८१. आरामको लालसाले निम्त्याउने परिणामहरू

प्रिय लिन यी,

मैले तिम्रो पत्र प्राप्त गरेकी छु। समय कत्ति छिट्टै बित्छ! आँखा झिम्क्याउन नपाउँदै हाम्रो भेट नभएको झण्डै एक वर्ष भइसकेछ। तिम्रो पत्रमा, तिमीले मलाई अहिलेसम्म मैले आफ्ना कर्तव्य निर्वाह गर्दा के हासिल गरेँ भनेर सोधेकी थियौ। केही क्षण त मलाई कहाँबाट सुरु गर्ने भन्‍ने नै थाहा भएन, तर मलाई तोकिएको नयाँ कर्तव्य नै सबैभन्दा सम्झनलायक अनुभव रह्यो। जसले गर्दा मैले आराम र सहजतामा रमाउने मेरो स्वभावबारे केही ज्ञान पाएँ। यतिखेर, तिमीले मैले के अनुभव गरेँ त भनेर सोचिरहेकी हुनुपर्छ। म तिमीलाई सबै कुरा बताउँछु।

यो वर्षको जनवरीमा, म लेखन-पठनको कामकी इन्चार्ज थिएँ। म यस भूमिकामा नयाँ भएकीले, धेरै सिद्धान्तहरूमा पोख्त थिइनँ, त्यसैले यसलाई कसरी गर्ने भन्‍ने मलाई थाहै थिएन, मैले मसँगै सहकार्य गरेकी एक सिस्टरसँग मिलेर सिकेँ र तालिम लिएँ। सामान्यतया, म विभिन्न समूहहरूका काम हेर्न पनि पहल गर्थेँ। पछि, ती प्रत्येक समूहहरूले धेरै प्रश्नहरूमा सल्लाह माग्न थाले, र मैले तिनीहरूको स्थितिबारे सङ्गति गर्न तथा तिनीहरूको काममा भएका विचलनहरू सच्याउन पत्र लेख्नु पर्‍यो। हरेक दिन म बिहानैदेखि राति अबेरसम्म व्यस्त हुन्थेँ। समय बित्दै जाँदा, मैले मनमनै गनगन गरेँ, “यी स्थितिहरू हल गर्न, मैले प्रत्येक समस्याको मूल कारणबारे ध्यानपूर्वक विचार गर्नुपर्छ, साथै, परमेश्‍वरका उचित वचन र सिद्धान्तहरू फेला पार्नुपर्छ, जसका लागि धेरै सोच-विचार गर्नुपर्छ। यो त निकै थकाइलाग्दो पो छ!” मैले आफ्नो दिमागलाई सधैँ यति तनावपूर्ण राख्न चाहिनँ, त्यसकारण मैले ब्रदर-सिस्टरहरूले कमै प्रश्नहरू गरे हुन्थ्यो भन्‍ने आशा राखेँ। त्यसो हुँदा मैले अलि बढी आराम गर्न पाउँथेँ। पछि, हामीले अरु दुई जना सिस्टरहरूसँग सहकार्य गर्यौँ। यसले मेरो कामको बोझ कम गर्ला, अनि, मैले त्यत्ति चिन्ता लिनु, वा आफूलाई यति धेरै थकाउनु नपर्ला भन्‍ने सोचेर म निकै खुशी भएँ। कहिलेकाहीँ, म ब्रदर वा सिस्टरको स्थिति ठीक नभएको र उनीहरूको कामका परिणाम खस्किँदै गएको देख्थेँ, मैले चाँडै नै उनीहरूसँग सङ्गति गरेर यो समस्या समाधान गर्नुपर्छ भन्‍ने सोच्थेँ। तर त्यसपछि म फेरि सोच्थेँ, “मैले पनि यी समस्याहरूलाई पूर्ण रूपमा बुझ्न सकेकी छैन। मैले परमेश्‍वरका सान्दर्भिक वचन र सिद्धान्तहरू मनन गर्न र खोज्न समय बिताउनु पर्नेछ। त्यो त निकै झन्झटिलो हुनेछ! मसँगै सहकार्य गर्ने सिस्टरहरूलाई नै समाधान गर्न दिनु राम्रो हुनेछ।” त्यसैले, मैले तिनलाई ध्यान नै दिन छोडेँ। यसरी नै, मैले कुनै जटिल समस्याको सामना गर्दा, मलाई त्यो झन्झटिलो लाग्थ्यो, र म त्यसलाई समाधानका लागि मेरा सहकर्मीहरूतिर पन्छाइ दिन्थेँ। म आफ्ना कर्तव्यमा बिस्तारै कम जिम्मेवारी वहन गर्न थालेँ, र केवल दैनिक तालिकाअनुसार काम गर्दै आफ्नो दिनचर्या पूरा गर्थेँ। यदि मलाई अलि बढी काम दिइयो वा काम अलि गाह्रो भयो भने, म रिसाउथेँ। म केवल सजिला कामहरू गर्नमै ध्यान दिन्थेँ र सत्यता पछ्याउने प्रयास गर्दिनथेँ, जसका कारण मैले खासै प्रगति गर्न सकिनँ। मेरा सहकर्मीहरूले ममा कर्तव्यप्रतिको जिम्मेवारीबोध कम भएको कुरा औँल्याए र यसबारे चिन्तन र समाधान गर्न सुझाव दिए। तर, मैले यसलाई गम्भीर रूपमा लिइनँ। बिस्तारै, मलाई समस्याहरू स्पष्ट रूपमा हेर्न गाह्रो हुँदै गयो र प्रायः निदाउन थालेँ, र मेरो कार्यक्षमतामा निकै गिरावट आयो।

