४७. झाराटारुवा हुनुमाथिको चिन्तन
डिसेम्बर २०२१ मा, मैले भिडियो निरीक्षण अभ्यास सुरु गरेँ। सुरुमा, मैले सम्पूर्ण हृदयले अध्ययन र मनन गरेँ। अलमलमा पार्ने कुरा भेटिँदा, म आफ्नो सहकर्मी सिस्टरसँग समाधान खोज्थेँ। उनी पनि प्रायः मसँग भिडियोहरूमा पहिचान गरेका समस्याहरूबारे छलफल गर्थिन्। म प्रत्येकपटक मेरा कमजोरी र विचलनहरूलाई सारांशीकरण गर्थेँ त्यसपछि सम्बन्धित सिद्धान्तहरू खोज्ने र सिक्ने प्रयास गर्थेँ। सिद्धान्तहरूबारे टोली छलफलहरूमा, म सबैको सङ्गति ध्यानपूर्वक सुन्थेँ र मेरो कमीहरूलाई पूरा गर्न सावधानीपूर्वक मनन गर्थेँ। यसरी केही समय अभ्यास गरेपछि, मेरो विशेषज्ञ सीपमा केही प्रगति भयो र म केही कार्य सम्हाल्न सक्षम भएँ। मैले केही सिद्धान्त बुझिसकेकी छु भन्ने सोच्दै सन्तुष्ट महसुस गर्न थालेँ। त्यस बेलादेखि, मैले अध्ययन गर्ने बिरलै पहल गरेँ। सिद्धान्तहरूबारे सङ्गति गर्दा र टोलीका अन्य सदस्यहरूसँग समस्याहरू छलफल गर्दा, म पहिलेजस्तो गम्भीरतापूर्वक मनन गर्दिनथेँ, न त काममा भएका समस्याहरूलाई सारांशीकरण गर्नमा ध्यान दिन्थेँ। मेरो कर्तव्य गर्ने तरिका निष्क्रिय बन्यो।
मलाई सम्झना छ, एक निश्चित अवधिमा, केही ब्रदर–सिस्टर आफ्ना कर्तव्यमा नयाँ थिए, र उनीहरूले पेस गरेका भिडियोहरूमा धेरै समस्या थिए। मैले उनीहरूसँग सङ्गति गर्न र ती समस्याहरूलाई सम्बोधन गर्न एक–एक गरेर जवाफ दिनुपर्थ्यो। मेरो हृदयमा केही कुटिल विचार आए: “यदि मैले प्रत्येक भिडियो सावधानीपूर्वक जाँचेँ र उनीहरूसँग सङ्गति गर्न र उनीहरूलाई जवाफ दिन सम्बन्धित सिद्धान्तहरू खोजेँ भने, यसमा धेरै समय र मेहनत जानेछ। यति धेरै भिडियो मैले कहिले प्रशोधन गरी सकाउने? सायद मैले तिनीहरूका समस्याहरू सङ्क्षेपमा औँल्याउनुपर्ला र तिनीहरूलाई समस्याहरू कसरी समाधान गर्ने भनेर आफैँ पत्ता लगाउन दिनुपर्ला। यसरी, म धेरै मेहनत बचाउन सक्छु।” त्यसैले, मैले भिडियोहरूमा समस्याहरू मात्र औँल्याएँ र संशोधन गर्नका लागि सामान्य निर्देशन देखाइदिएँ। अर्कोपटक, मैले एउटा भिडियो निरीक्षण गरेँ र त्यसमा केही समस्या फेला पारेँ। तर म तीबारे निश्चित थिइनँ, त्यसैले मैले मेरी सहकर्मी सिस्टरसँग छलफल गरेँ। उनले कुनै समस्या नदेखेकी बताइन्, तर मलाई अझै पनि असहज महसुस भयो। केही समय मनन गरेपछि, म अझै पनि ती समस्या हुन् कि होइनन् भनेर निश्चित भइनँ। त्यसपछि मैले झाराटारुवा हुनेबारे विचार गर्दै सोचेँ, “सायद यस्तै छोडिदिनुपर्ला। सिस्टरले मभन्दा राम्रोसँग सिद्धान्तहरू बुझ्छिन्। उनी पनि ठिक छ भन्छिन्, त्यसैले त्यसमा कुनै समस्या नहुनेपर्ने। मैले यसमा मनन गर्न धेरै समय खर्चनु आवश्यक छैन। त्यसबाहेक, मलाई महसुस भएको मात्र हो। यसबारे म गलत भएँ र काममा ढिलाइ भयो भने नि?” त्यसरी सोच्दा, मैले त्यसबारे मनन गर्न र जवाफ खोज्न छोडेँ। त्यसपछि मैले भिडियोलाई जस्ताको तस्तै पेस गरेँ। केही दिनपछि, हाम्रो सुपरभाइजरले भिडियोमा केही समस्या छन् र ती सच्च्याउनु आवश्यक छ भनी औँल्याए। त्यसपछि, मेरा ब्रदर–सिस्टरहरूले एकपछि अर्को गर्दै हाम्रा सुझावहरू पढेपछि नकारात्मक महसुस भएको रिपोर्ट गरे। उनीहरूलाई आफूले बनाएका भिडियोहरूमा धेरै समस्या छन् भन्ने लाग्थ्यो, र ती कसरी समाधान गर्ने भनी थाहा थिएन। यी खुलासा भएका समस्याहरू सामना गर्दा, म पूर्ण रूपमा अलमलमा परेँ। तर सम्झेँ, मैले प्रत्येक दिन सामना गर्ने मानिस, घटना र कामकुराहरू परमेश्वरद्वारा बन्दोबस्त गरिन्छन् र उहाँको सार्वभौमिकताका अधीनमा छन्। यी परिस्थितिहरूको सामना गर्नुको कुनै कारण हुन्छ। त्यसमा अवश्यै मेरा लागि सिक्नुपर्ने पाठहरू हुन्छन्, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ र उहाँको मार्गदर्शन खोजेँ।
