एक सामान्य आत्मिक जीवनले मानिसहरूलाई सही मार्गतर्फ डोर्याउँछ
परमेश्वरका विश्वासीको मार्गमा तिमीहरू केवल थोरै भाग मात्र हिँडेका छौ, र अझै तिमीहरूले सही मार्गमा प्रवेश गर्न बाँकी नै छ, यसकारण तिमीहरू परमेश्वरको मापदण्ड पूरा गर्नदेखि टाढा नै छौ। हाल, तिमीहरूको कद उहाँका मागहरू पुरा गर्नको लागि अझै पर्याप्त छैन। तिमीहरूको क्षमता र भ्रष्ट प्रकृतिको कारण तिमीहरू सधैँ परमेश्वरका कामलाई लापरवाही रूपले लिन्छौ; तिमीहरू यसलाई गम्भीर रूपमा लिँदैनौ। यो तिमीहरूको सबैभन्दा गम्भीर कमजोरी हो। निश्चय नै, पवित्र आत्मा हिँड्नुहुने बाटो पहिल्याउन सक्ने कोही पनि छैन; तिमीहरूमध्ये धेरैले यो कुरा बुझ्दैनौ र यसलाई स्पष्ट रूपमा देख्न पनि सक्दैनौ। यसका अतिरिक्त तिमीहरूमध्ये धेरैले यस विषयलाई ख्याल गर्दैनौ, मनदेखि नै यसमा ध्यान दिने कुरा त परै जाओस्। यदि तिमीहरू यसरी निरन्तर पवित्र आत्माको कामप्रतिको अनभिज्ञतामा जिइरहन्छौ भने परमेश्वरमा विश्वास गर्ने व्यक्तिको रूपमा तिमीहरूले अँगालेको मार्ग व्यर्थ हुनेछ। किनभने तिमीहरूले आफ्नै शक्तिमा परमेश्वरका अभिप्रायहरू पूरा गर्न सबै थोक गर्दैनौ र तिमीहरूले परमेश्वरसँग राम्ररी सहकार्य गर्दैनौ। यसको अर्थ परमेश्वरले तँमा काम गर्नुभएको छैन भन्ने होइन वा पवित्र आत्माले तँलाई उत्प्रेरित गर्नुभएको छैन भन्ने पनि होइन। तँ यति धेरै लापरवाही भइस् कि तैँले पवित्र आत्माको कामलाई गम्भीरतापूर्वक लिएनस्। तैँले यस परिस्थितिलाई तत्कालै परिवर्तन गर्नुपर्छ र तँ पवित्र आत्माले मानिसहरूलाई डोर्याउनुहुने मार्गमा हिँड्नुपर्छ। आजको मुख्य विषयवस्तु यही हो। “पवित्र आत्माले डोर्याउनुहुने मार्ग” भन्नाले आत्मामा अन्तर्दृष्टि प्राप्त गर्नु; परमेश्वरको वचनको ज्ञान हासिल गर्नु; अगाडिको मार्गको स्पष्टता प्राप्त गर्नु; सत्यतामा चरणबद्ध रूपमा प्रवेश गर्न सक्नु र परमेश्वरको बारेमा वृहत् ज्ञान प्राप्त गर्नुलाई जनाउँछ। पवित्र आत्माले मानिसहरूलाई डोर्याउनुहुने मार्ग मुख्यतया परमेश्वरका वचन स्पष्ट बुझिने, पथभ्रष्टता र गलत धारणाबाट मुक्त हुने मार्ग हो र यस मार्गमा हिँड्नेहरू सदैव यसमा सिधा हिँड्छन्। यो मार्ग प्राप्त गर्न तिमीहरूले परमेश्वरसँगको सामञ्जस्यतामा काम गर्नुपर्छ, अभ्यास गर्न उपयुक्त मार्ग पत्ता लगाउनु पर्छ र पवित्र आत्माले डोर्याउनुहुने मार्गमा हिँड्नुपर्छ। यस अन्तर्गत मानिसको तर्फबाट सहकार्य समावेश हुन्छ: अर्थात्, परमेश्वरले तिमीहरूलाई दिनुभएका मापदण्डहरू पूरा गर्न तिमीहरूले के गर्नुपर्छ, र परमेश्वरमा विश्वास गर्ने सही मार्गमा प्रवेश गर्न तिमीहरूले कस्तो व्यवहार गर्नुपर्छ।
