विजयको कामको भित्री सत्यता (१)

मानवजाति शैतानद्वारा यति गम्भीर रूपले भ्रष्ट भएको छ कि उसले परमेश्‍वर हुनुहुन्छ भनी जान्दैन र उसले परमेश्‍वरको आराधना गर्न छाडेको छ। आदिमा, जब आदम र हव्वाको सृष्टि गरियो, यहोवाको महिमा र गवाही सधैँ विद्यमान थिए। तर भ्रष्ट पारिएपछि, मानिसले त्यो महिमा र गवाही गुमायो, किनकि सबैले परमेश्‍वरको विरुद्धमा विद्रोह गरे, र उहाँको डर मान्न पूरै छाडे। आजको विजयको काम भनेको सम्पूर्ण गवाही र सम्पूर्ण महिमा फेरि प्राप्त गर्नु, र सबै मानिसहरूलाई परमेश्‍वरको आराधना गर्ने बनाउनु हो, ताकि सृष्टि गरिएकाहरूका माझमा गवाही होस्; यो यस चरणको दौरान गर्नुपर्ने काम हो। वास्तवमा, कसरी मानवजातिमाथि विजय प्राप्त गर्नुपर्छ? मानिसलाई पूर्ण रूपमा विश्‍वास दिलाउन यस चरणमा वचनहरूको काम प्रयोग गरेर; उसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन न्याय, सजाय र क्रूर श्राप प्रयोग गरेर; मानिसको विद्रोहीपनलाई खुलासा गरेर अनि उसको प्रतिरोधको न्याय गरेर ताकि उसले मानवजातिको अधार्मिकता र फोहोर चिन्‍न सकोस्, र यसरी ती चीजहरूलाई परमेश्‍वरको धर्मी स्वभावको प्रतिभारको रूपमा प्रयोग गरेर। मुख्य रूपमा यी वचनहरूद्वारा नै मानिसउपर विजय प्राप्त गर्न र उसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सकिन्छ। वचनहरू मानवजातिलाई जित्‍ने अन्तिम माध्यम हुन्, र परमेश्‍वरको विजयलाई स्वीकार गर्ने सबैले उहाँको वचनको प्रहार र न्यायलाई पनि स्वीकार गर्नुपर्दछ। आजको बोल्ने प्रक्रिया ठ्याक्‍कै जित्‍ने प्रक्रिया हो। अनि मानिसहरूले कसरी सहयोग गर्नुपर्छ? यी वचनहरू कसरी खाने र पिउने भनी जानेर, र ती बुझ्ने समझ प्राप्त गरेर। जहाँसम्म मानिसहरूलाई कसरी जित्‍ने भन्‍ने सवाल छ, यो तिनीहरू आफैँले गर्न सक्‍ने कुरा होइन। तैँले गर्न सक्‍ने भनेको यी वचनहरू खाएर अनि पिएर आफ्नो भ्रष्टता र फोहोर, आफ्नो विद्रोहीपन र अधार्मिकता थाहा पाउने, र परमेश्‍वरको अगाडि निहुरिने मात्र हो। यदि, परमेश्‍वरको इच्छा बुझेपछि, तैँले अभ्यास गर्न सक्छस्, र यदि तँसँग दर्शनहरू छन् र यी वचनहरूप्रति तँ पूर्ण रूपमा समर्पित हुन सक्छस्, र आफैले कुनै छनौट गर्दैनस् भने, तँमाथि विजय भएको हुनेछ—र त्यो विजय यी वचनहरूकै फलस्वरूप भएको हुनेछ। किन मानवजातिले गवाही गुमायो? किनकि कसैसँग पनि परमेश्‍वरमाथि विश्‍वास छैन, किनकि मानिसहरूको हृदयमा परमेश्‍वरको कुनै स्थान छैन। मानवजातिलाई जित्‍नु भनेको मानवजातिको विश्‍वास पुनर्स्थापित गर्नु हो। मानिसहरू सधैँ अनियन्त्रित रूपमा सांसारिक संसारमा दगुर्न चाहन्छन्, तिनीहरूले अत्याधिक आशा राख्छन्, आफ्नो भविष्यका लागि धेरै कुराहरू चाहन्छन्, र तिनीहरूका धेरै नै असाधारण मागहरू छन्। तिनीहरू जहिल्यै पनि देहको बारेमा सोच्छन्, देहका लागि योजना गर्दछन्, र परमेश्‍वरप्रतिको विश्‍वासको मार्ग खोज्न कुनै चासो राख्दैनन्। तिनीहरूका हृदयहरू शैतानले हरण गरेको हुन्छ, तिनीहरूले परमेश्‍वरको डर मान्ने आफ्नो हृदय गुमाएका छन्, र तिनीहरू शैतानप्रति आसक्त छन्। तर मानिसको सृष्टि परमेश्‍वरले गर्नुभएको थियो। यसैले, मानिसले उक्त गवाही गुमाएको छ, अर्थात उसले परमेश्‍वरको महिमा गुमाएको छ। मानवजातिउपर विजय प्राप्त गर्नुको उद्देश्य परमेश्‍वरप्रतिको मानिसको डरको महिमा फेरि प्राप्त गर्नु हो। यसलाई यसरी भन्‍न सकिन्छ: यस्ता धेरै मानिसहरू छन् जसले जीवनलाई पछ्याउँदैनन्; जीवनको पछि लाग्‍ने यदि कोही छन् भने पनि, तिनीहरूको सङ्ख्या औँलामा गन्‍न सकिने मात्र छ। मानिसहरू आफ्नो भविष्यको सोचमा डुबेका छन् र तिनीहरूले जीवनप्रति कुनै ध्यान दिँदैनन्। कसै-कसैले परमेश्‍वरको विरुद्ध विद्रोह र विरोध गर्छन्, उहाँको पिठिउँपछाडि उहाँलाई दोष लगाउँछन् र सत्यताको अभ्यास गर्दैनन्। अहिलेलाई यी मानिसहरूलाई बेवास्ता गरिन्छ; अहिलेलाई यी विद्रोहका छोराहरूलाई केही पनि गरिँदैन, तर भविष्यमा तँ रुँदै र दाह्रा किट्दै अन्धकारमा जिउनेछस्। ज्योतिमा जिउँदा तैँले ज्योतिको अनमोलता महसुस गर्नेछैनस्, तर एकपल्ट अँध्यारो रातमा जिउनुपरेमा तैँले त्यो कति मूल्यवान् रहेछ भनी महसुस गर्नेछस्, तब तँ दुःखी हुनेछस्। तँलाई अहिले ठीकै लाग्छ, तर त्यस्तो दिन आउनेछ जब तँ दुःखी हुनेछस्। जब