भक्तिको समयमा, मैले परमेश्वरका वचनका यी खण्डहरू पढेँ: “कुनै पनि कुरालाई त्यति अमर्यादित र गैरजिम्मेवार ढङ्गले सम्हाल्नु भ्रष्ट स्वभावभित्र पर्ने कुरो हो: प्राय यसलाई मानिसहरू फोहोरीपन भन्छन्; आफूले गर्ने हरेक मामिलामा, तिनीहरू ‘त्यो लगभग सही छ’ र ‘काफी नजिक छ’ भन्ने हदसम्म काम गर्छन्; यो त ‘होला,’ ‘सायद,’ र ‘पाँचमा चार’ भन्ने मनोवृत्ति हो; तिनीहरू कामचलाउ तवरले काम गर्छन्, न्यूनतम मात्रामा काम गर्नमा सन्तुष्ट छन्, र जालझेल गरेर माथि पुग्नमा सन्तुष्ट छन्; तिनीहरू कुनै पनि कुरालाई गम्भीर रूपमा लिनु वा ठ्याक्कै मिलाउनुको कुनै अर्थ देख्दैनन्, झन् तिनीहरूले सत्यता सिद्धान्तहरूको खोजी गर्नुमा कुनै अर्थ देख्ने त कुरै नगरौँ। के यो भ्रष्ट स्वभावभित्रको कुरा होइन र? के यो सामान्य मानवताको प्रकटीकरण हो? अहँ, होइन। यसलाई अहङ्कार भन्नु सही हुन्छ, र यसलाई दुराचार भन्नु पनि सम्पूर्ण रूपमा उचित नै हुन्छ—तर यसलाई पूर्ण रूपमा बुझ्नका निम्ति मिल्ने शब्द ‘फोहोरी’ हो। धेरैजसो मानिसभित्र फोहोरीपन हुन्छ, त्यसको मात्रा मात्र फरक पर्ने हो। हरेक मामिलामा, तिनीहरू झाराटारुवा र लापर्बाही तरिकाले कामकुरा गर्ने इच्छा राख्छन्, र तिनीहरूले गर्ने हरेक कुरामा छलको गन्ध पाइन्छ। तिनीहरू अरूलाई सकेसम्म धोका दिन्छन्, सकेसम्म चोर बाटो अपनाउँछन् र सम्भव भएसम्म समय बचाउँछन्। तिनीहरू मनमनै विचार गर्छन्, ‘जबसम्म म खुलासा हुनबाट बच्न सक्छु र मैले कुनै समस्या खडा गर्दिनँ र मलाई जवाफदेही बनाइँदैन, तबसम्म म झारा टार्दै अघि बढ्न सक्छु। मैले निकै राम्रो काम गर्नुपर्दैन, त्यसो गर्दा ज्यादै दु:ख हुन्छ।’ यस्ता मानिसहरू निपुण हुने गरी केही पनि सिक्दैनन्, अनि तिनीहरू अध्ययन गर्नमा आफूलाई होम्ने वा कष्ट सहने र मूल्य चुकाउने काम गर्दैनन्। तिनीहरू कुनै विषयलाई सतही रूपमा मात्र बुझ्न चाहन्छन्, र त्यसपछि आफूले जान्नुपर्ने सबै कुरा जानिसकेको विश्वास गर्दै आफूलाई त्यस विषयको प्रवीण भन्छन्, र लटरपर गर्दै अगाडि बढ्नलाई त्यसैमा भर पर्छन्। अरू मानिस, घटना र वस्तुहरूप्रति मानिसहरूको मनोवृत्ति यही हुन्छ होइन र? के यो असल मनोवृत्ति हो त? अहँ, यो असल मनोवृत्ति होइन। सरल शब्दमा यसलाई ‘लटरपटर गर्दै अघि बढ्नु’ भनिन्छ। यस्तो फोहोरीपन सबै भ्रष्ट मानवजातिमा विद्यमान छ। आफ्नो मानवतामा फोहोरीपन भएका मानिसहरू आफूले गर्ने जुनसुकै कुरामा ‘कामचलाउ तरिकाले लाग्ने’ दृष्टिकोण र मनोवृत्ति राख्छन्। के यस्ता मानिसहरू आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम हुन्छन्? हुँदैनन्। के तिनीहरू सिद्धान्तअनुसार कामकुरा गर्न सक्षम हुन्छन् त? यो त झनै असम्भव छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। “कसैले भद्र र नीच मानिसहरूबीचको भिन्नता कसरी बताउन सक्छ? खालि कर्तव्यप्रति तिनीहरूको मनोवृत्ति र व्यवहारलाई हेर्, र समस्याहरू उत्पन्न हुँदा तिनीहरूले कामकुरालाई कुन रूपमा लिन्छन् र कस्तो व्यवहार गर्छन् भनेर हेर्। निष्ठा र मर्यादा भएका मानिसहरू आफ्नो कार्यमा सावधान, कर्तव्यपरायण र मेहनती हुन्छन् र तिनीहरू मूल्य तिर्न तयार हुन्छन्। निष्ठा र मर्यादा नभएका मानिसहरू आफ्नो कार्यमा लापरवाही र असावधान हुन्छन्, तिनीहरू सधैँ कुनै न कुनै छल गर्ने र सधैँ लटरपटर गर्दै अघि बढ्ने हुन्छन्। तिनीहरूले जुनै कार्यविधि अध्ययन गरे पनि, त्यो लगनशील भई सिक्दैनन्, र त्यो सिक्न सक्दैनन्, अनि तिनीहरू त्यो अध्ययन गर्न जति समय खर्चे पनि, तिनीहरू पूर्णतया अज्ञानी नै रहन्छन्। यिनीहरू खराब चरित्र भएका मानिस हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। “तिनीहरूले अरूलाई सकेसम्म धोका दिन्छन्,” “निष्ठा