९. सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधीहरूको प्रकृति कसरी खुट्ट्याउने
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
ख्रीष्टविरोधीहरूले सत्यतालाई कसरी लिन्छन् भन्ने कुराको प्रमुख स्वभावगत विशेषता भनेको केवल अरुचि हुनु नभई वितृष्ण हुनु हो। अरुचि भनेको शत्रुता, निन्दा, वा विरोधको स्तरसम्म नपुगिसकेको सत्यताप्रतिको तुलनात्मक रूपमा नरम मनोवृत्ति मात्र हो। यो त केवल सत्यताप्रति रुचि नहुनु, त्यसलाई ध्यान दिन नचाहनु हो, र यसो भन्नु हो, “कस्ता सकारात्मक कुराहरू, कस्तो सत्यता? यदि मैले यी कुराहरू पाएँ भने पनि, के हुन्छ? के तिनले मेरो जीवन सुधार्नेछन् वा मेरा क्षमता बढाउनेछन्?” तिनीहरूलाई यी कुराहरूप्रति अरुचि हुन्छ, अनि त्यसैले तिनलाई वास्ता गर्दैनन्, तर यो वितृष्णाको स्तरसम्म पुग्दैन। वितृष्णाले निश्चित मनोवृत्तिलाई सङ्केत गर्छ। कस्तो प्रकारको मनोवृत्ति? कुनै सकारात्मक कुरा र सत्यतासँग सम्बन्धित कुनै पनि कुरा सुन्नेबित्तिकै तिनीहरूले घृणा, विकर्षण, प्रतिरोध, र सुन्ने अनिच्छा महसुस गर्छन्। तिनीहरूले सत्यतालाई निन्दा र अवमूल्यन गर्न प्रमाण खोज्ने प्रयास समेत सक्छन्। तिनीहरूको सत्यताप्रति वितृष्ण हुने स्वभाव सार यही नै हो।
अन्य मानिसहरूजस्तै, ख्रीष्टविरोधीहरूले पनि परमेश्वरका वचन पढ्न, परमेश्वरले भन्नुहुने कुरा सुन्न, र परमेश्वरको काम अनुभव गर्न सक्छन्। सतहमा, तिनीहरूले परमेश्वरका वचनहरूको शाब्दिक अर्थ बुझ्न, परमेश्वरले भन्नुभएको कुरा जान्न, र यी वचनहरूले मानिसहरूलाई सही मार्ग लिन र असल मानिस बन्न सक्षम बनाउँछ भनेर पनि जान्न सक्छन् जस्तो देखिन्छ। तर तिनीहरूका लागि यी कुराहरू सैद्धान्तिक मात्र रहन्छन्। ती सैद्धान्तिक मात्र रहन्छन् भन्नुको अर्थ के हो? यो कतिपय मानिसले कुनै किताबमा भएको निश्चित प्रतिपादित सिद्धान्त राम्रो छ भनेर विश्वास गर्नु, तर त्यसलाई वास्तविक जीवनसँग तुलना गर्दा, र समस्त मानवजातिका दुष्ट प्रचलन, मानव भ्रष्टता, र विभिन्न खाँचोहरू बारे सोच्दा, त्यो प्रतिपादित सिद्धान्त अव्यावहारिक र वास्तविक जीवनसँग नजोडिएको पाउनु, अनि यसले मानिसहरूलाई यी दुष्ट प्रचलन र यस दुष्ट समाजसँग घुलमिल हुन र तिनलाई पछ्याउन मद्दत गर्न सक्दैन भनेर बुझ्नुजस्तै हो। त्यसैले, तिनीहरूले यो प्रतिपादित सिद्धान्त राम्रो छ, तर यो सुन्दर चीजहरूप्रति मानवजातिका कामना र स्वैरकल्पना पूरा गर्न बोलिनुपर्ने कुरा मात्र हो भन्ने महसुस गर्छन्। उदाहरणका लागि, यदि कसैलाई हैसियत मन पर्छ, र ऊ मानिसहरूमाझ उच्च हुने र आराधना गरिने कामना गर्छ भने, ऊ यो लक्ष्य हासिल गर्नका लागि झूट बोल्ने, आफूलाई प्रदर्शन गर्ने, र अरूलाई दमन गर्ने, इत्यादि कुरामा भर पर्नै पर्छ। तर, सत्यताले निन्दा गर्ने कुराहरू ठ्याक्कै यिनै हुन्। त्यसले मानिसहरूका यी चाहना र महत्त्वाकाङ्क्षाहरूलाई निन्दा र इन्कार गर्छ। मानिसहरूले वास्तविक जीवनमा, आफूलाई विशिष्ट देखाउनु वैधानिक कार्य हो भन्ने सोच्छन्, तर त्यस्ता मागहरू परमेश्वर र सत्यताद्वारा निन्दित हुन्छन्। त्यसकारण, परमेश्वरका घरमा यी कुराहरू स्विकारिँदैनन्, तिनलाई कार्यान्वयन गर्ने कुनै स्थान हुँदैन, र तिनलाई साकार गर्नका लागि कुनै ठाउँ हुँदैन। तर के ख्रीष्टविरोधीहरूले ती कुराहरू त्याग्नेछन्? (तिनीहरूले त्याग्नेछैनन्।) हो, तिनीहरूले ती कुरा त्याग्नेछैनन्। ख्रीष्टविरोधीहरूले यो देख्नेबित्तिकै, यस्तो सोच्छन्, “अब मैले बुझेँ। त्यसोभए, सत्यताले मानिसहरू निःस्वार्थ होऊन्, आफूलाई त्याग गरून्, सहनशील र उदार होऊन्, आफ्नो अहम्लाई फालेर अरूका लागि जिऊन् भन्ने माग गर्छ। सत्यता यही नै हो।” एकपटक सत्यतालाई यसरी परिभाषित गरिसकेपछि, तिनीहरू सत्यतामा रुचि लिन्छन्, कि त्यसबाट विकर्षित हुन्छन्? तिनीहरू त्यसबाट, र परमेश्वरबाट विकर्षित हुन्छन्, र यसो भन्छन्, “परमेश्वरले सधैँ सत्यता बोल्छन्, उनले सधैँ मानव चाहना र महत्त्वाकाङ्क्षाजस्ता अशुद्ध कुराहरूको खुलासा गर्छन्, र उनले सधैँ मानव प्राणको गहनतम स्थानमा रहेको कुराको खुलासा गर्छन्। परमेश्वरले मानिसहरूलाई तिनीहरूको हैसियत, चाहना, र महत्त्वाकाङ्क्षाको पछ्याइबाट वञ्चित गर्ने उद्देश्यले सत्यताबारे सङ्गति गरेको जस्तो देखिन्छ। सुरुमा, म परमेश्वरले मानिसहरूका चाहना, कामना र सपनाहरू पूरा गर्न, र मानिसहरूलाई तिनीहरूले चाहेका कुरा दिन सक्छन् भन्ने सोच्थेँ। मैले परमेश्वर यस्तो खालका परमेश्वर होलान् भनेर अपेक्षा नै गरेको थिइनँ। उनी त्यति महान् त देखिँदैनन्। म महत्त्वाकाङ्क्षा र चाहनाहरूले भरिएको छु: के परमेश्वरले मजस्तो व्यक्तिलाई मन पराउन सक्छन्? परमेश्वरले सधैँ भन्दै आएका कुराबाट मूल्याङ्कन गर्दा, र उनका वचनहरूको भित्री अर्थ बुझ्दा, परमेश्वरले मजस्ता मानिसलाई मन पराउँदैनन्, र मजस्तो व्यक्ति सँग मिलजुल गर्न सक्दैनन् जस्तो देखिन्छ। म यस्तो खालको व्यावहारिक परमेश्वरसँग मिलजुल गर्न सक्दिनँ जस्तो देखिन्छ। उनले बोल्ने वचनहरू, उनले गर्ने काम, उनका कार्यका सिद्धान्तहरू, र उनको स्वभाव—मलाई किन ती अप्रिय लाग्छ? परमेश्वरले मानिसहरूमाथि कामकुरा आइपर्दा तिनी हरूलाई इमानदार हुन, विवेक राख्न, खोजी गर्न, पालन गर्न, र परमेश्वरको डर मान्न, अनि आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू त्याग्न भन्नुहुन्छ—यी मैले गर्न नसक्ने कुरा हुन्! परमेश्वरको माग मानव धारणाहरूसँग नमिल्ने मात्र नभई, मानव भावनाप्रति असंवेदनशील पनि हुन्छ। म कसरी उनमा विश्वास गर्न सक्छु?” आफ्नो मनमा यसरी कुरा खेलाएपछि, तिनीहरूले परमेश्वरप्रति असल भावना विकास गर्छन् कि उहाँबाट टाढिन्छन्? (तिनीहरू टाढिन्छन्।) अनुभवको एउटा अवधिपछि, ख्रीष्टविरोधीहरूले महत्त्वाकाङ्क्षा र चाहनाहरू भएका, र आकाङ्क्षाले भरिएका, तिनीहरूजस्ता मानिसलाई परमेश्वरका घरमा स्वागत गरिनेछैन, यहाँ तिनीहरूका लागि आफ्ना सीपहरू प्रयोग गर्ने कुनै ठाउँ छैन, र तिनीहरूले यहाँ आफ्ना आकाङ्क्षाहरूलाई स्वतन्त्र रूपमा व्यक्त गर्न सक्दैनन् भनेर झन्-झन् महसुस गर्दै जान्छन्। तिनीहरूले यस्तो सोच्छन्, “मैले परमेश्वरका घरमा आफ्ना असाधारण प्रतिभाहरू उजागर गर्न सक्दिनँ। मैले अब्बल हुने मौका कहिल्यै पाउनेछैन। तिनीहरू मसँग आत्मिक बुझाइ छैन, म सत्यता बुझ्दिनँ, र ममा ख्रीष्टविरोधीको स्वभाव छ भनेर भन्छन्। मलाई बढुवा नदिइएको वा महत्त्वपूर्ण पदमा नराखिएको मात्र नभई, निन्दा पनि गरिएको छ। मेरो आफ्नै स्वतन्त्र राज्य स्थापना गर्नुमा के गलत छ र? मैले अरूलाई दण्डित गर्नुमा के गलत छ त? मसँग शक्ति भएकाले, मैले यस्तै व्यवहार गर्नुपर्छ! शक्ति भएको भए कसले यस्तो व्यवहार गर्नेथिएन र? त्यसैले चुनावका अवधिमा बेला म केही छलछाम र छक्का-पन्जामा संलग्न भएँ भने, त्यसमा के गलत छ र? के सबै गैरविश्वासीहरूले त्यही गर्दैनन् र? परमेश्वरका घरमा किन त्यसो गर्ने अनुमति छैन? तिनीहरू त यो निर्लज्ज कुरा हो समेत भन्छन्। यसलाई कसरी निर्लज्ज कुरा मान्न सकिन्छ? मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ। यो उचित कुरो हो! परमेश्वरको घर रमाइलो छैन। तर यस संसारमा मानिसहरू निकै द्वेषपूर्ण छन्, र तिनीहरूसँग मिलजुल गर्न सजिलो छैन। तुलना गर्दा, परमेश्वरका घरमा भएका मानिसहरू अलिक राम्रो व्यवहार गर्ने हुन्छन्। कुनै परमेश्वर नभएको भए, यतातिर हल्लिएर बस्न निकै मज्जा आउनेथियो; यदि परमेश्वर र सत्यता शासन गर्ने मानिसहरू नभएका भए, परमेश्वरका घरमा म नै हाकिम, मालिक, र राजा हुनेथिएँ।” परमेश्वरका घरमा आफ्नो कर्तव्य निर्वाह गर्दै गर्दा, तिनीहरूले निरन्तर रूपमा विभिन्न कुराहरू अनुभव गर्छन्, तिनीहरू लगातार काटछाँटमा पर्छन्, र तिनीहरूले विविध फरक-फरक कर्तव्य बदलिन्छन्, अनि अन्ततः केही बुझ्छन्, र यसो भन्छन्, “परमेश्वरका घरमा घट्ने कुनै पनि घटनालाई सत्यता प्रयोग