५१. मेरो बुबाप्रतिको ऋण त्याग्नु

लान यु, चीन

हिउँदको दिउँसोको घाम कोमल र न्यानो थियो, झ्यालबाट छिरेर बोटबिरुवाले भरिएको झ्यालको डिलमा परिरहेको थियो, अनि गमलामा लगाइएका थुप्रै बोटबिरुवा र फूलहरूले त्यो पोषणयुक्त घामलाई व्यग्रतापूर्वक सोसिरहेका थिए। लान युले स्वतन्त्रताको सास फेरेको महसुस गर्दै झ्यालबाहिर हेरिन्। परमेश्‍वरमा विश्वास गरेका कारण उनलाई तीन वर्ष चार महिनाको जेल सजाय सुनाइएको थियो, र उनी भर्खरै रिहा भएकी थिइन्। उनकी दिदी पनि दुई पटक पक्राउ परेकी थिइन्, र उनका बुबालाई पनि पक्राउ गरी साढे तीन वर्षको जेल सजाय सुनाइएको थियो। रिहा भएपछि, उनीहरू चिनियाँ कम्युनिस्ट पार्टी सरकारको मुख्य निशानाको रूपमा कडा निगरानीमा थिए। उनीहरू एकअर्कासँग दश वर्षभन्दा बढी समयदेखि छुट्टिएका थिए, र पुनर्मिलन हुन सकेकाे थिएन। पछि, आफ्ना ब्रदर-सिस्टरहरूको सहयोगमा, लान युले आफ्ना बुबासँग सम्पर्क गरिन्, र एक दशकभन्दा बढी समयदेखि थुनिएको चाहना अनियन्त्रित भयो। अन्ततः, उनले लामो समयदेखि याद गरिरहेका आफ्ना बुबालाई भेट्न पाउने भइन्! उत्साहले भरिएर, लान यु आफ्ना बुबासँग पुनर्मिलन हुने ठाउँतिर हतारिइन्। आफ्नो गन्तव्यमा पुग्नै लाग्दा, गाडीको झ्यालबाट, लान युले टाढा एउटा ट्याक्सीको छेउमा उभिरहेका एक जना वृद्ध मानिसलाई देखिन्, जसको आधा अनुहार मास्कले ढाकिएको थियो। लान युले ती वृद्ध मानिसलाई ध्यान दिएर हेरिन्, र अचानक, उनले आफ्नो निधार खुम्च्याइन् र ती वृद्ध मानिसलाई आँखा ठूलो पारेर हेरिन्— के उहाँ नै उनले चौध वर्षसम्म नदेखेका उनका बुबा हुनुहुन्नथ्यो र? उहाँको टोपीमुनिबाट फुलेको कपाल देखिएको थियो, र उनले सम्झेको कुनै बेलाको बलियो मानिस अब त्यति सिधा उभिन सक्ने थिएनन्। ती दुब्ला मानिस सडकको छेउमा उभिएर केही कुरा खोज्दै यताउता हेरिरहेका थिए। उनको गाडी मोडिएर रोकिएपछि, लान यु व्यग्रतापूर्वक गाडीको ढोका खोलेर आफ्नो बुबातिर दौडिइन्। उनले बग्नै लागेको आँसु रोक्ने कोसिस गरिन् र बिस्तारै बोलाइन्, “ड्याड!” उनका बुबाले जवाफ दिनुभयो, “हे!” जवाफ दिँदा उहाँका आँखा पहिल्यै रसाइइसकेका थिए, र उनलाई आग्रह गर्दै भन्नुभयो, “छिटो, गाडीमा बस्। घर जाऔँ।”

पश्चिममा घाम अस्तायो, र साँझको चमकले सहरको हरेक कुना रातो रङ्गले पोतिदियो। हिउँदको चिसो बिस्तारै बढ्दै थियो, र हावाले लान युको अनुहारमा छोए तापनि, उनलाई चिसो महसुस भएन। घरभित्र पसेपछि, उनका बुबाले हतार-हतार ओछ्यान मिलाउँदै लान युलाई के खान मन छ भनेर सोध्नुभयो, र उनले आफूलाई न्यानोपन र खुसीले ढाकिएकी पाइन्। टाउको घुमाउँदा, उनले अचानक भित्तामा झुण्ड्याइएको एउटा सिटि स्क्यान देखिन्, र भित्री कोठाको ढोका खोल्दा, उनले टेबुलमा औषधिका झोलाहरू देखिन्। लान युले उनका बुबा पक्कै बिरामी हुनुहुन्छ भनी अनुमान लगाइन्, र उनी चिन्तित नभई बस्न सकिनन्। बेलुकीको खानापछि, लान यु र उनका बुबाले बितेका वर्षहरूका आफ्ना अनुभवहरूबारे कुरा गरे, र उनले आफ्ना बुबालाई जेलमा दुई पटक क्षयरोग लागेको रहेछ भन्ने थाहा पाइन्। उहाँको फोक्सो नराम्ररी बिग्रिएको थियो, र उहाँलाई चिसो लाग्नेबित्तिकै घ्यार-घ्यार हुने र खोकी लाग्ने गर्थ्यो। पछिल्ला दुई वर्षमा, उहाँको पित्तथैलीमा पत्थरी भएको पनि पत्ता लागेको थियो। उहाँले हालै त्यसलाई नियन्त्रण गर्न औषधि खाइरहनुभएको थियो; यदि यो झन् बिग्रियो भने, उहाँको शल्यक्रिया गर्नुपर्थ्यो। चिनियाँ कम्युनिष्ट पार्टीको प्रहरीको निरन्तर सतावटका कारण, उनका बुबाले नौ वर्षभन्दा बढी समयदेखि ब्रदर-सिस्टरहरूसँग सम्पर्क गर्ने आँट गर्नुभएको थिएन र मण्डली जीवन जिउन सक्नुभएको थिएन, र ब्रदर-सिस्टरहरूले गोप्य रूपमा उहाँलाई परमेश्‍वरका नयाँ वचनहरू, अनुभवात्मक गवाही भिडियोहरू, आदि पठाउन मात्र सक्थे। आफ्ना बुबाले यी कुराहरू सुनाइरहँदा, लान यु एकदमै दुःखी भइन्। चिनियाँ कम्युनिष्ट पार्टीको सतावटका कारण उहाँले यति धेरै दुःख भोग्नुभएको थियो, र छोरीका रूपमा, उनले उहाँका लागि केही गरेकी थिइनन्, र आफू एकदमै कुपुत्री भएको महसुस गरिन्। पछि, जब लान युका आफन्तहरूले उनी जेलबाट छुटेको थाहा पाए, उनीहरूले उनलाई फोन गरे, र बारम्बार आग्रह गरे, “तिम्रो बुबा बुढो हुँदै जानुभएको छ, र उहाँको स्वास्थ्य राम्रो छैन; उहाँको हेरचाह गर्न कोही न कोही त चाहिन्छ। अब तिमी फर्केर आएकी छ्यौ, तिमीले जागिर खाएर पैसा कमाउनुपर्छ र उहाँको हेरचाह गर्नुपर्छ।” उनका आफन्तका शब्दहरू उनको मनमा गुन्जिरहे, र उनले सोचिन्, “मेरा बुबाले मलाई हुर्काउनुभयो, उहाँले नै मलाई परमेश्‍वरका सामु ल्याउनुभयो, र जीवनमा सही बाटो रोज्न सिकाउनुभयो। अहिले उहाँ बुढो र बिरामी हुनुभएको छ, मैले छोरीका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, र उहाँसँग कुरा गर्न र उहाँको हेरचाह गर्न उहाँको साथमा बस्नुपर्छ ताकि उहाँले आफ्ना दिनहरू खुसीसाथ बिताउन सक्नुहोस्।” त्यसपछि लान युले आफ्ना बुबाको अवस्थाबारे डाक्टरहरूसँग अनलाइन परामर्श लिइन्, र उनले पैसा कमाउन कडा परिश्रम गरिन् ताकि उनका बुबाले औषधि र उपचारको लागि पैसा नपुग्ला कि भनेर चिन्ता लिनु नपरोस्। लान यु साँच्चै नै आफ्ना बुबासँग धेरै समय बिताउन चाहन्थिन्, र हरेक पटक आफ्ना बुबाको अनुहारमा मुस्कान देख्दा, उनी खुसी हुन्थिन्।