र मर्यादा नभएका,” र “खराब चरित्र”—ती वाक्यहरूको प्रत्येक वचनले मलाई मर्माहत गऱ्यो मैले आफ्नो कर्तव्य निर्वाहमा देखाएको व्यवहारबारे चिन्तन गरेँ। के मेरो कार्यप्रस्तुति ठ्याक्कै परमेश्वरले खुलासा गरेजस्तै थिएन र? मैले ब्रदर–सिस्टरहरूले बनाएका भिडियोहरूमा धेरै समस्या देख्दा, तिनीहरूलाई ती समस्या समाधान गर्न कसरी सहयोग गर्ने भनेर मनन गरेकी थिइनँ, न त तिनीहरूलाई सत्यता बुझ्न र सिद्धान्तहरूमा प्रवेश गर्न मार्गदर्शन नै गरेकी थिएँ। बरु, मेरो प्राथमिक विचार कसरी आफूलाई कम मेहनत गराउने भन्ने रहेको थियो। मैले सोचेकी थिएँ, यदि मैले प्रत्येक भिडियो सावधानीपूर्वक जाँचेँ र विस्तृत रूपमा जवाफ दिएँ भने, यो धेरै झन्झटिलो हुनेथ्यो र धेरै सोचविचार गर्नुपर्ने हुन्थ्यो। त्यसैले, मैले भिडियोहरूमा भएका समस्याहरू सङ्क्षेपमा मात्र उल्लेख गरेँ, तर तिनीहरूसँग सिद्धान्तहरूबारे सङ्गति गरिनँ, न त व्यावहारिक समाधानहरू नै औँल्याएँ। फलस्वरूप, मेरो सुझावहरू पढेपछि ब्रदर–सिस्टरहरूलाई नकारात्मक महसुस भएको थियो। के मैले यो गरेर अवरोध सिर्जना गरेकी थिइनँ र? त्यो अर्को भिडियो निरीक्षण गर्दा, मलाई त्यसमा केही समस्या छन् भन्ने लागेको थियो, तर आफू निश्चित नभएकाले मैले ती समस्याबारे लगनशील भएर मनन गर्न चाहिनँ। मैले आफ्ना लागि बहानासमेत बनाएँ, सोचेँ, मनन गर्नाले नतिजा आउँछ नै भन्ने छैन। सिस्टरले मभन्दा राम्रोसँग सिद्धान्तहरू बुझ्थिन्। उनले समेत ठिकै हो भनेपछि, त्यहाँ कुनै ठुलो समस्या नहुनुपर्ने। मैले मनन गर्नाले कुनै नतिजा नआउला भनेर निष्कर्ष निकाल्नअघि जवाफ खोज्न साँच्चै मेहनत गरेकी थिइनँ। के म केवल धूर्त र सुस्त भएकी थिइनँ? म साँच्चै छली भएकी थिएँ! कर्तव्यप्रतिको मेरो यो मनोवृत्ति परमेश्वरले खुलासा गरेजस्तै थियो: “जबसम्म म खुलासा हुनबाट बच्न सक्छु र मैले कुनै समस्या खडा गर्दिनँ र मलाई जवाफदेही बनाइँदैन, तबसम्म म झारा टार्दै अघि बढ्न सक्छु। मैले निकै राम्रो काम गर्नुपर्दैन, त्यसो गर्दा ज्यादै दु:ख हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। ती वचनहरूले मलाई ठ्याक्कै वर्णन गरे। मैले प्रत्येक दिन स्वचालित रूपमा काम गरेकी थिएँ। म शारीरिक कष्टबाट बच्नु र जसोतसो जीवन धान्नुमै सन्तुष्ट थिएँ। मैले मेरा ब्रदर–सिस्टरहरूको कठिनाइहरूलाई कहिल्यै विचार गरिनँ, न त आफ्नो कर्तव्य यसरी गर्नु प्रभावकारी छ कि छैन भनेर नै विचार गरेँ। यदि मैले झारा टार्न सकेमा, म त्यसै गर्थेँ, आफ्नो कर्तव्यप्रति कुनै वफादारी देखाउँदिनथेँ। यस्तो मनोवृत्तिले गर्दा, म अत्यन्त अभरपर्दो भएकी थिएँ, यो “निष्ठा र मर्यादा नभएका,” र “खराब चरित्र भएका मानिस” भनेर परमेश्वरले भनेजस्तै थियो। यो कुनै बढाइचढाइ थिएन। मलाई गहिरो दुःख र पछुतो लाग्यो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, कर्तव्यप्रतिको मेरो मनोवृत्ति अत्यन्तै हल्का र पूर्ण रूपमा गैरजिम्मेवार छ। म अब यो तुच्छ जीवन जिउन चाहन्नँ। म आफ्नो देहविरुद्ध विद्रोह गर्न, लगनशील र गम्भीर हुन, र मेरो कर्तव्य राम्रोसँग गर्नका लागि मूल्य चुकाउन इच्छुक छु।”
प्रार्थना गरेपछि, मैले परमेश्वरका केही वचन पढेँ र उहाँका मागहरूबारे अझ राम्रो बुझाइ प्राप्त गरेँ। परमेश्वर भन्नुहुन्छ: “कुनै कर्तव्य पूरा गर्दा, व्यक्तिले कर्तव्यनिष्ठ, कठोर, होसियार र जिम्मेवार हुन सिक्नुपर्छ, र उसले त्यसलाई पूर्णतः व्यावहारिक तरिकाले पूरा गर्न, अर्थात्, एक-एक पाइला गरी गर्न सिक्नुपर्छ। आफूले त्यो कर्तव्यमा कस्तो गरेको छु भन्ने कुरामा सन्तुष्ट नहुन्जेल उसले त्यो कर्तव्य राम्ररी पूरा गर्न आफ्नो सारा सामर्थ्य लगाउनैपर्छ। यदि व्यक्तिले सत्यता बुझ्दैन भने, उसले