१२. ख्रीष्टविरोधीहरूलाई कस्तो व्यवहार गर्ने र कसरी सम्हाल्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वरका चुनिएका जनहरूले ख्रीष्टविरोधीहरूसित कसरी व्यवहार गर्नुपर्छ? तिनीहरूले उनीहरूलाई खुट्ट्याउनुपर्छ, तिनीहरूलाई खुलासा गर्नुपर्छ, तिनीहरूलाई रिपोर्ट गर्नुपर्छ, र तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। तब मात्र परमेश्‍वरलाई अन्तसम्म पछ्याउनु र परमेश्‍वरमा विश्‍वासको सही मार्गमा प्रवेश गर्नु सुनिश्चित हुन सक्छ। ख्रीष्टविरोधीहरूले आफूलाई अगुवाका रूपमा छान्‍नका लागि अरूलाई जसरी बहकाए पनि तिनीहरू तेरा अगुवा होइनन्। तिनीहरूलाई स्वीकार नगर् र तिनीहरूको नेतृत्व स्वीकार नगर्—तैँले तिनीहरूलाई खुट्ट्याउनैपर्छ र तिनीहरूलाई तिरस्कार गर्नैपर्छ, किनभने तिनीहरूले तँलाई सत्यता बुझ्न मद्दत गर्न सक्दैनन्, न त तिनीहरूले तँलाई मद्दत गर्न सक्छन् वा तेरो लागि प्रबन्ध नै गर्न सक्छन्। यी तथ्यहरू हुन्। यदि तिनीहरूले तँलाई सत्यता वास्तविकतामा डोर्‍याउन सक्दैनन् भने, तिनीहरू अगुवा वा कामदार हुन योग्य छैनन्। यदि तिनीहरूले तँलाई सत्यता बुझ्न र परमेश्‍वरको कामको अनुभव गर्नतिर डोर्‍याउन सक्दैनन् भने, तिनीहरू परमेश्‍वरको विरोध गर्नेहरू हुन्, र तैँले तिनीहरूलाई खुट्ट्याउनुपर्छ, तिनीहरूलाई खुलासा गर्नुपर्छ र तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। तिनीहरूले गर्ने जुनै काम पनि तँलाई बहकाएर तिनीहरूको पछि लगाउन, र तिनीहरूको समूहमा सामेल गराएर मण्डलीको कामलाई कमजोर पार्न र बाधा पुर्‍याउन, तँलाई फकाएर तिनीहरू जस्तै ख्रीष्ट विरोधीहरूको मार्ग लिन लगाउनका लागि हो। तिनीहरू तँलाई तानेर नरकमा पुर्‍याउन चाहन्छन्! यदि तँ तिनीहरूलाई तिनीहरू के हुन् भनेर बताउन सक्दैनस् र तिनीहरू तेरा अगुवा भएकाले तैँले तिनीहरूको आज्ञापालन गर्नुपर्छ र तिनीहरूलाई छुट दिनुपर्छ भनेर विश्‍वास गर्छस् भने, तँ सत्यता र परमेश्‍वर दुवैलाई धोका दिने व्यक्ति होस्—र यस्ता मानिसहरूलाई मुक्ति दिन सकिँदैन। यदि तँ मुक्ति पाउन चाहन्छस् भने, तैँले ठूलो रातो अजिङ्गरको अवरोधलाई मात्र पार गर्नुपर्ने होइन, र तैँले ठूलो रातो अजिङ्गरको वास्तविकतालाई देख्‍न, यसको घिनलाग्दो अनुहारलाई देखेर यसविरुद्ध पूर्ण रूपमा विद्रोह गर्न सक्षम मात्र हुनुपर्ने होइन—तैँले ख्रीष्टविरोधीहरूको अवरोधलाई पनि पार गर्नुपर्ने हुन्छ। मण्डलीमा, ख्रीष्टविरोधी परमेश्‍वरको मात्रै शत्रु हुँदैन, परमेश्‍वरका चुनिएका मानिसहरूको पनि शत्रु हुन्छ। यदि तिमीहरूले ख्रीष्टविरोधीलाई खुट्ट्याउन सक्दैनौ भने, तिमीहरू बहकाउमा पर्ने र जितिने, ख्रीष्टविरोधीको मार्गमा हिँड्ने, र परमेश्‍वरद्वारा श्रापित र दण्डित हुने सम्‍भावना हुन्छ। यदि त्यस्तो भयो भने, परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वास पूर्ण रूपमा असफल हुनेछ। मुक्ति पाउनको लागि मानिसहरूमा के हुनुपर्छ? पहिलो, तिनीहरूले सत्यता बुझेको हुनुपर्छ, र ख्रीष्टविरोधीको सार, स्वभाव, र मार्गलाई खुट्ट्याउन सक्‍नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्दा मानिसहरूलाई पुज्ने वा पछ्याउने अवस्थाबाट निश्‍चित रूपमा बच्‍ने, र परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउने एक मात्र उपाय यही हो। ख्रीष्टविरोधीलाई खुट्ट्याउन सक्ने मानिसहरूले मात्रै साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्न, उहाँलाई पछ्याउन, र उहाँको लागि गवाही दिन सक्छन्। त्यसपछि कसै-कसैले भन्लान्, “यदि अहिले मसँग यसका लागि सत्यता छैन भने, म के गरूँ?” तैँले अविलम्ब आफूलाई सत्यताले सुसज्जित गर्नैपर्छ; तैँले मानिसहरू र चीजहरूलाई सूक्ष्म रूपमा चिन्‍न सिक्नैपर्छ। ख्रीष्टविरोधीलाई खुट्ट्याउनु चानचुने कुरा होइन, र यसका लागि तिनीहरूको सारलाई स्पष्ट रूपमा देख्‍ने, र तिनीहरूको हरेक कार्यपछाडि लुकेका षड्यन्त्र, चलाकी, र मनसाय र उद्देश्यहरूलाई बुझ्ने क्षमता चाहिन्छ। त्यसरी तँ तिनीहरूको बहकाउ वा नियन्त्रणमा पर्दैनस्, र तँ दह्रिलो गरी खडा हुन, सत्यतालाई सुरक्षित र बलियो रूपमा पछ्याउन, र सत्यता पछ्याउने र मुक्ति पाउने मार्गमा दृढ भएर लागिपर्न सक्छस्। यदि तैँले ख्रीष्टविरोधीका तगारोहरू पार गर्न सक्दैनस् भने तँ ठूलो खतरामा छस् भनेर भन्‍न सकिन्छ, र तैँले ख्रीष्टविरोधीको बहकाउन र पकडमा परी शैतानको प्रभावमा जिउने सम्भावना हुन्छ। यो सम्भव छ कि तिमीहरूको बीचमा केही यस्ता मानिसहरू छन् जसले सत्यताको पछि लाग्ने मानिसहरूलाई बाधा दिन्छन् र ठेस लगाउँछन्, अनि तिनीहरू मानिसहरूका शत्रुहरू हुन्। के तँ यो कुरा स्वीकार गर्छस्? केही मानिस छन्, जसले यस तथ्यको सामना गर्ने हिम्मत गर्दैनन्, न त तिनीहरू यसलाई तथ्यका रूपमा स्वीकार गर्ने हिम्मत नै गर्छन्। तर ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउने काम साँच्चै नै मण्डलीमा हुने गर्छ, त्यो पनि प्राय: जसो; यति मात्र हो कि, मानिसहरूले त्यसलाई खुट्ट्याउन सक्दैनन्। यदि तँ यो जाँचमा, अर्थात् ख्रीष्टविरोधीहरू