एक दिन, लान यु कामबाट घर आइन्, र उनका बुबाले उनलाई अगुवाहरूबाट एउटा पत्र आएको बताउनुभयो। पत्रमा उनी घरमा हुँदा प्रहरी कुनै पनि बेला आएर उनलाई सताउन सक्ने र त्यहाँ उनले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भएकीले, र मण्डलीलाई लेखन-पठनको कर्तव्यका लागि तुरुन्तै मानिसहरू आवश्यक परेकोले, उनीहरूले उनी आफ्नो कर्तव्य पूरा गर्न घर छोडूँन् भन्ने आशा गरेका बताइएको थियो। पत्र पढेपछि, लान युले खुसी र चिन्ताको मिश्रित अनुभव गरिन्। उनले धेरै वर्षदेखि कर्तव्य पूरा गरेकी थिइनन्, र परमेश्‍वरले दिनुभएका सबै कुराको आनन्द लिने एक सृजित प्राणीका रूपमा, उनको अन्तरात्मा बेचैन थियो। तर लान युले आफ्ना बुबाको बारेमा चिन्ता गर्ने कार्य बन्द गर्न सकिनन्। हालै, उनका बुबाको बिमारी बढेको थियो, र उहाँको पित्तथैली हरेक दिन दुख्थ्यो। उनी गइन् भने, कुनै दिन उहाँलाई शल्यक्रिया गर्नुपरेमा उहाँको हेरचाह कसले गर्छ? यदि उनी आफ्नो कर्तव्य पूरा गर्न गइन् भने, उहाँलाई पानी वा औषधि दिने कोही पनि हुनेछैन। लान युले एक पटक आफ्ना बुबाले यसो भन्दै गर्दा सुनेको कुरा सम्झिइन्, “तिम्री दिदीलाई प्रहरीले खोजीरहेको छ र तिमीलाई पक्राउ गरी सजाय सुनाइएकोले, हाम्रा आफन्तहरूले मेरो आलोचना गर्दै मसँग गुनासो गरे, र गाउँलेहरू मदेखि टाढै बसे।” उहाँका बुबाले आफ्नो पीडा सुनाउन पाउने कोही थिएन, र उहाँ यति नकारात्मक र कमजोर हुनुभएको थियो कि उहाँले आफ्नो जीवन समाप्त गर्ने विचारसमेत गर्नुभएको थियो। तर पछि, परमेश्‍वरका वचनहरू सम्झेर, उहाँ आफ्नो नकारात्मकताबाट बाहिर आउनुभयो। लान यु धेरै चिन्तित भइन्, र सोचिन्, “यदि मैले आफ्नो कर्तव्य पूरा गर्न घर छोडेँ, र मेरो बुबाले आफ्नो पीडामा केही मूर्खतापूर्ण काम गर्नुभयो भने के होला? उहाँ बुढो हुँदै जानुभएको छ र उहाँको हेरचाह गर्ने कोही चाहिन्छ; यदि म घर छोडेर गएँ भने मेरा आफन्त र साथीभाइले मेरो बारेमा के सोच्लान्? के उनीहरूले मलाई कुपुत्री र मानवताविहीन भन्ने छैनन् र? तर म घरमा बसेर आफ्नो कर्तव्य पूरा गर्न सक्दिनँ। जेलबाट छुटेदेखि, प्रहरीले मलाई स्टेसनमा हाजिर हुन र पश्चात्ताप कायलनामामा हस्ताक्षर गर्न भन्दै धेरै पटक फोन गरिसकेको छ।” लान युले प्रहरीको अनन्त उत्पीडनको यस्तो भविष्यबारे विचार गरिन्, जसमा उनी भेलाहरूमा उपस्थित हुन वा आफ्नो कर्तव्य पूरा गर्न पाउने थिइनन्, र उनले अन्ततः आफ्नो कर्तव्य पूरा गर्न घर छोड्ने निर्णय गरिन्। तर जब उनी आफ्नो सुत्ने कोठाबाट बाहिर निस्किइन् र बैठक कोठाको झ्यालबाट आफ्ना बुबाको कमजोर शरीर देखिन्, उनलाई यस्तो लाग्यो मानौँ उनी आफू गएपछि आफ्नो बुबासँग घरमा कोही पनि नहुँदा उहाँ एक्लै भएको देखिरहेकी छिन्। उनी आफ्नो सुत्ने कोठामा फर्किइन्, र रुँदै परमेश्‍वरलाई प्रार्थना गरिन्, “हे परमेश्‍वर, म आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु, तर मेरो बुबाको हेरचाह गर्ने कोही हुनेछैन भन्ने मलाई चिन्ता छ। मेरो बुबा बुढो हुनुभएको छ, तर म सन्तानी धर्म पूरा गर्न उहाँको साथमा हुनेछैनँ। यसो गर्दा मलाई आफू पूर्ण रूपमा मानवताविहीन छु भन्ने महसुस भइरहन्छ। हे परमेश्‍वर, यो निर्णय अति कठिन छ। कृपया मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् ताकि म तपाईंका अभिप्राय बुझ्न सकूँ।”

प्रार्थना गरेपछि, लान युले परमेश्‍वरका वचनहरू पढिन्। “यदि तेरो जिउने वातावरण र तँ रहेको परिवेशको आधारमा, आफ्‍ना आमाबुबाको आदर गर्दा त्यो परमेश्‍वरको आज्ञा पूरा गर्ने र कर्तव्य निभाउने कार्यसँग बाझिँदैन भने—अर्को शब्‍दमा भन्दा, यदि तैँले आफ्‍ना आमाबुबाको आदर गर्दा त्यस कार्यले बफादारीसाथ कर्तव्य निभाउनमा तँलाई बाधा हुँदैन भने—तैँले एकसाथ ती दुवै अभ्यास गर्न सक्छस्। तँ आफ्‍ना आमाबुबाबाट बाहिरी रूपमा अलग भइरहनु पर्दैन, र तैँले बाहिरी रूपमा तिनीहरूलाई त्याग्‍नु वा इन्कार्नु पर्दैन। यो कुन अवस्थामा लागू हुन्छ? (आफ्‍ना आमाबुबाको आदर गर्ने कार्य कर्तव्य निभाउने कार्यसँग नबाझिँदाको अवस्थामा।) ठीक भन्यौ। अर्को शब्‍दमा भन्दा, यदि तेरा आमाबुबाले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा बाधा दिने प्रयास गर्दैनन्, र तिनीहरू पनि विश्‍वासी हुन्, अनि तिनीहरूले