८६. प्रतिकूलताबीच वृद्धि
अगस्ट २३, २०२२ मा जिल्ला अगुवाले हामी केही प्रचारकहरूलाई भेला हुन बोलाए। हामीले अपराह्नसम्म पर्ख्यौँ, तर अगुवा आएनन्। पछि, हामीले मण्डली अगुवाहरू र धेरै ब्रदर-सिस्टर पक्राउ परेका छन् भनी थाहा पायौँ। मसँगै बस्ने सिस्टर लु याङलाई पनि पक्राउ गरिएको थियो। त्यसबाहेक, हामीलाई भेलामा निम्त्याउने अगुवा एक दिन एक रातदेखि सम्पर्कविहीन थिए, त्यसैले उनलाई केही भएको लगभग निश्चित थियो। यो खबर सुनेर म स्तब्ध भएँ। यो गिरफ्तारीले दर्जनौँ मण्डलीलाई असर गरेको थियो, र यो सब २३ तारिख बिहानै हुनुले, यो चिनियाँ कम्युनिस्ट पार्टीद्वारा गरिएको समन्वित कारबाही हो भनेर औँल्याउँथ्यो। मलाई याद छ, ती अगुवा केही दिनअघि मात्र मेरो घरमा दुईतीन पटक आएका थिए, र मलाई म पनि निशानामा पर्न सक्छु भन्ने लाग्यो। यदि म निशानामा परेकी भए, के म पनि कुनै दिन पक्राउ पर्नेथिएँ त? सीसीपीले विश्वासीहरूलाई मान्छे ठान्दैन, र उनीहरूलाई परमेश्वरलाई धोका दिन बाध्य पार्न हरेक प्रकारका यातना दिन्छ। म धेरै मण्डलीहरूको कामको सुपरिवेक्षण गर्दै थिएँ, र यदि म पक्राउ परेकी भए, सीसीपीले मलाई सहजै उम्कन दिनेथिएन। यसबारे सोच्दा मेरो मन भारी भयो, र बाहिरको ससान गतिविधिले पनि म चिन्तित हुन्थेँ, किनभने म कुनै पनि क्षण पक्राउ पर्न सक्छु भन्ने डर थियो। मेरो स्थिति ठिक छैन भन्ने बुझेर, मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मण्डलीले कडा कारबाही सामना गरिरहेकाले, मलाई अत्यन्तै डर लाग्छ। कृपया मलाई रक्षा गर्नुहोस् र आस्था दिनुहोस् ताकि म यस वातावरणको बन्धनमा नपरूँ।” प्रार्थना गरेपछि, मैले मेरो कथा, हाम्रो कथा भन्ने चलचित्र सम्झेँ, र मैले त्यो तुरुन्तै खोजेर हेरेँ। त्यस चलचित्रमा रहेको परमेश्वरका वचनको एउटा खण्डले मलाई आस्था दियो।
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “शैतानले अय्यूबमाथि लोभी नजरले हेरेको भए तापनि, परमेश्वरको अनुमतिविना त्यसले अय्यूबको शरीरको एउटा रौँ समेत छुने आँट गरेन। शैतान अन्तर्निहित रूपमा दुष्ट र निर्दयी भए तापनि, परमेश्वरले त्यसको लागि उहाँको आदेश जारी गरिसक्नुभएपछि, परमेश्वरको आज्ञालाई पालना गर्ने बाहेक त्योसँग केही विकल्प थिएन। यसरी, जब त्यो अय्यूबकहाँ आयो त्यो भेडाको बीचमा ब्वाँसो झैँ अनियन्त्रित भएको भए तापनि, परमेश्वरले त्यसको निम्ति तोकिदिनुभएका सीमितताहरूलाई बिर्सने आँट त्यसले गरेन, परमेश्वरका आदेशहरूलाई उल्लङ्घन गर्ने आँट गरेन, र त्यसले गरेको सबै कुरामा, शैतानले परमेश्वरका वचनहरूका सिद्धान्त र सीमितताहरूबाट दायाँ-बायाँ गर्ने आँट गरेन—के यो तथ्य होइन र? यसबाट के देख्न सकिन्छ भने शैतानले यहोवा परमेश्वरका कुनै पनि वचनहरूलाई अवहेलना गर्ने आँट गर्दैन। शैतानको लागि, परमेश्वरको मुखबाट निस्केको हरेक वचन आदेश र स्वर्गीय कानुन, परमेश्वरको अख्तियारको अभिव्यक्ति हो—किनभने परमेश्वरको वचनको पछाडि परमेश्वरका आदेशहरूलाई उल्लङ्घन गर्नेहरू, र स्वर्गीय कानुनहरूलाई अवज्ञा गर्ने र विरोध गर्नेहरूलाई दिइने परमेश्वरका दण्डहरू सङ्केत गरिएको हुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १)। परमेश्वरका वचनले हामीलाई स्पष्ट रूपमा के बताउँछन् भने शैतान जति नै क्रूर भए पनि, त्यसले परमेश्वरका आज्ञाहरूलाई उछिन्न सक्दैन वा परमेश्वरले निर्धारण गरेको साँध वा सीमा नाघ्न सक्दैन। शैतान जति नै दुष्ट भए पनि, ऊ परमेश्वरको हातमा एक सेवा गर्ने वस्तु, र परमेश्वरका चुनिएका मानिसहरूलाई सिद्ध पार्न प्रयोग गरिने साधन मात्र हो। परमेश्वरका वचनहरूमा चिन्तन गर्दा, मैले थाहा पाएँ, ठूलो स्तरमा गरिएको कारबाहीको दिन, अगुवाले हामीमध्ये केहीसँग भेला गर्ने योजना बनाएका