४६. सङ्कष्टबीच सुसमाचार फैलाउनमा डटिरहँदा
जून २०२२ मा, अगुवाले भर्खरै एउटा मण्डलीमा सीसीपीले छापा मारेको छ, र अब उनीहरूको सुसमाचारको काम प्रभावकारी नभएकोले मलाई पर्यवेक्षकका रूपमा त्यहाँ जान आग्रह गरे। अगुवाले पाँच-छ जना सुसमाचार कामदारहरूलाई पक्राउ गरिएको छ, र नयाँ कर्मचारीहरूलाई तुरुन्तै संवर्धन गर्न आवश्यक छ भनेर पनि बताए। म अलि चिन्तित भएँ, र सोचेँ, “मलाई सीसीपीले पहिले नै खेदो गरिरहेको छ, र म लगभग दुईपटक झन्डै पक्राउ परेकी छु। यदि म त्यहाँ गएर खुला रूपमा प्रस्तुत भएँ भने, के मलाई प्रहरीले निगरानी गरेर गिरफ्तार गर्नेछ? यदि मलाई गिरफ्तार गरियो, यातना दिइयो, कुटेर मारियो, वा मैले प्रहरीको दबाब र प्रलोभन सहन नसकेर परमेश्वरलाई धोका दिएँ भने त, परमेश्वरप्रतिको मेरो आस्थाको यात्रा पूर्ण रूपमा समाप्त हुनेछ।” यो सोचेर, मैले स्वीकार्न चाहिनँ, तर मलाई अलि दोषी महसुस भयो, सोचेँ, “मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएकी छु, तर आखिरमा, अझै म सधैँ आफ्नै हितलाई विचार गर्छु। म साँच्चै विद्रोही रहेछु! मैले आफ्नो हितको रक्षा गरिरहन मिल्दैन।” यो कुरा विचार गरेर, म समर्पित भएँ र यो कर्तव्य स्विकारेँ।
त्यस मण्डलीमा आइपुगेपछि, मैले सुसमाचार प्रचारकहरू सबै डरको स्थितिमा जिइरहेकाले सुसमाचारको काम प्रभावहीन छ भन्ने थाहा पाएँ। मैले ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्न परमेश्वरका केही वचन तुरुन्तै खोजेर, उनीहरूलाई परमेश्वरको अख्तियार, मानव जीवन र मृत्यु परमेश्वरका हातमा छन् र सुसमाचार फैलाउनु हाम्रो मिशन हो भन्नेजस्ता सत्यताहरू बुझ्न मद्दत गरेँ। यो सुनेपछि, सबैको विश्वास बलियो भयो, उनीहरूले आफ्नो स्वार्थीपन र नीचता चिने, उनीहरूलाई पछुतो लाग्यो, र उनीहरू परिस्थिति उल्ट्याउन र सुसमाचारको काम उचित रूपमा गर्न इच्छुक भए। मलाई परमेश्वरप्रति एकदमै कृतज्ञता महसुस भयो। केही समयपछि, सुसमाचारको काममा सुधार आयो। तर अप्रत्याशित रूपमा, पाँच महिनापछि, थप केही ब्रदर-सिस्टरहरूको बाटो पछ्याएर गिरफ्तार गरियो। हाम्रा भेलाहरू आयोजना गर्ने सिस्टरलाई पनि प्रहरीले सोधपुछ गऱ्यो। त्यसपछि अगुवाले हालै मसँग सम्पर्कमा रहेका सहकर्मीहरू सबै गिरफ्तार भएका छन्, र अब म पनि खतरामा छु, र मैले चाँडै यो ठाउँ छोड्नुपर्छ भन्दै पत्र पठाए। पत्र पढेपछि म अलि आत्तिएँ, र सोचेँ, “भर्खरै, म यी सहकर्मीहरूसँग प्रायः निरन्तर बाहिर गएकी छु, सुसमाचार प्रचार गरेकी छु। अब उनीहरू सबै गिरफ्तार भएका छन्, यदि प्रहरीले उनीहरूको निगरानी रेकर्ड चेक गऱ्यो भने, तिनीहरूले मलाई पक्कै भेट्टाउनेछन्। म लुक्नुपर्छ! म प्रहरीको हातमा पर्नु हुँदैन!” मैले कसरी प्रहरी हरेक वर्ष मेरो घरमा म कहाँ छु भनेर सोधपुछ गर्न जाने गरेको, र यदि म यसपटक साँच्चै पक्राउ परेँ भने, तिनीहरूले मलाई पक्कै छोड्नैछैनन् भन्नेबारे सोचेँ। यदि मैले यातना र दबाब सहन सकिनँ र परमेश्वरलाई धोका दिएँ भने, अन्त्यमा, मेरो शरीर मात्र दण्डित हुनेथिएन, तर मेरो आत्मा पनि नर्कमा जानेथियो। त्यसैले, मैले पहिले लुक्नु र आफ्नो सुरक्षा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने निर्णय गरेँ। मैले तुरुन्तै सबै अनुगमन कार्य अगुवालाई हस्तान्तरण गरेँ, मैले मेरो प्रचार आवश्यक पर्ने सुसमाचार स्विकार्ने सम्भावना भएकाहरू र मैले मलजल गर्नुपर्ने नयाँ विश्वासीहरू छन् भन्ने थाहा पाएकी भए पनि, मैले यी कुराहरूलाई मनबाट निकालेँ।
