के त्रिएकत्व अस्तित्वमा छ?

येशू देह बन्‍नुभएको सत्यता थाहा पाएदेखि नै, मानिसले स्वर्गमा पिता मात्र होइन, पुत्र, र आत्मा पनि हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दै आएको छ। मानिसले बोक्ने परम्परागत धारणा यही हो, कि स्वर्गमा एउटा यस्तो परमेश्‍वर हुनुहुन्छ: एउटा त्रिएक परमेश्‍वर जो पिता, पुत्र, र पवित्र आत्मा हुनुहुन्छ। मानिसहरू सबैमा यी धारणाहरू रहेका छन्: परमेश्‍वर एउटै परमेश्‍वर हुनुहुन्छ, तर उहाँ तीन भाग मिलेर बन्‍नुभएको छ, जसलाई परम्परागत धारणाहरूमा नराम्ररी जेलिएका सबैले पिता, पुत्र, र पवित्र आत्मा मान्छन्। ती तीन भाग एउटै बनेपछि मात्रै पूर्ण परमेश्‍वर बन्‍नुहुन्छ। पिताविना, परमेश्‍वर पूर्ण हुनुहुनेथिएन। त्यसैगरी, पुत्र वा पवित्र आत्माविना पनि परमेश्‍वर पूर्ण हुनुहुनेथिएन। तिनीहरूको धारणामा, तिनीहरू पितालाई मात्र वा पुत्रलाई मात्र परमेश्‍वर मान्‍न सकिँदैन भन्‍ने विश्‍वास गर्छन्। पिता, पुत्र, र पवित्र आत्मा सँगै मिलेकोलाई मात्रै परमेश्‍वर स्वयम् मान्‍न सकिन्छ। अहिले, सारा धार्मिक विश्‍वासी, र तिमीहरूमध्ये हरेक अनुयायीले समेत, यो विश्‍वास बोक्छन्। तैपनि, यो विश्‍वास सही हो कि होइन भन्ने विषयमा, तिमीहरूमध्ये कसैले पनि व्याख्या गर्न सक्दैनौ, किनभने परमेश्‍वर स्वयम्‌का मामलाहरूका बारेमा तिमीहरू सधैँ अन्योलको कुहिरोमा हुन्छौ। मानव धारणाहरूमा आधारित ज्ञानको कुरामा समेत, यो सही हो कि गलत हो भन्‍ने तिमीहरूलाई थाहा हुँदैन, किनभने तिमीहरू धार्मिक धारणाहरूबाट अत्यन्तै नराम्ररी सङ्क्रमित भएका छौ। तिमीहरूले धर्मका यी परम्परागत धारणाहरूलाई अत्यन्तै गहिरो रूपमा स्वीकार गरेका छौ, र यो विष तिमीहरूभित्र अत्यन्तै गहिरो छिरेको छ। त्यसकारण, यस मामलामा पनि तिमीहरू यो अत्यन्तै हानिकारक प्रभावको सिकार भएका छौ, किनभने त्रिएक परमेश्‍वर अस्तित्वमा छँदै छैन। अर्थात्, पिता, पुत्र, र पवित्र आत्माको त्रिएकत्व अस्तित्वमा छँदै छैन। यी सबै मानिसका परम्परागत धारणा, र मानिसका भ्रामक विश्‍वास हुन्। शताब्दिऔँदेखि, मानिसले यस त्रिएकत्वमा विश्‍वास गर्दै आएको छ, जुन मानिसको दिमागमा भएका धारणाहरूद्वारा कल्पना गरिएको, मानिसद्वारा रचिएको, र मानिसले पहिले कहिल्यै नदेखेको कुरा हो। यतिका वर्षमा, त्रिएकत्वको “साँचो अर्थ” व्याख्या गर्ने बाइबलका व्याख्याताहरू धेरै आए, तर त्रिएक परमेश्‍वरलाई तीनवटा छुट्टाछुट्टै व्यक्तिका रूपमा गरिएका त्यस्ता व्याख्याहरू अन्योलपूर्ण र अस्पष्ट रहे, र “परमेश्‍वर” को “बनावट” ले गर्दा मानिसहरू सबै गहिरो अलमलमा परेका छन्। कुनै पनि महान् व्यक्तिले कहिल्यै पूर्ण व्याख्या प्रदान गर्न सकेको छैन; धेरैजसो व्याख्या तर्कको हिसाबमा र कागजमा त ठीकै देखिन्छन्, तर एक जना व्यक्तिले पनि यसको अर्थ पूर्ण रूपमा प्रस्ट बुझेको छैन। यसको कारण के हो भने मानिसले हृदयमा बोक्ने यो “महान् त्रिएकत्व” अस्तित्वमा छँदै छैन। किनभने कसैले पनि परमेश्‍वरको साँचो मुहार कहिल्यै देखेको छैन, न त परमेश्‍वर रहनुभएको ठाउँमा के-कस्ता कुराहरू छन् भनी जाँच्न, “परमेश्‍वरको परिवार” मा ठ्याक्कै कति दशौँ हजार वा करोडौँ पुस्ता छन् भनी निर्धारण गर्न वा परमेश्‍वरको अन्तर्निहित संरचना कति वटा भाग मिलेर बनेको छ भनी छानबिन गर्नका लागि परमेश्‍वरको वासस्थानमा जाने सौभाग्य नै कसैले पाएको छ। मुख्य रूपमा जाँचिनुपर्ने कुरा यो हो: पिता र पुत्रको, साथै पवित्र आत्माको उमेर; प्रत्येक व्यक्तिको आ-आफ्नो रूप; उहाँहरू ठ्याक्कै कसरी छुट्टिनुहुन्छ, र उहाँहरू कसरी एक बन्‍नुहुन्छ भन्ने कुरा। दुर्भाग्यवश, यतिका धेरै वर्षमा, एक जना व्यक्तिले पनि यी मामलाहरूको यथार्थ निर्धारण गर्न सकेको छैन। तिनीहरू सबै अनुमान मात्र गर्छन्, किनभने त्रिएकत्वका बारेमा चासो राख्‍ने ती सबै जोसिला र भक्त धार्मिक विश्‍वासीहरूलाई यस मामलाको यथार्थबारे रिपोर्ट दिनका लागि एक जना व्यक्ति पनि कहिल्यै स्वर्गमा उक्लेर सारा मानवजातिका लागि “छानबिन रिपोर्ट” लिएर फर्केको छैन। अवश्य नै, यस्ता धारणाहरू बनाएकोमा मानिसलाई नै पूर्ण रूपमा दोष दिन मिल्दैन, किनभने पिता यहोवाले मानवजातिको सृष्टि गर्दा पुत्र येशूलाई किन आफ्नो साथमा ल्याउनुभएन? यदि, सुरुमा, सबैलाई यहोवा भनिएको भए, त्यो उत्तम हुनेथियो। यदि दोष दिनैपर्छ भने, यहोवा परमेश्‍वरको क्षणिक गल्तीलाई दिइयोस्, जसले सृष्टिको समयमा पुत्र र पवित्र आत्मालाई आफ्नो अगाडि बोलाउनुभएन, बरु आफ्नो काम एक्लै गर्नुभयो। यदि उहाँहरू सबैले एकैसाथ काम गर्नुभएको भए, के उहाँहरू एक बन्‍नुहुनेथिएन र? यदि, सुरुदेखि अन्त्यसम्म, यहोवा नाम मात्रै भएको र अनुग्रहको युगको येशू नाम नभएको भए, वा यदि उहाँलाई त्यतिबेला पनि यहोवा नै भनिएको भए, के परमेश्‍वर मानवजातिद्वारा गरिएको यस विभाजनको दुःखमा पर्नबाट जोगिनुहुनेथिएन र? पक्कै पनि, यी सबैका लागि यहोवालाई नै दोष दिन मिल्दैन; यदि दोष दिनैपर्छ भने, पवित्र आत्मालाई दिइयोस्, जसले हजारौँ वर्ष यहोवा, येशू, र पवित्र आत्माको नामबाट समेत आफ्नो काम जारी राख्‍नुभयो, र मानिसलाई यति अलमल्ल र अन्योलमा पार्नुभयो कि मानिसले परमेश्‍वर ठ्याक्कै को हुनुहुन्छ भनेर चिन्नै सकेन। यदि पवित्र आत्मा स्वयम्‌ले कुनै रूप वा स्वरूपविना, र अझ महत्त्वपूर्ण कुरा, येशू जस्तो नामविना काम गर्नुभएको भए, अनि मानिसले उहाँलाई छुन वा देख्‍न