८७. हीनताको अन्धकारलाई जित्नु
म सानो हुँदा निकै लजालु थिएँ, र जब-जब पाहुनाहरू आउँथे, तब-तब म मेरा आमाबुबाको पछाडि लुक्थेँ, र जब मेरा आमाबुबाले मलाई तिनीहरूलाई अङ्कल वा अन्टी भन्नु भन्थे, तब मलाई अत्यन्तै लाज लाग्थ्यो। मेरी आमाले पाहुनाहरूसँग यसो भन्दै मजाक गर्नुहुन्थ्यो, “यो बच्चा लाटो हो, बोल्न सक्दैन।” मेरी आमाले प्रायः म कहिल्यै केही बन्न वा केही गर्न नसक्ने पनि भन्नुहुन्थ्यो। बोल्दा लरबराउने हुनाले, मलाई प्रायजसो हाँसोमा उडाइन्थ्यो र आलोचना गरिन्थ्यो, र मलाई अरूको अगाडि बोल्न निकै डर लाग्थ्यो। जब-जब आफूलाई बोल्नैपर्ने परिस्थितिमा पाउँथेँ, तब म त्यसबाट उम्कन सक्दो प्रयास गर्थेँ। स्कुलमा हुँदा, मैले कहिल्यै कुनै क्रियाकलापमा भाग लिइनँ, र म सधैँ कुनामा लुकेर चुपचाप पढिरहेकी हुन्थेँ। मैले विश्वविद्यालयबाट स्नातक गरेको वर्ष, शिक्षकले म स्नातकोत्तर स्कुलका लागि सिफारिस गर्न योग्य रहेको भन्नुभयो, र म निकै खुशी भएँ, तर प्राध्यापकहरूले अन्तर्वार्ता लिनेछन् भन्ने सुनेपछि, मेरो सञ्चार सिप कमजोर, अनि सुसङ्गत तरिकाले उत्तर दिन सकिनँ भने बेइज्जत होला भन्ने सोचेर म निकै चिन्तित भएँ। केही दिन आफैसँग सङ्घर्ष गरेँ तर पनि मैले अन्तर्वार्तामा उपस्थित हुने साहस जुटाउन सकिनँ। परमेश्वरलाई पाएपछि, मैले ब्रदर-सिस्टरहरू भेला भएर खुलस्त र सरल रूपमा सङ्गति गरिरहेका, र कसैले कसैलाई हाँसोमा नउडाउने गरेको देखेँ, जसले मलाई स्वतन्त्र महसुस गरायो। बिस्तारै, मैले सबैसँग हृदयदेखि बोल्ने तालिम लिन थालेँ, मेरो स्थिति र बुझाइहरू बताउन थालेँ। कहिलेकहीँ म अलिक अकमकाउँथेँ, तर ब्रदर-सिस्टरहरूले मलाई हेला गर्दैनथे, र मलाई त्यति बाँधिएको महसुस हुँदैनथियो। समय बित्दै जाँदा, मैले अझै बढी कुरा गर्न थालेँ। पछि, एउटा भेलामा, सङ्गति गर्दा म विषयभन्दा बाहिर गएकी थिएँ, र समूह अगुवाले मलाई बीचमै रोके। मेरो अनुहार लाजले रातो भयो, र मलाई भुँइ खनेर लुकूँ जस्तो लागेको थियो। मलाई मेरा आमाबुबाले कहिल्यै केही बन्न सक्दैन भन्नुभएको कुरा याद आयो, र उहाँहरूको कुरा सही हुन् जस्तो लाग्यो। मलाई मेरो अकमकिने बानीले पूर्ण रूपमा बेकामे बनाएको छ, र म आफ्नो जीवन कसैले नदेख्ने गरी कुनामै बिताउँछु होला भन्ने लाग्यो। त्यो बेला, मैले मनमनै सोचेँ, “मैले मेरा कमीकमजोरी देखिन र गिल्लाबाट जोगिनका लागि मानिसहरूको अगाडि कम बोल्नुपर्छ।” त्यसपछि, मैले लामो समयसम्म, मुखमा टेप लगाएँ। समूह भेलाहरू बाहेक, अरूबेला म चुपचाप बस्थेँ, र अरूको सङ्गति मात्रै सुन्थेँ। कहिलेकहीँ मसँग आफ्नै अनुभवात्मक बुझाइ हुन्थ्यो, तर फेरि सोच्थेँ, म आफूले भन्न चाहेको कुरा मिलाएर भन्न सक्दिनँ र बोल्दाबोल्दै लटपटिन्छु, मलाई फेरि बीचमै रोकियो भने त, मेरो झनै बेइज्जत हुनेछ, अनि म सङ्गति गर्नबाट पछि हट्थेँ। पछि, मैले मण्डलीका लागि भिडियोहरू बनाउने काम गर्न थालेँ। ब्रदर-सिस्टरहरूले म यस क्षेत्रमा अलिक सिपालु छु भन्ने देखेर मलाई समूह अगुवा चयन गरे। तर जब समूह अगुवा बन्नु भनेको मैले बारम्बार कामको कार्यान्वयन र अनुगमन गर्नुपर्छ, अनि ब्रदर-सिस्टरका समस्याहरूलाई सङ्गति गरेर समाधान गर्नुपर्छ भन्ने मनमा आयो, तब म चिन्तित हुँदै सोच्न थालेँ, “मेरो लरबरिने बोलीले गर्दा, मैले यो कर्तव्य राम्ररी पूरा गर्न सकिनँ भने? त्यो त ज्यादै बेइज्जतको कुरा हुनेछ।” मैले यसबारे जति सोचेँ, त्यति नै डर लाग्यो, अनि मैले अगुवालाई मेरो क्षमता कमजोर छ र म यो कर्तव्य पूरा गर्न सक्दिनँ, त्यसैले तिनीहरूले यस भूमिकाका लागि अर्को ब्रदर वा सिस्टरलाई चुन्नुपर्छ भनेँ। अगुवाले मलाई परमेश्वरका अभिप्रायका बारेमा सङ्गति दिइन्, र परमेश्वरमा भरोसा गरेर यो कसरी अघि बढ्छ भनेर हेर्दै केही समय आफूलाई प्रशिक्षित गर्नू भनेर सुझाव दिइन्, र मैले मन नलागि-नलागि सहमति जनाएँ। समूह अगुवाको रूपमा काम गर्ने