सम्‍बन्धी जाँचमा सफल भइनस् भने—तँ कि त ख्रीष्ट विरोधीको बहकाउमा र नियन्त्रणमा पर्छस्, कि त तिनीहरूले तँलाई दुःख, यातना, धक्का दिन्छन्, तँलाई थिचोमिचो र दुर्व्यवहार गर्छन्। आखिरमा, तेरो तुच्छ सानो जीवन लामो समयसम्म टिक्दैन, र सुकेर जान्छ; तँमा उप्रान्त परमेश्‍वरमाथिको विश्‍वास हुँदैन, र तैँले यसो भन्नेछस्, “परमेश्‍वर त धर्मी समेत हुनुहुन्‍न! परमेश्‍वर कहाँ हुनुहुन्छ? यो संसारमा कुनै इन्साफ वा ज्योति छैन, र परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनुहुन्छ भन्‍ने कुनै कुरा छैन। हामीले पनि आफ्ना दिनहरू काम गर्नु र पैसा कमाउनुमा नै बिताउनु राम्रो हुन्छ!” तैँले परमेश्‍वरलाई इन्कार गर्छस् र परमेश्‍वरबाट तर्किन्छस्, उहाँ हुनुहुन्छ भनेर विश्‍वास गर्न छोड्छस्; तैँले मुक्ति पाउने कुनै पनि आशा पूर्ण रूपमा समाप्त हुन्छ। यसकारण, यदि तँ मुक्ति पाउने स्थानमा पुग्न चाहन्छस् भने तैँले पार गर्नुपर्ने पहिलो जाँच भनेको शैतानलाई बुझ्नु र छर्लङ्ग देख्न सक्ने हुनु हो, साथै तँमा खडा भएर शैतानलाई पर्दाफास गर्ने र त्याग्ने साहस पनि हुनैपर्छ। त्यसो भए शैतान कहाँ छ? शैतान तेरो छेउमा छ र तेरो वरिपरि छ; त्यसले तेरो हृदयभित्र पनि बास गरिरहेको हुन सक्छ। यदि तँ शैतानको स्वभावभित्र जिइरहेको छस् भने, तँ शैतानको होस् भनेर भन्‍न सकिन्छ। तैँले आत्मिक क्षेत्रको शैतान वा दुष्टात्माहरूलाई देख्न वा छुन सक्दैनस्, तर वास्तविक जीवनमा अस्तित्वमा रहने शैतानहरू र जीवित दियाबलसहरू सबैतिर छन्। सत्यताप्रति वितृष्ण हुने कुनै पनि व्यक्ति दुष्ट हो, र सत्यतालाई स्वीकार नगर्ने कुनै पनि अगुवा वा कामदार ख्रीष्टविरोधी वा झूटो अगुवा हो। के त्यस्ता व्यक्तिहरू शैतान र जिउँदा दियाबलसहरू होइनन् र? तैँले पूजा गर्ने र भर पर्ने मानिसहरू तिनै हुन सक्छन्; तिनीहरू तँलाई डोऱ्याउने मानिसहरू वा तैँले लामो समयदेखि आफ्नो हृदयमा आदर गरेका, विश्‍वास गरेका वा आशा लिएका मानिसहरू हुन सक्छन्। तापनि, वास्तवमा, तिनीहरू तेरो बाटो छेक्ने र तँलाई सत्यता खोजी गर्न र मुक्ति प्राप्त गर्नबाट रोक्ने बाधाहरू हुन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले तेरो जीवनलाई र तँ हिँड्ने मार्गलाई नियन्त्रण गर्न सक्छन्, र तिनीहरूले मुक्ति पाउने तेरो मौकालाई नाश पार्न सक्छन्। यदि तँ तिनीहरूलाई खुट्ट्याउन र तिनीहरूलाई छर्लङ्ग देख्न असफल भइस् भने, कुनै पनि क्षण अचानक तँ तिनीहरूको बहकाउमा पर्न र पकडमा आउन सक्छस्। यसैले, तँ ठूलो खतरामा छस्। यदि तैँले आफूलाई यो खतराबाट मुक्त गर्न सक्दैनस् भने, तँ शैतानले बलि दिने शिकार हुन्छस्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरू सत्यताको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्

ख्रीष्टविरोधीहरूप्रति तेरो मनोवृत्ति कस्तो हुनुपर्छ? तैँले तिनीहरूको खुलासा गर्नुपर्छ, र तिनीहरूसँग युद्ध गर्नुपर्छ। यदि तिमीहरूमध्येएक वा दुई जना मात्र छौ र एक्लै ख्रीष्टविरोधीहरूको सामना गर्न धेरै कमजोर छौ भने, तैँले यी ख्रीष्टविरोधीहरूको रिपोर्ट र खुलासा गर्न सत्यता बुझेका धेरै व्यक्तिहरूसँग हात मिलाउनुपर्छ, र तिनीहरू ननिक्लेसम्म लडिरहनुपर्छ। मैले सुनेको छु, विगत दुई वर्षमा चीनका मुख्य भूभागहरूका केही देहाती इलाकाहरूमा परमेश्वरका चुनिएका मानिसहरूले झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई पदमुक्त गर्न एकजुट भए; केही झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरू निर्णय गर्ने समूहका प्रमुखहरू पनि थिए, तैपनि तिनीहरू यसरी नै परमेश्वरका चुनिएका मानिसहरूद्वारा हटाइए। परमेश्वरका चुनिएका मानिसहरूले माथिबाट आउने अनुमोदन पर्खनु परेन; सत्यता सिद्धान्तहरूका आधारमा तिनीहरू यी झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई पहिचान गर्न सक्षम थिए—जसले वास्तविक काम गर्दैनथे, र सधैँ दाजुभाइ र दिदीबहिनीहरूलाई सास्ती दिइरहन्थे, जसले जङ्गली व्यवहार गरिरहेका थिए र परमेश्वरको घरको काममा बाधा पुर्‍याइरहेका थिए—र तिनीहरूलाई तुरुन्तै कारवाही गरियो। कसैलाई निर्णय गर्ने समूहहरूबाट बाहिर धकेलियो, कसैलाई मण्डलीबाट निकालियो—जुन ठूलो कुरो हो! यसले परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरमा विश्‍वासको सही मार्गमा पाइला टेकिसकेका छन् भन्ने देखाउँछ। परमेश्वरका चुनिएका केही मानिसहरूले सत्यता बुझिसकेका छन् र तिनीहरूको कद सानो भए पनि अब शैतानको नियन्त्रण र छलमा पर्दैनन्, तिनीहरू खडा हुन र शैतानको दुष्ट शक्तिहरूसँग लड्ने हिम्मत गर्छन्। यसले मण्डलीमा झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूको हैकम चल्दैन भनेर देखाउँछ। त्यसैले तिनीहरू अब आफ्नो बोली र कार्यमा ज्वलन्त हुने हिम्मत गर्दैनन्। तिनीहरूले आफ्नो खेल उजागर गर्ने बित्तिकै, तिनीहरूको निरीक्षण गर्न, तिनीहरूलाई खुट्ट्याउन र तिनीहरूलाई इन्कार गर्न त्यहाँ कोही हुनेछ। भन्नुको मतलब, साँच्चै सत्यता बुझ्नेहरूको हृदयमा मानिसको हैसियत, प्रतिष्ठा र शक्तिले प्रमुख स्थान