परमेश्वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ
जब मानिसहरूले परमेश्वरलाई विश्वास गर्ने, प्रेम गर्ने र सन्तुष्ट पार्ने गर्छन् तब उनीहरूले आफ्नो हृदयद्वारा परमेश्वरको आत्मा छुन्छन् र त्यसबाट उहाँको सन्तुष्टि प्राप्त गर्छन्, उनीहरूले परमेश्वरका वचनहरूसँग सन्निकट रहन आफ्नो हृदय प्रयोग गर्छन् र यसरी परमेश्वरको आत्माद्वारा प्रेरित हुन्छन्। यदि तँ सामान्य आत्मिक जीवन जिउन चाहन्छस् र परमेश्वरसँग सामान्य सम्बन्ध स्थापित गर्न चाहन्छस् भने तैँले सबभन्दा पहिले आफ्नो हृदय उहाँमा अर्पित गर्नुपर्छ। उहाँसामु तैँले तेरो हृदय शान्त बनाएपछि र उहाँमा तेरो सम्पूर्ण हृदय अर्पित गरेपछि मात्र, तँ क्रमिक रूपमा सामान्य आत्मिक जीवन विकसित गर्न सक्षम हुनेछस्। यदि परमेश्वरमाथिको विश्वासमा मानिसहरूले आफ्नो हृदय उहाँमा अर्पित गर्दैनन् भने, यदि उनीहरूको हृदय उहाँमाथि छैन र उहाँको बोझलाई आफ्नै बोझको रूपमा लिँदैनन् भने, उनीहरूले जे गर्छन् त्यो सब परमेश्वरलाई ठग्ने काम हुन्छ, जुन ठ्याक्कै धार्मिक मानिसहरूले गर्ने काम हो र यसले परमेश्वरको अनुमोदन पाउनेछैन। यस प्रकारको व्यक्तिबाट परमेश्वरले केही पनि प्राप्त गर्न सक्नुहुन्न, त्यसले त परमेश्वरको काममा प्रतिभारको काम मात्र गर्न सक्छ। यस्ता मानिसहरू परमेश्वरको घरका सजावट सामग्री मात्रै हुन्—उनीहरू प्रतिस्थापन वस्तुहरू हुन्, उनीहरू रद्दी हुन्, र परमेश्वरले उनीहरूलाई प्रयोग गर्नुहुन्न। उनीहरूमा पवित्र आत्माले काम गर्ने सम्भावनै नहुने मात्र होइन, उनीहरूलाई सिद्ध पार्नुको समेत कुनै महत्त्व हुँदैन। यस प्रकारको व्यक्ति सच्चा जिउँदो लास हो। यस्ताहरूको कुनै पनि भाग पवित्र आत्माले प्रयोग गर्न सक्नुहुन्न—उनीहरू शैतानद्वारा पूर्ण रूपमा अधीन गरिएका र गहन रूपमा भ्रष्ट पारिएका हुन्छन्। परमेश्वरले यी मानिसहरूलाई हटाउनुहुनेछ। आज मानिसहरूको प्रयोग गर्दा पवित्र आत्माले काम पूरा गर्नलाई उनीहरूका वाञ्छनीय भागहरू प्रयोग गर्ने मात्र गर्नुहुन्न, उनीहरूका अवाञ्छनीय भागहरू सिद्ध पार्ने र परिवर्तन गर्ने पनि गर्नुहुन्छ। यदि तँ तेरो हृदय परमेश्वरमा अर्पित गर्न र यसलाई उहाँसामु शान्त राख्न सक्छस् भने, तैँले पवित्र आत्माद्वारा प्रयोग हुने, पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाश प्राप्त गर्ने, अवसर र योग्यता पाउनेछस्। योभन्दा पनि अझै बढी, तैँले पवित्र आत्माद्वारा तेरा कमजोरीहरू सुधार पारिने अवसर पाउनेछस्। जब तैँले परमेश्वरलाई आफ्नो हृदय अर्पित गर्छस्, सकारात्मक पक्षतर्फ हेर्दा, तँ अझ गहन प्रवेश र उच्च