१. मैले आफ्नो नकारात्मक भावनालाई कसरी पछाडि छाडिदिएँ
सन् २०२२ को अक्टोबरमा शेली र मलाई मण्डली अगुवा चुनियो। हामीले भर्खरै अभ्यास थालेका र धेरै कार्यप्रति अनजान रहेकाले, हामी सधैँ मिलेर विषयवस्तुमा छलफल गर्थ्यौँ। केही समयपछि हाम्रो काममा केही नतिजा देखिन थाले। शेलीको क्षमता तुलनात्मक रूपमा राम्रो थियो। अगुवाले प्रश्नहरू सोध्दा उनी तुरुन्त जवाफ दिन सक्थिन्। धेरैजसो समय, अगुवाले पनि उनलाई नै मान्थिन्। यसर्थ, कतिपय मामिलामा अगुवाले शेलीबाट सुझाव लिने कुरालाई प्राथमिकता दिन्थिन्, अनि म चाहिँ छेउतिर बसेको व्यर्थको व्यक्ति जस्तो देखिन्थेँ। म मनमनै सोच्थेँ, “शेलीको क्षमता राम्रो छ, र अगुवाले उनलाई निकै राम्रो मान्छिन्, तर म भने लामो समयसम्म केही नबोली बस्छु। अगुवाले सम्भवतः ममा रहेको योग्यताको कमी बुझेकी र म केही सहायक काम मात्र गर्न सक्छु भन्ने सोचेकी होलिन्।” म केही हतास हुन्थेँ, तर फेरि सोच्थेँ, मैले भर्खर अभ्यास थालेकी र मेरो क्षमता त्यति राम्रो नभएकाले महत्त्वपूर्ण काममा मलाई प्रयोग नगरिनु सामान्य कुरा हो। म आफूलाई यसरी सान्त्वना दिन्थेँ र मेरो नकारात्मक भावना हराउँथ्यो।
पछि, हाम्रो जिम्माको कामको मात्र बढ्यो। काम सुम्पिँदाको समयमा अगुवाले हामी दुवैलाई बोलाउँथिन्। तर केही बढी चुनौतीपूर्ण कार्य कार्यान्वयन गर्ने कुरा आउँदा, अगुवाले विशेष गरी शेलीलाई ती कार्यको अनुगमन गर्नु भन्थिन्, मेरो नाम खासै उच्चारण गर्दैनथिन्। बढीमा, अगुवाले यसो भन्दै टुङ्ग्याउँथिन्, “शेली, तपाईंसँगै अरूले यो कार्यको अनुगमन गर्न सक्नुहुन्छ।” बाहिरबाट, मैले वास्ता नगरेजस्तो गरे पनि भित्र म उथलपुथल हुन्थेँ: “मलाई सधैँ नजरअन्दाज गरिन्छ, ‘अरू’ को हिस्सा मात्र ठानिन्छ। अगुवाको दिमागमा म छु जस्तो नै लाग्दैन। म केही गर्न सक्दिनँ; आखिरमा, मेरो क्षमता शेलीको जति राम्रो छैन। म आफूले गर्न सक्ने मात्र गर्नेछु।” यसपछि, कार्यको अनुगमनमा म क्रमिक रूपमा निष्क्रिय हुँदै गएँ र शेली जिम्मेवार रहेका काममा म त्यति सामेल हुन चाहिनँ। उनी मसँग कामको बारेमा छलफल गर्न आउँदा म उदासीन मनले जवाफ दिन्थेँ। कहिलेकाहीँ सबैले कुनै समस्यामा सक्रिय भई छलफल गर्थे, र मलाई आफू बाहिरिया जस्तो महसुस हुन्थ्यो, दिनभरमा मुस्किलले एक शब्द बोलेकी हुन्थेँ। कहिलेकाहीँ मसँग केही विचार हुन्थे, तर मलाई ती विचार सही छन् या छैनन् भन्ने यकिन हुन्नथ्यो। मैले केही गलत बोलेमा, के आफैलाई मूर्ख बनाउने थिइनँ र? यसबारे सोचेपछि, म नबोल्ने निर्णय गर्थेँ। यसरी, आफैलाई मेरो क्षमता कमजोर छ र म त्यति काम लाग्ने छैन भन्ने भावना बढ्दै जान थाल्यो, त्यसैले, त्यहाँ पछि मैले धेरै कामको जिम्मेवारी लिन चाहिनँ। त्यसपछि, मैले आफ्नो ध्यान मलजलको काममा केन्द्रित गरेँ। त्यो बेला, मण्डलीमा मलजल समूह अगुवाको कमी थियो र मैले सिस्टर रोजलाई सम्झेँ, जसले पहिले नयाँ विश्वासीलाई मलजल गर्ने काममा केही नतिजा हासिल गरेकी थिइन्। तर, ब्रदर-सिस्टरले तिनी कर्तव्यमा बोझ नउठाउने र समूह अगुवा बन्न उपयुक्त नरहेकी भनेर रिपोर्ट गरे। म यसबारे शेलीसँग छलफल गर्न चाहन्थेँ, तर उनी निकै व्यस्त भएको देखेर मैले यो कुरा उनीसामु राखिनँ, उनले यति सानो कार्य पनि सम्हाल्न नसक्ने कति कमजोर क्षमता भन्लिन् कि भन्ने डर थियो। मैले सोचेँ, “रोजसँग राम्रो क्षमता छ र कतिपय समस्या सुल्झाउन सङ्गति गर्न सक्छिन्। उनले पतिको दबाबका कारण अहिले बोझ बोक्न नसके पनि, मबाट अनुगमन र सङ्गति हुँदै जाँदा यसले काममा ढिलाइ हुने छैन।” त्यसैले मैले रोजलाई मलजल समूह अगुवा चुनेँ। तर केही दिनपछि, मैले रोज पतिको दबाबले गर्दा कर्तव्य छोडेर घर गएकी सुनेँ। यो सुनेर म स्तब्ध भएँ र सोच्न थालेँ, “कुरा यही भो। मैले उनलाई चुनेँ। यसले ममा समझशक्ति नभएको देखाउँदैन र? एउटा सानो कार्यमा स्वतन्त्र भएर काम गर्दा पनि मैले गल्ती गरेँ; यो निकै नराम्रो हो। यसले नयाँ विश्वासीहरूलाई मलजल गर्न ढिलो भयो भने मैले मण्डलीको काममा बाधा ल्याएकी हुनेछु।” मैले यसबारे जति सोचेँ उति नराम्रो लाग्यो। मैले आफूलाई कुनै पनि काम राम्रोसँग गर्न असक्षम रहेकी ठानेँ। आफूसँग क्षमता र खुट्याइको अभाव रहेकाले र कामकुरालाई स्पष्ट देख्न नसक्ने भएकीले ब्रदर-सिस्टरलाई अधिक हानि र मण्डलीको काम ढिलाइ हुनुभन्दा अघि नै मैले छिटो राजीनामा दिनुपर्छ। त्यसैले, मैले राजीनामा पत्र लेखेर अगुवा र शेलीलाई पठाएँ। केही बेरपछि नै शेलीले परमेश्वरका वचनको एउटा खण्ड मलाई पठाइन्: “परिस्थिति वा काम गर्ने वातावरण जे-जस्तो भए पनि, मानिसहरूले कहिलेकहीँ गल्ती गर्छन्, र कतिपय क्षेत्रमा तिनीहरूको गुण, अन्तर्ज्ञान र दृष्टिकोणले भ्याउँदैन। यो सामान्य कुरा हो, र यसलाई सही तरिकाले कसरी सम्हाल्ने त्यो तँलाई थाहा हुनुपर्छ। चाहे जेसुकै भए पनि, तेरो अभ्यास जे-जस्तो भए पनि, तैँले यसलाई सही तरिकाले र सक्रिय रूपमा सामना गर्नु र सम्हाल्नुपर्छ। थोरै कठिनाइ सामना गर्दा नै निराश बन्ने वा नकारात्मक