गरेर मापन र समाधान गरिन्छ। सत्यतालाई जहिल्यै जोड दिइन्छ, र परमेश्वरले सधैँ त्यसबारे कुरा गरिरहेका हुन्छन्। म यहाँ आफ्ना आकाङ्क्षा स्वतन्त्र रूपमा व्यक्त गर्न सक्दिनँ!” आफ्ना अनुभवहरूमा यो बिन्दुमा पुगिसकेपछि, तिनीहरू सत्यता, सत्यताको शासन, परमेश्वरले गर्नुहुने सबथोक सत्यता हुने तथ्य, र सत्यताको खोजी प्रति झन्-झन् वितृष्ण बन्दै जान्छन्। तिनीहरू कुन हदसम्म यी कुराहरूप्रति वितृष्णा महसुस गर्छन् त? तिनीहरू आफैले सुरुमा स्विकारेका सत्यताका धर्मसिद्धान्तहरूसमेत स्विकार्न र मान्न चाहँदैनन्, र तिनीहरूले आफ्नो हृदयमा चरम विकर्षण महसुस गर्छन्। त्यसकारण, भेला हुने समय आउनेबित्तिकै, तिनीहरू निद्रालु बन्छन् र बेचैन हुन्छन्। तिनीहरू किन बेचैन हुन्छन्? तिनीहरूले सोच्छन्, “यी भेला हरू एकै पटक तीन-चार घण्टासम्म चल्छन्—यो कहिले सकिन्छ? म अब सुन्न चाहन्नँ!” यो तिनीहरूको मुड लाई वर्णन गर्न सकिने एउटा वाक्यांश छ, जुन “सियो र काँटीमाथि बस्नु” हो। तिनीहरूले जबसम्म परमेश्वरका घरमा सत्यताले शासन गर्छ, तबसम्म तिनीहरूले अब्बल हुने मौका कहिल्यै पाउनेछैनन्, बरु तिनीहरूलाई सबैले रोक्नेछन्, निन्दा र अस्वीकार गर्नेछन्, अनि तिनीहरू जतिसुकै सक्षम भए पनि, तिनीहरूलाई महत्त्वपूर्ण भूमिका दिइनेछैन भनेर बुझ्छन्। फलस्वरूप, सत्यता र परमेश्वरप्रतिको तिनीहरूको घृणा झनै तीव्र हुन्छ। कसैले यस्तो सोध्न सक्छ, “तिनीहरूले किन सुरुदेखि नै घृणा महसुस गरेनन्?” तिनीहरूले, वास्तवमै सुरुदेखि नै घृणा महसुस गरेका थिए, तर त्यतिबेला, परमेश्वरका घरका सबैथोक तिनीहरूका लागि अपरिचित थिए। तिनीहरूसँग त्यसको कुनै अवधारणा थिएन, तर त्यसको मतलब यो होइन कि तिनीहरूले घृणा वा वितृष्णा महसुस गरेनन्। वास्तवमा, तिनीहरूले आफ्नो प्रकृति सारभित्रै सत्यताप्रति वितृष्णा महसुस गर्थे, यति मात्र हो कि तिनीहरू आफैले यो कुरा बुझेका थिएनन्। यी मानिसहरूको प्रकृति सार निस्सन्देह रूपमै सत्यताप्रति वितृष्ण हुन्छ। म किन यसो भन्छु? तिनीहरू अन्तर्निहित रूपमै अन्याय, दुष्टता, शक्ति, दुष्ट प्रचलनहरू, कमानमा रहन, मानिसहरूलाई नियन्त्रण गर्न, र यस्ता सबै नकारात्मक कुराहरू मन पराउँछन्। तिनीहरूले प्रेम गर्ने यी कुराहरूबाट मूल्याङ्कन गर्दा, ख्रीष्टविरोधीहरूले सत्यताप्रति वितृष्णा महसुस गर्छन् भन्ने कुरामा कुनै शङ्का छैन भन्ने देखिन्छ। अझ, तिनीहरू केका लागि लागिपर्छन् भन्ने कुरा आउँदा, तिनीहरू हैसियत पाउन, आफूलाई विशिष्ट देखाउन, आफ्नो टाउकोमाथि प्रभामण्डल राख्न, मानिसहरूमाझ अगुवा बन्न, रोबदार र शक्तिशाली बन्न, आफूले बोल्दा र कार्य गर्दा प्रतिष्ठा र बल पाउन, साथै मानिसहरूलाई नियन्त्रण गर्ने क्षमता पाउन लागिपर्छन्—तिनीहरू यी कुराहरूका लागि लागिपर्छन्। यो पनि सत्यताप्रति वितृष्णा महसुस गर्नुको एउटा प्रकटीकरण हो।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट छ: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग तीन)
ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण भएको मुख्य प्रकटीकरण, तिनीहरूको त्यसप्रतिको मनोवृत्तिमा देखिन्छ, अनि, निश्चित रूपमा, यो तिनीहरूको आम दैनिक जीवन र क्रियाकलापमा, विशेष गरी तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने तरिकामा प्रकट हुन्छ। तिनीहरूले कैयौँ प्रकटीकरणहरू प्रदर्शन गर्छन्। पहिलो कुरा, तिनीहरूलाई सत्यताको खोजी गर्नुपर्छ भन्ने कुरा स्पष्ट रूपमा थाहा हुँदा हुँदै पनि, कहिल्यै त्यसो गर्दैनन्। दोस्रो, तिनीहरूले कहिल्यै सत्यता अभ्यास गर्दैनन्। तिनीहरूले सत्यताको खोजी नगर्ने हुनाले, कसरी त्यसलाई अभ्यास सक्छन् त? खोजी गरेर मात्रै बुझाइ पाउन सकिन्छ, र बुझाइले मात्रै अभ्यासतर्फ डोऱ्याउन सक्छ; तिनीहरूले खोजी गर्दैनन्, न त सत्यता सिद्धान्तहरूलाई आफ्नो हृदयमा नै लिन्छन्। तिनीहरूले तिनलाई घृणा समेत गर्छन्, तीप्रति वितृष्णा महसुस गर्छन्, र तिनलाई शत्रुताका साथ हेर्छन्। फलस्वरूप, तिनीहरूले सत्यताको अभ्यासलाई छुँदा पनि छुँदैनन्, र बेलाबेलामा सत्यता बुझे पनि, त्यसलाई अभ्यास गर्दैनन्। उदाहरणका लागि, तिनीहरूमाथि केही आइपर्दा, र अरूले कुनै राम्रो उपाय सुझाउँदा, तिनीहरूले यसरी प्रतिवाद गर्न सक्छन्, “त्यसमा के राम्रो छ? यदि मैले त्यसो गरेँ भने, मेरा आफ्नै विचार हरू खेर जानेछैनन् र?” कतिपयले यसो भन्न सक्छन्, “हामीले तिम्रो तरिकाले कामकुरा गऱ्यौँ भने परमेश्वरको घरलाई नोक्सानी हुनेछ; हामीले सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्छ।” तिनीहरूले यस्तो जवाफ फर्काउँछन्, “के सिद्धान्त! मेरो तरिका नै सिद्धान्त हो; म जे सोच्छु, त्यही नै सिद्धान्त हो!” के यो सत्यता अभ्यास नगर्नु होइन र? (हो।) तिनीहरूको अर्को प्रमुख प्रकटीकरण भनेको तिनीहरूले कहिल्यै परमेश्वरका वचनहरू पढ्ने वा आत्मिक भक्तिमा संलग्न हुने गर्दैनन्। काममा व्यस्त भएर परमेश्वरका वचनहरू पढ्ने समय नपाउँदा, कतिपय मानिसहरू चुपचाप चिन्तन गर्छन् वा केही भजन गाउँछन्, र परमेश्वरका वचन नपढी धेरै दिन बिताए भने खोक्रोपनको भाव महसुस गर्छन्। व्यस्तताका बीचमा, तिनीहरूले एउटा खण्ड पढ्ने आफूलाई पुनः भरणपोषण गर्ने समय निकाल्छन्, परमेश्वरको उपस्थिति महसुस गर्न नसकुञ्जेल विचारमग्न रहिरहन्छन्, अनि तिनीहरूको हृदय स्थिर हुन्छ। त्यस्ता मानिसहरू परमेश्वरबाट धेरै टाढा हुँदैनन्। अर्कोतिर, ख्रीष्टविरोधीहरूले कुनै दिन परमेश्वरका वचनहरू नपढी बिताए भने, तिनीहरूलाई तनाव हुँदैन। यदि तिनीहरूले १० दिनसम्मै परमेश्वरका वचनहरू पढेनन् भने पनि, केही महसुस गर्दैनन्। तिनीहरू पूरै १ वर्षसम्मै परमेश्वरका वचनहरू नपढी पनि राम्रैसँग जिउन सक्छन्, र तिनीहरूले ३ वर्षसम्म पनि परमेश्वरका वचनहरू नपढी बस्न सक्छन्, र तिनीहरूलाई केही महसुस हुँदैन—तिनीहरूले हृदयमा डर वा खोक्रोपन महसुस गर्दैनन्, र तिनीहरू आरामदायी जीवन जिउन जारी राख्छन्। तिनीहरूले परमेश्वरका वचनहरूप्रति तीव्र वितृष्णा महसुस गर्ने हुनुपर्छ! कुनै व्यक्तिले व्यस्तताका कारण, एक दिन वा सायद दस दिनसम्म परमेश्वरका वचनहरू नपढी जिउन सक्छ। तर, यदि कसैले परमेश्वरका वचनहरू नपढी पूरै महिना बिताएर पनि केही महसुस गर्दैन भने, त्यहाँ समस्या छ। परमेश्वरका वचनहरू नपढी कुनै व्यक्तिको एक वर्ष बित्यो भने, उसमा परमेश्वरका वचनहरूप्रति तिर्सना नहुने मात्र होइन—उसमा सत्यताप्रति वितृष्णा हुन्छ।
ख्रीष्टविरोधीहरूले सत्यताप्रति वितृष्ण महसुस गर्नुको अर्को प्रकटीकरण भनेको तिनीहरूले ख्रीष्टप्रतिको अवहेलना हो। हामीले यसअघि पनि ख्रीष्टप्रतिको तिनीहरूको अवहेलना बारे सङ्गति गरेका छौँ। त्यसोभए, ख्रीष्टले तिनीहरूलाई त्यस्तो के गर्नुभएको छ, जसका कारण तिनीहरूले उहाँलाई अवहेलना गर्छन्? के उहाँले तिनीहरूलाई हानि वा चोट पुऱ्याउनुभयो, वा तिनीहरूको इच्छा विपरित केही गर्नुभयो? के उहाँले तिनीहरूका कुनै पनि हितलाई हानि गर्नुभयो? अहँ। ख्रीष्टले तिनीहरूविरुद्ध कुनै पनि व्यक्तिगत तुस राख्नुहुन्न, र तिनीहरूले त उहाँलाई भेटेका समेत छैनन्। त्यसोभए, तिनीहरूले कसरी उहाँलाई अवहेलना गर्न सक्छन्? यसको मूल जड सत्यताप्रति वितृष्ण महसुस गर्ने ख्रीष्टविरोधीहरूको सारमा छ। ख्रीष्टविरोधीहरूले सत्यताप्रति वितृष्ण महसुस गर्नुको अर्को प्रकटीकरण भनेको सारा सकारात्मक कुराहरूको वास्तविकताप्रतिको तिनीहरूको अवहेलना हो। सारा सकारात्मक कुराहरूको वास्तविकताले धेरै प्रकारका कुराहरू समावेश गर्छ, जस्तै परमेश्वरले सृष्टि गर्नुभएका यावत् थोक र तिनका व्यवस्था हरू, विविध जीवित प्राणीहरू र तिनको जीवनलाई शासन गर्ने व्यवस्था हरू, र मुख्यतः मानव भनिने यी जीवित प्राणीका जीवनलाई शासन गर्ने विभिन्न व्यवस्था हरू। उदाहरणका लागि, मानव जीवनको सबैभन्दा नजिक रहेका जन्म, बिमारी, र मृत्युका मामिलाहरू—बुढो हुँदै गएपछि सामान्य