२६. सहजताको लालसाले दिएको पीडादायक पाठ
सन् २०१७ को अन्त्यतिर, मलाई मण्डली अगुवाको रूपमा निर्वाचित गरियो। मैले पहिले यो कर्तव्य कहिल्यै पूरा नगरेको हुनाले मलाई अलिक तनाव भयो, तर मैले यो कर्तव्य लिन पाउनु भनेको परमेश्वरले मलाई उचाल्नुभएको र अनुग्रह दिनुभएको हो भन्ने मलाई थाहा थियो, त्यसकारण म यो भूमिका लिन तयार भएँ। सुरुमा, जब ब्रदर-सिस्टरहरूले समस्याहरूको सामना गर्थे, तिनलाई समाधान गर्न मैले परमेश्वरमा भरोसा गर्थेँ र सत्यता सिद्धान्तहरू खोज्थेँ। कहिलेकाहीँ म राति अबेरसम्म काम गर्थेँ र पनि मलाई यो गाह्रो वा थकाउने खालको लाग्दैनथ्यो। केही समयपछि, मण्डलीको कामका विभिन्न कुराहरूमा केही सुधार आयो, र मैले यो कर्तव्यसँग सम्बन्धित केही सिद्धान्तहरू बुझेँ, जसले गर्दा मैले अनुभव गरेको केही तनाव कम भयो।
वर्षहरू बित्दै गए, र मार्च २०२१ मा, मण्डलीका सदस्यहरूको सङ्ख्या बढेका कारण कामको बोझ बढेको थियो, र मैले तनाव महसुस गर्न थालेँ। त्यो बेला मसँग सहकार्य गरिरहेकी सिस्टर जिङ्ग युआन नयाँ विश्वासी थिइन्, र उनी अझै पनि काममा सिपालु भएकी थिइनन् साथै कठिनाइहरू आइपर्दा नकारात्मक बन्ने प्रवृत्ति उनमा थियो, त्यसकारण मण्डलीको धेरैजसो काम मेरो काँधमा परेको थियो। सुरुमा त, मैले परिस्थितिलाई सही रूपमा लिन सकेँ, किनभने जिङ युआनले विश्वास गरेको छोटो समय मात्रै भएकोले र काम सम्हाल्न नसक्ने हुनाले, मैले बढी काम गर्नु ठीकै हुन्छ भन्ने सोचेँ। दिनभरि, म कामको कार्यान्वयन तथा ब्रदर-सिस्टरहरूका समस्याहरू समाधानका लागि भेलाहरूमा व्यस्त हुन्थेँ। राति घर पुगेपछि, मैले काममा आएका विचलन र समस्याहरूको संक्षेपीकरण पनि गर्नुपर्थ्यो। लामो समयसम्म यसो गरेपछि, मलाई अगुवा बन्नु अत्यन्तै गाह्रो र थकाइलाग्दो कुरा हो भन्ने लाग्यो, र मसँग कुनै खाली समय नै हुँदैनथ्यो। मेरो स्वास्थ्य कमजोर थियो, मलाई पहिले क्यान्सर भएको थियो र म निको भएको केही वर्ष मात्रै भएको थियो, अनि डाक्टरले मलाई प्रशस्त विश्राम गर्नु भनेका थिए। मैले मनमनै सोचेँ, “म हरेक दिन अत्यन्तै व्यस्त हुन्छु; यदि मैले यसरी थकाइलाग्दो काम गरिरहेँ भने, के मेरो रोग फर्केर आउनेछैन र? त्यसो भयो भने, मेरो शरीरले कष्ट भोग्ने मात्रै नभएर, म मर्न पनि सक्छु।” यसको बारेमा सोच्दा, मलाई निकै चिन्ता लाग्यो, र अगुवाको रूपमा आफ्नो कर्तव्यपालन छोडिदिन चाहेँ। म आफूलाई अझै बढी आराम गर्ने समय मिलोस् भनेर सजिलो जिम्मेवारीमा सर्न चाहन्थेँ। मैले धेरै पटक आफ्नो राजीनामापत्र लेख्न चाहेकी थिएँ। जब-जब यो सोच्थेँ, तब मलाई अलिक ग्लानि हुन्थ्यो। मण्डलीमा अगुवा बन्न लायक अरू कोही थिएन, त्यसकारण मैले राजीनामा दिएँ भने मण्डलीको काम के होला? पछि, म सुसमाचारको काम लागू गर्न गएँ, र ब्रदर-सिस्टरहरूमा उनीहरूलाई बाधा पुऱ्याउने धेरै गलत दृष्टिकोणहरू रहेछन् भन्ने पत्ता लगाएँ। सुरुमा त, मैले सङ्गति गर्न र समस्याहरू समाधान गर्न मेहनत गर्न सकेँ, तर केही समयपछि पनि, सुसमाचारको कामका परिणामहरू अझै कमजोर नै रहे। जब म विचलनहरूको संक्षेपीकरण र समस्याहरू समाधानमा समय र प्रयत्न खर्च गर्नुपर्छ, र सम्भावित सुसमाचार प्राप्तकर्ताहरूले राख्ने कुनै पनि समस्याहरूको निरन्तर अनुगमन र समाधान गर्नुपर्छ, अनि गर्नुपर्ने कामका बारे विचार गर्थेँ, म थाकेको महसुस गर्थें। म सोच्थेँ, “मैले गर्नुपर्ने काम पहिल्यै धेरै छ। मैले यो सबै कुराको व्यवस्थापन कसरी गर्ने? मेरो शरीरले कामै गर्न सकेन भने? शरीर त आफ्नै हो नि, मैले यसलाई सहजताका साथ लिनुपर्छ, म यसरी थकित हुनु हुँदैन।” त्यसैले, हरेक चोटि ब्रदर-सिस्टरहरूलाई भेट्दा, म सुसमाचार सुनाउनका लागि कोही सम्भावित व्यक्ति छन् कि भनेर खालि छोटकरीमा सोध्थेँ, र त्यसपछि म धर्मशास्त्रका केही वचन बोल्थेँ अनि गैहाल्थेँ। केही समयपछि नै, माथिल्लो नेतृत्वले, सुसमाचारको कामले परिणामहरू प्राप्त नगर्नुको कारण अगुवाले वास्तविक काम नगरेकोले नै हुनुपर्छ भन्दै एउटा पत्र पठायो। म अलिक व्याकुल भएँ, र सोचेँ, “सुसमाचारको काम मेरो जिम्मेवारी हो, त्यसैले नतिजाको अभाव म सित सिधै सम्बन्धित छ।” मैले अलिक दमित पनि महसुस गरेँ, मण्डलीका नयाँ विश्वासीहरूलाई मलजल गर्ने जस्तो, एक-पक्षीय काम गर्नु नै राम्रो हुन्छ भन्ने सोचेँ, यसो गर्दा मैले अलिक आराम गर्न पाउँथेँ र म थकित हुन्नथेँ। अगुवा बन्नु अत्यन्तै कठिन काम थियो, र यदि काम राम्ररी पूरा भएन भने, मैले जिम्मेवारी लिनुपर्थ्यो। मैले जिम्मेवारी स्वीकार गरेर राजीनामा दिनुपर्छ भन्ने मलाई लाग्यो। त्यसकारण, जब मैले माथिल्लो स्तरका अगुवालाई भेटेँ, तब मैले मेरा अप्ठ्यारा र कठिनाइहरूका बारेमा गुनासो गरेँ, र मसँग यो कर्तव्य पूरा गर्नका लागि चाहिने क्षमताको कमी छ, र मैले नेतृत्वको पद ओगटेकोले ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा ढिलाइ भइरहेको छ र यसले मण्डलीको काममा असर गरिरहेको छ, र यो दुष्कर्म गर्नु हो भनेर भनेँ। अगुवाले मेरो राजीनामा स्वीकार गरेनन्, बरु मलाई सङ्गति र सहयोग गर्ने प्रस्ताव गरे। मलाई ममा क्षमताको कमी होइन, बरू म आफ्नै देहबारे अत्यन्तै चिन्तित छु भन्ने महसुस भयो। अनि जब-जब म शारीरिक कष्ट भोग्ने बारेमा सोच्थेँ, मलाई अझै पनि मेरो शरीर ढल्नेछ भन्ने डर लाग्थ्यो, र मेरो पुरानो रोग फर्केर आयो र म मरेँ भने के होला भनेर सोच्थेँ। मैले आफ्नो कर्तव्य पूरा गरिरहेकी जस्तो देखिए पनि, मलाई पीडा हुन्थ्यो र दबावमा परेको महसुस हुन्थ्यो। पछि, सुसमाचारको कामकी इन्चार्ज सिस्टरले मलाई भनिन्, “तपाईंको मण्डलीमा सुसमाचारको कामका खराब परिणामहरू सिधा तपाईंसँगै सम्बन्धित छन्।” मैले आफैँमा मनन गरिनँ, बरु मैले बहाना र स्पष्टीकरणहरू खोजेँ, र मसँग क्षमताको कमी छ र म काम सम्हाल्न सक्दिनँ भनेर भनेँ। त्यसपछि, म आफ्नो कर्तव्यमा निष्क्रिय भइरहेँ।
जुन २०२१ मा एक दिन, मलाई भेलाको समयमा पुलिसले पक्राउ गर्यो। त्यो बेला, मैले यो परमेश्वरले मलाई ताडना दिइरहनुभएको हो भन्ने कुरा स्पष्ट रूपमा महसुस गरेँ। म सधैँ आफ्नो कर्तव्यमा निष्क्रिय भएकी थिएँ, सधैँ आफ्नो देहको बारेमा चिन्तित हुन्थेँ र राजीनामा दिन चाहन्थेँ, अगुवाको कर्तव्य पूरा गर्न चाहेकी थिइनँ, र अहिले मैले आफ्नो कर्तव्य पूरा गर्ने मौका गुमाएकी थिएँ। मलाई परमेश्वरले मेरो कर्तव्य पूरा गर्ने मेरो योग्यतालाई खारेज गर्न यो परिस्थितिको प्रयोग गर्नुभएको हो भन्ने लाग्यो, र मेरो हृदय कष्टले भरिएको थियो। पछि, परमेश्वरको सुरक्षाका कारण, मलाई तुरुन्तै रिहाइ गरियो। पुलिसको निगरानी र पक्राउबाट जोगिनका लागि, म केही समयसम्म लुक्नुपर्यो र म आफ्नो कर्तव्य पूरा गर्न बाहिर जान पाउँदिनथिएँ। मलाई ठूलो पीडा भयो र मलाई निकै नकारात्मक महसुस भयो, यो परिस्थितिको अर्थ परमेश्वरले मलाई प्रकट गरिरहनुभएको छ र उहाँले मलाई अबदेखि चाहनुहुन्न भन्ने पो हो कि भन्ने सोचिरहेँ। पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ र परमेश्वरको अभिप्राय बुझेँ। परमेश्वर भन्नुहुन्छ: “कहिलेकहीँ, परमेश्वरले तेरो खुलासा गर्न वा तँलाई अनुशासनमा राख्न निश्चित मामला प्रयोग गर्नुहुन्छ। के यसको अर्थ तँलाई हटाइएको छ भन्ने हुन्छ? के यसको अर्थ तेरो अन्त्य आएको छ भन्ने हुन्छ? हुँदैन। … वास्तवमा, धेरैजसो अवस्थामा, मानिसहरूको चिन्ता तिनीहरूका आफ्नै स्वार्थबाट पैदा भएका हुन्छन्। सामान्य शब्दमा भन्दा, यो आफूलाई कुनै परिणाम हात नलाग्ला कि भन्ने तिनीहरूको डर हो। तिनीहरूले सधैँ यस्तो सोचिरहन्छन्, ‘यदि परमेश्वरले मेरो खुलासा गर्नुभयो, र मलाई हटाउनुभयो, र इन्कार्नुभयो भने के गर्ने?’ यो तैँले परमेश्वरलाई गलत अर्थ्याएको हो; यी तेरा एकतर्फी अनुमानहरू मात्रै हुन्। तैँले परमेश्वरको अभिप्राय के हो त्यो पत्ता लगाउनुपर्छ। जब उहाँले मानिसहरूको खुलासा गर्नुहुन्छ, त्यो तिनीहरूलाई हटाउन गरिएको हुँदैन। तिनीहरूका कमीकमजोरी, गल्ती, अनि तिनीहरूको प्रकृति सार पर्दाफास गर्न, तिनीहरूले आफैलाई चिनेर, र साँचो पश्चात्ताप गर्न सक्ने तुल्याउन तिनीहरूको खुलासा गरिन्छ; यसकारण, मानिसहरूको खुलासा गर्नु भनेको तिनीहरूको जीवनलाई वृद्धि हुन सहयोग गर्नको लागि हो। साँचो समझविना, मानिसहरूले परमेश्वरलाई गलत अर्थ्याउने र नकारात्मक र कमजोर बन्ने सम्भावना हुन्छ। तिनीहरू निराशसमेत हुन सक्छन्। वास्तवमा, परमेश्वरद्वारा खुलासा गरिनुको अर्थ तँलाई हटाइनेछ भन्ने हुँदैन। यो त तँलाई तेरो आफ्नो भ्रष्टता चिन्न मदत गर्न, र तँलाई पश्चात्ताप गर्न लगाउनको लागि गरिन्छ। मानिसहरू विद्रोही हुने भएकाले, र तिनीहरूको भ्रष्टता प्रकट हुँदा तिनीहरूले सत्यतामा समाधान नखोज्ने भएकाले, प्रायजसो परमेश्वरले अनुशासन प्रयोग गर्नुपर्ने हुन्छ। त्यसकारण कहिलेकाहीँ, उहाँले मानिसहरूको खुलासा गर्नुहुन्छ, अनि तिनीहरूको कुरूपता र दयनीय अवस्था पर्दाफास गरिदिनुहुन्छ, तिनीहरूलाई आफैलाई चिन्ने तुल्याउनुहुन्छ, जसले तिनीहरूको जीवन वृद्धि हुन सहयोग पुर्याउँछ। मानिसहरूको खुलासा गर्नुका दुई फरक आशयहरू हुन्छन्: दुष्टहरूको हकमा, खुलासा गरिनुको अर्थ तिनीहरूलाई हटाइनु भन्ने हुन्छ। सत्यता स्विकार्न सक्ने मानिसहरूको हकमा, यो ताकिता र चेतावनी हुन्छ; र तिनीहरूलाई आफ्नो बारे मनन गर्न, आफ्नो साँचो स्थिति देख्न, र बाटो बिराउन र लापरवाही हुन रोक्न लगाइन्छ, किनभने यसरी अघि बढ्नु खतरनाक हुनेछ। मानिसहरूको यसरी खुलासा गर्नुको उद्देश्य तिनीहरूलाई सम्झाउनको लागि हो, नत्र आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरू झाराटारुवा र लापरवाह बन्छन्, कामकुरालाई गम्भीर रूपमा लिँदैनन्, एक-दुईवटा