४९. फरक प्रकारको आशिष्
मलाई सानैदेखि हेपाटाइटिस बी लागेको छ। उपचार पाउनका लागि, मैले सबै किसिमका डाक्टर र औषधिहरू खोजेँ र धेरै पैसा खर्च गरेँ, तर पनि यो निको भएन। अन्त्यमा, एक जना डाक्टरले मलाई विवश हुँदै भने, “यो बिमार सबैतिरका डाक्टरहरूका लागि द्विविध हो; हामी केही गर्न सक्दैनौँ।” म पूर्ण रूपमा निराश भएँ। अचम्मको कुरा, मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्विकारेको एक वर्षभन्दा बढी समयपछि, म आश्चर्यजनक रूपमा निको भएँ। त्यो बेला, डाक्टरले मेरा जाँचका नतिजाहरू हेरेर मेरा सबै स्तरहरू आफै फेरि सामान्य भएका छन्, र भविष्यमा मैले कुनै औषधि लिनु पर्दैन भनेर मलाई बताए। अवश्य नै, यो सुनेपछि म एकदमै खुसी भएँ, र परमेश्वरले मेरो बिमार हटाउनुभएको छ भन्ने मलाई हृदयमा थाहा भयो। म परमेश्वरप्रति कृतज्ञता र प्रशंसाले भरिएँ, र मैले मनमनै सोचेँ, “परमेश्वरले मलाई साँच्चै अनुग्रह गर्नुभएको छ र आशिष् दिनुभएको छ। मैले आफ्नो कर्तव्य गरेर लगनशीलताका साथ आफूलाई उहाँका लागि समर्पित गर्नुपर्छ र उहाँको प्रेमको ऋण चुकाउनुपर्छ।” मैले यस्तो पनि सोचेँ, “मैले भर्खरै परमेश्वरमा विश्वास गर्न थालेकी छु र उहाँका लागि अझै केही गर्नु छ, तर उहाँले मलाई पहिले नै धेरै अनुग्रह र निगाह गर्नुभएको छ। यदि मैले भविष्यमा उहाँका लागि आफूलाई अझै बढी समर्पित गरेँ भने, के उहाँले मलाई दिनुहुने अनुग्रह र आशिष्हरू अझै धेरै हुनेछैनन् र? सायद मैले परमेश्वरको काम सकिएपछि मुक्ति पाउन र जिइरहनसमेत सक्नेछु!” त्यो सोचेर, मैले राम्रो तलब पाउने जागिर छोडेँ र मण्डलीमा आफ्नो कर्तव्य पूर्णकालीन रूपमा पूरा गरेँ। त्यसपछि, मलाई मण्डली अगुवाका रूपमा छनौट गरियो, र म आफूलाई त्याग्न र समर्पित गर्न अझै बढी उत्प्रेरित भएँ। मैले हरेक दिन आफूलाई मण्डलीमा व्यस्त राखेँ, बिहानदेखि साँझसम्म काम गर्थेँ। मैले सुसमाचार फैलाएँ र नयाँ विश्वासीहरूलाई मलजल गरेँ, र मसँग बच्चाको हेरचाह गर्ने समयसमेत थिएन। मेरो श्रीमान् अस्पताल भर्ना हुँदा र मेरो बुबाको घरबाट टाढा दुईपटक शल्यक्रिया गर्नुपर्दासमेत, मैले उहाँहरूको हेरचाह गर्न जाने समय मिलाइनँ। मेरो परिवारका सदस्यहरूले मलाई बुझेनन् र मसँग गुनासो गरे, तर कर्तव्य पूरा गर्ने मेरो सङ्कल्प डगमगाएन। सोचेँ, यदि मैले यो कष्ट सहेँ र यो मूल्य चुकाएँ भने, परमेश्वरले याद गर्नुहुनेछ र मलाई अनुचित व्यवहार गर्नुहुनेछैन।
सन् २०१५ को सुरुमा, मलाई प्रायजसो मेरो सम्पूर्ण शरीरमा ऊर्जाको कमी भएको छ जस्तो लाग्थ्यो। म केही नबोकी पाँचौं तला चढिरहेकी भए पनि, चढ्नुअघि मैले आराम गर्नुपर्थ्यो। भेलाहरूपछि घर जाँदा, मलाई ढल्कन मन लाग्थ्यो र केही गर्ने मन लाग्दैनथ्यो। म जाँच गर्न अस्पताल गएँ, र डाक्टरले मेरो कलेजोले असामान्य रूपमा काम गरिरहेको छ भनेर भने। यदि मैले तुरुन्तै उपचार नगरेकी भए, त्यो कलेजोको सिरोसिस र पेटमा पानी जम्ने समस्यामा परिणत हुन सक्थ्यो, अनि यदि त्यो अझै खराब हुँदै गएको भए, क्यान्सरजन्य हुन सक्थ्यो। डाक्टरको कुरा सुनेर म त स्तब्ध भएँ। मैले मनमनै सोचेँ, “यो कसरी हुन सक्यो? मैले पहिले जाँच गर्दा, के डाक्टरले मेरो बिमार निको भएको छ भनेको होइन र? किन यो फेरि खराब भएको छ त?” कलेजोको क्यान्सर भएर मृत्यु भएको व्यक्तिबारे सुनेको कुरा मलाई अचानक याद आयो। मलाई निकै डर लाग्यो, मेरो बिमार एकदमै गम्भीर भएकाले, सायद म पनि मर्छु होला भन्ने चिन्ता लाग्यो। मैले सोचेँ, “यदि म अहिले मरेँ भने, के अझै मुक्ति पाउन सक्छु?” त्यो बेला, मेरो हृदयमा ठूलो पीडा थियो। तैपनि, मैले के पनि सोचेँ भने अहिले म मण्डली अगुवा हुँ, बिहानदेखि साँझसम्म दिनभरि मण्डलीमा व्यस्त हुन्छु, त्यसैले, मलाई मर्नबाट जोगाउन परमेश्वरले मेरो हेरचाह र रक्षा गर्नुपर्छ। ती केही दिनका अवधिमा, मैले चिनेको एक वृद्ध सिस्टरलाई भेटेँ जसले आफूलाई धेरै वर्ष पहिले ल्युकेमिया भएको र उसको क्यान्सरको लक्षण निकै उच्च थियो भनेर बताइन्। उनी आफ्ना सबैभन्दा कमजोर क्षणहरूमा, प्रायजसो परमेश्वरका वचनका भजनहरू गाउँथिन्, उनले परमेश्वरका वचनहरूबाट उहाँको सार्वभौमिकताबारे केही बुझाइ पाइन, र आस्था प्राप्त गरिन्। उनले कर्तव्यप्रतिको आफ्ना मनसाय र आफ्नो कर्तव्यमा भएका अशुद्धताबारे पनि चिन्तन गरिन्, र उनले केही आत्मज्ञान पाएपछि, उनको बिमारमा क्रमिक सुधार आउन थाल्यो। यी सिस्टरको अनुभवबारे सुनेर मलाई के थाहा भयो भने मेरो यो बिमार परमेश्वरबाट आएको परीक्षा हुन सक्छ र उहाँले मलाई जाँचिरहनुभएको हुन सक्छ। मैले उहाँलाई पटक्कै दोष दिनु हुँदैन; म परमेश्वरप्रतिको आफ्नो गवाहीमा दृढ हुनुपर्छ। म आफ्नो बिमार यति गम्भीर हुँदासमेत अझै आफ्नो कर्तव्यमा अडिग रहनेछु भनेर सायद परमेश्वरले देख्नुहुनेछ, त्यसपछि उहाँले मलाई निको पार्नुहुनेछ। त्यसकारण, मैले अस्पतालमा नबस्ने निर्णय गरेँ र केही औषधि मात्रै किनेँ, त्यसपछि मैले मण्डलीमा आफ्नो कर्तव्य पूरा गरिरहेँ।