सिद्धान्तहरू खोज्नुपर्छ, र ती सिद्धान्त र परमेश्वरका मागहरूअनुसार कार्य गर्नुपर्छ; उसले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नका लागि स्वेच्छाले अझ बढी मेहनत लगाउनुपर्छ, र त्यसलाई कहिल्यै झाराटारुवा तरिकाले गर्नु हुँदैन। यसरी अभ्यास गरेर मात्र व्यक्तिले विवेकको निन्दा नखेपी आफ्नो हृदयमा शान्ति महसुस गर्न सक्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। परमेश्वर हामीलाई आफ्नो कर्तव्यमा दृढ रहौँ, आफूले गर्ने हरेक कुरामा विवेकपूर्ण र जिम्मेवार मनोवृत्ति राखौँ, सत्यता सिद्धान्तहरू खोजौँ, र उत्कृष्ट प्रयास गरौँ भन्ने माग गर्नुहुन्छ। मैले अब म अब झाराटारुवा हुन मिल्दैन भन्ने बुझेँ। मैले परमेश्वरका मागलाई व्यवहारमा उतार्नुपर्छ, प्रत्येक भिडियो सावधानीपूर्वक निरीक्षण गर्नुपर्छ र समस्याहरूमा विस्तृत, सिद्धान्त–आधारित मार्गदर्शन प्रदान गर्नुपर्छ। यसमा अलि बढी शारीरिक कष्ट र सोचाइ चाहिने भए पनि, यदि यसले मेरो कर्तव्यमा राम्रो नतिजा ल्याएको भए, त्यो सार्थक थियो। त्यसपछि, मैले मेरा ब्रदर–सिस्टरहरूका समस्याहरू निरीक्षण र तीप्रति प्रतिक्रिया जनाउँदै, उत्कृष्ट नतिजा हासिल गर्न आफूलाई कसरी व्यक्त गर्ने भनेर मनन गरेँ। यो तरिका लागू गर्दा, मलाई धेरै थकान महसुस भएन, र म सिद्धान्तहरूमा झन् गहिरिएर प्रवेश गर्न सकेँ। तर, मेरो असाध्यै भ्रष्ट स्वभाव र शारीरिक सुखको अत्यधिक चाहनाले गर्दा, जटिल समस्याहरू सामना गर्दा म अझै पनि निकासको सजिलो बाटो लिन र झारा टार्न प्रलोभित हुन्थेँ।
एकचोटि, एउटा भिडियो निरीक्षण गर्दा, मैले केही समस्या देखेँ जुन सम्बोधन गर्न चुनौतीपूर्ण थिए। मैले सोचेँ, “यदि मैले सुझाव दिएँ भने, मैले समाधान भेट्टाउन पहिले अध्ययन र अनुसन्धान गर्नुपर्छ। त्यो झन्झटिलो हुनेछ। यो सोच्दा मात्र टाउको दुख्छ! यदि मैले त्यसमा धेरै समय खर्चेँ र पनि समाधान निकाल्न सकिनँ भने, के त्यो मेहनतको बरबादी हुनेछैन र? त्यो बिर्सिदिऊँ। म अहिलेलाई अन्य भिडियोहरूमा ध्यान दिनेछु र यिनलाई पछि समय हुँदा सम्हाल्छु।” केही समयपछि, हाम्रा अगुवाहरूले हाम्रो भिडियो कार्यको प्रभावकारितामा कमी आएको देखे, र विगत तीन महिनादेखि ब्रदर–सिस्टरहरूले पेस गरेका भिडियोहरू पुनः जाँच गरे। उनीहरूले धेरै भिडियोहरू सम्बोधन नगरिएका, र हामीले तिनलाई तुरुन्तै नसम्हालेको, अनि ब्रदर–सिस्टरहरूलाई सिद्धान्तहरूअनुसार ती संशोधन गर्न मार्गदर्शन नगरेको जसले गर्दा भिडियो काममा धेरै ढिलाइ भएको पाए। यो नतिजा देखेर म स्तब्ध भएँ। के यो सब आफ्नो कर्तव्यप्रति मेरो उपेक्षापूर्ण र झाराटारुवा दृष्टिकोणले गर्दा भएको थिएन र? म आफ्नो हृदयको भावनालाई वर्णन गर्न सक्थिनथेँ। मलाई सासै फेर्न गार्हो हुनेगरी छातीमा ढुङ्गाले थिचेजस्तो भयो। पछि, मैले परमेश्वरका वचनको यो खण्ड पढेँ: “परमेश्वरका आज्ञाहरूलाई तैँले कसरी लिन्छस् भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ, र त्यो एकदमै गम्भीर विषय हो! यदि परमेश्वरले मानिसहरूलाई सुम्पनुभएको कुरा तैँले पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तँलाई सजाय दिइनुपर्छ। परमेश्वरले सुम्पनुभएका आज्ञाहरूलाई मानिसहरूले पूरा गर्नुपर्छ भन्ने कुरा पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो। यो मान्छेको सर्वोच्च उत्तरदायित्व हो, र यो कुरा तिनीहरूको जीवन जत्तिकै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्वरका आज्ञाहरूलाई गम्भीरताका साथ लिँदैनस् भने तैँले उहाँलाई सबैभन्दा घोर रूपले धोका दिइरहेको हुन्छस्। यसमा, तँ यहूदाभन्दा पनि बढी विलापमय हुन्छस्, र तँ श्रापित हुनुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्वरका