अभ्यास (५)

अनुग्रहको युगको अवधिमा, येशूले केही वचनहरू बोल्नुभयो र एक चरणको काम गर्नुभयो। ती सबैको निम्ति एउटा सन्दर्भ थियो र त्यस समयका मानिसहरूको अवस्थाको निम्ति ती उचित थिए; येशूले त्यस बेलाको सन्दर्भ अनुसार बोल्‍नुभयो र काम गर्नुभयो। उहाँले केही अगमवाणीहरू पनि गर्नुभयो। आखिरी दिनहरूमा सत्यको आत्मा आउनुहुनेछ र कामको एक चरणको कामलाई अघि बढाउनुहुनेछ भनेर येशूले अगमवाणी गर्नुभयो। भन्‍नुको अर्थ, त्यस युगमा उहाँ आफैले गर्नुपर्ने कामबाहेक उहाँलाई केही पनि थाहा थिएन; अर्को शब्दमा, देहधारी परमेश्‍वरले ल्याउनुभएको काम सीमित छ। यसैले, उहाँले आफू जुन युगमा हुनुहुन्छ त्यही युगको काम मात्र गर्नुहुन्छ र उहाँसँग सम्बन्ध नभएका अन्य काम गर्नुहुन्‍न। त्यस बेला, येशूले भावना वा दर्शनहरू अनुसार काम गर्नुभएन, तर समय र सन्दर्भसँग मेल खाने किसिमले काम गर्नुभयो। उहाँलाई कसैले पनि अगुवाइ वा मार्गदर्शन गरेन। उहाँको कामको सम्पूर्णता नै उहाँको आफ्नै अस्तित्व थियो—यो परमेश्‍वरको देहधारी आत्माले अघि बढाउनुपर्ने काम थियो, जुन देहधारणले अस्तित्वमा ल्याएको सारा काम थियो। येशूले उहाँ आफैले जे देख्नुभएको र सुन्‍नुभएको थियो त्यही अनुसार मात्र काम गर्नुभयो। अर्को शब्दमा, आत्माले प्रत्यक्ष रूपमा काम गर्नुभयो; उहाँको निम्ति सन्देश वाहकहरू प्रकट भएर उहाँलाई सपनाहरू दिनुपर्ने आवश्यकता थिएन, न त उहाँमाथि कुनै महान् ज्योति चम्केर उहाँलाई देख्‍ने नै तुल्याउनु पर्थ्यो। उहाँले स्वतन्त्र भएर विना अवरोध काम गर्नुभयो, किनभने उहाँको काम भावनाहरूमा आधारित थिएन। अर्को शब्दमा, जब उहाँले काम गर्नुभयो, उहाँले छामछाम-छुमछुम गर्नुभएन र अनुमान लगाउनुभएन, तर उहाँका आफ्नै विचारहरू र उहाँका आफ्नै आँखाले देख्नुभएका कुराहरूको आधारमा काम गर्दै र बोल्दै आफूलाई पछ्याउने चेलाहरूलाई तत्कालीन भरणपोषण उपलब्ध गराउँदै सहजताका साथ काम कुराहरू पूरा गर्नुभयो। परमेश्‍वरको काम र मानिसहरूको काम बीचको फरक यही हो: जब मानिसहरूले काम गर्छन्, तिनीहरूले थप गहिराइ हासिल गर्न अरूले बसालेको जगको आधारमा सधैँ अनुकरण गर्दै र सोचविचार गर्दै खोज्छन् र छामछाम-छुमछुम गर्छन्। परमेश्‍वरको काम उहाँ जो हुनुहुन्छ त्यसको प्रबन्ध हो र उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ। उहाँले कुनै पनि मानिसको ज्ञानलाई प्रयोग गरेर मण्डलीलाई भरण-पोषण प्रदान गर्नुहुन्‍न। बरु, उहाँले मानिसहरूको अवस्थामा आधारित भएर वर्तमान काम गर्नुहुन्छ। तसर्थ, यस तरिकाले काम गर्नु मानिसहरूले गर्ने कामभन्दा हजारौं गुणा बढी स्वतन्त्र हुन्छ। मानिसहरूलाई परमेश्‍वरले आफ्नो कर्तव्य पूरा गर्नुहुन्न र उहाँलाई जसरी मन लाग्छ त्यसरी काम गर्नुहुन्छ जस्तो पनि लाग्न सक्छ—तर उहाँले गर्नुहुने सबै काम नयाँ छ। तैपनि, तैंले देहधारी परमेश्‍वरको काम कहिल्यै पनि भावनाहरूमा आधारित