भ्रष्ट स्वभावलाई सत्यता स्विकारेर मात्र हटाउन सकिन्छ

परमेश्‍वरमा विश्‍वास गर्नु जीवनको सही मार्ग हो। परमेश्‍वरले तिमीहरू सबैलाई चुन्नुभएको छ, र तिमीहरू सबैले उहाँलाई पछ्याउने र जीवनको सही मार्गमा हिँड्ने छनौट गरेका छौ। आदर्श रूपमा, तिमीहरू परमेश्‍वरका अभिप्राय पूरा गर्न, आफ्नो कर्तव्य उचित तरिकाले निर्वाह गर्न, सत्यता प्राप्त गर्न, र परमेश्‍वरद्वारा सिद्ध पारिन सक्नेछौ। तिमीहरूको सपना र आकाङ्क्षा यही नै होइन र? (हो।) एक विश्‍वासीले यस्तो सपना राख्नु राम्रो, सकारात्मक कुरा हो, र परमेश्‍वरले मानिसहरूका सकारात्मक सपना र आकाङ्क्षाहरू पूरा गर्नुहुन्छ। के कहिलेकाहीँ मानिसहरू नकारात्मक वा गलत सपना र आकाङ्क्षा राख्छन्? यो सम्भव छ, किनभने सत्यता प्राप्त गर्नुअघि मानिसहरूको स्थिति स्थिर हुँदैन, कहिलेकाहीँ त झन् खराबसमेत हुन्छ। ती नकारात्मक कुराहरू देखा पर्दा, के तिनले तेरो जीवन प्रवेशमा र परमेश्‍वरसँगको सामान्य सम्बन्धमा प्रभाव पार्दैनन्? यदि मानिसहरू ती स्थितिहरूमा जिउँछन् भने, के तिनीहरूको अवस्था झन् खराब भएर नकारात्मक र कमजोर हुनेछैन र? यस्तो बेला तिनीहरूले के गर्नुपर्छ? (परमेश्‍वरसामु आएर प्रार्थना गर्नुपर्छ।) के यस्तो समय आउँदैन जतिबेला मानिसहरू प्रार्थना गर्न चाहँदैनन्, पतित स्थितिमा जिइरहने इच्छा गर्छन्, शैतानलाई आफूमाथि उसको इच्छाअनुसार हाबी हुन दिन्छन्, परिणाम के होला भन्नेबारे नसोची भोगविलासमा लिप्त भएर आफूखुसी गर्छन्? के यस्तो स्थिति हुन्छ? (हुन्छ।) यो कस्तो समस्या व्यक्त भएको हो? (तिनीहरू परमेश्‍वरबाट तर्केका छन्।) अनि केले गर्दा तिनीहरू परमेश्‍वरबाट तर्किएका हुन्? के यो तिनीहरूको अपर्याप्त कद र सत्यताको कमी व्यक्त भएको होइन र? निश्चय नै, यो तिनीहरूले अपर्याप्त रूपमा सत्यता बुझ्नाले र तिनीहरूको कद यथेष्ट नहुनाले गर्दा हुन्छ। हरेकपल्ट यस्तो परिस्थिति आइपरेर व्यक्तिले आफूलाई यस्तो अवस्थामा पाउँदा, उसले परमेश्‍वरलाई प्रार्थना गर्ने, उहाँमा भर पर्ने, र सत्यता खोज्ने गर्नैपर्छ। यदि उसको कद एकदमै सानो छ र ऊ सत्यतासम्म पुग्न सक्दैन भने, उसले सत्यता बुझ्ने व्यक्तिलाई खोजेर ऊसँग सङ्गति गर्नुपर्छ, र ऊबाट भरणपोषण र सहयोग लिनुपर्छ। कहिलेकाहीँ, उसले अर्को व्यक्तिबाट काटछाँट वा परमेश्‍वरबाट अनुशासन पनि पाउनु नै पर्नेछ। यदि ऊ आफ्नो खुट्टामा उभिन सक्दैन भने, यो उसले सत्यता पर्याप्त रूपमा नबुझेकाले र उसमा कदको कमी भएकाले गर्दा हो। अपर्याप्त कदले गर्दा मानिसहरू सबै प्रकारका नकारात्मक, पतित स्थिति र सोचको प्रतिरोध गर्न असमर्थ बन्छन्। के यो थकाइलाग्दो तरिकाले जिउनु होइन र? कदको कमी भएकाहरू सामान्यतया कुन स्थितिमा जिउँछन्? के तिमीहरूमध्ये कसैले यसलाई व्यक्तिगत तवरमा अनुभव गरेका छौ? कस्ता स्थितिहरूले तिमीहरूलाई एक्लो, दुःखी, अनिर्णायक, एकदमै थकित र भ्रान्त, अघि बढ्ने कुनै मार्ग नभएको जस्तो, दिनभरि उदासी हुने, प्रार्थना गर्न वा सत्यता पछ्याउन मुड नचल्ने बनाउँछन्? पार पाउनै नसकिने जस्तो देखिने समस्या आइपर्दा, के तिमीहरूलाई कहिल्यै हार मानूँ जस्तो लाग्छ? (लाग्छ।) त्यसोभए, यी स्थितिहरू केले गर्दा पैदा हुन्छन्? के मानिसहरूले जानाजानी मनमा तीबारे सोच्छन् र तिनको योजना बनाउँछन्? अवश्यै होइन। त्यसोभए, यो प्रश्नलाई मनन गर—तिमीहरूलाई ती के कारणले हुन्छन् भन्ने लाग्छ? मलाई बताऊ, यदि कुनै व्यक्तिले सत्यता बुझ्छ भने, उसले आफ्नो भ्रष्ट स्वभाव साँच्चै बुझ्नेछ, उसले आफ्नो भ्रष्टताको सत्यता स्पष्टसित देख्न सक्नेछ, उसले मानव स्वभावमा जिउनका लागि कुन सत्यताहरूले सुसज्जित हुनुपर्छ भनेर थाहा पाउनेछ, र उसले विभिन्‍न परिस्थितिमा परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने तरिका, साथै निश्चित मामिलाहरू सम्हाल्ने उचित तरिका र त्यसो गर्दा पालन गर्नैपर्ने सिद्धान्तहरू जान्नेछ—यस्तो कद भएको व्यक्तिले कठिनाइहरू सामना गर्दा, उसको स्थिति कस्तो हुनेछ? निश्चय नै, उसलाई अझै पनि केही हदसम्म नकारात्मक र कमजोर महसुस हुनेछ, होइन त? (हो।) त्यसोभए, यो नकारात्मकता र कमजोरी कहाँबाट आउँछ, अनि यसलाई कसरी समाधान गर्न सकिन्छ? के तिमीहरूले पहिले कहिल्यै यी मामिलाहरूबारे मनन वा खोजी गरेका छैनौ? (विरलै।) त्यसोभए, तिमीहरूले यी मामिलालाई कहिल्यै गम्भीरतापूर्वक नलिई कठिनाइ अनि कमजोरी र नकारात्मकता आइपर्दा झारा टारेका छौ। त्यसो हो भने, यस हदसम्म पुग्नु तिमीहरूको भाग्य हो, र यो परमेश्‍वरको अनुग्रहले मात्र भएको थियो, जसले तिमीहरूलाई यी कठिनाइहरू पार गर्न अगुवाइ गर्नुभयो। अहिले भर्खरै मैले सोधेको प्रश्न के थियो? (मानिसहरू केले गर्दा नकारात्मक र कमजोर स्थितिमा जिउँछन्?) यसबारे केही बेर सोच; के तिमीहरूसँग कुनै उत्तर छ? सैद्धान्तिक रूपमा भन्दा, यो तिनीहरूले सत्यता नबुझ्नाले गर्दा हो। त्यसोभए, सत्यता बुझ्नुअघि मानिसहरूको जीवनलाई केले डोऱ्याउँछ? (तिनीहरूका भ्रष्ट शैतानी स्वभावहरूले।) हो, के तिमीहरूको उत्तर त्यही होइन? के तिमीहरूले अहिले उत्तर पत्ता लगायौ? मानिसहरूलाई कठिनाइ आइपर्दा, तिनीहरू हार मान्न चाहन्छन्, चिन्तित, कमजोर, दुःखी, विवश र बाँधिएको, आफूअगाडि कुनै बाटो नभएको जस्तो महसुस गर्छन्, त्यसपछि तिनीहरू नकारात्मक बन्छन्, तिनीहरूमा विश्‍वासको कमी हुन्छ, र परमेश्‍वरमा विश्‍वास गर्नु अर्थहीन रहेछ भन्ने सोच्छन्। केले गर्दा यस्तो हुन्छ? (तिनीहरूका भ्रष्ट, शैतानी स्वभावहरू।) मानिसहरूले सत्यता नुबुझ्दा, तिनीहरू कस्तो स्वभावमा जिउँछन्? तिनीहरू कुन प्रकृति लिएर जिउँछन्? तिनीहरूको जीवनलाई केले डोऱ्याउँछ? (तिनीहरूका भ्रष्ट, शैतानी स्वभावहरूले।) भ्रष्ट, शैतानी स्वभावका कारण व्यक्तिभित्र कस्ता कुराहरू उत्पन्‍न हुन सक्छन्? अहङ्कार, परमेश्‍वरको प्रतिरोध, परमेश्‍वरमाथिको विश्‍वासघात, र परमेश्‍वरको विरोध उत्पन्‍न हुन्छन्। यी सबै भ्रष्ट स्वभावहरूले मानिसहरूलाई दुःख, नकारात्मकता र कमजोरीबाहेक अरू केही दिँदैनन्। अहिले, भ्रष्ट शैतानी स्वभावहरूले मानिसहरूलाई किन दुःख, नकारात्मकता र कमजोरी दिन सक्छन्, तर मानिसको मनमा शान्ति, हर्ष, आराम, वा खुसी दिन सक्दैनन्? यी नकारात्मक कुराहरूले किन व्यक्तिलाई नकारात्मक बनाउन सक्छन्? भ्रष्ट स्वभावहरू नकारात्मक कुरा हुन्, र ती सत्यताका शत्रु हुन्, त्यसैले तिनले कुनै सकारात्मक कार्य गर्न सक्दैनन्, केवल नकारात्मक कार्य गर्न सक्छन्। तिनले मानिसहरूलाई