परमेश्वरको व्यवस्थापन योजनाको सबैभन्दा ठूलो हितग्राही मानिस नै हो
अहिले, अधिकांश मानिसहरू कुनै दुष्टता नगरी तिनीहरूको कर्तव्य निर्वाहमा अडिग रहन सक्छन्, तर के तिनीहरू निष्ठावान हुन्छन्? के तिनीहरू स्वीकार्य मानकअनुसार आफ्ना कर्तव्य निभाउन सक्छन्? तिनीहरू अझै पनि ठुलो अन्तरले पछि पर्छन्। मानिसहरूले आफ्ना कर्तव्य राम्ररी निभाउन सक्नु वा नसक्नु मानवताको विषयसँग सम्बन्धित हुन्छ। त्यसोभए तिनीहरूले कसरी आफ्ना कर्तव्यहरू राम्ररी निभाउन सक्छन्? तिनीहरूले आफ्ना कर्तव्यहरू राम्ररी निभाउन तिनीहरूमा के कुरा हुनैपर्छ? तिनीहरूले जे कर्तव्य निभाउने भए पनि वा तिनीहरूले जे गर्ने भए पनि, मानिसहरू अति सतर्क र इमानदार हुनैपर्छ, र आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ; त्यसपछि मात्र तिनीहरूका हृदयले स्थिर र शान्त अनुभूत गर्नेछ। आफ्ना जिम्मेवारीहरू पूरा गर्नु भन्नुको अर्थ के हो? त्यसको अर्थ लगनशील हुनु, आफ्ना जिम्मेवारीहरूमा आफ्नो पूरै हृदय लगाउनु, र तैँले गर्नुपर्ने सबै कुराहरू गर्नु हो। उदाहरणका लागि, मानिलिऊँ कुनै मण्डली अगुवाले तँलाई कुनै कर्तव्य निभाउन लगाए र त्यसका सामान्य सिद्धान्तहरूबारे तँलाई सङ्गति दिए, तर विस्तारमा चर्चा गरेनन्—यो कर्तव्य राम्ररी निभाउनका निम्ति तैँले कसरी कार्य गर्नुपर्छ? (आफ्नो विवेकमाथि भर पर्नुपर्छ।) त्यो काम गर्न तैँले कम्तीमा पनि तेरो विवेकमाथि भर पर्नैपर्छ। “आफ्नो विवेकमाथि भर पर्नुपर्छ”—तैँले यी वचनहरू कसरी कार्यान्वयन गर्न सक्छस्? तैँले कसरी यी वचनहरू लागू गर्छस्? (परमेश्वरको घरका हितहरूबारे सोचेर, र परमेश्वरको अपमान हुने कुनै कार्य नगरेर।) यो एउटा पक्ष हो। त्यसैगरी, तैँले कुनै कार्य गर्दा त्यसमाथि बारम्बार चिन्तन गर्नुपर्छ, त्यसलाई सत्यता सिद्धान्तहरूअनुसार मापन गर्नुपर्छ। यदि त्यो काम सकाएपछि तेरो हृदयलाई शान्तिको आभास हुँदैन, र तँलाई त्यसमा अझै पनि एउटा समस्या छ जस्तो लाग्छ, र त्यसलाई जाँच गरेपछि वास्तवमै एउटा समस्या पत्ता लाग्छ भने, त्यस अवस्थामा तैँले के गर्नुपर्छ? तैँले त्यसलाई झट्टै सुल्झाउनुपर्छ र त्यस समस्यालाई समाधान गर्नुपर्छ। यो कस्तो खाले मनोवृत्ति हो? (यो अति सतर्कता र मसिनो कुरामा ध्यान दिनु हो।) यो अति सतर्कता र मसिनो कुरामा ध्यान दिनु हो, जुन इमानदार र कर्कश मनोवृत्ति हो। आफ्नो कर्तव्य निभाउने काम इमानदार, जिम्मेवार मनोवृत्तिमा आधारित हुनैपर्छ, र तैँले यसो भन्नुपर्छः “यो काम मलाई सुम्पिएको छ, त्यसैले मैले यसलाई आफूले जान्न र हासिल गर्न सक्ने दायराभित्रै रहेर आफूले सक्दो गर्नैपर्छ। मैले कुनै गल्तीहरू गर्न मिल्दैन।” तैँले “नजिक-नजिक पुगे पनि हुन्छ” भन्ने मानसिकता राख्न मिल्दैन। यदि तँ सधैँ झाराटारुवा तरिकाले सोच्छस् भने, के तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छस्? (सक्दिनँ।) के कुराले झाराटारुवा बनाउँछ? के त्यो तेरो शैतानी, भ्रष्ट स्वभावले होइन र? झाराटारुवा हुनु भनेको भ्रष्ट स्वभावको प्रकटीकरण हो; मानिसहरूलाई तिनीहरूका भ्रष्ट स्वभावहरूद्वारा बाध्य तुल्याइएपछि यस्तो हुन्छ। तिनीहरूले आफ्ना कर्तव्यमा प्राप्त गर्ने नतिजालाई यसले प्रत्यक्ष प्रभाव पार्छ, यसले तिनीहरूलाई आफ्नो काम भद्रगोल बनाउनेसमेत तुल्याउँछ, र मण्डलीको काममा असर पुर्याउँछ। यो परिणाम अत्यन्तै गम्भीर हुन्छ। यदि तँ आफ्नो कर्तव्यमा निरन्तर रूपले झाराटारुवा हुन्छस् भने, यो कस्तो समस्या हो? यो तेरो मानवतासँग सम्बन्धित समस्या हो। विवेक र मानवता नभएका मानिसहरू मात्र निरन्तर रूपले झाराटारुवा हुन्छन्। के तिमीहरूलाई सधैँ झाराटारुवा हुने मानिसहरू भरपर्दा हुन्छन् जस्तो लाग्छ? (लाग्दैन।) तिनीहरू फिटिक्कै भरपर्दा हुँदैनन्। झाराटारुवा तरिकाले काम गर्ने व्यक्ति गैरजिम्मेवार व्यक्ति हो, र आफ्ना कार्यहरूमा गैरजिम्मेवार हुने व्यक्ति इमान्दार व्यक्ति होइन—त्यो भरोसायोग्य व्यक्ति होइन। उसले जे कर्तव्य निभाए पनि, भरोसा गर्न नमिल्ने व्यक्ति झाराटारुवा नै हुन्छ, किनकि उसको चरित्र स्वीकार्य मानकअनुसारको हुँदैन, उसले सत्यतालाई प्रेम गर्दैन, र ऊ निश्चय नै इमान्दार व्यक्ति होइन। के परमेश्वरले भरोसा गर्न नमिल्ने मानिसहरूलाई कुनै पनि कुरा सुम्पन सक्नुहुन्छ? कदापि सक्नुहुन्न। परमेश्वरले मानिसहरूको हृदयको गहिराइ जाँच्नुहुने हुनाले, उहाँले कर्तव्यहरू निभाउन छली मानिसहरू कदापि प्रयोग गर्नुहुन्न; परमेश्वरले इमान्दारहरूलाई मात्र आशिष् दिनुहुन्छ, र उहाँले इमान्दार र सत्यतालाई प्रेम गर्नेहरूमाथि मात्र काम गर्नुहुन्छ। जबजब कुनै छली व्यक्तिले कुनै कर्तव्य निभाउँछ, त्यो मान्छेद्वारा गरिएको बन्दोबस्त हुन्छ, र त्यो मान्छेको गल्ती हुन्छ। झाराटारुवा हुन मन पराउने मानिसहरूमा विवेक र समझ हुँदैन, तिनीहरूको मानवता कमजोर हुन्छ, तिनीहरू भरोसायोग्य हुँदैनन्, र तिनीहरू फिटिक्कै भरपर्दा हुँदैनन्। के पवित्र आत्माले त्यस्ता मानिसहरूमाथि काम गर्नुहुनेछ? कदापि गर्नुहुनेछैन। त्यसैले, आफ्ना कर्तव्यमा झाराटारुवा हुन रुचाउने मानिसहरू परमेश्वरद्वारा कहिल्यै सिद्ध पारिनेछैनन्, र तिनीहरू उहाँद्वारा कहिल्यै प्रयोग गरिनेछैनन्। जोझाराटारुवा हुन रुचाउने मानिसहरू सबै छली, दुष्ट मनसायले भरिएका हुन्छन्, र तिनीहरूमा विवेक र समझ बिलकुलै हुँदैन। तिनीहरू सिद्धान्त वा सीमाहरूविना कार्य गर्छन्; तिनीहरू आफ्नै रुचिअनुसार कार्य गर्छन्, र हरप्रकारका खराब कुराहरू गर्न सक्षम हुन्छन्। तिनीहरूका सबै कार्यहरू तिनीहरूको मुडमै आधारित हुन्छन्: यदि तिनीहरू राम्रो मुडमा छन् र प्रसन्न छन् भने, तिनीहरूले अलि राम्रो गर्छन्। यदि तिनीहरू खराब मुडमा छन् र बेखुसी छन् भने, तिनीहरू झाराटारुवा हुन्छन्। यदि तिनीहरू रिसाएका छन् भने, तिनीहरूले मनमौजी र असावधान हुन र महत्त्वपूर्ण मामिलाहरूमा ढिलाइ गर्न सक्छन्। तिनीहरूका हृदयमा परमेश्वर बिलकुलै हुनुहुन्न। तिनीहरू यतिकै मृत्यु पर्खेरै दिन कटाउँछन्। त्यसैले, झाराटारुवा तरिकाले कर्तव्य निभाउने मानिसहरूलाई जसरी उपदेश दिइए पनि, त्यो काम लाग्दैन, र तिनीहरूसित सत्यताबारे सङ्गति गर्नु बेकार हुन्छ। बारम्बारको चेतावनीपछि पनि तिनीहरू आफ्नो मार्ग परिवर्तन गर्न अस्वीकार गर्छन्, तिनीहरू हृदयहीन छन्; तिनीहरूलाई हटाउन मात्र सकिन्छ, त्यही नै सबैभन्दा उचित कार्य हो। हृदयहीन मानिसहरूको व्यवहारमा कुनै सीमा हुँदैन; तिनीहरूलाई केही कुराले नियन्त्रण गर्न सक्दैन। के यस्ता मानिसहरूले विवेकका आधारमा मामिलाहरू सम्हाल्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? (तिनीहरूमा विवेकको मानक हुँदैन, न त तिनीहरूमा मानवता वा सीमा नै हुन्छ।) ठिक भनिस्। तिनीहरूको व्यवहारमा विवेकको मानक हुँदैन; तिनीहरू आफ्ना प्राथमिकताका आधारमा कार्य गर्छन्, आफ्नो मुडअनुसार आफूले जे चाह्यो त्यही गर्छन्। तिनीहरूले आफ्ना कर्तव्यमा प्राप्त गर्ने नतिजाहरू राम्रा वा नराम्रा हुने कुरा तिनीहरूको मुडमै भर पर्छ। तिनीहरूको मुड राम्रो छ भने, नतिजाहरू राम्रा हुन्छन्, तर मुड खराब छ भने, नतिजाहरू खराब हुन्छन्। के व्यक्तिले यसरी आफ्नो कर्तव्य निभाउँदा त्यो स्वीकार्य मानक पूरा गर्ने सम्भावना हुन्छ? तिनीहरू सत्यता सिद्धान्तहरूका आधारमा नभई तिनीहरूको मुडका आधारमा आफ्ना कर्तव्यहरू निभाउँछन्; यसर्थ, तिनीहरूका लागि सत्यतालाई व्यवहारमा लागू गर्नु र परमेश्वरको अनुमोदन प्राप्त गर्नु अत्यन्तै कठिन हुन्छ। शारीरिक प्राथमिकताका आधारमा कार्य गर्नेहरूले बिलकुलै सत्यतालाई व्यवहारमा लागू गर्दैनन्।
मानिसले गर्ने हरेक काम सत्यता खोजी गर्ने र त्यसलाई व्यवहारमा लागू गर्नेसँग सम्बन्धित हुन्छ; सत्यतासँग सम्बन्धित हुने जुनै पनि कुरा मानिसहरूको मानवताको गुणस्तर र तिनीहरूले कामकुरा गर्दा राख्ने मनोवृत्तिसँग सम्बन्धित हुन्छ। प्रायजसो, यदि मानिसहरूले सिद्धान्तपरक तरिकाले कामहरू गर्दैनन् भने, त्यसको कारण तिनीहरूले तिनका पछाडिका सिद्धान्तहरू नबुझ्नु हो। तर धेरैजसो, मानिसहरूले सिद्धान्तहरू नबुझ्ने मात्र नभई तिनीहरू ती बुझ्ने इच्छासमेत गर्दैनन्। तिनीहरूलाई तिनका बारेमा अलिअलि थाहा भए पनि, तिनीहरू अझै राम्रो गर्ने इच्छा गर्दैनन्। तिनीहरूको हृदयमा यो मानक र यो मापदण्ड छैनन्। त्यसैले, तिनीहरूलाई राम्ररी कामकुरा गर्न निकै कठिन हुन्छ, तिनीहरूलाई सत्यताअनुरूप र परमेश्वरलाई सन्तुष्ट तुल्याउने किसिमले कामकुरा गर्न निकै कठिन हुन्छ। मानिसहरूले आफ्ना कर्तव्यहरू स्वीकार्य रूपमा निर्वाह गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा तिनीहरू केका लागि लागिपर्छन्, तिनीहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन्, र तिनीहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्छन् कि गर्दैनन् भन्नेमा भर पर्छ। यदि मानिसहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन् भने, तिनीहरूलाई सत्यता स्विकार्न सजिलो हुँदैन, जुन निकै समस्याजनक कुरो हो—तिनीहरूले कुनै कर्तव्य निभाए पनि, तिनीहरू सेवा प्रदान गरिरहेका मात्र हुन्छन्। तैँले सत्यता बुझे पनि वा नबुझे पनि, र तैँले सिद्धान्तहरू बोध गर्न सके पनि वा नसके पनि, यदि तैँले तेरो विवेकका आधारमा आफ्नो कर्तव्य निभाइस् भने, तैँले कम्तीमा पनि औसत नतिजा हासिल गर्नेछस्। यो मात्र स्वीकार्य हुन्छ। यदि तैँले त्यसपछि सत्यता खोज्न र सत्यता सिद्धान्तहरूअनुसार कामकुरा गर्न सकिस् भने, तैँले परमेश्वरका मागहरू पूर्ण रूपमा पूरा गर्न र परमेश्वरको इच्छाबमोजिमको हुन सक्नेछस्। परमेश्वरका मागहरू के-के हुन्? (कर्तव्य निर्वाहमा मानिसहरूले तिनीहरूका सारा हृदय र शक्ति दिऊन्।) “तिनीहरूका सारा हृदय र शक्ति दिऊन्” लाई कसरी बुझ्नुपर्छ? यदि मानिसहरूले आफ्नो कर्तव्य निर्वाह तिनीहरूको सारा मन समर्पित गर्छन् भने, तिनीहरूले सारा हृदय लगाइइरहेका हुन्छन्। यदि तिनीहरूले आफ्नो भएभरको शक्ति आफ्नो कर्तव्य निर्वाह गर्नमा प्रयोग गर्छन् भने, तिनीहरूले तिनीहरूको सारा शक्ति लगाइरहेका हुन्छन्। के तेरो सारा हृदय र शक्ति लगाउनु सजिलो छ र? विवेक र समझविना यो हासिल गर्न सजिलो छैन। यदि कुनै व्यक्तिमा हृदय छैन, यदि उसमा बौद्धिकता छैन र उसले मनन गर्न सक्दैन, र कुनै समस्या सामना गर्नुपर्दा सत्यता खोज्न जान्दैन र ऊसँग त्यसो गर्ने तरिका वा स्रोतसाधन छैन भने, के उसले आफ्नो सारा हृदय लगाउन सक्छ? पक्कै पनि सक्दैन। त्यसोभए, यदि कुनै व्यक्तिसँग हृदय छ भने, के उसले आफ्नो सारा हृदय लगाउन सक्छ र? (सक्छ।) यदि कुनै व्यक्तिमा हृदय छ, तर उसले त्यसलाई आफ्नो कर्तव्य निभाउने काममा प्रयोग गर्दैन, बरु नीच र कुटिल मार्गहरूबारे मात्र सोच्छ, र ती प्रयोग गरेर अनुचित कुराहरू गर्छ भने, के उसले आफ्नो कर्तव्यमा सारा हृदय लगाउन सक्छ? (सक्दैन।) मानिलिऊँ उसले काँटछाँट भोग्छ र आफ्नो भ्रष्ट स्वभाव चिन्छ, अनि उसले आफू पश्चात्ताप गर्न इच्छुक रहेको र ऊसँग आफ्नो कर्तव्य राम्ररी निभाउने सङ्कल्प भएको भनी परमेश्वरसामु कसम खान्छ, तर कठिनाइ वा परीक्षाहरूमा पर्दा उसको हृदय हल्लिन्छ, उसले आफ्नो कर्तव्य आधा मनले गर्छ, वा उसमा नकारात्मकता पैदा हुन्छ र ऊ भाग्छ भने—यो समयमा, के उसले आफ्नो सारा हृदय लगाउन सक्छ? (सक्दैन।) तिमीहरूले भर्खरै भन्यौ कि यदि कसैसँग हृदय छ भने उसले आफ्नो सारा हृदय लगाउन सक्छ। के यो कथनमा कुनै दम छ? (छैन।) तैँले जे गरे पनि, तैँले तेरो आवेग र कल्पनाहरूमाथि भर पर्नु हुँदैन, तेरो जोशमाथि त झनै भर पर्नु हुँदैन; तँ तेरा भावनाहरूका आधारमा वा मानव विचारहरूलाई पछ्याएर अघि बढ्नु हुँदैन—बरु, तैँले निरन्तर रूपले सत्यताको खोजी र अभ्यास गर्नुपर्छ। उत्साह र भावनामा, वा जोश र क्षणिक आवेगमा भर परेर तैँले तेरो कर्तव्य राम्ररी निभाउनेछस् भन्ने कुराको सुनिश्चितता हुन सक्दैन। यो हरव्यक्तिले सानो छँदा, उसले हुर्किएपछि अभिभावकप्रतिको सन्तानको धर्म निभाउन चाहनुजस्तै हो। जब तँ हुर्किन्छस् र तैँले त्यो आकाङ्क्षा पूरा गर्ने समय आउँछ, तब त्यो गर्नबाट तँलाई के-कस्ता कठिनाइहरूले बाधा पुर्याउन सक्लान्? यो वास्तविक समस्याहरूसँग सम्बन्धित छ; हरव्यक्तिका लागि वास्तविकता के हो भने, तिनीहरूका कठिनाइहरू तिनीहरूका आदर्शहरूभन्दा ठूला हुन्छन्। उदाहरणका लागि, तैँले कलेजको पढाइ सकाएर पैसा कमाउन थालेपछि यस्तो सोच्छस्, “अब त मैले पैसा कमाइरहेको छु, त्यसैले पहिला केही राम्रा कपडाहरू किनेर मेरा आमाबुबालाई लगाइदिनुपर्छ, र उनीहरूका लागि केही स्वास्थ्य सेवासम्बन्धी सामग्रीहरू किनिदिनुपर्छ र अबउप्रान्त मैले उनीहरूप्रतिको सन्तानको धर्म निभाउनुपर्छ। म उनीहरूलाई मेरो पैसा खर्च गर्न दिनेछु, ताकि उनीहरूले हरेक दिन खुसीका साथ कटाउन सकून्।” तर तैँले तेरो ज्याला पाएर हिसाब गरेपछि, तेरो भाडा, खानेबस्ने खर्च, र अन्य विविध खर्चहरू कटाएपछि, खासै केही बाँकी रहँदैन, र तैँले अझै आफ्नै लागि केही राम्रा कपडाहरू किन्नुपर्ने हुन्छ। तेरो सबै पैसा खर्च गरिसकेपछि, तँलाई असजिलो अनुभूति हुन्छ, किनभने तैँले तँ हुर्केपछि पैसा कमाएर तेरा आमाबुबाप्रति सन्तानको धर्म निभाउनेछु भनी तैँले गरेको वाचा तोडिस्। त्यसपछि तैँले यस्तो सोच्छस्, “म मेरा आमाबुबाप्रति कर्तव्यनिष्ठ भइरहेको छैनँ, मैले अर्को महिना त अलिकति पैसा बचाउनैपर्छ।” त्यसपछि अर्को महिना आउँछ, र तैँले कमाएको पैसा अझै पनि पर्याप्त नभएपछि तैँले यस्तो सोच्छस्, “मेरा आमाबुबाप्रतिको धर्म निभाउन मसँग प्रचुर समय