११. ख्रीष्टविरोधीहरूको स्वभाव र सारबीच भिन्नता
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
ख्रीष्टविरोधीको स्वभाव मात्र भएको व्यक्तिलाई सारमा ख्रीष्टविरोधीका रूपमा वर्गीकृत गर्न मिल्दैन। ख्रीष्टविरोधीको प्रकृति सार भएकाहरू मात्र साँचो रूपमा ख्रीष्टविरोधी हुन्। ती दुईबीचका मानवतामा भिन्नताहरू हुन्छन्, अनि त्यसैगरी, भिन्न प्रकारका मानवताको शासनमा रहँदै गर्दा, सत्यताप्रति ती मानिसहरूले राख्ने मनोवृत्ति पनि उही हुँदैनन्—अनि जब सत्यताप्रति मानिसहरूले राख्ने मनोवृत्ति उही हुँदैन, तब तिनीहरूले छनोट गर्ने बाटो पनि फरक हुन्छन्; अनि जब मानिसहरूले छनोट गर्ने बाटो फरक हुन्छन्, तब त्यसको परिणामस्वरूप निस्कने सिद्धान्तहरू र तिनीहरूका कार्यका नतिजाहरूमा पनि भिन्नता हुन्छन्। ख्रीष्टविरोधीको स्वभाव मात्र भएको व्यक्तिको विवेकले काम गरिरहने हुनाले, र उसमा समझ र सम्मानबोध हुने हुनाले, र तुलनात्मक रूपमा भन्नुपर्दा, उसले सत्यतालाई प्रेम गर्ने हुनाले, उसले आफ्नो भ्रष्ट स्वभाव प्रकाश गर्दा, उसको हृदयमा त्यसप्रतिको अस्वीकृति हुन्छ। त्यस्ता समयमा, उसले आत्मचिन्तन गर्न र आफूलाई चिन्न सक्छ, र आफ्नो भ्रष्ट स्वभाव र भ्रष्टताको प्रकटीकरणलाई स्विकार्न सक्छ, जसले उसलाई देह र आफ्नो भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्ने, अनि सत्यता अभ्यास गर्ने र परमेश्वरमा समर्पित हुने तुल्याउँछ। तर, ख्रीष्टविरोधीको हकमा भने यस्तो हुँदैन। उसको विवेकले काम नगर्ने र उसमा विवेकशील चेतना नहुने हुनाले, र उसमा सम्मानबोध त झनै नहुने हुनाले, उसले आफ्नो भ्रष्ट स्वभाव प्रकाश गर्दा, उसको प्रकटीकरण सही हो कि गलत, अथवा उसमा भ्रष्ट स्वभाव छ कि सामान्य मानवता, वा त्यो सत्यताअनुरूप छ कि छैन भनेर परमेश्वरका वचनहरूअनुसार मापन गर्दैन। उसले कहिल्यै यी कुराहरूबारे चिन्तन गर्दैन। त्यसोभए, उसले कस्तो व्यवहार गर्छ? ऊ सधैँ आफूले प्रकट गर्ने भ्रष्ट स्वभाव र छनोट गर्ने बाटो सही हुन् भन्ने कुरामा कायम रहिरहन्छ। ऊ आफूले गर्ने जे पनि सही हो, आफूले बोल्ने जे पनि सही हो भन्ने सोच्छ; ऊ आफ्नै विचारमा अडिग रहन कम्मर कस्छ। अनि त्यसैले, उसले जतिसुकै ठूलो गल्ती गरे पनि, उसले जतिसुकै भ्रष्ट स्वभाव प्रकाश गरे पनि, उसले मामिलाको गम्भीरतालाई बुझ्नेछैन, र आफूले प्रकाश गरेको भ्रष्ट स्वभाव निश्चय नै बुझ्नेछैन। अनि उसले निश्चय नै आफ्ना चाहनालाई पन्छाउनेछैन, र आफ्नै महत्त्वाकाङ्क्षा वा भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्दै परमेश्वर र सत्यताप्रतिको समर्पणको बाटो छनोट गर्नेछैन। यी दुई परिणामहरूबाट देख्न सकिन्छ कि, यदि ख्रीष्टविरोधीको स्वभाव भएको मानिसले हृदयमा सत्यतालाई प्रेम गर्छ भने, ऊसँग त्यसको बुझाइ प्राप्त गर्ने र त्यसलाई अभ्यास गर्ने, अनि मुक्ति पाउने अवसर हुन्छ, जबकि ख्रीष्टविरोधीको सार भएखालको व्यक्तिले सत्यता बुझ्न वा त्यसलाई अभ्यास गर्न सक्दैन, न त उसले मुक्ति नै पाउन सक्छ। यी दुईबीचको भिन्नता यही नै हो।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट पाँच: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग दुई)
यीमध्ये कुनचाहिँ घातक रोग हो: ख्रीष्टविरोधीको सार हुनु कि ख्रीष्टविरोधीको स्वभाव हुनु? (ख्रीष्टविरोधीको सार हुनु।) हो त? (हो।) यसबारे ध्यान दिएर विचार गर, त्यसपछि फेरि उत्तर देओ। (ख्रीष्टविरोधीको सार हुनु र ख्रीष्टविरोधीको स्वभाव हुनु दुवै घातक रोग हुन्।) किन? (किनभने ख्रीष्टविरोधीको सार भएका मानिसहरूले सत्यता पछ्याउँदैनन्, र ख्रीष्टविरोधीको स्वभाव भएका मानिसहरूको हकमा पनि यस्तै हुन्छ। ख्रीष्टविरोधीको स्वभाव भएका मानिसहरूले जुनसुकै समस्या सामना गरे पनि, तिनीहरूले कहिल्यै पनि सत्यता पछ्याउनमा ध्यान दिँदैनन्, र तिनीहरूमा न्यूनतम मानवता र समझसमेत हुँदैन; यस्ता मानिसहरू सत्यता प्राप्त गर्न असमर्थ हुन्छन्, र तिनीहरूले मुक्ति पनि प्राप्त गर्न सक्दैनन्—यो पनि एउटा घातक रोग हो।) अरू कसले बोल्न चाहन्छ? (मेरो बुझाइ के हो भने, यी दुवै घातक रोग होइनन्, तर यदि कसैले सत्यता पछ्याउँदैन भने, त्योचाहिँ घातक रोग हो।) यो यस बारेको राम्रो बुझाइ हो। तैपनि, यसको लागि एउटा पूर्वसर्त छ, र त्यो ख्रीष्टविरोधीको सार हो—ख्रीष्टविरोधीको सार भएका मानिसहरूले सत्यता पटक्कै पछ्याउँदैनन्, तिनीहरू अविश्वासीहरू हुन्—ख्रीष्टविरोधीको सार हुनु सबैभन्दा खतरनाक कुरा हो। ख्रीष्टविरोधीको सार भन्नुको अर्थ के हो? यसको अर्थ यी मानिसहरूले सत्यता पटक्कै पछ्याउँदैनन्; तिनीहरूले हैसियत मात्रै पछ्याउँछन्, तिनीहरू अन्तर्निहित रूपमै परमेश्वरका शत्रुहरू हुन्, तिनीहरू ख्रीष्टविरोधीहरू हुन्, तिनीहरू शैतानको मूर्तरूप हुन्, जन्मेदेखि नै तिनीहरू दियाबलसहरू हुन्, तिनीहरू मानवता विहीन हुन्छन्, तिनीहरू भौतिकवादीहरू हुन्, तिनीहरू नियमित अविश्वासीहरू हुन्, र त्यस्ता मानिसहरू सत्यताप्रति विमुख हुन्छन्। “सत्यताप्रति विमुख हुनु” भन्नुको अर्थ के हो? यसको अर्थ तिनीहरूले परमेश्वर सत्यता हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्दैनन्, तिनीहरूले परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भन्ने तथ्य स्वीकार गर्दैनन्, झन् परमेश्वरले सबै थोक र सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्य स्वीकार गर्नु त परको कुरा हो। त्यसकारण, जब त्यस्ता मानिसहरूलाई सत्यता पछ्याउने मौका दिइन्छ, तब के तिनीहरूले त्यसो गर्न सक्छन् त? (सक्दैनन्।) तिनीहरूले सत्यता पछ्याउन नसक्ने हुनाले, र तिनीहरू सदासर्वदा सत्यताका शत्रुहरू र परमेश्वरका शत्रुहरू हुने हुनाले, तिनीहरूले कहिल्यै पनि सत्यता प्राप्त गर्न सक्नेछैनन्। सत्यता प्राप्त गर्न सदा असमर्थ हुनु भनेको घातक रोग हो। अनि स्वभावको हिसाबमा, ख्रीष्टविरोधीको स्वभाव भएका सबै मानिसहरू र ख्रीष्टविरोधीको सार भएका मानिसहरूबीच समानताहरू हुन्छन्: तिनीहरूले उस्तै प्रकटीकरणहरू, उस्तै खुलासाहरू प्रदर्शन गर्छन्, र तिनीहरूले यी प्रकटीकरण र खुलासाहरू प्रदर्शन गर्ने तरिका, तिनीहरूको सोचाइ शैली, र परमेश्वरबारे तिनीहरूका धारणा र कल्पनाहरू पनि उस्तै हुन्छन्। तर ख्रीष्टविरोधीको स्वभाव भएका मानिसहरूले सत्यता स्विकार्न सके पनि नसके पनि र परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भन्ने तथ्य स्विकार्न सके पनि नसके पनि, तिनीहरूले सत्यता पछ्याउँदैनन् भने, तिनीहरूको ख्रीष्टविरोधीको स्वभाव घातक रोग बन्छ, र यही कारणले गर्दा तिनीहरूको परिणाम पनि ख्रीष्टविरोधीको सार भएका मानिसहरूको जस्तै हुनेछ। तैपनि भाग्यवश, ख्रीष्टविरोधीको स्वभाव भएका मानिसहरूमध्ये कति जनामा मानवता, समझ, विवेक, र लाजको बोध हुन्छ, तिनीहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्छन्, र तिनीहरूमा परमेश्वरबाट मुक्ति पाउनको लागि चाहिने आवश्यक कुराहरू हुन्छन्। यी मानिसहरूले सत्यता पछ्याउँछन्, त्यसैले तिनीहरूले स्वभाव परिवर्तन हासिल गर्छन्, आफ्नो भ्रष्ट स्वभाव त्याग्छन्, र आफ्नो ख्रीष्टविरोधी स्वभाव त्याग्छन्, र त्यसकारण तिनीहरूको ख्रीष्टविरोधी स्वभाव तिनीहरूको लागि उप्रान्त घातक रोग रहँदैन, र तिनीहरूले मुक्ति पाउने सम्भावना हुन्छ। कुन परिस्थितिमा ख्रीष्टविरोधी स्वभाव हुनु भनेको घातक रोग हो भनेर भन्न सकिन्छ? यसको लागि एउटा पूर्वसर्त छ, र त्यो के हो भने यी मानिसहरूले परमेश्वरको अस्तित्व स्विकारे पनि, परमेश्वरको सार्वभौमिकतामा विश्वास गरे पनि, परमेश्वरले भन्नुभएका सबै कुरामा विश्वास गरे पनि र त्यसलाई स्विकारे पनि, र तिनीहरूले कर्तव्य निर्वाह गर्न सके पनि, तिनीहरूमा एउटा कुरा गलत हुन्छ: तिनीहरूले कहिल्यै पनि सत्यता अभ्यास गर्ने वा सत्यता पछ्याउने गर्दैनन्। त्यसकारण