५. ख्रीष्टविरोधीहरूलाई कसरी खुट्ट्याउने
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
परमेश्वर ख्रीष्टविरोधीहरूलाई कसरी चित्रण गर्नुहुन्छ? सत्यतालाई घृणा गर्ने र परमेश्वरको विरोध गर्नेहरूका रूपमा—तिनीहरू परमेश्वरका शत्रु हुन्! सत्यताको विरोध गर्नु, परमेश्वरलाई घृणा गर्नु, र सबै सकारात्मक कुरालाई घृणा गर्नु—यो साधारण मानिसहरूमा पाइने क्षणिक कमजोरी वा मूर्खता होइन, न त क्षणिक विकृत बुझाइबाट उत्पन्न हुने गलत सोच र दृष्टिकोणको प्रकाश नै हो; समस्या यो होइन। समस्या त तिनीहरू ख्रीष्टविरोधी, परमेश्वरका शत्रु हुनु, तिनीहरूले सारा सकारात्मक कुरा र सारा सत्यतालाई घृणा गर्नु हो; तिनीहरू परमेश्वरलाई घृणा र विरोध गर्ने पात्र हुन्। परमेश्वर यस्ता पात्रहरूलाई कसरी हेर्नुहुन्छ? परमेश्वर तिनीहरूलाई मुक्ति दिनुहुन्न! यी मानिसहरू सत्यतालाई तिरस्कार र घृणा गर्छन्, तिनीहरूमा ख्रीष्टविरोधीहरूको प्रकृति सार हुन्छ। के तिमीहरूले यो कुरा बुझ्यौ? यहाँ दुष्टपन, उग्रपन, र सत्यताप्रतिको घृणाको खुलासा भइरहेको छ। यो त भ्रष्ट स्वभावहरूमध्ये सबैभन्दा गम्भीर शैतानी स्वभावहरू हो, जसले सामान्य भ्रष्ट मानवजातिले प्रकट गर्ने भ्रष्ट स्वभावहरू मात्र नभई शैतानका सबैभन्दा खाँटी र महत्त्वपूर्ण विशेषताहरूलाई जनाउँछन्। ख्रीष्टविरोधीहरू परमेश्वरविरोधी शक्ति हुन्। तिनीहरूले मण्डलीलाई बाधा दिन र नियन्त्रण गर्न सक्छन्, अनि तिनीहरूमा परमेश्वरको व्यवस्थापन कार्यलाई भत्काउने र बिथोल्ने क्षमता हुन्छ। यो त भ्रष्ट स्वभावका सामान्य मानिसहरूले गर्न सक्ने कुरा होइन; ख्रीष्टविरोधीहरूले मात्र यस्ता कार्यहरू गर्न सक्छन्। यस मामलालाई कम नआँक्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ
परमेश्वर अझसम्म देहधारी नहुनुभएको समयमा, मानिसले उहाँको विरोध गरे-नगरेको मापन उसले स्वर्गमा हुनुहुने अदृश्य परमेश्वरलाई आराधना गऱ्यो कि गरेन र खोजी गऱ्यो कि गरेन त्यसमा आधारित हुन्थ्यो। त्यस समयमा परमेश्वरविरुद्धको विरोधलाई परिभाषित गर्ने तरिका त्यति व्यवहारिक थिएन, किनकि मानिसले परमेश्वरलाई देख्न सक्दैनथियो, न त परमेश्वरको प्रतिरूप कस्तो छ, वा उहाँले कसरी काम गर्नुहुन्छ र बोल्नुहुन्छ भन्ने नै उसलाई थाहा थियो। परमेश्वरबारे मानिसमा कुनै धारणा थिएन, र उसले अस्पष्ट रूपले परमेश्वरमा विश्वास गर्थ्यो, किनकि परमेश्वर मानिसको अघि अझसम्म प्रकट हुनुभएको थिएन। तसर्थ, मानिसले आफ्नो कल्पनामा परमेश्वरमा जसरी विश्वास गरे पनि, उहाँले मानिसलाई निन्दा गर्नुभएन वा उसबाट अत्यन्तै धेरै अपेक्षा राख्नुभएन, किनकि मानिस परमेश्वरलाई देख्न पूर्णतः असमर्थ थियो। जब परमेश्वर देहधारी हुनुहुन्छ र मानिसहरूबीच काम गर्न आउनुहुन्छ, सबैले उहाँलाई देख्छन् र उहाँका वचनहरू सुन्छन्, र सबैले ती कार्य देख्छन् जुन परमेश्वरले उहाँको देहधारी शरीरभित्रबाट गर्नुहुन्छ। त्यस क्षणमा, मानिसका सबै धारणा फिँजजस्तै बन्छन्। परमेश्वर शरीरमा प्रकट हुनुभएको देख्ने व्यक्तिहरू स्वेच्छाले उहाँमा समर्पित हुन्छन् भने, उनीहरूलाई दोषी ठहराइनेछैन, जब कि उद्देश्यपूर्ण तरिकाले उहाँविरुद्ध खडा हुनेहरूलाई परमेश्वरको विरोधी ठानिनेछ। यस्ता मानिसहरू ख्रीष्टविरोधी, शत्रु हुन् जो जानीबुझी परमेश्वरविरुद्ध उभिन्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको विरोध गर्नेहरू हुन्
यदि तैँले वर्षौंदेखि परमेश्वरमाथि विश्वास गरेको छस् तर पनि तँ कहिल्यै पनि उहाँप्रति समर्पित भएको छैनस् भने र उहाँका वचनहरूको सम्पूर्णतालाई स्वीकार गर्दैनस्, बरु परमेश्वरलाई तँमा समर्पित हुन र तेरा आफ्नै धारणाहरू अनुसार कार्य गर्न लगाउँछस् भने, तँ सबैभन्दा उग्र विद्रोही होस्, तँ अविश्वासी होस्। यस्ता मानिसहरूले कसरी मानिसका धारणाहरूसँग मेल खाँदै-नखाने परमेश्वरका काम र वचनहरूप्रति समर्पणता देखाउन सक्छन् र? सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्वरको नयाँ कामको विरुद्ध शत्रुवत मनोवृत्ति हुन्छ; तिनीहरूमा कहिल्यै समर्पित हुनेबारे मनस्थिति अलिकति पनि हुँदैन, न त तिनीहरूले कहिल्यै खुसीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूसामु आफूलाई सबैभन्दा उच्च ठान्छन् र कसैको अगाडि आफूलाई कहिल्यै समर्पित गर्दैनन्। परमेश्वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “खजानाहरू” लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पारिवारिक विरासत हो भन्ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई भाषण दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकहरू” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचारलाई सर्वोच्च कर्तव्य मान्छन्। वर्षौंवर्ष, पुस्तौंपुस्ता तिनीहरू आफ्नो “पवित्र र अनुल्लंघनीय” कर्तव्यलाई जोशका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्वरको घरमा “राजाहरू” बन्छन् र एउटा युगदेखि अर्को युगसम्म अरूहरूलाई अत्याचार गर्दै तिनीहरू छाडा दौडिन्छन्। पिशाचहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी जीवित दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र? अर्ध-समर्पितहरू समेत आखिरीसम्म अघि बढ्न सक्दैनन्, आफ्नो हृदयमा रत्तीभर समर्पणता नभएका यी निरङ्कुश व्यक्तिहरू आखिरीसम्म अघि बढ्न सक्ने कुरा त परै जाओस्! परमेश्वरको कामलाई मानिसले सजिलैसँग प्राप्त गर्न सक्दैन। मानिसहरूले तिनीहरूसँग भएको सबै तागत लगाएर पनि यसको एउटा सानो अंश मात्र प्राप्त गर्न सक्छन्, जसले आखिरमा तिनीहरूलाई सिद्ध तुल्याउने बाटो प्रदान गर्छ। त्यसो भए, प्रधान दूतका सन्तानलाई चाहिँ के हुन्छ, जसले परमेश्वरको कामलाई विनाश गर्न खोज्छन्? के तिनीहरूलाई परमेश्वरले प्राप्त गर्नुहुने सम्भावना झन् कम छैन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्वरले प्राप्त गर्नुहुनेछ
भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्वरको कार्यको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्वरका अभिप्रायअनुसारको हुने बारेमा त कुरै नगरौँ। उनीहरू सबैजना “परमेश्वर”लाई भाषण दिन उचाइमा उभिएका व्यर्थका नीच मानिसहरू हुन्। उनीहरू परमेश्वरको ध्वजा बोके तापनि जानाजान परमेश्वरको विरोध गर्ने मानिस हुन्। जो परमेश्वरमा विश्वास गरेको पर्चा बोक्छन् जबकि मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा निल्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई बाधा दिने पिशाचका प्रमुख हुन्, र परमेश्वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू “स्वस्थ विधान” भएका जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्वरविरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा निल्न समर्पित जीवित शैतान हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको विरोध गर्नेहरू हुन्
हरेक धर्म र सम्प्रदायका अगुवाहरूलाई हेर्—ती सबै अहङ्कारी र आत्म-धर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूद्वारा मार्गनिर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नका निम्ति वरदानहरू र ज्ञानमा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न बिलकुलै नसक्ने हो भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? जे भए पनि, तिनीहरूसँग केही ज्ञान हुन्छ र तिनीहरूले केही धर्मसिद्धान्तहरू प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई छल्न र मानिसहरूलाई आफ्नो अगाडि ल्याउनका निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्वरमा नाम मात्रको विश्वास गर्छन्, तर वास्तवमा तिनीहरूले यी अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो मार्गको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये केहीले भन्छन्, “आस्थाको मामलामा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्वरमाथि विश्वास गर्ने र सत्यता स्वीकार गर्ने कुरा आउँदा मानिसहरूलाई कसरी अरूको सहमति र स्वीकृति आवश्यक पर्दो रहेछ, हेर्—के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो बाटो स्वीकार गर्ने कुरामा ठेस लाग्ने बाधाहरू बनेका छैनन् र? त्यस्ता मानिसहरू पावलकै प्रकारका हुन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
