९०. म आफ्नो भाग्यबारे फेरि कहिल्यै गुनासो गर्नेछैनँ
मेरो जन्म साधारण कृषक परिवारमा भएको थियो, र मेरा आमाबुबा जीवननिर्वाहका लागि खेती गर्नुहुन्थ्यो। हाम्रो गाउँमा एउटा सम्पन्न परिवार थियो, उनीहरूको घर ठूलो र राम्रो थियो। त्यो घरका बच्चाहरूले नयाँ नयाँ लुगा लगाइरहन्थे, मिठो मसिनो खान्थे। मलाई उनीहरूको डाह लाग्थ्यो। म सोच्थेँ, मैले राम्ररी पढ्नुपर्छ, भविष्यमा राम्रो विश्वविद्यालयमा भर्ना भएर राम्रो जागिर खानुपर्छ। यसरी म भीडबाट अलग देखिनेथिएँ, अनि अरूले मेरो प्रशंसा र डाह गर्नेथिए। तर, हाइस्कुलको पहिलो वर्षमा मलाई सिस्टेमिक लुपस एरिथमाटोसस भन्ने रोग देखियो। यो शरीर एकदमै थाक्ने, जोर्नी दुख्ने खालको निको नहुने बाथ रोग थियो। यो रोगमा जिन्दगीभर औषधि खानुपर्छ। त्यो समय म निकै उदास हुन्थेँ, मलाई यो रोग किन लाग्यो थाहा थिएन। मैले मेरो सारा ऊर्जा पढाइमा लगाएँ। कक्षामा मेरो ग्रेड प्रायः सबभन्दा राम्रो हुन्थ्यो, राम्रो विश्वविद्यालयमा भर्ना हुन पाएँ भने मेरो भाग्य पुनर्लेखन गर्न सक्नेछु भन्ने लाग्थ्यो। तर अनपेक्षित रूपमा, हाइस्कुलको अन्तिम परीक्षाको करिब बीस दिनअघि, मलाई हनहन ज्वरो आयो, ज्वरो घट्दै नघटेपछि अस्पताल बसेर उपचार गराउनुपर्यो। यसले मेरो परीक्षामा असर गर्यो। अनि राम्रो विश्वविद्यालय भर्ना हुन पाइनँ, र म सामान्य व्यावसायिक कलेजमा भर्ना भएँ। तर म भाग्यको अघि झुक्न चाहन्नथेँ, कलेज भर्नापछि विश्वविद्यालय प्रवेश परीक्षाको तयारी कक्षा लिन थालेँ। तर ६ महिना पढेपछि मेरो रोग झन् गम्भीर भयो। हल्का ज्वरो आइरहन्थ्यो, हात खुट्टाको जोर्नी सुन्निन्थ्यो, दुख्थ्यो र सिँढी चढ्न पनि गाह्रो हुन्थ्यो। कैयौँ पटक म आफ्नो थर्मस बोकेर हिँड्न समेत सक्दिनथेँ। अन्तमा, मैले स्कुल छोडेर घर नगई सुख पाइनँ। मेरो उमेरका साथीहरू स्वस्थ्य थिए, र आफ्नो सपना हासिल गर्ने दिशामा काम गरिरहेका थिए। मैले माथि आकाशतिर हेरी सुस्केरा हाल्दै सोचेँ, “भाग्य मप्रति किन यति पक्षपाती भएको? ममाथि नै किन यस्तो अत्याचार?” म सबथोक र सबजनलाई दोष लगाइरहन्थेँ, कहिलेकाहीँ मरौँ कि जस्तो पनि लाग्थ्यो। तर आमाबुबाले मेरा लागि दुःख गरिरहेको देखेर त्यसरी सोचेअनुसार गर्ने आँट गरिनँ। म असहाय भएर दिन गन्दै बसिरहेँ।
पछि, मैले सर्वशक्तिमान परमेश्वरका आखिरी दिनहरूको काम स्विकारेँ। मेरो स्वास्थ्य निकै ठीक हुँदै आएको थियो, र म सामान्य जीवन जिउन सक्थेँ। अगुवाले मलाई भिडियो उत्पादन गर्ने काममा लगाए। त्यो बेला म धेरै उत्सुक थिएँ, मैले सक्रिय भएर भिडियो उत्पादनबारे अध्ययन गरेँ। पछि, मलाई बढुवा गरी सुपरिवेक्षक बनाइयो, म निकै खुसी थिएँ। मेरो कर्तव्य निर्वाह गर्दा म झन् सक्रिय भएँ। बेलाबेलामा मलाई हल्का ज्वरो आउँथ्यो, तर मैले कर्तव्य निर्वाह गरिरहेँ। पछि, मेरो स्वास्थ्य अवस्थालाई विचार गरी अगुवाले मलाई घर गएर घरमै बसेर गर्नसक्ने कर्तव्य निर्वाह गर्ने प्रबन्ध गरे। म अलिक अन्योलमा परेँ। मैले कहिले वृद्धिविकास मौका नपाउने रहेछु जस्तो लाग्यो, र मैले सोचेँ, “यो सबै यही भयानक बिमारको कारणले त होइन? म साँच्चै अभागी थिएँ।” त्यसपछि, मैले मण्डलीमा लेखापढीको काम गर्न थालेँ। म सोचिरहन्थेँ, “मैले केवल लेखापढीको कर्तव्य निर्वाह गरिरहेकी छु; यसरी म अरूभन्दा अलग देखिन वा चर्चामा आउन सक्दिनँ।” म निकै उदास भएँ। अगुवाहरूले अक्सर विभिन्न ठाउँ पुगेर परमेश्वरका वचनमा सङ्गति गरी निकै प्रभावशाली र सफलतापूर्वक समस्या समाधान गरेको देखेर, मैले मनमनै सोचेँ: “मैले केही बढी सत्यता बुझेर ब्रदर-सिस्टरहरूको स्थिति हल गर्न सकेकी भए, सबैले मलाई अगुवा चुन्नेथिए होलान्।” त्यसैले, हरेक पटक भेलामा जाँदा मैले ब्रदर-सिस्टरहरूको स्थितिमा ध्यान दिन्थेँ। घर गएपछि म परमेश्वरका केही वचन खोज्थेँ, र त्यसपछि ती वचनबारे अर्को भेलामा ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्दथेँ। सबैले मेरो सङ्गति ध्यान दिएर सुनेको देखेर म दङ्ग पर्थेँ। सबै कुरा सही दिशामा गइरहेको बेला एउटा भेलामा जाँदा म मेरो बाइकबाट लडेँ। मेरो खुट्टामा नराम्रोसँग चोट लाग्यो, हिँड्न सकिनँ र निको हुन म घरमा बस्नुपर्ने भयो। निकै अलमल्ल पर्दै मैले सोचेँ, “पछिल्लो समयमा म आफ्नो कर्तव्यमा निकै सक्रिय रहेकी छु; मलाई अचानक यस्तो कसरी हुन सक्छ? म किन यति अभागी छु?” मलाई झन् निराश बनाउने कुरा मण्डलीले चाँडै चुनाव गर्दैथ्यो; म चुनिन सक्छु भन्ने सोचेकी थिएँ, तर अगुवाले मलाई भने, “अगुवाहरूमा मण्डलीका सबै कामको जिम्मेवारी हुन्छ। तपाईंको स्वास्थ्य कमजोर छ, तपाईं निकै थकित बन्नुहुनेछ। तपाईंले लेखापढीको कर्तव्यमा नै रहनु राम्रो हुनेछ।” अगुवाको कुरा सुनेर ममाथि चिसो पानी खन्याएजस्तै भयो, मेरो हृदय नै चिसो भयो। अगुवा बन्नु मेरो भाग्यमा छैन जस्तो देखियो। पछि, भेलाहरूमा जाँदा ममा पहिलेजस्तो जोश हुँदैनथ्यो। मलाई ब्रदर-सिस्टरहरूका समस्याबारे सोचविचार गर्न मन लाग्दैनथ्यो। त्योबेला नवनिर्वाचित अगुवा चेन फाङ्ग मेरै उमेरकी थिइन्, र मलाई साँच्चै उनको डाह लाग्थ्यो। उनको स्वास्थ्य राम्रो थियो, अगुवा चुनिन सक्षम थिइन्, तर म लेखापढी कर्तव्यमात्र गर्न सक्थेँ। मैले मनमनै गुनासो गरेँ, “म पूरै लगनका साथ परमेश्वरप्रति समर्पित हुन चाहन्छु; मेरो शरीर किन यति कमजोर भएको? मसँग हृदय छ, तर बल छैन। म साँच्चै अभागी रहेछु।” अलमल्ल पर्दै मैले सोचेँ, “म अगुवा बन्न नसकेपनि मेरो लेखापढी कर्तव्यमा केही उपलब्धि हासिल गरेँ भने, के ब्रदर-सिस्टरहरूले अझै पनि मेरो प्रशंसा गर्नेछैनन् र?” यो कुरा मनमा राखी म पाण्डुलिपिहरू उत्सुकतापूर्वक निरीक्षण गर्थेँ। तर वर्षका अन्त्यतिर, मेरो खुट्टा यति दुख्न थाल्यो कि हिँड्नै नसक्ने भएँ। मलाई अभास्कुलर नेक्रोसिस भइसकेछ। केही समयपछि नै, मण्डलीमा धरपकड भयो र म ब्रदर-सिस्टरहरूलाई भेट्न जान सकिनँ। म अत्यन्त उदास थिएँ, सोचेँ, “म कसरी यति अभागी हुन पुगेँ? विगतमा, म पढाइले भाग्य बदल्न चाहन्थेँ, तर योजनाअनुसार भएन। परमेश्वरमा विश्वास गरेपछि भाग्य राम्रो हुनेछ भन्ने सोचेँ, तैपनि मैले खोजेजस्तो भएन। अहिले, रोग निकै कडा भएको छ, र खतरनाक परिस्थितिले गर्दा कर्तव्य निर्वाह गर्न सक्दिनँ। म चम्कने दिन नआउला जस्तो छ। मेरो भाग्यमै कष्ट सहनु लेखेको रहेछ!” म हरेक दिन रोएर बसेँ, र कसरी जिउने होला भन्ने थाहा थिएन। त्यो बेला, म लेख लेख्न सक्छु भन्ने विचार पनि आएको थियो, तर मेरो भाग्य र मेरा सारा प्रयास कसरी बेकार हुनेछन् भन्नेबारे सोच्ने बित्तिकै, लेख्ने मुड नै बन्दैनथ्यो र मेरा हरेक दिन उदासी स्थितिमा बित्थ्यो।
