५०. आमाबुबाले हामीलाई हुर्काएर गरेको उपकारप्रति कस्तो व्यवहार गर्ने

शेन मिङ्ग, चीन

म गाउँले परिवारमा जन्मेको हुँ, र मेरा आमाबुबा खेतीपाती गरेर गुजारा चलाउनुहुन्थ्यो। मैले थाहा पाएदेखि नै मेरा आमाबुबाको स्वास्थ्य सधैँ कमजोर रहेको थियो, विशेष गरी मेरा बुबाको दुवै खुट्टा तथा पैतालामा समस्या भएकोले स्वास्थ्य बिग्रँदा उहाँलाई हिँड्न गाह्रो हुन्थ्यो। तापनि, परिवारको गुजाराको लागि, मेरा बुबा बिरामी हुँदा पनि अक्सर काम गर्नुहुन्थ्यो। त्यतिबेला, मेरा आमाबुबा मेरी दिदी र मलाई प्राय: कचकच गर्नुहुन्थ्यो, र भन्नुहुन्थ्यो, “तिमीहरू ठूला भएपछि, छोराछोरीको धर्म निभाउनुपर्छ! हामी धेरै माग्दैनौँ, हामीलाई केवल हामीले तिमीहरूका बाजेबज्यैलाई गरे जस्तो व्यवहार गर। तिमीहरू ठूला भएपछि हामीलाई त्यस्तै गर्न सक्यौ भने हामी खुसी हुनेछौँ।” त्यतिबेला, म सानै थिएँ र छोराछोरीको धर्मको कुनै अवधारणा थिएन, तर म ठूलो हुँदै जाँदा, छोराछोरीको धर्म र बुढेसकालमा सहारा हुन्छ भनेर छोराछोरी हुर्काउने जस्ता विचारहरू मेरो दिमागमा बिस्तारै बस्दै गए। मेरा आमाबुबाले हाम्रो परिवारको लागि यति धेरै कष्ट भोग्नुभएको देखेर, म ठूलो भएपछि उहाँहरूको उपकारको बदला चुकाउन र उहाँहरूलाई राम्रो जीवन दिन पैसा कमाउन सकूँ भन्ने आशा राखेँ। पछि, मैले काम गर्न र पैसा कमाउन थालेपछि, मेरा आमाबुबालाई लुगा किनिदिएँ र उहाँहरूको बिमारीको लागि एउटा उपचार गर्ने उपकरण पनि किनिदिएँ।

सन् २००९ मा, हाम्रो पूरै परिवारले आखिरी दिनहरूमा परमेश्‍वरको काम स्वीकार गर्‍यो, र त्यसको केही समयपछि, मैले मण्डलीमा कर्तव्य निर्वाह गर्न थालेँ। एक पटक, मेरा आमाबुबा भेलामा जाँदा, उहाँहरू सीसीपीद्वारा पक्राउ पर्नुभयो, र केरकारको दौडान, प्रहरीले मेरो बुबालाई मेरो सुरागबारे कडा केरकार गरिरह्यो। सीसीपीको पक्राउ र सतावटबाट बच्न, मैले घर छोडेर अर्कै ठाउँमा गई आफ्नो कर्तव्य निर्वाह गर्नुपर्‍यो। सुरुका केही वर्ष, मैले आफ्ना आमाबुबाको बारेमा धेरै चिन्ता गरिनँ किनभने उहाँहरू परमेश्‍वरमा विश्वास गर्नुहुन्थ्यो र आफ्नो क्षमताले भ्याएसम्म कर्तव्य निर्वाह गर्नुहुन्थ्यो, जसले गर्दा म ढुक्क थिएँ। २०१७ साल मेरो लागि एकदमै असामान्य वर्ष थियो। सहकर्मीहरूको एउटा सभामा, मैले एउटी सिस्टरबाट मेरा बुबाको पुरानो बिमार बल्झेको, र उहाँ पक्षघातले ओछ्यान परेको र बोल्न नसक्ने भएको थाहा पाएँ। यो अचानकको खबर सुन्दा मलाई स्वीकार्न गाह्रो भयो। मैले सोचेँ, “म घरबाट हिँड्दा त उहाँ सन्चै हुनुहुन्थ्यो। यस्तो कसरी भयो? बुबालाई पक्षघात भएपछि, मेरी आमाले कसरी सबै एक्लै कुरा सम्हाल्न सक्नुहुन्छ र?” मलाई त खालि तुरुन्तै फर्केर गई पक्षघात हुनुभएका मेरा बुबाको हेरचाह गर्न पाए हुन्थ्यो भन्ने चाहना भयो। तर सीसीपीको पक्राउ र सतावटको खतराले गर्दा, म अझै फर्कन सकिनँ। मलाई साह्रै नराम्रो लाग्यो, त्यसैले म परमेश्‍वरसामु आएँ र प्रार्थना गरेँ, “हे परमेश्‍वर! मेरा बुबालाई पक्षघात भएको थाहा पाएर, म यति कमजोर महसुस गर्छु, कृपया मलाई यो सबै सामना गर्ने आस्था र शक्ति दिनुहोस्। सीसीपीद्वारा पक्राउ पर्ने खतराले गर्दा, म फर्कन सक्दिनँ, तर म घरको सबै कुरा तपाईंको हातमा सुम्पन तयार छु। कृपया मेरो हृदयको रक्षा गर्नुहोस् ताकि म यो स्थितिमा दृढ रहन सकूँ।” प्रार्थना गरेपछि, मलाई धेरै शान्ति मिल्यो। जब म राती ओछ्यानमा पल्टन्थेँ, मेरो बुबा पक्षघातले ओछ्यानमा चलमल गर्न नसकी पल्टिरहनुभएको दृश्यले मेरो मन भरिन्थ्यो। मैले जुनियर हाइस्कुलमा जाडो बिदामा घर गएको त्यो वर्ष सम्झेँ। हिउँ परिरहेको एक दिन, म आफ्नो झोला बोकेर केही सहपाठीहरूसँग घर हिँडिरहेको थिएँ। हामी पहाडी बाटोमा कैयौँ घण्टादेखि हिँडिरहेका थियौँ। हामी घरबाट केही माइल मात्र टाढा थियौँ, तर मलाई यति जाडो र भोक लागेको थियो कि म अगाडि हिँड्न सकिनँ र पछि परेँ। मेरो गाउँका सहपाठीहरू पहिले घर पुगेर मेरा आमाबुबालाई भनेछन्, र मेरा बुबा मलाई लिन आउँदा, उहाँले मलाई बोकेर घर ल्याउनुभयो। यो सम्झँदा मेरा आँसु थामिएनन्। अहिले मेराे बुबा आफ्नो हेरचाह आफैँ गर्न नसक्ने र मृत्युको मुखमा हुनुहुन्थ्यो। यदि कुनै दिन मेरा बुबा साँच्चै बित्नुभयो भने, मेरी आमाले एक्लै उहाँको अन्त्येष्टि कसरी गर्नुहोला र? हाम्रा आफन्त र छिमेकीहरूले हामीलाई हाँसोमा उडाउनेछन्, र उनीहरूले आफ्नो पक्षघात भएका बुबालाई हेर्न फर्केर नगएकोमा पक्कै मलाई कुपुत्र भन्नेछन्। त्यो मैले सधैँभरि बोक्नुपर्ने एउटा स्थायी कलङ्क हुनेथियो। यी कुराहरू मनमा राखेर, मैले साँच्चै जोखिम मोलेरै भए पनि बुबाको हेरचाह गर्न फर्केर जान चाहेँ। तर म फर्केर गएमा पक्राउ पर्छु भन्ने डर थियो, र मैले बुबाको हेरचाह गर्न नसक्ने मात्र होइन, आमाका लागि समेत बोझ हुनेथिएँ। त्यसैले मैले त्यो विचार त्यागेँ। पछि, मैले घरको अवस्थाबारे बुझ्न पत्र लेखेँ। केही महिनापछि, मैले आमाबाट पत्र पाएँ, जसमा मेरा बुबा आधा वर्ष अघि नै बितिसक्नुभएको भनिएको थियो। यो खबर सुनेर मलाई अत्यन्तै पीडा भयो र म मर्माहत भएँ, र मैले सोचेँ, “मेरा बुबाले मलाई हुर्काउन रगत-पसिना बगाउनुभयो, तर उहाँ बूढो र पक्षघातले ग्रस्त हुँदा, मैले छोराको कुनै पनि धर्म निभाइनँ। मैले उहाँलाई अन्तिम पटक पनि देख्न पाइनँ। भनिन्छ, बुढेसकालमा सहारा हुन्छ भनेर छोराछोरी हुर्काइन्छ, तर मैले छोराको कुनै पनि जिम्मेवारी पूरा गरिनँ। म साँच्चै एउटा कुपुत्र हुँ!” मैले आफ्नो बुबा वर्षौँदेखि ओछ्यानमा परेको र आफ्नो हेरचाह आफैँ गर्न नसकेको, अनि मेरी आमाले हरेक दिन खेतीपाती र घरको कामका साथै उहाँको हेरचाह गर्नुपरेको कुराबारे सोचेँ। उहाँले धेरै दुःख भोग्नुभएको थियो। अब मेरी आमा एक्लै हुनुहुन्थ्यो, र मैले उहाँलाई अब कष्ट भोग्न दिनुहुँदैनथ्यो। तर म उहाँको हेरचाह गर्न फर्कन सकिनँ। मेरो हृदय द्वन्द्व र पीडाले भरिएको थियो, र मैले आफ्नो कर्तव्यमा मन लगाउनै सकिनँ।

पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ: “अनि, के आफ्ना आमाबुबाप्रति सन्तानीय भक्ति देखाउनु सत्यता हो त? (अहँ, होइन।) आफ्ना आमाबुबाको भक्त हुनु सही र सकारात्मक कुरा हो, तर हामी किन यो सत्यता होइन भन्‍ने गर्छौँ? (किनभने मानिसहरू सिद्धान्तद्वारा आफ्ना आमाबुबाप्रति सन्तानीय भक्ति देखाउँदैनन् र तिनीहरू आफ्ना आमाबुबाहरू साँच्चिकै कस्ता मानिस हुन् भनी खुट्ट्याउन सक्दैनन्।) व्यक्तिले आफ्ना आमाबुबालाई कस्तो व्यवहार गर्नुपर्छ भन्‍ने कुरा सत्यतासँग सम्बन्धित छ। तेरा बुबाआमाले परमेश्‍वरमा विश्‍वास गर्छन् र तँलाई राम्रो व्यवहार गर्छन् भने, के तँ तिनीहरूको भक्त हुनुपर्छ? (हुनुपर्छ।) अनि, तँ कसरी भक्त हुन्छस्? तैँले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूभन्दा फरक व्यवहार गर्छस्। तँ तिनीहरूले भन्‍ने हरेक कुरा मान्छस्, र तिनीहरू पाका उमेरका छन् भने, तिनीहरूको हेरचाह गर्न तँ तिनीहरूसँगै बस्नुपर्छ, जसले तँलाई कर्तव्य निर्वाह गर्न जानबाट रोक्छ। के यसो गर्नु ठिक हो? (होइन।) त्यस्तो बेला तैँले के गर्नुपर्छ? यो परिस्‍थितिमा निर्भर हुन्छ। यदि तैँले घरनजिकै रहेर कर्तव्य निर्वाह गर्दै तिनीहरूको हेरचाह गर्न सक्छस् र तेरा बुबाआमाले परमेश्‍वरमाथिको तेरो विश्‍वासको विरोध गर्दैनन् भने, तैँले छोरा वा छोरीको रूपमा तेरो जिम्‍मेवारी पूरा गर्नुपर्छ र बुबाआमालाई केही काममा सघाउनुपर्छ। तिनीहरू बिरामी छन् भने, तिनीहरूको हेरचाह गर्; यदि कुनै कुराले तिनीहरूलाई समस्यामा पारिरहेको छ भने, तिनीहरूलाई सान्त्वना दे; यदि तेरो आर्थिक स्थिति राम्रो छ भने, तेरो गच्छेअनुसार तिनीहरूलाई पौष्टिक तत्त्वहरू किनिदे। तर यदि तँ कर्तव्यमा व्यस्त छस्, तेरा बुबाआमालाई हेरचाह गर्ने कोही पनि छैन, अनि तिनीहरूले पनि परमेश्‍वरमा विश्‍वास गर्छन् भने तैँले के गर्नुपर्छ? तैँले कुन सत्यता अभ्यास गर्नुपर्छ? आमाबुबाको भक्त सन्तान बन्‍नु सत्यता होइन, यो त मानव जिम्‍मेवारी र दायित्व मात्रै हो, त्यसकारण तेरो दायित्व तेरो कर्तव्यसँग बाझिन्छ भने तैँले के गर्नुपर्छ? (कर्तव्यलाई प्राथमिकता दिनुपर्छ; कर्तव्यलाई पहिलो स्थानमा राख्‍नुपर्छ।) दायित्व व्यक्तिको कर्तव्य नै हो भन्‍ने हुँदैन। कर्तव्य निभाउने निर्णय गर्नु सत्यता अभ्यास गर्नु हो, तर दायित्व पूरा गर्नु सत्यता अभ्यास गर्नु होइन। यदि तेरो यो अवस्था छ भने, तैँले यो जिम्‍मेवारी वा दायित्व पूरा गर्न सक्छस्, तर वर्तमान अवस्था प्रतिकूल छ भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, ‘मैले कर्तव्य पूरा गर्नैपर्छ—त्यो सत्यता अभ्यास गर्नु हो। आमाबुबाप्रति भक्तिभाव देखाउनु विवेकअनुसार जिउनु हो तर त्यो सत्यता अभ्यासभन्दा तल हुन्छ।’ त्यसैले, तैँले कर्तव्यलाई प्राथमिकता दिनुपर्छ र यसैको परिपालन गर्नुपर्छ। यदि अहिले तँसँग कुनै कर्तव्य छैन, र घरबाट टाढा काम गर्दैनस्, र आमाबुबाको नजिकै बस्छस् भने, तिनीहरूको हेरचाह गर्ने उपाय लगा। तिनीहरूलाई अलिक राम्ररी जिउन र तिनीहरूको कष्ट कम गर्न मदत गर्न सक्दो गर्। तर यो कुरा तेरा आमाबुबा कस्ता मानिसहरू हुन् त्यसमा पनि भर पर्छ। यदि तेरा आमाबुबाको मानवता खराब छ र तिनीहरू तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट निरन्तर बाधा दिइरहन्छन् भने, र यदि तिनीहरूले तँलाई परमेश्‍वरमा विश्‍वास गर्न र कर्तव्य निर्वाह गर्नबाट टाढा लागिरहन्छन् भने, तैँले के गर्नुपर्छ? तैँले कुन सत्यता अभ्यास गर्नुपर्छ? (इन्कार।) यस्तो बेलामा, तैँले तिनीहरूलाई इन्कार गर्नैपर्छ। तैँले आफ्‍नो दायित्व पूरा गरेको छस्। तेरा आमाबुबाले परमेश्‍वरमा विश्‍वास गर्दैनन्, त्यसकारण तँसँग तिनीहरूलाई सन्तानीय आदर देखाउने कुनै दायित्व छैन। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् भने, तिनीहरू तेरो परिवार र आमाबुबा हुन्। तर विश्‍वास गर्दैनन् भने, तिमीहरू फरकफरक मार्ग हिँडिरहेका छौ: तिनीहरू शैतानमा विश्‍वास गर्छन् र दियाबलस राजाको आराधना गर्छन्, र शैतानको मार्ग हिँड्छन्; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूभन्दा फरक मार्ग हिँड्ने मानिसहरू हुन्। तिमीहरू अब परिवार रहँदैनौ। तिनीहरू परमेश्‍वरका विश्‍वासीहरूलाई आफ्‍ना विरोधी र शत्रुहरू मान्छन्, त्यसकारण तँसँग तिनीहरूलाई हेरचाह गर्ने कुनै दायित्व बाँकी हुँदैन र तैँले तिनीहरूसँग पूरै सम्‍बन्ध तोड्नुपर्छ। कुनचाहिँ सत्यता हो: आमाबुबाको भक्ति गर्नु कि कर्तव्य निभाउनु? अवश्य नै, कर्तव्य निभाउनुचाहिँ सत्यता हो। परमेश्‍वरको घरमा कर्तव्य निभाउनु भनेको केवल दायित्व पूरा गर्नु र आफूले गर्नुपर्ने काम गर्नु मात्रै होइन। यो त सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउनु हो। यसमा परमेश्‍वरको आज्ञा समावेश हुन्छ; यो तेरो दायित्व र जिम्‍मेवारी हो। यो साँचो जिम्‍मेवारी हो, अर्थात् सृष्टिकर्ताको अघि आफ्‍नो जिम्‍मेवारी र दायित्व पूरा गर्नु। यो सृष्टिकर्ताले मानिसहरूलाई दिनुभएको मापदण्ड हो, र यो जीवनको ठूलो विषय