छ।” बिस्तारै, समयक्रमसँगै तैँले आफ्नो जोडी भेट्टाउँछस्, पारिवारिक जीवन सुरु गर्छस्, र बालबच्चा जन्माउँछस्, र पैसा झनै सीमित हुँदै जान्छ। तेरो अवस्था र जीवनका परिस्थितिहरूका आधारमा, आमाबुबाप्रतिको सन्तानको धर्म निभाउने तेरो चाहना पूरा गर्न निकै कठिन बन्छ, किनभने तैँले तेरो परिवारलाई पनि हेर्नुपर्छ र जीवन धान्नुपर्छ, र तेरा बालबच्चाको शिक्षामा खर्च गर्नुपर्छ; बाँच्नका लागि तैँले स्थानीय तानाशाह र भ्रष्ट अधिकारीहरूसँग पनि घुलमिल हुनुपर्छ, जसले तँलाई दुःखी तुल्याउँछ। तैँले तेरा आमाबुबाप्रतिको सन्तानको धर्म निभाउन चाहे पनि, त्यो बेकार हुन्छ; वास्तविक जीवनका विविध कठिनाइहरूले तँलाई थिच्छन्, र तेरा आमाबुबाप्रतिको सन्तानको धर्म निभाउने तेरो चाहनालाई वास्तविकताले बिस्तारै नष्ट पारिदिन्छ। त्यसोभए, के सन्तानको धर्म निभाउने तेरो चाहना न्यायोचित छ? (छैन।) त्यसोभए तँ सानो छँदा आमाबुबाप्रति कर्तव्यनिष्ठ हुन्छु भन्ने तेरो चाहना साँचो थियो कि झूट थियो? (साँचो।) त्यस समयमा तेरो चाहना साँचो थियो, तर त्यो भोलाभाला, बेवकुफ र मूर्खतापूर्ण पनि थियो; त्यो भरपर्दो थिएन। तेरो वास्तविक स्वरूप कुन हो? तँबाट प्रकट हुने कुराहरू र तैँले तेरो वास्तविक जीवनमा अभिव्यक्त गर्ने कुराहरू तेरो साँचो मानवता र तैँले तेरा प्रियजनहरूप्रति राख्ने वास्तविक मनोवृत्ति हुन्। तैँले अन्जानमा तेरो विवेकको ज्ञान, तेरो आत्मालोचना, र तेरो जिम्मेवारी र दायित्वबोध गुमाइन्जेल सन्तानले निभाउनुपर्ने आमाबुबाप्रतिको धर्मलाई तैँले थाती राखिरहन्छस्। त्यसपछि तैँले यस्तो सोच्छस्: “हरव्यक्ति यस्तै हुन्छ। म अरू कोहीभन्दा खराब भइरहेको छैनँ, र त्यसबाहेक, मसँग वास्तविक कठिनाइहरू पनि छन्!” तेरा हरेक निहुँ, तर्क, र बहानाहरू—ती के हुन्? ती तेरो भ्रष्ट स्वभावकै पाटो हुन्। तेरो लागि वास्तविकता जति नै कठिन भए पनि, तैँले लिनुपर्ने जिम्मेवारीहरूबाट भाग्न त्यसले जति कारण र निहुँहरू दिए पनि, र तेरा तर्क र निहुँहरू जति बलिया भए पनि, अन्त्यमा तैँले अभिव्यक्त गर्ने कुराहरू नै तेरो पूर्ण र साँचो रूप हो। त्यसोभए तैँले कसरी सकारात्मक आदर्शलाई पूरा गर्न सक्छस्? वास्तविक जीवनमा सत्यता बुझ्नु वा प्राप्त गर्नुअघि मानिसहरूले अभिव्यक्त गर्ने कुराहरू के-के हुन्? के ती न्यायोचित र सकारात्मक हुन्छन्? (हुँदैनन्।) यदि तैँले सत्यता बुझ्दैनस् भने, तेरा कार्यहरू जति नै राम्रा भए पनि वा तेरा विचारहरू जति नै सही देखिए पनि, ती भ्रष्ट स्वभावहरू नै हुन्, र ती सत्यतासँग मिल्दैनन्। त्यसैले, यदि तँ सत्यता पछ्याउँदैनस् वा बुझ्दैनस् भने, तँलाई सत्यता अभ्यास गर्न निकै कठिन हुनेछ, र तैँले भ्रष्ट स्वभावका प्रकटीकरणहरू जिउनेछस्। तैँले आफूलाई जति राम्रो, जति महान्, जति सोझो छु भन्ठाने पनि, तैँले यो जगमा गर्ने कामकुराहरू सम्भवत सत्यतासँग मिल्न सक्दैनन्। बुझ्यौ? (मैले अलिअलि बुझेँ।) तिमीहरूले के बुझ्यौ? (सबै मानिसहरू आफ्ना कर्तव्यहरू राम्ररी निभाउन चाहन्छन्, तर तिनीहरू आफ्ना भ्रष्ट स्वभावहरूको नियन्त्रणमा हुने भएकाले तिनीहरूले आफ्ना विवेकअनुसार आफ्ना कर्तव्यहरू निभाउने इच्छा गरे पनि, यो हासिल गर्न सक्दैनन्। त्यसकारण, तिनीहरूले आफ्ना कर्तव्यहरू राम्ररी निभाउन आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नैपर्छ।) अरू कोही, योबाहेक अरू के बुझिस्? (सत्यता नबुझ्दा व्यक्तिले गर्ने कुराहरू सत्यताको अभ्यास होइनन्, चाहे मानिसहरूले त्यसलाई जसरी हेरून्। मानिसहरूले यी कार्यहरू निकै राम्रा छन् भनेर सोचे पनि, ती कार्यहरू सम्भवत परमेश्वरको इच्छासँग मिल्न सक्दैनन्, त्यसैले सत्यता बुझ्नु निकै महत्त्वपूर्ण छ भन्ने कुरा मैले बुझेको छु।) निकै राम्रो कुरा गरिस्! यो समयको दौरान तिमीहरू सबैले केही प्रगति गरेका छौ जस्तो देखिन्छ। सत्यता प्राप्त गर्नु सजिलो कुरा होइन; त्यसका लागि मानिसहरूले धेरै मूल्य चुकाउनुपर्छ। देहविरुद्ध विद्रोह गर्नु अनि सत्यताको खोजी र अभ्यास गर्नुका साथै, मानिसहरूले धेरै पीडा र शोधन पनि भोग्नुपर्छ, र तिनीहरूले शैतानबाट हुने उत्पीडन र क्रूर दुर्व्यवहारको अनुभव गर्नैपर्छ—नमरे पनि तिनीहरूले ठुलो कष्ट भोग्नैपर्छ—तिनीहरूले त्यसपछि मात्र आफ्ना भ्रष्ट स्वभावहरूलाई हटाउन र सत्यता प्राप्त गर्न सक्छन्। सत्यता प्राप्त गर्नु भनेको न्याय र सजाय अनुभव गर्ने, र फलतः धोइने एउटा प्रक्रिया हो भनेर भन्न सकिन्छ। तैँले तँसँग भ्रष्ट स्वभाव भएको कुरा स्विकार्लास्, र सत्यता पनि स्विकार्लास्, तर जब तैँले सत्यता अभ्यास गर्छस्, के तेरो भ्रष्ट स्वभाव प्रकट भएर त्यसले तँलाई अवरोध र बाधा पुर्याउनेछैन र? (पुर्याउनेछ।) त्यस समयमा मानिसहरूको हृदयमा के-कस्ता कुराहरू पैदा हुन्छन्? (तिनीहरू विवाद गर्छन् र बहानाहरू खोज्छन्। तिनीहरू स्वार्थीपन प्रकट गर्छन्, र आफ्नै घमण्ड र आडम्बरबारे सोचविचार गर्छन्।) यो मानिसका स्वभावहरूसँग सम्बन्धित समस्या हो। कतिपय मानिसहरू बिलकुलै केही पनि भन्दैनन् वा प्रकट गर्दैनन्, तर तिनीहरूको स्वभाव हेरिस् भने, तैँले तिनीहरूका हृदयमा विद्रोहीपन भएको कुरा प्रस्ट रूपमा देख्न सक्छस्। विद्रोहीपन भनेको एक प्रकारको भ्रष्ट स्वभाव हो। तिनीहरू विवाद गरिरहेका वा बहानाहरू खोजिरहेका भए पनि, त्यो सबै तिनीहरूका आफ्नै स्वार्थ, गौरव, हैसियत, र आडम्बर कायम राख्न, कुनै मनसाय वा उद्देश्य हासिल गर्नका निम्ति गरिएका हुन्। यदि कुनै व्यक्तिमा यस प्रकारको विद्रोही स्वभाव छ भने, त्यसले परमेश्वरप्रति शत्रुतापूर्ण र विदोही हुने थरीथरीका भ्रष्ट स्वभावहरू पैदा गराउनेछ। विद्रोहीपन भनेको के हो? सामान्य रूपमा भन्नुपर्दा, विद्रोहीपन भनेको व्यक्तिको हृदयभित्रै प्रतिरोध हुनु, उसले आफूलाई परमेश्वरविरुद्ध उतार्नु, र यसो भन्नु होः “तपाईंले बोल्ने वचनहरू किन मैले सोच्नेभन्दा फरक छन्? मलाई किन ती मन पर्दैनन्? मलाई ती मनै पर्दैनन्, त्यसैले म तिनलाई स्विकार्नै सक्दिनँ, र म तपाईंले बोल्नुभएको सुन्न अनिच्छुक छु।” तिनीहरू आफ्ना हृदयलाई परमेश्वरविरुद्ध राख्छन्, र तिनीहरू यतिसम्म अनाज्ञाकारी हुन्छन् कि वास्तविकतालाई नै विरोध गर्छन्, तिनीहरू परमेश्वरले गर्नुभएका सबैकुरा र तिनीहरूबाट उहाँले गर्नुभएका मागहरूको विरोध गर्छन्। मानिसहरू यहीँनेर विद्रोही हुन्छन्, र सत्यता स्विकार्न र अभ्यास गर्नमा मानिसहरूका लागि सबैभन्दा ठूलो कठिनाइ यही हो। चाहे तैँले बहानाहरू खोजिरहेको होस् वा विविध वस्तुगत तर्क वा सर्तहरू खोजिरहेको होस्, जेसुकै भए पनि, तँभित्रै रहेको र तँलाई समस्या निम्त्याउने विद्रोही स्वभाव यही नै हो। मानौँ तैँले यो विद्रोही स्वभाव समाधान गर्न, यस प्रकारको स्थितिलाई उल्ट्याउन सकिस्, र तँलाई जे आइपरे पनि तैँले यसो भन्छस्, “मलाई यस्तो भएको छ, र न त म सत्यता बुझ्छु, न म त्यो अभ्यास गर्न जान्दछु। मैले गर्न सक्ने भनेकै अभ्यासको मार्ग भेट्टाउन परमेश्वरलाई प्रार्थना गर्ने र परमेश्वरको वचन पढ्नमा भरर पर्ने, वा सत्यता बुझ्ने व्यक्तिबाट खोजी गर्ने मात्र हो। यदि मैले सत्यताबमोजिम, परमेश्वरले रुचाउनुहुने, र उहाँलाई सन्तुष्टि मिल्ने तरिकाले अभ्यास गर्न सिकेँ भने, म त्यसरी नै अभ्यास गर्नेछु।” त्यस्तो मानसिकता राख्नु ठिक हो; यो सत्यतालाई प्रेम गर्ने व्यक्ति हो। यदि तैँले यस तरिकाले सत्यता पछ्याउँछस्, सबै असफलताहरूका बाबजुद पनि राम्रो गर्न खोज्छस्, नकारात्मक र निरुत्साहित बन्दैनस् भने, तैँले तेरो भ्रष्ट स्वभाव हटाउन र परमेश्वरको मुक्ति प्राप्त गर्न सक्नेछस्।
जब परमेश्वरले पहिलो पटक अय्यूबको परीक्षा लिनुभयो, के अय्यूबले त्यसबेलाको उसको बुझाइका आधारमा परमेश्वरको इच्छालाई सही रूपमा चिन्न सके? (सकेनन्।) त्यसोभए अय्यूबले के अभिव्यक्त गरे? उनले समर्पण गरे कि विद्रोह, प्रतिरोध र गुनासो? (उनले समर्पण गरे।) आफ्नो भित्रीदेखि बाहिरी भागसम्म उनी कस्तो स्थितिमा थिए? के उनले कहिल्यै थोरै पनि अनिच्छा वा प्रतिरोध देखाए? देखाएनन्। बाइबलको अभिलेखमा एक सामान्य विवरण मात्र देखिए पनि, अय्यूबले कहिल्यै विद्रोही स्थिति प्रकट गरेको बिलकुलै देखिँदैन। यी वचनहरूबाट, के तैँले अय्यूबले थुप्रै सत्यता बुझेको कुरा देख्न सक्छस्? (सक्दिनँ।) वास्तवमा, अय्यूबले त्यसवखत के-कस्तो सत्यता बुझेका थिए? के परमेश्वरले समर्पणको सत्यताबारे बोल्नुभयो? के उहाँले मानिसहरूले कसरी उहाँविरुद्ध विद्रोह गर्नु हुँदैन भन्नेबारे बोल्नुभयो? उहाँले यीध्ये कुनै कुराका बारेमा बोल्नुभएन। अय्यूबको स्थिति के थियो? त्यसवखत उनीसँग उसको जगका रूपमा परमेश्वरको अहिलेको वचन नभए तापनि, उनको आचारण र उनले गरेका सबै कुराहरूले उनको हृदयका सोचहरू र उनको हृदयभित्रको स्थिति सबै मानिसहरूलाई देखाइदिए। के यो मानिसहरूले देख्न र अनुभूत गर्न सक्ने कुरा होइन र? (हो।) कतिपय मानिसहरू यसो भन्छन्: “उनले मनमा के सोचिरहेका थिए, हामीलाई थाहा छैन।” तैँले त्यो जान्नु आवश्यक छैन; तैँले उसका बाहिरी व्यवहारहरू देख्न सक्नुपर्छ। परीक्षाहरूको सामना गर्दा, उनले पूर्णतः विद्रोहरहित र परमेश्वरप्रति पूर्णतया समर्पित व्यक्तिको व्यवहार देखाएः उनी आफ्ना कपडाहरू च्यातेर लम्पसार परे। उनको लम्पसार पराइ उनको हृदयभित्रैबाट आएको थियो, र त्यो उनका सबै सोचहरू र त्यसबेला उनले व्यक्त गर्न चाहेका सबै कुराहरूसित पूर्णतया मिलेको थियो। यसले उनको पछ्याइ र परमेश्वरप्रतिको उनको मनोवृत्ति जनाउँथ्यो। त्यसोभए परमेश्वरप्रतिको उनको मनोवृत्ति के-कस्तो थियो? परमेश्वरले उनलाई गर्नुभएका कामकुराप्रति उनको प्रतिक्रिया के-कस्तो थियो? उनको पहिलो प्रतिक्रिया भनेको कुनै आपत्ति वा असहमतिविना स्वीकार र समर्पण गर्नु थियो। आत्मिक बुझाइ नभएका कतिपय मानिसहरू सन्देहसाथ यसो भन्छन्: “संसारमा कसरी त्यस्तो व्यक्ति हुन सक्छ? के ऊ सन्त होइन र? यो झूट नै हुनुपर्छ।” वास्तविकता के हो भने, अय्यूबजस्ता मानिसहरू साँच्चै छन्, तर अय्यूब त एकजना मात्र थिए, र मलाई त अर्को कहिल्यै हुनेछैन जस्तो लाग्छ। अय्यूबको स्थिति अविश्वासीहरूले भन्ने गरेजस्तै “निःस्वार्थ र चाहनारहित” थियो। उनीमाथि परमेश्वरका परीक्षाहरू आइपर्दा उनले केही भनेनन्; बरु, उनले आफ्ना कार्यहरूद्वारा परमेश्वरप्रतिको आफ्नो मनोवृत्ति व्यक्त गरे। उनीमाथि परीक्षाहरू आइपर्दा, उनले साँच्चै स्विकाकार्थे र उनी साँच्चै समर्पित थिए, अनि बिलकुलै प्रतिरोधी थिएनन् भन्ने कुरा उनको लम्पसार पराइले प्रमाणित गर्यो। उनले देखाउनका लागि कुनै बहाना वा नाटक गरिरहेका थिएनन्; उनले अरू मानिसले देखून् भन्नाका लागि नभई परमेश्वरले देख्नुहोस् भन्नाका लागि यसो गरे। त्यसोभए अय्यूबले कसरी यस प्रकारको समर्पण हासिल गरे? उनले एउटा परीक्षा भोगेर अनि समर्पण बुझेर मात्र यस प्रकारको समर्पण हासिल गर्न सकेका थिएनन्। धर्तीमा जिउने भ्रष्ट मानवजातिको हरसदस्य शैतानद्वारा भ्रष्ट तुल्याइएको छ; तिनीहरू सबैमा विद्रोही स्वभावहरू छन्। मानिसहरू स्वार्थी छन्, र तिनीहरू सबैजना परमेश्वरविरुद्ध विद्रोह गर्छन्। यो शैतानद्वारा भ्रष्ट तुल्याइएको प्रकृति हो; सम्पूर्ण भ्रष्ट मानवजाति यही प्रकृतिका हुन्छन्। तर के अय्यूब रातारात यो हदसम्म परमेश्वरप्रति समर्पित हुन सके? अवश्य सकेनन्। उनले पछ्याउनुपर्थ्यो, र त्यसैगरी, पछ्याउनको लागि उनीसँग स्पष्ट लक्ष्य, र सही मार्ग हुनुपर्थ्यो। साथसाथै, उनीसित परमेश्वरको मार्गदर्शन पनि हुनुपर्थ्यो, र परमेश्वरले उनको हेरचाह र सुरक्षा गर्नुपर्थ्यो। अय्यूबले सही मार्गमा हिँड्न, परमेश्वरको डर मान्न अनि दुष्टताबाट अलग बस्न खोजेकाले मात्र उनले परमेश्वरको अनुग्रह, करुणा, र आशिष् प्राप्त गर्न सके; त्यसपछि, उनले निरन्तर रूपले परमेश्वरको हात र मार्गदर्शन देखे, र निरन्तर रूपले परमेश्वरको हेरचाह प्राप्त गरे। त्यसपछि मात्र उनी बढ्न सके। तिमीहरूलाई किन अय्यूब बीस वर्षको हुँदा परमेश्वरले उनको त्यस्तो परीक्षा लिनुभएन जस्तो लाग्छ? (त्यस समयमा उनीसित कद थिएन।) समय आइसकेकै थिएन। उनले किन चालिस वर्षको उमेरमा त्यस्तो ठूलो परीक्षा भोगेनन्? समय अझै पनि आइसकेकै थिएन। परमेश्वरले किन उनी सत्तरी वर्षको हुँदा मात्र उनको परीक्षा लिनुभयो? (परमेश्वरको समय आएको थियो।) ठिक भनिस्, समय आएको थियो। के अब तिमीहरू सबैजनाले सत्तरी वर्ष पुगुन्जेल पर्खनु आवश्यक छ? (छैन।) किन छैन? (अहिले, हामी हाम्रै कानले परमेश्वरका वचनहरू सुन्न सक्छौँ। परमेश्वरले हामीसँग निकै प्रस्ट रूपमा उहाँको इच्छा र उहाँका मापदण्डहरूबारे चर्चा गर्नुहुन्छ।) त्यो युगको काम र यो युगको काम फरक छन्। त्यो युगमा, परमेश्वर मान्छेसँग बोल्नुहुन्थेन, र मान्छेले सत्यता बुझ्थेन; परमेश्वरले केही सरल प्रतिनिधिमूलक काम मात्र गर्नुहुन्थ्यो। परमेश्वरमा विश्वास गर्नेहरूले अगमवक्ताहरूले सुनाएका परमेश्वरका वचनहरू पालना मात्र गर्थे, र परमेश्वरको डर मान्नेहरूले उहाँको आशिष प्राप्त गर्थे। परमेश्वरमा साँच्चै विश्वास नगर्नेहरू अन्यौलमा हुन्थे; बढीमा, तिनीहरूले त्याग र प्रार्थना गर्ने गर्थे, जुन त्यति नराम्रो थिएन। त्यस समयमा, के अय्यूबका साथीहरू पनि परमेश्वरका विश्वासी थिएनन् र? के तिनीहरूको विश्वास अय्यूबकोभन्दा धेरै कमजोर थिएन र? तिनीहरू र अय्यूब एउटै युगका थिए, तर के अय्यूब तिनीहरू भन्दा निकै राम्रो थिएनन् र? (थिए।) किन त्यस्तो ठुलो भिन्नता थियो? (यो मानिसहरूको प्रकृति र तिनीहरूको पछ्याइसँग सम्बन्धित छ।) ठिक भनिस्, यो मानिसहरूको पछ्याइसँग सम्बन्धित छ। तैँले जे रोप्छस् त्यसैको बाली उठाउँछस्। यदि तैँले केही रोपिनस् भने, समय आएपछि तँसँग अलिकति पनि बाली हुनेछैन। ती केही अन्यौलग्रस्त मानिसहरूले पछ्याउँदैनथे; तिनीहरू आजको मण्डलीका अविश्वासीहरू जस्तै थिए। तिनीहरूले नियमहरू मात्र पालना गर्थे, र हरकुरामा नियमहरू पालना गर्न रुचाउँथे। तिनीहरूले सत्यता बुझ्दैनथे, र तिनीहरूलाई आफू सधैँ सही छु र सबै कुरा बुझेको छु भन्ने लाग्थ्यो। जब अय्यूबमाथि परीक्षाहरू आइपर्यो, तिनीहरूले उनलाई यसो भनेः “तिमीले तुरुन्तै कबुल गर्नुपर्छ। हेर त, परमेश्वरले दण्ड दिने समय आएको छ।” अन्त्यमा, तिनीहरूप्रतिको परमेश्वरको मनोवृत्ति कस्तो थियो? परमेश्वरले यसो भन्नुभयोः “तिमीहरू यस महान् युगसम्म जिएका छौ, र तिमीहरूले मेरा कार्य वा मानिसहरूप्रतिको मेरो मनोवृत्ति प्रस्ट रूपले देख्न सक्दैनौ, न त मेरो कार्यशैली नै देख्न सक्छौ। तिमीहरू वास्तवमै अन्यौलग्रस्त मानिसहरू हौ; अय्यूबले प्रस्ट रूपमा देखे।” त्यसैले, परमेश्वर अय्यूबसामु देखिनुभयो, तर तिनीहरूसामु देखिनुभएन; तिनीहरू त्यसको लायक थिएनन्। तिनीहरूले परमेश्वरको ज्ञान पछ्याएनन्, र न त तिनीहरूले परमेश्वरको डर माने, न तिनीहरू दुष्टताबाट अलग बसे, त्यसैले परमेश्वर तिनीहरूसामु देखिनुभएन।