हुँदैन भन्ने जान्नुपर्छ। त्यस समय, येशूले क्रूसमा टाँगिनुपर्ने आफ्नो काम सिध्याउनुभएपछि, येशूलाई पछ्याउने चेलाहरूले उनीहरू आफ्नो अनुभवको कुनै खास स्थितिमा पुगेपछि परमेश्‍वरको दिन नजिकै आएको र उनीहरूले चाँडै प्रभुलाई भेट्नेछन् भन्ने अनुभूति गरे। उनीहरूको भावना यही थियो, र उनीहरूको लागि यो भावना अत्यन्त महत्त्वपूर्ण थियो। तर वास्तवमा, मानिसहरूभित्रका भावनाहरू भरोसायोग्य हुँदैनन्। उनीहरूले सायद आफूहरू बाटोको अन्त्यमा पुग्न लागेको, वा उनीहरूले गरेका र कष्ट भोगेका सबै कुराहरू परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको थियो भन्ने अनुभूति गरे। पावलले पनि आफूले दौड सिध्याइसकेको र उत्तम लड़ाइँ लडिसकेको अनि आफ्नो निम्‍ति धार्मिकताको मुकुट राखिसकिएको कुरा गरेका थिए। तिनले गरेको अनुभूति यही थियो, र यसको बारेमा तिनले पत्रहरू लेखे र मण्डलीहरूलाई पठाए। त्यस्ता कार्यहरू तिनले मण्डलीहरूका लागि बोकेको बोझबाट आए र यसरी पवित्र आत्माद्वारा बेवास्ता गरिए। जब पावलले यी वचनहरू बोले, तिनमा असहजताको कुनै भाव थिएन, न त तिनले कुनै प्रकारको दोष नै महसुस गरे, त्यसैले तिनले त्यस्ता कुराहरू अति सामान्य र बिलकुल सही थिए, र ती पवित्र आत्माबाट आएका थिए भन्ने विश्वास गरे। तर आजको दृष्टिकोणबाट हेर्दा ती बिलकुलै पवित्र आत्माबाट आएका थिएनन्। ती अरू केही नभएर मानिसका भ्रम मात्र थिए। मानिसहरूभित्र धेरै भ्रमहरू छन्, र ती प्रकट हुँदा परमेश्‍वरले तीमाथि ध्यान दिनुहुन्न वा कुनै विचार व्यक्त गर्नुहुन्न। पवित्र आत्माका धेरैजसो काम मानिसहरूका भावनाहरूमार्फत पूरा गरिँदैनन्—परमेश्‍वर देह बन्नुभन्दा अघिको कठिन, अन्धकार समयमा वा कुनै प्रेरित वा कारिन्दाहरू नभएको समयमा बाहेक पवित्र आत्माले मानिसहरूका भावनाहरूभित्र काम गर्नुहुन्न। कामको त्यस चरणमा पवित्र आत्माको कामले मानिसहरूलाई केही विशेष भावना जगाउँछ। उदाहरणको लागि: जब मानिसहरूलाई परमेश्‍वरका वचनहरूको मार्गनिर्देशन हुँदैन, तब उनीहरूले प्रार्थना गर्दा खुसीको अवर्णनीय बोध हुन्छ; उनीहरूको हृदयमा आनन्दको अनुभूति हुन्छ, र उनीहरू शान्ति र सहजतामा हुन्छन्। एक पटक वचनहरूको मार्गनिर्देशन प्राप्त गरेपछि मानिसहरू उनीहरूका आत्मामा उज्यालो महसुस गर्छन्, उनीहरूका कार्यहरूमा अभ्यासको मार्ग हुन्छ, र अवश्य पनि, उनीहरूमा शान्ति र सहजताका भावनाहरू पनि हुन्छन्। जब मानिसहरूले खतराको सामना गर्छन्, वा परमेश्‍वरले उनीहरूलाई केही कुराहरू गर्नबाट रोक्नुहुन्छ, उनीहरू आफ्नो हृदयमा अशान्त र असहज महसुस गर्छन्। यी सबै पवित्र आत्माले मानिसलाई प्रदान गर्नुभएका भावनाहरू हुन्। तैपनि, यदि प्रतिकूल वातावरणले भयको स्थिति उत्पन्न गऱ्यो र त्यसले मानिसलाई अति नै चिन्तित र डरपोक बनाउँछ भने, त्यो मानवजातिको सामान्य अभिव्यक्ति हो र पवित्र आत्माको कामसँग त्यसको कुनै सम्बन्ध हुँदैन।