अन्तर्दृष्टि तह हासिल गर्न सक्षम हुनेछस्। नकारात्मक पक्षतर्फ हेर्दा, तँलाई तेरा आफ्नै कमी र कमजोरीहरूको बढी जानकारी हुनेछ, अनि तैँले परमेश्वरका अभिप्रायहरू पूरा गर्न अझ बढी तृषित हुँदै खोजी गर्नेछस्। अझ भन्ने हो भने, तँ नकारात्मक हुनेछैनस् बरु सक्रिय रूपमा प्रवेश गर्न सक्षम हुनेछस्। यसले तँ सही व्यक्ति होस् भन्ने देखाउँछ। परमेश्वरसामु तेरो हृदय शान्त रहन सक्षम छ भनेर मान्ने हो भने, तैँले पवित्र आत्माबाट अनुमोदन पाउँछस् वा पाउँदैनस् र तैँले परमेश्वरलाई खुशी राख्छस् वा राख्दैनस् भन्ने कुरा तँ सक्रिय रूपमा प्रवेश गर्न सक्छस् कि सक्दैनस् भन्नेमा निर्णायक रूपमै निर्भर रहन्छ। जब पवित्र आत्माले कुनै व्यक्तिलाई अन्तर्दृष्टि दिनुहुँदै प्रयोग गर्नुहुन्छ, उहाँले उसलाई कहिल्यै नकारात्मक बनाउनुहुन्न, सधैँ सक्रिय रूपमा प्रगति गर्ने बनाउनुहुन्छ। अनि, जब उहाँले यस्तो गर्नुहुन्छ, यस्ता मानिसहरूमा अझै पनि कमजोरीहरू हुन्छन्, तर उनीहरू ती कमजोरीअनुसार जिउँदैनन्। उनीहरूले जीवनवृद्धिलाई थाती राख्दैनन्, बरु परमेश्वरका अभिप्रायलाई पूरा गर्ने खोजीलाई निरन्तरता दिन्छन्। यो एक मापदण्ड हो। यदि तैँले यो हासिल गर्न सक्छस् भने, तैँले पवित्र आत्माको उपस्थिति प्राप्त गरेको प्रमाणित हुन्छ। यदि कुनै व्यक्ति सधैँ नकारात्मक छ भने, र यदि अन्तर्दृष्टि प्राप्त गरेर आफूलाई चिन्न सक्षम भए पछि पनि, ऊ नकारात्मक र निष्क्रिय नै रह्यो र उसले खडा भएर परमेश्वरसँग सहकार्य गर्न सकेन भने, उसले परमेश्वरको अनुग्रह मात्र प्राप्त गरेको छ तर ऊसमा पवित्र आत्मा हुनुहुन्न। उसमा नकारात्मकता छ भने, यसको अर्थ उसको हृदय परमेश्वरतिर फर्किएको छैन र उसको आत्मा परमेश्वरको आत्माद्वारा प्रेरित भएको छैन। यो सबैले बुझ्नुपर्छ।
अनुभवबाट यो देख्न सकिन्छ कि परमेश्वरसामु आफ्नो हृदय शान्त बनाउनु अत्यन्तै महत्त्वपूर्ण छ। यो मानिसहरूको आत्मिक जीवन र जीवनवृद्धिका सवालहरूसित सम्बन्धित हुन्छ। परमेश्वरसामु तेरो हृदय शान्त भए मात्र, सत्यता र स्वभावगत परिवर्तनसम्बन्धी तेरो खोजीले फल दिनेछ। किनकि परमेश्वरसामु तँ बोझ बोकेर आउँछस्, र तँलाई लाग्छ कि तँमा धेरै प्रकारको कमी छ, तैँले थाहा पाउनुपर्ने सत्यहरू धेरै छन्, तैँले अनुभव गर्नुपर्ने वास्तविकता धेरै छ र तैँले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नुपर्छ। यी कुराहरू तेरो मनमा सधैँ छन्, यस्तो लाग्छ मानौँ उनीहरूले जोडतोडले तँलाई दबाब दिइरहेका छन् जसले तँलाई सास फेर्न असमर्थ बनाएको छ, र त्यसैले तँ हृदयमा भारी अनुभव गर्छस् (यद्यपि तँ नकारात्मक