तँलाई साँच्‍चै नै आफ्‍नो कर्तव्य निष्ठापूर्वक निभाउन र परमेश्‍वरले दिनुभएको आज्ञा पूरा गर्न साथ र प्रोत्साहन दिन्छन् भने, आमाबुबासँगको तेरो सम्‍बन्ध सामान्य अर्थको आफन्तहरूबीचको नाता मात्रै होइन, मण्डलीका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूबीचको सम्बन्ध पनि हुन्छ। त्यस्तो हकमा, तिनीहरूसँग मण्डलीका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको रूपमा अन्तरक्रिया गर्नेबाहेक, तैँले आमाबुबाप्रतिको सन्तानको जिम्मेवारी पनि पूरा गर्नुपर्छ। तैँले तिनीहरूप्रति अलिकति भए पनि थप वास्ता गर्नुपर्छ। तेरो कर्तव्यमा असर पर्दैन भने, अर्थात्, तिनीहरूद्वारा तेरो हृदयमा बन्धन हुँदैन भने, तैँले तेरा आमाबुबालाई कल गरेर हालखबर सोध्‍न सक्छस् र तिनीहरूप्रति अलिकति भए पनि वास्ता देखाउन सक्छस्, तिनीहरूका केही कठिनाइहरू हल गर्न र तिनीहरूको जीवनका केही समस्या सम्‍हाल्‍न सहयोग गर्न सक्छस्, अनि तिनीहरूको जीवन प्रवेशसँग सम्‍बन्धित कतिपय कठिनाइहरू हल गर्न पनि तैँले सहयोग गर्न सक्छस्—तैँले यी सबै कुराहरू गर्न सक्छस्। अर्को शब्‍दमा भन्दा, यदि तेरा आमाबुबाले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा बाधा दिँदैनन् भने, तैँले तिनीहरूसँगको यो सम्‍बन्ध कायम राखिराख्‍नुपर्छ, र आफ्ना आमाबुबाप्रतिका तेरा जिम्मेवारीहरू पूरा गर्नुपर्छ। अनि तैँले किन तिनीहरूलाई वास्ता र हेरचाह गर्नुपर्छ, र तिनीहरूको हालखबर सोध्‍नुपर्छ? किनभने तँ तिनीहरूको सन्तान होस् र तिनीहरूसँग तेरो यो नाता छ, त्यसकारण तेरो अर्को प्रकारको जिम्‍मेवारी पनि हुन्छ, र त्यो जिम्‍मेवारीको कारण, तैँले तिनीहरूलाई अझै बढी वास्ता र अझै बढी सहयोग दिनुपर्छ। तेरो कर्तव्यनिर्वाहमा असर पर्दैन भने, र तेरो आमाबुबाले परमेश्‍वरमाथिको तेरो विश्‍वास वा तेरो कर्तव्यनिर्वाहमा बाधा वा व्यवधान ल्याउँदैनन्, र तँलाई रोक्‍ने प्रयास पनि गर्दैनन् भने, तैँले तिनीहरूप्रतिको तेरो जिम्मेवारी पूरा गर्नु प्राकृतिक र उचित हुन्छ, र तैँले तेरो विवेकले तँलाई नदोष्याउने हदसम्‍म त्यो जिम्मेवारी पूरा गर्नुपर्छ—तैँले पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड यही हो। यदि तेरो परिस्‍थितिहरूको प्रभाव र बाधाको कारण तैँले घरमा आफ्‍ना आमाबुबाको आदर गर्न सक्दैनस् भने, तैँले यो नियम पालना गर्नु पर्दैन। तैँले आफूलाई परमेश्‍वरको योजनाबद्ध कार्यहरूमा सुम्पेर उहाँका बन्दोबस्तहरूमा समर्पित गर्नुपर्छ, अनि आफ्‍ना आमाबुबाको आदर गर्नुपर्छ भनेर तैँले जिद्दी गरिरहनु पर्दैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (४))। “परमेश्‍वरले फरकफरक मानिसहरूको लागि फरकफरक कुराहरू तोक्‍नुभएको छ; उहाँले तिनीहरूलाई पृथक मागहरू दिनुभएको छ। अगुवा र कामदारका रूपमा काम गर्नेहरूलाई परमेश्‍वरले बोलाउनुभएको हुन्छ, त्यसकारण तिनीहरूले परमेश्‍वरको आज्ञा स्विकार्नुपर्छ र उहाँलाई पछ्याउन सबथोक त्याग्नुपर्छ; तिनीहरू आफ्ना आमाबुबासँग बस्न र उनीहरूलाई सम्मान गर्न मिल्दैन। यो एक प्रकारको परिस्थिति हो। साधारण विश्‍वासीलाई परमेश्‍वरले बोलाउनुभएको हुँदैन, त्यसकारण तिनीहरूले आफ्‍ना आमाबुबासँग बसेर तिनीहरूलाई आदर गर्न सक्छन्। यसो गर्दा कुनै इनाम प्राप्त हुँदैन, अनि तिनीहरूले यसको परिणामस्वरूप कुनै आशिष्‌हरू प्राप्त गर्नेछैनन्, तर तिनीहरूले आमाबुबाप्रतिको कर्तव्य पूरा गरेनन् भने, तिनीहरूमा मानवताको कमी हुन्छ। वास्तवमा, आफ्‍ना आमाबुबाको आदर गर्नु एक प्रकारको जिम्‍मेवारी मात्रै हो, र यसले सत्यता अभ्यास गर्नुको मापदण्ड पूरा गर्दैन। परमेश्‍वरप्रति समर्पित हुनुचाहिँ सत्यता अभ्यास गर्नु हो, परमेश्‍वरको आज्ञा स्विकार्नु नै परमेश्‍वरप्रतिको समर्पणताको प्रकटीकरण हो, र आफ्नो कर्तव्य पूरा गर्न सबै कुरा त्याग्‍ने मानिसहरू नै परमेश्‍वरका अनुयायी हुन्। समग्रमा, तेरो अघि रहेको सबैभन्दा महत्त्वपूर्ण काम भनेको कर्तव्य राम्ररी पूरा गर्नु हो। सत्यता अभ्यास गर्नु भनेकै त्यही हो, र यो परमेश्‍वरप्रति समर्पित हुनुको प्रकटीकरण हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (४))। लान युले परमेश्‍वरका वचनहरूमा मनन गरिन्, र उनले के महसुस गरिन् भने आफ्ना आमाबुबाप्रति सन्तानी धर्म निभाउनु व्यक्तिले पूरा गर्नुपर्ने एउटा जिम्मेवारी हो, र आफ्नो कर्तव्यमा असर नपर्ने र परिस्थिति अनुकूल भएको अवस्थामा, व्यक्तिले आफ्ना आमाबुबाप्रति सन्तानको जिम्मेवारी पूरा गर्न सक्छ। तर, यदि परिस्थिति अनुकूल छैन भने, व्यक्तिले परिस्थिति र आफूले निर्वाह गरिरहेको कर्तव्यका आधारमा छनौट गर्नुपर्छ। जस्तै, चिनियाँ कम्युनिष्ट पार्टीद्वारा पक्राउ नपरेका र मण्डलीमा महत्त्वपूर्ण कामको जिम्मेवारी नलिएका कतिपय ब्रदर-सिस्टरहरूले, आफ्नो कर्तव्य