लिँदैन। त्यस्ता व्यक्तिहरूले ती चीजहरूलाई महत्त्व दिँदैनन्। जब कसैले सक्रिय ढङ्गले सत्यता खोज्न र त्यसमाथि सङ्गति गर्न सक्छ, र जब तिनीहरूले परमेश्वरमा विश्वास गर्ने मानिसहरूले हिँड्नुपर्ने मार्ग र अगुवा र सेवकहरूसित कस्तो व्यवहार गर्नुपर्छ भनेर पुन: मूल्याङ्कन र मनन गर्न थाल्छन्, अनि त्यसपछि मानिसहरूले कसलाई पछ्याउनुपर्ने हो, मान्छेलाई पछ्याउने व्यवहार कुन हो अनि परमेश्वरलाई पछ्याउने व्यवहार कुन हो, अनि त्यसपछि, धेरै वर्षसम्म यी सत्यताहरूलाई छामछाम-छुमछुम गरेपछि र तिनको अनुभव सँगालेपछि जब तिनीहरूले थाहै नपाई केही सत्यता बुझ्न र खुट्ट्याउन पुग्छन्, त्यतिबेला तिनीहरूले केही कद हासिल गरेका हुनेछन्। सबै कुरामा सत्यता खोज्न सक्षम हुनु भनेको परमेश्वरमा विश्वासको सही मार्गमा प्रवेश गर्नु हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरू सत्यताको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्

ख्रीष्टविरोधीहरूमा अत्यन्तै क्रूर स्वभाव हुन्छ। यदि तैँले तिनीहरूलाई काटछाँट वा खुलासा गर्ने प्रयास गरिस् भने, तिनीहरूले तँलाई घृणा गर्नेछन् र तँमाथि विषालु सर्पहरूले जस्तै दाँत गाड्‍नेछन्। तैँले जति नै धेरै प्रयास गरे नि तिनीहरूलाई लतारेर वा झट्काएर फ्याँक्‍न सक्‍नेछैनस्। त्यस्ता ख्रीष्टविरोधीहरू सामना गर्नुपर्दा, के तिमीहरू डराउँछौ? कति मानिसहरू त डराउँछन् र यसो भन्छन्, “म तिनीहरूलाई काटछाँट गर्ने दुस्साहस गर्दिनँ। तिनीहरू अत्यन्तै आक्रामक छन्, विषालु सर्पहरूजस्ता छन्, र तिनीहरूले मलाई बेह्रे भने, म खत्तमै हुनेछु।” तिनीहरू कस्ता मानिसहरू हुन्? तिनीहरू अत्यन्तै सानो कदका मानिसहरू हुन्, तिनीहरू केही न कामका हुन्, तिनीहरू ख्रीष्टका असल सिपाहीहरू होइनन्, र तिनीहरूले परमेश्‍वरको गवाही दिन सक्दैनन्। त्यसैले, जब तिमीहरूले त्यस्ता ख्रीष्टविरोधीहरू सामना गर्छौ, तब तिमीहरूले के गर्नुपर्छ? यदि तिनीहरूले तँलाई धम्की दिए वा तेरो ज्यान लिने प्रयास गरे भने, के तँ डराउनेछस्? त्यस्ता परिस्थितिहरूमा, तँ तुरुन्तै दाजुभाइ-दिदीबहिनीहरूसँग एक हुनुपर्छ र ती ख्रीष्टविरोधीहरूलाई मण्डलीबाट नहटाइन्जेल तिमीहरू खडा हुनुपर्छ, र अनुसन्धान गर्नुपर्छ, प्रमाणहरू जुटाउनुपर्छ, र तिनीहरूलाई खुलासा गर्नुपर्छ। पूरैसित समस्या समाधान गर्नु भनेको यही हो। जब तैँले कुनै ख्रीष्टविरोधीलाई पत्ता लगाउँछस् र ऊसँग दुष्ट व्यक्तिका विशेषताहरू छन् र उसले अरूलाई दण्ड दिन र बदला लिन सक्छ भनेर स्पष्टै पहिचान गर्छस्, तब तैँले उसले पहिले दुष्कर्म गरोस् अनि प्रमाण सङ्कलन गरेर उसलाई तह लाउँछु भनेर प्रतीक्षा नगर्। यो निष्क्रियता हो र यसले पहिले नै केही घाटा निम्ताइसकेको हुन्छ। जब ख्रीष्टविरोधीहरूले आफूमा दुष्ट व्यक्तिका लक्षणहरू रहेको देखाउँछन् र जब तिनीहरूले आफ्नो धूर्त र दुर्भावपूर्ण स्वभाव प्रकट गर्छन्, र जब तिनीहरूले यस्तो काम गर्न लागेका हुन्छन्, त्यति नै बेला तिनीहरूलाई सम्हाल्नु, सम्बोधन गर्नु, हटाउनु, र निकाल्‍नु सबैभन्दा राम्रो हुन्छ। सबैभन्दा समझदार तरिका यही हो। यदि तँलाई ख्रीष्टविरोधीले तँसँग बदला लिने दह्रिलो मौका खोजिरहन्छ भन्‍ने डर लाग्छ भने, किन ख्रीष्टविरोधीबारे रिपोर्ट र खुलासा गर्न त्यसका दुष्कर्महरूको प्रमाण प्रयोग नगर्ने? त्यसो गरेर, तैँले परमेश्‍वरका चुनिएका मानिसहरूको अनुमोदन र सहयोग प्राप्त गर्नेछस्, र सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरले तेरा असल कर्महरू र न्यायसङ्गत कार्यहरूलाई सम्झनुहुनेछ। त्यसैले, किन त्यसो नगर्ने? परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरको आज्ञालाई सधैँ ध्यानमा राख्‍नुपर्छ। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई सफाइ गरी हटाउनु शैतानविरुद्धको युद्धको सबैभन्दा महत्त्वपूर्ण लडाइँ हो। यो लडाइँ जितियो भने, यो विजेताको गवाही बन्‍नेछ। यो शैतान र दियाबलसहरू विरुद्ध लडिने युद्ध परमेश्‍वरका चुनिएका मानिसहरूमा हुनुपर्ने अनुभवात्मक गवाही हो। यो विजेताहरूमा हुनैपर्ने सत्यता वास्तविकता हो। तैँले गवाही दिन र मण्डलीको काम रक्षा गर्न सक् भन्‍ने उद्देश्यले परमेश्‍वरले मानिसहरूलाई यति धेरै सत्यता दिनुभएको छ, तँलाई यति लामो समयदेखि अगुवाइ गर्नुभएको छ, र तेरो यति धेरै भरणपोषण गर्नुभएको छ। तर लाग्छ, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले दुष्ट कार्यहरू गर्दा र मण्डलीको काममा बाधा दिँदा, तँ डरपोक बन्छस् र पछि हट्छस्, र हातले टाउको छोपेर भाग्छस्—तँ केही न कामको छस्। तँ शैतानहरूलाई जित्न सक्दैनस्, तैँले गवाही दिएको छैनस्, र तँलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ। यो महत्त्वपूर्ण क्षणमा, तैँले खडा भएर शैतानहरूसँग युद्ध गर्नुपर्छ, ख्रीष्टविरोधीहरूका दुष्कर्महरू खुलासा गर्नुपर्छ, तिनीहरूलाई निन्दा गर्नु र धिक्‍कार्नुपर्छ, तिनीहरूलाई लुक्ने ठाउँ दिनु हुँदैन र तिनीहरूलाई मण्डलीबाट सफाइ गरी हटाउनुपर्छ। यसलाई मात्र शैतानमाथि विजय हासिल गर्नु र तिनीहरूको