पछि, अगुवाहरूले ममा आफ्नो कर्तव्यप्रतिको जिम्मेवारीबोध कम भएको र कुनै परिणाम नआएको देखे, त्यसैले, मलाई बर्खास्त गरियो। त्यसपछि मात्रै मैले आत्मचिन्तन गर्न थालेँ। एक दिन, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “अल्छी मानिसहरू केही पनि गर्न सक्दैनन्। दुई शब्‍दमा सारांश गर्नुपर्दा, तिनीहरू निकम्मा मानिस हुन्; तिनीहरूको असक्षमता दोस्रो दर्जाको हुन्छ। अल्छी मानिसहरूको क्षमता जति नै राम्रो भए पनि, यो देखावटी कुरा मात्रै हुन्छ; तिनीहरूसँग राम्रो क्षमता भए पनि, त्यसको कुनै काम हुँदैन। तिनीहरू अत्यन्तै अल्छी हुन्छन्—तिनीहरूलाई आफूले के गर्नुपर्छ भनेर थाहा भए पनि, तिनीहरू त्यो गर्दैनन्; र तिनीहरूलाई कुनै कुरा समस्या हो भनेर थाहा भए पनि, तिनीहरू यसलाई समाधान गर्न सत्यता खोजी गर्दैनन्; र काम प्रभावकारी हुनका लागि तिनीहरूले के-कस्ता कठिनाइहरू भोग्‍नुपर्छ भनेर तिनीहरूलाई थाहा भए पनि, तिनीहरू यी सार्थक कठिनाइहरू सहन इच्‍छुक हुँदैनन्—त्यसैले तिनीहरू कुनै सत्यता प्राप्त गर्न सक्दैनन्, र कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरू मानिसहरूले सहनुपर्ने कठिनाइ सहन चाहँदैनन्; तिनीहरूलाई सुख-सयलमा लिप्त हुन, खुसी र फुर्सतको समयको आनन्द उठाउन, अनि स्वतन्त्र र तनावरहित जीवनको आनन्द उठाउन मात्रै आउँछ। के तिनीहरू बेकामका हुँदैनन् र? कठिनाइ सहन नसक्‍ने मानिसहरू जिउन लायक हुँदैनन्। सधैँ परजीवी जीवन जिउन चाहनेहरू विवेक वा समझ नभएका मानिस हुन्; तिनीहरू पशु हुन् र त्यस्ता मानिसहरू श्रम गर्नसमेत योग्य हुँदैनन्। तिनीहरूले कठिनाइ सहन नसक्‍ने हुँदा, तिनीहरूले श्रम गरे पनि, त्यो राम्ररी गर्न सक्दैनन्, र यदि तिनीहरू सत्यता प्राप्त गर्न चाहन्छन् भने, त्यसको आशा झनै कम हुन्छ। कष्ट भोग्‍न नचाहने र सत्यतालाई प्रेम नगर्ने व्यक्ति रद्दी व्यक्ति हो; ऊ श्रम गर्नसमेत योग्य हुँदैन। ऊ अलिकति पनि मानवता नभएको पशु हो। त्यस्ता मानिसहरूलाई हटाउनैपर्छ; यो मात्र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। जब मैले परमेश्‍वरका वचनमा यी शब्दहरू देखेँ-“निकम्मा मानिसहरू,” “दोस्रो दर्जाको असक्षमता,” “पशु,” “श्रम गर्नसमेत अयोग्य,” र “जिउन योग्य नभएका,”—यसले मेरो हृदय छेड्यो। मैले अल्छी मानिसहरूप्रति परमेश्‍वरको घृणा महसुस गरेँ। परमेश्‍वरले म समस्याहरू समाधान गर्न सत्यता प्रयोगको अभ्यास गर्न सकूँ भनेर मलाई एक सुपरभाइजरको कर्तव्य निर्वाह गर्ने अनुमति दिएर मलाई उच्च स्थान प्रदान गर्दै अनुग्रह देखाउनु भएको थियो। मैले आफूले कति सङ्गति र समाधान गर्न सकेँ भन्‍ने कुराको परवाह नगरी यी काम गर्न आफूले सकेजति प्रयत्न गर्नुपर्थ्यो, मैले निभाउनु पर्ने जिम्मेवारी यही थियो। तर जब मैले ब्रदर-सिस्टरहरूको स्थिति कमजोर भएको र उनीहरूको कामको नतिजा खस्किदै गएको देखेँ, मलाई यसको समाधान गर्नु निकै झन्झटिलो र मानसिक रूपमा थकाउने जस्तो लाग्यो, त्यसैले मैले यो काम अरूलाई नै सुम्पिदिएँ। मैले आफ्नो क्षमताले भ्याएसम्म पनि गरिनँ। मैले जटिल जटिल समस्याहरूको सामना गर्दा, ति मध्ये कतिपय त मैले ध्यानपूर्वक सोचेर सजिलै समाधान गर्न सक्थेँ, तर म प्रयास गर्न र मूल्य चुकाउन चाहन्नथेँ, त्यसैले मैले “राम्ररी बुझ्न सकिनँ” वा “कसरी भन्‍ने मलाई थाहै भएन” जस्ता बहाना बनाएर ती काम आफूले सहकार्य गरेका सिस्टरहरूतिर पन्छाइदिन्थेँ। म दिनहुँ सजिला काम मात्र गर्थेँ, र आफ्नो कर्तव्यप्रति अलिकति पनि जिम्मेवार थिइनँ, अनि हरेक दिन उद्देश्यविहीन रूपले बिताउँदै थिएँ। के यो परमेश्‍वरको घरमा परजिवी हुनु मात्र थिएन र? मैले केही ब्रदर-सिस्टरहरूमा त्यत्ति राम्रो क्षमता थिएन, तर उनीहरूले दिलोज्यानले आफ्नो कर्तव्य निर्वाह गरे, र सक्दो मेहनत गरे, जसकारण उनीहरूको कर्तव्यप्रतिको व्यवहार परमेश्‍वरलाई स्वीकार्य भयो भन्‍नेबारे सोचेँ। मेरो क्षमता त्यति कमजोर थिएन र म कतिपय समस्याहरू समाधान गर्न सक्षम थिएँ, तर मैले सधैँ देहलाई माया गरेँ र सुख-सुविधामा लिप्त रहेँ, अनि आफ्नो कर्तव्य निर्वाह गर्दा परिश्रम गर्न र कठिनाइहरू सहनसमेत तयार थिइनँ। ममा साँच्चै विवेक वा समझ रहेनछ। म कसरी सुपरभाइजर हुन योग्य भएँ! मेरो आफ्नो कर्तव्यप्रतिको मनोवृत्तिलाई परमेश्‍वरले घृणा गर्नुहुन्थ्यो। यस्तै चलिरहने हो भने, म राम्रोसँग परिश्रम पनि गर्न सक्ने थिइनँ र परमेश्‍वरद्वारा केवल तिरस्कृत हुने र हटाइने थिएँ। यसलाई बुझेर, मैले प्रार्थना गरेँ र साँच्चै आत्मचिन्तन गर्न तयार भएँ।