पूरा गर्दागर्दै आफ्ना आमाबुबाको हेरचाह गर्न सक्छन्। तर कतिपय मानिसहरूले चिनियाँ कम्युनिष्ट पार्टीबाट खेदो र सतावटको सामना गर्छन्, र उनीहरूले घर नछोड्ने हो भने आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्, त्यसैले यस्तो अवस्थामा, उनीहरू आफ्ना आमाबुबाको हेरचाह गर्नेबारे मात्र सोच्न पाउँदैनन्—उनीहरूले आफ्नो कर्तव्यलाई प्राथमिकता दिनुपर्ने हुन्छ। लान युले कसरी उनले घरमा आफ्ना बुबाको हेरचाह गर्न सक्ने भए तापनि, चिनियाँ कम्युनिष्ट पार्टीको प्रहरीले उनलाई सधैँ सताउने र धम्क्याउने गर्नेछ, जसले गर्दा उनले घरमा आफ्नो कर्तव्य पूरा गर्न सक्दिनन् भन्नेबारे सोचिन्। लेखन-पठनको कर्तव्यका लागि मानिसहरूको अभाव थियो, र उनले मण्डलीको कामलाई विचार गर्नुपर्थ्यो। सृजित प्राणीका रूपमा, आफ्ना आमाबुबाप्रतिको जिम्मेवारीबाहेक, मानिसले सृष्टिकर्ताको आराधना समेत गर्नुपर्छ र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। लान युलाई प्रभु येशूले भन्नुभएको कुरा याद आयो: “मलाईभन्दा बढी आफ्ना बुबा वा आमालाई प्रेम गर्ने मेरो लायक हुँदैन(मत्ती १०:३७)। परमेश्‍वर पत्रुस र यूहन्नाले गरे जस्तै गरी मानिसले उहाँलाई सन्तुष्ट पार्न सबै कुरा त्यागून् भन्ने माग गर्नुहुन्छ। उनीहरू प्रभुलाई पछ्याउन र सुसमाचार प्रचार गर्न आफ्ना आमाबुबा र पारिवारिक स्नेहलाई त्याग्ने निर्णय गर्न सक्षम भए, र परमेश्‍वरको नजरमा, उनीहरूमा मानवता थियो। लान यु पहिले के सोच्थिन् भने आफ्ना आमाबुबाप्रति सन्तानी धर्म पूरा नगर्नेहरूमा सबैभन्दा खराब मानवता हुन्छ, तर अब उनले के बुझिन् भने परमेश्‍वर कुनै व्यक्तिमा मानवता छ कि छैन भन्ने कुराको मापन ऊ आफ्ना आमाबुबाप्रति सन्तानी धर्म पूरा गर्छ कि गर्दैन भन्ने आधारमा नभई, बरु ऊ उहाँलाई सन्तुष्ट पार्न एक सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ कि सक्दैन भन्ने आधारमा गर्नुहुन्छ। लान युले उनी कसरी आफ्नो कर्तव्यको सामना गर्दा हिचकिचाउँथिन् र कामकुराबारे अत्यधिक सोच्थिन्, सधैँ आफ्ना बुबाको बारेमा चिन्ता गर्थिन्, र आफ्नो कर्तव्य पूरा गर्न असमर्थ थिइन् भन्नेबारे सोचिन्। तर उनी एकदमै प्रशंसित पितृभक्त छोरी बनिन् भने पनि, उनी परमेश्‍वरप्रति बफादार हुने थिइनन्, र परमेश्‍वरले अनुमोदन गर्नुहुनेथिएन। उनले के महसुस गरिन् भने यस घडीमा सबैभन्दा महत्त्वपूर्ण कुरा एक सृजित प्राणीको कर्तव्य पूरा गर्नु हो, र उनको जीवनको मूल्य यही मात्र हो। यो कुरा मनमा राखेर, लान युले स्वतन्त्रताको भाव महसुस गरिन् र आफ्नो कर्तव्य पूरा गर्न घर छोड्न राजी भइन्।

लान युले आफ्ना बुबासँगको तीन महिनाको पुनर्मिलन अन्त्य गरिन्, र अर्कै ठाउँमा आफ्नो कर्तव्य पूरा गर्न घर छोडिन्। तर भित्रभित्रै, उनी अझै पनि आफ्ना बुबाको लागि चिन्तित र बेचैन थिइन्, उनी दोषी महसुस गर्थिन्, र सधैँ भेट्नका लागि फेरि कहिले घर फर्कन पाइएला भनेर सोचिरहन्थिन्। एक पटक, उनीसँग सहकार्य गरिरहेकी एउटी सिस्टर केही काम मिलाउन घर गइन्, र जब उनले ती सिस्टरले आफ्नो परिवार फेरि भेट्न पाउनेछिन् भन्ने सोचिन्, तब उनको मन शान्त रहन सकेन। उनका आँखाहरू कम्प्युटरमा अडिएका थिए, तर उनको दिमाग बुबा कुर्सीमा बसेर घर फर्किने बाटो हेरिरहनुभएको चित्रले भरियो। के प्रहरीले उहाँलाई सतायो होला? उहाँको अवस्था कस्तो होला? के उहाँको बिमारी बढेको होला? आफ्नाे बुबा बिरामी हुँदाहुँदै घर छोडेकोमा उनका आफन्त र साथीभाइले के भन्लान्? लान युको दिमाग यिनै विचारहरूले भरिएको थियो, र उनले आफूले गर्नैपर्ने काममा ध्यान केन्द्रित गर्न सकिनन्। उनले आफ्नो स्थिति गलत भएको महसुस गरिन्, त्यसैले उनले परमेश्‍वरलाई प्रार्थना गरिन्। आफ्ना आत्मिक भक्तिको समयमा, उनले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढिन्, जुन उनका लागि निकै उपयोगी थिए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “धेरैजसो मानिसहरू कर्तव्य निभाउनलाई घर छोड्न रोज्‍नुको कारण भनेको केही हदसम्म त्यो व्यापक वस्तुगत परिस्थिति हो, जसले तिनीहरूलाई आफ्ना आमाबुबालाई छाडेर जान बाध्य तुल्याउँछ; तिनीहरू आमाबुबालाई हेरचाह गर्न र साथ दिन तिनीहरूको छेउमा बस्न सक्दैनन्। तिनीहरूले इच्छापूर्वक आमाबुबालाई छाड्न रोज्छन् भन्‍ने होइन; यो त वस्तुगत कारण हो। अर्को कुरा, व्यक्तिपरक रूपमा भन्नुपर्दा, तँ तेरा कर्तव्यहरू निभाउन बाहिर जानुको कारण तैँले आफ्ना आमाबुबाप्रतिको जिम्मेवारी पन्छाउनलाई होइन, त्यो परमेश्‍वरको बोलावटले गर्दा हो। परमेश्‍वरको कामसँग सहकार्य गर्न, उहाँको बोलावट स्विकार्न, र सृजित प्राणीका कर्तव्यहरू निभाउनको निम्ति, तँसित आमाबुबालाई छोड्नुबाहेक अरू विकल्प थिएन; तँ तिनीहरूलाई साथ दिन र हेरचाह गर्न तिनीहरूको छेउमै