स्थितिमा भने छैनस्)। यस्ता व्यक्तिहरू मात्र परमेश्वरका वचनहरूको अन्तर्दृष्टि स्विकार्न र परमेश्वरको आत्माद्वारा प्रेरित हुन योग्य छन्। उनीहरूले बोकेको बोझको कारणले, उनीहरूको हृदय भारी भएकाले र यो भन्न सकिन्छ कि उनीहरूले चुकाएको मूल्यको कारणले र परमेश्वरसामु उनीहरूले सहेको कष्टको कारणले नै उनीहरूले उहाँको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छन्। किनकि परमेश्वरले कसैलाई पनि विशेष व्यवहार गर्नुहुन्न। मानिसहरूसँगको व्यवहारमा उहाँ सधैँ निष्पक्ष हुनुहुन्छ, तर उहाँले मानिसहरूलाई मनोमानी वा निसर्त रूपमा पनि दिनुहुन्न। यो उहाँको धर्मी स्वभावको एउटा पक्ष हो। वास्तविक जीवनमा, अधिकांश मानिसहरूले यो क्षेत्र हासिल गर्न बाँकी नै छ। कम्तीमा पनि, उनीहरूको हृदय परमेश्वरमा पूर्ण रूपमा फर्किन बाँकी नै छ, र त्यसैले उनीहरूको जीवन स्वभावमा अझै कुनै उल्लेखनीय परिवर्तन भएको छैन। यसको कारण के हो भने उनीहरू परमेश्वरको अनुग्रहमा मात्र बाँच्छन् तर उनीहरूले पवित्र आत्माको काम हासिल गर्न बाँकी नै छ। परमेश्वरद्वारा प्रयोग हुनको लागि मानिसहरूले पूरा गर्नैपर्ने मापदण्डहरू यसप्रकार छन्: उनीहरूको हृदय परमेश्वरतर्फ फर्किएको हुनुपर्छ, उनीहरूले उहाँका वचनहरूको बोझ बोक्नुपर्छ, उनीहरूसँग तृषित हृदय हुनुपर्छ र उनीहरूमा सत्यता खोजी गर्ने सङ्कल्प हुनैपर्छ। यस्ता मानिसहरूले मात्र पवित्र आत्माको काम प्राप्त गर्न सक्छन् र उनीहरूले बारम्बार अन्तर्दृष्टि र ज्योति हासिल गर्छन्। परमेश्वरद्वारा प्रयोग गरिने मानिसहरू बाहिरबाट हेर्दा अविवेकी र अरूसँग सामान्य सम्बन्ध नभएका जस्ता देखिन्छन्, यद्यपि उनीहरू सावधानी र मर्यादासाथ बोल्छन्, र परमेश्वरसामु सधैँ हृदय शान्त राख्न सक्छन्। ठीक यस्तै प्रकारको व्यक्ति पवित्र आत्माद्वारा प्रयोग गरिन लायक हुन्छ। परमेश्वरले चर्चा गर्नुभएका यी “अविवेकी” मानिसहरूको अन्य व्यक्तिहरूसँग सामान्य सम्बन्ध नभएजस्तो देखिन्छ र उनीहरू बाह्य प्रेम वा बाह्य अभ्यासहरूलाई त्यति ध्यान दिँदैनन् तर जब उनीहरूले आत्मिक कुराहरू सङ्गति गर्छन्, तब उनीहरू आफ्नो हृदय खोल्न र परमेश्वरसामु आफूले आफ्नो वास्तविक अनुभवबाट प्राप्त गरेका ज्योति र अन्तर्दृष्टि अरूलाई निस्वार्थ प्रदान गर्न सक्षम हुन्छन्। उनीहरूले यसरी परमेश्वरप्रतिको आफ्नो प्रेम व्यक्त गर्छन् र उहाँका अभिप्रायहरू पूरा गर्छन्। जब अन्य व्यक्तिहरूले उनीहरूको बदनामी र गिल्ला गरिरहेका हुन्छन्, तब उनीहरू बाहिरी मानिस, घटना वा कामकुराहरूद्वारा प्रभावित नभइरहन र परमेश्वरसामु शान्त रहन सक्छन्। उनीहरूमा