त्यसपछि, मैले म सधैँ सुखसुविधामा लिप्त रहने, तर चिन्ता गर्न र कष्ट सहन नचाहने मूल कारण के होला? भन्‍ने बारे गहिरेर सोचेँ। त्यसपछि, मैले परमेश्‍वरका यी वचनहरू देखेँ: “धेरै वर्षसम्म, आफ्नो अस्तित्वका निम्ति मानिसहरू भर परेका सोचहरूले तिनीहरूका हृदयलाई यति हदसम्म बिगारेका छन् कि तिनीहरू छली, डरपोक र घृणित बनेका छन्। तिनीहरूमा इच्छाशक्ति र सङ्कल्पको अभाव मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने पनि भएका छन्। तिनीहरूसँग स्वयम्‌लाई उछिन्‍ने सङ्कल्पको अभाव छ, र त्योभन्दा बढी, यी अँध्यारा प्रभावहरूबाट मुक्त हुने अलिकति पनि साहस तिनीहरूसँग छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्‍वरमाथि विश्‍वास गर्ने सम्बन्धमा तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित छन् र त्योभन्दा बढी, जब मानिसहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको सम्बन्धमा आफ्ना दृष्टिकोणहरू राख्छन् त्यो सुन्‍न नसकिने किसिमका हुन्छन्। मानिसहरू सबै डरपोक, अयोग्य, घृणित र कमजोर छन्। अन्धकारका शक्तिहरूप्रति तिनीहरूले घृणाको महसुस गर्दैनन् र तिनीहरू ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु तिनलाई निष्कासित गर्ने भरमग्दुर प्रयास तिनीहरू गर्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। “के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवं थोरै दैहिक सहजतामा जिउन पाउँदा सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्तिलाई देखेका तर यसलाई प्राप्त गर्नको लागि खोजी नगर्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; देहमा लिप्त हुने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ कुनै पनि चुनौती वा संकष्टहरू, वा थोरै पनि कष्ट नआओस् भन्‍ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरूको खोजी गर्छस् जुन व्यर्थ छन्, र तैँले जीवनलाई कुनै मूल्यको ठान्दैनस्, बरु सत्यताको सट्टा आफ्‍नै अनावश्यक विचारहरूलाई अघि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्‍नता छ र? सत्यताको खोजी नगरेर देहलाई प्रेम गर्नेहरू सबै नै पशुहरू होइनन् र? आत्माविहीन रहेका मृत मानिसहरू सबै जिउँदो लासहरू होइनन् र? तिमीहरूका माझमा कति वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै काम मात्र गरिएका छन्? तिमीहरूका माझमा मैले कति भरणपोषण गरेँ? त्यसो भए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केको बारेमा गुनासो गर्नु छ? के तैँले देहलाई अत्यन्तै धेरै प्रेम गर्ने हुनाले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के यो तेरा विचारहरू अत्यन्तै अनावश्यक भएकोले होइन र? के यो तँ अत्यन्तै मूर्ख भएकोले होइन र? यदि तँ यी आशिष्‌हरू प्राप्त गर्न असक्षम छस् भने, तँलाई मुक्ति नदिनुभएकोमा के तैँले परमेश्‍वरलाई दोष दिन सक्छस्? तैँले खोजी गर्ने कुरा भनेको परमेश्‍वरमा विश्‍वास गरिसकेपछि शान्ति प्राप्त गर्न सक्षम हुनु, तेरा छोराछोरी रोग-बिमारबाट मुक्त हुनु, तेरो श्रीमानले राम्रो जागिर पाउनु, तेरो छोराले असल श्रीमती पाउनु, तेरो छोरीले योग्य श्रीमान पाउनु, तेरो गोरु र घोडाले राम्ररी खेत जोत्‍नु, तेरो बालीको लागि वर्षभरि राम्रो मौसम हुनु हो। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु, र तेरो परिवारमा कुनै दुर्घटना नघटोस्, तँबाट भएर बतास चलोस्, तेरो अनुहार धूलोले नछुओस्, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस्, तँलाई कुनै पनि विपत्तिले असर नपारोस्, परमेश्‍वरको अङ्गालोमा बस्‍न पाइयोस्, आरामदायी निवासमा बस्‍न पाइयोस् भन्‍ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायरमा—के तँमा हृदय छ, के तँसँग आत्मा छ? के तँ वनपशु होइनस् र? सट्टामा केही पनि नमागी नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्? म तँलाई साँचो मानव जीवन दिन्‍छु, तैपनि तँ यसलाई खोज्दैनस्। के तँ सुँगुर वा कुकुरभन्दा फरक छस् र? सुँगुरहरूले मानिसको जीवनको खोजी गर्दैनन्, तिनीहरू शुद्ध गरिने कार्यको खोजी गर्दैनन् र तिनीहरूले जीवन के हो भन्‍ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्‍न खाएपछि तिनीहरू सुत्छन्। मैले तँलाई साँचो मार्ग दिएको छु, तैपनि तैँले यसलाई प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई जारी राख्‍न तयार छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरको वचनबाट, मैले के बुझेँ भने मैले सधैँ दैहिक आराम पछ्याइरहेकी थिएँ किनकि मैले “जीवन भनेको राम्रो खान र राम्रो लाउनलाई हो,” “जीवन छोटो छ, त्यसैले सकेसम्म यसको आनन्द लिऊ,” “रमाइलो गर,” “आजको रक्सी आजै खाऊ, भोलिको चिन्ता भोलि गर,” “जीवन छोटो छ, किन आफ्नै लागि कठिन बनाउने?” र यी जस्तै, दैहिक आरामलाई जीवनको सबैभन्दा ठूलो खोजी मान्ने अन्य शैतानी दर्शनहरूलाई पछ्याएँ। यी गलत धारणाहरूको प्रभावमा परेर, म सधैँ आराम खोज्थेँ, मानिसले आफूलाई सुखसुविधामा राख्नुपर्छ र धेरै मेहनत गर्नुहुँदैन भनी सोच्थेँ। फर्केर हेर्दा, सानो छँदादेखि नै मेरा बाबुआमाले मलाई धेरै पुल्पुल्याउनुभयो। मैले कुनै कुराको चिन्ता गर्नु नपरोस् भनेर उहाँहरूले सबै कुरा पुऱ्याइदिनुहुन्थ्यो, र म उहाँहरूकै सावधानीयुक्त संरक्षणमा, हरितगृहमा फुलेको फूलझैँ हुर्किएँ। मलाई आरामदायी जीवनको बानी परेकाले, म सधैँ मेहनत गर्न र आफूलाई थकाउन डराउँथेँ। म कलेजमा हुँदा, म केही सहपाठीहरूलाई मेहनत गरेको र स्नातकोत्तरको तयारीका लागि रातिसम्म पढेको देख्थेँ, तर मैले यसलाई कुनै महत्त्व दिइनँ। म सोच्थेँ, “जीवन भनेको केही दशक मात्र त हो। आफैँलाई किन यति धेरै थकाउनुपर्‍यो? स्नातक तह पास गरे पुग्छ। धेरै दुःख गर्न नपर्ने, राम्रै तलब दिने जागिर फेला पारे त भइहाल्यो।” मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न आउँदा पनि ममा यही धारणा थियो। म सधैँ सुखसुविधामै लिप्त हुन्थेँ, र कुनै मेहनत वा दु:ख गर्न चाहँदैनथेँ। कुनै गाह्रा वा जटिल कामहरू आउँदा, म तिनलाई अरूतिरै पन्छाइ दिन्थेँ। म सजिलो काम रोज्थेँ र गाह्रो कामबाट भाग्थेँ, त्यसैले मेरो प्रगति निकै ढिलो हुन्थ्यो। परमेश्‍वरका घरले मलाई नेतृत्वको कर्तव्य निर्वाहका लागि तयार पार्नु ठूलो गौरव थियो, तर मैले यसको कदर गरिनँ र सधैँ आफ्नो देहकै कुरा सुनिरहेँ। म ब्रदर-सिस्टरहरू नकारात्मक भएको, र कामको प्रभावकारिता खस्किँदै गएको देख्दा वास्तै गर्दिनथेँ, अझ कठिन कामहरू त अरूतिरै पन्छाइदिन्थेँ। मैले आफ्ना जिम्मेवारीहरू पटक्कै पूरा गरिरहेकी थिइनँ। म कति स्वार्थी र तुच्छ थिएँ! म सधैँ आराममै लिप्त भएँ, कठिन कर्तव्य छोडेर सजिला मात्र रोजेँ, र धूर्त अनि कपटी भएँ। मैले कुनै मेहनत नगरे तापनि, कुनै प्रगति पनि गरिनँ। समस्याहरू स्पष्ट रूपमा बुझ्न मलाई अझै कठिन हुँदै गयो, अनि पहिला सजिलै गर्ने कामहरू पनि गर्न सकिनँ। प्रभु येशूले भन्नुभए जस्तै: “जोसँग छ, उसलाई दिइनेछ, र ऊसँग अझै प्रशस्त हुनेछ: तर जोसँग छैन, ऊसँग भएको पनि ऊबाट खोसिनेछ(मत्ती १३:१२)। मैले वयस्कहरू जिम्मेवारी लिन, उचित कामकुरामा केन्द्रित हुन र आफ्ना उचित कर्तव्यहरू पालन गर्न सक्छन् भनेर परमेश्‍वरले कति आशा गर्नुहुन्छ भन्‍नेबारे विचार गरेँ। तर मेरो हृदय केवल दैहिक आराममै केन्द्रित थियो। मैले दैहिक सुखलाई सबैभन्दा बढी महत्त्व दिएँ, झन्झन् गिर्दै र पतित हुँदै गएँ, दिनप्रतिदिन आफ्नो मानवीय स्वरूप गुमाउँदै गएँ। म यो गलत मार्गमा अघि बढिरहनु हुँदैनथ्यो। मैले सत्यताको खोजी गरेर आफ्नो भ्रष्ट स्वभाव सुधार्नुपर्थ्यो र आफ्नो कर्तव्य सही रूपमा निर्वाह गर्नुपर्थ्यो।