क्रममा, म निकै निष्क्रिय थिएँ, र हरेक पटक भेला वा सङ्गति आयोजना गर्नुपर्ने बेला, म पछि हट्थेँ, र मेरो सहकर्मीलाई नै बढी बोल्न दिन्थेँ। मैले किन यसो गरिरहेकी छु भन्ने कुरा उनले बुझेकी थिइनन्। उनी भन्थिन् मैले आफ्नो कर्तव्य पूरा गर्दा समस्याहरू पत्ता लगाउन सकेकी छु, मेरा आफ्नै विचार र दृष्टिकोणहरू छन्, र परमेश्वरका वचनहरूमा सङ्गति गर्दा केही अन्तर्ज्ञानहरू व्यक्त गर्न सक्छु, र मेरो क्षमता त्यति कमजोर छैन, र पनि किन म सधैँ बोल्नबाट भागिरहन्छु भन्ने सोचेर उनी छक्क पर्थिन्। उनले मलाई अझै धेरै अभ्यास गर्न प्रोत्साहन दिइन्। तर उनले जे भने पनि, मलाई अझै पनि अपर्याप्त छु भन्ने महसुस भयो, र मैले धेरै पटक राजीनामा दिने प्रयास समेत गरेँ। अन्त्यमा, म आफ्नो कर्तव्यमा अत्यन्तै निष्क्रिय भएकोले मलाई बर्खास्त गरियो। पछि, समूह अगुवाले मलाई समूहको कामको सुपरिवेक्षण गर्ने काममा सहकार्य गर्न भनिन्। मलाई अलिक चिन्तित हुँदै सोच्न थालेँ, “म बोल्न सिपालु छैनँ; आशा छ म आफूलाई लाजमर्दो बनाउँनँ।” समूह अगुवाले मलाई परमेश्वरका अभिप्रायहरूबारे सङ्गति गरिन्, र आफूसँग सहकार्य गर्नका लागि यी सीपबारे ज्ञान भएको व्यक्ति चाहिएको हो भनेर भनिन्। अगुवाले यसो भनेको सुन्दा मलाई अलिक ग्लानि भयो। म शब्दहरूमा लरबराउने भए पनि, म अझै पनि यस क्षेत्रमा केही काम गर्न सक्थेँ, र यस कामका लागि समूह अगुवासँग सहकार्य गर्नु अत्यावश्यक थियो। यदि म सधैँ पछि हटेँ भने, के यो काममा ढिला गर्नु हुन्थेन र? यी सोचलाई ध्यानमा राख्दै, म सहमत भएँ। त्यसपछि, मैले आफूलाई सोधिरहन्थेँ, “समूह अगुवा बन्न भन्दा म किन सधैँ भाग्न र पछि हट्न खोज्छु? यस्तो व्यवहार गराउने कुरा वास्तवमा के हो?” यी अन्योलताहरूलाई ध्यानमा राख्दै, मैले खोजी गर्न परमेश्वरलाई प्रार्थना गरेँ।
एउटा भेलामा, अगुवाले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेर सुनाइन्, र यसले मेरो समस्यालाई समाधान गर्यो, र मेरो हृदयको यो अन्योलतालाई हटायो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “बच्चामा कतिपय मानिसहरू सामान्य देखिने, स्पष्ट बोल्न नसक्ने, र चतुर व्यवहार गर्न नजान्ने हुन्छन्, जसले गर्दा परिवार र समाजले तिनीहरूको नकारात्मक मूल्याङ्कन गर्छन्, र यस्तो भन्छन्: ‘यो बच्चा मन्दबुद्धिको, सुस्त, र बोल्न नजान्ने छ। अरूका छोराछोरीलाई हेर त, तिनीहरूले अरूलाई औँलामा नचाउँछन्। यो बच्चाचाहिँ दिनभरि ओठ लेब्र्याउँदै बस्छ। मान्छेलाई भेट्दा के भन्ने, कुनै गल्ती गरेपछि कसरी स्पष्टीकरण दिने वा आफ्नो बचाउ गर्ने, यसलाई थाहै छैन, र यसले मान्छेहरूलाई खुसी पार्न सक्दैन। यो बच्चा मूर्ख छ।’ आमाबुबाले यसै भन्छन्, आफन्त र साथीहरूले यसै भन्छन्, र तिनीहरूका शिक्षकहरूले पनि यसै भन्छन्। त्यस्ता व्यक्तिहरूमा यस्तो वातावरणले केही निश्चित र अदृश्य दबाब दिन्छ। यी वातावरणहरू अनुभव गरेर, तिनीहरूले अचेतन रूपमै निश्चित मानसिकता विकास गर्छन्। कस्तो मानसिकता? तिनीहरूले आफू राम्रो छैनँ, आफूलाई अरूले मन पराउँदैनन्, र आफूलाई देख्दा अरू खुसी हुँदैनन् भन्ने सोच्छन्। तिनीहरूले आफू पढ्नमा सिपालु छैनँ, र सुस्त छु भन्ने सोच्छन्, र अरूको छेउमा मुख खोलेर बोल्न सधैँ धकाउँछन्। मानिसहरूले तिनीहरूलाई केही कुरा दिँदा लाजले धन्यवाद पनि भन्दैनन्, र मनमनै सोच्छन्, ‘किन मेरो मुख सधैँ बन्द हुन्छ? अरू मानिसहरू किन यति मीठो बोल्न सक्छन्? म त मूर्खै हुँ!’ अवचेतन रूपमा, तिनीहरूले आफूलाई बेकामे ठान्छन्…। आफूलाई अरूभन्दा कमजोर ठान्ने मानिसहरूलाई आफ्नो सबल पक्ष के हो भन्ने नै थाहा हुँदैन। तिनीहरूले सधैँ आफूलाई कसैले मन पराउँदैन भन्ने सोच्छन्, आफू मूर्ख भएको महसुस गर्छन्, र परिस्थितिहरू सामना कसरी गर्ने, तिनीहरूलाई थाहै हुँदैन। छोटकरीमा भन्दा, तिनीहरूले म केही गर्न सक्दिनँ, म कुरूप छु, म चलाख छैनँ, र म प्रतिक्रिया दिन सुस्त छु भन्ने महसुस गर्छन्। अरूको तुलनामा तिनीहरू अनुल्लेखनीय हुन्छन् र पढाइमा राम्रो अङ्क ल्याउँदैनन्। त्यस्तो वातावरणमा हुर्केपछि, हीनताबोधको यो मानसिकताले क्रमिक रूपमा स्थान लिन्छ। यो तेरो हृदयमा गाँजिएको र दिमागमा खाँदिएको एक अटुट संवेगमा परिणत हुन्छ। तँ पहिले नै वयस्क भएर, संसारमा सङ्घर्ष गर्न थालेको, विवाह गरिसकेको र करियरमा अघि बढिसकेको भए पनि नभए पनि, र तेरो सामाजिक हैसियत जे-जस्तो भए पनि, तँ तेरो वातावरणमा हुर्कँदै गर्दा तँभित्र रोपिएको हीनताबोधको यो भावना हटाउनु असम्भव हुन्छ। तैँले परमेश्वरमा विश्वास गरेर मण्डलीमा आबद्ध भएपछि पनि, तैँले अझै पनि आफ्नो रूप त्यति राम्रो छैन, बौद्धिक क्षमता कमजोर छ, स्पष्ट रूपमा बोल्न आउँदैन, र केही पनि गर्न सक्दिनँ भन्ने लाग्छ। तैँले यस्तो सोच्छस्, ‘म जे सक्छु त्यही गर्छु। मैले अगुवा बन्ने आकाङ्क्षा बोक्नु हुँदैन, गहन सत्यताहरू खोजिरहनुपर्दैन, म सबैभन्दा सानो बनेर नै सन्तुष्ट हुनेछु, र अरूलाई जसरी मन लाग्छ त्यसरी नै मप्रति व्यवहार गर्न दिनेछु।’ ख्रीष्टविरोधी र झूटा अगुवाहरू देखा पर्दा, तैँले तिनीहरूलाई चिन्न वा खुलासा गर्न सक्दैनस्, र त्यसो गर्न आफू योग्य छैनँ भन्ने सोच्छस्। तँलाई लाग्छ कि तँ झूटो अगुवा वा ख्रीष्टविरोधी होइनस् भने त्यो काफी छ, तैँले बाधा र अवरोध ल्याइनस् भने पुगिहाल्छ, र तँ आफ्नै स्थानमा बस्न सकिस् भने त्यो पर्याप्त हुन्छ। हृदयको गहिराइमा, तँलाई यो पनि लाग्छ कि तँ पर्याप्त रूपमा कामलाग्दो र अरूजत्तिको असल छैनस्, सायद अरू मुक्तिका पात्रहरू हुन सक्लान्, तर तँ बढीमा सेवाकर्ता मात्रै होस्, त्यसकारण तँ सत्यता पछ्याउन योग्य नै छैनस्। तैँले जतिसुकै सत्यता बुझ्न सक्ने भए पनि, तँलाई अझै लाग्छ कि परमेश्वरले तँलाई त्यस्तो क्षमता र त्यस्तो रूप दिन पूर्वनिर्धारित गर्नुभएको हुनाले, सायद उहाँले तँलाई सेवाकर्ता हुन मात्रै पूर्वनिर्धारित गर्नुभएको हो, र सत्यता खोजी गर्ने, अगुवा बन्ने, र जिम्मेवारीमा रहने वा मुक्ति पाउने व्यक्ति बन्ने कार्यसँग तेरो कुनै सम्बन्ध छैन; यसको साटो, तँ सबैभन्दा महत्त्वहीन मानिस बन्न तयार हुन्छस्। हीनताबोधको भावना सायद तँमा जन्मजात आएको हुँदैन, तर अर्को तहमा गएर, तेरो परिवारको र तँ हुर्केको वातावरणको कारण, तँ सानातिना घोचपेच वा अनुचित आलोचनाहरूको सिकार बनिस्, जसले गर्दा तँमा हीनताबोधको भावना पैदा भयो। यस्तो संवेगले तेरो खोजको सही दिशामा असर पार्छ, यसले तेरो खोजको लागि तँमा हुनुपर्ने सही आकाङ्क्षामा प्रभाव पार्छ, र यसले तेरा उचित खोजहरूमा पनि अवरोध गराउँछ। अनि, तेरो उचित खोज र तेरो मानवतामा हुनुपर्ने उचित सङ्कल्पमा अवरोध भएपछि, सकारात्मक कुराहरू र सत्यता खोजी गर्ने तेरो उत्प्रेरणा दबिन्छ। यो उत्प्रेरणा दबाउने कार्य तेरो वरपरको वातावरण वा कुनै पनि व्यक्तिले गराएको हुँदैन, र अवश्यै परमेश्वरले तैँले यो कष्ट भोग्नुपर्छ भनेर निर्धारित गर्नुभएको पनि हुँदैन, यो त तेरो हृदयको गहिराइमा लुकेको अत्यन्तै नकारात्मक संवेगले गराएको हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१))। परमेश्वरका वचनहरू पढिसकेपछि, मलाई के महसुस भयो भने म हीनताबोधका कारण सधैँ अरूका अगाडि बोल्न र समूह अगुवा भएर कर्तव्य पूरा गर्न डराउने गरेको रहेछु। म सानो हुँदा, नचिनेका मान्छेलाई नमस्ते गर्न अत्यन्तै लजाउँथेँ, र मेरा आमाबुबाले मलाई प्राय: लाटो, बोल्न नसक्ने, र कहिल्यै केही नबन्ने भन्नुहुन्थ्यो, र आफन्तहरूले मलाई सामाजिक रीति पालन गरेर बोल्न नजान्ने मूर्ख भन्थे। यी शब्दहरूले मेरो आत्म-सम्मानमा ठूलो चोट पुर्याए र मलाई हीनता बोध गराए। परिणाम स्वरूप, मैले निरन्तर आफूलाई बोल्न नसक्ने व्यक्तिको रूपमा परिभाषित गरेँ, र बोल्नुपर्ने परिस्थितिमा आइपर्दा, म आत्तिन्थेँ, त्यसकारण म बारम्बार