४१. परमेश्‍वरको अभिप्रायअनुसार कसरी उहाँको सेवा गर्ने र गवाही दिने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

सारा ब्रह्माण्डमा आफ्नो कामको सुरुवातदेखि नै, परमेश्‍वरले धेरै मानिसहरूलाई उहाँको सेवा गर्न अघिबाटै नियुक्त गरिसक्‍नु भएको छ, जसमा जीवनका हरेक क्षेत्रका मानिसहरू समावेश छन्। उहाँको उद्देश्य उहाँका अभिप्रायहरू पूरा गर्नु र पृथ्वीमा उहाँको कामलाई सहजतापूर्वक पूर्णतामा ल्याउनु हो; उहाँको सेवाको लागि मानिसहरू छनौट गर्नुमा परमेश्‍वरको लक्ष्य यही हो। परमेश्‍वरको सेवा गर्ने हरेकले उहाँको अभिप्राय बुझ्नुपर्छ। उहाँको यो कामले परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ता, र पृथ्वीमा उहाँको कामका सिद्धान्तहरू मानिसहरूका निम्ति अझ स्पष्ट पार्दछ। परमेश्‍वर वास्तवमा यस पृथ्वीमा आफ्नो काम गर्न, मानिसहरूसँग संलग्न हुन नै आउनुभएको छ ताकि तिनीहरूले उहाँका कामहरू अझ स्पष्ट रूपमा थाहा पाऊन्। आज तिमीहरू, मानिसहरूको यो समूह, व्यावहारिक परमेश्‍वरको सेवा गर्न पाएकोमा भाग्यशाली छौ। यो तिमीहरूका लागि अतुलनीय आशिष् हो—साँच्चै, तिमीहरू परमेश्‍वरद्वारा उठाइएका हौ। कुनै व्यक्तिलाई उहाँको सेवा गर्न छनौट गर्दा, परमेश्‍वरसँग सधैँ आफ्ना सिद्धान्तहरू हुन्छन्। मानिसहरूले कल्पना गरेझैं, परमेश्‍वरको सेवा गर्नु भनेको कुनै पनि हालतमा केवल उत्साहको कुरा होइन। आज, तिमीहरू देख्छौ कि परमेश्‍वरको अघि सेवा गर्नेहरू सबैले त्यसो गर्दछन् किनभने उनीहरूसँग परमेश्‍वरको मार्गदर्शन र पवित्र आत्माको काम छ, र किनभने तिनीहरू सत्यको पछि लाग्ने मानिसहरू हुन्। यी परमेश्‍वरको सेवा गर्नेहरू सबैका निम्ति न्यूनतम सर्तहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ

परमेश्‍वरको सेवा गर्नेहरू परमेश्‍वरका घनिष्ठहरू हुनुपर्छ, तिनीहरू परमेश्‍वरलाई मनपर्दो हुनुपर्छ र परमेश्‍वरप्रति अत्याधिक बफादार हुन सक्ने हुनुपर्छ। चाहे तिमीहरू एकान्तमा व्यवहार गर वा सार्वजनिक स्थानमा, तिमीहरूले परमेश्‍वरको सामु परमेश्‍वरको आनन्द प्राप्त गर्न सक्छौ, तिमीहरू परमेश्‍वरको सामु दह्रिलो भई खडा हुन सक्छौ, अनि अरू मानिसहरूले तिमीहरूसँग जस्तोसुकै व्यवहार गरे पनि तिमीहरूले हिँड्नुपर्ने बाटो हिँड्नेछौ, अनि परमेश्‍वरको बोझलाई पूर्ण ध्यान दिनेछौ। यस्ता मानिसहरू मात्र परमेश्‍वरका घनिष्ठहरू हुन्। परमेश्‍वरसित घनिष्ठ रहेका व्यक्तिहरूले प्रत्यक्ष रूपमा उहाँको सेवा गर्न सक्छन्, किनकि तिनीहरूलाई परमेश्‍वरको महान् आज्ञा र परमेश्‍वरको बोझ दिइएको हुन्छ, तिनीहरू परमेश्‍वरको हृदयलाई आफ्नो हृदय बनाउन सक्षम हुन्छन्, र परमेश्‍वरको बोझलाई आफ्नै बोझ जस्तो गरी लिन्छन्, र तिनीहरूले आफ्नो भविष्यका सम्भावनाहरूमाथि विचार गर्दैनन्: तिनीहरूको कुनै सम्भावना नहुँदा, र तिनीहरूले केही कुरा प्राप्त गर्न नसक्‍ने हुँदा पनि, परमेश्‍वरलाई प्रेम गर्ने हृदयले सधैँ परमेश्‍वरमा विश्‍वास गर्छन्। यसैले यस्तो व्यक्ति परमेश्‍वरसँग घनिष्ठ हुन्छ। परमेश्‍वरसँग घनिष्ठ रहेका मानिसहरू परमेश्‍वरका विश्‍वासपात्रहरू पनि हुन्; परमेश्‍वरसँग घनिष्ठ रहेका व्यक्तिहरू मात्र उहाँको बेचैनी र उहाँका विचारहरूमा सहभागी हुन सक्छन्, अनि तिनीहरूका देह कष्टमय र कमजोर भए पनि, तिनीहरूले कष्ट सहन सक्छन्, अनि परमेश्‍वरलाई प्रसन्न तुल्याउनका निम्ति आफूलाई मन परेको थोक त्याग्छन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरले अझ बढी बोझहरू दिनुहुन्छ, अनि परमेश्‍वरले गर्न चाहनुभएको कुरा त्यस्ता मानिसहरूको गवाहीमा उत्पन्न हुँदछ। यसैले, यस्ता मानिसहरू परमेश्‍वरका निम्ति मनपर्दो हुन्छन्, तिनीहरू परमेश्‍वरका अभिप्रायाहरूअनुसारका परमेश्‍वरका सेवकहरू हुन्, त्यस्ता मानिसहरूले मात्र परमेश्‍वरसँग मिलेर शासन गर्न सक्छन्। जब तँ साँच्चै परमेश्‍वरप्रति घनिष्ठ व्यक्ति बनेको हुन्छस्, तैँले परमेश्‍वरसित शासन गर्ने बेला ठीक त्यही हो।