त्यो दिन आउँछ, जब अँध्यारो आइपर्छ र ज्योति रहँदैन, तब पछुतो गर्नलाई पनि धेरै ढिलो हुनेछ। किनकि तैँले आजको काम अझै बुझेको छैनस् र अहिले तँसँग भएको समयलाई कदर गर्न चुकेको छस्। जब सम्पूर्ण ब्रह्माण्डको काम सुरु हुन्छ, अर्थात् जब आज मैले भनेका सबै कुराहरू साँचो हुन्छ, तब धेरै मानिसहरू आफ्नो टाउको समातेर कष्टको आँसु रुनेछन्। अनि त्यसो गर्दा, के तिनीहरू रुँदै र दाह्रा किट्दै अन्धकारमा परेका हुँदैनन् र? साँचो रूपमा जीवनलाई पछ्याउने र पूर्ण बनाइएकाहरू सबैलाई प्रयोग गर्न सकिन्छ तर प्रयोग गर्न अयोग्य विद्रोहका सबै छोराहरू अन्धकारमा धकेलिनेछन्। तिनीहरू पवित्र आत्माको कामबाट वञ्‍चित हुनेछन् र कुनै पनि कुराको अर्थ बुझ्न असमर्थ हुनेछन्। त्यसैले तिनीहरू सजायमा पर्नेछन् र रोदनमा डुब्‍नेछन्। यदि तँ कामको यस चरणमा राम्रोसँग सुसज्‍जित भइस्, र तँ आफ्नो जीवनमा वृद्धि भएको छस् भने, तँ प्रयोग हुन योग्य छस्। यदि तँ राम्ररी सुसज्‍जित छैनस् भने, तँलाई अर्को चरणको कामका लागि बोलाइएको छ भने पनि, तँ प्रयोगका निम्ति अयोग्य हुनेछस्—यो बेला तैँले आफैलाई सुसज्‍जित पार्ने इच्छा गरिस् भने पनि अर्को मौका पाउनेछैनस्। परमेश्‍वर हिँडिसक्‍नुभएको हुनेछ; अहिले तेरो सामु रहेको यस किसिमको अवसर पाउन तँ कहाँ जान सक्छस् र? परमेश्‍वरले व्यक्तिगत रूपमा प्रबन्ध गर्नुभएको त्यो अभ्यास प्राप्त गर्न तँ कहाँ जान सक्छस् र? त्यति बेला, परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुहुने वा आवाज दिनुहुनेछैन; तैँले गर्न सक्‍ने भनेको आज बोलिएका कुराहरू पढ्न सक्‍ने मात्र हो—त्यस्तो भएमा, समझ सजिलै कसरी आउन सक्छ? आजको भन्दा भविष्यको जीवन कसरी राम्रो हुन सक्छ? त्यस स्थितिमा, के तैँले रुँदै र दाह्रा किट्दै जिउँदो मरण भोगिरहेको हुँदैनस् र? तँलाई अहिले आशिष्‌हरू दिइँदै छ, तर ती कसरी उपभोग गर्ने भनेर तँलाई थाहा छैन; तँ आशिष्‌मा बाँचिरहेको छस्, तर पनि तँ अनजान छस्। यसबाट तैँले कष्ट भोग्‍ने निश्‍चित छ भनी प्रमाणित हुन्छ। आज, केही मानिसहरूले प्रतिरोध गर्छन्, केहीले विद्रोह गर्छन्, कसैले यो वा त्यो गर्छन्, र म यसलाई बेवास्ता गर्छु, तर म तिमीहरूले गर्न लागेका कुराबारे अनजान छु भनी नसोच। के म तिमीहरूको सार बुझ्दिनँ र? किन मेरो विरुद्ध झगडा गरिरहन्छौ? के तँ आफ्नै खातिर जीवन र आशिष्‌हरूको पछि लाग्‍नलाई परमेश्‍वरमा विश्‍वास गर्दैनस् र? के तैँले विश्‍वास गरेको तेरो आफ्नै लागि होइन र? हाल, म केवल बोलेर विजयको कार्य गर्दै छु, र यो विजयको काम समाप्त भएपछि, तेरो अन्त्य पक्‍कै हुनेछ। के मैले तँलाई स्पष्ट रूपमा भनिरहनु पर्छ र?

आजको विजयको कामको उद्देश्य मानिसको अन्त्य कस्तो हुनेछ भनी स्पष्ट पार्नु हो। किन आजको सजाय र न्यायलाई आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अघि हुने न्याय हो भनेर भनिन्छ? के तँ यो देख्दैनस्? विजयको काम किन अन्तिम चरणमा छ? के यो सबै वर्गका मानिसहरूको अन्त्य कस्तो प्रकारको हुनेछ भन्‍ने कुरा स्पष्ट रूपमा प्रस्तुत गर्नका निम्ति होइन र? के यो सजाय र न्यायको विजयको क्रममा सबैलाई आफ्नो वास्तविक रङ्ग देखाउन र त्यसपछि आ-आफ्नै प्रकारअनुसार वर्गीकृत हुन दिनका लागि होइन र? यसलाई मानवजातिउपर विजय गर्नु भन्‍नुभन्दा बरु प्रत्येक वर्गको व्यक्तिले कस्तो प्रकारको अन्त्यको सामना गर्नुपर्छ त्यो देखाउनु हो भन्‍नु राम्रो हुन्छ। यो मानिसहरूको पापहरूको न्याय गर्ने र त्यसपछि विभिन्‍न वर्गका मानिसहरूलाई खुलासा गर्दै, त्यसमार्फत तिनीहरू दुष्ट वा धर्मी के हुन् भनेर निर्णय गर्नु हो। विजयको कामपछि, असललाई इनाम र दुष्टलाई दण्ड दिने काम हुन्छ। पूर्ण रूपमा आज्ञापालन गर्ने मानिसहरूलाई—अर्थात् पूर्ण रूपले जितिएका मानिसहरूलाई—सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरको कार्य फैलाउने अर्को चरणमा राखिनेछ; अनि नजितिएकाहरूलाई अन्धकारमा राखिनेछ र तिनीहरूले विपत्तिको सामना गर्नेछन्। यसरी मानिसहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिनेछ, दुष्ट काम गर्नेहरू दुष्टहरूको समूहमा, फेरि सूर्यको किरणमा नहुने गरी राखिनेछन्, र धर्मीहरू असल मानिसहरूको समूहमा राखिनेछन् र तिनीहरूले ज्योति प्राप्त गर्नेछन् र सदासर्वदा ज्योतिमा जिउनेछन्। सबै थोकको अन्त्य नजिक छ; मानिसको अन्त्य उसको आँखाको अघि स्पष्ट देखाइएको छ, र यावत् थोकलाई तिनको प्रकारअनुसार वर्गीकृत गरिनेछ। त्यसो भए, मानिसहरूले तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिने पीडाबाट कसरी उम्कन सक्छन्? सबै थोकको अन्त्य नजिक आउँदा प्रत्येक प्रकारको व्यक्तिको अन्त्य प्रकट गरिन्छ, र यो (वर्तमान कार्यबाट सुरु गर्दै, विजयका सबै कामहरूलगायत) सम्पूर्ण ब्रह्माण्डलाई जित्‍ने काम गरिने अवधिमा गरिन्छ। सबै मानवजातिको अन्त्यको प्रकटीकरण न्यायको सिंहासनअघि, सजाय दिने अवधिमा, र आखिरी दिनहरूको विजयको कामको क्रममा गरिन्छ। प्रकारअनुसार मानिसहरूको वर्गीकरण गर्नु भनेको मानिसहरूलाई तिनीहरूको सुरुको वर्गमा फर्काउनु होइन, किनकि सृष्टिको समयमा मानिसको सृष्टि हुँदा, एक किसिमको मानिस मात्र थियो, उसमा पुरुष र स्‍त्रीको भेद मात्र थियो। त्यति बेला धेरै प्रकारका मानिसहरू थिएनन्। हजारौं वर्षको भ्रष्टतापछि मात्र मानिसहरूका विभिन्‍न वर्गहरू देखा परेको हो, र कोही फोहोरी दियाबलसहरूको सत्तामा छन्, कोही दुष्ट दियाबलसहरूको सत्तामा छन्, र कोही जीवनको मार्ग पछ्याउनेहरू छन् जो सर्वशक्तिमान्‌को क्षेत्रमा पर्छन्। केवल यसरी मानिसहरूको माझमा बिस्तारै वर्गहरू अस्तित्वमा आए, र मानिसको ठूलो परिवारभित्र त्यसरी मात्र मानिसहरू वर्गहरूमा बाँडिन्छन्। सबै मानिसहरूले भिन्‍नभिन्‍न “पिता” प्राप्त गरे; सबै मानिस पूर्ण रूपमा सर्वशक्तिमान्‌को प्रभुत्वमा हुन्छन् भन्‍ने होइन, किनकि मानिस अति विद्रोही छ। धर्मी न्यायले प्रत्येक प्रकारको मानिसको वास्तविक रूप खुलासा गर्दछ, कुनै पनि कुरा लुक्दैन। सबैले ज्योतिमा आफ्नो वास्तविक अनुहार देखाउँछन्। यस अवस्थामा, मानिस सुरुमा जस्तो थियो अब त्यस्तो हुँदैन, उसका पुर्खाहरूको मूल स्वरूप धेरै समयअघि नै हराइसक्यो, किनकि आदम र हव्वाका अनगिन्ती सन्तानहरू फेरि कहिल्यै स्वर्गसूर्यलाई नचिन्‍ने गरी लामो समयदेखि शैतानको पासोमा परेका छन्, र किनकि मानिसहरू शैतानको हरकिसिमको विषद्वारा भरिएका छन्। यसरी मानिसहरूले आफ्नो उचित गन्तव्य पाउँछन्। साथै, उनीहरूको भिन्‍नाभिन्‍नै यही विषको आधारमा तिनीहरूलाई प्रकारअनुसार वर्गीकृत गरिन्छ, यसको अर्थ, तिनीहरूलाई आज जुन हदसम्म जितिएको छ त्यसको आधारमा वर्गीकरण गरिन्छ। मानिसको अन्त्य संसारको सृष्टिदेखि पूर्वनिर्धारित गरिएको कुरा होइन। किनभने आदिमा, केवल एउटा वर्ग थियो, जसलाई सामूहिक रूपमा “मानवजाति” भनिन्थ्यो, र सुरुमा मानिस शैतानद्वारा भ्रष्ट भएको थिएन, र सबै मानिसहरू परमेश्‍वरको ज्योतिमा जिउँथे, तिनीहरूमाथि अन्धकार आइपरेको थिएन। तर मानिस शैतानद्वारा भ्रष्ट भएपछि, सबै प्रकार र किसिमका मानिसहरू—पुरुष र स्‍त्री मात्र भएका र सामूहिक रूपमा “मानवजाति” भन्‍ने त्यो परिवारबाट आएका सबै प्रकार र किसिमका मानिसहरू—पृथ्वीभरि फैलिए। तिनीहरूलाई आफ्ना पुर्खाहरूले तिनीहरूका सबैभन्दा प्राचीन पुर्खाहरूबाट—पुरुष र स्‍त्री मात्र भएको मानवजातिबाट (अर्थात्, प्रारम्भ‍का आदम र हव्वा, सबैभन्दा प्राचीन पुर्खाहरूबाट)—पथभ्रष्ट पारियो। त्यस बेला, पृथ्वीमा जिउने मानिसहरू इस्राएलीहरू मात्र थिए, जो यहोवाद्वारा डोर्‍याइएका थिए। सम्पूर्ण इस्राएल (अर्थात् सुरुको परिवारिक कूल) बाट निस्केका विभिन्‍न किसिमका मानिसहरूले यहोवाको मार्गनिर्देशन गुमाए। यी सुरुका मानिसहरू मानव संसारका मामिलाहरूबारे पूर्ण रूपमा अनभिज्ञ थिए, पछि उनीहरू आफ्ना पुर्खाहरूसँग उनीहरूले दाबी गरेका क्षेत्रहरूमा बस्‍न गए, जुन आजको दिनसम्म जारी छ। यसरी तिनीहरू कसरी यहोवाबाट टाढिँदै गए र आजको दिनसम्म हरप्रकारका फोहोरी दियाबलस र दुष्टात्माहरूबाट भ्रष्ट भएका छन् भन्‍नेबारेमा अनजान छन्। जो अहिलेसम्म गम्भीर रूपमा भ्रष्ट र विषाक्त छन्—जसलाई आखिरीमा उद्धार गर्न सकिँदैन, तिनीहरूका निम्ति आफ्ना पुर्खाहरू, अर्थात् तिनीहरूलाई भ्रष्ट पार्ने दियाबलसहरूसँग जानुबाहेक अरू विकल्प हुनेछैन। जसलाई आखिरीमा मुक्त गर्न सकिनेछ तिनीहरू मानवजातिको उपयुक्त गन्तव्यमा जानेछन्, जसको अर्थ हो, तिनीहरू मुक्ति पाएका र जितिएकाहरूका निम्ति आरक्षित गन्तव्यमा जानेछन्। मुक्त गर्न सकिनेहरूलाई मुक्त गर्नका निम्ति सबै कुरा गरिनेछ—तर असंवेदनशील र असाध्य मानिसहरूका लागि एकमात्र विकल्प तिनीहरूका पुर्खाहरूको पछिपछि सजायको अतल कुण्डमा जानु हुनेछ। तेरो अन्त्य आदिमा पूर्वनिर्धारित थियो र अहिले प्रकट गरिएको छ भनेर नसोच्। यदि तँ त्यसरी सोच्छस् भने, के तैँले मानवजातिको प्रारम्भिक सृष्टिको क्रममा, कुनै पनि अलग शैतानी वर्गको सृष्टि गरिएको थिएन भनेर बिर्सिस्? के तैँले आदम र हव्वाले बनेको एउटा मात्र मानवजाति सृष्टि गरिएको थियो (अर्थात्, केवल पुरुष र स्‍त्री मात्र सृष्टि गरिएको थियो) भनेर बिर्सिस्? यदि तँ सुरुमा हुने शैतानको सन्तान भएको भए, के यसको अर्थ यहोवाले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले शैतानी समूहलाई उहाँको सृष्टिमा समावेश गर्नुभयो भन्‍ने हुँदैन र? के उहाँले त्यस्तो केही गर्नुहुन्छ र? उहाँले मानिसलाई उहाँको गवाहीका लागि सृष्टि गर्नुभयो; उहाँले मानिसलाई उहाँको महिमाको लागि सृष्टि गर्नुभयो। उहाँको विरोध गर्छ भनी जान्दाजान्दै उहाँले शैतानको सन्तान किन बनाउनुहुन्थ्यो र? यहोवाले त्यस्तो कार्य कसरी गर्न सक्‍नुहुन्थ्यो? यदि उहाँले त्यसो गर्नुहुन्थ्यो भने, कसले उहाँ धर्मी परमेश्‍वर हुनुहुन्छ भनी भन्‍नेथियो होला? जब म अहिले तिमीहरूमध्ये कोहीकोही अन्त्यमा शैतानको साथ जानेछौ भन्छु, त्यसको अर्थ तँ सुरुदेखि नै शैतानको साथमा थिइस् भन्‍ने होइन; बरु, यसको अर्थ तँ यति तल डुबेको छस् कि परमेश्‍वरले तँलाई मुक्त गर्ने कोसिस गर्नुभए पनि तँ त्यो मुक्ति प्राप्त गर्न असमर्थ छस् भन्‍ने हो। तँलाई शैतानको वर्गमा राख्‍नुबाहेक अरू विकल्प छैन। किनभने तँ मुक्तिभन्दा पर छस्, तर परमेश्‍वर तँप्रति अधर्मी हुनुभएकोले र तँलाई जानीजानी शैतानको मूर्त रूप बनाएर शैतानको वर्गमा राख्दै जानीजानी दुःख दिन चाहनुभएकोले गर्दा होइन। यो विजयको कामको भित्री सत्यता होइन। यदि तैँले विश्‍वास गर्ने यही हो भने, तेरो बुझाइ अति नै एकतर्फी छ! विजयको अन्तिम चरणको उद्देश्य मानिसहरूलाई मुक्त गर्नु र उनीहरूको अन्त्य प्रकट गर्नु हो। यो न्यायको माध्यमबाट मानिसहरूको पतित अवस्था खुलासा गर्नु, र त्यसो गरेर उनीहरूलाई पश्‍चात्ताप गर्न, माथि उठ्न, र जीवन र मानव जीवनको सही मार्ग पछ्याउने बनाउनु हो। यो चेतनाहीन र मन्द बुद्धिका मानिसहरूको हृदयलाई ब्युँझाउनु र न्यायमार्फत तिनीहरूको भित्री विद्रोहीपन देखाउनु हो। तथापि, यदि मानिसहरू अझै पनि पश्‍चात्ताप गर्न असमर्थ छन् भने, अझै पनि मानव जीवनको सही बाटोमा लाग्‍न असमर्थ छन् भने र यी भ्रष्टताहरू त्याग्‍न असमर्थ छन् भने, तिनीहरू मुक्तिभन्दा धेरै पर छन् र शैतानद्वारा निलिनेछन्। परमेश्‍वरको विजयको अर्थ यस्तो छ: मानिसहरूलाई मुक्त गर्नु, र तिनीहरूका अन्त्यहरू पनि देखाउनु। असल अन्त्यहरू, खराब अन्त्यहरू—ती सबै विजयको कामद्वारा प्रकट हुनेछन्। मानिसहरू मुक्त हुनेछन् वा श्रापित हुनेछन्, यी सबै कुरा विजयको कामको दौरान प्रकट गरिनेछ।

आखिरी दिनहरू भनेका ती दिनहरू हुन् जुन बेला सबै थोकलाई विजयद्वारा तिनका प्रकारअनुसार वर्गीकृत गरिनेछ। विजय हासिल गर्नु आखिरी दिनहरूको काम हो; अर्को शब्दमा, प्रत्येक व्यक्तिको पापको न्याय गर्नु आखिरी दिनहरूको काम हो। अन्यथा, कसरी मानिसहरूलाई वर्गीकृत गर्न सकिन्छ? तिमीहरूमाझ गरिने वर्गीकरणको काम सम्पूर्ण ब्रह्माण्डमा गरिने यस्तो कामको सुरुवात हो। त्यसपछि, सबै देश र सबै मानिसहरूलाई पनि विजयको कामको अधीनमा ल्याइनेछ। यसको अर्थ सृष्टिको प्रत्येक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकृत गरी न्याय गरिनको लागि न्यायको आसनअगाडि समर्पित गराइनेछ। कुनै पनि व्यक्ति वा कुनै पनि कुरा यस सजाय र न्याय भोग्‍नबाट बच्न सक्दैन, न त कुनै व्यक्ति न त कुनै चीज नै आफ्नो प्रकारअनुसार वर्गीकृत नगरिएको हुनेछ; प्रत्येक व्यक्तिलाई वर्गीकृत गरिनेछ, किनकि सबै थोकको अन्त्य नजिकै आउँदै छ, र सारा आकाश र पृथ्वी आफ्नो निष्कर्षमा पुगिसकेको छ। मानिस कसरी मानवजातिको अस्तित्वको आखिरी दिनहरूबाट उम्कन सक्छ? यसरी, तिमीहरूको अवज्ञाकारी कार्यहरू कहिलेसम्म लम्बिरहन्छ? के तिमीहरू आफ्ना आखिरी दिनहरू नजिकै छन् भनी बुझ्दैनौ? परमेश्‍वरको डर मान्ने र उहाँको देखापराइको तृष्णा गर्नेहरूले