सन् २०१७ को सेप्टेम्बरमा, म अर्को जाँचका लागि अस्पताल गएँ, र डाक्टरले मलाई यसो भने, “तपाईंलाई अहिले प्रारम्भिक चरणको सिरोसिस भएको रहेछ, र तपाईंको कलेजोमा ट्युबर्कल र सिस्टहरू छन्। हामीले थप जाँच गर्नु राम्रो हुन्छ।” डाक्टरको कुरा सुनेर, मेरो दिमाग घुम्न थाल्यो, र सोचेँ, “मेरो परिवारमा कलेजो रोगको इतिहासै छ। मेरो हजुरबुबा धेरैपहिले कलेजोको क्यान्सरबाट बित्नुभएको थियो, र मेरो बुबा पनि कलेजोको ट्युबर्कल क्यान्सर भएकाले हालै बित्नुभयो। अहिले, मेरो कलेजोमा पनि ट्युबर्कलहरू छन्; के म पनि चाँडै मर्नेछु?” त्यो बेला, मलाई अत्यन्तै डर लाग्यो, सोचेँ, “म भर्खरै तीसको दशकमा छु; के म साँच्चै मर्नेवाला छु? परमेश्वरको काम समाप्तसमेत भएको छैन र म पहिले नै मृत्युको मुखमा छु। के यसको अर्थ मलाई परमेश्वरले हटाउनुहुनेछ र मैले मुक्ति पाउन सक्नेछैनँ भन्ने होइन र?” यसबारे सोच्दा, मैले आँसु रोक्नै सकिनँ। घर जाँदै गर्दा, मलाई परमेश्वरमा विश्वास गरेको मेरा वर्षहरू याद आयो। मैले आफ्नो कर्तव्य गर्न राम्रो तलब पाउने जागिर छोडेकी थिएँ र आफूलाई बिहानदेखि साँझसम्म मण्डलीमा व्यस्त राख्थेँ। मसँग बच्चाको हेरचाह गर्ने समय हुन्थेन, र म आफ्नो श्रीमान र बुबाको शल्यक्रिया हुँदा आफ्नो कर्तव्यमा ढिलाइ गर्नसमेत इच्छुक थिइनँ। मेरा परिवारका सदस्यहरूले मलाई बुझेनन् र मेरो गुनासो गरे, तर म आफ्नो कर्तव्यमा दृढ भइरहेँ। मैले यी वर्षहरूमा आफूलाई धेरै समर्पित गरेकी थिएँ; परमेश्वरले किन मेरो हेरचाह गरिरहनुभएको वा मलाई रक्षा गरिरहनुभएको थिएन र मेरो बिमार झन् खराब हुनसमेत दिइरहनुभएको थियो? के मैले आफ्नो कर्तव्य राम्ररी नगरेकीले परमेश्वरले मलाई ध्यान दिइरहनुभएको थिएन र मर्न छोडिरहनुभएको थियो? म यति जवान उमेरमा मर्न तयार थिइनँ; म बाँच्न र राज्यमा प्रवेश गर्न सकूँ भनेर परमेश्वरको काम समाप्त नभएसम्म पर्ख्न चाहन्थेँ!
त्यो रात, म सुत्न नसकेर ओछ्यानमा कोल्टे फेरिरहेकी थिएँ। मैले मेरो बच्चा मेरो छेउमा तुरुन्तै निदाएको देखेँ, र यो देखेर मलाई अत्यन्तै दुःख लाग्यो र म व्याकुल भएँ। म अझै कति समयसम्म उसको साथमा रहन पाउँछु मलाई थाहा थिएन, र ममाथि कुनै पनि बेला मृत्यु आउन सक्छ जस्तो लाग्यो। मलाई अत्यन्तै दयनीय र असहाय महसुस भयो। ती केही दिनका अवधिमा, मेरी सहकर्मी सिस्टरले मेरो स्थिति कमजोर छ भन्ने देखेर मसँग परमेश्वरका वचनहरूमा सङ्गति गरिन्, तर त्यो एउटा कानबाट छिरेर अर्को कानबाट बाहिरियो, र मैले आफू यति गम्भीर रूपले बिमारी हुँदासमेत आफ्नो कर्तव्य त्यागेकी छैनँ भन्ने आधारमा परमेश्वरले मलाई मेरो बिमारबाट मुक्त गर्न सक्नुहुन्छ भन्ने मात्रै आशा गरिरहेकी थिएँ। त्यस अवधिमा, म सधैँ अत्यन्तै उदास हुन्थेँ, विशेष गरी मेरो वरपरका केही ब्रदर-सिस्टरूले मैले जत्तिकै आफूलाई नत्यागेका र समर्पित नगरेका तर तिनीहरूको स्वास्थ्य अझै एकदमै राम्रो र मजस्तो गम्भीर बिरामी नभएका देख्दा म एकदमै दिक्दार हुन्थेँ। परमेश्वरले मलाई प्रकट गर्न र हटाउन यो बिमार प्रयोग गरिरहनुभएको होला भन्ने मलाई लाग्यो। म कति हदसम्म दिक्दार भएँ भने म पहिलेको जस्तो आफ्नो कर्तव्यमा लगनशील हुन छोडेँ। आफ्नो कर्तव्य गर्दा, यदि ढिलो भयो वा म अलिक थकित भएँ भने, मलाई मेरो शरीर लखतरान भइरहेको छ भन्ने डर लाग्थ्यो, र कहिलेकाहीँ, यदि मैले हतार गरेकी भए सकाउन सक्ने काम भोलिपल्टसम्म थाती राख्थेँ। म सोच्थेँ, “आफूले अझै धेरै मेहनत गर्नुको के अर्थ? मैले यत्तका वर्ष कष्ट भोगेकी छु र आफूलाई समर्पित गरेकी छु, तर अन्त्यमा, मेरो बिमार ठिक भएको छैन, र समय आएपछि आखिर म मर्नु नै पर्छ।” मैले आफू उचित रूपमा सुधार हुन सकूँ भनेर म आफ्नो कर्तव्य त्याग्ने सोचाइमा छु भनेरसमेत अगुवालाई भन्न चाहेँ, र मैले त्यसो नगरे पनि, मेरो हृदय परमेश्वरबाट टाढा भएको थियो। प्रार्थना गर्दा मसँग भन्ने केही कुरा हुँदैनथ्यो, र म परमेश्वरका वचनहरू त्यति बारम्बार पढ्दिनथेँ। पछि, मलाई कम्युनिस्ट पार्टीले पक्राउ गर्यो। मलाई रिहा गरिएपछि पनि, प्रहरीले अझै मलाई निगरानी गरिरहेको थियो, त्यसकारण म देशको अर्को भागमा काम गर्न जानुपर्यो। म राम्रो स्वास्थ्यमा भएका र आफ्नो काम जोसका साथ गर्ने गैरविश्वासीहरूलाई देख्थेँ, जब कि म भने पहेँलिएकी स्पष्ट रूपमा अशक्त थिएँ। म हृदयमा यस्तो नसोची बस्न सकिनँ, “मैले परमेश्वरका लागि आफूलाई यत्तिका वर्षौँदेखि समर्पित गर्दै आएकी छु। मलाई कम्युनिस्ट पार्टीले पक्राउ गर्दासमेत, मैले परमेश्वरको नाम इन्कार गरिनँ र आफ्नो गवाहीमा दृढ रहेँ। परमेश्वरले किन मेरो हेरचाह गरिरहनुभएको छैन, रक्षा गरिरहनुभएको छैन, र मलाई मेरो बिमार तुरुन्तै निको पार्न सहयोग गरिरहनुभएको छैन?” मैले परमेश्वरसँग यसरी तर्क गर्नु हुँदैन भन्ने मलाई थाहा थियो, तर मैले सत्यता खोजिनँ, र मैले लामो समयसम्म आफ्नो स्थितिलाई समाधान गरिनँ।
पछि, मैले केही अनुभवात्मक गवाहीका भिडियोहरू हेरेँ र कतिपय ब्रदर-सिस्टरले बिरामी हुँदा आत्म-चिन्तन गर्न र सत्यता खोज्न सकेका अनि आफूले प्राप्त गरेका फाइदाहरूबारे लेखेका समेत देखेँ। मलाई तिनीहरूप्रति निकै डाहा लाग्यो, र म निकै भावुक भएँ। मैले बिमारीपन पनि अनुभव गरेकी थिएँ, तर सत्यत खोजेकी थिइनँ, र त्यस दिनसम्म केही पनि प्राप्त गरेकी थिइनँ। मैले परमेश्वरसामु आएर प्रार्थना गरेँ, “हे परमेश्वर, म पनि यी ब्रदर-सिस्टरहरूले जस्तै बिरामी पर्दा पाठहरू सिक्न चाहन्छु। बिन्ती छ मलाई मार्गदर्शन र सहयोग गर्नुहोस्।” एक दिन, मैले कष्टको बीचमा आनन्दको कटनी भन्ने चलचित्र हेरेँ। जसमा एउटी सिस्टरले आफू बिमार हुँदा परमेश्वरको प्रेमलाई चिन्छिन् र परमेश्वरले उनलाई सिद्ध पार्न र परिवर्तन गर्न उसको बिमार प्रयोग गरिरहनुभएको छ भन्ने बुझ्छिन्। अन्त्यमा, यस अनुभवले उनलाई पश्चात्ताप र रूपान्तरण गरायो। उनकी बहिनीले उनलाई भन्छिन्, “तपाईँ एकदमै आशिषित् हुनुहुन्छ! परमेश्वरले तपाईंलाई