नसकेको, र गर्जनको आवाज मात्र सुन्‍न सकेको भए, के यस्तो प्रकारको काम मानवजातिका लागि अझ बढी लाभदायक हुनेथिएन र? त्यसोभए अब के गर्न सकिन्छ त? मानिसका धारणाहरू थुप्रिएर पहाडजत्तिकै अग्लो र समुद्रजत्तिकै फराकिलो भएका छन्, यहाँसम्म कि वर्तमान दिनका परमेश्‍वरले तिनलाई अब सहन सक्नुहुन्‍न र उहाँ पूर्ण रूपमा के गर्ने कसो गर्ने भन्‍ने अवस्थामा पुग्नुभएको छ। विगतमा यहोवा, येशू, अनि उहाँहरूका बीचमा पवित्र आत्मा मात्र हुँदा नै, मानिस कसरी सामना गर्ने भनेर सोच्नै नसक्ने अवस्थामा पुगेको थियो, अनि अब सर्वशक्तिमान्‌ समेत थपिनुभएको छ, जसलाई समेत “परमेश्‍वरको एक भाग” पनि भनिन्छ। उहाँ को हुनुहुन्छ र उहाँ त्रिएकत्वको कुन व्यक्तिमा कति वर्षदेखि मिसिनुभएको छ वा लुक्नुभएको छ भन्‍ने कसलाई थाहा छ र? मानिसले यो कसरी सहन सक्छ? त्रिएक परमेश्‍वरलाई मात्रै व्याख्या गर्न मानिसलाई जीवनभरिको समय लाग्थ्यो, तर अब त “चार व्यक्तिमा एक परमेश्‍वर” हुनुहुन्छ। यसलाई कसरी व्याख्या गर्न सकिन्छ? के तँ यसलाई व्याख्या गर्न सक्छस्? दाजुभाइ-दिदीबहिनीहरू हो! तिमीहरूले आजको दिनसम्म यस्तो परमेश्‍वरमा कसरी विश्‍वास गरेका छौ? म तिमीहरूलाई सलाम गर्छु। त्रिएक परमेश्‍वर नै सहन गाह्रो भइसकेको थियो; तिमीहरूले यी चार व्यक्तिभित्रको एक परमेश्‍वरमा कसरी यस्तो अटुट विश्‍वास राख्न सक्यौ? तिमीहरूलाई बाहिर निस्कन भनिएको छ, तैपनि तिमीहरू मान्दैनौ। कति अकल्पनीय! तिमीहरू साँच्चै नै कमालका छौ! कुनै व्यक्ति वास्तवमा “चार परमेश्‍वर” मा विश्‍वास गर्ने अनि यसलाई सामान्य रूपमा लिने हदसम्म समेत पुग्न सक्छ; के तिमीहरूलाई यो एउटा चमत्कार हो जस्तो लाग्दैन र? तिमीहरूलाई हेर्दा, तिमीहरू यति ठूलो चमत्कार गर्न सक्षम छौ भनेर कसैलाई पनि थाहा हुँदैन! म तिमीहरूलाई बताउँछु कि, वास्तवमा, “त्रिएक परमेश्‍वर” माथि वा ब्रह्माण्डभरि कतै पनि अस्तित्वमा हुनुहुन्‍न। परमेश्‍वरको कुनै पिता र कुनै पुत्र हुनुहुन्‍न, अनि पिता र पुत्रले संयुक्त रूपमा पवित्र आत्मालाई एउटा साधनका रूपमा प्रयोग गर्नुहुन्छ भन्‍ने अवधारणा त झनै छैन। यो सबै यस संसारको सबैभन्दा ठूलो भ्रम हो र यो अस्तित्वमा छँदै छैन! तर यस्तो भ्रमको समेत आफ्नै उत्पत्ति छ र यो पूर्ण रूपमा आधारहीन छैन, किनभने तिमीहरूको दिमाग त्यति सरल छैन, र तिमीहरूका यी अवधारणाहरू अकारण छैनन्। बरु, ती निकै उपयुक्त र चलाखीपूर्ण छन्, यतिसम्म कि ती कुनै पनि शैतानले समेत डगाउन सक्दैन। दुःखको कुरा के हो भने यी अवधारणाहरू सबै भ्रम हुन् र तिनको अस्तित्व छँदै छैन! तिमीहरूले यथार्थ जे हो त्यो बिलकुलै देखेका छैनौ; तिमीहरू केवल तर्क र कल्पना गरिरहेका छौ, त्यसपछि छलपूर्वक अरूको विश्‍वास प्राप्त गर्न र ती बुद्धि वा समझ नभएका सबैभन्दा मूर्ख मानिसहरूमाथि प्रभुत्व जमाउन यो सबै कुरालाई बुनेर एउटा कथा बनाइरहेका छौ, ताकि तिनीहरूले तिमीहरूका महान् र प्रख्यात “विशेषज्ञ शिक्षाहरू” मा विश्‍वास गरून्। के यो सत्यता हो? के मानिसले बुझ्नुपर्ने जीवनको मार्ग यही हो? यो सबै बकबास हो! एउटा शब्द पनि उपयुक्त छैन! यतिका धेरै वर्षभरि, परमेश्‍वरलाई तिमीहरूद्वारा यसरी विभाजित गरिएको छ, प्रत्येक पुस्तासँगै झन्-झन् मसिनो टुक्रामा विभाजन गरिएको छ, यहाँसम्म कि एउटै परमेश्‍वरलाई खुलेआम तीन वटा परमेश्‍वरमा विभाजन गरिएको छ। अनि अब मानिसले परमेश्‍वरलाई फेरि जोडेर एक बनाउनु पूर्ण रूपमा असम्भव छ, किनभने तिमीहरूले उहाँलाई अत्यन्तै मसिनो टुक्रामा विभाजन गरेका छौ! ज्यादै ढिला हुनुअघि नै मैले तुरुन्तै काम नगरेको भए, तिमीहरूले कति लामो समयसम्म यसरी नै दुस्साहसपूर्वक जारी राख्नेथियौ भनेर भन्न गाह्रो छ! परमेश्‍वरलाई यसरी विभाजन गरिरहँदा, उहाँ कसरी अझै पनि तिमीहरूको परमेश्‍वर हुन सक्नुहुन्छ? के तिमीहरूले अझै पनि परमेश्‍वरलाई चिन्नेथियौ? के तिमीहरू अझै पनि आफ्नो उत्पत्ति पत्ता लगाउनेथियौ र आफ्नो जरामा फर्कनेथियौ? यदि म अलिकति पनि ढिलो आइपुगेको भए, सम्भवतः तिमीहरूले “पिता र पुत्र,” यहोवा र येशूलाई इस्राएलमा फिर्ता पठाएका हुनेथियौ र तिमीहरू आफै परमेश्‍वरको एउटा हिस्सा भएको दाबी गरेका हुनेथियौ। भाग्यवश, अहिलेको समय आखिरी दिनहरू हो। अन्ततः मैले लामो समयदेखि पर्खेको यो दिन आएको छ, र म व्यक्तिगत रूपमा कामको यो चरण पूरा गर्न आएर मात्रै परमेश्‍वर स्वयम्‌लाई विभाजन गर्ने तिमीहरूको काम रोकिएको छ। यदि यस्तो नभएको भए, तिमीहरू अझै अघि बढ्नेथियौ, तिमीहरूका बीचमा रहेका सबै शैतानलाई समेत वेदीहरूमा राखेर आराधना गर्नेथियौ। यो तिमीहरूको छल हो! यो परमेश्‍वरलाई विभाजन गर्ने तिमीहरूको माध्यम हो! के तिमीहरू अब पनि त्यसो गर्न जारी राख्नेछौ? म तिमीहरूलाई सोध्छु: कति जना परमेश्‍वर हुनुहुन्छ? कुन परमेश्‍वरले तिमीहरूलाई मुक्ति दिलाउनुहुनेछ? तिमीहरूले सधैँ प्रार्थना गर्ने परमेश्‍वर पहिलो, दोस्रो, वा तेस्रो, कुन हुनुहुन्छ? तिमीहरू सधैँ कुनमा विश्‍वास गर्छौ? के उहाँ पिता हुनुहुन्छ? कि पुत्र हुनुहुन्छ? कि आत्मा हुनुहुन्छ? तँ कसमा विश्‍वास गर्छस्, भन्। तिमीहरूले आफूले बोल्ने हरेक शब्दमा परमेश्‍वरमा विश्‍वास गर्छु भने पनि, तिमीहरू वास्तवमा आफ्नै दिमागलाई विश्‍वास गर्छौ! तिमीहरूको हृदयमा परमेश्‍वर पटक्कै हुनुहुन्न! तैपनि तिमीहरूको दिमागमा यस्ता “त्रिएकत्वहरू” धेरै छन्! के तिमीहरू यो कुरा मान्दैनौ र?

