१००. अल्छीपनलाई आफ्नो बरबादीको कारण नबनाऊ
२०२४ को जुलाईमा, म मण्डलीमा लेखन-पठनको कामकी सुपरिवेक्षक थिएँ। एक जना अगुवा पक्राउ पर्नुभएकाले, मेरो सहकर्मी र मैले सुरक्षा जोखिमको सामना गर्नुपर्यो, त्यसैले हामीले घरमै बसेर पत्रहरूमार्फत कामको अनुगमन गर्नुपर्यो। सुरुमा, म अझै पनि सक्रिय रूपमा कामको अनुगमन गर्न र टोलीका समस्याहरूबारे छलफल गर्न पत्रहरू लेख्न सक्थेँ। टोलीका सदस्यहरू जस्तोसुकै स्थितिमा भए पनि, तिनलाई समाधान गर्नका लागि म परमेश्वरका वचनहरू पनि खोज्न सक्थेँ, अनि लागू गर्नुपर्ने कुनै काम हुँदा, म त्यो लागू गर्न हतार गर्थेँ। म अलि व्यस्त भए तापनि, मलाई हृदयमा त्यति थकित महसुस भएको थिएन। मेरो कार्यभार बढ्दै जाँदा, र केही समूहमा समाधान गर्नुपर्ने समस्याहरू देखा पर्दै जाँदा, मैले मनमनै सोचेँ, “हरेक काममा अनुगमन र विस्तृत कुराकानी गर्नुपर्यो भने, त्यसमा कति धेरै सोच र मानसिक प्रयास लाग्ला? यसबाहेक, यति धेरै कामका सबै विवरणको अनुगमन गर्नु त अति नै हुन्छ!” मैले एउटा समूहका ब्रदर-सिस्टरहरूले धेरै वर्षदेखि लेखन-पठनको कर्तव्य निर्वाह गर्दै आएको, केही सिद्धान्तमा पोख्त भएको, अनि आफ्नो कर्तव्यमा केही नतिजा हासिल गरेकोबारे सोचेँ। मलाई लाग्यो, मैले त्यो समूहबारे त्यति धेरै चिन्ता गर्नु आवश्यक छैन, त्यसैले, मैले त्यसपछि तिनीहरूको काममा खासै ध्यान दिइनँ। कहिलेकाहीँ मैले तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै कठिनाइ आइपरेको छ कि भनेर विस्तृत रूपमा बुझ्नेबारे सोचेँ, तर फेरि मनमनै विचार गरेँ, “यी विवरणहरू बुझ्न धेरै प्रयास र सोचविचार लाग्छ। छोडिदिऊँ। यी मानिसहरूको पेसागत सीप राम्रै छ र केही कार्य अनुभव पनि छ, त्यसैले तिनीहरूले आफैँ गरून्।” त्यसपछि, मैले त्यो समूहको कामलाई फेरि कहिल्यै विस्तृत रूपमा बुझिनँ वा पछ्याइनँ। केही समयपछि, मैले त्यो समूहले धेरै दिनदेखि कुनै पनि प्रवचन पेस नगरेको देखेँ, त्यसैले के भइरहेको छ भनेर थाहा पाउन मैले तुरुन्तै तिनीहरूलाई पत्र लेखेँ। समूह अगुवाले हालसालै प्राप्त भएका प्रवचनहरूको गुणस्तर खराब भएको र धेरै पेस गर्न नसकिएको जानकारी दिइन्। कामको नतिजा खराब भएको देखेर, उनको स्थिति पनि अलिक दिक्दार थियो। मैले समूह अगुवासँग संक्षिप्त रूपमा सङ्गति गरेँ, र उनलाई बोझ लिन र विचलनहरूको सारांश निकाल्न सबैलाई अगुवाइ गर्न भनेँ। पछि, मैले सुरुमा त यो समूहको कामबारे अझ विस्तृत रूपमा बुझ्न चाहेकी थिएँ, तर फेरि सोचेँ, “मैले केही काम गर्न अझै बाँकी छ। यी समस्याहरू बुझ्न र समाधान गर्न धेरै सोच र प्रयास लाग्नेछ। समूह अगुवालाई केही सिद्धान्त थाहा छ, अनि अगुवाहरूले हामीले पेस गरेका प्रवचनहरूमा भएका समस्याहरूको सारांश पनि निकालिदिनुभएको छ। उहाँहरूले छलफल गरेको मार्ग एकदमै स्पष्ट थियो, त्यसैले म तिनीहरूलाई आफैँ अध्ययन गर्न र संलग्न हुन दिन सक्छु।” यसरी, मैले अगुवाहरूबाट आएका पत्रहरू समूहमा पठाइदिने मात्र गरेँ, र तिनीहरूसँग बसेर समस्या र विचलनहरूको सारांश निकालिनँ। तिनीहरूले कसरी अध्ययन गरिरहेका छन् र सिकेका कुराहरू लागू गर्न सक्छन् कि सक्दैनन् जस्ता कामको विवरणबारे मैले सोधिनँ।
धेरै समय नबित्दै, अगुवाहरूबाट एउटा पत्र आयो जसमा प्रवचन टोलीको काम सुस्त गतिमा अघि बढिरहेको र तिनीहरूले पेस गरिरहेका प्रवचनहरूको गुणस्तर पनि खराब भएको बताइएको थियो। उहाँहरूले मलाई तुरुन्तै कारण पत्ता लगाउन भन्नुभयो। यो पत्र पढेपछि, मैले मनमा आत्म-ग्लानि महसुस गरेँ र त्यसपछि मात्र मैले आत्मचिन्तन थालेँ। मैले परमेश्वरका वचनहरू देखेँ: “झूटा अगुवाहरूको कामको प्रमुख विशेषता भनेको धर्मसिद्धान्तबारे बकबक गरिरहने र नाराहरू भट्याइरहने हो। आफ्ना आदेशहरू जारी गरिसकेपछि, तिनीहरूले त्यस मामलाबाट हात झिकिहाल्छन्। तिनीहरूले कामको त्यसपछिको विकासबारे प्रश्नहरू सोध्दैनन्; तिनीहरूले कुनै समस्या, विचलन, वा कठिनाइहरू उत्पन्न भए