१. परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो, परमेश्‍वरलाई पछ्याउनु भनेको के हो

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, थोरैले मात्र परमेश्‍वरप्रतिको विश्‍वासको अर्थ के हो र परमेश्‍वरको इच्छा अनुरूप हुन तिनीहरूले के गर्नुपर्छ भनी बुझ्दछन्। यस्तो हुनुको कारण, मानिसहरू “परमेश्‍वर” शब्द र “परमेश्‍वरको कार्य” जस्ता वाक्यांशसित परिचित भए पनि तिनीहरूले परमेश्‍वरलाई नचिन्नु, र अझ उहाँको कार्यको बारेमा त नजान्नु हो। त्यसैले, परमेश्‍वरलाई नचिन्नेहरू सबै उहाँमाथिको विश्‍वासमा अलमलिनु कुनै अचम्म मान्नुपर्ने कुरा होइन। मानिसहरूले परमेश्‍वरप्रतिको विश्‍वासलाई गम्भीर रूपमा लिँदैनन्, र तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने कार्य धेरै नै अपरिचित र अनौठो लागेको कारणले गर्दा नै पूर्ण रूपमा यसो भएको हुन्छ। यसरी, तिनीहरूले परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैनन्। अर्को शब्दमा भन्‍नुपर्दा, यदि मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन्, र उहाँको कार्यको बारेमा जान्दैनन् भने, तिनीहरू परमेश्‍वरको प्रयोगका लागि योग्य हुँदैनन्, तिनीहरूले उहाँको इच्छा पूरा गर्ने कुरा त परै जाओस्। “परमेश्‍वरमाथिको विश्‍वास” भनेको परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; परमेश्‍वरमा विश्‍वास गर्ने सम्बन्धमा सबैभन्दा सरल अवधारणा यही हो। यसबाहेक, परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु भनेको परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्नु सरह होइन; बरु, यो बलियो धार्मिक धारणा सहितको साधारण विश्‍वास हो। परमेश्‍वरप्रतिको साँचो विश्‍वासको अर्थ निम्न हुन्छन्: परमेश्‍वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने विश्‍वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावलाई शुद्ध पार्छ, परमेश्‍वरको इच्छा पूरा गर्छ, र परमेश्‍वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र “परमेश्‍वरमाथिको विश्‍वास” भन्न सकिन्छ। तापनि मानिसहरूले परमेश्‍वरमाथिको विश्‍वासलाई प्रायजसो एउटा साधारण र सानोतिनो कुराको रूपमा हेर्छन्। यस्तो प्रकारले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ गुमाइसकेका हुन्छन्, र तिनीहरूले आखिरीसम्म विश्‍वास गरिरहे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरू गलत बाटोमा हिँड्छन्। आज वचन र खोक्रा सिद्धान्तहरू अनुसार परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू पनि अझै छन्। तिनीहरूले आफूमा परमेश्‍वरमाथिको विश्‍वासको सारको अभाव छ भनी बुझ्दैनन्, र तिनीहरूले परमेश्‍वरको अनुमोदन पाउन सक्दैनन्। तापनि अझै तिनीहरू सुरक्षा र पर्याप्त अनुग्रहका आशिष्‌हरूको लागि परमेश्‍वरसँग प्रार्थना गर्छन्। हामी रोकिएर, हाम्रो मन शान्त पारौं, अनि आफैलाई सोधौं: के परमेश्‍वरमा विश्‍वास गर्नु पृथ्वीको सबैभन्दा सजिलो कुरा हुन सक्छ? के परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरबाट धेरै अनुग्रह पाउनु बाहेक अरू केही होइन भन्‍ने हुनसक्छ? के परमेश्‍वरलाई नचिनी उहाँमा विश्‍वास गर्ने वा परमेश्‍वरमा विश्‍वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँको इच्छा पूरा गर्न सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

परमेश्‍वरमाथिको आस्थालाई व्याख्या गर्ने सबैभन्दा सरल तरिका भनेको परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्नु हो, अनि यही जगमा, उहाँलाई पछ्याउनु, उहाँको आज्ञापालन गर्नु, उहाँको सार्वभौमिकता, योजनाबद्ध कार्यहरू र प्रबन्धहरूलाई स्वीकार गर्नु, उहाँका वचनहरूलाई चासो दिनु, उहाँका वचनहरूअनुरूप जिउनु, सबै कुरा उहाँका वचनहरूअनुसार गर्नु, सृष्टि गरिएको एक सच्‍चा प्राणी बन्‍नु, र उहाँको भय मान्नु र खराबीबाट अलग बस्नु हो; यो मात्र परमेश्‍वरमाथिको साँचो आस्था हो। परमेश्‍वरलाई पछ्याउनु भनेको यही हो। यदि तँ परमेश्‍वरलाई पछ्याउँछु भन्छस्, तर तेरो हृदयमा परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्दैनस्, र ती वचनहरूप्रति शङ्कालु मनोवृति कायम राख्छस्, अनि उहाँको सार्वभौमिकता, योजनाबद्ध कार्यहरू, र प्रबन्धहरूलाई स्वीकार गर्दैनस्, र परमेश्‍वरले गर्ने कार्यबारे तँसित सधैँ धारणा र गलत बुझाइहरू हुन्छन्, र त्यसबारे गुनासो गर्छस् र तँ सधैँ असन्तुष्ट हुन्छस् भने; र उहाँले गर्ने कार्यलाई सधैँ तेरा आफ्नै धारणा र कल्पनाअनुसार नापिरहेको र विचार गरिरहेको हुन्छस् भने; अनि यदि तँसित सधैँ तेरा आफ्नै सोच र बुझाइहरू हुन्छन् भने—त्यसले समस्या निम्त्याउनेछ। त्यो परमेश्‍वरको काम अनुभव गर्नु होइन, र त्यो साँचो रूपले उहाँलाई पछ्याउने मार्ग हुँदै होइन। यो परमेश्‍वरप्रतिको आस्था होइन।

वास्तवमा, परमेश्‍वरमा आस्था राख्नु भनेको के हो? के धर्ममा विश्‍वास गर्नु परमेश्‍वरमा आस्था राख्नु बराबर हो? धर्ममा विश्‍वास गर्नु भनेको, शैतानको पछि लाग्नु हो; परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरलाई पछ्याउनु हो, र ख्रीष्टलाई पछ्याउनेहरू मात्र परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नेहरू हुन्। परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा अलिकति पनि स्वीकार नगर्ने व्यक्ति परमेश्वरको सच्चा विश्वासी होइन। तिनीहरूले जति धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि त्यसबाट केही फाइदा हुँदैन। यदि परमेश्वरका एक विश्वासी केवल धर्मकर्ममा संलग्न हुन्छ तर सत्यता अभ्यास गर्दैन भने, ऊ परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होइन, र परमेश्‍वरले तिनीहरूलाई स्वीकार गर्नुहुन्‍न। यदि परमेश्वरद्वारा तँ उहाँको अनुयायीको रूपमा स्विकारिने हो भने, तँमा के हुन आवश्यक छ? के तँलाई परमेश्वरले कुनै व्यक्तिलाई मापन गर्ने मापदण्डहरू थाहा छ? तैँले सबथोक परमेश्वरको मापदण्डअनुसार गर्छस् कि गर्दैनस्, अनि उहाँका वचनमा आधारित सत्यता अभ्यास र पालना गर्छस् कि गर्दैनस् भनी उहाँ मूल्याङ्कन गर्नुहुन्छ। यही मापदण्डद्वारा परमेश्वर व्यक्तिलाई मापन गर्नुहुन्छ। परमेश्वर तैँले उहाँमा कति वर्ष विश्वास गरेको छस्, तँ कुन हदसम्म पुगेको छस्, तँसित असल व्यवहारहरू कति छन्, वा तँ धर्मसिद्धान्तका कति वचनहरू बुझ्छस् भन्ने कुराको आधारमा मापन गर्नुहुन्न। उहाँ तँलाई तँ सत्यता पछ्याउँछस् कि पछ्याउँदैनस् अनि कुन मार्ग रोज्छस् भन्ने आधारमा मापन गर्नुहुन्छ। धेरै मानिसहरू परमेश्वरलाई मुखले विश्वास र प्रशंसा गर्छन्, तर हृदयमा भने परमेश्वरले भन्ने वचनहरूलाई प्रेम गर्दैनन्। तिनीहरू सत्यताप्रति चासो राख्दैनन्। तिनीहरू सधैँ सामान्य मानिसहरू शैतानको दर्शन वा विविध सांसारिक मतअनुसार जिउँछन्, यसरी व्यक्तिले आफ्नो रक्षा गर्न सक्छ, र यसरी संसारमा जिउनुको मूल्य हुन्छ भनी विश्वास गर्छन्। के यिनीहरू परमेश्वरलाई विश्वास गर्ने र पछ्याउने मानिस हुन्? अहँ, होइनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। धर्ममा रहेर वा धार्मिक विधिविधानमा सहभागी भएर मुक्ति पाउन सकिँदैन

