१००. मैले यातना भोग्दा के सिकेँ

ली सिन्यु, चीन

जुलाई २८, २००७ को बिहान, केही ब्रदर-सिस्टरहरूसँगको भेलामा, पुलिस हामी भेला हुने घरको ढोका लातले फोरेर भित्र झम्टिँदै आयो। अचेत पार्ने लाठी बोकेको एउटा मोटो पुलिस चिच्यायो, “कोही हल्लिने होइन, नत्र खुट्टा भाँचिदिन्छौँ!” त्यो पुलिसको क्रूर रवैया देखेर मलाई रिस उठ्यो र मैले भनेँ, “हामीलाई कुन आधारमा पक्राउ गर्दै हुनुहुन्छ? हामी विश्‍वासीहरूको चालचलन राम्रो छ र हामी सही मार्गमा हिँड्छौँ।” राष्ट्रिय सुरक्षा प्रमुखले बीचमै कठोर स्वरमा भन्यो, “तँ परमेश्‍वरमा विश्‍वास गर्नुलाई सही मार्गमा हिँड्नु हो भन्छस्? एउटै मात्र सही मार्ग चिनियाँ कम्युनिस्ट पार्टीमा विश्‍वास गर्नु हो! राष्ट्रिय सुरक्षा ब्रिगेडमा हाम्रो मुख्य काम नै परमेश्‍वरका विश्‍वासीहरूलाई समात्नु हो। हामी तिमीहरूलाई समात्न नै धेरै दिनदेखि नसुती निगरानी गरिरहेका छौँ। अरू केही काम नपाएर, तिमीहरूले आफूलाई परमेश्‍वरमा विश्‍वास गर्न समर्पित गर्नुपर्ने!” त्यसपछि, उसले आफ्ना कनिष्ठहरूलाई घरको खानतलासी थाल्न हातले इसारा गर्यो। खानतलासी सकेपछि, तिनीहरूले हामीलाई हतकडी लगाए र हामीलाई व्यक्तिगत सोधपुछका लागि प्रान्तीय सार्वजनिक सुरक्षा ब्यूरोमा लगे।

म सोधपुछ कोठामा छिर्ने बित्तिकै, राष्ट्रिय सुरक्षा प्रमुखले मलाई धेरै पटक थप्पड हान्यो, जसले गर्दा मलाई रिँगटा लाग्यो र टाउकोमा टुटुल्‍को उठ्यो, कान झनन बज्यो, आँखा अगाडि अँध्यारो छायो र मुखमा रगत आयो। त्यस लगत्तै, छेउमा उभिरहेका अरू चार जना पुलिस आएर मलाई लात र मुक्‍का हान्‍न थाले। केही समयपछि, राष्ट्रिय सुरक्षा प्रमुखले आफ्नो चुरोटको एक सर्को तान्यो र मलाई औँल्याउँदै भन्यो, “तेरो रूप हेर्दा, तँ या त अगुवा होस् वा तेरो मण्डलीको महत्त्वपूर्ण सदस्य होस्। यदि तैँले हामीलाई हामीले जान्‍न चाहेको कुरा बताइस् भने, तँलाई जान दिनेछौँ, तर बताइनस् भने, मैले तँसँग त्यति राम्रो व्यवहार गरिनँ भने मलाई दोष नदे।” उसले यसो पनि भन्यो, “तेरो शरीर हेर्दा, तैँले त्यति धेरै यातना सहन सक्छस् भन्‍ने मलाई लाग्दैन। हामीलाई भन्: तिमीहरूको अगुवा को हो? मण्डलीको पैसा कसको घरमा छ?” मैले एक शब्द पनि बोलिनँ, तर मनमनै परमेश्‍वरलाई प्रार्थना गरिरहेँ, मसँग रहनुहोस् र मलाई शक्ति दिनुहोस् भनेर उहाँलाई अनुरोध गरेँ। मैले के सङ्कल्प गरेँ भने पुलिसले मलाई जस्तोसुकै यातना दिए पनि, म यहूदा बन्दिनँ र परमेश्‍वरलाई धोका दिँदिनँ। म केही नबोलिरहेको देखेर, राष्ट्रिय सुरक्षा प्रमुखले भुइँमा आफ्नो चुरोट फ्याँकेर हात हल्लाउँदै चिच्यायो, “यसलाई ठीक पार! कुटेर मार्देऊ!” त्यसपछि, धेरै पुलिसहरूले मलाई फेरि क्रूर तरिकाले कुटपिट गर्न थाले। त्यसपछि तिनीहरूले मेरो हात पछाडि लगेर हतकडी लगाए, मेरो पाइन्ट खोलेर घुँडाभन्दा मुन्तिर पुर्याए, म चिच्याउन नसकूँ भनेर मेरो मोजा खोलेर मेरो मुखमा खाँदिदिए, त्यसपछि मेरो टाउको मेरो पाइन्टमा छिराइदिए। त्यसपछि पुलिसहरूले पालैपालो मुक्‍का र लात हान्‍न थाले र त्यसो गर्दै गर्दा तिनीहरू गलल हाँस्थे। त्यहाँ महिला पुलिसहरू पनि थिए, जो मलाई हेर्दै छेउको टेबलमा अडेस लाग्नुपर्ने गरी जोडजोडले हाँसिरहेका थिए। पुलिसहरूले मलाई पशुलाई जस्तै गिज्याइरहेका थिए र मलाई अत्यन्तै अपमानित महसुस भयो। जुलाई महिना थियो र सोधपुछ कोठाभित्र पनि अत्यन्तै गर्मी थियो—तुरुन्तै, मेरो लुगा पसिनाले भिज्यो। मलाई पुलिसले छालाको जुत्ताले लात हानेर भएको घाउबाट रगत निस्किरहेको थियो, र घाउमा रगत र पसिना मिसिँदाखेरि एकदमै साह्रो पीडा भयो। मुक्‍का हानिएकोले मेरो टाउकोमा पनि धेरै ठाउँ नीलडाम बसेको थियो। त्यसपछि एक जना पुलिसले मलाई कपालमा समातेर थप्पड हान्यो त्यसपछि मेरो टाउको बायाँ-दायाँ झट्कायो। दाँत किट्दै ऊ गर्जियो, “बोल्छस् कि बोल्दैनस्?” मैले भनेँ, “मलाई केही थाहा छैन!” ऊ क्रोधित भयो, मेरो हतकडीमा समातेर पछाडिबाट मेरा हातहरू बेस्सरी झट्कायो। मेरो हातमा यति पीडा भयो कि ती भाँचिएका छन् जस्तो लाग्यो र हात बटार्दा कटट आवाज सुनिन्थ्यो। हकडीले मेरो नाडी काट्यो, र रगत बग्‍न थाल्यो। हरेक पटक तिनीहरूले मेरो हात झट्काउँदा, असहनीय पीडा हुन्थ्यो र मैले हृदयमा परमेश्‍वरलाई निरन्तर प्रार्थना गरेँ, उहाँसँग आस्था मागेँ, र उहाँको गवाहीमा दृढ रहन सहयोग गर्नुहोस् भनेर बिन्ती गरेँ। मलाई नराम्रोसँग कष्ट भइरहेको देखेर, राष्ट्रिय सुरक्षा प्रमुखले मेरो मजाक उडाउँदै भन्यो, “के भयो? मैले तँलाई यातना सहन सक्दैनस् भनेर भनेको थिएँ। कुरा लुकाउन छोड् र बोल्! तेरो अगुवा को हो? तिमीहरूले कसरी कुराकानी गर्छौ? पैसा कसको घरमा राखिएको छ?” मैले उसलाई केही जवाफ दिइनँ। त्यसपछि मोटो पुलिसले मेरो पाँसुलामा लात हान्यो, जसले गर्दा म तुरुन्तै लडेँ र भुइँमा घुँडा टेक्न पुगेँ। त्यसपछि उसले मलाई हात सीधा तन्काउन लगायो र हातमा मोटो पुस्तक राखिदियो। केही समयसम्म घुँडा टेकेपछि, मैले सहन सकिनँ र म भुइँमा लडेँ। मोटो पुलिसले मलाई उठाएर फेरि घुँडा टेक्‍न बाध्य बनायो र काठको छडीले मेरा औँलामा हान्‍न थाल्यो। हरेक पटक उसले मलाई हान्दा, मेरो औँलामा साह्रै पीडा हुन्थ्यो। उसले मलाई कुटपिट गर्दै गर्दा यसरी चिच्यायो, “कस्तो लाग्यो? त्यति राम्रो छैन, होइन त? तेरो परमेश्‍वरलाई तँलाई बचाउन यहाँ बोला!” उसले यसो भन्दा, सबै पुलिसहरू मरी-मरी हाँसे। तिनीहरूको हाँसोले मलाई रिस उठायो र मैले हृदयमा ती पिशाचहरूलाई श्राप दिएँ। घुँडा टेकेकाले खुट्टामा नीलडाम बसेको थियो र चक्‍कुले काटेको जस्तै दुखिरहेको थियो। कुटाइबाट मेरा छ वटा औँलामा घाउ भएको थियो। धेरै महिनापछि, ती औँलाहरूको नङ झरे।