यी वचनहरू पढ्दा, मलाई परमेश्वरको धार्मिक स्वभाव अनुभूत भयो। यदि मैले आफ्नो कर्तव्यलाई हल्का मनोवृत्तिले—सधैँ झाराटारुवा र धूर्त, अनि सुस्त हुने—लिएकी भए यसले परमेश्वरप्रतिको गम्भीर विश्वासघातलाई सङ्केत गर्थ्यो, र म परमेश्वरको उपस्थितिमा हुन अयोग्य, अनि श्राप र दण्ड पाउनयोग्य हुन्थेँ। आफू खतरनाक स्थितिमा छु भन्ने लागेर म डराएँ। मण्डलीले मलाई भिडियो निरीक्षण गर्ने बन्दोबस्त गरेका बारेमा सोच्दा, मैले यस कामलाई आफ्नो सम्पूर्ण हृदय र शक्ति लगाएर राम्रोसँग गर्छु भन्ने आशा थियो। तर म आफ्नो कर्तव्यमा धूर्त भएकी थिएँ र मैले सुस्त हुने तरिकाहरू खोजेँ। आफूले नबुझ्ने वा छर्लङ्ग देख्न नसक्ने समस्याहरू सामना गर्दा, मैले तिनलाई लगनशील भई मनन गर्न सकिनँ। बरु, धेरै मेहनत र सोचाइ आवश्यक पर्ने समस्याहरू सामना गर्दा, मैले आफूलाई समस्याबाट बचाएर भिडियोहरूलाई पन्छाउने छनौट गरेँ, म तुरुन्तै अनुसन्धान र अध्ययन गर्न, टोलीका अन्य सदस्यहरूलाई मार्गदर्शन गर्न सम्बन्धित सिद्धान्तहरू खोज्न असफल भएँ। मैले आफ्ना जिम्मेवारीहरू पूरा गरेकी थिइनँ। मैले गरेको कुराले भिडियो काममा पूर्ण रूपमा व्यवधान ल्यायो। आफूले यो कर्तव्य पहिलोपटक लिँदाको समयबारे सोच्दा, मैले परमेश्वरसामु यो कर्तव्य निभाउने अवसरको कदर गर्ने र परमेश्वरको प्रेमको ऋण चुकाउन बफादार हुने सङ्कल्प गरेँ। तर अब, मैले जसोतसो जीवन धान्न सकेकी भए, म कुनै जिम्मेवारीको बोधविना त्यसै गर्थे। के यो परमेश्वरप्रति निर्लज्ज छल थिएन र? मैले साँच्चै परमेश्वरलाई निराश बनाएकी थिए र म भरपर्दो थिइनँ! यसबारे सोच्दा मलाई पछुतो र आत्मग्लानि भयो, र परमेश्वरप्रति झन् ऋणी महसुस भयो। मैले रुँदै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरा व्यवहारले काममा रोकावट र अवरोध मात्र ल्याएका छन्। म पश्चात्ताप गर्न र आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति सच्च्याउन इच्छुक छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।”
पछि, मैले मनन गर्न थालेँ। सुरुमा, म आफ्नो कर्तव्यमा राम्रो गर्न चाहन्थेँ, तर त्यो कसरी यस्तो भयो? जवाफ खोज्ने क्रममा, मैले परमेश्वरका वचनका यी खण्डहरू भेट्टाएँ: “अल्छी मानिसहरू केही पनि गर्न सक्दैनन्। दुई शब्दमा सारांश गर्नुपर्दा, तिनीहरू निकम्मा मानिस हुन्; तिनीहरूको असक्षमता दोस्रो दर्जाको हुन्छ। अल्छी मानिसहरूको क्षमता जति नै राम्रो भए पनि, यो देखावटी कुरा मात्रै हुन्छ; तिनीहरूसँग राम्रो क्षमता भए पनि, त्यसको कुनै काम हुँदैन। तिनीहरू अत्यन्तै अल्छी हुन्छन्—तिनीहरूलाई आफूले के गर्नुपर्छ भनेर थाहा भए पनि, तिनीहरू त्यो गर्दैनन्; र तिनीहरूलाई कुनै कुरा समस्या हो भनेर थाहा भए पनि, तिनीहरू यसलाई समाधान गर्न सत्यता खोजी गर्दैनन्; र काम प्रभावकारी हुनका लागि तिनीहरूले के-कस्ता कठिनाइहरू भोग्नुपर्छ भनेर तिनीहरूलाई थाहा भए पनि, तिनीहरू यी सार्थक कठिनाइहरू सहन इच्छुक हुँदैनन्—त्यसैले तिनीहरू कुनै सत्यता प्राप्त गर्न सक्दैनन्, र कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरू मानिसहरूले सहनुपर्ने कठिनाइ सहन चाहँदैनन्; तिनीहरूलाई सुख-सयलमा लिप्त हुन, खुसी र फुर्सतको समयको आनन्द उठाउन, अनि स्वतन्त्र र तनावरहित जीवनको आनन्द उठाउन मात्रै आउँछ। के तिनीहरू बेकामका हुँदैनन् र? कठिनाइ सहन नसक्ने मानिसहरू जिउन लायक हुँदैनन्। सधैँ परजीवी जीवन जिउन चाहनेहरू विवेक वा समझ नभएका मानिस हुन्; तिनीहरू पशु हुन् र त्यस्ता मानिसहरू श्रम गर्नसमेत योग्य हुँदैनन्। तिनीहरूले कठिनाइ सहन नसक्ने हुँदा, तिनीहरूले श्रम गरे पनि, त्यो राम्ररी गर्न सक्दैनन्, र यदि तिनीहरू सत्यता प्राप्त गर्न