अहिले, हरव्यक्ति परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति बन्न चाहन्छ। त्यसोभए परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गको अर्थ के हो? यसमा परमेश्वरप्रति समर्पित हुन खोज्ने, र उहाँमा पूर्ण र ठोस रूपमा समर्पित हुने कार्य समावेश हुन्छ भन्न सकिन्छ। यसमा धोका, विरोध, वा विद्रोहका तत्वहरूविना, परमेश्वरप्रति सच्चा रूपमा डराउने र उहाँको भय मान्ने कार्य पर्छ। यो पूर्ण रूपमा शुद्ध हृदय हुनु र परमेश्वरप्रति पूर्ण रूपमा निष्ठावान र समर्पित हुनु हो। यस्तो बफादारीता र समर्पण निरपेक्षित हुनुपर्छ, सापेक्षित होइन; यो समय वा स्थान वा व्यक्तिको उमेरमा निर्भर हुँदैन। परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने तरिका यही हो। यस्तो पछ्याइको क्रममा, तैँले क्रमिक रूपमा परमेश्वरलाई चिन्नेछस् र उहाँका कार्यहरूलाई अनुभव गर्नेछस्; तैँले उहाँको हेरचाह र सुरक्षा अनुभव गर्नेछस्, उहाँको अस्तित्वको सत्यतालाई अनुभूति गर्नेछस्, र उहाँको सार्वभौमिकतालाई अनुभव गर्नेछस्। अन्त्यमा सबै थोकमा परमेश्वर हुनुहुन्छ र उहाँ तेरो नजिकै हुनुहुन्छ भन्ने कुराको तँलाई वास्तवमै अनुभूति हुनेछ; तँलाई यस प्रकारको महसुस हुनेछ। यदि तैँले परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग पछ्याउँदैनस् भने, तैँले यी कुराहरूको ज्ञान कहिल्यै प्राप्त गर्नेछैनस्। मानिसहरू यसो भन्छन्, “परमेश्वर सबै कुराहरूमाथि सार्वभौम हुनुहुन्छ; उहाँ सर्वव्यापी र सर्वशक्तिशाली हुनुहुन्छ।” तेरो हृदयमा तैँले यो कुरा पूर्णतया स्विकार्छस्, तर तैँले यी कुराहरू देख्न वा अनुभव गर्न सक्दैनस्, त्यसैले तैँले कसरी परमेश्वरलाई चिन्न सक्छस्? परमेश्वरमा विश्वास गरेको यतिका वर्षसम्म तैँले के गर्दै आएको छस्? तँ प्रायः भेलाहरूमा सहभागी हुन्छस् र प्रवचनहरू सुन्छस्, अनि तैँले सधैँ आफ्नो कर्तव्य निभाउँछस्; तैँले धेरै बाटोहरूमा यात्रा गरेको छस् र सुसमाचार फैलाएर केही मानिसहरूलाई आफूतिर तानेको छस्। त्यसोभए परमेश्वर सबथोकमाथि सार्वभौम हुनुहुन्छ भनेर तँ किन बुझ्दैनस्? तैँले सत्यता बिलकुलै बुझ्दैनस्। के तैँले केही देख्दै देख्दैनस्? तँलाई यो नै साँचो मार्ग हो भन्ने कुरा प्रस्ट रूपमा थाहा छ, तर तँ सत्यता पछ्याउँदैनस्। तँ भेलाहरूमा सहभागी हुन्छस्, प्रवचनहरू सुन्छस्, र मण्डली जीवन जिउँछस्, तैपनि तैँले सत्यता बुझ्दैनस्, र तँ बिलकुलै परिवर्तन भएको छैनस्। तँ अति दयनीय छस्! गैरविश्वासीहरूको स्थिति यस्तै हुन्छ, मानौँ तिनीहरू परमेश्वरका घरका मानिस होइनन्; परमेश्वरको नजरमा, तँ भाडाको व्यक्ति, अर्थात् सेवाकर्ता होस्। तैँले यसो भन्लास्: “म मेरो कर्तव्य निभाइरहेको छु। परमेश्वर, तपाईंले मलाई स्विकार्नुपर्छ!” अनि परमेश्वरले यसो भन्नुहुनेछः “म तेरो हृदयमा छँदै छैनँ, र तैँले कुनै सत्यता स्विकार्दैनस्। तँ एक दुष्कर्मी होस्। मबाट टाढा गैहाल्!” यी परमेश्वरका सबैभन्दा भित्री सोचहरू हुन्। तँ सत्यतालाई प्रेम गर्दैनस्, परमेश्वर नै सत्यता, मार्ग, र जीवन हुनुहुन्छ भन्ने कुरा तैँले बुझ्दैनस्, र तँसँग अलिकति पनि अनुभवात्मक ज्ञान छैन। तँ तैँले विश्वास गर्ने परमेश्वर नै सत्यता, मार्ग र जीवन हुनुहुन्छ भनी गवाही दिने कुनै वास्तविक अनुभव बताउन सक्दैनस्। त्यसोभए के तैँले परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छस्? तैँले परमेश्वरको गवाही दिन सक्दैनस्। तँ अझै भ्रष्ट स्वभावअनुसार जिउँछस्, जे मन लाग्यो त्यही गर्छस्; तँ र अविश्वासीबीच कुनै स्पष्ट भिन्नता छैन। तैँले तँमा भएको अलि स्वार्थी र नीच क्षुद्रताविरुद्ध विद्रोह गर्न सक्दैनस्, र तँलाई तेरा धारणा र विद्रोहीपन समाधान गर्न कठिन लाग्छ। हरेक पटक परमेश्वरले तेरो लागि परिस्थितिहरूको बन्दोबस्त गर्नुहुँदा, तँ तेरो पाठ सिक्दैनस्, र दशकौँको अनुभवपछि पनि तैँले कुनै प्रस्ट फल प्राप्त गरेको छैनस्, त्यसैले तेरो भ्रष्ट स्वभाव पखाल्न असम्भव छ। तैँले परमेश्वरमा बीस वर्ष, तीस वर्ष, वा त्योभन्दा बढी बिश्वास गरे पनि, यदि तेरो विद्रोहीपन, प्रतिरोध, र तेरो भ्रष्ट स्वभाव बिलकुलै समाधान गरिएन वा पखालिएन भने, तँ जस्ताको त्यस्तै रहेको बुढो दियाबलस होस्, जो बिलकुलै परिवर्तन भएको छैन। तँ गैरविश्वासी होस् र तँलाई सजिलै हटाइनेछ भन्ने कुरा प्रमाणित गर्न यो नै पर्याप्त छ।
कतिपय मानिसहरू वर्षौँसम्म परमेश्वरमा विश्वास गर्छन्, धेरै प्रवचनहरू सुन्छन्, र धेरै धर्मसिद्धान्तहरू बुझ्छन्, त्यसैले तिनीहरू आफूले साँचो मार्ग, परमेश्वर र जीवन प्राप्त गरेको छु भन्ठान्छन्; तर साधारण मामिलाहरूमा तिनीहरू अझै प्रसिद्धि र लाभको पछाडि कम्मर कसेर लाग्छन्। तिनीहरू अरूलाई चोट पुर्याउने र अलग्याउने समेत गर्छन्, र पूर्णतया तिनीहरूको स्वार्थी र नीच कुरूपता उजागर गर्छन्। तिनीहरू किन सत्यता स्विकार्न वा अभ्यास गर्न बिलकुलै सक्दैनन्? तिनीहरू केही वचन र धर्मसिद्धान्तहरू भन्न मात्र जान्दछन्, र तिनीहरू भुलवश जीवन प्राप्त गरेको छु भन्ठान्छन्। के यो मान्छेको दयनीय स्थिति होइन र? तिनीहरू आफ्ना हितहरूलाई पन्छाउन समेत सक्दैनन्, न त यति सानो कुरा भोग्न सक्छन्; त्यसोभए तिनीहरूले के भोग्न सक्छन्? सुरुदेखि अन्त्यसम्म, तिनीहरू आफ्नै हित र स्वार्थी चाहनाहरूलाई अरू कुनै कुराभन्दा बढी महत्त्वपूर्ण देख्छन्। तिनीहरू परमेश्वरमा विश्वास गर्न थालेदेखि यस्तै हुन्छन्, र हालसम्म परिवर्तन भएका छैनन्; तिनीहरू अझै पनि आफू राम्रो छु भन्ने अनुभूति गर्छन्। किन त्यसो गर्छन्? तिनीहरू आफूले परमेश्वरमा धेरै वर्ष विश्वास गरेको छु, हालसम्म आफ्नो कर्तव्य निभाएको छु भन्ठान्छन्; तिनीहरू आफूले केही हदसम्म कष्ट भोगेको छु, र उल्लेखनीय योगदान गरेको छु, हरप्रकारले आफू अरूभन्दा श्रेष्ठ छु भन्ठान्छन्—विशेष गरी, धेरै वर्ष प्रवचनहरू सुनेका यी मानिसहरूमा श्रेष्ठताको भावना हुन्छ, र भुलवश तिनीहरूले परमेश्वर प्राप्त गरेको छु भन्ठान्छन्। तिनीहरूले खाने कसम र व्यक्त गर्ने दृढता ठ्याक्कै तिनीहरूले परमेश्वरमा विश्वास गर्न सुरु गर्नेबेलाको जस्तै नै हुन्छन्। न त तिनीहरूको दृढता र कसम, न तिनीहरूको उत्साह र इच्छा नै परिवर्तन भएका छन्। तिनीहरूले परमेश्वरप्रति अर्पित गर्ने ऊर्जा अझै पनि ठूलै छ, तर परिवर्तन नभएका कुराहरू पनि छन्, अर्थात्, तिनीहरूका अहङ्कारी, विद्रोही, छली, हठी स्वभाव बिलकुलै परिवर्तन भएका छैनन्। त्यसैले म गम खान्छु, यतिका वर्षदेखि यी मानिसहरूले के गर्दै आएका छन्? तिनीहरू परमेश्वरमा विश्वास गर्छन् र हरेक दिन बिहानदेखि बेलुकासम्म आफ्ना कर्तव्यहरू निभाउँछन्, तिनीहरूको अधिकांश जीवनकाल अर्पित गर्छन्, र तिनीहरू आफूले परमेश्वर र साँचो मार्ग प्राप्त गरिसकेको छु भन्ठान्छन्। के तथ्य यही हो त? के तिनीहरूका भावनाहरू परमेश्वरद्वारा पुष्टि गरिएका छन् र? परमेश्वर के देख्न चाहनुहुन्छ? के यो मननयोग्य कुरा होइन र? यदि कुनै व्यक्तिले आफू राम्रो छु भन्ने भावना र ऊप्रतिको परमेश्वरको हेराइबीच प्रस्ट टकराव छ भने, समस्या कसमा छ? (व्यक्तिमा।) त्यो निश्चित छ, किनभने परमेश्वर गलत हुनै सक्नुहुन्न। परमेश्वरले मान्छेका लागि बनाउनुभएको मानक कहिल्यै परिवर्तन भएको छैन; बरु, मान्छेले त्यसलाई निरन्तर गलत व्याख्या गरिरहेको छ, त्यसलाई निरन्तर आफूलाई फाइदा पुग्ने किसिमले बुझिरहेको छ। कतिपय मानिसहरू यस्तो सोच्छन्: “यी मानिसहरूले तिनीहरूको अधिकांश जीवनकालमा परमेश्वरमा विश्वास गरेका छन्। यदि परमेश्वरले वास्तवमै तिनीहरूलाई अनुमोदन गर्नुहुन्न भने, के तिनीहरू अत्यन्तै दयनीय छैनन् र?” के यस्ता मानिसहरू दया र सहानुभूति पाउन लायक हुन्छन् र? यदि तँ तिनीहरू दया र सहानुभूति पाउन लायक छैनन् भन्छस् भने, के यो तिनीहरूप्रति अत्यन्तै निर्दयी हुँदैन र? हुँदैन। म किन यसो भन्छु? (किनभने परमरेश्वरले मानिसहरूलाई पर्याप्त अवसरहरू दिइसक्नुभएको छ। तिनीहरूले आफै पछ्याउँदैनन्, र तिनीहरूका खुट्टाका ठेलाहरू तिनीहरूकै कारणले उठेका हुन्।) अलि निर्मम रूपमा भन्नुपर्दा, तिनीहरू यसकै योग्य छन्, र तिनीहरू दया पाउन लायक छैनन्। मैले अरू मानिसहरूका बारेमा बोलेँ भने, तिमीहरू सबैले यस्तो सोच्छौः “तिमी त्यसैको लायक छौ! तिम्रा खुट्टाका ठेलाहरू तिम्रै कारणले उठेका हुन्। परमेश्वरका वचनहरू सुन्नबाट तिमीलाई कसैले रोकेको थिएन! परमेश्वरले तिमीलाई चाहनुहुन्न, र ममा पनि तिमीप्रति न त सहानुभूति छ, न त दया नै। तिमी त्यसैको लायक छौ!” तर यदि यो कुरा तिमीहरूलाई नै हुने हो भने, के तिमीहरूले आफ्नो विवेक जाँच्ने र आत्मनिरीक्षण गर्नेथियौ? तिमीहरूले के सोच्नुपर्छ? तिमीहरूले कसरी तर्कसङ्गत रूपमा समझ र विवेकपूर्वक सृष्टि गरिएको प्राणीको भूमिकामा, र तिनीहरूमा हुनुपर्ने सोच र मनोवृत्तिले सोच्नुपर्छ? परमेश्वर र मान्छेलाई सबैभन्दा तर्कसङ्गत र निष्पक्ष विवरण सुनाउनका निम्ति तिमीहरूले कसरी सोच्नु र व्यवहार गर्नुपर्छ? (परमेश्वर, म मेरो आफ्नै भावनाहरूबारे थोरै कुरा भन्न चाहन्छु। मलाई के लाग्छ भने, मैले परमेश्वरमा धेरै वर्ष विश्वास गरेको छु, तर सत्यता प्राप्त गरेको छैनँ। यो परमेश्वरले केही गलत काम गर्नुभएकाले वा परमेश्वरका कामहरूले परिणाम हासिल नगरेकाले भएको होइन, बरु मैले सत्यता नपछ्याएको हुनाले भएको हो। म प्रभु येशूले दिनुभएको उदाहरण सम्झन्छु अङ्गुरको बगैचामा चाँडै पस्नेहरूको र ढिला पस्नेहरूको ज्याला बराबर नै हुन्छ। परमेश्वरको काम चाँडो स्विकार्ने र ढिलो स्विकार्नेहरूलाई परमेश्वरले दिनुहुने कुरामा उहाँ अत्यन्तै निष्पक्ष र तर्कसङ्गत हुनुहुन्छ। यदि व्यक्तिले सत्यता पछ्याउँदैन, र अन्ततः परमेश्वरले मानिसहरूलाई दिनुहुने सत्यताहरू प्राप्त गर्दैन भने, त्यो उहाँले तिनीहरूलाई पर्याप्त समय नदिनुभएकाले त्यसो भएको होइन, बरु तिनीहरूले सत्यतालाई बहुमूल्य नठानेर वा नस्विकारेर त्यसो भएको हो; परमेश्वरले तिनीहरूलाई दिनुभएका अवसरहरू तिनीहरूले एकपछि अर्को गर्दै गुमाउँछन्। कतिपय मानिसहरूले परमेश्वरमा छोटो समय मात्र विश्वास गरेका भए पनि सत्यता स्विकार्न र पछ्याउन सक्छन्। धेरै वर्षसम्म परमेश्वरका वचनहरूको न्याय, सजाय र काँटछाँट अनुभव गरेपछि, तिनीहरूले केही रूपान्तरण प्राप्त गर्छन्, र मुक्ति प्राप्त गर्न सक्छन्। परमेश्वरले गर्नुभएको यो सबै धर्मी छ। परमेश्वरको सङ्गति सुनेपछिका मेरा केही भावनाहरू यिनै हुन्।) धेरै राम्रो! यसलाई पहिला मानव दृष्टिकोणबाट सम्बोधन गरौँ। यदि मानवजातिलाई मुक्ति दिन परमेश्वर देहधारी नहुनुभएको भए, परमेश्वरमा विश्वास गर्ने ती सबै कुन अवस्थामा हुनेथिए? तिनीहरू पूर्णतया शैतानको शक्तिअन्तर्गत, दुष्टताका छालहरूमा, र भ्रष्ट मानवजातिमाझ जिउनेथिए। भ्रष्ट मानवजातिहरूमाझ जिउनु भनेको दियाबलसहरूको जेलमा जिउनु, पिशाचहरूको गुफामा जिउनु, वा ठूलो रङ्गन भाँडामा जिउनुसरह हो। यदि कुनै व्यक्तिले परमेश्वरमा विश्वास गर्दैन भने, उसले स्वाभाविक रूपमै आफूले जे चाह्यो त्यही गर्छ, खराब कुरा वा दुष्टता गर्छ। उसको भ्रष्टता झन्झन् गहिरिँदै जान्छ, र ऊ झन्झन् दुष्ट, अनुचित बन्दै जान्छ, र अन्त्यमा ऊ जिउँदो पिशाच बन्छ। उसका वचन र कार्यहरूलाई हेर्दा ऊ मानवजस्तो देखिन्छ, तर उसको पूरै मानसिकता र स्वभाव जिउँदो पिशाचको जस्तो बनिसकेको हुन्छ। यस्ता मानिसहरूको परिणाम कस्तो हुन्छ? के तिनीहरूको परिणाम पनि शैतानको जस्तै नै हुँदैन र? (हुन्छ।) तिनीहरू शैतानद्वारा बन्दी बनाइएका छन्। तिनीहरू शैतानका साथीहरू हुन्, शैतानका सहयोगी र दास बनेका छन्, र शैतानजत्तिकै परमेश्वरको प्रतिरोध गर्छन्। यसर्थ तिनीहरूसित कुनै विकल्प हुँदैन, र अन्त्यमा, तिनीहरूको परिणाम दण्डित र विनाश हुने हुन्छ। यो मानवहरूसम्बन्धी कुरा हो। यदि तँ परमेश्वरमा विश्वास गर्दैनस् भने, परमेश्वरले तँलाई मुक्ति दिनुहुनेछैन। तँ यस संसारमा निकै स्वतन्त्र होलास्, तैँले आफूले चाहेको जे पनि गर्न र आफूले चाहे जस्तै व्यवहार गर्न सक्लास्; तँलाई विवेक र समझले बाधा पुर्याउनु र तैँले सत्यता स्वीकार र अभ्यास गर्नु आवश्यक नहोला, काँटछाँट र अनुशासन त झनै स्विकार्नु नपर्ला। तँसित समझ, विवेकको समझ नहुने गरी पूर्णतया