परमेश्वरमाथिको तेरो विश्वासमा तँ परमेश्वरमा समर्पित हुनैपर्छ
तँ ठ्याक्कै किन परमेश्वरमा विश्वास गर्छस्? धेरैजसो मानिस यस प्रश्नको कुरा आउँदा अझै पनि अलमल्ल पर्छन्, अनि तिनीहरूमा व्यावहारिक परमेश्वर र स्वर्गमा हुनुहुने परमेश्वरका बारेमा सधैँ दुई वटा अत्यन्तै भिन्न प्रकारका दृष्टिकोण हुन्छन्। यसले मानिसहरू परमेश्वरको अधीनमा रहनका लागि नभई निश्चित फाइदाहरू पाउन, वा प्रकोपले ल्याउने कष्टबाट बच्नका लागि उहाँमा विश्वास गर्छन् भन्ने देखाउँछ; त्यसपछि मात्र तिनीहरू केही हदसम्म समर्पित हुन्छन्। यसरी अधीनमा बस्नु ससर्त कुरा हो—तिनीहरूको व्यक्तिगत भविष्य नै तिनीहरू अधीनमा बस्नुको पूर्वसर्त हो; तिनीहरू आफूसँग कुनै विकल्प नभएकाले समर्पित हुन्छन्। त्यसोभए, आखिर तँ किन परमेश्वरमा विश्वास गर्छस्? यदि यो तेरो भविष्य र नियतिका खातिर मात्र हो भने, तैँले उहाँमा विश्वास नै नगरे राम्रो हुन्छ। यस किसिमको विश्वास भनेको आफूलाई मूर्ख बनाउनु, आफूलाई आश्वस्त पार्नु, र आत्म-प्रशंसा गर्नु हो। यदि तेरो आस्था परमेश्वरप्रतिको समर्पणको जगमा निर्माण भएको छैन भने, तँलाई उहाँको विरोध गरेकोमा अन्ततः दण्ड दिइनेछ। आफ्नो आस्थामा परमेश्वरमाथिको समर्पण नखोज्नेहरू सबै नै उहाँको विरोध गर्ने मानिसहरू हुन्। परमेश्वर मानिसहरूलाई सत्यताको खोजी गर्न, उहाँको वचनका लागि तिर्खाउन, उहाँका वचन खान र पिउन, र ती अभ्यास गर्न भन्नुहुन्छ, र त्यो सब तिनीहरूले परमेश्वरप्रतिको समर्पण प्राप्त गर्न सकून् भनेर हो। यदि तेरो साँचो अभिप्राय त्यही हो भने, परमेश्वरले तँलाई निश्चय नै उच्च पार्नुहुनेछ, र तँप्रति निश्चय नै अनुग्रहकारी हुनुहुनेछ। यो निस्सन्देह र अपरिवर्तनीय कुरा हो। यदि तेरो अभिप्राय परमेश्वरको अधीनमा रहनु होइन, अनि तेरा अन्य लक्ष्यहरू छन् भने, तैँले भन्ने र गर्ने सबै कुरा—परमेश्वरसामु तैँले गर्ने प्रार्थनाहरू समेत, र अझ थपेर भन्नुपर्दा, तेरो हरेक चाल—उहाँको विरोधमा हुनेछन्। तेरा शब्दहरू कोमल र तँ शालीन भए पनि, तेरो प्रत्येक चाल र अभिव्यक्ति तँ समर्पित हुने व्यक्ति भएझैँ गरी अरूका लागि उचित देखिए पनि, तेरा अभिप्रायहरू र परमेश्वरमाथिको आस्थाका दृष्टिकोणहरूको कुरा आउँदा, तेरो हरेक कार्य परमेश्वरविरुद्ध हुन्छ, त्यो दुष्टता गर्नु हो। भेडाजस्तै आज्ञाकारी देखिने, तर हृदयमा भने दुष्ट अभिप्रायहरू बोकेर हिँड्ने मानिसहरू भेडाको भेष धारण गरेका ब्वाँसाहरू हुन्, र सिधै परमेश्वरविरुद्ध अपराध गर्नेहरू हुन्। परमेश्वरले तिनीहरूमध्ये एक जनालाई पनि छोड्नुहुनेछैन, अनि पवित्र आत्माले तिनीहरूमध्ये हरेकलाई प्रकट गर्नुहुनेछ। जो पाखण्डी छन् तिनीहरू सबैलाई पवित्र आत्माद्वारा निश्चय नै तिरस्कार गरिनेछ भन्ने कुरा सबैले देख्नेछन्। अधीर नहू: परमेश्वरले तिनीहरू प्रत्येकसँग हिसाबकिताब गर्नुहुनेछ र तिनीहरू प्रत्येकलाई एकएक गरी तह लगाउनुहुनेछ।
