४०. परमेश्‍वरको महिमा गर्नु र गवाही दिनु भनेको के हो

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

तिमीहरूले भोगेका र देखेका कुराहरू सारा युगका सन्तहरू र अगमवक्ताहरूको भन्दा पनि अधिक छन्, तर के तिमीहरूले विगतका यी सन्तहरू र अगमवक्ताहरूका वचनभन्दा ठूलो गवाही दिन सक्छौ त? मैले अहिले तिमीहरूलाई दिने कुराहरूले मोशा र दाऊदलाई दिएका कुरालाई नै उछिन्छ, त्यसरी नै तिमीहरूका गवाही मोशाको भन्दा अधिक र तिमीहरूका शब्दहरू दाऊदका भन्दा महान् होस् भन्‍ने म चाहन्छु। म तिमीहरूलाई सय गुणा दिन्छु—तिमीहरूले उही रूपमा फिर्ता गरेको म चाहन्छु। मानवजातिलाई जीवन दिने म नै हुँ भनी तिमीहरूलाई थाहा हुनुपर्छ, अनि मबाट जीवन पाउने र मेरो निम्ति गवाही दिने तिमीहरू नै हौ। मैले तिमीहरूलाई दिएको कर्तव्य यही हो, जुन तिमीहरूले मेरो निम्ति गर्नुपर्छ। मैले मेरा सबै महिमा तिमीहरूलाई दिएको छु, मेरा चुनिएका मानिसहरू, इस्राएलीहरूले कहिल्यै प्राप्‍त नगरेका जीवन मैले तिमीहरूलाई दिएको छु। अधिकारद्वारा नै, तिमीहरूले मेरो गवाही दिनुपर्छ र तिमीहरूको जवानी र तिमीहरूको जीवन मलाई अर्पण गर्नुपर्छ। जसलाई म मेरो महिमा दिन्छु उसले मेरो गवाही दिनेछ र मेरो निम्ति तिनीहरूको जीवन दिनेछन्। यसलाई मैले उहिले नै निर्धारण गरेको छु। मैले तिमीहरूलाई मेरो महिमा दिनु त तिमीहरूको लागि सौभाग्यको कुरा हो र तिमीहरूको कर्तव्यचाहिँ मेरो महिमाको गवाही दिनु हो। यदि तिमीहरूले आशिष्‌ पाउनलाई मात्र ममा विश्‍वास गरेका थियौ भने, मेरो कामको महत्त्व कम हुन्थ्यो र तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुँदैनथियौ। इस्राएलीहरूले मेरो कृपा, प्रेम र महानता मात्रै देखे र यहूदीहरूले मेरो धैर्यता र उद्धार मात्र देखे। तिनीहरूले मेरो आत्माको काम अतिभन्दा अति कम देखे, यहाँसम्‍म कि ती तिमीहरूले सुनेका र देखेका भन्दा दशौं हजारमा एक भाग जति मात्र तिनीहरूले बुझे। तिमीहरूले देखेका कुराहरूले तिनीहरूका प्रधान पूजाहारीलाई पनि उछिन्छ। तिमीहरूले आज बुझेका कुराहरूले तिनीहरूले बुझेका कुरालाई उछिन्छ; तिमीहरूले आज जे देखेका छौ यसले व्यवस्थाको युग साथै अनुग्रहको युगमा देखिएको कुरालाई पनि उछिन्छ र तिमीहरूले भोगेका कुराहरू मोशा र एलियाको भन्दा पनि अधिक छन्। इस्राएलीहरूले जे बुझे त्यो परमप्रभुको व्यवस्था मात्र थियो र तिनीहरूले जे देखे त्यो परमप्रभुको पिठ्यूँ मात्र थियो; यहूदीहरूले जे बुझे त्यो येशूको उद्धार मात्र थियो, तिनीहरूले जे प्राप्‍त गरे त्यो येशूले दिनुभएको अनुग्रह मात्र थियो र तिनीहरूले जे देखे त्यो यहूदीहरूको घरानाभित्रको येशूको स्वरूप मात्र थियो। आज तिमीहरूले जे देख्छौ त्यो परमप्रभुको महिमा, येशूको उद्धार र यस दिनको मेरा सबै कामहरू हुन्। त्यसैले तिमीहरूले मेरो आत्माका वचनहरू सुनेका छौ, मेरो बुद्धिको बखान गरेका छौ, मेरो चमत्कार थाहा पाएका छौ र मेरो स्वभाव जानेका छौ। मैले तिमीहरूलाई मेरो सारा व्यवस्थापन योजना पनि बताएको छु। तिमीहरूले जे देखेका छौ त्यो प्रेमिलो र कृपालु परमेश्‍वर मात्र होइन, तर धार्मिकताले पूर्ण परमेश्‍वर हो। तिमीहरूले मेरो चमत्कारपूर्ण काम देखेका छौ र म प्रताप र क्रोधले भरिएको छु भन्‍ने जानेका छौ। यसको अतिरिक्त, कुनै समय मैले इस्राएलको घरानामाथि मेरो उर्लँदो क्रोध खन्याएँ र आज यो तिमीहरूमाथि आएको छ भन्‍ने तिमीहरू जान्दछौ। तिमीहरूले स्वर्गको मेरा रहस्यहरूलाई यशैया र यूहन्नाले भन्दा बढी बुझ्छौ; तिमीहरूले मेरो मनोरमता र संवेदनशीलतालाई विगतका सबै सन्तहरूले भन्दा पनि बढी जान्दछौ। तिमीहरूले प्राप्‍त गरेको कुरा मेरो सत्यता, बाटो र जीवन मात्र होइन, तर यूहन्नाको भन्दा पनि ठूलो दर्शन र प्रकाश हो। तिमीहरूले धेरैभन्दा धेरै रहस्यहरू बुझ्छौ र मेरो साँचो मुहारमा हेरेका छौ; तिमीहरूले मेरो न्याय धेरै स्वीकार गरेका छौ र मेरो धर्मी स्वभावलाई बढी जान्दछौ। त्यसै गरी, तिमीहरू आखिरी दिनहरूमा जन्मिएका भए तापनि तिमीहरूको बुझाइ विगतको जस्तो छ, र तिमीहरूले आजका कुराहरू पनि अनुभव गरेका छौ र यी सबै म स्वयम्‌ले गरेको थिएँ। मैले तिमीहरूसँग जे मागेको छु त्यो अत्याधिक छैन, किनभने मैले तिमीहरूलाई धेरै दिएको छु, र तिमीहरूले ममा धेरै देखेका छौ। यसैले, तिमीहरूले विगतका सन्तहरूलाई मेरो निम्ति गवाही देओ भन्‍ने म चाहन्छु र मेरो हृदयको एक मात्र इच्छा यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्‍वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई उहाँले न्याय नगरिकन, मानिसले सम्भवतः उहाँको धर्मी स्वभावलाई जान्न सक्दैन, जसले कुनै अपराध सहन सक्दैन, न त मानिसले परमेश्‍वरको आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न सक्छ। उहाँको गवाहीको खातिर, र उहाँको प्रबन्धको खातिर, उहाँले आफ्नो सम्पूर्णतालाई सार्वजनिक गर्नुहुन्छ, यस प्रकारले मानिसहरूलाई उहाँ सार्वजनिक रूपमा देखा परेर, परमेश्‍वरको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभावमा रूपान्तरित हुन, र जोडदार गवाही दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभाव रूपान्तरण परमेश्‍वरका विभिन्न प्रकारका कार्यहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरूविना, मान्छे परमेश्‍वरको गवाही दिन र परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभाव रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्‍वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्‍वरको साक्षी भएको छ, र परमेश्‍वरका अभिप्रायहरू अनुरूप भएको छ भन्‍ने सङ्केत गर्छ। आज, देहधारी परमेश्‍वर पृथ्वीमा आफ्नो कार्य गर्न आउनुभएको छ, र उहाँको माग मानिसले उहाँको ज्ञान हासिल गरोस्, उहाँप्रति समर्पित होस्, उहाँको गवाही दिओस्, तिनीहरूले उहाँको व्यावहारिक र सामान्य कार्य जानून्, मानिसका धारणासँग नमिल्ने उहाँका सबै वचन र कार्यहरूप्रति तिनीहरू समर्पित होऊन्, र मानिसलाई बचाउनका साथै मानिसउपर विजय गर्नका लागि उहाँले समापन गर्ने सबै कार्यहरूको गवाही तिनीहरूले दिऊन् भन्‍ने हो। परमेश्‍वरको गवाही दिनेहरूसँग परमेश्‍वरको ज्ञान हुनैपर्छ; यस प्रकारको गवाही मात्र सही र व्यावहारिक हुन्छ, र यस प्रकारको गवाहीले मात्र शैतानलाई लाजमा पार्न सक्छ। उहाँको न्याय, सजाय, र काँटछाँट भोगेर उहाँलाई जानिसकेकाहरूलाई उहाँ आफ्नो गवाही दिनका लागि प्रयोग गर्नुहुन्छ। शैतानले भ्रष्ट तुल्याएका मानिसहरूलाई उहाँले उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ, र त्यसैगरी जसको स्वभाव परिवर्तन भएको छ, र जसले उहाँको आशिषप्राप्त गरेको छ, यी सबैलाई पनि उहाँले गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँद्वारा मुक्ति नपाएको मानिसले आफ्नो मुखबाट उहाँको प्रशंसा गरिरहनु पर्दैन, न त उहाँलाई शैतानको दुष्ट्याइँको प्रशंसा र गवाहीको नै आवश्यकता छ। केवल उहाँलाई चिन्नेहरू मात्र उहाँको गवाही दिन योग्य छन्, र स्वभावमा परिवर्तन भएकाहरू मात्रै उहाँको गवाही दिन योग्य छन्। परमेश्‍वरले जानाजानी मानिसलाई उहाँको नामको बेइज्जत गर्न दिनुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

