७४. अरूको सहयोग र सल्लाहलाई कसरी लिने
डिसेम्बर ३१, २०२२, शनिबार, घमाइलो दिन
समय कति छिटो बितेको। म भिडियो कामको सुपरभाइजर बनेको दुई महिना भइसकेछ, र मलाई थाहा समेत भएन। मलाई आजभोलि मैले धेरै कुरा प्राप्त गरेकी छु जस्तो लाग्छ। चाहे यो मेरा ब्रदर-सिस्टरहरूको स्थिति समाधान गर्ने कार्य होस्, वा कामका समस्याहरूका बारेमा गर्ने सङ्गति होस्, मलाई झन्-झन् सहज भइरहेको छ जस्तो लाग्छ। यस्तो लाग्छ मसँग केही क्षमता छ र म यो काम गर्न सक्षम छु। ए, साँच्चि, भोलि नयाँ वर्षको दिन हो र केही कुरा हेर्नका लागि ली रान केही दिनका लागि घर फर्केर जानु पर्नेछ। ऊ सुपरभाइजर भएको धेरै भएको छ र उसले मलाई सधैँ सहयोग गर्ने गर्थिन्। तर अहिले मैले अभ्यास गरेको केही महिना भएको हुनाले, मलाई उनी मेरो साथमा नभए पनि काम मिलाउन सक्छु जस्तो लाग्छ। ब्रदर-सिस्टरहरूले हालै बनाइरहेका भिडियोहरू मापदण्ड अनुरूप छैनन् र तिनीहरू नकारात्मक भएका छन्। मैले तिनीहरूलाई जति सक्दो चाँडो पत्र लेखेर सङ्गति गर्नुपर्छ। तिनीहरूले परमेश्वरका अभिप्रायहरू बुझ्न र आफ्नो नकारात्मक स्थितिबाट उम्कन सक्छन् भन्ने आशा छ।
जनवरी २, २०२३, सोमबार, आकास कतै सफा छ कतै बादल लागेको छ
आज मैले केही ब्रदर-सिस्टरहरूबाट पत्रहरू प्राप्त गरेँ, हाम्रो सङ्गतिले तिनीहरूलाई साँच्चै नै सहयोग गर्यो र अबदेखि, तिनीहरू आफ्नो सीपमा सुधार गर्न र आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्न तयार छन् भनेका रहेछन्। यी पत्रहरू पढ्दा मलाई अत्यन्तै खुशी लाग्यो, र मैले सोचेँ, “हेर त, म साँच्चै नै केही वास्तविक समस्याहरू समाधान गर्न सक्छु।” अनि मैले आफूलाई स्याबासी दिएँ। ली रान आज साँझ फर्केर आइन्। उसले मलाई विगत केही दिनदेखि काम कसरी अघि बढिरहेको छ भनेर सोधिन् र मलाई याद दिलाइन्, “सबैका स्थितिहरूलाई समाधान गर्नु मात्रै पर्याप्त हुँदैन, हामीले तिनीहरूसँग प्रविधि र सिद्धान्तहरूका बारेमा पनि सङ्गति गर्नुपर्छ, नत्र तिनीहरूले गुणस्तरीय भिडियो बनाउन सक्नेछैनन्।” म उनले भनेको कुरामा लगभग सहमत थिएँ, तर उनको निधार खुम्च्याइ र असन्तुष्ट स्वरले मलाई व्याकुल तुल्यायो, “के मैले भर्खरै राम्रो काम गरेको छु भन्ने तिमीले देखेनौ? तिमीले किन यो सानो गल्तीलाई निरन्तर कोट्याइरहन्छौ?” उनले “मानिसहरूको स्थिति समाधान गरेर काम पूरा भयो भन्ने हुँदैन” भनेर धेरै पटक भनेको सुनेपछि, मलाई निकै असहज महसुस हुन थाल्यो, मानौँ यसो गर्नु भनेको मेरो आइक्यू निकै तल हुनु हो। “म पनि विचारशील भएर काम गर्छु। तिमीले कुनै बेपरबाहको क्षणमा गरिएको गल्तीलाई औँल्याइरहेकी छौ। के तिमीले मलाई खराब देखाउन खोजिरहेको हो? मानौँ मैले विगत केही दिनदेखि गरेको कामको कुनै मूल्य छैन।” ली रानले अझै पनि मेरो कामका मुख्य समस्याहरू भन्दै थिइन्, तर मैले सुन्दै बसिरहन मन लागेन र मैले उनलाई जवाफ फर्काएँ, “अँ, यदि तपाईंसँग यति धेरै आइडिया छन् भने, बाहिर आएर मलाई यो काम कसरी गर्ने भनेर किन भन्नुहुन्न?” ली रान एकछिन् अक्क न बक्क भइन्, र परिस्थिति अप्ठ्यारो खालको बन्यो। यसो भनेर उनलाई लज्जित बनाएकी छु भन्ने मलाई महसुस भयो, त्यसकारण मैले परमेश्वरलाई मनमनै प्रार्थना गरेँ, मलाई शान्त हुन र मेरा भावनाहरूलाई नियन्त्रण गर्न उहाँसँग मद्दत मागेँ। हाम्रो छलफल सकिएपछि, मैले सोचेँ, “ली रानले भनेको कुरा गलत थिएन, तर यो सुनेपछि मैले यसलाई स्विकार्न नै चाहिनँ। यसले भ्रष्ट स्वभावलाई जनाउँछ, तर मैले यसलाई कसरी समाधान गर्ने?”