परमेश्‍वरप्रतिको साँचो विश्‍वास भनेको केवल मुक्ति पाउनका लागि उहाँमा विश्‍वास गर्ने कार्य होइन, झन् यो असल व्यक्ति बन्न गरिने कार्य मात्र हुनु त परै जाओस्। यो मानव स्वरूप प्राप्त गर्न गरिने कार्य मात्रै पनि होइन। तथ्य के हो भने, परमेश्वरप्रतिको मानिसको विश्वासलाई परमेश्‍वर हुनुहुन्छ, अनि उहाँ सत्यता, बाटो, र जीवन हुनुहुन्छ, र कुरा त्यति हो भन्ने विश्वासको रूपमा मात्र हेर्नु हुँदैन। यो उहाँलाई स्विकार्नु, अनि उहाँ सबै थोकका शासक, सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले संसार र सबथोक बनाउनुभयो, उहाँ अद्वितीय र सर्वोच्च हुनुहुन्छ भनी विश्वास गर्नु पनि होइन। यो त तैँले त्यो तथ्यलाई विश्वास गरेर सकिने कुरा होइन। परमेश्‍वरको इच्‍छा भनेको तेरो सम्पूर्ण अस्तित्व र हृदय उहाँलाई दिनुपर्छ र उहाँमा समर्पित हुनुपर्छ भन्‍ने हो—अर्थात्, तैँले परमेश्‍वरलाई पछ्याउनुपर्छ, आफूलाई परमेश्‍वरद्वारा प्रयोग गरिन दिनुपर्छ, र तँ उहाँको सेवा गर्नसमेत खुसी हुनुपर्छ—तैँले उहाँका लागि जे गर्छस्, त्यो गर्नुपर्ने कुरा नै हो। परमेश्‍वरले पूर्वनिर्धारित गरेका र चुनेका मानिसहरूले मात्रै उहाँमा विश्‍वास गर्नुपर्छ भन्‍ने होइन। तथ्य के हो भने, सारा मानवजातिले उहाँको आराधना गर्नुपर्छ, उहाँको कुरा सुन्‍नुपर्छ र उहाँको आज्ञापालन गर्नुपर्छ, किनभने मानवजातिलाई परमेश्‍वरले नै बनाउनुभएको हो। यदि तँलाई परमेश्वरमा विश्वास गर्नुको उद्देश्य मुक्ति र अनन्त जीवन पाउनु हो भनेर थाहा छ, तर तँ पटक्कै सत्यता स्विकार्दैनस् र सत्यता पछ्याउने मार्गमा हिँड्दैनस् भने, तैँले आफूलाई मूर्ख बनाइरहेको छस्, होइन र? यदि तँ धर्मसिद्धान्त मात्र बुझ्छस् तर सत्यता पछ्याउँदैनस् भने, के तैँले सत्यता प्राप्त गर्न सक्छस्? परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा ठूलो पक्ष सत्यता पछ्याउनु हो। हरेक सत्यताको हकमा, मानिसहरूले त्यसको भित्री अर्थ के हो, सत्यताको त्यो पक्षलाई कसरी अभ्यास गर्ने, र त्यसमा कसरी प्रवेश गर्ने भन्ने कुरालाई खोजी गर्ने, मनन गर्ने, र अनुसन्धान गर्ने गर्नुपर्छ। विश्वासीहरूले बुझ्नैपर्ने र तिनीहरूमा हुनैपर्ने कुरा यिनै हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, तैँले उहाँका वचनहरू खानु र पिउनुपर्छ, उहाँका वचनहरू अनुभव गर्नुपर्छ, र उहाँका वचनहरूमा जिउनुपर्छ। केवल यसलाई मात्र परमेश्‍वरमा विश्‍वास गर्नु भनेर भन्न सकिन्छ! यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छु भनी भन्छस्, तर पनि उहाँका कुनै पनि वचनहरूलाई व्यवहारमा लागू गर्न वा कुनै वास्तविकता पैदा गर्न सक्दैनस् भने, यसलाई परमेश्‍वरमा विश्‍वास गर्नु भनिदैन। बरु, यो “भोक तृप्त गर्न रोटी खोज्नु” हो। वास्तविकताको सानो अंश समेत नजानी, नगण्य प्रमाणहरू, प्रयोगहीन कुराहरू, र सतही कुराहरूबारे मात्र बोल्‍नु: यिनीहरूले परमेश्‍वरमा विश्‍वास निर्माण गर्न सक्दैनन्, र तैँले परमेश्‍वरमा विश्‍वास गर्ने ठीक तरिकालाई बिलकुल बुझेको छैनस्। तैँले किन परमेश्‍वरका वचनहरू सम्‍भव भएसम्‍म धेरै खाने र पिउने गर्नुपर्छ? यदि तँ उहाँका वचनहरू खाने र पिउने गर्दैनस् तर स्वर्गमा चढ्न मात्र खोज्छस् भने, के त्यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? परमेश्‍वरमा विश्‍वास गर्नेले चाल्नु पर्ने पहिलो कदम के हो? कुन मार्गद्वारा परमेश्‍वरले मानिसलाई सिद्ध पार्नुहुन्छ? परमेश्‍वरका वचनहरू नखाई र नपिई तँलाई सिद्ध पारिन सकिन्छ? के तेरो वास्तविकताको रूपमा काम गर्ने परमेश्‍वरका वचनहरू विना तँलाई राज्यको व्यक्तिको रूपमा मान्‍न सकिन्छ? परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ यथार्थमा के हो? परमेश्‍वरमा विश्‍वास गर्नेहरू, कम्तीमा पनि, बाह्य रूपमा शिष्ट हुनुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरका वचनहरूले युक्त हुनुपर्छ। जे भए पनि, उहाँका वचनहरूबाट तँ फर्केर कहिल्यै टाढा जान सक्दैनस्। परमेश्‍वरलाई बुझ्ने र उहाँका अभिप्रायहरूलाई पूरा गर्ने सबै काम उहाँका वचनहरूद्वारा सफल हुन्छ। भविष्यमा, हरेक राष्ट्र, सम्प्रदाय, धर्म, र क्षेत्रलाई परमेश्‍वरका वचनहरूद्वारा विजय गरिनेछ। परमेश्‍वरले प्रत्यक्ष रूपमा बोल्नुहुनेछ, र सबै मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आफ्ना हातहरूमा पक्रनेछन्, र यो माध्यमद्वारा, मानवजाति सिद्ध हुनेछ। भित्र र बाहिर, परमेश्‍वरका वचनहरू सर्वत्र व्याप्त छन्: परमेश्‍वरका वचनहरूमा भित्र र बाहिर दुवै मग्न रहेर मानवजातिले आफ्ना मुखले परमेश्‍वरका वचनहरू बोल्नेछ, परमेश्‍वरका वचनहरू अनुसार अभ्यास गर्नेछ, र परमेश्‍वरका वचनहरूलाई आफूभित्र राख्नेछ। यसप्रकार मानवजाति सिद्ध हुनेछ। जसले परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्छन् र उहाँलाई साक्षी दिन सक्छन्, ती मानिसहरू आफ्नो वास्तविकताको रूपमा परमेश्‍वरका वचनहरूले भरिएका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