नतिजा प्राप्त गर्दा नै सन्तुष्ट हुन्छन्, र स्वीकार्य मापदण्डअनुसार आफ्नो कर्तव्य पूरा गरेको ठान्छन्—जबकि वास्तवमा परमेश्वरले मागअनुसार मापन गर्दा, तिनीहरू धेरै चुकेका हुन्छन्, तर अझै पनि तिनीहरू आत्मसन्तुष्ट बन्छन्, र आफूले ठिकै काम गरिरहेको ठान्छन्। त्यस्तो परिस्थितिमा, परमेश्वरले मानिसहरूलाई अनुशासनमा राख्नुहुन्छ, चेतावनी दिनुहुन्छ, र सम्झाउनुहुन्छ। कहिलेकहीँ, परमेश्वरले तिनीहरूको कुरूपता खुलासा गर्नुहुन्छ—र यसले ताकिताको रूपमा काम गर्नुपर्छ। त्यस्तो बेला तैँले आफ्नो बारेमा मनन गर्नुपर्छ: यसरी तैँले आफ्नो कर्तव्य निर्वाह गर्नु पर्याप्त छैन, तँभित्र विद्रोहीपन छ, अत्यन्तै धेरै नकारात्मक तत्त्वहरू छन्, तैँले गर्ने हरेक कुरा लापरवाह रूपमा गरिएको छ, र तैँले अझै पनि पश्चात्ताप गरिनस् भने, नियमानुसार, तँ दण्डित हुनुपर्छ। परमेश्वरले तँलाई कहिलेकाहीँ, ताडना दिनुहुँदा, वा उदाङ्गो पार्नुहुँदा, यसको अर्थ तँलाई हटाइनेछ भन्ने नै हुँदैन। यो विषयलाई सही तरिकाले हेरिनुपर्छ। तँलाई हटाइयो नै भने पनि, तैँले यसलाई स्विकार्नुपर्छ र यसमा समर्पित हुनुपर्छ, र तुरुन्तै मनन गरेर पश्चात्ताप गरिहाल्नुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर र परमेश्वरप्रति समर्पित भएर मात्रै स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्वरका वचनहरूले उहाँप्रतिको मेरो गलतबुझाइलाई हटाए। मैले पक्राउ पर्दा र आफ्नो कर्तव्य गुमाउँदा परमेश्वरले मलाई खुलासा गर्न र हटाउन यो परिस्थिति प्रयोग गरिरहनुभएको थियो भन्ने सोचेको थिएँ, तर वास्तवमा, यो परिस्थिति परमेश्वरले मलाई याद दिलाइरहनुभएको र चेतावनी दिइरहनुभएको थियो, र यसले मलाई आत्मचिन्तन गर्न प्रेरित गर्यो। म सधैँ कठिनाइहरू र समस्याहरूका बारेमा गुनासो गर्थेँ र आफ्नो कर्तव्यमा वास्तविक काम गर्नुको सट्टा सहजताको लालसा राख्थेँ। जसले गर्दा काममा बाधा मात्रै भयो। यदि मेरो जीवनमा यस्तो परिस्थिति नआएको भए, मैले आफ्नो बारेमा मनन गर्नेथिइनँ र आफ्नो कर्तव्यलाई हल्का रूपमा लिनेथिएँ। यसले काममा अपूरणीय क्षति पुऱ्याउने र परमेश्वरलाई रिस उठाउने थियो, जसको परिणामस्वरूप म अवश्य नै हटाइने थिएँ। मैले आफ्नो बारेमा राम्ररी मनन गर्नुपर्छ र साँचो रूपमा पश्चात्ताप गर्नुपर्छ भन्ने मलाई थाहा थियो, किनभने यो परमेश्वरको अभिप्राय अनुरूप थियो। मैले अबदेखि परमेश्वरलाई गलत रूपमा बुझ्नु हुँदैनथ्यो। त्यसकारण मैले मनन गर्न थालेँ, र यस मामलाबाट पाठ सिक्न मलाई अगुवाइ गर्नुहोस् भनेर अनुरोध गर्दै परमेश्वरलाई प्रार्थना गरेँ।
पछि, मैले परमेश्वरका यी वचनहरू पढेँ: “कर्तव्य निर्वाह गर्दा मानिसहरू सधैँ थकित नहुने, घरबाहिर गई दौडधूप गर्नु नपर्ने हल्का काम छान्छन्। यसलाई सजिलो काम छान्नु र गाह्रो कामदेखि भाग्नु भनिन्छ, र यो देहसुखप्रतिको लालचको प्रकटीकरण हो। अरू के-के छन्? (कर्तव्य अलिक गाह्रो, अलिक थकाइलाग्दो, र मूल्य चुकाउनुपर्ने हुँदा सधैँ गुनासो गर्नु।) (खानेकुरा र लुगाफाटाप्रति मरिमेट्नु र देहको सुखमा लिप्त हुनु।) यी सबै देहसुखप्रतिको लालचका प्रकटीकरण हुन्। यस्तो व्यक्तिले एकदमै गाह्रो वा जोखिमपूर्ण काम देखेमा, त्यो अरू कसैलाई भिराउँछ; आफूले चाहिँ फुर्सदिलो काम मात्र गर्छ, र आफ्नो क्षमता कमजोर छ, काम गर्ने क्षमता छैन, र यस्तो काम गर्न सक्दिनँ भन्दै बहाना बनाउँछन्—जबकि वास्वतमा देहसुखको लालचले गर्दा त्यस्तो भएको हुन्छ। तिनीहरूले जे काम गरे नि वा जे कर्तव्य निर्वाह गरे नि कष्ट भोग्न चाहँदैनन्। … त्यसैगरी, मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ कठिनाइहरूबारे गुनासो गर्छन्, उनीहरू कुनै प्रयास गर्न चाहँदैनन्, अलिकति फुर्सतको समय पाउनासाथ आराम गर्छन्, गफ लडाउँछन्, वा बसिबियाँलो र मनोरञ्जनात्मक क्रियाकलापमा भाग लिन्छन्। अनि काममा व्यस्तता सुरु भएपछि, जीवनको तालमेल र तालिका बिग्रँदा, तिनीहरू दुःखी र असन्तुष्ट हुन्छन्। तिनीहरू गनगन र गुनासो गर्छन्, अनि तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा झाराटारुवा बन्छन्। यो देहसुखको लालच गर्नु हो, होइन र? … मण्डलीको काम वा तिनीहरूको कर्तव्यमा जति व्यस्तता भए नि, तिनीहरूको जीवनको दैनिकी र सामान्य अवस्थामा कहिल्यै बाधा हुँदैन। तिनीहरू दैहिक जीवनका सानातिना कुरालाई समेत कहिल्यै बेवास्ता गर्दैनन् र अत्यन्तै कट्टर र गम्भीर हुँदै ती कुरालाई पूर्ण रूपमा नियन्त्रणमा राख्छन्। तर परमेश्वरको घरको काम सम्हाल्ने क्रममा, मामला जति ठूलो भए नि र यो कुरा विश्वासी दाजुभाइ-दिदीबहिनीको सुरक्षासँग सम्बन्धित नै भए नि, तिनीहरूले लापरवाही गर्छन्। तिनीहरू परमेश्वरको आज्ञासँग सम्बन्धित कुराहरू वा आफूले गर्ने कर्तव्यबारे वास्ता गर्दैनन्। तिनीहरू जिम्मेवारी