परिवर्तन गर्न र सिद्ध पार्न यसरी परीक्षाबाट गुज्रन लगाएकाले र शोधन गरेकाले उहाँ तपाईंलाई अवश्य नै धेरै प्रेम गर्नुहुन्छ! म साह्रै ईर्ष्यालु छु! परमेश्वरले मलाई कहिले त्यसरी आशिष् दिनुहुनेछ?” यो सुनेपछि, म निकै भावुक भएँ, र मलाई लाज पनि लाग्यो। म सधैँ के सोच्थेँ भने यस्तो गम्भीर बिमार लाग्नुको अर्थ परमेश्वर मलाई तिरस्कार र घृणा गर्नुहुन्छ, उहाँले मलाई प्रकट गर्न र हटाउन यो बिमार प्रयोग गरिरहनुभएको छ। यस कुरालाई सिस्टरको बुझाइसँग दाँज्दा, कामकुराबारे मेरा दृष्टिकोण पूर्ण रूपमा हास्यास्पद थियो! मैले आफ्नो भक्तिको बेला, परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “यदि परमेश्वरले तँलाई प्रेम गर्नुहुन्छ भने, उहाँले त्यो प्रायजसो तँलाई ताडना दिएर, अनुशासित गरेर, अनि तँलाई काँटछाँट गरेर व्यक्त गर्नुहुन्छ। तेरा दिनहरू ताडना र अनुशासनबीच असहज रूपमा बित्न सक्ने भए पनि, तैँले यो अनुभव गरिसकेपछि तैँले धेरै कुराहरू सिकेको, तँसँग विवेक भएको र अरू मानिसहरूसित अन्तरक्रिया गर्ने मामलामा तँ बुद्धिमान् बनेको, साथै तैँले केही सत्यताहरू पनि बुझेको थाहा पाउनेछस्। यदि परमेश्वरको प्रेम आमा वा बुबाको प्रेमजस्तो, र तैँले कल्पना गरेजस्तो थियो भने, यदि उहाँले गर्नुहुने वास्तामा उहाँ धेरै इमानदार हुनुहुन्थ्यो, र निरन्तर कृपालु हुनुहुन्थ्यो भने, के तैँले यी कुराहरू प्राप्त गर्न सक्नेथिइस्? तैँले सक्नेथिइनस्। त्यसैले, मानिसहरूले बुझ्न सक्ने परमेश्वरको प्रेम तिनीहरूले उहाँको काममा अनुभव गर्न सक्ने परमेश्वरको साँचो प्रेमभन्दा फरक छ; मानिसहरूले साँचो प्रेम के हो भनेर जान्नको निम्ति परमेश्वरका वचनहरूअनुसार त्यसलाई हेर्नुपर्छ र उहाँका वचनहरूमा सत्यता खोज्नुपर्छ। यदि तिनीहरूले सत्यता खोजी गर्दैनन् भने, कुनै भ्रष्ट मानिसले परमेश्वरको प्रेम के हो, मानिसमा उहाँको कामको लक्ष्य के हो र उहाँका गम्भीर अभिप्रायहरू कहाँ छन् भन्ने कुरा शून्यताबाट कसरी बुझ्न सक्छ? मानिसहरूले यी कुराहरू कहिल्यै पनि बुझ्नेथिएनन्। परमेश्वरको कामबारे मानिसहरूमा सबैभन्दा बढी हुनसक्ने गलतबुझाइ यही हो, र मानिसहरूलाई बुझ्न सबैभन्दा कठिन लाग्ने परमेश्वरको सारको पक्ष पनि यही हो। मानिसहरूले त्यो बुझ्न सक्ने हुनको निम्ति त्यसलाई गहन रूपमा आफैले अनुभव गर्नुपर्छ र व्यावहारिक रूपमा त्यसमा संलग्न हुनुपर्छ र त्यसको रसास्वादन गर्नुपर्छ। साधारणतया, मानिसहरूले ‘प्रेम’ भन्नुको अर्थ कसैलाई उसको मनपर्ने चीज दिनु हो, उसले गुलियो चाहँदा तीतो दिनु होइन, वा कहिलेकाहीँ उसलाई तीतो कुरा दिए पनि, त्यो कुनै रोग निको पार्नको निम्ति दिनु हो; छोटकरीमा, यसमा मान्छेको स्वार्थीपन, भावना र देह संलग्न हुन्छ; यसमा उद्देश्य र उत्प्रेरणाहरू संलग्न हुन्छन्। तर परमेश्वरले तँमा जे गर्नुभए पनि, उहाँले तँलाई जसरी न्याय र सजाय दिनुभए पनि, जसरी ताडना र अनुशासनमा राख्नुभए पनि, वा जसरी काटछाँट गर्नुभए पनि, र तैँले उहाँलाई गलत रूपमा बुझ्छस् भने पनि, र हृदयमा उहाँप्रति गुनासो गर्छस् नै भने पनि, परमेश्वरले अटल धैर्यसाथ तँमा काम गर्दै जानुहुनेछ। यसो गर्नुमा परमेश्वरको मूलभूत उद्देश्य के हो? उहाँले तँलाई जगाउन यो विधि प्रयोग गर्नुहुन्छ, ताकि कुनै दिन तैँले परमेश्वरका अभिप्राय बुझ्न सक्। तर जब परमेश्वरले यो नतिजा देख्नुहुन्छ, उहाँले के हासिल गर्नुभएको हुन्छ? उहाँले वास्तवमा केही पनि हासिल गर्नुभएको हुँदैन। अनि म यो कुरा किन भन्दै छु? किनकि तेरा सबै कुरा परमेश्वरबाट आउँछन्। परमेश्वरले केही प्राप्त गर्नुपर्ने आवश्यक छैन। उहाँलाई आवश्यक पर्ने भनेको त उहाँले आफ्ना कामहरू गर्नुहुँदा, उहाँले जे मापदण्ड तोक्नुहुन्छ त्यसैअनुसार मानिसहरूले ठीकसँग पछ्याऊन् र प्रवेश गरून्, र अन्त्यमा सत्यता वास्तविकता र मान्छेको स्वरूपसहित जिउन सकून्, र त्यसउप्रान्त शैतानको बहकाउ, छल र प्रलोभनमा नपरून्, बरु शैतानविरुद्ध विद्रोह गर्न, र परमेश्वरप्रति समर्पित हुन र परमेश्वरको आराधना गर्न सकून् भन्ने हो, र यो सब भइसकेपछि परमेश्वर अत्यन्तै खुसी बन्नुहुनेछ, र उहाँको महान् काम पूरा हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्वरमा विश्वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१))। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने परमेश्वरको प्रेम हाम्रा आमाबुबा वा आफन्तहरूको प्रेमभन्दा फरक हुन्छ किनभने परमेश्वरे कुनै सिद्धान्तविना सावधानीपूर्वक हाम्रो हेरचाह गर्नुहुन्न र सबै कुरा सहनुहुन्न, न त मानिसहरूलाई बिमार र विपत्तिबाट जोगाउने र रक्षा गर्ने नै गर्नुहुन्छ। यो सब परमेश्वरको प्रेमबारे मेरो गलत बुझाइ थियो। परमेश्वर कृपा, दयाद्वारा आफ्नो प्रेम देखाउने, र मानिसहरूलाई अनुग्रह गर्ने मात्र गर्नुहुन्न। उहाँ मानिसहरूलाई सत्यता बुझ्न र आफ्ना भ्रष्ट स्वभाव फाल्न सहयोग गर्नका लागि उहाँ न्याय र सजाय, परीक्षा र शोधन, अनि सजाय र अनुशासन पनि प्रयोग गर्नुहुन्छ जसले गर्दा तिनीहरूले अन्त्यमा मानव रूपमा जिउन र उहाँद्वारा मुक्ति पाउन सक्छन्। परमेश्वरका वचनहरू पढेपछि, म अत्यन्तै व्याकुल भएँ र मलाई आत्म-ग्लानि भयो। मैले परमेश्वरमा विश्वास गरेको यतिका वर्ष भएको थियो, तैपनि उहाँ मानिसहरूलाई कसरी प्रेम गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ भन्नेबारे मसँग कुनै बुझाइ थिएन। म परमेश्वरले मलाई अनुग्रह र आशिष् दिनुभएको अनि