सङ्गति गर्नुपर्ने र बोल्नुपर्ने जुनसुकै कर्तव्यबाट भाग्थेँ र इन्कार गर्थेँ। जब म आफूभन्दा बोल्न सिपालु र क्षमता भएका मानिसहरू देख्थेँ, तब मलाई हीनताबोध हुन्थ्यो र लाज लाग्थ्यो, र म नकारात्मक बनेर पछि हट्थेँ। समूह अगुवा बन्ने अवसर दिइँदा पनि, मलाई आफू यसका लागि योग्य छैनँ जस्तो लाग्थ्यो, र सक्रिय भएर त्यो कर्तव्य पूरा गर्ने इच्छा हुन्थेन। मेरा हीनताबोधले मेरो दृष्टिकोण र पछ्याइका उद्देश्यहरूमा असर गरे, जसले म आफैलाई निरन्तर सीमित गर्ने र जिम्मेवारीहरू लिनबाट भाग्ने बनायो, जसकारण मैले सिद्ध हुने धेरै अवसरहरू गुमाएँ, अनि मेरो जीवन प्रवेशमा नोक्सान भयो। परमेश्वरको घरले मलाई अझै पनि समूह अगुवा बन्न प्रशिक्षित हुने अवसर दिएको थियो, र म आफूलाई हीनताबोधका बन्धनमा सीमित गर्न चाहन्नथिएँ, त्यसकारण मैले परमेश्वरलाई प्रार्थना गरी उहाँसँग मार्गदर्शन र आस्था मागेँ, ताकि म आफ्नो हीनताबोधका बन्धन र नियन्त्रणबाट मुक्त हुन सकूँ।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ, जसले मलाई आफ्नो हीनताबोधलाई समाधान गर्ने मार्ग देखायो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जुन परिस्थितिले तँमा हीनताबोधको अनुभूति जगाए पनि वा जसले वा जुन घटनाले यो पैदा गरे पनि, तैँले आफ्नो क्षमता, सामर्थ्य र प्रतिभा, अनि आफ्नो मानवताको गुणस्तरबारे आफूभित्र सही बुझाइ राख्नुपर्छ। हीनताबोध गर्नु सही कुरा होइन, न त आफूलाई ठूलो ठान्नु नै सही कुरा हो—ती दुवै नकारात्मक संवेगहरू हुन्। हीनताबोधले तेरो व्यवहार र विचार बाँध्न, र तेरो दृष्टिकोण र अडान प्रभावित पार्न सक्छ। त्यसरी नै, श्रेष्ठताबोधको पनि नकारात्मक प्रभाव हुन्छ। त्यसकारण, चाहे यो हीनताबोध होस् वा अर्को कुनै नकारात्मक संवेग होस्, तँमा यो संवेग पैदा गर्ने व्याख्याहरूप्रति सही बुझाइ हुनुपर्छ। सबभन्दा पहिले, तैँले यी व्याख्याहरू गलत छन् भनेर बुझ्नुपर्छ, र चाहे यो कुरा तेरो क्षमता वा प्रतिभासँग सम्बन्धित होस् वा तेरो मानवताको गुणस्तरसँग सम्बन्धित होस्, यी व्याख्याहरूले तेरो बारे अघि सार्ने मूल्याङ्कन र निष्कर्ष सधैँ गलत हुन्छ। त्यसोभए, तैँले आफूलाई सही रूपमा कसरी मूल्याङ्कन गर्न र चिन्न सक्छस्, र तँ कसरी हीनताबोधको भावनाबाट मुक्त हुन सक्छस्? तैँले आफ्नो बारे ज्ञान पाउने, आफ्नो मानवता, क्षमता, र प्रतिभाबारे जान्ने, साथै आफूमा के-कस्ता सामर्थ्यहरू छन् भनेर थाहा पाउने आधारको रूपमा परमेश्वरका वचनहरूलाई लिनुपर्छ। … यस्तो परिस्थितिमा, तैँले सही मूल्याङ्कन गर्नुपर्छ र परमेश्वरका वचनहरूअनुसार आफ्नो सही मापन गर्नुपर्छ। तैँले के सिकेको छस् र तेरा सामर्थ्यहरू के-केमा छन् त्यो पत्ता लगाएर आफूले गर्न सक्ने कुरा गर्नुपर्छ; तैँले गर्न नसक्ने कुराहरू, तेरा कमीकमजोरी र त्रुटिहरूको हकमा, तैँले मनन गरेर तिनलाई चिन्नुपर्छ, र तैँले तेरो क्षमता कस्तो छ, र त्यो असल छ कि खराब छ भनेर सही रूपमा मूल्याङ्कन गर्नु र जान्नुपर्छ। यदि तैँले आफ्ना समस्याहरू बुझ्न वा तीबारे स्पष्ट ज्ञान प्राप्त गर्न सक्दैनस् भने, समझशक्ति भएका र आफूले चिनेजानेका मानिसहरूलाई तेरो बारे मूल्याङ्कन गर्न अनुरोध गर्। तिनीहरूले भनेको कुरा सही भए पनि नभए पनि, कम्तीमा पनि यसले तँलाई एउटा सन्दर्भको रूपमा प्रयोग र विचार गर्न सकिने आधार दिन्छ र तँलाई आफ्नो बारेमा आधारभूत मूल्याङ्कन वा चरित्र चित्रण गर्न सक्षम तुल्याउँछ। अनि, तँ हीनताबोधजस्तो नकारात्मक संवेगको अपरिहार्य समस्या समाधान गर्न, र त्यसबाट क्रमिक रूपमा मुक्त हुन सक्छस्। यदि व्यक्तिले हीनताबोध चिन्न र त्यसप्रति सतर्क हुन, अनि सत्यता खोजी गर्न सक्छ भने, त्यस्तो हीनताबोधका भावनाहरू समाधान गर्न सजिलै हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१))। परमेश्वरका वचनहरू पढिसकेपछि, मेरो हृदय उज्यालो भयो। हीनताबोधलाई