ख्रीष्टविरोधीहरू सत्यता र परमेश्वरप्रति खुलस्त रूपमा वैरभाव राख्छन्; तिनीहरू परमेश्वरका चुनिएका मानिसहरू, उहाँको पद, र मानिसहरूको हृदयका लागि उहाँसँग होड गर्छन्, अनि परमेश्वरका चुनिएका मानिसहरूको हृदय जित्न, र तिनीहरूलाई बहकाउन र पङ्गु बनाउन उनीहरूको वरपर विभिन्न कुरासमेत गर्छन्। छोटकरीमा भन्दा, ख्रीष्टविरोधीहरूको कार्य र व्यवहार, चाहे त्यो खुलस्त होस् वा गुप्त, सधैँ परमेश्वरविरोधी हुन्छ। किन म यो परमेश्वरविरोधी हुन्छ भनेर भन्छु? किनभने तिनीहरूलाई परमेश्वरको वचन सत्यता हो र उहाँ परमेश्वर हुनुहुन्छ भनेर राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू अझै उहाँको विरोध गर्छन् र सत्यतामा जसरी सङ्गति गरिए पनि त्यो स्वीकार गर्दैनन्। उदाहरणका लागि, कतिपय ख्रीष्टविरोधीहरूले कतिपय मानिसलाई लोभ्याएर बहकाउँछन् र नियन्त्रण गर्छन्। तिनीहरू यी मानिसहरूलाई तिनीहरूको आज्ञा मान्न र तिनीहरूलाई पछ्याउन लगाउँछन्, त्यसपछि जालझेल गरेर मण्डलीबाट सबै किसिमका पुस्तक र सामग्रीहरू लिन्छन्, र आफ्नै मण्डली र राज्य स्थापना गर्छन्, ताकि तिनीहरूलाई आफ्ना अनुयायीहरूले पछ्याउन र आराधना गर्न सकून्, त्यसपछि तिनीहरू मण्डलीबाट फाइदा लिन थाल्छन्। यस्तो व्यवहार स्पष्ट रूपमा नै तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूका लागि उहाँसँग होड गर्नु हो—के यो ख्रीष्टविरोधीहरूको विशेषता होइन र? के यो स्पष्ट विशेषताका आधारमा यी मानिसहरूलाई ख्रीष्टविरोधी भनेर परिभाषित गर्नु न्यायसङ्त हुँदैन? यो पटक्कै न्यायसङ्गत नहुने हुँदैन—यो परिभाषा एकदमै सटीक छ! मण्डलीभित्र गुटबन्दी गरेर मण्डली भत्काउने कतिपय ख्रीष्टविरोधी पनि छन्। तिनीहरू मण्डलीभित्र निरन्तर आफ्नै शक्ति वृद्धि गर्छन्, र तिनीहरूसँग असहमत हुनेहरूलाई हटाउँछन्। त्यसपछि तिनीहरू आफ्नो शक्ति गठन गर्न र सबैलाई आफूले भनेको कुरा गर्न लगाउन तिनीहरूको कुरा सुन्ने र तिनीहरूलाई पछ्याउनेहरूलाई आफ्ना पक्षमा राख्छन्। के यो तिनीहरूले आफ्नै राज्य स्थापना गर्नु होइन र? माथिसँग जेजस्तो कार्य व्यवस्था वा मापदण्डहरू भए पनि, तिनीहरू ती पूरा गर्न मान्दैनन्, बरु आफ्नै शैलीमा काम गर्छन्, जसले गर्दा तिनीहरूका अनुयायीहरूले खुलस्त रूपमा माथिको विरोध गर्छन्। उदाहरणका लागि, परमेश्वरको घरले वास्तविक काम गर्न नसक्ने अगुवा र सेवकहरूलाई तुरुन्तै प्रतिस्थापन गरेको माग गर्छ। तैपनि, ख्रीष्टविरोधीले यस्तो सोच्नेछ: “कतिपय अगुवा र सेवकहरू वास्तविक काम गर्न नसक्ने भए पनि, मलाई साथ दिन्छन् र अनुमोदन गर्छन्, अनि मैले तिनीहरूलाई वृद्धि गरिरहेको छु। माथिले पहिला मलाई नहटाएसम्म यी मानिसहरूलाई हटाउने कुरै आउँदैन।” मलाई भन् त, के त्यो मण्डली ख्रीष्टविरोधीका नियन्त्रणमा छैन र? परमेश्वरको घरका कार्य व्यवस्थहरू कुनै ख्रीष्टविरोधीले सम्हाल्दैन र ती पूरा गर्न सक्दैन। जब कार्य व्यवस्था जारी भएको धेरै भएको हुन्छ, र हरेक मण्डलीले ती कसरी गरिएको छ, जस्तै कुन परिस्थितिमा कसलाई अर्को कर्तव्यमा खटाइएको छ वा कसलाई प्रतिस्थापित गरिएको छ भनेर रिपोर्ट गरेको हुन्छ, त्यति बेला ख्रीष्टविरोधीले कुनै कुराको कहिल्यै रिपोर्ट दिँदैन र कसैलाई कहिल्यै अर्का काममा खटाउँदैन। कतिपय मानिस सधैँ आफ्ना कर्तव्यमा झारा टार्छन्, जसले गर्दा मण्डलीका काममा गम्भीर असर पर्छ, तर ख्रीष्टविरोधीले तिनीहरूलाई अर्का काममा खटाउँदैन। माथिले ख्रीष्टविरोधीलाई यी मानिसहरूलाई प्रतिस्थापित गर्नू भनेर भन्नुहुँदा समेत, धेरै लामो समयसम्म पनि जवाफ दिँदैन। के यसमा समस्या छैन र? माथिले कार्य व्यवस्था लागू गर्न अह्राउँदा वा कुनै कुराबारे सोधपुछ गर्ने प्रयास गर्दा, ख्रीष्टविरोधीबाट कुनै प्रतिफल निस्कँदैन। मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई यसबारे केही थाहा हुँदैन, तिनीहरूले कुनै खबर पाउँदैनन्, र तिनीहरू माथिसँग सम्पर्कविहीन हुन्छन्—मण्डली पूर्ण रूपमा त्यो एक व्यक्तिका नियन्त्रणमा हुन्छ। ख्रीष्टविरोधीले यसरी कार्य गर्नुको प्रकृति के हो? यस ख्रीष्टविरोधीले मण्डलीलाई नियन्त्रण गर्नु हो। ख्रीष्टविरोधीहरू मण्डलीमा गुटबन्दी गर्छन्, आफ्नै राज्य स्थापना गर्छन्, परमेश्वरको घरको विरोध गर्छन्, र परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गर्छन्। मानिसहरू पवित्र आत्माको काम गुमाउँछन्, परमेश्वरको उपस्थिति महसुस गर्न सक्दैनन्, तिनीहरूलाई कुनै शान्ति वा आनन्द हुँदैन, तिनीहरू परमेश्वरमाथिको विश्वास गुमाउँछन्, र आफ्नो कर्तव्य उत्साहका साथ निभाउन छोड्छन्। तिनीहरू नकारात्मक र चरित्रभ्रष्टसमेत बन्छन्, र तिनीहरूको जीवन सुस्त बन्छ। यी सबै कुरा ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउनु र नियन्त्रण गर्नुका परिणाम हुन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक)
देहधारी परमेश्वरप्रति ख्रीष्टविरोधीहरूको व्यवहारको अर्को पनि प्रकटीकरण छ: तिनीहरू यसो भन्छन्, “मैले ख्रीष्ट एक साधारण व्यक्ति भएको देख्नेबित्तिकै, मेरा मनमा धारणाहरू निर्मित भए। ‘वचन देहमा देखा पर्नुहुन्छ’ भन्ने पुस्तक परमेश्वरको एउटा अभिव्यक्ति हो; यो सत्यता हो, र म यसलाई स्विकार्छु। मसित ‘वचन देहमा देखा पर्नुहुन्छ’ को एउटा प्रति छ, र त्यति भए पुग्छ। मैले ख्रीष्टसँग सम्पर्क गर्नुपर्दैन। यदि ममा धारणाहरू, नकारात्मकता वा कमजोरी छन् भने, म तिनलाई परमेश्वरका वचनहरू पढेरै समाधान गर्न सक्छु। देहधारी परमेश्वरसँग मेरो सम्पर्क भयो भने, धारणाहरू सजिलै निर्मित हुन्छन्, र यसले म अत्यन्तै गहिरो रूपमा भ्रष्ट तुल्याइएको छु भन्ने देखाउनेछ। यदि मलाई परमेश्वरले निन्दा गर्नुभयो भने, ममा मुक्तिको कुनै आशा हुनेछैन। त्यसकारण, म आफैले परमेश्वरको वचन पढ्नु नै राम्रो हुन्छ। मानिसहरूलाई मुक्ति दिन सक्ने त स्वर्गको परमेश्वर नै हो।” परमेश्वरका अहिलेका वचनहरू र सङ्गतिले, विशेषगरी ख्रीष्टविरोधीहरूको स्वभाव र सार खुलासा गर्ने ती वचनहरूले ख्रीष्टविरोधीहरूको हृदयलाई सबैभन्दा बढी घोच्छन् र ती तिनीहरूको लागि सबैभन्दा पीडादायी हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू हृदयमा परमेश्वरले चाँडै धर्ती छोड्नुभए हुन्थ्यो, ताकि आफूले आफ्नै शक्ति प्रयोग गरेर धर्तीमा शासन गर्न सकूँ भन्ने कामना गर्छन्। तिनीहरू परमेश्वर देहधारी हुनुभएको देह, अर्थात् यस साधारण व्यक्ति, तिनीहरूको लागि वाहियात हो भन्ने ठान्छन्। तिनीहरू सधैँ मनन गर्छन्, “ख्रीष्टका प्रवचनहरू सुन्नुअघि, मलाई म सबथोक बुझ्छु, र सबै रूपमा ठिकै छु भन्ने लाग्थ्यो, तर ख्रीष्टका प्रवचनहरू सुनेपछि, यो कुरा फरक भएको छ। अहिले मलाई मसँग केही पनि नभएजस्तो महसुस हुन्छ, मलाई म अत्यन्तै मामुली र दयनीय छु जस्तो महसुस हुन्छ।” त्यसकारण, तिनीहरू ख्रीष्टका वचनहरूले तिनीहरूको नभई अरूको खुलासा गरिरहेका छन् भन्ने निर्क्योल गर्छन्, र ख्रीष्टका प्रवचनहरू सुन्न आवश्यक छैन, “वचन देहमा देखा पर्नुहुन्छ” भन्ने पुस्तक पढे पुग्छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीहरूको हृदयमा, तिनीहरूको मुख्य अभिप्राय परमेश्वर देह बन्नुभएको तथ्य नकार्नु र ख्रीष्टले सत्यता व्यक्त गर्नुहुने तथ्य इन्कार्नु हो, र तिनीहरू यसरी परमेश्वरमाथिको विश्वासमार्फत तिनीहरूले मुक्ति पाउने आशा रहन्छ, र तिनीहरूले मण्डलीमा राजाको रूपमा शासन गर्न सक्छन्, साथै यसमार्फत परमेश्वरमा विश्वास गर्नुको तिनीहरूको सुरुवाती अभिप्राय पूरा हुन्छ भन्ठान्छन्। ख्रीष्टविरोधीहरूमा परमेश्वरको प्रतिरोध गर्ने जन्मसिद्ध प्रकृति हुन्छ; देहधारी परमेश्वरसँग तिनीहरू आगो र पानीजतिकै अमिल्दा, र अनन्त असहमतिमा हुन्छन्। तिनीहरू ख्रीष्ट अस्तित्वमा रहनुभएको हरदिन तिनीहरूलाई प्रगति गर्न कठिन हुनेछ, र तिनीहरू निन्दित हुने, हटाइने, नष्ट पारिने, र दण्डित हुने खतरामा हुनेछन् भन्ठान्छन्। जबसम्म ख्रीष्टले बोल्नुहुन्न र काम गर्नुहुन्न, जबसम्म परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरलाई आदरभावले हेर्दैनन्, तबसम्म ख्रीष्टविरोधीहरूको अवसर हुन्छ। तिनीहरूले आफ्ना क्षमताहरू प्रस्तुत गर्ने मौका पाउँछन्। हातले एक इसारा गर्दा नै मानिसहरूको हुल तिनीहरूको पक्षमा आउनेछन्, र ख्रीष्टविरोधीहरूले राजाको रूपमा शासन गर्न सक्नेछन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार सत्यताप्रति वितृष्ण हुने र ख्रीष्टप्रति घृणा गर्ने हुन्छ। तिनीहरू ख्रीष्टसित को बढी प्रतिभाशाली वा को बढी सक्षम छ भन्ने कुरामा प्रतिस्पर्धा गर्छन्; ख्रीष्टसित तिनीहरू कसका वचनहरूमा बढी शक्ति छ र कसका क्षमताहरू ठूला छन् भन्ने कुरामा प्रतिस्पर्धा गर्छन्। ख्रीष्टले जस्तै काम गरेर, तिनीहरू अरूलाई तिनीहरू र उहाँ दुवै मानव भए पनि ख्रीष्टका क्षमताहरू र विद्वत्ता कुनै साधारण व्यक्तिका भन्दा राम्रा नभएको देखाउन चाहन्छन्। ख्रीष्टविरोधीहरू ख्रीष्टसँग हरतरिकाले प्रतिस्पर्धा गर्छन्, को राम्रो भनेर होडबाजी गर्छन्, र ख्रीष्ट परमेश्वर हुनुहुन्छ, उहाँ परमेश्वरको आत्माको मूर्तरूप हुनुहुन्छ, र उहाँ सत्यताको मूर्तरूप हुनुहुन्छ भन्ने तथ्यलाई हरेक कोणबाट नकार्ने कोसिस गर्छन्। तिनीहरू ख्रीष्टलाई परमेश्वरका चुनिएका मानिसहरूमाझ शक्ति धारण गर्नबाट रोक्न, परमेश्वरका वचनहरू परमेश्वरका चुनिएका मानिसहरूमाझ फैलाइन वा लागु गरिनबाट रोक्न, साथै ख्रीष्टले गर्नुहुने कामहरू र मानिसहरूप्रतिका उहाँका मापदण्ड र आशाहरू परमेश्वरका चुनिएका जनहरूमाझ साकार पारिनबाट रोक्नसमेत हरक्षेत्रका विविध उपाय र विधिहरू पनि सोच्छन्। यस्तो लाग्छ मानौँ ख्रीष्ट उपस्थित हुनुहुँदा, तिनीहरू मण्डलीद्वारा बरखास्त, निन्दित र अस्वीकृत हुन्छन्—र अँध्यारो कुनामा राखिएका एक हुल मानिसहरूमा सीमित हुन्छन्। हामी ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूमा देख्न सक्छौँ कि स्वभाव र सारको हिसाबले तिनीहरू ख्रीष्टसँग मिल्नै नसक्ने हुन्छन्—तिनीहरू उहाँसँग एउटै आकाशमुनि रहन सक्दैनन्! ख्रीष्टविरोधीहरू जन्मेदेखि नै परमेश्वरप्रति शत्रुवत् भइआएका छन्; तिनीहरू विशेषगरी परमेश्वरको प्रतिरोध गर्न आएका हुन्, र तिनीहरू ख्रीष्टलाई पराजित गर्न र पूरै हराउन चाहन्छन्। तिनीहरू ख्रीष्टले गर्नुहुने सबै काम व्यर्थ र अर्थहीन बनून्, ताकि अन्त्यमा ख्रीष्टलाई धेरै मानिसहरू प्राप्त नहोऊन्, र उहाँले जहाँ काम गर्नुभए पनि कुनै पनि नतिजा नआऊन् भन्ने चाहन्छन्। तबमात्र ख्रीष्टविरोधीहरू खुसी हुनेछन्। यदि ख्रीष्टले सत्यताहरू व्यक्त गर्नुहुन्छ, र मानिसहरू तिनका प्यासी छन्, तिनलाई खोज्छन्, तिनलाई खुसीसाथ स्विकार्छन्, र आफूलाई ख्रीष्टप्रति समर्पित गर्न, सबथोक त्याग्न र ख्रीष्टको सुसमाचार फैलाउन इच्छुक छन् भने, ख्रीष्टविरोधीहरू निरुत्साहित हुन्छन् र भोलिको लागि कुनै आशा नभएको, र तिनीहरूले प्रगति गर्ने मौका कहिल्यै पाउनेछैनन् भन्ने महसुस गर्छन्, मानौँ तिनीहरूलाई नरकमा पुर्याइएको छ। ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरू हेर्दा, के परमेश्वरसित लड्ने र उहाँलाई वैरभावपूर्वक हेर्ने तिनीहरूको यो सार अरू कसैले तिनीहरूमा हालिदिएको हो? कदापि होइन; तिनीहरू त्यसलाई बोकेरै जन्मिन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू त्यस्ता व्यक्ति हुन् जो जन्मैदेखि दियाबलसको पुनर्जन्म हुन्, अर्थात् धर्तीमा आएका दियाबलस हुन्। तिनीहरूले सम्भवतः कहिल्यै पनि सत्यता स्विकार्न सक्दैनन्, र तिनीहरूले ख्रीष्टलाई स्विकार्ने, उच्च पार्ने, वा गवाही दिने काम कहिल्यै गर्नेछैनन्। तैँले बाहिरी रूपमा तिनीहरूले ख्रीष्टलाई सार्वजनिक रूपमै आलोचना र निन्दा गरेको नदेखे पनि, साथै तिनीहरूले अनुपालन गरेर केही मेहनत लगाउन र मूल्य चुकाउन सके पनि, तिनीहरूलाई मौका मिल्नेबित्तिकै, र सही समय आउनेबित्तिकै, ख्रीष्टविरोधीहरूको परमेश्वरसँगको बेमेलता आफै प्रकट हुनेछ। ख्रीष्टविरोधीहरू परमेश्वरसित लड्छन् र स्वतन्त्र राज्य स्थापना गर्छन् भन्ने तथ्य सार्वजनिक हुने नै छ। ख्रीष्टविरोधीहरू भएका ठाउँहरूमा यसअघि यी सबै घटनाहरू घटेका छन्, र परमेश्वरले आखिरी दिनहरूमा उहाँको न्यायको काम गर्नुहुँदाका यी वर्षहरूमा यी घटनाहरू अझ बारम्बार घटेका छन्; धेरै मानिसहरूले यी घटनाहरू अनुभव गरेका र देखेका छन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग चार)