परिवर्तन भइञ्जेल तँ केवल तेरा आफ्नै प्राथमिकताहरूअनुसार, संसारका प्रचलनहरूलाई पछ्याएर जिउँछस्। तँ सर्वथा र पूर्णतया जिउँदो पिशाचमा, जिउँदो शैतानमा, भित्री र बाहिरी रूपमै जिउँदो दियाबलसमा पतित हुन्छस्; तेरो भेष बदल्न वा तँलाई कपडाले बेर्न आवश्यक छैन—तँ साँचो शैतान होस्, दियाबलस होस्। अविश्वासीहरू शैतानको शक्तिअन्तर्गत जिउनुको परिणाम यही हो, र अन्त्यमा, तिनीहरू विपदहरूद्वारा नष्ट पारिनैपर्छ। मानौँ कुनै व्यक्तिले परमेश्वरमा विश्वास गर्छ, तर उसले कहिल्यै सत्यता स्विकार्न र आफूलाई चिन्न सक्दैन, र उसले साँचो पश्चात्ताप गर्दैन; उसले धेरै वर्ष परमेश्वरमा विश्वास गरेको छ, तर ऊ बिलकुलै परिवर्तन भएको छैन; उसको विवेक र समझ फिर्ता आएको छैन, अनि उसको जीवनशैली कुनै अविश्वासीकै जस्तो छ। परमेश्वरले मानिसहरूलाई जसरी न्याय र सजाय दिनुभए पनि, र परमेश्वरको घरले सत्यतामाथि जसरी सङ्गति गरे पनि, उसले त्यसप्रति बिलकुलै ध्यान दिँदैन। त्यस्ता मानिसहरू गैरविश्वासी हुन्, परमेश्वरको घरमा घुसपैठ गरेका नीच मानिसहरू हुन्। परमेश्वरले सत्यता र मुक्ति प्राप्त गर्न थुप्रै अवसरहरू दिनुभएको छ, र मानिसहरू परमेश्वरको इच्छालाई कुनै ध्यान नदिई वर्षौँसम्म विश्वास गर्छन्; तिनीहरू अझै पनि सधैँझैँ देहसुख पछ्याउँछन्, खान्छन्, पिउँछन्, र रमाइलो गर्छन्। तिनीहरूमा कुनै विवेक हुँदैन, मानवताका सकारात्मक तत्त्वहरू हुँदैनन्; तिनीहरू मुक्ति प्राप्त गर्ने बिन्दुबाहिर, फर्किनै नसकिने बिन्दुमा गइसकेका हुन्छन्। परमेश्वरले तिनीहरूलाई त्याग्नुहुन्छ, र मुक्ति दिनुहुन्न; तिनीहरूको परिणामका बारेमा भन्नै पर्दैन। यस बिन्दुमा, परमेश्वरमा विश्वास गर्ने तिनीहरूको जीवन अन्त्य हुन्छ; परमेश्वरमा विश्वास गर्ने तिनीहरूको सिलसिला सकिन्छ। तिनीहरूको परिणाम पूर्वनिर्धारित हुन्छ—यो नै तिनीहरूको परिणाम हो। कुनै व्यक्तिको परिणाम यस्तो हुँदा उसको हृदयमा कस्ता भावनाहरू हुन्छन्? उसको हृदय मन्द रूपमा दुख्छ, उसलाई परमेश्वरले त्याग्नुभएको अनुभूति भएर ऊ साँच्चै विक्षिप्त र दुखी हुन्छ, मानौँ ऊ कुनै असीमित सागरमा छ, जीवनको अन्तिम सहारालाई समात्न सकिरहेको छैन, र उसले पूरै दुखी र पूरै असहाय अनुभूति गर्छ। जब तँ त्यो हदसम्म डुबेको हुँदैनस्, तैँले त्यस प्रकारको पीडा अनुभूत गर्न सक्दैनस्, तर त्यस बिन्दुमा पुगेलगत्तै तँ फर्किनै सक्दैनस्। परमेश्वरले मानिसहरूलाई मुक्ति नदिने यो अवस्थामा, मानिसहरू अन्ततः यसरी नै यस प्रकारको नियतितर्फ, र यस प्रकारको परिणामतर्फ हिँड्छन्। तर के मानिसहरूको नियति र परिणाम यस प्रकारको हुनु परमेश्वरका लागि कुनै घाटा हो? यदि परमेश्वरले सृष्टि गर्नुभएका मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइए भने, यदि तिनीहरूले उहाँको मुक्ति बिलकुलै स्विकारेनन्, र तिनीहरू विनाशको बाटोमा लागे भने, के त्यो परमेश्वरका लागि कुनै घाटा हो? कदापि होइन। के परमेश्वरका सृष्टि गरिएका प्राणीहरूमध्ये एउटाको विनाश भएकै कारण उहाँ परमेश्वर हुन छोड्नुहुनेछ? के उहाँले परमेश्वरका रूपमा उहाँको पहिचान र हैसियत, परमेश्वरका रूपमा उहाँको सार गुमाउनुहुनेछ? के यसले उहाँ सबै कुराहरूमाथि सार्वभौम हुनुभएको तथ्यलाई परिवर्तन गर्नेछ? (अहँ।) गर्नेछैन। यसको अर्थ के हो? मानिसहरूले परमेश्वरको वचन स्विकारे पनि वा नस्विकारे पनि, तिनीहरूले मुक्ति प्राप्त गर्न सके पनि वा नसके पनि, यो परमेश्वरका लागि घाटा होइन। यो कामकुराकै एउटा पक्ष हो। मानिसहरूले परमेश्वरमा विश्वास नगरे पनि र परमेश्वरले मानिसहरूलाई मुक्ति दिन काम नगर्नुभए पनि, परमेश्वरले बिलकुलै केही गुमाउनुहुन्न। शैतान शैतान नै रहन्छ; परमेश्वर परमेश्वर नै रहनुहुन्छ। सबै कुराहरूमाथि प्रभुत्व भएको एक मात्र परमेश्वर नै हुनुहुन्छ, अझै पनि सबै कुराहरूको सृष्टि गर्ने परमेश्वर नै हुनुहुन्छ, र अझै पनि सबै कुराहरूमाथि सार्वभौम रहने परमेश्वर नै हुनुहुन्छ। मानवजातिको, शैतानको र सबै कुराहरूको नियति परमेश्वरकै हातमा छ। परमेश्वरको हैसियत, विशिष्टता, स्वभाव र सार परिवर्तन हुनै सक्दैन। परमेश्वरको पवित्रता पनि कलङ्कित हुनेछैन, र उहाँको काममा हानि पुग्नेछैन। परमेश्वर अझै परमेश्वर नै हुनुहुन्छ। यसले मानिसहरूलाई एउटा तथ्य बुझ्न मद्दत गर्छः मानवजाति जति नै धेरै हुन पुग पनि, परमेश्वरको नजरमा त्यो एउटा सङ्ख्या मात्र हो। त्यो कुनै शक्तिसरह हुँदैन र त्यसबाट परमेश्वरलाई कुनै खतरा हुँदैन। मानवजातिले जस्तो मार्ग पछ्याए पनि, तिनीहरू परमेश्वरकै हातमा हुन्छन्। मानवजातिले जस्तो परिणाम सामना गरे पनि, तिनीहरूले परमेश्वरमा विश्वास गरे पनि नगरे पनि वा उहाँको अस्तित्व र सार्वभौमिकता स्विकारे पनि नस्विकारे पनि, परमेश्वरको अन्तर्निहित पहिचान र हैसियतलाई वा परमेश्वरको सारलाई ती केहीले पनि प्रभाव पार्न सक्दैन। यो कसैले परिवर्तन गर्नै नसक्ने तथ्य हो। तर मानिसहरूले सायद अझै प्रस्ट रूपमा नबुझेको वा अनुभव नगरेको एउटा कुरा छ। यदि मानवजातिमध्ये कसैलाई परमेश्वरले त्याग्नुभयो, र उहाँले उसलाई मुक्ति दिनुभएन भने, उसको अन्तिम परिणाम भनेको विनाश हुनेछ, र यो अपरिवर्तनीय छ। पूरै ब्रह्माण्ड र सम्पूर्ण कुराहरूमा, ती जति नै ठूला भए पनि, जति नै ग्रहहरू भए पनि, जति नै जीवनहरू भए पनि, तिनले परमेश्वरको अस्तित्वको तथ्य परिवर्तन गर्न सक्दैनन्, र ब्रह्माण्डको र सम्पूर्ण कुराहरूको नियति एउटै परमेश्वरको हातमा मात्र हुन्छ। कुनै जीवित जीवाणुदेखि तारासम्मको कुनै कुराले पनि परमेश्वरको अस्तित्व र सार्वभौमिकतालाई प्रभाव पार्न सक्दैन, कुनै कुराले परमेश्वरको कुनै विचारलाई नियन्त्रण गर्न त झनै सक्दैन। यो तथ्य हो। कतिपय मानिसहरू यस्तो विश्वास गर्छन्: “म तपाईंमाथि विश्वास गर्दिनँ, त्यसैले तपाईं परमेश्वर हुनुहुन्न।” “खासै धेरै मानिसले तपाईंमाथि विश्वास गर्दैनन्, त्यसैले तपाईं परमेश्वर हुनुहुन्न।” के यसो भन्नु न्यायोचित कुरा हो? (अहँ, होइन।) अन्य केहीले यसो भन्छन्: “तपाईंमाथि हामीले मात्र विश्वास गर्छौँ, त्यसैले सबै कुराहरू र मानवजातिमाथि सार्वभौम रहने तपाईंको शक्ति यति मात्र ठूलो छ, यो हदसम्म मात्र छ।” कुरा यस्तै हो र? (होइन।) यस्ता विचारहरू भएका मानिसहरू अत्यन्तै अज्ञानी र मूर्ख हुन्छन्!
मैले भर्खरै परमेश्वरले मानिसहरूलाई मुक्ति नदिनुभएमा कसरी मानवजाति विनाशतर्फ जान्छन्, तर परमेश्वरको पहिचान र हैसियत बिलकुलै प्रभावित हुँदैनन्, उहाँको सार त झनै प्रभावित हुँदैन भन्नेबारे सङ्गति गरेँ। तैँले यो तथ्य प्रस्टसित देख्छस्, हैन? (देख्छु।) मानवजातिले सत्यता स्विकारे पनि नस्विकारे पनि वा तिनीहरूले मुक्ति प्राप्त गर्न सके वा नसके पनि, परमेश्वर परमेश्वर नै रहनुहुन्छ—उहाँको हैसियत, पहिचान, र सार परिवर्तन हुनेछैन। तर मानवजातिको नियतिमा ठूलो परिवर्तनशीलता छ। त्यो परिवर्तनशीलता कसको नियन्त्रणमा हुन्छ? के त्यो मानिसहरूकै नियन्त्रणमा हुन्छ? कुनै देशको नियन्त्रणमा हुन्छ? कुनै शासकको नियन्त्रणमा हुन्छ? कुनै शक्तिको नियन्त्रणमा हुन्छ? हुँदैन। तेरो र मानवजातिको नियतिको रेखदेखकर्ता परमेश्वर नै हुनुहुन्छ—सबथोक उहाँकै हातमा हुन्छ। त्यसोभए, तैँले यो तथ्य प्रस्ट रूपमा देख्नुपर्छः मानवजातिलाई र तँलाई मुक्ति दिएर, परमेश्वरले तँलाई अनुग्रह देखाइरहनुभएको छ; यो ठूलो मुक्ति हो, जुन सबैभन्दा ठूलो अनुग्रह हो। यो सबैभन्दा ठूलो अनुग्रह हो भनेर मैले किन भनिरहेको छु? किनभने परमेश्वरले मानवजातिलाई दिनुहुने मुक्ति कुनै कठोर नियम होइन, न त यो अपरिहार्य प्रचलन हो, न यो आवश्यकता नै हो। परमेश्वरले त्यो स्वतन्त्र रूपमा गर्न रोज्नुहुन्छ। यदि परमेश्वरले तँलाई मुक्ति दिनुभएन भने के त्यो ठिक हुनेछ? के उहाँले तँलाई पक्कै मुक्ति दिनै पर्दैन र? सुरुमा, परमेश्वरले तेरो नियति पूर्वनिर्धारित गर्नुभएको हुन सक्छ, तर यदि उहाँले अहिले तँलाई रोज्न चाहनुहुन्न, र तँलाई मुक्ति दिनुहुन्न भने, तैँले यो अनुग्रह प्राप्त गर्न सक्दैनस्। त्यसोभए, तैँले के गर्नुपर्छ? तैँले राम्रो कार्यप्रदर्शन गर्नुपर्छ, र हरेक तरिकाले तेरो व्यवहार, हृदय र साँचो आस्था प्रयोग गरेर परमेश्वरको मन जित्ने र उहाँको अनुग्रह प्राप्त गर्ने कोसिस गर्नुपर्छ। यो निश्चय नै असम्भव छैन। विगतमा प्रभु येशू सुसमाचार फैलाइरहनुहुँदा एउटी कनानी महिला थिइन्—उनले के गरिन्? (उनकी छोरी पिशाचको पकडमा रहेकीले उनले प्रभु येशूसँग सहयोग मागिन्। प्रभुले यसो भन्नुभयोः “बालबालिकाको रोटी खोसेर कुकुरहरूलाई दिनु उचित होइन।” महिलाले यसो भनिन्: “कुकुरहरूले मालिकको टेबलबाट खसेका टुक्राटुक्री खान्छन्।” प्रभु येशूले उक्त महिलाको आस्था ठुलो छ भन्नुभयो र उनका इच्छाहरू पूरा गरिदिनुभयो।) प्रभु येशूले उनको के कुरालाई अनुमोदन गर्नुभयो? (उनको आस्थालाई।) वास्तवमा उनको आस्था के थियो? उनको आस्थालाई हामीले कसरी बुझ्नुपर्छ? (प्रभु येशू परमेश्वर हुनुहुन्छ भनेर उनले स्विकारिन्।) प्रभु येशूले उनी कुकुर्नी हुन् भन्नुभयो, तर उनी किन निराश भइनन्? तिमीहरू यो मामिलाबारे खासै प्रस्ट रूपमा बोल्न सक्दैनौ। तथ्यहरू यिनै हुन्: प्रभु येशूले किन यस व्यक्तिको आस्थालाई अनुमोदन गर्नुभयो? उनी कुकुर्नी हुन इच्छुक भएको तथ्यलाई उहाँले अनुमोदन गर्नुभएन, न त उहाँले रोटीका टुक्राहरू खाने उनको तत्परतालाई नै अनुमोदन गर्नुभयो—यी सबै गौण थिए। त्यसोभए, प्रभु येशूले के कुरालाई अनुमोदन गर्नुभयो? त्यो के थियो भने, प्रभु येशूले उनलाई एक कुकुर्नी, एक व्यक्ति, एक दियाबलस, वा एक शैतानका रूपमा व्यवहार गर्नुभए पनि वा नभए पनि उनलाई मतलब थिएन—उहाँले उनलाई जस्तो व्यवहार गर्नुभए पनि उनलाई फरक पर्दैनथ्यो। सबैभन्दा महत्त्वपूर्ण कुरा त, उनले प्रभु येशूलाई परमेश्वरका रूपमा लिइन्, उहाँ नै प्रभु र परमेश्वर हुनुहुन्छ भन्ने दृढविश्वासमा राखिन्, र यो कहिल्यै परिवर्तन हुन नसक्ने सत्यता र तथ्य थियो। प्रभु येशू नै परमेश्वर र प्रभु हुनुहुन्छ, र उनले हृदयमा चिनेको उहाँ नै हुनुहुन्थ्यो। त्यो नै पर्याप्त थियो। प्रभु येशूले उनलाई मुक्ति दिनभए पनि नभए पनि, उहाँले उनलाई उहाँसँगै खाने व्यक्ति, प्रेरित, अनुयायी, वा कुकुर्नीका रूपमा व्यवहार गर्नुभए पनि, त्यो कुराले उनलाई फरक पारेन। छोटकरीमा भन्नुपर्दा, उनले हृदयमा प्रभु येशूलाई परमेश्वरका रूपमा स्विकार्नु नै पर्याप्त थियो—त्यो नै उनको सबैभन्दा ठूलो आस्था थियो। के तिमीहरूसँग यस प्रकारको आस्था छ? यदि कुनै दिन मैले तिमीहरू सबैजना परमेश्वरको घरका पहरेदार कुकुरहरू हौ भनेँ भने, के तिमीहरू यो स्विकार्न इच्छुक हुनेथ्यौ? यदि मैले तिमीहरू परमेश्वरको घरका प्रियजनहरू, परमेश्वरका मानिसहरू, र स्वर्गदूतहरू हौ भनेँ भने, तिमीहरूलाई यो सन्तोषजनक लाग्नेथ्यो, तर यदि मैले तँ कुकुर होस् भनेँ भने, तँ दुःखी हुनेथिइस्। तँ किन दुःखी हुनेथिइस्? किनकि तैँले आफूलाई निकै महत्त्वपूर्ण ठान्छस्। तैँले यस्तो सोच्छस्: “तपाईं परमेश्वर हुनुहुन्छ भन्ने कुरा मैले स्विकार्दा पनि तपाईंले कसरी मलाई कुकुर भन्न सक्नुभयो? तपाईं परमेश्वर हुनुहुन्छ भन्ने कुरा म स्विकार्छु, त्यसैले तपाईंले जे गर्नुभए पनि, तपाईं निष्पक्ष र तर्कसङ्गत हुनुपर्छ। हामी दुवैजना बराबर हौँ, हामी नजिकका साथीहरू हौँ! म तपाईंमाथि विश्वास गर्छु, यसले देखाउँछ ममा ठूलो साहस, प्रेम, र आस्था छ भन्ने देखाउँछ। तपाईं कसरी मलाई कुकुर भन्न सक्नुहुन्छ? तपाईं मान्छेलाई प्रेम गर्नुहुन्न! हामी नजिकका साथीहरू हौँ, हामी दुवै समान हुनुपर्छ। म तपाईंलाई सम्मान गर्छु, तपाईंको डर मान्छु, र म तपाईंको प्रशंसा गर्छु—तपाईंले मलाई सम्मान गर्नुपर्छ, र व्यक्तिलाई जस्तो व्यवहार गर्नुपर्छ। म एउटा व्यक्ति हुँ!” तँलाई यो मनोवृत्तिबारे के लाग्छ? (त्यसमा समझ छैन।) जब मानिसहरू परमेश्वरसित बराबर हुन र परमेश्वरलाई साथीका रूपमा व्यवहार गर्न चाहन्छन, के यसले समस्या निम्त्याउँदैन र? तँ यसो भन्छस्: “तपाईं त सामान्य देखिनुहुन्छ—वास्तवमा म तपाईंभन्दा राम्रो देखिन्छु, र म तपाईंभन्दा अग्लो छु। तपाईंलाई चिसो लाग्दा तपाईं पनि खोक्नुहुन्छ, र तपाईं पनि धेरै बोल्नुभयो भने थाक्नुहुन्छ—म तपाईंभन्दा स्वस्थ छु। तपाईंसँग सत्यता भएको मात्र हो, र त्यस अर्थमा तपाईं मभन्दा बलियो हुनुहुन्छ। यदि मैले धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेँ र अझ धेरै सत्यताहरू बुझेँ भने, म तपाईंभन्दा त्यति धेरै नराम्रो हुनेछैनँ। साथै, ममा तपाईंसँग नभएको सीप छ! त्यसरी तुलना गर्दा, तपाईं मभन्दा त्यति धेरै महान् हुनुहुन्न।” तँलाई यो दृष्टिकोणबारे के लाग्छ? (यो गलत छ।) तुलना गर्ने यो विधिबारे तँलाई के लाग्छ? सम्भवतःमानवलाई परमेश्वरसित तुलना गर्न मिल्दैन। तुलना गर्ने यो विधिबाट कस्तो प्रकारको गल्ती गरिँदै छ? (त्यो व्यक्ति उसको उचित ठाउँमा उभिरहेको छैन, र उसले परमेश्वरलाई परमेश्वरका रूपमा व्यवहार गरिरहेको छैन। उसले उहाँलाई साधारण व्यक्तिका रूपमा व्यवहार गरिरहेको छ। उसले देहधारी परमेश्वरको मानवता मात्र देख्छ, तर उहाँको देवत्व देख्दैन।) सरल रूपमा भन्नुपर्दा, उसमा न त विवेक छ, न त समझ नै—उसमा मानवता छैन। साथै, मानिसहरूले परमेश्वरको आत्मिक शरीर देखेका छैनन्, त्यसैले तिनीहरू उहाँको देहधारणलाई मानवका रूपमा हेर्छन्, र यो साधारण व्यक्ति न त महान् छ, न त प्रभावशाली छ, र उहाँलाई सजिलै हेप्न र मूर्ख बनाउन सकिन्छ भन्ठान्छन्। साँचो कुरा यही हो। मानवहरू त्यस्ता भ्रष्ट कुराहरू मात्र हुन्। यदि तैँले सत्यता पछ्याइनस् भने, समय बित्दै जाँदा यस्तै हुनेछ; तँसँग न त परमेश्वरदेखि तर्सिने हृदय हुन्छ, न त उहाँको डर मान्ने हृदय नै। मानिसहरूले सत्यता पछ्याउनुको तात्पर्य भनेको तिनीहरू परमेश्वरप्रति समर्पित हुन सकून् भन्नाका लागि हो। उहाँले जस्तो व्यवहार गर्नुभए पनि, उहाँ जस्तो स्वरूपमा देखा पर्नुभए पनि, वा उहाँले तँसित जसरी बोल्नुभए पनि, तेरो हृदयमा परमेश्वरको स्थान परिवर्तन हुनेछैन, न त उहाँप्रतिको तेरो डर, उहाँसँगको तेरो सम्बन्ध, उहाँमाथिको तेरो आस्था नै परिवर्तन हुनेछ। तेरो हृदयमा परमेश्वरको सार र हैसियत परिवर्तन हुनेछैन। तैँले तँ र परमेश्वरबीचको सम्बन्धलाई राम्ररी, उचित ढङ्गले, र तर्कसङ्गत रूपमा, मानकअनुसार र संयमतापूर्वक सम्हाल्नेछस्। तर यदि तैँले सत्यता पछ्याइनस् भने, यो हासिल गर्न तँलाई निकै कठिन हुनेछ—त्यसो गर्न तँलाई सजिलो हुनेछैन। यदि मानिसहरूले सत्यता पछ्याएनन् भने, तिनीहरूले परमेश्वरको सार र उहाँको देवत्व कहिल्यै देख्न सक्नेछैनन्। उहाँको स्वभाव वा उहाँको साँचो प्रस्फुटनहरूमा के कुराहरू पर्छन् भन्ने कुरा तिनीहरूलाई थाहा हुनेछैन। मानिसहरूले यी कुराहरू देख्न सक्नेछैनन्। ती कुराहरू तँलाई भनिए पनि, तैँले न त ती देख्न सक्नेछस्, न त चिन्न नै।