जित्नका लागि, मैले आफूलाई सही रूपमा बुझ्नुपर्छ, परमेश्वरका वचनहरू अनुसार आफूलाई मापन गर्नुपर्छ, मेरा सबल पक्ष र कमजोरीलाई वस्तुगत रूपमा मूल्याङ्कन, र आफूले गर्न सक्ने कुरा पूरा गर्न प्रयत्न गर्नुपर्छ, र मेरा कमीकमजोरीका हकमा, मैले तिनलाई शान्त भएर सामना गर्नुपर्छ र तिनलाई सही रूपमा लिनुपर्छ। यसरी, म बन्धनमा नपरी आफ्नो कर्तव्य पूरा गर्न सक्छु। मैले हीनताबोधमा बिताएका मेरा सबै वर्षका बारेमा मनन गरेँ, र मेरा आमाबुबाले मलाई सधैँ लरबराउने बोली र आफूलाई राम्रोसँग व्यक्त गर्न नसक्नुका कारण आलोचना गरेकोले मैले यसरी महसुस गरेको थिएँ, र मलाई आफ्नो सञ्चार सिप कमजोर छ, र मैले मेरा विचारहरू छोटकरीमा व्यक्त गर्न सक्दिनँ भन्ने मलाई लाग्थ्यो, त्यसकारण बारम्बार बोल्नुपर्ने र सङ्गति गर्नुपर्ने कर्तव्य गर्नुपर्ने हुँदा, मलाई डर लाग्थ्यो। त्यसपछि मैले शान्त भएर आफूलाई मूल्याङ्कन गरेँ, “परमेश्वरका वचन पढिसकेपछि, मैले केही अन्तर्ज्ञान प्राप्त गर्न सकेँ, र मैले ब्रदर-सिस्टरलाई सहयोग गर्न मेरा अनुभवात्मक बुझाइहरू बाँड्न सकेँ, जुन कुरा तिनीहरूले उपयोगी भयो भनेर बताए। म सीपसँग सम्बन्धित केही समस्याहरू पनि समाधान गर्न सक्छु, र मेरो सञ्चार सिप कमजोर र म लरबराउने भए पनि, यी समस्या त्यति साह्रो खराब छैनन् जसले मलाई स्पष्ट रूपमा आफ्नो कुरा व्यक्त गर्न वा कुनै काम पूरा गर्न रोक्छ। यसको साथै, यो दीर्घकालीन समस्या होइन, किनभने मैले लेखहरू लेखेर र सङ्गतिमा थप प्रशिक्षित भएर यस क्षेत्रमा आफूलाई सुधार्न सक्छु।” यो कुरालाई पहिचान गरेर, मलाई समूह अगुवाको रूपमा आफ्नो कर्तव्य पूरा गर्ने तनाव हुन छोड्यो, र मैले सक्रिय रूपमा यो काम गर्न सकेँ। जब म मेरा ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्यमा सामना गर्ने समस्याहरू देख्थेँ, मैले तिनलाई समाधान गर्न सक्दो सहयोग गर्थेँ, र मैले हाम्रो समूहका ब्रदर-सिस्टरको कामको प्रगतिबारे नियमित रूपमा अनुगमन गर्थेँ, तिनीहरूका कठिनाइ अध्ययन गरी तिनीहरूसँग समाधानबारे छलफल गर्थेँ, र यदि मैले कुनै कुरा समाधान गर्न सकिनँ भने, म मेरो सहकर्मीसँग सल्लाह गर्थेँ, र अन्त्यमा, हामीले सधैँ अघि बढ्ने कुनै न कुनै बाटो भेट्टाउन सक्थ्यौँ। यसरी व्यावहारिक रूपमा आफ्नो कर्तव्य पूरा गरेर, मैले आफ्ना विचारहरू स्पष्ट रूपमा व्यक्त गर्न सक्छु, मेरा ब्रदर-सिस्टरहरूले मलाई बुझ्न सक्छन् भन्ने देखेँ, र मैले समूह अगुवाको रूपमा रहेको आफ्नो कर्तव्यमा केही आत्मविश्वास प्राप्त गरेँ। केही समयपछि, अगुवाहरू मकहाँ आए र केही छलफलपछि, मलाई सुपरभाइजरको रूपमा तयार गर्न चाहेको बताए। यो खबर सुन्दा म छक्क परेँ र खुशी पनि भएँ, तर त्यसपछि मैले तुरुन्तै के सोचेँ भने मेरो बोल्ने भाषागत सीप कमजोर छ, र समूह अगुवा भएर मुस्किलले काम व्यवस्थापन सक्छु, समूहका ब्रदर-सिस्टरलाई मेरा कमीकमजोरी बारेमा थाहा छ, र मेरो सङ्गतिमा कमी देखिएमा भनेर तिनीहरूले बुझ्न सक्छन्, तर सुपरभाइजरका रूपमा, म धेरै मानिसहरूसँग अन्तरक्रिया गर्नेछु, अनि भेलाहरूमा र कामको कार्यान्वयनका लागि मैले सङ्गतिमा नेतृत्व लिनु आवश्यक हुनेछ। मेरो बोल्ने कला कमजोर भएकाले, मैले सङ्गति गर्न मुख खोल्ने बित्तिकै मेरा कमीकमजोरी खुलासा गर्नेछु भन्ने मलाई डर लागेको थियो, र यदि मैले नराम्ररी सङ्गति गरेँ भने, मेरो एकदमै बेइज्जत हुनेथियो। त्यसकारण मैले अगुवाहरूलाई भनेँ, “म यो काम गर्न सक्दिनँ, म यो भूमिकाका लागि योग्य छैनँ, अर्को सिस्टरलाई तयार गर्नु नै राम्रो हुन्छ।” त्यसपछि अगुवाहरूले मसँग परमेश्वरका अभिप्रायबारे सङ्गति गरे, मलाई आफूलाई सीमित नगर्न, यो सक्तो हुँदो रहेछ भन्ने हेर्दै प्रशिक्षित हुन, र कुनै पनि कठिनाइ समाधान गर्न अरूसँग सहकार्य गर्न प्रोत्साहन दिए। त्यसकारण मैले केही समय यो भूमिका निर्वाह गर्न सहमति जनाएँ।