कतिपय मानिसमा परमेश्वरको डर मान्ने हृदय फिटिक्कै हुँदैन। तिनीहरू कार्य प्रबन्धहरू मानव-लिखित हुन् र ती मानवबाट आउँछन् भनेर विश्वास गर्छन्, अनि आफू मानिसका यी धारणासँग सहमत नहुँदा आफूखुसी ती परिवर्तन गर्छन्। के तिमीहरूलाई यसले परमेश्वरका कुन-कुन प्रशासनिक आदेश उल्लङ्घन गर्छ भनेर थाहा छ? (७. “मण्डलीको काम र मामिलाहरूमा, परमेश्वरप्रति समर्पित हुनुबाहेक, सबै कुरामा पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्तिका निर्देशनहरू पालना गर्। सानोभन्दा सानो उल्लङ्घन पनि स्वीकार्य छैन। पूर्ण रूपले आज्ञापालन गर्, र सही वा गलतको विश्लेषण नगर्; सही वा गलतको तँसँग कुनै सम्बन्ध छैन। तैँले पूर्ण समर्पण गर्ने कुरामा मात्र ध्यान दिनैपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरले चुन्नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश)।) प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने कुराहरूले परमेश्वरको स्वभावलाई चिढ्याउँछन्। के तँ यो स्पष्टसँग देख्न सक्दैनस्? माथिका कार्य प्रबन्धप्रति कतिपय मानिसको मनोवृत्ति अत्यन्तै लापर्बाही हुन्छ। तिनीहरूलाई यस्तो लाग्छ, “माथिले कार्य प्रबन्धहरू मिलाउनुहुन्छ, र हामी मण्डलीमा कार्य गर्छौँ। कतिपय वचन र मामिला लचिलो तरिकाले कार्यान्वयन गर्न सकिन्छ। तिनलाई खास गरी कसरी गर्ने भन्ने कुरा हामीमा निर्भर हुन्छ। माथिले केवल बोल्नुहुन्छ र कार्य प्रबन्धहरू मिलाउनुहुन्छ; त्यसलाई व्यवहारमा लागू गर्ने त हामी हौँ। त्यसैले, माथिले हामीलाई काम सुम्पिनुभएपछि हामी त्यसलाई आफूले चाहेअनुसार गर्न सक्छौँ। यसलाई जसरी गरिए पनि फरक पर्दैन। हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन।” तिनीहरूले लागू गर्ने सिद्धान्त यी हुन्: तिनीहरू आफूलाई सही लाग्ने कुरा सुन्छन् र गलत लाग्ने कुरा बेवास्ता गर्छन्, तिनीहरू आफ्नो विश्वासलाई सत्यता र सिद्धान्त मान्छन्, तिनीहरू आफ्नो इच्छासँग नमिल्ने जुनसुकै कुराको प्रतिरोध गर्छन्, र तिनीहरू ती कुराको मामिलामा तँप्रति उग्र विरोधभाव राख्छन्। तिनीहरू माथिका वचनहरू आफ्नो इच्छासँग नमिल्दा हत्तपत्त ती परिवर्तन गर्छन् र आफू तीसँग सहमत भएपछि मात्रै अरूलाई सिकाउँछन्। तिनीहरू आफू सहमत नभई ती सिकाउन दिँदैनन्। अन्य क्षेत्रमा माथिका कार्य प्रबन्धहरू जस्ताको तस्तै सिकाइने भए पनि, यी मानिसहरूचाहिँ आफ्नो रेखदेखमा रहेका मण्डलीहरूमा कार्य प्रबन्धको आफ्नो परिवर्तित संस्करण सिकाउँछन्। यस्ता मानिसहरू जहिले पनि परमेश्वरलाई पन्छाउन चाहन्छन्; तिनीहरू सबैलाई आफूमा विश्वास गराउन, आफूलाई पछ्याउन र समर्पित हुन लगाउन उत्सुक हुन्छन्। तिनीहरूको मनमा, कतिपय क्षेत्रमा परमेश्वर मेरो बराबर हुनुहुन्न भन्ने हुन्छ—तिनीहरू आफै परमेश्वर बन्नु पर्छ र अरूले तिनीहरूमा विश्वास गर्नुपर्छ। यसको प्रकृति नै त्यही हो। यदि तिमीहरूले यो कुरा बुझेका भए, तिनीहरूलाई बर्खास्त गरिँदा के तिमीहरू अझै रुनेथ्यौ? के तिमीहरू अझै पनि तिनीहरूका लागि दुःखी हुनेथ्यौ? के तिमीहरू अझै पनि “माथिले अनुचित व्यवहार गर्नुभयो। तिनीहरू मानिसलाई अन्यायपूर्ण व्यवहार गर्छन्। तिनीहरू कसरी त्यस्तो मेहनती व्यक्तिलाई बर्खास्त गर्न सक्छन्” भनी सोच्नेथ्यौ? यसो भन्नेहरू नासमझ हुन्। तिनीहरू कसका लागि मेहनत गरिरहेका छन्? परमेश्वरका लागि? मण्डलीका लागि? तिनीहरू आफ्नो हैसियत बलियो पार्न मेहनत गर्छन्; तिनीहरू स्वतन्त्र राज्य स्थापना गर्न मेहनती हुन्छन्। के तिनीहरू परमेश्वरको सेवा गरिरहेका छन्? के तिनीहरू आफ्नो कर्तव्य निभाइरहेका छन्? के तिनीहरू निष्ठावान् र परमेश्वरप्रति समर्पणकारी छन्? तिनीहरू शैतानका खाँटी नोकर हुन्, र तिनीहरूले काम गर्दा दियाबलसले शासन गरिरहेको हुन्छ। तिनीहरू परमेश्वरको व्यवस्थापन योजनालाई हानि गर्छन् र परमेश्वरको काममा बाधा पुऱ्याउँछन्। तिनीहरू ठेट ख्रीष्टविरोधी हुन्!
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य सामान्य मानिसहरूको भन्दा धेरै परको हदसम्म जान्छ, र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब, ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा, तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो, र तिनीहरूको जीवनभरको लक्ष्य हो। तिनीहरूले गर्ने सबै कुराहरूमा, तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: “मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?” तिनीहरूले पहिलो पटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्ने कुराको प्रमाण हो; तिनीहरूले यी समस्याहरूलाई अन्यथा सोच्दैनन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, यी कुराहरू तिनीहरूको लागि नहुँदा पनि हुने बाह्य वस्तुहरू हुने कुरा त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन्, र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको आचरण होइन। त्यसो भए, तिनीहरूको आचरण के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक स्थिति, र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूका लागि, प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छाउन सक्दैनन्। तिनीहरूलाई तैँले जुनसुकै समूहका मानिसहरूमाझ राख्न सक्छस् तर तिनीहरूले सोच्न सक्ने भनेकै प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। ख्रीष्टविरोधीहरूले परमेश्वरमा विश्वास त गर्छन्, तर तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतको खोजीलाई परमेश्वरमाथिको विश्वास बराबर मान्छन् र यसलाई उही वजन दिन्छन्। भन्नुको मतलब, परमेश्वरमाथिको विश्वासको बाटोमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियतको पनि खोजी गर्छन्। के भन्न सकिन्छ भने ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा परमेश्वरमाथिको विश्वास र सत्यताको खोजी भनेकै प्रतिष्ठा र हैसियतको खोजी हो भन्ने विश्वास गर्छन्; प्रतिष्ठा र हैसियतको खोजी भनेको सत्यताको खोजी हो र प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो भन्ने विश्वास गर्छन्। यदि तिनीहरूलाई आफ्नो कुनै प्रतिष्ठा, लाभ वा हैसियत छैन, कसैले पनि आफूलाई सम्मान वा आदर गर्दैन, वा पछ्याउँदैन भन्ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, “के परमेश्वरमाथिको त्यस्तो विश्वास असफलता होइन र? के यो निराशलाग्दो छैन र?” तिनीहरूले आफ्नो हृदयमा त्यस्ता कुराहरूबारे बारम्बार विचार गर्छन्, आफ्नो लागि परमेश्वरको घरमा कसरी स्थान लिन सकिन्छ, मण्डलीमा कसरी उच्च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ भनेर विचार गर्छन्, ताकि मानिसहरूले तिनीहरूको कुरा सुनून्, र तिनीहरूले गरेको काममा समर्थन जनाऊन्, र तिनीहरू जहाँ गए पनि तिनीहरूलाई पछ्याऊन्; ताकि तिनीहरूले मण्डलीमा अन्तिम निर्णय गर्न पाऊन्, र तिनीहरूले ख्याति, लाभ, र हैसियत पाऊन्—तिनीहरूले यस्ता कुराहरूमा साँच्चै ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले गर्ने खोजी यिनै हुन्। किन तिनीहरूले सधैँ त्यस्ता कुराहरूको बारेमा सोचिरहन्छन् त? परमेश्वरका वचनहरू पढेपछि, उपदेशहरू सुनेपछि, के तिनीहरूले वास्तवमै यी सबै कुराहरू बुझ्दैनन् त? के तिनीहरू वास्तवमै यी सबै कुरा देख्न सक्षम छैनन् त? के परमेश्वरका वचनहरू र सत्यताले तिनीहरूका धारणा, विचार र रायहरूलाई बदल्न सक्दैनन् त? अवस्था बिलकुलै त्यस्तो होइन। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले, र हृदयमा तिनीहरूले सत्यताप्रति वितृष्ण मान्ने हुनाले, समस्या तिनीहरूमै हुन्छ, र फलस्वरूप, तिनीहरू सत्यता ग्रहण गर्न सक्दै नसक्ने हुन्छन्—र यो कुरा तिनीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन)
