अभ्यास (३)

तिमीहरूले आफै परमेश्‍वरका वचनहरू खान र पिउन, आफ्नै क्षमतामा परमेश्‍वरका वचनहरू अनुभव गर्न, र अरूको नेतृत्वविना सामान्य आत्मिक जीवन जिउन सक्षम हुनका लागि तिमीहरूसित स्वतन्त्र रूपमा जिउन सक्‍ने क्षमता हुनुपर्छ। तैँले जिउन, वास्तविक अनुभवमा प्रवेश गर्न, र साँचो अन्तर्दृष्टि प्राप्त गर्नको लागि परमेश्‍वरले आज बोल्नुभएका वचनहरूमा भर पर्न सक्‍नुपर्छ। यसो गरेर मात्र तँ दृढ भएर खडा हुन सक्‍नेछस्। आज, धेरै मानिसहरूले भविष्यका कष्ट र परीक्षाहरू पूर्ण रूपमा बुझ्दैनन्। भविष्यमा, केही मानिसहरूले कष्टहरू अनुभव गर्नेछन्, र केहीले दण्ड भोग्‍नेछन्। यो दण्ड अझ बढी कठोर हुनेछ; यो तथ्यहरू आउने कुरा हो। आज, तैँले गर्ने सबै अनुभव, अभ्यास, र प्रकटीकरणले भविष्यका परीक्षाहरूका लागि जग बसाल्छ, र कम्तीमा पनि तँ स्वतन्त्र रूपमा जिउन सक्‍नुपर्छ। आज, मण्डलीमा धेरै जनाका परिस्थितिहरू सामान्यतया निम्‍न प्रकारका छन्: यदि त्यहाँ काम गर्न अगुवा र कामदारहरू छन् भने, तिनीहरू खुसी हुन्छन्, र यदि छैनन् भने, तिनीहरू दुःखी हुन्छन्। तिनीहरूले मण्डलीको कामलाई वा तिनीहरूका आफ्नै आत्मिक जीवनलाई ध्यान दिँदैनन्, र तिनीहरूसँग थोरै पनि बोझ हुँदैन—तिनीहरू हनहाओ चरा[क] जस्तो अलमल्ल पर्छन्। स्पष्ट भन्ने हो भने, मैले धेरै मानिसमा गरेको काम विजय प्राप्त गर्नका निम्ति मात्र हो, किनभने तीमध्ये धेरै मूल रूपमा सिद्ध पारिन अयोग्य छन्। मानिसहरूको सानो भागलाई मात्र सिद्ध पार्न सकिन्छ। यदि, यी वचनहरू सुनेपछि पनि तँ “परमेश्‍वरले गर्नुभएको काम केवल मानिसहरूलाई विजय गर्नु मात्र हो, म औपचारिकताको लागि मात्र पछि लाग्‍नेछु” भनी सोच्छस् भने त्यस्तो व्यवहार कसरी स्वीकार्य हुन सक्छ र? यदि तँसित साँच्‍चै विवेक छ भने, तब तँसित बोझ, र जिम्मेवारीको भावना पनि हुनुपर्छ। तैँले भन्नुपर्छ: “ममाथि विजय गरिए वा नगरिए पनि, मलाई सिद्ध बनाइए वा नबनाइए पनि, मैले गवाहीको यस कदमलाई ठीकसँग वहन गर्नुपर्छ।” परमेश्‍वरको एक प्राणीको रूपमा, व्यक्ति परमेश्‍वरद्वारा पूर्ण रूपमा विजय गरिन सक्छ, र अन्त्यमा, ऊ परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम हुन्छ, र उसले परमेश्‍वरको प्रेमको पैँचो परमेश्‍वरलाई प्रेम गर्ने हृदयद्वारा र आफैलाई पूर्ण रूपमा परमेश्‍वरमा समर्पण गरेर तिर्न सक्छ। यो मानिसको जिम्मेवारी हो, यो मानिसले गर्नुपर्ने कर्तव्य हो, र मानिसले वहन गर्नुपर्ने बोझ हो, र मानिसले यो आज्ञा पूरा गर्नैपर्छ। तब मात्र उसले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्छ। आज, के तैँले मण्डलीमा गर्ने कार्यहरू तेरो जिम्मेवारीको परिपूर्णता हो त? यो तँमा बोझ छ कि छैन भन्ने कुरामा र तेरो आफ्नै ज्ञानमा निर्भर गर्छ। यस कामको अनुभव लिँदा, यदि मानिसलाई विजय गरिन्छ र उसँग सही ज्ञान छ भने, उसले आफ्नो सम्भावना वा नियति जे-जस्तो भए पनि, ऊ आज्ञाकारी हुन सक्‍नेछ। यस तरिकाले, परमेश्‍वरको महान् काम त्यसको सम्पूर्णतामा महसुस हुनेछ, किनकि तिमी मानिसहरू यीभन्दा बढी केही गर्न सक्षम छैनौ, र कुनै पनि उच्‍च मापदण्डहरू पूरा गर्न असमर्थ छौ। तापनि, भविष्यमा केही व्यक्तिहरू सिद्ध बनाइनेछन्। तिनीहरूको क्षमतामा सुधार हुनेछ, तिनीहरूको हौसलामा उनीहरूसँग अझ गहिरो ज्ञान हुनेछ, र तिनीहरूको जीवन वृद्धि हुनेछ…। अझै कोही-कोही भने यो कुरा प्राप्त गर्न पूर्ण रूपमा असक्षम छन्, र त्यसैले मुक्ति पाउन सक्दैनन्। म किन तिनीहरूले मुक्ति पाउन सक्दैनन् भन्दैछु, त्यसको एउटा कारण छ। भविष्यमा, केहीलाई विजय गरिनेछ, केहीलाई हटाइनेछ, केहीलाई सिद्ध पारिनेछ, र केहीलाई प्रयोग गरिनेछ—र त्यसरी नै कसैले सङ्कष्टहरू भोग्‍नेछन्, कसैले दण्ड भोग्‍नेछन् (प्राकृतिक विपत्तिहरू र मानव निर्मित दुर्भाग्यहरू), केही नष्ट हुनेछन्, र केही बाँच्नेछन्। यसमा, प्रत्येकलाई त्यसको प्रकारअनुसार वर्गीकृत गरिनेछ, प्रत्येक समूहले व्यक्तिको एक प्रकार प्रतिनिधित्व गर्दछ। सबै मानिसहरूलाई हटाइनेछैन, न त सबै मानिसहरूलाई नै सिद्ध बनाइन्छ। यस्तो किन हुन्छ भने चिनियाँ जनताको क्षमता अति कम छ, र त्यहाँ थोरै मानिसहरूमा मात्र पावलको जस्तो आत्म-चेतना छ। तिमीहरूको बीचमा थोरै जनासँग मात्र परमेश्‍वरलाई प्रेम गर्ने पत्रुसको जस्तो दृढता छ, वा अय्यूबमा भएको जस्तो विश्‍वास छ। तिमीहरूमध्ये मुस्किलले मात्र कोही त्यस्तो व्यक्ति छ जसले दाऊदले जस्तै यहोवाको डर मान्छ र उहाँको सेवा गर्छ, जोसँग त्यही स्तरको बफादारी छ। तिमीहरू कति दयनीय छौ!