थिए, र यदि प्रहरीले कारबाही अलि ढिलो गरेको भए, हामी प्रचारकहरू अगुवासँगै पक्राउ पर्नेथियौँ। मैले ब्रदर-सिस्टरहरूको पक्राउ परमेश्वरको अनुमतिअनुसार हो भन्ने बुझेँ। शैतानले परमेश्वरको अनुमतिविा काम गर्न सक्दैन; यो परमेश्वरको अख्तियार हो। यो कुरा विशेष गरी त्यतिबेला स्पष्ट भयो जब मैले चलचित्रमा जेलमा रहेका ब्रदरहरूलाई कडा निगरानीमा रहँदा परमेश्वरका वचन बाँड्न उहाँमा भर परेको, र एकअर्कालाई सहयोग र साथ दिएको, र परमेश्वरमाथि उनीहरूको आस्था अझ बलियो बनेको देखेँ। सीसीपीले जसरी धम्की वा प्रलोभन प्रयोग गरे पनि, उनीहरू आफ्नो गवाहीमा दृढ रहे। यसले परमेश्वरका वचनहरूको शक्तिलाई देखायो। यी ब्रदरहरूको अनुभव देखेर, म अब त्यति डराइनँ। मैले म सबथोकमाथि परमेश्वरको सर्वशक्तिमानता र सार्वभौमिकता छ भनेर कसरी प्राय: घोषणा गर्थेँ, र मण्डलीको कामको रक्षा गर्नेछु भनेर कसरी बारम्बार भन्ने गर्थेँ भन्नेबारे सोचेँ। तर जब मैले धेरैभन्दा धेरै मानिस पक्राउ पर्दै छन् भन्ने सुनेँ, म सङ्कोच र डरले भरिएँ। मेरा अघिल्ला सङ्कल्प र प्रतिज्ञाहरू धेरै पहिले नै बिर्सिएको जस्तो देखिन्थ्यो, र विशेष गरी, यदि म पक्राउ परेमा यातना भोग्नुपर्ने सोचले मेरो चिन्ता बाहिरियो। वास्तविकता सामना गर्दा, मैले अन्ततः मेरो आस्था कति सानो रहेछ भनेर देखेँ। खतरा सामाना गर्नेबित्तिकै, म सङ्कोचित र भयभीत भएँ, र मैले आफ्नो शारीरिक सुरक्षाबारे चिन्ता गर्न थालेँ। कुन अर्थमा ममा कुनै कद थियो र? यो बुझेपछि, मैले परमेश्वरलाई प्रार्थना गरेर आस्था मागेँ, ताकि म प्रतिकूलताको बेला आफ्ना कर्तव्य पूरा गर्न र आफ्नो गवाहीमा दृढ रहन सकूँ।
यस घटनापछि, हेर्न आवश्यक धेरै महत्त्वपूर्ण कामहरू थिए। परमेश्वरका वचनका पुस्तकहरू सीसीपीको हातमा पर्न नदिन, ती पुस्तकहरू स्थानान्तरण गर्ने जिम्मेवारी सिस्टर गाओ किङ र मैले लिने निर्णय भयो। मलाई यति महत्त्वपूर्ण काम गर्न खटाइएको देखेर, र यस जिम्मेवारीको महत्त्व जानेर, म त्यो गर्न इच्छुक भएँ। तर, स्थानान्तरणमा समावेश जोखिमबारे सोच्दा, मैले अलि नडराई सक्दै सकिनँ, “यदि हामी पक्राउ पर्यौँ र सीसीपीले हामी परमेश्वरका वचनका किताबहरू स्थानान्तरण गर्दै छौँ भनेर थाहा पायो भने, तिनीहरूले अवश्यै हामीलाई मण्डलीको थप जानकारी दिन बाध्य बनाउनेछन् र यातना दिनेछन्। हामी मरेनौँ भने पनि, हामीलाई कडा यातना दिइनेछ! म अपाङ्ग भएँ भने के गर्ने? म केवल कर्तव्य गर्न असक्षम हुनेथिइनँ, मलाई आफ्नो हेरचाह गर्न पनि समस्या हुनेथ्यो। के त्यो मेरा लागि अन्त्य हुनेथिएन र? के त्यसपछइ म अझै पनि मुक्ति पाउन सक्थेँ? ममा साहस र बुद्धि दुवैको कमी छ। के म साँच्चै यो कर्तव्य सम्हाल्न सक्छु? के हामीले यस जिम्मेवारीका लागि अझ साहसी र बुद्धिमान व्यक्ति खोज्नुपर्दैन र?” मैले यो कुरा सिस्टरहरूलाई भन्नै लागेकी थिएँ, तर म हिचकिचाएँ र कुरा मनमै दबाएँ। यस सन्दर्भमा सम्पर्क गर्न सकिने मानिसहरूको सीमित सङ्ख्यालाई विचार गर्दा, कसरी सबैले सावधानीपूर्वक विचार गरेपछि मात्र मैले यो काम लिने निर्णय गरेका थिए भनेर सम्झेँ। मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “तैँले परमेश्वरको घरको हितसित सम्बन्धित वा परमेश्वरको घरको कामसित वा परमेश्वरको नाउँसित सरोकार राख्ने कुनै पनि कुरालाई सम्हाल्नुपर्छ र त्यसको जिम्मेवारी लिनुपर्छ। तिमीहरूमध्ये हरेकसित यो जिम्मेवारी, यो दायित्व छ अनि तिमीहरूले गर्नैपर्ने कुरा यही नै हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। राज्यको युगमा परमेश्वरका प्रशासनिक आदेशहरूको सम्बन्धमा)। जुनसुकै समय भए पनि, परमेश्वरको घरका हितको रक्षा गर्नु र परमेश्वरका वचनका पुस्तकहरूको सुरक्षा सुनिश्चित गर्नु परमेश्वरका