त्यसपछि, मैले सोचेँ, “मलाई मेरो हीनताबोध ले प्रभाव पारेको महसुस भएको छ, र मैले आफूलाई सही रूपमा लिन सक्छु, त्यसोभए मैले किन अझै पनि सुपरभाइजरको भूमिका लिन हिचकिचाएँ र यसबाट भाग्न चाहेँ?” भक्तिको बेला, मैले परमेश्वरका वचनका केही खण्डहरू पढेँ, जसले मेरा केही समस्याका बारेमा केही स्पष्टता पाउन सकेँ। परमेश्वर भन्नुहुन्छ: “जब मानिसहरू अरूले तिनीहरूलाई उच्च नजरले हेरून् र तिनीहरूका दोषहरू र कमीहरू नदेखून् भनी सधैँ स्वाङ पार्छन्, सधैँ तिनीहरू आफूलाई ढाकछोप गर्छन्, सधैँ बहाना बनाउँछन्, जब तिनीहरूले मानिसहरूको अगाडि आफ्नो सर्वोत्तम पाटो प्रस्तुत गर्ने कोसिस गर्छन्, तब त्यो कस्तो किसिमको स्वभाव हो? त्यो अहङ्कार, बहानाबाजी, पाखण्ड हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो। शैतानी शासनका सदस्यहरूलाई नै लिऊँ: तिनीहरूले गोप्यमा जति नै लडाइँ, झगडा, वा हत्या गरे पनि कसैलाई पनि तिनीहरूको रिपोर्ट वा पर्दाफास गर्न दिँदैन। तिनीहरू मानिसहरूले आफ्नो पैशाचिक रूप देख्लान् भनेर डराउँछन्, र त्यसलाई ढाकछोप गर्न आफूले सकेजति सबै गर्छन्। जनसमुदायअघि तिनीहरू आफूलाई ढाकछोप गर्न आफूले सक्नेजति सबै गर्दै, तिनीहरू मानिसहरूलाई धेरै प्रेम गर्छन्, तिनीहरू धेरै महान्, महिमित र दोषरहित छन् भनी भन्छन्। यो शैतानको प्रकृति हो। शैतानको प्रकृतिको सबैभन्दा विशिष्ट विशेषता छल र धोखा हो। अनि यो छल र धोखाको उद्देश्य के हो? मानिसहरूका आँखा छल्नु, तिनीहरूलाई यसको सार र यसको साँचो रूप देख्नबाट रोक्नु, र त्यसो गरेर त्यसको शासनलाई बलियो बनाउने उद्देश्य प्राप्त गर्नु हो। साधारण मानिसहरूमा यस्तो शक्ति र हैसियत नहोला, तर तिनीहरू पनि अरूले तिनीहरूलाई राम्रो नजरले हेरून् भन्ने चाहन्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून्, र हृदयमा तिनीहरूलाई उच्च हैसियतमा राखून् भन्ने चाहन्छन्। यो भ्रष्ट स्वभाव हो, र यदि मानिसहरूले सत्यतालाई बुझ्दैनन् भने, यसलाई चिन्न सक्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। “कहिल्यै हृदय खुलस्त नबनाउने, कुरा ढाकछोप गर्ने र लुकाउन खोज्ने, आदरणीय भएको ढोँग गर्ने, अरूले आफ्नो बारेमा उच्च सोचून् भनी चाहने, अरूलाई आफ्नो पूर्ण मापन गर्न नदिने र अरूले आफ्नो आदर गरून् भनी चाहने मानिसहरू—के यी मानिसहरू मूर्ख हुँदैनन् र? यी मानिसहरू सबैभन्दा मूर्ख हुन्छन्! किनभने व्यक्तिको वास्तविकता ढिलोचाँडो खुलासा हुनेछ। यस्तो व्यवहार अँगालेर, तिनीहरू कुन मार्ग हिँड्छन्? यो फरिसीहरूको मार्ग हो। के ढोँगीहरू खतरामा हुँदैनन् र? यिनीहरू परमेश्वरले सबैभन्दा बढी तिरस्कार गर्नुहुने मानिसहरू हुन्, त्यसैले तिमीहरू के सोच्छौ, के तिनीहरू खतरामा छन्, कि छैनन्? जो फरिसीहरू हुन् तिनीहरू सबै विनाशको बाटो हिँड्छन्!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्वर खुलासा गर्नुहुन्छ, मानिसले प्रायः आफूलाई लुकाउँछन् र ढाकछोप गर्छन्, आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन अरूबाट आफ्ना कमीकमजोरी र त्रुटिहरू लुकाउँछन्। त्यस्ता मानिसहरू अहङ्कारी, नक्कली, र ढोङ्गी हुन्छन्। मैले परमेश्वरका वचनको आधारमा आफ्नो व्यवहारलाई जाँच गरेँ, र मलाई आफू परमेश्वरले खुलासा गरेजस्तै व्यक्ति रहेको महसुस भयो। सानैदेखि, म “रूखलाई बोक्रा चाहिएजस्तै मानिसलाई पनि अभिमान चाहिन्छ,” भन्ने विचारको नियन्त्रणमा परेकी थिएँ, र म अरूको हृदयमा रहेको आफ्नो अभिमान र हैसियतलाई ठूलो महत्त्व दिन्थेँ, मानिसहरूले मेरो बारेमा राम्रो विचार र छवि राखून् भन्ने चाहन्थेँ। म आफ्नो बोलीमा लरबराउने हुनाले र बाल्यकालमा मलाई वयस्कहरूले प्रायजसो आलोचना गरेको हुनाले, मलाई यो मेरो कमजोरी हो भन्ने लाग्थ्यो, त्यसकारण जब म बोल्नुपर्ने परिस्थितिमा हुन्थेँ, तब म यसबाट जोगिने निर्णय गर्थेँ। परमेश्वरलाई पाएपछि, भेलाहरूमा सङ्गति