बिमार र विपत्तिबाट रक्षा गर्नुभएको मात्रै चाहन्थेँ, र उहाँका परीक्षा र शोधन वा उहाँको शुद्धीकरण र सिद्धता स्वीकार गर्दिनथेँ। पूरै दुई वर्षसम्म, म परमेश्वरबारे आभूभित्र गलतफहमी पालेर जिएकी थिएँ, मेरो हृदय सधैँ उहाँप्रति बन्द हुन्थ्यो। तैपनि, परमेश्वरले मलाई मेरो विद्रोहीपन र भ्रष्टताका आधारमा व्यवहार गर्नुभएन, बरु चुपचाप मेरो गलतफहमी र विद्रोहलाई सहनुभयो र चुपचाप मेरो साथमा बस्नुहुन्छ, म बिउँझने दिनको प्रतीक्षा गर्नुहुन्छ। उहाँले मलाई सहयोग गर्न र साथ दिन ब्रदर-सिस्टरहरूको अनुभव पनि प्रयोग गर्नुभयो, मलाई मेरो गलतफहमी र हताशको स्थितिबाट बाहिर निस्कन मार्गदर्शन गर्नुभयो। परमेश्वरको अभिप्राय बुझ्दा, उहाँको प्रेमले मेरो हृदय छोयो, र म भावशून्य र ढिट हुन छोडेँ। मलाई निकै पछुतो भयो र मैले आफू परमेश्वरप्रति निकै ऋणी छु भन्ने सोचेँ। परमेश्वरले मेरो भ्रष्टता प्रकट गर्न, मलाई शुद्ध पार्न र मुक्ति दिन यी परिस्थितिहरू ल्याउनुभएको थियो। तर मैले उहाँका असल कार्यहरूलाई खराब ठानेँ र उहाँलाई गलत बुझिरहेँ र उहाँविरुद्ध गुनासो गरिरहेँ। म साँच्चै एकदमै असमझदार थिएँ! मैले परमेश्वरसामु आएर उहाँलाई प्रार्थना गरेँ, उहाँलाई क्षमा मागेँ, र म उहाँसमक्ष पश्चात्ताप गर्न इच्छुक छु भनेर भनेँ। मैले उहाँलाई अन्तर्दृष्टि मागेँ अनि आत्मचिन्तन गर्न र आफूलाई चिन्ने प्रयास गर्न र यस बिमारबाट सिक्नुपर्ने पाठहरू सिक्न मार्गदर्शन मागेँ।
एक दिन, मैले परमेश्वरका यी वचनहरू पढेँ: “सर्वप्रथम, जब मानिसहरूले परमेश्वरमा विश्वास गर्न थाल्छन्, तीमध्ये कोसँग चाहिँ आफ्नै उद्देश्य, प्रेरणा र महत्त्वाकाङ्क्षाहरू हुँदैनन्? तिनीहरूको एक भागले परमेश्वरको अस्तित्वमा विश्वास गर्ने र उहाँको अस्तित्वलाई देख्ने भए पनि, उहाँमाथिको तिनीहरूको विश्वासमा अझै पनि ती अभिप्रायहरू हुन्छन्, र उहाँमा विश्वास गर्नुको तिनीहरूको अन्तिम लक्ष्य उहाँको आशिष् र आफूले चाहेको कुरा प्राप्त गर्नु रहेको हुन्छ। मानिसहरूले जीवन अनुभवहरू गर्ने क्रममा प्रायजसो मनमनै सोच्ने गर्छन्: ‘मैले परमेश्वरका लागि आफ्नो परिवार र जागिर छोडेको छु, तर उहाँले चाहिँ मलाई के दिनुभएको छ र? मैले यसमा थप्नुपर्छ, र यसलाई पुष्टि गर्नुपर्छ—के मैले हालसालै कुनै आशिष् पाएको छु र? यस समयमा मैले धेरै थोक दिएको छु, धेरै दौडधूप गरेको छु, र धेरै दुःख भोगेको छु—के त्यसको सट्टामा परमेश्वरले मेरो लागि कुनै प्रतिज्ञा गर्नुभएको छ? के उहाँले मेरा असल कामहरू याद गर्नुभएको छ? मेरो अन्त्य कस्तो हुनेछ? के म परमेश्वरको आशिष् पाउन सक्छु? …’ प्रत्येक व्यक्तिले निरन्तर आफ्नो हृदयभित्र यस्तो हिसाबकिताब गर्ने गर्छ, र तिनीहरूले आफ्ना अभिप्राय, महत्त्वाकाङ्क्षा र लेनदेनको मानसिकताले भरिएका मागहरू परमेश्वरसँग गर्छन्। भन्नुको अर्थ, मानिसले आफ्नो हृदयमा निरन्तर परमेश्वरको जाँच गरिरहेको हुन्छ, परमेश्वरबारे निरन्तर योजनाहरू बनाइरहेको हुन्छ, उसको आफ्नै व्यक्तिगत परिणामका लागि निरन्तर परमेश्वरसँग तर्क गरिरहेको हुन्छ, र उसले चाहेको कुरा परमेश्वरले दिन सक्नुहुन्छ कि सक्नुहुन्न भनी हेर्नलाई परमेश्वरबाट अभिव्यक्ति निकाल्ने कोसिस गरिरहेको हुन्छ। परमेश्वरको पछि लाग्ने क्रममा, मानिसले परमेश्वरलाई परमेश्वरजस्तो व्यवहार गर्दैन। मानिसले जहिले पनि उहाँसँग सौदाबाजी गर्ने कोसिस गरेको छ, निरन्तर उहाँसँग मागहरू गरेको छ, र उसलाई औँलो दिँदा डुँडुलो निल्ने कोसिस गर्दै हरेक पाइलामा उहाँलाई दबाब दिएको छ। मानिसले परमेश्वरसँग सौदाबाजी गर्ने क्रममा उहाँसँग तर्क पनि गर्ने गर्छ, र कति मानिसहरू त यस्ता पनि छन्, जो आफूमाथि परीक्षाहरू आइलाग्दा वा आफूले कुनै विशेष परिस्थितिको सामना गर्नुपर्दा, आफ्नो काममा कमजोर, नकारात्मक र सुस्त हुन्छन्, र परमेश्वरबारे गुनासैगुनासो गर्छन्। मानिसले पहिलोपटक परमेश्वरमा विश्वास गर्न थालेको समयदेखि नै उसले परमेश्वरलाई प्रशस्तताको स्रोत, र हर समस्याको समाधान ठानेको छ र उसले आफूलाई परमेश्वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौं परमेश्वरबाट आशिष् र प्रतिज्ञाहरू प्राप्त गर्न खोज्नु उसको जन्मजात अधिकार र कर्तव्य हो, र परमेश्वरको जिम्मेवारीचाहिँ मानिसको सुरक्षा र वास्ता गर्नु अनि उसको निम्ति प्रबन्ध गरिदिनु हो। ‘परमेश्वरमाथिको विश्वास’ बारे उहाँमा विश्वास गर्नेहरू सबैको आधारभूत बुझाइ यही हो, र यही नै परमेश्वरमाथिको विश्वासको अवधारणाबारे तिनीहरूको सबैभन्दा गहन बुझाइ पनि हो। मानिसको प्रकृति सारदेखि उसको व्यक्तिपरक खोजसम्म, कुनै कुरा पनि परमेश्वरको भयसँग सम्बन्धित छैन। परमेश्वरमा विश्वास गर्ने मानिसको उद्देश्य र उसले गर्ने परमेश्वरको आराधनाको बीचमा सम्भवतः कुनै सम्बन्ध छैन। भन्नुको अर्थ, परमेश्वरमा विश्वास गर्दा उहाँको भय मान्नु र आराधना गर्नु पनि आवश्यक छ भन्ने कुरा मानिसले न त कहिल्यै विचार गरेको न त बुझेको नै छ। यस्ता अवस्थाहरूलाई विचार गर्दा, मानिसको सार स्पष्ट हुन्छ। यो सार के हो त? यो यही हो कि मानिसको हृदय द्वेषपूर्ण छ, यसभित्र धोखा र छल हुन्छ, यसले निष्पक्षता र धार्मिकता र जे सकारात्मक छ त्यो मन पराउँदैन, र यो घृणित र लोभी हुन्छ। मानिसको हृदय परमेश्वरको निम्ति योभन्दा बढी बन्द हुन सक्दैन; उसले त्यो हृदय परमेश्वरलाई पटक्कै दिएको छैन। परमेश्वरले मानिसको साँचो हृदय कहिल्यै देख्नुभएको छैन, न त कहिल्यै मानिसद्वारा उहाँको आराधना