जनवरी ५, २०२३, बिहीबार, बादल लागेको छ
आज, ली रानले मलाई मेरो स्थिति कस्तो छ भनेर सोधिन्। मैले भनेँ, “ठीक छ, तर ऊर्जा अलिक कम छ र निद्रा लागिरहन्छ।” मैले यसो भन्नेबित्तिकै, उसले जवाफ दिइन्, “तपाईंलाई किन सधैँ निद्रा लाग्छ? के तपाईंले कर्तव्यप्रतिको आफ्नो मनोवृत्तिको बारेमा चिन्तन गर्नु पर्दैन र? तपाईं आफ्नो स्थिति ठीक छ भनेर भन्नुहुन्छ, तर तपाईंको स्थिति सामान्य थियो भने, किन तपाईंले जिम्मेवारी लिएको कामले कुनै परिणामहरू पाइरहेको छैन? तपाईंको सबैभन्दा पछिल्लो भिडियो पनि अझै आएको छैन, अनि तपाईंले आफ्नो सबै समय केमा खर्च गरिरहनुभएको छ?” त्यसपछि ली रानले आफू कर्तव्यमा झाराटारुवा स्थितिमा हुँदाको अनुभव बताउँदै मसँग सङ्गति गरिन्। मलाई लाग्यो मप्रति अन्याय हुँदैछ र मलाई भन्न मन लागेका धेरै कुरा थिए, “के म झाराटारुवा भइरहेकी छु? होइन। मैले पहिले नै मेरो झाराटारुवा व्यवहारलाई पहिचान गरिसकेको छु र यसलाई सुधार गर्न थालेको छु, अनि मैले किन अझै पनि यस्तो व्यवहार गरिरहेको छु भन्ने तपाईंलाई लाग्छ? मैले परिणामहरू प्राप्त नगर्नुको कारण मैले आफ्नो कर्तव्यमा ध्यान नदिएकाले होइन। मलाई आफूले गरिरहेको काममा साँच्चै नै आतुरीको बोध हुन्छ, र मैले अनुसन्धान चरणलाई छोड्न मिल्ने पनि त होइन, कि कसो? तपाईं मेरा समस्यालाई टिप्दै तिनलाई ठूलो बनाइरहनुहुन्छ। तपाईंले किन मेरो प्रगति देख्नुहुन्न? के तपाईं म सिद्ध हुनुपर्ने अपेक्षा गर्नुहुन्छ?” ली रानको सङ्गतिपछि, शाशाले आफू कसरी आफ्नो कर्तव्यमा झाराटारुवा र बोझ नलिने व्यक्ति थिइन् भनेर बताइन्। सत्यता के थियो भने, मैले उनले उल्लेख गरेका केही व्यवहारहरू प्रदर्शन गर्थेँ, तर म यो कुरालाई स्वीकार गर्न चाहन्नथिएँ, र मैले जवाफ दिएँ, “मलाई लाग्छ मैले पछिल्लो समय आफ्नो कर्तव्य निकै राम्ररी पूरा गरिरहेको छु। म आफ्नो कर्तव्यमा तपाईंले भनेजस्तो झाराटारुवा भइरहेको जस्तो लाग्दैन, तर म प्रार्थना र चिन्तन गर्न जान्छु, हुन्छ?” मलाई हृदयमा अत्यन्तै प्रतिरोधी महसुस भयो, र मैले यो स्थिति निकै खराब हो भन्ने बुझेँ, त्यसकारण मैले मनमनै प्रार्थना गरेँ, “हे परमेश्वर, कृपया मेरो हृदयको रक्षा गर्नुहोस्। जोसुकै भए पनि, सत्यता अनुसार बोलेका छन् भने, मैले सुन्नुपर्छ। म अबदेखि मेरा सिस्टरहरूको रचनात्मक आलोचनाप्रति प्रतिरोधी महसुस गर्न चाहन्नँ।”
जनवरी ६, २०२३, शुक्रवार, बादल लाग्यो र घमाइलो भयो
मैले हिजो राती प्रकट गरेको स्थितिको बारेमा सोच्दा मेरो हृदय अझै पनि भारी हुन्छ। “म किन यति गरम मिजासको छु? अरूले मेरा समस्याहरू औँल्याएको सुन्दा म किन सहन सक्दिनँ? यो कस्तो स्वभाव हो? जब कसैले मेरो बारेमा केही भन्छ, तब रिसले उम्लन्छु। मैले यसरी त कसरी आफ्नो कर्तव्य पूरा गर्न वा अरूसँग सहकार्य गर्न सक्छु?” आज बिहान, मैले काटछाँटलाई कसरी लिने भन्ने शीर्षकको अनुभवात्मक भिडियो हेरेँ। यसमा परमेश्वरको वचनको एउटा खण्ड समावेश थियो जसले मलाई साँच्चै नै छोयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब कुनै ख्रीष्टविरोधीलाई काटछाँट गरिन्छ, तब उसले सुरुमा आफ्नो हृदयको गहिराइदेखि नै यो कुरालाई विरोध र इन्कार गर्छन्। तिनीहरूले यस विषयमा लडाइँ गर्छन्। अनि किन त्यसो गर्छन् त? किनभने ख्रीष्टविरोधीहरू प्रकृति सारले नै सत्यताप्रति वितृष्ण हुन्छन् र त्यसलाई घृणा गर्छन्, र तिनीहरूले सत्यता कदापि स्विकार्दैनन्। प्राकृतिक तवरबाटै, ख्रीष्टविरोधीको सार र स्वभावले उसलाई आफ्ना गल्तीहरू मान्न वा आफ्नो भ्रष्ट स्वभाव स्विकार्नबाट रोक्छ। यी दुई तथ्यहरूको आधारमा, ख्रीष्टविरोधीहरूले काटछाँटप्रति पूर्ण रूपमा र अत्यन्तै इन्कार र अवज्ञा गर्ने मनोवृत्ति राख्छन्। तिनीहरूले आफ्नो हृदयको गहिराइबाटै यसलाई घृणा र इन्कार गर्छन्, र तिनीहरूमा स्वीकार वा समर्पणको थोरै लक्षणसमेत हुँदैन, तिनीहरूमा साँचो मनन वा पश्चात्ताप हुनु त परको कुरा हो। जब कुनै ख्रीष्टविरोधीलाई काट-छाँट गरिन्छ, जोसुकैले त्यो कारबाही गरे पनि, यो जेसँग सम्बन्धित भए पनि, यसको लागि तिनीहरू जति हदसम्म दोषी भए पनि, तिनीहरूको गल्ती जति भद्दाभए पनि, तिनीहरूले जति धेरै दुष्टता गरे पनि, वा तिनीहरूको दुष्टताले मण्डलीको काममा जे-जस्ता परिणामहरू निम्त्याए पनि—ख्रीष्टविरोधीहरूले यीमध्ये कुनै पनि कुराको विचार गर्दैनन्। ख्रीष्टविरोधीको नजरमा त उसलाई काट-छाँट गर्ने व्यक्तिले उसलाई मात्र अलग व्यवहार गरिरहेको हुन्छ, वा उसलाई सताउन उसका गल्तीहरू खोतलिरहेको हुन्छ। ख्रीष्टविरोधीले उसलाई हेपिएको र अपमानित गरिएको छ, उसलाई मानवझैँ व्यवहार गरिएको छैन, र उसलाई हेला र तिरस्कार गरिएको छ भन्नेसमेत सोच्न सक्छ। कुनै ख्रीष्टविरोधी काटछाँटमा परेपछि, उसले आफूबाट के गल्ती भयो, उसले कस्तो भ्रष्ट स्वभाव प्रकट गर्यो, पालना गर्नुपर्ने सिद्धान्तहरू खोजी गर्यो कि गरेन, सत्यता सिद्धान्तअनुसार व्यवहार गर्यो कि गरेन, वा उसलाई काट-छाँट गरिएको मामलामा आफ्ना जिम्मेवारीहरू पूरा गर्यो कि गरेन भनेर कहिल्यै मनन गर्दैन। उसले यो कुनै पनि कुराबारे जाँच वा चिन्तन गर्दैन, न त यी विषयहरूबारे सोचविचार र मनन नै गर्छ। यसको सट्टा, उसले काटछाँटप्रति आफ्नै इच्छाले र आवेगपूर्वक प्रतिक्रिया दिन्छन्। जब ख्रीष्टविरोधीलाई काटछाँट गरिन्छ, तब ऊ रिस, अवज्ञा, र द्वेषले, भरिन्छ, र कसैको सल्लाह सुन्दैन। उसले काटछाँट स्विकार्न इन्कार गर्छ, र ऊ आफ्नो बारेमा सिक्न र चिन्तन गर्न परमेश्वरकहाँ फर्केर आउन सक्दैन, अनि झारा टार्ने वा आफ्नो कर्तव्यमा जे पायो त्यही गर्नेजस्ता सिद्धान्तहरू उल्लङ्घन गर्ने आफ्नो व्यवहार सुधार्न सक्दैन, न त उसले यस मौकालाई आफ्नो भ्रष्ट स्वभाव समाधान गर्नको लागि नै प्रयोग गर्न सक्छ। बरु, उसले आफ्नो प्रतिरक्षा गर्न र आफूलाई निर्दोष ठहराउन बहानाहरू बनाउँछ, अनि कलह पैदा गर्न र अरूलाई उक्साउन विभिन्न कुराहरूसमेत बोल्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष् प्राप्त गर्ने आशा नहुँदा, पछि हट्न चाहन्छन्)। परमेश्वरको वचनले के भन्छ भने ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण हुने हुनाले, तिनीहरूलाई काटछाँट गरिँदा, वा अरूले तिनीहरूको समस्या औँल्याउँदा, तिनीहरूलाई यसप्रति कट्टर विरोधको महसुस हुन्छ। तिनीहरूले कहिल्यै आफ्ना समस्याहरूका बारेमा चिन्तन गर्दैनन् र परिस्थितिहरू सम्हाल्न सधैँ आफ्नो गरम मिजसीपनमा भर पर्छन्, र तिनीहरूको हृदय भ्रमहरूले समेत भरिएको हुन्छ, अरूले तिनीहरूलाई हेला गरेको र अपमानित गर्न चाहेकाले काटछाँट गरिरहेका छन् भनेर भन्छन्। तिनीहरू अरूप्रति गुनासोले भरिएका हुन्छन्। तुलना गरेर हेर्दा, मेरो व्यवहार र ख्रीष्टविरोधीको व्यवहार उस्तै थियो। ली रानले म समस्याहरू समाधान गर्ने क्रममा मुख्य बुँदाहरू बुझ्न सकिरहेकी छैन, र मैले व्यावसायिक वा प्राविधिक मामलाहरूमा राम्रोसँग बताइनँ भनेर औँल्याइन्। यी साँच्चै नै ध्यान दिनुपर्ने कुराहरू थिए। ब्रदर-सिस्टरहरूमा व्यावसायिक सीप र सिद्धान्तहरूको बुझाइको कमी थियो, जसको अर्थ तिनीहरूको भिडियो सधैँ दोहोर्याएर बनाइनुपर्थ्यो, र यो समस्या साँच्चै नै मेरो लापरवाहबाट आएको हुन्थ्यो। ली रानले आफ्नो सुझाव दिएपछि, मैले यो विचलनलाई कसरी सुधार गर्ने भनेर तुरुन्तै छलफल गर्नुपर्थ्यो, तर मेरा समस्याहरू औँल्याउँदा उनले प्रयोग गर्ने स्वर मैले सहन गर्न नसक्दा, उनले मलाई अपमानित गर्न र होच्याउन खोज्दै छिन् जस्तो लाग्यो, त्यसकारण म आफ्नो असन्तुष्टि व्यक्त नगरी बस्न सकिनँ। पछि उनले भनेका कुनै पनि कुरा सुन्न वा औँल्याइरहेका समस्याहरूलाई पहिचान गर्न चाहिनँ। उनले मलाई हेला गरिरहेकी छिन् र मलाई अपमानित गर्न र होच्याउन खोज्दै छिन् भन्ने मैले सोचेँ। के मैले प्रकट गरिरहेकी कुरा सत्यतालाई स्वीकार नगर्ने र निरन्तर अविवेकी रूपमा हास्यास्पद तर्कहरू गर्ने मानिसहरूको जस्तै लाजमर्दो व्यवहार थिएन र? सत्यतालाई साँच्चिकै प्रेम गर्ने र समझदार मानिसहरूले काटछाँटमा पर्दा र तिनीहरूको समस्याहरू औँल्याइँदा स्वीकार गर्ने मनोवृत्ति लिन्छन्। तिनीहरूले यी विचलनलाई जति सक्दो चाँडो समाधान गर्न चिन्तन गर्न र सत्यताको खोजी गर्न सक्छन्। तिनीहरूले तत्कालै यी कुराहरू पहिचान गर्न सकेनन् भने पनि क्रोधित हुँदैनन् वा अरूको आलोचनालाई खारेज गर्न हास्यास्पद तर्कहरू गर्दैनन्। तैपनि, जब मेरी सिस्टरले मलाई काममा फाइदा हुने केही सुझाव दिइन्, तब मैले स्वीकार नगरेकी मात्र होइन, तर उनले मलाई अपमानित गर्ने र होच्याउने प्रयास गरिरहेकी छिन् भन्ने पनि सोचेँ। मेरो बुझाइ हास्यास्पद र अनुचित थियो, र मैले परमेश्वरलाई प्रार्थना गरिनँ, न आफूलाई विरोध गरेँ। बरु, मैले मेरी सिस्टरलाई लज्जित बनाउन मेरा गुनासा र असन्तुष्टिहरू पोखाएँ। म छुचो भइरहेकी थिएँ, कसैलाई मलाई दिक्क पार्न वा नजिक आउन दिइरहेकी थिइनँ। यसले सत्यताप्रति वितृष्ण हुने र क्रूरताले भरिएको स्वभावलाई जनाउँछ। यदि मैले यसलाई सुधार गरिनँ भने, परमेश्वरले अवश्य नै मलाई तिरस्कार गर्नुहुनेछ र हटाउनुहुनेछ!
