परमेश्‍वरमाथिको विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो

जब परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वासको कुरा आउँछ, आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्ने बाहेक, मुख्य कुरा भनेको सत्यतालाई बुझ्‍नु, सत्यता वास्तविकतामा प्रवेश गर्नु, र जीवन प्रवेशमा थप प्रयत्न लगाउनु हो। जेसुकै भए पनि, यसमा सिक्‍नुपर्ने पाठहरू छन्, त्यसैले यसलाई त्यतिकै हल्कासित जान नदेऊ। तिमीहरूले यसबारे आपसमा सङ्गति गर्नुपर्छ, र त्यसपछि पवित्र आत्माले तिमीहरूलाई अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ, र तिमीहरूले सत्यता बुझ्न सक्‍नेछौ। तिमीहरूले सङ्गतिमार्फत अभ्यासको मार्ग प्राप्त गर्नेछौ र परमेश्‍वरको काम कसरी अनुभव गर्ने सो जान्‍नेछौ, अनि तिमीहरूले थाहै नपाई तिमीहरूका कतिपय समस्या समाधान हुनेछन्, तैँले स्पष्टसित देख्‍न नसक्‍ने कुराहरू झन्झन् कम हुँदै जानेछन्, र तैँले झन्झन् धेरै सत्यता बुझ्नेछस्। यसरी, तँलाई थाहै नभई तेरो कद बढ्नेछ। तैँले सत्यतामा लागिपर्न पहल गर्नैपर्छ र सत्यतमा आफ्नो हृदय लगाउनैपर्छ। कतिपय मानिसहरूले भन्छन्, “मैले परमेश्‍वरलाई विश्‍वास गरेको धेरै वर्ष भयो र मैले धेरै धर्मसिद्धान्त बुझेको छु। अब मसँग एउटा जग छ। अहिले, हाम्रो विदेशका मण्डलीहरूमा जीवन राम्रो छ, दाजुभाइ-दिदीबहिनीहरू परमेश्‍वरमाथिको विश्‍वासका मामलाहरूमा सङ्गति गर्न दिनभरि भेला हुन्छन्, यसरी म जे देख्छु र जे सुन्छु त्यसबाट प्रभावित हुन्छ, र त्यसबाट भरणपोषण प्राप्त गर्छु—र त्यो नै पर्याप्त छ। मैले मेरो आफ्‍नै जीवन प्रवेशका समस्याहरूलाई वा मेरो आफ्‍नै विद्रोहीपनका समस्याहरूलाई समाधान गर्नको लागि प्रयास गर्नु पर्दैन। यदि मैले हरेक दिन प्रार्थना गर्ने, परमेश्‍वरको वचन खाने र पिउने, भजनहरू गाउने, आफ्नो कर्तव्य निर्वाह गर्ने, र आफूले गर्नुपर्ने कर्तव्य पूरा गरेँ भने, मेरो जीवनमा स्वाभाविक रूपले वृद्धि हुनेछ।” अलमलिएका विश्‍वासीहरूले यही सोच्छन्। यी मानिसहरूले सत्यता फिटिक्‍कै स्वीकार गर्दैनन्। तिनीहरू केवल धार्मिक अनुष्ठानहरूमा संलग्‍न हुन्छन्, धाराप्रवाह रूपमा बोल्छन्, रित्तो नारा लाउँछन्, शब्द र धर्मसिद्धान्तहरूका कुरा फलाक्छन् र आफूले राम्रो गरेको महसुस गर्छन्। फलस्वरूप, अरू मानिसले केही सत्यता अभ्यास गरेर आफूमा केही परिवर्तन ल्याउँदा, यी अलमलिएका विश्‍वासीहरूसँग चाहिँ अनुभवात्मक गवाही फिटिक्‍कै हुँदैन। तिनीहरू आफ्नो ज्ञानबारे समेत बोल्‍न सक्दैनन्। तिनीहरू खाली हात हुन्छन् र केही प्राप्त गर्दैनन्। के तिनीहरू गरिब र दयनीय छैनन् र? मुक्ति पाउनका लागि सत्यता स्विकार्नु र सत्यता पछ्याउनुभन्दा बढी वास्तविक वा व्यावहारिक मार्ग अर्को छैन। यदि तैँले सत्यता प्राप्त गर्न सक्दैनस् भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वास रित्तो हुन्छ। शब्द र धर्मसिद्धान्तहरूका रित्ता शब्दहरू बोल्ने, सधैँ नाराहरू फलाक्‍ने, आडम्बरी कुरा गर्ने, प्रावधानहरू पालन गर्ने तर सत्यता अभ्यास गर्नमा कहिल्यै ध्यान नदिनेहरूले जति नै धेरै वर्षदेखि विश्‍वासमा रहे पनि, केही प्राप्त गर्दैनन्। केही प्राप्त गर्ने मानिसहरूचाहिँ को हुन् त? तिनीहरू ती व्यक्तिहरू हुन्, जो आफ्नो कर्तव्य इमानदारीसाथ निर्वाह गर्छन् र सत्यता अभ्यास गर्न इच्छुक हन्छन्, जो आफूलाई परमेश्‍वरले सम्पिनुभएको कुरालाई मिसनको रूपमा लिन्छन्, जो आफ्नो सारा जीवन खुसीसाथ परमेश्‍वरमा समर्पण गर्दै बिताउँछन् र आफ्नो फाइदाको खातिर षड्यन्त्र रच्दैनन्, जो एकदमै व्यावहारिक हुन्छन् र जो परमेश्‍वरका योजनाबद्ध कार्यहरू पालन गर्छन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू बुझ्न सक्षम हुन्छन् र हरेक काम उचित रूपमा गर्न जोरदार प्रयास गर्छन्, र त्यसरी तिनीहरू परमेश्‍वरको गवाहीको प्रभाव हासिल गर्न, र परमेश्‍वरका अभिप्राय पूरा गर्न सक्छन्। आफ्नो कर्तव्यपालनको दौरान कठिनाइहरू आइपर्दा, तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्छन् र परमेश्‍वर अभिप्राय बुझ्ने प्रयास गर्छन्, तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू पालन गर्न सक्षम हुन्छन्, र आफूले गर्ने सबै कुरामा सत्यताको खोजी र अभ्यास गर्छन्। तिनीहरूले नाराहरू सुगारटाइ गर्ने वा आडम्बरी कुरा गर्ने गर्दैनन्, बरु एकदमै व्यावहारिक भई कामकुरा गर्न र सावधानीपूर्वक सिद्धान्तहरू पछ्याउन ध्यान दिन्छन्। तिनीहरू आफूले गर्ने सबै कुरामा हृदय लगाउँछन्, र हरेक कुरालाई पूर्ण हृदयसाथ बुझ्न सिक्छन्, र धेरै कुरामा सत्यता अभ्यास गर्न सक्षम हुन्छन्, र त्यसपछि तिनीहरूले ज्ञान र बुझाइ प्राप्त गर्छन्, र पाठहरू सिक्‍न र साँचो अर्थमा केही प्राप्त गर्न सक्षम हुन्छन्। अनि आफूमा गलत विचार आउँदा वा गलत स्थिति हुँदा, तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्छन् र ती विचार हटाउन सत्यता खोजी गर्छन्; तिनीहरूले जुनै सत्यता बुझे पनि, तिनलाई आफ्नो हृदयमा कदर गर्छन्, र आफ्ना अनुभवात्मक गवाहीबारे बोल्न सक्छन्। यस्ता मानिसहरूले अन्त्यमा सत्यता प्राप्त गर्छन्। ती मानिसहरू जो लापरवाह र सतही छन्, तिनीहरूले कसरी सत्यता अभ्यास गर्ने भनेर कहिल्यै सोच्दैनन्। तिनीहरूले प्रयास खर्चन र काम गर्न, अनि आफ्नो प्रदर्शन र देखावटी गर्न मात्रै ध्यान दिन्छन्, तर तिनीहरू कसरी सत्यता अभ्यास गर्न भनी कहिल्यै खोजी गर्दैनन्, जसले गर्दा तिनीहरूलाई सत्यता प्राप्त गर्न गाह्रो हुन्छ। यसबारे सोच्, कस्ता प्रकारका मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? (तिनीहरू जो वास्तविक धरातलमा उभिने, व्यावहारिक र कामकुरामा मन लगाउने खालका छन्।) वास्तविकतामा उभिएर कामकुरामा मन लगाउने, र हृदय भएका मानिसहरू: यस्ता मानिसहरूले कार्य गर्दा वास्तविकतामा र सत्यता सिद्धान्तहरूको प्रयोगमा धेरै ध्यान दिन्छन्। साथै, तिनीहरू सबै कुरामा व्यावहारिकतालाई ध्यान दिन्छन्, तिनीहरू यथार्थपरक हुन्छन्, र तिनीहरू सकारात्मक कुराहरू, सत्यता, र वास्तविक कुराहरू मन पराउँछन्। अन्त्यमा सत्यता बुझ्‍न र प्राप्त गर्न सक्‍ने मानिसहरू यिनै हुन्। तिमीहरू कस्तो खाले व्यक्ति हौ? (अव्यावहारिक, जो सधैँ देखाउनको लागि कामकुराहरू गर्न चाहन्छ, र जो छलकपटमा भर पर्छ।) के यसो गरेर केही प्राप्त गर्न सकिन्छ? (सकिँदैन) के तिमीहरूले आफ्ना समस्याहरू हल गर्ने उपाय फेला पारेका छौ? यदि तँ यसलाई महसुस गरेर परिस्थिति बदल्न सुरु गर्न सक्छस् भने, के तँलाई आफ्ना धारणा र कल्पनाहरू, अनि विभिन्‍न कुराहरूबारे आफ्नो दृष्टिकोण बदलिएको छ कि छैन भनेर थाहा हुनेछ? (मलाई ती अलिअलि बदलिएका छन् जस्तो लाग्छ।) परिणाम र प्रगति आउन्जेलसम्म, तैँले यसबारे सङ्गति गर्नुपर्छ र अरूलाई सुध्रने मौका दिनुपर्छ। तेरो अनुभव सीमित भए पनि, यो अझै पनि जीवनवृद्धिकै अनुभव हो। जीवनवृद्धिको प्रक्रिया भनेकै परमेश्‍वरमाथि तैँले विश्‍वास गरेको अनुभव हो, यो परमेश्‍वरको वचन अनुभव गरेर तेरो जीवन वृद्धि हुँदै जाने कुरा हो। यी अनुभवहरू सबैभन्दा बहुमूल्य हुन्छन्।

तिनीहरू सबै परमेश्‍वरमा विश्‍वास गर्ने, परमेश्‍वरको वचन पढ्ने र आफ्नो कर्तव्य पूरा गर्ने भएकाले, किन केही वर्षपछि तिनीहरू एकअर्काभन्दा भिन्न हुन्छन्, तिनीहरूमा राम्रो र नराम्रो स्थिति देखापर्छ र तिनीहरूको वास्तविक रूप खुलासा हुन्छ? वास्तवमा, प्रत्येक व्यक्ति आफ्नो प्रकारअनुसार वर्गीकृत हुन्छ। केही मानिसहरू आफ्नो अनुभवात्मक गवाहीबारे कुरा गर्न सक्छन्, जबकि केहीसँग अनुभवात्मक गवाही नै हुँदैन। केही मानिसहरू धेरै सत्यताहरू बुझ्न र वास्तविकतामा प्रवेश गर्न सक्षम हुन्छन्, जबकि केही मानिसहरूले कुनै पनि सत्यता प्राप्त गरेका वा आफ्नो स्वभाव अलिकति पनि परिवर्तन गरेका हुँदैनन्। केही मानिसहरूले आफ्नो कर्तव्यमा परिणामहरू प्राप्त गर्छन्, तिनीहरू समस्या समाधान गर्न सत्यता खोज्न सक्षम हुन्छन्, र बिस्तारै आफ्ना कर्तव्यहरू पर्याप्त रूपमा निभाउँदै जान्छन्। कतिपय मानिसहरू आफ्नो कर्तव्य निभाउँदा भरहीन र लापरवाह बन्छन्, झारा मात्रै टार्छन् र सत्यता बुझे पनि सत्यता अभ्यास गर्दैनन्। तिनीहरू सबै भेलामा उपस्थित हुने, परमेश्‍वरको वचन पढ्ने र आफ्नो कर्तव्य पूरा गर्ने गर्छन्, तर परिणामहरूचाहिँ किन फरक हुन्छन् त? किन केही मानिसहरू सत्यता पछ्याउने मार्गमा लाग्न सक्छन् जबकि केही मानिसहरू आफ्नै बाटोमा हिँड्छन्? किन केही मानिसहरू सत्यता स्विकार्न सक्छन् जबकि केहीले सक्दैनन्? यो कसरी हुन सक्छ? किन केही व्यक्तिहरू काटछाँट सामना गर्दा त्यो स्विकार्न र आज्ञाकारी हुन सक्छन्, जबकि केही मानिसहरू प्रतिरोध महसुस गर्दै तर्क, विद्रोह र बखेडासमेत गर्छन्? तिनीहरू सबै भेलाहरूमा परमेश्‍वरका वचनहरू खाने र पिउने, प्रवचन र सङ्गतिहरू सुन्‍ने, मण्डली जीवन बिताउने र आ-आफ्ना कर्तव्यहरू निभाउने गर्छन्, तैपनि तिनीहरूबीच किन यति ठूलो भिन्नता हुन्छ? के तँ यो समस्या बुझ्न सक्छस्? यो असल र खराब मानवताबीचको भिन्नता हो, र यो मानिसहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन् भन्ने कुरासँग प्रत्यक्ष सम्बन्धित हुन्छ। वास्तवमा, व्यक्तिको क्षमता जतिसुकै होस्, जबसम्म उसले सत्यता स्विकार्न, आफ्नो कर्तव्य लगनसाथ पूरा गर्न र आफैबारे चिन्तन गर्न अनि आफैलाई चिन्न सक्छ, तबसम्म