चुनिएका हरेक मानिसको जिम्मेवारी र दायित्व हो। म धेरै वर्षदेखि विश्वासी थिएँ र मैल परमेश्वरका वचनहरूको मलजल र भरणपोषण पाएकी थिएँ, तैपनि, परमेश्वरका वचनका पुस्तकहरूको सुरक्षा जोखिममा पर्दा र तिनलाई स्थानान्तरण गर्दा, म यो कार्य गर्न सक्रिय भइनँ। बरु, म आफ्नै भावी सम्भावना र मार्गबारे सोचिरहेकी थिएँ। पक्राउ पर्ने र यातना भोग्ने डरले म यो जिम्मेवारी अरू कसैलाई सुम्पन चाहन्थेँ। म एकदमै स्वार्थी थिएँ, अनि ममा विवेक र समझको कमी थियो! परमेश्वरका वचनका पुस्तकहरू स्थानान्तरण गर्न म सबैभन्दा उपयुक्त व्यक्ति हुँ भन्ने कुरामा सबै जना सहमत भएकाले, यसमा पक्कै परमेश्वरको अभिप्राय हुनुपर्छ। विशेष गरी यो ठूलो स्तरको कारबाहीका क्रममा म पक्राउ परिनँ भन्ने कुरालाई विचार गर्दा, स्पष्टतः मैले खेल्ने एउटा भूमिका थियो, र मैले त्यो इन्कार गर्नु हुँदैनथ्यो। म सृजित प्राणी हुँ; परमेश्वरलाई म के गर्न सक्छु भन्ने थाहा छ। म पक्राउ पर्ने वा नपर्ने कुरा परमेश्वरको हातमा थियो। यदि परमेश्वरले म पक्राउ हुनुपर्छ भन्ने पूर्वनिर्धारण गर्नुभएको हो भने, म समर्पित हुनुपर्थ्योँ, तर यदि परमेश्वरले यसको अनुमति दिनुभएन भने, सीसीपीले मलाई केही गर्न सक्दैन। ठिक त्यस्तै जस्तै दानियलमा परमेश्वरप्रति आस्था थियो, उनलाई सिंहको गुफामा हाल्दा पनि, सिंहहरूले उनलाई कुनै हानि पुर्याएनन्। सीसीपी जति नै अनियन्त्रित भए पनि, यो अझै परमेश्वरकै हातमा छ, र यो केवल परमेश्वरको काममा सेवा गर्ने वस्तु हो। यो कुरा बुझेपछि, मैले आस्था प्राप्त गरेँ र परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, अहिले तपाईँका वचनका तुरुन्तै स्थानान्तरण गर्नुपर्छ, अनि मलाई सङ्कोच र डर लाग्छ, तर शैतान तपाईँको हातमा छ भनेर मलाई थाहा छ। म आफनो सुरक्षालाई पन्छाउन र सिस्टर गाओ किङसँग मिलेर यी पुस्तकहरू सुरक्षित स्थानमा पुर्याउन इच्छुक छु। कृपया हामीलाई मार्गदर्शन गर्नुहोस्।” भोलिपल्ट बिहान, हामी बाक्लो कुहिरोमा निस्कियौँ र ती पुस्तकहरू सुरक्षित स्थानमा सफलतापूर्वक पुर्यायौँ।
धेरै मण्डली अगुवाहरू पक्राउ परेका कारण, म र सिस्टर गाओ किङलाई यी मण्डलीहरूको कामको सुपरिवेक्षण गर्ने अस्थायी रूपमा बढुवा गरियो। मलाई म आफ्नो कर्तव्यबाट पछि हट्नु हुँदैन भन्ने थाहा थियो, तर मलाई धेरै दबाब महसुस भयो। यस्तो महत्त्वपूर्ण क्षणमा यो कर्तव्य लिनु एकदमै जोखिमपूर्ण थियो। तर, अगुवाहरू पक्राउ परेर मण्डलीको काम लगभग ठप्प भएकाले, ब्रदर-सिस्टरहरूले आफ्नो मण्डली जीवन जिउन सकेनन् र कसैले यो काम तुरुन्तै सम्हाल्नुपर्थ्यो। यसबेला यस कर्तव्यबाट पछि हट्दा ममा मानवताको कमी हुनेथ्यो। धेरै विचार गरेपछि, मैले यो कर्तव्य स्विकारेँ। तर, धेरै समय नबित्दै मैले के थाहा पाएँ भने सोधपुछका क्रममा, प्रहरीले पक्राउ परेका ब्रदर-सिस्टरहरूलाई तस्बिरहरू देखाउँदै अगुवाहरू पहिचान गर्न लगाएको थाहा पाएँ। सीसीपीले लगातार अगुवाहरूलाई पक्राउ गरिरहेको थियो, र यदि उनीहरूले म अहिले मण्डली अगुवा हुँ भनी थाहा पाएका भए, के पक्राउ परेमा मैले पनि कडा सजाय भोग्नेथिइनँ र? मैले पक्राउ परेका र सजाय पाएका ब्रदर-सिस्टरहरूलाई सम्झेँ। कतिपयलाई जेलमा सँगी कैदीहरूले दुर्व्यवहार गरेका थिए, अरूलाई जेलका गार्डहरूले निर्दयतापूर्वक कुटेका र यातना दिएका थिए, र उनीहरूले हरेक दिन कडा शारीरिक श्रम गर्नुपर्थ्यो। मेरो स्वास्थ्य पहिले नै कमजोर भएकाले, पक्राउ परेपछि त जेलको प्रत्येक दिन एक वर्षसरह लाग्नेथ्यो, र म त्यहाँबाट बाहिर आउन सक्थेँ कि सक्थिनँ भन्न गाह्रो थियो। चीनमा कर्तव्य गर्नु निरन्तर ज्यान जाने जोखिमसहित खुकुरीको धारमा उभिनुजस्तो वास्तवमै जोखिमपूर्ण छ, मैले यो कर्तव्य नलिएको भए राम्रो हुनेथ्यो भन्ने सोचिरहेँ … म अत्यन्तै चिन्तित भएँ र मैले आफ्नो काममा ध्यान केन्द्रित गर्न सकिनँ। मेरो स्थिति ठिक नभएको बुझेर, मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ र मेरो हृदयको रक्षा गर्न आग्रह गरेँ।