साँझ ५ बजेतिर, पुलिसले मलाई थुना केन्द्रमा पठायो र, जानुभन्दा पहिले, त्यहाँका कर्मचारीहरूलाई विशेष निर्देशन दियो, “त्यसलाई सानो उसिनेको रोटी र एक कटोरा सूप मात्रै खान देओ। त्यसले भोलि हामीलाई भन्नुपर्ने कुराबारे लामो समयसम्म विचार गरोस्।” त्यसपछि तिनीहरूले मलाई १० वर्ग मिटरभन्दा सानो कोठरीमा थुने। त्यो कोठरीमा अरू दश जनाभन्दा बढी मानिसहरू थुनिएका थिए र यो फोहोरी र दुर्गन्धित थियो। भुइँमा दुई वटा काठका फल्याकहरू मात्रै राखिएका थिए र ती दुवैलाई कोठरी मालिकले ओगेटेको थियो। मलाई याद छ, त्यो रात, म कोठरीको कुनामा गुँडुल्किएर बसेको थिएँ, भोक र प्यासले आकुल थिएँ, टाउको दुखिरहेको थियो, टाउकोमा टुटुल्को उठेको थियो र अनुहार दुखिरहेको थियो। मैले मनमनै सोचेँ, “आज तिनीहरूले मलाई यति क्रूरतापूर्वक कुटपिट गरे, तर मबाट कुनै जानकारी पाएनन्। भोलि तिनीहरूले मलाई के गर्ने होलान्। यदि तिनीहरूले मलाई यातना दिइरहे भने, के म अपाङ्ग हुनेछु वा मर्नेछु? यदि म अपाङ्ग भएँ भने, मैले आफ्नो बाँकी जीवन कसरी जिउने होला?” मैले जति सोचेँ, मलाई त्यति नै कमजोर महसुस भयो, त्यसकारण मैले तुरुन्तै परमेश्‍वरलाई सहयोगका लागि प्रार्थना गरेँ, “हे परमेश्‍वर! म अब यो यातना सहन सक्दिनँ, तर म यहूदा बन्‍न र तपाईँलाई धोका दिन चाहन्‍नँ। बिन्ती छ मलाई सहयोग गर्नुहोस्, मलाई शक्ति दिनुहोस् र रक्षा गर्नुहोस् ताकि म तपाईँको गवाहीमा दृढ रहन सकूँ।” ठीक त्यही बेला, मलाई उहाँका वचनहरूको एउटा खण्ड याद आयो: “निराश नबन्, कमजोर नबन्, अनि म तेरा लागि कामकुरा स्पष्ट बनाउनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले तितो परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरा निम्ति तिमीहरूसँग भएको प्रेमिलो हृदय अझ बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ; यति मात्र हो कि, परीक्षाहरूको चरमता फरक-फरक हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। परमेश्‍वरका वचनहरूमा मनन गरेपछि, मैले के महसुस गरेँ भने मलाई जाँच्नका लागि परमेश्‍वरले यो कष्ट भोग्‍न दिनुभएको हो। उहाँले मलाई कष्टद्वारा मेरो सङ्कल्पलाई दह्रिलो बनाउन सहयोग गरिरहनुभएको थियो। विगतमा, मलाई पक्राउ गर्नुभन्दा पहिले, म सधैँ परमेश्‍वरमाथि मेरो विश्‍वास छ र मैले जति नै धेरै कष्ट भोग्‍नु परे पनि उहाँलाई सन्तुष्ट पार्न तयार हुनेछु भन्‍ने सोच्थेँ। तर, मलाई यातना र कष्ट दिइएको एक दिन मात्रै के भएको थियो, म पहिले नै कायरता र डरमा जिइरहेको थिएँ, अपाङ्ग हुनेछु वा म मारिनेछु भन्‍ने चिन्ता गरिरहेको थिएँ। परमेश्‍वरमाथिको मेरो साँचो विश्‍वास कहाँ गयो? मेरो कद अझै पनि अत्यन्तै सानो थियो। परमेश्‍वरको अभिप्राय बुझेपछि, मलाई कायरता वा डरको महसुस भएन र परमेश्‍वरको गवाहीमा दृढ रहन उहाँमा भर पर्न तयार भएँ।

