४४. सहकार्यबाट सिकेका पाठ

मैले मण्डलीमा भजनहरू रेकर्ड गर्ने कर्तव्य निर्वाह गर्दैआएको छु, र रेकर्ड गरिएका भजनहरू निक्कै राम्रो गुणस्तरका हुने गरेका छन्। ब्रदर र सिस्टरहरूले प्रायः मेरो कामको प्रशंसा गर्थे। चाँडै दश वर्षभन्दा बढी समय बितेर गयो, उनीहरूले सुन्ने गरेका धेरैवटा भजनहरू मैले नै रेकर्ड गरेका थिए, जसले मलाई गर्वित महसुस गरायो। पछि, मण्डलीले ब्रदर लि मिङ्गलाई मेरो साथमा काम गर्ने व्यवस्था मिलायो। तिनमा भजनहरू रेकर्डिङ गर्ने रुचि थियो र केही सीपहरू पनि जान्दथे। सुरुमा, म लि मिङ्गसँग काम गर्न उत्साहित थिएँ, र हामी राम्ररी मिलेर काम गऱ्यौँ। मैले आफूमा भएको रेकर्डिङ गर्ने प्रविधिहरू तिनलाई सिकाउने कोसिस गरेँ। लि मिङ्गले केही नयाँ प्रविधिहरू सिकेपछि, ती नयाँ विधिहरू प्रयोग गर्दा अझ राम्रा परिणामहरू आउने तिनले सुझाव राखे, र मण्डलीका अगुवाहरू पनि त्यो कुरा जाँचेर हेर्न तिनीसँग सहमत भए। मैले सोचेँ, “मैले धेरै वर्षदेखि यो रेकर्डिङ गर्ने कर्तव्य निर्वाह गर्दैआएको छु र तपाईंले कुरा गर्नुभएका प्रविधिहरू मैले केही-केही बुझेको छु। यदि मैले यी नयाँ प्रविधिहरू केही चुनौतीपूर्ण पाएको भए पनि, तपाईं त यहाँ आएको केही दिन मात्र भएको छ; तैपनि तपाईं रेकर्डिङका लागि नयाँ प्रविधिहरू प्रयोग गर्न चाहनुहुन्छ? के तपाईं धेरै घमण्डी भइरहनुभएको छैन? यसबाहेक, यी नयाँ प्रविधिहरू बुझ्न कठिन छन् र तिनमा चाँडै निपुण बन्न सकिँदैन। मेरो विचारमा तपाईं व्यर्थै आफ्नो समय खेर फाल्दै हुनुहुन्छ।” मैले यो विषयलाई गम्भीरतासाथ लिइनँ। लि मिङ्गले कैयौँ दिनसम्म नयाँ विधिहरू बेढङ्गले प्रयोग गर्ने प्रयास गरे, सुुरुसुरुका रेकर्डिङहरू त्यत्ति राम्रा भएनन्, र ब्रदर-सिस्टरहरूले पनि परिणामहरू त्यत्ति राम्रा नभएका महसुस गरे। त्यसबेला मैले यी नयाँ प्रविधिहरू प्रभावकारी छैनन् भन्‍ने सोचेँ र रेकर्डिङ गर्न पहिले कै विधिहरू प्रयोग गरिरहेँ।

म छक्क परेँ, केही समयपछि, लि मिङ्गले नयाँ प्रविधिहरू प्रयोग गर्दै रेकर्ड गरेका भजनहरूमा धेरै सुधार भएको थियो। यसले मभित्र सङ्कटको भावना उत्पन्न गऱ्यो, मैले मनमनै सोचेँ, “लि मिङ्गको रेकर्डिङ गर्ने विधिहरूका आफ्नै गुणहरू थिए। यो सुरुमा केही चुनौतीपूर्ण भए पनि, ती विधिद्वारा भजनहरू रेकर्डिङ गर्दा राम्रो परिणाम दिन्छन्, र अधिकांश ब्रदर-सिस्टरहरू तिनलाई अनुमोदन गर्छन्। त्यसबाहेक, यस क्षेत्रमा लि मिङ्गको सीपमा चाँडोचाँडो सुधार हुँदैथ्यो। यदि तिनले केही समय यसमा तालीम लिएर यी प्रविधिहरूमा निपुण भए भने, के सबैले तिनलाई हेर्न र तिनमा ध्यान दिन थाल्नेछैनन् र? अनि मानिसहरूका मनमा मेरो कुनै हैसियत हुनेछैन, र म आफ्नो उपस्थितिको अनुभव पनि गराउन सक्नेछैनँ! त्यसबाहेक, के ब्रदर-सिस्टरहरूले लि मिङ्गले यहाँ आएको दुई महिनाभन्दा कम समयमै नयाँ कुरा ल्याएर मैले भन्दा अझ राम्रा परिणामहरू उत्पन्न गरिरहँदा, म भने कुनै प्रगति नगरी वर्षौंदेखि पुरानै तरिकाले रेकर्डिङ गरिरहेको छु भन्‍ने छैनन् र? उनीहरूले लि मिङ्ग धेरै सक्षम छन् भन्‍ने सोच्नेछन्! र पक्कै पनि, उनीहरूले मलाई तुच्छ नजरले हेर्नेछन्? त्यस बेला मेरो प्रतिष्ठा के होला? मैले यो रेकर्डिङको कर्तव्य निर्वाह धेरै वर्षदेखि गर्दैआएको छु, म लि मिङ्गलाई यति चाँडो मलाई उछिन्न दिन सक्दिनँ। म यो स्वीकार गर्न सक्दिनँ। चाहे जेसुकै होस्, म तिनलाई मभन्दा श्रेष्ठ हुन दिन सक्दिनँ।” लि मिङ्गभन्दा पछि पर्नबाट जोगिनलाई म पहिलेका प्रविधिहरू अध्ययन गर्न चाँडै उठ्न र अबेरसम्म जागा रहन थालेँ। जब रेकर्डिङहरूमा सुधार भए र धेरै ब्रदर-सिस्टरहरूको अनुमोदन प्राप्त भयो, तब मैले धेरै सहज महसुस गरेँ, सोचेँ, “यस पटक, मैले अझै पनि म तपाईंभन्दा राम्रो छु भनी ब्रदर-सिस्टरहरूलाई देखाएको छु; तपाईंं त्यत्ति राम्रो हुनुहुन्न, यसैले छोडिदिनुहोस्।” पछि, लि मिङ्गले अझै पनि नयाँ प्रविधिहरू अध्ययन गरिरहेको मैले देखेँ, त्यसले मलाई निकै भयभीत बनायो। यदि तिनी सफल भए भने तिनले मेरो ठाउँ लिनेछन् भनी मलाई डर लाग्यो, यसैले मैले सोचेँ, “म आशा गर्छु, तपाईंले यसमा प्रगति गर्नुहुन्न; तपाईंको खोज असफल भयो भने राम्रो हुन्छ! त्यसरी, म मेरो पद बचाएर राख्न सक्छु र अरूद्वारा तुच्छ ठानिनेछैनँ।” लि मिङ्गले मेरो स्थान लिन्छन् भनेर म निरन्तर चिन्तित थिएँ, यसैले मेरो मनमा तिनीप्रति दुरत्व र पूर्वाग्रहहरू राख्न थालेँ, र तिनलाई झन्-झनै नकारात्मक रूपमा हेर्न थालें, र तिनीप्रतिको मेरो व्यवहार चिसो बन्यो। कहिलेकाहीँ, लि मिङ्गले तिनको नयाँ प्रविधिको विषयमा उत्साह र आनन्दसाथ कुरा गरिरहेको देख्दा म रिसाएर सोच्थेँ, “अब फेरि तपाईं चर्चामा हुनुहुन्छ!” पछि, जब मैले लि मिङ्गलाई तिनका नयाँ प्तरविधिहरूको खोजमा सहायता चाहिएको देखेर, तिनी असफल बनुन् भन्‍ने उत्सुकतासाथ आशा गर्दै म त्यसमा संलग्न हुन चाहिनँ। कहिलेकाहीँ, मलाई हल्का आत्मग्लानि हुन्थ्यो, सोच्थेँ, “मैले तिनीसँग पटक्कै सहकार्य गरेको छैनँ; के त्यसो गर्नु तिनलाई गाह्रो हुँदा निष्क्रिय बनेर हेरेको जस्तो मात्र हुँदैन र?” तर मेरो भ्रष्ट स्वभवाको कारण विवेकको यो सानो अङ्श पनि छिट्टै दबियो। आखिरमा, लि मिङ्गको नयाँ प्रविधिहरूको खोज रोक्नका लागि मैले जानीजानी यसो भन्दै बहानाहरू बनाउन थालेँ, “अहिले भजनहरू रिकर्डिङ गर्नु जरूरी कार्य भइरहेको छ, र नयाँ प्रविधिहरूबारे तपाईंको खोजले धेरै समय लिइरहेको छ। सायद अब तपाईंले त्यो रोक्नुपर्छ।” तैपनि, तिनी मेरो कुराले प्रभावित भएनन् र आफ्नो गहन खोजमा लागिरहे।