हामीले भर्खरै परमेश्वरले मानिसहरूलाई मुक्ति दिनुभएन भने तिनीहरूको नतिजा के हुनेछ भन्नेबारे कुरा गर्र्यौँ। त्यो कस्तो नतिजा हो? (विनाश।) अनि परमेश्वरको नि? (परमेश्वरमाथि त्यसले बिलकुलै प्रभाव पार्नेछैन।) यो परमेश्वरले मानिसहरूलाई मुक्ति नदिने दृष्टिकोणबाट बोलिएको हो; परमेश्वर बिलकुलै प्रभावित हुनुहुनेछैन, तर मानिसहरूको नियति र नतिजा दुखदायी हुनेछ—अय्यूब र अब्राहम् जस्ता मानिसहरूको नतिजाभन्दा ज्यादै फरक हुनेछ। यदि परमेश्वरले कुनै व्यक्तिलाई मुक्ति दिनुभएन भने, तिनीहरू उहाँका शत्रु-शक्ति र उहाँका प्रतिद्वन्दीहरूको दर्जामा गनिन्छन्। यो नतिजा स्पष्ट रूपमा भयावह हुन्छ। अब परमेश्वरले व्यक्तिलाई मुक्ति दिन र ऊमाथि काम गर्न चाहनुभयो भने उसले के प्राप्त गर्नेछ भन्नेबारे कुरा गरौँ। मानिसहरू किन परमेश्वरमा विश्वास गर्छन्? परमेश्वरका विश्वासीहरू के कुराको पछि लागिरहेका छन्? के तिनीहरू परमेश्वरको सन्तुष्टिको पछि लागिरहेका छन्? के तिनीहरू सृष्टि गरिएका प्राणीको कर्तव्य निर्वाह गर्न लागिपरेका छन्? के तिनीहरू शैतानलाई लज्जित तुल्याउन र परमेश्वरको गवाही दिन लागिपरेका छन्? यी सबै तर्कहरू अलि जोडदार सुनिने र अलि अतिशयोक्तिपूर्ण छन्। यदि मैले तँलाई तैँले परमेश्वरमा विश्वास गर्न सुरु गर्दाको तेरा आशयबारे भन्न लगाउने हो भने, तैँले दोषी महसुस गर्नेथिइस् र यी वचनहरू बोल्दा तँ रातोपिरो हुनेथिइस्; तँलाई बोल्न कठिन हुनेथ्यो, किनकि यी तथ्य होइनन्। त्यसोभए, वास्तवमा तथ्यहरू के हुन् त? (मानिसहरू आशिषका पछि लागिरहेका हुनाले तिनीहरू परमरेश्वरमा विश्वास गर्छन्।) (तिनीहरू राम्रो गन्तव्य, वा आत्मिक जीविकाको स्रोतको पछि लागिरहेका छन्।) सारांशमा, यस्ता आशयहरू थोरै अशोभनीय छन् र खासै देखाउन लायक छैनन्। तर, यदि तिनीहरू सुरुमै यो उद्देश्यको पछि नलागे, के मानिसहरूले परमेश्वरमा विश्वास गर्नेथिए? परमेश्वरमा विश्वास गर्नु पक्कै पनि तिनीहरूको आशय थिएन, न त तिनीहरूको चाहना नै थियो; यदि तिनीहरूले त्यसबाट केही लाभ प्राप्त गरेनन् भने, परमेश्वरमाथि कसले विश्वास गर्नेथ्यो र? जब परमेश्वरमा विश्वास गर्ने कुरा आउँछ, मानिसहरू सोच्छन् कि यदि तिनीहरूलाई त्यसबाट थोरै लाभ मिल्दैन भने, तिनीहरूले कम्तीमा पनि एउटा वाचा प्राप्त गर्नुपर्छ। कस्तो वाचा? कतिपय मानिसहरू यसो भन्छन्: “परमेश्वरको वाचा के हो भने, हामीले यो जुनीमा सयगुणा प्राप्त गर्नेछौँ, र अर्को जुनीमा अनन्त जीवन प्राप्त गर्नेछौँ—यसको मतलब हामी सधैँभरी जीवित रहनेछौँ, कहिल्यै मर्नेछैनौँ। यो युगौँयुगभरी पहिले कसैले कहिल्यै उपभोग नगरेको वा प्राप्त नगरेको एक प्रकारको परमानन्द र आशिष् हो। साथै, यदि मानिसहरूले परमेश्वरमा विश्वास गरेमा, उहाँले तिनीहरूलाई यो जुनीमा केही अनुग्रह, आशिष्, र सुरक्षा दिनुहुनेछ।” छोटकरीमा भन्नुपर्दा, जब कसैले भर्खरै परमेश्वरमा विश्वास गर्न थालेको हुन्छ, उसको हृदय अशुद्ध र फोहोरी हुन्छ। तिनीहरूले सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउन, मानवजस्तै भएर जिउन, अन्ततः परमेश्वरको प्रिय व्यक्तिको छवि जिउन, उहाँको महिमा गाउने र गवाही दिने तरिकाले जिउन, र उहाँलाई लज्जित नतुल्याउन, र मृत्युपछि पनि उहाँको गवाही दिनका निम्ति परमेश्वरमा विश्वास गरेका हुँदैनन्—बरु, तिनीहरू आफ्नो सारा हृदय र प्राणबाटै आशिषित् हुन र यो जुनीमा परमेश्वरका धेरैभन्दा धेरै अनुग्रह र आशिषहरूमा रमाउन चाहन्छन्। यदि तिनीहरूले अर्को जुनी प्राप्त गरे भने, तिनीहरू त्यहाँ झन् ठूला आशिषहरू प्राप्त गर्न चाहन्छन्। मानिसहरूले सुरुमा परमेश्वरमा विश्वास गर्न थाल्दा तिनीहरूले बोक्ने इच्छा, आशय, र उद्देश्यहरू यिनै हुन्; तिनीहरू स्वर्गको राज्यका आशिषहरू र परमेश्वरको वाचा प्राप्त गर्नका निम्ति परमेश्वरमा विश्वास गर्छन्। भ्रष्ट मानवजातिका लागि यो वैध हुन्छ, र त्यसका लागि परमेश्वरले मानिसहरूलाई दोष दिनुहुनेछैन। मानिसहरूले सुरुमा परमेश्वरमा विश्वास गर्न थाल्दा, तिनीहरू सबै अज्ञानी हुन्छन् र तिनीहरूले केही पनि बुझ्दैनन्। परमेश्वरका वचनहरू पढेर अनि उहाँको अन्तर्दृष्टि अनुभव गरेर तिनीहरूले बिस्तारै परमेश्वरमा विश्वास गर्नेसम्बन्धी सत्यताहरू र परमेश्वरमा विश्वास गर्नुको महत्त्व, साथसाथै परमेश्वरले मान्छेबाट गर्नुहुने मागहरू बुझ्न थाल्छन्। यस प्रक्रियाको क्रममा मानिसहरूले परमेश्वरको हेरचाह र सुरक्षा पाउँछन्; कतिपय मानिसका रोगहरू निको हुन्छन्, तिनीहरूको शरीर स्वस्थ हुन्छ, तिनीहरूका परिवारमा शान्ति हुन्छ, र तिनीहरूका वैवाहिक सम्बन्धहरू सुखी हुन्छन्—तिनीहरूले विविध तरिकाले फरक-फरक मात्रामा परमेश्वरको अनुग्रह र आशिषहरू पाउँछन्। अवश्यै, यी सबै गौण हुन्। परमेश्वरको दृष्टिकोणमा, यी उहाँका सबैभन्दा ठूला प्रयत्नहरू होइनन्। उहाँको सबैभन्दा ठुलो प्रयत्न के हो? (उहाँले मानिसहरूबाट राख्नुभएका अपेक्षाहरू, र उहाँका मेहनती प्रयासहरू।) “उहाँका मेहनती प्रयासहरू” मा केही ठोस विषयवस्तु छ, जबकि “अपेक्षाहरू” अलि खोक्रो छ। तिमीहरूले परमेश्वरबाट प्राप्त गरेको सबैभन्दा व्यावहारिक फाइदा, र सबैभन्द अमूल्य कुरा के हो? (सत्यताको उपलब्धता।) (केही सत्यता बुझ्नु, र केही मामिलाहरू छर्लङ्गै देख्न सक्नु।) त्यो निश्चय नै ती तथाकथित अनुग्रह र आशिषहरू होइनन्। के परमेश्वरको जीवन, वचन, र सत्यताहरू, साथसाथै सृष्टि गरिएका प्राणीहरूका रूपमा मानवले हिँड्नुपर्ने मार्ग, जुन परमरेश्वरले तिनीहरूलाई बुझ्ने तुल्याउनुहुन्छ, ती नै मानवहरूले परमेश्वरबाट प्राप्त गर्ने सबैभन्दा अमूल्य कुराहरू होइनन् र? सारांशमा, मानिसहरूले परमेश्वरबाटै सत्यता, मार्ग र जीवन प्राप्त गरेका छन्—के यी सबैभन्दा अमूल्य कुराहरू होइनन् र? (हुन्।) के तिमीहरूले ती कुराहरू प्राप्त गरेका छौ? (हामीले अहिलेसम्म ती साँच्चै प्राप्त गरेका छैनौँ।) त्यो तँ गरिब हुँदा तँलाई कसैले सय डलर दिएको, वा भोक लागेको बेलामा तँलाई कसैले दुईवटा रोटी दिएको जति व्यावहारिक रूपले लाभदायक नलाग्ला, तर सच्चा रूपले उहाँमा विश्वास गर्ने हरव्यक्तिलाई परमेश्वरबाट आउने सत्यता, मार्ग र जीवन साँच्चिकै प्रदान गरिन्छ। के यो तथ्य होइन र? (हो।) यो तथ्य हो। तैँले परमेश्वरको जति वचन सुनेको भए पनि, जति सत्यता स्विकार्न सक्ने वा बुझेको भए पनि, जति वास्तविकता जिएको भए पनि, वा जति नतिजाहरू प्राप्त गरेको भए पनि, तैँले बुझ्नैपर्ने एउटा तथ्य छः सत्यता, मार्ग र परमेश्वरको जीवन प्रत्येक व्यक्तिलाई निःशुल्क प्रदान गरिन्छ, र यो सबैका लागि निष्पक्ष हुन्छ। परमेश्वरले कहिल्यै पनि मानिसहरूले परमेश्वरमा कति समय विश्वास गरेका छन् वा कति कष्ट भोगेका छन् भन्ने आधारमा कसैप्रति पूर्वाग्रह राख्नुहुनेछैन, र कसैले उहाँमा लामो समयदेखि विश्वास गरेको वा धेरै कष्ट भोगेकै भरमा उहाँले उसलाई कहिल्यै उसको पक्ष लिनुहुनेछैन वा उसलाई आशिष् दिनुहुनेछैन। न त परमेश्वरले कसैलाई उसको उमेर, रूप, लिङ्ग, पारिवारिक पृष्ठभूमि, आदिका आधारमा फरक व्यवहार नै गर्नुहुन्छ। हरेक व्यक्तिले परमेश्वरबाट उही कुरा प्राप्त गर्छ। उहाँले कसैलाई पनि कम वा बढी प्राप्त गर्न दिनुहुन्न। परमेश्वर हरेक व्यक्तिका लागि निष्पक्ष र न्यायोचित हुनुहुन्छ। उहाँले मानिसहरूलाई तिनीहरूलाई आवश्यक परेकै कुरा, आवश्यक परेकै बेलामा दिनुहुन्छ, उहाँ तिनीहरूलाई भोक, जाडो वा तिर्खामा छोड्नुहुन्न, र उहाँले मान्छेका हृदयका सम्पूर्ण आवश्यकताहरू पूरा गरिदिनुहुन्छ। परमेश्वरले यी कुराहरू गर्नुहुँदा, उहाँ मानिसहरूले के गरून् भन्ने माग गर्नुहुन्छ? परमेश्वरले मानिसहरूलाई यी कुराहरू प्रदान गर्नुहुन्छ, त्यसोभए के परमेश्वरका केही स्वार्थी मनसायहरू छन्? (छैनन्।) परमेश्वरका कुनै स्वार्थी मनसायहरू छैनन्। परमेश्वरका सबै वचनहरू र काम मानवजातिकै लागि हुन्, र तिनको उद्देश्य मानिसहरूका सम्पूर्ण दुःख र कठिनाइहरू समाधान गर्नु हो, ताकि तिनीहरूले उहाँबाट वास्तविक जीवन प्राप्त गर्न सकून्। यो तथ्य हो। तर के तिमीहरूले यसलाई तथ्यहरूद्वारा प्रमाणित गर्न सक्छौ? यदि तिमीहरूले यसलाई तथ्यहरूद्वारा प्रमाणित गर्न सक्दैनौ भने, यसो भनेर तिमीहरू निकै झूटा भइरहेका छौ र यो अभिव्यक्ति एउटा भन्ने कुरा मात्र हो। के मैले यसलाई यसरी भन्न मिल्छ? उदाहरणका लागि, परमेश्वरले मानिसहरूलाई इमानदार हुनू, इमानदारीसाथ बोल्नू र इमानदार कामकुरा गर्नू, र छली नहुनू भनेर भन्नुहुन्छ। परमेश्वरले यसो भन्नुको महत्त्व मानिसहरूलाई साँचो मानव रूप राख्न, र शैतानजस्तो नहुन, जमिनमा घस्रिहिँड्ने सर्पको जस्तो बोली नबोल्न, सधैँ अनेकार्थक कुरा नगर्न, र अरू मानिसहरूलाई विषयको सत्यता बोध गर्नबाट नरोक्न सक्षम तुल्याउनु हो। अर्थात्, त्यो कुरा भन्नुको उद्देश्य मानिसहरूले वचन र कर्म दुवैमा मानव स्वरूप जिऊन्, र तिनीहरू सम्मानित, इमानदार र शालीन होऊन्, नराम्रो पक्ष र लज्जास्पद कुराहरू नपालून्, र तिनीहरू सफा हृदयका होऊन् भन्ने हो। त्यसो भन्नुको उद्देश्य मानिसहरू बाहिरी रूपमा पनि भित्री रूपमा भएजस्तै होऊन्, मनमा जे छ त्यही भनून्, परमेश्वर वा अन्य कसैलाई पनि नठगून्, कुनै कुरा नलुकाऊन्, शूद्ध भूमिजस्तो हृदयका होऊन् भन्ने हो। परमेश्वरले माग्नुहुने कुरा यही हो, र परमेश्वरले मानिसहरू इमानदार हुनुपर्ने माग राख्नुको उद्देश्य यही नै हो। मानिसहरू इमानदार हुनुपर्ने माग राखेर, परमेश्वर मानिसहरूले के प्राप्त गरून् भन्ने चाहनुहुन्छ? उहाँ मानिसहरूले कस्तो स्वरूप जिएको चाहनुहुन्छ? यो कुराको सबैभन्दा ठूलो लाभार्थी को हो? (मान्छे।) कतिपय मानिसहरूले परमेश्वरको इच्छा कहिल्यै बुझ्न सक्दैनन्, र तिनीहरू सधैँ परमेश्वरलाई शङ्का गर्दै यसो भन्छन्: “परमेश्वर हामी इमानदार होऔँ, र हामी उहाँसित सरल र खुला रूपमा बोलौँ भन्ने चाहनुहुन्छ, ताकि उहाँले हाम्रो साँचो अवस्था पत्ता लगाउन, र त्यसपछि हामीलाई नियन्त्रण गर्न र आफूअनुकूल प्रयोग गर्न, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति पूर्णतया समर्पित गराउन सक्नुहोस्।” के यो सोच सही छ? यो सोच अत्यन्तै नकारात्मक र निर्लज्ज छ, र दियाबलसहरूले मात्र परमेश्वरबारे अनुमान लगाउँछन् र यसरी उहाँमाथि शङ्का गर्छन्। परमेश्वरले मानिसहरू इमानदार हुनुपर्ने, र कुनै स्वार्थी मनसाय, अभिप्राय, स्वेच्छा, वा मिसावट र नकारात्मक पाटो नभएको मानिस बन्नुपर्ने माग राख्नुको उद्देश्य के हो? यसको उद्देश्य मानिसहरूलाई तिनीहरूको भ्रष्ट स्वभावहरूबाट शुद्ध पारिन, बिस्तारै पवित्रता प्राप्त गर्न, ज्योतिमा जिउन, र अझ बढी स्वतन्त्र रूपमा र मुक्त भएर जिउन, आनन्दले भरिन, खुसी र शान्तिले भरिपूर्ण हुन दिनु हो—यी सबैभन्दा आशिषित् मानिसहरू हुन्। परमेश्वरको उद्देश्य मानिसहरूलाई सिद्ध पार्नु, र सबैभन्दा ठूला आशिषहरू उपभोग गर्न दिनु हो। यदि तँ यस प्रकारको व्यक्ति बनिस् भने, परमेश्वरले तँबाट के-कस्ता लाभहरू प्राप्त गर्न सक्नुहुन्छ? के परमेश्वरका केही गोप्य मनसायहरू छन् र? के उहाँले यो कुराबाट कुनै लाभ लिनुहुन्छ र? (लिनुहुन्न।) त्यसोभए यदि कुनै व्यक्ति इमानदार छ भने, यसको सबैभन्दा ठुलो लाभार्थी को हुन्छ? (व्यक्ति स्वयम् हुन्छ।) व्यक्तिले यसबाट के-कस्ता लाभ र फाइदाहरू प्राप्त गर्न सक्छ? उसको हृदय स्वतन्त्र र मुक्त हुनेछ, र उसको जीवन झन्झन् सजिलो बन्दै जानेछ; अरूसँग अन्तरक्रिया गर्ने क्रममा अरूले तिनीहरूलाई झन्झन् बढी विश्वास गर्नेछन्, र अन्य मानिसहरूसँग तिनीहरूको सामान्य सम्बन्ध हुनेछ।) अनि अरू? जब मानिसहरू परमेश्वरका वचन र मागहरूबमोजिम व्यवहार गर्छन्, तब तिनीहरू त्यसउप्रान्त पीडामा हुनेछैनन्, बरु, तिनीहरूले आरामदायी, शान्त, र सुखी जीवन जिउनेछन्।) यो निकै साँचो भावना हो। त्यसोभए, परमेश्वरले मान्छेलाई मुक्ति दिनुको उद्देश्य के हो? (मानिसहरूलाई रूपान्तरण र शुद्धिकरण गर्नु हो, ताकि अन्त्यमा उहाँले तिनीहरूलाई अपनाउन सक्नुहोओस्।) परमेश्वरद्वारा अपनाइनुको परिणाम के हुन्छ? याको परिणाम परमेश्वरले वाचा गर्नुभएको अद्भुत गन्त्व्यमा पुग्नु हो। त्यसोभए, यो कुराको सबैभन्दा ठुलो लाभार्थी को हो? (मान्छे।) मान्छे नै सबैभन्दा ठुलो लाभार्थी हो!