दोस्रो दिन, पुलिसले मलाई थप सोधपुछ गर्न राष्ट्रिय सुरक्षा ब्रिगेडमा लग्यो। प्रमुखले मलाई औँल्याउँदै भन्यो, “आज राम्रो व्यवहार गर्! के मैले तँलाई हिजो सोधेका प्रश्‍नहरूको उत्तर छ?” मैले आफूलाई केही थाहा नभएको बताएँ। ऊ रिसायो र उसले मेरो कपाल समातेर अनुहारमा थप्पड हान्यो अनि चिच्याउँदै भन्यो, “पहिले को हार्छ हेरूँ, तैँले कि बिजुली-लाठीले! यसलाई ठीक पार! कुटेर मार!” त्यसपछि पाँच जना पुलिस आएर मलाई लात र मुक्‍काले हान्न‍ थाले। एक जना पुलिसले मेरो ढाडमा टेकेर जबरजस्ती पछाडिबाट हतकडी लगायो, हातहरू पछाडि बटार्दा मलाई ठूलो पीडा भयो। पीडा यति धेरै भयो कि चाँडै नै मलाई पसिना आयो। एक जना मोटो पुलिसले एउटा बिजुली-लाठी लिएर हल्‍लायो, र लाठीमा बिजुलीको चटट आवाज आयो त्यसपछि उसले मलाई दुई पटक झट्का दियो। झट्काले गर्दा मेरो जिउमा कम्पन भयो र म नचिच्याई बस्‍न सकिनँ। प्रमुखले यो अवसरको उपयोग गर्दै यसो भन्दै मलाई फकाउने प्रयास गर्‍यो, “यदि तैँले हामीलाई तेरो अगुवा को हो र पैसा कसको घरमा छ भनेर भनिस् भने, म तँलाई तुरुन्तै छोडिदिनेछु। तेरो श्रीमती, छोराछोरी, र आमाबुबालाई हेरचाहका लागि तेरो आवश्यकता पर्छ। तैँले आफ्नो भलाइको वास्ता नगरे पनि, तैँले कम्तीमा पनि आफ्नो परिवारको बारेमा सोच्नुपर्छ।” यसले गर्दा म अलिक हिचकिचाएँ। मैले सोचेँ, “यदि मैले केही भन्‍न मानिनँ भने, तिनीहरूले अवश्य नै मलाई कुटेर मार्नेछन्। सायद मैले तिनीहरूलाई महत्त्वपूर्ण नरहेका केही जानकारी दिनुपर्ला, अनि तिनीहरूले मलाई घर जान दिनेछन्।” त्यसपछि, मलाई अचानक परमेश्‍वरका यी वचनहरू याद आयो: “सङ्कष्टको समयमा मप्रति अलिकति पनि निष्ठा नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई एक पटक विश्‍वासघात गर्नेहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई बिक्री गर्नेहरूसँग संलग्न हुन झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्‍वरका वचनहरूले मलाई तुरुन्तै बिउँझाए। म झण्डै शैतानको षड्यन्त्रमा फसेको थिएँ। परिवारप्रतिको मेरो देहगत भावनाहरूलाई सुनेर र क्षणिक सहजताको लोभले यदि मैले परमेश्‍वरलाई धोका दिएँ र मेरा ब्रदर-सिस्टरहरूको भेद खोलेँ भने म परमेश्‍वर-द्रोही र मित्र-द्रोही यहूदा बन्‍नेथिएँ, परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्नुहुने किसिम व्यक्ति। यसले परमेश्‍वरको स्वभावलाई चिढ्याउनेथियो र मलाई श्राप र दण्ड दिइनेथियो। म परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टिप्रति कृतज्ञ भएँ, जसले मलाई अन्तर्दृष्टि दियो र शैतानको षड्यन्त्रबाट रक्षा गर्‍यो। मैले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर! तिनीहरूले मलाई अपाङ्ग बनाए पनि वा मारे पनि, म तपाईँलाई कहिल्यै पनि धोका दिनेछैनँ र लज्जित यहूदा बन्‍नेछैनँ।” प्रार्थना गरेपछि, मलाई अझै सहज भयो र म त्यति निराश भइनँ। पुलिसको सोधपुछको सामना गर्दा, मैले कठोर र धर्मी किसिमले जवाफ दिएँ, “परमेश्‍वरमा विश्‍वास गर्नु पूर्ण रूपमा प्राकृतिक र उचित, सही र कानुनी कुरा हो, कुन आधारमा तपाईँहरूले मलाई पक्राउ गर्नुभएको हो? हाम्रो देशको संविधानले स्पष्ट रूपमा नै नागरिकहरूसँग धार्मिक स्वतन्त्रताको अधिकार छ भनेर निर्धारित गरेको छ। मेरो विश्‍वासको कारण तपाईँहरूले मलाई यातना दिएर मार्न खोज्ने कुरामा धार्मिक स्वतन्त्रता कहाँ छ?” यो सुनेपछि, त्यो पुलिस रिसायो र चिच्यायो, “धार्मिक स्वतन्त्रताको दाबी हामीले विदेशी देशहरूलाई सन्तुष्ट पार्न बोल्ने कुरा मात्रै हो— चीनमा, चिनियाँ कम्युनिस्ट पार्टीले तँलाई परमेश्‍वरमा विश्‍वास गर्न दिँदैन र तेरो विश्‍वास गैरकानुनी छ। तिमीहरू जस्ता ईश्‍वरमा लागेका मानिसहरूलाई मार्‍यौँ भने पनि दोष लाग्दैन! यसलाई कुटेर मार! यो कति लामो समयसम्म बाँच्छ हेरौँ!” त्यसपछि, तिनीहरू सबै ममाथि आइलागे र मलाई लात र मुक्‍का हान्‍न थाले। एक जना पुलिसले मलाई छालाको पेटीले अनुहार र शरीरमा बेस्सरी हान्यो। हनाइले गर्दा मेरो अनुहारमा घाउ भयो र अनुहार सुन्नियो र म भुइँमा लडेँ। अन्त्यमा, म अझै पनि नबोल्ने देखेर, तिनीहरूसँग मलाई थुनामा पठाउने बाहेक अरू कुनै विकल्प थिएन। पुलिसले मलाई सानो उसिनेको रोटी मात्रै खाने अनुमति दियो। मलाई यति भोक लागेको थियो कि मसँग खडा हुने ऊर्जा समेत थिएन र मलाई निरन्तर यातना र कष्ट दिइएका हुनाले, मलाई रिङ्गटा लाग्यो, मेरो अनुहारमा साह्रो पीडा भइरहेको थियो र छाला लाटिएको थियो, मेरो खुट्टा लल्याकलुलुक भएको थियो, र म पूरै कमजोर थिएँ, म पर्खालमा अडेस लागेर मात्रै बस्‍न सक्थेँ। मलाई म योभन्दा बढी सहन सक्दिनँ जस्तो लाग्यो र मैले सोचेँ, “यदि परिस्थिति यस्तै भइरह्यो भने, मलाई यातना दिइनेछ वा म भोकले मर्नेछु।” ठीक त्यही बेला, मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “कामको यस चरणमा हामीबाट निकै ठूलो आस्था र प्रेम आवश्यक हुन्छ। थोरै लापरवाहीको कारण हामी लड्खडाउन सक्छौँ, किनकि कामको यो चरण पहिलेका सबै चरणहरू भन्दा फरक छ: जुन कुरा परमेश्‍वरले सिद्ध पार्दै हुनुहुन्छ त्यो मानिसहरूको आस्था हो, जुन अदृश्य र अमूर्त दुवै छ। परमेश्‍वरले जे गर्नुहुन्छ त्यो वचनहरूलाई आस्थामा, प्रेममा र जीवनमा परिवर्तन गर्नु हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (८))। वास्तवमा, पुलिसले कष्ट, यातना र भोकको प्रयोग गगरेर मलाई थकाउन, मेरो विश्‍वास गुमाउन र परमेश्‍वरलाई धोका दिन जबरजस्ती गर्न लगाउन चाहन्थ्यो, तर परमेश्‍वरले मेरो विश्‍वासलाई सिद्ध पार्न यो कठिन परिस्थितिलाई प्रयोग गरिरहनुभएको थियो। मलाई प्रभु येशूले परीक्षामा पर्दा भन्‍नुभएको यो कुरा याद आयो: “मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ(मत्ती ४:४)। मैले परमेश्‍वरका वचनहरू सत्यता र मानिसको जीवन हुन् भन्‍ने विश्‍वास गरेँ। मैले परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो देह कमजोर र शक्तिहीन हुन सक्छ, तर म तपाईँका वचनहरूअनुसार जिउन, आफ्नो देहको कुरा नसुन्‍न र तपाईँप्रतिको मेरो गवाहीमा दृढ रहन तयार छु…।” प्रार्थना गरेपछि, मलाई अलिक शान्ति भयो र म त्यति व्याकुल र कमजोर भइनँ।