तिनीहरूको ख्रीष्टविरोधी स्वभाव तिनीहरूको लागि घातक बन्छ, र यसले तिनीहरूको ज्यान लिन सक्छ। तर ख्रीष्टविरोधीको सार भएका मानिसहरूको कुरा आउँदा, परिस्थिति जेसुकै भए पनि, यी मानिसहरूले सत्यतालाई प्रेम गर्ने वा सत्यतालाई स्विकार्ने सम्भावनै हुँदैन, र तिनीहरूले कहिल्यै पनि सत्यता प्राप्त गर्न सक्दैनन्। कुरो बुझ्यौ? (बुझ्यौँ।) तिमीहरूले बुझ्यौ। मलाई यो कुरा दोहोर्याएर बताओ त। (ख्रीष्टविरोधीको सार भएका मानिसहरू अन्तर्निहित रूपमै परमेश्वरका शत्रुहरू हुन्। तिनीहरू सत्यतालाई प्रेम र स्वीकार गर्न सक्ने मानिसहरू होइनन्, र तिनीहरूले सत्यता प्राप्त गर्नु सधैँ असम्भव हुन्छ, त्यसकारण तिनीहरूको लागि तिनीहरूको ख्रीष्टविरोधी स्वभाव घातक रोग हो। जबकि ख्रीष्टविरोधी स्वभाव भएका निश्चित मानिसहरूको हकमा, तिनीहरूमा मानवता, समझ, विवेक, र लाजको बोध छ भने, र तिनीहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्छन् र सत्यतालाई पछ्याउँछन्, र त्यसपछि सत्यता पछ्याएर स्वभाव परिवर्तन हासिल गर्छन् भन्ने पूर्वसर्तको आधारमा, तिनीहरूले सही मार्ग पछ्याइरहेका हुन्छन्, र तिनीहरूको लागि तिनीहरूको ख्रीष्टविरोधी स्वभाव घातक रोग होइन। यो सबै कुरालाई यी मानिसहरूको सार र तिनीहरूले पछ्याउने मार्गले निर्धारित गरेको हुन्छ।) भन्नुको अर्थ, ख्रीष्टविरोधी सार भएका मानिसहरूले सत्यता पछ्याउनु कहिल्यै सम्भव हुँदैन, र तिनीहरूले कहिल्यै मुक्ति प्राप्त गर्न सक्दैनन्, जबकि ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरूलाई दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ: एक प्रकारकाले सत्यता पछ्याउँछन् र मुक्ति प्राप्त गर्न सक्छन्, र अर्को प्रकारकाले सत्यता पटक्कै पछ्याउँदैनन् र तिनीहरूले मुक्ति प्राप्त गर्न सक्दैनन्। मुक्ति प्राप्त गर्न नसक्नेहरू सबै श्रमिकहरू हुन्; केही निश्चित बफादार श्रमिकहरू रहन सक्छन्, र तिनीहरूले फरक परिणाम प्राप्त गर्ने सम्भावना हुन सक्छ।
ख्रीष्टविरोधी सार भएका मानिसहरूले किन मुक्ति प्राप्त गर्न सक्दैनन्? किनभने यी मानिसहरूले सत्यता स्वीकार गर्दैनन्, न त तिनीहरूले परमेश्वर सत्यता हुनुहुन्छ भन्ने कुरा नै स्वीकार गर्छन्। यी मानिसहरूले सकारात्मक कुराहरू हुन्छन् भनेर स्वीकार गर्दैनन्, र सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्। बरु त्यसको साटो, तिनीहरूले दुष्ट कुराहरू र नकारात्मक कुराहरूलाई प्रेम गर्छन्; तिनीहरू सबै दुष्ट र नकारात्मक कुराहरूका मूर्तरूप हुन्, र तिनीहरू सबै नकारात्मक र दुष्ट कुराहरू अभिव्यक्त गर्नेहरू हुन्, र त्यसैले तिनीहरू सत्यताप्रति वितृष्णा मान्छन्, सत्यताप्रति शत्रुवत् हुन्छन्, र सत्यतालाई घृणा गर्छन्। के तिनीहरूले त्यस्तो सार लिएर सत्यता पछ्याउन सक्छन्? (सक्दैनन्।) त्यसकारण, यी मानिसहरूलाई सत्यता पछ्याउन लगाउनु असम्भव हुन्छ। के एउटा पशुलाई अर्को प्रकारको पशुमा रूपान्तरण गर्नु सम्भव छ त? उदाहरणको लागि, के बिरालोलाई कुकुर वा मूसा बनाउन सकिन्छ त? (सकिँदैन।) मूसा सधैँ मूसा नै हुनेछ, त्यो प्राय प्वालहरूमा लुकेर अँध्यारोमै बस्ने गर्छ। बिरालो सधैँ मुसाको प्राकृतिक शत्रु हुनेछ, र यो कुरालाई परिवर्तन गर्न सकिँदैन—यसलाई कहिल्यै परिवर्तन गर्न सकिँदैन। तैपनि ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरूमाझ केही यस्ता व्यक्तिहरू पनि हुन्छन्, जो सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छन्, जो सत्यता अभ्यास गर्न र पछ्याउन सबै कुरा त्याग्न इच्छुक हुन्छन्; तिनीहरूले परमेश्वरले जे भन्नुहुन्छ त्यही अभ्यास गर्छन्, परमेश्वरले तिनीहरूलाई जसरी अगुवाइ गर्नुभए पनि तिनीहरूले पछ्याउँछन्, तिनीहरू परमेश्वरले जे भन्नुहुन्छ त्यही गर्छन्, तिनीहरूले पछ्याउने मार्ग पूर्ण रूपमा परमेश्वरले तोक्नुभएको मार्ग अनुरूप हुन्छ, र तिनीहरूले परमेश्वरले देखाउनुभएको दिशा र उद्देश्यहरू अनुसार नै पछ्याउँछन्। तर अरूको हकमा भन्दा, तिनीहरूले सत्यता पछ्याउँदैनन् भन्ने तथ्यबाहेक, तिनीहरूले ख्रीष्टविरोधीको मार्ग पनि पछ्याउँछन्, र यी मानिसहरूको परिणाम के हुनेछ भन्ने कुरा थाहा पाउन त्यति धेरै समय लाग्दैन। तिनीहरूले सत्यता प्राप्त नगर्ने मात्र होइन, तिनीहरूले मुक्ति पाउने मौका पनि गुमाउनेछन्—यी मानिसहरू कति दयनीय हुन्छन्! परमेश्वरले तिनीहरूलाई अवसर दिनुहुन्छ र सत्यता र जीवन पनि प्रदान गर्नुहुन्छ, तर तिनीहरूले यी कुराहरूलाई कदर गर्दैनन्, र सिद्ध पारिने मार्ग पछ्याउँदैनन्। यो होइन कि परमेश्वरले केही मानिसहरूलाई अरूलाई भन्दा बढी निगाह गर्नुहुन्छ र यी मानिसहरूलाई चाहिँ मौका दिनुहुन्न, बरु यो हो कि तिनीहरूले यी अवसरहरूलाई कदर नगरेकोले वा परमेश्वरले तोक्नुभए अनुसार काम नगरेकोले तिनीहरूले मुक्ति पाउने मौका गुमाएका हुन्छन्। त्यसकारण, तिनीहरूको ख्रीष्टविरोधी स्वभाव घातक बन्छ र यसले गर्दा तिनीहरूले आफ्नो जीवन गुमाउन सक्छन्। तिनीहरूले सोच्छन् कि केही धर्मसिद्धान्तहरू बुझ्दा अनि केही बाहिरी कार्यहरू र असल व्यवहार प्रदर्शन गर्दा परमेश्वरले तिनीहरूको ख्रीष्टविरोधी स्वभावको मामला हेर्नुहुन्न, तिनीहरूले यसलाई लुकाउन सक्छन्, र परिणामस्वरूप तिनीहरूले स्वाभाविक रूपमै सत्यता अभ्यास गर्नु पर्दैन र आफूले चाहेको जुनसुकै कुरा गर्न सक्छन्, र आफ्नै बुझाइ, विधि, र कामनाअनुसार काम गर्न सक्छन्। अन्त्यमा, परमेश्वरले तिनीहरूलाई जेसुकै मौका दिनुभए पनि, तिनीहरू जिद्दी भएर आफ्नै मार्गमा लागिरहन्छन्, तिनीहरूले ख्रीष्टविरोधी मार्ग पछ्याउँछन्, र तिनीहरू परमेश्वरका शत्रुहरू बन्छन्। परमेश्वरले तिनीहरूलाई सुरुदेखि नै शत्रुको रूपमा परिभाषित गर्नुभएकोले तिनीहरू परमेश्वरका शत्रुहरू बनेका होइनन्—परमेश्वरले सुरुमा तिनीहरूलाई कुनै परिभाषा दिनुभएन, किनभने परमेश्वरको नजरमा तिनीहरू उहाँका शत्रुहरू वा ख्रीष्टविरोधी सार भएका मानिसहरू थिएनन्, बरु तिनीहरू केवल शैतानी भ्रष्ट स्वभाव भएका मानिसहरू मात्रै थिए। परमेश्वरले जति नै धेरै सत्यता व्यक्त गर्नुभए पनि, तिनीहरू अझै पनि आफ्नो पछ्याइमा सत्यताप्रति लागिपर्दैनन्। तिनीहरूले मुक्तिको मार्गमा पाइला चाल्न सक्दैनन्, बरु तिनीहरूले ख्रीष्टविरोधी मार्ग पछ्याउँछन्, र अन्ततः मुक्ति पाउने आफ्नो मौका गुमाउँछन्। के त्यो लाजमर्दो कुरा होइन र? यो त अति लाजमर्दो कुरा हो! यी मानिसहरू अत्यन्तै दयनीय छन्। तिनीहरू किन दयनीय छन्? तिनीहरूले केही शब्द र सिद्धान्तहरू बुझेका हुन्छन् तर तिनीहरू आफूले सत्यता बुझेको छु भन्ने सोच्छन्; तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा थोरै मूल्य चुकाउँछन् र केही असल व्यवहार देखाउँछन् तर तिनीहरू आफूले सत्यता अभ्यास गरिरहेको छु भन्ने सोच्छन्; तिनीहरूसँग केही प्रतिभा, क्षमता, र वरदानहरू हुन्छन्, र तिनीहरूले केही शब्द र सिद्धान्तहरू बोल्न सक्छन्, केही काम गर्न सक्छन्, केही विशेष कर्तव्यहरू पूरा गर्न सक्छन्, तर तिनीहरू आफूले जीवन प्राप्त गरेको छु भन्ने सोच्छन्; तिनीहरूले थोरै कष्ट भोग्न सक्छन् र थोरै मूल्य चुकाउन सक्छन् तर तिनीहरू परमेश्वरमा समर्पित हुन र सबै कुरा त्याग्न सक्छु भनेर गलत रूपमा सोच्छन्। तिनीहरूले आफ्नो बाहिरी असल व्यवहार, वरदान, र आफूलाई सुसज्जित गर्ने शब्द र सिद्धान्तहरूलाई सत्यको अभ्यास गर्ने कार्यलाई प्रतिस्थापित गर्न प्रयोग गर्छन्—तिनीहरूको सबैभन्दा ठूलो समस्या, तिनीहरूको घातक कमजोरी यही हो। यसले तिनीहरूलाई तिनीहरू पहिले नै मुक्तिको मार्गमा हिँडिसकेका छन्, र तिनीहरूमा पहिले नै कद र जीवन छ भनेर गलत विश्वास गराउने तुल्याउँछ। तर जे भए पनि, यदि यी मानिसहरूले अन्त्यमा मुक्ति प्राप्त गर्न सकेनन् भने, तिनीहरूले आफू बाहेक अरू कसैलाई दोष दिन पाउँदैनन्; किनभने तिनीहरू आफैले सत्यतामा ध्यान दिइरहेका, र सत्यता पछ्याइरहेका हुँदैनन्, र तिनीहरू ख्रीष्टविरोधीहरूको बाटो पछ्याउन अत्यन्तै धेरै इच्छुक हुन्छन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग चार)