ख्रीष्टविरोधीको सबैभन्दा स्पष्ट देखिने एक विशेषता भनेको तिनीहरू शक्तिमा एकाधिकार राख्छन् र आफ्नै तानासाह सञ्चालन गर्छन्: तिनीहरूले कसैको कुरा सुन्दैनन्, कसैलाई पनि सम्मान् गर्दैनन्, र मानिसहरूको सामर्थ्य जस्तोसुकै भए पनि, वा तिनीहरूले जुनसुकै सही दृष्टिकोण र बौद्धिक राय व्यक्त गर्न सक्ने भए पनि, वा तिनीहरूले जति नै उपयुक्त विधिहरू अगाडि सार्ने भए पनि, ख्रीष्टविरोधीहरूले ती कुराहरूमा कुनै चासो दिँदैनन्; यस्तो लाग्छ मानौँ तिनीहरूसँग सहकार्य गर्न वा तिनीहरूले गर्ने कुनै काममा सहभागी हुन कोही पनि योग्य छैन। ख्रीष्टविरोधीहरूसित यस्तो स्वभाव हुन्छ। कतिपय मानिसहरू यो खराब मानवताको हुनु हो भन्छन्—यो कसरी साधारण खराब मानवता मात्र हुन सक्छ र? यो पूर्णतया शैतानी स्वभाव हो, र यस्तो स्वभाव अत्यन्तै उग्र हुन्छ। म किन तिनीहरूको स्वभाव अत्यन्तै उग्र हुन्छ भनेर भन्दै छु त? ख्रीष्टविरोधीहरूले परमेश्वरको घरको सब थोक र मण्डलीको सम्पत्ति कब्जा गर्छन्, ती कुराहरूलाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा लिन्छन्, जुन सबै तिनीहरूले व्यवस्थापन गर्नुपर्ने हो, र तिनीहरूले कसैलाई पनि यसमा हस्तक्षेप गर्न दिँदैनन्। मण्डलीको काम गर्दा तिनीहरूले सोच्ने भनेकै तिनीहरूका आफ्नै हित, तिनीहरूका आफ्नै हैसियत, र तिनीहरूका आफ्नै गौरव मात्र हुन्। तिनीहरू कसैलाई पनि आफ्ना हितहरूमा हानि गर्न दिँदैनन्, क्षमता भएको र आफ्नो अनुभवात्मक गवाही सुनाउन सक्ने कसैलाई आफ्नो प्रतिष्ठा र हैसियतमा चुनौती दिन दिनु त परको कुरा हो। त्यसकारण, तिनीहरूले अनुभवात्मक गवाहीबारे बोल्न सक्ने, र सत्यता सङ्गति गर्न र परमेश्वरका चुनिएका मानिसहरूलाई भरणपोषण गर्न सक्नेहरूलाई प्रतिस्पर्धीहरू ठानी दबाउने र बहिष्कार गर्ने कोसिस गर्छन्, र तिनीहरू ती मानिसहरूलाई अरू सबैबाट पूर्ण रूपमा अलग्याउने, तिनीहरूको नाममामाथि पूरै हिलो छयाप्ने, र तिनीहरूलाई लडाउने उन्माद प्रयास गर्छन्। त्यसपछि मात्रै ख्रीष्टविरोधीहरूले शान्ति महसुस गर्छन्। यदि यी मानिसहरू कहिल्यै नकारात्मक बन्दैनन् र आफ्नो कर्तव्य पूरा गरिरहन, आफ्नो गवाहीबारे बोलिरहन, र अरूलाई साथ दिइरहन सक्षम हुन्छन् भने, ख्रीष्टविरोधीहरू आफ्नो अन्तिम उपायतिर लाग्नेछन्, त्यो हो तिनीहरूको गल्ती कोट्याउनु र तिनीहरूलाई निन्दा गर्नु, वा झूटो आरोप लगाउनु र सताउन र दण्डित गर्न झूटा कारणहरू बनाउनु, र अन्त्यमा तिनीहरूलाई मण्डलीबाट निकाल्नु। त्यसपछि मात्र ख्रीष्टविरोधीहरूलाई पूर्ण आराम मिल्छ। ख्रीष्टविरोधीहरूको सबैभन्दा अन्तर्घाती र दुर्भावपूर्ण कुरा यही हो। तिनीहरूलाई सबभन्दा बढी डर र चिन्ता सत्यता पछ्याउने र साँचो अनुभवात्मक गवाही भएका मानिसहरूको हुन्छ, किनभने यस्तो गवाही भएका मानिसहरूलाई नै परमेश्वरका चुनिएका मानिसहरूले सबभन्दा बढी अनुमोदन र समर्थन गर्छन्, न कि वचन र धर्मसिद्धान्तहरूबारे खोक्रो बकबक गर्नेहरूलाई। ख्रीष्टविरोधीहरूमा साँचो अनुभवात्मक गवाही हुँदैन, न त तिनीहरू सत्यता अभ्यास गर्न नै सक्छन्; बढीमा, तिनीहरू मानिसलाई चापलुसी गर्नका लागि थोरै असल कार्य गर्न सक्षम हुन्छन्। तर तिनीहरूले जति नै असल कार्य गरे पनि वा जति नै मिठा कुरा गरे पनि, यी कुरा असल अनुभवात्मक गवाहीले मानिसलाई दिन सक्ने लाभ र फाइदाको दाँजोमा आउँदैनन्। परमेश्वरका चुनिएका मानिसहरूलाई आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्नेहरूले प्रदान गरेको भरणपोषण र मलजलका प्रभावहरूको विकल्प कुनै कुरा हुन सक्दैन। त्यसैले, जब ख्रीष्टविरोधीहरू कसैले आफ्नो अनुभवात्मक गवाहीबारे बोलेको देख्छन्, तब तिनीहरू आँखा तरेर हेर्छन्। तिनीहरूको हृदयमा आक्रोशको ज्वाला बल्छ, घृणा पैदा हुन्छ, र तिनीहरू वक्तालाई चुप पार्न र थप केही बोल्न नदिन व्यग्र हुन्छन्। यदि उनीहरूले बोल्न जारी राखेमा, ख्रीष्टविरोधीहरूको प्रतिष्ठा पूर्ण रूपमा बरबाद हुनेछ, तिनीहरूको कुरूप अनुहार सबैसामु पर्दाफास हुनेछ, त्यसैले ख्रीष्टविरोधीहरू गवाही दिइरहेको व्यक्तिलाई बाधा दिने र दबाउने निहुँ खोज्छन्। ख्रीष्टविरोधीहरू आफूलाई मात्र वचन र धर्मसिद्धान्तद्वारा मानिसलाई भ्रममा पार्न अनुमति दिन्छन्; तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूलाई आफ्नो अनुभवात्मक गवाही दिएर परमेश्वरको महिमा गाउन दिँदैनन्, यसले ख्रीष्टविरोधीहरू सबभन्दा बढी कस्ता मानिसलाई घृणा गर्छन् र कस्ता मानिसदेखि डराउँछन् भन्ने कुरा देखाउँछ। जब कसैले थोरै कामद्वारा आफूलाई पृथक तुल्याउँछ, वा जब कसैले साँचो गवाहीबारे बोल्न सक्छ, र त्यसबाट परमेश्वरका चुनिएका मानिसहरूले लाभ, सुधार, र सहयोग प्राप्त गर्छन्, र त्यसका कारण सबैबाट ठूलो प्रशंसा मिल्छ, तब ख्रीष्टविरोधीहरूको हृदयमा डाहा र घृणा बढ्छ, र तिनीहरूले त्यस व्यक्तिलाई बहिष्कार गर्ने र दबाउने कोसिस गर्छन्। तिनीहरू त्यस्ता मानिसहरूलाई आफ्नो हैसियतमा चुनौती दिनबाट रोक्नलाई कुनै पनि हालतमा कुनै पनि काम गर्न दिँदैनन्। सत्यता वास्तविकता भएका मानिसहरू ख्रीष्टविरोधीहरूकै अगाडि ख्रीष्टविरोधीहरूको दरिद्रता, नीचता, कुरूपता, र दुष्टतालाई जोड दिने र प्रकाश पार्ने गर्छन्, त्यसैले ख्रीष्टविरोधीहरूले साथी वा सहकर्मी रोज्दा, सत्यता वास्तविकता भएको, आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्ने र इमानदार वा सत्यता अभ्यास गर्न सक्ने मानिसलाई कहिल्यै रोज्दैन। यिनीहरू ख्रीष्टविरोधीहरूले सबभन्दा बढी डाहा र घृणा गर्ने मानिस हुन्, अनि तिनीहरू ख्रीष्टविरोधीहरूका आँखाका कसिङ्गर हुन्। सत्यता अभ्यास गर्ने यी मानिसहरूले जति नै असल वा परमेश्वरको घरको कामका लागि लाभदायक कुरा गरे पनि, ख्रीष्टविरोधीहरूले यी कार्यहरूलाई ढाकछोप गर्न सक्दो प्रयास गर्नेछन्। तिनीहरू आफूलाई उच्च पार्ने र अरूलाई होच्याउने माध्यमको रूपमा तथ्यहरू बङ्ग्याएर राम्रा कुराहरूको श्रेय लिने र खराब कामहरूको दोष अरूमाथि थोपर्ने समेत गर्छन्। ख्रीष्टविरोधीहरू सत्यता पछ्याउने र आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्ने मानिसहरूलाई धेरै डाहा र घृणा गर्छन्। तिनीहरू मानिसहरूले आफ्नो हैसियत खतरामा पार्नेछन् भनेर डराउँछन्, त्यसैले ती मानिसलाई आक्रमण र निष्कासन गर्न सक्ने जति सबै गर्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूसँग सम्पर्क गर्न वा उनीहरूको नजिक पर्न, वा आफ्नो गवाहीबारे बोल्न सक्ने यी मानिसहरूलाई समर्थन र प्रशंसा गर्न रोक्छन्। यसले नै ख्रीष्टविरोधीहरूको शैतानी प्रकृति अर्थात् सत्यतादेखि वितृष्ण हुने र परमेश्वरलाई घृणा गर्ने प्रकृतिलाई सबभन्दा बढी प्रकाश गर्छ। त्यसैले पनि यसले के प्रमाणित गर्छ भने ख्रीष्टविरोधीहरू मण्डलीका दुष्ट प्रतिगामी हुन्, र मण्डलीको काममा बाधा पुऱ्याउने र परमेश्वरको इच्छाको प्रतिरोध गर्ने व्यक्ति हुन्। यति मात्र होइन, ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूमाझ प्रायः झूटहरू बोल्छन् र तथ्यहरूलाई बङ्ग्याउँछन्, साथै आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्ने मानिसहरूलाई होच्याउँछन् र निन्दा गर्छन्। ती मानिसहरूले जस्तोसुकै काम गरे पनि, ख्रीष्टविरोधीहरूले उनीहरूलाई बहिष्कार गर्ने र दमन गर्ने बहाना खोज्छन्, र उनीहरू अहङ्कारी र पाखण्डी छन्, उनीहरूलाई धाक लगाउन मन पर्छ, र उनीहरूले महत्त्वाकाङ्क्षा बोकेका हुन्छन् भन्दै उनीहरूको आलोचना गर्छन्। वास्तवमा, यी मानिसहरूसँग केही अनुभवात्मक गवाही हुन्छ र उनीहरूसँग केही सत्यता वास्तविकता हुन्छ। उनीहरूमा तुलनात्मक रूपमा राम्रो मानवता हुन्छ, विवेक र समझ हुन्छ, र उनीहरू सत्यतालाई स्विकार्न सक्छन्। अनि उनीहरूमा केही कमीकमजोरीहरू, त्रुटिहरू, र कहिलेकहीँ भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन सक्ने भए पनि, उनीहरूले आत्मचिन्तन र पश्चात्ताप गर्न सक्छन्। परमेश्वरले मुक्ति दिनुहुने मानिसहरू, र परमेश्वरद्वारा सिद्ध पारिने आशा भएका मानिसहरू यिनीहरू नै हुन्। समग्रमा, यी मानिसहरू कर्तव्य पूरा गर्नका लागि उपयुक्त हुन्छन्। उनीहरूले कर्तव्य निर्वाह गर्ने मापदण्ड र सिद्धान्तहरू पूरा गर्छन्। बरु ख्रीष्टविरोधीहरूले मनमनै सोच्छन्, “मैले कुनै हालतमा यो कुरा सहनेवाला छैन। तँ मेरो क्षेत्रभित्र भूमिका खोज्न रमसँग प्रतिस्पर्धा गर्न चाहन्छस्। त्यो असम्भव छ; त्यसको बारेमा सोच्दै नसोच्। तँ मभन्दा शिक्षित छस्, मभन्दा वाक्पटु छस्, मभन्दा चर्चित छस्, र तँ मैले भन्दा ठूलो बौद्धिकताद्वारा सत्यता पछ्याउँछस्। यदि मैले तँसँग सहकार्य गर्नुपर्यो र मैले गर्नुपर्ने काम तैँले मभन्दा पहिल्यै गरिस् भने त्यसपछि मैले के गर्ने?” के तिनीहरू परमेश्वरको घरको हितबारे सोच्छन्? सोच्दैनन्। तिनीहरू केको बारेमा सोच्छन्? तिनीहरू आफ्नो हैसियत कसरी कायम राख्ने त्यो मात्रै सोच्छन्। ख्रीष्टविरोधीहरू आफूले वास्तविक काम गर्न नसक्ने कुरा थाहा भएर पनि, सत्यताको खोजी गर्ने राम्रो क्षमता भएका मानिसहरूलाई जगेर्ना वा प्रवर्धन गर्ने गर्दैनन्; तिनीहरूले प्रवर्धन गर्ने मानिसहरू त केवल तिनीहरूको चापलुसी गर्ने, अरूको आराधना गर्न तयार हुने, हृदयदेखि तिनीहरूलाई अनुमोदन र प्रशंसा गर्ने, चिप्लो घस्ने, सत्यताको बुझाइ नभएका र छुट्याउने क्षमता नभएकाहरू हुन्। ख्रीष्टविरोधीहरूले आफ्नो सेवा गराउन, आफ्नो लागि दौडधूप गराउन, हरेक दिन तिनीहरूको अघिपछि लाग्न यी मानिसहरूलाई आफ्नो पक्षमा ल्याउँछन्। यसले ख्रीष्टविरोधीहरूलाई मण्डलीमा शक्ति दिन्छ, र धेरै मानिसहरूलाई तिनीहरूको नजिक जाने, र तिनीहरूलाई पछ्याउने तुल्याउँछ, र कसैले पनि तिनीहरूलाई चिढ्याउने आँट गर्दैन। ख्रीष्टविरोधीहरूले वृद्धि-विकास गर्ने ती सबै मानिसहरू सत्यताको खोजी नगर्ने मानिसहरू हुन्छन्। यिनीहरूमध्ये धेरैजसोमा आत्मिक बुझाइको कमी हुन्छ र नियम पालना गर्ने बाहेक यिनीहरूलाई केही आउँदैन। यिनीहरू प्रचलन र शासकहरूको पछि लाग्न मन पराउँछन्। यिनीहरू मालिक शक्तिशाली भएपछि साहस पाउनेहरू, अर्थात् मूर्ख मानिसहरूको झुण्ड हुन्। ख्रीष्टविरोधीहरूले आफूलाई यस्ता मानिसहरूका धर्मपिता बनाएका हुन्छन्, र यिनीहरूलाई आफूले भनेको कुरा मान्ने बनाएका हुन्छन्। गैरविश्वासीहरूको त्यो भनाइ कस्तो पो छ? खराब मानिसको पूज्य पूर्वज बन्नुभन्दा असल मानिसको नोकर बन्नु नै राम्रो हुन्छ। ख्रीष्टविरोधीहरूले यसको ठ्याक्कै उल्टो काम गर्छन्—तिनीहरू त्यस्ता मानिसहरूको पूज्य पूर्वजझैँ व्यवहार गर्छन्, र उनीहरूलाई तिनीहरूको झन्डा फहराउने र जयजयकार गर्ने मानिसका रूपमा जगेर्ना गर्ने प्रयास गर्छन्। जबजब मण्डलीमा ख्रीष्टविरोधीले शक्ति पाउँछ, तबतब