एक दिन, लि मिङ्गले अहङ्कारी स्वभाव देखाए, आफ्नै तरिकामा जोड दिए गरे, र काटछाँटमा परे। म यस्तो सोच्दै भित्रभित्रै खुसी भएँ, “हेर, देखावटी गर्दा यस्तै हुन्छ! तपाईं यहाँ मात्र केही दिनदेखि हुनुहुन्छ, र तपाईंंले थोरै कुरा जानेकै भरमा यहाँ आएर ठूलो माछा मार्न सक्छु, आफू कति बुद्धिमान् छु भनी देखाउन सक्छु भन्‍ने लाग्छ। अब काटछाँटमा पर्नुभएको छ, तपाईं शान्त हुनुस्!” त्यस अवधिमा मैल लि मिङ्गलाई झन्-झन् अप्रिय पाएँ। हामीले आफ्ना कर्तव्यहरूमा सँगै काम गर्दा, मुस्किलले बातचित गर्थ्यौँ, र बातचित गरिहाल्यौँ भने पनि आवश्यक पर्दा मात्र। हामीबिच ठूलो भावनात्मक दुरी थियो। मैले आफू प्रसिद्धि र हैसियतमा फसेको थाहा पाएँ, तर म त्यसलाई छोड्न सक्दिँनथेँ। त्यो बेला मैले अनुभव गरेको भावनात्मक सङ्कट वर्णन गर्न नसकिने थियो—प्रत्येक दिन म थकान महसुस गर्थेँ, मेरो आत्मा असहज थियो, र म विशेष गरी थकित थिएँ। हामीमा सामाञ्जस्यपूर्ण सहकार्यको कमीले गर्दा हामीले रेकर्ड गरेका भजनहरूका नतिजा नराम्रा थिए। जसले हाम्रो कामको प्रगतिलाई पनि प्रभाव पाऱ्यो। यी परिणामहरूको सामना गर्दा त्यसले मलाई धेरै दुःखी बनायो, तर मैले आफू अड्किएको महसुस गरेँ, र त्यो परिस्थितिलाई कसरी बदल्ने भन्‍ने थाहा थिएन। त्यस अवधिमा, मेरो मनमा परमेश्‍वरका वचनहरूको एउटा खण्ड बारम्बार याद आयोः “यदि जीवनमा तँ सत्यताको लागि दुःख भोग्दैनस् अथवा यसलाई प्राप्‍त गर्न खोज्दैनस् भने, के तँ मृत्युको घडीमा पछुताउन चाहन्छस् भन्‍ने अर्थ लाग्दैन र? यदि त्यसो हो भने किन परमेश्‍वरमा विश्‍वास गर्छस्? … आफ्नो शरीरको खातिर जिएर फाइदा र प्रसिद्धिको लागि सङ्घर्ष गरेर तैँले के प्राप्‍त गर्न सक्छस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ)। मैले बारम्बार परमेश्‍वरका वचन मनन गरेँ र सोचेँ, “वास्तवमा, मैले यतिका वर्षसम्म परमेश्‍वरमा किन विश्‍वास गर्दैआएको छु?” के यो प्रसिद्धि र लाभका निम्ति मेरो ब्रदरसँग प्रतिस्पर्धा गर्नलाई हो? म यस प्रकारले परमेश्‍वरमा विश्‍वास गरेर आखिरमा के प्राप्त गर्न सक्छु? यस अवधिमा, म प्रसिद्धि र लाभका निम्ति मेरो ब्रदरसँग प्रतिस्पर्धा गरिरहेँ, अन्धकारमा परिरहेँ र पवित्र आत्माको काम गुमाइरहेँ, जसले कष्ट र यातना ल्यायो। यो मप्रति परमेश्‍वरको तिरस्कार र घृणा हो। यस प्रकारले मेरो कर्तव्य गर्नुको के अर्थ हुन्छ?” मैले यसो भन्दै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म प्रसिद्धि र लाभको खोजीमा जिइरहेको छु, र यो धेरै पीडादायक भएको छ। दया गरी मलाई यो अवस्थाबाट बाहिर निकाल्नुहोस्, ताकि म मेरो ब्रदरसँग एउटै हृदय र मन भएर हाम्रा कर्तव्यहरू राम्ररी पूरा गर्न सामञ्जस्य तरिकाले काम गर्न सकूँ।”

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड फेला पारेँः “तिमीहरू सबै भीडहरूको शिखरमा उठेका छौ; तिमीहरू जनसमुदायका पुर्खाहरू हुन उक्लिएका छौ। तिमीहरू अत्यन्तै स्वेच्छाचारी छौ, र सजिलो ठाउँ खोज्न र आफूभन्दा साना कीराहरूलाई खाने कोसिस गर्दै तिमीहरू सबै कीराहरूको बीचमा अनियन्त्रित भई दगुर्छौ। तिमीहरू हृदयमा द्वेषपूर्ण र कपटी छौ, समुद्रतलमा डुबेका भूतहरूभन्दा पनि बढी छौ। तँ गोबरको फेदमा बस्छस् अनि, माथिदेखि तलसम्मका किराहरूमा अशान्ति नछाउन्जेल तिनलाई पिरोल्छस्, एक अर्कासँग झगडा गरेर एकछिनमा शान्त हुन्छौ। तिमीहरूलाई आफ्नो ठाउँ थाहा छैन, तैपनि