हो। तर आमाबुबाप्रति सन्तानीय आदर देखाउनु छोराछोरीको जिम्‍मेवारी र दायित्व मात्रै हो। यो निश्‍चय नै परमेश्‍वरले आज्ञा गर्नुभएको होइन, यो परमेश्‍वरको मापदण्डबमोजिम हुने त परको कुरा हो। त्यसकारण, आमाबुबालाई सन्तानीय आदर देखाउनु र कर्तव्य निभाउनुबीचमा, निस्सन्देह नै कर्तव्य निभाउनु मात्रै सत्यता अभ्यास गर्नु हो। सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउनु नै सत्यता हो, र यो हामीले पूरा गर्नैपर्ने कर्तव्य हो। आमाबुबाप्रति सन्तानीय आदर देखाउनु भनेको मानिसहरूप्रति भक्ति देखाउनु हो। यसको अर्थ व्यक्तिले आफ्‍नो कर्तव्य निभाउँदै छ भन्‍ने हुँदैन, न त यसबाट उसले सत्यता अभ्यास गरिरहेको छ भन्‍ने नै बुझिन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। “तैँले जेसुकै गरे पनि, जेसुकै सोचे पनि, वा जेसुकै योजना गरे पनि, ती कुराहरू महत्त्वपूर्ण होइनन्। महत्त्वपूर्ण कुरा त तैँले सम्पूर्ण सृष्टि गरिएका प्राणीहरू परमेश्‍वरका हातमा हुन्छन् भनी बुझ्न र साँच्चिकै विश्‍वास गर्न सक्छस् सक्दैनस् भन्‍ने हो। कतिपय आमाबुबाले ठूलो र समृद्ध परिवारको घरायसी आनन्द र खुसी पाउने आशिष् र नियति पाएका हुन्छन्। यो परमेश्‍वरको सार्वभौमिकता हो, र यो तिनीहरूलाई परमेश्‍वरले दिनुहुने आशिष् हो। कतिपय आमाबुबाको यो नियति हुँदैन; परमेश्‍वरले तिनीहरूको लागि यस्तो बन्दोबस्त गर्नुभएको हुँदैन। तिनीहरूले सुखी परिवार पाउने, वा आफ्ना सन्तान आफ्नै छेउमा रहने आशिष् पाएका हुँदैनन्। यो परमेश्‍वरको योजनाबद्ध कार्य हो र मानिसहरूले यसमा दबाब दिन सक्दैनन्। जे होस्, अन्ततः सन्तानीय भक्तिको सन्दर्भमा, मानिसहरूमा कम्तीमा समर्पणको मानसिकता हुनैपर्छ। यदि परिस्थितिले साथ दियो र तँसित त्यसो गर्ने अवस्था भयो भने, तैँले आमाबुबालाई सन्तानीय भक्ति देखाउन सक्छस्। यदि परिस्थितिले साथ दिएन र तँसित त्यसो गर्ने अवस्था छैन भने, जबरजस्ती गर्ने कोसिस नगर्—यसलाई के भनिन्छ? (समर्पण।) यसलाई समर्पण भनिन्छ। यो समर्पण कसरी आउँछ? यो समर्पणको आधार के हो? यो परमेश्‍वरले बन्दोबस्त र शासन गर्नुहुने यी सबै कुराहरूमा आधारित हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने आमाबुबाको आदर-सेवा गर्नु केवल मानवीय जिम्मेवारी र दायित्व हो, र यो एउटा सकारात्मक कुरा हो, तर यो सत्यता होइन। सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु सत्यता हो र परमेश्‍वर मानिसहरूले यही गर्नुपर्छ भन्ने माग गर्नुहुन्छ। यसले परमेश्‍वरको अनुमोदन प्राप्त गर्छ। जब आमाबुबाप्रतिको कर्तव्य तपाईंको आफ्नो कर्तव्यसँग बाझिन्छ, तपाईंले आफ्नो परिस्थितिअनुसार अभ्यास गर्नुपर्छ। यदि परिस्थिति अनुकूल छ र त्यसले तपाईंको कर्तव्यमा असर गर्दैन भने, तपाईंले आफ्ना आमाबुबाको हेरचाह गर्नुपर्छ र आफ्ना जिम्मेवारी तथा दायित्वहरू पूरा गर्नुपर्छ। यदि परिस्थिति अनुकूल छैन र तपाईं आफ्नो कर्तव्यमा व्यस्त हुनुहुन्छ भने, तपाईंले सृजित प्राणीको कर्तव्यलाई प्राथमिकता दिनुपर्छ र परमेश्‍वरको बन्दोबस्तको आदेश पालना गर्नुपर्छ। साथै, आमाबुबाको सन्दर्भमा, कतिपय आमाबुबाका धेरै छोराछोरी र नातिनातिना हुन्छन् र उनीहरूले सुखी परिवारको आशिष्‌को आनन्द लिन्छन्, तर कतिपय आमाबुबाका लागि परमेश्‍वरले यस्तो अवस्थाको बन्दोबस्त गर्नुभएको हुँदैन, र उनीहरूले यस्ता आशिष्‌हरूको आनन्द लिन पाउँदैनन्। यी सबै कुराहरू परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छन्। परमेश्‍वरका वचनहरूद्वारा निर्देशित भएर, मैले धेरै राहत महसुस गरेँ। फर्केर हेर्दा, म घरमा आफ्नो कर्तव्य निर्वाह गर्दा सकेसम्म मेरा आमाबुबाको हेरचाह गरिरहेको थिएँ, तर सीसीपीद्वारा सताइने र पक्राउ पर्ने खतराले गर्दा, म घर फर्कन सकिनँ। त्यसमाथि, मैले आफ्ना कर्तव्यहरू पनि निर्वाह गर्नुपर्ने थियो, त्यसैले मैले सृजित प्राणीको कर्तव्य निर्वाहलाई नै छनौट गर्नुपर्‍यो, किनभने यो सत्यतासँग मेल खान्छ। म आफ्नै स्वार्थको लागि आफ्ना कर्तव्यहरू त्याग्न सक्दिनथेँ।

पछि, मैले मेरी आमाबाट एउटा पत्र पाएँ, र मैले थाहा पाएँ भेलाको दौडान उहाँ र तीन जना सिस्टरहरू पक्राउ पर्नुभएको रहेछ। प्रहरीको केरकारको दौडान, उहाँ शैतानका षड्यन्त्रहरूद्वारा धोकामा परेर दुई जना सिस्टरहरूको नाम खुलासा गर्नुभएछ। रिहा भएपछि, उहाँलाई साह्रै पछुतो लागेछ र उहाँ दिक्दारीको स्थितिमा जिउनुभएछ। पछि, उहाँ दुर्घटनावश भर्‍याङबाट लड्नुभएछ र उहाँको कम्मरमा चोट लागेछ। मेरो मन त घर पुगिसकेको थियो। मेरो दिमाग मेरी आमा लड्नुभएको र उहाँ पीडामा हुनुभएको दृश्यले भरिएको थियो। मलाई साह्रै नराम्रो लाग्यो। तीन महिनापछि, मैले मेरी आमाबाट अर्को पत्र पाएँ, जसमा उहाँको कम्मर निको भइसकेको, र यो लडाइमार्फत, उहाँ ब्युँझनुभएको र अन्ततः सत्यता खोज्न र आत्मचिन्तन गर्न थाल्नुभएको कुरा बताइएको थियो। उहाँले आफू आफ्नो गलत स्थितिबाट बाहिर आउनुभएको, र यो घटना नभएको भए, उहाँ परमेश्‍वरलाई गलत बुझेरै आफ्नो जीवन जिइरहनुहुने रहेछ भन्नुभएको थियो। उहाँको पत्र पढेर मलाई साह्रै लाज लाग्यो। मैले के देखेँ भने परमेश्‍वरको बन्दोबस्तमा सधैँ उहाँको हार्दिक अभिप्राय लुकेको हुन्छ, उहाँको काम अति व्यावहारिक छ, र उहाँले हामी प्रत्येकलाई हाम्रा आवश्यकता र कमीअनुसार मार्गदर्शन गर्नुहुन्छ। सन् २०२२ को अक्टोबरको अन्त्यतिर, मैले थाहा पाएँ मेरी आमा ब्रदर-सिस्टरहरूलाई भेलाको लागि अतिथि-सत्कार गर्दै गर्दा अचानक प्रहरीद्वारा