यतिका वर्षसम्म परमेश्वरलाई पछ्याएर मानिसहरूले के हासिल गर्छन्? धेरैजसो मानिसहरू तिनीहरूले धेरै फल पाएको भनेर भन्लान्। अहिलेका लागि हामी ती राम्रो क्षमता भएका र सत्यता पछ्याउनेहरूले कति धेरै फल पाउँछन् भन्नेबारे कुरा गर्नेछैनौँ; साधारण क्षमता भएकाहरूले समेत धेरै फल प्राप्त गर्छन्। पहिलो कुरा, के मानिसहरूमा यो दुष्ट र भ्रष्ट संसारसम्बन्धी केही समझ छ? (छ।) अविश्वासीहरूमाझ मिसिँदा तँलाई कस्तो अनुभूति हुने गर्थ्यो? हरेक दिन तँलाई थकान, रिस, क्रोध, दुःख, र अवसाद अनुभूति हुन्थ्यो; कुनै दुष्ट व्यक्तिसँग तेरो जम्काभेट हुने र उसले तँलाई हेप्ने, अनि तैँले उसलाई हराउन नसक्ने डरले तैँले आफ्नो भावना व्यक्त गर्ने आँटै गरिनस्, त्यसैले तैँले आफ्नो घमण्डलाई दबाउनुपर्यो। भन्नुको अर्थ, अविश्वासी संसार, यस दुष्ट संसारमा जिउँदा, तँसित सम्पर्कमा आएका मानिसहरू दियाबलस थिए; तिनीहरू एकअर्कासँग मारामार गर्थे, त्यसैले तेरो हृदय ठुलो पीडामा थियो। सबैभन्दा स्पष्ट अनुभूति यही हो। परमेश्वरमा विश्वास गरेपछि, यो स्पष्ट अनुभूति केमा परिणत भयो? तेरो यो झिनो विवेक र नैतिक बुझाइ के बन्यो? त्यो यस दुष्ट युगको साँचो समझ र साँचो ज्ञान बन्यो। धेरै सतावटहरू भोगेर तैँले दियाबलस राजाहरूको डरलाग्दो मुहारका साथै यस युगको अन्धकार र दुष्टता देख्न सक्छस्। के यो फल होइन र? यदि तँ परमेश्वरमा विश्वास गर्दैनस् र सत्यता स्विकार्दैनस् भने, के तैँले यस्तो फल पाउन सक्छस्? तँलाई पहिले “मानिसहरू कसरी झन्झन् खराब बनेका हुन्? बुझ्नै नसकिने” भन्ने मात्र अनुभूति हुन्थ्यो। के तैँले अझै पनि त्यसै भन्नेथिइस्? अहिले, तँसित दुष्ट मानिसहरू, नीच र सांसारिक दियाबलसहरूसम्बन्धी केही ज्ञान र समझ छ। के तँ तिनीहरूसँग सम्पर्कमा आएर अन्तरक्रिया गर्न इच्छुक हुनेथिइस्? (अहँ।) तँ निश्चय नै इच्छुक हुनेथिइनस्। यदि तँलाई तिनीहरूको सङ्गत गर्न र तिनीहरूसँग घुलमिल हुन भनियो भने, तैँले बरु हिच्किचाउँदै यसो भन्नेथिइस्: “मलाई डर लाग्छ। म तिनीहरूलाई हराउन सक्दिन। ती सबै शैतानका मानिसहरू हुन्, तिनीहरू अति दुष्ट छन्!” तँलाई के कुराले यति धेरै परिवर्तन गरायो? के यो परमेश्वरको वचनको प्रभाव होइन र? के सधैँ दुष्ट मानिसहरू, दुष्ट युग, र दुष्ट प्रचलनहरू खुट्ट्याउने तरिकाबारे बोल्नाले तँलाई यस युग र मानवजातिलाई चिन्ने तुल्याउँदैन र? तँसित यो ज्ञान भएरै तँ तिनीहरूसित घुलमिल हुन अनिच्छुक छस्; तँभित्रका नैतिक भाव र विवेकलाई तीदेखि घीन लाग्छ, र तँमा समझ विकसित हुन थाल्छ। तैँले बिस्तारै तिनको प्रकृति सार छर्लङ्गै देख्छस्; तिनीहरू दियाबलस हुन् भनेर तैँले तेरो हृदयको गहिराइबाटै देख्न सक्छस्। तिनीहरूसँगको उठबसले तेरो हृदयलाई पीडा दिन्छ र तँलाई यति निराश बनाउँछ कि तँसँग आफ्नो जीवनलाई निरन्तरता दिनका लागि कुनै उपाय हुँदैन; तेरो एउटै मात्र इच्छा भनेको आफूलाई तिनीहरूबाट तुरुन्तै अलग्याउनु हो। कतिपय मानिसहरू पहिलोपटक मण्डली प्रवेश गरेर दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्दा यस्तो अनुभूति गर्छन्: “यी मानिसहरू कसरी फरक छन्? तिनीहरू सबैजना परिवारका सदस्यहरूझैँ गरी तिनीहरूका सबैभन्दा भित्री सोचहरू सरल तरिकाले र खुलस्त रूपमा बोल्न सक्छन्। तिनीहरू कसरी अरूबाट आफ्नो प्रतिरक्षा बिलकुलै गर्दैनन्? तिनीहरू मूर्ख हुन् कि कसो? म नै अक्कली हुँ। म हरेकको विरुद्धमा प्रतिरक्षा गर्छु, र म कसैलाई पनि मेरा सबैभन्दा भित्री सोचहरू बताउँदिनँ।” समय बित्दै जाँदा, तिनीहरूले थोरैथोरै सत्यता बुझ्छन्; तिनीहरू सोच्छन् कि यदि तिनीहरूले इमानदार व्यक्ति बन्न खोजेनन्, बरु सधैँ आफ्ना भेष बदले, झूट बोले र छल गरे भने, के तिनीहरू दियाबलस हुन्थेनन् र? तिनीहरूलाई निश्चय नै हटाइनेथ्यो। “मैले सत्यता स्विकारेर इमानदार व्यक्ति हुनैपर्छ।” त्यसपछि तिनीहरू आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसित आफ्नो हृदय खोल्ने र तिनीहरूका सबैभन्दा भित्री कुराहरू बताउने कोसिस गर्छन्। बेलाबेलामा झूट बोल्दा तिनीहरू परमेश्वरलाई प्रार्थना गर्छन्, र तिनीहरूका झूटहरू त्याग्छन्, अनि इमानदार व्यक्तिको आचारण अभ्यास गर्छन्। तिनीहरू सधैँ यसरी नै अभ्यास गर्छन्, र त्यसपछि एक दिन तिनीहरूलाई यसरी जिउनु साँच्चै राम्रो लाग्छ; तिनीहरू थकित नहुने मात्र नभई उदास पनि हुँदैनन्, र तिनीहरूलाई कुनै पीडा हुँदैन। तिनीहरूको हृदय स्वतन्त्र र मुक्त हुन्छ, र तिनीहरूमा साँच्चै शान्ति र हर्षको अनुभूति हुन्छ। यस बिन्दुपछि, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूसित आफ्ना सोच र विचारहरू खुलस्त रूपले सङ्गति गर्न सक्छन्। “परमेश्वरको घरमा मात्र सत्यताको वातावरण हुन्छ, त्यहाँमात्र परमेश्वरको वचनको अख्तियार चल्छ, र त्यहाँमात्र पवित्र भूमि हुन्छ। मानिसहरू जिइरहँदा परमेश्वरको घरमा मात्र तिनीहरूमा बढी मानवीय झल्को हुन्छ!” यदि तँसित साँच्चै यस्ता भावनाहरू छन् भने, तैँले परमेश्वरलाई छोड्नेछैनस्, किनकि तैँले परमेश्वर प्रेम हुनुहुन्छ भन्ने कुरा बुझ्छस्, र तैँले उहाँको प्रेममा आनन्द लिन्छस्। मानिसहरूले परमेश्वरमा विश्वास गरेको र यसरी नै उहाँलाई पछ्याएको देख्दा अविश्वासीहरूले यो कुरा बुझ्दैनन्। यी मानिसहरू के गरिरहेका छन्, तिनीहरूमा परमेश्वरमाथि किन त्यति ठूलो आस्था छ, वा तिनीहरू यस्ता कठिन परिस्थितिहरूमा पनि किन भेला हुन लागिपर्छन् भन्ने कुरा तिनीहरूले बुझ्दैनन्—हटाएर निष्कासन गरिएपछि पनि तिनीहरू परमेश्वरलाई छोड्दैनन्, तिनीहरू अझै सेवा प्रदान गर्न लागिपर्छन्, र तिनीहरू सुसमाचार फैलाउँछन् र असल कार्यहरू तयार गर्छन्। तिनीहरूमध्ये केही मानिसहरूले डरका कारण परमेश्वरलाई छोड्ने आँट नगर्न सक्छन्; तिनीहरू परमेश्वरलाई छोडियो भने आफूले परमेश्वरको दण्ड भोग्नुपर्ने कुराको डर मान्छन्। म तँलाई साँचो कुरा भन्छुः तँ ढुक्क भएर निस्केर जान सक्छस्, परमेश्वरले तँलाई दण्डित गर्नुहुनेछैन। परमेश्वरले मानिसहरूलाई स्वतन्त्रता दिनुहुन्छ, र परमेश्वरको घरको ढोका सधैँभरी खुला रहन्छ; जो जान चाहन्छ, ऊ रोकटोकविना जुनसुकै समय र स्थानमा जान सक्छ। तर यदि कुनै व्यक्ति छोडेर गएपछि पुनः प्रवेश गर्न चाहन्छ भने, त्यो त्यति सरल हुँदैन, किनकि त्यसो गर्नु भनेको परमेश्वरलाई विश्वासघात गर्नु हो। तिनीहरूले कठोर परीक्षा पार गर्नैपर्छ; तिनीहरूले साँच्चै पश्चात्ताप गरेका छन् कि छैनन्, तिनीहरू राम्रा व्यक्ति हुन् कि होइनन् भन्ने कुराको छानबिन हुनैपर्छ। त्यसपछि मात्र तिनीहरूलाई मण्डलीमा पुनः स्विकार्न सकिन्छ। तर परमेश्वरलाई त्यागेर संसारमा फर्किन चाहनेहरूका लागि परमेश्वरको घरले कहिल्यै कुनै रोकटोक गरेको छैन। के निश्चित मानिसहरूलाई निस्केर जाने अनुमति छैन भन्ने मण्डलीको कुनै प्रशासनिक आदेशहरू छन्? (छैनन्।) त्यस्तो आदेश कहिल्यै जारी गरिएको छैन। परमेश्वरको घरले जोकोहीलाई मण्डली छोडेर जाने अनुमति दिन्छ; यदि कुनै दुष्ट व्यक्तिले मण्डली छोड्यो भने, परमेश्वरले घरले उसलाई खुसीसाथ बिदाइ समेत गर्नेछ। तर त्यस्ता केही मानिसहरू हुन्छन्, जो मण्डली छोड्न चाहने मानिसहरूलाई सधैँ आफ्ना असल अभिप्रायहरू व्यक्त गर्न चाहन्छन्, र यसो भन्छन्: “तिमी जान मिल्दैन, तिमीसित अझै केही प्रतिभा र केही क्षमता छ। मण्डलीमा अझै पनि तिम्रो भविष्य छ, र तिमी भविष्यमा निकै आशिषित हुन सक्छौ।” कतिपय राम्रा अभिप्राय भएका मानिसहरू हुन्छन्, जो अरूलाई यसरी नै मनाउने कोसिस गर्छन्, र त्यो प्रेम हो भन्ठान्छन्। के मानिसहरूलाई यसरी बस्नू भन्नुको कुनै अर्थ छ? तैँले मानिसहरूलाई बसाउन सक्छस्, तर तिनीहरूको हृदयलाई बसाउन सक्दैनस्। सत्यतालाई प्रेम नगर्नेहरू परमेश्वरको घरमा दृढ रहन सक्दैनन्; तैँले तिनीहरूलाई बस्न बाध्य पारे पनि, तिनीहरू सत्यता पछ्याउने व्यक्ति होइनन्, त्यसैले तिनीहरूले के-कस्ता आशिष् प्राप्त गर्न सक्लान् र? यदि तिनीहरू वफादार सेवाकर्ताहरू हुन् भने, बाँच्न सक्नु पनि सानोतिनो आशिष होइन; तर सत्यतालाई प्रेम नगर्नेहरूलाई परमेश्वरमा विश्वास गर्नु थकाइलाग्दो लाग्छ, त्यसैले के तिनीहरू सेवा प्रदान गर्न इच्छुक हुन्छन्? त्यसैले, असल अभिप्रायमा आधारित यो अनुनयको विधिले असल व्यक्तिमा केही नतिजा दिन्छ, तर दुष्ट व्यक्तिमा लागू गर्नु चाहिँ अलि मूर्खतापूर्ण हुन्छ। अरूलाई उपदेश दिनका लागि सिद्धान्तहरू छन्। पश्चात्ताप गर्न सक्नेहरूलाई उपदेश दिइयो भने त्यसले केही नतिजाहरू दिनेछ, तर दुष्ट मानिसहरूलाई उपदेश दिनु बेकार छ। तैँले तिनीहरूलाई जति बढी मनाउने कोसिस गर्छस्, तिनीहरूले तँलाई त्यति बढी घिनाउनेछन्, र तिनीहरूको लाज रिसमा परिणत हुन्छ। यसले मूर्खता देखाउँछ—दुष्ट व्यक्तिलाई उपदेश दिनु मूर्खता हो। त्यस्ता केही मानिसहरू हुन्छन्, जसले लामो समयसम्म परमेश्वरमा विश्वास नगरेका भए पनि, विगत केही वर्षमा परमेश्वरका वचनहरू पढ्नाले तिनीहरूलाई थुप्रै सत्यताहरूबारे बोधात्मक, सरल ज्ञान दिएको, र तिनीहरूले सत्यता पूर्णतया प्राप्त नगरेका भए पनि, तिनीहरू धेरथोर परिवर्तन भएको, र परमेश्वरबाट साँच्चै धेरै कुरा प्राप्त गरेको भनी तिनीहरूलाई हृदयको गहिराइमा अनुभूति हुन्छ। तँलाई अनुभवात्मक ज्ञान र गवाहीबारे बोल्न लगाउँदा तैँले त्यसबारे प्रस्ट रूपले कुरा गर्न नसक्ने भए पनि, तँलाई आफू राम्रो र सकारात्मक दिशामा अघि बढिरहेको छु, र खराब वा नकारात्मक दिशातर्फ पछि फर्किरहेको छैनँ भन्ने अनुभूति हुन्छ—अनि तैँले निरन्तर आफूलाई यसो भनिरहेको हुन्छस्, “म असल व्यक्ति हुन आवश्यक छ, म इमानदार व्यक्ति हुन आवश्यक छ। म कदापि छली व्यक्ति हुन मिल्दैन, परमेश्वरले घृणा गर्ने दुष्टताको अहङ्कारी अनुचर हुन त झनै मिल्दैन। म परमेश्वरलाई खुसी पार्ने व्यक्ति हुन आवश्यक छ।” यसरी तैँले प्रायः आफूलाई हप्काउँछस् र काबुमा राख्छस्, र केही वर्षपछि, अन्ततः तँलाई लाग्छ कि तैँले अलिकति मानव स्वरूप जिउन सक्छस्। मानिसहरूको सबैभन्दा साँचो भावना, अनुभव र बुझाइहरूमार्फत भन्नुपर्दा, मान्छे नै परमेश्वरको कामको सबैभन्दा ठूलो लाभार्थी हो, किनकि उहाँले मानवजातिलाई मुक्ति दिनुहुन्छ। हालसम्म परमेश्वरमाथि विश्वास गरेर तिमीहरूले के कुरा छुटाएका छौ? म त्यो कुरा तँलाई देखाउनेछु। तैँले आत्मभोग, आफूले चाहेको कुरा गर्ने अवसर, हृदयहीन भएर जिउने, रात्रीकालिन क्लब र बारहरूमा गई नाचगान र पार्टी गर्ने अवसरहरू गुमाएको छस्, र तैँले दुष्टताका छालहरूमा अनियन्त्रित रूपले खाने र पिउने अवसर गुमाएको छस्। तैँले यी दिनहरू अनुभव गरेको छैनस्। तैँले त्योभन्दा अरू के हासिल गरेको छस्? मानिसहरू प्रायः परमेश्वरमाथिको विश्वासले तिनीहरूलाई निकै खुसी र मस्त तुल्याउने अनुभूति गर्छन्। पूरै जीवनकाल यसरी नै जिउनु निकै राम्रो हुनेथ्यो। तैँले धेरैजसो प्राप्त गर्ने भनेको खुसी, आनन्द र शान्ति हुन्। के यी वास्तविक लाभहरू होइनन् र? (हुन्।) कतिपय मानिसहरूले यसो भन्लान्: “विगत दुई वर्षदेखि म मेरो कर्तव्य निर्वाहबाट अलि थकित भए पनि, मलाई सहज महसुस हुन्छ।” यो सहजता र शान्तिलाई पैसाले किन्न सकिँदैन, न त तिनलाई हैसियत, प्रसिद्धि, लाभ, वा शैक्षिक उपाधीसँग साट्न नै मिल्छ।