येशूले परमेश्‍वरको आज्ञा पूरा गर्न—अर्थात् सारा मानवजातिको छुटकाराको काम गर्न सक्षम हुनुहुन्थ्यो—किनकि उहाँले आफ्नै निम्ति कुनै योजनाहरू वा बन्दोबस्तहरू नगरी परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नुभयो। त्यसै पनि, उहाँ परमेश्‍वर, अर्थात् परमेश्‍वर स्वयम्‌सँग अति घनिष्ठ हुनुहुन्थ्यो, जुन कुरा तिमीहरू सबैले राम्ररी बुझ्दछौ। (वास्तवमा, उहाँ परमेश्‍वर स्वयम्‌ हुनुहुन्थ्यो, जुन कुराको साक्षी परमेश्‍वरले दिनुभयो। मैले यस विषयमा उदाहरण दिनका निम्ति येशूका तथ्यहरू प्रयोग गर्न यहाँ यो कुरा भन्दैछु।) उहाँले परमेश्‍वरको व्यवस्थापन योजनालाई केन्द्रमा राख्न सक्‍नुहुन्थ्यो, अनि सधैँ स्वर्गमा हुनुहुने पितासँग प्रार्थना गर्नुभयो र उहाँको इच्छा खोज्नुभयो। उहाँले प्रार्थना गर्दै भन्नुभयो: “हे परमेश्‍वर पिता! तपाईंको इच्छा जे छ त्यो पूरा गर्नुहोस्, अनि मेरा इच्छाहरू अनुसार होइन, तर तपाईंको योजनाअनुसार काम गर्नुहोस्। मानिस कमजोर हुन सक्छ, तर तपाईं त्यसको किन वास्ता गर्नुहुन्छ? मानिस तपाईंको वास्ता पाउने योग्यको कसरी बन्न सक्छ? अर्थात् मानिस, जो तपाईंको हातमा एउटा कमिला जस्तो छ? मेरो हृदयमा, म तपाईंको इच्छा मात्र पूरा गर्न चाहन्छु, अनि तपाईंले आफ्नो इच्छाअनुसार ममा जे गर्न चाहनुहुन्छ त्यो गर्नुहोस् भन्‍ने म चाहन्छु।” यरूशलेमतर्फ जाने बाटोमा येशू ठूलो वेदनामा हुनुहुन्थ्यो, मानौं उहाँको मुटुमा छुरी रोपेको थियो, तापनि उहाँमा आफ्नो वचनबाट पछि फर्कने अलिकति पनि इच्छा थिएन; सधैँ एउटा प्रबल शक्तिले काम गरिरहेको थियो, र त्यो शक्तिले उहाँलाई क्रूसमा टाँगिने स्थानतर्फ बढ्न बाध्य बनायो। अन्त्यमा, उहाँलाई क्रूसमा टाँगियो र मानवजातिको छुटकाराको काम पूरा गर्दै उहाँ पापी मानिस सरह हुनुभयो। उहाँ मृत्यु र पातलका बन्धनहरू तोडेर स्वतन्त्र हुनुभयो। उहाँको सामुन्ने मृत्यु, नरक र पातालले आफ्‍नो शक्ति गुमाए, र उहाँद्वारा पराजित भए। उहाँ तेत्तीस वर्ष जिउनुभयो, ती अवधिभरि उहाँले सधैँ त्यस बेलाको परमेश्‍वरको कामअनुसार परमेश्‍वरकै अभिप्रायहरूलाई पूरा गर्ने सक्दो कोसिस गर्नुभयो, उहाँले आफ्नो फाइदा वा नोक्‍सानीको बारेमा कहिल्यै पनि विचार गर्नुभएन, अनि सधैँ परमेश्‍वर पिताका अभिप्रायहरूका बारेमा सोच्नुहुन्थ्यो। यसैकारण उहाँको बप्तिस्मा भएपछि परमेश्‍वरले यसो भन्नुभएको थियो: “यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु।” परमेश्‍वरको सामुन्ने उहाँले गर्नुभएको सेवा, जुन परमेश्‍वरका अभिप्रायहरूअनुरूप थियो, त्यसैले गर्दा परमेश्‍वरले सारा मानवजातिलाई छुटकारा दिने गह्रौं काम उहाँको काँधमा राखिदिनुभयो र त्यो पूरा गर्न लगाउनुभयो, अनि त्यो महत्त्वपूर्ण काम पूरा गर्न उहाँ योग्य हुनुहुन्थ्यो र उहाँलाई अधिकार दिइएको थियो। उहाँले आफ्नो जीवनभरि परमेश्‍वरको निम्ति असीमित दुःखहरू भोग्नुभयो, अनि शैतानद्वारा उहाँको अनगिन्ती पटक परीक्षा भयो, तर उहाँ कहिल्यै निराश हुनुभएन। परमेश्‍वरले उहाँलाई भरोसा, र प्रेम गर्नुभएको कारणले गर्दा उहाँलाई यति ठूलो काम दिनुभयो, यसैले परमेश्‍वरले व्यक्तिगत रूपमा यसो भन्नुभयो: “यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु।” त्यस बेला, येशूले मात्र त्यो आज्ञा पूरा गर्न सक्नुहुन्थ्यो, अनि परमेश्‍वरले अनुग्रहको युगमा सारा मानवजातिलाई छुटकारा दिने काम पूरा गर्ने कार्यको यो एउटा व्यावहारिक पक्ष थियो।

यदि येशूजस्तै तिमीहरूले पनि परमेश्‍वरको बोझलाई पूर्ण रूपमा ध्यान दिन्छौ र तिमीहरूका देहको विरुद्धमा विद्रोह गर्छौ भने, परमेश्‍वरले उहाँका महत्त्वपूर्ण कामहरू तिमीहरूलाई सुम्पनुहुनेछ, त्यसरी तिमीहरूले परमेश्‍वरको सेवा गर्नका निम्ति चाहिने सर्तहरू पूरा गर्नेछौ। त्यस्ता परिस्थितिहरूमा पर्दा मात्र तिमीहरूले परमेश्‍वरको इच्छालाई पछ्याउँछौ र उहाँले दिनुभएको आज्ञा पूरा गर्दैछौ भनी भन्‍ने साहस गर्छौ, अनि मात्र तिमीहरूले साँच्चै परमेश्‍वरको सेवा गर्दैछौ भनी भन्‍ने साहस गर्छौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरका अभिप्रायहरू अनुसार कसरी सेवा गर्ने