सकारात्मकता, प्रेरणा, वा प्रगतिशील मनस्थिति दिन सक्दैनन्, तिनले मानिसहरूलाई कमजोरी, नकारात्मकता, र दुःख मात्र दिन सक्छन्। जब शैतानी स्वभावले मानिसहरूमा जरा गाढेको हुन्छ र त्यो तिनीहरूको प्रकृति बनेको हुन्छ, तब त्यो तिनीहरूको हृदयमा अन्धकार र दुष्टताको बीउ रोप्न अनि तिनीहरूलाई गलत मार्ग पछ्याउने र छान्ने बाटोमा डोऱ्याउन पर्याप्त हुन्छ। भ्रष्ट शैतानी स्वभावको प्रेरक शक्तिअन्तर्गत मानिसहरूका आदर्श, आशा, महत्वाकाङ्क्षा, र जीवनका लक्ष्य र दिशाहरू के हुन्? के उनीहरू सकारात्मक कुराहरूको विपरीत दगुर्दैनन् र? उदाहरणका लागि, मानिसहरू सधैँ यश प्राप्त गर्न वा प्रसिद्ध व्यक्ति बन्‍न चाहन्छन्; उनीहरू ठूलो ख्याति र इज्‍जत प्राप्त गर्न चाहन्छन्, र उनीहरूका पुर्खाहरूको गौरव बढाउन चाहन्छन्। के यी सकारात्मक कुराहरू हुन्? यी सबै सकारात्मक कुराहरूसँग पटक्‍कै मेल खाँदैनन्; यसबाहेक, ती कुराहरू मानवजातिको भवितव्यमाथि परमेश्‍वरको सार्वभौमिकताको विपरीत छन्। म किन त्यसो भन्दै छु त? परमेश्‍वर कस्तो किसिमको व्यक्ति चाहनुहुन्छ? के उहाँ महान्, प्रसिद्ध, वा कुलीन वा संसार-हल्लाउने व्यक्ति चाहनुहुन्छ? (होइन।) त्यसोभए, परमेश्‍वर कस्तो किसिमको व्यक्ति चाहनुहुन्छ? (दृढ व्यक्ति, जसले सृष्टि गरिएको प्राणीको भूमिका पूरा गर्छ।) हो, अनि अरू के? (परमेश्‍वर उहाँको डर मान्ने र दुष्टताबाट टाढा बस्ने अनि उहाँमा समर्पित हुने इमानदार व्यक्ति चाहनुहुन्छ।) (त्यस्तो व्यक्ति, जो सबै मामिलामा परमेश्‍वरसँगै उभिन्छ, जो परमेश्‍वरलाई प्रेम गर्न लागिपर्छ।) ती उत्तरहरू पनि सही छन्। हृदय र मन परमेश्‍वरको जस्तै भएको जोकोही पनि त्यस्तो व्यक्ति हो। मानिसहरूले मानवका रूपमा आफ्नो स्थान कायम राखिराख्नैपर्छ भनेर के परमेश्‍वरका वचनहरूले कहीँकतै भन्छन्? (भन्छन्।) तिनी के भन्छन्? (“प्राणीहरूमध्येकै एक भएकाले, मानिसले आफ्‍नो तह कायम राख्‍नुपर्छ, र विवेकशील व्यवहार गर्नुपर्छ। सृष्टिकर्ताले तँलाई सुम्‍पेको कुरालाई तैँले कर्तव्यनिष्ठ भई रक्षा गर्। नियमबाहिर काम गर्ने, वा तेरो क्षमताबाहिरका कुराहरू गर्ने वा परमेश्‍वरका लागि घिनलाग्दो कार्य गर्ने नगर्। महान् बन्‍ने, वा महामानव बन्‍ने, वा अरूभन्दा ठूलो हुन खोज्‍ने, वा परमेश्‍वर बन्‍ने प्रयास नगर्। मानिसहरूले यस्तो हुने इच्‍छा गर्नु हुँदैन। महान् वा महामानव बन्‍ने प्रयास गर्नु मूर्खता हो। परमेश्‍वर बन्‍ने प्रयास गर्नु अझै अपमानजनक कुरा हो; यो घृणास्पद, र तुच्‍छ कुरा हो। तारिफयोग्य कुरा, र प्राणीहरूले अरू कुनै पनि कुरालाई भन्दा बढी पक्रिराख्‍नुपर्ने कुरा भनेको नै एक साँचो प्राणी बन्‍नु हो; सबै मानिसले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही नै हो” (वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)।) परमेश्‍वरका वचनहरूले मानिसहरूबाट के माग गर्छन् भनेर तिमीहरूलाई थाहा भएकाले, के तिमीहरू मानव आचरण पछ्याउने क्रममा परमेश्‍वरका मागहरू पालन गर्न सक्छौ? के तिमीहरू सधैँ आफ्‍नो पखेटा फैलाउन र उड्न चाहन्छौ, के तिमीहरू सधैँ एक्लै उड्न चाहन्छौ, फिस्टोको सट्टा चील बन्‍न चाहन्छौ? यो कस्तो स्वभाव हो? के यो मानव आचरणको सिद्धान्त हो? मानव आचरणसम्‍बन्धी तिमीहरूको खोजी परमेश्‍वरका वचनहरूमा आधारित हुनुपर्छ; परमेश्‍वरका वचनहरू मात्र सत्यता हुन्। तिमीहरूलाई शैतानले अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको छ, र तिमीहरूले सधैँ परम्‍परागत संस्कृति अर्थात् शैतानका वचनहरूलाई सत्यताका रूपमा, तिमीहरूको खोजीको लक्ष्यका रूपमा लिन्छौ, जसले गर्दा तिमीहरूले सहजै गलत मार्ग, परमेश्‍वरलाई विरोध गर्ने मार्ग लिन सक्छौ। भ्रष्ट मानवजातिका विचार र दृष्टिकोणहरू, र तिनीहरू लागिपर्ने कुराहरू परमेश्‍वरको इच्‍छा, सत्यता, र सबै थोकमाथिको परमेश्‍वरको सार्वभौमिकता, सबै थोकमाथिको उहाँको योजनाबद्ध कार्य, र मानवजातिको नियतिमाथिको उहाँको नियन्त्रणका नियमहविपरीत हुन्छन्। त्यसकारण यस्तो पछ्याइ मानव सोचाइ र धारणाहरूअनुसार जति नै उचित र मनासिब भए पनि, परमेश्‍वरका दृष्टिकोणमा ती सकारात्मक कुरा हुँदैनन्, र ती उहाँको अभिप्रायअनुरूप हुँदैनन्। तँ मानवजातिको नियतिमाथि परमेश्‍वरको सार्वभौमिकताको तथ्यविरुद्ध जाने हुनाले, र तँ एक्लै जान चाहने हुनाले, आफ्नो भाग्य आफ्नै हातमा लिने हुनाले, तँ सधैँ यति साह्रोगरी पर्खालमा ठोक्किन पुग्छस् कि तेरो टाउकोबाट रगत बग्न थाल्छ, अनि कुनै कुरा तेरो काम लाग्दैन। किन कुनै कुरा तेरो काम लाग्दैन? किनभने परमेश्‍वरद्वारा स्थापित नियमहरू सृष्टि गरिएको कुनै प्राणीले परिवर्तन गर्न सक्दैन। परमेश्‍वरको अख्तियार र शक्ति अरू सबै कुराभन्दा माथि छन्, सृष्टि गरिएको कुनै प्राणीले यसलाई उल्लङ्घन गर्न सक्दैन। मानिसहरू आफ्नो क्षमतालाई चाहिनेभन्दा बढी आँक्छन्। के कुराले गर्दा मानिसहरू सधैँ परमेश्‍वरको सार्वभौमिकतबाट मुक्त हुन, आफ्‍नो भाग्यलाई अँठ्याएर भविष्यको योजना बनाउन, अनि आफ्‍ना सम्‍भाव्यता, दिशा, र जीवन उद्देश्यलाई वशमा राख्‍न चाहन्छन्? यसको सुरुवात कहाँबाट हुन्छ? (भ्रष्ट शैतानी स्वभावबाट।) त्यसोभए, भ्रष्ट शैतानी स्वभावले मानिसहरूमा के ल्याउँछ त? (परमेश्‍वरको विरोध।) मानिसहरूले परमेश्‍वरको विरोध गर्नुको परिणाम के हुन्छ? (पीडा।) पीडा? यो विनाश हो! पीडा यसको आधा पनि हुँदैन। तँ आफ्नो आँखाअगाडि जे देख्छस् त्यो पीडा, नकारात्मकता, र कमजोरी हो, र यो प्रतिरोध र गुनासो हो—यी कुराहरूले कस्ता परिणामहरू ल्याउँछन्? सर्वनाश! यो सानो कुरा होइन, र यो कुनै खेल होइन। परमेश्‍वरको डर मान्‍ने हृदय नभएका मानिसहरूले यो कुरा देख्‍न सक्दैनन्।