त्यो रात, म बिलकुलै निदाउन सकिनँ। मण्डलीले ठूलो स्तरमा कारबाही सामना गर्दा आफूले कायरता र डर मात्र प्रकट गरेकी थिएँ, र आफूलाई जोगाउन आफ्नो कर्तव्यबाट भाग्नसमेत चाहेकी थिएँ भनेर मैले चिन्तन गरेँ। प्रतिकूलताको सामना गर्दा किन म आफ्नैबारे सोचिरहन्थेँ? मैले आफ्नो भक्तिका क्रममा, परमेश्वरका वचनहरूका दुईवटा खण्ड पढेँः “ख्रीष्टविरोधीहरू आफ्नो सुरक्षा कायम राख्न सक्दो प्रयास गर्छन्। तिनीहरू मनमनै यस्तो सोच्छन्: ‘मैले जसरी पनि आफ्नो सुरक्षा पक्कापक्की गर्नैपर्छ। जो पक्राउ परे पनि, मचाहिँ पर्नै हुँदैन।’ यस मामलामा, तिनीहरू प्राय: परमेश्वरसामु आएर आफूलाई समस्यामा पर्नबाट बचाउनुहोस् भनी याचना गर्छन्। तिनीहरूलाई, जे भए पनि आफूले मण्डली अगुवाको काम गरिरहेको छु र मलाई परमेश्वरले रक्षा गर्नुपर्छ भन्ने लाग्छ। आफ्नो सुरक्षाको खातिर र पक्राउ पर्नबाट जोगिन, सबै उत्पीडनबाट उम्केर आफूलाई सुरक्षित वातावरणमा राख्न, ख्रीष्टविरोधीहरू आफ्नो सुरक्षाको लागि प्रायजसो बिन्ती र प्रार्थना गर्छन्। तिनीहरू आफ्नै सुरक्षाको कुरा आउँदा मात्रै साँचो रूपमा परमेश्वरमा भरोसा गर्छन् र आफूलाई समर्पित गर्छन्। यस्तो बेला तिनीहरूको विश्वास साँचो हुन्छ र परमेश्वरमाथि तिनीहरूको भरोसा साँचो हुन्छ। तिनीहरू परमेश्वरलाई आफ्नो सुरक्षा गरिमाग्न मात्रै प्रार्थना गर्ने कष्ट गर्छन्, मण्डलीको काम वा आफ्नो कर्तव्यबारे अलिकति पनि विचार गर्दैनन्। तिनीहरूको काममा, व्यक्तिगत सुरक्षा नै तिनीहरूलाई डोऱ्याउने सिद्धान्त हो। यदि कुनै स्थान सुरक्षित छ भने, ख्रीष्टविरोधीहरूले काम गर्न त्यही स्थान रोज्नेछन्, र वास्तवमा तिनीहरू निकै सक्रिय र सकारात्मक देखिनेछन्, आफ्नो ठूलो ‘जिम्मेवारी बोध’ र ‘बफादारिता’ देखाउँछन्। यदि कुनै काममा खतरा हुन्छ र त्यसमा कुनै घटना घटित हुने सम्भावना छ, यो काम गर्ने व्यक्तिलाई ठूलो रातो अजिङ्गरले भेट्टाउने खतरा छ भने, तिनीहरूले यस्तो बहाना बनाएर यो काम अस्वीकार गर्छन्, र यसबाट भाग्ने मौका खोज्छन्। खतरा आउनेबित्तिकै, वा खतराको सङ्केत देख्नेबित्तिकै, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको कुनै वास्ता नगरी आफूलाई मुक्त गर्ने र आफ्नो कर्तव्य त्याग्ने उपाय सोच्छन्। तिनीहरूले आफूलाई खतराबाट मुक्त गर्ने बारेमा मात्रै सोच्छन्। तिनीहरूले पहिले नै हृदयमा तयारी गरिसकेका हुन सक्छन्। खतरा देखा पर्नेबित्तिकै, तिनीहरूले मण्डलीको काम कसरी अघि बढ्छ, वा परमेश्वरको घरका हितहरूमा के-कस्तो क्षति पुग्न सक्छ भन्नेबारे, वा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाबारे कुनै वास्ता नगरी तिनीहरूले आफूले गरिरहेको कामलाई तुरुन्तै छोड्छन्। तिनीहरूलाई भाग्नुको मात्रै मतलब हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। “ख्रीष्ट विरोधीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। परमेश्वरमाथि तिनीहरूसँग साँचो विश्वास हुँदैन, परमेश्वरप्रतिको बफादारी हुने कुरा त परै जाओस्; जब तिनीहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले केवल आफूलाई बचाउँछन् र आफ्नो सुरक्षा गर्छन्। तिनीहरूका लागि, आफ्नो सुरक्षाभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। तिनीहरू जीवित रहेसम्म र पक्राउ नपरेसम्म पुग्यो, तिनीहरूले मण्डलीको काममा कति हानि पुगेको छ भन्ने कुराको वास्ता गर्दैनन्। यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीको कामबारे बिल्कुलै