बसिरहन मिल्थेन। तैँले जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छोडेको त होइनस् नि, होइन र? जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छाड्नु अनि परमेश्‍वरको बोलावट स्विकार्न र तेरा कर्तव्यहरू निभाउन तिनीहरूलाई छोड्नुपर्ने हुनु—के यी दुई फरक प्रकृतिका कुरा होइनन् र? (हजुर।) तेरो हृदयमा, तँसित आमाबुबाका लागि भावनात्मक सम्बन्ध र सोचहरू हुन्छन्; तेरो भावना खोक्रो हुँदैन। यदि वस्तुगत परिस्थितिहरूले साथ दिन्छन् र तँ आफ्नो कर्तव्य पनि निभाउँदै तिनीहरूको छेउमा रहन सक्छस् भने, तँ तिनीहरूको छेउमा बस्न इच्छुक हुनेथिस्, र नियमित रूपमा तिनीहरूको ख्याल गरिरहेको र आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुनेथिस्। तर वस्तुगत परिस्थितिका कारणले गर्दा तैँले तिनीहरूलाई छोड्नैपर्छ; तँ तिनीहरूको छेउमा बस्न मिल्दैन। यो होइन कि तँ तिनीहरूको बच्चा भएर आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्, बरु यो हो कि तैँले त्यो पूरा गर्नै सक्दैनस्। … खासमा, तँ आमाबुबाप्रति कर्तव्यनिष्ठ नभएको होइनस्। तँ आफ्ना आमाबुबाबारे चासो राख्न वा तिनीहरूप्रतिका जिम्मेवारीहरू पूरा गर्नसमेत नचाहने गरी मानवता नै नभएको बिन्दुमा पुगेको छस् भन्ने होइन। विविध वस्तुगत कारणहरूले गर्दा नै तँ आफ्नो जिम्मेवारी पूरा गर्न असक्षम भएको होस्, त्यसैले तँ आमाबुबाप्रति कर्तव्यनिष्ठ नभएको होइनस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। परमेश्‍वरका वचनहरू एकदमै स्पष्ट थिए। मानिसले परमेश्‍वरमा विश्वास गरेका कारण आफ्नो कर्तव्य पूरा गर्न आफ्ना आमाबुबालाई छोड्नु कुपुत्र वा कुपुत्री बन्नु होइन, किनभने उनीहरूको मनसाय जिम्मेवारीबाट भाग्ने नभई, बरु एक सृजित प्राणीको कर्तव्य पूरा गर्ने हो। उदाहरणका लागि, अनुग्रहको युगका ती इसाईहरूले सारा संसारमा परमेश्‍वरको सुसमाचार फैलाउन आफ्ना आमाबुबा र सन्तान छोडे, जुन मानवजातिमाझ सबैभन्दा न्यायपूर्ण कुरा थियो। लान यु पनि आफ्ना बुबाप्रतिको सन्तानी धर्म पूरा गर्न चाहन्थिन्, र आफ्ना बुबाको साथमा रहेर उहाँलाई शान्तिपूर्वक अन्तिम वर्षहरू बिताउन मद्दत गर्ने आशा गर्थिन्। उनी आफ्नो पूरै परिवार भेला भएर परमेश्‍वरका वचनहरू पढ्न र एकअर्काका अनुभवात्मक बुझाइ बाँड्न पनि चाहन्थिन्। तर उनी धार्मिक स्वतन्त्रता नभएको नास्तिक देशमा बसेकी हुनाले, चिनियाँ कम्युनिष्ट पार्टीले मानिसहरूलाई परमेश्‍वरमा विश्वास गर्न वा सही मार्गमा हिँड्न दिँदैनथ्यो, र यदि उनी आफ्ना बुबाको छेउमा बसिन् भने, आफ्नो कर्तव्य पूरा गर्न असमर्थ हुने थिइन्। यसबाहेक, परमेश्‍वरको काम समाप्त हुन लागेको छ, महाविपत्तिहरू सुरु भइसकेका छन्, र अझै पनि परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार नगरेका धेरै मानिसहरू छन्। परमेश्‍वरको सुसमाचार प्रचार गर्नु र धेरै मानिसहरूलाई उहाँको सामु ल्याउनु उनको कर्तव्य थियो, र उनी, आफ्नो जिम्मेवारीबाट पन्छिएर आफ्ना आमाबुबाप्रति सन्तानी कर्तव्य पूरा गर्न नचाहने ती मानिसहरूभन्दा फरक थिइन्। यी कुराहरू बुझेपछि, उनको हृदय अब त्यति धेरै अशान्त वा व्याकुल थिएन। पछि, आफ्नो कर्तव्य पूरा गरेर बचेको खाली समयमा, लान यु आफ्ना बुबालाई आफ्नो स्थितिबारे जानकारी दिन पत्र लेख्थिन्। केही समयपछि, उनले आफ्ना बुबाबाट एउटा पत्र प्राप्त गरिन्, जसमा उनकी कजनले उहाँको पित्तथैलीको पत्थरीको उपचारका लागि औषधिको एउटा प्रेस्क्रिप्सन पाएकी, र उहाँले अहिले दोस्रो चरणको औषधि खाइरहनुभएको कुरा बताइएको थियो। उहाँको पित्तथैलीका पत्थरीहरू पहिलेभन्दा साना थिए; उहाँलाई पहिले जस्तो दुखाइ थिएन, र उहाँको अवस्थामा धेरै सुधार आएको थियो। यो पढेपछि, लान युका आँखा आँसुले भरिए, र उनले परमेश्‍वरको कृपा र आशिष् महसुस गरिन्।

एक पटक, लान यु अतिथिसत्कारक सिस्टरसँग कुरा गर्दै थिइन्, र ती सिस्टरले उनका छोराछोरीले उनलाई बेलाबेलामा पैसा पठाइदिने, र उनीहरू उनलाई भेट्न आउँदा, उनका लागि सामानहरू किनिदिने बताइन्। लान युले कसरी आफू लगभग एक वर्षदेखि घरबाट टाढा बसेकी तर चिनियाँ कम्युनिष्ट पार्टीको सतावटका कारण आफ्ना बुबालाई फोन गर्ने वा उहाँका लागि लुगा वा पौष्टिक खानेकुरा किनिदिने आँट गरेकी थिइनन् भन्नेबारे सोचिन्। आफू हुर्किसकेकी भए तापनि छोरीका रूपमा आफूले आफ्नाे बुबाका लागि कहिल्यै केही गरेकी थिइनन्। उनले आफूलाई निरन्तर आफ्ना बुबाप्रति ऋणी महसुस गरिन्, र उनको हृदयमा एक प्रकारको असहजता थियो। पछि, उनले किन आफूलाई सधैँ बुबाप्रति ऋणी महसुस हुन्छ भनी मनन गर्दै खोजी गरिन्। उनले परमेश्‍वरका वचनहरू पढिन् र आफ्नो समस्याको मूल जड पत्ता लगाइन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “चिनियाँ परम्परागत संस्कृतिको सधाइमा