आज, सिद्ध तुल्याइने कुरा केवल एउटा पक्ष हो। चाहे जे भए पनि, तिमीहरूले गवाहीको यस चरणलाई सही रूपमा वहन गर्नुपर्दछ। यदि तिमीहरूलाई मन्दिरमा परमेश्‍वरको सेवा गर्न भनियो भने, तिमीहरू त्यो कसरी गर्छौ त? यदि तँ पूजाहारी थिइनस्, र जेठो छोरा वा परमेश्‍वरका छोराहरूको हैसियतमा थिइनस् भने, के तँ अझै पनि बफादारीका लागि योग्य हुनेथिइस् त? के तँ अझै पनि परमेश्‍वरको राज्य विस्तार गर्ने काममा तेरो सम्पूर्ण कोसिस लगाउनेथिइस् त? के तँ अझै पनि परमेश्‍वरले आज्ञा गर्नुभएको काम ठीकसँग गर्न सक्षम हुनेथिइस् त? तेरो जीवन जति नै धेरै वृद्धि भएको भए पनि, आजको कामले तँलाई भित्रबाट पूर्ण विश्‍वस्त तुल्याउँछ, र तेरा सबै धारणाहरू हटाउँछ। जीवनको पछि लाग्‍नका निम्ति आवश्यक कुराहरू तँसँग होस् वा नहोस्, परमेश्‍वरको कामले तँलाई पूर्ण विश्‍वस्त तुल्याउँछ। केही मानिसहरू भन्छन्: “म केवल परमेश्‍वरमा विश्‍वास गर्दछु, र जीवनको पछि लाग्‍नुको अर्थ के हो, म बुझ्दिनँ।” र कोही भन्छन्: “म परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा अलमल्ल परेको छु। मलाई थाहा छ, म सिद्ध पारिन सक्दिनँ, यसैले म दण्ड भोग्‍न तयार छु।” दण्ड भोग्‍न वा नष्ट हुन तयार भएका यस्ता मानिसहरूलाई पनि आजको काम परमेश्‍वरद्वारा गरिएको हो भनी स्वीकार गर्न लगाइनेछ। केही व्यक्तिहरूले यस्तो पनि भन्छन्: “म सिद्ध हुनका लागि बिन्ती गर्दिनँ, तर आज म परमेश्‍वरका सबै तालिमहरू स्वीकार्न, र सामान्य मानवताको जीवन बिताउन, मेरो क्षमतामा सुधार गर्न र परमेश्‍वरका सबै प्रबन्धहरू पालन गर्न तयार छु…।” यसमा, तिनीहरूलाई पनि विजय गरिएको हुन्छ र तिनीहरूले गवाही वहन गरेका हुन्छन्, जसले यी मानिसहरूमा परमेश्‍वरको कामको बारेमा केही ज्ञान छ भनी प्रमाणित गर्छ। कामको यो चरण अति नै चाँडो सम्पन्न भएको छ, र भविष्यमा यो विदेशमा अझ छिटो सम्पन्न हुनेछ। आज, विदेशका मानिसहरूलाई पर्खन धेरै गाह्रो भएको छ, तिनीहरू सबै हतार-हतार चीनतिर गइरहेका छन्—र यदि तिमीहरूलाई सिद्ध पारिन सकिँदैन भने तिमीहरूले विदेशका मानिसहरूलाई ढिलाइ गराइरहेका हुन्छौ। त्यस समयमा, तिमीहरू जति राम्रोसँग प्रवेश गरेको भए पनि वा तिमीहरू जस्तो भए पनि, जब समय आउँछ, तब मेरो काम समाप्त र पूर्ण हुनेछ। तिमीहरूद्वारा मेरो काम विलम्ब हुनेछैन। म सबै मानवजातिको काम गर्छु, र यसैले मैले तिमीहरूका लागि अझ धेरै समय खर्च गर्नु कुनै