लिँदैनन्। यो देहसुखमा लिप्त हुनु हो, होइन र? के देहसुखमा लिप्त हुने मानिसहरू कर्तव्य निर्वाह गर्न योग्य हुन्छन्? कसैले कर्तव्य पूरा गर्ने कुरा उठाउनेबित्तिकै, वा मूल्य चुकाउनेबारे र कठिनाइ भोग्नेबारे बोल्नेबित्तिकै, तिनीहरूले टाउको हल्लाउँछन्। तिनीहरूसित समस्यैसमस्या हुन्छन्, तिनीहरू गुनासोका पोका हुन्, र तिनीहरू नकारात्मकताले भरिएका हुन्छन्। यस्ता मानिसहरू बेकारका हुन्, तिनीहरू कर्तव्य निर्वाह योग्य हुँदैनन् र तिनीहरूलाई हटाइनुपर्छ” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू (२))। “किनभने तँलाई परमेश्वरसँग जोड्ने बन्धनलाई सबैभन्दा स्पष्ट रूपमा प्रतिबिम्बित गर्ने कुरा भनेको परमेश्वरले तँलाई सुम्पने विषयहरू र उहाँले तँलाई अह्राउनुहुने कर्तव्यहरूप्रति तैँले गर्ने व्यवहार, र तँसँग भएको मनोवृत्ति हो। सबैभन्दा प्रत्यक्ष रूपमा देखिने र सबैभन्दा व्यावहारिक कुरा यही हो। परमेश्वर कुरिरहनुभएको छ; उहाँ तेरो मनोवृत्ति हेर्न चाहनुहुन्छ। यो महत्त्वपूर्ण मोडमा, तैँले झट्टै परमेश्वरलाई आफ्नो स्थान थाहा दिनुपर्छ, उहाँको आज्ञा स्विकार्नुपर्छ र आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्छ। जब तैँले यो महत्त्वपूर्ण कुरालाई बुझेर परमेश्वरले तँलाई दिनुभएको आज्ञा पूरा गर्छस्, तब परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य बन्नेछ। जब परमेश्वरले तँलाई कुनै काम सुम्पनुहुन्छ वा कुनै निश्चित कर्तव्य पूरा गर्न लगाउनुहुन्छ, तब यदि तेरो मनोवृत्ति सतही र उदासीन किसिमको हुन्छ, र तैँले यसलाई गम्भीरतासाथ लिँदैनस् भने, के यो तेरो सारा हृदय र शक्ति दिनुको ठिक विपरीत कुरा हुँदैन र? के तँ यसरी आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छस्? पक्कै पनि सक्दैनस्। तैँले आफ्नो कर्तव्य पर्याप्त रूपमा निभाउने छैनस्। त्यसकारण, आफ्नो कर्तव्य पूरा गर्दा तैँले धारण गर्ने मनोवृत्ति, साथै तैँले छनौट गर्ने विधि र मार्ग पनि अत्यन्तै महत्त्वपूर्ण हुन्छन्। तिनीहरूले जति नै वर्ष परमेश्वरमा विश्वास गरेका भए पनि, आफ्नो कर्तव्य निभाउन नसक्नेहरूलाई हटाइनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूका बारेमा मनन गर्दा, मलाई मेरो हृदय छेडिएको जस्तो लाग्यो, मानौँ परमेश्वर मेरो अघि खडा भएर मलाई न्याय गरिरहनुभएको छ। परमेश्वरले मानिसहरूलाई आज्ञाहरू सुम्पनुहुन्छ, ताकि तिनीहरूले ती काम आफ्नो सारा हृदय र शक्तिले पूरा गर्न सकून्, तर मैले आफ्नो कर्तव्यप्रति यति हेल्चेक्र्याइँ मनोवृत्ति राखेकी थिएँ, र मैले आफ्नो जिम्मेवारी पटक्कै पूरा गरिनँ। जब मेरो कर्तव्य अलिक व्यस्त बन्यो वा मैले विचार गर्नुपर्ने वा मूल्य चुकाउनुपर्ने कठिनाइहरू देखा परे, मलाई सहजताको तृष्णा भयो र मैले गुनासो गरेँ, म कठिनाइ भोग्न वा मूल्य चुकाउन अनिच्छुक भएँ। म राजीनामा दिन र आफ्नो कर्तव्यबाट पछि हट्न समेत चाहन्थेँ। मलाई सुरुमा आफूले मण्डली अगुवाको जिम्मेवारी लिएको समयको बारेमा याद आयो। गर्नुपर्ने काम धेरै भए पनि, म परमेश्वरमा भरोसा गर्थेँ र वास्तविक मूल्य चुकाउँथेँ, र परमेश्वरले मलाई अगुवाइ गर्नुभयो, र काममा केही प्रगति भयो। पछि, मण्डली सदस्यहरूको सङ्ख्या बढ्दै जाँदा, गर्नुपर्ने काम अझै धेरै भयो, र मसँग काम गर्ने सिस्टर अझै पनि नयाँ विश्वासी थिइन्, त्यसकारण मण्डलीको धेरैजसो काममा मेरो व्यक्तिगत सहभागिता आवश्यक हुन्थ्यो। म दिन-रात व्यस्त हुन्थेँ, र मैले शारीरिक रूपमा कष्ट भोगिरहेको छु जस्तो लाग्यो। मलाई मेरो क्यान्सर फेरि फर्किन सक्छ भन्ने कुराको बारेमा विशेष चिन्ता लागेको थियो, त्यसकारण मैले अब आफ्नो कर्तव्य मन लगाएर गर्न चाहिनँ। सुसमाचारको काममा कुनै प्रगति नभएको देख्दा, मैले अप्ठ्यारा र कठिनाइहरूका बारेमा गुनासो गरेँ, मसँग क्षमताको कमी भएकोले म काम सम्हाल्न सक्दिनँ भनेर बहाना बनाएँ, सधैँ सजिलो कर्तव्यका लागि आफ्नो जिम्मेवारीबाट पछि हट्न चाहेँ। सत्यता के थियो भने, यदि म मूल्य चुकाउन तयार भएको भए, मैले काम राम्ररी गर्न सक्थेँ, तर मलाई समस्याको डर लाग्थ्यो, र ब्रदर-सिस्टरहरूका कठिनाइहरू समाधान गर्नका लागि परमेश्वरका वचनहरू खोजी गर्ने प्रयास गर्न चाहन्नथेँ। मलाई मेरो शरीरले काम गर्न छोड्छ भन्ने डर लागेको थियो, त्यसकारण मैले वास्ता नगरी कामको ढिलो प्रगतिलाई मात्रै हेरिरहेँ, जसले गर्दा सुसमाचारको काम महिनौँसम्म अप्रभावकारी रह्यो। यो सबै सहजताप्रतिको मेरो चरम इच्छाको कारण भएको थियो। सिस्टरले मलाई काट-छाँट गरेको अवस्थामा पनि मैले मनन गरिनँ बरू आफूलाई सही साबित गर्ने प्रयास गरेँ। परमेश्वरले मेरा कर्तव्यहरूप्रतिको मेरो मनोवृत्तिलाई घृणा र तिरस्कार गर्नुभयो। परमेश्वरले मेरो कर्तव्य रोक्न यो परिस्थितिको प्रयोग गर्नुभयो, र परमेश्वरको