पक्राउ पर्नुभएछ। प्रहरीले सुसमाचार डिकनको फोन र परमेश्‍वरका वचनहरू भएकाे मेमोरी कार्ड भेट्टाएछ, र मेरी आमाले अघि सरेर त्यो आफ्नो हो भन्नुभएछ, र सुसमाचार डिकनको रक्षा गर्नुभएछ। मलाई मेरी आमाको लागि साह्रै खुसी लाग्यो। सन् २०२३ को जुलाईको मध्यतिर, मैले मेरी दिदीबाट एउटा पत्र पाएँ, जसमा मेरी आमाको पित्ताशयमा सिस्ट भएको बताइएको थियो। उहाँको शल्यक्रिया गर्नुपर्छ भन्ने सोचिएको थियो, तर उहाँको अवस्था स्थिर भएपछि, गरिएनछ। यो खबरले मलाई साह्रै बेचैन बनायो, र मैले सोचेँ, “यदि मेरी आमाको साँच्चै शल्यक्रिया गर्नुपर्‍यो भने, घरमा उहाँको हेरचाह गर्ने कोही पनि छैन। मेरी दिदीको बिहे भएर टाढा बस्छिन्, र उनका पनि आफ्नै कर्तव्यहरू छन्, त्यसैले उनी फर्केर आमासँग बस्न सक्दिनन्। उहाँ अहिले धेरै बूढी भइसक्नुभयो। यदि उहाँलाई केही भइहाल्यो भने के गर्ने? उहाँको अन्त्येष्टि कसले गर्ला? मेरी दिदी र म उहाँसँग छैनौँ, र हेरचाह गर्ने कोही पनि छैन। मेरा बुबा बित्दा म त्यहाँ थिइनँ, र यदि मेरी आमा बित्दा पनि म त्यहाँ भइनँ भने, म साँच्चै कुपुत्र हुनेछु।” यी विचारहरूले मलाई एउटा यस्तो बाधामा पुर्‍याए जुन म पार गर्नै सकिरहेको थिइनँ, र मेरो स्थितिमा असर पर्‍यो।

एउटा आत्मिक भक्तिको समयमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “‘तेरा आमाबुबा तेरा ऋणदाता होइनन्’ भन्‍ने भनाइलाई कसरी व्याख्या गर्नुपर्छ भन्‍ने बारेमा कुरा गरौँ। तेरा आमाबुबा तेरा ऋणदाता होइनन्—के यो एउटा तथ्य होइन र? (हो।) यो तथ्य भएकोले, हामीले यसभित्र रहेका कुराहरू व्याख्या गर्नु उचित हुन्छ। तेरा आमाबुबाले तँलाई जन्म दिने कुरालाई हेरौँ। तिनीहरूले तँलाई जन्माऊन् भनेर कसले निर्णय गरेको थियो: तैँले कि तेरा आमाबुबाले? कसले कसलाई रोजेको हो? यदि तैँले यसलाई परमेश्‍वरको दृष्टिकोणबाट हेरिस् भने, जवाफ यस्तो हुन्छ: कसैले पनि होइन। तँलाई जन्‍म दिनका लागि न त तैँले निर्णय गरिस्, न त तेरा आमाबुबाले नै। यदि तैँले यस कुराको जडलाई हेरिस् भने, यो परमेश्‍वरद्वारा निर्धारित गरिएको हो। हामी यो विषयलाई अहिलेका लागि पन्छाउनेछौँ, किनकि मानिसहरूलाई यो कुरा बुझ्न सहज नै हुन्छ। तेरो दृष्टिकोणबाट हेर्दा, तँ निष्क्रिय रूपमा तेरा आमाबुबाबाट जन्मिएको थिइस्, र यस विषयमा तँसँग कुनै विकल्प थिएन। तेरा आमाबुबाको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले आफ्‍नै स्वतन्त्र इच्छाले तँलाई जन्म दिएका हुन्, होइन र? अर्को शब्दमा भन्दा, परमेश्‍वरको हुकुमलाई पन्छाएर हेर्दा, जब तँलाई जन्म दिने कुरामा तेरा आमाबुबासँग सबै निर्णय गर्ने शक्ति थियो। तिनीहरूले तँलाई जन्माउने छनौट गरे, र तिनीहरूले सबै कुराको निर्णय गरे। तिनीहरूले तँलाई जन्माऊन् भनेर तैँले तिनीहरूका लागि निर्णय गरिनस्, तँ तिनीहरूबाट निष्क्रिय रूपमा जन्मिएको थिइस्, र तँसँग यस विषयमा कुनै विकल्प थिएन। त्यसकारण, तेरा आमाबुबासँग नै निर्णय गर्ने सबै शक्ति भएकोले, र तिनीहरूले तँलाई जन्म दिने निर्णय गरेकोले, तँलाई हुर्काउने, बढाएर वयस्क बनाउने, शिक्षा दिने, खुवाउने, लुगा लगाउने र पैसा दिने दायित्व र जिम्मेवारी तिनीहरूको नै हुन्छ—यो तिनीहरूको जिम्मेवारी र दायित्व हो, र तिनीहरूले गर्नुपर्ने कुरा यही हो। जबकि तिनीहरूले तँलाई हुर्काइरहेका बेला तँ सधैँ निष्क्रिय थिइस्, तँसँग छनौट गर्ने अधिकार थिएन—तिनीहरूले नै तँलाई हुर्काउनुपर्थ्यो। तँ सानै भएकोले, तँसँग आफूलाई हुर्काउने क्षमता थिएन, तँसँग तेरा आमाबुबाको हातबाट निष्क्रिय रूपमा हुर्किनेबाहेक अरू कुनै विकल्प थिएन। तँलाई तेरा आमाबुबाले रोजेको तरिकाले हुर्काइयो, यदि तिनीहरूले तँलाई राम्रो खानपान दिए भने, तँ त्यो राम्रो खानपान गर्थिस्। यदि तेरा आमाबुबाले तँलाई भूस र जङ्गली सागसब्जी खाएर बाँच्‍ने वातावरण दिएका भए, तँ भूस र जङ्गली सागसब्जी नै खाएर बाँच्थिस्। जे भए पनि, जब तँ हुर्किरहेको थिइस्, तब तँ निष्क्रिय थिइस्, र तेरा आमाबुबाले आफ्नो जिम्मेवारी पूरा गरिरहेका थिए। … जे भए पनि, तँलाई हुर्काएर तेरा आमाबुबाले आफ्‍नो जिम्मेवारी र दायित्व पूरा गरिरहेका हुन्छन्। तँलाई हुर्काएर वयस्क बनाउनु तिनीहरूको दायित्व र जिम्मेवारी हो, र यसलाई दया-माया भन्‍न मिल्दैन। यदि यसलाई दया-माया भन्‍न सकिँदैन भने, के यो तैँले आनन्द लिनुपर्ने कुरा होइन र? (हो।) यो तैँले पाउनुपर्ने एक प्रकारको अधिकार हो। तँलाई तेरा आमाबुबाले हुर्काउनुपर्छ, किनभने तँ वयस्क हुनुभन्दा पहिले, तैँले खेल्ने हुर्कँदै गरेको बच्‍चाको भूमिका खेल्छस्। त्यसकारण, तेरा आमाबुबाले तँप्रतिको एक प्रकारको जिम्मेवारी मात्रै पूरा गरिरहेका हुन्छन्, र तैँले त्यसलाई लिइरहेको हुन्छस् मात्रै, तर तैँले तिनीहरूबाट पक्‍कै पनि अनुग्रह वा दया-माया प्राप्त गरिरहेको हुँदैनस्। कुनै पनि जीवित प्राणीका लागि, सन्तान जन्माउनु र तिनको हेरचाह गर्नु, प्रजनन गर्नु, र अर्को पुस्तालाई हुर्काउनु भनेको एक प्रकारको जिम्मेवारी हो। उदाहरणका लागि, चराचुरुङ्गी, गाईवस्तु, भेडा, र बाघले पनि प्रजनन गरेपछि आफ्नो सन्तानको हेरचाह गर्नुपर्छ। आफ्नो सन्तानलाई नहुर्काउने कुनै जीवित प्राणी छैन। केही अपवादहरू हुन सक्छन्, तर ती धेरै छैनन्। यो जीवित प्राणीहरूको अस्तित्वमा रहेको प्राकृतिक अवस्था नै हो, यो जीवित प्राणीहरूको अन्तर्निहित प्रवृत्ति हो, र यसलाई दया-मायाका रूपमा लिन सकिँदैन। तिनीहरूले त सृष्टिकर्ताले जनावरहरू र मानवजातिका लागि तोक्‍नुभएको