कि भनेर सोध्दैनन्। तिनीहरूले काम अह्राउनेबित्तिकै आफ्नो काम सकिएको मान्छन्। … कामको अनुगमन नगर्नु, काम अह्राइसकेपछि थप केही नगर्नु, यसबाट हात झिक्नु—यो झूटा अगुवाहरूको कामकुरा गर्ने तरिका हो। कामको अनुगमन नगर्नु वा त्यस सम्बन्धमा निर्देशन प्रदान नगर्नु, उत्पन्न भएका समस्याहरूबारे सोधपुछ नगर्नु वा तिनलाई समाधान नगर्नु, र कामको प्रगति वा प्रभावकारिता बोध नगर्नु—यी पनि झूटा अगुवाहरूका प्रकटीकरण नै हुन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (४))। “झूटा अगुवाहरू वास्तविक काम गर्न सक्दैनन्—तिनीहरूले जे गरे पनि त्यसको सुरुवात त दह्रिलै हुन्छ तर अन्त्यमा त्यो विस्तारै कमजोर हुँदै जान्छ। तिनीहरूले खेल्ने भूमिका भनेको समारोहहरूको उद्घाटन गर्ने मात्रै हो: तिनीहरूले नाराहरू गाउँछन् र धर्मसिद्धान्तहरू प्रचार गर्छन्, र जब तिनीहरूले अरूलाई काम सुम्पेका र यसको जिम्मेवारी कसले लिने भन्नेबारे बन्दोबस्त गरेका हुन्छन्, तब तिनीहरूका लागि यो काम सकिन्छ। तिनीहरू चीनका ग्रामीण क्षेत्रमा पाइने चर्को आवाजमा घन्किने लाउडस्पीकरजस्तै हुन्छन्—तिनीहरूले खेल्ने भूमिका यति मात्र हो। तिनीहरूले थोरै प्रारम्भिक काम मात्रै गर्छन्; बाँकी काममा, तिनीहरू कहीँकतै देखिँदैनन्। जहाँसम्म हरेक काम कसरी अघि बढिरहेको छ, यो सिद्धान्तहरूअनुरूप छ कि छैन, र यो प्रभावकारी छ कि छैन भन्नेजस्ता निश्चित प्रश्नहरूको कुरा छ—तिनीहरूलाई तिनको उत्तर थाहा हुँदैन। तिनीहरू कहिल्यै पनि तल्लो तहसँग गहन रूपमा संलग्न हुने र कार्यस्थलमै गएर हरेक कामको प्रगति र विवरणहरूबारे बुझ्ने र बोध गर्ने गर्दैनन्। त्यसकारण, झूटा अगुवाहरूले अगुवाका रूपमा आफ्नो कार्यकालमा अवरोध र बाधाहरू निम्त्याउने, वा विभिन्न दुष्कर्महरू गर्ने उद्देश्य नराख्न सक्छन्, तर वास्तवमा तिनीहरूले काम ठप्प पार्छन्, मण्डलीको हरेक कामको प्रगतिमा ढिलाइ गराउँछन्, र परमेश्वरका चुनिएका मानिसहरूका लागि आफ्नो कर्तव्य राम्ररी पूरा गर्न र जीवन प्रवेश प्राप्त गर्न असम्भव तुल्याउँछन्। यसरी काम गरेर, तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई परमेश्वरमाथिको विश्वासको सही मार्गमा कसरी डोर्याउन सक्छन् होला र? यसले देखाउँछ कि झूटा अगुवाहरूले कुनै पनि वास्तविक काम गर्दैनन्। तिनीहरू मण्डलीको काम सामान्य रूपमा अघि बढ्ने सुनिश्चित गर्नका निम्ति आफूले जिम्मेवारी लिनुपर्ने कामको अनुगमन गर्न वा मार्गदर्शन र सुपरिवेक्षण प्रदान गर्न असफल हुन्छन्; तिनीहरू अगुवा र कामदारहरूका अपेक्षित कार्यहरू निर्वाह गर्न असफल हुन्छन्, र तिनीहरू आफ्नो बफादारी वा जिम्मेवारीहरू पूरा गर्न असफल हुन्छन्। यसले पुष्टि गर्छ कि झूटा अगुवाहरू आफ्नो कर्तव्य निर्वाहमा बफादार हुँदैनन्, तिनीहरू झारा मात्र टार्छन्; तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरू र परमेश्वर स्वयम् गरी दुवैलाई छल गर्छन्, र तिनीहरूले उहाँको इच्छालाई अघि बढाउने कार्यमा असर र बाधा पुर्याउँछन्। यो तथ्य सबैले देख्न सक्छन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (४))। झूटा अगुवाहरूलाई खुलासा गर्ने परमेश्वरका यी वचनहरू पढ्दा, मैले धेरै न्याय गरिएको महसुस गरेँ। झूटा अगुवाहरू दैहिक सुखसयलमा लिप्त हुन्छन्, र आफ्नो कर्तव्यमा झाराटारुवा हुन्छन्। काम लागू गर्दा, तिनीहरू माथिबाट आएको आदेश तल पुऱ्याउने र निर्देशन जारी गर्ने काममा मात्र सन्तुष्ट हुन्छन्; तिनीहरूले वास्तवमा कामको विवरणको सुपरिवेक्षण वा अनुगमन गर्दैनन्, अनि काममा भएका समस्याहरू बुझ्दैनन् वा तिनलाई राम्ररी बोध गर्दैनन्। तिनीहरूले समस्याहरू पत्ता लगाउँदा पनि, तिनलाई तुरुन्तै समाधान गर्दैनन्, जसले कामको प्रगतिमा निकै ढिलाइ गराउँछ। के मेरो व्यवहार ठ्याक्कै यस्तै थिएन र? म निरन्तर प्रयास लगाउन र थकित हुनदेखि डराउँथेँ, अनि ममा आफ्नो कर्तव्यमा अलिकति पनि जिम्मेवारी बोध थिएन। एउटा समूहको