तेस्रो दिन बिहान, पुलिसले मलाई फेरि सोधपुछका लागि राष्ट्रिय सुरक्षा ब्रिगेडमा लग्यो। म सोधपुछ कोठामा छिर्ने बित्तिकै, एउटा पुलिसले मलाई लात हानेर भुइँमा लडायो र सिमेन्टको भुइँमा घुँडा टेक्‍न बाध्य गर्‍यो। राष्ट्रिय सुरक्षा प्रमुखले मलाई यसो भन्दै ठूलो आवाजमा हप्कायो, “अँ, तैँले निर्णय गरिस् त? तिमीहरूको अगुवा को हो? मण्डलीको पैसा कसको घरमा छ? यदि तँ अहिले बोलिनस् भने, यी यातनाका यन्त्रहरूले तँलाई बोल्न लगाउनेछन्। हामी तँलाई हरेक यन्त्रको स्वाद चखाउनेछौँ!” मैले एक शब्द पनि बोलिनँ, त्यसकारण तिनीहरूले मलाई सिमेन्ट भुइँमा घुँडा टेकेर बसिरहन बाध्य गरे। मलाई निरन्तर कष्ट र यातना दिइएको र खाना नदिइएको हुनाले, म अत्यन्तै कमजोर भएको थिएँ। लगभग एक घण्टासम्म घुँडा टेकेपछि, म पूर्ण रूपमा लखतरान भएँ त्यसपछि घुँडा टेकेर बस्न सकिनँ। मेरो मुटुमा कमजोरी पैदा भएको महसुस गरेँ त्यसकारण मैले निरन्तर परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! म अब यो यातना सहन सक्दिनँ। म यहूदा बनेर तपाईँलाई धोका दिन चाहन्‍नँ। बिन्ती छ मलाई सहयोग गर्नुहोस्, मलाई विश्‍वास दिनुहोस् र दह्रिलो गरी खडा हुन दिनुहोस्।” प्रार्थना गरेपछि, मलाई परमेश्‍वरका वचनहरूको यो खण्ड याद आयो: “परमेश्‍वरलाई विरोध गर्ने देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरै वचनहरूतुरुन्तै पूरा हुन सक्दैनन्; यसर्थ, मानिसहरू परमेश्‍वरका वचनका कारण शोधन गरिन्छन्, जुन पनि कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि मानिसहरूको यो समूहलाई पूर्ण बनाउन यो मौका प्रयोग गर्दै, उहाँ आफ्नो कार्यको एउटा चरण गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्‍वरका वचनहरूमा मनन गरेपछि, मैले के बुझेँ भने मेरो विश्‍वासका लागि मलाई चिनियाँ कम्युनिस्ट पार्टीले कष्ट दिएको र यातना दिएको छ, सतावट र सङ्कष्टको माध्यमबाट परमेश्‍वरको गवाही दिनु गौरवमय र सम्माननीय कुरा हो। पुलिसहरूले जबरजस्ती परमेश्‍वरलाई इन्कार गर्न र धोका दिन लगाउन ममाथि सबै यातना विधिहरू प्रयोग गरे, तर परमेश्‍वरको बुद्धि शैतानका युक्तिहरूका आधारमा प्रयोग गरिन्छ। परमेश्‍वरले मेरो विश्‍वासलाई सिद्ध पार्न यो वातावरणको प्रयोग गरिरहनुभएको थियो, ठूलो रातो अजिङ्गरको घृणित रूप र पैशाचिक सारलाई देख्‍न मलाई सहयोग गरिरहनुभएको थियो, ताकि मैले यसलाई मेरो सारा हृदयले घृणा गर्न र यसलाई पूर्ण रूपमा इन्कार गर्न सकूँ। परमेश्‍वरको अभिप्राय बुझेपछि, मलाई कुरा निकै स्पष्ट भयो र ममा नयाँ शक्ति आयो। “म शैतानका षड्यन्त्रहरूमा पर्नेछैनँ र यसलाई ममाथि हावी हुन दिनेछैनँ। मेरो देह जति नै दुःखित र कमजोर भए पनि, म परमेश्‍वरको गवाहीमा दृढ रहनुपर्छ!” म अझै पनि नबोल्ने देखेर, एक जना पुलिसले मलाई ठूलो गिलासबाट पानी खन्यायो र ओठ लेप्राउँदै भन्यो, “तैँले केही दिनदेखि राम्रो खाना खाएको छैनस्, होइन र? तँलाई पक्कै पनि भोक लागेको छ होला! तेरो जिउडाल हेर्दा त, तँ लामो समयसम्म टिक्न सक्छस् भन्‍नेमा मलाई शङ्का छ। छिटो गरेर हामीलाई आफूलाई थाहा भएको सबै कुरा बता। हामीले पहिले नै उसिनेको रोटी र भुटेका सागसब्जीहरू मगाइसकेका छौँ र हामी तँलाई पनि केही दिन सक्छौँ। आखिर, किन आफूलाई यो कष्टमा पार्छस्?” यो शैतानको षड्यन्त्र हो भन्‍ने मलाई महसुस भयो त्यसकारण मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, मलाई शैतानको चलाकीबाट रक्षा गर्न उहाँलाई अनुरोध गरेँ। केही समयपछि, पुलिसले मेरो हतकडी खोलेर, मेरो अगाडि केही सागसब्जी, उसिनेको रोटी र एक गिलास पानी ल्यायो र भन्यो, “खा। खाइसकेपछि, तैँले आफूलाई थाहा भएको कुरा बताउन सक्छस्।” मैले भनेँ, “म कसैलाई चिन्दिनँ र म तपाईँहरूलाई केही पनि बताउन सक्दिनँ।” राष्ट्रिय सुरक्षा प्रमुख रिसले चूर भयो र अचानक खडा भयो, मेरो कपाल पक्रेर मलाई अनुहारमा थप्पड हान्यो लात हानेर मलाई भुइँमा लडायो र