आवश्यक छैन। तिमीहरू बढी नै अनुत्प्रेरित छौ, तिमीहरूमा आत्म-जागरूकताको धेरै नै अभावमा छ! तिमीहरू सिद्ध तुल्याइन योग्यका छैनौ—तिमीहरूमा मुस्किलले मात्र कुनै सम्भाव्यता छ! भविष्यमा, यदि मानिसहरू यति खुकुलो र लापरवाह भइरहे भने पनि, र आफ्नो क्षमतामा सुधार गर्न असक्षम रहन्छन् भने पनि, त्यसले सम्पूर्ण ब्रह्माण्डको काममा बाधा उत्पन्न गर्नेछैन। जब परमेश्‍वरको काम समाप्त हुने समय आउँछ, तब यो समाप्त हुनेछ, र जब मानिसहरूलाई हटाउने समय आउँछ, तब तिनीहरू हटाइनेछन्। अवश्य नै, जुन मानिसहरूलाई सिद्ध बनाइनुपर्छ, र जो सिद्ध बनाइन योग्यका हुन्छन्, उनीहरूलाई सिद्ध बनाइनेछ—तर यदि तिमीहरूसँग साँच्‍चै कुनै आशा छैन भने, तब परमेश्‍वरको कामले तिमीहरूलाई पर्खनेछैन! अन्त्यमा, यदि तँलाई विजय गरियो भने त्यसलाई पनि गवाही वहन गरेको मान्न सकिन्छ। परमेश्‍वरले तिमीहरूबाट के माग्‍नुहुन्छ त्यसका सीमाहरू छन्; मानिसले हैसियतको जुन उच्‍चता हासिल गर्न सक्छ ऊबाट मागिने गवाहीको उचाइ त्यही नै हो। यो मानिसले कल्पना गरेझैं, त्यस्तो गवाही सबैभन्दा उच्‍च सीमामा पुग्छन् र यो सानदार हुनेछ भन्ने हुँदैन—यो तिमी चिनियाँ मानिसहरूमा हासिल गर्न सकिने कुनै उपाय नै छैन। म यो समयभरि तिमीहरूसँग संलग्न रहेको छु र यो कुरा तिमीहरू आफैले देखेका छौ: मैले तिमीहरूलाई विरोध नगर्नू, विद्रोही नहुनू, बाधा पार्ने वा मेरो पिठिउँपछाडि खलबल पार्ने काम नगर्नू भनेको छु। मैले यसबारेमा मानिसहरूलाई धेरै पटक प्रत्यक्ष रूपमा सचेत गराएको छु, तर त्यो पनि पर्याप्त छैन—तिनीहरू फर्केको क्षणमा नै परिवर्तन हुन्छन्, जबकि कसै-कसैले कुनै पछुतो नगरी गोप्य रूपमा विरोध गर्दछन्। के तँ मलाई यी कुराहरू केही थाहा छैन भनी सोच्छस्? के तँ मेरो निम्ति समस्या उत्पन्न गर्न सक्छस् र त्यसबाट केही पनि हुँदैन भनी सोच्छस्? तैँले मेरो पिठिउँपछाडि मेरो काम नाश पार्ने कोसिस गरेको, के म जान्दिनँ भनी तँ सोच्छस्? के तेरा नीच युक्तिहरूले तेरो चरित्रको स्थान लिन सक्छ भनी सोच्छस्? तँ सधैँ आज्ञाकारी हुने देखावटी गर्छस्, तर गोप्य रूपमा विश्‍वासघाती छस्, तँ आफ्नो हृदयमा खराब विचारहरू राख्छस्, तँजस्तो मानिसका निम्ति मृत्यु पनि पर्याप्त दण्ड हुँदैन! के पवित्र आत्माले तँभित्र गर्नुहुने सानो कामले मप्रतिको तेरो श्रद्धाको ठाउँ लिन सक्छ भनी सोच्छस्? के तँ स्वर्गलाई पुकारेर ज्ञान प्राप्त गर्छु भनी सोच्छस्? तँलाई