धर्मी स्वभाव पूर्ण रूपमा प्रकट भयो। तर मैले आफ्नो बारेमा मनन गरिनँ, र परमेश्वरले मलाई खुलासा गर्न र हटाउन यो परिस्थितिको प्रयोग गरिरहनुभएको छ भन्ने सोचेँ, र म गलतफहमीमा जिइरहेको थिएँ। मैले परमेश्वरका असल अभिप्रायहरू पटक्कै बुझेकी थिइनँ! यो महसुस गरेपछि, मलाई परमेश्वरप्रति गहन रूपमा ऋणी भएको महसुस भयो, त्यसकारण मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मैले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छैनँ, र कठिनाइहरूको सामना गर्दा, मैले गुनासो गरेँ, आफ्नो देहको मात्रै ख्याल गरेँ र थकानको डर मानेँ। मैले तपाईंका अभिप्रायको पटक्कै ख्याल राखिनँ। अहिले मैले मेरो विद्रोहीपनलाई पहिचान गरेँ र म पश्चात्ताप गर्न तयार छु। भविष्यमा मैले कर्तव्य पूरा गर्ने अवसर पाउनेछु कि पाउनेछैनँ मलाई थाहा छैन, तर यदि मैले पाएँ भने, म तपाईंका अभिप्रायको ख्याल राख्न तयार छु, र शारीरिक सहजताको खोजी गर्न छोड्नेछु।”
त्यसपछि, म शान्त भएँ, मैले परमेश्वरका वचनहरू पढेँ, र परमेश्वरलाई प्रार्थना गरेँ, मैले आफ्नो कर्तव्यमा किन कष्ट भोग्न वा मूल्य चुकाउन मराजी हुन्न भन्ने बारेमा मनन गरेँ। पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “परमेश्वरमाथिको तेरो विश्वासमा तँ कुनै पनि चुनौती वा संकष्टहरू, वा थोरै पनि कष्ट नआओस् भन्ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरूको खोजी गर्छस् जुन व्यर्थ छन्, र तैँले जीवनलाई कुनै मूल्यको ठान्दैनस्, बरु सत्यताको सट्टा आफ्नै अनावश्यक विचारहरूलाई अघि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्नता छ र? सत्यताको खोजी नगरेर देहलाई प्रेम गर्नेहरू सबै नै पशुहरू होइनन् र? आत्माविहीन रहेका मृत मानिसहरू सबै जिउँदो लासहरू होइनन् र? तिमीहरूका माझमा कति वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै काम मात्र गरिएका छन्? तिमीहरूका माझमा मैले कति भरणपोषण गरेँ? त्यसो भए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केको बारेमा गुनासो गर्नु छ? के तैँले देहलाई अत्यन्तै धेरै प्रेम गर्ने हुनाले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के यो तेरा विचारहरू अत्यन्तै अनावश्यक भएकोले होइन र? के यो तँ अत्यन्तै मूर्ख भएकोले होइन र? यदि तँ यी आशिष्हरू प्राप्त गर्न असक्षम छस् भने, तँलाई मुक्ति नदिनुभएकोमा के तैँले परमेश्वरलाई दोष दिन सक्छस्? … सधैँ देहको खोजी गर्ने तँजस्तो कायरमा—के तँमा हृदय छ, के तँसँग आत्मा छ? के तँ वनपशु होइनस् र? सट्टामा केही पनि नमागी नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्वरमा विश्वास गर्नेहरूमध्ये एक होस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरले के खुलासा गर्नुहुन्छ भने, जब मानिसहरूले आफ्नो कर्तव्यमा कठिनाइहरूको सामना गर्छन्, तब तिनीहरूले गुनासो गर्छन् र ती पूरा गर्न अनिच्छुक हुन्छन्, र सहजताको खोजी गर्ने त्यस्ता मानिसहरू सुँगुरहरू जस्तै हुन्, तिनीहरूले खाना, पेय पदार्थ, र सुत्ने कुरामा मात्रै आफूलाई व्यस्त राख्छन्, तिनीहरूसँग कुनै सकारात्मक पछ्याइ हुँदैन। परमेश्वरका वचनहरूमा मनन गरेपछि, म पनि यस्तै छु भन्ने देखेँ। अगुवाको कर्तव्य पूरा गर्नु मेरो लागि अभ्यास गर्ने अवसर थियो, जसले गर्दा मैले सत्यताको खोजी गर्न र कठिनाइहरू आइपर्दा काम गर्न सक्थेँ। तर अगुवा बन्नुको अर्थ धेरै चिन्ता र मेहनत गर्नु हो भन्ने देख्दा, मलाई प्रतिरोधको महसुस भयो, र जब सुसमाचारको काम प्रभावकारी भएन र मैले कष्ट भोग्नु र मूल्य चुकाउनुपर्थ्यो, तब मैले आफ्नो शरीरको बारेमा मात्रै वास्ता गरेँ, थकाइले मेरो क्यान्सर फर्केर आउँछ भन्ने डरले, मैले बहानाहरू बनाउँदै राजीनामा दिन चाहेँ। मसँग कुनै विवेक वा जिम्मेवारीको बोध छैन भन्ने देखेँ। म आफ्नो कर्तव्यप्रति गैरजिम्मेवार भएको थिएँ र मैले यसलाई हल्का रूपमा लिएको थिएँ, जसले गर्दा सुसमाचारको काममा कुनै प्रगति भएन, र मैले ब्रदर-सिस्टरहरूलाई पनि कुनै सहयोग प्रदान गरिनँ। मैले आफूलाई थकित नपारे पनि, मैले मण्डलीको काममा ढिलाइ गरेँ। म स्वार्थी र अविश्वसनीय व्यक्ति भएकी थिएँ, परमेश्वर कसरी मलाई घृणा नगरी र मप्रति नघिनाई बस्न सक्नुहुन्थ्यो र? मण्डलीमा सदस्यहरू थोरै हुँदाको कुरालाई फर्केर हेर्दा, काम धेरै भए पनि र केही कठिनाइहरू भए पनि, मूल्य चुकाएर, केही समयपछि काममा सुधारका लक्षणहरू देखा परे। र मैले केही सत्यता सिद्धान्तहरू बुझेँ। मण्डली सदस्यहरूको सङ्ख्या बढ्दै जाँदा, र काममा केही समस्याहरू देखा पर्दा, म ती कुराहरूलाई समाधान गर्न मूल्य चुकाउन वा सत्यताको खोजी गर्न अनिच्छुक भएँ, किनभने मलाई मेरो शरीरले काम गर्न सक्दैन भन्ने डर लागेको थियो। परिणाम स्वरूप, काम प्रभावकारी नभएको मात्र होइन, तर मैले कुनै सत्यता पनि प्राप्त गरिनँ। परमेश्वरले मेरो लागि यति ठूलो मूल्य चुकाउनुभएको छ, उहाँले मेरो भ्रष्ट स्वभावलाई शुद्ध पार्न र परिवर्तन गर्न धेरै परिस्थितिहरू मिलाउनुभएको छ, र उहाँले मलाई आफ्नो कर्तव्यद्वारा सत्यता प्राप्त गर्ने अवसर दिनुभयो, तर शारीरिक कष्टसँग सम्बन्धित कठिनाइहरूको सामना गर्दा, म पछि हटेर बसेँ। यसको अर्थ मैले परमेश्वरको परिश्रमशील अभिप्रायलाई निराश तुल्याएको मात्रै होइन झन् मैले मण्डलीको काममा हानि समेत पुऱ्याएँ, र अपराधहरू गरेँ। मलाई अत्यन्तै ग्लानि भयो र मैले पश्चात्ताप गर्न इच्छा गर्दै परमेश्वरलाई प्रार्थना गरेँ।