मलाई मैले पढेको परमेश्वरको वचनको एउटा खण्ड याद आयो: “आज, धेरै मानिसहरूले कर्तव्य पूरा गर्ने भए पनि, सत्यता खोजी गर्ने थोरै मात्र छन्। ज्यादै कम मानिसहरू आफ्नो कर्तव्य पूरा गर्ने क्रममा सत्यता पछ्याउने र सत्यता वास्तविकतामा प्रवेश गर्ने गर्छन्; धेरैजसोको कुरा गर्दा, तिनीहरूको काम गर्ने शैलीमा अझै कुनै सिद्धान्त हुँदैन, तिनीहरू अझै पनि साँचो रूपमा परमेश्वरप्रति समर्पित हुने मानिसहरू होइनन्; तिनीहरू मुखले मात्र सत्यतालाई प्रेम गर्छु, र सत्यता पछ्याउन इच्छुक छु, अनि सत्यताप्रति लागिपर्न इच्छुक छु भनी दाबी गर्छन्, तैपनि तिनीहरूको सङ्कल्प कति लामो समयसम्म टिक्छ थाहा हुँदैन। सत्यता नपछ्याउने मानिसहरूले कुनै पनि समय वा स्थानमा आफ्ना भ्रष्ट स्वभावहरू प्रकट गर्ने सम्भावना हुन्छ। तिनीहरूमा आफ्नो कर्तव्यप्रति कुनै जिम्मेवारीबोध हुँदैन, तिनीहरू प्राय: झारा टार्छन्, तिनीहरू जस्तो इच्छा लाग्छ त्यस्तै कार्य गर्छन्, र काटछाँट स्विकार्न समेत सक्दैनन्। नकारात्मक र कमजोर हुनेबित्तिकै तिनीहरूले आफ्नो कर्तव्य त्याग्ने सम्भावना हुन्छ—यो प्रायजसो भइरहन्छ, योभन्दा आम कुरा अरू केही छैन; सत्यता खोजी नगर्ने मानिसहरू सबैले व्यवहार गर्ने तरिका यस्तै हुन्छ। त्यसकारण, मानिसहरूले सत्यता अझै प्राप्त गरेका छैनन् भने, तिनीहरू भरोसा र विश्वास गर्न नसकिने हुन्छन्। तिनीहरू विश्वास गर्न नसकिने हुन्छन् भन्नुको अर्थ के हो? यसको अर्थ तिनीहरूले कठिनाइ वा बाधा सामना गर्दा, तिनीहरू पतन हुने, र नकारात्मक र कमजोर बन्ने सम्भावना धेरै हुन्छ भन्ने हो। के प्रायजसो नकारात्मक र कमजोर भइरहने मानिस विश्वासयोग्य हुन्छ? अवश्यै हुँदैन। तर सत्यता बुझ्ने मानिसहरू फरक हुन्छन्। साँच्चिकै सत्यता बुझेका मानिसहरूमा अवश्यै परमेश्वरको डर मान्ने, र उहाँप्रति समर्पित हुने हृदय हुन्छ, र परमेश्वरको डर मान्ने हृदय भएका मानिसहरू मात्रै भरोसायोग्य मानिसहरू हुन्; परमेश्वरको डर मान्ने हृदय नभएका मानिसहरू भरोसायोग्य हुँदैनन्। परमेश्वरको डर मान्ने हृदय नभएका मानिसहरूसँग कसरी व्यवहार गर्नुपर्छ? अवश्य पनि तिनीहरूलाई प्रेमपूर्ण सहयोग र साथ दिइनुपर्छ। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा, तिनीहरूलाई अनुगमन गर्नुपर्छ, र अझ धेरै सहयोग र निर्देशन दिनुपर्छ; त्यसपछि मात्रै तिनीहरूले आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्न सक्छन् भन्ने सुनिश्चित हुन्छ। अनि यसो गर्नुको उद्देश्य के हो? मुख्य उद्देश्य परमेश्वरको घरको काममा साथ दिनु हो। सहायक उद्देश्यचाहिँ तुरुन्तै समस्याहरू पहिचान गर्नु, तिनीहरूलाई भरणपोषण गर्नु, सहयोग गर्नु, वा काटछाँट गर्नु, तिनीहरूको विचलन सच्याउनु, र तिनीहरूका कमीकमजोरी र त्रुटिहरू पूर्ति गर्नु हो। यो मानिसहरूका लागि फाइदाजनक हुन्छ; यसमा कुनै पनि द्वेषपूर्ण कुरा हुँदैन” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (७))। परमेश्वरको वचनमाथि विचार गर्दा मलाई के महसुस भयो भने ब्रदर-सिस्टरहरूले दुर्भावना राखेर वा मानिसका कमीकमजोरी खुलासा गरेर तिनीहरूलाई गिल्ला गर्ने र होच्याउन उद्देश्यले समस्या र विचलनहरूलाई औँल्याउँदैनन्, बरू तिनीहरूले मण्डलीको कामका लागि जिम्मेवार भइरहेका हुनाले, र हरेकमा भ्रष्ट स्वभाव रहने, र भरोसा गर्न नसकिने हुने भएकाले, र उसले अनजानमा दुष्कर्म गर्न, व्यक्तिगत इच्छाअनुसार व्यवहार गरेर सिद्धान्तहरू उल्लङ्घन गर्न सक्ने हुनाले, कर्तव्यमा झाराटारुवा हुने, र मण्डलीको काममा ढिलाइ गर्ने र बाधा दिने अनि यसले गर्दा गम्भीर परिणामहरू देखापर्ने हुनाले यसो गर्छन्। भनिन्छ, “जब मानिसहरू हराउँछन्, तब तिनीहरूलाई कसैले पनि मार्गदर्शन गर्नेछैन भन्ने डर लाग्छ।” जब मानिसहरूको साथमा तिनीहरूलाई प्रायजसो सहयोग गर्ने वा तिनीहरूको कर्तव्यमा काटछाँट गर्ने कोही हुन्छ, तब यो तिनीहरूका लागि ठूलो सहयोग र सुरक्षा हुन्छ। सामान्यतया, जब म कुनै कामको एउटा पक्षमा