उसले जीवन प्रवेश हासिल गर्नेछ, उसले साँचो परिवर्तन अनुभव गर्नेछ, र ऊ आफ्नो कर्तव्य पर्याप्त रूपमा निभाउन सक्षम हुनेछ। यदि तँ परमेश्‍वरका वचनहरू पढ्नमा लगनशील छैनस्, र तँ सत्यता बुझ्दैनस् भने, तैँले आफ्‍नो बारेमा मनन गर्न सक्दैनस्; तँ नाममात्रको प्रयास गर्न र कुनै दुष्कर्म वा अपराध नगरी बस्‍न पाउँदा मात्रै पनि सन्तुष्ट हुन्छस्, र यसलाई पूँजीको रूपमा प्रयोग गर्छस्। तँ हरेक दिन झारा टार्दै बिताउँछस्, अन्योलको स्थितिमा जिउँछस्, समयतालिकाअनुसार मात्रै काम गर्छस्, आफूलाई जाँच्न हृदय प्रयोग गर्ने वा आफूलाई चिन्न प्रयत्‍न लगाउने कहिल्यै गर्दैनस्, सधैँ लापरवाह हुनेछैनस्। यसरी, तैँले कहिल्यै पनि स्वीकार्य मापदण्डको स्तरमा आफ्‍नो कर्तव्य पूरा गर्नेछैनस्। कुनै कुरामा आफ्‍नो सम्पूर्ण प्रयास लगाउनको लागि, तैँले सुरुमा यसमा आफ्‍नो सारा हृदय लगाउनुपर्छ; तैँले कुनै कुरामा आफ्‍नो सारा हृदय लगाइस् भने मात्रै तैँले यसमा आफ्‍नो सम्पूर्ण प्रयास लगाउन, अनि सक्दो राम्रो गर्न सक्छस्। आज, कतिपय व्यक्तिहरू आफ्‍नो कर्तव्यपालनमा लगनशील हुन थालेका छन्, तिनीहरूले परमेश्‍वरको हृदय सन्तुष्ट पार्नको लागि सृष्टि गरिएको प्राणीको कर्तव्य कसरी उचित रूपमा निर्वाह गर्ने भनी विचार गर्न थालेका छन्। तिनीहरू नकारात्मक र अल्छी बन्दैनन्, निष्क्रिय भई माथिबाट आदेशहरू जारी गरियोस् भनेर पर्खिँदैनन्, बरु केही अग्रसरता देखाउँछन्। तिमीहरूको कर्तव्यपालनको मूल्याङ्कन्‌ गरेर हेर्दा, तिमीहरू पहिलेभन्दा अलिक बढी प्रभावकारी भएका छौ, र यो अझै मापदण्डको स्तरमा पुग्‍न नसकेको भए पनि, थोरै वृद्धिचाहिँ भएको छ—जुन राम्रो कुरा हो। तर तिमीहरू यथास्थितिमै सन्तुष्ट भएर बस्‍नु हुँदैन, तिमीहरूले खोजी गरिरहनुपर्छ, तिमीहरू वृद्धि भइरहनुपर्छ—त्यसपछि मात्रै तिमीहरूले आफ्‍नो कर्तव्य अझै राम्ररी पूरा गर्नेछौ, र स्वीकार्य मापदण्डमा पुग्‍नेछौ। तथापि, आफ्‍नो कर्तव्य निर्वाह गर्दा, कतिपय मानिसहरू कुनै कसर बाँकी नछोडी तनमन दिएर लागिपर्दैनन्, केवल ५० देखि ६० % प्रयास मात्रै लगाउँछन्, र आफूले गर्दै गरेको काम पूरा भइञ्‍जेलसम्‍म कामचालउ प्रयास मात्र गर्छन्। तिनीहरूले कहिल्यै पनि सामान्य स्थिति कायम राख्दैनन्: तिनीहरूलाई रेखदेख गर्ने वा सहयोग गर्ने कोही नहुँदा, तिनीहरू सुस्त हुन्छन् र जाँगर गुमाउँछन्; जब सत्यताको सङ्गति गर्ने कोही हुन्छ, तब तिनीहरू उत्साहित हुन्छन्, तर केही समयसम्‍म सत्यताको बारेमा सङ्गति दिइएन भने, तिनीहरू उदासीन बन्छन्। यसरी तिनीहरू सधैँ घरि यता, घरि उता गरिरहनुमा के समस्या छ? मानिसहरूले सत्यता प्राप्त नगरेको अवस्थामा, तिनीहरू यस्तै हुन्छन् र यसरी नै जोसमा जिउँछन्, जुन जोस कायम राखिराख्‍न गाह्रो हुन्छ: तिनीहरूलाई हरदिन कसै न कसैले प्रचार र सङ्गति गर्नुपर्छ; तिनीहरूलाई मलजल र भरणपोषण गर्ने, र तिनीहरूलाई साथ दिने कोही छैन भने, तिनीहरूको हृदय फेरि चिसो भइहाल्छ, र तिनीहरू फेरि सुस्त बन्छन्। अनि, तिनीहरूको हृदय सुस्त हुँदा, तिनीहरू आफ्‍नो कर्तव्यमा कम प्रभावकारी हुन्छन्; यदि तिनीहरूले थप परिश्रम गरे भने, प्रभावकारितामा वृद्धि हुन्छ, तिनीहरूको कर्तव्यपालनका नतिजाहरू अझ राम्रा हुनेछन्, र तिनीहरूले अझै धेरै कुरा प्राप्त गर्छन्। के तिमीहरूको अनुभव यस्तै छ? सायद तिमीहरू यसो भन्छौ होला, “किन हामीलाई आफ्‍नो कर्तव्य पूरा गर्न सधैँ समस्या हुन्छ? यी समस्याहरू समाधान हुँदा, हामीमा जोसजाँगर आउँछ; यी समाधान नहुँदा, हामी उदासीन बन्छौँ। हामीले आफ्‍नो कर्तव्य निर्वाह गर्दा केही नतिजा हात लाग्यो भने, हाम्रो वृद्धिको लागि हामीलाई परमेश्‍वरले अनुमोदन गर्नुभयो भने, हामी प्रसन्‍न हुन्छौँ, र हामी बल्‍ल वृद्धि भएका छौँ भन्‍ने हामीलाई अनुभूति हुन्छ, तर चाँडै नै, हामीले कुनै कठिनाइको सामना गर्नुपर्छ, र हामी फेरि पनि नकरात्मक बन्छौँ—किन हाम्रो स्थिति सधैँ प्रतिकूल रहन्छ?” वास्तवमा, यसका मुख्य कारणहरू के हुन् भने, तिमीहरूले अत्यन्तै थोरै मात्र सत्यता बुझेका छौ, तिमीहरूमा अनुभव र प्रवेशको गहिराइको कमी छ, तिमीहरूले अझै पनि धेरै सत्यता बुझ्दैनौ, तिमीहरूमा इच्‍छाशक्तिको कमी छ, र आफ्‍नो कर्तव्य निर्वाह गर्न सकेकोमै तिमीहरू सन्तुष्ट हुन्छौ। यदि तिमीहरू सत्यता बुझ्दैनौ भने, कसरी आफ्‍नो कर्तव्य पर्याप्त रूपमा पूरा गर्न सक्छौ? वास्तवमा, परमेश्‍वरले मानिसहरूलाई जे गर्न लगाउनुहुन्छ त्यो सबै कुरा मानिसहरूले गर्न सक्छन्; जबसम्म तिमीहरूले आफ्‍नो विवेक लगाउन सक्छौ, र आफ्‍नो कर्तव्य पूरा गर्दा विवेकलाई पछ्याउन सक्छौ, तबसम्म तिमीहरूलाई सत्यता स्वीकार गर्न सजिलो हुनेछ—र यदि तिमीहरूले सत्यता स्वीकार गर्न सक्छौ भने, पर्याप्त रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न सक्छौ। तिमीहरूले यसरी सोच्‍नुपर्छ: “यतिका वर्षमा परमेश्‍वरमा विश्‍वास गरेर, यतिका वर्षसम्‍म परमेश्‍वरका वचनहरू खाएर-पिएर, मैले धेरै कुरा प्राप्त गरेको छु, र परमेश्‍वरले मलाई ठूला अनुग्रह र आशिष्‌हरू दिनुभएको छ। म परमेश्‍वरको हातमा जिउँछु, उहाँको अधीन र सार्वभौमिकतामा जिउँछु, र उहाँले मलाई यो सास दिनुभएको हो, त्यसैले मैले मेरो मनमस्तिष्क लगाउनुपर्छ, र सारा शक्तिले आफ्‍नो कर्तव्य पूरा गर्न लागिपर्नुपर्छ—यही नै मुख्य कुरा हो।” मानिसहरूमा इच्‍छाशक्ति हुनैपर्छ; इच्‍छाशक्ति भएकाहरू मात्रै सत्यताप्रति लागिपर्न सक्छन्, र तिनीहरूले सत्यता बुझेपछि मात्रै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न, परमेश्‍वरलाई सन्तुष्ट पार्न, अनि शैतानलाई लाजमा पार्न सक्छन्। यदि तँमा यस्तो इमानदारिता छ, र आफ्‍नै खातिर योजना बनाउँदैनस्, बरु सत्यता प्राप्त गर्ने र आफ्‍नो कर्तव्य उचित रूपमा पूरा गर्ने योजना मात्रै बनाउँछस् भने, तेरो कर्तव्यपालन सामान्य बन्छ, र सधैँ एकसमान रहिरहन्छ; तैँले जस्तोसुकै परिस्‍थितिको सामना गर्नुपरे पनि, तँ आफ्‍नो कर्तव्य पूरा गर्नमा लागिरहन सक्छस्। तँलाई बहकाउन वा बाधा दिन जोसुकै आए पनि, र तेरो मनस्थिति राम्रो भए पनि नराम्रो भए पनि, तैँले सामान्य रूपमै आफ्‍नो कर्तव्य पूरा गर्न सक्‍नेछस्। यसरी, परमेश्‍वर तँप्रति ढुक्‍क बन्‍नुहुनेछ, र पवित्र आत्‍माले तँलाई सत्यता सिद्धान्तहरू बुझ्‍न अन्तर्दृष्टि दिन सक्‍नुहुनेछ, र सत्यता वास्तविकतामा प्रवेश गर्न तँलाई अगुवाइ गर्नुहुनेछ, फलस्वरूप, तेरो कर्तव्यपालन अवश्य नै मापदण्डको स्तरमा पुग्‍नेछ। जबसम्म तँ इमानदारीपूर्वक परमेश्‍वरमा समर्पित हुन्छस्, आफ्‍नो कर्तव्य व्यावहारिक रूपमा पूरा गर्छस्, र धूर्त तरिकाले काम वा चलाकी गर्ने प्रयास गर्दैनस्, तबसम्म तैँले परमेश्‍वरको मापदण्ड पूरा गर्नेछस्। परमेश्‍वरले मानिसहरूको मनमस्तिष्क, विचार, र मनसायहरूको छानबिन गर्नुहुन्छ। यदि तेरो हृदयले सत्यताको तृष्णा गर्छ र तँ सत्यताको खोजी गर्न सक्छस् भने, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ। कुनै पनि मामलामा, तैँले जबसम्म सत्यता खोजी गर्छस्, तबसम्म परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। उहाँले ज्योतिको निम्ति तेरो हृदय खोलिदिनुहुनेछ र तँलाई अभ्यासको मार्ग दिनुहुनेछ, अनि तेरो कर्तव्यपालनले फल फलाउनेछ। परमेश्‍वरको अन्तर्दृष्टि उहाँको अनुग्रह र आशिष्‌ हो। मामूली कुराहरूमा पनि, यदि परमेश्‍वरले अन्तर्दृष्टि दिनुहुन्न भने, मानिसहरूले कहिल्यै प्रेरणा पाउनेछैनन्। प्रेरणाबिना मानिसहरूलाई आफ्ना समस्याहरू समाधान गर्न गाह्रो हुन्छ, र तिनीहरूले आफ्नो कर्तव्यमा परिणाम हासिल गर्नेछैनन्। मानिसहरूले मानव प्रज्ञा, बुद्धि र क्षमताले मात्र, वर्षौँको अध्ययनपछि पनि, कैयौँ कुराहरू पार गर्नै सक्दैनन्। किन सक्दैनन्? किनभने परमेश्‍वरद्वारा तोकिएको समय अझै आएको छैन। यदि परमेश्‍वरले कार्य गर्नुहुन्न भने, मानिस जतिसुकै सक्षम भए पनि त्यो बेकार हुन्छ। यो कुरा स्पष्ट रूपमा बुझ्नैपर्छ। तँमा यो विश्‍वास हुनुपर्छ कि सबैथोक परमेश्‍वरको हातमा छ, र मानिसहरूले केवल उहाँसँग सहकार्य मात्र गर्दै छन्। यदि तेरो हृदय इमानदार छ भने, परमेश्‍वरले त्यो देख्‍नुहुनेछ, र उहाँले हरेक परिस्थितिमा तेरो लागि मार्ग खोलिदिनुहुनेछ। कुनै पनि कठिनाइ पार गर्न नसकिने हुँदैन, र यही विश्‍वास तँमा हुनुपर्छ। त्यसकारण, कर्तव्य पूरा गरिरहेको बेला, तँमा कुनै पनि आशङ्का हुनु जरुरी छैन। जबसम्म तैँले पूर्ण हृदयले आफ्नो सम्पूर्ण बल त्यसमा लगाउँछस्, तबसम्म परमेश्‍वरले तँलाई कठिनाइ प्रदान गर्नुहुनेछैन, न त तँलाई तैँले सम्हाल्नै नसक्‍ने कुराहरू नै जिम्‍मा लगाउनुहुन्छ। यदि तँ गम्भीर नभई बोल्छस्, कुरा मात्रै गर्छस् र काम गर्दैनस्, र राम्रो सुनिने कुराहरू बोल्छस् तर साँचो रूपमा आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्दैनस् भने मात्र तैँले चिन्ता लिनुपर्छ—किनकि त्यसपछि त सबै सक्‍किनेछ। यदि तेरो कर्तव्य र परमेश्‍वरप्रतिको मनोवृत्ति यस्तो हुन्छ भने, के तैँले परमेश्‍वरको आशिष् प्राप्त गर्नेछस् र? बिल्कुलै गर्नेछैनस्। यदि तँ झारा टारेर परमेश्‍वरलाई धोका दिन्छस् भने, परमेश्‍वरले तँलाई वास्ता गर्नुहुनेछैन र हटाइदिनुहुनेछ; परिणाम त्यही हुनेछ। यदि तैँले परमेश्‍वरलाई धोका दिन्छस् भने, आफैलाई धोका दिन्छस्। परमेश्‍वरले भन्नुहुनेछ, “यो व्यक्तिको हृदय अति छली छ, र त्यसमा इमानदारीको कुनै