तँलाई पवित्र आत्माले डोर्याउनुहुने मार्गमा हिँड्न जटिल लाग्न सक्छ, तर जब तँलाई अभ्यासको मार्ग स्पष्ट हुन्छ तब तँलाई यो मार्ग अझ सरल हुनेछ। सत्य कुरा के हो भने, परमेश्वरले मानिसहरूबाट अपेक्षा गर्नुभएका सबै कुरा तिनीहरूले गर्न सक्छन्—यो उहाँले सुँगुरहरूलाई उड्न सिकाउन प्रयास गरिरहनुभएको जस्तो होइन। हरेक परिस्थितिहरूमा परमेश्वरले मानिसहरूका समस्या समाधान गर्न र तिनीहरूका चासोका विषयहरू सम्बोधन गर्न खोज्नुहुन्छ। तिमीहरू सबैले यो कुरा बुझ्नु जरुरी छ; परमेश्वरलाई गलत रूपमा नबुझ। पवित्र आत्माको हिँड्नुहुने मार्गमा मानिसहरूलाई परमेश्वरका वचनअनुसार डोर्याइन्छ। पहिला नै उल्लेख गरिए झैं, तैँले आफ्नो हृदय परमेश्वरलाई सुम्पनुपर्छ। पवित्र आत्माले डोर्याउनुहुने मार्गमा हिँड्नको लागि यो एउटा सर्त हो। सही मार्गमा प्रवेश गर्नका लागि तैँले यसो गर्नु आवश्यक छ। कुनै व्यक्तिले सचेत रूपमा परमेश्वरलाई आफ्नो हृदय सुम्पने कार्य कसरी गर्न सक्छ? आफ्नो दैनिक जीवनमा जब तिमीहरू परमेश्वरको कामको अनुभव गर्छौ र उहाँसँग प्रार्थना गर्छौ, तब तिमीहरू लापरवाही गर्छौ—काम गरिरहेको अवस्थामा तिमीहरू परमेश्वरसँग प्रार्थना गर्छौ। के यसलाई तैँले आफ्नो हृदय परमेश्वरलाई दिएको भनेर सकिन्छ? तँ घरायसी मामला वा देहका कामकुराका बारेमा सोच्छस्; तँ सधैँ दुई मनको हुन्छस्। के यसलाई तैँले आफ्नो हृदय परमेश्वरको सामु शान्त पारेको भनेर मान्न सकिन्छ? यसो हुनुको कारण के हो भने, तेरो हृदय बाह्य मामिलाहरूमा अल्झिएर रहेको छ र तेरो हृदय परमेश्वर सामु फर्कन सकेको छैन। यदि तेरो हृदय साँचो रूपमा परमेश्वरको सामु शान्त भएको चाहन्छस् भने, तैँले सचेत सहकार्यको काम गर्नैपर्छ। अर्थात्, तिमीहरू सबैसँग उपासनाका लागि समय हुनु पर्दछ, तिमीहरू मानिस, घटना र कामकुराहरूबाट पन्छिने समय हुनुपर्छ; आफ्नो हृदयलाई शान्त पार् र परमेश्वरसामु आफूलाई शान्त पार्। तिमीहरूमध्ये हरेकले परमेश्वरको वचनबारेको तिमीहरूको ज्ञान र तिमीहरूको आत्मा कसरी उत्प्रेरित हुन्छ भनी अभिलेख गरेको व्यक्तिगत उपासना टिपोट राख्नैपर्छ, चाहे ती गहन होऊन् वा सतही; तिमीहरूमध्ये हरेकले आफ्नो हृदय परमेश्वरको सामु सचेत रूपमा शान्त पार्नुपर्छ। यदि तैँले साँचो आत्मिक जीवनका लागि दैनिक एक-दुई घण्टाको समय अर्पण गर्न सक्छस् भने, त्यो दिन आफ्नो जीवन समृद्ध भएको महसुस गर्नेछस् र तेरो हृदय उज्ज्वल र स्पष्ट हुनेछ। यदि तैँले प्रत्येक दिन यस प्रकारको आत्मिक जीवन जिइस् भने, तेरो हृदय अझै बढी परमेश्वरकहाँ फर्कन सक्नेछ, तेरो आत्मा झन्-झन् बलियो बन्नेछ, तेरो अवस्थामा निरन्तर सुधार हुँदै जानेछ, तँ पवित्र आत्माले डोर्याउने मार्गमा हिँड्न अझै बढी सक्षम हुनेछस् र परमेश्वरले तँलाई दोब्बर आशिष् प्रदान गर्नुहुनेछ। तिमीहरूको आत्मिक जीवनको उद्देश्य सचेत रूपमा पवित्र आत्माको उपस्थिति हासिल गर्नु हो। यो प्रावधानहरू पालन वा धार्मिक अनुष्ठान पूरा गर्नु होइन, तर साँचो रूपमा परमेश्वरसँग काम गर्नु हो, साँचो रूपमा