सोच्दैनन्, तिनीहरूले आफ्नै सुरक्षाबारे मात्र सोच्छन्। तिनीहरू ख्रीष्टविरोधीहरू हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्वर ख्रीष्टविरोधीहरूको प्रकृति अत्यन्तै स्वार्थी र घिनलाग्दो हुन्छ भनी खुलासा गर्नुहुन्छ। तिनीहरू आफ्ना हितलाई अरू सबैभन्दा माथि राख्छन्, र कुनै निश्चित परिस्थितिमा, यदि कुनै कुराले तिनीहरूको हितलाई असर गऱ्यो भने, तिनीहरू निसङ्कोच आफ्नो रक्षा गर्छन्। ख्रीष्टविरोधीहरू पूर्ण रूपमा फाइदामुखी हुन्छन्, र तिनीहरूमा कुनै विवेक वा समझ हुँदैन। तिनीहरू “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने शैतानी दर्शन पालना गर्छन् र शैतानको पूर्ण छविमा जिउँछन्। परमेश्वरका वचनहरू र मेरो आफ्नै व्यवहारबारे चिन्तन गर्दा, के मैले ख्रीष्टविरोधीको स्वार्थी र घिनलाग्दो स्वभाव प्रकट गरेकी थिइनँ र? सामान्यतया, पक्राउ पर्ने कुनै खतरा नहुँदा, म आफ्नो कर्तव्य जतिसुकै कठिन वा थकाइलाग्दो भए पनि, कर्तव्य गर्न निकै सक्रिय हुन्थेँ, आफ्ना कर्तव्यप्रति बफादारी र परमेश्वरप्रति समर्पणको देखावटी रूप देखाउँथेँ। तर जब मण्डलीले ठूलो स्तरमा कारबाही सामना गर्यो र मलाई खटाइएका कर्तव्यमा मेरा व्यक्तिगत हित मुछिए, तब मेरो स्वार्थीपन र घृणितपन प्रकट भए। ब्रदर-सिस्टरहरूले मलाई परमेश्वरका वचनका पुस्तकहरू स्थानान्तरण गर्न छनौट गर्दा, मैले आफूलाई जोगाउन त्यो कर्तव्य अरू कसैलाई सुम्पिन चाहेँ। जब मण्डलीले मलाई अस्थायी रूपमा अगुवामा बढुवा गऱ्यो, तब मैले कसरी मण्डलीको काम राम्रोसँग गर्ने र यो जिम्मेवारी बहन गर्ने भन्नेबारे ध्यान दिनुको सट्टा, पक्राउ पर्ने र सजाय पाउने डरले चिन्तित भएँ, र आफूलाई जोगाउन कर्तव्यबाट भाग्ने विचारसमेत गरेँ। म मृत्युदेखि अत्यन्तै डराएँ! भनिन्छ, प्रतिकूलतामा इमानदारी प्रकट हुन्छ, तर के मैले प्रतिकूलता सामना गर्दा इमानदारीपूर्वक व्यवहार गरेँ त? अहँ! मैले त स्वार्थीपन र कपटबाहेक केही प्रकट गरिनँ! मैले यत्तिका वर्ष परमेश्वरका वचनको मलजल र भरणपोषण पाइरहेको कुराबारे सोचेँ, तर जब मण्डलीले ठूलो स्तरको कारबाही सामना गरिरहेको थियो र मण्डलीलाई मैले आफ्नो भूमिका निभाउनुपर्ने आवश्यक पऱ्यो, तब मैले त्यसबाट उम्कन र आफूलाई जोगाउन बहाना खोजेँ। कुन अर्थमा ममा कुनै मानवता थियो र? मैले परमेश्वरलाई म आफूलाई उहाँका लागि समर्पण गर्न र उहाँको प्रेमको ऋण चुकाउन इच्छुक छु भन्दै प्रार्थना गरेकी थिएँ, तर म त स्वार्थी र घृणित तरिकमा जिइरहेकी थिएँ, र मैले आफूलाई जोगाउन खोजेँ। के यो परमेश्वरलाई धोका दिनु होइन र? यदि यी तथ्यहरू प्रकट नभएको भए र परमेश्वरका वचनहरूको न्याय र खुलासा नभएको भए, ममा अझै आफ्नो स्वार्थी र आत्महित खोज्ने शैतानी स्वभावबारे कुनै साँचो बुझाइ हुनेथिएन। म अझै पनि आफू परमेश्वरप्रति इमानदार छु र उहाँ मलाई अवश्यै अनुमोदन गर्नुहुन्छ, र परमेश्वरको काम समाप्त भएपछि, म राज्यमा प्रवेश गर्नेछु र परमेश्वरका आशिष् पाउनेछु भनेर सोच्नेथिएँ। म वास्तवमै आफूलाई चिन्दिनथेँ! परमेश्वरको काम अत्यन्तै व्यावहारिक छ। उहाँले ठूलो रातो अजिङ्गरले गरेको सतावट र पक्राउमार्फत् मेरो भ्रष्टता प्रकट गर्नुभएको छ र आफूलाई बुझ्न मलाई मद्दत गर्नुभएको छ। यो मेरा लागि परमेश्वरको मुक्ति हो! यसबारे सोच्दा, मलाई पछुतो भयो र मैले अबदेखि शैतानी सिद्धान्तअनुसार जिउन चाहिनँ।
पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड भेट्टाएँ, जसले मलाई धेरै अन्तर्दृष्टि दियो। परमेश्वर भन्नुहुन्छ: “यदि तँ आफू सृजित प्राणी हुँ भनेर स्वीकार गर्छस् भने, तैँले सुसमाचार सुनाउने आफ्नो जिम्मेवारी पूरा गर्न र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नका लागि कष्ट भोग्न र मूल्य चुकाउन आफूलाई तयार गर्नुपर्छ। यस्तो मूल्य केही शारीरिक रोगबिमार वा कठिनाइको भोगाइ वा ठूलो रातो अजिङ्गरको सतावट भोगाइ वा सांसारिक मानिसहरूको गलत बुझाइको कष्ट, साथै सुसमाचार सुनाउँदा भोग्ने सङ्कष्टहरू हुन सक्छन्: कसैले हामीलाई विश्वासघात गर्न सक्छ, कुटपिट र हप्की, अनि निन्दा सहनुपर्ने हुन सक्छ—भीडको कुटाइ खाएर ज्यानसमेत जान सक्छ। सुसमाचार प्रचार गर्ने क्रममा, तँ परमेश्वरको काम पूरा हुनुभन्दा पहिले नै मर्ने, र परमेश्वरको महिमाको दिन देख्नका लागि तँ बाँच्न नपाउने सम्भावना पनि हुन्छ। तिमीहरू यसका लागि तयार रहनुपर्छ। यो तिमीहरूलाई तर्साउन भनिएको होइन; यो तथ्य हो। … यसबाहेक, प्रभु येशूका यी चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, कतिलाई घोडामा बाँधेर घिस्स्याइयो, कतिलाई उँधोमुन्टो क्रूसमा टाँगियो, कतिलाई पाँचवटा घोडाले तानेर हातखुट्टा र टाउको चुडाइँयो—तिनीहरूले हरकिसिमको मृत्यु भोगे। तिनीहरूको मृत्युको कारण के थियो? के तिनीहरूलाई तिनीहरूको अपराधका निम्ति कानुनअनुसार दण्ड दिइयो? दिइएन। प्रभुको सुसमाचार प्रचार गरेका कारण तिनीहरूलाई निन्दा गरियो, कुटियो, हप्काइयो, र मारियो र संसारका मानिसहरूले तिनीहरूलाई इन्कार गरे—तिनीहरू त्यसरी नै शहीद भए। … वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; यो मानिसको संसारबाट प्रस्थान गर्ने तिनीहरूको आफ्नो माध्यम थियो, तापनि यसको अर्थ तिनीहरूको परिणाम एकै प्रकारको थियो भन्ने होइन। तिनीहरूको मृत्यु र प्रस्थानको माध्यम चाहे जे नै भए पनि, र त्यो जसरी भए पनि परमेश्वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यसरी परिभाषित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले यस संसारलाई दोषी ठहराउन र परमेश्वरका कामहरूको गवाही दिन ठ्याक्कै तिनै माध्यमहरूको प्रयोग गरे। यी सृष्टि गरिएका प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान् जीवन प्रयोग गरे—तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण परमेश्वरका कार्यहरूको गवाही दिनका लागि, परमेश्वरको महान् शक्तिको गवाही दिनका लागि, र शैतान र संसारलाई परमेश्वरका कार्यहरू सही छन्, प्रभु येशू परमेश्वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्नका लागि प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले गर्नुभएको सारा मानवजातिलाई छुटकारा दिने कामले यस मानवजातिलाई निरन्तर जिउन दिन्छ भनी संसारलाई घोषणा गर्न, मानवजातिको अगि पुष्टि गर्न आफ्नो जीवनको प्रयोग गरे—यो तथ्य सधैँ अपरिवर्तनीय छ। प्रभु येशूको सुसमाचार सुनाउँदा शहीद बनेकाहरूले, कुन हदसम्म आफ्नो कर्तव्य पूरा गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि जीवन सम्हालेर राख्नुपर्ने सबैभन्दा बहुमूल्य र प्रिय कुरा हो, अनि यी व्यक्तिहरूले मानवजातिप्रति परमेश्वरको प्रेमको पुष्टि गर्न र गवाही दिन भनेर आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति अर्थात् जीवन अर्पण गर्न सकेको देखिन्छ। तिनीहरूको मृत्यु भएको दिनसम्म, तिनीहरूले परमेश्वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य पूरा गर्ने सबैभन्दा राम्रो तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचनहरू पढेपछि मैले के बुझेँ भने यदि हामीले जीवनको अर्थ जीवन-मरणको मूल्य स्पष्ट रूपमा साँच्चै बुझ्यौँ, र परमेश्वरका वचनहरूअनुसार जियौँ भने, हामी प्रतिकूलताको समयमा परमेश्वरप्रति साँचो समर्पण गर्न सक्छौँ र उहाँप्रतिको आफ्नो गवाहीमा दृढ रहन सक्छौँ। हामी हरेकका लागि जीवन सबैभन्दा अमूल्य कुरा हो। यदि हामीले आफ्नो जीवन परमेश्वरलाई सुम्पन सक्यौँ भने, हामीलाई कुनै पनि कुराले पराजित गर्न सक्दैन। मैले