किन परमेश्‍वरको धार्मिकताको देखापराइलाई देख्‍न सक्दैनन्? तिनीहरूले भलाइका लागि अन्तिम इनाम किन प्राप्त गर्न सक्दैनन्? के तँ असल काम गर्ने व्यक्ति होस् कि खराब काम गर्ने व्यक्ति होस्? के तँ धर्मी न्याय स्वीकार गर्ने र त्यसपछि आज्ञापालन गर्ने व्यक्ति होस् कि धर्मी न्याय स्वीकार गरेर श्रापित हुने व्यक्ति होस्? के तँ ज्योतिमा न्याय-आसनको अगि बस्छस् कि अन्धकारमाझ पातालमा बस्छस्? के तँ त्यो व्यक्ति होइनस्, जसलाई आफूले अन्त्यमा इनाम वा दण्ड के पाउनेछु भनी थाहा छ? के तँ त्यो व्यक्ति होइनस्, जसले परमेश्‍वर धर्मी हुनुहुन्छ भनी एकदमै स्पष्ट रूपले जानेको र गहिरो रूपले बुझेको छ? यसैले तेरो आचरण र हृदय कस्तो छ? आज मैले तँलाई जित्दा, के मैले तँलाई तेरो व्यवहार असल वा खराब छ भनी बताउनु आवश्यक छ? तैँले मेरो लागि कतिसम्म त्याग गरेको छस्? तैँले कतिसम्म गहिरो रूपमा आराधना गर्छस्? के तैँले मसित कस्तो व्यवहार गरेको छस् भन्‍ने कुरा आफै स्पष्ट जान्दैनस् र? तेरो अन्तिम अवस्था कस्तो हुनेछ भन्‍ने कुरा अरू कसैले भन्दा तैँले नै राम्ररी जान्‍नुपर्दछ! साँच्‍चै, म तँलाई भन्छु: मैले केवल मानवजातिलाई बनाएँ, र मैले तँलाई पनि सृष्टि गरें, तर मैले तिमीहरूलाई शैतानको हातमा सुम्पिइनँ; न त मैले जानाजानी तिमीहरूलाई मेरो विरुद्ध विद्रोह गर्ने वा मेरो विरोध गर्ने बनाएर मद्वारा दण्ड पाउने बनाएको हुँ। के यी सबै विपत्ति र कष्टहरू तिमीहरूका हृदय धेरै कठोर र तिमीहरूको आचरण पनि घृणित भएकोले होइन र? यसैले, के तिमीहरूले सामना गर्ने अन्त्य तिमीहरू आफैले निर्धारित गरेको होइन र? के तिमीहरू आफ्नो हृदयमा तिमीहरूको अन्त्य कस्तो हुनेछ भनी अरू कसैले भन्दा राम्ररी जान्दैनौ र? मैले मानिसहरूलाई जित्‍नुको कारण तिनीहरूलाई खुलासा गर्नु र राम्रोसँगले मुक्तिमा ल्याउनु हो। यो तँलाई दुष्ट कार्य गराउनको लागि होइन, न त यो जानाजानी विनाशको नरकमा जान लगाउनको लागि नै हो। जब समय आउँछ, तेरा सबै ठूला दुःखहरू, तेरो रुवाइ र दाह्रा किटाइ—के यी सबै तेरा पापहरूको कारणले होइन र? यसैले, के यो तेरो आफ्नै असलपन वा तेरो आफ्नै खराबी नै तेरो सर्वोत्तम न्याय होइन र? के यही नै तेरो अन्त्य कस्तो हुनेछ भन्‍ने कुराको उत्तम प्रमाण होइन र?

आज, म चीनमा परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूको माझमा तिनीहरूका सबै विद्रोही स्वभावहरू खुलासा गर्न र उनीहरूका सबै कुरूपताको नकाब उतार्नका निम्ति काम गर्दछु, र यसले मलाई मैले भन्‍नुपर्ने सबै कुरा भन्‍ने सन्दर्भ प्रदान गर्दछ। पछि, जब म सम्पूर्ण ब्रह्माण्डमा विजय हासिल गर्ने अर्को चरणको काम सम्पन्‍न गर्दछु, मैले तिमीहरूमाथि गरेको मेरो न्यायलाई म सम्पूर्ण ब्रह्माण्डमा भएका सबैको अधार्मिकताहरूको न्याय गर्न प्रयोग गर्नेछु, किनकि तिमीहरू मानवजातिमाझ विद्रोहीहरूका प्रतिनिधिहरू हौ। अगाडि बढ्न नसक्‍नेहरू केवल प्रतिभार र सेवा गर्ने वस्तुहरू बन्‍नेछन्, जबकि कदम अगि बढाउनेहरूलाई प्रयोगमा ल्याइनेछ। जो कदम अगि बढाउँदैनन् तिनीहरूले प्रतिभारको रूपमा मात्र काम गर्छन् भनेर म किन भन्छु त? किनभने मेरा वर्तमान वचनहरू र काम सबै तिमीहरूको पृष्ठभूमितिर लक्षित छन् अनि तिमीहरू सारा मानवजातिमाझ विद्रोहीहरूका प्रतिनिधि र प्रतीक बनेका छौ। पछिबाट, तिमीहरूलाई जित्‍ने यी वचनहरूलाई म पराई देशहरूमा लैजानेछु, र त्यहाँका सारा मानिसहरूलाई जित्‍न ती प्रयोग गर्नेछु, तैपनि तिमीहरूले तिनीहरूलाई प्राप्त गरेका हुनेछैनौ। के त्यसले तँलाई प्रतिभार बनाउँदैन र? सारा मानवजातिको भ्रष्ट स्वभाव, मानिसको विद्रोही कार्य, र मानिसको कुरूप छवि र अनुहार—यी सबै नै आज तिमीहरूलाई जित्‍न प्रयोग गरिएका वचनहरूमा अभिलेख गरिएका छन्। अनि म यी वचनहरू हरेक राष्ट्र र हरेक सम्प्रदायका मानिसहरूलाई जित्‍न प्रयोग गर्नेछु, किनकि तिमीहरू प्रारूप र नजिर हौ। तर, मैले जानाजानी तिमीहरूलाई त्याग्‍न लागेको थिइनँ; यदि तँ आफ्नो खोजीमा राम्रो गर्न असफल हुन्छस् र त्यसरी तँ निको नहुने साबित हुन्छस् भने, के तँ केवल सेवा गर्ने वस्तु र प्रतिभार हुँदैनस् र? मैले एकपटक भनेँ कि मेरो बुद्धि शैतानका योजनाहरूको आधारमा प्रयोग गरिन्छ। मैले किन त्यसो भनेँ त? के मैले अहिले भनिरहेको