तँसित परमेश्‍वरमा विश्‍वास गर्ने बारेमा सही दृष्टिकोण हुनुपर्छ र तैँले परमेश्‍वरको वचन प्राप्त गर्ने कोसिस गर्नुपर्छ। तैँले परमेश्‍वरको वचन खानु र पिउनु पर्छ र तँ सत्यतामा जिउन सक्नुपर्छ, अनि विशेष गरी तैँले सम्पूर्ण ब्रह्माण्डमा भएका उहाँका व्यावहारिक कार्यहरू, उहाँका अचम्मका कामहरू साथै उहाँले देहमा गर्नुहुने व्यावहारिक कार्यहरू देख्न सक्नुपर्छ। आफ्‍ना व्यावहारिक अनुभवहरूद्वारा मानिसहरूले उनीहरूमा परमेश्‍वरले कसरी काम गर्नुहुन्छ र तिनीहरूप्रति उहाँका अभिप्रायहरू के छन् सो बुझ्न सक्छन्। यी सबैको उद्देश्य भनेको मानिसहरूको भ्रष्ट शैतानिक स्वभावलाई हटाउनु हो। तँभित्रका सबै अशुद्धता अधार्मिकता हटाएपछि, अनि तेरा गलत उद्देश्यहरू फालेपछि र परमेश्‍वरमा साँचो विश्‍वास विकास गरेपछि—साँचो विश्‍वासद्वारा मात्र तैँले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्छस्। परमेश्‍वरमाथिको तेरो विश्‍वासको आधारमा मात्रै तैँले उहाँलाई साँचो प्रेम गर्न सक्छस्। के परमेश्‍वरमा विश्‍वास नगरी तैँले उहाँको निम्ति प्रेम प्राप्त गर्न सक्छस्? तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् यसैले तँ त्यस विषयमा भ्रमित बन्न सक्दैनस्। केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्दा आशिषहरू पाइन्छ भन्‍ने देख्‍न साथ जोशले भरिन्छन्, तर तिनीहरूले शोधनको कष्ट भोग्नुपर्छ भन्‍ने देख्‍नसाथ सबै ऊर्जा गुमाउँछन्। के त्यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? आखिरीमा तैँले आफ्नो विश्‍वासमा परमेश्‍वरको सामु पूर्ण र पूरा समर्पणता प्राप्त गर्नुपर्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्छस्, तर अझै पनि उहाँबाट मागहरू गर्छस्, तैँले दबाउन नसक्ने धेरै वटा धार्मिक धारणाहरू छन्, तैँले छोड्न नसक्ने व्यक्तिगत रुचिहरू छन्, र अझै पनि तँ देहको आशिष् खोज्छस् र परमेश्‍वरले तेरो शरीरलाई उद्धार गर्नुभएको, तेरो प्राणलाई मुक्ति दिनुभएको चाहन्छस् साँचो रूपमा यी सबै गलत दृष्टिकोण भएका मानिसहरूमा हुने व्यवहारहरू हुन्। धार्मिक विश्‍वास हुने मानिसहरूमा परमेश्‍वरप्रति विश्‍वास भए पनि तिनीहरू आफ्नो स्वभाव परिवर्तन गर्न खोज्दैनन् र परमेश्‍वरको ज्ञानको खोजी गर्दैनन्, तर तिनीहरूका देहको हित हुने कुराहरू मात्र खोज्छन्। तिमीहरूमध्ये धेरै जनामा धार्मिक निश्‍चयताको वर्गमा पर्ने विश्‍वास छ; यो परमेश्‍वरमाथिको साँचो विश्‍वास होइन। परमेश्‍वरमा विश्‍वास गर्नको निम्ति मानिसहरूमा त्यस्तो हृदय हुनुपर्छ, जुन उहाँको निम्ति दुःख भोग्न तयार हुन्छ र आफैलाई त्याग्ने इच्छा गर्छ। मानिसले यी दुईवटा सर्त पूरा नगरे परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास मान्य हुँदैन, र तिनीहरू आफ्नो स्वभावमा परिवर्तन ल्याउन सक्षम हुँदैनन्। साँचो रूपले सत्यताको पछि लाग्‍ने, परमेश्‍वरको ज्ञानको खोजी गर्ने र जीवनको पछि लाग्‍ने मानिसहरू मात्रै परमेश्‍वरमा साँच्चै विश्‍वास गर्नेहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने तँ परमेश्‍वरमा समर्पित हुनु नै पर्छ, सत्यतालाई व्यवहारमा देखाउनुपर्छ र तेरा सबै कर्तव्यहरू पूरा गर्नैपर्छ। त्यसबाहेक, तैँले अनुभव गर्नुपर्ने कुराहरू तैँले बुझ्नुपर्छ। यदि तँ काटछाँट गरिएको, अनुशासित गरिएको र न्याय गरिएको मात्र अनुभव गर्छस् भने, यदि तँ परमेश्‍वरमा आनन्दित हुन मात्र सक्षम छस्, तर परमेश्‍वरले तँलाई अनुशासन वा काटछाँट गरिरहनुहुँदा त्यो महसुस गर्न सक्दैनस् भने यो स्वीकारयोग्य हुँदैन। सायद शोधनको यो उदाहरणमा तँ आफ्नो भूमिमा खडा हुन सक्छस्, तर अझै पनि यो पर्याप्त हुँदैन; तँ अझै अगाडि बढ्दै जानुपर्छ। परमेश्‍वरलाई प्रेम गर्ने पाठ कहिल्यै पनि रोकिँदैन र यसको कुनै अन्त्य छैन। मानिसहरू परमेश्‍वरलाई विश्‍वास गर्ने कुरालाई अति नै साधारण कुरा मान्छन्, तर एकचोटि तिनीहरूले केही व्यावहारिक अनुभव प्राप्त गरेपछि परमेश्‍वरमा विश्‍वास गर्नु मानिसहरूले कल्पना गरेजस्तो सरल नभएको तिनीहरू थाहा पाउँछन्। जब परमेश्‍वरले मानिसलाई शुद्ध पार्ने काम गर्नुहुन्छ, तब मानिसले दुःख भोग्छ। कुनै व्यक्तिलाई शोधन गर्ने काम जति ठूलो हुन्छ, उसमा परमेश्‍वरप्रतिलाई त्यति नै धेरै प्रेम गर्ने हृदय हुनेछ, अनि तिनीहरूमा परमेश्‍वरको शक्ति त्यति नै बढी प्रकट गरिनेछ। यसको विपरीत, व्यक्तिले जति कम शोधन प्राप्त गर्छ, उसमा परमेश्‍वरलाई त्यति नै कम प्रेम गर्ने हृदय हुनेछ, अनि तिनीहरूमा परमेश्‍वरको शक्ति त्यति नै कम प्रकट हुनेछ। त्यस्तो व्यक्तिको शोधन र पीडा जति ठूलो हुन्छ, तिनीहरूले उत्ति नै बढी यातना अनुभव गर्नेछन्, तिनीहरूको परमेश्‍वरप्रतिको प्रेम त्यति नै गहिरो भएर बढ्नेछ, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास उत्ति नै साँचो बन्नेछ, र परमेश्‍वरको बारेमा तिनीहरूको ज्ञान अझ गहन हुनेछ। तेरा अनुभवहरूमा, तैँले शोधन प्राप्त गर्दै गरेका, निकै काटछाँट गरिएका र अनुशासनमा राखिएका धेरै ठूलो दुःख पाइरहेको ती मानिसहरूमा परमेश्‍वरप्रति गहिरो प्रेम र परमेश्‍वरको अझ गहिरो र भेदकारी ज्ञान छ भन्‍ने देख्‍नेछस् र तिनीहरू जसले काटछाँट गरिएको अनुभव गरेका हुँदैनन् तिनीहरूमा सतही ज्ञान मात्र हुन्छ। तिनीहरू यसो मात्र भन्न सक्छन्: “परमेश्‍वर भलो हुनुहुन्छ, मानिसहरूले उहाँबाट आनन्द पाऊन् भनी उहाँले अनुग्रह प्रदान गर्नुहुन्छ।” यदि मानिसहरूले काटछाँट गरिएको र अनुशासनमा राखिएको अनुभव गरेका छन् भने तिनीहरू परमेश्‍वरको साँचो ज्ञानको विषयमा बोल्न सक्छन्। यसरी परमेश्‍वरले मानिसभित्र गर्नुहुने काम जति अचम्मको हुन्छ, त्यो त्यत्ति नै मूल्यवान् र महत्त्वपूर्ण हुन्छ। यो तेरो निम्ति जति धेरै अभेद्य र तेरो धारणासँग जति धेरै अमिल्दो छ, परमेश्‍वरको कामले तँलाई जित्न, र तँलाई हासिल गर्न र तँलाई सिद्ध बनाउन त्यति नै सक्षम हुन्छ। परमेश्‍वरको कामको कति ठूलो महत्त्व छ! यदि परमेश्‍वरले मानिसलाई यस्तो प्रकारले शोधन गर्नुभएन भने, यदि उहाँले यस तरिकाले काम गर्नुभएन भने उहाँको काम प्रभावहीन र महत्त्वहीन हुनेथियो। विगतमा भनिएको थियो, कि परमेश्‍वरले यो झुन्ड चुन्नुहुनेछ र प्राप्त गर्नुहुनेछ, र आखिरी दिनहरूमा तिनीहरूलाई पूर्ण बनाउनुहुनेछ; यसैमा असाधारण महत्त्व छ। उहाँले तँभित्र जति ठूलो काम गर्नुहुन्छ, उहाँप्रतिको तिमीहरूको प्रेम त्यत्ति नै गहिरो र शुद्ध हुन्छ। परमेश्‍वरको काम जति ठूलो हुन्छ त्यत्ति नै बढी मानिसले उहाँको बुद्धिको केही कुरा बुझ्न सक्छ र उहाँको विषयमा मानिसको ज्ञान अझ गहिरो बन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