मानिसहरू सधैँ आफ्ना भावनाहरूमाझ बाँचिरहेका हुन्छन्, र तिनीहरूले धेरै वर्षदेखि त्यसो गर्दैआएका छन्। जब उनीहरूको हृदयमा शान्ति हुन्छ, उनीहरूले (उनीहरू इच्छुक हुनु शान्तिको भावना हो भन्ने विश्वास गर्दै) कार्य गर्छन्, र जब उनीहरूको हृदयमा शान्ति हुँदैन, उनीहरूले (उनीहरूका अनिच्छा वा अरुचि असहजताको भावना हो भनी विश्वास गर्दै) कार्य गर्दैनन्। यदि स्थिति सहज छ भने उनीहरू यो परमेश्‍वरको इच्छा हो भन्ने सोच्छन्। (वास्तवमा, यो यस्तो कुरा हो जुन सहज रूपमा चल्नुपर्छ, किनकि यो वस्तुहरूको प्राकृतिक नियम हो।) जब स्थिति सहज हुँदैन, तब उनीहरू त्यो परमेश्‍वरको इच्छा होइन भन्ने सोच्छन्। जब उनीहरूले त्यस्तो कुराको सामना गर्छन् जुन सहज हुँदैन, उनीहरू रोकिन्छन्। त्यस्ता भावनाहरू सही हुँदैनन्, र ती भावनाअनुसार कार्य गर्नाले धेरै ढिलाइहरू उत्पन्न हुन्छन्। उदाहरणको लागि, निश्चय नै सत्यतालाई व्यवहारमा उतार्न गाह्रो हुन्छ र परमेश्‍वरको इच्छाको काम गर्नु त अझ धेरै कठिन हुन्छ। धेरै वटा सकारात्मक कुराहरू महसुस गर्न गाह्रो हुन्छ। जस्तै भनाइ नै छ नि, “असल कुरा महसुस गर्नुभन्दा अघि प्रायः कठिन कुराहरू अनुभव गर्नुपर्ने हुन्छ।” मानिसहरूको व्यावहारिक जीवनमा औधी धेरै भावनाहरू हुन्छन्, ती भावनाहरूले उनीहरूलाई अन्योलमा पार्छन् र धेरै कुराहरूको बारेमा अनिश्चित तुल्याउँछन्। मानिसहरूले सत्यतालाई नबुझेसम्म उनीहरूका निम्ति केही पनि स्पष्ट हुँदैन। तर सामान्यतः जब उनीहरूले भावनाहरू अनुसार काम गर्छन् वा बोल्छन्, यो कुराले प्राथमिक सिद्धान्तहरूको उल्लङ्घन नगरुञ्जेलसम्म, पवित्र आत्माले केही पनि प्रतिक्रिया गर्नुहुन्न। यो पावलले महसुस गरेको “धार्मिकताको मुकुट” जस्तो हो: धेरै वर्षसम्म कसैले पनि तिनको भावना गलत छ भनेर विश्वास गरेन, न त पावल आफैले नै आफ्ना भावनाहरू गलत भएको महसुस गरे। मानिसका भावनाहरू कहाँबाट आउँछन् त? तिनीहरू वास्तवमा उनीहरूको दिमागबाट आउने प्रतिक्रियाहरू हुन्। विभिन्न वातावरण र विभिन्न मामिलाअनुसार विभिन्न भावनाहरू उत्पन्न हुन्छन्। धेरैजसो समय, मानिसहरूले मानवीय तर्कअनुसार सूत्रात्मक ढाँचा प्राप्त गर्न निष्कर्षहरू निकाल्छन्, जसको परिणामस्वरूप धेरै मानवीय भावनाहरू निर्माण हुन्छन्। यो कुरालाई महसुसै नगरी, मानिसहरू उनीहरूका आफ्नै तार्किक निष्कर्षहरूमा प्रवेश गर्छन्, र यसरी यी भावनाहरू मानिसहरूले आफ्नो जीवन जिउने आधार बन्छन्; ती भावनाहरू उनीहरूको जीवनमा संवेगात्मक बैसाखी बन्छन्, जस्तै पावलको “धार्मिकताको मुकुट” वा विटनेस लीले “प्रभुलाई आकाशमा भेट्नु।” परमेश्‍वरका निम्ति मानिसका यी भावनाहरूमा हस्तक्षेप गर्ने कुनै उपाय छैन र उहाँले उनीहरूलाई उनीहरूकै इच्छाअनुसार बढ्न दिनु नै पर्छ। आज, मैले तँसित सत्यताको विभिन्न पक्षबारे स्पष्ट रूपमा कुरा गरेको छु। यदि तँ आफ्ना भावनाहरू अनुसार अगि बढिरहन्छस् भने के तँ अझै पनि अस्पष्टताको बीचमा बाँचिरहेको छैनस् र? तैँले तेरो लागि स्पष्ट रूपमा तय गरिएका वचनहरू स्वीकार गर्दैनस्, र सधैँ तेरा व्यक्तिगत भावनाहरूमा भरोसा गर्छस्। यसमा, के तँ एउटा हात्तीलाई छाम्ने अन्धो मानिसजस्तो छैनस् र? र तँ आखिरमा के नै प्राप्त गर्नेछस् र?