यदि तँ परमेश्वरबाट आउने नयाँ ज्योति स्वीकार गर्न असक्षम छस्, र परमेश्वरले आज के गर्नुहुन्छ भन्ने कुरा स्पष्ट रूपमा देख्न नसक्दा तँ खोजी गर्दैनस्, र तँ यसमाथि शङ्का गर्छस्, यसलाई गलत ठहराउँछस्, वा यसको छानबिन र विश्लेषण गर्छस् भने, यस्तो व्यक्तिमा परमेश्वरको अधीनमा रहने कुनै मनसाय हुँदैन। यदि तँ वर्तमान ज्योति देखा पर्दा अझै पनि हिजोको ज्योतिलाई बहुमूल्य ठान्छस् र परमेश्वरको नयाँ कामको विरोध गर्छस् भने, तँ एक बेतुके व्यक्तिबाहेक अरू केही होइनस्—तँ जानाजानी परमेश्वरको विरोध गर्नेहरूमध्येको एक होस्। परमेश्वरको अधीनमा रहनुको कडी भनेको सबैभन्दा नयाँ ज्योति स्वीकार गर्नु, अनि यसलाई स्वीकार गर्न र व्यवहारमा लागु गर्न सक्षम हुनु हो। यो मात्रै साँचो अधीनमा रहनु हो। परमेश्वरको तृष्णा गर्ने सङ्कल्प नभएकाहरू जानाजानी उहाँको अधीनमा रहन असक्षम हुन्छन्, र तिनीहरू यथास्थितिमै सन्तुष्ट हुनुको नतिजास्वरूप परमेश्वरको विरोध मात्र गर्न सक्छन्। मानिस परमेश्वरको अधीनमा रहन सक्दैन किनभने ऊ पहिले आएका कुराहरूद्वारा वशीभूत हुन्छ। पहिले आएका कुराहरूले मानिसमा परमेश्वरबारे सबै प्रकारका धारणा र विभिन्न कल्पना पैदा गरेका छन्, र यी कुराहरू उसको दिमागमा परमेश्वरको स्वरूप बनेका छन्। तसर्थ, ऊ आफ्नै धारणाहरू, र आफ्नै कल्पनाका मानकहरूमा विश्वास गर्छ। यदि तँ आज व्यावहारिक काम गर्नुहुने परमेश्वरलाई तेरो आफ्नै कल्पनाको परमेश्वरसँग दाँज्छस् भने, तेरो आस्था शैतानबाट आउँछ, र त्यो तेरो आफ्नै अभिरुचिहरूमा आधारित छ—परमेश्वर यस्तो प्रकारको आस्था चाहनुहुन्न। तिनीहरूको योग्यता जतिसुकै उच्च भए पनि, र तिनीहरूले जतिसुकै अर्पण गरेका भए पनि—तिनीहरूले उहाँका लागि काम गर्न जीवनभरको मेहनत लगाएका भए पनि, र तिनीहरू शहादत प्राप्त गर्ने हदसम्म गएका भए पनि—परमेश्वर यस्तो आस्था भएको कसैलाई पनि अनुमोदन गर्नुहुन्न। उहाँ केवल तिनीहरूलाई थोरै अनुग्रह प्रदान गर्नुहुन्छ र तिनीहरूलाई केही समय यसको आनन्द लिन दिनुहुन्छ। यस्ता मानिसहरू सत्यतालाई व्यवहारमा लागु गर्न असमर्थ हुन्छन्। पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्न, र परमेश्वरले तिनीहरूमध्ये प्रत्येकलाई पालैपालो हटाउनुहुनेछ। जवान होऊन् वा वृद्ध, आफ्नो आस्थामा परमेश्वरप्रति समर्पित नहुने र गलत अभिप्रायहरू राख्नेहरू ती हुन् जो विरोध र अवरोध गर्छन्, र त्यस्ता मानिसहरू परमेश्वरद्वारा निस्सन्देह हटाइनेछन्। परमेश्वरप्रति अलिकति पनि समर्पण नभएका, उहाँको नाम मात्र स्वीकार गर्ने, र परमेश्वरको पहुँचयोग्यता र प्रेमिलोपनको केही बोध भएका, तैपनि पवित्र आत्माका पदचापहरूको गतिसँग तालमेल मिलाउन नसक्ने, र पवित्र आत्माको वर्तमान काम र वचनहरूको अधीनमा नरहनेहरू—त्यस्ता मानिसहरू परमेश्वरको अनुग्रहको बीचमा जिउँछन्, र उहाँद्वारा प्राप्त गरिन वा सिद्ध पारिन सकिँदैनन्। परमेश्वर मानिसहरूलाई तिनीहरूको