यदि कामका तीन वटा चरणलाई यो त्रिएकत्वको अवधारणाअनुरूप मूल्याङ्कन गर्ने हो भने, तीन वटा परमेश्‍वर हुनैपर्छ किनभने प्रत्येकले गर्ने काम एउटै होइन। यदि तिमीहरूमध्ये कसैले त्रिएकत्व साँच्चै अस्तित्वमा हुनुहुन्छ भन्छ भने, तीन व्यक्तिमा हुनुहुने यो एउटै परमेश्‍वर ठ्याक्कै के हुनुहुन्छ भनेर व्याख्या गर। पिता के हुनुहुन्छ? पुत्र के हुनुहुन्छ? पवित्र आत्मा के हुनुहुन्छ? के यहोवा पिता हुनुहुन्छ? के येशू पुत्र हुनुहुन्छ? त्यसोभए पवित्र आत्मा चाहिँ के हुनुहुन्छ? के पिता एउटा आत्मा हुनुहुन्न र? के पुत्रको सार पनि एउटा आत्मा नै होइन र? के येशूको काम पवित्र आत्माको काम थिएन र? के त्यतिबेला यहोवाको काम येशूको जस्तै उही आत्माद्वारा गरिएको थिएन र? परमेश्‍वरका कति वटा आत्मा हुन सक्छ? तेरो व्याख्याअनुसार, पिता, पुत्र, र पवित्र आत्माका तीन व्यक्ति एउटै हुन्; यदि यस्तो हो भने, आत्मा तीन वटा छन्, तर तीन वटा आत्मा हुनुको अर्थ तीन वटा परमेश्‍वर हुनु हो, जुन एउटै साँचो परमेश्‍वर हुनेछैन। यस्तो प्रकारको परमेश्‍वरसँग कसरी अझै पनि परमेश्‍वरको अन्तर्निहित सार हुन सक्छ? यदि तँ एउटै मात्र परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छस् भने, उहाँको पुत्र वा पिता कसरी हुन सक्छ? के यी सबै तेरा धारणा मात्रै होइनन् र? परमेश्‍वर एउटै मात्र हुनुहुन्छ, यस परमेश्‍वरमा एउटै मात्र व्यक्ति हुनुहुन्छ, र परमेश्‍वरको एउटै मात्र आत्मा हुनुहुन्छ, जसरी बाइबलमा लेखिएको छ, “एउटै मात्र पवित्र आत्मा र एउटै मात्र परमेश्‍वर हुनुहुन्छ।” तैँले चर्चा गर्ने पिता र पुत्रको अस्तित्व भए पनि वा नभए पनि, आखिरमा एउटै मात्र परमेश्‍वर हुनुहुन्छ, र तिमीहरूले विश्‍वास गर्ने पिता, पुत्र, र पवित्र आत्माको सार पवित्र आत्माको सार हो। अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वर आत्मा हुनुहुन्छ, तर उहाँ देह बन्न र मानिसहरूका बीचमा जिउन, साथै यावत् थोकभन्दा माथि हुन सक्षम हुनुहुन्छ। उहाँको आत्मा सर्वसमावेशी र सर्वव्यापी हुनुहुन्छ। उहाँ एकैसाथ देहमा र ब्रह्माण्डमाथि अनि ब्रह्माण्डभरि हुन सक्नुहुन्छ। सबै मानिसले परमेश्‍वर एउटै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर भन्ने हुनाले, परमेश्‍वर एउटै मात्र हुनुहुन्छ, जसलाई कसैले पनि आफ्नो इच्छाअनुसार विभाजन गर्न सक्दैन! परमेश्‍वर एउटै मात्र आत्मा हुनुहुन्छ, र एउटै मात्र व्यक्ति हुनुहुन्छ; र त्यो परमेश्‍वरको आत्मा हुनुहुन्छ। यदि तैँले भनेजस्तै पिता, पुत्र, र पवित्र आत्मा हुनुहुन्छ भने, के उहाँहरू तीनवटा परमेश्‍वर हुनुहुन्न र? पवित्र आत्मा एउटा कुरा हो, पुत्र अर्को कुरा हो, र पिता अझै अर्को कुरा हो। उहाँहरूका व्यक्तिहरू फरक छन् र उहाँहरूका सारहरू फरक छन्, त्यसोभए उहाँहरू प्रत्येक कसरी एउटै परमेश्‍वरको पाटो हुन सक्नुहुन्छ? पवित्र आत्मा एउटा आत्मा हुनुहुन्छ; यो मानिसलाई बुझ्न सजिलो छ। यदि यस्तो हो भने, पिता त झनै बढी आत्मा हुनुहुन्छ। उहाँ कहिल्यै पृथ्वीमा ओर्लनुभएको छैन र कहिल्यै देह बन्नुभएको छैन; उहाँ मानिसको हृदयमा हुनुभएको यहोवा परमेश्‍वर हुनुहुन्छ, र उहाँ पनि पक्कै एउटा आत्मा नै हुनुहुन्छ। त्यसोभए यस आत्मा र पवित्र आत्माबीचको सम्बन्ध के हो? के यो पिता र पुत्रबीचको सम्बन्ध हो? कि यो पवित्र आत्मा र पिताको आत्माबीचको सम्बन्ध हो? के प्रत्येक आत्माको सार एउटै हो? कि पवित्र आत्मा पिताको साधन हुनुहुन्छ? यसलाई कसरी व्याख्या गर्न सकिन्छ? अनि पुत्र र पवित्र आत्माबीचको सम्बन्ध के हो? के यो दुई वटा आत्माबीचको सम्बन्ध हो कि मानव र आत्माबीचको सम्बन्ध हो? यी सबै कुनै व्याख्या गर्न नसकिने मामला हुन्! यदि उहाँहरू सबै एउटै आत्मा हुनुहुन्छ भने, तीनजना व्यक्तिको कुरा गर्नै मिल्दैन, किनभने उहाँहरूसँग एउटै मात्र आत्मा छ। यदि उहाँहरू छुट्टाछुट्टै व्यक्ति हुनुहुन्थ्यो भने, उहाँहरूको आत्मा शक्तिका हिसाबले फरक हुनेथियो, र उहाँहरू एउटै आत्मा बिलकुलै हुन सक्नुहुनेथिएन। पिता, पुत्र, र पवित्र आत्माको यो अवधारणा सबैभन्दा असङ्गत छ! यसले परमेश्‍वरलाई खण्डित गर्छ र उहाँलाई तीन व्यक्तिमा विभाजन गर्छ, जसमध्ये हरेकको हैसियत र आत्मा हुन्छ; त्यसोभए उहाँ कसरी अझै पनि एउटै आत्मा र एउटै परमेश्‍वर हुन सक्नुहुन्छ? ल भन्, स्वर्ग र पृथ्वी अनि यावत् थोक पिता, पुत्र, वा पवित्र आत्मामध्ये कोद्वारा सृष्टि गरिएका थिए? कतिपयले उहाँहरू सबै मिलेर यो सृष्टि गर्नुभयो भन्छन्। त्यसोभए मानवजातिलाई कसले छुटकारा दिनुभयो? पवित्र आत्माले, पुत्रले, कि पिताले? कतिपयले मानवजातिलाई छुटकारा दिने पुत्र हुनुहुन्थ्यो भन्छन्। त्यसोभए सारमा पुत्र को हुनुहुन्छ? के उहाँ परमेश्‍वरको आत्माले धारण गर्नुभएको देह हुनुहुन्न र? देहले एक सृजित मानवको दृष्टिकोणबाट स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिताको नामले पुकार्छ। के येशू पवित्र आत्माद्वारा गर्भधारण गरिएर जन्मनुभएको हो