परेर चिनियाँ मानिसहरूले उनीहरूको परम्परागत धारणाहरूमा आफ्‍ना आमाबुबाप्रति भक्तिभाव हुनुपर्छ भन्‍ने विश्‍वास गर्छन्। छोराछोरीको धर्म पालन नगर्ने जोसुकै अबफादार सन्तान हो। मानिसहरू सानै हुँदादेखि यी विचारहरू तिनीहरूको मनमस्तिष्कमा हालिएका हुन्छन्, र लगभग हरेक परिवारमा, साथै हरेक स्कूल र समग्र समाजमा यिनै कुराहरू सिकाइन्छ। जब व्यक्तिको मगजमा यस्ता कुरा भरिएको हुन्छ, उसले ‘आमाबुबाप्रतिको भक्ति कुनै पनि कुराभन्दा महत्त्वपूर्ण हो। यदि मैले यस कुराको पालना गरिनँ भने, म असल व्यक्ति बन्‍नेछैन—म अबफादार सन्तान हुनेछु, अनि मलाई समाजले निन्दा गर्नेछ। म विवेक नभएको व्यक्ति हुनेछु,’ भनेर सोच्छ। के यो दृष्टिकोण सही छ? मानिसहरूले परमेश्‍वरद्वारा व्यक्त गरिएका कति धेरै सत्यता देखेका छन्—के परमेश्‍वरले व्यक्तिले आफ्‍ना आमाबुबाप्रति भक्तिभाव देखाउनुपर्छ भनेर माग भन्‍नुभएको छ? के यो परमेश्‍वरका विश्‍वासीहरूले बुझ्‍नैपर्ने सत्यता हो? अहँ, होइन। परमेश्‍वरले केही सिद्धान्तहरूबारे मात्रै सङ्गति गर्नुभएको छ। परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न माग गर्छन्? परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो। परमेश्‍वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यिनीहरू हामीले पनि प्रेम गर्नुपर्ने मानिस हुन्। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वर घिन गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घिन गर्नुपर्छ। परमेश्‍वर मानिसबाट यही माग गर्नुहुन्छ। … शैतानले यस प्रकारका परम्परागत संस्कृति र नैतिकताका धारणाहरू प्रयोग गरी तेरो सोचविचार, तेरो दिमाग, र तेरो हृदयलाई बन्धनमा पार्छ, अनि तँ परमेश्‍वरका वचनहरू स्वीकार गर्न नसक्‍ने अवस्थामा पुग्छस्; तँ शैतानका यी कुराहरूको अधीनमा परेको छस्, र तँलाई परमेश्‍वरका वचनहरू स्विकार्न नसक्‍ने तुल्याइएको छ। तैँले परमेश्‍वरका वचनहरू अभ्यास गर्न चाहँदा, यी कुराहरूले तँभित्र बाधा पैदा गर्छन्, र तँलाई सत्यता र परमेश्‍वरका मागहरूको विरोध गर्ने र आफैलाई यो परम्परागत संस्कृतिको बन्धनबाट छुटाउन नसक्‍ने बनाउँछन्। केही समयसम्‍म संघर्ष गरिसकेपछि, तैँले सम्झौता गर्छस्: तैँले नैतिकताका परम्‍परागत धारणाहरू सही र सत्यताअनुरूप छन् भनी विश्‍वास गर्न रुचाउँछस्, त्यसकारण तैँले परमेश्‍वरका वचनहरूलाई इन्कार गर्छस् वा त्याग्छस्। तैँले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा स्वीकार गर्दैनस् र तैँले मुक्ति पाउने बारेमा केही पनि सोच्दैनस्, किनभने तैँले अझै पनि यो संसारमा जिउनु छ, र यी कुराहरूमा भर परेर मात्र बाँच्न सकिन्छ भन्‍ने सोचिरहेको हुन्छस्। समाजले गरेको निन्दा सहन नसकेर, तँ सत्यता र परमेश्‍वरका वचनहरू त्याग्‍न रोज्छस्, आफूलाई नैतिकताका परम्‍परागत धारणाहरू र शैतानको प्रभावमा सुम्पन्छस्, परमेश्‍वरलाई चिढ्याउन र सत्यता अभ्यास नगर्न रुचाउँछस्। मलाई भन् त, के मानिस दयनीय छैन र? के उसलाई परमेश्‍वरको मुक्ति चाहिएको छैन र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। उनले परमेश्‍वरका वचनहरूबाट के महसुस गरिन् भने बाल्यकालदेखि नै उनी “सबै सद्गुणहरूमध्ये सन्तानी माय नै सबैभन्दा ठुलो पुण्य हो” र “आमाबुबाले मलाई सानोमा हुर्काउनुभयो, त्यसैले मैले उहाँहरूको बुढेसकालमा हेरचाह गर्नैपर्छ” जस्ता परम्परागत विचारहरूबाट प्रभावित भएकी थिइन्। उनले के सोचिन् भने उनका आमाबुबाले उनलाई हुर्काउन यति धेरै वर्ष प्रयास गरेकाले, उनले उनीहरूप्रति सन्तानी कर्तव्य पूरा गर्नुपर्छ, र जब उनीहरू बूढाबुढी हुन्छन्, उनले उनीहरूको हेरचाह गर्नुपर्छ र उनीहरूलाई अन्तिम बिदाइ गर्नुपर्छ, र विवेक हुनुको अर्थ यही हो भन्ने महसुस गरिन्। त्यसैले उनी आफ्नो कर्तव्य पूरा गर्न घर छोड्न हिचकिचाइरहेकी थिइन्, किनभने उनलाई आफूलाई कुपुत्री र कृतघ्न भनेर आरोप लगाइन्छ कि भन्ने डर थियो। आफ्नो सहकर्मीलाई आमाबुबा भेट्न घर फर्केको देखेर, लान युलाई ईर्ष्या लाग्यो, र आफ्ना बुबाप्रतिको ऋणीपनको भावनामा डुबेर, उनले आफ्नो कर्तव्यमा ध्यान केन्द्रित गर्न सकिनन्। उनले के महसुस गरिन् भने शैतानले मानिसहरूलाई भ्रमित पार्न र नियन्त्रण गर्न ठ्याक्कै यस्तै सुन्दा ठिकै लाग्ने विचार र धारणाहरू प्रयोग गर्छ, जसले गर्दा मानिसहरू आफ्ना आमाबुबाको दयाको बदला चुकाउने बारेमा मात्र सोच्छन् र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्दैनन्। उनी यी परम्परागत विचारहरू मै अल्झिरहने हो भने, उनी अन्तत: शैतानद्वारा धोका र चोट पाउने मात्र हुने थिइन्, र अन्तमा, उनी परमेश्‍वरबाट टाढा हुने, परमेश्‍वरलाई धोका दिने, र अन्ततः परमेश्‍वरद्वारा त्यागिने थिइन्। शैतान साँच्चै नै धूर्त र द्वेषपूर्ण छ!