परमेश्‍वरको गवाही दिनु भनेको मुख्य रूपले परमेश्‍वरको कामको बारेमा अनि परमेश्‍वरले मानिसहरूलाई कसरी जित्नुहुन्छ, उहाँले कसरी मानिसहरूलाई मुक्ति दिनुहुन्छ, र उहाँले कसरी मानसिहरूलाई परिवर्तन गर्नुहुन्छ सोबारेमा तेरो ज्ञान बताउनु हो; यो भनेको परमेश्‍वरले मानिसहरूलाई उहाँद्वारा जितिन, सिद्ध बनाइन र उहाँद्वारा बचाइन दिँदै, कसरी उहाँले तिनीहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्नुहुन्छ भनी बताउनु हो। गवाही दिनु भनेको उहाँको काम र तैँले अनुभव गरेका सबै कुराहरूको बारेमा बताउनु हो। उहाँको कामले मात्र उहाँको प्रतिनिधित्व गर्न सक्दछ, र उहाँको कार्यले मात्र उहाँलाई उहाँको सम्पूर्णतामा सार्वजनिक रूपमा प्रकट गर्न सक्दछ; उहाँको कामले उहाँको गवाही दिन्छ। उहाँको काम र वाणीहरूले सीधै आत्माको प्रतिनिधित्व गर्छन्; उहाँले गर्नुहुने कामलाई आत्माले अघि बढाउनुहुन्छ, र उहाँले बोल्नुहुने वचनहरू आत्माद्वारा बोलिन्छन्। यी कुराहरू केवल परमेश्‍वरको देहधारी शरीरको माध्यमबाट मात्र व्यक्त गरिन्छ, तापनि वास्तवमा ती आत्माका अभिव्यक्तिहरू हुन्। उहाँले गर्नुहुने सबै काम र उहाँले बोल्नुहुने सबै वचनहरूले उहाँको सारतत्त्वलाई प्रतिनिधित्व गर्दछ। यदि, उहाँले शरीर धारण गरेर मानिसको माझ आउनुभएपछि परमेश्‍वरले बोल्नुहुन्न वा काम गर्नुहुन्न भने र तिमीहरूलाई उहाँको व्यावहारिकता, उहाँको सामान्यता र उहाँको सर्वशक्ति जान्‍न लगाइयो भने के तँ त्यसो गर्न सक्‍नेथिइस्? के तैँले आत्माको सार के हो भनी जान्न सक्‍नेथिइस्? के तैँले उहाँको देहका विशेषताहरू के-के हुन् भनी जान्न सक्‍नेथिइस्? तिमीहरूले उहाँको कामको प्रत्येक चरणको अनुभव गरेको हुनाले मात्रै उहाँले तिमीहरूलाई उहाँको साक्षी दिन अनुरोध गर्नुभएको हो। यदि तिमीहरू त्यस्तो अनुभवरहित भएको भए उहाँले तिमीहरूलाई गवाही दिन लगाउन जोड दिनुहुनेथिएन। यसैले जब तैँले परमेश्‍वरको गवाही दिन्छस्, तैँले उहाँको बाहिरी सामान्य मानवताको मात्र गवाही होइन, तर उहाँले गर्नुहुने काम र उहाँले देखाउनुहुने मार्गको पनि गवाही दिइरहेको हुन्छस्; तँलाई कसरी उहाँले जित्‍नुभयो र कुन-कुन पक्षहरूमा तँलाई सिद्ध बनाइयो सो बारे तैँले गवाही दिनुपर्छ। तैँले दिनुपर्ने प्रकारको गवाही यही हो। यदि तँ जहाँ गए पनि यसरी कराउँछस् भने: “हाम्रा परमेश्‍वर काम गर्न आउनुभएको छ, र उहाँको काम साँच्चै व्यावहारिक छ! उहाँले कुनै अलौकिक कार्यहरू नगरी, कुनै आश्‍चर्यकर्म र चमत्कारहरू नगरी हामीलाई प्राप्त गर्नुभएको छ!” अरूले सोध्नेछन्: “उहाँले आश्‍चर्यकर्म र चमत्कारहरू गर्नुहुन्न भनी तिमीले भन्नुको अर्थ के हो? आश्‍चर्यकर्म र चमत्कारहरू नगरी उहाँले कसरी तिमीलाई जित्न सक्‍नुभयो?” र तँ भन्छस्: “उहाँले कुनै चमत्कार वा आश्‍चर्यकर्महरू प्रदर्शन नगरी बोल्नुहुन्छ, उहाँले हामीलाई जित्नुभएको छ। उहाँको कामले हामीलाई जितेको छ।” अन्त्यमा, यदि तैँले कुनै महत्त्वपूर्ण कुरा भन्न सक्दैनस्, यदि तैँले निश्चित कुरा गर्न सक्दैनस् भने, के त्यो साँचो गवाही हो? जब देहधारी परमेश्‍वरले मानिसहरूलाई जित्नुहुन्छ, उहाँको ईश्‍वरीय वचनहरूले नै त्यो काम गर्दछ। मानिसले त्यो काम पूरा गर्न सक्दैन; यो कुनै मरणशीलले हासिल गर्न सक्‍ने कुरा होइन, र सामान्य मानिसहरूमध्ये सबैभन्दा उच्च क्षमताको व्यक्तिले पनि यो काम गर्न सक्दैन, किनकि उहाँको ईश्‍वरत्व कुनै पनि सृष्टि गरिएको प्राणीको भन्दा उच्च छ। यो मानिसहरूका लागि असाधारण कुरा हो; आखिर, सृष्टिकर्ता कुनै पनि सृष्टिभन्दा उच्च हुनुहुन्छ। सृष्टि गरिएका प्राणीहरू सृष्टिकर्ता भन्दा उच्च हुन सक्दैनन्; यदि तँ उहाँभन्दा उच्च थिइस् भने, उहाँले तँलाई जित्न सक्नुहुने थिएन, र उहाँ तँभन्दा उच्च हुनुभएकोले मात्रै उहाँले तँलाई जित्न सक्नुहुन्छ। जसले सम्पूर्ण मानवजातिलाई जित्न सक्नुहुन्छ उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ, र अरू कसैले होइन तर उहाँले मात्र यो काम गर्न सक्नुहुन्छ। यी वचनहरू नै “गवाही” हुन्—तैँले दिनुपर्ने प्रकारको गवाही। तैँले चरणबद्ध रूपमा दण्ड, न्याय, शोधन, परीक्षाहरू, बाधाहरू र सङ्कष्टहरूको अनुभव गरेको छस्, र तँलाई जितिएको छ; तैँले शरीरका सम्भावनाहरूलाई, तेरा व्यक्तिगत प्रेरणाहरूलाई र देहको भित्री रुचिहरूलाई पन्छाएको छस्। अर्को वचनमा, परमेश्‍वरका वचनहरूले तेरो हृदयलाई पूर्ण रूपमा जितेको छ। तँ उहाँले माग गर्नुभएजस्‍तो प्रकारले आफ्नो जीवनमा वृद्धि भएको छैनस्, तापनि यी सबै कुरा तँलाई थाहा छ र उहाँले जे गर्नुहुन्छ त्यसप्रति तँ पूर्ण रूपमा विश्‍वस्त छस्। यसैले यसलाई गवाही भन्न सकिन्छ, यस्तो गवाही जुन वास्तविक र सत्य छ। परमेश्‍वर जुन काम गर्न आउनुभयो, अर्थात् न्याय गर्ने र दण्ड दिने काम, त्यसको उद्देश्य भनेको मानिसलाई जित्नु हो, तर उहाँले आफ्नो कामलाई अन्त्य पनि गर्दैहुनुहुन्छ, युगको अन्त्य गर्दैहुनुहुन्छ र निष्कर्षको काम पूरा गर्दै हुनुहुन्छ। उहाँले सम्पूर्ण युगको अन्त्य गर्दैहुनुहुन्छ, सारा मानव जातिलाई बचाउँदै हुनुहुन्छ, मानव जातिलाई एकै पल्टमा सधैँभरिका निम्ति पापबाट छुटकारा दिँदैहुनुहुन्छ; आफूले सृष्टि गर्नुभएको मानव जातिलाई उहाँले पूर्ण रूपमा प्राप्त गर्दैहुनुहुन्छ। तैँले यी सबै कुराको गवाही दिनुपर्छ। तैँले परमेश्‍वरको धेरै कामको अनुभव गरेको छस्, तैँले यो आफ्नै आँखाले देखेको छस् र व्यक्तिगत रूपमा अनुभव गरेको छस्; जब तँ अन्त्यमा पुगेको हुन्छस्, तब तँलाई जुन काम गर्ने कर्तव्य दिइएको छ त्यो गर्न तँ असक्षम हुनु हुँदैन। त्यो धेरै दुःखलाग्दो कुरा हुनेछ! भविष्यमा, जब सुसमाचार फैलाइन्छ, तैँले आफ्नै ज्ञानको कुरा गर्न सक्षम हुनुपर्दछ, तैँले आफ्नो हृदयमा प्राप्त गरेका सबै कुराहरूको गवाही दिनुपर्छ, र कुनै पनि कोसिस बाँकी राख्नुहुँदैन। सृष्टि गरिएको प्राणीले प्राप्त गर्नुपर्ने कुरा यही हो। परमेश्‍वरको कामको यस चरणको वास्तविक महत्त्व के हो? यसको प्रभाव के हो? र मानिसमा यो कतिसम्म अघि बढाइन्छ? मानिसहरूले के गर्नुपर्छ? जब तिमीहरूले देहधारी परमेश्‍वरले संसारमा आउनुभएपछि गर्नुभएका सबै कामहरूको बारेमा स्पष्ट बताउन सक्छौ, तब तिमीहरूको गवाही पूर्ण हुनेछ। जब तैँले यी पाँचवटा कुरा स्पष्ट रूपमा बताउन सक्छस्: उहाँको कामको महत्त्व; त्यसको विषयवस्तुहरू; त्यसको सार; त्यसले प्रतिनिधित्व गर्ने स्वभाव र त्यसका सिद्धान्तहरू, तब त्यसले तँ परमेश्‍वरको गवाही दिन सक्षम छस्, र तँमा साँच्चै ज्ञान छ भन्‍ने प्रमाण दिन्छ। मैले तिमीहरूबाट गरेका मागहरू अति उच्च छैनन्, र जो वास्तविक खोजीमा छन् तिनीहरूले त्यो प्राप्त गर्न सक्छन्। यदि तैँले परमेश्‍वरका गवाहीहरूमध्ये एक बन्ने संकल्प गर्छस् भने, परमेश्‍वरले कुन कुरालाई घृणा गर्नुहुन्छ र कुन कुरालाई प्रेम गर्नुहुन्छ सो तैँले बुझ्नैपर्छ। तैँले उहाँका धेरै कामहरूको अनुभव गरेको छस्; यस कामद्वारा तैँले उहाँको स्वभाव जान्नुपर्छ, उहाँका अभिप्रायहरू र मानव जातिसँग उहाँले गर्नुभएको मागलाई बुझ्नुपर्छ र उहाँको गवाही दिन र तेरो कर्तव्य पूरा गर्न तैँले त्यो ज्ञानको प्रयोग गर्नुपर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