कतिपय मानिस सानोतिनो समस्या आइपर्नेबित्तिकै नकारात्मक र कमजोर बन्छन्, तर कुनै समस्या नहुँदा, तिनीहरू महत्त्वाकाङ्क्षा र चाहनाहरूले भरिन्छन्, र यसरी सधैँ सेलेब्रेटी वा कुनै प्रकारको विशेषज्ञ बन्ने आशा साँच्छन्। मानिसहरू यस्तो मनस्थिति लिएर जिउँदा, तिनीहरू आफ्नो शैतानी प्रकृतिको वशमा परिरहेका हुन्छन्। मानिसहरू सधैँ महत्त्वाकाङ्क्षा र चाहनाहरूले भरिँदा, के तिनीहरू सुखी जीवन जिउन सक्नेछन्? यदि तैँले यी कुराहरू हटाइनस् भने, तेरो कष्ट कम हुनेछैन। कष्ट जहिले पनि तेरो पछि लाग्नेछ; यो तेरो मुटुमा छुरा घोपेजस्तै लाग्नेछ। यो समस्यालाई कसरी हल गर्न सकिन्छ? (सत्यता खोजेर र पछ्याएर।) तिमीहरू सबै जना करिबकरिब सत्यता खोज्ने फराकिलो अवधारणाबारे बोल्न सक्छौ, र तिमीहरू सबैलाई यसबारे थाहा छ। समस्या आइपर्दा, तैँले सर्वप्रथम सत्यता खोज्नैपर्छ। मानिसका भ्रष्ट स्वभावहरू सत्यता खोजेर, बुझेर, र प्राप्त गरेर मात्र हटाउन सकिन्छ। मानिसहरूले आफ्ना भ्रष्ट स्वभाव सुल्झाएपछि मात्र साँचो हर्ष, शान्ति, आराम, र खुसी अनुभव गर्न सक्छन्, र त्यसपछि मात्र तिनीहरू साँचो अर्थमा परमेश्‍वरसामु आउन सक्छन्। यसले समस्यालाई जरैदेखि उखेल्छ। अब, सत्यता खोज्न कसरी सुरु गर्नुपर्छ? यसमा केकस्ता कुराहरू समावेश छन्? कसले बताउन सक्छ? (तँलाई आफूले हैसियत र प्रतिष्ठाबारे सोचिरहेको वा सक्रियतासाथ ती पछ्याइरहेको महसुस हुँदा, यी सोचाइ र व्यवहारलाई बेवास्ता नगर्। तिनलाई परमेश्‍वरको वचनअनुसार बुझ्ने र विश्लेषण गर्ने प्रयास गर्। यो त शैतानी, भ्रष्ट स्वभावहरूले मानिसहरूलाई गरेको हानि हो भनेर पहिचान गर्। तँ हिँडिरहेको गलत मार्गलाई चिन्, अनि त्यसपछि परमेश्‍वरको वचन खाने र पिउने गर्, परमेश्‍वरलाई प्रार्थना गर्, अनि शैतानले मानिसलाई बाँध्न प्रयोग गर्ने यो जन्जिरलाई तोड्न उहाँमा भर पर्।) (सबैभन्दा महत्त्वपूर्ण पाटोचाहिँ तैँले पछ्याउनुपर्ने कुराबारे आफूले राख्ने गलत दृष्टिकोणलाई चिन्नु, शैतानी, भ्रष्ट स्वभावहरूले मानिसहरूलाई गर्ने हानिलाई बुझ्नु, र कामकुराप्रतिको तेरो दृष्टिकोणलाई परिवर्तन गर्नु हो। त्यसपछि, तैँले परमेश्‍वरलाई अझै धेरै प्रार्थना गर्नैपर्छ, उहाँको झन् नजिक जानैपर्छ, र क्रमिक रूपमा उहाँसँग सामान्य सम्बन्ध बनाउनैपर्छ।) अरू केही? (यदि तँलाई कहिलेकाहीँ कमजोर र नकारात्मक महसुस हुन्छ, र तैँले यी अनुभूति उत्पन्न हुने कारण वा भ्रष्ट स्वभावलाई पहिचान गर्न सक्दैनस् भने, तैँले सर्वप्रथम परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र उहाँसँग अन्तर्दृष्टि माग्नुपर्छ। साथै, तैँले केही दाजुभाइ-दिदीबहिनीहरूसामु आफूलाई उदाङ्गो पारेर तिनीहरूसँग सङ्गति गर्न सक्छस्। तिनीहरूले आफ्नो अनुभवबारे दिएको सङ्गति सुनेर तैँले यस स्थितिलाई स्पष्टसँग बुझ्न सक्छस्, त्यसपछि तैँले यसलाई समाधान गर्न परमेश्‍वरको वचनका सान्दर्भिक खण्डहरू खोज्नुपर्छ।) जारी राख्। (आफूले चाहेजस्तो कुनै कुरा नहुँदा, यदि तैँले सधैँ दिमाग खियाउँदै को सही र को गलत भनेर विश्लेषण गर्छस् भने, यस्ता समयमा तैँले पहिले परमेश्‍वरसामु आफ्नो हृदय शान्त पारेर परिस्थितिसामु समर्पण गर्नुपर्छ—परमेश्‍वरलाई प्रार्थना गर् र उहाँको सार्वभौकितमा आस्था राख्दै उहाँबाट मद्दतको खोजी गर्। त्यसपछि परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिएर उहाँको अभिप्राय बुझ्न मद्दत गर्नुहुनेछ। त्यसपछि, जब तँ परिस्थितिलाई पुनः जाँच्छस्, तब तैँले आफूले कस्तो प्रकारको भ्रष्टता देखाउँदै थिएँ र परमेश्‍वरको अभिप्राय के रहेछ भनेर बुझ्नेछस्। यसरी नै म सत्यतामा प्रवेश गरेँ।) तिमीहरू सबैले सत्यतामा सङ्गति गर्ने अभ्यास गर्नुपर्छ—आफ्नो ज्ञान, अनुभव, र विचारहरू बाँड्, अनि आफूलाई सङ्गतिमा कसरी उदाङ्गो पार्ने भनेर सिक्। यदि तैँले यसो गरिस् भने, झन्-झन् धेरै प्राप्त गर्नेछस्, र झन्-झन् धेरै बुझ्नेछस्। तिमीहरूमध्ये कतिपयले भर्खरै आफ्नो व्यक्तिगत अनुभव र ज्ञान बाँड्यौ, अनि तिमीहरू सबैले बेग्लाबेग्लै कुरा भन्यौ। राम्रो गऱ्यौ, तिमीहरू सबैले एकदमै व्यावहारिक कुरा बाँड्यौ। मैले तिमीहरूको सङ्गति सुनेपछि, तिमीहरूले विगत केही वर्षदेखि आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा तिमीहरू सबैले वृद्धि हासिल गरेका रहेछौ र केही जीवन प्रवेश पाएका रहेछौ भन्ने देख्न सक्छु। तिमीहरूसँग सामान्य घोषणा मात्र नभई परमेश्‍वरप्रतिको आस्थाको मामिलाबारे केही ज्ञान र अनुभव छ, अनि तिमीहरूले जग बसालेको छौ। यो उत्कृष्ट कुरा हो। परमेश्‍वरमा विश्‍वास गर्नु त्यति कठिन छैन जस्तो देखिन्छ: व्यक्ति इमानदार छ, उसले परमेश्‍वरका वचनहरू सुन्छ, परमेश्‍वरले जे भन्नुहुन्छ त्यही गर्छ, र सत्यता अभ्यास गर्न सक्छ भने, उसले परमेश्‍वरका मागहरू पूरा गर्न सक्नेछ। निष्कर्षमा, अरू सबैभन्दा महत्त्वपूर्ण, परमेश्‍वरप्रतिको तिमीहरूको विश्‍वासमा तिमीहरूले बुझ्‍नुपर्ने एउटा तथ्य छ: परमेश्‍वरमाथिको विश्‍वासको अर्थ परमेश्‍वरको नाउँमा विश्‍वास गर्नु मात्रै हुँदैन, यो तेरो कल्‍पनाको अस्पष्ट परमेश्‍वरलाई विश्‍वास गर्नु हो भन्‍ने त कुरै नगरौं। परमेश्‍वरलाई विश्‍वास गर्नुको अर्थ, तैँले परमेश्‍वरको सार, उहाँको स्वभाव, र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई विश्‍वास गर्नुपर्छ; परमेश्‍वर मानवजातिको गन्तव्यमाथि सार्वभौम हुनुहुन्छ, र उहाँ तेरो गन्तव्यमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने तथ्यमा तैँले विश्‍वास गर्नैपर्छ। त्यसोभए, विश्‍वास गर्नु भनेको के हो? के यसको अर्थ मानिसहरूले वास्तवमै सहकार्य गरेर यसलाई अभ्यास गर्नु होइन र? उदाहरणका लागि, कतिपय मानिसलाई प्रतिकूल परिस्थिति आइपर्दा, तिनीहरू गुनासो गर्न र अरू मानिसलाई दोष दिन थाल्छन्। यो परिस्थिति आफैले निम्त्याएको हुन सक्छ भन्नेबारे तिनीहरू कहिल्यै विचार गर्दैनन्, बरु सधैँ अरू कसैलाई जिम्मेवार ठहराउँछन्। त्यसपछि, तिनीहरू सन्तुष्ट र सहज महसुस गर्छन्, र सोच्छन्, “समस्या हल भयो। यसरी परमेश्‍वरमा विश्‍वास गर्नु एकदमै सुखद र सहज हुन्छ!” समस्याहरू समाधान गर्ने यो विधि तिमीहरूलाई कस्तो लाग्छ? के कसैले यसरी अभ्यास गरेर सत्यता प्राप्त गर्न सक्छ? के यसले परमेश्‍वरप्रति समर्पणको मनोवृत्ति देखाउँछ? त्यस्ता मानिसहरूले कस्तो दृष्टिकोणद्वारा, र केकस्ता माध्यमद्वारा परमेश्‍वरमा विश्‍वास गर्छन्? के तिनीहरूले “परमेश्‍वर मानवजातिको नियतिमाथि सार्वभौम हुनुहुन्छ, सबै घटना र सबै थोक उहाँकै हातमा छन्” भन्‍ने वचनहरूलाई आफ्‍नो दैनिक जीवनमा लागू गरेका छन्? जब तिनीहरू मानिसको दिमाग प्रयोग गरी समस्याको विश्‍लेषण गर्छन्, जब तिनीहरूले मानव माध्यमहरू प्रयोग गरेर मामला हल गर्छन्, तब के तिनीहरूले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गरिरहेका हुन्छन्? के तिनीहरू मानिस, घटना, र कामकुरामाथि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित भइरहेका हुन्छन्? अवश्य हुँदैनन्। पहिलो कुरा, तिनीहरू समर्पित हुँदैनन्; यो एउटा गल्ती हो। दोस्रो कुरा, परमेश्‍वरले तिनीहरूका लागि बन्दोबस्त गर्नुहुने परिस्थिति, मानिसहरू, घटना, र कामकुराहरूलाई तिनीहरू स्वीकार गर्न