भन्‍ने तँलाई थाहा छैन र? उहाँभित्रै पवित्र आत्मा हुनुहुन्छ; तँ जेसुकै भन्, उहाँ स्वर्गमा हुनुहुने परमेश्‍वरसँग एउटै हुनुहुन्छ, किनभने उहाँ परमेश्‍वरको आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। पुत्रसम्बन्धी यो अवधारणा पूर्ण रूपमा असत्य छ। एउटै आत्माले सबै काम पूरा गर्नुहुन्छ, यो परमेश्‍वर स्वयम्‌ले पूरा गर्नुहुन्छ—अर्थात्, परमेश्‍वरको आत्माले नै काम गर्नुहुन्छ। परमेश्‍वरको आत्मा को हुनुहुन्छ? के त्यो पवित्र आत्मा हुनुहुन्न र? के त्यो येशूमा काम गर्ने पवित्र आत्मा हुनुहुन्न र? यदि काम पवित्र आत्माद्वारा (अर्थात्, परमेश्‍वरको आत्माद्वारा) नगरिएको भए, के उहाँको कामले परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्न सक्थ्यो र? जब येशूले प्रार्थना गर्दा स्वर्गमा रहनुभएका परमेश्‍वरलाई पिताको नामले पुकार्नुभयो, यो केवल एक सृजित मानवको दृष्टिकोणबाट गरिएको थियो, परमेश्‍वरको आत्माले एउटा साधारण र सामान्य देह धारण गर्नुभएको र उहाँसँग सृजित प्राणीको बाहिरी आवरण भएको हुनाले मात्र यसो गरिएको थियो। उहाँभित्र परमेश्‍वरको आत्मा भए पनि, उहाँको बाहिरी रूप भने सामान्य मानवको नै थियो; अर्को शब्दमा भन्नुपर्दा, उहाँ त्यो “मानिसको पुत्र” बन्नुभएको थियो जसका बारेमा सबै मानिसले साथै येशू स्वयम्‌ले पनि कुरा गर्नुहुन्थ्यो। उहाँलाई मानिसको पुत्र भनिने हुनाले, उहाँ साधारण मानिसहरूको एउटा सामान्य परिवारमा जन्मेको व्यक्ति (चाहे पुरुष होस् वा महिला, जे भए पनि मानवको बाहिरी आवरण भएको व्यक्ति) हुनुहुन्छ। त्यसकारण, येशूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिताको नामले पुकार्नु भनेको तिमीहरूले सुरुमा उहाँलाई पिता भनेर पुकारेको जस्तै थियो; उहाँले एक सृजित मानवको दृष्टिकोणबाट त्यसो गर्नुभयो। के तिमीहरूलाई येशूले कण्ठ पार्न सिकाउनुभएको प्रभुको प्रार्थना अझै याद छ? “स्वर्गमा हुनुहुने हाम्रा पिता…।” उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिताको नामले पुकार्न भनेर सबै मानिसलाई भन्नुभयो। अनि उहाँले पनि उहाँलाई पिता भनेर पुकार्नुभएको हुनाले, उहाँले तिमीहरू सबैसँग समान स्तरमा उभिने व्यक्तिको दृष्टिकोणबाट पुकार्नुभएको हो। तिमीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिताको नामले पुकारेको हुनाले, येशूले आफूलाई तिमीहरूसँग समान स्तरमा रहेको, र परमेश्‍वरद्वारा चुनिएको पृथ्वीको मानवका रूपमा (अर्थात्, परमेश्‍वरका पुत्रका रूपमा) हेर्नुभयो। यदि तिमीहरू परमेश्‍वरलाई पिता भन्छौ भने, के यो तिमीहरू सृजित प्राणी भएकाले होइन र? पृथ्वीमा येशूको अख्तियार जतिसुकै महान् भए पनि, क्रूसीकरणअघि, उहाँ केवल पवित्र आत्माद्वारा (अर्थात्, परमेश्‍वरद्वारा) शासित मानिसको पुत्र हुनुहुन्थ्यो, र पृथ्वीका सृजित प्राणीहरूमध्ये एक हुनुहुन्थ्यो, किनभने उहाँले आफ्नो काम पूरा गर्न बाँकी नै थियो। त्यसकारण, उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी पुकार्नु उहाँको नम्रता र अधीनता मात्र थियो। तर, उहाँले परमेश्‍वरलाई (अर्थात्, स्वर्गमा हुनुहुने आत्मालाई) यसरी सम्बोधन गर्नुले उहाँ स्वर्गमा हुनुहुने परमेश्‍वरको आत्माको पुत्र हुनुहुन्थ्यो भनी प्रमाणित गर्दैन। बरु, उहाँको दृष्टिकोण मात्र फरक थियो, उहाँ फरक व्यक्ति हुनुहुन्नथ्यो। छुट्टाछुट्टै व्यक्तिहरूको अस्तित्व एउटा भ्रम हो! येशूको क्रूसीकरणअघि, उहाँ देहका सीमितताहरूद्वारा बाँधिएको मानिसको पुत्र हुनुहुन्थ्यो, र उहाँसँग आत्माको पूर्ण अख्तियार थिएन। त्यसैकारण उहाँले एक सृजित प्राणीको दृष्टिकोणबाट मात्रै पिता परमेश्‍वरका अभिप्रायहरू खोज्न सक्नुहुन्थ्यो। यो उहाँले “मेरो चाहना होइन, तर तपाईँको चाहना पूरा होस्” भनेर गेतसमनीमा तीन पटक प्रार्थना गर्नुभएको जस्तै हो। क्रूसमा टाँगिनुअघि, उहाँ यहूदीहरूका राजा, मानिसका पुत्र, ख्रीष्ट मात्र हुनुहुन्थ्यो, र महिमाको शरीर हुनुहुन्नथ्यो। त्यसैकारण, एक सृजित प्राणीको दृष्टिकोणबाट, उहाँले परमेश्‍वरलाई पिता भनी पुकार्नुभयो। अब, तैँले परमेश्‍वरलाई पिता भनी पुकार्ने सबै जना पुत्र हुन् भनेर भन्न मिल्दैन। यदि यस्तो हुन्थ्यो भने, के येशूले तिमीहरूलाई प्रभुको प्रार्थना सिकाउनुभएपछि तिमीहरू सबै जना पुत्र बन्नेथिएनौ र? यदि तिमीहरूलाई अझै पनि पत्यार लाग्दैन भने, मलाई भन, तिमीहरू कसलाई पिता भनेर पुकार्छौ? यदि तिमीहरू येशूलाई सङ्केत गरिरहेका छौ भने, तिमीहरूका लागि येशूका पिता को हुनुहुन्छ? येशू जानुभएपछि, यो पिता र पुत्रको अवधारणा बाँकी रहेन। यो अवधारणा येशू देह बन्नुभएका वर्षहरूका लागि मात्र उपयुक्त थियो; अरू सबै परिस्थितिमा, तिमीहरूले परमेश्‍वरलाई पिता भनी पुकार्दा, त्यो सम्बन्ध सृष्टिकर्ता र सृजित प्राणीबीचको सम्बन्ध हो। यो पिता, पुत्र, र पवित्र आत्माको त्रिएकत्वको अवधारणा मान्य हुन सक्ने कुनै समय छैन; यो युगौँयुगमा विरलै देखिने भ्रम हो र यो अस्तित्वमा छैन!