पछि, मैले धेरै ब्रदर-सिस्टरले सुसमाचार फैलाइरहेका छन् र आफ्ना कर्तव्य गरिरहेका छन् भन्ने सुनेँ, अनि मैले आफूलाई हेरेँ, जसले गिरफ्तारीको डरले सुसमाचार फैलाउने वा परमेश्वरको गवाही दिने आँट गरेन। मैले आफैलाई सोधेँ, के म महासङ्कष्टमा प्रकट भएका सामाहरूमध्ये एक होइन र? मैले यसबारे जति सोचेँ, त्यति नै म दुःखी भएँ। मैले खान वा सुत्न सकिनँ, अनि सोचेँ, “म किन परमेश्वरमा विश्वास गर्छु? अहिले म प्रहरीको गिरफ्तारीबाट बच्न दयनीय जीवन जिइरहेकी छु, र सुसमाचार विस्तार गर्न आवश्यक परेको बेला, म अघि सर्दिनँ र ममा कुनै गवाही छैन। मैले आफ्नो कर्तव्यलाई साँच्चै बेवास्ता गरिरहेकी छु!” मैले परमेश्वरका यी वचनहरू पढेँ: “मैले अहिले चाहने भनेको तेरो बफादारी र समर्पण, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तेरो बफादारी र समर्पण। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारी र समर्पणमा रहन्छ भन्ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै समर्पित हुनु हो। मैले मेरो कामको अर्को चरण सुरु गर्न अघि, तैँले मेरो निम्ति कसरी साक्षी दिनेछस्? तँ मप्रति कसरी बफादार र समर्पित हुनेछस्? के तँ आफ्ना सबै बफादारीता आफ्नै काममा अर्पण गर्छस् कि हरेस खान्छस्? तँ (मृत्यु वा विनाश नै आइपरे पनि) मेरो हरेक प्रबन्धको अधीनमा रहन्छस् कि मेरो सजायबाट बच्न बीचैबाट भाग्छस्? तँ मेरो साक्षी दिने बन्, मप्रति बफादार र समर्पित बन् भनेर म तँलाई सजाय दिन्छु। यति मात्र कहाँ हो र, हालको सजाय मेरो कामको अर्को चरण प्रकट गर्नु र कामलाई निर्बाध रूपमा अघि बढ्न दिनको लागि हो। त्यसैले, म तँलाई बुद्धिमान बन् अनि आफ्नो जीवनलाई अनि आफ्नो अस्तित्वलाई निकम्मा बालुवाको रूपमा व्यवहार नगर् भन्ने उत्साह दिन्छु। आउनेवाला मेरो काम ठ्याक्कै कस्तो हुनेछ भनी के तैँले जान्न सक्छस्? आउने दिनमा म कसरी काम गर्नेछु र मेरो काम कसरी प्रकट हुनेछ भन्ने के तँ जान्दछस्? तैँले मेरो कामप्रतिको तेरो अनुभवको महत्त्व र मप्रति तेरो विश्वासको महत्त्वलाई जान्नुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्वरका वचनहरूले अचानक मलाई ब्युँझाए। साँचो हो, परमेश्वर मानिसहरूको बफादारी र समर्पण चाहनुहुन्छ, अनि शैतानलाई पराजित गर्न पनि मानिसहरूकै बफादारी आवश्यक हुन्छ। तर मेरा सहकर्मीहरू गिरफ्तार भएको थाहा पाएपछि, प्रहरीले निगरानी रेकर्डहरू जाँच्नेछ र मलाई फेला पार्नेछ भनेर म चिन्तित भएँ, त्यसैले म आफ्नै सुरक्षालाई ध्यान दिँदै लुकेँ, अनि मैले सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूप्रति कुनै चासो नदिई वा जिम्मेवारी बोध नगरी बेवास्ता गरेँ। विपत्ति एकदमै ठूलो भइसकेको थियो, तर कतिपय सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूले अझै परमेश्वरको सुसमाचार सुनेका थिएनन्, र नयाँ विश्वासीहरूले अझै जरा गाडेका थिएनन् र तिनीहरू तर्केर जाने जोखिममा थिए, तर मैले कुनै चासो नलिई तिनीहरूलाई त्यागेँ। म साँच्चै भरोसायोग्य थिइनँ। म सधैँ आफू परमेश्वरप्रति वफादार हुनैपर्छ भन्थेँ, तर तथ्यहरू सामना गर्दा, खुलासा भए। मैले पहिले भनेका कुराहरू परमेश्वरलाई छक्याउने झुट थिए। परमेश्वर उहाँका वचनहरू सुन्न सक्ने र सधैँ उहाँतर्फ बफादार हुन सक्ने मानिसहरू चाहनुहुन्छ, तर मैले सानो खतरा सामना गर्दा आफ्नो कर्तव्य त्यागेँ र लुकेँ, नयाँ विश्वासीहरूको जीवनलाई असर पर्छ कि पर्दैन भनेर वास्ता गरिनँ। मैले सङ्कष्ट र परीक्षाको बेला मसँग बफादारी वा गवाही नभएको देखेँ। मैले परमेश्वरलाई त्यस्तो निराश पारेँ! मैले अय्यूबलाई सम्झेँ, उनको अपार सम्पत्ति एकै रातमा डाँकुहरूले लुटे, र उनको शरीरभरि खटिरा आयो, उनकी श्रीमतीले उनलाई परमेश्वर त्याग्नसमेत आग्रह गरिन्, तैपनि उनले यस्तो शारीरिक र मानसिक रूपले पीडादायी परीक्षाहरूमा परमेश्वरलाई दोष