आज देहधारी परमेश्‍वरले गर्नुभएका सबै कामहरू वास्तविक छन्। यो तैँले महसुस गर्न सक्ने कुरा होइन, वा तैँले कल्पना गर्न सक्ने कुरा होइन, झन् यो तैंले निष्कर्ष निकाल्न सक्ने कुरा हुने त कुरै नगरौं—यो त यस्तो कुरा हो जसलाई तैँले तँमाथि तथ्यहरू आएपछि मात्र बुझ्न सक्छस्। कहिलेकहीँ, तथ्यहरू आए पनि तैँले अझै स्पष्ट रूपमा देख्न सक्दैनस्, र मानिसहरूले तबसम्म बुझ्नेछैनन् जबसम्म व्यक्तिगत रूपमै परमेश्‍वर आफैले घटित भइरहेका साँचो तथ्यहरूलाई ठूलो रूपमा स्पष्टता प्रदान गर्नुहुन्न। त्यस बेला, येशूलाई पछ्याउने चेलाहरूमाझ धेरै भ्रमहरू थिए। उनीहरूले परमेश्‍वरको दिन नजिकै आउँदैछ र उनीहरू प्रभुको लागि चाँडै मर्नेछन् र चाँडै प्रभु येशूसँग भेट्नेछन् भन्ने विश्वास गरे। यही भावनाको कारण पत्रुसले पूरै सात वर्ष पर्खे तैपनि त्यो दिन आएन। उनीहरूले आफ्नो जीवन परिपक्व भएको महसुस गरे; उनीहरूभित्रका भावनाहरू वृद्धि हुँदै गए र यी भावनाहरू अझ बढी तीव्र भए, तर उनीहरूले धेरै असफलताहरू भोगे र सफलता हासिल गर्न सकेनन्। के हुँदैछ भन्ने उनीहरू आफैलाई थाहा थिएन। के पवित्र आत्माबाट साँचो रूपले आएको कुरा पूरा हुन सक्दैनथ्यो त? मानिसहरूका भावनाहरू भरोसायोग्य हुँदैनन्। मानिसहरूका आ-आफ्नै सोच्ने तरिका र विचारहरू हुन्छन्, त्यसकारण, उनीहरूले त्यस समयको परिप्रेक्ष्य र अवस्थाहरूको आधारमा असंख्य सम्बन्ध र अर्थहरू निर्माण गर्छन्। विशेष रूपमा, जब सोचविचार गर्ने स्वस्थ तरिकाहरू भएका मानिसहरूलाई केही हुन्छ, उनीहरू अति उत्तेजित हुन्छन् र असंख्य सम्बन्ध र अर्थहरू निर्माण नगरिरहन सक्दैनन्। यो विशेष गरी उच्च ज्ञान र सिद्धान्तहरू भएका “विशेषज्ञहरू” मा लागू हुन्छ, जसका सम्बन्ध र अर्थहरू संसारसँग धेरै वर्षको कार्य-व्यवहारपछि अझ प्रचुर हुन्छन्; उनीहरूले महसुसै नगरी, ती कुराहरूले उनीहरूका हृदयलाई नियन्त्रणमा लिन्छन् र ती कुराहरू उनीहरूका अति नै शक्तिशाली भावनाहरू बन्छन्, र उनीहरू ती कुराहरूसँग सन्तुष्ट हुन्छन्। जब मानिसहरूले केही गर्न चाहन्छन्, उनीहरूभित्र भावना र कल्पनाहरू देखा पर्दछन् अनि उनीहरूले आफू सही छु भन्ने सोच्छन्। पछि, जब उनीहरूले ती कुराहरू पूरा नभएका देख्छन्, तब उनीहरूले के गलत भयो भन्ने बुझ्दैनन्। सायद उनीहरूले परमेश्‍वरले नै आफ्नो योजना बदल्नुभयो भन्ने विश्वास गर्छन्।