उसले सधैँ भ्रमित र मूर्खहरूलाई नियुक्त गर्छ, जबकि सत्यता बुझ्न र अभ्यास गर्न सक्ने, र कामको जिम्मा लिन सक्ने क्षमतावान् मानिसहरूलाई, विशेष गरी वास्तविक काम गर्न सक्ने अगुवा र सेवकहरूलाई भने बहिष्कार र दमन गर्छ। यसरी, मण्डलीमा दुई वटा गुटहरू निर्माण हुन्छन्: एउटा गुटमा तुलनात्मक रूपमा इमानदार मानवता भएका, इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्ने, र सत्यता पछ्याउने मानिसहरू हुन्छन्। अर्को गुटमा अन्योलमा परेका र अन्धाधुन्ध मूर्खतापूर्ण काम गर्ने अनि ख्रीष्टविरोधीद्वारा नेतृत्व गरिएका मानिसहरूको समूह हुन्छ। यी दुई वटा गुटहरू जबसम्म ख्रीष्ट-विरोधीहरूलाई खुलासा गरेर हटाइँदैन तबसम्म एक-अर्कासँग लडिरहनेछन्। ख्रीष्टविरोधीहरू सधैँ इमानदारीका साथ आफ्नो कर्तव्य पूरा गर्ने र सत्यता पछ्याउने मानिसहरूसँग झगडा गर्छन् र उनीहरूको विरुद्धमा काम गर्छन्। के यसले मण्डलीको काममा गम्भीर रूपमा बाधा दिँदैन र? के यसले परमेश्वरको काममा बाधा र अवरोध ल्याउँदैन र? के ख्रीष्टविरोधीहरूको यो शक्ति मण्डलीमा परमेश्वरको इच्छा पूरा हुनबाट रोक्ने बाधा र अड्चन होइन र? के यो परमेश्वरको विरोध गर्ने दुष्ट शक्ति होइन र? ख्रीष्टविरोधीहरू किन यसरी व्यवहार गर्छन्? किनभने, तिनीहरूको विचारमा, यो प्रस्ट हुन्छ कि यदि यी सकारात्मक पात्रहरू खडा भएर अगुवा र सेवक बने भने, उनीहरू ख्रीष्टविरोधीहरूका प्रतिस्पर्धीहरू हुन्छन्; उनीहरू ख्रीष्टविरोधीहरूका विरोधी शक्ति हुन्छन्, र उनीहरूले ख्रीष्ट-विरोधीहरूका शब्दहरू पटक्कै सुन्दैनन् वा तिनीहरूको आज्ञापालन गर्दैनन्; उनीहरूले ख्रीष्टविरोधीहरूको हरेक आज्ञा पटक्कै पालन गर्दैनन्। यी मानिसहरू नै ख्रीष्टविरोधीहरूको हैसियतलाई चुनौती दिनका लागि पर्याप्त हुनेछन्। ख्रीष्टविरोधीहरूले यी मानिसहरूलाई देख्दा, तिनीहरूको हृदयमा घृणा पैदा हुन्छ; यदि तिनीहरूले यी मानिसहरूलाई बहिष्कार र पराजित गरेर उनीहरूको नाम बरबाद गरेनन् भने तिनीहरूको हृदय शान्त र ढुक्क हुनेछैन। त्यसकारण, तिनीहरूले आफ्नो शक्ति बढाउन र आफ्नो स्तरलाई दह्रिलो बनाउनतर्फ तुरुन्तै काम गर्नुपर्छ। यसरी, तिनीहरूले परमेश्वरका चुनिएका अझै धेरै मानिसहरूलाई नियन्त्रण गर्न सक्छन्, र सत्यता पछ्याउने दुईचार जना मानिसहरूले तिनीहरूको हैसियतलाई खतरामा पार्छन् भन्ने बारेमा फेरि कहिल्यै चिन्ता गर्नु पर्दैन। ख्रीष्टविरोधीहरूले मण्डलीमा आफ्नै शक्ति निर्माण गर्छन्, तिनीहरूको कुरा सुन्ने, आज्ञापालन गर्ने, र तिनीहरूसँग चापलुसी गर्ने मानिसहरूलाई हातमा लिन्छन्, र कामको हरेक पक्षको कार्यभारी बनाएर बढुवा दिन्छन्। के यसो गर्नु परमेश्वरको घरको कामका लागि फाइदाजनक हुन्छ? हुँदैन। यो फाइदाजनक नहुने मात्र होइन, यसले मण्डलीको काममा बाधा र अवरोध पनि सिर्जना गर्छ। यदि यो दुष्ट शक्तिले आधाभन्दा बढी मानिसहरूलाई आफ्नो पक्षमा लिएको छ भने, यसले मण्डलीलाई ढाल्ने सम्भावना हुन्छ। किनभने मण्डलीमा सत्यता पछ्याउने मानिसहरू अल्सङ्ख्यामा पर्छन्, जबकि आफ्नो पेट भर्नका लागि आएका श्रमिक र अविश्वासीहरूको सङ्ख्या कम्तीमा पनि आधा हुन्छ। यस्तो परिस्थितिमा, यदि ख्रीष्टविरोधीहरूले ती मानिसहरूलाई बहकाउने र आफूतिर आकर्षित गर्ने कार्यमा आफ्नो शक्ति केन्द्रित गरेमा, मण्डलीले अगुवाहरू निर्वाचित गर्दा स्वाभाविक रूपमा नै तिनीहरू अग्रस्थानमा आउँछन्। त्यसकारण, परमेश्वरको घरले सधैँ निर्वाचनको बेला, सत्यता स्पष्ट नभएसम्म त्यसबारे सङ्गति गर्नुपर्छ भनेर जोड दिन्छ। यदि तैँले सत्यतामा सङ्गति गरेर ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न र हराउन सकिनस् भने, ख्रीष्टविरोधीहरू मानिसहरूलाई बहकाएर अगुवाको रूपमा निर्वाचित हुन सक्छन्, र तिनीहरूले मण्डलीलाई कब्जामा लिएर नियन्त्रण गर्न सक्छन्। के त्यो खतरनाक कुरा हुनेथिएन र? यदि मण्डलीमा एक-दुई जना ख्रीष्टविरोधी देखा परे भने, यो डराउनुपर्ने कुरा हुनेथिएन, तर यदि ख्रीष्टविरोधीहरू शक्ति बने र तिनीहरूले निश्चित स्तरको प्रभाव हासिल गरे भने, त्यो डर मान्नुपर्ने कुरा हुनेछ। त्यसकारण, ख्रीष्टविरोधीहरूले त्यो स्तरको प्रभाव हासिल गर्नुभन्दा पहिले नै तिनीहरूलाई मण्डलीबाट उखाल्नुपर्छ र निष्कासित गर्नुपर्छ। यो काम सबैभन्दा उच्च प्राथमिकतामा पर्छ, र यसो गर्नु जरुरी हुन्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक)
ख्रीष्टविरोधीहरूको व्यवहारको सार भनेको निरन्तर विविध उपाय र विधि प्रयोग गरेर आफ्ना महत्त्वाकाङ्क्षा र चाहना पूरा गर्नु, मानिसहरूलाई बहकाउनु र फन्दामा पार्नु, अनि उच्च हैसियत प्राप्त गर्नु हो ताकि मानिसले तिनीहरूलाई पछ्याऊन् र आराधना गरून्। तिनीहरूले आफ्नो हृदयको गहिराइमा मानवजातिको लागि परमेश्वरसँग जानी-जानी होड गरिरहेका नहुन सक्छन्, तर एउटा कुरा निश्चित छ: तिनीहरूले मानवको लागि परमेश्वरसँग होड नगरे पनि, तिनीहरूले अझै पनि मानवको बीचमा हैसियत र शक्ति प्राप्त गर्न चाहन्छन्। एक दिन तिनीहरूले हैसियतको लागि परमेश्वरसँग होड गरिरहेका छन् भन्ने तिनीहरूले पत्ता लगाए पनि, र तिनीहरूले आफैलाई अलिकति लगाम लगाए पनि, तिनीहरूले अझै हैसियत र ख्याति पछ्याउन विविन्न विधिहरू प्रयोग गर्छन्; केही मानिसहरूको अनुमोदन र आदर प्राप्त गरेर वैध हैसियत प्राप्त गर्न सकिन्छ भनेर तिनीहरूलाई हृदयमा स्पष्टै थाहा हुन्छ। छोटकरीमा भन्दा, ख्रीष्टविरोधीहरूले हरेक काममा कर्तव्य निभाएजस्तो देखिए पनि, यसको परिणाम भनेको मानिसहरूलाई बहकाउनु, र तिनीहरूलाई आफ्नो पूजा गर्न र आफूलाई पछ्याउन लगाउनु हो—यसरी तिनीहरूले आफ्नो कर्तव्य निभाउनु भनेको आफैलाई उचाल्नु र आफ्नै बारेमा गवाही दिनु हो। मानिसहरूलाई नियन्त्रण गर्ने—र मण्डलीमा हैसियत र शक्ति प्राप्त गर्ने—तिनीहरूको महत्वाकाङ्क्षा कहिल्यै परिवर्तन हुनेछैन। तिनीहरू पूराको पूरा ख्रीष्टविरोधी हुन्। परमेश्वरले जे भन्नुभए पनि वा गर्नुभए पनि, र उहाँले मानिसहरूलाई जे गर्न लगाउनुभए पनि, ख्रीष्टविरोधीहरूले जे गर्नुपर्ने हो त्यो गर्दैनन् वा उहाँका वचनहरू र मापदण्डहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, न त कुनै पनि सत्यता बुझेको परिणामस्वरूप तिनीहरूले शक्ति र हैसियतसम्बन्धी तिनीहरूको खोजीलाई नै त्याग्छन्। जतिखेर पनि तिनीहरूका महत्वाकाङ्क्षा र चाहनाहरू अझै रहिरहेका हन्छन्, यिनैद्वारा अझै पनि तिनीहरूको हृदय कब्जा गरिएको र तिनीहरूको सम्पूर्ण अस्तित्व नियन्त्रित पारिएको हुन्छ, र यसरी यिनैद्वारा तिनीहरूका बानीबेहोरा र विचारहरू निर्देशित गरिएको, र तिनीहरू हिँड्ने मार्ग निर्धारित भएको हुन्छ। तिनीहरू खाँटी ख्रीष्टविरोधी हुन्। ख्रीष्टविरोधीहरूमा सबभन्दा बढी के देखिन्छ? कतिपय मानिस भन्छन्, “ख्रीष्टविरोधीहरू मानिस प्राप्त गर्न परमेश्वरसित होडबाजी गर्छन्, तिनीहरू परमेश्वरलाई स्विकार्दैनन्।” तिनीहरूले परमेश्वरलाई नस्विकार्ने चाहिँ होइन; तिनीहरू हृदयमा सच्चा रूपले उहाँको अस्तित्व स्विकार्छन् र त्यसमा विश्वास गर्छन्। तिनीहरू उहाँलाई पछ्याउन इच्छुक हुन्छन् र सत्यता खोज्न चाहन्छन्, तर त्यसो गर्न सक्दैनन्, त्यसैले दुष्टता गर्न सक्छन्। तिनीहरूले मिठा कुराहरू धेरै भन्न सक्ने भए पनि एउटा कुरा कहिल्यै परिवर्तन हुँदैन: शक्ति र हैसियतका लागि तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना कहिल्यै परिवर्तन हुनेछैनन्। तिनीहरूले कहिल्यै असफलता वा रोकावटका कारण, वा परमेश्वरले तिनीहरूलाई पन्छाउनुभएको वा त्याग्नुभएको कारण शक्ति र हैसियत पछ्याउन छोड्नेछैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति यस्तो हुन्छ। त्यसोभए तँ के भन्छस्, के कुनै ख्रीष्टविरोधीले कष्ट भोगेको, वा सत्यता अलि बुझेको, र परमेश्वरबारे अलि ज्ञान हासिल गरेको कारण कहिल्यै आफ्नो मार्ग परिवर्तन गरेर सत्यता पछ्याउन थालेको छ—के यस्ता मानिसहरू छन्? हामीले त्यस्तो कहिल्यै देखेका छैनौँ। हैसियत र शक्तिका निम्ति ख्रीष्टविरोधीहरूको महत्त्वाकाङ्क्षा र पछ्याइ कहिल्यै परिवर्तन हुनेछैनन्, अनि तिनीहरूले शक्ति हातमा लिएपछि, त्यसलाई कहिल्यै छोड्नेछैनन्; यसले ठ्याक्कै तिनीहरूको प्रकृति सार निर्धारण गर्छ। परमेश्वरले त्यस्ता मानिसहरूलाई ख्रीष्ट-विरोधीहरूका रूपमा परिभाषित गर्नुभएको तथ्यमा कुनै पनि गल्ती छैन; यो कुरालाई तिनीहरूको प्रकृति सारले नै निर्धारित गरेको छ। सायद, कतिपय मानिसहरूले ख्रीष्टविरोधीहरू मानवका निम्ति परमेश्वरसित होडबाजी गर्छन् भनी विश्वास गर्छन्। तर, कहिलेकाहीँ ख्रीष्टविरोधीहरूले उहाँसँग होड गर्नैपर्छ भन्ने हुँदैन; तिनीहरूको ज्ञान, बुझाइ, अनि हैसियत र शक्तिको चाहना सामान्य मानिसहरूका भन्दा फरक हुन्छ। सामान्य मानिसहरू सेखीले भरिएका हुन सक्छन्; तिनीहरूले अरूको श्रेय पाउने, राम्रो प्रभाव पार्ने, र राम्रो दर्जाका लागि प्रतिस्पर्धा गर्ने कोसिस गर्न सक्छन्। सामान्य मानिसहरूको महत्त्वाकाङ्क्षा यही हो। यदि तिनीहरू अगुवाका रूपमा प्रतिस्थापित भए, र तिनीहरूको हैसियत गुम्यो भने, तिनीहरूलाई कठिन पर्नेछ, तर तिनीहरूको वातावरण परिवर्तन भयो, तिनीहरूको कदमा केही वृद्धि भयो, सत्यतामा केही प्रवेश प्राप्त भयो, वा सत्यताको बारेमा गहन बुझाइ प्राप्त भयो भने, तिनीहरूको महत्त्वाकाङ्क्षा बिस्तारै सेलाउँदै जान्छ। तिनीहरूले लिने मार्गमा र तिनीहरू अघि बढ्ने दिशामा परिवर्तन आउँछ, र प्रतिष्ठा र शक्ति सम्बन्धी तिनीहरूको खोजी बिलाएर जान्छ। तिनीहरूका चाहनाहरू पनि बिस्तारै कम हुँदैजान्छन्। तापनि, ख्रीष्ट विरोधीहरू फरक हुन्छन्: तिनीहरूले प्रतिष्ठा र शक्ति सम्बन्धी आफ्नो खोजीलाई कहिल्यै पनि त्याग्न सक्दैनन्। जुनै पनि समयमा, कुनै पनि वातावरणमा, र तिनीहरूको वरिपरि जस्तो सुकै मानिसहरू भए पनि र