आज परमेश्‍वरमाथिको वास्तविक विश्‍वास भनेको के हो? यो परमेश्‍वरको वचनलाई तेरो जीवन वास्तविकताको रूपमा स्वीकार गर्नु र परमेश्‍वरप्रतिको साँचो प्रेम हासिल गर्न उहाँलाई उहाँकै वचनबाट चिन्‍नु हो। अझ स्पष्ट रूपमा भन्दा: परमेश्‍वरमा विश्‍वास गर्नु भनेको तैँले उहाँमा समर्पित हुनु, उहाँलाई प्रेम गर्नु र सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कर्तव्य पूरा गर्नको लागि हो। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य यही नै हो। तैँले परमेश्‍वरको प्रेमिलोपनको, उहाँ हाम्रो आदरको कति योग्य हुनुहुन्छ, र परमेश्‍वरले उहाँका सृष्टि गरिएका प्राणीहरूमा कसरी मुक्तिको काम गर्नुहुन्छ र तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ भन्‍ने ज्ञान प्राप्त गर्नैपर्छ—यी परमेश्‍वरमाथिको तेरो विश्‍वासका अत्यावश्यक तत्वहरू हुन्। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले देहको जीवनबाट परमेश्‍वरलाई प्रेम गर्ने जीवनमा सर्नु हो; भ्रष्टतामा जिउनुबाट परमेश्‍वरको वचन पालन गर्ने जीवनमा सर्नु हो; यो शैतानको सत्ताबाट बाहिर निस्केर परमेश्‍वरको वास्ता र सुरक्षामा जिउनु हो; यो परमेश्‍वरमा समर्पित हुन सक्नु र देहमा समर्पित नहुनु हो; यो परमेश्‍वरलाई तेरो सम्पूर्ण हृदय प्राप्त गर्न दिनु हो, जसद्वारा परमेश्‍वरलाई तँलाई सिद्ध बनाउन दिनु हो, र तैँले आफैलाई भ्रष्ट शैतानिक स्वभावबाट मुक्त गर्नु हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको विशेष रूपले परमेश्‍वरको शक्ति र महिमा तँमा प्रकट हुन दिनु हो, तैँले परमेश्‍वरको इच्छालाई पछ्याउनु र उहाँको योजना पूरा गर्नु हो, साथै शैतानको सामु परमेश्‍वरको साक्षी दिन सक्नु हो। परमेश्‍वरमाथिको विश्‍वास चिन्हहरू र अचम्‍मका कामहरू हेर्न चाहने तेरो इच्छामा केन्द्रित हुनुहुँदैन, न त त्यो तेरो व्यक्तिगत देहको निम्ति नै हुनुपर्छ। त्यो परमेश्‍वरलाई चिन्ने, र परमेश्‍वरप्रति समर्पित हुन सक्ने हुन, अनि पत्रुसले झैं मृत्युसम्म उहाँमा समर्पित हुने विषयमा हुनुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नुका मुख्य उद्देश्यहरू यिनै हुन्। व्यक्तिले परमेश्‍वरलाई चिन्न र उहाँलाई सन्तुष्ट पार्नका निम्ति परमेश्‍वरको वचन खान्छ र पिउँछ। परमेश्‍वरको वचन खाँदा र पिउँदा त्यसले तँलाई परमेश्‍वरको बारेमा महान् ज्ञान दिन्छ, त्यसपछि मात्र तँ उहाँमा समर्पित हुन सक्छस्। परमेश्‍वर सम्‍बन्धी ज्ञानद्वारा मात्रै तैँले उहाँलाई प्रेम गर्न सक्छस्, अनि परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा हुनुपर्ने उद्देश्य यही नै हो। यदि परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ सधैँ चिन्हहरू र अचम्‍मका कामहरू हेर्ने मात्र कोसिस गर्छस् भने, परमेश्‍वरमाथिको विश्‍वासको यो दृष्टिकोण गलत छ। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले परमेश्‍वरको वचनलाई जीवन वास्तविकताको रूपमा ग्रहण गर्नु हो। परमेश्‍वरको मुखबाट निस्केको वचनलाई अभ्यास गरेर अनि तिनलाई तँ आफैमा लागू गरेर मात्र परमेश्‍वरको उद्देश्य पूरा हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्दा, मानिसले परमेश्‍वरद्वारा सिद्ध हुने, परमेश्‍वरमा समर्पित हुन सक्‍ने र परमेश्‍वरप्रति पूर्ण समर्पित हुने कार्यको खोजी गर्नुपर्छ। यदि तँ कुनै गुनासो नगरी परमेश्‍वरमा समर्पित हुन सक्छस्, परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्छस्, पत्रुसको कद हासिल गर्न सक्छस्, अनि परमेश्‍वरले भन्नुभएको जस्तो पत्रुसको शैली प्राप्त गर्न सक्छस् भने, तब तैँले परमेश्‍वरमाथिको विश्‍वासमा सफलता हासिल गरेको हुनेछस्, अनि त्यसले तँ परमेश्‍वरद्वारा प्राप्त गरिएको छस् भन्‍ने सूचित गर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