महसुस गर्ने वा दबाब महसुस गर्ने नग्, र नकारात्मक संवेगहरूमा डुब्ने नगर्। त्यसो गर्नु जरुरी छैन, र यसलाई ठूलो कुरा नबना। तैँले तुरुन्तै गर्नुपर्ने कुरा भनेको आफ्नो बारेमा मनन गर्नु र तेरो व्यावसायिक सीपमा कुनै समस्या छ कि वा तेरो अभिप्रायमा कुनै समस्या छ कि भनेर निर्धारण गर्नु हो। तेरो कार्यमा कुनै अशुद्धता छ कि वा कुनै धारणाले गर्दा यस्तो भएको हो कि भनेर जाँच गर्। सबै पक्षबारे मनन गर्। यदि यो निपुणताको कमीले गर्दा भएको हो भने, तैँले सिकाइ जारी राख्न सक्छस्, र समाधानहरू पत्ता लगाउन कसैलाई सहयोग माग्न, वा त्यही क्षेत्रका मानिसहरूसँग सल्लाह लिन सक्छस्। यदि यसमा केही गलत अभिप्रायहरू मिसिएका छन् भने, र यसमा संलग्न समस्या सत्यता प्रयोग गरेर समाधान गर्न सकिने खालको छ भने, तैँले सल्लाह र सङ्गतिको लागि मण्डली अगुवाहरू वा सत्यता बुझ्ने व्यक्तिहरूलाई सहयोग माग्न सक्छस्। तँ जुन स्थितिमा छस् त्यसबारे तिनीहरूलाई बता र यो समस्या हल गर्न तिनीहरूलाई तँलाई मद्दत गर्न दे। यदि यो धारणाहरूसँग सम्बन्धित समस्या हो भने, तैँले जाँचेर पत्ता लगाएपछि, तिनलाई चिरफार गरेर बुझ्न सक्छस्, र त्यसपछि त्यसबाट टाढा बस्न र तीविरुद्ध विद्रोह गर्न सक्छस्। के यसमा भएको कुरो यति नै होइन र? आउँदा दिनहरूले अझै तँलाई पर्खिरहेका हुन्छन्, भोलि फेरि घाम झुल्किनेछ, र तैँले जिउन जारी राख्नैपर्ने हुन्छ। तँ जीवित रहेकोले, र तँ मानव भएकोले, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने कार्य जारी राख्नुपर्छ। जबसम्म तँ जीवित हुन्छस् र तँमा विचारहरू हुन्छन्, तबसम्म तँ आफ्नो कर्तव्य निभाउन र यसलाई पूरा गर्न लागिपर्नुपर्छ। व्यक्तिको जीवनभरि परिवर्तन हुन नहुने उद्देश्य यही हो। तैँले जुनसुकै बेला, जस्तोसुकै कठिनाइ सामना गरे पनि, र जेसुकै कुरा भोगे पनि, दबाब अनुभूति गर्नु हुँदैन। यदि तँलाई दबाब महसुस भयो भने, तँ रोकिनेछस् र हार्नेछस्। कस्ता मानिसहरूले सधैँ दबाब महसुस गर्छन्? कमजोर र मूर्खहरू प्राय दबाबमा परिरहन्छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (६))। परमेश्वरका वचन पढेपछि, मैले भित्रैबाट न्यानो अनुभूति गरेँ। परमेश्वरले भन्नुभयो, मानिसले आफ्नो कर्तव्य निर्वाह गर्दा यस्तो समय पनि आउँछ जहाँ तिनीहरू भ्रमित हुन सक्छन्, गल्ती गर्न सक्छन्, वा सत्यताको बुझाइको कमीका कारण सिद्धान्तको उल्लङ्घन गर्छन्। त्यसैले, काममा केही हानि पुऱ्याउने समस्या आए, वा जब मानिसलाई काटछाँट गरियो भने, यी सबै सामान्य कुरा हुन् र सही तरिकाले लिनुपर्छ। मुख्य कुरा असफलताबाट पाठ सिक्नु हो, आत्मचिन्तन, पश्चात्ताप गरी परिवर्तन हुनु हो। भ्रष्ट स्वभावअनुसार कार्य गरेर काममा हानि भएको हो भने, त्यो अवस्थामा व्यक्तिले भ्रष्ट स्वभावको समाधानका लागि सत्यता खोज्नुपर्छ। सीपको कमीले काम अप्रभावकारी भएको हो भने, व्यक्तिले ती सीप छिटो सिक्नुपर्छ वा बढी सीपयुक्त भएकासँग परामर्श गर्नुपर्छ। यदि, यी विचलन देखिएकाले वा गल्तीले मात्र, कसैले आफू खुलासा भएको सोच्छ अनि नकारात्मक भएर आफूलाई सीमित गर्छ र कर्तव्य निर्वाह गर्न नचाहने हुन्छ भने, यसले तिनीहरू मूर्ख र कमजोर रहेको देखाउँछ। मैले रोजलाई छानेको कुरामा चिन्तन गरेँ, अनि म आफ्नै प्रतिष्ठा र हैसियतप्रति धेरै चिन्तित रहेछु भन्ने चाल पाएँ शेलीसँगको सहकार्यको दौरान, आफू जताततै छायामा मात्र परेको महसुस भएकाले म एउटा कार्य स्वतन्त्र भएर पूरा गरी आफूमा अझै पनि काम गर्ने केही योग्यता रहेको प्रमाणित गर्न चाहन्थेँ। त्यसैले, मलजल समूह अगुवा चुन्ने मामिलामा, ममा स्पष्ट रूपमा सिद्धान्तको कमी भए पनि र मानिसलाई बुझ्न नसके पनि, ब्रदर-सिस्टरलाई सोधेमा यति सानो कार्य पनि सम्हाल्न नसकेकाले मलाई साँच्चै असक्षम ठान्लान् भन्ने डरले, मैले आफ्नै कल्पनाअनुसार रोजलाई चुनेँ। ममा मानिस खुट्याइको अभाव थियो, मैले तिनलाई छनोट र प्रयोग गर्ने कुरामा सिद्धान्त पछ्याइनँ। वास्तवमा, परमेश्वरको घरले लामो समयदेखि नै के सङ्गति गरेको छ भने, मानिसलाई चयन र प्रयोग गर्दा, हामीले तिनीहरूको पृष्ठभूमिबारे जानकार रहेकासँग सल्लाह गरेर चयन भएका व्यक्तिमा संवर्धनपूर्व नै जिम्मेवारीबोध र केही क्षमता छ भन्ने सुनिश्चित गर्नुपर्छ, र कुनै व्यक्तिमा कुनै समस्या देखिएमा त्यसबारे तुरुन्त अनुसन्धान गरी परिस्थितिलाई बुझ्नुपर्छ। यदि तिनीहरूले यसलाई स्पष्ट देख्न सक्दैनन् भने सत्यता बुझ्ने व्यक्तिको सहयोग लिनुपर्छ। यसरी मात्रै तिनीहरूले गर्ने चयन र मानिसको प्रयोग सही हुन सक्छ। तर, आफ्नो प्रतिष्ठा र हैसियत रक्षाका खातिर, मैले आफ्नै इच्छाले रोजलाई बढुवा गरेँ। म मनमानी ढङ्गले कार्य गरिरहेकी थिएँ, र कामप्रति अत्यन्त गैरजिम्मेवार थिएँ। काममा ढिलाइ भएकोले, मैले समस्या समाधान गर्ने तरिकाबारे छिटो सोच्नुपर्ने थियो, निराशामा डुबेर आफूले सक्दै सक्दिनँ भन्नु हुँदैनथ्यो। यस्तो गरेर म आफ्नो जिम्मेवारीबाट भाग्दै थिएँ। म निकै स्वार्थी रहेछु!