एक दिन, मेरो छिमेकमा बस्ने एक सिस्टरले परमेश्वरका केही वचन लिएर आइन्। म परमेश्वरप्रति निकै आभारी भएँ, र उहाँलाई प्रार्थना गरेँ, “हे परमेश्वर, दया गर्नुभएकोमा धन्यवाद। यो समयमा, म उदासीमा जिइरहेकी थिएँ। मेरो भाग्य खराब छ भन्ने सोचिरहन्थेँ, यसर्थ सत्यता खोजिनँ वा पाठ सिकिनँ। हे परमेश्वर, म निकै विद्रोही छु!” पछि, मैले परमेश्वरका वचनका दुई खण्ड पढेँ र मेरो स्थितिबारे केही बुझाइ पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “डिप्रेसनजस्तो नकारात्मक संवेग पैदा हुनुको मूल कारण हरेक व्यक्तिको लागि फरक-फरक हुन्छ। मान्छेले महसुस गर्ने एक किसिमको डिप्रेसनको संवेग तिनीहरूले आफ्नै भयानक भाग्यप्रति गर्ने निरन्तरको विश्वासबाट पैदा हुनसक्छ। के यो एउटा कारण होइन र? (हो।) तिनीहरू साना हुँदा, तिनीहरू गाउँमा वा गरिब क्षेत्रमा हुर्केका थिए, तिनीहरूको परिवार सम्पन्न थिएन, अनि सामान्य मालमत्ताहरूबाहेक तिनीहरूसँग मूल्यवान् कुरा अरू केही थिएन। तिनीहरूसँग लगाउनको लागि एकदुई वटा लुगा हुन्थे जसमा केही प्वालहरू परिसकेका हुन्थे, अनि तिनीहरूले कहिल्यै पनि सामान्य रूपमा राम्रो खाना खान पाउँदैनथे, अनि मासु खानको लागि पनि नयाँ वर्ष वा चाडपर्व पर्खिनुपर्थ्यो। कहिलेकहीँ तिनीहरू भोकै बस्नुपर्थ्यो र तिनीहरूले न्यानो लुगा लाउन पाउँदैनथे र कचौराभरि मासु खान पाउनु ठूलो सपना नै हुन्थ्यो, र फलफूलको एक टुक्रा खान पाउनु पनि गाह्रो हुन्थ्यो। आफू त्यस्तो वातावरणमा हुर्केकोले, तिनीहरूलाई ठूलो सहरमा बस्ने, धनी आमाबुबा भएका, चाहेको जुनसुकै खानेकुरा खान पाउने र जुनसुकै कपडा लाउन पाउने, चाहेको जुनसुकै कुरा जुनसुकै बेला पाउने, र धेरै कुराहरू जान्ने अरू मानिसहरूभन्दा आफू फरक छु जस्तो लाग्छ। तिनीहरूले सोच्छन्, ‘तिनीहरूको भाग्य कति राम्रो छ। किन मेरो भाग्यचाहिँ यति खराब हो?’ तिनीहरू सधैँ भीडभन्दा माथि उठ्न र आफ्नो नियति परिवर्तन गर्न चाहन्छन्। तर आफ्नो नियति परिवर्तन गर्न त्यति सजिलो छैन। जब कुनै व्यक्ति त्यस्तो परिस्थितिमा जन्मन्छ, तब उसले जति नै प्रयास गरे पनि, आफ्नो भाग्य कति नै परिवर्तन गर्न सक्छ र, अनि उसले यसलाई कति नै राम्रो बनाउन सक्छ र? वयस्क बनेपछि, तिनीहरू जहाँ गए पनि समाजमा तिनीहरूलाई विभिन्न बाधाहरूले रोक्छन्, तिनीहरू जहाँ गए पनि तिनीहरू हेपाइमा पर्छन्, र त्यसकारण तिनीहरूलाई सधैँ आफू अभागी छु भन्ने लाग्छ। तिनीहरू सोच्छन्, ‘म किन यति अभागी? म किन सधैँ निर्दयी मानिसहरू भेट्छु? सानो हुँदा पनि जीवन कठिन थियो, र अवस्था ठ्याक्कै यस्तै थियो। अहिले म ठूलो भएर पनि अवस्था त्यस्तै खराब नै छ। मैले गर्न सक्छु भनेर म सधैँ देखाउन चाहन्छु तर कहिल्यै मौका पाउँदिनँ। यदि मैले कहिल्यै मौका पाउँदिन भने, ठीकै छ त्यस्तै होस्। म बस परिश्रम गरेर सुखी जीवन जिउनको लागि पर्याप्त पैसा कमाउन चाहन्छु। तर म त्योसमेत किन गर्न सक्दिनँ? किन सुखी जीवन जिउन यति गाह्रो हुन्छ? मैले हरेक अन्य व्यक्तिभन्दा उच्च जीवन जिउनु जरुरी छैन। तर म कम्तीमा एउटा सहरवासीको जीवन जिउन चाहन्छु र मानिसहरूद्वारा तुच्छ नजरले हेरिन चाहन्नँ, अनि दोस्रो वा तेस्रो दर्जाको नागरिक बन्न चाहन्नँ। कम्तीमा पनि मानिसहरूले मलाई बोलाउँदा, “ओइ, यहाँ आइज!” भन्दै नचिच्याऊन्। कम्तीमा पनि तिनीहरूले मलाई मेरो नामले बोलाएर सम्मानसाथ सम्बोधन गरून्। तर मलाई त सम्मानको साथ सम्बोधनसमेत गरिँदैन। किन मेरो भाग्य यति निर्दयी भयो? कहिले यसको अन्त्य हुन्छ?’ त्यस्ता मानिसहरूले परमेश्वरमा विश्वास नगर्दा भाग्यलाई निर्दयी ठान्छन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्न र यो नै साँचो मार्ग हो भनेर देख्न थालेपछि यस्तो विचार गर्छन्, ‘पहिलेको सबै दुःख-कष्ट सार्थक थियो। यो सब परमेश्वरले नै योजनाबद्ध गर्नुभएको हो, यो उहाँले नै गर्नुभएको हो, र परमेश्वरले यो एकदमै राम्रो गर्नुभयो। यदि मैले यसरी कष्ट नभोगेको भए, मैले परमेश्वरमा विश्वास गर्नेथिइनँ। अहिले मैले परमेश्वरमा विश्वास गरेँ, त्यसकारण मैले सत्यता स्विकार्न सकेँ भने मेरो नियति परिवर्तन भएर राम्रो बन्नेछ। अब म मेरा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसँग मण्डलीमा समान जीवन जिउन सक्छु, र मानिसहरूले मलाई “दाजु वा भाइ” वा “दिदी वा बहिनी” भनेर बोलाउँछन्, र मलाई सम्मानसाथ सम्बोधन गरिन्छ। अहिले मैले अरूको सम्मान पाउँदा कस्तो हुन्छ त्यसको आनन्द लिन पाएको छ।’ यस्तो लाग्छ तिनीहरूको नियति परिवर्तन भएजस्तो छ, र लाग्छ तिनीहरूले अबदेखि कष्ट भोग्नु पर्दैन र तिनीहरूको भाग्य खराब छैन जस्तो देखिन्छ। तिनीहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि, परमेश्वरको घरमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने सङ्कल्प गर्छन्, तिनीहरू कठिनाइ सहन र परिश्रम गर्न सक्ने बन्छन्, कुनै पनि कुरामा अरूले भन्दा धेरै दुःख सहन सक्ने बन्छन्, र तिनीहरू धेरैजसो मानिसहरूको अनुमोदन र सम्मान पाउन लागिपर्छन्। तिनीहरू आफूलाई मण्डली अगुवाको रूपमा, इन्चार्जको रूपमा, वा टोली अगुवाको रूपमा छनौट गरिन सक्छ भन्नेसमेत सोच्छन्, अनि त्यसपछि त के तिनीहरूले आफ्ना पितापुर्खालाई र आफ्नो परिवारलाई सम्मान दिइरहेका हुनेछैनन् र? के तिनीहरूले आफ्नो नियति परिवर्तन गरेका हुँदैनन् र? तैपनि, वास्तविकता तिनीहरूको कामनाअनुसारको हुँदैन र तिनीहरू उदास बन्छन्, र सोच्छन्, ‘मैले परमेश्वरमा विश्वास गरेको वर्षौँ भयो र म मेरा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसँग राम्ररी घुलमिल हुन सक्छु, तर किन अगुवा, इन्चार्ज, वा टोली अगुवा छनौट गर्ने बेलामा, मेरो पालो कहिल्यै आउँदैन? के म साह्रै सरल देखिएकोले हो कि, कि मैले राम्ररी काम नगरेकोले मलाई कसैले ध्यान नदिएको हो? निर्वाचन हुँदा हरेक-पटक नै मेरो थोरै भए पनि आशा हुन्छ, र म टोली अगुवाको रूपमा छनौट हुन पाए खुसी नै हुन्थेँ। म परमेश्वरको ऋण तिर्न अत्यन्तै उत्साहित छु, तर पनि निर्वाचन हुँदा हरेक-पटक नै मैले खिन्न हुनुपर्छ र यो सबबाट मलाई छुटाइन्छ। के भएर यस्तो भएको हो? के म मेरो जीवनभरि एउटा साधारण व्यक्ति, सामान्य व्यक्ति, र अनुल्लेखनीय व्यक्ति मात्रै बन्न सक्छु? मेरो बाल्यकाल, जवानी, र अधबैँसे उमेरलाई फर्केर हेर्दा, मैले हिँडेको यो बाटो सधैँ नै सामान्य रहेको थियो र मैले कुनै पनि स्मरणीय काम गरेको छैनँ। मसँग कुनै महत्त्वाकाङ्क्षा नभएकोले वा मेरो क्षमता कम भएकोले यस्तो भएको होइन, र मैले पर्याप्त प्रयास नगर्ने वा कठिनाइ भोग्न नसक्ने भएर पनि यस्तो भएको होइन। मेरा पनि सङ्कल्प र उद्देश्यहरू छन्, र यो भन्न सकिन्छ कि मसँग पनि महत्त्वाकाङ्क्षा छँदै छ। तर पनि किन म भीडभन्दा माथि कहिल्यै उठ्न सक्दिनँ? अन्तिम विश्लेषण गरेर हेर्दा के देखिन्छ भने, मेरो भाग्य नै खराब छ र म कष्ट भोग्न जन्मेको हुँ, र परमेश्वरले मेरो लागि यसरी नै बन्दोबस्त मिलाउनुभएको छ।’ तिनीहरूले यो कुरालाई जति विचार गर्छन्, तिनीहरूलाई तिनीहरूको भाग्य त्यति नै खराब लाग्छ। … तिनीहरूको जीवनमा जेसुकै आइपरे पनि, तिनीहरूले सधैँ भाग्य खोटो भएकोले यस्तो भएको हो भनेर भन्छन्; तिनीहरूले भाग्य खोटो छ भन्ने यो विचारलाई नै सधैँ जोड दिन्छन्, यसलाई गहन रूपमा बुझ्न र जान्न लागिपर्छन्, र यस कुरालाई दिमागमा खेलाइरहने क्रममा, तिनीहरूको संवेग अझै निराशापूर्ण बन्छ। जब तिनीहरूले कर्तव्य निभाउने क्रममा सानो गल्ती गर्छन्, तब यस्तो सोच्छन्, ‘अहो, मेरो भाग्य नै त यति खोटो छ, मैले कसरी पो आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छु र?’ भेलाहरूमा, तिनीहरूका विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई सङ्गति दिन्छन् र तिनीहरूले यसबारेमा बारम्बार विचार गर्छन्, तर केही पनि बुझ्दैनन्, त्यसैले तिनीहरूले यस्तो सोच्छन्, ‘अहो, मेरो भाग्य नै त यति खोटो छ, मैले कसरी पो यस्तो कुरा बुझ्न सक्छु र?’ जब तिनीहरूले भन्दा राम्रो बोल्न सक्ने, आफूले बुझेको कुरा तिनीहरूले भन्दा स्पष्ट र अन्तर्दृष्टिपर्ण रूपमा छलफल गर्न सक्ने कसैलाई देख्छन्, तब तिनीहरूलाई झनै बढी डिप्रेसन हुन्छ। जब तिनीहरूले कठिनाइहरू भोग्न र मूल्य चुकाउन सक्ने, आफ्नो कर्तव्यमा परिणामहरू ल्याउने, र विश्वासी दाजुभाइ-दिदीबहिनीहरूबाट अनुमोदन र बढुवा पाउने कसैलाई देख्छन्, तब तिनीहरूलाई हृदयमा बेखुसी हुन्छ। जब तिनीहरूले कसैलाई अगुवा वा सेवक बनेको देख्छन्, तब तिनीहरूलाई अझै बढी डिप्रेसन हुन्छ, र जब तिनीहरूले आफूभन्दा राम्रो गाउन र नाच्न सक्ने कसैलाई देख्छन्, र आफू त्यो व्यक्तिभन्दा कम भएको महसुस गर्छन्, तब पनि तिनीहरूलाई डिप्रेसन हुन्छ। तिनीहरूले जस्तोसुकै मानिस, घटना, वा वस्तुहरूको सामना गरे पनि, वा तिनीहरू जस्तोसुकै परिस्थितिमा परे पनि, सधैँ यस्तो डिप्रेसनको संवेगमार्फत प्रतिक्रिया दिन्छन्। तिनीहरूले तिनीहरूको भन्दा अलिक राम्रो लुगा लाउने वा अलिक राम्रो कपाल भएको व्यक्तिलाई देख्दा पनि, तिनीहरूलाई सधैँ नरमाइलो लाग्छ, र तिनीहरूको हृदयमा डाहा र ईर्ष्या पैदा हुन्छ, र अन्ततः तिनीहरू फेरि डिप्रेसनको संवेगमै फर्केर जान्छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (२))। “आफ्नो भाग्य खराब छ भनेर सधैँ सोच्ने यस्ता मानिसहरूलाई तिनीहरूको मुटु ठूलो ढुङ्गाले किच्याइएको छ जस्तो निरन्तर महसुस हुन्छ। तिनीहरूले आफ्नो जीवनमा आइपर्ने सबै कुरा तिनीहरूको खराब भाग्यले गर्दा हुन्छ भन्ने सधैँ विश्वास गर्ने हुँदा, तिनीहरूमाथि जेसुकै कुरा घटित भए पनि तिनीहरूले यसलाई परिवर्तन गर्न सक्दैनन् भन्ने लाग्छ। अनि, तिनीहरूले के गर्छन्? तिनीहरूले बस नकारात्मक महसुस गरिरहन्छन् र तिनीहरू सुस्त भइरहन्छन् र आफ्नो दुर्दशामा डुबिरहन्छन्। … अन्त्यमा, तिनीहरू सधैँ आफ्नो भाग्य खराब छ भनेर विश्वास गर्दै निराशामा डुब्छन्, कुनै पनि वास्तविक उद्देश्यविना जीवन जिउँछन् र मृत्यु कुर्दै बस खाँदै र पिउँदै बस्छन्; त्यसकारण तिनीहरूले सत्यता पछ्याउने, मुक्ति पाउने, र परमेश्वरका अरू त्यस्तै मापदण्डहरू पूरा गर्ने कार्यमा झन्झन् रुचि गुमाउँदै जान्छन्, र यी कुराहरूलाई झन्झन् बढी घृणा र इन्कार गर्न थाल्छन्। तिनीहरूले आफ्नो खराब भाग्यलाई सत्यता नपछ्याउने र मुक्ति प्राप्त गर्ने नसक्ने कारण र आधारको रूपमा लिन्छन्। तिनीहरू आफूले सामना गर्ने परिस्थितिहरूमा आफ्नो भ्रष्ट स्वभाव वा नकारात्मक संवेगहरूलाई चिरफार गरेर आफूलाई चिन्ने र आफ्नो भ्रष्ट स्वभाव समाधान गर्ने गर्दैनन्, बरु आफूले सामना र अनुभव गर्ने हरेक व्यक्ति, घटना, र परिस्थितिमा तिनीहरूले आफ्नो भाग्य नै खराब छ भन्ने दृष्टिकोण प्रयोग गरेर प्रतिक्रिया जनाउँछन्, जसले गर्दा तिनीहरू डिप्रेसनको संवेगमा झन्झन् गहिरो गरी डुब्छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरले खुलासा गरेको कुरा मेरो स्थितिसँग मिल्थ्यो। म सधैँ मेरो भाग्य खराब र निर्दयी छ भनी सोच्थेँ, यसैको कारण प्रायः उदासीमा जिएकी थिएँ। सानो हुँदा म सामान्य परिवारमा जन्मेको थाहा पाएपछि पढेर भाग्य बदल्न चाहन्थेँ, तर दुर्भाग्यवश हाइस्कुलको पहिलो वर्षमा नै लुपस एरिथेमाटोसस