नै भएको छ। परमेश्वरले जति नै ठूलो मोल तिर्नुभए पनि वा जति नै धेरै काम गर्नुभए पनि, वा मानिसका निम्ति जति नै धेरै प्रबन्ध गर्नु भए पनि, मानिस अन्धो नै रहन्छ र ती सबैप्रति पूर्ण रूपमा उदासीन भइदिन्छ। मानिसले आफ्नो हृदय परमेश्वरलाई कहिल्यै दिएको छैन, उसले केवल आफ्नै लागि आफ्नो हृदयलाई ध्यान दिन, र आफ्नै निर्णयहरू गर्न चाहन्छ—यसको अर्थ के हो भने, मानिसले परमेश्वरको भय मान्ने र दुष्टताबाट अलग बस्ने बाटो पछ्याउन वा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन चाहँदैन, न त उसले परमेश्वरलाई परमेश्वरको रूपमा आराधना गर्न नै चाहन्छ। आज मानिसको स्थिति यस्तै छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २)। परमेश्वरका वचनहरूले वर्षौँदेखि परमेश्वरमाथिको मेरो विश्वासमा लुकेका घृणित मनसायहरूलाई खुलासा गरे। सुरुदेखि नै, म आशिष् र अनुग्रह पाउन यसमा थिएँ। मैले परमेश्वरले मेरो कलेजोको रोग निको पार्नुभएको देखेकाले सबथोक त्याग्न र आफूलाई परमेश्वरमा समर्पित गर्न सकेकी थिएँ, र म आफूले सबैभन्दा बढी भर पर्न सक्ने व्यक्ति भेट्टाएको छु भन्ने सोच्दा रमाएँ। मैले परमेश्वरलाई महान् डाक्टर, सुरक्षित आश्रयका रूपमा देखेँ, र मैले परमेश्वरबाट राम्रो स्वास्थ्यमा रहने र राम्रो गन्तव्य पाउनेजस्ता अझै धेरै इनाम र आशिष् पाउन आफूलाई सतही त्याग्ने र समर्पित गर्ने व्यर्थै प्रयास गरेँ, मैले आफूलाई समर्पित गर्नमा कुनै इमानदारी वा समर्पण थिएन, र झन् परमेश्वरको प्रेमको ऋण तिर्नु र उहाँलाई सन्तुष्ट पार्नु परको कुरा थियो। मैले परमेश्वरलाई प्रयोग गरिरहेकी र धोका दिइरहेकी थिएँ, उहाँसँग लेनदेन गरिरहेकी थिएँ। म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “इनामविना औँलो पनि नउठाउनू,” र “मेहनत अनुसारको इनाम पाउनुपर्छ” भन्नेजस्ता यस्ता शैतानी नियमहरू अनुसार जिइरहेकी थिएँ। म झन्-झन् स्वार्थी र लोभी बनेकी थिएँ, मैले हरेक मामलालाई आफ्नै हितका आधारमा लिएँ र आफूले गरेका सबै कुरामा परमेश्वरसँग हिसाबकिताब गरेँ, जस्तै मैले उहाँका लागि कति धेरै त्यागेकी छु र कति मूल्य चुकाएकी छु र उहाँले मलाई कति धेरै आशिष् दिनुभएको छ भनेर गन्ती गरेँ। परमेश्वरले मेरो बिमार निको पार्नुभएको छ भन्ने देख्दा, म आफ्नो कर्तव्यमा ऊर्जाशील भएँ र परमेश्वरका लागि कुनै पनि कुरा त्याग्नु सार्थक हुन्छ भन्ने सोचेँ, र डाक्टरले मेरो बिमार झनै खराब भएको छ भनेको सुन्दा, मैले आफ्नो कर्तव्य उचित रूपमा गर्न चाहेँ ताकि परमेश्वरले मेरो बिमार हटाउनुहोओस्। तर यत्तिका वर्ष आफूलाई समर्पित गरेपछि पनि, मेरो बिमार सुधार नभएको मात्र होइन तर झन्-झन् गम्भीर हुँदै पनि गइरहेको देख्दा, मलाई आशिष् पाउने मेरोचाहना चकनाचुर भयो भन्ने लाग्यो, र मैले परमेश्वरसँग तर्क गर्न र हिसाबकिताब मिलाउन आफूलाई समर्पित गरेको मेरा वर्षहरूलाई तुरुन्तै पूँजीका रूपमा प्रयोग गरेँ। मैले परमेश्वर मप्रति अन्यायी हुनुभएकामा ऊहाँबारे गुनासो गरेँ, र म पहिलेको जस्तो आफ्नो कर्तव्यप्रति समर्पित भइनँ। मैले आलटाल गरेँ र पूर्ण प्रयास गरिनँ, र आफ्नो कर्तव्य त्याग्न र स्वास्थ्यलाभ गर्न घर जानसमेत चाहेँ। ममा साँच्चै कुनै विवेक वा समझ थिएन! परमेश्वरले मलाई यो दुष्ट र अन्धकार संसारबाट कसरी मुक्ति दिनुभएको छ र कसरी मलाई मलजल गर्न, भरणपोषण गर्न, र साथ दिन आफ्ना वचनहरू प्रयोग गरेर उहाँसामु ल्याउनुभएको छ भनेर सम्झेँ। उहाँले मेरो भ्रष्टता प्रकट गर्न, मलाई शुद्ध र परिवर्तन गर्न मेरो बिमारलाई पनि प्रयोग गर्नुभयो। परमेश्वरले मप्रति श्रमसाध्य प्रयास गर्नुभएको थियो र मेरा लागि यस्तो मूल्य चुकाउनुभएको थियो। तर, यत्तिका वर्ष सित्तैमा परमेश्वरको सबैभन्दा ठूलो मुक्ति प्राप्त गरेपछि, मैले परमेश्वरलाई ऋण तिर्न सोचिनँ मात्र होइन, उहाँबाट प्राप्त सबै कुरालाई हल्का रूपमा लिएँ गरेँ। मैले आफू आफ्नो बिमारबाट मर्ने खतरामा छु भन्ने थाहा पाउँदा, म तुरुन्तै परमेश्वरविरुद्ध लागेँ अनि मैले उहाँसँग तर्क गर्न र हिसाबकिताब मिलाउन थालेँ, र मप्रति अन्यायी हुनुभएकामा उहाँबारे गुनासो गरेँ। मैले परमेश्वरलाई परमेश्वरजस्तो व्यवहार नगरी वर्षौँदेखि विश्वास गरेकी थिएँ। म सबै कुराभन्दा अगाडि नाफालाई राख्ने स्वार्थी, घृणित, र दुष्ट व्यक्ति मात्रै थिएँ, र ममा कुनै मानवता वा समझ थिएन।
एकपटक, मैले अनुभवात्मक गवाही भिडियोबाट परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई साँच्चै मर्माहात गऱ्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तिनीहरूलाई जसरी जाँचिए तापनि, आफ्नो हृदयमा परमेश्वर भएकाहरूको निष्ठा अपरिवर्तित नै रहन्छ; तर आफ्नो हृदयमा परमेश्वर नभएकाहरूका लागि, जब परमेश्वरको काम तिनीहरूको देहको लागि लाभदायक हुँदैन, तब तिनीहरूले परमेश्वरप्रतिको आफ्नो दृष्टिकोणलाई परिवर्तन गर्छन् र तिनीहरू परमेश्वरबाट अलगसमेत हुन्छन्। त्यस्ताहरू आखिरमा दह्रिलो गरी खडा हुनेछैनन्, तिनीहरूले परमेश्वरका आशिषहरूको मात्रै खोजी गर्छन् र तिनीहरूमा परमेश्वरको लागि आफैलाई खर्चिने र उहाँमा आफैलाई समर्पित गर्ने कुनै इच्छा हुँदैन। परमेश्वरको काम समाप्तिमा पुगेपछि त्यस्ता नीच मानिसहरूलाई निकालिनेछ र तिनीहरू कुनै पनि सहानुभूतिको योग्य छैनन्। मानवताविहीनहरू परमेश्वरलाई साँचो रूपमा प्रेम गर्न असमर्थ हुन्छन्। जब वातावरण सुरक्षित र चिन्तामुक्त हुन्छ वा जब फाइदाहरू प्राप्त गर्न सकिन्छ, तिनीहरू