समर्पणमार्फत, तिनीहरूद्वारा परमेश्वरका वचनहरूको खानपिन, र आनन्दभोग, र जीवनमा दुःख र शोधनको भोगमार्फत सिद्ध पार्नुहुन्छ। यस्तो आस्थामार्फत मात्र मानिसहरूको स्वभाव परिवर्तन हुन सक्छ, र त्यसपछि मात्र तिनीहरूसँग परमेश्वरको साँचो ज्ञान हुन सक्छ। परमेश्वरको अनुग्रहको बीचमा जिउनुमा सन्तुष्ट नहुनु, सक्रिय रूपमा सत्यताको तृष्णा र खोजी गर्नु, र परमेश्वरद्वारा प्राप्त गरिने पछ्याइमा लाग्नु—सचेत रूपमा परमेश्वरको अधीनमा रहनुको अर्थ यही हो, र उहाँले चाहने आस्था ठ्याक्कै यस्तै प्रकारको हो। परमेश्वरको अनुग्रहको आनन्द लिनेबाहेक अरू केही नगर्ने मानिसहरूलाई सिद्ध पार्न वा परिवर्तन गर्न सकिँदैन; तिनीहरूसँग देखावटी समर्पण, भक्ति, प्रेम, र धैर्य मात्र हुन सक्छ। परमेश्वरको अनुग्रहको मात्र आनन्द लिनेहरूले परमेश्वरलाई साँच्चै चिन्न सक्दैनन्, र तिनीहरूले परमेश्वरलाई चिने पनि, तिनीहरूको ज्ञान सतही हुन्छ, र तिनीहरू “परमेश्वर मानिसलाई प्रेम गर्नुहुन्छ,” वा “परमेश्वर मानिसमाथि कृपा राख्नुहुन्छ” भन्ने जस्ता कुराहरू भन्छन्। यसले मानिसको जीवनको प्रतिनिधित्व गर्दैन, र यसको अर्थ मानिसहरू साँच्चिकै परमेश्वरलाई चिन्छन् भन्ने होइन। परमेश्वरका वचनहरूले मानिसहरूलाई शोधन गर्दा, वा तिनीहरूमाथि उहाँका परीक्षाहरू आइपर्दा, यदि तिनीहरू परमेश्वरको अधीनमा रहन असक्षम हुन्छन्—यदि, यसको सट्टा, तिनीहरू शङ्कालु बन्छन्, र पतनसमेत हुन्छन् भने—तिनीहरू अलिकति पनि अधीनमा रहँदैनन्। तिनीहरूभित्र परमेश्वरमाथिको आस्थाबारे धेरै वटा नियम र बन्देज हुन्छन्, र तिनीहरूले धेरै वर्षको आस्थाबाट लिएका लामो समयदेखिका अनुभवहरू, वा बाइबललाई आफ्नो सिद्धान्तका रूपमा लिने विभिन्न प्रावधानसमेत हुन्छन्। के यस्ता मानिसहरू परमेश्वरको अधीनमा रहन सक्छन् र? यी मानिसहरू मानवीय कुराहरूले भरिएका हुन्छन्—तिनीहरू कसरी परमेश्वरको अधीनमा रहन सक्छन् र? तिनीहरूको “समर्पण” तिनीहरूका व्यक्तिगत अभिरुचिहरूमा आधारित हुन्छ—के परमेश्वर यस्तो समर्पण चाहनुहुन्छ र? यो त प्रावधानहरूको पालना हो, परमेश्वरप्रतिको समर्पण होइन; यो आफैलाई सन्तुष्ट पार्नु र शान्त राख्नु हो। यदि तँ यो परमेश्वरप्रतिको समर्पण हो भनेर भन्छस् भने, के तँ उहाँको ईशनिन्दा गर्दैनस् र? तँ एउटा मिश्री फारो होस्। तँ दुष्टता गर्छस्, र तँ खास गरी परमेश्वरको विरोध गर्ने काममै संलग्न हुन्छस्—के परमेश्वर तैँले यसरी नै सेवा गरेस् भन्ने चाहनुहुन्छ र? तैँले चाँडोभन्दा चाँडो पश्चात्ताप गर्नु, र केही आत्म-सचेतना प्राप्त गर्ने प्रयास गर्नु नै उत्तम हुन्छ। त्यसो गर्न असफल भएमा, तँ घर जानु नै बेस हुनेछ; त्यसले तँलाई तैँले गरेको “परमेश्वरको सेवा” भन्दा बढी फाइदा गर्नेछ। तैँले अवरोध गर्ने र बाधा दिनेछैनस्; तैँले आफ्नो स्थान जान्नेछस्, र तँ राम्ररी जिउनेछस्—के त्यो राम्रो हुनेछैन र? अनि तैँले परमेश्वरको विरोध गर्नेछैनस् र दण्ड पाउनेछैनस्!