भन्ने रोग देखियो। हाइस्कुलको अन्तिम परीक्षाअघि मेरो रोग फेरि बल्झिएपछि राम्रो विश्वविद्यालयमा भर्ना हुन सकिनँ। पछि, स्वास्थ्य अवस्था बिग्रेर स्कुल छोडेर घर जानुपर्यो। भाग्य बदल्न ज्ञानमा भर पर्ने कुनै बाटो नदेखेपछि, मेरो हृदय अत्यन्त पीडामा थियो, र भाग्य मप्रति पक्षपाती भयो भनेर प्रायः गुनासो गर्थेँ। परमेश्वरमा विश्वास गरेपछि, पर्दा पछाडिको लेखापढी कर्तव्य मन नलागी नलागी गर्थेँ, म ब्रदर-सिस्टरहरूका स्थितिलाई सक्रियतासाथ हल गरी अगुवा चुनिन चाहन्थेँ। तर, मेरो स्वास्थ्य अवस्थालाई हेरी ब्रदर-सिस्टरहरूले मलाई चुनेनन्। मलाई आफू अभागी भएको झनै लाग्न थाल्यो र पहिलेजस्तो भेलामा सक्रिय हुन छोडेँ। मेरो अवस्था हेरी मण्डलीले घरबेटीकै घरमा बसेर पाण्डुलिपी निरीक्षण गर्ने प्रबन्ध गर्यो। म केही उपलब्धि हासिल गरी मानिसको प्रशंसा चाहन्थेँ, तर मेरो स्वास्थ्य अवस्था अचानक झन् खराब भयो र अभास्कुलर नेक्रोसिस भन्ने रोगले गर्दा कर्तव्य निर्वाह गर्न बाहिर जान सकिनँ। म झन् उदास भएँ। मैले सोचेँ, मैले गरेका कुनै कुरा राम्रो भएका छैनन् र कष्ट सहनु नै मेरो भाग्य हो। मेरो जीवनमा उदासीपन छायो, र म आफैसँग हार मानेँ, सत्यता पछ्याउन मन लागेन, र त्यसउपरान्त लेख लेख्न समेत मन लागेन। मलाई लाग्यो मलाई अभागी बनाइएको छ, र पछ्याउनुको कुनै अर्थ हुनेछैन। हर कुरालाई हेर्ने मेरो नजर परमेश्वरमा विश्वास नगर्ने मानिसको जस्तै थियो। प्रतिकूल परिस्थितिको सामना हुँदा मेरो भाग्य खराब रहेको निष्कर्ष निकाल्थेँ र मैले गर्ने हरेक कुरामा भाग्यविरुद्ध लड्न चाहन्थेँ। यो लडाइँ हारेपछि म अभागी रहेको भनी गुनासो गरेँ। मैले वर्षौँदेखि परमेश्वरमा विश्वास गरेकी थिएँ, तर उहाँप्रति साँचो समर्पण थिएन। आफ्नो समस्या हल गर्न सत्यता खोज्न जान्दिनथेँ, उदासीमा जीवन जिउँदै परमेश्वरलाई दोष दिइरहन्थेँ। म कसरी परमेश्वरको विश्वासी भएँ र?
पछि, मैले परमेश्वरका वचनको दुई खण्ड पढेँ र राम्रो वा खराब भाग्य भन्ने कुरा हुँदैन रहेछ भन्ने थाहा पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “व्यक्तिको भाग्य के हुनेछ, यो राम्रो हुनेछ कि खराब हुनेछ भन्नेसम्बन्धी परमेश्वरको बन्दोबस्तलाई मान्छेको नजरद्वारा हेर्नु वा मापन गर्नु वा भाग्य बताउने व्यक्तिको नजरले हेर्नु हुँदैन, न त यो कुरालाई व्यक्तिले आफ्नो जीवनकालमा कति सम्पत्ति र वैभव पाउँछ, वा उसले कति धेरै कष्ट भोग्छ वा भावी सम्भाव्यता, ख्याति र सम्पत्ति पछ्याउने क्रममा ऊ कति सफल हुन्छ भन्ने आधारमा मापन गर्नु नै हुन्छ। यसको बाबजुद पनि, आफ्नो भाग्य खराब छ भनेर भन्ने मानिसहरूले गर्ने गम्भीर गल्ती नै यही हो, साथै अधिकांश मानिसहरूले आफ्नो भाग्य मापन गर्न प्रयोग गर्ने तरिका पनि यही हो। त्यसोभए, धेरैजसो मानिसहरूले आफ्नो भाग्य कसरी मापन गर्छन्? व्यक्तिको भाग्य राम्रो छ कि खराब छ भनेर सांसारिक मानिसहरूले कसरी मापन गर्छन्? मुख्य गरी, तिनीहरूले यो कुरालाई व्यक्तिको जीवन सहज रूपमा अघि बढ्छ कि बढ्दैन, उसले सम्पत्ति र वैभव उपभोग गर्न पाउँछ कि पाउँदैन, उसले अरूको भन्दा उच्च जीवनशैली जिउन पाउँछ कि पाउँदैन, उसले आफ्नो जीवनमा कति धेरै कष्ट भोग्नुपर्छ र कति धेरै आनन्द लिन सक्छ, ऊ कति लामो समय बाँच्छ, उसले कुन पेसा अपनाउँछ, उसको जीवन सङ्घर्षले भरिएको छ कि सहज र सजिलो छ भन्ने कुरामा आधारित गर्छन्—तिनीहरूले कुनै व्यक्तिको भाग्य असल छ कि खराब छ भनेर मापन गर्नको लागि यी कुराहरू र यस्तै अन्य कुराहरू प्रयोग गर्छन्। के तिमीहरूले पनि यसरी नै मापन गर्दैनौ र? (गर्छौँ।) त्यसोभए, जब तिमीहरूमध्ये धेरैजसोले आफूलाई मन नपर्ने कुरा सामना गर्छौ, जब समय कठिन हुन्छ, वा तिमीहरूले उच्च जीवनशैली उपभोग गर्न पाउँदैनौ, तब तिमीहरूले पनि आफ्नो भाग्य खोटो छ भनेर सोच्नेछौ, र तिमीहरू डिप्रेसनमा डुब्नेछौ” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (२))। “परमेश्वरले धेरै पहिले नै मानिसहरूको भाग्य पूर्वनिर्धारित गर्नुभएको छ, र ती अपरिवर्तनीय छन्। यो ‘असल भाग्य’ र ‘खराब भाग्य’ व्यक्तिपिच्छे फरक-फरक हुन्छन्, र ती कुरा वातावरणमा र मानिसहरूले कस्तो महसुस गर्छन् र के पछ्याउँछन् भन्ने कुरामा निर्भर हुन्छन्। त्यसकारण कसैको भाग्य असल पनि हुँदैन र खराब पनि हुँदैन। तैँले साह्रै कठिन जीवन जिउन सक्छस्, तर तैँले यस्तो सोच्न सक्छस्, ‘म उच्च जीवन जिउने प्रयास गरिरहेको छैनँ। पुग्दो खान र लाउन पाए म त्यसैमा खुसी हुन्छु। जीवनमा हर-कसैले कष्ट भोग्नुपर्छ। सांसारिक मानिसहरूले भन्छन्, “वर्षा नभई इन्द्रेनी देखिन्न”, त्यसकारण दुःख-कष्टमा पनि मूल्य हुन्छ। यो त्यति खराब कुरा होइन, र मेरो भाग्य खराब छैन। माथिको स्वर्गले मलाई केही पीडा, केही परीक्षा, र केही सङ्कष्ट दिएको छ। यो किन हो भने उहाँ मलाई निकै सम्मान गर्नुहुन्छ। यो राम्रो भाग्य हो!’ कतिपय मानिसहरू कष्ट भोग्नु खराब कुरा हो, र यसको अर्थ तिनीहरूको भाग्य खराब छ, र जीवन कष्टरहित, आराम र सहज छ भने मात्रै तिनीहरूको भाग्य राम्रो हुन्छ भन्ने सोच्छन्। गैरविश्वासीहरू यसलाई ‘विचारको कुरा’ भन्छन्। परमेश्वरका विश्वासीहरूले ‘भाग्य’ सम्बन्धी यो विषयलाई कसरी लिन्छन्? के हामी ‘असल भाग्य’ वा ‘खराब भाग्य’ भनेर कुरा गर्छौँ? (गर्दैनौँ।) हामी यस्ता कुराहरू गर्दैनौँ। मानौँ, तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले तेरो भाग्य राम्रो छ, तर त्यसपछि यदि तैँले आफ्नो विश्वासमा सही मार्ग पछ्याउँदैनस्, र तँलाई दण्डित, खुलासा गरियो र हटाइयो भने, के त्यसको अर्थ तेरो भाग्य राम्रो छ भन्ने हुन्छ कि नराम्रो? यदि तँ परमेश्वरमा विश्वास गर्दैनस् भने, तँलाई खुलासा गरिने वा हटाइने सम्भावनै हुँदैन। गैरविश्वासीहरू र धर्मका मानिसहरूले मानिसहरूलाई खुलासा गर्ने वा चिन्नेबारेमा कुरा गर्दैनन्, र तिनीहरूले मानिसहरूलाई सफाइ गर्ने वा हटाउनेबारेमा पनि कुरा