भाग्य समाप्त पार्नु भनेर भन्‍न सकिन्छ। तँ परमेश्‍वरका चुनिएका मानिसहरू मध्येको एक होस्, परमेश्‍वरको एक अनुयायी होस्। तैँले चुनौतीहरूको डर मान्नु हुँदैन; तैँले सत्यता सिद्धान्तहरू अनुसार काम गर्नुपर्छ। विजेता बन्‍नु भनेको यही हो। यदि दुष्ट मानिसहरू वा ख्रीष्टविरोधीहरूले बदला लेलान् भन्‍ने डरले तँलाई चुनौतीहरूदेखि डर लाग्छ र तैँले सम्झौता गर्छस् भने, तँ परमेश्‍वरको अनुयायी होइनस्, र तँ परमेश्‍वरका चुनिएका मानिसहरू मध्येको एक होइनस्। तँ केही न कामको छस्, र तँ सेवाकर्ताहरूभन्दा पनि नीच छस्। कतिपय कायरहरूले यसो भन्‍न सक्छन्, “ख्रीष्टविरोधीहरू साह्रै भयानक हुन्छन्; तिनीहरूले जे पनि गर्न सक्छन्। तिनीहरूले ममाथि बदला लिए भने के गर्ने?” यो त भ्रमित कुरा हो। यदि तँलाई ख्रीष्टविरोधीहरूले लिने बदलाको डर लाग्छ भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास कहाँ छ? के परमेश्‍वरले तेरो जीवनको यति धेरै वर्ष तँलाई रक्षा गर्नुभएको छैन र? के ख्रीष्टविरोधीहरू पनि परमेश्‍वरको हातमा छैनन् र? यदि परमेश्‍वरले अनुमति दिनुभएन भने, तिनीहरूले तँलाई के गर्न सक्छन् र? यसअलावा, ख्रीष्टविरोधीहरू जति नै दुष्ट भए नि, तिनीहरूले वास्तवमा के गर्न सक्छन् र? के परमेश्‍वरका चुनिएका मानिसहरूलाई एक भएर तिनीहरूलाई खुलासा गर्न र तह लगाउन झन् सजिलो हुँदैन र? त्यसैले किन ख्रीष्टविरोधीहरूसँग डर मान्ने? त्यस्ता मानिसहरू केही कामका हुँदैनन् र तिनीहरू परमेश्‍वरलाई पछ्याउन लायक पनि हुँदैनन्। घर फर्केर जाओ, र आफ्ना छोराछोरी हुर्काओ, र आफ्नो जीवन जिओ। ख्रीष्टविरोधीहरूले मण्डलीको काम बिथोल्दै परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गरिरहेको बेला, परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूको दुष्कर्महरूप्रति कस्तो प्रतिक्रिया दिनुपर्छ? परमेश्‍वरलाई पछ्याउनेहरू कसरी आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुनुपर्छ? तिनीहरूले कसरी शैतान र ख्रीष्टविरोधीहरूका शक्तिहरू विरुद्ध लड्‍नुपर्छ? तँ परमेश्‍वरमा समर्पित हुँदै बफादार हुन्छस् कि छेउ लाग्दै तैँले परमेश्‍वरलाई धोका दिन्छस् भन्‍ने कुरा ख्रीष्टविरोधीहरूले परमेश्‍वरलाई बाधा दिँदा, दुष्कर्म गर्दा, र विरोध गर्दा पूर्ण रूपमा खुलासा हुनेछ। यदि तँ परमेश्‍वरमा समर्पित हुने र उहाँप्रति बफादार रहने व्यक्ति होइनस् भने, तँ उहाँलाई धोका दिने व्यक्ति होस्। अर्को कुनै विकल्प छैन। कतिपय भ्रमित व्यक्तिहरू र समझहीन मानिसहरूले न यताको न उताको अडान लिन्छन् र तिनीहरू दुइजिब्रे बन्छन्। परमेश्‍वरको नजरमा, यी मानिसहरूमा परमेश्‍वरप्रति कुनै बफादारिता हुँदैन र तिनीहरू उहाँका विश्‍वासघातीहरू हुन्। कतिपय भ्रमित व्यक्तिहरू आफ्नो कायरताको कारण, ख्रीष्टविरोधीहरूको दण्डको डर मान्छन्, र तिनीहरूले हृदयमा “मैले के गर्ने?” भनेर निरन्तर सोधिरहन्छन्। तैँले यो प्रश्‍न सोधेर बस्‍ने होइन। बरु केचाहिँ तैँले गर्नुपर्छ? (आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, ख्रीष्टविरोधीहरूका दुष्कर्महरू पूर्ण रूपमा खुलासा गर्नुपर्छ, हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी समझ अभ्यास गर्ने भनेर सिक्न मदत गर्नुपर्छ, र ख्रीष्टविरोधीहरूलाई इन्कार्नुपर्छ। हामीले आफ्‍नो सुरक्षाबारे चिन्ता गर्नु हुँदैन। हामीले विचार गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको दुष्ट मानिसहरूले मण्डलीको काममा बाधा दिँदा आफ्‍नो कर्तव्य कसरी पूरा गर्ने भन्‍ने हो।) यदि यसले तेरो परिवारमा असर पार्छ भने के गर्ने हो? (हामीले कुनै हिचकिचाहटविना आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। हामीले हाम्रो परिवारप्रतिको माया र तिनीहरूको सुरक्षाको चिन्ताले कर्तव्य त्याग्‍नु वा आफ्‍नो गवाहीमा दृढ हुन चुक्‍नु हुँदैन।) ठीक भनिस्। ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूलाई परमेश्‍वरको घरमा खडा हुने ठाउँ नदिनलाई, सर्वप्रथम तँ आफ्नो गवाहीमा दृढ भई तिनीहरू विरुद्ध अन्त्यसम्मै लड्नुपर्छ। यदि तिनीहरू परिश्रम गर्न तयार छन् भने, तिनीहरूलाई नियमहरूअनुसार काम गर्न दे, र तिनीहरूले जे गर्न सक्छन् त्यही गर्न दे। यदि तिनीहरू परिश्रम गर्न अनिच्छुक छन् भने, सबैले मिलेर तिनीहरूलाई निष्कासित गर्नुपर्छ ताकि तिनीहरूले परमेश्‍वरको घरभित्र मण्डलीको काममा बाधा, व्यवधान, वा बरबादी ल्याउन नसकून्। तैँले गर्नुपर्ने पहिलो कुरा र तँ दृढसाथ खडा हुनुपर्ने गवाही यही हो। यसअलावा, तैँले तेरो परिवार र तेरो जीवन सबै परमेश्‍वरको हातमा छन्, र शैतानले जथाभाबी काम गर्ने आँट गर्दैन भन्‍ने कुरा बुझ्नुपर्छ। परमेश्‍वरले भन्‍नुभएको छ: “परमेश्‍वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्‍वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलो हल्‍लाउने स्वतन्त्रतासमेत छैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्।” तैँले यी वचनहरूमा कति हृदसम्‍म विश्‍वास गर्न सक्छस्? ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूविरुद्ध लड्‍दा त्यसले तेरो विश्‍वासको मात्रा प्रकट गर्छ। यदि तँसँग परमेश्‍वरप्रति साँचो विश्‍वास छ भने, तँसँग साँचो विश्‍वास हुन्छ। यदि तँसँग परमेश्‍वरप्रति थोरै मात्र विश्‍वास छ, र त्यो विश्‍वास अस्पष्ट र खोक्रो छ भने, तँसँग साँचो विश्‍वास छैन। यदि तँलाई परमेश्‍वर यो सबै कुरामाथि सार्वभौम हुन सक्नुहुन्छ र शैतान परमेश्‍वरको प्रभुत्वमा हुन्छ भन्‍ने कुरामा विश्‍वास छैन, र तँ अझै पनि ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूको डर मान्छस्, र तिनीहरूले मण्डलीमा दुष्कर्म गर्दा, मण्डलीको काम बिथोल्दा र बरबाद गर्दा तैँले सहन सक्छस्, र आफूलाई रक्षा गर्न शैतानसँग सम्झौता गर्न वा त्यसको कृपा माग्‍न सक्छस्, तर तिनीहरू विरुद्ध खडा हुन र लड्न आँट गर्दैनस्, र तँ भगुवा, चाटुकार, र रमिते बनेको छस् भने, तँमा परमेश्‍वरमाथिको साँचो विश्‍वास छैन। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा प्रश्‍न उठ्छ, जसले तेरो विश्‍वासलाई अत्यन्तै दयनीय बनाउँछ! जब तैँले ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूले परमेश्‍वरको घरमा बाधा र व्यवधानहरू ल्याइरहेको देख्छस् तर उदासीनतामा बस्छस्; जब तैँले आफ्नो जीवन, परिवार र आफ्‍ना सबै हित रक्षा गर्न परमेश्‍वरको घर र उहाँका चुनिएका मानिसहरूका हितहरूलाई धोका दिन्छस्, तब तँ एक विश्‍वासघाती, एक यहूदा बन्छस्। यो सीधा र स्पष्ट कुरा हो। हामी प्रायजसो ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूबारे सङ्गति र चिरफार गर्छौं, र तिनीहरूलाई कसरी चिन्‍ने र पहिचान गर्ने भनेर छलफल गर्छौं, र यो सबै सत्यताबारे स्पष्ट सङ्गति गर्ने उद्देश्यको लागि, र दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न मानिसहरूलाई समझशक्ति दिने उद्देश्यको लागि हो, ताकि तिनीहरूले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न सकून्। यसरी, परमेश्‍वरका चुनिएका मानिसहरू अबदेखि ख्रीष्टविरोधीहरूले बहकाउ वा बाधामा पर्नेछैनन्, र तिनीहरू शैतानको प्रभाव र बन्धनबाट मुक्त हुन सक्‍नेछन्। तैपनि, कतिपय मानिसहरूको हृदयमा अझै पनि दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शनहरू हुन्छन्। तिनीहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई चिन्‍ने प्रयास गर्दैनन्; बरु, तिनीहरूले चाटुकार मानिसहरूको भूमिका खेल्छन्। तिनीहरू ख्रीष्टविरोधीहरू विरुद्ध लड्दैनन्, तिनीहरूको लागि स्पष्ट सीमा तोक्‍ने काम गर्दैनन्, र आफ्नै हितहरू रक्षा गर्न खुकुलो र मध्यमार्गी शैली अपनाउँछन्। तिनीहरूले यी दियाबलसहरू, यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरको घरमा रहन दिन्छन्, र दियाबलसहरूलाई पालनपोषण गरेर खतरा निम्त्याउँछन्। तिनीहरूले यी दियाबलसहरूलाई मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य निर्वाहमा बेलगाम बाधा दिने अनुमति दिन्छन्। त्यस्ता मानिसहरूले कस्तो भूमिका खेल्छन्? तिनीहरू ख्रीष्टविरोधीहरूका ढाल र मतियार बन्छन्। तैँले ख्रीष्टविरोधीहरूले जस्तै काम नगरे पनि वा उस्तै दुष्ट कार्यहरू नगरे पनि, तँ तिनीहरूको दुष्कर्ममा सहभागी भएको हुन्छस्—तँ दोषी ठहरिन्छस्। तैँले ख्रीष्टविरोधीहरूलाई सहन्छस् र आश्रय दिन्छस्, र कुनै कारबाही वा अरू केही नगरी तिनीहरूलाई तेरो वरिपरि बरबादी ल्याउन दिन्छस्। के तैँले ख्रीष्टविरोधीहरूको दुष्टतामा सहभागिता जनाएको हुँदैनस् र? त्यसैले कतिपय झूटा अगुवा र चाटुकार मानिसहरू ख्रीष्टविरोधीहरूका मतियार बन्छन्। ख्रीष्टविरोधीहरूले मण्डलीको काम बिथोलिरहेको देखेर पनि तिनीहरूलाई खुलासा नगर्ने वा तिनीहरूको निम्ति स्पष्ट सीमा नतोक्‍ने जोकोही तिनीहरूको सेवक र मतियार बन्छ। तिनीहरूसँग परमेश्‍वरप्रति समर्पण र बफादारीको कमी हुन्छ। परमेश्‍वर र शैतानबीचको युद्धका महत्त्वपूर्ण क्षणहरूमा, तिनीहरू शैतानको पक्षमा खडा हुन्छन्, र यसरी ख्रीष्टविरोधीहरूलाई रक्षा गर्छन् र परमेश्‍वरलाई धोका दिन्छन्। त्यस्ता मानिसहरू परमेश्‍वरको लागि घृणित हुन्छन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ)

मेरो कुरा सुन्, जब तैँले कुनै व्यक्ति ख्रीष्टविरोधी हो भनेर थाहा पाउँछस्, तब यदि उसको प्रभाव ठूलो छ, अनि धेरै अगुवा र सेवकहरूले उसको कुरा सुन्छन् र तेरो कुरा सुन्दैनन्, अनि यदि तैँले उसको खुलासा गरिस् र सम्भवत तँलाई एक्ल्याइयो वा हटाइयो भने, तैँले आफ्नो रणनीतिलाई ध्यानपूर्वक विचार गर्नैपर्छ। उसलाई एक्लै सामना नगर्; परिस्थिति तेरो पक्षमा छैन। सुरुमा सत्यता बुझ्ने र समझशक्ति भएका केही मानिसलाई सम्पर्क गर्, अनि उनीहरूलाई सङ्गति गरिमाग्। यदि तिमीहरू सहमतिमा पुग्यौ भने, सत्यता स्विकार्न र सहमतिमा आउन सक्ने थप दुई अगुवा वा सेवकसँग कुरा गर्। केही मानिसहरू सँगै काम गरेर संयुक्त रूपले ख्रीष्टविरोधीलाई खुलासा गर र तह लगाऊ। यसरी, तिमीहरूलाई सफलता मिल्ने मौका हुन्छ। यदि ख्रीष्टविरोधीको ज्यादै ठूलो प्रभाव छ भने, तिमीहरू माथिलाई रिपोर्ट पत्र पनि लेख्न सक्छौ। यो सबैभन्दा