यस क्षणसम्म कसरी परमेश्वरलाई पछ्याएकी थिएँ भन्नेबारे सोच्दा, म काम, परिवार, विवाह र धनजस्ता कुराहरूलाई बिस्तारै त्याग्न सक्षम भएकी थिएँ, तर खतरा र आफ्नो जीवन गुमाउने सम्भावना सामना गर्दा, मेरो विद्रोहीपन खुलासा भयो। म आफूलाई जोगाउन आफ्नो कर्तव्यबाट भाग्न चाहन्थेँ। म मृत्युदेखि धेरै डराएकी थिएँ! सीसीपीको चरम सतावट र गिरफ्तारीको अभिप्राय हामीलाई सङ्कोची र डरपोक बनाउनु, आफ्नो परमेश्वरप्रतिको आस्था त्याग्न, आफ्ना कर्तव्य छोड्न र उहाँलाई धोका दिन लगाउनु हो, जसले गर्दा हामी मुक्तिको मौका गुमाउँछौँ। यो शैतानको षड्यन्त्र हो। परमेश्वरले कामकुरा जसरी योजनाबद्ध र बन्दोबस्त गर्नुभए पनि, हामीले आफ्नो जीवन परमेश्वरलाई सुम्पेर, समर्पणको हृदयले आफ्ना कर्तव्य पूरा गरेर मात्र शैतानलाई पराजित गर्न र लज्जित बनाउन सक्छौँ। यदि म सतावटले मरेँ भने, मुक्ति पाउनेछैनँ भनेर मैले सधैँ सोचेकी थिएँ तर यो मेरो आफ्नै धारणा र कल्पना थियो। अनुग्रहको युगमा, प्रेरितहरूले रोमी सरकारको सतावट र गिरफ्तारी अनुभव गरे। कोही तरवारले मारिए, र अरूलाई क्रूसमा उँधोमुन्टो टाँगिए। उनीहरूले स्वर्गको राज्यको सुसमाचार फैलाउन आफ्नो जीवन दिए, र प्रभु येशूको मुक्तिको गवाही दिन आफ्नो जीवन प्रयोग गरे, र त्यसरी परमेश्वरको अनुमोदन पाए। आज, धेरै ब्रदर-सिस्टरहरू परमेश्वरका आखिरी दिनहरूको सुसमाचार फैलाएकामा पक्राउ र सतावटमा पर्छन्। उनीहरू यातना र कुटपिट भोग्छन्, जसले गर्दा अपाङ्ग वा मृत्युसमेत हुन्छ, तर उनीहरू मृत्यु सामना गर्दासमेत शैतानसामु झुक्न इन्कार गर्दै परमेश्वरको गवाहीमा दृढ रहन रोज्छन्। यस्तो मृत्यु अर्थपूर्ण हुन्छ। मानव दृष्टिकोणमा भौतिक शरीर मरे पनि उनीहरूको आत्मा मर्दैन। यो सब परमेश्वरको बन्दोबस्तअन्तर्गत हुन्छ। परमेश्वरको गवाही दिन आफ्नो जीवन अर्पण गर्नु गवाहीको सर्वोच्च रूप हो। यसबारे चिन्तन गर्दा, मलाई अन्तर्दृष्टि पाएको महसुस भयो। यो वर्तमान वातावरण परमेश्वरले मलाई यो प्रतिकूल परिस्थिति सामना गर्दा मैले आफ्ना कर्तव्य पूरा गर्न र गवाहीमा दृढ रहन चयन गर्नेछु कि छैन् वा आफ्नो कर्तव्य त्यागेर निरर्थक जीवन जिउनेछु कि छैनँ भनेर जाँच्ने तरिका थियो। परमेश्वरले मेरो मनोवृत्ति र अभ्यासहरू हेरिरहनुभएको थियो। प्रभु येशूले भन्नुभयो: “अनि शरीर मार्ने तर आत्मा मार्न नसक्नेहरूसँग नडराओ, तर उहाँसँग डराओ जसले आत्मा र शरीर दुवै नरकमा नष्ट पार्न सक्नुहुन्छ” (मत्ती १०:२८)। “आफ्नो जीवन भेट्टाउनेले त्यो गुमाउनेछ: र मेरो खातिर आफ्नो जीवन गुमाउनेले त्यो भेट्टाउनेछ” (मत्ती १०:३९)। मेरो जीवन परमेश्वरका हातमा छ। शैतानले मेरो देहलाई कैद गर्न र हानि पुर्याउन सक्ने भए पनि, मेरो भवितव्य वा गन्तव्यलाई नियन्त्रण गर्न सक्दैन। प्रत्येक व्यक्तिको जीवन परमेश्वरका हातमा छ, र हामीले अनुभव गर्ने सबै कुरा उहाँ उचित रूपमा बन्दोबस्त गर्नुहुन्छ। यदि मैले आफूलाई जोगाउन आफ्नो कर्तव्य त्यागेकी भए, यो परमेश्वरलाई धोका दिनु हुनेथ्यो र मैले आफ्नो मुक्तिको अवसर गुमाउनेथिएँ। परमेश्वरले मलाई जीवन दिनुभयो र यस संसारमा ल्याउनुभयो, त्यसैले मैले पूरा गर्नुपर्ने एउटा मिसन छ। सृजित प्राणीका रूपमा सृष्टिकर्तालाई पछ्याउन र आफ्नो कर्तव्यहरू पूरा गर्न सक्नुको अर्थ मेरो जीवन व्यर्थै जिइएको छैन! परमेश्वरका वचनहरूले मेरो हृदयलाई प्रेरित गरे। भविष्यमा जेसुकै भए पनि, सृजित प्राणीका लागि सृष्टिकर्तामा समर्पित हुनु पूर्णतया स्वाभाविक र न्यायोचित छ। म मेरो जीवन परमेश्वरलाई सुम्पन, आफूले सक्दो गर्न, र आफ्नो कर्तव्य पूरा गर्न इच्छुक थिएँ। पछि, मण्डली जीवनलाई शीघ्र पुनर्स्थापित गर्न, हामीले मण्डली डिकनहरूसँग भेला बोलायौँ। हामीले प्रतिकूलताको समयमा कसरी आफ्ना कर्तव्यमा दृढ रहने भन्नेबारे, अनि सतावट र गिरफ्तारीको सामना गर्दा परमेश्वरको अभिप्रायबारे सङ्गति गर्यौँ, र हामीले विभिन्न कार्यहरू पनि कार्यान्वयन गर्यौँ। दुई महिनापछि, ब्रदर-सिस्टरहरूको मण्डली जीवन बिस्तारै सामान्य बन्यो।