त्यसो भए, परमेश्‍वरमाथिको विश्‍वास भनेको के हो? परमेश्‍वरमाथिको विश्‍वास भनेको वास्तवमा परमेश्वरको मुक्ति पाउने प्रक्रिया हो र यो शैतानले भ्रष्ट तुल्याएको मानवबाट परमेश्‍वरको नजरमा सृष्टि गरिएको साँचो प्राणीमा परिवर्तन हुने प्रक्रिया हो। यदि कुनै व्यक्ति जिउनका लागि शैतानी स्वभाव र प्रकृतिमा निर्भर रहिरहन्छ भने, के ऊ परमेश्‍वरको नजरमा योग्य सृष्टि गरिएको प्राणी हो? (होइन।) तँ परमेश्‍वरमा विश्‍वास गर्छु, परमेश्‍वरलाई स्वीकार गर्छु, परमेश्‍वरको सार्वभौमिकतालाई स्वीकार गर्छु र परमेश्‍वरले तँलाई सबै थोक दिनुहुन्छ भनेर स्वीकार गर्छु भनी भन्छस्, तर के तँ परमेश्‍वरका वचनहरूमा जिउँछस्? के तँ परमेश्‍वरका मापदण्डहरूअनुसार जिउँछस्? के तैँले परमेश्‍वरको मार्गलाई पछ्याउँछस्? के तँजस्तो सृष्टि गरिएको प्राणी परमेश्‍वरको अघि आउन सक्छ? के तँ परमेश्‍वरसँगै जिउन सक्छस्? के तँमा परमेश्‍वरको डर मान्‍ने हृदय छ? के तैँले जिउने र तैँले हिँड्ने मार्ग परमेश्‍वरअनुरूप छ? (छैन।) त्यसो भए, परमेश्‍वरमाथिको तेरो विश्‍वासको अर्थ के हो? के तँ सही मार्गमा प्रवेश गरेको छस्? परमेश्वरप्रतिको तेरो विश्वास देखावटी व्यवहार र शब्दमा सीमित छ। तँ परमेश्‍वरको नामलाई विश्‍वास र स्वीकार गर्छस्, अनि परमेश्‍वरलाई आफ्नो सृष्टिकर्ता र सार्वभौम मान्छस्, तर तैँले मूलतः परमेश्‍वरको सार्वभौमिकता वा उहाँका योजनाबद्ध कार्यहरू स्वीकार गरेको छैनस्, र तँ पूर्ण रूपमा परमेश्‍वरको अनुरूप हुन सक्दैनस्। अर्थात्, परमेश्‍वरमाथिको तेरो विश्‍वासको अर्थ पूर्ण रूपमा पूरा भएको छैन। तैँले परमेश्‍वरमा विश्‍वास गरे पनि, तैँले आफ्‍नो भ्रष्टतालाई त्यागेर मुक्ति प्राप्त गरेको छैनस्, र तँ परमेश्‍वरमाथिको विश्‍वासका क्रममा प्रवेश गर्नुपर्ने सत्यता वास्तविकतामा प्रवेश गरेको छैनस्। यो एक गल्ती हो। यसलाई यसरी हेर्दा, परमेश्‍वरमाथिको विश्‍वास सरल कुरा होइन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

यत्तिका वर्षहरू विश्‍वास गरिसकेपछि, के तँसँग तेरो जीवनको रूपमा परमेश्‍वरको वचन रहेको छ? के तेरो पहिलेको भ्रष्ट स्वभावमा परिवर्तन आएको छ? परमेश्‍वरको आजको वचनअनुसार, के तँलाई जीवन पाउनु भनेको के हो, र जीवनविहीन हुनु भनेको के हो थाहा छ? के यो कुरा तिमीहरूको लागि स्पष्ट छ? परमेश्‍वरलाई पछ्याउने कार्यमा प्रमुख महत्त्वको कुरा भनेको सबै कुरा परमेश्‍वरको आजको वचनअनुसार नै हुनुपर्छ भन्‍ने हो: तैँले जीवन प्रवेश वा परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्न खोजिरहेको भए तापनि, सबै कुरा परमेश्‍वरको आजको वचन वरिपरि नै केन्द्रित हुनुपर्छ। यदि तेरो कुराकानी र खोजी परमेश्‍वरको आजको वचनवरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्‍वरका वचनहरूप्रति अपरिचित छस्, र तँमा पवित्र आत्‍माको कार्यको पूर्ण अभाव छ। परमेश्‍वरले चाहनुहुने भनेका उहाँका पाइलाहरूलाई पछ्याउने मानिसहरू नै हुन्। तैँले पहिले बुझेको कुरा जति सुन्दर र शुद्ध भए तापनि, परमेश्‍वरले त्यो चाहनुहुन्‍न, र तैँले यस्ता कुराहरूलाई पन्छाउन सक्दैनस् भने, यी कुराहरू भविष्यमा तेरो प्रवेशमा निकै ठूलो वाधा हुनेछन्। पवित्र आत्‍माको वर्तमान ज्योतिलाई पछ्याउन सक्‍नेहरू सबै आशिषित हुन्‍छन्। विगतका युगका मानिसहरूले पनि परमेश्‍वरका पाइलाहरूलाई पछ्याए, तैपनि तिनीहरूले आजको दिनसम्‍म पछ्याउन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष्‌ नै यही हो। पवित्र आत्‍माको वर्तमान कार्यलाई पछ्याउन सक्‍ने, र उहाँले तिनीहरूलाई जता डोर्‍याउनुभए पनि परमेश्‍वरलाई नै पछ्याउने गरी परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन सक्‍नेहरू—यिनीहरू परमेश्‍वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कार्यलाई नपछ्याउनेहरू परमेश्‍वरका वचनहरूको कार्यमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जति नै धेरै काम गरे तापनि, वा तिनीहरूको कष्ट भोगाइ जति नै ठूलो भए तापनि, वा तिनीहरूले जति नै धेरै दौडधूप गरे पनि, यीमध्ये कुनै पनि कुरा परमेश्‍वरको लागि कुनै अर्थको हुँदैन, र उहाँले तिनीहरूलाई स्याबासी दिनुहुनेछैन। आज, परमेश्‍वरको वर्तमान वचनहरूलाई पछ्याउनेहरू सबैजना पवित्र आत्माको प्रवाहमा हुन्छन्; परमेश्‍वरको आजको वचनप्रति अपरिचित रहनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर हुन्छन्, र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले स्याबासी दिनुहुन्‍न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