अनुगमन गर्दा कमीकमजोरी वा विचलनहरू देख्छु, तब म तिनलाई औँल्याउनेछु, र मानिसहरूलाई यसको गम्भीरता र परिणामहरूका बारेमा सचेत गराउनेछु। म मानिसहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गरून् र काममा विचलन र बिलम्बबाट जोगिऊन् भनेर यसो गर्छु। ली रानले पनि मेरा समस्याहरूलाई त्यही कारणले औँल्याइरहेकी थिइन्। आंशिक रूपमा, यो मलाई असल परिणामहरूको प्राप्तिमा सहयोग गर्नका लागि थियो, तर यो प्रेम र बोझको बोधले, र मेरो आफ्नै भलाइका लागि गरिएको हो। मैले प्रतिरोधको महसुस गर्नु हुँदैनथियो वा रिसाउनु हुँदैनथियो; मैले उसलाई जबाफ फर्काउनु त झनै हुँदैनथ्यो। यो त सुरुमा भिडियोहरू मापदण्ड अनुरूप नभएको बेला जस्तै हो, मानिसहरूले प्राविधिक सिद्धान्तहरू नबुझेकाले यस्तो हुन्थ्यो। मलाई यो समस्याको बारेमा थाहा थिएन, र जब उनले यो कुरा औँल्याइन्, मैले सबैलाई यी विचलनहरू सारांशित गर्दै केही सीपहरू सिक्न मार्गदर्शन गर्नुपर्थ्यो, तर मैले कहिल्यै पनि आफ्नो बारेमा चिन्तन गरिनँ, न मेरा समस्याहरूलाई सारांशित गरेँ, बरु उल्टै उनलाई जवाफ फर्काएँ। मैले कुन तरिकाले उचित व्यवहार गरिरहेकी थिएँ? मैले मनमनै भनेँ, अबदेखि, मैले अरूले मेरा समस्याहरू औँल्याउँदा त्यसलाई स्वीकार गर्नुपर्छ र यसप्रति प्रतिरोधी बन्नु हुँदैन।
जनवरी ७, २०२३, शनिबार, घमाइलो
आज हाम्रो भेलामा एक जना अगुवा सहभागी भइन् र हाम्रो कामको दौरान देखा परेका केही विचलनहरू थाहा पाइन्। उदाहरणका लागि, केही ब्रदर-सिस्टरहरूबीच एउटा भिडियोमा विवाद भयो र हामीले यो समस्यालाई समाधान गरिनौँ, केही सुझावहरू मात्र दियौँ र तिनीहरूलाई अघि बढ्न भन्यौँ, जसले गर्दा भिडियो मापदण्ड अनुरूप भएन, अनि काममा ढिलाइ भयो। अगुवाले हामीलाई वास्तविक काम नगरेकोमा खुलासा र आलोचना पनि गरिन्। यी सबै समस्यालाई एक-एक गरी उल्लेख गरिएको सुन्दा मलाई निकै असहज महसुस हुन थाल्यो, र म कति अबुझ बनेकी रहेछु भन्ने मलाई थाहा भयो। यी अगुवाले औँल्याइरहेका समस्याहरू ली रानले मलाई औँल्याएका समस्याहरू नै थिए। तर मैले सुन्न नचाहेकाले र तिनलाई गम्भीरतापूर्वक नलिएकाले, ती समाधान भएका थिएनन्। यदि त्यसबेला मैले उनका चेतावनीहरूलाई स्वीकार गर्न सकेकी भए र तिनीसँग विस्तृत रूपमा छलफल गरी समाधानको मार्ग खोजेकी भए, सायद यी समस्यालाई समाधान गरी अलिकति भए पनि सुधार गर्न सकिन्थ्यो, वा कम्तीमा पनि, काम यति भयानक स्थितिमा पुग्दैनथियो।
मार्च १४, २०२३, मङ्गलबार, धेरै कुहिरो लाग्यो र घाम लाग्यो
मेरो एउटा भक्तिको बेला, मैले सत्यताप्रति वितृष्ण हुने मेरो स्वभावसँग सम्बन्धित परमेश्वरका केही वचनहरू पढेँ र म यो समस्याको गम्भीरताप्रति अझै सचेत भएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मण्डलीमा, केही मानिस ठूलो प्रयास गर्नु वा केही जोखिमपूर्ण काम गर्नु भनेको आफूले योग्यता हासिल गरेको हो भन्ठान्छन्। खासमा, तिनीहरू आफ्ना कार्यअनुसार वास्तवमै सराहनायोग्य छन्, तर सत्यताप्रति तिनीहरूका स्वभाव र मनोवृत्ति घृणित र मन नपर्दा छन्। … परमेश्वर कमजोर क्षमता भएका मानिसहरूलाई घृणा गर्नुहुन्न, उहाँ तिनीहरूको मूर्खतालाई घृणा गर्नुहुन्न, र उहाँ तिनीहरूमा भ्रष्ट स्वभाव छ भन्ने कुरालाई घृणा गर्नुहुन्न। परमेश्वरले मानिसहरूमा भएको कुन कुरालाई सबैभन्दा घृणा गर्नुहुन्छ? तिनीहरूमा सत्यताप्रति अरुचि हुनुलाई। यदि तँमा सत्यताप्रति अरुचि छ भने, त्यो कुराले मात्रै परमेश्वर तँसित कहिल्यै प्रसन्न हुनुहुनेछैन। यो ध्रूव सत्य हो। यदि तँमा सत्यताप्रति अरुचि छ, तँ सत्यतालाई प्रेम गर्दैनस्, सत्यताप्रति तेरो मनोवृत्ति वास्ता नगर्ने, तिरस्कारपूर्ण, र अहङ्कारी छ, वा प्रतिघाती, प्रतिरोधी, र इन्कार गर्ने खालको समेत छ—यदि तँ यस्तो व्यवहार गर्छस् भने, परमेश्वर तँलाई असाध्यै घृणा गर्नुहुन्छ, र तँ मरेतुल्य हुन्छस्। यदि तैँले हृदयदेखि नै सत्यतालाई प्रेम गर्छस्, तर यति यो कि तँ अलिक कमजोर क्षमताको