चाहन्छन् भने, त्यसको आशा झनै कम हुन्छ। कष्ट भोग्न नचाहने र सत्यतालाई प्रेम नगर्ने व्यक्ति रद्दी व्यक्ति हो; ऊ श्रम गर्नसमेत योग्य हुँदैन। ऊ अलिकति पनि मानवता नभएको पशु हो। त्यस्ता मानिसहरूलाई हटाउनैपर्छ; यो मात्र परमेश्वरका अभिप्रायहरूअनुरूप हुन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। “के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवं थोरै दैहिक सहजतामा जिउन पाउँदा सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्तिलाई देखेका तर यसलाई प्राप्त गर्नको लागि खोजी नगर्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; देहमा लिप्त हुने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्वरमाथिको तेरो विश्वासमा तँ कुनै पनि चुनौती वा संकष्टहरू, वा थोरै पनि कष्ट नआओस् भन्ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरूको खोजी गर्छस् जुन व्यर्थ छन्, र तैँले जीवनलाई कुनै मूल्यको ठान्दैनस्, बरु सत्यताको सट्टा आफ्नै अनावश्यक विचारहरूलाई अघि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्नता छ र? सत्यताको खोजी नगरेर देहलाई प्रेम गर्नेहरू सबै नै पशुहरू होइनन् र? आत्माविहीन रहेका मृत मानिसहरू सबै जिउँदो लासहरू होइनन् र? तिमीहरूका माझमा कति वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै काम मात्र गरिएका छन्? तिमीहरूका माझमा मैले कति भरणपोषण गरेँ? त्यसो भए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केको बारेमा गुनासो गर्नु छ? के तैँले देहलाई अत्यन्तै धेरै प्रेम गर्ने हुनाले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के यो तेरा विचारहरू अत्यन्तै अनावश्यक भएकोले होइन र? के यो तँ अत्यन्तै मूर्ख भएकोले होइन र? यदि तँ यी आशिष्हरू प्राप्त गर्न असक्षम छस् भने, तँलाई मुक्ति नदिनुभएकोमा के तैँले परमेश्वरलाई दोष दिन सक्छस्? … सट्टामा केही पनि नमागी नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्वरमा विश्वास गर्नेहरूमध्ये एक होस्? म तँलाई साँचो मानव जीवन दिन्छु, तैपनि तँ यसलाई खोज्दैनस्। के तँ सुँगुर वा कुकुरभन्दा फरक छस् र? सुँगुरहरूले मानिसको जीवनको खोजी गर्दैनन्, तिनीहरू शुद्ध गरिने कार्यको खोजी गर्दैनन् र तिनीहरूले जीवन के हो भन्ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्न खाएपछि तिनीहरू सुत्छन्। मैले तँलाई साँचो मार्ग दिएको छु, तैपनि तैँले यसलाई प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई जारी राख्न तयार छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन तिरस्कारयोग्य र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तैँले कुनै पनि लक्ष्यहरूको खोजी गर्दैनस्; के तेरो जीवन सबैभन्दा नीच छैन र? के परमेश्वरको सामना गर्ने आँट तँसँग छ? तैँले यस्तै अनुभव गरिरहिस् भने, के तैँले केही प्राप्त गर्नेछस् र? साँचो मार्ग तँलाई दिइएको छ, तर तैँले यसलाई प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो आफ्नै व्यक्तिगत खोजीमा निर्भर हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। विगतमा, मैले कहिल्यै आफूलाई “रद्दी” वा “परनिर्भर” जस्ता शब्दसँग जोडिनँ, झन् परमेश्वरका नजरमा मेरो व्यवहार सुँगुर र कुकरबीच भिन्नता नछुट्ट्याउने जिउँदो लासजस्तै हुन सक्छ भनेर कल्पना गर्नु त परको कुरा थियो। यो हृदयविदारक र दुःखद थियो। तर परमेश्वरका वचनहरूले खुलासा गरेका कुरा ठ्याक्कै मेरो व्यवहार थियो। मैले शारीरिक सुखको आनन्दलाई आफ्नो लक्ष्यका रूपमा लिइरहेकी थिएँ, सधैँ सजिलो र आरामदायी जीवन खोजिरहेकी थिएँ। आफ्ना कर्तव्यमा कठिनाइहरू सामना गर्दा, मैले