निशान छैन। यसलाई कुनै पनि कुरामा भरोसा गर्न वा कुनै पनि कुरा जिम्‍मा दिन सकिँदैन। यसलाई अलग राखियोस्।” यसको अर्थ के हो? यसको अर्थ तँलाई एक्लै छोडिनेछ र बेवास्ता गरिनेछ। यदि पश्‍चात्ताप नगरे, तँलाई पूर्णतया त्यागिनेछ। तँलाई दण्ड दिन शैतान, दुष्टात्मा र अशुद्ध आत्माहरूको हातमा सुम्पिइनेछ। यसरी एक्लै छोडेर बेवास्ता गर्दा व्यक्ति कस्तो स्थितिमा हुन्छ? यसको अर्थ पवित्र आत्माले अबउप्रान्त तँमा काम गरिरहनुभएको छैन भन्‍ने हो। तैँले स्पष्ट रूपमा केही देख्नेछैनस्, र अरूले सधैँ अन्तर्दृष्टि र ज्योति पाउँदा, तैँले पाउनेछैनस्; तँ भावशून्य रहनेछस्। सत्यता र जीवन प्रवेशबारे कसैले सङ्गति गर्दा तँ सधैँ झुल्दै निदाउनेछस्। यो कस्तो घटना हो? परमेश्‍वरले काम नगरिरहनुभएको घटना। यदि परमेश्‍वर काम गरिरहनुभएको छैन भने, के मान्छे जिउँदो लास बन्दैन र? परमेश्‍वरमा विश्‍वास गर्नु तर उहाँको उपस्थिति महसुस नगर्नु निकै डरलाग्दो हुन्छ। यस्तो व्यक्तिले आफ्नो जिउने आत्मविश्‍वास र आफ्नो प्रेरणा गुमाउँछ। आफ्नो जिउने सबै पुँजी गुमाउँछ। यस्तो जीवनको के मूल्य हुन्छ? के तँ सुँगुर र कुकुरभन्दा पनि नराम्रो हुँदैनस् र? तेरा कार्यहरू र व्यवहारको कारण, परमेश्‍वरले तँ भर र विश्‍वास गर्न लायक छैनस् भन्ने देख्नुहुन्छ। परमेश्‍वरले हृदयको गहिराइबाटै तँलाई घृणा गर्नुहुन्छ, र यसरी तँलाई या त त्याग्‍नुहुन्छ या त केही समयको लागि पन्छ्याउनुहुन्छ। मलाई अचम्म लाग्छ, यस्तो व्यक्तिलाई आफ्नो मनको पीडा र असहजता किन थाहा हुँदैन? तिनीहरूको हृदयमा के खराबी छ? के त्यहाँ विवेकको बोध त छ? तैँले परमेश्‍वरमा जति नै वर्षसम्म विश्‍वास गरेको भए पनि, वा तेरो विश्‍वास चाहे साँचो वा झूटो नै भए पनि, तैँले आचरणका केही धर्मसिद्धान्तहरू पहिल्यै बुझिसकेको छस्, र तँ कसैको भर नपरी जिउन र बाँच्न सक्छस्, तर यदि तैँले तँलाई प्रकाश गरिएको र परमेश्‍वरले पहिल्यै तँलाई त्यागिसक्नुभएको कुरा थाहा पाइस् भने, के तँ अझै जिइरहन सक्छस्? के तेरो जीवनको अझै अर्थ हुन्छ? त्यसबेला तँ रुनेछस् र अँध्यारोमा दाह्रा किट्नेछस्। मण्डलीमा, प्रायः हामी त्यस्ता मानिसहरू देखिरहन्छौँ, जो आफूहरूलाई प्रकाश गरिएपछि र हटाइएपछि र मण्डलीले खेदाउन लागेपछि, आँखा रातो हुने गरी रुन्छन् र जिउने इच्छा गुमाई मर्नेसमेत सोच बनाउँछन्। तिनीहरूले रुँदै पश्‍चात्ताप गर्ने कसम खान्छन्, तर त्यति बेलासम्म, धेरै ढिलो भइसकेको हुन्छ। यो कफिनबक्स नदेखेसम्म आँसु नबगाउनुजस्तै हो। त्यसैले, यदि तँ पश्‍चात्ताप गर्न चाहन्छस् भने, अहिल्यै गर्नुपर्छ। तुरुन्तै तेरो कर्तव्यपालनमा के समस्या बाँकी छ, तँ झाराटारुवा छस् कि छैनस्, र तँ गैरजिम्मेवार भएको कुनै क्षेत्र छ कि छैन, मनन गर्। तैँले आफ्नो कर्तव्य निभाएर वास्तवमै नतिजाहरू प्राप्त गरेको छस् कि छैनस्, सोच्—यदि गरेको छस् भने, तैँले त्यो किन हासिल गरिस्, र यदि गरेको छैनस् भने, किन हासिल गरेको छैनस्, चिन्तन गर्। चिन्तनमार्फत यी कुराहरूमा स्पष्टता प्राप्त गर्, र यदि समस्याहरू बाँकी छन् भने, ती हल गर्न सत्यता खोज्। यसो गर्दा, तँलाई कर्तव्य निभाउन कुनै कठिनाइ हुनेछैन। समस्या आइपर्दा त्यसलाई सुल्झाउन सत्यता खोज्न सक्‍नेहरू सबैलाई कर्तव्य निभाउन झन् कम कठिनाइ हुने मात्र होइन, तिनीहरू ती कर्तव्य निभाउन झन् प्रभावकारीसमेत हुनेछन्, र त्यस दौरान तिनीहरूले जीवन प्रवेश पनि हासिल गर्नेछन्। उदाहरणमार्फत, केही मानिसहरूले धेरै चरणको काटछाँट भोगेपछि सत्यता बुझ्न थाल्छन्। तिनीहरू प्रायः आफैबारे चिन्तन गर्न सक्षम हुन्छन्, र जबजब आफूले केही गल्ती गरेको भेट्टाउँछन्, तिनीहरूलाई आफूबाट सत्यता सिद्धान्तहरू उल्लङ्घन भएको थाहा हुन्छ, अनि तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्छन्, र विशेष रूपले पछुताउँछन्। कहिलेकाहीँ, तिनीहरू आफैलाई घृणा पनि गर्छन् र आफैलाई थप्पड हान्दै यसो भन्छन्: “मैले फेरि गल्ती गरेर परमेश्‍वरलाई कसरी दुःख दिन सकेँ? म अति हृदयहीन छु! परमेश्‍वरले कति धेरै बोल्नुभएको छ—म किन ती कुरा लामो समयसम्म याद राख्न सक्दिनँ? म किन परमेश्‍वरप्रति समर्पित हुन र उहाँलाई सन्तुष्ट पार्न सक्दिनँ? म साँच्चै शैतानद्वारा निकै गहन रूपमा भ्रष्ट पारिएको छु। मेरो हृदयमा परमेश्‍वरको लागि कुनै ठाउँ छैन, र म सत्यताको कदर गर्दिनँ। म सँधै शैतानी दर्शनसाथ जिइरहेको हुन्छु, र म परमेश्‍वरका अभिप्रायकोलाई ख्याल गर्दिनँ। मसँग साँच्चै विवेक वा समझ छैन। म परमेश्‍वरप्रति अति विद्रोही छु!” यसरी, तिनीहरूले पश्‍चात्ताप गर्नमा ध्यान केन्द्रित गर्छन् र सत्यता अभ्यास गर्ने, आफ्नो कर्तव्य राम्रोसँग निभाउने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने अठोट गर्छन्। तिनीहरूसँग साँच्चै पश्‍चात्ताप गर्ने हृदय हुन्छ, तर भ्रष्ट स्वभाव त्याग्नु त्यति सजिलो कुरा होइन—अलिअलि परिवर्तित हुन सक्षम हुनुअघि पनि व्यक्तिले केही परीक्षा र शोधन अनुभव गर्नुपर्छ। अहिले धेरै मानिसहरू छन् जसले सत्यतामा आफ्नो ध्यान केन्द्रित गर्न थालेका छन्, जो सत्यता वास्तविकतामा प्रवेश गर्ने र परमेश्‍वरप्रति समर्पित हुने मानिसहरू बन्न इच्छुक छन्। त्यसोभए, साँच्चै पश्‍चात्ताप गर्ने हृदय हुने व्यक्तिले कसरी अभ्यास गर्नुपर्छ? यसको एउटा पक्ष भनेको उसले आफूमा भएका समस्याहरू समाधान गर्दै र आफ्नो कर्तव्यनिर्वाहमा अभ्यासको मार्ग खोज्दै परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र अझ बढी सत्यता खोज्‍नुपर्छ। यसको अर्को पक्ष भनेको उसले आफ्नै विद्रोहीपन, आफ्नै प्रकृति सार, अनि आफूले परमेश्‍वरको प्रतिरोध गर्ने क्षेत्रहरू चिरफार गर्नुपर्छ, र उसले आफूसँग सङ्गति गर्नको लागि सत्यता बुझ्‍ने व्यक्ति खोज्‍नुपर्छ। उसले यी समस्याहरू स्पष्ट रूपमा चिन्‍नुपर्छ, त्यसपछि परमेश्‍वरका वचनहरूलाई राम्ररी विचार गर्नुपर्छ र ती आफैमा कसरी लागू हुन्छन्‌ भनेर हेर्नुपर्छ; बारम्बार, उसले परमेश्‍वरका ती महत्त्वपूर्ण वचनहरूलाई विचार गरिहनुपर्छ, र साँचो ज्ञान प्राप्त नगरेसम्म, आफ्नै समस्याहरू र प्रकृति सारतर्फ आफ्नो आत्मचिन्तन लक्षित गरिरहनुपर्छ। यसरी, उसले साँचो पश्‍चाताप प्राप्त गर्न र आफैलाई घृणा गर्न सक्छ। त्यसपछि, उसले कर्तव्य निभाउँदा आइपर्ने कठिनाइहरू खुलासा गर्नुपर्छ र ती समाधान गर्न सत्यता प्रयोग गर्नुपर्छ। यसरी, उसले कर्तव्य निभाउँदा कठिनाइहरू कम हुँदै जानेछन्, र यसमा एक प्रभाव पनि हासिल भइसकेको हुनेछ। यदि व्यक्ति साँच्चै पश्‍चात्ताप गर्न चाहन्छ भने, उसले यसरी नै अभ्यास गर्नुपर्छ। साँचो पश्‍चात्तापको एकमात्र मार्ग यही हो।

सत्यता पछ्याउँदा कस्तो प्रभाव हासिल हुनेछ? यसको एउटा पक्ष भनेको व्यक्तिको भ्रष्ट स्वभाव त्याग्नको लागि सत्यता पछ्याइन्छ; अर्को पक्षचाहिँ के हो भने, कर्तव्य निभाउँदा व्यक्तिलाई सत्यता अभ्यास गर्ने र साँच्चै परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति बन्ने तुल्याउन यसो गरिन्छ। यो साँचो पश्‍चात्तापको गवाही हो। साँच्चै पश्‍चात्ताप गर्नको लागि, प्रभाव हासिल नहुन्जेलसम्म व्यक्तिले सत्यता बुझ्नु र अभ्यास गरिरहनुपर्छ। यदि तँ समस्या समाधान गर्न सत्यता खोज्दैनस् भने, र यदि तेरो पश्‍चात्ताप तैँले भन्ने कुरा मात्र हो भने, यसले प्रभाव हासिल गर्न सक्दैन। यसरी तँ शान्त वा स्थिर महसुस गर्नेछैनस्। यदि तँ प्रार्थनामा साँच्चै पश्‍चात्ताप गर्न चाहन्छु भनेर मात्र भन्छस् तर आफ्नो कर्तव्य निभाउँदा, समस्या समाधान गर्न र सन्तोषजनक रूपमा कर्तव्य निभाउन सत्यता खोज्दैनस् भने, तँ परमेश्‍वरलाई धोका दिन खोज्दै छस्। साँचो पश्‍चात्ताप मुख्यतया बफादारी, सिद्धान्तहरूअनुसारको व्यवहार, सत्यता अभ्यास, र कर्तव्य निभाउँदाको साँचो गवाहीको रूपमा प्रकट हुन्छ। यी साँचो पश्‍चात्तापका सङ्केतहरू हुन्, र ती साँचो पश्‍चात्तापका गवाही पनि हुन्। यदि व्यक्तिले आफ्नो कर्तव्य राम्रोसँग ननिभाई प्रार्थनामा परमेश्‍वरसँग पश्‍चात्तापको कुरा मात्र गर्छ भने, के उसले परमेश्‍वरलाई धोका दिन खोजिरहेका छैन र? यदि कुनै कुराले कम्तीमा व्यक्तिको विवेक पनि पार गर्न सक्दैन भने, त्यो कुरा परमेश्‍वरसम्म कसरी पुग्‍न सक्छ? तेरो वर्तमान परिस्थिति जस्तोसुकै होस्, तैँले परमेश्‍वरको लागि तेरो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्न नसकेसम्म, र तेरो कर्तव्यपालनमा धेरै समस्याहरू रहिरहेसम्म, र त्यो समाधान गर्न तैँले सत्यता खोज्दैनस् भने, तेरो समस्या ठूलो छ र तैँले यसबारे इमानदारीपूर्वक प्रार्थना र आफैबारे चिन्तन गर्नुपर्छ। यदि तँ साँच्चै पश्‍चात्ताप गर्न सक्दैनस् र सधैँ आफ्नो कर्तव्य खराब तरिकाले निभाउँछस् भने, तैँले निश्‍चित रूपमा हटाइने खतरा सामना गर्नेछस्। तैँले परमेश्‍वरमा कति वर्ष विश्‍वास गरेको छस् भन्ने कुराले फरक पार्दैन—तँ आफ्नो कर्तव्य निभाउनमा सधैँ झाराटारुवा रहुञ्जेल, सधैँ आफ्नो फाइदाको पछि लागुञ्जेल, तैँले अलिअलि पनि सत्यता स्वीकार वा अभ्यास नगरी सधैँ परमेश्‍वरको घरको फाइदा उठाउञ्जेल, तँ परमेश्‍वरको साँचो विश्‍वासी हुँदैनस्। तँ सत्यताबारे वितृष्णा पाल्ने व्यक्ति हुन्छस्, केवल आफ्नो भागको रोटी खाने अभिप्राय भएको अविश्‍वासी हुन्छस्। तँ अझै परमेश्‍वरको घरमा जिइरहेको हुन सक्छस्, र तैँले अझै पनि परमेश्‍वरको विश्‍वासी हुँ भन्न सक्छस्, तर