मानिसहरूका खुट्टा कमजोर बन्छन्, तिनीहरूको स्वास्थ्य खस्किन्छ, आँखा धमिलो हुन्छन्, तिनीहरूलाई सुन्न गाह्रो हुन्छ, तिनीहरूका दाँत खुकुलो हुन्छन्, र तिनीहरूले सोच्छन् कि तिनीहरूले बुढ्यौलीसँग सम्झौता गर्नुपर्छ। परमेश्वर यो सबथोकमाथि सार्वभौम हुनुहुन्छ, र यो प्राकृतिक व्यवस्था विरुद्ध कोही पनि जान सक्दैन—साधारण मानिसहरूले यी सब कुराहरू मान्न र स्विकार्न सक्छन्। तर, कुनै व्यक्ति जतिसुकै लामो समय जिए पनि, वा उसको शारीरिक स्वास्थ्यको स्थिति जस्तोसुकै भए पनि, केही निश्चित कुराहरू बदलिँदैनन्, जस्तै, उस ले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने तरिका, उस ले लिनुपर्ने स्थान, र उस ले आफ्नो कर्तव्य पूरा गर्दा अपनाउनुपर्ने मनोवृत्ति। अर्कोतिर, ख्रीष्टविरोधीहरू हार मान्न तयार हुँदैनन्। तिनीहरू भन्छन्, “म को हुँ? म बुढो हुन सक्दिनँ। म हरसमय साधारण मानिसहरूभन्दा फरक हुनुपर्छ। के म तिमीलाई बुढो देखिन्छु? तिमीहरूले यो उमेरमा गर्न नसक्ने निश्चित कुराहरू छन्, तर म भने गर्न सक्छु। पचास कटेपछि तिमीहरूका खुट्टा कमजोर हुन सक्छन्, तर मेरा खुट्टाचाहिँ फुर्तिला नै रहन्छन्। म र एउटा छतबाट अर्को छतमा हाम फाल्ने अभ्यास पनि गर्छु!” तिनीहरू सधैँ परमेश्वरले निर्धारित गर्नुभएका यी सामान्य व्यवस्था हरूलाई चुनौती दिन चाहन्छन्, तिनीहरू लगातार तिनलाई तोड्ने र अरूलाई आफू साधारण मानिसहरूभन्दा फरक, असाधारण, र श्रेष्ठ भएको देखाउने प्रयास गरिरहेका हुन्छन्। तिनीहरूले किन यसो गर्छन्? तिनीहरू परमेश्वरका वचनहरूलाई चुनौती दिन र उहाँका वचनहरू सत्यता हुन् भन्ने कुरालाई इन्कार गर्न चाहन्छन्। के यो सत्यताप्रति वितृष्ण महसुस गर्ने ख्रीष्टविरोधीहरूको सारको प्रकटीकरण होइन र? (हो।) अर्को पक्ष पनि छ, जुन के हो भने, ख्रीष्टविरोधीहरूले दुष्ट प्रचलन र अँध्यारा प्रभावहरूलाई आदर गर्छन्; यसले तिनीहरू सत्यताका शत्रुहरू हुन् भन्ने कुरालाई थप पुष्टि गर्छ। ख्रीष्टविरोधीहरूले शैतानको शासन, साथै दन्त्यकथामा भनिएका दुष्टात्माहरूका विभिन्न क्षमता, सीप, र कार्यहरूको, साथसाथै दुष्ट प्रचलन र अँध्यारा प्रभावहरूको गहन रूपमा प्रशंसा र आदर गर्छन्। यी कुराहरूमाथिको तिनीहरूको विश्वास अटल हुन्छ, र तिनीहरूले कहिल्यै तिनलाई शङ्का गर्दैनन्। तिनीहरूको हृदय वितृष्ण न हुने मात्र होइन, त्यो त ती कुराप्रतिको सम्मान, आदर, र ईर्ष्याले भरिएको हुन्छ। तिनीहरू आफ्नो हृदयको गहिराइमा समेत, यी कुराहरूलाई नजिकबाट पछ्याउँछन्। ख्रीष्टविरोधीहरूको हृदयको गहिराइमा यी दुष्ट र अँध्यारा कुराहरूप्रति यस प्रकारको मनोवृत्ति हुन्छ—के यसको अर्थ तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् भन्ने होइन र? बिलकुलै हो! यी दुष्ट र अँध्यारा कुराहरूलाई प्रेम गर्ने कुनै पनि व्यक्तिले कसरी सत्यतालाई प्रेम गर्न सक्छ र? यी मानिसहरू दुष्ट शक्तिहरू र शैतानको गिरोहका मानिसहरू हुन्। अवश्य नै, तिनीहरूले शैतानका कुराहरूमा अटल भई विश्वास गर्छन्, जबकि तिनीहरूको हृदय सत्यता र सकारात्मक कुराहरूप्रतिको विकर्षण र तिरस्कारले भरिएको हुन्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट छ: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग तीन)
तिनीहरूलाई किन ख्रीष्टविरोधी भनिन्छ? “विरोधी” को अर्थ के हो? यसको अर्थ विपरीत र घृणा हो। यसको अर्थ ख्रीष्टप्रतिको शत्रुता, सत्यताप्रतिको शत्रुता, र परमेश्वरप्रतिको शत्रुता हो। “शत्रुता” को अर्थ के हो? यसको अर्थ विपरीत पक्षमा उभिनु, तँलाई शत्रुका रूपमा व्यवहार गर्नु, मानौँ तँ ठूलो र गहन घृणाले भरिएको छस्; यसको अर्थ तँप्रति पूर्ण विरोधी हुनु हो। ख्रीष्टविरोधीहरूले परमेश्वरलाई यस्तो मानसिकताले व्यवहार गर्छन्। परमेश्वरलाई घृणा गर्ने यस्ता मानिसहरूमा सत्यताप्रति कस्तो मनोवृत्ति हुन्छ? के तिनीहरू सत्यतालाई प्रेम गर्न सक्छन्? के तिनीहरू सत्यतालाई स्वीकार गर्न सक्छन्? अवश्य नै सक्दैनन्। त्यसकारण, परमेश्वरको विरोधमा खडा हुने मानिसहरू सत्यतालाई घृणा गर्ने मानिसहरू हुन्। तिनीहरूमा देखा पर्ने पहिलो कुरा भनेको सत्यताप्रतिको वितृष्णा र सत्यताप्रतिको घृणा हो। तिनीहरूले सत्यता वा परमेश्वरका वचनहरू सुन्ने बित्तिकै, तिनीहरूको हृदयमा घृणा पैदा हुन्छ, र जब कसैले तिनीहरूलाई परमेश्वरका वचनहरू पढेर सुनाउँछ, तब मानिसहरूले सुसमाचार प्रचार गर्दा परमेश्वरका वचनहरू भूतलाई पढेर सुनाएको जस्तै गरी, तिनीहरूको अनुहारमा रिस र क्रोधको अभिव्यक्ति देखा पर्छ। सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने मानिसहरूले हृदयमा परमेश्वरका वचनहरू र सत्यताप्रति अत्यन्तै वितृष्णा महसुस गर्छन्, तिनीहरूमा प्रतिरोधको मनोवृत्ति हुन्छ, र तिनीहरू, तिनीहरूलाई परमेश्वरका वचनहरू पढेर सुनाउने वा सत्यता सङ्गति गर्ने जोकोहीलाई घृणा गर्ने हदसम्म समेत पुग्छन्, अनि तिनीहरूले त्यो व्यक्तिलाई शत्रुका रूपमा समेत लिन्छन्। तिनीहरूमा विभिन्न सत्यताहरूप्रति, र सकारात्मक कुराहरूप्रति चरम वितृष्णा हुन्छ। परमेश्वरमा समर्पित हुने बफादारीसाथ आफ्नो कर्तव्य पूरा गर्ने, इमानदार व्यक्ति बन्ने, सबै कुरामा सत्यता खोज्ने, आदि जस्ता सबै सत्यताहरूमा—के तिनीहरूमा अलिकति पनि व्यक्तिगत तृष्णा वा प्रेम हुन्छ? हुँदैन, अलिकति पनि हुँदैन। त्यसकारण, तिनीहरूमा यस किसिमको प्रकृति सार भएकोले तिनीहरू पहिले नै परमेश्वर र सत्यताको प्रत्यक्ष विरोधमा उभिएका हुन्छन्। अवश्य नै, यस्ता मानिसहरूले भित्री मनमा सत्यतालाई वा कुनै सकारात्मक कुरालाई प्रेम गर्दैनन्, भित्री मनमा, तिनीहरूलाई सत्यताप्रति वितृष्ण हुन्छ र तिनीहरूले यसलाई घृणा समेत गर्छन्। उदाहरणका लागि, नेतृत्वको पदमा बस्ने मानिसहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका फरक-फरक विचारहरूलाई स्वीकार गर्न सक्नुपर्छ, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको अघि खुलस्त कुरा गर्न र आफूलाई उदाङ्गो पार्न सक्नुपर्छ, र तिनीहरूको निन्दालाई स्वीकार गर्नुपर्छ, र तिनीहरूले आफ्नो हैसियतलाई जोड दिनु हुँदैन। अभ्यास गर्ने यी सबै सही तरिकाहरूको बारेमा ख्रीष्टविरोधीले के भन्नेथियो? उसले यसो भन्नेथियो, “यदि मैले दाजुभाइ-दिदीबहिनीहरूका रायहरू सुनेँ भने, के म अझै पनि अगुवा नै रहनेथिएँ? के मसँग अझै पनि प्रतिष्ठा र इज्जत हुनेछ? यदि मेरो कुनै इज्जत हुँदैन भने मैले के नै काम गर्न सक्छु?” ख्रीष्टविरोधीसँग ठीक यस्तै प्रकारको स्वभाव हुन्छ; तिनीहरूले सत्यतालाई सबैभन्दा सानो रूपमा समेत स्वीकार गर्दैनन्, र अभ्यास गर्ने तरिका जति सही हुन्छ, तिनीहरूले उति नै बढी त्यसको प्रतिरोध गर्छन्। सिद्धान्त अनुसार काम गर्नु भनेको सत्यता अभ्यास गर्नु हो भन्ने कुरालाई तिनीहरूले स्वीकार गर्दैनन्। तिनीहरूलाई सत्यता अभ्यास गर्नु भनेको के हो भन्ने लाग्छ? तिनीहरूले परमेश्वरका वचनहरू, सत्यता, र प्रेममा भर पर्नुको सट्टा सबैसँग षड्यन्त्र, चलाकी, र हिंसाको प्रयोग गर्नुपर्छ भन्ने सोच्छन्। तिनीहरूको हरेक माध्यम र मार्ग दुष्ट हुन्छ। यो सबैले ख्रीष्टविरोधीहरूको प्रकृति सारलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्छ। तिनीहरूले प्रायजसो प्रकट गर्ने मनसाय, राय, दृष्टिकोण, र अभिप्रायहरू सबै सत्यताप्रतिको वितृष्णा र घृणाको स्वभाव हुन्, जुन ख्रीष्टविरोधीहरूको प्रकृति सार हो। त्यसोभए, सत्यता र परमेश्वरको विरुद्धमा खडा हुनु भनेको के हो? यसको अर्थ सत्यता र सकारात्मक कुराहरूलाई घृणा गर्नु हो। उदाहरणका लागि, जब कसैले “सृजित प्राणीका रूपमा, व्यक्तिले सृजित प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। परमेश्वरले जे भन्नुभए पनि, मानिसहरू समर्पित हुनुपर्छ, किनभने हामी सृजित प्राणीहरू हौँ” भनेर भन्छ, तब ख्रीष्टविरोधीले के सोच्छन्? “समर्पित हुने? म सृजित