आफ्नो शरीरलाई अनुशासनमा राख्नु हो—मानिसले गर्नुपर्ने कुरा यही हो, यसकारण तिमीहरूले त्यो सक्दो मेहेनतका साथ गर्नुपर्छ। तिमीहरूले सहकार्य जति राम्ररी गर्दछौ र जति धेरै प्रयत्न गर्छौ, तेरो हृदय त्यति नै धेरै परमेश्वरकहाँ फर्कन सक्छ र तँ उहाँको सामु आफ्नो हृदय शान्त पार्न झनै सक्षम हुन्छस्। निश्चित विन्दुमा परमेश्वरले तेरो हृदय पूर्ण रूपमा प्राप्त गर्नुहुनेछ। कसैले पनि तेरो हृदय प्रभाव पार्न वा कब्जा गर्न सक्नेछैन र तँ पूर्ण रूपमा परमेश्वरको स्वामित्वमा हुनेछस्। यदि तँ यस मार्गमा हिँडिस् भने, परमेश्वरको वचन हरबखत तँमा आफै प्रकट हुनेछन् र तैँले नबुझेका सबै कुराको बारे तँलाई अन्तर्दृष्टि दिइनेछ—यो सबै तँसँगको सहकार्यबाट प्राप्त गर्न सकिनेछ। यही कारणले गर्दा परमेश्वरले सधैँ भन्नुहुन्छ, “मसँग काम गर्ने सबैलाई म दुई गुणा बढी इनाम दिनेछु।” तिमीहरूले यो मार्गलाई स्पष्ट देख्नुपर्छ। यदि तिमीहरू सही मार्गमा हिँड्न चाहन्छौ भने तिमीहरूले परमेश्वरलाई सन्तुष्ट पार्न आफूले सक्ने जति सबै कुरा गर्नै पर्दछ। आत्मिक जीवन प्राप्त गर्न तिमीहरूले सक्दो सबै थोक गर्नु पर्दछ। सुरुमा, तैँले यसमा ठूला नतिजा हासिल नगर्न सक्छस्, तर नकारात्मक नबन्, र पछि नहट्—कडा परिश्रम गरिराख्! तँ आत्मिक जीवन जति धेरै जिउँछस् तेरो हृदय परमेश्वरका वचनले त्यति नै ओगटिनेछ, सधैँ यी मामलाहरूसँग सरोकार राख्नेछ, सधैँ तिनलाई तेरो बोझका रूपमा बोक्नेछ। त्यसपछि तेरो आत्मिक जीवनको माध्यमबाट परमेश्वरलाई तेरा सबै भित्री विचार भन्; तँ के गर्न इच्छुक छस्, तँ केबारे सोचिरहेको छस्, उहाँको वचन सम्बन्धी तेरो बुझाई र दृष्टिकोण के छ सबै उहाँलाई भन्। कुनै कुरा बाँकी नराख्, अलिकति पनि बाँकी नराख्! मनमनै शब्दहरू बोल्ने र परमेश्वरसँग आफ्ना साँचो भावनाहरू प्रकाश गर्ने अभ्यास गर्; तेरो हृदयभित्र भएको सबथोक व्यक्त गर्। यस प्रकारले तँ जति धेरै बोल्छस्, तैँले परमेश्वरको प्रेमिलो स्वभाव त्यति नै धेरै महसुस गर्नेछस्, र तेरो हृदय त्यति नै धेरै परमेश्वरप्रति खिँचिनेछ। जब यसो हुन्छ, तब तैँले परमेश्वर तेरा लागि अरू कोहीभन्दा प्रिय हुनुहुन्छ र तैँले चाहे जे भए पनि, परमेश्वरको पक्ष कहिल्यै छोड्न सक्नेछैनस् भन्ने महसुस गर्नेछस्। यदि तैँले यस प्रकारको आत्मिक भक्ति दैनिक रूपमा निर्वाह गर्छस्, यसले तेरो जीवनमा ठूलो महत्त्व राख्नेझैँ गरी त्यसो गर्न कहिल्यै बिर्सँदैनस् भने मात्र, परमेश्वरको वचनले तेरो हृदयलाई ओगट्नेछ। पवित्र आत्माद्वारा उत्प्रेरित हुनु भनेको यही हो। तेरो हृदय सधैँ परमेश्वरको स्वामित्वमा भएझैँ हुनेछ, मानौँ तैँले जेलाई प्रेम गर्छस् त्यो सदैव तेरो हृदयमा छ, र त्यसलाई तँबाट कसैले खोसेर लान सक्दैन। जब यसो हुन्छ, तब परमेश्वरले साँच्चै तँभित्र बास गर्नुहुनेछ र तेरो हृदयभित्र स्थान लिनुहुनेछ।