प्रवचनको कामले कुनै नतिजा नदिएको देख्दा, मैले कामबारे सोधपुछ गरेर औपचारिकता मात्र पूरा गरेँ र टोली अगुवालाई विचलन र समस्याहरूको सारांश निकाल्ने काममा समूहका सदस्यहरूलाई अगुवाइ गर्न लगाएँ। पछि समूहका सदस्यहरू अझै पनि कठिनाइमा जिइरहेको थाहा पाउँदा पनि, यो समाधान गर्न मैले थप प्रयास लगाउन वा अझै मूल्य चुकाउन चाहिनँ। मैले अगुवाहरूबाट आएका पत्रहरू तिनीहरूलाई पठाइदिने मात्र गरेँ र काममा भएका समस्याहरूलाई वास्तवमा समाधान नगरीकन तिनीहरूलाई आफैँ अध्ययन गर्न र संलग्न हुन भनेँ। मैले आफू आफ्नो कर्तव्यमा गैरजिम्मेवार र वास्तविक काम नगरी औपचारिकता मात्र पूरा गर्ने झूटा अगुवा जस्तै रहेको देखेँ। मैले आफ्नो कर्तव्यमा भएका वास्तविक कठिनाइहरूलाई समाधान गरिनँ, जसको मतलब कसैले पनि आफ्नो कर्तव्यमा अगाडि बढ्ने मार्ग पाएन, र काम ठप्प भयो। यी सबै मैले वास्तविक काम नगर्नुका परिणामहरू थिए। मैले सुपरिवेक्षकको कर्तव्य निर्वाह गर्नुपछाडि परमेश्वरको अभिप्राय म टोलीको कामको विवरणको अनुगमन गरूँ, सुपरिवेक्षण गरूँ, र त्यसमा संलग्न होऊँ, अनि टोलीका सदस्यहरूको स्थिति बुझूँ र बोध गरूँ, तिनीहरूको कर्तव्यमा भएका विचलन र समस्याहरू पत्ता लगाऊँ, र यी कुराहरू समाधान गर्न तुरुन्तै सत्यता सङ्गति गर्न सकूँ, जसले गर्दा काम सामान्य रूपमा अघि बढ्न सकोस् भन्ने थियो। तर, मैले आफ्ना जिम्मेवारीहरू पूरा गरिनँ। मेरो कर्तव्यमा, म माथिबाट आएको आदेश तल पुऱ्याउनमै सन्तुष्ट थिएँ, र मलाई काम लागू भएसम्म सबै ठीक छ भन्ने लाग्थ्यो। मलाई त्यस समूहका सदस्यहरूले धेरै वर्षदेखि लेखन-पठनको कर्तव्य निर्वाह गर्दै आएका र केही सिद्धान्तमा पोख्त भइसकेका हुनाले, मैले थप सोच वा प्रयास लागाउनुपर्दैन भन्ने पनि लाग्थ्यो। मैले सबै काम तिनीहरूमाथि थोपरिदिएँ, मानौँ यो स्वभाविक कुरा हो, अनि आफूचाहिँ पन्छिएर बस्ने हाकिम बनेँ। यसबारे सोच्दा, तिनीहरूसँग आफ्नो कर्तव्यमा केही अनुभव भए पनि, सबैमा विचलन र कमीकमजोरीहरू हुन्छन्, र कहिलेकाहीँ भ्रष्ट स्वभावहरूमा जिउन सक्छन्, त्यसैले मैले निरन्तर तिनीहरूको कर्तव्यप्रतिको मनोवृत्तिमाथि नजर लगाउनुपर्थ्यो, काममा भएका समस्या र कठिनाइहरू पत्ता बुझ्नुपर्थ्यो, र यी कुराहरू तुरुन्तै समाधान गर्नुपर्थ्यो। यी मेरा जिम्मेवारीहरू थिए। तर, मैले सधैँ आफ्नो देहको कष्ट कसरी कम गर्ने भन्ने कुराको मात्र ख्याल गरेँ। मैले परमेश्वरको अभिप्रायलाई अलिकति पनि ख्याल गरिनँ! मैले कम मानसिक प्रयास लगाए पनि, र मेरो देह त्यति थकित नभए पनि, देहलाई ख्याल गरेर र आफ्नो कर्तव्य निर्वाह गर्दा झाराटारुवा भएर मैले कामको प्रगतिमा ढिलाइ गरेँ, र मैले परमेश्वरसामु अपराध गरेकी थिएँ। जब मैले यो सोचेँ, मलाई गहिरो पछुतो, र परमेश्वरप्रति ऋणी महसुस भयो।
त्यसपछि, मैले आत्मचिन्तन गरेँ। मेरो कर्तव्यमा, म किन थप प्रयास लगाउन अनिच्छुक थिएँ, र म किन निरन्तर झाराटारुवा र गैरजिम्मेवार भइरहेकी थिएँ? मैले परमेश्वरका वचनहरू पढेँ: “अर्को प्रकारको झुटो अगुवा हुन्छ, जसबारे हामीले ‘अगुवा र कामदारहरूका जिम्मेवारीहरू’ भन्ने विषयबारे सङ्गति गर्दा बारम्बार कुरा गरेका छौँ। त्यस्ताहरूसँग केही क्षमता हुन्छ, तिनीहरू बुद्धिहीन हुँदैनन्, आफ्नो काममा तिनीहरूसँग तरिका र विधिहरू, साथै समस्याहरू समाधान गर्ने योजनाहरू हुन्छन्, र जब तिनीहरूलाई कुनै काम दिइन्छ, तिनीहरूले लगभग अपेक्षित मानकहरूअनुसार नै त्यसलाई कार्यान्वयन गर्न सक्छन्। तिनीहरूले काममा उत्पन्न हुने कुनै पनि समस्या पत्ता लगाउन सक्छन् र तीमध्ये केहीलाई समाधान गर्न पनि सक्छन्; जब तिनीहरूले केही मानिसहरूले रिपोर्ट गरेका समस्याहरू सुन्छन्, वा केही मानिसहरूका व्यवहार, प्रकटीकरण, बोली र कार्यहरू अवलोकन गर्छन्, तब तिनीहरूले हृदयमा प्रतिक्रिया जनाउँछन्, र तिनीहरूको आफ्नै राय र मनोवृत्ति हुन्छ। अवश्य नै, यदि यी मानिसहरूले सत्यता पछ्याउँछन् र तिनीहरूमा बोझको