परमेश्‍वरको बारेमा गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्‍वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, र मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले कस्ता-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्नेबारेमा नै कुरा गर्नुपर्छ। तिमीहरूले तिमीहरूका अनुभवमा कति धेरै भ्रष्टता प्रकट गरिएको छ, तिमीहरूले कति धेरै कष्ट सहेका छौ, परमेश्‍वरको प्रतिरोध गर्न तिमीहरूले कति धेरै कुराहरू गरेका छौ र अन्त्यमा तिमीहरू परमेश्‍वरद्वारा कसरी जितियौ भन्ने कुराहरू पनि गर्नुपर्छ। तिमीहरूसँग परमेश्‍वरको कामको कतिसम्म वास्तविक ज्ञान छ, र तिमीहरूले कसरी परमेश्‍वरका लागि साक्षी दिनुपर्दछ र उहाँको प्रेमको ऋण चुकाउनुपर्छ भन्ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यस प्रकारको भाषामा ठोसता प्रदान गर्नुपर्छ, साथै यसलाई सरल तरिकाले प्रस्तुत गर्नुपर्छ। खोक्रा सिद्धान्तहरूको बारेमा कुरा नगर। धेरै व्यावहारिक भएर बोल; हृदयबाट बोल। तिमीहरूले विभिन्‍न कुराहरूको अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउन आफैलाई गम्भीर देखिने, खोक्रा सिद्धान्तहरूले सुसज्जित नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र मूर्ख देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूको बारेमा बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूका लागि निकै उपयुक्त देखिन्छ। तिमीहरू विगतमा परमेश्‍वरलाई सबैभन्दा धेरै विरोध गर्ने र उहाँप्रति समर्पित हुन सबैभन्दा कम झुकाव राख्‍ने मानिसहरू थियौ, तर अब तिमीहरू जितिएका छौ—त्यो कुरा कहिल्यै नबिर्स। तिमीहरूले यी विषयहरूमा धेरै चिन्तन र मनन गर्नुपर्छ। जब मानिसहरूले ती कुराहरू स्पष्ट बुझ्छन्, तब तिनीहरूलाई गवाही कसरी दिनुपर्छ भन्‍ने थाहा हुनेछ, अन्यथा, तिनीहरूले लाजमर्दो र मूर्ख कामहरू गर्न सक्‍नेछन्, जुन परमेश्‍वरको लागि गवाही दिनु होइन, बरु परमेश्‍वरमाथि लज्‍जा ल्याउनु हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ

एक दिन, तैँले विदेशमा सुसमाचार फैलाइरहेको बेला कसैले तँलाई सोध्छ: “परमेश्‍वरमा तपाईंको विश्‍वास कस्तो चल्दैछ?” तैँले यसो भन्न सक्‍नेछस्: “परमेश्‍वरका कामहरू अति अचम्मका छन्!” तेरा शब्‍दहरूले वास्तविक अनुभवहरू बताउँछन् छन् भन्‍ने तिनीहरूले महसुस गर्नेछन्। साक्षी हुनु भनेको साँच्चै यही नै हो। तैँले भन्‍नेछस्, परमेश्‍वरको काम बुद्धिले भरिएको छ, अनि तँभित्रको उहाँको कामले साँच्चै तँलाई निश्‍चयता दिएको छ र तेरो हृदयलाई जितेको छ। तैँले उहाँलाई सँधै प्रेम गर्नेछस्, किनकि उहाँ मानव जातिको प्रेम पाउनुभन्दा अझै बढी योग्यका हुनुहुन्छ। यदि तँ यी कुराहरू बोल्न सक्छस् भने तँ मानिसहरूको हृदयलाई छुन सक्छस्। यी सबै गर्नु भनेको साक्षी बन्नु हो। यदि तँ जोडदार साक्षी बन्न, मानिसहरूका आँखाबाट आँसु खसाल्न सक्छस् भने त्यसले तँ साँच्चै त्यो व्यक्ति होस् जसले परमेश्‍वरलाई प्रेम गर्छ भन्‍ने देखाउँछ, किनकि तँ प्रेमिलो परमेश्‍वरको साक्षी दिन सक्छस्, अनि तँद्वारा परमेश्‍वरका कामहरू गवाहीमा पैदा हुन्छन्। तेरो गवाहीद्वारा अरूलाई परमेश्‍वरको कामको खोजी गर्ने, परमेश्‍वरको कामको अनुभव गर्ने तुल्याइन्छ, अनि तिनीहरूले अनुभव गर्ने कुनै पनि वातावरणमा, तिनीहरू दह्रो गरी खडा हुन सक्छन्। साक्षी दिने एक मात्र सच्‍चा तरिका यही मात्र हो, अनि अहिले तँबाट चाहिएको पनि ठीक यही नै हो। तैँले परमेश्‍वरको काम अति नै मूल्यवान् र मानिसहरूले साँचेर राख्‍न योग्यको छ, अनि परमेश्‍वर अति नै मूल्यवान् र अति नै प्रशस्त हुनुहुन्छ भन्‍ने देख्‍नुपर्छ; उहाँ बोल्न मात्र सक्नुहुन्न, तर मानिसहरूको न्याय गर्न, तिनीहरूका हृदयलाई शोधन गर्न, तिनीहरूलाई आनन्द दिन, तिनीहरूलाई प्राप्त गर्न, तिनीहरूलाई जित्न र तिनीहरूलाई सिद्ध पार्न पनि सक्नुहुन्छ। तैँले आफ्नो अनुभवबाट परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ भन्‍ने देख्‍नेछस्। यसकारण अहिले तँ परमेश्‍वरलाई कति धेरै प्रेम गर्छस्? के तँ यी कुराहरूलाई आफ्नो हृदयबाट साँच्चै भन्न सक्छस्? जब तँ आफ्नो हृदयबाट यी शब्दहरू व्यक्त गर्न सक्छस्, तब तँ साक्षी बन्न सक्‍नेछस्। तेरो अनुभव यो स्तरमा पुगेपछि तँ परमेश्‍वरको साक्षी बन्न सक्षम हुनेछस्, र तँ योग्यको बन्‍नेछस्। यदि तँ आफ्‍नो अनुभवमा यो स्तरमा पुगेनस् भने तँ अझै धेरै टाढा हुनेछस्। शोधनको अवधिमा मानिसहरूले कमजोरी देखाउनु सामान्य कुरा हो, तर शोधनपछि तैँले यसो भन्न सक्नुपर्छ: “परमेश्‍वर उहाँको काममा धेरै बुद्धिमान् हुनुहुन्छ!” यदि तैँले साँच्चै यी वचनहरूको व्यावहारिक बुझाइ प्राप्त गर्न सकिस् भने, यो तैँले प्रेम पूर्वक सम्हालेर राख्ने कुरा बन्नेछ, अनि तेरो अनुभवको मूल्य हुनेछ।