पूर्ण रूपमा परमेश्वरप्रति समर्पित हुन्छन्, तर जब तिनीहरूले इच्छा गरेको कुरामा सम्झौता हुन्छ वा आखिरमा इन्कार गरिन्छ, तिनीहरूले तुरुन्तै विद्रोह गरिहाल्छन्। एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने ‘दयालु’ व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्, अनि हिजोको आफ्नो हितकारी व्यक्तिलाई कुनै पनि शब्द वा कारणविना नै आफ्नो मरणशील शत्रुको रूपमा व्यवहार गर्छन्। यदि यी भूत आत्माहरू, आँखाको झिम्क्याइमै मार्ने यी भूतात्माहरूलाई निकालिएन भने, के तिनीहरू अदृश्य खतरा बन्नेछैनन् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास)। मैले परमेश्वरका वचनहरूबाट के बुझेँ भने जब असल मानवता अनि विवेक र समझ भएका मानिसहरूले आफूले पाउने सबै कुरा परमेश्वरले सित्तैमा दिनुभएको हो भन्ने देख्छन्, तब तिनीहरू परमेश्वरको प्रेमको ऋण तिर्न सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य गर्न इच्छुक हुन्छन्। मूलतः यो छोराछोरीले आमाबुबाप्रति आफ्नो धर्म निभाउँदा, कसरी आफ्ना जिम्मेवारी र दायित्व पूरा गरिरहेका हुन्छन् र तिनीहरूले क्षतिपूर्ति अपेक्षा गर्नु हुँदैन वा सर्तहरू राख्नु हुँदै भन्नुजस्तो पूर्ण रूपमा प्राकृतिक र न्यायोचित कुरा हो। यसबीच, मानवता नभएकाहरूले परमेश्वरबाट हित र लाभहरू प्राप्त गर्दा उहाँलाई धन्यवाद दिन्छन् र प्रशंसा गर्छन्, तर आशिष्हरू पाउने आफ्नो चाहना चकनाचूर हुँदा, तिनीहरू तुरुन्तै परमेश्वरविरुद्ध जान्छन्, उहाँसँग तर्क र हिसाबकिताब गर्छन् र उहाँको विरोधमा खडा हुने, उहाँलाई शत्रु ठान्नेसमेत गर्छन्, र उहाँसँग खुल्लमखुल्ला झगडा गर्छन् र उहाँको विरोध गर्छन्। मैले परमेश्वरका वचनहरूले खुलासा गरेका कुराहरूमार्फत्, आफू ठ्याक्कै कुनै मानवता नभएको प्रकारको व्यक्ति रहेछु भन्ने बुझेँ। परमेश्वरले मेरो बिमार निको पार्नुभएको बेला, मैले उहाँलाई धन्यवाद दिएँ र म सबै कुरा छोड्न र त्याग्न इच्छुक भएँ, तर जब मलाई सिरोसिस भएको निदान भयो र म मर्ने खतरामा परेँ, तब म तुरुन्तै परमेश्वरविरुद्ध गएँ र आफूलाई त्यागेका र समर्पित गरेको मेरा वर्षहरूलाई साहसका साथ सोधपुछ गर्न पूँजीका रूपमा प्रयोग गरेँ, “मैले आफूलाई यति धेरै त्यागेपछि र समर्पित गरेपछि पनि परमेश्वरले किन मेरो वास्ता र रक्षा गरिरहनुभएको छैन? उहाँले किन विपरीत काम गरिरहनुभएको छ र मेरो बिमारलाई झनै खराब बनाइरहनुभएको छ? आफूलाई नत्याग्ने र समर्पित नगर्ने सबै मानिसहरूको स्वास्थ्य किन राम्रो छ जबकि म भने यो गम्भीर बिमारमा अल्झिएकी छु? परमेश्वरमा विश्वास नगर्ने मानिसहरू किन स्वस्थ हुन्छन् तर म यहाँ आफूलाई समर्पित गरिरहेकी छु र यो सब कुरा त्यागिरहेकी छु तैपनि परमेश्वरले अझै मलाई चाँडै निको परिरहनुभएको छैन? साथै, जब मलाई कम्युनिस्ट पार्टीले पक्राउ गर्यो, तब मैले परमेश्वरलाई इन्कार गरिनँ र म आफ्नो गवाहीमा दृढ भएँ, त्यसोभए, परमेश्वर किन मेरो बिमार हटाउनुहुन्न?” के मैले परमेश्वरसँग झगडा र उहाँको विरोध गरिरहेकी थिइनँ र? मेरा शब्दहरूपछाडिको निहित अर्थ यही थियो: “मैले आफूलाई त्यागेकी छु र समर्पित गरेकी छु, त्यसकारण परमेश्वरले मलाई आशिष् दिनुपर्छ। त्यसपछि मात्रै म परमेश्वरको धार्मिकता स्वीकार गर्नेछु। यदि मैले आशिष्हरू प्राप्त गर्न सकिनँ भने, म परमेश्वर धर्मी हुनुहुन्छ भनेर स्वीकार गर्नेछैनँ।” मैले परमेश्वरलाई मलाई आशिष् दिन बाध्य पारिरहेकी र माग गरिरहेकी थिएँ, र यसमा दुष्ट र क्रूर स्वभाव थियो। मूलतः यो निर्लज्ज रूपमा परमेश्वरको अवज्ञा र विरोध गर्नु थियो। के मैले यसो गरेर मृत्यु खोजिरहेकी थिइनँ र? विगतमा, पावल सुसमाचार प्रचार गर्न, मण्डलीहरू स्थापना गर्न, र धेरै काम गर्न चारैतिर गए, तर आफूलाई त्याग्नु र समर्पित गर्नुको पछाडि उसको मनसाय परमेश्वरलाई सन्तुष्ट पार्नु थिएन, झन् सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य गर्नु त परको कुरा थियो। बरु, उनी परमेश्वरबाट धार्मिकताको मुकुट माग गर्न आफ्नो समर्पण र कामलाई प्रयोग गर्न चाहन्थे, यी कुरालाई स्वर्गको राज्यका आशिष्हरूसँग साट्न चाहन्थे। पछ्याइ र उनले पछ्याएको मार्गप्रतिको उनको दृष्टिकोणलाई परमेश्वरले तिरस्कार र निन्दा गर्नुभयो, र अन्त्यमा, उनी स्वर्गको राज्यमा प्रवेश नगरेको मात्र होइनन्, उनलाई आफूले पाउनुपर्ने दण्ड पाउन नरक पठाइयो। परमेश्वरको सार पवित्र र धर्मी छ, र उहाँ मानिसहरूले कति धेरै दौडधूप गर्छन् र आफूलाई समर्पित गर्छन् त्यसका आधारमा तिनीहरूको परिणाम निर्धारित गर्नुहुन्न। बरु, उहाँले तिनीहरूको जीवन स्वभाव परिवर्तन हुन सक्छ कि सक्दैन भन्ने कुराको आधारमा तिनीहरूले मुक्ति पाउन सक्छन् कि सक्दैनन् भनेर निर्णय गर्नुहुन्छ। मजस्तो शैतानी भ्रष्ट स्वभावले भरिएको र आशिष् नपाउँदा परमेश्वरसँग निर्लज्ज रूपमा तर्क गर्ने, झगडा गर्ने, र उहाँको विरोध गर्ने व्यक्तिले यदि परमेश्वरको न्याय र सजाय अनि उहाँको ताडना र अनुशासन अनुभव गर्दैन भने, कसरी ऊ परमेश्वरको राज्यमा प्रवेश गर्न योग्य हुन सक्छ? अन्त्यमा, त्यस्तो व्यक्तिलाई अवश्य नै पावललाई जस्तै दण्ड पाउन नरक पठाइनेछ! यसबेला, मैले के बुझेँ भने परमेश्वरले मलाई उहाँको विरोध गर्ने गलत मार्गबाट तुरुन्तै फर्काउन र आत्मचिन्तन गर्न अनि आफूलाई बुझ्न र सत्यता पछ्याउने मार्गमा हिँड्न सहयोग गर्नका लागि मेरो बिमार प्रयोग गर्नुभएको थियो ताकि मैले परमेश्वरको प्रतिरोध नगरूँ र अन्त्यमा