संकल्प गरेका सबैले परमेश्‍वरको सेवा गर्न सक्दछन्—तर परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्ने र बुझ्ने व्यक्तिहरू मात्र परमेश्‍वरको सेवा गर्ने योग्यका र हकदार हुनेछन्। मैले तिमीहरूको बीचमा यो थाहा पाएको छु: धेरै मानिसहरूले जोसिलो भएर परमेश्‍वरको निम्ति सुसमाचार फैलाउँछन्, परमेश्‍वरको निम्ति अघि बढ्छन्, आफैलाई समर्पित गर्छन् र परमेश्‍वरका निम्ति केही कुरा त्याग्छन्, र त्यस्तै अरू कुराहरू गर्छन् भने, त्यसलाई परमेश्‍वरको सेवा हो भनी विश्‍वास गर्छन्। अझ धेरै धार्मिक मानिसहरू त हातमा बाइबल लिएर यताउति दगुर्नु, स्वर्गको राज्यको सुसमाचार फैलाउनु, र मानिसहरूलाई पश्चात्ताप र पाप-स्वीकार गर्न लगाएर मुक्त गर्नु परमेश्‍वरको सेवा गर्नु हो भनी विश्‍वास गर्छन्। यस्ता धेरै धार्मिक अगुवाहरू पनि छन्, जसले परमेश्‍वरको सेवा गर्नु भनेको उच्च अध्ययन गरेर अनि सेमिनरीमा तालिम लिएर च्यापलमा प्रचार गर्नु र बाइबलका शास्त्रहरू पढेर मानिसहरूलाई शिक्षा दिनु हो भनी विचार गर्छन्। यसबाहेक, गरिब क्षेत्रहरूमा यस्ता मानिसहरू हुन्छन् जसले परमेश्‍वरको सेवा गर्नु भनेको बिरामीलाई निको पार्नु र तिनीहरूका दाजुभाइ-दिदीबहिनीहरूको बीचमा भएका भूतात्माहरू निकाल्नु वा उनीहरूका निम्ति प्रार्थना गर्नु, वा उनीहरूको सेवा गर्नु हो भनी विश्‍वास गर्छन्। तिमीहरूको बीचमा धेरै जना यस्ता मानिसहरू छन्, जसले परमेश्‍वरको सेवा गर्नु भनेको परमेश्‍वरको वचनहरू खानु र पिउनु, हरेक दिन परमेश्‍वरसँग प्रार्थना गर्नु साथै सबैतिरका मण्डलीहरूमा भेटघाट गर्न जानु र कामहरू गर्नु हो भनी विश्‍वास गर्छन्। अरू दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरको सेवा गर्नु भनेको कहिल्यै विवाह नगर्नु वा परिवार खडा नगर्नु र आफ्नो सम्पूर्ण अस्तित्व परमेश्‍वरमा समर्पण गर्नु हो भनी विश्‍वास गर्छन्। तापनि परमेश्‍वरको सेवा गर्नु भनेको के हो सो थोरै मानिसहरूले मात्रै साँचो रूपमा जानेका हुन्छन्। परमेश्‍वरको सेवा गर्ने मानिसहरू आकाशका ताराहरू जत्तिकै धेरै भए पनि प्रत्यक्ष रूपमा र परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्नेहरूको सङ्ख्या नगण्य—अत्यन्तै रूपमा कम छ। म किन यो कुरा भन्दछु? यसकारण भन्दछु, कि तिमीहरू “परमेश्‍वरको सेवा” भन्‍ने वाक्यांशको सारलाई बुझ्दैनौ, अनि परमेश्‍वरका अभिप्रायहरूअनुसार कसरी सेवा गर्ने भन्‍ने कुरा त झनै कम बुझ्छौ। परमेश्‍वरको निम्ति गरिएको कस्तो सेवा वास्तवमा उहाँका अभिप्रायहररूअनुरूप हुन्छ भन्‍ने कुरा मानिसहरूले झट्टै बुझ्नु आवश्यक हुन्छ।

यदि तिमीहरू परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्न चाहन्छौ भने, पहिले तिमीहरूले यो बुझ्नुपर्छ कि, परमेश्‍वरका निम्ति कस्ता मानिसहरू मनपर्दा हुन्छन्, परमेश्‍वरले कस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ, परमेश्‍वरले कस्ता मानिसहरूलाई सिद्ध बनाउनुहुन्छ र कस्ता मानिसहरू परमेश्‍वरको सेवा गर्न योग्यका हुन्छन्। कम्तीमा पनि तिमीहरूमा यो ज्ञान हुनुपर्छ। यसबाहेक, तिमीहरूले परमेश्‍वरको कामको लक्ष्य अनि परमेश्‍वरले यहाँ र अहिले गर्नुहुने कामको बारेमा जान्नुपर्छ। यो कुरा बुझेपछि, अनि परमेश्‍वरको वचनको मार्गदर्शनद्वारा तिमीहरूले पहिले प्रवेश पाउनुपर्छ र परमेश्‍वरको आज्ञा प्राप्त गर्नुपर्छ। तिमीहरूले परमेश्‍वरका वचनहरू वास्तविक रूपमा अनुभव गरेपछि, र साँच्चै परमेश्‍वरको कामलाई जानेपछि, तिमीहरू परमेश्‍वरको सेवा गर्न योग्यका बन्नेछौ। अनि जब तिमीहरू उहाँको सेवा गर्छौ, त्यस बेला परमेश्‍वरले तिमीहरूका आत्मिक आँखाहरू खोलिदिनुहुनेछ र तिमीहरूलाई उहाँको कामलाई अझ राम्ररी बुझ्ने र त्यसलाई स्पष्ट रूपमा देख्ने बनाउनुहुनेछ। जब तिमीहरू यस वास्तविकतामा प्रवेश गर्छौ, तब तिमीहरूका अनुभवहरू अझ गहन र व्यावहारिक बन्नेछन्, अनि त्यस्ता अनुभवहरू प्राप्त गर्ने तिमीहरू सबै मण्डलीहरूको माझमा हिँड्न सक्नेछौ अनि आफ्ना दाजुभाइ, दिदी-बहिनीहरूका निम्ति प्रबन्ध गरिदिन सक्नेछौ, यसरी तिमीहरू प्रत्येकले एक-अर्काको सबल पक्षले आफ्नै कमीहरूलाई कम गर्न सक्नेछौ, अनि आफ्‍नो आत्मामा अझ राम्ररी ज्ञान प्राप्त गर्नेछौ। यस्ता वास्तविकता प्राप्त गरिसकेपछि मात्र तिमीहरूले परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्ने बन्नेछौ र तिमीहरूको सेवाको अवधिमा परमेश्‍वरद्वारा सिद्ध बनाइनेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरका अभिप्रायहरू अनुसार कसरी सेवा गर्ने