सबै मानिसहरूमा अपरिहार्य रूपमा भावनाहरू हुन्छन्। व्यवस्थाको युगमा धेरै मानिसहरूमा पनि केही निश्चित भावनाहरू थिए, तर उनीहरूका भावनाहरूमा आजका मानिसहरूको भन्दा कम त्रुटिहरू थिए। किनकि, पहिले, मानिसहरूले यहोवा देखा पर्नुभएको देख्न सक्थे; उनीहरूले सन्देशवाहकहरू देख्न सक्थे र उनीहरूलाई सपनाहरू आउँथ्यो। आजका मानिसहरू ईश्‍वरीय दर्शनहरू वा सन्देशवाहकहरू देख्न सक्दैनन्, र यसरी उनीहरूका भावनाहरूमा रहेका त्रुटिहरूमा बढोत्तरी भएको छ। जब आजका मानिसहरूले केही कुरालाई विशेष रूपमा सही भएको महसुस गर्छ र त्यसलाई व्यवहारमा ल्याउँछन्, तब पवित्र आत्माले उनीहरूलाई दोष लगाउनुहुन्न, अनि तिनीहरूलाई मनभित्र शान्ति मिल्छ। यो तथ्यपश्चात, सङ्गति वा परमेश्‍वरको वचन पढेर मात्र उनीहरूले आफू गलत रहेको थाहा पाउँछन्। यसको एउटा पक्ष के हो भने त्यहाँ मानिसहरूकहाँ देखा पर्ने कोही पनि सन्देशवाहकहरू छैनन्, सपनाहरू विरलै मात्र आउँछन्, र मानिसहरूले आकाशमा कुनै पनि ईश्‍वरीय दर्शनहरू देख्दैनन्। अर्को पक्ष के हो भने पवित्र आत्माले मानिसहरूभित्र उहाँको ताडना र अनुशासन कारबाही बढाउनुहुन्न; उनीहरूभित्र पवित्र आत्माको काम विरलै हुन्छ। तसर्थ, यदि मानिसहरूले परमेश्‍वरका वचनहरू खाँदैनन् र पिउँदैनन्, व्यावहारिक रूपमा सत्यको खोजी गर्दैनन्, र अभ्यासको मार्ग बुझ्दैनन् भने उनीहरूले केही पनि हासिल गर्नेछैनन्। पवित्र आत्माको कामका सिद्धान्तहरू यसप्रकार छन्: उहाँले त्यो कुरामा ध्यान दिनुहुन्न, जसको सम्बन्ध उहाँको कामसँग छैन; यदि कुनै कुरा उहाँको कार्यक्षेत्रको दायराभित्र छैन भने, उहाँले कहिल्यै पनि हस्तक्षेप वा मध्यस्थता गर्नुहुन्न, मानिसहरूलाई उनीहरूले चाहेका जुनसुकै समस्या खडा गर्न दिनुहुन्छ। तँ जसरी चाहन्छस् त्यसरी कार्य गर्न सक्छस्, तर त्यो दिन आउनेछ, जुन दिन तैंले आफैलाई आतङ्क र हानिले ग्रस्त भएको पाउनेछस्। परमेश्‍वर केवल उहाँको आफ्नै देहमा मात्र एकाग्र मनले काम गर्नुहुन्छ, उहाँले मानिसको काममा कहिल्यै हस्तक्षेप गर्नुहुन्न। यसको सट्टा, उहाँले मानिसको संसारलाई फराकिलो ठाउँ दिनुहुन्छ, र आफूले गर्नुपर्ने कामहरू गर्नुहुन्छ। यदि तैंले आज केही गलत गरिस् भने तँलाई दोष लगाइने छैन, न त भोलि तैंले केही राम्रो गरिस् भने तँलाई पुरस्कार नै दिइनेछ। यी मानवीय विषयहरू हुन्, र यिनको पवित्र आत्माको कामसँग अलिकति पनि सम्बन्ध हुँदैन—यो मेरो कामको दायराभित्र बिलकुलै पर्दैन।