मेहनत गर्नुपर्ने र मूल्य चुकाउनुपर्ने भयो, मैले धुर्त्याइँ र अल्सीपनको सहारा लिएँ। म जीवन धान्न झारा टार्थेँ वा भिडियोहरूलाई बेवास्ता गर्थेँ र तिनलाई सम्बोधन नगरी छोड्थेँ, जे गर्नाले मेहनत बच्थ्यो, त्यही गर्थेँ। मैले आफ्ना जिम्मेवारीहरू पूरा गर्न असफल भएँ, र काममा ढिलाइ गराएँ। के म ठ्याक्कै रद्दी र अरूको भरमा जिउने परजीवी थिइनँ र? म यस स्थितिमा पर्नुको कारण “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनु पर्छ”, “आजको हाला आजै खाला,” र “जीवन छँदै मोज गर” जस्ता शैतानी विषहरूले मलाई विषाक्त र प्रभावित गरेकाले गर्दा थियो। यी विषाक्त विचारधाराहरूले मलाई शारीरिक सुखलाई अरू सबै कुराभन्दा माथि राख्न डोऱ्याए म थकित वा तनावग्रस्त नहुने मात्र सुनिश्चित गरे। मैले आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गरेँ कि गरिनँ, वा मैले आफ्नो कर्तव्य कसरी पूरा गरेँ भनेर परमेश्वरले अनुमोदन गर्नुभयो कि भएन भन्ने सन्दर्भमा, मैले पटक्कै वास्ता गरिनँ। यी विषअनुसार जिउँदा म झन्-झन् स्वार्थी र पतित भएँ, ममा सकारात्मक कुराहरू पछ्याउने कुनै सङ्कल्प थिएन। यस तरिकाले मेरो जीवनलाई सहज बनाए पनि, यसले कुनै वृद्धि वा लाभ ल्याएन। बरु, त्यसले काममा व्यवधान ल्यायो, र अपराध गरायो। शारीरिक सुखमा लिप्त हुनु आफूलाई बरबाद गर्नु समान हो!
पछि, मलाई टोली अगुवा चुनियो। त्यतिबेला, दुई सिस्टरले भर्खरै भिडियो बनाउने अभ्यास थालेका थिए। मैले आफ्नै भिडियो बनाउनुको अतिरिक्त, मैले तिनीहरूको काममा मार्गदर्शन गर्नुपर्यो र समूहको समग्र कामलाई व्यवस्थापन गर्नुपर्यो। कहिलेकाहीँ, केही भिडियोहरूमा जटिल समस्याहरू देख्दा, म फेरि सजिलो बाटो लिने सोच्थेँ। मैले सोचेँ, “यदि म प्रत्येक समस्याका लागि सिद्धान्तहरू खोज्न र मनन गर्नतिर लागेँ भने, यसमा धेरै सोचविचार गर्नुपर्ने हुन्छ। मैले हालमा भएका यी सबै काम कहिले सकाउने? त्यसबारे सोच्दा मात्र मलाई थकित महसुस हुन्छ। यो धेरै झन्झटिलो छ! सायद म यति सावधान हुनु पर्दैन। यदि त्यो स्वीकार्य देखिन्छ भने, त्यतिले पुग्नुपर्ने हो।” मैले आफू फेरि शारीरिक सुख खोज्दै छु भन्ने बुझेँ। आफ्नो कर्तव्यप्रति नोआको मनोवृत्ति सम्झँदा, मैले परमेश्वरका सम्बन्धित वचनहरू खोजेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले नोआलाई ठूलो जहाज बनाउने काम सुम्पनुभएदेखि, ‘परमेश्वरले कहिले संसार नष्ट गर्दै हुनुहुन्छ? उहाँले त्यसो गर्ने सङ्केत मलाई कहिले दिँदै हुनुहुन्छ?’ भनेर उनले एक पल पनि सोचेनन्। नोआले यस्ता कुरामा चिन्तन गर्नुभन्दा परमेश्वरले उनलाई भन्नुभएको प्रत्येक कुरालाई हृदयमा लिए र त्यसपछि प्रत्येकलाई कार्यान्वयन गरे। परमेश्वरले सुम्पनुभएको कुरा स्वीकार गरेपछि, नोआले अलिकति पनि लापरवाही नगरी परमेश्वरले भन्नुभएको ठूलो जहाज निर्माण गर्न थाले, मानौँ यो उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। दिनहरू बिते, वर्षहरू बिते, आज भोलि बन्यो, यो वर्ष अर्को वर्ष भयो। परमेश्वरले नोआलाई कहिल्यै निरीक्षण गर्नुभएन, र हौसला दिनुभएन, तर यो सम्पूर्ण समयभरि नोआ परमेश्वरले सुम्पनुभएको महत्त्वपूर्ण काममा लागिरहे। परमेश्वरले भन्नुभएको एकएक शब्द र वाक्यांश ढुङ्गाको पाटीमा कुँदिएका शब्दजस्तै नोआको हृदयमा अङ्कित भएका थिए। बाहिरी संसारमा जे-जस्ता परिवर्तनहरू भए पनि, उनका वरपरका मानिसहरूले खिसीटिउरी गरे पनि, जस्तोसुकै दुःखकष्ट आइपरे पनि वा जस्तोसुकै समस्याको सामना गर्नुपरे पनि, उनी यो सम्पूर्ण समयभरि परमेश्वरद्वारा सुम्पिइएको काममा कहिल्यै निराश नभई वा लत्तो छोड्ने सोच नराखी लागिरहे। परमेश्वरका वचनहरू नोआको हृदयमा अङ्कित भएका थिए, र ती उनको जीवनका