र गरिरहेको कुराको पछि रहेको सत्यता यही होइन र? यदि तँ अगि बढ्न सक्दैनस् भने, यदि तँ सिद्ध बनाइएको छैनस्, बरु त्यसको साटो दण्ड पाएको छस् भने, के तँ प्रतिभार बन्दैनस् र? तैँले आफ्नो समयमा धेरै दुःख भोगेको छस् होला, तर अझै पनि तँ केही बुझ्दैनस्; तँ जीवनबारे सबै विषयमा अनजान छस्। तँलाई सजाय दिइएको र न्याय गरिएको भए पनि, तँ बिलकुल परिवर्तन भएको छैनस्, र तैँले भित्रैदेखि जीवन प्राप्त गरेको छैनस्। जब तेरो कामको जाँच गर्ने समय आउँछ, तैँले आगोजस्तो कठोर जाँच र अझ ठूलो सङ्कष्टको अनुभव गर्नेछस्। यो आगोले तेरो सम्पूर्ण अस्तित्वलाई खरानी बनाउनेछ। कुनै जीवन नभएको व्यक्ति, भित्रपट्टि अलिकति पनि शुद्ध चीज नभएको व्यक्ति, अझै पनि पुरानो भ्रष्ट स्वभावमा अल्झेको व्यक्ति, प्रतिभारको रूपमा एउटै पनि राम्रो काम गर्न नसक्‍ने व्यक्तिको रूपमा, तँलाई किन हटाइँदैन होला र? के एक पैसाभन्दा कम मूल्य भएको व्यक्ति, अनि जीवन नै नभएको व्यक्ति विजयको कामको लागि कुनै काम लाग्छ? जब त्यो समय आउँछ, तिमीहरूका दिनहरू नोआ र सदोमको भन्दा कठिन हुनेछ! त्यस बेला तेरो प्रार्थनाले तेरो निम्ति कुनै राम्रो गर्नेछैन। मुक्तिको काम पहिल्यै समाप्त भइसकेपछि, तँ पछि आएर फेरि कसरी नयाँ गरी पश्‍चाताप सुरु गर्न सक्छस्? मुक्तिको सबै काम एकपल्ट समाप्त भइसकेपछि, त्यो फेरि हुनेछैन; दुष्टहरूलाई दण्ड दिने कामको सुरुआत मात्र हुनेछ। तँ प्रतिकार गर्छस्, तँ विद्रोह गर्छस्, र तँ ती कुरा गर्छस् जुन दुष्कर्म हुन् भनी तँलाई थाहा छ। के तँ कठोर दण्डको भागीदार होइनस् र? मैले आज यी कुराहरू तँलाई भन्दै छु। यदि तँ सुन्‍न अस्वीकार गर्छस् भने, पछि तँमाथि विपत्ति आइपर्दा, त्यस बेला पछुतो गर्न सुरु गर्नु र विश्‍वास गर्न थाल्नु के धेरै ढिलो हुनेछैन र? आज म तँलाई पश्‍चाताप गर्ने मौका दिँदै छु, तर तँ त्यसो गर्न तयार छैनस्। तँ कहिलेसम्म पर्खन चाहन्छस्? के सजाय पाउने दिनसम्म? मलाई आज तेरो विगतका अपराधहरूको सम्झना छैन; म तँलाई तेरो नकारात्मक पक्षलाई नहेरी तेरो सकारात्मक पक्षलाई मात्र हेरेर बारम्बार क्षमा दिन्छु, किनकि मेरा सबै वर्तमान वचनहरू र काम तँलाई मुक्त गर्नका लागि हुन् र तँप्रति मेरो कुनै खराब अभिप्राय छैन। तैपनि तँ प्रवेश गर्न इन्कार गर्छस्; तँ असल र खराब छुट्ट्याउन सक्दैनस् र दयालाई कसरी कदर गर्ने त्यो जान्दैनस्। के त्यस्ता मानिसहरूले दण्ड र धर्मी सजाय मात्र पर्खेर बसिरहेका हुँदैनन् र?

जब मोशाले चट्टानलाई हिर्काए र यहोवाले दिनुभएको पानी निस्कियो, त्यो उनको विश्‍वासको कारणले भएको थियो। जब दाऊदले म, यहोवाको प्रशंसामा आनन्दले भरिएको हृदयले वीणा बजायो—त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब अय्यूबले डाँडाकाँडा ढाक्‍ने वस्तुभाउ र असंख्य सम्पत्ति गुमायो र उसको शरीर कष्टकर खटिराले ढाक्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब उसले म, यहोवाको आवाज सुन्‍न र म, यहोवाको महिमा देख्‍न सक्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। पत्रुसले येशू ख्रीष्टलाई पछ्याउन सक्‍नुको कारण उसको विश्‍वास नै थियो। उसले मेरो खातिर क्रूसमा टाँगिन र महिमामयी गवाही दिन सक्‍नु उसकै विश्‍वासको कारणले भएको थियो। जब यूहन्‍नाले मानिसको पुत्रको महिमामयी प्रतिरूप देख्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब उसले आखिरी दिनहरूको दर्शन पायो, त्यो सबै उसकै विश्‍वासको कारणले भएको थियो। अन्यजाति भनाउँदा भीडहरूले मेरो प्रकाश प्राप्त गर्नु र मानिसहरूमाझ मेरो काम गर्नको निम्ति म देहमा फर्केको छु भन्‍ने कुरा थाहा पाउनुको कारण पनि तिनीहरूको विश्‍वासकै कारणले गर्दा भएको हो। मेरा कठोर वचनहरूद्वारा प्रहार गरिएका र ती वनहरूद्वारा नै सान्त्वना र मुक्ति पाएका सबैले यो कुरा तिनीहरूको आफ्नै विश्‍वासले गरेका होइनन् र? मानिसहरूले तिनीहरूको विश्‍वासको कारण धेरै कुरा पाएका छन्, र त्यो सधैँ आशिष् नै हुँदैन। तिनीहरूले दाऊदले महसुस गरेको सुख र आनन्द नपाउन सक्छन्, वा मोशाले जस्तो यहोवाले दिनुभएको पानी नपाउन सक्छन्। उदाहरणको लागि, अय्यूबले आफ्नो विश्‍वासको कारण यहोवाद्वारा आशिष्‌ पाए, तर तिनले विपत्ति पनि भोगे। चाहे तँ आशिष्‌ पाएको