एउटा परमेश्वरको विश्वासीका लागि सत्यता प्राप्त गर्नु भनेको जीवन प्राप्त गर्नु हो, अनि जीवन प्राप्त गर्नु भनेको वास्तविक लाभहरू प्राप्त गर्नु हो। मान्छेले वास्तविक लाभहरू प्राप्त गरिरहँदा, परमेश्वरले तिनीहरूबाट के प्राप्त गर्नुहुन्छ? परमेश्वरले मान्छेसँग के-कस्ता मागहरू राख्नुहुन्छ? परमेश्वरले मान्छेबाट के प्राप्त गर्नु आवश्यक छ? के परमेश्वर कारोबारमा संलग्न हुनुहुन्छ। (हुनुहुन्न।) परमेश्वरका बोली र व्यवहारहरूमा, के उहाँले कहिल्यै “मैले यी वचनहरू भनेको छु, त्यसैले तिमीहरूले मलाई यति पैसा दिनुपर्छ” भनेर भन्नुभएको छ? के परमेश्वरले कहिल्यै तिमीहरूसित एक पैसा माग्नुभएको छ? (छैन।) कतिपय अविश्वासपूर्ण मानिसहरू परमेश्वरले मानवजातिलाई अति निःस्वार्थ रूपले र निःशुल्क मान्छेको जीवन हुन सक्ने यति धेरै सत्यताहरू प्रदान गर्नुहुन्छ भन्ने कुरा कहिल्यै विश्वास गर्दैनन्; तिनीहरू यो तथ्यमा विश्वास गर्दैनन्। तिनीहरू संसारमा भएका सबै मामलाहरू कारोबारमा आधारित छन्, सित्तैमा केही पनि पाइँदैन भन्ठान्छन्, त्यसैले तिनीहरू परमेश्वरका सबै वचन र कार्यहरू मानवजातिलाई निःशुल्क, कुनै मूल्यविना प्रदान गरिन्छन् भन्नेमा विश्वास गर्दैनन्। त्यस्तै हो भने पनि, तिनीहरू त्यो निश्चय नै पासो हो भन्ठान्छन्। तिनीहरूले यसरी परमेश्वरमाथि शङ्का गर्नु अनौठो कुरै होइन, किनकि परमेश्वरले कसलाई मुक्ति दिनुहुन्छ र सिद्ध पार्नुहुन्छ भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन, कसलाई सत्यता प्रदान गर्नुहुन्छ भन्ने कुरा त झनै थाहा हुँदैन। तर परमेश्वरले जे गर्नुहुन्छ, त्यो निःशुल्क हुन्छ। मानिसहरूले जे गरेको उहाँले चाहनुभए पनि, यदि तिनीहरूले गर्छन् भने उहाँ प्रसन्न हुनुहुन्छ, र मानिसहरूले उहाँको अनुमोदन पाउन सक्छन्। यदि मानिसहरू परमेश्वरले व्यक्त गर्नुहुने सत्यताहरूलाई स्विकार्न सक्छन्, र उहाँका वचनहरूअनुसार जिउन सक्छन् भने, यो नै परमेश्वरले अपेक्षा गर्नुभएको नतिजा हो, र मानिसहरूलाई मुक्ति दिँदा उहाँले मानिसहरूबाट चाहनुहुने कुरा हो। परमेश्वरले यति सानो कुरा चाहनुहुन्छ, तर के मानिसहरूले उहाँलाई त्यो कुरा दिन सक्छन् त? कतिजना मानिसहरू छन्, जो परमेश्वरको ऋण तिर्न उहाँको यो मागलाई नै सबैभन्दा अमूल्य कुराका रूपमा लिन सक्छन्? परमेश्वरको हृदय कसले बुझ्न सक्छ? कसैले पनि सक्दैन, र मानिसहरू आफूले सबैभन्दा अमूल्य कुरा प्राप्त गरेको छु भन्ने पत्तै पाउँदैनन्। म किन तिनीहरूले सबैभन्दा अमूल्य कुरा प्राप्त गरेका छन् भनेर भनिरहेको छु? परमेश्वरले मान्छेलाई उहाँको जीवन, उहाँ जे हुनहुन्छ र उहाँसँग जे छ, त्यो सबै प्रदान गर्नुभएको छ, ताकि तिनीहरूले त्यो जिउन सकून्, ताकि तिनीहरूले उहाँ जे हुनुहुन्छ र उहाँसँग जे छ, त्यो सबै, र उहाँले मान्छेलाई प्रदान गर्नुभएका सत्यताहरू लिन, र तिनलाई तिनीहरूको जीवनको दिशा र लक्ष्यमा परिणत गर्न सकून्, ताकि तिनीहरू उहाँका वचनहरूअनुसार जिउन र उहाँका वचनहरूलाई तिनीहरूको जीवन बनाउन सकून्। यसरी, के परमेश्वरले मानिसहरूको जीवन बन्न सकूँ भन्नका लागि तिनीहरूलाई उहाँको जीवन सित्तैमा प्रदान गर्नुभएको छ भनेर भन्न सकिन्न र? (सकिन्छ।) त्यसोभए मानिसहरूले परमेश्वरबाट के प्राप्त गर्छन्? उहाँका अपेक्षाहरू? उहाँका वाचाहरू? कि के? मानिसहरूले परमेश्वरबाट खोक्रो वचन होइन, परमेश्वरको जीवन प्राप्त गर्छन्! परमेश्वरले मानिसहरूलाई जीवन प्रदान गरिरहँदा, उहाँले तिनीहरूबाट गर्नुहुने एक मात्र माग भनेको तिनीहरूले उहाँको जीवन तिनीहरूकै जस्तो गरेर जिऊन् भन्ने हो। तँले यो जीवन जिएको परमेश्वरले देख्नुभयो भने, उहाँ सन्तुष्ट हुनुहुन्छ; उहाँको एउटै मात्र माग यही हो। त्यसैले, मानिसहरूले परमेश्वरबाट प्राप्त गर्ने कुरा अमूल्य हुन्छ, तर उहाँले तिनीहरूलाई यो अमूल्य कुरा प्रदान गरिरहँदा उहाँले केही पाउनुहुन्न। सबैभन्दा ठूलो लाभार्थी मान्छे नै हो; मान्छेले सबैभन्दा धेरै फल टिप्छ, र मान्छे नै सबैभन्दा ठुलो लाभार्थी हो। मानिसहरूले परमेश्वरका वचनहरूलाई तिनीहरूको जीवनका रूपमा स्विकारिरहँदा, तिनीहरूले सत्यता बुझ्छन् र आफ्नो आचरणका निम्ति सिद्धान्त र आधार पाउँछन्, त्यसैले तिनीहरूसित आफ्नो जीवन मार्गको दिशा हुन्छ। तिनीहरू शैतानको बहकाउ वा बन्धनमा पर्न छोडेका हुन्छन्, र तिनीहरू दुष्ट मानिसहरूको बहकाउ र प्रयोगको पासोमा पर्न छाडेका हुन्छन्; तिनीहरू दुष्ट प्रचलनद्वारा दुषित र प्रलोभित हुन छाडेका हुन्छन्। तिनीहरू स्वर्ग र धर्तीबीच स्वतन्त्र र मुक्त भएर जिउँछन्, र परमेश्वरको प्रभुत्वमा जिउन सक्छन्, अनि फेरि कहिल्यै पनि कुनै दुष्ट वा नकारात्मक शक्तिको क्रूरता भोग्दैनन्। भन्नुको अर्थ, व्यक्तिले यस प्रकारको जीवन जिउँदा, उसले पीडा भोग्न छोडेको हुन्छ, र उसलाई कुनै कठिनाइहरू आइपर्दैनन्; ऊ खुसीसाथ, स्वतन्त्र र सहज जीवन जिउँछ। परमेश्वरसित उसको सामान्य सम्बन्ध हुन्छ; उसले उहाँविरुद्ध विद्रोह वा उहाँको प्रतिरोध गर्दैन। साँच्चै उहाँको सार्वभौमिकतामा जिउँदै, ऊ भित्री र बाहिरी रूपले पूर्णतया न्यायसङ्गत ढङ्गले जिउँछ; उसमा सत्यता र मानवता हुन्छ, र ऊ मानवजाति भन्न लायक हुन्छ। यस्तो ठूलो लाभ प्राप्त गर्नुलाई मान्छेको कल्पनामा परमेश्वरले मान्छेसँग गर्नुभएका वाचाहरू वा मान्छेले प्राप्त गर्न इच्छा गर्ने आशिषहरूसँग तुलना गर्—कुन राम्रो छ? मानिसहरूलाई कुनचाहिँ सबैभन्दा बढी आवश्यक पर्छ? मानिसहरूलाई कुनचाहिँले परमेश्वरद्वारा नष्ट नपारिई र दण्डित नभई परमेश्वरप्रति समर्पित हुने र उहाँको आराधना गर्ने, सधैँभरी जिउनेतुल्याउन सक्छ? के आशिषित हुने तेरो चाहना महत्त्वपूर्ण छ, कि परमेश्वरले तँलाई दिनुभएको जीवन जिउनु महत्त्वपूर्ण छ? तँलाई परमेश्वरसामु आउन, उहाँलाई तँलाई घृणा नगर्ने, नत्याग्ने, वा दण्डित नगर्ने तुल्याउन कुनचाहिँले बढी मद्दत गर्न सक्छ? के कुराले तेरो जीवनको रक्षा गर्न सक्छ? परमेश्वरबाट आउने सत्यता स्विकारेर मात्र तैँले यो अनन्त जीवन प्राप्त गर्न सक्छस्। तैँले यो जीवन प्राप्त गरिसकेपछि, तेरो जीवनको समयसीमा हुँदैन—यो अनन्त जीवन हो। तात्पर्य के हो भने, यदि कुनै व्यक्तिले परमेश्वरबाट आउने जीवन प्राप्त गर्दैन भने, ऊ मर्नैपर्छ; मानव जीवनको समयसीमा हुन्छ। के समयसीमा भएको जीवन पनि अनन्त जीवन हो र? होइन। के परमेश्वरबाट शाश्वत जीवन प्राप्त गर्नुले आशिषित हुने तेरो चाहनाको ठाउँ लिन सक्छ? के कुनै व्यक्तिको आशिषित हुने चाहनाले उसलाई मर्नबाट रोक्न सक्छ? सक्दैन, त्यो निश्चित छ।
परमेश्वर अति धेरै सत्यता व्यक्त गर्न आउनुभएको छ। मानिसहरूले परमेश्वरबाट जीवन प्राप्त गर्छन् र तिनीहरूले परमेश्वरबाट आउने चिरस्थायी जीवन, शाश्वत जीवन प्राप्त गर्छन्। के परमेश्वर परिवर्तन हुनुभएको छ? (छैन।) सैद्धान्तिक रूपमा भन्नुपर्दा, मानवजातिलाई मुक्ति दिने परमेश्वरको ठूलो परियोजनाले अन्ततः मानिसहरूलाई नमरी अनन्तकालसम्म जिउने तुल्याएको छ; यस स्तरमा, परमेश्वरले उहाँका इच्छाहरू पूरा गर्नुभएको छ, उहाँको छ हजार वर्षे व्यवस्थापन योजना—अर्थात् मानवजातिलाई मुक्ति दिने काम पूरा गर्नुभएको छ। परमेश्वरको महान् काम पूरा भएको छ, र त्यसबाट परमेश्वरलाई केही लाभ प्राप्त भएजस्तो देखिन्छ, तर वास्तवमा, अनन्तकालसम्म को जिउनेछ? सबैभन्दा ठूला आशिषहरू प्राप्त गर्ने कसले हो? (मान्छेले।) मानवजातिले हो। यदि परमेश्वरले यी मानिसहरूलाई अपनाउनुभएन भने, के उहाँको हैसियत परिवर्तन हुनेछ? (हुनेछैन।) परमेश्वरको हैसियत परिवर्तन हुनेछैन, न त उहाँको सार, न अरू केही कुरा नै परिवर्तन हुनेछ। त्यसविपरित, मान्छेको नियति चाहिँ उल्लेखनीय रूपले परिवर्तन हुनेछ; सानोतिनो नभएर स्वर्ग र धर्तीबीचको फरक आउनेछ! एउटा सदाका लागि मर्नेछ, अर्को सदाका लागि जिउनेछ। मानिसहरूले कुन रोज्नुपर्छ? (सदाका लागि जिउने।) परमेश्वरले के हेर्ने इच्छा गर्नुहुन्छ? मानवजातिबाट राख्नुभएको उहाँको सबैभन्दा ठूलो अपेक्षा के हो? उहाँले किन यस्तो ठूलो मूल्य चुकाउनुहुन्छ? परमेश्वरले मान्छेलाई निःशुल्क रूपमा, कुनै माग वा लेनदेनविना, र कुनै अतिरिक्त आवश्यकताहरूविना उहाँको जीवन प्रदान गर्नुभयो। परमेश्वर मानिसहरूले उहाँका वचनहरूलाई तिनीहरूको हृदयमा स्विकारून् र उहाँका मागहरूअनुसार मानवको झल्को जिऊन् भन्ने मात्र माग गर्नुहुन्छ, र त्यसपछि उहाँको कामले नतिजाहरू हासिल गर्नेछ, र उहाँका इच्छाहरू पूरा हुनेछन्। तर मानवहरू सङ्कीर्ण सोचका हुन्छन्; तिनीहरू यी सबै वचनहरू भनेर अनि मानिसहरूलाई ती वचनहरू खान र पिउन अनि तिनमा प्रवेश गर्न लगाएर, मानिसहरूलाई कुराहरू त्याग्न र आफूलाई अर्पित गर्न, आफूविरुद्ध विद्रोह गर्न, आफूलाई पन्छाउन र निरन्तर रूपमा परमेश्वरको आराधना गर्न लगाएर परमेश्वरले केही ठूलै लाभ प्राप्त गरिरहेको हुन सक्ने भन्ठान्छन्। खासमा के वास्तविकता यही हो त? (होइन, परमेश्वर निःस्वार्थ हुनुहुन्छ। उहाँले मानिसहरूलाई मागहरू नराखी, र उहाँको ऋण तिर्न नलगाई निःशुल्क रूपमा सत्यता प्रदान गर्नुहुन्छ।) यी मामलाहरू हेर्दा, के “परमेश्वर निःस्वार्थ हुनुहुन्छ” भन्ने वाक्यांश साँचो हो? (हो।) परमेश्वर निःस्वार्थ हुनुहुन्छ। परमेश्वरले गर्नुहुने कुनै कुराहरूमा पनि स्वार्थीपन हुँदैन। के परमेश्वरले कहिल्यै मान्छेका लागि नभई उहाँकै लागि मात्र भनेर केही गर्नुभएको छ? कहिल्यै गर्नुभएको छैन। हालसम्म, परमेश्वरले कहिल्यै त्यस्तो काम गर्नुभएको छैन, जुन मानिसहरूले तिनीहरूका अनुभवहरूमार्फत् जान्न सक्छन्। परमेश्वरले मानिसहरूलाई सत्यता बुझ्न र उहाँबाट आउने जीवन प्राप्त गर्न दिइरहनुहुँदा, उहाँले अनेकौँ परिस्थिति, मानिस, घटना र कामकुराहरूको बन्दोबस्त गर्नुहुन्छ, र मानिसहरूलाई तिनीहरूका कर्तव्यहरू निभाउने उचित अवसरहरू प्रदान गर्नुहुन्छ; ताकि तिनीहरूले उहाँका वचनहरूको साँचोपन र त्यसभित्रको सत्यता पर्याप्त रूपले अनुभव गर्न र बुझ्न उचित परिस्थिति र अवस्थाहरू पाउन सकून्। उहाँले मानिसहरूलाई उहाँको इच्छा बुझ्न, उहाँको हृदयलाई गलत रूपमा नबुझ्न, र मानिसहरूलाई सही मार्गमा पुर्याउन मद्दत गर्नका लागि काटछाँट, अनुशासन, परीक्षा, शोधन, उक्साहट, उपदेश, साथै मण्डली जीवन र पारस्परिक सङ्गति, साथ, र दाजुभाइ-दिदीबहिनीहरूको सहयोग जस्ता सबै प्रकारका विधिहरू प्रयोग गर्नुहुन्छ। परमेश्वरले यी सबै गरिरहनुहुँदा, के उहाँले मानिसहरूबाट केही अतिरिक्त मागहरू राख्नुहुन्छ, के उहाँले तिनीहरूलाई उहाँका लागि विशेष कामकुरा गर्न लगाउनुहुन्छ? (लगाउनुहुन्न।) सारांशमा, परमेश्वरले मानिसहरूलाई मुक्ति दिनुहुँदा, उहाँले तिनीहरूलाई पर्याप्त अवसर र पर्याप्त ठाउँ दिनुहुन्छ, र हरेक व्यक्तिको विकासका लागि उहाँले विविध फाइदाजनक र सुविधाजनक अवस्था र परिस्थितिहरू प्रदान गर्नुहुन्छ। साथसाथै, उहाँले हरेक व्यक्तिलाई धुनुहुन्छ, र अन्त्यमा, सिद्ध पार्न सकिनेहरूलाई उहाँले सिद्ध पार्नुहुन्छ; सत्यतालाई प्रेम गर्ने र त्यसलाई पछ्याउनेहरूलाई उहाँले सिद्ध पार्नुहुन्छ। छोटकरीमा, परमेश्वरले गर्नुहुने यो सबै, चाहे ती उहाँले मानिसहरूलाई भन्ने वचनहरू हून्, उहाँले गर्नुहुने काम हून्, वा उहाँले चुकाउने मूल्य, ती सबै निःशुल्क रूपमा गरिन्छन्।
वास्तवमा, परमेश्वरले जति वर्ष काम गर्नुभए पनि, मानिसहरूले परमेश्वरको वचन जति बुझ्न सके पनि, तिनीहरूले जति सत्यतालाई व्यवहारमा लागू गर्न सके पनि, वा तिनीहरूले परमेश्वरबाट जति जीवन भरणपोषण पाउने भए पनि, के मानवजातिमध्ये कसैले परमेश्वरसित साँच्चै कुरा गर्न सक्छ? कुराकानीलाई अहिलेका लागि थाती राखौँ—अहिले यो माग तिमीहरूका लागि अलि उच्च भयो—के परमेश्वरको हृदय साँच्चै बुझ्न सक्ने कोही छ? उहाँलाई सन्तुष्ट तुल्याउनेबारे कुरा नगरौँ—के तैँले उहाँको हृदय बुझ्न सक्छस्? कसैले पनि सक्दैन। कतिपय मानिसहरू यसो भन्छन्: “परमेश्वर अत्यन्तै महान् हुनुहुन्छ, र हामी मानवहरू अत्यन्तै साना छौँ। परमेश्वर स्वर्गमा हुनुहुन्छ, र हामी धर्तीमा छौँ। परमेश्वरको एउटा विचार नै हामीलाई वर्षौँसम्म मनन गर्न पर्याप्त हुन्छ—हामी कसरी उहाँलाई बुझ्न सक्छौँ? यो कुरा हासिल गर्न सजिलो छैन, र उहाँसँग कुराकानी हासिल गर्न झनै असम्भव छ।” त्यसोभए, के यो हासिल गर्नु कठिन मामला हो? के यसमा एक स्तरको कठिनाइ छ? उक्त कठिनाइ कहाँनेर आइपर्छ? परमेश्वरका सोचहरू उहाँका सबै वचनहरूमा, उहाँले व्यक्त गर्नुभएको सत्यतामा, र उहाँको स्वभावमा हुन्छन्। यदि कसैले सत्यता पछ्याउँदैन, सत्यता बुझ्न सक्दैन, र परमेश्वरबाट आउने सत्यता र जीवन प्राप्त गर्न सक्दैन भने, उसले उहाँलाई कहिल्यै बुझ्न सक्दैन। यदि कसैले परमेश्वरलाई बुझ्दैन भने, ऊ कहिल्यै उहाँसित कुराकानी गर्न उहाँसामु आउन सक्दैन, न त ऊ त्यसो गर्न सक्षम नै हुनेछ। मैले कुराकानी गर्नु भन्नुको अर्थ के हो? त्यसको अर्थ आफ्नो हृदयलाई उदाङ्गो पार्नु, हृदयबाट बोल्नु हो। के तिमीहरू यसो गर्न जान्दछौ? तँलाई तेरा अभिभावक, दाजुभाइ र दिदीबहिनी, अनि तेरा इष्टमित्रहरूसँग कसरी हृदयबाट बोल्ने भन्ने थाहा छ, तर तँलाई परमेश्वरसित कसरी हृदयबाट बोल्ने भन्ने कहिल्यै थाहा हुँदैन। यो समस्याको स्रोत के हो? (परमेश्वरको हृदय नबुझ्नु।) तैँले किन परमेश्वरको हृदय बुझ्न सक्दैनस्? (मान्छेमा परमेश्वरबारे साँचो ज्ञान हुँदैन।) यो एउटा मूख्य कारण हो। मानिसहरू परमेश्वरको हृदय बुझ्दैनन्; तिनीहरूलाई उहाँको हृदयबारे थाहा हुँदैन, न त तिनीहरूलाई उहाँ के सोचिरहनुभएको छ, उहाँ के कुरालाई प्रेम गर्नुहुन्छ र के कुरालाई घृणा गर्नुहुन्छ, उहाँ किन उदास हुनुहुन्छ, वा उहाँ किन दुःखी हुनुहुन्छ भन्ने कुरा नै थाहा हुन्छ। तैँले यी कुराहरूको कदर गर्न सक्दैनस्, जसले तैँले परमेश्वरका वचनहरूबाट सत्यता वा जीवन प्राप्त गरेको छैनस्, र अझै पनि तेरो हृदय परमेश्वरदेखि टाढा छ भन्ने प्रमाणित गर्छ। व्यक्तिको हृदय परमेश्वरदेखि टाढा हुनुको अर्थ के हो? पहिलो, यसको अर्थ मानिसहरूको हृदयमा परमेश्वरका लागि कुनै ठाउँ छैन; तिनीहरू अझै पनि आफू नै आफ्नो मालिक हुन चाहन्छन् भन्ने हो। यस्तै जारी रह्यो भने त्यसले तिनीहरूलाई जताततै, सधैँभरी परमेश्वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गर्ने