तथ्य यो हो कि तेरो अब परमेश्‍वरसँग कुनै सम्बन्ध हुँदैन। परमेश्‍वरले लामो समयदेखि तँलाई एक छेउमा पन्छाइदिनुभएको हुन्छ, र तँ आत्माहीन भूस, एक जिउँदो लास बनेको हुन्छस्। तब, जिउनुको अर्थ के नै हुन्छ र? साँच्‍चै भन्‍ने हो भने, यस चरणमा पुगेका कसैसँग पनि कुनै गन्तव्य नै हुँदैन। तिनीहरूको एउटै निकास भनेको झट्टै परमेश्‍वरसामु आएर पाप स्विकार्नु मात्र हो। यदि तँ साँच्चै इमानदार छस् र साँच्चै पश्‍चात्ताप गर्छस् भने, परमेश्‍वरले तेरा अपराधहरू बिर्सिदिनुहुनेछ। तर तैँले एउटा कुरा याद गर्नुपर्छ: चाहे जुनसुकै बेला होस्, र चाहे तँसँग परमेश्‍वरबारे ज्ञान होस् वा नहोस्, वा उहाँबारे धारणा वा गलत अवधारणाहरू होस् वा नहोस्, तैँले कहिल्यै उहाँविरुद्ध लड्नु वा चुनौती दिनु हुँदैन। नत्र तैँले पक्कै पनि प्रतिशोध भोग्नेछस्। यदि तैँले आफ्नो हृदय हठी भएको पाउँछस्, र “म यो काम यसरी नै गर्नेछु, हेरौँ, परमेश्‍वरले मलाई के गर्न सक्नुहुन्छ। म कसैसँग डराउँदिनँ, मैले पहिला पनि सधैँ यसरी नै काम गरेको छु” भन्ने स्थितिमा हुन्छस् भने, तँ समस्यामा हुन्छस्। यो शैतानी प्रकृतिको प्रकटीकरण हो; यो हठीपन हो। तँलाई तैँले गरिरहेको कुरा गलत र खतरनाक छ भनेर पहिले नै राम्रोसँग थाहा हुन्छ, तर तैँले यसलाई गम्भीरतापूर्वक लिँदैनस्। तेरो हृदयले डर मान्दैन, कुनै आरोप वा दोष स्विकार्दैन, र चिन्तित वा दुःखी पनि हुँदैन—तँलाई पश्‍चात्ताप गर्न पनि आउँदैन। यो हठी स्थिति हो, र यसले तँलाई समस्या ल्याउनेछ। यसले परमेश्‍वरलाई तँलाई पन्छाउन सजिलो बनाउँछ। यदि व्यक्ति यो बिन्दुमा पुग्छ र अझै पनि अति भावशून्य हुन्छ, र सुध्रनुपर्छ भनेर जान्दैन भने, के परमेश्‍वरसँगको उसको सम्बन्ध पुनर्स्थापित गर्न सकिन्छ र? यो सजिलैसँग पुनर्स्थापित हुनेछैन। त्यसोभए, तैँले परमेश्‍वरसँगको सामान्य सम्बन्ध कसरी पुनर्स्थापित गर्न सक्छस्, जसले तँलाई उहाँको नजिक जानु पूर्णतः प्राकृतिक र न्यायोचित कुरा हो भन्ने महसुस गराउँछ? तैँले कहाँ समर्पित हुन, झुक्न र आफूसँग भएका सबै कुरा उहाँलाई अर्पण गर्न, उहाँको डर मान्न र तैँले बुझे वा नबुझे पनि उहाँका वचनहरूलाई सत्यताको रूपमा स्विकार्न, अनि सत्यता खोज्न र समर्पणता अभ्यास गर्न सक्छस्? तँ कहिले यो स्थितिमा पुनर्स्थापित हुन सक्छस्? यो स्थिति पुनर्स्थापित गर्न तैँले कुन हदसम्म जानुपर्छ? मलाई डर छ, यो निश्‍चित रूपमा गाह्रो हुनेछ किनभने यो समयावधि, वा यात्राको लम्बाइ वा पार गर्नुपर्ने दूरीको सवाल होइन। यो तेरो जीवन स्थिति, र तैँले साँच्चै सत्यता वास्तविकतामा प्रवेश गरेको छस् कि छैनस् भन्ने कुराको सवाल हो। यदि तैँले वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस्, तैपनि तँ आफूभित्रका समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सक्षम छैनस् भने, र यदि यी समस्याहरूको गम्भीरताबारे अनजान छस्, प्रायः बिनाकुनै चेतना विद्रोही स्थितिमा मक्ख परेर जिउँछस्, गलत कामहरू गर्छस्, गलत शब्दहरू बोल्छस्, परमेश्‍वरविरुद्ध हठी हृदयले विरोध, प्रतिरोध र विद्रोह गर्छस्, अनि आफ्नै धारणा, कल्पना, विचार र दृष्टिकोणहरूमा अडिग रूपमा अल्झिरहन्छस् तर यसबारे तँलाई पत्तै हुँदैन भने, तँसँग कुनै सत्यता वास्तविकता छैन, तँ परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति होइनस्, र तँ अझै पनि परमेश्‍वरका मापदण्डहरू पूरा गर्नबाट धेरै टाढा छस्। तँ आफ्नो हृदयमा यसबारे स्पष्ट हुनुपर्छ। यदि तँ आफ्नो साँचो स्थिति स्पष्ट रूपमा देख्न सक्दैनस् भने, र सधैँ आफूले विश्‍वास गर्ने तरिका ठीक छ, परमेश्‍वरप्रति अर्पित हुन सक्षम छु, दुःख भोगेको छु र मूल्य चुकाएको छु भन्ठान्छस्, र आफू स्वर्गको राज्यमा प्रवेश गर्ने कुरा निश्‍चित छ भन्ने विश्‍वास गर्छस् भने, तँमा अलिकति पनि समझ छैन। तँमा कुनै सत्यता वास्तविकता छैन, तर तँलाई त्यो थाहा पनि छैन। यसको मतलब, तँसँग अस्पष्ट मन छ, तँ अन्योलमा छस्, तँ बेबकुफ व्यक्ति होस्, र तँ सत्यता बुझ्न वा आफैलाई चिन्न पर्याप्त क्षमताको छैनस्, र तसर्थ तँलाई परमेश्‍वरद्वारा मुक्ति दिन सकिँदैन।

के तिमीहरूलाई परमेश्‍वरले अन्ततः कस्ता मानिसहरूलाई त्याग्नुहुन्छ भनेर थाहा छ? (जो निरन्तर हठी हुन्छन् र परमेश्‍वरसामु पश्‍चात्ताप गर्दैनन्।) यस्ता प्रकारका मानिसहरूको खास स्थिति के हुन्छ? (तिनीहरू आफ्ना कर्तव्यहरू निभाउँदा सधैँ झाराटारुवा हुन्छन्, र समस्याहरू सामना गर्दा समाधान पत्ता लगाउन सत्यता खोज्दैनन्। तिनीहरू सत्यता अभ्यास कसरी गर्ने भनेर गम्भीर हुँदैनन्, र सबै कुरालाई लापरवाह रूपमा सम्हाल्छन्। तिनीहरू दुष्ट वा खराब काम नगरेर मात्र पनि सन्तुष्ट हुन्छन् र सत्यता पछ्याउँदैनन्) झाराटारुवा व्यवहार परिस्थितिमा निर्भर हुन्छ। केही मानिसहरू सत्यता नबुझेको कारण त्यसो गर्छन्, र तिनीहरू झाराटारुवा हुनु सामान्य हो भनेर पनि सोच्छन्। केही मानिसहरू जानाजानझाराटारुवा हुन्छन्, जानाजान यस्तो तरिकामा कार्य गर्न रोज्छन्। तिनीहरू सत्यता नबुझेको बेला यसरी व्यवहार गर्छन्, र बुझेपछि पनि आफ्नो व्यवहार सुधार्दैनन्। तिनीहरू सत्यता अभ्यास गर्दैनन्, अलिकति पनि परिवर्तित नभई निरन्तर यसरी नै कार्य गर्छन्। कसैले आलोचना गर्दा तिनीहरूले सुन्दैनन्, न काँटछाँट नै स्विकार्छन्। बरु, जिद्दी भई आफ्नो कुरामा अन्त्यसम्मै दृढ रहन्छन्। यसलाई के भनिन्छ? यसलाई हठीपन भनिन्छ। सबैलाई थाहा छ कि “हठीपन” एक नकारात्मक र अपमानजनक शब्द हो। यो राम्रो शब्द होइन। अनि, यदि कुनै व्यक्तिमा “हठीपन” शब्द लागू भयो भने, र ऊ त्यसको व्याख्यासँग मिल्यो भने, उसको परिणाम के हुनेछ, तिमीहरूलाई के लाग्छ? (ऊ परमेश्‍वरद्वारा तिरस्कृत र उपेक्षित हुन्छ।) म तिमीहरूलाई बताउन चाहन्छु, परमेश्‍वरले यसप्रकारका हठी मानिसहरूलाई नै सबैभन्दा बढी घृणा गर्नुहुन्छ र त्याग्न चाहनुहुन्छ। तिनीहरू आफ्ना गल्तीहरूबारे पूर्ण रूपमा सचेत हुन्छन् तर पश्‍चात्ताप गर्दैनन्, आफ्ना गल्तीहरू कहिल्यै स्विकार्दैनन् र सधैँ आफैलाई सही ठहर्‍याउन र दोष पन्छाउन बहाना र तर्कहरू बनाउँछन्, अरूको नजरबाट आफ्ना कार्यहरू लुकाउँदै, हृदयमा अलिकति पनि पश्‍चात्ताप वा पाप-स्वीकार नगरी, निरन्तर गल्तीहरू गर्दै, कुरा टार्न सहज र छली तरिकाहरू खोजिहिँड्छन्। यस्तो व्यक्ति निकै झन्झटिया हुन्छ, र उसलाई मुक्ति प्राप्त गर्न सजिलो हुँदैन। तिनीहरू ती मानिसहरू हुन् जसलाई परमेश्‍वर त्याग्न चाहनुहुन्छ। परमेश्‍वर त्यस्ता मानिसहरूलाई किन त्याग्नुहुन्छ? (किनभने तिनीहरूले सत्यता बिलकुलै स्विकार्दैनन्, र तिनीहरूको विवेक भावशून्य भएको हुन्छ।) त्यस्ता मानिसहरूलाई मुक्ति दिन सकिँदैन। परमेश्‍वरले यी ती मानिसहरूलाई मुक्ति दिनुहुन्न; उहाँ यस्तो बेकार काम गर्नुहुन्न। बाहिरबाट हेर्दा, परमेश्‍वरले नै तिनीहरूलाई मुक्ति दिनुहुन्न, र चाहनुहुन्न जस्तो देखिन्छ, तर वास्तवमा त्यहाँ एउटा व्यावहारिक कारण छ, र त्यो के हो भने, ती मानिसहरूले नै परमेश्‍वरको मुक्ति स्विकार्दैनन्; तिनीहरूले नै परमेश्‍वरको मुक्तिलाई अस्वीकार र प्रतिरोध गर्छन्। तिनीहरू सोच्छन्, “तपाईँप्रति समर्पित भएर, सत्यता स्विकारेर, र सत्यता अभ्यास गरेर मलाई के लाभ हुन्छ? यसमा के फाइदा छ? मेरो लागि केही फाइदा हुन्छ भने मात्र, म त्यसो गर्नेछु। यदि कुनै फाइदा हुँदैन भने, म गर्नेछैनँ।” ती कस्ता मानिसहरू हुन? तिनीहरू स्वार्थद्वारा सञ्‍चालित मानिसहरू हुन्, र सत्यतालाई प्रेम नगर्नेहरू सबका सब स्वार्थद्वारा सञ्‍चालित हुन्छन्। स्वार्थद्वारा सञ्‍चालित मानिसहरूले सत्यता स्विकार्न सक्दैनन्। यदि तैँले स्वार्थद्वारा सञ्‍चालित व्यक्तिसँग सत्यताबारे सङ्गति गर्ने प्रयास गर्छस्, र उसलाई आफूलाई चिन्न र आफ्नो गल्ती स्विकार्न आग्रह गर्छस् भने, उसले कस्तो प्रतिक्रिया दिनेछ? “आफ्ना गल्तीहरू स्विकारेर मलाई के फाइदा हुन्छ? यदि तिमी मलाई आफ्ना गल्ती र पापहरू स्विकार्न, अनि पश्‍चात्ताप गर्न लगाउँछौ भने, मैले के आशिष्‌ पाउनेछु? मेरो प्रतिष्ठा र हितहरूमा मात्र क्षति पुग्नेछ। मलाई घाटा हुनेछ। मलाई क्षतिपूर्ति कसले दिनेछ?” तिनीहरूको मानसिकता यस्तो हुन्छ। तिनीहरू व्यक्तिगत लाभ मात्र खोज्छन्, र परमेश्‍वरको आशिष् पाउन निश्‍चित तरिकामा व्यवहार गर्नुलाई अति अस्पष्ट मान्छन्। तिनीहरू यो सम्भव हुन्छ भनेर विश्‍वास नै गर्दैनन्; आफ्नो आँखाले देखेको कुरा मात्र विश्‍वास गर्छन्। त्यस्ता मानिसहरू स्वार्थद्वारा सञ्‍चालित हुन्छन् र तिनीहरू “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने शैतानी दर्शनअनुसार जिउँछन्। तिनीहरूको प्रकृति सार नै यही हो। तिनीहरूलाई हृदयमा लाग्छ कि परमेश्‍वरलाई र सत्यतालाई स्विकार्नु भनेकै परमेश्‍वरमा विश्‍वास गर्नु हो। दुष्टता नगर्नु भन्दा त्यो तिनीहरूलाई स्वीकार्य हुन्छ, तर फाइदाचाहिँ तिनीहरूलाई हुनैपर्छ र नोक्सानी हुनै हुँदैन। तिनीहरू आफ्नो हितमा असर नपुग्दा मात्र सत्यता अभ्यास र परमेश्‍वरप्रतिको समर्पणबारे केही बोल्छन्। तिनीहरूको हितमा क्षति पुग्यो भने, तिनीहरूले सत्यता अभ्यास गर्न वा परमेश्‍वरप्रति समर्पित हुन सक्दैनन्। तिनीहरूलाई परमेश्‍वरमा अर्पित हुन, परमेश्‍वरको लागि कष्ट भोग्न वा मूल्य चुकाउन आग्रह गर्नु त झनै असम्भव हुन्छ। त्यस्ता मानिसहरू साँचो विश्‍वासी होइनन्। तिनीहरू आफ्नै स्वार्थको लागि