र अन्तर्ज्ञानमा कमी भएको, साथै अलिक मूर्ख व्यक्ति होस्, र तँ प्रायजसो गल्ती गरिरहन्छस्, तर तैँले दुष्कर्म गर्ने अभिप्राय राख्दैनस्, र एकदुई वटा मूर्ख काम मात्रै गरेको छस् भने; यदि तँ सत्यतामा परमेश्वरको सङ्गति सुन्न हृदयदेखि नै इच्छुक छस्, र हृदयदेखि नै सत्यताको तृष्णा गर्छस् भने; यदि तैँले सत्यता र परमेश्वरका वचनहरूलाई इमानदार र उत्कट इच्छाको मनोवृत्तिसाथ लिन्छस्, र परमेश्वरका वचनहरूलाई बहुमूल्य र प्यारो ठान्छस् भने, यो नै पर्याप्त हुन्छ। परमेश्वरले त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्छ। कहिलेकाहीँ तँ अलि मूर्ख भए पनि, परमेश्वरले अझै पनि तँलाई मन पराउनुहुन्छ। परमेश्वर सत्यताको तृष्णा गर्ने तेरो हृदय मन पराउनुहुन्छ, र उहाँ सत्यताप्रतिको तेरो इमानदार मनोवृत्ति मन पराउनुहुन्छ। त्यसकारण, परमेश्वर तँलाई कृपा देखाउनुहुन्छ र सधैँ तँलाई अनुग्रह प्रदान गर्नुहुन्छ। उहाँ तेरो कमजोर क्षमता वा मूर्खतालाई ध्यान दिनुहुन्न, न त तेरा अपराधहरूलाई नै ध्यान दिनुहुन्छ। सत्यताप्रतिको तेरो मनोवृत्ति इमानदार र उत्कट हुने हुनाले, र तेरो हृदय सच्चा भएकाले, तेरो हृदयको सच्चापन र तेरो यो मनोवृत्तिलाई विचार गरेर, उहाँ तँप्रति सधैँ कृपालु हुनुहुनेछ, र पवित्र आत्माले तँमा काम गर्नुहुनेछ, र तैँले मुक्ति पाउने आशा हुनेछ। अर्कोतिर, यदि तँ हठी मनको र आत्मभोगी छस्, तँमा सत्यताप्रति अरुचि छ, परमेश्वरका वचनहरू र सत्यतासँग सम्बन्धित हरेक कुरा कहिल्यै सुन्दैनस्, र हृदयदेखि नै विरोधी र तिरस्कार गर्ने छस् भने, तँप्रति परमेश्वरको मनोवृत्ति कस्तो हुन्छ? घृणा, तिरस्कार, र अटुट क्रोध” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नका लागि, सत्यता बुझ्नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। परमेश्वरको वचन पढिसकेपछि मलाई परमेश्वरको स्वभाव धर्मी र पवित्र छ भन्ने लाग्यो। परमेश्वरले मानिसहरू मूर्ख भएकाले वा तिनीहरूमा क्षमताको कमी भएकोले तिनीहरूलाई घृणा गर्नुहुन्न, बरु सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिलाई हेर्नुहुन्छ। यदि कुनै व्यक्तिसँग ठूलो प्रतिभा र क्षमता छ र उसले काम गर्न सक्छ, तर उसले आफ्नो कर्तव्यमा प्रायजसो सत्यताप्रति वितृष्ण हुने स्वभाव प्रकट गर्छ, र उसले सामान्यतया सत्यतालाई स्वीकार गर्न वा चिन्तन गर्न सक्दैन भने, परमेश्वरले यो व्यक्तिलाई मन पराउनुहुनेछैन, चाहे उसको क्षमता जति नै ठूलो किन नहोस्। सत्यतालाई स्वीकार गर्न इच्छुक हुने मानिसहरूलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, चाहे तिनीहरूमा क्षमताको कमी होस् र ठूलो काम गर्न नसक्ने हुन्। परमेश्वरले मानिसहरूलाई मूल्याङ्कन गर्ने मापदण्डलाई हेर्दा, र यसलाई मेरो व्यवहारसँग तुलना गर्दा, मलाई म गम्भीर खतरामा छु जस्तो लाग्यो। मआफ्नो बुद्धि र क्षमतामा भर परिहेकी थिएँ, र सुपरभाइजरको रूपमा, मैले केही काम गर्न र मेरो समूहका सदस्यहरूले जीवन प्रवेशमा सामना गरिरहेका केही कठिनाइहरूलाई समाधान गर्न सकेकी थिएँ, जसले गर्दा मलाई आफूले के गरिरहेकी छु भन्ने थाहा छ जस्तो लाग्यो। तर जब अरूले मेरा समस्याहरू औँल्याउँथे, तब मेरो अभिमान माथि आउँथ्यो, र तिनीहरूले मलाई होच्याउन र अपमानित गर्ने खोजिरहेका छन् जस्तो लाग्यो। अरूका सुझाव, सकारात्मक कुरा र सत्यताप्रतिको मेरो मनोवृत्ति घृणास्पद र अहङ्कारी रहेको थियो, र मैले परमेश्वरमा घृणा पैदा गरेकी थिएँ। मैले पहिले नै आफ्नो कर्तव्यमा अपराध गरिसकेकी थिएँ, र यदि म यति तर्कहीन र अपश्चात्तापी भइरहेँ भने, परमेश्वरले अवश्य नै मलाई निकाल्नुहुनेछ र हटाउनुहुनेछ। यो कुराले मलाई साँच्चै नै भयभीत बनायो! मैले परमेश्वरलाई मनमनै इमानदारिता साथ प्रार्थना गरेँ, “हे परमेश्वर, म पश्चात्ताप गर्न चाहन्छु। म मेरा ब्रदर-सिस्टरहरूसँग आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्न चाहन्छु, तर मेरो भ्रष्ट स्वभाव अत्यन्तै गम्भीर छ। बिन्ती छ मलाई अझै बढी अनुशासनमा राख्नुहोस् र मलाई मेरो भ्रष्ट स्वभावका बन्धनहरूबाट मुक्त गर्नुहोस्।”