उत्तम शैली हो। यदि केही अगुवा र सेवकले तिमीहरूलाई साँच्चै दबाउन खोज्छन् भने, तिमीहरू तिनीहरूलाई यसो भन्न सक्छौ, “यदि तिमीहरू हामीले गरेको खुलासा र रिपोर्ट स्विकार्दैनौ भने, हामी यस मामलालाई माथिकहाँ लैजानेछौँ र उहाँले नै तिमीहरूलाई तह लगाउनुहोओस्!” यसो गर्दा तिमीहरूलाई सफलता मिल्ने झन् बढी मौका हुन्छ, किनकि तिनीहरू तिमीहरूविरुद्ध जाने आँट गर्नेछैनन्। ख्रीष्टविरोधीहरूको सामना गर्दा, तैँले यो भरपर्दो शैली अपनाउनैपर्छ—कहिल्यै एक्लैले सामना नगर्। यदि तँसित केही अगुवा र सेवकहरूको साथ छैन भने, तेरा प्रयासहरू विफल भएरै छाड्छन्, तैँले रिपोर्ट पत्र लेखेर माथिलाई बुझाइस् भने मात्र तेरा प्रयासहरू सफल हुन्छन्। ख्रीष्टविरोधीहरू अत्यन्तै अन्तर्घाती र धूर्त हुन्छन्। यदि तँसित पर्याप्त प्रमाण छैन भने, तिनीहरूविरुद्ध नलाग्। तिनीहरूसँग तर्क वा वादविवाद गर्नु बेकार छ, प्रेम देखाएर तिनीहरूलाई परिवर्तन गर्न खोज्नु बेकार छ, अनि तिनीहरूसित सत्यताबारे सङ्गति गरेर केही हुनेवाला छैन; तैँले तिनीहरूलाई परिवर्तन गर्न सक्नेछैनस्। तैँले तिनीहरूलाई परिवर्तन गर्न नसक्ने परिस्थितिमा तिनीहरूसित मनदेखि कुरा गर्नु, तिनीहरूसित तर्क गर्नु, र तिनीहरूले पश्चात्ताप गरेको पर्खनु तेरो सर्वोत्तम कार्यविधि हुँदैन। बरु, तिनीहरूलाई थाहा नदिई तिनीहरूको खुलासा र रिपोर्ट गर्, माथिलाई नै तिनीहरूलाई तह लगाउन दे, अनि तिनीहरूको खुलासा गर्न, रिपोर्ट गर्न, र तिनीहरूलाई अस्वीकार गर्न अझ धेरै मानिसहरूलाई प्रोत्साहित गर्, ताकि अन्त्यमा तिनीहरू मण्डलीबाट जरैदेखि फालिऊन्। के यो राम्रो विधि होइन र? यदि तिनीहरूले तेरा भित्री सोचहरू बाहिर निकाल्ने, तँलाई जाँच्ने, र तैँले तिनीहरूलाई कतै खुट्ट्याएको छस् कि छैनस् भनी हेर्ने उद्देश्य राखेमा, तैँले तिनीहरू ख्रीष्टविरोधि हुन भनेर पहिल्यै चिनिसकेको छस् भने तैँले के गर्नुपर्छ? (मैले तिनीहरूलाई साँचो कुरा भन्नु हुँदैन, बरु केही समयका लागि तिनीहरूकै कुरा पछ्याउनुपर्छ, मेरो खुट्ट्याइ तिनीहरूलाई थाहा दिनु हुँदैन, र त्यसपछि मैले गोप्य तरिकाले तिनीहरूको खुलासा र रिपोर्ट गर्नुपर्छ।) यो विधि कस्तो छ? (राम्रो।) तैँले दियाबलस र शैतानहरूका योजनाहरू छर्लङ्गै बुझ्नु जरुरी छ र तिनीहरूका पासो वा जालमा पर्नबाट जोगिनैपर्छ। तैँले शैतान र दियाबलसहरूको सामना गर्दा, बुद्धि प्रयोग गर्न, र तिनीहरूसित साँचो कुरा नबोल्न जरुरी हुन्छ। किनभने तैँले परमेश्वर र सच्चा दाजुभाइ-दिदीबहिनीहरूसित मात्र साँचो कुरा बोल्न मिल्छ। तैँले शैतान, दियाबलस, वा ख्रीष्टविरोधीहरूसित कहिल्यै साँचो कुरा बोल्नु हुँदैन। तेरो हृदयको कुरा बुझ्न अनि तेरो हृदयमा सार्वभौमिकता राख्न र त्यसलाई जाँच्न परमेश्वर मात्र योग्य हुनुहुन्छ। तेरो हृदयलाई नियन्त्रण गर्न वा जाँच्न कोही पनि, विशेष गरी दियाबलस र शैतानहरू, योग्य हुँदैनन्। त्यसकारण, यदि दियाबलस र शैतानहरूले तँबाट सत्यता निकाल्ने प्रयास गर्छन् भने, तँसित “नाइँ” भन्ने, त्यसको जवाफ दिन अस्वीकार गर्ने, र जानकारी नदिने अधिकार छ—यो तेरो अधिकार हो। यदि तैँले “तँ दियाबलस, मबाट मेरा शब्दहरू फुत्काउन चाहन्छस्, तर म तँलाई साँचो कुरा भन्नेछैनँ, म तँलाई बताउनेछैनँ। म तेरो रिपोर्ट गर्नेछु—तैँले मलाई के गर्न सक्छस्? यदि तैँले मलाई सताउने आँट गरिस् भने म तेरो रिपोर्ट गर्नेछु; यदि तैँले मलाई सताइस् भने, परमेश्वरले तँलाई श्राप र दण्ड दिनुहुनेछ!” भनिस् भने, के यसले काम गर्छ? (अहँ, गर्दैन।) बाइबल भन्छ, “यसैले तिमीहरू सर्पहरूझैँ बुद्धिमान् र ढुकुरहरूझैँ हानिरहित होओ” (मत्ती १०:१६)। यस्ता परिस्थितिमा, तँ सर्पझैँ बुद्धिमान् हुनैपर्छ; तँ बुद्धिमान् हुनुपर्छ। हाम्रो हृदय परमेश्वरले मात्र जाँच्न र स्वामित्वमा राख्न योग्य छ, र उहाँलाई मात्र दिनुपर्छ। हाम्रा हृदयको योग्य परमेश्वर मात्र हुनुहुन्छ, शैतान र दियाबलसहरू योग्य छैनन्! त्यसकारण, के ख्रीष्टविरोधीहरूलाई हाम्रो हृदयमा के छ वा हामी के सोचिरहेका छौँ भनेर जान्ने अधिकार छ? तिनीहरूलाई त्यो अधिकार छैन। तिनीहरूले तँबाट सत्यता फुत्काउने र तँलाई जाँच्ने प्रयास गर्नुको उद्देश्य के हो? तिनीहरूको उद्देश्य तँलाई नियन्त्रण गर्नु हो; तैँले यो कुरा प्रस्ट रूपमा बुझ्नैपर्छ। त्यसैले, तिनीहरूलाई साँचो कुरा नभन्। तैँले तिनीहरूलाई खुलासा र अस्वीकार गर्न, पदबाट झार्न, र कहिल्यै सफल हुन नदिनका लागि अझ धेरै दाजुभाइ-दिदीबहिनीहरूलाई एकजुट पार्ने उपायहरू खोज्नु जरुरी छ। तिनीहरूलाई मण्डलीबाट जरैदेखि उखेलेर फाल्, परमेश्वरको घरमा फेरि बाधा पुऱ्याउने र शक्ति चलाउने कुनै पनि मौका नदे।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चौध: तिनीहरू परमेश्‍वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रको रूपमा लिन्छन्