यसले धेरैजसो मानिसलाई उत्पत्तिको पुस्तकबाट परमेश्‍वरका वचनहरू याद दिलाउन सक्छ: “मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै रूपमा बनाऔँ।” (उत्पत्ति १:२६)। परमेश्‍वरले “मानिसलाई हाम्रै स्वरूपमा... बनाऔँ” भन्नुभएको हुनाले, “हाम्रै” ले दुई वा सोभन्दा बढीलाई जनाउँछ; उहाँले “हाम्रै” भन्नुभएको हुनाले, परमेश्‍वर एउटै मात्र हुनुहुन्न। यसरी, मानिसले अमूर्त छुट्टाछुट्टै व्यक्तिहरूका बारेमा सोच्न थाल्यो, र यी वचनहरूबाट पिता, पुत्र, र पवित्र आत्माको कुरा उब्जियो। त्यसोभए पिता कस्तो हुनुहुन्छ? पुत्र कस्तो हुनुहुन्छ? अनि पवित्र आत्मा कस्तो हुनुहुन्छ? के आजको मानवजाति तीन वटालाई सँगै जोडेर एकको स्वरूपमा बनाइएको हुन सक्छ? त्यसोभए मानिसको स्वरूप पिता, पुत्र, वा पवित्र आत्मामध्ये कसको जस्तो छ? मानिस परमेश्‍वरका व्यक्तिहरूमध्ये कसको स्वरूपमा छ? मानिसको यो विचार पूर्ण रूपमा गलत र तुकहीन छ! यसले एउटै परमेश्‍वरलाई धेरै वटा परमेश्‍वरमा विभाजन मात्र गर्न सक्छ। जतिबेला मोशाले उत्पत्तिको पुस्तक लेखे, त्यो संसारको सृष्टिपछि मानवजातिको सृष्टि गरिएपछिको समय थियो। सुरुमा, परमेश्‍वरले संसारको सृष्टि गर्दा, मोशा अस्तित्वमा थिएनन्। अनि धेरै पछि मात्र मोशाले बाइबल लेखेका थिए, त्यसैले स्वर्गमा हुनुहुने परमेश्‍वरले के बोल्नुभयो भनी उनले कसरी जान्न सक्थे र? परमेश्‍वरले कसरी संसार सृष्टि गर्नुभयो भन्‍नेबारे उनलाई अलिकति पनि छनक थिएन। बाइबलको पुरानो करारमा, पिता, पुत्र, र पवित्र आत्माको कुनै उल्लेख छैन, एउटै साँचो परमेश्‍वर, यहोवाले इस्राएलमा आफ्नो काम गर्नुभएको मात्र उल्लेख छ। युग परिवर्तन हुँदै जाँदा परमेश्‍वरलाई फरक-फरक नामले पुकारिन्छ, तर यसले प्रत्येक नामले फरक व्यक्तिलाई जनाउँछ भनी प्रमाणित गर्न सक्दैन। यदि यस्तो हुन्थ्यो भने, के परमेश्‍वरमा अनगिन्ती व्यक्ति हुनेथिएनन् र? पुरानो करारमा जे लेखिएको छ त्यो यहोवाको काम हो, जुन व्यवस्थाको युगमा परमेश्‍वर स्वयम्‌को सुरुवाती कामको एउटा चरण हो। यो परमेश्‍वरको काम थियो, जहाँ उहाँ बोल्नुभयो र त्यो अस्तित्वमा आयो, र उहाँले आज्ञा दिनुभयो र त्यो स्थापित भयो। यहोवाले कुनै पनि समयमा आफू काम गर्न आएको पिता भएको भनेर भन्नुभएन, न त उहाँले मानवजातिलाई छुटकारा दिन पुत्र आउनुहुनेछ भनेर कहिल्यै भविष्यवाणी नै गर्नुभयो। येशूको समय आउँदा, सारा मानवजातिलाई छुटकारा दिन परमेश्‍वर देह बन्नुभएको छ भनेर मात्र भनिएको थियो, पुत्र आउनुभएको हो भनेर भनिएको थिएन। युगहरू उस्तै नभएकाले र परमेश्‍वर स्वयम्‌ले गर्न चाहनुहुने काम पनि फरक हुने भएकाले, उहाँले आफ्नो काम फरक-फरक क्षेत्रहरूभित्र गर्नुपर्ने हुन्छ। यसरी, उहाँले प्रतिनिधित्व गर्ने पहिचान पनि फरक हुन्छ। मानिसले यहोवा येशूका पिता भएको विश्‍वास गर्छ, तर वास्तवमा यसलाई येशूले स्वीकार गर्नुभएन, जसले भन्नुभयो, “हामी कहिल्यै पिता र पुत्रका रूपमा छुट्टाछुट्टै थिएनौँ; म र स्वर्गमा हुनुहुने पिता एक हौँ। पिता ममा हुनुहुन्छ र म पितामा छु; जब मानिसले पुत्रलाई देख्छ, उसले स्वर्गमा हुनुहुने पितालाई देखिरहेको हुन्छ।” अन्ततः पिता होस् वा पुत्र, उहाँहरू एउटै आत्मा हुनुहुन्छ, छुट्टाछुट्टै व्यक्तिमा विभाजित हुनुहुन्न। जब मानिसले व्याख्या गर्ने प्रयास गर्छ, तब छुट्टाछुट्टै व्यक्तिहरूको अवधारणा, साथै पिता, पुत्र, र आत्माबीचको सम्बन्धले गर्दा मामलाहरू जटिल बन्छन्। जब मानिसले अलग-अलग व्यक्तिहरूको कुरा गर्छ, के यसले परमेश्‍वरलाई ठोस रूप दिँदैन र? मानिसले उक्त व्यक्तिहरूलाई पहिलो, दोस्रो, र तेस्रो भनेर दर्जा समेत दिन्छ; यी सबै मानिसका कल्पना मात्र हुन्, जुन उल्लेख गर्न लायक छैनन्, र पूर्ण रूपमा अवास्तविक छन्! यदि तैँले उसलाई, “कति जना परमेश्‍वर हुनुहुन्छ?” भनेर सोधिस् भने, उसले परमेश्‍वर भनेको पिता, पुत्र, र पवित्र आत्माको त्रिएकत्व मिलेर बन्नुभएको एउटै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर भन्नेछ। यदि तैँले “पिता को हुनुहुन्छ?” भनेर थप सोधिस् भने, उसले भन्नेछ, “पिता भनेको स्वर्गमा हुनुहुने परमेश्‍वरको आत्मा हुनुहुन्छ; उहाँ सबै कुराको जिम्मामा हुनुहुन्छ, र स्वर्गको मालिक हुनुहुन्छ।” “त्यसोभए के यहोवा नै आत्मा हुनुहुन्छ?” उसले भन्नेछ, “हो!” यदि तैँले त्यसपछि उसलाई “पुत्र को हुनुहुन्छ?” भनेर सोधिस् भने, उसले पक्कै पनि येशू नै पुत्र हुनुहुन्छ भनेर भन्नेछ। “त्यसोभए येशूको कथा के हो? उहाँ कहाँबाट