परमेश्‍वरको साँचो सेवा गर्ने व्यक्ति भनेको परमेश्‍वरका अभिप्राय अनुसारको, परमेश्‍वरको प्रयोगको लागि लायक, धार्मिक धारणाहरू त्याग्‍न सक्‍ने व्यक्ति हो। यदि तँ परमेश्‍वरको वचन खाने र पिउने तेरो कार्य प्रभावकारी होस् भन्‍ने चाहन्छस् भने, तैँले आफ्‍ना धार्मिक धारणाहरूलाई त्याग गर्नैपर्छ। यदि तँ परमेश्‍वरको सेवा गर्न चाहन्छस् भने, तैँले सुरुमा धार्मिक धारणाहरूलाई त्याग्‍नु अनि सबै कुरामा परमेश्‍वरका वचनहरूमा समर्पित हुनु अझै बढी आवश्यक छ। परमेश्‍वरको सेवा गर्ने व्यक्तिमा यो कुरा हुनुपर्छ। यदि तँमा यो ज्ञानको कमी छ भने, तैँले सेवा गर्न सुरु गर्दागर्दै बाधा अनि अर्चनहरू पैदा गर्नेछस्, अनि यदि तँ आफ्ना धारणाहरूमा टाँसिरहन्छस् भने, तँलाई परमेश्‍वरले फेरि कहिल्यै उठ्न नसक्‍ने गरी प्रहार गर्नुहुनेछ। उदाहरणको लागि, वर्तमानलाई लिएर हेर्: आजका धेरै वाणीहरू र कार्य बाइबल र परमेश्‍वरले यसअघि गर्नुभएका कार्यसित मिल्दैन, अनि यदि तँमा समर्पित हुने इच्छा छैन भने, तँ कुनै पनि समय पतित हुन सक्छस्। यदि तँ परमेश्‍वरका अभिप्रायअनुसार सेवा गर्न चाहन्छस् भने, तैँले सुरुमा धार्मिक धारणाहरू हटाउनैपर्छ अनि तैँले आफ्नै विचारधारालाई सुधार्नैपर्छ। पछि भनिने धेरैजसो कुराहरू पहिले भनिएका कुराहरूसँग मिल्दैनन्, अनि यदि तँमा अहिले समर्पित हुने इच्छा छैन भने, तँ यसपछि आउने बाटोमा हिँड्न सक्नेछैनस्। यदि परमेश्‍वरको कार्य गर्ने एउटा पद्धतिले तँभित्र जरा गाडेको छ भने र तैँले यसलाई कहिले पनि त्याग्‍दैनस् भने, उक्त पद्धति तेरो धार्मिक धारणा बन्नेछ। यदि परमेश्‍वर जे हुनुहुन्छ त्यसले तँमा जरा गाडेको छ भने, तैँले सत्यतालाई प्राप्त गरिसकेको छस्, अनि यदि परमेश्‍वरका वचनहरू अनि सत्यता तेरो जीवन बन्न सक्षम हुन्छन् भने, तँमा अबउप्रान्त परमेश्‍वरबारे कुनै धारणाहरू रहनेछैनन्। परमेश्‍वरको साँचो ज्ञान प्राप्त गरेकाहरूमा कुनै धारणाहरू हुनेछैनन् अनि तिनीहरू प्रावधानहरूमा बाँधिएर रहनेछैनन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामको बारेमा जान्‍नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले कहिले पनि परमेश्‍वरको सेवा गर्न सक्दैन। यदि तेरो स्वभावलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय गरिएको र सजाय दिइएको छैन भने, तेरो स्वभावले अझै शैतानलाई नै प्रतिनिधित्व गर्दछ जसले के प्रमाणित गर्छ भने तैँले तेरो आफ्नै असल अभिप्रायहरूबाट सेवा गर्छस्, तेरो सेवा तेरो शैतानी स्वभावमा आधारित छ। तैँले आफ्‍नो स्वभाविक चरित्रद्वारा, र तेरा व्यक्तिगत अभिरुचिहरू अनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सँधै सोच्छस् कि तैँले गर्न चाहेका कुराहरूले परमेश्‍वरलाई खुशी तुल्याउँछ, र तैँले गर्न नचाहने कुराहरू परमेश्‍वरको निम्ती घृणित छन्; तँ पूर्ण रूपमा तेरा आफ्नै अभिरुचिहरू अनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न सकिन्छ? अन्ततः तेरो जीवन स्वभावमा हल्का परिवर्तन पनि हुनेछैन; यसको सट्टामा, तेरो सेवाले तँलाई अझै हठी बनाउनेछ, जसद्वारा तेरो भ्रष्ट स्वभावले अझै गहिरो जरा गाड्छ, र त्यस्तै, परमेश्‍वरको सेवाको बारेमा तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा आधारित नियमहरू, र तेरो आफ्नै स्वभाव अनुसार तेरा सेवाबाट व्युत्पन्न अनुभवहरू बन्नेछन्। यी मानिसका अनुभवहरू र पाठहरू हुन्। यो सांसारिक मामिलाहरूको दर्शन हो। यस्ता मानिसहरूलाई फरिसीहरू र धार्मिक अधिकारीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ। यदि तिनीहरू कहिल्यै बिउँझिँदैनन् र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरू पक्कै झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरूमा परिवर्तन हुनेछन् जसले आखिरी दिनहरूमा मानिसहरूलाई बहकाउँछन्। पहिले नै भनिएका झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरू यस्ता मानिसहरूका बीचबाट खडा हुनेछन्। यदि परमेश्‍वरको सेवा गर्नेहरूले आफ्नै चरित्र अनुसरण गर्छन् र आफ्नै इच्छा अनुसार कार्य गर्छन् भने, तिनीहरूले कुनै पनि समयमा हटाइने जोखिम उठाउँछन्। जसले अरूको हृदय जित्न, उनीहरूलाई व्याख्यान गर्न र उनीहरूलाई बन्धनमा राख्‍न, र उच्चमा खडा हुन परमेश्‍वरको सेवा गर्ने क्रममा प्राप्त गरेको आफ्नो वर्षौंको अनुभव प्रयोग गर्दछन्—र जसले कहिल्यै पश्‍चात्ताप गर्दैनन्, आफ्ना पापहरूलाई कहिल्यै स्वीकार गर्दैनन्, पदको फाइदा कहिल्यै त्याग्दैनन्—यी मानिसहरू परमेश्‍वरको अघि पतन हुनेछन्। तिनीहरू पावल जत्तिकै हुन्, जसले आफ्नो वरिष्ठतामा घमण्ड गर्दछन् र आफ्‍ना योग्यताहरूलाई बढवा दिन्छन्। परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्धतामा ल्याउनुहुनेछैन। यस्तो सेवाले परमेश्‍वरको काममा अवरोध पुऱ्याउँछ। मानिसहरू सँधै विगतसँग टाँसिरहेका हुन्छन्। तिनीहरू विगतका धारणाहरू, बितेका दिनका हरेक कुराहरूमा टाँसिएका हुन्छन्। यो तिनीहरूको सेवाको निम्ति ठूलो बाधा हो। यदि तैँले तिनलाई बाहिर फाल्न सक्दैनस् भने, यी कुराहरूले तेरो पूरै जीवनलाई दबाउनेछ। परमेश्‍वरले तेरो प्रशंसा गर्नुहुन्न, चाहे तैँले दौडेर आफ्‍नो खुट्टा वा परिश्रम गरेर आफ्‍नो ढाड नै भाँच्, चाहे तँ परमेश्‍वरको सेवामा शहीद नै बन्, उहाँले अलिकति पनि तेरो तारिफ गर्नुहुन्‍न। ठीक विपरीत: उहाँले तँलाई दुष्ट काम गर्ने भनी भन्‍नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ

धर्ममा, धेरै मानिसहरूले आफ्नो जीवनभरि ठूलो दुःख भोग्छन्: तिनीहरूले आफ्नो देहलाई वशमा राख्छन् र आफ्नो क्रूस बोक्छन् र मृत्यु हुन लाग्दासमेत तिनीहरूले कष्ट भोग्छन् र सहन्छन्! कोही-कोही त आफ्नो मृत्यु हुने बिहानसम्म उपवास बसिरहेका हुन्छन्। तिनीहरूले आफ्नो सारा जीवनभरि राम्रो भोजन र वस्त्र अस्वीकार गर्छन्, केवल कष्टमा मात्र ध्यान दिन्छन्। तिनीहरू आफ्नो शरीरलाई वशमा राख्‍न र आफ्नो देहको विरुद्धमा विद्रोह गर्न सक्छन्। कष्ट भोग्‍न सक्‍ने तिनीहरूको जोस सराहनीय हुन्छ। तर तिनीहरूको सोचविचार, धारणा, मनोवृत्ति र वास्तवमा तिनीहरूको पुरानो प्रकृतिलाई अलिकति पनि काटछाँट गरिएको हुँदैन। तिनीहरूमा आफ्नैबारे साँचो ज्ञानको कमी हुन्छ। तिनीहरूको मस्तिष्कमा एक परम्परागत, अस्पष्ट परमेश्‍वरको प्रतिरूप हुन्छ। परमेश्‍वरका लागि कष्ट भोग्‍ने तिनीहरूको सङ्कल्प तिनीहरूका जोश र तिनीहरूको मानवताको असल चरित्रबाट आउँछ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूले न त उहाँलाई बुझ्छन्, न त उहाँका अभिप्रायबारे तिनीहरूलाई केही थाहा नै हुन्छ। तिनीहरू केवल काम गर्छन् र परमेश्‍वरका लागि अन्धाधुन्ध कष्ट भोग्छन्। तिनीहरूले समझलाई कुनै प्रकारको महत्त्व दिँदैनन्, आफ्नो सेवाले वास्तवमै परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने कुरा सुनिश्‍चित गर्न त्यत्ति वास्ता गर्दैनन्, तिनीहरूलाई परमेश्‍वरको ज्ञान कसरी प्राप्त गर्ने भन्‍ने कुरा थाहा हुनु त परै जाओस्। तिनीहरूले सेवा गरेका परमेश्‍वर उहाँको अन्तर्निहित स्वरूपमा हुनुहुन्‍न, बरु तिनीहरूले कल्पना गरेका परमेश्‍वर, तिनीहरूले सुनेका परमेश्‍वर वा लिखित दन्त्यकथाहरूमा पढेका परमेश्‍वर मात्र हुनुहुन्छ। त्यसपछि परमेश्‍वरका निम्ति कष्ट भोग्‍न आफ्ना उर्वर कल्पनाहरू र धर्मीपन प्रयोग गर्छन् र परमेश्‍वरले गर्न चाहनुभएको परमेश्‍वरको काम गर्न थाल्छन्। तिनीहरूको सेवा अति नै अवास्तविक हुन्छ, यहाँसम्म कि व्यावहारिक रूपमा तिनीहरूमध्ये कसैले पनि साँचो रूपले परमेश्‍वरका अभिप्रायअनुसार सेवा गर्न सक्दैन। तिनीहरूले जति नै खुसीसाथ दुःख भोगे पनि, सेवाबारे तिनीहरूको मूल दृष्टिकोण र तिनीहरूको मस्तिष्कमा रहेको परमेश्‍वरको प्रतिरूप अपरिवर्तित रहन्छ, किनभने तिनीहरूले परमेश्‍वरको न्याय, सजाय, शोधन र सिद्धता भोगेका हुँदैनन्, न त कसैले तिनीहरूलाई सत्यताको प्रयोग गरी डोर्‍याएको नै हुन्छ। तिनीहरूले मुक्तिदाता येशूमा विश्‍वास गरे पनि तिनीहरूमध्ये कसैले पनि मुक्तिदातालाई देखेका हुँदैनन्। तिनीहरूले उहाँलाई केवल दन्त्यकथा र सुनेका कुराहरूको माध्यमबाट जान्दछन्। फलस्वरूप, तिनीहरूको सेवा आँखा बन्द गरेर बिनाउद्देश्य गरिएको कामभन्दा बढी हुँदैन, त्यो एक अन्धोले आफ्नो बुबाको सेवा गरेको जस्तो हुन्छ। त्यस्तो सेवाबाट अन्त्यमा के हासिल गर्न सकिन्छ? अनि यसलाई कसले अनुमोदन गर्नेछ? सुरुदेखि अन्त्यसम्म, तिनीहरूको सेवा एक समान रहन्छ; तिनीहरूले केवल मानवनिर्मित पाठहरू सिक्छन् र तिनीहरूको सेवा केवल तिनीहरूको आफ्नै प्राकृतिकपन र तिनीहरूका आफ्नै रुचिहरूमा आधारित हुन्छ। यसले कस्तो इनाम ल्याउन सक्छ? येशूलाई देख्‍ने पत्रुसले पनि परमेश्‍वरका अभिप्रायअनुसार सेवा गर्न जान्दैनथे; तिनले यो कुरा अन्त्यतिर, आफ्नो बुढेसकालमा मात्र जाने। यसले काटछाँट वा काटछाँटको अलिकति पनि अनुभव नगरेका र कसैद्वारा नडोर्‍याइएका अन्धा व्यक्तिहरूबारे के भन्छ? के आज तिमीहरूमध्ये धेरैको सेवा ती अन्धा मानिसहरूको जस्तो छैन र? न्याय प्राप्त नगरेका, काटछाँट नभोगेका र परिवर्तन नभएका सबै व्यक्तिहरू—के तिनीहरू सबै अधुरो रूपमा मात्रै जितिएका छैनन् र? त्यस्ता मानिसहरू कुन कुरामा काम लाग्छन्? यदि तेरो सोच, जीवनबारे तेरो ज्ञान र परमेश्‍वरसम्बन्धी तेरो ज्ञानले कुनै नयाँ परिवर्तन देखाउँदैन र तैँले वास्तवमा केही पनि प्राप्त गर्दैनस् भने, तैँले आफ्नो सेवामा कुनै उल्लेखनीय कुरा कहिले पनि हासिल गर्नेछैनस्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (३)