त्यसपछि लान युले परमेश्‍वरका अरू वचनहरू पढिन् र अभ्यासका मार्गहरू प्राप्त गरिन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जे भए पनि, तँलाई हुर्काएर तेरा आमाबुबाले आफ्‍नो जिम्मेवारी र दायित्व पूरा गरिरहेका हुन्छन्। तँलाई हुर्काएर वयस्क बनाउनु तिनीहरूको दायित्व र जिम्मेवारी हो, र यसलाई दया-माया भन्‍न मिल्दैन। यसलाई दया भन्‍न नमिल्ने भएपछि, के यो तैँले आनन्द लिनुपर्ने कुरा हो भन्न सकिन्छ? (सकिन्छ।) यो तैँले पाउनुपर्ने एक प्रकारको अधिकार हो। तँलाई तेरा आमाबुबाले हुर्काउनुपर्छ, किनभने तँ वयस्क हुनुभन्दा पहिले, तैँले खेल्ने हुर्कँदै गरेको बच्‍चाको भूमिका खेल्छस्। त्यसकारण, तेरा आमाबुबाले तँप्रतिको एक प्रकारको जिम्मेवारी मात्रै पूरा गरिरहेका हुन्छन्, र तैँले त्यसलाई लिइरहेको हुन्छस् मात्रै, तर तैँले तिनीहरूबाट पक्‍कै पनि अनुग्रह वा दया-माया प्राप्त गरिरहेको हुँदैनस्। कुनै पनि जीवित प्राणीका लागि, सन्तान जन्माउनु र तिनको हेरचाह गर्नु, प्रजनन गर्नु, र अर्को पुस्तालाई हुर्काउनु भनेको एक प्रकारको जिम्मेवारी हो। उदाहरणका लागि, चराचुरुङ्गी, गाईवस्तु, भेडा, र बाघले पनि प्रजनन गरेपछि आफ्नो सन्तानको हेरचाह गर्नुपर्छ। आफ्नो सन्तानलाई नहुर्काउने कुनै जीवित प्राणी छैन। केही अपवादहरू हुन सक्छन्, तर हाम्रा लागि ती अज्ञात छन्। यो जीवित प्राणीहरूको अस्तित्वमा रहेको प्राकृतिक अवस्था नै हो, यो जीवित प्राणीहरूको अन्तर्निहित प्रवृत्ति हो, र यसलाई दया-मायाका रूपमा लिन सकिँदैन। तिनीहरूले त सृष्टिकर्ताले जनावरहरू र मानवजातिका लागि तोक्‍नुभएको नियमको पालना मात्रै गरिरहेका हुन्छन्। त्यसकारण, तेरा आमाबुबाले तँलाई हुर्काउनु भनेको एक प्रकारको दया-माया होइन। यसका आधारमा के भन्‍न सकिन्छ भने तेरा आमाबुबा तेरा ऋणदाता होइनन्। तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्। तिनीहरूले तेरा लागि जतिसुकै रगत-पसिना समर्पित गरे पनि र तँमा जतिसुकै पैसा खर्च गरे पनि, तिनीहरूले तँलाई त्यसको भरपाई माग्‍नु हुँदैन, किनभने आमाबुबाका रूपमा तिनीहरूको जिम्मेवारी यही नै हो। यो जिम्मेवारी र दायित्व भएको हुनाले, यो निःशुल्क हुनुपर्छ, र तिनीहरूले भरपाई माग्‍नु हुँदैन। तँलाई हुर्काएर, तेरा आमाबुबाले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका थिए, र यसको ऋण तिर्नु पर्दैन, र यो लेनदेनको कार्य बन्‍नु हुँदैन। त्यसकारण, तैँले भरपाई गर्ने विचारअनुसार आफ्ना आमाबुबासँग व्यवहार गर्ने वा तिनीहरूसँगको सम्‍बन्धलाई सम्हाल्ने गर्नु हुँदैन। यदि तैँले यस विचारका आधारमा आफ्ना आमाबुबासँग व्यवहार गर्छस्, तिनीहरूप्रतिको ऋण तिर्छस्, र तिनीहरूसँगको सम्‍बन्धलाई सम्हाल्छस् भने, त्यो अमानवीय हुन्छ। साथ-साथै, यसले तँलाई तेरा दैहिक भावनाहरूको नियन्त्रण र बन्धनमा पार्ने सम्‍भावना हुन्छ, र तँलाई यी उल्झनहरूबाट बाहिर निस्कन गाह्रो हुनेछ, यहाँसम्‍म कि तैँले आफ्नो बाटो बिराउनसमेत सक्छस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्‍वरका वचनहरू पढेपछि, उनले के बुझिन् भने छोराछोरी हुर्काउनु आमाबुबाको जिम्मेवारीको एक हिस्सा हो र यो परमेश्‍वरले मानिसहरूका लागि तोक्नुभएको एक नियम र सिद्धान्त हो। उनका बुबाले उनलाई हुर्काएर परमेश्‍वरका सामु ल्याउनुभएको थियो, र यो परमेश्‍वरले उहाँलाई दिनुभएको जिम्मेवारी थियो। उनले आफ्ना आमाबुबाले उनलाई हुर्काउनुभएको र शिक्षा दिनुभएको कुरालाई दयाको रूपमा हेर्नु हुँदैन, न त उनले निरन्तर रूपमा त्यसको बदला चुकाउन प्रयास गर्नेबारे नै सोच्नुपर्छ, बरु, त्यसको सट्टा उनले यसलाई सही तरिकाले हेर्नुपर्छ। उनले परमेश्‍वरले नै उनका आमाबुबा र परिवारको प्रबन्ध गर्नुभएको थियो, र परमेश्‍वरले नै उनको हेरचाह र सुरक्षा गरिरहनुभएको थियो भन्ने पनि महसुस गरिन्। उनले आफू १८ वर्षकी हुँदाको कुरा सम्झिइन्। एक पटक, काम सकेर घर फर्कने क्रममा, उनको मोटरसाइकल सडक छेउमा फोहोरको ठूलो थुप्रोमा ठोक्कियो। उनी हावामा पूरै फनक्क घुमेर सडकको बीचमा उत्तानो परेर झरिन्, ठीक त्यही बेला एउटा ठूलो ट्रक आइरहेको थियो। चालकले जोडले ब्रेक लगायो, र उनलाई कुल्चिनुभन्दा केही फिट अगाडि रोकियो। त्यो जीवन-मरणको क्षणमा, उनका आमाबुबा नै उनको छेउमा थिए भनेपनि, उनीहरूले उनलाई बचाउन सक्ने थिएनन्। पर्दा पछाडिबाट, परमेश्‍वरले नै उनलाई सुरक्षित राख्नुभयो, र बाँच्न दिनुभयो। उनले आफूले जेलमा बिताएका वर्षहरूका बारेमा पनि सोचिन्। उनका