तिनीहरू जत्ति नै वृद्ध भए पनि तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना कहिल्यै परिवर्तन हुनेछैन। कुन कुराले तिनीहरूको महत्त्वाकाङ्क्षा कहिल्यै परिवर्तन हुँदैन भन्ने सङ्केत दिन्छ? उदाहरणका लागि, मानिलिऊँ ऊ मण्डली अगुवा हो। ऊ आफ्नो हृदयमा सधैँ मण्डलीका सबैलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेररे सोचिरहेको हुन्छ। यदि उसलाई ऊ अगुवा नरहेको अर्को मण्डलीमा सरुवा गरियो भने, के ऊ खुसीसाथ सामान्य अनुयायी हुनेछ? कदापि हुनेछैन। ऊ अझै पनि कसरी हैसियत प्राप्त गर्ने, र कसरी सबैलाई नियन्त्रण गर्ने भनेर नै सोचिरहेको हुनेछ। ऊ जहाँ गए पनि, राजाझैँ शासन गर्न चाहन्छ। उसलाई मानिसहरू नै नभएको ठाउँमा, भेडाहरूको बथानमा राखिए पनि ऊ अझै पनि बथानलाई नेतृत्व गर्न चाहन्छ। यदि उसलाई कुकुर र बिरालाहरूसँग राखियो भने, ऊ कुकुर र बिरालाहरूको राजा हुन, र ती जनावरहरूमाथि शासन गर्न चाहन्छ। ऊ महत्त्वाकाङ्क्षाले भरिएको हुन्छ, हुँदैन र? के यस्ता मानिसहरूको स्वभाव पैशाचिक हुँदैन र? के यी शैतानका स्वभावहरू होइनन् र? शैतान ठ्याक्कै यस्तै हुन्छ। स्वर्गमा, शैतान परमेश्वरबराबर भएर उभिन चाहन्थ्यो, र पृथ्वीमा फालिएपछि त्यसले सधैँ मानिसलाई नियन्त्रण गर्ने, मानिसलाई त्यसको आराधना गर्न र त्यसलाई परमेश्वरको रूपमा लिन लगाउने प्रयास गऱ्यो। ख्रीष्टविरोधीहरू सधैँ मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छन् किनकि तिनीहरूमा शैतानी प्रकृति हुन्छ; तिनीहरू आफ्नो शैतानी स्वभावअनुसार जिउँछन्, जुन सामान्य मानिसहरूको समझको सीमाबाहिर गइसकेको छ। के यो अलि असामान्य कुरा होइन र? यो असामान्यताले केलाई जनाउँछ? यसको अर्थ तिनीहरूको व्यवहार सामान्य मानवतामा पाइनु हुँदैन। त्यसोभए, यो व्यवहारचाहिँ के हो त? यसलाई केले नियन्त्रण गर्छ? यसलाई तिनीहरूको प्रकृतिले नियन्त्रण गर्छ। तिनीहरूमा दुष्टात्माको सार हुन्छ, र तिनीहरू सामान्य भ्रष्ट मानवजातिजस्तो हुँदैनन्। फरक यही हो। ख्रीष्टविरोधीहरू आफ्नो शक्ति र हैसियतको पछ्याइमा कुनै कुरामा पनि नरोकिनुले तिनीहरूको प्रकृति सार खुलासा गर्ने मात्र नभई, मानिसहरूलाई तिनीहरूको घिनलाग्दो रूप ठ्याक्कै शैतान र पिशाचहरूको रूप हो भन्नेसमेत देखाउँछ। तिनीहरू हैसियतका लागि मानिसहरूसित मात्र होड गर्दैनन्, परमेश्वरसँग पनि हैसियतका लागि होड गर्ने र परमेश्वरका चुनिएका जनहरूलाई लैजाने आँट गर्छन्। तिनीहरू उहाँका चुनिएका जनहरू पूर्ण रूपले आफ्नो नियन्त्रणमा भएपछि मात्र सन्तुष्ट हुनेछन्। ख्रीष्टविरोधीहरू जुनै मण्डली वा मानिसहरूको समूहमा भए पनि, हैसियत प्राप्त गर्न, शक्ति हातमा लिन, र मानिसहरूलाई आफ्नो कुरा सुन्न लगाउन चाहन्छन्। मानिसहरू इच्छुक वा सहमत भए पनि नभए पनि, ख्रीष्टविरोधीहरू अन्तिम निर्णय गर्न र मानिसहरूलाई आफ्नो आज्ञापालन गराउन र आफूलाई स्वीकार गर्न लगाउन चाहन्छन्। के यो ख्रीष्टविरोधीको प्रकृति होइन र? के मानिसहरू तिनीहरूका कुरा सुन्न इच्छुक हुन्छन्? के उनीहरू तिनीहरूलाई चयन र अनुमोदन गर्छन्? गर्दैनन्। तर ख्रीष्टविरोधीहरू अझै पनि अन्तिम निर्णय गर्न चाहन्छन्। चाहे मानिसहरू सहमत होऊन् वा नहोऊन्, ख्रीष्टविरोधीहरू आफ्नो पक्षमा बोल्न र काम गर्न चाहन्छन्, तिनीहरू सबैको नजरमा देखिन चाहन्छन्। तिनीहरू अरू मानिसमाथि आफ्ना विचारहरू लाद्नसमेत प्रयास गर्छन्, र यदि मानिसहरूले त्यो स्विकारेनन् भने, ख्रीष्टविरोधीहरूले दिमाग खियाएर उनीहरूलाई त्यो स्विकार्न लगाउने प्रयास गर्नेछन्। यो कस्तो समस्या हो? यो लाज पचाउनु र निर्लज्जपन हो। यस्ता मानिसहरू खाँटी ख्रीष्टविरोधी हुन्, र तिनीहरू अगुवा भए पनि नभए पनि, ख्रीष्टविरोधी नै हुन्। तिनीहरूमा ख्रीष्टविरोधीको प्रकृति सार हुन्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्
ख्रीष्टविरोधीहरू अगुवा बन्ने बित्तिकै, तिनीहरूले गर्ने पहिलो कुरा भनेको मानिसहरूको हृदय जित्ने प्रयास गर्नु, मानिसहरूलाई तिनीहरूको विश्वास गर्ने, भरोसा गर्ने, र सहयोग गर्ने तुल्याउनु हो। जब तिनीहरूको हैसियत सुरक्षित हुन्छ, तब तिनीहरू असामान्य बन्न थाल्छन्। आफ्नो हैसियत र शक्तिको रक्षा गर्न, तिनीहरूले विरोधीहरूलाई आक्रमण गर्न र बहिष्कार गर्न थाल्छन्। विरोधीहरूप्रति—विशेष गरी सत्यतालाई पछ्याउने मानिसहरूप्रति—तिनीहरूलाई दमन गर्न र आक्रमण गर्न, यातना दिनका लागि, स्थिर, सटीक र निर्मम विधिहरू प्रयोग गर्दै, तिनीहरूले जेसुकै प्रयास गर्नेछन्। आफ्नो हैसियतलाई खतरामा पार्ने जोकोहीलाई तिनीहरूले नीच तुल्याएपछि र अपमानित गरेपछि मात्रै तिनीहरूलाई सहज महसुस हुन्छ। हरेक ख्रीष्टविरोधी यस्तै हुन्छ। मानिसहरूलाई जित्न र दमन गर्नका लागि यी असङ्ख्य युक्तिहरू प्रयोग गर्नुको पछाडि तिनीहरूको उद्देश्य के हो? तिनीहरूको उद्देश्य शक्ति प्राप्त गर्नु, आफ्नो हैसियतलाई दह्रिलो बनाउनु, मानिसहरूलाई बहकाउनु र नियन्त्रण गर्नु हो। तिनीहरूको अभिप्राय र मनसायले के प्रतिनिधित्व गर्छन्? तिनीहरू आफ्नै, स्वतन्त्र राज्य स्थापना गर्न चाहन्छन्, र परमेश्वरको विरुद्धमा खडा हुन चाहन्छन्। यस्तो सार त भ्रष्ट स्वभावभन्दा पनि गम्भीर हुन्छ: शैतानका महत्त्वाकाङ्क्षा र धोकेबाज युक्तिहरू पूर्ण रूपमा खुलासा भएका हुन्छन्। यो भ्रष्ट स्वभाव प्रकट गर्ने समस्या मात्रै होइन। उदाहरणका लागि, जब मानिसहरू अलिक अहङ्कारी र आत्म-धर्मी हुन्छन्, वा कहिलेकहीँ अलिक छली र झूटा हुन्छन्, तब यी कुराहरू भ्रष्ट स्वभावका प्रकटीकरण मात्रै हुन्। यस बीच, ख्रीष्टविरोधीहरूले गर्ने सबै कुरा मानिसहरूको हृदय जित्न, विरोधीहरूलाई आक्रमण गर्न र बहिष्कार गर्न, तिनीहरूको हैसियतलाई दह्रिलो बनाउन, शक्ति कब्जा गर्न, र मानिसहरूलाई नियन्त्रण गर्नका लागि हुन्छ। यी कार्यहरूको प्रकृति के हो? के तिनीहरूले सत्यता अभ्यास गरिरहेका हुन्छन्? के तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई परमेश्वरका वचनहरूमा प्रवेश गर्न र परमेश्वरको अघि आउन अगुवाइ गरिरहेका हुन्छन्? (हुँदैनन्।) त्यसोभए तिनीहरूले के गरिरहेका हुन्छन्? तिनीहरूले परमेश्वरसँग उहाँको चुनिएका मानिसहरूका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्, मानिसहरूको हृदयका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्, र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास गरिरहेका हुन्छन्। मानिसहरूको हृदयमा कसका लागि स्थान हुनुपर्छ? परमेश्वरका लागि स्थान हुनुपर्छ। तर ख्रीष्टविरोधीहरूले गर्ने सबै कुरा यसको ठीक विपरीत हुन्छ। तिनीहरूले मानिसहरूको हृदयमा परमेश्वर वा सत्यतालाई स्थान लिन दिँदैनन्; बरु, तिनीहरूले मानिस, अर्थात् अगुवाका रूपमा रहेको आफूलाई, र शैतानलाई मानिसहरूको हृदयमा स्थान लिन दिन चाहन्छन्। तिनीहरूले कसैको हृदयमा तिनीहरूको स्थान छैन, यो व्यक्तिले तिनीहरूसँग अगुवाका रूपमा व्यवहार गर्दैन भन्ने पत्ता लगाउने बित्तिकै, तिनीहरू अत्यन्तै असन्तुष्ट हुन्छन्, र सायद तिनीहरूले उनीहरूलाई दमन गर्ने र यातना दिने प्रयास गर्ने गर्छन्। ख्रीष्टविरोधीहरूले गर्ने र भन्ने सबै कुरा तिनीहरूको हैसियत र प्रतिष्ठाको वरिपरि घुम्छ, र मानिसहरूलाई तिनीहरूलाई उच्च मान्ने लगाउन, तिनीहरूको डाहा गर्न र आराधना गर्न लगाउनका लागि हुन्छ—यहाँसम्म कि मानिसहरूलाई तिनीहरूदेखि डर मान्ने लगाउनका लागि पनि हुन्छ। तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई तिनीहरूसँग परमेश्वरसँग जस्तै व्यवहार गर्न लगाउन चाहन्छन्, र सोच्छन्, “म जुनसुकै मण्डलीमा भए पनि, मानिसहरूले मेरो कुरा सुन्नुपर्छ, तिनीहरूले मबाट आफ्नो सुझाव लिनुपर्छ। जोसुकैले जुनसुकै समस्याको बारेमा माथिलाई रिपोर्ट गरे पनि, यो कुरा मबाट भएर नै जानुपर्छ, तिनीहरूसँग मकहाँ आएर मात्रै रिपोर्ट गर्ने अनुमति छ, माथिलाई सीधै रिपोर्ट गर्न पाइँदैन। यदि कसैले मलाई ‘नाइँ’ भन्छ भने, म उसलाई दण्ड दिनेछु, ताकि मलाई देख्ने सबैले आफ्नो हृदयमा डर, हैरानी, र कम्पन अनुभव गरून्। यति मात्र होइन, यदि मैले आदेश दिएँ वा कुनै कुरालाई जोड दिएँ भने, कसैले पनि असहमत हुने आँट गर्नु हुँदैन; मैले जे भने पनि, मानिसहरू त्यसअनुरूप हुनुपर्छ। तिनीहरूले मेरो कुरा पूर्ण रूपमा सुन्नुपर्छ, सबै कुरामा मेरो पालन गर्नुपर्छ, र हैकम चलाउने व्यक्ति म नै हुनुपर्छ।” ख्रीष्टविरोधीहरूले बोल्ने शैली ठीक यस्तै हुन्छ, यो ख्रीष्टविरोधीहरूको आवाज हो, ख्रीष्टविरोधीहरूले मण्डलीमाथि प्रभुत्व जमाउने प्रयास यसरी नै गर्छन्। यदि परमेश्वरका चुनिएका मानिसहरूले तिनीहरूले भनेको कुरा मान्छन् र तिनीहरूको पालना गर्छन् भने, के त्यस्ता मण्डलीहरू ख्रीष्टविरोधीहरूका राज्यहरू बन्दैनन् र? तिनीहरू भन्छन्, “माथिबाट जारी गरिएका कामका प्रबन्धहरूलाई मैले नै जाँच गर्नुपर्छ, मैले तिमीहरूका लागि जिम्मेवारी लिनुपर्छ, सही र गलतलाई विश्लेषण गर्ने व्यक्ति म नै हुनुपर्छ, परिणाम निर्णय गर्ने म नै हुनुपर्छ। तिमीहरूको कद पर्याप्त छैन, र तिमीहरू पर्याप्त रूपमा योग्य छैनौ। म मण्डलीको अगुवा हुँ र सबै कुरा ममा निर्भर हुन्छ।” के यी कुराहरू बोल्ने मानिसहरू अत्यन्तै दम्भी हुँदैनन् र? तिनीहरू साँच्चै नै यति अहङ्कारी हुन्छन् कि तिनीहरूमा कुनै समझ नै हुँदैन! के तिनीहरूले आफ्नै, स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास गरिरहेका हुँदैनन् र? कस्तो प्रकारका मानिसहरूले आफ्नै राज्य निर्माण गर्ने प्रयास गर्ने सम्भावना हुन्छ? के तिनीहरू वास्तविक ख्रीष्टविरोधीहरू होइनन् र? के ख्रीष्टविरोधीहरूले भन्ने र गर्ने सबै कुरा आफ्नो हैसियतको सुरक्षा गर्नका लागि हुँदैन र? के तिनीहरूले मानिसहरूलाई बहकाउने र नियन्त्रण गर्ने प्रयास गरिरहेका हुँदैनन् र? तिनीहरूलाई किन