चिच्यायो, “कसैले यसलाई पछाडिबाट हतकडी लगाएर कुटेर मार त! यो कति लामो समयसम्म टिक्छ हेरौँ!” चार जना पुलिसहरू आएर मलाई पछाडिबाट हतकडी लगाइदिए। सुरुमा तिनीहरूले हतकडी लगाउन मेरो हात पछाडि तान्‍न सकेनन्, तिनीहरूले मेरो हातहरू बेस्सरी झड्काए जसले गर्दा मलाई साह्रै पीडा भयो र म चिच्याएँ। त्यसपछि एउटा पुलिसले मलाई निरन्तर छालाको पेटीले हानिरह्यो। मलाई मेरो सम्पूर्ण शरीरमा साह्रै पीडा भयो र मेरो छालामा पेटीले धेरै वटा बाक्‍ला नीलडाम छोडेको थियो। मलाई कुट्ने क्रममा, ऊ चिच्यायो, “मलाई तँ स्टीलले बनेका होस् भन्‍ने लाग्दैन र म तँलाई कमजोर पारिछोड्छु भन्‍ने मलाई थाहा छ!” त्यसपछि, उसले आफ्नो छालाको जुत्ता खोलेर मलाई जुत्ताको सोलले टाउको र अनुहारमा हान्‍न थाल्यो। कुटपिटले मेरो टाउको अचेत भयो र टुटुल्‍को आयो, मानौँ यो बिस्फोट हुन लागेको छ। मलाई तिरिमिर भयो र मेरो कानमा इन्जिनको जस्तै गहिरो आवाज आइरहेको थियो। केही समयपछि, मैले दाहिने कान सुन्‍न छोडेँ। मैले भनेँ, “तपाईँहरूले मेरो दाहिने कानमा क्षति पुर्‍याउनुभएको छ, अहिले मैले केही पनि सुनेको छैन।” पुलिसले निर्धक्‍क ढङ्गले चुरोट पियो अनि राक्षसी शैलीमा गर्जियो, “यदि तँ बहिरो बनिस् भने, त्यो एकदम राम्रो कुरा हो। यसले तँलाई भविष्यमा विश्‍वासको अभ्यास गर्नबाट रोक्‍नेछ।” मैले यस्तो क्रूर कुटपिटपछि पनि म नबोल्ने देखेर, राष्ट्रिय सुरक्षा प्रमुखले रिसले चिच्याउँदै भन्यो, “मलाई मैले आज तँबाट कुरा निकाल्न सक्दिनँ भन्‍ने लागेको छैन! बोल्दैनस् भने, हामी तेरो औँलाको नङलाई फलामको काँटीले छेडिदिनेछौँ। औँला मुटुसँग जोडिएको हुन्छ—तैँले कुनै पनि हालतमा त्यो कष्ट सहनेछैनस्। बाठो बन्: हामीलाई आफूले जानेको सबै कुरा बता र हामीसँग सहकार्य गर्। यो तेरो सबैभन्दा राम्रो विकल्प हो!” त्यो बेला, मलाई अलिक डर लाग्यो—मेरो औँलामा सानो काँडा बिझ्दा पनि मलाई पीडा हुन्थ्यो, ठूलो फलामको काँटीले त कति दुख्छ होला। यसको बारेमा सोच्दा मात्रै मेरो खुट्टा लल्याकलुलुक भयो र मेरो टाउको लाटियो। यदि तिनीहरूले साँच्‍चै नै काँटीले मेरो औँलाको नङ छेडे भने, के म यो सहन सक्छु? मैले तुरुन्तै परमेश्‍वरलाई सहयोगका लागि निरन्तर प्रार्थना गरेँ, उहाँलाई मलाई विश्‍वास र कष्ट भोग्‍ने सङ्कल्प दिनुहोस् भनेर अनुरोध गरेँ। ठीक त्यही बेला, मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “सत्तामा हुनेहरू बाहिरबाट द्वेषपूर्ण देखिन सक्छन्, तर नडराऊ, किनकि तिनीहरूसित थोरै विश्‍वास छ। जहिलेसम्म तिमीहरूको विश्‍वास बढ्छ, कुनै पनि कुरा अति कठिन हुनेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७५)। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास र शक्ति दिए। परमेश्‍वरले सबै थोकमाथि सार्वभौमिकता राख्‍नुहुन्छ— मैले परमेश्‍वरमा भर पर्नुपर्थ्यो र उहाँले मलाई ती पिशाचहरूको कष्ट र यातनालाई जित्न अगुवाइ गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्नुपर्थ्यो। यो महसुस गरेपछि, मलाई त्यति कायरता र डरको महसुस भएन। म अझै पनि बोल्नेछैनँ भन्‍ने देखेर, तिनीहरूले मलाई टेबलमा सीधा हात राख्‍न लगाए त्यसपछि मेरो अनुहार अगाडि ७-८ इन्चको फलामको काँटी हल्लाए। त्यसपछि एउटा पुलिसले मेरो औँलाको नङलाई काँटीले घोच्न थाल्यो। काँटी निकै तीखो थियो र यसले मेरो नङ छेड्ने बित्तिकै मलाई साह्रै पीडा भयो। मैले निरन्तर परमेश्‍वरलाई पुकारिरहेँ, र मलाई त्यो दु: ख सहन शक्ति दिनुहोस् भनेर उहाँलाई अनुरोध गरेँ। पुलिसले काँटी थिच्‍न लागेको बेला, अर्को पुलिस हतार-हतार आयो र राष्ट्रिय सुरक्षा प्रमुखको कानमा केही कुरा फुसफुसायो। प्रमुखले चिच्याउँदै भन्यो, “यसलाई हेर्न एक जना व्यक्तिलाई छोड। अरू सबै जना, मसँग हिँड!” यो सबै देखेर, मैले परमेश्‍वरलाई मलाई तिनीहरूको क्रूर र निर्दयी यातनाबाट उम्कन सहयोग गर्न परिस्थितिलाई योजनाबद्ध गर्नुभएकोमा धन्यवाद दिएँ।