गर्दा, मलाई एक पटक लरबराएको र विषयभन्दा बाहिर गएको कारण ब्रदर-सिस्टरहरूले बीचमै रोके, र मलाई बेइज्जत महसुस भयो। त्यसपछि, मलाई भेलाहरूमा सङ्गति गर्न मन लाग्दैनथियो र अरूको अगाडि बोल्न डर लाग्थ्यो। मेरो व्यवहार आफूलाई ढाकछोप गर्ने र लुकाउने खालको थियो, म अरूले मेरा कमीकमजोरी र त्रुटि नदेखून्, म हेलामा नपरूँ, बरु मानिसले मलाई विनम्र र धाक नलगाउने व्यक्ति सोचून्, मानिसमा मेरोबारे राम्रो धारणा होस्, राम्रो छाप बसोस् भन्ने चाहन्थेँ। जब ब्रदर-सिस्टरहरू भेला हुन्छन्, यसको उद्देश्य भनेको परमेश्वरका वचनसँग सम्बन्धित तिनीहरूको अनुभवात्मक बुझाइमा सङ्गति गर्नु र एक-अर्कालाई सहयोग र साथ दिनु हो, तर मैले आफ्ना कमीकमजोरी लुकाउन चाहने भएकीले, म आफ्नो अनुभवात्मक बुझाइ सङ्गति गर्दिनँथेँ। मण्डलीले मलाई समूह अगुवाको रूपमा सेवा गर्न वृद्धि-विकास गर्यो र मलाई तालिम लिने अवसर दियो, तैपनि म कर्तव्यबाट भागिरहेँ र इन्कार गरिरहेँ। समूह अगुवा हुँदा समेत, मसँग आफ्नो कर्तव्य पूरा गर्ने सङ्कल्पको कमी थियो, म नकारात्मक र निष्क्रिय थिएँ, र मैले राजीनामा दिन चाहेकी थिएँ। आफ्नो अभिमान र हैसियतको रक्षा गर्नका लागि, म आफ्नो कर्तव्यबाट पछि हटिरहेकी थिएँ, प्रतिष्ठा र हैसियतप्रतिको मेरो चाहना लुकाउन आफ्नो कमजोर क्षमतालाई बहानाको रूपमा प्रयोग गरेँ। यसरी, मैले कर्तव्य पूरा गर्न नमानेकोमा ब्रदर-सिस्टरहरूले शङ्का नगर्ने मात्र होइन, मलाई समझदार, आत्मसचेतन, र हैसियतका लागि प्रतिस्पर्धा नगर्ने व्यक्तिको रूपमा पनि हेर्नेथिए, र तिनीहरूमा मेरो राम्रो छाप बन्नेथियो। मैले आफ्नो अभिमान र हैसियतको रक्षा गर्न धूर्त विधिहरू प्रयोग गरिरहेकी थिएँ, र यसमा, मैले मेरा ब्रदर-सिस्टरहरूलाई छल गरिरहेकी र बहकाइरहेकी थिएँ। म साँच्चिकै छली थिएँ!
कुराहरूको खोजी र राम्ररी विचार गरेपछि, मैले आफूभित्र अर्को दृष्टिकोण छ भन्ने महसुस गरेँ। म के विश्वास गर्थेँ भने बोल्ने सिप भएकाहरू मात्रै अगुवा र कामदार हुन योग्य हुन्छन्, र यदि व्यक्तिमा बोल्ने सिपको कमी छ भने, ऊ यो भूमिकाका लागि योग्य हुँदैन। तर के यो दृष्टिकोण वास्तवमा सही थियो? मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “मैले भर्खरै उल्लेख गरेका विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूमध्ये, पहिलो प्रकार भनेको कामका विभिन्न विषयवस्तुका सुपरिवेक्षक हुन सक्नेहरू थिए। तिनीहरूबाट गरिने पहिलो माग भनेको तिनीहरूसँग सत्यता बुझ्ने सक्षमता र क्षमता हुनुपर्छ। यो न्यूनतम माग हो। दोस्रो माग भनेको तिनीहरूले बोझ उठाउनुपर्छ—यो अपरिहार्य छ। कतिपय मानिसहरूले साधारण मानिसहरूभन्दा निकै चाँडो सत्यता बुझ्छन्, तिनीहरूमा आत्मिक बुझाइ हुन्छ, तिनीहरू असल क्षमताका हुन्छन्, तिनीहरूसँग काम गर्ने सक्षमता हुन्छ, र केही समयका लागि अभ्यास गरेपछि, तिनीहरू पूर्ण रूपमा आफ्नै दुई खुट्टामा उभिन सक्छन्। तर यी मानिसहरूमा एउटा गम्भीर समस्या हुन्छ—तिनीहरूले कुनै बोझ उठाउँदैनन्। … कुनै कार्यका लागि चाहिनेभन्दा बढी क्षमता भएका मानिसहरू पनि हुन्छन्, तर दुर्भाग्यवश तिनीहरूले बोझ नै उठाउँदैनन्, तिनीहरू जिम्मेवारी लिन मन पराउँदैनन्, तिनीहरूलाई समस्या मन पर्दैन, र चिन्ता लिन मन लाग्दैन। तिनीहरू पूरा गरिनुपर्ने कामप्रति अन्धा हुन्छन्, र त्यो काम देख्न सके पनि, तिनीहरू त्यसलाई सम्हाल्न नै चाहँदैनन्। के यस्ता प्रकारका मानिसहरू प्रवर्धन र जगेर्नाका उम्मेदवारहरू हुन् त? बिलकुलै होइनन्; प्रवर्द्धन र जगेर्ना गरिनका लागि मानिसहरूले बोझ उठाउनैपर्छ। बोझ उठाउनुलाई जिम्मेवारीको बोध हुनु भनेर पनि वर्णन गर्न सकिन्छ। जिम्मेवारीको बोध हुनु मानवतासँग बढी सम्बन्धित हुन्छ; बोझ उठाउनु परमेश्वरको घरले मानिसहरूलाई मापन गर्न प्रयोग गर्ने मानकहरूमध्ये एउटा मानकसँग सम्बन्धित हुन्छ। बोझ उठाउने र साथ-साथै अरू