व्यक्ति होस् वा विपत्ति भोगेको व्यक्ति, ती दुवै आशिषित घटनाहरू हुन्। बिनाविश्‍वास, तैँले यो विजयको काम प्राप्त गर्न सक्‍नेथिइनस्, आज तेरो आँखाअगाडि प्रकट गरिएका यहोवाका कामहरू देख्‍ने कुरा त परै जाओस्। तिमीहरूले देख्‍न सक्‍नेथिएनौ, तिमीहरूले ग्रहण गर्न सक्‍ने कुरा त परै जाओस्। यी प्रहारहरू, यी विपत्तिहरू, र यी सबै न्यायहरू—यदि ती तँ माथि आइलागेनन् भने, के तँ आज यहोवाका कामहरू देख्‍न सक्‍नेथिइस्? आज, विश्‍वासले नै तँलाई जित्‍न सकिने बनाउँछ, जितिएपछि नै तँ यहोवाको हरेक काममा विश्‍वास गर्न सक्‍ने हुन्छस्। विश्‍वासको कारणले नै तैँले त्यस्तो सजाय र न्याय पाउँछस्। यो सजाय र न्यायद्वारा, तँलाई जितिन्छ र सिद्ध बनाइन्छ। आज तैँले पाइरहेको यस किसिमको सजाय र न्यायविना, तेरो विश्‍वास व्यर्थ हुनेथियो, किनकि तैँले परमेश्‍वरलाई चिनेको हुँदैनथिइस्; तैँले उहाँमाथि जत्ति धेरै विश्‍वास गरे पनि, तेरो विश्‍वास वास्तवमा आधारहीन खोक्रो वचन मात्र रहनेथियो। तैँले तँलाई पूर्ण आज्ञाकारी बनाउने विजयको यो काम प्राप्त गरेपछि मात्र, तेरो विश्‍वास सत्य र विश्‍वसनीय बन्छ, र तेरो हृदय परमेश्‍वरतिर फर्कन्छ। यदि तैँले यो “विश्‍वास” शब्दको कारण ठूलो न्याय र श्राप भोग्‍नुपर्‍यो भने पनि, तँसँग साँचो विश्‍वास हुन्छ र तैँले सबैभन्दा सत्य, सबैभन्दा वास्तविक र सबैभन्दा बहुमूल्य चीज पाउँछस्। यस्तो किन हुन्छ भने न्यायको क्रममा मात्र तैँले परमेश्‍वरका सृष्टिहरूको अन्तिम गन्तव्य देख्छस्; यो न्यायमा तैँले सृष्टिकर्तालाई प्रेम गरिनुपर्छ भनी बुझ्छस्; विजयको यस्तो काममा तैँले परमेश्‍वरको बाहुली देख्छस्; यो विजयमा तैँले मानव जीवनलाई पूर्ण रूपमा बुझ्छस्; यही विजयमा तैँले मानव जीवनको सही बाटो प्राप्त गर्छस् र “मानिस” को वास्तविक अर्थ बुझ्छस्; यो विजयमा मात्र तैँले सर्वशक्तिमान्‌को धर्मी स्वभाव र उहाँको सुन्दर, महिमामयी अनुहार देख्छस्; यही विजयको काममा तैँले मानिसको उत्पत्तिबारे जान्दछस् र मानवजातिको सारा “अमर इतिहास” लाई बुझ्छस्; यही विजयमा तैँले मानवजातिका पुर्खाहरू र मानवजातिको भ्रष्टताको सुरुआतबारे बुझ्छस्; यस विजयमा तैँले आनन्द र सान्त्वना पाउँछस्, साथै सृष्टिकर्ताबाट उहाँले सृष्टि गर्नुभएको मानवजातिलाई दिइने अनन्त ताडना, अनुशासन कारबाही, र निन्दाका शब्दहरू प्राप्त गर्दछस्; यही विजयको काममा तैँले आशिष्‌हरू प्राप्त गर्दछस्, साथै मानिसले पाउनुपर्ने विपत्तिहरू प्राप्त गर्दछस्…। के यो सब तेरो थोरै विश्‍वासको कारणले गर्दा भएको होइन र? अनि के यी कुराहरू प्राप्त गरेपछि तेरो विश्‍वास बढेन र? के तैँले धेरै ठूलो मात्रामा प्राप्त गरेको छैनस् र? तैँले परमेश्‍वरको वचन सुनेको र परमेश्‍वरको ज्ञान देखेको मात्र छैनस्, तैँले त उहाँको कामको प्रत्येक चरणको व्यक्तिगत रूपमा अनुभव पनि गरेको छस्। हुन सक्छ, तैँले भन्छस् यदि तँमा विश्‍वास हुँदैनथ्यो भने, तैँले यस किसिमको सजाय वा यस किसिमको न्याय भोग्‍नुपर्नेथिएन। तर तँलाई थाहा हुनुपर्छ कि बिनाविश्‍वास, तैँले सर्वशक्तिमान्‌बाट यस किसिमको दण्ड वा यस किसिमको वास्ता प्राप्त गर्न नसक्‍ने मात्र थिइनस्, तैँले सृष्टिकर्तालाई भेट्ने अवसर सधैँका निम्ति गुमाउने पनि थिइस्। तैँले मानवजातिको उत्पत्तिको बारेमा कहिल्यै पनि जान्‍नेथिइनस् र मानव जीवनको महत्त्व कहिल्यै पनि बुझ्नेथिइनस्। यदि तेरो शरीर मरेर तेरो प्राण निस्केर गयो भने पनि, तैँले अझै सृष्टिकर्ताका सबै कार्यहरू बुझ्न सक्‍नेथिइनस्, सृष्टिकर्ताले मानवजातिलाई सृष्टि गर्नुभएपछि पृथ्वीमा यति महान् काम गर्नुभयो भनी तैँले जान्‍ने कुरा त परै छाडौं। उहाँले बनाउनुभएको मानवजातिको सदस्यको रूपमा, के तँ अज्ञानी भएर यस प्रकारले अन्धकारमा पर्न र अनन्त दण्ड भोग्‍न इच्छुक छस्? यदि तैँले आजको सजाय र न्यायबाट आफूलाई अलग गर्छस् भने, तैँले कुन कुराको सामना गर्नेछस्? के तँ एकपल्ट वर्तमान न्यायबाट अलग भएपछि यो कठिन जीवनबाट उम्किन सक्छस् भनी विचार गर्छस्? यदि “यो ठाउँ” छोडिस् भने तैँले दियाबलसले दिने कष्टपूर्ण यातना वा क्रूर दुर्व्यवहारहरू सामना गर्नेछस् भन्‍ने कुरा सत्य होइन र? के तैँले असहनीय दिन र रातहरूको सामना गर्नुपर्ने हुन सक्छ? के आज तँ यो न्यायबाट