वास्तविकता बनेका थिए। … नोआले पालन गर्नुपर्ने र पूरा गर्नुपर्ने त्योभन्दा उच्च निर्देशन उनको हृदयमा अरू थिएन: परमेश्वरका वचनहरू उनको जीवनभरिका निर्देशन र लक्ष्य थिए। त्यसैले, परमेश्वरले उनलाई जेसुकै भन्नुभए पनि, जेसुकै गर्न अह्राउनुभए पनि, जेसुकै गर्न आज्ञा दिनुभए पनि, नोआले त्यस कुरालाई पूर्ण रूपमा स्वीकार गरे, र त्यसलाई हृदयमा राखे; उनले यसलाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा ठाने, र त्यहीअनुसार सम्हाले। उनले त्यो कुरा नबिर्सने र त्यसलाई मनमा राख्ने मात्र गरेनन्, उनले त त्यसलाई आफ्नो दैनिक जीवनमा समेत कार्यान्वयन गरे, आफ्नो जीवन प्रयोग गरेर परमेश्वरको आज्ञा सिविकारे र कार्यान्वयन गरे। यसरी, फलेकमाथि फलेक जोड्दै त्यो ठूलो जहाजको निर्माण भयो। नोआको हरेक चाल, उनको हरेक दिन परमेश्वरका वचनहरू र आज्ञाप्रति समर्पित थियो। नोआले महत्त्वपूर्ण कार्य गरिरहेको जस्तो देखिँदैनथ्यो, तर परमेश्वरको नजरमा, नोआले गरेका सबै काम, उनले केही हासिल गर्न चालेको हरेक कदम, उनको हातले गरेको हरेक परिश्रमसमेत—ती सबै नै अनमोल र स्मरणयोग्य थिए, र यस मानिसजातिद्वारा अनुकरण गरिन लायक थिए” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट दुई: नोआ र अब्राहामले कसरी परमेश्वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग एक))। आफ्नो कर्तव्यप्रति नोआकोको मनोवृत्तिले मलाई लज्जित बनायो। जहाज बनाउन जति नै कठिन भए पनि वा जुनसुकै त्याग गर्नुपरे पनि, नोआको मनमा एकमात्र लक्ष्य थियो: परमेश्वरलाई सन्तुष्ट पार्न उहाँको आज्ञा पूरा गर्नु। यो लक्ष्य हासिल गर्न नोआले साँच्चै कष्ट सहे र मूल्य चुकाए, आवश्यक सबै सामग्री जम्मा गरे, अनि हथौडा र छिनोले एक-एक भाग गर्दै, १२० वर्ष लगातार काम गरेर जहाज बनाए। नोआको अनुभवले मलाई गहन रूपमा प्रेरणा दियो। मैले अब सुख खोज्न र आफ्नो कर्तव्य झारा टार्दै गर्न हुँदैनथ्यो। मैले प्रार्थना गर्न, परमेश्वरमा भर पर्न र आफ्नो कर्तव्यप्रति नोआको मनोवृत्ति अनुकरण गर्न आवश्यक थियो। आफ्नो कर्तव्य निर्वाहमा जति कठिनाइ भोग्नु वा मूल्य चुकाउनु परे पनि, मैले त्यो गर्न सक्दो प्रयास गर्नुपर्थ्यो। त्यसपछि, मैले आफ्नो स्थितिलाई प्रार्थनामा परमेश्वरसामु ल्याएँ। कहिलेकाहीँ मैले केही भिडियोहरूमा धेरै समस्या भेट्टाउँदा, म सुरुमा सिद्धान्तहरू लागू गरेर तिनलाई सावधानीपूर्वक मनन गर्थेँ र आफ्नो सहकर्मीसँग छलफल गर्थेँ, र त्यसपछि हाम्रा ब्रदर–सिस्टरहरूसँग संवाद गर्थेँ। केही भिडियोमा जटिल समस्याहरू सामना गर्दा, तिनलाई बेवास्ता गर्नुको सट्टा, म जानकारी खोजेर सिक्थेँ र समाधानहरू खोज्थेँ, ब्रदर–सिस्टरहरूसँग अभ्यासका मार्गबारे सक्दो सङ्गति गर्थेँ। समग्र कार्य व्यवस्थापनमा, म सबै पक्षलाई समायोजन गर्न सक्दो प्रयास पनि गर्थेँ, काममा भेटिएका कुनै विचलन वा समस्यालाई सम्बोधन गर्न सहकर्मीसँग संवाद गर्थेँ। यस तरिकाले केही समय काम गरेपछि, सिस्टर र म दुवैले केही प्रगति गऱ्यौँ। पहिले, ममा केही सिद्धान्तहरूको सतही बुझाइ मात्र थियो। तर ब्रदर–सिस्टरहरूसँगको सङ्गतिमार्फत, मैले यी समस्याहरूमा अझ गहन अन्तर्ज्ञान प्राप्त गरेँ, जसले मलाई आफ्नो विशेषज्ञ सीप सुधार्न मद्दत गऱ्यो। मलाई आफ्नो कर्तव्यमा अझ ठुलो बोझको बोध पनि महसुस भयो। त्यतिबेला मात्र मैले के बुझेँ भने हामीले कर्तव्य गर्ने प्रक्रियामा, परमेश्वर हामीलाई सत्यता सिद्धान्तहरू अलिअलि गर्दै बुझ्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्छ, हामीलाई बोझ र अभ्यासका अवसरहरू दिनुहुन्छ। हाम्रो देहले अलि कष्ट भोग्नुपर्ला, तर अन्ततः त्यसबाट हामी नै यसबाट लाभान्वित हुन्छौँ। परमेश्वरलाई धन्यवाद!