दिनुभन्दा आफैलाई सराप्न रुचाए, अनि उनी आफ्नो गवाहीमा दृढ रहे, अन्ततः उनले शैतानलाई लज्जित पारे र पराजित गरे। मैले अब्राहामलाई पनि सम्झेँ, जसले परमेश्वरप्रति पूर्ण समर्पण देखाउँदै परमेश्वरलाई चढाउनका लागि आफ्नो छोरालाई मार्न आफ्नै हातले चक्कु उठाए। तुलना गर्दा, ममा न त बफादारी थियो न त समर्पण नै। मैले परमेश्वरलाई पश्चात्ताप गर्नुपर्थ्यो, अय्यूब र अब्राहामको उदाहरण पछ्याउनुपर्थ्यो, र मलाई पक्रे पनि, यातना दिइए पनि र मैले आफ्नो ज्यान गुमाए पनि, म आफ्नो गवाहीमा दृढ रहनुपर्थ्यो र मैले शैतानलाई लज्जित तुल्याउनुपर्थ्यो। यी कुराहरू विचार गर्दा, मैले विश्वास र बल प्राप्त गरेँ, र मैले म सुसमाचार फैलाउन अर्को मण्डलीमा सर्न सक्छु भन्दै अगुवालाई तुरन्तै पत्र लेखेँ।
पछि, म शु गुआङ मण्डली गएँ। तर एक महिनापछि, त्यो ठूलो रातो अजिङ्गरले शु गुआङ मण्डलीमा पनि आफ्नो पञ्जा फैलायो, र एकै झपटमा एक दर्जन ब्रदर-सिस्टरलाई गिरफ्तार गऱ्यो। त्यसपछि मैले कसैले हामीलाई यहूदाका रूपमा धोका दिएको छ, र प्रहरीले एउटी सिस्टरको तस्बिर प्रयोग गरेर त्यस यहूदालाई ती सिस्टर चिन्न लगाएको छ भन्ने सुनेँ। सोचेँ, यी सिस्टर मसँग प्रायजसो हुन्थिन्, र यदि उनको फोटो प्रहरीसँग छ भने, के तिनीहरूसँग मेरो फोटो पनि नहोला त? यदि प्रहरीले उनलाई पत्ता लगायो भने, म पनि फस्नेछु। मैले के पनि बुझेँ भने म स्थानीय नभएकाले, यदि म पक्राउ परेँ भने, सजाय झनै कडा हुनेछ, त्यसैले म खुला रूपले बाहिर जान जोगिनुपर्छ, नत्र भने अब पक्राउ पर्ने व्यक्ति मै हुन सक्छु। त्यसैले, म सुसमाचारको काम गर्न मण्डली जान छोडेँ। पछि, मलाई पछिल्लोपटक मण्डली सहकर्मीहरू गिरफ्तार भएकाले, कसरी म डरले बीस दिनभन्दा बढी लुकेकी थिएँ, काममा ढिलाइ गरेकी थिएँ भनेर अचानक याद आयो। यदि म हरेकपटक समस्याको अलिकति सङ्केत पाउँदासमेत लुकेकी भए, मैले कसरी सुसमाचार फैलाउन सक्थेँ र? यो सोच्दा, मेरो विवेक दोषी भावनाले भरियो। सङ्कष्ट सामना गर्दा, मैले मण्डलीको कामको कसरी रक्षा गर्ने भनेर सोचिनँ, तर आफ्नै सुरक्षाबारे मात्र सोचेँ। म साँच्चै स्वार्थी र घृणित भएकी थिएँ! पछि, मैले कसरी बफादार हुने र आफ्नो कर्तव्य राम्ररी गर्ने भन्नेबारे सङ्गति गर्न ब्रदर-सिस्टरहरूसँग भेट्न थालेँ।
केही समयपछि, सीसीपीले अझ धेरै मण्डलीहरूमा छापा माऱ्यो, र प्रहरीले हामी भेला भइरहेको घरलाई पनि निगरानी गर्न थाल्यो। भेला हुने उपयुक्त ठाउँ नभएकाले, हामी अस्थायी स्थानहरूमा, या त धेरै समयदेखिको बेवारिसे घरहरू वा कब्रस्ताननजिकै भेला हुनुपऱ्यो, एक दिन, हामी फेरि एउटा पुरानो घरमा भेला भइरहेको बेला, एक जना सिस्टर हतारिँदै दौडिएर आइन् र भनिन्, “यो ठाउँ अब सुरक्षित छैन। हिजो, पचासभन्दा बढी प्रहरीहरू घरहरू खानतलासी गर्न आए, र परमेश्वरका वचनका पुस्तकहरू भण्डारण गर्ने धेरै घरमा खानतलास गरियो। प्रहरीले अझै पनि सडकमा गाडी रोकेर निरीक्षण गरिरहेको छ!” यो सुनेर मेरो मुटु बेस्सरी ढुकढुक हुन थाल्यो, र सोचेँ, “सीसीपीले आफूले विश्वासीहरूलाई समातेमा उनीहरूलाई कुटेर मार्ने र उनीहरू न्याय नपाई मर्नेछन् भन्ने धम्की दिएका छन्, त्यसैले तिनीहरूका हातमा पर्नु भनेको लगभग मृत्यु निश्चित हुनु हो! मलाई सधैँ सीसीपीले खेदो गर्दै आएको छ, त्यसैले यदि तिनीहरूले मलाई समाते भने, पक्कै पनि कुटेर मार्नेछन्।” यो सोचेर, म फेरि पछि हटेँ र सुसमाचार फैलाउने आँट गरिनँ। पछि, मैले परमेश्वरका यी वचनहरू पढेँ: “प्रभु येशूका यी चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, कतिलाई घोडामा बाँधेर घिस्स्याइयो, कतिलाई उँधोमुन्टो क्रूसमा टाँगियो, कतिलाई पाँचवटा घोडाले तानेर