बोध हुन्छ भने, यी सबै समस्याहरू समाधान गर्न सकिन्छ। तर, हामीले आज सङ्गति गरिरहेका प्रकारको व्यक्तिको जिम्मेवारीमा पर्ने काममा समस्याहरू अप्रत्याशित रूपमा सुल्झिँदैनन्। त्यस्तो किन हुन्छ? किनभने यी मानिसहरू वास्तविक काम गर्दैनन्। तिनीहरू सहजता मन पराउँछन् र कडा परिश्रमलाई घृणा गर्छन्, तिनीहरू केवल सतही रूपमा झाराटारूवा मेहनत लगाइरहेका हुन्छन्, तिनीहरूलाई निष्क्रिय हुन र हैसियतका लाभहरू उपभोग गर्न मन पर्छ, तिनीहरूलाई मानिसहरूमाथि हैकम चलाउन मन पर्छ, र तिनीहरू अलिअलि मुख चलाएर केही सुझाव मात्रै दिन्छन् र आफ्नो काम सकियो भन्ठान्छन्। तिनीहरू मण्डलीको कुनै पनि वास्तविक काम वा परमेश्वरले तिनीहरूलाई सुम्पने महत्त्वपूर्ण कामलाई हृदयमा लिँदैनन्—तिनीहरूसँग यो बोझको बोध हुँदैन, र परमेश्वरको घरले यी कुराहरूमा बारम्बार जोड दिए पनि, तिनीहरूले अझै पनि तिनलाई हृदयमा लिँदैनन्। उदाहरणका लागि, तिनीहरू परमेश्वरको घरको चलचित्र निर्माणको काम वा लेखन-पठनको काममा हस्तक्षेप गर्न वा त्यसबारे सोधपुछ गर्न चाहँदैनन्, न त यस प्रकारका कामहरू कसरी अघि बढिरहेका छन् र तिनले कस्ता नतिजाहरू हासिल गरिरहेका छन् भनेर जाँचपड्ताल गर्ने इच्छा नै गर्छन्। तिनीहरू केही अप्रत्यक्ष सोधपुछ मात्र गर्छन्, र मानिसहरू यस काममा व्यस्त छन् र उनीहरूले यो काम गरिरहेका छन् भन्ने थाहा पाएपछि, तिनीहरू त्यसबारे थप सरोकार नै राख्दैनन्। तिनीहरूलाई त्यस काममा समस्याहरू छन् भन्ने राम्ररी थाहा हुँदा पनि, तिनीहरू अझै तिनमा सङ्गति गर्न र तिनलाई समाधान गर्न चाहँदैनन्, न त मानिसहरूले कसरी आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेका छन् भनेर सोधपुछ वा जाँचपड्ताल नै गर्छन्। तिनीहरू यी कुराहरूबारे किन सोधपुछ वा जाँचपड्ताल गर्दैनन्? तिनीहरू के सोच्छन् भने, यदि तिनीहरूले यी कुराहरूको जाँचपड्ताल गरे भने, तिनीहरूले समाधान गर्नुपर्ने धेरै समस्या हुनेछन्, र त्यो अति चिन्ताजनक हुनेछ। यदि तिनीहरूले जहिले पनि समस्याहरू समाधान गरिरहनुपर्यो भने, जीवन अत्यन्तै थकाइलाग्दो हुनेछ! यदि तिनीहरूले धेरै चिन्ता लिए भने, तिनीहरूलाई खाना मिठो लाग्न छोड्नेछ, र तिनीहरू राम्ररी निदाउन सक्नेछैनन्, तिनीहरूको देहलाई थकित महसुस हुनेछ, र त्यसपछि जीवन दुःखी हुनेछ। त्यसकारण, तिनीहरूले कुनै समस्या देख्दा सकेसम्म त्यसलाई पन्छाउँछन् र बेवास्ता गर्छन्। यस प्रकारको व्यक्तिको समस्या के हो? (ऊ अत्यन्तै अल्छे हुन्छ।) ल भन्, कसको समस्या गम्भीर हुन्छ: अल्छी मानिसहरूको कि कमजोर क्षमता भएका मानिसहरूको? (अल्छी मानिसहरूको।) किन अल्छी मानिसहरूको समस्या गम्भीर हुन्छ? (कमजोर क्षमता भएका मानिसहरू अगुवा वा कामदार बन्न सक्दैनन्, तर आफ्नो क्षमताभित्रको कर्तव्य निर्वाह गर्दा तिनीहरू अलिक प्रभावकारी हुन सक्छन्। तर, अल्छी मानिसहरूले केही पनि गर्न सक्दैनन्; तिनीहरूसँग क्षमता नै भए पनि, त्यसको कुनै प्रभाव हुँदैन।) अल्छी मानिसहरू केही पनि गर्न सक्दैनन्। दुई शब्दमा सारांश निकाल्नुपर्दा, तिनीहरू निकम्मा मानिस हुन्; तिनीहरूमा दोस्रो दर्जाको असक्षमता हुन्छ। अल्छी मानिसहरूको क्षमता जति नै राम्रो भए पनि, यो देखावटी कुरा मात्रै हुन्छ; तिनीहरूसँग राम्रो क्षमता भए पनि, त्यसको कुनै काम हुँदैन। तिनीहरू अत्यन्तै अल्छी हुन्छन्—तिनीहरूलाई आफूले के गर्नुपर्छ भनेर थाहा भए पनि, तिनीहरू त्यो गर्दैनन्; र तिनीहरूलाई कुनै कुरा समस्या हो भनेर थाहा भए पनि, तिनीहरू यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्; र काम प्रभावकारी हुनका लागि तिनीहरूले के-कस्ता कठिनाइहरू भोग्नुपर्छ भनेर तिनीहरूलाई थाहा भए पनि, तिनीहरू यी सार्थक कठिनाइहरू सहन इच्छुक हुँदैनन्—त्यसैले तिनीहरू कुनै सत्यता प्राप्त गर्न सक्दैनन्, र कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरू मानिसहरूले सहनुपर्ने कठिनाइ सहन चाहँदैनन्; तिनीहरूलाई