त्यसपछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “व्यक्तिको जीवनको मूल्य के हो? के यो खाने, पिउने, र रमाइलो गर्ने देहगत सुखचैनमा लिप्त हुनको लागि मात्रै हो? (अहँ, होइन।) त्यसोभए केको लागि हो? तिमीहरूको विचार बताओ। (सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नको लागि हो, व्यक्तिले कम्तीमा पनि हासिल गर्नुपर्ने कुरा यही हो।) त्यो सही हो। … एक हिसाबमा, यो सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नुसँग सम्‍बन्धित छ। अर्को हिसाबमा, यो आफ्‍नो क्षमता र सामर्थ्यले भ्याउन्जेल भरमग्दुर प्रयाससाथ सबै कुरा गरेर कम्तीमा पनि तँलाई तेरो विवेकले दोष नलगाउने अवस्थामा पुग्‍नु, अनि आफ्‍नै विवेकसँग शान्तिसाथ रहन सक्‍ने र अरूको नजरमा ग्रहणयोग्य हुने अवस्थामा पुग्‍नु हो। यसलाई अझै एक चरण अगाडि लगेर भन्दा, तँ जुन परिवारमा जन्‍मेको भए पनि, तेरो शैक्षिक पृष्ठभूमि वा व्यक्तिगत क्षमताहरू जे-जस्ता भए पनि, तैँले तेरो पूरै जीवनभरि नै मानिसहरूले जीवनमा बुझ्‍नुपर्ने सिद्धान्तहरू केही मात्रामा बुझेको हुनुपर्छ। उदाहरणको लागि, मानिसहरू कस्तो मार्ग हिँड्नुपर्छ, तिनीहरू कसरी जिउनुपर्छ, र अर्थपूर्ण जीवन कसरी जिउने हो—कम्तीमा, तैँले थोरै नै भए पनि जीवनको साँचो मूल्य खोजी गर्नुपर्छ। यो जीवन व्यर्थमा जिउनु हुँदैन, र कोही पनि यो पृथ्वीमा व्यर्थमा आएको हुँदैन। अर्को हिसाबमा, तेरो जीवनकालमा, तैँले आफ्‍नो मिसन पूरा गर्नुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। हामीले ठूलो मिसन, कर्तव्य वा जिम्‍मेवारी पूरा गर्नेबारे कुरा गरिरहेका छैनौँ; तर कम्तीमा पनि, तैँले केही न केही त हासिल गर्नैपर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (६))। परमेश्‍वरका वचनबाट मैले के बुझेँ भने जीवनको वास्तविक मूल्य खानपान, मनोरञ्जन, वा दैहिक लिप्ततामा होइन, बरु सिर्जित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नु र परमेश्‍वरको अनुमोदन प्राप्त गर्नुमा छ। परमेश्‍वरले मलाई आखिरी दिनहरूमा जन्म लिने, उहाँको आवाज सुन्ने र आफ्नो कर्तव्य निर्वाह गर्ने भाग्य दिनुभयो, र यो जीवनमा एकपटक मात्र आउने अवसर हो। परमेश्‍वर मैले आफ्नो जीवन खेर फाल्दै, केवल आराममै लिप्त भएर सामान्य जीवन बिताऊँ भन्‍ने चाहनुहुन्न। परमेश्‍वर म सत्यता पछ्याउन र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सकूँ भन्‍ने आशा गर्नुहुन्छ, ताकि मेरो स्वभाव परिवर्तन होस्, उहाँद्वारा मुक्ति पाऊँ, र साँचो मानव स्वरूपमा जिउन सकूँ। मैले जीवन प्रवेशमा ध्यान नदिई परमेश्‍वरका वचनहरू सर्सर्ती मात्र पढ्ने गरेकोबारे सोच्दा, मेरो जीवन अनुभव सतही र सत्यताको मेरो बुझाइ सीमित रहेछ। म आफ्ना ब्रदर-सिस्टरहरूको स्थिति र कठिनाइहरू स्पष्ट रूपमा बुझ्न सक्दिनथेँ, जसले मैले यस पक्षको सत्यता नबुझेको देखाउँथ्यो। मैले सत्यता खोजी गरेर आफूलाई सत्यताले सुसज्ज्ति बनाउनुपर्ने समय यही नै थियो, र यदि मैले सत्यता खोज्ने तथा परमेश्‍वरका वचनहरू पत्ता लगाउने वास्तविक बोझ महसुस गर्न सकेँ भने, म अझ बढी सत्यता बुझेर जीवनमा चाँडै अघि बढ्न सक्थेँ। तर मैले आफ्नो जीवन प्रवेशमै बाधा पुग्नेगरी, केवल क्षणिक आराम र आनन्दका लागि, सत्यता प्राप्त गर्ने धेरै अवसरहरू गुमाएकी थिएँ। मैले आफ्नो कर्तव्यमा धेरै पश्चातापका चिह्नहरू छोडेकी थिएँ। म साँच्चै मूर्ख र नासमझ भएकी थिएँ! अहिले आएर मात्र मैले के बुझेँ भने दैहिक सुख-सुविधाको जति नै मजा लिए पनि, त्यो अस्थायी मात्र हुन्छ र त्यसको कुनै वास्तविक अर्थ हुँदैन, मैले सत्यता राम्ररी खोजिनँ, आफ्नो कर्तव्य सधैँ झारा टारेर गरेँ, र परमेश्‍वरलाई झुक्याउने प्रयास गरिरहेँ भने, अन्ततः म प्रकट भएर हटाइने थिएँ, र त्यसको परिणाम अनन्त दण्ड हुने थियो, अनि त्यतिखेर, कुनै पछुतो, रोइकराइ, वा दाह्रा किटाइले फाइदा हुने थिएन।