बुबाले उनको लागि चिन्ता मात्र गर्न सक्नुहुन्थ्यो, तर उहाँ केही गर्न असमर्थ हुनुहुन्थ्यो। उनी आफूले नकारात्मक र कमजोर महसुस गर्दा, परमेश्‍वरका वचनका भजनहरू सम्झन्थिन्, र परमेश्‍वरका वचनहरूको मार्गदर्शनद्वारा, उनले परमेश्‍वरका अभिप्रायहरू बुझिन् र आस्था प्राप्त गरिन्। उनले परमेश्‍वर मात्र उनको साँचो भरोसा हुनुहुन्छ, र उनी परमेश्‍वरप्रति नै सबैभन्दा ऋणी छिन्, अनि उनी परमेश्‍वरमा समर्पित हुनुपर्छ र परमेश्‍वरको प्रेमको बदला चुकाउन आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने अनुभव गरिन्। उनले आफ्नो कर्तव्य पूरा नगरी आफ्ना आमाबुबाप्रतिको धर्म निभाउने सन्तान बन्ने बारेमा मात्र सोचेकी भए, त्यो मानवता नभएको व्यक्तिको व्यवहार हुने थियो। यी कुराहरू बुझेपछि, उनले आफ्नो हृदयमा अभ्यासका लागि स्पष्ट मार्ग प्राप्त गरिन्, र उनी परमेश्‍वरको हृदयलाई सान्त्वना दिन आफ्नो कर्तव्य राम्ररी पूरा गर्न तत्पर भइन्।

उनले थाहै नपाई, उनले आफ्ना बुबालाई नदेखेको लगभग दुई वर्ष बितिसकेको थियो। उनी कहिलेकाहीँ उहाँबाट पत्रहरू प्राप्त गर्थिन्, जसमा उहाँ प्रहरीले अझै पनि उहाँलाई सताइरहेको, उहाँ बिरामी भएर औषधि खाइरहनुभएको, र कहिलेकाहीँ उहाँले नकारात्मक, हराएको र एक्लो महसुस गर्ने बताउनुहुन्थ्यो। यी कुराहरू पढेपछि, उनी आफ्ना बुबाको बारेमा केही चिन्तित र बेचैन महसुस गर्थिन्, तर त्यसपछि उनी परमेश्‍वरका वचनहरू सम्झन्थिन्: “तेरा आमाबुबा परमेश्‍वरको हातमा छन्, त्यसैले अझै चिन्ता लिनुपर्ने कारण के छ र? व्यक्तिले लिने कुनै पनि चिन्ता अनावश्यक कुरा हो। हरव्यक्ति अन्त्यसम्‍मै परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूअनुसार सहजसाथ जिउनेछ, बिनाकुनै विचलन आफ्नो मार्गको अन्त्यसम्म पुग्नेछ। त्यसैले, मानिसहरूले यस मामलाबारे अबउप्रान्त चिन्ता लिनु आवश्यक छैन। तँ कर्तव्यनिष्ठ सन्तान होस् होइनस्, तैँले आमाबुबाप्रतिका तेरा जिम्मेवारीहरू पूरा गरेको छस् छैनस्, वा तैँले तेरा आमाबुबाको मायाको ऋण तिर्नुपर्छ पर्दैन—यी तैँले सोच्नुपर्ने कुराहरू होइनन्; ती तैँले त्याग्नुपर्ने कुराहरू हुन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। उनले के बुझिन् भने उनका बुबा पनि परमेश्‍वरकै हातमा हुनुहुन्छ, उहाँले जेसुकै अनुभव गर्नुपर्ने हो, ती सबै परमेश्‍वरले प्रबन्ध गर्नुभएको हुन्छ, र परमेश्‍वरले जे प्रबन्ध गर्नुहुन्छ, त्यो सधैँ उपयुक्त हुन्छ। लान युले कसरी आफू घरमा हुँदा, आफ्नो बुबा पित्तथैलीको गम्भीर दुखाइबाट पीडित हुनुभएको थियो, तर आफूले दुःखी महसुस गरेपनि, उनले केही मद्दत गर्न सकेकी थिइनन् भन्नेबारे सोचिन्। उनले गर्न सकेको भनेको खालि आफ्ना बुबालाई औषधि खान सम्झाउनु बाहेक अरू केही थिएन। उनले उनका बुबा कसरी नकारात्मक र कमजोर हुनुहुन्थ्यो, आत्महत्या गर्न समेत चाहनुहुन्थ्यो, र उनी उहाँको छेउमा नहुँदा, परमेश्‍वरले नै उहाँलाई परमेश्‍वरका अभिप्रायहरू बुझ्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुभएको थियो भन्नेबारे पनि सोचिन्। परमेश्‍वरका वचनहरूले नै उहाँलाई आस्था दिँदै र उहाँको स्थिति सुधार्दै उहाँलाई डोऱ्याउनुभयो र मार्गदर्शन दिनुभयो। उनले के बुझिन् भने परमेश्‍वर सधैँ पर्दा पछाडिबाट मानिसहरूको हेरचाह र सुरक्षा गरिरहनुभएको हुन्छ, उनका चिन्ताहरू अनावश्यक छन्, र उनले आफ्ना बुबालाई परमेश्‍वरमा सुम्पनुपर्छ र केवल आफ्नो कर्तव्य राम्ररी पूरा गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। जब उनले यसरी सोचिन्, उनले आफ्ना बुबाप्रतिको आफ्नो चिन्ता र बेचैनी त्याग्न सकिन्। उनीसँग समय हुँदा, उनी आफ्ना बुबालाई पत्र लेख्थिन्, आफ्नो स्थितिबारे कुरा गर्थिन्, आफ्ना पछिल्ला अन्तर्दृष्टि र प्राप्तिहरू बताउँथिन्, र जब उनका बुबाको स्थिति खराब हुन्थ्यो, उनी उहाँसँग परमेश्‍वरका वचनहरू सङ्गति गर्थिन्। लान यु अब आफ्ना बुबाप्रति ऋणी भएको स्थितिमा डुब्न छोडिन्; उनी आफ्नो हृदय शान्त पार्न र आफ्नो कर्तव्यमा ध्यान केन्द्रित गर्न सक्षम भइन्। उनले आफ्नो हृदयको गहिराइबाट परमेश्‍वरको मार्गदर्शनका लागि उहाँलाई धन्यवाद दिइन्!

अघिल्लो: ४९. म अब आफ्नो बुढेसकालको हेरचाहका लागि छोरामा भर पर्दिनँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६३. अहङ्कारी स्वभाव परिवर्तन गर्न सकिँदैन भनेर कसले भन्छ?

झाओ फान, चीनपरमेश्‍वरका वचनहरूले भन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्