एउटा भेलामा, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ जुन मेरा लागि धेरै उपयोगी थियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तँ सङ्कल्प भएको व्यक्ति होस् भने, यदि तैँले मानिसहरूले लिनुपर्ने जिम्मेवारी र दायित्वलाई, सामान्य मानवता भएका मानिसहरूले हासिल गर्नुपर्ने कुराहरूलाई, र वयस्क व्यक्तिले हासिल गर्नुपर्ने कुराहरूलाई आफ्नो खोजका उद्देश्य र लक्ष्यहरूको रूपमा लिन सक्छस् भने, र यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस् भने, तैँले जस्तो मूल्य चुकाए पनि र जस्तो पीडा भोगे पनि, गुनासो गर्नेछैनस्, र यो परमेश्वरको मापदण्ड र अभिप्राय हो भनेर पहिचान गरेसम्म, तैँले जुनसुकै कष्ट भोग्न र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्नेछस्। त्यो बेला, तेरो मनस्थिति कस्तो हुनेछ? यो फरक हुनेछ; तैँले हृदयमा शान्ति र स्थिरताको अनुभव गर्नेछस्, र आनन्द अनुभव गर्नेछस्। तँलाई थाहै होला, सामान्य मानवतामा जिउने प्रयास गरेर, अनि सामान्य मानवता भएका मानिसहरूले लिने र स्विकार्ने जिम्मेवारी, दायित्व, र मिसनहरू पछ्याएर, मानिसहरूले हृदयमा शान्ति र आनन्द महसुस गर्छन्, र तिनीहरूले खुसी अनुभव गर्छन्। तिनीहरू सिद्धान्तहरूअनुसार काम गर्न र सत्यता प्राप्त गर्न सक्ने अवस्थामा पुगिसकेका नभए पनि, तिनीहरूमा केही परिवर्तन आउन थालिसकेको हुनसक्छ। त्यस्ता मानिसहरू विवेक र समझ भएका मानिसहरू हुन्; तिनीहरू कुनै पनि कठिनाइ जित्न र कुनै पनि काम लिन सक्ने सीधा मानिसहरू हुन्। तिनीहरू ख्रीष्टका असल सिपाहीहरू हुन्, तिनीहरूले तालिम लिएका हुन्छन्, र कुनै पनि कठिनाइले तिनीहरूलाई जित्न सक्दैन। मलाई भन, त्यस्तो व्यवहार तिमीहरूलाई कस्तो लाग्छ? के यी मानिसहरूमा धैर्यता हुँदैन र? (हुन्छ।) तिनीहरूसँग धेर्यता हुन्छ, र मानिसहरूले तिनीहरूलाई आदर गर्छन्। के यस्ता मानिसहरू दबाबमा पर्छन्? (पर्दैनन्।) त्यसोभए तिनीहरूले यी दबाबपूर्ण संवेगहरूलाई कसरी परिवर्तन गरेका हुन्छन्? किन यी दबाबका संवेगहरूले तिनीहरूलाई समस्यामा पनि पार्दैनन् र दुःख पनि दिँदैनन्? (किनभने तिनीहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्छन् र आफ्नो कर्तव्यमा बोझ लिन्छन्।) ठीक भन्यौ, यो आफ्नो उचित कार्य पूरा गर्नुसँग सम्बन्धित छ। … यदि व्यक्तिले आफूले पूरा गर्नुपर्ने उचित कार्य पूरा गर्छ र सही मार्ग पछ्याउँछ भने, यी संवेगहरू पैदा हुँदैनन्। क्षणिक विशेष परिस्थितिहरूको कारण कहिलेकहीँ तिनीहरूले दबाबका संवेगहरू महसुस गर्ने भए पनि, ती क्षणिक मुड मात्रै हुन्छन्, किनभने जीवनको सही शैली र अस्तित्वसम्बन्धी सही दृष्टिकोण भएका मानिसहरूले यी नकारात्मक संवेगहरू तुरुन्तै हटाउँछन्। परिणामस्वरूप, तँ दबाबका संवेगहरूको बन्धनमा बारम्बार पर्नेछैनस्। यसको अर्थ दबाबका त्यस्ता संवेगहरूले तँलाई झिज्याउँदैनन्। तैँले क्षणिक रूपमा खराब मुड महसुस गर्न सक्छस्, तर तँ त्यसको बन्धनमा पर्दैनस्। यसले सत्यता पछ्याउनुको महत्त्व उजागर गर्छ। यदि तँ आफूले गर्नुपर्ने उचित काम पूरा गर्न खोज्छस्, वयस्कले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्छस्, र अस्तित्वको सामान्य, असल, सकारात्मक, र सक्रिय शैली पाउन खोज्छस् भने, तँमा यी नकारात्मक संवेगहरू पैदा हुनेछैनन्। यी दबाबपूर्ण संवेगहरूले तँलाई प्रभाव वा वशमा पार्ने छैनन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। परमेश्वरका वचनबाट मैले के देखेँ भने वयस्क र उचित काममा सहभागी हुनेहरूले आफ्नो दिमाग उचित मामिलामा लगाउँछन्। हरेक दिन, तिनीहरूले आफ्नो कर्तव्यसँग सम्बन्धित कुरा मात्र सोच्छन्, जस्तै, कर्तव्य कसरी राम्ररी गर्ने, आफ्ना कर्तव्यमा के कस्ता समस्या छन्, आफ्ना काम अझ राम्रोसँग कसरी गर्ने, आदि। भलै तिनीहरूको काममा केही विचलन वा गल्ती होला, र तिनीहरू बाधाको सामना गरी केही समयका लागि कमजोर वा निराश होलान्, तर तिनीहरू सदैव नकारात्मक भावनामा रहँदैनन्, बरु तिनीहरू आफ्ना समस्या हल गर्न सक्रिय भएर सत्यताको खोजी गर्छन्। तर, अहिलेलाई म जिम्मेवारीमा काँध थाप्न नसक्ने एउटा बेकारको व्यक्तिझैँ थिएँ। केही बाधा आउँदा नै मेल नकारात्मक भएर हार मानेँ, ममा एउटा वयस्कमा हुनुपर्ने साहस पनि थिएन। साथै, यसले मैले हालैको समयमा गर्नुपर्ने काममा ध्यान दिन कसरी असफल भएँ भन्ने पनि खुलासा गर्यो। मण्डलीको काम सम्हालेदेखि, मैले सहकार्य गर्ने सिस्टर विभिन्न पक्षमा मभन्दा राम्रो रहेको देख्दा मलाई आफूमा क्षमताको कमी छ र मेरो सराहना हुँदैन भन्ने लाग्यो। त्यसैले, म साँच्चै आफ्नो योग्यता साबित गर्ने अवसरको आशामा थिएँ। अगुवाले हामीसँग भेला गर्दा, म लगातार उनको हाउभाउ नियाल्थेँ, र मलाई उनले महत्त्व दिए नदिएको उनको लवजबाट अन्दाज लगाउने कोसिस गर्थेँ। यदि अगुवाले मलाई नै तोकेर केही काम गर्न भनेमा म खुसी हुन्थेँ, अगुवाले मलाई महत्त्व दिएको सोच्थेँ, र कर्तव्य निर्वाहमा प्रेरित हुन्थेँ। तर, अगुवाले मुख्य जिम्मेवारी मेरी सहकर्मी सिस्टरलाई दिइन् भने, मलाई कम महत्त्व दिइएको सम्झन्थेँ। प्रतिष्ठा र हैसियतको मेरो चाहना पूरा नहुँदा म निराश महसुस गर्थेँ। ब्रदर-सिस्टरसँग सहकार्य गर्दा मेरा सोचहरू कर्तव्यमा रहँदैनथे, बरु, मैले भनेका कुरामा तिनीहरू कत्तिको सहमत छन् भन्नेमा रहन्थे। कहिलेकाहीँ, मैले कुनै दृष्टिकोण बताउँदा र कसैले प्रतिक्रिया नजनाउँदा, मलाई असहज लाग्थ्यो। तिनीहरूले विपरीत सुझाव दिए भने म झन् बढी नकारात्मक हुन्थेँ र आफ्नो क्षमता निकै कम छ भन्ने निर्क्योल गरी छलफलमा सहभागी हुन पनि इच्छुक हुन्नथेँ। विशेष गरी रोजको विषयमा, मैले आफूमा खुट्याइ अभावका बाबजुद आफ्नै इच्छाअनुसार लापरबाही तरिकाले कार्य गरेँ, र गल्ती गरेपछि पनि आत्मचिन्तन गरिनँ, बरु नकारात्मक भावनामा पुगेँ र राजीनामा दिन चाहेँ। यो सबै मैले कर्तव्य निर्वाह गर्दा उचित काममा ध्यान नदिएकाले, बरु सधैँ हैसियत र प्रतिष्ठाको पछि लागेका कारणले भएको थियो। मेरा नजर तथा सोचहरू आफ्नो प्रतिष्ठा र हैसियतबाहेक अरू कुनै कुरामा केन्द्रित थिएनन्। मानिसको प्रशंसा नपाउँदा म नकारात्मक र निराश भएँ, मण्डलीको कामलाई समेत पन्छाएँ। यसरी त म आफ्नो कर्तव्य सही रूपले बिलकुलै पूरा गर्न सक्दिनथेँ, यस्तो मनोवृत्तिलाई परमेश्वरले साँच्चिकै घृणा गर्नुहुन्थ्यो। मैले परमेश्वरले भनेका वचन सम्झेँ: “विशेष गरी अहिले परमेश्वरको घरमा कर्तव्य निर्वाह गरिरहेका मानिसहरूको हकमा भन्दा, के तिनीहरूलाई दबाब महसुस गर्ने समय हुन्छ र? त्यस्तो समय हुँदैन। त्यसोभए, कुनै अप्रिय कुरा सामना गर्नेबित्तिकै, दबाब महसुस गर्ने, खराब मुडमा जाने, र निराश वा व्याकुल हुने मानिसहरूलाई के भएको हो? तिनीहरू सही कुरामा व्यस्त नहुने र फोकटमा बस्ने हुनाले त्यस्तो भएको हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। आफ्नो वरिपरिका ब्रदर-सिस्टरहरू कर्तव्य निर्वाहमा व्यस्त हुँदा, आफू भने प्रतिष्ठा र हैसियतकै चिन्तामा अल्झिरहेकी, यी समस्या सुल्झाउन सत्यता नखोजी बरु झन् नकारात्मक र प्रतिरोधी हुँदै गएकी देखेपछि, मलाई आफू सत्यता पछ्याउने व्यक्ति नरहेको महसुस भयो। विशेष गरी, शेलीले आफ्नो जिम्मेवारीमा रहेको सुसमाचार कामको नतिजा राम्रो नआएको, सबै जना कठिनाइमा जिएको, र उनले हामी एकै मन-मुटु भई यी कठिनाइलाई मिलेर सुल्झाउन सक्छौँ भनी अपेक्षा गरेको कुरा सम्झँदा, मलाई निकै दोषी महसुस भयो र म भित्रैबाट निराश भएँ। परमेश्वरले हाम्रा लागि मण्डलीको काममा जिम्मेवार भई सहकार्य गर्ने वातावरणको व्यवस्था गर्नुभयो, तर आफ्नो कर्तव्य कसरी राम्रो गर्ने भन्ने कुरामा ध्यान दिनुको सट्टा म आफ्नो तुच्छ सोचमा हराएँ, नकारात्मक भएँ, पछि हटेँ, र राजीनामा दिन चाहेँ। ममा साँच्चै नै मानवताको कमी थियो! मैले परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर, म निकै स्वार्थी छु। अहिले मण्डलीको काममा धेरै कठिनाइ छन्, तैपनि मैले उचित मामिलामा ध्यान दिइनँ, बरु सिस्टरसँग हरेक दिन प्रतिस्पर्धा गरेँ। जब म उनीभन्दा राम्रो बन्न सकिनँ, तब म नकारात्मक भएँ। मलाई आफू भित्रैबाट ढलको ट्याङ्की जस्तो लाग्छ, जहाँ पछ्याउने कुनै सकारात्मक कुरा छैन। मैले कष्ट मात्रै भोगिरहेकी छैन, मण्डलीको कामलाई समेत ढिलो बनाइरहेकी छु। अब मैले आफ्ना समस्या थाहा पाएकी छु। मेरो क्षमता धेरै राम्रो नभए पनि, मैले सिस्टरसँग सहकार्य र सौहार्दपूर्वक काम गर्ने सक्दो कोसिस गर्नुपर्छ। कम्तीमा, मैले आफ्नो मनोवृत्तिका कारण काममा ढिलाइ गर्नुहुँदैन। तपाईं मेरो हृदयको छानबिन गर्नुहोस्; म पश्चात्ताप गर्न तयार छु!” त्यसपछि, कर्तव्य निर्वाहप्रति मेरो मनोवृत्ति निकै सक्रिय भयो। मैले शेलीसँग कामका समस्याबारे सक्रिय छलफल गरी तिनको समाधान गर्न थालेँ। मलाई डर लाग्ने गरेका केही कठिन कार्यहरूको हकमा, म परमेश्वरलाई प्रार्थना गर्थेँ र सकेसम्म सहभागी हुन्थेँ। अरूको कर्तव्यमा कठिनाइ देख्दा मैले धेरै सहयोग गर्न नसक्ने रहेछ भने म सत्यता बुझ्ने कसैलाई खोज्थेँ र ती समस्या समाधान गर्न सहकार्य गर्थेँ। कहिलेकाहीँ, कुनै कार्य अनुगमन गर्ने भनेर शेलीलाई नै तोकेको भए पनि मेरो नाम नतोकेको भए पनि, शेलीले मसँग संवाद गरिन् भने म सहभागी भएर सुझावहरू दिन्थेँ, अगुवाले यो कुरा देख्छन् वा देख्दैनन् भन्ने कुरामा ध्यान दिन्नथेँ। मैले परमेश्वरको सामुन्ने कार्य गर्ने अभ्यास गरेँ, प्रत्येक कार्य कर्तव्यनिष्ठ भएर गर्नमा ध्यान केन्द्रित गरेँ, र सत्यताको अभ्यास गर्नु र परमेश्वरलाई सन्तुष्ट बनाउनुलाई मुख्य कुरा ठानेँ। जब मैले जानाजानी आफ्नो मनसाय विरुद्ध विद्रोह गरेँ, र हरदिन हृदयलाई कर्तव्यमा केन्द्रित गरेँ, तब मलाई दृढता महसुस भयो र म नकारात्मक भावनाबाट अलिअलि गर्दै बाहिर आउन थालेँ।
केही समयपछि, मैले काँटछाँटको सामना गर्नुपर्यो, र म फेरि नकारात्मक भावनामा डुब्न पुगेँ। त्यस समयमा, अगुवाले मलाई केही सामग्री सङ्गठित गर्न अनुरोध गरिन्। अनुभवको कमीका कारण, मैले यो कार्य पूरा गर्न ब्रदर-सिस्टरसँग सहकार्य गरेँ। हामीले मसौदा पूरा गरेपछि, अगुवाले यसलाई पढिन् र राम्रो छ भनिन्, तर केही ठाउँमा केही विवरण थप्न सुझाइन्। कुनै ठुलो समस्या नरहेको देखेपछि म खुसी भएँ, सोचेँ, यो राम्रोसँग गरिएको कार्य भएकाले विवरण थप्न सजिलै हुन्छ र केही विषयवस्तु थपे हुन्छ। त्यसैले, मैले ब्रदर-सिस्टरसँग सिद्धान्तबारे सङ्गति गरिनँ। अप्रत्याशित रूपमा, विवरण थपेपछि अगुवाले नयाँ विषयवस्तु लामो घुमाउरो र असङ्गत रहेको, पूरै विषयवस्तुलाई नराम्रो बनाएको पाइन्। उनले हामीलाई समस्यालाई ध्यानपूर्वक विचार गरे नगरेको र राम्रोसँग बुझे नबुझेको सोधिन्। त्यसपछि, उनले अरूलाई ती सामग्री पुनः व्यवस्थित गर्न भनिन्। यो सुनेर म स्तब्ध भएँ: “मैले त राम्रो गर्न चाहेकी थिएँ, तर किन अन्त्यमा यस्तै हुन्छ?” यसबारे चिन्तन गरेपछि, मलाई यो अझै पनि मेरो कमजोर क्षमता र सत्यताका सतही बुझाइका कारण हो भन्ने लाग्यो। मैले सोचेँ, म सामान्य मामिला सम्हाल्न सक्छु, तर सत्यताको बुझाइ हुनुपर्ने कार्यका लागि भने म तयार छैन। अब, म जानिबुझी पछि हट्न चाहेको होइन; मसँग इच्छाशक्ति त थियो, तर दक्षताको अभाव थियो। त्यसपछि, मलाई अरूसँग काममा सहकार्य गर्न हिचकिचाहट हुन थाल्यो। मैले काममा केही समस्या रहेको देख्दा तिनलाई औँल्याउन चाहेर पनि फेरि यसो सोच्दै आफैलाई रोक्थेँ, “आफ्नो कमजोर क्षमताले म समस्या पत्ता लगाउन सक्छु र? के म यस कामका लागि सक्षम छु? मेरो क्षमता कम छ र कामकुरा राम्रोसँग खुट्याउन सक्दिनँ, नत्र, काम यति नराम्ररी सम्पन्न हुने थिएन; त्यसैले, मैले अरूको समस्या नऔँल्याउनु नै राम्रो हो।” परिणामस्वरूप, म फेरि नकारात्मक भावनामा डुब्न पुगेँ, कर्तव्यमा निष्क्रिय भएँ, भविष्यको सम्भावना बारेमा निरन्तर चिन्ता गर्न थालेँ, र आफ्नो हृदयलाई शान्त बनाउन असमर्थ भएँ।
एउटा भेलामा मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ जसले मेरो स्थिति सुधार्न मद्दत गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तेरो सङ्कल्पलाई हल्लाउन सक्ने, तेरो हृदयलाई ओगट्न सक्ने, वा तँलाई तेरो कर्तव्य पूरा गर्न र तेरो अगाडिको प्रगतिलाई जकड्न सक्ने हरेक दिन पैदा हुने, साना-ठूला सबै कुरालाई लगनशीलताको साथ ध्यान दिनुपर्छ; तैँले तिनलाई होसियारीसाथ जाँच्नुपर्छ र सत्यता खोज्नुपर्छ। यी सबै समस्याहरू तैँले अनुभव गर्दै जाँदा समाधान गर्नुपर्ने कुराहरू हुन्। कतिपय मानिसहरू कठिनाइ आइपर्दा, नकारात्मक बन्छन्, गुनासो गर्छन्, र आफ्नो कर्तव्य त्याग्छन् र प्रत्येक बाधापछि तिनीहरू खडा हुन असमर्थ हुन्छन्। यी सबै मानिसहरू सत्यतालाई प्रेम नगर्ने मूर्खहरू हुन्, र जीवनभरि विश्वास गरे पनि उनीहरूले सत्यता प्राप्त गर्दैनन्। त्यस्ता मूर्खहरूले कसरी आखिरीसम्म पछ्याउन सक्छन्? यदि तेरो जीवनमा एउटै कुरा दस पटक देखा पर्छ, तर त्यसबाट तैँले केही पनि प्राप्त गर्दैनस् भने, तँ मामुली, बेकम्मा व्यक्ति होस्। आत्मिक बुझाइ भएका बाठो र साँचो क्षमता भएका मानिसहरू सत्यताको खोजी गर्नेहरू हुन्; उनीहरूलाई दस पटक केही भयो भने, सायद तीमध्ये आठ वटा अवस्थामा, तिनीहरूले केही अन्तर्दृष्टि प्राप्त गर्न, केही पाठ सिक्न, केही सत्यता बुझ्न अनि केही उन्नति गर्न सक्नेछन्। आत्मिक बुझाइ नभएका कुनै मूर्ख व्यक्तिमाथि जब दस पटक केही परिआउँछ, त्यसले एकै पल्ट पनि उनीहरूको जीवनमा फाइदा गर्दैन, एकै पल्ट पनि त्यसले तिनीहरूलाई परिवर्तन गर्दैन, र त्यसले एकै पटक पनि उनीहरूलाई आफ्नो कुरूप अनुहार चिन्ने बनाउँदैन, जुन अवस्थामा उनीहरूका लागि सबै कुरा समाप्त हुन्छ। प्रत्येक चोटि जब उनीहरूलाई केही हुन्छ, तिनीहरू ढल्छन्, र प्रत्येक चोटि तिनीहरू ढल्दा तिनीहरूलाई साथ दिन र फकाउन तिनीहरूलाई अरू कसैको खाँचो हुन्छ; साथ दिने र फकाउने कार्यबिना तिनीहरू उठ्न सक्दैनन्, र प्रत्येक चोटि केही हुँदा, तिनीहरू ढल्ने र पतन हुने खतरामा हुन्छन्। के यो तिनीहरूका लागि अन्त्य नै होइन र? के यस्ता बेकम्मा मानिसहरुलाई मुक्ति दिने अरू कुनै आधारहरू छन्? परमेश्वरले मानवजातिलाई दिनुभएको मुक्ति सत्यतालाई प्रेम गर्नेहरूको मुक्ति हो, इच्छा र सङ्कल्पसहितको तिनीहरूको एउटा भागको मुक्ति हो, र हृदयमा सत्यता र न्यायको तिर्सना गर्ने तिनीहरूको एउटा भागको मुक्ति हो। व्यक्तिको सङ्कल्प भनेको हृदयमा न्याय, भलाइ र सत्यताको तिर्सना गर्ने र विवेक धारण गरेको तिनीहरूको एउटा भाग हो। परमेश्वरले मानिसहरूको यस भागलाई मुक्ति दिनुहुन्छ, र यसमार्फत, उहाँले उनीहरूको भ्रष्ट स्वभावलाई परिवर्तन गर्नुहुन्छ, यसैले कि उनीहरूले सत्यतालाई बुझ्न र प्राप्त गर्न सकून्, यसैले कि उनीहरूको भ्रष्टता पखालिओस् र उनीहरूको जीवन स्वभाव रूपान्तरण होस्। यदि तँभित्र यी कुराहरू छैनन् भने, तैँले मुक्ति पाउन सक्दैनस्। … कतिपय मानिसहरूलाई आफ्नो क्षमता अत्यन्तै कमजोर छ र आफूसँग बुझ्ने क्षमताको कमी छ भन्ने लाग्छ, त्यसकारण तिनीहरूले आफूलाई सीमित गर्छन्, र आफूले जति नै सत्यता पछ्याए पनि, परमेश्वरका मापदण्डहरू पूरा गर्न नसक्ने सोच्छन्। तिनीहरूलाई आफूले जति धेरै प्रयास गरे पनि त्यो व्यर्थ हुन्छ, र यसबाहेक केही पनि गर्न सकिँदैन भन्ने लाग्छ, त्यसैले तिनीहरू सधैँ नकारात्मक हुन्छन्, र परिणामस्वरूप, परमेश्वरमा धेरै वर्ष विश्वास गरेर पनि, तिनीहरूले कुनै सत्यता प्राप्त गरेका हुँदैनन्। सत्यता पछ्याउन कडा परिश्रम नै नगरी, तैँले तेरो क्षमता अत्यन्तै कमजोर छ भनेर भन्छस्, हरेस खान्छस्, र तँ सधैँ नकारात्मक स्थितिमा जिउँछस्। परिणामस्वरूप, तैँले बुझ्नुपर्ने सत्यता बुझ्दैनस् वा तेरो क्षमताले भ्याउने सत्यता अभ्यास गर्दैनस्—के तैँले आफूले आफैलाई बाधा दिइरहेको छैनस् र? यदि तैँले सधैँ आफ्नो क्षमता पर्याप्त रूपमा असल छैन भनी भन्छस् भने, के यो जिम्मेवारी इन्कार गर्नु र त्यसबाट पन्छिनु होइन र? यदि तैँले कष्ट भोग्न, मूल्य चुकाउन, र पवित्र आत्माको कार्य प्राप्त गर्न सक्छस् भने, अपरिहार्य रूपमै तँ केही सत्यता बुझ्न र केही वास्तविकतामा प्रवेश गर्न सक्षम छस्। यदि तैँले परमेश्वरतर्फ हेर्दैनस् वा उहाँमा भरोसा गर्दैनस्, अनि कुनै प्रयास नगरी वा मूल्य नचुकाई हरेस खान्छस्, र आत्मसमर्पण गर्छस् भने, तँ बेकारको व्यक्ति होस्, र तँमा थोरै पनि विवेक र समझसमेत छैन। तेरो क्षमता कमजोर भए पनि उत्तम भए पनि, यदि तँसँग थोरै विवेक र समझ छ भने, तैँले आफूले गर्नुपर्ने कुरा र आफ्नो मिसनलाई उचित रूपमा पूरा गर्नुपर्छ; भगुवा हुनु एकदम नराम्रो कुरा हो र यो परमेश्वरप्रतिको धोका हो। यो उद्धार गर्न नसकिने कुरा हो। सत्यताको खोजीको लागि दह्रिलो इच्छाको आवश्यकता पर्छ, र अत्यन्तै नकारात्मक वा कमजोर मानिसहरूले केही पनि उपलब्धि प्राप्त गर्नेछैनन्। तिनीहरूले परमेश्वरलाई अन्त्यसम्मै विश्वास गर्न सक्नेछैनन्, र, यदि तिनीहरूले सत्यता प्राप्त गर्न र स्वभावगत परिवर्तन हासिल गर्न चाहन्छन् भने, तिनीहरूसँग अझै कमै आशा हुन्छ। सङ्कल्प भएका र सत्यताको खोजी गर्नेहरूले मात्रै यसलाई प्राप्त गर्न र परमेश्वरद्वारा सिद्ध तुल्याइन सक्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचन पढेपछि ती वचनसँग आफूलाई जोडेँ। मैले थाहा पाएँ बाधा र असफलताको सामना गर्दा, म हिलोको थुप्रोजस्तो महसुस गर्दै विशेष रूपमा नाजुक र नकारात्मक हुँदो रहिछु। मेरो पहिलो प्रतिक्रिया “यो अरूलाई नै सम्हाल्न दिऔँ”, वा “मेरो क्षमता धेरै कम छ,” भनेर सोच्ने हुन्थ्यो, र त्यसपछि म अरूले नै समाधान गरुन् भनेर काम सार्थेँ। यस्तो गरेर म समझदार र आत्मचेतना भएजस्तो लाग्थ्यो, तर वास्तवमा, मैले आफूलाई सीमित गर्दै आफैसँग हार खाँदै थिएँ। यसले म सत्यतालाई नस्विकार्ने वा प्रेम नगर्ने देखायो। हामीले बाधा र असफलता सामना गर्दा परमेश्वरले हामीलाई सत्यता खोजेर समस्या समाधान गरी प्रगति गर्न भन्नुहुन्छ। हाम्रो इच्छाशक्ति र धार्मिकताप्रतिको लालसाको माध्यमबाटै परमेश्वरले हामीलाई सिद्ध बनाउनुहुन्छ। सत्यतालाई प्रेम गर्ने र राम्रो क्षमता हुने मानिस सक्रिय हुन्छन्। तिनीहरू असफलताका अनुभवहरूलाई सङ्क्षेपीकरण गर्न, आफूमा भएका कमीको जाँच गर्न सिपालु हुन्छन्, खोजीको माध्यमबाट केही सत्यता बुझ्छन्, र आफूबारे केही ज्ञान प्राप्त गरी जीवनमा प्रगति गर्छन्। यस पटक, मैले काँटछाँटको सामना गर्दा मैले आफ्नो असफलताको कारणको विश्लेषण गरिनँ, बरु बहाना बनाएँ। मलाई लाग्यो मैले राम्रोसँग गर्न नखोजेर यस्तो भएको होइन, बरु मेरो कमजोर क्षमताले गर्दा मेरो कर्तव्यमा धेरै समस्या आएका हुन्। यसको अर्थ भनेको मैले आफ्नो योग्यताअनुसार सक्दो गरेकी थिएँ, र चिन्तन गर्नुपर्ने केही थिएन भन्ने कुरालाई इङ्गित गर्थ्यो। तर नजिकबाट मूल्याङ्कन गर्दा, के ममा साँच्चै कुनै समस्यै थिएन भन्ने कुरा साँचो हो र? अगुवाले सामग्रीमा विवरणको कमी रहेको भनेपछि मैले विचार वा खोजी गरिनँ, बरु आफ्नै कल्पनाका आधारमा धेरै अनावश्यक विषयवस्तु थपेँ, संशोधित सामग्रीलाई झन् लामो र मामुली खालको बनाइदिएँ। मैले सिद्धान्त खोजिनँ, वा कसरी राम्रो नतिजा हासिल गर्ने भनेर सोचिनँ; मैले यान्त्रिक रूपमा नियम पालना गरेँ। मैले यसरी कर्तव्य निर्वाह गर्नु झारा टार्नु मात्रै थियो। मैले तुरुन्त सङ्क्षेपीकरण गरी मेरो तरिका ठिक गर्नुपर्ने थियो। ममा पहिल्यै क्षमताको अभाव थियो, र ममा सक्रिय मानसिकता पनि छैन र कठिनाइ आउँदा निष्क्रिय भएर पछि हटेँ भने, मलाई कुनै पनि प्रगति गर्न गाह्रो हुनेछ।
पछि, मैले बाधा र असफलता सामु आउँदा म किन सधैँ भाग्न चाहेँ भन्नेबारे विचार गरेँ। धेरै सोचेपछि, मैले आफूमा हैसियत र प्रतिष्ठाप्रतिको चिन्ता धेरै रहेछ, र परमेश्वरको विश्वासमा म हिँडेको बाटो सही रहेनछ भन्ने थाहा पाएँ। मैले परमेश्वरले ख्रिस्टविरोधीबारे विश्लेषण गरेको एउटा खण्ड सम्झेँ। परमेश्वरका वचनहरूले भन्छन्: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य सामान्य मानिसहरूको भन्दा धेरै परको हदसम्म जान्छ, र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब, ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा, तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो, र तिनीहरूको जीवनभरको लक्ष्य हो। तिनीहरूले गर्ने सबै कुराहरूमा, तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले पहिलोपटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्ने कुराको प्रमाण हो; त्यसकारण तिनीहरू कामकुरालाई यसरी विचार गर्छन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन्, र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको आचरण होइन। त्यसो भए, तिनीहरूको आचरण के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक स्थिति, र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूका लागि, प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वर भन्नुहुन्छ, ख्रिस्टविरोधीहरूले हैसियत र प्रतिष्ठालाई सामान्य मानिसले भन्दा धेरै महत्त्व दिन्छन्, र प्रतिष्ठा र हैसियत तिनीहरूको जीवनभरको खोजी हो र यो तिनीहरूले गर्ने हरेक कार्यको सुरुवाती बिन्दु र लक्ष्य हो। मानिसहरूले तिनीहरूको आदर र प्रशंसा गर्दा, तिनीहरू कर्तव्य निर्वाह गर्न प्रेरित हुन्छन् र जुनसुकै काम गर्न तयार रहन्छन्। तर, तिनीहरूले मानिसको प्रशंसा गुमाए भने ती नकारात्मक र सुस्त हुन्छन्, यहाँसम्म कि परमेश्वरमा विश्वास गर्नु र कर्तव्य निर्वाह गर्नु अर्थहीन ठान्छन्। पछ्याइप्रतिको मेरो दृष्टिकोण पनि ख्रिस्टविरोधीको झैँ थियो। मेरो विचार सबैले स्वीकार गरेर अपनाउँदा, म केही काम सक्रिय भएर गर्न सक्थेँ। तर, मैले सहकार्य गर्ने सिस्टरलाई महत्त्व दिएको र मलाई सधैँ नजरअन्दाज गरेको देखेपछि, मलाई आफू कतै हराएको र निराश महसुस भयो, मैले कर्तव्य निर्वाह गर्ने प्रेरणा गुमाएँ। अझै बढी असफलताको सामना गर्दै जाँदा, मैले आफूलाई क्षमताहीन र कामका लागि अयोग्य मान्दै आफैँलाई झन् सीमित पारेँ, र भाग्न चाहेँ। म सधैँ आफू यो कामका लागि साँच्चिकै असक्षम भएकाले राजीनामा दिन चाहेको, र यसले मसँग आत्मसचेतना रहेको देखाउँछ भन्ने ठान्थेँ, तर वास्तवमा, यो मैले आफ्नो प्रतिष्ठा र हैसियतलाई धेरै महत्त्व दिएकाले रहेछ। मलाई यो कर्तव्य निर्वाह गर्दा म आफ्नो शिर उच्च राख्न कठिन हुनेछ, र मैले यो कर्तव्य जारी राखेमा म धेरै पटक असफल भई खुलासा हुनेछु र अरूले मेरो कुरा स्पष्ट रूपमा देख्न सक्नेछन् भन्ने थाहा थियो। त्यसैले, म आफ्नो प्रतिष्ठा र हैसियत बनाइराख्न सामान्य कर्तव्यमा जान चाहन्थेँ। सो अवधिभर, कुनै कर्तव्य चुन्दा होस्, वा कहाँ पढ्ने वा काम गर्ने भन्ने कुरा होस्, मेरो प्राथमिक मापदण्ड भनेको के यसले मलाई राम्रो र अरूभन्दा अलग देखाउन सक्छ भन्ने थियो। कलेजका लागि आवेदन गर्दाको समयमा, एउटा राम्रो विषय भएको एउटा युनिभर्सिटी थियो, र अर्को अपेक्षाकृत कमजोर थियो। तर, दोस्रो युनिभर्सिटीका शिक्षकले मलाई बारम्बार आवेदन गर्न भने, र मलाई त्यहाँ आफ्नो कदर हुन्छ भन्ने लाग्यो। अन्ततः, मैले कमजोर विषय भएको युनिभर्सिटी छानेँ। युनिभर्सिटी अवधिभर पनि मैले यस्तै गरेँ। जुन विषयमा शिक्षकले मेरो कदर गर्थे म त्यस विषयमा प्रयास गर्थेँ, तर जून विषयमा मेरो सराहना हुँदैनथ्यो, त्यस्ता विषयलाई भने म वेवास्ता गर्थेँ। मेरो पूरै जीवनमा, मैले कुनै पनि कुराले मलाई प्रतिष्ठा र हैसियत दिन्छ कि दिँदैन भनी तौलेर बसेँ। आफ्नो कदर हुने र अलग देखिने ठाउँ मलाई मन पर्थ्यो, मेरो उपेक्षा वा अपमान हुने ठाउँमा म जान्नथेँ। अब मलाई थाहा भयो, प्रतिष्ठा र हैसियतप्रतिको मेरो चिन्ता गहिरो रहेको छ, र यो मभित्र समाहित भएको छ, र मलाई बारम्बार यसको रक्षा गर्न घचघच्याइरहेको छ। उदाहरणका लागि, अहिले मैले स्पष्ट थाहा पाएँ अगुवा हुनु भनेको धेरै खुलासा र काँटछाँट हुनु हो, जुन मेरो सत्यता सिद्धान्तप्रतिको बुझाइ र जीवन प्रवेशका लागि लाभदायक छ। तर, आफ्नो प्रतिष्ठा र हैसियत बनाइराख्न मैले कर्तव्य छाड्ने विचार समेत गरेँ। मैले देखेँ, मैले सत्यताभन्दा प्रतिष्ठा र हैसियतलाई धेरै महत्त्व दिएकी रहेछु, र मैले सत्यताप्रति वितृष्णा राख्ने स्वभाव प्रकट गरेकी रहेछु। यदि मैले यसरी नै पछ्याइरहेँ भने आखिरमा मैले के पाउन सक्थेँ? म आफ्नो सीपको प्रयोग गर्न वा आफ्नो जीवनमा कुनै प्रगति गर्न सक्दिनँथेँ, र अन्तमा, म बेकारको व्यक्ति बन्ने थिएँ जसलाई परमेश्वरले घृणा गरी हटाउनुहुने थियो। त्यो समयमा मात्रै मैले हैसियत र प्रतिष्ठा पछ्याउनु गतिरोध हो, र मैले सत्यता खोज्नुपर्छ, प्रतिष्ठा र हैसियतप्रतिको खोजी छाड्नुपर्छ र यो स्थितिबाट स्वतन्त्र हुनुपर्छ भन्ने थाहा पाएँ।
पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ र अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरमा विश्वास गर्दा ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? कसैको क्षमता धेरै छ कि थोरै, उसमा आत्मिक बुझाइ छ कि छैन, वा उसले कस्तो खालको काँटछाँट सामना गर्छ—यी मध्ये कुनै कुरा पनि महत्त्वपूर्ण छैनन्। अहिले महत्त्वपूर्ण कुरा के हो? तिमीहरू सत्यता वास्तविकताहरूमा कसरी प्रवेश गर्छौ, त्यो महत्त्वपूर्ण कुरा हो। त्यसो गर्नको लागि, व्यक्तिमा हुनुपर्ने सबैभन्दा आधारभूत कुरा के हो? तिनीहरूमा इमानदार हृदय हुनैपर्छ। इमानदार हुनु भनेको के हो? यसको अर्थ केही कुरा आइलाग्दा चिप्ले नहुनु, आफ्नो स्वार्थको ख्याल नगर्नु, अरूविरुद्ध षड्यन्त्र नगर्नु, र परमेश्वरसित छल्ने खेल नखेल्नु हो। यदि तैँले परमेश्वरलाई धोका दिन र उहाँप्रति इमानदार नहुन सक्छस् भने, तँ सक्किन्छस् र तँलाई परमेश्वरले मुक्ति दिनुहुनेछैन, तब सत्यता बुझेको के मतलब भयो र? तँमा आत्मिक बुझाइ हुन सक्छ, तेरो क्षमता पनि असल होला, तँ बोल्न सिपालु होलास्, र तैले छिट्टै कुरा बुझ्न, निष्कर्ष निकाल्न, र परमेश्वरले भन्नुहुने सबै कुरा बुझ्न सक्लास्, तर तँमाथि केही आइपर्दा, तैँले परमेश्वरसित छल्ने खेल खेल्छस् भने, त्यो शैतानी स्वभाव हो र त्यो निकै खतरनाक हुन्छ। तेरो क्षमता जतिसुकै असल भए पनि, त्यो केही काम लाग्दैन, र परमेश्वरले तँलाई चाहनुहुनेछैन। परमेश्वरले भन्नुहुनेछ, ‘तँ राम्रै बोल्छस्, तेरो क्षमता असल छ, तँ चलाख छस्, तँमा आत्मिक बुझाइ छ, तर केवल एउटा समस्या छ—तँ सत्यतालाई प्रेम गर्दैनस्।’ सत्यतालाई प्रेम नगर्नेहरू समस्याजनक हुन्छन्, र परमेश्वर तिनीहरूलाई चाहनुहुन्न। जसरी बाहिरबाट हेर्दा चिटिक्क देखिने, तर खराब इन्जिन भएको गाडीलाई पूराको पूरा फालिन्छ, त्यसरी नै असल हृदय नभएको व्यक्तिलाई पनि फालिनेछ। मानिसहरू पनि यस्तै हुन्छन्, तेरो क्षमता जति नै राम्रो देखिए पनि, तँ जति नै बाठो, बोल्न सिपालु वा क्षमतावान् भए पनि, वा समस्याहरू सम्हाल्न तँ जति नै राम्रो भए पनि, त्यसको केही फाइदा हुँदैन र यो मुख्य कुरो होइन। त्यसोभए मुख्य कुरा के हो त? मुख्य कुरा, व्यक्तिको हृदयले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्ने हो। त्यो तिनीहरू के भन्छन्, त्यो सुन्नु होइन, बरु तिनीहरू कस्तो व्यवहार गर्छन्, त्यो हेर्नु हो। तैँले परमेश्वरसामु के भन्छस् वा के प्रतिज्ञा गर्छस्, परमेश्वर त्यो हेर्नुहुन्न। उहाँ त तैँले गर्ने कार्यमा सत्यता वास्तविकता छ कि छैन भनेर हेर्नुहुन्छ। साथै, परमेश्वर तेरा कार्यहरू कति उच्च, गहन, वा शक्तिशाली छन् भनेर वास्ता गर्नुहुन्न, र तैँले कुनै सानो कुरा नै गरे पनि, यदि परमेश्वरले तेरो हरेक चालमा इमानदारिता देख्नुभयो भने, उहाँले यसो भन्नुहुनेछ, ‘यो व्यक्तिले इमान्दारितासाथ ममा विश्वास गर्छ। उसले कहिल्यै घमण्ड गरेको छैन। उसले आफ्नो स्थानअनुसार आचरण गर्छ। उसले परमेश्वरको घरमा ठूलो योगदान नदिएको भए पनि र ऊ कमजोर क्षमताको भए पनि, आफूले गर्ने हरेक काममा ऊ दृढ र इमानदार छ।’ यो ‘इमानदारीता’ मा के कुरा समावेश हुन्छ? यसमा परमेश्वरप्रतिको डर र समर्पण, साथै साँचो विश्वास र प्रेम समावेश हुन्छ; यसमा परमेश्वरले हेर्न चाहनुहुने सबै कुरा समावेश हुन्छ। त्यस्ता मानिसहरू अरूको नजरमा उल्लेखनीय नदेखिन सक्छ, अनी तिनीहरू खाना पकाउने वा सरसफाइ गर्ने, अर्थात् साधारण कर्तव्य पूरा गर्ने व्यक्तिसमेत हुन सक्छन्। त्यस्ता मानिसहरू अरूको लागि उल्लेखनीय हुँदैनन्, तिनीहरूले ठूलो उपलब्धि केही पनि हासिल गरेका हुँदैनन्, र तिनीहरूमा कुनै पनि आदरणीय, प्रशंसनीय वा डाहा गर्नलायक कुरा हुँदैन—तिनीहरू केवल साधारण मानिसहरू हुन्छन्। तैपनि, परमेश्वरले तोक्नुभएका सबै कुरा तिनीहरूमा पाइन्छ, र तिनीहरू ती मापदण्डअनुसार नै जिउँछन्, र तिनीहरूले परमेश्वरलाई सर्वस्व दिएका हुन्छन्। ल मलाई भन त, तिमीहरूलाई परमेश्वरले योभन्दा बढी के चाहनुहुन्छ जस्तो लाग्छ? उहाँ तिनीहरूसँग सन्तुष्ट हुनुहुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। म कुनै व्यक्तिसँग क्षमता वा प्रतिभा छ छैन भन्ने कुरालाई बढी महत्त्व दिन्थेँ, र असल क्षमता भएकालाई मात्र परमेश्वरको घरमा भरपुर उपयोग गर्न सकिनेछ भन्ने ठान्थेँ। जब म बारम्बार क्षमताको कमी भएकी र कुराहरू स्पष्ट रूपमा देख्न नसक्ने भनी खुलासा भएँ, तब म नकारात्मकतामा पुगेँ र आफूलाई सीमित गरेँ, आफूले गर्न सक्ने कार्य पनि गर्न असमर्थ भएँ। परमेश्वरका वचन पढेपछि मैले के बुझेँ भने विश्वासीहरूले आफ्नो क्षमताको स्तरमा ध्यान केन्द्रित गर्नु हुँदैन, वा तिनीहरूसँग वाक्पटुता वा तेज दिमाग होस्-नहोस्—परमेश्वरले यी कुरालाई महत्त्व दिनुहुन्न। परमेश्वरले मानिसको हृदयको ख्याल गर्नुहुन्छ र तिनीहरूसँग परमेश्वर र मण्डलीको कामप्रति इमानदार हृदय छ कि छैन भनी हेर्नुहुन्छ। परमेश्वले मलाई दिएका वाक्पटुता र क्षमताले म कर्तव्य राम्ररी निर्वाह गर्न सक्छु कि सक्दिनँ भनी निर्धारित गर्दैनन्। यदि म वाक्पटु र सक्षम छु तर जिम्मेवारीबाट भाग्छु र वास्तविक अभ्यासमा बेइमानी गर्छु भने मेरो क्षमता जति राम्रो भए पनि, म परमेश्वरले घृणा गर्ने व्यक्ति हुँ। क्षमताले मानिसलाई कर्तव्य राम्रोसँग निर्वाह गर्न सहयोग गरे पनि महत्त्वपूर्ण कुरा भनेको व्यक्तिको सत्यता अनि आफ्नो कर्तव्यप्रति रहेको मनोवृत्ति हो, ऊसँग सक्रिय र सत्यताप्रेमी हृदय छ छैन, असफल र खुलासा हुँदा सत्यताको खोजी गर्न सक्छ-सक्दैन, अनुभवबाट सिक्न र जीवनमा वृद्धि पछ्याउन सक्छ-सक्दैन भन्ने हो—परमेश्वरले महत्त्व दिने कुरा यिनै हुन्। विगतमा, प्रतिभा र क्षमता भएका केही मानिसले मण्डलीको अगुवाका रूपमा पनि कार्य गर्थे, तर धेरैले आफ्नो कर्तव्य ठिकसँग निर्वाह गर्दैनथे। केही समयपछि, तिनीहरूले आराम र सहजता खोजे, वास्तविक काम गरेनन्, वा ख्याति र लाभका लागि लडे, मण्डलीको काममा बाधा ल्याए, र अन्तमा हटाइए। तर, केही मानिस साधारण देखिन्थे, तिनमा प्रतिभा थिएन, क्षमता औसत थियो, तैपनि आफ्नो कर्तव्य व्यवहारिक ढङ्गले गर्थे, हरेक कुरामा सिद्धान्त खोज्थे, तिनीहरूले कर्तव्य निर्वाहमा प्रगति गरे र प्रतिस्थापन भएनन् वा हटाइएनन्। यसले परमेश्वर धर्मी हुनुहुन्छ, र उहाँले व्यक्तिलाई उसको क्षमताका आधारमा निर्धारण गर्नुहुन्न, बरु सत्यता पछ्याउने र अभ्यास गर्ने नगर्ने, व्यवहारिक र जिम्मेवार भएर हरेक काम पूरा गर्ने नगर्ने कुरालाई महत्त्व दिनुहुन्छ। यो बुझेर मैले मनमनै भनेँ, अबदेखि मैले कर्तव्यमा ध्यान केन्द्रित गरी निष्ठ भई काम गर्नुपर्छ, मलाई दिइएका काम मैले इमानदारी र जिम्मेवारी भएर गर्नुपर्छ, सक्दो प्रयास गर्नुपर्छ, उचित काममा ध्यान दिने व्यावहारिक र विश्वासिलो व्यक्ति बन्नुपर्छ।
त्यसपछि, मैले हरेक असफलताबाट पाठ सिक्ने कुरामा ध्यान दिन थालेँ, हरेक पटक मेरो खुलासा हुने कुरामा मैले आफ्नो मानसिकता बदलेँ। यसअघि, मैले असफलता वा काँटछाँटको सामना गर्दा म सोच्ने गर्थेँ, “ला, अगुवाले मेरो वास्तविकता देखिन् होला,” वा “सबैले ममा क्षमताको कमी छ भन्ने सोच्या होलान्,” जब म यस्ता कुरामा डुब्थेँ, म धेरै निराश हुन्थेँ। पछि, मैले म किन खुलासा भइरहेकी छु, आफूमा रहेका कुन समस्या म पत्ता लगाउन सक्छु र कुन कमीहरू परिपूर्ति गर्न सक्छु भनेर विचार गर्न थालेँ। यो नयाँ मानसिकतासाथ, म हृदयदेखि नै सही मामिलामा बढी केन्द्रित भएँ। पछि, केही समका कारण, कहिलेकाहीँ कार्य सम्हाल्दा सिद्धान्तलाई नबुझेका कारण, र कहिलेकाहीँ कुनै खास मामिलामा एकतर्फी दृष्टिकोण राखेको र सही बुझाइ नभएका कारण मैले क्रमिक रूपमा काँटछाँटको सामना गर्नुपर्यो। त्यसैले मैले आफ्ना समस्यामा चिन्तन गरेँ, र कार्यदक्षता सुधार गर्न सीपसँग सम्बन्धित कुरा भए त्यसका विधिहरू खोजेँ, बुझाइसँग सम्बन्धित विषय भए म मेरा समस्यामा विचार गर्थेँ मेरो बुझाइमा के गल्ती छ भन्ने जाँच गर्थेँ, र त्यसपछि सत्यता बुझेका र अनुभव भएका ब्रदर-सिस्टरहरूसँग खोजी गर्थेँ। जब मैले यस तरिकाले विचार गरेँ, काँटछाँटप्रतिको मेरो मनोवृत्तिमा सुधार आयो। अहिले पनि घरीघरी निराशा हुने भए पनि म यसमा अल्झिन छोडेकी छु, र हरेक दिन, कर्तव्य पालन गर्ने क्रममा मेरो मन बोझिलो हुन छाडेको छ, र आफूले सामना गर्ने परिस्थितिलाई सामान्य रूपमा भोग्न गर्न सक्छु।
यस अवधिबारे चिन्तन गर्ने क्रममा, म नकारात्मकतामा फस्दा र दुःख र थकानमा डुब्दा, परमेश्वरका वचनको मार्गदर्शन नहुँदो हो त मैले त्यो नकारात्मक भावनालाई पछाडि छोड्न सक्ने थिइनँ, र आफूलाई परमेश्वरबाट पर राख्दै पतित हुँदै जाने थिएँ, र मेरो अहिलेको कर्तव्य पनि गुमाउने थिएँ। म हृदयबाटै परमेश्वरलाई धन्यवाद दिन्छु, किनकि मेरा सबभन्दा कमजोर क्षणहरूमा, उहाँले मेरा वरिपरिका मानिसबाट सम्झाउनी पठाउनुभयो, आफ्ना वचन प्रयोग गरी मार्गदर्शन गर्नुभयो र त्यो भावनालाई पछि छोड्न सहयोग गर्नुभयो। अबदेखि, म आफूलाई शान्त राख्दै योग्यताले भ्याएसम्म कर्तव्य निर्वाह मात्र गर्न चाहन्छु।