कुनै सरम छैन! तँ अति नै बेकम्मा छस्! के तेरा “असल कामहरू” स्वर्गमा जाँदै थिए, र यसपछि उहाँले एउटा अपवाद बनाउनुभयो र तँलाई थोरै प्रतिभा दिनुभयो, तँलाई बोल्न सिपालु बनाउनुभयो, तँलाई अरूलाई धोका दिने र मलाई धोका दिने अनुमति दिनुभयो भनी सोच्छस्? तँ कति विवेकहीन छस्! तेरो ज्ञान कहाँबाट आउँछ, के तँलाई थाहा छ? तँ कसको भोजन खाएर हुर्किस्, के तँलाई थाहा छैन? तँ कति बेसरम छस्! तिमीहरूमध्ये कोही-कोही चार वा पाँच वर्षसम्म निराकरण भइसकेपछि पनि परिवर्तन भएका छैनौ, र तिमीहरू यी विषयहरूको बारेमा स्पष्ट छौ। तिमीहरू आफ्नो प्रकृतिको बारेमा स्पष्ट हुनुपर्छ, र जब एक दिन तँ त्यागिन्छस् त्यसबेला कुनै विरोध नगर्। आफ्नो सेवामा माथि र तल, दुवैतिर हुनेहरूलाई धोका दिने कोही-कोहीलाई धेरै निराकरण गरिएको छ; कोही-कोहीलाई धनको धेरै लोभी भएकोले पनि थोरै निराकरण गरिएको छैन; कोही-कोहीलाई पुरुष र महिलाबीच स्पष्ट सीमा नराखेकाले गर्दा बारम्बार निराकरण गरिएको छ; कोही अल्छी भएकाले, केवल देहको बारेमा मात्र सोचिरहेकाले, र मण्डलीहरूमा जाँदा सिद्धान्तहरूअनुसार व्यवहार नगरेकाले धेरै निराकरणमा परिरहेका छन्; कति मानिसहरू तिनीहरू जहीँ गए पनि गवाही वहन गर्न असफल भएकोले, जानाजानी र लापरवाहसाथ काम गर्ने, र जानाजानी पापसमेत गर्ने भएकाले, यसको बारेमा तिनीहरूलाई धेरै चोटि चेतावनी दिइएको छ; केही मानिसहरू भेला हुँदा केवल वचनहरू र धर्मसिद्धान्तहरूको मात्र कुरा गर्छन्, अरूभन्दा श्रेष्ठ भएको व्यवहार गर्दछन्, तिनीहरूमा सत्य वास्तविकता रत्तीभर पनि हुँदैन, र तिनीहरू आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको विरुद्धमा षड्यन्त्र र प्रतिस्पर्धा गरिरहेका हुन्छन्—यसैको कारण, उनीहरू बारम्बार उदाङ्गो भएका छन्। मैले यी वचनहरू धेरै पल्ट तिमीहरूलाई भनेको छु र आज, म यसबारे थप केही भन्दिनँ—तिमीहरू जे गर्न चाहन्छौ त्यही गर! आफ्नो निर्णय आफै लेओ! धेरै मानिसहरू केवल एक वा दुई वर्ष मात्र यस तरिकाले निराकरणमा परेका छैनन्, कोही-कोही तीन वा चार वर्षसम्म परेका छन् भने कसै-कसैले एक दशकभन्दा बढी समयसम्म यो अनुभव गरेका छन्, उनीहरू विश्‍वासी बनेको समयदेखि नै निराकरणमा परेका छन्, तर आजको मितिमा तिनीहरूमा थोरै मात्र परिवर्तन आएको छ। तँ के भन्छस्, के तँ सुँगुरहरूजस्तो छैनस् र? के यो परमेश्‍वरले तँसँग अन्याय गर्नुभएको हुन सक्छ? तिमीहरू एक निश्चित