मार्च २१, २०२३, मङ्गलबार, घमाइलो
आज, मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ जसले मलाई अभ्यासको मार्ग दियो। परमेश्वर भन्नुहुन्छ: “पहिले तैँले परमेश्वरमा निर्भर रहँदै आफूभित्र रहेका सबै कठिनाइहरूको समाधान गर्नुपर्छ। आफ्नो पतित स्वभावको अन्त्य गर् र आफ्नो अवस्थालाई साँचो रूपमा बुझ्न सक्षम बन् र तैँले कसरी काम गर्नुपर्छ सो जान्; तैँले नबुझेका कुनै पनि कुराहरूबारे सङ्गतिलाई निरन्तरता दे। कुनै पनि व्यक्तिले आफूलाई नचिन्नु स्वीकार्य हुँदैन। पहिले आफ्नै रोग निको पार्, र मेरा वचनहरू अझै धेरै पटक खाएर र पिएर र चिन्तन गर्दै, मेरा वचनका आधारमा आफ्नो जीवन जिई र आफ्ना कार्यहरू गर्; तँ घरमा वा अन्यत्र जहाँ भए पनि, तैँले परमेश्वरलाई तँभित्र शक्ति चलाउन दिनुपर्छ। देहगत कुराहरू र प्रकृतिलाई फाल्। परमेश्वरका वचनहरूले तँभित्र सधैँ प्रभुत्व जमाउन दे। तेरो जीवन परिवर्तन भइरहेको छैन भनेर तैँले चिन्ता लिनुपर्दैन; समयसँगै, तैँले आफ्नो स्वभावमा व्यापक परिवर्तन आएको महसुस गर्नेछस्। पहिले, तँ चर्चामा आउन आतुर थिइस्, तैँले कि त कसैको आज्ञाको पालना गर्थिस् वा एकदमै महत्वाकांक्षी, स्व-धर्मी वा घमण्डी थिइस्—यी कुराहरूबाट तैँले बिस्तारै छुटकारा पाउनेछस्। यदि तैँले यी कुराहरूलाई अहिले त्याग्न चाहन्छस् भने, यो सम्भव छैन। तेरो पुरानो मनुष्यत्वको जराहरू धेरै गहिराइसम्म पुगेकोले यसले अरूहरूलाई छुन दिँदैन। त्यसैले तैँले एक आत्मपरक प्रयास गर्नुपर्छ, सकारात्मक र सक्रिय रूपमा पवित्र आत्माको कार्यप्रति समर्पित हुनुपर्छ, परमेश्वरसँग सहकार्य गर्न तिमीहरूको इच्छाको प्रयोग गर्नुपर्छ र मेरा वचनहरूलाई अभ्यास गर्न इच्छुक हुनुपर्छ। … आत्मधर्मी नबन्; आफ्ना कमजोरीहरूलाई सन्तुलनमा ल्याउन अरूको सबल पक्षहरू लि, अरू परमेश्वरको वचनअनुसार कसरी जिउँछन् भनेर हेर्; र उनीहरूको जीवन, कार्य तथा बोलीवचनहरू अनुकरण योग्य छ, छैन हेर्। यदि तैँले अरूलाई आफूभन्दा कम ठान्छस् भने, तँ स्व-धर्मी, अभिमानी र कसैलाई लाभ नगर्ने व्यक्ति होस्। अहिलेका लागि सबैभन्दा जरुरी कुरा भनेको जीवनमा ध्यान दिनु, मेरा वचनहरू अझै खानु र पिउनु, मेरा वचनहरूको अनुभव लिनु, मेरा वचनहरू थाहा पाउनु, मेरा वचनहरूलाई साँच्चै तेरो जीवन बन्ने तुल्याउनु हो—यी मुख्य कुराहरू हुन्। यदि कसैले परमेश्वरका वचनअनुसार जिउन सक्दैन भने, के उनीहरूको जीवन परिपक्व हुन्छ? अहँ, हुन सक्दैन। तैँले हर समय मेरा वचनअनुसार जिउनैपर्छ र मेरा वचनहरू जीवनका आचार संहिता हुनुपर्छ, ताकि तैँले उक्त संहिताअनुसार कार्य गर्दा परमेश्वर हर्षित हुनुहुन्छ र अन्यथा गर्नु परमेश्वरले घृणा गर्नुहुने कुरा हो भनेर महसुस गर्नेछस्, अनि बिस्तारै, तँ सही मार्गमा हिँड्नेछस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २२)। परमेश्वर भन्नुहुन्छ: “कुनै पनि व्यक्तिले आफूलाई नचिन्नु स्वीकार्य हुँदैन। पहिले आफ्नै रोग निको पार्।” सत्यता के थियो भने परमेश्वरले पहिले नै अभ्यासको मार्गलाई एकदमै प्रस्ट पार्नुभएको थियो। जब हामीले परिस्थितिहरूको सामना गर्छौं, तब हामी सधैँ चिन्तन गर्न, आफूलाई चिन्नका लागि परमेश्वरको अघि आउनुपर्छ, र हाम्रा समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्नुपर्छ। विगतमा, जब अरूले मेरा समस्याहरू औँल्याउँथे, तब म तुरुन्तै गरम मिजासको बन्थेँ र चिन्तन गर्न चाहन्नथिएँ, र म सोच्थेँ, “तिमीले भनेको कुरा वस्तुगत छैन; यो कुरा त्यस्तो होइन,” नत्र भने, “तिमीले मेरो समस्या औँल्यायौ होला, तर तिमी मभन्दा असल छौ भन्ने छैन।” म यसको प्रतिवाद गर्थेँ र मलाई यसको विरोध गर्न मन लाग्थ्यो, र परिस्थितिलाई परमेश्वरबाट आइरहेको हो भनेर हेर्दिनथिएँ, त्यसकारण मैले आफूलाई अरूको विरुद्धमा उभ्याउँथेँ र केही पनि प्राप्त गर्थिनँ। सत्यता के हो भने, मेरो समस्यालाई औँल्याउने व्यक्तिले भ्रष्टता प्रकट गर्न सके पनि र कहिलेकहीँ अलिकति पनि सही नरहेका कुराहरू भन्न सके पनि, उसले मलाई सुधार गर्न भनेको कुरा आंशिक रूपमा तथ्यहरू अनुरूप छ भने, मैले यसलाई स्वीकार गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ, र यो समस्या समाधानसँग सम्बन्धित सत्यताको खोजी गर्नुपर्छ। यो सत्यतालाई स्वीकार गर्ने मनोवृत्ति हो। यसरी अभ्यास गरेर मात्रै सत्यताप्रति वितृष्ण हुने मेरो अहङ्कारी स्वभाव क्रमिक रूपमा समाधान हुन सक्छ।