सक्दैनन्; तिनीहरू सतहभन्दा भित्र हेर्न सक्दैनन्। तिनीहरू परिस्थिति बाहिरबाट कसरी देखा पर्छ भनेर मात्र हेर्छन्, त्यसपछि आफ्‍नो मानव दिमाग प्रयोग गरी यसलाई विश्‍लेषण गरेर मानव विधिहरूद्वारा समाधान गर्ने प्रयास गर्छन्। के यो अर्को गल्ती होइन र? के यो ठूलो गल्ती हो? (हो।) यो कसरी त्यस्तो भयो त? तिनीहरू परमेश्वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दैनन्। तिनीहरू सबै थोक त्यतिकै हुन आउँछन् भन्ने सोच्छन्। तिनीहरूको दृष्टिमा, एउटा कुरा पनि परमेश्‍वरद्वारा शासित हुँदैन र मानिसका कार्यहरूकै कारण धेरैजसो कुरा हुन आउँछन्। के यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? के तिनीहरूमा साँचो विश्‍वास छ? (छैन।) किन छैन? तिनीहरू परमेश्वर सबै कुरामाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरामा विश्‍वास गर्दैनन्। तिनीहरू परमेश्वर सबै मामिला र सबै वस्तुमाथि सार्वभौम हुनुहुन्छ—अर्थात् परमेश्‍वर हरेक परिस्थितिमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरामा विश्‍वास गर्दैनन्। यदि कुनै कुरा आफूले सोचेजस्तो भएन भने, तिनीहरू यो परमेश्‍वरबाट आएको हो भनी स्विकार्न असक्षम हुन्छन्। तिनीहरू परमेश्‍वरले यी परिस्थितिहरू योजनाबद्ध गर्न सक्नुहुन्छ भनेर विश्‍वास गर्दैनन्। तिनीहरू परमेश्‍वरलाई देख्न नसक्ने हुनाले, तिनीहरू यी परिस्थितिहरू परमेश्‍वरद्वारा योजनाबद्ध नभएर मानिसहरूको कार्यको नतिजास्वरूप त्यतिकै हुन आउँछन् भन्ने सोच्छन्। तिनीहरू परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्दैनन्। त्यसोभए, तिनीहरूको विश्‍वासको सार के हो? (तिनीहरू अविश्‍वासी हुन्।) त्यो सही हो, तिनीहरू अविश्‍वासी हुन्! अविश्‍वासीहरूले परमेश्‍वरबाट आउने केही पनि स्विकार्दैनन्। बरु, तिनीहरू परिस्थिति सम्हाल्न मानव दृष्टिकोण, दिमाग र विधि प्रयोग गर्दै आफ्नो दिमाग खियाउँछन्। जब तैँले भविष्यमा यस प्रकारको व्यक्तिलाई भेट्छस्, तैँले तिनीहरू कस्ता हुन् भनी खुट्याउने विवेक विकास गर्नुपर्छ। समस्याहरू पैदा हुँदा अविश्‍वासीहरू आफ्‍नो मष्तिष्कको प्रयोग गरी उपाय निकाल्‍न सिपालु हुन्छन्; तिनीहरूले देखा परेको समस्यालाई निरन्तर अध्ययन गर्छन्, र यसलाई मानव विधिहरू प्रयोग गरी समाधान गर्ने प्रयास गर्छन्। तिनीहरू सधैँ मानव तर्क र शैतानी दर्शनहरू प्रयोग गरेर, वा नियमका आधारमा मानिस र कामकुरालाई हेर्ने गर्छन्, परमेश्‍वरको वचन सत्यता हो वा परमेश्‍वरको सार्वभौमिकताले सबै कुरा समेट्छ भनेर विश्‍वास गर्दैनन्। हुने सबै कुरा परमेश्‍वरले हुन दिनुहुन्छ, तर अविश्‍वासीहरूले परमेश्‍वरबाट यी कुरा स्विकार्न सक्दैनन्, र तिनीहरू सधैँ परिस्थितिलाई मानव धारणा र कल्पनाका आधारमा हेर्छन्। सामान्यतया, अविश्‍वासीहरूले तिनीहरू मान्छेको नियति परमेश्‍वरको हातमा हुन्छ भन्ने कुरामा विश्वास गर्छन्, र तिनीहरू परमेश्‍वरको सार्वभौकिता र बन्दोबस्तप्रति समर्पित हुन इच्छुक छन् भन्ने गरे पनि, आफूमाथि साँच्चै परिस्थिति आइपर्दा, तिनीहरूले परमेश्‍वरबाट आउने ती कुरा स्विकार्न सक्दैनन् र परमेश्‍वरबारे धारणाहरू विकास गर्छन्। अविश्‍वासीहरूको व्यवहार यही हो। के तिमीहरूका जीवनमा यस्तो कुनै मानिस छ? के तिमीहरू आफै कहिल्यै यस्तो व्यवहार कगर्छौ? (गर्छौँ।) तिमीहरू अविश्‍वासीजस्तो व्यवहार गर्छौ, तर के तिमीहरू वास्तवमै अविश्‍वासी हौ? के तिमीहरू परमेश्‍वर सबै कुरामाथि सार्वभौम हुनुहुन्छ भनेर विश्‍वास गर्छौ? के तिमीहरू हरेक व्यक्ति, घटना, कामकुरा, र परिस्थिति परमेश्‍वरका हातमा हुन्छ भनेर मान्छौ? तिमीहरू परमेश्‍वरबाट कतिवटा कुरा स्विकार्न सक्छौ? तिमीहरूले मानव विधि प्रयोग गरेर कतिवटा मामिला समाधान गरेका छौ? अनि तिमीहरू कतिपटक भ्रष्ट स्वभावअनुसार जिउँछौ? तिमीहरू कतिपटक परमेश्‍वरमा समर्पित हुन सक्छौ? यी प्रश्नहरूलाई मनन गर, तिमीहरूलाई अवश्यै आफ्नो हृदयमा तिनको उत्तर थाहा छ। के परमेश्‍वरबाट आउने कामकुरा स्विकार्न सजिलो छ? (त्यसमा आन्तरिक सङ्घर्ष हुनेछ।) त्यहाँ सङ्घर्ष हुनेछ भन्ने कुरा साँचो हो, तर त्यो सङ्घर्षको परिणाम के हुन्छ? यो सफलता हुन्छ कि विफलता? (कहिलेकाहीँ विफलता, कहिलेकाहीँ सफलता। यदि यो बराबर भयो भने, तिमीहरूका लागि अझै आशा बाँकी छ, तर तिमीहरू प्रायः विफल हुन्छौ र विरलै सफल हुन्छौ भने, तिमीहरू सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनौ भन्ने प्रमाणित हुन्छ। विफलता सामान्य कुरा हो—विफलतादेखि नडराओ, हतोत्साहित नहोओ, नकारात्मक नहोओ वा हरेस नखाओ र अथक प्रयास गरिराख। विफलता नराम्रो कुरा होइन; मानिसहरूले विफलताबाट कम्तीमा पनि लाभ उठाउन सक्छन्, जुन राम्रो कुरा हो!

मानिसहरूले सत्यता प्राप्त गर्ने प्रक्रिया एक साहसी योद्धाले कुनै पनि क्षण हर प्रकारका शत्रुविरुद्ध लड्न तयार भएर युद्धभूमिमा पाइला टेकेजस्तै हो। सत्यता पछ्याउनेहरूका शत्रुहरू भनेको शैतानका विभिन्‍न भ्रष्ट स्वभाव हुन्। यी मानिसहरू आफ्नो भ्रष्ट देहसँग लडिरहेका छन्; सारमा तिनीहरू शैतानसँग युद्ध गरिरहेका छन्। अनि शैतानसँग लडन कुन हतियार प्रयोग गरिन्छ? अवश्यै, सत्यता, परमेश्‍वरको वचनको पछ्याइ प्रयोग गरिन्छ। शैतानलाई पराजित गर्न व्यक्तिले पहिला सत्यताको कुन पक्ष अभ्यास गर्नैपर्छ? त्यो हो, परमेश्‍वरप्रति, उहाँको वचनप्रति, र सत्यताप्रति समर्पित हुनु। शैतानसँग युद्ध गर्दा सर्वप्रथम व्यक्तिले सिक्नुपर्ने पाठ यही हो। यदि तैँले परमेश्‍वरबाट आउने कुराहरू स्विकार्न सकिनस् भने, तँ परमेश्‍वरसामु समर्पित हुन सक्नेछैनस्, र त्यसैले तैँले प्रार्थना गर्न वा सत्यता खोज्न आफूलाई परमेश्‍वरसामु शान्त पार्न सक्नेछैनस्। यदि तैँले परमेश्‍वरलाई प्रार्थना गर्न वा सत्यता खोज्न सकिनस् भने, तैँले सत्यता, वा तँलाई किन परमेश्‍वरले ती परिस्थितिहरूमा ती मानिसहरू, घटना र कामकुरासँगै राख्नुहुन्छ भनेर बुझ्नेछैनस—तँ अन्योलमा पर्नेछस्। यदि तैँले सत्यता खोज्न सकिनस् भने, आफ्नो भ्रष्ट स्वभावलाई जित्न सक्दैनस्। तैँले आफ्नो भ्रष्ट स्वभाव र देहलाई जितेर मात्र आत्मिक क्षेत्रको शैतान र दियाबलसहरूलाई अपमान गर्न सक्छस्। शैतानसँगको युद्ध मुख्यतः सत्यताको खोजीमा निर्भर हुन्छ; यदि तैँले सत्यता बुझिनस् भने, तँमा पैदा हुने कुनै पनि समस्या वा धारणाले तँलाई कमजोर र नकारात्मक बनाउन सक्छ। यदि तेरो भ्रष्ट स्वभावका प्रकटीकरणहरू कहिल्यै समाधान गरिएन भने, तँ सम्भवतः