तिमीहरू एक-अर्कासँग गोबरमा लडाइँ गर्छौ। त्यस्तो सङ्घर्षबाट तैँले के प्राप्त गर्न सक्छस्? यदि तिमीहरूमा साँच्चै मेरो डर मान्ने हृदय थियो भने, तिमीहरू मेरो पिठिउँ पछाडि कसरी एक-अर्कोसँग लडाइँ गर्न सक्थ्यौ? तेरो हैसियत जति नै उच्‍च भए पनि के तँ अझै पनि गोबरमा बस्ने गनाउने सानो गँड्यौला होइनस् र? के तँ पखेटा टुसाउन सक्छस् र आकाशमा उड्ने ढुकुर बन्न सक्छस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्)। परमेश्‍वरको वचन पढेपछि मैले आफ्नै बारेमा केही बुझाइ प्राप्त गरेँ। पहिले, म आफूले धेरै वर्षदेखि भजनहरू रेकर्ड गर्ने मेरो कर्तव्य पूरा गरेको छु यसैले ममा विशेष योग्यता छ र म विशेष छु भनी विश्‍वास गर्थेँ। म आफैलाई ठूलो सम्झन्थेँ, मेरा थोरै सीप र योग्यताहरू अरूबाट प्रशंसा पाउने योग्यका छन् भनी विश्‍वास गर्थेँ, र मैले सधैँ आफ्नै प्रशंसा गरेको थिएँ र आफैलाई उच्च सोचेको थिएँ। जब लि मिङ्गले मसँग काम गर्न थालेका थिए, सुरुमा म तिनलाई त्यत्ति उच्च ठान्दिनँथेँ। तर तिनले नयाँ प्रविधिहरू प्रयोग गरी केही प्रगति गरेपछि र ब्रदर-सिस्टरहरूबाट अनुमोदन प्राप्त गरेपछि, भविष्यमा तिनले मलाई उछिन्न सक्नेछन् भनी मलाई चिन्ता हुन थाल्यो। ब्रदर-सिस्टरहरूका मनमा मेरो हैसियत कायम राख्न, मैले लि मिङ्गलाई एक प्रतिद्वन्द्वीको रूपमा हेर्न र गुप्त रूपमा तिनीसँग प्रतिस्पर्धा गर्न थालेँ। मैले प्रयोग गर्दैआएको पुरानो रेकर्डिङ प्रविधिहरूमा सुधारको सीमित सम्भावना छ भन्‍ने जानेर पनि, म आफ्नो विचार छोड्न र नयाँ प्रविधिहरू सिक्न अनिच्छुक थिएँ। पछि, जब मैले लि मिङ्ग नयाँ प्रविधिहरू प्रयोग गरेर झन्-झन् निपुण हुँदै गएको र केही ब्रदर-सिस्टरहरूले ती प्रविधिको प्रयोगलाई अनुमोदन गरेका देखेँ, तब तिनले मेरो स्थान लिन सक्छन् भनी म डराएँ र तिनी आफ्नो खोजमा असफल बनून् भनी उत्सुकतासाथ आशा गर्दै हरेक कुरामा तिनलाई नकारात्मक तरिकाले हेर्न थालेँ। जब तिनलाई काटछाँट गरियो, तिनको दुर्भाग्यमा खुसी हुँदै मैले त्यस कुरामा आनन्द लिएँ। साथै, जब-जब तिनले कठिनाइहरूको सामना गर्थे, मैले सहायता गर्दिनँथेँ बरु रुखो कुरा गरेर खोजप्रति तिनको सकारात्मकतालाई दबाउने कोसिस गर्थेँ, त्यसो गर्दा तिनले हरेश खान्छन् र त्यसद्वारा मेरो पद सुरक्षित हुन्छ भनी आशा गरेँ। मैले प्रसिद्धि र लाभका निम्ति प्रतिस्पर्धामा ध्यान दिएको थिएँ, मेरो हैसियत कायम राख्न र मेरो ठाउँ अरू कसैले नलिओस् भन्‍ने चिन्ता मात्र गरेँ। वास्तवमा, कुनै व्यक्तिमा जति नै धेरै विशेष प्रतिभाहरू भए पनि वा उसका योग्यताहरू जति नै ठूलो भए पनि परमेश्‍वरको नजरमा ऊ सृष्टि गरिएका तुच्छ प्राणी मात्र हो जोसँग घमण्ड गर्ने वा अहङ्कारी हुने कुनै कारण छैन। अनि तैपनि मेरो सानो सीप लिएर म अरूभन्दा बेग्लो छु भनी सोच्दै घमण्डी भएको थिएँ, र मानिसहरूको प्रशंसाको आनन्द उठाउन सधैँ उनीहरूका हृदयमा ठाउँ बनाउने कोसिस गर्थेँ। म कति अहङ्कारी र असमझदार बनेको थिएँ!