अहिले तँ कुन कुराको पछि लाग्नुपर्छ? तैँले परमेश्‍वरको कामको साक्षी दिन सके पनि, नसके पनि, तँ परमेश्‍वरको गवाही र प्रकटीकरण हुन सके वा नसके पनि, अनि तँ उहाँद्वारा प्रयोग हुन योग्यको भए पनि नभए पनि—तैँले खोज्‍नुपर्ने कुराहरू यिनै हुन्। परमेश्‍वरले तँभित्र साँच्चै कति काम गर्नुभएको छ? तैँले कति देखेको छस्? तैँले कति बुझेको छस्? तैँले कति अनुभव गरेको र चाखेको छस्? चाहे परमेश्‍वरले तँलाई जाँच्नुभएको होस्, तेरो काटछाँट गर्नुभएको होस्, वा तँलाई अनुशासनमा राख्‍नुभएको होस्, उहाँका व्यवहारहरू र उहाँको काम तँमा पूरा भएको छ। तर परमेश्‍वरको विश्‍वासी र उहाँद्वारा सिद्ध हुने कुराको पछि लाग्ने व्यक्तिको रूपमा, के तँ आफ्नो व्यावहारिक अनुभवको आधारमा परमेश्‍वरको कामको साक्षी दिन सक्छस्? के तँ आफ्नो व्यावहारिक अनुभवद्वारा परमेश्‍वरको वचनअनुसार जिउन सक्छस्? के तँ आफ्नै व्यावहारिक अनुभवद्वारा अरूका निम्ति जुटाउन सक्छस् र आफ्‍नो सम्पूर्ण जीवन परमेश्‍वरको कामको साक्षी दिन खर्चन सक्छस्? परमेश्‍वरको कामको साक्षी दिनका लागि तँ आफ्नै अनुभव, ज्ञान र तैँले चुकाएको मूल्यमा भर पर्नुपर्छ। यसरी मात्र तैँले उहाँका अभिप्रायहरूलाई पूरा गर्न सक्छस्। के तँ परमेश्‍वरको कामको साक्षी दिने व्यक्ति होस्? के तँमा यस्तो आकांक्षा छ? यदि तँ उहाँको नाउँको, अझ बढी उहाँको कामको साक्षी दिन सक्छस् भने, अनि उहाँले आफ्ना मानिसहरूबाट माग गर्नुभएको स्वरूप लिएर जिउन सक्छस् भने तँ परमेश्‍वरका निम्ति एक साक्षी होस्। तँ वास्तवमा कसरी परमेश्‍वरको साक्षी बन्छस्? तँ परमेश्‍वरको वचनको खोजी गर्दै र त्यस अनुसार जिउने कोसिस गर्दै, तेरा वचनहरूद्वारा साक्षी दिँदै, मानिसहरूलाई उहाँको काम जान्‍ने र उहाँका कामहरू देख्‍ने तुल्याउँदै यो गर्छस्। यदि तँ साँच्‍चै यी सबै कुराको खोजी गर्छस् भने, परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ। यदि तँ परमेश्‍वरबाट सिद्ध पारिन र अन्त्यसम्मै आशिषित हुन मात्र खोज्‍छस् भने परमेश्‍वरमा भएको तेरो विश्‍वासको दृष्टिकोण शुद्ध छैन। तँ वास्तविक जीवनमा परमेश्‍वरका कामहरू देख्ने, उहाँले तँलाई आफ्ना अभिप्रायहरू प्रकट गर्नुहुँदा त्यो कसरी पूरा गर्ने त्यसको पछि लाग्नुपर्छ, र उहाँको आश्‍चर्यपन र बुद्धिको साक्षी तैँले कसरी दिनुपर्छ, अनि उहाँले कसरी तँलाई अनुशासनमा राख्‍नुहुन्छ र काटछाँट गर्नुहुन्छ त्यसको साक्षी कसरी दिने सोको खोजी गर्नुपर्छ। यी सबै तैँले विचार गरिरहेको हुनुपर्ने कुरा हुन्। यदि परमेश्‍वर उहाँले तँलाई सिद्ध पार्नुभएपछि तँ उहाँको महिमामा सहभागी हुन सक्छस् भनेर मात्रै तँमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ भने, त्यो अझै अपर्याप्त हुन्छ र तैँले परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैनस्। तँ परमेश्‍वरको कामको साक्षी दिन, उहाँका मागहरू पूरा गर्न र उहाँले मानिसहरूमा व्यावहारिक रूपमा गर्नुभएको कामको अनुभव गर्न सक्ने हुनुपर्छ। चाहे पीडा होस्, आँसु होस् वा उदासी होस्, जे भए पनि तैँले आफ्नो अभ्यासमा यी सबै कुरा अनुभव गर्नुपर्छ। ती सबैको उद्देश्य परमेश्‍वरको साक्षी दिने व्यक्तिको रूपमा तँलाई सिद्ध बनाउनु हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