मण्डलीहरूलाई अगुवाइ गर्न, मानिसहरूलाई जीवन दिन, र मानिसहरूका निम्ति प्रेरितहरू बन्‍न सक्‍नेहरू यथार्थता अनुभव हुनुपर्छ; उनीहरूसँग आत्मिक कुराहरूको सही बुझाइ हुनुपर्छ र उनीहरूमा सत्यताको सही बुझाइ र अनुभव हुनुपर्छ। यस किसिमका मानिसहरू मात्र मण्डलीहरूलाई अगुवाइ गर्ने सेवक वा प्रेरितहरू बन्‍न योग्य हुन्छन्। अन्यथा, उनीहरूले साना व्यक्तिहरूको रूपमा पछ्याउन मात्रै सक्छन् र अगुवाइ गर्न सक्‍दैनन्, मानिसहरूलाई जीवन उपलब्ध गराउन सक्‍ने प्रेरितहरू बन्‍न सक्‍ने त परै जाओस्। किनकि प्रेरितहरूको कार्य हतार गर्नु वा झगडा गर्नु होइन; बरु जीवन सम्‍बन्धी सेवाको काम गर्नु र अरूलाई तिनीहरूको स्वभाव रूपान्तरण गर्न अगुवाइ गर्नु हो। यो कार्य गर्नेहरूलाई गाह्रो जिम्मेवारी पूरा गर्नको लागि नियुक्ति गरिएको हुन्छ, यस्तो कार्य जो-कोहीले पूरा गर्न सक्दैन। यस किसिमको काम केवल जीवन भएकाहरूले मात्र पूरा गर्न सक्छन्, अर्थात्, सत्यताको अनुभव गरिसकेकाहरूले मात्र पूरा गर्न सक्छन्। यस किसिमको काम त्यतिकै छोडेर हिँड्ने, हतार गर्ने वा आफैलाई खर्च गर्न इच्छुकहरू जोकोहीले पूरा गर्न सक्दैन; सत्यताको अनुभव नभएका, नछिवलिएका वा न्याय नगरिएका मानिसहरू यस किसिमको काम गर्न असक्षम हुन्छन्। अनुभव नभएका मानिसहरू, यथार्थता नभएका मानिसहरू, वास्तविकतालाई स्पष्‍टसँग देख्‍न नसक्‍ने हुन्छन् किनकि उनीहरू आफैमा यस किसिमको सार हुँदैन। त्यसैले, यस किसिमको व्यक्ति अगुवापनको काम गर्न असक्षम हुने मात्र होइन, तर यदि लामो समयसम्म तिनीहरू सत्यतारहित भइरहन्छन् भने उनीहरूलाई हटाइनुपर्ने हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

जहाँसम्म कामको कुरा छ, काम गर्नु भनेको परमेश्‍वरका निम्ति यताउति दौडनु, सबै ठाउँमा प्रचार गर्नु, र उहाँको खातिर अर्पित हुनु हो भन्‍ने मानिसले विश्‍वास गर्छ। यस्तो विश्‍वास सही भए पनि यो अत्यन्तै एकतर्फी छ; परमेश्‍वरले मानिसलाई आग्रह गर्नुभएको कुरा उहाँका निम्ति यताउति दौडधूप गर्नु मात्र होइन; त्योभन्दा बढी, यो काम आत्माभित्रको सेवकाइ र प्रबन्धसित सम्बन्धित छ। धेरै दाजुभाइ-दिदीबहिनीहरूले, यति धेरै वर्षको अनुभवपछि पनि परमेश्‍वरको निम्ति काम गर्नेबारेमा कहिल्यै सोचेका छैनन्, किनकि मानिसले जुन कामको बारेमा सोच्छ त्यो परमेश्‍वरले आग्रह गर्नुभएको कामसित नमिल्दो हुन्छ। त्यसकारण, मानिसमा कामको विषयमा कुनै पनि रुचि छैन, मानिसको प्रवेश एकतर्फी हुनुको मुख्य कारण यही हो। तिमीहरू सबैले परमेश्‍वरका निम्ति काम गर्दै आफ्नो प्रवेश सुरु गर्नुपर्छ, यसरी तिमीहरूले अनुभवको प्रत्येक पक्षलाई राम्ररी अनुभव गर्न सक्छौ। तिमीहरू प्रवेश गर्नुपर्ने यहीभित्र हो। कामले परमेश्‍वरको खातिर यताउति दगुरिहिँड्नु भन्‍ने बुझाउँदैन, यसले त मानिसको जीवन अनि ऊ जसरी जिउँछ त्यस कुराले परमेश्‍वरलाई आनन्द दिन्छ कि दिँदैन भन्‍ने कुरालाई बुझाउँछ। कामले परमेश्‍वरप्रतिको आफ्‍नो भक्ति र परमेश्‍वरसम्बन्धी आफ्नो ज्ञानलाई मानिसहरूले उहाँको निम्ति साक्षी दिन र मानिसको सेवा गर्नको लागि प्रयोग गर्नुलाई बुझाउँछ। मानिसको जिम्मेवारी यही हो र सबै मानिसहरूले बुझ्नुपर्ने यही हो। कसैले भन्‍न सक्छ कि तिमीहरूको प्रवेश नै तिमीहरूको काम हो, र तिमीहरूले परमेश्‍वरका निम्ति काम गरिरहेको बेला प्रवेश गर्ने कोसिस गर्छौ। परमेश्‍वरको कामको अनुभव गर्नु भनेको उहाँको वचन कसरी खाने र पिउने भनी जान्‍नु मात्र होइन; अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले परमेश्‍वरको बारेमा साक्षी दिन जान्‍नुपर्छ र तिमीहरूले परमेश्‍वरको सेवा गर्नका साथै मानिसको लागि सेवकाइ र आवश्यक प्रबन्ध गर्न सक्‍नुपर्छ। यही नै काम हो, र यो तिमीहरूको प्रवेश पनि हो; प्रत्येक व्यक्तिले हासिल गर्नुपर्ने कुरा यही हो। परमेश्‍वरका निम्ति यताउति दौडनु र सबै ठाउँमा प्रचार गर्नुमा मात्र ध्यान दिनेहरू धेरै छन्, तैपनि तिनीहरूले आफ्नो व्यक्तिगत अनुभवमा ध्यान दिँदैनन् र आत्मिक जीवनमा आफूले गर्नुपर्ने प्रवेशको बारेमा बेवास्ता गर्छन्। यही कुराले नै परमेश्‍वरको सेवा गर्ने मानिसहरूलाई परमेश्‍वरको विरोध गर्ने मानिसहरू बनाएको छ। …