नियमको पालना मात्रै गरिरहेका हुन्छन्। त्यसकारण, तेरा आमाबुबाले तँलाई हुर्काउनु भनेको एक प्रकारको दया-माया होइन। यसका आधारमा के भन्‍न सकिन्छ भने तेरा आमाबुबा तेरा ऋणदाता होइनन्। तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्। तिनीहरूले तेरा लागि जतिसुकै मेहनत गरे पनि र पैसा खर्च गरे पनि, तिनीहरूले तँलाई त्यसको भरपाई माग्‍नु हुँदैन, किनभने आमाबुबाका रूपमा तिनीहरूको जिम्मेवारी यही नै हो। यो जिम्मेवारी र दायित्व भएको हुनाले, यो निःशुल्क हुनुपर्छ, र तिनीहरूले भरपाई माग्‍नु हुँदैन। तँलाई हुर्काएर, तेरा आमाबुबाले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका थिए, र यसको ऋण तिर्नु पर्दैन, र यो लेनदेनको कार्य बन्‍नु हुँदैन। त्यसकारण, तैँले भरपाई गर्ने विचारअनुसार आफ्ना आमाबुबासँग व्यवहार गर्ने वा तिनीहरूसँगको सम्‍बन्धलाई सम्हाल्ने गर्नु हुँदैन। यदि तैँले यस विचारका आधारमा आफ्ना आमाबुबासँग व्यवहार गर्छस्, तिनीहरूप्रतिको ऋण तिर्छस्, र तिनीहरूसँगको सम्‍बन्धलाई सम्हाल्छस् भने, त्यो अमानवीय हुन्छ। साथ-साथै, यसले तँलाई तेरा दैहिक भावनाहरूको नियन्त्रण र बन्धनमा पार्ने सम्‍भावना हुन्छ, र तँलाई यी उल्झनहरूबाट बाहिर निस्कन गाह्रो हुनेछ, यहाँसम्‍म कि तैँले आफ्नो बाटो बिराउनसमेत सक्छस्। तेरा आमाबुबा तेरा ऋणदाता होइनन्, त्यसैले तँसँग तिनीहरूका सबै अपेक्षाहरू पूरा गर्ने दायित्व हुँदैन। तँसँग तिनीहरूको अपेक्षाहरू पूर्ति गर्ने कुनै दायित्व हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्‍वरका वचनहरूले आमाबुबा र छोराछोरीबीचको सम्बन्धलाई कसरी सम्हाल्ने भनेर स्पष्ट रूपमा सङ्गति गर्छन्। आमाबुबाका रूपमा, छोराछोरीलाई जन्म दिनु र हुर्काउनु भनेको सृष्टिकर्ताले मानवजातिका लागि बनाउनुभएका नियमहरूको पालना गर्नु मात्र हो। कुनै जीवले सन्तान जन्माएजस्तै, यो एउटा स्वाभाविक प्रवृत्ति हो। आमाबुबाले आफ्ना छोराछोरीलाई हुर्काउनु भनेको उनीहरूले आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्नु हो; यो उपकार होइन, र छोराछोरीले यसलाई चुकाउनु जरूरी छैन। मलाई के लाग्थ्यो भने मेरा आमाबुबाले मलाई जन्माउन र हुर्काउन असाध्यै गाह्रो भएको थियो, र उहाँहरूले धेरै पीडा भोग्नुभएकाले, उहाँहरूको छोराका रूपमा, मैले उहाँहरूलाई राम्ररी ऋण तिर्नुपर्छ ताकि मैले उहाँहरूले मलाई हुर्काउनुभएको उपकारको पूर्ति गर्न सकूँ। जब मैले मेरा बुबालाई पक्षघात भएको र म उहाँको छेउमा बसेर हेरचाह गर्न नसक्ने, र उहाँको बुढेसकालमा उहाँको हेरचाह गर्न वा उहाँलाई राम्रोसँग बिदाइ गर्न नसक्ने थाहा पाएँ, तब मलाई बुबाप्रति ऋणी महसुस भयो। यो सोच्दा मलाई ठूलो भारी बोकेको जस्तो लाग्थ्यो, जसले गर्दा सास फेर्न पनि गाह्रो हुन्थ्यो। मेरा बुबाको मृत्युपछि, मैले मेरी आमाको चिन्ता गरेँ, र मैले बुबाप्रति सन्तानी कर्तव्य पूरा गर्न नपाएकाले, अब आमाप्रति पनि ऋणी हुन मिल्दैन, र मैले उहाँलाई अन्तिम वर्षहरूमा सुख दिनुपर्छ भन्ने महसुस गरेँ। मेरी आमा घाइते हुनुभएको र म उहाँको हेरचाह गर्न फर्कन नसक्ने थाहा पाएपछि, मलाई एकदम आमाप्रतिको कर्तव्य पूरा नगर्ने तथा ऋणी महसुस भयो। अहिले, परमेश्‍वरका वचनहरू पढेर, मैले के बुझेँ भने मेरा आमाबुबाले मलाई हुर्काएर उहाँहरूले आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्दै हुनुहुन्थ्यो, र यो मैले चुकाउनुपर्ने उपकार होइन। उहाँहरू मेरा ऋणदाता हुनुहुन्नथ्यो। मेरा आमाबुबाले मलाई हुर्काउनुलाई चुकाउनुपर्ने उपकारको रूपमा हेर्नु पूर्ण रूपमा गलत थियो र सत्यतासँग मेल खाँदैनथ्यो। मैले यो दृष्टिकोण राखेकाले, यसले मलाई धेरै पीडा दिएको थियो। यदि परमेश्‍वरले यससम्बन्धी सत्यतालाई खुलासा गर्नुभएको नभए, म यसप्रति पूर्ण रूपमा अनभिज्ञ रहनेथिएँ, र म यो गलत दृष्टिकोणद्वारा बाँधिएर नियन्त्रित भइरहनेथिएँ। मेरो जीवन परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरले मेरा सबै आवश्यकताहरू पूरा गर्नुहुन्छ। म परमेश्‍वरप्रति कृतज्ञ हुनुपर्छ। मलाई याद छ, सन् २००७ मा, मैले प्रभुमा विश्वास गरेको केही महिना मात्र भएको थियो, म चढेको गाडीको ब्रेक फेल भयो र त्यो पहाडबाट तल खस्यो। त्यो दुर्घटनाका कारण मृत्यु र घाइते हुनेहरू थिए, तर मैले आफ्नो हृदयमा परमेश्‍वरलाई पुकारिरहेँ, र मेरो केवल मांसपेशी मात्र तन्कियो, जुन एकदमै हल्का चोट थियो। अझ चमत्कारी कुरा के थियो भने, दुर्घटनाको बेला म अलिकति पनि डराइनँ वा आत्तिइनँ, जसले मलाई परमेश्‍वरको चमत्कारी कार्य देखायो। यदि परमेश्‍वरको सुरक्षा नभएको भए, म त्यो दुर्घटनामा मर्न सक्थेँ। यतिका वर्षहरूमा, मैले परमेश्‍वर मात्र मेरो एकमात्र मुक्ति हुनुहुन्छ भन्ने कुरा गहिरो रूपमा अनुभव गरेको छु। परमेश्‍वरमाथिको आफ्नो विश्वास विना, म अथक रूपमा धन र ख्यातिको पछि लाग्ने, हाम्रो भाग्य कसको हातमा छ भन्नेबारे अज्ञानी, र अर्थपूर्ण जीवन कसरी जिउने भन्ने कुरा थाहा नपाउने, वा शैतानले दिएको कष्टलाई महसुस नगर्ने धर्मविहीन मानिसहरूजस्तै हुन्थेँ होला। आज, राज्यको सुसमाचार फैलाउन मानिसहरूको सहकार्य आवश्यक छ। म परमेश्‍वरको प्रेमको बदला चुकाउनेबारे सोचिरहेको थिइनँ, र मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह नगरेकोमा परमेश्‍वरप्रति ऋणी महसुस गरिनँ। म केवल आफ्ना आमाबुबाको ऋण चुकाउने कुरामा मात्र केन्द्रित थिएँ। यो मेरो लागि साँच्चै विवेकहीन, लज्जास्पद, र कृतघ्न कुरा थियो!

मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “चिनियाँ परम्परागत संस्कृतिको सधाइमा परेर चिनियाँ मानिसहरूले उनीहरूको परम्परागत धारणाहरूमा आफ्‍ना आमाबुबाप्रति भक्तिभाव हुनुपर्छ भन्‍ने विश्‍वास गर्छन्। जसले आमाबुबालाई श्रद्धा गर्दैन त्यो सन्तानको गुण नै नभएको मानिस हो। मानिसहरू सानै हुँदादेखि यी विचारहरू तिनीहरूको मनमस्तिष्कमा हालिएको हुन्छ, र लगभग हरेक परिवारमा, साथै हरेक स्कूल र समग्र समाजमा यिनै कुराहरू सिकाइन्छ। जब व्यक्तिको मगजमा यस्ता कुरा भरिएको हुन्छ, उसले ‘आमाबुबाप्रतिको भक्ति कुनै पनि कुराभन्दा महत्त्वपूर्ण हो। यदि मैले यस कुराको पालना गरिनँ भने, म असल व्यक्ति बन्‍नेछैन—म सन्तानीय गुण नभएको व्यक्ति हुनेछु, अनि मलाई समाजले निन्दा गर्नेछ। म विवेक नभएको व्यक्ति हुनेछु,’ भनेर सोच्छ। के यो दृष्टिकोण सही छ? मानिसहरूले परमेश्‍वरद्वारा व्यक्त गरिएका कति धेरै सत्यता देखेका छन्—के परमेश्‍वरले व्यक्तिले आफ्‍ना आमाबुबाप्रति भक्तिभाव देखाउनुपर्छ भनेर माग भन्‍नुभएको छ? के यो परमेश्‍वरका विश्‍वासीहरूले बुझ्‍नैपर्ने सत्यता हो? अहँ, होइन। परमेश्‍वरले केही सिद्धान्तहरूबारे मात्रै सङ्गति गर्नुभएको छ। परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न आग्रह गर्छन्? परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्‍वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वरले तिरस्कार गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। परमेश्‍वरले मानिसलाई यस्तै गर्नू भन्नुहुन्छ। … शैतानले यस प्रकारका परम्परागत संस्कृति र नैतिकताका धारणाहरू प्रयोग गरी तेरो सोचविचार, तेरो दिमाग, र तेरो हृदयलाई बन्धनमा पार्छ, अनि तँ परमेश्‍वरका वचनहरू स्वीकार गर्न नसक्‍ने अवस्थामा पुग्छस्; तँ शैतानका यी कुराहरूको अधीनमा परेको छस्, र तँलाई परमेश्‍वरका वचनहरू स्विकार्न नसक्‍ने तुल्याइएको छ। तैँले परमेश्‍वरका वचनहरू अभ्यास गर्न चाहँदा, यी कुराहरूले तँभित्र बाधा पैदा गर्छन्, र तँलाई सत्यता र परमेश्‍वरको मापदण्डको विरोध गर्ने र आफैलाई यो परम्परागत संस्कृतिको बन्धनबाट छुटाउन नसक्‍ने बनाउँछन्। केही समयसम्‍म संघर्ष गरिसकेपछि, तैँले सम्झौता गर्छस्: तैँले नैतिकताका परम्‍परागत धारणाहरू सही र सत्यताअनुरूप छन् भनी विश्‍वास गर्न रुचाउँछस्, त्यसकारण तैँले परमेश्‍वरका वचनहरूलाई इन्कार गर्छस् वा त्याग्छस्। तैँले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा स्वीकार गर्दैनस् र तैँले मुक्ति पाउने बारेमा केही पनि सोच्दैनस्, किनभने तैँले अझै पनि यो संसारमा जिउनु छ, र यी कुराहरूमा भर परेर मात्र बाँच्न सकिन्छ भन्‍ने सोचिरहेको हुन्छस्। समाजको दोषारोपण सहन नसकेर, तँ सत्यता र परमेश्‍वरका वचनहरू त्याग्‍न रुचाउँछस्, र यसरी परमेश्‍वरलाई चिढ्याउन र सत्यता अभ्यास नगर्न रुचाउँदै, तैँले आफैलाई नैतिकताका परम्‍परागत धारणाहरू र शैतानको प्रभावमा होमिदिन्छस्। मलाई भन् त, के मानिस दयनीय छैन र? के तिनीहरूलाई परमेश्‍वरको मुक्तिको खाँचो छैन र? कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको धेरै भएको हुन्छ, तर आमाबुबाप्रतिको भक्तिबारे अझै पनि अन्तर्ज्ञान पाएका हुँदैनन्। तिनीहरूले वास्तवमै सत्यता बुझ्दैनन्। तिनीहरू यी सांसारिक सम्बन्धहरूको पर्खाल कहिल्यै नाघ्न सक्दैनन्; तिनीहरूमा साहस हुँदैन, न त आस्था नै हुन्छ, झन् अठोट हुनु त परै जाओस्, त्यसैले तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न र उहाँको आज्ञा मान्न सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ)। परमेश्‍वरका वचनहरूले परम्परागत संस्कृतिको सारलाई खुलासा गर्छन्। मैले सानैदेखि शैतानको शिक्षाद्वारा कसरी प्रभावित भएको थिएँ, र “सन्तानी माया नै सबैभन्दा ठूलो पुण्य हो” र “बुढेसकालमा सहाराको लागि छोराछोरी हुर्काऊ” जस्ता परम्परागत विचारहरूलाई कसरी आत्मसात गरेको थिएँ भन्नेबारे फर्केर हेरेँ। मैले आमाबुबाको आदर-सेवालाई कुनै व्यक्तिमा विवेक छ कि छैन भन्ने मापदण्डको रूपमा लिएँ, त्यसैले मेरा आमाबुबाले मलाई हुर्काउनुभएकाले, उहाँहरूको छोराको रूपमा, मैले उहाँहरूको उपकारको बदला चुकाउनुपर्छ, र उहाँहरू बूढो हुँदा, मैले उहाँहरूको आदर गर्नुपर्छ अनि उहाँहरूको बुढेसकालमा उहाँहरूलाई हेरचाह गर्नुपर्छ साथै राम्रोसँग बिदाइ गर्नुपर्छ भन्ने विश्वास गरेँ। मैले यी जिम्मेवारीहरू पूरा गर्नुको अर्थ व्यक्तिमा मानवता र विवेक हुनु हो, र यदि कसैले यी कुराहरू गर्न सकेन भने, तिनीहरू कुपुत्र हुन् र मानिस कहलाइन लायक छैनन्, र तिनीहरूलाई समाजले निन्दा र तिरस्कार गर्नेछ भन्ने विश्वास गरेँ। यी विचारहरू मेरो हृदयमा गहिरो रूपमा जरा गाडेर बसेका थिए। मैले परमेश्‍वरमा विश्वास गर्न थालेपछि, सीसीपीको सतावट र पक्राउको खतराले गर्दा, म घर फर्कन सकिनँ, र मैले मेरा बुबालाई अन्तिम पटक पनि देख्न पाइनँ। मलाई साह्रै दोषी महसुस भयो, एक कुपुत्र जस्तो, मेरा आमाबुबाले मलाई हुर्काउनुभएको उपकारप्रति ऋणी, र मलाई अरूले तिरस्कार गरेको र कुपुत्रको बिल्ला भिराइएको जस्तो लाग्यो। पछि, मेरी आमाको बिमारीबारे थाहा पाएर मलाई चिन्ता लाग्यो, र यदि मेरी आमा साँच्चै बित्नुभयो भने, मैले “कुपुत्र” को बिल्ला कहिल्यै हटाउन सक्नेछैन भनेर डराएँ। यी विचारहरू अदृश्य हतकडीहरू जस्तै थिए, जसले मलाई बलियोसँग