पत्रुसले आफूले काम गरिरहेका समयमा धेरै वचनहरू बोले, र धेरै कामहरू गरे। के यो कुनै पनि मानवीय विचारहरूबाट नआएको हुनु सम्भव छ? किनकि यो सम्पूर्ण रूपले पवित्र आत्माबाट आउन असम्भव छ। पत्रुस केवल परमेश्‍वरको एक सृष्टि थिए, तिनी एक अनुयायी थिए, तिनी पत्रुस थिए, येशू थिएनन् र उहाँहरूका सार एकसमान थिएनन्। पत्रुस पवित्र आत्माद्वारा पठाइएका भए पनि तिनले गरेका सबै काम-कुराहरू पवित्र आत्माबाट आएका थिएनन्, किनकि आखिर तिनी एक मानिस मात्र थिए। पावलले पनि धेरै वचनहरू बोले र तिनले मण्डलीहरूलाई थोरै पत्रहरू लेखेनन्, तीमध्ये कतिपय बाइबलमा सङ्कलित गरिएका छन्। पवित्र आत्माले कुनै रायहरू व्यक्त गर्नुभएन, किनकि त्यस बेला पावललाई पवित्र आत्माले प्रयोग गरिरहनुभएको थियो। तिनले केही अनुभव र ज्ञानहरू प्राप्त गरे, र तिनले ती कुराहरूलाई लेखे, र प्रभुमा तिनका भाइ-बहिनीहरूलाई हस्तान्तरण गरिदिए। येशूको कुनै प्रतिक्रिया थिएन। किन त्यस बेला पवित्र आत्माले तिनलाई रोक्नुभएन? किनकि मानिसहरूको सामान्य सोच्ने तरिकाबाट केही अशुद्धताहरू आउँछन्; यो अपरिहार्य कुरा हो। यसबाहेक, तिनका कार्यहरू हस्तक्षेप वा विघ्नवाधाको हदसम्म पुगेनन्। जब मानवताबाट यस किसिमको केही काम हुन्छ, तब मानिसहरूले त्यसलाई स्वीकार गर्न सजिलो हुन्छ। यदि मानिसको सामान्य सोच्ने तरिकाका अशुद्धताहरूले कुनै कुरामा हस्तक्षेप गर्दैनन् भने, तिनहरू सामान्य मानिन्छ। अर्को शब्दमा, सामान्य सोच्ने तरिका भएका सबै मानिसहरूले त्यस प्रकारले सोच्न सक्छन्। जब मानिसहरू देहमा जिउँछन्, उनीहरूका सोचविचार गर्ने आफ्नै तरिका हुन्छन्, तर ती विचारहरूलाई उखेलेर फ्याँक्ने कुनै तरिका हुँदैन। तैपनि, केही समय परमेश्‍वरको कामको अनुभव गरेपछि र केही सत्य बुझेपछि, यस प्रकारले सोचविचार गर्ने तरिकाहरू थोरै हुनेछन्। जब उनीहरूले धेरै कुराहरूको अनुभव गरेका हुन्छन्, तब उनीहरूले स्पष्ट रूपमा देख्न सक्नेछन् र यसरी विभिन्न काम-कुराहरूमा कम बाधा पुर्‍याउनेछन्। अर्को शब्दमा, जब मानिसहरूका कल्पना र तार्किक निष्कर्षहरू खण्डन गरिन्छन्, तब उनीहरूको असामान्य भावनाहरू कम हुनेछन्। देहमा जिउने सबैको आ-आफ्नै सोच्ने तरिका हुन्छ, तर आखिरमा, परमेश्‍वरले उनीहरूमा त्यो हदसम्म काम गर्नुहुन्छ कि उनीहरूको सोच्ने तरिकाले उनीहरूलाई बाधा पुर्‍याउन सक्नेछैन, उनीहरू अबउप्रान्त आफ्नो जीवनका भावनाहरूमा भर पर्नेछैनन्, उनीहरूको वास्तविक कद बढ्नेछ, र उनीहरू वास्तविकतामा परमेश्‍वरका वचनहरू अनुसार जिउन सक्नेछन्, र अबउप्रान्त उनीहरूले अस्पष्ट वा निरर्थक काम-कुराहरू गर्नेछैनन्, र उनीहरूले विघ्नवाधा खडा गर्ने कार्यहरू गर्नेछैनन्। यसप्रकार उनीहरूका भ्रम अबउप्रान्त रहँदैनन्, र यस समयपश्चात उनीहरूका कार्यहरू उनीहरूको वास्तविक कदअनुरूपका हुनेछन्।