हातखुट्टा र टाउको चुडाइँयो—तिनीहरूले हरकिसिमको मृत्यु भोगे। तिनीहरूको मृत्युको कारण के थियो? के तिनीहरूलाई तिनीहरूको अपराधका निम्ति कानुनअनुसार दण्ड दिइयो? दिइएन। प्रभुको सुसमाचार प्रचार गरेका कारण तिनीहरूलाई निन्दा गरियो, कुटियो, हप्काइयो, र मारियो र संसारका मानिसहरूले तिनीहरूलाई इन्कार गरे—तिनीहरू त्यसरी नै शहीद भए। … वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; यो मानिसको संसारबाट प्रस्थान गर्ने तिनीहरूको आफ्नो माध्यम थियो, तापनि यसको अर्थ तिनीहरूको परिणाम एकै प्रकारको थियो भन्ने होइन। तिनीहरूको मृत्यु र प्रस्थानको माध्यम चाहे जे नै भए पनि, र त्यो जसरी भए पनि परमेश्वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यसरी परिभाषित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले यस संसारलाई दोषी ठहराउन र परमेश्वरका कामहरूको गवाही दिन ठ्याक्कै तिनै माध्यमहरूको प्रयोग गरे। यी सृष्टि गरिएका प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान् जीवन प्रयोग गरे—तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण परमेश्वरका कार्यहरूको गवाही दिनका लागि, परमेश्वरको महान् शक्तिको गवाही दिनका लागि, र शैतान र संसारलाई परमेश्वरका कार्यहरू सही छन्, प्रभु येशू परमेश्वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्नका लागि प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले गर्नुभएको सारा मानवजातिलाई छुटकारा दिने कामले यस मानवजातिलाई निरन्तर जिउन दिन्छ भनी संसारलाई घोषणा गर्न, मानवजातिको अगि पुष्टि गर्न आफ्नो जीवनको प्रयोग गरे—यो तथ्य सधैँ अपरिवर्तनीय छ। प्रभु येशूको सुसमाचार सुनाउँदा शहीद बनेकाहरूले, कुन हदसम्म आफ्नो कर्तव्य पूरा गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि जीवन सम्हालेर राख्नुपर्ने सबैभन्दा बहुमूल्य र प्रिय कुरा हो, अनि यी व्यक्तिहरूले मानवजातिप्रति परमेश्वरको प्रेमको पुष्टि गर्न र गवाही दिन भनेर आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति अर्थात् जीवन अर्पण गर्न सकेको देखिन्छ। तिनीहरूको मृत्यु भएको दिनसम्म, तिनीहरूले परमेश्वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य पूरा गर्ने सबैभन्दा राम्रो तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो। जब शैतानले तिनीहरूलाई धम्कायो र आतङ्कित बनायो, र, अन्त्यमा जब त्यसले तिनीहरूलाई तिनीहरूको जीवनको मूल्य चुकाउन बाध्य बनायो, तिनीहरूले आफ्नो जिम्मेवारी त्यागेनन्। चरम हदसम्म आफ्नो कर्तव्य पूरा गर्नु भनेको यही हो। मैले यसो भन्नुको अर्थ के हो? के मेरो भनाइको अर्थ तिमीहरूले पनि परमेश्वरको गवाही दिन र उहाँको सुसमाचार फैलाउन त्यस्तै तरिकाको प्रयोग गर भन्ने हो? तैँले त्यसै गर्नुपर्छ भन्ने जरुरी छैन, तर तैँले यो तेरो जिम्मेवारी हो, यदि परमेश्वरलाई आवश्यकता पऱ्यो भने, तैँले त्यसलाई पूरा गर्नैपर्ने एक दायित्वको रूपमा स्वीकार गर्नुपर्छ भन्ने कुरा बुझ्नैपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचन पढ्दा मलाई विश्वास मिल्यो। प्रत्येक व्यक्तिको नियति परमेश्वरको सार्वभौमिकताद्वारा निर्धारित हुन्छ, अनि सुसमाचार फैलाउँदा मलाई जेजस्तो परिस्थिति आइपरे पनि, मैले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य कायम राख्नैपर्छ। मैले प्रभु येशूका चेलाहरूलाई सम्झेँ जसले स्वर्गको राज्यको सुसमाचार फैलाउन धेरै सतावट र सङ्कष्ट सहे, र अन्ततः प्रभुका लागि सहिद भए। कतिपयलाई क्रूसमा टाँगियो, कतिलाई घोडाद्वारा घिसारिएर मारियो, र केहीलाई ढुङ्गाले हानेर मारियो, तर उनीहरूले आफ्नो