लड्छस् र विफल हुन्छस्, अनि तँलाई फेरि खडा हुन गाह्रो हुनेछ। कतिपय मानिस प्रलोभनको सामना गर्दा ठेस खान्छन्, कतिपय मानिस पीडादायी रोग लाग्दा नकारात्मक बन्छन्, र कतिपयचाहिँ परीक्षा आइपर्दा पूर्ण रूपले विफल हुन्छन्। सत्यता कहिल्यै नपछ्याउनु र आफूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू सुल्झाउन सत्यता नखोज्नुका परिणाम यिनै हुन्। तिमीहरूलाई के लाग्छ: के शैतानी स्वभावहरूले मानिसहरूलाई धेरै समस्यामा पार्छन्? (पार्छन्।) कति धेरै समस्या? (तिनले मानिसहरूलाई परमेश्‍वरसामु आउनबाट रोक्छन्, र परमेश्‍वरप्रति समर्पित हुन असक्षम बनाउँछन्।) यदि मानिसहरू परमेश्‍वरप्रति समर्पित हुन सकेनन् भने, तिनीहरू केअनुसार जिउनेछन्? (तिनीहरू शैतानी, भ्रष्ट स्वभावहरूअनुसार जिउनेछन्।) जब मानिसहरू शैतानी, भ्रष्ट स्वभावअनुसार जिउँछन्, तब तिनीहरू प्रायः धारणाहरू प्रकट गर्छन् र गरम मिजास देखाउँछन्। उदाहरणका लागि, यदि तैँले केही गल्ती गरिस् र कुनै दाजुभाइ वा दिदीबहिनीले तेरो खुलासा वा तँलाई काटछाँट गरे भने, तैँले कसरी परमेश्‍वप्रति समर्पित भएर सत्यता खोज्नुपर्छ? यहाँ सिक्नुपर्ने पाठ छ। सायद तैँले यसबारे यसरी सोच्दै मनन गर्न थाल्छस्: “त्यो व्यक्तिले सधैँ मलाई हेय दृष्टिले हेर्छ, र यसपटक उसले मविरुद्ध प्रयोग गर्ने केही पाएको छ। उसले मलाई निशाना बनाउँदै छ, त्यसैले म राम्रो व्यवहार गर्दिनँ। मसँग निहुँ नखोजेकै राम्रो!” के यो गरम मिजास होइन र? (हो।) गरम मिजास भनेको के हो? गरम मिजास भनेको व्यक्तिको स्वार्थलाई घात हुँदा, वा उसको ख्याति, लाभ र हैसियतमा धक्‍का पुग्दा उसको शैतानी स्वभाव विष्फोट भएर निस्कनु, अनि उसले आवेशमा केही कुरा भन्नु वा केही कुरा गर्नु हो। गरम मिजासलाई मैले त्यसरी बुझेको छु।) त्यो बुझाइ मुख्यतः सही छ। त्यसमा कसले केही थप्न सक्छ? (व्यक्तिमाथि कुनै कुरा आइपर्दा, उसले सत्यता खोज्नुको सट्टा ऊभित्र स्वभाविक रूपमा रहने कुराहरू प्रकट गर्छ, त्यो गरम मिजास हो।) उनले प्रयोग गरेको “स्वभाविक रूपमा” भन्ने शब्द एकदमै उपयुक्त छ। शैतानले मानिसहरूलाई भ्रष्ट पारेपछि, जब तिनीहरूको जडबाट आउने सबैभन्दा प्राकृतिक, सबैभन्दा प्राचीन स्वभाव प्रकट हुन्छ, त्यसलाई गरम मिजास भनिन्छ। यो कुनै सोचाइ, मानसिक प्रक्रिया, मनन वा लिपपोतमार्फत् हुने कुरा नभईस्वतः बाहिर निस्कने कुरा। त्यो गरम मिजास हो। गरम मिजास भनेको भ्रष्ट स्वभावभित्र जिउने मानिसहरूबाट निस्कने कुरा हो। त्यसोभए, मानिसको प्रकृतिबाट स्वभाविक रूपले प्रकट हुने यो कुरा किन सत्यताअनुरूप हुँदैन? किन मानिसहरूले किन गरम मिजास देखाउँछन्? कारण के हो? यो मान्छेको शैतानी प्रकृतिले गर्दा हुन्छ। मान्छेको जन्मजात स्वभाव गरम मिजाससँग सम्बन्धित छ। व्यक्तिको स्वार्थ, घमण्ड वा अभिमानमा हानि पुग्दा, यदि उसले सत्यता बुझ्दैन वा उसमा सत्यता वास्तविकता छैन भने, उसले आफ्नो भ्रष्ट स्वभावअनुसार त्यो हानिलाई सम्हाल्नेछ, र उसले आवेशमा आएर उत्ताउलो पाराले काम गर्नेछ। त्यसोभए, तिनीहरूले देखाउने र प्रकट गर्ने कुरा गरम मिजास हो। गरम मिजास सकारात्मक कुरा हो कि नकारात्मक कुरा? स्पष्टतः यो नकारात्मक कुरा हो। गरम मिजासमा जिउनु राम्रो कुरा होइन; यसले विपत्ति निम्त्याउने सम्भावना हुन्छ। परिस्थिति आइपर्दा यदि कसैको गरम मिजास र भ्रष्टता खुलासा हुन्छ भने, के ऊ सत्यता खोज्ने र परमेश्‍वरमा समर्पित हुने व्यक्ति हो? स्पष्टतः यस्तो व्यक्ति निश्चय नै परमेश्‍वप्रति समर्पित हुँदैन। जहाँसम्म परमेश्‍वरले मानिसहरूका लागि बन्दोबस्त गर्ने विभिन्‍न मानिस, घटना, परिस्थिति, र वातावरणको कुरा छ, यदि कसैले ती परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्दैनन, बरु तिनलाई मानव तरिकाले सामना र समाधान गर्छ भने, अन्त्यमा त्यसको परिणाम के हुनेछ? (परमेश्‍वरले त्यो व्यक्तिलाई तिरस्कार गर्नुहुनेछ।) परमेश्वरले त्यो व्यक्तिलाई घृणा गर्नुहुनेछ, त्यसैले के त्यो मानिसहरूका लागि शिक्षाप्रद हुनेछ? (अहँ, हुनेछैन।) ऊ आफ्नो जीवनमा हार्ने मात्र नभई, उसले अरूलाई सुधार पनि गर्नेछैन। त्योभन्दा पनि, उसले परमेश्‍वरलाई अपमान गर्नेछ अनि उहाँलाई तिनीहरूलाई तिरस्कार गर्न लगाउनेछ। यस्तो व्यक्तिले आफ्नो गवाही गुमाएको हुन्छ र ऊ जहाँ गए पनि अवाञ्छनीय हुन्छ। यदि तँ परमेश्‍वरको घरको सदस्य होस्, र पनि आफ्‍नो कार्य-व्यवहारमा सधैँ गरम मिजास देखाउँछस्, सधैँ आफूभित्रको प्राकृतिक कुरा प्रकट गर्छस्, र मानव माध्यम र भ्रष्ट, शैतानी स्वभावअनुसार कामकुरा गर्दै सधैँ आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्छस् भने, यसको अन्तिम परिणाम तैँले दुष्कर्म गर्नु र परमेश्‍वरको विरोध गर्नु हुनेछ—अनि यस पूरै अवधिभर तँ पश्‍चात्तापविहीन रहन्छस् र सत्यता खोजी गर्ने मार्गमा हिँड्न सक्दैनस् भने, तँलाई खुलासा गरेर निकालिनुपर्छ। के शैतानी स्वभावमा भर परेर जिउने अनि यसलाई समाधान गर्न सत्यता नखोज्ने समस्या गम्भीर होइन र? यो समस्याको एउटा पक्ष के हो भने, व्यक्ति आफ्नै जीवनमा वृद्धि वा परिवर्तन हुँदैन; त्योभन्दा पनि, उसले अरूलाई प्रतिकूल प्रभाव पार्नेछ। मण्डलीमा उसको कुनै काम हुँदैन, र समयसँगै, उसले खानेकुराको टेबलवरिपरि उड्दै घिन र हेला निम्त्याउने दुर्गन्धित झिँगा जस्तै मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूलाई ठूलो समस्यामा पार्नेछ,। के तिमीहरू यस्तो व्यक्ति बन्‍न चाहन्छौ? (चाहँदैनौँ।) त्यसोभए, तिमीहरूले परमेश्‍वरलाई खुसी पार्न र अरूलाई सुधार गर्न कसरी कार्य गर्नुपर्छ? तिमीहरूले जस्तोसुकै भ्रष्ट स्वभाव प्रकाट गरेका भए पनि, सर्वप्रथम आफूलाई शान्त पार्नैपर्छ, तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ, र यसलाई समाधान गर्न सत्यता खोज्नैपर्छ। तैँले आफ्नो इच्छा र गरम मिजासलाई पछ्याएर भ्रष्टता प्रकट गरिरहनु पटक्कै हुँदैन। तैँले तेरो दैनिक जीवनको हरेक मिनेट, हरेक सेकेण्डमा जेसुकै गरे पनि र जेसुकै सोचे पनि, परमेश्‍वरले तँलाई सूक्ष्म रूपमा जाँचिरहनुभएको र हेरिरहनुभएको हुन्छ। परमेश्‍वरले के अवलोकन गरिरहनुभएको हुन्छ? (व्यक्तिले के सोच्छ, अनि परमेश्‍वरले उसका लागि बन्दोबस्त गर्नुभएका मानिस, घटना वा परिस्थिति आइपर्दा उसले कस्तो प्रतिक्रिया देखाउँछ, उहाँ त्यो अवलोकन गर्नुहुन्छ।) त्यो सही हो, र परमेश्‍वरले यी कुराहरू अवलोकन गर्नुको उद्देश्य के हो? (यो व्यक्ति परमेश्‍वरको डर