बाँधिरहेका थिए र स्वतन्त्र हुन दिइरहेका थिएनन्। परमेश्‍वरमा विश्वास गर्ने सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु जीवनको सही मार्ग हो भन्ने कुरा मलाई राम्ररी थाहा थियो, तर मैले शान्तिपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ। मैले आफूलाई यी भ्रामक परम्परागत विचारहरूद्वारा गहिरो हानि पुऱ्याइएको महसुस गरेँ। मैले अनुग्रहको युगका बारेमा सोचेँ, जतिबेला धेरै मानिसहरूले प्रभुको सुसमाचार संसारभरि फैलाउन आफ्ना आमाबुबा र आफन्तहरूलाई छोडे, कतिपयले आफ्नो ज्यानको बलिदानसमेत दिए। उनीहरूका छनौटहरूले प्रभुको अभिप्रायसँग पूर्ण रूपमा मेल खान्थे र ती असल र उचित कार्यहरू थिए। मैले प्रभुको पुनरागमनलाई स्वागत गरेको छु र आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरको काम स्वीकार गरेको छु, जुन जीवनमा एक पटक मात्र पाइने अवसर हो, र यस समयमा सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नु परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने कुरा हो, जबकि आमाबुबाको आदर-सेवा गर्नु केवल मानवीय दायित्व मात्र हो। यदि परिस्थिति अनुकूल छ भने, यो गर्न सकिन्छ, तर छैन भने, कर्तव्यलाई प्राथमिकता दिनुपर्छ।

त्यसपछि मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “यदि तँ आफ्नो कर्तव्य पूरा गर्न आफ्नो घरबाट बाहिर अन्यत्र नगएर आफ्नो आमाबुबाको साथमा बसेको भए, के तैँले तिनीहरूलाई बिरामी पर्नबाट जोगाउन सक्थिस्? (सक्थिनँ।) के तैँले तेरा आमाबुबा बाँच्छन् कि मर्छन् भन्‍ने कुरालाई नियन्त्रण गर्न सक्छस्? के तैँले तिनीहरू धनी हुन्छन् कि गरिब हुन्छन् भनेर नियन्त्रण गर्न सक्छस्? (सक्दिनँ।) तेरा आमाबुबालाई जुनसुकै रोग लागे पनि, तँलाई हुर्काउँदा धेरै थकित भएर, वा तिनीहरूलाई तेरो धेरै याद आएर त्यस्तो भएको हुँदैन; विशेषगरी तिनीहरू तेरो कारणले गर्दा कुनै पनि ठूला, गम्भीर, र सम्भवतः घातक रोगहरूको सिकार हुनेछैनन्। त्यो तिनीहरूको भाग्य हो, र तँसँग त्यसको कुनै सम्बन्ध हुँदैन। तैँले आमाबुबालाई जति नै माया गरे पनि, तैँले बढीमा गर्न सक्‍ने भनेको तिनीहरूको दैहिक पीडा र बोझलाई थोरै मात्रामा कम गर्नु मात्र हो, तर तिनीहरू कहिले बिरामी हुन्छन्, तिनीहरूलाई कुन रोग लाग्छ, तिनीहरू कहिले मर्छन्, र कहाँ मर्छन् भन्‍ने कुराहरूको हकमा भन्दा—के यी कुराहरूसँग तेरो कुनै सम्बन्ध हुन्छ? अहँ, हुँदैन। यदि तँ आमाबुबालाई माया गर्ने व्यक्ति होस् भने, यदि तँ कसैको वास्ता नगर्ने बैगुनी होइनस् भने, र तैँले तिनीहरूसँग दिनभर बिताइस्, तिनीहरूको हेरचाह गरिस् भने, के तिनीहरू बिरामी पर्दैनन्? के तिनीहरू मर्दैनन्? यदि तिनीहरू बिरामी हुनु छ भने, जसरी पनि बिरामी हुँदैनन् र? यदि तिनीहरू मर्नु छ भने, जसरी पनि मर्दैनन् र? होइन र?(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। “आमाबुबालाई परमेश्‍वरको हातमा सुम्पनु नै तिनीहरूप्रति सन्तानीय सम्मान देखाउने सबभन्दा उत्तम तरिका हो। तँ तिनीहरूले जीवनमा अनेकथरी कठिनाइहरू भोगून्, नराम्रो जीवन जिऊन्, राम्ररी खान नपाऊन्, वा तिनीहरूको स्वास्थ्य खराब होस् भन्‍ने आशा गर्दैनस्। हृदयको गहिराइमा, तँ निश्‍चय नै परमेश्‍वरले तिनीहरूलाई रक्षा गरून् र सुरक्षित राखून् भन्‍ने आशा गर्छस्। यदि तिनीहरू परमेश्‍वरका विश्‍वासी हुन् भने, तँ तिनीहरूले कर्तव्यहरू निभाउन र आफ्नो गवाहीमा खरो उत्रिन सकून् आशा गर्छस्। यो व्यक्तिले मानवीय जिम्मेवारीहरू पूरा गर्नु हो; मानिसहरूले आफ्नै मानवताद्वारा यति मात्र हासिल गर्न सक्छन्। यसअलावा, सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने, वर्षौँसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि र अत्यन्तै धेरै सत्यताहरू सुनेपछि, मानिसहरूमा कम्तीमा पनि यो थोरै बुझाइ र बोध हुन्छ: मान्छेको भाग्य स्वर्गले निर्धारण गर्छ, मान्छे परमेश्‍वरको हातमा जिउँछ, र परमेश्‍वरबाट हेरचाह र सुरक्षा पाउनु भनेको छोराछोरीले दिने चासो, सन्तानीय भक्ति वा साथभन्दा ज्यादा महत्त्वपूर्ण कुरा हो। के तँलाई तेरा आमाबुबा परमेश्‍वरको हेरचाह र रक्षामा छन् भने राहत महसुस हुँदैन र? तैँले तिनीहरूबारे चिन्ता लिनुपर्दैन। यदि चिन्ता लिन्छस् भने, त्यसको अर्थ तँ परमेश्‍वरमा भरोसा गर्दैनस् भन्‍ने हुन्छ; उहाँमाथिको तेरो आस्था अति सानो छ। यदि तँ आफ्ना आमाबुबाबारे साँच्चै चिन्तित र व्याकुल छस् भने, तैँले बारम्बार परमेश्‍वरलाई प्रार्थना गर्ने, तिनीहरूलाई परमेश्‍वरको हातमा सुम्पने, र परमेश्‍वरलाई सबथोक योजनाबद्ध र बन्दोबस्त गर्न दिने गर्नुपर्छ। परमेश्‍वरले मानवजातिको भाग्यमाथि शासन गर्नुहुन्छ, र तिनीहरूको हरेक दिन र तिनीहरूलाई हुने हरेक कुरामाथि उहाँले नै शासन गर्नुहुन्छ, तसर्थ तँ अझै केको चिन्ता लिन्छस्? तँ तेरो आफ्नै जीवनसमेत नियन्त्रण गर्न सक्दैनस्, तँ आफैसँग एक टन कठिनाइहरू छन्; तैँले तेरा आमाबुबालाई सदा खुसीसाथ जिउन दिन के गर्न सक्छस्? तैँले गर्न सक्ने भनेकै सबथोक परमेश्‍वरको हातमा सुम्पनु हो। यदि तिनीहरू विश्‍वासी हुन् भने, तिनीहरूलाई सही मार्गमा डोर्‍याउनुहोस् भनी परमेश्‍वरलाई अनुरोध गर् ताकि अन्त्यमा तिनीहरूले मुक्ति पाउन सकून्। यदि तिनीहरू विश्‍वासी होइनन् भने, तिनीहरूलाई जे मन लाग्यो त्यही मार्ग हिँड्न दे। अरूभन्दा दयालु र केही मानवता बोकेका आमाबुबाको हकमा, तैँले