मिशन वा जिम्मेवारी कहिल्यै त्यागेनन्। तिनीहरूको शरीर मरेर गएका होलान्, तर तिनीहरूको आत्मा परमेश्वरका हातमा थियो, र उनीहरूले सुसमाचार फैलाउन चुकाएको आफ्नो जीवनको मूल्यले परमेश्वरको अनुमोदन पायो। त्यसपछि, मैले प्रभु येशूका यी वचनहरू सम्झेँ: “अनि शरीर मार्ने तर आत्मा मार्न नसक्नेहरूसँग नडराओ, तर उहाँसँग डराओ जसले आत्मा र शरीर दुवै नरकमा नष्ट पार्न सक्नुहुन्छ” (मत्ती १०:२८)। मेरो जीवन, मृत्यु, भविष्य र नियति सबै परमेश्वरका हातमा छन्। प्रहरीले मलाई समाते र पिटेर मारे पनि, मेरो आत्मालाई समाप्त गर्न सक्दैन। शरीरको मृत्यु भयावह हुँदैन, भयावह कुरा त के हो भने खतराबारे सुनेर आफ्नो ज्यानको डरले लुक्नु, आफ्नो कर्तव्य गर्ने आँट नगर्नु, र त्यसरी यस्तो दयनीय तरिकाले जिएर आफ्नो गवाही गुमाउनु हो। यसरी जिउँदा, म पक्राउ नपरे पनि, परमेश्वरको काम समाप्त हुँदा म हटाइने नै थिएँ। यो बुझेर, म अब मृत्युको डरले बाँधिन छोडेँ।
एक दिन, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ: “आफ्नै सुरक्षाबारे विचार गर्नेबाहेक, कतिपय ख्रीष्टविरोधीहरू केबारे पनि विचार गर्छन्? तिनीहरू भन्छन्, ‘अहिले, हाम्रो वातावरण प्रतिकूल छ, त्यसैले हामी हाम्रो अनुहार कम देखाऔँ र सुसमाचार प्रचार कम गरौं। त्यसरी, हामी पक्राउ पर्ने सम्भावना कम हुन्छ, र मण्डलीको काम पनि नष्ट हुँदैन। यदि हामी पक्राउ पर्नबाट जोगियौं भने, हामी यहूदामा परिणत हुनेछैनौं, र भविष्यमा पनि हामी अस्तित्वमै रहिरहन सक्नेछौं, होइन र?’ के यस्ता बहानाहरू प्रयोग गरेर आफ्ना विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउने ख्रीष्टविरोधीहरू छैनन् र? … तिनीहरू के-कस्ता सिद्धान्तहरू पालना गर्छन्? यी मानिसहरू भन्छन्, ‘चलाक खरायोका तीन वटा दुला हुन्छन्। खरायोले सिकारीको आक्रमणबाट जोगिन र लुक्नलाई तीनवटा दुलो बनाउनुपर्छ। यदि व्यक्तिले खतराको सामना गर्यो र ऊ भाग्नुपर्यो, तर उसको लुक्ने ठाउँ छैन भने, के त्यो स्वीकार्य हुन्छ त? हामीले खरायोहरूबाट सिक्नुपर्छ! परमेश्वरले सृष्टि गर्नुभएका पशुहरूमा यस्तो बाँच्ने क्षमता हुन्छ, र मानिसहरूले तिनीहरूबाट सिक्नुपर्छ।’ अगुवाको भूमिका लिएपछि, तिनीहरू यो धर्मसिद्धान्तको बुझाइमा पुगेका हुन्छन्, र तिनीहरू आफूले सत्यता बुझेको छु भनेरसमेत विश्वास गर्छन्। वास्तवमा, तिनीहरू अत्यन्तै डराएका हुन्छन्। बस्ने ठाउँ असुरक्षित भएको कारण प्रहरीमा रिपोर्ट गरिएको अगुवाबारे वा आफ्नो कर्तव्य निर्वाह गर्न धेरैपटक बाहिर गएर धेरै मानिससँग अन्तरक्रिया गरेका कारण ठूलो रातो अजिङ्गरका जासूसहरूले निसाना बनाएको अगुवाबारे, र यी मानिसहरू कसरी पक्रा परे र जेलसजाय पाए भन्नेबारे सुन्नेसाथ तिनीहरू तुरुन्तै डराउँछन्। तिनीहरू सोच्छन्, ‘अहो, कतै पक्राउ पर्ने अर्को व्यक्ति म त हुनेछैन? मैले यसबाट सिक्नुपर्छ। म त्यति सक्रिय हुनु हुँदैन। यदि मैले मण्डलीको केही कामबाट पन्छिन मिल्छ भने, म ती काम गर्नेछैनँ। यदि मैले आफ्नो अनुहार देखाउनबाट तर्किन मिल्छ भने, म अनुहार देखाउनेछैनँ। म मेरो काम सक्दो न्यूनतम हदमा गर्नेछु, बाहिर जानबाट जोगिनेछु, कसैसँग अन्तरक्रिया गर्नबाट टाढै बस्नेछु, र म अगुवा रहेको कुरा कसैलाई थाहा नहोस् भन्ने सुनिश्चित गर्नेछु। आजभोलि, अरूको वास्ता गरेर कसले के नै पाउन सक्छ र? जीवितै रहनु पनि त चुनौती नै हो!’ अगुवाको भूमिका लिएपछि, तिनीहरू झोला बोकेर लुक्नेबाहेक, कुनै काम गर्दैनन्। तिनीहरू पक्राउ पर्छु र दण्डित हुनेछु भन्ने डरले लुकेर बस्छन्। मानिलुऊँ तिनीहरू कसैले यसो भनेको सुन्छन्, ‘तपाईँ पक्राउ पर्नुभयो भने, तपाईं मारिनुहुनेछ! यदि तपाईं अगुवा नभएको भए, यदि तपाईं साधारण विश्वासी मात्रै हुनुहुभएको भए, थोरै जरिमाना तिरेर पनि तपाईं रिहाइ हुन सक्नुहुन्थ्यो, तर तपाईं अगुवा हुनुभएकोले, के हुन्छ भनेर भन्न गाह्रो छ। कुरो अत्यन्तै खतरनाक छ! पक्राउ परेका कतिपय अगुवा वा सेवकहरूले कुनै पनि जानकारी दिन मानेनन् र तिनीहरूलाई पुलिसले कुटीकुटी मारे।’ कसैलाई कुटीकुटी मारियो भन्ने सुनेपछि, तिनीहरूको डर झन्झन् तीव्र हुन्छ, र तिनीहरूलाई काम गर्न झन्झन् डर लाग्छ। हरदिन तिनीहरू कसरी पक्राउ पर्नबाट जोगिने, कसरी आफ्नो अनुहार देखाउनबाट तर्किने, कसरी निगरानीमा पर्नबाट जोगिने, र कसरी विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको सम्पर्कमा आउनबाट तर्किने त्यसबारे मात्रै विचार गर्छन्। तिनीहरू यी कुराहरूबारे सोच्दै दिमाग खियाउँछन् र आफ्नो कर्तव्य पूर्ण रूपमा बिर्सन्छन्। के यी बफादार मानिसहरू हुन् त? के यस्ता मानिसहरूले कुनै काम गर्न सक्छन् त? (अहँ, सक्दैनन्।) यस्ता मानिसहरू डरपोक हुन्छन्, तर यो प्रकटीकरणको आधारमा मात्रै तिनीहरूलाई ख्रीष्टविरोधी भनेर हामी भन्न सक्दैनौं, तैपनि यो प्रकटीकरणको प्रकृति के हो? यस प्रकटीकरणको सार भनेकै अविश्वासीको सार हो। परमेश्वरले मानिसहरूको सुरक्षा गर्न सक्नुहुन्छ भन्ने कुरा तिनीहरू विश्वास गर्दैनन्, र परमेश्वरको लागि मेहनत गर्न आफूलाई समर्पित गर्नु भनेको आफूलाई सत्यतामा समर्पित गर्नु हो, र यो परमेश्वरले अनुमोदन गर्नुहुने कुरा हो भन्ने कुरा पनि तिनीहरू बिलकुलै विश्वास गर्दैनन्। तिनीहरू हृदयमा परमेश्वरको डर मान्दैनन्; तिनीहरू शैतान र दुष्ट राजनीतिक दलहरूको मात्रै डर मान्छन्। तिनीहरू परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, तिनीहरू सबै कुरा परमेश्वरकै हातमा छ भन्ने विश्वास गर्दैनन्, अनि अवश्य नै तिनीहरू परमेश्वरले उहाँको खातिर, र उहाँको मार्ग पछ्याउन, र उहाँको आज्ञा पूरा गर्न सबै कुरा अर्पित गर्ने व्यक्तिलाई अनुमोदन गर्नुहुन्छ भन्ने कुरामा पनि विश्वास गर्दैनन्। तिनीहरू यीमध्ये कुनै कुरा पनि देख्न सक्दैनन्। अनि, तिनीहरू केमा चाहिँ विश्वास गर्छन् त? तिनीहरू आफू ठूलो रातो अजिङ्गरको हातमा परे, आफ्नो अन्त्य नराम्रो हुनेछ, आफूलाई जेल सजाय हुनेछ वा आफ्नो ज्यानसमेत जाने खतरा हुनेछ भन्ने कुरामा विश्वास गर्छन्। तिनीहरू हृदयमा आफ्नै सुरक्षाबारे मात्रै विचार गर्छन्, मण्डलीको कामबारे विचार गर्दैनन्। के तिनीहरू अविश्वासी होइनन् र? (हजुर, हुन्।) बाइबल के भन्छ? ‘मेरो खातिर आफ्नो जीवन गुमाउनेले त्यो भेट्टाउनेछ’ (मत्ती १०:३९)। के तिनीहरूले यी वचनहरूमा विश्वास गर्छन् त? (अहँ, गर्दैनन्।) यदि तिनीहरूलाई कर्तव्य निर्वाह गर्ने क्रममा जोखिम लिन लगाइयो भने, तिनीहरू लुकेर कसैको अघि देखा नपरी बस्न चाहन्छन्—तिनीहरू पूरै अदृश्य हुन चाहन्छन्। तिनीहरू यति हदसम्म डराउँछन्। तिनीहरू परमेश्वर मानिसहरूको आड हुनुहुन्छ, सबथोक परमेश्वरकै हातमा छ, र कुनै कुरा साँच्चै गलत भयो वा तिनीहरू पक्राउ परे भने, त्यो परमेश्वरले अनुमति दिनुभएको कुरा हो, र त्यसैले मानिसहरूमा समर्पित हृदय हुनुपर्छ भन्ने कुरामा विश्वास गर्दैनन्। ती मानिसहरूमा यस्तो हृदय, यस्तो बुझाइ, वा यस्तो तयारी हुँदैन। के तिनीहरू साँच्चै नै परमेश्वरमा विश्वास गर्छन् त? (अहँ, गर्दैनन्।) के यस प्रकटीकरणको सार अविश्वासीको सार होइन र? (हजुर, हो।) हो, यस्तै हुन्छ। त्यस्ता मानिसहरू असाधारण रूपमा डरपोक हुन्छन्, अत्यन्तै त्रसित रहन्छन्, र शारीरिक कष्ट भोग्ने र आफूलाई कुनै नराम्रो कुरा आइपर्नेछ भन्नेबारे डर मानिरहन्छन्। तिनीहरू फिस्टे चराजस्तै डराइरहन्छन् र त्यसउप्रान्त आफ्नो काम गर्न