जिउँछन्, आशिष् र फाइदाहरू मात्र खोज्छन्, र कष्ट सहन वा मूल्य चुकाउन इच्छुक हुँदैनन्, तैपनि तिनीहरू अझै पनि मृत्युको दुष्परिणामबाट उम्कन परमेश्‍वरको घरमा स्थान पाउन चाहन्छन्। त्यस्ता मानिसहरूले अलिकति पनि सत्यता स्विकार्दैनन् र तिनीहरूले परमेश्‍वरबाट मुक्ति पाउन सक्दैनन्। के परमेश्‍वरले अझै पनि तिनीहरूलाई मुक्ति दिन सक्नुहुन्छ र? परमेश्‍वरले निश्‍चय नै तिनीहरूलाई तिरस्कार गर्नुहुनेछ र तिनीहरूलाई हटाइदिनुहुनेछ। के यसको मतलब परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्न भन्‍ने हो? तिनीहरू आफैले आफूलाई त्यागेका हुन्छन्। तिनीहरू सत्यता पछ्याउने, परमेश्‍वरलाई प्रार्थना गर्ने वा परमेश्‍वरमा भर पर्ने गर्दैनन्, त्यसैले परमेश्‍वरले तिनीहरूलाई कसरी मुक्ति दिन सक्नुहुन्छ? एउटै बाटो भनेको तिनीहरूलाई त्याग्नु र पन्छ्याउनु, अनि तिनीहरूलाई आत्मचिन्तन गर्न दिनु हो। यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरूको एउटै मार्ग भनेको सत्यता स्विकार्नु, आफूलाई चिन्नु, पश्‍चात्ताप अभ्यास गर्नु र सत्यता वास्तविकता जिउनु हो। यसरी तिनीहरूले परमेश्‍वरको स्वीकृति प्राप्त गर्न सक्छन्। तिनीहरूले सत्यता अभ्यास गर्नुपर्छ ताकि तिनीहरू परमेश्‍वरप्रति समर्पित हुन र उहाँको डर मान्न सक्षम होऊन्, र त्यही नै मुक्तिको अन्तिम उद्देश्य हो। मानिसहरूमा र तिनीहरूको जीवन जिउने तरिकामा परमेश्वरप्रतिको समर्पण र उहाँकोको डर समावेश हुनैपर्छ। यदि तँ सत्यता पछ्याउने बाटोमा हिँड्दैनस् भने, तैँले कुनै दोस्रो बाटो रोज्न सक्दैनस्। यदि व्यक्ति यो मार्गमा हिँड्दैन भने, यति मात्र भन्न सकिन्छ कि ऊ सत्यताले उसलाई मुक्ति दिन सक्छ भनेर विश्‍वास गर्दैन। ऊ परमेश्‍वरले बोल्नुभएका सबै वचनहरूले उसलाई रूपान्तरित गर्न र वास्तविक व्यक्ति बन्ने तुल्याउन सक्छ भनेर विश्‍वास गर्दैन। यसबाहेक, ऊ आधारभूत रूपमा परमेश्‍वर सत्य हुनुहुन्छ भनेर विश्‍वास गर्दैन, न त सत्यताले मानिसहरूलाई परिवर्तन गर्न र मुक्ति दिन सक्छ भन्ने तथ्यमै विश्‍वास गर्छ। तसर्थ, तैँले यसलाई जतिसुकै चिरफार गरे पनि, त्यस्तो व्यक्तिको हृदय अति नै हठी हुन्छ। उसले जेसुकै भए पनि सत्यता स्विकार्न मान्दैन, र उसलाई मुक्ति दिन सकिँदैन।

के तिमीहरूमध्ये कसैमा हठी स्थिति छ? (छ।) त्यसोभए के तिमीहरू सबै हठी मानिसहरू हौ? हठी स्थिति हुनु र हठी व्यक्ति हुनुमा के फरक हुन्छ? यी दुई फरक कुराहरू हुन्, त्यसैले यी दुईलाई फरकफरक हिसाबले नै लिनुपर्छ। हठी स्थिति हुनु भनेको यस प्रकारको भ्रष्ट स्वभाव हुनु हो। यदि तिमीहरू सत्यता स्विकार्न सक्छौ भने मुक्ति प्राप्त गर्न सक्छौ, तर यदि तिमीहरू हठी व्यक्ति हौ भने तिमीहरूलाई समस्या हुनेछ। हठी मानिसहरूले सत्यता पटक्कै स्विकार्दैनन्; तिनीहरू मुक्ति प्राप्त गर्न असमर्थ हुनेछन्। यी दुई प्रकारका मानिसहरूबीचको भिन्नता यही हो। हठी स्थिति भएकाहरूले केही विद्रोही व्यवहार देखाउँछन्, र आफूमा केही भ्रष्टता प्रकट गर्छन्। यद्यपि, भ्रष्टता प्रकट गर्ने प्रक्रियामा, तिनीहरू निरन्तर आफ्ना पापहरू स्विकार्छन् र परमेश्‍वरको अगाडि पश्‍चात्ताप गर्छन्, अनि निरन्तर परमेश्‍वरको न्याय, सजाय र ताडना स्विकार्छन्। तिनीहरूले जतिपटक असफलता वा ठेस अनुभव गरे पनि, तिनीहरू आत्मचिन्तन गर्न, समस्याहरू समाधान गर्न, फेरि उठ्न, अनि परमेश्‍वरलाई पछ्याउन जारी राख्‍न सक्छन्। यस यात्रामार्फत, तिनीहरूले आफ्नो भ्रष्ट स्वभावको साँचो बुझाइ प्राप्त गर्छन्, र परमेश्‍वरको न्याय र सजाय अनुभव गर्नु वास्तवमै मुक्तिको एक रूप हो, र तिनीहरू परमेश्‍वरको न्याय र सजायबिना रहन सक्दैनन् भनेर महसुस गर्छन्। निरन्तर पश्‍चात्ताप, अनवरत पाप-स्वीकार, अनि परमेश्‍वरको न्याय र सजाय स्विकारमार्फत, तिनीहरूको जीवन क्रमशः बढ्दै जान्छ, र तिनीहरूको आत्मिक स्थिति पनि निरन्तर बदलिँदै जान्छ। यस प्रक्रियामा, व्यक्तिको भ्रष्ट स्वभाव बिस्तारै फाल्न सकिन्छ, अनि उसले वृद्धि र रूपान्तरण अनुभव गर्नेछ। तिनीहरूको विद्रोही व्यवहार हेर्दा, त्यस्ता मानिसहरू निकै हठी पनि हुन्छन् जस्तो लाग्न सक्छ, र तिनीहरू कहिलेकाहीँ हठी स्थितिमा पनि हुन्छन्, तर तिनीहरू त्यस प्रकारका मानिस होइनन्। तिनीहरू त्यस प्रकारका मानिस नभएकाले, तिनीहरूले त्यसपछि निश्‍चय नै सकारात्मक व्यवहार र प्रगति देखाउँछन्। त्यस्ता मानिसहरूलाई मुक्ति दिन सकिन्छ। तिमीहरू कस्तो प्रकारका व्यक्ति हौ? (हामी आफूले गल्ती गर्दा थाहा पाउँछौँ, र परमेश्‍वरसामु पश्‍चात्ताप गर्न र आफ्ना गल्तीहरू सुधार्न इच्छुक छौँ।) यदि तँ आफ्ना गल्ती, विद्रोहीपन र आफूले प्रकट गर्ने भ्रष्ट स्वभावहरूबारे सचेत हुन्छस्, र तँ आफ्नो हृदयमा पश्‍चात्ताप र पछुतो महसुस गर्छस् भने, यो राम्रो कुरा हो र तँसँग मुक्तिको आशा हुन्छ। यद्यपि, यदि तँ व्यक्तिगत रूपमा आफ्नो विद्रोह वा भ्रष्टताबारे अलिकति पनि सचेत हुँदैनस्, र कसैले यो कुरा औँल्याउँदा, तँ जिद्दी र अस्वीकारी प्रवृत्तिको बनिरहन्छस्, अनि वाक्छ्ल र स्व-औचित्य पुस्ट्याइको समेत साहारा लिन्छस् भने, तँ समस्यामा हुनेछस् र तँलाई मुक्ति पाउन सजिलो हुनेछैन। यदि तैँले परमेश्‍वरमा थोरै समयदेखि मात्र, मानौँ तीन देखि पाँच वर्षदेखि मात्र विश्‍वास गरेको छस्, र तँ अझै पनि विश्‍वासबारे धेरै कुरा बुझ्दैनस् भने, यो तेरो कद अति सानो भएकोले गर्दा भएको हो। यद्यपि, यदि तँ दस वर्षभन्दा बढी समयदेखि विश्‍वासी रहेको छस् र अझै पनि आफैलाई चिन्दैनस्, वा काँटछाँट स्विकार्दैनस् भने, तँ समस्यामा छस्। यस्तो त एक हठी स्वभाव भएको व्यक्ति हो जो सत्यता स्विकार्नै मान्दैन। सत्यता नबुझ्ने र वास्तविकता नभएकाहरूको कुरा आउँदा, तैँले तिनीहरू कुन समय बिन्दुमा छन् भनेर हेर्नुपर्छ। कतिपय मानिसहरूमा राम्रो क्षमता हुन्छ, तिनीहरू सत्यतामा छिट्टै प्रवेश गर्छन्, र विश्‍वास गरेको एक वा दुई वर्षपछि नै तिनीहरूले जीवन प्रवेश केसँग सम्बन्धित छ भनेर बुझिसक्छन्। तिनीहरूको सम्पर्क जीवन प्रवेशमा राम्रो गरेका, सत्यता वास्तविकता भएका र धेरै सत्यता बुझेका मानिसहरूसँग हुन पनि सक्छ। नयाँ विश्‍वासीहरू पनि यी कुराहरूको तृष्णा गर्छन्, त्यसैले तिनीहरूले पनि धेरै सुन्छन्, र धेरै प्राप्त गर्छन्, र यसरी छिट्टै जीवन प्रवेश गर्छन्। कतिपय मानिसहरू कम क्षमताका हुन्छन्, र तिनीहरू राम्रो क्षमता भएका मानिसहरूको सम्पर्कमा भए पनि तिनीहरूको प्रगति सुस्त हुन्छ। कतिपय मानिसहरू अन्तर्निहित रूपमै सत्यता मन नपराउने हुन्छन्, र तिनीहरूले जतिसुकै वर्ष विश्‍वास गरे पनि सत्यता अभ्यास गर्नेछैनन्, न त तिनीहरूले आफ्नो जीवनमा प्रगति नै गर्नेछन्। केही मानिसहरू काम गर्न मात्र मन पराउँछन् र निकै उत्साही हुन्छन्, तर सत्यता पछ्याउन इच्छुक हुँदैनन्। तिनीहरू हरेक दिन व्यस्त हुन्छन् तर जीवनमा प्रगति गर्दैनन्। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू अनेक प्रकारका परिस्थितिहरूमा हुन सक्छन्। यद्यपि, सत्यता प्रेम गर्नेहरूले मात्र सत्यता अभ्यास गर्न, सत्यता प्राप्त गर्न र मुक्ति पाउन सक्छन्। विश्‍वासीहरूको लागि सबैभन्दा ठूलो चिन्ता भनेको हठी स्वभाव हुनु र सत्यता नस्विकार्नु हो। त्यस्ता मानिसहरू सबैभन्दा समस्याजनक हुन्छन् र यो तिनीहरूको प्रकृतिको समस्या हो। तिनीहरूले धर्मसिद्धान्त स्विकार्न सक्छन्, तर सत्यता स्विकार्न मान्दैनन्। यिनीहरू मुक्ति पाउने सम्भावना सबैभन्दा कम भएका मानिसहरू हुन्। सत्यतालाई प्रेम नगर्ने र सत्यताप्रति वितृष्णा पाल्ने यी मानिसहरूलाई त्याग्न मात्र सकिन्छ।

म ढाँट्नुका दुइटा उदाहरणहरू दिन्छु। ढाँट्न सक्ने मानिसहरू दुई प्रकारका हुन्छन्। तिमीहरूले कुन मानिसहरू हठी र छुटकारा दिन नसकिने हुन्छन् भनेर छुट्याउनु आवश्यक हुन्छ। तिमीहरूले कुन मानिसहरूलाई मुक्ति दिन सकिन्छ भनेर छुट्याउनु पनि आवश्यक हुन्छ। मुक्ति दिन सकिनेहरूले प्रायः भ्रष्टता प्रकट गरे पनि, जबसम्म तिनीहरूले सत्यता स्विकार्न र आत्मचिन्तन गर्न अनि आफैलाई चिन्न सक्छन्, तबसम्म आशा हुन्छ। पहिलो उदाहरणमा, एक व्यक्ति छ जो बारम्बार ढाँट्थ्यो। तर सत्यता बुझेपछि अर्कोपटक ढाँट्दा, उसको प्रतिक्रिया फरक भयो। उसले गहिरो पीडा र वेदना महसुस गऱ्यो, र सोच्यो, “मैले फेरि झूट बोलेँ। म किन परिवर्तित हुन सक्दिनँ? यसपटक, जे भए पनि, मैले यो कुरा खुलासा गर्नैपर्छ, आफ्नो वास्तविक रूप पर्दाफास र विश्‍लेषण गर्न आफैलाई खुलस्त पार्नैपर्छ। मैले आफ्नो इज्जत जोगाउन ढाँटेको हुँ भन्ने तथ्यमा म स्पष्ट हुन आवश्यक छ।” खुलस्त भएर सङ्गति गरेपछि, उसले सहज महसुस गऱ्यो र बुझ्यो, “यो झूट निकै पीडादायी हुँदो रहेछ, जबकि इमानदार बन्‍नु कति आरामदायी र गजब हुँदो रहेछ! परमेश्‍वरले मानिसहरूलाई इमानदार हुनैपर्ने मापदण्ड दिनुभएको छ; मानिसहरूमा यही रूप हुनुपर्छ।” यस्तो असल स्थिति अलिअलि अनुभव गरेपछि, त्यसउप्रान्त ऊ कम ढाँट्ने, सकेसम्म नढाँट्ने, भन्नुपर्ने कुराहुरू हुँदा भन्ने, इमानदारीसाथ बोल्ने, इमानदार कार्य गर्ने र इमानदार व्यक्ति बन्नेबारे सचेत भयो। तर उसले आफ्नो गर्वसँग सम्बन्धित परिस्थिति सामना गर्नुपर्दा, स्वतः ढाँट्यो र पछि पछुतायो। त्यसपछि, उसले आफूलाई राम्रो देखाउन सक्ने स्थितिमा हुँदा, फेरि पनि ढाँट्यो। उसले यस्तो सोच्दै भित्रभित्रै आफैलाई घृणा गऱ्यो, “म किन आफ्नो मुख नियन्त्रण गर्न