अघिल्लो: तिमीहरूले कामलाई बुझ्नै पर्छ—दुबिधामा नपछ्याओ!

अर्को: तँ किन प्रतिभार हुन अनिच्छुक छस्?

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

हाम्रो पछिल्लो सेवाको अवधिमा हामीले एउटा अत्यन्तै महत्त्वपूर्ण विषयको बारेमा सङ्गति गऱ्यौं। के तिमीहरूलाई त्यो के थियो भन्‍ने सम्झना छ?...

जुन मानिसहरूको स्वभाव परिवर्तन भएका छन् तिनीहरू परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

मानिसमा पवित्र आत्माको मार्गको पहिलो पाइला भनेको मानिसको हृदयलाई मानिसहरू, घटनाहरू, र थोकहरूबाट टाढा राखेर र परमेश्‍वरको वचनमा आकर्षित...

परमेश्‍वरलाई नचिन्‍ने सबै मानिसहरू परमेश्‍वरको विरोध गर्ने मानिसहरू हुन्

परमेश्‍वरको कामको उद्देश्य, मानिसमा उहाँको कामले हासिल गर्ने प्रतिफल, र मानिसको लागि उहाँको इच्छा खास के हो त्यसलाई बुझ्‍नु: परमेश्‍वरलाई...

व्यवस्थाको युगको काम

यहोवाले इस्राएलीहरूका बीचमा गर्नुभएको कार्यले मानवजातिको बीचमा परमेश्‍वरको सांसारिक उद्‍गम स्थान स्थापना गर्‍यो, जुन एउटा पवित्र स्थान पनि...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्