व्यक्तिले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न, परमेश्‍वरका अभिप्राय अनुसारका सबै मानिसहरूलाई उहाँको सामु ल्याउन, मानिसलाई परमेश्‍वरकहाँ ल्याई पवित्र आत्माको काम र परमेश्‍वरको अगुवाइसित परिचित गराउनका निम्ति काम गर्छ, र यसरी उसले परमेश्‍वरको कामको फललाई सिद्ध तुल्याउँछ। त्यसकारण, तिमीहरू त्यो कामको सारको बारेमा पूर्ण रूपमा स्पष्ट हुनु आवश्यक हुन्छ। परमेश्‍वरले प्रयोग गर्नुभएको व्यक्तिको रूपमा, प्रत्येक मानिस परमेश्‍वरको निम्ति काम गर्न योग्य हुन्छ, अर्थात् प्रत्येक व्यक्तिले पवित्र आत्माद्वारा प्रयोग गरिने मौका पाएको हुन्छ। तैपनि, एउटा कुरा तिमीहरूले बुझ्नुपर्छ: जब मानिसले परमेश्‍वरले आज्ञा गर्नुभएको काम गर्छ, तब उसले परमेश्‍वरद्वारा प्रयोग गरिने मौका पाएको हुन्छ, तर मानिसले जे भन्छ र जान्दछ त्यो पूर्ण रूपले मानिसको कद होइन। तिमीहरूले गर्न सक्‍ने भनेको आफ्नो कामको अवधिमा आफ्नै कमजोरीहरूलाई अझ राम्ररी जान्‍नु र पवित्र आत्माबाट अझ ठूलो अन्तर्ज्ञान प्राप्त गर्नु मात्र हो। यस तरिकाले, तिमीहरू कामको अवधिमा अझ राम्रोसित प्रवेश प्राप्त गर्न सक्षम हुनेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (२)