सक्दिनँ? के यो मेरो प्रकृतिको समस्या हुन सक्छ? के म अति छली छु?” उसले यो समस्या समाधान गरिनैपर्छ; अन्यथा, परमेश्‍वरले उसलाई तिरस्कार गर्नुहुनेछ र हटाउनुहुनेछ भनी महसुस गऱ्यो। उसले परमेश्‍वरलाई प्रार्थना गऱ्यो, र उसले फेरि ढाँटेमा उसलाई अनुशासनमा राख्‍न आग्रह गऱ्यो, र ऊ दण्ड स्विकार्न इच्छुक भयो। उसले भेलाहरूमा आफूलाई चिरफार गर्ने साहस जुटायो, र भन्यो, “मैले यी परिस्थितिहरूमा ढाँटे, किनकि मेरो मनसाय स्वार्थी थियो र म आफ्नो अभिप्रायद्वारा नियन्त्रित थिएँ। मैले आत्मचिन्तन गर्दा, के महसुस गरेँ भने, मैले हरेकपटक ढाँट्दा, त्यो आडम्बर वा मेरो व्यक्तिगत लाभको लागि थियो। मलाई अहिले स्पष्ट भयो: म मेरो घमण्ड र व्यक्तिगत हितहरूको लागि जिउँदो रहेछु, र त्यसले नै मलाई हरक्षण र हरकुरामा ढाँट्ने तुल्यायो।” आफ्नो झुटको विश्‍लेषण गर्दा, उसले आफ्नो अभिप्राय पनि खुलासा गऱ्यो र आफ्नो भ्रष्ट स्वभावको समस्या पनि पत्ता लगायो। यो त दोहोरो फाइदा हुने अवस्था हो; एकातिर उसले इमानदार व्यक्ति बन्ने अभ्यास गर्न सक्छ र सोही समयमा उसले अन्तर्दृष्टि प्राप्त गर्न र आफ्नो भ्रष्ट स्वभाव चिन्न पनि सक्छ। पछि, उसले मनन गऱ्यो, “म परिवर्तित हुनु आवश्यक छ! मेरो यो समस्या छ भनेर मैले भर्खरै पत्ता लगाएँ। यो परमेश्‍वरबाट आएको साँचो अन्तर्दृष्टि हो। सत्यता अभ्यास गर्ने मानिसहरू परमेश्‍वरद्वारा आशिषित हुन्छन्!” उसले सत्यता अभ्यासको मीठो स्वाद पनि अनुभव गऱ्यो। तर एक दिन त्यो व्यक्तिले अनजानमा फेरि ढाँट्यो। उसले परमेश्‍वरको ताडना माग्दै, फेरि एकपटक उहाँलाई प्रार्थना गऱ्यो। यसका साथै, उसले ऊ बोल्दा किन उसँग सधैँ गुप्त अभिप्राय हुन्छ, र उसले किन सधैँ परमेश्‍वरका अभिप्रायको सट्टा आफ्नै आडम्बर र घमण्डलाई ध्यान दिन्छ भन्ने कुरामा विचार गऱ्यो। चिन्तन गरेपछि, उसले आफ्नो भ्रष्ट स्वभावबारे केही बुझ्यो र आफैलाई घृणा गर्न थाल्यो। उसले यसरी सत्यता खोज्‍न र पछ्याउन जारी राख्यो। तीनदेखि पाँच वर्षपछि, उसका झूटहरू साँच्चै कमकम हुँदै गए, र उसले सोचेकै कुरा बोल्ने र इमानदारीपूर्वक व्यवहार गर्ने क्रम बढेर गयो। उसको हृदय बिस्तारै शुद्ध भयो र अझ बढी शान्त र आनन्दित भयो। उसले परमेश्‍वरको उपस्थितिमा अझ बढी समय बिताउँदै गयो र उसको स्थिति अझ बढी सामान्य भयो। यो भनेको इमानदार बन्ने अनुभव गर्दैगर्दा व्यक्तिले बारम्बार ढाँटेको वास्तविक स्थिति हो। त्यसोभए, के अब यो व्यक्तिले अझै पनि ढाँट्छ? के ऊ अझै पनि ढाँट्न सक्षम हुन्छ? के ऊ साँच्चै इमानदार व्यक्ति हो? ऊ इमानदार व्यक्ति नै हो भनेरचाहिँ भन्न सकिँदैन। के मात्र भन्‍न सकिन्छ भने, उसले इमानदार व्यक्ति हुने सत्यता अभ्यास गर्न सक्छ र ऊ इमानदार व्यक्ति हुने अभ्यास गर्ने प्रक्रियामा छ, तर अझै पनि ऊ पूर्ण रूपमा इमानदार व्यक्तिमा रूपान्तरित भएको छैन। अर्को शब्दमा भन्दा, यो व्यक्ति सत्यता अभ्यास गर्न इच्छुक व्यक्ति हो। के सत्यता अभ्यास गर्न इच्छुक व्यक्तिलाई सत्यता प्रेम गर्ने व्यक्ति भनेर भन्न सकिन्छ? उसले सत्यता अभ्यास गरेको छ र तथ्यहरू खुलासा भइसकेका छन्, त्यसैले के उसलाई सत्यता प्रेम गर्ने व्यक्ति भनेर परिभाषित गर्नु स्वाभाविक होइन र? निस्सन्देह नै, उसले इमानदार व्यक्ति बन्ने अभ्यास गर्दैगर्दा, ऊ तुरुन्तै शुद्ध र खुलस्त सङ्गति अभ्यास गर्न वा केही नलुकाई आफूभित्र भएका सबै कुराहरू खुलासा गर्न सक्षम भएन। उसले अझै पनि केही कुराहरू लुकायो र सावधानीपूर्वक अगाडि बढ्ने प्रयास गऱ्यो। यद्यपि, आफ्नो प्रयास र अनुभवहरूमार्फत, उसले के महसुस गर्‍यो भने, जतिजति इमानदारीपूर्वक बाँच्यो, त्यतित्यति नै राम्रो महसुस हुने रहेछ, त्यतित्यति नै मनको शान्ति, त्यतित्यति नै सत्यता अभ्यास गर्न अझ सजिलो, अनि कुनै ठूलो कठिनाइ नहुने रहेछ। तब मात्र उसले इमानदार व्यक्ति हुनुको मिठास चाख्यो र उसको परमेश्‍वरमाथिको विश्‍वास बढ्यो। इमानदार व्यक्ति हुनु भनेको के हो, त्यो अनुभव गरेर, ऊ सत्यता अभ्यास मात्र गर्न सक्षम हुँदैन, उसले हृदयमा शान्ति र आनन्द पनि अनुभव गर्छ। साथमा उसले इमानदारिता अभ्यास गर्ने मार्गको अझ स्पष्ट बुझाइ हासिल गर्छ। उसलाई इमानदार व्यक्ति बन्न धेरै गाह्रो हुँदैन रहेछ भन्ने अनुभूति हुन्छ। उसले मानिसहरूको लागि परमेश्‍वरका मापदण्डहरू व्यावहारिक र प्राप्य छन् भनेर देख्छ, र परमेश्‍वरको कामको केही बुझाइ पनि हासिल गर्छ। यो सबै कुनै अतिरिक्त लाभ होइन, बरु, यो त व्यक्तिले आफ्नो जीवन प्रवेशको यात्रामा हासिल गर्नुपर्ने कुरा हो, र तिनीहरू यो सब हासिल गर्न सक्षम हुन्छन्।

दोस्रो उदाहरण ढाँट्न मन पराउने व्यक्तिको बारेमा छ—यो उसको प्रकृतिमै हुन्छ। ऊ नबोल्दा ठिकै हुन्छ, तर मुख खोल्नेबित्तिकै उसको बोलीमा धेरै दूषित कुराहरू भरिन्छ। चाहे उसले यो जानाजानी गरोस् वा नगरोस्, छोटकरीमा भन्दा, उसले भनेका अधिकांश कुराहरू विश्‍वास गर्न सकिँदैन। एक दिन, झूट बोलेपछि, उसले सोच्न थाल्यो, “झूट बोल्नु गलत हो र यसले परमेश्‍वरलाई असन्तुष्ट बनाउँछ। मैले झूट बोलेको कुरा मानिसहरूले थाहा पाए भने म बदनाम हुनेछु! तर मैले झूट बोलेको कसैले थाहा पाएजस्तो छ। खैर, म यसलाई सजिलै व्यवस्थापन गर्न सक्छु। म अर्को विषय खोज्नेछु, र विभिन्न शब्दहरू प्रयोग गर्दै तिनीहरूको सतर्कता कम गर्नेछु, तिनीहरूलाई बहकाउनेछु, र मेरा झूटहरू देख्न असमर्थ तुल्याउनेछु। के त्यो झन् ठूलो चलाखी होइन र?” अनि उसले आफ्नो अघिल्लो झूट ढाकछोप गर्न र प्वालहरू टालटुल पार्न झन् ठूलो झूट बोल्यो, र सफलतापूर्वक मानिसहरूलाई बहकायो। उसले मक्ख पर्दै र आत्मसन्तुष्ट महसुस गर्दै, यस्तो सोच्यो, “हेर् म कति चलाख छु! मैले कुनै भुलबिना झूट बोलेँ, र यदि केही भुल भएछन् भने पनि, म ढाकछोप गर्न फेरि झूट बोल्न सक्छु। धेरै मानिसहरूले त्यो देख्नै सक्दैनन्। झूट बोल्न सीप चाहिन्छ!” कतिपय मानिसहरू भन्छन्, “झूट बोल्नु गाह्रो काम हो। एउटा झुट बोलिसकेपछि ढाकछोप गर्न अरू धेरै झुट बोल्नुपर्छ। यसको लागि धेरै सोच र प्रयास चाहिन्छ।” यद्यपि, यो निपुण ढँटुवाले त्यस्तो महसुस गरेन। त्यो क्षण, उसको झूट खुलासा भएन। अरूलाई धोका दिन उसले सफलतापूर्वक झूट बोल्यो, त्यसपछि जब उसलाई खुलासा हुने डर भयो, उसले अघिल्लो झूट ढाक्न फेरि अर्को झूट बोल्यो। उसले गर्व महसुस गऱ्यो, र उसलाई हृदयमा कुनै ग्लानि वा आत्मनिन्दा महसुस भएन। उसको विवेकमा अलिकति पनि असर परेन। यो कसरी सम्भव हुन्छ? उसलाई झूट बोल्नु आफ्नो लागि कति हानिकारक हुन्छ भन्ने थाहै छैन। ऊ अघिल्लो झूटहरू ढाक्नहेतु अर्को झूट प्रयोग गर्दा उसलाई आफ्नो छवि सुधार्ने र फाइदाहरू प्राप्त गर्न मदत मिल्छ भन्ने विश्‍वास गर्छ। कठिनाइ र थकानको बावजूद, ऊ यसो गर्नु सार्थक हुन्छ भन्ने सोच्छ। यसो गर्नु उसलाई सत्यता बुझ्नु र अभ्यास गर्नुभन्दा मूल्यवान लाग्छ। किन ऊ ग्लानि महसुस नगरी बारम्बार झूट बोल्छ? किनभने उसको हृदयमा सत्यताप्रति प्रेम नै हुँदैन। ऊ आफ्नो आडम्बर, प्रतिष्ठा र हैसियतलाई महत्त्व दिन्छ। उसले अरूसँगको सङ्गतिमा आफ्नो हृदय कहिल्यै खोल्दैन; बरु, ऊ आफ्नो झूट लुकाउन झूटो रूप र ढोंग प्रयोग गर्छ। उसले यसरी नै मानिसहरूसँग अन्तरक्रिया र उठबस गर्छ। उसले जति नै झूट बोले पनि, जति नै ढाकछोप गरे पनि, वा जति नै स्वार्थी र तुच्छ अभिप्राय लुकाएर राखे पनि, आफ्नो हृदयमा कुनै असहजता वा ग्लानि महसुस गर्दैन। सामान्यतया, अलिअलि विवेक र अलिअलि मानवता भएका मानिसहरूले झूट बोल्दा अप्ठ्यारो महसुस गर्छन्, र तिनीहरूलाई आफ्नो मन बुझाउन एकदमै गाह्रो हुन्छ। तिनीहरूमा लज्जाको भावना हुन्छ; तर यो व्यक्तिले यसरी सोच्दैन। उसले झूट बोलेपछि, आत्मसन्तुष्टि महसुस गर्दै भन्छ, “मैले आज अर्को झूट बोलेर त्यस पाजीलाई मुर्ख बनाएँ। मलाई निकै असहज भइरहेको थियो, तर त्यसले यादै गरेन!” के ऊ यो लगातार झुट बोल्ने र झुट ढाक्ने जीवनबाट थाकेका छैन? यो कस्तो प्रकृति हो? यो दियाबलसको प्रकृति हो। दियाबलसहरू हरेक दिन झूट बोल्छन्। तिनीहरू कुनै असहजता वा पीडाको भावनाबिना झूटको जीवन जिउँछन्। यदि तिनीहरूले असहजता वा पीडा महसुस गर्थे भने परिवर्तन हुन्थे होला, तर तिनीहरूले पीडा महसुस गर्नै सक्दैनन् किनभने झूट नै तिनीहरूको जीवन हो—यो तिनीहरूको प्रकृतिमै हुन्छ। जब तिनीहरूले आफूलाई प्राकृतिक रूपमै व्यक्त गर्छन्, तिनीहरूले कुनै संयम देखाउँदैनन् र कुनै आत्मचिन्तन गर्दैनन्। तिनीहरूले जतिसुकै ढाँटे पनि वा धोका दिए पनि आफ्नो हृदयमा कुनै ग्लानि महसुस गर्दैनन्, र तिनीहरूको विवेक कति पनि पिरोलिँदैन्। तिनीहरू परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइको छानबिन गर्नुहुन्छ भनेर अनजान हुन्छन्; तिनीहरूले झूट बोलेर छलपूर्ण व्यवहार गरेपछि आफूमाथि उत्पन्‍न हुने जिम्मेवारी र आफूमाथि आइपर्ने प्रतिशोध महसुस गर्नै सक्दैनन्। तिनीहरूको सबैभन्दा ठूलो डर भनेको कसैले तिनीहरूको छली योजनाहरू खुलासा गरिदेला कि भन्ने हो, त्यसैले तिनीहरू ती छली योजनाहरू ढाक्नको लागि झन् धेरै झूट बोल्छन्, र साथमा तिनीहरू आफ्नो झूट र आफ्नो वास्तविक रूप लुकाउने कुनै न कुनै तरिका र माध्यम खोज्‍न थाकुन्जेल लागिपर्छन्। के यस्तो व्यक्तिले यो पूरै प्रक्रियाको दौरान पश्‍चात्ताप गरेको हुन्छ? के उसले कुनै दोष वा दुःख महसुस गर्छ? के उसमा आफूलाई परिवर्तन गर्ने इच्छा हुन्छ? हुँदैन। ऊ झूट बोल्नु वा झूट ढाक्नु पाप होइन, र अधिकांश मानिसहरू यसरी नै जिउँछन् भन्ने सोच्छ, र उसमा बदलिने कुनै अभिप्राय हुँदैन। जहाँसम्म इमानदार व्यक्ति बन्‍ने कुरा छ, ऊ हृदयमा यस्तो सोच्छ, “मैले किन इमानदार व्यक्ति बन्नुपर्ने, किन हृदयबाटै र किन सत्य बोल्नुपर्ने? म त्यसो गर्दिनँ। त्यो मूर्खहरूको लागि हो र म त्यस्तो मूर्ख छैन। यदि मैले झूट बोलेँ र खुलासा हुने डर लाग्यो भने, त्यसलाई ढाक्न अन्य कारण र बहानाहरू फेला पार्नेछु। म इमानदारीपूर्वक बोल्न सक्ने मान्छे होइन। यदि त्यसरी बोलेँ भने त, म पूरै बेवकूफ हुनेछु!” उसले सत्यता स्वीकार वा अनुमोदन गर्दैन। अनि, सत्यता नस्विकार्ने मानिसहरूले सत्यतालाई प्रेम गर्न सक्दैनन्। यस्तो व्यक्तिको सुरुदेखि अन्त्यसम्मको स्थिति कस्तो हुन्छ? (ऊ आफूलाई परिवर्तन गर्न इच्छुक हुँदैन।) परिस्थिति नबदल्ने उसको इच्छा त वस्तुगत दृष्टिकोणबाट हेर्दा स्पष्ट हुन्छ, तर उसको वास्तविक स्थितिचाहिँ कस्तो हुन्छ? ऊ इमानदार व्यक्ति हुनु जीवनको सही मार्ग हो भनेर आधारभूत रूपमै इन्कार गर्ने खालको हुन्छ। उसले सत्यताको अस्तित्व इन्कार गर्छ, र आखिरी दिनहरूमा परमेश्‍वरले मानवजातिको न्याय गर्नुहुन्छ, मानिसको अन्तिम परिणाम निर्धारण गर्नुहुन्छ र व्यक्तिको कार्यको निम्ति ऊमाथि व्यक्तिगत प्रतिशोध लिनुहुन्छ भन्ने कुरा पनि इन्कार गर्छ। यसो गर्नु अविवेकी, मूर्ख र जिद्दी हुनु हो। यस्तो सोचले उसको हठी स्थिति, कार्य र व्यवहारहरू उत्पन्न गराउँछ। यी कुराहरू व्यक्तिको प्रकृति सारबाट आउँछन्। ऊ यस्तै व्यक्ति हो—साँच्चै छली व्यक्ति हो—र ऊ परिवर्तित हुन सक्दैन। केही मानिसहरूलाई त्यस्तो व्यक्तिले सत्यता स्विकार्न नमानेको र सत्यता नबुझेको देख्दा अचम्‍म लाग्न सक्छ। वास्तवमा, यस्ता मानिसहरूमा सामान्य मानवताको कमी हुन्छ र तिनीहरूको विवेकले काम गरिरहेको हुँदैन। यसबाहेक, तिनीहरूमा सामान्य मानवताको समझ हुँदैन। सत्यता र न्यायका वचनहरू सुन्दा, सामान्य मानवता र समझ भएको व्यक्तिले कम्तीमा आत्मचिन्तन र साँचो पश्‍चात्ताप गर्छ, तर यो व्यक्तिले साँचो मार्गको कुरा सुनेपछि कुनै प्रतिक्रिया जनाउँदैन। ऊ परमेश्‍वरमाथिको आफ्नो वर्षौंको विश्‍वास कति पनि नबदली, अझै शैतानी दर्शनअनुसार जीवन जिउनमै जोड दिन्छ। यस्तो व्यक्तिमा सामान्य मानवताको समझ हुँदैन, र यस्तो व्यक्तिले मुक्ति पाउन गाह्रो हुन्छ।

तिमीहरूलाई यी दुई प्रकारका मानिसहरूमध्ये परमेश्‍वरले कसलाई मुक्ति दिनुहुन्छ भन्ने लाग्छ? (पहिलो प्रकारकोलाई, किनभने तिनीहरूले झूट बोले पनि, तिनीहरू सत्यता स्विकार्न र इमानदार बन्न सक्छन्।) मानिसहरूले यो देखेर सोध्न सक्छन्, “परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरूले कसरी अझै पनि सधैँ झूट बोल्न र गलत काम गर्न सक्छन्? के तिनीहरू अझै पनि भ्रष्ट छैनन् र? तिनीहरू सिद्ध मानिसहरू होइनन्!” तिनीहरूले यहाँ “सिद्ध” शब्द प्रयोग गरे। तिमिहरू यसबारे के सोच्छौ? यी जीवनको सामान्य प्रक्रिया नबुझ्ने व्यक्तिका शब्दहरू हुन्। परमेश्‍वरले शैतानद्वारा भ्रष्ट तुल्याइएका र भ्रष्ट स्वभाव भएका मानिसहरूलाई मुक्ति दिनुहुन्छ, त्रुटिरहित सिद्ध मानिसहरू वा शून्यतामा जिउने मानिसहरूलाई होइन। केही मानिसहरू, थोरै भ्रष्टता प्रकट गर्दा पनि, यस्तो सोच्छन्, “मैले फेरि परमेश्‍वरको विरोध गरेँ। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छु तर अझै पनि परिवर्तित भएको छुइनँ। पक्कै पनि अब परमेश्‍वरले मलाई चाहनुहुन्न!” त्यसपछि तिनीहरू निराश हुन्छन् र सत्यता पछ्याउन अनिच्छुक हुन्छन्। तिमीहरूलाई यो मनोवृत्ति कस्तो लाग्छ? तिनीहरू आफैले सत्यता त्यागेका हुन्छन्, र अब परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्न भनेर विश्‍वास गर्छन्। के यो परमेश्‍वरबारे गलतबुझाइ होइन? यस्तो नकारात्मकता शैतानद्वारा शोषित हुने सबैभन्दा सजिलो तरिका हो। शैतानले तिनीहरूको खिल्ली उडाउँदै भन्छ, “तँ मूर्ख! परमेश्‍वर तँलाई मुक्ति दिन चाहनुहुन्छ, तर तँ अझै यसरी कष्ट भोगिरहेको छस्! त्यसैले, बस हार मान्! यदि तैँले हार मानिस् भने, परमेश्‍वरले तँलाई हटाउनुहुनेछ्, र यो उहाँले तँलाई मेरो हातमा सुम्पिनुभएजस्तै हो। तँलाई त म पीडा दिएरै मार्नेछु!” एकपटक शैतान सफल भएपछि, परिणामहरू अकल्पनीय हुनेछन्। तसर्थ, व्यक्तिले जस्तोसुकै कठिनाइ वा नकारात्मकता सामना गरे पनि, हार मान्नै हुँदैन। उसले समाधान पाउन सत्यता खोज्नुपर्छ, र निष्क्रिय रूपमा पर्खर्नु हुँदैन। जीवन वृद्धिको प्रक्रिया र मानव मुक्तिको दौरान, मानिसहरूले कहिलेकाहीँ गलत मार्ग लिन, विचलित बन्‍न, वा कहिलेकाहीँ जीवनको अपरिपक्व स्थिति र व्यवहारहरू प्रदर्शन गर्न सक्छन्। तिनीहरू कहिलेकाहीँ कमजोर र नकारात्मक हुन सक्छन्, र कहिलेकाहीँ तिनीहरूले गलत कुराहरू बोल्‍न, ठोकर खान, वा असफलता भोग्‍न सक्छन्। यो सबै नै परमेश्‍वरको नजरमा सामान्य हुन्छ। यो कुराको कारण उहाँ तिनीहरूसँग द्वेष राख्नुहुन्न। केही मानिसहरू आफ्नो भ्रष्टता अति गहन छ, र आफूले परमेश्‍वरलाई कहिल्यै सन्तुष्ट गर्न सक्दिनँ भन्‍ने सोच्छन्, त्यसैले तिनीहरू दुःखी महसुस गर्छन् र आफैलाई घृणा गर्छन्। ठ्याक्‍कै यस्तो पश्‍चात्ताप गर्ने हृदय भएकाहरूलाई नै परमेश्‍वरले मुक्ति दिनुहुन्छ। अर्कोतर्फ, आफूलाई परमेश्‍वरको मुक्ति जरुरी छैन भनेर विश्‍वास गर्नेहरू, जो आफूलाई असल मानिस र आफूमा केही गल्ती छैन भन्‍ने सोच्छन्, तिनीहरूलाई सामान्यतया परमेश्‍वरले मुक्ति दिनुहुन्न। मैले तिमीहरूलाई भनिरहेको यो कुरापछाडि के अर्थ छ? जसले बुझ्छ, बोल। (आफ्नो भ्रष्टताको प्रकटीकरण उचित रूपमा सम्हाल्न, सत्यता अभ्यासमा ध्यान देऊ, अनि तिमीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछौ। यदि तिमीहरूले निरन्तर परमेश्‍वरलाई गलत बुझ्यौ भने, तिमीहरू सजिलै निराश हुनेछौ।) तँमा विश्‍वास हुनुपर्छ र तैँले यसो भन्नुपर्छ, “म अहिले कमजोर भए पनि, मैले ठेस खाए पनि र असफल भए पनि, म वृद्धि हुनेछु, र एकदिन सत्यता बुझ्नेछु, परमेश्‍वरलाई सन्तुष्ट पार्नेछु, र मुक्ति हासिल गर्नेछु।” तँसँग यस्तो सङ्कल्प हुनैपर्छ। तैँले जतिसुकै बाधा, कठिनाइ, असफलता, वा ठोकर सामना गर्नुपरे पनि तँ नकारात्मक हुनु हुँदैन। तँलाई परमेश्‍वरले कस्ता खालका मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनेर थाहा हुनुपर्छ। यसबाहेक, यदि तँ अझै पनि परमेश्‍वरबाट मुक्ति पाउन योग्य छैनस् भन्‍ने महसुस गर्छस् भने, वा यदि तँ परमेश्‍वरले घृणा गर्नुहुने वा उहाँ असन्तुष्ट हुनुहुने स्थितिमा हुन्छस् भने, वा कहिलेकाहीं तँ खराब व्यवहार गर्छस्, र परमेश्‍वरले तँलाई स्विकार्नुहुन्न, वा तिरस्कार गर्नुहुन्छ भने, केही फरक पर्दैन। अब तँलाई थाहा छ, र धेरै ढिलो भएको छैन। जबसम्म तँ पश्‍चात्ताप गर्छस्, तबसम्म परमेश्‍वरले तँलाई अवसर दिनुहुनेछ।

परमेश्‍वरमा विश्‍वास गर्दा सबैभन्दा महत्त्वपूर्ण कुरा के हुन्छ? (सत्यता बुझ्नु र जीवन प्रवेश गर्नु।) त्यो सही हो, जीवन प्रवेश गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो—यो सुरुमा आउँछ। तैँले जुनसुकै कर्तव्य पूरा गरे पनि, तेरो उमेर जतिसुकै भए पनि, तैँले परमेश्‍वरमा जति लामो समयदेखि विश्‍वास गरेको भए पनि, र तैँले जति सत्यता बुझे पनि, जीवन प्रवेश गर्नु सबैभन्दा पहिला आउँछ। तँ “केही मानिसहरूले बीस वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका छन्, तर मैले पाँच वर्षदेखि मात्र विश्‍वास गरेको छु। म तिनीहरूभन्दा निकै पछाडि छु। के मैले मुक्ति पाउने आशा अझै छ? कतै म धेरै पछाडि पो छु कि?” भनेर नसोच्। केही वर्ष ढिलोदेखि विश्‍वास गर्नु ठूलो समस्या होइन। यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् भने, तैँले अझै पनि परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई भेट्टाउन सक्छस्। के बाइबलले, “तर धेरै जो पहिलो छन् ती अन्तिम हुनेछन्; र अन्तिमचाहिँ पहिलो हुनेछ” (मत्ती १९:३०)? भन्दैन र? यदि व्यक्तिले सधैँ सत्यता नपछ्याउन कारण र बहानाहरू खोजिरहन्छ भने, उसले आफ्नो जीवनभर विश्‍वास गरे पनि, व्यर्थ हुनेछ, र उसले केही पनि प्राप्त गर्नेछैन। परमेश्‍वरको घरमा, धेरै मानिसहरू छन् जसले बीस वा तीस वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरे, तर मापदण्डअनुसार आफ्नो कर्तव्य पूरा गरेनन्, र तिनीहरू हटाइए। यस्ता धेरै मानिसहरू छन् जो सधैँ प्रसिद्धि, लाभ र हैसियत पछ्याउँछन्, र झूटा अगुवा र ख्रीष्टविरोधी बन्छन्, र हटाइन्छन्। जिद्दी भई सत्यता स्विकार्न नमान्‍ने अविश्‍वासीहरू पनि धेरै छन् र तिनीहरू सबैलाई हटाइएको छ। यो साँचो हो नि? (हो।) यसबाहेक, केही मानिसहरू यस्ता पनि छन्, जो केवल तीनदेखि पाँच वर्षसम्म विश्‍वास गरेपछि नै आफ्नो अनुभवात्मक गवाहीहरूबारे बोल्न सक्छन्। तिनीहरूको गवाही र विश्‍वासले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई समेत उछिन्छ। यी मानिसहरूले परमेश्‍वरको आशिष् पाएका हुन्छन्। धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गर्ने यस्ता धेरै मानिसहरू छन्, जसले सत्यता पटक्कै पछ्याएनन् र तिनीहरूलाई हटाइयो। यसले मानिसहरूको लागि एउटा तथ्य स्पष्ट पार्छ: परमेश्‍वर सबैको लागि धर्मी र न्यायोचित हुनुहुन्छ। परमेश्‍वरले तँ पहिला कस्तो थिस् वा तेरो हालको कद कस्तो