दुई कुराहरू—सत्यता बुझ्ने सक्षमता र क्षमता, अनि काम गर्ने सक्षमता—हुने मानिसहरू प्रवर्द्धन र जगेर्ना गर्न सकिने प्रकारका मानिसहरू हुन्, र यो प्रकारका मानिसहरू कामका विभिन्न विषयवस्तुका सुपरिवेक्षक हुन सक्छन्। विभिन्न प्रकारका सुपरिवेक्षक बन्नका लागि मानिसहरूलाई गरिने प्रवर्द्धन र जगेर्नाका आवश्यक मानकहरू यिनै हुन्, र यी मानकहरू पूरा गर्नेहरू प्रवर्द्धन र जगेर्नाका उम्मेदवारहरू हुन्” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू (५))। परमेश्वरका वचनबाट हेर्दा, अगुवा र कामदार बन्ने कुरा मुख्य रूपमा व्यक्तिको मानवता र सत्यता बुझ्ने उसको क्षमतामा निर्भर हुन्छ। साथै, यो तिनीहरूसँग कार्यभारको बोध र जिम्मेवारीको बोध छ कि छैन भन्ने कुरामा पनि निर्भर हुन्छ। जब राम्रो सञ्चार सिप भएका मानिसहरूले समस्या समाधान गर्न सत्यतामा सङ्गति गर्छन्, तिनीहरूले आफ्ना विचार स्पष्ट र तार्किक रूपमा राख्न सक्छन्, र मुख्य बुँदाहरू बुझ्न सक्छन्, र अरूलाई तुरुन्तै ती कुरा बुझाउन सक्छन्। यो तिनीहरूको कर्तव्य पूरा गर्नका लागि फाइदाजनक हुन्छ। यदि सुपरभाइजरमा बोल्ने सिप, क्षमता, र कार्य सक्षमता राम्रो त छ, तर उसमा कमजोर मानवता छ, सहजता खोज्छ, काम गर्न मन गर्दैन, अनि उसमा आफ्नो कर्तव्यप्रति बोझको बोध छैन र ऊ गैरजिम्मेवार छ भने, त्यस्तो व्यक्ति अगुवा र कामदार बन्न पनि अयोग्य हुन्छ। धेरै अगुवा र कामदारहरूमा बोल्ने सीप र क्षमता राम्रो हुन्छ, तर तिनीहरूमा आफ्नो कर्तव्यप्रतिको बोझ बोध नहुने र तिनीहरूले वास्तविक काम नगर्ने हुनाले, अनि तिनीहरू आफ्नो पदका फाइदाहरूमा लिप्त हुने भएकाले, बर्खास्तमा पर्छन्। यसको विपरीत, बोल्ने सीप र क्षमता अलिक कमजोर भएका तर आफ्नो कर्तव्यप्रतिको बोझ र जिम्मेवारी दुवैको बोध भएका, लगनशीलताका साथ काम गर्ने, र आफ्ना ब्रदर-सिस्टरहरूको कर्तव्यमा देखिएका वास्तविक समस्याहरू समाधान गर्न सक्ने अगुवा र कामदारहरू पनि छन्। त्यस्ता अगुवा र कामदारहरूले वास्तविक काम पनि गर्न सक्छन्, र मण्डलीले तिनीहरूलाई तालिमको अवसरहरू प्रदान गर्छ। विगतमा, मेरो बोल्ने र सञ्चार गर्ने क्षमता कमजोर भएकैले म समूह अगुवा वा सुपरभाइजर बन्न अयोग्य छु भन्दै आफूलाई सीमित गर्थेँ। यो सत्यताको खोजी गर्न नसक्नुको कारण थियो, र मैले आफूलाई यी भ्रमपूर्ण दृष्टिकोणहरूद्वारा सीमित गरिरहनु हुँदैनथियो।
अगाडि बढ्दै जाँदा, मैले आफ्नो क्षमताले भ्याएसम्म कसरी आफ्नो कर्तव्य पूर्ण रूपमा पूरा गर्न सक्छु, र आफ्नो क्षमतामा पुग्न लागिपर्न सक्छु त्यसमा ध्यान दिएँ, र मैले परमेश्वरका वचनहरू सचेत रूपमा मनन पनि गरेँ, सामना गरेका परिस्थितिहरूमा सत्यताको खोजी गर्ने र अभ्यास गर्ने कार्यमा ध्यान दिएँ। जब मैले परमेश्वरका वचनहरूका बारेमा केही वास्तविक बुझाइ प्राप्त गरेँ, मैले गवाही लेखहरू लेख्ने अभ्यास गरेँ। क्रमिक रूपमा, मैले तर्कसङ्गत र सुसङ्गत रूपमा कसरी बोल्ने, अनि अरूले बुझ्न सक्ने गरी आफ्ना विचारहरू स्पष्ट रूपमा कसरी व्यक्त गर्ने भन्ने बारेमा सिकेँ र मैले सञ्चारका सीपहरूलाई बुझ्न थालेँ। भेलाहरूमा काम लागू गर्ने बेला, मलाई मेरो सहकर्मीले अगुवाइ गर्न लगाउँदा पहिले जस्तो डर मान्न छोडेँ, र मैले सबैसँग समस्या र विचलनहरूका बारेमा पनि सारांशित गर्न सक्न थालेँ, यसरी मैले आफ्नो कर्तव्यको प्रभावकारितामा सुधार ल्याउन सकेँ। यसरी अभ्यास गरेपछि, मलाई शान्ति र सहजताको महसुस भयो, र क्रमिक रूपमा, म आफ्नो हीनता बोधको छायाबाट बाहिर आएँ, र म पहिलेको भन्दा निकै उत्साहित भएँ। म अब बोल्न डराएर अँध्यारोमा लुक्ने व्यक्ति रहिनँ। मलाई क्रमिक रूपमा मेरो हीनता बोधको छायाबाट बाहिर निस्कन र सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्न सहयोग गरेकोमा परमेश्वरका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शनप्रति म कृतज्ञ छु।