तहसम्म पुग्न सकेनौ भने परमेश्‍वरको काम समाप्त हुँदैन भनी नसोच। यदि तिमीहरूले परमेश्‍वरका मापदण्डहरू पूरा गर्न असक्षम भयौ भने के परमेश्‍वरले तिमीहरूलाई पर्खनुहुनेछ? म तँलाई स्पष्ट रूपमा भन्छु—अवस्था त्यस्तो छैन। यति धेरै आशा नराख्! आजको कामको एउटा समयसीमा छ, र परमेश्‍वर केवल तँसँग खेलिरहनुभएको छैन! पहिले, सेवा-कर्ताहरूले परीक्षाको अनुभवको कुरा आउँदा, मानिसहरूले के सोच्थे भने, उनीहरू परमेश्‍वरको बारेमा आफ्ना गवाहीमा खरो उत्रन र परमेश्‍वरद्वारा विजय गरिनका निम्ति उनीहरू एउटा निश्चित बिन्दुमा पुग्नुपर्छ—उनीहरू स्वेच्छाले खुसीसाथ सेवा-कर्ता हुनुपर्छ, र उनीहरूले प्रत्येक दिन परमेश्‍वरको प्रशंसा गर्नुपर्छ, र उनीहरू अलिकति पनि अनियन्त्रित र लापरवाह हुनु हुँदैन। उनीहरूले तब मात्र आफूहरू साँच्‍चै सेवा-कर्ता हुनेछौं भनी सोच्थे, तर के अवस्था साँच्‍चै यही हो र? त्यसबेला, विभिन्न प्रकारका मानिसहरूलाई खुलासा गरियो; तिनीहरूले हरप्रकारका व्यवहार देखाए। कसैले गुनासो गरे, कसैले धारणाहरू फैलाए, कोही भेलाहरूमा उपस्थित हुन छाडे, र कतिले त मण्डलीको पैसा पनि बाँडे। दाजुभाइ-दिदीबहिनीहरूले एक-अर्काको विरुद्धमा षड्यन्त्र रचिरहेका थिए। यो वास्तवमै एक ठूलो मुक्ति थियो, तर यसबारेमा एउटा राम्रो कुरा थियो: कोही पनि पछाडि हटेनन्। यही नै सबैभन्दा बलियो कुरा थियो। यसैको कारण, तिनीहरूले शैतानको सामु गवाहीको एक चरण वहन गरे, र पछि परमेश्‍वरका मानिसहरूको पहिचान प्राप्त गरे अनि आजको दिनसम्म आइपुगे। परमेश्‍वरको काम तिमीहरूले कल्पना गरेझैं सम्पन्न हुँदैन, बरु जब समय समाप्त हुन्छ, तब त्यो काम समाप्त हुनेछ, चाहे तिमीहरू जुनसुकै स्थितिमा पुगेको नै किन नहोऊ। केही मानिसहरूले भन्न सक्छन्: “यस्तो प्रकारले काम गरेर तपाईं मानिसहरूलाई मुक्ति दिनुहुन्न वा उनीहरूलाई प्रेम गर्नुहुन्न—तपाईं धर्मी परमेश्‍वर हुनुहुन्न।” म तँलाई स्पष्ट रूपमा भन्छु: आजको मेरो कामको मुख्य कुरा तँलाई विजय गर्नु र तँलाई गवाही वहन गर्ने बनाउनु हो। तँलाई मुक्ति दिनु त एउटा थप कार्य मात्र हो; तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो आफ्नै खोजीमा निर्भर हुन्छ, र त्यो कुरा मसँग सम्बन्धित छैन। तैपनि मैले तँलाई विजय गर्नु नै पर्छ; मलाई नियन्त्रणमा राखेर डोऱ्याउने कोसिस नगर्—आज म काम गर्छु र तँलाई मुक्ति दिन्छु, तर तैँले यसो गर्छस् भन्‍ने हुँदैन।