प्रार्थना गरेपछि, मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो: “परमेश्वरका आज्ञाहरूलाई तैँले कसरी लिन्छस् भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ, र त्यो एकदमै गम्भीर विषय हो! यदि परमेश्वरले मानिसहरूलाई सुम्पनुभएको कुरा तैँले पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तँलाई सजाय दिइनुपर्छ। परमेश्वरले सुम्पनुभएका आज्ञाहरूलाई मानिसहरूले पूरा गर्नुपर्छ भन्ने कुरा पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो। यो मान्छेको सर्वोच्च उत्तरदायित्व हो, र यो कुरा तिनीहरूको जीवन जत्तिकै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्वरका आज्ञाहरूलाई गम्भीरताका साथ लिँदैनस् भने तैँले उहाँलाई सबैभन्दा घोर रूपले धोका दिइरहेको हुन्छस्। यसमा, तँ यहूदाभन्दा पनि बढी विलापमय हुन्छस्, र तँ श्रापित हुनुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। यो साँचो कुरा थियो। म हेल्चेक्र्याइँ गर्ने व्यक्ति थिएँ, मलाई प्रतिरोधी महसुस हुन्थ्यो, र ममा आफ्नो कर्तव्यवहन बोधको कमी थियो। यो परमेश्वरप्रतिको गम्भीर धोका थियो र म यहूदाभन्दा पनि दुःखलाग्दो व्यक्ति थिएँ। यहूदाले आफ्नै स्वार्थको लागि प्रभु येशूलाई बेच्यो, र त्यो बेला, परमेश्वरले उसलाई त्यति धेरै प्रचार गर्नुभएको थिएन। तर आज, मैले परमेश्वरका धेरै वचनहरू पढेको थिएँ, र मैले मानिसहरूलाई मुक्ति दिने परमेश्वरका केही सत्यता र अभिप्रायहरू बुझेकी थिएँ, तैपनि परमेश्वरको प्रेमको ऋण तिर्नका लागि आफ्नो कर्तव्य पूरा गर्न सक्दो प्रयास गर्नुको सट्टा, मैले आफ्नो देहको कुरा सुनेँ र म मण्डलीको कामप्रति गैरजिम्मेवार भएँ। के मेरा कार्यहरू यहूदाभन्दा घृणित थिएनन् र? आफ्नो कर्तव्यमा, मैले आफ्नो देहको मात्रै ख्याल राख्थेँ, सधैँ सजिलो विकल्प लिन्थेँ, र मण्डलीको कामलाई पूर्ण रूपमा बेवास्ता गर्थेँ। मेरो व्यवहारले परमेश्वरमाथिको विश्वासघातको संकेत गर्यो, र परमेश्वरबाट श्राप र दण्ड पाउन योग्य बनायो। सत्यता के हो भने, यदि म आफ्नो कर्तव्यमा अझै लगनशील भएकी र केही मेहनत गर्न र मूल्य चुकाउन तयार भएकी भए, सुसमाचारको काम महिनौँसम्म अप्रभावकारी हुने थिएन। मैले आफ्नो कर्तव्यलाई हल्का रूपमा लिएकी थिएँ र सुसमाचारको काममा ढिलाइ गरेकी थिएँ। यो गम्भीर अपराध थियो! यो महसुस गरेपछि, मलाई डर लाग्यो। मैले आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्तिलाई परमेश्वरले साँच्चै नै घृणा र तिरस्कार गर्नुहुन्छ र म श्राप पाउन लायक छु भन्ने तथ्य मनन गरेँ। तर परमेश्वरले मलाई मेरा कार्यहरू अनुसार व्यवहार गर्नुभएन। बरु, उहाँले चिनियाँ कम्युनिस्ट पार्टीले मलाई पक्राउ गरेको घटना प्रयोग गरेर मलाई मेरो भ्रष्ट स्वभावको बारेमा मनन गर्न र पहिचान गर्न उहाँको अगाडि आउन बाध्य पार्नुभयो, र म आफ्नो देह त्याग्न र उहाँकहाँ फर्कन सक्छु भन्ने आशा गर्नुभयो। म परमेश्वरको न्यायलाई स्वीकार गर्न र परमेश्वरका अगाडि प्रायश्चित्त गर्न तयार भएँ, र भविष्यमा, मेरो कर्तव्य जति नै थकाइलाग्दो वा गाह्रो भए पनि, म त्यसबाट पछि हट्नेवाला थिइनँ, र म ती काम गर्न सक्दो गर्न मात्रै चाहन्थेँ।
पछि, मेरो शरीरले काम गर्न छोड्छ भन्ने मेरो निरन्तर डर र मृत्युभयको स्थितिलाई सम्बोधन गर्नका लागि, मैले मेरा चिन्ताहरूलाई समाधान गर्ने परमेश्वरका अझै धेरै वचनहरू पढेँ। परमेश्वर भन्नुहुन्छ: “वास्तवमा, यदि व्यक्तिको हृदयमा परमेश्वरप्रतिको विश्वास साँच्चै छ भने, उसले सर्वप्रथम मान्छेको जीवनकाल परमेश्वरकै हातमा हुन्छ भनेर जान्नैपर्छ। व्यक्तिको जन्म र मृत्युको समय परमेश्वरद्वारा पूर्वनिर्धारित हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “कतिपय मानिसहरू आफ्नो रोग निको पार्न विभिन्न उपाय अपनाउँदै हरसम्भव प्रयास गर्छन्, तर जुनसुकै उपचार अपनाए पनि, तिनीहरू निको हुन सक्दैनन्। तिनीहरू जति धेरै उपचार गर्छन्, त्यति नै तिनीहरूको रोग अझ गम्भीर बन्दै जान्छ। तिनीहरू आफ्नो रोग कस्तो हो, अनि रोगको मुख्य कारण के हो भनेर पत्ता लगाउन परमेश्वरलाई प्रार्थना गर्नुको