दुई दिनपछि, एउटा पुलिसले मलाई फेरि सोधपुछका लागि राष्ट्रिय सुरक्षा ब्रिगेडमा लग्यो। एउटा मोटो पुलिसले आक्रमक रूपमा चिच्याउँदै भन्यो, “आज बोलिनस् भने, म तँलाई मरेको भए हुन्थ्यो भन्‍ने कामना गर्ने बनाउछु!” मैले भनेँ, “मलाई केही थाहा छैन। तपाईँले मलाई साँच्‍चै नै मार्नुभयो भने पनि, म तपाईँलाई केही पनि भन्‍न सक्दिनँ।” राष्ट्रिय सुरक्षा प्रमुख अघि आएर मलाई लातले हानेर भुइँमा लडायो र चिच्यायो, “तैँले केही नबोली पनि, हामीलाई तेरो बारेमा सबै थाहा छ। तँ मण्डली अगुवा होस् र पनि ढिट हुँदैछस्!” त्यसपछि उसले मेरो कपाल समातेर मलाई अनुहारमा थप्पड हान्यो, र भन्यो, “को हार्ने रहेछ, तँ कि मेरो जुत्ता र पेटी!” त्यसपछि उसले चिच्याउँदै भन्यो, “यसलाई कुटेर मार!” त्यसपछि धेरै जना पुलिसहरू ममाथि आइलागे र तिनीहरूले मलाई मुक्क र लात हान्न थाले। एक जना पुलिसले आफ्नो छालाको पेटी खोलेर मलाई कुट्न थाल्यो। उसले पेटीले हानेपछि दशभन्दा बढी ठाउँमा मलाई नीलडाम बस्यो। त्यसपछि उसले आफ्नो जुत्ता खोलेर मलाई जुत्ताको सोलले बेस्सरी कुट्न थाल्यो। मलाई चक्कर लाग्यो, मेरो टाउको सुन्‍नियो र मलाई यति पीडा भयो कि म काँपिरहेको र चिच्याइरहेको थिएँ। अन्तिममा, मैले यो कुरालाई अब सहन सक्दिनँ र म मर्छु र यो कुरा समाप्त होस् भन्‍ने कामना गरेँ। मैले मनमनै सोचेँ, “म मरेँ भने, मैले यो कष्ट भोग्‍नु पर्दैन।” त्यसकारण, म टाउको ठोक्‍काउन भित्तामा गएँ, तर एउटा पुलिसले मेरो टाउकोलाई आफ्नो तिघ्राले रोक्यो। उसलाई यति चोट लाग्यो कि ऊ पीडाले उफ्रियो। त्यसपछि मलाई परमेश्‍वरका यी वचनहरू स्पष्ट रूपमा याद आयो: “यी आखिरी दिनहरूका अवधिमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका कष्टहरू जतिसुकै ठूला भए पनि, तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि, तिमीहरू परमेश्‍वरप्रति बफादार र उहाँकै योजनाबद्ध कार्यहरूका कृपामा रहनुपर्छ; यो मात्रै परमेश्‍वरलाई साँच्चै प्रेम गर्नु हो, र यो मात्र बलियो र गुन्जायमान गवाही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्‍वरका वचनहरूले मलाई अचानक यो कुरा महसुस गराए: के मैले कष्ट भोग्‍न नसकेर मृत्युको खोजी गर्नु कायर हुनु होइन र? मेरो गवाही कहाँ गयो? त्यसपछि मलाई के महसुस भयो भने पुलिसले मेरो टाउको छेक्‍नु त मलाई पर्दा पछाडि परमेश्‍वरले रक्षा गरिरहनुभएको हो। म मर्नु परमेश्‍वरको अभिप्राय होइन, उहाँले म यो कष्टको बीचमा आफ्नो गवाहीमा दृढ रहेर शैतानलाई अपमानित गरेको चाहनुहुन्थ्यो। यो बुझेपछि, मलाई गहन रूपमा उत्प्रेरित महसुस भयो र मैले यस्तो सङ्कल्प गरेँ: पुलिसले मलाई जस्तोसुकै कष्ट दिए पनि, म दह्रिलो गरी खडा हुनेछु, र मसँग अन्तिम सास मात्रै बाँकी भए पनि, म परमेश्‍वरको गवाहीमा दृढ रहन जिइरहनेछु! मेरो हृदय शक्ति र सामर्थ्यले भरिएको थियो—मैले दाँत किटेँ र अझै निर्दयी कष्ट भोग्‍न आफूलाई तयार गरेँ। अचम्मको कुरा, राष्ट्रिय सुरक्षा प्रमुख आएर मलाई यसो भन्दै औँल्यायो, “तैँले नै मलाई जितिस्! ती पुस्तकहरूमा के छ भन्‍ने मलाई थाहा छैन जसले गर्दा तँलाई आफ्नो परमेश्‍वरका लागि आफ्नो जीवन बलिदान गर्नु सार्थक हुन्छ भन्‍ने लाग्छ!” अर्को पुलिसले भन्यो, “यो जस्तै ईश्‍वरीकरण भएका मानिसहरूलाई जेल हाल्नुपर्छ!” त्यसको केही समयपछि नै, अर्को पुलिसले गिल्‍ला गर्दै भन्यो, “तँलाई थाहा भएको कुरा हामीलाई बताउन अझै पनि समय छ। यहाँ निर्णय गर्ने म नै हुँ, तर तँ जेल पुगेपछि, मेरो त्यहाँ कुनै अख्तियार हुँदैन। हामी तँलाई दुईवटा विकल्प दिँदै छौँ: तँ घर जान्छस् कि जेल जान्छस्, यो कुरा तेरो हातमा छ!” त्यो बेला मलाई अलिक कमजोर महसुस भयो, मैले जेलमा बसेको लामो समयको अवधिमा कति कष्ट र क्रूरताको सामना गर्नुपर्छ र मैले यो कुरा सहन सक्छु कि सक्दिनँ भन्‍ने चिन्ता लाग्यो। यदि तिनीहरूले मलाई यातना दिएर मारे भने के गर्ने? म यहूदा बन्‍न, परमेश्‍वरको हृदयमा चोट पुर्‍याउन र अनन्त पछुतोमा पर्न चाहन्नथिएँ, तर अहिले मैले सामना गरेको परिस्थितिलाई कसरी सामना गर्ने भन्‍ने पनि मलाई थाहा थिएन। त्यसकारण, मैले हृदयमा परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई दण्ड दिइनेछ र जेल पठाइनेछ। यति लामो र कठिन जेल अवधि कसरी सहने मलाई थाहा छैन, कृपया मलाई यो वातावरणमा समर्पित हुन अगुवाइ गर्नुहोस्।” प्रार्थना गरेपछि, मलाई परमेश्‍वरका वचनहरूको यो खण्ड याद आयो: “परमेश्‍वरलाई प्रेम गर्न इच्‍छा गर्ने हरेकको लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन्‌ र तिनीहरू दह्रिलो गरी खडा हुन नसक्‍ने कुनै न्याय छैन। तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ र उहाँका अभिप्रायहरू पूरा गर्नका लागि कसरी यो प्रेमको प्रयोग गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय अरू कुनै छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमका आकांक्षाहरू र दृढता हुनैपर्छ, र तँ मेरुदण्ड नभएका, दुर्बल व्यक्तिहरूजस्तो बन्‍नु हुँदैन। अर्थपूर्ण जीवनको अनुभव र अर्थपूर्ण सत्यताहरूको अनुभव कसरी गर्ने त्यो तैँले सिक्‍नैपर्छ, र आफैलाई त्यसरी आलटाल गर्ने व्यवहार गर्नु हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका मागहरूको सामना गर्दा, मलाई लाज लाग्यो। मलाई मैले परमेश्‍वरको अघि आफूले जस्तोसुकै कष्टको सामना गरे पनि, म सधैँ उहाँको गवाहीमा दृढ रहनेछु र उहाँलाई सन्तुष्ट पार्ने प्रयास गर्नेछु भनेर गरेको सङ्कल्प याद आयो, तर लामो जेल सजाय र यातनामा पर्ने भएपछि, मलाई यस्तो कष्ट भोग्‍न मन लागेन र म त्यो वातावरणबाट उम्कन खोजेँ। मेरो समर्पण र गवाही कहाँ गयो? मलाई के याद आयो भने, पत्रुस जेलबाट उम्कँदा, प्रभु येशू उहाँकहाँ देखा पर्नुभयो र पत्रुसका लागि फेरि क्रूसमा टाँगिनेछु भनेर भन्‍नुभयो। पत्रुसले परमेश्‍वरको अभिप्राय बुझेको हुनाले, ऊ स्वेच्छाले जेल फर्कियो र परमेश्‍वरका लागि उँधोमुन्टो क्रूसमा टाँगियो र शानदार गवाही दियो। पत्रुससँग परमेश्‍वरप्रति साँचो प्रेम र साँचो समर्पण थियो। ममा पत्रुसको कद थिएन, तर मैले पनि उसको अनुकरण गरेर परमेश्‍वरको गवाहीमा दृढ रहनुपर्थ्यो। मैले के पनि सम्झेँ भने, कष्ट र यातना भोग्ने क्रममा म व्याकुल र कमजोर हुँदा परमेश्‍वरका वचनहरूले मलाई कसरी अन्तर्दृष्टि दिएर मार्गदर्शन गरे, मलाई विश्‍वास र शक्ति दिएर ती पिशाचहरूको क्रूर कष्टलाई जित्न अगुवाइ गरे। जब म सबैभन्दा दुःखित र कमजोर अवस्थामा थिएँ र हार मान्‍ने अवस्थामा पुगेको थिएँ, तब परमेश्‍वरले मेरो लागि बाटो खोल्नका लागि मानिस, घटना, कामकुरा र वातावरणलाई अचम्म तरिकाले योजनाबद्ध गर्नुभयो र मलाई थप कष्ट भोग्‍नबाट बचाउनुभयो। मलाई परमेश्‍वर मेरो साथमा हुनुहुन्छ, र उहाँले मलाई हेरचाह र रक्षा गरिरहनुभएको छ भन्‍ने साँच्‍चै महसुस भयो। परमेश्‍वरको प्रेम अत्यन्तै साँचो छ, त्यसकारण मैले उहाँको हृदय दुखाउनु हुँदैनथियो वा उहाँलाई निराश तुल्याउनु हुँदैनथियो। मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! मलाई दोषी ठहराइयो र मैले जेल सजाय भोग्‍नु पर्‍यो भने पनि, म शैतानको अघि झुक्‍नेछैनँ। म शैतानलाई अपमानित गर्न आफ्नो गवाहीमा दृढ रहने सङ्कल्प गर्नेछु।” पछि, कुनै प्रमाण नभएपछि, तिनीहरूले “सार्वजनिक सुव्यवस्थामा खलल पुर्‍याएको र कानुन लागू गर्ने कार्यमा असर गरेको” आरोप लगाए र मलाई श्रमद्वारा एक वर्ष छ महिना पुनर्शिक्षाको सजाय दिइयो।