सुखसयलमा लिप्त हुन, हर्ष र फुर्सतको समयको आनन्द उठाउन, अनि स्वतन्त्र र तनावरहित जीवनको आनन्द उठाउन मात्रै आउँछ। के तिनीहरू बेकामका हुँदैनन् र? कठिनाइ सहन नसक्ने मानिसहरू जिउन लायक हुँदैनन्। सधैँ परजीवीको जीवन जिउन चाहनेहरू विवेक वा समझ नभएका मानिस हुन्; तिनीहरू पशु हुन् र त्यस्ता मानिसहरू श्रम गर्नसमेत योग्य हुँदैनन्। तिनीहरूले कठिनाइ सहन नसक्ने हुँदा, तिनीहरूले श्रम गरे पनि, त्यो राम्ररी गर्न सक्दैनन्, र यदि तिनीहरू सत्यता प्राप्त गर्न चाहन्छन् भने, त्यसको आशा झनै कम हुन्छ। कष्ट भोग्न नसक्ने र सत्यतालाई प्रेम नगर्ने व्यक्ति रद्दी व्यक्ति हो; ऊ श्रम गर्नसमेत योग्य हुँदैन। ऊ अलिकति पनि मानवता नभएको पशु हो। त्यस्ता मानिसहरूलाई हटाउनैपर्छ; यो मात्र परमेश्वरका अभिप्रायहरूअनुरूप हुन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। “शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र त्यसो गर्छन्। त्यसकारण तिनीहरू आफ्नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्वर भन्नुहुन्छ: “अल्छी मानिसहरूको क्षमता जति नै राम्रो भए पनि, यो देखावटी कुरा मात्रै हुन्छ,” र “उनीहरू श्रम गर्नसमेत योग्य हुँदैनन्। उनीहरू अलिकति पनि मानवता नभएका पशु हुन्।” र “तिनीहरूलाई हटाउनैपर्छ।” मैले परमेश्वर झूटा अगुवाहरूलाई कति धेरै घृणा गर्नुहुँदो रहेछ भन्ने देखेँ। झूटा अगुवाको क्षमता जतिसुकै राम्रो भए पनि, तिनीहरू अत्यन्तै अल्छी हुने, आफ्नो कर्तव्यमा गैरजिम्मेवार हुने, र कामको विवरणको सुपरिवेक्षण वा अनुगमन नगर्ने हुनाले, तिनीहरू श्रम गर्न समेत अयोग्य हुन्छन्, अनि तिनीहरूले परमेश्वरको घृणा र तिरस्कार भोग्नेछन्। यी वचनहरू पढ्दा, मलाई परमेश्वरले आमने-सामने भएर मलाई न्याय गरिरहनुभए जस्तो लाग्यो, र हरेक पङ्क्तिले मेरो हृदय छेड्यो। यसबारे सोच्दा, मैले धेरै मानसिक ऊर्जा खर्च गर्न नचाहेको कारण के थियो भने, म अत्यन्तै अल्छी थिएँ र सुखसयलमा ज्यादै लिप्त थिएँ। परमेश्वरलाई भेट्टाउनुभन्दा पहिले, म अक्सर मानिसहरूले यसो भनेको सुन्थेँ, “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ,” “जीवनमा मद्यपान र सङ्गीतको आनन्द लेऊ, जीवनमा खासमा कति नै समय पो हुन्छ र?” र “आजको दिनको आनन्द लेऊ, अनि सही र गलतको वास्ता नगर।” मलाई शैतानले ममा हालेका यी वाहियात विचारहरूद्वारा अभ्यस्त गरिएको र विषाक्त पारिएको थियो, त्यसैले मलाई देहसुखमा जिउन मन पर्थ्यो र म स्वतन्त्र र आरामदायी जीवन पछ्याउँथेँ। मलाई लाग्थ्यो, राम्रो दैहिक आनन्दले मात्र मानिसले स्वतन्त्र र सहज जीवन जिउन सक्छ। म अस्तित्वसम्बन्धी यी शैतानी दृष्टिकोणहरूअनुसार जिउँथेँ, र जब-जब मेरो कर्तव्य व्यस्त र थकाइलाग्दो हुन्थ्यो, म आफ्नो देहका लागि विचार गर्न र योजना बनाउन थाल्थेँ, र म आफ्नो क्षमताभित्रका कामहरू पनि गर्दिनथेँ। मलाई कामको प्रगति सुस्त छ, र त्यस समूहका सदस्यहरूलाई कर्तव्यमा कठिनाइहरू आइपरेका छन् भन्ने राम्ररी थाहा थियो, तर मैले यी समस्याहरू समाधान गर्न कुनै मूल्य चुकाउन चाहिनँ। मैले कसरी कम काम गर्न र कम कष्ट भोग्न सक्छु भन्नेबारे मात्र सोचेँ। मेरो प्रकृति साँच्चै स्वार्थी र घृणास्पद थियो, र ममा अलिकति पनि मानवता थिएन! परमेश्वर काम गर्न र मानिसहरूलाई मुक्ति दिन देहधारी हुनुभयो र पृथ्वीमा आउनुभयो। उहाँ कहिल्यै नारा फलाक्नुहुन्न, बरु मानिसहरूलाई तिनीहरूको कमीअनुसार भरणपोषण गर्न व्यावहारिक रूपमा सत्यता व्यक्त गर्नुहुन्छ। हामी मानिसहरूमा जस्तोसुकै कठिनाइ र समस्याहरू भए पनि, ख्रीष्टले हामीसँग अथक रूपमा र धैर्यतापूर्वक तीबारे सङ्गति गर्नुहुन्छ, हाम्रो कर्तव्यमा भएका विभिन्न समस्या र कठिनाइहरूलाई व्यावहारिक रूपमा समाधान गर्नुहुन्छ। मैले ख्रीष्ट निकै लगनशील र जिम्मेवार भएर काम गर्नुहुन्छ भन्ने देखेँ। त्यसपछि मैले फेरि आफूलाई फर्केर हेरेँ। मेरो कर्तव्यमा, म सम्भव भएसम्म झाराटारुवा हुन्थेँ, र म सकेसम्म कम कष्ट भोग्ने प्रयास गर्थेँ। म असाध्यै अल्छी र पतित थिएँ, र म अलिकति पनि निष्ठा वा मर्यादाविना जिइरहेकी थिएँ। मैले पश्चात्ताप नगरेको खण्डमा, अन्ततः परमेश्वरले मलाई तिरस्कार गर्नुहुनेथ्यो र हटाउनुहुनेथ्यो, र मैले मुक्तिको आफ्नो मौका बर्बाद पार्नेथिएँ, अनि परमेश्वरको काम समाप्त हुने समय नै म दण्डित हुने समय पनि हुनेथ्यो। जब मैले यो सोचेँ, मलाई अत्यन्तै दुःखी र दोषी महसुस भयो। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर, म आफ्नो कर्तव्यमा निरन्तर आफ्नो देहलाई ख्याल गर्छु, र मलाई थप प्रयास लगाउने चाहना हुँदैन। म नारा मात्र फलाक्छु र कुनै वास्तविक काम गर्दिनँ। मैले मेरो कर्तव्यमा हानि पुऱ्याएकी छु र तपाईँको घृणा भोगेकी छु। परमेश्वर, म पश्चात्ताप गर्न इच्छुक छु। अब उप्रान्त, म मेरो देहविरुद्ध विद्रोह गर्न र टोलीका वास्तविक समस्याहरूलाई व्यावहारिक तरिकाले समाधान गर्न, तपाईँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न इच्छुक छु।”
पछि, मैले परमेश्वरका अरू वचनहरू पढेँ। परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले तँलाई पर्याप्त क्षमता र श्रेष्ठतर अवस्थाहरू दिनुभएको छ, जसले तँलाई केही कुरा स्पष्ट रूपमा देख्न र यस कामका लागि सक्षम बनाउँछ। तर, तँसँग सही मनोवृत्ति छैन, तँसँग अर्पण वा निष्कपटता छैन, र तँ यो राम्ररी गर्नका लागि आफ्नो सक्दो प्रयास गर्न चाहँदैनस्। यसले परमेश्वरलाई निकै निराश तुल्याउँछ। त्यसैले, यदि तँ अल्छी छस् र तँलाई दिइएको काम सधैँ झन्झटिलो लाग्छ र तँ त्यो गर्न चाहँदैनस्, र तँ भित्रभित्रै “अरू कसैलाई नभई मलाई नै किन यो गर्न लगाइँदै छ?” भन्दै गनगन गर्छस् भने, यो एक मूर्ख विचार हो। आफूलाई कुनै कर्तव्य आइपर्दा, त्यो दुर्भाग्यपूर्ण घटना होइन, यो एक सम्मान हो, र तैँले यो खुसीसाथ स्वीकार गर्नुपर्छ; तँ आफूले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गरेर लखतरान पर्नेछैनस्। यसको विपरीत, यदि तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छस्, सत्यता बुझ्छस् र समस्याहरू समाधान गर्छस् भने, तैँले आफ्नो हृदयमा शान्ति र स्थिरता महसुस गर्नेछस्, र तैँले परमेश्वरलाई निराश तुल्याएको हुनेछैनस्। तँसँग परमेश्वरसामु आस्था हुनेछ र तँ शिर ठाडो पारेर आफूलाई आचरणमा ढाल्न सक्षम हुनेछस्” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। “हामीले ठूलो मिसन, कर्तव्य वा जिम्मेवारी पूरा गर्नेबारे कुरा गरिरहेका छैनौँ; तर कम्तीमा पनि, तैँले केही न केही त हासिल गर्नैपर्छ। उदाहरणको लागि, मण्डलीमा, कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्ने कार्यमा आफ्नो सबै मेहनत लगाउँछन्, आफ्नो जीवनभरको ऊर्जा लगाऊँछन्, ठूलो मूल्य चुकाउँछन्, अनि धेरै मानिसहरूलाई विश्वासमा ल्याउँछन्। यसले गर्दा, तिनीहरूलाई आफ्नो जीवन व्यर्थ भएन, र त्यसमा मूल्य र सान्त्वना छ भन्ने महसुस हुन्छ। रोग वा मृत्यु सामना गर्दा, आफ्नो सारा जीवनको लेखाजोखा गर्दै आफूले हिँडेको मार्गमा आफूले गरेको सबै कुरालाई फर्केर हेर्दा, तिनीहरूलाई हृदयमा ढाडस मिल्छ। तिनीहरूलाई कुनै दोष वा ग्लानि अनुभूत हुँदैन। कतिपय मानिसहरूले मण्डलीमा नेतृत्व गर्दा वा कुनै कामको जिम्मेवारी लिँदा कुनै कसर बाँकी राख्दैनन्। तिनीहरूले आफूले गर्ने काममा आफ्नो अधिकतम सामर्थ्य लगाउँछन्, आफ्नो सारा शक्ति खन्याउँछन्, सारा ऊर्जा अर्पित गर्छन् र ठूलो मूल्य चुकाउँछन्। तिनीहरूको मलजल, नेतृत्व, सहयोग, र साथको कारण, तिनीहरूले कमजोरी र नकारात्मकतामा परेका धेरै मानिसहरूलाई दह्रिलो भएर खडा हुन, पछि नहट्न, बरु परमेश्वरको छेउमा फर्कन अनि अन्त्यमा गवाहीसमेत दिन धेरैलाई सहयोग गर्छन्। यसको साथै, तिनीहरूले आफ्नो नेतृत्वको अवधिमा धेरै महत्त्वपूर्ण कार्यहरू पूरा गर्छन्, धेरै दुष्ट मानिसहरूलाई निकाल्छन्, परमेश्वरका चुनिएका धेरै मानिसहरूलाई