आउनुभयो?” उसले भन्नेछ, “येशू पवित्र आत्माद्वारा गर्भधारण गरिएर मरियमबाट जन्मनुभएको हो।” त्यसोभए के उहाँको सार पनि आत्मा होइन र? के उहाँको कामले पनि पवित्र आत्मालाई प्रतिनिधित्व गर्दैन र? यहोवा आत्मा हुनुहुन्छ, र येशूको सार पनि त्यही हो; भन्नै पर्दैन, यस चरणमा—आखिरी दिनहरूमा—सार अझै पनि आत्मा नै हो। उहाँहरू कसरी फरक-फरक व्यक्ति हुन सक्नुहुन्छ? के यो परमेश्‍वरको आत्माले फरक-फरक दृष्टिकोणबाट आत्माको काम गर्नुभएको मात्र होइन र? त्यसकारण, व्यक्तिहरूबीच कुनै भिन्नता छैन। येशू पवित्र आत्माद्वारा गर्भधारण गरिनुभएको थियो, र निस्सन्देह, उहाँको काम ठ्याक्कै पवित्र आत्माको काम थियो। यहोवाद्वारा गरिएको कामको पहिलो चरणमा, उहाँ न त देह बन्नुभयो न त मानिसकहाँ देखा पर्नुभयो। त्यसैले मानिसले उहाँको रूप कहिल्यै देखेन। उहाँ जतिसुकै ठूलो र जतिसुकै अग्लो हुनुभए पनि, उहाँ अझै पनि आत्मा नै हुनुहुन्थ्यो, सुरुमा मानिसलाई सृष्टि गर्ने परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो। अर्थात्, उहाँ परमेश्‍वरको आत्मा हुनुहुन्थ्यो। उहाँले बादलहरूका बीचबाट केवल एक आत्माको रूपमा मानिससँग बोल्नुभयो, र कसैले पनि उहाँको रूप देखेन। अनुग्रहको युगमा जब परमेश्‍वरको आत्मा देहमा आउनुभयो र यहूदियामा देहधारण गर्नुभयो, तब मात्र मानिसले पहिलो पटक परमेश्‍वरले एक यहूदीको रूपमा धारण गर्नुभएको देहको स्वरूप देख्यो। उहाँमा यहोवाको कुनै कुरा थिएन। तर, उहाँ पवित्र आत्माद्वारा गर्भधारण गरिनुभएको थियो, अर्थात्, यहोवा स्वयम्‌को आत्माद्वारा गर्भधारण गरिनुभएको थियो, र येशू अझै पनि परमेश्‍वरको आत्माको मूर्तरूपको रूपमा नै जन्मनुभएको थियो। त्यसबेला मानिसले जे देख्यो त्यो येशूमाथि ढुकुरजस्तै ओर्लिरहनुभएको पवित्र आत्मा हुनुहुन्थ्यो; यो येशूको मात्र आत्मा हुनुहुन्नथ्यो, बरु पवित्र आत्मा हुनुहुन्थ्यो। त्यसोभए के येशूको आत्मालाई पवित्र आत्माबाट अलग गर्न सकिन्छ? यदि येशू भनेको येशू, अर्थात् पुत्र नै हुनुहुन्छ, र पवित्र आत्मा भनेको पवित्र आत्मा नै हुनुहुन्छ भने, उहाँहरू कसरी एक हुन सक्नुहुन्छ? यदि त्यसो हो भने काम गर्न सकिँदैनथियो। येशूभित्रको आत्मा, स्वर्गमा हुनुहुने आत्मा, र यहोवाको आत्मा सबै एक हुनुहुन्छ। यसलाई पवित्र आत्मा, परमेश्‍वरको आत्मा, सात गुणा तीव्र पारिएको आत्मा, र सर्वसमावेशी आत्मा भनिन्छ। परमेश्‍वरको आत्माले धेरै काम गर्न सक्नुहुन्छ। उहाँ संसारको सृष्टि गर्न र पृथ्वीमा जलप्रलय ल्याएर यसलाई नष्ट गर्न सक्षम हुनुहुन्छ; उहाँ सम्पूर्ण मानवजातिलाई छुटकारा दिन सक्नुहुन्छ, र अझ बढी, उहाँ सम्पूर्ण मानवजातिलाई विजय गर्न र नष्ट गर्न सक्नुहुन्छ। यो काम सबै परमेश्‍वर स्वयम्‌द्वारा गरिन्छ र उहाँको सट्टामा परमेश्‍वरको कुनै पनि व्यक्तिद्वारा गर्न सकिँदैन। उहाँको आत्मालाई यहोवा र येशू, साथै सर्वशक्तिमान्‌को नामले पनि पुकार्न सकिन्छ। उहाँ प्रभु, र ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पुत्र पनि बन्न सक्नुहुन्छ। उहाँ स्वर्गहरूमा हुनुहुन्छ र पृथ्वीमा पनि हुनुहुन्छ; उहाँ ब्रह्माण्डहरूभन्दा माथि र असङ्ख्य मानिसहरूका बीचमा हुनुहुन्छ। उहाँ स्वर्गहरू र पृथ्वीको एक मात्र मालिक हुनुहुन्छ! सृष्टिको समयदेखि अहिलेसम्म, यो काम परमेश्‍वरको आत्मा स्वयम्‌द्वारा गरिँदै आएको छ। स्वर्गहरूमा गरिने काम होस् वा देहमा गरिने काम होस्, सबै उहाँको अन्तर्निहित आत्माद्वारा गरिन्छ। स्वर्गमा होस् वा पृथ्वीमा, सबै प्राणी उहाँको सर्वशक्तिमान् हातको हत्केलामा छन्; यो सबै परमेश्‍वर स्वयम्‌को काम हो र उहाँको सट्टामा अरू कसैले गर्न सक्दैन। स्वर्गहरूमा, उहाँ आत्मा हुनुहुन्छ तर परमेश्‍वर स्वयम् पनि हुनुहुन्छ; मानिसका बीचमा, उहाँ देह हुनुहुन्छ तर परमेश्‍वर स्वयम् नै रहनुहुन्छ। उहाँलाई लाखौँ नामले पुकार्न सकिएला, तर उहाँ अझै पनि उहाँ नै हुनुहुन्छ, र उहाँको सबै काम उहाँको आत्माको प्रत्यक्ष अभिव्यक्ति हो। उहाँको क्रूसीकरणमार्फत सम्पूर्ण मानवजातिको छुटकारा उहाँको आत्माको प्रत्यक्ष काम थियो, र आखिरी दिनहरूमा सबै राष्ट्र र सबै भूमिलाई दिइने निर्देशन पनि त्यही नै रहेको छ। हर समय, परमेश्‍वरलाई सर्वशक्तिमान् एउटै साँचो परमेश्‍वर, सर्वसमावेशी परमेश्‍वर स्वयम् मात्र भन्न सकिन्छ। परमेश्‍वरभित्रका यी व्यक्तिहरू अस्तित्वमा छँदै छैनन्, यो पिता, पुत्र, र पवित्र आत्माको अवधारणा त झनै छैन। स्वर्ग र पृथ्वीमा एउटै मात्र परमेश्‍वर हुनुहुन्छ!