सक्दैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्वर ख्रीष्टविरोधीहरू विशेष गरी स्वार्थी र घृणित हुन्छन् र परमेश्वरको सार्वभौमिकतामा पटक्कै विश्वास गर्दैनन् भनेर खुलासा गर्नुहुन्छ। जब तिनीहरूलाई परिस्थिति आइपर्छ, तब तिनीहरू सधैँ आफ्नो सुरक्षा, सम्भावना र गन्तव्यलाई विचार गर्छन्। तिनीहरूको हृदयमा सृजित प्राणीका जिम्मेवारी र मिशनको अस्तित्व हुँदैन। जब तिनीहरू आफ्नो विश्वासमा खतरा सामना गर्छन्, तब तिनीहरू लुक्छन्। तिनीहरू मण्डलीको काम वा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशबारे वास्ता गर्दैनन्, न त परमेश्वरको घरका हितहरूलाई नै विचार गर्छन्। फेरि आफूलाई हेर्दा, मैले आफू ख्रीष्टविरोधीजस्तै स्वार्थी र घृणित रहेछु भन्ने देखेँ। जब कुनै खतरा थिएन, म कष्ट भोग्न सक्थेँ र आफ्नो कर्तव्यमा आफूलाई समर्पित गर्न सक्थेँ, तर वास्तविक खतरा र कठिनाइ आउँदा, म कछुवाले सङ्कटको सानो सङ्केतमै पनि आफ्नो खोलमा टाउको लुकाएझैँ लुकेँ, कसैले मलाई भेट्टाउन नसक्ने सुरक्षित ठाउँमा लुक्न चाहेँ, र नयाँ विश्वासी तथा सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई पूर्ण रूपमा बेवास्ता गरेँ। पछि, हामीलाई एक जना यहूदाले धोका दिएको रहेछ भन्ने मलाई थाहा भयो, र मैले फेरि आफ्नै सुरक्षालाई ध्यान दिएँ। मलाई आफू स्थानीय नभएकाले, पक्राउ परेँ भने कुटिएर मारिनेछु वा अपाङ्ग बनाइनेछु, वा मैले यातना सहन नसकेर मण्डलीलाई धोका दिन सक्छु, मुक्तिको मौका गुमाउन सक्छु भन्ने चिन्ता लाग्यो, त्यसैले मैले सुसमाचार प्रचार गर्न बाहिर जान चाहिनँ। मैले परमेश्वरको सार्वभौमिकता स्विकारिनँ, र खतराको सामना गर्दा, मैले आफ्नो कर्तव्यलाई बेवास्ता गरेँ। मैले परमेश्वरको घरका हितहरूको रक्षा पटक्कै गरिनँ। अनि म पूर्णतया कायरता, भय र आत्म-संरक्षणको स्थितिमा जिएँ। म त्यस्तो स्वार्थी र घृणित अविश्वासी भएकी थिएँ! यी कुराहरू बुझ्दा, मलाई झनै पछुतो लाग्यो। सोचेँ, “अब मैले जेजस्तो वातावरण सामना गर्नुपरे पनि, आफ्नो कर्तव्य उचित रूपमा गर्नैपर्छ।”
यसपछि, प्रहरीको गिरफ्तारी झनै तीव्र बन्यो। अनि माथिल्लो नेतृत्वले मलाई अर्को मण्डलीमा स्थानान्तरण गऱ्यो। त्यस मण्डलीमा आइपुगेको दुई महिनापछि नै, मेरो इलेक्ट्रिक बाइकमा ट्र्याकर जडान गरिएको मैले याद गरेँ। सोचेँ, “के प्रहरीले मेरो यात्राका क्रममा निगरानी रेकर्डहरू जाँचेर मलाई पत्ता लगाएको हो? यदि त्यसो हो भने, मसँग उम्कने कुनै उपाय छैन!” मलाई फेरि डर लाग्यो, यदि म खुला रूपमा बाहिर गएँ भने, मलाई प्रहरीले पक्रनेछ भनेर डराएँ। तर मैले परमेश्वरले पहिले भनेका वचनहरू सम्झेँ, र मलाई मैले फेरि आफ्नै रक्षाका लागि आफ्नो कर्तव्य त्याग्न मिल्दैन, किनकि मैले आफ्नो गवाही गुमाउनेछु भन्ने थाहा पाएँ। मैले अझ धेरै परमेश्वरका वचनहरू पढेँ: “शैतान जति नै ‘शक्तिशाली’ भए तापनि, त्यो जति नै दुस्साहसी र महत्त्वाकांक्षी भए तापनि, हानि पुऱ्याउने यसको क्षमता जति नै ठूलो भए पनि, त्यसले मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने उपायहरू जति नै धेरै भए पनि, त्यसले मानिसलाई विचलित बनाउने त्यसका चलाकी र युक्तिहरू जति नै चतुर भए तापनि, यो जति परिवर्तनीय स्वरूपमा अस्तित्वमा रहे तापनि, यसले एउटै जीवित प्राणीलाई सृष्टि गर्न कहिल्यै सकेको छैन, सबै थोकको अस्तित्वको लागि व्यवस्था वा नियमहरू कहिल्यै निर्माण गर्न सकेको छैन, र सजीव होस् वा निर्जीव होस् त्यसले कुनै पनि वस्तुलाई शासन गर्न र नियन्त्रण गर्न कहिल्यै सकेको छैन। आकाशमण्डल र वायुमण्डलमा, त्योबाट जन्मेको वा त्यसको कारणले अस्तित्वमा रहेको एक जना व्यक्ति वा थोक छैन; त्यसद्वारा