प्राणी हुँ भन्ने कुरा गलत होइन, तर जब समर्पित हुने कुरा आउँछ, तब त्यो कुरा परिस्थितिमा भर पर्छ। सर्वप्रथम, त्यसमा मेरा लागि केही फाइदा हुनुपर्छ, मलाई बेफाइदा हुनु हुँदैन, र मेरा हितहरू सुरुमा आउनुपर्छ। यदि इनाम वा महान् आशिष्हरू प्राप्त हुन्छन् भने, म समर्पित हुन सक्छु, तर इनाम र गन्तव्यविना, किन समर्पित हुने? म समर्पित हुन सक्दिनँ।” यो सत्यतालाई स्वीकार नगर्ने मनोवृत्ति हो। परमेश्वरप्रतिको तिनीहरूको समर्पणता ससर्त हुन्छ, र यदि तिनीहरूको सर्तहरू पूरा गरिएनन् भने, तिनीहरू समर्पित नहुने मात्र होइन, तर तिनीहरूले परमेश्वरको विरुद्धमा लड्ने र विरोध गर्ने सम्भावना पनि हुन्छ। उदाहरणका लागि, परमेश्वरले मानिसहरूलाई इमानदार बन्न लगाउनुहुन्छ, तर यी ख्रीष्टविरोधीहरू मूर्खहरूले मात्रै इमानदार बन्ने प्रयास गर्छन्, र चलाख मानिसहरूले इमानदार बन्ने प्रयास गर्दैनन् भन्ने विश्वास गर्छन्। त्यस्तो मनोवृत्तिको सार के हो? त्यो सत्यताप्रतिको घृणा हो। ख्रीष्टविरोधीहरूको सार यस्तै हुन्छ, र तिनीहरूको सारले तिनीहरू कुन मार्ग हिँड्छन् भन्ने कुरा निर्धारित गर्छ, र तिनीहरूले हिँड्ने मार्गले तिनीहरूले गर्ने सबै कुरालाई निर्धारित गर्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्
ख्रीष्टविरोधीहरूको प्रकृति सारको दृष्टिकोणबाट हेर्दा, तिनीहरू सत्यताप्रति शत्रुवत् हुन्छन्। सत्यताप्रतिको यो शत्रुवत् प्रकृति सार कसरी प्रकट हुन्छ? परमेश्वरका वचनहरू सुनेपछि, तिनीहरू घिन महसुस गर्छन् र उँघ्छन्, साथै तिरस्कार, अधैर्य, र सुन्ने अनिच्छाका विभिन्न भावहरू प्रकट गर्छन्। तिनीहरूको पैशाचिक चालढाल यसरी प्रकट हुन्छ। बाहिरी रूपमा त तिनीहरू आफ्नो कर्तव्य गरिरहेका छन् र आफूलाई परमेश्वरका अनुयायी मान्छन् जस्तो देखिन्छ। तर सत्यता सङ्गति गर्दा र परमेश्वरका वचनहरू सङ्गति गर्दा तिनीहरू किन अनियन्त्रित बन्छन्? त्यसबेला तिनीहरू किन थपक्क बस्न सक्दैनन्? यस्तो लाग्छ मानौँ परमेश्वरका वचनहरूले तरबार नै बोकेका छन्। परमेश्वरका वचनहरूले के तिनीहरूलाई घोच्छन्? परमेश्वरका वचनहरूले के तिनीहरूलाई निन्दा गर्छन्? गर्दैनन्। यी अधिकांश वचनहरू मानिसहरूको पोषणको लागि हुन्, र ती सुनेपछि, मानिसहरू ब्युँझन, जिउने उपाय भेट्टाउन, र मानव स्वरूपमा जिउनको लागि पुनर्जीवित हुन सक्छन्। त्यसोभए कतिपय मानिसहरूले यी वचनहरू सुनेपछि किन असाधारण प्रतिक्रिया जनाउँछन्? यो दियाबलसले आफ्नो साँचो चालढाल प्रकट गरेको हो। तैँले धर्मशास्त्र, झूटो शिक्षा, वा प्रकाशको पुस्तकबारे कुरा गर्दा तिनीहरू घिन महसुस गर्दैनन्। तैँले निष्कपट हुने, मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्नेबारे कुरा गरिस्, वा वीरताका कथाहरू सुनाइस् भने पनि, तिनीहरू घिन महसुस गर्दैनन्। तर तिनीहरूले परमेश्वरका वचनहरू पढेको सुन्नेबित्तिकै तिनीहरू घिन महसुस गर्छन्, उठ्छन्, र निस्केर जान चाहन्छन्। यदि तैँले तिनीहरूलाई राम्रोसँग सुन्न भनी अर्ती दिइस् भने, तिनीहरू झगडा गर्न तयार बन्छन् र रिसाएर तँलाई घुरेर हेर्छन्। यस्ता मानिसहरूले परमेश्वरका वचनहरू आफूभित्र लिन किन सक्दैनन्? परमेश्वरका वचनहरू सुन्दा तिनीहरू थपक्क बस्नै सक्दैनन्—यहाँ के भइरहेको छ? यसले तिनीहरूभित्रको आत्मा असाधारण छ, यो सत्यताप्रति वितृष्ण र परमेश्वरप्रति वैरी आत्मा हो भन्ने प्रमाणित गर्छ। परमेश्वरका वचनहरू सुन्नेबित्तिकै तिनीहरू भित्री रूपमा हडबडाउँछन्, र तिनीहरूभित्रको पिशाच सक्रिय बन्छ, र यसकारण तिनीहरू थपक्क बस्नै सक्दैनन्। यही नै ख्रीष्टविरोधी सार हो। त्यसकारण, बाहिरबाट ख्रीष्टविरोधीहरू आफ्ना धारणाहरूसँग मेल नखाने परमेश्वरका वचनहरूलाई तिरस्कार गर्छन्। तर यो “आफ्ना धारणाहरूसँग मेल नखाने” भन्नाले वास्तवमा के जनाउँछ? यसले प्रस्ट रूपमा तिनीहरूले यी वचनहरूलाई निन्दा गर्छन्, यी वचनहरू परमेश्वरबाट आएका हुन् भनी मान्दैनन् र यिनलाई सत्यताको रूपमा वा मानिसहरूलाई मुक्ति दिने जीवन मार्गको रूपमा मान्दैनन्। तिनीहरूका धारणाहरूअनुसार नहुनु भनेको त एउटा बहाना अर्थात् सतही कुरा मात्र हो। तिनीहरूका धारणाहरूसँग मेल नखानु भन्नुको अर्थ के हो? के परमेश्वरले बोल्नुभएका यी सबै वचनहरूबारे हरव्यक्तिका कुनै पनि धारणाहरू हुँदैनन् र? के हरव्यक्तिले यिनलाई परमेश्वरका वचनहरूको रूपमा अर्थात् सत्यताको रूपमा स्विकार्न सक्छ त? सक्दैन—हरव्यक्तिले, धेरथोर मात्रामा, कुनै न कुनै तहमा, केही सोच, धारणा, वा दृष्टिकोणहरू बोकेको हुन्छ जुन परमेश्वरका वचनहरूसित बाझिन्छन् वा विरोधाभासी हुन्छन्। तर धेरैजसो मानिसहरूमा सामान्य चेतना हुन्छ, र यस चेतनाले तिनीहरूलाई आफ्ना धारणाहरूसँग मेल नखाने परेमश्वरका वचनहरू सामना गर्दा उत्पन्न हुने मनोवृत्तिलाई जित्न मदत गर्न सक्छ। तिनीहरूको चेतनाले तिनीहरूलाई यसो भन्छ, “यो मेरा धारणाहरूसँग मेल नखाए पनि, यी परमेश्वरका वचनहरू नै हुन्; यो मेरा धारणाहरूसँग मेल नखाने, म यसलाई सुन्न हिचकिचाउने, मलाई यो गलत हो भन्ने लाग्ने, र मलाई यो मेरा सोचहरूसँग बाझिन्छन् भन्ने लाग्ने भए पनि, यी वचनहरू सत्यता नै हुन्। म बिस्तारै यिनलाई स्विकार्नेछु, र कुनै दिन जब म यो सबै कुरा चिन्छु, तब म मेरा धारणाहरू त्याग्नेछु।” तिनीहरूको चेतनाले तिनीहरूलाई पहिला आफ्ना धारणाहरू पाखा लगाउनू, तिनीहरूका धारणाहरू सत्यता होइनन् र तिनले परमेश्वरका वचनहरूलाई प्रतिस्थापित गर्न सक्दैनन् भन्छ। तिनीहरूको चेतनाले तिनीहरूलाई आफ्ना धारणा र दृष्टिकोणहरूलाई परमेश्वरका वचनहरूसँग जुधाउनुको साटो समर्पण र इमानदारीको मनोवृत्तिले परमेश्वरका वचनहरू स्विकार्नू भन्छ। तसर्थ, तिनीहरूले परमेश्वरका वचनहरू सुन्दा, आफ्ना धारणासँग मेल खानेहरूलाई स्विकार्न र बसेर शान्त रूपले सुन्न सक्छन्। अनि तिनीहरूका धारणाहरूसँग मेल नखाने वचनहरूबारे पनि तिनीहरू समाधानहरू खोजिरहेका हुन्छन्, आफ्ना धारणाहरूलाई पाखा लगाएर परमेश्वरसँग मिल्दो हुने प्रयत्न गर्छन्। धेरैजसो चेतनशील मानिसहरूको सामान्य व्यवहार यही हो। तर “आफ्ना धारणाहरूसँग मेल नखाने” भनेर ख्रीष्टविरोधीहरूले उल्लेख गर्ने कुरा साधारण मानिसहरूले भनेजस्तो होइन। ख्रीष्टविरोधीहरूको मामलामा, यसका गम्भीर समस्याहरू छन्; यो पूर्णतया परमेश्वरका कार्य, वचन, सार र स्वभावभन्दा उल्टो, अर्थात् शैतानी स्वभाव सारमा पर्ने कुरा हो। तिनीहरूको मामलामा, यो परमेश्वरका वचनहरूको निन्दा, ईशनिन्दा, र उपहास हो। तिनीहरू परमेश्वरले बोल्नुभएको यो सामान्य र सजिलै बुझिने मानव भाषा सत्यता होइन र यसले मानिसहरूलाई मुक्ति दिन सक्दैन भन्ने विश्वास गर्छन्। ख्रीष्टविरोधीहरूले “आफ्ना धारणाहरूसँग मेल नखाने” भन्नुको ठ्याक्कै अर्थ यही हो। त्यसोभए यसको सार के हो त? वास्तवमा, यो परमेश्वरको निन्दा, अस्वीकार, र ईशनिन्दा हो।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग पाँच)