गर्दैनन्। मानिसहरूले परमेश्वरमा विश्वास गर्न सके भने, तिनीहरूको भाग्य राम्रो छ भन्ने हुन्छ, तर यदि अन्त्यमा तिनीहरूलाई दण्ड भयो भने, के त्यसको अर्थ तिनीहरूको भाग्य खराब छ भन्ने हुन्छ? एक क्षण तिनीहरूको भाग्य असल हुन्छ, र अर्को क्षण खराब हुन्छ—तर खासमा त्यो कस्तो हो, असल कि खराब? कुनै व्यक्तिको भाग्य असल छ कि छैन भन्ने कुरा मूल्याङ्कन गर्न सकिने कुरा होइन, र मानिसहरूले यो कुरा मूल्याङ्कन गर्नै सक्दैनन्। यो सबै परमेश्वरले गर्नुहुने कुरा हो र परमेश्वरले बन्दोबस्त गर्नुहुने सबै कुरा असल हुन्छन्। यति मात्र हो, हरेक व्यक्तिको भाग्यको दिशा, वा तिनीहरूको वातावरण, र तिनीहरूले सामना गर्ने मानिसहरू, घटनाहरू, र परिस्थितिहरू, र आफ्नो जीवनकालमा तिनीहरूले अनुभव गर्ने जीवन मार्ग फरक-फरक हुन्छन्; यी कुराहरू व्यक्तिपिच्छे फरक-फरक हुन्छन्। हरेक व्यक्ति जिउने वातावरण र तिनीहरू हुर्कने-बढ्ने वातावरण दुवै परमेश्वरले नै तय गर्नुभएको हुन्छ, तर ती दुवै वातावरण पूरै फरक हुन्छन्। हरेक व्यक्तिले आफ्नो जीवनकालमा अनुभव गर्ने कुराहरू पूरै फरक हुन्छन्। तथाकथित कुनै असल भाग्य वा खराब भाग्य भन्ने कुरै हुँदैन—यो सब परमेश्वरले नै मिलाउनुभएको, र परमेश्वरले नै गर्नुभएको हुन्छ। यदि हामीले यो सब परमेश्वरले नै गर्नुभएको हो भन्ने दृष्टिकोणले हेर्यौँ भने, परमेश्वरले गर्नुहुने हरेक कुरा असल र सही हुन्छ; यति मात्र हो, मानिसहरूको अभिरुचि, भावना र छनौटहरूको दृष्टिकोणबाट, कतिपय मानिसहरूले सहज जीवन जिउन रोज्दै, ख्याति र सम्पत्ति, असल प्रतिष्ठा, र संसारको समृद्धि प्राप्त गर्ने, अनि आफ्नो जीवन आफै सम्हाल्ने निर्णय गर्छन्। यसको अर्थ तिनीहरूको भाग्य राम्रो छ, र जीवनभरि सामान्य र असफल भएर जिउनु, समाजको तल्लो स्तरमा जिउनु खराब भाग्य हो भन्ने तिनीहरूलाई लाग्छ। सांसारिक कुराहरू पछ्याउने र संसारमा जिउन खोज्ने गैरविश्वासी र सांसारिक मानिसहरूको दृष्टिकोणबाट हेर्दा, विभिन्न कुराहरू यस्तै देखिन्छन्, र असल भाग्य र खराब भाग्यको विचार यसरी नै पैदा भएको हुन्छ। असल भाग्य र खराब भाग्यको विचार भाग्यसम्बन्धी मान्छेको सङ्कीर्ण बुझाइ र सतही अनुभूतिबाट, अनि मानिसहरूले कति भौतिक कष्ट भोग्छन्, र कति धेरै आनन्द, ख्याति र लाभ प्राप्त गर्छन्, र यस्तै अन्य कुराहरूसम्बन्धी तिनीहरूको मूल्याङ्कनबाट मात्रै पैदा भएको हुन्छ। वास्तवमा, मान्छेको भाग्यप्रतिको परमेश्वरको बन्दोबस्त र सार्वभौमिकताको दृष्टिकोणद्वारा हामीले यसलाई हेर्यौँ भने, असल भाग्य वा खराब भाग्य भनेर व्याख्या नै गरिँदैन। के यो सही होइन र? (हो।) यदि तैँले मान्छेको भाग्यलाई परमेश्वरको सार्वभौमिकताको दृष्टिकोणले हेर्छस् भने, परमेश्वरले गर्नुहुने सबै कुरा असल हुन्छ, र ती कुराहरू नै हरेक व्यक्तिलाई चाहिने कुरा हुन्छन्। यस्तो किन हुन्छ भने, विगत र वर्तमान जीवनमा कारण र प्रभावले भूमिका खेलेको हुन्छ, ती कुराहरू परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ, ती कुराहरूमाथि परमेश्वरको सार्वभौमिकता हुन्छ, र परमेश्वरले नै ती कुराहरूको योजना र बन्दोबस्त गर्नुभएको हुन्छ—मानवजातिसँग कुनै विकल्प हुँदैन। यदि हामीले यो दृष्टिकोणले हेर्यौँ भने, मानिसहरूले आफ्नो भाग्यलाई असल वा खराब भनेर मूल्याङ्कन गर्नु हुँदैन, होइन र?” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचन पढेपछि मैले बल्ल थाहा पाएँ कि परमेश्वरको दृष्टिकोणमा राम्रो र नराम्रो भाग्य हुँदो रहनेछ। परमेश्वरले गर्ने सबै काम राम्रो हुन्छ। परमेश्वरले प्रत्येक मानिसको भाग्यको व्यवस्था गर्नुहुन्छ, त्यसमाथि सार्वभौमिकता राख्नुहुन्छ। मानिसले जीवनभर कति कष्ट सहेका छन्, कति महिमा र सम्पत्ति पाएका छन्, प्रसिद्धि, लाभ र भावी सम्भावनाको दौडमा कति सफल भएका छन् भन्ने कुरालाई भाग्य राम्रो वा खराब भनी जाँच्ने मानक बनाएका छन्। यो मानिसको देहगत रुचिको कोणबाट आउँछ, परमेश्वरको अभिप्रायसँग बिलकुलै मिल्दैन। मैले यस्तै ठानेकी थिएँ; राम्रो स्वास्थ्य भएका, प्रसिद्धि र लाभ हासिल गर्न सकेका, महिमा र सम्पत्तिमा रमाएकाहरूलाई म भाग्यमानी सम्झन्थेँ, बिरामी हुने, गरिबीमा जिउने र जिन्दगीभर औसत जीवन बिताउने, कसैको पनि प्रशंसा नपाउनेहरूलाई अभागी सम्झन्थेँ। यसर्थ, म सधैँ बिरामी हुने, अनि प्रसिद्धि, लाभ र भावी सम्भावना पछ्याउन चाहेपनि कहिल्यै सफल नहुने देख्दा, मेरो भाग्य नै खराब छ भन्ने सोच्थेँ। हरेक कुरालाई गैरविश्वासीले झैँ हेर्थेँ; यो अविश्वासीको हेराइ थियो। केही मानिसको स्वास्थ्य राम्रो हुन्छ, र जिन्दगीभर पैसा, प्रसिद्धि, लाभ र हैसियतका लागि नै संघर्ष गरेर बिताउँछन्। तिनीहरूको इच्छा पूरा भएपनि, जिउनुको मूल्य वा अर्थ थाहा पाउँदैनन्। केही मानिस खोक्रोपन महसुस गर्दै दिनहरू बिताउँछन्, केहीले विभिन्न प्रकारका प्रकारका प्रेरणाको खोजी गर्छन्। केही मानिस आत्मरतिमा डुब्छन्, अनि केही मानिस आत्महत्या गरी जीवन समाप्त पार्नतिर लाग्छन्। के यी मानिसको भाग्य निकै राम्रो हुन्छ? तिनीहरू साँच्चै खुसी र आनन्दित हुन्छन्? मैले सोचेँ, केही ब्रदर-सिस्टरहरू सामान्य परिवारबाट आएका भएपनि, परमेश्वरको घरमा अगुवा वा सुपरभाइजरमा बढुवा नगरिएपनि, तिनले अझैपनि आफ्ना कर्तव्य निर्वाह गरे, केही सत्यता बुझे। केहीले त परमेश्वरको गवाही दिने लेखहरू पनि लेखे; तिनीहरूको भाग्य खराब थिएन। म बिमारले सताइएको भएपनि, प्रायः परमेश्वरलाई प्रार्थना गर्थेँ, मेरो हृदयले उहाँबाट अलग बस्ने आँट गर्दैनथ्यो। यी वर्षमा, मैले मेरो लेखापढी कर्तव्य निर्वाह गर्ने क्रममा केही सत्यता पनि बुझेँ। यी सबै मेरो जीवन प्रवेशका लागि लाभदायी थिए। अर्कोतिर, मेरो प्रकृति धेरै अहङ्कारी थियो, र प्रतिष्ठा र हैसियतप्रतिको मेरो चाहना निकै प्रबल थियो। त्यसैले, उच्च दर्जाको कर्तव्यमा बढुवा नगरिनु परमेश्वरले मेरो रक्षा गर्ने एउटा तरिका थियो। अझ महत्वपूर्ण कुरा मलाई यो रोग नलागेको भए, मैले पक्कै पनि मेरो सम्पूर्ण हृदयलाई संसारिक पैसा, प्रसिद्धि र लाभको पछि लाउनेथिएँ, म शैतानको शक्तिमुनि जिउनेथिएँ, यसले गर्ने हानि, चालबाजीमा फसेर यसकै पूर्ण नियन्त्रणमा हुनेथिएँ, र मैले परमेश्वरको आखिरी दिनहरूको मुक्ति पाउनेथिइनँ। वास्तवमा, यो रोगबाट मैले धेरै कुरा पाएकी थिएँ, तर मलाई अभागी बनाइएको भनेर सधैँ गुनासो गर्थेँ। यो पूरै समय मेरो चारैतिर आशिष् थियो, तर मलाई थाहा रहेनछ! मैले परमेश्वरका यी वचन सम्झेँ: “कोही मानिसहरू बिमारीको कारण परमेश्वरमा विश्वास गर्न थाल्छन्। यो बिमारी तेरो लागि परमेश्वरको अनुग्रह हो; योविना तैँले परमेश्वरमा विश्वास गर्ने थिइनस्—र यदि तैँले परमेश्वरमा विश्वास नगरेको भए तँ यति टाढासम्म आउने थिइनस्—यसैले यो अनुग्रह पनि परमेश्वरको प्रेम नै हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। अब, मैले परमेश्वरका यी वचनलाई प्रत्यक्ष अनुभव गरेकी थिएँ। म उप्रान्त मेरो रोगका कारण मेरो भाग्य खराब थियो भनेर गुनासो गर्ने थिइनँ।
मैले परमेश्वरका अझ धेरै वचन पढेँ: “मेरो भाग्य खोटो छ भनेर सधैँ भनिरहने मानिसहरूको सोच र दृष्टिकोण सही छ कि गलत छ? (गलत छ।) स्पष्टै छ, ती मानिसहरू चरमताको दलदलमा फसेका हुनाले तिनीहरूले डिप्रेसनको संवेग अनुभव गर्छन्। … तिनीहरूले विभिन्न समस्या र मानिसहरूलाई यही चरम र गलत दृष्टिकोणबाट हेर्छन्, र यसरी तिनीहरू यही नकारात्मक संवेगको प्रभाव र असरमा रहेर जिउने, सोहीअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्ने, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्छन्। अन्त्यमा, तिनीहरू जे-जसरी जिए पनि, यति थकित हुन्छन् कि तिनीहरूले परमेश्वरमाथिको आफ्नो विश्वास अनि सत्यताको खोजप्रति कुनै जाँगर बटुल्न सक्दैनन्। तिनीहरूले आफ्नो जीवन जे-जसरी जिउने निर्णय गरे पनि, सकारात्मक वा सक्रिय रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्, र परमेश्वरमा धेरै वर्ष विश्वास गरे पनि, तिनीहरूले आफ्नो कर्तव्य आफ्नो सारा हृदय र प्राणले पूरा गर्नमा वा चित्तबुझ्दो तरिकाले कर्तव्य निभाउनमा कहिल्यै ध्यान दिँदैनन्, झन् तिनीहरूले सत्यता पछ्याउनु, वा सत्यताका सिद्धान्तहरूअनुसार अभ्यास गर्नु त अवश्यै धेरै परको कुरा हो। यस्तो किन हुन्छ? अन्तिम विश्लेषण गरेर हेर्दा, के देखिन्छ भने, तिनीहरूले सधैँ आफ्नो भाग्य खराब छ भन्ने विश्वास गर्ने हुनाले यस्तो हुन्छ, र यसले गर्दा तिनीहरूमा निकै ठूलो डिप्रेसनको संवेग पैदा हुन्छ। तिनीहरू पूर्णतया जोसरहित, र कुनै सकारात्मक वा आशावादी व्यवहार प्रस्तुत नगर्ने जिउँदो लासजस्तै असहाय र शक्तिहीन बन्छन्, झन् तिनीहरूमा आफ्नो कर्तव्य, जिम्मेवारी, र दायित्वमा बफादारी समर्पित गर्न चाहिने सङ्कल्प वा जाँगर हुनु त धेरै परको कुरा हो। बरु, तिनीहरूले विनाउद्देश्य र भ्रमित रूपमा अनि विनाचेतना समय काट्दै, लापरवाही मनोवृत्ति लिएर मन नलागी-नलागी सङ्घर्ष गर्दै दिनहरू बिताउँछन्। यसरी कति समय अल्याङटल्याङ गर्दै अघि बढ्ने हो, त्यो तिनीहरूलाई थाहै हुँदैन। अन्त्यमा, तिनीहरूसँग आफूलाई यसो भन्दै चेतावनी दिनेबाहेक अरू कुनै उपाय हुँदैन, ‘अहो, म जति सक्छु त्यति लामो समयसम्म अल्याङटल्याङ गर्दै अघि बढिरहनेछु! यदि एक दिन म अघि बढ्नै नसक्ने अवस्थामा पुगेँ, र मण्डलीले मलाई निकाल्न र हटाउन चाहन्छ भने, तिनीहरूले मलाई हटाउन सक्नेछन्। किनभने मेरो भाग्य नै खोटो छ!’ देखिस् त, तिनीहरूले बोल्ने कुरा पनि कति हरेसलाग्दो छ। यो डिप्रेसनको संवेग साधारण मनस्थिति मात्रै होइन, बरु अझै महत्त्वपूर्ण कुरा त यसले मानिसहरूको विचार, हृदय, र खोजमा पनि भयानक असर पार्छ। यदि तैँले आफ्नो डिप्रेसनको संवेगलाई समयमै र तुरुन्तै परिवर्तन गर्न सक्दैनस् भने, त्यसले तेरो पूरै जीवनमा असर गर्ने मात्रै होइन, तेरो जीवन नष्ट गरेर तँलाई मृत्युमा समेत पुर्याउँछ। परमेश्वरमा विश्वास गरे पनि, तैँले सत्यता र मुक्ति पाउन सक्नेछैनस्, र अन्त्यमा, तँ नष्ट हुनेछस्। त्यसैले, आफ्नो भाग्य खराब छ भनेर विश्वास गर्नेहरू अहिले नै बिउँझनुपर्छ; यसरी आफ्नो भाग्य असल छ कि खराब छ भनेर सधैँ हेर्नु, सधैँ कुनै प्रकारको भाग्यको पछि लाग्नु, सधैँ आफ्नो भाग्यको चिन्ता गर्नु—यो काम राम्रो होइन। सधैँ आफ्नो भाग्यलाई अत्यन्तै गम्भीरतासाथ लिएमा, सानोतिनो बाधा वा निराशा सामना गर्दा, वा असफलता, बाधाव्यवधान, वा अपमान सामना गर्दा पनि, तैँले तुरुन्तै यो कुरा तेरो आफ्नै खराब भाग्यले गर्दा भएको हो, र यो तेरो आफ्नै दुर्भाग्यले गराएको हो भनेर विश्वास गरिहाल्छस्। त्यसैले, तैँले आफूलाई तँ खोटो भाग्यवाल होस्, तँसँग अरूको जस्तो राम्रो भाग्य छैन भनेर बारम्बार स्मरण गराइरहन्छस्, र तँ डिप्रेसनको संवेगले घेरिएर, बाँधिएर, अनि गिजोलिएर उम्कनै नसक्ने गरी आफूलाई बारम्बार डिप्रेसनमा डुबाइरहन्छस्। यो निकै डरलाग्दो र खतरनाक कुरा हो। डिप्रेसनको यो संवेगले तँलाई थप अहङ्कारी वा छली बनाउने नभए पनि, वा तँमा दुष्टता, वा कठोरता, वा अरू त्यस्तै भ्रष्ट स्वभाव प्रकट गराउने नभए पनि; यसले तँलाई भ्रष्ट स्वभाव प्रकट गरेर परमेश्वरको अवज्ञा गर्ने, वा भ्रष्ट स्वभाव प्रकट गरेर सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने, वा बाधाव्यवधान ल्याउने, वा दुष्कर्महरू गर्ने अवस्थामा पुर्याउने नभए पनि, सारको हिसाबमा हेर्दा, डिप्रेसनको यो संवेग वास्तविकताप्रतिको मानिसहरूको असन्तुष्टिको सबैभन्दा गम्भीर प्रकटीकरण हो। सारको हिसाबमा, वास्तविकताप्रतिको असन्तुष्टिको यो प्रकटीकरण परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रतिको असन्तुष्टि पनि हो। अनि परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति असन्तुष्ट हुनुका परिणामहरू के हुन्छन्? ती परिणामहरू निश्चय नै अत्यन्तै गम्भीर हुन्छन् र तिनले कम्तीमा पनि तँलाई