पछि, भक्तिभावका क्रममा, म आराममा लिप्त हुने आफ्नो चाहना समाधान सम्बन्धमा परमेश्‍वरका वचनहरू पढ्नमा केन्द्रित भएँ, र मैले मेरा बुझाइहरू टिपोट गरेँ। दुई महिनापछि, सुपरभाइजरले मलाई पुनः कर्तव्यपालन गर्ने व्यवस्था मिलाइदिनुभयो, र म यसका लागि धेरै आभारी भएँ। मलाई एउटा मण्डलीको निरीक्षण गर्ने जिम्मेवारी दिइएको भन्‍ने थाहा हुँदा त, म छक्क परेँ। यस मण्डलीमा धेरै नयाँ आगन्तुकहरू र धेरै समस्याहरू थिए, अनि यी समस्याहरू समाधानका लागि निकै प्रयत्न गर्नुपर्थ्यो। तर त्यसपछि, मैले विगतमा म सधैँ कसरी चिन्ताबाट भाग्ने र समस्याहरू अरूतिरै पन्छाइ दिने गर्थेँ भन्‍ने बारे सोचेँ। अहिले, यो मण्डलीको निरीक्षण गर्न पाउनु भनेको परमेश्‍वरले मलाई दिनुभएको एउटा अवसर थियो, जसले मलाई सत्यतामा सङ्गति गरेर समस्याहरू समाधानको अभ्यास गर्ने मौका दियो। यो सबै मेरा कमजोरीहरू पूर्ति गर्नका लागि थियो, र यो मेरो जीवन प्रवेशका लागि उपयोगी थियो। त्यसैले, मैले यो कार्य स्वीकारेँ। सुरुमा त मैले यसलाई सक्रिय रूपमा गर्न सकेँ, तर केही पटक सङ्गति गर्दा पनि खासै सुधार नदेखिएपछि म निरुत्साहित भएँ। मलाई यो सबै निकै गाह्रो र तनावपूर्ण लाग्यो। यसरी सोच्दा, मैले फेरि पनि आफ्नै दैहिक स्वार्थबारे मात्र सोचिरहेकी छु भन्‍ने कुरा बुझेँ। त्यसैले, मैले आफ्नै स्थितिसँग सम्बन्धित परमेश्‍वरका वचनहरू खाएँ र पिएँ। परमेश्‍वरका वचनहरूको एउटा खण्डले मलाई गहिरो रूपमा प्रभाव पार्‍यो। परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरलाई साँचो रूपमा विश्‍वास गर्ने मानिसहरूले आफ्‍नो नाफा-घाटा हिसाबकिताब नगरी आफ्‍नो कर्तव्य स्वेच्छाले निर्वाह गर्छन्। तँ सत्यताको खोजी गर्ने व्यक्ति भए पनि नभए पनि, आफ्‍नो कर्तव्य निभाउने क्रममा तैँले आफ्‍नो विवेक र समझमा भरोसा गरेर साँच्चिकै प्रयास गर्नुपर्छ। साँच्चिकै प्रयास गर्नुको अर्थ के हो? यदि तँ केवल नाममात्रको प्रयास गरेर र थोरै शारीरिक कठिनाइ भोगेर सन्तुष्ट हुन्छस्, तर आफ्नो कर्तव्यलाई पटक्‍कै गम्भीरतापूर्वक लिँदैनस् वा सत्यता सिद्धान्तहरू खोज्दैनस् भने, यो झाराटारुवा हुनुबाहेक अरू केही होइन—यो साँच्चिकै प्रयास गर्नु होइन। प्रयास गर्नुको कडी भनेको आफ्नो हृदय लगाउनु, हृदयमा परमेश्‍वरको डर मान्‍नु, परमेश्‍वरका इच्छाहरूलाई वास्ता गर्नु, परमेश्‍वरको विरुद्धमा विद्रोह गर्न र उहाँलाई चोट पुऱ्याउन डराउनु, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न जुनसुकै कठिनाइ भोग्‍नु हुन्: यदि तँसँग यसरी परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ भने, तैँले आफ्नो कर्तव्य उचित तरिकाले निर्वाह गर्न सक्‍नेछस्। यदि तेरो हृदयमा परमेश्‍वरको डर छैन भने, आफ्नो कर्तव्य निर्वाह गर्दा तँमा बोझको कुनै बोध हुनेछैन, यसमा कुनै चासो हुनेछैन, र तँ अपरिहार्य रूपमै झाराटारुवा हुनेछस्, र तैँले काम गरिटोपलेजस्तो गर्नेछस्, प्रभावचाहिँ केही पनि हासिल गर्नेछैनस्—र यो कर्तव्य निर्वाह गर्नु होइन। यदि तँलाई साँच्‍चै नै बोझको बोध हुन्छ, र तँलाई आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको तेरो आफ्‍नै जिम्‍मेवारी हो, र तैँले कर्तव्य पूरा नगर्दा तँ जिउनयोग्य हुँदैनस्, र तँ पशुसरह हुन्छस्, अनि तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्दा मात्रै तँ मानव भनिनलायक हुन्छस् भन्‍ने लाग्छ, अनि तैँले आफ्‍नै विवेकले भनेको मान्‍न सक्छस् भने—यदि आफ्‍नो कर्तव्य पूरा गर्दा तँलाई बोझको यस्तो बोध हुन्छ भने—तैँले सबै कुरा विवेकशील रूपमा गर्न