नोभेम्बरको एक दिन, हामीले अचानक मण्डली अगुवा ली झोङ र अन्य पन्ध्र ब्रदर-सिस्टरहरूलाई प्रहरीले बलपूर्वक गिरफ्तार गरेर लगेको खबर पायौँ। मेरो मन फेरि भारी भयो, र मलाई सीसीपी अर्थात् त्यस पिशाचदेखि झनै घृणा लाग्यो। भोलिपल्ट बिहान, हामीले परमेश्वरका वचनका पुस्तकहरू सुरक्षित स्थानमा स्थानान्तरण गर्ने मामिलाबारे सहकर्मीहरूसँग तुरुन्तै छलफल गर्यौँ। नयाँ ठाउँ थाहा हुने म मात्र भएकीले, मैले नै पुस्तकहरू नयाँ ठाउँमा स्थानान्तरणर गर्ने निर्णय भयो। तर मैले मनमनै सोचेँ, “यस यात्रामा चारैतिर गाडी र क्यामेरा छन्, तिनबाट जोगिन असम्भव छ। स्थानान्तरण गरिरहेको बेला यदि म फेला परेँ भने, त्यो अकाट्य प्रमाण हुनेछ, र मैले पक्का सजाय पाउनेछु। यदि मलाई ज्यान जानेगरी यातना दिइयो भने नि? यो एकदमै खतरनाक हुन्छ! सायद अरू कोही जानुपर्छ।” तर मैले यो सुझाव दिनै लाग्दा आफ्ना शब्दहरू मनमै दबाएँ। यस महत्त्वपूर्ण क्षणमा, म अझै पनि आफ्ना व्यक्तिगत सुरक्षाबारे सोच्दै थिएँ। मैले कुन अर्थमा बफादारी देखाइरहेकी थिएँ र? म मृत्युदेखि निकै डराएकी थिएँ! मेरो जीवन परमेश्वरको हातमा छ, मेरो आफ्नै नियन्त्रणमा छैन। म परमेश्वरप्रति बफादार हुनुपर्थ्यो। यसबारे सोच्दै, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म असाध्यै स्वार्थी र घृणित छु। म फेरि आफ्नो कर्तव्यबाट पन्छिन खोज्दै थिएँ। अब म मेरो जीवन तपाईँलाई सुम्पन इच्छुक छु। कृपया मलाई यस महत्त्वपूर्ण क्षणमा आफ्नो कर्तव्य पूरा गर्न र पुस्तकहरू सुरक्षित तरिकाले स्थानान्तरण गर्न मार्गदर्शन गर्नुहोस्।” यस समयमा, मैले परमेश्वरका केही वचनहरू सम्झेँ: “आफ्नो कर्तव्य र आफूले गर्नुपर्ने कार्यमा, र त्योभन्दा पनि ठूलो कुरा, परमेश्वरले दिनुभएको आज्ञा र तेरो दायित्व, साथै तेरो कर्तव्यभन्दा बाहिरको तर तैँले गर्नुपर्ने महत्त्वपूर्ण कार्य, तेरो लागि तय गरिएको काम र तँलाई तोकेरै गर्न लगाइएको काममा—तैँले मूल्य चुकाउनुपर्छ, चाहे यो जति नै कठिन किन नहोस्। यदि तँ पूर्ण रूपमा लागिपर्नु परे पनि, सतावट आइपर्ने नै देखिए पनि, र यसले तेरो ज्यान खतरामा पार्ने नै भए पनि, तँ मूल्य चुकाउनदेखि डराउनु हुँदैन, बरु बफादारी प्रदान गर्दै मृत्युसम्मै समर्पित हुनुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। मानिसले किन सत्यता पछ्याउनै पर्छ)। परमेश्वरका वचनहरूले मलाई आस्था र शक्ति दिए। त्यो दिन मलाई दिइएको कर्तव्यमा परमेश्वरको अभिप्राय थियो, म पक्राउ पर्ने नपर्ने कुरा पनि परमेश्वरद्वारा पूर्वनिर्धारित थियो। त्यो क्षण परमेश्वरका वचनका पुस्तकहरू स्थानान्तरण गर्नु मेरा लागि सबैभन्दा उपयुक्त भएकाले, मैले निसर्त समर्पण गर्नुपर्थ्यो। पछि, सबैको सहकार्यमा, मैले सफलतापूर्वक पुस्तकहरू सुरक्षित स्थानमा स्थानान्तरण गरेँ।
यस अनुभवबाट मैले केही अन्तर्ज्ञान प्राप्त गरेँः म खतरनाक परिस्थितिमा हुँदा, परमेश्वरका वचनहरूले मलाई आस्था र साहस दिए, जसले गर्दा म आफ्ना कर्तव्यमा दृढ रहन सकेँ। त्यससँगै, मैले आफू कति डरपोक छु र म आफ्नो जीवनलाई कति मूल्यवान् ठान्छु भन्ने देखेँ। मैले मेरो स्वार्थी र लाभ-प्रेरित शैतानी स्वभावबारे केही बुझाइ प्राप्त गरेँ, र मृत्युलाई प्रष्ट रूपमा देख्न थालेँ, जसले गर्दा म कम डराएँ। म परमेश्वरलाई पछ्याउन र अर्थपूर्ण जीवनको पछि लाग्न आफ्ना आस्थामा झन् दृढ बनेँ। मैले यी अन्तर्ज्ञानहरू आरामदायक वातावरणमा प्राप्त गर्न सक्नेथिइनँ।