यदि तैँले मण्डली अगुवा वा सेवकको हैसियतमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न र परमेश्‍वरको राम्रो गवाही दिन नेतृत्व गर्नुपर्‍यो भने, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानिसहरूलाई परमेश्‍वरका वचनहरू पढ्न र सत्यताबारे सङ्गति गर्नका लागि अझ धेरै समय बिताउन मार्गदर्शन गर्नु हो। यसरी, परमेश्‍वरका चुनिएका जनहरूले मानिसलाई मुक्ति दिनेबारे परमेश्‍वरको लक्ष्य र उहाँको कामको उद्देश्यबारे अझ गहन ज्ञान प्राप्त गर्न सक्छन् र परमेश्‍वरको इच्छा र मानिसका लागि उहाँका विभिन्‍न मापदण्डहरू बुझ्न सक्छन्, जसले उनीहरूलाई आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने मौका दिन्छ। सङ्गति र प्रचार गर्न भेला हुँदा तिमीहरूले आफ्नो अनुभवात्मक गवाहीबारे व्यावहारिक रूपमा बोल्नुपर्छ, र तिमीहरू वचन र धर्मसिद्धान्त प्रचार गर्नमै सन्तुष्ट हुनु हुँदैन। तिमीहरूले परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा, तिमीहरू सत्यता बुझ्नमा केन्द्रित हुनपर्छ—र सत्यता बुझेपछि तिमीहरूले त्यसलाई अभ्यास गर्ने प्रयास गर्नुपर्छ, र तिमीहरूले अभ्यास गर्‍यौ भने मात्र साँचो रूपमा सत्यता बुझ्नेछौ। तिमीहरूले परमेश्‍वरका वचनहरूको सङ्गति गर्दा, आफूले जानेको विषयमा मात्र बोल। धाक नलगाओ, गैरजिम्‍मेवार टिप्पणीहरू नगर, वचन र धर्मसिद्धान्त मात्र नफलाक, र बढाइचढाइ नगर। यदि तैँले बढाइचढाइ गरिस् भने, मानिसहरूले तँलाई तिरस्कार गर्नेछन्, र पछि तँलाई धिक्‍कार लाग्‍नेछ, र तैँले पछुतो मान्दै निराश महसुस गर्नेछस्—र यो सब तैँले आफै निम्त्याएको हुनेछस्। यदि तैँले मानिसहरूलाई भाषण दिन र निराकरण गर्न वचन र धर्मसिद्धान्त मात्र प्रचार गरिस् भने, के तैँले उनीहरूलाई सत्यता बुझाउन र वास्तविकतामा प्रवेश गराउन सक्छस्? यदि तैँले सङ्गति गर्ने विषय व्यावहारिक छैन भने, यदि त्यो वचन र धर्मसिद्धान्तबाहेक अरू केही होइन भने, तैँले उनीहरूलाई जति नै निराकरण गरिस् र भाषण दिइस् भने पनि, त्यो व्यर्थ हुनेछ। के तैँले मानिसहरू तँसित डराउने र तैँले अह्राएको काम उनीहरूले गर्ने तर विरोध गर्न आँट नगर्ने कुरालाई उनीहरूले सत्यता बुझेको र उनीहरू आज्ञाकारी भएको समान ठान्छस्? यो ठूलो गल्ती हो; जीवनमा प्रवेश गर्नु त्यति सजिलो छैन। कतिपय मानिसहरूले ठूलो प्रभाव पार्न प्रयास गर्ने नयाँ म्यानेजरले जस्तै आफूले भर्खर पाएको अख्तियार परमेश्‍वरका चुनिएका मानिसहरूमा लाद्‍ने प्रयास गर्छन् ताकि सबै जना तिनीहरूप्रति समर्पित होऊन्। यसो गर्दा आफ्नो काम अझ सहज हुन्छ भन्‍ने तिनीहरू सोच्छन्। यदि तँमा सत्यता वास्तविकता छैन भने, चाँडै नै तेरो वास्तविक कद प्रकट हुनेछ, तेरो साँचो रङ्ग खुलासा हुनेछ र तँलाई अवश्य नै हटाइनेछ। केही प्रशासनिक काममा अलिकति निराकरण, काटछाँट र अनुशासन स्वीकार्य हुन्छ। तर यदि तैँले सत्यता सङ्गति गर्न सक्‍दैनस् भने, अन्त्यमा तँ समस्याहरू समाधान गर्न असक्षम हुनेछस्, र यसले कामका नतिजाहरूमा प्रभाव पार्नेछ। मण्डलीमा जुनसुकै समस्या देखिए पनि, यदि तँ मानिसहरूलाई भाषण मात्र दिइरहन्छस् र दोष मात्र लगाइरहन्छस् भने—यदि तैँले गर्ने भनेकै रिसाहा व्यवहार देखाउनु मात्र हो भने—यो तेरो भ्रष्ट स्वभाव आफै प्रकट भइरहेको हो र तैँले आफ्नो भ्रष्टताको कुरूप अनुहार देखाएको हुन्‍छस्। यदि तँ सधैँ मञ्‍चमा उभिन्छस् र मानिसहरूलाई यसरी भाषण दिन्छस् भने, समय बित्दै जाँदा, मानिसहरूले तँबाट जीवनको भरणपोषण प्राप्त गर्न सक्‍नेछैनन्, उनीहरूले कुनै व्यावहारिक कुरा प्राप्त गर्नेछैनन्, बरु यसको साटो उनीहरूले तँप्रति घिन र दिगमिग महसुस मात्र गर्नेछन्। यसको साथै, कतिपय यस्ता मानिसहरू पनि छन्, जो समझशक्ति नभएर तेरो प्रभावमा पर्छन्, र अरूलाई भाषण दिन र निराकरण र काटछाँट गर्न थाल्छन्। त्यसै गरी, तिनीहरू रिसाउँछन् र झोँक्‍किन्छन्। तैँले मानिसहरूका समस्या समाधान गर्न सक्‍नु त कता हो कता—बरु उल्टै तिनीहरूको भ्रष्ट स्वभावलाई हुर्काइरहेको हुन्छस्। अनि के त्यो तिनीहरूलाई अनन्त विनाशको बाटोमा लैजानु होइन र? के त्यो दुष्कर्म होइन र? अगुवाले मुख्य रूपमा सत्यताबारे सङ्गति गर्दै अनि जीवन प्रदान गर्दै अगुवाइ गर्नुपर्छ। यदि तँ सधैँ उच्‍च स्थानमा बसेर अरूलाई भाषण दिन्छस् भने, के तिनीहरूले सत्यता बुझ्‍न सक्‍नेछन्? तैँले केही समयसम्‍म यसरी काम गरेपछि, जब मानिसहरूले तेरो वास्तविकता देख्नेछन्, तब तिनीहरूले तँलाई त्याग्‍नेछन्। यसरी काम गरेर के तैँले मानिसहरूलाई परमेश्‍वरको अघि ल्याउन सक्छस्? अवश्यै सक्दैनस्; तैँले केवल मण्डलीको काम बिगार्न र परमेश्‍वरका चुनिएका मानिसहरू सबैलाई तँप्रति घिनाउन र तेरो त्याग गराउन मात्रै सक्छस्। विगतमा कतिपय अगुवा र सेवकहरू यसैकारण निकालिएका थिए। तिनीहरूले व्यावहारिक समस्याहरू समाधान गर्न, मानिसहरूलाई परमेश्वरका वचन खाने र पिउने काममा डोऱ्याउन वा आफैलाई बुझ्ने काममा अगुवाइ गर्न सत्यताबारे सङ्गति गर्न सकेनन्। तिनीहरूले यी अत्यावश्यक कामहरूमध्ये कुनै पनि गरेनन्; आफैलाई उच्च स्थानमा उभ्याउन, अनि मानिसहरूलाई भाषण दिन र फर्माउन ध्यान केन्द्रित गरे, अनि यसो गरेर आफूले मण्डली अगुवाको काम गरिरहेको भन्ठाने। परिणामस्वरूप, तिनीहरूले गर्न जाने पनि माथिले जारी गर्नुभएका कामका बन्दोबस्तहरू पूरा गरेनन्, न त तोकिएका कार्यहरू नै राम्ररी गरे। वचन र धर्मसिद्धान्त फलाक्नु र नाराहरू भट्याउनुबाहेक तिनीहरूले आफूलाई उच्च स्थानमा उभ्याएर मानिसहरूलाई अन्धाधुन्ध भाषण छाँट्ने, निराकरण र काटछाँट गर्ने काम मात्र गरे। यसले गर्दा सबैजना यी अगुवा र सेवकहरूदेखि तर्सिए र तिनीहरूदेखि टाढा रहन थाले, र मानिसहरूले तिनीहरूसमक्ष समस्या राख्ने हिम्मत गर्न सकेनन्। यस्तो व्यवहार गरेर ती अगुवा र सेवकहरूले आफ्नो काम बिगारे र त्यसलाई ठप्प पारे। परमेश्वरको घरले तिनीहरूलाई बर्खास्त गरेपछि मात्रै तिनीहरूले आफूले कुनै वास्तविक काम नगरेको महसुस गरे। तिनीहरूलाई ज्यादै पछुतो लाग्यो होला, तर पछुतो गर्नु व्यर्थ हुन्छ। जतिसुकै पछुतो लागे पनि तिनीहरूलाई बर्खास्त गरेर निकालियो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

सम्बन्धित भजनहरू

परमेश्‍वरको सेवा गर्ने व्यक्ति हुन के चाहिन्छ

केवल परमेश्‍वरका घनिष्ठहरू उहाँको सेवा गर्न योग्य छन्

परमेश्‍वरको इच्छाअनुसार कसरी सेवा गर्ने

परमेश्‍वरका साक्षीहरूको स्वभावमा परिवर्तन हुनैपर्छ

तिम्रो विश्‍वासमा परमेश्‍वरको साक्षी कसरी दिनुपर्छ

परमेश्‍वरको कार्यहरू जानेर मात्र मानिसले उहाँको साँचो गवाही दिन सक्छ

अघिल्लो: ४०. परमेश्‍वरको महिमा गर्नु र गवाही दिनु भनेको के हो

अर्को: ४२. स्वाभाव परिवर्तन गरेकाहरू मात्र परमेश्‍वरको सेवा गर्न योग्य हुन्छन् भनेर किन भनिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्