कतिपय मानिस भन्छन्, “ख्रीष्टविरोधीहरू त भ्रष्ट स्वभाव भएका मानिस मात्र हुन्। मानिसहरूमा मानव भावनाहरू हुन्छन्। यदि तिमीले तिनीहरूलाईभावनात्मक रूपमा मोहित पाऱ्यौ, कामकुरालाई तार्किक रूपमा व्याख्या गऱ्यौँ, र फाइदा-बेफाइदाहरू प्रस्ट पाऱ्यौ भने, तिनीहरूले सिद्धान्त बुझेपछि त्यसरी कार्य नगर्लान्। तिनीहरूले आफ्ना गल्तीस्विकार्लान्, पश्चात्ताप गर्लान्, र ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न छाड्लान्। तिनीहरूले परमेश्वरको घरमा आफ्नो अधिकारक्षेत्र स्थापित गर्ने, परमेश्वरको घरभित्र शक्तिमा एकाधिकार जमाउन आफ्ना कट्टर अनुयायीहरूलाई ल्याउने, अनि मानवता र नैतिकता अनुरूप नभएका यी कार्यहरूमा संलग्न हुने काम नगर्लान्।” के ख्रीष्टविरोधीहरू यसरी प्रभावित हुन सक्छन्? (सक्दैनन्।) के कसैले कहिल्यै कुनै ख्रीष्टविरोधीलाई परिवर्तन गरेको छ? कतिपय भन्छन्, “सायद तिनीहरूले सानैदेखि आफ्ना आमाबाट राम्रो शिक्षा पाएनन्, तिनीहरू बिग्रिए। अहिले, यदि तिनका आमाले तिनीहरूसित कुरा गरी वा परिवारको सबैभन्दा प्रतिष्ठित व्यक्तिले, वा सबैभन्दा लामो समयदेखि विश्वासी रहेको व्यक्तिले तिनीहरूसित तर्क गरेमा तिनीहरूले ख्रीष्टविरोधीहरूले गर्ने कामकुरा गर्न छोड्लान्।” के यो साँचो हो? (होइन।) किन होइन? (तिनीहरूसित तर्क गरेर काम छैन; तपाईं जति धेरै कुरा गर्नुहुन्छ, त्यति नै तिनीहरू अप्रसन्न हुन्छन्। यदि तपाईंले तिनीहरूलाई खुलासा र काट-छाँट गरिहनुभयो भने, तिनीहरूले तपाईंलाई घृणा गर्नेछन्।) ठिक भनिस्। के तिनीहरूले परमेश्वरका वचनहरू र सत्यता धेरै सुनेका हुँदैनन् र? कतिपय ख्रीष्टविरोधीले कुनै परिवर्तन नभई दसबीस वर्षदेखि परमेश्वरमा विश्वास गरेका हुन्छन् र परमेश्वरका वचनहरू धेरै नै पढेका हुन्छन्। किन कुनै पनि परिवर्तन आएको छैन? किनभने तिनीहरूको हृदय दुष्टताले भरिएको हुन्छ—परमेश्वरले त तिनीहरूलाई मुक्ति दिन सक्नुहुन्न भने के मानिसहरूले आफूसँग भएको थोरै ज्ञान र धर्मसिद्धान्तद्वारा तिनीहरूलाई परिवर्तन गर्न सक्छन्? मानव समाजमा, देशहरूमा शिक्षा हुन्छ, र समाजमा कानुन हुन्छ, र ती सबैले मानिसहरूलाई असल बन्न सिक्न र अपराध नगर्न हौसला दिन्छन्। तर त्यसले मानिसहरूलाई किन परिवर्तन गर्न सक्दैन? के राष्ट्रिय शिक्षा र प्रणालीले समाजमा कुनै सकारात्मक प्रभाव पारेका छन्? के राष्ट्रले प्रवर्धन गर्ने ती कुराहरूमा मानवताका लागि कुनै शैक्षिक महत्त्व वा मूल्य हुन्छ? के ती प्रभावकारी भएका छन्? (छैनन्।) के मानिसहरूलाई अनुशासनमा राख्ने सबैभन्दा उच्च र कडिकडाउ ठाउँ बाल सुधार गृह र जेलजस्ता हरेक देशका कानुनी विभागहरूले समेत मानिसहरूको सार परिवर्तन गरेका छन् त? केही बलात्कारी, चोर, र ठगहरूको कुरा गरौँ—तिनीहरू यति धेरै जेल जाने र जेलबाट छुट्ने गर्छन् कि तिनीहरू बानी परेका अपराधी नै बन्छन्—के तिनीहरू अन्त्यमा परिवर्तन हुन्छन् त? अहँ, तिनीहरूलाई कसैले परिवर्तन गर्न सक्दैन। व्यक्तिको सार परिवर्तन गर्न सकिँदैन। त्यसै गरी, ख्रीष्टविरोधीहरूको सार पनि परिवर्तन गर्न सकिँदैन। शक्तिमा एकाधिकार जमाउने अभ्यासले ख्रीष्टविरोधीहरूको सारलाई जनाउँछ, र यो सार परिवर्तन गर्न सकिँदैन। यस्तो परिवर्तन गर्न नसकिने व्यक्तिप्रति परमेश्वरको मनोवृत्ति कस्तो हुन्छ? के यो उहाँले उसलाई परिवर्तन गर्न र मुक्ति दिन सक्दो गर्ने र त्यसपछि उसको प्रकृतिमा रूपान्तरण ल्याउने मनोवृत्ति हुन्छ? के परमेश्वर यो काम गर्नुहुन्छ? (गर्नुहुन्न।) अब तिमीहरूले परमेश्वर यस्तो काम गर्नुहुन्न भनेर बुझिसकेपछि, ख्रीष्टविरोधीहरूसित कस्तो व्यवहार गर्नुपर्छ? (तिनीहरूलाई इन्कार गर्नुपर्छ।) पहिला, खुट्ट्याउने र विश्लेषण गर्ने गर्; तिनीहरूलाई छर्लङ्गै बुझेपछि, इन्कार गर्। कुनै व्यक्तिलाई ऊ अहङ्कारी र आत्मधर्मी अनि ख्रीष्टविरोधीजस्तै छ भन्ने सोचेर आफ्नै धारणा र कल्पनाहरूको आधारमा इन्कार नगर्। यसो गरेर हुँदैन; तँ अन्धो बन्न मिल्दैन। सम्पर्क गरेर, अनुसन्धान गरेर र खुट्ट्याएर बिस्तारै कुनै व्यक्ति ख्रीष्टविरोधी भएको प्रमाणित र पुष्टि गर्। पहिला, सबैसित ती कुराहरूको सङ्गति र विश्लेषण गर्, ती खुट्ट्याउने काम गर्, अनि त्यसपछि सत्यता पछ्याउने र न्यायको बोध भएका मण्डलीका मानिसहरूसित एक भई उसलाई इन्कार गर्। पहिला उसलाई खुट्ट्याउने र विश्लेषण गर्ने गर्, र त्यसपछि इन्कार गर्—ख्रीष्टविरोधीहरूसँग व्यवहार गर्ने यो नै सर्वोत्तम विधि हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चौध: तिनीहरू परमेश्‍वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रको रूपमा लिन्छन्