सक्‍नेछस्, र तैँले सत्यताको खोजी गर्न र सिद्धान्तहरूअनुसार काम गर्न सक्‍नेछस्, र यसरी तैँले आफ्‍नो कर्तव्य उचित रूपमा पूरा गरेर परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सक्‍नेछस्। यदि तँ परमेश्‍वरले तँलाई दिनुभएको मिसन, र तेरो लागि परमेश्‍वरले बलिदान दिनुभएको सबै कुरा अनि तँप्रतिको परमेश्‍वरका अपेक्षाहरूको निम्ति लायक छस् भने, यो साँचो रूपमा प्रयास गर्नु हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य राम्ररी निभाउनका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने स्वेच्छा र निष्ठापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नेहरू नै परमेश्‍वरको घरका सच्चा मानिसहरू हुन्। उनीहरूले आफ्नो व्यक्तिगत दैहिक स्वार्थबारे विचार गर्दैनन्, बरु साँचो मूल्य चुकाउँदै सक्दो प्रयास गर्छन्। यस्ता मानिसहरू जिम्मेवार र विश्‍वासयोग्य हुन्छन्, र उनीहरू विवेक र समझ भएका मानिसहरू हुन्। उनीहरूले शारीरिक कष्ट सहनु परे पनि, परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्, आन्तरिक शान्ति प्राप्त गर्न सक्छन्, र सार्थक जीवन जिउन सक्छन्। यसका विपरीत, काम गाह्रो हुँदा र नतिजा राम्रो नआउँदा, मलाई काम अत्यधिक कठिन र तनावपूर्ण लाग्थ्यो, त्यसैले म आफ्नै आरामबारे सोच्न थाल्थेँ र पछि हट्न चाहन्थेँ। जब म आराममा लिप्त हुन्थेँ, गाह्रो कर्तव्यहरू छोडेर सजिला कामहरू रोज्थेँ, र धूर्त व्यवहार गर्थेँ, तब मेरो शरीरलाई दुःख नभए पनि, मेरो हृदय अन्धकारमय थियो। मैले परमेश्‍वरको उपस्थितिको अनुभूति गर्न सकिनँ, र ममा न शान्ति थियो, न आनन्द। म फेरि त्यस्तै अवस्थामा पुग्न चाहन्नथेँ। मैले आफ्नो कर्तव्यलाई साँचो हृदयले ग्रहण गर्नुपर्थ्यो, र मैले कति सहकार्य गर्न सक्छु भन्दा पनि, आफ्नो तर्फबाट सक्दो प्रयास गर्नुपर्थ्यो र आफ्नो जिम्मेवारी पूरा गर्नुपर्थ्यो। त्यसैले, मैले ब्रदर-सिस्टरहरूको धारणा र कठिनाइहरू समाधान गर्न सत्यता खोजेँ र सङ्गति गरेँ। केही समयपछि, काममा सुधार देखियो, र मैले हृदयदेखि नै परमेश्‍वरलाई धन्यवाद दिएँ। पछि, जब म कुनै परिस्थितिको सामना गर्थेँ, मैले सचेत रूपमा मेरो देहविरुद्ध विद्रोह गर्थेँ। हरेक दिन धेरै कामहरू गर्नुपर्ने थियो, र मसँग फुर्सद थिएन, तर पनि म आफूलाई थकित महसुस गर्दिनथेँ। यसरी अभ्यास गर्दा, मैले परमेश्‍वरसँग अझ नजिक भएको महसुस गरेँ, र मैले आफ्नो कर्तव्यमा सहकार्य गर्ने केही नयाँ तरिकाहरू फेला पारेँ। परमेश्‍वरका वचनअनुसार काम गरेर मैले आफ्नो हृदयमा शान्ति र सहजता पाएँ।

ल, अहिलेका लागि यत्ति नै। के तिमीले पनि यस वर्ष धेरै कुरा सिक्यौ? मलाई लेख्न अनि आफ्ना लाभ र बुझाइबारे बताउन नहिचकिचाऊ है।

भवदीय,

बाइ लु

अक्टोबर १५, २०२३

अघिल्लो: ८०. एउटा नयाँ विश्‍वासीसँग काम गर्दाको मेरो कथा

अर्को: ८२. प्रतिकूल परिस्थितिमा डटिरहनु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६७. थोरै भए नि मानव रूपमा जिउनु निश्‍चय नै महान् कुरा हो

टाशी, क्यानडासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको...

७३. परमेश्‍वरको मुक्ति

यिचेन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...

२०. सत्यतालाई अभ्यास गर्नु नै सामञ्जस्यतापूर्ण समन्वयको कुञ्जी हो

डोङ्गफेङ्ग, अमेरिकाअगस्त २०१८ मा, मेरो काम ब्रदर वाङसित फिल्मसम्बन्धी सरसामग्री बनाउनु थियो। पहिले त, मैले नजानेको कति धेरै कुरा छ भनी मैले...

२. मृत्युको परीक्षामा पर्दा

क्षियाङदाओ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्