रक्षा गर्छन्, र धेरै हानिहरूको पूर्ति गर्छन्। तिनीहरूको नेतृत्वको अवधिमै यी सब उपलब्धिहरू हासिल हुन्छन्। आफूले हिँडेको मार्गलाई फर्केर हेर्दा, वर्षौँको अवधिमा आफूले गरेको काम र चुकाएको मूल्यलाई फर्केर हेर्दा, तिनीहरूलाई कुनै पछुतो वा दोषारोपण महसुस हुँदैन। तिनीहरूलाई आफूले कुनै ग्लानि हुने काम गरेको छैनँ भन्ने विश्वास हुन्छ, र तिनीहरूले मूल्यवान् जीवन जिउँछन्, र तिनीहरूले हृदयमा स्थिरता र सान्त्वना महसुस गर्छन्। कति राम्रो कुरा! के यही नै नतिजा यही होइन र? (हो।) यस्तो स्थिरता र सान्त्वना अनुभूति हुनु, अनि यसरी कुनै पछुतो नहुनु—यो सब सकारात्मक कुराहरू र सत्यता पछ्याउनुको परिणाम र इनाम हो। मानिसहरूको लागि उच्च मापदण्डहरू तय नगरौँ। एउटा यस्तो परिस्थितिबारे विचार गरौँ जहाँ कुनै व्यक्तिलाई उसले गर्नुपर्ने वा उसले आफ्नो जीवनकालमा गर्न चाहेको काम दिइएको हुन्छ। उसले आफ्नो स्थान भेट्टाएपछि, ऊ आफ्नो स्थानमा दह्रिलो गरी खडा हुन्छ, आफ्नो स्थान लिन्छ, ठूलो पीडा भोग्छ, मूल्य चुकाउँछ, र आफूले गर्नुपर्ने काम सम्पन्न र पूरा गर्न आफ्नो सारा शक्ति लगाउँछ। जब अन्त्यमा ऊ आफ्नो लेखा दिन परमेश्वरको अघि खडा हुन्छ, उसलाई तुलनात्मक रूपमा निकै सन्तुष्टि हुन्छ, र उसको हृदयमा कुनै दोषारोपण वा पछुतोको अनुभूति हुँदैन। उसलाई सान्त्वना र इनाम पाएको अनुभूति हुन्छ र मूल्यवान् जीवन जिएछु जस्तो लाग्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (६))। परमेश्वरका वचनहरूबारे मनन गर्दा, मैले परमेश्वरको अभिप्राय बुझेँ। म आफ्नो कर्तव्यमा मूल्य चुकाउनेछु, आफ्ना कार्यमा इमानदार र जिम्मेवार हुनेछु, र आफ्नो कर्तव्य पूरा हृदयले राम्ररी निर्वाह गर्नेछु भन्ने आशामा, परमेश्वरले मलाई वरदान र क्षमता प्रदान गर्नुभयो र मलाई सुपरिवेक्षक बन्ने मौका दिनुभयो। यसरी मात्र मेरो जीवनको अर्थ हुन सक्थ्यो। यदि म आफ्नो कर्तव्यमा निरन्तर अल्छी भएँ र सुखसयलमा लिप्त भएँ भने, मेरो देहले धेरै कष्ट नभोगे तापनि, मैले काममा हानि पुऱ्याउनेछु। यो परमेश्वरको घृणा निम्त्याउने कुरा हो। अब परमेश्वरको काम अन्तिम निर्णायक क्षणमा पुगेको छ। यदि मैले मेरो देहलाई ख्याल गरिरहेँ र मेरो समय र ऊर्जा मेरो कर्तव्यमा खर्च गरिनँ भने, जब परमेश्वरको काम समाप्त हुन्छ, म अनन्त पछुतोमा डुब्नेछु। मैले मेरो कर्तव्यप्रतिको मनोवृत्ति बदल्नुपर्थ्यो, लगनशील र जिम्मेवार बन्नुपर्थ्यो र मेरो कर्तव्यलाई पूरा हृदय र शक्तिले पूरा गर्नुपर्थ्यो; समस्याहरू पत्ता लगाउँदा, म परमेश्वरमा भर पर्नुपर्छ र ती समस्या समाधान गर्न सत्यता खोज्नुपर्छ, अनि मैले व्यावहारिक तरिकाले केही वास्तविक काम गर्नुपर्छ। पछि, मैले वास्तवमा प्रवचनहरूको खराब गुणस्तरको कारण पत्ता लगाएँ र त्यसबारे अनुसन्धान गरेँ। यसको मुख्य कारण ब्रदर-सिस्टरहरूले प्रवचनको जाँच-पड्ताल गर्नेसम्बन्धी सिद्धान्तहरू राम्ररी बोध नगरेको हुनु, र आफूले सिकेका कुराहरू लागू गर्न नसक्नु थियो। मैले यी समस्याहरूको जवाफमा केही प्रवचनको जाँच-पड्ताल गरेँ र तिनीहरूसँग सिद्धान्तहरू अध्ययन गरेँ, अनि हामीले समस्या र विचलनहरू पत्ता लगाउँदा तुरुन्तै सङ्गति गरेर तिनलाई सच्यायौँ। हामीले हाम्रो कर्तव्यमा केही नतिजा हासिल गर्यौँ। यसमा धेरै समय र ऊर्जा लागे पनि, र मेरो देहले अलि बढी कष्ट भोगे पनि, मेरो मनले शान्ति र सहजता महसुस गर्यो। साथै, टोलीका सदस्यहरूसँग सिद्धान्तहरू अध्ययन गरेर, मैले पनि तिनीहरूलाई अझ राम्ररी बुझेँ। यी सबै काममा वास्तविक सहभागितामार्फत हासिल भएका नतिजाहरू थिए।