सट्टा सबै कुरा आफ्नै हातमा लिन्छन्। तिनीहरूले धेरै उपचार पद्धति अपनाउँछन्, र धेरै पैसा खर्च गर्छन्, तैपनि तिनीहरूको रोग भने निको हुँदै हुँदैन। त्यसपछि, तिनीहरूले उपचार गर्न छोडेपछि, केही समयपछि रोग अचानक आफै ठिक हुन्छ, अनि त्यो कसरी भयो, तिनीहरूलाई थाहै हुँदैन। कतिपय मानिसहरूलाई चाहिँ सामान्य रोग लाग्छ र तिनीहरू त्यसबारे त्यति चिन्ता गर्दैनन्, तर एकदिन अचानक तिनीहरूको अवस्था बिग्रिन्छ र तिनीहरूको मृत्यु हुन्छ। त्यो के भएको हो? मानिसहरू त्यो बुझ्नै सक्दैनन्; वास्तवमा परमेश्वरको दृष्टिकोणबाट हेर्दा, यस संसारमा त्यस व्यक्तिको मिसन सकिएकोले, उहाँले उसलाई लैजानुभएको हो। मानिसहरू प्रायः भन्ने गर्छन्, ‘बिरामी नभई मान्छे मर्दैन।’ के साँच्चै यस्तै हुन्छ र? केही यस्ता मानिसहरू पनि थिए, जसको अस्पतालमा परीक्षण गर्दा कुनै रोग भेट्टिएको थिएन। तिनीहरू निकै तन्दुरुस्त थिए, तर केही दिनभित्रै तिनीहरूको निधन भयो। यसैलाई कुनै रोग नलागी मर्नु भनिन्छ। यस्ता मानिसहरू थुप्रै छन्। यसको अर्थ व्यक्ति आफ्नो जीवनको अन्त्यमा पुगेको हो, र अब उसलाई आत्मिक क्षेत्रमा फिर्ता लगिएको छ। कतिपय मानिस क्यान्सर र क्षयरोगबाट निको भएर पनि सत्तरी वा असी वर्षभन्दा धेरै बाँचेका छन्। यस्ता मानिसहरू धेरै छन्। यी सबै परमेश्वरकै पूर्वनिर्धारणमा हुन्छन्। यो कुरा बुझ्नु नै परमेश्वरमा साँचो विश्वास गर्नु हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने मेरो रोग फर्केर आउँछ कि आउँदैन र म मर्छु कि मर्दिनँ त्यो परमेश्वरको हातमा हुन्छ, र यी कुराहरू मैले नियन्त्रण गर्न सक्ने कुराहरू होइनन्। जसरी मेरो क्यान्सर मेरो आफ्नै इच्छाको उपज थिएन, त्यसरी नै म बिरामी हुँदा र म निको हुँदा सबै कुरा परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको थियो। मैले गर्नुपर्ने कुरा भनेको परमेश्वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुनु र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु हो, र मैले जीवन र मृत्युको बारेमा व्यर्थमा चिन्ता गर्नु हुँदैन। मैले सधैँ आफ्नो कर्तव्यमा आफूलाई थकित पार्दा यसले मेरो रोग फर्केर आउनेछ र म मर्नेछु भन्ने चिन्ता गर्थेँ, मैले आफ्नो कर्तव्यवहन बोध गरेकी थिइनँ, र मैले मण्डलीको काममा ढिलाइ गरेकी थिएँ। त्यो बेला मैले के बुझेँ भने व्यक्तिको जीवन र मृत्यु परमेश्वरको हातमा छ, र मेरो क्यान्सर फर्के पनि नफर्के पनि, मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्थ्यो, र यदि परमेश्वरले मलाई मर्न दिनुभयो भने, ममा स्वीकार र समर्पणको मनोवृत्ति हुनुपर्छ, जुन परमेश्वरको अभिप्राय अनुरूप हुन्छ।
मैले नोआले परमेश्वरको आज्ञालाई कसरी लिएको थियो भन्ने बारेमा पनि विचार गरेँ। परमेश्वर भन्नुहुन्छ: “अनेक प्रकारका समस्या, कठिन परिस्थिति र चुनौतीहरूको सामना गर्दा, नोआ कहिल्यै पछि हटेनन्। तिनका केही थप कठिन ईन्जिनियरिङ कार्यहरू बारम्बार विफल र क्षतिग्रस्त हुँदा, नोआलाई हृदयमा उदास र चिन्तित महसुस भए पनि, जब तिनले परमेश्वरका वचनहरूबारे सोच्थे, जब तिनले परमेश्वरले तिनलाई दिनुभएको आज्ञाका हरेक वचन र परमेश्वरले तिनलाई गर्नुभएको उत्थानलाई सम्झन्थे, तब तिनलाई प्रायः अत्यन्तै उत्प्रेरित महसुस हुन्थ्यो: ‘म हार मान्न सक्दिनँ, परमेश्वरले मलाई आज्ञा गर्नुभएको र सुम्पनुभएको कुरालाई म त्याग्न सक्दिनँ; यो परमेश्वरको आज्ञा हो, र मैले यसलाई स्वीकार गरेको हुनाले, मैले परमेश्वरले बोल्नुभएका वचन र परमेश्वरको आवाज सुनेको हुनाले र मैले यसलाई परमेश्वरबाट स्वीकार गरेको हुनाले, म पूर्ण रूपमा समर्पित हुनुपर्छ, मानवजातिले हासिल गर्नु पर्ने कुरा यही हो।’ तसर्थ, तिनले जुनसुकै प्रकारका कठिनाइहरूभोगे पनि, तिनले जस्तोसुकै उपहास वा अपमान सामना गरे पनि, तिनको शरीर जतिसुकै शिथिल र थकित भए पनि, तिनले परमेश्वरले तिनलाई सुम्पनुभएको कुरालाई त्यागेनन्, र परमेश्वरले भन्नुभएको र आज्ञा गर्नुभएको हरेक वचनलाई निरन्तर मनमा राखे। तिनको परिवेश जतिसुकै परिवर्तन भए पनि, तिनले जतिसुकै ठूलो कठिनाइ सामना गरे पनि, तिनमा विश्वास थियो कि यीमध्ये कुनै पनि कुरा सदाका लागि रहनेछैन, केवल परमेश्वरका वचनहरू कहिल्यै बितेर जानेछैनन्, र परमेश्वरले गर्न भनेर आज्ञा गर्नुभएका कुराहरू मात्र अवश्यै पूरा हुनेछन्। नोआलाई परमेश्वरप्रति साँचो आस्था थियो, र तिनमा हुनुपर्ने समर्पण थियो, अनि तिनले परमेश्वरले अह्राउनुभएको जहाज बनाउने कामलाई निरन्तरता दिए। दिनप्रतिदिन, वर्षेनी, नोआ वृद्ध बन्दै गए, तर तिनको आस्था घटेन, र परमेश्वरको आज्ञा पूरा गर्ने तिनको मनोवृत्ति र दृढतामा कुनै परिवर्तन आएन। तिनको शरीरलाई थकित र शिथिल महसुस भएको, र तिनी बिरामी परेको, हृदयमा तिनी कमजोर भएको समयहरू आए