छ त्यो हेर्नुहुन्न, उहाँले तँ सत्यता पछ्याउँछस् कि पछ्याउँदैनस् र सत्यता पछ्याउने मार्गमा हिँड्छस् कि हिँड्दैनस् भनेर हेर्नुहुन्छ। तैँले कहिल्यै पनि परमेश्‍वरलाई गलत बुझेर यस्तो भन्‍नु हुँदैन, “परमेश्‍वरबाट मुक्ति पाउन सक्नेहरूले किन अझै पनि झूट बोल्न र भ्रष्टता प्रकट गर्न सक्छन्? परमेश्‍वरले झूट नबोल्नेहरूलाई मुक्ति दिनुपर्छ।” के यो भ्रम होइन र? के भ्रष्ट मानवजातिमध्ये नढाँट्ने कोही छ र? के झूट नबोल्ने मानिसहरूलाई अझै पनि परमेश्‍वरको मुक्तिको खाँचो पर्छ र? मानवजाति, जो शैतानद्वारा भ्रष्ट तुल्याइएको छ, त्यही मानवजातिलाई परमेश्‍वरले मुक्ति दिनुहुन्छ। यदि तँ यो तथ्य पनि स्पष्टसँग बुझ्न सक्दैनस् भने, तँ अज्ञानी र मूर्ख छस्। परमेश्‍वरले भन्नुभएजस्तै, “यस पृथ्‍वीमा कोही पनि धर्मी छैन, धर्मीहरू यस संसारमा छैनन्।” मानवजाति शैतानद्वारा भ्रष्ट तुल्याइएकोले गर्दा नै, यी भ्रष्ट मानिसहरूलाई मुक्ति दिन परमेश्‍वर पृथ्वीमा देहधारी हुनुभयो। परमेश्‍वरले स्वर्गदूतहरूलाई मुक्ति दिनेबारेमा किन केही बोल्‍नुहुन्न? किनभने स्वर्गदूतहरू स्वर्गमा छन्, र शैतानद्वारा भ्रष्ट तुल्याइएका छैनन्। परमेश्‍वरले सँधै सुरुदेखि नै यसो भन्नुभएको छ, “मैले मुक्ति दिने मानवजाति भनेको शैतानद्वारा भ्रष्ट तुल्याइएको मानवजाति हो, शैतानको हातबाट फिर्ता लिइएको मानवजाति हो, शैतानको भ्रष्ट स्वभाव भएको मानवजाति हो, र मेरो विरोध, प्रतिरोध र मेरो विरुद्ध विद्रोह गर्ने मानवजाति हो।” अनि, मानिसहरूले किन यो तथ्य स्विकार्दैनन्? के तिनीहरूले परमेश्‍वरलाई गलत बुझ्दैनन् र? परमेश्‍वरको प्रतिरोध गर्ने सबैभन्दा सजिलो मार्ग भनेकै परमेश्‍वरबारे गलतबुझाइ हुनु हो र यसलाई तुरुन्तै समाधान गरिनुपर्छ। यस समस्या हल गर्न असफल हुनु निकै खतरनाक हुन्छ किनभने यसको परिणामस्वरूप तँ सजिलै परमेश्‍वरद्वारा पन्छाइन सक्छस्। मानिसहरूका गलतबुझाइहरू तिनीहरूका धारणा र कल्पनाहरूमा गाडिएका हुन्छन्। यदि तिनीहरू सधैँ आफ्ना धारणा र कल्पनाहरूमै टाँसिइरहन्छन् भने, तिनीहरूले सत्यता स्विकार्न नमान्ने सम्भावना सबैभन्दा बढी हुन्छ। परमेश्‍वरलाई गलत बुझ्दा, यदि तैँले समाधान पाउन सत्यता खोजिनस् भने, परिणामहरू के हुन्छ, थाहै होला। परमेश्‍वरले तँलाई ठोकर खान, असफल हुन र गल्तीहरू गर्न दिनुहुन्छ। परमेश्‍वरले तँलाई सत्यता बुझ्न, सत्यता अभ्यास गर्न, उहाँका अभिप्राय क्रमशः बुझ्दै जान, उहाँका अभिप्रायअनुसार सबै काम गर्न, साँचो रूपमा परमेश्वरप्रति समर्पित हुन, र परमेश्‍वरले मानिसहरूमा हुनैपर्ने भनी तोक्‍नुभएको सत्यता वास्तविकता हासिल गर्न असवरहरू दिनुहुनेछ। तर परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्नुहुने व्यक्ति को हो? यो त्यो व्यक्ति हो, जसलाई आफ्नो हृदयमा सत्यता के हो भन्‍ने थाहा हुन्छ तैपनि ऊ सत्यता स्विकार्न मान्दैन, सत्यता अभ्यास गर्ने कुरै नगरौँ। त्यस्ताहरू बरु अझै पनि शैतानी दर्शनसाथ जिइरहेका हुन्छन्, तर त्यसको बाबजुद पनि तिनीहरू आफूलाई निकै असल र परमेश्‍वरप्रति समर्पित रहेको ठान्छन्, जबकि त्यति नै बेला तिनीहरू अरूलाई बहकाउन र परमेश्‍वरको घरमा स्थान प्राप्त गर्न खोज्दै हुन्छन्। परमेश्‍वरले यस प्रकारको व्यक्तिलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ, तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। हरेक व्यक्तिमा भ्रष्ट स्वभाव हुने भए पनि, यी व्यवहारहरू फरकफरक प्रकृतिका हुन्छन्। यो कुनै सामान्य भ्रष्ट स्वभाव वा भ्रष्टताको सामान्य प्रकटीकरण होइन; तैँले सचेत रूपमै र जिद्दीपूर्वक अन्त्यसम्मै परमेश्‍वरको प्रतिरोध गर्छस्। तँलाई परमेश्‍वर हुनुहुन्छ भनेर थाहा छ, तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तैपनि जानाजानी उहाँको विरोध गर्न रोज्छस्। यो परमेश्‍वरबारे धारणाहरू र गलतबुझाइ हुने समस्या होइन; तैँले जानाजानी अन्त्यसम्‍मै परमेश्‍वरको विरोध गर्छस्। के परमेश्‍वरले यस्तो व्यक्तिलाई मुक्ति दिन सक्नुहुन्छ? परमेश्‍वरले तँलाई मुक्ति दिनुहुन्न। तँ परमेश्‍वरको शत्रु होस्, त्यसैले तँ एक दियाबलस होस्। के परमेश्‍वरले अझै पनि दियाबलसहरूलाई मुक्ति दिन सक्नुहुन्छ?

तिमीहरूलाई मेरो आजको सङ्गति कस्तो लाग्यो? के तिमीहरूले यो सङ्गति बुझ्यौ? (हजुर, हामीले बुझ्यौँ।) यदि तिमीहरूले केही बुझ्छौ भने, केही प्राप्त गर्नेछौ, र सत्यतामा केही प्रवेश गर्नेछौ। अनि, तँ सत्यतामा प्रवेश गर्छस् भने, तेरो जीवन वृद्धि हुनेछ, तर यदि सत्यतामा प्रवेश गर्दैनस् भने, तेरो जीवन वृद्धि हुनेछैन। यो एउटा टुसाइरहेको बीउजस्तै हो, जसलाई पानी हाल्नुपर्छ, मल हाल्नुपर्छ र घामको किरणको सम्पर्कमा राख्नुपर्छ। यदि तँ त्यसलाई सावधानीपूर्वक मलजल गर्दैनस् भने, यो बढ्न सक्‍नेछैन र अन्ततः ओइलाउनेछ र मर्नेछ। मैले यसो भन्नुको अर्थ के हो? त्यो के हो भने, परमेश्‍वरलाई चिन्न र उहाँको राज्यमा प्रवेश गर्न योग्य हुनको लागि परमेश्‍वरको देहधारणलाई मौखिक रूपमा स्विकार्नु र हृदयमा विश्‍वास गर्नु मात्र पर्याप्त हुँदैन। यो निश्‍चित हुँदैन; यो त प्राथमिक चरण मात्र हो। तैँले अझै पनि मुक्ति प्राप्त गरेको हुँदैनस्, तँ रूपान्तरित भएको हुँदैनस्, र तैँले अझै धेरै लामो यात्रा गर्नुपर्ने हुन्छ। आखिरी दिनहरूमा, परमेश्‍वरले मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन सत्यता घोषणा गर्नुहुन्छ। जब तँ परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा लाग्छस्, तँसँग सुरुदेखि नै परमेश्‍वरबाट मुक्ति पाउने अवसर हुन्छ। यो ठूलो आशिष् हो! यसलाई त्याग्‍न मिल्दैन। आखिरी दिनहरूमा परमेश्‍वरद्वारा मानवजातिलाई मुक्ति दिइनु र सिद्ध पारिनु अत्यन्तै दुर्लभ अवसर हो। मानवजातिले हजारौँ पुस्ता जिएको छ, तर यसअघि कसैलाई पनि यस्तो अवसर मिलेको थिएन। मुक्ति पाउनु ठूलो कुरा हो; तैँले यो अवसर गुमाउनै हुँदैन। तिमीहरूको पुस्ताले देहधारी परमेश्‍वरलाई भेटेको छ; यो एक आशिष् हो! यो आशिष् बाह्य संसारको लागि अदृश्य हुन्छ, तर तिमीहरूले यसलाई देखेका र यसको आनन्द लिएका छौ, र यही नै परमेश्‍वरको आशिष् हो। सायद केही मानिसहरू दर्शनहरूबारे अझै पनि अस्पष्ट नै छन्; तिनीहरू केही धर्मसिद्धान्तहरू मात्र बुझ्छन्, तर तिनीहरूसँग साँचो विश्‍वास छैन। तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो कुरा हो भन्ने लाग्छ, र परमेश्‍वरका वचनहरू पढ्दा तिनीहरूको हृदय उज्यालो हुन्छ, त्यसैले तिनीहरू यो जीवनको सही मार्ग हो भनेर विश्‍वास गर्छन् र तिनीहरूको हृदयमा शक्ति छ। तिनीहरू गैरविश्‍वासीहरूको विनाशको मार्ग र परमेश्‍वरविरोधी धार्मिक मानिसहरूको मार्ग नपछ्याउन कटिबद्ध छन्। तिनीहरू केवल परमेश्‍वरको पछि लाग्‍न, सत्यता पछ्याउन, शुद्धता प्राप्त गर्न, मुक्ति हासिल गर्न र केवल परमेश्‍वरको पछि लाग्‍ने मार्ग हिँड्न कटिबद्ध छन्। यस्तो सङ्ककल्प हुनु मानिसहरूको लागि राम्रो हो, र यसको मतलब त्यहाँ आशा छ। परमेश्‍वरको पछि लागेसँगै परमेश्‍वरको सुरक्षा आउँछ। कम्तीमा पनि, अहिले यो जीवनमा तिनीहरू खुसी हुनेछन्। तिनीहरूलाई शैतान, समाज वा मानवजातिले अबउप्रान्त हानि पुऱ्‍याउनेछैन, र तिनीहरू पूर्णतया र साँचो रूपमा परमेश्‍वरको प्रभुत्वमुनि जिउनेछन्। यो सम्मानजनक कुरा हो र यो यही जीवनकालमा महसुस गर्न सकिने खुसी हो। अब, अर्को जीवनको कुराचाहिँ के छ नि? परमेश्‍वरले एउटा प्रतिज्ञा गर्नुभएको छ। उहाँले तँलाई मुक्ति दिनु अनि सत्यता र जीवन प्रदान गर्नुबाहेक, यस जीवनमा सय गुणा बढी दिने र अर्को जीवनमा अनन्त जीवन दिने प्रतिज्ञा पनि गर्नुभएको छ। त्यसैले यो मामलालाई कम नठान्। तैँले सत्यता र मुक्ति प्राप्त गर्न चुकाउने मूल्य र भोग्ने कष्टहरू अस्थायी हुन्। भविष्यमा, जब मानिसहरूले सत्यता बुझ्छन् र सत्यता हासिल गर्छन्, तिनीहरूले उपभोग गर्ने खुसी, आनन्द र आशिष् अवर्णनीय हुन सक्छ। यसको मतलब, जब तैँले सत्यता बुझ्छस् र प्राप्त गर्छस्, तब मात्र तँ परमेश्‍वरको प्रतिज्ञा प्राप्त गर्न योग्य हुनेछस्। परमेश्‍वरले प्रचुर रूपमा तँलाई सबै सत्यता र जीवनको आपूर्ति दिनुहुन्छ। यो साँचो हो कि परमेश्‍वरले तँलाई मुक्ति दिन सक्नुहुन्छ, तर तैँले अन्ततः जीवन र सत्यता प्राप्त गर्छस् कि गर्दैनस् भन्ने कुरा तँ सत्यता पछ्याउने मार्ग रोज्छस् कि रोज्दैनस् भन्‍ने कुरामा भर पर्छ। के यो छनौट गर्ने निर्णय तेरो आफ्नै हातमा हुन्छ? (हुन्छ।) अर्को शब्दमा, तैँले जीवन र सत्यता प्राप्त गर्न सक्छस् कि सक्दैनस्, तँ परमेश्‍वरको प्रतिज्ञा प्राप्त गर्न योग्य छस् कि छैनस्, र तैँले यो आशिष्, अर्थात् “यस जीवनमा सय गुणा बढी र अर्को जीवनमा अनन्त जीवन” पाउने यो आशिष्‌ पाउन सक्छस् कि सक्दैनस्, यो तेरै हातमा हुने अवसर हो। अरू कसैले तँलाई प्रभाव पार्न, मद्दत गर्न, वा नियन्त्रित गर्न सक्दैन। तँसँग यो अधिकार हुन्छ; परमेश्‍वरले तँलाई पहिल्यै यो प्रदान गरिसक्नुभएको छ। यो अन्ततः तँ सत्यता पछ्याउने मार्ग हिँड्न रोज्छस् कि रोज्दैनस् भन्ने कुरामा भर पर्छ। सबैभन्दा महत्वपूर्ण कुरा यही हो।

नोभेम्बर ९, २०१६

अघिल्लो: आफ्‍नो भ्रष्ट स्वभावलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ

अर्को: परमेश्‍वरको व्यवस्थापन योजनाको सबैभन्दा ठूलो हितग्राही मानिस नै हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्