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँः “निर्दयी मानवजाति! गुप्त योजना र षड्यन्त्र, एक-अर्काबाट खोस्ने र हडप्ने, प्रसिद्धि र सम्पत्तिको निम्ति लुछाचुँडी गर्ने, पारस्परिक हत्या गर्ने—यी सबै कहिले अन्त्य हुनेछन्? परमेश्‍वरले हजारौँ वचनहरू बोल्‍नुभएको भए तापनि कोही पनि आफ्नो चेतनामा आएका छैनन्। मानिसहरू आफ्ना परिवार, छोराछोरीहरूको खातिर, आफ्नो जीविकोपार्जन, भविष्य, प्रत्याशाहरू, ओहदा, महत्त्वाकाङ्क्षा, र रुपैयाँपैसाको निम्ति, खानेकुरा, लुगाफाटो, र शरीरको निम्ति काम गर्छन्। तर के साँच्‍चिकै परमेश्‍वरको खातिर कामहरू गर्ने कोही छन्? परमेश्‍वरको खातिर काम गर्नेहरूमध्ये पनि परमेश्‍वरलाई चिन्ने थोरै छन्। आफ्नै स्वार्थअनुसार काम नगर्ने मानिसहरू कति छन्? कति जनाले आफ्नो ओहदा सुरक्षित राख्‍न अरूलाई थिचोमिचो गर्दैनन् वा बहिष्‍कार गर्दैनन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुष्टलाई निश्‍चय नै दण्ड दिइनेछ)। परमेश्‍वरका वचनले धारिलो तरवारले झैँ मेरो हृदय छेडे। उहाँका न्याय र सजायका वचनमा मैले आफ्नो हैसियत बचाउनका खातिर कसरी मैले मण्डलीका हितहरूलाई उपेक्षा गरेको रहेछु, लि मिङ्गलाई दबाएको र बहिस्कार गरेको रहेछु, र प्रसिद्धि र लाभका निम्ति षडयन्त्र र प्रतिस्पर्धा गरेको रहेछु, मेरो हृदयमा परमेश्‍वरलाई कुनै स्थान नदिएको रहेछु भन्‍ने देखेँ। लि मिङ्ग भर्खर आएको बेलामा मैले तिनलाई प्रेमपूर्वक सहायता गर्न र तिनीसँग मिलेर काम गर्न सक्थेँ। तर पछि, तिनले नयाँ प्रविधिहरूमा काम गरेका देखेर तिनले मलाई उछिन्लान् र मैले वर्षौंदेखि ब्रदर-सिस्टरहरूको हृदयमा प्राप्त गरेको मेरो हैसियत गुम्नेछ भनी डराएँ। यसले मलाई अप्रसन्न बनायो र तिनलाई बहिस्कार गरेँ, अनि तिनी आफ्नो खोजमा असफल होउन् भन्‍ने उत्सुकतासाथ आशा गरेँ। म तिनीसँग कुरा गर्नबाट पनि जोगिने गर्थेँ, यहाँसम्म कि तिनलाई गल्ती गर्न लगाउने र तिनको उत्साह घटाउने हरसम्भव कोसिस गर्थेँ। मेरो प्रकृति साँच्चै दुर्भावनापूर्ण थियो! भजनहरू रेकर्डिङ गर्ने कार्यले ब्रदर-सिस्टरहरूका जीवनमा ठूलो सुधार ल्याउँछ र यो सुसमाचार फैलाउन र परमेश्‍वरको गवाही दिनका लागि महत्त्वपूर्ण छ। मैले प्रयोग गर्दैआएको रेकर्डिङ गर्ने पुराना प्रविधिहरू अप्रचलित भइसकेका थिए, अनि नयाँ प्रविधिहरू प्रयोग गर्दा मात्र भजनहरूको रेकर्डिङमा अझ राम्रा प्रतिफल आउन सक्थे, जसले सुसमाचारको काममा फाइदा पुऱ्याउँथ्यो। मैले अझ राम्रो समाधान नपाएकाले, लि मिङ्गसँग मिलेर एकै मनको भएर नयाँ प्रविधिहरूको खोजमा सहकार्य गर्नुपर्थ्यो। तर, मैले परमेश्‍वरको घरका हितहरू विचार गरेको थिइनँ र मेरो प्रतिष्ठा एवम् हैसियत बचाउन त्यस्तो महत्त्वपूर्ण कामलाई समेत कमजोर पारेको थिएँ। यसले ममा रत्तिभर पनि मानवता नभएको, र अलिकति पनि विवेक र समझ नभएको देखायो-म पूर्ण रूपमा स्वार्थी बनेको थिएँ! लि मिङ्गसँग निरन्तर प्रतिस्पर्धा र षडयन्त्र गरेर, मैले रेकर्डिङ गर्ने काममा बाधा पुऱ्याएको थिएँ, प्रसिद्धि, लाभ र हैसियतको पछ्याइमा अन्धो बनेर परमेश्‍वरको विरोध हुने कामकुराहरू गरेको थिएँ। मैले आफ्नो कर्तव्य निर्वाह गर्ने ठाउँलाई लडाइँको मैदान, र मेरो कर्तव्यलाई मेरो हैसियत र जीविकाको रक्षा गर्ने औजार बनाएको थिएँ। यो साँच्चै