ख्रीष्टविरोधी भनिन्छ? “विरोधी” को अर्थ के हो? यसको अर्थ विपरीत र घृणा हो। यसको अर्थ ख्रीष्टप्रतिको शत्रुता, सत्यताप्रतिको शत्रुता, र परमेश्वरप्रतिको शत्रुता हो। “शत्रुता” को अर्थ के हो? यसको अर्थ विपरीत पक्षमा उभिनु, तँलाई शत्रुका रूपमा व्यवहार गर्नु, मानौँ तँ ठूलो र गहन घृणाले भरिएको छस्; यसको अर्थ तँप्रति पूर्ण विरोधी हुनु हो। ख्रीष्टविरोधीहरूले परमेश्वरलाई यस्तो मानसिकताले व्यवहार गर्छन्। परमेश्वरलाई घृणा गर्ने यस्ता मानिसहरूमा सत्यताप्रति कस्तो मनोवृत्ति हुन्छ? के तिनीहरू सत्यतालाई प्रेम गर्न सक्छन्? के तिनीहरू सत्यतालाई स्वीकार गर्न सक्छन्? अवश्य नै सक्दैनन्। त्यसकारण, परमेश्वरको विरोधमा खडा हुने मानिसहरू सत्यतालाई घृणा गर्ने मानिसहरू हुन्। तिनीहरूमा देखा पर्ने पहिलो कुरा भनेको सत्यताप्रतिको वितृष्णा र सत्यताप्रतिको घृणा हो। तिनीहरूले सत्यता वा परमेश्वरका वचनहरू सुन्ने बित्तिकै, तिनीहरूको हृदयमा घृणा पैदा हुन्छ, र जब कसैले तिनीहरूलाई परमेश्वरका वचनहरू पढेर सुनाउँछ, तब मानिसहरूले सुसमाचार प्रचार गर्दा परमेश्वरका वचनहरू भूतलाई पढेर सुनाएको जस्तै गरी, तिनीहरूको अनुहारमा रिस र क्रोधको अभिव्यक्ति देखा पर्छ। सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने मानिसहरूले हृदयमा परमेश्वरका वचनहरू र सत्यताप्रति अत्यन्तै वितृष्णा महसुस गर्छन्, तिनीहरूमा प्रतिरोधको मनोवृत्ति हुन्छ, र तिनीहरू, तिनीहरूलाई परमेश्वरका वचनहरू पढेर सुनाउने वा सत्यता सङ्गति गर्ने जोकोहीलाई घृणा गर्ने हदसम्म समेत पुग्छन्, अनि तिनीहरूले त्यो व्यक्तिलाई शत्रुका रूपमा समेत लिन्छन्। तिनीहरूमा विभिन्न सत्यताहरूप्रति, र सकारात्मक कुराहरूप्रति चरम वितृष्णा हुन्छ। परमेश्वरमा समर्पित हुने बफादारीसाथ आफ्नो कर्तव्य पूरा गर्ने, इमानदार व्यक्ति बन्ने, सबै कुरामा सत्यता खोज्ने, आदि जस्ता सबै सत्यताहरूमा—के तिनीहरूमा अलिकति पनि व्यक्तिगत तृष्णा वा प्रेम हुन्छ? हुँदैन, अलिकति पनि हुँदैन। त्यसकारण, तिनीहरूमा यस किसिमको प्रकृति सार भएकोले तिनीहरू पहिले नै परमेश्वर र सत्यताको प्रत्यक्ष विरोधमा उभिएका हुन्छन्। अवश्य नै, यस्ता मानिसहरूले भित्री मनमा सत्यतालाई वा कुनै सकारात्मक कुरालाई प्रेम गर्दैनन्, भित्री मनमा, तिनीहरूलाई सत्यताप्रति वितृष्ण हुन्छ र तिनीहरूले यसलाई घृणा समेत गर्छन्। उदाहरणका लागि, नेतृत्वको पदमा बस्ने मानिसहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका फरक-फरक विचारहरूलाई स्वीकार गर्न सक्नुपर्छ, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको अघि खुलस्त कुरा गर्न र आफूलाई उदाङ्गो पार्न सक्नुपर्छ, र तिनीहरूको निन्दालाई स्वीकार गर्नुपर्छ, र तिनीहरूले आफ्नो हैसियतलाई जोड दिनु हुँदैन। अभ्यास गर्ने यी सबै सही तरिकाहरूको बारेमा ख्रीष्टविरोधीले के भन्नेथियो? उसले यसो भन्नेथियो, “यदि मैले दाजुभाइ-दिदीबहिनीहरूका रायहरू सुनेँ भने, के म अझै पनि अगुवा नै रहनेथिएँ? के मसँग अझै पनि प्रतिष्ठा र इज्जत हुनेछ? यदि मेरो कुनै इज्जत हुँदैन भने मैले के नै काम गर्न सक्छु?” ख्रीष्टविरोधीसँग ठीक यस्तै प्रकारको स्वभाव हुन्छ; तिनीहरूले सत्यतालाई सबैभन्दा सानो रूपमा समेत स्वीकार गर्दैनन्, र अभ्यास गर्ने तरिका जति सही हुन्छ, तिनीहरूले उति नै बढी त्यसको प्रतिरोध गर्छन्। सिद्धान्त अनुसार काम गर्नु भनेको सत्यता अभ्यास गर्नु हो भन्ने कुरालाई तिनीहरूले स्वीकार गर्दैनन्। तिनीहरूलाई सत्यता अभ्यास गर्नु भनेको के हो भन्ने लाग्छ? तिनीहरूले परमेश्वरका वचनहरू, सत्यता, र प्रेममा भर पर्नुको सट्टा सबैसँग षड्यन्त्र, चलाकी, र हिंसाको प्रयोग गर्नुपर्छ भन्ने सोच्छन्। तिनीहरूको हरेक माध्यम र मार्ग दुष्ट हुन्छ। यो सबैले ख्रीष्टविरोधीहरूको प्रकृति सारलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्छ। तिनीहरूले प्रायजसो प्रकट गर्ने मनसाय, राय, दृष्टिकोण, र अभिप्रायहरू सबै सत्यताप्रतिको वितृष्णा र घृणाको स्वभाव हुन्, जुन ख्रीष्टविरोधीहरूको प्रकृति सार हो। त्यसोभए, सत्यता र परमेश्वरको विरुद्धमा खडा हुनु भनेको के हो? यसको अर्थ सत्यता र सकारात्मक कुराहरूलाई घृणा गर्नु हो। उदाहरणका लागि, जब कसैले “सृजित प्राणीका रूपमा, व्यक्तिले सृजित प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। परमेश्वरले जे भन्नुभए पनि, मानिसहरू समर्पित हुनुपर्छ, किनभने हामी सृजित प्राणीहरू हौँ” भनेर भन्छ, तब ख्रीष्टविरोधीले के सोच्छन्? “समर्पित हुने? म सृजित प्राणी हुँ भन्ने कुरा गलत होइन, तर जब समर्पित हुने कुरा आउँछ, तब त्यो कुरा परिस्थितिमा भर पर्छ। सर्वप्रथम, त्यसमा मेरा लागि केही फाइदा हुनुपर्छ, मलाई बेफाइदा हुनु हुँदैन, र मेरा हितहरू सुरुमा आउनुपर्छ। यदि इनाम वा महान् आशिष्हरू प्राप्त हुन्छन् भने, म समर्पित हुन सक्छु, तर इनाम र गन्तव्यविना, किन समर्पित हुने? म समर्पित हुन सक्दिनँ।” यो सत्यतालाई स्वीकार नगर्ने मनोवृत्ति हो। परमेश्वरप्रतिको तिनीहरूको समर्पणता ससर्त हुन्छ, र यदि तिनीहरूको सर्तहरू पूरा गरिएनन् भने, तिनीहरू समर्पित नहुने मात्र होइन, तर तिनीहरूले परमेश्वरको विरुद्धमा लड्ने र विरोध गर्ने सम्भावना पनि हुन्छ। उदाहरणका लागि, परमेश्वरले मानिसहरूलाई इमानदार बन्न लगाउनुहुन्छ, तर यी ख्रीष्टविरोधीहरू मूर्खहरूले मात्रै इमानदार बन्ने प्रयास गर्छन्, र चलाख मानिसहरूले इमानदार बन्ने प्रयास गर्दैनन् भन्ने विश्वास गर्छन्। त्यस्तो मनोवृत्तिको सार के हो? त्यो सत्यताप्रतिको घृणा हो। ख्रीष्टविरोधीहरूको सार यस्तै हुन्छ, र तिनीहरूको सारले तिनीहरू कुन मार्ग हिँड्छन् भन्ने कुरा निर्धारित गर्छ, र तिनीहरूले हिँड्ने मार्गले तिनीहरूले गर्ने सबै कुरालाई निर्धारित गर्छ। जब ख्रीष्टविरोधीहरूमा सत्यता र परमेश्वरलाई घृणा गर्ने प्रकृति सार हुन्छ, तब तिनीहरूले कस्तो प्रकारका कुराहरू गर्न सक्छन्? तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्ने, विरोधीहरूलाई आक्रमण र बहिष्कार गर्ने, र मानिसहरूलाई यातना दिने सम्भावना हुन्छ। यी कुराहरू गर्ने क्रममा तिनीहरूले हासिल गर्न खोजेको उद्देश्य भनेको शक्ति वहन गर्नु, परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्नु, र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्नु हो। यसमा कुनै शङ्का छैन। हैसियत पाएपछि, परमेश्वरमा पूर्ण समर्पित हुन नसक्ने, र परमेश्वरलाई पछ्याउन वा सत्यता पछ्याउन नसक्ने कुनै पनि व्यक्ति ख्रीष्टविरोधी हो।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्
काटछाँटप्रति ख्रीष्टविरोधीहरूको चिरपरिचित मनोवृत्ति भनेको यसको तीव्र अस्वीकार वा इन्कार गर्नु हो। तिनीहरूले जतिसुकै दुष्कर्म गरे पनि वा परमेश्वरको घरको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा जति नै धेरै हानि गरे पनि, तिनीहरूले अलिकति पनि पछुतो वा आफू केही ऋणी भएको अनुभूति गर्दैनन्। यस दृष्टिकोणबाट हेर्दा, के ख्रीष्टविरोधीहरूसँग मानवता हुन्छ त? पटक्कै हुँदैन। तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई हरप्रकारले हानि गर्छन्, र मण्डलीको काममा क्षति पुर्याउँछन्—परमेश्वरका चुनिएका मानिसहरूले यो कुरा सङ्लो पानीझैँ छर्लङ्ग देख्न सक्छन्, र तिनीहरूले ख्रीष्टविरोधीका दुष्कर्महरूको श्रृङ्खला देख्न सक्छन्। तर पनि ख्रीष्टविरोधीहरूले यो तथ्यलाई स्वीकार गर्दैनन्; तिनीहरू जिद्दी भई यस मामलामा आफू गलत छु वा आफू उत्तरदायी छु भनेर मान्न अस्वीकार गर्छन्। के यो तिनीहरू सत्यताप्रति वितृष्ण भइसकेका हुन्छन् भन्ने कुराको सङ्केत होइन र? ख्रीष्टविरोधीहरू सत्यताप्रति यति हदसम्म वितृष्ण भइसकेका हुन्छन् कि तिनीहरूले जति धेरै दुष्टता गरेको भए पनि, तिनीहरू यसलाई जिद्दी भई स्वीकार गर्न मान्दैनन्, र अन्त्यसम्मै तिनीहरू झुक्दैनन्। यसले ख्रीष्टविरोधीहरूले कहिल्यै पनि परमेश्वरको घरको कामलाई गम्भीर रूपमा लिँदैनन् वा सत्यता स्वीकार गर्दैनन् भन्ने कुरा पर्याप्त रूपले प्रमाणित गर्छ। तिनीहरू परमेश्वरमा विश्वास गर्न आएका हुँदैनन्; तिनीहरू शैतानका चाकरहरू हुन्, जो परमेश्वरको घरको काममा बाधा र व्यवधान ल्याउन आएका हुन्छन्। ख्रीष्टविरोधीहरूको हृदयमा प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। तिनीहरूलाई यो विश्वास हुन्छ कि, यदि तिनीहरूले आफ्नो गल्ती स्वीकार गर्थे भने, तिनीहरूले उत्तरदायित्व स्वीकार गर्नुपर्थ्यो, र त्यसपछि तिनीहरूको हैसियत र प्रतिष्ठामा गम्भीर असर पर्थ्यो। फलस्वरूप, तिनीहरूले “मरे पनि नस्विकार्ने” मनोवृत्तिका साथ प्रतिरोध गर्छन्। मानिसहरूले तिनीहरूलाई जेजसरी खुलासा वा चिरफार गरे पनि, तिनीहरूले ती कुरा इन्कार गर्न सक्दो गर्छन्। छोटकरीमा भन्दा, तिनीहरूको इन्कार जानाजान गरिएको भए पनि नभए पनि, एक हिसाब यी व्यवहारहरूले सत्यताप्रति वितृष्ण बन्ने र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधीहरूको प्रकृति सार खुलासा गर्छन्। यसले अर्को हिसाबमा ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत, प्रतिष्ठा र हितलाई कति मूल्यवान् ठान्छन् भन्ने तथ्यलाई देखाउँछ। यस क्रममा, मण्डलीको काम र हितप्रतिचाहिँ तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? यो अवहेलना र गैरजिम्मेवारीपूर्ण हुन्छ। तिनीहरूमा विवेक र समझको पूरै अभाव हुन्छ। के ख्रीष्टविरोधीहरू उत्तरदायित्वबाट पन्छिएको कुराले यी समस्याहरूलाई प्रदर्शन गर्दैन र? एक हिसाबमा, जिम्मेवारीबाट पन्छिनुले सत्यताप्रति वितृष्ण बन्ने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति सारलाई प्रमाणित गर्छ भने, अर्को हिसाबमा, तिनीहरूमा विवेक, समझ र मानवताको कमी छ भन्ने