श्रम शिविरमा बसेको अवधिमा, मैले कहिल्यै भरपेट खाना खाइनँ र दिनमा पन्ध्रदेखि सोह्र घण्टा काम गर्नुपर्थ्यो। हामीलाई मार्बल चिल्‍याउने काम दिइएको थियो र सुरुमा दैनिक छ सयवटा सकाउनुपर्थ्यो र पछि यसलाई बढाएर एक हजार बनाइयो। मेरो आँखा कमजोर छ, त्यसकारण मैले तुलनात्मक रूपमा ढिलो काम गर्थेँ र मेरा कामहरू पूरा नगर्दा प्रायजसो मलाई कुटपिट गरिन्थ्यो। एक पटक, अर्को कैदी आफ्नो काम पूरा गर्न सक्दिनँ र कुटपिट हुनेछ भनेर डरायो, त्यसकारण उसले आफ्नो आधा पूरा भएका सामानहरू मेरो “पूरा भएको” बाकसमा राख्यो। जब वार्डेनले मेरो “पूरा भएको” बाकसमा अपूरो सामानहरू देख्यो, तब मेरो स्पष्टीकरण नसुनी, उसले मलाई टाउको पर्खालमा अडाएर बस्‍न र पाइन्ट खोल्‍न बाध्य गर्‍यो, र मलाई वी-बेल्टले कुटपिट गर्‍यो। उसले मलाई पहिलोपटक हान्दा, मेरो खुट्टामा तारले तुरुन्तै ठूलो डाम बस्यो, तर उसले दोस्रोपटक हान्दा म उभिन नसकेर भुइँमा लडेँ। गल्‍लीको दुवैतिर उभिरहेका कैदीहरू मलाई देखेर मरी-मरी हाँसे। वास्तवमा, अरू कैदीहरूले प्रायजसो मलाई हेप्थे। तिनीहरूले मलाई शौचालयको छेउमा सुत्‍न लगाउँथे र जानी-जानी शौचालयको ढोका खुला राख्थे। गन्ध यति साह्रो आउँथ्यो कि मलाई वाकवाकी लागेर बान्ता हुन्थ्यो। तिनीहरूले मलाई जुत्ताको सोलले पनि हान्थे र म प्रायजसो आधा रातमा तिनीहरूको कुटइले बिउँझिन्थेँ, र प्रहारले गर्दा टाउको झनन भइरहेको हुन्थ्यो। तिनीहरूले मलाई फेरि कहिले कुटपिट गर्न थाल्छन् मलाई थाहा हुन्थेन र मलाई राति निदाउन प्रायजसो डर लाग्थ्यो। म सधैँ त्रासित हुन्थेँ, र कामको बढी थकान पनि मिसिएकोले, मेरो स्वास्थ्य अवस्था निरन्तर कमजोर हुँदै गयो। यो क्रूर कष्टको सामनाको अवस्थामा, मेरो लामो जेल सजायको बारेमा सोच्दा मलाई हैरान लाग्थ्यो। म त्यो पैशाचिक जेलमा थप एक मिनेट पनि बिताउन चाहन्‍नथिएँ। त्यो बेला मेरो कोठामा अर्को वृद्ध ब्रदर पनि थिए, र जब-जब मौका हुन्थ्यो, तब-तब मलाई सान्त्वना दिन र प्रोत्साहन दिन उनले मसँग परमेश्‍वरका वचनहरूमा शान्त भएर सङ्गति गर्थे। मलाई ती वृद्ध ब्रदरले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेर सुनाएको याद छ: “जब तँ कष्ट सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्छाउन सक्नुपर्छ र परमेश्‍वरविरुद्ध गुनासो गर्नुहुँदैन। जब परमेश्‍वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँमा उहाँलाई पछ्याउने आस्था हुन सक्नुपर्छ, तैँले आफ्नो पहिलेको प्रेमलाई डगमगाउन र बिलाउन नदिई कायम राख्न सक्नुपर्छ। परमेश्‍वरले चाहे जे गर्नुभए पनि, उहाँले इच्छा गरेअनुसार उहाँलाई योजनाबद्ध गर्न दिनुपर्छ, अनि उहाँविरुद्ध गुनासो गर्नुको साटो तेरो आफ्नै देहलाई सराप्न इच्छुक हुनुपर्छ। तैँले परीक्षाहरू सामना गर्दा परमेश्‍वरलाई सन्तुष्ट पार्न, तँ प्रिय वस्तु त्याग्ने पीडा सहन र नराम्ररी रुन इच्छुक हुनुपर्छ। यो मात्र साँचो प्रेम र आस्था हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास र शक्ति दिए। यो वातावरणले कष्ट भोग्‍ने मेरो सङ्कल्प र दृढतालाई सुधार गर्न सक्यो—यो राम्रो कुरा थियो। परमेश्‍वरको अभिप्राय बुझेपछि, मलाई त्यति हैरान भएन। मलाई परमेश्‍वर सधैँ मेरो साथमा खडा हुनुहुन्छ, मलाई हेरचाह र रक्षा गर्ने, आफ्ना वचनहरूद्वारा अन्तर्दृष्टि दिने र मार्गदर्शन गर्ने काम गरिरहनुभएको छ भन्‍ने साँच्‍चै महसुस भयो। मैले आफ्नो गवाहीमा दृढ रहन परमेश्‍वरमा भर पर्नुपर्थ्यो र म शैतानको अघि झुक्नु हुँदैनथियो।