मानिसले अन्त्यमा परमेश्‍वरको लागि कस्तो गवाही दिन्छ? मानिसले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, उहाँको स्वभाव धार्मिकता, क्रोध, सजाय र न्याय हो भनी गवाही दिन्छ; मानिसले परमेश्‍वरको धर्मी स्वभावको गवाही दिन्छ। मानिसलाई सिद्ध बनाउन परमेश्‍वरले उहाँको न्यायको प्रयोग गर्नुहुन्छ, उहाँले मानिसलाई प्रेम गर्नुभएको छ, र मानिसलाई मुक्ति दिनुभएको छ—तर उहाँको प्रेममा कति धेरै कुरा छ? त्यहाँ न्याय, प्रताप, क्रोध र सराप छ। विगतमा परमेश्‍वरले मानिसलाई सराप दिनुभएको भए पनि उहाँले मानिसलाई पूर्ण रूपमा अतल कुण्डमा हालिदिनुभएन, तर त्यो साधनलाई मानिसको विश्‍वासलाई शोधन गर्न प्रयोग गर्नुभयो; उहाँले मानिसलाई मृत्युदण्ड दिनुभएन, तर मानिसलाई सिद्ध बनाउनका निम्ति कार्य गर्नुभयो। शरीरको सार त्यो हो जुन शैतानको हो—परमेश्‍वरले यसलाई ठीकै भन्नुभएको थियो—तर परमेश्‍वरले गर्नुभएका तथ्यहरूलाई उहाँका वचनहरू अनुसार पूरा गरिँदैनन्। तैँले उहाँलाई प्रेम गर्न सक् र तैँले देहको सारलाई बुझ्न सक् भनी उहाँले तँलाई सराप्नुहुन्छ; तँ बिउँझन सक्, तैँले आफू भित्रका कमी-कमजोरीहरूलाई जान्न सक् अनि मानिस पूर्ण रूपमा अयोग्य छ भनी जान् भनी उहाँले तँलाई सजाय दिनुहुन्छ। यसैले, परमेश्‍वरका सरापहरू, उहाँको न्याय र उहाँको प्रताप र क्रोध—ती सबै मानिसलाई सिद्ध बनाउनका निम्ति हुन्। आज परमेश्‍वरले गर्नुहुने सबै कुरा, र उहाँले तिमीहरूभित्र स्पष्ट पार्नुहुने धर्मी स्वभाव—यी सबै मानिसलाई सिद्ध बनाउनका लागि हुन्। परमेश्‍वरको प्रेम यस्तो प्रकारको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

आज, तँ सिद्ध बनाइन वा तेरो बाहिरी मानवतामा परिवर्तन ल्याउन र तेरो क्षमतामा सुधार गर्न लागिपर्न सक्छस्, तर प्रमुख महत्त्वको कुरा यो हो कि तैँले आज परमेश्‍वरले गर्नुहुने सबै कुराको अर्थ छ र त्यो लाभदायक छ भनी बुझ्न सक्नेछस्: यसले तँ फोहोर देशमा जन्मेको व्यक्तिलाई फोहोरबाट उम्कन र त्यसलाई फाल्न सक्‍ने, यसले तँलाई शैतानको प्रभावलाई जित्न, र शैतानको अन्धकारको प्रभावलाई त्याग्न सक्‍ने बनाउँछ। यी कुराहरूमा ध्यान दिँदा, तँ फोहोरको यो देशमा सुरक्षित हुनेछस्। आखिरमा, तँलाई के गवाही दिन लगाइन्छ? तँ फोहोरको देशमा जन्मेको छस्, तर तँ पवित्र बन्न सक्छस्, र शैतानको सत्तामा जिउने गरी फेरि कहिल्यै फोहोरद्वारा दूषित हुँदैनस्, तर आफैलाई शैतानको प्रभावबाट छुटाउँछस्, शैतानको कब्जा वा उत्पीडनमा पर्दैनस्, सर्वशक्तिमानका हातहरूमुनि जिउँछस्। शैतानसितको लडाइँमा पाएको विजयको गवाही र प्रमाण यही नै हो। तैँले शैतानको विरुद्ध विद्रोह गर्न सक्छस्, तैँले आफ्नो जियाइमा शैतानी स्वभावहरू प्रकट गर्दैनस्, बरु परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले माग गर्नुभएअनुसार नै जिउनेछस्: सामान्य मानवता, सामान्य ज्ञान, सामान्य अन्तर्दृष्टि, परमेश्‍वरलाई प्रेम गर्ने सामान्य संकल्प, र परमेश्‍वरप्रतिको बफादारीता। यो सृष्टि गरिएको प्राणीले वहन गर्नुपर्ने गवाही हो। तैँले यसो भन्छस्, “हामी फोहोरको देशमा जन्मिएका छौं, तर परमेश्‍वरको सुरक्षाको कारण, उहाँको नेतृत्वको कारण, र उहाँले हामीलाई जित्नुभएको कारण, हामीले आफैलाई शैतानको प्रभावदेखि छुटाएका छौं। आज हामी समर्पित हुन सक्नु पनि परमेश्‍वरले हामीलाई विजय गर्नुभएको प्रभाव हो, अनि यो हामी असल भएकोले, वा हामीले स्वाभाविक रूपले परमेश्‍वरलाई प्रेम गरेकोले होइन। परमेश्‍वरले हामीलाई चुन्नुभएकोले र हामीलाई पूर्वनियुक्त गर्नुभएकोले आज हामीलाई विजय गरिएको, र उहाँको गवाही दिन सक्छौं, उहाँको सेवा गर्न सक्छौं; यसरी, उहाँले हामीलाई चुन्नुभएको र रक्षा गर्नुभएकोले पनि, हामी शैतानको शक्तिबाट बचाइएका र छुटाइएका छौं, अनि फोहोरलाई त्यागेर ठूलो रातो अजिङ्गरको देशमा शुद्ध हुन सक्छौं।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (२)