अप्रिल १०, २०२३, सोमबार, घमाइलो
आज, अगुवाले मलाई भिडियो बनाउने कार्यमा भएको हाम्रो ढिलो प्रगतिको बारेमा पत्र लेखिन्, त्यसमा उनले हामीले झारा टारिरहेका छौँ र यो कामको अनुगमनमा ध्यान दिइरहेका छैनौँ, हामीले यो ढिलाइको पछाडि रहेका कारणहरूलाई हेरिरहेका छैनौँ, र त्यसो गरेर हामीले आफ्नो कर्तव्यलाई बेवास्ता गरिरहेका छौँ भनिएको थियो। मेरो पहिलो प्रतिक्रिया प्रतिवाद गर्नु थियो, र मैले सोचेँ, “हामीले यो समस्या समाधान गरिरहेका छौँ, यो समयको कुरा मात्रै हो। यसको साथै, भिडियो बनाउनेहरूलाई प्रविधिहरू प्रयोग गर्नमा वास्तविक कठिनाइ हुन्छ, त्यसकारण के तपाईंले हामीलाई साँच्चै दोष दिन सक्नुहुन्छ?” मलाई अन्यायमा परेको छु जस्तो लाग्यो, तर मलाई फेरि पनि प्रतिरोध गर्न थालेको छु र मैले सुझावहरू स्वीकार गर्न सक्दिनँ भन्ने थाहा भयो, त्यसकारण मैले परमेश्वरलाई प्रार्थना गरिरहेँ, “हे परमेश्वर, म कति विद्रोही रहेछु! म अविवेकी भइरहन्छु र सत्यताको खोजी गरेर पाठहरू सिक्न सक्दिनँ। हे परमेश्वर, कृपया मेरो हृदयको रक्षा गर्नुहोस्, ताकि मैले अगुवाको मार्गदर्शन र मद्दत स्वीकार गर्न सकूँ।” यसपछि, हामीले भिडियो बनाउने कार्य ढिलो हुनुको समस्याबारे सँगै छलफल गर्यौँ र बल्ल हाम्रो प्रभावकारिता साँच्चै नै अत्यन्तै न्यून छ र हामीले धेरै ढिलाइ गरिरहेका छौँ भन्ने पायौँ। मैले तिनीहरूलाई उत्प्रेरित गर्नका लागि सामान्यतया खोक्रा शब्दहरू बोल्थेँ, तर तिनीहरूले कुन-कुन पाटोमा ढिलो गरिरहेका छन् भन्ने कुरा मैले कहिल्यै बुझेको थिइनँ, कुन-कुन खण्डहरूलाई छोड्न सकिन्छ, कुन-कुन भागहरूमा अल्झिने र समय बरबाद हुने सम्भावना हुन्छ, वा कतिपय मानिसहरूले आफ्नो कर्तव्यमा राख्ने सुस्त मनोवृत्तिलाई कसरी सुधार गर्ने भन्ने बारेमा कहिल्यै बुझिनँ। वास्तवमा अनुसन्धान गरेर र सत्यता सिद्धान्तहरू खोजी गरेर यी समस्याहरूलाई समाधान गर्दा काम कम्तीमा पनि दुई गुणा छिटो अघि बढ्न सक्यो। मैले फेरि पनि अरूका सुझावहरूलाई झण्डै इन्कार गरेँ, र यदि मैले साँच्चै नै त्यसो गरेकी भए, यी समस्याहरू समाधान हुनेथिएनन्, र काममा ढिलाइ भइरहनेथियो। मैले जति धेरै कुरा अनुभव गर्छु, मलाई त्यति नै अरूको सल्लाह स्वीकार गर्नु र परिस्थितिहरू आइपर्दा चिन्तन गर्नु कति अत्यावश्यक हुन्छ भन्ने महसुस हुन्छ!
मेरो आफ्नै अनुभवलाई फर्केर हेर्दा, म धेरै भावनाले भरिएकी छु र परमेश्वर कति बुद्धिमानी हुनुहुन्छ भन्ने कुरा देख्न सकेकी छु! यदि ली रानले मेरो समस्या नऔँल्याएकी भए, सत्यताप्रति वितृष्ण हुने मेरो स्वभाव कति गम्भीर छ भन्ने कुरा मलाई कहिल्यै थाहा हुनेथिएन, र परमेश्वरको प्रकाश र खुलासाका वचनहरूविना, मैले आत्मचिन्तन गर्नुपर्छ भनेर पनि थाहा पाउँदिनथिएँ। म झन् गलत मार्गमा अघि बढिरहेकी हुनेथिएँ, र अन्त्यमा, मलाई मेरा ब्रदर-सिस्टरहरूले इन्कार गर्नेथिए, र परमेश्वरले मलाई हटाउनुहुनेथियो। मेरो भ्रष्टता र कुरूपतालाई प्रकट गर्ने त परमेश्वरको सुन्दर काम नै थियो र परमेश्वरका कठोर न्यायका वचनहरूले नै मेरो भ्रष्ट स्वभावलाई खुलासा गरे, र सत्यताप्रति वितृष्ण हुने मेरो शैतानी स्वभावलाई देख्न, र जागृत भई परिवर्तन हुन मलाई सहयोग गरे। यो सबै परमेश्वरको प्रेम थियो! म अझै पनि त्यति परिवर्तन नभएकी भए पनि, म भविष्यमा परमेश्वरको वचनको न्याय र सजायलाई स्वीकार गर्न तयार छु ताकि म क्रमिक रूपमा परिवर्तन हुन सकूँ।