पनि, परमेश्वरको आज्ञा पूरा गर्ने र परमेश्वरको वचनमा समर्पित हुने तिनको दृढता र अठोटमा कमी आएन। नोआले जहाज बनाएका वर्षहरूमा, तिनी परमेश्वरले भन्नुभएका वचनहरू सुन्ने र तिनमा समर्पित हुने अभ्यास गर्दै थिए, र तिनी एक सृजित प्राणी र सामान्य व्यक्तिका रूपमा परमेश्वरको आज्ञा पूरा गर्न आवश्यक पर्ने एक महत्त्वपूर्ण सत्यताको अभ्यास पनि गर्दै थिए” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग दुई))। परमेश्वरका वचनहरूबाट, मैले नोआले परमेश्वरको अभिप्रायलाई विचार गर्न सकेको थियो भन्ने देखेँ। विशाल जहाज बनाउने ठूलो कठिनाइको सामना गर्दा, उसको शरीरले धेरै कष्ट भोग्नुपरे पनि, ऊ पछि हटेन। बरू, उसले दिन प्रतिदिन परमेश्वरले दिएको आदेशमा सय वर्षसम्म लगनशीलताका साथ, र विशाल जहाज निर्माण नभएसम्म अडिग बस्यो। नोआको अभ्यासलाई मेरो आफ्नै अभ्याससँग तुलना गर्दा, मलाई अत्यन्तै लज्जित र तुच्छ महसुस भयो। म आफ्नो कर्तव्यमा अडिग थिइनँ, बरु, म अप्ठ्यारा र कठिनाइहरूका बारेमा गुनासो गर्थेँ, र हरेक मोडमा आफ्नो शरीरको बारेमा मात्रै विचार गर्थेँ। म कुनै पनि हालतमा नोआसँग तुलना गर्न लायक थिइनँ, म केवल एक विवेकहीन व्यक्ति थिएँ। मलाई क्यान्सर भएको थियो र परमेश्वरको सुरक्षामा मैले चङ्गाइ पाएकी थिएँ, र मैले आफ्नो कर्तव्य पूरा गरेका यी वर्षहरूमा, मेरो रोग फर्केर आएको थिएन, तर परमेश्वरको प्रेमको ऋण तिर्न प्रयास गर्नुको सट्टा, मैले सधैँ आफ्नो देहको बारेमा सोचिरहेकी थिएँ, मेरो क्यान्सर फर्केर आउँछ भन्ने चिन्ता गरिरहेकी थिएँ, र मैले सधैँ शारीरिक सहजताको खोजी गरिरहेकी थिएँ। धेरै पटक त मैले आफ्नो कर्तव्यबाट पन्छिन पनि चाहेकी थिएँ। मेरो परमेश्वरप्रति कुनै निष्ठा थिएन, म मानवता र समझबिहिन साँच्चै स्वार्थी र घृणित भएकी थिएँ! मैले यसको बारेमा जति विचार गरेँ, मलाई त्यति नै ग्लानि भयो, र मलाई म परमेश्वरले गर्नुभएको उत्थान र उहाँले दिनुभएको मुक्ति पाउन लायक छैन जस्तो लाग्यो। मैले नोआको उदाहरण पछ्याउनुपर्थ्यो र आफ्नो देहको कुरा मान्न छोड्नुपर्थ्यो। यदि मलाई आफ्नो कर्तव्य पूरा गर्ने अर्को मौका दिइयो भने, मैले यसलाई कदर गर्नुपर्थ्यो।
पछि, माथिल्लो नेतृत्वले मलाई नयाँ विश्वासीहरूको मण्डलीको कामको सुपरिवेक्षण गर्न लगायो। यो परमेश्वरले मलाई पश्चात्ताप गर्ने मौका दिनुभएको हो भन्ने थाहा पाएर म अत्यन्तै खुशी भएँ। जब म नयाँ विश्वासीहरूको मण्डलीमा पुगेँ, तब त्यहाँ कामका परिणामहरू कमजोर रहेका, विशेष गरी सुसमाचारको काममा अझै कुनै प्रगति नभएको, र काम गर्नेहरू कम भएको देखेँ। यसले गर्दा मलाई कठिनाइहरू साँच्चै नै ठूला छन् भन्ने महसुस भयो, र मैले सोचेँ, “यो काम राम्ररी गर्नका लागि धेरै मेहनत चाहिन्छ, साथै विभिन्न कार्यसिद्धान्तहरू अध्ययन गर्नुपर्ने र सीप प्राप्त गर्नुपर्ने हुन्छ। मेरो स्वास्थ्य अवस्था राम्रो छैन, यदि मेरो शरीर बिग्रियो भने के गर्ने?” त्यसकारण, मैले मूल्य चुकाउन चाहिनँ। तर मेरो सोचाइ गलत छ भन्ने मलाई महसुस भयो, त्यसकारण परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मण्डलीको काममा कठिनाइहरूको सामना गर्दा म अबदेखि आफ्नो देहको कुरा मान्न चाहन्नँ, तपाईंसँग सहकार्य गर्नका लागि मसँग विवेक र समझ हुनुपर्छ, बिन्ती छ मलाई अगुवाइ गर्नुहोस्। म काम राम्ररी गर्नका लागि ब्रदर-सिस्टरहरूसँग पूर्ण रूपमा मिलेर काम गर्न तयार छु।” त्यसपछि, भेला हुने ठाउँहरू छैनन् भन्ने थाहा पाएपछि, मैले उपयुक्त आश्रयदाता घरहरू खोज्ने प्रयास गरेँ, ताकि मेरा ब्रदर-सिस्टरहरूले मण्डली जीवन जिउन सकून्। सुसमाचार प्रचार गर्ने ब्रदर-सिस्टरहरू कठिनाइमा जिइरहेको देख्दा मलाई पनि व्याकुलता भयो तर मैले सुसमाचार प्रचार गर्नु परमेश्वरको अभिप्राय हो, र कठिनाइहरूको सामना गर्दा म पछि हट्नु हुँदैन भन्ने सोचेँ, त्यसकारण मैले ब्रदर-सिस्टरहरूको स्थिति समाधान गर्न परमेश्वरका वचनहरू खोजेँ, र नोआले परमेश्वरको आज्ञालाई कसरी लिएको थियो भन्ने बारेमा सङ्गति गरेँ, ताकि ब्रदर-सिस्टरहरूले सुसमाचार प्रचार गर्नुको महत्त्व र परमेश्वरको आतुरीपूर्ण अभिप्रायलाई बुझ्न सकून्। मेरो सङ्गतिपछि, ब्रदर-सिस्टरहरूको स्थिति सुधार भयो, र तिनीहरू सुसमाचारको काम गर्न तयार भए। केही समयपछि, सुसमाचारको काममा पहिलेको तुलनामा केही सुधार देखा पर्यो, जुन सबै परमेश्वरको अगुवाइकै कारणले भएको थियो!
यो अनुभवबाट, मैले सहजताको लालसा राख्नुको सार र परिणामहरूका बारेमा केही बुझाइ प्राप्त गरेँ, र मैले परमेश्वरको धर्मी स्वभावको बारेमा पनि केही बुझाइ प्राप्त गरेको छु। आज, मैले आफ्नो मनोवृत्तिलाई सुधार्न र आफ्नो कर्तव्यप्रति जिम्मेवारीको बोध महसुस गर्न सकेको छु। यो परिणाम परमेश्वरका वचनहरूले ल्याएका हुन्। परमेश्वरलाई धन्यवाद होस्!