सिद्ध पारिनुपर्नेहरूका लागि, विजय गरिने कार्यको यो चरण अपरिहार्य छ; मानिसलाई विजय गरिएपछि मात्र उसले सिद्ध पारिने कार्य अनुभव गर्न सक्छ। विजय गरिएको भूमिका निर्वाह गर्नुमा मात्रै कुनै ठूलो महत्त्व छैन, यसले तँलाई परमेश्‍वरद्वारा प्रयोग गरिनको लागि योग्य तुल्याउनेछैन। सुसमाचार फैलाउने कार्यमा तैँले आफ्‍नो भूमिका निर्वाह गर्ने कुनै माध्यम तँसँग हुनेछैन, किनभने तैँले जीवनको खोजी गर्दैनस्, र आफूभित्रको परिवर्तन र नवीकरणको खोजी गर्दैनस्, त्यसैले तँसँग जीवनसम्‍बन्धी कुनै खास अनुभव छैन। एकपछि अर्को गरिने यो चरणबद्ध कार्यमा, तैँले एकपटक सेवाकर्ताको रूपमा र प्रतिभारको रूपमा काम गरिस्, तर तँ अन्तिममा पत्रुसजस्तै बन्‍ने खोजी गर्दैनस् भने, र जुन मार्गद्वारा पत्रुस सिद्ध पारिए तेरो खोजी त्यसअनुसार छैन भने, स्वाभाविक रूपमै तैँले आफ्‍नो स्वभाव परिवर्तनको अनुभव गर्नेछैनस्। यदि तँ सिद्ध पारिने प्रयासमा लागेको व्यक्ति होस् भने, तैँले साक्षी दिनेछस्, र तैँले यसो भन्‍नेछस्: “परमेश्‍वरको यो चरणबद्ध कार्यमा, मैले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गरेको छु, र मैले ठूलो कष्ट भोगेको भए पनि, परमेश्‍वरले मानिसलाई कसरी सिद्ध पार्नुहुन्छ भन्‍ने कुरा मैले जानेको छु, परमेश्‍वरले गर्नुभएको काम मैले प्राप्त गरेको छु, मैले परमेश्‍वरको धार्मिकताको ज्ञान पाएको छु र उहाँको सजायले मलाई मुक्ति दिएको छ। उहाँको धर्मी स्वभाव ममा आइपरेको छ र मलाई आशिष्‌हरू र अनुग्रह ल्याइदिएको छ; उहाँको न्याय र सजायले नै मलाई सुरक्षा दिएको र शुद्ध पारेको छ। यदि परमेश्‍वरद्वारा मलाई सजाय र न्याय नगरिएको, र परमेश्‍वरको कठोर वचन ममा नआइपरेको भए, मैले परमेश्‍वरलाई चिन्‍न सक्दिनथेँ, न त मुक्ति नै पाउन सक्थेँ। आज म देख्‍छु: सृष्टि गरिएको प्राणीको रूपमा, व्यक्तिले परमेश्‍वरद्वारा सृष्टि गरिएका सबै कुराहरूको आनन्द लिने मात्र होइन, अझै महत्त्वपूर्ण, सृष्टि गरिएका सम्पूर्ण प्राणीहरूले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको धर्मी न्यायमा आनन्द लिनुपर्छ, किनभने परमेश्‍वरको स्वभाव मानिसद्वारा आनन्द लिन योग्य छ। शैतानद्वारा भ्रष्ट तुल्याइएको सृष्टि गरिएको प्राणीको रूपमा, व्यक्तिले परमेश्‍वरको धर्मी न्यायमा आनन्द लिनुपर्छ। उहाँको धर्मी स्वभावमा सजाय र न्याय छ, र त्यति मात्र होइन, त्यसमा महान् प्रेम छ। आज परमेश्‍वरको प्रेम पूर्ण रूपमा प्राप्त गर्न म असक्षम भए पनि, यसलाई देख्‍ने सौभाग्य मैले प्राप्त गरेको छु, र यसमा मैले आशिष् पाएको छु।” सिद्ध पारिएको अनुभव गर्नेहरूले हिँड्ने बाटो यही हो र तिनीहरूले बताउने ज्ञान यही हो। त्यस्ता मानिसहरू पत्रुसजस्तै हुन्; तिनीहरूमा पत्रुसको जस्तै अनुभवहरू छन्। त्यस्ता मानिसहरू जीवन प्राप्त गरेका, सत्यता भएका व्यक्तिहरू हुन्। जब तिनीहरूले अन्त्यसम्‍मै अनुभव गर्छन्, परमेश्‍वरको न्यायको अवधिमा तिनीहरूले आफैलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गर्नेछन्, र तिनीहरू परमेश्‍वरद्वारा प्राप्त गरिनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

आज, महत्त्वपूर्ण कुरा यो हो कि तिमीहरूले मानिसको सारलाई चिन्‍नुपर्दछ, र तिमीहरूले कुन कुरामा प्रवेश गर्नुपर्दछ भनेर जान्नुपर्छ; तैँले जीवन प्रवेश, र स्वभावमा हुने परिवर्तन, वास्तवमा कसरी जितिने, र कसरी पूर्ण रूपमा परमेश्‍वरमा समर्पित हुने, कसरी परमेश्‍वरको अन्तिम गवाही दिने, र कसरी मृत्युसम्मै समर्पणता हासिल गर्ने भन्‍ने कुराहरूको बारेमा बातचित गर्नैपर्छ। तैँले यी कुराहरूमा ध्यान केन्द्रित गर्नैपर्छ, र जुन कुरा वास्तविक वा महत्त्वपूर्ण छैन त्यसलाई पहिले पन्छ्याएर बेवास्ता गर्नुपर्दछ। आज, तँ कसरी जितिने, र मानिसहरू जितिएपछि तिनीहरूले कस्तो व्यवहार गर्छन् त्यो बारेमा सचेत हुनुपर्दछ। सायद तँलाई जितिएको छ भनेर भन्छस् होला, तर के तँ मृत्युसम्म समर्पित हुन सक्छस्? कुनै सम्भावनाहरू भए पनि वा नभए पनि तँ अन्त्यसम्म पछि लाग्नुपर्छ, वातावरण जस्तै भए पनि तैँले परमेश्‍वरप्रतिको विश्‍वास गुमाउनु हुँदैन। आखिरीमा, तैँले गवाहीका दुई पक्ष प्राप्त गर्नुपर्छ: अय्यूबको गवाही—मृत्युसम्मको समर्पणता; र पत्रुसको गवाही—परमेश्‍वरप्रतिको सर्वोच्च प्रेम। एउटा पक्षमा, तँ अय्यूबजस्तै हुनुपर्छ: तिनले सबै भौतिक सम्पत्तिहरू गुमाए, र शरीर पीडाले ढाक्यो, तापनि तिनले यहोवाको नाउँ त्यागेनन्। यो अय्यूबको गवाही थियो। पत्रुसले मृत्युसम्म परमेश्‍वरलाई प्रेम गर्न सके। जब तिनलाई क्रूसमा टाँगियो र तिनले मृत्युको सामना गरे, त्यस बेला पनि तिनले परमेश्‍वरलाई प्रेम गरिरहे; तिनले आफ्नै सम्भावनाहरूको बारेमा सोचेनन् वा सुन्दर आशा वा असाधारण विचारहरूको पछि लागेनन्, तिनी केवल परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरका सबै प्रबन्धहरूमा समर्पित हुन लागिपरे। तैँले गवाही दिनेबारे विचार गर्नुभन्दा अघि, जितिएर सिद्ध बनाइएपछिको कुनै व्यक्ति बन्नु भन्दा पहिले, तैँले यस्तै स्तर प्राप्त गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (२)