परमेश्‍वरको घरले किन ख्रीष्टविरोधीहरूलाई निष्कासित गर्न चाहन्छ? तिनीहरूलाई राखेर सेवा गर्न दिनु ठीक हुने हो कि? के तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौका दिनु ठीक हुन्छ? (अहँ, हुँदैन।) के तिनीहरूले सत्यता पछ्याउन सक्‍ने कुनै सम्भावना हुन्छ? (ख्रीष्टविरोधीहरूले सत्यता पछ्याउन सक्दैनन्।) अब तैँले ख्रीष्टविरोधीहरू शैतानका मानिसहरू हुन् र तिनीहरूले पश्‍चात्ताप गर्न सक्दैनन्, त्यसैले तिनीहरूलाई निष्कासित गरिन्छ भन्‍ने कुरा पत्ता लगाएको छस्। कसैलाई पनि त्यतिकै निष्कासित गरिँदैन। परमेश्‍वरको घरले बारम्बार धैर्यधारण गर्छ, तिनीहरूलाई बारम्बार पश्‍चात्ताप गर्ने मौका दिन्छ, र तिनीहरूलाई छुट दिन्छ, ताकि असल मानिसहरूलाई गलत दोष नलागोस्, र ताकि कसैलाई पनि त्यतिकै निष्कासित वा बरबाद नगरियोस्। तिनीहरूले परमेश्‍वरमा यति धेरै वर्ष विश्‍वास गर्नु त्यति सजिलो कुरा होइन; तिनीहरूको भित्री रूप पूर्ण रूपमा नदेखिएसम्‍म, तिनीहरू पूर्ण रूपमा खुलासा नभएसम्म परमेश्‍वरको घरले हरकसैप्रति सहनशीलता देखाउँछ। तर के ख्रीष्टविरोधीहरूले पश्‍चात्ताप गर्न सक्छन्? तिनीहरूले पश्‍चात्ताप गर्न सक्दैनन्। परमेश्‍वरको घरमा तिनीहरूले खेल्ने भूमिका शैतानका सेवकहरूको भूमिका हो, जसले परमेश्‍वरको घरको कामलाई तोड्ने, बाधा र व्यवधान पुर्‍याउने काम गर्छन्। तिनीहरूसँग केही वरदान र प्रतिभा भए पनि, तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निभाउन, वा सही मार्ग हिँड्नको लागि कठिन परिश्रम गर्न सक्दैनन्। ख्रीष्टविरोधीहरूमा केही उपयोगी पक्षहरू भए पनि, तिनीहरूले परमेश्‍वरको घरको काममा सकारात्मक योगदान दिँदैनन्। तिनीहरूले परमेश्‍वरको काममा बाधा, व्यवधान, र खलल पुर्‍याउनेबाहेक अरू केही गर्दैनन्, र तिनीहरूले असल कुराहरू गर्दैनन्। तैँले तिनीहरूलाई अवलोकन गर्न राखिस् र तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौका दिइस्, तर तिनीहरू पश्‍चात्ताप गर्न असमर्थ भए। अन्त्यमा, अपनाइएको समाधान तिनीहरूलाई निष्कासन गर्नु थियो। तिनीहरूलाई निष्कासन गर्नुभन्दा पहिले, तैँले यस्ता व्यक्तिहरू पश्‍चात्ताप गर्नुभन्दा मर्न रुचाउने ख्रीष्टविरोधीहरू हुन्, र तिनीहरू परमेश्‍वर र सत्यताविरोधी छन् भन्‍ने तथ्य देखेको थिइस्। फलस्वरूप, तिनीहरूलाई निष्कासन गरियो। यदि तिनीहरू असल व्यक्ति हुन्थे भने, के तिनीहरूलाई निष्कासन गरिनेथियो? यदि तिनीहरूले सत्यता स्विकारेर पश्‍चात्ताप गर्न सक्थे भने, के तिनीहरूलाई निष्कासन गरिनेथियो? बढीमा तिनीहरूलाई कर्तव्यबाट बर्खास्त गरिनेथियो र आत्मिक भक्ति र मननमा सहभागी हुन पठाइनेथियो, तर निष्कासन नगरिनेथियो। परमेश्‍वरको घरले कसैलाई निष्कासन गर्ने निर्णय गरेपछि, यसको अर्थ यदि उसलाई बस्न दिइयो भने ऊ परमेश्‍वरको घरको लागि काँडा हुनेछ भन्‍ने हुन्छ। तिनीहरूले असल कुराहरू गर्दैनन्, तिनीहरूले बाधा र व्यवधानहरू मात्रै ल्याउँछन्, र हरकिसिमका खराब कुराहरू गर्छन्। तिनीहरू जुनसुकै मण्डलीमा हुन्थे भने पनि, तिनीहरूले यति हदसम्म बाधा दिनेथिए कि यो बालुवाजस्तै छरपष्ट हुनेथियो, काम ठप्प हुनेथियो, धेरैजसो मानिसहरूलाई निकै निराश लाग्नेथियो र तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वास गुमाउनेथिए, र कति मानिसहरूले त आफ्नो विश्‍वास समेत त्याग्‍न चाहनेथियो र कर्तव्य निभाउन जारी राख्‍न सक्दैनथे। यसको कारण के हो? यो ख्रीष्टविरोधीका बाधाहरूले पैदा गरेको हुन्छ। त्यो मण्डलीमा कुनै आशा हुनको लागि, मण्डली जीवन सामान्य बन्‍नको लागि, र परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा परमेश्‍वरका चुनिएका मानिसहरू प्रवेश गर्नको लागि, ख्रीष्टविरोधीलाई तह लगाइनुपर्छ, सफाइ गरिनुपर्छ, र निष्कासित गरिनुपर्छ। कति मानिसहरूले भन्छन्: “परमेश्‍वर प्रेम हुनुहुन्छ, त्यसैले हामीले ख्रीष्टविरोधीहरूलाई पनि पश्‍चात्ताप गर्ने मौका दिनुपर्छ।” यी शब्दहरू निकै राम्रा सुनिन्छन्, तर के वास्तविकता साँच्‍चै यस्तै हुन्छ त? ध्यान दिएर अवलोकन गर: निष्कासित गरिएका कति ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले पछि आफूलाई चिनेका छन्, र सत्यतालाई पछ्याउन र प्रेम गर्न सकेका छन्? ककसले पश्‍चात्ताप गरेका छन्? तिनीहरू कसैले पनि पश्‍चात्ताप गरेका छैनन् र तिनीहरू सबैले जिद्दी भएर आफ्नो पाप स्विकार्न नमानेका छन्, र जति धेरै वर्षपछि तैँले तिनीहरूलाई भेटे पनि, तिनीहरू अझै पनि यस्तै अवस्थामा हुन्छन्, विगतमा भएकै कुराहरूमा अडिग रहेका हुन्छन् र त्यसलाई छोडेका हुँदैनन्, र आफूलाई सही साबित गर्ने र स्पष्टीकरण दिने प्रयास गरिरहेका हुन्छन्। तिनीहरूको स्वभाव कति पनि परिवर्तन भएको हुँदैन। यदि तैँले तिनीहरूलाई फर्काएर मण्डली जीवन सुरु गर्न, र कर्तव्य निभाउन दिइस् भने, तिनीहरूले अझै पनि मण्डलीको काममा बाधा र व्यवधान ल्याउनेछन्। पावलले जस्तै, तिनीहरूले उही पुराना गल्तीहरू गर्नेछन्, आफूलाई उचाल्नेछन् र आफ्नै बारे गवाही दिनेछन्। तिनीहरू सत्यता पछ्याउने मार्ग हिँड्न पटक्‍कै सक्दैनन्, र आफ्नै पुरानो मार्ग, ख्रीष्टविरोधीको मार्ग, र पावलको मार्ग हिँड्‍नेछन्। ख्रीष्टविरोधीहरूलाई निष्कासित गर्ने आधार नै यही हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ)

सम्बन्धित अनुभवात्मक गवाहीहरू

मैले कसरी ख्रीष्टविरोधीको रिपोर्ट गरेँ

म ख्रीष्टविरोधीहरूका दुष्ट शक्तिविरुद्ध लड्ने आँट गर्छु

सम्बन्धित भजनहरू

सत्यताको लागि असल लडाइ लड

अघिल्लो: ११. ख्रीष्टविरोधीहरूको स्वभाव र सारबीच भिन्नता

अर्को: १. परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो, परमेश्‍वरलाई पछ्याउनु भनेको के हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्