शासन गरिएको, वा त्यसद्वारा नियन्त्रण गरिएको एउटै व्यक्ति वा वस्तु छैन। यसको विपरीत, त्यो परमेश्वरको प्रभुत्वमा जिउनु पर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, त्यसले परमेश्वरका सबै आदेश र आज्ञाहरूलाई पालना गर्नैपर्छ। परमेश्वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्लाउने स्वतन्त्रता समेत छैन, परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्। परमेश्वरको नजरमा, शैतान पहाडका लिली फूल, आकाशमा उड्ने चराचुरुङ्गी, समुद्रका माछा, र पृथ्वीका कीराभन्दा सानो छ। सबै थोकको बीचमा रहेको त्यसको भूमिका भनेको सबै थोकको सेवा गर्नु, र मानवजातिको लागि काम गर्नु, अनि परमेश्वरको काम र उहाँको व्यवस्थापन योजनामा सेवा गर्नु हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १)। परमेश्वर सबथोकमाथि सार्वभौम हुनुहुन्छ। कुनै व्यक्ति, घटना र कामकुराले परमेश्वरको अख्तियारलाई उछिन्न सक्दैन। शैतान जति नै उग्र र क्रूर भए पनि, त्यसले परमेश्वरले त्ससका लागि तोकिदिनुभएको सीमा नाघ्न सक्दैन। परमेश्वरको अनुमतिविना, त्यसले सीमा नाघ्ने आँट गर्दैन, झन् हामीलाई हानि पुर्याउनु त परै जाओस्। शैतान परमेश्वरका चुनिएका मानिसहरूलाई सिद्ध बनाउन सेवा पुऱ्याउने उहाँका हातको खेलौना मात्रै हो! मैले लगभग हरेक दिन सुसमाचार फैलाउँदै, निगरानी क्यामेराबीच गिरफ्तार नभई दौडधूप गर्दै बिताएका वर्षहरूबारे चिन्तन गरेँ। एकपटक, एउटा अतिथिसेवाको घरमा, प्रहरीले ढोका ढकढकायो, तर हामीले ढोका खोलेनौँ, र आधा घण्टापछि, हामीले बाहिर निस्कनअघि भेष बदल्यौँ, तल्लो तलामा भएको प्रहरीले हामीलाई चिनेन, र हामी भाग्न सफल भयौँ। परमेश्वरको अनुमतिबिना, प्रहरीले मलाई पक्रन सक्दैन भन्ने मैले देखेँ। यो बुझेर, मैले यदि परमेश्वरले मलाई पक्राउ पर्न अनुमति दिनुभयो भने, म उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनेछु र उहाँका लागि गवाही दिन आफ्नो जीवन दिनेछु भनेर सङ्कल्प गरेँ।
पछि, मैले “सबैभन्दा अर्थपूर्ण जीवन” शीर्षकको परमेश्वरको वचनको भजन पढेँ। “तँ सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। यदि तैँले परमेश्वरको आराधना गर्दैनस् तर आफ्नै फोहोर देहमा जिउँछस् भने, के तँ मानिसको वस्त्र धारण गरेको पशु हुँदैनस् र? तँ मानिस भएकोले तैँले आफूलाई परमेश्वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र निर्धक्कसाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। यस संसारमा, मानिसले शैतानको वस्त्र लगाउँछ, शैतानबाट खानेकुरा लिएर खान्छ, र शैतानकै अधीनमा रही काम र सेवा गर्दछ, अनि त्यसद्वारा फोहोरले ढाकिने हदसम्म कुल्चीमिल्ची पारिन्छ। यदि तैँले जीवनको अर्थ बुझ्दैनस् वा साँचो मार्ग प्राप्त गर्दैनस् भने, यस्तो प्रकारले जिउनुको के महत्त्व हुन्छ र? तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्ग पछ्याउँछन्, जसले सुधार खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (२))। यस भजनलाई मनन गर्दा, मलाई आफ्नो हृदयमा एक प्रकारको आश्वासन महसुस भयो। सृजित प्राणीका लागि, आफ्नो कर्तव्य पूरा गर्न सक्नु सबैभन्दा अर्थपूर्ण र मूल्यवान् कुरा हो, र यसलाई परमेश्वर सम्झना गर्नुहुन्छ। बारम्बार सतावट र सङ्कष्टबाट गुज्रँदा म साँच्चै परमेश्वरको सर्वशक्तिमानता र सार्वभौमिकता देख्न अनि उहाँमा विश्वास गर्न, ठूलो रातो अजिङ्गरको दुष्ट सार खुट्याउन, र मेरो आफ्नै स्वार्थी प्रकृति बुझ्न सक्षम भएँ। सबैभन्दा महत्त्वपूर्ण, मैले मृत्युको सामना कसरी गर्ने भनेर सिकेँ। मैले यी कुराहरू आरामदायी वातावरणमा प्राप्त गर्न सक्दिनथेँ। परमेश्वरलाई धन्यवाद!