दण्ड नपाऊँ। परमेश्वरको इमानदार अभिप्रायलाई बुझ्दा, मलाई यो बिमार लाग्नु त परमेश्वरले मलाई रक्षा गरिरहनुभएको थियो, यो फरक प्रकारको आशिष् हो भन्ने गहन महसुस भयो। मैले परमेश्वरका अझै धेरै वचन पढेँ: “हरेकको आयु परमेश्वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। चिकित्सकीय हिसाबमा कुनै रोग घातक हुन सक्छ, तर परमेश्वरका नजरमा, यदि तेरो जीवन अझै चल्नुछ र तेरो समय आइसकेको छैन भने, तँ चाहेर पनि मर्न सक्नेथिइनस्। यदि परमेश्वरले तँलाई कुनै आज्ञा दिनुभएको छ, र तेरो मिसन पूरा भएको छैन भने, घातक मानिने रोग लागे पनि तेरो मृत्यु हुनेछैन—परमेश्वरले तँलाई लगिहाल्नुहुनेछैन। यदि तँ प्रार्थना गर्दैनस् र सत्यता खोजी गर्दैनस्, र आफ्नो रोगको हेरचाह गर्दैनस्, वा तैँले आफ्नो उपचारमा ढिलाइ नै गरिस् भने पनि, तँ मर्नेछैनस्। विशेषगरी परमेश्वरबाट महत्त्वपूर्ण आज्ञा पाएका मानिसहरूका हकमा यो झनै साँचो हुन्छ: तिनीहरूको मिसन पूरा हुन बाँकी नै हुँदा, तिनीहरूलाई जुनै बिमारी आइपरे पनि, तिनीहरू तुरुन्तै मर्दैनन्; तिनीहरू मिसन पूरा हुने अन्तिम क्षणसम्म जिउनेछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्वरका वचनहरूबाट के बुझेँ भने मानिसको जीवन र मृत्यु परमेश्वरको हातमा छ। मेरो जीवन कति लामो समयसम्म रहनेछ भनेर परमेश्वरले धेरै पहिले नै निर्धारित गर्नुभएको थियो; यसको एक-एक सेकेन्ड पूर्वनिर्धारित गरिएको थियो। मलाई घातक बिमार लागेको निदान भए पनि, वा यदि मानिसहरूको नजरमा, मेरो परिवारका सबै जना कलेजोको क्यान्सरले मरेका भए पनि र यसबाट उम्कन मैले केही गर्न नसक्ने भए पनि, यदि परमेश्वरको दृष्टिकोणमामेरो समय अझै आएको छैन र मेरो मिसन अझै पूरा भएको छैन भने, उहाँले मलाई मर्न दिनुहुने थिएन, र म मर्नेथिइनँ। यदि मेरो मिसन पूरा भएको र मेरो समय आएको भए, मेरो स्वास्थ्य राम्रो भए पनि र ममा कुनै बिमार नभए पनि म मर्नु पर्नेथ्यो। यो परमेश्वरको पूर्वनिर्धारणसँग सम्बन्धित थियो र मेरो पारिवारिक बिमारको इतिहाससँग कुनै सम्बन्ध थिएन। मानिसहरू जिउँछन् कि मर्छन् भन्ने कुरामाथि परमेश्वरको सार्वभौमिकता छ भनेर स्विकार्दा, म पहिलेको जस्तो मृत्युको बन्धनमा पर्न छोडेँ। म आफ्नो जीवन र मृत्यु परमेश्वरलाई सुम्पन र उहाँका सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक भएँ, र मलाई हृदयमा निकै ढुक्क र स्वतन्त्र महसुस भयो।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “रोगबिमारी सामना गर्दा, तैँले सक्रिय रूपमा उपचार खोज्न सक्छस्, तर तैँले यसलाई सकारात्मक मनोवृत्तिले लिनुपर्छ। जहाँसम्म तेरो रोग कति हदसम्म उपचार हुन सक्छ र यसको उपचार हुन्छ हुँदैन भन्ने कुरा छ, अन्त्यमा जे हुने भए पनि, तँ सधैँ समर्पित हुनुपर्छ र गुनासो गर्नु हुँदैन। तैँले अपनाउनुपर्ने मनोवृत्ति यही हो, किनभने तँ सृष्टि गरिएको प्राणी होस् र तँसँग अरू कुनै विकल्प हुँदैन। तैँले यसो भन्न मिल्दैन, ‘यदि म यो रोगबाट निको भएँ भने, म यो परमेश्वरको महान् शक्ति हो भनेर विश्वास गर्नेछु, र निको भइनँ भने, म परमेश्वरसँग खुसी हुनेछैन। परमेश्वरले किन मलाई यो रोग दिनुभयो? उहाँले किन यो रोग निको पार्नुहुन्न? किन मलाई नै यो रोग लाग्यो र अरू कुनै व्यक्तिलाई लागेन? म यो चाहन्नँ! मैले किन यति सानै उमेरमा मर्नुपर्ने? किन अरू मानिसहरूले चाहिँ बाँचिरहन पाएको? किन?’ किन भनेर नसोध्, यो परमेश्वरको योजनाबद्ध कार्य हो। यसको कुनै कारण छैन, र तैँले किन भनेर सोध्नु हुँदैन। किन भनेर सोध्नु विद्रोही बोली हो, र यो सृष्टि गरिएको प्राणीले सोध्नुपर्ने प्रश्न होइन। किन भनेर नसोध्, किन भन्ने कुनै कुरै छैन। परमेश्वरले यसरी नै सबै कुराहरू बन्दोबस्त र योजनाबद्ध गर्नुभयो। यदि तैँले किन भनी सोध्छस् भने, यो मात्रै भन्न सकिन्छ कि तँ अत्यन्तै विद्रोही र हठी छस्। जब कुनै कुराले तँलाई असन्तुष्ट तुल्याउँछ, वा परमेश्वरले तैँले चाहेजस्तो गर्नुहुन्न वा तेरो शैलीमा तँलाई काम गर्न दिनुहुन्न, तँ बेखुसी हुन्छस्, मुरमुरिन्छस्, र किन भनेर सधैँ प्रश्न गर्छस्। त्यसकारण, परमेश्वरले तँलाई सोध्नुहुन्छ, ‘सृष्टि गरिएको प्राणीको रूपमा, तैँले किन आफ्नो कर्तव्य राम्ररी निभाएको छैनस्? किन तैँले विश्वासयोग्य ढङ्गले आफ्नो कर्तव्य निभाएको छैनस्?’ अनि तैँले कसरी जबाफ दिन्छस्? तैँले भन्छस्, ‘कुनै कारण छैन, म यस्तै हो।’ के यो स्वीकार्य छ? (छैन।) परमेश्वरले तँसँग त्यसरी बोल्नु स्वीकार्य हुन्छ, तर परमेश्वरसँग तैँले त्यसरी बोल्नु स्वीकार्य हुँदैन। तँ गलत स्थानमा उभिएको छस्, र तँ अत्यन्तै समझहीन छस्। सृष्टि गरिएको प्राणीले जस्तोसुकै कठिनाइ सामना गरे पनि, तँ सृष्टिकर्ताको बन्दोबस्त र योजनाबद्ध कार्यमा समर्पित हुनुपर्छ भन्ने तथ्य स्वर्गले पूर्णतः प्राकृतिक र न्यायसङ्गत कुरा हो। उदाहरणको लागि, तेरा आमाबुबाले तँलाई जन्म दिए, हुर्काए, र तँ तिनीहरूलाई आमाबुबा भन्छस्—यो पूर्णतः प्राकृतिक र न्यायसङ्गत कुरा हो, र यो यस्तै हुनुपर्ने हो; यसमा किन भन्ने कुरै छैन। त्यसकारण, परमेश्वरले यी सब कुरा तेरो लागि योजनाबद्ध गर्नुहुन्छ र, तैँले आशिष् उपभोग गरे पनि वा कठिनाइ भोगे पनि, यो पूर्णतः प्राकृतिक र न्यायसङ्गत कुरा हो, र यस विषयमा तँसँग कुनै विकल्प हुँदैन। यदि तँ अन्त्यसम्मै समर्पित हुन सक्छस् भने, तैँले पनि पत्रुसले जस्तै मुक्ति प्राप्त गर्नेछस्। तैपनि, यदि कुनै क्षणिक रोगको