आज, तिमीहरूले जे बुझ्न सकेका छौ त्यो इतिहासभरि कुनै पनि सिद्ध नबनाइएको व्यक्तिले बुझेको भन्दा उच्‍च छ। चाहे त्यो परीक्षाहरूसम्बन्धी तिमीहरूको ज्ञान होस् वा परमेश्‍वरमाथिको विश्‍वास, यो सब परमेश्‍वरमा विश्‍वास गर्ने कुनै विश्‍वासीको भन्दा बढी छ। तिमीहरूले बुझेका कुराहरू ती हुन् जुन तिमीहरूले वातावरणको परीक्षाहरूमा पर्नुभन्दा अघि जानेका थियौ, तर तिमीहरूको वास्तविक कद उनीहरूसँग पूर्ण रूपमा अमिल्दो छ। तिमीहरूले जे जानेका छौ त्यो तिमीहरूले अभ्यास गर्नेभन्दा उच्‍च छ। तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, र आशिष्‌का लागि होइन बरु परमेश्‍वरको इच्छा पूरा गर्ने कोसिस गर्नुपर्छ त भन्छौ, तर तिमीहरूका जीवनमा प्रकट हुने कुराचाहिँ योभन्दा धेरै टाढा छ, र अत्यन्तै कलङ्कित छ। धेरै जना मानिसहरू शान्ति र अन्य फाइदाहरू पाउनका लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। यदि त्यो तेरो आफ्नै फाइदाको कुरा होइन भने तँ परमेश्‍वरमा विश्‍वास गर्दैनस्, र यदि तैँले परमेश्‍वरका अनुग्रहहरू प्राप्त गर्न सकिनस् भने, तँ ठुस्किन्छस्। तँ जे भन्छस् त्यो कसरी तेरो वास्तविक कद हुन सक्छ? जब बच्‍चाहरू बिरामी हुने, प्रियजनहरू अस्पतालमा भर्ना हुने, कम उब्जनी, र परिवारका सदस्यहरूद्वारा सतावट जस्ता अपरिहार्य पारिवारिक घटनाहरूको कुरा आउँछ, प्रायः दिनदिनै भइरहने घटनाहरूसमेत तेरा निम्ति अति हुन्छन्। जब यस्ता कुराहरू हुन्छन्, तँ आत्तिन्छस्, र के गर्नुपर्ने हो सो जान्दैनस्—र प्रायजसो समय तँ परमेश्‍वरको बारेमा गुनासो गर्छस्। तँ परमेश्‍वरका वचनहरूले तँलाई छल गर्‍यो, परमेश्‍वरको कामले तेरो गिल्ला गऱ्यो भनी गुनासो गर्छस्। के तिमीहरूसँग त्यस्तो विचार छैन र? के तँ त्यस्ता कुराहरू आफूलाई विरलै हुन्छन् भनी सोच्छस्? तिमीहरू हरेक दिन त्यस्ता घटनाहरूको बीचमा जिउँछौ। तिमीहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको सफलता, र परमेश्‍वरको इच्छा कसरी पूरा गर्ने भन्ने विषयमा अलिकति पनि विचार गर्दैनौ। तिमीहरूको वास्तविक कद धेरै सानो छ, सानो चल्‍लाको भन्दा पनि सानो छ। जब तेरो परिवारको व्यवसायमा धन गुम्छ तब तँ परमेश्‍वरको बारेमा गुनासो गर्छस्, जब तँ आफूलाई परमेश्‍वरको सुरक्षा नभएको वातावरणमा पाउँछस् तँ अझै परमेश्‍वरको बारेमा गुनासो गर्छस्, र तेरो एउटा चल्‍ला मर्दा वा गोठमा बुढी गाई बिमार हुँदा पनि तँ गुनासो गर्छस्। तेरो छोराको बिहे गर्ने समय भइसक्दा पनि परिवारमा