परमेश्वरविरुद्ध विद्रोह र अवज्ञा गर्ने तुल्याउनेछन्, र तँलाई परमेश्वरको वाणी र भरणपोषण स्विकार्न नसक्ने, र परमेश्वरको शिक्षा, अर्ती, ताकिता, र चेतावनीहरू बुझ्न नसक्ने र सुन्न अनिच्छुक तुल्याउनेछन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनले निराशावाद र उदासी जस्ता नकारात्मक भावनामा फसिरहनुको परिणाम गम्भीर हुन्छ भनी देखाए। यसले मानिसलाई आफूलाई आइपर्ने कुनै पनि कुरालाई सही रूपमा लिन नसक्ने बनाउने मात्र होइन, यसले तिनीहरूलाई आफ्नो कर्तव्यपालन गर्न र सत्यता पछ्याउन अनिच्छुक समेत बनाउँछ, र अन्ततः तिनीहरूले मुक्ति पाउने मौका गुमाउँछन्। योभन्दा नि गम्भीर कुरा भनेको यस प्रकारको उदासीपन वास्तविकता र परमेश्वरको सार्वभौमिकता एवम् बन्दोबस्तप्रतिको असन्तुष्टि हो। यसको सार परमेश्वरसँग गुनासो गर्नु र उहाँविरुद्ध चुपचाप विद्रोह गर्नु हो। यसको प्रकृति निकै गम्भीर हुन्छ। मेरो रोग बल्झेपछि हाइस्कुलको अन्तिम परीक्षाको अङ्क पनि नराम्रो आयो र रोगले गर्दा स्कुल पनि छोडेर घर गएँ। यस कारणले गर्दा, म अत्यन्त पीडामा थिएँ, हर व्यक्ति, हर कुरालाई दोष दिन्थेँ। परमेश्वरमा विश्वास गरेपछि मेरो रोगले मलाई बढुवा र वृद्धिविकास हुन रोक्यो, र म सधैँ सोच्थेँ, म अभागी बनाइएको छु, यो शरीर दिएकोमा परमेश्वरलाई दोष दिन्थेँ, कर्तव्यमा पनि झारा टार्न थालेँ, सक्रिय भई सहयोग गर्न मन लाग्दैनथ्यो। म सधैँ मेरो भाग्य खराब छ भन्ने गलत धारणामा नै अल्झिरहेँ, र झन् उदास हुँदै गएँ, परमेश्वरसँग गुनासो गर्दै उहाँलाई गलत बुझिरहेँ। बाटो नबदले अन्तमा म परमेश्वरको प्रतिरोध गरी मुक्ति पाउने मौका गुमाउने थिएँ। यस प्रकारका गतल सोच र विचार धेरै विषालु हुन्छन्। यसले मानिसलाई समर्पणको भावविना आफूमाथि आइपरेका विषयको सामना गर्न लगाउँछ, अन्तमा तिनलाई शैतानले मूर्ख बनाई हानि गर्नेछ। यो बुझेर मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मलाई अभागी बनाइएको भनी मैले सधैँ गुनासो गरेँ। यस्तो नकारात्मक उदासीपनमा जिएँ। यो तपाईंविरुद्ध मौन विद्रोह थियो; मैले तपाईंको प्रतिरोध गर्दैथिएँ। हे परमेश्वर, म यसरी अघि बढ्न चाहन्न; बिन्ती मलाई मार्गदर्शन गर्नुहोस्।”
यसपछि, मैले परमेश्वरका वचन पढेँ र आफ्नो भाग्यलाई सही रूपमा कसरी लिने भनी सिकेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “भाग्यप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ? तैँले सृष्टिकर्ताको बन्दोबस्त पालना गर्नुपर्छ, सृष्टिकर्ताले यी कुराहरू बन्दोबस्त गर्नुपछाडि उहाँको उद्देश्य र अर्थ के छ भन्नेबारे सक्रियता र मेहनतसाथ खोजी गरेर सत्यताको बुझाइ हासिल गर्नुपर्छ, परमेश्वरले तेरो लागि मिलाउनुभएको यो जीवनमा तैँले आफ्नो उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्छ, सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य, जिम्मेवारी, र दायित्व पूरा गर्नुपर्छ, र आफ्नो जीवन अझै अर्थपूर्ण र मूल्यवान् बनाउनुपर्छ, र अन्तिममा तैँले यसो गरेर सृष्टिकर्तालाई तँप्रति प्रसन्न तुल्याउनुपर्छ र उहाँलाई तेरो स्मरण गर्ने बनाउनुपर्छ। अवश्य नै, तैँले आफ्नो खोज र मेहनतद्वारा मुक्ति प्राप्त गर्नु अझै राम्रो हुनेछ—यो सबैभन्दा उत्कृष्ट परिणाम हुनेछ। जे होस्, भाग्यको सन्दर्भमा, सृष्टि गरिएको मानवजातिमा हुनुपर्ने सबैभन्दा उचित मनोवृत्ति भनेको अन्धाधुन्ध मूल्याङ्कन र परिभाषा नगर्नु वा यसलाई सम्हाल्न चरम शैली नअपनाउनु हो। अनि अवश्यै मानिसहरूले आफ्नो भाग्यलाई प्रतिरोध, छनौट, वा परिवर्तन गर्ने प्रयास गर्नु नै हुँदैन, बरु तिनीहरूले यसलाई बुझ्न, र यसलाई खोजी, अन्वेषण, र पालन गर्न हृदय प्रयोग गरी यसलाई सकारात्मक रूपमा लिनुपर्छ। अन्त्यमा, परमेश्वरले तेरो लागि तय गर्नुभएको जिउने वातावरण र तेरो जीवन यात्रामा, तैँले परमेश्वरले तँलाई सिकाउनुहुने आचरणको तौरतरिका खोजी गर्नुपर्छ, परमेश्वरले तँलाई हिँड्न लगाउनुहुने बाटो पहिल्याउनुपर्छ, र यसरी परमेश्वरले तेरो लागि मिलाउनुभएको भाग्य अनुभव गर्नुपर्छ, र अन्त्यमा, तँ आशिषित हुनेछस्। जब सृष्टिकर्ताले तेरो लागि मिलाउनुभएको भाग्यलाई तैँले यसरी अनुभव गर्छस्, तब तैँले शोक, दुःख, आँसु, पीडा, निराशा, र असफलता मात्रै होइन, अझै महत्त्वपूर्ण रूपमा, आनन्द, शान्ति, र सान्त्वना, साथै परमेश्वरले तँलाई प्रदान गर्नुहुने सत्यताको अन्तर्दृष्टि र ज्योति पनि अनुभव गर्नेछस्। अनि यति मात्र होइन, जब तँ जीवनको बाटोमा अलमलिएको हुन्छस्, जब तैँले निराशा र असफलता सामना गर्छस्, र जब तैँले छनौट गर्नुपर्ने हुन्छ, तब तैँले सृष्टिकर्ताको अगुवाइ अनुभव गर्नेछस्, र अन्त्यमा तैँले सबैभन्दा अर्थपूर्ण जीवन कसरी जिउने त्यसको बुझाइ, अनुभव र ज्ञान प्राप्त गर्नेछस्। त्यसपछि तँ जीवनमा फेरि कहिल्यै हराउनेछैनस्, तँ फेरि कहिल्यै चिन्ताको अटुट स्थितिमा रहनेछैनस्, अनि अवश्यै, तैँले फेरि कहिल्यै खोटो भाग्यबारे गुनासो गर्नेछैनस्, तँ आफ्नो भाग्य खोटो छ भनेर डिप्रेसनको संवेगमा डुब्ने त झन् कुरै हुँदैन। यदि तँसँग यस्तो मनोवृत्ति छ र सृष्टिकर्ताले तेरो लागि तय गर्नुभएको भाग्य सामना गर्न तैँले यो विधि प्रयोग गर्छस् भने, तेरो मानवता अझै सामान्य हुने मात्र होइन, अनि तँमा सामान्य मानवता हुने, र तेरो सोच, दृष्टिकोण र विभिन्न कुराहरू हेर्ने तेरो सिद्धान्त सामान्य मानवताको हुने मात्रै होइन, तैँले जीवनको अर्थबारे गैरविश्वासीहरूसँग कहिल्यै नहुने दृष्टिकोण र बुझाइ पनि अवश्यै प्राप्त गर्नेछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनबाट मैले बुझेँ, परमेश्वरले हाम्रा लागि जस्तो भाग्यको प्रबन्ध गरेपनि, हामी उहाँको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित रहनुपर्छ। सृजित प्राणीसँग हुनुपर्ने समझ यही हो। हाम्रो भाग्य जे भएनि सबभन्दा महत्वपूर्ण कुरा हामीले सत्यता पछ्याउन सक्नु हो, सृजित