यदि मानिसहरूले परमेश्‍वरको डर मान्ने हृदयले उहाँमा विश्‍वास गर्छन्‌ र परमेश्‍वरका वचनहरूको अनुभव गर्छन्‌ भने, यस्ता मानिसहरूमा परमेश्‍वरको मुक्ति र परमेश्‍वरको प्रेम देख्न सकिन्छ। यी मानिसहरू परमेश्‍वरलाई प्रमाणित गर्नको लागि समर्थ छन्; तिनीहरूले सत्यतालाई अभ्यास गर्छन्‌, र तिनीहरूले जे प्रमाणित गर्छन् त्यो पनि सत्यता, परमेश्‍वर जे हुनुहुन्छ र परमेश्‍वरको स्वभाव जे छ त्यो नै हो। तिनीहरू परमेश्‍वरको प्रेमको माझमा जिउँछन्‌ र तिनीहरूले परमेश्‍वरको प्रेमलाई देखेका छन्‌। यदि मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्ने इच्छा राख्छन्‌ भने, तिनीहरूले परमेश्‍वरको प्रेमिलोपनको स्वाद लिनुपर्छ र परमेश्‍वरको प्रेमिलोपनलाई देख्नुपर्छ; तब मात्र तिनीहरूमा परमेश्‍वरलाई प्रेम गर्ने र परमेश्‍वरको निम्ति आफैलाई निष्ठा पूर्वक समर्पित गर्ने हृदय जगाउन सकिन्छ। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको वचनहरू वा कल्पनामार्फत उहाँलाई प्रेम गर्न लगाउनुहुन्न, र उहाँले मानिसहरूलाई उहाँलाई प्रेम गर्न लगाउनको लागि बलजफती गर्नुहुन्न। बरु, उहाँले तिनीहरूलाई तिनीहरूको आफ्नै इच्छाले उहाँलाई प्रेम गर्न दिनुहुन्छ, र उहाँले तिनीहरूलाई उहाँको काम र उच्चारणहरूमा आफ्नो प्रेमिलोपन हेर्न दिनुहुन्छ, जसपछि तिनीहरूमा परमेश्‍वरप्रतिको प्रेम जन्मिन्छ। यसरी मात्र मानिसहरूले साँच्चै परमेश्‍वरको साक्षी दिन सक्छन्‌। अरूहरूद्वारा त्यसो गर्नलाई भनिएकोले गर्दा मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्दैनन्‌, न त यो कुनै क्षणिक भावनात्मक आवेग हो। तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन्‌ किनभने तिनीहरूले उहाँको प्रेमिलोपन देखेका छन्‌ कि मानिसहरूको प्रेमको योग्यको उहाँमा अति धेरै कुराहरू छन्‌, तिनीहरूले परमेश्‍वरको मुक्ति, बुद्धि, र अचम्मका कार्यहरू देखेका हुनाले, र यसको परिणाम स्वरूप, तिनीहरूले परमेश्‍वरलाई साँच्चै प्रशंसा गर्छन्‌ र साँच्चै उहाँको तृष्णा गर्छन्‌, र तिनीहरूमा यस्तो उत्कण्ठा जाग्छ कि परमेश्‍वरलाई प्राप्त नगरी तिनीहरू बाँच्न सक्दैनन्‌। परमेश्‍वरको साँच्चै गवाही दिनेहरूले किन सानदार साक्षी दिन समर्थ हुन्छन्‌ भन्‍ने कुराको कारण यही हो कि तिनीहरूको साक्षी साँचो ज्ञान र परमेश्‍वरको लागि साँचो तृष्णाको जगमाथि खडा छ। यस्तो साक्षी कुनै भावनात्मक संवेगअनुसार प्रदर्शन गरिएको होइन, तर परमेश्‍वरको ज्ञान र उहाँको स्वभावअनुसार हो। तिनीहरूले परमेश्‍वरलाई चिन्न आएका हुनाले, तिनीहरूले आभास गर्छन्‌ कि तिनीहरूले निश्चय नै परमेश्‍वरको गवाही दिनुपर्छ र परमेश्‍वरको लागि तृष्णा राख्नेहरू सबैलाई नै परमेश्‍वरलाई चिन्न लगाउनुपर्छ, र परमेश्‍वरको प्रेमिलोपन र उहाँको व्यावहारिकताको बारेमा सचेत हुनुपर्छ‌। परमेश्‍वरको लागि मानिसहरूको प्रेम जस्तै, तिनीहरूको गवाही स्वतःस्फूर्त हुन्छ; यो वास्तविक हुन्छ र यसको वास्तविक महत्त्व र मूल्य हुन्छ। यो निष्क्रिय वा खोक्रो र अर्थहीन छैन। परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरूसँग मात्र आफ्नो जीवनमा सर्व मूल्य र अर्थ हुनुको कारण, तिनीहरूले मात्र परमेश्‍वरमा साँच्चै विश्‍वास गर्ने कारण यही हो कि यी मानिसहरू परमेश्‍वरको ज्योतिमा जिउन समर्थ हुन्छन्‌ र परमेश्‍वरको काम र व्यवस्थापनको लागि जिउन समर्थ हुन्छन्‌। यस्तो किन हुन्छ भने तिनीहरू अन्धकारमा जिउँदैनन्‌, तर ज्योतिमा जिउँछन्‌; तिनीहरूले अर्थहीन जीवन जिउँदैनन्‌, तर परमेश्‍वरद्वारा आशिषित गरिएको जीवन जिउँछन्‌। परमेश्‍वरलाई प्रेम गर्नेहरू मात्र परमेश्‍वरको गवाही दिन समर्थ हुन्छन्‌, तिनीहरू मात्र परमेश्‍वरका साक्षीहरू हुन्‌, तिनीहरूले मात्र परमेश्‍वरद्वारा आशिष पाएका हुन्छन्‌, र तिनीहरूले मात्र परमेश्‍वरका प्रतिज्ञाहरू पाउन समर्थ हुन्छन्‌।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

सम्बन्धित अनुभवात्मक गवाहीहरू

प्रदर्शन गरेर भएको हानि

सम्बन्धित भजनहरू

वास्तविकता जिएर मात्र तिमीले साक्षी दिन सक्छौ

तिम्रो विश्‍वासमा परमेश्‍वरको साक्षी कसरी दिनुपर्छ

अघिल्लो: ३९. परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न कसरी खोजी गर्ने

अर्को: ४१. परमेश्‍वरको अभिप्रायअनुसार कसरी उहाँको सेवा गर्ने र गवाही दिने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्