तुल्याउँछ; तिनीहरूले परमेश्वरलाई त्याग्ने र छोड्नेसमेत गर्छन्। कतिपय मानिसहरू प्रकोप र विपत्तिको सामना गर्छन् र परमेश्वरलाई गलत बुझ्छन्, अनि उहाँविरुद्ध गुनासो गर्छन्; तिनीहरू परमेश्वरलाई मूल्याङ्कन गर्ने र नकार्ने कुराहरू भन्छन्। यस्ता मानिसहरूले पहिले नै परमेश्वरको प्रतिरोध र उहाँलाई विश्वासघात गरिरहेका हुन्छन्। साँचो परिस्थिति यही नै हो। परमेश्वरका लागि, यस्तो स्थितिमा जिउनु राम्रो हो कि नराम्रो? (नराम्रो।) यो किन नराम्रो हो? (परमेश्वरले यस्तो चाहनुहुन्न, र उहाँले त्यस्तो देख्ने आशा पनि गर्नुहुन्न।) यो एउटा पक्ष हो, र परमेश्वरले त्यस्तो देख्ने आशा गर्नुहुन्न। त्यसोभए परमेश्वरलाई हृदयमा कस्तो अनुभूति होला? (पछुतो र चोट।) पहिला, उहाँलाई चोट पुग्नेछ। यदि तैँले कुनै व्यक्तिसँग थुप्रै अपेक्षाहरू राखेको थिइस्, र उसले तँसामु आफ्नो हृदय उदाङ्गो पार्नेछ भनेर तैँले आशा गरिस्, तर त्यसविपरीत ऊ तँबाट टाढियो र उसले तँलाई गलत बुझ्यो, तँबाट सधैँ लुकेर हिँड्यो र तँलाई पन्छायो भने, तैँले के सोच्नेथिइस्? उसले तँसित आफ्नो मन खोल्यो र कुराकानी गर्यो भने पनि, उसले तैँले सुन्न चाहेको कुरा भनेन भने, तैँले के सोच्नेथिइस्? के तँलाई एक्लो महसुस हुन्थेन र? (हुनेथ्यो।) पहिला तँलाई एक्लो र अलग्याइएको महसुस हुनेथ्यो, मानौं तेरा कोही प्रियजन र विश्वासपात्रहरू छैनन्, तँसित हृदयबाटै बोल्ने कोही छैन, विश्वासयोग्य र भरपर्दो कोही छैन; तेरो हृदयलाई एक्लो महसुस हुनेथ्यो। तँलाई एक्लो महसुस हुँदा, तैँले के सोच्नेथिइस्? तँलाई कस्तो अनुभूति हुनेथ्यो? के तेरो हृदयमा चोट पुग्थेन र? (पुग्थ्यो।) त्यसले चोट पुर्याउनेथ्यो। के यो पीडा समाधान गर्न सजिलो छ? कस्ता प्रकारका कुराहरूले यो पीडा कम गर्न सक्थ्यो? तैँले कसरी यो परिस्थितिलाई परिवर्तन गर्न सक्नेथिइस्? के यो चाहना त्यागेर अनि यो तथ्य नदेखेझैँ गरेर परिस्थिति परिवर्तन गर्न सकिनेथ्यो? (सकिनेथिएन।) त्यसोभए तैँले अन्त्यमा के गर्नुपर्छ? अन्तिम निर्णय के हुनुपर्छ? यस्तो परिस्थितिलाई कसरी परिवर्तन गर्न सकिन्छ? परमेश्वरले दुईवटा कुराहरू गर्न सक्नुहुन्छ। मान्छेसँग अन्य विधिहरू हुन सक्छन्, तर भ्रष्ट मानवजातिका रोजाइहरू निश्चय नै परमेश्वरको कार्ययोजनाभन्दा फरक हुन्छन्। मान्छेको रोजाइ यस्तो हुनेथ्यो, “यदि तिमीले मेरो इच्छाअनुरूप कार्य गरेनौ भने, मैले तिमीप्रति कुनै चासो राख्नेछैन। यदि यो व्यक्ति काम लागेन भने, म त्यो व्यक्ति छान्नेछु। पहिलो खराब छ भने, म दोस्रो छान्नेछु।” के परमेश्वरले यस तरिकाले कार्य गर्नुहुनेथ्यो? निश्चय नै गर्नुहुनेथिएन। परमेश्वर उहाँले गर्न चाहनुभएको कुरामा हार मान्नुहुन्न। त्यसोभए परमेश्वरले के गर्नुहुनेथ्यो? यो परमेश्वरको निःस्वार्थ सार सन्निहित भएको मामला हो। एकातिर, परमेश्वरले निःशुल्क रूपमा निरन्तर मान्छेका आवश्यकताहरू, तिनीहरूका जीवन र आत्माका आवश्यकताहरू, साथै तिनीहरूका परिस्थितिहरूका विविध आवश्यकताहरूको भरणपोषण गर्नुहुनेथ्यो। साथै, परमेश्वरले दोस्रो कुरा गर्नुहुनेथ्यो, जुन उहाँले विगत हजारौँ वर्षदेखि गर्दै आउनुभएको छ। के तिमीहरू त्यो के होला भनेर सोच्न सक्छौ? (उहाँले प्रतीक्षा गर्नुहुनेथ्यो।) अरू केही? (परमेश्वरले प्रतीक्षा गरिरहनुहुनेथ्यो र तिनीहरूलाई मार्गदर्शन दिइरहनुहुनेथ्यो।) तिमीहरूमा केही बुझाइ, यो मानसिकता भएजस्तो देखिन्छ। ठिक भनिस्, उहाँले प्रतीक्षा गर्नुहुनेथ्यो। परमेश्वरले दोस्रो विधि रोज्नुहुनेथिएन, चाहे त्यो भाग्ने, हार मान्ने, वा उहाँको दुःख कम गर्ने होस्। उहाँले मानवजातिलाई निःशुल्क रूपमा जीवन भरणपोषण प्रदान गरिरहनुहुँदा, उहाँ निःशुल्क रूपमा प्रतीक्षा पनि गर्नुहुन्छ। उहाँले यही नै गर्नुहुन्छ। उहाँले यो कतिको राम्ररी गर्नुहुन्छ? मान्छेको शब्दमा भन्नुपर्दा, के परमेश्वर साँच्चै केही न केही हुनुहुन्न र? (परमेश्वर उहाँले सक्ने र गर्नुपर्ने सबै गर्नुहुन्छ।) परमेश्वरले यो सब निःशुल्क रूपमा गर्नुहुन्छ, ताकि मानिसहरूले अनन्त जीवन प्राप्त गर्न सकून्। उहाँका अरू मागहरू छैनन्; कम्तीमा, उहाँ मान्छेबाट अनुचित मागहरू गर्नुहुन्न भनेर भन्न सकिन्छ। परमेश्वरले मान्छेलाई यी सबै प्रदान गरिरहनुहुँदा, उहाँले मान्छेलाई निःशुल्क रूपमा र अलिअलि गर्दै उहाँको सबैभन्दा अमूल्य र मूल्यवान् चीज पनि प्रदान गर्नुहुन्छ, जुन मान्छेले सबैभन्दा बढी महत्त्व दिनुपर्ने र कदर गर्नुपर्ने चीज हो। मानिसहरूले यी सबै कुराहरू प्राप्त गरेसँगै तिनीहरूले खुसी, शान्ति, अस्तित्व र मानव आचारणको जग, र सबैभन्दा ठूला सम्भाव्य लाभहरू प्राप्त गर्छन्। तर यो सँगसँगै, के यी मानिसहरूमध्ये कसैले परमेश्वरबारे सोचेको हुन्छ? के तिनीहरूले उहाँ के गरिरहनुभएको र सोचिरहनुभएको छ भनेर सोचेका हुन्छन्? तिनीहरूले यसबारे सोचेका हुँदैनन् नि, हुन्छन् त? मानिसहरूले यो सब प्राप्त गरेपछि, के तिनीहरूमध्ये कसैले आफैलाई “परमेश्वरले हामीलाई प्रदान गर्नुभएका सम्पूर्ण कुराहरूको बदलामा हामीले उहाँलाई के दियौँ? परमेश्वरले हामीबाट के पाउनुहुन्छ? के हामीले आनन्द र खुसी प्राप्त गर्दा परमेश्वर खुसी हुनुहुन्छ?” भनेर आफूलाई प्रश्न गर्छन्? मानिसहरूले यसबारे सोध्ने वा सोच्ने काम नगर्लान्। जब मानिसहरू एकअर्कासँग परमेश्वरका वचनहरूबारे सङ्गति गर्छन्, अनि खुसी र रमाइलोमा डुबिरहेका हुन्छन्, के तिनीहरूमध्ये कसैले परमेश्वरबारे सोचेको हुन्छ? तिनीहरू सोच्दैनन्; तिनीहरूले कहिल्यै सोचेका हुँदैनन्, र तिनीहरू सोच्न जान्दैनन्। यस्ता कुराहरू तिनीहरूका हृदयमा हुँदैनन्। मानिसहरूले परमेश्वरबाट यो सब पाइरहँदा, तिनीहरू यस्तो सोच्छन्: “म अत्यन्तै भाग्यमानी छु! यो सब पाउनु अत्यन्तै राम्रो हो, म साह्रै आशिषित् छु! मजत्ति आशिषित् कोही पनि छैन। यो वास्तवमा परमेश्वरकै कारणले भएको हो!” मानिसहरू धन्यवादको एक शब्द मात्र बोल्छन्; तिनीहरूमा एकखाले आभारी मुड मात्र हुन्छ। तिनीहरू जति नै इमानदार भए पनि, वा तिनीहरूको हृदय जति नै उत्कट भए पनि, वा तिनीहरूलाई आफूले जति ठूलो बोझ बोक्न सक्छु भन्ने लागे पनि, र तिनीहरूलाई आफूले जति सत्यता बुझ्छु वा परमेश्वरका लागि जे गर्न सक्छु भन्ने लागे पनि, परमेश्वर मान्छेको साथ नै हुनुहुँदा पनि, उहाँ एक्लो नै हुनुहुन्छ! म किन उहाँ एक्लो हुनुहुन्छ भनेर भनिरहेको छु? किनभने, सुरुदेखि अन्त्यसम्म, परमेश्वरले मान्छेलाई जे प्रदान गर्नुभए पनि, उहाँले तिनीहरूलाई जे गर्नुभए पनि, तिनीहरूको अगाडि उहाँ जुन रूपमा देखा पर्नुभए पनि, वा उहाँले तिनीहरूमाथि जसरी काम गर्नुभए पनि, परमेश्वरलाई तिनीहरूद्वारा अलग्याइन्छ। वास्तविकता यही होइन र? (हो।) त्यसोभए यो परिस्थिति कस्तो अवस्थामा परिवर्तन हुनेछ, ताकि परमेश्वरलाई त्यसउप्रान्त प्रतीक्षा गर्न आवश्यक नपरोस् र एक्लो महसुस नहोस्? यो परिस्थितिलाई परिवर्तन गर्न, यो स्थितिलाई परिवर्तन गर्नका निम्ति मानिसहरूले कुन कुराहरू गर्नु आवश्यक छ र तिनीहरूको कद कुन स्तरको हुनु आवश्यक छ? यो के कुरामा निर्भर हुन्छ? (यो मानिसहरूको पछ्याइमाथि निर्भर हुन्छ।) यो मामला अन्त्यमा परमेश्वरमा नभई मान्छेमै निर्भर हुन्छ। मैले भनेजस्तै, जब मानिसहरूले परमेश्वरसित आमनेसामने भएर हृदयबाट बोल्न सक्छन्, र जब तिनीहरूको हृदय टाढिएको हुँदैन, जब तिनीहरू परमेश्वरसित कुराकानी गर्न र उहाँको हृदय बुझ्न सक्छन्, जब तिनीहरूलाई उहाँ के सोचिरहनुभएको छ र के गर्न चाहनुहुन्छ, उहाँ के कुरा मन पराउनुहुन्छ र के कुरालाई घृणा गर्नुहुन्छ, उहाँ किन दुःखी हुनुहुन्छ र किन खुसी हुनुहुन्छ भन्ने कुरा थाहा हुन्छ, तब परमेश्वर एक्लो हुनुहुनेछैन। यदि मानिसहरूले यसो गर्न सके भने, तिनीहरू परमेश्वरद्वारा साँच्चै अपनाइनेछन्। परमेश्वरले उहाँ र मान्छेबीच हेर्न चाहनुभएको साँचो सम्बन्ध यही हो। बुझिस्? (थोरै बुझेँ।) के परमेश्वरको हृदय बुझ्न सजिलो छ? जब तैँले मन लगाएर परमेश्वरको वचन पढ्छस् र उहाँले व्यक्त गर्नुभएका प्रत्येक वचन र हरेक सत्यताबारे लगनका साथ सोचविचार गर्छस् र तिनलाई अनुभव गर्छस्, तब तैँले बिस्तारै परमेश्वरको हृदयमा प्रवेश गर्नेछस् र त्यसलाई बुझ्नेछस्। परमेश्वरको हृदय बुझे सँगसँगै, तैँले उहाँको हृदयलाई कसरी सन्तुष्ट पार्ने भनेर जान्नेछस्। यदि कसैले परमेश्वरको हृदय बुझ्न सक्दैन भने, उसले कसरी उहाँलाई सन्तुष्ट पार्न सक्छ? यो असम्भव छ। परमेश्वरलाई सन्तुष्ट पार्नुको पूर्वसर्त के हो? (बोध।) बुझाइ र बोध पहिलो हुन्, त्यसपछि तैँले सन्तुष्टिबारे बोल्न सक्छस्। के तिमीहरूका लागि यो मामला कठिन छ? (प्रयत्न गरियो अनि लगनका साथ सोचविचार गरियो भने, त्यो कठिन छैन।) वास्तवमा यो मामला कठिन छैन। मानिसहरू परमेश्वरले बोल्नुहुने वचनहरू सुन्न र उहाँले गर्नुहुने काम देख्न सक्छन्; तिनीहरू हृदयमा यी वचनहरूलाई स्विकार्छन्, र तिनलाई कसैले पनि नकार्दैनन्। यो मानिसहरूको हृदयमा निर्भर हुन्छ; यदि तिनीहरूसँग त्यसो गर्नचाहने मन छ भने, त्यो हासिल गर्न सजिलो हुन्छ। यदि तँसँग त्यसो गर्ने मनै छैन भने, त्यो समस्याजनक हुन्छ। तँलाई जतिवटा वचनहरू भनिए पनि तिनको अर्थ हुँदैन—ती सबै व्यर्थ हुन्छन्।
मैले भर्खरै मान्छे कसरी परमेश्वरको व्यवस्थापन योजनाको सबैभन्दा ठूलो लाभार्थी हो भन्नेबारे सङ्गति गरेँ। के त्यो तथ्य होइन र? के तिमीहरूले यो तथ्य देखेका छौ? (देखेका छौँ।) कतिपय मानिसहरूले सुनेका र बुझेका छन्, र अहिले यस्तो मनन गरिरहेका छन्, “त्यसोभए म वास्तविक लाभहरू प्राप्त गर्न सक्छु। यो बच्चाहरूलाई सुनाइने कथा मात्र होइन, म साँच्चै अनन्त जीवन प्राप्त गर्न सक्छु!” तिमीहरूले कसरी अनन्त जीवन प्राप्त गर्न सक्छौ? (परमेश्वरका मागहरूअनुसार अभ्यास गरेर।) तिमीहरूलाई परमेश्वरले व्यक्त गर्नुभएका यी सत्यताहरू कसलाई सबैभन्दा बढी आवश्यक छन् जस्तो लाग्छ? के ती परमेश्वरलाई आवश्यक पर्छन्? (परमेश्वरलाई ती आवश्यक पर्दैनन्, मान्छेलाई आवश्यक पर्छन्।) ती सबैभन्दा बढी आवश्यक पर्ने मान्छेलाई हो; परमेश्वरलाई ती आवश्यक पर्दैनन्। परमेश्वरले मान्छेलाई तिनीहरूलाई सबैभन्दा बढी आवश्यक पर्ने कुराहरू प्रदान गर्नुभएको छ। के तिनीहरू सबैभन्दा आशिषित होइनन् र? (हुन्।) अहिले, यदि तँलाई पूरै संसार र अनन्त जीवनबीच एउटा रोज्न लगाइयो भने, तैँले कुन रोज्नेथिइस्? कतिपय मूर्ख मानिसहरूले यसो भन्नेथेः “मलाई अनन्त जीवन चाहिँदैन, किनकि म त्यो देख्न वा अनुभूत गर्न सक्दिन। त्यसलाई पछ्याउनु एकदमै थकाइलाग्दो जस्तो देखिन्छ। म पैसा, महल, र चिटिक्क परेको कार चाहन्छु—ठोस लाभहरू तिनै हुन्!” के यस्ता मानिसहरू हुन्छन्? हुँदैनन् भन्न सकिन्न, थरीथरीका मूर्खहरू हुन्छन्। मैले जसरी बोले पनि तिनीहरूले बुझ्दैनन्, त्यसैले तिनीहरूलाई जान दे। तिनीहरूमा यो आशिष् छैन। तिनीहरू आफैले आफ्नो निर्णय लिएका छन्। अन्त्यमा, तैँले जे रोज्छस् त्यही प्राप्त गर्छस्; तेर रोजाइहरूका लागि तँ आफै जिम्मेवार हुनुपर्छ। तेरा आफ्ना रोजाइहरूको मूल्य तैँले नै तिर्नुपर्छ; जीवन प्राप्त गर्ने कि मृत्यु भन्ने कुरा तैँले रोजेको मार्गमा भर पर्छ। यदि तँ अन्त्यसम्मै परमेश्वरको प्रतिरोध गर्न चाहन्छस् भने, तँ मृत्युको बाटोमा छस्। यदि तैँले “म परमेश्वरले मेरो लागि तोक्नुभएको मार्ग पछ्याएर जिउनेछु” भन्छस् भने, तँ सधैँभरी जिउन सक्नेछस्—वास्तवमै यस्तो हुनेछ। परमेश्वरको हरेक वचन पूरा हुनेछ र वास्तविकता बन्नेछ, यसलाई नकार्न सकिँदैन। कतिपय मानिसहरू यसो भन्छन्: “मलाई कसरी यो मामला थाहा भएन?” यदि तँलाई थाहा छैन र मैले भनेँ भने, के तँलाई त्यो कुरा थाहा हुँदैन र? अन्य कतिपयले यसो भन्छन्: “मैले त्यसबारे सुनेको भए पनि, मेरो आफ्नै आँखाले देखेको छैन, त्यसैले मलाई त अझै पनि यो वास्तविक हो जस्तो लाग्दैन।” त्यसोभए त्यसमा गर्नुपर्ने केही छैन। यदि कुनै व्यक्तिमा आस्था नै छैन भने, उसको आफ्नै आँखाले देखे पनि उसले विश्वास गर्नेछैन। आत्मिक बुझाइ नहुनेहरूले देखे पनि थाहा पाउँदैनन्, र सुने पनि बुझ्दैनन्। आत्मिक बुझाइ भएका र सत्यता बुझ्नेहरूले मात्र हरेक दिन परमेश्वरको वचन हासिल भएको र पूरा भएको देख्न सक्छन्। यदि तँ परमेश्वरका वचनहरूमार्फत् सबथोक हासिल हुन्छ, परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, उहाँका सबै वचनहरू पूरा हुनेछन् भनी विश्वास गर्छस् भने, तैँले सत्यता पछ्याउनुपर्छ। यदि तैँले परमेश्वरका वचनहरू तँमा पूरा भएको र हासिल भएको देख्छस् भने, तँमा उहाँप्रति आस्था जाग्नेनेछ। तँ निश्चित भए हुन्छ, तेरो लागि परमेश्वरका वाचा र आशिषहरू निश्चय नै तैँले माग्न वा कल्पना गर्न सक्नेभन्दा बढी हुनेछन्।
डिसेम्बर ११, २०१६