उनीहरूको आफ्नै अद्वितीय अन्तर्दृष्टि रहे जस्तो देखिन्छ। अन्य मानिसहरूले जे गरे पनि, उनीहरूको हृदयले परमेश्वरलाई कहिल्यै छोड्दैन। जब अन्य व्यक्तिहरू हाँसो र गफमा भुल्छन्, तब उनीहरूको हृदय परमेश्वरसामु रहन्छ, र उनीहरू परमेश्वरका चाहनाहरू खोज्दै उहाँको वचन मनन गर्ने वा हृदयमा उहाँलाई मनमनै प्रार्थना गर्ने गर्छन्। यी मानिसहरूले सामान्य अन्तर्वैयक्तिक सम्बन्ध कायम राख्ने कुरालाई महत्त्व दिँदैनन्, र उनीहरूमा सांसारिक कुराहरूको दर्शन नभएजस्तो देखिन्छ। उनीहरू सक्रिय, प्रेमयोग्य र निर्दोष देखिन्छन् तर उनीहरूमा निश्चित शान्तपन पनि हुन्छ। परमेश्वरले प्रयोग गर्नुहुने खालको व्यक्तिको स्वरूप यही हो। यस प्रकारको व्यक्तिमा सांसारिक कुराहरूको दर्शन वा “सामान्य समझ” जस्ता कुराहरूले कुनै काम गर्दैन; उनीहरूले आफ्नो सम्पूर्ण हृदय परमेश्वरका वचनमा अर्पित गरेका हुन्छन् र उनीहरूको हृदयमा परमेश्वर मात्र रहनुभएजस्तो देखिन्छ। यही नै परमेश्वरले “कारणविनाको” भनेर चर्चा गर्नुभएको व्यक्ति हो र ठ्याक्कै यस्तै प्रकारको व्यक्ति नै परमेश्वरद्वारा प्रयोग गरिने व्यक्ति हो। परमेश्वरद्वारा प्रयोग गरिने व्यक्तिको लक्षण भनेको: जहिले र जहाँसुकै भए पनि उसको हृदय सधैँ परमेश्वरसामु हुन्छ, र अन्य व्यक्तिहरू जति नै दुराचारी भए पनि, वा वासना र देहमा जत्ति नै लिप्त भए पनि, यस्तो व्यक्तिको हृदयले परमेश्वरलाई कहिल्यै छोड्दैन र उसले भीडलाई कहिल्यै पछ्याउँदैन। यस प्रकारको व्यक्ति मात्र परमेश्वरको प्रयोगका लागि योग्य हुन्छ र यस प्रकारका व्यक्तिलाई मात्र पवित्र आत्माले सिद्ध बनाउनुहुन्छ। यदि तँ यो कुरा हासिल गर्न असफल भइस् भने तँ परमेश्वरद्वारा प्राप्त गरिन र पवित्र आत्माद्वारा सिद्ध पारिन योग्य छैनस्।
यदि तँ परमेश्वरसँग सामान्य सम्बन्ध स्थापित गर्न चाहन्छस् भने तेरो हृदय परमेश्वरतर्फ फर्किएको हुनुपर्छ; यसको जगमा अन्य मानिसहरूसँगको तेरो सम्बन्ध पनि सामान्य हुनेछ। यदि परमेश्वरसँग तेरो सम्बन्ध सामान्य छैन भने, तैँले अन्य मानिसहरूसँगको तेरो सम्बन्ध कायम राख्न जे गरे पनि, तैँले जति नै कठिन परिश्रम गरे पनि वा जति नै मेहनत लगाए पनि, त्यो सबै संसारसँग व्यवहार गर्ने मानव दर्शन मात्र हुनेछ। तैँले परमेश्वरका वचनहरूअनुरूप सामान्य अन्तर्वैयक्तिक सम्बन्ध स्थापित गर्नुको सट्टा मानव दृष्टिकोण र मानव दर्शनद्वारा मानिसहरूमाझ आफ्नो स्थान कायम राखिरहेको र उनीहरूको प्रशंसा बटुलिरहेको हुनेछस्। यदि तँ अरू मानिसहरूसँगका सम्बन्धहरूमा ध्यान केन्द्रित गर्दैनस्, बरु त्यसको सट्टा परमेश्वरसँग