पुग्दो पैसा नहुँदा तँ गुनासो गर्छस्; तर तँ मेजमानको कर्तव्य निभाउन चाहन्छस्, तर त्यो खर्च उठाउन सक्दैनस्, र त्यसपछि तँ गुनासो गर्छस्। तँ गुनासोहरूले भरिएर पोखिन्छस्, र तँ यसैले गर्दा कहिलेकहीँ भेलाहरूमा भाग लिँदैनस् वा परमेश्‍वरका वचनहरू खाँदैनस् र पिउँदैनस्, कहिलेकहीँ धेरै लामो समयसम्म नकारात्मक हुन्छस्। आज तँलाई जे हुन्छ त्यसको तेरो सफलताको सम्भावना वा नियतिसँग कुनै सम्बन्ध छैन; यी कुराहरू त तैँले परमेश्‍वरमा विश्‍वास नगरेको भए पनि हुनेथिए, तैपनि आज तँ तिनको जिम्मेवारी परमेश्‍वरमा सार्छस्, र परमेश्‍वरले नै तँलाई हटाउनुभएको हो भनी जिद्दी गर्छस्। परमेश्‍वरमाथिको तेरो विश्‍वास के भयो? के तैँले साँच्‍चै आफ्नो जीवन अर्पण गरेको छस्? यदि तिमीहरूले पनि अय्यूबको जस्तै परीक्षाहरू भोगेका हुन्थ्यौ भने, आज परमेश्‍वरलाई पछ्याउने तिमीहरूमध्ये कोही पनि दृढ भई खडा हुन सक्ने थिएनौ, तिमीहरू लड्ने थियौ। अनि स्पष्ट रूपमा नै तिमीहरू र अय्यूबको बीचमा संसार जतिकै ठूलो भिन्नता छ। आज, यदि तिमीहरूको आधा सम्पत्तिहरू कब्जा गरियो भने तिमीहरू परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्ने आँट गर्छौ; यदि तिमीहरूका छोराछोरी तिमीहरूबाट खोसियो भने तिमीहरू सडकमा दुस्साहस गरी कराउनेछौ; यदि तेरो एक मात्र जीविका समाप्त भयो भने तँ प्रयास गरेरै त्यो विषयलाई परमेश्‍वरकहाँ लैजान्छस्; मैले सुरुमा तँलाई डराउन किन त्यति धेरै वचनहरू भनें भनी तँ सोध्छस्। त्यस्तो समयमा तैँले गर्न आँट नगर्ने कुनै कुरा हुँदैन। यसले तिमीहरूले कुनै पनि सही अन्तर्दृष्टि प्राप्त गरेका छैनौ, र तिमीहरूमा कुनै वास्तविक कद छैन भनी देखाउँछ। यसैले, तिमीहरूमा भएका परीक्षाहरू धेरै ठूला छन्, किनकि तिमीहरू धेरै जान्दछौ, तर तिमीहरूले वास्तवमा जे बुझ्छौ त्यो तिमीहरूले जानेका हजारौं भागको एक भाग पनि हुँदैन। केवल बुझाइ र ज्ञानमा नरोकी; तैँले वास्तवमा कतिसम्म अभ्यास गर्न सक्छस्, तेरो आफ्नै परिश्रमको पसिनाद्वारा कतिसम्म पवित्र आत्माको ज्ञान र प्रकाश प्राप्त गरिएको थियो, अनि तेरा अभ्यासहरूमध्ये कति वटामा तैँले आफ्नो संकल्प पूरा गरेको छस् त्यो हेर्नु राम्रो हुन्छ। तैँले आफ्नो कद र अभ्यासलाई गम्भीरतासाथ लिनुपर्छ। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ कसैको निम्ति झारा टार्ने मात्र गर्नु हुँदैन—तैँले अन्त्यमा सत्य र जीवन प्राप्त गर्छस् कि गर्दैनस् भन्ने कुरा तँ आफैले गरेको सत्यको खोजीमा निर्भर गर्छ।