परमेश्‍वरका निम्ति तिरस्कारपूर्ण र घृणित थियो। मैले पावलको कुरा सम्झेँ, तिनले पनि प्रसिद्धि र लाभका निम्ति प्रतिस्पर्धा गरेका थिए। जब परमेश्‍वरले पत्रुसलाई मण्डलीहरूको गोठालो गर्ने जिम्मेवारी सुम्पनुभयो, र ब्रदर-सिस्टरहरूले साँच्चै पत्रुसलाई सम्मान र समर्थन गरे, तब पावल ईर्ष्यालु बने, जानाजानी पत्रुसलाई होच्याएर आफ्नै बारेमा गवाही दिए। पावलले प्रसिद्धि र हैसियत पाउने आफ्नो चाहना पूरा गर्दै मानिसहरूको आराधना र प्रशंसा पाए, तर तिनी गलत मार्गमा थिए, जसले मानिसहरूलाई आफ्नै पछाडि डोऱ्याइरहेका थिए, र आखिरमा तिनी परमेश्‍वरद्वारा हटाइए र दण्डित भए। पछ्याइसम्बन्धी मेरो विचार, र मैले पहिल्याएको मार्ग पावलका जस्तै थिए, र यदि म पश्चात्ताप नगरी यसरी नै अगि बढिरहेँ भने मैले पनि त्यस्तै दण्ड सामना गर्नुपर्नेछ! मैले अझै पनि प्रतिष्ठा र हैसियतलाई दह्रोसँग समातेर बसेको भए, त्यो पूर्ण रूपमा मूर्खता र दयनीय हुनेथियो!

पछि, मैले परमेश्‍वरका अरू वचनहरू पनि पढेँः “सारा ब्रह्माण्डमा आफ्नो कामको सुरुवातदेखि नै, परमेश्‍वरले धेरै मानिसहरूलाई उहाँको सेवा गर्न अघिबाटै नियुक्त गरिसक्‍नु भएको छ, जसमा जीवनका हरेक क्षेत्रका मानिसहरू समावेश छन्। उहाँको उद्देश्य उहाँका अभिप्रायहरू पूरा गर्नु र पृथ्वीमा उहाँको कामलाई सहजतापूर्वक पूर्णतामा ल्याउनु हो; उहाँको सेवाको लागि मानिसहरू छनौट गर्नुमा परमेश्‍वरको लक्ष्य यही हो। परमेश्‍वरको सेवा गर्ने हरेकले उहाँको अभिप्राय बुझ्नुपर्छ। उहाँको यो कामले परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ता, र पृथ्वीमा उहाँको कामका सिद्धान्तहरू मानिसहरूका निम्ति अझ स्पष्ट पार्दछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ)। परमेश्‍वरको वचनबाट, मैले बुझेँ, परमेश्‍वरले उहाँको सुसमाचारको कामका निम्ति जीवनका सबै क्षेत्रबाट मानिसहरू चुन्नुहुन्छ, र मानिसहरूका वरदान र प्रतिभाहरू परमेश्‍वरबाट आएका हुन्। परमेश्‍वरले निश्चित कर्तव्यहरू गर्न मानिसहरू नियुक्त गर्नुहुन्छ, र तिनीहरूलाई त्योसित मेल खाने प्रतिभाहरू दिनुहुन्छ, यसैले तिनीहरूले आफ्ना कर्तव्य गर्न आफ्ना विशेषताहरू प्रभावकारी रूपमा प्रयोग गर्न सक्छन्, जसले परमेश्‍वरको घरको कामलाई फाइदा पुऱ्याउँछन्। लि मिङ्गसँँग नयाँ प्रविधिहरूको खोज गर्ने प्रतिभा थियो भने मसँग केही प्रविधिको अनुभव थियो। परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तकै कारण हामी एकसाथ मिलेर कर्तव्यहरू निर्वाह गर्न सक्थ्यौँ, र उहाँ हामीले एकअर्काका क्षमता र कमजोरीहरूको पूरक बनौँ र हाम्रा कर्तव्यहरू राम्ररी गर्न मिलेर सहकार्य गरौँ भन्‍ने चाहनुहुन्थ्यो। यो परमेश्‍वरको अभिप्राय थियो। यो कुरा बुझेर म अझै आफ्नो भ्रष्ट स्वभावमा जिउन चाहिनँ। जति-जति लि मिङ्गका सीपहरूमा सुधार भए, मैले देखेँ रेकर्डिङका निम्ति नयाँ प्रविधिहरू प्रयोग गर्नुका परिणामहरू अझ राम्रा भएका थिए, र मैले यी नयाँ तरिकाहरू अपनाउनु परमेश्‍वरको घरको कामका निम्ति धेरै फाइदाजनक हुनेछ भनी स्वीकार गरेँ। म आफ्नो अहङ्कार पन्साएर लि मिङ्गबाट सिक्न तयार थिएँ। तर, मैले यो पनि सोचेँ, “मैले धेरै वर्षदेखि यो कर्तव्य गर्दैआएको छु, र ब्रदर-सिस्टरहरू मलाई उच्च सम्मान गर्छन्। तर भर्खरै आएका लि मिङ्गले प्रविधिमा