मान्ने र दुष्टतादेखि अलग बस्ने व्यक्ति हो कि होइन भनेर हेर्नु।) त्यो एउटा कारण हो। मुख्य कारण के हो? यसबारे होसियारीपूर्वक मनन गर्। (ऊसँग सत्यता खोज्ने र परमेश्‍वरप्रति समर्पित हुने हृदय छ कि छैन भनेर हेर्न।) चाहे यो परमेश्‍वरको डर मान्नु र दुष्टतादेखि अलग बस्नु होस् वा सत्यता खोज्नु र परमेश्‍वरप्रति समर्पित हुने हृदय हुनु नै किन नहोस्, यी सबै कुरामा व्यक्तिले कुन मार्गमा हिँड्ने छनोट गरेको छ भन्ने प्रश्न समेटिएको हुन्छ। परमेश्‍वरले किन मानिसहरूलाई निरन्तर सूक्ष्म रूपमा जाँचिरहनुभएको छ? उहाँले तँ कस्तो मार्गमा हिँडिरहेको छस्, तेरो जीवनको उद्देश्य र दिशा के हुन्, तैँले सत्यता पछ्याउने मार्ग रोजेको छस् कि ढोँगी फरिसीहरूको मार्ग रोजेको छस् भनेर हेर्नका लागि यसो गरिरहनुभएको छ। तँ यी मार्गहरूमध्ये ठ्याक्कै कुन मार्गमा छस् भनेर हेर्नका लागि उहाँले यसो गरिरहनुभएको छ। यदि तैँले सही मार्ग रोजेको छस् भने, परमेश्‍वरले तँलाई मार्गदर्शन गर्नुहुनेछ, अन्तर्दृष्टि दिनुहुनेछ, भरणपोषण र सहयोग गर्नुहुनेछ। यदि तैँले गलत मार्ग रोजेको छस् भने, यसले तैँले परमेश्‍वरतर्फ आफ्नो पिठ्यूँ पूरै फर्काएको छस् भन्ने देखाउँछ, त्यसैले उहाँले तँलाई स्वभाविक रूपमा त्याग्नुहुनेछ।

यस्ता मानिसहरू छन्, जो सधैँ वचन र धर्मसिद्धान्तहरू प्रचार गर्छन् अनि आफूले गर्ने हरेक कुरामा सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्छन्, यहाँसम्म कि परमेश्‍वरको घरका हितहरूलाई हानि गर्ने कुराहरू समेत गर्छन्, तर तिनीहरूलाई किन अनुशासनमा राखिँदैन वा निन्दा गरिँदैन? कतिपय मानिस यो मामिला बुझ्न सक्दैनन्। परमेश्‍वरले यस्ता मानिसहरूलाई त्यागिसक्नुभएको छ भनेर म तिमीहरूलाई बताउन चाहन्छु। कुनै व्यक्ति जति नै वर्षदेखि विश्‍वासी भएको भए पनि, यदि परमेश्‍वर उसलाई त्याग्ने निर्णय गर्नुहुन्छ भने, त्यो अत्यन्तै गम्भीर कुरा हो! परमेश्वर मानिसहरू कस्तो मार्गमा हिँडून् भन्ने आशा गर्नुहुन्छ भन्ने सम्बन्धमा उहाँको अभिप्राय र चाहना के हो? परमेश्‍वरले मानिसहरूलाई निश्चित परिस्थितिमा राख्नहुँदा, उहाँ तिनीहरू समर्पित हुनेछन् भन्ने आशा गर्नुहुन्छ कि विद्रोह गर्नेछन् भन्ने? उहाँ तिनीहरूले सत्यता खोज्ने र प्राप्त गर्नेछन् भन्ने आशा गर्नुहुन्छ कि यसलाई बेवास्ता गरेर रोकिनेछन् भन्ने? यसप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो छ? उहाँ मानिसहरूबाट के अपेक्षा गर्नुहुन्छ? उहाँ तिनीहरू नकारात्मक र सुस्त नभई वा उहाँको कामलाई बेवास्ता नगरी समर्पित हुन र त्यसमा सक्रियतासाथ सहकार्य गर्न सक्नेछन् भन्ने आशा गर्नुहुन्छ। कतिपय मानिस आफ्ना कर्तव्यमा उत्साहहीन छन्: तिनीहरूलाई कुनै काम सुम्पिइँदा, तिनीहरू त्यो आफूलाई ठिक लागेअनुसार गर्छन्, तर सत्यता वा परमेश्‍वरको अभिप्राय खोज्दैनन्। तिनीहरूलाई यसो गर्नु गलत होइन भन्ने लाग्छ—तिनीहरूले कुनै प्रशासनिक आदेश उल्लङ्घन गरिरहेका, परमेश्वरको स्वभावलाई चिढ्याइरहेका वा मण्डलीका काममा बाधा वा अवरोध पुऱ्याइरहेका हुँदैनन्, र आफ्नो कर्तव्य निर्वाह गरिरहेकै हुन्छन्, त्यसैले तिनीहरूलाई आफ्नो निन्दा गरिनेछैन भन्‍न लाग्छ। तँलाई यस्तो मनोवृत्ति कस्तो लाग्छ? (यो राम्रो होइन। यो नकारात्मक, निष्क्रिय र उत्साहहीन मनोवृत्ति हो, जसलाई परमेश्‍वर घृणा गर्नुहुन्छ।) उत्साहहीन मनोवृत्ति भनेको के हो? परमेश्‍वर यसलाई किन घृणा गर्नुहुन्छ? यस्तो मनोवृत्तिको सार के हो? (म यसबारे आफ्नो थोरै अनुभव बाँड्न सक्छु। मैले हालैको आफ्ना कर्तव्यमा आफ्नै इच्छा पछ्याइरहेको र सिद्धान्तहरू उल्लङ्घन गरिरहेको थिएँ। काटछाँटमा परेपछि, मैले आत्मचिन्तन गरिनँ, र मैले परमेश्‍वरलाई गलत बुझेँ र उहाँदेखि सावधान भएँ। मेरो हृदय परमेश्‍वरका लागि बन्द भयो, मलाई उहाँको नजिक हुन मन लागेन, र मैले उहाँलाई प्रार्थना गरिनँ। मेरो मनोवृत्ति उत्साहहीन थियो, र यसले मलाई त्यस अवधिमा नकारात्मक, निष्क्रिय, र दुःखी बनायो। मेरो हृदय परमेश्‍वरका लागि बन्द भएको हुनाले, मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण खम्बा नै ढलेसरह भयो र म साह्रै दुःखी भएँ। बाहिरबाट हेर्दा, मैले कुनै स्पष्ट विद्रोही व्यवहार नगरी आफ्नो कर्तव्य निर्वाह गरिरहेको जस्तो देखिन्थ्यो, तर मैले पवित्र आत्माबाट कुनै अन्तर्दृष्टि प्राप्त गरिनँ र ममा परमेश्‍वरसँग सक्रिय रूपले सहकार्य गर्ने मनस्थिति थिएन। यो उत्साहहीन, नकारात्मक, र उत्प्रेरणारहित मनोवृत्ति कायम राख्नु आफूलाई बिस्तारै मार्नुसरह थियो। परमेश्‍वरदेखि टाढिने मानिसहरू जरा सुकेको रूखजस्तै हुन्। यसको जीवनको डोरी नै काटिएकाले, बिस्तारै यसका हाँगाबिँगा सुक्दै र पातहरू ओइलाउँदै जान्छन् र अन्त्यमा पूरै रूख मर्छ।) त्यो एकदमै राम्रो व्याख्या थियो। सायद अधिकांश मानिस यो स्थितिमा छन्: तिनीहरू कुनै समस्या खडा नगरी, वा दुष्टता नगरी, वा कामकुरामा बाधा नपुऱ्याई जे गर् भनिएको छ, त्यही गर्छन्—यति मात्र हो, तिनीहरू उत्साहहीन हुन्छन्। परमेश्‍वर यस्तो मनोवृत्तिलाई किन घृणा गर्नुहुन्छ? यस्तो मनोवृत्तिले के-कस्तो सार देखाउँछ? यसले नकारात्मक, अवाज्ञाकारी र सत्यतालाई इन्कार गर्ने सारलाई देखाउँछ। तिमीहरूको विचारमा पहिला परमेश्‍वरले मानिसहरूलाई त्याग्नुहुन्छ कि पहिला मानिसहरूले परमेश्‍वरलाई त्याग्छन्? (मानिसहरूले पहिला परमेश्‍वरलाई त्याग्छन्।) यदि पहिला तैँले परमेश्‍वरलाई त्यागिस् बने, तेरो हृदय परमेश्‍वरका लागि बन्द हुन्छ, जुन गम्भीर समस्या हो। “बन्द हुन्छ” भनेको यसलाई व्याख्या गर्ने एउटा तरिका हो। वास्तवमा, मानिसहरूले आफ्नो हृदय बन्द गरिरहेका, परमेश्‍वरलाई बाहिर राखिरहेका हुन्छन्, जसको अर्थ हो: “मलाई अब तपाईं चाहिँदैन। म तपाईंसँग सबै नाता तोड्दै छु, र हामीबीचको सबै सम्पर्क टुटाउँदै छु।” सृष्टि गरिएका प्राणीमा आफ्ना सृष्टिकर्ताप्रति यस्तो मनोवृत्ति हुँदा, परमेश्‍वर यसलाई कसरी सम्हाल्नुहुन्छ? उहाँको मनोवृत्ति कस्तो हुन्छ? मानिसहरूलाई यस्तो अवस्थामा देख्दा, उहाँलाई हर्ष, घृणा वा दुःख, के लाग्छ? सर्वप्रथम, उहाँलाई दुःख लाग्छ। परमेश्‍वरले मानिसहरू सत्यता स्विकार्न सुस्त र एकदमै अनिच्छुक भएको देख्दा, उहाँ निराश हुनुहुन्छ, र त्यसपछि तिनीहरूलाई घृणा गर्नुहुन्छ। व्यक्तिको हृदय परमेश्‍वरका लागि बन्द हुँदा, उहाँ यसलाई कसरी लिनुहुन्छ? (परमेश्‍वर केही परिस्थिति योजनाबद्ध गर्नुहुन्छ, जसले तिनीहरूलाई उहाँको