कारण तैँले परमेश्वरलाई दोष दिन्छस्, र उहाँलाई त्याग्छस्, र धोका दिन्छस् भने, तैँले पहिले गरेको सबै त्याग, मेहनत, कर्तव्यपालन, र मूल्यचुकाइ व्यर्थ हुनेछन्। यस्तो किन हुन्छ भने तैँले विगतमा गरेका सबै परिश्रमले तेरो लागि सृष्टि गरिएको प्राणीको कर्तव्य राम्ररी पूरा गर्नको लागि वा सृष्टि गरिएको प्राणीको स्थान लिनको लागि कुनै जग निर्माण गरेको हुँदैन, र यसले तेरो बारेमा केही कुरा परिवर्तन गरेको पनि हुँदैन। यसले गर्दा तैँले आफ्नो रोगको कारण परमेश्वरलाई धोका दिनेछस्, र तेरो अन्त्य पनि पावलको जस्तै हुनेछ र तैँले दण्ड पाउनेछस्। यस्तो निर्धारण हुनुको कारण के हो भने तैँले पहिले गरेका सबै कुराहरू मुकुट पाउन सकूँ भनेर अनि आशिष्हरू पाउने उद्देश्यले गरिएका हुन्छन्। यदि तैँले अन्त्यमा रोग र मृत्यु सामना गर्दा पनि, अझै पनि कुनै गुनासो नगरी समर्पित हुन सक्छस् भने, यसले प्रमाणित गर्छ कि तैँले पहिले गरेका सबै कुराहरू इमानदारीसाथ र स्वेच्छाले परमेश्वरको लागि गरेको थिइस्। तँ परमेश्वरप्रति समर्पित छस्, र अन्त्यमा तेरो समर्पणताले नै परमेश्वरमाथिको विश्वासको तेरो जीवनको सिद्ध अन्त्य चिन्हाङ्कित गर्नेछ, र यसलाई परमेश्वरले तारिफ गर्नुहुन्छ। त्यसकारण, कुनै रोगले तँलाई असल अन्त्य पनि दिलाउनेछ वा खराब अन्त्य पनि दिलाउनेछ; तैँले पाउने अन्त्य तैँले पछ्याउने मार्ग र परमेश्वरप्रतिको तेरो मनोवृत्तिमा निर्भर हुनेछ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। बिमारको सामना गर्दा मानिसहरूले कसरी अभ्यास गर्नुपर्छ र कस्तो मार्ग छनौट गर्नुपर्छ भन्नेबारे पररमेश्वर एकदमै स्पष्ट रूपमा बताउनुहुन्छ। यदि कुनै व्यक्ति बिरामी भयो भने, उसले उपचार पाउन सक्छ, र परमेश्वर मानिसहरू बिमार बोकेर जिएको त्यससँगै आफ्नो स्वास्थ्यको कारण उदास, सुर्ता, र चिन्तित भएको हेर्न चाहनुहुन्न, झन् मानिसहरूले पावलले जस्तै सत्यता अलिकति पनि नपछ्याएको, उनीहरूमा सृजित प्राणीमा हुनुपर्ने समझ नभएको र उनीहरूले आफ्नो वर्षौँको त्याग र समर्पणलाई परीक्षा र आपतहरू सामना गर्दा परमेश्वरसँग लेनदेन गर्ने पूँजीको रूपमा प्रयोग गरेको र उहाँबाट धार्मिकताको मुकुट माग गरेको अनि उहाँसँग विरोध र झगडा गरेको अन्त्यमा उनीहरू उहाँको प्रतिरोध गरेकामा दण्डित मात्र भएको हेर्न चाहनु त परको कुरा हो। परमेश्वर हामी बिमार सामना गर्दा अय्यूबजस्तै हुन सकौँ, सृजित प्राणीका रूपमा आफ्नो स्थानमा खडा हुन सकौँ, आफ्नै छनौट र मागहरूविना परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरू स्विकार्न र त्यसमा समर्पित हुन सकौँ भन्ने चाहनुहुन्छ। यसरी मात्रै व्यक्तिमा समझ र मानवता हुन सक्छ। आत्मचिन्तन गर्दा, यस बिमारका परीक्षाहरूमा, म नकारात्मक भएकी थिएँ, गलतफहमी र गुनासोले भरिएकी थिएँ, र मैले परमेश्वरको विरोधमा खडा हुने अनि उहाँका सार्वभौमिकता र योजनाबद्ध कार्यहरूको विरोध गर्नेसमेत गरेँ। म साँच्चै नै ढिट र विद्रोही थिएँ, र ममा सृजित प्राणीमा हुनुपर्ने कुनै समझ थिएन। म परमेश्वरसामु आएँ र उहाँलाई प्रार्थना गरेँ, “हे परमेश्वर, विगतमा मैले सत्यता पछ्याइनँ, र आशिष्हरू प्राप्त गर्न सधैँ तपाईंसँग लेनदेन गर्ने प्रयास गरेँ। अहिले, मैले तपाईंको इमानदार अभिप्राय बुझेकी छु। तपाईँले मलाई शुद्ध पार्न र परिवर्तन गर्न, पछ्याइप्रतिको मेरो गलत दृष्टिकोण उल्ट्याउन मेरो बिमार प्रयोग गर्नुभयो। म तपाईँका सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक छु। ममा अय्यूबको मानवता नभए पनि, म उनको उदाहरण पछ्याउन र तपाईँप्रतिको मेरो गवाहीमा दृढ रहन इच्छुक छु। यदि मैले तपाईँलाई गुनासो गरिरहेँ भने, म तपाईँलाई श्राप माग्छु।” त्यसपछि, मैले आफ्नो बिमारलाई सही रूपमा लिन सकेँ। मैले लिनुपर्ने बेलामा औषधि लिएँ, र म आफ्नो अवस्थाद्वारा त्यति बाधित भइनँ र मैले सामान्य रूपमा आफ्नो कर्तव्य गर्न सकेँ।
पछि, म अर्को जाँचका लागि अस्पतालमा गएँ, र डाक्टरले मलाई सिरोसिसको प्रारम्भिक निदान अलिक समयपूर्व गरिएको थियो र मेरो कलेजोका ट्युबर्कलहरू त्यति विकास भएका छैनन् भनेर बताए। डाक्टरले मलाई नियमित जाँच गर्न आउनुहोस् भने ताकि तिनीहरूले ट्युबर्कलहरूको विकासलाई निरन्तर अवलोकन गर्न सकून्। तर, म परमेश्वरमा विश्वास गर्छु भन्ने पुलिस रेकर्ड भएकाले र मैले आफ्नो परिचयपत्र देखाउन नसक्ने हुनाले, म तीन वर्षभन्दा बढी समयसम्म जाँचका लागि अस्पताल जान सकिनँ। यस वर्षको सुरुमा, अस्पतालमा काम गर्ने एक जना सिस्टरले मलाई केही ल्याब परीक्षण गर्न सहयोग गरिन्। जाँचका परिणामहरू आएपछि, डाक्टरले मेरो कलेजोको अवस्था, साथै विभिन्न स्तरहरू सामान्य छन् भनेर भने। यो सुने, म परमेश्वरप्रति अत्यन्तै धन्यवादी भएँ।
यस बिमारका प्रकटीकरणहरू अनुभव गर्ने क्रममा, मैले धेरै कष्ट भोगे पनि, मैले परमेश्वरमाथिको मेरो विश्वास आशिष् प्राप्त गर्ने आफ्नो मनसाय साथै मेरो क्रूरताको शैतानी स्वभावबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्वरका वचनहरूको न्याय र सजाय अनुभव गरेर, परमेश्वरमाथिको मेरो विश्वासमा रहेका मेरा गलत दृष्टिकोणहरू केही हदसम्म परिवर्तन भए। अहिले, मेरो बिमार पूर्ण रूपमा निको नभए पनि, म केही समझशक्ति देखाउन सक्छु र परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक छु। म यति सानो तरिकामा परिवर्तन हुन सक्नुको कारण नै परमेश्वरका वचनहरूको न्याय र सजाय हो। परमेश्वर धन्यवाद!