उम्किस् भने, सधैँका लागि त्यो भविष्यको यातनालाई छल्न सक्छस् भनेर सोच्छस्? तेरो बाटोमा के आउँछ? के त्यो साँच्‍चै तैँले आशा गरेको साङ्ग्रिला हुन सक्छ? के तँलाई लाग्छ कि तँ आफूसँग अहिले भएको वास्तविकताबाट टाढा भागेर भविष्यको अनन्त सजायबाट उम्किन सक्छस्? आजको दिनपछि, के तैँले यस किसिमको मौका र यस किसिमको आशिष्‌ फेरि पाउन सक्‍नेछस्? तँमाथि विपत्ति आइपर्दा के तँ ती कुराहरू पाउन सक्‍नेछस्? सारा मानवजाति विश्राममा प्रवेश गर्दा के तँ ती कुराहरू प्राप्त गर्न सक्‍नेछस्? तेरो अहिलेको सुखी जीवन र तेरो सद्‌भावपूर्ण सानो परिवार—के ती तेरो भविष्यको अनन्त गन्तव्यको प्रतिस्थापना हुन सक्छ? यदि तँसँग साँचो विश्‍वास छ भने, र यदि तैँले आफ्नो विश्‍वासको कारण ठूलो कुरा प्राप्त गरिस् भने, तैँले—सृष्टि गरिएको प्राणीले—जे प्राप्त गर्नुपर्छ र तैँले पहिलो स्थानमा जे प्राप्त गर्नुपर्दछ, त्यो त्यही नै हो। त्यस्तो विजयभन्दा बढी कुनै कुरा पनि तेरो विश्‍वास र जीवनको लागि लाभदायक हुँदैन।

आज, तैँले परमेश्‍वरले जितिएका मानिसहरूसँग के माग्‍नुहुन्छ, सिद्ध भएका व्यक्तिहरूप्रति उहाँको मनोवृत्ति कस्तो छ, र तँ अहिले कुन कुरामा प्रवेश गर्नुपर्दछ त्यो बुझ्नु आवश्यक छ। केही कुराहरू तैँले थोरै मात्र बुझ्नु आवश्यक हुन्छ। तैँले रहस्यका केही वचनहरूलाई छानबिन गर्नु पर्दैन; ती कुराले जीवनलाई धेरै सहयोग गर्दैन, र तिनलाई केवल सरसरती मात्र हेर्नुपर्छ। तैँले आदम र हव्वाको रहस्यजस्ता रहस्यहरू पढ्न सक्छस्: आदम र हव्वा त्यति बेला के-कस्ता थिए, र आज परमेश्‍वरले के काम गर्न चाहनुहुन्छ। तैँले यो बुझ्नु आवश्यक छ कि मानिसलाई जित्‍ने र सिद्ध गर्ने काममा, परमेश्‍वर मानिसलाई आदम र हव्वाको जस्तो मार्गमा फर्काउन चाहनुहुन्छ। तेरो हृदयमा, परमेश्‍वरका मापदण्डहरू पूरा गर्न प्राप्त गर्नैपर्ने सिद्धताको तहको बारेमा राम्रो बुझाइ हुनुपर्दछ, र त्यसपछि तैँले त्यो प्राप्त गर्ने प्रयास गर्नैपर्दछ। यो तेरो अभ्याससँग सम्बन्धित छ, र यो तैँले बुझ्नुपर्ने कुरा हो। यी विषयहरूको बारेमा तैँले परमेश्‍वरका वचनहरूअनुसार प्रवेश गर्न खोज्नु नै पर्याप्त छ। जब तैँले “मानवजातिलाई अहिलेको अवस्थामा आइपुग्‍न इतिहासका दशौं हजार वर्ष लागेको छ” भनेर पढ्छस्, तब तँ उत्सुक हुन्छस्, र तँ दाजुभाइ तथा दिदीबहिनीहरूसित जबाफ पाउने कोसिस गर्छस्। “परमेश्‍वर भन्‍नुहुन्छ, मानवजातिको विकास विगत छ हजार वर्षको छ, होइन र? यो दसौँ हजार वर्षको कुरा के हो?” यस प्रश्‍नको उत्तर पाउने कोसिस गर्नुको के नै अर्थ हुन्छ र? चाहे परमेश्‍वर आफैले दसौँ हजार वर्षदेखि वा करोडौँ वर्षदेखि काम गरिरहनुभएको छ नै भने पनि—के तैँले यसबारे साँच्‍चै जानेको उहाँ चाहनुहुन्छ? यो त्यस्तो चीज होइन जुन सृष्टि गरिएको व्यक्तिको रूपमा तैँले जान्‍नु आवश्यक छ। संक्षिप्त रूपमा मात्र यस किसिमको कुराकानीप्रति विचार गर्, र यसलाई कुनै एउटा दर्शनजस्तो सोचेर बुझ्ने कोसिस नगर्। आज तैँले कुन कुरामा प्रवेश गर्नुपर्छ र बुझ्नुपर्छ भन्‍ने कुरा तँलाई थाहा हुनुपर्छ, र तैँले त्यसलाई राम्ररी बुझ्नु आवश्यक छ। तब मात्र तँ जितिनेछस्। माथिको कुरा पढिसकेपछि, तँमा एउटा सामान्य प्रतिक्रिया हुनुपर्दछ: परमेश्‍वर चिन्ताले जल्दै हुनुहुन्छ, उहाँ हामीलाई जित्‍न अनि महिमा र गवाही प्राप्त गर्न चाहनुहुन्छ, त्यसो भए हामीले कसरी उहाँसँग सहकार्य गर्नुपर्छ? उहाँद्वारा पूर्ण रूपमा जितिन र उहाँको गवाही बन्‍नको निम्ति हामीले के गर्नुपर्छ? परमेश्‍वरलाई महिमा प्राप्त गर्न सक्‍ने बनाउन हामीले के गर्नुपर्छ? हामीले आफूलाई शैतानको सत्ताअन्तर्गत नभई परमेश्‍वरको राज्यक्षेत्रअन्तर्गत जिउन दिन के गर्नुपर्छ? मानिसहरूले यस विषयमा सोचिरहेको हुनुपर्छ। तिमीहरूमध्ये हरेक व्यक्ति परमेश्‍वरको विजयको महत्त्वबारेमा स्पष्ट हुनुपर्छ। यो तिमीहरूको उत्तरदायित्व हो। त्यस्तो स्पष्टता हासिल गरेपछि मात्र तिमीहरूले प्रवेश पाउनेछौ, तिमीहरूले यो चरणको कामलाई जान्‍नेछौ, अनि तिमीहरू पूर्ण आज्ञाकारी बन्‍नेछौ। नत्र, तिमीहरूले साँचो आज्ञाकारिता प्राप्त गर्नेछैनौ।

अघिल्लो: अभ्यास (५)

अर्को: तँ किन प्रतिभार हुन अनिच्छुक छस्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्