ख्रीष्टविरोधीहरूको बाटो हिँड्ने सबैजना ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरू हुन्, र ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरू हिँड्ने बाटो ख्रीष्टविरोधीहरूको बाटो हो—तैपनि ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरू र ख्रीष्टविरोधीहरूबीच अलि भिन्नता हुन्छ। यदि कुनै व्यक्तिमा ख्रीष्टविरोधी स्वभाव छ र ऊ ख्रीष्टविरोधीहरूको बाटो हिँड्छ भने, त्यसले ऊ ख्रीष्टविरोधी नै हो भन्ने कुरा जनाउँदैन। तर यदि उसले पश्चात्ताप गर्दैन र सत्यता स्वीकार गर्न सक्दैन भने, ऊ ख्रीष्टविरोधी बन्न सक्छ। ख्रीष्टविरोधीहरूको बाटो हिँड्ने मानिसहरूले अझै पनि पश्चात्ताप गर्ने आशा र मौका हुन्छ, किनभने तिनीहरू अझै ख्रीष्टविरोधी बनिसकेका हुँदैनन्। यदि तिनीहरूले अनेक किसिमका दुष्ट कामकुराहरू गर्छन् र तिनीहरूलाई ख्रीष्टविरोधीको रूपमा वर्गीकरण गरियो, र तिनीहरूलाई तुरुन्तै सफाइ गरी हटाइयो र निष्कासित गरियो भने, तिनीहरूले त्यसउप्रान्त पश्चात्ताप गर्ने मौका पाउनेछैनन्। यदि ख्रीष्टविरोधीहरूको बाटो हिँड्ने व्यक्तिले अझै धेरै दुष्ट कामकुराहरू गरेको छैन भने, यसले कम्तीमा पनि ऊ अझै दुष्ट व्यक्ति होइन भन्ने देखाउँछ। यदि उसले सत्यता स्वीकार गर्न सक्छ भने, उसको लागि आशाको एउटा किरण बाँकी हुन्छ। यदि तिनीहरूले सत्यता स्वीकार गर्दैनन् भने, चाहे जेसुकै भए पनि, तिनीहरूले हरकिसिमका दुष्कर्म नगरे पनि, मुक्ति पाउन तिनीहरूलाई निकै गाह्रो हुनेछ। किन ख्रीष्टविरोधीले मुक्ति पाउन सक्दैनन्? किनभने तिनीहरूले सत्यता अलिकति पनि स्वीकार गर्दैनन्। परमेश्वरको घरले इमानदार व्यक्ति बन्नेबारे जेजसरी सङ्गति गरे पनि—व्यक्तिले कसरी खुलस्त र स्पष्ट बन्नुपर्छ, खुलेर भन्नुपर्ने कुरा भन्नुपर्छ, र छलमा संलग्न हुनु हुँदैन भन्नेबारे जेजसरी सङ्गति गरे पनि—तिनीहरूले त्यो स्वीकार गर्न सक्दैनन्। तिनीहरूले मानिसहरू इमानदार भए भने तिनीहरूलाई घाटा हुन्छ र सत्य बोल्नु मूर्खतापूर्ण कुरा हो भन्ने निरन्तर महसुस गर्छन्। तिनीहरू इमानदार व्यक्ति नबन्न दृढ रूपले लागिपरेका हुन्छन्। ख्रीष्टविरोधीहरूको प्रकृति यही हो, जुन सत्यताप्रति वितृष्णा मान्ने र यसलाई घृणा गर्ने खालको हुन्छ। यदि कसैले अलिकति पनि सत्यता स्वीकार गर्दैन भने, उसले कसरी मुक्ति पाउन सक्छ र? यदि ख्रीष्टविरोधीहरूको बाटो हिँड्ने व्यक्तिले सत्यता स्वीकार गर्न सक्छ भने, ऊ र ख्रीष्टविरोधीबीच स्पष्ट भिन्नता हुन्छ। सबै ख्रीष्टविरोधीहरू अलिकति पनि सत्यता स्वीकार नगर्ने मानिसहरू हुन्। तिनीहरूले जति नै धेरै गलत वा दुष्ट कुराहरू गरेका भए पनि, तिनीहरूले मण्डलीको काम र परमेश्वरको घरका हितहरूमा जति नै ठूलो घाटा ल्याएका भए पनि, तिनीहरूले कहिल्यै पनि आफ्नो बारे मनन गर्नेछैनन् र आफूलाई चिन्नेछैनन्। तिनीहरूलाई काटछाँट गरिए पनि, तिनीहरूले सत्यता पटक्कै स्वीकार गर्दैनन्; त्यसैले मण्डलीले तिनीहरूलाई दुष्ट मानिसहरू, ख्रीष्टविरोधीहरू भनेर वर्गीकरण गर्छ। ख्रीष्टविरोधीले बढीमा उसका कार्यहरूले सिद्धान्तहरू उल्लङ्घन गर्छन् र ती सत्यताअनुरूप छैनन् भन्ने कुरा मात्रै स्वीकार गर्नेछन्, तर तिनीहरूले जानीजानी दुष्कर्म गर्छन्, वा जानीजानी परमेश्वरको विरोध गर्छन् भन्ने कुरा कहिल्यै स्वीकार गर्नेछैनन्। तिनीहरूले गल्तीहरू मात्रै स्वीकार गर्छन्, तर सत्यता स्वीकार गर्दैनन्; त्यसपछि, तिनीहरूले कुनै सत्यता अभ्यास नगरी पहिलेजस्तै दुष्कर्म गरिरहन्छन्। ख्रीष्टविरोधीले कहिल्यै पनि सत्यता स्वीकार गर्दैन भन्ने तथ्यबाट के देख्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको प्रकृति सार सत्यताप्रति वितृष्णा मान्नु र घृणा गर्नु हो। तिनीहरूले परमेश्वरमा विश्वास गरेको जति नै वर्ष भए पनि, तिनीहरू सधैँजस्तै परमेश्वरको विरोध गर्ने मानिसहरू नै रहिरहन्छन्। अर्कोतर्फ, साधारण र भ्रष्ट मानवजाति सबैमा ख्रीष्टविरोधी स्वभाव हुन सक्छ, तर तिनीहरू र ख्रीष्टविरोधीहरूबीच भिन्नता हुन्छ। धेरै मानिसहरू यस्ता पनि छन्, जो परमेश्वरका न्याय र खुलासाका वचनहरू सुनेपछि तिनलाई हृदयमा राख्न सक्छन्, र तिनको बारेमा बारम्बार मनन गर्न, र आत्मचिन्तन गर्न सक्छन्। त्यसपछि, तिनीहरूले यस्तो महसुस गर्न सक्छन्, “त्यसको मतलब, त्यो ख्रीष्टविरोधी स्वभाव हो; ख्रीष्टविरोधीहरूको बाटो हिँड्नु भनेको त्यही हो। कस्तो गम्भीर समस्या! ममा ती स्थिति र व्यवहारहरू छन्; ममा त्यस्तो सार छ—म त्यस्तो व्यक्ति हुँ!” त्यसपछि तिनीहरूले त्यो ख्रीष्टविरोधी स्वभाव कसरी त्याग्न र साँचो रूपमा पश्चात्ताप गर्न सकिन्छ भनेर विचार गर्छन्, र त्यसपछि तिनीहरूले ख्रीष्टविरोधीहरूको बाटो नहिँड्ने निर्णय गर्न सक्छन्। तिनीहरूले आफ्नो काम र जीवनमा मानिस, घटना, र परिस्थितिहरूप्रतिको र परमेश्वरको आज्ञाप्रतिको आफ्नो मनोवृत्तिमा, आफ्नो कार्य र व्यवहारबारे मनन गर्न सक्छन्, र तिनीहरू किन परमेश्वरमा समर्पित हुन सक्दैनन्, किन तिनीहरू सधैँ शैतानी स्वभावअनुसार जिइरहेका हुन्छन्, किन तिनीहरूले देह र शैतानविरुद्ध विद्रोह गर्न सक्दैनन् भन्नेबारे मनन गर्न सक्छन्। त्यसकारण, तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्नेछन्, र उहाँको न्याय र सजाय स्वीकार गर्छन्, र तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभाव र शैतानको प्रभावबाट बचाउन परमेश्वरलाई बिन्ती गर्छन्। तिनीहरूमा यसो गर्ने सङ्कल्प हुन्छ भन्ने तथ्यले तिनीहरूले सत्यता स्वीकार गर्न सक्छन् भन्ने कुरा प्रमाणित गर्छ। त्यसैगरी तिनीहरूले भ्रष्ट स्वभाव पनि प्रकट गर्छन्, र आफ्नै इच्छाअनुसार काम पनि गर्छन्; तर भिन्नता के हो भने, ख्रीष्टविरोधीले स्वतन्त्र राज्य स्थापना गर्ने महत्त्वाकाङ्क्षा र इच्छाहरू मात्रै राख्दैनन्—तिनीहरूले त जेसुकै भए पनि सत्यता स्विकार्दै स्विकार्दैनन्। यो ख्रीष्टविरोधीको मुख्य कमजोरी हो। अर्कोतर्फ, यदि ख्रीष्टविरोधी स्वभाव भएको व्यक्तिले सत्यता स्विकार्न, र परमेश्वरलाई प्रार्थना गर्न र उहाँमा भरोसा गर्न सक्छ भने, र यदि उसले शैतानको भ्रष्ट स्वभाव त्याग्न, र सत्यता खोजी गर्ने मार्ग हिँड्न चाहन्छ भने, त्यो प्रार्थना र त्यो सङ्कल्पले उसको जीवन प्रवेशमा के-कस्ता तरिकाले फाइदा गर्छ? यसले कम्तीमा पनि उसलाई आत्मचिन्तन गर्न र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा आफूलाई चिन्न, र समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न मद्दत गर्छ, ताकि उसले सन्तोषजनक रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सकोस्। यसले उसलाई फाइदा गर्ने एउटा तरिका त्यही हो। त्यसबाहेक, आफ्नो कर्तव्य निर्वाह गर्दा उसले प्राप्त गर्ने तालिमले गर्दा, ऊ सत्यता खोजी गर्ने मार्ग हिँड्न सक्छ। उसले जुनसुकै कठिनाइहरू सामना गरे पनि, उसले सत्यता खोजी गर्न, सत्यता स्विकार्न र अभ्यास गर्न ध्यान दिन सक्छ; उसले क्रमिक रूपमा आफ्नो शैतानी स्वभाव त्याग्न, र परमेश्वरमा समर्पित हुन र उहाँको आराधना गर्न सक्छ। त्यसरी अभ्यास गरेर उसले परमेश्वरको मुक्ति प्राप्त गर्न सक्छ। ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरूले कहिलेकहीँ भ्रष्टता प्रकट गर्न सक्छन्, र तिनीहरूले नचाहेर पनि अझै आफ्नै ख्याति, प्राप्ति, र हैसियतको हितमा बोल्न र व्यवहार गर्न सक्छन्, र अझै पनि आफ्नै इच्छाअनुसार काम गर्न सक्छन्—तर आफूले भ्रष्ट स्वभाव प्रकट गरिरहेको छु भन्ने महसुस गर्नेबित्तिकै, तिनीहरूले पछुतो मान्छन्, र परमेश्वरलाई प्रार्थना गर्छन्। यसले तिनीहरू सत्यता स्वीकार गर्न सक्ने, र परमेश्वरको काममा समर्पित हुने मानिसहरू हुन् भन्ने कुरा प्रमाणित गर्छ; यसले तिनीहरूले जीवन प्रवेश पछ्याइरहेका छन् भन्ने कुरा प्रमाणित गर्छ। यस्ता व्यक्तिले जति नै वर्ष अनुभव गरेका भए पनि, र जति नै धेरै भ्रष्टता प्रकट गरेका भए पनि, तिनीहरू अन्ततः सत्यता स्वीकार गर्न, र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। तिनीहरू परमेश्वरको काममा समर्पित हुने मानिसहरू हुन्। अनि तिनीहरूले यो सब गरेपछि, यसले तिनीहरूले पहिले नै साँचो मार्गमा आफ्नो जग बसालेका छन् भन्ने कुरा देखाउँछ। तर ख्रीष्टविरोधीहरूको बाटो हिँड्ने कतिपय मानिसहरूले सत्यता स्वीकार गर्न सक्दैनन्। मुक्ति पाउन ख्रीष्टविरोधीहरूलाई जति गाह्रो हुन्छ, तिनीहरूलाई पनि त्यति नै गाह्रो हुन्छ। त्यस्ता मानिसहरूले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने परमेश्वरका वचनहरू सुन्दा केही महसुस गर्दैनन्, बरु उदासीन र अप्रभावित रहन्छन्। जब सङ्गति ख्रीष्टविरोधी स्वभावको विषयतिर मोडिन्छ, तब तिनीहरूले आफूमा ख्रीष्टविरोधी स्वभाव छ र तिनीहरू ख्रीष्टविरोधीहरूको बाटो हिँडिरहेका छन् भन्ने कुरा स्वीकार गर्छन्। तिनीहरूले यसबारेमा निकै राम्रो कुरा गर्छन्। तर जब सत्यता अभ्यास गर्ने समय आउँछ, तब तिनीहरूले त्यसो गर्न इन्कार गर्छन्; अझै पनि तिनीहरूले आफ्नै इच्छाअनुसार, आफ्नै ख्रीष्टविरोधी स्वभावमा भरोसा गरेर काम गर्छन्। यदि तैँले तिनीहरूलाई यस्तो प्रश्न सोधिस् भने, “तपाईंले ख्रीष्टविरोधी स्वभाव प्रकट गर्दा तपाईंको हृदयमा संघर्ष हुन्छ? आफ्नो हैसियत रक्षा गर्न बोल्दा, के तपाईंलाई आत्मनिन्दा महसुस हुन्छ? जब तपाईंले ख्रीष्टविरोधी स्वभाव प्रकट गर्नुहुन्छ, तब के तपाईंले आत्मचिन्तन गर्नुहुन्छ र आफूलाई चिन्नुहुन्छ? आफ्नो भ्रष्ट स्वभावबारे थाहा पाएपछि के तपाईंलाई हृदयमा पछुतो हुन्छ? के त्यसपछि तपाईं पश्चात्ताप गर्नुहुन्छ वा परिवर्तन हुनुहुन्छ?” तब तिनीहरूले पक्कै पनि कुनै उत्तर दिँदैनन्, किनभने तिनीहरूले त्यस्तो कुनै अनुभव र सामनाहरू गरेका हुँदैनन्। तिनीहरूले केही पनि भन्न सक्दैनन्। के यस्ता मानिसहरूले साँचो पश्चात्ताप गर्न सक्छन्? अवश्य नै, यो काम सजिलो हुँदैन। साँचो रूपमा सत्यता खोजी गर्नेहरूलाई आफूभित्र रहेको ख्रीष्टविरोधी स्वभावको कुनै पनि प्रकटीकरणले पीडा दिन्छ, र तिनीहरू चिन्तित हुन्छन्; तिनीहरूले यस्तो सोच्छन्: “मैले किन यो शैतानी स्वभाव त्याग्न सक्दिनँ? मैले किन सधैँ भ्रष्ट स्वभाव प्रकट गरिरहेको हुन्छु? मेरो यो भ्रष्ट स्वभाव किन यति जिद्दी र जटिल छ? सत्यता वास्तविकतामा प्रवेश गर्न किन यति गाह्रो छ?” यसले तिनीहरूको जीवन अनुभव सतही छ, र तिनीहरूको भ्रष्ट स्वभाव पटक्कै समाधान भएको छैन भन्ने देखाउँछ। त्यसैले, कुनै कुरा आइपर्दा, तिनीहरूको हृदयमा यति चर्को युद्ध हुन्छ, र त्यसैले तिनीहरूले त्यो कष्टको बोझ पनि लिन्छन्। तिनीहरूले आफ्नो शैतानी स्वभाव त्याग्ने सङ्कल्प गरे पनि, तिनीहरूले पक्कै पनि हृदयमा यसविरुद्ध युद्धको अनुभव नगरी तिनीहरू अघि बढ्न सक्दैनन्—त्यो युद्धको स्थिति दिनप्रति दिन तीव्र हुँदै जान्छ। अनि तिनीहरूको आफ्नो बारेको ज्ञान गहन हुँदै जाँदा, र तिनीहरू कति गहन रूपमा भ्रष्ट छन् भन्ने देख्ने क्रममा, तिनीहरूले सत्यता प्राप्त गर्ने अझै बढी तृष्णा गर्छन्, र यसलाई अझै बढी बहुमूल्य ठान्छन्, र तिनीहरूले आफूलाई र आफ्नो भ्रष्ट स्वभावलाई चिन्ने क्रममा निरन्तर सत्यता स्विकार्न र अभ्यास गर्न सक्छन्। तिनीहरू क्रमिक रूपमा कदमा वृद्धि हुन्छन्, र तिनीहरूको जीवन स्वभाव साँच्चै परिवर्तन हुन थाल्छ। यदि तिनीहरूले यसरी नै अनुभव गर्ने प्रयास गरिरहे भने, तिनीहरूको परिस्थिति वर्षैपिच्छे झन्झन् राम्रो हुँदै जान्छ, र अन्त्यमा तिनीहरूले देहमाथि विजय प्राप्त गर्न र आफ्नो भ्रष्टता त्याग्न, बारम्बार सत्यता अभ्यास गर्न, र परमेश्वरप्रति समर्पण हासिल गर्न सक्छन्। जीवन प्रवेश पाउनु सहज छैन! यो त मर्नै लागेको व्यक्तिलाई पुनर्जीवित गर्नुजस्तै हो: व्यक्तिले पूरा गर्न सक्ने जिम्मेवारी भनेको सत्यता सङ्गति गर्नु, तिनीहरूलाई सहयोग गर्नु, र तिनीहरूलाई भरणपोषण गर्नु, वा काटछाँट गर्नु हो। यदि तिनीहरूले यसलाई स्वीकार गर्न सक्छन् र तिनीहरू यसमा समर्पित हुन सक्छन् भने, तिनीहरूको लागि आशा हुन्छ; तिनीहरू उम्कन सक्ने गरी भाग्यमानी हुन सक्छन्, र मृत्युको मुखबाट बच्छन्। तर यदि तिनीहरूले सत्यता स्वीकार गर्न मान्दैनन्, र आफ्नो बारे केही पनि जान्दैनन् भने, तिनीहरू खतरामा हुन्छन्। कति ख्रीष्टविरोधीहरूले त तिनीहरूलाई हटाइएपछि एकदुई वर्ष बित्दा पनि आफूलाई चिन्दैनन्, र तिनीहरूले आफ्ना गल्तीहरू स्वीकार गर्दैनन्। त्यस्तो अवस्थामा, तिनीहरूमा जीवनको कुनै लक्षण बाँकी हुँदैन, र त्यो तिनीहरूले मुक्ति पाउने आशा गुमाइसकेको प्रमाण हो। तिमीहरूलाई काटछाँट गरिएको बेला, के तिमीहरूले सत्यता स्वीकार गर्न सक्छौ? (सक्छौँ।) त्यसोभए आशा छ—त्यो राम्रो कुरा हो! यदि तैँले सत्यता स्वीकार गर्न सक्छस् भने, तँसँग मुक्ति पाउने आशा हुन्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई)
विगतमा कतिपय अगुवा र सेवकहरूले बारम्बार ख्रीष्टविरोधीका स्वभावहरू प्रकट गर्थे: तिनीहरू बेकाबु र स्वेच्छाचारी थिए, र कुराहरू सधैँ तिनीहरूले भनेकै जस्तो हुनुपर्थ्यो। तर तिनीहरूले कुनै स्पष्ट दुष्टता गरेनन् र तिनीहरूको मानवता भयानक थिएन। काटछाँटमा परेपछि, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई सहयोग गरेपछि, स्थानान्तर वा प्रतिस्थापन गरिएपछि, केही समयसम्म नकारात्मक भएपछि, तिनीहरू आफूले पहिले प्रकट गरेका कुराहरू भ्रष्ट स्वभाव हुन् भनेर बल्ल सचेत बन्छन्, तिनीहरू पश्चात्ताप गर्न तयार हुन्छन्, र सोच्छन्, “सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको जेसुकै भए पनि आफ्नो कर्तव्यमा लागिरहनु हो। म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेको भए पनि, मलाई त्यस्तो व्यक्तिको रूपमा वर्गीकरण गरिएन। यो परमेश्वरको कृपा हो, त्यसकारण मैले मेरो विश्वास र पछ्याइमा मेहनत गर्नैपर्छ। सत्यता पछ्याउने मार्गमा केही पनि गलत छैन।” बिस्तारै, तिनीहरूले आफूलाई परिवर्तन गर्छन्, र त्यसपछि पश्चात्ताप गर्छन्। तिनीहरूमा असल प्रकटीकरणहरू हुन्छन्, तिनीहरूले आफ्ना कर्तव्य पूरा गर्दा सत्यता सिद्धान्तहरू खोजी गर्न सक्छन्, र अरूसँग अन्तरक्रिया गर्दा पनि सत्यता सिद्धान्तहरू खोजी गर्छन्। हरेक हिसाबमा, तिनीहरू सकारात्मक दिशामा प्रवेश गरिरहेका हुन्छन्। के त्यसपछि तिनीहरू परिवर्तन भएका हुँदैनन् र? तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नेबाट परिवर्तन भएर सत्यता अभ्यास गर्ने पछ्याउने मार्गमा हिँड्न थालेका हुन्छन्। तिनीहरूले मुक्ति पाउने आशा र मौका हुन्छ। के त्यस्ता मानिसहरूले कुनै बेला ख्रीष्टविरोधीका केही प्रकटीकरणहरू प्रदर्शन गरेका वा तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँडेका हुनाले तैँले तिनीहरूलाई ख्रीष्टविरोधीहरू भनेर वर्गीकरण गर्न मिल्छ? मिल्दैन। ख्रीष्टविरोधीहरू त पश्चात्ताप गर्नभन्दा मर्न तयार हुन्छन्। तिनीहरूमा कुनै लाजको बोध हुँदैन; त्यस बाहेक, तिनीहरू द्वेषपूर्ण र दुष्ट स्वभावका हुन्छन्, र तिनीहरूमा सत्यताप्रति चरम वितृष्णा हुन्छ। के सत्यताप्रति यति धेरै वितृष्ण व्यक्तिले यसलाई अभ्यास गर्न, वा पश्चात्ताप गर्न सक्छ? त्यो असम्भव हुनेछ। तिनीहरू सत्यताप्रति पूर्णतया वितृष्ण हुनुको अर्थ तिनीहरूले कहिल्यै पनि पश्चात्ताप गर्नेछैनन् भन्ने हुन्छ। पश्चात्ताप गर्न सक्ने मानिसहरूका हकमा एउटा कुरा निश्चित छ, र त्यो के हो भने तिनीहरूले गल्ती गरेका हुन्छन् तर परमेश्वरका वचनहरूको न्याय