परमेश्वरलाई पछ्याउनेहरूले कम्तीमा पनि आफूसँग भएका सबै कुरा त्याग्न सक्नैपर्छ। परमेश्वरले एकपटक बाइबलमा यसो भन्नुभयो, “तिमीहरूमध्येमा जसले ऊसँग भएको सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन” (लूका १४:३३)। आफूसँग भएका सबै कुरा त्याग्नुको अर्थ के हो? त्यसको अर्थ आफ्नो परिवार त्याग्नु, आफ्नो काम त्याग्नु, आफ्ना सबै सांसारिक उल्झनहरू त्याग्नु हो। के यसो गर्नु सजिलो हुन्छ? यो धेरै कठिन हुन्छ। त्यसो गर्ने इच्छाविना यो कदापि गर्न सकिँदैन। जब कोहीसँग ती कुरा त्याग्ने इच्छा हुन्छ, तब उसमा स्वाभाविक रूपले कठिनाइ सहने इच्छा हुन्छ। यदि व्यक्तिले कठिनाइ सहन सक्दैन भने, चाहेर पनि कुनै कुरा त्याग्न सक्नेछैन। कतिपयले आफ्नो परिवार त्यागेर र आफ्ना प्रियजनदेखि टाढिएर, केही समय आफ्नो कर्तव्य निभाएपछि तिनीहरूलाई घरको याद आउँछ। तिनीहरू आफूलाई असह्य भएमा हालचाल बुझ्न सुटुक्क घर गई फेरि आफ्ना कर्तव्यमा फर्केलान्। आफ्नो घर छाडेर कर्तव्य निभाउन हिँडेका कतिपय मानिस नयाँ वर्ष र अन्य छुट्टीको बेला आफ्ना प्रियजनहरूको अभाव महसुस गर्छन्, र राती सबै जना सुतेका बेला एक्लै रुन्छन्। रोइसकेपछि तिनीहरू परमेश्वरलाई प्रार्थना गर्छन् र निकै हल्का महसुस गर्छन्, अनि त्यसपछि आफ्नो कर्तव्य निर्वाहमा लाग्छन्। यी मानिसहरूले आफ्ना परिवार त्याग्न सके पनि, ठूलो पीडा सहन सक्दैनन्। यदि तिनीहरूले यी सम्बन्धहरूका लागि आफ्नो भावना हटाउनसमेत सक्दैनन् भने, कसरी आफूलाई परमेश्वरमा समर्पित गर्न सक्लान्? कतिपय मानिस आफ्नो जागिर र परिवार, आफ्ना सबै कुरा त्यागेर परमेश्वरलाई पछ्याउन सक्छन्, तर तिनीहरूले यसो गर्नुको लक्ष्य के हुन्छ? कतिपय मानिस अनुग्रह र आशिष् प्राप्त गर्न खोजिरहेका हुन्छन्, र कतिपयचाहिँ मुकुट र इनाम मात्र पछ्याउने पावलजस्ता हुन्छन्। थोरै मानिस सत्यता र जीवन पाउन अनि मुक्ति प्राप्त गर्न आफूसँग भएका सबै कुरा त्याग्छन्। त्यसोभए, यी पछ्याइमध्ये कुनचाहिँ परमेश्वरको इच्छासँग मिल्छ? त्यो अवश्य पनि सत्यता पछ्याइ र जीवन प्राप्ति हो। यो पूर्णतया परमेश्वरको इच्छासँग मिल्छ, र परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष यही नै हो। … यदि तैँले परमेश्वरलाई पछ्याउन र आफ्नो कर्तव्य निभाउन, अनि सत्यता पछ्याउन र जीवन प्राप्त गर्न आफूलाई सबैभन्दा महत्त्वपूर्ण लाग्ने कुरा त्याग्न सकिस् भने मात्र तँ परमेश्वरको राज्यमा प्रवेश गर्न सक्नेछस्। परमेश्वरको राज्यमा प्रवेश गर्नुको अर्थ के हो? त्यसको अर्थ, तैँले आफ् सबै कुरा त्यागेर परमेश्वरलाई पछ्याउन, उहाँको वचन मान्न, र उहाँका बन्दोबस्तहरूप्रति समर्पित हुन, सबै कुरामा उहाँको आज्ञापालन गर्न सक्छस् भन्ने हो; त्यसको अर्थ, उहाँ तेरा प्रभु र तेरा परमेश्वर बन्नुभएको छ भन्ने हो। परमेश्वरको नजरमा, त्यसको अर्थ तँ उहाँको राज्यमा प्रवेश गरेको हुन्छस् भन्ने हो, र तँलाई जेजस्तो विपत्ति आइपरे पनि, उहाँले तँलाई सुरक्षा दिनुहुनेछ र तँ बच्न सक्नेछस्, अनि तँ उहाँको राज्यका मानिसहरूमध्ये एक हुनेछस्। परमेश्वरले तँलाई उहाँको अनुयायीको रूपमा स्विकार्नुहुनेछ, वा तँलाई सिद्ध पार्ने वाचा गर्नुहुनेछ—तर तैँले पहिलो चरणमा ख्रीष्टलाई पछ्याउनैपर्छ। यसरी मात्र तँ राज्यको तालिममा सहभागी हुनेछस्। यदि तँ ख्रीष्टलाई पछ्याउँदैनस् र परमेश्वरको राज्यबाहिर छस् भने, उहाँले तँलाई स्विकार्नुहुनेछैन। र यदि परमेश्वरले तँलाई स्विकार्नुभएन भने, तैँले मुक्ति र परमेश्वरको वाचा प्राप्त गर्ने र उहाँद्वारा सिद्ध पारिने इच्छा गरे पनि, के यी कुराहरू प्राप्त गर्न सक्नेछस्? सक्नेछैनस्। यदि तँ परमेश्वरको अनुमोदन प्राप्त गर्न चाहन्छस् भने, पहिला तँ उहाँको राज्यमा प्रवेश गर्न योग्य हुनैपर्छ। यदि तँ सत्यता पछ्याउन आफ्ना सबै कुरा त्याग्न सक्छस्, आफ्नो कर्तव्य पालनमा सत्यता खोज्न सक्छस्, सिद्धान्तअनुसार कार्य गर्न सक्छस्, र तँसँग साँचो अनुभवात्मक गवाही छ भने, तँ परमेश्वरको राज्यमा प्रवेश गर्न र उहाँको वाचा प्राप्त गर्न योग्य हुन्छस्। यदि तँ परमेश्वरलाई पछ्याउन आफ्ना सबै कुरा त्याग्न सक्दैनस् भने, तँ उहाँको राज्यमा प्रवेश गर्नसमेत योग्य हुँदैनस्, र तैँले उहाँको आशिष् र उहाँको वाचा पाउने दाबी गर्न बिलकुलै मिल्दैन। अहिले धेरै मानिसले आफ्ना सबै कुरा त्यागेर परमेश्वरको घरमा कर्तव्य निभाइरहेका छन्, तैपनि तिनीहरूले सत्यता प्राप्त गर्न सक्नेछन् भन्न मिल्दैन। व्यक्तिले सत्यतालाई प्रेम गर्न र स्विकार्न सकेपछि मात्र सत्यता प्राप्त गर्न सक्छ। यदि उसले सत्यता पछ्याउँदैन भने, त्यो प्राप्त गर्न सक्दैन। त्यसका साथै, फुर्सदको समयमा आफ्नो कर्तव्य निभाउनेहरूमा परमेश्वरको कामसम्बन्धी तिनीहरूको अनुभव यति सीमित हुन्छ कि तिनीहरूलाई सत्यता प्राप्त गर्न झनै कठिन हुनेछ। यदि कसैले आफ्नो कर्तव्य निभाउँदैन वा सत्यता पछ्याउँदैन भने, उसले परमेश्वरबाट मुक्ति र सिद्धता प्राप्त गर्ने असाधारण अवसर गुमाउनेछ। कतिपय मानिस परमेश्वरमा विश्वास गरेको दाबी गर्छन्, तर आफ्ना कर्तव्यहरू निभाउँदैनन् र सांसारिक कुराहरू पछ्याउँछन्। के यो आफ्ना सबै कुरा त्याग्नु हो? यदि कसैले यस तरिकाले परमेश्वरमा विश्वास गर्छ भने, के उसले अन्त्यसम्मै उहाँलाई पछ्याउन सक्छ? प्रभु येशूका चेलाहरूलाई हेर्: तिनीहरूमध्ये मछुवा, किसान, र कर उठाउनेहरू थिए। जब प्रभु येशूले तिनीहरूलाई बोलाएर “मेरो पछि लाग” भन्नुभयो, तब तिनीहरू आफ्ना कामदाम छाडेर प्रभुको पछि लागे। तिनीहरूले आफ्नो रोजगारीबारे सोचेनन्, न त पछि आफूसँग संसारमा बाँच्ने कुनै मार्ग हुनेछ कि छैन भन्ने समस्याबारे नै सोचे, तर तिनीहरू तुरुन्तै प्रभु येशूको पछि लागिहाले। पत्रुसले आफूलाई पूर्ण हृदयले समर्पित गरे, प्रभु येशूको आज्ञा अन्त्यसम्मै पूरा गरे र आफ्नो कर्तव्य जारी राखे। उनले जीवनभरि परमेश्वरको प्रेमलाई पछ्याए, र अन्त्यमा, उनी परमेश्वरद्वारा सिद्ध पारिए। अहिले कतिपय मानिस आफ्ना सबै कुरा त्याग्नसमेत सक्दैनन्, तैपनि राज्यमा प्रवेश गर्ने इच्छा गर्छन्। के तिनीहरू सपना देखिरहेका छैनन् र?

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

के तँलाई परमेश्‍वरको पछि लाग्नुको अर्थ के हो सो थाहा छ? कुनै दर्शनविना, तँ कुन मार्गमा हिँड्नेछस्? आजको काममा, यदि तँसँग कुनै दर्शन छैन भने तँ पूर्ण बनाइने योग्यको बिलकुलै हुनेछैनस्। तँ कसमाथि विश्‍वास गर्छस्? तँ उहाँमा किन विश्‍वास गर्छस्? तँ किन उहाँलाई पछ्याउँछस्? के तँ आफ्नो विश्‍वासलाई एक प्रकारको खेलको रूपमा हेर्छस्? के तैँले आफ्नो जीवनलाई एक प्रकारको खेलौनाको रूपमा लिँदैछस्? आजका परमेश्‍वर सबैभन्दा ठूलो दर्शन हुनुहुन्छ। तैँले उहाँलाई कतिसम्म जान्दछस्? तैँले उहाँलाई कतिसम्म देखेको छस्? आजका परमेश्‍वरलाई देखेपछि के परमेश्‍वरमाथिको तेरो विश्‍वासको जग बलियो भएको छ? के तँ जबसम्म यसरी अलमल्ल तरिकाले पछि लाग्छस् तब तैँले मुक्ति पाउनेछस् भन्‍ने सोच्छस्? के तँ हिलोको पानीमा माछा पक्रन सक्छु भन्‍ने सोच्छस्? के यो त्यत्ति सजिलो छ? आज परमेश्‍वरले बोल्नुहुने वचनहरू सम्बन्धी कति वटा धारणाहरूलाई तैँले पर पन्साएको छस्? के तँसँग आजका परमेश्‍वरको दर्शन छ? आजको परमेश्‍वरको बारेमा तेरो बुझाइ कहाँ छ? तँ सधैँ उहाँको पछि लागेर वा उहाँलाई हेरेर मात्र पनि उहाँलाई[क] प्राप्त गर्न सक्छस् र कोही पनि तँबाट मुक्त हुन सक्नेछैन भन्‍ने सोच्छस्। परमेश्‍वरलाई पछ्याउनु त्यस्तो सजिलो कुरा हो भन्‍ने नठान्। उहाँलाई तैँले चिन्‍नैपर्छ, तैँले उहाँको कामलाई जान्‍नैपर्छ, र उहाँको खातिर कठिनाइ सहन गर्ने, आफ्नो जीवन उहाँको निम्ति बलिदान दिने र उहाँद्वारा सिद्ध पारिने इच्छा तँमा हुनैपर्छ, मुख्य कुरा यही नै हो। तँमा हुनुपर्ने दर्शन यही हो। यदि तेरा सोचहरू अनुग्रहको आनन्द लिने कुरामा मात्र सधैँ झुक्छन् भने त्यसलाई बदल्नुपर्छ। परमेश्‍वर मानिसहरूको आनन्दको निम्ति मात्र वा तिनीहरूमाथि अनुग्रह प्रदान गर्नको निम्ति मात्र यहाँ हुनुहुन्छ भन्‍ने नठान्। तँ गलत हुनेछस्! यदि एक व्यक्तिले उहाँलाई पछ्याउनको निम्ति आफ्नो जीवन खतरामा राख्‍न सक्दैन भने र यदि एक व्यक्तिले उहाँलाई पछ्याउनको निम्ति संसारका हरेक सम्पत्ति त्याग्न सक्दैन भने, त्यसले उहाँलाई अन्तिमसम्म पछ्याइरहन निश्‍चय पनि सक्‍नेछैन। तेरो जगको रूपमा तँसँग दर्शनहरू हुनुपर्छ। यदि एक दिन तँमाथि दुर्भाग्य आइलाग्यो भने, तैँले के गर्नुपर्छ? के तैँले अझ पनि उहाँलाई पछ्याउन सक्छस्? तैँले अन्तिमसम्म उहाँलाई पछ्याउन सक्षम हुनेछस् कि हुनेछैनस् भनेर हलुका रूपमा कुरा नगर्। अहिले कति बेला भयो भनेर हेर्न तैँले आफ्ना आँखा खोलेको नै राम्रो। तिमीहरू अहिले मन्दिरको स्तम्भहरू जस्तै हुनसक्‍ने भए तापनि, एउटा यस्तो बेला आउनेछ जुन बेला त्यस्ता सबै स्तम्भहरू कीराहरूले खानेछन्, जसको कारण मन्दिर ढल्नेछ, किनकि वर्तमान समयमा तिमीहरूमा धेरै दर्शनहरूको अभाव छ। तिमीहरूले आफ्ना साना संसारहरूलाई मात्र ध्यान दिन्छौ र खोजको सबैभन्दा भरपर्दो र उचित बाटो के हो सो तिमीहरूलाई थाहा छैन। तिमीहरूले आजको कामको दर्शनलाई ध्यान दिँदैनौ, न त यी कुराहरूलाई आफ्ना हृदयमा नै राख्छौ। एक दिन तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सबैभन्दा अपरिचित ठाउँमा राख्‍नुहुनेछ भन्‍ने कुरालाई तिमीहरूले ध्यान दिएका छौ? एक दिन मैले तिमीहरूबाट सबै थोक खोसेँ भने तिमीहरूको के हालत हुनेछ के त्यसबारे तिमीहरूले कल्पना गर्न सक्छौ? के तिमीहरूको त्यस दिनको ऊर्जा अहिलेको जस्तै हुनेछ? तिमीहरूको विश्‍वास पुनः देखा पर्नेछ? परमेश्‍वरलाई पछ्याउँदा तिमीहरूले यस महान् दर्शनलाई जान्‍नै पर्छ जो “परमेश्‍वर” हुनुहुन्छ: यो सबैभन्दा महत्त्वपूर्ण विषय हो। साथै, पवित्र हुनका लागि सांसारिक मानिसहरूबाट अलग भएपछि तँ अनिवार्य रूपमा परमेश्‍वरको परिवारमा हुनेछस् भन्‍ने नठान्। यी दिनहरूमा परमेश्‍वर आफैले सृष्टि गरिएका प्राणीहरूका बीचमा काम गरिरहनुभएको छ; कुनै अभियान अगाडि बढाउनु होइन तर उहाँको आफ्नै काम गर्न मानिसहरूको बीचमा आउनुहुने उहाँ नै हुनुहुन्छ। तिमीहरूको माझमा थोरै मानिस पनि छैनन् जसले आजको काम स्वर्गका परमेश्‍वरको काम हो, जो देह बन्नुभएको छ भनी बुझ्न सक्छ। यसको अर्थ तिमीहरू प्रतिभा भएको विशेष व्यक्तिहरू हुनुपर्छ भन्‍ने होइन; यो तिमीहरूलाई मानव जीवनको महत्त्व जान्न, मानव प्राणीको गन्तव्य थाहा पाउन, र परमेश्‍वर अनि उहाँको सम्पूर्णतालाई जान्न सहायता गर्नका लागि हो। तैँले यो जान्नुपर्छ कि तँ सृष्टिकर्ताको हातमा रहेको सृष्टि गरिएको एक प्राणी होस्। तैँले के बुझ्नुपर्छ, तैँले के गर्नुपर्छ, र तैँले परमेश्‍वरलाई कसरी पछ्याउनुपर्छ—के तैँले बुझ्नुपर्ने सत्यताहरू यिनै होइनन् र? के तैँले देख्नुपर्ने दर्शनहरू यिनै होइनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरूले कामलाई बुझ्नै पर्छ—दुबिधामा नपछ्याओ!

फूटनोटहरू:

क. मूल पाठमा “उहाँलाई” भन्‍ने शब्‍द समावेश छैन।


धेरैजसो मानिसहरूका लागि, जब उनीहरूसँग कुनै समस्या हुँदैन, जब उनीहरूका लागि सबै कुराहरू सहज रूपमा चलिरहेका हुन्छन्, त्यसबेला तिनीहरूले परमेश्‍वर शक्तिशाली, धार्मिक र प्रेमिलो हुनुहुन्छ भन्ने महसुस गर्छन्। जब परमेश्‍वरले उनीहरूको जाँच गर्नुहुन्छ, उनीहरूलाई निराकरण गर्नुहुन्छ, उनीहरूलाई ताडना दिनुहुन्छ र अनुशासन कारबाही गर्नुहुन्छ, जब उहाँले तिनीहरूलाई आफ्नै चासोका कुराहरू पन्साउन, देहलाई त्याग्‍न र सत्यताको अभ्यास गर्न लगाउनुहुन्छ, जब परमेश्‍वरले उनीहरूमा काम गर्नुहुन्छ, र उनीहरूका भाग्य र तिनीहरूको जीवनका निम्ति योजनाबद्ध काम गर्नुहुन्छ र शासन गर्नुहुन्छ, तब तिनीहरूको विद्रोहीपन उत्पन्न हुन्छ र त्यसपछि उनीहरू र परमेश्‍वरको बीचमा विभाजन उत्पन्न हुन्छ, जसले गर्दा तिनीहरू र परमेश्‍वरको बीचमा विवाद र खाल्डो सृजना हुन्छ। त्यस्तो बेला उनीहरूलाई आफ्‍नो हृदयमा परमेश्‍वर अलिकति पनि प्रेमिलो हुनुहुन्न भन्‍ने लाग्छ; उहाँ पटक्कै शक्तिशाली हुनुहुन्न, किनकि उहाँले जे गर्नुहुन्छ त्यसले उनीहरूका चाहनाहरू पूरा गर्दैन। परमेश्‍वरले तिनीहरूलाई दुःखित तुल्याउनुहुन्छ; उहाँले तिनीहरूलाई उदास बनाउनुहुन्छ; उहाँले तिनीहरूमाथि पीडा र कष्ट ल्याउनुहुन्छ; उहाँले तिनीहरूलाई असहज महसुस गराउनुहुन्छ। यसैले उनीहरू कुनै पनि हालतमा परमेश्‍वरको अधीनमा बस्दैनन्, बरु उहाँविरुद्ध विद्रोह गर्छन् र उहाँबाट टाढा बस्छन्। त्यसो गर्दा, के उनीहरूले सत्यता अभ्यास गरिरहेका हुन्छन्? के उनीहरूले परमेश्‍वरको मार्ग पछ्याइरहेका हुन्छन्? के उनीहरू परमेश्‍वरलाई पछ्याइरहेका हुन्छन्? हुँदैनन्। यसैले परमेश्‍वरको कामको बारेमा तेरा धारणा र कल्पनाहरू जति नै धेरै भए पनि, र तैँले पहिले आफ्नै इच्छाअनुसार जसरी व्यवहार गरे पनि र परमेश्‍वरको विरुद्धमा विद्रोह गरे पनि, यदि तँ साँचो रूपले सत्यताको पछि लाग्छस्, अनि परमेश्‍वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गर्छस्, र ती वचनहरूद्वारा काटछाँट र निराकरण गरिन स्वीकार गर्छस् भने, यदि उहाँले योजनाबद्ध रूपमा गर्नुहुने सबै कुरामा तँ परमेश्‍वरको मार्गलाई पछ्याउन सक्छस् भने, परमेश्‍वरका वचनहरूप्रति चासो राख्छस् र उहाँको इच्छा अनुभूत गर्न सिक्छस्, उहाँका वचनहरू र उहाँको अभिप्रायअनुसार अभ्यास गर्छस्, खोजीद्वारा समर्पण गर्न सक्छस् भने; र यदि तँ आफ्ना सबै इच्छा, चाहना, विचार र अभिप्रायहरू त्याग्न र परमेश्‍वरसित आमनेसामने नहुन सक्छस् भने—तैँले परमेश्‍वरलाई पछ्याइरहेको हुन्छस्। तैँले परमेश्‍वरलाई पछ्याउँछु भन्लास्, तर यदि तैँले सबै काम आफ्‍नै इच्छा उद्देश्य र योजनाअनुसार मात्र गर्छस्, र यस कुरालाई परमेश्‍वरको हातमा छोड्दैनस् भने, के परमेश्‍वर अझै पनि तेरा परमेश्‍वर हुनुहुन्छ? अहँ, हुनुहुन्न। यदि परमेश्‍वर तेरा परमेश्‍वर हुनुहुन्न भने, जब तँ परमेश्‍वरलाई पछ्याउँछु भनेर भन्छस्, तब के ती खोक्रा शब्दहरू मात्र हुँदैनन् र? के त्यस्ता शब्दहरू मानिसहरूलाई मूर्ख बनाउने प्रयास होइनन्? तँ परमेश्‍वरलाई पछ्याउँछु भनेर भन्न सक्छस्, तर तेरा सबै व्यवहार र कामहरू, जीवनप्रतिको तेरो दृष्टिकोण र मूल्य-मान्यताहरू, र तैँले कामकुराहरूलाई लिने र सम्‍हाल्‍ने आचरण र सिद्धान्तहरू सबै शैतानबाट आउँदछ—यदि तैँले यी सबै कुरालाई पूर्ण रूपले शैतानका व्यवस्था र तर्कअनुसार सम्हाल्छस् भने, के तँ परमेश्‍वरको अनुयायी होस्? (होइन।) … यदि कुनै व्यक्तिले बाहिरी रूपमा मात्र सबथोक त्यागेको र आफ्नो कर्तव्य सम्हालेको परमेश्वरलाई पछ्याएको जस्तो देखिन्छ, तर उसका सम्पूर्ण सोच र कार्यहरू शैतानको तर्क र दर्शनबमोजिम छन् भने, के ऊ साँच्चिकै परमेश्वरको अनुयायी हो? (होइन।) ऊ होइन, किनकि ऊ निरन्तर परमेश्वरविरुद्ध विद्रोह गर्छ, सत्यता अभ्यास गर्दैन, अनि परमेश्वरप्रति समर्पित हुँदैन। त्यसोभए, ऊ किन परमेश्वरमा विश्वास गर्छ? उसलाई वास्तवमा के हासिल गर्ने इच्छा छ? यो समझबाहिरको कुरा हो। के ऊ परमेश्वरको सच्चा विश्वासी हो? होइन; त्यसलाई अलि राम्रो तरिकाले भन्नुपर्दा, ऊ धर्मको विश्वासी हो। उसले परमेश्वरमा आस्था राखेको दाबी गर्ला, तर परमेश्वर उसलाई स्विकार्नुहुन्न। परमेश्वरले उसलाई दुष्कर्मी ठान्नुहुनेछ, र उहाँले त्यस्ता मानिसलाई मुक्ति दिनुहुनेछैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। धर्ममा रहेर वा धार्मिक विधिविधानमा सहभागी भएर मुक्ति पाउन सकिँदैन

आज, धेरैले परमेश्‍वरलाई पछ्याउनु सजिलो छ भन्‍ने विश्‍वास गर्छन् तर जब परमेश्‍वरको काम समाप्त हुनलागेको हुन्छ, तैँले “पछ्याउनु”-को साँचो अर्थलाई जान्‍नेछस्। तैँले विजय गरिएपछि आज अझै पनि परमेश्‍वरलाई पछ्याउन सक्छस् भन्दैमा, तँ सिद्ध पारिनेहरूमध्ये एक हुनेछस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। परीक्षाहरूको सामना गर्न नसक्‍नेहरू, सङ्कष्टको बीचमा विजय बन्‍न नसक्‍नेहरू आखिरमा दृढ रूपमा खडा हुन असक्षम हुनेछन्, त्यसकारण परमेश्‍वरलाई अन्तिमसम्‍मै पछ्याउन असमर्थ हुनेछन्। परमेश्‍वरलाई साँचो रूपमा पछ्याउनेहरू आफ्‍नो कामको जाँचलाई सामना गर्न सक्‍नेहरू हुन्, जबकि परमेश्‍वरलाई साँचो रूपमा नपछ्याउनेहरू परमेश्‍वरको कुनै पनि परीक्षाहरूको सामना गर्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरूलाई निकालिनेछ, तर विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्‍वरलाई साँचो रूपले खोजी गर्छ कि गर्दैन भन्‍ने कुरालाई उसको कामको जाँचले अर्थात् परमेश्‍वरका परीक्षाहरूले निर्धारण गर्छन् र मानिस स्वयमले गर्ने निर्णयसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले कुनै पनि व्यक्तिलाई आवेगमा इन्कार गर्नुहुन्‍न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सक्छ। मानिसको लागि अदृश्य कुनै पनि कुरा वा मानिसलाई विश्‍वस्त तुल्याउन नसक्‍ने कुनै पनि काम उहाँले गर्नुहुन्‍न। मानिसको आस्था साँचो हो कि होइन भन्‍ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र मानिसद्वारा यसको निर्णय हुन सक्दैन। “गहुँलाई सामामा परिणत गर्न सकिँदैन र सामालाई गहुँमा परिणत गर्न सकिँदैन” भन्‍ने कुरामा कुनै शङ्‍का छैन। परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरू सबै आखिरमा राज्यमा नै रहनेछन् र उहाँलाई साँचो रूपमा प्रेम गर्ने कसैलाई पनि परमेश्‍वरले दुर्व्यवहार गर्नुहुन्‍न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

सम्बन्धित अनुभवात्मक गवाहीहरू

कठिन परिस्थितिको जाँच

सम्बन्धित भजनहरू

सारा मानव जातिले परमेश्‍वरको आराधना गर्नुपर्छ

तिमीले परमेश्‍वरप्रतिको साँचो प्रेमको खोजी गर्नुपर्छ

परमेश्‍वरमाथिको विश्‍वासको घोषणा

अघिल्लो: ३२. विश्‍वासघाती प्रकृतिको स्वभावलाई कसरी बुझ्ने र हटाउने

अर्को: २. किन परमेश्‍वरका विश्‍वासीहरूले उहाँको न्याय र सजाय स्विकार्नैपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्