परमेश्‍वरको व्यवस्थापनको योजना छ हजार वर्षसम्म फैलिएको छ र उहाँको काममा रहेका भिन्नताहरूका आधारमा यसलाई तीन वटा युगमा विभाजन गरिएको छ: पहिलो युग पुरानो करारको व्यवस्थाको युग हो; दोस्रो अनुग्रहको युग हो; र तेस्रो आखिरी दिनहरूको युग—राज्यको युग हो। प्रत्येक युगमा एउटा फरक पहिचानको प्रतिनिधित्व गरिन्छ। यो केवल काममा भएको भिन्नता, अर्थात्, कामका मागहरूले गर्दा भएको हो। व्यवस्थाको युगको कामको पहिलो चरण इस्राएलमा गरियो, र छुटकाराको कामको दोस्रो चरण यहूदियामा पूरा गरियो। छुटकाराको कामका लागि, येशू पवित्र आत्माको गर्भधारणबाट र एक मात्र पुत्रका रूपमा जन्मनुभयो। यी सबै कामका मागहरूले गर्दा भएको थियो। आखिरी दिनहरूमा, परमेश्‍वर आफ्नो काम अन्यजाति राष्ट्रहरूमा फैलाउन र त्यहाँका मानिसहरूलाई विजय गर्न चाहनुहुन्छ, ताकि तिनीहरूका बीचमा उहाँको नाम महान् होस्। उहाँ मानिसलाई सबै सत्यता बुझ्न र त्यसमा प्रवेश गर्न मार्गदर्शन गर्न चाहनुहुन्छ। यो सबै काम एउटै आत्माद्वारा गरिन्छ। उहाँले फरक-फरक दृष्टिकोणबाट त्यसो गर्नुहोला, तर कामका प्रकृति र सिद्धान्तहरू उस्तै रहन्छन्। एकपटक तैँले उहाँहरूले गर्नुभएको कामको सिद्धान्त र प्रकृतिलाई अवलोकन गरिस् भने, यो सबै एउटै आत्माद्वारा गरिएको हो भन्ने कुरा तैँले थाहा पाउनेछस्। अझै पनि कतिपयले भन्न सक्छन्, “पिता पिता नै हुनुहुन्छ; पुत्र पुत्र नै हुनुहुन्छ; पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ, र अन्त्यमा, उहाँहरूलाई एक बनाइनेछ।” त्यसोभए तैँले उहाँहरूलाई कसरी एक बनाउनुपर्छ? पिता र पवित्र आत्मालाई कसरी एक बनाउन सकिन्छ? यदि उहाँहरू अन्तर्निहित रूपमै दुई हुनुहुन्थ्यो भने, उहाँहरूलाई जतिसुकै सँगै जोडिए पनि, के उहाँहरू दुई भाग नै रहनुहुनेछैन र? जब तँ दुई भागलाई एक बनाउने कुरा गर्छस्, के त्यो दुई अलग-अलग भागलाई जोडेर एउटा सिङ्गो बनाउनु मात्रै होइन र? तर सिङ्गो बनाइनुअघि के ती दुई भाग थिएनन् र? प्रत्येक आत्माको छुट्टै सार हुन्छ, र दुई वटा आत्मालाई एउटै बनाउन सकिँदैन। आत्मा कुनै भौतिक वस्तु होइन र यो भौतिक संसारको अरू कुनै कुरा जस्तो होइन। मानिसले देखेअनुसार, पिता एउटा आत्मा हुनुहुन्छ, पुत्र अर्को, र पवित्र आत्मा अझै अर्को हुनुहुन्छ, त्यसपछि ती तीनवटा आत्मा तीन गिलास पानीजस्तै मिसिएर एउटा सिङ्गो बन्छन्। त्यसोभए के त्यो यो तीनवटालाई एक बनाइनु होइन र? यो पूर्ण रूपमा भ्रामक व्याख्या हो! के यो परमेश्‍वरलाई विभाजन गर्नु होइन र? पिता, पुत्र, र पवित्र आत्मा सबैलाई कसरी एक बनाउन सकिन्छ? के उहाँहरू फरक-फरक प्रकृतिका तीन भाग हुनुहुन्न र? अरू कतिपयले यसो भन्छन्, “के परमेश्‍वरले येशू उहाँको प्रिय पुत्र हुनुहुन्छ भनेर स्पष्ट रूपमा भन्नुभएन र?” येशू परमेश्‍वरका प्रिय पुत्र हुनुहुन्छ, जसमा उहाँ अति प्रसन्न हुनुहुन्छ—यो पक्कै पनि परमेश्‍वर स्वयम्‌द्वारा बोलिएको थियो। त्यो परमेश्‍वरले केवल फरक दृष्टिकोणबाट दिनुभएको आफ्नै गवाही थियो, स्वर्गमा हुनुहुने आत्माले दिनुभएको उहाँको देहधारी शरीरको गवाही थियो। येशू उहाँले धारण गर्नुभएको देह हुनुहुन्छ, स्वर्गमा हुनुहुने उहाँको पुत्र हुनुहुन्न। कुरा बुझिस्? के “म पितामा छु र पिता ममा हुनुहुन्छ” भन्ने येशूका वचनहरूले उहाँहरू एउटै आत्मा हुनुभएको सङ्केत गर्दैनन् र? अनि के देहधारणले गर्दा नै उहाँहरू स्वर्ग र पृथ्वीमा अलग पारिनुभएको होइन र? वास्तवमा, उहाँहरू अझै पनि एक हुनुहुन्छ; चाहे जेसुकै होस्, यो केवल परमेश्‍वरले दिनुभएको आफ्नै गवाही हो। युगहरूमा आएको परिवर्तन, कामका आवश्यकताहरू, र उहाँको व्यवस्थापनको योजनाका फरक-फरक चरणले गर्दा, मानिसले उहाँलाई पुकार्ने नाम पनि फरक-फरक हुन्छ। जब उहाँ कामको पहिलो चरण पूरा गर्न आउनुभयो, उहाँलाई यहोवा मात्र भन्न सकिन्थ्यो, जो इस्राएलीहरूका गोठालो हुनुहुन्थ्यो। दोस्रो चरणमा, देहधारी परमेश्‍वरलाई प्रभु, र ख्रीष्ट मात्र भन्न सकिन्थ्यो। तर त्यतिबेला, स्वर्गमा हुनुहुने आत्माले उहाँ परमेश्‍वरका प्रिय पुत्र हुनुहुन्छ भनेर मात्र भन्नुभयो र उहाँ परमेश्‍वरको एक मात्र पुत्र हुनुभएको कुनै उल्लेख गर्नुभएन। यस्तो पटक्कै भएको थिएन। परमेश्‍वरको एउटै मात्र सन्तान कसरी हुन सक्छ? त्यसोभए के परमेश्‍वर मानिस बन्नुहुनेथिएन र? उहाँ देहधारी शरीर हुनुभएकोले, उहाँलाई परमेश्‍वरको प्रिय पुत्र भनियो, अनि यसैबाट पिता र पुत्रबीचको सम्बन्ध आयो। स्वर्ग र पृथ्वीबीचको अलगावको कारणले मात्र यसो भएको थियो। येशूले देहको दृष्टिकोणबाट प्रार्थना गर्नुभयो। उहाँले यति सामान्य मानवताको देह धारण गर्नुभएको हुनाले, र देहको दृष्टिकोणबाट “मेरो बाहिरी आवरण एउटा सृजित प्राणीको हो; मैले यस पृथ्वीमा आउन देह धारण गरेको हुनाले, म अहिले स्वर्गबाट धेरै, धेरै टाढा छु” भन्नुभएको हुनाले, उहाँ देहको दृष्टिकोणबाट पिता परमेश्‍वरलाई प्रार्थना मात्र गर्न सक्नुहुन्थ्यो। यो