र सजायलाई स्विकार्न सक्छन्, सत्यतालाई स्विकार्न सक्छन्, र आफ्ना कर्तव्य पूरा गर्दा सहकार्य गर्न, परमेश्वरका वचनहरूलाई आफ्नो व्यक्तिगत सिद्धान्तको रूपमा लिन, र परमेश्वरका वचनहरूलाई आफ्नो जीवनको वास्तविकतामा परिणत गर्नका लागि जति सक्दो प्रयास गर्न सक्छन्। तिनीहरूले सत्यतालाई स्विकार्छन्, र भित्री रूपमा, तिनीहरू यसप्रति वितृष्ण हुँदैनन्। के भिन्नता यही होइन र? भिन्नता यही हो। तैपनि, ख्रीष्टविरोधीहरूले काटछाँटलाई इन्कार गर्न छोड्दैनन्—तिनीहरू सत्यतासँग मेल खाने शब्दहरू बोल्ने कसैको कुरा सुन्दैनन्, र परमेश्वरका वचनहरू सत्यता हुन् भन्ने कुरामा विश्वास गर्दैनन्, न त तिनलाई सत्यताको रूपमा नै स्विकार्छन्। त्यो तिनीहरूको कस्तो प्रकृति हो? यो चरम रूपमा सत्यताप्रति वितृष्ण हुने र त्यसलाई घृणा गर्ने प्रकृति हो। कसैले सत्यतामा सङ्गति गर्दा वा अनुभवात्मक गवाहीबारे बोल्दा, उसलाई यो कुराप्रति अत्यन्तै दिगमिग हुन्छ, र ऊ सङ्गति गर्ने व्यक्तिप्रति शत्रुवत् हुन्छ। यदि मण्डलीमा कसैले विभिन्न मूर्खतापूर्ण र दुष्ट तर्कहरू फैलाइरहेको छ, हास्यास्पद, मूर्खतापूर्ण कुराहरू भनिरहेको छ भने, यसले उसलाई निकै खुशी तुल्याउँछ; ऊ तुरुन्तै तिनीहरूसँग सहमत भएर दलदलमा फस्छ, र निकट रूपमा सहकार्य गर्छ। यो त एउटै ड्याङको मुला भने जस्तै हो, चोरको साथी चोर भने जस्तै हो। यदि तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूले सत्यतामा सङ्गति गर्दै गरेको वा आफ्नो आत्मज्ञान र इमानदारीपूर्ण पश्चात्तापको अनुभवात्मक गवाही दिँदै गरेको सुने भने, यसले तिनीहरूलाई व्याकुल तुल्याउँछ र तिनीहरू क्रोधित हुन्छन्, र तिनीहरूले त्यो व्यक्तिलाई कसरी बहिष्कार गर्ने र आक्रमण गर्ने भनेर विचार गर्न थाल्छन्। छोटकरीमा भन्दा, तिनीहरूले सत्यता पछ्याउने कसैलाई राम्रो नजरले हेर्दैनन्। तिनीहरू उनीहरूलाई बहिष्कार गर्न र उनीहरूको शत्रु हुन चाहन्छन्। शब्द र धर्मसिद्धान्तहरू प्रचार गरेर धाक लगाउन सिपालु जोकोही व्यक्तिलाई तिनीहरूले साह्रै मन पराउँछन् र निकै अनुमोदन गर्छन्, मानौँ तिनीहरूले एक विश्वासपात्र र सहयात्री भेट्टाएका छन्। यदि कसैले “जसले सबैभन्दा धेरै काम गर्छ र सबैभन्दा ठूलो योगदान दिन्छ उसलाई ठूलो इनाम र मुकुट दिइनेछ, र उसले परमेश्वरसँग मिलेर शासन गर्नेछ” भनेर भन्यो भने, तिनीहरू अत्यन्तै उत्साहित हुन्छन्, र तिनीहरूको रगत उम्लिन्छ। तिनीहरू आफू अरूभन्दा धेरै माथि भएको, अन्ततः आफू अरूभन्दा अलग देखिन थालेको, अब तिनीहरूले आफूलाई प्रदर्शन गर्ने र आफ्नो मूल्य प्रदर्शन गर्ने ठाउँ पाएको महसुस गर्छन्। त्यसपछि तिनीहरू निकै सन्तुष्ट हुनेछन्। के त्यो सत्यताप्रति वितृष्ण हुनु होइन र? मानौँ तैँले तिनीहरूलाई सङ्गतिमा यसो भन्छस्, “परमेश्वरले पावल जस्ता मानिसहरूलाई मन पराउनुहुन्न, र उहाँले ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने, र दिनभरि ‘प्रभु, प्रभु, के मैले तपाईंको लागि धेरै काम गरेको छैन र?’ भन्दै हिँड्ने मानिसहरूलाई सबैभन्दा बढी घिनाउनुहुन्छ। उहाँले दिनभरि उहाँलाई इनाम र मुकुट माग्दै हिँड्ने मानिसहरूलाई घिनाउनुहुन्छ।” यी वचनहरू अवश्य नै सत्यता हुन्, तर यस्तो सङ्गति सुन्दा तिनीहरूले कस्तो अनुभूति गर्छन्? के तिनीहरूले त्यस्ता वचनहरूप्रति आमेन भन्छन् र तिनलाई स्विकार्छन्? तिनीहरूको पहिलो प्रतिक्रिया के हुन्छ? हृदयमा घृणा र सुन्ने अनिच्छा—तिनीहरूले भन्न खोजेको के हुन्छ भने, “तिमीले भनिरहेको कुराप्रति तिमी कसरी यति निश्चित हुन सक्छौ? के तिमीले अन्तिम निर्णय गर्छौ र? तिमीले जे भनिरहेका छौ त्यसमा मलाई विश्वास लाग्दैन! म जे गर्न चाहन्छु त्यही गर्नेछु। म पनि पावल जस्तै हुनेछु र परमेश्वरलाई एउटा मुकुट माग्नेछु। त्यसरी, मैले आशिष् र गन्तव्य पाउन सक्छु!” तिनीहरूले पावलका दृष्टिकोणहरूलाई कायम राख्न जिद कस्छन्। के तिनीहरूले यसरी परमेश्वरको विरुद्धमा लडाइँ गरिरहेका हुँदैनन् र? के त्यो परमेश्वरप्रतिको स्पष्ट विरोध होइन र? परमेश्वरले पावलको सारलाई खुलासा र विश्लेषण गर्नुभएको छ; उहाँले यसबारे धेरै कुरा बताउनुभएको छ, र उहाँले भन्नुभएको हरेक कुरा सत्य हो—तैपनि यी ख्रीष्टविरोधीहरूले सत्यतालाई वा पावलका सबै कार्य र व्यवहारहरू परमेश्वरको विरोधमा थिए भन्ने तथ्यलाई स्विकार्दैनन्। तिनीहरूले मनमा अझै पनि यस्तो प्रश्न गर्छन्: “यदि तिमीले केही भन्यौ भने, के त्यसको अर्थ त्यो कुरा सही हो भन्ने हुन्छ? कुन आधारमा? मेरो विचारमा, पावलले भनेको र गरेको कुरा सही देखिन्छ। यसमा गलत कुरा केही पनि छैन। म मुकुट र इनाम पछ्याइरहेको छु—म त्यही कुरामा सक्षम छु! के तिमी मलाई रोक्न सक्छौ? म काम गर्न खोज्नेछु; मैले धेरै काम गरिसकेपछि, मसँग पूँजी हुनेछ—मैले योगदान दिएको हुनेछु, त्यसकारण, म स्वर्गको राज्यमा प्रवेश गर्न र इनाम पाउन सक्ने हुनेछु। यसमा केही गलत छैन!” तिनीहरू यति जिद्दी हुन्छन्। तिनीहरूले सत्यतालाई अलिकति पनि स्विकार्दैनन्। तैँले तिनीहरूलाई सत्यतामा सङ्गति दिन सक्छस्, तर यो कुरा तिनीहरूले बुझ्नेछैनन्; तिनीहरू यसप्रति वितृष्ण हुन्छन्। परमेश्वरका वचनहरू र सत्यताप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यस्तै हुन्छ, र परमेश्वरप्रति पनि तिनीहरूको मनोवृत्ति यस्तै हुन्छ। त्यसोभए, सत्यता सुनेपछि तिमीहरूलाई कस्तो महसुस हुन्छ? तँलाई आफूले सत्यता नपछ्याइरहेको, र यसलाई नबुझेको महसुस हुन्छ। तँलाई अझै पनि आफूमा यो कुराको धेरै कमी छ, र आफूले सत्यता वास्तविकतातर्फ लागिपर्नुपर्छ भन्ने लाग्छ। अनि जब तैँले आफूलाई परमेश्वरका वचनहरूसँग तुलना गर्छस्, तब तँलाई आफूमा धेरै कमीकमजोरी छ, आफ्नो क्षमता कमजोर छ, र आफूमा आत्मिक बुझाइको कमी छ—तँ अझै पनि झाराटारुवा छस्, र तँमा अझै पनि दुष्टता छ भन्ने लाग्छ। त्यसपछि, तँ नकारात्मक बन्छस्। के तेरो स्थिति त्यही होइन र? अर्कोतर्फ, ख्रीष्टविरोधीहरू कहिल्यै पनि नकारात्मक हुँदैनन्। तिनीहरू सधैँ अत्यन्तै उत्साहित हुन्छन्, तिनीहरूले कहिल्यै आत्मचिन्तन गर्दैनन् वा आफूलाई चिन्दैनन्, तर आफूसँग कुनै ठूलो समस्या छैन भन्ने सोच्छन्। सधैँ अहङ्कारी र आत्मधर्मी हुने मानिसहरू यस्तै हुन्छन्—तिनीहरूले शक्ति हातमा लिने बित्तिकै, तिनीहरू ख्रीष्टविरोधीहरूमा परिणत हुन्छन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक)
के त्यस्तो व्यक्ति कोही छ, जसले शक्तिको चाहना गर्दै गर्दैन? के त्यस्तो कोही छ, जसले शक्ति मन पराउँदैन? के त्यस्तो कोही छ, जो हैसियतका लाभहरूको लालसा गर्दैन? छैन, कोही छैन। यसको कारण के हो? कारण के हो भने, मानिसहरू सबै शैतानद्वारा भ्रष्ट पारिका छन्; तिनीहरू सबैमा शैतानी स्वभाव छ। सबै मानिसहरूमा हुने एउटा साझा कुरा के हो भने, तिनीहरू शक्ति, हैसियत, र तिनले तिनीहरूलाई दिने फाइदाहरूको आनन्द लिन मन पराउँछन्। यो सबै मानिसहरूमा हुने विशेषता हो। त्यसोभए अरूले केवल ख्रीष्टविरोधीको स्वभाव प्रकट गर्दा वा तिनीहरू ख्रीष्टविरोधीको बाटोमा हिँड्दा कतिपय मानिसहरूलाई किन ख्रीष्टविरोधीका रूपमा लिइन्छ? यी दुई समूहको बीचमा के-कस्ता भिन्नताहरू छन्? पहिले, म तिनीहरूको मानवतामा रहेका भिन्नताका बारेमा कुरा गर्नेछु। के ख्रीष्टविरोधीहरूमा मानवता हुन्छ? ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने र ख्रीष्टविरोधी स्वयमको बीचमा रहेका भिन्नताहरू के-के हुन्? (ख्रीष्ट-विरोधीहरूमा विवेक र समझ हुँदैन, तिनीहरूमा मानवता हुँदैन, जबकि ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने मानिसहरूमा अझै अलिकति विवेक र समझ हुन्छ। तिनीहरूले अझै पनि सत्यता अनि परमेश्वरको न्याय र सजाय स्वीकार गर्न सक्छन्, र साँचो पश्चात्ताप पनि देखाउन सक्छन्।) पश्चात्ताप देखाउनु एउटा भिन्नता हो। के ख्रीष्टविरोधीहरूलाई पश्चात्ताप गर्न आउँछ? (अहँ, आउँदैन।) ख्रीष्टविरोधीहरूले सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनन्; यदि तिनीहरूले ठक्कर नै खाए पनि, पश्चात्ताप गर्दैनन्। तिनीहरू आफैलाई कहिल्यै चिन्दैनन्। मानवताको हकमा भन्दा, ख्रीष्टविरोधीको मार्गमा हिँड्ने मानिसहरू त ख्रीष्टविरोधीहरूको बीचमा अर्को भिन्नता पनि छ, जुन औसत असल व्यक्ति र दुष्ट व्यक्तिमा हुने भिन्नता हो। असल मानिसहरूले विवेक र समझका साथ बोल्छन् र कामकुरा गर्छन्, जबकि दुष्ट मानिसहरूमा विवेक र समझ हुँदैन। जब दुष्ट मानिसहरूले कुनै नराम्रो काम गर्छन् र खुलासा हुन्छन्, तिनीहरूले भनेको मान्दैनन्: “सबैलाई थाहा भए पनि, के तिनीहरूले यसबारे केही गर्न सक्छन् र? मलाई जे मन लाग्छ त्यही गर्नेछु! मलाई कसले खुलासा गर्छ वा आलोचना गर्छ भन्ने कुराको मतलब छैन। कसैले मलाई साँच्चै के नै गर्न सक्छ र?” दुष्ट व्यक्तिले जतिसुकै नराम्रा कामहरू गरे पनि तिनीहरूलाई लाज हुँदैन। जब एउटा साधारण व्यक्तिले कुनै नराम्रो काम गर्छ, उसले त्यसलाई लुकाउन र ढाक्न चाहन्छ। यदि कसैले तिनीहरूको खुलासा गर्यो भने, तिनीहरूले लाजले गर्दा कसैको सामना गर्न सक्दैनन् र बाँच्न पनि चाहँदैनन्: “अहो, मैले कसरी यस्तो कुरा गर्न सकेँ? म साँच्चै निर्लज्ज व्यक्ति हुँ!” तिनीहरू अत्यन्तै पछुताउँछन् र आफूलाई सराप्ने कामसमेत गर्छन्, अनि फेरि यस्तो काम कहिल्यै नगर्ने कसम खान्छन्। यस्तो व्यवहार नै तिनीहरूसँग लाजको भावना छ, तिनीहरूमा अझै पनि केही मानवता छ भन्ने कुराको प्रमाण हो। निर्लज्ज व्यक्तिमा विवेक र समझ हुँदैन, र दुष्ट मानिसहरू सबै निर्लज्ज हुन्छन्। दुष्ट व्यक्तिले जुनसुकै प्रकारको नराम्रो काम गरे पनि, यसले तिनीहरूको अनुहार रातो पार्दैन वा तिनीहरूको मुटुको धड्कन बढाउँदैन, र तिनीहरूले अझै पनि निर्लज्ज भएर आफ्नो कार्यको रक्षा गर्नेछन्, नकारात्मक पक्षहरूलाई सकारात्मकमा बदल्नेछन्, र खराब कार्यहरूबारे यसरी बोल्नेछन्, मानौँ ती असल कार्य हुन्। के यस्तो व्यक्तिमा लाजको भाव हुन्छ? (हुँदैन।) यदि तिनीहरूमा यस्तो मनोवृत्ति छ भने, के तिनीहरूले भविष्यमा साँच्चै पश्चात्ताप गर्नेछन्? होइन, तिनीहरूले पहिले जस्तै व्यवहार गरिरहनेछन्। यसको मतलब तिनीहरू निर्लज्ज हुन्छन्, र निर्लज्जताको अर्थ विवेक र समझ नहुनु हो। विवेक र समझ भएका मानिसहरू नराम्रो काम गरेकोमा खुलासा भएपछि लाजले कसैको पनि सामना गर्न सक्दैनन्, र तिनीहरूले यस्तो काम फेरि कहिल्यै गर्दैनन्। किन? किनभने तिनीहरूलाई यो लाजमर्दो कुरा थियो भन्ने लाग्छ र लाजले गर्दा कसैको अनुहार हेर्न सक्दैनन्; तिनीहरूको मानवतामा लाजको भाव हुन्छ। के यो सामान्य मानवताको न्यूनतम मानक होइन र? (हो।) लाजसमेत महसुस नगर्ने व्यक्तिलाई मानव भन्न सकिन्छ र? सकिँदैन। के लाज महसुस नगर्ने व्यक्तिको दिमाग सामान्य हुन्छ? (हुँदैन।) तिनीहरूको दिमाग सामान्य हुँदैन, तिनीहरूमा सकारात्मक कुराहरूप्रतिको प्रेम हुनु त परको कुरा हो। तिनीहरूका लागि विवेक र समझ हुनु एउटा उच्च मानक हो, जसदेखि तिनीहरू निकै टाढा छन्। अब, ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नेहरूबीचको सबैभन्दा आधारभूत भिन्नता के हो? जब ख्रीष्टविरोधीको सार भएको व्यक्तिलाई पदका लागि परमेश्वरसँग प्रतिस्पर्धा गरेकोमा अरू कसैले खुलासा गर्छ, तब तिनीहरूले आफूले गल्ती गरेको छु भन्ने सोच्दैनन्। पछि, तिनीहरूले आफ्ना पाठहरू नसिक्ने र परमेश्वरतिर नफर्कने मात्र होइन, बरु तिनीहरूले अगुवा वा सेवकका रूपमा निर्वाचित हुने मौका पाउनेबित्तिकै पहिलेजस्तै पश्चात्ताप गर्नुभन्दा मर्नु निको भन्ने सोच्दै हैसियतका लागि परमेश्वरसँग होड गर्ने कार्यलाई जारी राख्छन्। के यी मानिसहरूसँग कुनै तर्कशक्ति हुन्छ? (हुँदैन।) र के समझशक्ति नभएका मानिसहरूले कुनै लाज महसुस गर्छन्? (गर्दैनन्।) त्यस्ता मानिसहरूसँग कुनै तर्कशक्ति र लाजको भाव हुँदैन। जब सामान्य मानवता, विवेक र समझ भएका मानिसहरूले तिनीहरूले हैसियतका लागि परमेश्वरसँग होड गरिरहेका छन् भन्ने कुरा अरूबाट सुन्छन्, तब तिनीहरूले सोच्नेछन्, “ओहो, यो त गम्भीर कुरा हो! म परमेश्वरको अनुयायी हुँ! मैले उहाँसँग कसरी हैसियतका लागि होड गर्न सकेँ? हैसियतका लागि परमेश्वरसँग होड गर्नु कति लाजमर्दो कुरा हो! यसो गरेर म कति सुप्त, कति मूर्ख, कति अनुचित व्यक्ति बनेको छु! मैले कसरी यस्तो काम गर्न सकेँ?” तिनीहरूले आफूले गरेको कामका लागि लज्जित महसुस गर्नेछन्, र यस्तै अवस्थाहरूको सामना गर्दा, तिनीहरूको लज्जाबोधले तिनीहरूको व्यवहारलाई थाम्नेछ। सबै मानिसहरूको प्रकृति सार शैतानको प्रकृति सार हो, तर सामान्य मानवताको समझ हुनेहरूमा लाजको भाव हुनेछ, र तिनीहरूको व्यवहार नियन्त्रित हुनेछ। सत्यताप्रतिको व्यक्तिको बुझाइ बिस्तारै गहिरो हुँदै गएपछि, र परमेश्वरबारे तिनीहरूको ज्ञान र समझ र सत्यताप्रतिको समर्पण गहन हुँदै गएपछि, लाजको यो भाव न्यूनतम सीमा रहन छोड्नेछ। तिनीहरूलाई सत्यताले, र परमेश्वरप्रति डर मान्ने तिनीहरूको हृदयले झन्-झन् नियन्त्रण गर्दै जानेछ। तिनीहरूले आफूलाई सुधार्ने कार्यलाई जारी राख्नेछन्, र झन्-झन् सत्यताअनुरूप व्यवहार गर्दै जानेछन्। तर, के ख्रीष्टविरोधीहरूले सत्यतालाई पछ्याउनेछन्? तिनीहरू बिलकुलै गर्नेछैनन्। तिनीहरूमा सामान्य मानवताको समझ हुँदैन, तिनीहरूलाई सत्यताको पछि लाग्नुको अर्थ के हो भन्ने थाहा हुँदैन, र तिनीहरू सत्यताको विरुद्धमा हुन्छन् र तिनीहरूमा यसप्रति अलिकति पनि प्रेम हुँदैन, त्यसोभए तिनीहरूले कसरी सत्यतालाई पछ्याउन सक्छन्? सत्यतालाई पछ्याउनु एउटा सामान्य मानवीय आवश्यकता हो; धार्मिकताका लागि भोकाउने र तिर्खाउनेहरूले मात्र सत्यतालाई प्रेम गर्नेछन् र यसलाई पछ्याउनेछन्। सामान्य मानवता नहुनेहरूले सत्यतालाई कहिल्यै पछ्याउनेछैनन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्छन्
ख्रीष्टविरोधीहरूको लागि, उनीहरूको प्रतिष्ठा वा हैसियतलाई आक्रमण गर्नु र खोसी लैजानु उनीहरूको ज्यान लिने प्रयास गर्नुभन्दा पनि गम्भीर कुरा हुन्छ। उनीहरूले जति उपदेशहरू सुने पनि वा परमेश्वरका वचनहरू जति धेरै पढे पनि, आफूले सत्यताको कहिल्यै अभ्यास नगरेकोमा र ख्रीष्टविरोधीहरूको बाटो लिएकोमा, अनि ख्रीष्टविरोधीहरूको प्रकृति सार धारण गरेकोमा दुःख वा पछुतो महसुस गर्नेछैनन्। यसको सट्टा, उनीहरू सधैँ आफ्नो हैसियत प्राप्त गर्ने र आफ्नो इज्जत बढाउने उपायहरूका निम्ति आफ्नो दिमाग खियाइरहेका हुन्छन्। यो भन्न सकिन्छ कि ख्रीष्टविरोधीहरूले जे गर्छन् त्यो अरूको अगाडि आफ्नो प्रदर्शन गर्नको लागि गर्छन् र परमेश्वरको अगाडि गर्दैनन्। म किन यसो भन्छु त? किनकि त्यस्ता मानिसहरू हैसियतलाई यति धेरै प्रेम गर्छन् कि उनीहरू त्यसलाई आफ्नो जीवन, र आफ्नो जीवनभरिको लक्ष्यको रूपमा लिन्छन्। यसबाहेक, उनीहरूले हैसियतलाई धेरै प्रेम गर्ने भएकाले उनीहरू सत्यताको अस्तित्वमा कहिल्यै पनि विश्वास गर्दैनन्, र उनीहरू परमेश्वरको अस्तित्वमा पटक्कै विश्वास गर्दैनन् भनेर पनि भन्न सकिन्छ। यसैले, उनीहरूले प्रतिष्ठा र हैसियत प्राप्त गर्न जे-जसरी हिसाबकिताब गरे पनि र मानिसहरू र परमेश्वरलाई झुक्याउन उनीहरूले जे-जसरी झुटा रूपरङ्गहरू प्रयोग गर्ने कोसिस गरे पनि, उनीहरूको हृदयको गहिराइमा कुनै चेतना वा ग्लानि हुँदैन, उनीहरूमा कुनै चिन्ता हुन्छ भनेर त नसोचेकै बेस। प्रतिष्ठा र हैसियत सम्बन्धी निरन्तरको खोजीमा, तिनीहरूले परमेश्वरले गर्नुभएका कुराहरूलाई पनि स्वेच्छाचारी रूपमा नकार्छन्। म किन यसो भन्छु त? ख्रीष्टविरोधीले आफ्नो हृदयको गहिराइमा यस्तो विश्वास गर्छन्, “सबै प्रतिष्ठा र हैसियत आफ्नै प्रयासहरूद्वारा कमिन्छ। मानिसहरूमाझ दह्रिलो स्थान हासिल गरेर अनि प्रतिष्ठा