प्राणीको कर्तव्य पूरा गर्नु हो, मूल्यवान र अर्थपूर्ण जीवन जिउनु हो। अय्युबलाई परमेश्वरले पहिलो पटक पहाडै ढाक्ने पशुधन, धेरै सम्पत्ति र सुन्दर छोराछोरीको आशिष् दिँदा मानिसले उनीसँग असल भाग्य छ भन्ने सोचे। तर अय्युबले यी कुरामा आनन्द देखेनन्, बरु परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग समातिरहे। पछि, उनले परीक्षाको सामना गरे। एक रात उनको सबै सम्पत्ति हरायो, छोराछोरी मरे र उनको शरीरभरि खटिरा आयो। मानिसको नजरमा, उनले ठूलो दुर्गति भोगेको थिए। तर अय्युबले आफूलाई आइपरेका घटनालाई मानिसको नजरबाट हेरेनन्। न उनले विद्रोह वा प्रतिरोध गरे। बरु उनले परमेश्वरबाट आएका कुरा स्वीकारे, उहाँको अभिप्राय खोजे, र उहाँको पवित्र नामको गुणगान गरे, अन्ततः, आफ्नो गवाहीमा दृढ रहे। परमेश्वर अय्युबसामु प्रकट हुनुभो, र अय्युबले उहाँलाई देखे। उनको हृदयले शान्ति र हर्ष प्राप्त गर्यो, र अन्तमा, दिन पुगेर उनको मृत्यु भयो। तर मेरो भाग्यको कुरामा, म सधैँ यसलाई बदल्न र यसबाट मुक्त हुन संघर्ष गर्न चाहन्थेँ। मैले लगनशील भई यसको खोजी वा सकारात्मकतासाथ सामना गरिनँ, र त्यसैले, म असहनीय पीडामा रहन्थेँ। मैले परमेश्वरका यी वचन सम्झेँ: “यो पीडाको कारण के हो त? के यो परमेश्वरको सार्वभौमिकताको कारण हो कि व्यक्ति अभागी भएर जन्मेकोले गर्दा हो? अवश्य नै, दुवै सत्य होइन। आधारभूत रूपमा, मानिसहरूले लिने मार्गहरू, तिनीहरूले आफ्नो जीवन जिउन रोजेका शैलीहरूको कारण यस्तो हुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। मैले थाहा पाएँ म यति धेरै पीडामा हुनु मेरो पछ्याइको मार्गमा समस्या भएकाले थियो। परमेश्वरमा विश्वास गर्नुअघि, ज्ञानले भाग्य बदल्न चाहन्थें। म भीडबाट छुट्टै देखिन र आरामदायी सम्पन्न जीवन जिउन खोज्थेँ। परमेश्वरमा विश्वास गरेपछि पनि मैले कर्तव्यमा प्रतिष्ठा र हैसियत पछ्याइरहेँ, अरूले मेरो आदर गरुन् भन्ने चाहन्थेँ। मेरो रोगले मलाई आफ्ना इच्छा पूरा गर्न नदिएपछि, मलाई अभागी बनाइएको भनी गुनासो गर्थेँ, र उदासीपनमा रहन्थेँ। प्रतिष्ठा र हैसियत पाउने मेरो चाहना निकै प्रबल थियो। मैले आफूलाई सोधेँ, “के कसैले प्रतिष्ठा र हैसियत पाउनेबित्तिकै उसको भाग्य साँच्चै राम्रो र जीवन मूल्यवान हुन्छ?” मण्डलीले धेरै मानिसलाई खुलासा गरी हटाएको कुरा मैले सम्झेँ। केही मानिसलाई नेतृत्वदायी कर्तव्यपालन गर्न बढुवा गरिएपनि, तीमध्य केहीले सत्यता पछ्याएनन्, हठपूर्वक प्रतिष्ठा र हैसियत पछ्याए, ब्रदर-सिस्टरका अघि आफूलाई उचाले, आफ्नै गवाही दिए, काटछाँट गरिन स्वीकार गरेनन्, र अन्तमा खुलासा भएर हटाइए। मैले बुझेँ, मानिसले सत्यता पछ्याएनन् र व्यवहारिक भएर कर्तव्य पालन गरेनन् भने, तिनीहरूलाई बढुवा र वृद्धिविकास गरिए पनि, धेरैको प्रशंसा पाएपनि परमेश्वरको अनुमोदन पाउनेछैनन्, र अन्ततः खुलासा भई हटाइनेछन्। सुरुमा मेरो बिमार कारण कसरी परमेश्वरमा विश्वास गर्न थालेकी थिएँ भनी मैले सम्झेँ। म परमेश्वरका वचनको आपूर्तिमा रमाएँ र केही सत्यता बुझ्न पाएँ। बिरामी हुँदा र नकारात्मकतामा जिउँदा, परमेश्वरले मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिन उहाँको वचन प्रयोग गर्नुभयो र मलाई जिउन दिनुभयो, परमेश्वरले मलाई निकै धेरै दिनुभएको थियो। तर मैले उहाँको प्रेम फर्काउने र व्यवहारिक भई कर्तव्यमा लागिरहनेबारे सोचिनँ। म केवल आफ्नो प्रतिष्ठा र हैसियतको तृष्णा गर्थें, म परमेश्वरप्रति इमानदार थिइनँ। म साँच्चै निकै विद्रोही थिएँ! पश्चत्तापले मेरा आँसु झर्न थाले, र मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म निकै विद्रोही भएकी छु। मैले सधैँ प्रतिष्ठा र हैसियत पछ्याएँ, सही मार्गमा हिँडिनँ; म तपाईंद्वारा चुनिन योग्य छैन। परमेश्वर, तपाईंमा उचित तरिकाले विश्वास गर्न र समर्पित हुन पाऊँ, व्यावहारिक भएर कर्तव्य पालन गरिरहन पाऊँ, म यति मात्र चाहन्छु।” यति बुझेपछि, म उदास हुन छाडेँ।
त्यो बेला, मैले ब्रदर-सिस्टरहरूसँग भेटघाट गर्न सकिनँ, त्यसैले हरेक दिन परमेश्वरको वचन पढ्थेँ, उहाँलाई प्रार्थना गर्थेँ, उहाँको नजिक हुँदै गएँ र प्रवचन लेख्ने अभ्यास गरेँ। कहिलेकाहीँ, मेरो स्वास्थ्य खस्कन्थ्यो, जोर्नीहरू दुख्थ्यो। अनि म हिँडडुल गर्न वा उभिन सक्दिनँथेँ। थाहै नपाई म केही दुःखी हुन पुग्थेँ, खास गरी, ब्रदर-सिस्टरहरूले गीत गाएको, नाचेको र परमेश्वरको स्तुति गरेको भिडियो देख्दा। मलाई धेरै ईर्ष्या लाग्थ्यो र सोच्थेँ, “ती ब्रदर-सिस्टरहरू स्वस्थ छन्, अनि गीत गाउन, नाच्न र परमेश्वरको स्तुति गर्न सक्छन्। त्यो कति राम्रो होला! म भने उभिन नि सक्दिनँ।” मलाई महसुस भयो, मेरो स्थिति गलत थियो, अनि मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, मेरो हृदयको रक्षा गर्न बिन्ती गरेँ। मैले परमेश्वरका यी वचन सम्झेँ: “कार्यहरू उस्तै छैनन्। एउटा शरीर छ। यसरी नै प्रत्येकले आ-आफ्नो स्थानमा आफ्नो कर्तव्य उत्तम तरिकाले पालना गर्छ—प्रत्येक झिल्कामा एउटा प्रकाशको चमक हुन्छ—र जीवनमा परिपक्वता फैलाउँछ। यसो गरेमा म सन्तुष्ट हुनेछु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २१)। परमेश्वरले हरेकका लागि अलग अलग कर्तव्यको प्रबन्ध गर्नुहुन्छ। ती ब्रदर-सिस्टरहरूले गीत गाउँथे, नाच्थे र परमेश्वरको स्तुति गर्थे, म लेखापढीको कर्तव्य गर्थेँ र उहाँको गवाही दिन्थेँ। प्रत्येकले आफ्नै कार्य सम्पादन गर्छन्। व्यक्तिले सक्दो क्षमताले आफ्नो काम गरेसम्म परमेश्वरले अनुमोदन गर्नुहुन्छ। यो सोचेपछि मेरो हृदय निकै स्वतन्त्र भयो। अहिले मेरो भाग्य खराब रहेको भन्ने लाग्दैन। म केवल परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित भई सत्यतालाई सही रूपमा पछ्याउन र राम्ररी कर्तव्य निर्वाह गर्न चाहन्छु। परमेश्वरका वचनको मार्गदर्शन पाएर म मेरो भाग्य खराब छ भन्ने गलत सोचबाट बाहिर आउन सक्षम भएँ।