देखाउँछ। तिनीहरूको बाधा र दुष्कर्मले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा जति नै हानि पुगे पनि, तिनीहरूले धिक्कार अनुभूति गर्दैनन् र तिनीहरूलाई यो कुराले कति पनि चिन्तित गराउँदैन। यो कस्तो प्रकारको प्राणी हो? आफ्नो गल्तीको थोरै भाग मात्र स्वीकार गरे पनि तिनीहरूमा थोरै विवेक र समझ छ भन्ने देखिन्थ्यो, तर यी ख्रीष्टविरोधीहरूसँग अलिकति पनि मानवता हुँदैन। त्यसकारण, तिमीहरू तिनीहरू के हुन् भनी भन्छौ? ख्रीष्टविरोधीहरू सारमा दियाबलसहरू हुन्। आफूले परमेश्वरको घरको हितमा जति नै ठूलो हानि पुर्याए पनि तिनीहरूले त्यो देख्दैनन्। यसको कारण तिनीहरू हृदयमा अलिकति पनि दुःखी हुँदैनन्, न त तिनीहरूले आफैलाई गाली नै गर्छन्, तिनीहरूले ऋणी अनुभव गर्ने त कुरै नगरौँ। यो सामान्य मानिसहरूमा देखिनुपर्ने कुरा हुँदै होइन। तिनीहरू दियाबलस हुन्, र दियाबलसहरूमा अलिकति पनि विवेक वा समझ हुँदैन। तिनीहरूले जति धेरै खराब कुरा गरे पनि, र तिनीहरूले मण्डलीको काममा जति ठूलो घाटा ल्याए पनि, तिनीहरूले यो कुरा स्वीकार गर्न जोरदार रूपमा इन्कार गर्छन्। तिनीहरू यो कुरा स्विकार्नु भनेको तिनीहरूले केही गलत गरेका छन् भन्ने अर्थ लाग्नु हो भन्ने विश्वास गर्छन्। तिनीहरूले सोच्छन्, “के मैले कुनै गल्ती गर्न सक्थेँ र? म त कहिल्यै पनि कुनै गलत गर्दिनथिएँ! यदि मलाई आफ्नो गल्ती स्विकार्न बाध्य बनाइयो भने, के त्यो मेरो चरित्रको अपमान हुँदैन र? म त्यो घटनामा संलग्न भए पनि, मैले त्यो घटना गराएको होइन, र म प्रमुख इन्चार्ज पनि थिइनँ। जा, जसलाई चाहन्छस् खोज्, तर तँ मलाई खोज्न आउनु हुँदैन। जे भए पनि, म यो गल्ती स्विकार्न सक्दिनँ। म यो जिम्मेवारी लिन सक्दिनँ!” तिनीहरूलाई लाग्छ कि यदि तिनीहरूले आफ्नो गल्ती स्वीकार गरे भने, तिनीहरूलाई दोषी ठहराइनेछ, मृत्युको सजाय दिइनेछ, अनि नरक पठाइनेछ, र आगो र गन्धकको कुण्डमा हालिनेछ। मलाई भन त, के यस्ता मानिसहरूले सत्यता स्वीकार गर्न सक्छन्? के कसैले तिनीहरूको साँचो पश्चात्ताप अपेक्षा गर्न सक्छ? अरूले जेजसरी सत्यता सङ्गति गरे पनि, ख्रीष्टविरोधीहरूले अझै पनि यसको विरोध गर्छन्, यस विरुद्ध उभिन्छन्, र हृदयको गहिराइमा यसको अवज्ञा गर्छन्। तिनीहरूलाई बर्खास्त गरिएपछि पनि, तिनीहरूले अझै पनि आफ्ना गल्तीहरू स्वीकार गर्दैनन्, र तिनीहरूले पश्चात्तापका कुनै प्रकटीकरणहरू देखाउँदैनन्। जब १० वर्षपछि यो कुरा उल्लेख गरिन्छ, तब पनि तिनीहरूले अझै आफूलाई चिनेका हुँदैनन्, र तिनीहरू आफूले गल्ती गरेँ भनेर स्वीकार गर्दैनन्। २० वर्षपछि यो कुरा उठाइयो भने पनि, तिनीहरूले अझै पनि आफूलाई चिनेका हुँदैनन्, र अझै पनि आफूलाई सही साबित गर्ने र रक्षा गर्ने प्रयास गर्छन्। अनि अझै घृणित कुरा त, ३० वर्षपछि पनि जब यो कुरा उल्लेख गरिन्छ, तब पनि तिनीहरूले अझै पनि आफूलाई चिनेका हुँदैनन्, र अझै पनि यसो भन्दै आफ्नो पक्षमा तर्क गर्ने र आफूलाई सही साबित गर्ने प्रयास गर्छन्: “मैले गल्ती गरिनँ, त्यसकारण म गल्ती स्वीकार गर्न सक्दिनँ। यो मेरो जिम्मेवारी थिएन; मैले यसको बोझ लिनु पर्दैन।” अनि सबैलाई अचम्म पार्ने कुरो, तिनीहरूलाई बर्खास्त गरिएको ३० वर्षपछि पनि, मण्डलीले तिनीहरूलाई जसरी सम्हालेको थियो त्यसप्रति यी ख्रीष्टविरोधीहरूले अझै पनि प्रतिरोधको मनोवृत्ति नै राख्छन्। ३० वर्षपछि पनि, तिनीहरू पटक्कै परिवर्तन भएका हुँदैनन्। त्यसोभए, तिनीहरूले ती ३० वर्ष कसरी बिताए त? के तिनीहरूले परमेश्वरको वचन नपढेको वा आफ्नो बारे मनन नगरेको हुन सक्छ? के तिनीहरूले परमेश्वरलाई प्रार्थना नगरेको वा उहाँलाई भरोसा नगरेको हुन सक्छ? के तिनीहरूले प्रवचन र सङ्गति नसुनेको हुन सक्छ? के तिनीहरू दिमागहीन रहेको र तिनीहरूसँग सामान्य मानवताको सोचाइ नभएको हुन सक्छ? तिनीहरूले ती तीस वर्ष कसरी बिताए, त्यो साँच्चै नै रहस्यमय कुरा हो। घटना घटेको तीस वर्ष बितिसकेपछि पनि, तिनीहरू अझै पनि विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई अन्याय गरे, परमेश्वरले तिनीहरूलाई बुझ्नुभएन, र परमेश्वरको घरले तिनीहरूलाई दुर्व्यवहार गर्यो, तिनीहरूलाई समस्या पैदा गरिदियो, तिनीहरूको लागि परिस्थिति कठिन पारिदियो, र तिनीहरूलाई अनुचित रूपमा दोष लगायो भन्ने सोच्दै आक्रोशले भरिएका हुन्छन्। मलाई भन त, के यस्ता मानिसहरू परिवर्तन हुन सक्छन्? तिनीहरू अवश्य नै परिवर्तन हुन सक्दैनन्। तिनीहरूको हृदय सकारात्मक कुराहरूप्रति शत्रुता, र प्रतिरोध र विरोधले भरिएको हुन्छ। तिनीहरू त यो विश्वास गर्छन् कि, तिनीहरूको दुष्ट कार्यहरू खुलासा गरेर अनि तिनीहरूलाई काटछाँट गरेर, अरूहरूले तिनीहरूको चरित्रमा हानि गरे, तिनीहरूको प्रतिष्ठाप्रति अनादर गरे, र तिनीहरूको प्रतिष्ठा र हैसियतमा ठूलो हानि पुर्याए। तिनीहरू यो मामिलामा प्रार्थना गर्न, खोजी गर्न, र आफ्ना गल्तीहरू पहिचान गर्न कहिल्यै पनि परमेश्वरको अघि आउँदैनन्, र तिनीहरूसँग कहिल्यै पनि पश्चात्ताप गर्ने वा आफ्ना गल्तीहरू स्वीकार गर्ने मनोवृत्ति हुँदैन। तिनीहरूले परमेश्वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्नु त झन् परको कुरा हो। आज पनि अझै तिनीहरू परमेश्वरको अघि आफूलाई धर्मी साबित गर्ने प्रयास गर्दै अनाज्ञाकारिता, असन्तुष्टि, र गुनासोहरू बोकेर बस्छन्, र परमेश्वरलाई यी अन्यायहरू सच्याउन, यो मामला खुलासा गर्न, र सही को थियो, गलत को थियो भनेर सही रूपमा मूल्याङ्कन गर्न अनुरोध गर्छन्, यहाँसम्म कि यो मामलाको कारण परमेश्वरको धार्मिकतालाई समेत शङ्का गर्छन् र इन्कार्छन्, र परमेश्वरको घरमा सत्यता र परमेश्वरको शासन चल्छ भन्ने तथ्यलाई समेत शङ्का गर्छन् र इन्कार्छन्। ख्रीष्टविरोधीहरू काटछाँटमा पर्दा आउने अन्तिम परिणाम यही हो—के तिनीहरू सत्यता स्वीकार गर्छन् त? तिनीहरू किमार्थ सत्यता स्विकार्दैनन्; तिनीहरू यसलाई नस्विकार्न दृढ हुन्छन्। यसबाट हामीले देख्न सक्छौं कि ख्रीष्टविरोधीको प्रकृति सार सत्यताप्रति विमुख हुने र त्यसलाई घृणा गर्ने किसिमको हुन्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन)
ख्रीष्टविरोधीहरूलाई भौतिक कुराहरू, अनि पैसा, र हैसियतप्रति सबैभन्दा बढी चासो हुन्छ। तिनीहरू निश्चय नै त्यस्ता हुँदैनन्, जसरी तिनीहरू बाहिरी रूपमा बोल्छन्, “म परमेश्वरमा विश्वास गर्छु। म संसारको पछि लाग्दिनँ, र म पैसाको लोभ गर्दिनँ।” तिनीहरू आफूले बोलेजस्तो हुँदै हुँदैनन्। तिनीहरू किन आफ्नो सबै शक्तिले हैसियत पछ्याउने र त्यसलाई कायम राख्ने गर्छन्? किनभने तिनीहरूले आफ्नो अधिकारभित्र पर्ने सबै कुरा खासगरी पैसा र भौतिक कुराहरू प्राप्त गर्न, वा नियन्त्रण र कब्जा गर्न चाहन्छन्। तिनीहरूले यो पैसा र यी भौतिक कुराहरू आफ्नो हैसियतबाट आएका फाइदाहरू हुन् जस्तो गरी आनन्दसाथ प्रयोग गर्छन्। तिनीहरू नाम र वास्तविकता दुवैमा शैतानको प्रकृति सार भएका प्रधान स्वर्गदूतका सच्चा सन्तान हुन्। हैसियत पछ्याउने र पैसालाई महत्त्व दिने सबै मानिसहरूको प्रकृति सारमा निश्चय नै समस्या हुन्छ। यो कुरा तिनीहरूमा ख्रीष्टविरोधी स्वभाव हुन्छ भन्नेजस्तो सरल कुरा होइन: तिनीहरू अत्यन्तै महत्त्वाकाङ्क्षी हुन्छन्। तिनीहरू परमेश्वरको घरको पैसा नियन्त्रण गर्न चाहन्छन्। यदि तिनीहरूलाई कुनै कामको जिम्मेवारी दिइएको छ भने, सर्वप्रथम तिनीहरूले अरूलाई हस्तक्षेप गर्न दिँदैनन्, न त तिनीहरूले माथिको सोधपुछ वा सुपरिवेक्षण नै स्वीकार गर्छन्; यसबाहेक, जब तिनीहरू कुनै पनि कामको सुपरभाइजर हुन्छन्, तब तिनीहरूले आफूलाई प्रदर्शन गर्ने, आफूलाई रक्षा गर्ने, र आफूलाई उचाल्ने उपायहरू खोज्छन्। तिनीहरू सधैँ सबैभन्दा माथि उठ्न, र अरूमाथि शासन र नियन्त्रण गर्ने मानिसहरू बन्न चाहन्छन्। तिनीहरूले उच्च हैसियत उपभोग गर्न र त्यसको लागि प्रतिस्पर्धा गर्न, र परमेश्वरको घरको हरेक भाग, र विशेषगरी यसको पैसा नियन्त्रण गर्न चाहन्छन्। ख्रीष्टविरोधीहरूलाई पैसाप्रति विशेष प्रेम हुन्छ। जब तिनीहरूले पैसा देख्छन्, तब तिनीहरूको तीन नेत्र बल्छ; तिनीहरूले आफ्नो मनमस्तिष्कमा सधैँ पैसाबारे र यसको लागि मेहनत गर्नेबारे सोचिरहेका हुन्छन्। यी सबै ख्रीष्टविरोधीहरूका चिन्ह र सङ्केतहरू हुन्। यदि तैँले तिनीहरूसँग सत्यता सङ्गति गरिस्, वा दाजुभाइ-दिदीबहिनीहरूको अवस्था जान्ने प्रयास गरिस्, र तिनीहरूमध्ये कति जना कमजोर र नकारात्मक छन्, तिनीहरू प्रत्येकले कर्तव्यमा के-कस्ता परिणामहरू प्राप्त गरिरहेका छन्, र तिनीहरूमध्ये को कर्तव्यको निम्ति उपयुक्त छैनन् भन्नेजस्ता प्रश्नहरू गरिस् भने, ख्रीष्टविरोधीहरूले चासो दिनेछैनन्। तर जब परमेश्वरका भेटीहरूको कुरा आउँछ—पैसा कति छ, यसको रक्षा कसले गरिरहेको छ, यसलाई कहाँ राखिएको छ, यसको पासकोड के हो, भन्नेजस्ता कुराहरूको प्रसङ्ग आउँछ—तिनीहरूलाई सबैभन्दा बढी चासो लाग्ने कुरा यही हुन्छ। ख्रीष्टविरोधीलाई यी कुराहरूमा असाधारण ज्ञान हुन्छ। तिनीहरूले यी कुराहरू राम्ररी जानेका हुन्छन्। यो पनि ख्रीष्टविरोधीको लक्षण हो। ख्रीष्टविरोधीहरू राम्रो सुनिने शब्दहरू बोल्न सिपालु हुन्छन्, तर तिनीहरू वास्तविक काम गर्दैनन्, बरु सधैँ परमेश्वरका भेटीहरूबाट आनन्द लिनेबारे सोचिरहन्छन्। मलाई भन त, के ख्रीष्टविरोधीहरू अनैतिक हुँदैनन् र? तिनीहरूमा कुनै मानवता हुँदैन—तिनीहरू पूर्ण रूपमा दियाबलसहरू हुन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई)
सम्बन्धित चलचित्र उद्धरणहरू
फरिसीहरूले परमेश्वरको प्रतिरोध गर्नुको सत्यता खुलासा गर्नु
सम्बन्धित अनुभवात्मक गवाहीहरू
ख्रीष्टविरोधीलाई पहिचान गर्न सिक्नु
होसियार! ख्रीष्टविरोधीहरू तपाईँकै वरिपरि छन्!
सम्बन्धित भजनहरू
मानिसहरूलाई निन्दा गर्ने परमेश्वरको आधार
परमेश्वरलाई नचिन्नेहरू उहाँको विरोध गर्छन्