फूटनोट:

क. हनहाओ चराको कथा एसोपको कमिला र फटेंग्राको कथासँग मिल्दोजुल्दो छ। हनहाओ चरा आफ्नो छिमेकी नीलकण्ठ चराबाट बारम्बार चेताउनीहरू पाए पनि न्यानो मौसम हुँदा गुँड बनाउनुको सट्टा सुत्नु रुचाउँछ। जब हिउँद आउँछ, त्यो चरा चिसोले कठाङ्ग्रिएर मर्छ।

अघिल्लो: काम र प्रवेश (६)

अर्को: क्षमता बढाउनु परमेश्‍वरको मुक्ति पाउनका खातिर हो

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

अध्याय ५

मेरो आत्माको आवाज मेरो स्वभावको सम्पूर्णताको अभिव्यक्ति हो। तिमीहरू बुझ्छौ? यस बुँदामा अस्पष्ट हुनु भनेको मलाई प्रत्यक्ष रूपमा विरोध गर्नु...

तैँले ख्रीष्‍टसँगको अनुकूलताको मार्ग खोजी गर्नुपर्छ

मैले मानिसको बीचमा धेरै काम गरेको छु, जुन अवधिमा मैले धेरै वचनहरू पनि व्यक्त गरेको छु। यी सबै वचनहरू मानिसको मुक्तिको खातिर हुन् र मानिस...

परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरको अख्तियार (१)मेरा विगतका धेरै सङ्गतिहरू परमेश्‍वरको कार्य, परमेश्‍वरको स्वभाव, र परमेश्‍वर स्वयम्‌सँग सम्‍बन्धित थिए। यी...

सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

पवित्र आत्माको काम दिन प्रतिदिन परिवर्तन हुन्छ। प्रत्येक कदमसँगै यो अझ माथि जान्छ, आजको भन्दा भोलिको प्रकाश अझ माथि हुन्छ, यो एकपछि अर्को...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्