ख्रीष्टविरोधीहरू जन्मसिद्ध रूपमै सत्यताप्रति वितृष्ण हुन्छन्, र परमेश्वरले व्यक्त गर्नुहुने सारा वचनहरू सत्यता हुन्, तर तिनीहरूलाई हृदयमा ती पूर्ण रूपमा घृणित लाग्छन् र तिनलाई सुन्न वा स्विकार्न तिनीहरू अनिच्छुक हुन्छन्। मानवजातिको खुलासा र न्यायसम्बन्धी परमेश्वरका वचनहरू यिनै ख्रीष्टविरोधी र दुष्ट मानिसहरूप्रति लक्षित निन्दा हुन्, र तिनीहरूको लागि, यी वचनहरू निन्दा, न्याय, र श्राप हुन्, र यी वचनहरू सुन्दा तिनीहरूलाई असहज र अप्ठ्यारो महसुस हुन्छ। तिनीहरू हृदयमा के सोच्छन्? “परमेश्वरले बोल्ने यी सारा वचनहरूले मेरो न्याय र निन्दा गरिरहेका छन्। मजस्तो व्यक्तिले मुक्ति पाउन नसक्ने देखिन्छ; म हटाइने र अस्वीकृत हुने खालको छु। मैले मुक्ति पाउने आशा नै नभएपछि परमेश्वरमा विश्वास गर्नुको के अर्थ? तर तथ्य के हो भने उहाँ परमेश्वर नै हुनुहुन्छ, परमेश्वर देहधारी हुनुभएको देह उहाँ नै हुनुहुन्छ, जसले धेरै वचनहरू बोल्नुभएको छ र जसका धेरै अनुयायीहरू छन्। यसमा म के गरूँ?” यो कुराले तिनीहरूलाई चिन्तित बनाउँछ; यदि तिनीहरूले केही कुरा प्राप्त गर्न सक्दैनन् भने, तिनीहरू अरूले पनि त्यो कुरा प्राप्त नगरून् भन्ने चाहन्छन्। यदि अरूले प्राप्त गर्न सक्छन् तर आफूले सक्दैनन् भने, तिनीहरू अत्यन्तै धेरै घृणाले भरिन्छन् र बेखुसी बन्छन्। तिनीहरू देहधारी परमेश्वर परमेश्वर नहुनुहोस् र उहाँले गर्नुभएको काम झूटो होस् र परमेश्वरद्वारा गरिएको नहोस् भन्ने आशा गर्छन्। यसरी, तिनीहरू भित्री रूपमा सन्तुलित बनेको, र समस्या जडबाटै समाधान भएको महसुस गर्छन्। तिनीहरू मनमनै सोच्छन्, “यदि यो व्यक्ति देहधारी परमेश्वर होइन भने, के उहाँलाई पछ्याउनेहरू मूर्ख बनिरहेका छैनन् र? यदि त्यसो हो भने, ढिलोचाँडो यी मानिसहरू अलग्गिनेछन्। यदि तिनीहरू छरपस्ट भए, र ती कसैले केही पनि प्राप्त गरेनन् भने, म आफूले केही पनि प्राप्त नगरे पनि ढुक्क हुन र सन्तुलित महसुस गर्न सक्छु, हैन र?” यो तिनीहरूको मानसिकता हो; तिनीहरू केही पनि प्राप्त गर्न सक्दैनन्, त्यसैले तिनीहरू अरूले पनि केही पनि प्राप्त नगरून् भन्ने चाहन्छन्। अरूलाई केही कुरा प्राप्त गर्नबाट वञ्चित गराउने सर्वोत्तम उपाय भनेको ख्रीष्टलाई नकार्नु, ख्रीष्टको सारलाई नकार्नु, ख्रीष्टले गर्नुभएको कामलाई नकार्नु, र ख्रीष्टले बोल्नुभएका सारा वचनहरूलाई नकार्नु हो। यसो गरिएमा, तिनीहरू निन्दित हुनेछैनन्, र तिनीहरूले केही प्राप्त नगर्दा पनि चित्त बुझाउँछन् र त्यसमा सन्तुष्ट हुन्छन्, र तिनीहरूले यस मामलाबारे थप चिन्ता लिनुपर्दैन। ख्रीष्टविरोधी मानिसहरूको प्रकृति सार यही हो। त्यसैले, के तिनीहरूसँग ख्रीष्टबारे धारणाहरू हुन्छन्? अनि तिनीहरूसँग धारणाहरू हुँदा, के तिनीहरूले तिनलाई समाधान गर्छन्? के तिनीहरूले तिनलाई त्याग्न सक्छन्? सक्दैनन्। तिनीहरूका धारणाहरू कसरी पैदा हुन्छन्? तिनीहरूलाई धारणाहरू पैदा गर्न सजिलो छ: “तपाईँले बोल्दा, म तपाईँको सूक्ष्मजाँच गर्छु, तपाईँका वचनहरूपछाडिका मनसाय के हुन् र ती कहाँबाट आउँछन्, त्यो बुझ्ने कोसिस गर्छु। के ती तपाईँले सुन्नुभएका वा सिक्नुभएका कुरा हुन्, कि कसैले तपाईँलाई ती कुराहरू भन्न लगायो? के कसैले तपाईँलाई रिपोर्ट वा उजुरी गर्यो? तपाईँ कसको खुलासा गर्दै हुनुहुन्छ?” तिनीहरू यसरी सूक्ष्मजाँच गर्छन्। के तिनीहरू सत्यता बुझ्न सक्छन्? तिनीहरू सत्यता कहिल्यै बुझ्न सक्दैनन्; तिनीहरू हृदयमा त्यसको प्रतिरोध गर्छन्। तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, त्यसको प्रतिरोध गर्छन्, त्यसलाई घृणा गर्छन्, र तिनीहरू यस्तो प्रकृति सार बोकेर प्रवचनहरू सुन्छन्। सिद्धान्त र धर्मसिद्धान्तहरूबाहेक तिनीहरूले बुझ्ने भनेको त धारणाहरू मात्र हुन्। कस्ता धारणाहरू? “ख्रीष्ट यस तरिकाले बोल्नुहुन्छ, कहिलेकाहीँ ठट्टा पनि गर्नुहुन्छ; त्यो आदरपूर्ण होइन! उहाँ कहिलेकाहीँ रूपक भनाइहरू प्रयोग गर्नुहुन्छ; त्यो गम्भीर हुँदैन! उहाँको बोलीमा वाक्पटुता छैन; उहाँ अत्यन्तै शिक्षित हुनुहुन्न! कहिलेकाहीँ उहाँले मनन गरेर आफ्ना शब्द चयनबारे सोच्नुपर्छ; उहाँ विश्वविद्यालय जानुभएन, जानुभयो र? कहिलेकाहीँ उहाँको भाषण कुनै खास व्यक्तितिर लक्षित हुन्छ—कोहो कोहोतिर? के कसैले उजुरी गरेको छ? त्यो को थियो? ख्रीष्टले बोल्नुहुँदा उहाँ किन सधैँ मेरो आलोचना गर्नुहुन्छ? के उहाँ दिनभरि मलाई हेरिरहनुभएको र नियालिरहनुभएको हुन्छ? के उहाँ पूरै दिन मानिसहरूबारे मनन गरेर बिताउनुहुन्छ? ख्रीष्टले हृदयमा के सोचिरहनुभएको हुन्छ? देहधारी परमेश्वरको बोली स्वर्गको परमेश्वरको निर्विवाद अख्तियारसहितको गर्जिलो आवाजजस्तो सुनिँदैन—उहाँको प्रकटीकरण किन यति मानवजस्तो देखिन्छ? मैले उहाँलाई जसरी हेरे पनि, उहाँ एक व्यक्ति मात्र हुनुहुन्छ। के देहधारी परमेश्वरसँग कुनै कमजोरी छन्? के उहाँले हृदयमा मानिसहरूलाई घृणा गर्नुहुन्छ? मानिसहरूसँगका अन्तरक्रियाहरूमा, के उहाँसँग दुनियाँसँग व्यवहार गर्ने कुनै दर्शन हुन्छ?” के यी धारणाहरू प्रशस्त छैनन् र? (छन्।) ख्रीष्टविरोधीहरूका सोचहरू सत्यतासँग असम्बन्धित कुराहरूले भरिएका हुन्छन्, ती सबै शैतानको सोचाइ र तर्कबाट, दुनियाँसँग व्यवहार गर्ने शैतानको दर्शनबाट आउँछन्। भित्र गहिराइमा, तिनीहरू दुष्टताले भरिएका हुन्छन्, सत्यताप्रति वितृष्ण स्थिति र स्वभावले भरिएका हुन्छन्। तिनीहरू सत्यता खोज्न वा प्राप्त गर्न आउँदैनन्, तिनीहरू त परमेश्वरको सूक्ष्मजाँच गर्न आउँछन्। तिनीहरूका धारणाहरू जुनसुकै समय र जुनसुकै ठाउँमा उत्पन्न हुन्छन्, र तिनीहरूले अवलोकन र सूक्ष्मजाँच गर्दा धारणाहरू उत्पन्न गर्छन्। तिनीहरूका धारणाहरू तिनीहरूको न्याय र निन्दाको क्रममा सिर्जित हुन्छन्, र तिनीहरू हृदयमा यी धारणाहरूसँग बलियो रूपमा टाँस्सिन्छन्। जब तिनीहरू देहधारी परमेश्वरको मानवीय पक्ष नियाल्छन्, तब तिनीहरूले धारणाहरू जन्माउँछन्। जब तिनीहरूले ईश्वरीय पक्ष देख्छन्, तिनीहरू उत्सुक र चकित हुन्छन्, र यसले पनि धारणाहरू पैदा गराउँछ। ख्रीष्टप्रति र परमेश्वर देहधारी हुनुभएको देहप्रति तिनीहरूमा समर्पण वा हृदयको गहिराइदेखिको साँचो स्वीकारको मनोवृत्ति हुँदैन। बरु, तिनीहरू ख्रीष्टविरुद्ध उभिन्छन्, र उहाँको हेराइ, सोचाइ, र चालढाल नियाल्छन् र सूक्ष्मजाँच गर्छन्, र ख्रीष्टको भाषणमा हरप्रकारको लवज, बोलीको आरोहअवरोह, शब्द चयन, र इङ्गित कुराहरू, आदि इत्यादि सुन्दै, ख्रीष्टको हरेक भाव नियाल्ने र सूक्ष्मजाँच गर्ने कामसमेत गर्छन्। जब ख्रीष्टविरोधीहरू यस तरिकाले ख्रीष्टलाई नियाल्छन् र सूक्ष्मजाँच गर्छन्, तब तिनीहरूको मनोवृत्ति ख्रीष्टलाई आफ्नो परमेश्वरको रूपमा स्विकार्न सकूँ र ख्रीष्टलाई आफ्नो सत्यता र आफ्नो जीवन बनाउन स्विकार्न सकूँ भनेर सत्यता खोज्ने र बुझ्ने भन्ने हुँदैन। त्यसको उल्टो, तिनीहरू यस व्यक्तिलाई सूक्ष्मजाँच गर्न, उहाँलाई पूरासित सूक्ष्मजाँच र बोध गर्न चाहन्छन्। तिनीहरू के बोध गर्न खोजिरहेका हुन्छन्? तिनीहरू यो व्यक्ति परमेश्वरसित कसरी मेल खान्छ भनेर सूक्ष्मजाँच गरिरहेका हुन्छन्, र यदि उहाँ साँच्चिकै परमेश्वरसित मेल खानुहुन्छ भने, तिनीहरू उहाँलाई स्विकार्छन्। यदि उहाँलाई जति सूक्ष्मजाँच गरे पनि, उहाँ परमेश्वरझैँ देखिनुभएन भने, तिनीहरू त्यो विचार पूरै त्याग्छन् र देहधारी परमेश्वरबारे धारणाहरूमा अडिन्छन्, वा आशिष्हरू पाइने आशा नभएको ठानेर, तुरुन्तै त्यहाँबाट निस्कने मौका हेर्छन्।
ख्रीष्टविरोधीहरूले परमेश्वर देहधारी हुनुभएको देहबारे धारणाहरू जन्माउनु निकै सामान्य कुरा हो। तिनीहरूको ख्रीष्टविरोधी सार, र सत्यताप्रति प्रतिकूल सारको कारण, तिनीहरूले आफ्ना धारणाहरू त्याग्न असम्भव छ। जब केही पनि भइरहेको हुँदैन, तिनीहरू परमेश्वरका वचनहरूको पुस्तक पढ्छन् र यी वचनहरूलाई परमेश्वरको रूपमा देख्छन्, तर देहधारी परमेश्वरलाई भेटेर उहाँ परमेश्वरजस्तो नहुनुभएको थाहा पाएपछि, तिनीहरूमा तुरुन्तै धारणाहरू पैदा हुन्छन्, र तिनीहरूको मनोवृत्ति बदलिन्छ। देहधारी परमेश्वरको सम्पर्कमा नहुँदा, तिनीहरू बस परमेश्वरका वचनहरूको पुस्तक समात्छन् र उहाँका वचनहरूलाई परमेश्वरको रूपमा लिन्छन्, तर तिनीहरू अझै पनि आशिष्हरू प्राप्त गर्ने अस्पष्ट मनोकल्पना र अभिप्राय बोक्छन्, र आनाकानीपूर्वक केही प्रयास लगाउने, केही कर्तव्यहरू गर्ने, र परमेश्वरको घरमा भूमिका निभाउने गर्छन्। तर तिनीहरू परमेश्वर देहधारी हुनुभएको देहको सम्पर्कमा आउनेबित्तिकै, तिनीहरूको मन धारणाहरूले भरिन्छ। तिनीहरूलाई काटछाँट नगरिए पनि, कर्तव्य गर्ने तिनीहरूको जोश उल्लेखनीय रूपमा घट्न सक्छ। ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू र परमेश्वर देहधारी हुनुभएको देहलाई यस्तै व्यवहार गर्छन्। तिनीहरूले प्राय: परमेश्वरका वचनहरूलाई परमेश्वरले धारण गर्नुभएको देहबाट छुट्याउँछन्, अनि परमेश्वरका वचनहरूलाई परमेश्वरको रूपमा तर परमेश्वरले धारण गर्नुभएको देहलाई मानवको रूपमा लिन्छन्। जब परमेश्वरले धारण गर्नुभएको देह तिनीहरूका धारणाहरूसँग मिल्दो हुँदैन वा ती धारणाहरूको विपरीत जान्छ, तब तिनीहरू तुरुन्तै परमेश्वरका वचनहरूतर्फ फर्कन्छन् र प्रार्थना-वाचन गर्छन्, र ती धारणाहरूलाई बलपूर्वक दबाउने र थुन्ने कोसिस गर्छन्। त्यसपछि, तिनीहरूले परमेश्वरका वचनहरूको आराधना गर्छन्, मानौँ तिनीहरू परमेश्वर स्वयम्को आराधना गरिरहेका छन्, अनि यस्तो लाग्छ तिनीहरूका धारणाहरू समाधान भइसकेका छन्। तर वास्तवमा, ख्रीष्टप्रति तिनीहरूका भित्री अवज्ञा र तिरस्कार बिलकुलै समाधान भएका हुँदैनन्। ख्रीष्टप्रतिको व्यवहारमा, ख्रीष्टविरोधीहरूले निरन्तर धारणाहरू जन्माउँछन् र मृत्युपर्यन्त जिद्दीपूर्वक तिनमै अडिन्छन्। धारणाहरू नहुँदा, तिनीहरू सूक्ष्मजाँच र विश्लेषण गर्छन्; तर धारणाहरू हुँदा, तिनीहरू सूक्ष्मजाँच र विश्लेषण मात्र होइन, जिद्दीपूर्वक तिनमै टाँसिने कामसमेत गर्छन्। तिनीहरू न त आफ्ना धारणाहरू समाधान गर्छन् न त सत्यता नै खोज्छन्; तिनीहरू आफू ठिक छु भन्नेमा विश्वस्त हुन्छन्। के यो शैतानी कुरो होइन र? (हो।) देहधारी परमेश्वरबारे धारणाहरू हुँदा ख्रीष्टविरोधीहरूमा हुने प्रकटीकरणहरू यिनै हुन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग तीन)
परमेश्वरले धेरै वचनहरू बोल्नुभएको छ र धेरै काम गर्नुभएको छ, तर उहाँका वचनहरू जति नै व्यावहारिक भए पनि, उहाँले बोल्नुभएका सत्यताहरू मानिसहरूको लागि जतिसुकै ज्ञानवर्धक भए पनि, तिनीहरूले ती कुराहरू जतिसुकै तुरन्त बुझ्न आवश्यक भए पनि, ख्रीष्टविरोधीहरूले चासो दिँदैनन्, र तिनलाई हृदयमा लिँदैनन्। वास्तवमा, परमेश्वरले जति धेरै बोल्नुहुन्छ, र जति धेरै विशिष्ट काम गर्नुहुन्छ, त्यति नै तिनीहरू घिन, रिस र प्रतिरोध महसुस गर्छन्। यसअलावा, तिनीहरूमा परमेश्वरविरुद्ध भर्त्सना र ईशनिन्दासमेत उत्पन्न हुनेछ; तिनीहरूले उहाँको तीव्र आलोचना गर्नेछन्: “के तपाईंको सर्वशक्तिमान्ता यी वचनहरूमा छ? तपाईंले गर्ने त्यति नै हो, वचनहरू व्यक्त गर्ने मात्र हो? यदि तपाईंले नबोल्नुभएको भए, के तपाईं सर्वशक्तिमान् हुनहुन्थेन र? यदि तपाईं सर्वशक्तिमान् हुनुहुन्छ भने, नबोल्नुहोस्। हामीलाई जीवन प्राप्त गर्न र स्वभाव परिवर्तन गर्न सक्षम पार्न भनेर, सत्यताबारे भाषणबाजी वा सङ्गति गर्ने, अनि मान्छेलाई सत्यता प्रदान गर्ने नगर्नुहोस्। यदि तपाईंले हामी सबैलाई रातारात स्वर्गदूत, अर्थात् तपाईंका दूत बन्न दिनुहुन्थ्यो भने—बल्ल, त्यो सर्वशक्तिमान्ता हुनेथ्यो!” जब परमेश्वरले उहाँका वचनहरू बोल्नुहुन्छ र उहाँको काम गर्नुहुन्छ, तब ख्रीष्टविरोधीहरूको प्रकृति अलिअलि गर्दै, केही पनि नलुकी, खुलासा र पर्दाफास हुनेछ, अनि सत्यताप्रति प्रतिकूल रहने र त्यसविरुद्ध जाने तिनीहरूको सार पनि पूर्ण रूपले उदाङ्गो हुनेछ। जब परमेश्वरले निरन्तर उहाँको काम अगाडि बढाउनुहुन्छ, तब परमेश्वरको पहिचान र उहाँको सारलाई तिरस्कार गर्ने ख्रीष्टविरोधीहरूको स्वभाव र सार पनि समयक्रमसँगै बिस्तारै पर्दाफास र खुलासा हुँदै जानेछ। ख्रीष्टविरोधीहरूले अस्पष्ट कुराहरू पछ्याउँछन्; तिनीहरूले चिन्ह र अचम्मका कार्यहरू पछ्याउँछन्—अनि वास्तविकतासँग नमिल्ने यो महत्त्वाकाङ्क्षा र चाहनाको अधीनमा रहेर, सत्यताप्रति प्रतिकूल रहने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति उजागर भइदिन्छ। तर अर्कोतर्फ, साँच्चिकै वास्तविकता र सत्यता पछ्याउने, र सकारात्मक कुराहरूप्रति विश्वास र प्रेम गर्नेहरूले उहाँका काम र वचनहरूमा परमेश्वरको सर्वशक्तिमान्ता देख्छन्—अनि यी मानिसहरूले जे देख्न, जे प्राप्त गर्न, र जे थाहा पाउन सक्छन्, ती कुराहरू ख्रीष्टविरोधीहरूले कहिल्यै थाहा पाउन र प्राप्त गर्न सक्दैनन्। ख्रीष्टविरोधीहरूलाई के विश्वास लाग्छ भने, यदि मानिसहरूले परमेश्वरबाट जीवन प्राप्त गर्ने हो भने त्यसमा चिन्ह र अचम्मका कार्यहरू हुनुपर्छ; तिनीहरू चिन्ह र अचम्मका कार्यहरूविना, परमेश्वरका वचनहरूबाट मात्र जीवन र सत्यता प्राप्त गर्नु, र त्यसमार्फत स्वभाव परिवर्तन गर्नु र मुक्ति पाउनु असम्भव कुरा हो भन्ने विश्वास गर्छन्। ख्रीष्टविरोधीको लागि त त्यो कहिल्यै सम्भव नहुने कुरा हो—त्यो व्यावहारिक होइन। त्यसैले, तिनीहरू अथक रूपमा प्रतीक्षा र प्रार्थना गर्छन्, र परमेश्वरले तिनीहरूको लागि चिन्ह र अचम्मका कार्यहरू देखाउनुहुने, र आश्चर्यकर्महरू गर्नुहुने आशा गर्छन्—यदि उहाँले त्यसो गर्नुभएन भने, उहाँको सर्वशक्तिमान्ता अस्तित्वमा छैन। यसको तात्पर्य के हो भने, यदि परमेश्वरको सर्वशक्तिमान्ता छैन भने, परमेश्वर निश्चय नै हुनुहुन्न। ख्रीष्टविरोधीहरूको तर्क नै यही हो। तिनीहरू परमेश्वरको धार्मिकता र उहाँको सर्वशक्तिमान्ताको निन्दा गर्छन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग एक)
ख्रीष्टविरोधीहरू परमेश्वरको स्वभाव र सारमा धार्मिकता र सर्वशक्तिमान्ता हुने कुरालाई अलिकति पनि मान्ने वा विश्वास गर्ने गर्दैनन्, न त तीबारेमा कुनै ज्ञान नै राख्छन्। अनि तिनीहरूलाई परमेश्वरको पवित्रता र अद्वितीयतामा विश्वास गर्न, तिनलाई मान्न र तिनका बारेमा जान्न अवश्य नै झन् कठिन हुन्छ। त्यसैले, जब परमेश्वरले मानिसहरूलाई इमानदार हुन र आफ्नो स्थानमा रहन सक्ने सृष्टि गरिएका व्यावहारिक प्राणीहरू हुन लगाउँछु भनेर भन्नुहुन्छ, तब ख्रीष्टविरोधीमा विचारहरू उत्पन्न हुन्छन्, र उसमा एउटा मनोवृत्ति र भावना पलाउँछ। अनि, उसले भन्छ: “के परमेश्वर उच्च हुनुहुन्न र? के उहाँ सर्वोच्च हुनुहुन्न र? यदि हुनुहुन्छ भने, उहाँले मानिसहरूलाई दिनुहुने मापदण्डहरू भव्य र उच्च हुनुपर्छ। मैले त परमेश्वर अत्यन्तै रहस्यमयी हुनुहुन्छ भन्ने सोच्थेँ; परमेश्वरले मानिसहरूलाई यस्ता तुच्छ मापदण्डहरू दिनुहुन्छ भनेर त मैले सोच्दा पनि सोच्दिनथेँ। के तिनलाई सत्यताको रूपमा लिन सकिन्छ र? ती अत्यन्तै सामान्य छन्! परमेश्वरका मापदण्डहरू उच्च हुनु सही हुनेथ्यो: व्यक्ति भनेको त महामानव, महान् व्यक्ति, सक्षम व्यक्ति हुनुपर्छ—परमेश्वरले मानिसहरूलाई दिनुपर्ने मापदण्ड नै त्यही हो। उहाँ मान्छेलाई इमानदार व्यक्ति होस् भन्ने चाहनुहुन्छ—के त्यो साँच्चिकै परमेश्वरको काम हो र? के त्यो झूट होइन र?” ख्रीष्टविरोधीहरूले हृदयको गहिराइमा सत्यतालाई प्रतिरोध मात्र गर्दैनन्—त्यस क्रममा ईशनिन्दा पनि गर्छन्। के त्यो तिनीहरूले सत्यता तिरस्कार गरेको होइन र? तिनीहरू परमेश्वरका मापदण्डहरूप्रति अवहेलना र उपेक्षाले भरिएका हुन्छन्; तिनीहरू तिनलाई खिसी, बेवास्ता, कटाक्ष, र गिल्लाको मनोवृत्तिले परिभाषित गर्ने र हेर्ने गर्छन्। प्रस्टै छ, ख्रीष्टविरोधीहरूको स्वभाव र सार अत्यन्तै घिनलाग्दा हुन्छन्; तिनीहरू साँचो, सुन्दर, र व्यावहारिक कुरा वा वचनहरू स्विकार्न सक्दैनन्। परमेश्वरको सार साँचो र व्यावहारिक हुन्छ, र मानिसहरूप्रतिका उहाँका मापदण्डहरू मानिसहरूका आवश्यकताबमोजिम हुन्छन्। जब ख्रीष्टविरोधीहरूले “भव्य र उच्च” भन्ने कुरा उठाउँछन्—त्यो के हो त? त्यो झूटो, रित्तो र खोक्रो कुरा हो; त्यसले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ र भ्रममा पार्छ; त्यसले उनीहरूलाई पतन गराउँछ, र परमेश्वरदेखि टाढा लैजान्छ। अर्कोतिर, परमेश्वरले व्यक्त गर्नुहुने सत्यता र उहाँको जीवन विश्वासयोग्य, प्रेमिलो, र व्यावहारिक हुन्छन्। व्यक्तिले केही समय परमेश्वरका वचनहरूको अनुभव र भोगाइ प्राप्त गरिसकेपछि, उसले थाहा पाउनेछ कि परमेश्वरको जीवन मात्र सबैभन्दा प्रेमिलो छ, उहाँका वचनहरू मात्र मानिसहरूलाई बदल्न र उनीहरूका जीवन बन्न सक्षम छन्, र मानिसहरूलाई आवश्यक पर्ने कुरा पनि तिनै हुन्—जबकि शैतान र ख्रीष्टविरोधीहरूले अघि सारेका ती भव्य र उच्च राय र भनाइहरू