प्रगतिहरू गरे। यदि अहिले मैले तिनीबाट सिक्न आफैलाई नम्र बनाएँ भने, ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्लान्? त्यो धेरै अप्ठ्यारो स्थिति हुनेछ!” यस्तो विचारले मलाई धेरै असहज महसुस गरायो, र मलाई आफ्नो अहम् छोड्न गाह्रो परेको पाएँ। मैले म आफ्नो हैसियतसँग धेरै नै जोडिएको महसुस गरेँ। ख्रीष्ट कसरी नम्रता र गुप्त रूपमा पृथ्वीमा आउनुभयो र आफ्नो हैसियतद्वारा कहिल्यै आफैलाई उच्च पार्नुभएन वा देखावटी गर्नुभएन भन्‍ने कुरा मनन गर्दा, मेरा थोरै सीप र उपलब्धिहरूले मलाई धेरै घमण्डी र अरूबाट प्रशंसा खोज्ने बनाएको मैले महसुस गरेँ। ममा आत्म-चेतना थिएन र धेरै नै अहङ्कारी थिएँ। मसँग भएका सीप र प्रतिभाहरू परमेश्‍वरले दिनुभएको थियो, र मैले घमण्ड गर्नुपर्ने कुनै कुरा थिएन। यदि म आफैलाई छोडन र ब्रदरबाट सिक्न अनिच्छुक हुन्थेँ भने म प्राविधिक रूपमा पनि सुधार हुनेथिइनँ। यसैले मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, “हे परमेश्‍वर, म आफ्नो घमण्ड र हैसियत पन्साएर लि मिङ्गबाट सिक्न तयार छु। बिन्ती मलाई खुल्ला हुने र ब्रदरसँग तालमेल राखेर सहकार्य गर्ने शक्ति दिनुहोस्।”

एक दिन, रेकर्डिङ स्टुडियोमा लि मिङ्ग र म मात्र थियौँ, र मैले आफ्नो स्थितिको बारेमा खुलेर तिनलाई बताउन अग्रसर भएँ। मैले प्रसिद्धि र लाभका निम्ति कसरी तिनीसँग प्रतिस्पर्धा गरिरहेको थिएँ भन्‍ने कुरा गरेँ। लि मिङ्गले पनि आफ्नो स्थितिबारे मलाई बताए। हामीले बातचित गरिसकेपछि मेरो हृदयमा भएको बाधा हटेर गयो, र मैले धेरै राहत महसुस गरेँ, मानौँ, हामी बिचको पर्खाल हटेर गएको थियो। मैले परमेश्‍वरका वचनहरूका दुईवटा खण्ड पनि पढेँ, जसले भविष्यमा हाम्रा कर्तव्यहरू गर्दा तालमेल मिलाएर कसरी सहकार्य गर्ने भन्‍नेबारे मलाई केही व्यावहारिक मार्गदर्शन प्रदान गऱ्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तँ चाहे कम उमेरको होस् वा पाको उमेरको दाजुभाइ तथा दिदीबहिनी होस्, तैँले पूरा गर्नुपर्ने काम तँलाई थाहा छ। ती व्यक्तिहरू जो आफ्नो युवावस्थामा छन् तिनीहरू अहङ्कारी छैनन्; जो बृद्धावस्थामा छन् तिनीहरू नकारात्मक छैनन्, न त तिनीहरू पछि नै हट्छन्। यसबाहेक, तिनीहरू आफ्नो कमजोरीहरूलाई पूर्ति गर्नका लागि एक अर्काका शक्तिहरूको प्रयोग गर्न सक्षम छन्, र तिनीहरूले कुनै पूर्वाग्रहविना एकअर्काको सेवा गर्न सक्छन्। मित्रताको पुल जवान र पाका दाजुभाइ-दिदीबहिनीहरूको बीचमा बनाइन्छ, र परमेश्‍वरको प्रेमको कारण, तिमीहरू एक-अर्कालाई अझ राम्ररी बुझ्न सक्षम हुन्छौ। जवान दाजुभाइ-दिदीबहिनीहरूले पाका दाजुभाइ-दिदीबहिनीहरूलाई तुच्छ ठान्दैनन्, र पाका दाजुभाइ-दिदीबहिनीहरू पनि आत्मधर्मी हुँदैनन्: के यो एउटा सद्भावपूर्ण सहकार्य होइन र? यदि तिमीहरू सबैसँग त्यस्तो संकल्प छ भने, परमेश्‍वरको इच्छा निश्चित रूपमा तिमीहरूको पुस्तामा पूरा हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। हरेकले आफ्‍नो काम पूरा गर्ने विषयमा)। “तिमीहरूले परमेश्‍वरको कामको उद्देश्यका निम्ति, मण्डलीको फाइदाका निम्ति, अनि तिमीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई अघि बढ्न प्रोत्साहन दिनका निम्ति मैत्रीपूर्ण सहकार्य हासिल गर्नुपर्छ। हरेकले अर्कालाई सुधार्दै र कामको उत्तम