र हैसियत प्राप्त गरेर मात्रै तिनीहरूले परमेश्वरका आशिष्हरू प्राप्त गर्न सक्छन्। मानिसहरूले पूर्ण शक्ति र हैसियत प्राप्त गरेपछि मात्रै जीवनको मूल्य हुन्छ। यो मात्रै मानव जसरी जिउनु हो। यसको विपरीत, परमेश्वरको वचनमा भनिएजस्तै, सबै कुरामा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनु, सृष्टि गरिएको प्राणीको स्थानमा उभिन इच्छुक हुनु र सामान्य व्यक्तिजस्तै जिउनु व्यर्थ हुनेछ—कसैले पनि त्यस्तो व्यक्तिलाई आदरको नजरले हेर्दैन। व्यक्तिको हैसियत, प्रतिष्ठा र खुसी आफ्नै संघर्षबाट प्राप्त गर्नुपर्छ; ती कुराका लागि लडाइँ लड्नुपर्छ र सकारात्मक र सक्रिय मनोवृत्तिले तिनलाई टपक्कै टिप्नुपर्छ। अरू कसैले तँलाई ती कुराहरू दिनेछैन—हात बाँधेर प्रतीक्षा गर्दा असफलता मात्र हात लाग्छ।” ख्रीष्टविरोधीहरूले यसरी नै हिसाबकिताब गर्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव हो। यदि तिमीहरूले ख्रीष्टविरोधीहरूले सत्यता स्वीकार गरून्, गल्तीहरू स्वीकार गरून्, र साँचो पश्चात्ताप गरून् भन्ने आशा गर्छौ भने, त्यो असम्भव हुन्छ—तिनीहरूले कदापि त्यो गर्न सक्दैनन्। ख्रीष्टविरोधीहरूमा शैतानको प्रकृति सार हुन्छ, र तिनीहरू सत्यतालाई घृणा गर्छन्, त्यसकारण तिनीहरू जहाँ गए पनि, तिनीहरू पृथ्वीको अन्तिम छेउमा गए पनि, प्रतिष्ठा र हैसियत खोजी गर्ने तिनीहरूको महत्त्वाकाङ्क्षा कहिल्यै परिवर्तन हुनेछैन, न त विभिन्न कुराहरू हेर्ने तिनीहरूको दृष्टिकोण परिवर्तन हुनेछ, न त तिनीहरूको मार्ग नै परिवर्तन हुनेछ। कतिपय मानिसहरूले यसो भन्नेछन्: “यसबारेमा आफ्नो दृष्टिकोण परिवर्तन गर्न सक्ने केही ख्रीष्टविरोधीहरू पनि हुन्छन्।” के यो अभिव्यक्ति सही छ? यदि तिनीहरू साँच्चै परिवर्तन हुन सक्छन् भने, के तिनीहरू ख्रीष्टविरोधीहरू हुन्? ख्रीष्टविरोधी प्रकृति भएकाहरू कहिल्यै परिवर्तन हुनेछैनन्। ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरूले सत्यता खोजी गरे भने मात्रै परिवर्तन हुन्छन्। ख्रीष्टविरोधीको बाटोमा हिँड्ने कतिपय मानिसहरूले मण्डलीको काममा बाधा दिने केही दुष्कर्म गर्छन्, र तिनीहरूलाई ख्रीष्टविरोधीहरूको रूपमा वर्गीकरण गरिए पनि, तिनीहरूलाई बर्खास्त गरिएपछि, तिनीहरूले साँचो रूपमा पछुतो गर्छन्, र तिनीहरूले आफूलाई नयाँ व्यवहारमा ढाल्ने संकल्प गर्छन्, अनि एक अवधिको मनन, आत्मज्ञान, र पश्चात्तापपछि, तिनीहरूले केही वास्तविक परिवर्तन हासिल गर्छन्। यस्तो हुँदा, यी मानिसहरूलाई ख्रीष्टविरोधीहरूको रूपमा वर्गीकरण गर्न सकिँदैन; तिनीहरूसँग ख्रीष्टविरोधीको स्वभाव मात्रै हुन्छ। यदि तिनीहरूले सत्यता खोजी गर्छन् भने, तिनीहरू परिवर्तन हुन सक्छन्। तैपनि, निश्चयताको साथ के भन्न सकिन्छ भने, मण्डलीले ख्रीष्टविरोधीहरूको रूपमा वर्गीकरण, सफाइ वा निष्कासन गर्ने धेरैजसो मानिसहरूचाहिँ साँचो रूपमा पश्चात्ताप गर्ने वा परिवर्तन हुनेछैनन्। यदि तिनीहरूमध्ये कुनै व्यक्तिले यस्तो गर्यो भने पनि, त्यो दुर्लभ कुरा हुनेछ। कति मानिसहरूले सोध्नेछन्: “त्यसोभए के ती दुर्लभ घटनाहरूलाई गलत वर्गीकरण गरिएको हो?” त्यो असम्भव छ। आखिर तिनीहरूले केही न केही दुष्कर्म गरेकै हुन्छन्, र यसलाई बेवास्ता गर्न सकिँदैन। तैपनि, यदि तिनीहरूले साँचो रूपमा पश्चात्ताप गर्न सक्छन् भने, यदि तिनीहरू कर्तव्य पूरा गर्न तयार छन् भने, र तिनीहरूसँग तिनीहरूको पश्चात्तापको साँचो गवाही छ भने, मण्डलीले तिनीहरूलाई अझै पनि स्वीकार गर्न सक्छ। यदि यी मानिसहरूलाई ख्रीष्टविरोधीहरूको रूपमा वर्गीकरण गरिएपछि तिनीहरूले गल्ती स्विकार्न वा पश्चात्ताप गर्न पूर्ण रूपमा इन्कार गर्छन् भने, र तिनीहरूले आफूलाई कुनै पनि माध्यमले सही साबित गर्ने प्रयास गरिरहन्छन् भने, तिनीहरूलाई ख्रीष्टविरोधीहरूको रूपमा वर्गीकरण गर्नु ठीक र पूर्ण रूपमा सही हुन्छ। यदि तिनीहरूले आफ्नो गल्ती स्विकार्थे र साँचो रूपमा पछुतो गर्थे भने, मण्डलीले तिनीहरूलाई कसरी ख्रीष्टविरोधीहरूको रूपमा वर्गीकरण गर्न सक्थ्यो र? त्यो असम्भव हुनेथियो। व्यक्ति जोसुकै भए पनि, उसले जति नै धेरै दुष्कर्म गरे पनि, वा उसको गल्ती जति नै गम्भीर भए पनि, व्यक्ति ख्रीष्टविरोधी हो होइन, वा उसमा ख्रीष्टविरोधी स्वभाव छ छैन भन्ने कुरा उसले सत्यता स्विकार्न र काटछाँट हुन स्विकार्न सक्छ सक्दैन, र उसमा साँचो पछुतो छ छैन भन्ने कुरामा निर्भर हुन्छ। यदि तिनीहरूले सत्यता स्विकार्न र काटछाँट हुन स्विकार्न सक्छन् भने, यदि तिनीहरूसँग साँचो पछुतो छ भने, र यदि तिनीहरू परमेश्वरको लागि आफ्नो सारा जीवन परिश्रम गरेर बिताउन तयार छन् भने, यसले साँच्चै केही पश्चात्तापको सङ्केत दिन्छ। यस्तो व्यक्तिलाई ख्रीष्टविरोधीको रूपमा वर्गीकरण गर्न सकिँदैन। के ख्रीष्टविरोधीहरूले साँच्चै सत्यता स्विकार्न सक्छन्? अवश्यै सक्दैनन्। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने, र सत्यताप्रति वितृष्णा मान्ने हुनाले नै, तिनीहरूले प्रतिष्ठा र हैसियतलाई कहिल्यै त्याग्न सक्नेछैनन् किनकि ती तिनीहरूको सम्पूर्ण जीवनसँग अत्यन्तै नजिकबाट जोडिएका हुन्छन्। ख्रीष्टविरोधीहरू दृढताका साथ हृदयमा विश्वास गर्छन् कि ख्याति र हैसियत भएमा मात्र उनीहरूको इज्जत हुन्छ र उनीहरू साँचो सृष्टि गरिएको प्राणी हुन्छन्, र हैसियत हुँदा मात्र उनीहरूलाई इनाम र मुकुट मिल्छ, उनीहरू परमेश्वरको अनुमोदन पाउन योग्य हुन्छन्, सबै कुरा प्राप्त गर्छन्, र सच्चा व्यक्ति बन्छन्। ख्रीष्ट विरोधीहरूले हैसियतलाई केको रूपमा हेर्छन्? उनीहरूले यसलाई सत्यको रूपमा हेर्छन्; उनीहरू त्यसलाई सामान्य मानिसहरूले पछ्याउनुपर्ने सर्वोच्च लक्ष्य मान्छन्। के यो एउटा समस्या होइन र? हैसियतमा यस प्रकारले आशक्त हुन सक्ने मानिसहरू सच्चा ख्रीष्टविरोधीहरू हुन्। तिनीहरू पावलकै प्रकारका व्यक्तिहरू हुन्। तिनीहरू के विश्वास गर्छन् भने सत्यता पछ्याउनु, परमेश्वरप्रति समर्पित हुन खोज्नु, र इमानदार हुन खोज्नु सबै त्यस्ता प्रक्रिया हुन् जसले व्यक्तिलाई सबभन्दा उच्च हैसियतमा पुऱ्याउँछन्; ती केवल प्रक्रिया हुन्, लक्ष्य र मानव हुनुको मानक होइनन्, र ती पूर्ण रूपमा परमेश्वरले हेर्नको लागि भनेर गरिन्छ। यस्तो बुझाइ निरर्थक र हास्यास्पद छ! सत्यतालाई घृणा गर्ने बेतुकेहरूले मात्र यस्तो हास्यास्पद विचार उत्पन्न गर्न सक्छन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन)
भ्रष्ट मानवजाति सबैमा दुष्ट स्वभाव हुन्छ, र तिनीहरू सबैमा दुष्ट स्वभावका प्रकाश र प्रकटीकरणहरू हुन्छन्। तैपनि, साधारण मानिसहरूको दुष्ट स्वभाव र ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव फरक हुन्। साधारण मानिसहरूमा दुष्ट स्वभाव भए पनि, तिनीहरू हृदयमा सत्यताको तृष्णा गर्छन् र सत्यतालाई प्रेम गर्छन्, अनि परमेश्वरमाथिका विश्वासमा र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, सत्यतालाई स्वीकार गर्न सक्छन्। तिनीहरूले अभ्यास गर्न सक्ने सत्यता सीमित भए पनि, केही सत्यता अभ्यास गर्न सक्छन्, त्यसकारण तिनीहरूको भ्रष्ट स्वभाव क्रमिक रूपमा शुद्ध हुन र साँच्चै परिवर्तन हुन सक्छ, र अन्तमा तिनीहरू आधारभूत रूपमा परमेश्वरमा समर्पित हुन र मुक्ति प्राप्त गर्न सक्छन्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरू सत्यतालाई पटक्कै प्रेम गर्दैनन्, कहिल्यै सत्यता स्वीकार गर्दैनन्, र यसलाई कहिल्यै अभ्यास गर्दैनन्। तिमीहरूले मैले यहाँ भन्ने कुराअनुसार अवलोकन गर्ने र छुट्ट्याउने प्रयास गर्नुपर्छ; चाहे मण्डली अगुवा वा सेवक होस्, वा साधारण दाजुभाइ वा दिदीबहिनी, उनीहरूले आफूले बुझ्न सक्ने कुराको दायराभित्र सत्यता अभ्यास गर्न सक्छन् कि सक्दैनन् भनेर बुझ्न हेर। उदाहरणका लागि, मानौँ कसैले सत्यता सिद्धान्त बुझ्छ, तर यसलाई