परमेश्वरले मानिसहरूको लागि तोक्नुभएको साँचोपन र व्यावहारिताभन्दा पूर्ण उल्टो छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको यस्तो सारको आधारमा, तिनीहरू परमेश्वरको पवित्रता र अद्वितीयता स्विकार्न पूर्णतया असक्षम हुन्छन्। तिनीहरूले ती कुराहरू कदापि मान्नेछैनन्। अनि, परमेश्वरले खुलासा गर्नुभएका मानिसहरूको भ्रष्ट स्वभाव र भ्रष्ट सारका विभिन्न आयामहरूको कुरा गर्नुपर्दा—उनीहरूको हठीपन र अहङ्कार, उनीहरूका छली र दुष्ट स्वभावहरू, र सत्यताप्रति प्रतिकूल रहने, र क्रूर स्वभावहरूको कुरा गर्नुपर्दा—ख्रीष्टविरोधीहरूले तिनलाई बिलकुलै स्विकार्दैनन्। अनि, परमेश्वरले मानिसहरूमाथि गर्नुहुने न्याय र कठोर हप्काइ सम्बन्धमा, ख्रीष्टविरोधीहरू तीभित्र परमेश्वरको पवित्रता र प्रेमिलोपन चिन्न नसक्ने मात्र होइन—बरु त्यसको उल्टो, तिनीहरू हृदयमा परमेश्वरका वचनहरूप्रति प्रतिकूल बन्छन्, र तिनलाई प्रतिरोध गर्छन्। हरेकपटक तिनीहरूले मान्छेको भ्रष्ट स्वभावलाई सजाय, न्याय र खुलासा गर्ने परमेश्वरका वचनहरू पढ्दा, तिनीहरू तिनलाई घृणा गर्छन् र सराप्छन्। यदि कसैले तिनीहरू अहङ्कारी, हठी, र दुष्ट व्यक्ति हुन् जो सत्यताको प्रतिकूल छ भनेर भनेमा, तिनीहरूले त्यो व्यक्तिसँग विवाद गर्नेछन् र उसका पुर्खाहरूलाई सराप्नेछन्; र यदि कसैले तिनीहरूको भ्रष्ट सार खुलासा गरेर तिनीहरूलाई निन्दा गरेमा, त्यो व्यक्तिले तिनीहरूलाई मार्नै खोजेको हो जसरी तिनीहरूले त्यसलाई कदापि स्विकार्नेछैनन्। ख्रीष्टविरोधीहरूमा यस्तो सार हुने र तिनीहरूले यस्ता कुराहरू प्रकट गर्ने भएकाले तिनीहरूलाई थाहै नभई तिनीहरूको पहिचान गरिन्छ, अनि तिनीहरूले थाहै नपाई तिनीहरूलाई परमेश्वरको घर र मण्डलीमा एक्ल्याइन्छ र खुलासा गरिन्छ। तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना प्राय: पूरा हुँदैन, त्यसैले परमेश्वरका वचन, उहाँको अस्तित्व, र “सत्यताले परमेश्वरको घरमा शासन गर्छ” भन्ने वाक्यांशप्रति तिनीहरूको घृणा बढेर जान्छ। यदि तैँले तिनीहरूसित त्यो वाक्यांश बोलिस् भने, तिनीहरूले तँसित हदैसम्म लड्न, र तँलाई पीडा र दण्ड दिएर मार्न चाहनेछन्। के यसले नै ख्रीष्टविरोधीहरू परमेश्वरप्रति शत्रुवत् छन् भन्ने देखाउँदैन र? वास्तवमै देखाउँछ!
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग एक)
काटछाँटप्रति ख्रीष्टविरोधीहरूको चिरपरिचित मनोवृत्ति भनेको यसको तीव्र अस्वीकार वा इन्कार गर्नु हो। तिनीहरूले जतिसुकै दुष्कर्म गरे पनि वा परमेश्वरको घरको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा जति नै धेरै हानि गरे पनि, तिनीहरूले अलिकति पनि पछुतो वा आफू केही ऋणी भएको अनुभूति गर्दैनन्। यस दृष्टिकोणबाट हेर्दा, के ख्रीष्टविरोधीहरूसँग मानवता हुन्छ त? पटक्कै हुँदैन। तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई हरप्रकारले हानि गर्छन्, र मण्डलीको काममा क्षति पुर्याउँछन्—परमेश्वरका चुनिएका मानिसहरूले यो कुरा सङ्लो पानीझैँ छर्लङ्ग देख्न सक्छन्, र तिनीहरूले ख्रीष्टविरोधीका दुष्कर्महरूको श्रृङ्खला देख्न सक्छन्। तर पनि ख्रीष्टविरोधीहरूले यो तथ्यलाई स्वीकार गर्दैनन्; तिनीहरू जिद्दी भई यस मामलामा आफू गलत छु वा आफू उत्तरदायी छु भनेर मान्न अस्वीकार गर्छन्। के यो तिनीहरू सत्यताप्रति वितृष्ण भइसकेका हुन्छन् भन्ने कुराको सङ्केत होइन र? ख्रीष्टविरोधीहरू सत्यताप्रति यति हदसम्म वितृष्ण भइसकेका हुन्छन् कि तिनीहरूले जति धेरै दुष्टता गरेको भए पनि, तिनीहरू यसलाई जिद्दी भई स्वीकार गर्न मान्दैनन्, र अन्त्यसम्मै तिनीहरू झुक्दैनन्। यसले ख्रीष्टविरोधीहरूले कहिल्यै पनि परमेश्वरको घरको कामलाई गम्भीर रूपमा लिँदैनन् वा सत्यता स्वीकार गर्दैनन् भन्ने कुरा पर्याप्त रूपले प्रमाणित गर्छ। तिनीहरू परमेश्वरमा विश्वास गर्न आएका हुँदैनन्; तिनीहरू शैतानका चाकरहरू हुन्, जो परमेश्वरको घरको काममा बाधा र व्यवधान ल्याउन आएका हुन्छन्। ख्रीष्टविरोधीहरूको हृदयमा प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। तिनीहरूलाई यो विश्वास हुन्छ कि, यदि तिनीहरूले आफ्नो गल्ती स्वीकार गर्थे भने, तिनीहरूले उत्तरदायित्व स्वीकार गर्नुपर्थ्यो, र त्यसपछि तिनीहरूको हैसियत र प्रतिष्ठामा गम्भीर असर पर्थ्यो। फलस्वरूप, तिनीहरूले “मरे पनि नस्विकार्ने” मनोवृत्तिका साथ प्रतिरोध गर्छन्। मानिसहरूले तिनीहरूलाई जेजसरी खुलासा वा चिरफार गरे पनि, तिनीहरूले ती कुरा इन्कार गर्न सक्दो गर्छन्। छोटकरीमा भन्दा, तिनीहरूको इन्कार जानाजान गरिएको भए पनि नभए पनि, एक हिसाब यी व्यवहारहरूले सत्यताप्रति वितृष्ण बन्ने र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधीहरूको प्रकृति सार खुलासा गर्छन्। यसले अर्को हिसाबमा ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत, प्रतिष्ठा र हितलाई कति मूल्यवान् ठान्छन् भन्ने तथ्यलाई देखाउँछ। यस क्रममा, मण्डलीको काम र हितप्रतिचाहिँ तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? यो अवहेलना र गैरजिम्मेवारीपूर्ण हुन्छ। तिनीहरूमा विवेक र समझको पूरै अभाव हुन्छ। के ख्रीष्टविरोधीहरू उत्तरदायित्वबाट पन्छिएको कुराले यी समस्याहरूलाई प्रदर्शन गर्दैन र? एक हिसाबमा, जिम्मेवारीबाट पन्छिनुले सत्यताप्रति वितृष्ण बन्ने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति सारलाई प्रमाणित गर्छ भने, अर्को हिसाबमा, तिनीहरूमा विवेक, समझ र मानवताको कमी छ भन्ने देखाउँछ। तिनीहरूको बाधा र दुष्कर्मले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा जति नै हानि पुगे पनि, तिनीहरूले धिक्कार अनुभूति गर्दैनन् र तिनीहरूलाई यो कुराले कति पनि चिन्तित गराउँदैन। यो कस्तो प्रकारको प्राणी हो? आफ्नो गल्तीको थोरै भाग मात्र स्वीकार गरे पनि तिनीहरूमा थोरै विवेक र समझ छ भन्ने देखिन्थ्यो, तर यी ख्रीष्टविरोधीहरूसँग अलिकति पनि मानवता हुँदैन। त्यसकारण, तिमीहरू तिनीहरू के हुन् भनी भन्छौ? ख्रीष्टविरोधीहरू सारमा दियाबलसहरू हुन्। आफूले परमेश्वरको घरको हितमा जति नै ठूलो हानि पुर्याए पनि तिनीहरूले त्यो देख्दैनन्। यसको कारण तिनीहरू हृदयमा अलिकति पनि दुःखी हुँदैनन्, न त तिनीहरूले आफैलाई गाली नै गर्छन्, तिनीहरूले ऋणी अनुभव गर्ने त कुरै नगरौँ। यो सामान्य मानिसहरूमा देखिनुपर्ने कुरा हुँदै होइन। तिनीहरू दियाबलस हुन्, र दियाबलसहरूमा अलिकति पनि विवेक वा समझ हुँदैन। तिनीहरूले जति धेरै खराब कुरा गरे पनि, र तिनीहरूले मण्डलीको काममा जति ठूलो घाटा ल्याए पनि, तिनीहरूले यो कुरा स्वीकार गर्न जोरदार रूपमा इन्कार गर्छन्। तिनीहरू यो कुरा स्विकार्नु भनेको तिनीहरूले केही गलत गरेका छन् भन्ने अर्थ लाग्नु हो भन्ने विश्वास गर्छन्। तिनीहरूले सोच्छन्, “के मैले कुनै गल्ती गर्न सक्थेँ र? म त कहिल्यै पनि कुनै गलत गर्दिनथिएँ! यदि मलाई आफ्नो गल्ती स्विकार्न बाध्य बनाइयो भने, के त्यो मेरो चरित्रको अपमान हुँदैन र? म त्यो घटनामा संलग्न भए पनि, मैले त्यो घटना गराएको होइन, र म प्रमुख इन्चार्ज पनि थिइनँ। जा, जसलाई चाहन्छस् खोज्, तर तँ मलाई खोज्न आउनु हुँदैन। जे भए पनि, म यो गल्ती स्विकार्न सक्दिनँ। म यो जिम्मेवारी लिन सक्दिनँ!” तिनीहरूलाई लाग्छ कि यदि तिनीहरूले आफ्नो गल्ती स्वीकार गरे भने, तिनीहरूलाई दोषी ठहराइनेछ, मृत्युको सजाय दिइनेछ, अनि नरक पठाइनेछ, र आगो र गन्धकको कुण्डमा हालिनेछ। मलाई भन त, के यस्ता मानिसहरूले सत्यता स्वीकार गर्न सक्छन्? के कसैले तिनीहरूको साँचो पश्चात्ताप अपेक्षा गर्न सक्छ? अरूले जेजसरी सत्यता सङ्गति गरे पनि, ख्रीष्टविरोधीहरूले अझै पनि यसको विरोध गर्छन्, यस विरुद्ध उभिन्छन्, र हृदयको गहिराइमा यसको अवज्ञा गर्छन्। तिनीहरूलाई बर्खास्त गरिएपछि पनि, तिनीहरूले अझै पनि आफ्ना गल्तीहरू स्वीकार गर्दैनन्, र तिनीहरूले