सामान्य सम्बन्ध कायम राख्छस्, र तँ आफ्नो हृदय परमेश्वरलाई अर्पित गर्न र उहाँप्रति समर्पित हुन सिक्न तत्पर छस् भने, सबै मानिसहरूसँग तेरा सम्बन्धहरू पनि स्वाभाविक रूपमै सामान्य बन्नेछन्। त्यसपछि, ती सम्बन्धहरू देहको आधारमा नभई परमेश्वरको प्रेमको जगमा स्थापित हुनेछन्। अन्य मानिसहरूसँगको तेरो दैहिक अन्तरक्रिया झण्डै शून्य हुनेछ, तर तिमीहरूबीच आत्मिक तहको सङ्गति, साथै पारस्परिक प्रेम, सान्त्वना, र भरणपोषण हुनेछ। यी सबै कुरा परमेश्वरलाई सन्तुष्ट पार्ने चाहनाको जगमा गरिन्छ—यी सम्बन्धहरूलाई संसारसँग व्यवहार गर्ने मानव दर्शनको आधारमा कायम राखिँदैन, बरु ती त तँमा परमेश्वरप्रति बोझको भावना हुँदा प्राकृतिक रूपमै निर्माण हुन्छन्। यसको लागि तैँले कुनै मानव प्रयास लगाउनु पर्दैन, र तैँले परमेश्वरका वचनहरूका सिद्धान्तअनुसार अभ्यास गरे मात्र पुग्छ। के तँ परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्न इच्छुक छस्? के तँ उहाँको अगाडि “समझहीन” व्यक्ति बन्न इच्छुक छस्? के तँ आफ्नो हृदय पूर्ण रूपमा परमेश्वरलाई सुम्पन र मानिसहरूमाझ आफ्नो पदलाई बेवास्ता गर्न इच्छुक छस्? तैँले अन्तरक्रिया गर्ने सबै मानिसमध्ये, कोसँग तेरो सबैभन्दा राम्रो सम्बन्ध छ? कोसँग तेरो सबैभन्दा खराब सम्बन्ध छ? के मानिसहरूसँगका तेरा सम्बन्धहरू सामान्य छन्? के तँ सबै मानिसलाई समान रूपमा व्यवहार गर्छस्? के अरूसँगका तेरा सम्बन्धहरू संसारसँग व्यवहार गर्ने तेरो दर्शनअनुसार कायम हुन्छन्, कि ती परमेश्वरको प्रेमको जगबाट बन्छन्? जब मानिसहरूले आफ्नो हृदय परमेश्वरलाई दिँदैनन्, तब तिनीहरूको आत्मा सुस्त, संवेदनहीन, र अचेत बन्छ। त्यस्ता मानिसहरूले परमेश्वरका वचनहरू कहिल्यै बुझ्नेछैनन्, तिनीहरूको परमेश्वरसँग कहिल्यै सामान्य सम्बन्ध हुनेछैन, र तिनीहरूले आफ्नो स्वभावमा कहिल्यै परिवर्तन हासिल गर्नेछैनन्। आफ्नो स्वभाव परिवर्तन गर्नु भनेको आफ्नो हृदय पूर्ण रूपमा परमेश्वरलाई दिने, र उहाँका वचनहरूबाट अन्तर्दृष्टि र ज्योति प्राप्त गर्ने प्रक्रिया हो। परमेश्वरको कामले मानिसहरूलाई सक्रिय रूपमा प्रवेश गर्न सम्भव तुल्याउँछ, र यसले तिनीहरूलाई आफ्ना नकारात्मक पाटोहरूसम्बन्धी ज्ञान प्राप्त गरेपछि तिनलाई फाल्न सक्षम तुल्याउँछ। जब तैँले आफ्नो हृदय परमेश्वरलाई दिएको हुन्छस्, तब तेरो आत्मा अलिकति मात्र प्रेरित हुँदा पनि तैँले हरेक पटक महसुस गर्न सक्नेछस्, र यदि परमेश्वरले तँलाई अलिकति मात्रै अन्तर्दृष्टि र ज्योति प्रदान गर्नुभयो भने पनि, तँ यसबारे सचेत हुन सक्नेछस्। यदि तँ निरन्तर लागिरहिस् भने, तँ बिस्तारै पवित्र आत्माद्वारा सिद्ध पारिने पथमा प्रवेश गर्नेछस्। परमेश्वरको अगाडि तेरो हृदय जति शान्त हुन्छ, तेरो आत्मा त्यति नै संवेदनशील र कोमल हुनेछ, पवित्र आत्माले यसलाई कसरी प्रेरित गर्नुहुन्छ भन्ने कुरा यसले त्यति नै बढी महसुस गर्न सक्नेछ, र परमेश्वरसँगको तेरो सम्बन्ध त्यति नै बढी सामान्य बन्नेछ। सामान्य अन्तरवैयक्तिक सम्बन्धहरू मानव प्रयासद्वारा होइन, आफ्नो हृदयलाई परमेश्वरतर्फ फर्काउने जगमा स्थापित हुन्छन्। यदि कुनै व्यक्तिको हृदयमा परमेश्वर हुनुहुन्न भने, अन्य मानिसहरूसँगका उसका सम्बन्धहरू केवल देहका सम्बन्ध हुन्। ती सामान्य हुँदैनन्, ती कामुक आशक्तिहरू हुन्, र तिनलाई परमेश्वरले घृणा र तिरस्कार गर्नुहुन्छ। यदि तँ तेरो आत्मालाई प्रेरित गरिएको छ भनेर भन्छस्, तर तँ आफूलाई मन पर्ने र आफूले उच्च ठान्ने मानिसहरूसँग मात्रै सङ्गति गर्न इच्छुक हुन्छस्, र तँलाई मन नपर्ने मानिसहरू तेरो मार्गदर्शन खोज्न आउँदा तँ तिनीहरूविरुद्ध पूर्वाग्रही हुन्छस् र तिनीहरूसँग बोल्न मान्दैनस् भने, यो तँ आफ्ना भावनाहरूद्वारा सञ्चालित छस् र परमेश्वरसँग तेरो सामान्य सम्बन्ध पटक्कै छैन भन्ने कुराको अझ ठूलो प्रमाण हो। यसले तँ परमेश्वरलाई मूर्ख बनाउने र आफ्नो कुरूपतालाई ढाकछोप गर्ने प्रयास गरिरहेको छस् भन्ने देखाउँछ। तैँले आफ्नो केही ज्ञान बाँड्न सक्लास्, तर यदि तेरा नियतहरू गलत छन् भने, तैँले गर्ने सबै कुरा मानव मानकअनुसार मात्रै राम्रा हुन्छन्, र परमेश्वरले तँलाई अनुमोदन गर्नुहुन्न। तेरा कार्यहरू तेरो देहद्वारा प्रेरित हुन्छन्, परमेश्वरको बोझद्वारा होइन। यदि तँ परमेश्वरको अगाडि आफ्नो हृदयलाई शान्त पार्न र उहाँलाई प्रेम गर्ने सबै मानिसहरूसँग सामान्य अन्तरक्रिया गर्न सक्षम छस् भने मात्रै तँ उहाँको प्रयोग योग्य हुन्छस्। यदि तँ त्यसो गर्न सक्छस् भने, तैँले अरूसँग जसरी अन्तरक्रिया गरे पनि, तैँले संसारसँग व्यवहार गर्ने दर्शनअनुसार काम गरिरहेको हुनेछैनस्, तँ परमेश्वरको बोझलाई ख्याल गरिरहेको र उहाँसामु जिइरहेको हुनेछस्। तिमीहरूमध्ये यस्ता मानिसहरू कति छन्? के अरूसँगका तेरा सम्बन्धहरू साँच्चै सामान्य छन्? ती कुन जगमा बनेका छन्? तँभित्र संसारसँग व्यवहार गर्ने दर्शनहरू कति छन्? के तैँले तिनलाई फालेको छस्? यदि तेरो हृदय परमेश्वरतर्फ पूर्ण रूपमा फर्किन सक्दैन भने, तँ परमेश्वरद्वारा चुनिएको होइनस्—तँ शैतानबाट आएको होस्, अन्त्यमा तँ शैतानतर्फै फर्कनेछस्, र तँ परमेश्वरका मानिसहरूमध्येको एक हुन लायक छैनस्। तैँले यी कुराहरूलाई होसियारीका साथ जाँच्नैपर्छ।