अभिप्राय बुझ्न र उहाँका लागि आफ्नो हृदय खोल्न मद्दत गर्छ।) हो, यो परमेश्‍वरको सक्रिय तरिकामध्ये एक हो, उहाँ कहिलेकाहीँ त्यसरी कामकुरा गर्नुहुन्छ, तर कहिलेकाहीँ उहाँ त्यसो गर्नुहुन्न। कहिलेकाहीँ उहाँले आफ्नो अनुहार लुकाएर समय कुर्दै तैँले उहाँका लागि हृदय खोल्ने प्रतीक्षा गर्नुहुन्छ। जब तैँले उहाँलाई आफ्ना हृदयमा प्रवेश गराएको हुन्छस् र सत्यता स्विकार्न सक्छस्, तब उहाँले तँमाथि कृपा बर्साइरहनुहुनेछ र तँलाई अन्तर्दृष्टि दिइरहनुहुनेछ। तर, सामान्यतया यदि तँमा परमेश्‍वरका लागि आफ्नो हृदय पूर्णतया बन्द गर्ने यस्तो मनोवृत्ति छ, र यसरी तैँले उहाँसँग सामान्य सम्बन्ध राख्न इन्कार गर्छस्, उहाँसँगको सबै सम्पर्क इन्कार गर्छस् भने, तैँले तँमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई र उहाँको मार्गर्शनलाई इन्कार गरिरहेको हुन्छस्। यो तैँले उहाँलाई तेरो परमेश्‍वरका रूपमा इन्कार गर्नु बराबर, र उहाँलाई तेरो प्रभु मान्‍न नचाहनु हो। यदि तैँले उहाँलाई तेरो परमेश्‍वर र प्रभुका रूपमा इन्कार गर्छस् भने, के उहाँले तँमा अझै काम गर्नुहुन्छ? (गर्नुहुन्‍न।) त्यसपछि, उहाँले तँलाई त्याग्‍न मात्र सक्नुहुन्छ। तैँले के भएको छ भन्ने बुझेपछि र तेरो मार्गका गल्तीहरू महसुस गरेपछि, र पश्चात्ताप गर्न जानेपछि मात्र तँमाथिको परमेश्‍वरको काम पुनः सुचारु हुन सक्छ। त्यसैले, यस्तो उत्साहहीन मनोवृत्तिको सामना गर्दा, परमेश्‍वरले अवश्य नै काम गर्नुहुनेछैन, उहाँले यस्ता मानिसहरूलाई पन्छाउनुहुनेछ। के तिमीहरूसँग यस्तो कुनै अनुभव छ? यस्तो अवस्था शान्तिपूर्ण र हर्षमय हुन्छ कि असहनीय र दुःखदायी? (असहनीय र दुःखदायी।) कति दुःखदायी? (यो जिउँदो लास बन्नुजस्तै हुन्छ। यो पशुजस्तो सोचरहित, प्राणरहित अस्तित्व हो।) यदि परमेश्‍वर कुनै व्यक्तिका हृदयमा हुनुहुन्‍न भने, उसको हृदय खोक्रो हुन्छ; यो त उसमा आत्मा नहुनु बराबर हो। के यसको अर्थ ऊ आत्मविहीन मृत व्यक्ति बनेको हुन्छ भन्ने होइन र? कत्ति भायवह! व्यक्तिले कहीँ पनि र कुनै पनि समय परमेश्‍वरलाई धोका दिन सक्छ। अलिकति पनि लापरवाहीका कारण, उसले परमेश्‍वरलाई आफ्नो हृदयमा इन्कार गर्न सक्छ, त्यसपछि उसको अवस्था तुरुन्तै परिवर्तन हुन्छ: उसको आत्माको स्थिति तुरन्तै खस्किन्छ, उसलाई परमेश्‍वरको उपस्थिति महसुस हुन छोड्छ, अनि चल्न छोडेको मुटुझैँ परमेश्‍वरमाथिको उसको निर्भरता र उहाँसँगको सम्बन्ध पूरै मेटिएर जान्छ। यो खतरनाक स्थिति हो। यस्तो स्थितिलाई के गर्न सकिन्छ? तैँले सही मनोवृत्ति राख्नुपर्छ र तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेर पश्चात्ताप गर्नुपर्छ। यदि कुनै व्यक्ति सधैँ परमेश्‍वरले उसलाई पूर्णतया त्याग्ने र परमेश्‍वरसम्म पुग्न नसक्ने नकारात्मक, अवाज्ञाकारी स्थितिमा जिउँछ भने, त्यो खतरनाक कुरा हो! के तिमीहरूले यो खतराले कस्ता प्रतिकूल नतिजाहरू निम्त्याउन सक्छ भन्ने बुझेका छौ? यो कसैले घाटा बेहोर्ने कुरा मात्र होइन—अरू कस्ता नजिताहरू हुन सक्छन्? (ऊ दुष्ट आत्माहरूको वशमा हुन सक्छ।) त्यो एउटा हो। अरू थुप्रै सम्भावना छन्। (उसले घोर दुष्टता गर्न र ऊ परमेश्‍वरद्वारा खुलासा भएर हटाइन सक्छ।) यो पनि सम्भव छ। अरू केही छन्? (परमेश्‍वरसँगको उसको सम्बन्ध झन्-झन् टाढिन सक्छ।) अब, यो अवस्था रहिरह्यो भने, के तिमीहरूलाई यस व्यक्तिले अन्त्यमा परमेश्‍वरमा उप्रान्त विश्‍वास नगर्ने विचार गर्ला भन्ने लाग्छ? (हो, त्यस्तै लाग्छ।) के त्यो डरलाग्दो कुरा होइन र? (हो।) यदि व्यक्तिमा आफ्नो विश्‍वास त्याग्ने यस्तो दुष्ट चाहना छ भने, त्यो सबैभन्दा डरलाग्दो कुरा हो, किनभने उसले परमेश्‍वरलाई आफ्नो हृदयमा धोका दिइसकेको हुन्छ, र परमेश्‍वरले यस्तो व्यक्तिलाई मुक्ति दिनुहुनेछैन।

व्यक्तिले विश्‍वासीका रूपमा परमेश्‍वरसँग सामान्य सम्बन्ध कायम राख्नैपर्छ; यो एकदमै महत्त्वपूर्ण छ। जब परमेश्‍वरसँग व्यक्तिको सम्बन्ध सामान्य हुन्छ, तब ऊ राम्रो अवस्थामा हुन्छ; जब उसको स्थिति खराब हुन्छ, तब परमेश्‍वरसँगको उसको सम्बन्ध सामान्य हुँदैन। व्यक्तिको हृदय ऊ राम्रो अवस्थामा छ कि खराब अवस्थामा भन्ने आधारमा पूर्ण रूपले दुई भिन्‍न परिस्थितिमा हुन्छ। जब व्यक्ति राम्रो अवस्थामा हुन्छ, तब उसलाई आफ्नो हृदयमा निश्चित तागत महसुस हुन्छ, त्यस्तो तागत जसले उसलाई कहिल्यै विवाह नगर्न, जतिसुकै कष्ट भोग्नुपरे पनि अन्त्यसम्मै परमेश्‍वरलाई पछ्याउन, र अन्त्यसम्मै, मृत्युसम्मै परमेश्‍वरप्रति वफादार रहन बल दिन्छ। यस्तो सङ्कल्प कसरी आउँछ? (यो मानिसहरूमा हुने एक प्रकारको जोसबाट आउँछ।) के परमेश्‍वरका लागि यो जोस स्वीकार्य हुन्छ? यस्तो सङ्कल्प सकारात्मक कुरा हो कि नकारात्मक? (सकारात्मक कुरा।) के परमेश्‍वरका लागि सकारात्मक कुराहरू स्वीकार्य हुन्छन्? (हुन्छन्।) परमेश्‍वर सूक्ष्म रूपले मानिसहरूको हृदय जाँच्नुहुन्छ। उहाँ मानिसहरूले हृदयभित्र के सोच्छन् र त्यहाँ तिनीहरूको स्थिति कस्तो छ भनेर सूक्ष्म रूपले जाँच्नुहुन्छ। त्यसैले, तैँले हृदयमा यस्तो चाहना व्यक्त गर्दा र सङ्कल्प लिँदा, परमेश्‍वरले त्यो पनि सूक्ष्म रूपले जाँच्नुहुन्छ। यो सङ्कल्प कहाँबाट आउँछ? के यो व्यक्तिको स्वाभाविकपन र गरम मिजासबाट आउँछ? (होइन, यो मानिसहरूमा पवित्र आत्माको कामद्वारा हालिएको हुन्छ।) त्यो सही हो। जब मानिसहरू सही स्थितिमा जिउँछन्, तब पवित्र आत्मा तिनीहरूलाई यस्तो शक्ति दिनुहुन्छ, जसले तिनीहरूलाई त्यो सङ्कल्प गर्न मद्दत दिन्छ। यो सकारात्मक कुरा हो, र यो कुरा पवित्र आत्माले मानिसहरूलाई तिनीहरूको सहकार्य र त्यागका कारण दिनुहुन्छ। के मानिसहरू आफैले कहिल्यै यस्तो विश्‍वास राखेका छन्? अवश्यै छैनन्, होइन त? मानिसहरूमा अलिकति पनि सहकार्य गर्ने सङ्कल्प हुँदा, पवित्र आत्माले तिनीहरूलाई यस्तो शक्तिशाली उत्प्रेरणा दिनुहुन्छ! यसबाट तैँले अहिले के बुझिस्? (मानिसहरू परमेश्‍वरसँग बस्नैपर्छ। परमेश्‍वरविना, मृत्यु मात्रै छ।) “मानिसहरू परमेश्‍वरसँग बस्नैपर्छ,” त्यो साँचो हो। यो अनुभवबाट प्राप्त ज्ञान हो। यदि तैँले परमेश्‍वरका निम्ति आफ्नो हृदय खोलिस्, यदि तँमा त्यो सानो सङ्कल्प छ, र यदि तँ परमेश्‍वरलाई प्रार्थना गरेर आफ्नो हृदय उदाङ्गो पार्न सक्छस् भने, उहाँले तँलाई यो शक्ति दिनुहुनेछ। यो शक्ति तेरो जीवनभरि रहनेछ र यसले तँलाई यस्तो गहन सङ्कल्प गर्न र यसो भन्न मद्दत गर्नेछ, “म आफ्नो सारा जीवन परमेश्‍वरमा अर्पण गर्छु, म