तिनीहरूलाई आशिषित् तुल्याउनुहोस् ताकि बाँकी वर्षहरू तिनीहरूले खुसीसाथ बिताउन सकून् भनी परमेश्‍वरलाई प्रार्थना गर्न सक्छस्। परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भनेर भन्नुपर्दा, उहाँसित आफ्ना बन्दोबस्तहरू छन्, र मानिसहरू तीप्रति समर्पित हुनुपर्छ। त्यसैले, समग्रमा, मानिसहरूको विवेकमा आफ्ना आमाबुबाप्रति पूरा गर्नुपर्ने जिम्मेवारीहरूबारे एउटा चेतना हुन्छ। यो चेतनाले व्यक्तिमा आमाबुबाप्रति जे-जस्तो मनोवृत्ति ल्याए पनि, चाहे त्यो चिन्ता होस् वा तिनीहरूको छेउमा बस्ने इच्छा होस्, त्यो जे भए पनि, मानिसहरूले वस्तुगत परिस्थितिहरूले प्रभाव पारेको कारण आफ्ना आमाबुबाप्रतिका जिम्मेवारीहरू पूरा गर्न नसकेकोमा दोषी महसुस गर्नु वा दोषी विवेक बोक्‍नु हुँदैन। यी र यस्तै अन्य मामलाहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने मानिसहरूको जीवनको समस्या बन्नु हुँदैन; ती कुराहरू त्यागिनुपर्छ। आफ्ना आमाबुबाप्रतिका जिम्मेवारीहरू पूरा गर्नेसम्बन्धी यी विषयहरूबारे भन्नुपर्दा, मानिसहरूमा यी शुद्ध बुझाइहरू हुनुपर्छ र तिनीहरूले विवश महसुस गर्न छोड्नुपर्छ। एक त तँलाई हृदयको गहिराइदेखि नै तँ अनुत्तरदायी छैनस्, र तँ जिम्मेवारीबाट पन्छिरहेको वा भागिरहेको छैनस् भन्‍ने कुरा थाहा छ। अर्को कुरा, तेरा आमाबुबा परमेश्‍वरको हातमा छन् भने अझै चिन्ता लिनुपर्ने कारण के छ र? व्यक्तिले चिन्ता लिन्छ भने त्यो वाहियात हो। हरव्यक्ति अन्त्यसम्‍मै परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूअनुसार सहजसाथ जिउनेछ, बिनाकुनै विचलन आफ्नो मार्गको अन्त्यसम्म पुग्नेछ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने आमाबुबालाई उनीहरूको जीवनकालमा कहिले र कस्तो प्रकारको बिमारी वा दुर्भाग्य आइपर्छ, ती सबै परमेश्‍वरको सार्वभौमिकताद्वारा शासित हुन्छन्, र यी कुराहरूको छोराछोरीहरू उनीहरूको हेरचाहका लागि छेउमा छन् कि छैनन् भन्ने कुरासँग कुनै सम्बन्ध छैन। छोराछोरी हरेक दिन आफ्ना आमाबुबाको छेउमा बसेपनि, यसले वास्तवमा केही परिवर्तन गर्न सक्दैन, बढीमा यसले उनीहरूको दैनिक बोझ अलिकति कम मात्र गर्ला, तर यदि उनीहरूको भाग्य त्यस्तै छ भने, उनीहरू बिरामी पर्नेछन्, र जब उनीहरूको समय आउँछ, उनीहरू जानैपर्छ। यो सृष्टिकर्ताले तोकिदिनुभएको भाग्य हो। मेरी आमालाई कुन बिमारी लाग्ला वा उहाँ बित्नुहोला कि नहोला, त्यो सबै परमेश्‍वरको आदेशमा छ। यदि म फर्केर गएर हरेक दिन उहाँको छेउमा बसेँ भने पनि, त्यसले केही पनि फरक पार्ने थिएन। उहाँको जीवन र मृत्यु परमेश्‍वरद्वारा धेरै अघि नै पूर्वनिर्धारित भइसकेका छन्। उहाँ कुन उमेरसम्म पुग्नुहुनेछ, उहाँले कस्ता कष्टहरू भोग्नुहुनेछ, र उहाँले कस्ता परिस्थितिहरूको सामना गर्नुहुनेछ, यी सबै कुराहरू परमेश्‍वरको सार्वभौमिकता र पूर्वनिर्धारणअन्तर्गत छन्, र मेरो चिन्ताले कुनै मद्दत गर्दैन। मेरी आमा पनि परमेश्‍वरमा विश्वास गर्नुहुन्छ, र परमेश्‍वरले उहाँको अवस्थाअनुसार उहाँलाई अनुभव गर्नको लागि उपयुक्त परिस्थितिहरूको बन्दोबस्त गर्नुहुनेछ। जसरी मेरी आमा घाइते हुनुहुँदा, मैले परमेश्‍वरको असल अभिप्राय बुझिनँ र उहाँको लागि निरन्तर चिन्ता गरिरहेँ, तर अन्तमा, उहाँलाई केही भएन। मैले मेरो आस्थामा साँच्चै कमी रहेछ, र म केवल मानवीय धारणाहरूले कामकुराहरूको मूल्याङ्कन गरिरहेको थिएँ, अनि ममा परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकताको साँचो बुझाइको कमी रहेछ भन्ने महसुस गरेँ। अहिले, घरबाट टाढा बसेको एघार वर्षपछि, मेरी आमा घरमा एक्लै हुनुहुन्छ र आफ्नो क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य निर्वाह गरिरहनुभएको छ, र उहाँ राम्ररी जिइरहनुभएको छ। मैले मेरा चिन्ता र फिक्रीहरू साँच्चै अनावश्यक रहेछन् भन्ने बुझेँ। मैले मेरा आमाबुबा मेरा ऋणदाता हुनुहुन्न, र उहाँहरूले मलाई उहाँहरूको जिम्मेवारी र दायित्वको हिस्साको रूपमा हुर्काउनुभयो, त्यसैले मैले यसलाई चुकाउनुपर्ने उपकारको रूपमा लिन मिल्दैन भन्ने पनि बुझेँ मैले यस जीवनमा पूरा गर्नुपर्ने एउटा मिसन छ, जुन सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु हो। जब म यसरी सोच्छु, मेरो दोषको भावना हराएर जान्छ, र म आफ्नो आत्मामा धेरै स्वतन्त्र महसुस गर्छु, र आफ्नो कर्तव्यमा समर्पित हुन सक्षम हुन्छु। तपाईंको मार्गदर्शनको लागि परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ३९. म अब उमेरका कारण व्याकुल वा चिन्तित हुन्नँ

अर्को: ५४. त्रीएकत्वको रहस्य खुलासा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१६. मौनताको पछाडि

ली झी, ग्रीसम खासै धेरै बोल्ने मान्छे होइन, र म अकसर मनदेखि खुलेर कुरा पनि गर्दिँनँ। मैले सधैँ यो मेरो अन्तर्मुखी व्यक्तित्वले गर्दा भएको...

६५. अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ

झेन्क्षिङ्ग, अमेरिकामेरो कथा मार्च २०१७ मा सुरु हुन्छ। मैले मुख्यतः चलचित्रका पोस्टरहरू र भिडियोका थम्‍बनेलहरू बनाउने कामसँगै मण्डलीको लागि...

४६. के मानिसहरूलाई खुशी पार्नेहरूले परमेश्‍वरको स्याबासी जित्‍न सक्छन्

लियु यि, चीनम एक विश्‍वासी हुनुभन्दा पहिले, अरू मानिसलाई ठेस नपुर्‍याऊँ र सबैसँग मिलेर रहन सकूँ भनेर सधैं सचेत रहने गर्दथें। कोही कठिन...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्