उहाँको कर्तव्य थियो, र परमेश्‍वरको आत्माले धारण गर्नुभएको देहमा हुनुपर्ने कुरा त्यही नै थियो। उहाँले देहको दृष्टिकोणबाट पितालाई प्रार्थना गर्नुभएको कारणले उहाँ परमेश्‍वर हुनुहुन्नथ्यो भनेर भन्न मिल्दैन। उहाँलाई परमेश्‍वरको प्रिय पुत्र भनिए पनि, उहाँ अझै परमेश्‍वर स्वयम् नै हुनुहुन्थ्यो, किनभने उहाँ आत्माले धारण गर्नुभएको देह मात्र हुनुहुन्थ्यो, र उहाँको सार अझै पनि आत्मा नै थियो। यदि उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो भने उहाँले किन प्रार्थना गर्नुभयो भनेर मानिसहरू अचम्म मान्छन्। यसको कारण के हो भने उहाँ देहधारी परमेश्‍वर हुनुहुन्थ्यो, देहभित्र जिउनुहुने परमेश्‍वर हुनुहुन्थ्यो, स्वर्गमा हुनुहुने आत्मा हुनुहुन्नथ्यो। मानिसले देखेअनुसार, पिता, पुत्र, र पवित्र आत्मा सबै परमेश्‍वर हुनुहुन्छ। तीन वटैलाई एक बनाइएपछि मात्रै एउटै साँचो परमेश्‍वर मान्न सकिन्छ, र, यसरी, उहाँको शक्ति अति नै महान् रहेको छ। यसरी मात्र उहाँ सात गुणा तीव्र पारिएको आत्मा हुनुहुन्छ भनेर भन्‍नेहरू पनि छन्। पुत्र आउनुभएपछि उहाँले प्रार्थना गर्दा, उहाँले त्यही आत्मालाई प्रार्थना गर्नुभएको थियो। वास्तवमा, उहाँ एक सृजित प्राणीको दृष्टिकोणबाट प्रार्थना गरिरहनुभएको थियो। देह पूर्ण नभएको हुनाले, उहाँ देहमा आउँदा उहाँ पूर्ण हुनुहुन्नथ्यो र उहाँमा धेरैवटा कमजोरी थिए, र उहाँले देहमा आफ्नो काम गर्दा उहाँलाई धेरै बाधा पुग्यो। त्यसैकारण उहाँले आफ्नो क्रूसीकरणअघि पिता परमेश्‍वरलाई तीन पटक, साथै त्यसभन्दा अघि पनि धेरै पटक प्रार्थना गर्नुभयो। उहाँले आफ्ना चेलाहरूका बीचमा प्रार्थना गर्नुभयो; उहाँले पहाडमाथि बसेर एक्लै प्रार्थना गर्नुभयो; उहाँले माछा मार्ने डुङ्गामा चढेर प्रार्थना गर्नुभयो; उहाँले कैयौँ मानिसका बीचमा प्रार्थना गर्नुभयो; उहाँले रोटी भाँच्दा प्रार्थना गर्नुभयो; र उहाँले अरूलाई आशिष् दिँदा प्रार्थना गर्नुभयो। उहाँले किन त्यसो गर्नुभयो? उहाँले आत्मालाई नै प्रार्थना गर्नुभएको थियो; उहाँ देहको दृष्टिकोणबाट आत्मालाई, स्वर्गमा हुनुहुने परमेश्‍वरलाई प्रार्थना गरिरहनुभएको थियो। त्यसकारण, मानिसको दृष्टिकोणबाट, कामको त्यस चरणमा येशू पुत्र बन्नुभयो। तर, यस चरणमा, देहधारी परमेश्‍वर प्रार्थना गर्नुहुन्न। यस्तो किन हुन्छ? किनभने उहाँले ल्याउने भनेको वचनको काम, साथै वचनको न्याय र सजाय हो। उहाँलाई प्रार्थनाको कुनै आवश्यकता छैन, र उहाँको सेवकाइ भनेको बोल्नु हो। उहाँलाई क्रूसमा टाँगिँदैन, र उहाँलाई मानिसद्वारा शक्तिमा रहेकाहरूको हातमा सुम्पिइँदैन। उहाँले सिधै आफ्नो काम मात्र गरे पुग्छ। येशूले प्रार्थना गर्ने बेलामा, उहाँ स्वर्गको राज्य ओर्लियोस्, पिताको इच्छा पूरा गरियोस्, र काम आओस् भनेर पिता परमेश्‍वरलाई प्रार्थना गरिरहनुभएको थियो। यस चरणमा, स्वर्गको राज्य ओर्लिसकेको छ, त्यसोभए के उहाँले अझै पनि प्रार्थना गर्न आवश्यक छ? उहाँको काम युगलाई अन्त्य गर्नु हो, र अब कुनै नयाँ युग छैन, त्यसोभए के अर्को चरणका लागि प्रार्थना गर्न आवश्यक छ र? मलाई लाग्छ आवश्यक छैन!

मानिसका व्याख्याहरूमा धेरै वटा विरोधाभास छन्। अवश्य नै, यी सबै मानिसका धारणाहरू हुन्; थप छानबिनविना, तिमीहरू सबैले ती सही हुन् भनी विश्‍वास गर्नेथियौ। के तिमीहरूलाई त्रिएक परमेश्‍वर जस्ता विचारहरू मानिसका धारणा मात्र हुन् भन्‍ने थाहा छैन र? मानिसको कुनै पनि ज्ञान पूर्ण छैन। त्यसमा सधैँ अशुद्धताहरू हुन्छन्, र त्यसभित्र मानिसका बुझाइहरू धेरै हुन्छन्। यसले के देखाउँछ भने एउटा सृजित प्राणीले परमेश्‍वरको कामलाई व्याख्या गर्नै सक्दैन। मानिसको दिमागमा धेरै नै कुरा हुन्छन्, जुन सबै तर्क र विचारबाट आउँछन्, र ती सबै सत्यतासँग बाझिन्छन्। के तेरो तर्कले परमेश्‍वरको कामलाई पूर्ण रूपमा विश्लेषण गर्न सक्छ? के तँ यहोवाको सबै कामको एउटा अन्तर्बोध प्राप्त गर्न सक्छस्? के त्यो सबै छर्लङ्गै देख्न सक्ने तँ मानव होस्, कि अनादिदेखि अनन्तसम्म देख्न सक्ने परमेश्‍वर स्वयम् हुनुहुन्छ? के सम्झनै नसकिने अनादिकालदेखि आउने अनन्तकालसम्म देख्न सक्ने तँ होस्, कि परमेश्‍वर हुनुहुन्छ? तँ के भन्छस्? तँ परमेश्‍वरको व्याख्या गर्न कसरी योग्य छस्? तेरो व्याख्या के कुरामा आधारित छ? के तँ परमेश्‍वर होस्? स्वर्ग र पृथ्वी अनि यावत् थोक परमेश्‍वर स्वयम्‌द्वारा सृष्टि गरिएका थिए। यसो गर्ने तँ थिइनस्, त्यसोभए तँ किन तुकहीन व्याख्याहरू गरिरहेको छस्? अब, के तँ निरन्तर त्रिएक परमेश्‍वरमा विश्‍वास गरिरहन्छस्? के तँलाई यसरी यो अत्यन्तै बोझिलो हुन्छ जस्तो लाग्दैन? तैँले तीनवटामा होइन, एउटै परमेश्‍वरमा विश्‍वास गर्नु नै उत्तम हुनेछ। हलुको हुनु नै उत्तम हो, किनभने प्रभुको बोझ हलुको छ।

अघिल्लो: दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

अर्को: अभ्यास (३)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्