यो जीवन आफूलाई उहाँमा सुम्पेर र उहाँका निम्ति जिएर बिताउनेछु!” यो तथ्य हो; मानिसहरू यसरी नै सोच्छन्, र मानिसहरूले गर्न चाहने यही हो। तर, यदि कसैले परमेश्‍वरलाई पछ्याउँछ र आफ्नो दिमाग, सोच, क्षमता र प्रतिभामा भर परेर कर्तव्य निर्वाह गर्छ भने, उसमा कति शक्ति हुनेछ? यदि तँमा सत्यता पछ्याउने इच्छा छैन भने, जति नै कडा परिश्रम गरे पनि व्यर्थ हुनेछ। यो भित्री शक्ति मानिसले प्राप्त गर्न सक्दैन; यो त परमेश्‍वरले दिनुहुन्छ। मानिसहरू कसरी यो शक्ति गुमाउँछन्? यसको कारण के हो? परमेश्‍वर तिनीहरूको हृदयमा बस्न छोड्नुभएपछि, यो शक्ति बिलाउँछ। मानिसहरूमा यो शक्ति हुनु त पवित्र आत्माको काम हो, यो त परमेश्‍वरले मानिसहरूलाई दिने शक्ति हो—यो सब परमेश्‍वरको कार्य हो। यदि तेरो हृदय परमेश्‍वरका निम्ति बन्द छ, यदि तँ परमेश्‍वरलाई “हुँदैन” भन्छस्, र तेरो जीवनमाथिको उहाँको सार्वभौमिकता र योजनाबद्ध कार्य, साथै उहाँले तेरो वरपर बन्दोबस्त गर्ने वातावरण, मानिसहरू, घटना र परिस्थितिलाई इन्कार गर्छस् भने, तँमा सत्यता पछ्याउने हृदयसमेत हुनेछैन। मानिसहरूले परमेश्‍वरलाई गुमाउनु त निश्चय नै भयानक कुरा हो; यो तथ्य हो। परमेश्‍वरलाई गुमाउनेहरू केही पनि होइनन्। यदि व्यक्तिले आफ्नो हृदय परमेश्‍वरका लागि बन्द गर्छ भने, उसले परमेश्‍वरमा विश्‍वास गर्नेबारे फेरि सोच्न सक्छ, जुन उसले कुनै पनि समय र कुनै पनि ठाउँमा प्रकट गर्न सक्छ। यसको सबैभन्दा डरलाग्दो पाटो के हो भने, उसका यी सोचहरू झन्-झन् दह्रिलो बन्दै जानेछन्, यहाँसम्म कि उसले आफूले त्यागेका र अर्पण गरेका सबै कुरा, अनि आफूले कुनै बेला गरेको सङ्कल्प र भोगेको कष्टका लागि पछुतोसमेत गर्न सक्छ। उसको अवस्था पहिलेको भन्दा एकदमै फरक हुनेछ, मानौँ ऊ बिलकुलै बेग्लै व्यक्ति हो। यो कसरी हुन्छ? यदि कुनै व्यक्तिले परमेश्‍वरले उसका लागि प्रबन्ध गरेका मानिसहरू, घटना, परिस्थिति र, वातावरणलाई स्विकार्न सक्यो भने, उसले शान्तिमय र सुखी जीवन जिउन सक्छ। यदि ऊ सधैँ परमेश्‍वरले उसका लागि प्रबन्ध गरेका मानिसहरू, घटना, र परिस्थितिदेखि उम्कन खोज्छ, अनि परमेश्वरको सार्वभौमिकता भएको आफू रहेको वातावरणलाई स्विकार्न चाहँदैन भने, यसबाट कस्तो अवस्था सिर्जना हुनेछ? (दुःख र अन्धकार।) उसले अन्धकार, दुःख, व्यग्रता, निरन्तरको चिन्ता र उदासी अनुभव गर्नेछ। के यो आकास-पातालको फरक होइन र? (हो।) मानिसहरू राम्रो स्थितिमा जिउनु त स्वर्गमा परमेश्‍वरसामु जिउनुसरह हो। तिनीहरू खराब स्थितिमा हुँदा, तिनीहरूको अवस्था झन्-झन् अन्धकारमय बन्दै जान्छ, र परमेश्‍वर तिनीहरूको पहुँचभन्दा बाहिर रहनुहुन्छ। अन्धकार स्थितिमा जिउनु नरकमा जिउनु बराबर हो। के तिमीहरूले कहिल्यै नरकको कष्ट महसुस गरेका छौ? यो आनन्दायी हुन्छ कि असहनीय? (असहनीय।) तिमीहरू यसलाई एक वाक्यमा कसरी व्याख्या गर्छौ? (यो मृत्युभन्दा खराब हुन्छ।) सही हो, यो मृत्युभन्दा खराब हुन्छ। जिउनुभन्दा मर्नु निकै आनन्दायी हुन्छ, यो एकदमै कष्टकप्रद हुन्छ। तैँले यसलाई एकदमै राम्ररी व्याख्या गरिस्; त्यो त्यस्तै नै हुन्छ।

मानिसहरूले सामना गर्ने सबै कठिनाइ, अनि तिनीहरूका सबै नकारात्मकता र कमजोरी सिधै तिनीहरूको भ्रष्ट स्वभावसँग सम्बन्धित छन्। यदि तिनीहरूको भ्रष्ट स्वभाव हटाउन सकियो भने, तिनीहरूका आस्थामा आइपर्ने सबै कठिनाइ करिब-करिब हल हुनेछ भनेर भन्‍न सकिन्छ: तिनीहरूलाई कुनै पनि कुराले सत्यता खोज्नबाट रोक्नेछैन, तिनीहरूले सत्यता अभ्यास गर्ने क्रममा कठिनाइहरू सामना गर्नेछैनन्, अनि तिनीहरूलाई परमेश्‍वरमा समर्पित हुनबाट कुनै कुराले रोक्नेछैन। त्यसैले, भ्रष्ट स्वभावहरू हटाउनु महत्त्वपूर्ण हुन्छ। मानिसहरू सत्यता पछ्याउन् र इमानदार होऊन् भन्ने परमेश्‍वरको माग भ्रष्ट स्वभाव हटाउनु र स्वभाव परिवर्तन गर्नुसँग सम्बन्धित छ। सत्यता खोज्नुको उद्देश्य भ्रष्ट स्वभावको समस्या हल गर्नु हो, सत्यता पछ्याउनुको उद्देश्य स्वभाव परिवर्तन गर्नु हो। त्यसोभए, सत्यता कसरी खोज्ने त? सत्यता कसरी प्राप्त गर्न सकिन्छ? मैले एकछिन अघि के भनेँ? (सबै थोकमाथि परमेश्‍वर सार्वभौम हुनुहुन्छ भनेर विश्‍वास गर्, अनि उहाँले बन्दोबस्त गरेका वातावरणमा समर्पित हो।) हो, विश्‍वास गर्, समर्पित हो, पाठ सिक्ने प्रयास गर्, सत्यता खोज्, र परमेश्‍वरले सिर्जना गरेका वातावरणमा आफ्नो कर्तव्यमा अडिग रहो। परमेश्‍वरले सिर्जना गरेको वातावरणबाट तैँले पाठ सिक्न सकिस् भने, के तँलाई समर्पित हुन सजिलो हुनेछैन र? (हुनेछ।) तैँले सत्यता खोज्दा र पाठ सिक्दा भ्रष्ट स्वभाव प्रकट गर्न छोड्नेछस् र गरम मिजास देखाउनबाट आफूलाई रोक्नेछस् भन्ने कुरा साँचो होइन र? यस प्रक्रियाका क्रममा, के तैँले तेरा लागि परमेश्‍वरले बन्दोबस्त गरेकाका मानिसहरू, घटना र परिस्थितिसँग व्यवहार गर्न मानव विधि र मानव सोचाइ प्रयोग गर्न छोड्नेछैनस् र? यसरी, के तँ सामान्य स्थितिमा हुनेछैनस् र? अनि जब तँ सामान्य स्थितिमा हुन्छस्, तब के तँ परमेश्‍वरसामु निरन्तर जिउन सक्नेछैनस् र? त्यसपछि तँ सुरक्षित हुनेछस्। यदि तँ प्रायः परमेश्‍वरसामु आउन, उहाँसामु निरन्तर जिउन, उहाँले तेरा लागि प्रबन्ध गरेका वातावरणमा उहाँको अभिप्राय बारम्बर खोज्न, अनि उहाँले बन्दोबस्त गरेका सबै मानिस, घटना र परिस्थितिमा समर्पित हुन सक्छस् भने, के तँ सदैव उहाँको आँखासामु, र उहाँका हेरचाहमा जिउनेछैनस् र? (जिउनेछु।) जब तेरो नियति परमेश्‍वरको सार्वभौकिताअन्तर्गत हुन्छ, अनि उहाँद्वारा रेखदेख र व्यवस्थापन गरिएको हुन्छ, जब तैँले हरेक दिन परमेश्‍वरको सुरक्षा पाउँछस्, तब के तँ सबैभन्दा खुसी व्यक्ति बन्नेछैनस् र? (त्यो सही हो।) यस विषयसम्बन्धी हाम्रो सङ्गति त्यहीँ टुङ्गिन्छ। अगाडि बढ्दै जाँदा, तिमीहरू सबैले यसबारे सँगै सङ्गति गर्न, अनि यसलाई सारांश गरेर आफ्नो बुझाइ बाँड्न सक्छौ। सुखी जीवन कसरी जिउने र परमेश्‍वरको स्वीकृति कसरी पाउने भनेर अय्यूबले जस्तै पत्ता लगा, ताकि परमेश्‍वरले तँलाई आफ्नो हृदयमा राख्नुहोओस् र तँ उहाँलाई मन पर्ने व्यक्ति होस् भनेर भन्नुहोओस्; अय्यूबले जस्तै जीवनको सही मार्गमा कसरी हिँड्ने भनेर पत्ता लगा, जुन परमेश्‍वरको भय मान्ने र शैतानदेखि अलग रहने मार्ग हो।

जनवरी २५, २०१७

अघिल्लो: परमेश्‍वरको व्यवस्थापन योजनाको सबैभन्दा ठूलो हितग्राही मानिस नै हो

अर्को: जीवन वृद्धिका छ वटा सूचकहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्