यो सतावट र सङ्कष्ट भोग्‍ने क्रममा, मैले सबैभन्दा गहन रूपमा परमेश्‍वरको प्रेम र मुक्ति अनुभव गरेँ। विशेष गरी गम्भीर यातना भोग्दा धेरै पटक, जब मलाई व्याकुल र कमजोर महसुस हुन्थ्यो, हार मान्न तयार हुन्थेँ, र मलाई आफ्नै ज्यानसमेत लिन मन लागेको थियो, तब मलाई कष्ट भोग्‍ने र आफ्नो गवाहीमा दृढ रहने सङ्कल्प गर्न विश्‍वास र शक्ति दिने परमेश्‍वरका वचनहरू नै थिए। ठूलो रातो अजिङ्गरले मलाई क्रूर रूपमा सताइरहेको बेला, परमेश्‍वरले कसरी मलाई त्याग्‍नुभएन, बरु मलाई रक्षा र हेरचाह गर्नुभयो र मलाई पिशाचहरूको आक्रमणलाई जित्न मार्गदर्शन गर्नुभयो भन्‍ने साँच्चै बोध भयो। परमेश्‍वरले मानवजातिलाई सबैभन्दा बढी प्रेम गर्नुहुन्छ र उहाँले मानिसलाई मुक्ति दिन र सिद्ध पार्न सक्‍नुहुन्छ। अहिले म आफ्नो विश्‍वासमा अझै सङ्कल्पित छु। भविष्यमा मैले जस्तोसुकै कठिनाइ र सतावट भोगे पनि, म अन्तिमसम्‍मै परमेश्‍वरलाई पछ्याउनेछु र ठूलो रातो अजिङ्गरलाई पूर्ण रूपमा लाजमा पार्न उहाँको लागि आफ्‍नो गवाहीमा दृढ रहनेछु।

अघिल्लो: ९९. अनुग्रहका लागि मात्रै परमेश्‍वरमा विश्वास गर्नु सही हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

४९. जिउने सुन्दर तरिका

क्षुन्‍क्‍वी, जापानम सानो छँदा मलाई के सिकाइयो भने, अरूसँग ठाडे व्यवहार नगर्नू र अरूलाई दुःखी नबनाउनू, र त्यो नै मेरो जीवनको दर्शन थियो।...

५९. इमानदार उजुरीको फल

झाओ मिङ्ग, चीनअप्रिल २०११ मा, मैले देशको अर्को भागमा रहेको एउटा मण्डलीकी याओ लान नामक अगुवाको स्थान लिनुपर्ने भयो। हस्तान्तरणको बेला,...

७७. बिमारी मार्फत फसल काटियो

झाङ्ग ली, चीनवर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्