पछि, मैले प्रवचन टोलीको काममा ध्यान दिँदै गर्दा अन्य टोलीहरूको कामको पनि अनुगमन गरेँ। मैले अगुवाहरूद्वारा लागू गरिएका सिद्धान्तहरूबारे मेरा ब्रदर-सिस्टरहरूसँग एक-एक गरी विस्तृत रूपमा छलफल गरेँ, र काममा भेटिएका कुनै पनि विचलनहरूबारे समयमै छलफल गरेर समाधान गरेँ। एक पटक, अगुवाहरूले प्रवचन टोलीले धेरै प्रवचन पेस गरे पनि, तिनको गुणस्तर खराब भएको कुरा औँल्याउनुभयो, र उहाँहरूले मलाई परिस्थिति उल्ट्याउन तुरुन्तै तिनीहरूसँग सङ्गति गर्न भन्नुभयो। मैले मनमनै सोचेँ, “मैले केही काम लागू गर्न बाँकी नै छ। यो कुरा बताउन प्रवचन टोलीलाई पत्र लेख्दा अझ धेरै समय र ऊर्जा लाग्नेछ, र मेरो देहले अझ बढी कष्ट भोग्नेछ। म अगुवाहरूको पत्रलाई समावेश गर्दै तिनीहरूसँग संक्षिप्त रूपमा कुराकानी गरेर भविष्यमा अझ बढी ध्यान दिन आग्रह गरूँ कि?” तर, पछि, मैले परमेश्वरका वचनहरू पढेँ: “जब-जब तँ सुस्त हुन र झारा टार्न चाहन्छस्, जब-जब तँ अल्याङटल्याङ गर्न र अल्छी बन्न चाहन्छस्, र जब-जब तेरो ध्यान भड्किन्छ वा तैँले आफै मस्ती गरिरहेको हुन्छस्, तैँले यो सोच्नुपर्छ: ‘यस्तो व्यवहार गर्दा, के म अविश्वसनीय भइरहेको छु? के यसले मेरो हृदयलाई कर्तव्य पूरा गर्नमा लगाइरहेको छ? यसो गरेर, के म अर्पित हुन असफल भइरहेको छु? के म परमेश्वरले मलाई सुम्पनुभएको आज्ञा पूरा गर्नमा खरो उत्रन असफल भइरहेको छु?’ तैँले यसरी नै आफ्नो बारेमा मनन गर्नुपर्छ। यदि तैँले आफू कर्तव्यमा सधैँ झाराटारुवा भएको, अर्पित नभएको, र आफूले परमेश्वरलाई चोट पुर्याएको थाहा पाइस् भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्नुपर्छ, ‘मलाई त्यो बेला केही गलत छ भन्ने लागेको थियो, तर मैले यसलाई समस्याको रूपमा लिइनँ; मैले यसलाई लापरवाहीसाथ ढाकछोप गर्न खोजेँ। अहिले मात्रै मलाई म साँच्चै झाराटारुवा बनेँ, र आफ्नो जिम्मेवारीको स्तरमा जिइनँ भन्ने थाहा भयो। ममा साँच्चै नै विवेक र समझको कमी रहेछ!’ तैँले समस्या पत्ता लगाएको छस् र आफ्नो बारेमा थोरै भए नि थाहा पाएको छस्—त्यसकारण अब, तैँले आफूलाई परिवर्तन गर्नुपर्छ! कर्तव्य निभाउनेबारे तेरो मनोवृत्ति गलत थियो। अतिरिक्त काम गरेजस्तै तँ यो काममा लापरवाह थिइस्, र तैँले यसमा आफ्नो मन लगाइनस्। यदि तँ यसरी नै फेरि पनि झाराटारुवा भइस् भने, तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र आफूलाई अनुशासनमा राख्न र ताडना दिन लगाउनुपर्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा तँमा यस्तो सङ्कल्प हुनैपर्छ। त्यसपछि मात्रै तैँले साँचो रूपमा पश्चात्ताप गर्न सक्छस्। तेरो विवेक सफा छ र कर्तव्य निभाउनेबारे तेरो मनोवृत्ति रूपान्तरित हुन्छ भने मात्रै तैँले आफूलाई परिवर्तन गर्न सक्छस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरू बारम्बार पढेर अनि सत्यता मनन गरेर मात्र पछ्याउने मार्ग प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूबारे मनन गर्दै गर्दा, मैले विगतमा आफ्नो कर्तव्य निर्वाह गर्दा आफू अत्यन्तै अल्छी हुने गरेको, र कष्ट भोग्न वा धेरै मानसिक प्रयास लगाउन अनिच्छुक भएको, जसले गर्दा काममा ढिलाइ भएको कुरा सोचेँ। मैले मेरो कर्तव्यप्रतिको मनोवृत्ति बदल्नुपर्थ्यो, र विगतमा जस्तो निरन्तर सुखसयलमा लिप्त हुन मिल्दैनथ्यो। मैले देहविरुद्ध विद्रोह गर्नुपर्थ्यो, र आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्नुपर्थ्यो। त्यसपछि, मैले तिनीहरूका विचलनहरूबारे सङ्गति गर्न र विस्तृत रूपमा अगाडिको मार्ग औँल्याउन एउटा पत्र लेखेँ। केही समयपछि, तिनीहरूले पेस गरेका प्रवचनहरूको गुणस्तरमा सुधार भयो। अहिले, कार्यभार अझै पनि गह्रौँ र चुनौतीपूर्ण भए पनि, मेरो कर्तव्यप्रतिको मनोवृत्ति परिवर्तन भएको छ, र म मेरो कामलाई उचित रूपमा प्राथमिकता दिइरहेकी छु, टोलीको कामको विवरणमा वास्तवमा सहभागी हुँदै, सुपरिवेक्षण गर्दै, र अनुगमन गर्दैछु। जब हामीमाथि कठिनाइहरू आउँछन्, म सत्यता खोज्छु र मेरा ब्रदर-सिस्टरहरूसँग मिलेर ती समाधान गर्छु, र बिस्तारै काममा सुधार हुन थालेको छ। मैले धेरै मूल्य चुकाए पनि र मेरो देहले अलि बढी कष्ट भोगे पनि, मेरो मनले शान्ति र सहजता महसुस गर्छ। यो रूपान्तरणमा मलाई डोर्याउनुभएकोमा म परमेश्वरलाई धन्यवाद दिन्छु।