अभ्यास गर्ने बेला, ऊ यसलाई पटक्कै अभ्यास गर्दैन, र आफूलाई जे मन लाग्यो त्यही गर्छ र स्वच्छन्द रूपले काम गर्छ—यो दुष्टपन हो र त्यस्तो व्यक्तिलाई मुक्ति दिन गाह्रो हुन्छ। कतिपय मानिस सत्यता एकदमै बुझ्दैनन्, तर तिनीहरू हृदयमा परमेश्वरका अभिप्राय र सत्यता अनुरूप ठ्याक्कै के गर्ने भनी खोजी गर्न चाहन्छन्। तिनीहरू भित्री हृदयमा, सत्यता विरुद्ध जान चाहँदैनन्। तिनीहरू आफूले सत्यता नबुझ्ने भएकाले मात्रै सिद्धान्त उल्लङ्घन गरेर बोल्छन् र व्यवहार गर्छन्, गल्तीहरू गर्छन्, अनि अवरोध र बाधा पुऱ्याउने कुराहरूसमेत गर्छन्—यसको प्रकृति के हो? यसको प्रकृति दुष्कर्म गर्नुसँग सम्बन्धित छैन; यो मूर्खता र अज्ञानताद्वारा आएको हुन्छ। तिनीहरू यी कुराहरू पूर्णतया सत्यता नबुझेकाले, तिनीहरूले सत्यता सिद्धान्तहरू प्राप्त गर्न नसक्ने हुनाले, र तिनीहरूले आफ्ना धारणा र कल्पनाअनुसार ती कुराहरू गर्नु सही हो भनी सोच्ने हुनाले, त्यस्तो व्यवहार गर्छन्, त्यसकारण परमेश्वर तिनीहरूलाई मूर्ख र अज्ञानी, क्षमताको कमी भएका मानिसहरूका रूपमा निर्धारित गर्नुहुन्छ; तिनीहरूले सत्यता बुझेर जानाजानी यस विरुद्ध जाने होइन। सधैँ आफ्ना धारणा र कल्पनाअनुसार काम गर्ने र सत्यता नबुझ्ने हुनाले प्रायजसो परमेश्वरको घरका काममा अवरोध पुऱ्याउने अगुवा र सेवकहरूका हकमा भन्दा, तैँले सुपरिवेक्षण र प्रतिबन्धहरू लागू गर्ने अभ्यास गर्नुपर्छ, अनि समस्याहरू समाधान गर्न सत्यतामा अझ धेरै सङ्गति गर्ने अभ्यास गर्नुपर्छ। यदि कसैको क्षमता अत्यन्तै कम छ र ऊ सत्यता सिद्धान्तहरू बुझ्न सक्दैन भने, उसलाई झूटो अगुवाका रूपमा बर्खास्त गर्ने समय भएको छ। यदि उसले सत्यता बुझे पनि जानाजानी सत्यता विरुद्ध जान्छ भने, उसलाई काटछाँट गर्नैपर्छ। यदि ऊ सधैँ सत्यता स्विकार्न नसक्ने भइरहन्छ र कुनै पश्चात्ताप व्यक्त देखाउँदैन भने, उसलाई दुष्ट व्यक्तिका रूपमा सम्हालिनुपर्छ, र हटाउनुपर्छ। तैपनि, ख्रीष्टविरोधीहरूको प्रकृति दुष्ट मानिसहरू वा झूटा अगुवाहरूको भन्दा अझ गम्भीर हुन्छ, किनभने ख्रीष्टविरोधीहरू जानाजानी मण्डलीका काममा बाधा दिन्छन्। तिनीहरूले सत्यता बुझे पनि, अभ्यास गर्दैनन्, कसैको कुरा सुन्दैनन्, र सुने पनि आफूले सुनेको कुरा स्वीकार गर्दैनन्। तिनीहरूले बाहिरी रूपमा त्यो स्वीकार गरेको जस्तो देखिए पनि, भित्र हृदयमा भने यसको विरोध गर्छन्, र काम गर्ने बेला, परमेश्वरको घरका हितहरूलाई पटक्कै ध्यान नदिई अझै पनि आफ्नै हितअनुसार काम गर्छन्। तिनीहरू अरूका बीचमा हुँदा, केही मानव शब्द बोल्छन् र केही मानव स्वरूप धारण गर्छन्, तर तिनीहरूले मानिसहरूको पिठ्यूँपछाडि काम गर्दा, तिनीहरूको दुष्ट प्रकृति देखा पर्छ—यिनीहरू ख्रीष्टविरोधी हुन्। कतिपय मानिसले हैसियत प्राप्त गरेपछि सबै किसिमका दुष्टता गर्छन् र तिनीहरू ख्रीष्टविरोधी बन्छन्। कतिपय मानिसको कुनै हैसियत हुँदैन, तैपनि तिनीहरूको प्रकृति सार ख्रीष्टविरोधीहरूको जस्तै हुन्छ—के तँ तिनीहरू असल मानिस हुन् भनेर भन्न सक्छस्? तिनीहरूले हैसियत पाउनेबित्तिकै, सबै किसिमका दुष्टता गर्छन्—तिनीहरू ख्रीष्टविरोधी हुन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक)
मैले पर्दाफास गरेका ख्रीष्टविरोधीहरूका विभिन्न खुलासा, प्रकटीकरण, र अभ्यासहरूसँग तिमीहरू सबैले आफूलाई तुलना गर्नुपर्छ; तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, अवश्य नै यीमध्ये केही प्रकटीकरण, खुलासा, र अभ्यासहरू प्रदर्शित गर्नेछौ, तर तिमीहरू कसरी ख्रीष्टविरोधीहरूभन्दा फरक छौ? के तिमीहरूले आफूमाथि आइपर्ने कुराहरूलाई परमेश्वरबाट आएको भनी स्विकार्न सक्छौ? (हो, सक्छौं।) तिमीहरूको जीवनमा जे आइपर्छ त्यसलाई परमेश्वरबाट आएको भनी स्विकार्न सक्नु निकै दुर्लभ कुरा हो। यदि तिमीहरूले गलत मार्ग लिएका छौ, कुनै गलत काम गरेका छौ, अज्ञानी काम गरेका छौ, वा अपराध गरेका छौ भने, के आफूलाई परिवर्तन गर्न सक्छौ? के तिमीहरूले पश्चात्ताप गर्न सक्छौ? (हो, सक्छौं।) पश्चात्ताप गर्न र आफूलाई परिवर्तन गर्न सक्नु नै सबैभन्दा बहुमूल्य र दुर्लभ कुरा हो। तर ख्रीष्टविरोधीहरूमा ठ्याक्कै यही कुराको कमी हुन्छ। परमेश्वरले मुक्ति दिनुहुने मानिसहरूमा मात्रै यो कुरा हुन्छ। आफूसँग हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुराहरू के-के हुन्? पहिलो भनेको परमेश्वर सत्यता हुनुहुन्छ भनेर विश्वास गर्नु हो; सबैभन्दा आधारभूत कुरा यही हो। के तिमीहरूले यसो गर्न सक्छौ? (हो, सक्छौं।) यो सबैभन्दा आधारभूत कुरा ख्रीष्टविरोधीहरूमा हुँदैन। दोस्रो, परमेश्वरको वचन सत्यता हो भनेर स्विकार्नु हो; यसलाई पनि सबैभन्दा आधारभूत कुरा नै भन्न सकिन्छ। तेस्रो, परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु हो। ख्रीष्टविरोधीहरूको हकमा, यो प्राप्त गर्नै नसकिने कुरा हो, तर तिमीहरूलाई पनि यहीँबाट गाह्रो हुन थाल्छ। चौथो, विवाद नगरी, आफूलाई सही साबित गर्न नखोजी, तर्क नगरी, वा गुनासो नगरी सबै कुरा परमेश्वरबाट आएका हुन् भनेर स्विकार्नु हो। ख्रीष्टविरोधीहरूको लागि यो कुरा पूर्णतया असम्भव हुन्छ। पाँचौँ, विद्रोह गरेपछि वा अपराध गरेपछि पश्चात्ताप गर्नु हो। यो हासिल गर्न त तिमीहरूलाई बस कठिन मात्रै हुनेछ। यो अवस्थामा पुगेपछि, मानिसहरूले अपराध गरेपपश्चात् केही समय मनन र खोजी, दुःख, नकारात्मकता, र कमजोरी भोगेर क्रमिक रूपमा आफ्नो भ्रष्ट स्वभावबारेमा केही ज्ञान प्राप्त गर्छन्। अवश्य नै, यसको लागि समय लाग्छ। यो एक-दुई वर्ष पनि हुन सक्छ, वा योभन्दा अझै लामो समय पनि हुन सक्छ। पूर्ण रूपमा आफ्नो भ्रष्ट स्वभाव बुझेपछि र हृदयबाट समर्पित भएपछि मात्रै व्यक्तिले साँचो रूपमा पश्चात्ताप गर्न सक्छ। यो कुरा सजिलो नभए पनि, अन्ततः सत्यता पछ्याउनेहरू, परमेश्वरको मुक्ति प्राप्त गर्न सक्नेहरूमा पश्चात्तापका प्रकटीकरणहरू देख्न सकिन्छ। तर ख्रीष्टविरोधीहरूमा यो कुरा हुँदैन। यसबारे विचार गर, कुनै खराब काम गरेपछि, ख्रीष्टविरोधीले तीन वर्ष वा पाँच वर्ष, वा १० वा २० वर्ष केबारे कुरै गर्दैन? जति नै धेरै समय बिते पनि, तैँले तिनीहरूलाई फेरि भेट्दा, तिनीहरूले अझै पनि ती आफ्नै तर्कहरूबारे मात्रै कुरा गर्छन्। तिनीहरूले अझै पनि आफ्ना दुष्ट कार्यहरूलाई पहिचान वा स्वीकार गर्दैनन्, र तिनीहरूले अलिकति पनि पछुतो देखाउँदैनन्। ख्रीष्टविरोधीहरू र साधारण भ्रष्ट मानिसहरूबीच रहेको भिन्नता यही हो। ख्रीष्टविरोधीहरूले किन पछुतो गर्न सक्दैनन्? यसको मूल कारण के हो? तिनीहरूले परमेश्वर सत्यता हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्दैनन्, जसले गर्दा तिनीहरूले सत्यता स्विकार्न सक्दैनन्। यो निराशाजनक कुरा हो, र यो ख्रीष्टविरोधीहरूको सारले निर्धारित गरेको हुन्छ। जब तिमीहरूले मैले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूबारे चिरफार गरेको सुन्छौ, तब तिमीहरूले यस्तो सोच्छौ: “त्यसोभए म त पूरै सकिएँ। ममा पनि ख्रीष्टविरोधीको स्वभाव छ—के म पनि ख्रीष्टविरोधी होइन र?” के यो समझको कमी हुनु होइन र? तँमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने कुरा साँचो हो, तर तँ ख्रीष्टविरोधीहरूभन्दा फरक के कुरामा छस् भने, तँमा अझै पनि सकारात्मक कुराहरू छन्। तैँले सत्यता स्विकार्न, गल्ती स्विकार्न, र पश्चात्ताप गर्न सक्छस्, र तँ परिवर्तन हुन सक्छस्, र यी सकारात्मक कुराहरूले तँलाई ख्रीष्टविरोधीहरूको स्वभाव त्याग्न, र तेरा भ्रष्ट स्वभावहरू पखाल्न, र तँलाई मुक्ति प्राप्त गर्न मद्दत गर्न सक्छन्। के यसको अर्थ तँसँग आशा छ भन्ने हुँदैन र? तँसँग अझै आशा छ!
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात)
सम्बन्धित अनुभवात्मक गवाहीहरू
परमेश्वरका वचनहरूले मेरा गलतबुझाइहरू हटाइदिए