पश्चात्तापका कुनै प्रकटीकरणहरू देखाउँदैनन्। जब १० वर्षपछि यो कुरा उल्लेख गरिन्छ, तब पनि तिनीहरूले अझै आफूलाई चिनेका हुँदैनन्, र तिनीहरू आफूले गल्ती गरेँ भनेर स्वीकार गर्दैनन्। २० वर्षपछि यो कुरा उठाइयो भने पनि, तिनीहरूले अझै पनि आफूलाई चिनेका हुँदैनन्, र अझै पनि आफूलाई सही साबित गर्ने र रक्षा गर्ने प्रयास गर्छन्। अनि अझै घृणित कुरा त, ३० वर्षपछि पनि जब यो कुरा उल्लेख गरिन्छ, तब पनि तिनीहरूले अझै पनि आफूलाई चिनेका हुँदैनन्, र अझै पनि यसो भन्दै आफ्नो पक्षमा तर्क गर्ने र आफूलाई सही साबित गर्ने प्रयास गर्छन्: “मैले गल्ती गरिनँ, त्यसकारण म गल्ती स्वीकार गर्न सक्दिनँ। यो मेरो जिम्मेवारी थिएन; मैले यसको बोझ लिनु पर्दैन।” अनि सबैलाई अचम्म पार्ने कुरो, तिनीहरूलाई बर्खास्त गरिएको ३० वर्षपछि पनि, मण्डलीले तिनीहरूलाई जसरी सम्हालेको थियो त्यसप्रति यी ख्रीष्टविरोधीहरूले अझै पनि प्रतिरोधको मनोवृत्ति नै राख्छन्। ३० वर्षपछि पनि, तिनीहरू पटक्कै परिवर्तन भएका हुँदैनन्। त्यसोभए, तिनीहरूले ती ३० वर्ष कसरी बिताए त? के तिनीहरूले परमेश्वरको वचन नपढेको वा आफ्नो बारे मनन नगरेको हुन सक्छ? के तिनीहरूले परमेश्वरलाई प्रार्थना नगरेको वा उहाँलाई भरोसा नगरेको हुन सक्छ? के तिनीहरूले प्रवचन र सङ्गति नसुनेको हुन सक्छ? के तिनीहरू दिमागहीन रहेको र तिनीहरूसँग सामान्य मानवताको सोचाइ नभएको हुन सक्छ? तिनीहरूले ती तीस वर्ष कसरी बिताए, त्यो साँच्चै नै रहस्यमय कुरा हो। घटना घटेको तीस वर्ष बितिसकेपछि पनि, तिनीहरू अझै पनि विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई अन्याय गरे, परमेश्वरले तिनीहरूलाई बुझ्नुभएन, र परमेश्वरको घरले तिनीहरूलाई दुर्व्यवहार गर्यो, तिनीहरूलाई समस्या पैदा गरिदियो, तिनीहरूको लागि परिस्थिति कठिन पारिदियो, र तिनीहरूलाई अनुचित रूपमा दोष लगायो भन्ने सोच्दै आक्रोशले भरिएका हुन्छन्। मलाई भन त, के यस्ता मानिसहरू परिवर्तन हुन सक्छन्? तिनीहरू अवश्य नै परिवर्तन हुन सक्दैनन्। तिनीहरूको हृदय सकारात्मक कुराहरूप्रति शत्रुता, र प्रतिरोध र विरोधले भरिएको हुन्छ। तिनीहरू त यो विश्वास गर्छन् कि, तिनीहरूको दुष्ट कार्यहरू खुलासा गरेर अनि तिनीहरूलाई काटछाँट गरेर, अरूहरूले तिनीहरूको चरित्रमा हानि गरे, तिनीहरूको प्रतिष्ठाप्रति अनादर गरे, र तिनीहरूको प्रतिष्ठा र हैसियतमा ठूलो हानि पुर्याए। तिनीहरू यो मामिलामा प्रार्थना गर्न, खोजी गर्न, र आफ्ना गल्तीहरू पहिचान गर्न कहिल्यै पनि परमेश्वरको अघि आउँदैनन्, र तिनीहरूसँग कहिल्यै पनि पश्चात्ताप गर्ने वा आफ्ना गल्तीहरू स्वीकार गर्ने मनोवृत्ति हुँदैन। तिनीहरूले परमेश्वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्नु त झन् परको कुरा हो। आज पनि अझै तिनीहरू परमेश्वरको अघि आफूलाई धर्मी साबित गर्ने प्रयास गर्दै अनाज्ञाकारिता, असन्तुष्टि, र गुनासोहरू बोकेर बस्छन्, र परमेश्वरलाई यी अन्यायहरू सच्याउन, यो मामला खुलासा गर्न, र सही को थियो, गलत को थियो भनेर सही रूपमा मूल्याङ्कन गर्न अनुरोध गर्छन्, यहाँसम्म कि यो मामलाको कारण परमेश्वरको धार्मिकतालाई समेत शङ्का गर्छन् र इन्कार्छन्, र परमेश्वरको घरमा सत्यता र परमेश्वरको शासन चल्छ भन्ने तथ्यलाई समेत शङ्का गर्छन् र इन्कार्छन्। ख्रीष्टविरोधीहरू काटछाँटमा पर्दा आउने अन्तिम परिणाम यही हो—के तिनीहरू सत्यता स्वीकार गर्छन् त? तिनीहरू किमार्थ सत्यता स्विकार्दैनन्; तिनीहरू यसलाई नस्विकार्न दृढ हुन्छन्। यसबाट हामीले देख्न सक्छौं कि ख्रीष्टविरोधीको प्रकृति सार सत्यताप्रति विमुख हुने र त्यसलाई घृणा गर्ने किसिमको हुन्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन)
ख्रीष्टविरोधीहरूले सत्यतालाई तिरस्कार र घृणा गर्छन्। के तैँले सत्यताप्रति वितृष्ण व्यक्तिलाई सत्यता स्विकार्न र अभ्यास गर्न लगाउन सक्छस्? (सक्दिनँ।) त्यसो गर्नु त गाईलाई रूख चढ्न लाउनु वा ब्वाँसोलाई घाँस खान लाउनुजस्तै हो—के त्यो तिनीहरूलाई असम्भव कुरा गर्न लाउनु होइन र? कहिलेकहीँ तैँले ब्वाँसो भेडासँग बस्न बगालमा घुसपैठ भएको देख्नेछस्। यो त भेडा खाने मौका कुर्दै चलाकी गर्नु मात्र हो। यसको प्रकृति कहिल्यै परिवर्तन हुनेछैन। त्यसैगरी, ख्रीष्टविरोधीले सत्यता अभ्यास गर्नु भनेको ब्वाँसोले घाँस खाएर भेडा खाने उसको जन्मजात इच्छा त्याग्नुजस्तै हो: यो असम्भव कुरा हो। ब्वाँसोहरू मांसाहारी प्राणी हुन्। तिनीहरूले भेडा खान्छन्—तिनीहरूले सबै किसिमका पशुहरू खान्छन्। तिनीहरूको प्रकृति त्यही हो, र यसलाई परिवर्तन गर्न सकिँदैन। यदि कसैले यसो भन्छ रे, “म ख्रीष्टविरोधी हो कि होइन थाहा छैन, तर जबजब सत्यता सङ्गति गरिएको सुन्छु, तबतब मेरो हृदय रिसले क्रोधित हुन्छ, र मलाई यसप्रति घृणा लाग्छ—र जसले मलाई काटछाँट गर्छ, उसलाई त म अझै बढी घृणा गर्छु,” तब के त्यो व्यक्ति ख्रीष्टविरोधी होइन र? (हो।) अनि कसैले भन्छ, “तिम्रो जीवनमा परिस्थितिहरू आइपर्दा, तिमीले समर्पित भएर सत्यता पछ्याउनुपर्छ,” र त्यो पहिलो व्यक्तिले भन्छ, “समर्पित त नापियो! तेस्तो बोल्दै नबोल!” त्यो कस्तो कुरा हो? के यो रिसको झोक हो? (होइन।) यो कस्तो स्वभाव हो? (सत्यताप्रतिको घृणा।) तिनीहरूले यसबारे कुरासमेत गर्दैनन्, र तैँले सत्यता सङ्गति गर्नेबित्तिकै, तिनीहरूको प्रकृति प्रकट हुन्छ, र तिनीहरूले आफ्नो साँचो रूप देखाउँछन्। सत्यता खोजी गर्ने वा परमेश्वरमा समर्पित हुनेबारे कुनै पनि कुरा सुन्दा तिनीहरूलाई घृणा लाग्छ। तिनीहरूको तिरस्कार कति ठूलो हुन्छ? जब तिनीहरूले यस्तो कुरा सुन्छन्, तिनीहरू विस्फोट हुन्छन्। तिनीहरूको शिष्टता हराउँछ; तिनीहरूले आक्रोश पोखाउन डर मान्दैनन्। तिनीहरूको घृणा यति हदसम्म जान्छ। त्यसोभए के तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन् त? (सक्दैनन्।) सत्यता दुष्टको लागि होइन; यो त विवेक र समझ भएका, सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्ने मानिसहरूको लागि हो। यसको लागि यसलाई स्विकार्ने र अभ्यास गर्ने मानिसहरू आवश्यक पर्छ। अनि जहाँसम्म सत्यता र सकारात्मक कुराहरूप्रति अत्यन्तै शत्रुवत् हुने ख्रीष्टविरोधी सार भएका ती दुष्ट मानिसहरूको कुरा छ, तिनीहरूले कहिल्यै सत्यता स्वीकार गर्दैनन्। तिनीहरूले परमेश्वरमा विश्वास गरेको जति नै वर्ष भए पनि, तिनीहरूले जति नै धेरै प्रवचन सुने पनि, तिनीहरूले सत्यता स्वीकार वा अभ्यास गर्दैनन्। यो नसोच् कि तिनीहरूले सत्यता नबुझेर सत्यता अभ्यास नगरेका हुन्, र तिनीहरूले यसबारे थप सुनेपछि कुरा बुझ्नेछन्। यस्तो हुन असम्भव छ, किनभने सत्यताप्रति वितृष्णा राख्ने र यसलाई घृणा गर्ने सबै शैतानकोटिका मानिसहरू हुन्। तिनीहरू कहिल्यै परिवर्तन हुनेछैनन्, र अरू कसैले तिनीहरूलाई परिवर्तन गर्न सक्दैनन्। यो त प्रधान स्वर्गदूतले परमेश्वरलाई धोका दिएपछिको अवस्थाजस्तै हो: के तिमीहरूले कहिल्यै परमेश्वरले म प्रधान स्वर्गदूतलाई मुक्ति दिन्छु भनेर भन्नुभएको सुनेका छौ? परमेश्वरले कहिल्यै यसो भन्नुभएको छैन। त्यसोभए, परमेश्वरले शैतानलाई के गर्नुभयो? उहाँले त्यसलाई मध्य आकाशमा फ्याँक्नुभयो र पृथ्वीमा उहाँको सेवा गर्न लगाउनुभयो, र त्यसलाई त्यसले गर्नुपर्ने काम गर्न लगाउनुभयो। अनि जब त्यसले सेवा प्रदान गरिसकेको हुन्छ, र जब परमेश्वरको व्यवस्थापन योजना पूरा भएको हुन्छ, तब उहाँले त्यसलाई नष्ट गर्नुहुनेछ, र त्यो कुरा समाप्त हुनेछ। के परमेश्वरले यसबारे थप एउटा कुरा पनि बताउनुहुन्छ र? (बताउनुहुन्न।) किन बताउनुहुन्न? किनभने एउटा शब्दमा भन्दा, यो व्यर्थ हुनेछ। यसबारे एउटा शब्द बताउनु पनि अनावश्यक हुनेछ। परमेश्वरले यो कुरा छर्लङ्गै देख्नुभएको छ: ख्रीष्टविरोधीको प्रकृति सार कहिल्यै परिवर्तन हुन सक्दैन। यो यस्तै हुन्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई)