेश्‍वरलाई सधैँ जीवित परमेश्‍वर, एक वास्तविक परमेश्‍वरको रूपमा सोच्नू। उहाँ माथि तेस्रो स्वर्गमा केही काम नभएर त्यत्तिकै बसेर समय बिताउँदै हुनुहुन्न। बरु, उहाँले त निरन्तर रूपमा हरेक व्यक्तिको हृदयभित्र हेरिरहनुभएको छ, तिमीहरू के गर्न लागेका छौ भनी अवलोकन गरिरहनुभएको छ, तिमीहरूका सानाभन्दा साना हरेक शब्द अनि सानाभन्दा साना हरेक कर्मलाई नियालिरहनुभएको छ, तैँले कसरी व्यवहार गर्छस् भनी नियालिरहनुभएको छ र उहाँप्रति तेरो मनोवृत्ति कस्तो छ भनी हेरिरहनुभएको छ। तँ आफूले आफूलाई परमेश्‍वरसमक्ष समर्पित गर्न इच्छुक भए पनि नभए पनि तेरा सबै व्यवहारहरू र तेरा भित्री सोचहरू र विचारहरू उहाँ समक्ष उदाङ्गो हुन्छन् र उहाँद्वारा हेरिएका हुन्छन्। तेरो व्यवहारको कारण, तेरा कर्महरूको कारण र उहाँप्रतिको तेरो मनोवृत्तिको कारण, तेरो बारेमा परमेश्‍वरको राय र तँप्रतिको उहाँको मनोवृत्ति निरन्तर परिवर्तन भइरहेको हुन्छ। म केही मानिसहरूलाई केही सल्लाह दिन चाहन्छु: उहाँ तँमा आशक्त हुनुपर्छ झैँ गरी, उहाँले तँलाई कहिल्यै छाड्न सक्नुहुन्न झैँ गरी, अनि तँप्रतिको उहाँको मनोवृत्ति अटल रहेको र त्यो कहिल्यै परिवर्तन नै हुँदैन झैँ गरी, परमेश्‍वरको हातमा आफूलाई शिशु झैँ नराख्, अनि म तिमीहरूलाई सपना देख्न छोड्नू भनेर पनि सल्लाह दिन्छु। हरेक व्यक्तिप्रति व्यवहार गर्ने कुरामा परमेश्‍वर धर्मी हुनुहुन्छ, मानिसहरूलाई जित्ने र मुक्ति दिने कामको बारेको उहाँको विधिमा उहाँ इमान्दार हुनुहुन्छ। यो उहाँको व्यवस्थापन हो। उहाँले हरेक व्यक्तिलाई गम्भीरताका साथ व्यवहार गर्नुहुन्छ, उहाँले खेलाइने पाल्तु जन्तुलाई जस्तो व्यवहार गर्नुहुन्न। मानवप्रतिको परमेश्‍वरको प्रेम पुलपुलाउने वा बिगार्ने किसिमको हुँदैन, न त मानवजातिप्रतिको उहाँको कृपा र सहनशीलता नै आशक्तिपनयुक्त र अविवेकपूर्ण हुन्छन्। यसको विपरीत, मानवप्रतिको परमेश्‍वरको प्रेममा जीवनलाई चाहने, दया गर्ने र आदर गर्ने कुराहरू पर्छन्; उहाँको कृपा र सहनशीलताले तिनीहरूप्रतिको उहाँका अपेक्षाहरू व्यक्त गर्छन् र तिनीहरू मानवजातिलाई बाँच्नको लागि आवश्यक पर्ने कुराहरू हुन्। परमेश्‍वर जीवित हुनुहुन्छ र परमेश्‍वर वास्तविक रूपमै अस्तित्वमा हुनुहुन्छ; मानवजातिप्रतिको उहाँको मनोवृत्ति सिद्धान्तमा आधारित छ, यो बिलकुलै पनि कट्टरपन्थी नियमहरूको सँगालो होइन, र यो परिवर्तन हुन सक्छ। मानवजातिप्रतिको उहाँका आशयहरू तिनीहरू उत्पन्न हुने परिस्थितिमा आधारित भएर अनि हरेक व्यक्तिको मनोवृत्ति परिवर्तनसँगै क्रमिक रूपले परिवर्तन हुँदैछन् र समयसँगै रूपान्तरित हुँदैछन्। त्यसकारण, तैँले तेरो हृदयमा सम्पूर्ण स्पष्टताका साथ थाहा पाउनुपर्छ कि परमेश्‍वरको सार अपरिवर्तनीय छ, र उहाँको स्वभाव विभिन्न समयहरू र विभिन्न परिप्रेक्ष्यहरूमा बाहिर निस्कन्छ। तैँले यो कुरालाई गम्भीर कुरा हो भन्‍ने नठान्न सक्छस् र तैँले परमेश्‍वरले कसरी विभिन्न कुराहरू गर्नुहुन्छ भन्‍ने कुरा कल्पना गर्न आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्न सक्छस्। तथापि, केही समयहरू यस्ता हुन्छन् जुन बेला तेरो दृष्टिकोणको विपरीत ध्रुव चाहिँ सत्य हुन्छ र परमेश्‍वरलाई मापन गर्ने प्रयासमा तैँले तेरा आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्दै परमेश्‍वरलाई क्रोधित पारिसकेको हुन्छस्। यस्तो हुन्छ किनभने परमेश्‍वर तैँले सोचेको जस्तो गरी सञ्चालित हुनुहुन्न, न त तैँले भने जस्तो गरी नै उहाँले विभिन्न कुराहरूप्रति व्यवहार गर्नुहुन्छ। तसर्थ, म तँलाई तेरो वरिपरिका हरेक कुराहरू सामना गर्ने तरिकामा तँ सावधान र विवेकी हुनू अनि सबै कुराहरूमा “परमेश्‍वरको मार्ग पछ्याउने—परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग रहने” सिद्धान्तअनुसार अभ्यास गर्न सिक्नू भनी स्मरण गराउँछु। तैँले परमेश्‍वरका अभिप्रायहरू र परमेश्‍वरको मनोवृत्तिसम्बन्धी कुराहरूको बारेमा दरिलो बुझाइ विकास गर्नुपर्छ, तैँले यी कुराहरू तँलाई सुनाउने अन्तर्ज्ञान पाएका मानिसहरू भेट्टाउनुपर्छ, र तैँले इमानदारीतापूर्वक खोजी गर्नुपर्छ। मनलाग्दो गरी उहाँको मूल्याङ्कन गर्दै, मनोमानी ढङ्गले उहाँका बारेमा निष्कर्षहरू निकाल्दै र उहाँले पाउनुपर्ने सम्मान नदिई उहाँप्रति व्यवहार गर्दै—तेरो विश्‍वासको परमेश्‍वरलाई कठपुतलीको रूपमा नहेर्नू। परमेश्‍वरले तेरो लागि मुक्ति ल्याउँदै गर्दा र उहाँले तेरो परिणाम निर्धारण गर्दै गर्दा, उहाँले तँलाई कृपा, वा सहनशीलता, वा न्याय र सजाय प्रदान गर्न सक्नुहुन्छ, तर जुनसुकै अवस्था भए पनि, तँप्रतिको उहाँको मनोवृत्ति अपरिवर्तनीय हुँदैन। यो कुरा उहाँप्रतिको तेरो आफ्नै मनोवृत्तिको साथसाथै उहाँको बारेमा तेरो बुझाइमा निर्भर हुन्छ। परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान वा बुझाइको एक पक्षको आधारमा सधैँको लागि उहाँको परिभाषा नगर्। मृतक परमेश्‍वरमा विश्‍वास नगर्; जीवित परमेश्‍वरमा विश्‍वास गर्। यो कुरा सम्झी! मैले यहाँ केही सत्यताहरूका बारेमा—तिमीहरूले सुन्न आवश्यक रहेका सत्यताहरूका बारेमा—बताएको भए तापनि तिमीहरूको वर्तमान स्थिति र वर्तमान कदको परिप्रेक्ष्यमा, तिमीहरूको उत्साहलाई नमार्नका खातिर म हालको लागि तिमीहरूलाई ठूला सर्तहरू राख्दिनँ। त्यसो गर्नाले तिमीहरूको हृदय उदासपनले भरिनेछ र तिमीहरूले परमेश्‍वरप्रति अत्यन्तै निराश अनुभव गर्नेछौ। यसको सट्टामा, म आशा गर्छु, तिमीहरूले भविष्यमा आउने बाटो हिँड्दा परमेश्‍वरलाई प्रेम गर्ने हृदय र परमेश्‍वरप्रतिको आदरपूर्ण मनोवृत्ति प्रयोग गर्न सक्नेछौ। परमेश्‍वरमा कसरी विश्‍वास गर्ने भन्‍ने मामलामा उल्झनमा नपर; यसलाई सबैभन्दा ठूला सवालहरूमध्ये एकको रूपमा लेओ। यसलाई आफ्नो हृदयमा राख, यसलाई वास्तविकतासँग जोड् र यसलाई वास्तविक जीवनसँग जोड; केवल ओठे सेवा मात्र नगर—किनभने यो मामला भनेको जीवन र मृत्युको मामला हो र त्यस्तो मामला हो जसले तेरो गन्तव्य निर्धारण गर्छ। यसलाई हँसी-मजाक वा बच्चाको खेलौनाको रूपमा नलेओ!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

सम्बन्धित भजनहरू

के परमेश्‍वर तिमीले भनेजस्तो साधारण हुनुहुन्छ?

अघिल्लो: १०. परमेश्‍वरदेखि सावधान रहने र उहाँलाई गलत बुझ्ने समस्या कसरी समाधान गर्ने

अर्को: १४. लापरवाह र झाराटारुवा बन्ने समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्