नतिजा प्राप्त गर्दै परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नका निम्ति तैँले एकअर्कासित सहकार्य गर्नुपर्छ। साँचो सहकार्य भनेको यही नै हो, अनि यसमा लागिपर्नेले मात्रै साँचो प्रवेश पाउनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। इस्राएलीहरूले जस्तै सेवा गर्)। परमेश्‍वरको अभिप्राय बुढाहरू स्व-धर्मी नबनुन् वा पुराना थोकहरू समातेर नबसुन्, र जवानहरू अहङ्कारी नबनून् भन्‍ने हो। तिनीहरूले आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्न मिलेर एकसाथ काम गर्नुपर्छ। मैले यो कर्तव्य धेरै लामो समयदेखि गर्दैआएको भए पनि, रेकर्डिङ प्रविधिमा त्यत्ति धेरै प्रगति गरेको थिइनँ। लि मिङ्ग नयाँ प्रविधिहरूको खोजी गर्न रुचि राख्थे र पहिलेबाटै केही उपलब्धिहरू हासिल गरिसकेका थिए। तिनमा यस्ता सीपहरू थिए जुन ममा थिएन, यसैले तिनीसँग मिलेर काम गर्दा मेरा कमीहरू हटन सक्थे र हाम्रा कर्तव्यहरूमा फाइदा हुन्थ्यो। मैले आफ्नो सोच त्यागेर तिनीबाट नयाँ प्रविधिहरू सिक्नुपर्थ्यो, हाम्रा कर्तव्यहरू राम्ररी पूरा गर्न एकसाथ मिलेर काम गर्नुपर्थ्यो। त्यसपछि, मैले लि मिङ्गसँग मिलेर नयाँ प्रविधिहरू सिकेँ र खोज गरेँ। परमेश्‍वरको मार्गदर्शनमा, हामीले सीपहरू अध्ययन गरेपछि हाम्रा विचार स्पष्ट भए, र जुन समस्याहरू समाधान गर्न पहिले कठिन हुन्थे ती चाँडै समाधान भए।

अनुभवको यो अवधिमा, प्रसिद्धि र हैसियतको निम्ति जिउनु अत्यन्त पीडादायी भएको मैले गहिरो महसुस गरेँ, जसले मेरो हृदयमा अन्धकार छाएको थियो र अवर्णनीय कष्ट ल्याएको थियो जसबाट बाहिर निस्कने कुनै उपाय थिएन। मैले आफू शैतानबाट अत्यन्त भ्रष्ट तुल्याइएको, आफूमा हैसियतको बलियो चाहना रहेको, र अति नै अहङ्कारी भएको देखेँ। यसको साथै, मैले परमेश्‍वरको स्वभाव धार्मिक र पवित्र छ, अनि उहाँलाई चिढ्याउन सकिँदैन भन्‍ने पनि अनुभव गरेँ। परमेश्‍वरले भन्नुभएको छः “म पवित्र राज्यमा देखा पर्छु, र म आफैलाई फोहोरको देशबाट लुकाउँछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २९)। जब म प्रसिद्धि र लाभका लागि परिश्रम गर्दै भ्रष्ट स्वभावमा जिएँ, परमेश्‍वरले मलाई तिरस्कार गरी आफैलाई मबाट लुकाउनुभयो, र मेरो प्राणमा ठूलो कष्ट भोग्दै म अन्धकारमा जिएँ। तर, जब मैले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गरेँ र आफ्नो घमण्ड र हैसियत पन्साएर लि मिङ्गसँग सहकार्य गर्न तयार भएँ, मैले पवित्र आत्माको काम र मार्गदर्शन देखेँ। परमेश्‍वरको वचनले मलाई फुक्का र स्वतन्त्रता प्रदान गरे। अनि मैले आफ्नो हृदयको गहिराइबाटै सत्यताको अभ्यास गर्नु र परमेश्‍वरका वचनहरू अनुसार जिउनु कति अद्भुत कुरा रहेछ भन्‍ने महसुस गरेँ!

अघिल्लो: ४२. अनुभवात्मक गवाही लेख लेख्नुको फाइदा बल्ल बुझेँ

अर्को: ४५. अब म रुचिका आधारमा आफ्ना कर्तव्यहरू रोज्दिनँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

४९. जिउने सुन्दर तरिका

क्षुन्‍क्‍वी, जापानम सानो छँदा मलाई के सिकाइयो भने, अरूसँग ठाडे व्यवहार नगर्नू र अरूलाई दुःखी नबनाउनू, र त्यो नै मेरो जीवनको दर्शन थियो।...

१५. झुटहरू पश्‍चात्

चेन शी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा,...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्